`

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् ।

राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए ।

प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, “नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।”

विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिए ।

विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइ अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्रीले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रम व्यवस्थित तुल्याउन सरकारकोतर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने उनको सचिवालयले जनाएको छ ।

मधेस प्रदेश ज्ञान विज्ञानको केन्द्र 

यसैगरी सम्बोधनमा प्रधानमन्त्री दाहालले मधेस प्रदेशलाई ज्ञान विज्ञानको केन्द्र भएको पनि बताए । प्रधानमन्त्री दाहालले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भने, “सङ्घीय संरचनाअन्तर्गत मधेस प्रदेशमा रहेको सम्पूर्ण मधेस प्रदेशलाई पुनःज्ञान विज्ञानको केन्द्रका रूपमा विकास गर्ने सरकारको नीति छ ।” ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकका नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरे ।

विश्वविद्यालयको आवश्यकता र औचित्य बोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिबद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।”

गणेशमान मार्ग स्तरोन्नति गर्न आठ करोड विनियोजन

काठमाडौँ, १८ माघ : अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन रु आठ करोड विनियोजन गरेको थियो ।

यसैबीच ,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चन्द्रागिरि नगर प्रमुख गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयका उच्च पदस्थ कर्मचारीले गणेशमान मार्गको बुधबार अनुगमन गर्नुभएको छ ।

गत पुस २८ गते सो मार्ग अन्तर्गत सेतोपहरोमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । अनुगमनका क्रममा मन्त्री ज्वालाले सडकको अवस्था तत्काल सुधार गर्न र समयमै निर्माण सम्पन्न गर्नेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले जनताको जीवन रक्षा नै सरकारको पहिलो कर्तव्य भएकाले कानुनी प्रक्रिया यथासक्दो चाँडो पूरा गरी काम सुरु गर्न आग्रह गर्नुभयो । उक्त बजेटबाट ग्याबिन वाल, साइड ड्रेन र कालोपत्र गरिने जनाइएको छ । सो अवसरमा नगरप्रमुख गिरीले गणेशमान मार्गको स्तरोन्नतिको काम अगाडि बढाउन रकम विनियोजन गरेकामा अर्थ मन्त्री डा प्रकाशशरण महतलाई धन्यवाद दिनुभयो ।

नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । साउथ फिल्मका चर्चित हास्यकलाकार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको मूख्य अभिनय रहेको यस फिल्म २०८१ साल असोज ११ गते प्रदर्शनमा आउने भएको छ । यसबारे जानकारी अभिनेत्री निताले सामाजिक सञ्जालमार्फत दिएकी छिन् ।

उनले लेखेकी छिन् – ‘असोज ११, २०८१ (२७ सेप्टेम्बर २०२४) हो ! हाम्रो चलचित्र ह्रस्व दीर्घ रिलिज हुने मिति तय भएको छ । र महान हास्य कलाकार ब्रमानन्दम सरलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाई संग काम गर्दा धेरै राम्रो अनुभव भयो’

फिल्ममा ब्रह्मानन्दम बाहेक अन्य साउथ कलाकारहरुले पनि अभिनय गरेका छन् ।

सौराहामा एकहजार जना अट्ने सभाहल निर्माणको काम अन्तिम चरणमा

भरतपुर (चितवन), १८ माघ : चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हलमा सिट राख्ने, रङरोगनका केही काम, सभाहल परिसरमा ‘ब्लक’ बिछ्याउनेलगायत सरसफाइको काम बाँकी छ । विसं २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०७९ वैशाख २१ गते म्याद थप गरेर काम गरिएको थियो । थपिएको समयमा सभाहलको काम सम्पन्न हुने चरणमा रहेको प्रमुख थापाले जानकारी दिनुभयो । उहाँले बजेट विनियोजन नभएका कारण निर्माण कम्पनीलाई पैसा भुक्तानी गर्न नसकिएको भन्दै यस वर्ष जम्मा रु डेढ करोड मात्र विनियोजन भएको बताउनुभयो ।

सभाहलको क्षमता एक हजार जनाको छ । ठूलो हलसँगै एक सय ५० जना अट्ने र ५० जना अट्ने छुट्टाछुट्टै बैठक हलसमेत निर्माण गरिएको आयोजनाका इञ्जिनियर सुजन खतिवडाले जानकारी दिनुभयो । निर्माणको लागत रु ३५ करोड २२ लाख ७० हजार (भ्याटसहित) रहेको उहाँले बताउनुभयो । सभाहल निर्माणले सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने जनाइएको छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सभाहल सौराहाको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो । रत्ननगरले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा ‘सिटीहल’ निर्माण गरिएको हो ।

आज बिहानैदेखि जुम्लामा हिमपात, किसान खुसी

जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन् ।

यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।

मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणको पर्खाइमा

म्याग्दी, १८ माघ : मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताउनुभयो ।

“चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो”, उहाँले भन्नुभयो, “तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो ।”

मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिए पनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेकामा पूर्ववडाअध्यक्ष गुरुङले चिन्ता व्यक्त गर्नुभयो ।

खोंचभित्र पहाडबाट तातोपानीको फोहरा निस्कने गर्छ । बर्खामा तातोपानीको फोहोराभन्दा माथि खोलाको सतह पुग्छ । हिउँदमा खोलामा हिँडेर करिब ५० डिग्री सेल्सियस तातोपानीको फोहरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङ्ग्या गाउँका पासाङ छिरिङ गुरुङले बताउनुभयो ।

“पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहराले मानिसलाई ढलाउला झैँ गर्छ”, उहाँले भन्नुभयो, “मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ ।” तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ । बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढि गाउँमा पुगिन्छ । ढि गाउँदेखि ३० मिनेट पैदल हिँडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ । साविक सुर्खाङ गाविसको भूगोलमा रहेको यो तातोपानीको मुहान नजिकै सुर्खाङ, ढि, यारा र घारा गाउँ छन् ।

उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि ढि खोलाको तातोपानी नयाँ आकर्षण बन्नसक्ने सम्भावना छ । दिगोरुपमा बाह्रै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको पूर्ववडाध्यक्ष गुरुङले बताउनुभयो ।

स्थानीयवासीका अनुसार मुस्ताङको पूर्वराजपरिवारका सदस्य स्नानका लागि ढि खोलामा आउने गर्दथे । उनीहरुले मुहान नजिकै स्नानका लागि आउनेहरुका लागि आश्रयस्थल बनाइदिएका थिए । स्थानीयवासीहरु हिउँदयाममा ढि खोलाको तातोपानी नुहाउन जान्छन् । व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन सकिएको छैन । गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले ढि खोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल गरिने बताउनुभयो ।

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

सल्लेरी (सोलुखुम्बु), १८ माघ : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबाट मूल्य निर्धारण गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यसमेतलाई आधार मानी ‘ए’ ग्रेडको ‘पार्चमेन्ट’ कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रू छ सय निर्धारण गरिएको छ ।

बोर्डले भने सोही कफीको मूल्यप्रति केजी रु पाँच सय निर्धारण गरेको छ । गत मङ्सिर १ गतेदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरी बोर्डले सार्वजनिक सूचना नै जारी गरेको छ । बोर्डको समर्थन मूल्यभन्दा प्रतिकिलो रू एक सय बढी निर्धारण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “थुलुङ दूधकोशी सरकार वास्तविक कृषकको उन्नतिका लागि काम गर्ने सरकार हो, त्यसैले आर्थिक विकासका लागि महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” यसअघि थुलुङ दूधकोशी गाउँपालिका–८ देउसामा रहेको देउसा कृषिवन स्रोतकेन्द्रले कृषकको कफी प्रतिकिलो रू पाँच सयले सङ्कलन गर्दै आएको थियो ।

थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वमा नै उत्कृष्ट

थुलुङ दूधकोशीमा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको अध्ययनले जनाएको छ । इको हिमाल नेपालकै पहलमा यहाँ उत्पादित कफी बेलायत र अष्ट्रेलिया लगायतका राष्ट्रमा नमुना परीक्षणका लागि पठाउँदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताउनुभयो ।

नमुना परीक्षणका क्रममा कफीको नतिजा उत्कृष्ट पाएपछि कृषकलाई थप हौसला बढेको कार्यकारी प्रमुख ढकालको भनाइ छ । केही वर्षअघि बारीमा लगाइएको कफीको बोट नष्ट गर्न थालेका कृषकले पुनःनयाँ बिरुवा लगाउन थालेका स्थानीयवासी कृषक नेतकुमार राईले बताउनुभयो । आफूले केही बोट कफी नष्टको अनुभव सुनाउँदै उहाँले स्थानीय सरकारले बजारीकरणको जिम्मा लिएपछि सहज हुने र ढुक्कसँग खेती गर्ने वातावरण सिर्जना भएको सुनाउनुभयो ।

थुलुङ दूधकोशीले पालिकामा नै कफी प्रशोधन गर्ने भएपछि यहाँका कृषक खुसी भएका छन् । गाउँपालिका प्रवक्ता कार्कीका अनुसार अहिले कफी प्रशोधन गर्ने मेसिन खरिदलगायत अन्य संरचना निर्माणको तयारी तीव्र पारिएको छ । करिब रू ७० लाखको लागतमा उक्त परियोजनाको कार्य भइरहेको उहाँको भनाइ छ ।

उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्ट बेलायतको लगानी हुनेछ भने अन्य तालिमलगायतमा इको हिमाल नेपालको भूमिका रहने बताइएको छ । यसरी आफ्नै पालिकामा कफी प्रशोधन हुने भएपछि स्थानीयवासी कृषक हर्षित भएका छन् । यसअघि आफूले उत्पादन गरेको कफीले बजार पाउने निश्चित नहँुदा खेतीतर्फ आकर्षण नभएको जनाउँदै देउसाका अगुवा कृषक युवराज राईले थुलुङ दूधकोशीले कृषितर्फ चालेको कदमले उत्साह पैदा भएको बताउनुभयो ।

कृषिमा राम्रो सम्भावना भए पनि सरकारको ध्यानदृष्टि नपुगेका कारण विदेश पलायन हुनेदर बढिरहेका बेला स्थानीय सरकारको एकपछि अर्को कदमले गर्दा आफूलाई जापान जाने अवसर प्राप्त हुँदा बेवास्ता गरेको उहाँले सुनाउनुभयो । अध्यक्ष राईले राम्रो कफी उत्पादन गर्ने कृषकलाई पुरस्कार दिने बताउनुभयो ।

नेपालमा पश्चिमी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं – बिहीबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा , कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको छ। साथै देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

आज राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहनेछ ।

सैनिकहरूमाथि घातक हमलापछि अमेरिकालाई धम्की नदिन इरानको चेतावनी

अमेरिकाले जोर्डनमा तीन अमेरिकी सेनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफ दिने निर्णय गरेपछि इरानले बुधबार अमेरिकालाई धम्की नदिन चेतावनी दिएको छ ।

“अमेरिकाले धम्की र प्रक्षेपणको भाषा बन्द गर्नुपर्छ र राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्नुपर्छ”, आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले भन्नुभयो, “धम्कीप्रति इरानको प्रतिक्रिया निर्णायक र तत्काल छ ।”

आइतबार ड्रोन आक्रमणमा अमेरिकी सैनिकहरूको हत्या अक्टोबर ७ मा इजराइल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रमा शत्रुतापूर्ण गोलाबारीमा पहिलो अमेरिकी सैन्य क्षति हो ।

‘कट्टरपन्थी इरान समर्थित आतङ्कवादी समूह’ लाई दोषी ठहर गर्नुभएका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले प्रतिक्रियाप्रति निर्णय लिएको तर मध्यपूर्वमा व्यापक युद्धको माग नगरेकामा जोड दिनुभयो । ह्वाइट हाउसले चेतावनी दिँदै आक्रमणको प्रतिशोधमा ‘धेरै कारवाही’ गर्न सकिने बताएको छ । यद्यपि उसले थप विवरण केही दिएको छैन ।

आइआरएनएको रिपोर्टअनुसार बुधबार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका प्रमुख जनरल होसेन सलामीले अमेरिकी अधिकारीहरूको धम्कीहरू ‘अनुत्तरित नहुने’ बताउनुभयो । “हामी युद्धको खोजीमा छैनौँ तर युद्धसँग डराउँदैनौँ”, उहाँले भन्नुभयो ।

इरानले अमेरिकी सैनिकहरूमाथि आक्रमणसँग कुनै पनि प्रकारको सम्बन्धलाई अस्वीकार गरेको छ र मध्यपूर्वमा युद्धको ‘विस्तार’ नचाहेको बताएको छ ।

इजराइल–हमास युद्धपछि सिरिया, इराक, लेबनान र यमनमा इरान समर्थित समूहरू समावेश हुँदा क्षेत्रीय तनाव बढेको छ । इस्लामिक गणतन्त्र इरानले यसअघि नै यस क्षेत्रका ‘प्रतिरोधी समूहहरू’ लाई समर्थन गर्ने ‘कर्तव्य’ मानेको तर निर्णय लिन र कारवाही गर्न ‘स्वतन्त्र’ रहेको बताएको छ ।

चुनावी हिंसापछि पाकिस्तानको निर्वाचन आयोगद्वारा सुरक्षा बैठक आह्वान

मुलुक निर्वाचनमा जान एक साताअघि अलग अलग हमलामा एक उम्मेदवारको गोली हानी हत्या र अन्य धेरै घाइते भएपछि पाकिस्तानको निर्वाचन आयोगले बुधबार सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ । दक्षिण एसियाली यस मुलुकमा निर्वाचनहरू प्राय हिंसाबाट प्रभावित हुन्छन् । निर्वाचनमा उम्मेदवारहरू र र्यालीहरूमा आतङ्कवादी समूहका साथै व्यक्तिगत प्रतिशोधका कारण निशाना बनाइन्छ ।

पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीबाट टिकट पाउन असफल भएपछि स्वतन्त्ररूपमा उम्मेदवार रहेका रेहान जेब खानको खैबर पख्तुनख्वा प्रान्तको पूर्वआदिवासी जिल्ला बाजौरमा स्टम्प भेलाबाट बाहिर निस्केपछि उहाँको कारमा गोली हानी हत्या गरिएको थियो ।

“रेहान जेबको हत्या निर्वाचनको समयमा अराजकता उत्पन्न गर्ने उद्देश्यले गरिएको हत्या हो”, जिल्ला प्रहरी अधिकारी काशिफ जुल्फिकारले भन्नुभयो । हिंसामाथि छलफल गर्नका लागि बिहीबार सरकार र गुप्तचर अधिकारीहरूसँग बैठक बस्ने पाकिस्तानको निर्वाचन आयोगले मिडियालाई बताएको छ । “बलुचिस्तान र खैबर पख्तुनख्वामा बिग्रिएको कानून र व्यवस्थाको अवस्थालाई मध्यनजर गर्दै निर्वाचन आयोगले फेब्रुअरी १ मा बैठक बोलाएको छ”, आयोगले भनेको छ ।

फेब्रुअरी ८ को मतदानअघि हजाराँै अर्धसैनिक बलहरू तैनाथ गरिने अधिकारीहरूले पहिला घोषणा गरेका थिए । बुधबार पनि बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा एक राष्ट्रियसभा र अर्का प्रान्तीय सिटका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारमाथि ग्रेनेडले हमला गरिएको थियो । “आतङ्कवादीहरूले हमला गर्दा उहाँहरू दुवै कार्यालयमा हुनुहुन्थ्यो”, पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का प्रवक्ताले भन्नुभयो । उहाँले पाँच जना घाइते भएको जानकारी दिनुभयो ।

इरानको सीमाबाट बुलेदा नजिक पिपिपीका उम्मेदवारलाई पनि उहाँको घरमा ग्रेनेडले निशाना बनाइएको थियो तर हमलामा कसैलाई कुनै नोक्सानी भएको थिएन ।क्वेटामा पिटिआईको र्याली नजिकै भएको बम विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार बताएको थियो । उक्त हमला पार्टीका संस्थापक इमरान खानलाई गोपनीय सरकारी दस्तावेज चुहाएको आरोपमा १० वर्षको कारागार सजाय सुनाइएको केही घन्टापछि भएको थियो ।

पछि उहाँलाई भ्रष्टाचारको आरोपमा १४ वर्षको अर्को सजाय सुनाइएको छ । सन् २०२२ मा प्रधानमन्त्रीबाट हटाइनुभएका ७१ वर्षीय पूर्वक्रिकेट स्टार खानले पाकिस्तानको सैन्य किङमेकरहरूविरुद्ध अवज्ञा अभियान चलाउनुभएको थियो । उहाँले सेनामाथि आफ्नो प्रधानमन्त्री पद समाप्त गर्न षड्यन्त्र रचेको आरोप लगाउनुभएको थियो ।

सेना प्रमुखको बहिर्गमनको हल्लाले युक्रेनमा असहमति देखिएको मस्कोको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कथितरूपमा आफ्ना लोकप्रिय सशस्त्र बल प्रमुख भ्यालेरी जालुज्नीलाई राजीनामा दिन दबाब दिन खोजेपछि युक्रेनका नेताहरू विभाजित भएको रुसले बुधबार दावी गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मस्कोमा पत्रकारहरूसँग बर्खास्त गर्ने प्रयासको रिपोर्टले युक्रेनका नागरिक र सैन्य नेतृत्वबिच ‘बढ्दो मतभेद’ खुलासा भएको बताउनुभयो ।

रुसको सन् २०२२ को आक्रमण अघिदेखि सशस्त्र बलहरूको नेतृत्व गर्दै आउनुभएका जालुज्नीलाई बर्खास्त गर्न राष्ट्रपति जेलेन्स्की अगाडि बढ्नुभएको अफवाह यसै साता युक्रेनी मिडियामा फैलिएको थियो । विभिन्न रिपोर्टले जालुज्नीको स्थानमा जियुआर सैन्य जासुसी प्रमुख किरिलो बुडानोभलाई नियुक्त गर्ने बताएका छन् ।

राष्ट्रपतिले सोमबार कमान्डर–इन–चिफ जालुज्नीलाई भेटेर उभिएर राजीनामा पत्र लेख्न सुझाव दिनुभएको जेलेन्स्कीको कार्यालय र टोलीका स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी समाचार वेबसाइट जेडएनडटयुएले मङ्गलबार बताएको थियो ।

विभिन्न रिपोर्टअनुसार जालुज्नीलाई सल्लाहकार वा राजदूतका रूपमा भूमिका प्रस्ताव गरिएको थियो । जेडएनडटयुएको रिपोर्टअनुसार जालुज्नीले प्रस्ताव अस्वीकार गर्नुभयो र राष्ट्रपतिले उहाँलाई बर्खास्त गर्नुभएन । जेलेन्स्कीको कार्यालयले जालुज्नीलाई हटाउने योजनालाई अस्वीकार गरेको छ र मुलुकको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रिपोर्टहरू ‘सही नभएको’ बताएको छ ।

