`

इटहरीका सबै विद्यालयमा टाई हटाएर भादगाउँले टोपी

इनरुवा (सुनसरी)- इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।

इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७० विद्यालय छन् । अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने उहाँले बताउनुभयो । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निर्णय लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ ।

उपमहानर प्रमुख पौडेलले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निर्णय गरेको प्रमुख पौडेलले बताउनुभयो । त्यसैगरी उपमहानगरका कर्मचारी र जनप्रतिनिधिको सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।

विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थी वापत पटक/पटक कक्षा चढ्दा भर्ना शुल्क लिन नपाइने निर्णय भएको प्रमुख पौडेलले बताउनुभयो । विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णय गरेको पनि उहाँको भनाइ छ । साथै विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरणमा रोक लगाएको हो ।

हिमाली भू-भागमा हिमपातको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं – बिहीबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् माघ २६ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि- माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि – खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि – दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थीक क्षेत्र मध्यम रहनेछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि- स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि – अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि – भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि- अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि- अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि – अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि – नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि- शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

छोरी-बुहारीलाई निःशुल्क पढाइ र रोजगारी दिँदै इलामको सूर्योदय नगरपालिका

इलाम- सूर्योदय नगरपालिका-१ धजेकी सुजता बजगाईलाई विसं २०७४ मा कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने चिन्ता थियो । उहाँको समस्या नगरपालिकाले बुझिदियो र निःशुल्क पढाइयो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्नुभएकी सुजता ‘नगरको इच्छा छोरी-बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण हुनुभयो । हाल उहाँ स्नात्तकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।

“परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ”, सुजताका बुवा प्रेम बजगाईले भन्नुभयो, “हाम्रो नगरपालिकाले छोरी बुहारीलाई स्नातक पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छाडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्याबाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय लाग्छ ।”

सूर्योदय नगरपालिकाले सो कार्यक्रमअन्तर्गत कर्फोक क्याम्पसमा शतप्रतिशत छात्रवृत्ति दिएर छोरी-बुहारीलाई पढाउन थालेको चार वर्ष भयो । उक्त छात्रवृत्ति कार्यक्रममार्फत अहिलेसम्म एक सय ५३ छोरी-बुहारीले स्नातक अध्ययन गरिसकेका छन् । तीमध्ये २३ जनाले उत्तीर्ण गरेको सो क्याम्पसका प्रमुख गोपाल कट्टेलले जानकारी दिनुभयो । यसवर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरी-बुहारीको सङ्ख्या करिब दुई सय छ ।

नगरपालिकाभित्रका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । हामीले स्नातक गरिसकेका विद्यार्थीलाई रोजगारी पनि दिँदैछाँै ।

नगरप्रमुख राईले भन्नुभयो, “विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा एक सय दिनको रोजगारी दिँदैछौँ ।” नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’ लाई एक सय दिनको रोजगारी दिने तयारी गरेको हो ।

छोटो समयका लागि भएपनि छात्रवृत्तिमा उत्तीर्ण भएका महिलालाई प्रोत्साहनस्वरुप रोजगारी दिन लागिएको राईले बताउनुभयो । उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा एक सय दिनको रोजगारी सहयोगी बन्ने उहाँको भनाइ छ ।
“स्नातक गरेका छोरी–बुहारीलाई रोजगारीको कार्यक्रमले थप सिकाइ हुनेछ”, उहाँले भन्नुभयोे, “उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग लिन पाउने छ ।”

उच्च शिक्षा अध्ययन गर्न नपाउँदै विवाह हुने र त्यसपछि शिक्षा लिने अवसरबाट वञ्चित नहोउन भन्ने उद्देश्यले उक्त कार्यक्रम सुरुआत गरिएको नगरप्रमुख रार्ईको भनाइ छ । “बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरले यो कार्यक्रम ल्याएको हो”, उहाँले भन्नुभयो, “छात्रवृत्तिमा अध्ययन गरेका छोरी–बुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरी–बुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको हो ।”

नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले योग्यताअनुसार रोजगारी दिइने बताउनुभयो । “कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन हुनेछ”, उहाँले भन्नुभयो, “यसको कार्यविधि बन्न बाँकी छ तर इच्छुक विद्यार्थीका लागि आवेदन माग गरी सूचना जारी गरिसकिएको छ ।”

नगरबाट छात्रवृत्ति पाएका महिलाले करफोक क्याम्पसमा विभिन्न सङ्काय र विषय अध्ययन गरिरहेका छन् । क्याम्पस प्रमुख कट्टेलले नगरको छात्रवृत्ति कार्यक्रमले दूरदराजका छोरी–बुहारी लाभान्वित भएको बताउनुभयो ।

करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबिए, बिबिएच, बिएड र बिए अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्लाबाहिर रहेकाले आधाभन्दा बढीले मात्रै एक सय दिनको रोजगारी लिने शिक्षा शाखा प्रमुख भट्टराईले बताउनुभयो ।

एक प्रतिशत जन्मजात बच्चामा मुटु रोग

काठमाडौँ-जन्मजात एक प्रतिशत बच्चलाई मुटुको रोग लाग्ने गरेको पाइएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताउनुभयो ।

डा शाक्यले गर्भमा हुँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरको धमनीको बनावटमा गडबढी भएर जन्मिदै बच्चालाई मुटुको रोग लाग्ने गरेको बताउनुभयो । जन्मजात मुटुको बिरामीमा मुटुको पर्दामा प्वाल पर्ने, मुटुका मुख्य धमनी साँघुरिने तथा भल्भ आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनी उल्टोपाल्टो भएर निस्कने, मुटुको दायाँ वा वाँया भाग अविकसित हुने गर्दछ ।असाधारण स्वास्थ्य अवस्था रहेका बालबालिकाको मुटु रोगको कारणले धेरै मुत्यु हुने गरेको उहाँले बताउनुभयो । शिशु गर्भमा रहेको बेला गर्भवतीले उचित खानपिन र पौष्टिक आहारमा ध्यान दिने, चुरोट सेवनलाई रोक्नुपर्दछ । उहाँका अनुसार मुटुको पर्दामा सानो प्वालदेखि लिएर धेरै जटिल विकृति हुन सक्ने बताउनुहुन्छ । करिब दुई तिहाईमा लक्षण जन्मेको एक महिनाभित्र देखापर्ने र एक तिहाई शिशुको समयमा नै उपचार नभएमा जन्मेको केही दिनभित्रमा मृत्यु हुने उहाँले बताउनुभयो ।डा शाक्यले १० प्रतिशत मात्र मुटु रोगमा कारण पत्ता लाग्ने उहाँले बताउनुभयो । जन्मिदै मुटु रोग हुने बच्चामा उमेरअनुसार तौल नबढ्ने, कमजोर भइरहने, छातीको बायाँ भागमाथि उठ्ने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निने जस्ता समस्या देखिने गर्दछ ।बच्चा नीलो हुनेजन्मजात मुटुमा समस्या भएका बच्चा नीलो हुने र निलो नहुने गर्दछन् । निलो भएर जन्मिने बच्चा जटिल प्रकार प्रकृतिको हुने केन्द्रका बाल मुटुरोग सर्जन डा रविन्द्रभक्त तिमलाले जानकारी दिनुभयो । जन्मिदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि निलो भएर आउने बच्चामा मुटु रोगको समस्या हुने गरेको उहाँले बताउनुभयो । रुने बेलामा वा बल प्रयोग गर्दा निलोपना झन बढ्ने, सास छिटोछिटो फेर्ने, बेहोस हुने, हिँड्दा छिटो थाकेर थचक्क बस्ने जस्ता पनि मुटु रोगका समस्या हुन् ।यसैगरी मुटुको चाल अति छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटोछिटो सास फेर्ने, राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुस्ने समयमा निधारमा धेरै पसिना आउने, सुतिरहँदा पनि पसिना आइरहने, धेरै छटपटाइरहने, रुँदा केही नीलो देखिने, छिटोछिटो कडा निमोनिया भइरहने, दैनिक क्रियाकलाप समस्या देखापर्नु पनि मुटुको समस्या हो ।—

बाँसबारीको जग्गा फिर्ता प्रक्रिया : चाँदबागले बुझ्यो २१ दिने म्याद

काठमाडौँ । तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले पत्र पठाएको छ।

गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा चाँदबाग रेसिडेन्सी प्रालिलाई २१ दिने म्यादको पत्र बिहीबार बुझाइएको हो। तत्कालीन च्याम्पियन फुटवेयर प्रालि हाल चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले पत्र बुझेर भर्पाई गरिदिएका छन्। पत्र पठाउने आधार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान र पत्राचारलाई बनाइएको छ।

पत्रमा जग्गाधनी च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको जिल्ला काठमाडौँ नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं. ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० वर्गमिटर जग्गा फिर्ता गर्ने स्रेस्ता लिएर आउन भनिएको छ।

डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत बोगराज शर्मा कट्टेलको हस्ताक्षर रहेको पत्र टोखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शान्ता खनाल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर ७ बस्ने विमल भुजेलको रोहबरमा सञ्जय ठाकुरले म्याद २०८० माघ २५ गते बुझिलिएको भनी हस्ताक्षर गरिएको छ। पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुन अन्यथा कानुनबमोजिम भई जाने बेहोराको जानकारी पत्रमा गराइएको छ।

सिआइबीले यसै प्रकरणमा चौधरी समूहका अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायणसिंह थापा र चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो तर काठमाडौँ जिल्ला अदालतको आदेशबाट तीनै जना हाजिरी जमानीमा छुटेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सूचना प्रणालीसम्बन्धी खरिद र मर्मतमा राष्ट्रिय मापदण्ड तयार गर्न सुझाव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधिसम्बन्धी प्रणालीको आवश्यकताको विश्लेषण, लागत अनुमान, योजना कार्यान्वयन तथा मर्मत सम्भार एवं सञ्चालनसम्बन्धी कार्यमा एकरुपता ल्याउन राष्ट्रिय मापदण्ड तयार गरी लागू गर्न तीनै तहका सरकारलाई सुझाव दिएको छ ।

आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको कुनै एक निकायलाई सूचना प्रविधि प्रणाली, हार्डवेयर तथा सफ्टवेयरको स्पेसिफिकेसन एवं लागत अनुमानबारे राष्ट्रिय मापदण्ड तयार गरी लागू गर्ने जिम्मेवारी दिन र त्यस्तो मापदण्डलाई नियमितरूपमा अद्यावधिक गर्न आज सुझाव दिएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा सूचना प्रविधिको विषय अति प्राविधिक हुने तथा यससम्बन्धी प्रविधि विकास पनि अति द्रूत गतिमा भइरहेको वर्तमान सन्दर्भमा यससँग सम्बन्धित वस्तु एवं सेवा खरिद तथा विकास गर्ने कार्य भ्रष्टाचार संवेदनशील देखिएकाले त्यस्तो नीति र निकायको अनिवार्यतामा जोड दिइएको जनाइएको छ ।

‘टेरामोक्स’, ‘एमडिएमएस’ लगायत सूचना प्रविधिसम्बन्धी वस्तु र सेवाका सम्बन्धमा सरकारबाट विगतमा भएका निर्णय र खरिदमा सम्बन्धमा संसदीय समितिहरुमा अध्ययन र आयोगमा छानबिन भइरहेको सन्दर्भमा आयोगबाट यो सुझाव आएको हो ।

सञ्चार तथा सूचना प्रविधिमा निहित प्रविधिको क्लिष्टता र सार्वजनिक क्षेत्रमा रहेको यसप्रतिको अनभिज्ञताको अनुचित उपयोग गरी गम्भीर प्रकृतिका भ्रष्टाचारजन्य कार्य हुनसक्ने देखिएको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिइएको छ । यससम्बन्धमा सीमित स्रोत–साधनको मितव्ययी एवं समुचित परिचालन गरी यस्ता प्रविधिको सदुपयोगबाट राष्ट्रले अधिकतम लाभ हासिल गर्न वाञ्छनीय देखिएकाले आयोगमा प्राप्त उजुरीको छानबिन एवं अनुसन्धानको सिलसिलामा पहिल्याइएका सवाल तथा प्राप्त तथ्यको विश्लेषणको आधारमा कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै सङ्घीय मन्त्रालय, निकाय, कार्यालय, प्रदेश मन्त्रालय र कार्यालय तथा स्थानीय तहमा लेखी पठाउन आयोगबाट निर्णय भएको हो ।

त्यस्ता प्रणालीका सामान खरिद गर्नुपूर्व खरिद गर्न लागेको सूचना प्रविधि प्रणालीको आवश्यकताको विश्लेषण गरी अद्यावधिक गरिएको मापदण्डको आधारमा प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, स्रोतको सुनिश्चितता, लागत अनुमान, आयोजना कार्यान्वयन, आयोजना हस्तान्तरण, आन्तरिक जनशक्तिको परिचालन, आयोजनबाट प्राप्त हुने अपेक्षित लाभको अनुमान, मर्मत सम्भार तथा सञ्चालन आदि सम्बन्धमा पूर्ण तयारी गर्न पनि आयोगले सुझाएको छ ।

सञ्चार तथा सूचना प्रविधि प्रणाली खरिद र जडान पश्चात आंशिक भुक्तानी गर्दा अस्थायी स्वीकृति परीक्षण सम्पन्न गर्नुपर्ने र पूर्ण भुक्तानी गर्दा प्रणालीको निश्चित अवधिको व्यापारिक कारोबारको सञ्चालन पश्चात अन्तिम स्वीकृति परीक्षण सम्पन्न गर्नुपर्ने व्यवस्था अनिवार्य गरी यस्तो परीक्षणको पूर्ण अभिलेखीकरण गर्न आयोगले सरकारलाई भनेको छ ।

महाधिवेशनका लागि वैशाख १५ देखि २२ सम्म प्रतिनिधि चयन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार बसेको बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक तथा विस्तार गरिसक्ने निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने निर्णय गरेको बैठकले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तारलगायतको कामको प्रकृतिका आधारमा १० जिल्लालाई सम्मान गर्ने निर्णय गरेको छ ।

बैठकले सङ्गठन सुदृढिकरणको अभियान दुई महिना (चैत २५ गते) सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । महाधिवेशनका लागि पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन गरिसकेको छ ।

