`

उखु अभावका कारण चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेनन्

नवलपरासी, २ फागुन : पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।

पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रसिङ गर्नुपर्ने बाध्यता छ । उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन् । सुनवलस्थित लुम्बिनी चिनी उद्योगले कपिलवस्तु र पूर्वी नवलपरासीबाट उखु ल्याएर क्रसिङ गरिरहेका छन् ।

जिल्लामा पर्याप्त उखु उत्पादन नहुँदा अन्य जिल्लाबाट उखु ल्याउनुपर्ने बाध्यताले उद्योगको लागत खर्च बढेको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले जानकारी दिनुभयो । उद्योगले कपिलवस्तुबाट मात्रै यस वर्ष १५ हजार क्विन्टल उखु खरिद गरेको उहाँले बताउनुभयो । यस वर्ष १० लाख क्विन्टलसम्म क्रसिङ गर्ने लक्ष्य लिए पनि उखु अभावका कारण सम्भव नभएको सो उद्योगले जनाएको छ ।

लामो समयसम्म उखु बिक्रीबापतको भुक्तानी नपाउँदा यहाँका किसान विस्तारै वैकल्पिक खेतीतर्फ लागेका छन् । यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाका तीन ठूला चिनी उद्योगले उखु अभावका कारण पूरै याममा क्रसिङ गर्न सक्ने अवस्था नरहेको जनाएका छन् । सुस्तास्थित बागमती खाडसारी चिनी उद्योग र प्रतापपुरमा रहेको इन्दिरा सुगर एग्रो इन्डस्ट्रिज प्रालिले पनि उखु अभावका कारण पूर्ण क्षमता अनुसार उखु क्रसिङ गर्न नसकेको जनाएका छन् । जिल्लामा चार चिनी उद्योग सञ्चालनमा छन् ।

प्रेम दिवसमा सौराहामा बढेन रौनकता

चितवन, २ फागुनः बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका छन् । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन ।

विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन् । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरेले भन्नुभयो “प्रणय दिवसमा पनि आशालाग्दो अवस्था देखिएन । यहाँ जारी खाना महोत्सबमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक कम छन् ।”

नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौँसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै मुग्लिन पोखरा र नारायणगढ–बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ ।

घिमिरेले आज बिहान मात्र करिब १० वटा होटलमा बुझ्दा अवस्था राम्रो नपाएको बताउनुभयो । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सबको प्रभाव होटलहरुमा पर्न नसकेको बताउनुहुन्छ । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उहाँको भनाइ छ ।

आज मध्यान्हसम्म ३० प्रतिशत हाराहारी मात्र होटलमा पर्यटक आएको भन्दै उहाँले दश प्रतिशत थप हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “गत वर्षमा प्रणय दिवसमा लगभग होटल भरिन्थे । यो वर्ष रौनक नै छैन ।” सौराहामा अहिले भइरहेको खाना महोत्सव, केही दिन अघि सकिएको फिल्म महोत्सव र हात्ती महोत्सवको प्रभाव होटलको मा नपरेको उहाँ बताउनुहुन्छ । उहाँले थप्नुभयो “मेला महोत्सब खासै सफल हुन सकेनन् ।” मेला महोत्सबको आवश्यक मात्रामा प्रचारप्रसार हुन नसक्दा सोचे जस्तो उपयोगी नभएको उहाँको ठम्याइ छ ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया मध्यान्हसम्म खासै पर्यटक आइनसकेको बताउँदै साँझसम्ममा आउने अपेक्षा गर्नुहुन्छ । उहाँले भन्नुभयो “गत वर्षमा यतिबेलासम्म कोठा सकेर अरु होटलमा खोज्न थाल्थे । अहिले त्यस्तो अवस्था छैन ।” यद्यपि आफूहरु आशावादी रहेको उहाँले बताउनुभयो ।

सडकको अवस्था राम्रो नभएको र आर्थिक मन्दिनै पर्यटक नआउनुको कारण भएको उहाँले बताउनुभयो । सौराहामा पाँच हजार पाँच सयजना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता छ । यहाँ एक सय २० वटा होटल र करिब एक सय वटा रेष्टुराँ सञ्चालनमा छन् ।

‘नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुननपर्ने’ – मन्त्री बस्नेत

काठमाडौँ, २ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बताउनुभएको छ । गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि वडाको सिफारिसमा निःशुल्क उपचार हुने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कुपण्डोल परिसरमा नवनिर्मित ‘सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन’को उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवा नागरिकको संविधान प्रदत्त अधिकार भएको उल्लेख गर्नुभयो ।

“शिक्षा र स्वास्थ्य संविधानमा मौलिक हकको रुपमा स्थापित भइसकेको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “सो मौलिक हक कार्यान्वयन गर्न सरकार लागिपरेको छ ।” स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको समन्वयमा चार प्रदेशमा प्रादेशिक अस्पतालमा ‘जनरलवार्ड’ सबै निःशुल्क गरिएको उहाँले बताउनुभयो ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले ४० श्ययाबाट सुरु भएको अस्पतालले अहिले चार सय ८९ श्ययाबाट सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो । उहाँले गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँचका लागि स्वास्थ्य मन्त्रालयको सहयोगमा ‘जनरलवार्ड’मा निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो ।

इन्डोनेसियामा मतदान सम्पन्न, प्रारम्भिक गणनामा पूर्वजनरल सुबिआन्तो अगाडि

बुधबार मतदान समाप्त भएपछि सर्वेक्षणकर्ताहरूको प्रारम्भिक नतिजाले रक्षामन्त्री प्रबोवो सुबियान्तोले दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाको राष्ट्रपति पदको दौडमा बलियो अग्रता लिनुभएको देखाएको छ ।

आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा मतपत्रहरूको नमूना सङ्कलन गरेका थिए । करिब दुई तिहाइ नमूना मतगणना गर्दा सुबियान्तोलाई ५५ प्रतिशतभन्दा धेरै मत आएपछि उहाँको विजय विश्वसनीय देखाएको थियो ।

पोलस्टर पोलट्र्याकिङले प्रारम्भिक गणनामा उहाँलाई ५९ दशमलव ७७ प्रतिशत र साइरस नेटवर्क–सिएसआइएसले ५८ दशमलव ६२ प्रतिशत देखाएको छ ।

सुबियान्तोले आफ्ना प्रतिद्वन्द्वीहरू अनिस बास्वेदन र गान्जर प्रणवोमाथि राष्ट्रपति पद सुरक्षित गर्नका लागि मुलुकको ३८ प्रान्तमा खसालिएको भोटको आधाभन्दा धेरै अर्थात ५० प्रतिशतभन्दा माथि भोट ल्याउनुपर्ने आवश्यकता छ । सुबियान्ताले बोगोर सहरमा मतदानभन्दा अघिल्लो दिन पत्रकारहरूसँग भन्नुभयो, “जित्ने आशा छ ।”

एक पुस्ताअघि सुहार्तो तानाशाहीको समयमा सैन्य प्रमुख रहनुभएका ७२ वर्षीय सुबियान्तोले बुधबार साँझ समर्थकहरूलाई सम्बोधन गर्ने कार्यक्रम थियो । उहाँले लोकप्रिय निवर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिन प्रतिस्पर्धा गरिरहनुभएको छ । विडोडोले अप्रत्यक्षरूपमा सुबियान्तोको अभियानलाई समर्थन गर्नुभएको पर्यवेक्षकहरूले दावी गरेका छन् ।

पपुआको अशान्त क्षेत्रमा आठ लाख मतदान केन्द्रमा मतदान सुरु भयो र मुलुकको अर्को भागमा जङ्गलले ढाकिएको सुमात्रामा समाप्त भयो । जाकर्ताका केही स्टेसनहरू आँधीका कारण डुबानमा परेपछि मतदान खुला भयो ।

स्थिर आर्थिक विकासको अध्यक्षता गर्नुभएका तर संवैधानिक दुई कार्यकालको सीमामा पुग्नुभएका विडोडोका नीतिहरूलाई निरन्तरता दिने प्रतिज्ञाका साथ लोकप्रिय बयानबाजीको मिश्रित अभियानपछि ७२ वर्षीय वृद्ध सुबियान्तो स्पष्टरूपमा मनपर्ने हुनुहुन्थ्यो ।

सन् १९९८ मा सुहार्तोको तानाशाहीको समाप्तिपछि यो पाँचौँ राष्ट्रपति निर्वाचन हो र निर्वाचनमा करिब २० करोड ५० लाख मतदान गर्न योग्य थिए ।

माओवादी केन्द्रको विधान अधिवेशन : आजका लागि सुझाव सङ्कलन सकियो, भोलि ७ समूहले पेस गर्ने

काठमाडौँ, २ फागुन : नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्नेक्रम आजका लागि सकिएको छ । विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ ।

सुझाव पेस गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्नेमा जोड दिनुभयो ।

सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गर्नुभयो ।

युवराज चौलागाईंले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेस गर्नुभयो ।

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । भोलि सात समूहले सुझाव पेस गर्ने कार्यक्रम छ । बैठक भोलि बिहान ११ बजे पुनःबस्नेछ ।

एमालेले सचिवहरुलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ, २ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘झुलाघाट-चुवा भञ्ज्याङ’ अभियानका क्रममा सङ्कलित नागरिकका समस्या तथा सुझाव समेटिएको ज्ञापनपत्र मुख्यसचिव र विभिन्न मन्त्रालयका सचिवलाई बुझाएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल र सो पार्टीका मुख्य सचेतक पदम गिरीले आज नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याललगायत विभिन्न मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउनुभयो ।

एमालेले गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि मेचीको चुवा भञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गरेको थियो । सो अवसरमा प्राप्त नागरिकका समस्या र सुझाव समेटिएको दस्तावेज आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत सरकारका सचिवहरुलाई बुझाइएको हो ।

सो अवसरमा उपाध्यक्ष पौडेलले मध्यपहाडी क्षेत्रमा पछिल्लो समय बसाइँसराइको गति तीव्र भएको, खेतीयोग्य जमिन बाँझो हुँदै गएको, घरहरु खण्डहरु बन्दै गइरहेको भन्दै बसाइँसराइ कम गर्न अध्ययन गरी काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

उपाध्यक्ष पौडेलले मध्यपहाडी लोकमार्गलगायत विभिन्न राजमार्गको काम अगाडि बढाउन र पहाडी क्षेत्रमा गर्न सकिने विकासका काम सरकारले यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “पहाडी क्षेत्रमा बसाइँ सर्नेक्रम तीव्र छ, बसाइँसराइले पहाड रित्तिँदै छ, बसाइँसराइ रोक्न के गर्न सकिन्छ त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।

आज बुझाइएको ज्ञापनपत्र दराजमा मात्रै नथन्क्याउन र प्राप्त सुझावका आधारमा नागरिकका समस्या सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो ।

मुख्यसचिव डा वैकुण्ठ अर्यालले ज्ञापनपत्रमा प्राप्त सुझाव महत्वपूर्ण हुने भन्दै सुझावअनुसार कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ज्ञापनपत्र दराजमा थन्क्याइने छैन, कुन मन्त्रालयबाट के गर्न सकिन्छ त्यो विषयमा छलफल गरी कार्यान्वयन प्रक्रियामा जानेछौँ ।”

विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, २ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको सन्दर्भमा इन्जिनियरिङ शिक्षाको महत्व र उपादेयता अझै बढी रहेको बताउनुभयो । शिक्षासँगै अटल समर्पण, त्याग र तपस्या पनि उत्तिकै आवश्यक भएको उहाँको भनाइ थियो ।

