`

शीतलहरले जनजीवन कष्टकर, घाम ताप्न पहाड उक्लिँदै सर्वसाधारण

सुदूरपश्चिम-निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।

यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । जाडो बढेपछि धनगढीबाट झण्डै ३५ किलोमिटर उत्तरतर्फ चुरे पहाडी क्षेत्रका डाँडामा लागेको घाम ताप्न तराईतिरबाट सर्वसाधारण पुग्न थालेका छन् ।घाम झुल्किन नपाउँदा महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन पनि समस्या भएको स्थानीयले बताएका छन् । “घाम लाग्दैन, धोएको लुगासमेत सुकाउन समस्या भयो”, धनगढीका माया जोशीले भन्नुभयो ।डडेलधुराका प्राध्यापक मेखराज जोशी तराईको मौसम जस्तोसुकै भए पनि पहाडबाट तराईमा बसाइँसराइ गर्नेहरू बढ्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वर्षा र गर्मी मौसममा असह्य गर्मी तथा डुबानको समस्या, हिउँदमा शीतलहरको जाडो भए पनि के गर्नु, तराई नै रोज्ने बढी मान्छे छन् ।”धनगढीबाट कैलालीको चुरे पहाडी क्षेत्र पुगेका पत्रकार श्रवण देउवाले दिउँसोको समयमा घाम लाग्ने चुरे पहाडका डाँडामा धेरै मान्छेले घाम तापिरहेको दृश्य देखिएको बताउनुभयो । हिँउदेयाममा निरन्तरको शीतलहरसँगै देखिने डढुवा रोगले तराईका कैलालीसहितका जिल्लामा आलु, गोलभेँडा लगाएको तरकारी बालीमा प्रतिकूल असर पुर्याउने गरेको छ । 

करोड डिल गरेर ६ लाखमा थुनुवा भगाउने तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौँ, १३ माघ : लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी रु छ लाख २५ हजार रकम बुझेको पाइएको छ । थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले रु एक करोड मागेका र कुराकानी गर्दा रु १० लाखमा डिल भएको भए पनि रु छ लाख २५ हजार लिएर थुनावालाई भगाएको खुलेको हो ।

घटना २०६४ साल जेठको हो । नयाँ बानेश्वरबाट पक्राउ भई लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानका क्रममा काठमाडौँ प्रहरीको हिरासत कक्षमा रहेका भारतका असरफ आलमलाई सोही साल जेठ ९ गते राति प्रहरी जवान वीरबल राय यादवले भगाएका थिए ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उक्त घटनामा संलग्न रौतहटको पथरावुधराम घर भई काठमाडौँ प्रहरीको हिरासत कक्षमा कार्यरत तत्कालीन प्रहरी जवान वीरबल राय यादव त्यसपछि फरार थिए । उनलाई कार्यालयको विशेष अनुसन्धान टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल–भारत सिमानाको काकडभिट्टाबाट पक्राउ गरी काठमाडौँ ल्याएर अनुसन्धान थालिएको छ ।अनुसन्धानका क्रममा ती प्रहरीले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखतसमेत गरी इन्सपेक्टर सापले बोलाउनुभएको छ भनी थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको र त्यसपछि आफू फरार भएका रेग्मीले बताउनुभयो । उननले प्रतिवादीलाई हिरासतबाट निकाली कालिमाटी-कलङ्की-बुटवल हँुदै भारतको रक्सौल पुर्याएका थिए ।प्राप्त रकमले भारतको कोलकातामा दुईवटा ट्याक्सी खरिद गरी चलाउँदै आएकामा अहिले उनीसँग नौवटा ट्याक्सी रहेको खुलेको छ । उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्ससमेत बनाएको भन्ने खुल्न आएको जनाइएको छ । उनी हाल भारतको कोलकातामा श्रीमतीसहित बसोबास गर्दै आएको पनि खुलेको छ ।उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । परिसरले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।—

दश हजारले गरे नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी अवालोकन

काठमाडौँ, १३ माघ : नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गरेका छन् । नेपाली सेनाद्वारा सेना दिवसका अवसरमा जङ्गीअड्डा परिसरमा आयोजित पाँच दिनसम्म सञ्चालित उक्त प्रदर्शनीे १० हजार जनाले अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो । माघ ९ देखि १३ गतेसम्म सञ्चालन रहेको प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने डकुड्रामा, फोटो, हातहतियार र उपकरणहरू राखिएको थियो ।

प्रदर्शनीमा सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद तथा विद्यालयलगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीसमेत राखिएको थियो । प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान समयमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी दिइएको निर्देशनालयले जनाएको छ ।

अध्यक्ष नेपालसँग उपमन्त्री हेयानको शिष्टाचार भेट

काठमाडौँ, १३ माघ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयानले शिष्टाचार भेट गर्नुभएको छ ।

उपमन्त्री हेयानले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर भेटवार्ता गर्नुभएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, नेकपा (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउनका लागि आपसी अन्तरक्रिया, सांस्कृतिक आदानप्रदान, भ्रमण गर्नेलगायतका विषयमा छलफल भएको छ । यसैबीच उपमन्त्री हेयानले सम्मानित नेता झलनाथ खनाललगायत नेतालाई भेट्नुभएको छ ।

सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

किमाथाङ्का, (सङ्खुवासभा) १३ माघ : सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ ।उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ । हिमपातले उत्तरी क्षेत्रको किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मङ्गलबारे, क्षेत्रका डाडाँकाँडा हिउँले सेताम्मै भएका छन् ।

बाक्लो हिमपात भएकाले जनजीवन कष्टकर भएको छ । अहिले पनि त्यस क्षेत्रमा हल्का वर्षा भइरहेकाले हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ । हिउँ परेपछि उच्च हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका छन् भने आमसर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।

एनआरटीले चुम्यो इलाम गोल्डकपको उपाधि

मङ्गलबारे (इलाम), १३ माघ : इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडाँै (एनआरटी)ले चुमेको छ । आज भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । प्रतियोगितामा विर्तामोड युनाइटेड झापा उपविजेता भएको छ ।

विर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया आजको खेलमा प्लेयर अफ दि म्याच घोषित भए । एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए । एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टर फाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । विर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टर फाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केदार थापालगायतका अतिथिले वितरण गर्नुभएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु पाँच हजार पुरस्कार वितरण गरिएको छ । गएको माघ ६ गतेबाट सुरु भएको प्रतियोगिता रेडहर्स फुटबल क्लबले आयोजना गरेको हो ।

नेपाली सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

काठमाडौँ, १३ माघ : नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतका द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने सेनाको अनुमान छ । सङ्खवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब परीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएको ती विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय तुल्याएको जानकारी दिनुभयो ।
 

नेपाल–भारतबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छ : मन्त्री साउद

काठमाडौँ, १३ माघ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढङ्गबाट अघि बढिरहेको बताउनुभएको छ ।भारतको ७५औँ गणतन्त्र दिवसका असरमा नेपाल–भारतमैत्री समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्याइने धारणा राख्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “दुई देशबीचको सन् १९५० को सन्धि र सीमा बहुआयामिक विषय भएकाले जनताका हित हुनेगरी वस्तुगत र व्यावहारिक भएर निर्णयमा पुग्नुपर्छ ।” दुवै देश मित्रशक्ति भएकाले मिलेर जान नसकिने कुरा सोच्न पनि नसकिने बताउँदै उहाँले दुवै देशका सीमाक्षेत्रमा रहेका नागरिकप्रति असल व्यवहार र संस्कार प्रदान गर्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तालिम र प्रशिक्षणको खाँचो औँल्याउनुभयो ।परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि भएका भेटघाट र भ्रमणमा भारतीय नेताहरू र नागरिकमा नेपाल र नेपालीप्रति सहृदय देखेको बताउँदै मन्त्री साउदले सुस्ता र कालापानीका विषयमा पनि भारतीय पक्षले हार्दिकताकासाथ कार्यदलमार्फत काम ठोस रूपमा अघि बढोस् भन्ने मनसाय आफूले पाएको बताउनुभयो ।उहाँले भन्नुभयो, “नेपाल र भारत एउटै सांस्कृतिक विरासतमा रहेका मुलुक हुन् । दुई देशबीच सदियाँै पुरानो अन्योन्याश्रित सम्बन्ध छ । भाषा, भूगोल र संस्कृतिले जोडेको छ, यो सम्बन्ध समृद्धि, विकास र शान्तिका लागि प्रयोग गरिनुपर्छ ।” विगत ७५ वर्षमा आर्थिक विकास र समृद्धिका हिसाबले भारत विश्वका अन्य देशका लागि आदर्शकै रूपमा रहेको बताउँदै मन्त्री साउदले दुवै छिमेकी मुलुक आपसी हितका आधारमा सम्बन्धलाई थप अनुपम बनाएर अघि बढिरहेको उहाँको भनाइ छ ।त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले दुवै देशबीचको सम्बन्ध केन्द्रमा मात्र नभई क्षेत्रगतरूपमा समेत थप प्रगाढ तुल्याउनतर्फ मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मानव जातिका सबै चुनौती सामना गर्न नेपाल–भारतबीच मिलेर काम गर्न आवश्यक रहेको विचार प्रकट गर्नुभयो ।भारतले औद्योगिकरण, आर्थिक वृद्धि, सूचना प्रविधिको विकासमा ठूलो फड्को मारेको बताउँदै उहाँले समान भाषा र संस्कृति भएको हुनाले दुवै देशले मिलेर सबैखाले चुनौतीलाई सामना गरी अघि बढ्नुपर्ने अहिलेको खाँचो औँल्याउनुभयो ।नेकपा (एमाले)का नेता डा राजन भट्टराईले नेपाल र भारत छिमेकीमात्र नभई बहुआयामिक विशिष्ठतासहितका हितैसी सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतसँग आर्थिक, सांस्कृतिक, समाजिक, सभ्यताका हिसाबले जोडिएका छाँै, त्यो सम्बन्धलाई अहिलेको चेतना र बुझाइअनुरुप परिभाषित गर्दै सुमधुर र प्रगाढ तुल्याउने हिसाबले अघि बढनुपर्छ ।”लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुवै देशबीच भाषा, संस्कृति, धर्म समान रहेकाले विशेषखाले सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी मुलुक भारत विश्वमै सम्पन्नतातर्फ उन्मुख भइरहेका बेला छिमेकमा रहेको नेपाल भने विपन्नताबाट स्तरोन्नति हुन नसक्नु चिन्ताको विषय हो । राजनीतिक स्थिरता कायम गरी नेपालले अघि बढ्नुपर्ने अहिलेको खाँचो छ ।”नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले आफ्नो गुरुकुल भारत विकासका दृष्टिले फलेको, फुलेको र फष्टाएको देख्दा खुसी लागेको बताउनुभयो । नेपाल–भारतमैत्री समाजका अध्यक्ष प्रेम लस्करीले सनातनदेखि नै नेपाल–भारतबीच भेषभूषा, धर्म, संस्कृति र नदीनालाले जोडेको सम्बन्धलाई कसैले चाहँदैमा नडगमगाउने बताउनुभयो ।भारतीय दूतावासका डिसिएम प्रशन्न श्रीवास्तवले सामाजिक र सांस्कृतिक हिसाबले दुवै देशबीचमा जनस्तरमा समेत घनिष्ट र प्रगाढ सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा भूकम्पमा समेत भारत र भारतीय जनताले प्रभावित क्षेत्रमा राहत र सहयोग उपलव्ध गराउने अवसर पाएका थिए ।”भारतले शुक्रबार आफ्नो ७५औँ गणतन्त्र दिवस मनायो । समाजले हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा नेपाल र भारतका राजनीतिज्ञ तथा कूटनीति क्षेत्रका बुद्धिजीवीसँग दुई देशबीचका सम्बन्धका विविध आयामबारे छलफल तथा अन्तरक्रिया गर्दै आएको छ । 

