`

चुरोटको ठुटाबाट सल्किएको आगोले राईको घर जलेर खरानी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ । सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटा भुइमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । उक्त आगोले दुई तले घर जलेर नष्ट हुँदा रु तीन लाख ५० हजार बराबरको क्षति भएको उनले बताए ।

आगलागीपछि हामफालेर भाग्ने क्रममा सोही घरमा भाडामा बस्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ का काजीमान कटवाल घाइते भएका छन् । कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी निरीक्षक मिश्रले बताए ।

प्रदेशका सबै जिल्ला जोड्नेगरी आन्तरिक हवाई उडानको तयारी गर्दै कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो ।

प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउँदै छ । मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायु सेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता, निगमका इन्जिनियरिङ मरमत विभागका व्यवस्थापक देवेन्द्र पुन, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङेगललगायतले हवाई उडानका लागि मङ्गलबार विमानस्थलको अवलोकन गरेका हुन् ।मुख्यमन्त्री शर्माले आन्तरिक उडानका लागि आवश्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग रहने बताए । उनले भने, ‘आन्तरिक उडान थप गरेर कर्णालीबासीको जीवनयापन सहज बनाउन प्रदेश सरकारले सहयोग गर्दछ । प्रदेश सरकार सुर्खेत विमानस्थल सुधारलाई प्राथमिकतामै राखेको छ ।’उडान समितिका संयोजक मरिताले प्रदेश सरकारले गरेको आग्रहलाई ध्यान दिएर जतिसक्दो छिटो सेवा सञ्चालन गरिने जानकारी दिए । उनले भने, ‘फागुन महिनाभित्र काम सुरु गर्ने गरी तयारी थालिएको छ । यसमा निगमले गर्ने आवश्यक तयारीका निम्ति लागि परेका छौँ ।’

लहानका किसान रतन साहले फलाए रंगिन काउली: हेर्नेको भीड, पाँच गुणा बढी मूल्य

सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली हेर्न अहिले मानिसहरूको घुइँचो नै लाग्न थालेको छ ।

उनले भने, ‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ । परीक्षणका लागि पाँच धुर जग्गामा लगाएँ,’ उनले भने, ‘राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।’उनले सोमबार मात्र १६ किलो काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए ।खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उहाँले जानकारी दिनुभयो । “सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो ।” प्रधानाध्यापक कुशेश्वर यादवले भन्नुभयो ।

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौँ : नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त तालिम ‘एक्स ब्यालेन्स नेल’ प्रारम्भ भएको छ । विसं २०६० देखि सञ्चालन हुँदै आएको तालिमकोे यो ४१औँ संस्करण हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त तालिममा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् छन् ।

उक्त तालिममा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायत विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा आगमी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मङ्गोलिया, इण्डोनेसियालगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय ‘शान्ति मिसन’ लगायत विषयमा संयुक्त अभ्यासमा सहभागी हुँदै आएको छ ।

संयुक्त अभ्यासका क्रममा आगामी फागुन ८ गतेदेखि २१ गतेसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदैछ ।

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका धम्मलराज चौधरी

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा जग्गा पाएका उनी पाँच दाजु-भाइले बाँड्दा दुई कट्ठामा समेटिए । गाउँमै खेती किसानी गरेर जीविका चलाउँदै आएका उनले व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा जग्गा जोड्न सफल भएको बताए ।

विगत आठ वर्षदेखि गाउँमा तरकारी खेती गरेका उनले अहिले वार्षिक रु नौ लाख बचत गर्ने जानकारी दिए । “मैले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले मेरो परिवारको आर्थिक अवस्थामा सुधार आउनाका साथै गाउँका अरू किसान पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्”, उनले भने, “यहाँ उत्पादन भएको तरकारी धनगढी, महेन्द्रनगर, बेलौरी र आइबीआरडीलगायत बजारहरुमा खपत हुन्छ ।”

चौधरीजस्तै पछिल्ला केही वर्षयता कञ्चनपुरमा व्यावसायिक तरकारी खेतीमा थारू समुदायकको सक्रियता बढ्दै गएको छ । पुस्तौँदेखि खेती र पशुपालनबाट जीविका चलाउँदै आएका उनीहरु नगदे बालीका रुपमा तरकारी खेती थालेपछि आयआर्जन समेत बढेको बताउँछन् ।

“सुरुमा दुई÷तीन कट्ठाबाट तरकारी खेती थालेको थिएँ,” किसान धम्मलराज चौधरीले भने, “धान, गहुँ खेतीबाट तरकारीमा मुनाफा बढी हुने देखिएपछि व्यावसायिक रुपमा तरकारी खेतीमै लागेँ ।” उनले तरकारीको मूल्यमा थपघट हुँदा किसान प्रभावित हुने गरेको बताए ।

उनले तरकारीबाट मासिक रु ७५ हजार आम्दानी हुने गरेको बताउँदै सो रकमबाट परिवारको जीविका चल्नाका साथै छोराछोरीको पढाइ खर्च भइरहको जानकारी दिए । “तरकारी खेतीका क्रममा कृषि सेवा केन्द्रबाट अनुदानमा बीउबिजनका साथै विभिन्न तालिम समेत लिएको छु,” चौधरीले भने,“तरकारी खेतीमा सक्रिय किसानलाई नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले पनि सहयोग गरिरहेको छ ।”

उनले तरकारीबाट भएको आम्दानीबाट अहिले गाउँमा ६ कोठे पक्की घर निर्माण गरिरहेको बताए । “किसानको आवश्यकता बुझेर सरकारी निकायले अनुदान र सहयोग गर्नुपर्छ,” उनले भने, “त्यसका लागि किसानसम्मै पुग्ने संरचना दरिलो बनाउनु आवश्यक छ ।”

उनले पडाव गाउँमा अहिले ३० जनाभन्दा थारू समुदायका किसान व्यवसायी तरकारी खेती गरिरहेको बताए । त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सुनिल चौधरी पनि गाउँका सफल व्यावसायिक तरकारी खेती गर्ने किसानको सूचीमा पर्छन् । गाउँको इन्द्रेणी कृषक समूहको अध्यक्ष रहेका उनले गाउँमा दुई सय बिघा जमिनमा किसानले तरकारी खेती गरेको बताए । “गाउँलाई तरकारीको नमूना क्षेत्र बनाउने योजना छ,” चौधरीले भने, “तरकारी खेतीमा लागेका प्रायः किसानको आम्दानी राम्रै छ ।”

डेढ दशकदेखि तरकारी खेती गरिरहेको चौधरीले अहिले एक बिघा खेतमा तरकारी खेती गरेका छन् । “द्वन्द्वकालका बेला मजदुरीका लागि भारतको राजधानी दिल्ली पुग्दा मलाइ समयको महत्व थाहा भयो,” उनले भने, “अरूको देशमा दुःख गर्नुभन्दा आफ्नै माटोमा सङ्घर्ष गर्दा अहिले राम्रो फल मिलेको छ ।” उनले तरकारी खेतीबाट वार्षिक रु चार लाख बचत हुने गरेको बताए। उनले भएको आम्दानीबाट छोरा माइकल चौधरी टीकापुरमा बिएससी एजी अध्ययन गरिरहेको बताए । “छोरालाई पनि कृषिमै लगाउने योजनासहित सम्बन्धित विषय अध्ययन गराउने योजना बन्यो,” उनले भने, “बाँकी आम्दानीको रकमले गाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको छु ।”

कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रमअन्तर्गत ६० हजार नगद, च्याङ्फालगायत कृषि औजारमा सहयोग पाएको चौधरीको भनाइ छ । व्यवसायी तरकारी खेतीमा लागेका अर्का सफल किसान हुन् बेल्डाँडी गाउँपालिका–३ बैवाहाका रामलाल चौधरी । १६ वर्षदेखि तरकारी खेती गरिरहेका उनले तरकारीबाटै भएको आम्दानीले गाउँमा सात कट्ठा जमिनका साथै धनगढीमा दश धुर घडेरी जोडेका छन् । “तरकारी खेतीको क्षेत्रफल बढाएर एक बिघा पु¥याएको तीन वर्ष जति भयो ।” उनले भने, “अहिले उत्पादित तरकारी दैनिक ६-७ क्विन्टल बिक्रीका लागि महेन्द्रनगर बजार लैजाने गरेको छु ।” उनले बार्षिक रु पाँच लाख मुनाफा हुने गरेको बताए । “तरकारी खेतीबाट सन्तुष्ट हुनाका साथै परिवारको खर्च आरामले चलेको छ,” चौधरीले भने, “बेला बखतमा सरकारबाट पनि अनुदान एवं कृषि औजार पाइएकै छ ।”

परराष्ट्रमन्त्री साउद अस्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज बुधबार अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन् ।उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबिच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।

देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्नुपर्छ : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।

झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को आज एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताए ।

“ब्रेन ड्रेन र मसल ड्रेनको जुन समस्या छ, त्यसलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना हुने परियोजना स्थापना जरुरी हुन्छ”, उनले भने । मुलुकमा ६० प्रतिशत जनशक्ति श्रमयोग्य र ४० प्रतिशत जनशक्ति युवा भएको अवस्थामा जनसाङ्ख्यिक लाभ लिनका लागि आफू प्रधानमन्त्री भएको बेला शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर कर्जा लिन पाउने व्यवस्थाको सुरुआत गरेको स्मरण गरे।

अध्यक्ष ओलीले नेपालमा विकास हुनसक्छ भन्ने उदाहरण झापा इनर्जी रहेको उल्लेख गर्दै कृषि, ऊर्जा र प्रविधिमा फड्को मार्ने विकास आवश्यक भएको बताए ।

कार्यक्रममा झापा इनर्जी लिमिटेडका अध्यक्ष एवं सांसद एलपी साँवाले परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन र बर्सेनि रु १२ करोड ८५ लाख आम्दानी हुने जानकारी दिए । परियोजनास्थललाई पुष्प बगैँचाको रुपमा समेत विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने योजना रहेको उनले बताए ।झापा इनर्जी कोशी प्रदेशको सबैभन्दा बढी क्षमताको सौर्य ऊर्जा परियोजना हो ।

सात वर्षदेखि आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै ‘पार्किङ’ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभावी पार्किङ गर्दै आएको साना तथा ठूला सवारीसाधनलाई व्यवस्थित गर्न प्रशासनले सम्बन्धित निकालयलाई लिखित निर्देशन दिएको हो ।

