`

‘सुरक्षाका लागि प्रहरी परिसर नै सुरक्षित हुन आवश्यक’- महानिरीक्षक कडायत

जानकी (बाँके), १४ माघः इलाका प्रहरी कार्यालय कोहलपुरमा नागरिक सहायता कक्ष भवन निर्माण गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यद्वारा नागरिक सहायता कक्ष र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले प्रहरीसँग नागरिकले सुरक्षा चाहने हुँदा सुरक्षाका लागि प्रहरी परिसर नै सुरक्षित हुन आवश्यक रहेको बताउँदै इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन सुरक्षित रहेको बताउनुभयो ।

“न्याय पाउने आशामा इलाका आउने महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि फरक फरक कार्यकक्षको निर्माण गर्नु नै प्रहरीप्रति नागरिकले विश्वासको वातावरण महसुस गर्नु हो,” उहाँले भन्नुभयो, “प्रहरीले नागरिकलाई दिने सुरक्षामध्येको एक हो प्रहरी परिसरभित्रको भौतिक संरचना जुन यस इलाकाको गर्न सफल भएको छ ।”

प्रजिअ पोखरेलले कोहलपुर इलाका प्रहरी कार्यालयले देशकै लागि उदाहरणीय काम गरेको बताउनुभयो । “नियामक निकायलाई नियम कानुन पालन गर्न बाध्य बनाउन जरुरी छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख आचार्यले आफ्नो नगरमा नागरिकले पाउनुपर्ने हरेक खालका सेवा पाउनुपर्छ भन्दै त्यसका लागि इलाका प्रहरी कार्यालय पनि प्रमुख क्षेत्र भएको बताउनुभयो । “नगरवासीले कुनै पनि क्षेत्रबाट सेवा पाएनौँ भन्ने कुरा सुन्न नपरोस् भनेर नै प्रत्येक क्षेत्रमा नगरपालिका संवेदनशील छ”, उहाँले भन्नुभयो, “प्रहरीले दिने सेवा र प्रहरी कार्यालय पनि एक भएको हुँदा नगरले प्रहरी कार्यालयमा नागरिक सहायता कक्षको नयाँ भवन निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।”

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले प्रहरीसँग सहकार्य गरेर अघि बढ्न बाँकेबासीलाई आग्रह गर्नुभयो । “नागरिकको हरेक दुःखसुखमा चौबिसै घण्टा प्रहरी नै साथी भएको हुन्छ,” उहाँले भन्नुभयो, “प्रहरीलाई पनि साथी बनाएर बाँकेको शान्तिसुरक्षा कायम गर्न बासीलाई आग्रह गर्दछु ।”

उक्त भवन निर्माण रु २२ लाख ६२ हजार पाँच सय आठको लागतमा भवन निर्माण भएको इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो भने उक्त नागरिक सहायता कक्ष बनाउनका लागि आर्थिक सहयोग गर्ने कोहलपुर नगरपालिकालाई पनि सम्मान गरिएको थियो । यसका साथै एक सिसीटिभि सुरक्षित समाजको लागि योगदान पु¥याएबापत दश वटा सङ्घसंस्थालाई पनि सम्मान गरिएको थियो । भवन निर्माण तथा सौन्दर्यकरणका लागि महत्वपूर्ण योगदान गर्ने १९ व्यक्ति तथा संघ संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो ।

चीनसँग कूटनीतिक सम्बन्ध कायम गर्ने निर्णय सही : सोलोमनका प्रधानमन्त्री

सोलोमन टापुले सन् २०१९ मा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सही निर्णय गरेको प्रधानमन्त्री मनसेह सोगाभारेले बताउनु भएको छ ।स्थानीय सञ्चारमाध्यम तभुली न्युजसँगको भर्खरैको अन्तर्वार्तामा सोगाभारेले आफ्नो सरकारको वैदेशिक सम्बन्ध ‘सबैसँग मित्रता’ नीतिमा आधारित रहेको बताउनु भएको छ ।

सन् १९७१ मा संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताव २७५८ पारित गरी संयुक्त राष्ट्रसंघमा जनवादी गणतन्त्र चीनका सबै वैधानिक अधिकारहरू पुनर्स्थापित गरेको र त्यहाँको सरकारका प्रतिनिधिहरूलाई चीनको एकमात्र वैधानिक राष्ट्रसंघीय प्रतिनिधिको रूपमा मान्यता दिएको उल्लेख गर्दै सोगाभारेले संयुक्त राष्ट्रसंघका प्रत्येक सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने कुरामा जोड दिनु भएको छ। प्रस्तावको सम्मान गर्न र ताइवानलाई चीनको अभिन्न अङ्गको रूपमा मान्यता दिन बाध्य रहेको उहाँको धारणा छ ।

सोलोमन टापु सानो देश भए तापनि चीनलगायत केही देशका नेताहरूले समान व्यवहार गरेको उहाँले बताउनु भएको छ ।सोलोमन टापुहरूले हालका वर्षहरूमा कोभिड-१९ र दङ्गाजस्ता गम्भीर चुनौतीहरूको सामना गर्दा चीन र अन्य विकास साझेदारहरूले सक्रिय रूपमा सहयोग उपलब्ध गराएको उहाँले स्मरण गराउनु भएको छ ।

“प्यासिफिक टापु देशहरूसँगको शिखर सम्मेलनमा, अमेरिकी नेताले अरूलाई एक घण्टाको व्याख्यान सुनाउने तर अरूलाई मात्र तीन बोल्न दिने गर्छन् जो स्वीकार्य छैन। यो पनि एक सार्वभौमसत्ता सम्पन्न देश हो, हामी समानता चाहान्छौं” उहाँले भन्नुभयो ।

पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुने अन्तिम चरणमा

काभ्रेपलाञ्चोक, १४ माघ : ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरले जनाएको छ ।

उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । विश्व सम्पदामा सूचीकृत हुने तयारी अन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको हो । युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइने नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरद्वारा व्यवस्थापकीय तयारी भइरहेको छ, करिब दुई महिनामा उक्त तयारी सकेपछि सूचीकृतका लागि ‘फाइल’ युनेस्को पठाउने छौँ ।”

भण्डारीका अनुसार उक्त क्षेत्र समुदायले संरक्षण गर्न सक्ने÷नसक्नेबारे स्थानीयस्तरमा छलफलको तयारी भइरहेको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य विसं २०७९ मा अघि बढाइएपछि युनेस्कोको नेपालप्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले लागि आवश्यक बजेट छुट्याएर प्रक्रिया अघि बढाइएको थियो ।

देशमा राजनीतिक उतारचढाव, सरकार परिवर्तन, कारोना सङ्क्रमणले पारेको प्रतिकुल प्रभावका कारण एक वर्षदेखि मन्त्रिपरिषद्मा पनौतीको विषयले प्राथमिकता नपाउँदा विश्व सम्पदामा सूचीकृत हुन नपाएको बताइन्छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । नेपालस्थित मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनःपनौतीको अनुगमन निरीक्षण गर्ने जनाइएको छ ।
सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम धमाधम भइरहेको छ । नगरद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिने छ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै ः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर)धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ ।

सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुने नीति छ । युनेस्कोको नेपालस्थित निकायले विसं २०५२मै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता जनप्रतिनिधि तथा सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्यौलमा रहँदै आएको जनाइयो । पुरातत्व विभागद्वारा पनौती नगरका एतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माणसमेत भइसकेको छ ।

पनौती नगरपालिका ५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी र पौवा छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो । राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ ।

पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्र ः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् ।

नेपाल सरकारले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये पनौती विश्व सम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।

नेपाल चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ट – उपाध्यक्ष अर्याल

काठमाडौँ, १४ माघ : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताउनु भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज काठमाडौँमा आयोजित संयुक्त परामर्श सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सन् २०२६ सम्म नेपाललाई विकासशील देशका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको र त्यसका लागि छिमेकी देश चीनको सहयोग जरुरी रहेको बताउनुभयो ।

नेपाल चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ट भएको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको नियमित छलफल, अन्तरक्रिया र आपसी सम्बन्धले दुई देशको सम्बन्ध र सहकार्यमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएको १३ बुँदे सहमतिले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको चर्चा गर्दै उहाँले सहमति कार्यान्वयनका लागि दुवै देशले आवश्यक प्रक्रिया तदारूकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

दुई देशका पार्टीहरूबीच राजनीतिक संवाद, परामर्श र छलफल गर्न विभिन्न मञ्च बनाउँदा आपसी सम्बन्धमा सकारात्मक प्रभाव पर्नेमा जोड दिँदै उपाध्यक्ष अर्यालले त्यसका लागि नियमित उच्चस्तरीय भ्रमण, छलफलले सफलता मिल्ने बताउनुभयो ।

केही महिनाअघि आफूले चीनको स्वायत्त क्षेत्र सिजाङमा आयोजित ट्रान्स हिमालय फोरममा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेको स्मरण गर्दै उहाँले नेपालको आर्थिक समृद्धि र विकासका लागि चीनको सहयोग अपरिहार्य रहेको दोहो¥याउनुभयो । भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रमा आधुनिकीकरण, नेपालको उत्पादन निर्यातजस्ता विषयमा छिमेकीको सहयोग अत्यावश्यक हुने उहाँको भनाइ थियो ।

सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) अन्तरराष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान, नेपालस्थित चिनियाँ राजदूत छन सोङलगायतले नेपाल–चीन सम्बन्धका विविध आयामबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेल, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाललगायतको सहभागिता थियो ।

उपप्रधानमन्त्री खड्काद्वारा सैनिक कल्याणकारी निर्देशनालय अवलोकन

काठमाडौँ, १४ माघ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यले आवश्यक महसुस गरेर सुम्पेका जिम्मेवारी निर्वाहमा नेपाली सेना सदैव अब्बल रहँदै आएको बताउनुभएको छ । विसं २०३२ मा स्थापना भई सञ्चालनमा रहेको गैरनाफामूलक कोष र मातहत सञ्चालित विविध गतिविधिबारे जानकारी लिँदै उपप्रधानमन्त्री खड्काले मुलुकका लागि मरिमेट्न तयार सैनिक व्यक्ति र तिनका परिवारजनसँग जोडिएको कल्याणकारीका प्रकृयागत जटिलता समाधानमा सरकारको पूर्ण सहयोग रहने बताउनुभयो ।

