`

चितवन कारागारमा दुई सयभन्दा बढी कैदीबन्दी घरेलु उद्योगमा व्यस्त

चितवन, १ फागुन : कारागार भन्ने वित्तिकै विभिन्न अपराधमा संलग्न भएर सजाय काट्न पठाइने ठाउँको रुपमा लिने गरिन्छ । पछिल्लो समय जिल्ला कारागारमा रहेका कैदीबन्दीमध्ये दुई सयभन्दा बढी घरेलु उद्योगमा व्यस्त हुन थालेका छन् । यहाँ विभिन्न किसिमका सीपमूलक काममार्फत उनीहरु उद्योगमा लागेका हुन् । विशेष गरी लामो समयसम्मका लागि कैद सजय तोकिएका, घरको आर्थिक अवस्था कमजोर भएका कैदीबन्दी घरेलु उद्योगको काममा आकर्षित भएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बत्ती कात्ने, मुढा बुन्ने, गलौँचाको काम, सिलाइ कटाइलगायत काममा उनीहरु व्यस्त छन् । कारागार कार्यालयमा रहेका सात सय ५५ कैदीबन्दीमध्ये ८० जनाले बाँसको मुढा बुन्ने, ८० ले गलैँचाको काम गर्ने गरेका ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार सिलाइकटाइमा सात, बत्ती कात्ने २०, खेलाउना बनाउनेमा एक जनाले काम गरिरहेका छन् । आन्तरिक प्रशासनअन्तर्गत विभिन्न काममा कारागारका कैदीबन्दी लाग्ने गरेका कार्यालयका सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ रहेका कैदीबन्दी कुनै न कुनै काममा व्यस्त रहने गरेका छन् ।” गलैँचाको तान ४२ वटा रहेको जानकारी दिँदै उहाँले यी तानमा काम गर्न इच्छु एक सय २० जनाले रोजगार पाउने उहाँले जानकारी दिनुभयो । कारागारभित्र काम गरेर कैदीले मासिक रु पाँच हजारदेखि १५ हजारसम्म कमाउने गरेको ढुङ्गानाको भनाइ थियो । कारागारभित्र घरेलु उद्योगबाहेक विभिन्न खेलकुदमा कैदीबन्दी सहभागी हुने गरेका उहाँले बताउनुभयो ।

कार्यालयका सूचना अधिकारी ढुङ्गानाका अनुसार यहाँ उत्पादित सामान जिल्लासहित काठमाडौँ, पोखरालगायत क्षेत्रमा बिक्रीका लागि पुग्ने गरेका छन् । कारागारबाट मासिक साधारण खालका चार सय र विशेष खालाका तीन सय मुढा बिक्री हुने गरेका छन् । यस्तै गलैँचा काठमाडौँका उद्योगले खरिद गरिरहेका उहाँले जानकारी दिनुभयो । कारागारमा काममा र खेलकुदमा कैदीबन्दी सहभागी हुँदा फुर्सदको सदुपयोग हुने, नकारात्मक सोचको अन्त्य हुने र आयआर्जनसँगै पछि समाजमा पुनःस्थापना हुन सहज हुने ढुङ्गानाको भनाइ थियो ।

कारागारका चौकीदार राम पुडासैनी (नाम थर परिवर्तित) ले काम गर्छु भन्नेले खाली बस्नु नपर्ने बताउनुभयो । उहाँका अनुसार विभिन्न सङ्घ संस्थाले यहाँ मनोपरामर्शको तालिम दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मनोपरामर्शले यहाँका कैदीबन्दीमा कामप्रति ऊर्जा थपेको छ ।” यहाँ रहेका कैदीबन्दीलाई लक्षित गर्दै बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न सीपमूलक कार्यक्रममा सञ्चालनको तयारी गरिरहेको ढुङ्गानाले जानकारी दिनुभयो । कपाल काट्ने, हाउस वायरिङलगायत तालिम दिन लागिएको भन्दै यस्ता तालिमले कैदीबन्दीलाई पुनःस्थापनामा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

‘अन्तरात्मा’ ले कुर्सीमा बस्न अनुमति नदिएको पाकिस्तानी राजनीतिज्ञको भनाइ

गत साता भएको निर्वाचनमा प्रान्तीय विधानसभा सिटमा विजयी घोषित भएका पाकिस्तानका एक राजनीतिज्ञले निर्वाचन नतिजामा धाँधली भएको विश्वासका कारण आफूले प्रतिद्वन्द्वीसँग हार मानेको बताउनुभएको छ ।

निर्वाचनका दिन अधिकारीहरूले मुलुकको मोबाइल फोन नेटवर्क बन्द गरेको र गणनामा २४ घन्टाभन्दा बढी समय लागेका कारण मतदानमा धाँधली र नतिजामा हेरफेरको व्यापक आरोप लागेको छ ।

कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सबैभन्दा धेरै सिट हासिल गरेर सेना समर्थित पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) लाई सत्तारूढ बहुमत हासिल गर्न रोकेका छन् ।

स्वतन्त्र उम्मेदवारहरूले मुलुकका चार प्रान्तीय विधानसभामा खैबर पख्तुनख्वा, बलुचिस्तान, सिन्ध र पन्जाबमा एकैपटक भएको निर्वाचनमा पनि अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेका छन् ।

वित्तीय राजधानी कराँचीमा जमात–ए–इस्लामी (जेआई) पार्टीका प्रमुख हाफिज नइमुर रहमानले सिन्ध विधानसभामा एक सिट जित्नुभएको छ । आधिकारिक परिणामअनुसार उहाँले २६ हजार दुई सय ९६ मत पाउँदा उपविजेतालाई २० हजार छ सय आठ मत प्राप्त भएको छ । तर उहाँले ११ हजार तीन सय ५७ मतका साथ चौथो स्थानमा रहेका खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीसँग सम्बन्धित एक स्वतन्त्र उम्मेदवार वास्तविक विजेता भएको बताउनुभयो ।

“एक कर्तव्यनिष्ठ व्यक्तिका रूपमा म पिटिआई समर्थित उम्मेदवारले जितेको घोषणा गर्दछु र म उक्त सिटको लाभ लिने छैन”, रहमानले सोमबार पत्रकार सम्मेलनमा भन्नुभयो, “म मलाई दिइएको कुनै पनि अतिरिक्त मतलाई स्वीकार गर्दिनँ ।”

पिटिआईले सामाजिक सञ्जालमा उक्त कदमको प्रशंसा गरेको छ । पार्टीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “यसबाट फर्जी जनादेश लिन शासनद्वारा बाध्य पारिएका अन्य धेरै व्यक्तिलाई शक्ति प्राप्त हुनेछ ।” पछि जेआई र पिटिआईले उनीहरूले सम्भावित गठबन्धनका लागि काम गरिरहेका थिए भनेका छन् ।

मतदानमा र मतगणनामा धाँधली गरेर आफ्नो विजयलाई छिनेको दावी गर्दै पराजित उम्मेदारहरूले दर्जनौँ उजुरी दायर गरेका छन् । यद्यपि धाँधलीका कारण आफूलाई विजय प्राप्त भएको भनेर आरोप लगाउने एक मात्र विजयी उम्मेदवार रहमान हुनुहुन्छ ।

इस्लामवादी पार्टीले अन्य धेरै निर्वाचन क्षेत्रमा उनीहरूविरुद्ध गएको परिणामहरूलाई पनि चुनौती दिएको छ । पार्टीका प्रवक्ता जाहिद अस्करीले भन्नुभयो, “हामीसँग उच्च अदालतमा चारवटा निवेदन विचाराधीन छन् र अदालतमा दायर गर्नुपर्ने थप सिटमा धाँधलीका प्रमाणहरू सङ्कलन गर्दैछौँ ।”

गत साता भएको राष्ट्रिय निर्वाचनमा कुनै पनि पार्टी स्पष्ट विजेता नभएका कारण पाकिस्तानमा धेरै सातासम्म अनिश्चितता कायम रहने छ । दर्जनौँ निर्वाचन क्षेत्रका परिणामले अदालतमा चुनौतीको सामना गर्नुपरिरहेको छ र प्रतिद्वन्द्वी दलहरूले सम्भावित गठबन्धनका लागि छलफल गरिरहेका छन् ।

अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित

अमेरिकी सिनेटले मङ्गलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले उहाँको रिपब्लिकन नेतृत्वको सदनले उक्त विधेयकलाई अस्वीकार गर्ने सङ्केत गर्नुभएको छ ।

पन्चानब्बे अर्ब डलरको प्याकेजमा इजराइलको सेना र प्रमुख रणनीतिक सहयोगी ताइवानका लागि कोष समावेश छ तर ठूलो हिस्सा अर्थात ६० अर्ब डलरले युक्रेनले युद्धको तेस्रो वर्षमा प्रवेश गर्दा समाप्त भएको गोला बारुदको आपूर्ति, हतियार तथा अन्य महत्त्वपूर्ण आवश्यकता पूरा गर्न सहयोग गर्नेछ ।

सिनेटले मङ्गलबार बिहान मतदान गरेको र द्विदलीय समर्थनमा पारित भएको विधेयकमा अमेरिकी अध्यागमन नीतिमा परिवर्तन समावेश गरिएको छैन । यसअघिको सिनेट पाठमा सीमा र विदेशी सहायता दुवै समावेश गरिएको थियो । उक्त पाठलाई माथिल्लो सदनमा जोनसनको आफ्नै पार्टीका सदस्यहरूले अवरुद्ध गरेका थिए । उक्त पाठमा सीमा पार गर्नेहरूलाई पर्याप्तरूपमा सम्बोधन नगरिएको भन्दै उनीहरूले उक्त पाठलाई समाप्त गर्ने वाचा गरेका थिए ।

“कुनै पनि कथित राष्ट्रिय सुरक्षा पूरक कानूनले राष्ट्रिय सुरक्षा हाम्रै सिमानाबाट सुरु हुन्छ भनेर मान्यता दिनुपर्छ भन्नेमा हाउस रिपब्लिकनहरू छलफलको सुरु देखिनै स्पष्ट थिए”, जोनसनले एक विज्ञप्तिमा भन्नुभयो । उहाँले दशकौँमा केही अध्यागमन प्रतिबन्ध समावेश भएको तर अझै धेरै टाढा नगएको सिनेटको पहिलो विधेयक आफ्नो कक्षमा ‘आगमनमा मृत’ हुने बताउनुभएको थियो ।

उहाँको भनाइ पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग मेल खान्छ । पुनः राष्ट्रपतिका लागि दौडिरहनुभएका र अध्यागमनमा राष्ट्रपति जो बाइडेनको कथित कमजोरीको फाइदा उठाउन चाहनुभएका ट्रम्पले उक्त विधेयकलाई बलपूर्वक खारेज गर्न आह्वान गर्नुभएको छ ।

विधेयकमाथि धेरै महिनाको द्विदलीय छलफलका बावजुद सिनेट रिपब्लिकनहरूले अन्ततः यसलाई अगाडि बढाउनबाट रोक्न मतदान गरे । मङ्गलबार सिनेटमा पारित भएको विधेयकमा अध्यागमन सुधारलाई समावेश गरिएको छैन र धेरै रिपब्लिकनहरूको समर्थनका कारण उक्त विधेयक पक्षमा ७० र विपक्षमा २९ मतका साथ पारित भयो ।

एमाले दैलेख जिल्ला अध्यक्षमा शाही

दैलेख, १ फागुन :नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही निर्विरोध चयन हुनुभएको छ । एमालेको आठौँ जिल्ला अधिवेशनले उहाँको नेतृत्वमा पाँच पदाधिकारीसहित ९१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा हिमालयजङ्ग शाह ,उपसचिवमा मीनबहादुर बुढा क्षेत्री र महिला उपाध्यक्षमा तारा सोनी निर्विरोध निर्वाचित हुनुभएको नेकपा एमालेका जिल्ला समिति सदस्य यामनारायण उपाध्यायले राससलाई बताउनभयो । शाही अघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित हुनुभएको थियो ।

मुग्लिन–पोखरा सडक विस्तार : आजदेखि दमौलीका घर भत्काउन थालियो

दमौली (तनहुँ), १ फागुन : मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा आजदेखि घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिएको हो ।

मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रहनुभएका स्थानीयवासी बैकुण्ठनाथ मिश्रले बताउनुभयो । “आजदेखि आफूसँगै छिमकी ज्योतिकुमार श्रेष्ठले पनि घर भत्काउन थाल्नुभएको छ । आइतबारको बैठकमा सडक विस्तारको कामलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थियौँ”, उहाँले भन्नुभयो ।

सडक विस्तार योजना (पूर्वीखण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजारमा घर भत्काउन थालिएसँगै बजार क्षेत्रमा कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजार क्षेत्रमा घर भत्काउन सुरु गरेर स्थानीयवासीले सडक विस्तारको कामलाई सहयोग गर्नुभएको छ ।”

पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्दछन् । “यसका लागि ४५ जनाले पहिलो किस्ताबापतको रकम बुझिसकेका छन्”, उहाँले भन्नुभयो ।