प्रशासनको निर्देशनविपरीत सडक आसपास र बजार क्षेत्रमा सवारीसाधन पार्किङ गरेको खण्डमा कानुनबमोजिक कारबाही हुने प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिए । “जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा दुईवटा बसपार्क छ । यातायात व्यवसायीहरुले आफूखुसी जथाभावी पार्किङ गर्दै आएका छन् । बजारभित्रै जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिमसँगै बजार कुरुप बनेको छ”, उनले भने, “कुरुप बजारलाई व्यवस्थित गर्न प्रशासनले पहल थालेको छ । प्रशासन दिएको निर्देशन कार्यान्वयन गर्न-गराउन सम्बन्धित निकायलाई लिखित निर्देशन दिइएको छ । यदि, प्रशासनले दिएको निर्देशनलाई बेवास्ता गरेको खण्डमा कानुनबमोजिक कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।”विसं २०७३ मा बनेका दिक्तेलस्थित आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन राखेर बजार क्षेत्रमा पार्किङ गर्दा समस्या आएको जनाउँदै स्थानीय बासिन्दाको विरोधपछि प्रजिअ शाहले मङ्गलबार सर्वपक्षीय बैठक बोलाएका थिए । बैठकले जिल्लामा सञ्चालित साना तथा ठूला सवारीसाधन पार्किङका लागि अनिवार्य बसपार्क लैजाने निर्णय गरेको थियो । सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न र यातायात व्यवसायीले निर्णय कार्यान्वयन गरे÷नगरेको जानकारी गराउन पनि प्रशासनले लिखित निर्देशन दिएको छ । प्रशासनले दिएको निर्देशन तथा बैठकको निर्णयको प्रतिलिपि नेपाल पत्रकार महासङ्घ खोटाङलाई बोद्धार्थका रुपमा पठाएको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकमा लामो दूरीको बस तथा जिप आचार्यगाउँ र छोटो दूरीको बस तथा जिप सोल्मा बसपार्कमा पार्किङ गर्ने निर्णय गरिएको छ । यस्तै, दुवै बसपार्कमार्फत सञ्चालन हुने सवारीसाधन सोही ठाउँमा काउन्टर स्थापना गरेर अनिवार्यरुपमा दर्ता चलानीको व्यवस्था गर्न सम्बन्धित यातायात व्यवसायीलाई निर्देशन दिइएको जनाइएको छ ।सर्वपक्षीय बैठकमा जिल्लामा सञ्चालित सबै सवारीसाधनको वैज्ञानिक भाडादर तत्काल कायम गर्ने निर्णय गरिएको प्रजिअ शाहले जानकारी दिए। “जिल्लामा सञ्चालित सवारीसाधनको भाडादर उच्च रहेको पाइएको छ । व्यवसायको नाममा उपभोक्ता ठग्न पाइँदैन । यसलाई चाँडै व्यवस्थापन गर्ने योजनामा छौँ”, उनले भने, “वैज्ञानिक भाडादर निर्धारण गर्न पनि सर्वपक्षीय बैठक आह्वान गर्छु । बैठकले तोकेको निर्णय कार्यान्वयन गर्ने जिम्मा प्रशासनको हुनेछ ।”सर्वपक्षीय बैठकले सवारीसाधन पार्किङ, सञ्चालन तथा व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वडा नं २ र ३ का वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी सङ्घका अध्यक्ष, नगर प्रहरी प्रमुखलगायत रहेका छन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका योजना शाखा प्रमुख सदस्यसचिव रहेको समितिलाई सवारीसाधन पार्किङ, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड र नीति बनाउने अधिकार दिइएको छ । सर्वपक्षीय बैठकले गठन गरेको समितिलाई सडक आसपास अवैधरुपमा निर्माण गरिएका संरचना हटाउनेसम्मको अधिकार दिइएको प्रजिअ शाहले जानकारी दिए ।खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले दिक्तेलमा निर्माण गरिएका दुवै बसपार्क उपयुक्त ठाउँमा नभएकाले आफूहरुले बसपार्कमा पार्किङ नगरेको बताए । “बसपार्कमा सवारीसाधन पार्किङ गर्न व्यवसायीहरु तयार छन् तर दुवै बसपार्क उपयुक्त ठाउँमा छैन । सिडिओ सा’बले बोलाउनुभएको सर्वपक्षीय भेलाले फलानो–फलानो भनेर तोकेको रहेछ १ यो निर्णय गलत भएको छ”, उनले भने, “सर्वपक्षीय भेलाले उपयुक्त ठाउँमा पार्किङ गर भन्नुपथ्र्यो, जसरी पनि फलानोले चाहिँ त्यही ठाउँमा लगेर पार्किङ गर्नुपर्छ भनिनु नियतपूर्ण देखिएको छ । त्यो बीचमा लाग्ने इन्धन खर्च कसले ब्यहोर्छ ? यस विषयमा पुनः छलफल हुनुपर्छ ।”बसपार्कका लागि आचार्यगाउँकाका स्थानीय बासिन्दाले १५ र सोल्माका स्थानीय बासिन्दाले २० रोपनी निःशुल्क उपलब्ध गराएको थियो । करोडौँ मूल्य पर्ने जग्गा स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएपछि संसदीय विकास कोष र सहरी विकास मन्त्रालयको रु एक करोड ६० लाखमा दुवै ठाउँको बसपार्क निर्माण गरिएको हो ।

धरहरा निर्माण कछुवा गतिमा, भौतिक प्रगति ९२ प्रतिशत

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

२०७५ पुसदेखि निर्माण कार्य सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । यसबिचमा छैटौँ पटक थप गरिएको म्याद पनि यही माघ ४ गते नै सकिइसकेको छ । अब सातौँ पटक म्याद थप्न प्रक्रिया अगाडि बढाइएको छ । अब कति समय दिने भन्ने छलफलकै क्रममा रहेको जानकारी दिइएको छ ।

धरहराको अहिलेको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ७८।६ प्रतिशत पुगेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

धरहरा पुनर्निर्माण तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत अगाडि बढाइएको थियो भने अहिले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत भइरहेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमणबिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण कार्य सुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

काठमाडौं । साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जेल र २५ हजार साउदी रियालसम्म जरिमाना हुनसक्ने बताए ।

यसैबीच, साउदी गृह मन्त्रालयले जनवरीको अन्तिम सातामा राज्यको रेसिडेन्सी, श्रम र सीमा सुरक्षा कानुनको उल्लंघन गर्ने १७ हजार ८ सय ९६ जनालाई अभियानले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा आवास नियम उल्लंघन गर्ने १० हजार ८ सय ७४, सीमा सुरक्षा कानुन उल्लंघन गर्ने ४ हजार १ सय २३ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ८ सय ९९ विदेशी रहेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।अहिले ५ हजार २ सय ४१ महिलासहित ५६ हजार ६ सय ८६ जना अवैध रहेको भन्दै कानुनी कारबाहीमा परेका छन् । अन्य ४९ हजार ७ सय २१ जनालाई निर्वासनअघि यात्रा कागजातहरू प्राप्त गर्न सम्बन्धित कूटनीतिक नियोगहरूमा पठाएको जनाइएको छ । सोही अवधिमा राज्यको रेसिडेन्सी, सिमाना र कामको नियम उल्लंघन गर्नेलाई ओसारपसार गर्ने तथा आश्रय र रोजगारीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ परेका छन् ।साउदी गृह मन्त्रालयले बारम्बार चेतावनी दिँदै राज्यमा घुसपैठ गर्नेहरूलाई प्रवेश गराउन वा उनीहरूलाई यातायात, आश्रय वा कुनै किसिमको सहयोग उपलब्ध गराउनेलाई बढीमा १५ वर्षको जेल सजाय र १० लाख रियालसम्म जरिमाना हुने जनाएको छ । मन्त्रालयले घुसपैठकर्ताहरूसँगको सहकार्यलाई गिरफ्तारीको वारेन्ट जारी गर्ने तथा यस्तो कार्यलाई ठूलो अपराध भएको भन्दै यसलाई अपमानजनक कार्य र विश्वास तोडेको आरोप मानिने जनाएको छ ।साउदी अधिकारीहरूले अनियमित प्रवासीहरूलाई लक्षित गर्दै ‘उल्लंघन नगर्ने देश’ भनिने उच्च प्रोफाइल राष्ट्रव्यापी अभियान चलाउँदै छन् । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बसेका नेपालीसहित अन्य मुलुकका आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेको र हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यहाँको सरकाले डिपोर्ट गर्ने गरेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ फुटबल : एपिएफ स्कुल र मनकामना विजयी

काठमाडौं । प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता’अन्तर्गत आज भएका खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर र मनकामना स्कुल, जोरपाटी आ–आफ्ना खेलमा विजयी भएका छन् ।

नेपाल एपिएफ स्कुल कीर्तिपुरले पुष्पसदन स्कुल, कीर्तिपुरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । यस्तै अर्को खेलमा मनकामना सेकेण्डरी स्कुल, जोरपाटीले डिएभी स्कुल, जावलाखेललाई ४–० गोलअन्तरले नै हराएको हो ।

नेपाल एपिएफ स्कुल कीर्तिपुरको खेल मैदानमा उक्त प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । प्रतियोगिताको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गर्नुभएको थियो ।

आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाका १७ तथा काभ्रेपलाञ्चोकको एउटा विद्यालय सहभागी छन् । विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अतिरिक्त महानिरीक्षक गौतमले जानकारी दिए।

“भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपिएफका विद्यालय, अन्य विद्यालय तथा फुटबल क्लबलाई समेटेर राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिनेछ”, उनले भने।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेल नेपालय पब्लिक स्कुल, जोरपाटी र हारती शिक्षा मन्दिर सितापाइलाबीच तथा दोस्रो खेल ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुर र जेम्स स्कुल, धापाखेलबीच खेल हुने छ ।

यसअघि सोमबार भएका खेलमा ल्याबोरेटोरी माध्यमिक विद्यालय कीर्तिपुर ३–१ गोलअन्तरले विजयी भएको थियो । अर्को खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुरले लिटल एन्जल्स स्कुल हात्तिबन, ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गरेको थियो ।