सैनिक कल्याणकारी निर्देशनालयमा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सैनिक कल्याणकारी कोष सकलदर्जाको योगदानबाट खडा भइ सेवारत र अवकाश प्राप्त सैनिक व्यक्तिको भरोसा बनेको छ भन्नुभयो । रक्षामन्त्री खड्का सैनिक कल्याणकारी कोषको सहसंरक्षक हुनुहुन्छ ।उहाँले भन्नुभयो, “सैनिक कल्याणकारी कोषको मूल स्रोत घट्ने अवस्था आइपरेमा समेत सेवा विस्तार गर्ने चुनौतीसँग सन्तुलन मिलाउन विकल्पको पहिचान गरी आयआर्जनको दायरा विस्तार गर्नेतर्फ विचार पु¥याउन जरुरी छ ।”रक्षामन्त्री खड्काले राष्ट्रिय सुरक्षाको मुख्य दायित्वसँगसँगै देशको विकासमा पनि योगदान पु¥याउँदै आएको सेनाले कोषमार्फत सञ्चालित शैक्षिक गतिविधिको उत्कृष्ट नतिजा तथा यस्ता कार्यक्रमबाट सर्वसाधारणले पनि लाभ हासिल गरेको देख्न र सुन्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले बहुजन हिताय, बहुजन सुखाय मूलमन्त्रसहित हिताधिकारीको जीवनयापनमा सहयोग पु¥याउन सैनिक कल्याणकारी कोष मातहत सञ्चालित गतिविधि पारदर्शी एवं नियमसङ्गत रहेको जानकारी गराउनुभयो । उहाँले हिताधिकारीको कल्याणमा प्रभावकारी ढङ्गले सेवासुविधाको विस्तार गर्न कोष प्रयत्नशील रहेको उल्लेख गर्नुभयो ।नेपाली सेनाका बहालवाला एवं अवकाश प्राप्त सकलदर्जा तथा तिनका आश्रित परिवारजनको हितका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत उपलब्ध गराई जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालित कल्याणकारी गतिविधिबाट सर्वसाधारण पनि लाभान्वित हुँदै आएका छन् ।कोषको मूलधन रु ७५ अर्ब ९० करोड ५७ लाख ४९ हजार नगद मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विभिन्न कार्यक्रममा रु ६ अर्ब ७५ करोड ५५ लाख लगानीसमेत कोषको यथार्थ सम्पत्ति रु ८२ अर्ब ६६ करोड १२ लाख रहेको छ ।सैनिक कल्याणकारी निर्देशनालय मातहत सञ्चालित शिक्षण संस्था, स्वास्थ्य उपचार सुविधा एवं अन्य गतिविधिबाट तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै, वार्षिक रु एक अर्ब २५ करोडभन्दा बढी रकम मुलुकको राजस्वमा प्रत्यक्ष योगदान भइरहेको छ ।कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी अशोकराज सिग्देल तथा सैनिक कल्याणकारी बोर्डका कार्यकारी निर्देशक रथी गौरव तण्डुल (अ.प्रा.)सहितका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

काठमाडौँ वल्र्ड स्कुलद्धारा भूकम्पबाट क्षति पुगेको रुकुम पश्चिमको विद्यालयलाई आर्थिक सहयोग

त्रिवेणी (रुकुम पश्चिम), १४ माघ : भूकम्पबाट क्षति पुगेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ ज्यामिरेकोटस्थित जनविकास माध्यमिक विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गर्न आर्थिक सहयोग प्राप्त गएको छ । अस्थाथी सिकाइ केन्द्र निर्माण गर्न काठमाडौँ वल्र्ड स्कुलले रु एक लाख ६७ हजार सहयोग गरेको हो ।

काठमाडौँ वल्र्ड स्कुलका शिक्षक मुकुन्द महर्जनले उक्त रकम विद्यालयका प्रधानाध्यापक दीपकसङ्गम थापालाई हस्तान्तरण गर्नुभयो । काठमाडौँ वल्र्ड स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकबाट उक्त रकम सङ्कलन भएको उहाँले बताउनुभयो । सो रकमबाट सिकाइ केन्द्र निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिने बागेश्वरी असल शासन क्लब (बास) नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष करण विकले जानकारी दिनुभयो ।गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट जनविकास माध्यमिक विद्यालयमा क्षति पुगेको थियो । यहाँ बालशिक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पले तीन विद्यालयमा क्षति पु¥याएपछि अहिले सात अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन भइरहेको प्रधानाध्यापक थापाले बताउनुभयो ।

इस्तानबुलको चर्चमा भएको सशस्त्र आक्रमणमा १ जनाको मृत्यु

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा एकजनाको मृत्यु भएको छ ।

टर्कीका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे अनुसार दुई जना मुखौटा लगाएका व्यक्तिले शहरको युरोपेली तर्फको सरियर जिल्लाको सान्ता मारिया चर्चमा आक्रमण गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको मन्त्रीले जनाकारी दिनु भएको छ ।

कर्णाली सरकारको प्रगति निराशाजनकः नेता कँडेल

कर्णाली, १४ माघ : नेकपा (एमाले ) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको प्रगति निराशाजनक भएको आरोप लगाउनुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विकासप्रति जनताको तीव्र आकाङ्क्षा, यहाँको विकट भौगोलिक अवस्था, सरकारको विकास नीति तथा गतिबीच तालमेल हुन नसक्दा आमजनतामा निराशा छाएको टिप्पणी गर्नुभयो ।

नेता कँडेलले भन्नुभयो, “ योजना निर्माणमा हुने भ्रष्टाचार, अपारदर्शिता, अनियमितालाई चिर्न सरकारले ध्यान दिनुपर्छ ।” गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पले रुकुमपश्चिम र सल्यानमा समेत क्षति पु¥याउँदा पीडितहरुको राहत तथा पुनःस्थापना सरकारले गर्न नसकेको जिकिर गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई नीतिगत सुधार, सुशासन, पारदर्शिता, विकास र कर्णालीको समृद्धिका सवालमा पटकपटक घच्घच्याउने गरे पनि नसुनेको गुनासो गर्नुभयो ।

रिहाईपछि कानुनी समस्याका बावजुद गरिबलाई सहयोग गर्ने युनुसको प्रतिबद्धता

बङ्गलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले आफ्नो वातावरणीय र आर्थिक नीति हासिल गर्न राजनीतिबाट प्रेरित भएको भन्दै अदालती मुद्दाको सामना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“हाम्रो सपना नयाँ संसार सिर्जना गर्नु हो,” मानव अधिकार समूहहरूले व्यापक रूपमा आलोचना गरेको मुद्दामा छ महिनाको जेल सजायविरुद्ध गरिएको अपिलमा औपचारिक रूपमा जमानत पाएपछि ८३ वर्षीय युनुसले अदालत बाहिर पत्रकारहरूलाई भने।

युनुसलाई आफ्नो अग्रणी माइक्रोफाइनान्स बैंकमार्फत लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय दिइन्छ तर उहाँको बङ्गलादेशको लामो समय प्रधानमन्त्री रहेकी शेख हसिनासँगको सम्बन्ध तनावपूर्ण रहेको देखिँदै आएको छ ।

उहाँलाई गरिबहरूको ‘रगत चुसेको’ आरोप बङ्गलादेशको संस्थापन पक्षले लगाउने गरेको छ । विपक्षीले बहिष्कार गरेको चुनावमा भारी मतान्तरले विजयी भएपछि यसै महिना पाँचौं कार्यकालका लागि शपथ लिएकी हसिनाले सन् २००६ को नोबेल शान्ति पुरस्कार विजेता यूनिसको पटकपटक आलोचना गर्नुभएको छ ।

भ्रष्टाचारको प्रमुख आरोपहरू पनि समावेश भएका कम्तिमा १७० अन्य मुद्दाहरूको सामना गरेका युनुसविरूद्ध जनवरी १ मा श्रम कानून उल्लङ्घनसँग सम्बन्धित मुद्दामा पनि जोडिएको थियो ।

उहाँले आफूमाथि लागेका सबै आरोपहरूको खण्डन गर्दै आउनुभएको छ ।युनुसले भावुक हुँदै आफूले आफ्नो जीवन सबैभन्दा बढी खाँचोमा परेकाहरूलाई सहयोग गर्न समर्पित गरेको र आफ्नो कामलाई निरन्तरता दिन प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँको ‘थ्री जिरो’ योजनाको उद्देश्य कार्बन उत्सर्जन घटाउनु, बेरोजगारी अन्त्य गर्नु र गरिबी घटाउनु हो ।युनुसले कसैको नाम उल्लेख नगरिकन भन्नुभयो, “हामीले एउटा सपना पूरा गरेका छौँ र यो सपनाको पछि लाग्दा हामीले कसैको चित्त दुखाएका हुनसक्छौँ।”

पछिल्लो घटनामा युनुस र ग्रामीण टेलिकमका तीन सहकर्मीमाथि श्रम कानूनको उल्लङ्घन गरेको आरोप लागेको थियो युनुसले यो मुद्दा सरकारी विभागले ल्याएको आरोप लगाए पनि यातायातमन्त्री ओबैदुल कादिरले भन्नुभयो, “यो मुद्दा कामदारले दायर गरेका हुन् ।”हसिनाले युनुसलाई माफी दिन गरिएको आग्रह अस्वीकार गर्दै आफ्ना कर्मचारीसँग माफी माग्नुपर्ने बताउनुभएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले आइतबार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाउनुभभएको छ ।

राजभवनमा राज्यपाललाई भेटेर नितिशले भन्नुभयो, “हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौं । नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो ।

पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख तथा पूर्व मुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले सामाजिक सञ्जालमार्फत् जारी एक पोस्टमा उहाँले जेडियूमाथि कटाक्ष गर्दै भन्नुभयो, “समाजवादी पार्टीले आफूलाई प्रगतिशील समूहको रूपमा प्रस्तुत गर्छ, तर यसको विचारधारा बदलिँदो वायुको ढाँचासँग परिवर्तन हुन्छ । नितिशको यो निर्णयले उहाँको सत्ता समिकरणका लागि चौँथो अभ्यास (गठबन्धन) हुनेछ ।

कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन् । विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) को चार र सीपीआई (एम) र भाकपाको एक÷एक सदस्य छन् ।

एआईएमआईएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य रहेका छन् । आचार्यले एक नयाँ पोस्टमा साम्प्रदायिक शक्तिविरुद्ध आफ्नो संघर्ष मृत्युपर्यन्त जारी रहने बताउनुभएको छ । “साम्प्रदायिक शक्तिविरुद्ध हाम्रो लडाइँ सास रहेसम्म जारी रहनेछ,” उहाँले ट्वीटरमा लेख्नुभएको छ ।

सोमालियाली समुद्री डाकुद्वारा डुङ्गा अपहरण

सन्दिग्ध सोमालियाली समुद्री डाकुहरूले हिन्द महासागरमा डुङ्गामा सवार चालक दलका छ सदस्यसहित डुङ्गालाई अपहरण गरेको कोलम्बोको नौसेनाले आइतबार जनाएको छ ।

श्रीलङ्काली नौसेनाका प्रवक्ता गायन विक्रमासूरियाले लोरेन्जो पुथा–४ लाई सोमालियाली राजधानी मोगादिसुबाट करिब ८४० नटिकल माइल दक्षिणपूर्वमा शनिबार नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

यमनको इरान समर्थित हुथी विद्रोहीसमूहले प्यालेस्टाइनी लडाकू समूह हमासविरुद्ध इजरायलले गरेको युद्धको प्रतिक्रियास्वरूप रेड सी र एडेनको खाडीमा इजरायलसम्बद्ध जहाजहरूलाई लक्षित गरी सयौं आक्रमणहरू गरेका छन् ।

सन् २०१७ को डिसेम्बरमा सोमाली समुद्री डकैतीको पहिलो सफल घटना रेकर्ड भएपछि अन्तर्राष्ट्रिय नौसैनिक बललाई एडेनको खाडीबाट उत्तरतर्फ रेड सीमा डाइभर्ट गरिएको छ ।

“श्रीलङ्काले संयुक्त समुद्री सेनालाई सचेत गराएको छ,” विक्रमासूरियाले अन्तर्राष्ट्रिय समुद्री डकैती विरोधी गठबन्धनलाई सङ्केत गर्दै एएफपीलाई बताउनुभयो ।

उहाँका अनुसार छिमेकी मुलुक भारतको नौसेनाले अनुसन्धानका लागि युद्धपोत पठाइसकेको छ भने श्रीलङ्काको नौसेनाले पनि उक्त क्षेत्रमा तैनाथ गर्नका लागि युद्धक जहाज तयार गरिरहेको छ ।

