`

पाँच लाख घुससहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले रु पाँच लाख घुससहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले सेवाग्राहीबाट रु पाँच लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगले वडाध्यक्षकार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजायसमेत हुन माग दाबी लिइ आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

चितवन मेडिकल कलेजमा लुम्बिनीका बिरामीलाई दुई लाखको निःशुल्क सुविधा

लुम्बिनी-लुम्बिनी प्रदेशका अर्बुद (क्यान्सर) रोगका बिरामीले चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा उपचार गर्दा रु दुई लाखको निःशुल्क सुविधा पाउने भएका छन् । चितवन मेडिकल कलेज र लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयबीच यससम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरी र अस्पतालको तर्फबाट वरिष्ठ व्यवस्थापक पारस अधिकारीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार लुम्बिनी प्रदेशका नागरिकले चितवन मेडिकल कलेजमा अर्बुद रोगको उपचार गर्दा रु दुई लाख बराबरको निःशुल्क सुविधा पाउने छन् । बिरामीको उपचारको सोधभर्ना निर्देशनालयले दिने वरिष्ठ व्यवस्थापक अधिकारीले बताउनुभयो ।

प्रदेशले ‘प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रमाणपत्र’ उपलब्ध गराउने छ । सोही प्रमाणपत्रका आधारमा सिएमसिले निःशुल्क सुविधा दिने सम्झौतामा उल्लेख छ । अस्पतालका सामाजिक सुरक्षा एकाइका अमृत काफ्लेका अनुसार अर्बुदका बिरामीले सङ्घीय सरकारबाट रु एक लाख बराबरको निःशुल्क सुविधा पाउने छन् भने लुम्बिनीका बिरामीले सङ्घीय र प्रदेशका गरी रु तीन लाख बराबरको निःशुल्क उपचार सुविधा पाउने छन् ।

चितवन मेडिकल कलेजले एक सय शय्याको सुविधासम्पन्न सिएमसी क्यान्सर इन्स्टिच्यूट सञ्चालन गरेको छ । आधुनिक उपकरण र दक्ष जनशक्तिसहित सञ्चालित उक्त इन्स्टिच्युटमा बिरामीले सहजरुपमा अर्बुद रोगको उपचार पाउँदै आएका छन् ।

धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित पाँच विद्यालयलाई नमुना विद्यालय बनाउँन सम्झौता

कैलाली, २४ माघ : धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सम्झौता गरिएको छ । नमुना विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधारका लागि ‘टिच फर नेपाल’ नामक संस्था र धनगढी उपमहानगरपालिकाबीच सम्झौता भएको हो ।

विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । उपमहानगरपालिकाभित्रका ठेकराज माध्यामिक विद्यालय, सिद्धनाथ माध्यामिक विद्यालय, चन्द्रोदय माध्यामिक विद्यालय, बेहडाबाबा माध्यामिक विद्यालय र भवानी माध्यामिक विद्यालयमा उक्त कार्यक्रम लागु गरिने नगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।

त्यसैबीच, धनगढी उपमहानगरपालिकाले उपमहानगरका हरेक वडामा महिनाको एकपटक निःशुल्क ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले “विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक” सञ्चालन गर्दै आएको हो ।
धनगढी उपमहानगरपालिका– ४ स्थित आधारभूत स्वास्थ्य क्लिनिकमा फिजिसियन, स्त्री तथा प्रसूति र आँखासम्बन्धी बिरामीले सेवा लिएका छन् । जसमा नयाँ र पुरानो गरी जम्मा एक सय १६ जनाले सेवा लिएको बताइएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु / कुहिरो लागेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ .।गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् माघ २५ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष राशि – पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि – शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि- जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि – आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि – पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि – आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि – आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि- परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि- शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि – यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

संसार ‘अराजकताको युग’ मा छ– राष्ट्रसङ्घ प्रमुख

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार संसार ‘अराजकताको युग’ मा प्रवेश गरिरहेको र गहिरोसँग विभाजित सुरक्षा परिषद् इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको चेतावनी दिनुभएको छ । बुधबार गाजा युद्ध पाँचौँ महिनामा प्रवेश गरेसँगै गुटेरेसले इजराइली सशस्त्र बलले दक्षिणी सहर राफामा दबाब दिए यसले ‘अनपेक्षित क्षेत्रीय परिणामहरूका साथ पहिला नै मानवीय दुःस्वप्नका रूपमा तीव्र वृद्धि गर्ने’ चेतावनी दिनुभयो ।

अक्टोबर ७ मा अभूतपूर्व आक्रमणपछि हमासलाई समाप्त गर्ने आफ्नो अभियानमा इजराइली सेनाले गाजापट्टीमा लगातार बमबारी र स्थल आक्रमण गरेको छ । इजराइली अभियानबाट १० लाखभन्दा बढी मानिस दक्षिणतर्फ विस्थापित भएका छन् ।

“यो तत्काल मानवीय युद्धविराम र सबै बन्धकको बिनासर्त रिहाइको समय हो”, राष्ट्रसङ्घीय महासभामा आफ्नो सन् २०२४ का प्राथमिकताहरू प्रस्तुत गर्दै एक सम्बोधनमा गुटेरेसले भन्नुभयो । सम्बोधनमा उहाँले अन्य सुधारका अतिरिक्त सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा परिवर्तनका लागि आह्वान गर्नुभयो ।

उहाँले सेप्टेम्बरमा आयोजना हुने आफ्नो ‘भविष्यको शिखर सम्मेलन’ लाई पहिलाको भन्दा ‘गहिरो र खतरनाक’ समस्या सम्बोधन गर्नका लागि एउटा महत्त्वपूर्ण स्थलका रूपमा बताउनुभयो । “राष्ट्रसङ्घीय सुरक्षा परिषद्– वैश्विक शान्तिका सवालमा प्राथमिक मञ्च– भूराजनीतिक दरारका कारण गतिरोधमा छ”, पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसले भन्नुभयो, “परिषद्लाई विभाजित गरिएको यो पहिलो पटक होइन तर यो सबैभन्दा खराब हो, अहिलेको शिथिलता अझ गहिरो र अधिक खतरनाक छ ।” उहाँले शीत युद्धको समयमा राम्रो तरिकाले स्थापित प्रणालीले महाशक्ति सम्बन्धहरूलाई व्यवस्थित गर्न सहयोग गरेको विपरीत ती प्रणाली आजको बहुध्रुवीय विश्वमा हराएको बताउनुभयो ।

“हाम्रो संसार अराजकताको युगमा प्रवेश गरिरहेको छ… यो सबैका लागि खतरनाक, अप्रत्याशित र पूर्णरूपमा दण्डहीनता हो”, उहाँले चेतावनी दिनुभयो । उहाँको उक्त टिप्पणी युक्रेन, सुडान, मध्यपूर्व र अन्य स्थानमा विनाशकारी द्वन्द्वको बीचमा आएको छ । ती द्वन्द्वमा लाखौँ मानिस विस्थापित भएका छन् र उनीहरूलाई सहयोगको जरुरत छ ।

“द्वन्द्व बढ्दै जाँदा वैश्विक मानवीय आवश्यकताहरू अहिलेसम्मको उच्चतम स्तरमा छन् तर कोषले गति लिइरहेको छैन”, महासचिव गुटेरेसले भन्नुभयो । यस्तो अँध्यारो पृष्ठभूमिविरुद्ध उहाँले विश्व नेताहरूलाई ‘आगामी वर्षहरूका लागि बहुपक्षवादलाई आकार दिन’ का लागि वार्षिक महासभाको अवसरमा सेप्टेम्बरमा न्युयोर्कमा आयोजना हुने ‘भविष्यको शिखर सम्मेलन’ को अवसरको लाभ लिन प्रोत्साहित गर्नुभयो ।

कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै उहाँले पुनः एकपटक ‘जटिल वैश्विक झटकाहरूप्रति अन्तर्राष्ट्रिय प्रतिक्रियामा सुधार गर्न आपत्कालीन मञ्च’ को विकासका लागि आह्वान गर्नुभयो । सन् २०१७ मा पदभार ग्रहण गरेपछि जलवायु परिवर्तनलाई सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएका गुटेरेसले सङ्कट ‘हाम्रो समयको परिभाषित चुनौती बनेको’ दोहोर्याउनुभयो र मानवतालाई ‘पृथ्वीसँग शान्ति कायम गर्न’ आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “मानवताले एउटा यस्तो युद्ध लडेको छ जसमा हामी हार्न मात्र सक्छौँ ः प्रकृतिसँग हाम्रो युद्ध । यो एउटा पागलपूर्ण युद्ध हो ।”

टिपरको ठक्करबाट अनुसन्धानका पूर्व अधिकारीको मृत्यु

बारा-टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ । मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त हुनुभएको हो । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार त्यसका चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो ।

शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको छ । बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा योगदान पुर्‍याउने मुलुकमा नेपाल पहिलो बनेको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकका २२ वटा मिसनमा ७६ हजार ४७९ जना शान्ति सेना खटाइएका छन् । जसमा ७० हजार एक सय पुरुष र छ हजार ३७९ जना महिला सैनिक छन् । नेपाल सरकारले शान्ति सेनामा हाल १० हजार पुर्‍याउने लक्ष्य राखेको छ ।

सन् १९५८ मा राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेबनानमा पाँच जना नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । शान्ति सेनामा खटाएको ६५ वर्षमा नेपालले विभिन्न ४३ वटा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि एक हजार ८४७ महिला सैनिकसहित एक लाख ४० हजार ३५४ सैनिक पठाइसकेको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार माली मिसन बन्द भएर अन्य मुलुकका शान्ति सैनिकको कटौतीपछि नेपाल पहिलो राष्ट्र बनेको हो । नेपाली शान्ति सैनिकको पूर्वतयारी तालिम उत्कृष्ट रहेका कारण र जुनसुकै बेला खटिन सक्ने भएकाले पनि युएनको रोजाइमा नेपाली शान्ति सैनिक परेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

‘प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन’: माधवकुमार नेपाल

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेसका केही नेताहरूले पूर्वसहमतिअनुसार अब नेकपा (एस)का अध्यक्ष नेपाल प्रधानमन्त्री हुनुपर्ने अभिव्यक्ति सार्वजनिक भइरहेको सन्दर्भमा पत्रकारका जिज्ञासाको जवाफमा नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै पदमा रहनुपर्ने बताउनुभयो ।

संसद् बैठकपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारहरूलाई नेता नेपालले भन्नुभयो, “अब सरकारले आगामी आवका निम्ति नीति तथा कार्यक्रम अनि बजेट तयार गर्नुपर्ने भएकाले प्रधानमन्त्री परिवर्तनको विषय सार्वजनिक गर्ने उपयुक्त समय होइन । प्रचण्डजी नै प्रधानमन्त्री रहनुपर्छ । ”

दाङका गृहिणीको रोजाइ बिजुली चुलो,खाना पकाउन धेरै सहज

देउखुरी (दाङ), २४ माघ : दाङको घोराही उपमहानगरपालिका–६ की गीता शर्माले विगत एक वर्षदेखि बिजुली चुलोमा खाना पकाउँदै आउनुुभएको छ । त्यस अघि उहाँले ग्यासमा खाना पकाउने गर्नुहुन्थ्यो । शर्माको बसोबास घोराही बजारदेखि पाँच किलोमिटरको दुरीमा छ । ढुवानी महँगो हुने भएकाले उहाँलाई ग्यास सकिँदा बजारबाट नयाँ सिलिन्डर मगाउन गाह्रो हुने गरेको थियोे । बिजुली चुलो प्रयोग गर्न थालेपछि शर्मालाई खाना पकाउन धेरै सहज भएको छ