ट्राफिक कारबाहीबाट ७९ करोड राजस्व सङ्कलन

काठमाडौं – चालु आर्थिक वर्षको प्रथम छ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन भएको छ । छ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो ।उक्त राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात करोड ८७ लाख दुई हजार नौ सय ४३, मधेस प्रदेशबाट रु १० करोड पाँच लाख ५८ हजार नौ सय एक, बागमती प्रदेशबाट रु सात करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट रु आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनी प्रदेशबाट रु नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णाली प्रदेशबाट रु एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु दुई करोड ४२ लाख ८८ हजार सङ्कलन भएको हो ।यसैगरी ट्रक÷ट्याङकरबाट रु १५ करोड १९ लाख ९५ हजार चार सय, बस/मिनिबसबाट रु नौ करोड २० लाख पाँच सय, कार/जिप/भ्यानबाट १८ करोड रु ९० लाख ७६ हजार आड सय छ, ट्याक्टरबाट रु दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट रु ३१ करोड १७ लाख ३४ हजार पाँच सय ४६ र टेम्पो तथा अन्यबाट रु दुई करोड ५३ लाख २१ हजार छ सय राजस्व सङ्कलन भएको हो ।मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी भार÷ यात्री राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाहीबाट उक्त रकम सङ्कलन गरिएको हो ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्याङकर एक लाख ७० हजार आठ सय ४२, बस÷मिनिबस एक लाख नौ हजार तीन सय ७७ वटा, कार÷जिप÷भ्यान दुई लाख ६१ हजार छ सय ३६ वटा, ट्याक्टर ४१ हजार छ सय ४१ वटा, मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार चार सय ६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् ।नेपाल प्रहरीले ट्राफिक कारबाहीबाट मात्र नभइ कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयन, भन्सार छलीलगायत गैरकानुनी गतिविधि गर्नेहरूबाट पनि राजस्व सङ्कलन गर्दै आएको छ ।

गाजा अस्पतालबाट आठ हजार विस्थापितलाई निकालियो

काठमाडौं – गाजाको प्रमुख दक्षिणी सहर खान युनिसको घेराबन्दीमा परेको एक अस्पतालबाट करिब आठ हजार विस्थापितलाई निकालिएको रेडक्रसले मङ्गलबार बताएको छ ।

इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी) का प्रवक्ता टोमासो डेला लोङ्गाले पत्रकारहरूसँग भने, “गाजापट्टीमा मानवीय स्थिति भयावह छ ।” उनले प्यालेस्टिनी रेड क्रिसेन्ट (पिआरसिएस) ले सञ्चालन गरेको अल–अमल अस्पताल इजराइली सेनाको लामो घेराबन्दीपछि धेरै हदसम्म खाली गरिएको आइसिआरसीलाई जानकारी गराइएको बताए।

“खान युनिसमा हाम्रो प्यालेस्टिनी रेड क्रिसेन्ट अस्पतालमा शरण खोज्ने आठ हजार आन्तरिकरूपमा विस्थापित मानिसले हिजो अस्पताल छाडेका छन्”, उनले भने । उनका अनुसार अल–अमल अस्पताल दुई साताभन्दा लामो समयदेखि व्यापक गोलीबारी र लडाइँले घेरिएको थियो । अस्पतालमा धेरै पटक आक्रमण गरिएको भन्दै उनले शुक्रबार भएको आक्रमणमा पिआरसिएसका एक स्वयंसेवक मारिएको जानकारी दिए ।

करिब एक सय कर्मचारी र स्वयंसेवकसँग करिब एक सय वृद्ध, घाइते र अशक्त बिरामी त्यहाँ रहेको आइसिआरसीले बताएको छ । डेला लोङ्गाले निष्कासनअघि अल–अमल अस्पतालले औषधि, खाना र पानीको चरम अभावलगायत धेरै चुनौतीको सामना गर्नुपरेको बताउनुभयो ।

“स्टक पुनः भर्न करिब असम्भव थियो”, उनले भने । “एसोसिएसनको अल–अमल अस्पताल वरपर लगातार हिंसात्मक बमबारी र गोलीबारी जारी छ”, पिआरसिएसले मङ्गलबार भनेको छ ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार नजिकैको नासिर अस्पतालमा पनि अवस्था चिन्ताजनक छ । मन्त्रालयका प्रवक्ता असरफ अल–कुद्राले भन्नुभयो, “इजराइली कब्जाले नासिर मेडिकल कम्प्लेक्समा आफ्नो घेराबन्दी बलियो बनाइरहेको छ र यसको परिधिलाई तीव्ररूपमा लक्षित गरिरहेको छ ।”

उनले कम्प्लेक्समा चार सय ५० घाइते, तीन सय चिकित्सा कर्मचारी र १० हजार विस्थापितले एनेस्थिटिक्स र औषधिको ‘चरम अभाव’को सामना गरिरहेको बताए । “इन्धनको कमीका कारण नासिर मेडिकल कम्प्लेक्समा जेनेरेटर चार दिनभित्र बन्द हुनेछन्”, उनले भने । उनले इजराइली सेनामाथि एम्बुलेन्सको आवागमन रोकेको आरोप लगाए।

चार महिनाअघि युद्ध सुरु भएपछि गाजामाथि इजराइली आक्रमणका क्राममा अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरूमा बारम्बार आक्रमण गरिएको छ । इजराइली सेनाले हमासमाथि चिकित्सा सुविधाहरूलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको आरोप लगाएको छ । हमासले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

वैदेशिक रोजगारीका नाममा १४ लाख ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ, २३ माघ । वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ ।

अभियुक्त प्रजापतिले सात जनालाई वैदेशिक रोजगारीमा क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले निजलाई कौशलटारबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

नागढुङ्गा सुरुङको ब्रेकथ्रु हुन ३० मिटर मात्र बाँकी

कीर्तिपुर । राष्ट्रियसभा सदस्यले झिनामसिना समस्या समाधान छिट्टै गर्न सके आगामी वर्षसम्मभित्र नागढुङ्गा सुरुङमार्ग प्रयोगमा आउन सकिने बताएका छन् । यसका लागि सरकारी संयन्त्रको ध्यानाकर्षण गराइने र आवश्यक निर्देशन दिइने छ ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज उक्त स्थानको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सभापति प्रकाश पन्थले निर्माण प्रगति सन्तोषजनक भए पनि समयभित्रै सञ्चालनमा ल्याउन विभिन्न स्थानका जनताको गुनासो र केही नीतिगत अप्ठ्यारो हटाउनुपर्ने बताए । “वारपार छिचोल्न (सुरुङ ब्रेकथ्रु हुन)करिब ३० मिटर मात्र बाँकी रहेकोले सुरुङमार्ग समयमै पूरा हुन्छ भन्ने हाम्रो धारणा छ, जतिसक्दो चाँडो काम सकेर त्यसलाई सञ्चालन गर्न सरकारलाई निर्देशन दिन्छौँ”, उनले भने । समितिले आवश्यक निर्देशन लिखितरुपमा दिने र कार्यान्वयन भए नभएको अनुगमनसमेत गर्ने जानकारी पनि उनले बताए ।

सभापति पन्थको नेतृत्वमा सुरुङमार्ग आयोजनास्थल पुगेको संसदीय टोलीमा समितिका सदस्य कमला पन्त, जगप्रसाद शर्मा, भुवनबहादुर सुनार, महेशकुमार महरा र विमला घिमिरे तथा संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र उपसचिव कान्छा दुलाल थिए । संसदीय टोलीलाई सुरुङमार्गको प्रगतिबारे आयोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिएका थिए । साथै उनले सुरुङमार्ग निर्माणमा हालसम्म भएका प्रगति र चुनौतीबारे पाि जानकारी दिएका थिए । उनका अनुसार काठमाडौँको दहचोकदेखि धादिङको सिस्ने खोलासम्म दुई दशमलव ७ किलोमिटर सुरुङमध्ये अब मुख्य सुरुङतर्फको ३० मिटर मात्र खन्न बाँकी छ ।

सुरुङ वारपार भएपछि त्यसलाई पूर्णरुपमा सबल बनाउन कङ्क्रिटका कामलगायत अन्य काम गर्नुपर्ने र त्यसपछि सुरुङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरुङभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा सञ्चार र सुरक्षा संयन्त्रजस्ता अत्यावश्यक सेवा एवं संरचनाको व्यवस्था गराउनुपर्ने उनले बताए ।

इन्जिनियर कोइरालाले संसदीय समितिलाई सुरुङ पश्चिम प्रवेश विन्दुमा पर्ने धादिङको खत्री पौवास्थितकेही जमिनको जग्गाको मुआब्जा दिन कानुनी बाधा परेको जानकारी गराए । त्यहाँ विगतमा सडक रहेको तर पछि घुमेको स्थान सोझ्याउने क्रममा सडक सारिएपछि प्रयोगमा नआएको सडकको जग्गा स्थानीयले उपयोग गरिरहेका छन् । सडक रहेको जग्गामा स्थानीय व्यक्ति र सडक दुवैको नाम भटिएकाले थप अप्ठेरो परेको उनले बताए ।

अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक पारित

काठमाडौँ, माघ २३ गते । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित सर्वसम्मतले पारित भएको छ । समितिको आजको २२ औँ बैठकमा सभापति रामहरि खतिवडाले राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयक परिमार्जनसहित समितिले सर्वसम्मतिले पारित भएको बताउनुभयो ।

विधेयक पारित भइसकेपछि विकास नीति तथा योजना कार्यान्वयनका क्रममा आयोजना प्रमुख, ठेकेदार कम्पनी, सरकार, मन्त्री, कार्यालय प्रमुखलगायत सबै जिम्मेवार व्यक्ति र निकायमा अनुगमन गरी अनियमितता गर्नेलाई सही मार्गमा डोर्‍याउन सहजता गराउने बताउनुभयो ।

सभापति खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउने छलफल अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सभापति खतिवडाले बुधबार सदनमा पेस गर्ने कार्यतालिका रहेकामा तर दलका शीर्ष नेताले बोल्ने कार्यक्रम रहेकाले स्थगन भएको बताउनुभयो ।

विकास नीति तथा योजनाको कार्यान्वयनमा उत्तरदायित्व र जबाफदेहिता प्रवर्द्धन गरी लागत प्रभावकारिता अभिवृद्धि गर्न विकास नीति, योजनाको अनुगमन तथा मूल्याङ्कनलाई तथ्यपरक, विश्वसनीय, गुणस्तरीय, व्यवस्थित, नतिजामुखी र प्रभावकारी बनाउने सम्बन्धमा विधेयकमा व्यवस्था गरिएको छ ।