जेलेन्स्की आफैँले ती रिपार्टहरूमाथि कुनै टिप्पणी गर्नुभएको छैन । यसलाई केही मानिसले सैन्य नेतृत्वमा परिवर्तनको विचारका बारेमा जनमत परीक्षण गर्न चुहाइएको रूपमा हेरेका छन् । अर्थशास्त्रीहरूसँग एउटा उच्च प्रोफाइल अन्तरवार्तामा जालुज्नीले युद्धले गतिरोध उत्पन्न गरेको बताएपछि गत वर्ष दुवै व्यक्तिबिचको मतभिन्नता चर्चामा आएको थियो ।

राष्ट्रपति र उहाँका कमान्डर–इन–चिफबीचको सम्भावित दरारको पहिलो सङ्केतमा जेलेन्स्कीले सार्वजनिकरूपमा उक्त दावीलाई खारेज गर्नुभएको थियो ।

बुधबार मस्कोमा पेसकोभले सम्भावित गतिरोध युक्रेनको कमजोर सशस्त्र सेनाहरूको अपरिहार्य परिणाम भएको बताउनुभयो । “असफल जवाफी आक्रमण र मोर्चाहरूमा देखिएका समस्याका कारण किएभ प्रशासनका प्रतिनिधिहरू– दुवै सैन्य नेतृत्व र सर्वसाधारणबिच बढ्दो मतभेद निम्त्याउँदै गरेको स्पष्ट छ”, उहाँले भन्नुभयो ।

उहाँले आफ्नो आक्रमणका लागि मस्कोको मनपर्ने भाषा प्रयोग गर्दै भन्नुभयो, “रुसको विशेष अभियान सफलतापूर्वक जारी रहँदा यी मतभेद बढिरहने छन् ।” एक वर्षभन्दा धेरै समयमा कुनै पनि पक्षले कुनै महत्त्वपूर्ण क्षेत्रीय लाभ हासिल गर्न सकेका छैनन् ।

मन्त्री हेरफेरमा असफल प्रधानमन्त्री !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महिनाअघि नै मन्त्री हेरफेर गर्ने पक्षमा रहेका भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सत्तारूढ दलका शीर्ष नेताहरूबीच मन्त्री हेरफेर गर्ने’सहमति जुटिसकेको छ । तर पनि शीर्ष नेताहरू ‘पर्ख र हेर’कै अवस्थामा छन् । फागुन दोस्रो सातापछि मन्त्रीहरू हेरफेर हुने सम्भावना छ ।

११ माघको राष्ट्रिय सभा सदस्य निर्वाचन र ७ फागुनमा बस्ने कांग्रेसको महासमिति बैठकका कारण मन्त्रिपरिषद् हेरफेरमा ढिलाइ भएको भनेर भनिँदै आएको छ । कांग्रेसको महासमिति बैठकपछि मात्रै मन्त्रिपरिषद् हेरफेर हुने कांग्रेस स्रोतको दाबी छ ।

कार्यसम्पादनमा केही मन्त्रीको काम फितलो भएको र काम प्रभावकारी नभएको बताउँदै मन्त्री हेरफेर गर्ने उद्घोष प्रधानमन्त्री प्रचण्डले यसअघि नै गरिसकेका थिए । प्रधानमन्त्री प्रचण्डले पुसमै मन्त्री हेरफेर गर्ने चाहना राखे पनि कांग्रेस सभापति देउवाले फागुनअघि गर्न नसकिने अडान लिएपछि ढिलाइ भएको हो ।

तर, केही मन्त्रीले मन्त्री हेरफेर नहुने बताउँदै आएका छन् । सरकारमा सहभागी प्रायःजसो मन्त्रीहरू हेरफेरको विरुद्धमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डले माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका मन्त्रीलाई हटाएर नयाँलाई ल्याउन खोजेका छन् । गृहमन्त्री श्रेष्ठले समेत मन्त्री हेरफेर नहुने भन्दै अहिलेकै सबै मन्त्री रहने बताउँदै आएका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

जुनकिरी घट्दा किसानलाई समस्या

काठमाडौँ । साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेका हुन् ।

शङ्खेकिरा बढ्दा त्यसले किसानले लगाएको तरकारी र अन्नबालीमा ठुलो नोक्सानी पुर्‍याउँदै आएको छ । विज्ञहरूका अनुसार जुनकिरीको लार्भा अवस्थामा त्यसले शङ्खेकिरालाई खाने गर्दछ । लार्भा भनेको किराको असाध्यै बढी खाने अवस्था हो ।

प्राकृतिक आवासको नाश, कीटनाशक विषादीको बढ्दो प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीको सङ्ख्यालाई कम गराउँदै छ । प्राकृतिक आवास नासिनु जुनकिरीको सङ्ख्यामा कमी आउने प्रमुख कारण हो । सिमसार र ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो । बढ्दो सहरीकरण, साँझ बिहानको धेरै प्रकाश, वन तथा बुट्यान क्षेत्र विनाश जस्ता कारणले जुनकिरी लोप हुँदै जान थालेको हो ।

कृषि अनुसन्धान परिषद् ९नार्क० का वरिष्ठ कीट विशेषज्ञ आरपी मैनाली जुनकिरीको पिलपिले बत्तीको उज्यालो मात्र नभई त्योभन्दा धेरै कृषिमा उपयोगिता रहेको बताउछन् । जुनकिरीको सङ्ख्या घटेसँगै किसानको बालीमा शङ्खेकिराको प्रकोप बढेको उनले दाबी गरे ।

जुनकिरीको लार्भा अवस्थामा शङ्खेकिरा मुख्य आहार हुने भएको र जुनकिरीको सङ्ख्या घट्दा शङ्खेकिराको सङ्ख्या बढिरहेको उनले उल्लेख गरे । यो भनेको जङ्गलमा बाघको सङ्ख्या घट्दा मृग र खरायोको सङ्ख्या बढे जस्तै हो । जुनकिरीको सङ्ख्या घट्दा खेतबारीमा शङ्खेकिरा बढेको उनले स्पष्ट पारे । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

कञ्चनपुरको दोदा नदीमा पानीको सतह बढे घटेको जानकारी दिने बाढी पूर्वसूचना यन्त्र जडान

कञ्चनपुर, १८ माघ : कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र(राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा सो यन्त्र जडान गरिएको हो ।

जडान गरिएको यन्त्रले स्वचालितरुपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले जानकारी दिनुभयो । “बर्सेनि बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “अन्य बाढीबाट प्रभावित हुने क्षेत्रमा पूर्वसूचना यन्त्र थप्दै लैजान्छौँ ।”

प्रमुख शाहले जडान गरिएको यन्त्रले १०÷१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने बताउनुभयो । उहाँका अनुसार यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइटमार्फत अपडेट भइरहन्छ । सबैले सजिलै वेबसाइट हेरेर पनि बाढीबारे जानकारी पाउने उहाँको भनाइ छ । नदीको बाढी सतर्कता, चेतावनी, खतरा तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीबारे निरन्तररुपमा जानकारी दिन सजिलो हुने उहाँले बताउनुभयो ।

समूहगतरुपमा एसएमएस गरेर बाढीबारे प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सकिने उहाँले उल्लेख गर्नुभयो । बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि यन्त्रले सहयोग पु¥याउने उहाँको भनाइ छ । यन्त्र जडानले आपत्कालीन सञ्चालन केन्द्र राखिएको ‘डिस्प्ले’मा बाढीको जानकारी अद्यावधिक भइरहने हुनाले पूर्वसूचना प्रणाली बलियो हुने निड्स कञ्चनपुरका विपद्सम्बन्धी कार्यक्रम संयोजक नवीन भट्टले बताउनुभयो ।

“यस कार्यले नदीको तल्लो तटीय क्षेत्र लालझाडी, पुनर्वास, बेलौरीलगायतका पाँच हजार परिवारको बाढीबाट सुरक्षा हुन्छ”, उहाँले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रका बासिन्दाले बाढी आउनपूर्व नै सूचना पाउने भएकाले सुरक्षित स्थानमा जानसक्ने हुँदा धनजन जोगाउन मद्दत पुग्छ ।” डुबान हुने क्षेत्रका बासिन्दा जोगिने उहाँले जानकारी दिनुभयो । दोदा जलाधार क्षेत्रका पालिकासँग सहकार्य गरी बढी पूर्वसूचनाबारे निड्सले कार्य गरिहेको उहाँले बताउनुभयो ।

“दोदा नदीमा आउने बाढीले बर्सेनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना नहुँदा धनजनको क्षति हुँदै आएको थियो”, कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउदले भन्नुभयो, “बाढी पूर्वसूचना यन्त्र जडान भएपछि बाढीबाट धनजन जोगाउन सकिन्छ ।” उहाँका अनुसार सर्भेको कामपश्चात पूर्वपश्चिम राजमार्गको दोदा नदीको पुलको मध्य भागमा यन्त्र जडानको कार्य गरिएको छ । पुनर्वास विपद् व्यवस्थापन शाखका प्रमुख ओमनाथ ढकालले माथिल्लो तटीय क्षेत्रबाट नदीको बाढी नगरपालिका क्षेत्रमा पुग्न तीन चार घण्टा लाग्ने उल्लेख गर्नुहँुदै यन्त्र जडानको कार्यले बाढी पुग्नुपूर्व नै सतर्कता अपनाएर धनजनको क्षति कम गर्न सकिने बताउनुभयो ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

