`

तत्काल सङ्घीय सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय

काठमाडौँ- जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ । समसामयिक राजनीतिबारे छलफल गर्न आईतबार बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।

मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत सङ्घीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो । बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।प्रवक्ता यादवका अनुसार आजको बैठकमा पार्टीको अबको कार्यदिशा कस्तो हुन्छ भन्नेबारे पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । जसमा देशको समग्र राजनीतिक प्रणाली तथा शासकीय स्वरुपको बारेमा प्रस्ताव छ । त्यसैगरी बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा राजधानीमा बृहत आमसभा गर्ने निर्णय पनि गरेको छ ।

विश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ– फ्रान्सेली राष्ट्रपति म्याक्रोन

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गणतन्त्र दिवस समारोहका क्रममा आफ्नो हालैको भारत भ्रमणको झलक देखाउँदै पोस्ट गर्नुभएको भिडियोमा भारतमा फ्रान्सले ‘बढीभन्दा बढी लगानी’ गर्न चाहेको आइतबार बताउनुभएको छ । उहाँले भारतको प्रशंसा गर्दै विश्व परिवर्तनमा भारत सबैभन्दा अगाडि रहने बताउनुभयो ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभएको भिडियोमा उहाँले भन्नुभएको छ, “भारतजस्तो लोकतान्त्रिक, जनसाङ्ख्यिकीय, आर्थिक र प्राविधिक शक्ति जस्तोे भन्नका लागि हामीसँग सबैथोक छ, भारत विश्व परिवर्तनमा अग्रपङ्क्तिमा रहने छ ।” ‘भारतमा एउटा असाधारण भ्रमणमा एक नजर’ शीर्षकका साथ पोस्ट गरिएको भिडियोमा म्याक्रोनले भन्नुभएको छ, “हाम्रा लागि चिया पिउनु एउटा बानी हो ।” उहाँले राष्ट्रिय राजधानीमा ७५औँ गणतन्त्र दिवस समारोहमा हिस्सा बन्न पाउँदा ‘अत्यन्त सम्मानित महसुस’ गरिरहेको बताउनुभयो ।

“यति महत्त्वपूर्ण र अद्वितीय दिनको हिस्सा बनेर मैले अत्यन्त सम्मानित महसुस गरिरहेको छु, यो सधैँ मेरो सम्झनामा रहने छ ।” दुवै मुलुकबिच सुमधुर सम्बन्ध रहेको दावी गर्दै राष्ट्रपति म्याक्रोनले दुई मुलुकबिच राम्रो सम्बन्ध भए पनि अझै धेरै गर्न सकिने बताउनुभयो । “हामीले पछिल्ला केही वर्षमा तपाईंको मुलुकसँग विभिन्न क्षेत्रमा सहयोग र साझेदारीको एउटा शृङ्खला विकास गरेका छौँ र स्पष्टरूपमा हामी धेरैभन्दा धेरै लगानी गर्न चाहन्छौँ, सम्बन्ध अति सुमधुर भए पनि हामी अझै धेरै गर्न सक्छौँ, अहिलेसम्म सबैकुरा राम्रो भएको छ”, भिडियोमा उहाँले भन्नुभयो ।

यसका साथै उहाँले सन् २०३० सम्म फ्रान्समा भारतबाट ३० हजार विद्यार्थी आउन् भन्ने आफूले चाहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भारतको भ्रमण गर्नुभएको थियो र जनवरी २६ मा ७५औँ गणतन्त्र दिवस समारोहमा उहाँ प्रमुख अतिथि बन्नुभएको थियो ।

पार्टीका सांसदलाई संसदमा सशक्त भूमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको बैठकलाई आइतबार सम्बोधन गर्दै उनले सांसदलाई संसद् र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिए ।

अध्यक्ष ओलीले सांंसदलाई वैचारिक कुरामा पनि बढी स्पष्टताको आवश्यकता पर्ने र प्राविधिक कुरा सिक्नका लागि बैठक आवश्यक हुने बताए ।

यसैबीच, एमाले सचेतक महेश बर्तौलाले दुई दिनसम्म चलेको बैठकले चारवटा निर्णय गरेको बताए । बैठकले संसद्लाई प्रभावकारी बनाउन सशक्त भूमिका निर्वाह गर्ने निर्णय गर्नाका साथै कानुन निर्माणलाई गति दिन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारलाई निरन्तर घच्घच्याउने निर्णय गरेको छ ।

यसैगरी, युवा पलायनका रोक्नका लागि सरकारले उपयुक्त नीति तथा कार्यक्रम ल्याउनका लागि दबाब दिने र एमालेले सबै सांसदलाई संसद्को बैठक र संसदीय बैठक चलेको बेला संसद्मा बसेर विषयवस्तुलाई उठाउने निर्णय गरेको छ । एमालेले विकास, समृद्धि, सुशासन, सामाजिक न्याय र राष्ट्रिय सराकोर र जनसरोकारका विषयलाई संसद्बाट सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।

दुई दिनसम्म चलेको बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेल, रमेश वडाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, पूर्वमन्त्री अग्निप्रसाद खरेलले समसमायिक विषयमा सांसदलाई प्रशिक्षण दिएका थिए

पर्वत र बागलुङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

पर्वत २१ माघ ः पर्वत र बागलुङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको हो । आगामी असार महिनासम्म निर्माणको अवधि भए पनि माघमै निर्माण सकिने भएको हो ।

कालीगण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो यो झोलुङ्गे पुलको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । यो पुल डेढ वर्षअघि निर्माण थालिएको थियो । पुल निर्माणको करिब ९५ प्रतिशत भौतिक प्रगति भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । अबको तीन हप्ताभित्र पुलबाट सर्वसाधारण वारपार गर्न सक्ने कार्यालयले जनाएको छ ।

दुई वर्षभित्रमा योजना सम्पन्न गर्ने गरी २०७९ साल असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुर र हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबीच भ्याटबाहेक रु आठ करोड २३ लाख ४१ हजार चार सय ११ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता मितिभन्दा चार महिनाअगावै पुल निर्माण सम्पन्न हुन लागेको निर्माणको जिम्मा पाएको हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीका मुख्य प्रतिनिधि वसन्त घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार अबको दुई हप्ताभित्र पुलबाट वारपार गर्ने व्यवस्था मिलाउन यतिखेर निर्माणको काम तीव्र बनाइएको छ ।

“पुलको करिब निर्माण कार्य सकिएको छ”, घर्तीमगरले भन्नुभयो, “अब केही बाहिरी काममात्र बाँकी छ, पुलको दुवैतर्फ सन्तुलनका लागि राखिने विनगाइ वा हावालट्ठा तान्ने काममात्र बाँकी छ, चार हावा लट्ठामध्ये एउटा तानिसकिएको छ, तीनवटा तान्ने काम बाँकी छ, हावा लट्ठा तानिसकेपछि पुलको दुवैतर्फ जाली लगाएपछि पुल निर्माण सकिने भएको छ ।”

पुल निर्माण सम्पन्न भएपछि जलजला–८ नाग्लिबाङका बासिन्दा घन्टौँ लगाएर बागलुङबजार जानुपर्ने बाध्यताको अन्त्य हुने जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख तथा स्थानीय बासिन्दासमेत रहनुभएका सोम जिसीले बताउनुभयो । जलजलाका नागरिक व्यापारिक कामका लागि बागलुङ जान निकै सहज हुने उहाँले बताउनुभयो ।

नाग्लिबाङबासी डेढ घण्टा हिँडेर बागलुङबजार जानुपर्ने बाध्यता रहेको थियो । यो गाउँका बासिन्दाले दैनिक उपभोग्य सामग्री किन्न र पठनपाठन तथा बैङ्किङ कारोबारका लागि दैनिक डेढ घन्टा हिँडेर वा एक घन्टा सवारी साधनमार्फत बागलुङबजार धाउने गर्दछन् । पुल बनेपछि १५ मिनेटमा बजार पुग्न सकिने जिसीले बताउनुभयो । पुल निर्माणपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने जलजला वडा नं ८ नाग्लिबाङका वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो । पुलले दुवैतर्फका सर्वसाधरणलाई आवतजावतमा सहज हुने मात्र नभई पर्वत र बागलुङको पर्यटन क्षेत्रको समेत विकास हुने अपेक्षा गरिएको छ । लामो र अग्लो पुलसमेत भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने जिसीको भनाइ छ ।

यसअघि बागलुङ–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल तीन वर्षअघि निर्माण भई सञ्चालनमा आएको छ । उक्त पुलभन्दा यो पुल ४३ मिटर छोटो रहेको छ । यो पुलसँगै पर्वत र बागलुङका विभिन्न भू–भाग जोड्न आधा दर्जन बढी अग्ला र लामा झोलुङ्गे पुल बनिसकेका छन् ।

परिवर्तनलाई संस्थागत गर्न दलहरु लाग्नुपर्ने : महासचिव शङ्कर पोखरेल

काठमाडौँ, २१ माघ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सहिदको अपेक्षाबमोजिम राजनीतिक आन्दोलन सफल बनाए पनि त्यसबाट नागरिकको जीवनमा परिवर्तन गर्ने सन्दर्भमा राजनीतिक दल चुकेका बताउनुभएको छ ।

मदन भण्डारी बौद्धिक मञ्च नेपालले शहीद दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘सहादतको मर्म’ विषयक छलफल कार्यक्रममा उहाँले दलहरु राजनीतिक परिवर्तनका लागि अग्रपङ्क्तिमा रहे पनि त्यसलाई संस्थागत गर्न चुकेका बताउनुभयो ।

कार्यक्रममा वक्ताहरुले शहीदको सपनालाई साकार पार्न जनताका अपेक्षाबमोजिम राजनीतिक नेतृत्वले काम गर्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले शहीदका नाममा दलीय र स्वार्थको राजनीति गर्नु वाञ्छनीय नहुने बताउँदै विद्यमान नेतृत्वले आफूले काम गर्न नसकेमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायका पूर्वडिन डा त्रिरत्न मानन्धरले पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँ पुस्ताले जिम्मेवारी लिन तत्पर हुनुपर्नेमा बताउनुभयो

इटहरीमा हात्तीलाई गाँउ प्रवेश रोक्न ६ फिट अग्लो पर्खाल लगाउदै

इनरुवा (सुनसरी), २१ माघ : इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण सुरु गरिएको छ । दैनिक रुपमा आउने जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी त्रसित तथा रातभर जाग्राम बस्न बाध्य भएपछि पर्खाल निर्माण सुरु गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।

इटहरी– २ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् । जङ्गली हात्तीको समूहले स्थानीयवासीको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति गर्ने गरेको छ । स्थानीयलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित इटहरी–२ मा पूर्व ६ फिट अग्लो पर्खाल बनाउन सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

बालकुमारी घटना : जाँचबुझ आयोगको म्याद १५ दिन थपियो

काठमाडौँ ।  ललितपुरको बालकुमारीमा भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ । बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको मृत्यु भएको थियो भने यातायातमन्त्रीको गाडी जलाइएको थियो ।

उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषदले पुस १६ गते गठित जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृहमन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम सम्पन्न नभएकाले म्याद थपिएको हो ।

उक्त घटनामा २३ वर्षका सुजन रावत र २२ वर्षका वीरेन्द्र शाहको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार तथा यातायतमन्त्री प्रकाश ज्वाला चढेको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

त्यसपछि सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।

मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगलाई घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने, उक्त घटनाका कारण र सो स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिका सम्बन्धमा अध्ययन गरी दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा त्यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटिएको प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी दिएको छ ।

उक्त घटनापछि केही प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छभने ललितपुरका तत्कालीन प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र तत्कालीन प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा फिर्ता गरिएको थियो ।

युक्रेनको सीमावर्ती गाउँ रोबोटाइनको भ्रमण गरेको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी सीमावर्ती गाउँ रोबोटाइनमा सेनाको भ्रमण गरेको आइतबार बताउनुभएको छ । गत गृष्मयाममा रुसी सेनाबाट फिर्ता लिइएको रोबोटाइनले पुनः आक्रमणको सामना गरिरहेको छ । किएभले गत वर्ष अगस्टमा दक्षिणी जापोरिजिया क्षेत्रको यस सानो गाउँलाई पुनः कब्जा गरेको थियो । यसलाई रुसी सेनाविरुद्धको जवाफी आक्रमणमा ठूलो सफलताको रूपमा हेरिएको छ ।

त्यसबेलादेखि रोबोटाइनमा रुसी सेनाले लगातार आक्रमण गरिरहेको छ र यो गाउँ दक्षिणी मोर्चामा मुख्य हटस्पटमध्येको एक बनेको छ । जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “जापोरिजिया क्षेत्र । रोबोटाइन । ६५औँ मेकेनाइज्ड ब्रिगेडको स्थान । मैले रक्षकहरूसँग कुराकानी गरेँ, उनीहरूलाई धन्यवाद दिएँ र राज्य पुरस्का प्रदान गरेँ, आज यहाँ हुनु सम्मानको कुरा हो ।” फेसबुकमा पोस्ट गरिएको भिडियोमा राष्ट्रपति जेलेन्स्कीलाई भूमिगत जस्तो देखिने अँध्यारो कोठामा वर्दीमा सैनिकहरूसँग भेट गर्नुभएको देखिन्छ ।

“आज यहाँ आएर तपाईंहरूलाई पुरस्कृत गर्नु मेरा लागि सम्मानको कुरा हो किनकी तपाईंहरूको काँधमा दुश्मनलाई पछाडि धकेल्न र यो युद्ध जित्न यति कठिन र निर्णायक मिसन छ”, जेलेन्स्कीले सैनिकहरूलाई भन्नुभयो, “म तपाईंहरूको विजयको कामना गर्दछु, तपाईंहरूलाई पुरस्कृत गर्न चाहन्छु र यो विजयलाई चाँडै हासिल गर्नका लागि सबैथोक गर्नुहोस् भन्ने चाहन्छु ।” ६५औँ ब्रिगेडले गत वर्ष रोबोटाइन गाउँमा आक्रमणको नेतृत्व लिएको थियो । रोबोटाइनमाथि पुनः कब्जालाई किएभको सफलताको रूपमा स्वागत गरिएको थियो तर मस्कोसँग गुमेका क्षेत्रहरू फिर्ता लिनका लागि युक्रेनको प्रयास त्यसबेलादेखि सुस्त भएको छ ।

आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका

कटारी, २१ माघ : उदयपुरको कटारी नगरपालिकाका ४ सय ५० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले दुइदिने निःशुल्क आँखा शिविर उनीहरुको निःशुल्क आँखा जाँच गराएको हो । समूहका अध्यक्ष विजयअधिकारीका अनुसार शिविरमा आएका ६१ जनामा मोतिविन्दु तथा आँखामा मासु पलाएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । इटहरिस्थित नवदृष्टि आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ ।

स्वास्थ्य शिविरमा अस्पतालले नै निःशुल्क उपचारको व्यवस्था गरेको थियो । “आज २५ जनालाई उपचारका लागि हस्पिटल पठाएका छौँ” समूहका सचिव राजकुमार थापा क्षेत्रीले भन्नुभयो ,“अन्यलाई पनि पालैपालो निःशुल्क शल्यक्रियाका लागि लैजाने छौँ ।” नगरपालिकाका उपप्रमुख गीता खड्काले नगरका आँखाका बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो । शिविरमा परीक्षण गरिएका बिरामीहरुलाई निःशुल्क औषधि तथा चस्माको पनि व्यवस्था गरिएको छ ।

आर्थिक अभावका कारण आँखाको उपचार गराउन असमर्थहरुलाई उपचार, औषधि र चस्माको व्यवस्था गरिएको उपप्रमुख खड्काले राससलाई बताउनुभयो ।

काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न रक्षामन्त्री खड्काको निर्देशन

काठमाडौँ, २१ माघ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । साथै उहाँले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताउनुभएको छ ।

आज रक्षा मन्त्रालयमा भएको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षा बैठकमा उहाँले अधिकांश योजनाको प्रगति सन्तोषजनक रहेको र काम हुन नसकेका कार्यक्रमलाई चालु आवको बाँकी अवधिमा थप मेहनत गरी लक्ष्य हासिल गर्न सम्बन्धित आयोजना प्रमुखहरूलाई निर्देशन दिनुभयो । उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित प्राविधिकहरूले स्थलगत अनुगमन र निरीक्षण बढाउनुपर्ने बताउनुभयो । उहाँले आयोजनामा प्रयोग भइरहेका निर्माण सामग्रीको नियमित परीक्षण गरी सोको आधारमा गुणस्तरीय देखिएका निर्माण सामग्रीको प्रयोगलाई मात्र स्वीकृति दिनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले अन्तर–निकाय समन्वय सुदृढ गरी मन्त्रालय अन्तर्गतका विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै अघि बढ्न निर्देशन दिनुभयो । उपप्रधानमन्त्री खड्काले नेपाली सेनालाई जिम्मेवारी दिइएका कतिपय सडक आयोजनामा न्यून बजेटका कारण नेपाली सेनाको जनशक्ति र उपकरणको क्षमताभन्दा कम उपयोग भइरहेकोले रणनैतिक महत्वका सडक तथा विकास आयोजना पर्याप्त बजेट व्यवस्था गरी नेपाली सेनाको क्षमता र उपकरणको पूर्ण उपयोग गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले समीक्षा बैठकलाई औपचारिकता निर्वाह गर्ने कार्यमा मात्र सीमित नराखी विकास आयोजनाको कार्यान्वयनमा रहेका बाधा व्यवधानलाई सम्बोधन गर्ने गरी सञ्चालन गर्न र समस्याको निराकरणका लागि आवश्यक र कार्यान्वयन योग्य उपायहरू पहिल्याइ आयोजना कार्यान्वयनलाई गति दिन आवश्यक रहेको कुरामा जोड दिनुभयो । त्यस अवसरमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आवको दोस्रो त्रैमासिक अवधिमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमरेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सबै आयोजना प्रमुखलाई निर्धारित समयमै लक्ष्य बमोजिमको प्रगति र माइलस्टोन हासिल गर्न निर्देशन तथा बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखी कार्य गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले विकास आयोजनामा खानी तथा नदीजन्य निर्माण सामग्रीको उपयोग गर्ने कुरा झन्झटिलो भएकाले यसलाई सहजीकरण गर्दै विकास आयोजनाका लागि आवश्यक कच्चापदार्थ स्थानीय तबरमा सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउन आवश्यक भएको बताउनुभयो ।

उहाँले विकास निर्माणलाई गति दिन जग्गा प्राप्ति र रुख कटान लगायतका विषयलाई आवश्यक सहजीकरण गर्दै अघि बढ्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले काठमाडौँ–तराई मधेस द्रुतमार्ग आयोजनालगायत विभिन्न सडक करिडोरको प्रगति सन्तोषजनक रहेको कुरा बताउनुहुँदै हुम्लाको सदरमुकामलाई यसै वर्ष राष्ट्रिय सडक सञ्जालमा आबद्ध गर्ने गरी नेपाली सेनाले प्रशंसनीय ढङ्गले काम गरिरहेको कुरा बताउनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाअन्तर्गत सञ्चालित आयोजनालाई निर्धारित लागत, समय र तोकिएको गुणस्तरमा सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको बताउनुभयो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलगायतका पदाधिकारीको सहभागिता थियो ।

कर्णालीलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्नुपर्छ :प्रदेश प्रमुख परियार

कर्णाली, २१ माघ (रासस): कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा छैटौँ प्रदेशसभा स्थापना दिवसका अवसरमा आज आयोजित ‘मूल समारोह’को उद्घाटन गर्दै उहाँले गरिबी र बेरोजगारीबाट कर्णालीलाई मुक्त गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको आधार खडा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख परियारले भन्नुभयो, “कर्णालीलाई विकास, सुशासन र सामाजिक न्यायसहितको समृद्धिको उचाइमा पुर्याउन आवश्यक छ ।” कर्णाली प्रदेशसभा जनताको सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिहरुको उच्चतम थलो भएकाले यसको महत्व र उपदेयतालाई आत्मसात् गरी कर्णालीको विकास, सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि प्रदेशसभा सदस्यहरुलाई राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर जनताको सेवा गर्न अनुरोध गर्नुभयो ।कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकार क्रमागत र बहुवर्षीय योजना कार्यान्वयनमा लागेको बताउनुभयो । सृजनशीलता प्रयोग गर्न नपाइएको गुनासो गर्दै उहाँले भन्नुभयो, “केही पनि नभएको भन्ने होइन तर आवश्यकताअनुसार विकासले गति लिन सकेको छैन ।”प्रदेशसभामा विपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको विकास–निर्माणको गति जनअपेक्षाअनुरुप नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “ग्रामीण भेगका जनताको अवस्थाले सरकारले काम गरेनगरेको थाहा हुन्छ ।”सभामुख नन्दा गुरुङले जनप्रतिनिधिहरुको साझा थलोले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताउनुभयो । त्यस अवसरमा कर्णाली प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, योजना आयोगका उपाध्यक्ष तथा सदस्य, प्रदेश सरकारका प्रमुख सचिव, न्यायाधीश, जिल्ला तथा नगर प्रमुख, प्रदेश सरकारका सचिवसहित पत्रकारहरुको सहभागिता थियो भने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

सोमबारदेखि संसद्को अधिवेशन : यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ, २१ माघ : सङ्घीय संसद्को तेस्रो अधिवेशन यही माघ २२ गते सोमबारदेखि प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुनेछ । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नुहुने सम्भावित कार्यसूची छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नुहुने छ ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नुहुनेछ ।

जुम्लामा हिमपात, जाडोले विद्यालयमा पठनपाठन बन्द

जुम्ला, २१ माघ : आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताउनुभयो ।

हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । निजी विद्यालयमा पठनपाठन बन्द भएको स्थानीय सरिता थापाले जानकारी दिनुभयो । अहिले लगातार हिउँ परेको छ । सरकारी कार्यालय खुलेपनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ । जिल्लाको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ । यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् ।

हिमपातका कारण हिउँदे बालीलाई निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुष्मा बुढाले बताउनुभयो । स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले हिउँ पर्दा सहज भएको उहाँको भनाइ छ । हिमपातपछि कर्णालीको हवाई सेवा अवरुद्ध भएको छ ।

इमरान खानकी बहिनीविरुद्ध ‘राज्यविरोधी’ भाषणका लागि अनुसन्धान सुरु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई सङ्घीय अनुसन्धान एजेन्सी (एफआइए) ले ‘राज्यविरोधी’ भाषणको आरोपमा बोलाएको दि एक्सप्रेस ट्रिब्युनले बताएको छ ।

एफआइएले कथितरूपमा जनता र पाकिस्तानी सशस्त्र बलबिच ‘विभाजन सिर्जना’ गरेको आरोपमा अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको छ र फेब्रुअरी ६ को बिहान ११ बजे (स्थानीय समय) उहाँलाई बोलाएको छ ।

एजेन्सीका सहायक निर्देशक अनुसन्धान एजाज अहमद शेखले जारी गर्नुभएको सूचनामा गृह मन्त्रालयलको अनुरोधमा एफआइए शाखा अधिकृतले अलिमाविरुद्ध अनुसन्धान सुरु गर्नुभएको बताइएको छ । एक्सप्रेस ट्रिब्युनले शनिबार दिएको जानकारीअनुसार सूचनामा अलिमालाई ‘आपराधिक षड्यन्त्र र राज्यविरोधी भाषणमार्फत जनता र सेनाबिच विभाजन सिर्जना गरेको’ आरोप लगाइएको र उहाँ इस्लामाबादमा एफआइएको मुख्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ ।

उक्त सूचना पाकिस्तानको आपराधिक प्रक्रिया संहिता (सिआरपिसी) को धारा १६० अन्तर्गत जारी गरिएको थियो र अलिमाले सोधपुछमा आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्नेछ अन्यथा कानूनी कारवाही गरिनेछ भन्ने उल्लेख गरिएको थियो । अलिमालाई उक्त सूचना उहाँको लाहोरस्थित निवासमा प्राप्त भएको छ ।

इमरान खानकी बहिनीले कथितरूपमा समाजमा ‘डर र आतङ्क’ फैलाएको आरोपमा एफआइए साइबर अपराध शाखाले जारी गरेको बोलावटलाई बेवास्ता गर्नुभएको छ । उक्त सम्बन्धमा जारी सूचनमा अलिमालाई स्पष्टीकरण दिनका लागि शनिबार बिहान ११ बजे एफआइए साइबर अपराध रिपोर्टिङ सेन्टरमा उपस्थित हुन निर्देशन दिइएको छ ।

एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार यसअघि एफआइएले कथितरूपमा न्यायाधीशहरू र संस्थाहरूलाई लक्षित गरी दुर्भावनापूर्ण अभियान चलाउनका लागि विभिन्न पत्रकार र सामाजिक सञ्जाल कार्यकर्तासहित ६५ जनालाई बोलाइएको थियो ।

विवरणअनुसार ‘सामाजिक सञ्जालमा प्रधानन्यायाधीश, वरिष्ठ न्यायाधीशहरू र राज्य संस्थाहरू विरुद्ध अपमानजनक र गलत जानकारी दिने नकारात्मक अभियान चलाउने विरुद्ध एफआइए पूर्णरूपमा सक्रिय भएको थियो ।’

यसैबिच पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) का संस्थापक पूर्वप्रधानमन्त्री खान कानूनी समस्याहरूको सूचीबाट गुज्रिरहनुभएको छ । सन् २०२२ अप्रिलमा अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीबाट बर्खास्त गरिनुभएका उहाँ हाल अडियालामा कारागारमा हुनुहुन्छ ।

पाकिस्तानको एक उत्तरदायित्व अदालत (एसी) ले तोशाखाना मुद्दामा इमरान खान र उहाँकी श्रीमतीलाई १४ वर्षको कारागार सजाय सुनाएको छ । ट्रायल अदालतले पनि ‘गैर–इस्लामिक निकाह’ मुद्दामा खान र उहाँकी श्रीमती बुशरा बिबीलाई सात वर्षको कारागार सजाय सुनाएको छ ।

यसअघि जनवरी ३० मा आधिकारिक गोप्य ऐनअन्तर्गत गठित विशेष अदालतले पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई सिफर मुद्दामा १० वर्षको कारगार सजाय सुनाएको थियो ।

जनवरीमा पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तान तेहरिक–ए–इन्साफको निर्वाचन चिह्न ‘ब्याट’ हटाउने पाकिस्तानको निर्वाचन आयोगको निर्णयलाई कायम राखेपछि फेब्रुअरी ८ मा हुने निर्वाचनमा पिटिआईको सम्भावना झनै खस्किएको छ ।

‘राजतन्त्रका कुरा गर्नेले जनतालाई भ्रममा पारे’: नेता भट्टराई

ताप्लेजुङ, २१ माघ : नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताउनुभएको छ । उहाँले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा भ्रम सृजना भइरहेको र यो वर्तमान व्यवस्थाविरुद्ध भएको बताउनुभयो ।

प्रेस चौतरी नेपालले आफ्नो स्थापना दिवसका अवसरमा आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान राज्य व्यवस्था जनआन्दोलनको बलमा स्थापित भएकाले पुनरुत्थान गर्ने विचार दिवास्वप्नबाहेक केही नभएको र यसले कुनै नतिजा नदिने बताउनुभयो । उहाँले कुनै पनि विकासक्रम वा राज्य व्यवस्था पछाडि फर्किन नसक्ने उल्लेख गर्दै इतिहासमा सीमित भइसकेको राजतन्त्रको वर्तमान र भविष्य नभएको स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता भट्टराईले राजतन्त्रको इतिहासलाई हेर्दा नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाबाहेक राजतन्त्रको अरू कुनै सान्दर्भिकता नरहेको टिप्पणीसमेत गर्नुभयो । यसैबीच प्रेस चौतारी नेपालले आफ्नो संस्थाको स्थापना दिवसका अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका तीन पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ ।

पुरस्कृत एवं सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घका पूर्वजिल्ला अध्यक्ष केशव भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान उपाध्यक्ष गङ्गा लिङ्खीम रहनुभएको छ । तीनै पत्रकारलाई रु १० हजार एक सय पाँचसहित सम्मानपत्र वितरण गरिएको प्रेस चौतारीका जिल्ला अध्यक्ष वसन्त पालुङ्वाले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालले हरेक वर्ष स्थापना दिवसका अवसरमा तीनजना पत्रकारलाई छनौट गरी प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार, जयमती कर्णबहादुर पत्रकारिता पुरस्कार र अग्निप्रसाद भीमादेवी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

साफ च्याम्पियनशि: नेपालले भूटानलाई हरायो

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ ।

बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित निकालेको हो । यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ ।

नेपालको जितमा सेनु परियारले गोल गरिन् । उनले खेलको ५४औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल साबित भयो । यसअघि भएको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको थियो । यता भूटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

नेपाल, बङ्गलादेश, भूटान र भारत सहभागी उक्त प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । नेपालले आफ्नो तेस्रो खेल यही माघ २३ गते भारतसँग खेल्नेछ ।

