`

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई पदमुक्त नगर्न आदेश

काठमाडौँ, २६ माघ : सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले यही माघ ९ गते डा बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वनय नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक डा बसौलाले आफूलाई कानुनविपरीत सरकारले हटाउने निर्णय गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवदेन दायर गर्नुभएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई हटाउन गत २४ पुस गने मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतले गत पुस ५ गते डा बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तिरिम आदेश जारी गरेको थियो ।

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : पूर्वअर्थमन्त्री पौडेल

गण्डकी, २६ माघ : नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणको आप्रवाह, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका कतिपय सूचकमा सामान्य सुधार देखिएको बताउनुभएको छ ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औँ केन्द्रीय परिषद्को आज पोखरामा उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि समस्याबाट भने मुक्त भइनसकेको विचार राख्नुभयो ।

“राजस्वले साधारण खर्च पनि धान्न नसक्ने स्थिति छ, आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ”, पूर्वअर्थमन्त्री पौडेलले भन्नुभयो, “सरकारले राष्ट्रिय गौरवका विकास आयोजनाको भुक्तानीसमेत दिन सकिरहेको छैन, वैदेशिक ऋण र अनुदानमा कटौती भएको छ ।”

पूँजीगत खर्च न्यून भएको भन्दै उहाँले राजस्वको परिचालन सन्तोषजनक नरहेको धारणा राख्नुभयो । माग, आपूर्ति, उत्पादन, आयात, निर्यात आदि घट्दा अर्थतन्त्र सुस्ताएको पौडेलले बताउनुभयो । विदेशी मुद्राको सञ्चिति बढे पनि सरकारले उपयुक्त काममा विदेशी मुद्रालाई खर्च गर्न नसकेको उहाँको भनाइ छ ।

अर्थतन्त्रलगायत मुलुकका सबै क्षेत्र दुरुस्त हुन पहिले राजनीति दुरुस्त हुनुपर्ने एमाले उपाध्यक्षसमेत रहनुभएका पौडेलले बताउनुभयो । संसद्मा रहेको अङ्कगणितका कारण तत्काललाई वर्तमान सरकारको कुनै विकल्प नेदिखएको उहाँले बताउनुभयो ।

नेपाल टेलिकमलाई सक्षम व्यवस्थापन र गुणस्तरीय सेवाका आधारमा प्रतिस्पर्धी कम्पनी बनाउन सकिने भन्दै उहाँले त्यसतर्फ सक्रिय हुन सङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गर्नुभयो ।

‘कृषि तालिम टेबुलमा होइन, बारीमै गर्नुपर्छ’- मन्त्री शर्मा

कर्णाली, २६ माघ : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि तालिम टेबलमा नभई बारीमै हुनुपर्ने बताउनुभएको छ । बारीमै तालिम गरी त्यसबाट कृषि पद्धतिको विकास र प्रतिफल प्राप्त गर्न कर्णाली प्रदेश सरकार इमानदार भएर लागेको उहाँले बताउनुभयो ।

बागचौर नगरपालिका–३ सल्ल्यानको खालीमा कर्णाली प्रदेश सरकार कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुन्तला जात ह्रास रोग (सिट्रस डिक्सलाइन) व्यवस्थापन तथा खेती प्रविधि तालिम समापनका क्रममा उहाँले हल तथा होटलमा हुने कार्यक्रम परिणामुखी नहुने वास्तविकता सुनाउनुभयो ।

“किसानलाई अनुदान होइन प्राविधिक सहयोग चाहिएको छ”, मन्त्री शर्माले भन्नुभयो, “उनीहरूको आवश्यकता र उत्पादनको सम्भाव्य क्षेत्रमा प्रविधि र लगानी गर्न हाम्रो जनशक्तिको विशेष ध्यान जानुपर्दछ ।” परम्परागतरूपमा सुन्तला तथा अन्य फलफूल खेती गरेका किसान फलमा विभिन्न रोगको सङ्क्रमण बढेकामा चिन्तित रहेकाले उनीहरूका समस्या समाधानमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । किसानाका समस्या समाधान गर्न प्रदेश सरकारले पहिलोपटक किसानकै खेतबारीमा तालिम सञ्चालन गर्न लागेको उहाँले बताउनुभयोे ।

कृषि तथा पशुधन सुरक्षा गर्ने जिम्मेवारी प्रदेश सरकारले लिएको बताउँदै उहाँले किसान अनुदानमुखी मात्रै नभई व्यवसायमुखी हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँका अनुसार किसानको व्यावसाय सफल बनाउन व्यवहारिक र प्राविधिक ज्ञानको आवश्यकता गरी प्रदेश सरकारले खेतबारीमा विज्ञसहितको टोलीबाट तालिम दिन सुरु गरिएको छ ।

कर्णालीमा कृषि र पशुक्षेत्रको विकासका लागि सल्ल्यानमा सुन्तला, जुम्लामा स्याउखेती प्रवर्द्धन र डोल्पामा चौरी प्रवर्द्धन तालिम किसानका बारी र गोठमा पुगेर प्रदेश सरकारले सम्पन्न गरेको बताइएको छ ।

ऋणीहरूले समयमा साँवा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि ‘सहकारी पुराण’को तयारी

बलेवा (बागलुङ), २६ माघ : ऋणीहरूले समयमा साँवा तथा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो ।

“पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अब हामीले सहकारी पुराणमार्फत सहकारी शिक्षा प्रदान गर्ने योजना बनाएका छौँ”, सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले भन्नुभयो, “नाम चलेका पण्डित बोलाएर भव्य सहकारी पुराण गर्ने योजना छ ।” सहकारीले पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

सहकारी पुराण कुनै धार्मिक कार्यक्रमभन्दा पनि सहकारी शिक्षाको कार्यक्रम हुने शर्माले दाबी गर्नुभयो । “पुराणमा सहभागिताका लागि ऋण नतिर्नेलाई बोलाइने छ, अन्य शेयर सदस्यलाई पनि सहभागी गराइने छ, सहकारी पुराणले ऋण नतिर्नेलाई ज्ञान दिने छ”, शर्मा भन्नुहुन्छ, “नियमावलीमा तोकिएका प्रक्रियामा जानुपूर्व हामीले सचेतनामार्फत नै ऋण भुक्तानीको बाटो खोजेका हौँ ।”

सहकारी संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै शर्माले कुनै एक शेयर सदस्यले लिएको ऋण अरु सयौँ शेयर सदस्यको बचत भएकाले नतिरेर सुख नपाइने बताउनुभयो । सहकारीले ऋण असुलीको नयाँ विधिसँगै बचतको नयाँ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

शेयर सदस्यमा बचत गर्ने बानी विकास गर्नका लागि यस वर्ष सङ्कल्प क्रमिक बचत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शर्माले बताउनुभयो । न्यूनतम रु १० लाख पुग्नेगरी पाँचदेखि २० वर्षसम्मको सङ्कल्प बचत गर्न चाहनेलाई यो योजनामा सहभागी गराइने उहाँले बताउनुभयो । न्यून आय भएका शेयर सदस्यले मासिक बचत गर्ने सङ्कल्प गराएर यो बचत सुरु गर्दा उनीहरू धनी बन्ने बाटो खुल्ने शर्माले दाबी गर्नुभयो ।

पुल निर्माण सम्पन्न नहुँदा दैनिक दुर्घटना, स्थानीयको यात्रा जोखिममा

भैरहवा (रुपन्देही) २६ माघ : रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका–२ र वडा नं ५ जोडने तिनाउ खोलाको झोलुङ्गे पुल अधुरो हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको लगानीमार्फत दुई वडाको सिमाना जोड्ने सो खोलामा पुलको काम पूरा नहुँदा स्थानीयको यात्रा जोखिम पूर्ण बनेको छ ।

पुलको काम विसं २०७७ मा सुरु भएको थियो । पुल निर्माणका लागि उपभोक्ता समिति गठन गरी विसं २०७७ माघ २७ गते कार्यादेश दिइएको थियो । सुरु भएको आज तीन वर्ष पुग्दासमेत पुल सम्पन्न हुनसकेको छैन । यसैबीच उपभोक्ता समितिलाई चारपटक म्याद थप गरिएको छ । पुल सम्पन्न नहुँदै उपभोक्ता समितिले गत असारमा गरेको कामको आधारमा भुक्तानी पाएको छ ।

हेर्दै अनौठो लाग्ने पुल भए पनि बाटो छैन । पुलका दुवै पिल्लरतर्फ बाँसको सिँढी लगाइएको छ । स्थानीय बाँसको सिँढी उक्लेर पुलसम्म पुग्ने गरेका छन् । स्थानीय पुल पार गरेपछि पुनः बाँसकै सिँढीबाट झर्ने गरेका छन् । कोटहीमाई वडा नं २ भुवरी र वडा नं ५ बेनीनगर जोडने यो पुलमा यात्रा गर्दा कतिपयका हातखुट्टा भाँचिएका छन् भने कतिपयलाई चोटपटक लाग्ने गरेको छ । करिब ७० वर्षीय स्थानीय सोहरत अहिरले आफ्नो जीवनमै यस्तो पुल नदेखेको बताउनुभयो ।

“यस्तो अप्ठ्यारो पुल छ, दैनिक दुर्घटना हुने गरेको छ”, अहिरले भन्नुभयो “केही दिनअघि पनि भुवरीका एक जनाको खुट्टा भाचियो, खै कहिलेसम्म यस्तो नियति भोग्ने हो ।” हिउँद भएर केही सजिलो भएका स्थानीयहरुलाई भने वर्षायाममा पुल चढ्नै पर्ने बाध्यता रहेको छ । वडा नं २ का अधिकांश विद्यार्थी मझगाँवामा अध्ययनका लागि आउने गरेका छन् । पुलकै कारण दैनिक आफ्नो पहिलो कक्षा छुट्ने गरेको कक्षा १२ का विद्यार्थी सन्तोष मौर्यको भनाइ छ ।