गण्डकी – राष्ट्रिय सूचना आयोगद्वारा बुधबार पोखरामा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।कास्की जिल्लास्थित कार्यालयका प्रमुख, सूचना अधिकारी एवं सञ्चारकर्मीबीच भएको अन्तरक्रियामा वक्ताहरूले सुशासन र पारदर्शिताका लागि पनि सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय सूचना आयोगका आयुुक्त रत्नप्रसाद मैनालीले ‘सूचनाको हक : व्यावहारिक प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कानुनी रुपमा नागरिकले मागेका अवस्थामा सूचना दिनुपर्ने व्यवस्था रहेको बताउँदै सुशासन र पारदर्शिताका लागि पनि यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

परम्परागत रुपमा कटुवाल प्रथाबाट सूचनाको हकको प्रयोग हुन थालेको बताउँदै उहाँले कानुनी रुपमा सन् १७६६ मा स्वीडेनबाट यसको प्रयोग बढेको जानकारी दिनुभयो ।

सूचना आयोगका सचिव होमप्रसाद लुइँटेलले ‘सूचनाको हकको कार्यान्वयनमा कानूूनी तथा पुनरावेदनसम्बन्धी व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वैयक्तिक स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्नका लागि सूचनाको हकको व्यवस्था गरिएको बताउनुभयो । सूचनाको हक प्रभावकारी कार्यान्वयन गर्न सकेमा त्यसले सुशासनसँगै जवाफदेहिता र जिम्मेवारिता बढाउन सहयोग गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सूचना आफैँमा महत्वपूर्ण रहेको बताउँदै यसका माध्यमबाट हाम्रो समाजमा पारदर्शिता र सुशासन कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष यदुुनाथ बञ्जारा, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, सूचना आयोगका उपसचिव सुदर्शन ढकाल, दीपक आचार्यलगायतले कानुनी व्यवस्था अनुसार सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलको भारत भ्रमण, नेपाल–भारत सम्बन्धबारे छलफल

काठमाडौँ – भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले बुधबार भारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ ।

नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

बुधबार नेपाली प्रतिनिधिमण्डलले लोकसभाका अध्यक्ष ओमवीर लकोटासँग भेटवार्ता गरेको थियो ।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न झापाका तीन स्थानमा बिओपी स्थापना

झापा-सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले झापाका तीन स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् । आपराधिक गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले स्थापना भएका बिओपीको आज उद्घाटन गरिएको छ ।

कचनकवल गाउँपालिका–४ डाँगीबारी, गौरीगञ्ज गाउँपालिका–४ अन्तामारी र गौरीगञ्ज–२ लालमाटीस्थित बिओपीको सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गर्नुभयो ।बिओपी निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । डाँगीबारी बिओपीका लागि उपेन्द्रप्रसाद आचार्यले सात कठ्ठा, लालमाटीका लागि विनिता नेम्वाङले सात कठ्ठा र आल्तामारीका लागि बबिताकुमारी साहले पाँच कठ्ठा जमिन निःशुल्क उपलब्ध गराउनुभएको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका गणपति देवराज अर्यालले जानकारी दिनुभयो ।गणपति अर्यालका अनुसार डाँगीबारीमा निर्मित व्यारेक तथा कार्यालय भवन रु ८३ लाख ७२ हजार ७९३ को लागतमा, अल्तामारीको रु ८३ लाख ४४ हजार २५९ र लालमाटीको भवन रु एक करोड ९७ लाख ७५ हजार ६४० लागतमा निर्माण भएको हो ।बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले हाल देशभरका सीमा क्षेत्रमा दुई सय ५० बिओपी रहेकामा त्यो सङ्ख्या बढाएर पाँच सय पु¥याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले बिओपी निर्माणसँगै जिल्लामा शान्ति सुरक्षा कायम गर्न, सीमा अतिक्रमण रोक्न, अन्तर–सीमा अपराध नियन्त्रण गर्न, सीमास्तम्भको रेखदेख, अवैध निकासी पैठारी नियन्त्रण गर्न सहज हुने बताउनुभयो ।झापामा एक सय ४४ किलोमिटर लामो भारतसँगको खुला सीमाना छ । दुई देशबीच नौ सय ९५ सीमा स्तम्भ, चार सीमा सुरक्षा गुल्म र १७ बिओपी छन् । पोखरेलले झापामा १५ बिओपी थप्न प्रस्ताव गरिएको, सीमास्तम्भको अभिलेखीकरण, मर्मतसम्भार, दशगजा अतिक्रमण नियन्त्रणलगायत काम गरिएको बताउनुभयो ।

विराटनगरको बजेट तीन अर्ब ३४ करोड

मोरङ – विराटनगर महानगरपालिकाको नगरसभाको तेह्रौँ अधिवेशनले चालु आर्थिक वर्षको बजेट संशोधन गरी सम्पन्न भएको छ । बुधबार यहाँ आयोजित अधिवेशनमा सभाले रु तीन अर्ब २८ करोड पाँच लाख रहेको बजेटलाई संशोधन गरी रु तीन अर्ब ३४ करोड ६७ लाख १२ हजार पु¥याएको छ ।

सो अवसरमा महानगर प्रमुख नागेश कोइरालाले महानगरवासीले गर्व गर्न लायकको विराटनगर बनाउन इमान्दारितापूर्वक कार्य गरिरहेको बताउनुभयो ।रानीपोखरी, मण्डापोखरी, प्रधानमन्त्री पार्क, बालउद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर–५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक निर्माणलगायत रु एक अर्ब १५ करोडका विभिन्न योजना कार्यान्वयनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत भएको थियो । अधिवेशनमा न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपाने, अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक बलराम कारञ्जित, विधेयक समितिका संयोजक दीपककुमार कर्ण, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिका संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेत, सुशासन तथा संस्थागत विकास समितिका संयोजक सूर्यलाल यादवले आआफ्नो समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा सदस्यहरू रोम भट्टराई, अञ्जु दाहाल, सुरज न्यौपानेलगायतले नगरको विकासका सम्बन्धमा विभिन्न सुझाव दिनुभएको थियो । नगरसभाले नगर प्रहरी विधेयक, बजार व्यवस्थापन तथा अनुगमन विधेयक, कृषि विधेयकसहित विभिन्न विधेयक र ऐनसमेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

छ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजार चालक कारबाहीमा, चार करोड राजश्व सङ्कलन

काठमाडौं-नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट रु चार करोड राजश्व सङ्कलन भएको जानकारी दिनुभयो । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उहाँले बताउनुभयो ।लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ । सिसिटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो रहेको प्रहरीको निष्कर्ष छ । त्यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्दै मापसे र लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी कार्यान्वयन गर्दै आएको छ ।“दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनका लागि प्रत्येक चालकले सही अवस्थामा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक छ”, प्रहरीका केन्द्रीय प्रवक्ता ढकालले भन्नुभयो ।चालु आर्थिक वर्षको छ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा १८ हजार ६२७, कोशी प्रदेशमा दुई हजार ५२४, मधेशमा दुई हजार २१, बागमतीमा एक हजार ९८, गण्डकीमा आठ हजार ९२३, लुम्बिनीमा दुई हजार ७७३, कर्णालीमा एक हजार २६४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेका उहाँले जानकारी दिनुभयो ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाका धेरै ठाउँमा सवारी साधन जाँच गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेकाले पछिल्लो समयमा चालक सजग र सचेत हुन थालेका बताउनुभयो । उहाँका अनुसार उक्त कारबाही अभियानमा काठमाडौँ उपत्यकामा रु १ करोड ८६ लाख २७ हजार, कोशी प्रदेशमा रु २५ लाख ३९ हजार पाँच सय, मधेशमा रु २० लाख ४२ हजार पाँच सय, बागमतीमा रु ११ लाख १७ हजार, गण्डकीमा रु ९५ लाख ६८ हजार, लुम्बिनीमा रु २७ लाख ७३ हजार, कर्णालीमा रु १२ लाख ६० हजार र सुदूरपश्चिम प्रदेशमा रु २० लाख ४२ हजार राजश्व सङ्कलन भएको छ ।सो अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८, गण्डकीमा ८८, लुम्बिनीमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जना कारवाहीमा परेका छन् । 

दश किलो गाँजासहित एक जना पक्राउ

बारा – दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका– ७ निजलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो ।

हेर्नुहोस् माघ १८ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।

बृष राशि- परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।

मीथुन राशि – सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

कर्कट राशि- सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

सिंह राशि – सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ ।

कन्या राशि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

तुला राशि – साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

बृश्चिक राशि- परोपकारका क्षेत्रमा समय ब्यतित रहनेछ । शत्रु बृद्धि हुनसक्छन् । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । मान्यजनको स्वास्थमा आएको खराबिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ ।

धनु राशि – आय मूलक कार्यमा जुट्ने माध्यम फेला पर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ ।

मकर राशि – सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कुम्भ राशि – साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला ।

मिन राशि – सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

स्वरुप नबिग्रने गरी १३६ वर्ष पुरानो झोलुङ्गे पुल पुनःनिर्माण

म्याग्दी, १७ माघ : बेनी नगरपालिका–७ र २ को सिमाना मङ्गलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि मर्मत थालिएको हो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरी पुल मर्मत गर्न लागिएको जानकारी दिनुभयो ।