उपराष्ट्रपति यादवले विकासोन्मुख मुलुकले भोग्दै आएका गरिबी, अशिक्षा, पूर्वाधार विकास र वातावरणीय दिगोपनजस्ता समस्याबाट नेपाल पनि टाढा नरहेको बताउनुभयो । “यी समस्याको निराकरण र निवारण गर्न इन्जिनियरको भूमिका अहम् छ । तपाईहरु यथास्थितिलाई चिर्दै सबैखाले चुनौती र समस्याको समाधान गर्न अग्रपङ्क्तिमा हुनुपर्दछ”, उहाँले भन्नुभयो ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाले सम्पूर्ण विद्यार्थीमा आपसी मेलमिलाप, भाइचारा, सदाचार, मैत्रीभाव र वन्धुत्वभावका साथ समाज तथा देशको सेवाका लागि दत्तचित्त भई सदैव अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भनी उपराष्ट्रपति यादवले कामना गर्नुभयो ।

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ, २ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो ।

आज शेयर बजारमा रू चार अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ । तीन सय दुई कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार छ सय ७५ पटक खरिदबिक्री भएको हो ।

बैंकिङ समूहको उपसूचक शून्य दशमलव १८, होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १४, जलविद्युत् समूह शून्य दशमलव १३, लगानी समूह शून्य दशमलव २१, जीवन बीमा समूह शून्य दशमलव २७ र लगानी समूह शून्य दशमलव ३७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै वित्त समूह छ दशमलव ५६ प्रतिशतले र विकास बैंक समूह दुई दशमलव ३८ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा समूह शून्य दशमलव ४० र अन्य समूहको उपसूचक एक दशमलव ०७ प्रतिशतले बढेको छ ।

तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने पिपुल्स पावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू १७ करोड १७ लाख ६४ हजार आठ सय ८० बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर आठ लाख आठ हजार पाँच सय २० बराबरको कारोबार भएको छ ।

ट्र्याक खुलेको २९ वर्षपछि अस्फाल्ट प्रविधिबाट कालोपत्र

दमौली (तनहुँ), २ फागुन : गण्डकी प्रदेश सरकारले गौरव आयोजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रको तयारी गरिएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रको तयारी गरिएको हो ।

ट्रयाक खुलेको २९ वर्षपछि यो खण्डमा कालोपत्र हुन लागेको हो । पूर्वाधार विकास कार्यालय तनहुँले यही फागुन ७ गतेदेखि अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र गर्न लागेको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खण्डमा फागुन ७ गतेदेखि २२ गतेसम्म सडक बन्द गरी कालोपत्र गर्न लागिएको हो ।

“तनहुँको घिरिङ गाउँपालिकास्थित मानपुरदेखि डेडगाउँसम्म सडक कालोपत्रका लागि बेस राख्ने काम भएको छ”, आचार्यले भन्नुभयो, “उक्त अवधिमा सडक बन्द गरी काम हुनेछ ।” यो खण्ड भई सञ्चालन हुने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्ग कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्ग कालोपत्र हुन लागेको आचार्यले जानकारी दिनुभयो ।

रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ कम रकममा सडक कालापत्रको ठेक्का पाएको थियो ।

सडक कालोपत्रको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । त्यसलगत्तै नेपालमा कोरोनाको महामारीले गर्दा भएको लकडाउनको असरका कारण काम सुरु हुन सकेको थिएन ।

तनहुँको घिरिङ–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । उक्त सडकको चौडाइ सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्र र सडकमा एक मिटरको नाला निर्माण हुनेछ ।

गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले हिमाल र तराईलाई जोड्ने गरी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा उक्त खण्डलाई सूचीकृत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको यस बाटो कालोपत्र भएपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्छ ।”

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उक्त सडक कालोपत्र भएपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाड र तराई जोड्ने महत्वपूर्ण मार्गको रुपमा रहेको यस खण्ड कालोपत्र भएपछि विभिन्न जिल्लाका हजारौँ नागरिक लाभान्वित हुन्छन् । यो मार्ग घिरिङको समृद्धिको प्रवेशद्वार पनि हो ।”

स्थानीयवासी सुमनकुमार श्रेष्ठले यस मार्गलाई प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा सूचीकृत गरेर कालोपत्रको काम सुरु गरेपछि यहाँका नागरिका हर्षित भएका बताउनुभयो । उहाँले भन्नुभयो, “ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र हुने खबरले हामीलाई खुसी बनाएको छ । धुलाम्य र हिलाम्य बाटोले यात्रा कष्टकर बनेको थियो । कालोपत्र भएपछि सहज हुनेछ ।”

बन्धकका परिवार न्याय खोज्दै आईसीसीमा

गाजामा बन्धक बनाइएका करिब १०० परिवारका प्रतिनिधिले हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्न बुधबार हेग पुगेका छन् ।

इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा करिब २५० जनालाई अपहरण गरेका थिए, जसमध्ये करिब १३० जना अझै गाजामा बन्धक बनाइएका छन् । तीमध्ये २९ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

“यो हाम्रो कथा मात्र होइन । यदि हामीले यसलाई रोकेनौं भने भोलि यो सारा विश्वको कथा हुनेछ,” गाजामा बन्धक बनाइएका मध्येका एक व्यक्तिका आफन्त ओफ्री बिबासले भन्नुभयो । “सम्पूर्ण मानव जातिले एक विश्वव्यापी ‘आतङ्कवादी सेना’ बिरूद्ध एक साथ उभिनु पर्छ, यसमा हमास उसको अभियानको एक इकाई मात्र हो,” हेगको लागि उडान भर्नुभन्दा केही मिनेट अघि उहाँले भन्नुभयो । ‘होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरम’ का हेम रूबिनस्टाइनले अभियान समूहले हमासका नेताविरुद्ध आइसिसीमा मुद्दा दायर गर्ने बताउनुभयो ।

रुबिनस्टाइनले तेल अभिभ नजिकै बेन गुरियन विमानस्थलबाट टेलिभिजनमा प्रसारण गरिएको भिडियो सन्देशमा भन्नुभयो, “हामी बन्धकका परिवार हौं र हामी भयानक नारकीय अवस्थाबाट गुज्रेका छौं र अझै पनि गुज्रिरहनुपर्ने बाध्यता देखिएको छ ।”
उहाँले भन्नुभयो, “हामी हमासका सदस्य र तिनका सहयोगीहरूविरुद्ध मुद्दा दायर गर्नेछौं र उनीहरूले मानवताविरुद्धको अपराधका लागि सबैभन्दा ठूलो मूल्य चुकाउनु पर्ने सुनिश्चित गर्नेछौं ।”

इजरायलको आधिकारिक तथ्याङ्कका आधारमा एएफपीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबर ७ मा भएको हमासको आक्रमणका कारण इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलमा भएको आक्रमणमा परी कम्तीमा २८ हजार ४७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।बन्धक बनाइएका परिवारले इजरायली अधिकारीहरूलाई बाँकी बन्धकहरूको रिहाईका लागि दबाब दिइरहेका छन् ।

इजरायलका गुप्तचर प्रमुख डेभिड बार्नेयाले मङ्गलबार इजिप्टको राजधानीमा सिआइएका निर्देशक विलियम बन्र्सलाई भेटेर गाजामा युद्ध रोक्ने कतारी मध्यस्थताको योजनाबारे छलफल गर्नुभएको थियो ।कतारका प्रधानमन्त्री र इजिप्टका अधिकारीसमेत सम्मिलित उक्त वार्ता इजरायलले दक्षिणी शहर रफाहमा स्थलगत आक्रमण गर्नुअघि युद्धविरामको लागि तीव्र प्रयासको एक भाग हो । यस क्षेत्रको आधाभन्दा बढी जनसङ्ख्या पलायन भएको छ ।नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधजस्ता गम्भीर अपराधको अनुसन्धानका लागि आइसिसी विश्वको एक मात्र स्वतन्त्र अदालत हो ।

अदालतका मुख्य अभियोजक करिम खानले सोमबार गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न आह्वान गर्दै रफाहमा इजरायलको सम्भावित आक्रमणबारे चिन्ता व्यक्त गर्नुभएको थियो । खानले एक्स (ट्वीटर)मा भन्नुभएको छ, “गाजामा भएका घटनाहरूको बारेमा आफ्नो कार्यालयको अनुसन्धानलाई ‘अति तात्कालिकताको रूपमा अगाडि बढाइएको छ ।”

युक्रेन आक्रमणको आपत्तिजनक आलोचकहरूको सम्पत्ति जफत गर्नेसम्बन्धी कानूनमा पुटिनद्वारा हस्ताक्षर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानूनमा हस्ताक्षर गर्नुभएको छ ।

मस्कोले सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि कडा कानून लागू गर्दै यसको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र सार्वजनिकरूपमा यसको विरोध गर्नेहरूलाई कडा कारबाही गरेको छ ।

उक्त कानूनले अधिकारीहरूलाई आपत्तिजनक आलोचना गर्ने दोषी व्यक्तिहरूको धन, सम्पत्ति र बहुमूल्य वस्तुहरू जफत गर्न सक्षम बनाउँछ । कानूनले आफ्नो मुलुक छाडेर भागेका तर अहिले पनि घरमा सम्पत्ति भएका महत्त्वपूर्ण रुसी निर्वासितहरूलाई सम्भावितरूपमा निशाना बनाउँछ ।

रुसको संसद् ड्युमाले विधेयकलाई समर्थन गरेको दुई सातापछि पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको हो । ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले गत महिना भन्नुभएको थियो, “आफ्नो मातृभूमिसँग विश्वासघात गरेका र अहिले हाम्रा सैनिकहरूको पिठ्युँमा थुक्ने बदमाश र गद्दारहरूलाई यो कानूनले निशाना बनाउँछ ।”

मस्कोले नियमितरूपमा सैन्य अभियानको विरोधमा आफ्नो मुलुक छाड्ने लाखौँ रुसीलाई देशद्रोहीको संज्ञा दिएको छ । उक्त कानून युक्रेन आक्रमणको दोस्रो वर्ष प्रवेश र रुसको राष्ट्रपति निर्वाचनभन्दा एक महिनाअघि लागू भएको छ ।

अमेरिकी रक्षामन्त्री अस्टिन उपचारपछि घर फिर्ता

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन मूत्राशयसम्बन्धी समस्याको उपचारका लागि दुई दिनको अस्पताल बसाइपछि मङ्गलबार अस्पतालबाट घर फिर्ता (डिस्चार्ज) हुनुभएको पेन्टागनले जनाएको छ ।

अस्टिनलाई उत्तरी वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट अपराह्न डिस्चार्ज गरिएको छ। उहाँले आफ्नो सम्पूर्ण जिम्मेवारी सम्हाल्न पुनः सुरु गरेको पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२३ को डिसेम्बरमा अस्टिनले गरेको प्रोस्टेट क्यान्सरको शल्यक्रियासँग मूत्राशयको समस्या सम्बन्धित थियो तर यो उहाँको क्यान्सर निदानसँग सम्बन्धित थिएन ।

पेन्टागनका प्रेस सेक्रेटरी प्याट राइडर र वाल्टर रीडका अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा अस्टिनलाई आइतबार दिउँसो वाल्टर रीड लगिएको र त्यस दिन राति नै सघन उपचार कक्षमा भर्ना गरिएको उल्लेख छ ।