‘समृद्ध नेपाल निर्माणको सपना एमालेको परिकल्पना’- ओली

रौतहट, २५ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना आफ्नो दलको परिकल्पना भएको बताउँदै त्यसलाई साकार पार्न नेकपा एमालेमात्र नभइ समाजका अन्य वर्गको पनि सक्रिय सहभागिता अपरिहार्य भएको बताउनुभएको छ ।

नेकपा एमाले रौतहटले गरुडामा आज आयोजना गरेको १०औँ जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई मूर्तरुप दिन आफ्नो दलको एकल सरकार आवश्यक भएकाले आगामी निर्वाचनमा त्यो चाहना पूरा गर्न पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताले आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार भएपछि मात्र उनीहरूका विकासका चाहना पूरा हुने दाबी गर्नुभयोे । उहाँले पार्टी कार्यकर्तालाई सेवा भावनाका साथ काम गर्न निर्देशन पनि दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि ओलीलाई रौतहटका जनताले एक सय एक किलोको मालाले स्वागत गरेका थिए । एमालेको १० औँ जिल्ला अधिवेशन आज र भोलि गरुडामा हुँदैछ । कार्यक्रममा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, कोशी प्रदेश इञ्चार्ज रघुुवीर महासेठ, पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य र गरुडा नगरपालिकाका प्रमुख कन्तमणि जयसवाललगाय नेताको सहभागिता थियो । अधिवेशनले रौतहट जिल्लामा नयाँ कार्यसमिति चयन गर्नेछ ।

कम्बोडिया र थाइल्याण्डका प्रधानमन्त्री सीमावर्ती क्षेत्रमा धुवाँ प्रदूषण नियन्त्रण गर्न सहमत

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डको एकदिने औपचारिक भ्रमण पूरा गर्नु भएको छ । विदेश मन्त्रालयले बुधवार छिमेकी देशको भ्रमणका क्रममा प्रधानमन्त्री मानेटले आफ्ना थाई समकक्षी श्रेथा थाभिसिनसँग व्यापार, पर्यटन, श्रम, ऊर्जा, अन्तरराष्ट्रिय अपराध विरुद्ध लड्ने लगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएको उल्लेख गरेको छ ।

दुई प्रधानमन्त्रीहरू “द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा विकास गर्ने सहमत भएको बताइएको छ । उहाँहरू दुई राष्ट्रका जनताका लागि स्वच्छ हावा सुनिश्चित गर्न सीमावर्ती क्षेत्रमा धुवाँ प्रदूषण नियन्त्रण गर्न आवश्यक कदम चाल्न सहमत भएको बताइएको छ ।

‘आयोगलाई स्वायत बनाउन विधेयकको मस्यौदा तयार गर्नुस्, मन्त्रालय अवरोध गर्दैन’ – मन्त्री राई

भक्तपुर, २५ माघ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षक सेवा आयोगलाई स्वायत बनाउन मन्त्रालयले कुनै अवरोध नगर्ने बताउनुभएको छ । आज सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको शिक्षक सेवा आयोगको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार गर्न आयोगलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “आयोगलाई स्वायत बनाउन आवश्यक छुट्टै कानुन बनाउन हामी तयार छौँ, तर विधेयकको मस्यौदा बनाउने काम आयोगले गरोस, त्यसमा हाम्रो समर्थन छ, आयोगलाई स्वायतता सुनिचित गर्ने गरी कानुन बनाउन मन्त्रालयले कुनै अवरोध गर्दैन ।”

त्यसका लागि मन्त्रालयबाट गर्नुपर्ने काम भए तत्परताका साथ अघि बढाउने भन्दै उहाँले आयोगको आर्थिक र भौतिक समस्या समाधान गर्न पनि मन्त्रालय तयार रहेको बताउनुभयो । कार्यक्रमका वक्ताले आयोगको समस्याबारे शिक्षा मन्त्रालयको ध्यान पुग्न नसकेन भन्दै प्रश्न उठाएपछि मन्त्री राईले भन्नुभयो, “आयोगमा मन्त्रालयको ध्यान नपुगेको हुन सक्ला तर ध्यान पुगेर मात्रै हुँदैन । सीमित साधनस्रोतले पनि काम भइरहेको छ कि जस्तो लागेको छ । म मन्त्री भएपछि आयोगको एउटै पनि गुनासो सुन्न परेको छैन । यहाँ राम्रो ढङ्गले काम भएकै कारण गुनासो नआएको होला भन्ने मलाई लागेको छ ।”

शिक्षकलाई राजनीतिक दलले नै बिगारेको बताउँदै उहाँले भन्नुभयो, “म शिक्षकको प्रंशसक हुँ तर शिक्षक साथीलाई बिगारेको हामीले हो, म त्यसको .जिम्मेवारी लिन्छु, शिक्षकलाई आन्दोलन गरियो, गराइयो त्यो यथार्थ हो । अहिले सबै कुरा शिक्षकको टाउकोमा हालेर भाग्न मिल्दैन । परिस्थिति बदलिएको छ । अब आन्दोलन होइन, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।”

आन्दोलनका क्रममा शिक्षकसँग गरेको सम्झौता मुलुककै आर्थिक अवस्था कमजोर भएका कारण कार्यान्वयनमा आउन नसकेको बताउँदै उहाँले सरकारले शिक्षकसँग सम्झौता गरे पनि आर्थिक अभावका कारण कार्यान्वयन गर्न नसक्दा शिक्षा मन्त्रालयले गाली खाइरहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले सामुदायिक विद्यालय सुधारको जिम्मा शिक्षक सेवा आयोगलाई दिनुपर्ने बताउँदै यसका लागि आयोगलाई लोकसेवा आयोगको जस्तै बनाएर लानुपर्ने औँल्याउनुभयो । आयोगले शिक्षकलाई लाइसेन्स दिए पनि लाइसेन्स प्राप्त शिक्षकलाई बाल मनोविज्ञानको ज्ञान भने नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षकसँग बालबालिकाको मनोविज्ञानको ज्ञान हुनुपर्छ । शिक्षकसँग लाइसेन्स छ, तर पढाउन जान्दैनन् । जबसम्म शिक्षकले विद्यार्थी बुझ्न सक्दैन तबसम्म शिक्षाको विकास हुँदैन । मैले २५ वर्षसम्म माध्यमिक शिक्षक भएर सेवा गरे, त्यो बेला तालिम थियो । अहिले कतौटी भएको छ । तालिम बढाउनुपर्छ ।”

कार्यक्रममा भाषा आयोगका पूर्वअध्यक्ष डा लवदेव अवस्थीले आयोगको पहिचान शिक्षा ऐनमा समावेश हुँदा स्वायत हुन नसकेको भन्दै आयोगलाई स्वायत बनाउने हो भने छुट्टै कानुन आवश्यक रहेको बताउनुभयो ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आयोगले योग्य शिक्षक छनौट गर्ने मानक बनाएर काम गरेको बताउँदै आयोगले गर्ने काममा शङ्का नगर्न आग्रह गर्नुभयो । अकबरी सुनलाई कसी लगाउनुपर्दैन भन्दै उहाँले आयोगले २४ क्यारेटको शिक्षक छनौट गर्ने नीति अवलम्बन गरेकाले शुद्धता, निष्पक्षता र विश्वासनीयतामा शङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले आयोगलाई भौतिक, जनशक्ति र आर्थिक समस्या रहेको बताउनुभयो ।

इमरान खानलाई कारागारमा राखेर पाकिस्तानमा मतदान, मोबाइल नेटवर्क बन्द

धाँधलीको आरोप लागेको निर्वाचनमा लाखौँ पाकिस्तानीले मतदान गरेपछि बिहीबार मतदान केन्द्रहरू बन्द भएका छन् । पाकिस्तानी अधिकारीहरूले मतदानको पूरै दिन मोबाइल फोन सेवा निलम्बन गरेका थिए र मुलुकका सबैभन्दा लोकप्रिय राजनेतालाई कारागारमा राखेका थिए । पूर्वप्रधानमन्त्री इमरान खानको कारागार सजाय र उहाँको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीलाई सैन्य नेतृत्वमा स्थापना गरिएको प्रतिस्थापनले छायाँमा पारेको अभियानपछि मतदान सर्वेक्षकहरूले मुलुकका १२ करोड ८० लाख योग्य मतदाताबाट कम मतदान हुने भविष्यवाणी गरेका छन् ।

बिहीबार भएको मतदानपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सबैभन्दा धेरै सिट जित्ने अपेक्षा गरिएको छ । विश्लेषकहरूले उक्त पार्टीका ७४ वर्षीय संस्थापक नवाज शरिफलाई जनरलहरूको आशीर्वाद प्राप्त भएको बताएका छन् । मतदानको अखण्डताका बारेमा चिन्ता व्यक्त गर्दै अधिकारीहरूले बुधबार दुई विस्फोटमा २८ जना मारिएपछि ‘कानून र व्यवस्था कायम गर्न’ मतदान सुरु हुनुभन्दा ठिकअघि मुलुकभर मोबाइल टेलिफोन सेवाहरू निलम्बन गरेका थिए ।

गैर–नाफामूलक डिजिटल राइट्स फाउन्डेसन चलाउने वकिल निघत ड्याडले उक्त बन्दाबन्दी पाकिस्तानीहरूको लोकतान्त्रिक अधिकारहरूमाथि आक्रमण हो भन्नुभयो । “मोबाइल फोन सेवा बन्द गर्नु राष्ट्रिय सुरक्षा चिन्ताको समाधान होइन, यदि तपाईंले सूचनाको पहुँच बन्द गर्नुभयो भने तपाईंले थप अराजक सिर्जना गर्नुहुन्छ”, उहाँले भन्नुभयो । पाकिस्तानमा मतदाताहरू आफू दर्ता भएको मतदान केन्द्रको पुष्टि गर्नका लागि टेक्स्ट सन्देश सेवामा निर्भर थिए । चालीस वर्षीय अब्दुल जब्बारले इन्टरनेट अवरोधले आफू र आफ्नी श्रीमतीलाई सेवा प्रयोग गर्नबाट रोकेको बताउनुभयो ।

“अन्ततः पिटिआईका अन्य समर्थकहरूले मतदान केन्द्र पत्ता लगाउन सहयोग गरे”, उहाँले भन्नुभयो । मतदान आधिकारिकरूपमा स्थानीय समयानुसार साँझ ५ बजे समाप्त भयो तर अधिकारीहरूले उक्त समयमा मतदान केन्द्रभित्र रहेका जो कोहीलाई पनि आफ्नो मतदान गर्न अनुमति दिइने बताएका छन् ।

पहिलो नतिजा आधा रातभन्दा पहिला नै आउने अपेक्षा गरिएको छ तर मतदान ढाँचाअनुसार नतिजा शुक्रबार बिहानसम्म आउने सम्भावना छैन । उन्चालीस वर्षीय सैयद तसवारले भन्नुभयो, “मेरो मत मैले खसाएको पार्टीका लागि गणना हुन्छ कि हुँदैन भन्ने मलाई एउटामात्र डर छ, गरिबहरूका लागि कसले शासन गरिरहेको छ भन्नेले कुनै अर्थ राख्दैन, हामीलाई मुद्रास्फीति नियन्त्रण गर्न सक्ने सरकारको आवश्यकता छ ।” पहिलोपटक मतदाता बन्नुभएकी मनोविज्ञानकी २२ वर्षीया छात्रा हलिमा शफिकले मतदानको महत्त्वमा विश्वास गरेको बताउनुभयो ।

“म लोकतन्त्रमा विश्वास गर्छु, म पाकिस्तानमा केटीहरूका लागि सुरक्षित बनाउन सक्ने सरकार चाहन्छु”, उहाँले भन्नुभयो । मध्य सहर मुल्तानमा आयशा बिबीले आगामी सरकारले ग्रामीण महिलाहरूका लागि धेरै स्कूल उपलब्ध गराउनुपर्ने बताउनुभयो । “हामी पैदल र फेरि ट्र्याक्टर ट्रेलरमा चढेर यहाँ आएका हौँ, यो अत्यन्त कठिन यात्रा थियो”, उहाँले भन्नुभयो । पहिला नै हिंसाबाट प्रभावित निर्वाचनको सुरक्षाका लागि छ लाख ५० हजारभन्दा धेरै सेना, अर्धसेना र प्रहरी परिचालित गरिएको थियो । निर्वाचन सुरक्षा विवरणहरूलाई लक्षित गरी दुई अलग–अलग आक्रमणमा कम्तीमा सात अधिकारीको मृत्यु भएको थियो ।

अधिकारीहरूले दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सानो विस्फोटमा दुई जना घाइते भएको बताएका छन् । बुधबार प्रान्तको उम्मेदवारहरूको कार्यालयबाहिर भएको दुई बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको र ३० भन्दा धेरै घाइते भएका थिए । इस्लामिक स्टेट समूहले केही घन्टापछि उक्त आक्रमण गरेको दाबी गरेको थियो ।

मोबाइल फोन बन्द गर्नु उचित भएको भन्दै गृह मन्त्रालयका एक प्रवक्ताले भन्नुभयो, “कानून र व्यवस्थाको अवस्था कायम राख्न र सम्भावित खतरासँग सामना गर्न सुरक्षा उपाय आवश्यक छ ।” विदेश मन्त्रालयले सुरक्षा उपायका रूपमा छिमेकी इरान र अफगानिस्तानसँगको भूमि सिमाना पनि बिहीबार सबै यातायातका लागि बन्द गरिने बताएको छ । विश्वको पाँचौँ सबैभन्दा धेरै जनसङ्ख्या अर्थात २४ करोड मानिसको आणविक हतियारयुक्त मुलुकमा निर्वाचनको आँकडा अचम्मको छ ।