। उहाँ भन्नुुहुन्छ–“खाना पकाउन सजिलो भएको छ । सिलिन्डर फेर्नुपर्ने बाध्यता छैन ।” कम खर्चमा भान्सा व्यवस्थापन गर्न पाएकामा शर्मा औधी खुसी हुनुहुन्छ । यस्तै घोराही–१५ की सर्मिला रिजाललाई पनि अचेल बिजुली चुलो प्रयोगमा ल्याउँदा धेरै सजिलो भएको छ । उहाँ भन्नुहुन्छ, “पहिला दाउरामा खाना पकाइयो, गोबर ग्यासको पनि प्रयोग गरियो ।

ग्यासमा पनि खाना पकाइयो । तर तर सबैभन्दा राम्रो र सजिलो बिजुली चुलो लाग्यो । अन्य प्रविधिमा श्रम धेरै गर्नुपथ्र्यो । बिजुली चुलो प्रयोग गर्न सजिलो छ ।” न्यूनतम विद्युत् महसुलमा खाना पकाउने गरेको उहाँले बताउनुभयो । शर्मा र रिजालको जस्तै अहिले दाङका गृहिणीको रोजाइमा बिजुली चुलो बन्दै गएको छ ।

‘स्वच्छ नेपाल दाङ’ले बिजुली चुलो परियोजना ल्याएर सहुलियतमा चुलो वितरण गरिरहेको छ । चुलोको साथमा प्रेसर कुकर, खाना पकाउने भाँडाकुँडा वितरण गर्ने गरेको स्वच्छ नेपालका अध्यक्ष सुशीला पौडेलले जानकारी दिनुभयो । ‘पर्यावरण संरक्षण र स्वच्छता हाम्रो अभियान’ नारासहित बिजुली चुलो बिक्री गरिँदैआएको छ ।

गायक प्रकाश सपुतद्धारा एक सय विपन्न विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

ढोरपाटन (बागलुङ), २४ माघ : लोकगायक प्रकाश सपुतले आफ्नो जन्मगाउँको एक विद्यालयका गरिब तथा अति विपन्न बालबालिकालाई विद्यालय पोशाक सहयोग गर्नुभएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित जनता माध्यमिक विद्यालयका एक सय बालबालिकालाई विद्यालय पोशाक प्रदान गर्नुभएको हो ।

धम्जा गायक सपुतको जन्मगाउँ हो भने उक्त विद्यालयको उहाँ पूर्वविद्यार्थी हुनुहुन्छ । उहाँले प्रकाश सपुत फाउण्डेसनमार्फत विद्यार्थीलाई पोशाक उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।

विद्यालयमा अधिकांश गरिब तथा विपन्न बालबालिकाले अध्ययन गर्दै आएको भन्दै गायक सपुतले रु एक लाख १५ हजार बराबरको पोशाक उहाँले उपलब्ध गराउनुभएको हो । ट्र्याकसुटसहितको सेट उपलब्ध गराएपछि जाडोमा विद्यार्थी कठ्याङ्ग्रिएर बिरामी पर्ने र विद्यालय नआउने समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको उहाँ बताउनुहुन्छ ।

चितवनमा जग्गा उपलब्ध नहुँदा पशुका लागि होल्डिङ सेन्टर निर्माण भएन

भरतपुर (चितवन), २४ माघ । चितवनमा जग्गा उपलब्ध नहुँदा अहिलेसम्म पशुका लागि होल्डिङ सेन्टर निर्माण हुनसकेको छैन । उक्त सेन्टर निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गा उपलब्ध नहुँदा फिर्ता गएको हो ।पशु विभागले चितवनको रामनगरमा उक्त सेन्टर निर्माण गर्न अघिल्लो वर्ष बजेट विनियोजन गरे पनि खर्च नहुँदा रकम फिर्ता भएको रामनगरस्थित पशु क्वारेन्टाइनका प्रमुख शिरिष गौतमले जानकारी दिए ।

“विसं २०७८ मा होल्डिङ सेन्टर निर्माण गर्न तीन करोड ८० लाख आएको थियो । जग्गा नै नपाएपछि रकम फ्रिज भयो”, उनले भने, “अहिले पनि जग्गा भाडामा लिनका लागि दुई लाख ४० हजार आएको छ, तर जग्गा अहिलेसम्म पाइएको छैन । होल्डिङ सेन्टरका लागि राजमार्ग छेउ जग्गा आवश्यक पर्दछ तर यस्ता ठाउँमा जग्गा पाउन कठिन छ ।”

महिनामा एक हजारभन्दा बढी पशुपक्षीका गाडी चितवन हुँदै राजधानी जाने गरेका छन् । त्यसमध्ये राँगा र भैँसीमात्रै दुई सय ५० ट्रक जाने गरेको प्रमुख गौतमले बताए । “राँगाभैँसी ढुवानी गर्दा कुनैले पनि ढुवानी मापदण्ड पालना गर्दैनन् । कसले कति गरेका छन् भन्ने मात्र हो”, उनले भने, “अली बढी नै मापदण्ड पालना नगर्नेहरूबाट छ महिनामा रु एक लाख २८ हजार जरिवाना उठाएका छौँ । पशु झार्ने ठाउँ नहुँदा जाँच गर्नसमेत कठिन भएको छ ।”

नेपालमा पशु क्वारेन्टाइन नहुँदा पशु ढुवानीमा समस्या हुनाका साथै पशुलाई ३० घण्टाको निरन्तर यात्रा गराउन बाध्य भएको व्यवसायीहरूले बताए । देशका मुख्य राजमार्गमा पशुका लागि दानापानी खुवाउनका लागि होल्डिङ सेन्टर नहुँदा समस्या हुँदै आएको पशु ढुवानी व्यवसायी श्रीजन खड्गीको भनाइ थियो ।

“अहिले पशुलाई ज्यादै दुःख दिएर व्यवसायीले लामो यात्रा गराइरहेका छन्”, उनले भने, “कम्तीमा मुख्य राजमार्गको किनारमा आठ–आठ घण्टाको अन्तरमा दानापानी खुवाउन यस्ता सेन्टर भइदिए पशुले समेत दुःख पाउने थिएनन् ।”

पशु ढुवानी मामदण्ड, २०६४ ले पशुलाई दैनिक आठ घण्टाभन्दा बढी गाडीमा ढुवानी गराउन पाइँदैन भनेको छ । तर कतिपय व्यवसायीले दानापानीसमेत नखुवाई कैलालीबाट राजधानीसम्म पुर्याउने गरेका छन् । अहिलेको अवस्थामा यो मापदण्ड कार्यान्वयन गर्न कठिन हुने नेपाल पशुपक्षी व्यवसायी सङ्घका महासचिव किशोरप्रसाद शर्माले बताए ।

“नेपालमा पूर्ण पशु कल्याण सम्भव छैन । आंशिक कल्याणका लागि ठाउँ–ठाउँमा होल्डिङ सेन्टर बनाउन जरुरी छ”, उनले भने, “व्यवसायीहरू यसका लागि सहयोग गर्न तयार छन् तर गैँडाकोट वा चितवन कुनै एक ठाउँमा मात्र पनि होल्डिङ सेन्टर भए पशु तथा व्यवसायी दुवैलाई फाइदा हुने थियो ।

गिरिबन्धु टि–स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय अदालतद्वारा बदर

काठमाडौँ, २४ माघ : सर्वोच्च अदालतले गिरिबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्ने निर्णय कानुनी प्रावधान अनुकूल नभएको फैसला गरेको छ ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपनाप्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले आज कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको ठहर गर्दै बदर हुने फैसला सुनाएको हो ।

फैसलामा भनिएको छ, “नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/१/१३ को प्रत्यर्थी गिरीबन्धु टि स्टेट प्रालिलाई ३४३–१९–१२ बिघा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग) लगायतका कानुनी प्रावधानअनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सोबमोजिम भए/गरिएका काम कारबाहीसमेत बदर हुने ठहर्छ ।”

बालकृष्ण समको १२२ औं जन्मजयन्ती मनाइयो

काठमाडौँ, २४ माघ : नेपाली नाट्यसम्राट बालकृष्ण सम (विसं १९५९–२०३८) को १२२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जन्मजयन्तीमा उहाँको व्यक्तित्व र कृतिबारे चर्चा गरिएको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँको नक्सालमा आज आयोजित कार्यक्रमका सहभागीले नाट्यसम्राट समको बहुआयामिक व्यक्तित्वका बारेमा आफ्ना धारणा राखेका थिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले उहाँको नाटक गर्दा छुट्टै आनन्द आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–“समको चिसोचुल्हो नाटक गर्न एकदमै रहर लागेको छ, तर गर्न सकिएको छैन ।”

स्व समले विभिन्न आयाममा लेख्नुभएका मुख्य नाटकलाई विषय बनाएर चित्र सिर्जना गर्ने तयारी गरिएको कुलपति शर्माले जानकारी दिनुभयो । उहाँले प्रह्लाद, भीनसेनको अन्त्य, प्रेमपिण्ड, अन्धवेग, स्वास्नी मान्छे र चिसो चुल्होलाई विषय बनाएर चित्रकला प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सम नाट्यसम्राट भए पनि उहाँले बनाउनुभएका चित्र उत्कृष्ट भएका स्मरण गर्नुभयो । उहाँले शेक्सपियर शैलीलाई नेपालमा भित्र्याएर नाटकमा नयाँ आयाम थप्नुभएको स्मरण गर्दै कुलपति हार्तम्छालीले फोटो अनुसार जस्ताको तस्तै चित्र सिर्जना गर्न सक्ने क्षमता सममा थियो भन्नुभयो ।

समका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा अशोक थापाले सम भर्सटायल व्यक्तित्व भएको बताउनुभयो । उहाँ नाटककार, निर्देशकदेखि कलाकार, लेखक, कवि, चित्रकार, जीवनी र कविता लेख्नसक्ने मात्रै नभएर सैनिक पेसादेखि कुशल प्राध्यापकसमेत हुनुभएको उहाँले स्मरण गर्नुभयो । नेपालमा दुःखान्त नाटक नभइरहेको सन्दर्भमा समले शेक्सपियर शैलीलाई भित्र्याएर नेपालमा नयाँ अभ्यासको थालनी गर्नुभएको डा थापाले बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक विष्णु ज्ञवालीले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । सो कार्यक्रममा कला समीक्षक रमेशनाथ खनालको लेखन तथा निर्देशन रहेको समको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले तीनवटै प्रज्ञा प्रतिष्ठानले परम्परागत शैलीलाई चिरेर दर्शनशास्त्र, समाजशास्त्र र संस्कृतिलाई गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । स्व समका भीमसेनको अन्त्य, अमरसिंह थापा, भक्त भानुभक्त, मोतीराम, रणदुल्लभ, ध्रुव, प्रह्लाद, तानसेनको झरी, मुटुको व्यथा, अमलेख, प्राणदान, स्वास्नीमान्छे, प्रेमपिण्ड, अन्धवेग, बोक्सी, मुकुन्द इन्दिरालगायत ऐतिहासिक नाटक रहेका छन् ।

भूकम्पपीडित छात्रालाई पढ्न ज्योति फाउण्डेसनले सघाउने

कर्णाली, २४ माघ : सुर्खेतको वीरेन्द्रनगरस्थित ज्योति फाउण्डेसनले जाजरकोट भूकम्पका कारण प्रभावित छात्राहरुलाई पूर्ण छात्रवृत्ति दिएर पढ्न सघाउने भएको छ । भूकम्पबाट आमाबुबा वा आमाबुबामध्ये एकजनालाई गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका परिवारका छात्रालाई उक्त संस्थाले अध्ययन गर्न सघाउने भएको हो ।