“स्थानीयलाई आवत जावतमा सहज, सुरक्षित बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुल मर्मतको काम चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित काम थालिएको छ”, उहाँले भन्नुभयो “प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गर्न लागेको हो ।”

नदीदेखि पुलको उचाइलाई अहिलेको भन्दा बढाउने र काठको ठाउँमा स्टिल राखिने भएको छ । ४२ मिटर लामो पुलको पुननिर्माण गर्न करिब रु ४५ लाख लागत अनुमान गरिएको प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमका प्राबिधिक दयाराम शाहले बताउनुभयो । पर्खाल भत्काएर पुरानै ढुङ्गाबाट नयाँ बनाउने, पुरानै लठ्ठालाई तन्काएर राखिने उहाँले बताउनुभयो ।

जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या र जोखिम भएको छ । पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ ।

बन्दीपुरमा १० लाखसम्मका योजना वडाबाटै सम्झौता

तनहुँ, १७ माघ : जिल्लाको बन्दीपुर गाउँपालिकाले वडा वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ । चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका कार्यालयसम्म धाउन नपर्नेगरी सेवा दिएको हो । गाउँपालिकाले रु १० लाखसम्मका बजेटका योजना उपभोक्ता समितिमार्फत वडामै सम्झौता गर्ने व्यवस्था मिलाएको हो । करिब दुई सय योजनामध्ये एक सय तीस योजना सम्झौता गरी निर्माणको चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिका मातहत रहेका छवटै वडामा उपभोक्ता समिति गठन गरी योजना सम्झौता कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिनुभयो । योजनाको अनुमानित लागत गरी सम्झौताको प्रक्रिया कार्यान्वयनमा लगिएको छ । उपभोक्ता समितिलाई गाउँपालिका कार्यालयसम्म आउन नपर्ने गरी काम गर्ने वातावरण मिलाइएको उहाँले बताउनुभयो ।
स–साना योजना सम्झौताका लागि पनि उपभोक्ता समितिका पदाधिकारीलाई गाउँपालिका कार्यालयसम्म धाउनुपर्दा कठिनाइ भोग्नुपरेको थियो ।

गाउँपालिका आउँदा खर्च, झन्झट र सास्ती खेप्नुपरेकाले त्यसलाई मध्यनजर गर्दै यस प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । वडा कार्यालयलाई थप जिम्मेवार र उपभोक्ता समितिलाई चलायमान बनाउने उद्देश्यअनुरुप यस किसिमको अभियानको सुरुआत गरेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

रु तीन लाखसम्मको योजनाको वडा कार्यालयका वडाध्यक्ष अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ । अध्यक्ष थापाले भन्नुभयो, “प्रत्येक वडामा एक जनाका दरले प्राविधिक कर्मचारीसमेत खटाइएको छ ।” तीन लाखभन्दा बढीको योजनाको गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा बनेको गाउँपालिकास्तरीय अनुगमन समितिले अनुगमन गर्न अधिकार प्रदान गरिएको छ । गाउँपालिकाले रु १० लाखसम्मको योजना वडामै सम्झौता गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

 जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न ‘समुदायमा कांग्रेस’ अभियान :  पूर्वउपसभापति  निधि

घोराही (दाङ), १७ माघ : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।  

नेपाल प्रेस युनियन दाङ शाखाले आज घोराहीमा गरेको पत्रकार भेटमा पूर्वगृहमन्त्री निधिले अभियानका क्रममा सुमदायमा तीन तहका सरकारले गरेका विकास– निर्माणका गतिविधि, जनताका समस्या बझ्नेदेखि समाधानका लागि पहल गर्नेसम्मका प्रक्रिया प्रारम्भ, पार्टीप्रतिको जनताको धारणा बुझ्ने र ‘जनताको पार्टी कांग्रेस हो’ भन्ने विश्वास दिलाउन प्रयास गरिने बताउनुभयो । 

नेता निधिले यो अभियान आगामी २०८४ सालमा हुने निर्वाचनलाई केन्द्रित गरेर सञ्चालन भएकाले इमान्दाररुपमा सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग वाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्ने बताउनुभयो । 

नेता निधिले सङ्घीयताको मर्मअनुसार प्रदेशले आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । त्यसका लागि प्रदेश सरकार मातहतमा प्रदेश प्रहरी, कर्मचारी सङ्गठन निर्माणसँगै कामका लागि केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभयो । 

आइसिसी यु- १९ विश्वकप क्रिकेट : नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित

काठमाडौँ, १७ माघ : आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।

बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिसानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए । उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए । नेपालका लागि स्पिनर सुभास भण्डारीले ५ विकेट लिए ।यसअघि दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार पारेको थियो ।नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए । उनले एक सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरेका थिए । यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए । बङ्गलादेशका लागि रहमत ब्रोसनले चार विकेट लिए बने शेख परवेज जीवनले तीन विकेट झारे । क्वाल इमोन र मारुफ मृदले समान एक÷एक विकेट लिए । अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।

‘जनताका आवश्यकताअनुसार योजना ल्याउछौँ’ : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), १७ माघ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताका आवश्यकतालाई हेरेर आगामी कार्यक्रम तथा योजना ल्याइने बताउनुभएको छ । प्रदेशको नीति तथा योजना आयोगले आज यहाँ आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले जनतालाई केन्द्रमा राखेर योजना बनाइने बताउनुभयो ।

“पहुँचको आधारमा भन्दा पनि जनताका प्रमुख आवश्यकता के हुन भनी छलफल गरी तीनै योजनालाई अगाडि सार्नुको विकल्प छैन”, पाण्डेले भन्नुभयो, “वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती भनेको विकासलाई जनताको जीवनसँग जोड्नु हो ।” तीव्र रुपमा भइरहेको बसाइँसराइलाई रोकेर गाउँमा रोजगारीका अवसर सृजना हुने किसिमका योजना ल्याएर युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।विकास निर्माणका योजना बनाउँदा सोको लाभान्वित सङ्ख्या र लागतलाई ख्याल गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । “प्राकृतिक स्रोतसाधन प्रयोगमा आज पनि समस्या छ । हाम्रा योजना कृषि र उत्पादनमा जोड्न सक्यौँ भने मात्र ठूलो मात्रामा भइरहेको बसाइँसराइ रोक्न सकिन्छ । प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेको छ । प्रदेशका समस्या, सङ्घबाट प्राप्त गर्ने अधिकारबाट सङ्घीयतलाई अझै बलियो बनाउन पहल गर्नेछु”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा कृषि, पर्यटन, उद्योग र स्वरोजगारका कार्यक्रमलाई प्राथामितामा राख्नेछौँ ।”गण्डकी प्र्रदेशसभा सदस्य प्रकाश बरालले यो प्रदेश पर्यटकीय र कृषि क्षेत्र भएकाले यस क्षेत्रलाई केन्द्रित गरी पञ्चवर्षीय योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । सदस्य भीम कार्कीले युवा लक्षित कार्यक्रम ल्याएर विदेश जानबाट युवालाई स्वदेशमा रोक्ने किसिमका योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले दश जोर दुईको अध्ययनसँगै विद्यार्थीलाई सीपमूलक कार्यक्रम ल्याएर उनीहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै सोही अनुसारका कार्यक्रम ल्याउन जरुरी भएको बताउनुभयो । अर्का सदस्य नन्दकला दमैले विपन्न वर्गको जीवनस्तर उकास्ने किसिमले प्रदेश सरकारले नीति तथा योजनाका कार्यक्रम ल्याउन जरुरी भएको बताउनुभयो ।गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले जनताका आवश्यकतालाई केन्द्रमा राखेर दिगो विकासका कार्यक्रम ल्याउन आवश्यक भएको बताउनुभयो । नेपाली कांग्रेस कास्कीका नेता सूर्य भण्डारीले प्रदेश सरकारले पञ्चवर्षीय नीति तथा कार्यक्रम ल्याउँदा दीर्घकालीन रुपमा प्रयोगमा आउने किसिमबाट ल्याउनुपर्नेमा जोड दिनुभयो ।नेकपा एमाले कास्कीका नेता भेषराज बरालले महोत्वाकाङ्क्षी योजनाभन्दा पनि कार्यान्वयन गर्नसक्ने योजना ल्याएर नेपाली जनतालाई विकासको महसुस गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा माओवादी केन्द्रका नेता विनय थापाले जनतालाई सुशासन कसरी दिन सकिन्छ भन्ने बारेमा सोचेर योजना अगाडि वढाउनुपर्ने बताउनुभयो ।नेकपा (एकीकृत) समाजवादी कास्कीका नेता खड्ग हमालले गण्डकी क्षेत्र पर्यटन र कृषिको हब भएकाले पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धन हुने किसिमका योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा मादी गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले मादी गाउँपालिका पर्यटकीय क्षेत्र भएकाले यहाँको पर्यटन विकासमा प्रदेश सरकारको ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो । रुपमा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिका कृषि उत्पादनमा उर्भर भूमि भएकाले कृषि क्षेत्रको विकासमा प्रदेश सरकार लाग्नुपर्ने सुझाव दिनुभयो ।अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण पर्यटकीय र प्रशस्तै पैदलमार्ग भएको ठाउँ भएकाले यहाँका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय विकास गर्न सुझाव दिनुभयो । माछापुच्छ«े गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले पर्यटन, पशुपालन र जडिबुटीको प्रशस्त सम्भावना भएको क्षेत्र भएकाले यसलाई आधार मानी विकास निर्माणका कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो ।पोखरा उद्योग वाणिज्य सङ्घका उपमहासचिव शोभा गौतमले उद्योगलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण सृजना गर्नुपर्ने, कम सहलियत व्यजदरमा ऋण उपलब्ध गराउनुको साथै विद्युत् महसुल न्यून लगाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा गैरसरकारी महासङ्घ, अपाङ्ग महासङ्घ, नेपाल रेडक्रस, सञ्चारकर्मीलगायतले आफ्ना सुझाव प्रस्तुत गरेका छन् ।

