`

संयुक्त राष्ट्रसंघले दक्षिण सुडानमा मानवीय काफिलेमा भएको आक्रमणको निन्दा

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ नियोगले जोङ्लेई राज्यको बोर दक्षिणी काउन्टीको एनीडी पायममा शान्ति सैनिकहरूद्वारा सुरक्षित गरिएको मानवीय राहत क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा युएनएमआईएसएसका प्रमुख निकोलस हेसोमले बोर टाउनबाट ६० किलोमिटर टाढा रहेको म्याकडिटबाट त्यस क्षेत्रतर्फ गएको बेला उक्त घटना भएको बताउनु भएको छ ।

उहाँले हतियारधारीहरूको एउटा समूह झाडीबाट एक्कासि निस्केको र संयुक्त राष्ट्रसंघको गाडीमा गोली हानेको थियो । यद्यपि त्यहाँ कुनै मानवीय क्षति हुन नपाएको जनाएको छ । साथै शान्ति सैनिकहरूले जवाफी कारबाही फर्काएको र आक्रमणकारीहरूलाई भगाएका थिए ।

“यस आक्रमणले अत्यावश्य मानवीय खाँचोमा परेका समुदायहरूलाई महत्त्वपूर्ण सहयोग पुर्या उने र सुरक्षा प्रदान गर्ने शान्ति सैनिकहरूको जीवनलाई खतरामा पारेको छ। यो पूर्ण रूपमा अस्वीकार्य छ,” हेसोमले शुक्रबार साँझ दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीले जोङलेई राज्यको सरकारलाई सहयोग प्रदान गर्न स्थानीय सेनाको संयुक्त सुरक्षा टोलीलाई तुरुन्तै त्यस क्षेत्रमा तैनाथ गरेकोमा प्रशंसा गर्दै दोषीहरूमाथि अनुसन्धान अगाडि बढाउन र जवाफदेही बन्न आग्रह गरेको छ ।

मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोलीमाथि नेपालको जित

काठमाडौँ, २७ माघ : तेइस वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोली र चीनको प्रान्तीय टोली छिङ हाई युसुबीच आज भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित उक्त खेलमा तिब्बतबाट नेपाल भ्रमणमा आएका चीनको प्रान्तीय टोली छिङ हाई युसु टोलीमाथि नेपालले ५-१ को जित निकाल्यो ।

नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सञ्जीव विष्ट, छिरिङ लामा र निराजन धामीले समान एक-एक गोल गरे । सञ्जीवले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ३९औँ मिनेटमा समिरले गोल गरेपछि नेपालले खेलको पहिलो हाफमा नै २-० गोलको अग्रता बनाउन सफल भयो ।

त्यसपछि खेलको ५४औँ मिनेटमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । खेलको ६३औँ मिनेटम छिरिङको गोलमा नेपालले ४-० गोलको अग्रता बनायो । खेलको ७५औँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ५-० को गोलको अग्रता बनाए । खेलको ७८औँ मिनेटमा चीनका पेङ्गकोउले एक गोल फर्काए । त्यसपछि खेलको निर्धारित समयसम्म गोल हुन सकेन र नेपालले चीनविरुद्ध ५-१ को जित निकाल्न सफल भयो ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा भएको उक्त खेलमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।

उक्त मैत्रीपूर्ण खेल सुरु हुनुअगाडि विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।

कवाडी स्टोरमा विद्युत् सर्ट भई आगलागी

काठमाडौँ, २७ माघ : भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको छ । राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको जस्ताको टहरामा करेन्ट सर्ट भई आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोट भक्तपुरबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल थापाको कमान्डमा २९ जनाको टोली, नेपाली सेना भैरव वाहन गुल्मबाट सहसेनानी भगवान केसीको कमान्डमा २० र मध्यपुरथिमि वृत्तबाट नेपाल प्रहरी विकास केसीको नेतृत्वमा १० जनाको टोलीले ३ बजे आगो नियन्त्रणमा लिएको नेपाली सनोका सहसेनानी केसीले जानकारी दिनुभयो ।

आगलागी नियन्त्रणका लागि जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरबाट दुईवटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौँबाट समेत दमकल परिचालन गरिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतितर्फ रु १५ लाख बराबरको क्षति भएको जनाइएको छ ।

तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत

काठमाडौँ, २७ माघ : त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’, ‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।

सत्रौँ त्रिमूर्ति दिवस तथा नाट्यसम्राट बालकृष्ण समको १२२औँ जयन्तीका अवसरमा निकेतनले नेपाली भाषा साहित्यमा समर्पित भई शास्त्रीय छन्द कविताको माध्यमबाट छन्दकाव्य प्रसार, नाट्यक्षेत्रमा समर्पित भई मुलुकमा नाटकको महिमा र गरिमालाई उत्कृष्टतामा पुर्‍याएको र काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविता विकासमा विशिष्ट योगदान पु¥याउने तीन स्रष्टालाई ताम्रपत्र, जनही रु एक लाख नगद राशीसहित पुरस्कृत गरेको हो । छ दशकदेखि नेपाली भाषासाहित्यको योगदानमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पु¥याउनुभएका प्रा मुकुन्दशरण उपाध्यायलाई लेखनाथ काव्य पुरस्कार२०७९ प्रदान गरिएको छ । मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गर्नुभएका हरिबहादुर थापालाई बालकृष्ण सम पुरस्कार, २०७९ प्रदान गरिएको छ । त्यसैगरी नेपाली भाषासाहित्यको विकासमा छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउनुभएको जयप्रसाद पाण्डेलाई देवकोटा काव्य पुरस्कार, २०७९ प्रदान गरिएको छ । निकेतनका संस्थापक तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले तीन मूर्ति बनाउन ठूलो बाधा व्यवधान भएपनि हाल कोष स्थापना भई संस्था सुदृढ अवस्थामा रहेको बताउनुभयो ।

त्रिमुर्तिका पुरस्कार राशि सुरुमा रु १०/१० हजार रहेपनि अहिले रु एक लाख बनाइएको उहाँले जनाउनुभयो । लेखनाथ काव्य पुरस्कार, २०७९ बाट पुरस्कृत प्रा मुकुन्दशरण उपाध्यायले सम्पूर्ण प्रकाशनले नेपाली भाषाको विकासमा संकल्प गर्न जरुरी रहेको बताउँदै विशेषगरी त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको जगेर्नामा उन्मुख हुन आवश्यक रहेको बताउनुभयो । नेपाली भाषाप्रतिको संरक्षण तथा सम्मानको वातावरण अनुकूल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंले विभिन्न व्यक्तित्वको योगदानले संस्था सुदृढीकरणमा महत्वपूर्ण भूमिका पुगेको उल्लेख गर्नुभयो । यस निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा लेखनाथ पौड्याल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरूमा समर्पण गर्दै आएको छ । नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

स्कूल बस खरिदका लागि शिक्षकले दिए एक महिनाको तलब

झापा, २७ माघ : शिवसताक्षी नगरपालिकाको बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका लागि बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् ।

शिवसताक्षी नगरपालिका–७ मा रहेका विद्यालयका भूपू विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा बस खरिद गर्नका लागि अभियान सुरु गरेको थियो । अभियानलाई सफल पार्नका लागि सबै शिक्षकले एक महिनाकोे रकम एकमुष्ट रु चार लाख ४० हजार आठ सय १६ नगद रकम विद्यालयलाई प्रदान गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले विद्यालयलाई बस आवश्यक भएको हुँदा शिक्षकबाटै रकम सङ्कलन गर्न सुरु गरिएको बताउनुभयो । अभियानलाई अभिभावक, समाजसेवीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बस खरिद गरी आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने तयारी रहेको उहाँले बताउनुभयो ।

संस्कारसहितको शिक्षा कार्यान्वयन गर्न आग्रह

काठमाडौँ, २७ माघ : असल संस्कारबिनाको शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउन नसक्नेमा आध्यात्मिक अभियन्ता र शिक्षाकर्मीले जोड दिएका छन् ।

चाबहिलस्थित ‘एपेक्स लाइभ स्कुल’को वार्षिक प्रदर्शनी, २०८० मा अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले संस्कारसहितको शिक्षाले विचार, व्यवहार र आचरण दिने भएकाले शिक्षालयहरूले यस पक्षलाई भुल्न नहुने बताएका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै स्वामी डा केशवानन्द गिरीले मानिसले जतिसुकै ठूलो शिक्षा हासिल गरे पनि उसमा आचरण र व्यवहारको संस्कार नभएकाले त्यसको जीवन निरर्थक हुने भएकाले शिक्षालय सञ्चालक, शिक्षक र अभिभावकले यसलाई गम्भीरतापूर्वक मनन् गनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘एपेक्स लाइभ स्कुल’ले संस्कृत र नैतिक शिक्षासमेतलाई पढाउने र व्यवहारमा अपनाउन उद्धत गराएकोमा प्रशंसा गर्दै यस्ता पक्षलाई अन्य विद्यालयले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सो विद्यालयका अध्यक्ष सुवास न्यौपानेले आफूहरूले विद्यार्थीको आध्यात्मिक, नैतिक, बौद्धिक, सामाजिक र शारीरिक विकासका साथै समग्र विकास गराई उनीहरूलाई मस्तिष्कलाई रचनात्मक र सक्रिय तुल्याउन प्रयास गरिरहेको बताउनुभयो । उहाँले विद्यालयले हरेक विद्यार्थीमा फरक–फरक प्रतिभा हुन्छ भन्ने पक्षलाई आत्मसात् गरी उनीहरूको सीप र अनुसन्धानात्मक क्षमता विकासमा जोड दिइएको जानकारी दिनुभयो ।

विद्यालयका पूर्व विद्यार्थीद्वय रोहण खड्का र कृपा भण्डारीले संस्कारसहितको शिक्षा पाएका कारण आफूहरूको वर्तमान जीवन सहज र प्रगतिउन्मुख भएको अनुभव सुनाउनुभयो ।

बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र

लमजुङ, २७ माघ : बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र गरिएको छ । लमजुङ–मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भएको हो ।

डुम्रे बेंसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर किरण पोखरेलले सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भइसकेको जनाउँदै अब सात सय मिटर बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार उक्त सडकको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

योजना कार्यालयका अनुसार उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न हालसम्म रु १९ करोड खर्च भइसकेको छ । ट्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको अस्फाल्ट कालोपत्र राख्ने काम भइरहेको इञ्जिनियर पोखरेलले बताउनुभयो । उहाँका अनुसार सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा तथा कटिङ गर्ने, नाली बनाउनेलगायत काम सम्पन्न भएको छ ।

सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको रहेको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस्ती भएका ठाउँमा दुईतर्फी र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिएको छ ।

अन्तिम चरणको काम कालोपत्र सम्पन्न भएसँगै रोड मार्किङ गर्ने, रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने, रोड पेन्टिङलगायत काम हुने इञ्जिनियर पोखरेलले बताउनुभयो । विसं २०८० असार मसान्तसम्म कालोपत्र गर्नेगरी विसं २०७८ असार मसान्तमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०८१ असार ३० गतेसम्म म्याद थप गरिएको छ । सडक योजना कार्यालयका अनुसार कूल रु ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा रु २५ करोड ३२ लाखमा कालोपत्रको सम्झौता भएको छ ।

विसं २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण २०७८ असोजदेखि मात्र काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ । कालोपत्र नहुँदा आक्रोशित बनेको यहाँका स्थानीय कालोपत्र सम्पन्न हुन लाग्दा उत्साहित भएका छन् ।

मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको थियो । विविध कारण निर्माण रोकएपछि विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । पैसठ्ठी किमी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ ।

पत्रकारको श्रमका पक्षपाति सुशील’दा

विपुल पोख्रेल/काठमाडौँ – नेपाल पत्रकार महासङ्घको एउटा महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भन्नुभएको थियो– “अब पत्रकारहरु पनि गाडी चढ्न सक्ने हुुनुपर्दछ ।” उहाँको त्यो सम्बोधन हुँदै गर्दा प्रज्ञा–प्रतिष्ठानको हल हाँसो र तालीले गुञ्जायमान भयो । पत्रकारले पारिश्रमिक पाउने र गाडी किन्ने अवस्थाको निर्माण असम्भव जस्तै लाग्थ्यो त्यो बेला । त्यसैले हल हाँसोसहित गुञ्जायमान भएको थियो । तर कोइरालाको त्यो भनाइको अन्तर्य निकै गहन थियो ।

श्रम गर्ने पत्रकारले श्रमको उचित सम्मान नपाउने कुरा एउटा लोकतान्त्रिक नेतृत्वका लागि स्वीकार्य थिएन । उहाँले पत्रकारको यो पीडा राम्रोसँग महसुस गर्नुभएको थियो । कोइरालाले भने झैँ यतिबेला सबै श्रमजीवी पत्रकार गाडी चढ्न नसके पनि सम्पादक गाडी चढ्न थालेका छन् । पत्रकार सम्मेलन गर्नका लागि आयोजकहरुले गाडी सहजरुपमा पार्किङ गर्न सकिने स्थान खोज्न थालेका छन् ।

सुशील कोइराला नेपाली राजनीतिमा एउटा आदर्श, सादगी अनि सहज नेताका रुपमा चिनिनु हुन्छ । उहाँले आफूलाई जीवनपर्यन्त बिपी कोइरालाको एउटा असल अनुयायीका रुपमा प्रस्तुत गर्ने प्रयत्न गर्नुभयो भन्ने गरिन्छ, २०१७ सालको ‘कु’ नभएको भए सुशील कोइराला चलचित्रको नायक बन्नुहुन्थ्यो । नायक हुनु भनेको सृजनशील हुनु हो ।

राजनीतिमा सृजनशीलता सधैँ अपेक्षित हुन्छ । त्यसैले दार्शनिकहरुले भन्ने गरेका छन्, राजनीति कला पनि हो, विज्ञान पनि हो । विज्ञानले परिणाम निकाल्छ, कलाले त्यो परिणाम निकाल्नका लागि भूमिका खेल्छ । त्यसकारण कला अर्थात् सृजनशील पक्षको अभाव भएको नेतृत्वले राजनीतिमा कुनै परिणाम दिन सक्दैन । सृजनशील सुशील कोइरालाले आफ्नो जीवनमा परिणाम मात्र दिनुभयो । उहाँ प्रधानमन्त्री हुँदा असम्भव झँै लाग्ने संविधान नै जारी गर्नुभयो ।

संविधानका पिताको विशेषण आफ्ना नामका अगाडि थपेर उहाँको निधन भयो । उहाँ नायक हुने सपनामा रमाउँदै गर्दा उहाँलाई कसैले पनि राजनीतिमा जम्ला भनेर सोच्नुभएको थिएन तर तानाशाही व्यवस्था प्रारम्भ भएपछि उहाँले आफ्नो व्यक्तिगत चाहनाको क्षेत्र छाडेर लोकतान्त्रिक आन्दोलनको सिपाही हुने निधो गर्नुभयो । कोइराला परिवारको व्यवस्थापनका नाममा लोकतान्त्रिक आन्दोलनसँग जोडिनुभयो । उहाँ सबै निजी स्वार्थभन्दा टाढा हुनुहुन्थ्यो । यतिसम्म कि उहाँले विवाहका प्रशस्त सम्भावनालाई नकार्दै एउटा आन्दोलनमा प्रतिबद्ध सिपाहीका रुपमा आफूलाई समर्पित गर्नुभयो ।

लोकतन्त्रकका पक्षमा यसरी समर्पित कोइरालाले नागरिक अधिकारभन्दा ठूलो केही कुरालाई पनि मान्नु भएन । लोकतन्त्रलाई उहाँले संसारको उत्तम शासन व्यवस्था ठान्नुभयो । लोकतान्त्रिक पद्धतिको पक्षमा उहाँले आफूलाई सधँै उभ्याइरहनुभयो । एउटा रोचक सन्दर्भ छ कोइरालाको । बाँकेबाट चुनाव लड्दै गर्दा कोइरालासँग स्थानीयले खानेपानीको धाराको अपेक्षा गरे । चुनावको बेलाको अपेक्षालाई उम्मेदवारले ‘हुन्छ’ भन्छन् र भन्नुपर्छ भन्ने आम अपेक्षा थियो । तर कोइरालाले खरो जवाफ दिनुभयो, “धारा देनेका काम म्युनिसिपिलिटीवाले करेङ्गे, मै तो कानुन निर्माण के लिए पार्लियामेन्टके मेम्बरके लिए इलेक्सनमे आया हुँँ, पानी के नल आप लोगोँको मुझसे नहीँ माग्नी चाहिए ।” यो जवाफ कोइरालाका लागि प्रत्युत्पादक भयो । उहाँले २०५१ सालको चुनाव हार्नुभयो । विसं २०६४ को चुनाव पनि कोइरालाले हार्नुभयो । तर उहाँले आफ्नो अभिव्यक्तिलाई कहिल्यै गलत ठान्नुभएन । कोइराला भन्नुहुन्थ्यो, “लोकतन्त्र गतिशील भयो भने आवश्यकताअनुसारको विकास अनिवार्य हुन्छ ।” उहाँको यो आदर्श नेपालको सन्दर्भमा कहिले कार्यान्वयन हुने हो वा होइन ? यो कुराको जवाफ समयले देला । तर कोइरालाको यो पवित्र सोच नेपालका सबै राजनीतिक नेतृत्वमा देखियो भने अवस्था परिवर्तन हुन कुनै समय लाग्ने छैन ।

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन प्रारम्भ भएपछि कोइराला नेपालगञ्जको प्रहरी कार्यालयमा कैदी हुनुभयो । संयोगले भेट्ने अवसर पाइयो । लामो कुराकानी पछि उहाँले भन्नुभयो, “गणतन्त्रको पक्षमा तपाईंहरु (पत्रकारहरु)ले जनमत बनाई दिनूस्, अनि कुरा गरम्ला ।” उहाँको यो अभिव्यक्तिसँगै कोइराला बसेको कोठाको माथि टाँगिएका राजारानीको फोटो देखाउँदै मैले भने, ‘सुशील‘दा त्यो फोटोको ठाउँमा म राष्ट्रपति सुशील कोइरालाको फोटो हेर्न चाहन्छु ।” मैले यसो भन्दा उहाँले आँसु झार्नुभयो । पत्रकार महासङ्घका तत्कालीन सभापति तारानाथ दाहाल, सदस्य विनोद ढुङ्ेल, पोषण केसी र नेपालगञ्जका पत्रकार कृष्ण अधिकारी यो संवादका साक्षी थिए ।

कोइरालाको आँसुमा मैले गणतन्त्रको चित्र देखेँ । जनमत निर्माणमा लागियो । अनी उहाँकै नेतृत्वमा गणतान्त्रिक संविधान बन्यो । मिडियासँगको यो ढङ्गको अपेक्षा र विश्वास कमै राजनीतिक नेतृत्वले गरेका हुन्छन् । सुशील कोइरालामा त्यो तहको विश्वास थियो । उहाँ प्रधानमन्त्री हुँदा संविधानका विषयमा छलफल हुँदा पत्रकारिताका सन्दर्भमा छलफल हुँदा उहाँले सधैँ ‘पत्रकार महासङ्घले के भन्छ यो विषयमा ?’ भनेर सोध्ने गर्नुहुन्थ्यो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बिपी कोइराला अनि गिरिजाप्रसाद कोइरालाको जस्तै प्रस्ट दृष्टिकोण थियो सुशील कोइरालाको । लोकतन्त्रको निरन्तर अभ्यासको कडा पक्षपाति कोइरालाले मिडियालाई लोकतन्त्रको निरन्तर अभ्यासका लागि ‘मोविल’को सङ्ज्ञा दिनुहुन्थ्यो ।

मिडियाको महत्वलाई यसरी बुझ्न सक्ने राजनीतिक नेतृत्व हुने हो भने नेपाली मिडियाका धेरै समस्याको समाधानका लागि राज्य सहयोगी हुन्थ्यो होला । उहाँ पत्रकारिताका पक्षपातीमात्र नभएर नेपाली राजनीतिका असल पात्र हुनुहुन्थ्यो । त्यही असल बाटो हो, जुन यात्राले उहाँलाई नेपाली जनतामाझ लोकप्रिय बनायो र राजनीतिमा सफल पनि गरायो । कोइराला राजनीतिलाई असल मार्ग हिँडाउन खोज्नुहुन्थ्यो । कम बोल्ने, तर मीठो बोल्ने उहाँको स्वभाव, व्यवहार र सरलताको प्रत्यक्ष साक्षी भएका कारण पनि यो अनुभव भएको हो ।

