`

रित्तिँदै गाउँ : एउटै पालिकाबाट ६८ परिवार बाहिरिए

बलेवा- बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन्। जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका दुई सय ५२ जना बसाइँ सरेका हुन्। गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत वैशाखदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाकै हाराहारीमा बसाइँ सर्नेको तथ्याङ्क पाइएको हो।

आठ वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ र ६ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए। बिहुँबाट मात्रै नौ महिनामा २६ परिवारका एक सय पाँच जनाले गाउँ छाडेका छन्। तीमध्ये वडा नं ५ बाट १३ परिवारका ४९ सदस्य र वडा नं ६ का १३ परिवारका ५६ जनाले गाउँ छाडेका हुन्। गाउँपालिकाका अनुसार वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवार धेरै बसाइँ सरेका छन्।

गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेहरूको सङ्ख्या पनि उच्च छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस हालका वडा नं ५ र ६ सदरमुकामबाट छोटो दूरीका वडा हुन्। यहाँ सडक सुविधा छ। दुई सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछाडेको उपाध्यक्ष थापा बताउँछन्।

“हामीले कयौँ प्रयास गर्दा पनि थेग्न सकेनौँ”, थापा भन्छन्, “यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पुर्याउने, गाउँ खाली हुने अवस्था हुन्छ।” नौ महिनाको अवधिमा काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं १ पालामा छ। यो वडाबाट नौ महिनामा दुई परिवारका पाँच जनामात्रै गाउँ छाडेर अन्यत्रै गएको थापाले जानकारी दिए।

वडा नं २ भीमापोखराबाट पाँच परिवारका १२, वडा नं ३ धम्जाबाट ११ परिवारका ३५, वडा नं ४ तङ्ग्रामबाट ११ परिवारका ४७ र वडा नं ७ रेशबाट आठ परिवारका ३३ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ। वडा नं ८ लेखानीबाट पाँच परिवारका १५ जना बसाइँ सरेका छन्।

बसाइँ सर्नेमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताए। “सुविधाको खोजीमा जानेहरू छन्, कतिपय लहैलहैमा गाउँ छाडेर हिँडे”, उपाध्यक्ष थापाले भने। गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला मजदुरी गरेर खानेहरू अवसरको खोजीमा सहरबजार झरेका छन् भने आर्थिकरूपले सक्षम भएकाहरू देशका ठूला सहर र तराईमा बसाइँ सरेका छन्।

“उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेस झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्याङ्क बढ्दो छ”, वडा नं ७ का अध्यक्ष प्रेमबहादुर जिसीले भने, “बत्तीमुनिको अँध्यारो भनेजस्तै, सुगम भएर पनि गाउँहरू रित्तिँदै छन्।” गाउँपालिकामा पछिल्लो नौ महिनामा २७ परिवार गाउँ फर्किएका छन्। बसाइँसराइ गरेर गाउँ छाडेका २७ परिवारका ९७ सदस्य गाउँ फर्केको थापाले बताए।

बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ। पछिल्लो तथ्याङ्कलाई आधार मानेर छलफल थालिएको गाउँपालिकाका अध्यक्ष राजु थापा बताउँछन्। यहाँबाट बसाइँ सरेका कसैले पनि घरगोठ, पाखोबारी र खेत भने बिक्री गरेका छैनन्। त्यसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ।

बागलुङका १० स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएको छ। काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ। जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सुगाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्लेगाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमूना हुन्। यी गाउँहरूका अधिकांश घर खाली छन्।

जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ। गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइँसराइ बढ्दो रहेको बताउँदै आएका छन्।

बैदेशिक रोजगारीबाट फर्केकालाई नबिल बैंकको उद्यमशील कर्जा

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विसं २०८१ देखि २०९१ लाई आन्तरिक रोजगार दशक घोषणा गर्ने तयारी सरकारले गरिरहेको बताउनुभएको छ ।नबिल बैंकद्वारा आज यहाँ आयोजित नबिल दक्ष प्रवासी उद्यमशील कर्जासम्बन्धी कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै मन्त्री भण्डारीले अहिले राष्ट्रिय आप्रवासन नीति निर्माणको चरणमा रहेको र आगामी वर्षबाट आन्तरिक रोजगार दशक मनाइने बताउनुभएको हो ।

“राष्ट्रिय आप्रवासन नीति बनाउन कार्यदल गठन गरेर काम भइरहेको छ । यो कार्यदलले आन्तरिक र बाह्य आप्रवासनको स्थिति विश्लेषण गरी अबको हाम्रो आप्रवासन तथा रोजगार नीति कस्तो हुनेछ भन्ने विश्लेषण गर्नेछ”, उहाँले भन्नुभयो, “आन्तरिक रोजगारी सिर्जना गरेर हाम्रो श्रमशक्ति बाहिर जान नदिनु हाम्रो मुख्य लक्ष्य र जिम्मेवारी हो । त्यसको व्यवस्थापनका लागि अहिले आन्तरिक रोजगारी सूचना प्रणाली तयार भइरहेको छ ।”

श्रममन्त्री भण्डारीले नेपालको कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीले ठूलो योगदान गरे पनि नेपालबाट ठूलो जनशक्ति बाहिरिँदा आन्तरिक श्रम बजारलाई समस्या भएको उल्लेख गर्नुभयो । स्वदेशमा रोजगारीको अवसर नहुँदा युवाशक्ति विदेशिनुपरेको उहाँले बताउनुभयो ।

“ठूलो सङ्ख्यामा युवाहरु विदेशिइरहेका छन् । यो हाम्रो बाध्यात्मक अवस्था हो । नेपालमै रोजगारी सिर्जना कसरी गर्ने र श्रमशक्ति बाहिरिनबाट रोक्ने भनेर हामीले केही योजना बनाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “आन्तरिक रोजगारी सिर्जना नै पहिलो विकल्प हो । तर कुरा गरेर मात्र यो समस्या समाधान हुँदैन । सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक छ ।”

श्रम मन्त्रालयका सचिव केवलप्रसाद भन्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र गरिबीका कारण नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइ बढिरहेको बताउनुभयो । “अवसरका लागि युवाहरू विदेशिने मात्र नभई देशभित्रै पनि आप्रवासनको ठूलो चक्र रहेको छ । गाउँबाट अवसरका लागि सहर पस्ने क्रम बढेको विभिन्न तथ्याङ्कले पनि देखाएका छन्”, सचिव भण्डारीले भन्नुभयो ।