क्यान्सर नियन्त्रणका लागि सरोकारवाला सबै एकताबद्ध हुन मन्त्री बस्नेतको आह्वान

काठमाडौँ, २१ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अर्बुद रोग (क्यान्सर) नियन्त्रणका लागि सरोकारवाला सबै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।विश्व क्यान्सर दिवस २०२४ का अवसरमा आज मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफल एवं अन्तरक्रियात्मक कार्यक्रममा उहाँले ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०८०–८७’ अन्तिम चरणमा रहेको जानकारी दिँदै रणनीतिले क्यान्सरविरुद्व एकताबद्ध भएर लड्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

“यस दिवसका अवसरमा नयाँ रणनीति र कार्ययोजना बनाएर यसविरुद्व हामी एकीकृत रुपमा लडनुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “यो रोग तत्काल उन्मूलन गर्छौं भन्ने अवस्थामा छैनौँ तर यसलाई न्यूनीकरण र नियन्त्रण गर्दै जाने कुरामा यस रणनीतिले धेरै ठूलो सहयोग पुग्ने मैले विश्वास गरेको छु ।”उहाँले सरोकारवाला सबैको सल्लाह र सुझाव समेटेर रणनीतिको प्रभावकारी कार्यान्वयन गर्नका लागि प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले क्यान्सरसँगसँगै सर्ने र नसर्ने रोगको नियन्त्रणका लागि स्वास्थ्यकर्मीको भूमिकाको समेत प्रशंसा गर्नुभयो ।कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले निर्माणकै चरणमा रहेको रणनीतिबारे कार्य प्रस्तुति दिनुभयो । “यो रणनीति क्यान्सर रोगको भार र मृत्युदरलाई घटाई स्वास्थ्य जीवन प्रवद्र्धन गर्ने दूरदृष्टि छ”, डा मरासिनीले भन्नुभयो, “रणनीति छिट्टै ल्याउने छौँ, अन्तिम रुप दिने तयारी भइरहेको छ ।”‘क्यान्सर नियन्त्रणका लागि सरकारको प्रयास बढाउनुपर्छ’अर्बुद रोग(क्यान्सर)को नियन्त्रण एवं उपचारमा पहुँच वृद्विका लागि सरकारले जनचेतना अभिवृद्विसँगै आवश्यक उपकरण र स्वास्थ्य जनशक्ति बढाउन चिकित्सकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।विश्व अर्बुद रोग दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफलमा क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सरको बढ्दो जोखिमप्रति सचेत गराउँदै उपचारलाई पहुँचयोग्य बनाउन सुझाव दिनुभएको हो ।वीर अस्पतालका क्यान्सर विभाग प्रमुख प्राडा विवेक आचार्यले क्यान्सर उपचारका लागि अत्यावश्यक ‘रेडियो मेसिन’ को अभावप्रति मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार अहिले ३० देखि ३५ रेडियसन मेसिनको आवश्यकता छभने देशभर सरकारी र निजी दुवै गरी ११ वटा मात्र रेडिसन मेसिन उपलब्ध छन् ।“देशभर ११ मात्र मेसिन छन्, वीरमा भर्खरै प्राप्त मेसिनसमेत प्रयोगमा आएको छैन, रेडियो थेरापीका लागि बिरामी भक्तपुरमा तीन महिना कुर्नपर्ने बाध्य छन्, वीर अस्पतालमा पालो कुर्नेको समय चार महिना पुगिसक्यो”, उहाँले भन्नुभयो, “राज्यले चाहेमा निजीमा रु ७० हजार शुल्क लाग्ने उक्त परीक्षण रु २० हजारमा गर्न सकिन्छ तर अहिले बिरामी भारत गएर उपचार गर्न बाध्य छन् ।”उहाँले स्वास्थ्य जनशक्तिलाई पर्याप्त तालिमको आवश्यकता औँल्याउनुभयो । प्राडा आचार्यले निवारण गर्न सकिने क्यान्सर जस्तै पाठेघरको मुख र फोक्सोको क्यान्सरका लागि जनचेतनामा वृद्वि, एचपीभी खोप तथा ‘स्क्रिनिङ’ बढाउन मन्त्रालयलाई सुझावसमेत दिनुभयो ।“क्यान्सर रोग लाग्नुअघि क्यान्सरको पहिचान र उपचार भए पूर्णरुपमा निको हुन्छ, त्यही कुरा क्यान्सरमा परिवर्तन भएर पहिलो वा दोस्रो चरणमा पहिचान भए ८० देखि ९० प्रतिशतसम्म निको हुने सम्भावना हुन्छ, तेस्रो चरणमा पहिचान भए ३० देखि ५० प्रतिशत र चौथो चरणमा पुग्यो भने पाँच प्रतिशतमात्र निको हुने सम्भावना हुन्छ”, उहाँले भन्नुभयो, “दुर्भाग्यवश हामी कहाँ आइपुग्ने धेरै बिरामी तेस्रो वा चौथो चरणको अवस्थामा हुन्छन् ।”छलफलमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष एवं क्यान्सर रोग शल्यचिकित्सक डा अनिल कार्कीले प्राडा आर्चायसँग सहमति जनाउँदै निवारण गर्न सकिने क्यान्सरबारे जनचेतना अभिवृद्वि गर्न सुझाव दिनुभयो ।“क्यान्सरले गराउने कूल मृत्युको एक तिहाइ सुर्तीजन्य पदार्थ सेवन पनि हो तर विद्यालयस्तरका विद्यार्थीमा धुम्रपानको प्रयोग बढेको छ, यो चिन्ताको विषय हो”, डा कार्कीले भन्नुभयो, “खाद्य पदार्थ उत्पादनमा प्रयोग हुने विभिन्न रसायनले समेत क्यान्सरको जोखिम बढाएको छ, यसमा पनि बहस आवश्यक छ ।”छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा रुद्रप्रसाद मरासिनीले क्यान्सर उपचार तथा नियन्त्रणका लागि न्यून पूर्वाधार, अपर्याप्त आर्थिक स्रोत र स्वास्थ्य जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले बिरामीले सेवा उपभोगमा ८० प्रतिशत हिस्सा व्यक्तिगत खर्चबाटै व्यर्होनुपर्ने समस्या रहेको समेत बताउनुभयो । “सेवा पहुँचमा ग्रामीण र सहरी क्षेत्रबीच भिन्नता छ”, डा मरासिनीले भन्नुभयो । 

टेन्सेन्टद्वारा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त

चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र लोकप्रिय सुपर–एप विच्याटको लगानीकर्ता हो ।

टेन्सेन्टका संस्थापक पोनी माले सन् २०२२ मा आफ्नो कम्पनीमा भएको भ्रष्टाचारको स्तरलाई ‘स्तब्ध पार्ने’ घटनाका रूपमा उल्लेख गर्नुभएको छ । टेन्सेन्टका अनुसार गत वर्ष ७० भन्दा बढी आचारसंहिता उल्लङ्घनका घटना भएका थिए ।

समूहले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “१२० जनाभन्दा बढीलाई कम्पनीबाट बर्खास्त गरिएको छ र करिब २० सचेत गराइएको छ । बर्खास्त गरिएका कर्मचारीमध्ये केही समूहको समाचार, खेल र फिल्मजस्ता सामग्रीप्रसारणका लागि जिम्मेवार परामर्श (पीसीजी) शाखाका थिए । अन्यले टेनसेन्टको चीनको ठूलो बजार हिस्सा टेलिमेडिसिन अनुप्रयोगहरूको समूहको चिकित्सा सेवा शाखामा काम गर्थे । टेन्सेन्टले सजाय पाएकामध्ये एक कर्मचारीलाई चार वर्षको जेल सजाय र एक लाख युआन अर्थात् १४ हजार अमेरिकी डलर बराबर जरिवाना गरिएको छ ।

चीनमा १८ वर्षमुनिका खेलाडीका लागि अनलाइन गेमिङ टाइममा लगाइएको प्रतिबन्धलेसमूहको नाफामा धक्का पुगेको समयकर्मचारीहरूलाई विभिन्न बहानामा निस्काशित गरिएको थियो । टेन्सेन्टले विशेष गरी युरोपमा थप अवसरहरूको खोजी गरिरहेको छ, जहाँ यसले प्रमुख गेमिंग स्टुडियोहरूमा वैध लगानीको अवसर प्राप्त गरेर आफ्नो स्थितिलाई बलियो बनाइरहेको छ ।

इन्डोनेसियाको उत्तरी सुमात्रामा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु, १३ जना घाइते

उत्तरी सुमात्राको तपानुलीमा पहिरोले राजमार्ग अवरुद्ध हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसैगरी १३ जना घाइते भएको पनि राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार जनाएको छ । शनिबार साँझ ५ बजे तरुटुङ–सिबोल्गा राष्ट्रिय सडकमा ट्राफिक जामको बीचमा सडकको छेउमा रहेको भीर अचानक खस्दा सो दुर्घटनाभएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले बताउनु भएको छ । दुर्घटनामा सात जना सामान्य घाइते भएका छन् भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

पहिरोले एउटा घर, पाँचवटा मिनीबस, एउटा लजिस्टिक ट्रक र केही मोटरसाइकलमा पनि क्षति पुर्याएको बताइएको छ । आज बिहानैदेखि पहिरोको भग्नावशेषलाई पन्छाएर सडक चालु गरिएको छ । यसैबीच हावाहुरी र चट्याङसहित भारी वर्षाको सम्भावना कम्तीमा फेब्रुअरी ५ सम्म रहने मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकायले चेतावनी दिएको छ ।

श्रीलङ्काले ७६औँ स्वतन्त्रता दिवस मनाउँदै

श्रीलङ्काले आइतबार आफ्नो ७६ औं स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ। राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गर्नुभएको छ । विक्रमासिङ्घेले थुप्रै अवरोध र चुनौतीका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजान लागेको बताउनि भएको छ ।

व्यापक, दीर्घकालीन राष्ट्रिय पुनर्निर्माण कार्यक्रमलाई ध्यानमा राख्दै कठिनाइहरू सहने नागरिकहरूको अटल समर्थनका कारण श्रीलङ्काले चुनौतीहरूलाई क्रमशः पार गरिरहेको उहाँको भनाइ छ। उहाँले वर्तमान आर्थिक पुनरुत्थान र समृद्धिको बाटोमा लागिरहन पनि जनतालाई आग्रह गर्नु बएको छ । यसैबीच, सो अवसरमा सात सय ५४ कैदीले राष्ट्रपतिबाट विशेष माफी पाएका छन् ।

ठमेलमा सुतिरहेकै अवस्थामा चिनियाँ पर्यटक मृत भेटिए

काठमाडौँ, २१ माघ : काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन् । मृत्यु हुनेमा चिनिँया नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए ।

निजलाई कोठमा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइको ढुङ्गेलले जानकारी दिनुभयो । घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

‘नागरिकले सुशासन चाहेका छन्’ : प्रदीप पौडेल

म्याग्दी (बेनी), २१ माघ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुशासनबाट मात्र नागरिक सन्तुष्ट हुने भएकाले सुशासनसहितको विकासमा जोड दिनुभएको छ । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको समुदायमा कांग्रेस अभियान कार्यक्रममा नेता पौडेलले विकास–निर्माणका कामबाट मात्र नागरिक सन्तुष्ट नहुने भएकाले सुशासनसहितको विकास उनीहरूले खोजेका बताउनुभयो ।

“मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सूचकाङ्कमा पनि सुधार भयो तर सुशासन कायम हुननसक्दा नागरिकमा व्यापक असन्तुष्टि छ,” नेता पौडेलले भन्नुभयो । उहाँले विकास–निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्नेहरूमाथि कठोर कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

दोलखाको सहकारीबाट ३२ लाख चोरी

दोलखा, २१ माघ : दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन् ।

चोरी भएको भनिएको हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु ३२ लाख ८७ हजार दुई सय ७६ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ ।

दोलखाकै मेलुुङ गाउँपालिका–६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड’मा पनि व्यवस्थापकले रु एक करोड ५३ लाख हिनामिना गरेको भन्दै बचतकर्ता आक्रोशित छन् । उक्त सहकारीले त्यसको छानबिन गरिरहेको बताएको छ ।

हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको बताएको छ । सहकारीका अध्यक्ष श्रीराज पोखरेलले उहाँले हिनामिना गरेको रकम असुलउपरका लागि प्रक्रिया प्रारम्भ गरिएको बताउनुभयो ।

दोलखाकै कालिञ्चोक गाउँपालिका–६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि रकम हिनामिना भएको बताउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेपछि आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको छ । स्थानीय बचतकर्ताका अनुसार त्यहाँ पनि रु २० लाखभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेको आरोप छ । सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढङ्गले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताउनुभयो ।

जङ्गली बँदेल गाउँमै पसेर आक्रमण गर्न थालेपछि डरले स्थानिए घरबाहिर निस्कनै छाडे

अछाम, २१ माघ : यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् । मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो । आक्रमणबाट उहाँ गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो ।

माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो । लसुनबारीबाट फर्किने समयमा बँदेलको आक्रमणबाट उहाँ सख्त घाइते हुनुभएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई पनि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो ।

बँदेल गाउँमै पस्न थालेपछि बँदेलले आक्रमण गर्ने डरले वडा नं ६ का जनतामा त्रास फैलिएको हो । नजिकैको जङ्गलबाट आएका बँदेलले गाउँमा आतङ्क मच्चाएर मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीय झुमा भण्डारीले बताउनुभयो ।

त्यसैगरी, मङ्गलसेन–७ को जनालीबण्डालीमा पनि बँदेलले आतङ्क मच्चाएको छ । माघ १६ गते राति ११ बजेको समयमा बँदेलको आक्रमणबाट दुईजना घाइते भएका थिए । गाउँमा बिहेको भोज खाएर फर्किने क्रममा वडा नं ७ का १५ वर्षीय नेत्र जनालालाई र उहाँका आफन्त १७ वर्षीय महेन्द्र उखेडालाई आक्रमण गर्दा दुवै जना घाइते हुनुभएको थियो । घाइतेमध्ये उखेडाको जिल्ला अस्पतालमा उपचार पश्चात् घर पठाइएको छभने अर्का घाइते जनालालाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