सामुदायिक विद्यालयमा कक्षा एकदेखि १० सम्म अध्ययन गर्ने भूकम्पपीडित छात्रालाई अध्ययनका लागि सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तत्काल २० छात्राको पढाइको खर्च व्यवस्थापन गरिसकेका छौँ ।”

भूकम्पपीडित छात्राका लागि फाउण्डेसनले गत मङ्सिर १५ गते वीरेन्द्रनगरमा आयोजित साङ्गीतिक साँझबाट रु २२ लाख ७५ हजार सङ्कलन गरेको अध्यक्ष कटुवालले बताउनुभयो । साङ्गीतिक साँझ कार्यक्रमको व्यवस्थापनमा खर्च भएको रु नौ लाख ६१ हजार बाहेकको रकम बैंकमा जम्मा गरी त्यसबाट आउने ब्याजले छात्रालाई पढाउन सहयोग गरिने उहाँको भनाइ छ ।

अध्यक्ष कटुवालका अनुसार फाउण्डेसनको सहयोगमा अध्ययन गर्ने छात्राको स्वास्थ्य उपचार तथा परामर्शका लागि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौताको तयारी छ । छात्रवृत्तिका लागि स्थानीय तहको सिफारिस आवश्यक हुने उहाँ बताउनुहुन्छ ।

इजराइलमाथि हमासको आक्रमण ‘हाम्रो शताब्दीको सबैभन्दा ठूलो यहुदी–विरोधी नरसंहार’– म्याक्रोन

फ्रान्सेली पीडितहरूलाई श्रद्धाञ्जलि दिनका लागि बुधबार आयोजित एक समारोहमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले इजराइलमाथि हमासले अक्टोबर ७ मा गरेको आक्रमणलाई ‘हाम्रो शताब्दीको सबैभन्दा ठूलो यहुदी–विरोधी नरसंहार’ बताउनुभएको छ ।

उहाँले प्यालेस्टिनी लडाकू समूहको आक्रमणलाई बर्बरता भन्दै ऊ यहुदी–विरोधबाट सिञ्चित छ र यसको प्रचार गर्छ भन्नुभयो । साथै उहाँले व्यापक यहुदी–विरोधसामु नझुक्ने वाचा गर्नुभयो

पेरिसमा इनभेलाइड्स मेमोरियल कम्प्लेक्समा आयोजित समारोहमा हमासद्वारा इजराइलमा मारिउका ४२ फ्रान्सेली नागरिकलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो । अन्य तीन नागरिक बेपत्ता छन् र उनीहरूलाई बन्धक बनाइएको विश्वास गरिएको छ ।

राष्ट्रपति म्याक्रोनले बाँकी फ्रान्सेली बन्धकहरूको रिहाइका लागि ‘हरेक दिन’ काम गर्ने बताउनुभयो । उहाँले तिनीहरूको कुर्सी खाली रहेको बताउनुभयो । “कुनै पनि कुराले आतङ्कवादलाई न्यायोचित भन्न सकिँदैन र माफ गर्न सकिँदैन”, उहाँले भन्नुभयो । उहाँले गाजापट्टीमा इजराइलको बमबारीबाट फ्रान्सेली पीडितहरूलाई सम्झिने अवसर प्रदान गने बताउनुभयो । 

आधिकारिक इजराइली आँकडाको आधारमा एएफपीका अनुसार अहिलेसम्म सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध अक्टोबर ७ मा इजराइलमाथि हमासको अभूतपूर्व आक्रमणका साथ सुरु भएको हो । उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० व्यक्तिको मृत्यु भएको थियो ।

हमास लडाकूहरूले करिब दुई सय ५० बन्धकलाई आफ्नो कब्जामा लिएका छन् । इजराइलले गाजामा एक सय ३२ रहेका र तिनमा २९ जनाको मृत्यु भइसकेको बताएको छ ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको छ र हवाई तथा स्थल आक्रमण गरेको छ । आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २७ हजार पाँच सय ८५ जनाको मृत्यु भएको छ ।

युद्धलाई ‘पीडाको आँधी’ भन्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भन्नुभयो, “फ्रान्सको नजरमा सबैको जीवन समान र अमूल्य छ ।” उहाँले फ्रान्सले ‘बदलाको भावनालाई कहिले पनि अनुमति दिने छैन’ र ‘यी चुनौतहरूमा हामीलाई कुनै पनि कुराले विभाजित गर्नुहुँदैन’ भन्नुभयो । उहाँले फ्रान्स ‘मध्यपूर्वमा सबैका लागि शान्ति र सुरक्षाको आकांक्षाहरूको जवाफ दिनका लागि’ सबैथोक गर्ने बताउनुभयो ।

गोठमा आगो लाग्दा अछाममा दुई बालबालिकाको मृत्यु

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना   बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।

बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए । दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए ।

प्रदेश सरकारसँग जवाफ माग्ने विकास समितिको निर्णय

कर्णाली, २४ माघ : कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले निर्देशनालय खारेजबारे प्रदेश सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।

सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीको अध्यक्षतामा आज सुर्खेतमा भएको बैठकले मन्त्रालयअन्तर्गतका निर्देशनालय खारेजले सरकार सञ्चालनमा अन्योलता ल्याएको र अब कुन संरचनाले के काम गर्ने ? भन्ने स्पष्ट नभएकाले चित्तबुझ्दो जवाफसहित समितिमा प्रस्तुत हुन सरकारलाई निर्देशन दिने निर्णय भएको हो । प्रदेश सरकारले निर्देशनालय खारेज गरी राजपत्रमा प्रकाशन गरिसकेको छ ।

उहाँले भन्नुभयो, “निर्देशनालयले कर्णालीका १० जिल्लाबाहेक लुम्बिनीका पाँच जिल्लाका साविक एसएलसीका कागजात सुधार गर्ने, शिक्षक सेवा आयोगका काम गर्ने, पाठ्यक्रम विकास केन्द्रका कार्य गर्ने, शैक्षिक जनशक्ति विकासका कार्य गर्दै आइरहेको अवस्थामा सरकारले निर्देशनालय खारेज गरेपछि ती काम कसले गर्ने भन्ने स्पष्ट छैन । यसको हामीलाई जानकारी चाहिन्छ । सार्वजनिक सेवा प्रवाहमा कमजोरी नहोस् भन्ने ध्येयका साथ हामीले सरकारको धारणा बुभ्न खोजेका हौँ ।”

समिति सदस्य यामलाल कँडेलले सरकार आवश्यकता नबुझेर मन्त्रिपरिषद्ले निर्णय गरी निर्देशनालय हटाउनुले अव्यवस्था जन्मिएको टिप्पणी गर्नुभयो । “कामका हिसाबले सूचीकृत संरचना हटाउनुले सरकार सञ्चालन कार्य कमजोर हुँदै जान्छ । यसमा सरकार सच्चिन जरुरी छ”, उहाँले भन्नुभयो, “कर्मचारीको वृत्तिविकासमा पनि समस्या ल्याउने भएकाले यस विषयमा सरकारले आफ्नो धारणा बनाएर सरकारमा प्रस्तुत हुनुपर्छ ।”

समितिका सदस्य कलबहादुर हमालले निर्देशनालय खारेज तर निर्देशक नियुक्ति गर्ने प्रक्रिया आफैँमा कमजोर भएको बताउनुभयो ।उक्त बैठकमा विभागीय मन्त्री खड्गबहादुर पोखरेल, समितिका सदस्य जुम्कित लामा कार्की, इन्द्राकुमारी शाही, गमता विक, मिलन खड्काप, मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारु, सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्ले, समितिका सचिव राजेन्द्र पौडेलको सहभागिता थियो ।

सुवाको कालिका गाउँपालिकाका सुकुम्बासीलाई निस्सा वितरण

रसुवा, २४ माघ : दक्षिणी रसुवाको कालिका गाउँपालिकाका दलित, भूमिहीन एवं सुकुम्बासीका लागि भूमिको प्रमाणस्वरुप बसोबासको पहिलो निस्सा प्रदान गरिएको छ । भूमि आयोग रसुवाका जिल्ला अध्यक्ष लामाकार्पु तामाङका अनुसार सो आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको उपस्थितिमा भूमिहीन तथा सुकुम्बासीलाई जमिनको स्वामित्व प्रदान गर्न गाउँपालिकाको कार्यालयमा बसी स्थानीय सरकारका प्रतिनिधिकै रोहवरमा नौ जनालाई जग्गा उपलब्ध गराउने पहिलो निस्सा प्रमाण प्रदान गरिएको र जिल्लाभरकै दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने रसुवावासी नागरिकको पहिचान तीव्ररूपमा भइरहेको छ ।

पहिलो चरणमा प्रदान गरिएको निस्सा प्रमाणबाट अब नापी कार्यालयले नाप जाँच गरी क्षेत्रफल यकिन गर्ने, हाल बसोबास गरिरहेको जग्गामा कुनै जोखिमको सम्भावना भएमा उपयुक्त स्थान छनोट गरिनेसमेत बताइएको छ । गत विगतदेखि छनोट भएका भूमिहीन सुकुम्बासीलाई भूमि उपलब्ध गराउन गरेको प्रयासले यस वर्षबाट पूर्णता पाउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाको इटपारे, कालिकास्थान, आमाछोदिङ्मो गाउँपालिकाको गतलाङ, पुरानो तातोपानी र गोल्जुङ, रोङ्गा दोभान उत्तरगया गाउँपालिकाको बङ्से क्षेत्रमा धेरै बासिन्दा अव्यवस्थित र सुकुम्बासीको रूपमा बसोबास गरिरहेको स्थानीयले जानकारी दिएका छन् ।

ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्र गर्न बजेट अभाव

ताप्लेजुङ, २४ माघ : ताप्लेजुङको बहानन्दे–¬दोभान सडकखण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले कार्यअनुसारको रकम भुक्तानी नहुँदा काम छाडेर हिँड्नुपर्ने अवस्था आएको जनाएको छ । समयमै रकम भुक्तानी नहुँदा निर्माण क्षेत्रमा खटिएका मजदुर तथा कर्मचारीलाई चार महिनादेखि पारिश्रमिक दिन नसकिएको र थप कार्य अघि बढाउन कठिन भएको निर्माण कम्पनी एपेक्स कन्ट्रक्सन प्रालिले बताएको हो ।

कामअनुसारको रकम भुक्तानी नभए दुई हप्तापछि छाड्नुपर्ने अवस्था आएको निर्माण कम्पनीका प्रतिनिधि अनिल चौधरीले बताउनुभयो । “बजेट अभावले विगत चार महिनादेखि काम गर्ने कामदार तथा कर्मचारीलाई पारिश्रमिक दिन सकिएको छैन, कम्पनीले आफ्नो बजेटले भ्याएसम्म काम भयो, अब धान्ने अवस्था सकिँदै गयो, अब १५ दिनभित्र भुक्तानी भए काम अघि बढ्छ नत्र काम ठप्प हुने अवस्था आउँछ”, उहाँले भन्नुभयो, “वित्तीय प्रगति ६० प्रतिशत भएको छ तर करिब ४७ प्रतिशतमात्र रकम भुक्तानी भएको छ ।”

स्थानीय जनप्रतिनिधि र नागरिकले समयमै काम सम्पन्न गर्न बारम्बार अनुरोध गर्ने गरे पनि रकम अभावले नै रोकिने परिस्थिति सिर्जना भएको प्रतिनिधि चौधरीको भनाइ थियो । बजेट अभाव नहुँदा सम्झौता अवधिभन्दा छ–सात महिनाअघि नै काम सक्ने योजना रहेको उहाँले बताउनुभयो । उक्त १० किलोमिटर सकड कालोपत्र गर्नका लागि २०७९ साल जेठ २३ गते कुल रु ३३ करोड ९९ लाख ४६ हजार दुई सय २६ मा २०८१ साल फागुनभित्रै सम्पन्न गर्नेगरी सम्झौता गरिएकोे थियो ।