दोस्रो निर्वाचित संविधानसभाले संविधान बनायो । प्रधानमन्त्री कोइरालाले सबैको योगदानलाई समेटेर संविधान जारी गर्ने सफल वातावरणलाई नेतृत्व दिन सके आन्तरिक तनाव र बाह्य दबाबका कारण बनेर संविधान आउने, नआउने वा कहिले आउने अनिश्चयका बीच सहमति, सहकार्य, एकता र मेलमिलाप सूत्र पढाएर उहाँले त्यो सफलता नेपाली राजनीतिलाई दिन सक्नुभएको हो । राजनीतिलाई स्वच्छ नैतिक दायित्व मान्ने उहाँले आफ्नो जीवनको अन्तिम ध्येय संविधान बनाउन निश्चित गर्नुभएको थियो । नेपाली राजनीतिका ती मूर्धन्य पात्र एवं राष्ट्रिय ध्येयमा समर्पित राजनीतिज्ञ सुशील कोइराला बित्नुभएको नवौँ वर्ष प्रवेश गरेको छ । नवौँ स्मृति दिवसमा उहाँप्रति भावभिनीश्रद्धा, श्रद्धाञ्जलि । (लेखक नेपाल पत्रकार महासङ्घका सभापति हुनुहुन्छ ।)

महोत्सव अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क

त्रिशूली (नुवाकोट) २७ माघ : नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवमा अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क उपलब्ध गराइएको छ । महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घको आग्रहअनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराएको हो । शुक्रबारदेखि सुरु महोत्सवभित्र स्टल राखेर अवलोकनकर्तालाई एक कप दूध र एक–एक वटा उसिनेको अण्डा वितरण भइरहेको विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मेला–महोत्सवलाई सहयोग पु¥याउन कार्यालयलाई प्राप्त बजेट र अन्य निकायसँगको सहकार्यमा अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराइएको हो ।

“विगतका वर्षमा मेला आयोजकलाई एकमुष्ट नगद सहयोग गर्ने गरिएको थियो”, अधिकृत पाण्डेले भन्नुभयो, “सहयोग गरिएको रकम लक्ष्यअनुसार खर्च गराउन चुनौती देखिएपछि महोत्सव अवलोकनकर्तालाई दूध र अण्डाको नियमित सेवनको महत्वको प्रचारसहित उपलब्ध गराइएको हो ।” महोत्सवमा दैनिक औसत दुई सय ५० लिटर दूध र पाँच हजार वटा हजार अण्डा खर्च भएको छ । मेला अवधिभरका लागि दूध र अण्डा निःशुल्क पु¥याउन कार्यालयको बजेट अपुग हुने भएकाले सहयोगी निकायसँग सहकार्य भइरहेको विज्ञ केन्द्रका प्रमुख डा रामप्रकाश प्रधानले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार उद्घाटन गर्नुभएको आठौँ नुवाकोट महोत्सव आगामी फागुन ७ गतेसम्म चल्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकास ः नुवाकोट संस्कृतिको निकाश’ भन्ने नारासहित जारी महोत्सवले जिल्लाका किसानले उत्पादन गरेका कृषि उब्जनीको बिक्री तथा प्रदर्शनी, धार्मिक र सांस्कृतिकस्थल तथा सम्पदाको प्रचारप्रसारमा जोड दिन केन्द्रित गरिएको छ । —

सागर र हिमालका समस्या समाधानमा एकीकृत प्रयास गर्नुपर्ने

काठमाडौँ, २७ माघ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको विकास आकाङ्क्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै यो हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताउनुभएको छ । अष्ट्रेलियाको पर्थमा सातौँ इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले सागर र हिमाली समस्या समाधान एकीकृत र समग्रमा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रुपमा सीमित नभई संसारको सभ्यताको केन्द्ररुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिन्द महासागर भूराजनीतिक, भूरणनीतिक र भूआर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्दछ ।”

“यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ”, मन्त्री साउदले भन्नुभयो, “समुद्री आतङकवाद, डकैती, लागुऔषध र हतियारको ओसारपसार, मानव बेचविखन, गैरकानुनी आप्रवासन एवं नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौती गम्भीररूपमा खडा हुनु दुःखद् छ ।” हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइनका रुपमा रहेको उहाँको भनाइ थियोे । नेपालले महासागरको महत्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको बताउँदै मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिनुभयो ।

उत्तरपश्चिम पाकिस्तानमा भएको झडपमा प्रहरीसहित ४ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको झडपमा एक जना प्रहरी र तीन जना आतङ्ककारीको मृत्यु भएको छ।

आतङ्ककारीहरूले प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित प्रहरी चौकी नजिकैको प्रहरी भ्यानमा आक्रमण गर्दा प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले सिन्ह्वालाई बताएका छन्।

प्रहरीले जवाफी कारबाहीमा तीन जना आतङ्ककारी मारिएको बताइएको छ ।आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्बेवारी लिएको छैन।

युक्रेनको खार्किभमा रूसी ड्रोन आक्रमणमा सात जनाको मृत्यु

पूर्वी युक्रेनको खार्किभ शहरमा रहेको एक पेट्रोल पम्पमा शनिबार भएको रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सात जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

“खार्किभमा कब्जाधारीहरूले गरेको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ,” ओलेग सिनेगुबोभले टेलिग्रामको सामाजिक सञ्जालमा भन्नुभयो । मृतकमध्ये क्रमश ः ७ र ४ बर्ष र छ महिनाका बालबालिका रहेका छन् ।

खार्किभका मेयर इगोर टेरेखोभले आक्रमणका कारण इन्धन केन्द्रमा विस्फोट हुँदा नजिकैका घरहरूमा क्षति हुँदा घरभित्र रहेका कम्तीमा ५० जनालाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो ।

’शत्रुको इरान निर्मित ड्रोनले पेट्रोल पम्पमा प्रहार गर्दा इन्धन विस्फोट भई १४ वटा निजी घरहरू जलेका छन्,” उहाँले भन्नुभयो ।

खार्किभका क्षेत्रीय अभियोजक ओलेक्सान्डर फिलाचकोभले खार्किभको नेमिश्ल्यान्स्की जिल्लामा तीनवटा ड्रोन प्रहार गरिएको बताउनुभयो ।

खार्किभ र क्षेत्रीय राजधानीको पूर्वमा रहेको एउटा गाउँमा रातको समयमा भएको आक्रमणपछि शनिबार पनि आक्रमणहरू भएका छन् ।

ईयूको खर्चसम्बन्धी नियममा सहमति

युरोपेली संसद् र सदस्य राष्ट्रहरूबीच शनिबार बिहानै युरोपेली सङ्घ (ईयू) को बजेटरी नियममा सुधार गर्ने विषयमा सहमति भएको छ । यस पाठले सन् १९९० को दशकको उत्तराद्र्धमा सिर्जना गरिएको स्थिरता र विकास सम्झौताको रूपमा चिनिने वर्तमान नियमहरूलाई आधुनिकीकरण गरेको छ ।

यसले देशहरूको ऋणलाई कुल गार्हस्थ उत्पादनको ६० प्रतिशतमा सीमित गर्दछ र सार्वजनिक घाटालाई तीन प्रतिशतमा सीमित गर्छ । युरोपेली सङ्घको परिषद्का बेल्जियन अध्यक्षले १६ घण्टाको वार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “अन्ततः सम्झौता भएको छ !” ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले भन्नुभयो, “ईयूको आर्थिक शासनको हाम्रो महत्वाकांक्षी सुधारमा राजनीतिक सम्झौताको म स्वागत गर्दछु ।” “नयाँ नियमहरूले ईयू देशहरूलाई उनीहरूको सार्वजनिक वित्तलाई सुदृढ गर्दै उनीहरूको शक्तिमा लगानी गर्न सक्षम बनाउनेछ ।

यो हाम्रो साझा विकासको बाटो हो,” उहाँले भन्नुभयो । युरोपेली सङ्घले जर्मनीजस्ता अधिक मितव्ययी सदस्य राष्ट्र र खर्चमा अधिक लचीलोपन चाहने फ्रान्स र इटालीजस्ता अन्य देशहरूद्वारा समर्थित सुधारहरूमा पुग्न दुई वर्ष गहन प्रयास गरेका थिए । बर्लिन र पेरिसबीचको लामो विवादपछि २७ सदस्य राष्ट्रले डिसेम्बरमा एउटा सम्झौता गर्दै युरोपेली संसद्का वार्ताकारहरूसँग यस बिषयमा वार्ता सुरु गरेका थिए । यस वसन्तमा स्ट्रासबर्गमा संसदीय निर्वाचनमा मतदान गर्ने समयमा वार्ताकारहरू अन्ततः शनिबार बिहान एक सम्झौतामा पुगेका हुन् । सांसद र राज्यहरूबीच सहमति भएपछि सुधारहरू औपचारिक रूपमा अपनाइनेछ । यस सम्झौताले सदस्य राष्ट्रहरूलाई उनीहरूको २०२५ को बजेटमा नयाँ नियमहरू लागू गर्न अनुमति दिनेछ ।

“नयाँ नियमले सन्तुलित र दिगो सार्वजनिक वित्त, संरचनात्मक सुधार, लगानीलाई बढावा दिन, वृद्धि र ईयूमा रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ,” बेल्जियमका राष्ट्रपतिले भन्नुभयो । ईयूका अधिकांश सदस्य पहिलेको बजेटसम्बन्धी संरचनालाई धेरै कठोर मानिएको थियो र वास्तवमा कहिल्यै सम्मान गरिएको थिएन । यद्यपि, कोरोना भाइरसको महामारीपछि सदस्य राष्ट्रहरूलाई ठूलो आर्थिक उथलपुथलको समयमा बढी खर्च गर्न ठाउँ दिनका लागि नियमहरू निलम्बन गरिएको थियो ।

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा महत

त्रिशूली (नुवाकोट), २७ माघ : अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा आज तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताउनुभयो ।

“विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन”, अर्थमन्त्री महतले भन्नुभयो, “अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ ।”

उहाँले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । “चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ”, उहाँलो भन्नुभयो । उहाँले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिनुभयो ।

मानव सभ्यतामा धर्म, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले आ–आफ्नो जाति र समुदायअनुसारको संरक्षणमा आफैँ जुट्न उहाँले आग्रह गर्नुभयो । अर्थतन्त्र बलियो बनाउनसके जनता र राज्य दुवै बलियो हुने भन्दै उहाँले बलियो नेतृत्वले आफ्नो संस्कृति, परम्परा र राष्ट्रियता जोगाउन आफैँ सक्षम हुने उल्लेख गर्नुभयो ।

लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संंशोधनका लागि गरियो सिफारिस ?