“पूर्वी खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीकै संरचना हटाउन ढिलाइ भएको थियो”, इन्जिनियर पाण्डेले भन्नुभयो, “अब बजार क्षेत्रमा घर भत्काइसकेपछि सडक फराकिलो बनाउने कामलाई अगाडि बढाउँछौँ ।” प्रहरी कार्यालयको संरचना हटाउन वडा कार्यालयले प्रहरीलाई ध्यानाकर्षणपत्र बुझाइसकेको उहाँले जानकारी दिनुभयो ।

मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको पाण्डेले बताउनुभयो । उहाँका अनुसार बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ ।

पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । करिब ४१.४५ किमिको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको पश्चिम खण्डका इन्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा खण्डमा पनि आइतबारदेखि कालोपत्र सुरु भएको छ ।

पश्चिम खण्डमा गत माघ १२ गतेदेखि पहिलो पटक कालोपत्रको काम सुरु भएको थियो । योजनाको पश्चिम खण्डले तीन ठाउँमा कालोपत्रको काम गरिरहेको आयोजनाका आवासीय इन्जिनियर हेम श्रेष्ठले जानकारी दिनुभयो ।

पौडेलका अनुसार फेबु्रअरिको अन्तिमसम्म एकतर्फी रुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ । पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडी बढेपछि दुईतर्फी कालोपत्र गरिने उहाँले जानकारी दिनुभयो । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो । यो खण्डमा हालसम्म करिब १५ प्रतिशत प्रगति छ ।

विसं २०८१ भदौसम्म काम सक्ने गरी विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि जामुने–पोखरासम्मको काम सुरु भएको थियो ।

साहित्यकार मनऋषि धितालका ‘जनयुद्धकालीन डायरी’

काठमाडौँ, १ फागुन : पत्रकार एवं साहित्यकार मनऋषि धितालका जनयुद्धको समय (विसं २०५९ देखि २०६३) सम्मको यात्राका डायरीहरु (जनयुद्धकालीन डायरी) समावेश सात पुस्तक आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नुुभएको छ ।

लेखक धितालले यी डायरीलाई जेल र युद्ध क्षेत्रमा बिताएका हरेक दिनका एकाउन्ट भएको बताउनुभएको छ । ‘जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा, पिलीयात्रा र गण्डकयात्रा तथा गुफा प्रेसका चिठी’ का नाममा ती डायरी सार्वजनिक भएका हुन् ।

उहाँले साङ्केतिक रुपमा २०६० सालमा सहिद भएका चन्द्रबहादुर गुरुङ दिपेशकी छोरी दीपशिखाको हातबाट प्रधानमन्त्री प्रचण्डलाई पुस्तक हस्तान्तरण गराएर विमोचन गराउनुभयो । पत्रकार धितालले दिपेशलाई भेट गर्दा दीपशिखा गर्भमै हुनुहुन्थ्यो । बुबा चन्द्रबहादुर सुरक्षाकर्मीबाट मारिएको केही महिनामा उहाँ जन्मनुभएको हो ।

सहिद चन्द्रबहादुर गुरुङ (दिपेश) ‘अर्वान गुरिल्ला’ हुनुहुन्थ्यो । मुख्य सहरमा गएर उहाँले कारबाही चलाउनुहुन्थ्यो । उहाँकी श्रीमती संविधानसभा सदस्य सीता पौडेलसँग लेखक धितालले पनि यात्रा गर्नुभएको थियो । त्यो बेला उहाँ गर्भवती हुनुहुन्थ्यो ।

पत्रकार धितालले भेटेको एक हप्ताभित्रै २०६० सालमा दिपेश सुरक्षाकर्मीबाट मारिएका थिए । बुबाको निधन भएको केही महिनामा दीपशिखा गुरुङको जन्म भयो । त्यही कारण लेखकले सहिदकी छोरीका तर्फबाट युद्धको सम्पत्ति भनौँ या युद्धको साहित्य अध्यक्ष वा राष्ट्रको कार्यकारी प्रमुखलाई हस्तान्तरण गरेर एउटा नयाँ सन्देश दिनुभएको छ ।

त्यो जनयुद्धको सन्देश दोस्रो पुस्ताले पनि प्राप्त गरोस् भन्ने सन्देश आजको यस विमोचन कार्यक्रमबाट पनि दिन खोज्नुभएको हो । एउटा पुस्तकमा दिपेशसँग भएका कुराकानीका सन्दर्भ समेत लेखकले समावेश गर्नुभएको छ । पुस्तकमा लेखकले २०५९ सालदेखि २०६३ सम्मको यात्रा विवरणलाई समावेश गर्नुभएको छ ।

पुस्तक सार्वजनिकीकरणका क्रममा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आज फागुन १ गते जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा कठिन र चुनौतीपूर्ण त्यो परिस्थितिको स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने बोध गरी सातवटा पुस्तक एकैसाथ सार्वजनिक गरेकामा लेखकलाई धन्यवाद दिँदै खुसीसमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सबैभन्दा पहिले मनऋषि धिताललाई धन्यवाद भन्न चाहन्छु, तपाईले इतिहासलाई जीवन्त राख्न र भावी पुस्तालाई इतिहासको अनुभव र अनुभूति प्रत्यक्षरुपमा सञ्चय गर्न मेहनत गर्नुभयो र ऐतिहासिक दिनमा ऐतिहासिक पात्रका माध्यमबाट पुस्तक जसरी हस्तान्तरण गर्नुभयो, यो विशिष्ट र विशेष पनि छ ।”

राजनीतिक दृष्टिकोणले पहिलो वार्ता भङ्ग भएपछि सङ्कटकाल प्रारम्भ भएको थियो । त्यसै दिन जनादेश र जनदिशा दैनिकका पत्रकार समातिएका थिए । त्यो गिरफ्तार हुनेमध्येका एक दस्ताको सदस्य मनऋक्षि धिताल पनि हुनुहुन्छ ।

पुस्तकका सम्पादक राजकुमार कुँवरका अनुसार उहाँले हिरासतकालमा खासै लेख्न सक्नुभएको देखिँदैन । उहाँले जेल बसेको झण्डै एक वर्षको अवधिमा छ महिनापछि मात्रै लेख्न थाल्नुभएको थियो । यहाँ जेलका चार÷पाँच महिनाका सन्दर्भहरु मात्र समावेश छन् ।

लेखकले दोस्रो वार्ता भएपछि पहिलो कर्णाली यात्रा सुरु हुँदा यात्रासँगै डायरी लेखन पुनः सुरु गर्नुभएको थियो । विसं २०५९ पछिको पाँच वर्षे आफ्नो डायरीलाई पुस्तकका रुपमा उहाँले ल्याउनुभएको छ ।

अध्यक्ष प्रचण्डलाई पुस्तक हस्तान्तरणपछि रासससँग कुरा गर्दै दीपशिखाले भन्नुभयो, “म त निकै गम्भीर भएँ । हामीलाई पनि कसैले भुलेका रहेनछन् भन्ने महसुस भयो, सहिद परिवारका बच्चालाई बिर्सिएको रहेनछ भन्ने पनि सोचेँ ।”

दिपेशकी श्रीमती सीता पौडेलले बुबा भन्ने थाहा नै नपाएको सहिदका सन्तानमार्फत देशको प्रधानमन्त्रीलाई हस्तान्तरण हुनु नै गर्वको विषय भएको बताउनुभयो । उहाँले आफू पनि गण्डक यात्रामा कार्यरत रहँदा धितालसँग भेट भएको स्मरण गर्नुभयो ।

उहाँले रासससँग भन्नुभयो, “दिपेश जनसेनाको कमाण्डर रहेका बेला नै धितालसँग चिनजान भएको रहेछ, उहाँहरु बीच भेटघाटमा जुन कुराकानी रहेको छ । त्यो नै यसमा उतार्नुभएको छ । उहाँ सहिद भएपछि लेखकले मलाई भेट्नुभयो । मनऋषि दाइले चिठी पनि सान्त्वना र प्रेरणा दिने गरी लेख्नुभएको थियो । त्यही भेटका कुराहरु यहाँ रहेको मैले ठानेको छु ।”

उक्त पुस्तक राजकुमार कुँवरले सम्पादन गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो जनयुद्धलाई सौन्दर्यकरण गर्ने, जनयुद्धको बलिदानलाई सम्मान, सहिद, बेपत्ता र घाइतेको रगत र आँसुका डोबलाई लिपिबद्ध गर्ने ऐतिहासिक दस्तावेज हो । अलिखित रुपमा रहेका सामग्रीलाई पाठकले कथा कहानी बनाएर पढ्नुभन्दा प्रत्येक दिन के भएको थियो भन्ने घटनाक्रमसहित प्रस्तुत गरिएकाले यो दस्ताबेज हो भन्ने मेरो दावी छ ।”

उहाँले ११ महिना लगाएर कृति सम्पादन गर्नुभएको थियो । उहाँले थप्नुभयो, “जुनजुन भाग र पानामा सम्पादन गर्न प्रवेश गरेँ, त्यही दिनको जनयुद्धमा प्रवेश गरेझैँ भयो । यी सातवटै दस्तावेजमा त्यो समयका जीवन्त चित्र रहेको पनि उहाँले बताउनुभयो ।

लेखक धितालले जेल परेदेखि आफू काठमाडौँ आएसम्मको र अध्यक्ष प्रचण्डसँग पहिलो पटक हेटौँडामा भेटेसम्मका विषय समावेश रहेका र यी सबै विषय सत्यमा आधारित रहेको बताउनुभयो । आफूले भेटेको एक हप्ताभित्रै रुपन्देहीमा मारिएका र केही महिनामा दीपशिखाको जन्म भएकाले दोस्रो पुस्ताले पुस्तक हस्तान्तरण गरेर नयाँ अभ्यास गरेको उहाँको भनाइ छ ।

किताबभित्रका प्रायः नायक आजको सो कार्यक्रममा देखिएका लेखक धितालको भनाइ थियो । झण्डै दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म ती पुस्तकमा समेटिएका व्यक्ति नै नायक रहेका उहाँको भनाइ थियो । उनीहरुका बारेमा एक बाक्यदेखि कयौँ पेजसम्मका कुरा र अनुभूति पुस्तकमा सङ्ग्रहित छन् । लेखक धितालले नौ महिनामा आफूले यी तयार पारेको जानकारी पनि दिनुभयो । पुस्तक छाप्न आर्थिकरुपमा अप्ठेरो अवस्था हुँदाहुँदै पनि साथीहरुबाट सहयोग प्राप्त भएको पनि बताउनुभाये ।

उहाँले भन्नुभयो, “जनयुद्धको म एकजना साक्षी थिएँ भन्ने विषयमा मसँग जे चिजहरु थिए, ती आज सर्वाेच्च कमाण्डर कमरेड प्रचण्ड र मलाई फौजी क्षेत्रमा अघि बढाउने प्रभाकरका अघि सार्वजनिक गर्न र हस्तान्तरण गर्न पाएकोमा खुसी छु ।” कार्यक्रममा माओवादी नेता दिनानाथ शर्मा, प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्य, पत्रकार ओम शर्मालगायतको सहभागिता थियो ।

कुन डायरीमा के छ ?

जेलयात्रा : यसमा जेलभित्र रहँदाको विवरण समेटिएको छ । आस्थाका बन्दीहरुको अवस्था कस्तो थियो भन्ने विषयका साथै उनीहरुमाथि भएका यातनाका विवरण पनि यसमा समावेश छन् ।

विशेष गरी जेल यात्रामा कृष्णसेन इच्छुकका बारेमा बढी राखिएको छ । लेखक धितालका अनुसार आफूहरु जेलमा परेका बेलामा उहाँको हत्या भएको थियो । उहाँहरु २०५८ मङ्सिर ११ मा जेल पर्नुभएको थियो । विसं २०५९ कात्तिक ५ गते रिहा हुनुभएको थियो । पुस्तकमा त्यसबीचका घटना र सन्दर्भहरु छन् । यो पुस्तक २८८ पृष्ठको छ ।

बेनीयात्रा : म्याग्दीको बेनीमा भएको द्वन्द्वको अगाडि र पछाडिका यात्राका विवरणहरु यसमा समावेश छन् । विसं २०६० मा बेनीमा लडाइँ भएको थियो । त्यही वरिपरिका विवरण यसमा रहेको लेखकले बताउनुभयो । जेलबाट छुटेपछि केही समय शान्तिपूर्ण अवस्था रहेको थियो । युद्धविराम भङ्ग हुने बेलामा माओवादीहरु भ्ूमिगत भए । पत्रकारिता पनि भूमिगत गर्नुपर्ने अवस्था भयो । त्यसका लागि भूमिगत ठाउँमै प्रशिक्षण गरिएको थियो । त्यो र आफैँ युद्ध क्षेत्रमा गएर गरिएका रिपोर्टिङ र बेनी लडाइँका विषय यसमा रहेका उहाँले बताउनुभयो । उहाँ बेनी लडाइँका बेलासँगै भएको सुनाउनुभयो । यो पुस्तक ३४४ पृष्ठको छ ।