अस्पतालमा रहँदा अस्टिनले रक्षामन्त्रीको कार्यालयको काम र कर्तव्य उपरक्षामन्त्री क्याथलीन हिक्सले सम्हाल्नुभएको थियो ।

अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार

विगत दुई वर्षमा अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार आएको अफगान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनु भयो । उहाँले महिलाहरूलाई स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर पनि प्रदान गरिएको दावी गर्नुभयो ।

अफगानिस्तानमा तालिवान नेतृत्वमा सरकार गठन भएपछि हजारौँ किशोरी तथा महिला कामदारहरूलाई त्यहाँको इस्लाम कानूनको हवाला दिँदै रोजगारीबाट बञ्चित पारिएको स्थानीय महिला अधिकारकर्मी तथा मानवअधिकारका लागि काम गर्ने अन्तरराष्ट्रिय सङ्घ संगठनहरूले बताउँदै आएका छन् ।

टोलो न्यूजले बुधबार मुजाहिदलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार विगतको तुलनामा स्वास्थ्य गतिविधिहरू बढेका छन् । केन्द्र तथा प्रान्तका अस्पतालहरू व्यवस्थित भएका छन् ।समयमै औषधि उपचारहरू उपलब्ध भइरहेका छन् ।

मुजाहिदले युद्धबाट तहस नहस बनेको अफगानिस्तानमा स्वास्थ्य क्षेत्रको अवस्था बिग्रँदै गएको रिपोर्ट आईरहेको समयमा समाचारहको खण्डन गर्दै उक्त दावी गर्नु भएको हो । यसैबीच, अफगान अन्तरिम सरकारले देशमा थप अस्पताल र स्वास्थ्य क्लिनिकहरू निर्माण गरेर स्वास्थ्य क्षेत्रमा थप सुधार गर्ने प्रतिवद्धता अनुसार काम गरिरहेको उहाँले बताउनुभयो ।

आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : प्रमुख थपलिया

काठमाडौँ, २ फागुन : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताउनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको प्रतिक्रिया दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “राजनीतिक दलको आन्तरिक लोकतन्त्र व्यवस्थित गर्न र नियमको पालना हुन नसक्दा दलसम्बन्धी उजुरी, गुनासो तथा मुद्दा मामिला आयोग र न्यायिक निकायमा क्रमशः बढ्दै गएको छ ।”

मतदाता सार्वभौम सम्पन्न भएको र निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद वा बिक्री हुन्छ भन्ने कल्पनासम्म गर्न सकिन्न भन्दै प्रमुख आयुक्त थपलियाले मतदाता पैसामा बिक्री हुने वस्तु हो र ? भन्दै प्रतिप्रश्न गर्नुभयो ।

निर्वाचन प्रणाली आफैँमा सस्तो र महँगो नहुने हुँदा प्रणालीबारे आयोगको कुनै टीकाटिप्पणी नहरने उहाँको भनाइ थियो । मुलुकलाई समृद्ध र लोकतन्त्रलाई सुदृढ तुल्याउने जिम्मेवारीमा रहेका दलका कार्यकर्ता र उम्मेदवारहरुले निर्वाचनमा मरेका मानिसका नाममा मतदान गर्न प्रेरित गर्छन् भन्नेमा विश्वास गर्न नसकिने बताउनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने आयोगको चाहना रहेको बताउँदै प्रमुख थपलियाले लोकतान्त्रिक व्यवस्थाको निर्वाचनमा जाँदा राजनीतिक दलले आफ्ना एजेण्डा लिएर मतदातामा जानुपर्ने बताउनुभयो ।यसअघि बैठकमा सदस्यले पछिल्लो राष्ट्रपति निर्वाचनका अघिल्लो नजिरलाई बेवास्ता गरिएकाले गलत अभ्यास भएको प्रतिक्रिया दिनुभयो ।

निर्वाचनको मतपरिणाम विश्लेषणबाट अल्पमतले शासन गर्ने परिस्थिति बनेको बनाउँदै उहाँहरुले लोकतन्त्रमा व्यक्ति होइन, दलबीच प्रतिस्पर्धा हुने निर्वाचन प्रणाली उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । कतिपय सांसदले हालको निर्वाचन प्रणालीमा सुधार गरी कम खर्चिलो र सहज तुल्याउन आवश्यक रहेको सुझाव दिँदै उहाँहरुले दलहरुले आयोगसमक्ष प्रस्तुत गर्ने खर्चको परिमाण यथार्थपरक नरहेको टिप्पणी गर्नुभयो ।

निर्वाचन योगदान, निष्ठा, सिद्धान्त र मन जित्न हुनुपर्नेमा पैसा र प्रभावका आधारमा नतिजा उल्टाउने भएको बताउँदै सदस्यले संविधानको मर्मअनुसार अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चिता गर्नेतर्फ अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो ।

‘अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’

गण्डकी, २ फागुन : मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको आज पोखरामा आयोजित २१औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले उद्योगी, व्यवसायी बिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने बताउँदै उद्योगी, व्यवसायी सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उद्योगी, व्यवसायी पूजनीय व्यक्ति भएको उल्लेख गर्दै उहाँले विविध घटनाक्रमले उनीहरुलाई असर गरिरहेको पनि समस्याका बीच पनि व्यवसायलाई थेगिरहेको बताउनुुभयो ।

सम्पत्ति करको विषयलाई लिएर व्यवसायी मर्कामा परेको विषयमा आफू ज्ञात रहेको र यसका सम्बन्धमा पोखरा महानगरपालिका प्रमुखसँग छलफल गरिने बताउनुुभयो ।

गण्डकी प्रदेशका उद्योग सचिव कुमानसिंह गुरुङले उद्योगीका समस्याबारे आफूहरु जानकार रहेको बताउँदै मन्त्रालयबाट ‘रेफ्री’को काम हुनेमा ढुक्क हुन आग्रह गर्नुुभयो । मन्त्रालयले सहजीकरण गर्ने बताउँदै उहाँले प्राप्त सुझावलाई कार्यान्वयनको चरणमा लैजान तत्पर रहेको बताउनुुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले अहिलेको समयमा उद्योग सञ्चालन गर्न सजिलो नभएको बताउनुुभयो । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहीरा पाठकले राज्यका निकायको व्यवहार उद्योगी तथा व्यवसायी अनुकुल नभएको प्रतिक्रिया दिनुभयो ।

सङ्घका अध्यक्ष रुद्रलाल श्रेष्ठको पहलमा २०३१ सालमा स्थापना भएको पोखरा औद्योगिक क्षेत्रमा हाल विभिन्न सङ्घ, संस्था गरेर ८२ वटा छन् । जसमा ७६ वटा उद्योगमध्ये ७४ वटा सञ्चालनमा रहेका र दुई बन्द भएको उहाँले बताउनुुभयो । उहाँले औद्योगिक क्षेत्रमा तीन हजार जनाले रोजगारी पाएको समेत उल्लेख गर्नुभयो ।

सङ्घले क्षेत्रभित्र फोहर व्यवस्थापन, पक्की बाटो निर्माण, क्लिनिक तथा दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरिएको जनाएको छ ।

कार्यक्रममा उद्योग परिसङ्घ गण्डकीका अध्यक्ष विनोद शर्मा न्यौपाने, सङ्घका महासचिव फणीन्द्र शर्मालगायतले सरकारको उद्योगमैत्री नीति आवश्यक भएको बताउनुभयो ।

सचिवालय भवनको शिलान्यास

साधारणसभा पूर्वसङ्घको सचिवालय भवनको शिलान्यास गरिएको थियो । शिलान्यास औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले गर्नुुभयो । सो भवन रु एक करोड ५० लाख लागतमा निर्माण हुने सो अवसरमा जानकारी गराइयो ।

राजनीतिक नेतृत्व, कार्यकर्ताको भनाइ र गराइबीचको तादाम्यता कहीँकतै नमिलेजस्तो अनुभूति भइरहेको छ : सांसद घर्ती

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष एकताबद्ध हुन जरुरी छ । जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय प्रतिनिधिसभामा सांसद आफ्नो जिम्मेवारी बहन गर्न सदा तत्पर र अडिग रहनुपर्छ । राष्ट्र र जनता केन्द्रित भई सांसदले आफ्ना भूमिका निर्वाह गर्नुको विकल्प छैन ।

अहिले राजनीतिक नेतृत्व, कार्यकर्ताको भनाइ र गराइबीचको तादाम्यता कहीँकतै नमिलेजस्तो अनुभूति भइरहेको छ । हामी जे गर्न सक्छौँ, त्यही बोल्नुपर्छ । पछिल्लो समय सरकारले गरेका राम्रा कामलाई सम्मान गर्नैपर्छ । राम्रोलाई राम्रो भन्न हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन । पछिल्लो समय सरकार भ्रष्टाचारविरुद्ध जुन ढङ्गले अगाडि बढिरहेको छ त्यो निकै सराहनीय छ । सुशासन कायम गर्ने प्रयत्न गरिरहेको छ । जनतालाई सुशासनको अनुभूति दिलाउन सरकारमात्र नभई राजनीतिक दल, सरोकारवाला निकाय, सञ्चारमाध्यमलगायत एकजुट हुनु आवश्यक छ । राष्ट्रको हितमा एकताबद्ध भएमा मात्र सुशासन कायम गर्न सकिन्छ ।

एक वर्षको समीक्षा गर्दा यो अवधिलाई मैले सिकाइका रूपमा लिएको छु । संसद्भित्र सांसदको मुख्यतः दुईवटा अभिभारा रहेको हुन्छ । एउटा विधेयक निर्माणमा सहभागी हुनु र अर्को विकास निर्माणका काममा सहजीकरण गर्नु । निर्वाचनका अवधिमा मतदातासमक्ष विकास निर्माणका सन्दर्भमा व्यक्त गरेका प्रतिबद्धता पूरा गराउनेतर्फ अग्रसर हुने दायित्व पनि हामीमाझ छ । कानुन निर्माण प्रक्रियामा सांसदको अनिवार्य उपस्थिति रहन्छ । तर अघिल्लो अधिवेशनमा विधायिकी काममा अलि कम ध्यान पुग्यो कि भन्ने मलाई लागेको छ ।

संसद्को चालु हिउँदे अधिवेशन विधेयक अधिवेशनको रूपमा सफल होस् । संसद्लाई पर्याप्त काम (बिजनेस) दिने सरकारको दायित्व हो । यसमा सरकार कति सफल हुन्छ पर्ख र हेरको अवस्थामा छौँ । सङ्घीयता कार्यान्वयन, सङ्क्रमणकालीन न्यायजस्ता महत्त्वपूर्ण विधेयकमाथिको छलफललाई प्रभावकारी बनाउन सांसदले अध्ययन, अनुसन्धानलाई सशक्त बनाई थप क्रियाशील हुन आवश्यक छ ।

जनताका आवाजलाई मुखरित गर्ने थलो हो संसद् । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुग्दासमेत हाम्रो काम गर्ने तौरतरिका पुरानै ढाँचाको देख्छु । कतिपय सन्दर्भमा संसद्प्रति सरकारको जवाफदेहिताको कमी भएको छ । प्रतिपक्षको भूमिकामा समेत केही कमी–कमजोरी रहेका छन् । संसद्लाई प्रभावकारीरूपमा सञ्चालन गर्न सांसद आफ्नो भूमिकाप्रति संवेदनशील बन्नुपर्यो । जनताले निर्वाचित गरेका जनप्रतिनिधि कानुन निर्माणसँगै जनताका समस्यालाई नजिकबाट बुझ्ने प्रयास पनि गर्नुपर्छ ।