काठमाडौँ, २८ माघ : आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदलले यही माघ १५ गते मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सुझाव पेस गरेको थियो ।

कार्यदलले औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लगायत ऐनका व्यवस्था संशोधनको सुझाव दिएको छ ।

त्यस्तै भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय कारोबार ऐन २०६३, नागरिक उड्डयन ऐन, २०५३ का व्यवस्थामा पनि संशोधन गर्न सुझाव दिइएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ र वन नियमावली, २०७९ मा समेत संशोधनको आवश्यकतासमेत कार्यदलले औँल्याइएको छ । विद्यमान कानुनी व्यवस्थामा संशोधन तथा परिमार्जनका लागि कार्यदलले दिएका सुझावलाई राससले केलाएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७६

औद्योगिक व्यवसाय ऐन, २०७६ मा स्टार्टअप उद्यम तथा व्यवसायको परिभाषा थप गर्न आवश्यक रहेको भन्दै संशोधनको प्रस्ताव गरिएको छ । स्टार्टअप उद्यम तथा व्यवसायलाई नेपाल सरकारले थप प्रोत्साहन, छुट, सुविधा, सहुलियत प्रदान गर्न सक्ने व्यवस्था ऐनमा राख्न सुझाव दिइएको छ ।

ऐनको दफा ४ को उपदफा (छ) मा संशोधन गरी उद्योग दर्ता गर्दाको बखत अपुग विवरण वा कागजात पेस गर्नेसमय अवधि ९० दिनबाट घटाएर सात दिन कायम गर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै रु ५० करोडभन्दा बढी स्थिर पुँजी भएको उद्योगको दर्ता उद्योग विभागबाट र सोभन्दा कम पुँजी भएका उद्योग प्रदेश तहबाट दर्ता गर्ने व्यवस्थासहित ऐन संशोधनको आवश्यकता औँल्याइएको छ । रु एक अर्बभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने सूचना प्रविधिसँग सम्बन्धित उद्योगलाई सरकारले तोकिएबमोजिम प्रोत्साहन तथा थप सुविधा प्रदान गर्न सक्ने व्यवस्था ऐनमा राख्नुपर्ने उल्लेख छ ।

हदबन्दीभन्दा बढी जग्गासँग सम्बन्धित विषयमा पनि ऐनमा संशोधन गर्न भनिएको छ । ऐन दफा ३२ को उपदफा (६) मा ‘प्रचलित कानुनबमोजिम हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमतिप्राप्त उद्योगले त्यसरी हदबन्दीभन्दा बढी राखेको जग्गा बिक्री वितरण गर्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न वा बैंक वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउने छैन’ भनी उल्लेख छ । यसलाई संशोधन गरी हदबन्दीभन्दा बढीको जग्गालाई परियोजना धितो कर्जाको रूपमा भने ऋण लिन सकिनेगरी व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

‘प्रचलित कानुनबमोजिम हदबन्दीभित्र परेको जग्गा बिक्री–वितरण गर्न र हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति लिई अनुमतिप्राप्त उद्योगले खरिद गरी लिएको जग्गाको ५० प्रतिशतसम्म जग्गा धितो राखी ऋण लिन सकिने’ व्यवस्था ल्याइनुपर्ने उल्लेख छ । सरकारी जग्गाको हकमा भने जग्गा लिजमा लिई उद्योग वा परियोजना सञ्चालन गर्दा सो जग्गा धितो बन्धक राखी ऋण लिन नपाइने व्यवस्था ल्याउनुपर्ने जनाइएको छ । तर परियोजना कर्जा (प्रोजेक्ट फाइनान्सिङ) लिन सकिने व्यवस्था गर्न सुझाव कार्यदलले दिएको छ ।

ऐनको दफा ५० को उपदफा (१) मा समान उद्देश्य भएका कुनै उद्योगले एकापसमा करार वा उपकरार गरी वस्तु वा सेवाको उत्पादन गर्ने सक्ने व्यवस्था राख्नुपर्ने सुझाव आएको छ । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र प्रशोधन गर्ने उद्योगले औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डबाट अनुमति लिनु नपर्ने व्यवस्था गर्न भनिएको छ । यस्ता उद्योगको काम प्रदेशबाट गर्न उपयुक्त हुने भएकाले बोर्डको कार्यक्षेत्रबाट हटाउनुपर्ने देखिएको हो । होटल, रिसोर्ट, थिमपार्क र केवलकार उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको सूचीमा समावेश गर्न पनि सुझाव दिइएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २ को खण्ड (ग) मा संशोधन गरी गैरआवासीय नेपालीको परिभाषा संशोधन गर्न सुझाव दिइएको छ । नागरिकता ऐन, २०६३ मा भएको व्यवस्थाअनुसार परिभाषा संशोधन गरी ‘गैरआवासीय नेपाली भन्नाले गैरआवासीय नेपालीसम्बन्धी प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त व्यक्ति सम्झनुपर्छ’, भनी उल्लेख गरिएको छ । त्यस्तै ‘प्रविधि हस्तान्तरण’को परिभाषामाभित्र ‘रिभर्स इन्जिनियरिङ’ लाई पनि समेटिनुपर्ने सुझाव आएको छ ।

विद्यमान ऐनमा ‘विदेशमा प्रविधि हस्तान्तरण गर्न सकिने’ व्यवस्था थप गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । नेपालमा स्थापित तथा सञ्चालित उद्योग एवं कम्पनीले विदेशस्थित उद्योग र कम्पनीमा प्रविधि हस्तान्तरण गर्न सक्ने तथा उद्योग विभागको अनुमतिमा विदेशमा शाखा कार्यालय खोल्न सक्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

विदेशी लगानी भएको कुनै उद्योगले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विदेशी वित्तीय संस्थाबाट परियोजना ऋण (प्रोजेक्ट लोन) वा परियोजना लगानी (प्रोजेक्ट फाइनान्सिङ) सम्झौता गरी ऋण लिन सक्नेछ । हालको व्यवस्थाबमोजिम यसका लागि सम्बन्धित मन्त्रालयसमेतको सिफारिस चाहिन्छ ।

ऐनको दफा १७ को उपदफा (१) मा रु छ अर्बसम्मको विदेशी लगानीको स्वीकृत उद्योग विभागले गर्न सक्नेछ भन्ने साविकको व्यवस्थालाई ‘लगानीकर्ताले चाहेमा उद्योगमा हुने विदेशी लगानीको स्वीकृति विभागले गर्न सक्नेछ’ बनाउन सिफारिस गरिएको छ । हालको व्यवस्थाबमोजिम रु छ अर्बभन्दा माथिको विदेशी लगानीको स्वीकृति लगानी बोर्डले दिने गरेको छ । तर रु छ अर्बभन्दा माथिको उद्योगमा हुने विदेशी लगानी पनि उद्योग विभागमार्फत स्वीकृत हुँदा एकद्वार सेवाबाट छिटो उद्योग प्रशासनको काम गर्न सकिने भन्दै कार्यदलले यस्तो सुझाव दिएको हो ।

ऐनको दफा २२ को खण्ड (च) मा भिसाका लागि सिफारिसको हकमा विदेशी लगानीकर्ता, निजका प्रतिनिधि र विदेशी कर्मचारी र निजका परिवारमा ‘श्रीमान्, श्रीमती’ भन्ने शब्द छुटेकाले सो समावेश गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । त्यस्तै ऐनको दफा ४५ को उपदफा (१) मा संशोधन गरी विदेशी लगानी भएका उद्योगले एकापसमा करार (कन्ट्रयाक्ट) वा उपकरार (सबकन्ट्रयाक्ट) गरी वस्तु वा सेवाको उत्पादन गर्न सक्ने व्यवस्था राख्न सुझाव दिइएको छ । समान उद्देश्य भएका विदेशी लगानीका उद्योगबीच सम्झौता गरी तयारी वस्तु तथा सेवा र सहायक वस्तु उत्पादन गर्दा उत्पादन लागत घट्ने भएकाले यस्तो संशोधन गर्नुपर्ने सुझाव कार्यदलले दिएको हो । ट्राभल एजेन्सीमा विदेशी लगानी खुला गर्ने तथा राइड सेयरिङमा ७० प्रतिशतसम्म विदेशी लगानी खुला गर्नुपर्ने सुझाव दिइएको छ ।

विशेष आर्थिक क्षेत्र ऐन, २०७३

यो ऐन संशोधन गरेर विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगले उत्पादन सुरु गरेको तीन वर्षसम्म कम्तीमा १५ प्रतिशत र छ वर्षभित्र कम्तीमा ३० प्रतिशत उत्पादित वस्तु वा सेवा निर्यात गर्नुपर्ने व्यवस्था ल्याउनुपर्ने सुझाव कार्यदलबाट आएको छ । ऐनमा भएको विद्यमान व्यवस्थाअनुसार यस्ता उद्योगले सुरुआतदेखि नै कम्तीमा ६० प्रतिशत निर्यात गर्नुपर्ने हुन्छ । पहिलो दुई वर्षदेखि निर्यातको न्यूनतम परिमाणको मापदण्ड तोक्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी उत्पादनको परिमाण, गुणस्तर र मापदण्ड पूरा गर्न उद्योगीलाई कठिन हुने भएकाले यसमा संशोधनको आवश्यकता औँल्याइएको छ ।

त्यस्तै ऐनको दफा ९३ को उपदफा (२) मा पनि संशोधन प्रस्ताव गरिएको छ । विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग सञ्चालनमा आएको मितिले एक वर्षभित्र त्यस्तो उद्योगबाट उत्पादन गरेको वस्तु तथा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्ने व्यवस्थालाई संशोधन गरेर उद्योग सञ्चालनमा आएको मितिले तीन वर्षसम्म नेपालको आन्तरिक बजारमा बिक्री गर्न सकिने व्यवस्था ल्याइनुपर्ने सुझाव दिइएको छ ।

ऐन संशोधन गरी जरिवाना रकम घटाउन प्रस्ताव गरिएको छ । ‘उद्योगले आफ्नो वस्तु वा सेवा ऐनमा उल्लिखित परिमाणभन्दा बढी नेपालको आन्तरिक बजारमा बिक्री गरेको पाइएमा प्राधिकरणले बिगोको १० प्रतिशत रकम जरिवाना गर्नेछ’, भन्ने व्यवस्था गर्न कार्यदलको सुझाव छ । हालको व्यवस्थाबमोजिम यस्तो कसुरमा प्राधिकरणले बिगोबमोजिमको रकम जरिवाना गर्ने व्यवस्था थियो । तर प्राधिकरणको पूर्वस्वीकृति लिई नेपालको आन्तरिक बजारमा बिक्री गर्दा भने जरिवाना नलाग्ने व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