आधारयात्रा : त्यो बेला माओवादी केन्द्रका ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ आधार क्षेत्रभित्रै हुनुहुन्थ्यो । त्यही बेला धिताल पनि सोही आधार क्षेत्रमा भएका समयका यात्राका विवरणहरु यसमा समेटिएका छन् । क्रान्तिकारीले आफ्नो मिडिया स्थापना गर्ने नीति लिएपछि जनरेडियो खुल्न थाले र जनादेश पत्रिका भूमिगत भयो । जनादेशको पहिलो चरणको अड्डा कानपुर लखनउ भएपछि जनादेशसम्म जाने र रिपोर्टिङ गर्न आउनेसम्मको खण्ड यस आधारयात्रामा रहेको छ । यो पुस्तक ४२४ पेजको छ ।

राजमार्गयात्रा ः त्यो बेला माओवादीका लडाकुहरु तराईका राजमार्ग बाँके, बर्दिया, कैलाली कञ्चनपुरको राजमार्गलाई नै कब्जा गरेर खुलम्खुला बसेका थिए । त्यसबेला राजमार्गमा गणेशपुर घटना भएको थियो । जनसेनाका कमाण्डर जितको गणेशपुरमा मृत्यु भएको थियो । अर्काे धनगढी कारागार कब्जा गरेर माओवादीका सेनाले युद्धबन्दीहरुलाई आफैँले रिहा गरेर ल्याएका थिए । त्यही घटना र राजमार्गका डायरीहरु यसमा समावेश रहेको छ । उक्त पुस्तक राजमार्गमा खुला मार्च गरेर सेनालाई बाहिर बोलाएर गरिएको रणनीतिक प्रत्याक्रमणको दस्तावेज हो । यो ३४४ पेजको छ ।

पिलीयात्रा : पिली लडाइँ वरिपरि अगाडि र पछाडिका यात्राहरु समावेश रहेको छ । राजनीतिक प्रशिक्षण पिलीको लडाइँ र त्यस आसपासका यात्राहरु रहेको यो २०६१ साल पछिको अवस्था हो । यो रणनीतिक प्रत्याक्रमणको युद्ध दर्शनलाई व्यक्त गर्ने दस्तावेज हो । यो पुस्तक ३६८ पेजको रहेको छ ।

गण्डकयात्रा : २०६२ सालको जनयुद्धको अन्त्यतिरको १०० दिनका विषयवस्तु यसमा छन् । वैशाख ९ को परिस्थिति परिवर्तन भएपछि शान्तिपूर्ण स्थिति पनि थियो । युद्धविराम भइसकेको त थिएन तर दोस्रो जनआन्दोलनले एक खालको शक्ति सन्तुलनको अवस्था बनिसकेको थियो ।

त्यसबेलामा गण्डकयात्रामा जनसेनाका चार ओटा डिभिजन थिए । विशेष गरी पाल्पा अर्घाखाँची, तनहुँ, नवलपरासी क्षेत्रमा चार डिभिजन थियो । त्यो बेला जनआन्दोलन र जनयुद्ध एकै ठाउँमा मिश्रण भएको जस्तो देखिएको समयको यात्रा लेखकले यसमा स्मरण गर्नुहुन्छ ।

त्यसैलाई समावेश गरिएको समग्र विवरण हो गण्डक यात्रा । यो नेपाली समाजले लोकतान्त्रिक गणतन्त्रमा कसरी सङ्क्रमण ग¥यो भन्ने कुराको ऐतिहासिक दस्तावेज भएको सम्पादक राजकुमार कुँवर बताउनुहुन्छ । यो पुस्तक ४२४ पेजको रहेको छ ।

गुफा प्रेसको चिठी : लेखकका अनुसार यो पुस्तक भूमिगत अवस्थामा पत्रकारिता गर्दा जनादेशका पाठक, जनादेशका सम्पादक र संवाददाताले पत्राचार गरेका चिठीहरुको सङ्कलन हो । यसमा सहिद कृष्णसेन इच्छुकले आफ्नो परिवारका सदस्य श्रीमती, साथीहरुलाई पठाएका चिठीहरु पनि समावेश गरिएको छ ।

यसका साथै भूमिगतकालमा माओवादीले रेडियो सञ्चालनका लागि तयार पारेको निर्देशिका र भूमिगतकालमा भूमिगत पत्रकारिता कसरी गर्ने भनेर पार्टी अध्यक्ष प्रचण्डलाई दिइएका सुझावहरु पनि यसमा राखिएका छन् । “यो चाँहि अध्ययन अनुसन्धानका लागि सजिलो होस् भनेर समावेश गरेको हुँ”, लेखक धितालले रासससँग भन्नुभयो । यो पुस्तक २५६ पृष्ठको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर

काठमाडौँ, १ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहका स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो ।

शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्र पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएकाले कारबाही गर्न आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले राससलाई जानकारी दिनुभयो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर बमोजिम शर्मालाई सजाय माग गरेको छ ।

पत्रकारलाई हातपात गरेको आरोपमा पाँच पक्राउ

सल्लेरी (सोलुखुम्बु), १ फागुन : सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुधकोशी खबरका रमन वनमाथि गत शनिबार राति सल्लेरीस्थित निजको कोठा पुगेर हातपात गरेको आरोपमा उनीहरुलाई आज सल्लेरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार मिश्रले जानकारी दिनुभयो

सञ्चार माध्यममा भिडियो सामग्री प्रसारण गरेकै कारण आफूमाथि हातपात गरेको पत्रकार वनले राससलाई बताउनुभयो । सोलुदुधकुण्ड–५ का वडाध्यक्ष मिङमार तामाङसहित राति आफ्नो कोठामा पुगेका व्यक्तिहरूले आक्रमण गरी भिडियो मेटाउन ९डिलिट गर्र्न० धम्की दिँदै आफूलाई कुटपिट गरेको उहाँको भनाइ थियो ।

सो घटनापछि हातपात गर्ने विरुद्ध पत्रकार वनले अभद्र व्यवहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिनुभएको थियो । तामाङ समुदायको ल्होछार पर्व मनाउने क्रममा शनिबार सल्लेरीस्थित एक होटलमा स्थानीय युवा मदिरा सेवन गरेर झगडा गरेका थिए । उक्त झगडाको भिडियो दुधकोशी खबरले सम्प्रेषण गरेको थियो ।

यसैबीच, वडाध्यक्ष मिङ्मार तामाङले पनि अनुसन्धान प्रक्रियामा सहयोग गर्ने बताउनुभयो । “सुरुमा वडाध्यक्ष तामाङले पनि पत्रकार वनमाथि हातपात गरेको आरोप लागेको थियो । वडाध्यक्ष तामाङले आफूले हातपात गरेको नभई सहजीकरणका लागि घटनास्थल पुगेकाले प्रहरीलाई बताएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, प्रहरी निरीक्षक मिश्रले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजिटल वक्तृत्वकला’ का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ, १ फागुन : नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ ।

जनयुद्ध दिवसका अवसर पारेर योङ कम्युनिष्ट लिगले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा प्रथम हुनुभएकी आशा उपरकोटीले रु ५५ हजार, द्वितीय स्थान हासिल गर्न सफल सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्नुभएकी सम्झना राईलाई रु २० हजार नगदसहित प्रधानमन्त्रीले सम्मान गर्नुभएको हो ।

अफ्रिकी विशेषज्ञहरू खाद्य मापदण्डबारे छलफलमा

अफ्रिकी खाद्य मापदण्डको सामञ्जस्य गर्दै महाद्वीपमा स्वतन्त्र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले रुवान्डाको राजधानी किगालीमा सोमबार आयोजित बैठकमा सहभागी विज्ञहरूले खाद्य सुरक्षाका लागि मापदण्डको सन्तुलनमा जोड दिनु भएको छ ।
अफ्रिकाको अन्तरसरकारी मापदण्ड निकाय, मानकीकरणका लागि अफ्रिकी सङ्गठनद्वारा आयोजित बैठक अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनको ढाँचामा केन्द्रित छ।

रुवान्डा मानक बोर्डका महानिर्देशक रेमन्ड मुरेन्जीले उद्घाटनका क्रममा सबै देशहरू खाद्य सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध भएकाले अन्तर-अफ्रिका व्यापारलाई सहज बनाउन आवश्यक मापदण्ड निर्माणमा जोड दिनु भएको छ ।
आवश्यक मापदण्ड मानकीकरणका लागि अफ्रिकी सङ्गठनका महासचिव हर्मोजेन सेन्गिमानाले सदस्य र साझेदारहरूसँगको सहकार्यमा अन्तरसरकारी मानक निकाय सक्षम भएको दाबी गर्नु भएको छ ।

“हामी अफ्रिकी मापदण्डहरू विकास गर्न र मिलाउन सराहनीय काम गर्न जारी राख्ने देशहरू र विशेषज्ञहरूको सहयोगप्रति खुसी छौं। यो एउटा राम्रो कदम हो जुन हामीले एक मानक, एक परीक्षण, सबै ठाउँमा एक प्रमाणपत्र-स्वीकार गर्ने महादेशको रूपमा विकास गरेका छौं,” उहाँले भन्नुभयो ।

रुवाण्डाको वाणिज्य तथा उद्योग मन्त्रालयका स्थायी सचिव रिचर्ड निवेनशुटीले मापदण्ड र अन्य आवश्यकताहरू मिलाउन एकसाथ प्रयासमा संलग्न अफ्रिकी देशहरूको प्रशंसा गर्नु भएको छ । उहाँले नमिलेका मापदण्ड मिलाउन जरुरी रहेको बताउन भएको छ । फेब्रुअरी १६ सम्म चल्ने एक हप्ता लामो बैठकले २०० वटा मापदण्डहरू मिलाउने प्रयास गरेको छ ।

मानकीकरणका लागि अफ्रिकी सङ्गठनलाई अन्तर-अफ्रिका व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले मेलमिलापका लागि मापदण्ड र सो अनुरूप मूल्याङ्कन प्रक्रियाहरू समन्वय गर्न जिम्मेवार बनाइदै छ ।उक्त निकायले मत्स्य उत्पादन, दुग्ध उत्पादन, बागवानी, कफी, कोकोआ र चिया, जीवित जनावर, पशुखाना, कृषि तथा जैविक प्रविधिलगायत आठ प्राथमिकताका क्षेत्रहरूमा मापदण्ड मिलाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।

नेपालको ‘तराई भू–परिधि’ विश्व सूचीमा समावेश

काठमाडौँ, १ फागुन : नेपालको तराई भू–परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ ।

‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले आज नेपालको तराई भू–परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई सो सूचीमा समावेश गरेको हो ।

नेपालको तराई भू–परिधिसहित ‘मनग्रोभ रिजेनेरेसन इन श्रीलङ्का, अफ्रिकन फार्मर ट्रान्सफरमिङ फुड सिष्टम (माली, सेनेगल, तान्जानिया, युगाण्डा र केन्या), रिग्रिनिङ अफ्रिका (इथियोपिया, घाना, केन्या, माली, नाइजर, रुवाण्डा, सेनेगल सोमालिया), ‘रेन्टोरिङ मेडिटेरेनियन फरेष्ट’ (लेवनान, मोरक्को, ट्युनिसिमभ र टर्की), अक्सिअन अन्डिना (अर्जेन्टिना, बोलिभिया, पेरु, इक्वैडर र चिली), पाकिस्तानको लिभिङ इन्डुस पनि विश्व सूचीमा समावेश भएका छन् ।

वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभाग तथा विश्व वन्यजन्तु कोषले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर २४ वर्षमा विभिन्न चुनौतीलाई चिर्दै सरोकारवाला सबैको एकीकृत प्रयासका कारण उक्त भूभाग विश्व सूचीमा समेटिएको जानकारी दिइएको हो ।

नेपाल सरकार, समुदायको संरक्षकत्व र नागरिक समाजको संलग्नतामा वन संरक्षण र पुनःस्थापना, वन्यजन्तको सङ्ख्यामा वृद्धि, पारिस्थितिकीय प्रणाली सेवा र अन्तरदेशीय जैविक मार्गको विस्तार तथा कार्यक्षमता बढाउन भएको योगदानका साथै सन् २००१ देखि हालसम्म तराई भू–परिधिमा ६८ हजार हेक्टर वन क्षेत्र संरक्षित भएकाले नेपाली भूभाग सूचीमा समेटिएको हो ।

तराई भू–परिधि नेपालको वाग्मती नदीदेखि पश्चिममा भारतको यमुना नदीसम्म नौ सय किलोमिटरभन्दा बढी फैलिएको छ । यसले ५१ हजार दुई वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । पूर्वमा बागमती नदीदेखि पश्चिममा महाकाली नदीसम्म फैलिएको तराई भू–परिधिमा छ वटा संरक्षित क्षेत्र, चार वन संरक्षण क्षेत्र, तीन रामसार र धेरै जैविक मार्ग समेटिएको ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपालको तराई भू–परिधि विश्व सूचीमा परेको घोषणा केन्याको नैरोबीमा आज गरिएको हो । यही फागुन १५ गते नेपाललाई त्यसवापत सम्मान गरिने छ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोलाई सरकारको प्रतिनिधित्व गर्दै त्यहाँ जानुहुने कार्यक्रम छ ।

रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

मन्थली (रामेछाप), १ फागुन : रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने त्यसमा सवार दुई जना घाइते भएका छन् ।