पछिल्लो समय अध्ययन तथा रोजगारीका लागि युवाको विदेश पलायन भयावह छ । मुलुकका युवा जनशक्तिको व्यवस्थापन गर्न सरकारले ठोस नीति र कार्यक्रम ल्याउन ढिला गर्नु हुँदैन । राजनीतिक परिवर्तनसँगै युवालाई देशभित्रै सोहीअनुरुपको वातावरण सिर्जना गर्न सकेनौँ । प्रचुर सम्भावना रहेको कृषि, व्यावसायिक काममा जनतालाई आकर्षित गर्न सकेनौँ । कृषिप्रधान देशमा समृद्ध नेपालको सपनालाई साकार गर्न कृषि नीतिले वास्तविक किसानलाई प्रवर्द्धन गर्न सकेको छैन । कृषि नीतिलाई मात्र नयाँ आधारमा समसामयिक बनाउन सकेमा मात्र केही हदसम्म युवालाई देशभित्रै काममा उन्मुख गराउन मद्दत पुग्दछ । बाह्य मुलुकमा बगाएको नेपाली पसिना स्वदेशमा सदुपयोग गर्न कृषि क्षेत्रलाई आधुनिकीकरण गरी व्यवसायिकतातर्फ उन्मुख गराउन आवश्यक छ ।

सङ्घीयताले जन्माएको कान्छो जिल्ला रुकुमपूर्व हो मेरो निर्वाचन क्षेत्र । यो धरातलीयरूपमा हिमाली जिल्ला र भौगोलिक हिसाबले विकट जिल्लाको रूपमा चिनिन्छ । निर्वाचनको समयमा जनतामाझ यस क्षेत्रको विकास र समृद्धिका लागि गरेका वाचालाई साकार पार्ने अनुकूल वातावरण निर्माण हुनसकेको छैन । मुलुकको भौगोलिक बनावटअनुसार नीति–निर्माण गरी कार्यान्वयन गर्नुपर्ने हो तर तराईका फाँटमा लागू हुने विद्यालयका मापदण्ड, विकासका मानकहरू हिमाली जिल्लालाई पनि सोही आधारमा मापन गरिन्छ, जुन निकै अव्यवहारिक छ ।

मेरो निर्वाचन क्षेत्रले प्रशासनिक सङ्घीयता अझै पनि प्राप्त गर्न सकेको छैन । राजनीतिक सङ्घीयता ल्याएका छौँ । प्रशासनिक सङ्घीयता पूर्णरूपमा अझै पनि ल्याएका छैनौँ । रुकुमपूर्वको ३१ वडामध्ये करिब २२ वडामा सचिव छैनन् । अझै कर्मचारी व्यवस्थापन गर्न सकिराखेका छैनौँ । केही पालिकामा कार्यकारी अधिकृत नै छैनन् ।

जो मन्त्री भयो उसैको जिल्लामा विकास निर्माणका कामलाई तीव्रता दिने संस्कार अझै पनि हामीले तोड्न सकेका छैनौँ । यस क्षेत्रका जनताले विकास निर्माणको जुन अपेक्षा गरेका थिए । सोहीअनुरुपको बजेट विनियोजन हुनसकेको छैन । अपेक्षा गरौँ आगामी दिनमा यस्ता समस्या निराकरण हुँदै जानेछन् । विधायिकी कामको सिलसिलामा मेरो भूमिकाप्रति मतदाता सन्तुष्ट छन् भन्ने अपेक्षा छ ।

-सांसद पूर्णबहादुर घर्तीसँग सीता भट्टराईले गरेको कुराकानीको सम्पादित अंश

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग

लुम्बिनी (मर्चवार), २ फागुन ः बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।

लुम्बिनी बचाउ सङ्घर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ । समितिले मायादेवी मन्दिर लगायत अन्य स्थानबाट हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको जनाएको छ । समितिले लुम्बिनी विकास कोषलाई हालै बुझाएको १९ बुँदे ज्ञापनपत्रमा विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिवसहितका पदाधिकारी र दुईजना सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्न समेत माग गरेको छ । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका सङ्घीय सांसद र प्रदेशसभा सदस्य विधानतः पदेन सदस्य हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

समितिले मायादेवी मन्दिरको स्वरूप र संरचना परिवर्तन नगर्ने तथा गुरुयोजनाविपरीतका अनधिकृत संरचना तत्काल हटाउन माग गरेको छ । त्यसैगरी मायादेवी मन्दिरभित्र नित्य पूजा, सन्ध्या आरती तथा दीप प्रज्ज्वलन कार्यक्रमलाई निरन्तरता दिन र मन्दिर दर्शन–अवलोकनका लागि शुल्क नलाग्ने व्यवस्था तत्काल मिलाउन समितिले कोष समक्ष आग्रह गरेको छ ।

शान्तिपूर्ण धर्मसभा, प्रवचन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने खालका कार्यक्रम गर्न पाउने कार्यविधि यथाशीघ्र बनाई अन्तर्राष्ट्रिय सभाहललाई सञ्चालनमा ल्याउन तथा कोषको गुरुयोजनामा उल्लेख भएअनुसार कोष परिसरभित्र एक विद्यालय, एक सुविधासम्पन्न अस्पताल र एक बगैँचाको तत्काल निर्माण थालनी गर्न समितिले माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “ मायादेवी मन्दिरलाई बिहान ५ देखि बेलुका १० बजेसम्म खुला राखिनुपर्छ । पण्डित गङ्गाप्रसाद पाण्डे विगतमा पुस्तौँपुस्तादेखि मायादेवी मन्दिरको पूजापाठ गर्दै आएकामा निजका सन्तानलाई एक स्थान सुरक्षित राख्नु पर्दछ । कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइनुपर्दछ र लामो समय काम गरेका कर्मचारीलाई स्थायी बनाउनु पर्दछ ।”

लुम्बिनी अधिग्रहणमा परेका किसानलाई परिचयपत्रको व्यवस्था गर्न, बँदेल निलगाईलगायतका जीवजन्तुबाट भएको बालीनालीको क्षतिपूर्ति प्रदान गर्न , एसियाली विकास बैंकबाट अनुदानमा प्राप्त विद्युतीय बस तथा भ्यान आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यथाशीघ्र सञ्चालन गर्न तथा गेट नं ४ र ५ को बीचमा साना सवारी राख्ने उद्यान निर्माण गर्न सिमल, पिपल, वर, आदिको संरक्षण गर्न, लुम्बिनीमा अहिलेसम्ममा उत्खननका क्रममा भेटिएका ३९ भन्दा बढी मूर्ति तथा अमूल्य पुरातात्विक वस्तुको अभिलेख राख्न समितिले कोषसमक्ष माग राखेको छ ।

पाल्पा जीप दुर्घटना : मृतक १० जनाको सनाखत

रामपुर (पाल्पा), २ फागुन : पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन ।

तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलवार साँभm दुर्घटना भएको थियो । आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन् ।

यसैगरी तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरालाई आगामी चैतभित्रमा पर्यटकीय राजधानी घोषणाको तयारी

गण्डकी, २ फागुन : “विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ, नजिकको सरकार भएका कारण त्यो अनुभूति जनताले गर्न पाएको हो नि ।” मङ्गलबार पोखरामा आयोजित परिसंवाद कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भन्नुुभयो । गण्डकी प्रदेश सरकार स्थापना दिवसका पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नीति तथा योजना आयोग र नेपाल पत्रकार महासङ्घ कास्कीको संयुक्त आयोजनामा परिसंवाद गरिएको थियो । यही फागुन ४ मा प्रदेशले आफ्नो स्थापनाको छैटौँ वर्ष पूरा गर्दैछ ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पोखरालाई आगामी चैतभित्रमा पर्यटकीय राजधानी घोषणाको तयारी गरिएको जानकारी दिनुुभयो । फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गरिने जनाउँदै उहाँले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि चीन र भारतबाट आएका अधिकारीसँगको भेटमा सहजीकरण गर्न आग्रह गरिएको बताउनुुभयो ।गाँजाखेतीलाई वैधता दिन तथा स्थानीय रक्सी ‘ब्रान्डिङ’ गर्न प्रदेश सरकार लागिपरेको जनाउँदै मुख्यमन्त्रीले भन्नुुभयो, “लोकल मदिरा बनाउन लुक्नुपर्ने, अन्य ब्राण्डका रक्सी बनाउन लुक्नुनपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “गुणस्तर नभए गुणस्तर कायम गरौँ । साधारण जनजीविका चलाएका मानिस सानो भए पनि आयआर्जन गर्न सक्छन् ।”प्रदेशलाई आत्मनिर्भरतातिर लैजानुपर्ने बताउँदै उहाँले पञ्चवर्षीय योजनाको उद्देश्य पनि आत्मनिर्भरता नै केन्द्रित रहेको धारणा राख्नुुभयो । आवश्यकता आधारमा बजेट विनियोजनका लागि आयोजना बैंक स्थापनाको तयारी पनि भइरहेको उहाँले जानकारी दिनुुभयो ।परिसंवादमा मुख्यमन्त्री पाण्डेसहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घ पूर्वअध्यक्ष आनन्दराज मुल्मी र प्रा डा चन्द्रा भद्रा वक्ताका रूपमा रहनुुभएको थियो भने सहजीकरण नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारी र पत्रकार वासुदेव मिश्रले गर्नुुभएको थियो ।कार्यक्रममा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री अधिकारीले मुुलुकमा तीन तहको सरकार अगाडि बढेकामा केही कमीकमजोरी पनि भएको स्वीकार गर्नुुभयो । दलीय व्यवस्थामा दलहरूको प्रतिबद्धता हुने बताउँदै उहाँले गठबन्धनका कारण संविधानमाथि गम्भीर प्रहार भएको बताउनुुभयो । सुरुमै गठबन्धन गरेर घोषणापत्र ननिकाल्नु गलत भएको उहाँको भनाइ छ ।नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष मुल्मीले मुलुकले उपलब्धि गरेका कुरा कसरी संस्थागत गर्ने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै उहाँले आफ्ना नागरिकको जीवनस्तर वृद्धिका लागि सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुुभयो । ठूूलाठूूला आयोजना सम्पन्न गर्न प्रदेशको सामथ्र्य नभएको उल्लेख गर्दै उहाँले प्रदेशको आवश्यकता र अपेक्षा पूरा गर्न दबाब दिनुपर्नेमा जोड दिनुुभयो ।प्रा डा भद्राले गण्डकीले जनतालाई निराश नहुनेगरी असल कार्य गरेर देखाउन सक्नुपर्ने सुझाव दिनुुभयो । महिलाको नेतृत्वमा प्राविधिक र व्यावसायिक सेवा दिनुपर्ने उहाँको भनाइ छ ।उक्त अवसरमा प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि सार्वजनिक गर्दै दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटेको बताउनुुभयो । प्रथम पञ्चवर्षीय योजनाले समावेशी, सन्तुलित र दिगो आर्थिक सामाजिक गन्तव्य पहिचान गरेको, सुखद् देखिएका उपलब्धि टिकाउने, सन्तोषजनक देखिएका लक्ष्यमा थप लगानी गर्ने र कमजोर सूचक हस्तक्षेप गर्ने नीति आवश्यक रहेको उहाँको भनाइ छ ।

खाँदबारी–नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम

किमाथाङ्का (सङ्खुवासभा) – सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर–दक्षिण कोशी सडक आयोजनाले अनुसार किमाथाङ्का–रानी सडकको सो खण्डमा ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।

