इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो


इजराइली युद्धक विमानहरूले यमनमा धेरै हुथी लक्ष्यहरूमा आक्रमण गरेको केही घन्टापछि आइतबार बिहानै यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको इजराइली सेनाले बताएको छ ।
तेल अभिवमा घातक हुथी ड्रोन आक्रमणको जवाफमा इजराइलले हवाई आक्रमण गरेको थियो । इजराइलले हमासविरुद्धको आफ्नो नौ महिनाको युद्धका क्रममा बारम्बार हुथी आक्रमणहरूको जवाफ दिएको यो पहिलो पटक थियो ।
टाढाका शत्रुहरूबीचको हिंसाको विस्फोटले यस क्षेत्रमा इरानी प्रोक्सीहरूको शृङ्खलासँग लड्ने क्रममा इजराइलले नयाँ मोर्चा खोल्ने धम्की दिएको छ ।
इजराइली सेनाले शनिबार राति हुथीको गढ रहेको पश्चिमी यमनी बन्दरगाह सहर होदेइदाहमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ । सयौँ हुथी आक्रमणको जवाफमा अमेरिका–निर्मित एफ–१५ र एफ–३५ युद्धक विमानहरूमार्फत आक्रमण गरिएको सेनाले बताएको छ ।
इजराइलले अमेरिका, बेलायत र यस क्षेत्रमा अन्य पश्चिमी सहयोगीसँग मिलेर करिब सबै हुथी क्षेप्यास्त्र र ड्रोनहरूलाई रोकेको छ । तर शुक्रबार बिहानै एउटा हुथी ड्रोन इजराइलको हवाई प्रतिरक्षामा प्रवेश गरेर इजराइलको व्यावसायिक तथा सांस्कृतिक राजधानी तेल अभिवमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको थियो ।
इजराइली सेनाले शनिबारको आक्रमण इजराइलबाट करिब एक हजार सात सय किलोमिटर आफ्नो हवाई सेनाले सबैभन्दा जटिल र सबैभन्दा लामो दूरीको कारवाहीमध्येको एक थियो भनेको छ । सेनाले यमनमा इरानी हतियार पुर्याउन प्रयोग गरिने बन्दरगाहमा आक्रमण गरेको बताएको छ ।
सानाको स्वास्थ्य मन्त्रालयले होदेइदाहमा भएको आक्रमणमा प्रारम्भिक सङ्ख्यामा ८० जना घाइते भएको र तीमध्ये अधिकांश गम्भीररूपमा जलेको बताएको छ । इजराइली आक्रमणबाट सहरको बन्दरगाहमा भीषण आगो लागेको थियो ।
“अहिले होदेइदाहमा लागिरहेको आगो पूरा मध्यपूर्वमा देखिएको छ र यसको महत्त्व स्पष्ट छ”, इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले भन्नुभयो । उहाँले आवश्यक परे कुनै पनि स्थानहरूमा यस्तै प्रकारका आक्रमण गरिने वाचा गर्नुभयो ।
अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणलगत्तै गाजामा जारी इजराइली आक्रमणपछि हमाससँग ऐक्यबता जनाउँदै इजराइलमाथि आक्रमण गर्ने धेरै इरानी समर्थित समूहमध्ये हुथी पनि एक हो ।
हमाससँग लड्नेबाहेक इजराइली सेना लेबनानमा हिजबुल्लाह लडाकू समूहसँग दैनिक झडपमा संलग्न भएको छ । झडपहरूले लडाइँ लेबनान र त्योभन्दा बाहिर पूर्ण युद्धमा परिवर्तन हुनसक्ने चिन्ता बढाएको छ ।