वन ऐन, २०७६

यो ऐनमा ‘वन पैदावार’को परिभाषाबाट ‘चट्टान, माटो, नदीजन्य र खानीजन्य पदार्थ’ हटाई ‘वन बुट्यान क्षेत्रभित्र पर्ने चट्टान, ढुङ्गा, गिट्टी र माटो’ थप गरिनुपर्ने सुझाव दिइएको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृति भएको योजना, राष्ट्रिय गौरवका आयोजनाको प्रस्तावक वा लगानीकर्ताले सट्टाभर्ना स्वरूप दिनुपर्ने जग्गाको सट्टा तोकिएबमोजिमको रकम नै जम्मा गर्न चाहेमा मन्त्रालयको अनुमतिमा त्यस्तो रकम वन विकास कोषमा जम्मा गर्न सक्ने ऐनमा ल्याइनुपर्ने सुझाव आएको छ । त्यस्तै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृति भएको योजना, राष्ट्रिय गौरवका आयोजना वा योजना कार्यन्वयन गर्न एक हेक्टरसम्मको राष्ट्रिय वन क्षेत्रमा भएका रुखहरूको कटान गर्ने वा हटाउने सम्बन्धमा मन्त्रालयले तोकिएबमोजिम स्वीकृति प्रदान गर्ने सक्ने व्यवस्था ल्याइनुपर्ने उल्लेख छ । विद्यमान वन ऐनमा यो व्यवस्था छैन ।

सरकारी स्वामित्व भएका संस्थाबाट विद्युत् प्रसारण वा वितरण, सञ्चार सेवा वा यस्तै अन्य प्रयोजनका लागि राष्ट्रिय वनको कुनै भागमा टावर राख्नुपर्ने भएमा त्यस्तो टावरले ओगटेको क्षेत्रको (टावर प्याड) लागि तोकिएको रकमको १० प्रतिशत रकम तथा त्यस्तो प्रसारण लाइन वा विद्युत् मार्गको अधिकार क्षेत्र (राइट अफ वे) मा रुख कटान भएबराबरको क्षेत्रमा काटिएका रुखको दशगुणा सङ्ख्यामा वृक्षरोपण गर्न लाग्ने तोकिएबमोजिमको रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था पनि ऐनमा राख्नुपर्ने सुझाव कार्यदलबाट आएको छ ।

तर नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा लगानी बोर्डबाट विद्युत् प्रसारण वा वितरणको अनुमतिपत्र प्राप्त अयोजनाको हकमा राष्ट्रिय वनको कुनै भागमा टावर राख्नुपर्ने भएमा त्यस्तो टावरले ओगटेको क्षेत्र (टावर प्याड)को लागि तोकिएबमोजिम रकमको शतप्रतिशत रकम तथा त्यस्तो प्रसारण लाइन वा विद्युत् मार्गको अधिकार क्षेत्र (राइट अफ वे) मा रुख कटान भएबराबरको क्षेत्रमा काटिएका रुखको दशगुणा सङ्ख्यामा वृक्षरोपण गर्न लाग्ने तोकिएबमोजिमको रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने छ ।

राष्ट्रिय वनभित्र खनिज पदार्थ भए–नभएको अन्वेषण गर्नुपर्ने भएमा सम्बन्धित निकायको अनुरोधमा प्रदेश मन्त्रालयले सोका लागि अनुमति दिनुपर्ने छ । हालको व्यवस्थाबमोजिम प्रदेश मन्त्रालयले अनुमति दिनसक्ने व्यवस्था रहे पनि यस्तो व्यवस्था बाध्यकारी भने देखिँदैन ।

त्यस्तै वन ऐनको दफा ४३ को उपदफा (१) मा संशोधन प्रस्ताव गरिएको छ । ‘राष्ट्रिय वनभित्रको खनिज पदार्थ उत्खनन गर्नुपर्ने भएमा प्रचलित कानुनबमोजिम वातावरणीय अध्ययन गरी त्यसरी उत्खनन गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने भएमा त्यस्ता खनिज पदार्थ उत्खनन गर्न नेपाल सरकारले वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिन सक्नेछ’, भन्ने व्यवस्था ऐनमा राख्न प्रस्ताव गरिएको छ । खनिज पदार्थ उत्खनन गर्ने सम्बन्धमा खानी तथा खनिज पदार्थ ऐन, २०४२ अनुकूल बनाउनका लागि वन ऐनमा यस्तो संशोधनको आवश्यकता औँल्याइएको हो । तर राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, लगानी बोर्डबाट स्वीकृत भएका आयोजना, राष्ट्रिय गौरवका आयोजना वा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा प्रयोग हुने कच्चा पदार्थ उपयोग गर्न बाहेक वन बुट्यान क्षेत्रभित्र पर्ने चट्टान, ढुङ्गा, गिट्टी र माटो उत्खनन गर्न नपाइने व्यवस्था ऐनमा राखिनुपर्ने सुझाव कार्यदलले दिएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९

संरक्षित क्षेत्रमा गर्नुपर्ने विकास निर्माणलाई सहजीकरण गर्न आवश्यक रहेको भन्दै यो ऐनको दफा ६ मा संशोधन गरिनुपर्ने उल्लेख छ । ‘राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र सरकारले अतिसंवेदनशील भनी तोकेबाहेकका क्षेत्र वा मध्यवर्ती क्षेत्रमा प्रकृति र मानव सहअस्तित्व कायम हुने गरी राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, लगानी बोर्डबाट स्वीकृत आयोजना वा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न नेपाल सरकारले तोकिएबमोजिम स्वीकृति दिन सक्नेछ’, भनी व्यवस्था थप गर्नुपर्ने सुझाव आएको छ । विद्यमान ऐनमा यो व्यवस्था थिएन ।

भूमिसम्बन्धी ऐन, २०२१

भूमिसम्बन्धी विद्यमान ऐनको दफा १२ (क) मा संशोधन गरी हदबन्दी छुटलाई नियमन गर्नेसम्बन्धी विशेष व्यवस्थामा संशोधनको आवश्यकता आँैल्याइएको छ । ऐनको उक्त दफामा संशोधन गरी ‘यो दफा प्रारम्भ हुँदाका बखत निरन्तर सञ्चालनमा रहेको उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था सञ्चालन गर्न अत्यावश्यक भई यस ऐनमा तोकिएको हदबन्दीभन्दा बढी जग्गा नेपाल सरकारको स्वीकृति नलिई खरिद गरी उपयोग गरिरहेको रहेछ भने यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र हदबन्दीभन्दा बढी जग्गा आवश्यक रहेको औचित्य पुष्टि हुने कारण खोली मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष निवेदन दिन सक्नेछ’, भन्ने व्यवस्था राख्न सुझाव दिइएको छ । ऐनको हालको व्यवस्थाबमोजिम तीन महिनाभित्र एकपटकका लागि हदबन्दीभन्दा बढी जग्गा आवश्यक रहेको औचित्य पुष्टि हुने कारण खोली सरकारसमक्ष निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै ऐनको दफा १२ (ख) मा संशोधन गरी हदबन्दीभन्दा बढी जग्गा प्राप्त गरेका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा अन्य कुनै संस्थाले सूचित आदेशमा तोकिएको शर्तबमोजिम जुन प्रयोजनका लागि प्राप्त गरेको हो सोही प्रयोजनका लागि मात्र त्यस्तो जग्गा प्रयोग गर्नुपर्ने भन्ने व्यवस्था ल्याइनुपर्ने उल्लेख छ । बैंक वा वित्तीय संस्था वा सहकारी सङ्घसंस्थाले कर्जा सुरक्षणबापत धितो लिएको जग्गा लिलाम बिक्री गर्दा कसैले लिलाम सकार नगरी बैंक वा वित्तीय संस्था वा सहकारी सङ्घसंस्था आफँैले सकार गरेको जग्गा सो जग्गा प्राप्त भएको वा न्यायिक निकायमा मुद्दा परी अन्तिम फैसला भएको मितिले तीन वर्षभित्र बेचबिखन गरिसक्नुपर्ने छ । सो तीन वर्षभित्र पनि बेचबिखन नगरेमा त्यस्तो जग्गा बेचबिखनका लागि नेपाल सरकारको स्वीकृति लिनुपर्ने छ ।

ऐनको दफा १२ (ग) मा बिक्री वितरण वा सट्टापट्टा गर्न नहुने भन्ने प्रतिबन्धात्मक वाक्यांशपछि ‘अधिकतम हदबन्दीभन्दा बढी जग्गा राख्ने सार्वजनिक संस्था, उद्योग, प्रतिष्ठान, कम्पनी आयोजना, शिक्षण वा स्वास्थ्य संस्था, फर्म, सङ्घसंस्थाको रोजगारी तथा उत्पादन नघट्ने र निरन्तर सञ्चालन हुनसक्ने भएमा ऋण फर–फारक र दायित्व भुक्तानी गर्नका लागि दफा ७ मा तोकिएको हदभित्रको जग्गा मन्त्रालयले तोकेको शर्तको अधिनमा रही मन्त्रालयको स्वीकृतिमा एकपटकका लागि बिक्री वितरण गर्न बाधा पर्ने छैन’, भन्ने व्यवस्था थप गरिनुपर्ने उल्लेख छ ।

वातावरण सरंक्षण ऐन, २०७६

ऐनको दफा ११ को उपदफा (१) मा प्रतिबन्धात्मक वाक्यांश थपको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको कुनै आयोजनाको भौतिक पूर्वाधार, डिजाइन वा स्वरुपमा केही परिमार्जन गर्नुपरेमा, संरचना स्थानान्तरण वा फेरबदल गर्नुपरेमा, वनक्षेत्र थप गर्नुपरेमा वा आयोजनाको क्षमता वृद्धि गर्नुपरेमा प्रस्तावकले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने छ भन्ने व्यवस्था राखिनुपर्ने उल्लेख छ । तर स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित राष्ट्रिय वनक्षेत्रको क्षेत्रफल वा कटान हुने रुख सङ्ख्या घटेको हकमा जतिसुकै र बढेको हकमा १० प्रतिशतसम्म भएमा पूरक वातावरणीय अध्ययन गर्नुपर्ने छैन । यसरी राष्ट्रिय वनक्षेत्रको क्षेत्रफल वा कटान हुने रुख घटेको वा बढेकामा प्रस्तावकले सोको जानकारी सम्बन्धित निकायमा दिनुपर्ने व्यवस्था ल्याइनुपर्ने उल्लेख छ ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३