अर्नाले खोस्यो छोरीलाई बेहुली बनाएर अन्माउने मुखिया परिवारको धोको

सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए।मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो।सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउनेक्रम सुरु भइसकेको थियो। छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो।

गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए। तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ।

गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात भएको हो। रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ। गुलाबी परिवारले माछा मारेर जीविकोपार्जन गर्दै आएको छ।

घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो। सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए।

घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको थियो। बिहेको एकदिनमात्र अघि भएको यो दुःखद् घटनाका कारण रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो।

पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ। आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही रु १० लाख उपलब्ध गराउँदै आएको छ।

आर्थिक वर्ष २०७०/७१ देखि हालसम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएका छन् भने १६ को मृत्यु भएको कोसीटप्पु वन्यजन्तु आरक्ष प्रशासन शाखाले जनाएको छ। अर्नाको आक्रमणमा परी ४३ घाइते भएका छन् भने रञ्जुसहित चार जनाको मृत्यु भएको छ।

सकारात्मक लयमा आर्थिक र वित्तीय सूचक

काठमाडौँ, माघ २३ गते । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो ।

गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर रु सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख सात हजार नौ सय ७० र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय ३५ रहेको छ ।

यो अवधिसम्ममा शोधनान्तर स्थिति रु दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ । कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । सरकारको खर्च रु पाँच पाँच खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु चार खर्ब ९६ अर्ब ५० करोड रहेको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार विस्तृत मुद्राप्रदाय छ दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव तीन प्रतिशतले बढेको छ ।

पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन छ दशमलव छ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमललव नौ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम भएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव २६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने सरकारको लक्ष्य छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ८५ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकाङ्कमासमेत क्रमशः कमी आइरहेको देखिएको छ । “वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धिदरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मकरुपमा कम दबाब पर्न गएको छ”, राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३ दशमलव ०७ प्रतिशत, एक दशमलव ०४ प्रतिशत र शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क भने ३५ दशमलव ६० प्रतिशतले बढेको छ । त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ११ दशमलव ३८ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव २९ प्रतिशत र फलपूmलको १० दशमलव १५ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क एक दशमलव ६२ प्रतिशतले घटेको छ । मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ८४ प्रतिशत, विविध वस्तु तथा सेवाको नौ दशमलव ७३ प्रतिशत, शिक्षाको आठ दशमलव ९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव १८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको चार दशमलव ९६ प्रतिशतले बढेको छ ।

गत पुस महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ७६ प्रतिशत छ । यो अवधिमा तराईको मूल्यवृद्धि चार दशमलव ७८ प्रतिशत, पहाडको पाँच दशमलव ४० प्रतिशत र हिमालको छ दशमलव ५७ प्रतिशत छ ।

चालु आर्थिक वर्षको पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति नौ दशमलव ८२ प्रतिशत रहेको थियो, गत पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति छ दशमलव १६ प्रतिशत, मध्यवर्ती वस्तुको एक दशमलव ९९ प्रतिशत र पुँजीगत वस्तु दुई दशमलव ७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति एक दशमलव ०८ प्रतिशतले घटेको छ ।

यो अवधिमा आयात तीन दशमलव एक, निर्यात सात दशमलव दुई प्रतिशत र कूल वस्तु व्यापार घाटा दुई दशमलव छ प्रतिशतले घटेको छ ।

आपतकालीन सेवाको एकीकृत प्रणाली विकास गर्न कार्यदल गठन

काठमाडौँ । आपतकालिन अवस्थामा व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि केन्द्रीय सूचना प्रणालीमा पुग्ने र आवश्यक आपतकालीन सेवा लिन सक्ने गरी एकीकृत सूचना प्रणाली विकास गर्न कार्यदल गठन गरिएको छ । यसका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्ययीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक–एक र नेपाल प्रहरीका दुईजना प्रतिनिधि रहेका छन् । सूचना तथा सञ्चार विज्ञ विजय गौतमसमेत कार्यदलमा छन् ।

एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्यजस्ता सेवा एकीकृतरुपमा उपलब्ध गराइने गरी प्रणालीको विकास गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सोमबारको सरोकारवालाको बैठकले आपतकालीन सहायता सेवा प्रवाहका सम्बन्धमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न कार्यदललाई समय दिइएको छ ।

अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बर प्रयोगमा छन् । यो नयाँ सेवा सुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन् ।

केन्द्रीय सूचना प्रणालीमा प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ र आपतकालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणालीसमेत प्रयोगमा ल्याइने गरी उक्तकार्य अघि बढेको कार्यदलका संयोजक पाण्डेले जानकारी दिए ।

भक्तपुर नगरपालिकाले थन्थु दरबारलाई आफ्नै लगानीमा मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने

क्तपुर, २३ माघ । भूकम्पले क्षतिग्रस्त भक्तपुरको ५५ झ्याले दरबारसँगै जोडिएको मल्लकालीन थन्थु दरबारलाई भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने भएको छ । भक्तपुर नगरपालिकाले लामो समय कार्यालयका रुपमा प्रयोग गरेकोे थन्थु दरबार पुनःनिर्माण बहुवर्षीय योजनाका रुपमा अगाडि बढाइएको हो ।

पुरातत्व विभागबाट स्वीकृति पाएपछि पुरातत्व विभागसँग समन्वयमा पुरानो भवन भत्काएर मल्लकालीन शैलीमै पुनःनिर्माण सुरु गरिएको उनले बताए । नगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण आफैले बेहोर्ने बताउँदै आएको छ । साथै आफ्नै उपभोक्ता समिति एवं कालिगढबाट सम्पदा पुनःनिर्माण एवं जीर्णोद्धार गर्ने नगरपालिकाले अडान लिँदै आएको थियो ।

नगरप्रमुख प्रजापतिले भने, “थन्थु दरबारलाई मौलिक शैलीमा माटो जोडाइबाट पुनःनिर्माण गरिने भएको छ । दरबार भवन पुनःनिर्माण प्राविधिक समितिले पेस गरेको संशोधित नक्साअनुसार पुरातत्व विभागसँग समन्वय गरी अगाडि बढाएका छौँ ।”

स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरूणा नकर्मीले थन्थु दरबारको पुनःनिर्माण मौलिक शैलीबाट हुनु प्रशंसनीय भएको बताए । इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर दरबार क्षेत्रमा अवस्थित ५५ झ्याले दरबार थन्थु दरबारकै भागका रुपमा देखिएको बताउँदै दरबार पुनःनिर्माण माटो जोडाइको शैलीबाट हुनु स्वागतयोग्य कदम भएको बताए ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक संरक्षण एवं दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रा रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनःनिर्माण क्षेत्रको यसअघि स्थलगत निरीक्षण गरेका थिए।

नामिबियामा अफ्रिका खानी सम्मेलन

विन्डहोक, माघ २३ गते । नामिबियाका खानी तथा ऊर्जा मन्त्री टम अल्वेन्डोले सोमबार सम्भावित लगानीकर्ताहरूलाई परिहोजनाम सामेल गराउनु अत्यावश्यक रहेको बताउनुभएको छ । खनिज पदार्थहरूमा मूल्य थप्ने देशको प्रतिबद्धता आर्थिक वृद्धिको लागि महत्त्वपूर्ण योजना हुने पनि उहाँको धारणा छ ।

सोमबार साँझ दक्षिण अफ्रिकाको केप टाउनमा हुने आगामी इन्भेष्ट इन अफ्रिका माइनिङ इन्डाबामा देशको सहभागिताको घोषणा गर्दै अल्वेन्डोले महत्त्वपूर्ण खनिजहरूको बढ्दो विश्वव्यापी मागको प्रतिक्रियामा दिगो खानी अभ्यासहरूप्रति देशको बलियो भूमिका र योगदान बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले खानी इन्डाबाले नामिबियालाई आफ्नो क्षमता प्रदर्शन गर्न र अन्य खानी सबल राष्ट्रहरूबाट उत्कृष्ट क्षेत्रीय र विश्वव्यापी अभ्यासहरू बारे सिक्न यो कार्यक्रम महत्त्वपूर्ण हुने धारणा राख्नुभएको छ । हामीले हाम्रा सम्भावित लगानी साझेदारहरूसँग समझदारी सिर्जना गर्नु आवश्यक छ । हाम्रो खनिजहरूमा मूल्य अभिवृद्धिमा नामिबियाको स्थिर स्थिति नामिबियाको अर्थतन्त्रको वृद्धिको लागि महत्त्वपूर्ण हुन्छ ।

हरियो भविष्य प्राप्त गर्न हामीले दिगो खानी अभ्यासहरूप्रति हाम्रो प्रतिबद्धतालाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभएको छ । हीरा, सुन, तामा, जस्ता, युरेनियम, दुर्लभ पृथ्वी तत्त्वहरू, र औद्योगिक खनिजहरूसहित नामिबियाको विविध खनिज स्रोतहरू, अनुकूल नीति वातावरणको साथमा, राष्ट्रलाई खानी लगानीको लागि आकर्षक गन्तव्यको रूपमा विकास गरिएको मन्त्रीको दाबी छ ।

देशको खानी क्षेत्रले सन् २०२२ मा कुल गार्हस्थ्य उत्पादनमा लगभग १२.२ प्रतिशत योगदान गर्दै निर्णायक भूमिका खेलेको थियो । छलफल नामिबियाको सन्दर्भमा महत्त्वपूर्ण कच्चा पदार्थको विकास र स्थानीय मूल्य अभिवृद्धि वरिपरि केन्द्रित रहने छ । यस प्रमुख कार्यक्रमको उद्देश्य राष्ट्रिय उत्खनन र महत्त्वपूर्ण कच्चा मालको प्रशोधन विकास र कार्यान्वयन गर्न नामिबियाको योजनाहरूमा अन्तर्दृष्टि प्रदान गर्नु रहेको उहाँको टिप्पणी हुनेछ ।