अहिले पनि गाउँको वरिपरि तीन÷चारको सङ्ख्यामा दिन र रातको समयमा बँदेल आउन थालेपछि यस ठाउँका नागरिकले आफ्नो सुरक्षाको माग गरेका छन् । गाउँमा बँदेलले आतङ्क मच्चाएको गुनासो आउन थालेपछि बँदेल नियन्त्रणमा लिन प्राविधिक जनशक्ति अछाममा नभएकाले आवश्यक प्राविधिक टोली पठाउन प्रदेश वन निर्देशनालयलाई अनुरोध गरिएको डिभिजन वन कार्यालयका प्रमुख जनक उपाध्यायले बताउनुभयो ।
 

नेपालमा क्यान्सरको अवस्था र चुनौती

-प्रा डा योगेन्द्रप्रसाद सिंह

 नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुईतिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको छ । नसर्ने रोगमध्येको एक महत्त्वपूर्ण रोग क्यान्सर पनि हो । नेपाललगायत अन्य विकासोन्मुख देशमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप धेरै छ । नसर्ने रोग भन्नाले क्यान्सर, मुटुरोग, मिर्गाैलाको रोग, डायबिटिज, श्वासप्रश्वासको रोग, अल्जाइमर आदि पर्दछन् । मानव जीवनमा हुने नसर्ने रोगहरूमध्ये क्यान्सर रोग जुनसुकै उमेर, लिङ्ग, जाति, वर्गलाई पनि हुनसक्छ । क्यान्सर कदापि सरुवा रोग होइन । यो एउटा निको हुने रोग हो । प्रायः क्यान्सर सुरु–सुरुको अवस्थामा पहिचान गर्न सक्यो भने नेपालमा नै निको पार्न सकिन्छ । नेपालमा पहिले सरुवा रोग र कुपोषणको समस्या बढी थियो भने वर्तमानमा क्यान्सरलगायत नसर्ने रोगहरू बढ्दै गएका छन् ।

क्यान्सर सरुवा रोग नभए पनि यसको प्रकोप बढ्दो छ । क्यान्सर भनेको हाम्रो जीवनशैली खानपिनमा भरपर्ने रोग हो । सबै क्यान्सर वंशानुगत हुँदैनन् । कुनै–कुनै मात्र वंशानुगत हुन्छन् । जस्तै महिलामा लाग्ने स्तन क्यान्सर, डिम्वाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर ५–१० प्रतिशत वंशानुगत हुन्छन् । प्रायः सबैलाई थाहा छ, सुर्तीजन्य पदार्थको सेवनले हामीलाई क्यान्सर गर्दछ । तर धेरैलाई थाहा छैन कि, मानव शरीरमा लाग्ने हरेक अङ्गको क्यान्सरको पहिलो कारकतत्व भनेको सुर्तीजन्य पदार्थ नै हो । सुर्तीजन्य पदार्थ भन्नाले चुरोट, बिँडी, हुक्का, पाइप, चिलिम, गुटखा, खैनी, पानपराग आदि पर्दछन् । नेपालमा बर्सेनि ३० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् । करिब २० हजारको क्यान्सरकै कारण ज्यान जान्छ । धूमपानबाट हुने विशेषगरी फोक्सो, नाक, कान, घाँटी, मुख तथा पिसाब थैलीको क्यान्सर मुख्य छन् । यसका साथै सङ्क्रमणले हुने क्यान्सर जस्तै– पेट, पित्तथैली, कलेजो र पाठेघरको मुखको क्यान्सर हुन्छ । अस्वस्थकर खानपिन, निष्क्रिय जीवनशैली, मोटोपन र शारीरिक व्यायामको कमीलगायत कारणले प्रोस्टेट, आन्द्रा, स्तन, प्याङ्क्रियाजलगायतका अङ्गमा पनि क्यान्सर फैलिँदै गएको छ ।

नेपालमा हाल करिब ७५ लाख व्यक्ति प्रत्यक्षरूपमा पान, बिँडी, खैनी, सुर्ती, पराग, हुक्का सेवन गर्दछन् । यही अवस्था रहेमा त्यसको असरबाट प्रभावित भई क्यान्सरका रोगीहरूको सङ्ख्या पनि बढ्ने देखिन्छ । नेपालमा क्यान्सर रोगीहरूको तथा यसबाट मुत्यु हुनेहरूको तथ्याङ्कहरू प्राप्त छैन, तर पनि प्रतिलाख जनसङ्ख्यामा प्रतिवर्ष एक सयजना क्यान्सर रोगी थप्ने अनुमान गरिएको पाइन्छ । सो अनुमानअनुसार हाल नेपालको जनसङ्ख्याको अनुपातमा वार्र्षिक २५–३० हजार क्यान्सर रोगीहरू थपिने हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कले क्यान्सर रोगीहरूको सङ्ख्यामा दिनहुँ वृद्धि भइरहेको औँल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज बर्सेनि ३६ हजार व्यक्ति क्यान्सर रोगबाट पीडित हुँदै आएका छन् । साथै नेपालकोे प्रमुख अस्पतालहरूको तथ्याङ्कानुसार महिलाहरूमा लाग्ने क्यान्सर रोगमध्ये पाठेघरको मुखको क्यान्सर प्रथम स्थानमा र स्तन क्यान्सर दोस्रो स्थानमा रहेको छ । विश्वलगायत नेपालमा यी दुई क्यान्सरका कारण बर्सेनि हजारौँ महिलाको मृत्युदर बढिरहेको अहिलेको अवस्था छ ।

क्यान्सर एउटा यस्तो रोग हो जो शरीरको कुनै पनि भागमा एक नयाँ, अनियन्त्रित तथा लगातार बढिराख्ने असामान्य कोषहरूको समूहलाई प्रतिनिधित्व गर्दछ र यो शरीरका लागि खतरनाक हुन्छ । क्यान्सर कोषहरू शरीरको सामान्य कोषभन्दा भिन्दै खालको हुन्छ । कोषहरूको आकार नाप र भित्री बनावट फरक–फरक हुन्छ । क्यान्सर आफू नजिकका तन्तुहरूलाई असर पार्नुका साथै शरीरका अरु भागमा पनि फैलिन सक्छ । क्यान्सर सरुवा रोग होइन । क्यान्सर जसलाई पनि हुनसक्ने रोग हो । क्यान्सर रोगका केही प्रमुख तत्वहरूको सेवनप्रति नेपालीहरूले प्रायः लापरवाही गरिरहेको पाइन्छ । विशेषगरी सुर्तीजन्य सामग्री (चुरोट, बिँडी, खैनी, गुट्खा र कक्कर), रक्सी (मद्यपान), तारेको, भुटेको र पोलेको खाद्य वस्तुलगायत अजिनोमोटो प्रयोग गरिएको क्यान फुडलगायतका खाद्य सामग्री सेवनको चलन अधिक रहेको पाइन्छ । यसलाई आधुनिक जीवनशैली भनिए पनि यसले क्यान्सरको साथै अन्य रोगहरू हुने सम्भावना बढ्न सक्छ । यसका अतिरिक्त मोटोपनाले पनि रोगको सम्भावना बढाउँछ । नेपालमा विशेषतः फोक्सोको क्यान्सर र कोलोनको क्यान्सर बढी मात्रामा देखिँदै आएको छ ।

विश्वकै तथ्याङ्कलाई हेर्ने हो भने लोग्नेमान्छे र स्वास्नीमान्छे दुवैमा सबैभन्दा बढी पाइने पाँच प्रमुख क्यान्सर फोक्सो, स्तन, ठूलोआन्द्रा तथा मलाशय, प्रोस्टेट र आमाशयको क्यान्सर पर्दछ । क्यान्सरबाट हुने मृत्युको सङ्ख्या केलाउँदा फोक्सो, कलेजो, आमाशय, ठूलोआन्द्रा तथा मलाशय र स्तनको क्यान्सर प्रमुख मानिन्छ । दक्षिण एसिया क्षेत्रमा सबैभन्दा बढी मुखको क्यान्सर पाइन्छ, यसको प्रमुख कारण यस क्षेत्रमा ठूलो मात्रामा पान, चुन, सुर्ती आदिको सेवनले गर्दा हो । नेपालमा क्यान्सरका बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइन्छ । हालको तथ्याङ्कानुसार नेपालमा प्रमुख १० क्यान्सरमा फोक्सोको क्यान्सर १२ दशमलव दुई प्रतिशत, पाठेघरको मुखकोको क्यान्सर १० दशमलव नौ, स्तन क्यान्सर नौ दशमलव छ, आमाशयको क्यान्सर सात दशमलव छ, पित्तथैलीको क्यान्सर चार दशमलव नौ, मुख तथा ओठको क्यान्सर चार दशमलव एक, थाइरायडको क्यान्सर तीन दशमलव चार, ठूलो आन्द्राको क्यान्सर तीन, रगतको क्यान्सर दुई दशमलव नौ र डिम्बाशयको क्यान्सर दुई दशमलव नौ प्रतिशत रहेको छ ।

क्यान्सरका केही यथार्थ र भ्रम

क्यान्सरसँग जोडिएका केही यथार्थ तथा भ्रमका कुराहरू पनि समाजमा रहेको पाइन्छ । केही वर्ष पहिले आम सोचाइ के थियो भने क्यान्सर भनेको विकसित देशमा नै हुने समस्या हो, तर खासमा भन्ने हो भने क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या विकसित देशहरूमा भन्दा विकासोन्मुख देशहरूमा बढी भएको तथ्याङ्कले देखाएको पाइन्छ । यथार्थपरक रूपमा भन्नुपर्दा क्यान्सर सरुवा रोग होइन, तर क्यान्सरका कारकतत्वजस्ता सुक्ष्म जीवाणु एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्न सक्छ । क्यान्सर जुनसुकै उमेरमा हुन रोग हो । नपालमा प्रायः ४० वर्षपछि क्यान्सर देखिन्छ । बच्चामा पनि क्यान्सर हुन्छ । क्यान्सर शरीरका जुनसुकै भागमा हुनसक्छ । सुरुका अवस्थामा निदान गरी सही उपचार गर्न सके निको हुन्छ । यो रोगको उपचार हुन्छ । क्यान्सर रोगबाट बच्ने विभिन्न उपाय छन् । क्यान्सरलाई जित्न सकिन्छ । क्यान्सरको उपचारपछि पनि जीवन हुन्छ ।

यस्तै यस रोगका बारेमा मानिसले विभिन्न भ्रम पालेको देखिन्छ । धेरैले यसलाई क्यान्सर सरुवा रोग हो भन्ने गर्दछन् । परिवारमा कसैलाई क्यान्सर भयो भने सबैलाई हुन्छ भन्ने भ्रम मानिसमा रहेको छ । क्यान्सर निको हुने रोग होइन, यो रोग लागेपछि बाँच्ने सम्भावना हुँदैन भन्ने विश्वास धेरैले लिएका हुन्छन् । क्यान्सर पूर्वजन्मको पाप हो भन्ने पनि गरिन्छ । शरीरमा सानो गाँठो अथवा घाउ क्यान्सर हुन सक्दैन भनेर धेरैले समयमै उपचार नगराउँदा यो रोगको सङ्क्रमण भएको छ । क्यान्सरको उपचार गर्नु बेकार हो, क्यान्सर रोगबाट बच्ने कुनै उपाय हुँदैन भन्ने सोच राख्दा धेरैले उपचार नपाएर अकालमै मृत्युको मुखमा गएको उदाहरणहरू छन् । यो कुनै धनीलाई नहुने वा गरिबलाई हुने रोग होइन । क्यान्सर एक मान्छेबाट अर्को मान्छेमा सर्दैन । हाल आएर नेपालमा बढ्दो अव्यवस्थित सहरीकरणले गर्दा वातावरणीय तथा व्यावसायिक प्रदूषण बढिरहेको देखिन्छ । यो प्रदूषणले गर्दा केही खास क्यान्सर हुनसक्छ । एकदमै चिसो वा गर्मी ठाउँमा बस्ने मान्छेहरूको खानपान, रहनहन फरक भएको हुनाले क्यान्सर पनि फरक हुन्छ । कहिलेकाहीँ वंशाणुत गुणमा पनि निर्भर गर्दछ । उदाहरणका लागि आफ्नै आमा, दिदी÷बहिनीलाई स्तन क्यान्सर भयो भने त्यो महिलामा क्यान्सर हुने सम्भावना बढेर जान्छ ।

क्यान्सर पुनःस्थापनाको पहल

क्यान्सर भनेको मृत्यु होइन । यो एउटा निको हुने रोग हो । क्यान्सरको प्रायः वातावरणीय प्रभाव र जीवनशैलीले गर्दा हुन्छ, जसमध्ये कतिपय खास कारण थाहा नभए पनि लगभग ८० प्रतिशत क्यान्सरका कारण हाम्रो प्रयासबाट हटाउन सकिन्छ । धूमपानले मात्र एकतिहाई क्यान्सर हुन्छ तथापि हामीले धूमपानमात्रै बन्द गर्न सक्याँै भने कतिपय क्यान्सरको रोकथाम सजिलैसित गर्न सकिन्छ । सायद चिकित्सा विज्ञानको विकासले नै होला, क्यान्सरका बिरामी निको हुने दर बढ्दै गएको छ । विकसित देशहरूमा त आधाभन्दा बढी मान्छे क्यान्सरबाट निको हुन्छन् र नयाँ सामान्य जीवनयापन गर्दछन् । क्यान्सरपछिको जिन्दगी सहज र सफल हुनु पर्दछ । अरुका लागि प्रेरणादायी हुनु पर्दछ । नेपालमा पनि क्यान्सर विजेताहरूको सङ्ख्या बढ्दै गएको छ । हाल आएर हाम्रो देशमा पनि क्यान्सर विजेताले सामाजिक अभियन्ता भएर कार्य गर्दैछन् । अरुको लागि प्रेरणाको स्रोत बनेको छ । केही सामाजिक संस्थाहरू गठन भएका छन् ।

पहिला–पहिला क्यान्सर भयो भने अरुलाई भन्दैनन् थिए र निको भएको कुरा पनि लुकाइन्थ्यो । आज क्यान्सर निको भयो, सरुवा रोग होइन, उपचार गरे बाँचिन्छ भन्ने सन्देशले अनेकौँलाई राहत दिनुका साथै प्रेरणा प्रदान गर्दछ । मान्छेहरूको मनोवल बढेर जान्छ । आफ्नो बाँकी जीवनयापन राम्रोसित गर्न सकिन्छ । आफूले भोगेका समस्या अरुले न भोगोस् र अरुलाई समाजमा सक्रिय रहन प्रोत्साहित गर्नुपर्छ । नेपालमा पनि क्यान्सर पुनःस्थापना केन्द्रहरू खोल्न जरुरी छ ।