उत्तरगङ्गा जलविद्युत्को वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

गलकोट (बागलुङ), १३ माघ : बहुप्रतिक्षित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी बाटो खुला भएको छ ।

नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको छ । इआइए स्वीकृत भएसँगै अब आयोजनाको काम अघि बढ्ने देखिएको छ । आयोजना सिकार आरक्षभित्र निर्माण गर्नुपर्ने भएकाले कानुनीरुपमा संरक्षित क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्याङ्कनविना आयोजना अघि बढ्दैन ।

जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट आयोजनाले २०७६ सालमा ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागमा पेस गरेको चार वर्षपछि स्वीकृति पाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएसँगै ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र पर्ने आयोजनामा काम गर्नका लागि सरकारले स्वीकृति प्रदान गरेको आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिनुभयो ।

“कानुनी अड्चन पूरा भएको छ, ठूलो आयोजना तत्कालै बन्दैन, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुनु भनेको उक्त आयोजना बन्नका लागि सरकारले स्वीकृति दिनु हो”, झाले भन्नुभयो, “विसं २०७६ मा बुझाएको वातावरणीय प्रभाव मूल्याङ्कन अहिले आएर स्वीकृत भएको छ, यो आयोजना नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षभित्र पर्ने भएकाले कानुनी जटिलता धेरै थियो, आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुनु भनेको सिकार आरक्षभित्र काम गर्न सरकारले अनुमति दिनु हो ।”

आयोजना अब बजेट सुनिश्चततासँगै निर्माणमा जानसक्ने उहाँको भनाइ छ । आयोजनाको प्रारम्भिक अध्ययन भए पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्न सकेको छैन । डिपिआरका लागि सम्झौता गरेको कम्पनीसँग सम्झौता रद्द गरेर नयाँ कम्पनीलाई डिपिआरको जिम्मा दिने तयारी आयोजनाको छ । वातावरण संरक्षण नियमावलीअनुसार उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न वातावरणीय प्रभावका हिसाबले उचित ठहर भएको पाइएको छ ।

आयोजनाले उत्पादन लाइसेन्सका लागिसमेत विद्युत् विकास विभागमा निवेदन दिइसकेको छ । अब आयोजनका लागि आवश्यक जग्गा अधिकरण गर्ने तयारी थालिनेछ । आयोजना सम्पन्नका लागि रु डेढ खर्ब रकम आवश्यक भएकाले रकम सुनिश्चितता अर्को महत्वपूर्ण काम आयोजनाका लागि आवश्यक रहने झाले बताउनुभयो ।

आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि चल्दै आएको छ । झाकाअनुसार आयोजनाले उत्तरगङ्गा पावर कम्पनीमार्फत निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको छ । उक्त बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगङ्गा नदी उपत्यकामा बाँध बाँधेर हिउँद र बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको रहेको छ ।

हिउँद र बर्खामा आठ सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ । बागलुङमा बगिरहेको उत्तरगङ्गा नदी रुकुमको सानीभेरीमा मिसिँदै आएको छ । विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य छ ।

विसं २०६१ देखि आयोजनाको प्रारम्भिक सर्वेक्षण सुरु गरे पनि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भने चार वर्षअघि मात्रै सम्पन्न भएको थियो । उक्त रिपोर्ट अहिले स्वीकृत भएपछि आयोजना निर्माण हुनेमा जनतामा आशा पलाएको छ । ढोरपाटनको उत्तरगङ्गा नदीमा दुई सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई सुरुङमार्ग हुँदै एक हजार छ सय ३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीपछि बाख्रापालनमा रमाएका केशवबहादुर, कमाउछन् मासिक ५० हजार

मध्यविन्दु (नवलपरासी), १३ माघ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त हुनुहुन्छ ।

पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किनुभएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त आम्दानी गरिरहनुभएको छ । “पन्ध्र वर्ष कुवेतमा रोजगारी गरेँ, सधैँ परिवारसँग बिछोडिएर विदेश बस्न मन लागेको थिएन”, उहाँले भन्नुभयो, “स्वदेश फर्केपछि रु छ लाख लगानी गरेर घरमा व्यावसायिक बाख्रा पाल्न थालेको हुँ ।”

विदेशमा मासिक ५० हजार कमाई गर्ने केशवबहादुरले अहिले सो बराबरको कमाई बाख्रापालनबाट हुने गरेको बताउनुभयो । कम लगानी र थोरै मेहनतमा प्रशस्त आम्दानी गर्न सकिने भएकाले बाख्रा पाल्ने सोच आएको उहाँको भनाइ थियो ।

“वार्षिक खसीबोका बिक्रीबाट रु चार लाखसम्म आम्दानी हुने गरेको छ,” केशवबहादुरले भन्नुभयो, “भैँसी, बुङ्गुर पनि पालेको छु । त्यस छुट्टै कमाई भइरहेको छ ।” अहिले खोरमा ४५ वटा बाख्रा रहेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी वर्ष बिक्रीका लागि तयार गर्नेगरी अहिले २५ वटा पाठापाठी हुर्किरहेका छन् ।

बाख्रालाई चाहिने दाना, पानी, घाँस, पराल सबै आफैँले गर्ने गरेको केशवबहादुरले बताउनुभयो । “जमुनापारि जातका बाख्रा पालेको छु । तीन वर्ष भयो, आम्दानी प्रशस्त भइरहेको छ । यसबाट जीविकोपार्जनमा सहज भइरहेको छ”, उहाँले भन्नुभयो, “एउटा खसी एक वर्षमा ४५ किलोसम्मको बनाएर बेच्ने गरेको छु । एउटा खसी बेच्दा रु २५–३० हजारसम्म पर्ने गरेको छ ।”

कालीगण्डकी करिडोरअन्तर्गतको गैँडाकोट रामपुर सडक खण्डसँगै जोडिएको घरमा केशवबहादुरले दुईवटा आधुनिक बाख्राको खोर बनाउनु भएको छ । अरूभन्दा छिटो आम्दानी हुने र मेहनत पनि कम लाग्ने भएकाले बाख्रा पाल्न थालेको उहाँको भनाइ थियो । “विदेश छाडेर आएपछि व्यावसायिक बाख्रापालन थालेको छु । यहीँ पेसालाई निरन्तरता दिँदै जाने हो”, उहाँले भन्नुभयो ।

घाँसका लागि दुई बिघा जमिनमा घाँस खेती गरेको केशवबहादुरले जानकारी दिनुभयो । “बर्खा मौसमलाई पनि हुने गरी पाखो बारीमा घाँस लगाएको छु । हिउँदका लागि घर नजिकैको खेतमा लगाएको छु”, उहाँले भन्नुभयो । कुवेतमा दैनिक १२ घण्टा श्रम गरेर फर्केको अनुभव अझै ताजा रहेको बताउँदै अहिले घरआँगनमा परिवारसँगै काम गर्न पाउँदा धेरै सहज भएको उहाँले अनुभव सुनाउनुभयो ।