सन् २०११ मा सोमालियाली तटमा समुद्री डाकूहरूको आक्रमण चरम बिन्दुमा पुगेको थियो र बन्दुकधारीहरूले हिन्द महासागरको सोमाली तटबाट तीन हजार ६५५ किलोमिटर (दुई हजार २७० माइल) टाढासम्म आक्रमण गरेका थिए ।

‘सम्पत्ति जफतको परिणाम नराम्रो हुने’ रूसको पश्चिमी मुलुकहरूलाई चेतावनी

विदेशस्थित रूसी सम्पत्ति र सम्पत्ति जफत गर्ने पश्चिमा मुलुकहरूको कुनै पनि प्रयासको जवाफ रूसले दिने रूसी विदेश मन्त्रालयले आइतबार जनाएको छ ।

“हामीले विदेशमा रूसी सम्पत्तिको सम्बन्धमा पश्चिमा देशहरूले एकतर्फी रूपमा चालेका दमनकारी कदमहरूको अवैधानिकताको बारेमा धेरै पटक बोलेका छौँं ।

“रूसी महासङ्घको सम्पत्ति जफत गर्नु गैरकानुनी हो र यसले राष्ट्रहरूको सार्वभौम समानतालगायत अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र मान्यताको उल्लङ्घन गरेको हामीले बारम्बार उल्लेख गरेका छौं,” रूसी मन्त्रालयलाई उद्धृत गर्दै आरआईए नोभोस्तीले उल्लेख गरेको छ ।

यस्तो कार्य ‘सार्वभौम अचल सम्पत्तिमाथिको घोर अतिक्रमण र राज्यहरूको एक समूहले अर्को समूहको सम्पत्तिको सरासर चोरी’ गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, “‘पश्चिमी गठबन्धन’ देशहरूले रूसी अचल साथै अन्य सम्पत्तिजफत गर्ने उनीहरूको कुनै पनि प्रयासले अनिवार्य रूपमा पर्याप्त र प्रभावकारी प्रतिक्रिया पाउनेछ भनी उनीहरूले बुझेका हुनुपर्छ ।”

रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौँ, १४ माघ : कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र परिसङ्घमार्फत कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रममा सहभागी हुने उद्योगहरुबीच आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्झौता भएको हो ।

श्रमयोग्य जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीको अवसर उपयोग गर्न र रोजगारमूलक तथा सीपमूलक तालिम प्रदान गर्न सरकारले बजेट विनियोजन गरेको छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि २०८० अनुसार यस कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीका लागि अधिकतम तीन महिना अवधिको पारिश्रमिक सरकारले व्यहोर्नेछ । यो कार्यक्रमअन्तर्गत उद्योगले कम्तीमा १८ महिना रोजगारी दिने सुनिश्चितता गर्नुपर्दछ । यो कार्यक्रम गत वर्षदेखि नै कार्यान्वयनमा आएको भए पनि यसको प्रभावकारिता भने निकै न्यून देखिन्छ । कार्यक्रम सञ्चालनका लागि गत वर्ष रु ८० करोड बराबर विनियोजन भएको थियो भने १२ हजार जनालाई रोजगारी दिने अपेक्षा गरिएको थियो तर एक सय ५३ जनालाई मात्रै यो कार्यक्रमअन्तर्गत रोजगारी मिलेको छ । चालु आर्थिक वर्षका लागि यो कार्यक्रम सञ्चालनका लागि सरकारले रु १८ करोड बजेट छुट्याएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले यो कार्यक्रमको सफल कार्यान्वयनबाट उद्योगलाई दक्ष जनशक्ति उपलब्ध हुने, बेरोजगार युवालाई रोजगारी मिल्ने र बढिरहेको विदेशिने क्रम केही कम हुने बताउनुभयो । “एकातर्फ हाम्रा युवा जनशक्ति रोजगारीको खोजीमा विदेश पलायन हुने क्रम बढिरहेको छभने अर्कातर्फ मुलुकमा दक्ष जनशक्तिको अभाव भई उद्योगहरू सञ्चालन गर्नका लागि विदेशबाट जनशक्ति ल्याई काम गर्नुपर्ने बाध्यता हामीले देख्दै र भोग्दै आइरहेका छौँ । हामीसँग भएको जनशक्ति विदेश पलायन हुने र हामीलाई आवश्यक पर्ने जनशक्ति विदेशबाट झिकाउनुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल सरकारले उद्योगको कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमको ल्याएको हो”, मन्त्री रिजालले भन्नुभयो ।

यस कार्यक्रमबाट स्वदेशमै तालिम प्राप्त दक्ष जनशक्ति निर्माण हुने र देशभित्रै सीपयुक्त रोजगारीको अवसर प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । गत वर्ष यो कार्यक्रमले अपेक्षाकृत लक्ष्य हासिल गर्न नसकेको स्वीकार्नु हुँदै नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले यस वर्ष लक्ष्यअनुसार रोजगारी उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम सहजरुपमा सञ्चालन गर्नका लागि कार्यविधिमा भएका कठिनाइलाई संशोधन गरिनुपर्ने उहाँको भनाइ छ । त्यसैगरी, परिसङ्घमार्फत नौवटा उद्योगले दुई हजार एक सयजना कामदारलाई कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षणमा लैजाने गरी आवेदन दिएको अग्रवालको भनाइ छ ।

यो कार्यक्रम सञ्चालनका लागि लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रमार्फत इच्छुक उद्योग वा सम्बद्ध महासङ्घ र सङ्घलाई आवेदन आह्वान गरिएको थियो । सोहीअनुरूप कार्यक्रम सञ्चालनमा साझेदारी गर्नेगरी नेपाल उद्योग परिसङ्घमार्फत छवटा उद्योगको आवेदन परेकामा आज सम्झौता गरिएको हो जसमध्ये अरिहन्त मल्टिफाइबर लिमिटेडका लागि सात सय २५, किरण सुज म्यानुफ्याक्चरर्सका लागि ६ सय, मोडर्न स्लिपर इन्डस्ट्रिज प्राइभेट लिमिटेडका लागि एक सय ५०, लिट्मस इन्डस्ट्रिजका लागि एक सयजना, रन सुजका लागि ५० र बाबा जुट मिल ३६ गरी कूल एक हजार छ सय ६३ जना कामदारलाई कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रममा सहभागी गराउने गरी सम्झौता भएको हो ।

यस कार्यक्रमअन्तर्गत यस वर्ष चार हजार जनालाई दक्ष बनाई रोजगारी सृजना गर्ने लक्ष्य रहेकामा करिब १६ हजार जनाका लागि प्रस्ताव प्राप्त भएको भएको मन्त्रालयले जनाएको छ । तर सीमित आर्थिक स्रोतका कारण तत्काल सबै प्रस्तावलाई समेट्न सक्ने अवस्था नरहेको उद्योगमन्त्री रिजालले बताउनुभयो ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आर्मीको जित

काठमाडौँ, १४ माघ ः यहाँ जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि एक सय ६४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको दुई सय ८० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १५ रनमै समेटियो । कर्णालीका लागि हिमान्शु शाहीले १९, दिवान पुनले १८ तथा विपिन शाहीले १४ रन बनाए । त्यसैगरी, कप्तान रवीन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले समान १२÷१२ रन जोडे ।

आर्मीका लागि विवेक यादव र कुशल मल्लले समान तीन÷तीन विकेट लिए भने सोमपाल कामीले दुई तथा साहब आलामले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ७९ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक एक सय रनको योगदान दिए । उनले एक सय ३२ बलमा ६ चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन जोडेका हुन ।

यसैगरी, बसिर अहमदले अविजित ९८ रन जोडे भने भीम सार्कीले २५, कुशल मल्लले २१ तथा सन्तोष कार्कीले ११ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले दुई विकेट लिए भने प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले समान एक विकेट लिए । यस जितसँगै आर्मीले सात खेलमा १० अङ्क जोडेको छ । आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता पराजित कर्णाली भने आठ खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।

सङ्घीय गृहमन्त्री र प्रदेशका गृहमन्त्रीबीच छलफल, प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाइने

काठमाडौँ, १४ माघ ः प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र सम्पन्न गर्ने सम्बन्धमा सङ्घीय गृहमन्त्री र प्रदेशका गृहमन्त्रीबीच छलफल भएको छ । सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रदेश गृहमन्त्रीबीच भएको छलफलले प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने निर्णय गरेको हो ।

बैठकले मुलुकको शान्तिसुरक्षालाई थप सुदृढ बनाउने निष्कर्ष निकाल्दै सङ्घीय गृह मन्त्रालय र प्रदेशका सुरक्षासँग सम्बन्धित मन्त्रालयले थप सहकार्य गर्ने निर्णयसमेत गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले र प्रदेश सरकारबीच समन्वय र सहयकार्यलाई थप मजबुद बनाउने बैठकको निर्णय छ । “बैठकले प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने) सम्बन्धी ऐनलाई समयानुकूल बनाउने तथा शान्ति सुरक्षासँग महत्व राख्ने नेपाल प्रहरी ऐन, स्थानीय प्रशासन ऐनलाई यथाशीघ्र निर्माण गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।

आजको निर्णयलाई यही माघ १७ गते प्रधानमन्त्री पुपष्कमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा हुने राष्ट्रिय समन्वय परिषद्मा पेस गर्ने तय भएको उहाँले बताउनुभयो । बैठकपछि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी समायोजनका सम्बन्धमा महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो ।

प्रहरी समायोजन र नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने) सम्बन्धी ऐन २०७६ सालमा जारी भए पनि अहिलेसम्म प्रहरी समायोजन सम्पन्न हुन नसक्नु बिडम्बना भएको जनाउँदै उहाँले यही माघ १७ गते बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकले प्रहरी समायोजनलाई टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो । छलफलमा सबै प्रदेशका आन्तरिक मामिला तथा गृह प्रशासन हेर्ने मन्त्री, गृह मन्त्रालयका सचिव, प्रहरी सङ्गठनका प्रमुखलगायतको उपस्थिति थियो ।

भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते

भारतको राजधानी नयाँदिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।“आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो । तत्काल उद्धार टोली घटनास्थलमा पुगेको छ,” स्थानीय प्रहरी अधिकारीले भने ।

घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।घटनापछि कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो र मानिसहरु भागेर आत्तिएर चिच्याइरहेका देखिन्थे ।प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मन्दिरमा बिना अनुमति धार्मिक कार्यक्रम आयोजना गरिएको जनाएका छन् ।

कार्यक्रममा महिला र बालबालिकासहित एक हजार ६०० भन्दा बढीको सहभागिता रहेको थियो ।भिडिओमा घटनास्थल खचाखच भरिएको देख्न सकिन्छ । प्रारम्भिक अनुसन्धान अनुसार मान्छेको वजन धान्न नसकेर मन्दिरको अगाडि बनाइएको स्टेज भत्किएको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ती महिलाको निधनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले यस्ता ठूला कार्यक्रम आयोजना गर्दा सुरक्षा नियम पालना गर्न आग्रह गर्नुभयो ।

समुदायमा पुगेर जनताका गुनासा सुन्दै महामन्त्री थापा

बेलबारी (मोरङ), १४ माघः समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने र जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिने भन्दै कांग्रेसले शनिबारदेखि यो अभियान सुरु गरेको हो ।

मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिका हुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नेतृत्वको टोली जहदाको राम चोक, कटाहरी हुँदै विराटनगर आइपुगेको हो । शनिबार झापाबाट अभियानको सुरुआतका क्रममा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सांसद प्रदीप पौडेल पनि सहभागी रहनुभएको थियो ।उक्त अभियानमा आज नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतको सहभागिका रहेको छ । यो अभियानबाट पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीतिनिर्माणका क्रममा नीतिगत मार्गदर्शन प्राप्त हुने बताइएको छ । यस अभियानमा औपचारिक आसन ग्रहण र मन्तव्यलगायत कार्यक्रमहरू छैनन् भने सुरुमै पार्टीको वर्तमान अवस्था र अब गर्नुपर्ने कामका लागि सुझाव माग गरिएको छ ।आजको मोरङको कार्यक्रममा पनि महामन्त्री थापाले सबै कार्यकर्ता तथा स्थानीय नेताहरुलाई पार्टीका लागि आवश्यक सुझाव दिन र आफ्ना समस्या र गुनासाहरु खुलेरै राख्न आग्रह गर्नुभएको थियो । उहाँले अब पार्टीलाई समुदायस्तरमा नभएर प्रत्येक नेपालीका घरघरसम्म पुर्याउने अभियान सञ्चालन गर्न सबैसँग आग्रह गर्नुभएको थियो ।यस अभियानमा खटिएका नेताहरुले बोल्नेभन्दा पनि स्थानीयका गुनासा सुन्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका महासमिति सदस्य सुयर्माराज राईले बताउनुभयो । यो अभियान निकै प्रभावकारी रहेको पनि राईले दाबी गर्नुभयो ।केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै छ हजार सात सय ४३ वटै वडामा प्रतिनिधि खटिने र अभियान माघ २६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस

काठमाडौँ, १४ माघ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रियसभा प्रदेशसभाका सदस्य र नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधार, सगुनशमशेर जबरा, सचिव सूर्यप्रसाद गौतमलगायतको उपस्थिति थियो ।

सेवानिवृत्त शिक्षकको शैक्षिक उन्नयनमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता

टीकापुर (कैलाली), १४ माघ : कैलालीका सेवानिवृत्त शिक्षकहरू आफूहरूसँग रहेको विज्ञतालाई स्थानीय पालिकाले प्रयोग गर्न नसकेको बताउँछन् । कैलालीको टीकापुरमा भएको सेवानिवृत्त शिक्षकको भेलाले शैक्षिक सुधारमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल निवृत्त शिक्षक समाज कैलालीका अध्यक्ष डिल्लीराज जोशीले स्थानीय पालिकाले निवृत्त शिक्षकको विज्ञता प्रयोग गर्न नसकेको बताउनुभयो । “हामीसँग विज्ञ शिक्षक छन्, राम्रा प्रशिक्षक छन्, तिनलाई स्थानीय पालिकाले प्रयोग गर्न सक्छन्”, उहाँ भन्नुहुन्छ, “स्थानीय पालिकामा शिक्षाका समस्या पहिचान, सुधारका लागि उपायको खोजी र समाधानमा हामी सहयोगी हुनेछौँ, हामी निःशुल्क सहयोग गर्नेछौँ । तपाईँहरू हाम्रो विज्ञता प्रयोग गर्न सक्नुहुनेछ ।”

अध्यक्ष जोशीले पालिकामा हुने नगर शिक्षा समिति, परीक्षा समितिजस्ता अन्य समितिमा निवृत्त शिक्षकले आफ्नो योगदान दिनसक्ने बताउनुभयो । अर्का निवृत्त शिक्षक भक्तिराम कोइरालाले पालिकामात्र नभई विद्यालयले पनि आफूहरूलाई प्रयोग गर्न सक्ने बताउनुभयो । “कुनै विद्यालयमा कुनै विषयगत शिक्षक बिदामा बस्दा, बिरामी हुँदा कक्षा खाली हुन्छ, हामीसँग विषयगत शिक्षक हुनुहुन्छ, त्यस्तो विद्यालयमा हामी निःशुल्क पढाइदिन्छौँ”, उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ एउटै विद्यालयमा चार–पाँचजना शिक्षक बिदामा बस्नुपर्ने हुन्छ । त्यस्तो बेला हामी सहयोगी हुन्छौँ । हामी दुई–तीन महिनासम्म निःशुल्क अध्यापन गरिदिन तयार छौँ । खै तपाईँहरूले प्रयोग गरेको ?”

नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष महेन्द्रसिंह बम पालिकाले अनुरोध गरेका निवृत्त शिक्षक समाज शैक्षिक गुणस्तर सुधारका लागि जस्तोसुकै सहयोग गर्न सहयोग तयार रहेको बताउनुहुन्छ । “हामी शिक्षण गरेर निवृत्त भयौँ, शैक्षिक सुधारका योजना बनाउँदा पनि निवृत्त शिक्षकको सहयोग लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “विद्यालय, समाज र पालिकाले शिक्षकको विज्ञता प्रयोग गर्न सक्नुपर्छ ।”

निवृत्त शिक्षक यज्ञमूर्ति अर्यालले निवृत्त शिक्षक एक्लो बस्दा बूढो हुने बताउँदै सङ्गठित भएमा ऊर्जा मिल्ने बताउनुभयो । “जोसँग ऊर्जा छैन त्यो मानिस बूढो हो, हामीसँग ऊर्जा छ, अनुभव छ”, उहाँ भन्नुहुन्छ, “यो ऊर्जा बचाइराख्न हामी सङ्गठित भएका हौँ । यसले हामीलाई अहिले पनि शिक्षा क्षेत्रमा काम गर्न प्रेरणा मिलेको छ ।”

निवृत्त शिक्षक तथा नेपाल शिक्षक सङ्घ कैलालीका संस्थापक अध्यक्ष गजबहादुर बमले आफू विसं २०२८ मा शिक्षक सेवामा प्रवेश गरेको र शिक्षा सुधार र शिक्षक हकहितका लागि थुप्रै प्रयास गरेको स्मरण गर्नुभयो । “शिक्षक निवृत्त हुँदैमा भूमिका सकिँदैन, म अहिले पनि नियमित अध्ययन गर्छु”, उहाँ भन्नुहुन्छ, “देशको शिक्षाको अवस्थामा अहिलेको अवस्थाबारे जानकार छु । त्यसैले विभिन्न ठाउँमा सुझाव दिने गरेको छु ।”

टीकापुर नगरपालिका नगरप्रमुख रामलाल डगौरा थारूले निवृत्त शिक्षकको बौद्धिकता कसरी प्रयोग गर्ने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताउनुभयो । “यहाँहरूको सुझावलाई मनन गरेको छु, शिक्षकको विज्ञता शिक्षा क्षेत्र सुधारमा प्रयोग गर्न छलफल गर्नेछु”, उहाँले भन्नुभयो, “यहाँहरूको कार्यालय टीकापुरमा स्थापनाका लागि सक्दो सहयोग गर्नेछु ।”

यसैबीच, टीकापुरमा भएको भेलाले पालिकास्तरीय नयाँ नेतृत्व चयन गरेको छ । निवृत्त शिक्षक समाज टीकापुरको अध्यक्षमा ज्योतिप्रसाद बुढाथोकी, उपाध्यक्षमा रीमा शर्मा, सचिवमा हीराचन्द्र बराल, कोषाध्यक्ष जगत्बहादुर थापा चयन हुनुभएको छ । समाजको महिला सदस्यमा राधा शर्मा, सदस्यमा बाबुराम चौधरी, मोहनबहादुर रावल, चेतराज शर्मा, शालिग्राम शर्मा चयन हुनुभएको छ ।

आज ७१औँ विश्व कुष्ठरोग दिवस : मधेस प्रदेशमा अधिक कुष्ठरोगी

काठमाडौँ, १४ माघ :एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ । स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताउनुहुन्छ ।

महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९÷८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।

जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन् । नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार ४९, बालबालिकाको सङ्ख्या एक सय ८१ रहेको देखिन्छ ।

विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापित सरकारले कुष्ठरोगमुक्त नेपाल निर्माणका लागि ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२’ निर्माण गरी कार्यान्वयनमा लागेको बताउनुहुन्छ । रणनीतिको मुख्य उद्देश्य नै प्रदेश, जिल्ला र स्थानीय तहबाट कुष्ठरोग निवारण गर्ने उहाँको भनाइ छ । पछिल्लो समय तराई र विशेषगरी मधेस प्रदेशमा कुष्ठरोगका बिरामीको सङ्ख्या बढी देखिएपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्था त्यस प्रदेशप्रति लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी, सर्लाही र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी, सर्लाही र धनुषा जिल्लाका विभिन्न स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताउनुहुन्छ । कार्यकारी निर्देशक सिंह धनुषा, सर्लाही र महोत्तरीमा कुष्ठरोगी र उनीहरूका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताउनुहुन्छ । यसबाहेक एनएलआरले पूर्वको कोशी र पश्चिमको सुदूरपश्चिम प्रदेशमा समेत कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । “एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरूको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ”, सिंह भन्नुहुन्छ ।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेस प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । मिसनले तीनवटै सरकारको सहकार्यमा कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको बताउनुहुन्छ । यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालसमेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ ।

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुँदै

भरतपुर (चितवन), १४ माघ : सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुने भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका–७ स्थित चित्रसारी खेलमैदानमा यही माघ १८ गतेदेखि महोत्सव सुरु हुन लागेको हो ।

नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरेर क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरिएको छ ।”

महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी एक सय बढी स्टल रहने जनाइएको छ । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने, रु एक करोड ५० लाखको कारोबार हुने अनुमान र अपेक्षा गरिएको छ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा चलचित्र र पर्यटनको विकासका लागि राज्य र निजीस्तरबाट गर्नुपर्ने पहलका बारेमा सुक्ष्मरूपमा छलफल र बहस गरी नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराइने पौडेलले बताउनुभयो ।

रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा आठ राष्ट्रका चलचित्रकर्मीको उपस्थिति तथा दक्षिण एसियाली क्षेत्रका नवीनतम् कला सृजनालाई अवसर प्रदान गर्ने, सांस्कृतिक आदानप्रदानलाई बढावा दिने र दक्षिण एसियाली कथाकथनको समृद्धिको उत्सवका रूपमा कथानक चलचित्र, वृतचित्र, लघुचलचित्रबीच प्रतिस्पर्धा गराइने छ । महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीनवटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ ।

महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्टफिल्म अवार्ड वितरण, सार्कस्तरका चलचित्रको प्रदर्शन, चलचित्रकर्मीको जीवनीसम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार र पर्यटन विकाससम्बन्धी अन्तक्र्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी र पश्चिम चितवनका खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता सङ्घका सचिव तथा महोत्सव मूल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिनुभयो ।

महोत्सव मूल समारोह समितिका सहसंयोजक तथा सौराहाका व्यवसायी गोकर्ण गिरीले सौराहामा हुने अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवले सुस्ताएको पर्यटनलाई चलायमान बनाउने बताउनुभयो । क्याराभान नेपालले यसअघि वीरगञ्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शनसम्बन्धी फेस्टिबल गरेको थियो ।

संसदबाट कानुन निर्माणदेखि जनताका समस्या सम्बोधनमा अपेक्षाअनुरुप भूमिका निर्वाह गर्न सकेनौँ : सांसद परियार

काठमाडौँ । पछिल्लो एक वर्षको संसदीय अभ्यासलाई नियाल्दा सरकारले अगाडि सारेका कानुनका सन्दर्भमा धेरै छलफल, बहसभन्दा पनि संसद् अवरुद्धका कारण बढी समय खर्चिनुपर्ने स्थिति खडा भयो । संसद्बाट कानुन निर्माणदेखि जनताका समस्या सम्बोधनमा अपेक्षाअनुरुप भूमिका निर्वाह गर्न सकेनौँ । अघिल्लो अधिवेशनमा संसद्लाई प्रभावकारीरूपमा सञ्चालन गर्न नसकेको महसुस भएको छ ।