निर्वाचनमा करिब १८ हजार उम्मेदवार राष्ट्रिय र चार प्रान्तीय विधानसभाका सिटहरूका लागि उठेका छन् । यसमा दुई सय २६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ । अतिरिक्त ७० सिट महिला र अल्पसङ्ख्यकहरूका लागि आरक्षित छन् । क्षेत्रीय संसद्हरूमा सात सय ४९ सिट छन् । बिहीबारको निर्वाचनको परिवेश सन् २०१८ को निर्वाचनजस्तै छ तर पासा पल्टिएको छ । सन् २०१८ को निर्वाचनमा भ्रष्टाचारका लागि दोषी ठहरिएका कारण शरिफलाई निर्वाचनमा उम्मेदवारी दिन अयोग्य घोषित गरिएको थियो र खान सेनाको समर्थन र वास्तविक समर्थनका साथ सत्तामा आउनुभएको थियो । बिहीबार लाहोरको एक विद्यालयमा आफ्नो मतदान गर्दा शरिफले शासन गर्नका लागि सेनासँग कुनै सम्झौता गरेको कुरालाई अस्वीकार गर्नुभयो । “वास्तवमा मलाई सेनाबाट कुनै पनि समस्या छैन”, उहाँले भन्नुभयो ।

मतदान समूह ग्यालप पाकिस्तानका कार्यकारी निर्देशक बिलाल गिलानीले पाकिस्तानको निर्वाचनको इतिहास धाँधलीको आरोपले भरिएको तर पक्षपातपूर्ण पनि रहेको बताउनुभयो । “यो एक व्यवस्थित लोकतन्त्र हो जसलाई सेनाले चलाउँछ”, उहाँले भन्नुभयो । यसअघिको निर्वाचनविपरीत यस निर्वाचनमा विपक्षी दलको नाम मतपत्रबाट हटाइँदा पिटिआईले चयन गरेका उम्मेदवारहरूले निर्दलीयका रूपमा निर्वाचन लड्न बाध्य हुनुपरेको छ । सन् १९९२ को विश्वकपमा पाकिस्तानलाई जिताउने पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर खानलाई गत साता देशद्रोह, भ्रष्टाचार र अवैध विवाहका लागि लामो कारागार सुनाइएको थियो ।

खानलाई अदियाला कारागारबाट हुलाक मतपत्र पठाउन अनुमति दिइएको पिटिआईका एक अधिकारीले बताउनुभएको छ । विश्लेषकहरूले चरित्र हत्याले पिटिआईले चयन गरेका उम्मेदवार अझै पनि बिहीबारको मतदानमा निर्णायक साबित हुनसक्छन् भन्नेमा सेना कति चिन्तित छ भन्ने पत्ता लागेको बताएका छन् । यदि शरिफले सत्तारूढ बहुमत जित्नुभएन भने सम्भवतः उहाँले एक वा धेरै साना सहयोगीहरूसँग गठबन्धनमार्फत सत्ता सम्हाल्नुहुनेछ ।

यसमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) पनि सामेल छ । पिपिपी अहिले बिलावल भुट्टो जर्दारीको नेतृत्वमा परिवारले चलाएको अर्को वंश हो । पर्यवेक्षकहरूका अनुसार जसले जिते पनि उसले अर्थतन्त्र चकनाचुर भएको गहिरोसँग विभाजित मुलुकमाथि कब्जा गर्नेछ । पाकिस्तानमा मुद्रास्फीति करिब ३० प्रतिशतको हाराहारीमा छ । पछिल्लो तीन वर्षदेखि पाकिस्तानी मुद्राको लगातार अवमूल्यन भइरहेको छ र भुक्तानी सन्तुलन घाटाले आयात रोकिँदा औद्योगिक विकास गम्भीररूपमा प्रभावित भइरहेको छ ।

आइतबार गायिका चौहानले दरबार मार्गको मन्नत प्यालेसमा भव्य रुपमा प्रस्तुती दिने

काठमाडौँ । सुन्दरी गायिका एलिना चौहान दरबार मार्गमा गुञ्जिने भएकी छिन् । भ्यालेन्टाइन डेको अवसर पारेर एलिना यही माघ २८ गतेका दिन दरबार मार्गको मन्नत प्यालेसमा गुग्जिने भएकी हुन् । कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका गीतहरु गाउनेछिन् ।

गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ व्याण्डको पनि प्रस्तुती रहनेछ । प्रणय दिवसको पूर्व सन्ध्यामा सदा झै नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्द्यै मन्नत प्यालेसले भव्य रुपमा सांगीतिक साँझको आयोजना गरेको हो ।

काय{क्रम माघ २८ गते साँझ ७ बजेदेखि राती साडे १ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका गीतहरु गाउनेछिन् ।

अल्जेरियामा हेलिकोप्टर दुर्घटनाः ३ जना सैनिकको मृत्यु

अल्जेरियन वायुसेनाको हेलिकोप्टर बुधबार राति मध्य एल मेनिया प्रान्तमा दुर्घटना हुँदा त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।

सेनाको विज्ञप्तिमा जनाइए अनुसार एमआई-१७१ हेलिकप्टर एल मेनिया विमानस्थल नजिकै नजिकै राति प्रशिक्षण सञ्चालनको क्रममा दुर्घटना भएको थियो । अल्जेरियाका सेना प्रमुख सेड चेन्ग्रिहाले दुर्घटनाको छानबिन अगाडि बढेको जानकारी दिनु भएको छ ।

रोकिएन बिपी प्रतिष्ठानको आन्दोलन,बिरामी र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी मारमा

धरान, २५ माघ : उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन ।

आन्दोलन जारी रहँदा उपचारका लागि आउने बिरामी र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी मारमा परिरहेका छन् । उच्च अदालतले बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खोलिदिएको थियो । तर आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले आज दिउँसो संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यकारिणी परिषद् बैठकबाट बढुवा प्रक्रियाको अन्तर्वार्ता तालिका स्वीकृत नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा प्रल्हाद कार्कीले अदालतको फैसलालाई आफूले सर्वमान्य ठानेका बताउनुभयो । उहाँले तत्काल यसको समाधान गर्न शिक्षक तथा कर्मचारीलाई अपिल गरिएको बताउनुभयो । तर आन्दोलनरत पक्षले भने विश्वस्त हुन नसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले विगतमा पनि प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको तर कार्यान्वयन हुन नसकेकाले फेरि पनि प्रक्रिया अगाडि बढ्नेमा आशङ्का लागेकाले आन्दोलन जारी राख्नु परेको बताउनुभयो ।

कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले आन्दोलनमा सहभागीलाई प्रतिशोध साँधेर कारबाही नगर्ने प्रतिबद्धता पनि आउनुपर्ने बताउनुभयो । अदालतको आदेशपछि आज आन्दोलनरत पक्षबीच दिनभर आन्दोलन रोक्ने कि अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो । छलफलपछि आन्दोलन जारी राख्ने निर्णय भएको हो ।

आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि नै ठप्प भएको र आफूहरुको भविष्य अन्योलतातर्फ धकेलिएको भन्दै गत शुक्रबारदेखि प्रतिष्ठानको उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेका विद्यार्थीले अदालतको फैसला र निमित्त उपकुलपति कार्कीले जनाउनुभएको सहमतिका आधारमा शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओम शान्ति रजकले शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जबसम्म शैक्षिक गतिविधि सञ्चालन हँुदैन तबसम्म आफूहरुको अनशन जारी रहने जानकारी दिनुभयो ।

बढुवा प्रक्रियाविरुद्ध परेको मुद्दामा न्यायाधीश विपुल न्यौपाने र सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार बढुवासम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको ठहर गरेको थियोे । उक्त इजलासले प्रचलित कानुन बमोजिमको मापदण्ड एवं प्रक्रिया पूरा गरेर नियमित एवं आवधिकरुपमा गरिने आन्तरिम बढुवासम्बन्धी कारबाहीलाई रोक्न सुविधा सन्तुलनको दृष्टिकोणले उपयुक्त नहुने जनाएको छ ।

प्रतिष्ठानको नियमावली २०५५ को नियम १२.३ ले प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीको बढुवासम्बन्धी अधिकार उपकुलपतिको अध्यक्षतामा गठित छनोट समितिलाई दिएको देखिएको पनि आदेशमा उल्लेख छ । यद्यपि, अदालतले अन्तरिम बढुवा, स्तर वृद्धिबाहेक रिक्त रहेको दरबन्दीमा सुरु भर्ना वा स्थायी नियुक्ती गर्दा प्रचिलत ऐन, नियमावली, स्वीकृत नीति, मापदण्ड एवं लोकसेवा आयोगको सामान्य सिद्धान्त विपरीत हुने गरी तथा लोकसेवा आयोगको सहभागिता नगराई नयाँ भर्ना वा नियुक्ती नगर्न, नगराउन मुद्दाको टु्ङ्गो नलागेसम्म अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा पुस २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् ।

घरेलु मदिरा ‘ब्रान्डिङ’ गरिने

काठमाडौँ, २५ माघ : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने बताउनुभएको छ ।आज उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवद्र्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताउनुभयो । ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । उहाँले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने समेत बताउनुभयो ।

मन्त्री रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ‘ब्रान्डिङ’ गर्ने नीति लिएको छ । सोही अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवर्द्धनसम्बन्धी मार्गदर्शन समेत प्रस्तुत गरिएको थियो ।

छलफलमा अर्थमन्त्री डा प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङकोसमेत उपस्थिति थियो । अर्थमन्त्री डा महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

कानुनमन्त्री धनराज गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्द्धनका लागि स्पष्ट कानुनप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो । छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थिति थियो ।

आपतकालीन उद्धार, उपचार र रेखदेखसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, २५ माघ : राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच दुर्घटनापछिको आपतकालीन उद्धार, उपचार र रेखदेखसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आज आयोजित एक समारोहकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा नेपाल सरकारको भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का सदस्यसचिव कृष्णराज पन्त र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपिएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सुरक्षित सडक र दुर्घटना न्यूनीकरण गर्दै जाने क्रममा दुर्घटना भई आइपर्ने आपतकालीन अवस्था, खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा प्रदायकहरु र कुरिनटारको ईच्छाकामनास्थित सशस्त्र प्रहरी बल नेपालको पृथ्वी राजमार्ग ट्रमा सेन्टरबीच चिकित्सकीय सेवा सम्प्रेषण गर्न दुर्घटनापछिको आपतकालीन उद्धार, उपचार तथा रेखरेखसम्बन्धी सम्झौता गरिएको हो ।

सो कार्यका लागि आवद्धताका लागि परामर्शदाताहरुले तयार गरेको उक्त नमुनागत प्रणाली कार्यान्वयमा ल्याई परीक्षण गर्न सशस्त्र प्रहरी बल नेपालको सहयोग तथा कार्यान्वयनका लागि समझादारी पत्रमा हस्ताक्षर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

योजना सञ्चालन पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्वार, घाइतेहरुको स्थलगतरुपमै उपचार गरिनेछ । यसमार्फत स्थानीय सबै स्वास्थ्य संस्थामा ट्रमासम्बन्धी तालिम एवं मेडिकल सामग्री तथा उपकरणसमेत थप हुने जनाइएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दुर्घटनामा परेका घाइते तथा बिरामीलाई तत्काल उपचार सेवा प्रदान गर्नका लागि पृथ्वी राजमार्ग ट्रमा सेन्टर स्थापना भई कार्यसञ्चालन हुँदै आइरहेको जानकारी दिनुभयो ।

उहाँले सडक दुर्घटना प्रतिकार्यलाई प्रभावकारी बनाइ बिरामी तथा घाइतेको जीवन रक्षा, ट्रमा सेन्टरको भौतिक संरचना र मानव संसाधनको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएनएको स्पोर्ट्स टुरिजम सम्मेलन सम्पन्न, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र पर्यटन राज्यमन्त्रीको संदेश

कोरियाको राजधानी सउलमा फेब्रअरी ६, २०२४ मंगलबारका दिन 2024 Sports Global Tourism विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ। 2024 Sports Global Tourism नामको एक दिने सम्मेलन नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरण अनुसारको पर्यटक खेलकुदलाई सम्बद्र्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियमा आयोजना गरिएको थियो।

द. कोरियाको राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा भएको सो सम्मेलन नेपाली राजदूतावास दक्षिण कोरिया, गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल एनआरएन फाउण्डेशन, एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घले र पूर्व आइसीसी सदस्य जमुना घले गुरुङद्वारा स्थापित-संचालित एमआइटी ग्रुपको एमआइटी फाउण्डेशन र नेपाली राजदूतावास दक्षिण कोरिया, कोरियाको हानयाङ्ग युनिभर्सिटीकोद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो। कार्यक्रमलाइ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) दक्षिण कोरियाले सहकर्ताको भूमिका निर्वाह गरेको थियो।

सम्मेलनलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाली ठकुरीले लिखित रुपमा दिनुहएको शुभकामना संदेश पढेर सुनाइएको थियो। कार्यक्रममा द. कोरियाका लागि नेपाली महामहिम राजदूत डा. ज्योती प्याकुरेल र एनआरएनए आइसीसीका सल्लाहकार तथा अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका अवैतनिक महावाणिज्यदूत एसी शेर्पाको समुपस्थिति रहेको थियो।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो शुभकामना सन्देशमा अपार सम्भावना बोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चासो र सोचसहितको सम्मेलन गरेकोमा खुसी व्यक्त गर्दै विश्वमा एक सुन्दर पहिचान बोकेको नेपालसँग एक अर्को महत्वपूर्ण आर्थिक र समृद्धिको आधर खेलकुद पर्यटनको सम्मभावना रहेको उल्लेख गर्नुभएको छ। साथै उहाँले नेपाल राष्ट्रको उन्नतिको लागि खेलकुद पर्यटनको अपार सम्भावनालाई सदुपयोग गर्ने हाम्रो यात्रामा यो सम्मेलन एउटा महत्वपूर्ण कोसेढुङ्र्गा सावित हुनेछ समेत भन्नु भएको छ।

उहाँले खेल क्षेत्रको व्यापकता खेलमा मात्रै नभएर देशको आर्थिक, सामाजिक र संस्कृतिक विकास र उन्नतिमा पनि उत्तिनै महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई नेपाल जस्तो अपार सुन्दरतासँग जोडेर लग्न सकिने भएपनि अझै सुरुवात गर्न नसकिएको समेत उल्लेख गर्नुभएको छ।

