`

१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

Nepal One HD २३ असार २०८१ १८:१२
समाचार

ढोरपाटन (बागलुङ), २३ असारः अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् ।

सडक अवरुद्धहुँदा काठमाडौँदेखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि बससहित दर्जनौँ सवारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिनुभयो ।

बिहानदेखि नै सडक खुलाउने प्रयास गरे पनि अहिलेसम्म सञ्चालनमा ल्याउन नसकेको रानाले बताउनुभयो । पहिरो अहिले पनि निरन्तर खसिरहेको हुँदा सडक सञ्चालनमा समस्या भएको छ । भारी वर्षा भएको हुँदा यात्रु गाडीबाट बाहिर निस्कनसमेत समस्या भएको प्रहरी निरीक्षक रानाको भनाइ छ ।

रानाले भन्नुभयो, “अहिले निकै ठूलो पानी परिरहेको छ, माथिबाट पहिरो पनि निरन्तर खसेको हुँदा खुलाउन समस्या भएको छ, यद्यपि मेसिन लगाएर काम गरी रहेकाछौँ, रात्रिबसहरु सडकमा रोकिएका छन्, रुकुमपश्चिम, जाजरकोटलगायतका ठाउँमा जाने यात्रुहरु छन्, अन्य धेरै गाडीहरु पनि पहिराले गर्दा रोकिएका छन् ।”

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–१ जिम्रिघाटस्थित पहिराको कारण कालिगण्डकी करिडोर पूर्णरुपमा अवरोध रहेको भन्दै सोही पालिकाको वडा नम्बर ८ रादीखोलामा पनि ठूलो पहिरा जाँदा करिडोर पूर्ण रुपमा ठप्प भएको हो ।


प्रतिक्रिया