बाध्यताले विदेश गएको भन्दै केशवबहादुरले गाउँघरमा आम्दानीका अवसर खोज्न सकिने बताउनुभयो । “विदेशमा गर्ने मेहनतको आधा मेहनत मात्र यहाँ गर्ने हो भने राम्रो कमाई हुने रहेछ”, उहाँले भन्नुभयो, “अहिलेका युवा पुस्तालाई काम सानो ठूलो हुँदैन भन्ने बुझाउन सके परदेशमा दुःख पाउने थिएनन् ।”

कृषि तथा पशुपालनमा विभिन्न अनुदान र सहुलियत पाइने सुनेको भए पनि अहिलेसम्म कहीँ कतैबाट सहयोग नपाएको केशवबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुदान अहिलेसम्म केही पनि पाएका छैनौँ । सरकारी अनुदान साना किसानका लागि अनुदान तथा तालिमको व्यवस्था गरे सहज हुने थियो ।”

मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता – सांसद डा स्वर्णिम वाग्ले

दमौली (तनहुँ), १३ माघ : सांसद डा स्वर्णिम वाग्लेले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको समेत जिम्मेवारीमा रहनुभएका तनहुँ–१ का सांसद वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताउनुभयो ।

आज तनहुँ उद्योग वाणिज्य सङ्घको १७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदस्थापन कार्यक्रममा उहाँले भन्नुभयो, “सधैँ निराशाका कुरा गरेर मात्र हुँदैन । मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ ।”

डा वाग्लेले राजनीतिलाई सङ्ल्याउँदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।

रास्वपाले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै डा वाग्लेले रास्वपा अब सदन र सडक दुवैमा क्रियाशील हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी संसद्मा विभिन्न विधेयक दर्ता गर्छौँ तर अहिलेको प्रणालीले बहुमतका आधारमा ती विधेयक फेल हुने गरेका छन् । त्यस्ता विधेयकहरू जनताका माझ लगेर यो ठीक छ वा छैन भनेर सोध्छौँ ।”

डा वाग्लेले देशभरका अलपत्र विकास योजनामा पनि पार्टीले खबरदारी गर्ने नीति लिएको जानकारी दिनुभयो । अर्थतन्त्रलाई सही मार्गमा ल्याउनुपर्ने आवश्यकतामाथि चर्चा गर्दै वाग्लेले भन्नुभयो, “सार्वजनिक खर्चमा देखिएको शिथिलतालाई समाधान गर्नुपर्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा लगानीका वातावरण भित्र्याउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राष्ट्रियताको भावना विकास भएमात्रै मुलुक बन्न सक्ने बताउनुभयो ।सो अवसरमा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रलाई निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शपथग्रहण गराउनुभयो । त्यस्तै मिश्रले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले संस्थाको गरिमालाई अझ उचो बनाउने प्रतिबद्धता जनाउनुभयो ।

विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

मोरङ, १३ माघ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा रु ७६ लाखमा निर्मित तीनतल्ले भवनको आज उद्घाटन गर्दै उहाँले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताउनुभयो ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले प्रदेशका विकास–निर्माणका काममा समयमा नै सम्पन्न गरी जनतालाई विकासको अनुभूति गराउनुपर्छ भन्नुभयो ।

धरहरा क्षेत्रमा रहेको भवनमा पार्किङकाे व्यवस्था

काठमाडौँ, १३ माघ : गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ । कामपाले उक्त सेवा भोलि माघ १४ गतेदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा उपलव्ध गराउन लागेको जनाएको छ ।

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलव्ध हुने भएको हो । कामपाले न्यूरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङस्थल उपलव्ध गराउने क्रममा उक्त स्थानबाट सेवा दिन लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, “यसअघि काठमाडौँ टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलव्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलव्ध गराउन लागेका हौँ ।”

पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलव्ध हुनेछ । शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । गएको दसैँदेखि छठपर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।

माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन प्रधानमन्त्रीको अपिल

काठमाडौँ, १३ माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताउनुभएको छ ।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गर्नुभयो ।

“देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु”, विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो । जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“कतिपय अझै घाइतेका रूपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरूलाई घाइतेको सूचीमा समावेश गरिन्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ ।”

प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका अध्यक्ष दाहालले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मामा लिने विश्वास दिलाउनुभयो । सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उहाँको भनाइ थियो ।

सहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उहाँले अब सबै माओवादी विचारधारा केन्द्रीकृत हुने विश्वास व्यक्त गर्नुभयो । “समान त्याग र बलिदान गरेका सपुतहरू एउटै केन्द्रमा आबद्ध हुने अवस्था आउँदैछ, वैज्ञानिक समाजवादका उद्देश्य बोकेका सबैलाई एकै ठाउँमा ल्याउन प्रतिष्ठानको पनि प्रयास होस्”, उहाँले भन्नुभयो, “त्यही एकताको पाटोबाट नयाँ पुस्ताको नेतृत्व पैदा हुनेछ ।”

माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पु¥याउन आग्रह गर्दै उहाँले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि पनि अनुकरणीय रहेको उहाँले बताउनुभयो । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले सहिदका सपना पूरा गर्न नेतृत्व र सिङ्गो पार्टी पङ्क्तिले दृढता व्यक्त गर्नुपर्नेमा जोड दिँदै सहिदका बलिदानलाई आन्दोलनको वैचारिक केन्द्र बनाउनुपर्ने बताउनुभयो । उहाँले मुलुकको परिवर्तनका लागि ज्यानको बाजी दिएका सहिदलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका सचिव एवं प्रतिष्ठानका पूर्वअध्यक्ष हितराज पाण्डेले सहिदका सपना पूरा गर्न सिङ्गो पार्टी पङ्क्ति जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहिदको योगदान भावी पुस्ताका लागि ताजै राख्नका लागि सहिदका नाममा भौतिक संरचना निर्माण तथा अक्षय कोष खडा गर्नु उचित हुने धारणा राख्नुभयो ।

बेपत्ता परिवार समाजका सल्लाहकार भीमबहादुर बस्नेतले जनयुद्धमा बेपत्ता भएका नागरिकको यथार्थ पत्ता लगाउन आग्रह गर्नुभयो । उहाँले आफ्नो छोरा जनयुद्धका क्रममा बेपत्ता भएको जानकारी दिँदै बेपत्ता छोराको पत्ता नलगाई आफू नै बेपत्ता होइन्छ कि भन्ने लागेको गुनासो गर्नुभयो ।

जनयुद्धका घाइते तथा बेपत्ता परिवार समाजका अध्यक्ष पासाङ शेर्पाले बेपत्ता नागरिकको अवस्था टुङ्गो नलाग्दा परिवारजनले कानुनी समस्या झेल्नु परेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिष्ठानका अध्यक्ष धर्मशिला चापागाईंले प्रतिष्ठानलाई एकताको केन्द्रबिन्दु बनाएर अगाडि बढाइने बताउनुभयो ।

कर्णालीका निजामती कर्मचारीलाई विवाह र पर्यटन विदा

कर्णाली, १३ माघ : कर्णाली प्रदेश सरकारले कर्मचारीलाई विवाह र पर्यटन बिदा थप गरेको छ । प्रदेश सरकारले ल्याएको ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’मा राष्ट्रियरूपमा दिँदै आएको हाजिरी र बिदा भइपरि आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, असाधारण बिदा र बेतलवी बिदामा तीन बिदा थप गरेको हो ।

नियमावलीले कर्णालीका कर्मचारीलाई विवाह र पर्यटनका लागि सात/सात दिन बिदा दिने व्यवस्था गरेको हो । नियमावलीको परिच्छेद १४ मा भनिएको छ, कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ ।

त्यस्तै प्रदेशको कुनै पनि कर्मचारीले देशका विभिन्न भू-भागको भ्रमण गर्न सात दिन बिदा पाउने छन् । पर्यटन बिदा स्वीकृत गर्ने अधिकारीले पर्यटकीयस्थलको भौगोलिक अवस्थितिका आधारमा अवधि तोकी भ्रमण आदेश स्वीकृत गर्नुपर्नेछ । पर्यटन बिदा लिएको कर्मचारीले पनि १५ दिनभित्र भ्रमणको विस्तृत विवरण र भ्रमणका क्रममा लिइएको तस्बिर तथा भिडियो समावेश गरेको प्रतिवेदन पेस गर्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेशसभाबाट असोज २२ गते कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० पारित गरेको थियो । ऐनको दफा १३८ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले यही माघ १० गते ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’ प्रदेश राजपत्रमा प्रकाशित गरेको छ ।

ऐनसँगै नियमावली आएपछि अब प्रदेश सरकारलाई यसले प्रदेश निजामती सेवाको गठन, सेवामा रहने तह तथा पदको व्यवस्था, दरबन्दी सिर्जना, माग, पदपूर्ति, सेवा सुविधा, सरुवा, बढुवा, क्षमता अभिवृद्धि, वृत्तिविकास तथा उनीहरूको अभिलेखीकरणमा सहयोग पुग्नेछ ।

संविधानको धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद्ले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकतानुसार कानुनबमोजिम विभिन्न सरकारी सेवाहरूको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था छ । प्रदेशको प्रशासन सञ्चालन गर्न प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्त तथा निजामती कर्मचारीको व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय निकायको रूपमा काम गर्ने पारित ऐनमा व्यवस्था गरिएको छ ।

सोहीअनुसार प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक भएकाले सरकारले छिटो नियमावली ल्याएको प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