हुन त क्यान्सरजस्तो जटिल रोग लागेपछि यसको उपचार प्रक्रियाले विभिन्न समाजिक, आर्थिक, घर–व्यवहारका समस्याहरू आउँछन् । ती समस्या समाधान गर्ने उपाय पनि सिकाउँछ । यो रोगसँग लड्न व्यक्ति, परिवार, समाज तथा राज्यको दायित्व महत्त्वपूर्ण हुन्छ । यो रोग निको भइसकेपछि पनि त्यो मान्छेको समाजमा पुनःस्थापित हुन जरुरी हुन्छ । उदाहरणका लागि, कुनै ठाउँमा कार्य गरिरहेको कर्मचारी रोगले गर्दा कार्य गर्न सकेन भने उसमाथि आश्रित बच्चा तथा परिवारको पालनपोषणको व्यवस्था गरिनु पर्दछ । ऊ निको भइसकेपछि गर्न सक्ने काममा लाउनुपर्छ । अहिले नेपाल सरकारले क्यान्सरलगायत केही दीर्घरोगीहरूका लागि मासिकरूपमा जीवन निर्वाह भत्ता दिनु यसैको उदाहरण हो ।
(लेखक नेपाल क्यान्सर एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष हुनुहुन्छ)

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जलेश्वर (महोत्तरी), २१ माघ : जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताउनुभयो ।

विसं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुराना सो कारागारको भौतिक संरचना पनि जीर्ण बनेको जनाइएको छ । उहाँले कारागारमा हाल ३८ विदेशी (भारतीय)सहित छ सय दुई कैदीबन्दी बस्दै आएका बताउनुभयो ।

लामो समयदेखि मर्मतसम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदीबन्दीको बसाइ कष्टकर हुने गरेको जनाइएको छ । अहिले कैदीबन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत समस्या हुन थालेको चौकीदार चनरदीप यादवले बताउनुभयो । ती कैदीबन्दीका लागि कारागारभित्र केवल २४ कोठा, १५ शौचालय, सात ह्याण्डपाइप (कल) र छ धारामात्रै छन् । यसले कैदीबन्दीको दैनिक जीवनलाई प्रभावित बनाएको छ ।

उहाँले कोठा अभावमा कठ्याङ्ग्रिँदो जाडोमा धेरै कैदीबन्दीलाईबाहिर सुत्नुपर्ने , शौचालय जान पालो कुर्नुपर्ने, नुहाउन र पानी लिनका लागि लाइनमा बस्नुपर्ने तथा खुला आकाशमुनि खाना खानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।

उहाँले रुघाखोकी, भाइरल ज्वरोलगायतका कैदीबन्दीको जीवन प्रभावित बनेको चौकीदार यादवले बताउनुभयो । उहाँका अनुसार कारागारमा २० गम्भीर प्रकृतिका बिरामी र अन्य विभिन्न स्वास्थ्य समस्या भएका कैदीबन्दी ठाउँ अभावका कारण सँगै खान, बस्न, सुत्न बाध्य छन् ।

हिउँदमा शीतलहर, चिसो हावा र कठ्याङ्गिँ्रदो जाडोको प्रत्यक्ष मारमा पर्छ भने वर्षा सुरु भएपछि पानी चुहिने र जम्नुको साथै ठूलो वर्षापछि बाढीको चपेटमा समेत पर्ने गरेको जनाइएको छ । सहरी विकास तथा भवन निर्माण विभागले जलेश्वर कारागार कैदीबन्दी बस्न अयोग्य भएको प्रतिवेदन नै बुझाएको बताइएको छ ।

जीर्ण भौतिक संरचना, क्षमताभन्दा बढी कैदीबन्दीको चाप, स्वस्थ्य खाद्यान्न तथा पानी आपूर्तिको अभाव, नियमित र स्तरीय स्वास्थ्य जाँचको अभाव, खेलकुद तथा मनोरञ्जनको अभावजस्ता समस्याका कारण विभिन्न रोगको समस्या बढ्दै गएको कारागार सुधारसम्बन्धी विगतमा गठित विभिन्न समितिको प्रतिवेदनमा उल्लेख छ । कारागार ऐन, २०१९ मा रोगी, थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने, पागल वा अर्धपागल थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने व्यवस्था रहेको छ ।

हिउँदे अधिवेशनमा एमालेबाट जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह हुन्छः सांसद राई

काठमाडौँ । सरकारले संसद्लाई क्रियाशील बनाउनेगरी संसद्मा विभिन्न विधेयक, प्रस्तावहरू छलफलका लागि ल्याएको खण्डमा मात्र संसद् पनि प्रभावकारी र सक्रिय हुन्छ । गत अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन । बजेटबाहेकका विधायिकी ‘एजेण्डा’ संसद्लाई दिइएन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट कतिपय विषयमा संसद् अवरुद्ध गर्नुपर्ने बाध्यतासमेत देखापर्यो । मुलतः एक सय किलो सुन प्रकरणको विषयमा निष्पक्ष छानबिन गर्न आयोगको प्रस्ताव गरिएकामा सरकारले सुरुमा अस्वीकार गरेपछि बाध्यतावश सदन अवरुद्ध गर्नुपरेको थियो । यस घटनालाई लिएर प्रतिपक्षले संसद् चल्न दिएन भन्ने आरोप लगाइयो । पछि एउटा समझदारी कायम गरी संसद् सुरु गरियो, तर सरकारले अरु बिजनेस दिन सकेन ।

संसद् सञ्चालनलाई गरिमामय बनाउन गम्भीरतापूर्वक ध्यान दिइएन । गत अधिवेशन मिटरब्याजपीडितलाई राहत दिनेगरी ल्याइएको विधेयक पारित भयो । पीडित जनताको पक्षमा आएको त्यस विधेयकलाई संसद्ले पारित गरेको थियो । प्रमुख प्रतिपक्षको भूमिका सशक्त भएता पनि संसदीय अभ्यासमा कमजोरी र फितलो अनुभव रह्यो । आगामी अधिवेशनमा पनि एमालेबाट जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह हुनेछ ।

मुलुक र जनताको हितका लागि जिम्मेवार प्रतिपक्ष हुनुका नाताले राष्ट्रको स्वाभिमानलाई झुक्न नदिने र कानुन निर्माणमा एमालेले भूमिका खेल्नेछ । सभामुखको अग्रसरतामा आगामी संसद्ले कार्यतालिका बनाएर काम गर्ने भन्ने सुनिएको छ । सत्य निरुपण, सङ्घीय निजामती, प्रदेश प्रहरी र सम्पत्ति शुद्धीकरणसमेत संविधान, शान्ति सम्झौता र सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने कार्यभार छ । यस्ता अन्तर्राष्ट्रिय सरोकार र मानवअधिकारसँग गाँसिएका विषयमा दलहरूबीच सहमति र समझदारी कायम गर्नुपर्छ, बहुमतका आधारमा टुङ्ग्याउने अवस्था आउन दिनुहुन्न ।

संसद्मा कोरम नपुग्नु लज्जास्पद

जनप्रतिनिधिका हैसियतले गाउँटोल, निर्वाचन क्षेत्र र जिल्लाका विकास निर्माणमा सांसदले दृष्टि पुर्याउनुपर्छ भन्ने आमजनताको मत छ । यो भावनालाई सम्बोधन गर्न विकासका साथै सामाजिककार्यमा पनि जनप्रतिनिधि संलग्न हुनुपर्ने बाध्यता छ । पार्टीको विभिन्न जिम्मेवारीमा खटिनुपरेका कारण सदन र विषयगत समितिका बैठकमा कहिलेकाहीँ संसद्मा उपस्थिति कमजोर देखिएको हुनसक्छ । तथापि विधायकको जिम्मेवारी भएकाले विधायिकी कार्य र राष्ट्रिय मुद्दामा हुने बहसमा सांसद केन्द्रित हुनुपर्छ । कतिपय बैठकमा २५ प्रतिशत सांसद पनि उपस्थित नभएका कारण कोरम नपुगेर बैठक स्थगित हुनु भनेको लज्जास्पद घटनाजस्तो लाग्छ । त्यसमा पनि बैठक सञ्चालन गर्ने मुख्य जिम्मेवारी सत्तापक्षकै हुन्छ, प्रतिपक्षले त कमीकमजोरी औँल्याउने र सतर्क गराउने हो । संसद्लाई व्यवस्थित र सघनरूपमा अघि लैजाने सन्दर्भमा सत्तापक्षबाटै बेवास्ता भएको देखिन्छ । सङ्ख्याको कारण बैठक स्थगित हुनु लज्जाको विषय हो, यसबारे पटक–पटक सत्तापक्षको ध्यानाकर्षण गरिएको छ ।

भोजपुरको प्राथमिकता

पूर्वी पहाडी जिल्ला भोजपुरलाई तराई र राष्ट्रिय सडक सञ्जालमा जोड्न सुनकोशी र दूधकोशी नदीमा ठूला पक्की पुलको आवश्यकता छ । दक्षिण र सदरमुकाम तथा दिङ्ला र सदरमुकाम जोड्ने पुल विकासका प्राथमिक आवश्यकता हुन् । मध्यपहाडी राजमार्गले भोजपुरलाई सडक सञ्जालको माध्यमबाट राजधानीलाई जोडेको छ । तराईसँग जोड्न सुनकोशीको पुल निर्माणलाई छिटो पूरा गर्नुपर्ने छ । जिल्लामा अन्य विषयहरूजस्तै शिक्षा, स्वास्थ्य, खानेपानी पनि विकासका प्राथमिकता हुन् । पहाडी जिल्ला भएकाले सडक दुर्घटनाको जोखिम रहेकाले प्रभावकारी उपचारसहितको व्यवस्था गर्न ट्रमा अस्पतालको माग गर्दै आएका छौँ । सुन्तला उत्पादनका हिसाबले भोजपुर मुलुकै स्थापित जिल्ला हो, त्यसको विकास र विस्तारमा पनि उत्तिकै ध्यान पुर्याउनुपरेको छ भने पछिल्लो समय कफी, चिया र अलैँचीको पनि धेरै सम्भावना देखिएको छ । सरकारले पकेट क्षेत्र घोषणा गरी सहुलियत ऋण सहयोग उपलव्ध गराएमा जनताको जीवनस्तर उकास्न योगदान पुग्नेछ ।

भ्रष्टाचार न्यूनीकरण

दलका नेता र नेतृत्व इमान्दार नहुँदाको परिणाम भ्रष्टाचार मैलाउन पुग्यो । कानुन परिपालना र व्यवहारमा इमान्दारिता देखिएन । इमान्दारिता प्रदर्शन नगरेको नेतृत्वलाई तह लगाउनेगरी कारबाही हुन सकेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा राज्यको सक्रियता देखिन्न । त्यहाँ हुने नियुक्तिमा स्वतन्त्र र सही व्यक्तिको चयन गर्ने संयन्त्र बनाउन सकिएन । अनुगमन र मूल्याङ्कनको बाटोलाई बलियो तुल्याउन नयाँ प्रभावकारी कानुन तर्जुमा गर्नुपर्छ । आवश्यक कानुनी व्यवस्थाको अभाव र नेतृत्वपङ्क्तिमा इमान्दारिता कायम हुन नसक्दा भ्रष्टाचार बढ्ने र सुशासन कमजोर हुने परिस्थिति सिर्जना हुन पुग्यो ।

निर्वाचन प्रणाली पनि अत्यन्त खर्चिलो भएको छ । यसलाई नियन्त्रण गर्ने भन्ने विषय राजनीतिक नेतृत्वसँग गाँसिन्छ । एउटा उम्मेदवारले अन्धाधुन्ध खर्च गरेपछि अर्काे उम्मेदवार पनि त्यसतर्फ जानुपर्ने बाध्यकारी स्थिति छ । पैसाका आधारमा नभई नीति, विचार र कार्यक्रममार्फत मत प्राप्त गर्नेतर्फ उम्मेदवार र नेतृत्व उन्मुख हुनुपर्छ । पैसाको लोभलालच दिएर मत तान्ने देखिएको प्रवृत्ति परिवर्तन र अन्त्य हुन आवश्यक छ । पैसा खर्च गरेर होइन, उम्मेदवारले नीति, विचार र कार्यक्रम व्याख्यामार्फत मत माग्ने सोच सबैले अघि बढाउनुपर्छ । निर्वाचनमा करोडौँ खर्च भएको छ, आगामी निर्वाचनमा फेरि उठ्न गर्नुपर्ने त्यसखाले तयारीले पनि भ्रष्टाचारलाई टेवा पुर्याएको छ । यो दुर्भाग्यपूर्ण कुरा हो ।

मुलुकमा प्रजातन्त्र बहालीपछि यतिका अवधिसम्म उद्योगधन्दाको विकास गर्न र युवापुस्तालाई रोजगारी दिन नसक्नु राज्यको कमजोरी हो । सूचना तथा सञ्चार क्षेत्रमा भएको तीव्र विकासले संसार एउटा गाउँमा परिणत भई आफ्नो योग्यता, क्षमता र रुचिका आधारमा विदेश जाने तथा दैनिक रोजीरोटीको जोहो गर्न बाध्यताले विदेश पलायन हुने दुईखाले अवस्था छ । विदेश गइयो भने आर्थिक उपार्जन हुनसक्छ र देश–विदेश घुम्न पाइन्छ भन्ने बुझाई र गर्व गर्ने संस्कृतिले मलजल गरेको छ, यो गलत छ । हाम्रा पाखुरी र पसिना आफ्नै देशमा लगाउनुपर्छ भन्ने राष्ट्रियताको सञ्चार र देशभक्ति प्रत्येक नेपालीमा हुनुपर्छ, त्यो खाले सांस्कृतिक अभियान चलाउनुपर्छ ।

बाध्यताले विदेश पलायन हुने अवस्थालाई अन्त्य गर्न औद्योगिकीकरणको गतिलाई तीव्र तुल्याउनुपर्छ । राष्ट्रियहितप्रति राजनीतिक नेतृत्व इमान्दार र समर्पित भएर लाग्नुपर्छ । यहाँ भएका अथाह प्राकृतिक स्रोतलाई नेपाल र नेपालीको हितमा प्रयोग गर्न सक्नुपर्छ । राष्ट्रिय हित र विकासप्रतिको चिन्तन तथा चुनावी घोषणाप्रति इमान्दार भएर लाग्न सम्पूर्ण राजनीतिक दलका नेतालाई आह्वान गर्दै नेपाली समाजलाई विदेश पलायन हुने चिन्तन फेर्न आग्रह गर्छु ।

(सांसद हेमराज राईसँग नारायण न्यौपानेले गरेको कुराकानीमा आधारित)

खोटाङका धर्मराजको कृषि क्रान्तिः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आएका उनले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई–भैँसी, कुखुरा, माछा, फलफूल र तरकारीखेती लगाएका छन् ।