नामिबियाका प्रमुख राष्ट्रिय संस्थाहरू जसमा नामिबियाको भूगर्भ सर्वेक्षण, एपान्जेलो माइनिङ, नामपावर, च्याम्बर अफ माइन्स, र नामिबिया इन्भेस्टमेन्ट प्रमोशन एण्ड डेभलपमेन्ट बोर्डले देशको प्रदर्शनीमा प्रस्तुत गर्ने छन् ।

सडक निर्माण प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे

गोरखा, २३ माघ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्रका पालिका र वडाहरुमा बाह्रै महिना चल्नसक्ने गरी मुख्य सडक निर्माण गण्डकी प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन् ।

आरुघाट गाउँपालिकाले आज आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा उनले प्रदेशभित्रका केही पालिकामा अझै पनि सडक सञ्जाल नपुगेको भन्दै त्यसता पालिकामा आगामी आर्थिक वर्षसम्म सडक सञ्जाल पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।सडक सञ्जाल नपुगेका पालिका तथा वडामा सडक सञ्जाल पु¥याउने प्रदेश सरकारको आगामी आर्थिक वर्षको पहिलो प्राथमिकता हुने उनको भनाइ छ । “जुन–जुन पालिका र वडामा अहिले बाटोले छोएको छैन ती सबै ठाउँमा सडक सञ्जाल पु¥याउने प्रदेश सरकारको लक्ष्य छ”, मुख्यमन्त्री पाण्डेले भने, “पालिकामा हिउँद र बर्खामा यातायात चल्नसक्ने सडक पु¥याएपछि वडाको केन्द्रमा पु¥याउने र क्रमशः त्यसलाई स्तरोन्नति गर्दै जाने हो ।”उनले गाउँको मुख्य बाटोलाई सबैले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मुख्यमन्त्री पाण्डेले पछाडि परेका मनाङ, मुस्ताङ र उत्तरी गोरखाको विकासलाई अन्य क्षेत्रमा जस्तै समानुपातिक ढङ्गले अघि बढाउनुपर्ने धारणा राखे ।“मनाङको लार्फाभूमि गाउँपालिकामा अझै सडक सञ्जाल पुगेको छैन, चुमनुब्री गाउँपालिका भर्खर मात्र सडक सञ्जाल पुगेको छ”, उनले भने, “अब ती क्षेत्रमा पनि सडक सञ्जाल पु¥याउनेछौँ ।”मुख्यमन्त्री पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजना जतिछिटो सम्पन्न गर्नसके यसले गोरखा र धादिङको आर्थिक विकास हुने बताए । आयोजना निर्माणबाट राज्यले लिने लाभ मात्र नभएर डुबान क्षेत्रका बासिन्दाले पनि फाइदा लिनसक्ने उनको भनाइ छ ।“आयोजना निर्माणपछि बन्ने जलाशय, पर्यटकीयस्थल र स्थानीयले प्राप्त गर्ने स्वरोजगारको सम्भावनाले गर्दा पनि डुबान क्षेत्र असाध्यै अगाडि बढ्न सक्छ”, उनले भने, “त्यसैले जतिसक्दो चाँडो आयोजना निर्माणका लागि औपचारिक र अनौपचारिक तवरबाट हामीले छलफल गरिरहेका छौँ ।”मुख्यमन्त्री पाण्डेले आयोजनाको निर्माणका लागि स्पष्ट ढाँचासहित सबै सकारात्मक रहेको भए पनि गति लिन भने नसकेको बताए ।“आयोजना निर्माणको अन्योलता अझै चिरिएको छैन । प्रधानमन्त्रीले आयोजना निर्माणको काम छिटो सुरु गर्ने प्रतिबद्धता पनि जनाइराख्नुभएको छ तर निर्माणको काम जसरी अघि बढ्नुपर्ने हो त्यो हुन सकेको छैन”, उनले भने । उनले योजनाको प्रभावकारी अनुगमन गर्न प्रदेश सरकारले अनुगमन समिति बनाएको बताए।

पाकिस्तानमा निर्वाचनको तयारी तीव्र

इस्लामाबाद , माघ २३ गते । पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी ८ गते हुने आम चुनावका लागि सय जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताउनुभएको छ ।

सिइसीले राष्ट्रमण्डल पर्यवेक्षक समूहलाई पाकिस्तानले विदेशी चुनाव पर्यवेक्षकहरूका लागि खुला द्वार नीति अपनाएको निर्वाचन आयोगले विज्ञप्ति मार्फत जनाएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन व्यवस्थापन प्रणाली (इएमएस) स्थापना गर्ने निर्णय गरेको एआरवाई न्युजले जनाएको छ ।

निर्वाचन आयोगका सचिव सैयद आसिफ हुसेनले एआरवाई न्युजसँगको अन्तरवार्तामा तीन हजार छ सय जनाले इएमएस प्रणाली सञ्चालन गर्न तालिम लिएको र तीन हजार थान कम्प्युटर स्थापना गरिएको उल्लेख गर्नु भएको छ । एआरवाई न्युजका अनुसार ईएमएस परीक्षणका क्रममा उत्पन्न समस्या समाधान गरी निजी नेटवर्क स्थापना गरिएको र तिनीहरू इन्टरनेट पहुँच बिना पनि काम गर्ने वातावरण निमार्ण गरिएको छ ।

यसैबिच, एउटा अन्तरवार्तामा, महानिर्देशक खिजर हयातले ४० स्थानमा चुनावमा इएमएस प्रयोग गरी चुनावको निर्बाध सञ्चालन सुनिश्चित गर्न यसको प्रविधिमा सुधार गरिएको पुष्टि गर्नु भयो । पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ गते हुने आम निर्वाचन अघि देशका सबै निर्वाचन क्षेत्रका लागि २६ करोड मतपत्र छाप्ने काम पनि सम्पन्न गरेको छ ।

भारतको पटाका कारखाना विस्फोटमा आठ जनाको मृत्यु

नयाँदिल्ली, माघ २३ गते । भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् ।

भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ र घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकप्टरलाई समेत बोलाइएको छ । वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म आठ जनाको मृत्यु र करिब ८० जना घाइते भएको जानकारी दिनुभयो ।

उहाँले मृतकको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । कारखाना स्थलका तस्बिरले कालो धुवाँसहितको भग्नावशेष देखाएका छन् । मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले विस्फोटको खबर ‘अत्यन्त दुःखद’ भएको र नजिकैका अस्पतालका बर्न युनिटका चिकित्सकलाई ‘आवश्यक तयारी’ गर्न बोलाइएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “नजिकैका क्षेत्रहरुबाट हरदामा एम्बुलेन्स लगिएको छ र हेलिकप्टरको व्यवस्था गर्नका लागि सेनासँग सम्मपर्क गरिएको छ ।”

उहाँका अनुसार घटनास्थलमा कम्तीमा २० एम्बुलेन्स रहेको र घाइतेलाई सहयोग गर्नका लागि थप ५० एम्बुलेन्स पठाइएको छ । हरदा जिल्ला अस्पतालका सर्जन मनीष शर्माले केन्द्रमा ठूलो सङ्ख्यामा मानिस हताहत भएको बताउनुभयो । “हाम्रो अस्पतालमा आठ जनाको मृत्यु भएको छ, अहिलेसम्म ९० जनालाई यहाँ भर्ना गरिएको छ र हामीले तीमध्ये १५ जनालाई ठूला अस्पतालमा रिफर गरेका छौँ”, उहाँले भन्नुभयो, “घटनास्थलबाट उद्धार भइरहेका धेरै मानिसलाई यहाँ ल्याइँदैछ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, “मानिसहरुको मृत्युले म दुःखी छु ।” उहाँले मृतकका परिवारलाई क्षतिपूर्तिकारुपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेलाई छ सय डलर दिइने बताउनुभयो । कारखानामा उद्धार कार्यमा समन्वय गरिरहेका जिल्लाका वरिष्ठ अधिकारी कैलाश चन्द पार्टेले दमकलले आगो निभाउने प्रयास गरिरहेको बताउनुभयो । “आगो अहिले पनि निभेको छैन र हामीसँग घटनास्थलमा करिब १५ दमकल र धेरै उद्धारकर्मी छन् ।”

उहाँका अनुसार कारखानामा दुई सयदेखि तीन सय मानिस काम गर्थे तर विस्फोटको समयमा कारखानाभित्र कति मानिस थिए भन्ने थाहा भएको छैन । “विस्फोट भएको परिसर वरपर कम्तीमा १० भवन विस्फोटको तीव्रताका कारण क्षतिग्रस्त भएका छन् ।” मृतकहरुमा आगलागीबाट बच्ने क्रममा हडबडाहटले भाग्दा कुल्चिएर मर्नेहरु पनि रहेको एक प्रहरीले टाइम्स अफ इन्डियालाई बताएका छन् ।

“विस्फोटपछि भागदौडका क्रममा केही मानिसको मृत्यु भएको छ”, स्थानीय प्रहरी अधिकारी अब्दुल रइस खानले अखबारलाई भन्नुभयो, “आगोे लागिरहेकाले उद्धार टोली अहिलेसम्म वास्तविक घटनास्थलसम्म पुग्न सकेको छैन ।” भारतमा पटाका कारखानामा प्राय विस्फोट भइरहन्छन् । विशेषरुपमा हिन्दूहरुको पर्व दीपावलीको समय र विवाह समारोहमा प्रयोग गर्न भारतमा पटाका अत्यन्त लोकप्रिय छ ।

यद्यपि धेरै कारखाना आधारभूत सुरक्षा आवश्यकताहरु पालना गर्न र अनुमतिसहित सञ्चालन गर्न असफल छन् । सन् २०१९ मा पञ्जाब राज्यको बटालामा एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । सोही वर्ष उत्तर प्रदेशको भदोहीमा अन्य १० जना मारिएका थिए ।

सङ्कटमा रिग्दी खोलाका असला माछा,अहिले भुरा देख्न पनि मुस्किल

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ वर्लयाङका शेरबहादुर प्रजाको घर रिग्दी खोलाको छेउमै छ । यही खोलाको पानीले उहाँले पानीघट्ट चलाउँदै आउनुभएको छ । रिग्दीको चिसो पानीमा दैनिक खेल्दै आउनुभएका प्रजाले यहाँको असला माछा खान नपाएको धेरै भइसक्यो । पहिले दैनिकजसो माछा मारेर खाने गरेको अनुभव सुनाउँदै उहाँले अहिले साना भुरा माछा पनि पाइन छाडेको बताउनुभयो ।