संसदीय समितिको बैठकमा कोप–२८ को समिक्षा

काठमाडाैँ, १७ माघ : दिगो विकास तथा सुशासन समितिको बैठकमा कोप–२८ (जलवायुसम्बन्धी शिखर सम्मेलन) सम्बन्धी समिक्षा भएको छ । समितिको आजको बैठकले ‘कोप २८ मा नेपालको सहभागिता सम्बन्धमा समीक्षा र आगामी कार्यदिशा सम्बन्ध’ मा छलफल गरेको हो ।

छलफलमा समितिका सभापति प्रकाश पन्थले कोप २८ को समिक्षाबाट समयमै कार्ययोजना बनाएर आगामी सम्मेलनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले कोप–२९ को आवश्यक तयारी यथासिघ्र अगाडि बढाउन सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।सभापति पन्थले पछिल्लो सम्मेलनको समीक्षाबाट अन्तर्राष्ट्रिय सङ्घसस्थासँगको सहकार्यलाई थप प्रभावकारी बनाएर जानुपर्ने, जलवायु परिवर्तनका विषयमा बहुपक्षीय सरोकारवालासँग अन्तरक्रिया तथा छलफल गरी आगामी कार्ययोजना तय गर्नुपर्नेलगायत विषयमासरकारलाई यथासिघ्र तयारी अगाडि बढाउन निर्देशन दिइएको बताउनुभयो ।समितिका सचिव डा रोजनाथ पाण्डेले हिमाली क्षेत्रको जलवायु सम्मेलन तथा सगरमाथा संवाद सञ्चालन गर्ने विषय उठानसँगै कार्यान्वयन पनि गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सम्मेलनबाट प्राप्त उपलब्धिको उपयोग गर्ने र विवरण सङ्कलनमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।वन तथा वातावरण मन्त्रालयका सहसचिव डा वुद्धिसागर पौडेलले कोप–२८ मा ‘हिमाल, पहाड जोगाउ’ भन्ने अभियानलाई प्राथमिकता दिएको बताउँदै आगामी सम्मेलनलाई प्रभावकारी बनाउन थप सहकार्य र समन्वयन आवश्यक रहेको औँल्याउनुभयो ।राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेना र मधेसी आयोगका सदस्य रेनु शाहले जलवायु परिवर्तनसम्बन्धी विषय विद्यालयस्तरका पाठ्यक्रममा समावेश गराउन आवश्यक रहेको बताउनुभएको थियो । अध्यक्ष तिमल्सेनाले प्रकृति, जनता, जीव र जीवनपद्धतिलाई जोडेर सम्मेलनको एजेण्डा बनाउनुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय महिला महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले जलवायु परिवर्तनबाट सबैभन्दा बढी महिला तथा बालबालिका पर्ने गरेकाले तीनै तहले लैङ्गिक उत्तरदायी, जलवायु लक्षित बजेटबीच तादाम्यता कायम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले जलवायु परिवर्तनको नकारात्मक असरबाट सिमान्तकृत समुदाय बढी प्रभावित भएकाले उक्त समुदाय लक्षित कार्यक्रम सञ्चालन तथा लाभ वितरण हुनुपर्नेमा जोड दिनुभयो ।सांसद वीरबहादुर बलायरले मन्त्रालयमा विनियोजन गर्ने बजेट दिगो विकास लक्ष्य लक्षित हुनुपर्नेमा जोड दिँदै जलवायु परिवर्तनका कारण मुलुकले खेप्नुपरेका नकारात्मक असर व्यवस्थापनमा मुलुक सक्षम हुनुपर्ने बताउनुभयो ।

सांसद मिना तामाङ, विनिता कठायत, विमला घिमिरेले सम्मेलनमा व्यवस्थापकीय पक्षलाई सुधार गर्न आवश्यक रहेको बताउँदै तीन तहबीच समन्वयन गरी राष्ट्रको स्वार्थ केन्द्रित एजेण्डा उठान गर्नुपर्नेमा जोड दिनुभयो ।बैठकमा आमन्त्रित सांसदले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न राज्यले स्पष्ट नीति बनाउन आवश्यक रहेको, सम्मेलनलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालासँगको समन्वय र सहकार्यलाई सुदृढ बनाउनुपर्ने, परिणाममुखी एजेण्डा प्रस्तुत गर्नुपर्ने, कर्मचारी तथा राजनीतिज्ञबीच समन्वयन प्रभावकारी हुनुपर्नेलगायत विषय उठान गर्नुभएको थियो ।

माल्टा पठाइदिन्छु भन्दै छ लाख ठगी गर्ने पोखराका  प्रकाश पक्राउ

काठमाडौँ, १७ माघ : माल्टा पठाइदिन्छु भन्दै रु छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ । गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा

मासिक रु एक लाख २० हजार तलबमा काम लगाइदिने भन्दै पटकपटक गरी उक्त रकम ठगी गरेकाले निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उत्तरी नाइजेरियामा बारुदी सुरुङमा गाडी पर्दा विस्फोट, १२ को मृत्यु

उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा क्यामरुनको सिमानामा बोको हराम जिहादीहरू सक्रिय रहेको क्षेत्रमा एउटा गाडी बारुदी सुरुङमा पर्दा १२ जना दाउरेको मृत्यु भएको उक्त क्षेत्रमा काम गर्ने दुई गैरसरकारी सङ्गठन (एनजिओ) ले बुधबार बताएका छन् । काठ जम्मा गर्नेहरू दाउरा सङ्कलन गर्न झाडीतिर जाँदै गर्दै सोमबार उनीहरूले लगेको फ्ल्याट–बेड सवारी पुल्का गाउँबाहिरको राजमार्गमा बोको हराम जिहादीहरूले लगाएको खाडलमा पल्टिएको एनजिओले दुई रिपोर्टमा भनेका छन् ।

उत्तरपूर्वी नाइजेरिया एक दशकभन्दा लामो समयदेखि जिहादी विद्रोहको केन्द्रमा छ । यहाँ आतङ्कवादीहरूलाई द्वन्द्वको चरमोत्कर्षमा नियन्त्रित भूमिको ठूलो हिस्साबाट पछाडि धकेले पनि उनीहरूले अहिले पनि ग्रामीण क्षेत्रहरूलाई निशाना बनाउँछन् । एक रिपोर्टमा भनिएको छ, “बोको हराम हुनसक्ने आशङ्का गरिएका मानिसहरूले विस्फोटक पदार्थ राखेका थिए र पुल्काबाट ग्वोजा मार्गमा १२ जनाको हत्या गरेका छन्, दुई जना घाइते भएका छन् ।”

अर्को रिपोर्टअनुसार मृतकको सङ्ख्या समान भएको र अन्य सात जना दाउरे घाइते भएको तथा तीमध्ये तीनको अवस्था गम्भीर भएकाले उनीहरूलाई उपचारका लागि मैदुगुरी लगिएको छ । नाइजेरियाली सुरक्षा बलले विस्फोटको पुष्टि गर्न अनुरोध गर्दा जवाफ दिएको छैन । हालैका दिनमा सर्वसाधारणलाई निशाना बनाइने बारुदी सुरुङ विस्फोटका घटना बढेका छन् । उक्त विस्फोट जिहादीहरूले गराएको आरोप लगाइएको छ ।

बोको हरामले सन् २०१४ मा ग्वोजामाथि कब्जा गर्दै आफ्नो कथित खलिफाको मुख्यालय बनाएको थियो । सन् २०१५ मार्चमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो तर जिहादीहरूले अहिले पनि क्यामरुनको सिमानामा पहाडहरूमा लुकेका स्थानहरूबाट वरपरका गाउँहरूमा आक्रमण गर्छन् । यस क्षेत्रका बासिन्दाहरू ग्वोजा र नजिकको पुल्कामा भागेका छन् । त्यहाँ उनीहरू सैन्य सुरक्षाअन्तर्गत शिविरहरूमा बस्छन् । झाडीहरूमा जाने बासिन्दा विशेषगरी बबुलको फल र जलेका काठ सङ्कलन गर्ने महिलाहरूको हत्या वा अपहरण गर्नबाट आतङ्ककारीहरूलाई रोक्न सेनाले क्षेत्रमा गस्तीहरू सञ्चालन गर्छन् ।

बोको हराम र प्रतिद्वन्द्वी इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तमा दाउरे, किसान र गोठालाहरूलाई निशाना बनाउनेका रूपमा परिचित छन् । दुवै आतङ्ककारी समूहले उनीहरूलाई सेना र जिहादी विरोधी मिलिसियाका लागि जासुसी गरेको आरोप लगाउँछन् । सन् २००९ मा कट्टरपन्थी इस्लामिक समूहले विद्रोह सुरु गरेपछि कम्तीमा ४० हजार मानिस मारिएका छन् र २० लाखभन्दा बढी विस्थापित भएका छन् । विद्रोह छिमेकी मुलुकहरू चाड, नाइजर र क्यामरुनमा फैलिएको छ । त्यसैले आतङ्कवादीहरूसँग लड्नका लागि क्षेत्रीय सैन्य बलको निर्माण भएको छ ।