विजयर्खस्थित उनले आफ्नै जग्गामा १३ बङ्गुर फार्म सञ्चालन गरेका छन् । राजापानीमा दुईवटा बाख्रा फार्म छन् । बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ । जस्ताले छाइएको सिमेन्टेड फार्मभित्र बँदेल पनि पालिएको छ । भूगोल, हावापानीअनुसार माटो परीक्षण गरेर व्यावसायिक कृषि फार्म सञ्चालन गरिएको उनले जानकारी दिए ।

विजयखर्कको रामबाडीस्थित दुईवटा बङ्गुर फार्ममा ५० का हाराहारीमा बङ्गुर र बँदेल छन् । वरपर कागती, लिची, कटहर, केरा, माछापोखरी, तरकारीखेती लगाइएको छ । विजयखर्ककै भैरमपुरबेँसीमा पाँच बङ्गुर फार्म छन् । जहाँ करिब दुई सय हाराहारीमा बङ्गुर र बँदेल छन् ।

त्यही सातवटा पोखरीमा माछापालन गरिएको छ । एउटा कुखुरा फार्ममा करिब पाँच सयको हाराहारीमा कुखुरा छन् । आसपासमा अनार, अङ्गुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकाडो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्षलगायतको व्यावसायिक खेती लगाइएको छ ।

बुइपाको स्वाराटोलमा चारवटा बङ्गुर फार्म छन् । जहाँ करिब दुई सयको हाराहारीमा बङ्गुर छन् । सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकाडो लगाइएको छ । बुइपाकै तमरुङमा एउटा बङ्गुर फार्म राखिएको छ । सो फार्ममा ५० वटाको हाराहारीमा बङ्गुर छन् । सँगै सिताके च्याउ, किबी, अनार, कागती, सुन्तला, स्याउ, अङ्गुर, कुरिलो र तरकारीखेती लगाइएको छ । बुइपाकै दम्कुमा भैँसीगोठ, सुँगुर खोर, कुखुरा फार्मसँगै कागती, सुन्तला, लिचीलगायतको खेती लगाइएको छ । हरेक ठाउँमा सञ्चालित फार्मबाट उत्पादनसमेत दिन थालेको पाइएको छ ।

यस्तै राजापानीको खाम्तेलडाँडामा एउटा बङ्गुर फार्ममा ६० बङ्गुर छन् । बङ्गुरसँगै गाई र भैँसीपालन गरिएको व्यवसायी पोखरेल बताउँछन् । राजापानीकै तल्लोबडकामा दुईवटा बाख्रा फार्ममा करिब चार सयको हाराहारीमा बाख्रापालन गरिएको छ । पाँचवटा गाईपालन गरिएको छ ।

गाई बाख्राका लागि डाले र भुइँघाँस लगाइएको छ । फार्म आसपासमा कागती, सुन्तला, लिची, तरकारीखेती लगाइएको छ । हरेक ठाउँका फार्ममा एक–एक परिवारलाई पारिश्रमिकसहित सेयर सदस्यका रूपमा राखिएको छ । सेयर सदस्यका रूपमा राखिएका नौ घरपरिवारका ६५ जनाले फार्मको हेरचाह गर्ने गरेका छन् ।

फार्ममा तयार भएका बङ्गुरको मासु बिक्री वितरणका लागि उनले बुइपाको पञ्चदोबाटोमा खानेबस्ने व्यवस्थासहितको होटल र कोल्डस्टोरसहितको मासु कटिङ सेन्टर खोलेका छन् । फार्ममा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठा ल्याइएको हो । प्रतिकेजी एक हजार दुई सयका दरले फार्मबाटै ५६ बँदेल बिक्री भइसकेको उनी बताउँछन् । राजनीतिमा समेत सक्रिय रहेका पोखरेलले काठमाडौँमा विजय इन्जिनियरिङ कन्सल्ट्यान्सी सञ्चालन गर्दै आएका छन् ।

बहुउद्देश्यीय तरिकाले स्थापना गरिएको कृषि फार्मका लागि संरचना निर्माण तथा सञ्चालनमा अहिलेसम्म एकोहोरो लगानीमात्र भइरहेको पोखरेलले बताए ।

“कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन् । अहिले व्यक्तिगतरूपमा लगानीमात्र भइरहेको छ । आम्दानी सुरु भएको छैन । अहिलेसम्म  १५ करोडभन्दा बढी लगानी गरिसकेको छु”,उनले भने, “जिम्मेवार निकायमा बसेकाहरू कृषिमा सम्भावना छ भनेर गफमात्रै गर्ने गरेका छन् । मैलेचाहिँ आफैँ गरेर देखाऔँ भन्ने हो । फार्मले आम्दानीसमेत दिन थालेको छ । मेरो कृषि फार्म देखेर यहाँका धेरैजना स्थानीय बासिन्दाले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती सुरु गरेका छन् । कृषि पेसालाई व्यावसायिक तथा आधुनिक तरिकाले अपनाउन अभियानसमेत चलाइरहेको छु ।”

फार्ममा उत्पादित अधिकांश कृषि उपज तथा पशुपक्षी काठमाडौँ निर्यात हुने गरेको जनाइएको छ । केही समयपछि काठमाडौँको विभिन्न ठाउँमा आफ्नै बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिए । कृषि पेसामा ठूलो धनराशि लगानी गरेका उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस प्रदेश समितिबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको टिकट पाएपनि अन्तिममा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर तीर्थराज भट्टराईलाई सघाए ।

प्रदेशसभा निर्वाचनमा पनि पोखरेलले खोटाङ प्रदेशसभा (क)मा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए । निर्वाचन परिणामअनुसार गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई पराजित भए भने, नेकपा एमालेका पाँचकर्ण राई विजयी भए । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका पोखरेललाई केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि अहिले आफ्नै गाउँमा आएर कृषि कर्ममा रमिरहेका छन् ।

समयमै सही कदम नचाले मधेशमा पानीको सङ्कट आउनसक्ने विज्ञको चेतावनी

जनकपुरधाम- वातावरण तथा पर्यावरणविद्हरुले मधेसमा पानीको सङ्कट गहिरिँदै गएकाले समयमै उचित व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कदम नचालेमा मधेसमा पानीको सङ्कट आउनसक्ने चेतावनी दिनुभएको छ ।

जनकपुरधाममा जारी जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवमा सनिबार भएको ‘पानीबिना अकाल पडलै अकाले हो राम’ शीर्षकको विमर्शमा उहाँहरुले चुरेको अनियन्त्रित दोहन, अव्यवस्थित पूर्वाधार निर्माण र नागरिक सचेतनाको अभावमा मधेसले निकट भविष्यमा पानीको चरम सङ्कट आउनेतर्फ सचेत गराउनुभयो ।इञ्जिनियर अजय दीक्षितले मधेसजस्तो गङ्गा मैदानमै पानीको सतह घट्नु वा पानीको स्रोत सुक्नु सामान्य नभएको भन्दै पानी पर्ने प्राकृतिक शैलीलाई विश्लेषण गरी व्यवस्थापनका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विश्वभर पानीको सङ्कट गहिरिँदै गएको र त्यसको असर नेपाल तथा विशेषगरी मधेसले भोग्नुपर्ने अवस्था आउन लागेकाले पानी प्रयोग गर्ने व्यवहारमा समेत परिवर्तन ल्याउन जरुरी रहेको धारणा राख्नुभयो ।“पानी पर्ने प्राकृतिक शैलीमा बदलवा आएको छ, यो पहिले पनि हुन्थ्यो तर पछिल्लो समय मधेसमा त असारमा पनि पानी परेन । भूमिगत पानीका सतह निरन्तर घट्दो अवस्थामा छ । अर्कोतर्फ एउटा लोटाले दिनचर्या चल्ने हाम्रो परम्परागत बानीव्यहोरामा समेत बदलाव आएको छ । बदलिँदो प्राकृतिक शैली र नागरिकको व्यवहारअनुसार अब पानीको व्यवस्थापन गर्न नलागेमा समस्या विकराल हुनसक्छ”, दीक्षितले भन्नुभयो ।डा विजय शर्माले विभिन्न अध्ययनले भूमिगत पानीको माथिल्लो तहमा समस्या आए पनि तल्लो तह (डिपवाटर) मा धेरै समस्या नआइसकेकाले त्यसमा थप समस्या नआउँदै संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले पानीे व्यवस्थापनको जिम्मा पाएका सम्बद्ध निकायले तल्लो तहबाट पानी सङ्कलन र अन्य निकायले पानीभरण प्रणालीमा छेडखानी नहुने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।इन्जिनियर रत्नेश्वर लाल कर्णले वीरगञ्ज र धनुषाको हंसपुर नगरपालिकाका ९० प्रतिशतभन्दा बढी चापाकल तथा इनार सुकेको भन्दै यो समस्या समग्र मधेसले भोग्दै जाने बताउनुभयो । उहाँले सतह पानीका स्रोत नदी सुक्दै गएका र भूमिगत पानीको तह पनि घट्दै जानुलाई सामान्य रुपमा नलिन सबैलाई आग्रह गर्नुभयो ।संरक्षण अभियानी एवं मधेस प्रदेशसभा सदस्य रामअषिश यादवले तराई मधेसमा राज्यको अव्यवस्थित विकास नीतिले नै पर्यावरण संरक्षणमा चुनौती थपिएको र त्यसैको असर पानीको स्रोतमा परेको धारणा राख्नुभयो । उहाँले राजा महेन्द्रकै विकास नीतिअनुसार चुरे पहाड, घनाजङ्गललाई छेडखानी गर्ने गरी बनेका पूर्वपश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ विमानस्थलजस्ता संरचनाले पारिस्थितिक प्रणाली खलबलिएको र त्यसको सबैभन्दा बढी असर मधेसले भोग्न थालेको धारणा राख्नुभयो ।“छ हजारभन्दा बढी नदीनाला, चारवटा ठूला हिम नदी र विश्वको दोस्रो जलस्रोतको धनी भएर पनि नेपालमा पानीको अनिकाल हुँदैछ, यो चिन्ताको विषय हो”, यादवले भन्नुभयो, “त्यसैले अब विकास संरचना, पानीको प्रयोग र पुनःप्रयोगको व्यवस्थित पद्धति निर्माणको खाँचो छ । यसतर्फ लाग्नु सबैको दायित्व हो ।”चुरे संरक्षणकर्मी नागदेव यादवले चुरे, महाभारत र हिमालय शृङ्खलाको संवेदनशील सम्बन्धलाई ख्याल गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । चुरेको छेडखानीले महाभारत र महाभारतको छेडखानीले हिमालयसमेत सङ्कटमा पर्ने भन्दै यादवले यी सबैको आधारविन्दुका रुपमा रहेको चुरेलाई संरक्षण गर्न सके मात्रै पर्वत शृङ्खलाको रक्षा र मधेसमा पानीको अभावपूर्ति गर्न सकिने बताउनुभयो ।वातावरण संरक्षणकर्मी शालिनी साह र सुरेश शर्माले एउटा व्यक्तिलाई दिनमा ७० लिटर जति पानी आवश्यक पर्ने समयमा मधेसमा एक–एक थोपा पानीका लागि भाँैतारिनुपर्ने अवस्था आउनु दुःखद भएको र त्यसको सबैभन्दा बढी असर महिला, बालबालिकाले भोग्नुपर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।सो सत्रका सञ्चालक पत्रकार अनिल कर्णले गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले चुरे संरक्षण गर्न नसकेमा मधेस मरुभूमिकरण बन्ने र भावी पुस्तालाई आफ्नो अस्तित्व जोगाउनसमेत समस्या हुनेतर्फ चेतावनी दिँदै आउनुभएको विषयमा सरोकारवालालाई गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभएको थियो । 

देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्छ : उपमहासचिव गुरुङ

लेखनाथ (कास्की)- नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकीको प्रथम प्रदेशसभालाई सनिबार पोखरामा सम्बोधन गर्दै उहाँले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी देखिएकाले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

आर्थिक मन्दीकै कारण धरासायी बनेको उद्योग व्यवसायका समस्या समाधान गर्न जरुरी भएको उहाँको भनाइ थियो । “सरकारले पनि अब आर्थिक उपार्जनका बाटाहरू खोज्दै समृद्ध नेपाल र खुसी नेपालीको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्छ”, उहाँले भन्न्ुभयो ।गाउँ र विश्वविद्यालय खाली भएको अवस्थामा विदेशी लगानी भित्र्याएर युवाहरूलाई नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने भनाइ उहाँको थियो । नेपाल उद्योग तथा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष एलपी साँवाले निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अगाडि बढ्न जरुरी भएको बताउनुभयो । निजी क्षेत्रले रु ५५ लाख नेपालीलाई रोजगारी दिएको दाबी पनि उहाँको थियो ।महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले प्रशिक्षण दिनुहुनेछ । सभामा गण्डकी प्रदेशका ११ जिल्लाका उद्यगी व्यवसायीको सहभागिता छ ।

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को : व्यवसायीद्वारा स्वागत

गण्डकी, २१ माघ : यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रूपमा अथ्र्याइएको छ ।

गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नियमावली बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । एक सय तीनवटा नियम र १३ परिच्छेद रहेको सो नियमावलीमा ३२ अनुसूची रहेको मन्त्रालयका कानुन अधिकृत जीतबहादुर बस्यालले जानकारी दिनुभयो । प्रदेश सरकारले सार्वजनिक यातायात सञ्चालन र यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी आफ्नै नियम बनाएको उहाँको भनाइ छ ।

सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ र सङ्घबाट विभिन्न समयमा प्राप्त निर्देशन, परिपत्रलगायतलाई आधार मानेर नियमावली तयार पारिएको अधिकृत बस्यालले बताउनुभयो । नियमावली जारी भएसँगै विसं २०७६ मा बनेको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सार्वजनिक यातायात सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन नियमावली महत्त्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

“राजस्वको स्रोत बढाउन, सेवा प्रवाहलाई चुस्त, छिटोछरितो र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नियमावली सहयोगी बन्नेमा प्रदेश सरकार र मन्त्रालय विश्वस्त छ”, उहाँले भन्नुभयो, “यो नियमावली गण्डकी प्रदेशको यातायात क्षेत्र सुधारका लागि कोशेढुङ्गा सावित हुनेछ ।”