विभिन्न देशबाट सीप तथा प्रविधि सिकेर फर्किएकाहरूलाई नेपालमा व्यवसाय गर्ने वातावरण बनाउन बैंक तथा वित्तीय संस्थाहरूले सानो पुँजीको कर्जा सहजरूपमा प्रवाह गर्नुपर्ने बताउनुभयो । त्यस्तै वैदेशिक रोजगारमा जाने अधिकांशले मिटरब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सचिव भण्डारीले बैंकबाट कर्जा लिएर विदेश जान सक्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । विदेश जानेहरूलाई बैंकले ऋण दिनुपर्ने उहाँको भनाइ छ ।

नबिल बैंकले प्रवासबाट फर्किएका नेपालीका लागि लक्षित गरी यो कर्जा कार्यक्रम ल्याएको हो । विदेशबाट सीप दक्षता र पुँजी लिएर फर्किएका व्यक्ति तथा उनीहरुको परिवारलक्षित कर्जा योजना ल्याइएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताउनुभयो । आयमूलक व्यवसाय र उद्यम सुरु वा विस्तार गर्न यो कर्जा कार्यक्रमले सघाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । सस्तो ब्याजदर, न्यून सेवा शुल्क तथा परियोजनालाई नै धितो राखेर कर्जा पाइने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो कर्जा योजनाअन्तर्गत आधार दरमा एक दशमलव पाँच प्रतिशतमा कर्जा उपलब्ध गराइने छ । अधिकतम रु १० करोडसम्मको कर्जासीमा तोकिएको यो योजनामा विभिन्न चारवटा श्रेणीमा कर्जा रकम विभाजन गरिएको छ । यो कर्जा कार्यक्रमअन्तर्गत रु १५ लाखसम्मको कर्जा, रु १५ लाखदेखि एक करोडसम्म, रु एक करोडदेखि रु पाँच करोड र रु पाँच करोडदेखि रु १० करोडसम्मको कर्जा रकम तोकिएको छ । यस्तो प्रकारको कर्जाको अवधि १० वर्षको रहने पनि बैंकले जनाएको छ ।रासस

गुणस्तरीय सेवा प्रवाह गर्न प्रहरी अस्पतालका कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्रहरी कर्मचारीलाई सेवा प्रवाहको गुणस्तर बृद्धि गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्यालाई सम्बोधन गर्दै अझ शिष्ट बोलीवचन एवं व्यवहार तथा सकारात्मक सोचका साथ सेवाग्राहीलाई भावनात्मकरूपमा महसुस हुने गरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवं सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको समुचित प्रयोग गरेर व्यक्तिगत स्वार्थभन्दा पनि पेसागत स्वार्थलाई केन्द्रविन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्ने बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको विकास र सेवा विस्तारका लागि सङ्गठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हेटौँडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति गरिँदै

धुलिखेल, ११ माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्ड स्तरोन्नति भइरहेको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बिपी राजमार्गको चारसयबेँसी अमलटार लेकपानी सडक निर्माणकार्य भइरहेकाले सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आगामी ३० महिनाभित्र पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी करिब एक महिना अगाडिदेखि काम भइरहेको बताए । ५१ करोड ४४ लाख ८३ हजारको लागतमा पूर्वाधार विकास कार्यालयबाट ठेक्का पाएको सिद्धबाबा ग्रिनतार जेभीले पहिलो चरणमा उक्त सडकखण्ड आगामी २०८३ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार सडक निर्माणसँगै रिटेनिङ वाल, स्ल्याब कल्भर्ट, ह्युमपाइपलगायतका संरचना निर्माण गर्नुपर्ने छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेश सभासदस्य रत्न ढकालले गत मङ्सिर ३० गते संयुक्त रूपमा सो सडकखण्ड शिलान्यास गरेका थिए।

अमलटारहुँदै खार्पाचोक–लेकपानी–सुगुरेसम्म जाने सडक निर्माणका लागि १०–१२ वर्षअघि स्थानीय बासिन्दाले चन्दा उठाएर सुरु गरेकामा अहिले प्रदेश सरकारको गौरवको आयोजनाभित्र परेको छ ।

भ्रूण स्थानान्तरणबाट एक गैँडा गर्भवती, लोप हुने उपप्रजातिहरूलाई सहयोग पुग्ने आशा

नैरोबी/ एपी । एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् ।

अर्को उप–प्रजातिका साथ परीक्षण गर्दा अन्वेषकहरूले प्रयोगशालामा अन्डा र शुक्राणुबाट दक्षिणी सेतो गैँडाको भ्रूण बनाए । ती अन्डा र शुक्राणु पहिला अन्य गैँडाबाट सङ्कलन गरिएको थियो र त्यसलाई केन्यामा ओल–पेजेटा कन्जर्भेन्सीमा एउटा दक्षिणी सेतो गैँडा सरोगेट आमामा स्थानान्तरण गरिएको थियो ।

“सफल भ्रूण स्थानान्तरण तथा गर्भावस्था अवधारणाको प्रमाण हो र अब यसले अन्वेषकहरूलाई उत्तरी सेतो गैँडाको भ्रूणलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न अनुमति दिन्छ, यो उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउने मिसनको आधारशीला हो”, समूहले बुधबार एक विज्ञप्तिमा भनेको छ ।

यद्यपि सरोगेट आमा गैँडाको सन् २०२३ नोभेम्बरमा एक जीवाणु सङ्क्रमणबाट मृत्यु भएपछि मात्र टोलीलाई गर्भावस्थाबारे थाहा भयो । क्लोस्ट्रिडियम स्ट्रेनका बीजाणुहरू बाढीको पानीले माटोबाट निस्कँदा गैँडालाई सङ्क्रमण भएको थियो र पोस्टमार्टम परीक्षणमा भ्रूण पत्ता लागेको थियो ।

तर पनि वैज्ञानिकहरू आफ्नो निष्कर्षलाई लिएर अत्यन्त आशावादी छन् । बायोरेस्क्यु प्रजनन विभागका प्रमुख एवं मुख्य शोधकर्ता प्राध्यापक थोमस हिल्डेब्रान्टले भन्नुभयो, “अब हामीसँग परीक्षण ट्युबमा तयार गरिएको जमेको, पग्लिएको भ्रूणले नयाँ जीवन दिनसक्छ भन्ने स्पष्ट प्रमाण छ र हामी सेतो गैँडाका लागि यही चाहन्छौँ ।”

अफ्रिकामा करिब २० हजार दक्षिणी सेतो गैँडा रहेका छन् । तिनीहरू उप–प्रजातिका साथै अर्को प्रजाति कालो गैँडा आफ्नो सिङको अवैध शिकारका कारण तिनीहरूको सङ्ख्यामा उल्लेखनीय कमीबाट माथि आइरहेका छन् । यद्यपि उत्तरी सेतो गैँडाको उप–प्रजाति विश्वमा दुई वटामा मात्र बाँकी छन् ।