उनान्चालीस किलोमिटर कालोपत्रका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो । तीन खण्डमध्ये पहिलो खण्ड खाँदबारी लभिङहिल–थामसेर्कुेसम्म ३६ प्रतिशत , दोस्रो थामसेर्कुे–कप्तानेसम्मको २२ प्रतिशत र तेस्रो खण्ड कप्तानेबाट नुमसम्म २४ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताउनुभयो ।

रु एक अर्ब २८ करोडमा कालोपत्रको जिम्मा शर्मा शिवशक्ति जेभीले पाएको थियो । कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काममात्रै गरेको छ । ठेक्का सम्झौता गर्दा माइलस्टोनसम्बन्धी व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार ठेक्का सम्झौता १२ महिना अवधिभित्र ३० प्रतिशत ठेक्का सम्झौता रकमबराबरको वित्तीय प्रगति हासिल गर्नुपर्ने प्राबधान रहेको जनाइएको छ । सम्झौताअनुसार वित्तीय प्रगति नगरेको जनाउँदै उत्तर–दक्षिण कोशी सडक आयोजनाले दिनको रु दुई लाख ५५ हजार जरिवाना समेत सो निर्माण कम्पनीलाई तिराएको छ ।

समयसीमाअनुसार काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँग आयोजनाले करिब रु ७० लाख जरिवाना तिराएको सूचना अधिकारी जिरेलले बताउनुभयो । खाँदबारीबाट चीनको सीमावर्ती किमाथाङ्कासम्म सडकको लम्बाइ एक सय ६२ किलोमिटर छ । उत्तर–दक्षिण कोशी योजनाले ट्रयाक खुलेको एक सय ३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो । निर्माण कम्पनीले २०८१ असारसम्ममा ३९ किलोमिटर सडक कालोपत्र गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्मको प्रगति हेर्दा समयमा काम नसकिने देखिन्छ ।

उपराष्ट्रपति यादवद्धारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

काठमाडौँ, २ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त श्रवण र सरस्वती पूजाले सिङ्गो मानव जीवनमा सधैँ ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस दिनले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाइ देशलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भन्नुभएको छ ।

उपराष्ट्रपति यादवले सन्देशमा देशमा सामाजिक तथा धार्मिक एकता एवं सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै लगेको उल्लेख गर्नुभएको छ ।वसन्त पञ्चमीलाई सबै पुण्य कार्यका लागि शुभ मानिने जनाउँदै उहाँले यस शुभ अवसरलाई सबैले आ–आफ्नो नकारात्मक सोच र मानसिकता परित्याग गर्दै आफूभित्र सकारात्मकता भर्ने महत्वपूर्ण तिथिका रुपमा मनाउन सक्नुपर्ने बताउनुभएको छ । “यो वसन्त ऋतुको आगमन हुने दिन पनि भएकाले आफ्नो जीवनमा सदाचार र मेलमिलापको गुण आत्मसात् गर्न सक्नु पर्दछ”, उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।वसन्त पञ्चमी हिन्दू, बौद्ध र मुस्लिम धर्मावलम्बीको त्रिवेणी उत्सवरुपमा पाइएको उल्लेख गर्दै उहाँले आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृङ्खलता बिर्सेर परस्पर खुसी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।देशभर आंशिक देखि साधारणतया बदली रहको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

सात महिनामा पाँच लाख ५० हजारले पाए ‘अनलाइन’ बाट प्रहरी चारित्रिक प्रमाणपत्र

काठमाडौँ- नेपाल प्रहरीले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा पाँच लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । गत साउनदेखि माघसम्मको अवधिमा सात लाख १० हजार नौ सय ४४ नेपाली तथा विदेशी नागरिकबाट अनलाइन आवेदन प्राप्त भएका थिए । प्राप्त आवेदनमध्ये एक लाख ४४ हजार दुई सय १२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार छ सय ७२ आवेदन कार्यान्वयनको क्रममा रहेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरी रिपोर्टसम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दै आएको छ । उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत रहेको छ । विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आवेदन प्राप्त भएको पाँच दिनभित्रमा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउँदै आएको बताउनुभयो ।

इरानद्वारा जहाजमा आधारित लामो दूरकिो ब्यालेस्टिक मिसाइल प्रक्षेपण

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) ले मङ्गलबार पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ ।

नौसैनिक युद्धाभ्यासका क्रममा शाहिद महदवीबाट प्रक्षेपणमा एक हजार सात सय किलोमिटर टाढासम्मको लक्ष्यमा आक्रमण गर्न सक्षम दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो । “आइआरजिसीले पहिलो पटक ओमानको खाडीमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ”, सरकारी टेलिभिजनले भनेको छ ।

आइआरजिसी प्रमुख होसेन सलामीले भन्नुभयो, “युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइलको प्रक्षेपण सफलतापूर्वक गरिएको छ ।”अलगरूपमा सरकारी टेलिभिजनको रिपोर्टअनुसार मध्य इरानमा आइआरजिसीले तेलअविवको दक्षिणमा इजराइलको पाल्माचिम एयरबेसमा सतहदेखि सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल आक्रमणको अनुकरण गरेको छ । रिपोर्टमा पाल्माचिम इजराइलमा ‘एफ–३५ लडाकू विमानको मुख्य आधार’ रहेको बताइएको छ ।

अक्टोबर ७ मा इजराइल–हमास युद्ध बढेपछि इरानी सैन्य अभ्यास बढ्दो क्षेत्रीय तनावको समयमा भइरहेको छ । इस्लामिक गणतन्त्र इरानले इजराइललाई मान्यता दिँदैन र लामो समयदेखि इजराइलविरुद्ध हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेको छ ।

तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । पश्चिमी सरकारहरूले इरानको मिसाइल कार्यक्रमलाई लिएर बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् ।

व्यापार सम्बन्ध सृदृढ बनाउन भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमण

मध्यपूर्वमा सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण सुरु गर्नुभएको छ ।

मोदीको दुई दिवसीय भ्रमणको प्रारम्भमा दुवै सरकारले प्रमुख व्यापार र यातायात मार्गमा फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका छन् । मोदीको पछिल्लो आठ महिनामा यो तेस्रो युएई भ्रमण हो । उहाँको यो भ्रमण अप्रिलमा सुरु हुने भारतको राष्ट्रिय निर्वाचनअघि भएको हो ।

राजधानी अबुधाबीमा एउटा सामुदायिक कार्यक्रममा हजारौँ प्रवासीहरूलाई सम्बोधन गरेको एक दिनपछि बुधबार उहाँले यस क्षेत्रको सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । युएईमा रहेका भारतीयहरूले विदेशबाट मतदान गर्न नपाउने भए पनि यो भ्रमण मुख्यरूपमा प्रवासी भारतीयहरूलाई प्रेरित गर्नेमा केन्द्रित रहेको विशेषज्ञहरूले बताएका छन् । युएईमा करिब ३५ लाख भारतीय रहेका छन् । उनीहरू खाडी देशको सबैभन्दा ठूलो आप्रवासी समुदाय हुन् ।

भारतीय विदेश मन्त्रालय तथा स्थानीय सरकारी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीले मङ्गलबार युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेट गर्नुभयो । पछिल्लो आठ महिनामा उहाँको यो पाँचौँ भेट हो । उहाँहरूले द्विपक्षीय लगानी सन्धि, २०२२ मा हस्ताक्षर भएको बृहत् आर्थिक साझेदारी सम्झौतामा निर्माणलगायत धेरै सम्झौतामा हस्ताक्षर गर्नुभएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

उहाँहरूले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरमा ‘अन्तरसरकारी ढाँचा सम्झौता’ मा पनि हस्ताक्षर गर्नुभएको छ । यो एक जहाज–देखि–रेल ट्रान्जिट नेटवर्क हो र यो विद्यमान सामुद्रिक र स्थल मार्गमा पूरक हुनेछ ।सेप्टेम्बरमा नयाँदिल्लीमा जी२० शिखर सम्मेलनका अवसरमा पहिलोपटक आधुनिक स्पाइस रुटको महत्त्वाकांक्षी योजनाको घोषणापछि आएको सम्झौताका बारेमा मन्त्रालयले विस्तृत जानकारी दिएको छैन ।

तीन दशकमा कुनै पनि भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमणका रूपमा मोदीले सन् २०१५ मा युएईको ऐतिहासिक भ्रमण गर्नु भएपछि सम्बन्ध विस्तारै गहिरो हुँदै गएको छ । सन् २०२२ र सन् २०२३ को बीच करिब ८५ अर्ब डलरको द्विपक्षीय व्यापारका साथ युएई भारतको तेस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।

पछि मङ्गलबार मोदीले अबुधाबीको जायेद स्पोर्ट्स सिटी रङ्गशालामा ठूलो भीडलाई सम्बोधन गर्नुहुने अपेक्षा गरिएको थियो । आयोजकहरूले उक्त रङ्गशालामा प्रवेश गर्नका लागि ६० हजार प्रवासी भारतीयले दर्ता गरेको बताएका छन् ।

मोदी एन्ड द रिइन्भेन्सन अफ इन्डियन फरेन पोलिसी पुस्तकका लेखक इयान हलले भन्नुभयो, “मोदीका लागि यो भ्रमण प्रवासी भारतीयमाथि केन्द्रित हुनेछ ।”

गृह मन्त्रालयद्वारा एकीकृत सूचना प्रणाली विकास गर्न गठित कार्यदलले काम थाल्यो

काठमाडौँ-गृह मन्त्रालयद्वारा आपतकालीन सेवाका लागि एकीकृत सूचना प्रणालीको विकास गर्न गठित कार्यदलले काम थालेको छ । आपतकालीन अवस्थामा परेका व्यक्तिले आफूसँग रहेको सञ्चारसाधन प्रयोग गरी केन्द्रीय प्रणालीमा सूचना दिने र आवश्यक आपतकालीन सेवा लिन सक्नेगरी एकीकृत सूचना प्रणाली विकास गर्न सरकारले एक हप्ताअघि कार्यदल गठन गरेको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।कार्यदलले पहिलो बैठक बसेर सूचना प्रणाली, कानुनी आधार, विभिन्न निकायले गरिरहेका अभ्यासलगायत विषयमा छलफल गरी कार्यअघि बढाएको संयोजक पाण्डेले जानकारी दिनुभयो । कार्यदलमा गृह, स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि, सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालयका साथै नेपाली सेना, सशस्त्र प्रहरीका एक÷एक र नेपाल प्रहरीका दुई जना प्रतिनिधि रहेका छन् । सूचना तथा सञ्चार विज्ञका हैसियतले विजय गौतम पनि सदस्य हुनुहुन्छ ।तत्कालका लागि एम्बुलेन्स, प्रहरी सेवा र दमकल सेवालाई एकीकृत रुपमा उपलब्ध गराइने गरी प्रणालीको विकास गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बर प्रयोगमा छन् ।उक्त प्रणालीअन्तर्गत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ । तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने गृह मन्त्रालयले जनाएको हो ।नयाँ सेवा सुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन् । केन्द्रीय सूचना प्रणालीले प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ । आपतकालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणालीसमेत प्रयोगमा ल्याइने जनाइएको छ ।

स्मारक विवादमा रुसद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई ‘वान्टेड’ घोषणा