निर्माण पक्षले सोमबार निर्माण क्षेत्रमै ब्यानरसहित समयमै भुक्तानी गर्न माग गर्दै प्रदर्शन पनि गरेको थियो । यता उक्त सडकको नियमक निकाय उत्तर–दक्षिण (मुलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर सुदर्शन कार्कीले उक्त सडक कालोपत्रका लागि चालु आर्थिक वर्षमा रु एक करोड रहेको र उक्त रकम भुक्तानी भएको बताउनुभयो ।

थप रकम माग भएको र प्राप्त भएपछि निर्माण कम्पनीलाई भुक्तानी गर्ने उहाँको भनाइ थियो ।मेची राजमार्गसँग जोडिएको उक्त सडकखण्डले जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख)लाई जोड्छ । जिल्लाकै दोस्रो ठूलो बजार दोभानलाई जोड्ने सडक स्तरोन्नति समयमै नहुनु दुःखद् भएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।

बिस्केटका दुई वटा लिङ्गो ल्याइयो, योसिंद्यो डोजर र क्रेनले तानियो

भक्तपुर, २४ माघ : भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजर र क्रेनले तानेर भक्तपुर नगरपालिकास्थित भेलुखेलस्थित योसिंखेलमा ल्याइएको छ ।

तान्त्रिक विधिअनुरुप भक्तपुरमा नौ दिन आठरातसम्म सञ्चालन हुने बिस्केट जात्रामा चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो अर्थात् लिङ्गो उठाइन्छ भने त्यसको भोलिपल्ट अर्थात् १ वैशाखमा उक्त लिङ्गो ढालेर भव्यरुपमा जात्रा मनाउने परम्परा छ ।

उक्त जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर उभ्याइने गरिन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा उठाउने उक्त लिङ्गोकोे टुप्पोमा नाग र नागिनीको चिह्न मानिने ‘हलिङपत’रहेको हुन्छ भने लिङ्गो उभ्याउने क्रममा भैरवनाथ र भद्रकाली रथको उपस्थिति गराइन्छ ।

सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि दिएर सल्लाघारी वनको करिब ५५ हात लामो, नाङ्लो जत्रो गोलाइको लिङ्गो काटेर मानिसको हातले तानेर ल्याउने मल्लकालीन परम्परा अहिले तोडिएको छ ।

आगामी चैत २७ गतेदेखि सुरु हुने बिस्केट जात्राका लागि अत्यावश्यक लिङ्गो डोरी लगाएर हातले तान्ने परम्परा जनशक्ति अभाव भएको भन्दै गुठी संस्थानले डोजर र क्रेनको सहयोगमा तानेर ल्याइएको हो ।

डोजर र क्रेन प्रयोग गरेर योसिंद्यो ल्याएको भन्दै भक्तपुरका संस्कृतकर्मी सम्पूर्ण जोशीले ऐतिहासि, सांस्कृतिक, धार्मिक महत्वको परम्परागत जात्रामा आधुनिकताका नाममा क्रेन र डोजर ल्याउनु गलत भएको टिप्पणी गर्नुभयो । “हजारौँ मानिसले तान्दै आएको भैरवनाथको रथ (भैलख) पनि डोजरले तान्ने त अब ?” उहाँले प्रश्न गर्नुभयो ।

टौमढी युथ क्लबका पूर्वअध्यक्ष एवं समाजसेवी विजयप्रसाद धौभडेलले डोरीले लिङ्गो तानेर ल्याउने परम्परा अहिले डोजर र क्रेनले तानेर ल्याउने परम्परा सुरु गर्नु विडम्बना भएको बताउनुभयो । गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख खिमा वलीले गत वर्ष लिङ्गो ल्याउन करिब तीन लाखभन्दा बढीको ठेक्का लगाएर ल्याएकोमा यस वर्ष भने दाता शिवराम सुवालले सबै खर्च आफैँले व्यहोरिदिएकाले सरकारको बजेट वचत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष लिङ्गो ल्याउन बोलपत्र आह्वान गर्नु परेन, राज्यकोषको रकम बचत भएको छ, दाता शिवराम सुवालले दुई वटा लिङ्गो ल्याउने खर्च व्यहोरिदिनुभएको छ । गुठी संस्थानबाट पूजाका लागि दुई वटा बोका, एउटा हाँस र पूजाका लागि रु आठ हजार मात्रै खर्च गरेका छौँ ।”

उहाँले विगत तीन वर्ष अगाडिदेखि नै डोजर र क्रेनले लिङ्गो तान्न थालिएको बताउँदै खोलाबाट ल्याउन नसकिने, सडकबाट तान्दा मानिसको अभाव हुने र समय बढी लाग्ने, सडक जाम हुने हुँदा क्रेनले तानेर ल्याउदा सजिलो हुने भएकाले यसो गरिएको हुनसक्ने बताउनुभयो ।

मोफसलमा चलचित्र गतिविधि बढ्दै

काठमाडौँ, २४ माघ : चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छ । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रथम प्रदर्शनी (प्रिमियर), घोषणालगायत कार्यक्रम काठमाडौँमा केन्द्रित भइरहँदा मोफसलमा बजार बढाउन बेलाबखतमा प्रयास हुने गरेका छन् ।

काठमाडौँसँगै उपत्यका बाहिर चलचित्रसम्बन्धी गतिविधि बढाउनसके त्यसको प्रभाव व्यापारमा पर्ने चलचित्र निर्देशक मिलन चाम्सले बताउनुभयो । सोही कारण उहाँले चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शनी (प्रिमियर) मोफसलपछि काठमाडौँमा गर्दै हुनुहुन्छ ।

“हामीले एक साता लामो मोफसल भ्रमण गरिरहेका छौँ । त्यो सकिएलगत्तै धरान र पोखरामा प्रिमियर गर्दैछौँ । उपत्यकाभन्दा बढी चलचित्र भवन बाहिर छन् । यद्यपि हामीले त्यहाँ दर्शक तान्न सकेका छैनौँ”, निर्देशक चाम्सले भन्नुभयो । उहाँले धरानमा आगामी फागुन ५ गते, पोखरामा ७ गते चलचित्रको प्रदर्शनी गरेपछि मात्र काठमाडौँमा फागुन ९ गते गरिने जानकारी दिनुभयो ।

गत वर्ष चलचित्र ‘महापुरुष’ मोफसलका दुई सहर र ‘बहाव’ पोखरामा प्रदर्शनी गरिएको थियो । केही दिन अगाडि चलचित्र ‘दयारानी’ को प्रदर्शनी पोखरामा गरिएको थियो । तर, यी सामान्य गतिविधि मात्र हुन् । निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलको मागलाई ध्यानमा राख्दै आफूले चलचित्रका गतिविधि गर्ने गरेको बताउनुभयो ।

“हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझै कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्नका लागि हामीले गतिविधि बढाउनु आवश्यक छ”, निर्माता बानियाँले भन्नुभयो, “केही चलचित्रले मोफसलबाट नै लगानी उठाएका छन् । हामीले कोसिस नगरी व्यापार मात्र हेरिरहेका छौँ । मैले पछिल्लो चलचित्रमार्फत सक्दो प्रयास गरिरहेको छु ।”

निर्माता बानियाँले आफ्नो आगामी चलचित्र ‘महाजात्रा’लाई काठमाडौँ मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा रहेको बताउनुभयो । आगामी चैत ९ गते प्रदर्शन तय गरिएको उक्त चलचित्रको मोफसल भ्रमण र प्रदर्शनी (प्रिमियर) को तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

कैलालीमा छ वटा झोलुङ्गे पुल निर्माण, पुल बनेपछि आवतजावतमा सहज

अत्तरिया (कैलाली), २४ माघ : कैलालीमा छ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको पूर्वाधार विकास कार्यालय कैलालीले हालसम्म जिल्लाका विभिन्न ठाउँमा ती पुल निर्माण गरेको हो ।

रु बाह्र करोड ३९ लाखमा निर्माण भएका झोलुङ्गे पुलबाट छ हजारबढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको पूर्वाधार विकास कार्यालय कैलालीका सूचना अधिकारी विनोद खड्काले जानकारी दिनुभयो ।प्रदेश सरकारको लागतमा निर्माण भएका छ वटा पुलमध्ये तीन वटा पुल उपभोक्ता समिति र तीन वटा पुल पूर्वाधार विकास कार्यालयले टेन्डरमार्फत सम्पन्न गरेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी खड्का अनुसार आव २०७७÷७८ मा दुई वटा झोलुङ्गे पुल निर्माण भएका छन् । तीमध्ये एउटा पुलले कैलाली र डोटी दुई जिल्लालाई जोडेको छ । कैलालीको चुरे गाउँपालिका–१ र डोटीको जोरायल गाउँपालिका–६ जोड्ने १११.५ मिटरको निगाली झोलुङ्गे पुल ४६ लाख २२ हजारमा निर्माण सम्पन्न भएको तथा सात सय २० जना लाभान्वित भएको उहाँले बताउनुभयो ।

त्यस्तै जोशीपुर गाउँपालिका–४ र जानकी गाउँपालिका–७ जोड्ने ८०.२ मिटरको बारीगाउँ झोलुङ्गे पुल ७१ लाख ४३ हजारमा निर्माण सम्पन्न भएको र एक हजार १० जना लाभान्वित भएका उहाँले बताउनुभयो ।

आव २०७९÷८० मा ४ वटा पुल निर्माण सम्पन्न भएका छन् । ८३ लाख ५२ हजारमा निर्माण भएको कैलारी गाउँपालिका–१ र ५ जोड्ने ९८ मिटरको डम्मरा बन्दरगौडी झोलुङ्गे पुलबाट पाँच सय ३४ जना लाभान्वित भएका पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

त्यस्तै घोडाघोडी नगरपालिका–९ र १० जोड्ने २ सय ८० मिटर लामो कान्द्रा नदी झोलुङ्गे पुल रु तीन करोड ८४ लाख २३ हजारमा निर्माण सम्पन्न भएको तथा एक हजार दुई सय जना प्रत्यक्ष लाभान्वित भएको, दुई करोड ७५ लाख ७४ हजारमा घोडाघोडी नगरपालिका–४ मा बनेको दुई सय तीन मिटरको टयाङ्ना खोला झोलुङ्गे पुलले एक हजार पाँच सय जना प्रत्यक्ष लाभान्वित भएको र तीन करोड ७७ लाख ८६ हजारमा निर्माण भएको गोदावरी नगरपालिका–९ शेहरी र वल्मी जोड्ने २८०.६ मिटरको सहरी–बल्मी झोलुङ्गे पुलले एक हजार दुई सय ५० जनाभन्दा लाभान्वित भएको सूचना अधिकारी खड्का बताउनुभयो ।

पुल बनेपछि आवतजावतमा धेरै सहज भएको कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका स्थानीय वीरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “बल्मीबाट शेहरी जान वर्षात्को समयमा समस्या हुन्थ्यो । वडा कार्यालय पनि सेहरीमै जाने आउने काम परिरहन्छ । पुल बन्दा गत वर्षदेखि सहज भएको छ ।”

नेपाली सेनाको अगुवाइमा‘अभ्यास हातेमालो’को छैटौँ संस्करण सुरु

काठमाडौँ, २४ माघ : नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायको सहभागितामा तीनदिने एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’को छैटौँ संस्करण आजदेखि सुरु भएको छ ।