संसद्मा पुगिसकेपछि मुलुकमा कस्ता–कस्ता कानुन आवश्यक छन् भन्नेबारेमा पनि हामीले छलफल गर्ने थलोका रूपमा संसद्लाई प्रयोग गर्ने गरेका छौँ । सरकारलाई आवश्यक पर्ने कानुन के–के हुन् भन्ने सन्दर्भमा गृहकार्य गर्न जरुरी छ । सरकार सञ्चालनका लागि आवश्यक पर्ने ऐन, कानुन संसद्मा पेस गर्ने र संसद्मा व्यापकरूपमा छलफल गरेर ती कानुन पारित गर्नेतर्फ सांसद केन्द्रित हुनुपर्छ । विगतमा त्यो गर्न सकेनौँ । जसले गर्दा धेरै महत्व राख्ने ऐन, कानुन अघिल्लो अधिवेशनमा पारित गर्न नसकेको अवस्था रह्यो ।

संसद् कानुन पारित गर्ने मात्र नभई सरकारलाई ध्यानाकर्षण गराउने निकाय पनि हो । जनताका समस्या संसद्मार्फत सरकारलाई सहज र सचेत गराउनका लागि हामी तदारुकताकासाथ लाग्नुपर्छ । आगामी दिनमा संसद्को भूमिकालाई प्रभावकारी बनाउने विषयलाई मध्यनजर गर्दै सांसद, राजनीतिक दलले आ–आफ्ना सांसदलाई अभिमुखीकरण गर्ने, सांसदको भूमिकालाई प्रभावकारी बनाउने सम्बन्धमा आ–आफ्नो संसदीय दलमा पनि छलफल गर्न आवश्यक छ । समग्रमा संसद्को प्रमुख भूमिकामा सभामुख हुनुहुन्छ । सभामुखले पनि समितिबाट गर्नुपर्ने काम समयमा भए÷ भएन् ? समितिमा गएका कतिपय कानुनमा ढिलासुस्ती भएको छ÷छैन ? कसरी प्रभावकारीरूपमा विधेयक पारित गर्न सकिन्छ भन्ने विषयमा अझ सशक्त भूमिका देखाउन आवश्यक रहेको छ ।

अबको अधिवेशनमा संसद्को भूमिकालाई प्रभावकारी बनाउन जरुरी छ । सरकाले निजामती ऐन, प्रहरी ऐनलगायतका कानुन यथाशीघ्र ल्याउन सकोस् भन्ने जनताको चाहाना र प्रदेश सरकारको आवश्यकता महसुस भएको छ । सङ्घीय तथा प्रादेशिक कानुन नबनेसम्म स्थानीय कानुनको औचित्य रहँदैन । कतिपय स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा रहेर कानुन निर्माण गर्नुभएको छ । तर ती कानुन सङ्घीय कानुनसँग बाझिनेगरी निर्माण भइरहेको पाइन्छ । त्यसकारण सङ्घीय सरकार समयसापेक्ष कानुन निर्माणमा सक्रिय हुन आवश्यक छ । सङ्घीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन सकेमा मात्र अबको संसद्लाई प्रभावकारी बनाउन सक्छौँ ।

सङ्घीयताको आधारभूत सिद्धान्त भनेको राज्यको शक्ति र अधिकारलाई विकेन्द्रीकृत गर्नु हो । मुलुकको नेतृत्व र संविधानले दिएको अधिकारको अभ्यास तीनै तहका निर्वाचित प्रतिनिधिबाटै हुने गर्दछ । संविधान कार्यान्वयनको मूल विषय राजनीतिक पक्षसँग जोडिएको हुन्छ । राजनीतिक क्षेत्रले सङ्घीयता कार्यान्वयनका प्रक्रियालाई नेतृत्व र निर्देशित गर्ने गर्दछ । तसर्थ सङ्घीयताको कार्यान्वयनमा राजनीतिक दलको नेतृत्वदायी भूमिका रहन्छ । संविधानअनुसार राज्यको पुनःसंरचना गरिएको भएता पनि अभ्यासको हिसाबले सङ्घीयताले निम्त्याएको प्रदेशको संरचना नितान्त नयाँ अभ्यास हो तर यो संरचनाले नै आफ्नो अस्तित्व प्रभावकारीरूपमा स्थापित गर्न नसकेको अवस्था छ । त्यसकारण प्रदेशको भूमिका सबल बनाउन आवश्यक छ ।

पछिल्लो समय विशेषगरी युवा वर्ग बाह्य मुलुकमा अध्ययन तथा रोजगारीका लागि जाने बढ्दो क्रम छ । यो विषय आफँैमा सुःखद् पक्ष होइन । रोजगारीकै लागि शिक्षा आर्जन गर्ने नाममा विदेश गएको अवस्था छ । तथापि मुलुकभित्रै धेरै सम्भावना छ । केही गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्नुपर्ने दायित्व हामी राजनीतिक दलको नै हो । भएका कमी–कमजोरीलाई छलफल गरी सबै राजनीतिक दलको साझा धारणा बनाएर अगाडि जान सक्यौँ भने मात्र यी समस्याको समाधान निकाल्न सक्छौँ भन्ने मलाई लाग्छ ।

सीमित स्रोत साधनका बाबजुद पनि सरकारलाई जनताका आवश्यकता परिपूर्ति गर्नुपर्ने बाध्यता हुन्छ । मुलुकको आर्थिक अवस्थाअनुसार विगतदेखि सञ्चालनमा आएका कतिपय आयोजना पूरा गर्नुपर्ने अवस्था छ । जसले गर्दा जनताका अपेक्षा पूर्णरूपमा साकार गर्न सकेका छैनौँ । अपेक्षाअनुरुपको प्रतिफल प्राप्त गर्न सकेका छैनौँ । तसर्थ सरकारले भएकै स्रोत साधनबाट कसरी बढीभन्दा बढी जनताका आवश्यकतामा परिपूर्ति गर्नेतर्फ ध्यान दिँदै जनतालाई सुशासनको प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुन आवश्यक छ । आगामी दिनमा सरकारलाई अझ प्रभावकारी बनाउन प्रादेशिक, स्थानीय सरकारलाई सुदृढ बनाएमा आम जनताको चाहनालाई पूरा गर्न सकिन्छ । त्यसतर्फ हामीले ध्यान दिनुपर्छ ।

सांसदको जिम्मेवारी बहन गर्ने क्रममा थप मेरो दुई खालको भूमिका छ । एक, मेरो निर्वाचन क्षेत्र कास्की जिल्ला । अर्को, समग्र दलित समुदाय । म दलित समुदायबाट प्रतिनिधित्व गर्दै संसद्मा पुगेको छु । जनताका खानेपानी, सडकलगायतका विकास निर्माणका संरचना अपेक्षाका साथै सर्वसुलभ शिक्षा, स्वाथ्यको अधिकारका विषयमा सहजीकरण गर्न पहल गरिरहेका छौँ । जिल्लाको समग्र विकासको लागि पनि म सङ्घीय सांसद भएको हिसाबले सिङ्गो जिल्लाका लागि सोच्नुपर्ने हुन्छ ।

मुलुकमा वर्तमान समयमा दलित समुदायको मुद्दाका विषय उठिरहेका छन् । जातीय विभेद, छुवाछूत, अन्तरजातीय विवाहका कारण भएका घटनाबाट पीडित भएका व्यक्तिहरू छन् । कानुुनविपरीत तथा मानवअधिकार उल्लङ्घनका घटना देशभरि असङ्ख्यरूपमा घटेका छन् । पीडित जनतालाई न्याय दिलाउनका लागि मैले कसरी सरकारको ध्यानाकर्षण तथा सचेत गराउन सक्छु । त्यसतर्फ मैले संसद्मार्फत रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने दायित्व छ ।

(गण्डकी प्रदेश, कास्की जिल्ला स्थायी ठेगाना हुनुभएका सांसद परियार नेपाली कांग्रेसबाट हाल समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विसं २०४६ बाट राजनीतिमा आबद्ध हुनुभएका सांसद दोस्रो संविधानसभा सदस्य हुनुहुन्छ । उहाँ पार्टीको १४औँँ महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको थियो । लामो समयदेखि दलित आन्दोलनसँग जोडिँदै आउनुभएका सांसद परियारले विसं २०६६ देखि २०६८ सम्म राष्ट्रिय दलित आयोगको सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको छ ।)


प्रस्तुति : सीता भट्टराई

शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने

दोधारा चाँदनी (कञ्चनपुर), १४ माघ : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ ।एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताउनुभयो । “शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउन हात्तीको प्रयोग हुँदै आएको छ ।” उहाँले भन्नुभयो, “हात्तीलाई परिचलान गर्न एक महिनाअघिदेखि सुरु गरिएको तालिम आज समापन भएको छ ।” उहाँले हाल निकुञ्जमा दुईवटा छावासहित आठ हात्ती रहेका बताउनुभयो ।

तालिमको सुरुआतका बेला वयस्क हात्तीको सहारामा जङ्गलतर्फ लगिएको थियो । इच्छाअनुसार स्वतन्त्ररूपमा हिँडडुल गरिरहेका हात्तीलाई इशारा र निर्देशनका आधारमा हिँडाउनका लागि तालिम दिने गरिन्छ । शेषचन्द्रलाई नियन्त्रितरूपमा हिँडाउन हात्तीसारको वयस्क हात्ती सुर्तीकलीको प्रयोग गरिएका हात्तीसारका शिवदत्त चौधरीले जानकारी दिनुभयो ।“हात्तीलाई तालिम दिनुभन्दाअघि एउटा खम्बा तयार पारिन्छ, त्यसलाई खमारा भनिन्छ”, चौधरीले भन्नुभयो, “खम्बाको टुप्पोमा डोरी अल्झाउने खालको बनाइन्छ । डोरी अल्झिने उचाइ र हात्तीको घाँटीको उचाइ बराबर हुनुपर्छ । खम्बा गाडेको ठाउँमा पूजाआजा गरिन्छ । यसलाई खामेश्वरी पूजा पनि भनिन्छ । हात्तीलाई तालिम जसदिने हो, उसैले पूजा गर्नुपर्छ ।” चौधरीका अनुसार हात्तीलाई पूर्णरूपमा तालिम दिन कम्तीमा एक महिना लाग्ने गर्छ ।“हात्तीलाई तालिम दिने वा हात्तीमा चढ्नेलाई बहकिया भनिन्छ”, उहाँले भन्नुभयो, “दिनमा जङ्गल घुमाएर ल्याएपछि हात्तीलाई बिहान पूजा गरेको खम्बामा बाँधिन्छ । यसका साथै अगाडि र पछाडिका खुट्टा पनि बाँधिन्छ ।” हात्तीको घाँटीमा बाँधिने डोरीलाई अग्रन, अगाडिको खुट्टा बाँध्नेलाई छनुवा र पछाडिको खुट्टा बाँध्नेलाई बन्डा भनिन्छ । “जबसम्म बहकियाको भनेको टेर्दर्नै तबसम्म बस्न दिइँदैन र खम्बाबाट सारिँदैन, राति सुत्न पनि दिइँदैन”, चौधरीले भन्नुभयो, “कम्तीमा एक हप्ता लाग्छ, त्यतिबेलासम्म खम्बामै बाँधेर सिकाइन्छ ।”चौधरीका अनुसार भनेको मान्ने र उठबस गर्न थालेपछि वयस्क हात्तीकै साहारामा हात्तीमाथि बसेर पनि तालिम दिइन्छ । “दुई हात्तीको बीचमा हालेर दायाँबायाँ गर्न नदिएर अगाडि लैजान दुवैतर्फ वयस्क हात्तीलाई हिँडाइन्छ”, उहाँले भन्नुभयो, “उकालो–ओरालो र पानी सबै ठाउँमा हिँड्न सक्नेगरी तालिम दिइन्छ, तालिमका बेलामा निडर बनाउन आगो देखाउने, गाडी देखेर नडराओस् भनेर सडकमा समेत हिँडडुल गर्न सिकाइन्छ ।” हात्तीलाई दुईदेखि तीन वर्ष छ महिना भित्रै तालिम दिइसक्नुपर्छ । त्यसपछि भने तालिम दिन निकै समस्या हुन्छ । अटेरी पनि हुनसक्छ । शुक्लाफाँटामा १० हात्तीको दरबन्दी भए पनि अहिले सानासहित आठमात्रै छन् । अहिले हात्तीसारसँगै निकुञ्जको मालुबेला र शुक्लाफाँटा पोष्टमा हात्ती राखिएको छन् ।