“पुलमा साइकल चढाउनै सक्दिन, पैदल जानुपर्छ, जसले गर्दा विद्यालय पुग्दा पहिलो कक्षा छुट्ने गरेको छ”, मौर्यले भन्नुभयो, “पुलकै कारण पढ्न जान प्रत्येक दिन अप्ठ्यारो हुन्छ, हात खुट्टा भाँचिने जोखिम उस्तै छ ।” विसं २०७७ मा सम्झौता भएको उक्त पुलमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) को रु ६१ लाख ९४ हजार सात सय ६२, गाउँपालिकाको रु १० लाख ४५ हजार दुई सय ४०, लठ्ठा, बोल्डर, ग्रीपलगायत सामग्रीको रु छ लाख ३९ हजार पाँच सय तीन र उपभोक्ता समितिको रु एक लाख ६० हजार आठ सय छ गरी जम्मा रु ८० लाख ४० हजार तीन सय १२ लगानी रहेको छ ।

गाउँपालिकाका इञ्जिनीयर नवराज भण्डारीका अनुसार उक्त योजनाको चार पटक म्याद थप गरिएको छ । “उपभोक्ता समितिले जिम्मेवारी बोध गरि काम नगर्दा निर्माण कार्य ढिलो भएको हो”, उहाँले भन्नुभयो, “चालु आवमा पनि रु १० लाख विनियोजन भएको छ, तर अहिलेसम्म सम्झौता नै हुन सकेको छैन ।”

पुल निर्माणमा उपभोक्ता समिति र स्थानीयस्तरको राजनीतिले प्रत्यक्ष असर पारेको बताइएको छ । पटकपटक म्याद थप गर्दा पनि काम पूरा नगर्ने उपभोक्ता समितिले अहिले पनि बाँकी काम आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । तत्कालीन उपभोक्ता समिति अध्यक्ष ओमप्रकाश चौधरीले गाउँपालिकाको अदूरदर्शी निर्णयका कारण यो अवस्था आएको बताउनुभयो । उहाँले पुल निर्माण कार्यको अनुगमन एवं परामर्शदाताको रुपमा गैरसरकारी संस्थालाई जिम्मा दिएर ढिलो भएको बताउनुभयो । “गाउँपालिकाले लुम्बिनी एकीकृत विकास संस्था (लिडो) लाई कामको जिम्मा दियो”, उहाँले भन्नुभयो, “लिडोले समयमै सामग्री एवं अन्य काम नगर्दा निर्माणको काम ढिलो हुँदै गयो ।”

चौधरीले कोभिडको समयमा काम सुरु भएकाले पनि ढिलाइ हुन गएको दाबी गर्नुभयो । यससँगै पुलको लागत अनुमानमा निर्माण सामग्रीको अनुमान गरिएको लागतको तुलनामा बजारमा दोब्बरभन्दा महङ्गो समान रहेका कारण पनि आफूले काम गर्न नपाएको बताउनुभयो । सोही घाटा पूर्ति गर्न पुनः आफूले निर्माण काम गर्न पाउनुपर्ने उहाँको भनाइ छ ।

गाउँपालिका लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा पनि यहाँका अधिकांश योजना अलपत्र अवस्थामा रहेका बताइएको छ । अधिकांश योजनाका काम अहिलेसम्म सुरु नै हुनसकेका छैनन् । यस्तो अवस्थामा पुल सम्पन्न हुनेमा स्थानीयको आशंका अझै बढाएको छ । हिउँद सकिनै लाग्दा पनि निर्माण काम सुरु नभएका कारण आउँदो वर्षामा पुनः कष्टकर यात्रा सम्झिँदै स्थानीयमा चिन्ता बढ्दै गएको छ ।

कोशीमा मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार

बेलबारी (मोरङ), २६ माघ : कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार र उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री तथा सामाजिक विकासमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले दुई कांग्रेसका प्रदेशसभा सदस्यलाई राज्यमन्त्रीमा समेत नियुक्त गर्नुभएको छ । उहाँहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ राम नियुक्त हुनुभएको हो ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भइसक्नुभएको छ ।

क्यानाडा र पोर्चुगलका लागि राजदूत नियुक्त

काठमाडौँ, २६ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले क्यानाडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१)अनुसार मन्त्रिपरिषद्को सिफारिसमा भरतराज पौड्याललाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा र शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

कोभिडपछि पहिलो रुसी पर्यटकहरू प्योङयाङमा

रुसी पर्यटकहरूको समूह शुक्रबार प्योङयाङ आइपुगेको एएफपीका पत्रकारहरूले देखेका छन् । उनीहरू महामारीका कारण सीमा बन्द हुनुभन्दा अघि आणविक सशस्त्र उत्तर कोरियाको भ्रमण गर्ने पहिलो ज्ञात विदेशी पर्यटक समूह थिए ।

एएफपीको भिडियो र तस्बिरहरूमा रुसी पर्यटकहरूलाई प्योङयाङ विमानस्थलमा पुगेको, विमानस्थलका चारैतिर घुम्दै तस्बिरहरू लिएर मुस्कुराउँदै गरेको र आगमन बोर्डमा उडानको विवरण देखाइएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न दुर्लभ विदेश भ्रमण गरेपछि यो भ्रमण मस्को र प्योङयाङबीचको सम्बन्धलाई बलियो बनाउने रूपमा भएको हो ।

उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि मस्कोलाई हतियार पठाएको दक्षिण कोरिया र वासिङ्टनले पछि दाबी गरेका छन् । उत्तर कोरियाले आफ्नो प्रतिबन्धित हतियार कार्यक्रमहरूका लागि र रुसले किएभसँगको युद्धका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेका छन् ।

भ्रमणको आयोजना गर्ने भोस्तोक इन्टुर टुर एजेन्सीका व्यवस्थापक नतालिया जिनिनाले सोलस्थित विशेषज्ञ साइट एनके न्युजलाई टुर समूहले फेब्रुअरी ९ देखि फेब्रुअरी १२ सम्म उत्तर कोरियाको भ्रमण गर्ने जानकारी दिनुभयो । उक्त समूह मुलुकको पूर्वी तटमा रहेको वोनसान सहर नजिकैको मासिक्रायोङ स्कि रिसोर्टमा यात्रा गर्नुअघि प्योङयाङमा पहिलो पटक रोकिने रिपोर्टमा उल्लेख छ । चार दिने भ्रमणमा कूल ९७ रुसी सामेल रहेको अनुमान गरिएको छ ।

युक्रेनमा आक्रमण गरेपछि प्रतिबन्ध लगाइएसँगै रुसीहरूका लागि युरोप र अमेरिकाको भ्रमण गर्न कठिन भएको छ । प्योङयाङको समेत भ्रमण गर्नुभएका रुसी विदेशमन्त्री सर्गेई लाभरोभले उत्तर कोरियालाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिस गर्न सकिने बताउनुभएको तासले रिपोर्ट गरेको छ ।

करिब चार वर्षको महामारीका कारण सीमा बन्द भएपछि गत वर्ष अगस्टमा उत्तर कोरियाले आफ्नो सिमाना पुनः खोलेपछि उत्तरमा प्रवेश गर्ने विदेशी पर्यटकहरूको पहिलो समूह रुसीहरूलाई मानिन्छ ।

“यो उदाहरणले उत्तर कोरिया–रुस शिखर वार्तापछि दुई मुलकबीचको विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगको पुनरुत्थानलाई प्रकाश पार्दछ”, सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले पुटिन र किमबीचको गत वर्षको भेटलाई उल्लेख गर्दै भन्नुभयो, “यसले विशेषरूपमा पुटिनको उत्तर कोरियाको भ्रमणलाई मार्ग प्रशस्त गर्ने उद्देश्यलाई दर्शाउँछ ।”

“निकट भविष्यमा रुसले उत्तर कोरियालाई खाद्यान्नसहित मानवीय सहायता प्रदान गर्ने सम्भावना छ, उत्तर कोरियाले पनि रुसलाई क्षेप्यास्त्रलगायत आफ्नो सहयोगको दायरा बढाउने र विस्तार गर्ने सम्भावना छ”, उहाँले थप्नुभयो ।

आणविक सशस्त्र उत्तर कोरियाले यसै वर्ष सोललाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ र पुनरमिलन तथा पहुँचका लागि समर्पित एजेन्सीहरू बन्द गरेको छ । साथै ‘शून्य दशमलव ००१ मिलिमिटरसम्म’ पनि क्षेत्रीय उल्लङ्घन भए युद्धको धम्की दिएको छ ।

प्योङयाङले युक्रेनमा प्रयोग गर्नका लागि रुस पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण गर्नसक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

मकवानपुरमा एकैदिन चार पालिकाबाट चार बालविवाह रोकियो

हेटौँडा, २६ माघ : मकवानपुरमा एकैदिन चार पालिकाबाट चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ ।

सिबिन बाल हेल्पलाइनका अनुसार कैलाश गाउँपालिका, मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा हुन लागेको बालविवाह रोकिएको हो । एकैदिन चार बालविवाह रोकिएको बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

कैलाश–३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका–३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो । मनहरि–४ की १५ वर्षीया बालिका र हेटौँडा–३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ ।

यस्तै मकवानपुरगढी–२ की १८ वर्षीया र हेटौँडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले बताउनुभयो । बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा रोक्न सफल भएको उहाँको भनाइ छ । सबैभन्दा बढी कैलाश र राक्सिराङमा बालविवाह हुने गरेको ज्ञवालीले बताउनुभयो । यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उहाँको भनाइ छ ।

चारै १३, १४, १५ र १८ वर्षीया बालबालिकालाई थप परामर्शका लागि सिबिन बाल हेल्पलाइनको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारीले जानकारी दिनुभयो । जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर तथा प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेको उहाँले बताउनुभयो ।

कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिबद्वता बालबालिकाले जनाएका छन् । अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

स्पोर्टस् अवार्डका शीर्ष तीन खेलाडीको नाम सार्वजनिक

काठमाडौँ, २६ माघ : नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७९’ को चार विधाका शीर्ष तीन खेलाडीको नाम आज सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चार विधाका शीर्ष तीनभित्र परेका खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको शीर्ष तीनमा मनोनयन गरिएको हो । वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत् टमाटा हुनुहुन्छ ।

त्यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल तथा एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र पर्न सफल हुनुभयो । वर्षको उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सकी पुष्पा भण्डारी र राजपुरा पछाईँ तथा वर्ष युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ शीर्ष तीनको मनोनयनमा पर्न सफल हुनुभयो ।

उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिनुभयो । यस संस्करणदेखि चार विधामा समान आठ जना मनोनयनमा समावेश गरिएको थियो । यसअघि पाँच जनाको मनोनयन सार्वजनिक हुने र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो ।