ऐनसँगै द्रुतगतिमा नियमावली आउनु प्रदेश सरकारका लागि ठूलो उपलब्धि भएको जनाउँदै मन्त्री जिसीले राजपत्रमा प्रकाशित भएसँगै यो नियमावली कार्यान्वयनमा गएको बताउनुभयो ।

मानवताभन्दा ठूलो धर्म केही छैन : मुख्यमन्त्री चौधरी

दाङ, १३ माघ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मानवताभन्दा ठूलो धर्म केही नहुने बताउनुभएको छ ।

मानव सेवा आश्रम दाङको भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आजदेखि तुलसीपुरमा सुरु भएको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको उदघाटन गर्दै उहाँले सडकपेटीमा बस्दै आएका व्यक्तिहरुको सहयोगका लागि काम गर्दै आश्रमका लागि प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री चौधरीले केही वर्षअघि आफूले आफ्नै वडामा रहेको मानव सेवा आश्रमलाई अवलोकन गर्ने अवसर प्राप्त भएको र सोही अवसरमा आश्रम निर्माणका लागि सहयोग गर्ने बचन दिएको बताउनुभयो । उहाँले केही समयअघि हेडौँटामा भएको सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा सबै प्रदेशमा मानव सेवा आश्रम भवन निर्माणका विषयमा छलफल भएको बताउनुभयो ।

मानवता प्रवर्द्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेश सरकारले सोहीअनुसार बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री चौधरीले आजको जनसागरले मानव सेवा आश्रमको अभियानमा लाग्न सबैलाई प्रेरणा मिलेको बताउनुभयो ।

प्रदेश सरकारले आश्रमका लागि भवन निर्माणका लागि बजेटको कुनै कमी नहुनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने महायज्ञबाट रु पाँच करोड आर्थिक सङ्कलन गरिने लक्ष्य आयोजकले लिएको छ ।

पुनः जिम्मेवारी सम्हाल्दै पाकिस्तानी राजदूत इरानमा

इरानका लागि पाकिस्तानका राजदूत मोहम्मद टिपू आफ्नो कूटनीतिक कार्यभार सम्हाल्न इस्लामाबादबाट इरानको राजधानी पुग्नुभएको छ ।

टिपूले सामाजिक सञ्जाल एक्समा आफ्नो पुनरागमनको घोषणा गर्दै आफू पाकिस्तानको नेतृत्वको इमान्दार र शुभकामना अनुरुप तेहरान जान लागेको बताउनुभएको छ ।

“बलियो पाकिस्तान र इरान यस क्षेत्रका लागि आवश्यक छ र ऐतिहासिक जनस्तरको सम्बन्धलाई बढावा दिन महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “अब नयाँ पाना पल्टाउने समय आएको छ ।”

इरान र पाकिस्तानले सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै देशका राजदूतहरू शुक्रबारसम्म आ–आफ्नो पदमा फर्कने सहमति भएको बताएका थिए ।

पाकिस्तानी विदेशमन्त्री जलिल अब्बास जिलानी र उहाँका इरानी समकक्षी हुसेन अमिर अब्दुल्लाहियानबीच टेलिफोन वार्तापछि उक्त निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जिलानीको निमन्त्रणामा अब्दोल्लाहियानले पनि जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने बताइएको छ ।

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोकद्दाम पनि शुक्रबार पाकिस्तान फर्कने सम्भावना रहेको इरानी स्टुडेन्ट्स न्युज एजेन्सीले जनाएको छ ।

गत जनवरी १८ मा पाकिस्तानले ‘आतङ्कवादी समूहलाई लक्षित गरी’ दक्षिणपूर्वी इरानी प्रान्त सिस्तान र बलुचिस्तानको सीमावर्ती गाउँमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इरानको विदेश मन्त्रालयले तेहरानस्थित पाकिस्तानी कार्यवाहक राजदूतलाई बोलाएर पाकिस्तानको सैन्य कदमको विरोधमा इरानको आधिकारिक विरोध जनाएको थियो ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा इरानी आक्रमणमा परी दुई बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । पाकिस्तानले इरानले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गरेको भन्दै इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।

निर्वाचन प्रचारका क्रममा छाँयामा पाकिस्तानका पूर्व प्रधानमन्त्री खान र पीटीआई

क्रिकेट खेलाडीबाट पाकिस्तानको राजनीतिमा उदाएका र विश्वभर ख्याति कमाएका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो निर्वाचन क्षेत्र र पुख्र्यौली मातृभूमि मियाँवालीमा निकै लोकप्रिय हुनुहुन्छ ।

सडकमा टाँसिएका राजनीतिक पोस्टरमा उहाँको अनुहार देखिँदैन र उहाँको दलको झण्डा भेटिँदैन ।

पाकिस्तानको शक्तिशाली सेनाको सहयोग देखिएको वर्तमान् सरकारले व्यापक रूपमा गरेकोे निरन्तर कारबाहीका कारण पूर्वप्रधानमन्त्री खान र उहाँको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी मतदान अघि चुनावी अभियानमा लगभग छायाँमा परेको छ ।

मियाँवालीबाट पीटीआईका लागि पूर्वप्रधानमन्त्री खानको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेका ६१ वर्षीय जमाल अहसान खान भन्नुहुन्छ, “हाम्रा पार्टीका कार्यकर्ताहरूले उत्पीडनको सामना गरिरहेका छन् र मलाई व्यक्तिगत रूपमा ज्यान मार्ने धम्की आएको छ ।”

“मैले आफ्नो जीवनकालमा यो जस्तो दवावमुलक र चेतावनीपूर्ण निर्वाचनको कहिल्यै अनुभव गरेको थिइन ।”

दर्जनौं कानुनी चुनौतीको सामना गरिरहेका खानलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएका कारण फेब्रुअरी ८ मा चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।

देशभर, पीटीआईलाई ¥याली आयोजना गर्न अवरोध गरिएको छ र पीटीआईका कार्यक्रम तथा प्रचार अभियानलाई व्यापक सेन्सर गरिएको छ भने सञ्चारमाध्यमलाई विपक्षीहरूको कार्यक्रमहरूका रिपोर्टमा प्रतिबन्ध लगाइएको छ । उहाँले पार्टीको अभियानलाई लगभग पूर्ण रूपमा अनलाइनमा धकेल्नेछ ।

निर्वाचन आयोगले देशभरका दर्जनौँ उम्मेदवारको मनोनयनपत्रसमेत अस्वीकृत गरिसकेको छ ।

पार्टीका अन्य उम्मेदवारहरू जस्तै, वफादार अहसान खान पनि चुनावको तयारीको दौडान मा नै पनि खुलारूपमा सभाहरू गर्न वा पर्चाहरू वितरण गर्न असमर्थ देखिनुहुन्छ ।

उहाँले एएफपीसँग भन्नुभयो, “पाकिस्तानको प्रमुख राजनीतिक दलको उम्मेदवारको हैसियतले मैले आफ्नो चुनावी अभियानलाई अर्थपूर्ण रूपमा सञ्चालन गर्न नसक्नु दुःखद् भएको छ ।

मतदान हुन दुई हप्ता बाँकी छ, २४ करोडभन्दा बढी जनसङ्ख्या भएको देशमा सामान्यतया चुनाव हुने उत्साह र उमङ्गमा कोही पनि छैन ।

– स्थानीयका लागि खान नायक–

पञ्जाबको मध्य प्रान्तको ग्रामीण जिल्ला मियाँवालीबाट खानले आफ्नो राजनीतिक जीवनको शुरूवात गर्दै तीन पटक सांसदको रूपमा निर्वाचित हुनुभएको छ ।

सन् २०१८ मा पीटीआईको राष्ट्रिय विजय, भ्रष्टाचार र पुस्तौंदेखि देशमा शासन गर्दै आएको पारिवारिक वंशवादको अन्त्य गर्ने वाचाबाट प्रेरित भएका उहाँ र पीटीआई गठबन्धनलाई पाकिस्तानी जनताले प्रधानमन्त्री बन्ने जनमत दिएका थिए ।

स्थानीय पत्रिका नवा–ए–शरार वा डेली स्पार्कका प्रधान सम्पादक राना अमजद इक्बालले एएफपीसँग भन्नुभयो, “मियाँवालीमा उहाँले विशेष गरी एक अस्पताल र एक विश्वविद्यालय स्थापनार्थ महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । एकहत्तर वसन्त पार गरेका उहाँ ‘राजनीतिक व्यक्तित्व मात्र हुनुहुन्न, उहाँ पाकिस्तानी जनताका नायक हुनुहुन्छ ।”

“उहाँको स्थायी राजनीतिक सान्दर्भिकताको प्राथमिक र सबैभन्दा महत्वपूर्ण कारण उहाँको संस्थापन विरोधी अडान हो,” इक्बालले भन्नुभयो ।

खानलाई व्यापक रूपमा सेनाको समर्थन प्राप्त भएको विश्वास गरिएको थियो, तर उहाँको नेतृत्वको समयमा उहाँले पाकिस्तानी राजनीतिमा शक्तिशाली जनरलहरूको नियन्त्रणविरूद्ध गतिविधि अघि बढाउनुभयो ।

अन्ततः उहाँले आफ्नो पक्ष गुमाउनुभयो र सन् २०२२ मा संसद्को अविश्वासको मतमा उहाँका दर्जनौं सांसद्हरूले दल त्याग गरेपछि उहाँलाई पदच्युत गरियो ।