तिनीहरू बस्ने ओल–पेजेटा कन्जर्भेन्सीका अनुसार ३४ वर्षीय नाजिन र उसको २३ वर्षीय सन्तान फातु दुवै प्राकृतिकरूपमा प्रजननमा असमर्थ छन् । अन्तिम भाले सेतो गैँडा ४५ वर्षको सुडान थियो । उमेरसम्बन्धी जटिलताका कारण सन् २०१८ मा उसको मरण सहज बनाइयो । ऊ नाजिनको भाले थियो ।

उत्तरी सेतो पोथी गैँडाबाट प्राप्त अन्डाहरू प्रयोग गरी भ्रूण उत्पादन गर्नका लागि प्रयोग गर्ने आशामा वैज्ञानिकहरूले उसको वीर्य र अन्य चार मरेका गैँडाहरूको वीर्य भण्डारण गरे । अन्ततः दक्षिणी सेतो गैँडा सरोगेट आमाहरूले ती वीर्य र अन्डा बोक्नेछन् ।

केही संरक्षण समूहहरूले चाड, सुडान, युगान्डा, कङ्गो र मध्य अफ्रिकी गणतन्त्रमा प्रजातिहरूको प्राकृतिक वासस्थान मानव द्वन्द्वका कारण नष्ट भएकाले इन भिट्रो फर्टिलाइजेसनमार्फत उत्तरी सेतो गैँडालाई बचाउन सम्भवतः ढिलो भइसकेको तर्क दिएका छन् । संदिग्धहरूले बाँच्नका लागि राम्रो अवसरका साथ अन्य गम्भीररूपमा लोपोन्मुख प्रजातिहरूमा प्रयास केन्द्रित गर्नुपर्ने बताएका छन् ।

मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ ।न्यायाधीशद्वय सुष्ममालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले गत भदौमा जारी गरेको आदेशको आज सार्वजनिक पूर्णपाठमा आयोगको काम कारबाही प्रभावकारी बनाउन ऐन सशोधन प्रक्रिया बढाउन निर्देशनात्मक आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “आयोगबाट सिफारिस भई मुद्दा चलाउन महान्यायाधिवक्ता समक्ष पेश भएका मुद्दा चलाउन, मानवअधिकार उल्लङ्घनकर्ताको नाम सार्वजनिक गर्न, त्यस्ता व्यक्तिलाई कुनै संवैधानिक वा सार्वजनिक पदमा नियुक्ति तथा बढुवा वा कुनै सुविधा प्रदान नगर्नू ।”

अदालतले करिब पाँच वर्षभन्दा पहिले आयोगबाट गरिएका सिफारिस प्राभावकारी कार्यान्वयन नभएको सम्बन्धमा अधिवक्ता वीरेन्द्र थपलियाले दायर गर्नुभएको रिट निवेदनमा उक्त आदेश गरेको हो । आदेशमा द्वन्द्वकालमा आयोगमा पेश भएका उजुरीहरु सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी ऐन संशोधन भई स्वतन्त्र र सक्षम देखिएमा त्यस्ता उजुरीहरु सम्बन्धित आयोगमा पेश गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश गरेको छ ।

आयोगको सिफारिस वा आदेश नमान्ने व्यक्ति वा पदाधिकारीकाविरुद्ध अपहेलना वा मानहानीमा कारबाही चलाउन पाउनुपर्ने माग गरिएको रिट निवेदनमा आयोगको ऐन संशोधनका सम्बन्धमा सरकार समक्ष पत्राचार भई कारबाही अघि बढेकाले अदालतले रिट निवेदन खारेज गरेको छ ।

उक्त निवेदनमा आयोगको क्षेत्राधिकार उल्लेख भएको संविधानको धारा २४९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा १३९३० बाझिएको भनी आयोगमा भएका द्वन्द्वकालका घटनाको छानबिन मानवअधिकार आयोगले नै गर्न पाउनुपर्ने माग थियो ।

अदालतले मानवअधिकार उल्लङ्घनकर्ताको नाम सार्वजनिक गर्नुपर्ने र त्यस्ता व्यक्तिलाई संवैधानिक वा कुनै सार्वजनिक पदमा नियुक्ति, बढुवा वा अन्य कुनै सुविधा प्रदान गर्न छेकवार लगाउनुपर्ने, आयोगका सिफारिसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, आयोगले मुद्दा चलाउन सिफारिस गरेमा महान्यायाधिवक्तामार्फत अगाडि बढाउनुपर्ने आदेश गरेको छ ।

आयोगको अधिकार र कार्यक्षेत्र विस्तार गर्ने गरी अदालतले गरेको निर्देशनात्मक आदेश जारी गर्दा राष्ट्रिय, अन्तर्राष्ट्रिय र तुलनात्मक कानुनको विश्लेषण र सर्वोच्च अदालतका पहिलेका निर्णयलाई आधार बनाइएको छ ।

बाँकेमा चौबीस वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता

खजुरा (बाँके), ११ माघ । बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब दुई सय २५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले बताए । प्रतियोगितामा विभागीय खेलाडीहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताका लागि प्रवर्द्धक राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्यसचिव जयप्रकाश भट्टराईलगायत खेलाडी नेपालगञ्ज आइसकेका छन् । शनिबारसम्म आयोजना हुने प्रतियोगितामा पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल र पैँतालीस प्लस भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजक सङ्घका उपाध्यक्ष मीनबहादुर मल्लले बताए ।

उनका अनुसार पुरुष एकलतर्फ प्रथम हुनेलाई ७० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई १५–१५ हजार, महिला एकलतर्फ प्रथमलाई ६० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५–१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५–१५ हजार प्रदान गरिने छ ।

पुरुष युगल (बि लेभल) तर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १०–१० हजार र पुरुष युगल (भेट्रान्स पैँतालीस प्लस) तर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीय हुनेलाई १०–१० हजार प्रदान गरिने सङ्घले जनाएको छ ।

“यस प्रतियोगितामा देशमै आयोजित व्याडमिन्टन प्रतियोगिताको भन्दा बढीको पुरस्कार राशि व्यवस्था गरेका छौँ, उपाध्यक्ष मल्लले भने । प्रतियोगिता आयोजनाका लागि ३१ लाख २७ हजार लागत अनुमान गरिएकामा प्रदेश खेलकुद परिषद्ले पनि केही सहयोग गर्ने उनको भनाइ थियो ।