सम्मेलनलाइ नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले लिखित रुपमा शुभकामना दिँदै दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुदको क्षेत्र र संस्कृति तथा पर्यटन क्षेत्रमा पनि अभूतपूर्व विकास गरेको उल्लेख गर्नुभएको छ। नेपालीले त्यसबाट धेरै सिक्न सकिने बताउँदै नेपालमा पनि अथाह पर्यटकीय खेलको सम्मभावना बोकेकोले यस विषयमा सम्मेलन गरेकोमा आयोजकलाई धन्यबाद समेत दिनुभएको छ।

नेपालकी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाली ठकुरीले सम्मेलन आफ्नो लिखित संदेश दिनुमात्र भएन स्वयं उपस्थित हुनुभएको थियो। उहाँले सरोकारवाला पक्षका रुपमासँगै बसेर छलफल गर्न पाउँदा आफू निकै खुशी भएको बताउनुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव कृष्णकुमारी श्रेष्ठले सन २००८ को १५ औं आवधिक नीति तथा कार्यक्रममा नेपालको मुख्य अर्थिक आधारका रुपमा पर्यटनलाई पनि मानिएको र त्यसमा खेलक्षेत्र जोड्दा थप बिलयो हुने विश्वास रहेको बताउनुभयो।

सम्मेलनका मुख्य वक्ता गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक अनि ग्लोबल एनआरएन फाउण्डेसनका संरक्षक तथा डा. शेष घले र एनआरएनएकी पूर्व आइसीसी सदस्य जमुना घले गुरुङद्वारा स्थापित एमआइटी ग्रुपको एमआइटी फाउण्डेशनका को-फाउण्डर डा. शेष घलेले नेपाल जस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकासका लागि पहिलो कुरा उचित नीति-नियम अख्तियार गर्ने, त्यसपछि पर्यटन क्षेत्रका क्षमतावान तथा जानकार मान्छे भर्ति गर्ने र विश्वभरीका पर्यटनसँग सम्बद्ध ख्यातिप्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) तथा ग्लोबल एनआरएन फाउण्डेसन समेतका अध्यक्ष विनोद कुवरले सम्मेलनको मुख्य उद्देश्य नै पर्यटनमा खेलक्षेत्र जोडेर आर्थिक, सामाजिक र संस्कृतिक क्षेत्रको उन्नति गरेर नेपाललाई समृद्धिका साथै विश्वमा थप परिचय बनाउनु रहेको बताउनु भयो।

उहाँले हिमालयमा गल्फ, प्याराग्लाइडिङ, ह्वाइट वाटर र्फ्टीङ, साहसिक खेलहरु लगायतका खेलहरु खेलेर विश्वभरबाट पर्यटक भित्र्याउन सकिने धारणा राख्नुभयो। हिमाली स्वर्गको रुपमा विश्मा परिचित नेपालका हिामाली तथा पहाडी क्षेत्रमा अनेकन खेलहरु खेल्न सकिने कुरा व्यक्त गर्नुभयो।

सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आयोजकलाई धन्यवाद दिँदै नेपाल बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको मुलुक भएको र पर्यटन खेलकुदमा पनि जोड दिनुभएको थियो।

सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्ष डा. कि जेओङ लीले खेलकुद पर्यटनको लागि निकै नै सम्भावना भएको नेपालको बारेमा आफ्नो विश्वविद्यालयमा सम्मेलन गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो। खेल र पर्यटन क्षेत्रबीच आन्योन्याश्रीत सम्बन्ध हुने भएकाले त्यसको उजागर गर्न सम्मेलन सफल हुने विश्वास लिएको बताउनुभयो।

हान्याङ विश्वविद्यालयको कलेज अफ पर्फमिङ अर्टस एण्ड स्पोर्टसका डिन प्राध्यापक सेओङ नो लीले केभिड-१९ पछि विश्वमा आर्थिक, सामाजिक र संस्कृतिक हरेक हिसाबले परिवर्तन भएको परिवेशमा मानवजीवनलाई त्यही ढंगले अगाडी बढाउनु पर्ने धारणा राख्नुभयो।

त्यसैगरी हान्याङ विश्वविद्यालयको ग्लोबल हेल्थ एण्ड डेभलपमेन्टका अध्याक्ष डा.दोङउनहान, सिओल न्यास्नल युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा सोलुसन एक्स को.लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.सेवान चोई, एमआईटी ग्रुप पाउण्डेसनकी फाउण्डर जमुना गुरुङलगायतले खेलकुद पर्यटन सम्मेलनले आर्थिक, सामाजिक तथा संस्कृतिक क्षेत्रको बहुआयामिक विकासमा नयाँ दृष्टिकोणको विकास गरेको धारणा राख्नु भएको थियो।

सम्मेलनमा MIT Foundation की अध्यक्ष जमुना घले गुरुङ, एनआरएनए आइसीसीका उपाध्यक्षहरु भोमा लिम्बु, थर्क सेन, सचिव जुनु गुरुङ, प्रवक्ता प्रकाश धमला, युथ एम्बासडर दिपेश खत्री लगातय पदाधिकारीहरु, आइसीसी सदस्यहरु, एनआरएनए आइसीसीका सल्लाहकर तथा ३६० भ्यू रिसोर्ट एलएलसीका निर्देशक स्यामबहादुर तामाङ, एनआरएनए एनसीसी द. कोरियाका अध्यक्ष बिपिनकुमार गुरुङ र पदाधिकारीहरु, सेजोङ विश्वविद्यालयका डिपार्टमेन्ट अफ होटल एण्ड टूरिजम म्यानेजमेन्टका प्रोफेसर होयुङगोङ किम, डालिम् मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सोङ्गबु सोप, पुसानन्यास्नल युनिभर्सिटीका डिपार्टमेन्ट अफ स्पोट्स साइनसका प्रोफेसर डा.डेभि ओसुलिभान, हान्याङ विश्वविद्यालयका डिभिजन अफ स्पोर्टस इन्डस्ट्री एण्ड साइन्सका प्राध्यापक डा.सुङ मिनकिम लगायत संघ-संस्था र अन्य थुप्रै व्यक्तिहरु उपस्थिति हुनुहुन्थ्यो।

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन् ।

उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उनले मन्त्रालयहरूलाई निर्देशन दिए । “बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनुपर्छ ।”

बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्योलता देखिने गरेको थियो, अब त्यसो हुनहुँदैन ।”

पछिल्लो समय देशको अर्थतन्त्र सही बाटोमा आगाडि बढेको बताउँदै प्रधानमन्त्रीले भने, “निरन्तरको प्रयासपछि राजस्व सङ्कलन बढेको छ भने अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा भएका छन् ।”

पुँजीगत खर्च बढ्न नसक्नुका कारण पहिल्याएर आगामी दिनमा वित्तीय एवं मौद्रिक नीति तय हुनुपर्नेमा जोड दिँदै उनले भने, “राष्ट्रिय महत्व र प्राथमिकतामा आधारमा बजेट बनाऔँ । पुँजीगत खर्च किन बढ्न सकेको छैन, त्यसको गम्भीर समीक्षा गरौँ र बजेट बनाऔँ ।”

सो अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महतले माग र सामथ्र्यबीच विरोधाभास भएको स्थितिमा सन्तुलित बजेट आवश्यक पर्ने बताए । विगत वर्षको तुलनामा राजस्व सङ्कलनमा कमी नआएको उल्लेख गर्दै उनले भने, “राजस्व १० प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रियस्तरमा यसलाई राम्रो प्रगति मानिन्छ ।”

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बजेटका स्रोतहरू राजस्व, अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणको अवस्थाबारे जानकारी गराएका थिए । छलफलमा विभिन्न मन्त्रालयका मन्त्रीहरू एवं सचिवहरूको सहभागिता थियो ।

सिले पुटिनलाई भन्नुभयो– चीन र रुसले हस्तक्षेपको विरोध गर्नुपर्छ

चीनका राष्ट्रपति सि जिनपिङले बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुवै देशले ‘बाहिरी शक्तिहरू’ को हस्तक्षेपको विरोध गर्नुपर्ने बताउनुभएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बताएको छ ।

नयाँ चन्द्र वर्षको अवसरमा दुवै नेताबीचको टेलिफोन कुराकानीमा राष्ट्रपति सिले उक्त कुरा बताउनुभएको हो । बेइजिङ र मस्को कट्टर साझेदार हुन् र छिमेकी युक्रेनमा रुसको आक्रमणलाई लिएर धेरै मुलुकले विरोध गरे पनि उनीहरूले आफ्नो सम्बन्धलाई सुदृढ बनाएका छन् ।

दुवै पक्षले उच्चस्तरीय भ्रमणहरू र संवादको निरन्तर प्रवाहलाई कायम राखेका छन् र उनीहरूबीचको व्यापार सन् २०२३ मा कीर्तिमानी उचाइमा पुगेको छ ।

बिहीबार फोन वार्तामा सिले दुवै मुलुकले रणनीतिकरूपमा नजिकबाट सहयोग गर्नुपर्ने, आ–आफ्ना मुलुकको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्नुपर्ने र बाहिरी शक्तिहरूको आन्तरिक मामिलामा हस्तक्षेपहरूको दृढताका साथ विरोध गनुपर्ने बताउनुभएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले सिसँग चीन र रुसबीचको सम्बन्ध ‘अभूतपूर्वरूपमा उच्चस्तर’ मा रहेको बताउनुभएको क्रेमलिनको विज्ञप्तिमा उल्लेख छ । बेइजिङले युक्रेन युद्धमा आफू तटस्थ रहेको जोड दिँदै युद्धमा युक्रेनका सहयोगीहरूबाट आफ्नो अडानका लागि आलोचना गरेको छ ।

क्रेमलिनको विज्ञप्तिमा भनिएको छ, “एसिया–प्रशान्त क्षेत्रको स्थितिमाथिको छलफलमा रुसी राष्ट्रपतिले ताइवान मुद्दामा आफ्नो सैद्धान्तिक स्थिति पुष्टि गर्नुभयो, त्यो ‘एक चीन नीतिको समर्थन गर्नु’ हो ।”

सिसिटिभीको रिपोर्टअनुसार चिनियाँ राष्ट्रपति सिले चीन र रुसले ‘एकसाथ धेरै आँधीबेहरीको सामना गरेको’ बताउनुभयो । “अगाडि हेर्दा चीन–रुस सम्बन्धले विकासका नयाँ अवसरहरूको सामना गरिरहेको छ”, उहाँले भन्नुभयो ।

‘सुशासनको अभावमा विकास हुन सकेन’ – गृहमन्त्री श्रेष्ठ

महोत्तरी, २५ माघ स् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभावमा मुलुकले विकासको गति लिन नसकेको बताउनुभएको छ ।

महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशिला परिवारको २१औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार निर्मम तरिकाले प्रस्तुत भएको बताउनुभयो ।

“मुलुकको विकासको मुख्य बाधक भनेकै भ्रष्टाचार र कुशासनको जालो हो, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “यसविरुद्ध सरकारले काम थालेपछि जालीहरुका आँगनमा कोकोहोलो मच्चिएको छ । त्यसैले पछिल्ला केही दिनयता जाली तमसुकको लुट मच्चाउने अनुचित लाभ लिने ‘मिटरब्याजी’, सरकारी कार्यालयमा बिचौलिया बनेर कमाउ धन्दा चलाउनेलाई कारबाहीको दायरमा ल्याइन्छ ।”
आधारशिला श्रमजीवी जनताको आस्थाको केन्द्र भएको हुँदा यो ठाउँबाट सामाजिक फट्याइँ, धुर्त्याइँ र जालझेलविरुद्ध सम्झौताविहीन आन्दोलनको नेतृत्वको अपेक्षा सर्वसाधारणले राखेका उहाँले उल्लेख गर्नुभयो ।

“सरकार मिटरब्याजी, भ्रष्टाचारी र कुशासनविरुद्ध परिणाममुखी काममा लागेको छ,” आधाशिला परिवारका मुख्य संरक्षकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “पछिल्लो पटक ठूला अनियमितताका ‘फाइल’ खोलिँदै गएपछि जालझेल गर्नेहरू सरकारका कामलाई निष्प्रभावी बनाउन उद्यत् छन् तर सरकारले भ्रष्टाचारविरुद्धको कामलाई परिणाममा पु¥याएर छाड्नेछ ।”

आधारशिलाको २१औँ वार्षिकोत्सव समारोहमा यस परिवारका संस्थापकमध्येका एक पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सहभागीलाई स्वागत गर्नुभएको थियो । समारोह आधारशिला परिवारका अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो ।

पोखरामा ‘नेपाल साहित्य महोत्सव’हुँदै, अर्थमन्त्री, पर्यटनमन्त्री लगायतको सहभागिता रहने

गण्डकी, २५ माघ : एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आगामी फागुन ३ देखि ७ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ । बुकर्वम फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो ।

महोत्सवमा देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकलगायत विशिष्ट व्यक्ति सहभागी हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा ५५ भन्दा बढी छलफल सत्र, साङ्गीतिक साँझलगायत विविध प्रस्तुति राखिएको आयोजक संस्थाका सदस्य केशवशरण लामिछानेले बताउनुभयो ।

महोत्सवका अवसरमा ‘वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू’ पुस्तक विमोचन तथा कार्टुन प्रदर्शनी, ‘गोर्खा वुमन ः एन इको इन द स्टोरी’ तस्बिर प्रदर्शनी पनि आयोजना गरिएको उहाँको भनाइ छ । विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस’का लेखक काई बर्डको पनि महोत्सवमा सहभागिता रहने जनाइएको छ । उक्त पुस्तकले विश्वप्रसिद्ध पुलित्जर पुरस्कारसमेत जितेको थियो ।

महोत्सवमा प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि सहभागी हुने लामिछानेले जानकारी दिनुभयो । समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि महोत्सवमा आउने उहाँले बताउनुभयो । महोत्सवमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिनहुनेछ ।

यस्तै पत्रकार विजयकुमार, सांसद एवं अर्थशास्त्री डा स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडालगायतको सहभागिता रहनेछ ।

यसैगरी अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वअर्थमन्त्री वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । नेता सिके राउत, लेखक खगेन्द्र सङ्ग्रौला, प्रा डा कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री बिमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, प्रा कुसुम शाक्य, नेत्री समीक्षा बाँस्कोटालगायतको पनि सहभागिता रहनेछ ।

गायक बद्री पङ्गेनी, गजलकार एवं लेखक शीतल कादम्बिनी, कवि डा नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिता पनि रहने आयोजकले जनाएको छ ।