रुट परमिट प्रदेशभर

सार्वजनिक सवारीलाई सम्बन्धित सवारीधनी वा व्यवसायी कम्पनीको मागबमोजिम प्रदेशभित्रको मार्ग इजाजत (रुट परमिट) दिइने नियमावलीमा व्यवस्था गरिएको छ । विसं २०७४ यता गण्डकी प्रदेशमा सञ्चालन हुने जिप र ट्याक्सीलाई दुई जिल्लाको मात्र स्थायी मार्ग इजाजत दिइएको थियो । नियमावलीले गरेको व्यवस्थाअनुसार अब प्रदेशभर, बहुजिल्ला, एक जिल्ला, निश्चित स्थानीय तह वा क्षेत्र तोकी मार्ग इजाजतपत्र जारी गर्न लागिएको हो । यातायात व्यवसायीलाई एकैठाउँमा मात्र केन्द्रित हुन नदिन मापदण्ड बनाइने मन्त्रालयले जनाएको छ ।

नियमावलीमा रहेको सो व्यवस्थाले बागलुङस्थित यातायात व्यवस्था कार्यालयको सेवा लिनसमेत पटके काटेर जानुपर्ने म्याग्दीका ट्याक्सी चालकको बाध्यता पनि हट्ने भएको हो । ट्याक्सीलाई दुई जिल्लामात्र चल्ने अनुमतिका कारण छिमेकी जिल्लाको सडक प्रयोग गर्दा पनि पटकैपिच्छे अस्थायी मार्ग इजाजत (रुट परमिट) लिनुपर्ने अवस्था थियो ।

प्रदेश राजधानी पोखरा गुड्ने म्याग्दीका अधिकांश ट्याक्सीको स्थायी रुट इजाजत हाललाई पर्वतसम्म मात्र छ । म्याग्दी, गोरखा, बागलुङलगायत जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मार्ग स्थायी इजाजत दिने व्यवस्था हटाई प्रदेशभरलाई इजाजत खुला गर्न माग गर्दै आएका थिए । म्याग्दीको बेनी यातायात प्रालिका अध्यक्ष कुमार थापाले सार्वजनिक सवारीसाधनको मार्ग इजाजतका सम्बन्धमा नियम खुकुलो पार्न लागिएकामा खुसी व्यक्त गर्नुभयो ।

“ट्याक्सी व्यवसायीले पटकपटक उठाउँदै आएको माग हो यो, दुई जिल्ले रुट परमिटका कारण प्रदेश राजधानी पोखरा जानका लागि पनि पटके काट्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले ल्याएको नियमावली कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार भएर लाग्नुपर्छ, यातायात क्षेत्रको सुधार र व्यवस्थापनमा व्यवसायी पनि सहयोगी बन्न चाहन्छौँ ।”

म्याग्दी सदरमुकाम बेनीबाट पोखरासम्म चल्न पाउनेगरी ट्याक्सी दर्ता गरे पनि मार्ग इजाजतलाई दुई जिल्लामा सीमित बनाउने नीतिका कारण ट्याक्सी चालककले अनावश्यक झण्झट व्यहोर्दै आएका थिए । म्याग्दीबाट पोखरा चल्ने अधिकांश ट्याक्सीले आकस्मिक बिरामी र पर्यटकलाई सेवा पुर्याउँदै आएका छन् ।

बिदाका दिन र कार्यालयबाहेकको समयमा अस्थायी मार्ग इजाजतपत्र दिने कर्मचारी नहुुने, यात्रुु बोकेर कर्मचारी खोज्न र कार्यालय जाँदा ढिला भएर यात्रु समयमा गन्तव्यमा पुर्याउन नसक्नेजस्ता समस्या ट्याक्सी चालकले भोग्दै आएका थिए । सवारीधनी र व्यवसायी कम्पनीको मागबमोजिम अब मार्ग इजाजत दिइने भएपछि उक्त समस्या सधैँका लागि अन्त्य हुने भएको हो ।

मुख्यगरी पोखरा पुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुुङ, मुुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बागलुुङ जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मात्र स्थायी मार्ग इजाजत दिने व्यवस्था हटाउनुपर्ने माग गर्दै आएका थिए ।

निजी सवारीसाधनको आयु २५ वर्ष

नियमावलीमा नेपालमै पहिलोपटक निजी सवारीसाधनको पनि २५ वर्ष आयु तोकिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा हालसम्म निजी सवारीसाधनको आयु तोकिएको थिएन । सार्वजनिक सवारीसाधनको २० वर्षमै पत्रु कायम गरेर लगतकट्टा गर्नुपर्ने व्यवस्था राख्ने तर निजी सवारीसाधन जति वर्ष पनि चलाउन पाउने व्यवस्था असमान पनि देखिएकाले नेपालमै पहिलोपटक निजी सवारीसाधनको आयु तोकिएको मन्त्रालयले जनाएको छ ।

विद्युतीय सार्वजनिक सवारीसाधनको भने तीस वर्षमा पत्रु कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक तथा अन्य सवारीसाधनलाई विद्युत्मैत्री सवारीसाधनमा रुपान्तरण गर्न मन्त्रालयले आवश्यक मापदण्ड बनाई जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ । पत्रु कायम हुने ट्याक्सीको लगतकट्टा गरेर अर्को दर्ता गर्दा अनिवार्यरूपमा इलेक्ट्रिक हुनुपर्ने गरी मापदण्ड बनाउने तयारी मन्त्रालयले गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनको २० वर्षमा पत्रु कायम हुने र अनिवार्य लगतकट्टा गर्नुपर्ने व्यवस्था सङ्घीय ऐनमा छ । गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनको हकमा २५ वर्षमा अनिवार्य लगतकट्टा गरेपछि मात्रै अर्को दर्ता हुने र बाहिर दर्ताकाको हकमा २५ वर्ष पुगेका सवारीसाधनलाई चल्न नदिने नीति अपनाइने प्रवक्ता पौडेलले बताउनुभयो ।

यसैगरी निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनले ‘राइड सेयरिङ’ एपमार्फत दिने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउन कानुनी बाटो नियमावलीले खुलाएको छ । नियमावलीको दफा १३ मा उल्लेख भएको निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनले आवश्यक प्रक्रिया पूरा गरी तोकिएका भाडामा यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड बनाउने तयारी गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’ यात्रुहरूमाझ लोकप्रिय बन्दै गए पनि नियमन गर्न र वैधानिक बनाउन कानुनको अभाव थियो । नेपालमा पठाओ, टुटल, इनड्राइभ, सहारा, सजिलो, ट्याक्सीमाण्डू, क्याब ट्याक्सीलगायत ‘राइड सेयरिङ’ एप सञ्चालनमा छन् ।

दर्ताका लागि कम्पनी अनिवार्य नहुने

गण्डकीमा कम्पनीमा नगई पनि व्यक्तिले सार्वजनिक सवारीसाधन चलाउन पाउने भएका छन् । यातायात व्यवसायीले समितिको नाममा एकाधिकार जमाएको भन्दै सरकारले त्यही ऐनको दफालाई टेकेर कम्पनीमा जाने व्यवस्था गरेको थियो । समितिहरूले हाल कम्पनीमार्फत चक्रीय प्रणाली (आलोपालो) कायमै राखेका छन् । व्यक्तिले मार्गको इजाजत लिन कम्पनीकै सिफारिस लिनुपर्ने व्यवस्थालाई नियमावलीबाट हटाइएको छ ।

कम्पनीमा जानैपर्ने व्यवस्थाका कारण चर्को मूल्य लिएर ‘रुट’ बिक्री र सिफारिस गर्ने गुनासो यातायात व्यवसायीहरूले गरेका थिए । “सवारीधनीले सार्वजनिक सवारी सञ्चालन गर्न कम्पनीमा आबद्ध नभइकन यातायात कार्यालयमा सवारीसाधन पञ्जीकृत गरी आएमा मागबमोजिमको मार्ग इजाजत जारी गर्न सकिनेछ”, नियमावलीमा उल्लेख गरिएको छ । व्यक्तिले स्वतन्त्ररूपमा एक–दुईवटा सावारीसाधन किनेर सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्न पाउने भएका हुन् ।

यसैगरी यातायात कार्यालयमा एकै आर्थिक वर्षमा कर तिर्न र नवीकरण गर्न दुईपटक धाउनुपर्ने व्यवस्थाका कारण सेवाग्राहीलाई भएको सास्ती नियमावलीले हटाएको छ । नवीकरण र राजस्व तिर्न दुईपटक आउने सेवाग्राहीलाई भएको झञ्झट र कार्यालयको भीड हटाउन सवारीसाधन नवीकरण गर्दा नै अनिवार्यरूपमा त्यो वर्षको राजस्व तिर्नुपर्ने व्यवस्था ल्याइएको छ ।

सवारीसाधनको नामसारी गर्दा अनिवार्यरूपमा नागरिकता नै चाहिने व्यवस्था भएकामा नियमावलीले अब राज्यका निकायबाट जारी भएका अन्य परिचयपत्रबाट पनि नामसारी हुने सुविधा दिइएको छ । सार्वजनिक सवारीसाधनको जाँचपास प्रमाणपत्र दिँदा अन्य प्राविधिक परीक्षणका अतिरिक्त अनिवार्यरूपमा प्रदूषण जाँच पनि गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सङ्घीय सरकारको सरकारी कार्यालय तथा यातायात क्षेत्रका अभिलेखलाई विद्युतीय माध्यममा लैजाने नीतिअनुसार गण्डकी प्रदेशको यातायात कार्यालयका सेवालाई छिटोछरितो बनाउन विद्युतीय माध्यमको प्रयोग गर्न नियमावलीमा आवश्यक नीतिगत व्यवस्था गरिएको छ । यातायात कार्यालयमार्फत कागजातका आधारमा प्रवाह हुने सबै सेवाहरू क्रमशः कागजविहीन सेवाका रूपमा रुपान्तरण गर्दै डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

जरिवाना बढाइयो

मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई रु दुई हजारबाट बढाएर रु १० हजार पुर्याइएकामा छ महिना निलम्बनसम्म गर्न सक्ने व्यवस्था नियमावलीले गरेको प्रवक्ता पौडेलले बताउनुभयो । हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएको थियो । अबदेखि जरिवानाको न्यूनतम दर रु १० हजार पुर्याइने र छ महिनासम्म मार्ग इजाजत रद्द गर्ने नियम बनाइएको हो ।

पोखराका यातायात व्यवसायीसँग भएको छलफलपछि मन्त्रालयले गत भदौ १ गतेदेखि ट्याक्सी मिटर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको थियो । ट्याक्सी व्यवसायीले मिटरमा उठेबराबरको भाडा लिएर यात्रु बोक्ने पटकपटकको प्रतिबद्धता कार्यान्वयन नगरेपछि मन्त्रालयले नियम कसिलो बनाउँदै लगेको हो । पोखरामा दुई हजार पाँच सयसहित गण्डकी प्रदेशभर करिब तीन हजार पाँच सय ट्याक्सी सञ्चालनमा छन् ।

आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौँ, २१ माघ : आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

यस्तै सबैभन्दा धेरै फोक्सोको अर्बुद रोग देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् । नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि डब्लुएचओका अनुसार नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ । यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोमा अर्बुदको रोग बढी हुने गर्छ ।

१८औँ संस्करणको खाना महोत्सव माघ २८ देखि सौराहामा

भरतपुर (चितवन),- चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २८ देखि आगामी फागुन ३ गतेसम्म १८औँ संस्करणको महोत्सव हुन लागेको हो ।

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वस गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । महोत्सवमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । उहाँले कार्यक्रम सम्पन्न गर्नका लागि रु ६० लाख अनुमानित खर्च लाग्ने बताउनुभयो । कार्यक्रम अवधिभर अनुमानित रु तीन करोडसम्म कारोबार हुने र दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरेको जनाइएको छ ।कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउनेगरी महोत्सवका गतिविधिलाई अगाडि बढाइएको जानकारी दिनुभयो । विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।पाँच दिनसम्म चल्ने महोत्सवमा बहुजातजातिहरूको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दी एक्सिस ब्याण्डको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेसबीच प्रतियोगिता हुने भएको छ । साथै प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।आर्थिक वर्ष २०७९÷०८० मा करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा करिब एक लाख ५० हजार पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको रेवान सौराहाले जनाएको छ ।

सिरिया, इराकमा अमेरिकी हमलाको निन्दा गर्दै रुसद्वारा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ध्यानाकर्षण

रुसले सिरिया र इराकमा अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् मार्फत पछिल्लो घटनाक्रमको तत्काल समीक्षा गर्न माग गरेको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शनिबार बताउनुभएको छ ।

“इराक र सिरियामा रणनीतिक वमवर्षक सहितको अमेरिकी हवाई आक्रमणले, मध्य पूर्वमा अमेरिकी नीतिको आक्रामक प्रकृति र वाशिङ्गटनको अन्तरराष्ट्रिय कानूनको पूर्ण अवहेलना गर्ने प्रवृत्ति देखिएको,” जाखारोभाले टेलिग्राममा उल्लेख गर्नु भएको छ ।

प्रवक्ताले संयुक्त राज्य अमेरिकाले जानाजानी हमला गरेर यस क्षेत्रका ठूला देशहरूलाई द्वन्द्वमा फसाउन खोजेको बताउनु भएको छ ।”हालका घटनाहरूले पुष्टि गर्दछ कि संयुक्त राज्य अमेरिका यस क्षेत्रका समस्याहरूको समाधान खोजिरहेको छैन,” उहाँले भन्नुभयो ।

जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा भएको घातक हमलाको बदलास्वरूप अमेरिकाले शुक्रबार सिरिया र इराकमा रहेको इरानसँग सम्बन्धित मिलिशियाका लक्ष्यहरूमा आक्रमण गरेको थियो।

सिंगापुर प्रहरीद्वारा घोटालाको आरोपमा ३६७ जनालाई पक्राउ

सिङ्गापुर प्रहरीले जनवरी १९ देखि फेब्रुअरी १ सम्मको कारबाहीमा ३६७ जना व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ– ती संदिग्ध व्यक्तिहरू लगानी, ई–वाणिज्य, ऋण, इन्टरनेट प्रेम र सरकारी अधिकारीको नक्कल लगायत विभिन्न जालसाज गरी १ हजारभन्दा भन्दा बढी घोटाला मामिलामा संलग्न रहेका थिए।

संदिग्धहरू ठगी, सम्पत्ति शुद्धीकरण वा इजाजतपत्र बिना भुक्तानी सेवाहरू प्रदान गर्ने अनुसन्धानमा थिए।ती घटनाहरूमा पीडितहरूले १ करोड सिंगापुर डलर (७.४५ मिलियन अमेरिकी डलर) गुमाएको प्रहरीको प्रारम्भिक अनुसन्धालले देखाएको छ ।