सोभियत युगको युद्ध स्मारकहरू ध्वस्त पार्ने कथित संलग्नतामा रुसले मङ्गलबार इस्टोनियाली नेता काजा कालास र अन्य धेरै युरोपेली अधिकारीहरूलाई ‘वान्टेड’ घोषणा गरेको छ ।केही लाल सेनाको स्मृतिमा समेत रहेका स्मारकहरू लामो समयदेखि इस्टोनिया, लाटभिया र लिथुआनियामा विवादास्पद थिए । धेरैले ती स्मारकलाई सोभियत कब्जामा रहेको आफ्नो समयको प्रतीकका रूपमा हेरेका थिए ।

सन् २०२२ मा युक्रेनमा रुसको पूर्णस्तरको आक्रमणको जवाफमा तीन बाल्टिक राज्यले ती स्मारकमध्ये केहीलाई हटाउन र ध्वस्त गर्न थालेपछि मस्कोमा आक्रोश बढेको थियो ।

रुसले ‘सोभियत सैनिकहरूको स्मारकहरू विनाश’ को जवाफमा धेरै मानिसलाई आफ्नो वान्टेड सूचीमा सामेल गरेको बताएको छ । “नाजीवाद र फासीवादबाट विश्वको मुक्तिदाताहरूको स्मृतिविरुद्धको अपराधलाई सजाय दिनुपर्छ र यो सुरुआत मात्र हो”, विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोभले भन्नुभयो ।

वान्टेड घोषणा गरिएका व्यक्तिहरूले ‘ऐतिहासिक स्मृति’ र रुसविरुद्ध शत्रुतापूर्ण कारवाही गरेको क्रेमलिनले बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूसँग भन्नुभयो, “यी ती मानिस हुन् जो ती निर्णयका लागि जिम्मेबार छन्, ती निर्णय वास्तवमै ऐतिहासिक स्मृतिको दुरुपयोग हो ।”

वान्टेड सूचीमा थपिएकाहरूमा इस्टोनियाली राज्य सचिव तैमर पिटरकोपका साथै पोल्यान्डको इन्स्टिच्युट अफ नेसनल रिमम्बरेन्सका प्रमुख कारोल नारोकी पनि सामेल हुनुहुन्छ । सूचीमा सामेल गरिएका लिथुआनियाली संस्कृतिमन्त्री साइमनस काइरिसले रुसमाथि तथ्यहरूलाई विकृत गरेको आरोप लगाउनुभयो ।

“शासन त्यसैले गरिरहेको छ जसले सधैँ गर्दै आएको छ ः उसले स्वतन्त्रताको घाँटी रेट्ने प्रयास गरिरहेको छ र तथ्य वा तर्कसँग बाझिएको आफ्नै संस्करण बनाउन जारी राखेको छ”, उहाँले भन्नुभयो ।यस कदमले रुस र बाल्टिक मुलुकहरूबीचको सम्बन्ध थप बिग्रिएको सङ्केत गर्दछ । यी सबै बाल्टिक राज्य अहिले युरोपेली सङ्घ (इयु) र पश्चिमी नेतृत्वको नाटो सैन्य गठबन्धनका सदस्य हुन् । रुसले सन् २०२३ मा इस्टोनियासँगको आफ्नो कूटनीतक सम्बन्ध घटायो र बाल्टिक मुलुकमाथि ‘पूर्ण रुसोफोबिया’ को आरोप लगाउँदै उक्त देशका राजदूतलाई रुस छाड्न आदेश दियो ।

युक्रेनमा द्वन्द्वलाई लिएर सबै तीन बाल्टिक राज्य इस्टोनिया, लाटभिया र लिथुआनियाले पहिले नै रुसी कूटनीतिज्ञहरूलाई आफ्ना मुलकबाट निष्कासित गरेका थिए । सोभियत सङ्घको पतनका क्रममा स्वतन्त्रता प्राप्त भएपछि मस्कोसँग उनीहरूको सम्बन्ध तनावपूर्ण रहेको छ । उनीहरूले रुसलाई सधैँ कब्जाकारी शक्तिका रूपमा हेरेका थिए ।

सोभयत युगमा बनाइएका सयौँ स्मारक लामो समयदेखि तीन मुलुकमा संवेदनशील विषय बनेका थिए । युक्रेनमाथि रुसको आक्रमणका कारण ती स्मारकलाई हटाउनका लागि व्यापक दबाब दिइयो । उक्त द्वन्द्वले रुससँग सम्भावित सशस्त्र टकरावको आशङ्कासमेत बढाएपछि तीनै बाल्टिक राज्यले आफ्नो सेनामा खर्च बढाउँदै सीमा सुरक्षा सुदृढ बनाए । तीनै मुलुकमा ठूलो सङ्ख्यामा रुसी अल्पसङ्ख्यक बस्छन् । उनीहरू मस्कोसँग तनावको केन्द्र बनेका छन् ।

नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने ,एकतर्फी भाडा आठ हजार पाँच सय कायम

नेपालगञ्ज (बाँके)-नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने भएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिनुभयो । यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष सिग्देलले यति एअरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रुपमा रु आठ हजार पाँच सय भाडा कायम भएको जानकारी दिँदै उडान अवधिको समय १ः३० निर्धारण गरिएको बताउनुभयो । उहाँका अनुसार विभिन्न सरोकारवाला सङ्घसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि रु ३० लाख खर्च हुने अनुमान गरिएको छ ।

“अहिले हामीले बाटो देखाउने कोसिस मात्रै गरेका छौँ”, अध्यक्ष सिग्देलले भन्नुभयो, “यसबाट पर्यटकको चहलपहल बढ्ने छ । साथै नेपालगञ्जको बजार चलायमान हुएर यहाँको व्यापारव्यावसाय गतिशील बन्दै जानेछ ।”

भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । उहाँले पर्यटन प्रवर्द्धनका लागि हवाइमार्गसँगै नेपालगञ्ज–अयोध्या अत्याधुनिक बस सेवा सञ्चालन गर्न आवश्यक रहेको भन्दै यसबाट नेपालगञ्जको वास्तविक समृद्धि हुने बताउनुभयो ।

“भारतको अयोध्याबाट नेपालगञ्ज सबैभन्दा नजिकको सहर हो । नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलिमिटरको दूरीमा रहेको छ”, उहाँले भन्नुभयो । नेपालका सबै पर्यटकीयस्थललाई जोडन हवाई मार्ग प्रभावकारी हुने भएकाले हवाई कनेक्टीभिटी पर्यटनको लागि सबैभन्दा सहज माध्यम भएको अध्यक्ष सिग्देलले बताउनुभयो ।

नागरिक अभियन्ता तथा अधिवक्ता विश्वराज तिवारीले हवाई मार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताउनुभयो । उहाँले भारत र नेपालीबीचको सम्बन्ध थप बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि सहज हुने बताउनुभयो । नेपालगन्जमा बागेश्वरी मन्दिर बाहेक नेपालगञ्जमा अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत छन् । करिब एक महिनाअघि नेपालगञ्ज–जनकपुर हवाई उडान सम्बन्धमा राससले समाचार लेखेको थियो ।

काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत

काठमाडौँ- खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत रहेको बताउनुभएको छ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी उपलब्ध गराउन विभिन्न स्थानीय तहमा रहेका पानीको स्रोत खोजीको प्रयास भइरहेको बताउनुभयो ।

“काठमाडौँ उपत्यकामा दैनिक ५१ करोड लिटर पानीको माग छ । हाल १७ करोड लिटरमात्र उपलब्ध गराउन सकिरहेका छौँ”, मन्त्री यादवले भन्नुभयो । काठमाडौँवासीलाई स्वच्छ पानी उपलब्ध गराउनका लागि स्थानीय सरकारले स्थानीय स्तरमा पानीको स्रोत पहिचान तथा खोजी गरी संरक्षण गर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

खानेपानीमन्त्री यादवले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनःसंरचना आवश्यक रहेको बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष बितिसक्दा पनि पर्याप्त पानी उपत्याकामा ल्याउन नसकिएको ।

भौतिक संरचना, प्राविधिक जनशक्ति, आवश्यक उपकरणलगायत अभावका कारण मेलम्ची खानेपानी आयोजनाले निरन्तरता पाउन नसकेको मन्त्री यादवको भनाइ थियो । उहाँले जलवायु परिवर्तनको कारण मुलुकका हिमाल पग्लने, पानीका मुहान तथा खोला सुक्ने समस्या देखिएको बताउनुभयो । जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावले खानेपानीको उपलब्धतामा चुनौती थपिँदै गएको उहाँको भनाइ थियो ।
 

मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा म क्रियशील रहनेछु – कांग्रेस नेता भण्डारी

पाटन (ललितपुर) – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताउनुभयो । उहाँले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँलाउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गर्नुभयो ।

विकाससँगै उपयोगिताबारे आमजनतामा जनचेतना फैलाउनुपर्ने भण्डारीको भनाइ थियो । “हामीले गरेको विकास जनतासम्म पुगेको छ । अब त्यसको उपयोगका बारेमा जनचेतना जगाउन आवश्यक छ । विकासको सही तरिकाले सदुपयोग नहुँदा यस्ता समस्या उत्पन्न भइरहेका छन्”, उहाँले भन्नुभयो ।

आगलागी, भूकम्प, बाढीपहिरोलगायत भवितव्यसम्बन्धी सुरक्षा सावधानीका विषय पाठ्यक्रममा नै समेटिनुपर्नेमा नेता भण्डारीले जोड दिनुभयो । सङ्घीय सरकारले जनलसम्बन्धी उपचार गर्ने गुणस्तरीय अस्पताल बनाउनुपर्ने भन्दै ललितपुर महानगरका प्रमुख, काठमाडौँका महानगरका प्रमुखलगायत मिलेर योजना अगाडि सानुपर्ने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले ३० देखि ४० प्रतिशतसम्मको जलनको मुलुकमा उपचार सम्भव नहुनु दुखद भएको बताउनुभयो । अहिले संसद्मा भवितव्यका पीडितलाई राज्यले उपचारको जिम्मेवारी लिनुपर्ने गरी कानुन निर्माण गर्न लागिपरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, स्व विप्लव अधिकारीका पिता ठाकुरनाथ अधिकारीलगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

राष्ट्रपति पौडेलद्धारा सरस्वती पूजा एवं वसन्त पञ्चमीको शुभकामना

काठमाडौँ, २ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताउनुभएको छ । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै राष्ट्रपति पौडेलले आजका दिन आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उल्लेख गर्नुभएको छ ।

“सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ”, राष्ट्रपति पौडेलले शुभकामना भन्नुभएको छ । उहाँले वसन्त पञ्चमी पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

आजका दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइने उल्लेख गर्दै उहाँले वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै

काठमाडौँ, २ फागुन : आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।
विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ ।

हेर्नुहोस् फाल्गुण २ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

बृष राशि – खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ ।

मीथुन राशि – प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

कर्कट राशि- परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।

सिंह राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

कन्या राशि – वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।

तुला राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशि- यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।

धनु राशि- प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

मकर राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि – बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।

‘रणनीतिक विन्दुमा रहेको नेपालले होसियारीपूर्वक कदम चाल्नुपर्छ’ : नेता खनाल

काठमाडौँ, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको बताउनुभएको छ ।

पार्टी विदेश विभागको आज भएको बैठकमा उहाँले छिमेकी भारत, चीन तथा पश्चिम एसिया मामिलामा नेपालले असन्तुलित नीति अपनाइरहेको आरोप लगाउनुभयो । पार्टी विदेश विभाग प्रमुख खनालले नेपाल भूराजनीतिक संवेदनशीलता र रणनीतिक विन्दुमा रहेकाले होसियारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिनुभयो । अर्काे एक प्रसङ्गमा पूर्वप्रधानमन्त्रीले समाजवादी मार्ग अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने र ‘समाजवादी लोकतन्त्र’ का माध्यमबाट मुलुकलाई समृद्ध बनाउनुपर्ने विचार व्यक्त गर्नृुभयो ।