जङ्गी अड्डामा उक्त अभ्यासको उद्घाटन गर्दै बलाधिकृत रथी अशोकराज सिग्देलले विपद् प्रतिकार्य तथा न्यूनीकरणमा सरोकारवाला निकायबीच एकीकृत एवं समन्वयात्मक रूपमा काम गर्न अभ्यास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभ्यास हातेमालोले विपद् प्रतिकार्यसँग सम्बद्ध निकायबीचको एकता र व्यावसायिक क्षमता अभिवृद्धि गर्न टेवा पुग्नुको साथै विपद् प्रतिकार्य क्षमतालाई सशक्त तुल्याउन मद्दत पुग्ने बताउनुभयो ।

राष्ट्रियस्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले २०७५ सालदेखि अभ्यास हातेमालो सञ्चालन हुँदै आइरहेको छ ।

त्यस अवसरमा नेपाली सेनाका वरिष्ठ अधिकारी, विभिन्न मन्त्रालयलगायत सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसङ्घीय निकाय, नेपाल रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

भोजपुरमा प्रदेश स्तरीय भलिबल सुरु

टक्सार (भोजपुर), २४ माघ : ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ नाराका साथ आजदेखि भोजपुरमा कोशी प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा प्रतियोगिताका खेलहरु सञ्चालन भइरहेका छन् ।

उद्घाटनको दिन आज आयोजक जिल्ला खेलकुद विकास समिति र जनप्रतिनिधिको टोलीबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो । उक्त खेलमा खेलकुद विकास समितिले जनप्रतिनिधिको टोलीलाई २–० सेटले पराजित गरेको छ । त्यसअघि उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य विनोद बान्तवाले गर्नुभएको थियो ।

प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका, मोरङको बेलवारी नगरपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका तथा झापाको दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका सहभागी रहेका आयोजक समितिका प्रमुख गेल्जेन शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिता यही माघ २७ गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने टोलीले रु एक लाख ५० हजार, दोस्रोले रु एक लाख तथा तेस्रो हुनेले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु

मान्म (कालीकोट), २४ माघ : कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले राससलाई बताउनुभयो । मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ । बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो ।

गण्डकी सरकारको निर्णय कार्यान्वयनमा विलम्ब भएको गुनासो

गण्डकी, २४ माघ : लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा शतप्रतिशतसम्म अनुदान दिने गण्डकी प्रदेश सरकारको पहिलो निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको छ । गत वैशाख १५ गते बसेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भन्दै लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा अनुदान दिने निर्णय गरेको थियो ।

लिफ्टिङ सिँचाइ आयोजनाको विद्युत् महसुलमा दिने अनुदानका लागि अहिलेसम्म कार्यविधि तयार नभएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । लिफ्टिङ खानेपानी आयोजनामा भने मापदण्ड तोकिए पनि अनुदानग्राहीले आर्थिक वर्ष सुरु भएको आठ महिना बित्न लाग्दासमेत अनुदान रकम नपाएको गुनासो गरेका छन् ।

यसअघि बनेको ‘लिफ्टिङ खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड–२०७९’ लाई संशोधन गरेर मन्त्रालयले नयाँ मापदण्ड लागु गरेको छ । संशोधित मादपण्डअनुसार मासिक रु २५ हजारसम्म विद्युत् खपत गर्ने आयोजनालाई शतप्रतिशत र मापदण्डअनुसार रु २५ हजारदेखि ४० हजारसम्म विद्युत् खपत गर्नेलाई ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ । रु ४० हजारदेखि ६० हजारसम्म विद्युत् महसुल लाग्ने आयोजनालाई ५० प्रतिशत र मासिक रु ६० हजारदेखि रु ८० हजारसम्मको विद्युत् खपत गर्ने आयोजनालाई २५ प्रतिशत र रु ८० हजारभन्दा बढीको विद्युत् खपत गर्ने आयोजनालाई कूल विद्युत् महसुलको १० प्रतिशत अनुदान पाउने व्यवस्था छ । तीनभन्दा बढी ‘स्टेज’का आयोजनाले विद्युत् महसुलमा थप अनुदान पाउनेछन् ।

ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले लिफ्टिङ सिँचाइ आयोजनाको विद्युत् महसुलसम्बन्धी कार्यविधि चाँडै तयार हुने बताउनुभयो । “अहिलेसम्म हाम्रो प्रदेशमा लिफ्टिङ सिँचाइ आयोजना सञ्चालनमा नआएकाले पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएजस्तो देखिएको हो, कार्यविधि निर्माणमा ढिलाइ भएको चाहिँ साँचो हो”, उहाँले भन्नुभयो ।

लिफ्टिङ खानेपानी आयोजनाले विद्युत् महसुलमा पाउने अनुदान रकम तीन÷तीन महिनामा प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको जनाउँदै मन्त्री तिवारीले मन्त्रालयमा भएको केही प्रक्रियागत ढिलाइका कारण समयमै लाभग्राहीले अनुदान पाउन नसकेको बताउनुभयो । लाभग्राहीलाई समयमै अनुदान दिने प्रबन्ध गर्न र प्रक्रियालाई छरितो बनाउन मातहतका निकाय र कर्मचारीलाई निर्देशन दिइसकेको उहाँले स्पष्ट गर्नुभयो ।

लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा अनुदान दिन ढिलाइ भइरहेको विषयमा केही दिनअघि प्रदेशसभाको सामाजिक तथा कृषि समितिको बैठकमा पनि समितिका सदस्यहरुले प्रश्न उठाएका थिए । समितिका सदस्य तथा पूर्वकृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमै ढिलाइ हुनु दुःखद् भएको बताउनुभएको थियो ।

गत आवमा प्रदेशका दुई सय ४० वटा लिफ्टिङ खानेपानी आयोजनाले विद्युत् महसुलमा अनुदान पाएका थिए । मन्त्रालयका अनुसार ती आयोजनालाई कूल रु एक करोड ८८ लाख २६ हजार अनुदान रकम प्रदान गरिएको थियो । अनुदान प्राप्त हुने आयोजनाको विद्युत् अन्य घरायसी तथा व्यावसायिक प्रयोजनमा गर्न नपाइने मापदण्डमा उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणको कालोसूचीका अनुदानग्राहीलाई भने अनुदान नदिइने मन्त्रालयले जनाएको छ ।

अनुदानका लागि छनोटमा परेका आयोजनाले मासिकरुपमा विद्युत् महसुल तिरेको सक्कल बिल र विद्युत् अनुदान परिचयपत्रसहित सम्बन्धित कार्यालयमा निवेदन पेस गर्नुपर्ने व्यवस्था छ । मन्त्रालय मातहतका निकाय र कार्यालयमा अनुदानका लागि परेका निवेदनमाथि छानबिन तथा जाँचबुझ गरी मन्त्रालयले अनुदान पाउने आयोजनाको छनोट गर्ने गरेको छ ।

मापदण्डबमोजिम अनुदानग्राहीको रुपमा छनोट भई दर्ता भएका र अनुदान परिचयपत्र प्राप्त गरेका आयोजनालाई अनुदान पाउने गरेको मन्त्रालयले जनाएको छ । यो वर्ष लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा अनुदान दिन रु १० करोड पाँच लाख ३० हजार बजेट विनीयोजन गरिएको मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले बताउनुभयो ।

चीनमा शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त

विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनको बजार हालैका महिनामा वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ ।

साङ्घाई र हङकङका सेयर बजारहरूमा सरकारी विक्रयलाई लिएर बेइजिङ चिन्तित भएको छ । यी बजारले मूल्याङ्कनमा खर्बौं गुमाएका छन् र उक्त पराजयलाई रोक्नका लागि धेरै उपाय सार्वजनिक गरिएको छ । सत्तारूढ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वले यी हुइमानलाई मुलुकको शीर्ष वित्तीय नियामक सेक्युरिटिज रेगुलेटरी कमिसन (सिएसआरसी) को प्रमुखबाट हटाएको सरकारी प्रसारक सिसिटिभीले बुधबार बताएको छ ।

ब्लुमबर्गका अनुसार त्यसको एक दिनपछि राष्ट्रपति सि जिनपिङ बजारलाई माथि उठाउने प्रयासमाथि छलफल गर्न नियामकहरूसँग भेट गर्न लाग्नुभएको थियो । इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनका पूर्वअध्यक्ष यीलाई सन् २०१९ जनवरीमा सिएसआरसीमा शीर्ष पदमा नियुक्त गरिएको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार यीले लियु शियुको स्थान लिनुभएको थियो । लियुलाई ‘कानून र अनुशासनको उल्लङ्घन’ गरेको आरोपमा बर्खास्त गरिएको थियो र अनुसन्धान गरिएको थियो ।

एक आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष चीनले तीन दशकमा आफ्नो सबैभन्दा कम वृद्धि दर (पाँच दशमलव दुई प्रतिशत) हासिल गरेको छ । यसमा केही अर्थशास्त्रीले सन्देह प्रकट गरेका छन् । 

मुलुकले गम्भीर सम्पत्ति सङ्कट, सुस्त खपत र वैश्विक उथलपुथलको सामना गरिरहेको छ । अधिकारीहरूमाथि व्यावसायिक गतिविधि पुनः सुरु गर्न र उपभोक्ताहरूलाई पुनः खर्च गर्न थप प्रोत्साहन कदम सार्वजनिक गर्न दबाब छ ।

चीनको अर्थतन्त्रले महामारीपछि प्रारम्भिक सुखद सुधार गरेको थियो तर घर र व्यवसायहरूबीच विश्वासको कमीका कारण खपत प्रभावित हुँदा गत वर्षका केही महिनाभित्र यस्तो सुधार समाप्त भयो ।

मङ्गलबार प्रमुख वित्तीय संस्थानहरूमा चीन सरकारको हिस्सा राख्ने एकाइ सेन्ट्रल हुइजिन इन्भेस्टभेन्टले कोषमा लगानी बढाउने बताएपछि हङकङ र साङ्घाईमा स्टक बढ्यो । सिएसआरसीले दीर्घकालीन कोषबाट थप कार्य गर्न आग्रह गर्ने र सूचीबद्ध कम्पनीहरूबाट पुनः खरिद बढाउन आह्वान गर्ने घोषणा गरेपछि सेन्ट्रल हुइजिन इन्भेस्टमेन्टले कोषमा लगानी बढाउने बताएको हो ।

बिग्रिएका बजारलाई समर्थन गर्न थप चिनियाँ उपायहरूको अपेक्षामा साङ्घाईको सेयरहरू बुधबार बढेका छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी


काठमाडौँ, २४ माघ : अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।केही महिना पहिले हङकङबाट काठमाडौँ ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया सुरु गर्छन् ।उहाँले भन्नुभयो, “नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौँले गरेको सिफारिसका आधारमा सुन तस्करीमा संलग्न रोकाविरुद्ध फेब्रुअरी ५ मा डिफ्युजन नोटिस जारी भएको हो ।”

अमला तिब्बतीयन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धान निष्कर्ष छ । काठमाडौँको ठमेलस्थित होटेल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ ।

काठमाडौँमा ‘हिमालयन हाइड्रो एक्स्पो हुँदै

काठमाडौँ, २४ माघ : आगामी वैशाख १२ देखि १४ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ आयोजना हुनेभएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको साझा संस्था ‘इपान’ र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा एक्स्पोको चौथो संस्करण हुनलागेको हो ।

एक्स्पो जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा हाइड्रो पावर निर्माता, सामन उत्पादक, आपूर्तिकर्ता र परामर्शदाता, बीमा कम्पनी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डण्डीलगायत दुई सय भन्दा बढी कक्ष स्थापना गरिने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।

दश वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने सम्झौता भइसकेको र सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यसहितको २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र सरकारले तयार गरेको सन्दर्भमा एक्स्पो लाभदायक हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार तीनदिने एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, संयुक्त अधिराज्य बेलायतलगायत मुलुकका ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनी तथा सरोकारवालाको सहभागी हुने छन् ।