सन् २०२३ को मे महिनामा उहाँको गिरफ्तारीले समर्थकहरूलाई सडकमा ल्यायो । उनीहरूले सैन्य प्रतीकहरूको विरोधमा प्रदर्शन गरे ।

हजारौं समर्थकहरूलाई गिरफ्तार गरिएको थियो मियाँवालीका आधाभन्दा बढी (करिब १००) नेताहरूको मुद्दाको सुनुवाई सैन्य अदालतहरूमा पर्खाइमा रहेका छन् । पार्टीका वरिष्ठ नेताहरूलाई हिरासतमा लिइएको थियो र पक्राउ नपरेकामध्ये दर्जनौँलाई निर्बाचनमा भाग लिनुअघि भूमिगत हुन बाध्य पारिएको थियो ।

अवकाशप्राप्त शिक्षक एजाज खानले खान अझै पनि जनतामाझ लोकप्रिय रहेको तर सेनाका लागि उहाँ अस्वीकार्य रहेको बताउनुभयो ।

– पीटीआईलाई निर्वाचन अभियानबाट नै किनारा –

यसै महिनाको सुरुमा सर्वोच्च अदालतले पीटीआईलाई आफ्नो चुनाव चिन्ह क्रिकेट ब्याटबाट चुनाव लड्न प्रतिबन्ध लगाएपछि पीटीआईलाई ठूलो झट्का लागेको थियो ।

लाखौं मानिस पढ्न र लेख्न नसक्ने देशमा मतदाताका लागि आफ्नो मनपर्ने पार्टी र उम्मेदवार चिन्नका लागि चुनाव चिह्न महत्वपूर्ण हुन्छ ।

निर्वाचन आयोगले यसको सट्टा अहसान खानलाई बोतल प्रयोग गर्न आदेश दियो, जुन चिन्ह्लाई ग्रामीण क्षेत्रहरूमा तिरस्कारको साथ हेरिन्छ किनभने यो रक्सीसँग सम्बन्धित छ ।

मियाँवालीमा खानका प्रतिद्वन्द्वी ओबैद उल्लाह खान आफ्नो प्रतिद्वन्द्वी राजनीतिक दललाई दिइएको सजायप्रति उदासीन हुनुहुन्छ ।

“अहिले होइन भने यो कहिले न्यायोचित हुन्छ?” उहाँले भन्नुभयो ।

पाकिस्तान मुस्लिम लीग (पीएमएल–एन) को तर्फबाट उम्मेदवारी दिएका उल्लाह खान पीटीआईका उम्मेदवारको विपक्षमा आफ्नो अभियान लिएर गाउमा पस्नुभएको छ तर उहाँको अभियानलाई स्थानीय मतदाताले रूचाएको देखिँदैन । उहाँले गाउँलेहरूसँग खुलेर भेट्नुहुन्छ । नेताहरूले उहाँलाई भविष्यको अनुकूलताको आशामा सम्पूर्ण समुदायको समर्थनको आश्वासन दिन्छन् ।

पीएमएल–एन अर्का पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी हो, जसलाई सन् २०१८ को चुनावअघि जेलमा राखिएको थियो र पछि स्व–निर्वासनमा जान बाध्य पारिएको थियो ।

विश्लेषकहरु भन्छन्, “खानको ‘पतन’पछि पाकिस्तानमा पूर्वप्रधानमन्त्री शरीफको चर्चा चुलिएको छ । शरिफलाई पाकिस्तानी संस्थापन पक्ष र सेनाको काख फिर्ता भएको छ ।”
चुनावी अभियानबाट अलग्गिए पनि मतदाताले खानप्रतिको आकर्षण गुमाएका छैनन् ।

निर्वाचनमा पहिलो पटक मतदान गर्न योग्य युवाहरूले खानलाई नै पाकिस्तानको राजनीतिको खम्बा (नायक) मानेका छन् ।

कम्प्युटर साइन्सका २३ वर्षीय विद्यार्थी हन्जाला बिन शकीलले पहिलो पटक मतदान गर्ने बताउँदै भन्नुभयो, “म इमरान खानलाई भोट दिनेछु किनभने उहाँ एक मात्र व्यक्ति हुन् जसले वास्तवमा यो देशको चिन्ता गर्नुहुन्छ भने अरूले आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छन् ।”

निर्बाचनमा पीटीआईले खासै प्रचार नगरे पनि पीटीआईको आधार क्षेत्रमा अन्य दलको विजय हुने सम्भावना कम देखिएको विश्लेषकहरू बताउँछन् ।पाकिस्तानको अहिलेको निर्वाचन त्रिपक्षीय लडाईमा नै सीमित भएको छ । सरिफको पीएमएल–एन, खानको पीटीआई र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) बीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ ।

अफगानिस्तानको खोस्तबाट युएईका लागि उडान शुरू

खोस्त अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को अल एनका लागि पहिलो पटकको व्यावसायिक उडान शु गरिएको छ ।

स्थानीय टेलिभिजन टोलो न्यूजले शनिबार जानकारी गराएअनुसार विमानस्थलबाट हरेक हप्ता दुईवटा उडान भर्ने तय गरिएको छ । यसैगरी स्थानीय बासिन्दा तथा यात्रुहरूले थप उडानको माग गरिहेको टोलोन्युजले जनाएको छ ।

संयुक्त अरब इमिरेट्सको फ्लाईदुबई एयरलाइन्सले दुई वर्षभन्दा बढीको निलम्बनपछि गत नोभेम्बरमा दुबईबाट काबुलका लागि पुनः उडान सुरु गरेको थियो ।

अफगानिस्तानको केन्द्रीय बैंकले स्थानीय मुद्रालाई स्थिर बनाउन १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने

केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ। बैंकले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ। गत साता १ अमेरिकी डलरको विनिमयदर ६९.९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३.४ अफगानी पुगेको थियो ।

विगत केही महिनाहरूमा, केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौं अमेरिकी डलर प्रवेश गराएको छ।

दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुन्छ : नेता लेखक

दोधारा चाँदनी (कञ्चनपुर), १३ माघ : नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुने बताउनुभएको छ ।आज कञ्चनपुरमा आयोजित कार्यक्रममा नेता लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि छिट्टै बोलपत्र आह्वान हुने बताउनुभयो । “सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबीच अन्तिम सम्झौता भइसकेको छ”, नेता लेखकले भन्नुभयो, “दुई–तीन महिनाभित्रै भारतको सहयोगमा बोलपत्र आह्वान गरेर बन्दरगाह निर्माण अगाडि बढाउँछौँ ।”

त्यसैगरी उहाँले डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै छिमेकी मुलुक चीनसम्म महाकाली करिडोर जोड्ने काम अगाडि बढेको बताउनुभयो । “यस वर्ष कञ्चनपुरबाट डडेल्धुराको जोगबुढासम्म ट्रयाक खोल्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “आउँदो प्रत्येक वर्ष एक–एक जिल्ला हुँदै महाकाली करिडोरलाई चीनसम्म जोड्ने हाम्रो योजना छ ।” उहाँले महेन्द्रनगरस्थित मझगाँउमा विमानस्थल सञ्चालनमा ल्याउन र महाकाली प्रादेशिक अस्पताललाई थप गुणस्तर बनाउने प्रयास भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता आइतबारदेखि

कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा हुने तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । “माघ १४ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी सबै पूरा भएको छ”, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले भन्नुभयो, “कोशी र लुम्बिनी प्रदेशबाहेकका अन्य आठवटा टिम महेन्द्रनगर पुगिसकेका छन् ।”

प्रतियोगितामा सातवटा प्रदेश र तीनवटा विभागीय टिम गरी १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा एक सय ५० जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहनेछन् । त्यसैगरी प्रतियोगितामा एक जना अन्तर्राष्ट्रिय, १२ जना राष्ट्रिय र १२ जना प्रदेशका रेफ्रीको सहभागिता रहने छ । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख, दुई लाख र एक लाख नगदसहित विजेता ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिनुभयो ।

“प्रतियोगिताको सेमिफाइनलदेखिका चारवटा खेलमा रु पाँच हजारका दरले प्लेयर अफ द म्याचको पुरस्कारको व्यवस्था मिलाइएको छ”, भट्टले भन्नुभयो, “प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार पुरस्कार प्रदान गरिने छ ।” उहाँले प्रतियोगितामा विभिन्न छवटा विधामा जनही रु १०–१० हजारका दरले पुरस्कार प्रदान गरिने बताउनुभयो । प्रत्येक दिन प्रतियोगिताका चार खेल र अन्तिम दुई दिनमा दुई खेल हुनेछन् ।

भरतपुरमा विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ

चितवन, १३ माघ : चितवनको भरतपुर महानगरपालिकाले ‘विद्यार्थीसँग मेयर कार्यक्रम’को शुभारम्भ गरेको छ । महानगरपालिका–२७ स्थित जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो ।

महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्ट भए नभएको पहिचान गर्न कार्यक्रम सुरु गरिएको हो । यस आर्थिक वर्षमा केही नमूना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवं संवाद गरिने छ ।कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने महानगरपालिकाका प्रमुख दाहालले बताउनुभयो । विद्यालयको सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो ।शिक्षा क्षेत्रमा ठूलो लगानी गरी सकेको भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ । जानकी माध्यमिक विद्यालयमा प्रमुख दाहालसँग जिज्ञासा राख्ने विद्यार्थीले भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याएको गुनासो गरेका थिए ।कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

चलचित्र ‘गोर्खा वारियर’ : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा

काठमाडौँ, १३ माघ : वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । तर, पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पार्नुभएको छ ।