दुर्घटनामा ट्र्याक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको छ भने रामेछाप नगरपालिका–८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उक्त ट्र्याक्टर सुुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो । घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौँ, १ फागुन : नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीय सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फका प्रस्थान होल्ड ब्यागेज जाँच गर्ने क्रममा झोलाभित्र साउदी रियल एक लाख ४९ हजार र युएई दिराम १० हजारसहित गोलेलाई पक्राउ गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गोलेलाई पक्राउ गरेपछि मुद्रा सम्बन्धमा सोधपुछ गर्दा उक्त रकम सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ का ३४ वर्षीय माइला स्याङ्बोले दिएको खुलेपछि स्याङ्बोलाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

‘नेपाल विश्वविद्यालय विधेयक’मा संशोधनकर्तासँग छलफल

काठमाडौँ, १ फागुन : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रियसभाबाट प्रतिवेदनसहित प्राप्त ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा संशोधनकर्ता सदस्यसँग छलफल सुरु गरेको छ ।

उक्त विधेयकमा ३६ जना सदस्यले आफ्ना संशोधन दर्ता गराउनुभएकामा आजदेखि छलफल सुरु भएको हो । बैठकमा सांसदले भएका विश्वविद्यालयलाई स्तरीय बनाउन लाग्नुपर्ने र थप विश्वविद्यालय आवश्यक छैनन् भन्दै नयाँ विश्वविद्यालयले उद्यमशील जनशक्ति उत्पादन गर्ने गरी काम गर्न जोड दिनुभयो । उहाँहरुले विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुन नहुने र दक्ष जनशक्ति उत्पादन र रोजगारीको वातावरण हुनुपर्ने बताउनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले मुलुकमा प्रगतिशील व्यावसायिक र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने गरी सरकारले सो विधेयक ल्याएको जानकारी दिनुभयो ।

आजको बैठकमा संशोधनकर्ता सांसद रघुजी पन्त, सूर्य ढकाल, मनिष झा, मैना कार्की, प्रेम सुवाललगायत सांसदले संशोधनको औचित्वबारे सैद्धान्तिक भनाइ प्रस्तुत गर्नुभएको थियो ।

जेलमा रहेका पूर्व थाई प्रधानमन्त्री थाक्सिन रिहा हुने – न्यायमन्त्री

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताएनु भएको छ ।

मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन यस महिना जेल बाट छुटकरा पाउनका लागि स्वीकृत नौ सय ३० कैदीहरू मध्ये एक जना भएको बताउनु भएको छ । ७४ बर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा
गम्भीर रोगको बिरामी भएका कारण जेल मृक्तीको लागि सुचि बद्ध भएका उहाँको भनाई छ । करिव छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ ।

ताहसिनल १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्कीनु भएको थियो । उहाँलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्स्थताका कारण उहाँलाई छोटो समयमै बैङ्ककको जेलबाट अस्पतालमा सारे देखि अस्पतालमा नै रहेको बताईएको छ ।

गत सेप्टेम्बरमा, थाई राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो । थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८ स्व–निर्वासनमा रहनु भएको थियो ।

श्रीलङ्काले शिक्षा प्रणालीमा एआई पाठ्यक्रम लागु गर्ने

श्रीलङ्काको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागु गर्ने प्रस्तावलाई स्वीकृति दिएको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ ।

उक्त प्रस्ताव कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा गरिएको विभागले जनाएको छ । विभागका अनुसार परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने छ ।

परियोजनाको एक हिस्साका रूपमा मन्त्रिपरिषद्ले श्रीलङ्का नेसनल इन्स्टिच्युट अफ एजुकेसनको सिफारिसका आधारमा माइक्रोसफ्ट इन्स्टिच्युटले हाल लागु गरेको अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई संसोधन गर्न आवश्यक आधारभूत मानव संसाधन उपलब्ध भएका विद्यालयहरूमा कक्षा ८ देखि प्रस्तावित पाइलट परियोजना सुरु गर्न स्वीकृति दिएको विभागले बताएको छ ।

मन्त्रिपरिषद्ले माइक्रोसफ्ट इन्स्टिच्युटले दिने सुविधाअन्तर्गत पाइलट परियोजनाका लागि छनोट गरिएका विद्यालयको डिजिटलीकरण तथा एक सय जना सूचना एवं सञ्चार प्रविधि विषयका शिक्षकहरूलाई प्रशिक्षण दिने प्रस्तावलाई पनि स्वीकृति दिएको छ ।

चीनद्वारा इजराइललाई रफाहमा छिटो सैन्य कारबाही रोक्न आग्रह

चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भिर मानवीय प्रकोप हुने चेतावनी दिएको छ ।

चीनले रफाह क्षेत्रको घटनाक्रमलाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै नागरिकलाई हानि पुर्याउने, अन्तरराष्ट्रिय कानुन उल्लङ्गनकार्यको विरोध तथा निन्दा गरेको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

बेइजिङले इजरायललाई छिटै सैन्य कारबाही रोकी रफाह क्षेत्रमा गम्भीर मानवीय प्रकोप रोक्न निर्दोष नागरिकको जीवन रक्षा गर्न आवाश्यक प्रयास गर्न आग्रह गरेको छ ।

इजरायलले हमाससँग युद्धविराम गर्न बढ्दो अन्तरराष्ट्रिय दबाबको सामना गरिरहेको छ । यसैबीच दक्षिणी गाजा सीमावर्ती शहर रफाहमा आक्रमणको तयारी गरिरहेको छ जहाँ दस लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी फसेका छन् ।

गत हप्ता युद्धविरामका लागि हमासका सर्त अस्वीकार गरेपछि इजरायलले सोमबार राफाहमा बिहान छापा मारेको थियो । जसले दुई जना बन्धकलाई मुक्त गर्यो भने करिब सय जनाको ज्यान लियो ।प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले रातको अपरेशनलाई प्रशंसा गर्दै प्यालेस्टिनी विदेश मन्त्रालयले दर्जनौँ नागरिकहरूको नरसंहार बारम्बबार भएको बताएको छ ।

हवाई आक्रमण अन्तर्गत दुर्लभ उद्धार अभियान नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको केही घण्टापछि आएको थियो, जसले राफाहमा भएको ठूलो आक्रमणको विरोध गरेका छन् ।संयुक्त राष्ट्रसङ्घले पनि इजरायललाई नागरिकको रक्षा गर्ने योजना बिना राफाहमा भूमि आक्रमण नगर्न चेतावनी दिएको छ ।

अयोध्या राम मन्दिरमा भक्तजनको बाक्लो आगमन जारी

मङ्गलबार भगवान रामको दर्शन गर्न अयोध्याको राम मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लागेको छ । अहमदाबाद निवासी कीर्ति आचार्य नामका भक्तले एउटा अदभूत सनातन र अनन्त मूल्यमान्यताको विजयको प्रतिकका रूपमा पाँच सय वर्षपछि भव्य मन्दिर निर्माण भएको बताउदै आँखाबाट आँसु झार्नुभयो । मन्दिर निर्माण पछि भगवान राम नै यहाँ आएको विश्वास व्यक्त गर्दै आचार्यले अव यहाँका स्थानीयलाई अपार आनन्द मिल्ने बताउनुभयो । यसै सन्दर्भमा अर्का जना भक्तले अयोध्या आएर आफ्नो यात्रा पूरा भएको छ बताउनुभयो ।

भगवान श्रीरामको आगमनको प्रतिक्षामा अयोध्याको भौगोलिक क्षेत्रलाई सुन्दररुपले तरिकाले सजाइएको छ । मन्दिरको जटिल काम पनि असाधारणरूपमा सुन्दर छ । भारत बाहिरबाट आएका मानिसका लागि कुनै कठिनाई नभई सबै कुराको व्यवस्थापन छ । विद्यार्थीसँगै आएका लखनऊका एकजना शिक्षकले आपूmहरु एउटा प्रतियोगिताका लागि अयोध्या आएको बताउँदै यहाँ आइपुगेपछि आपूmले राम मन्दिर पनि भ्रमण गरेको बताउनुभयो ।

मन्दिर देखेर अद्भुत महसुस गरेको बताउनुभयो । ठुलो सङ्घर्षपछि मन्दिर निर्माण सम्भव भएपछि मन्दिर परिसरमा आउँदा खुशी र सफलता हासिल गरेको अनुभव भएको उहाँको भनाइ छ । मन्दिर निर्माण सँगसँगै अयोध्यामा पनि उल्लेखनीय विकास स्वरुप सडक निर्माण गरिएको ती शिक्षकको भनाइ छ । परिणाम स्वरुप पर्यटकीय वातावरण पनि वृद्धि भएकाले चारैतिरबाट पर्यटकहरू निरन्तर आइरहेको उहाँले बताउनुभयो ।

यसअघि अमिताभ बच्चनले शुक्रबार मन्दिरको भव्य उद्घाटनमा छोरा अभिषेक बच्चनसहित राम लल्लाको पूजा गर्नुभएको थियो । बुधबार सुरिनामको प्रतिनिधिमण्डलले अयोध्याको भ्रमण गरेको थियो । सुरिनामको राष्ट्रियसभाका अध्यक्ष मारिनस बीको नेतृत्वमा प्रतिनिधिमण्डल बुधबार अयोध्या पुगि आध्यात्मिक र सांस्कृतिक गतिविधिसहित राम लल्लाको मूर्तिको पूजा गरेको थियो । मुख्यमन्त्री पेमा खान्डुको नेतृत्वमा अरुणाचल प्रदेशको मन्त्रिपरिषद्ले अयोध्यामा राम मन्दिरको भ्रमण गरेको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयअनुसार भगवान राम लल्लाको प्राण प्रतिष्ठापछि राम लल्लाको दर्शन र पूजा गर्ने अरुणाचल प्रदेशबाट आएका तिनीहरू पहिलो राजनीतिक प्रतिनिधिमण्डल थिए । जनवरी २२ मा मन्दिरमा श्री राम लल्लाको ‘प्राण प्रतिष्ठा’ सम्पन्न भएको थियो । जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले पुजारीको नेतृत्वमा अनुष्ठान गर्नुभएको थियो ।

माओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

काठमाडौँ, १ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ । जनयुद्ध दिवसको सन्दर्भ पारेर माओवादी केन्द्रले आजदेखि राजधानीमा आयोजना गरेको प्रथम विधान सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले परिवर्तनका लागि बलिदान गर्ने योद्धालाई आरोपित गर्ने अधिकार कसैसँग पनि नभएको उल्लेख गर्नुभयो ।

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरौँ, समीक्षा गरौँ, नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।”

सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको भन्दै उहाँले सङ्कल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गर्नुभयो । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको तथा सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गर्नुभयो । जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको यथार्थ सुनाउनुभयो ।

सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भव्यरुपमा मनाउने उल्लेख गर्दै उहाँले यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । “नेपालको ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरामा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँकै दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।

” सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताउनुभयो । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धिको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताउनुभयो । माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारी सहभागी छन् । पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य हुनुहुन्थ्यो । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो । प्रस्तावित विधानमा गत माघ २६ र २७ गते पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो ।

गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो । छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई सङ्क्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए ।

माओवादी विधान अधिवेशनः बीस समूह बनाएर छलफल

काठमाडौँ, १ फागुन : राजधानीमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको महासचिव देवप्रसाद गुरुङले राससलाई जानकारी दिनुभयो ।

भोलि बुधबार अपराह्न १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । बीसवटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता छ ।

किशोर विवेक सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी

झोता (बझाङ), १ फागुन ः बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहनुभयो । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उहाँ चर्चाको शिखरमा पुग्नुभएको हो ।