मुग्लिन–पोखरा सडक विस्तारका लागि बजारका घर भत्काउन आग्रह

दमौली (तनहुँ), २४ माघ : तनहुँको व्यास नगरपालिकाले मुग्लिन–पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । दमौली बजार क्षेत्रका घर नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह गरेको हो ।

नगर कार्यपालिकाको बैठकले बजार क्षेत्रका संरचना भत्काएर राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेको प्रवक्ता जीवन गुरुङले बताउनुभयो । मुख्यबजार क्षेत्रका संरचना नहटाइदिँदा काममा ढिला भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “डुम्रे, छिर्कनेलगायत ठाउँमा संरचना भत्काएर काम अगाडि बढिसकेको छ, तर दमौलीमा संरचना हटाउन ढिलाइ भएकाले नगरवासीलाई पुनः एकपटक संरचना हटाएर बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेका हौँ ।”

मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायत ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको छ । बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ तर व्यास नगरपालिका खण्डमा भने कामले गति लिन सकिरहेको छैन ।

दमौली बजारका ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेका छन् । घर भत्काइसकेपछि दोस्रो किस्ताबापतको रकम भुक्तानी गरिने उक्त सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली बजार क्षेत्रको घर भत्काउँदा करिब रु छ करोड क्षतिपूर्ति प्रदान गरिनेछ ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्मे सडक हुँदा यात्रामा असहज हुने गरेकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहज हुने भएको छ । पूर्वी खण्डअन्तर्गत दमौलीको मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको कामसमेत सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि सो पुल बनाउन लागिएको हो ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

जलवायु परिवर्तनको कारण दुई करोड अफगानी स्वच्छ पानीको पहुँचबाट वञ्चित

जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताउनुभएको छ ।

अफगानीस्तानको आधा जनसङ्ख्यालाई शुद्ध पिउने पानीको पहुँच नभएको स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले हक्कानीलाई उद्धृत गर्दै बुधबार जनाएको छ । हक्कानीले जलवायु परिवर्तनका कारण युद्धग्रस्त अफगानिस्तानको तीन प्रतिशत जङ्गललाई नष्ट गरेकाले नियमित वर्षामा ३७ प्रतिशतले कमी आएको उल्लेख गर्नुभएको छ । अफगानिस्तानले वर्षौँदेखि खडेरीको सामना गरिरहेको छ । परिणामस्वरुप राजधानी काबुललगायतका स्थानमा भूमिगत पानीको मन्दी आएको छ ।

यसैबीच सहरका करिब ६० लाख मानिसहरू चरम पानीको अभावको सामना गरिरहेका छन् ।एनईपीएका जलवायु परिवर्तन विभागका प्रमुख रोहुल्लाह अमीनले जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरूको सामना गर्न अनुमानित दुई अर्ब अमेरिकी डलर चाहिने बताउनुभएको छ ।

अफगानिस्तानका उच्च शिक्षा उपमन्त्री लुतफुल्ला खैरखवाहले आगामी दिनमा पूर्वी सहर जलालाबादको नानगाहर विश्वविद्यालयमा अफगान र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन हुने जानकारी गराउनुभएको छ ।

उपचार नपाउँदा पोर्चुगलमा दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली युवतीको बिचल्ली

लिस्बन ९पोर्चुगल०, २४ माघ स् पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा पर्नुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा पर्नुभएको हो ।

सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते हुनुभएकी उहाँ औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य हुनुहुन्छ । गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजोमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गर्नुभएकी उहाँलाई तीव्रगतिमा आएको कारले एक्कासी ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी उहाँको दाहिने हात र देब्रे हिप भाँचिएको छ ।

दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ । कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उहाँको अनुहारमा समेत चोट लागेको छ । हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला पर्नुभएको एक महिना हुन लागेको छ । सामान्य उपचारबाट समेत बञ्चित भएकी उहाँको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ । दुर्घटनापश्चात् प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उहाँलाई तत्काल मोन्तिजोस्थित बरेइरो अस्पताल पुर्याइएको थियो भने कार चालक फरार भएका थिए ।

उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी घर पठाएको पीडित मोक्तानले रासससँग दुःखेसो पोख्नुभयो । खुट्टाको उपचारका लागि अस्पतालसँग धेरै अनुरोध गरे पनि उपचार नै नगरी घरमै आराम गर्नु भनी अस्पतालले जबर्जस्ती डिस्चार्ज गरेको उहाँले बताउनुभयो ।

रोजगारदाता मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीले समेत उपचारमा बेवास्ता गरेपछि विक्षिप्त बनेकी मोक्तानले उपचारका लागि सहयोगको याचनासमेत गर्नुभएको छ । “उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु । न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु । विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन । उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ”, पीडा सुनाउँदै मोक्तानले भन्नुभयो । दुर्घटनामा परी बाँचेपनि उपचार पाउन नसक्दा घरपरिवारसमेत चिन्तित बनेका छन् ।

दुर्घटनाका कारण विक्षिप्त बन्नुभएकी उहाँ आफ्नो औषधोपचारका लागि सबैसँग हारगुहार गरिरहनुभएको छ । मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा कार्यरत हुनुहुन्थ्यो । भाँचिएको खुट्टाको उपचार नै नगरी जबर्जस्ती डिस्चार्ज गरी घर पठाउँदा उहाँको अवस्था झन् नाजुक बन्दै गएको उहाँसँगै बस्ने साथी प्रतिज्ञा बानियाँले बताउनुभयो ।

“सुस्मिताको उठ्न, चल्न सक्ने अवस्था छैन । ओछ्यानमा थला परेकी छिन्, रेखदेख गर्ने कोही छैन । उनको त बिजोग नै भएको छ”, सहयोगको आशा राख्दै बानियाँले भन्नुभयो । मोक्तानको दुर्घटनाको विषयमा लिस्बनस्थित महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली सङ्घलाई जानकारी गराइएको छ ।

मोक्तानको उपचारका लागि विभिन्न माध्यममार्फत पहल भइरहेको यहाँ कार्यरत नेपाली पत्रकार प्रबल भट्टराईले बताउनुभयो ।पीडित मोक्तानको औषधोपचारसहित पाउन सक्ने सेवा सुविधाका लागि कानुन व्यवसायीको व्यवस्था गरी औषधोपचारसँगै आवश्यक कानुनी उपचारको समेत पहल भइरहेको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताउनुभयो ।

उहाँको उपचारका लागि यहाँ क्रियाशील नेपाली सङ्घसंस्थामार्फत आर्थिक सहयोग सङ््कलन अभियानसमेत सञ्चालन गरिएको उहाँले सुनाउनुभयो । अस्पतालले डिस्चार्ज गरेपछि उहाँ कम्पनीले कामदार राख्दै आएको एक आवासगृहमा साथीहरूसँग बस्दै आउनुभएको छ । नेपाल नगएको चार वर्ष भएको बताउनुभएकी मोक्तानको आठ वर्षीय छोरा र श्रीमान् नेपालमा रहेको जनाइएको छ ।

मोक्तान दुर्घटनामा परी उपचारबाट समेत बञ्चित हुनुपरेको विषयमा सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको र उहाँको उपचारका लागि आवश्यक पहल भइरहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले राससलाई बताउनुभयो । पीडित मोक्तानलाई गत जनवरी ३० मा अस्पतालले डिस्चार्ज गरी घर पठाएको थियोे । रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस आउनुभएकी उहाँ दुई वर्षअघि पोर्चुगल आउनुभएको हो ।

घरघरमा अण्डा पुर्‍याउन ठाउँठाउँमा डिपो, उपभोक्ताले सस्तोमा पाउने

चितवन, २४ माघ : पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले उपभोक्ताको घरघरमा अण्डा पुर्‍याउन विभिन्न ठाउँमा डिपो सञ्चालनमा ल्याएको छ । आफ्नो उत्पादन र कृषकको फार्मबाट अण्डा सङ्कलन गरेर देशका विभिन्न सहरमा डिपोमार्फत अण्डा बिक्री गर्दै आएको हो ।

उद्योगले आजदेखि दोलखाको चरिकोटमा डिपो सञ्चालनमा ल्याएको छ । यो १५ औँ डिपो हो । खोरबाट भान्सासम्म पुग्दा विभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई महँगो पर्ने हुँदा कम्पनीले सोझै उपभोक्तासम्म पुर्‍याउने अभियान सञ्चालन गरेको कम्पनीका प्रबन्ध निर्देशक विनोद पोखरेलले बताउनुभयो । उहाँका अनुसार यसरी उपभोक्तासम्म पुर्‍याउँदा अण्डा ताजा र सस्तोमा उपभोग गर्न पाउछन् ।

आफ्नो उत्पादन र सङ्कलन भएको अण्डा डिपोमार्फत छिटो, छरितो र सर्वसुलभ रुपमा उपभोक्तामाझ पु¥याउन विभिन्न सहरमा डिपो सञ्चालनमा ल्याइएको पोखरेलले जानकारी दिनुभयो । उत्पादक र उपभोक्ताबीच प्रत्यक्षरुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरिएको उहाँको भनाइ थियो ।

देशभर कम्तीमा ३० डिपो पु¥याउने लक्ष्य रहेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार डिपो नभएका सहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि अण्डा केही सस्तो र ताजा हुने उद्योगले जनाएको छ ।

सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा चार लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक हजार पेटी (दुई लाख दश हजार गोटा) अण्डा उत्पादन हुँदै आएको छ । कम्पनीले पाँच सय पेटी (एक लाख पाँच हजार गोटा) अण्डा किसानबाट दैनिक सङ्कलन गर्ने गरेको छ ।

उद्योगका निर्देशक विपीन पोखरेलका अनुसार देशका प्रमुख सहरमा डिपो सञ्चालनमा ल्याइसकिएको छ भने अन्य सहरमा विस्तारको क्रम जारी छ । डिपो सञ्चालन नभएका ठाउँमा अन्य वितरकमार्फत अण्डा बिक्री गर्दै आएको छ ।

यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेरीनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ ।

चरिकोट डिपोको उद्योगका कार्यकारी निर्देशक पोखरेलले आज विधिपूर्वक पूजा गरेर उद्घाटन गर्नुभएको छ । सो अवसरमा भीमेश्वर नगरपालिका–३ का अध्यक्ष हरिशरण सिवाकोटी, दोलखा वितरक सप्लायर्स सङ्घका अध्यक्ष राजकुमार खड्कालगायतको उपस्थिति थियो ।

संसद् विकास कोष ब्युँताउने भ्याकेट निवेदनको जानकारी रिट निवेदकलाई दिन सर्वोच्चको आदेश

काठमाडौँ, २४ माघ : सर्वोच्च अदालतले संसद् विकास कोष ब्युँताउन दर्ता भएको भ्याकेट निवेदनबारे रिट निवेदकलाई जानकारी दिन आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान र सुष्मालता माथेमाको संवैधानिक इजलासले आज भ्याकेट निवेदन परेकाबारे रिट निवेदक त्रिलोकबहादुर चन्दलगायतलाई जानकारी दिन आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “यसमा यस अदालतबाट मिति २०८०÷५÷६ मा भएको अन्तरिम आदेश खारेज गरी पाऊँ भनी प्रत्यर्थी सङ्घीय संसद्, काठमाडौँसमेतका तर्फबाट सङ्घीय संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमको निवेदन पर्न आएकामा सो सम्बन्धमा रिट निवेदकलाई सूचना जानकारी दिइ नियमअनुसार पेस गर्नू ।”

अधिवक्ता त्रिलोकबहादुर चन्दलगायतले सङ्घीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन नगर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न सङ्घीय संसद् सचिवालय र सरकारका नाममा अन्तरिम आदेश गरेको थियो ।

अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गराएको थियो । सोही निवेदनमाथि आज सुनुवाइ गर्दै अदालतले रिट निवेदकलाई जानकारी दिन भनेको हो ।

खाद्य व्यवस्था कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने

अछाम, २४ माघ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने भएको छ ।आज समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले कार्यालयबाट प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने जिल्ला खाद्य व्यवस्थापन समितिले निर्णय गरेको हो ।

हालसम्म प्रतिव्यक्ति २५ केजी बिक्री वितरण हुँदै आएकामा कम्पनीको प्रधान कार्यालय काठमाडौँबाट प्रतिव्यक्ति १० केजी मात्रै वितरण गर्ने भन्ने निर्देशन आएको प्रजिअ पोखरेलले बताउनुभयो । “प्रतिव्यक्ति १० केजी मात्रै वितरण गर्दा समुदायको न्यूनतम आवश्यकता परिपूर्ति नहुने भएकाले यसअघि दिँदै आइएको प्रतिव्यक्ति २५ किलो वितरण गर्ने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।

प्रजिअ पोखरेलले अहिले प्रादेशिक कार्यालयबाट दुई सय क्विन्टल मोटा चामल प्राप्त भएको जानकारी दिनुभयो । कम्पनीको शाखा कार्यालयमा आर्थिक वर्ष २०८०÷८१ को लागि प्रादेशिक कार्यालय धनगढीदेखि शाखा कार्यालय अछामसम्म स्वीकृत भएको कोटा दुई हजार क्विन्टल भएको जनाउँदै हालसम्म एक हजार पाँच सय क्विन्टल मात्र प्राप्त भएको उहाँले बताउनुभयो ।

“चालु आवमा मुख्य शाखा कार्यालय राजापुर बर्दियाबाट यस कार्यालयका लागि स्वीकृत कोटा एक हजार क्विन्टल रहेको छ । हालसम्म उक्त चामल प्राप्त नभएकाले उल्लेखित कोटा अनुसारको खाद्यान्न आपूर्तिका लागि सम्बन्धित कार्यालयमा माग गर्ने, तीन हजार क्विन्टल खाद्यान्नको कोटा थप गरी ढुवानीको व्यवस्थाका लागि कम्पनीको प्रधान कार्यालयमा अनुरोध गर्ने निर्णयसमेत गरेका छौँ”, प्रजिअ पोखरेलले भन्नुभयो ।

निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण, फेरियो स्थानीयको दैनिकी

ढोरपाटन । निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ–घर गर्छन् । बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो । तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ ।

पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर स्थानीयवासीको दैनिकी नै सहज बनेको छ । अधिकांश समय बारी र गोठामा बिताउने उनी दिनमा १०÷१२ पटक खोला वारपार गर्छन् । पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उनमा अझै छ । तर झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन । खोला तर्दा बगाउँछ कि भन्ने पीरले पनि सताउन छोडेको छ । पुल बनेपछि मान्छेसँग पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उनी बताउछन्। पहिले बर्खाको समयमा धेरै पशुचौपाया खोलाले बगाई दिएको घर्ती मगरले बताए। उनले विगतको सम्झना गर्दै भने, “हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे ।”

विसं २०७६ पछि निसीखोलामा झन्डै दुई दर्जन झोलुङ्गे पसल निर्माण भएका छन् । जसले यहाँका हजारौँ स्थानीयको दैनिकी सहज बनाइदिएको छ । गाउँपालिकाको ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गरिरहेको छ । निसीखोला गाउँपालिका–४ बडाचौरदेखि झिवाखोला बजार पुग्न जोगिथुम्कादेखि पाँच मिनेट लाग्ने गथ्र्यो तर पुल नहुँदा स्थानीयले झन्डै आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्न बाध्य थिए ।

अहिले जोगिथुम्पाका–बोहोरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुङ्गे पुल बनेपछि एकै छिनमा बजार पुगिन्छ । पुल नबन्दा गाउँबाट बजार झर्दा नागरिकले जोखिम मोलेर खोला नै तर्ने गरेको भन्दै अहिले पुल तर्न पाउँदा दङ्ग परेको स्थानीय तीर्थबहादुर क्षेत्रीले बताए । पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका स्मरण गर्दै अहिले हिउँद बर्खा बाह्रै महिना वारपारमा सहज भएको उनी बताउछन् ।

क्षेत्रीले भने, “लामो समयदेखि खोला तरेर बजार पुग्नु परेको थियो, समय–समयमा खोला तर्दा केही ज्यान पनि गुमाएँ तर यहाँ पुल बनेपछि यस क्षेत्रका खोलाले बगाएर कसैको मृत्यु भएको छैन, युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको थियो, धेरै समय लाग्थ्यो, तर अहिले समय छोटो समयमै बजार पुगिन्छ, कसैले पनि खोला तर्नु परेको छैन, पहिले धेरै ठाउँमा काठको फड्के हालेर मान्छे खोला वारपार गर्थे, अहिले धेरै ठाउँमा पुल बनेका छन् ।”

चार वर्षको अवधिमा निसीखोलामा मात्रै १८ वटा झोलुङ्गे पुल बनेका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म वडा नं १ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाट र आठबोरघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं २ मा खोर्घाघाट, धौलाघाट र खग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।

उनका अनुसार वडा नं ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाट र मगराखोलाघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं ३ मा गहतेराखोलाघाट र ढुवाखोरघाट, वडा नं ४ मा कारीखोलाघाट, वडा नं ७ कुतखोलाघाट, सेलाखेतघाट र वडा नं ५ मा यारीखोलामा झोलुङ्गे पुल निर्माण गरेको गौतमको भनाइ छ । सङ्घीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको उनले बताए ।

पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९औ८० देखि हालसम्म निर्माण भएका सातवटा झोलुङ्गे पुलको रु एक करोड ७६ लाख भुक्तानी दिन बाँकी रहेको गौतमले बताए । सङ्घीय सरकारबाट आउने बजेट समयमै नआउँदा भुक्तानी गर्न नसकिएको उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विगतमा यस गाउँपालिका पछाडि पर्दा झोलुङ्गे पुल बन्न नसकेको भन्दै स्थानीय तह आएपछि छोटो समयमै धेरै पुल निर्माण गर्न सफल भएको बताए । नागरिकको आवश्यकता र मागका आधारमा धेरै ठाउँमा पुल निर्माण गरेको भन्दै अब कुनै पनि नागरिकले पुल नभएका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताए । निसीखोलामा स–साना दर्जनौँ खोला रहेको भन्दै सबै ठाउँमा पुल निर्माण गर्दै आएको उहाँको भनाइ छ । पुल निर्माण भएपछि घण्टौँको यात्रा पाँच÷दश मिनेटमै छोटिएको अध्यक्ष घर्ती मगरले बताए ।

“पाँच वर्ष अगाडिसम्म निसीखोला क्षेत्रमा थोरै मात्र झोलुङ्गे पुल थिए, थोरै पुलमा धेरै जनताले यात्रा गर्नुपर्ने बाध्यता थियो, ठाउँठाउँमा काठका साँघु हालेर खोला वारपार गर्ने गर्थे, त्यसी यात्रा गर्दै धेरैले ज्यानसमेत गुमाएँ,” उनले भने, “जब स्थानीय सरकार आयो त्यस यता धेरै पुल बने, अझै बन्ने क्रममा छन्, पुलले नागरिकलाई सहज बनाउने त भयो नै ज्यान पनि बचाउँछ, समय पनि बचाउँछ, आवश्यक पर्ने ठाउँमा पनि क्रमैसँग पुल बन्नेछन् ।”

सरकार सत्ता टिकाउनका लागिमात्र अग्रसर हुनु हुँदैन : सांसद रायमाझी

काठमाडौँ । सङ्घीय संसद्मा जनप्रतिनिधिको जिम्मेवारी बहन गरेको एक वर्ष बढी बितिसकेछ । मेरो संसदीय राजनीतिको पहिलो अनुभव प्रतिनिधिसभा नै हो । आम नागरिक, श्रमजीवीको प्रतिनिधित्व गर्दै थुप्रै काम गर्न सकिन्छ कि भनेर जागिर छाडेर निर्वाचनमा होमिएकी हुँ । अपेक्षाअनुरुप हुन त सकेन, तर पनि संसदीय अभ्यासको सम्बन्धमा यो अवधिलाई मैले अध्ययन, अनुसन्धानको वर्षका रुपमा लिएकी छु ।

कानुन निर्माण गर्ने जनप्रतिनिधिमूलक सर्वोच्च निकायको गरिमालाई जोगाइ राष्ट्रिय हित तथा जनताको सार्वभौम अधिकारलाई मध्यनजर गर्दै सांसद आफ्नो जिम्मेवारीलाई प्रभावकारी ढङ्गले निर्वाह गर्नेतर्फ केन्द्रित हुनुपर्छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुकको विशेषताअनुरुप संसद्मा सांसदकोे प्रतिनिधित्व हुन्छ । यो विविधताबीच एकता कायम गर्नु आजको आवश्यकता हो । भिन्न भिन्न पृष्ठभूमि, विचार, क्षमतासहितको प्रतिनिधित्वलाई एकापसमा सुदृढीकरण गर्न जरुरी छ । यस संस्थालाई सुदृढ बनाउनमा सबै सांसदको भूमिका उत्तिकै हुन्छ ।

जनप्रतिनिधिका उद्देश्य राजनीतिक विचार, निर्वाचन क्षेत्रअनुसार फरक फरक होलान् तर जनताको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाको सदस्य भइसकेपछि राष्ट्रिय हितका सम्बन्धमा साझा मुद्दा बनाउनुपर्छ । राष्ट्रिय सहमति जनाइ राजनीतिक दल एकताबद्ध हुनुपर्छ ।

संसद्लाई प्रभावकारी बनाउन सबै सांसदले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आवश्यक छ । मन्त्री, विषयगत सभापतिलगायत राजनीतिक पदका लागि सांसद दौडधुप गरेको पनि देखिन्छ । संसद् जनप्रतिनिधिको सर्वोच्च निकाय हो । सबै सांसद समान रुपमा रहेका हुन्छन् । अन्य सांसदलाई सोही दृष्टिबाट हेर्न जरुरी छ । व्यक्तिगत रुपमा मलाई हेर्दा, म सांसदको भूमिका प्रभावकारी रुपमा निर्वाह गरेर स्वच्छ रुपमा बाहिर निस्कनु मेरो ध्येय छ ।

सरकार पक्ष संसदीय अभ्यासलाई प्रभावकारी बनाउन सजग हुनुपर्छ । संसद चलाउने र फलदायी बनाउन सबै तत्पर हुन आवश्यक छ । संसदलाई बिजनेस दिने भनेको सरकारको काम हो । वर्तमान गठबन्धनको सरकार यस कार्यमा केही चुकेको छ । सांसदले सरकारले ल्याएको विधेयकमाथि छलफल र निष्कर्ष निकाल्ने हो संसद्मा आएको एक वर्षको समीक्षा गर्दा अघिल्लो अधिवेशनमा सरकारले बिजनेस दिन नसकेको हुनाले धेरै विधेयक टुङ्गो लगाउन सकेनौँ । हामीले जनतामाझ विश्वासको वातावरण सिर्जना गर्न सकेका छैनौँ । हाम्रो जिम्मेवारी पूरा गर्न नसकेको हो कि भन्ने महसुस भएको छ ।

चालु अधिवेशनमा सांसदहरु प्रभावकारी ढङ्गले सांसदको भूमिका निर्वाह गर्नको लागि तयार हुन आवश्यक छ । प्रमुख प्रतिपक्षले सरकारलाई सजग र सचेत बनाउनु प्रमुख भूमिका हुन्छ । सरकार सत्ता टिकाउनका लागिमात्र अग्रसर हुनु हुँदैन । जनतालाई सरकारको अनुभूति दिलाउन पहल गरोस् ।