यो ऐन संशोधन दफा ७२ (क) थप गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ । ‘विदेशी मुद्रामा रकम भुक्तानी गरी कम्प्युटर नेटवर्क वा कम्प्युटर प्रणालीमा प्रयोग हुने कुनै सफ्टवेयर, हार्डवेयर वा कम्प्युटर वा सूचना प्रविधिसँग सम्बन्धित सामग्री वा सेवा विदेशबाट आयात गर्नुपर्ने भएमा लगानीकर्ताले त्यस्तो सामग्री वा सेवा नेपालमा भित्र्याउन विदेशी मुद्रा सटही सुविधा मागगरेमा सूचना प्रविधि विभागले सम्बन्धित निकायमा तोकिएबमोजिम सिफारिस गर्नुपर्ने छ’ भन्ने वाक्यांश थप गरिनुपर्ने उल्लेख छ ।

त्यस्तै सूचना प्रविधिमा आधारित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले विदेशमा शाखा वा युनिट खोल्न सक्ने व्यवस्था पनि थप गर्नुपर्ने देखिएको छ । ‘नेपालमा स्थापित भएका सूचना प्रविधिमा आधारित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले निर्माण गरेका सफ्टवेयर र सूचना प्रविधि विषयसँग सम्बन्धित सेवाहरू विदेशमा निर्यात गरी विदेशमा आर्जित रकम स्वदेशमा भित्र्याउने प्रयोजनका लागि सम्बन्धित देशको कानुनको अधिनमा रही विदेशमा शाखा वा युनिट खोली व्यापारिक कारोबार गर्नका लागि मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले अनुमति दिनेछ’, भन्ने व्यवस्था थप गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३

ऐनको दफा ५ मा संशोधन प्रस्ताव गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको अडिटले मन्त्रालयले इजाजत दिने प्रमाणपत्र र सिकागो महासन्धिअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रदान गर्ने प्रमाणपत्रमा दोहोरोपन भएको भन्ने व्यहोरा उठाएकाले मन्त्रालयले इजाजत दिने व्यवस्था हटाइनुपर्ने सुझाव आएको छ ।

त्यस्तै ऐनको दफा ५ मा केही व्यवस्था थप गर्नुपर्ने प्रस्ताव गरिएको छ । विमानस्थल सञ्चालक तथा एयर नेभिगेसन सर्भिस (एएनएस) सेवा प्रदायकको नियमन गर्नका लागि विभिन्न शर्तहरू तोकी अनुमति वा प्रमाणपत्र प्रदान गर्न जरुरी रहेको भन्दै ऐनमार्फत यस्तो व्यवस्था ल्याउन प्रस्ताव गरिएको छ । ‘प्रचलित कानुनबमोजिम नेपालमा स्थापना भएका विमानस्थल सञ्चालकलाई विमानस्थल सञ्चालन गर्न तोकिएबमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने, निलम्बन गर्ने, रोक लगाउने वा रद्द गर्ने’ अधिकार प्राधिकरणलाई दिइनुपर्ने व्यवस्था ऐनमा गरिनुपर्ने सुझाव आएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदलले यस्तो सुझाव दिएको हो । मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्तावसहित कार्यदलले आज मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सुझाव पेस गरेको हो ।

औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लगायत ऐनका व्यवस्था संशोधनको सुझाव दिइएको छ । त्यस्तै भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय कारोबार ऐन २०६३, नागरिक उड्डयन ऐन, २०५३ का व्यवस्थामा पनि संशोधन गर्न सुझाव दिइएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ र वन नियमावली, २०७९ मा समेत संशोधनको आवश्यकता औँल्याइएको छ ।

प्रदेश सरकारको एक वर्षको उपलब्धि सार्वजनिक

सुदूरपश्चिम, २७ माघ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक वर्षे कार्यकाल राजनीतिक, प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट उपलब्धिपूर्ण भएको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकारको एक वर्षे उपलब्धी सार्वजनिक गर्नुहुँदै मुख्यमन्त्री शाहले विभिन्न कठिनाइ र चुनौतीका बीच जनताको अपेक्षामा खरो रुपमा उत्रिन भने नसकिएको स्वीकार गर्नुभयो ।

देशमा सङ्घीयताको अभ्यास भएको आठ वर्ष पूरा हुँदा पनि संविधान प्रदत्त अधिकारहरुको प्रत्यायोजनमा समस्या आउँदा प्रदेश सरकारले जनताको इच्छा आकांक्षाको संवोधन गर्न केही कठिनाइ महसुस भएको मुख्यमन्त्री शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश प्रमुख, सभामुख, प्रदेशसभा सदस्य, पालिका तहका जनप्रतिनिधि, प्रशानिक नेतृत्व र राजनीतिक दलसँगको बढेको आपसी विश्वास र सहयोगबाट नै आफ्नो कार्यकालको सफल भएको ठानेको छु ।”

प्रदेशको विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको उहाँको भनाइ छ । सो अवसरमा सार्वजनिक गरिएको प्रदेश सरकारको एकवर्षे कार्यकालको कार्यप्रगति विवरणमा सरकारबाट प्रवाह हुने सेवा र शासकीय प्रबन्धमा आवश्यक पर्ने नीतिगत तथा कानुनी व्यवस्थाका लागि पाँच वटा संशोधन विधेयक प्रदेशसभामा पेश गर्ने, दुई विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने, दुई नियमावली, आठ कार्यविधि, तीन मापदण्ड निर्माण जस्ता कामलाई नीतिगत सुधारका लागि गरिएको कामका रुपमा उल्लेख गरिएको छ ।

प्रदेश निजामती ऐनमा संशोधन गर्नका लागि विधेयक पेश गर्ने तयारी, स्थानीय सेवा सञ्चालनसम्बन्धी विधेयकको तयारी, प्रदेश गौरवलगायत विकास आयोजना समयमै सम्पन्न गर्न दिइएको निर्देशन, प्रदेश आयोजना बैंक तर्जुमा दिग्दर्शन २०८० कार्यान्वयन, भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा भारतलगायत तेस्रो मुलुकबाट आउने यातायातका साधनको अस्थायी अनुमति दिने व्यवस्था लगायतलाई पनि उपलब्धिका रुपमा लिइएको छ ।

यस्तै वित्तीय व्यवस्थापन, कृषि तथा पशुपंक्षी, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, खेलकुद र सीप विकासलगायत क्षेत्रमा पनि सुधार भएको उल्लेख छ ।

ऊर्जाको क्षेत्रमा निजी लगानी प्रवर्द्धन गर्ने प्रयोजनका लागि स्थानीय र सङ्घीय सरकारसँग सहकार्य थालिएको, सेती, कर्णाली, चैनपुर दोधारा ४०० किलो भोल्टको प्रसारण लाइनको डिपीआर निर्माणाधीन रहेको, दोधारा, बरेली, लम्की बरेली अन्तरदेशीय प्रसारणलाइनको प्रक्रिया थालनी गरिएको, पश्चिम सेती जलविद्युत् आयोजनाको डिपीआरका लागि सुरुङ शिलान्यास गरिएको कामलाई पनि सरकारले उपलब्धिको रुपमा लिएको छ ।

पत्रकार सम्मेलन आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा चालु आव २०८०/८१ मा सरकारको पूँजीगत र चालु खर्चमा सुधार आएको बताउनुभयो ।

दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटियो

म्याग्दी, २७ माघ : म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ ।

दरवाङदेखि धारापानी पुग्न यसअघि गाडीमा ४५ मिनेट लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्राअवधि १५ मिनेटमा छोटिएको धौलागिरि गाउँपालिका–७ धारापानीका रिमप्रकाश थापाले बताउनुभयो । “बाह्र वर्षअघि चन्दा जुटाएर मार्ग मात्र खोलिएको सडक कच्ची साँघुरो र ग्रेड नमिलेको थियो”, उहाँले भन्नुभयो, “घुम्ती तथा मोड र ग्रेड सुधारसँगै अप्ठ्यारो ठाउँमा ढलान भएपछि यात्राका क्रममा सहज र सुरक्षित महसुस हुन थालेको छ ।”

नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धौलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बन्न थालेको छ । सडक सुधार भएपछि यातायातको भाडादर घटाउन स्वसीले माग गरेका छन् ।

विसं २०६७ मा स्थानीय बासिन्दा र तत्कालीन गाविसको अनुदानमा रु एक करोड ५० लाख खर्चेर यो सडकको मार्ग खोलिएको थियो । गण्डकी प्रदेश सरकारको पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत विसं २०७६ चैत ४ गते दरवाङदेखि फेदी हँुदै धारापानी खण्डको छ किलोमिटर छ सय मिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको थियो ।

रु १४ करोड ३८ लाख ६७ हजारमा विसं २०७८ असारमा सम्पन्न गर्ने लक्ष्यसहित धुलिखेल–ब्राइट–कुँवर जेभीले पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का लिएको आयोजनाको ४६ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा सहायक निर्माण व्यवसायीले काम छाडेपछि करिब एक वर्ष अलपत्र परेको थियो ।

विसं २०७९ को भदौमा कार्य क्षेत्रमा आएको मुख्य निर्माण कम्पनीका कर्मचारी हरिप्रसाद हुमागाईले हाल ९३ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको बताउनुभयो । “दरवाङदेखि धारापानीसम्म छ किलोमिटर सडक फराकिलो, नाली र पर्खाल बनाएर ग्राभेल गरेका छौँ”, उहाँले भन्नुभयो, “बादिकाको अप्ठ्यारो र साँघुरो भिरमा ३२४ मिटर सडक ढलान भएको छ ।”

तीन दशमलव ५ तीनदेखि ४ मिटर फराकिलो रहेको सडक सरदर ७ दशमलव ५ मिटरका दरले फराकिलो बनाइएको छ । ग्रेड नमिलेको ठाउँमा चार सय मिटर नयाँ मार्ग खोलिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सूचना अधिकारी अर्जुन शर्माले बताउनुभयो । “बादिका भिरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो”, उहाँले भन्नुभयो, “सडक फराकिलो र ढलान गरेर यात्रालाई सहज र सुरक्षित बनाउने हाम्रो उद्देश्य हो । उकालो र भिरालो सडकमा गाडी बिग्रिने, दुर्घटना हुने, फस्ने, उक्लन नसक्ने समस्या हटेको छ ।”

यो सडकलाई प्रदेश सरकारले चालु आवमा रु पाँच करोड बजेट जिनियोजन भएको छ । यो सडकलाई मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमसँग जोडेर मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न जोड दिइएको म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

“धारापानीदेखि ताकम हँुदै शिवाङ जोड्ने चार किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश सरकारले चालु आवमा रु पाँच करोड विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “सो सडक योजनालाई रु २५ करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भइसकेको छ ।”

नेपालले क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै

काठमाडौँ, २७ माघ ः नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल उक्त खेलमा सात रनले विजयी भएको थियो । सो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । दुई सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले चार विकेट लिएका थिए ।