त्यस अवसरमा पार्टी उपाध्यक्ष प्रमेश हमालले चीन जस्ता समाजवादी देशले गरेको विकासबाट हामीले पनि सिक्नुपर्ने बताउनुभयो । पार्टी उपमहासचिव विजय पौडेलले सरकारले भारतसँग गरिएको जलस्रोतसम्बन्धी सम्झौताका कागजात उपलब्ध गराउनुपर्ने र त्यसलाई प्रतिनिधिसभाको दुई तिहाइले पारित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।विभागका सचिव शङ्कर खतिवडाले विश्वमा बढिरहेको युद्ध र अशान्तिको प्रवृत्तिबारे छलफल गर्न आवश्यक भएको बताउनुभयो ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रेष्ठसहित दुई नेता एमाले प्रवेश

काठमाडौँ, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शङ्करनारायण श्रेष्ठलाई आज नेकपा एमालेमा प्रवेश गराउनुभएको छ ।

अध्यक्ष ओलीले फेरि आफ्नै घर फर्किएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै उहाँहरूलाई धन्यवाद पनि दिनुभयो । “तपाईंहरु त्यहाँ बसिरहेको भए आफ्नो र पार्टीमा खासै प्रगति हुँदैनथ्यो तर देशका लागि अहित पनि हुँदै जान्थ्यो”, ओलीले भन्नुभयो । पुरानो पार्टीमा फर्केका नेताद्वयले आत्मालोचना गर्दै अब नेकपा एमालेको सङ्गठन विस्तारमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोरोनाकालदेखि सुस्ताएको खेलकुदका गतिविधि चलायमान हुन थालेपछि नयाँ खेलाडीमा उत्साह

गलकोट (बागलुङ), १ फागुन : बागलुङ बजारको बाङ्गेचौर खेलमैदान र रसआवर फुटसल मैदान प्राय खेलाडीले भरिएका देखिन्छन् । दुई महिनायता मात्रै बागलुङमा एक दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता सम्पन्न भइसकेका छन् । कोरोनाकालदेखि सुस्ताएको खेलकुदका गतिविधि चलायमान हुन थालेपछि नयाँ खेलाडीमा उत्साह छाएको छ ।

पछिल्लो समय जिल्लास्तरीय फुटबल प्रतियोगिताको बाक्लो आयोजना भइरहेकाले विद्यार्थी खेलाडीमा उत्साह छाएको हो । गत पुसदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना भएदेखि हालसम्म दजनौँ खेलकुद प्रतियोगिता भइरहेका छन् । खेलकुदका गतिविधि बढ्न थालेपछि सम्भावना भएर उजागर गर्न नपाएका विद्यार्थी खेलाडीलाई उत्साह मिलेको सामुदायिक विद्यालय विद्यामन्दिर माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी इसाक नेपालीले बताउनुभयो । पछिल्लो समय अध्ययनसँगै फुटबललाई पनि अगाडि बढाइरहेको उहाँको भनाइ थियो ।

नेपालीले अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिताले हामी जस्ता खेलाडीलाई उत्साह मिलेको बताउनुभयो । सामुदायिक विद्यालयले खेल शिक्षक छनोट गर्नुका साथै निजी विद्यालयसँग प्रतिस्पर्धासमेत गरिरहेको उहाँको भनाइ थियो । “विद्यालय र दुई स्थानीय क्लबबाट फुटबल खेल्दै आएको छु । पछिल्लो समय बागलुङमा खेलकुदका गतिविधि बढ्दै गइरहेको हामीले खेल्ने अवसर पाएका छौँ ।

पछिल्लो समय सामुदायिक विद्यालयको प्रतियोगितामा सक्रिय सहभागी देखिन थालेको छ”, फुटबल खेलाडी नेपालीले भन्नुभयो, “बागलुङ बजारमा अहिले फुटबल र फुटसलको राम्रो खेल भइरहेको छ । अन्तर विद्यालयस्तरीय प्रतियोगितामा रु ५० हजार पुरस्कार दिन थालेका छन् । नयाँ खेलाडीलाई खेलकुदका गतिविधिले प्रोत्साहन गरेको छ ।

निजी विद्यालयले मात्रै खेलकुदका गतिविधिमा भाग लिने परिपाटीको अन्त्य गर्दै पछिल्लो समय बागलुङ बजारको विद्यामन्दिर माध्यमिक विद्यालय, रुद्रेपिपल माध्यमिक विद्यालयसँगै गाउँका विद्यालयले जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउनुलाई फुटबल खेलका लागि सुखद् मान्न सकिने फुटबल खेलाडी बताउँछन् । जिल्लामा सबैभन्दा बढी आयोजना हुने फुटबल प्रतियोगिताले बाङ्गेचौर खेल मैदानमा राम्रो दर्शक पाउँदै आएको छ । गत माघ १९ देखि २२ सम्म सञ्चालन भएको प्रेस चौतारी कपले जिल्लामा फुटबल प्रतियोगितामा एकैसाथ १५ हजारभन्दा बढी दर्शक उतार्न सफल भएको थियो । उक्त प्रतियोगितामा एक दर्जनभन्दा बढी खेलाडीले विद्यागत पुरस्कार पाउँदा खेलाडीमा उत्साह भरिएको थियो ।

जिल्लाबाट ए डिभिजन लिग खेल्न सफल फुटबल खेलाडी आशिष केसीले खेलाडी उत्पादन गर्न विद्यालयबाटै खेलकुदका गतिविधि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय बागलुङ बजारका सामुदायिक र संस्थागत विद्यालयले आयोजना गर्ने फुटबल प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो सहयोग पुगेको उहाँको भनाइ थियो । “विद्यालयबाटै खेलाडी उत्पादन गर्न सकेमा राष्ट्रियस्तरसम्म पुग्न सकिन्छ । विद्यार्थीहरुलाई खेल प्रशिक्षणले मात्रै पुग्दैन प्रतियोगितामा प्रतिस्प्रर्धाले निखारता ल्याउछ । उपाधी जित्ने खेलाडी खेल क्षेत्रमा उत्साहपूर्ण ढङ्गले अघि बढ्छ”, केसीले भन्नुभयो, “पछिल्लो समय विद्यालयले फुटबल र भलिबल क्षेत्रमा चासो दिएको पाइन्छ ।

कतिपय विद्यालयमा खेलकुद शिक्षक नै राखेको पाएका छौँ । खेल क्षेत्रमा राम्रो सम्भावना भएका विद्यार्थीलाई खेलकुद गतिविधिले निखारता ल्याउन मद्दत पुग्नेछ ।” खेल पूर्वाधारको अभावका बीच निरन्तर आयोजना भइरहेका फुटबल प्रतियोगिताले राम्रा खेलाडी उत्पादन गरेर बागलुङको नाम चिनाउन सहयोग पुग्ने जिल्ला फुटबल सङ्घका कोषाध्यक्ष सूर्य लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार माघ लागेसँगै बाङ्गेचौर खेलमैदानमा मात्रै आधा दर्जनभन्दा बढी फुटबल प्रतियोगिता आयोजना भइसकेका छन् । बागलुङको गुठीमा रहेको रसआवर फुटसल मैदानमा दैनिकजसो प्रतियोगिता भइरहने गरेका छन् । जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, बागलुङ युनिटी सेभेनएसाइड खेल प्रतियोगिता, अन्तर विद्यालय फुटबल, सर्वाधिक पुरस्कारको प्रेस चौतारी कप प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

रसआवर फुटसल मैदानमा गुरास कप, एभेरेष्ट कप फुटसल प्रतियोगिता सम्पन्न भइसकेका छन् भने अहिले जिल्ला सदरमुकाम बागलुङ बजारमा फ्युचर कप चलिरहेको छ । फागुनमा तीन फुटबल प्रतियोगिता बाङ्गेचौर खेल मैदानमा आयोजना गर्न थालिएको छ । आदर्श विद्यामिन्दर विद्यालयका फुटबल खेलाडी सोहम सुनारले स्थानीय निकायले खलकुदको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रशिक्षण, निरन्तर प्रतियोगिता आयोजना हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छः अध्यक्ष ओली

काठमाडौँ, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ । मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज यहाँ उद्घाटन गर्दै उहाँले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनुपर्ने उहाँको भनाइ थियो । आफू प्रधानमन्त्री हुँदा नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले उक्त विधेयक शीघ्र टुङ्ग्याउन आग्रह गरेको बताउनुभयो ।

आफ्नो पार्टी मानव अधिकार संरक्षणको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “एमालेले मानव अधिकार उल्लङ्घन गर्दैन र त्यसको उल्लङ्घनकर्तालाई संरक्षण गर्दैन ।” उहाँले अनर्गल कुरा गरेर, सम्प्रादायिक र आपसी विद्वेष फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुरा स्वीकार्य नहुने दोहो¥याउनुभयो । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्क्रमणकालीन न्याय गम्भीर विषय भएकाले राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुनेमा जोड दिनुभयो । उहाँले सङ्क्रमणकालीन न्याय निरुपणमा पीडित पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्र्नेेमा जोड दिनुभयो ।

“सङ्क्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतले केही आदेश दिएको छ । मानवअधिकारको आधारभूत कुरालाई हामीले स्वीकार गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “पीडितलाई मर्का पर्ने खालको कानुन कुनै पनि हालतमा बनाउनुहुन्न । सङ्क्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्दछ भन्ने कुरामा दुई मत छैन ।”

‘सामाजिक मूलप्रवाहीकरणमा सामुदायिक रेडियोको भूमिका अतुलनीय’ :अर्थमन्त्री महत

ललितपुर, १ फागुन : विभिन्न कालखण्डका राजनीतिक परिवर्तन र लोकतन्त्रको रक्षा, सामाजिक मूलप्रवाहीकरण तथा जनचेतना अभिवृद्धि, विपद् व्यवस्थापनलगायतका काममा महत्वपूर्ण भूमिका खेलेका सामुदायिक रेडियो पछिल्लो समय आफ्नै अस्तित्व जोगाउन सङ्घर्षरत छन् । विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले आज यहाँ आयोजना गरेको एक कार्यक्रमका वक्ताले सूचना प्रविधि क्षेत्रमा भएको विकास र त्यसको बढ्दो प्रयोगले सामुदायिक रेडियोले अस्तित्व सङ्कटको लडाईं लड्नुपरेको बताउनुभएको हो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले २०४६ सालको परिवर्तनपछि अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासन व्यवस्था स्थापनामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेका बताउनुभयो । पछिल्लो समय सामुदायिक रेडियोको व्यावसायिक विकास तथा दिगोपनमा चुनौती थपिएको उहाँले बताउनुभयो । “एकै जिल्लामा धेरै रेडियो रहेका स्थापना भएका छन् । सामाजिक सञ्जालले रेडियो र टेलिभिजनको प्रयोग घटाएको छ जसका कारण उनीहरुको व्यवसायमा नकारात्मक प्रभाव परेको छ । रेडियोप्रतिको चाख पनि घट्दै गएको । विज्ञापन पाउन नसकिने अवस्था छ”, अर्थमन्त्री महतले भन्नुभयो ।