व्यक्तिगत लगानीमा जीर्ण पाटीको संरक्षण गर्दै ‘तनहुँका घले’

तनहुँ, १४ माघ : तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको सङ्गमस्थल नजिकै दमौलीघाट पर्छ । घाट जाने बाटो छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा एउटा पाटी छ । जुन व्यास नगरपालिका–३ स्थित देउराली नगरमा पर्छ ।

उक्त पाटी विसं २००७ मा निर्माण गरिएको तथ्य फेलापरेको छ । हिजोआज सम्पदाका रूपमा रहेका पाटीपौवा र ठाँटी उचित संरक्षण अभावमा लोप हुँदै गएका छन्। । लोपोन्मुख अवस्थामा पुगेको यो पाटीको संरक्षणमा तनहुँका एक व्यक्ति आफ्नो व्यक्तिगत लगानीमा मर्मतसम्भार कार्यमा लाग्नुभएको छ । जिल्लाको व्यास नगरपालिका–४ निवासी आइतबहादुर घले निजी खर्चमा पाटी संरक्षणमा लाग्नुभएको हो ।
इतिहास मेटिनु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ भन्ने सोचका साथ आफू यसको संरक्षणमा जुटेको घलेले बताउनुभयो । सम्बन्धित वडा कार्यालय र नगरपालिकालाई पाटीको संरक्षण गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि आफूमा भित्रैदेखि इच्छा जागेर आएको उहाँले बताउनुभयो ।

“आफूले गर्ने व्यक्तिगत र घरखर्चमा मितव्ययीता अपनाएर भए पनि पाटी संरक्षण गर्ने अठोटका साथ अघि बढेको हुँ”, उहाँले भन्नुभयो । स्थानीय टोल विकास संस्था, व्यास नगरपालिकाबाट स्वीकृति लिएर मर्मतसम्भारको काम थालेको छु, “करिब एक साताको अवधिमा जीर्ण बनेको पाटीलाई हेर्नलायकको बनाउनेछु ।” पाटीमा रहेका पुराना संरचना र कलालाई नबिगारीकन मर्मतसम्भार गरी संरक्षण गर्न लागिएको हो ।।

पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने घाँसीकुवा पारिपट्टि व्यास–११ मा अहिले पनि नहर्की बस्ती छ । उक्त पाटी त्यो समयमा नहर्की समुदायले बनाएका थिए । उक्त स्थानमा रहेको पाटी जीर्ण बनेकाले भत्काएर काठ ल्याई पुनः दमौलीघाट नजिक पाटी निर्माण गरिएको बताइन्छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

ऐन परिवर्तन गरेर पाँच वर्षभित्रै नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्छौँ: मन्त्री बस्नेत

सिन्धुपाल्चोक-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र मुलुकलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन जरुरी रहेको बताउनुभएको छ । सनिबार यहाँ आयोजित २१५१औँ ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री बस्नेतले साविक अञ्चल अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउन दिने मन्त्रालयको निर्णय छिट्टै कार्यान्वयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयको निर्णय मन्त्रिपरिषद्मा पठाइसकेको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकाले ऐन परिवर्तन गरेर पाँच वर्षभित्रै नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्छौँ ।”

एक सयदेखि तीन सय शय्याका अस्पतालमा नर्स र प्यारामेडिक्सको अध्यापन हुने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा एममिबिबिएस एवम् विशेषज्ञ चिकित्सकको पढाई गर्ने मन्त्रालयको निर्णयको छिट्टै कार्यान्वयन गर्ने उहाँको भनाइ थियो ।उहाँले चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशीनुपर्ने बाध्यता हट्ने बताउनुभयो । “चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा शिक्षा ऐन परिमार्जन हुनेछ”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले नेपालमा मेडिकल कलेज र अस्पतालसँग वर्षमा पाँच हजारभन्दा बढी एमबिबिएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण एक हजार नौ सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाएको बताउनुभयो ।

पूर्वी नेपाललाई भारत र चीनसँग जोड्ने तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

धनकुटा । पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ। सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो।

आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको ४ अर्ब १६ करोड लागतमा २०७९ कात्तिकबाट ३ वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो।

कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष ४८ करोडको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०/८१ मा ५८ करोड रुपैयाँ विनियोजन भएको थियो। तर उक्त रकममध्ये पुस मसान्त (६ महिना)भित्रमा ४० करोड सकिसकेको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए। ‘अब आयोजनालाई विनियोजित रकम १८ करोड रुपैयाँ मात्रै बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम २५ करोड रुपैयाँ छ’, उनले भने।

आयोजना निरन्तरताका लागि चालु आवको असार मसान्तसम्मका लागि सरकारलाई थप १ अर्ब २० करोड रुपैयाँ माग गरेको उनले जानकारी दिए। सरकारले तत्काल रकम निकासा गरेर सहयोग नगरे आयोजना प्रभावित हुने निरौलाले जानकारी दिए।

करिडोरको शनिबार जिल्ला समन्वय समिति धनकुटा, जिल्ला प्रशासन कार्यालय तथा धनकुटाका सुरक्षा निकाय र नेपाल पत्रकार महासंघ धनकुटाको टोलीले धनकुटामा पर्ने करिडोरको २८ किमी सडकखण्डको अनुगमन गरेको छ। अनुगमनका क्रममा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए।

आयोजनाका लागि देखिएको आर्थिक समस्या समधान गर्न धनकुटाबाट निर्वाचित सांसदमार्फत सहयोगका लागि सरकारलाई अनुरोध गर्ने जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिए। आर्थिक अभाव तथा आयोजनाका समस्याका बारेमा जिल्लामा थप छलफल गरेर सरकार र मन्त्रालयलाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीन स्वशासित क्षेत्र तिब्बतलाई किमाथाङ्कासँग जोड्न २०६५ सालमा आयोजना सुरु गरिएको थियो।

खेल क्षेत्रमा बजेट बढाउने अर्थमन्त्री महतको प्रतिबद्धता

त्रिशूली (नुवाकोट) – अर्थमन्त्री डा प्रकाशरण महतले खेलकुदको क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनुभएको छ । शनिवार नुवाकोटको बट्टारमा भएको ‘विदुर मेयरकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताउनुभयो ।

“आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा खेल क्षेत्रका विभिन्न विधालाई प्रोत्साहनसहितका कार्यक्रम र बजेटको आकार बढाउने छाँै”, उहाँले भन्नुभयो, “खेलकुदमा गरिएको लगानीले शारीरिक तन्दुरुस्ती बनाउन, युवालाई स्वदेशमा टिकाउन, अनुशासन कायम गराउन तथा अन्तर्राष्ट्रिय जगत्मा पहिचान बढाउनसमेत प्रभावकारी नतिजा निकाल्न सकिन्छ ।”

खेल प्रतियोगिता नियमित गराउन पूर्वाधारको अभाव, खेलाडीलाई टिकाउन र दक्ष बनाउन आर्थिक समस्याको चुनौती भएकाले बजेट वृद्धिले केही हदसम्म खेल क्षेत्रको समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । थोरै लगानीबाट दीर्घकालीन प्रतिफल निकाल्ने योजनासहित खेल क्षेत्रको बजेटमा आगामी वर्ष प्राथमिकता पाउनेमा ढुक्क हुन अर्थमन्त्री महतले आग्रह गर्नुभयो ।

“युवाको क्षमता वृद्धि तथा स्वास्थ्य र रोजगारी सिर्जनामा समेत खेलमा गरिएको लगानीले सहयोग पुर्याउने छ”, उहाँले भन्नुभयो, “खेलकुदका विभिन्न विधामा अहिले विनियोजित बजेटलाई समयसान्दर्भिक र लोकप्रियताका आधारमा केही परिमार्जन गर्नुपर्ने देखिन्छ ।”

शनिवारदेखि सुरु भएको ‘अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयरकप फुटबल प्रतियोगिता’ हालसम्म जिल्लामा पालिकास्तरबाट सञ्चालित सबैभन्दा ठूलो धनराशि पुरस्कार भएकाले यस्ता प्रतियोगिताले खेल र खेलाडीको विकास र पूर्वाधार निर्माणमा योगदान गर्ने भन्दै उहाँले आयोजकको प्रशंसा गर्नुभयो ।

विदुर नगरपालिकाको आयोजनामा जिल्लाका १० पालिकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका विजेताले रु चार लाख चार हजार चार सय ४४ र उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ प्राप्त गर्ने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । आज आयोजित उद्घाटन समारोहमा आयोजक विदुरलाई म्यागङ गाउँपालिकाले १–० गोलअन्तरले पराजित ग¥यो ।

नेताहरूमा एउटै यात्रा सदाचारको हुन आवश्यक छ – कानुनमन्त्री गुरुङ

खोटाङ – नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समुन्नत समाज निर्माण आफ्नो प्रमुख गन्तव्य भएको बताउनुभएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिकाको वडा नं १० अर्खौलेमा आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनमा सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले नेताहरू लोभबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख नपाउने बताउनुभयो ।

“नेताहरूमा एउटै यात्रा सदाचारको हुन आवश्यक छ । नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख पाउँदैनन्”, उहाँले भन्नुभयो, “नेताहरू लोभबाट मुक्त हुन आवश्यक छ । लोभबाट मुक्त भएर अगाडि बढ्न सकेमात्र समुन्नत समाज निर्माण गर्न सफल हुन्छौँ । यो अभियान आफैँबाट सुरु गर्नुपर्छ ।”

मन्त्री गुरुङले आजका विद्यार्थीहरु मुलुकको भविष्य भएको भन्दै उनीहरुको भविष्य निर्माणमा सबैको उत्तिकै भूमिका हुने बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी विद्यार्थीलाई आफू सफल हुनुको उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ । “हाम्रो पालमा बिहान–बेलुका गाईवस्तुलाई घाँस नकाटी विद्यालय जान पाइन्नथ्यो । म पनि स्याङ्जाको एउटा ग्रामीण विद्यालयमा पढेको व्यक्ति हुँ । तपाईँहरूको भन्दा कठिन थियो मेरो दिनचर्या ! रातिमात्र गृहकार्य गर्न पाउँथे”, उहाँले भन्नुभयो, कठिन परिस्थितिमा कोही पनि बिचलित हुनु हुँदैन । लगनशील भएर अगाडि बढिरहनुपर्छ । लगनशील भएको खण्डमा कोही पनि असफल भइन्नँ ।”