नेपाल आजको खेल जितेर क्यानडाविरुद्धको सिरिज आफ्नो कब्जामा पार्न चाहन्छ । अघिल्लो खेलमा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा भने उल्लेख्य खेल खेल्न सकेको थिएन । सो खेलमा कुशल भूर्तेलले ६८ तथा आरिफ शेखले ३८ रन बनाएका थिए । नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो ।

नेपाली टोलीमा रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

शिक्षाको ज्योतिबाट बालबालिकालाई वञ्चित गर्न नहुनेमा मुख्यमन्त्री चौधरीको जोड

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरिबी हटाउने एक मात्र हतियार शिक्षा भएकाले बालबालिकालाई पढाउनु अभिभावकहरुको दायित्व भएको बताउनुभएको छ ।

शुक्रबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री चौधरीले शिक्षाको ज्योतिबाट बालबालिकालाई वञ्चित गर्न नहुने बताउँदै बालबालिकाले उचित शिक्षा पाएमा भविष्यमा उनीहरूले समाज र राष्ट्रको उन्नयनमा योगदान गर्ने बताउनुभयो । उहाँले अभिभावकहरूलाई नियमित रूपमा विद्याभ्यास गराउन आग्रह पनि गर्नुभयो ।

‘विविधतापूर्ण संस्कृति मौलिक पहिचान र अमूल्य सम्पदा’ – प्रदेश प्रमुख गुरुङ

गण्डकी – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुुभएको छ ।

सोनाम ल्होसारका अवसरमा शुुभकामना सन्देश जारी गर्दै उहाँले यस्ता पर्व नेपाली समाजमा सद्भावना बढाउन आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा महत्वपूर्ण रहेका उल्लेख गर्नुभएको छ । यस पर्वले सद्भाव र समृद्धि बढाउन सबैलाई प्रेरणा दिने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुु भएको छ ।

दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माण हुँदै

महेन्द्रनगर (कञ्चनपुर) – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल भएको बताउनुभएको छ ।महेन्द्रनगरमा शुक्रबार महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा कांग्रेस नेता लेखकले नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाका निर्माणको काम क्रमिक रुपमा अघि बढेको बताउनुभयो ।

“दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास आगामी एक–दुई महिनामा हुन्छ ।” उहाँले भन्नुभयो–“ भारतले पनि सुक्खा बन्दरगाहसित जोड्ने काम गर्नेछ ।”उहाँले महाकाली नदीमा चार ‘लेन’को पक्की पुल बनिसकेको बताउँदै महाकाली ‘करिडोर’को काम पनि प्रारम्भ भएको जानकारी दिनुभयोे ।

“यो पटक कञ्चनपुर र डडेल्धुरा करिडोरबाट जोडिएर हामीले परशुराम धामको दर्शन गरिसकेका छौं ।” नेता लेखकले भन्नुभयो–“ अर्को पटक यही करिडोरबाट बैतडी र त्यसपछि दार्चुला पुग्ने गरी ट्रयाक खुलाउने काम हुन्छ ।” उहाँले चीन र भारतसित नाका जोड्न सके तीन देशबीचको व्यापार बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

“ठूलो अर्थतन्त्र भएको मुलुक भारतमा सम्भावना बोकेका प्रान्तहरुबाट हामी सबै भन्दा नजिक छौं ।” उहाँले भन्नुभयो–“ चीनको पनि कैलाश मानसरोवर धार्मिकस्थल नजिक भएकाले हामीले दुवैतिर नाका खोल्नुपर्छ ।”

नेपालकै यस्तो ठाउँ , जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुगे । माङ्दाङ्वा गाउँका बिचमा उनको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्कोे ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गरेका छन् ।

सामान्य कच्ची घरमा उनी अहिले बस्दै आएका छन् । तर चिटिक्क परेको सानो पक्की घर भने उनले आफ्नो मृत्युपछि आफ्नै प्रयोजनका निम्ति निर्माण गरेका छन् । त्यसलाई स्थानीयले लास घर अर्थात् कपुरथान (चिहान) भन्ने गरेका छन् । लिम्बू भाषामा यसलाई चेहिम भन्ने गरिन्छ । चे भनेको लास र हिम भनेको घर भन्ने बुझिन्छ ।

चार छोरी र एक छोरा रहेका मनप्रसाद आफ्नी ७३ वर्षीया पत्नी शुकरानी इवाहाङसँग रहँदै आएका छन् । उनले कपुरथान पतिपत्नी दुवै जना अट्ने गरी दुई कोठा भएको निर्माण गरेका छन् ।पाँच वर्षअघि नै करिब एक लाख रुपियाँ खर्चेर ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर कपुरथान निर्माण गरेका हुन् । कपुरथानमा शव राख्ने भाग खाली राखिएको छ । खाली भागमा मनप्रसाद र शुकरानीको निधनपछि पार्थिव शरीर राखिने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

काठमाडौँ महानगरका मेयर बालेनद्वारा सहरी मन्त्रालयलाई जवाफ दिन अस्वीकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको जवाफ दिन इन्कार गरेका छन् । मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते दुईवटा चिठी महानगरपालिकालाई पठाएको थियो । तर शाहले जवाफ दिएका छैनन् । यसप्रति मन्त्रालयका उच्च कर्मचारीले असन्तुष्टि जनाएका छन् ।

मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते गरी दुईवटा चिठी पठाएको थियो । तर मेयर शाहले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन् । ‘चिठीको जवाफ त आउनुपर्थ्यो । जे भए पनि केही न केही कुरा आउनुपर्थ्यो। जवाफ नै नआउनु अति नै अपमान हो,’ कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले भने, ‘हामीले अहिलेसम्म दुई पटक चिठी पठाइसकेका छौँ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

‘लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण’- पूर्वराष्ट्रपति भण्डारी

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।न्यू सृष्टि दैनिकको १३ औँ वार्षिकोत्सव एवं सम्मान कार्यक्रमको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशका जनताले गरेको आन्दोलनका कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्वन गरेका समुदायका वीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्ने बताउनु भयो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग आज भएको पाँच बुँदे सहमतिले प्रदेशमा आजदेखि बन्द हडताल सधैँका लागि बन्द गरेको बताउनुभयो ।

उक्त दैनिकका प्रधानसम्पादक एवं रासस सञ्चालक समितिका सदस्य शङ्कर खरेलले आगामी वर्ष आफ्नो पत्रिकाले दैनिकले युवा वर्षका रुपमा मनाउने बताउनुभयो ।वरिष्ठ कलाकार नीरविक्रम शाह, नायक विश्व बस्नेत, वरिष्ठ लोकगायक कुमार बस्नेत,अभिनेत्री शर्मिला मल्लले सम्पूर्ण राष्ट्रिय एकताका निम्ति नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौँ, २७ माघ : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा आज राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते

भरतपुर (चितवन), २७ माघ : चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताउनुभयो ।

उपराष्ट्रपति यादवद्वारा ल्होसारको शुभकामना

काठमाडौँ, २७ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताउनुभएको छ ।

सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुहुँदै उहाँले नेपालको मौलिक संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “सोनाम ल्होसारले समुदाय, समाज र देशमा सामाजिक एकता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

हेर्नुहोस् माघ २७ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन ।

बृष राशि – गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

मीथुन राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । आटँ र शाहसमा बृद्यि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

कर्कट राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

सिंह राशि- नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

कन्या राशि- सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

तुला राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि- मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि- सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मकर राशि- नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

मिन राशि- मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताउनुभएको छ ।

संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताउनुभएको छ ।

उहाँले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गर्नुभयो । “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो”, प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ ।

श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकको पर्वका रूपमा परिचित ल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइने जनाउँदै उहाँले यी पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहँदै आएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व हुन् भन्नुभएको छ ।

साथै प्रधानमन्त्री दाहालले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गर्नुभएको छ । उहाँले सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ, २७ माघ ः राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गरेका छन् ।

आज सोनाम ल्होसार

काठमाडौँ, २७ माघ : आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।

त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग

काठमाडौँ, २७ माघ ः नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । डबल राउण्ड रोबिनका आधारमा हुने उक्त सिरिजमा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यसैगरी नेपालले लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने तय भएको क्यानले जनाएको छ । फागुन २२ गते सिरिजको फाइनल खेल हुनेछ ।

कांग्रेस प्रचारप्रसार उपसमितिमा सात सदस्य मनोनित

काठमाडौँ, २६ माघ : नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनित गरेको छ ।

कांग्रेसले केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित ‘प्रचार प्रसार उपसमिति’मा आज सात जना सदस्य मनोनित गरेको हो । पार्टीले उपसमितिमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल, जगत् प्रजापतिलाई मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

‘कांग्रेस नेता कोइरालाको त्याग, समर्पण र योगदान स्मरणीय’

काठमाडौँ, २६ माघ : नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नवौँ स्मृतिका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । फाउण्डेशनले आज शालिन, सरल र सादगी राजनीतिज्ञ कोइरालाले नेपाली जनताको संविधान बनाउने सात दशक लामो अपेक्षालाई सार्थक बनाउन अग्रणी नेतृत्व प्रदान गर्नुभएको ऐतिहासिक योगदान सबैको स्मृतिमा ताजै रहेको जनाएको छ ।

दोस्रो संविधानसभाले २०७२ सालमा बनाएको नेपालको संविधानलाई मान्य बनाउन र लागू गर्न उहाँले अनेक व्यवधान र कठिनाइ छिचोल्दै सफल हनुभएको तथ्य पनि जगजाहेर नै रहेको फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका नेता डा शशाङ्क कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ ।

आफ्नो राजनीतिक जीवन देश, जनता र लोकतन्त्रको पक्षमा समर्पित गर्नुभएका निष्ठाका प्रतीक कोइरालाले सदैव देशको सार्वभौमिकता, जनताको हित र लोकतन्त्रको स्थापना एवं सुदृढीकरण नै आफ्नो राजनीतिक उद्देश्य हो भन्नुहुन्थ्यो । “देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन । यही मान्यताको पक्षमा अनेक अभावबीच पनि कोइरालाले त्याग, समर्पण र योगदान गर्नुभएको सन्देशमा उल्लेख छ ।

सहमति, सहकार्य र एकताको मेलमिलाप सूत्रका प्रयोक्ता राजनीतिज्ञ कोइराला यही चिन्तन र एकबद्ध निष्ठाले नेपालको इतिहाससमेत गौरवान्वित भएको हामी ठान्दछौँ”, सन्देशमा जनाइएको छ । अध्यक्ष कोइरालाले स्मृति दिनको अवसरमा श्रद्धाञ्जलि अर्पण गर्दै संविधान कार्यान्वयनको प्रमुख दायित्वमा रहेका सरकार, राजनीतिक दल, नागरिक समाज र नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास फाउण्डेशनले लिएको उल्लेख गर्नुभएको छ ।