खप्तडछान्ना गाउँपालिका स्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्प तर्फ स्वर्ण पदक जित्नुभएको हो । पाँच दशमलव छ फिट उचाइ जम्प गर्दै उहाँले स्वर्णपदक हात पार्नुभएको हो । अहिले उहाँलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन् । एक फेसबुक प्रयोगकर्ताले लेख्नुभएको छ, “ओएमजी ! खप्तड (खप्तडछान्ना गाउँपालिका)को उड्ने चरो रहेछ त । प्वाख फिटिङ गरेको छ कि क्या हो ।” त्यस्तै विकास जप्रेल नाम गरेका अर्का व्यक्तिले लेख्नुभएको छ, “यो भाइ त चरो हो । चरोको जस्तै उड्छ । म त यिनको फ्यान भइसकेँ”, यसरी सागरले सामाजिक सञ्चालमा चर्चा कमाइरहनुभएको छ ।सागर खप्तड माविमा कक्षा ९मा पढ्नुहुन्छ । स्थायी ठेगाना बाजुरा भए पनि खप्तड माविमा अध्ययन गरिरहनुभएका उहाँ विशेषगरी एथलेटिक्स र सङ्गीतमा रूचि राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो रूचिको खेल एथलेटिक्सभित्र उफ्रने, फ्याँक्ने, दगुर्ने नै हो । सङ्गीत तथा डान्सिङ पनि उत्तिकै मन पराउँछु ।”उहाँका अनुसार खप्तड माविमा भर्ना हुनुअघि पनि उहाँ एथलेटिक्सका विभिन्न विधामा अभ्यास गर्नुहुन्थ्यो । “यस्तो अवसर आउला भन्ने सोचेको थिइनँ । मौका मिल्यो, मेरो अभ्यासले पनि काम ग¥यो ।” सागरले भन्नुभयो ।को हुन् सागर ?चौध वर्षअघि बाजुराको खप्तडछेडेदह गाउँपालिका–६ मा जन्मिएका सागर पाँच वर्ष नपुग्दै बुवा बुदेसँग भारतको नयाँ दिल्ली जानुभयो । पछि आमासहित दाइ दिदीहरू गएपछि उहाँहरूको बाल्यकालको समय भारतमै बित्यो ।किशोरावस्थादेखि नै भारतमा चौकीदारी गर्दै आएका बुदे बेला–बेलामा सबै सन्तानलाई भारतमा घुमाउनुहुन्थ्यो । सागर जन्मपछि भने उहाँहरूको बसाइ भारतमै भयो । घरमा बसेर पाँच सन्तानलाई पाल्न, पढाउन निकै समस्या भएपछि सागर परिवारले केही काम गर्ने र सन्तानलाई पढाउने सोचपछि उहाँहरू दिल्लीमा बस्न थाल्नुभयो ।सागरकी जेठो दिदी विपनाका अनुसार सङ्गीतमा रूचि भएका भाइहरूको पढाइ बिग्रिन थालेपछि सबै भाइबहिनीलाई लिएर बुवाआमा भारत जानुभएको थियो । भारतमा पनि उहाँहरूलाई पढाइ गर्न त्यति सजिलो थिएन । “भारतमा पनि बुवाआमाले कमाएको पैसाले खान र पढाउन मुस्किल भयो । त्यसै बीचमा जेठो र माइलो भाइले पढाइ छोडे”, विपनाले भन्नुभयो ।“मैले दुःखसुखले पढेपछि बझाङको खप्तडछान्नामा बिहे गरेँ”, उहाँले भन्नुभयो, “त्यसपछि खप्तडछान्ना स्वास्थ्यचौकीको प्रयोगशाला फाँटमा जागिर पाइयो । बुवाआमालाई सजिलोका लागि कान्छो भाइ विवेकलाई समेत ल्याए र खप्तड माविमा भर्ना गराए ।”विवेक विद्यालयमा पनि अहिलेसम्म मध्यम क्षमता भएको विद्यार्थीमा गनिनुहुन्छ । उहाँले भन्नुभयो “भाइलाई बझाङ ल्याएपछि उसले निकै फुर्सद मानेर खेलकुद, सङ्गीत तथा पढाइलाई सँगसँगै लिइरहेको छ ।” पछि नतिजा राम्रै आउनेछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

कांग्रेस महासमिति बैठक : आवास समन्वय उपसमितिमा दश सदस्य थप

काठमाडौँ, १ फागुन : नेपाली कांग्रेसले महासमिति बैठकको आवास समन्वय उपसमितिमा १० सदस्य थप गरेको छ । कांग्रेसले पार्टीको यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको आवास समन्वय उपसमितिमा सदस्य थप गरेको हो ।

नयाँ थप गरिएका सदस्यमा बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, कांग्रेस बागमती प्रदेशका सहमहामन्त्रीद्वय जीवन डङ्गोल र ऋषिराम घिमिरे, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन रहनुभएको छ । यस्तै कांग्रेस ललितपुरका उपसभापति एवं गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, कोन्जेसोम गाउँपालिकाका उपाध्यक्ष गणेश केसी, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन र गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी सदस्य रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सांसद शाही भन्छन्-‘मुलुकको स्थायित्व र विकासका लागि कार्यकारी राष्ट्रपति आवश्यक छ’

नेपालगञ्ज । मुलुकको राजनीतिक प्रणालीका विषयमा नेकपा (माओवादी केन्द्र)ले संविधान लेखनका क्रममा आफ्नो दृष्टिकोण स्पष्ट गरेको थियो । अर्थात् मुलुकको स्थायित्व र विकासका लागि माओवादीले अघि सारेको कार्यकारी राष्ट्रपतिको व्यवस्था सही रहेको विषय अहिले पुष्टि हुँदै गएको छ । कम्तीमा पाँच वर्ष सत्ता सम्हाल्ने व्यवस्था जरुरी भइसकेको छ, यसबाट मात्र देशमा राजनीतिक स्थिरता आउँछ र देश बन्न सक्छ । अहिलेको अवस्थामा छ महिना, एक वर्ष वा दुई वर्ष पनि सरकार नटिक्ने स्थिति छ । आफैँले अघि सारेका दृष्टिकोण वा कार्यक्रम पूर्ण कार्यान्वयन गर्न सक्ने अवस्थामा सरकार देखिन्न ।

तीव्र विकास र आर्थिक समृद्धिमा जोड दिने, रोजगारी सिर्जना गर्ने, नागरिकलाई आर्थिक हिसाबले सम्पन्न बनाउने, जनताले खोजेको सामाजिक न्यायसहितको सुशासनको कुरामा जोड दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, सामाजिक न्याय स्थापित गर्ने, भौगोलिक उत्पीडन समाप्त पार्ने, दलित समुदायमाथिको उत्पीडन हटाउनेजस्ता अनेकन काम गर्नुपर्ने चुनौती हामीबीच छ । यस्ता ज्वलन्त समस्याको सम्बोधन र समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा राष्ट्रप्रमुखको आवश्यकता छ ।

हामीले स्वीकार्नुपर्छ, नेपालको संविधानमा अझै पनि त्रुटि छन् । निर्वाचन प्रणालीमा पनि सुधारको खाँचो छ । कार्यकारी राष्ट्रपतिलाई सरकार गठनमा स्वतन्त्र राख्न सकिए देशमा स्थायित्व सिर्जना हुन्छ र विज्ञहरूको अग्रसरतामा अनेकन सुधारका कार्यहरू गर्न सकिन्छ भन्ने लाग्छ । उदाहरणका लागि, सञ्चारको क्षेत्रमा सूचना प्रविधि विषय पढेको व्यक्तिलाई जिम्मेवारी दियौँ भने त्यसले देखिनेगरी सुधार ल्याउन सक्छ । कृषि विषेशज्ञलाई कृषिमन्त्री बनायौँ भने कृषिमा सुधार आउन सक्छ । अहिले मन्त्रिपरिषद्मा विषयविज्ञ व्यक्तिको अभाव छ । एउटा राजनीतिज्ञ मन्त्री भएर मन्त्रालयमा प्रवेश त गर्छ तर सम्बन्धित विषयमा अनभिज्ञता देखियो ।

हामी राजनीतिज्ञमा पनि म मन्त्री भइसकेको भन्ने अहङ्कार बढेको छ । म सांसद भइसकेको छु भन्ने अहङ्कार छ । यो अहङ्कारले हाम्रो ज्ञानलाई रोकेको छ । जुन क्षेत्र हो त्यो क्षेत्रको विज्ञ मान्छेलाई अवसर दिने, मन्त्रालयका सचिव पनि विषयगत राख्न सकिए परिणाम भिन्न हुन्छ । अमेरिकी राष्ट्रपतिको जस्तै पाँच वर्षसम्म मन्त्री, उच्चपदस्थ कर्मचारीको सेट बनाएर रातदिन काम गर्न सकिन्छ र त्यसले छोटो अवधिमै देशको विकास गर्न सक्छ ।

अहिले हामी एक किसिमको संसदीय अभ्यासमा छौँ । तर चुनावमा यति धेरै विकृति किन पैदा भयो ? चुनाव जितेपछि सबै माननीयको सपना भनेको मन्त्री बन्ने छ । ठूलो रकम खर्चेर चुनाव जितेपछि मन्त्री बन्न होडबाजी हुने नै भयो । यसकारण पनि चुनाव महँगो भयो । सांसदको भूमिका भनेको त संविधान निर्माण, संशोधन वा कानुन निर्माण गर्ने, राष्ट्रियतामाथि कुनै आँच आउने काम भए त्यसको खबरदारी गर्ने, जनसरोकारका विषयमा काम भएको छ वा छैन, सरकारले प्रभावकारी काम गरेका छ वा छैन यसको निगरानी गर्ने, नियमन गर्ने हो ।

अहिले संसद्ले आफ्नो तोकिएको भूमिका सफलतापूर्वक निर्वाह गर्न सकिरहेको छैन । विडम्बना नै भन्नुपर्छ, संसद् चलेको बेला कुर्सीहरू सबै खाली देखिन्छन् । आफ्नो दायित्व के हो ? महत्व के हो ? भूमिका के हो ? भन्ने सांसदले बुझ्न सकेनन् भने यसबाट परिणाम आउन सक्दैन । सरकारको कुरामात्रै होइन, संसद्ले पनि परिणाम निकाल्न सकेन ।

झण्डै सात वर्ष हुन लाग्यो, संसद्ले संविधानले परिकल्पना गरेबमोजिमका धेरैवटा सङ्घीय कानुन बनाउन सकेको छैन । संसद्को लागि त्यत्रो पैसा खर्च भएको छ । हामीले हाम्रो भूमिका निर्वाह गर्न सकिरहेका छैनौँ । यसैले यस्ता प्रकारका तमाम समस्या आउनु भनेकै संविधानमा रहेका त्रुटि वा कमी हुन् । यसलाई अविलम्ब संशोधन गरेर समस्याको हल खोज्नुपर्छ ।

मिनी संसद्को रूपमा रहेका संसदीय समितिका बैठकहरू पनि कोरम नपुगेर, बहुमत नपुगेर टुङ्गिएका छन् । समितिलाई पनि काम गर्ने जुन अख्तियारी दिइएको छ त्यो अख्तियारी पूरा गर्ने मामलामा पनि समस्या छ । हस्तक्षेपकारी भूमिका छैन, निरीहजस्तो देखिएको छ । हामीले भनेको कहाँ मान्छन् वा कहाँ सुन्छन् भन्ने अभिव्यक्ति सुनिन्छ, यसले समिति नै कमजोर भएको देखाउँछ । कमजोर समितिले केही काम गर्न सक्दैन । शक्तिशाली भूमिका निर्वाह गर्ने कुरामा समितिको कहीँ न कहीँ समस्या देख्छु ।

म कालिकोट जिल्लाबाट निर्वाचित भएको हुँ । कालिकोट जिल्ला मानव विकासको सूचकाङ्कमा कमजोरमा एक नम्बरमा आउँछ । भौतिक पूर्वाधारका हिसाबले पनि कालिकोट पछि परेको छ । कालिकोट चट्टान नै चट्टान भएको जिल्ला हो । त्यहाँ सडक बनाउन पनि विस्फोटक पदार्थले चट्टान फुटाउनुपर्छ । त्यसैले यहाँ सडकको अभाव छ । बल्ल एउटा करिडोरको काम गर्यौ । त्यसबाहेक अहिले जनतालाई आफ्नो घरसम्म पुग्ने अर्को बाटो छैन ।

जिल्लामा राष्ट्रिय विद्युत् प्रसारणको लाइन त पुग्यो तर सीमित पालिकामा मात्रै पुगेको छ । यहाँ कछुवाको गतिमा काम भइरहेको छ । स्वास्थ्योपचारको सेवा पनि यहाँ सहजै प्राप्त गर्ने अवस्था छैन । एउटा पालिकामा विशेषज्ञसहितको एउटा अस्पताल बनाउन आवश्यक छ । किनभने अहिले कोही बिरामी भए बोकेर ल्याउनुपर्ने अवस्था छ । सरकारको नीति नै एक पालिकामा १५ शय्याको अस्पताल बनाउने रहेको छ । तर यो कार्यान्वयन हुनसकेको छैन, नारामा मात्रै सीमित भएको छ । त्यस्तै शिक्षाको समस्या पनि छ, टिनका टहरामा विद्यालय छन् ।

पूर्वाधार विकासको समस्यासँगै जिल्लाको सबैभन्दा ठूलो समस्या गरिबी हो । कालिकोटमा भएका स्रोतसाधनको उपयोगका लागि राज्यले नै लगानी गर्नुपर्ने आवश्यकता छ । जस्तै भेडापालन र बाख्रापालन गरेर आम्दानी बढाउन सकिन्छ । खानीका कुरा छन् । जलविद्युत् उत्पादनको सम्भावना व्यापक छ । गरिबीको अन्त्य कसरी गर्ने ? गरिबी कसरी घटाउने ? भन्ने विषयमा सोच्न जरुरी छ । कालिकोट खासगरी दलित समुदायको बाहुल्य भएको जिल्ला पनि हो । तथ्याङ्कले देखाएका छन्, उनीहरू नै बढी पीडित भइरहेका छन् । दलित समुदायका पक्षमा फरक कार्यकम र प्याकेज लिएर उनीहरुको जीवनस्तर सुधारमा ध्यान दिन जरुरी छ भन्ने लाग्छ । म आफैँ मुख्यमन्त्री हुँदा केही लगानी गरियो, अहिले दलित आयआर्जन कार्यक्रम, महिला आयआर्जन कार्यक्रम भनेर सबै पालिकामा लगिएको छ । तर यसका लागि बजेट न्यून छ । एउटा पालिकामा रु २५ लाखभन्दा बढी छैन । यस्तै प्रकारको लगानी सङ्घीय सरकार र प्रदेश सरकारबाट भयो भने गरिबी न्यूनीकरण गर्न मद्दत पुग्नेछ । एक घर एक धाराको नीति पनि छ । खानेपानी, सिँचाइलगायतका तमाम समस्या छन् । केही पालिका र केही वडामा एक घर एक धाराको काम भएको छ तर सबै ठाउँमा भएको छैन ।