सङ्घका अध्यक्ष थापाले प्रतियोगिताले नेपालगञ्जमा ब्याडमिन्टनतर्फ आकर्षकण बढ्ने विश्वास व्यक्त गर्दै नयाँ खेलाडी तयार गर्न बालबालिकाहरूलाई सानैदेखि खेल्ने वातावरण तयार गर्नुपर्ने बताए ।

हालसम्म तनहुँ जलविद्युत् आयोजनामा २८ सुरुङ खनियो

दमौली (तनहुँ), ११ माघ । एक सय४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म २८ वटा सुरुङ खन्ने काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र प्याकेज दुईतर्फ गरी कुल २८ वटा सुरुङ खन्ने काम सकिएको हो ।

प्याकेज एकतर्फ १० वटा तथा प्याकेज दुईतर्फ १८ वटा सुरुङ खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । त्यस्तै प्याकेज एकतर्फ दुईवटा र प्याकेज दुईतर्फ एउटा सुरुङ खन्ने काम जारी छ । एक हजार चार सय ५६ मिटरको हेडरेस सुरुङमध्ये हालसम्म एक हजार दुई सय २० मिटर सुरुङ खनिसकिएको छ भने बाँकी खन्नेकार्य जारी रहेको आयोजनाले जनाएको छ ।

सोही प्याकेजअन्तर्गतको विद्युत्गृह कङ्क्रिटिङ, ट्रेलरेस कङ्क्रिटिङ, केबल सुरुङ कङ्क्रिटिङ, ड्राफ्ट ट्युव सुरुङ कङ्क्रिटिङको काम चलिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत नै हाइड्रोमेकानिकल कार्यअन्तर्गत ठाडो सुरुङमा पेनस्टक पाइप जडान काम भइरहेको छ । हालसम्म दुई सय १२ दबमलव तीन सय नौ मिटरमध्ये एक सय पाँच दशमलव २० मिटर पाइप जडान गरिएको आयोजना प्रमुख शिल्पकारले बताए ।

प्याकेज दुईअन्तर्गत चीनको सिनो हाइड्रो कर्पोरेसनले भूमिगत विद्युत्गृहमा मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कार्यहरू गरिरहेको छ । यो प्याकेजको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते गरिएको खरिद सम्झौताबमोजिम सिनोले विसं २०७५ माघ ६ गतेदेखि आयोजनास्थलमा निर्माणकार्य जारी राखेको छ ।

प्याकेज–तीनअन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ७० वटा टावरको जग हाल्ने कार्य सकिएको छ । तेत्तीसवटा टावर जडान गरिएको छ भने १३ वटा टावरको जग संरक्षण गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्नेमा एसियाली विकास बैंकले १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख डलर, युरोपेली लगानी बैंकले आठ करोड ५० लाख डलर र नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।

बजेट नआउँदा भुक्तानी दिन समस्या

अर्घाखाँची, ११ माघ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा भएका निर्माण ठेक्का सम्झौताभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन् । विभिन्न स्थानमा ठेक्का सम्झौताअनुसार काम नभएको, योजना अलपत्र परेको, निर्माण व्यवसायी काम छाडेर भागेको भन्ने खबर आइरहँदा सन्धिखर्क नगरपालिकामा भएका कामलाई उदाहरणका रूपमा लिइएको छ ।

सन्धिखर्क नगरपालिका वडा नं। ७ फज्र्याङ्ग, वडा नं ८ किमडाँडा र वडा नं ११ डिभर्नाको स्वास्थ्यचौकी भवन निर्माण सम्झौता मितिभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन् । पन्ध्र महिनामा सम्पन्न गर्ने काम छिटो र छरितो गरी १० महिनामै सम्पन्न भएका हुन् ।

प्रतिभा/खनाल ब्रदर्स/सम्झना जेभीले तीन वडामा स्वास्थ्यचौकी भवन निर्माण २०८१ साल जेठ ७ गतेसम्म सम्पन्न गर्न सन्धिखर्क नगरपालिकामा सम्झौता गरेको थियो । स्वास्थ्य चौकी भवन निर्माण पाँच महिनाअघि नै सम्पन्न भइसकेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले २०७९ फागुन ८ गते प्रतिभा÷खनाल ब्रदर्स÷सम्झना जेभीलाई १५ महिनामा काम सम्पन्न गर्नेगरी कार्यादेश दिएको र सोभन्दा चाँडै सम्पन्न गरेको निर्माण व्यवसायी कविराम खनालले बताए ।

तीनवटा स्वास्थ्यचौकी भवन निर्माण गर्न मूल्य अभिवृद्धि करसहित पाँच करोड ७६ लाख ३९ हजार ६०४ पैसा ४० मा निर्माण व्यवसायीले सम्झौता गरेको र सम्झौताअनुसारको काम सम्पन्न गरेर निर्माण व्यवसायीबाट भुक्तानीको लागि निवेदन पेस भइसकेको नगरपालिकाका योजना शाखा प्रमुख डिलकुमार केसी (दिलिप) ले जानकारी दिए ।

तीन वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकीभवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सजिलो हुने भएको छ । सङ्घीय सरकारबाट चालु आर्थिक वर्षका लागि विशेष अनुदान शीर्षकमा विनियोजित बजेट अपर्याप्त रहेकोले निर्माण सम्पन्न गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा थप बजेट माग्दा पनि निकासा नभएकोले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाई छ ।

सन्धिखर्क नगरपालिकाकै चुत्राबेसी, भक्तिटोल, धरम्पानी, अर्घा मैदान सडक स्तरोन्नतीको कार्य २०८० साल माघ २६ गते सम्पन्न गर्ने गरी सम्झौता भएकोमा यो काम पनि झण्डै एक महिना अघि सम्पन्न भएको छ । यो सडक निर्माणका लागि रायमाझी/जयमाता/खनाल ब्रदर्स जेभीले २०८० साल माघ २६ गतेसम्म काम सम्पन्न गर्ने गरी २०७८ साल फागुन ९ गते कार्य आदेश पाएको थियो ।

सडक निर्माणका लागि जेभीले मूल्य अभिबृद्धि करसहित छ करोड १९ लाख १७ हजार ८९९ पैसा ७४ मा सम्झौता गरेको थियो । यस्तै सन्धिखर्क ९ मा रहेको अर्घा भगवती आधारभूत विद्यालय भवन निर्माण पनि सम्झौता मिति भन्दा दुई महिना अघि सम्पन्न भएको छ । विद्यालय भवन निर्माण २०८० साल चैत ६ गतेसम्म सम्पन्न गर्ने गरी केसी, प्रतीक्षा सृजना जेभीले मूल्य अभिवृद्धि करसहित रु तीन करोड नौ लाख १४ हजार ६३८ पैसा ४१ मा ठेक्का सम्झौता गरेको थियो ।