चितवनको अग्लो पहाड सिराइँचुली क्षेत्रको मुहानबाट बग्दै त्रिशूली नदीसम्म पुग्ने खोला हो रिग्दी । यो खोला कुनै समय असला माछाका कारण निकै परिचित भएकामा अहिले यहाँका असला माछा सङ्कटमा परेका छन् । खोलामा जथाभावी विषादीको प्रयोग, विद्युतीय माध्यमबाट माछा मार्ने र डोजरको प्रयोगका कारण खोलामा रैथाने माछा हराउन थालेको स्थानीयवासीले बताए । निकै स्वादिलो र सबैले रुचाउने माछा संरक्षण नहुँदा हराउँदै गएको पानीघट्ट सञ्चालक प्रजाले बताउनुभयो । “पहिले–पहिले गाई तर्दा पनि खुरले कुल्चेर माछा मथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले भुरा देख्न पनि मुस्किल छ ।”

“विषादी हाल्ने र करेन्ट लगाउनेजस्ता गतिविधिलाई स्थानीय सरकारले रोक्न सक्नुपर्छ”, पानीघट्ट सञ्चालक प्रजाले जोड दिनुुभयो, “लुकिछिपी अझै यस्ता गतिविधि हुने गरेका छन् । परम्परागत शैलीमा माछा मार्न दिइए र करेन्ट लगाउनेलाई सरकारले कारबाही गर्ने हो भने यहाँको माछा संरक्षण गर्न सकिन्छ । ”

मायाटारका टीकाबहादुर गुरूङले पहिले पहिले जाल खेल्दै जाँदा पाँच/छ पटकमा फुर्लुङ भरिने गरे पनि अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा पाउन मुस्किल हुने गरेको बताउनुभयो । स्थानीय सरकारले रिग्दीको असलालाई संरक्षण र यसैलाई ‘ब्रान्ड’ बनाएर समग्र इच्छाकामनालाई पर्यटकीय गन्तव्य बनाउन सकिनेमा उहाँले जोड दिनुभयो ।

गाउँपालिकाले भने खोलामा जथाभावी गर्नेलाई कारबाही गर्दै आएको जनाएको छ । पछिल्लो केही वर्षदेखि खोलामा विषादी नराख्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गर्दै आएको भन्दै पहिलेको तुलनामा केही कमी आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिनुभयो । “हामीले सूचना पनि जारी गर्दै आएका छौँ । स्थानीयवासीलाई पनि सचेत गराएका छौँ”, उहाँले भन्नुभयो, “सूचनालाई बेवास्ता गर्नेलाई कारबाही पनि गर्दै आएका छौँ । त्यसकारण पहिलेको तुलनामा असला संरक्षणमा टेवा पुगेको छ ।”

आउँदो वर्षदेखि बजेट नै छुट्याएर रिग्दीको असला संरक्षणको योजना ल्याउने तयारी गरिरहेको अध्यक्ष गुरूङले बताउनुभयो । इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीको वरिपरिबाट बगेका साना दुई खोला तल्लो काउलेमा आएर मिसिएको छ । वडा नं १ पछि वडा नं २ र ७ सँगै त्रिशूलीसम्म आइपुग्दो वडा नं ६ र भरतपुर महानगरपालिकाको वडा नं २९ लाई सिमाना छुट्याएर बगेको छ । रिग्दीमा मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको संरक्षणकर्मीको भनाइ थियो ।

असला माछाले वनस्पतिजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने गँगटा, झिँगे माछा, शङ्खे किरा, जलीय झारपात र किराफट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञले बताए । असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । दसदेखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ ।

यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ । यो माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक/मङ्सिर र माघ/फागुनमा प्रजनन गर्छ । मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । नेपालमा छ सयदेखि ३५ सय मिटरको उचाइसम्म असला माछा पाइन्छ ।

बेनी-जोमसोम-कोरला सडक : छाक्ताङखोलामा पुल निर्माण

म्याग्दी, २३ माघ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकास्थित छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन आवतजावतमा सहज भएको छ । छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो प्रिस्ट्रेस कङ्क्रिट विम प्रविधिको मोटरेबल पुल निर्माण गरिएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंले जानकारी दिए ।

“पुलसम्म पुग्ने पहुँचमार्ग कालोपत्र गर्न बाँकी भए पनि अन्य काम सकिएपछि सवारीसाधन सञ्चालन गरिएको छ”, उनले भने, “छाक्ताङखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत बन्द हुने र खोलाबाट सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ ।”

सो पुल निर्माण गर्न कालिका-गजुरमुखी जेभीले विसं २०७६ चैतमा सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो । पुलके ९९ प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको इञ्जिनियर चापागाईंले बताए । दुई सय दुई किलोमिटर दूरीको बेनी-जोमसोम -कोरला सडकमा छाक्ताङखोलासहित थप छ वटा मोटरेबल पुल निर्माण भएको हो ।

बेनी–जोमसोम कोरला आयोजनाले पाँच वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो । रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआई/हिमालयन जेभीसँग आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको थियो ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बीस मिटर लामो लोमान्थाङ पुलको लागत चार करोड ६८ लाख, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत छ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत छ करोड ८५ लाख छ ।

पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए । योजनामार्फत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०/७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको हो । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सात वटा मोटरेबल पुल निर्माणाधीन छन् भने थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन आर्थिक वर्ष २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

छ वटा खण्डमा ८५ किमी ग्राभेल र तीन वटा खण्डको २२ किमी सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।

सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताउनुभएको हो

प्रधानमन्त्री दाहालले भन्नुभयो, “सुशासन, पारदर्शीता, जबाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता हो ।” उहाँले मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

“नेपालको संविधान, कानुन, आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम, संस्थागत व्यवस्था सबैको आधारस्तम्भ मानव अधिकार नै हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मानव अधिकारबिना मानवीय मर्यादा, मूल्यमान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई सरकारले स्वीकार गरेको छ ।”

मानव अधिकारसँग सम्बन्धित अधिकांश अधिकार संविधानको मौलिक हकका समावेश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारको संरक्षणको जिम्मेवारी,प्रभावकारी अनुगमन र सुपरिवेक्षण गर्ने राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोगलगायत विभिन्न संवैधानिक आयोगको स्थापना भई क्रियाशील रहेको बताउनुभयो ।

मानव अधिकारको हननमा स्वतन्त्र र सक्षम न्यायपालिकाबाट कानुनी उपचार गर्ने संवैधानिक प्रत्याभूति गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन गैरसरकारी संस्था, नागरिक समाजसँगको समन्वयात्मक रूपमा मात्र सफल हुने कार्य भएको हुँदा मानव अधिकारको क्षेत्रमा सम्बद्ध क्रियाशील निकायको महत्वपूर्ण भूमिकालाई उपयोग गरी विभिन्न चेतनामूलक कार्यक्रम सशक्त बनाइएका छन् ।”

प्रधानमन्त्रीले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लगानी अभिवृद्धि गरी जनताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्यका साथ सरकारले मानव अधिकार पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय रूपमा नेपाल पक्ष भएका सन्धि सम्झौता अन्तर्गतका दायित्वलाई पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता जनाइ मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि विश्वव्यापी रूपमा नै नेपालले ऐक्यबद्धता प्रकट गर्दै तदनुरुप काम गरिरहेको छ ।”

सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका निर्धारण गरी तीनै तह र मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसस्था, नागरिक समाजको समन्वयमा यससम्बन्धी कार्ययोजना प्रभावकारी कार्यान्वयनलाई जोड दिइएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । उहाँले मानव अधिकारको सम्मान, संरक्षण तथा सम्बद्र्धनलाई संस्कृतिको रूपमा विकास गरी मानव अधिकारमैत्री गाउँ, समाज र राष्ट्र निर्माण गर्न अपिल गर्नुभयो ।

‘अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन’

काठमाडौँ, माघ २३ गते । नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय महासंघको सदस्यता ६० वर्षअघि नै प्राप्त गरेको र आजसम्म त्यसमा कुनै परिवर्तन नभएको जनाएको हो । नेपाल रेडक्रस रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको सदस्य नेपाल रेडक्रस सोसाइटी रहेको र नेपालको कानुनअनुसार दर्ता भई मानवीय सेवामा देशभर संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।

सोसाइटीले लेखापरीक्षण, वार्षिक साधारणसभा, समाजकल्याण परिषद्को आबद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको विज्ञप्तिमा स्पष्ट गरिएको छ । लामो समयको रस्साकस्सीपछि गत साउन २ गते प्राध्यापक सुदर्शनप्रसाद नेपालको नेतृत्वमा नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।

समितिको वार्षिक प्रतिवेदन पुनर्लेखन गरिने

काठमाडौ, २३ माघ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पुनर्लेखन गरी संसदमा पेश गरिने जानकारी दिएका छन् । समितिको आज बसेको २०औँ बैंठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलमा सहभागी विज्ञको रायसुझावका आधारमा पुनर्लेखन गरी पेश गरिने उनले बताए ।

“प्रतिवेदन औपचारिकता लागिमात्र नभई सरकारलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार पारिएको हो”, सभापति साहले भने, “प्रतिवेदन पुनर्लेखन गर्दा विज्ञले उठाउनुभएका रायसुझाव पनि समेटिनेछ ।”

प्रतिवेदनमा गत वैशाख १५ देखि असार मसान्तसम्म ज्येष्ठ सदस्य सभापति रोशन कार्कीद्वारा सञ्चालित बैठकमा भएका छलफल र निर्णय पनि समेटिएको छ ।

समितिका सचिव इन्द्रविलास पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमाथि समितिको आजको छलफल भएको थियो । उनले समितिलाई प्रभावकारी बनाउन विज्ञ, सम्बन्धित सरोकारवालासँगको छलफललाई थप जोड दिन आवश्यक रहेको बताए।

समिति सदस्य रोशन कार्कीले समितिले आफ्नो क्षेत्राधिकारमा रही आमन्त्रित गरेका राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, दलितको आयोगलगायतका सवैंधानिक आयोग र राष्ट्रिय बाल परिषद्, समाज कल्याण परिषद्, विज्ञसँगको उपस्थितिसहितको छलफलका क्रममा विश्लेषण गरिएका उक्त निकायका अवस्था, समस्या, सुधारका सुझाव पनि प्रतिवेदनमा समेटिने बताए ।