यस संस्करणबाट अवार्ड आयोजनाको केही दिन अगाडि नै शीर्ष तीनको मनोनयन सार्वजनिक गर्न थालिएको हो । पल्सर स्पोर्ट्स अवार्डमा प्रदान गरिने नौ विधामध्ये पाँच विधाको मनोयनन कार्यक्रमअघि नै सार्वजनिक हुने परम्परा छ । पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुनेछ । मञ्चका महासचिवसमेत रहनुभएका खेलाडी छनोट समितिका संयोजक ओलीले वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडी तथा प्रशिक्षकलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यअनुरूप सुरुआतमा शीर्ष आठको मनोनयन गरिएको बताउनुभयो ।

“हाम्रो उद्देश्य धेरैभन्दा धेरै नेपालका खेलकर्मीले यो अवार्डप्रति अपनत्व होस् भन्ने उद्देश्य हो, त्यसैले सुरुमा आठ जनासम्म मनोनयन बढाएका हौँ”, संयोजक ओलीले भन्नुभयो । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा पर्नुभएको छ ।

मञ्चले पिपल्स च्वाइस विधाको भोटिङ पनि अन्तिम चरणमा पुगेको जनाएको छ । उनीहरूका लागि ई–सेवाबाट भोटिङ चलिरहेको छ । स्पोर्ट्स अवार्डका अन्य विधामा पारा एथलेटिक्स सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने यही माघ २८ गते कार्यक्रमकै दिन हुनेछ ।

यसपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनुहुनेछ । अन्य विधाका विजेतालाई जनही रु ५० हजार र बीमा पोलिसी प्रदान गरिनेछ । बीसौँ संस्करणको उक्त अवार्ड माघ २८ गते याक एण्ड यती होटलमा आयोजना हुँदैछ ।

शान्तिका लागि एकजुट हुन संयुक्त राष्ट्रसङ्घको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गर्नुभएको छ ।

सन् २०२४ को प्राथमिकताबारे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानून अनुरूप शान्तिका लागि काम गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

एकीकरण लामो र विस्तृत एजेन्डा भएको बताउदै उहाँले विभिन्न चुनौतीहरू साझा सूत्रद्वारा जोडिएको, आयामहरूमा शान्तिको आवश्यकता भएकोले शान्ति एकिकरणको बन्धन भएको बताउनुभएको छ ।

युगौं पुरानो आणविक खतरा, जलवायु आपतकाल, र कृत्रिम बौद्धिकताको अनियन्त्रित चुनौतीहरूको बिचमा एकताबद्ध र सङ्गठित प्रतिक्रियाको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

कृतिम बौद्धिकताबाट उत्पन्न खतरालाई सम्बोधन गर्न, जलवायु परिवर्तन नियन्त्रण गर्न तथा दिगो विकास लक्ष्यहरू प्राप्त गर्न, अगाडि बढ्ने बाटो चुनौतीपूर्ण भए पनि स्पष्ट रहेको उहाँको धारणा थियो ।

डरलाग्दा चुनौतिका बिचमा जटिल बाटो छिचोल्दै शान्ति र एकताको आह्वान संयुक्त राष्ट्रसङ्घ भित्र तथा बाहिर गहन आवश्यकता रहेको उहाँले बताउनुभयो ।

माओवादी बैठकमा विधान मस्यौदामाथि छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको छ । माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुती दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

आजको बैठकमा विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेका छन् ।

विधानमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले जानकारी दिए । नेताहरूले पार्टी कमिटी चुस्तदुरुस्त हुनुपर्ने, केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाइनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यद्यपि छलफलका क्रममा उठेका विषयको निरुपण भने विधान सम्मेलनबाटै हुने प्रवक्ता सापकोटाको भनाइ छ । आजको बैठकमा सैद्धान्तिक र नीतिगत छलफल भएको उनले जानकारी दिए । स्थायी समिति बैठक शनिबार पुनः बस्नेछ ।

माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ । फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदैछ ।

यसैबीच नेकपा माओवादी केन्द्रले कांग्रेसका नेताहरुले सरकार परिवर्तनको विषयलाई लिएर बाहिर भने जस्तो समस्या गठबन्धनभित्र नभएको स्पष्ट पारेको छ । बैठकपछि पार्टी प्रवक्ता अग्नीप्रसाद सापकोटाले कांग्रेसका नेताहरुले सरकार परिवर्तनलाई लिएर जे जस्तो धारणा राखेता पनि अहिले गठबन्धनमा कुनै समस्या नभएको प्रष्ट पारे । उनले गठबन्धन पाँचै वर्ष टिक्ने दाबी पनि गरे ।

उनले भने,‘कांग्रेसका कतिपय नेताहरुले केके भन्छन् भनेर त्यसको हिसाब किताब राखेर साध्य छैन । अहिले गठबन्धनमा कुनै समस्या छैन । यो गठबन्धन जान्छ पाँचै वर्ष जान्छ ।’

पाकिस्तानको निर्वाचन नतिजा : इमरान खानको दल पीटीआई समर्थित स्वतन्त्रलाई पछ्याउँदै पीएमएल–एन

जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) को समर्थन रहेका स्वतन्त्र उम्मेदवारले पाकिस्तानको चुनावमा सेनाको समर्थन रहेको ठानिएका दुई वंशवादी दलको अगाडि अग्रता लिएका छन् ।

खानलाई बिहीबारको चुनावमा भाग लिनबाट रोक लगाइएको थियो र उहाँको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले व्यापक दमनको सामना गर्नुपरेको थियो ।

पीटीआईलाई चुनावी ¥यालीहरू गर्नबाट रोकिएको थियो र पीटीआईलाई चिनिएको चुनाव चिन्ह् ‘क्रिकेट व्याट’ पनि लिन दिइएको थिएन र मतपत्रबाट नै हटाइएको थियो । जसका कारण पीटीआईप्रति बफादार उम्मेदवारहरूले स्वतन्त्र रूपमा चुनाव लड्न बाध्य भएका थिए ।

तर आधिकारिक नतिजाअनुसार पीटीआईसमर्थित स्वतन्त्र उम्मेदवारले अहिलेसम्म करिब ४६ सिट जितेका छन् भने पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले ३८ र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ३१ सिट जितेका छन् ।

पीटीआई समर्थित उम्मेदवारहरूले जितेका अधिकांश सीटहरू खैबर पख्तुनख्वाको गढमा थिए, जबकि पञ्जाबको सबैभन्दा बढी जनसंख्या भएको प्रान्तको परिणाम अझै आउन बाँकी छ । सन् २०१८ मा सम्पन्न पछिल्लो चुनावमा पीटीआईले जितेको पञ्जावमा त्यसपहिले सरिफ परिवार ऐतिहासिक रूपमा हावी रहेको स्थान हो ।

अंग्रेजी भाषाको एक्सप्रेस ट्रिब्यून पत्रिकाको हेडलाइनमा भनिएको छ, “पीटीआई समर्थित उम्मेदवारहरूको बाधा र अवहेलनालाई सामना गर्दै स्वतन्त्रहरूले निर्वाचन परिणाममा चक्मा दिँदैछन् ।”

पाकिस्तानको येल विश्वविद्यालयमा राजनीतिशास्त्रका सहायक प्राध्यापक सारा खानले एएफपीसँग भन्नुभयो, “नतिजाबारे निश्चितताको भावना थियो ।”

उहाँले थप्नुभयो, “निर्वाचनबारेको निश्चितताको भावनालाई चुनौती दिँदै निर्वाचन परिणामले दलहरूलाई चकित तुल्याएको छ ।”

युक्रेनमा रूसलाई हराउन असम्भव – पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर काल्र्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताउनुभएको छ ।

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रशारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो ।

यद्यपि ह्वाइट हाउसका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट काल्र्सनले केही कुटनीतिक प्रश्नहरू सोध्दै रूसी इतिहास र पुटिनको विचारको बारेमा व्याख्या गर्ने अवसर दिनुभएको थियो । अन्तवार्तामा रूसी नेता पुटिनले रूसलाई पश्चिमी विश्वासघातको शिकारको रूपमा चित्रण गर्दै सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ ।

अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरेपनि रूस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म युद्धभूमिमा रूसलाई रणनीतिक हार बेहोर्ने विषयमा होहल्ला र चिच्याहट भइरहेको छ । तर अब तिनीहरूले यो सम्भव छैन भनेर महसुस गर्न थालेका छन् । मेरो विचारमा यो असम्भव छ ।”

ट्रम्पको पक्षमा रहेका रिपब्लिकनले युक्रेनलाई हतियार र अन्य सैन्य सहायताको साथ समर्थन गर्न हिचकिचाइरहेको अमेरिकी संसद्को सन्देशले पनि रूसविरूद्धको पश्चिमा सहकार्य कमजोर भएको पुष्टि हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “युद्धको विषयमा हामी अमेरिकी नेतृत्वलाई के भनिरहेका छौं भने यदि वास्तवमै लडाइँ रोक्न चाहनुहुन्छ भने तपाईंले हतियार आपूर्ति बन्द गर्नुपर्छ ।”

नाटो सदस्य राष्ट्र पोल्याण्ड र लाटभिया वा सामान्यतया युरोपेली महाद्वीपमा आक्रमण गने बारे मस्कोले विचार गर्छ कि गर्दैन भन्ने प्रश्नमा पुटिनले भन्नुभयो, “यो प्रश्नको विषय होइन ।” “पोल्याण्ड, लाटभिया वा अन्य कुनै पनि ठाउँमा हाम्रो कुनै चासो छैन । हामी किन त्यसो गर्छौं? यो त्रासमात्र हो,” पुटिनले भन्नुभयो ।

उहाँलेपोल्याण्डसँग युद्ध ‘केवल पोल्याण्डले रूसमाथि आक्रमण ग¥यो भनेमात्र हुनेछ ।”

सन् २०२० को राष्ट्रपतीय चुनावमा बाइडेनले ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको अमेरिकी चुनावपछि नेतृत्व परिवर्तनबारे सोधिएको प्रश्नमा पुटिनले आफूले थोरै परिवर्तन देख्ने सङ्केत गर्दै भन्नुभयो, “तपाईंले मलाई सोध्नुभयो कि अर्को नेता आएर केही परिवर्तन गर्नुहुन्छ? यो नेताको कुरा होइन । यो कुनै व्यक्ति विशेषको व्यक्तित्वको बारेमा होइन ।”