विकास निर्माणलाई गुणस्तरीय बनाउन समय समयमाअनुगमन, मूल्याङ्कन, ल्याव टेस्ट लगायतका काम पनि नगरपालिकाका प्राविधिकको टोलीले गरेको थियो । कामलाई सही, राम्रो र गुणस्तरीय बनाउन तथा स्टमेट अनुसार काम गराउन नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, नगर उपप्रमुख मिश्रा आचार्य र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालसहितको इन्जिनीयर तथा प्राविधिकको टोलीले अनुगमनलाई पनि निरन्तरता दिएका थिए । जसका कारण काम तोकिएको मिति भन्दा अगावै सम्पन्न हुन सफल भएका हुन् ।

अर्घाखाँचीमा विकास निर्माण तोकिएको समय भन्दा छिटो सम्पन्न गर्ने निर्माण व्यवसायी हुन् युवा व्यवसायी कबिराम खनाल । अर्घा भगवती विमानस्थलको निर्माणमा तोकिएको मिति भन्दा छिटो काम सम्पन्न गरेर पुरस्कार पनि प्राप्त गरे ।

दादुरा–रुबेलाविरुद्धको खोप फागुन दोस्रो सातादेखि

काठमाडौं- सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन लागेको हो। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाबाट अति संक्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइनेछ।

‘बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइनेछ,’ प्रमुख डा गौतमले भने। जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो। फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनले बताए।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताए।

दादुरा–रुबेला सबैभन्दा बढी संक्रमक रोग हो। एक व्यक्तिले १८ जनासम्मलाई यो रोग सार्न सक्छ। ‘दादुरा–रुबेला बढी संक्रामक हुन्छ,’ खोप शाखा प्रमुख डा. गौतमले भने, ‘त्यसैले यस वर्ष देशभरि नै खोप अभियान सञ्चालन गर्न थालेका छौँ।’

कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै तीन अर्ब २४ करोड भित्र्यायो

कर्णाली । कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पुँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा कृषिमन्त्री भीमप्रकाश शर्माले आफूले गत २०७९ माघ ११ गते कार्यभार सम्हालेयताको एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै कर्णालीले प्रदेशका विभिन्न जिल्लाबाट रु २४ करोड बराबरको तरकारी, किवी, अदुवा, दूध निर्यात भएको बताए ।त्यसैगरी, चालु आवको मङ्सिर ७ गतेदेखि प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबई अस्थायी तथ्याङ्क सङ्कलन केन्द्रबाट दुई महिनामा रु २२ करोड २२ लाख ८८ हजार बराबरको कृषि तथा पशुपन्छीजन्य उत्पादन निर्यात भएको उनले जानकारी दिए ।

मन्त्री शर्माका अनुसार यहाँको रैथानीबाली मार्सी धान, सिमी, फापर, चिनो, कागुनोको निर्यातबाट रु पाँच करोड ४२ लाख, ८९ आम्दानी भएको छ ।त्यस्तै, कृषि तथा पशुपन्छी विकासको लागि डोल्पामा चौरी, दैलेखमा बाख्रा र सल्यानमा सुन्तला जात बालीको विकास फार्म, सुर्खेतमा प्रदेश रिफरल भेटेनरी अस्पताल, बागवानी विकास फार्म, दार्मालाई प्राङ्गारिक कृषि प्रविधि विकास तथा प्रवद्र्धन केन्द्र र सल्यानको कपुरकोट तथा सुर्खेतको हर्रेमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गर्न जनशक्ति व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको उनको भनाइ थियो ।मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले जुम्लामा कृषि अनुसन्धान केन्द्रअन्तर्गत गुठीचौर भेडा अनुसन्धान केन्द्र रहेको बताउँदै कर्णाली प्रदेशमा कफी उत्पादनको प्रचुर सम्भावना भएकाले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको शाखा कार्यालय स्थापनाको तयारी भइरहेको बताए । उनले ब्याजमा अनुदान कार्यक्रममार्फत रु चार करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पुँजी कृषि क्षेत्रमा मात्र परिचालन भएको जनाए ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णालीमा रासायनिक मल विस्थापन गर्न जैविक तथा प्राङ्गारिक मल खरिद गर्ने किसानको लागत मूल्यमा ४० प्रतिशत अनुदान मन्त्रालयले दिने कार्यक्रम अगाडि बढाइएको बताए । वीरेन्द्रनगरमा मात्र नौ टन जैविक मल बिक्री वितरण भएको जनाउँदै उनले प्रदेशका १२ समूहलाई मूल्यवान लोगो प्रदान गरिएको जनाए । प्रवक्ता कठायतका अनुसार खाद्य व्यवस्थापबाट अनुज्ञापत्र लिएकालाई मात्र मूल्यवान लोगो प्रदान गरिएको छ ।

 भूपू सैनिक सम्मेलन : इटहरी, भरतपुर र काठमाडौँ मुख्य केन्द्र

काठमाडौँ । नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडौँलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन गर्न लागेको हो । पूर्वीपृतना इटहरी, नम्बर २ हिले, नम्बर १८ गाइघाट, नम्बर २१ चारआली बाहिनी अड्डा तथा पाँचथरको रणशेर गण र ओखलढुङ्गाको दुर्गा बक्स गणमा आगामी फागुन ३ गते सम्मेलन हुनेछ ।