समिति सदस्य हर्कमाया विश्वकर्माले प्रतिवेदनमा समिति सदस्यको सहभागिता हुनुपर्ने आवश्यकता औँल्याउँदै बैठकमा छलफल भएका विषय समेट्दै प्रतिवेदनमा थप स्पष्टता दिनुपर्ने उल्लेख गरे । समिति सदस्य शोभा ज्ञवालीले समितिमा संवैधानिक आयोगमाथि गरिएका छलफलको गहिरो विश्लेषण गरी परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

गत आवमा समितिका आठ बैठकमार्फत २१ वटा निर्णय भएका छन् । प्रतिनिधिसभा नियमावलीमा, २०७९ को नियम १८९ को उपनियम (१) व्यवस्था बमोजिम समितिको प्रतिवेदन सभापति वा निजको अनुपस्थितिमा सभापतिले तोकेको सो समितिको अन्य कुनै सदस्यले बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ ।

सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली, माघ २३ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा सोमबार आयोजित ‘सहकारी संस्था समस्या समाधान र सुशासन प्रवर्द्धन’ विषयक प्रदेशस्तरीय कार्यशालामा उनले सहकारीमार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिने बताए ।

उनले भने, ‘सहकारीलाई जनपरिचालनको माध्यम बनाएर अघि बढाउन सके आयआर्जनका क्रियाकलाप अगाडि बढ्न सक्छन् । संविधानले नै समाजवादको कल्पना गरेकाले सहकारीलाई विकासमा योगदान पुर्याउने संस्थाका रूपमा विस्तार गर्न सकिन्छ ।’ आर्थिक सम्पन्नताले सुख र समाजिक न्यायले खुसी प्राप्त गर्न सकिने भएकाले आफूले त्यसलाई ध्यान दिएर काम गरिरहेको जनाउँदै मुख्यमन्त्री शर्माले सहकारीका क्षेत्रमा देखिएका समस्या तीन तहका सरकारले आवश्यक नीतिमार्फत समाधान गर्न सकिने बताए । ‘यसमा देखिएका समस्या, कमजोर व्यवस्थापन आदिमा निर्मम भएर समाधान गरेर अघि बढ्नु पर्दछ’, उनले भने, ‘कर्णालीमा सहकारीमा सुशासन कायम गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा सहकार्य गरेर मात्र सम्भव छ ।’सहकारी, निजी र सरकारी निकायको सहकार्यबाट आर्थिक क्रियाकलापलाई चलायमान गर्न राज्यले तीनखम्बे नीति अवलम्बन गरेको मुख्यमन्त्री शर्माले बताए । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले अहिलेको अवस्थामा सहकारीमा आबद्ध सदस्यहरूको विश्वास जित्नु सहकारीका लागि चुनौतीपूर्ण भएको बताए । उनले भने, ‘सहकारीका सिद्धान्तविपरीतका कार्यले सहकारीप्रति बचतकर्ताको विश्वास घट्दै गएको छ ।’पुँजी, प्रविधि र प्रतिभाको केन्द्रीकरण सहकारीलाई बनाउँदै लगेर नीति र व्यवहारिक समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो । रासस

सांसद तामाङसँग कुराकानी – ‘सङ्घीयताको मर्म र भावनाअनुरुप संसद्मा गतिविधि भइरहेको छैन’

सुदूरपश्चिम । संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा पटकपटक आवाज उठाएको छु र यस्ता विषयमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सकारात्मक जवाफ दिए पनि त्यसअनुरुपको काम विल्कुल भएको हुँदैन ।

खासगरी मैले नेपाल–भारत सीमा विवाद, कञ्चनपुरका आरक्षपीडित, हुलाकी राजमार्गको निर्माणमा ढिलाइसमेतका समस्याका साथै नदी कटान रोकथामजस्ता कञ्चनपुरका समस्या समाधानमा संसद्को शून्य र विशेष समयमा ध्यानाकर्षण गराएको थिएँ, सरकारले समस्या समाधान गर्छौँ पनि भन्यो, तर कार्यान्वयन नगरेर पूर्वाग्रही व्यवहार देखायो ।

मैले यसअघि पनि पाँचवर्षे कार्यकाल सुदूरपश्चिम प्रदेशसभा सदस्यको जिम्मेवारी बहन गरिसकेको अनुभव छ । प्रदेश र सङ्घीय दुवै सदनको काम गराइको अनुभव हासिल गर्ने अवसर प्राप्त गरेको छु । विधेयकमाथिको छलफलसमेतका कामको चापका सन्दर्भमा प्रतिनिधिसभा र प्रदेशसभामा केही फरक देखिएको अनुभव मैले पाएको छु । प्रदेश तहमा प्रदेशसभाको संरचना नयाँ भएकाले सुरुको पाँचवर्षे कार्यकालमा कानुन बनाउनमै सक्रियता देखाउनुपर्यो । प्रतिनिधिसभामा भने पर्याप्त विधेयक नहुँदा सक्रियता कम देखिएको छ ।

जनप्रतिनिधिको थलो संसद्लाई बलियो बनाउनका लागि हुनुपर्ने गतिविधि नभइरहेको अनुभव मेरो छ । सङ्घीयताको मर्म र भावनाअनुरुप संसद्मा गतिविधि पनि भइरहेको छैन । सङ्घीयताको ढाँचाअनुरुप तीनै तहका संरचनाको सहज सञ्चालनका लागि पर्याप्त ऐन, कानुन बनाउन सकिएको छैन । जनताको सर्वोच्च निकाय संसद्लाई कमजोर बनाउन नेताहरू लाग्नुहुँदैन । जनप्रतिनिधिको आवाज बोल्ने ठाउँ संसद्लाई बलियो बनाउने र जनताप्रति उत्तरदायी बनाउने काम नदेखिएको र कतिपय कामकारबाहीमा आफूअनुकूल व्याख्या हुने गरेको छ ।

संसद्, सरकार र न्यायपालिका (व्यवस्थपिका, कार्यपालिका र न्यायपालिका)लाई बलियो बनाउनुपर्ने भए पनि त्यसो भइरहेको छैन । संसद्लाई फलदायी ढङ्गले अगाडि लैजाने मुख्य भूमिका त सरकारकै हुन्छ, संसद्लाई व्यवस्थित र सघनरूपमा अघि लैजान योजनाअनुसार हिँड्न जरुरी छ । विषयगत समितिका काममा र समितिले दिएका निर्देशनमा पनि तदारुकता देखाउनुपर्यो । संसद्को चालु अधिवेशनले सत्य निरुपणसमेतका कतिपय विवादित विधेयक सहमतिका आधारमा टुङ्गो लगाउने अपेक्षा गरेको छु । राष्ट्रिय महत्वका विधेयक पारित गर्न सकेमा संसद् र सांसदकै भूमिका बढ्ने मेरो विश्वास छ । यसपटक सभामुख र दलका नेताहरूले संसद्लाई व्यवस्थित तुल्याउन कार्यसूची नै बनाएर अघि बढ्ने तयारी गर्नुभएको छ, जुन निकै सकारात्मक पक्ष हो ।

मुलुकमा व्याप्त भ्रष्टाचार र बेथिति रोक्नेतर्फ यसको चुरो कुरामा ध्यान दिनुपर्नेमा त्यसमा कमी–कमजोरी भइरहेको देख्छु । सरकारले भ्रष्टाचार नियन्त्रण र रोकथामका लागि गरिरहेका कारबाही सतहीमात्र भइरहेको हो कि भन्ने आशङ्का उत्पन्न भएको छ । भ्रष्टाचार रोकथाममा पूर्वाग्रह राखेर, सत्ताको ‘बार्गेनिङ’ गरेर काम गर्नुभएन । प्रष्टरूपमा परिणाम देखिनुपर्यो । देशको अहिलेको अवस्थालाई नीतिगतरूपमै आशलाग्दो हुनेगरी काम गर्नुपर्यो । विगतका सरकारले गरेका राम्रा र महत्त्वपूर्ण कामलाई पनि निरन्तरता दिनुपर्यो ।

बहुदलीय लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूबीच कतिपय मुद्दामा आपसमा आरोप–प्रत्यारोप हुने गरेको विषयलाई स्वाभाविक मानिने भए पनि देश विकास एवं समृद्धिका मुद्दामा दलहरू एक ठाउँमा आउन नसक्नु विडम्बना हो । यद्यपि दलहरू जनताको त्याग र बलिदानबाट प्राप्त वर्तमान सङ्घीय व्यवस्था जोगाउने सवालमा एक भएका छन् । संविधान र व्यवस्थाविरुद्धका गतिविधि सफल हुँदैनन् भन्ने मेरो बुझाई छ ।

जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नमा आफ्नो अथक प्रयास गरिरहेको छु । पार्टीले अघि सारेको समृद्ध नेपालको लक्ष्यबाट नै देशलाई सुखी र समृद्ध बनाउन सकिन्छ । दीर्घकालीन योजना, राष्ट्रिय महत्वका योजनाका साथै रोजगारी सिर्जनालाई प्राथमिकता दिनसके समृद्ध नेपाल बनाउन सकिन्छ । रोजगारी सिर्जनामा अहिले विशेष काम गर्नुपर्ने खाँचो छ । लाखौँ युवा अहिले विदेशिनेक्रम बढेको छ । उनीहरूलाई नेपालमै अवसर छ भन्नेगरी आश्वस्त तुल्याउन सरकार र राजनीतिक दलहरूले विशेष ध्यान दिनु आवश्यक भइसकेको छ ।

विगतदेखि नै एउटा बहस निरन्तर हुँदै आएको छ । सङ्घीय सांसदको काम देशका जल्दाबल्दा विषयमा सदनमा कुरा राख्ने, विधेयक पारित गर्ने, सरकार बनाउने मात्र हो कि आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा पनि ध्यान दिने हो रु मेरो विचारमा जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले हाम्रो दोहोरो दायित्व छ । हामीले सदनमा पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ, साथै आफ्ना निर्वाचन क्षेत्रका विकास निर्माण र जनताका समस्याका बारेमा पनि निरन्तर जानकारी लिने र त्यसको समाधानमा लाग्नुपर्छ । हामीले सरकार र जनताको पुलको काम पनि गर्ने नै हो । जनतासँग हामी जोडिन सकेनौँ भने हाम्रो उपादेयता जनताले देख्दैनन् ।