आगामी फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा रहेको चलचित्रलाई निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताउनुभयो ।

“मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु । सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन । यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु । तयारी त एकदशक अगाडिदेखि कै हो”, निर्देशक चाम्सले भन्नुभयो, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ । यो चलचित्रले हाम्रो वीरतालाई देखाउनुका साथै विश्वमा नेपाली चलचित्रको महत्वलाई दर्शाउने छ ।”

चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट हुनु सम्पूर्ण नेपाली चलचित्रकर्मीका लागि गौरवको विषय रहेको निर्देशक चाम्सले बताउनुभयो । “गोर्खालीको विषयमा चलचित्र बनेको भन्ने थाहा पाएपछि हामीले पाएको सम्मान र तारिफलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

अब नेपाली चलचित्रकर्मीले वीरता र इतिहासको कथालाई पर्दामा ल्याउन ढिलाइ गर्न नहुनेमा निर्देशक चाम्सले जोड दिनुभयो । यसमा मुख्य भूमिका निर्वाह गर्नुभएका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुनुहुन्छ । उहाँले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षासमेत लिनुभयो ।

“मैले युद्धको क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । चलचित्र हेर्नुभएका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु । पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ”, अभिनेता चाम्सले भन्नुभयो । चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
 

एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए पनि ढुवानी गर्न कठिनाइ

पर्वत, १३ माघ : गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए पनि बजारमा पु¥याउन सकिएको छैन ।

बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको छ । ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जीपमा थोरै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ । यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।”

अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । तर जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म पुग्न सक्दैनन् । जीप मुस्किलले गाउँसम्म पुग्ने कृषक खत्रीले गुनासो गर्नुभयो ।

ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाए सहज हुने सुन्तला खरिद गर्न बगानमा आउनुभएका कालीमाटीका एक व्यवसायीले भन्नुभयो । दश किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको उहाँले बताउनुभयो ।

जलजला गाउँपालिका–२ वारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्र गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत भइसकेको छ । तर बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन सकेको छैन । दश किलोमिटर लामो उक्त सडकमा रु २२ करोड खर्च हुने अनुमान गरिएको छ ।

बर्सेनि सुन्तला ढुवानी गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवद्र्धन गर्न सकिने छ । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आवमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताउनुभयो । मिलनचोक–माझफाँट–बाँसखर्क सडकका लागि रु एक करोड विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्र गर्न सकिने उहाँले बताउनुभयो ।
 

सय वर्ष पुरानो घरमा होमस्टे

चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर ।

स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानोे घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्बिरः कृष्ण आचार्य

पाथीभरामा बाग्लो हिमपात

फुङलिङ (ताप्लेजुङ) – ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबारको वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताउनुभयो । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो ।

यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ ।

इलामको पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन

इलाम, १३ माघ – इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०÷८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो ।

यसैगरी आव २०७७÷७८ मा रु एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले रु एक करोड दुई हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिनुभयो । यस्तै आव २०७८÷७९ मा रु दुई करोड ५३ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ८७ लाख ३८ हजार (३४ दशमलव ४८ प्रतिशत) राजस्व सङ्कलन भएको थियो । सुब्बाका अनुसार, २०७९÷८० मा रु दुई करोड ५० लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार (१०८ प्रतिशत) राजस्व सङ्कलन गरियो ।

कार्यालयका नायब सुब्बा विनोद आचार्यकले अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताउनुभएकोे छ । पशुपतिनगर भन्सारअन्तर्गत आठ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यसअघि नै बन्द भइसकेका छन् । “हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न थालेको छ ।” आचार्यले भन्नुभयो ।

कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताउनुभयो । भारततर्फ भन्सार नहुँदा बिल इन्ट्री नहुने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिनुभयो । उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारततर्फ भन्सार, क्वारेनटाइनलगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताउनुभयो ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै देशले सीमा क्षेत्रमा आवश्यक कार्यालय स्थापना गरेर आयात निर्यात सहज बनाउनुपर्ने बताउनुभयो । उहाँले भौगोलिक विकटताका कारण कार्यालय स्थापना गर्न सकिएन भन्ने भारतको भनाइमा सत्यता नरहेको बताउनुभयो। कार्यालय प्रमुख सुब्बाले खुला सीमानाका भएका कारण चोरी पैठारी रोकिन नसकेको बताउनुभयो ।

कार्यक्रममा सबैभन्दा बढी कारोबार गर्ने सूर्योदय–२ पशुपतिनगरका दादिकी शेर्पालाई सम्मान गरिएको थियो । उक्त अवसरमा कार्यालयका नायब सुब्बाद्वय विनोद आचार्य र प्रकाश सुन्दासलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । भन्सार दिवसको उपलक्ष्यमा पहिलो सेवाग्राहीका रूपमा भारतको दार्जिलिङका दावानर्बु शेर्पालाई सम्मान गरेको नायब सुब्बा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म पशुपतिनगर र इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई राजस्व सङ्कलनमा सहयोग गरेको भन्दै कदरपत्र प्रदान गरिएको छ । ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा कार्यालयले अर्थवार्षिक नतिजासहित तीन वर्षको प्रगति सार्वजनिक गरेको छ ।

धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन गरी कपडा र कार्पेट बनाउन प्रयोग

कैलाली । कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ।

यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ । सहकारीले काठमाडौँको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए।

केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ । रेसा उत्पादन गर्ने मेसिनको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले उद्घाटन गरे । केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीको दाबी छ ।

“केराको थाम पाउन समस्या छैन”, उनले भने । सहकारीले भवन बनाउने, आम्दानी गर्ने, सहकारी बलियो हुने मात्र नभई समुदायमा रोजगारीको वातावरणसमेत सिर्जना गर्ने काम गरेको छ । सहकारीले रेसा उत्पादन गर्ने उपकरणसँगै रेसा पकाउने मेसिन र धागो बनाउने चर्खासमेत जडान गर्ने भएको छ । केराको धागो र रेसा बनाउन सहकारीको रु दुई लाख र रु दुई लाख दिगो विकास समाज भजनीले लगानी गर्न लागेको व्यवस्थापक चौधरीले बताए । खेर गइरहेको केराको थाम प्रयोग गरेर आम्दानी गर्न सकिने भएकाले केराको रेसा निकाल्ने मेसिन सञ्चालनमा ल्याएको उनले बताए ।

सहकारी आफैले तालिम सञ्चालन गरी शेयर सदस्यलाई सीप सिकाएर हाते ब्याग, गुन्द्री, टोपीलगायतका सामग्री उत्पादन गरेर आम्दानी लिने उद्देश्य राखेको छ । विसं २०६८ मा स्थापना भएको सो सहकारीले शेयर सदस्यलाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले एयरलाइन्सको माग अनुसार रिटमा परमादेश जारी गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा अदालतले परमादेश जारी गरेको हो । सर्वोच्चले आदेशको पूर्ण पाठ भने सार्वजनिक गरेको छैन ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले निवेदकको माग दाबी अनुसार परमादेश जारी भएको बताए । उनले भने, ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङको विवादमा इजलासबाट परमादेश भएको छ ।’

विमान कम्पनीले आफ्नो हकमा ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था अनुसार प्राधिकरणले २०७७ असोजमा सुविधा पाएको थियो । तर पर्यटन मन्त्रालयले एयरलाइन्स कम्पनीको प्राविधिक पक्षसमेत विश्लेषण गरेर मात्र निर्णय कार्यान्वयनको निर्देशन प्राधिकरणलाई दिएपछि सुविधा कार्यान्वयन रोकिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता

काठमाडौं । राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र रोजगारीका लागि माईजोगमाई–४ साबिक हात्तीटार नामसालिङ इलामका सुकबहादुर लिम्बु संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका लिम्बु १५ दिनदेखि बिरामी छन् ।

यूएईको ग्रिन स्याडो सेक्युरेटी सर्भिस कम्पनीमा कार्यरत उनी बिरामी भएर त्यहाँको अल खवानिज–२ जेएफएम क्याम्पमा उपचार तथा उद्धारको पर्खाइमा छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भनेका छन्, ‘म १५ दिनदेखि असक्त रूपमा बिरामी परेको छु, कम्पनीले आफैँ उपचार गर भन्छ, अघिल्लो महिनाको तलब १ रुपैयाँ पनि दिएन, खानलाई त पैसा छैन, कसरी उपचार गर्ने ?’

‘१५ दिनजति भयो, तातो पानी र ब्रट घोलेर जबर्जस्ती खाएर सास जोगाएको छु, मलाई यहाँबाट उद्धार गर्नुहोस्, क्लिनिकमा जाँदा यहाँ उपचार हुँदैन, अस्पताल गएर शल्यक्रिया गर भन्छ, न कम्पनीले तलब दिन्छ न त उपचार नै गर्छ, म यतिकै मर्ने भएँ,’ उनले लेखेका छन्, ‘बिन्ती गर्छु, मलाई सहयोग गर्नुहोस्, यहाँ मेरो खोक्रो शरीर मात्र भएको छ, कम्पनीले घर जान दिँदैन, क्यान्सिल गर घर जान्छु भन्दा कुरै सुन्दैन अब म के गर्नु ? कसरी नेपाल फर्किनु ?’