प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि दुई वर्षअघि दिपायलबाट सुरु भएको ‘भूतपूर्व सैनिक सम्मेलन’ अघिल्लो वर्ष बुटवल, दाङ, पोखरा, खैरेनीटार, सिन्धुली र बर्दिवासमा भएको थियो । चितवनको भतपुरस्थित नयाँ सबुज गण र नुवाकोटको त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आगामी फागुन ११ गते उक्त सम्मेलन हुँदैछ ।प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने प्रचलन रहिआएको छ । काठमाडाँैस्थित सैनिक मञ्च टुँडिखेल, नम्बर १ बालाजु, नम्बर १३ ललितपुर र नम्बर १७ बाहिटी बाहिनी अड्डा तथा नम्बर १ विपद् व्यवस्थापन गण, भक्तपुरको इन्द्रबक्स गण र गठ्ठाघरको भैरव वाहन गुल्म, कालीजङ्ग गण धुलिखेल र चौतारास्थित इन्द्रध्वज गणमा आगामी चैत ४ गते भूपू सैनिक सम्मेलन हुने छ ।विसं २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ । सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरिनेछ ।मुलुकमा हाल निवृत्तिभरणमा राजिनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८७ हजार दुई छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १६ हजार दुई सय ११ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायतका सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ । सेना भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ ।सम्मेलनका क्रममा भूपू सैनिकको मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी, सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका माता–पितालाई सम्मान तथा अन्तक्र्रिया र छलफल हुनेछ । सम्मेलनका अवसरमा भूपू र आश्रित परिवारको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्रदानका साथै टोपी, सल, ट्रयाकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराँउने सैनिक परम्परा छ ।सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर हो । सेनाको सङ्गठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि हुने त्यस्तो जमघटले सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढ्ने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउनुहुन्छ । ‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजना हुँदैआएको सम्मेलन भूपू सैनिकको सर्वपक्षीय सम्मुन्नति र प्रगतिमा केन्द्रित छ ।सम्मेलनमा हुने पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदानप्रदानले बहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्नेछ । देश र संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्रसेवामा गरेको योगदानको कदर गर्ने अवसरका रूपमा सम्मेलन हुँदै आएको छ ।सम्मेलनका क्रममा हुने छलफल र अन्तत्र्रिmयाले भइरहेका प्रयासको मूल्याङ्कन र सङ्गठनलाई योजना तर्जुमामा महत्वपूर्ण सुझाव प्राप्त हुनेछ ।

ज्येष्ठ नागरिकको सहजताका लागि सामाजिक सुरक्षा भत्ता गाउँगाउँमै वितरण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि टोलमै पुगेर भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिकबापतको सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण गरेको हो ।

ज्येष्ठ नागरिकलाई बजारसम्म झरेर बैंकमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाले पालिकाले गत वर्षदेखि नै टोलमै पुगेर भत्ता वितरण गर्ने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, “हामी जनताको सेवाका लागि आएका हौँ । जसरी सहज हुन्छ त्यसरी नै जनताको सेवामा समर्पित हुने प्रयास गर्दैछौँ ।”गाउँपालिकाले वडा नम्बर १ को देवीडाँडा आमा समूह भवन र चन्द्रोदय माविबाट भत्ता वितरण गरिसकेको छ । त्यस्तै अशक्त व्यक्तिलाई भने घरमै पुगेर भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ को कोटगाउँ, पतेनी, एक्लेफाँट, पौवा, खोलागाउँ, तिलबारी, नयाँगाउँ र डुम्रीखर्क, ढापटार, नारीघाँट, खानीखोला र ढकालटारमा भत्ता वितरण गरिसकिएको छ भने अदुवाखर्क, घोक्रिङ खर्क, सहकारी टोलमा माघ १० गते भत्ता वितरण गरिएको छ ।वडा नम्बर ३ को आँबुगाउँ, कोटगाउँ, धारापानीमा यही माघ ११ गते भत्ता वितरण गरिनेछ । वडा नम्बर ४ को घ्याङसिङ, भाँगे, लोप्राङ, अक्लाङ, काफलडाँडामा माघ ६ गते, आमडाँडाबेँसी, खस्राङ, पूर्वीबँेसी, दुवाबेँसी, साँखर, बेनीटार, वडा कार्यालय भवनमा माघ ७ गते भत्ता वितरण गरिएको छ । वडा नम्बर ५ को लाब्दी, भेटेसरा, भकुन्डी, वडा कार्यालय भवन, घुमाउने, बरालुङ बेसमा भत्ता वितरण गरिसकिएको छ ।वडा नम्बर ६ को हिलेखर्क, पुर्लङ र प्युघरमा टोलमै पुगेर भत्ता वितरण गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । गाउँपालिकाले विभिन्न बैंकमार्फत ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग (क) वर्ग, अशक्त अपाङ्ग (ख) वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण थालेको हो । त्यसका लागि बैङ्कका कर्मचारीलाई पनि घरदैलोमा नै लगिएको छ ।टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घन्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश प्रदेशका धेरै भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी

चितवन । भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो ।विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन् । केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तार गर्न लागिएको हो ।

सरोकारवाला निकायका सबै सकारात्मक देखिएसँगै विस्तारको काम अघि बढ्ने भएको हो । भरतपुर महानगरपालिकाले विस्तारको पहल गर्दै आएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्ने सहमति भइसकेको जानकारी दिइन्् । मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले निर्देशन दिइसकेको जनाइएको छ ।

अहिलेको यो विमानस्थल निकै जोखिमपूर्ण मानिन्छ । यो तराईको लुक्ला भनेर पनि परिचित गरिन्छ । प्रमुख दाहालका अनुसार विमानस्थल विस्तार गरेर धावनमार्ग एक हजार पाँच सय मिटर बनाइँदै छ । अहिले एक हजार दुई सय मिटर मात्रै लामो छ । यससँगै ७२ सिट क्षमताका ठुला जहाज रात्रिकालीनसमेत उडान गर्न सकिने उनले जानकारी दिइन् ।

गत शनिबार भरतपुरको श्री नयाँ सबुज गणमा भएको कार्यक्रममा रक्षामन्त्री पूर्णबहादुर खड्काले ब्यारेकमा रहेको ७० बिघा आठ कट्ठा चार धुर जग्गामध्ये १९ बिघा चार कट्ठा चार धुर विमानस्थल विस्तारका लागि दिनुपर्ने देखिएको जानकारी दिएका थिए । यससँगै यहाँको केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उनले बताए । सोही अवसरमा रक्षामन्त्री खड्काले स्थलगत निरीक्षण गरी प्रजनन केन्द्र सार्ने विषयमा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए ।

केन्द्रमा साना ठुला गरी हाल ११० घोडा छन् । विसं २०४१ बाट केन्द्र सञ्चालनमा छ । यहाँ जन्मिएका घोडाका बच्चालाई सामान्य तालिम दिएर थप तालिमका लागि काठमाडौँ पठाउने गरिन्छ । प्रजनन केन्द्र स्थानान्तरण गरिए पनि सेनाको गण भने यही रहने जनाइएको छ ।

धावनमार्ग र सडकका लागि थप जग्गा दिने तयारी गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जग्गाको सुनिश्चितता भएसँगै धावनमार्ग विस्तारको काम अघि बढ्ने जानकारी दिए । नयाँ टर्मिनल भवन बन्दै गरेको जनाउँदै उहाँले विस्तारका लागि जग्गाको व्यवस्था भएसँगै धावनमार्ग विस्तारको काम तत्काल अघि बढाउने बताए । चालु आर्थिक वर्षमा धावनमार्गका लागि कार्यक्रमसमेत राखिएको उनले जानकारी दिए ।