विसं २०३५-०३६ तिर झार्लाङमा गएको पहिराका कारण गाउँबाट विस्थापित भएपछि तत्कालीन सरकारले ल्याएको पुनर्वास कार्यक्रमअन्तर्गत कञ्चनपुरको पुनर्वास क्षेत्रमा म पनि बसोबास गर्न थालेको हुँ । तेह्र वर्षको कहिलो उमेरदेखि नै राजनीतिप्रति चासो राख्न थालेको थिएँ । मैले नेकपा (एमाले) पार्टी निकटको तत्कालीन अनेरास्ववियु (पाँचौँ)को जिल्ला सदस्य, पार्टीको सङ्गठित सदस्य, गाउँ कमिटी सचिव, जिल्ला कमिटी सल्लाहकारको जिम्मेवारी बहन गरिसकेको छु ।प्रतिनिधिसभा सदस्य तारा लामा तामाङसँगको कुराकानीमा आधारित/रासस

सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन

कञ्चनपुर, माघ२३ गते । बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’ , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

नगरपालिका क्षेत्रमा उत्पादन हुने तोरी किसानबाट खरिद गरी उद्योगमा प्रशोधन गरी उपभोक्ताको घरघरमा तोरीको तेल पुर्याउने उद्देश्यले उद्योग सञ्चालन गरिएको छ । उद्योग सञ्चालनमा आएपछि तोरी बिक्रीका लागि किसानलाई सहज हुने भएको छ । बजारमा पाउने मिसावट भएको तेललाई विस्थापित गरी उपभोक्ताको स्वास्थ्यमा सुधार ल्याई नगरपालिकाले आफ्नो छुट्टै पहिचान भएको तोरीको तेल ब्राण्डिङ गरेर बजारमा ल्याई बिक्रीवितरण गर्ने उद्देश्य राखेको सहकारीका अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

“दुई किलो ५० ग्राम तोरीबाट एक लिटर तेल उत्पादान हुन्छ, यसमा तोरीको मूल्य रु दुई सय ८०, बोतलसँगै बिर्को र ढुवानी रु १३, स्टिकर रु १२, श्रम लागत रु १३ गरी रु तीन सय २३ मा तेल बिक्री मूल्य राखेका छौँ”, उहाँले भन्नुभयो, “उद्योगलाई मुनाफाका रूपमा खली पिना रहेको छ, यसको मूल्य प्रतिकिलो लगभग रु ३४ छ ।”

सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्राण्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । सहकारीले उपसमिति बनाएर उद्योग सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाउने उहाँले बताउनुभयो ।

स्थानीय किसान धर्मराज चौधरीले नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि अग्रणी भए पनि बजार खोज्न निकै अप्ठेरो रहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि सहजरूपमा तोरी बिक्री हुने बताउनुभयो । “विगतमा बाहिरबाट व्यापारी आएर तोरी खरिद गर्थे”, उहाँले भन्नुभयो, “व्यापारीले तोकेकै मूल्यमा तोरी बेच्नुपर्ने अवस्था थियो, उद्योगमा तोरी बेच्दा मूल्य पनि बढी पाउने र बजार खोज्दै हिँडनुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

नगरप्रमुख पोतिलाल चौधरीले नगर क्षेत्रमा तोरी पेल्ने उद्योग भए पनि प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग पहिलोपटक सञ्चालनमा आएको बताउनुभयो । “उद्योग खुलेपछि रोजगारीका अवसर सिर्जना हुन्छन्”, उहाँले भन्नुभयो, “किसानको तोरी बिक्री हुन्छ, मिसावट भएको तेलको प्रयोगमा कमी आउँछ ।” उद्योग सञ्चालक सहकारीसँग बजारभाउभन्दा बढी मूल्यमा किसानको तोरी खरिद गर्ने सहमति भएको उहाँले उल्लेख गर्नुभयो ।

किसानलाई उन्नत तोरीको खेती गर्न नगरपालिकाका तर्फबाट अनुदानका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ । उद्योग सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्न चार महिना समय लाग्ने, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिन वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्ने, बोतलका लागि आफ्नै डाइसाँचो हुनुपर्नेलगायतका यावत समस्या भए पनि तोरी उत्पादनको सिजन भएकाले उद्योग उद्घाटन गरी सुरु गर्ने लक्ष्य लिइएको नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले बताउनुभयो ।

नगरपालिका क्षेत्रको खुला सीमानाकाबाट अखाद्य खानेतेल दैनिक भित्रिने गरेकाले यस क्षेत्रका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उहाँको भनाइ छ । यस विषयमा नगरपालिकाले विश्लेषण गरी नगरवासीलाई शुद्ध तोरीको तेल उपभोग गर्न भारतबाट आयात हुने अखाद्य तेललाई विस्थापित गर्नका लागि सहकारीसँग सम्झौता गरी शुद्ध तोरीको तेल उत्पादन गरी नगरवासीको घरघरका भान्सामा आपूर्ति गर्ने लक्ष्य लिइएको उहाँले उल्लेख गर्नुभयो । रासस

गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए ।

“पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ”, उनले भने, “स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।” गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ ।

आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ । कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए ।

“कार्यक्रमबाट गर्भवतीको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्च न्यूनीकरण हुनेछ”, उनले भने, “नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ ।”

गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन् । दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । कार्यक्रम अब निरन्तर चल्नेछ । बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ ।

अवरुद्ध उत्तर–दक्षिण कोसी राजमार्ग पुनः सञ्चालन

सङ्खुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी–किमाथांका सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए ।

सडकमाथिबाट ठुल्ठूला ढुंगासहितको सुक्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो । सो सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्छ । पहिरो खसेपछि उत्तरी क्षेत्रका भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या थियो ।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने बस, बोलेर गाडी र दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेला–बेला कोसी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । शनिबार बिहान सडक खन्दै गरेका बेला पहिरो खस्दा स्काभेटरका सहचालक घाइते समेत भएका थिए ।

सर्लाहीमा जिप दुर्घटनामा १० जना घाइते

सर्लाही – सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा आज साँझ उक्त जिप दुर्घटना भएको हो ।

मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको उक्त जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँंग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् ।

घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पर्साको वीरगन्ज पठाएको प्रहरीले जनाएको छ ।

मुगुमा आगो बालेर सुत्दा घरमा आगलागी, दाजुबहिनीकै जलेर मृत्यु

मुगु -मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालका १४ वर्षीय छोरा विशाल १२ वर्षीया छोरी झरनाको जलेर मृत्यु भएको छ।

सरस्वतीले जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतिरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनका छोराछोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीयको सहयोग आगो निभाएको थियो।

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले सोमबार जनाएको छ।घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु / कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देवघाटमा विभागद्वारा पाँच सय वर्षअघिका पुरातत्व पञ्चदेवल निर्माण

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो ।

विभागको टोलीे मन्दिर परिसरको पाँचवटा मन्दिर (पञ्चदेवल)को उत्खनन गरेको थियो । पाँच सय वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाटमा आई ध्यान गरी विभिन्न मठमन्दिर र देवालयको निर्माण गरेको बताइएको छ । विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ ।मन्दिर परिसरमा रहेका पाँच मन्दिरमध्ये चक्रवर्ती महादेवको मन्दिरको यसअघि नै रु ८० लाखको लागतमा पुनःनिर्माण सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरको उत्खनन गरी हालै पुनःनिर्माण सम्पन्न भइसकेको छ । उत्खननका क्रममा शताब्दिऔँ अघिको शिलालेख र करुवामा पैसाको सिक्का भेटिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।उत्खनन तथा पुनःनिर्माणमा विभागका प्राविधिकसहित पाँच र गैरप्राविधिक मजदुरसहित २५ खटिएका थिए । उत्खननका क्रममा मुख्य मन्दिरको गर्भ भागमा शिवलिङ्ग भेटिएको उनले बताए । उनका अनुसार उक्त शिवलिङ्ग भेटिएपछि उक्त मन्दिर महादेवको मन्दिर रहेको पुष्टि भएको थियो ।उक्त मन्दिर मुकुन्देश्वर महादेवको नामले चिनिन्छ । पाल्पाका तत्कालीन राजा मुकन्द सेनले स्थापना गरी पूजाआजा गरी मानी आएकाले यसको नाम मुकुन्द ईश्वर हुँदै मुकुन्देश्वेर महादेव भयो भन्ने भनाइ रहेको बताइन्छ । जुन–जुन स्थानमा उत्खनन गर्दा जे प्रमाण भेटिन्छ सोहीअनुसारको मन्दिरको पुनःनिर्माण गरिएको थियो । उत्खनन कार्यपश्चात त्यसको प्रतिवेदनका आधारमा मन्दिर पुनःनिर्माणको ढाँचा र शैली तयार भएको थियो । पूर्व अध्यक्ष पौडेलका अनुसार पुरातत्व विभागबाट शिला कुँदेर मन्दिर पुनःनिर्माण गर्दा सिमेन्ट र छडको प्रयोग गरिएको छैन । ऐतिहासिक, पौराणिक एवं पुरातात्विक महत्वको पावन तीर्थस्थल देवघाटधाममा रहेका यस्ता सम्पदाको संरक्षण गर्नसके धार्मिक पर्यटनको विकास गर्न सकिने उनको भनाइ छ ।

नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मतसँगै रङरोगन

नवलपरासी । पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ । नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेखि मर्मत हुन नसक्दा जीर्ण बनेका थिए । मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ ।

नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गर्न थालिएका हुन् । पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए ।

“जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ”, उनले भने । पश्चिम नवलपरासीमा सुस्तादेखी पाल्हीनन्दन गाउँपालिकाको गेर्मीसम्म ४१ किलोमिटर लामो सीमा छ ।सुस्ताको १४ किमि क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ । अहिले साढे २७ किमि क्षेत्रफलमा रहेका १३ मुख्य र तीन सहायक गरी १६ स्तम्भको मर्मत र रङरोगन कार्य सुरु गरिएको छ ।

हेर्नुहोस् माघ २३ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ मित्रहरु सगँ को भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ ।

बृष राशि- आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निणर्य हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि – जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि- शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशि – आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

कन्या राशि – सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ ।

तुला राशि- आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि – स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ ।सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

धनु राशि – जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निणर्य हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

मकर राशि – आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि – आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि- स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।