बजेट नहुँदा मेचीनगरको झोलुङ्गे पुल अलपत्र,स्थानीयद्धारा पुल निर्माण थाल्न नगरपालिकालाई दबाब

झापा, १७ माघ – बजेटको स्रोत सुनिश्चित नगरी निर्माण थालिएको मेचीनगर–१५ स्थित झोलुङ्गे पुल अलपत्र परेको छ । स्थानीयले पुलको निर्माण अविलम्ब थाल्न मेचीनगर नगरपालिकालाई दबाब दिएका छन् । मेचीनगरको बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्ने यो झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार १५ गते सम्झौता भएको थियो ।

क्रमागत रुपमा सङ्घीय सरकारले बजेट पठाउला भन्ने आशले तीन वर्षमा निर्माण सक्नेगरी ठेक्का लगाइएको मेचीनगर नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले बताउनुभयो । सरकारले क्रमागत रुपमा ज्यादै थोरै बजेट पठाएपछि बिलको भुक्तानी नगरपालिकाले दिन नसक्दा झोलुङ्गे पुल निर्माणको काम रोकिएको छ । आधुनिक शैलीको उक्त पुल ३५० मिटरको हुने र त्यसको कूल लागत रु. चार करोड ३८ लाख रहेको इन्जिनियर भट्टराईले बताउनुभयो । सिभिल कन्स्ट्रक्सनको कार्य पूरा भएर लागतको ३० प्रतिशत बिल भुक्तानीका लागि निर्माण व्यवसायी पक्षले पेस गरेको जानकारी दिदै इन्जिनियर भट्टराईले भुक्तानी दिन नसकिएको स्वीकार गर्नुभयो ।

“बदनियत राखेर ठेकेदार पक्षले काम रोकेको होइन,” उहाँले भन्नुभयो–“क्रमागत रुपमा बजेट आइरहेकै छ तर तोकिए जति आएको छैन । अर्थमन्त्रालयले बजेट दिन सकेन भन्ने विषयमा हामी केही भन्न सक्दैनौं ।” स्थानीयबासीले ठेकेदार पक्षले पुलको निर्माण अलपत्र पारेर हिँडेको आरोप लगाएका छन् । मेचीनगर–१५ ज्यामिरगढीका जयराम दाहालले सङ्घीय सांसद् विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले पुल अलपत्र हुँदा वेवास्ता गर्नुभएको गुनासो गर्नुभयो ।उक्त झोलुङ्गे पुलको शिलान्यास सांसद शर्मा र प्रदेश सांसद गोपाल तामाङले संयुक्तरूपमा गर्नुभएको थियो ।

थ्रिस्टार क्लब आहारारा पोखरा गोल्डकपको उपाधि नजिक

कास्की, १७ माघ : पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलमा थ्रिस्टार क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रिस्टारलाई उपाधि नजिक पुर्‍याएको हो ।पोखरा रङ्गशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो खेलमा थ्रिस्टारले जावलाखेल युवा क्लबमाथि १–० को साँघुरो जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो । खेलको ७८औँ मिनेटमा दीपेशले प्रहार गरेको बल पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । ‘म्यान अफ दी म्याच’ घोषित निर्णायक गोलकर्ता घले ६७ औँ मिनेटमा मैदान प्रवेश गर्नुभएको थियो ।

पहिलो हाफको खेलमा दुवै टोलीमा कुनै पनि गोल हुन सकेन । दोस्रो हाफमा दुवैले आक्रामक खेलका थिए । थ्रिस्टार आहाराराको सफल टोली हो । थ्रिस्टारले हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेको छ । जारी प्रतियोगितामा थ्रिस्टारले प्रि–क्वाटर फाइनलमा आयोजक सहारा र क्वाटर फाइनलमा भुटानको पारो एफसीमाथि जित निकालेर सेमिफाइनलमा पुगेको थियो । जावलाखेलले प्रि–क्वाटर फाइनलमा मच्छिन्द्र र क्वाटरफाइनलमा मनाङ मस्र्याङदीलाई हराएको थियो ।खेलपछिको पत्रकार सम्मेलनमा विजेता थ्रिस्टारका प्रशिक्षक विक्रम लामाले काउन्टर अट्याकमा गोल गर्ने रणनीति सफल भएको बताउनुभयो । “जावलाखेल कम्बाइन टोली हो । त्यसैले सोहीअनुसार रणनीति बनाएका थियौँ । त्यसमा सफल भयौँ”, उहाँले भन्नुभयो । फाइनलमा आजको खेलका कमीकमजोरी हटाउँदै उपाधि जित्ने गरी खेल्ने लामाको भनाइ थियो ।जावलाखेलका प्रशिक्षक नरेश थापाले खेलाडीले निकै उत्कृष्ट खेल खेलेका बताउनुभयो । पराजित भए पनि टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रतियोगिताअन्तर्गत बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबकाबीच दोस्रो सेमिफाइनलको खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो । भोलिको विजेताले उपाधिका लागि थ्रिस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने आयोजकले जनाएको छ । 

मेलम्ची –पाँचपोखरी– भोताङ बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनेछु – एमाले अध्यक्ष ओली

सिन्धुपाल्चोक, १७ माघ : जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवनको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्पा ओलीले उद्घाटन गर्नुभएको छ ।

उक्त भवन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट रु दुई करोड ३७ लाख ६० हजार तीन सय ७, सङ्घीय समपूरक अनुदान रु तीन करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट रु चार करोड ८७ लाख ८२ हजार आठ सय ५४ गरी जम्मा रु ११ करोड ९४ लाख तीन हजार एक सय ६१ को लागतमा निर्माण भएको हो । पाँच वर्षमा निर्माण पूरा भएको उक्त भवनमा ३५ कोठा छन् ।
त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले पालिकाहरुले नयाँ भवन निर्माण भएसँगै गुणस्तरीय सेवा प्रवाहमा लाग्नुपर्नेमा जोडदिनुभयो । उहाँले पाँचपोखरीमा जैविक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुभयो । “यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्नेछ,” नेता ओलीले भन्नुभयो । उहाँले उत्पादनलाई बढाउन आग्रह पनि गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले मेलम्ची –पाँचपोखरी– भोताङ बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो । साथै उहाँले पाँचपोखरीको पर्यटन प्रवर्द्धनका जोड दिनुभयो । गाउँपलिकाका अध्यक्ष टासी लामाले भवन निर्माणमा सघाउने सबैमा आभार प्रकट गर्दै हिमाली पालिका पाँचपोखरीको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको छ – मन्त्री शर्मा

काठमाडौँ, १७ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणका रुपमा विकास गरिने बताउनुभयो ।

“विगतमा सरकारी स्वामित्वका सञ्चार माध्यमलाई एकोहोरो सरकारको प्रचारकका रुपमा मात्र बुझिन्थ्यो भने अब यसखालको कार्यशैलीमा परिवर्तन गर्न खोजिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँले सरकारी सञ्चारमाध्यम सरकारी सूचना सन्देश प्रकाशन÷प्रसारण गर्ने एकोहोरो प्रचारक मात्र नभइ राज्यका सूचना, सन्देश र कार्य जनताको बीचमा लैजाने र जनताको आवाज र अपेक्षा राज्यसम्म पु¥याउने दोहोरो माध्यमका रुपमा रहेका बताउनुभयो ।

आमसञ्चार क्षेत्रको पुनःसरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार पारिएको उहाँको भनाइ थियो । उहाँले आमसञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको बताउनुभयो ।

मन्त्री शर्माले पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखापर्न खोजिरहेका उशृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण÷प्रकाशनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनको समय सापेक्ष विकास, विस्तार एवं रुपान्तरणमा सरकार सदैव तत्पर रहेको जानकारी दिँदै उहाँले चार दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाल टेलिभिजन आगामी दिनमा अझ सुदृढ र लोकप्रिय प्रसारण माध्यमका रुपमा स्थापित हुन सकोस् भनी कामना गर्नुभयो ।

सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगरे टेलिभिजनको पहुँच विस्तार गर्न कठिन रहेको उल्लेख गर्दै मन्त्री शर्माले चुस्त र स्वच्छ व्यवस्थापनबाट सञ्चालन लागतलाई प्रभावकारी बनाई सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गलत सूचनाबाट समुदायमा पर्नसक्ने नकारात्मक असर कम गर्न टेलिभिजनले भूमिका खेल्नुपर्ने बताउनुभयो । जनमानसलाई सुसूचित गर्दै जिम्मेवार पत्रकारिता गर्नु नेपाल टेलिभिजनको जिम्मेवारी भएको उल्लखे गर्दै उहाँले संविधानले अङ्गीकार गरेको समावेशीतालाई साकार पार्न टेलिभिजन क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लामो समयसम्म अविछिन्न सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

टोखा चण्डेश्वरीमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु

काठमाडौँ, १७ माघ : काठमाडौँ टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु भएको छ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

चालू आवमा स्वीकृत कार्यक्रमअन्तर्गत ३० वर्ष वा सोभन्दा बढी उमेर समूहका नागरिकलाई प्रत्येक हप्ताको बुधबार बिहान ८ देखि १० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गरिने अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा सुजाता नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम आजदेखि सुरु भएको हो ।