क्रेमलिनको कोठामा मङ्गलबार रेकर्ड गरिएको र काल्र्सनको आफ्नै वेबसाइटमा पोस्ट गरिएको अन्तर्वार्तामा काल्र्सनले पुटिनलाई ट्रम्पसँगको सम्बन्धबारे खासै खोतल्नुभएको थिएन ।

रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्ष पूरा भएको पूर्वसन्ध्यामा फक्स न्युजका पूर्व प्रस्तोतासँगको दुई घण्टा लामो अन्तर्वार्तामा पुटिनले जेलमा रहेका वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोभिचसँग ‘सम्झौता गर्न सकिने’ बताउनुभएको छ । “विशेष सेवा च्यानलहरूमार्फत केही सर्तहरूमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।

फिलिपिन्समा भूस्खलनको दुई दिनपछि दुई बालकको जीवित उद्धार

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तका धेरै गाउँहरूमा ठूलो भूस्खलन भएको दुई दिनपछि माटोबाट तीन वर्षीया बालिका र दुई महिने बालकलाई जीवितै उद्धार गरिएको फिलिपिन्स रेडक्रसले शुक्रबार जनाएको छ । फिलिपिन्स रेडक्रशका अध्यक्ष डिक गोर्डनले उद्धार गरिएका बालबालिकालाई तुरुन्तै नजिकैको स्थानीय अस्पतालमा लगिएको बिज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।

माको सहरस्थित एउटा खानी स्थल नजिकै मङ्गलबार राति गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । प्रान्तीय सरकारले सय जना भन्दाबढी बेपत्ता रहेको र उनीहरू पहाडबाट खसेको माटो, चट्टान र रूख मुनि गाडिएको बताएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्यहरु जारी रहेको स्रोतले बताएको छ । –

बाँसखर्कमा यस वर्ष ११ करोडका सुन्तला उत्पादन, ढुवानी गर्न सडक मर्मत गरिँदै

पर्वत, २६ माघ : स्वादिलो सुन्तलाको राजधानीका रुपमा परिचित पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क पुग्ने सडक मर्मत गर्न थालिएको छ । जीर्ण सडकका कारण सुन्तला ढुवानीमा समस्या भएपछि जलजला गाउँपालिकाले मर्मत थालेको हो ।

बाँसखर्कमा यस वर्ष झण्डै रु ११ करोडका सुन्तला उत्पादन भएको छ । ‘सडकका कारण सुन्तला ढुवानीमा समस्या’ शीर्षकको समाचार यही माघ १३ गते राष्ट्रिय समाचार समितिमा प्रकाशित भएको थियो । समाचार प्रकाशनपछि गाउँपालिकाले आफ्नै स्काभेटर परिचालन गरेर बिहीबारदेखि मर्मत गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक मर्मत गर्न थालिएको हो ।

स्काभेटरले साँघुरो ठाउँमा चक्ल्याउने, खाल्डाखुल्डी पुर्ने र ठूला ट्रकसमेत सजिलै सुन्तला बगानसम्म जान सक्नेगरी मर्मत कार्यलाई अघि बढाइएको उपाध्यक्ष आचार्यले बताउनुभयो । ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई ढुवानीमा समस्या भएको थियो । सडक मर्मतपछि स्थानीयरुपमा सञ्चालित र बाह्य क्षेत्रबाट सुन्तला लिन आउने सवारीसाधन सजिलै बाँसखर्कसम्म पुग्न सक्ने भएका छन् ।

स्थानीय अगुवा कृषक जगतबहादुर खत्रीका अनुसार ढिलै भए पनि गाउँपालिकाले सडक मर्मत गरेपछि सहज हुने भएको छ । यहाँका सुन्तला यस वर्ष काठमाडौँको कालीमाटी, चितवनको मुग्लिन र पोखराका व्यापारीले खरिद गरेका छन् । कतिपयले सुन्तला टिपेर ढुवानी गरिसकेका छन् भने कतिपयले कृषकसँग सम्झौता गरेपछि सुन्तला टिप्न आइनपुगेका कृषक खत्रीले बताउनुभयो ।

बाँसखर्कमा ढिलो गरी पाक्ने भएकाले माघ दोस्रो सातापछि मात्रै बजार पठाउन थालिएको छ । अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको प्रयोग हुँदै आएको छ । जीर्ण सडकका कारण ठूला ट्रक र टिपर गाउँसम्म जान नसक्ने अवस्था थियो ।

सानो बोलेरो जीप मात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएपछि आफ्नै स्काभेटरले मर्मत गरेर सहज बनाउन थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो । उहाँका अनुसार जलजला–२ वारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन(डिपीआर) स्वीकृत भइसकेको भए पनि बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन नसकेको हो ।

यसअघि विसं २०७७ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना स्वीकृत गरेर अर्थमन्त्रालयमा पठाएको भए पनि बजेट विनियोजन हुन सकेको छैन । करिब १० किलोमिटर लामो उक्त सडकको कुल लागत रु २२ करोड लाग्ने अनुमान गरिएको थियो ।

बर्सेनि फल्ने करोडौँका सुन्तला सडकका कारण ढुवानीमा समस्या भएको वडाध्यक्ष जकबहादुर रोकाले बताउनुभयो । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आर्थिक वर्षमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताउनुभयो । मिलनचोक–माझफाँट–बाँसखर्क सडकको लागि रु एक करोड विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्रे हुने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन

बनियानी (झापा), २६ माघ : झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचारअन्तर्गत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ सुरु भएको छ ।अस्पतालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’को उद्घाटन गर्नुभयो । वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन आफू लागिपरेको बताउनुभयो ।

दृष्टि पब्लिक प्राइभेट पार्टनरसीपअनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा करिब रु १६ करोडको लागतमा मेसिन खरिद गरी ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ स्थापना गरिएको अस्पतालका सचिव गणेश पोखरेलले जानकारी दिनुभयो । सन् २०२३ मा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत एक लाख ९७ हजार आठ सय ७२ र विभिन्न शिविरमार्फत ७९ हजार बिरामीको आँखा परीक्षण गरेको उहाँले बताउनुभयो ।

शल्यक्रिया सेवातर्फ अस्पलताबाट ३४ हजार पाँच सय ४५ जना तथा बाह्य कार्यक्रमअन्तर्गत एक हजार आठ सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अधिकांशको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । रेटिनाको शल्यक्रिया गराउने सात हजार चार सय दुई, कोर्नियाको शल्यक्रिया गराउने दुई हजार आठ सय पाँच, अकुलोप्लास्टिको शल्यक्रिया गराउने तीन हजार पाँच सय ६७ तथा अन्य शल्यक्रिया गराउने ६ सय २७ जना रहेका छन् ।

अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५१ हजार नौ सय १५ बिमितहरूको आँखा परीक्षण गरेको छ भने पाँच हजार छ सय ६१ बिमितको आँखाको शल्यक्रिया गरिएको अस्पतालका स्वास्थ्य निर्देशक पुरुषोत्तम जोशीले जानकारी दिनुभयो ।

वार्षिकोत्सव समारोहमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, प्रदेशभा सदस्य एकराज कार्की, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलमति राजवंशीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
 

सुशासन कायम गर्न सरकारको पहल जारी छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २६ माघ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताउनुभएको छ ।

अध्यागमन विभागद्वारा आज यहाँ आयोजित ‘ई–भिसा, कार्यालय स्वचालन र अनलाइन भुक्तानीको शुभारम्भ’ कार्यक्रममा उहाँले सरकार सुशासनसहितको सुधारका लागि प्रयासरत रहेको बताउनुभएको हो । उहाँले अध्यागमन विभाग र यससँग सम्बन्धित सबै कार्यालयमा स्वचालित प्रणाली आवश्यक भएको बताउँदै उहाँले प्रविधि तथा सेवाग्राहीमैत्री अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउनु पनि सुशासनको अनिवार्य शर्त हो । त्यसैका आधारमा अहिले हामी काम अघि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “अध्यागमनका सन्दर्भमा अहिले नै यो गुणात्मक फड्को हो । केही समयभित्र अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गर्छौं ।”कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले अध्यागमन सुधारबारे जानकारी गराउँदै भविष्यमा ‘ग्लोबल पेमेन्ट’ को तयारी गरिरहेको बताउनुभयो ।

माल्टा पठाइदिने भन्दै पाँच लाख रकम ठगी गर्ने धीरज काठमाडौँबाट पक्राउ

काठमाडौँ, २६ माघ : वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रु पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु पाँच लाख लिइ सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा बिहीबार बबरमहलबाट पक्राउ गरी आज सार्वजनिक गरेका हौँ ।” पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

सङ्कटमा पुगेको देशको अर्थतन्त्र लयमा फर्कियो : प्रधानमन्त्री

त्रिशूली (नुवाकोट), २६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताउनुभएको छ । नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको स्पष्ट पार्नुभएको हो ।

“अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्”, उहाँले भन्नुभयो, “देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको अर्थतन्त्र लयमा ल्याउन सफल भएका हौँ ।”

तेह्र महिनाअघि आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा कमजोर भएपनि अशिले अर्थतन्त्रमा निकै सुधार भएकाले यही क्रम रहेमा विस्तारै मुलुकलाई समृद्धितर्फ लैजान सकिने प्रधानमन्त्री दाहालको विश्वास छ ।

“अहिले बैंकको ब्याजदर घट्दै गएको छ । पर्यटनको आवागमनमा सुधार तथा राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि हुँदै विदेशी मुद्राको सञ्चिती इतिहासमा नै सुधार गरेर एक वर्षलाई पुग्ने बनाएका छाँै”, उहाँले भन्नुभयो, “रेमिट्यान्समा ३० प्रतिशत वृद्धि, जग्गाको कारोबार चलायमान र जलवायु परिवर्तनको कारण पुगेको असरलाई प्रतिरक्षा गर्न प्राप्त अन्तर्राष्ट्रिय सहयोगको आकार बढाउँदै ल्याएकाले कमजोर बनेको अर्थतन्त्र लयमा फर्किएको हो ।” आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माणको कार्य प्रारम्भ भएकाले सुध्रिएको अर्थतन्त्रको कारण उत्पादन, रोजगार र जनमुखी बजेट ल्याउन केन्द्रित हुने प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