महोत्सवमा हरेक दिन सांङ्गीतिक प्रस्तुति रहनेछन् । कुटुम्ब ब्यान्ड, डा ध्रुवेशचन्द्र रेग्मी र उहाँको समूह, डा सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उहाँको द ट्राभलिङ ब्यान्डआदि समूहको साङ्गीतिक प्रस्तुति रहनेछ ।

महोत्सवको पहिलो दिन फागुन ३ मा दिउँसो २ः३० बजेदेखि उद्घाटन सत्र सञ्चालन हुने आयोजकले जनाएको छ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत्प्रवचनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । महोत्सवमा फागुन ४ देखि ७ गतेसम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुनेछन् । महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ ।

कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजक संस्थाका सदस्य भरत कोइरालाले बताउनुभयो । पोखरा र नेपाल साहित्य महोत्सव एक अर्काका पर्याय बनिसकेको उहाँको भनाइ छ । महोत्सवले पोखरालाई सभ्य एवं सुसंस्कृत सहरका रुपमा चिनाउँदै लगेको कोइरालले बताउनुभयो ।

सन् २०११ मा ललितुपरको झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको उक्त महोत्सव एघारौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यताकासाथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल साहित्य महोत्सवका निर्देशक नीरज भारीले बताउनुभयो ।

महोत्सवमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उहाँको भनाइ छ । सचेत र सुसंस्कृत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने निर्देशक भारीले बताउनुभयो ।

अमेरिकामा बसेर गीत लेखिरहेका नवराज

गण्डकी । सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ । उनी भन्छन् “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो सिर्जनाकर्मको धरातल त्यही हो जहाँ म जन्मे, हुर्के ।” पढाइ र रोजगारीका लागि १० वर्षअघि अमेरिका छिरेका पन्तले सिर्जनाको लत पनि सँगसँगै लिएर गए ।

प्रवासिनुअगावै उनले लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’लगायत चर्चित गीतमा शब्द रचेका थिए । विसं २०६८ मा सार्वजनिक उक्त गीत नै पन्तले लेखेको पहिलो गीत हो । यसमा वसन्त थापाले सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले स्वर दिएका छन् ।

सोहीताका चर्चा कमाएको लोकदोहोरी गीत ‘मायालुको सहरमा’ पनि पन्तकै सिर्जना हो । वसन्त थापाको सङ्गीतमा गणेश पौडेल र पूर्णकला बिसीले गाएको गीतले पनि व्यावसायिक सफलता पायो । ‘डाँडै फुर्के सल्लो’ र ‘मायालुको सहर’बाट भर्खर गीतकारका रूपमा उदाएका बेला परिस्थितिवश पन्तले देश छाड्नुपर्यो ।

पन्त, अमेरिका पुगेपछि पनि गीत सिर्जनाबाट भने टाढिनुभएन् । विसं २०७५ जेठतिरको कुरा हो । पन्त बाल्टीमोरस्थित एक कम्पनीमा काम गर्दै थिए । त्यही बेला गायक एवं सङ्गीतकार वसन्त थापाले पन्तसँग नयाँ गीत मागे । आफ्ना सबैभन्दा श्रद्धायोग्य सङ्गीतकारले भनेपछि गीत नलेख्नु पनि कसरी ! पन्त केहीबेर घोत्लिए । छिनभरमै फुर्यो ‘सालको पातको टपरी…’।

“गुन्गुनाउँदै काम गर्दै थिएँ, एक्कासी गीतको थेगो फुर्यो । कागजको चिर्पेटोमा शब्द उतारेँ”, पन्तले भने, “कामबाट कोठामा फर्केपछि गीतलाई साफी गरेर सङ्गीत भर्न वसन्त दाइलाई पठाएँ, पहिले थेगो लेखेपछि बल्ल ‘सालको पातको टपरी…’ को धुन तयार भएको थियो ।” पराइ भूमिमा बसेर लेखेको त्यही गीतले पन्तलाई गीतकारका रूपमा थप उचाइ दियो ।

गीतकार पन्तको शब्द रचना, सङ्गीतकार वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध उक्त गीत नेपाली लोकसङ्गीतमा इतिहास रच्न सफल गीत हो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको लोकदोहोरी गीतमा मानिन्छ । अहिलेसम्म उक्त गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा नौ करोड २० लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ ।

प्रायः गीतमा रचनाकारबारे उतिसाह्रो चासो नलिने र गीतकार आझेलेमा पर्ने प्रवृत्तिबीच ‘सालको पातको टपरी’ सार्वजनिक हुँदा गीतकार पन्तका विषयमा सङ्गीतवृत्तमा पनि उत्तिकै चर्चा चल्यो । उक्त गीत सफल हुनुमा शब्द, सङ्गीत र स्वर गरी तीनै पक्षको भूमिका रहेको भन्दै प्रशंसा भएको थियो ।

“मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढावलाई मैले कथानक बनाएर गीतमा उतारेँ । वसन्त दाइले जीवन्त सङ्गीत दिनुभयो । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीजस्ता मुर्धन्य गायकगायिकाको स्वरले गीत सबैको मनप्रिय बन्यो”, गीतकार पन्तले भने । गीतकारका रूपमा पन्तले मात्र नभएर सङ्गीतकार र गायकगायिकाले पनि पटकपटक सामना गरिरहेको प्रश्न हो, ‘सालको पातको टपरी’ जत्तिकै अर्को गीत कहिले आउँछ ?

“सालको पातकै टिम मिलेर नयाँ गीतमा काम गरिरहेका छौँ, नयाँ प्रयोग गर्न खोजेका छौँ, हेरौँ कति सफल भइन्छ”, गीतकार पन्तले भने, “कुनै गीत सर्वाधिक चलेपछि अवश्य पनि त्यसपछिका गीतमा काम गर्दा कुनैपनि सर्जक र गायकगायिकालाई अझ राम्रो गर्न मनोवैज्ञानिक दबाब त हुन्छ नै, त्यो मैले पनि महसुस गरेको छु ।” ‘सालको पातको टपरी’ लेख्दा पनि यति सफल होला भनेर आफूले नसोचेको उनले बताए ।

पन्तको शब्द, वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा आउन लागेको नयाँ गीत हो ‘माहुरी भिरैमा’ । शब्द र भाकाले पूर्णता पाइसकेको र अहिले काठमाडौँको स्टुडियोमा सङ्गीत संयोजनको काम भइरहेको पन्तले जानकारी दिए ।

बाल्टीमोरमा मेकानिकल इन्जिनियरिङ विषय पढिरहेका पन्तले आफूलाई बालापनदेखि नै गीतसङ्गीतमा अभिरुचि जागेको बताए । “सानो छँदा सुनेको बमबहादुर कार्कीको ‘नरोउनरोउ हे दुलही’बाट म असाध्यै प्रभावित भएको थिएँ । गाईगोरु, बाख्रा लिएर वनपाखा जाँदा, घाँसदाउरा गर्दा भगवान भण्डारी, विष्णु खत्रीलगायतका गीत धेरै सुन्थ्यौँ”, उनले भने ।

गायक तथा सङ्गीतकार वसन्त थापा, गायक कुलेन्द्र विश्वकर्मा, गीतकार प्रल्हाद सुवेदीलगायतसँगको सङ्गतले आफूलाई गीत लेखनमा प्रेरित गरेको उनले बताए । अग्रजको प्रेरणा, सिर्जनाप्रतिको कठोर मेहनत र निष्ठाका कारण गीत लेखनमा सफलता मिलेको हो ।

बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका पन्तले अमेरिका बसेर ‘सालको पातको टपरी’, ‘कुन्नी कसले लग्यो’, ‘पानपाते ठूली’, ‘एक्लो सिमल’ ‘रानी महल’, ‘आँखी गाजल’लगायत कैयन गीत रचना गरेका छन् । “कला र गीतसङ्गीतको सिमाना नहुनेरहेछ । न त कुनै भूगोलले सिर्जनाकर्म रोक्न नै सक्दोरहेछ”, ३४ वर्षीय पन्तले भने, “जिजीविषाले जहाँ पुगे पनि मेरो गीत लेखन र अरु सिर्जनाकर्मको जमिन भनेको त्यही गाउँघर र परिवेश हो ।”

कुनै घटना, विषय र परिवेशले आफूमा गीत लेखनको मनस्थिति तयार हुने गरेको पन्तले सुनाए । “काठमाडौँबाट घरको यात्रामा थिएँ, दमौली नजिक पुग्दा पारी पाखामा एक्लो रुख र घर देखेँ, त्यो दृश्यले मलाई उद्देलित बनायो, त्यसैलाई भावभूमि बनाएर गीत रचे ‘डाँडै फुर्के सल्लो’ जुन गीत एकदमै रुचाइयो पनि”, उनले भने ।

कङ्क्रिटको सहरमा बसेर पनि नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई शब्दमा टिप्न पन्त सिपालु छन् । उनी प्रकृतिको धुन र लोकका सुस्केरालाई सुटुक्क टिप्छन् र शब्दमा प्राण भर्छन् । चाहे त्यो पञ्चेबाजामा होस् या सुनिमाया भाकामै किन नहोस् । पन्तले गायक ईश्वर सिंहसँग मिलेर बागलुङको गलकोटमा प्रचलित मौलिक ‘सुनिमाया’ भाकामा गीत ल्याउन लागेको बताए ।

चलनचल्तीका लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेखेका छन् । पन्तको मूल सिर्जनाकर्म गीत लेखन हो । फुटकर रूपमा कविता, गीतलगायत साहित्यिक विधामा पनि कलम चलाउँछन् । “भौतिकरूपमा मेरो उपस्थिति जहाँ रहेपनि म सिर्जनात्मक दृष्टिले नेपालदेखि टाढा छैन, चाहेर पनि अब लोकसङ्गीतप्रतिको प्रेम र समर्पणबाट अलग हुन सक्दिनँ”, पन्तले भने ।

चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध

चितवन, २५ माघ : चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध स्थापना गरिएको हो । दुवै नगर प्रमुखले विभिन्न १० बुँदे अवधारणा पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गर्नु भएको हो ।

शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन पूर्वाधार, संस्कृती, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा आर्थिक सहयोगलगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो । अबधारणा पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको बृद्वि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् ।

उक्त समझदारी पाँच वर्षका लागि हुने छ । भरतपुर महानगरकी प्रमुख दाहालले जिल्ला भित्र पहिलो पटक भगिनी सम्बन्ध कायम गरिएको बताउनुभयो । भगिनी सम्बन्ध स्थापनासँगै माडीको विकासका लागि महानगरले सहयोग गर्ने उहाँले बताउनुभयो । माडी नगरपालिकाका प्रमुख महतोले माडीको सम्भावनालाई उजागर गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको उहाँको भनाइ थियो ।

जथाभावी फोहर फ्याँक्नेहरुबाट वीरगञ्ज महानगरले उठायो साढे २४ लाख जरिवाना

वीरगञ्ज (पर्सा), २५ माघ- जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ ।

वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो । ‘‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने स्थानीयहरुको प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भन्नुभयो, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएकोसमेत उहाँको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । सफा, सुन्दर वीरगञ्जको योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेको पनि उहाँले बताउनुभयो ।

विगतमा अस्तव्यस्त र दुर्गन्धित नगरकारुपमा परिचित वीरगञ्ज महानगर क्षेत्रलाई मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । बजेट अभावका कारण देखाउँदै सरसफाइका कर्मचारी हटाएपछि भने फेरि पुरानै अवस्थामा त फर्किने होइन भन्ने चिन्ता बढेको सरसफाइ प्रमुख मियाँको कथन छ ।

“सरसफाइका कर्मचारीले दैनिक सडक र नाला सफा गर्दा सडक चिटिक्क बनेको छ”, प्रमुख मियाँले भन्नुभयो, ‘‘तर केही दिनयता सरसफाइका कर्मचारी घट्दै गएका छन्, जसका कारण अपेक्षाकृतरुपमा सरसफाइको काम हुन सकेको छैन ।” स्थायी प्रकृतिका सरसफाइ कर्मचारीले अवकाश पाएका र ज्यालादारीका रुपमा राखिएकालाई बजेट अभावका कारण हटाउनुपरेको उहाँको भनाइ छ ।

जलवायु परिवर्तनको प्रभाव : पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि

पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् ।

आँधीबेहरी, खडेरी र डढेलोका कारण जलवायु परिवर्तनले सन् २०२३ मा कीर्तिमानी तापक्रम वृद्धि गरेको छ, जसले गर्दा यो सम्भवतः एक लाख वर्षयताकै सबैभन्दा तातो बर्ष भएको छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस) ले सन् २०२३ को फेब्रुअरीदेखि सन् २०२४ को जनवरीसम्म १९औं शताब्दीको उच्च रेकर्डभन्दा १.५२ डिग्री सेल्सियस बढी तापक्रम वृद्धि भएको पुष्टि गरेको छ ।

यो पेरिस जलवायु सम्झौताको महत्वपूर्ण १.५ डिग्री सेल्सियसको ‘अधिकतम तापमान सीमा’को गम्भीर पूर्वाभास हो, तर यसले दशकौंसम्म मापन गरिने सीमाको स्थायी उल्लङ्घनको सङ्केत नगर्ने वैज्ञानिकहरूले बताएका छन् ।

‘पोट्सडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का जोहान रकस्ट्रोमले भन्नुभयो, “हामी १.५ डिग्री सेल्सियसमा छुँदैछौं र हामी लागत, सामाजिक लागत र आर्थिक लागत देख्छौं।

“सन् २०२३ मा लामो समयसम्म तापक्रम १.५ डिग्री सेल्सियसभन्दा धेरै रहेको देखिएको छ र यसले हामीलाई गर्मीको लहर, खडेरी, बाढी, प्रबलित आँधीबेहरी, सम्पूर्ण विश्वमा पानीको अभावको सन्दर्भमा वास्तवमै नराम्रोसँग असर पु¥याउँछ । सन् २०२३ ले हामीलाई यही कुरा सिकाएको छ ।

हालैका महिनाहरूमा अमेजन क्षेत्रमा विनाशकारी खडेरी, दक्षिणी युरोपका केही भागहरूमा जाडोमा पनि तापक्रममा वृद्धि, दक्षिण अमेरिकामा घातक डढेलो र क्यालिफोर्नियामा उच्च वर्षाजस्ता पृथ्वीभरि चरम घटनाहरू भएका छन् ।