स्वास्थ्य परीक्षणअन्तर्गत विशेषज्ञ चिकित्सकद्वारा रोगसम्बन्धी जानकारी लिने, दम, खोकीसम्बन्धी जाँच, तौल तथा उचाइ र पेटको मोटाइसम्बन्धी जाँच, रक्तचाप, पिसाब परीक्षण, रगत जाँच गरिने डा नगरकोटीले बताउनुभयो ।हरेक बुधबार दिशामा रगतको सुक्ष्म जाँच, रगतको सम्पूर्ण जाँच, मिर्गाैला, कलेजो तथा फोक्सोको जाँच, लिपिड प्रोफाइल, छातिको एक्सरे, अल्ट्रासाउण्ड, इसिजी र परामर्श सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणका सम्पर्क व्यक्ति ईश्वरीप्रसाद पाठकले स्थायी बसोबास रहेको ठेगाना खुल्ने कागजातकोे प्रतिलिपी लिएर सेवा सेवा लिन सकिने बताउनुभयो । उहाँका अनुसार अस्पतालले प्रत्येक हप्ता ३० जनालाई सेवा प्रदान गर्नेछ ।

सेवा लिँदा अस्पतालमा उपस्थित भई नाम दर्ता गर्नुपर्ने, स्वास्थ्य परीक्षणका लागि आउने दिनमा खाली पेट आउनुपर्ने, रोगका बारेमा पहिल्यै पहिचान भएका बिरामीलाई भने उक्त सेवा प्रदान नगरिने अस्पतालले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुङ्गोमा पु-याउनुपर्नेछ – मन्त्री गुरुङ

लुम्बिनी, १७ माघ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआसी) विधेयक १२ बुँदे सम्झौताको जगमा टेकेर सहमतिबाटै टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभएको छ । उहाँले १२ बुँदे सझौताका मुख्य पक्ष तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)मा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

नेपाल प्रेस युनियन रुपन्देही शाखाले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले टिआरसी विधेयकका कारण १७ वर्षदेखि शान्तिप्रक्रिया पनि अड्किएकाले यसलाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वलाई आफूले अनुरोध गरेको पनि बताउनुभयो ।

उहाँले संसद्को आगामी अधिवेशनमा यो विधेयकलाई टुङ्गोमा पु¥याउने गरी मुख्य दलहरुबीच सहमतिका लागि छलफल जारी रहेको छ भन्नुभयो । “मैले प्रमुख तीन दलका तीन नेतालाई पटक–पटक यो तपाईंहरूको सरोकारको विषय हो, यसको जसअपजस दुवै तपाईंहरुले नै पाउने हो भन्दै आएको छु”, मन्त्री गुरुङले भन्नुभयो, “यसमा केही विषयमा मात्रै मतभिन्नता छ, संसद्को आगामी अधिवेशनमा सहमति नभए प्रक्रियागत ढङ्गले टुङ््गोमा पुग्छ ।”

नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले वर्तमान सरकार पुनः गठनको विषय प्रधानमन्त्रीको अधिकारको विषय भए पनि यो गठबन्धनको सरकार भएकाले गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदा तत्काल फेरबदल आवश्यक नरहेको निष्कर्षमा पुगिएको बताउनुभयो ।

उहाँले आगामी संसद् अधिवेशन विधेयक अधिवेशन हुने र सरकारले छिट्टै सङ्घीय निजामती ऐन, शिक्षा विधेयक, प्रहरी समायोजन विधेयकजस्ता महत्वपूर्ण विधेयक टुङ्गोमा पु¥याउने स्पष्ट पार्नुभयो ।

जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

जुम्ला, १७ माघ : सदरमुकाम खलङ्गा बजारमा आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुने भएपछि तयारीमा जुटेको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिनुभयो ।

जुम्लामा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता फागुन १५ गते सुरु भएर १९ गते सम्पन्न हुने छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जुम्ला जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता हुन लागेको एन्फा जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले बताउनुभयो ।

आगामी २०८१ मा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरको खेलाडी टोली छनोट हुने छ । आउँदो फागुन २४–३० गतेसम्म बागमती प्रदेशको आयोजनामा हुने पुरुष फुटबल प्रतियोगितामा समेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने छ । प्रतियोगितामा प्रदेशका १० जिल्लाका खेलाडी सहभागी रहने आयोजकले जनाएको छ ।

जिल्ला फुटबल सङ्घले एक सूचना जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको छ । फागुन ११ गते बेलुका ४ बजेसम्म टोलीको दर्ता गरिसक्नुपर्ने छ । दर्ताका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटरप्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावलीसहितको पत्र सङ्घको इमेलमा पठाउनुपर्ने महासचिव हमालले बताउनुभयो ।

जिल्लामा फागुन १०–१४ गतेसम्म प्रदेशस्तरीय ‘रेफ्री’ तालिम पनि हुने भएको छ । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिमसमेत आयोजना गरिएको सङ्घका महासचिव हमालले जानकारी दिनुभयो । तालिमका लागि प्रत्येक जिल्लाबाट तीन जनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति वा फुटबल सङ्घले सिफारिस गरी फागुन ६ गतेसम्म पत्र पठाइसक्नुपर्नेे जनाइएको छ ।

सिरहामा मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिने, दुई अस्पतालबीच सम्झौता

गोलबजार (सिरहा), १७ माघ : लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ ।

सम्झौता पत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गर्नुभयो । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ ।

लहान नगरपालिकाले गतवर्ष पनि एक हजार जनामो मोतिवन्दुको शल्यक्रिया र सात हजारभन्दाबढीको जाँच उपचार गराएको थियो ।

मुगुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि

मुगु, १७ माघ : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए । थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढु्ङ्गानाले जानकारी दिनुभयो ।

इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएपछि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य सङ्गठनको टोली र जिल्ला अस्पातल मुगुबाट तीन जना डाक्टरसहितको टोली उक्त क्षेत्रतर्फ लागेको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले गाउँपालिकाले सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ । उहाँले दुवै गाउँमा अहिले बिरामीको सङ्ख्या कम हुँदै गएको बताउनुभयो । रुघाखोकीका कारण पुरुमुरुका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृित छत्याल र २४ वर्षीया कुशुम ढोलीको रुघाखोकी र ज्वरोका कारण केही दिनअघि मृत्यु भएको थियो ।

हेटौँडा आन्तरिक राजस्व कार्यालयले ६ महिनामा उठायो तीन अर्ब राजस्व

बागमती, १७ माघः हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु दुई अर्ब ९३ करोड ११ लाख ७६ हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

उक्त कार्यालयले चालु आर्थिक वर्षमा रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार विगत छ महिनामा आयकरतर्फ रु ४८ करोड छयासी लाख ६७ हजार, घरभाडा करतर्फ रु ७८ लाख ९२ हजार, ब्याज करतर्फ रु चार करोड पाँचलाख ८१ हजार, आन्तरिक करतर्फ रु ४९ करोड नब्बे लाख ६८ हजार, अन्तःशुल्क करतर्फ रु एक अर्ब ६१ करोड ४८ लाख २७ हजार तथा स्वास्थ्यसेवा करतर्फ रु २८ करोड एक लाख ४१ हजार राजस्व सङ्कलन भएको जनाएको छ । विगत छ महिनामा ३२ हजार एक सय ८६ करदातामध्ये १२ हजार सात सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ ।

आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार सात सय पाँचजना रहेका बताइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार÷व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन् ।

प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व सङ्कलन लक्ष्यको तुलनामा कम भएको बताउनुहुन्छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा रु सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको थियो ।

लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने

काठमाडौँ, १७ माघ : मिडिया काउन्सिल विधेयकका विषयमा समाजवादी प्रेस सङ्गठन नेपालले ध्यानाकर्षण भएको बताएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालको प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापन गर्न मस्यौदा गरेको मिडिया काउन्सिल विधेयकले देशभरका पत्रपत्रिका तथा सञ्चारमाध्यमले पाउने लोककल्याणकारी विज्ञापनबारे प्रष्ट व्यवस्था नगरिएको भन्दै समाजवादी प्रेस सङ्गठनले ध्यानाकर्षण गराएको हो ।

“सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापन र त्यसबापतको रकम खारेज गर्न हुँदैन । पत्रपत्रिका, रेडियो, टेलिभिजनलाई मात्र होइन, त्यस्तो सुविधा अनलाइन सञ्चारमाध्यमले पनि पाउनुपर्छ भन्ने सङ्गठनको प्रष्ट मान्यता छ ।” सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विज्ञापन बजार फितलो भई मिडिया सङ्कटमा परेको बेला राज्यले अपनत्व लिई सञ्चारमाध्मलाई अनुदान बढाउनुपर्नेमा कानुन ल्याएर भइरहेकै सुविधा पनि खोस्न खोज्नु गलत र मूर्खतापूर्ण निर्णय हुनेछ ।”

प्रेस काउन्सिलमा रहेको पत्रपत्रिका वितरण सम्परीक्षण समितिलाई सबै सञ्चारमाध्यम समेट्ने गरी संशोधन गरिनुपर्ने सङ्गठनको माग छ । नेपाली सञ्चार माध्यम र सांसदहरुको सुझावलाई वेवास्ता नगर्न आग्रह गर्दै सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले जारी गरेको विज्ञप्तिमा विधेयकलाई अघि नबढाउन सरकारसमक्ष माग गरिएको छ ।