यो विमानस्थल विसं २०१५ मा निर्माण भएर विसं २०१८ बाट सञ्चालन हुँदै आएको छ । विमानस्थलको हाल कूल क्षेत्रफल ६२ बिघा रहेको छ । यसमा एक हजार २दुई सय मिटर मात्र धावनमार्ग छ । विमानस्थलबाट अहिले काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । छोटो धावनमार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ ।

पाथिभरा माताले हामी सबैको कल्याण गरुन, हेर्नुहोस् माघ ११ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु पर्नेछ । जिवन साथीको सहयोगमा जटिल कार्य सम्पादीत रहनेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृष राशि – आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि- मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह राशि- कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

कन्या राशि – आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरुको बृद्यि हुनेछन । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।

तुला राशि – सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

बृश्चिक राशि – यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि- स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

मकर राशि – शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

कुम्भ राशि – तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।

मीन राशि- बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।

आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन

काठमाडौँ – आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहिबार निर्वाचन हुँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थलमा निर्वाचन हुँदैछ।

निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहने आयोगले जनाएको छ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख(उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ । हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेको आयोगले जनाएको छ ।

साउदी अरबका कम्पनीले अकामा नवीकरण नगरिदिँदा नेपाली श्रमिक समस्यामा

काठमाडौँ । साउदी अरबका धेरै कम्पनीले अकामा नवीकरण नगरिदिँदा धेरै नेपाली श्रमिक गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका छन् । साउदीको अलअस्रा कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्या परेका दुई नेपाली चेलीको भने उद्धार गरिएको छ ।

कम्पनीले अकामा नवीकरण नगरी काम मात्र लगाउने र समयमा तलब नदिई अलपत्र परेका हेटौँडाकी अस्मिता तामाङ र गोरखाकी कविता गुरुङलाई उद्धार गरी नेपाल फर्काइएको हो । उनीहरू त एक प्रतिनिधि उदाहरण मात्र हुन् । रोजगारदाता कम्पनीले अकामा नबनाइदिने, करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ ।

यसले गर्दा विदेशमा श्रम गर्न त्यहाँ पुगेकाहरू बाहिर हिँडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको त्यहाँ क्रियाशील नेपाली संघसंस्था तथा सामाजिक अभियन्ताले बताउने गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो ।

विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका–६ गोचाखोला क्षेत्रमा अहिले उपकरण मात्रै छन् । डोजर, सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रडलगायतका निर्माण सामग्री सुरुङ अगाडि अलपत्र अवस्थामा छन् ।आयोजनाको पूरा क्षमतामा निर्माणलाई पुनः अघि बढाउने गरी तयारी भइरहेको आयोजना प्रमुख गोपाल रेग्मीले जानकारी दिए । उनले यसअघि एउटा मात्रै अडिटबाट सुरुङ खन्न सुरु गरिएकोमा थप मेसिन उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग बनाउने तयारी भइरहेको जानकारी दिए ।“अब फेरि सुरुङको काम सुरु हुन्छ, अहिले एउटा अडिटबाट सुरुङ खन्दै आएका थियौँ, यसै माघ २० गतेबाट हामीले दुई ठाउँबाट सुरुङमार्ग खन्ने गरी प्रबन्ध मिलाउँदै छौँ, अहिले पनि कर्मचारी आवासगृहतर्फको काम भइरहेको छ”, आयोजना प्रमुख रेग्मीले भने । उनका अनुसार, यस आयोजनाको सुरुङमार्गतर्फ अहिलेसम्म करिब ३५ प्रतिशत काम सकिएको छ ।कूल दुई हजार आठ सय ५० मिटर लामो सुरुङमार्ग बनाउनुपर्नेमा अहिलेसम्म नौ सय ९५ मिटर सुरुङ निर्माण सकिएको आयोजनाले जनाएको छ । पाँच वर्ष अगाडि तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाद्वारा आयोजनाको दुखुबेँसीको बालौटेमा निर्माण हुने विद्युत् गृहको शिलान्यास गरिएको थियो । तर यस आयोजनाको सुरुङबाहेक विद्युत् गृह र ड्यामसाइटतर्फ कुनै काम सुरु भएको छैन । आयोजनाको सुरुङ निर्माणमा विस्फोटक पदार्थको अभावले काम रोकिएको बुझिन आएको र पालिकाले आयोजनालाई सफल बनाउन प्रवर्द्धकसँग समन्वय गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताउनुभयो । “स्थानीयस्तरमा केही समस्या छैन, हामीले सहजीकरण गर्ने काममा सहयोग गरिरहेका नै छौँ”, उनले भने ।आयोजनाको निर्माण सुस्त भएपछि लगानीकर्तासमेत चिन्तित बनेका छन् । मालिका –५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । रु पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवर्द्धक र सर्वसाधारणको सेयर लगानी रहने छ भने अन्य लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ ।

डिजेल आयात १८ प्रतिशतले घट्यो

काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ ।

नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिए । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको उनको भनाइ छ ।

सामान्य अवस्थामा एक लाख ४० हजार किलोलिटर डिजेल खपत हुने गरेकोमा हाल घटेर मासिक ९४ हजार ४०५ किलोलिटरमा झरेको छ । यस्तै पेट्रोलको खपत भने दुई प्रतिशतले बढेर तीन लाख १५ हजार ५६ किलोलिटर पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आजदेखि एक महिने स्वस्थानी व्रतकथा सुरु

काठमाडौँ : आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।

वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी नेपालमा बसोवास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराको रुपमा रहेको छ । नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन् ।नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गर्नुभएकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउनुहुन्छ । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ । वैदिक सभ्यताका विषयमा नेपालमै अध्ययन अनुसन्धान गर्ने थोरै पश्चिमा खोजकर्तामध्ये जेसिका पनि एक हुनुहुन्छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।सय रोटी वर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने, सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।“स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”–उहाँले भन्नुभयो ।यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ ।सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला शुरु गरिँदै छ ।“माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”–इतिहासकार श्रेष्ठले भन्नुभयो ।यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा आजदेखि लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।रासस

सङ्घीय शिक्षा विधेयक छिट्टै पारित हुन्छ : शिक्षामन्त्री राई

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् । एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा बुधवार आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री राईले सङ्घीय संसद्मा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० संसद्मा छलफलको क्रममा रहेको जानकारी दिए ।

उनले संसद्मा विचाराधीन नयाँ सङ्घीय शिक्षा विधेयक पारित भएपछि यसबाट सामुदायिक विद्यालयको अवस्था उन्नत र माथिल्लोस्तरमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरे । सरकारले शिक्षामा दीर्घकालीन परिणाम दिने गरी काम गरिरहेको मन्त्री राईको भनाइ थियो । शिक्षा क्षेत्रमा रहेका कमीकमजोरी सुधार्न आफू लागि परेको उनले उल्लेख गरे ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, विद्यालयका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङ्, प्राचार्य रञ्जना बजगाईं लगायतले विद्यालयको शैक्षिक गुणस्तरमा धयान दिन आग्रह गरेका थिए ।

क्यानडाको नयाँ नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर ?