“यो स्पष्ट रूपमा मानवताका लागि चेतावनी हो । हामीले हस्ताक्षर गरेको १.५ डिग्री सेल्सियसको सीमामा हामी अपेक्षा गरेभन्दा बढी गतिमा अघि बढिरहेका छौं”, रकस्ट्रोमले एएफपीसँग भन्नुभयो, “यद्यपि, एल निनो समाप्त भएपछि तापक्रम केही घट्नेछ ।”

कोपर्निकसका अनुसार सन् १८५० देखि १९०० सम्मको जनवरीको औसतको अनुमानभन्दा १.६६ डिग्री सेल्सियस बढी तापक्रम रेकर्ड भएको उच्च मासिक तापक्रमको लगातार यो आठौं महिना हो ।

“सन् २०२४ को सुरुवात अर्को रेकर्ड तोड्ने महिनाको साथ भएको छ । यो रेकर्डमा सबैभन्दा न्यानो जनवरी मात्र होइन तर हामीले पूर्व–औद्योगिक सन्दर्भ अवधिभन्दा १.५ डिग्री सेल्सियस भन्दा बढीको १२ महिनाको अवधि पनि अनुभव गरेका छौं,” सीथ्रीएसका उपनिर्देशक सामन्था बर्गेसले भन्नुभयो ।

मुख्यतया जीवाश्म ईन्धनको जलनबाट हालैका वर्षहरूमा ग्रह–ताप उत्सर्जन वृद्धि भइरहेको छ । यो दशकमा तापक्रम लगभग आधाले घट्न आवश्यक छ । संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समिति (आईपीससिी)ले विश्व ३० को दशकको सुरुमा १.५ डिग्री सेल्सियसको तापक्रमले निकै प्रभावित बन्नेछ चेतावनी दिएको छ ।

इम्पेरियल कलेज लण्डनस्थित जलवायु विज्ञान र नीतिका प्राध्यापक जोरी रोगेल्जले एएफपीसँग भन्नुभयो, “धेरै तातो वर्षहरूको उत्तराधिकार प्रकृति र मानिसहरू दुवैका लागि नराम्रो समाचार हो जसले यी चरम वर्षहरूको प्रभाव महसुस गरिरहेका छन् ।”

उहाँले भन्नुभयो, “यदि विश्वव्यापी उत्सर्जनलाई तत्काल शून्यमा झारिएन भने विश्वले चाँडै नै पेरिस जलवायु सम्झौतामा निर्धारित सुरक्षा सीमाहरू पार गर्नेछ ।”

कोपर्निकसका अनुसार जनवरीमा उत्तर–पश्चिमी अफ्रिका, मध्यपूर्व र मध्य एसियाका साथै पूर्वी क्यानडा र दक्षिणी युरोपमा तापक्रम औसतभन्दा निकै माथि थियो ।

तर उत्तरी युरोप, पश्चिमी क्यानडा र संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा तापक्रम औसतभन्दा कम देखिएको थियो ।

संसारका केही भागहरूमा जनवरीमा असामान्य रूपमा बर्षाको अनुभव गरिरहँदा उत्तरी अमेरिका, हर्न अफ अफ्रिका र अरब प्रायद्वीपको अधिकांश भाग सुख्खा भएको थियो ।

गर्मी र खडेरीसँग जुधिरहेको चिलीमा सुख्खा मौसमका कारण लागेको डढेलो नियन्त्रणमा नआएको र अझै पनि खतरा कायम रहेको उहाँले बताउनुभयो ।

यो अवस्था फेब्रुअरीसम्म पनि जारी रहेको छ र शुक्रबारदेखि सुरु भएको डढेलोले तटीय भाल्पाराइसो क्षेत्रको छेउछाउमा व्यापक क्षति प्ुगेको छ । यहाँ डढेलोका कारण १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोपर्निकसका अनुसार दक्षिणी प्रशान्त महासागरको समुद्री सतहलाई तातो बनाउने एल निनो विषुवतीय प्रशान्त क्षेत्रमा कमजोर हुन थालेको छ ।

यसैबीच, समुद्री सतहको तापक्रमले पनि रेकर्ड तोड्ने क्रम जारी राखेको छ ।

रकस्ट्रोमले भन्नुभयो, “सन् २०२३ यस्तो वर्ष हो, जहाँ समुद्रको गतिशीलता निकै कमजोर भएको छ ।”

महासागरले ग्रहको ७० प्रतिशत भाग ओगटेको छ र औद्योगिक युगको सुरुवातदेखि नै मानव गतिविधिबाट कार्बन प्रदूषणबाट उत्पन्न अतिरिक्त तापको ९० प्रतिशत अवशोषित गरेर पृथ्वीको सतहलाई जीवित राखेको छ ।

संविधानमा निःशुल्क भनिएका स्वास्थ्य सुविधा सरकारले उपलब्ध गराउँछ : स्वास्थ्यमन्त्री बस्नेत

पाटन (ललितपुर), २५ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा निःशुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा निःशुल्क उपचार नपाउने भएर नागरिकको ज्यान जाने अवस्था हुनुहुँदैन भन्नुभएको छ । मन्त्री बस्नेतले संविधानले निःशुल्क भनेका स्वास्थ्य सुविधालाई नेपाल सरकारले उपलब्ध गराएको जानकारी पनि दिनुभयो ।

मानसिक स्वास्थ्य अस्पताल लगनखेलको किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ उद्घाटन समारोहमा मन्त्री बस्नेतले हरेक एक सय जनामा १० मानसिक रोगी भेटिने गरेको तथ्य पाइएको पनि उल्लेख गर्नुभयो । “बालबालिका र किशोरकिशोरीका लागि एकीकृतरूपमा छुट्टै युनिट खडा गरेर उपचार सेवा दिने उद्देश्यले यो सेवा सुरु गरेकामा हार्दिक आभार दिन चाहन्छु । सरकारले गर्नुपर्ने काम निजी साझेदार संस्था र विकासका साझेदार संस्थाबाट भएको छ ।

मानसिक रोगी बढ्नुका कारण पत्ता लगाएर त्यसलाई रोक्न ध्यान दिनुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो । समस्यामा परेका व्यक्तिले समयमा उपचार पाउने सुनिश्चितता छैन भन्ने साचेर पनि मानसिक रोग बढेको भन्ने पाइएकाले यसका लागि राज्य, सङ्घसंस्था र नागरिक सबै मिलेर समाधानको प्रयास सुरु गर्नुपर्छ भन्नुभयो । ललितपुर क्षेत्र नं २ का सांसद प्रेमबहादुर महर्जनले मानिसको जीवनमा हुने धेरै घटनाका कारण मानसिक रोगी बन्न पुगेकालाई समयमै उपचार गारनुपर्ने सुझाव दिनुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले मानसिक स्वास्थ्यलाई ख्याल राखेर बिरामीलाई सेवा पु¥याउनका लागि आवश्यक समन्वय र सहकार्य गर्ने बताउनुभयो । नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले नेपाल नर्वे कूटनीतिक सम्बन्धका बारेमा चर्चा गर्दै मानसिक स्वास्थ्य समस्या समाधानका लागि नेर्वे नेपाल सरकारसँग सहकार्यका साथ अगाडि बढ्ने बताउनुभयो ।

किशोरकिशोरी सञ्जाल मधेस प्रदेशकी सदस्य खुसी चौरासियाले प्रविधि र इन्टरनेटको अहिलेको समयमा किशोरकिशोरीको स्वास्थ्यलाई ध्यान दिएर गरिएको यो प्रयास अतिआवश्यक र महत्वपूर्ण कार्य भएको बताउनुभयो । सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले उत्पीडनमा परेका बालबालिका मनोचिकित्साको समस्या भएको बताउँदै किशोरकिशोरीका लागि सेवा प्रदान गर्ने अभिप्रायले छुट्टै युनिट खडा हुनु खुसीको कुरा हो भन्नुभयो ।

दक्षिणपश्चिम पाकिस्तानमा विस्फोट : दुई सुरक्षाकर्मीको मृत्यु आठ घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दिउँसो भएको विस्फोटमा कम्तीमा दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् ।

प्रान्तको खारान जिल्लाको लिजजय क्षेत्र नजिकै अर्धसैनिक बलको गाडीमा आक्रमण भएको सरकारी अधिकारीले सिन्ह्वालाई बताए । आम चुनावका लागि जिल्लामा रहेको मतदान केन्द्रको सुरक्षामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो ।

आक्रमणपछि उद्धार टोली प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।स्थानीय प्रहरीले सडक किनारमा इम्प्रोभाइज्ड विस्फोटक उपकरण राखिएको र रिमोट–नियन्त्रित उपकरणले विस्फोट गरेको बताएको छ ।समाचार तयार पार्दासम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

इयु र अमेरिकासँग युक्रेनको सहायतामाथि थप प्रयास गर्न स्कोल्जको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफल गर्न वासिङ्टन भ्रमण गर्नुअघि जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार युरोपेली सङ्घ (इयु) र अमेरिकासँग युद्धग्रस्त युक्रेनलाई सहायता आपूर्तिको प्रयासलाई तीव्र पार्न आग्रह गर्नुभएको छ ।

“हामीले मिलेर थप प्रयास गर्ने मार्ग खोज्नुपर्छ”, बर्लिनमा स्कोल्जले भन्नुभयो । उहाँले मस्कोविरुद्ध युद्धमा युरोप र अमेरिकाले किएभसँग गरेको प्रतिबद्धता ‘अझै पर्याप्त नभएको’ बताउनुभयो । स्कोल्जको प्रमुख सहयोगी अमेरिकाको भ्रमण यस्तो समयमा भएको छ जतिबेला बाइडेनद्वारा किएभका लागि प्रस्तावित ६० अर्ब डलरको सहायता प्याकेज रिपब्लिकन अराजकताका कारण सिनेटमा रोकिएको छ ।

इयुका नेताहरूले हङ्गेरीका नेता भिक्टर ओर्बनको महिनौँको विरोधलाई पराजित गर्दै गत साता युक्रेनका लागि ५० अर्ब युरो (५४ अर्ब डलर) को सहायतामा सहमति गरेका थिए । जर्मन नेता स्कोल्जले यसबाट वासिङ्टनमा प्याकेजलाई अगाडि बढाउने बाइडेनको प्रयासहरूमा सहयोग पुग्नसक्ने आशा व्यक्त गर्नुभएको छ ।

“जर्मनीले अत्यन्त ठूलो योगदान दिएको छ तर यो आफ्नै बलमा पर्याप्त हुनेछैन”, स्कोल्जले बिहीबार आफ्नो टिप्पणीमा भन्नुभयो, “अबको क्षण भनेको संयुक्तरूपमा युक्रेनलाई उसको रक्षा गर्ने अवसर दिनु प्रमुख आवश्यकता हो ।”

“एकै समयमा हामीले रुसी राष्ट्रपतिलाई उहाँ हाम्रो समर्थन कम हुने कुरामा भरोसा गर्न सक्नुहुन्न भनेर धेरै स्पष्ट सङ्केत पठाउनुपर्छ तर यो लामो समयसम्म चल्नेछ र यो धेरै ठूलो हुनेछ”, उहाँले भन्नुभयो । चान्सलर स्कोल्ज बिहीबार वासिङ्टनका लागि प्रस्थान गर्नुहुनेछ र शुक्रबार अमेरिकी राष्ट्रपति बाइडेनसँग छलफल गर्नुहुनेछ ।

छ महिनामा अवैध हातहतियारसहित १३४ पक्राउ

काठमाडौँ, २५ माघ : नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक छन् ।

प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाबाट १७ जना, कोशी प्रदेशबाट १८ जना, मधेस प्रदेशबाट २५ जना, बागमती प्रदेशबाट १३ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कर्णाली प्रदेशबाट १२ जना र सुदूरपश्चिम प्रदेशबाट १४ जना पक्राउ परेका छन् । यस अवधिमा अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन् ।

“अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । यसबाट हतियारधारी समूह निस्तेज बनेको छ”, प्रहरीले भनेको छ, “यसबाट मुलुकमा शान्ति सुरक्षा कायम राख्न सहज भएको छ । आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेका छन् ।”

प्रहरीले अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सक्रियता बढाएको उल्लेख गरेको छ ।

“नेपाल प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रणमा लिन सकिएको हो”, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले भन्नुभयो, “सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ । हतियारको जोखिमबारे सर्वसाधरणलाई चेतना जगाउन सफल भएपछि अवैध हतियार राखेका व्यक्तिहरूले समेत हतियार प्रहरीमा बुझाएका छन् ।”

विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको उहाँको भनाइ छ ।

सो अवधिमा पेस्तोल छ थान, रिभल्वर चार थान, कटुवा पेस्तोल १७ थान, बन्दुक ६ थान, भरुवा बन्दुक ८१ थान र एयर गन २ थान गरी जम्मा १ सय १६ थान अवैध हतियार बरामद भएका छन् । सो अवधिमा पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली बरामद भएको छ ।

बरामदमध्ये काठमाडौं उपत्यकाबाट सात थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेस प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र छ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली छन् । जसमा भरूवा बन्दुक र कटुवा पेस्तोलको सङ्ख्या अन्यको भन्दा बढी रहेको प्रहरीको भनाइ छ ।

तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिएको प्रहरीको भनाइ छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरिनै विशेष अभियान चलाएको प्रहरी नायव महानिरीक्षक ढकालले जानकारी दिनुभयो ।

अभियानको प्रभावले आम नागरिकबाट सूचना प्राप्त गर्न सहज भएको र यसबाट अवैध हातहतियार नियन्त्रण गर्न प्रहरीलाई सफलता मिलेको उहाँको भनाइ छ । नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा अनुसन्धान एवम् कारवाही हुने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले अवैध हतियार कतै लुकाइराखेको थाहा भएका उक्त सूचना नेपाल प्रहरीलाई उपलब्ध गराउन र अवैध हतियार बुझाउन अनुरोध गरेको छ । अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय छ ।

विगतमा राजनीति मुख्य विषय भएपनि अब जनताको सेवा नै प्रमुख लक्ष्य : राष्ट्रपति पौडेल