नगरप्रमुख विमला राईले सङ्घ तथा प्रदेश सरकारबाट विनियोजन भएर स्थानीय तहमा आउने योजना कार्यान्वयनमा केही कानुनी जटिलता भएकाले त्यसलाई संशोधन गर्न मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको छ ।

“सङ्घ तथा प्रदेश सरकारबाट परेका योजना कार्यान्वयन गर्न स्थानीय सरकारलाई अधिकार छैन । हाम्रो क्षेत्राधिकारभन्दा बाहिर हुनेबित्तिकै ठेकेदार कम्पनीले लापरवाही गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “यहाँको पालामै ती कानुनी व्यवधानलाई संशोधन गरियोस्, ता कि आगामी दिनमा स्थानीय सरकारका जनप्रतिनिधिले सहजरुपमा काम गर्न पाउन् ।”

नगरप्रमुख राईले नगरपालिकाको समग्र विकासका लागि पहल गरिदिनसमेत मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको छ । आफूहरूले जनताकै पक्षमा काम गर्दागर्दै केही व्यक्तिको निहित स्वार्थका कारण कानुनी झमेला व्यहोर्नुपरेको जानकारी दिनुहुँदै नगरप्रमुख राईले आगामी दिनमा त्यस्तो झमेलाबाट मुक्त हुनेगरी कानुन संशोधन गर्न मन्त्री गुरुङसमक्ष माग राख्नुभएको छ ।

मन्त्री गुरुङलाई अर्खौलेस्थित सालपा खेलमैदानमा आयोजित कार्यक्रमस्थलमा विभिन्न जातजातिको सांस्कृति झाँकीद्वारा स्वागत गरिएको थियो । रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ । प्रतियोगितामा तीनवटा विधाका ३० वटा इभेन्टमा १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा हुने नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजूले जानकारी दिनुभएको छ ।

चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका

इलाम, १४ माघ : गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य रु ३५ मात्र पाउनुभयो । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य रु ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । “चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौँ”, अधिकारीले भन्नुभयो ।

सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हातेमेसिन वितरण गर्दैछ । उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हातेमेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । “यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिँदैछौँ । हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौँ”, नगरप्रमुख राईले भन्नुभयो, “यसले हाम्रो चियाको भविष्य बिग्रन्छ । चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ । तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन ।”किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्योदय नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हातेमेसिन प्राप्त गर्न लागेका हुन् । “त्यो मेसिन पट्रोल र डिजेलले होइन ब्याट्रीबाट चल्छ । अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । “चियालाई ‘अग्र्यानिक’ बनाउन पालिका लागिरहेको छ ।”एउटा व्यापारीले व्यापार परिवर्तन गर्न जति सजिलो छ, किसानले खेती परिवर्तन गर्न नहुने भन्दै उहाँले चियाको दीर्घकालीन समाधान नभए यहाँका किसानलाई समस्या हुने बताउनुभयो । “व्यापारीलाई कहिल्यै घाटा हुँदैन । उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ । तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन । ठुलो घाटा भनेको किसानलाई हुने हो । त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौँ”, उहाँले भन्नुभयो ।राम्ररी टिपेको चिया रु ४० देखिमाथि रु दुई सयसम्म पनि बिक्री भइरहेको उहाँको भनाइ छ । “गुणस्तरीय चिया टिपौँ न । चियाको न्यूनतम समर्थन मूल्य रु ४० हो । तर चियाको मुना ४० प्रतिशतचाहिँ हुनुपर्छ ।” उहाँ भन्नुुहुन्छ, “चालिस प्रतिशत मुना भएको चियालाई कुनै उद्योगले रु ४० दिएन भने नगरपालिकामा आउनुहोस् हामी दिलाउँछौँ ।”सूर्योदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलव्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईले बताउनुभयो । “बोर्डले किसानलाई सचेतना गराउनुपर्छ, कसरी चिया टिप्नुपर्छ भनेर सिकाउनुपर्छ, किसान ठगिएको छन् कि ? ४० पतिशत मुना भनेको के हो भन्ने कुरा बोर्डले ‘अवार्नेस्’ गर्नुपर्छ”, उहाँले भन्नुभयो ।चिया बिक्री नहुनुको कारण उत्पादन गुणस्तरीय नभएर हो । किसानले पाएका दुःखमा समाजसेवी, अभियान्तालगायत सबैले साथ दिनुपर्ने रार्ई बताउनुहुन्छ । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ ।नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो रु ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको पाँच वर्ष भयो । चिया उद्योगी र किसानसमेतको सहभागितामा कार्यविधि पारित गरिएको थियो । किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, विक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था पनि कार्यविधिमा छ ।नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ । देशभरमै बढी चिया उत्पान हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिकालाई चियाको राजधानी नै भन्ने गरिएको छ । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुन्छ ।

‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न

काठमाडौँ । नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्रालयले गराएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा उल्लेख छ ।

नागमती बाँध आयोजनाले प्रतिवेदन मन्त्रालयमा दिएलगत्तै मन्त्रालयले गत वर्ष भदौ १८ गते सूचना प्रकाशन गरी सार्वजनिक रूपमा सुझाव माग गरेको थियो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ मा बन्ने सो बाँधले संरक्षित क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको ६५।३०४ हेक्टर जमिन ओगट्छ भने ०।२९५ हेक्टर निजी जग्गा पर्ने देखिएको जनाइएको छ । तल पिँधमा सात मिटर चौडाइ रहने गरी ९४।५ मिटर अग्लो र ५५४ मिटर चौडाइको बाँध निर्माण हुने प्रस्तावित प्रतिवेदनमा उल्लेख छ ।

वातावरण संरक्षण नियमावलीलाई टेकेर वन तथा वातावरण मन्त्रालयले सो आयोजनाको औचित्यमाथि नै प्रश्न उठाएको छ । मन्त्रालयले सोको जवाफ संशोधित प्रतिवेदनमा चित्त बुझ्ने गरी दिन भनेको छ । प्रतिवेदनका सवालमा सुझाव समितिको बैठकले झन्डै ४५ बुँदामा विभिन्न प्रश्नको उत्तर माग गरेको छ । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सुझाव सामेल गरेर संशोधन प्रतिवेदन आएपछि त्यो पारित गर्ने नगर्ने भन्नेबारे पुनः छलफल हुने बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालामा तीन वर्षअघि एसियाली विकास बैङ्कसँग सम्झौता गरेपछि आयोजनाको काम अगाडि बढेको हो । प्रस्तावित इआइए प्रतिवेदन हेर्नेबित्तिकै वन मन्त्रालयले आयोजनाको उद्देश्यमाथि नै प्रश्न उठाएको हो ।

बागमतीमा ४५० लिटर प्रतिसेकेन्ड पानी फाल्नकै लागि त्यति ठुलो ऋणमा पोखरी बनाउनुपर्ने वा नपर्ने प्रश्न समितिको बैठकमा उठेको छ । ऋणको मामिलामा सरकारले आयोजनाको औचित्य तथा आर्थिक अध्ययन सरकारले गर्नुपर्ने सुझाव दिइने भएको छ । सोधिएको प्रश्नमा चित्तबुझ्दो जवाफ नआएमा सो विषयमा अझ विस्तृत सुझाव माग गर्ने तयारी मन्त्रालयले गरेको छ । वातावरण प्रभाव मूल्याङ्कन शाखा अधिकृत मधु घिमिरेले बाँध फुट्दा आउने जोखिमबारे दीर्घकालीन र अल्पकालीन समाधानका उपाय प्रस्ट उल्लेख नगरिएको बताए । उनका अनुसार अर्को विषय भनेको नागमती बाँध संरक्षित क्षेत्रको कोर एरिया उजाड बनाउने गरी बन्दै छ । त्यसलाई वन मन्त्रालयले निकै संवेदनशील रूपमा लिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

इजरायली सेनाले खान युनिसको नियन्त्रणलाई बलियो बनाउँदै

इजरायली सैनिकहरूले खान युनिसमाथि आफ्नो परिचालन नियन्त्रणलाई बलियो बनाउँदै लगेको इजरायली रक्षा बलले बिहीबार बताएको छ । खान युनिस गाजाको दोस्रो ठूलो शहर हो र यसलाई हमास नेता याह्या सिनवारको व्यक्तिगत गढ पनि मानिन्छ । उनको परिवार त्यहाँ बस्ने गरेको अनुमान छ।

ओज ब्रिगेडका सिपाहीहरू, जसलाई “कमान्डो ब्रिगेड” भनेर पनि चिनिन्छ उनीहरूले शहरी युद्धमा विशेषज्ञ, स्नाइपर फायर, सटीक मिसाइलहरू र ट्याङ्क फायर प्रयोग गरेर थुप्रै आतङ्ककारी टोलीहरूलाई नष्ट गरेको दाबी गरिएको छ । साथै अन्य चार आतङ्ककारीहरू नजिकको लडाइँमा मारिएको बताइएको छ।

एउटा विशेष अपरेशनमा स्नाइपरहरूले थुप्रै आतङ्ककारीहरूलाई तिनीहरूको सुरुङबाट झुक्याएर मारेको बुझिएको छ ।ओज ब्रिगेडका अन्य एकाइका सिपाहीहरूले हमासको कमाण्ड र नियन्त्रण केन्द्रमा छापा मारेको र उनीहरूले ठूलो मात्रामा गोला बारूद, हतियार, रणनीतिक रेडियो, रात्रि दृष्टि उपकरण, नक्सा र महत्त्वपूर्ण खुफिया सामग्रीहरू राखेको पाइएको छ। प्यालेस्टिनी इस्लामिक जिहादको खुफिया कमाण्डरको छुट्टै कमाण्ड र नियन्त्रण केन्द्रमा पनि छापा मारिएको र थप हतियारहरू फेला परेको सेनाले जनाएको छ ।

गत अक्टोबर ७ मा गाजा सीमा नजिक इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तिमा १ हजार २०० व्यक्तिको मृत्यु भएको थियो। गाजामा हमासले बन्दी बनाएर राखेका पुरुष, महिला, बालबालिका र सैनिकहरूको सङ्ख्या अहिले १३६ रहेको विश्वास गरिन्छ।

पशुपतिनाथले सबैको कल्याण गरुँन, हेर्नुहोस् माघ १४ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अधुरा कार्यहरु सुचारुगर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानि उठाउन उत्तम समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देशबिदेशको यात्राको सम्भाबना रहेकोछ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्यन अध्यापन मध्यम रहला ।

बृष राशि – गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । अध्यन अध्यनमा समय मध्यम रहेता पनि मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहनेछ । आटँ शाहसको कमि भएको महसुस रहनेछ । आम्दानिको तुलनामा अधिक खर्चहुनाले मनमा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।

मिथुन राशि- आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नु पर्ने समय रहेकोछ । भुमी तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नु पर्ने समय रहेकोछ । सामाजीक कार्यको क्षेत्रमा अग्रसर रहने समय रहेकोछ ।

कर्कट राशि – बल तथा पराक्रमका क्षेत्रबाट जटिल कार्यहरु सम्पादित रहनेछन । इष्टमित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । मनोरञ्जन मुलक यात्राको योग रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहनेछ ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि – कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

बेलायतले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीलाई सहयोग ‘अस्थायी रूपमा रोक्न’ सक्ने

इजरायलले अक्टोबर ७ मा हमासको आक्रमणमा थुप्रै कर्मचारीहरू संलग्न भएको आरोप लगाएपछि बेलायती सरकारले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको एजेन्सीलाई “अस्थायी रूपमा आर्थिक सहयोग रोक्न” सकिने उल्लेख गरेको छ।