लिम्बूले ‘नेपालमा रहेको म्यानपावरलाई सम्पर्क गर्दा हामी कम्पनीसँग कुरा गर्छौं भन्ने मात्र गरेको’ भन्दै ‘आफ्नो अवस्था झनझन् नाजुक हुँदै गरेकाले तत्काल उद्धार गरी स्वदेश फर्काउन’ नेपाल सरकार, त्यहाँस्थित नेपाली दूतावास र त्यहाँ रहेका क्रियाशील नेपाली संघसंस्थालाई अपिल गरेका छन् ।

उनले आफ्नो अवस्था बुझ्न अल खवानिज–२ जेएफएम क्याम्पमा आउनसमेत अनुरोध गरेका छन् । यता, उनलाई पठाउने एजेन्ट भिम देवान भन्छन्, ‘त्यो भाइ बिरामी भएको जानकारी पाएका छौं, म्यानपावरका डाइरेक्टर राज कार्कीले कम्पनीसँग कुरा गरेर उतै उपचार सम्भव भए गराउने नभए नेपाल फिर्ता ल्याउन पहल गर्नेछौं ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सरकारले तत्काल सीमा समस्या समाधान नगरे भूमि रक्षाका लागि अदालत जाने सुस्तावासीको चेतावनी

नवलपुर । पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले सरकारले तत्काल सीमा समस्या समाधान नगरे सङ्घीय सरकारविरुद्ध अदालत जाने चेतावनी दिएका छन् । सीमा समस्या समाधान नहुँदा आफूहरू सधैँ भरी भारतीय सुरक्षाकर्मीको दमन र हेपाइ सहेर बस्नु परेको र जमिन अतिक्रमण भइरहेको भन्दै सुस्तावासीले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका हुन् ।

भारतीय सुरक्षाकर्मीको दमन र हेपाइ सहेर बस्नु परेको र जमिन अतिक्रमण भइरहेको भन्दै सुस्तावासीले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका हुन् । सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खानले तत्काल सुस्ताको भूमि व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । “यदि सरकारले सुस्ताको भूमि व्यवस्थापन गर्दैन भने यो समस्यालाई लिएर हामी सम्मानित सर्वोच्च अदालतमा जान्छौँ, मुद्दा हाल्छौँ” कार्यवाहक अध्यक्ष खानले भने ।

अभियानका सल्लाहकार किसन शर्मा गैरेले मुद्दा हाल्ने विषयमा सम्बन्धित पक्षसँग थप सल्लाह र परामर्श गरेर निर्णय लिइने बताए । धेरै वर्षदेखि आफ्नो भूमि बचाउन लडिरहेका सुस्तावासीले राज्यले कान सुनोस् भनेर सुस्ता बचाउ अभियान अदालत जाने तयारी गरेको सल्लाहकार शर्माको भनाइ छ ।

जमिनको समस्या छँदैछ । अर्कोतर्फ नेपाली भूमि बचाउन वर्षौँदेखि लडिरहेका अधिकांश सुस्तावासी नागरिकताविहीन छन् । सुस्तामा हाल २६५ घरधुरीका ३ हजार १३३ जनसङ्ख्या रहेको छ । तर मतदाता नामावलीलाई आधार मान्दा हालसम्म सुस्ताका २९५ जनाले मात्र नेपाली नागरिकता पाएका छन् । राज्यले छुट्टै प्याकेजमार्फत यहाँका नेपालीलाई नागरिकता दिनुपर्ने सुस्ता ५ का वडाध्यक्ष प्रभुनाथ यादवको भनाइ छ । उमेर पुगिसकेका करिब एक हजार ६०० जनाले नागरिकता पाउनु पर्ने उनको माग छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

नेकपा माओवादी केन्द्रको ‘माओवादी’ नाम औपचारिक विश्रामतर्फ उन्मुख

काठमाडौँ । नेकपा माओवादी केन्द्रको ‘माओवादी’ नाम औपचारिक विश्रामतर्फ उन्मुख भएको छ । फागुन १ देखि ३ गते काठमाडौंमा हुने पहिलो विधान महाअधिवेशनमा माओवादी केन्द्रले पहिलो पटक औपचारिक रूपमा बहस गर्ने र सकेसम्म नाम परिवर्तन गर्ने भएपछि ‘माओवादी’ नाम नै औपचारिक विश्रामतर्फ उन्मुख भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नाम परिवर्तन गर्ने गरी यसअघि नै तल्लो तहसम्म छलफलका लागि प्रस्ताव गरिसकेका छन् । जसका कारण पार्टीभित्र ‘माओवादी’ नाममा बहस चलिरहेको छ । माओवादी नाम परिवर्तन र पार्टीले अपनाउन लागेको नयाँ व्यवस्थाले ‘माओवाद’ नै विश्रामको मार्गमा उन्मुख भएको भन्दै पार्टी वृत्तमा चिन्ता प्रकट हुन थालेको छ । माओवादीले विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावित विधान मस्यौदामा उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव गरेर पार्टीको नाम परिवर्तन गर्ने उल्लेख गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

‘लहान एक्पो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव’ आगामी चैतमा हुने

सिरहा – सिरहाको लहानमा ‘लहान एक्पो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव आगामी चैतमा हुने भएको छ । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना हुन लागेको हो ।

लहानस्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजना र लहान नगरपालिकाको संरक्षकत्वमा २०८० चैत २९ गतेदेखि २०८१ वैशाख ९ गतेसम्म महोत्सव हुने जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

महोत्सवलाई सफल बनाउन प्रदेशका विभिन्न मन्त्रालय, नेपाल पर्यटन वोर्ड र नेपाल उद्योग वाणिज्य महासङ्घको साथ तथा सहयोग रहने अध्यक्ष सरडाले बताउँनुभयो । “लहान एक्स्पोले उद्योग, व्यापार र सांस्कृतिक क्षेत्रमा सम्बन्ध बनाउने एक महत्वपूर्ण कदमको रूपमा उत्कृष्टता प्रदान गर्ने विश्वास लिएको छु”, अध्यक्ष सारडाले भन्नुभयो, “यसले देशको आर्थिक गतिविधिलाई बढावा दिने योजनामा एक महत्वपूर्ण योगदान प्रदान गर्ने छ ।”

अध्यक्ष सारडाका अनुसार नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्तालाई एउटै मञ्चमा भेला गराई सामग्रीको प्रत्यक्ष अवलोकन तथा जानकारी गराउने उद्देश्यका साथ सञ्चालन हुने महोत्सवमा एक सय ५० स्टल राखिने छन् ।

इजराइलले गाजामा नरसंहार रोक्नुपर्छ– राष्ट्रसङ्घीय अदालत

संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसिजे) ले विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा शुक्रबार इजराइलले गाजामा नरसंहार कार्य रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला सुनाएको छ । आफ्नो सैन्य कारबाहीमाथि दबाब दिइरहेको इजराइललाई अदालतले कुनै पनि सम्भावित नरसंहार कार्यबाट बच्न आग्रह गरेको छ । यद्यपि अदालतले युद्धविरामाको आदेश दिन सकेन ।

“प्यालेस्टिनीहरूले सामना गरिरहेको जीवनको प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न तत्काल आवश्यक आधारभूत सेवा र मानवीय सहायताको प्रावधानलाई सक्षम बनाउनका लागि इजराइलले तत्काल र प्रभावकारी कदम चाल्नुपर्छ”, अदालतले भनेको छ ।

यो स्तरमा आइसिजेले इजराइलले वास्तवमा गाजामा नरसंहार गरिरहेको छ वा छैन भन्नेबारेमा विचार गरिरहेको थिएन । यो प्रक्रिया धेरै वर्ष लाग्नेछ । यद्यपि अदालतले इजराइललाई चेतावनी दिँदै सन् १९४८ मा नाजी नरसंहारको भयावह विश्वभर परेको बेला स्थापित संयुक्त राष्ट्रसङ्घ नरसंहार महासन्धिअन्तर्गत पर्नसक्ने कार्यहरू रोक्नका लागि आफ्नो शक्तिमा सबै उपाय गर्न चेतावनी दिएको छ ।

फैसलामा इजराइलर्ले नरसंहार रोक्नका लागि कुनै पनि उक्साहटलाई ‘रोक्न र दण्डित’ गर्नुपर्ने उल्लेख छ । उक्त मुद्दा दक्षिण अफ्रिकाले ल्याएको थियो । दक्षिण अफ्रिकाले इजराइलमाथि संयुक्त राष्ट्रसङ्घीय नरसंहार महासन्धिको उल्लङ्घन गरेको आरोप लगाएको छ । यसै महिना आइसिजे बसेको पिस प्यालेसको सुनौलो हलमा दुई दिनको सुनुवाइमा दुवै पक्षका वकिलहरूले उक्त महासन्धिको व्याख्यामाथि बहस गरेका थिए ।

दक्षिण अफ्रिकाले इजराइलमाथि ‘प्यालेस्टिनी राष्ट्रिय, नस्लीय र जातीय समूहको ठूलो हिस्साको विनाश’ गराउने उद्देश्यले ‘नरसंहार’ कार्य गरेको आरोप लगाएका छ । दक्षिण अफ्रिकाले अदालतसमक्ष इजराइललाई गाजामा आफ्नो सैन्य कारबाहीलाई ‘तत्काल निलम्बन’ गर्न आदेश दिन र त्यहाँका नागरिकहरूसम्म मानवीय सहायता पुर्याउन अनुमति दिन आग्रह गरेको छ ।