सामुदायिक रेडियो सञ्चालकले व्यवसायको नवीकरण शुल्क र सलामी दस्तु छुट माग गरेकामा त्यसमा छुट दिन सकिने अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको अर्थमन्त्रीले बताउनुभयो । “नवीकरण शुल्क धेरै छैन र त्यसमा पनि छुट दिँदा कस्ता व्यवसायलाई दिने कस्तालाई नदिने भन्ने हुन्छ । तर रोयल्टीमा राहत दिने भनेर मन्त्रालयले लेखेर पठाइसकेको छ”, अर्थमन्त्रीले भन्नुभयो, “रोयल्टीको विषय सञ्चार मन्त्रालयले हेर्ने हो । रेडियोलाई रोयल्टी छुट दिन सकिनेबारे अर्थ मन्त्रालयले सञ्चार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइसकेको छ । थप निर्णयका लागि मन्त्रिपरिषद्मा लैजान पर्ने भए चाँडै आउँला ।” आम नागरिकलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका रेडियोलाई संरक्षण गर्ने कुरामा राज्यले पहल गर्ने प्रतिबद्धता पनि अर्थमन्त्रीले व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले सामाजिक सशक्तीकरण र मूलप्रवाहीकरणमा रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सूचनाप्रविधिको अहिलेको युगमा रेडियोलाई पनि प्रभावकारी बनाउन उनीहरुको काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

“प्रजातन्त्र पुनःस्थापना पछि सञ्चार क्षेत्रमा अकल्पनीय परिवर्तन भएको छ । सामाजिक सशक्तीकरणमा रेडियोको भूमिका अतुलनीय छ । भैँसी हराएकोदेखि तरकारीको बीउ कहाँ पाइन्छ भन्नेसम्मका सूचना रेडियोले स्थानीयस्तरका स्रोतालाई दिइरहेका छन्”, उहाँले भन्नुभयो, “अब स्थानीयस्तरका समाचार कसरी बाहिर ल्याउने र राजनीतिक आबद्धताभन्दा बाहिर रहेर सामुदायिक रेडियो सञ्चालनको छुट्टै मोडल आवश्यक छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सञ्चार नीति ल्याएर सञ्चारमाध्यमको वर्गीकरण गरेको र वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा सञ्चारकर्मीको क्षमता विकासका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो छ । सञ्चारकर्मीको दुर्घटना बीमा, सञ्चार रजिष्ट्रार कार्यालय स्थापनालगायत काम लुम्बिनी प्रदेश सरकारले अघि बढाएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सूचना प्रविधि र‘इन्टरनेट’मा आधारित सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्न र रेडियोलाई टिक्ने बनाइराख्न स्थानीयका अपेक्षा पूरा हुनेखालका सामग्री प्रसारण गर्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियोको अवधारणा समाजको हितका लागि समाजबाटै सञ्चालित गर्ने भएकाले त्यो अवस्थाको सिर्जना गर्नसक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले अहिले सामुदायिक रेडियोले आफ्ना लक्षित श्रोता को हुन् भनेर पहिचान गर्न सक्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियोले स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले रेडियो उपकरण आयातमा कर छुट दिइनुपर्ने र रेडियोका लागि तोकिएको रोयल्टी हटाउनुपर्ने बताउनुभयो ।

चितवन कारागारमा दुई सयभन्दा बढी कैदीबन्दी घरेलु उद्योगमा व्यस्त

चितवन, १ फागुन : कारागार भन्ने वित्तिकै विभिन्न अपराधमा संलग्न भएर सजाय काट्न पठाइने ठाउँको रुपमा लिने गरिन्छ । पछिल्लो समय जिल्ला कारागारमा रहेका कैदीबन्दीमध्ये दुई सयभन्दा बढी घरेलु उद्योगमा व्यस्त हुन थालेका छन् । यहाँ विभिन्न किसिमका सीपमूलक काममार्फत उनीहरु उद्योगमा लागेका हुन् । विशेष गरी लामो समयसम्मका लागि कैद सजय तोकिएका, घरको आर्थिक अवस्था कमजोर भएका कैदीबन्दी घरेलु उद्योगको काममा आकर्षित भएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बत्ती कात्ने, मुढा बुन्ने, गलौँचाको काम, सिलाइ कटाइलगायत काममा उनीहरु व्यस्त छन् । कारागार कार्यालयमा रहेका सात सय ५५ कैदीबन्दीमध्ये ८० जनाले बाँसको मुढा बुन्ने, ८० ले गलैँचाको काम गर्ने गरेका ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार सिलाइकटाइमा सात, बत्ती कात्ने २०, खेलाउना बनाउनेमा एक जनाले काम गरिरहेका छन् । आन्तरिक प्रशासनअन्तर्गत विभिन्न काममा कारागारका कैदीबन्दी लाग्ने गरेका कार्यालयका सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ रहेका कैदीबन्दी कुनै न कुनै काममा व्यस्त रहने गरेका छन् ।” गलैँचाको तान ४२ वटा रहेको जानकारी दिँदै उहाँले यी तानमा काम गर्न इच्छु एक सय २० जनाले रोजगार पाउने उहाँले जानकारी दिनुभयो । कारागारभित्र काम गरेर कैदीले मासिक रु पाँच हजारदेखि १५ हजारसम्म कमाउने गरेको ढुङ्गानाको भनाइ थियो । कारागारभित्र घरेलु उद्योगबाहेक विभिन्न खेलकुदमा कैदीबन्दी सहभागी हुने गरेका उहाँले बताउनुभयो ।

कार्यालयका सूचना अधिकारी ढुङ्गानाका अनुसार यहाँ उत्पादित सामान जिल्लासहित काठमाडौँ, पोखरालगायत क्षेत्रमा बिक्रीका लागि पुग्ने गरेका छन् । कारागारबाट मासिक साधारण खालका चार सय र विशेष खालाका तीन सय मुढा बिक्री हुने गरेका छन् । यस्तै गलैँचा काठमाडौँका उद्योगले खरिद गरिरहेका उहाँले जानकारी दिनुभयो । कारागारमा काममा र खेलकुदमा कैदीबन्दी सहभागी हुँदा फुर्सदको सदुपयोग हुने, नकारात्मक सोचको अन्त्य हुने र आयआर्जनसँगै पछि समाजमा पुनःस्थापना हुन सहज हुने ढुङ्गानाको भनाइ थियो ।

कारागारका चौकीदार राम पुडासैनी (नाम थर परिवर्तित) ले काम गर्छु भन्नेले खाली बस्नु नपर्ने बताउनुभयो । उहाँका अनुसार विभिन्न सङ्घ संस्थाले यहाँ मनोपरामर्शको तालिम दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मनोपरामर्शले यहाँका कैदीबन्दीमा कामप्रति ऊर्जा थपेको छ ।” यहाँ रहेका कैदीबन्दीलाई लक्षित गर्दै बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न सीपमूलक कार्यक्रममा सञ्चालनको तयारी गरिरहेको ढुङ्गानाले जानकारी दिनुभयो । कपाल काट्ने, हाउस वायरिङलगायत तालिम दिन लागिएको भन्दै यस्ता तालिमले कैदीबन्दीलाई पुनःस्थापनामा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

‘अन्तरात्मा’ ले कुर्सीमा बस्न अनुमति नदिएको पाकिस्तानी राजनीतिज्ञको भनाइ

गत साता भएको निर्वाचनमा प्रान्तीय विधानसभा सिटमा विजयी घोषित भएका पाकिस्तानका एक राजनीतिज्ञले निर्वाचन नतिजामा धाँधली भएको विश्वासका कारण आफूले प्रतिद्वन्द्वीसँग हार मानेको बताउनुभएको छ ।

निर्वाचनका दिन अधिकारीहरूले मुलुकको मोबाइल फोन नेटवर्क बन्द गरेको र गणनामा २४ घन्टाभन्दा बढी समय लागेका कारण मतदानमा धाँधली र नतिजामा हेरफेरको व्यापक आरोप लागेको छ ।

कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सबैभन्दा धेरै सिट हासिल गरेर सेना समर्थित पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) लाई सत्तारूढ बहुमत हासिल गर्न रोकेका छन् ।

स्वतन्त्र उम्मेदवारहरूले मुलुकका चार प्रान्तीय विधानसभामा खैबर पख्तुनख्वा, बलुचिस्तान, सिन्ध र पन्जाबमा एकैपटक भएको निर्वाचनमा पनि अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेका छन् ।

वित्तीय राजधानी कराँचीमा जमात–ए–इस्लामी (जेआई) पार्टीका प्रमुख हाफिज नइमुर रहमानले सिन्ध विधानसभामा एक सिट जित्नुभएको छ । आधिकारिक परिणामअनुसार उहाँले २६ हजार दुई सय ९६ मत पाउँदा उपविजेतालाई २० हजार छ सय आठ मत प्राप्त भएको छ । तर उहाँले ११ हजार तीन सय ५७ मतका साथ चौथो स्थानमा रहेका खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीसँग सम्बन्धित एक स्वतन्त्र उम्मेदवार वास्तविक विजेता भएको बताउनुभयो ।

“एक कर्तव्यनिष्ठ व्यक्तिका रूपमा म पिटिआई समर्थित उम्मेदवारले जितेको घोषणा गर्दछु र म उक्त सिटको लाभ लिने छैन”, रहमानले सोमबार पत्रकार सम्मेलनमा भन्नुभयो, “म मलाई दिइएको कुनै पनि अतिरिक्त मतलाई स्वीकार गर्दिनँ ।”

पिटिआईले सामाजिक सञ्जालमा उक्त कदमको प्रशंसा गरेको छ । पार्टीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “यसबाट फर्जी जनादेश लिन शासनद्वारा बाध्य पारिएका अन्य धेरै व्यक्तिलाई शक्ति प्राप्त हुनेछ ।” पछि जेआई र पिटिआईले उनीहरूले सम्भावित गठबन्धनका लागि काम गरिरहेका थिए भनेका छन् ।

मतदानमा र मतगणनामा धाँधली गरेर आफ्नो विजयलाई छिनेको दावी गर्दै पराजित उम्मेदारहरूले दर्जनौँ उजुरी दायर गरेका छन् । यद्यपि धाँधलीका कारण आफूलाई विजय प्राप्त भएको भनेर आरोप लगाउने एक मात्र विजयी उम्मेदवार रहमान हुनुहुन्छ ।

इस्लामवादी पार्टीले अन्य धेरै निर्वाचन क्षेत्रमा उनीहरूविरुद्ध गएको परिणामहरूलाई पनि चुनौती दिएको छ । पार्टीका प्रवक्ता जाहिद अस्करीले भन्नुभयो, “हामीसँग उच्च अदालतमा चारवटा निवेदन विचाराधीन छन् र अदालतमा दायर गर्नुपर्ने थप सिटमा धाँधलीका प्रमाणहरू सङ्कलन गर्दैछौँ ।”

गत साता भएको राष्ट्रिय निर्वाचनमा कुनै पनि पार्टी स्पष्ट विजेता नभएका कारण पाकिस्तानमा धेरै सातासम्म अनिश्चितता कायम रहने छ । दर्जनौँ निर्वाचन क्षेत्रका परिणामले अदालतमा चुनौतीको सामना गर्नुपरिरहेको छ र प्रतिद्वन्द्वी दलहरूले सम्भावित गठबन्धनका लागि छलफल गरिरहेका छन् ।