“युएनआरडब्ल्यूए कर्मचारी इजरायल विरुद्धको अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न रहेको आरोपले बेलायत स्तब्ध भएको छ,” विदेश कार्यालयले जनाएको छ ।”हामी यी आरोपहरूको समीक्षा गर्ने क्रममा सहायता रोकिने छौ”, कार्यालयले उल्लेख गरेको छ ।

भेनेजुएलाको अदालतले राष्ट्रपति पदका उम्मेदवारलाई अयोग्य घोषित गरेपछि अमेरिकाले प्रतिबन्ध लगाउने तयारी

भेनेजुएलाको सर्वोच्च अदालतले यस वर्षको निर्वाचनका लागि उम्मेदवार विपक्षी राष्ट्रपतिलाई अयोग्य ठहराएपछि अमेरिकाले शनिबार चेतावनी दिएको छ।

उमेद्वार मारिया कोरिना मचाडोमाथि शुक्रबारको प्रतिबन्धपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथिको प्रतिबन्धको “हाल समीक्षा” गरिरहेको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयलेपछिल्लो घटनाक्रम र प्रजातान्त्रिक विपक्षी उम्मेद्वारहरू र नागरिक समाजको हालको राजनीतिक गतिविधिको समीक्षा गरेको उल्लेख गरेको छ ।

पूर्वी रुवाण्डामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु, ४ जना बेपत्ता

पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटना भएको हो । किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ ।

“जहाजमा ४६ जना यात्रु रहेको बुझएको थिए । शनिबार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जनाकारी दिएका छन् ।

अझै चार जनाको खोजी जारी छ,” एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बुझिएको छ।किसानहरू बाली स्यारेर फर्किएकाले डुङ्गामा मकै, सिमीलगायतका कृषि उपजको भारी रहेको उनले बताएका छन् ।

सम्भावना भएको देशमा निराशा बाँड्ने काम नगरौँ : मुख्यमन्त्री जम्कट्टेल

भरतपुर-बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्भावना नै सम्भावना भएको देशमा निराशा बाँड्ने काम गर्न नहुने बताउनुभएको छ । नेपाल युवा परिषद्को आयोजनामा माडीमा आयोजित बागमती प्रदेशस्तरीय युवा सम्मेलनको उद्घाटनसत्रमा बोल्दै जम्कट्टेलले निराशाको कुरा गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निराशा बाँडेर हामी कहाँ पुग्छौँ ? के हाम्रो देश विकास नभएकै हो त ? विकास त भएको छ तर निराशा बाँड्नेलाई छुट छैन । योजना दिने हो कार्यक्रम दिने हो । सक्छौँ, सक्नुपर्छ भन्ने हो । सम्भावना नै सम्भावना छ, सम्भावना खोजौँ । आफैँ नेतृत्वमा हुने अनि फेरि निराशा बाँड्ने हो ? आशा जगाउने काम गर्नुपर्छ ।” उहाँले देशमा युवा विदेश जाने कुरा फेशनजस्तै आएको बताउनुभयो ।उहाँले विदेश जानलाई रोक्ने भन्दा पनि सीप र ज्ञान लिएर विदेश जाने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “विदेश जानबाट युवालाई रोक्नलाई के गर्ने ? जागिर हो कि हाम्रो बुवाआमाले गरेको पेसा हो कि ? के हो ? एउटा गएपछि अर्काे पनि जानैपर्यो । विदेश जान हुँदैन भन्ने होइन । अमेरिकाका मानिस हाम्रो देशमा काम गर्छन् । अमेरिकाको एउटा आइटी कम्पनी हाम्रो देशमा छ । विश्वभरको काम यहीँ गर्छन् । भारत र चीनका मानिस पनि संसारभर छन् । जानै परे सीप र पढाइ लिएर जाँदा राम्रो हुन्छ ।” उहाँले सकेसम्म स्वदेशमै रोजगारीमा लाग्नुपर्ने विचार राख्नुभयो ।मुख्यमन्त्री जम्कट्टेलले युवाहरूले सामाजिक विकास र ज्ञानलाई बिर्सन नहुने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “हामी युवाहरू उमेर र क्षमताको हिसाबले अगाडि छौँ, पछिल्लो सामाजिक सञ्जालको चेतनाको हिसाबले अगाडि छौँ ।” उहाँले आफू घरमा घाँस काटेर, भकारो सोरेर दुई घण्टाको स्कुल गएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “मैले मलको डोको बोकेर लान्थेँ । स्कुलबाट फर्किएर आउँदा पराल लिएर आउनुपर्दथ्यो कि त धान लिएर आउनु पर्दथ्यो । तर अहिलेको युवालाई पढ्ने पूरा समय हुँदा पनि पढ्न सकेका छैनन् ।”उहाँले युवा सम्मेलनमा समाजको विकास र सामाजिक अध्ययनबारे छलफल गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले देशमा केही छैन भनेर निराशा पोख्नेभन्दा पनि यस्तो कार्यक्रम गरौँ भनेर योजना दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री जम्कट्टेलले कार्यक्रममा युवाहरूले नेपालमा डाक्टर पढ्न पाउने कि नपाउने भनेर सडकमा आएर नारा लगाउनुपर्ने बताउनुभयो ।त्यस्तै उहाँले नर्स पढ्न पाउने कि नपाउने भनेर लाइन लगाएर सडकमा उभिन युवाहरूलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “चालीस हजार विद्यार्थी एसइई पास गरेका छन् । पिसीएल नर्सिङ पढ्छु भनेका छन् । कसले रोकेको हो । एमबिबीएस पढ्ने डाक्टरहरू हजारौँ पास हुनुहुन्छ, बागमती प्रदेशमा डाक्टर र नर्स सबैले पढ्न पाउनुपर्छ । यो पनि तपाईँको छलफलको विषय बनोस् ।”उहाँले धेरै युवाहरू मन्त्री र नेता देखेपछि ‘इरिटेट’ भइरहेको बताउनुभयो । उहाँले कृषि पेसालाई पनि उद्यमशीलताअन्तर्गत राख्नुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलता भनेको देशमा जे आवश्यकता छ त्यही छ । नेपालमा कृषि पेसालाई उद्यमशीलता मान्दैनन् । खेती गरेर खाने, तरकारीखेती गर्ने मानिसलाई उद्यमशीलता मान्दैनन् । हामीले गर्ने मूल पेसा नै कृषि नै हो । हेटौँडा कपडा उद्योग खोल्ने हो भने कपासखेती कहाँ गर्ने हो प्रस्ताव ल्याउनुहोस् । बाख्रा पाल्नुस्, तरकारीखेती गर्नुहोस् भन्ने सल्लाह दिन्छु ।”मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारले समुदायमा आधारित पकेट क्षेत्र उत्पादनको नीतिअनुसार किसानलाई नै समुदायमा आधारित बनाउने योजना ल्याएको बताउनुभयो । उहाँले प्रदेशमा उद्यमशीलताको कुरा गर्दा कृषि र पर्यटन मुख्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच हजार युवा कृषिमा आबद्ध हुने भनेर आउनोस् म पनि लाग्छु । बजेट पनि छ । कृषिमा संलग्न १० हजार युवा तयार गरौँ ।”उहाँले युवालाई गाउँमा शिक्षक हुन जान पनि अनुरोध गर्नुभयो । विज्ञापन गर्दा कोटा नै नपुग्ने गरी शिक्षकको अभाव रहेको उहाँले बताउनुभयो । तीन दिनसम्म माडीमा चल्ने प्रदेश युवा सम्मेलनमा १३ जिल्लाका युवाहरूको प्रतिनिधित्व रहेको छ ।—

इराक र अमेरिकाद्वारा अमेरिकी नेतृत्वको गठबन्धनका विषयमा वार्ता शुरु

इराकमा अमेरिकी नेतृत्वको अन्तरराष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्ता शनिबार शुरु गरिएको इराकी सरकारले जनाएको छ। इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीको सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा अल-सुदानीले वरिष्ठ इराकीहरू उपस्थित भएको बैठकको अध्यक्षता गरेको तस्विर प्रकाशित गर्दै पहिलो चरणको वार्ताको शुरु भएको उल्लेख गरेको छ ।

बिहीबार, इराकले इराकमा अमेरिकी नेतृत्वको अन्तरराष्ट्रिय गठबन्धनको मिसनको अन्त्यबारे छलफल गर्न उच्च सैन्य आयोग गठन गर्न संयुक्त राज्य अमेरिकासँग सहमत भएको जनाएको छ। इराकले उल्लेख गरेको छ- आयोगले इस्लामिक राज्यद्वारा उत्पन्न खतराको मूल्याङ्कन गर्ने र इराकी सुरक्षा बलहरूको क्षमताहरूको मूल्याङ्कन गर्नेछ । इराकमा अन्तरराष्ट्रिय गठबन्धन सल्लाहकारहरू क्रमशः घटाउने र गठबन्धनको सैन्य अभियानको अन्त्यको लागि स्पष्ट समयतालिका तयार गर्ने विषय पनि अगाडि सारिएको बताइएको छ ।

मैदानमौवादेवी खेलको स्तरोन्नतिका लागि ५० लाख बजेट विनियोजन गर्छु : मुख्यमन्त्री यादव

बारा- मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मैदानमौवादेवी खेलको स्तरोन्नतिका लागि रु ५० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।जितपुरसिमरा–१८ स्थित मौवादेवी युवा क्लबको खेलमैदानमा सुरु मनहर्वा गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवा खेलमैदान स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको योजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता गर्नुभयो ।

मुख्यमन्त्री यादवले लागुऔषधमुक्त समाज निर्माणका लागि निजगढमा सुधार केन्द्र भवन निर्माण गरिनेसमेत उद्घोष गर्नुभयो । उहाँले प्रदेशमा स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि काम भइरहेको बताउनुभयो ।मधेस प्रदेश सरकारका खेलकुदमन्त्री सुरिताकुमारी साहले प्रतियोगिताका लागि मन्त्रालयबाट रु चार लाख उपलव्ध गराउने बताउनुभयो । खेल र खेलाडीको विकास एवं स्तरवृद्धिका लागि प्रदेश सरकार पूर्णरूपमा अग्रसर भइरहेको उहाँको भनाइ थियो ।कार्यक्रममा बारा क्षेत्र नं ३ की प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ज्वालाकुमारीले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न आफू तयार रहेको बताउनुभयो । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो दिन आयोजक मौवादेवी युवा क्लबले नमस्ते युवा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा–१८ स्थित मौवादेवी खेलमैदानमा आज भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।

एकीकृत समाजवादी: राष्ट्रिय परिषद्को तयारी पूरा, नेतृत्वमा उमेरको हदबन्दी हटाइने

काठमाडौँ,- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दोस्रो राष्ट्रिय परिषद्को बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ ।पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टीको विधान हेरफेर गर्न भोलिदेखि काठमाडौँमा हुने परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टी निकट सबै कमिटीबाट सुझाव सङ्कलन गरेको हो ।

विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ ।

भोलिदेखि दुई दिनसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने उक्त परिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने बैठकस्थल सजाइएको छ भने प्रतिनिधिको खाने, बस्नेलगायत आवश्यक व्यवस्थापन पूरा भएको छ ।

बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको बैठकको लोगो सार्वजनिक गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुहुने बैठकले विधान संशोधन गरेपछि त्यसलाई अनुमोदन गरिने छ । नयाँ विधानका आधारमा आगामी जेठमा पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।