नेपालले केही वर्षदेखि खुला बजार अर्थनीति अँगालेको छ । विगतमा चीन, भारतसमेतका मित्रराष्ट्रले नेपालमा उद्योग, कलकारखाना स्थापना गर्न आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । तर ती सबैजसो उद्योग अहिले बन्द छन् । यी उद्योग सञ्चालन भएको भए केही मानिसले त रोजगारी पाउँथे । केही साना उद्योग छन् तर रोजगारीका अवसर पाइँदैन । उद्योग सञ्चालनका लागि राज्यले सहयोग गर्नुको विकल्प छैन ।

राज्यले स्वदेशमा उत्पादन भएका वस्तुको प्रयोग बढाउने नीति पनि लिनुपर्छ । आम नागरिकलाई बाध्यकारी छैन भन्न सकूँला तर नेपाली सेना र प्रहरीलाई त नेपालमै उत्पादित कपडा प्रयोग गर भन्न सकिन्छ । प्रधानमन्त्री, मन्त्री, सांसदले विदेशी उत्पादन प्रयोग नगर्ने नीति बनाउन सकिन्छ । यसले स्वदेशमा उत्पादन भएको वस्तुको बजार विस्तार हुन्छ । कर्णाली क्षेत्रमा अदुवाको खेती हुन्छ । निजी क्षेत्रले युरोप पुर्याउँछ । अब नेपालमा राज्यले लगानीमैत्री वातावरण बनाएर निजी क्षेत्रलाई यसमा आकर्षित गर्नुपर्छ । लगानी गर्ने उद्योगी वा व्यवसायीलाई सुविधा दिनैपर्छ । जस्तै, दश वर्ष कर शुल्क नलिने । कर लिनेभन्दा रोजगारी दिने कुरा ठूलो हो । राज्यले त्यस्ता उद्योगीलाई रोजगारी दिने शर्त राख्नुपर्छ ।

सरकार भनेको नागरिकको अभिभावक हो । त्यसो भएको हुनाले रोजगारी सिर्जना गर्ने योजना बनाउनुपर्छ । जस्तै कृषिको कुरा गर्ने हो भने अहिले तोरी मिलमा विदेशी तोरी आएको छ । त्यसमा नेपालकै तोरी, गहुँ, चामल वा अन्य वस्तु भए के हुन्छ ? यसबाहेक पर्यटनका कुरा छन्, जडीबुटीका कुरा छन्, खानीका कुरा छन् । सस्तो लोकप्रियताका लागि बजेट कनिका छरेजस्तै छर्ने, कार्यकर्ता पाल्ने काम हुनु भएन । केही मान्छे अध्ययनका लागि पनि गएका छन् विदेश तर अधिकांश मानिस विद्यार्थी भिसामा मजदुरीका लागि गएका छन् । पढ्न गएकाहरू त्यहाँ काम गर्न बाध्य छन् ।

-सांसद महेन्द्रबहादुर शाहीसँग युवराज पाण्डेले गरेको कुराकानीको सम्पादित अंश

कम्प्युटर इन्जिनियरको चियापसल : उनी भन्छन्– ‘कुनै पछुतो छैन’

जनकपुरधाम, १ फागुन : सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् ।

तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ । कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उहाँका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन् । जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले ।

घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन् । सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहनुपरेको छ उहाँले । “आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुदैन र ! त्यस्तै रहर मलाई पनि थियो । तर रहरले मात्रै कहाँ हुँदोरहेछ ! त्यसैको उदाहरण हुँ म”, उहाँले भन्नुभयो । रहरले त हुँदैन तर प्रविधिको ज्ञान त छ नि ! प्रयास गरेपछि कसो नहोला ? लामो सुस्केरा हाल्दै राजेशले भन्नुभयो, “खै ! नहुँदोरहेछ । मसँग त रहर र सीप दुवै छ । प्रयास पनि कहाँ नगरेको हुँ र… !”

पछाडिबाट आवाज आयो, “दाई चिया ।” कुरा छाडेर काममा लाग्नुभयो उहाँ । ग्राहकलाई चिया दिइसकेपछि छेउमै आएर सोध्नुभयो, “तपाईँहरूको नि ?” जवाफमा हामीले पत्रकार भएको बताएपछि एउटा कुर्सी तानेर बस्नै लाग्दा फेरि ग्राहक थपिए ।

“मेरो त काम नै यस्तै छ । सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु”, पाक्दै गरेको चिया चलाउँदै राजेशले भन्नुभयो, “पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ । विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु ।”

यसरी तुहियो सपना

जनकपुरधामस्थित एक निजी विद्यालयबाट विसं २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले स्नातकसम्मको शिक्षा भारतमा पढ्नुभएको छ । भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक (बि–टेक)सम्मको अध्ययन पूरा गर्नुभएको छ ।

सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउनेगरी चण्डिगढको एउटा कम्पनीमा काम सुरु गरिसक्नुभएको थियो । तर जनकपुरस्थित घरमा रहनुभएकी आमा ‘थ्रोट’ क्यान्सरबाट सिकिस्त भएपछि तीन महिनामै जागिर छाड्नुपरेको उहाँले सुनाउनुभयो ।

“स्नातक सकिएपछि काम सुरु गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुपर्यो । त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिए । एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो । त्यसक्रममा करिब रु २५–३० लाख खर्च भयो । त्यसयता हामी सबैको योजना भताभुङ्ग भयो”, उहाँले दुःख पोख्नुभयो ।

हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन । किनकि घरको काम उहाँले नै गर्नुपर्ने भयो । यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो ।

“बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा । त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन । जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो । आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइँएन”, उहाँले भन्नुभयो ।

नेपाल टेलिकमको जागिरबाट अवकाशप्राप्त बुवाको पेन्सनबाट घरव्यवहार चलाइरहेको बताउने राजेशले आफ्नो शिक्षा र ज्ञान प्रयोग गर्नुपर्छ भन्ने योजना नबनाएका पनि होइनन् तर आर्थिक अभावले पूरा गर्न सकेनन् । “जागिर पाइएन । खर्च बढ्दै गयो तर आम्दानी छैन”, एकछिन निःशब्द हुँदै उहाँले भन्नुभयो, “श्रमको मूल्य पाउने जागिर नै पाइँएन । दश–बाह्र हजारमा काम गर्न सकिएन ।”

नेपालमा विकल्प नभएपछि उहाँले विदेशिने निधो गर्नुभयो । त्यसबेला स्वास्थ्य बाधक बन्यो । राजेशले दुबईमा साइबर सेक्युरिटीका क्षेत्रमा काम गर्न एउटा कम्पनीमा विभिन्न चरण पार गरेँ । तर मेडिकल परीक्षण गर्दा रगतमा सङ्क्रमण देखिएपछि त्यहाँ पनि जान पाउनुभएन । अहिले औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो ।

सामान्य मध्यमवर्गीय परिवारका उहाँले ‘प्लस टु साइन्स’ आफ्नै लगानीमा पढे पनि बि–टेकचाहिँ छात्रवृत्तिमा पढ्नुभएको हो । उहाँमात्रै होइन उहाँका दाजुले पनि बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमटेक) सम्मको अध्ययन भारतबाट र चीनबाट विद्यावारिधि गर्नुभएको छ । लकडाउनको समयमा अध्ययन सकेर नेपाल फर्किएका उहाँ पनि पारिवारिक समस्याकै कारण घरमै अल्झिरहनुपरेको भाइ राजेशले राससलाई जानकारी दिनुभयो ।

आठ हजार तिर्नुपर्ने भएपछि…

आमालाई क्यान्सर भयो । त्यहीबीचमा बुवा बित्नुभयो । परिवारको लय बिथोलियो, राजेश दाजुभाइको सपना र योजना । जागिरका लागि गरिएका प्रयास सफल भएनन् । भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो । “सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु । रु एक लाख ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो । ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो”, उहाँले मलिन मुद्रामा भन्नुभयो ।

यो व्यापार पनि एउटा पसलमा रु आठ हजार उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो । चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई रु आठ हजार तीन सय तिर्नुपर्ने भयो । अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने सङ्कल्प लिएको राजेशको कथन छ ।

उहाँ भन्नुहुन्छ, “त्यहीँ घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ । एकातिर अरुलाई तिर्नुपर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने । त्यसपछि चियापसल सुरु गरेको हुँ ।” राजेशले पसलको नाम ‘इन्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिनुभएको छ । उहाँ विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेको र अब यहीँ व्यवसायलाई व्यवस्थित बनाउने योजनामा हुनुहुन्छ ।

“सुरुमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थे तर अहिलेचाहिँ कुनै पछुतो छैन । देशको अवस्था, विदेशिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु । आगामी दिनमा के–के हुन्छ हेर्दै जाऔँ”, उहाँले भन्नुभयो ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठ पनि एउटा शिक्षित र प्राविधिक शिक्षा पढेको युवाले रोजगारी नपाउनु चिन्ताको विषय भए पनि राजेशले रोजेको बाटोबाट आम युवाका लागि प्रेरणाको ठूलो सन्देश प्रवाह भएकामा खुसी व्यक्त गर्नुभयो । “देशमा कुनै पनि क्षेत्र र मान्छे उत्साहित छैनन् । युवाहरू विदेश धाइरहेका छन् । यो भीडमा एउटा शिक्षित युवाले चियापसल खोल्ने आँट गर्नु राम्रो कुरा हो । यसबाट अरुले पनि पाठ सिक्न जरुरी छ”, उहाँले भन्नुभयो ।

‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि

यही डिसेम्बर दोस्रो साता भारतको छत्तीसगढ राज्यको रायपुरमा एउटा सानो समूहले ‘हिन्दूराष्ट्र नेपाल समर्थन यात्रा’ नामको कार्यक्रम गर्‌यो।जय श्रीराम सेना सङ्गठन र आदित्यवाहिनी नामक दुई हिन्दूवादी सङ्गठनले ‘समर्थन यात्रा’सँगै त्यसै दिन उक्त राज्यका राज्यपालमार्फत भारतका राष्ट्रपतिलाई एउटा ज्ञापनपत्र पनि बुझाए।

ती संस्थाका सदस्यहरूबाट बीबीसीले प्राप्त गरेको ज्ञापनपत्रमा वर्तमान सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको आलोचना गरिनुका साथै नेपाली नागरिकको चाहना अनुसार नेपाललाई हिन्दूराष्ट्र बनाउन भारत सरकारले समर्थन गर्नुपर्ने माग गरिएको छ।

त्यसमा नेपाल धर्मनिरपेक्ष भएपछि धर्मान्तरण बढेको दाबी गरिएको छ भने चीनको हस्तक्षेप बढेको र नेपालको अस्तित्व रक्षाका लागि पनि हिन्दूराष्ट्र र राजसंस्थाको आवश्यकता रहेको उल्लेख छ।डिसेम्बर दोस्रो साता नै भारतको अयोध्यास्थित जानकी महल ट्रस्ट धर्मशालामा भएको भारत वर्षीय बाह्मण महासभाको राष्ट्रिय कार्यकारिणी बैठकको बन्द सत्रमा पनि नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने प्रस्ताव आएको त्यसमा सहभागी एक नेपालीले बताएका छन्।

तर बैठकले नेपालसम्बन्धी उक्त प्रस्ताव पारित नगरेको र निर्णयमा पनि त्यसबारे उल्लेख नगरिएको उनले दाबी गरे।

“दुई वर्षअघि संस्थाको नेपालमा भएको बैठकले नै पारित गरिसकेको प्रस्तावलाई दोहोर्‍याउनु जरुरी छैन भनेर त्यसलाई पारित गरिएन,” उक्त बैठकमा सहभागी भएको बताउने पशुपति क्षेत्र विकाष कोषका पूर्व सञ्चालक सदस्य अर्जुनप्रसाद बास्तोलाले भने।

उक्त संस्थाको विद्वत् परिषद्‌मा रहेकाले आफू बैठकमा सहभागी भएको बास्तोलाको भनाइ छ।बास्तोलाका भनाइमा दुई वर्षअघि नेपालमा भएको महासभाको सम्मेलनले नेपाललाई धर्मनिरपेक्षबाट हिन्दू राष्ट्र बनाउन माग गर्ने निर्णय गरेको थियो।

गतिविधि भारतमा, माग नेपालसँग सम्बन्धित
नेपालमा विभिन्न समूहहरूले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गरिरहेका बेला भारतमा पनि हिन्दूवादी संस्थाहरूले त्यसको समर्थनमा स-साना कार्यक्रमहरू गर्ने गरेका उदाहरण प्रशस्तै भेटिएका छन्।

पछिल्ला केही वर्षमा नेपालमा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै भारतमा विशेषगरी हिन्दूवादी धार्मिक सङ्गठनहरूले स-साना कार्यक्रमहरू गर्ने तथा ज्ञापनपत्र बुझाउने गरिरहेका छन्।

त्यसलाई नेपालमा हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापनाको माग गर्नेहरूले ‘नागरिक तहको सद्भावपूर्ण समर्थन’ भन्ने गरेका छन् भने गणतन्त्रवादीहरूले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भन्दै त्यस्ता गतिविधिको विरोध गर्ने गरेका छन्।