काठमाडौँ, २५ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताउनुभएको छ ।
मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दिगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र र वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिनेछ भन्नुभयो ।

राष्ट्रपति पौडेलले विगतमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ भन्नेमा विशेष जोड दिनुभयो । “समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान गर्दा भावी पुस्तालाई असल काम गर्न उत्प्रेरित गर्नेछ, असल कामका लागि मानिसहरुलाई उत्प्रेरित गर्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले स्वर्गीय मीनकुमारीलगायत उहाँको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गर्नुभयो ।
साथै प्रतिष्ठानले मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्र, शिक्षा, स्वास्थ्य तथा खेलकुदलगायत क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले ‘मीनकुमारी प्रजातन्त्र सेनानी सम्मान’ लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाल र ‘राष्ट्रिय खेलकुद पुरस्कार’ प्रकाश थापामगरलाई प्रदान गर्नुभयो ।

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ

बारा २५ माघ : नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा तत्कालै प्रहरीको टोली परिचालन गरी एकजनालाई नक्कली नोटसहित पक्राउ गरेपछि निजको वयानका आधारमा जिल्लाको विभिन्न ठाउँ र अन्य ठाउँबाट गरी चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिबाट ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिमकार्डसहित सात थान मोबाइलसमेत बरामद गरिएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो । पाँच तहमा नक्कली नोटको कारोबार भइरहेको जानकारी भएपछि प्रथम, दोस्रो, तेस्रो र चौथो तहसम्मका व्यक्तिलाई यो नक्कली नोट प्रकरणमा पक्राउ गर्न सफल भएको र चाँडै नै पाँचौँ तहका व्यक्तिलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । तीन लाख नक्कली नेपाली नोट लिनका लागि एक लाख सक्कली नेपाली नोट दिनुपर्ने पक्राउ परेका व्यक्तिको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

नक्कली नोट कारोबार गरेबापतमा पाँच प्रतिशतसम्मको कमिसन दिने गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले सुनाउनुभयो । नक्कली नोटको कारोबार गर्ने व्यक्ति खासगरी भीडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली पैसा प्रयोग गर्ने गरेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

भारतमा नक्कली रुपैयाँ छापेर नेपालको विभिन्न ठाउँमा कारोबार गर्ने गरेको हुँदा भारतीय प्रहरीहरूसँग पनि समन्वय, सहकार्य गरेर पैसा छाप्ने सञ्जालसम्म पुग्ने उपरीक्षक काफ्लेले दाबी गर्नुभयो । वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव नक्कली नेपाली नोटलाई नेपालमा साटासाट गर्ने गराउने नाइकेको रूपमा काम गर्दै आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

काठमाडौँ । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ ।

काठमाडौंमा आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् ।

नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ ।

कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिँदै यसले मानिस र प्रकृतिको भविष्यसमेत सुनिश्चित रहने धारणा व्यक्त गरे । साथै उनले दुई संस्थाबीचको यस सहकार्यले संयुक्त प्रयासलाई सार्थक तुल्याउने बताए ।

नेपाल स्थित आइएफआरसीका देशीय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले जलवायु सङ्कटको सामना गर्न जैविक विविधता र वन्यजन्तुको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै यसले भावी पुस्तालाई दिगो बनाउन महत्वपूर्ण हुने बताए ।

साथै उनले दुई संस्थाबीचको सहकार्य अन्य साझेदार निकायलाई सहयोगका लागि आह्वान गर्ने ठूलो अवसर भएको समेत उल्लेख गरे । नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले जलवायु परिवर्तले निम्त्याएका जोखिमलाई कम गर्न सामूहिक रुपमा मिलेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जलवायु परिवर्तले निम्त्याएका विपद्लाई न्यूनीकरण गर्न सोसाइटीले कार्ययोजना बनाइ काम गरिरहेको जानकारी दिए ।

डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीचको साझेदारी र संयुक्त विशेषज्ञताले नेपालमा भइरहेको जलवायु सङ्कट, उदीयमान जोखिम, र सामाजिक चुनौती सम्बोधन गर्न योगदान हुने विश्वास गरिएको छ ।

दुबै संस्थाले सरकार, साझेदार निकाय, विकास साझेदार र निजी क्षेत्रसँगको स्थानीय कार्य र सहयोगमार्फत जलवायु अनुकूलन रणनीतिमा प्रकृतिलार्ई एकीकृत गर्ने लक्ष्य राखेका छन् । डब्लुडब्लुएफ वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रका कार्यरत सन् १९६१ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो भने आइएफआरसी १९१ राष्ट्रिय समाजमार्फत एक करोड ६० लाख भन्दा बढी संकटासन्न जनतामा पुग्ने विश्वको ठूलो मानवीय सहायता सञ्जाल हो ।

नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ, २५ माघ : क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यसँगै अब क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र क्यानडा यस सिरिजको खेलमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रका छन् ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

तुलसीपुुर, २५ माघ : दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ । त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ ।

आफू सात महिना हुँदा बुबा सहिद भएपछि टुहुरो भएका रोल्पा सुनछहारीका पर्शुराम रोकाले विज्ञान विषय लिएर कक्षा १२ सम्म सोही विद्यालयमा पढ्नुभयो । “बुबा सहिद भएपछि टुहुरो हुनुभएका रोकालाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाउनुभयो । यसपछि सहिद स्कुलमा कक्षा ९ देखि पढ्न आउनुभयो । “मलाई यो विद्यालयका बारेमा थाहा थिएन, यहाँ बस्ने दिदीले भनेपछि मात्रै थाहा भयो र यहाँ आएँ”, उहाँले भन्नुभयो, “मैले रोल्पाबाटै कक्षा ८ पास गरे पनि यहाँ अङ्ग्रेजी माध्यम भएकाले पुनः ८ मा नै भर्ना भएर पढेँ ।”

यहाँ आएपछि बुबा, आमाको माया पाएजस्तो अनुभूति भएको उहाँले बताउनुभयो । शिक्षकलाई बुबाजस्तै, खाना पकाउने दिदीलाई आमा, बुबाजस्तै र त्यहाँ पढ्ने विद्यार्थीलाई दाजुभाइजस्तै लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “बुबा भनेको बुबा नै हो, बुबाको जस्तो माया त कहाँ पाइन्छ होला र ?”, उहाँले भन्नुभयो, “तर, यहाँ पाएपछि बुबाआमाको माया पाएजस्तै भएको छ, दाजुभाइसँग भेट भएको महसुस भएको छ ।”

यहाँ सबै सहिद, बेपत्ता, घाइतेका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उहाँले बताउनुभयो । त्यस्तै सोही विद्यालयमा द्वन्द्वपीडित अञ्जना दहितले पनि १२ पढी सक्नुभयो । उहाँले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्द्वपीडित अध्ययनरत विद्यार्थीबीच भावना साटासाट हुने गरेको बताउनुभयो । “पढाइ त छदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ”, उहाँले भन्नुभयो, “सबैका मनका कुरा सुन्दा खुसी लाग्छ ।” कोही सहिद परिवारका हुनुहुन्छ, कोही बेपत्ता त, कोही अपाङ्ग, घाइते परिवारका हुनुहुन्छ । उहाँहरु, हामीहरुबीच कुरा हुँदा मन हल्का हुन्छ । भावना साटासाट हुन्छ, यसले हामीलाई सुखद् अनुभूति गराउँछ ।

उहाँका बुबाले तीन÷चार वर्ष जनयुद्धका क्रममा जेल जीवन बिताउनुभएको थियो । उहाँहरु जस्तै अहिले विद्यालयमा छ सय ४५ द्वन्द्वपीडित आवासीय विद्यार्थी अध्ययनरत हुनुहुन्छ । विद्यालयमा शिशुकक्षादेखि कक्षा १२ सम्म पढाइ हुन्छ । विसं २०६६ मा जनकल्यान मावि दुधराससँग सहकार्य गरी उक्त विद्यालय सञ्चालनमा आएको हो । सोही विद्यालयमा आवासिय र शैक्षिक कार्यक्रमका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ । सोही विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक धनेश्वर पोख्रेलले बताउनुभयो । विसं २०७७ देखि सोही विद्यालयमा सिटिइभिटीअन्तर्गत तीन वर्षे सिभिल इन्जिनियरिङ पनि पढाइ भइरहेको छ ।
“विद्यालयको प्रकृति द्वन्द्वपीडित शिक्षा कार्यक्रमअन्तर्गत पर्ने भएकाले नीतिगत रुपमा स्पस्ट प्रमाणसहितका विद्यार्थी आउनेक्रम घट्दो छ”, उहाँले भन्नुभयो, “कक्षा ८ देखि तल्लो कक्षामा द्वन्द्वपीडितका छोराछोरीभन्दा तेस्रो पिँढीका नाति, नातिना बढी सक्रिय रहेको देखिन्छ ।”

कक्षा ८ देखिमाथि मात्रै नीतिगतरुपमा प्रमाणित द्वन्द्वपीडितका छोराछोरी रहेको जनाउँदै यो अवस्थाले आगामी दिनमा सहिद स्मृति विद्यालयमा कस्ता विद्यार्थीलाई भर्ना गरी सञ्चालन गर्र्ने भन्ने कुरा चुनौती रहेको उहाँले बताउनुभयो ।

साथै विद्यालयमा २१ जना शिक्षकसहित स्वास्थ्यकर्मी एक जना, लेखापाल एक जना, लाइब्रेरियन एक, कार्यालय सहयोगी दुई, सुरक्षागार्ड एक, मेस कर्मचारी चार जना, सरसफाइ एक जना कर्मचारी कार्यरत रहेका छन् । त्यस्तै चारवटा तीन तले भवन छन्, भने चारवटा दुई तले भवन छन् ।

उच्च शिक्षा नहुँदा समस्या

द्वन्द्वपीडित परिवारका विद्यार्थीले उच्च शिक्षा पढ्ने वातावरण मिलाउनुपर्ने बताएका छन् । सरकारले कक्षा १२ सम्म पढ्ने निःशुल्क पठनपाठनको व्यवस्था गरेको भए पनि त्योभन्दा माथिल्लो शिक्षा पढ्न नपााउँदा धेरै द्वन्द्वपीडित विद्यार्थी पढाइ छोड्ने गरेको भन्दै त्योभन्दा माथिल्लो शिक्षा पनि निःशुल्क गराउनुपर्ने विद्यार्थीको माग छ । “सरकारले १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था त गरेको छ”, विद्यार्थी पर्शुराम पुनले भन्नुभयो, “त्यतिले मात्रै हुँदैन, हाम्रा अभिभावक हुनुहँुदैन, हामीलाई माथिल्लो शिक्षा कसले दिन्छ, त्यसैले हामीलाई निःशुल्क शिक्षाको व्यवस्थापन गर्नुपर्छ ।”

साथै उहाँले अभिभावक भनेको पार्टी पनि रहेको भन्दै पार्टी विभाजनले आफूहरु जस्ता सहिद परिवारलाई दुःखी बनाएको बताउनुभयो । माओवादी टुटफुट हुँदा सहिदका सपना अझै पूरा हुन नसकेको उहाँको भनाइ छ ।

अभिभावक सहिद भएपछि टुहुरा बालबालिकालाई पालनपोषण र शिक्षा दिन सहिद आवासीय विद्यालय खोलिएको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री मास्कीले मुलुकमा पाँचवटा यस्ता विद्यालय रहेको जनाउँदै ती विद्यालयले द्वन्द्वपीडितका विद्यार्थीलाई दिएको शिक्षा र पालनपोषण निकै सराहनीय रहेको बताउनुभयो । उहाँले इतिहास बोकेका परिवारका सन्तानको छहारी भएका यस्ता विद्यालयलाई सरकारले उचित ढङ्गले मूल्याङ्कन गरेको छ भन्नुभयोे ।

सिँचाइ र शिक्षामा गुणस्तर निर्वाचन क्षेत्रका प्राथमिकता हुन् – सांसद मण्डल

काठमाडौँ, २५ माघ : मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो । अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन गर्न सकेका छैनौँ । अझै पनि हाम्रा पाइला उल्टोे दिशातर्फ उन्मुख छन् । देश निर्माणका लागि कयौँ कुरा बजेटसँग सम्बन्धित हुन्छ । केही बिना पैसा पनि सुधार गर्न सकिन्छ । उहादरणका लागि, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न अहिले बजेट चाहिन्न । राज्यले शिक्षकलाई तबल दिइरहेकै छ, विद्यालयका भौतिक संरचना पनि छन् । त्यतातिर ध्यान कसैको गएको देखिन्न । सामुदायिक विद्यालयको अवस्था सबैलाई जगजाहेर छ ।

सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सुन्दा जति राम्रो छ, कार्यान्वयनको पाटो त्यति नै कमजोर छ । सबैभन्दा मुख्य विषय भनेको देश बनाउने हो भने भ्रष्टाचार न्यूनीकरण हुनुपर्छ । यो क्रमशः घट्दै जानुपर्छ । सुशासन प्रवद्र्धन हुनुपर्छ । जबसम्म भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सकिन्न तबसम्म साना खाले भ्रष्टाचार हटाउन सकिँदैन ।

जनताले विश्वास गरेर मलाई सदनमा पु¥याए । संसद्मा प्रवेश गरेको एक वर्ष बित्यो । दुःखका साथ भन्नुपर्छ, यसबीचमा मेरा अपेक्षा र जनताको आकांक्षा पूरा हुन सकेनन् । अभाव र महँगीको मारमा परेका जनतालाई कस्तो भएको होला ? हामी अनुमान गर्न सक्छौँ । विगतमा सांसद विकास कोष सञ्चालनमा आयो । पहिले जसले चलायो उसैले विरोध गरेको सुन्छु । पहिलोपटक सदनमा प्रवेश गरेकाले मैले यो कोष चलाउन पाएकै छैन । अरुले गरेको भ्रष्टाचारको आक्षेप र आरोप मलाई पनि प¥यो ।