उत्पादन र रोजगारका निमित्त कृषि क्षेत्रको विकासलाई आधुनिकीकरणतर्फ लम्काउने प्रयासमा वर्तमान सरकार सक्रियरूपमा लागिरहेको उहाँको भनाइ थियो । पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीन र भारतीय समकक्षीसँग छलफल भइरहेकाले देशको विकास र समृद्धि छिट्टै नयाँ चरणमा प्रवेश गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर

लुम्बिनी, २६ माघ : नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिइएको थियो ।

प्रहरी कर्मचारीले आफ्नो पेसागत कामकै कारण स्वास्थ्य संस्थामा जान नसक्दा कतिपयको गम्भीर स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको र स्वास्थ्य प्रहरीबाट जीवन्त प्रहरी सेवाको सुनिश्चितता हुने सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले बताउनुभएको छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य शिविरले प्रहरीलाई आफ्नो शारीरिक र मानसिक अवस्थाको पुनरावलोकन गर्न सहज हुने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बिकले कार्यस्थलमै सञ्चालन हुने स्वास्थ्य शिविरले स्वास्थ्यलाई कायम राख्न तथा सुधार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्ता शिविर आवश्यक भएको बताउनु भएको थियो ।

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा प्रहरीका विभिन्न तहका गरी करिब तीन सय पाँच जनाले सेवा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले जानकारी दिनुभयो । स्वास्थ्य शिविरअघि नेपाल प्रहरी श्रीमती सङ्घले रुपन्देहीको कोटिहवामा रहेको अविनाश अनाथ आश्रममा खाद्यान्न एवं ‘स्टेसनरी ’सामग्रीसमेत वितरण गरेको थियो ।

न्यायाधीशका लागि जागिर खुल्यो

काठमाडौं । न्याय सेवा आयोगले न्यायाधीश पदमा दरखास्त आव्हान गरेको छ । न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार एक सूचना जारी गर्द ४३ जना जिल्लाका लागि दरखास्त आव्हान गरेको हो ।

सूचना अनुसार आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २ – २ जना र दलित तथा अपांगता भएकाबाट १ – १ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

छ महिनामा सात सय ६६ व्यावसायिक औद्योगिक प्रतिष्ठानलाई नापतौलको इजाजतपत्र प्रदान

बागमती, २६ माघ : गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको छ ।कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गत साउनदेखि पुस महिनासम्ममा सो इजाजतपत्र प्रदान गरेको हो ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले छ महिनाका अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६ व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने सात सय ८६ व्यवसायीलाई कारबाहीसमेत गरेको छ । कार्यालय प्रमुख मनिषकुमार दासले सो अवधिमा एक सय ५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ वटा पम्पको ‘नोजल ’जाँच तथा ६६ वेव्रिजको जाँच गरिएको बताइएको छ ।साथै सो अवधिमा दुई सय ८८ ट्याङ्करको हेटाँैडामा जाँच समेत गरिएको थियो । त्यस्तै सो अवधिमा कार्यालयका कर्मचारीहरुबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक तथा नौपटक संयुक्त अनुगमन समेत भएको थियो । सो कार्यबाट रु ७३ लाख सात हजार आठ सय ५९ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिनुभयो ।

गडरायको आकर्षक गहना ‘चम्ला झरना’ पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै

गडराय, छान्ना (बझाङ), २६ माघः बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् ।

सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले नजिकै आएर महसुस गर्न थालिएको स्थानीय भुवन जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा लागि नजिकको तीर्थ हेला भनेजस्तै थियो । अहिले अन्यत्र जिल्लाका मानिस आएर रमाउन थालेपछि गाउँका मानिसहरुको पनि झरनाप्रति माया जागेको छ ।” उहाँका अनुसार गडरायबाटै झरना हेर्नेहरु अहिले झरनाकै पानी खेल्ने गरेका छन् । उहाँले भन्नुभयो ,“सडक नहुँदा कोही आउँदैन थिए । आजभोलि गाउँभन्दा बाहिरको मान्छे नआएको दिन खाली हुँदैन ।” द्वारकाँडी मष्टाको डाँडाबाट ‘सेल्फी’ खिच्नेहरु पनि आजभोलि झरनाको टुप्पामा पुग्ने गरेको उहाँले बताउनुभयो ।

गडरायको चम्ला झरना विभिन्न नामले परिचित छ । गोरखाली झरना, कोरकाटियाँ छणो, उबाखोलाको छणोलगायत विभिन्न नामले चिनिन्छ । तर यसको पुरानो तथा कारणसहितको नाम भने चम्ला नै हो । झरनाको वरिपरि चम्ला (घाँसको प्रजाति) वनस्पतिले घेरिएको ठाउँ भएकाले कोरकाटियाँका मानिसले यसको नाम ‘चम्ला छणो’ राखेका हुन् ।

स्थानीय रामजङ्गबहादुर सिंहका अनुसार कोरकाटियाँका मानिसको पिउने तथा सिँचाइ गर्ने पानी त्यही झरनाको हो । कतिपयले झरनाको पानीको फिँज चामलको चौलानी जस्तै भएको हुँदा पनि यसको नाम चम्ला रहन गएको उहाँले बताउनुभयो ।

चम्ला झरनाको पौराणिकता

चम्ला झरनाको महिमा अपरम्पार जस्तै भएको सिंहले बताउनुभयो । उहाँका अनुसार मष्टो देवताले बसोबास गर्दा लाचुणे दानवले दुःख दिएपछि कौछ्या देवतालेसँग मिलेर मष्टोले झरनाको ढलेल्याणीमा कौछ्याले बाणले हान्दा राक्षस लाचुणेलाई मारेको पौराणिक घटनाबाट झरनाको कथा सुरु हुन्छ ।

देवता (मष्टो, कौछ्या) र राक्षस लाचुणेको लडाइँ लामो समयसम्म रह्यो । उहाँले भन्नुभयो, “दुवैतिरबाट पानीसमेत नखाई लडाइँ जारी राखे । त्यसपछि दानवलाई बाणले हानेर हराएपछि देवता पानी प्यासले काकाकुल भए । भिरमा पानी पाउने कुरै भएन । त्यसपछि मष्टोले चट्टानै चट्टान भएको भिरमा बाण हाने र पानीको मुहान फुट्यो । त्यही पानीले प्यास मेटे । त्यही पानीमा वरिपरि मूल फुट्दै तलको भिरमा गएर झणो (झरना) बनेको भन्ने किंवदन्ती रहेको छ ।”

रामजङ्गबहादुर सिंहका अनुसार झरनाको पनि छुट्टै कथा छ । त्यसबेलामा लडाइँपछि धामी (देउता) लाई पानी प्यास लाग्दा भिरको धारो पर्ने ठाउँमा गए । धारोमा पानी पिउँदा हात भित्तामा अड्याएर पानी पिउँदै गर्दा धामीको पगरी (टोपी) तल खसेको थियो । त्यही टोपी पछि झरना भएको कुरा माङलमा उल्लेख भएको उहाँले बताउनुभयो । अहिले टाढाबाट देखिँदा सेतो कपडा लगाउने धामीको हात अड्याएको ठाउँमा दुइटा झरना, धामीको खुट्टा भएको ठाउँमा कुण्ड र त्यही कुण्ड बगेर धामीको पगरी गएको ठाउँमा झरना भएको स्थानीयको बुझाइ छ । २०३६ सालमा आएको भूकम्पसँगैको पहिरो र केही वर्ष पहिलेको पहिरोले कुण्ड पुरिएको रामजङ्ग सिंह बताउनुहुन्छ ।

साइत सुधार्न झरनामाथि पूजा

झरनाको माथिपट्टि स्थानीयले पुस्तौँदेखि पूजाआजा गर्दै आएका छन् । भूमि पूजा गर्दा आफूलाई, आफ्ना सम्पत्तिलाई जङ्गली जनावरदेखि कसैले पनि आक्रमण नगरून्, भिरपाखाबाट नखसून् भनेर रुद्रीपाठ, चण्डीपाठ बर्सेनि गरिँदै आएको छ । सबैको सोचेको पूरा हुने, शुद्ध पवित्र भइरहने, पानीको मुहान बढ्ने विश्वासले पूजाआजा गरिँदै आएका छन् । पूजाआजाका लागि ब्राह्मणले भनेको साइतमा जहिल्यै पूजा गर्ने र त्यसपछि मात्रै लेकाली काममा जाने गरेका छन् । विशेषगरी लेकमा वस्तुभाउ ल्याउनुभन्दा अगाडि पूजा गरेर ल्याउँदा जङ्गली जनावरबाट क्षति नहुने, रोगव्याधी नलाग्ने, भिरपाखामा गएर पनि नोक्सान नहुने विश्वासले पूजा लाग्ने गरेको खप्तडछान्ना–७ का भेषराज जोशीले बताउनुभयो ।

म्याग्दीको नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी, २६ माघ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ ।

नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिनुभयो । ४२ मेगावाट क्षमताको नीलगिरिखोला पहिलोको विद्युत्गृह रहेको छोटेपादेखि दोभिल्ना हुँदै दाना जोड्ने ७.४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा दाना सबस्टेसनदेखि नीलगिरि दोस्रोको विद्युत्गृहसम्म प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराएर परीक्षण गरिएको हो । प्रसारण लाइनको परीक्षण सकिए पनि आयोजनाको सुरुङको परीक्षण भने जारी रहेको छ ।

सुरुङमा पानी हालेर परीक्षण गर्ने समय तालिका २०८० साल फागुन १५ गतेसम्म लम्ब्याइएको आयोजनाका आधिकारिक प्रतिनिधि गौतमले बताउनुभयो । “टनेलमा पानी हाल्ने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुन्छ,” उहाँले भन्नुभयो, “माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेका छाँै ।”

नीलगिरिखोला दोस्रो म्याग्दीमा हालसम्म निर्माण भएकोमध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि परीक्षणलाई तीव्रता दिएको आयोजनाले जनाएको छ । छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी)मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत्गृहसम्म चार हजार दुई सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ ।

विद्युत्गृह र छोटेपाको बाँधसहित पाँचवटा अडितबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ । दुईवटै आयोजनाको प्रवद्र्धक कम्पनी एउटै हो ।

नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको छ । दुई हजार मिटर लामो सुरुङलाई प्लास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ ।

नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुई वटै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ । बस्तीदेखि टाढा रहेको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । रु १३ अर्ब लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् । नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो ।

६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडाअध्यक्ष श्याम पुर्जाले बताउनुभयो । ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको एक सय ६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।