म मेरो जिम्मेवारी बहन गर्न प्रयासरत छु । राजनीतिक दलमा नयाँ सदस्यलाई प्रमुख सचेतक, सचेतकले दिएको समय, मापदण्डअनुरुप चलेका हुन्छौ । शून्य समयमा उपलब्ध हुने एक मिनेटमा बोल्नुपर्ने विषयमा सामाजिक, समसामयिक विषयमा सर्वसाधारण नागरिकका मुद्दा उठान गर्ने गरेकी छु । मुख्यतः उठान गरेको विषयलाई सम्झनुपर्दा, मैलै काठमाडौँमा महिलाको छुरी प्रहार गरी भएकोे हत्याप्रति संसद्मा आकस्मिक समय मागेर प्रश्न उठाइसकेपछि तत्काल हत्यारा पत्ता लगाउन सम्बन्धित निकाय सफल भयो ।

नीति निर्माण कार्यक्रम, बजेट वक्तव्यमा विकास निर्माणका लागि बजेट प्राप्तिका लागि जोड्दार माग गरेको तर सम्बोधन हुन नसकेको अवस्था छ । तर सांसदको जिम्मेवारी निर्वाह गर्दा उठाएका विषय प्रायः कार्यान्वयन भएका छन् । खेर गएका छैैनन् भन्नेमा म विश्वस्त छु । संसद्मा विषय उठान गर्ने सन्दर्भ र विधेयकमाथिको छलफल तथा अध्ययन गर्ने क्रमको समयलाई मैले राम्रोसँग सदुपयोग गरेको महसुस गरेकी छु ।

प्रतिनिधिसभा सदस्य हुनुपूर्व सङ्घीय संसद्का जनप्रतिनिधिको भूमिका तथा संसदीय अभ्यासमा अभ्यस्त हुने गरेकी थिएँ । अहिले हामी सङ्घीय संसद्का रुपमा नीति–निर्माणमा केन्द्रित भई जनताको प्रतिनिधित्व गरिरहेका छौँ । त्यही संसद्को सदस्यका लागि निर्वाचनको समयमा मतदातामाझ हाम्रा प्रतिबद्धता पूर्वाधार निर्माण केन्द्रित हुनुपर्ने अवस्था छ ।

तसर्थ सांसदप्रति निर्वाचन क्षेत्रका जनताको अपेक्षा विकास निर्माणसँग पनि जोडिएको हुन्छ । जनताले ध्यान बजेटतर्फ राख्ने गरेका छन् । यसकारण जनताको प्रतिनिधि भइसकेपछि स्थानीय, प्रदेश होस् या सङ्घको । जनतामाझ राखेका प्रतिबद्धतालाई सम्बोधन गर्न बजेट विनियोजन हुनुपर्छ । तर यो काम गर्न सकिएको छैन । जनमानसमा जनताप्रति सांसदको प्रभावकारी भूमिका नदेखिएको हुन सक्छ ।

मुलुकमा सामन्ती, निरङ्कुश, केन्द्रीकृत व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याएका छौँ तर नेतृत्वकर्तामा सामन्ती सोच, पुरुषवादी सोचमा परिवर्तन भने गर्न सकेका छैनौँ । जसका कारण सबै राजनीतिक दलभित्र सहभागितामूलक निर्णय हुन नसकेका तीतो यथार्थ छ । म आबद्ध रहेको दलभित्र संसद्मा उठान गर्ने विषयमा समय माग गर्दा प्रमुख सचेतक, सचेतकले विषयअनुसार समय उपलब्ध गराएका छन् । दलभित्र सही वातावरण नै छ तर निर्णायक तहमा महिलालाई अर्थपूर्ण सहभागिताप्रति अझै पनि चासो नभएको अवस्था छ ।

समितिको जिम्मेवारीको हिसाबले म कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य छु । जहाँ खाद्य स्वच्छता विधेयकलाई अन्तिम चरणमा ल्याएका छौँ । विद्यालय शिक्षा विधेयकमा संशोधनकर्ताका रुपमा संशोधन प्रस्ताव दर्ता गरी अध्ययन र छलफल गर्ने अभ्यास भइरहेको छ । सदन नचलेको खण्डमा गृहजिल्लाका समस्या बुझ्ने प्रयास गर्छु । अब हामी चालु अधिवेशनलाई द्रूत गतिमा लैजान विधेयकमाथिको अध्ययन, छलफलका लागि तयार हुनुपर्छ ।
सांसद बिजुला रायमाझीसँगको कुराकानीमा आधारित

आज राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै

काठमाडौँ । आज बुधबार राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।

आजको बैठक सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्न बस्न लागेको हो । यसअघिको बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो ।

नारायणगढ–बुटवल सडक विस्तार: सुस्त गतिमा चिनियाँ कम्पनीको काम, पाँच वर्षमा ४६ प्रतिशत प्रगति

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक विस्तारको काम विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले विसं २०७५ माघ २४ मा सम्झौता गरेको थियो ।

विस्तारको काम सुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुईपटक म्याद थपी सडक विस्तारको काम भइरहेको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले पहिलोपटक थप गरिएको समय विसं २०८० भदौ १२ मा सकिएपछि दोस्रोपटक समय थप गरेर आयोजना पूरा गर्ने समय विसं २०८१ साउन ८मा पुर्‍याइएको बताए । ‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ, उनले भने, ‘दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेको छैन ।’

निर्माण व्यवसायीलाई दोस्रोपटक म्याद थपिएको समय सकिने करिब पाँच महिना बाँकी हुँदा हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २० दशमलव ३८ किलोमिटर मात्रै भएको जनाउँदै खनालले दुईतर्फी कालोपत्रको काम एक सय ३० किलोमिटर गर्नुपर्ने बताए । ‘निर्माण व्यवसायीले बनाएको कार्य योजनाअनुसार कुनै पनि काम गरेको छैन,’ उनले भने, ‘निर्माण व्यवसायीले बनाएको योजना र हामीले गर्नका लागि भनेको योजना पनि फरक छ । निर्माण व्यवसायी आफैँले बनाएको योजनाअनुसार काम गर्न सकेको छैन ।’ सडक विस्तारका लागि चालकसहितका सबै कामदार गरी ६ सय २६ जनामात्रै निर्माणमा संलग्न रहेको उनले बताए ।

‘निर्माण व्यवसायीले एक हजार पाँच सय ४१ कामदार आवश्यक पर्छ भनेर भनेको थियो । तर हामीले दुई हजार दुई सय मजदुर आवश्यक पर्ने प्रक्षेपण गरेका थियौँ,’ उनले भने, ‘आफैंले बनाएको कार्ययोजनासमेत निर्माण व्यवसायीले पूरा गर्न सकेको देखिएन ।’

सडक विस्तारका लागि योजनाले पेभर (कालोपत्र गर्ने उपकरण) दुईवटा आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले एउटा उपकरणबाट मात्रै कालोपत्र गरेको, ग्रेडर (सडक सम्याउने उपकरण) योजनाले २५ आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले निर्माण व्यवसायीले १६ वटाबाट काम गर्ने जनाएकामा जम्मा सातवटामात्रै ग्रेडरको प्रयोग भएको उनले बताए ।

त्यस्तै, स्काभेटर (माटो खन्ने उपकरण) ४० आवश्यक पर्नेमा निर्माण व्यवसायीले २६ वटाबाट काम गर्छौं भन्दै नौवटामात्रै प्रयोग गरेको, रोलर (कालोपत्र गर्नुअघि सडक सम्याउने उपकरण) ४५ वटा आवश्यक पर्ने भनिएकामा २६ वटाबाट काम गर्छौं भन्दै नौवटा रोलर मात्रै सडकमा प्रयोग गरेको खनालले बताए। निर्माण व्यवसायीले आफैँले बनाएको योजनाअनुसार काम नगर्दा सडक विस्तारको कामले गति लिन नसकेको खनालको भनाइ छ । ‘कार्यतालिकाअनुसार काम गर्न र आयोजनाको काम समयमै सम्पन्न गर्न हामीले निरन्तर दबाब दिइरहेका छौँ,’ उनले भने, ‘निर्माण व्यवसायीले लो बिडिङ (कम मूल्य)मा ठेक्का सकारेका कारण उसले नगद प्रवाह गर्न नसक्दा भनेअनुसार काम गर्न सकेको छैन ।’

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले दोस्रोपटक थप भएको समयमा सडक विस्तारको काम नसकिने जानकारी दिँदै अझै एक वर्ष म्याद थप्नुपर्ने बताए । ‘सडक विस्तारको सुरुआती समयमा विभिन्न कारणले काममा ढिलाइ भएको थियो, अहिले पनि मौसमका कारण सडकको काम तीव्ररूपमा गर्न सकिएको छैन,’ उनले भने, ‘कावासोती, प्रगतिनगरलगायत ठाउँमा कालोपत्र गर्न तयारी गरिएको भए पनि रातिमा शीत खस्ने र मौसम चिसो भएका कारण कालोपत्र गर्न सकिएको छैन ।’

८ साउन २०८१ सालसम्म आयोजनाको करिब ७० प्रतिशत काम पूरा गर्नेगरी आफूहरू खटिएको उनको भनाइ छ । ‘साउनसम्म हामीले गैँडाकोटबाट दाउन्नेसम्म एकतर्फी कालोपत्र गर्नेगरी काम गरिरहेका छौँ,’ उनले भने, ‘त्यसपछिको बाँकी काम ८१ चैतभित्र सकाउने हाम्रो योजना छ ।’

सडक विस्तार गर्ने केही ठाउँमा खानेपानी र बिजुलीको पोल सार्ने काम बाँकी रहेको भन्दै उनले साइड क्लियर भएको ठाउँमा काम धमाधम अघि बढेको जानकारी दिए । ‘यो फेब्रुअरीसम्म सिजी, गैँडाकोट र दुम्कीबास क्षेत्रमा ३० केभी प्रसारण लाइन सार्ने काम सकिन्छ,’ उनले भने, ‘विद्युत्को पाँच किलोमिटर पोल सार्ने र खानेपानीको ६ किलोमिटर पाइप सार्ने कामपछि सडकका सबै बाधा सकिन्छन् ।’

आयोजनाअन्तर्गत अहिले बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, पहाडको भित्तो काट्ने, पर्खाल लगाउने, सडक किनारमा ग्याभिन भर्ने, बस वे (सवारीसाधन रोक्ने ठाउँ) बनाउने, कालोपत्र गर्ने सडक खन्ने र नयाँ बनाउने, माटो भर्ने, बेस र सब बेसको काम भइरहेको उनको भनाइ छ । नारायणगढबाट बुटवलसम्मको जम्मा एक सय १४ किलोमिटर सडकमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक रहेको छ । विसं २०१८ मा गैँडाकोटको शिलान्यास चोकबाट पूर्वराजा महेन्द्रले शिलान्यास गर्नुभएको सडक करिब ५८ वर्षपछि एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार भइरहेको छ ।

चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७ दशमलव ६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ ।

सडकको ४२ दशमलव सात किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको करिब पाँच किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताउनुभयो । यस खण्डमा १२ वटा ठूलो पुल (मेजर ब्रिज) र सानो २२ वटा (माइनर ब्रिज) बन्ने क्रममा छन् । सडकका विभिन्न स्थानमा निर्माण हुने दुई सय १५ वटा कल्भर्टमध्ये अधिकांशको काम सकिएको छ । एसियाली विकास बैङ्क (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा निर्माण सुरु भएको यस खण्डको कूल लागत रु नौ अर्ब ३८ करोड रहेकामा हालसम्म रु तीन अर्ब ७६ करोड ६६ लाख आर्थिक प्रगति भएको खनालले जानकारी दिए ।