इजराइलले उक्त मुद्दालाई ‘पूर्णरूपमा विकृत कथा’ भन्दै खारेज गरेको छ । उसका अनुसार यदि कुनै नरसंहारी कार्य गरिएको थियो भने उनीहरूलाई इजराइलविरुद्ध अक्टोबर ७ मा हमासको हमलामा मारिएको थियो । इजराइलका शीर्ष वकिल ताल बेकरले भन्नुभयो, “इजराइलले गाजामा कारवाही गरेर मानिस नष्ट गर्न खोजेको होइन तर धेरै मोर्चामा हमलामा परेका आफ्ना जनताको रक्षाका लागि हो ।”

अब अदालतको फैसलाको पालना गरिन्छ कि गरिँदैन भन्ने प्रश्न रहेको छ । यसका नियमहरू कानूनीरूपमा बाध्यकारी भए पनि यसलाई लागु गर्ने कुनै संयन्त्र छैन र कहिलेकाहीँ यस्ता फैसलालाई पूर्णरूपमा बेवास्ता गरिन्छ । जस्तो कि अदालतले रुसलाई युक्रेनमाथि आक्रमण रोक्न आदेश दिएको थियो ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पहिला नै इजराइलले कुनै पनि फैसलाको पालना नगर्ने सङ्केत दिनुभएको छ । उहााले भन्नुभएको छ, “कसैले पनि हामीलाई रोक्न सक्नेछैन, हेगमा भएको फैसलाले पनि रोक्न सक्तैन ।”

एयरबसले भारतमा हेलिकप्टर एसेम्बली लाइन खोल्ने

युरोपेली विमान निर्माता एयरबसले भारतीय समूह टाटासँग मिलेर भारतमा हेलिकप्टर एसेम्बली लाइन निर्माण गर्ने शुक्रबार बताएको छ । उक्त सम्झौताको घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको दुई दिवसीय भारत भ्रमणका क्रममा गरिएको हो ।

स्थापना गर्न दुई वर्ष लाग्ने उक्त सुविधा भारतमा कुनै पनि निजी समूहले सञ्चालन गर्ने पहिलो यस्तो अपरेसन हुने एयरबसले बताएको छ । यसले एच१२५ इक्युरियल हेलिकप्टरका प्रमुख घटकहरूलाई एसेम्बल र परीक्षण गर्नेछ र भारत तथा छिमेकी मुलुकहरूमा ग्राहकहरूलाई हेलिकप्टर प्रदान गर्नेछ ।

भारतमा हेलिकप्टर बनाउँदा मुलुकमा हेलिकप्टरको बजारको वास्तविक क्षमता थाहा हुने एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले बताउनुभयो । एच१२५ हलुका नागरिक हेलिकप्टर हो र यसले छ जनासम्म ओसारपसार गर्न सक्नेछ ।

सन् २०२१ मा एयरबसले टाटासँग मिलेर पश्चिमी भारतीय राज्य गुजरातमा सि२९५ सैन्य यातायात विमानका लागि एसेम्बली लाइन स्थापना गर्ने निर्णय गरेको थियो । यस्तो समयमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले एसिया–प्रशान्तमा धेरैभन्दा धेरै फ्रान्सेली साझेदारीमा जोड दिनुभएको छ ।

मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड कालोपत्रको तयारी

तनहुँ- मुग्लिन–पोखरा सडक आयोजनाले पश्चिम खण्डमा पहिलोपटक कालोपत्रका लागि परीक्षण सुरु भएको छ । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित हलेदीमा कालोपत्रका लागि परीक्षण गरिएको हो ।

कालोपत्रमा प्रयोग गरिएका साधन तथा कच्चा पदार्थ ठीक छ कि छैन भनेर परीक्षण गरिएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौड्यालले जानकारी दिनुभयो । जामनुेबाट कोत्रेसम्मको पाँच किलोमिटर दूरी फागुन १५ भित्र कालोपत्र गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ । पश्चिम खण्डमा हालसम्म १५ प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।

राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एण्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि रु सात अरब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

त्यसैगरी मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमी गरी उक्त दूरीमा कालोपत्र सम्पन्न भएको छ । पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमी दूरीमा कालोपत्रको काम भइरहेको छ । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्न बेस हाल्ने काम भइरहेको छ ।

पूर्वी खण्ड ४१ दशमलव ४५ किलोमिटर लामो छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता भएको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । उक्त खण्ड २०८१ वौशाखसम्म सम्पन्न गर्नुपर्ने छ ।

महाकवि देवकोटाको गजलको श्रव्यदृश्य सार्वजनिक

काठमाडौँ – महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजलको श्रव्यदृश्य सार्वजनिक गरिएको छ । मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रा डा कृष्णहरि बरालले उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गर्नुभयो । महाकावि देवकोटाको नाटक ‘सावित्री सत्यवान’ मा रहेको ‘आकाशमा शशी छन्’ गजललाई गायक सन्तोष श्रेष्ठको स्वरमा बजारमा ल्याइएको हो ।

प्रा डा बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेला पारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा खुसी व्यक्त गर्नुभयो । अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो बनाउँदै गएको उल्लेख गर्दै उहाँले महाकवि देवकोटाको कृतिबारे चर्चा गर्नुभयो ।

समालोचक घनेन्द्र ओझाले गजलमाथि टिप्पणी गर्दै महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताउनुभयो । झण्डै एक सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णतः शास्त्रीय संरचनामा रहेको उल्लेख गर्दै उहाँले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजल प्रेमीका लागि खुसीको कुरा भएको बताउनुभयो ।

महाकवि देवकोटाका छोरा प्रा डा पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सृजनालाई सङ्गीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो । हेम प्रभास अधिकारीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपीन’को छायाङ्कन र सम्पादन गरेको श्रव्यदृश्यमा श्रेष्ठ स्वयंले अभिनय गर्नुभएको छ ।

हेर्नुहोस् आज माघ १३ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । मध्यान पश्चात भने अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानि मध्यम रहला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

बृष राशि – मित्रजनह?को साथ सहयोगमा अधुराकार्य सम्पादित रहनेछन । यात्राकारक समय रहेकोछ । अ?द्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मध्यान पश्चात मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । नोकरीमा उन्नति मिल्नेछ ।

मिथुन राशि – स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिह?लाई सहजै प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहन सक्छ ।

कर्कट राशि – मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन ह?को साथ सहयोगको कमि महसुस हुनेछ ।

सिंह राशि – कार्य सम्पादन प्रति अ?को दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिह? सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

कन्या राशि – आय आर्जनका बिभिन्न श्रोत साधनह? फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिह?को साथ छुट्नाले मनमा आघात पुग्नेछ ।

तुला राशि – सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

बृश्चिक राशि – यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वह?ले प्राप्त गर्नेछन । नजिकका मित्रजनह?सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

धनु राशि – स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांह?को निबारण हुने दिन रहेको छ ।

मकर राशि – शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्नहुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

कुम्भ राशि – तपाईको कार्यमा त्?टि देखाउनेह?को बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिह?को बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

मीन राशि – अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । तपाईको कार्य बाट फाईदा लिनेह?को सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ ।

‘अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको छ’ – अर्थमन्त्री महत

काठमाडौँ, १२ माघः लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा आज नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयमा कार्यशाला आयोजना गरेको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीस्वरूप कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानुनी, प्रक्रियागत, तथा नियामकीय सुधार एवं विदेशी लगानी तथा निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित विषयबारे नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबीच छलफल भएको थियो ।

त्यस अवसरमा अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष डा। प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गर्नुहुँदै थप लगानी आवश्यक रहेको बताउनुभयो ।

अहिले हरित अर्थतन्त्र÷लगानी अधिक प्रचलनको शब्दावली रहेको सन्दर्भमा नेपाल लगानीको आकर्षक गन्तव्य भएको मन्त्री महतले बताउनुभयो । नेपालले आफूले कार्बन उत्सर्जन न्यून गर्नेमात्र नभइ स्वच्छ ऊर्जाको माध्यमबाट क्षेत्रीय रूपमा नै कार्बन उत्सर्जन न्यूनीकरण गर्न सघाउने भन्नुहुँदै मन्त्री महतले नेपालमा पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने मन्त्री महतले बताउनुभयोे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना र स्थायित्व एवं समावेशी आर्थिक विकासले मात्र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नति दिगो बताउनुभयो ।

मुख्यसचिव डा।बैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासोमा तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने बताउनुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीसम्बन्धी कानुनहरूको पुनरवलोकन गरी ‘कनेक्टिविटी’का रणनीतिक पूर्वाधार तथा पर्यटन, आइसिटी, उत्पादनमूलक उद्योगहरूमा लगानी आकर्षित गर्न आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा। नीलम ढुङ्गानाले केन्द्रीय बैंकले एफडीआई तथा विदेशी ऋण नियमावली संशोधन गरी विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंको पूर्व स्वीकृति आवश्यक नपर्नेलगायत नाफा फिर्ता लैजाने सम्बन्धमा गरिएको सहजीकरणबारे चर्चा गर्नुभयो ।

केपीएमजी इन इण्डियाका प्रमुख कार्यकारी अधिकृत येज्डी नागपोरेवालाले नेपालमा लगानीका अवसरबारे विहङ्गम जानकारी राख्ने लगानीकर्ताहरूलाई नेपाल ल्याएर नेपालको आर्थिक विकासमा योगदान गर्दै सरकारसँग साझेदारी गर्ने अवसर लगानी सम्मेलनले प्रदान गर्ने बताउनुभयो ।