राप्रपा संसदीय दलको बैठक : हिँउदे अधिवेशन आह्वान गर्न आग्रह

मकवानपुर, २६ माघ : बागमती प्रदेशसभा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको आज काठमाडौँमा बसेको बैठकले प्रदेशका जनताको जनजीविका र राष्ट्रिय गौरवका आयोजनाका विषयमा संसद्मा तत्काल छलफल गर्न सरकारलाई हिउँदे अधिवेशन बैठक यथाशीघ्र आह्वान गर्न माग गर्ने निर्णय गरेको छ ।

बैठकले मुलुकको वर्तमान राजनीतिक अवस्थामा बाह्य शक्तिको बढ्दो प्रभावबाट राष्ट्रियतामाथि आँच पुगेको र पार्टीको सङ्गठनात्मक स्वरुप तथा संसद्मा खेल्नुपर्ने भूमिकाको सन्दर्भमा समीक्षा गरिएको राप्रपा संसदीय दलका नेता उद्धव थापाले राससलाई बताउनुभयो ।उहाँले प्रदेश सरकारलाई राष्ट्रिय गौरवका आयोजना बाँडफाँट, संसद्मा रहेका प्रतिपक्ष दलसँग भएको सहमतिलाई कार्यान्वयन गर्न र प्रदेशमा सुशासन तथा भ्रष्टाचारमुक्त तुल्याउन केही दिनभित्रै राप्रपा संसदीय दलका तर्फबाट प्रदेश सरकारलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।

अन्तर मावि जिल्लास्तरीय फुटबलको उपाधि अक्सफोर्डलाई

नवलपुर, २६ माघ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेजले जितेको छ ।स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा गैँडाकोटस्थित कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा २–१ गोल अन्तरले विजयी हुँदै अक्सफोर्डले उपाधि जितेको हो ।

यही माघ १८ गतेदेखि गँैडाकोटमा आयोजित १६ विद्यालय सहभागी प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा अक्सफोर्डले जनक नमूना माविलाई २–१ गोलले हराएको हो । प्रतियोगिताको सुरुआती समयमा अक्सफोर्डका राजीव तामाङले गोल गर्दै लिएको अग्रता दोस्रो हाफमा जनकका विकास सारुले गोल गरेपछि बराबरी भएको थियो । निर्धारित समयमा दुवै तर्फबाट १–१ गोल गरी खेल बराबरी पारेपछि प्रतियोगितामा अतिरिक्त समय थप गरिएको थियो ।

थप गरिएको अतिरिक्त समयको सदुपयोग गर्दै अक्सफोर्डका रिजन कँडेलले गोल गरेर उपाधि रक्षा गर्न सफल भए । अक्सफोर्ड कलेजले उपाधिसँगै रु ६६ हजार छ सय ६६ जितेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको जनक नमूना माविले रु ३३ हजार तीन सय ३३ हात पारेको छ ।

प्रतियोगिताको समापन समारोहमा मन्तव्य राख्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्व सापकोटाको व्यक्तित्वको चर्चा गर्दै उहाँको नाम लिँदा गर्वले छाती चौडा हुने बताउनुभयो । स्वर्गीय सापकोटाले व्यक्तिगत रुपमा प्राप्तीको आशा नगरी मुलुकको परिवर्तनका लागि जीवन नै समर्पित गर्नुभएको भन्दै राजनीति, सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तनका लागि ठूलो योगदान पु¥याउनुभएको लामिछानेले स्मरण गर्नुभयो ।

प्रतियोगिताको समापनका अवसरमा स्व सापकोटाका सुपुत्र केशवप्रसाद सापकोटाले बुवाको स्मृति दिवस पारेर आयोजना गरिएको यस प्रतियोगितालाई वर्षेनी सञ्चालन गर्नका लागि सहकार्य गर्ने बताउनुभयो । हरेक वर्ष माघ १७ गते प्रतियोगिता उद्घाटन गर्ने गरी तिलकप्रसाद सापकोटा ट्रष्टले स्ववियुसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो ।

प्रतियोगिताको पहिलो पुरस्कार राशि रु ६६ हजार छ सय ६६ स्व सापकोटाको परिवारले प्रायोजन गरेको थियो । प्रतियोगितामा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, कालिका संस्कृत विद्यापीठका अध्यक्ष ओमप्रसाद सापकोटा, नेपाल विद्यार्थी सङ्घ नवलपुर जिल्ला कमिटी अध्यक्ष हरि सुवेदीसहितका व्यक्तिले स्व सापकोटाको व्यक्तित्वको चर्चा गर्नुभएको थियो ।

वन्यजन्तुको जोखिम न्यूनीकरण गर्न तीन किलोमिटर मेसजाली

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट वन्यजन्तु मानव बस्तीमा पस्ने जोखिम न्यूनीकरण गर्न मेसजाली निर्माण गरिने भएको छ । वन्यजन्तु आगमनको उच्च जोखिम रहेको भरतपुर महानगरपालिकाका चार वडामा तीन किलोमिटरमा मेसजाली निर्माणको कार्य प्रारम्भ गरिएको हो ।

भरतपुरका वडा नं २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउने स्थानमा सुरुआती चरणमा मेसजाली निर्माणको काम हुनेछ । निर्माणकार्यको आज महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सङ्घ र महानगरको रु दुई–दुई करोड गरी रु चार करोडको परियोजनाअन्तर्गत पहिलो चरणमा रु दुई करोड ७९ लाखको काम सुरु भएको बताउनुभयो ।

छुटेका स्थानमा तत्काल सर्भे गरी नयाँ बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो । मेसजाली निर्माणले वन्यजन्तुको जोखिम अन्त्य हुने विश्वास प्रमुख दाहालले व्यक्त गर्नुभयो । भरतपुरका वडा नं ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको जनाउँदै उहाँले यी वडामध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको बताउनुभयो ।

मेसजाली निर्माणको कार्यका लागि चार वडाको दक्षिणतर्फ जङ्गलको सिमानामा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब तीन किलोमिटर मेसजाली निर्माण गरिने आचार्यको भनाइ छ ।

गोले सनसाइन जेभी सुकेधारा काठमाडौँले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता गरेको छ । पश्चिम चितवनका निकुञ्ज तटीय क्षेत्रसँग जोडिएका बस्तीमा बाघ, हात्ती, गैँडा, बँदेललगायतका वन्यजन्तुले बर्सेनि ठूलो मात्रामा जनधनको क्षति पुर्याउँदै आएका छन् ।

फैसला कार्यान्वयनबाट प्रहरीद्वारा एक अर्ब १९ करोड भन्दाबढी जरिवाना असुल

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार तीन सय ६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साथै उनीहरूलाई तोकिएको एक अर्ब १९ करोड ८४ लाख ४९ हजार तीन सय ६१ जरिवाना असुल उपर गरिएको छ ।

उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा करिब तीन सय १३ प्रतिशतले बढी हो । सो अवधिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट ५४ जना, काठमाडौं उपत्यकाबाट ६ सय १३ जना, कोशी प्रदेशबाट आठ सय २५ जना, मधेश प्रदेशबाट एक हजार ७ सय ९७ जना, बागमती प्रदेशबाट पाँच सय २२ जना, गण्डकी प्रदेशबाट चार सय ४७ जना, लुम्बिनी प्रदेशबाट नौ सय १६ जना, कर्णाली प्रदेशबाट ८३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ७ जना पक्राउ परेका हुन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन हजार एक ५० जना पक्राउ परेका थिए । कर्तव्य ज्यान, लागुऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरी फैसला कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाएको अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताएका छन् ।

राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ का विषयमा छलफल

काठमाडौँ, २६ माघ : राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँच वर्षे ‘कन्ट्री पार्टनर सीप फ्रेमवर्क’ का विषयमा आज सिंहदरबारस्थित आयोगको कार्यालयमा छलफल भएको हो । छलफलमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विश्व बैंक लगायतका विकास साझेदारको कतिपय कार्यक्रमका विषयमा पुनःविचार गर्नुपर्ने बताउनुभयो ।

विकासलाई नयाँ दिशामा लैजानका लागि उपाध्यक्ष श्रेष्ठले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना कतिपय सफल नभएका कार्यक्रमलाई बन्द वा पुनः सुरुवात गर्नुपर्छ । उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम डिजाइन गर्नुपर्छ । यसका लागि विश्व बैंकको सहयोगको अपेक्षा गरिएको छ ।”

युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको रुस–युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि सहयोग गर्न पीडित परिवारले आज ध्यानाकर्षण गराएका छन् ।

पीडित परिवारका सदस्यले पार्टीको केन्द्रीय कार्यालय पुगेर ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानका तर्फबाट अध्यक्ष नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले रुस र युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि गम्भीर बन्न सरकारसँग कुराकानी गर्ने बताए ।

सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने नियति आउनु राष्ट्रका लागि लज्जाको विषय भएको बताउँदै उनले भने, “रुस र युक्रेनको युद्धमा फसेका नेपालीको तत्काल उद्धारका निम्ति म सरकारसँग कुरा गर्छु, नेपालीहरू त्यहाँ कसरी पुगे ? रहर हो कि बाध्यता ?”

अध्यक्ष नेपालले युद्धमा रहेका नेपालीलाई फिर्ता ल्याउने, घाइतेको उपचार गर्ने, मृतकको खोजी गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अभियानका संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएको बताउँदै यसको अन्त्यका लागि सम्पूर्ण नेपालीको चिन्ता र सरोकार भएकाले सबै दलको साझा दृष्टिकोण बन्नुपर्ने विचार व्यक्त गरे ।

ध्यानाकर्षण पत्रमा रुसी सेनामा भर्ति हुन पुगेका नेपालीलाई अविलम्ब फिर्ता गर्नुपर्ने, युद्धमा ज्यान गुमाएका आफन्तको शव ल्याउनुपर्ने, महिनौदेखि सम्पर्क नभएकाको वास्तविकता पत्ता लगाउनुपर्ने, सम्पर्कमा भएका सकुशल घर फर्किने वातावरण निर्माण गर्नुपर्ने, असंलग्न परराष्ट्र नीतिको पक्षपाति नेपालका नागरिक कुनै पनि मुलुकको पक्ष तथा विपक्षमा उभिन नहुने, जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उचित उपचार सेनामा रहेका आफ्ना नागरिकको जीवन रक्षाका लागि सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख छ ।