विकास निर्माणको जिम्मेवारी स्थानीय तहलाई छ, जनताले त्यो कुरा बुझेका छैनन् । अर्काेतर्फ निर्वाचनमा पराजित अनुहारलाई यसै कार्यकालमा सदनमा पु¥याउन राष्ट्रिय सहमति भएको देखिन्छ । देशको प्रमुख प्राथमिकता कानुन निर्माणमा भने सामान्य सहमति नहुने प्रवृत्तिले गम्भीर प्रश्न उब्जाएको छ । त्यसैले मैलै भन्दैआएको छु, सरकार र नेताहरु उल्टो बाटो हिँडिरहनुभएको छ ।

संसद् र संसदीय समितिमा पनि त्यस्तै अनेक खालका विकृति र बेथिति देखिन्छ । सिन्को नभाँचे पनि बैठकका नाममा समितिमा एकै दिन तीनपटकसम्म भत्ता बुझ्ने गरेको सुनिन्छ । जनताको करको पैसा, यस्तो सस्तोसँग दुरुपयोग गरिनु हुन्न । जतिसुकै बैठक बसे पनि दिनमा पटक–पटक भत्ता लिनु भएन । अर्काे विडम्बना, कुनै शब्द विशेषमा एउटा व्यक्तिले विरोध गर्छ, दिनभर त्यसैमा अल्मलिइन्छ अनि भत्ता बुझेर घरतर्फ लाग्ने काम हुन्छ । जनप्रतिनिधिले काम नगरी भत्ता लिन मिल्छ ? त्यस्ता विषयमा न मिडिया न नागरिक समाज बोल्छ ।

संसदीय समितिमा बोलेका र गरिएका अधिकांश निर्णय कार्यान्वयनमा जाँदैन । समय त्यतिकै खेर गएजस्तो लाग्छ । दिइएका सुझाव लागू भएमा हामीलाई पनि जोश र जाँगर आउँछ नि । सुझाव कार्यान्वयन नहुने हो भने खाजाखान र भत्ता बुझ्न मात्रै आउन जाँगर लाग्दैन । मजस्ता स्वतन्त्र सांसदका कुरा त्यहाँ सुनिन्न ।

सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत आफ्नो कार्यकालमा गर्छु भनेका र बोलेका कुरा कार्यान्वयन गरिदिए पुग्छ । अरु नयाँ केही कुरा गर्नै पर्दैन । कतिपय अवस्थामा सत्तापक्षबाटै कानुन बनाउन सकिएन भनेको सुन्छु, बनाइदिए भइहाल्छ नि । मन्त्री स्वयंले सुशासनका कुरा उठाउँछन्, भ्रष्टाचारमा संलग्नलाई पक्राउ गरे भइहाल्छ नि । एउटै मुद्दामा मुछिएका कर्मचारी जेल बस्न पर्ने राजनीतिक नेता बाहिर आउने कस्तो न्याय ? कर्मचारीलाई मात्र दोष दिने प्रवृत्तिले विकास निर्माणका आयोजना समयमै सक्न चुनौती खडा भएको छ । त्यसको प्रत्यक्ष उदाहरण चालु आर्थिक वर्षको सात महिना बित्यो अहिले विकास बजेट खर्च १० प्रतिशतमा सीमित छ । सरकारले कृषि, खानेपानी, सिँचाइ, मलखाद, ऊर्जा, पर्यटन, रोजगारका क्षेत्रमा विकास गर्छु भनी घोषणा गरेका कुरा लागू होस् । नयाँ कुरा गर्न पर्दैन ।

संसद्मै पनि आफूलाई हाइलाइट गर्न सांसदले स्वयं अनेक क्रियाकलाप देखाउँछन् । हामीजस्ता थोरै सङ्ख्यामा रहेका सांसदले जति नै राम्रा कुरा राखे पनि सुनिन्न । संसदीय प्रणालीमा दल, बहुमत र अल्पमतको कुरा आउँछ । जनताप्रति उत्तरदायी हुने सिलसिलामा कतिपय मन्त्रालयका कोठा र चोटामा दौडन पुग्दा समितिको बैठकमा उपस्थित सङ्ख्या न्यून भएको हो । त्यो सांसदको बाध्यता हो । मेरो मोरङ निर्वाचन क्षेत्र ५ नेपाल–भारत सीमासँग जोडिएको छ । त्यहाँका ९९ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । त्यहाँ गरिबी र बेरोजगारीको मार त्यतिकै छ । रोजीरोटीको समस्या छ । राज्यबाट घोषणा भएका सेवासुविधा कतिपय अवस्थामा कानुनको अभावमा प्राप्त हुन सकेको छैन । त्यस क्षेत्रका जनतालाई कानुनभन्दा विकास प्राथमिकता छ ।

मतदाताले मलाई कानुनभन्दा विकासको कुरा बढी सोध्छन् र माग गर्छन् । मेरो निर्वाचन क्षेत्रको पहिलो प्राथमिकता सिचाई र शिक्षाको गुणस्तरसुधार हो । विद्युतीकरण नभएकाले सिँचाइ महँगो छ । शिक्षामा गुणस्तर सुधार गर्न कक्षा १ देखि पहल हुनुपर्छ । भएका साधनस्रोतको सही सदुपयोग गर्नुपर्छ । त्यस क्षेत्रको ठूलो क्षमता र तागत भनेको जमीन र श्रमशक्ति भएकाले सदुपयोग गर्न भरमग्दुर प्रयासमा छु ।

विश्वमा प्रचलनमा रहेका विभिन्न निर्वाचन प्रणालीका तुलनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली नै सही छ । प्रत्येक व्यक्तिको मनभित्र देवता र दानव दुवै छ । दानवलाई अघि सारिएको खण्डमा नतिजापनि त्यस्तै खालको आउँछ, देउतालाई अघि सारेमा बोलेका कुरा पूरा हुन्छ । त्यो भनेको नियत राम्रो हुनुपर्छ, भ्रष्टाचार नहुने मन हुनुप¥यो । नेता हुने पैसा बटुल्ने, कार चढ्ने, सहरमा घर बनाउने प्रवृत्तिमा नियत गयो । प्राकृतिक, सांस्कृतिक र भौगोलिकरुपमा सुन्दर देश नेपालाई गरिब बनाई राखेर चलखेल गर्न सकिन्छ भन्ने बाहिरियाको सोच र नेतामा दूरदर्शिताको कमीकाकारण समृद्धिको यात्रामा बाधा परिरहेको छ । कतिपय जनतालाई ढाँटेर, छलकपट गरेर तथा बाहुबलीका आडमा नेता बनेकाले पनि जनहितमा काम हुन सकेन । भारतबाट बर्सेनि रु ३३ अर्बको रासायनिक मल खरिद गरिन्छ । तीन वर्षमा नेपालमै मलखाद बनाउने कारखाना खोल्न सकिन्छ, र विदेशबाट मलखाद ल्याउनै पर्दैन ।

मैले आफ्नो जमिनमा नयाँ प्रविधि अपनाएको छु, त्यसबाट राम्रो उत्पादन भइरहेको छ । शिक्षामा गुणस्तर सुधार्न निर्वाचन क्षेत्रमा रहेका ८५ सरकारी विद्यालयमध्ये २५ वटामा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरुआत गरिसकिएको छ । आगामी तीन वर्षभित्र पूर्णरुपमा कार्यान्वयनमा जान्छ । गरिबी घटाउन स्वरोजगार कार्यक्रमअन्तर्गत परेवा पालनलाई प्रोत्साहन गरेको छु । यसबाट पनि पछि परेका जाति र समुदायको जीवनस्तर उकास्न सकिन्छ । दलित ऋषिदेव समुदायलाई दश जोर परेवा पाल्न प्रतिपरिवार रु पाँच हजार नगद उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । परेवा पालनलाई व्यवसायीकरण गर्दै लैजाने सोच छ । दुई जोर परेवा पाल्नेले दैनिक पाँच हजारसम्म आम्दानी गर्न सक्छन् । नेपाललाई विश्वमै समृद्ध मुलुकको सूचीमा लैजान सकिन्छ, यहाँ विकासका धेरै सम्भावना छन्, त्यसका लागि सबैभन्दा पहिला राजनीतिलाई सपारेर लैजानुपर्छ भन्ने मेरो मत छ ।

सांसद मण्डलको परिचय

सांसद योगेन्द्र मण्डल मोरङ निर्वाचन क्षेत्र नं ५ धनपालका स्थायी बासिन्दा हुनुहुन्छ । शैक्षिक योग्यता स्नातक रहेका नेता मण्डल लामो समयदेखि समाजसेवामा संलग्न हुनुहुन्थ्यो । गएको निर्वाचनमा उहाँ राजनीतिक दलका स्थापित उम्मेदवारलाई पन्छाउँदै स्वतन्त्र उम्मेदवारका हैसियतले प्रतिनिधिसभा सदस्य बन्न सफल हुनुभयो ।

(‘सांसदसँग रासस संवाद’मा राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गर्नुभएको कुराकानीको सम्पादित अंश)

३१ वर्षीया सुत्केरीको पेटभित्र कपडा

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो ।

सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधिदिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो ।

भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन् । चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् । चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैँले खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन् । सुत्केरी भण्डारीको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । याे खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

भारतमा आजदेखि हुन लागेको पर्यटन मेलामा नेपालको सहभागिता

काठमाडौँ, २५ माघ ः भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) मेलामा नेपालले सहभागीता जनाएको छ ।यसअघि नेपाल पर्यटन वोर्डले सहभागीता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो । उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।

नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले राससलाई बताउनुभयो । महासचिव सापकोटाले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एशियाको ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मा पनि टानले सहभागिता जनाउन लागेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष अनवरत क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

यस वर्षदेखि बाँसको सिन्का उत्पादन गर्दै काठेखोला

ढोरपाटन (बागलुङ), २५ माघ : काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको र उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो ।

सङ्घीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पु¥याइ सकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर्ने काठेखोला –७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ देखि नै उद्योग निर्माण सुरु गरेको उहाँले बताउनुभयो । सङ्घीय सरकारले रु तीन करोड मात्रै औद्योगिक ग्राममा लगानी गर्ने भए पनि काठेखोलाले रु ५० करोडको विस्तृत योजना प्रतिवेदन (डिपीआर) गराएका काम अगाडि बढाएको उहाँको भनाइ छ ।

निर्माण भएका संरचनालाई प्रयोग गरी उत्पादनसँग जोडिँदै जाने र नयाँ संरचना पनि थप्दै जाने योजना रहेको अध्यक्ष लामिछानेले बताउनुभयो । गाउँमा उत्पादन हुने कृषिउपज वस्तुको बजारीकरण, व्यापार व्यवसायको प्रवद्र्धनका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै संरचना निर्माण भइसक्दा धेरै सयम लाग्छ, निर्माण भएका संरचनालाई प्रयोग गरि केही उद्योग सञ्चालन गरौँ भनेर लागेका छौँ, अहिले बनेका संरचनामा विद्युत् र सडकको पहुँच पु¥याएका छौँ, त्यसले गर्दा उपकरण जडान गरेर प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गरौँ भनेर लागेका छौँ, संरचना थपिँदै जान्छन्, अन्य उद्योग पनि विस्तारै सञ्चालनमा ल्याउँदै जाने छौँ ।”

गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले सङ्घीय सरकारबाट आउनुपर्ने रु तीन करोडमध्ये आव २०७७÷०७८ मा पहिलो किस्तामा ९२ लाख, २०७९÷०८० मा ८० लाख आएको र चालु आवमा पनि ८० लाख आउने बताउनुभयो । यस वर्ष गण्डकी प्रदेश सरकारबाट पनि रु २० लाख विनियोजन भएको जनाउँदै कार्यान्वयनको चरणमा रहेको उहाँको भनाइ छ ।

औद्योगिक ग्रामसम्म जाने सडक स्तरोन्नति भएको जनाउँदै सीमित उद्योग सञ्चालनका लागि संरचना उपयोगी रहेको इन्जिनियर लामिछानेले बताउनुभयो । काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले औद्योगिक ग्रामले स्थानीयलाई स्वरोजगार बनाउनुका साथै उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुग्ने बताउनुभयो ।

औद्योगिक ग्राम निर्माणपश्चात् यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयले यस ठाउँ गाउँपालिकाले उपलब्ध गराउने उहाँको भनाइ छ । गाउँपालिकामा रहेका युवा शक्तिलाई उद्योगधन्दा, व्यापार व्यवसाय गर्न प्रेरितसमेत गाउँपालिकाले गर्ने उहाँले बताउनुभयो ।

चितवनबाट १५ हजार आठ सयले लिए वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

भरतपुर । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् ।

श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले जानकारी दिए ।

“चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका यूरोपका देशमा जानेको सङ्ख्या बढी छ”, उनले भने, “विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो”, उहाँका अनुसार “भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार पाँच सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।”

आर्थिक वर्ष २०७९/२०८० मा नेपालबाट सात लाख ७१ हजार तीन सय २७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्याङ्कमा रहेको छ । यसमध्ये बागमती प्रदेशबाट मात्रै एक लाख १६ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार आठ सय २३ जना छन् । धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको संयोजक पौडेलले जानकारी दिए । यहाँबाट अघिल्लो आवमा एक हजार एक सय ६१ जनाले राहदानी बनाएका थिए ।

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका छ हजार पाँच सय ६१ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै माडी नगरपालिकाबाट दुई हजार एक सय २७, इच्छाकामना गाउँपालिकाबाट एक हजार आठ, रत्ननगर नगरपालिकाबाट एक हजार चार सय ७१, कालिका नगरपालिकाबाट एक हजार छ सय ७९, खैरहनी नगरपालिकाबाट एक हजार छ सय आठ र राप्ती नगरपालिकाबाट एक हजार दुई सय ९१ जनाले श्रम स्वीकृत लिएका छन् ।

वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगिनेसमस्या रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आवमा एक सय ३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको विचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो । स्वदेशमै रोजगारी सिर्जना गर्नका भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए ।

“अवैधरुपमा विदेश जानेको सङ्ख्या पनि कमी छैन । भारतमा जानेको सङ्ख्या उत्तिकै छ”,उनले भने, “हामी जनप्रतिनिधि यहाँ भएको साधन स्रोत, जल, जमिन, जङ्गललाई उपयोग गर्दै यहाँ भएको सीपलाई उत्पादनसँग जोड्नुपर्छ । यसका लागि हामी प्रयासरत छौँ ।” वैदेशिक रोजगार देशव्यापी समस्या रहेको उनले बताए ।