भियतनाम राष्ट्रिय पर्यटन डिजिटल प्रणालीमा

भियतनामको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयको भियतनाम राष्ट्रिय पर्यटन प्राधिकरणले यस क्षेत्रलाई स्मार्ट पर्यटन इकोसिस्टमा विकास गर्ने रणनीति अगाडि बढाएको छ ।रणनीतिक निर्माण गरेर डिजिटल रूपान्तरणलाई सक्रिय रूपमा अगाडि बढेको बताइएको छ । राज्य व्यवस्थापन र समग्र पर्यटक अनुभव सुधार नयाँ प्रणाली विकास गरिएको जनाइएको छ ।

भियतनाम समाचार एजेन्सी का अनुसार यस इकोसिस्टमका मुख्य अवयवहरूमा भियतनाम ट्राभल म्यानेजमेन्ट र व्यापार प्रणाली, भियतनाम ट्राभल एप, स्मार्ट टुरिज्म कार्ड र विशेष गरी, इलेक्ट्रोनिक टिकटिङ प्रणाली समावेश छन्।

भियतनाम म्युजियम अफ फाइन आर्ट्सले इलेक्ट्रोनिक टिकटिङ प्रणाली शुरु गरेको छ ।यसले आगन्तुकहरूलाई टिकट खरिदका लागि काउन्टरहरूमा लामबद्ध हुने आवश्यकतालाई हटाउँदै विभिन्न प्रयोगकर्ता–मैत्री स्व–चेक–इन विकल्पहरूको साथ सुव्यवस्थित गरेको छ ।

कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार

काठमाडौँ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड ल्याउन लागिएको हो। यसको तयारी कार्य अन्तिम चरणमा पुगेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्वीकृत गरेपछि केही दिनभित्रमै उक्त मापदण्ड कार्यान्वयनमा ल्याइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सङ्घीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड निर्माण गरी लागु गर्न लागेको छ। मन्त्रालयका सहसचिव सुमन दाहालले केही कर्मचारी पहुँचका भरमा सङ्घमै बसिरहने र केही कर्मचारी भने स्थानीय तहमै बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले नयाँ मापदण्ड बनाई कार्यान्वयन गर्न लागेको बताए। उनले भने, “मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनसम्बन्धी मापदण्ड तयार गरिसकेको छ। मन्त्रालयले अब एक पटक अन्तिम छलफल गरी मन्त्रीबाट स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइने छ।”

लोक सेवा आयोगबाट नयाँ नियुक्ति तथा बढुवा भई आउने उपसचिव र सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने व्यवस्था अनिवार्य गर्ने, शाखा अधिकृतका हकमा भने निजले माग गरेको अवस्थामा बाहेक सेवा अवधि तीन वर्ष पुगेपछि मात्र प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाउने मन्त्रालयले प्रस्ताव गरेको नयाँ मापदण्डमा छ  स्थानीय तहमा निमित्तको विकृति न्यूनीकरण गर्ने विषयलाई पनि मापदण्डले कडाइ गर्न खोजेको छ। अहिले पनि करिब दुई सय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तकै भरमा सञ्चालन हुँदै आएका छन्।

जथाभाबी र कनिष्ठलाई पनि निमित्त दिँदा कतिपय स्थानीय तहमा कर्मचारीबिच आन्तरिक द्वन्द्व हुँदै आएको छ। कर्मचारीबिचको यस्तो आन्तरिक द्वन्द्वलाई निरूपण गर्ने गरी मापदण्डमा प्रस्ताव गरिएको छ। जस अनुसार कम्तीमा पाँच वर्ष कार्यानुभव भएकालाई मात्र निमित्त दिने व्यवस्था मापदण्डमा गरिएको छ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खटाउँदा सम्बन्धित कर्मचारीलाई कामकाज गर्न चाहेको स्थानीय तहसम्बन्धी प्राथमिकता र स्थायी ठेगानालाई आधार मानी खटाइने व्यवस्था पनि मापदण्डमा गरिएको छ। मन्त्रालयका सहसचिव दाहालले प्रमुख प्रशासकीयमा खटाउँदा मन्त्रालयको अतिरिक्त समूहमा रहेका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका कर्मचारीलाई प्राथमिकता दिने पनि मापदण्डमा उल्लेख रहेको जानकारी दिए।

कर्मचारी आफैँले माग गरेको अवस्थामा बाहेक अवकाश हुने पाँच वर्षभन्दा कम अवधि बाँकी रहेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा नखटाइने, विशेष परिस्थितिमा बाहेक आर्थिक वर्षको अन्तिम त्रैमासिकमा प्रमुख प्रशासकीयको सरुवा नगर्ने र प्रमुख प्रशासकीय अधिकृतको कार्यावधि कम्तीमा दुई वर्षको हुने छ तर मन्त्रालयले विशेष परिस्थितिमा कारण खोली एक वर्ष अवधि पूरा भएको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तेस्रो मनहर्वा गोल्डकपको उपाधि वीरगञ्ज युनाइटेडलाई

बारा- वीरगञ्ज युनाइटेड क्लबले तेस्रो मनहर्वा गोल्डकपको उपाधि हात पारेको छ । जीतपुरसिमरा–१८ स्थित मौवादेवी खेलमैदानमा सनिबार भएको फाइनल खेलमा रिगल हेटौँडा रिसोर्टलाई २-० ले पराजित गर्दै वीरगञ्जले उपाधि हात पारेको हो ।

वीरगञ्जको जीतमा विशाल खड्का र अमर डङ्गोलले समान एक–एक गोल गरे । विशालको गोलबाट खेलको ३५औँ मिनेटमा अग्रता लिएको वीरगञ्जका लागि अमरले ८८औँ मिनेटमा दोस्रो गोल गरेका थिए । हेटौँडा उपविजेतामा चित्त बुझाएको छ ।उपाधि विजेताले वीरगञ्जले रु दुई लाख नगद हात पारेको छ भने उपविजेता हेटौँडाले रु एक लाख प्राप्त गरेको छ । विधागत पुरस्कारतर्फ वीरगञ्जले वर्चस्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगञ्जका अमर डङ्गोल घोषित भए । अमरले सर्वाधिक गोलकर्ताको पुरस्कारसमेत हात पारे ।यसैगरी उत्कृष्ट गोलरक्षक वीरगञ्जका दिलमणि चौधरी, उत्कृष्ट डिफेन्स विकास चौधरी, उत्कृष्ट प्रशिक्षक राजकिशोर धामीले प्राप्त गर्दा हेटौँडाका सुजल गुरुङले उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाएका छन् । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक मौवादेवी युवा क्लबका शिवकुमार सुवाल घोषित भए । यसैगरी प्रतियोगिताको फेयर प्लेको उपाधि आयोजक मौवादेवी युवा क्लबले प्राप्त गरेको छ । फाइनल खेलको प्लेयर अफ दी म्याच वीरगञ्जका सागर चौधरी घोषित भए ।प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, वडा नं १८ का अध्यक्ष चतुरबाबु वाग्ले, वडा नं १४ की अध्यक्ष चयन गुरुङ, क्लबका अध्यक्ष निर्मल यादव, पूर्वअध्यक्ष वसन्त खतिवडालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही माघ १३ गतेदेखि सुरु प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।तेस्रो मनहर्वा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै जीतपुरसिमराका उपमहानगरपालिकाका प्रमुख पौडेलले खेलकुदको विकासका लागि विद्यालय तहमै लगानी गर्नुपर्ने बताउनुभएको छ । खेलकुद क्षेत्रमा अहिले करोडौँ लगानी भए पनि प्रतिफल सन्तोषजनक हुन नसकेको भन्दै नगरप्रमुख पौडेलले विद्यालय तहमा हुने लगानीले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।नगरप्रमुख पौडेलले उपमहानगरपालिकाको कार्यालयले हाल रु दुई करोड ५४ लाख खेलकुद क्षेत्रमा लगानी भइरहेको जानकारी दिनुभयो ।—

पूर्वीनाका काँकडभिट्टाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो ।

यस अवधिमा सबैभन्दा बढी  एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार  ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची,  ५३ करोड १२ लाख ६५ हजार मूल्य बराबरको १५ हजार एक सय ७९ मेट्रिक टन प्लाइउड,  ३० करोड ४६ लाख ४० हजार मूल्यको दुई हजार तीन सय ८० मेट्रिक टन अदुवा र  १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको एक हजार एक सय ५१ मेट्रिक टन अम्लिसो भारततर्फ निर्यात भएको छ ।

तरकारी वस्तुमा बन्दा कोभी र मूला भारत निर्यात हुने गरेको छभने मसुरो दालसमेत उल्लेख्य मात्रामा निर्यात भएको छ । उक्त तीन महिनाको अवधिमा रु एक करोड ७२ लाख ६२ हजार मूल्य बराबरको एक सय २६ मेट्रिक टन मसुरो दाल,  २० लाख ४८ हजार मूल्य बराबरको एक सय २८ मेट्रिक टन बन्दाकोभी र रु २९ हजार मूल्य बराबरको करिब दुई मेट्रिक टन मूला भारत निर्यात भएको कार्यालयले जनाएको छ ।

निर्यात बस्तुमा जडीबुटीतर्फ चिराइतो, पीपला, अमला, मजिठो, सुगन्ध कोकिल, धूपी, पदमचाल र चुत्रो रहेको छ । यीमध्ये चिराइतो सबैभन्दा बढी मात्रा र मूल्यमा निर्यात हुने गरेको छ ।

कार्यालयका अनुसार दोस्रो त्रैमासिक अवधिमा रु ९४ लाख मूल्य बराबरको ४७ मेट्रिक टन चिराइतो, रु एक लाख छ हजार मूल्य बराबरको एक मेट्रिक टन पीपला, रु दुई लाख ९५ हजार मूल्य बराबरको अढाई मेट्रिक टन अमला, रु दुई लाख ५० हजार मूल्य बराबरको दुई मेट्रिक टन मजिठो, रु. एक लाख ९८ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुगन्ध कोकिल, रु तीन लाख ५० हजार मूल्य बराबरको १० मेट्रिक टन धूपी, रु छ लाख ९० हजार मूल्य बराबरको छ मेट्रिक टन पदमचाल र रु ३९ हजार मूल्य बराबरको एक मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिक अवधि साउन, भदौ र असोज महिनामा तरकारी, जडीबुटी, प्लाइडका सामान, अम्रिसोलगायत कूल रु पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत मुलुकमा निर्यात भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्रको भ्रमणपछि वीरगन्जमा भीआईपीको ताँती

वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्रले वीरगन्ज पुगी गएको १३ माघमा दल र नेताको काम’ कटाक्ष गरेलगत्तै वीरगन्जमा भीआईपीको ताँती नै लाग्न थालेको छ ।पूर्वराजा ज्ञानेन्द्र फर्केको दुई दिन बित्न नपाउँदै गएको १५ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगन्जमा आइपुगेका थिए । उनी फर्कने क्रममा बाराको सिमरा पुगेर राजदरवार हत्याकाण्ड’ पुन छानविन गर्नेसम्मको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीले यो प्रतिक्रिया दिनुको कारण पूर्वराजा ज्ञानेन्द्रले २०५८ सालको राजदरबार हत्याकाण्डमा आफूहरुलाई बेतुकको लाग्छना लगाइएको तर्क गर्दै जनतामा भ्रम छरिएको बताएको काउन्टर थियो । प्रधानमन्त्री प्रचण्डले यही कुरालाई संकेत गर्दै बाराको सिमरामा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै राजदरबार हत्याकाण्ड पुनः छानबिन हुनेभनी पूर्वराजाको भनाइप्रति कटाक्ष गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र राजावादी समर्थकले उनैलाई गर्ने नागरिक अभिनन्दनका लागि भनी वीरगन्ज आएका थिए । प्रधानमन्त्री प्रचण्ड भने आफ्नै पार्टी माओवादी केन्द्र निकटका पत्रकारहरुको संगठन प्रेस सेन्टरको स्थापना दिवस र राष्ट्रिय बैठकको समापनलाई सम्बोधन गर्न भनी यहाँ आइपुगेका थिए ।

यी दुई भीआईपी मात्र नभई एक साताभित्र मोफसलको जिल्ला पर्सा वीरगन्जमा अर्का भीआईपीमध्ये नेपाली कांग्रेजका महामन्त्री गगनकुमार थापा पनि आइपुगेका छन् । स्थानीय अंकुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहमा सरिक हुन भनी उनी पनि यहाँ आएर डेमोक्रेसीभन्दा अर्को विकल्प नभएको भनी फर्केका छन् । राजाका समर्थकले राजा आउ देश बचाऊ भनी वीरगन्जमा लगाएको नारा र पूर्वराजा ज्ञानेन्द्रको कडा सम्बोधन पछि उल्टो बाटोमा राजनीति फर्किने संकेत गरेको विरोधकै शैलीमा डेमोक्रेसीको विकल्प नभएको महामन्त्री थापाले जिकिर गरे ।

उनले यो व्यवस्थाभित्र भएका नराम्रा पक्ष सुधार गर्दै गएर यो व्यवस्थामा नै राम्रा काम गर्नुपर्नेमा जोड दिए । ‘यहाँका नराम्रा पक्ष हटाउन हामी सक्छौं’, हामीले अग्रसरता गर्नैपर्छ, त्यसका लागि पहिले आफैंबाट सुधारको सुरुवात गर्नुपर्छ, स्टेटको मेकानिज्म जुन राम्रो गर्नेभन्दा पनि नराम्रोमा लागेको छ । अब यसलाई सुधार गरेर टुंगोमा पुग्ने–पु¥याउने गर्नुपर्छ, प्रत्येक कुराको सुधारको जिम्मा हाम्रो हो । सदनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टी छ । देशभरि अधिकांश प्रदेशमा पनि कांग्रेसकै सरकार छ । अनि ३ सय ३२ पालिकाको प्रमुख पनि नेपाली कांग्रेसकै व्यक्ति छ । अनि यहाँका कमजोरी अरू कसले हटाउँछ ? हामीले नै हटाउनुपर्छ ।’

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह र यो मुद्दामा बढी चासो देखाइरहेका स्थानीय कांग्रेसकै केही नेता कार्यकर्तातर्फ संकेत गर्दै उनले नागरिकतामा गल्ती गर्नेले वा दोहोरो नागरिकता बनाउने कसैले छुट पाउन नहुने जिकिर गरे । एमालेले पूर्व–पश्चिम राष्ट्रिय अभियान सम्पन्न गरेको केही दिनमा नै महामन्त्री थापाकै अग्रसरतामा झापाबाट कांग्रेसका स्थानीय नेता कार्यकर्ता भेट्दै उनी तल्लो तहका नेता कार्यकर्ताका कुरा बुझ्दै धनुषा हुँदै पर्सासम्म आइपुगेका पनि हुन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।