त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

काठमाडौँ, २६ माघ : त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन् । सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा हुनुहुन्छ ।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गर्नुभएको थियो । हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
 

माघ २७ गते पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइँदै

गण्डकी- नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा यही माघ २७ गते पोखरामा नाट्यसम्राट बालकृष्ण समको १२१आँै जन्मजयन्ती मनाउने तयारी गरिएको छ । स्वदेश एवं विदेशमा ख्यातिप्राप्त नाट्ययकर्मीको सहभागितामा कार्यक्रम गर्न लागिएको नेपाल नाट्य प्रतिष्ठान, पोखराका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिनुुभयो ।

कार्यक्रममा विभिन्न तीनवटा कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदारनाथ पौडेद्वारा लिखित एवं निर्देशित नाटक भ्रुण मञ्चन गरिने प्रतिष्ठानले जनाएको छ । उक्त अवसरमा प्रा डा रामचन्द्र पोखरेलको बालकृष्ण समको रङ्गमञ्चीय चेतना, डा अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत, कालेबुङका नाट्यकर्मी सिके श्रेष्ठको नेपाली नाटक हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत भई छलफल एवं अन्तरक्रिया गरिने छ ।कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिने अध्यक्ष डा पोखरेलले जानकारी दिनुुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्रायोजक तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र इन्द्रेणी थिएटर, पोखरा प्रवद्र्धक रहेको कार्यक्रममा भारतबाट वरिष्ठ नाट्यकर्मी सिके श्रेष्ठ, भारतीय नेपाली नाट्य प्रतिष्ठानका अध्यक्ष डा विजय रुचाल, वरिष्ठ नाट्यकर्मी दार्जिलिङका पी अर्जुन, सिलगढीका कृष्ण प्रधान, सिक्किमका चुन्नीलाल घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ नाट्यकर्मी सरुभक्तलगायत स्वदेशी एवं विदेशी नाट्यकर्मी, अभिनेता एवं अनुसन्धाता गरी एक सय ५० जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।

‘ट्र्याक’ खुलेको १५ वर्षपछि बागलुङको जैमिनी–बरेङ–शान्तिपुर सडक कालोपत्र हुँदै

ढोरपाटन (बागलुङ), २६ माघ : दक्षिण बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ । पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड रौताहा खानी धुलिखेल जेभीले २०७८ असार ३० गते सम्झौता गरेको थियो ।

पहिलो खण्ड निर्माणको जिम्मा पाएको शर्मा क्याराभान जेभीले तीनपटक म्याद थप्दा पनि कालोपत्र गर्न सकेको छैन । लामो समयदेखि सडक कालोपत्र नहुँदा हिलो र धुलोले सडक वरपरका स्थानीय आजित भएका छन्भने यात्रुले सास्ती खेप्दै आएका छन् । विसं २०७८ मा सक्ने गरी जिम्मा पाए पनि निर्माण कम्पनीले हालसम्म ६२ प्रतिशत मात्रै काम गरेको छ । २४ करोड ५८ लाख लागतमा यस खण्ड कालोपत्र गर्न थालिएको हो ।दुई वर्षअगाडि नै सक्नुपर्ने सडकको काम अझै ३८ प्रतिशत बाँकी रहेको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभयो । दश किलोमिटर पर्ने यस खण्डमा अहिले बल्ल कालेपत्र गर्नका लागि ‘बेस’को काम गरिरहेको उहाँ बताउनुहुन्छ । यसको म्याद असार मसान्तसम्म रहेको उहाँको भनाइ छ । पर्याप्त कामदार लगाए मात्रै असारसम्म काम सम्पन्न गर्न सकिने उहाँले जानकारी दिनुभयो ।दोस्रो खण्ड बरेङसम्म ११ किलोमिटर पर्छ । यस खण्डको हालसम्म करिब सात किलोमिटर ढलान र कालोपत्र भएको इन्जिनियर श्रीले जानकारी दिनुभयो । विसं २०७८ असार ३० गते सम्झौता गरी गत असार मसान्तसम्म पुग्नुपर्ने भए पनि अझै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको उहाँले बताउनुभयो । असार मसान्तमै म्याद सकिए पनि अहिलेसम्म म्याद थप भएको छैन । निर्माण कम्पनीले सडकमा कामदार खटाएको हुँदा म्याद थप गर्ने प्रक्रियामा रहेको श्रीसको भनाइ छ । यस खण्ड ३४ करोड २५ लाखमा कालोपत्र गर्न थालिएको हो ।“पहिलो खण्डको काम अझै धेरै बाँकी छ, तेस्रो पटक म्याद थप भएको हुँदा निर्माण कम्पनीले अहिले जसरी पनि सक्नुपर्ने हुन्छ, हालसम्म ६२ प्रतिशत काम भएको, असार मसान्तसम्म म्याद रहेको छ,” इन्जिनियर श्रीसले भन्नुभयो, “दोस्रो खण्डको केही काम मात्र बाँकी छ, धेरै जसो सम्पन्न भएको छ, सरासर ग¥यो भने चैत मसान्तसम्म सकिने छ, अहिले काम गरिरहेको हुँदा म्याद थप्ने प्रक्रिया अगाडि बढेको छ, चालु वर्षको अन्त्यसम्म दुवै खण्डका निर्माण कम्पनीले काम सकाउनुपर्ने हुन्छ ।”जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले यस सडक स्तरोन्नतिपछि दक्षिण बागलुङका नागरिक जिल्ला सदरमुकाम पुग्न सहज हुनाका साथै छिमेकी जिल्लासँगको सम्बन्ध थप बलियो हुने बताउनुभयो । सडकलाई समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई सघाउँदै आए पनि ढिलाइ गरेको उहाँको भनाइ छ । अहिले कामदार ‘फिल्ड’ मा खटाएको हुँदा यस वर्ष काम सकिने आशा पलाएको शर्माले बताउनुभयो । सडक कालोपत्रले घण्टौँका यात्रालाई छोट्याउने र यात्रालाई सहज बताउने उहाँले बताउनुभयो ।उपप्रमुख शर्माले भन्नुभयो, “सडक खुलेको धेरै वर्ष भयो, विभिन्न कारणले अहिलेसम्म कालोपत्र हुन सकेको छैन, तर यस वर्ष काम सकिनेमा हामीहरु आशावादी छौँ, यो धेरै महत्वपूर्ण सडक भएको हुँदा छिटो काम सक्नका लागि हामीहरुले धेरै आग्रह ग¥यौँ, अहिले केही गति लिएको छ, सडक कालोपत्रपछि जैमिनी र बरेङसँगै गुल्मीसम्मका नागरिकलाई आवतवाजतका निकै सहज हुनेछ, अघिल्लो वर्ष माथिल्लो खण्डमा धेरै काम भएको थियो, तल्लो खण्डमा काम सुस्त छ, यो सडक यहाँको समृद्धका लागि कोसेढुङ्गा साबित हुनेछ ।” 

रुस एक चीन नीतिप्रति प्रतिबद्ध

रुसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू र आफ्नो देश एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालन गर्ने बताउनु भएको छ । ताइवानका विषयमा चीनलाई उक्साउने कुनै पनि खतरनाक कार्य गर्न नहुने पुटिनको धारणा छ ।

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टेलिफोन वार्तामा पुटिनले उक्त प्रतिबद्धता दोहोर्याउनु भएको हो ।

नासाले महासागर, वायुमण्डल अध्ययन गर्न नयाँ जलवायु कार्यक्रम शुरु गर्यो

नासाले महासागरको जलस्वास्थ्य, वायुको गुणस्तर र मानवताको अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न बिहीबार एउटा नयाँ उपग्रह मिसन प्रक्षेपण गरेको छ।सो प्रयोजनाका निम्ति पेस नाम दिइएको प्लान्क्टन, एरोसोल, जलवायु, महासागर इकोसिस्टम उपग्रह एक स्पेस एक्स फाल्कोम-९ रकेटमा १:३३ बजे फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको थियो।

नासाले प्रक्षेपण भएको पाँच मिनेटपछि सो उपग्रहबाट सूचना प्राप्त गर्न शुरु गरेको बताएको छ । नासाका अनुसार पेस मिसनले साना, प्रायः अदृश्य चीजहरू जस्तै पानीमा सूक्ष्म जीवन र पृथ्वीको सयौं माइल माथिबाट हावामा सूक्ष्म कणहरूको प्रभावको बारेमा अध्ययन गर्नेछ।

यस कार्यक्रमबाट स्याटेलाइटको हाइपरस्पेक्ट्रल ओशन कलर इन्स्ट्रुमेन्टले अन्वेषकहरूलाई पराबैंजनी, देखिने र नजिकको इन्फ्रारेड प्रकाशको स्पेक्ट्रममा महासागरहरू र अन्य जल गतिविधिको मापन गर्न सहज हुने बताइएको छ।वैज्ञानिकहरू र तटीय स्रोत प्रबन्धकहरूले मत्स्यपालनको स्वास्थ्य पूर्वानुमान गर्न, हानिकारक अल्गल ब्लुमहरू ट्र्याक गर्न र समुद्री वातावरणमा देखिने परिवर्तनहरू पहिचान गर्न डेटा प्रयोग गर्न सक्ने पनि बताइएको छ ।

अन्तरिक्ष यानले दुई पोलारिमिटर उपकरणहरू पनि बोक्नेछन् जसले कसरी सूर्यको प्रकाशले वायुमण्डलीय कणहरूसँग अन्तरक्रिया गर्छ भन्ने अध्ययनमा सहजता ल्याउने छ । साथै अनुसन्धानकर्ताहरूलाई वायुमण्डलीय एरोसोल र क्लाउड गुणहरूका बारेमा पनि नयाँ जानकारी दिइने छ । साथै स्थानीय, क्षेत्रीय र विश्वव्यापीरूपमा विकसित वायुको गुणस्तर मापनका निम्ति पनि यो प्रविधिले सहजता थप्नेछ ।

गहुँ र तोरीबाट राम्रो आम्दानी नभएपछि सामूहिक आलुखेतीमा आमा समूह

गलेश्वर (म्याग्दी), २६ माघ : परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्र्याक्टर, औजार, स्प्रे मेसिन, सिँचाइ पाइपलगायत औजार अनुदानमा दिएको छ । रु एक लाख ८१ हजार लागतमा बीउ खरिद गरी आलुखेती विस्तार गरिएको अम्बोट आमा समूहकी अध्यक्ष लक्ष्मी घिमिरेले जानकारी दिनुभयो ।

अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन् । “सिङ्गो गाउँ आलुखेतीमा आकर्षित भएको छ, अनुदान र प्राविधिक सहयोगले आलुखेती विस्तारमा निकै सहज भएको छ”, अध्यक्ष घिमिरेले भन्नुभयो । समूहमा काम गर्दा एकापसमा ज्ञान तथा सीप आदानप्रदान समेत भएको भन्दै यसपटक लगाइएको आलु राम्रो उत्पादन भएको अध्यक्ष घिमिरेको भनाइ छ ।

अनुदान र समूहको सामूहिक लगानीमा विस्तार गरिएको आलुको उत्पादनसँगै आगामी वर्ष थप योजना बनाउने समूहकी सचिव सुनिता घिमिरेले बताउनुभयो । समूहमार्फत खेती प्रवद्र्धनका लागि आवश्यक पर्ने तालिमसहित प्राविधिक ज्ञान र नियमित अनुगमनले समेत आलुखेतीका लागि सहज भएको जनाइएको छ ।

समूहले लगाएको आलुखेतीको अवस्थाका बारेमा ज्ञान केन्द्रका प्रतिनिधिसहित वडाअध्यक्ष यामबहादुर कार्कीको उपस्थितिमा समेत सार्वजनिक सुनुवाइमा प्रगति प्रस्तुत गरिएको थियो । आलुखेतीको सम्भावना भएको क्षेत्र भएकाले बेनी –२ का आम्बोटलगायत विभिन्न बस्तीमा आलुखेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउने वडाअध्यक्ष कार्कीले बताउनुभयो । “घरायसी प्रयोजनका लागि मात्रै खेती गर्ने गरिएको थियो, अहिले गाउँमा व्यावसायिक आलुखेतीमा समेत आकर्षण बढेको छ”, उहाँले भन्नुभयो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि ज्ञान केन्द्रले आलु खेतीका लागि जिल्लाभर तीन करोडको कार्यक्रममार्फत छनोट भएका कृषक समूह र सहकारीलाई प्रतिरोपनी रु १२ हजारका दरले बीउ खरिदलगायत उपकरण किन्नका लागि अनुदान उपलब्ध गराइरहेको कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामसरण कुर्मीले जानकारी दिनुभयो । कम्तीमा १० घरधुरी समेटिएकोे ३० रोपनीभन्दा बढीमा आलुखेती गर्ने १८ वटा समूह तथा सहकारी अनुदानका लागि छनोट गरी कूल लागतको ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको छ । जिल्लामा स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुन्छ ।

मूल्य अभिवृद्धि कर बढेपछि जनवरीमा श्रीलङ्काको राजस्वमा २५ प्रतिशतले वृद्धि

मूल्य अभिवृद्धि कर (भ्याट) बढेपछि जनवरीमा श्रीलङ्काको राजस्व २५ प्रतिशतले बढेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले बिहीबार जानकारी दिनु भएको छ ।

संसदलाई सम्बोधन गर्दै सियामबालापिटियाले जनवरीमा प्रदेशको राजस्व २ खर्ब १९ अर्ब रुपैयाँ अनुमान गरे पनि सरकारले २०२४ माघमा २७४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको बताउनु भएको छ ।श्रीलङ्का सरकारले भन्सार विभाग, अन्तःशुल्क विभाग र आन्तरिक राजस्व विभागमार्फत राजस्व सङ्कलन गर्ने गरेको सियाम्बलापिटियाले जानकारी दिनु भएको छ ।

सन् २०२४ माघमा भन्सार विभागले १२१ अर्ब, अन्तःशुल्क विभागले ३९ अर्ब र आन्तरिक राजस्व विभागले एक खर्ब १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको पनि उहाँले बताउनु भएको छ ।राज्यमन्त्रीले राजस्व वृद्धिले अन्ततः देशका सबै जनतालाई फाइदा पुग्ने धारणा राख्नु भएको छ ।

उहाँले संसद्मा जनवरीमा मुद्रास्फीति ६.४ प्रतिशत रहेको र खाद्य मुद्रास्फीति ३.३ प्रतिशत मात्रै रहेको पनि जानकरी दिनु भएको छ । आर्थिक रूपमा टाँट पल्टिन लागेको श्रीलङ्काले पछिल्लो समयमा आर्थिक सुधार गरेको छ ।

स्वीडेन लाल सागर नौसेना अपरेशनमा सहभागिता हुने बारे विमर्शमा

स्विडेन सरकारले लाल सागरमा हुने दुई वटा नौसैनिक अभियानमा भाग लिने बारे विचार गरिरहेको विदेश मन्त्री टोबियास बिलस्ट्रोमले बिहीबार बताउनु भएको छ ।स्वीडेनले अमेरिकाले शुरु गरेको अपरेशन प्रोस्परिटी गार्डियन र ईयु नेतृत्वको अपरेशन एस्पाइड्समा सामेल हुने योजना बनाएको बिलस्ट्रोमले विदेश मामिला समिति तथा रक्षा समितिसँगको बैठकपछि स्विडेनी टेलिभिजनलाई बताउनु भएको छ ।

स्वीडेनले भाग लिन चाहेका अपरेशनहरू रक्षात्मक छन् र कुनै पनि स्थलगत लक्ष्यमा आक्रमण गर्ने बारे होइन” भन्ने कुरामा जोड दिँदै बिलस्ट्रोमले भन्नुभयो- यसको मुख्य काम हुथी मिलिशियाको आक्रमणबाट व्यावसायिक जहाजहरूलाई जोगाउनु हो।

गत वर्ष इजरायल-हमास द्वन्द्व शुरु भएपछि हुथीहरूले ४० भन्दा बढी हमला गरेका छन्। उनीहरूले प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन र इजरायललाई गाजामा आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन इजरायलसँग जोडिएका जहाजहरूमा मात्र आक्रमण गरेको बताएका छन्।

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

सल्लेरी (सोलुखुम्बु-: हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/ ०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन उत्पादन भएको छ । हाल दुई सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ । यसमा दुई सय ५७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको सूचना अधिकारी राईले बताउनुभयो । यस वर्ष उत्पादन दिने बिरुवाको सङ्ख्या बढेसँगै उत्पादन पनि बढेको उहाँको भनाइ छ ।जिल्लाको आठ पालिकामध्ये खुम्बु पासाङ ल्हामू गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्ताल खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सोलुखुम्बु हिमाली जिल्ला भए पनि यहाँको धेरै क्षेत्रमा सुन्तलाखेती राम्रो हुन्छ, खुम्बुमा चिसो भएकाले खेती हुँदैन त्यसबाहेक अरू सबै पालिका क्षेत्रमा यसको खेती राम्रो हुन्छ, गत वर्ष रोग, किरा र फलमा देखिने औँसाले दुःख दिएकाले सुन्तला उत्पादन घट्यो यस वर्ष बेलैमा उपचार भएर रोग किरा नियन्त्रण हुँदा उत्पादन बढ्यो ।” जिल्लामा उत्पादित सुन्तलाको झण्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । थुलुङ दूधकोसीको देउसा क्षेत्र सुन्तलाखेतीको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले यहाँ बढी उत्पादन भएको ज्ञान केन्द्र प्रमुख तिरुवाले बताउनुभयो ।देउसालाई जिल्लाको सुन्तला भण्डारकै रुपमा लिइन्छ । सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँबजारमा बिक्रीका लागि ल्याइने अधिकांश सुन्तला देउसाकै हुने गरेको ज्ञान केन्द्रका सुचना अधिकारी राईको भनाइ छ । “जिल्लालाई देउसाकै सुन्तलाले धानेको छ, अन्य ठाउँहरुमा खासै व्यावसायिक रुपमा सुन्तलाखेती नभए पनि देउसामा व्यावसायिक सुन्तला खेती हुन्छ, यसका कारण देउसाको सुन्तलाले बजार नै ओगटेको छ, त्यहाँको सुन्तला बगान त हेर्दै रहर लाग्दा छन्, देउसाको सुन्तला स्वादको हिसाबले समेत निकै स्वादिष्ट छ त्यही भएर माग पनि राम्रो छ त्यहाँको सुन्तलाको,” उहाँले भन्नुभयो ।ज्ञान केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार एक सय ३४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा एक हजार छ सय ९० मेट्रिकटन र चालु आर्थिक वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।बजारीकरणमा समस्याजिल्लामा उत्पादन हुने सुन्तलाको बजारमा भने समस्या रहेको छ । जिल्लाको विभिन्न क्षेत्रमा वार्षिक दुई हजार मेट्रिकटनभन्दा धेरै सुन्तला उत्पादन भए पनि बजारीकरणको समस्या रहेको किसानको गुनासो छ । उत्पादित सुन्तलाले बजार नपाउँदा यत्तिकै कुहिएर खेर जाने गरेको देउसाका किसान सङ्गम राईले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सुन्तला धेरै फल्यो भनेर रमाउनु मात्रै हो, बजार छैन, फलेर के गर्नु, त्यतिकै कुहिएर खेर जाने गरेको छ । यहाँको बजारमा कति नै पो बिक्छ र ? धेरै उत्पादन भए पनि खासै भाउ नै छैन, गाउँमा त सबै वस्तुभाउलाई चारो पकाएर दिने हो । त्योभन्दा अरू विकल्प नै छैन नि ।”हाल जिल्लामा उत्पादन भएको सुन्तलाको बजार जिल्लाभित्र मात्रै सीमित बनेको छ । जसका कारण बजारीकरणमा समस्या रहेको किसानको दुखेसो छ । देउसाको सुन्तला जिल्ला सदरमुकाम सल्लेरीसम्म ढुवानी गरेर किलोको रु ५० मा पनि बिक्री नहुने गरेको देउसाका किसान अम्बर राईको भनाइ छ । उहाँले भन्नुभयो, “बजार नपाउँदा सिजनमा फलेको सुन्तलाबाट किसानले खासै राम्रो आम्दानी गर्न सकेका छैनन्, बजार सानो छ, खाने मान्छे कम छन्, त्यसैले गर्दा हामीले फलाएको सुन्तलाको केही भाउ छैन, रोग किरा, औँसाबाट कति दुःख गरेर जोगाउनुपर्छ, फलेपछि बजारमा भाउ छैन, किसानलाई जताबाट पनि घाटा नै घाटा, सुन्तलाखेतीबाट यसो आम्दानी होला कि भनेर बारीभरि सुन्तलाको बोट रोपियो, योबाट पनि खै त आम्दानी यस्तै त रहेछ नि ।” जिल्लामा उत्पादित सुन्तला व्यावसायिक रुपमा अन्यत्र निर्यात गर्न सकेको छैन ।थुलुङ दूधकोसी गाउँपालिकाले केही मात्रामा सुन्तला काठमाडौँ पु¥याएर बिक्री गरे पनि पालिका क्षेत्रमै उत्पादित सबै सुन्तला ढुवानी गर्ने व्यवस्था हुन नसकेको किसान सङ्गम राईले बताउनुभयो । साथै जिल्लामा सुन्तलाबाट जुस उत्पादन गर्ने व्यवस्था नहुँदा फल यतिकै खेर जाने गरेको किसानको दुखेसो छ । स्थानीय सरकारले सुन्तला, कागती, जुनारजस्ता सिजनमा हुने फलहरुबाट जुसहरु तयार गर्न सके किसानको लगानी र मेहनतको सदुपयोग हुने नेलेका सन्तोष खत्रीले बताउनुभयो ।हाल जिल्लामा उत्पादन हुने सुन्तला खानकै लागि मात्रै प्रयोग हुँदा किसानले सोचेजस्तो आम्दानी लिन नसकेको उहाँको भनाइ छ । यहाँ उत्पादन हुने सुन्तला ढुवानी गरी अन्य जिल्लामा समेत पु¥याउन सके बजारको चिन्ता नहुँने सल्लेरीका मिङ्मार शेर्पाले बताउनुभयो । देउसामा उत्पादन हुने सुन्तला अहिले साप्ताहिक हाट नयाँ बजारको भरपर्नु परेको छ । हाट बजारमा बिक्री नभएको सुन्तला किसानले यतिकै फर्काएर लैजानुपर्दा गाडी भाडा तथा ज्यालामा समेत दोहोरो घाटा हुने किसानको दुखेसो छ । सुन्तलाबाट जुस बनाएर बाहिर निर्यात गर्ने सवालमा आफूहरु गम्भीर रहेको थुलुङ दूधकोसी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।किसानको मेहनत र लगानीलाई खेर जान नदिन स्थानीय सरकार ठोस योजनाका साथ बढ्ने उहाँको भनाइ छ । “हामीले जुस उत्पादन गर्ने कारखाना त खोल्छाँै तर यति मात्रै सुन्तलाले पुग्दैन, त्यसैले उत्पादनलाई अझै बढाउन आवश्यक छ, फेरि यो फल याममा मात्रै उत्पादन हुने फल भएकाले यसलाई भण्डारण गर्ने उचित व्यवस्थापनका लागि पनि हामी योजना बनाएर अघि बढ्छौँ, केही ठाउँमा त हामीले भण्डारण केन्द्र पनि बनाइसकेका छौँ,” उहाँले भन्नुभयो । 

दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ११० बेपत्ता

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने अन्य ११० जना बेपत्ता रहेको प्रान्तीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।डाभाओ डे ओरो प्रान्तीय सरकारले माको शहरको खानी स्थल नजिक मङ्गलबार राति गएको पहिरोमा ३१ जना गाउँले घाइते भएको बताएको छ ।

माको नगरपालिका प्रकोप रोकथाम एजेन्सी र वरपरका क्षेत्रहरूबाट उद्धारकर्ताहरू पहाडबाट तल झरेको माटो, चट्टान र रूखहरू मुनि दबिएर बेपत्ता भएका गाउँलेहरूको पार्न खोजी कार्यमा जुटेको बातइएको छ ।

बेपत्ता हुनेहरूमा खानीमा बोकेका दुईवटा बसका यात्रु र हिलोको बाटोमा रहेका कैयौँ घरमा रहेका मानिसहरु रहेका छन् ।स्थानीय अधिकारीहरूले वर्षाका कारण आएको पहिरोका कारण कम्तीमा १ हजार १६६ परिवार विस्थापित भएको बताएका छन् । विस्थापित गाउँलेहरू अस्थायी रूपमा सरकारी केन्द्रहरूमा बसिरहेका छन्।

पूर्वी ट्युनिसियामा डुङ्गा पल्टिँदा १३ जना सुडानी आप्रवासीको मृत्यु

ट्युनिसियाली समुद्री गार्डले पूर्वी महदिया प्रान्तमा इटाली जाँदै गरेको डुङ्गा डुब्दा सुडानी आप्रवासीहरूको १३ वटा शव फेला पारेको निजी रेडियो स्टेशन मोसाइक एफएमले बिहीबार उल्लेख गरेको छ।रेडियो स्टेशनका अनुसार प्रारम्भिक अनुसन्धानले डुङ्गा दक्षिणपूर्वी स्फ्याक्स प्रान्तको जेबिनियाना शहरको तटबाट ४२ जना सुडानी सवार रहेको देखाएको छ।

जहाजमा सवार सुडानीहरूसँग शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको शरण कार्ड भेटिएको छ।महदिया अदालतका सरकारी वकिलले घटनाको अनुसन्धान शुरु गरेका छन् ।

ट्युनिसिया, उत्तरपश्चिम अफ्रिकाको भूमध्यसागरीय तटमा अवस्थित रहेको तर पछिल्लो समय अवैध रूपमा युरोप प्रवेश गर्न चाहनेका लागि पहुँचको मुख्य विन्दुहरू मध्ये एक स्थल मार्ग बनेको छ ।ट्युनिसियाली अधिकारीहरूले पछिल्लो समय बढ्दै गएको अवैध आप्रवासीको समस्यासँग लड्नका लागि कडा कदम चालेको भए तापनि ट्युनिसियाली तटबाट इटालीतर्फ अवैध आप्रवासीको प्रयास बढ्दै गएको बताइएको छ।

रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता

रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन् । रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उमेद्वारी बारे जनाकारी गराउनु भएको छ।

पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उमेद्वार हुने बताउनु भएको छ ।सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता गरेको जनाएको छ । रुसको राष्ट्रपतीय निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ।

नगरविकास समितिको जग्गा हिनामिना गर्ने २४९ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको जग्गा अनियमितता गरी हिनामिना गरेको अभियोगमा दुई सय ४९ जना विरुद्ध आरोपपत्र दायर गरेको छ ।आयोगले टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ÷संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम नभएको देखिएकाले आरोप पत्र दायर गरिएको जनाएको छ ।

समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवं कर्मचारीहरुको संलग्नतामा समितिका प्लट घडेरी आफन्तलगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गरेको थियो ।

नक्कली कागजातहरु खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएकाले नगर विकास समितिका तत्कालीन अध्यक्षहरु नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मी, अन्य पदाधिकारी, कर्मचारीहरु तथा प्रथम तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा सो जग्गा तहगत सुक्रिबिक्री हुँदै हाल कायम जग्गाधनीहरुको हकमा समेत बिगोसहितको सजायको मागदाबी लिई आयोगले आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

चार महिनादेखि बागमती प्रदेशसभाको हिउँदे अविधेशन आह्वान नहुँदा असन्तुष्टि

मकवानपुर-चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गर्नुभएको छ । गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले   विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाउनुभएको छ । पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजकन नभएको उहाँको भनाइ थियो ।प्रदेश सरकार सञ्चालन गर्न कम्तीमा सय वटा ऐन आवश्यक पर्ने पहिचान भएकोमा हालसम्म ४६ वटा मात्र ऐन बनेको थपलियाले लगाउनुभयो । दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा प्रदेशसभाको जम्मा ५६ वटा बैठक बसेको छ । थपलियाले भन्नुभयो, “ऐन निर्माणमा सन्तोषजनक काम हुन सकेको छैन । आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुन लाग्दा पनि हालसम्म सरकारले नौ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन ।” राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पनि सरकारले सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले प्रतिपक्षीलाई दोष देखाएर अगाडि बढ्न खोजिरहेको छ ।”

राष्ट्रिय सभाको अध्यक्षमा कसको सम्भावना कति ?

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्दै आएका छन् । आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी तीनै पार्टीका तीन शीर्ष नेताले गरेपछि उम्मेदवार टुंगो लाग्न नसकेको हो ।

संवैधानिक परिषद्को सदस्यसमेत राष्ट्रिय सभाका अध्यक्ष हुने संवैधानिक व्यवस्था भएकाले त्यहाँबाट हुने नियुक्तिलगायतका काममा अध्यक्षको प्रभावकारी भूमिका हुन्छ । सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरेका छन् । शीर्ष नेताका बीचमा यसमा औपचारिक÷अनौपचारिक छलफल हुँदै आएको छ । सत्तारूढ गठबन्धनको बैठकमा समेत यसमा छलफल भए पनि तीनै दलका आआफ्नै दाबीका कारण सहमति जुट्न सकेको छैन ।

सुरुमा अनौपचारिक छलफलमा टुंगो लगाउने प्रयास भएको तर तीनै जना नेताले आ–आफ्नो दाबी नछोडेपछि औपचारिक बैठकमा समेत यसमा टुंगो लाग्न नसकेको कांग्रेसका एक पदाधिकारीले बताए । माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दलका साथै अन्य विभिन्न कारणले अध्यक्षमा माओवादीको दाबी हुनु स्वाभाविक भएको बताए । उनले सत्तारूढ दलका शीर्ष नेताका बीचमा हुने छलफलबाटै छिट्टै नै टुंगो लगाउने बताए ।

तर, कांग्रेस र एकीकृत समाजवादीले आफ्नो अडान छाडेका छैनन् । कांग्रेस सभापति देउवा राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले पाउनुपर्ने अडानमा छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तारूढ दलका बीचमा छलफल गरेरै अगाडि बढ्नुपर्ने बताउँदै अध्यक्षको छिट्टै नै टुंगो लाग्ने बताउँदै आएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि २० फागुनबाट सकिँदै छ । त्यसलगत्तै सो पद रिक्त हुँदै छ । राष्ट्रियसभामा माओवादी केन्द्रका उपाध्यक्ष छन् । माओवादी केन्द्रकी नेतृसमेत रहेकी राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याललाई प्रधानमन्त्री प्रचण्डले अध्यक्ष बनाउन खोजेका बताइएको छ । कांग्रेसले कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीले डा बेदुराम भुसाललाई राष्ट्रिय सभा अध्यक्षमा अघि सारेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।