कतिपयले विशेषगरी नेपालको तराई क्षेत्रमा भएका पछिल्ला साम्प्रदायिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई पनि भारतमा भइरहेका ती घटनासँग जोडेर हेर्ने गरेका छन्।

भारतमा क्रियाशील नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने सङ्गठनहरूको कुनै न कुनै रूपमा नेपालका हिन्दूवादी संस्थाहरूसँग सम्बन्ध रहेकाले पनि त्यस्तो आशङ्का उत्पन्न हुनु नौलो नभएको कतिपयको विश्लेषण छ।

केही विश्लेषकहरू भारतको सत्ताधारी हिन्दूवादी दल भारतीय जनता पार्टीसँग कुनै न कुनै रूपमा सम्बन्ध भएका हिन्दूवादी सङ्घसंस्थाहरू नै नेपालमा हिन्दूराष्ट्र पुनर्स्थापनाको मागमा अघि बढेको बताउँछन्।

त्यसले यस्ता गतिविधिमा भाजपाको पनि ‘मौन समर्थन’ रहेको उनीहरूको विश्लेषण छ।

यद्यपि भारतमै हिन्दूराष्ट्र नेपालको माग गर्दै कार्यक्रम गर्नेहरूले आफूहरूलाई भाजपाको समर्थन नरहेको र स्वतस्फूर्त रूपमा छिमेकी देशका नागरिकको माग अनुरुप मात्र आफूहरूले आफ्नै सरकारलाई घच्घच्याएको बताएका छन्।

रायपुरमा ‘हिन्दूराष्ट्र नेपाल समर्थन यात्रा’को आयोजना गर्ने जय श्रीराम सेना सङ्गठन रायपुरका अध्यक्ष गौरव सोलंकीले भने, “नेपालको मामिलाबारे भारत सरकारले निर्णय गर्ने हो। हामीले होइन। हामीले जनताको रूपमा माग राख्न त भारतको संविधानले अधिकार दिएको छ।”

“संविधानप्रदत्त अधिकार प्रयोग गरेर हामीले जनताका रूपमा नेपाली जनताको भावना अनुसार आफ्नो सरकारसँग नेपाल हिन्दू राष्ट्र हुनुपर्छ र त्यसलाई भारतले समर्थन गर्नुपर्छ भन्ने माग राखेका हौँ। यसमा यहाँको सरकार वा सत्ताधारी दल कसैको पनि संलग्नता छैन।”

उनले नेपाल र भारतबीच नागरिस्तरमा सम्बन्ध रहेको र सांस्कृतिक रूपमा एकै भएकाले पनि हिन्दूराष्ट्रको माग गरिएको बताए।उनीहरूले आफ्ना कार्यक्रममा भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीको तस्बिर पनि प्रयोग गरेका थिए।

निश्चलानन्द सरस्वती तिनै शंकराचार्य हुन जसले नेपाललाई ‘हिन्दूराष्ट्र’ भएको घोषणा गरेका थिए र गत वर्षको शिवरात्रिमा नेपाल पनि आएका थिए।सोलंकीले तिनै शङ्कराचार्यलाई उल्लेख गर्दै “गुरुदेवको आशिर्वाद अनुरूप” नेपालमा हिन्दूराष्ट्रको समर्थनमा कार्यक्रम गरेको बीबीसीलाई बताए।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । विष्णु पोखरेल बीबीसी न्यूज नेपालीका सम्वाददाता हुन् ।

दिक्तेलको खाल्लेमा बस पुगेपछि स्थानीय बासिन्दा नाचगान गर्दै रमाए

खोटाङ, १ फागुन : दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर धक खोलेर नाचगान गर्दै रमाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत थिए ।

आफ्नो घर नजिकैबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्नेगरी निर्माण गरिएको सडकमा पहिलोपटक गुडेको बस चढेर आहाले पुगेका उनीहरू सोही बसमा चढेर दिखुवाफेदीसम्म पुगेर पुनः आ–आफ्नो घर फर्किएका थिए । दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा हुँदै पुरानोगाउँबाट रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्ग जोडिने सडकमा सोमबार परीक्षणका लागि खोटाङ यातायात प्रालिको दुईवटा बस सञ्चालन गरेको थियो ।

खाल्लेस्थित आहालेबाट दिखुवाफेदीसम्मको सडक स्तरोन्नति गरेपछि पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित बस सञ्चालन गर्ने तयारीस्वरुप परीक्षण गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ । “दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक सञ्चालन हुँदा करिब एक घण्टा छोटो हुन्छ । यो सडक सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “दिक्तेल–महुरे–रेग्मीटार सडक घुमाउँरो छ । “दिक्तेल–खानीडाँडा–पुरानोगाउँ हुँदै रेग्मीटार ३१ दशमलव ५० किलोमिटरमात्र छ । यो सडकलाई तत्कालका लागि राजापानीस्थित पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित यातायात सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

तत्कालीन जिल्ला विकास समितिले ट्र्याक खोलेको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नतिका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ८६ लाख बजेट उपलब्ध गराएको थियो । उपभोक्ता समितिमार्फत स्तरोन्नतिको काम गरिएको उक्त सडकमा उपभोक्ता समितिले रु छ लाख ७९ हजार सात सय २१ को श्रमदान गरेका छन् ।

सगरथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत रेग्मीटारबाट घर्तीभिरसम्म सिधा ट्रयाक खोलिएको सडकलाई यसै वर्षभित्र घर्तीभिर वारपार गराउने योजना बनाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभएको छ । “घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न सकिएको छैन । यो चट्टान फुटाउन मेरो व्यक्तिगत तर्फबाट पनि सहयोग रहन्छ । मसँग स्काभेटर छ । नगरपालिकाले इन्धन उपलब्ध गराएमा मसँग भएको स्काभेर निःशुल्क उपलब्ध गराउछु”, उहाँले भन्नुभयो, “दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक हामी खाल्लेवासीका लागि मात्र नभई जिल्लाको प्रमुख मार्ग हो । यो सञ्चालनमा ल्याउन सकिएमा तराईका विभिन्न जिल्ला एकै दिनमा पुगेर पुनः बेलुका घर फर्कन सकिन्छ ।”

दिखुवाखोला पारीबाट थ्रिस्टार हाइड्रोपावर कम्पनीले निःशुल्करूपमा राजापानीको पुरानोगाउँसम्म सडक निर्माण गरिदिएको छ । उक्त सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानी मूल्यमा प्रतिकेजी रु दुईदेखि पाँचसम्म घट्ने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका वरिष्ठ उपाध्यक्ष मनोज बजिमयले जानकारी दिनुभएको छ ।

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु ८० लाख बजेट आएको नगरउपप्रमुख विशन राईले जानकारी दिनुभयो । “घर्तीभिरको चट्टान तोडेर दुवैतर्फको ट्रयाक जोड्ने पहल भइरहेको छ । यो सडक नगरपालिकाको गौरवको आयोजना हो”, उहाँले भन्नुभयो, “अहिले दिक्तेलबाट महुरे, बुइपा, राजापानी हुँदै घुमेर रेग्मीटार पुग्नुपर्ने बाध्यता छ । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक जोड्न सक्यौँ भने दिक्तेलबाट सिधँै डेढ घण्टामा रेग्मीटार पुग्न सकिन्छ । यसलाई मध्यनजर गरेर निर्माणको कामलाई तीव्रता दिइरहेका छौँ ।”

कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटर गरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । सञ्चालनमा ल्याइएको दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा १७ दशमलव ५० किलोमिटर छोटो छ ।

दिक्तेल–खानीडाँडा सडक पनि पुनः कालोपत्रको काम थालिएको छ । रु २१ करोड एक लाख ८८ हजार लगानीमा कालोपत्रको काम थालिएको सो सडक ठेकेदारको लापरवाहीले करिब एक वर्ष ६ महिना अलपत्र अवस्थामा थियो ।

ठेकेदार कम्पनीले विसं २०७६ चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी निर्माणको जिम्मा लिएको उक्त सडक सम्झौता अवधि गुज्रिएपछि थप भएको समय पनि विसं २०७८ वैशाख २९ गते सकिएको छ । अलपत्र अवस्थामा रहेको दिक्तेल–खानीडाँडा सडक कालोपत्रको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ७६ प्रतिशतमात्र सम्पन्न भएको हो ।

दिक्तेल–खानीडाँडा सडक सुरुका दिनमा कालोपत्रको कामलाई तीव्रता दिइए पनि क्रमशः सुस्तगतिमा झरेपछि निर्माण कम्पनीको आलोचना हुँदै आएको छ । लामो समयसम्म अलपत्र छाडिएको सडक तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई लिखितरूपमै निर्देशन दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।

गण्डकीमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुनःदेखियो

कास्की, १ फागुन : गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।

सङ्क्रमण फैलिँदै जाँदा ठूला तथा साना बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ । निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईँ भट्टराईका अनुसार पछिल्लो सङ्क्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कुल एक सय १२ बङ्गुरको मृत्यु भएको छ ।“अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन”, महानिर्देशक भट्टरार्ईले भन्नुभयो, “जैििवक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित भएका छौँ ।”गण्डकी प्रदेशमा गत वर्ष साउन २९ गते पहिलोपटक सङ्क्रमण ‘आउटब्रेक’ भएको थियो । यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार पाँच सय ५४ वटा बङ्गुर मरेको निर्देशनालयको तथ्याङ्क छ ।कास्की जिल्लामा मात्र १५ हजार तीन सय ८८ वटा बङ्गुरको मृत्यु भएको छ । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले रोगका कारण किसानले रु ५० करोड हाराहारीमा क्षति व्यर्होनुपरेको बताउनुभयो । “किसानले हामीलाई जानकारी गराएअनुसारको क्षतिको विवरण हो, यसभन्दा बढी पनि क्षति पुगेको हुनसक्छ”, श्रेष्ठले भन्नुभयो ।निर्देशनालयले रोग पुष्टि भएका क्षेत्रमा स्थलगत अध्ययन, थप सर्भिलेन्सका कार्य, फार्मको निःसङ्क्रमण तथा विभिन्न माध्यमबाट रोगसम्बन्धी जनचेतनामूलक सामग्री प्रचारप्रसारको कार्य भइरहेको जनाएको छ । कास्कीमा यस वर्ष बङ्गुरको सङ्ख्या कम भएकाले मृत्यु सङ्ख्या कम देखिएको निर्देशनालयले जनाएको छ ।कास्कीमा अघिल्लो वर्ष करिब ५० हजार बङ्गुर थिए । अफ्रिकन स्वाइन फिभर देखिएपछि बङ्गुरको सङ्ख्या घटाउन आग्रह गरेपछि ब्गुरपालक किसानले ९० प्रतिशतसम्म बङ्गुरको सङ्ख्या घटाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो ।जिल्लामा हाल पाँच हजारको हाराहारीमा बङ्गुर रहेकाले मृत्यु सङ्ख्या पनि कम देखिएको उहाँको भनाइ छ । “अघिल्लोपटक पनि किसानलाई फार्ममा बङ्गुर घटाउनुहोस् भनेका थियौँ । तर किसानले एकैचोटी बेच्न समय कुर्दासमेत क्षति बढी भयो”, पाण्डेले भन्नुभयो, “अहिले सङ्ख्या नै कम भएकाले क्षतिको विवरणसमेत कम छ । ठूला फार्ममा निरन्तर झकझकाइरहेका छौँ ।” बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग रोगी सुँगुर, बङ्गुर, बँदेल, जङ्गली बँदेलसँगको सम्पर्कबाट, किर्नाको टोकाइ, मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट र होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खानाका कारण सर्ने र फैलिन सक्ने बताइन्छ । पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठले रोगको सङ्क्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिनेजस्ता लक्षण देखापर्ने बताउनुभयो ।

आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूको निर्देशन

दमक (झापा),१ फागुन : युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिनुभयो । आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद्मार्फत रङ्गशाला निर्माणका लागि यस वर्ष रु एक करोड बजेट विनियोजन भएको छ । रङ्गशाला निर्माणका लागि प्रतिष्ठानका महासचिव राईका अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरी काम भइरहेको गठित निर्माण उपभोक्ता समितिका सचिव रविन गुरुङले बताउनुभयो ।

विसं २०६९ देखि निर्माण थालिएको यो रङ्गशाला नामकरणको विवादका कारण केही समय निर्माण ओझेलमा परेको थियो । सरकारबाट यो अवधिमा पटकपटक गरी रु दुई करोड बढी बजेट बिनियोजन गरेर खेलमैदान सम्याउने, घेराबेरा लगाउनेजस्ता केही प्रारिम्भक चरणका काम भए पनि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)अनुसार काम हुनसकेको थिएन ।

हिमाली भू-भागमा हिमपातको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं – मंगलबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

विश्व सामाजिक मञ्चको १६औँ बैठक फागुन ३ देखि काठमाडौँमा हुने

काठमाडौँ – विश्व सामाजिक मञ्चको १६औँ बैठक फागुन ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।‘अर्काे विश्व सम्भव छ’ भन्ने नाराका साथ आयोजना गरिने बैठकमा आर्थिक असमानता, जलवायु न्याय, श्रम, बसाइँसराइ, जातीय विभेद, लैङ्गिक समानता, शान्ति, दिगो विकासलगायत मुद्दामा छलफल केन्द्रित हुने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले सोमबार यहाँ पत्रकार सम्मेलन गरेर जनाएको छ ।

वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबारे बैठकमा छलफल हुनेछ ।

स्विट्जरल्याण्डको डाभोसमा वार्षिक रूपमा आयोजना हुने विश्व आर्थिक मञ्चको विकल्पका रूपमा मञ्चलाई विकास गरिएको दाबी गर्दै बैठक आयोजक मध्येको एक संस्था उक्त केन्द्रले सातवटै महादेशका प्रतिनिधिले त्यसमा भाग लिने बताएको छ ।

सन् २०२३ मा रूसको वैदेशिक व्यापारमा तीव्र गिरावट

रुसको वैदेशिक व्यापार बचत सन् २०२३ मा वार्षिक ५८.५ प्रतिशतले घटेर १४० अर्ब अमेरिकी डलर पुगेको छ ।

सोमबार सार्वजनिक गरिएको रूसको संघीय भन्सार सेवाको तथ्याङ्कले देशको कुल निर्यात २८.३ प्रतिशतले घटेर ४२५.१ अर्ब डलर पुगेको देखाएको छ भने आयात ११.७ प्रतिशतले बढेर २८५.१ अर्ब डलर पुगेको छ।गत वर्ष रुसको युरोपेली देशहरूमा निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा पुगेको थियो भने आयात १२.३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो।

यसैबीच एसियाली देशहरूमा रुसी निर्यात ५.६ प्रतिशतले बढेर ३०६.६ अर्ब डलर पुगेको छ भने आयात २९.२ प्रतिशतले बढेर १८७.५ अर्ब डलर पुगेको छ ।तथ्याङ्कले अफ्रिकी देशहरूसँगको व्यापारमा वृद्धि भएको देखाएको छ, निर्यात ४२.९ प्रतिशत र आयात ८.६ प्रतिशतले बढेको छ।

सन् २०२३ डिसेम्बरमा भारतको औद्योगिक उत्पादन ३.८ प्रतिशत बढ्यो

औद्योगिक उत्पादन सूचकाङ्कद्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि गत वर्ष डिसेम्बरमा ३.८ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ।डिसेम्बरमा खानी, उत्पादन र विद्युत क्षेत्रको उत्पादनमा गुणात्मक वृद्धि रहेको देखिएको छ।

प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १५१.७, पुँजीगत वस्तुको लागि १०३.३, मध्यवर्ती वस्तुको लागि १५९.३ र पूर्वाधार/निर्माण सामग्रीको लागि १७७.९ रहेको स्रोतले जनाएको छ ।

यसैगरी डिसेम्बरका लागि उपभोक्ता टिकाउ र उपभोक्ता गैर-टिकाउ वस्तुहरूको सूचकाङ्क क्रमशः ११४.० र १७८.० पुगेको छ।नोभेम्बरमा उत्पादन सूचकाङ्क २.४ प्रतिशतले बढेको छ।

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल

काठडौँ, १ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् भन्नुभएको छ ।जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताउनुभएको छ ।

जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष दाहालले शुभकामना सन्देशमा बताउनुभएको छ ।

“जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ, यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।”

जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा माओवादी प्रथम विधान सम्मेलनमा होमिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सम्मेलनमार्फत पार्टीको आन्तरिक जीवन व्यवस्थित र सुदृढ हुने तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

माओवादी अध्यक्षले जनयुद्ध दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गर्नुभएको छ । उहाँले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण जनसमुदायमा अपिल पनि गर्नुभएको छ ।
 

माओवादीको विधान सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौँ – सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आज राजधानीमा सुरु हुँदैछ । आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य हुनुहुन्थ्यो । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो ।

प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनका तयारीका बारेमा पनि छलफल भएको थियो ।

छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई सङ्क्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिनुभएको थियो ।

इराकमा पहिलोपटक नेपाल सरकारको उपस्थिति

काठमाडौं । इराकमा कार्यरत रही राहदानीको म्याद सकिएर समस्यामा परेका ५ सय ४८ जनाको राहदानी नवीकरण गरिएको छ । नेपाली दूतावास कुवेतको आयोजनामा पहिलोपटक इराकमा रहेका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने राहदानी नवीकरण शिविर सम्पन्न गरिएको हो ।

सो शिविरमा इराकको अर्बिल र सुलेमानिया क्षेत्रमा रहेका ५ सय ४८ जना सेवाग्राहीले विद्युतीय राहदानी नवीकरण सेवा लिएको नेपाली दूतावास कुवेतले जनाएको छ । सो शिविरमा समस्यामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि एकतर्फी यात्रा अनुमतिपत्रसमेत निःशुल्क रूपमा जारी गरिएको थियो ।

शिविर सञ्चालनका लागि गैरआवासीय नेपाली संघ, इराकका पदाधिकारीहरूले समन्वय गरेका थिए भने शिविरमा नेपाली दूतावास कुवेतका प्रथम सचिव सुजन बिडारी र तृतीय सचिव रेवन्तबहादुर केसीको सहभागिता रहेको थियो ।

इराकमा रहेका नेपाली सेवाग्राहीको राहदानी नवीकरणको सहजताका लागि सम्पर्क व्यक्तिका रूपमा एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले समन्वय गरेका थिए । यसअघि राजधानीले नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा नेपाली दूतावासससँग प्रत्यक्ष पहुँच नहुँदा ८ सयभन्दा बढी नेपाली श्रमिक राहदानी नवीकरण नहुँदा समस्यामा परेको समाचार प्रकाशित गरेको थियो ।

सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका जनाइएको छ । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।

रोजगारीका लागि इराक पुगेका १२ जनाको २०६१ भदौमा हत्या भएलगत्तै सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । १२ साउन २०६७ मा तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले इराक प्रतिबन्ध फुकुवा गरे पनि केही समयपछि प्रतिबन्ध कायम गरिएको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

खगेन्द्र नवजीवन केन्द्रको बेथिति : पीडित भन्छन्–मृत्यु पर्खिरहेका छौँ

काठमाडौँ । भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसकेका छन् । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पुर्‍यायो तर अपाङ्गता बनाएर फर्कायो । मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उनलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शैयामा गहभरि आँसु पार्दै भने, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो लाग्छ ।”

उनको ढाडमा गहिरो चोट छ । त्यसैको उपचारका लागि उनी सुषमा कोइराला अस्पतालमा गत पुस २६ गते भर्ना भएका हुन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको आश्रयमा २०७० देखि बसिरहेका सेजुवाललाई अहिले उपचारका लागि आर्थिक अभाव हुने हो कि भन्ने चिन्ताले पिरोलेको छ । राज्यले प्रत्येक वर्ष बजेट दिने, अपाङ्गता, अशक्तदेखि दृष्टिविहीनसम्मको आश्रय रेखदेखका लागि खुलेको सङ्घमा राम्रै होला भन्ने उनलाई लागेको थियो ।

तर, उपचारका लागि सङ्घका पदाधिकारीले देखाएको अनुदार शैलीले उनलाई आहत पुगेको छ । एक महिनाभन्दा बढी अस्पताल बसाइमा उनका दुई लाख रुपियाँ खर्च भइसकेको छ । अपाङ्ग सङ्घका अध्यक्ष साम्देन लामाले उपचार खर्चको आधा रकम मात्रै सङ्घले बेहोर्ने बताएपछि उनको चिन्ता बढेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सङ्घमा अपाङ्गता भएका व्यक्तिको अवस्था हेरेर नै सरकारी कोटामा त्यहाँ बस्न पठाउने गरेको छ । सेजुवाल पनि सरकारी कोटामै परेर १० वर्षयता बसिरहेका छन्, तर अपाङ्गता भएका व्यक्तिलाई आउने बजेट र गर्नुपर्ने स्वास्थ्योपचार पनि आफूहरूले नपाएको उनको गुनासो छ ।

गत कात्तिकदेखि उपचाररत २८ वर्षीय चेतकुमारी तामाङको अवस्था पनि उस्तै छ । अस्पताल प्रशासनका अनुसार उनको शल्यक्रियासहित उपचारमा आठ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ तर अपाङ्ग सङ्घले अहिलेसम्म अस्पताललाई उपचारबापतको खर्च उपलब्ध गराएको छैन ।

पाराओलम्पिक एसियाली खेलाडी जेनिशा कडायतले खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिकमाथि चरम लापरबाही र शोषण भएको आरोप लगाए । उनले भने, “हामी कसरी बसेका छौँ, कसरी सहेका छौँ, त्यो त एक पटक आएर हेर्दा थाहा हुन्छ । मानवीय मूल्यको समेत वास्ता नगरी यहाँ राखिएको छ, व्यवस्थित गर्ने विषयमा कोही गम्भीर छैन ।”

नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रभित्रको बेथिति निकै गम्भीर रहेको सङ्घकै एक पदाधिकारी बताउँछन् । ती पदाधिकारीको दाबीलाई सङ्घको लेखापरीक्षण प्रतिवेदनले पनि पुष्टि गर्छ । सङ्घका शाखामध्ये सबैभन्दा बढी बजेट धनुषालाई दिइएको छ । आर्थिक वर्ष २०७९–८० मा नेपाल अपाङ्ग सङ्घ धनुषालाई १३ लाख रुपियाँ दिइएको छ । सङ्घको बाँके शाखालाई दुई लाख रुपियाँ, झापा शाखालाई दुई लाख रुपियाँ, कैलाली शाखालाई दुई लाख ६५ हजार रुपियाँ, काठमाडौँ शाखालाई एक लाख रुपियाँ र दाङ शाखालाई दुई लाख रुपियाँ बजेट दिइएको छ । जसमध्ये बाँके र काठमाडौँ शाखामा अपाङ्गता तथा अशक्त नागरिकको आश्रय केन्द्र नै छैन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

हेर्नुहोस् फाल्गुण १ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । शत्रुपक्ष सवल रहनाले कार्य सम्पादनमा बिषेश सावधानी अपनाउनु पर्नेछ । परीवारका सदस्यहरुबाटँ टाढा भएको अनुभव रहनेछ । आर्थिक क्षेत्रमा सामान्य कठिनाई आइपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ ।

बृष राशि – अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ ।

मीथुन राशि – भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कर्कट राशि- साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

सिंह राशि – मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

कन्या राशि- भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुला राशि- प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा साबधानिरहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।

बृश्चिक राशि – नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

धनु राशि- परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मकर राशि – सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

कुम्भ राशि- नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि – साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौँ, २९ माघ : नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सानिगाडको प्रतिशेयर रु एक सयका दरले ८५ लाख ५० हजार कित्ता शेयरवापत रु ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ । कोषले आज जारी गरेको विज्ञप्ति अुनसार सम्झौता भएको मितिले कम्पनीले छ महिनाभित्र सेयर निष्काशन गरिसक्नु पर्नेछ । छ महिनाभित्र शेयर निष्काशन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।

सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य : मुख्यमन्त्री कार्की

मोरङ, २९ माघ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी–व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आज यहाँ भएको छैटौँ प्रदेशसभा बैठकमा उहाँले सरकार र व्यवसायी एक– अर्काका परिपूरक भएकाले आपसी साझेदारी सहकार्यका आधारमा काम गर्नु आवश्यक भएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले सबै उद्यमी–व्यवसायीले रोजगारी सृजना, राजश्व सङ्कलन तथा योगदानमा सहयोग गर्नुपर्ने तथा सरकारका तर्फबाट पनि उद्योग–व्यवसाय प्रवर्द्धनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रका उद्यमीलाई साथमा लिएर अघिबढ्ने बताउनुभयो । महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेश लगानी प्राधिकरणमा निजी क्षेत्रको अनिवार्य सहभागिताको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वी अफगानिस्तानमा भूकम्प पीडितका लागि १०० घर हस्तान्तरण

अफगान रेड क्रिसेन्ट सोसाइटी (एआरसीएस) ले पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा भूकम्पपीडित परिवारलाई लक्ष्यित गरी बनाइएका १०० वटा घरको साँचो हस्तान्तरण गरेको छ । सरकारी बख्तर समाचार एजेन्सीले जनाए अनुसार एआरसीएसका अध्यक्ष मौलावी मतिउल हक खालिसले भर्खरै स्पेरा जिल्लामा आयोजित एक समारोहमा व्यक्तिगत साँचो वितरण गर्नु भएको हो ।

सन् २०२२ जुन महिनाम खोस्ट र पक्तिका प्रान्तमा गएको भूकम्प र परकम्पमा हजारौं घर ध्वस्त भएका थिए र करिब १ हजार मानिसहरूले ज्यान गुमाएका थिए। अफगानिस्तानको कामचलाउ सरकारले भूकम्प प्रभावित सबै परिवारका लागि आश्रयस्थल निर्माण गर्ने वाचा गरेको छ । गत अक्टोबरमा पश्चिमी हेरात प्रान्तमा भूकम्पमा परी घर गुमाएका भूकम्पपीडित परिवारका लागि प्रशासन र सहायता निकाय र सहयोगी व्यक्तिहरूले सयौं घरहरू पनि निर्माणमा सहयोग गरेका छन्।