क्यानडाले आगामी दुई वर्षसम्मका लागि आफ्नो देशमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने जनाएपछि यसको असर क्यानडा जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूमा पर्ने शिक्षा मन्त्रालयका एक जना अधिकारीले बताएका छन्।

आवास र स्वास्थ्य सुविधा पुर्‍याउन समस्या भएको उल्लेख गर्दै क्यानडाले अध्ययन अनुमतिमा ३५ प्रतिशतसम्म कटौती गर्ने जनाएको छ।सन् २०२२ मा क्यानडामा अध्ययनका लागि ८,००,००० विदेशी विद्यार्थीहरू पुगेका थिए। यस्तो सङ्ख्या त्यसको एक दशकअघि २,१४,००० मात्रै थियो।

क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले यो वर्ष स्नातक अध्ययनका लागि ३,६०,००० अनुमति मात्रै वितरण गरिने बताएका छन्।यसको प्रत्यक्ष असर पछिल्लो समय प्रमुख शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूमा पर्ने शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए।

“कुनै किसिमको आप्रवासन नीतिमा प्रतिबन्धहरू थपिए भने अरू देशका जस्तै नेपालका विद्यार्थीहरूलाई पनि असर त पार्ने नै भयो,” सापकोटाले भने।

“अहिलेको सूचना प्रविधिको जमानामा अलिकति सजय भएर मात्रै पढ्न जाने देश र विश्वविद्यालय रोज्न हाम्रो विद्यार्थीहरूलाई अनुरोध छ।”अहिले क्यानडाका विभिन्न प्रान्तमा रहेका विदेशी विद्यार्थीहरूको चापलाई ध्यान पुर्‍याएर सबै प्रान्तमा निश्चित सङ्ख्यामा विद्यार्थी जान पाउने गरी सरकारले त्यस्तो अनुमति दिने बताइएको छ। त्यसका आधारमा प्रान्तहरूले आफ्नो क्षेत्रमा रहेका विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नाको कोटा तोक्ने छन्।

यो सीमा स्नातक वा अन्डरग्राजुएट विद्यार्थीहरूका लागि मात्रै तोकिएको उल्लेख गरिएको छ। नेपालका शैक्षिक परामर्श दाताहरूले स्नातकोत्तर तह अध्ययनका लागि जाने विद्यार्थीका लागि यो नीतिले असर नपुग्ने ठानिएको बताएका छन्। त्यसै गरी अध्ययन अनुमति नवीकरण गर्ने विद्यार्थीहरूका लागि पनि यो लागू नहुने बताइएको छ।

मुख्य परिवर्तन के के हुन्
पछिल्लो नीतिगत परिवर्तनसँगै क्यानडा सरकारले आगामी सेप्टेम्बरसम्म कलेजहरूमा स्नातक पढ्दै गरेका विद्यार्थीहरूका लागि वर्क पर्मिट अर्थात् श्रम स्वीकृति जारी नगर्ने भएको छ। यस्तो स्वीकृति सार्वजनिक निजी साझेदारीका आधारमा दिइने गरिएको थियो।

अध्यागमन मन्त्रीले कुनै निश्चित देशका विद्यार्थीप्रति नयाँ नीति लक्षित नरहेको र सबैका हकमा यो लागु हुने बताएका छन्।

केही कलेजहरूले चर्को शुल्क लिएर उच्च सङ्ख्यामा विदेशी विद्यार्थीहरूको भर्ना लिएको तर विद्यार्थीहरूका लागि आवश्यक सहयोग नगरेको त्यहाँका मन्त्रीको दाबी छ। शिक्षामा गुणस्तर कायम गर्नका लागि यस्तो नीति लिइएको क्यानडाले जनाएको छ।

जस्टिन ट्रूडो नेतृत्वको सरकारमाथि क्यानडामा आवास समस्या सम्बोधनका लागि दबाव बढिरहेका बेला नयाँ नीति घोषणा गरिएको बताइएको छ। पछिल्लो दुई वर्षमा क्यानडामा घर भाडा २२ प्रतिशतसम्म बढेको विवरण सार्वजनिक भएका छन्। कतिपयले बढ्दो आप्रवासीहरूको सङ्ख्यालाई यसको कारक ठानेका छन्।क्यानडामा जनसङ्ख्या वृद्धिदर उच्च छ। केही महिनाअघि मात्रै यो देशको जनसङ्ख्या ४ करोड पुगेको थियो।

पाको उमेरका मानिसहरूको सङ्ख्या बढिरहेको क्यानडाले कामदारहरूको आवश्यकता पुर्‍याउन यसअघि आफ्नो आप्रवासन नीति खुकुलो बनाएको थियो।क्यानडाको नयाँ नीतिले त्यहाँ जाने योजनामा रहेका नेपाली विद्यार्थीहरूलाई असर गर्ने शैक्षिक परामर्शदाताहरू बताउँछन्।

शैक्षिक परामर्शदाताहरूको संस्था ईक्यानका अध्यक्ष शेषराज भट्टराईका अनुसार नेपालबाट क्यानडा जाने विद्यार्थीहरूमध्ये अधिकांश स्नातक तहको पढाइका लागि जाने गरेका छन्।

“क्यानडा पनि काम पाइने ठाउँको रूपमा जाने गन्तव्य थियो। तर २०२४ को सेप्टेम्बरसम्म भर्ना हुने विद्यार्थीहरूलाई पीजीडब्लूपी (श्रम स्वीकृति)को अधिकार दिएको छैन त्यसले गर्दा अब क्यानडा जाने सङ्ख्या घट्ने देखिन्छ,” उनले भने।

नेपाली विद्यार्थीलाई कस्तो असर पर्छ?
क्यानडाको नयाँ नीतिले त्यहाँ जाने योजनामा रहेका नेपाली विद्यार्थीहरूलाई असर गर्ने शैक्षिक परामर्शदाताहरू बताउँछन्।शैक्षिक परामर्शदाताहरूको संस्था ईक्यानका अध्यक्ष शेषराज भट्टराईका अनुसार नेपालबाट क्यानडा जाने विद्यार्थीहरूमध्ये अधिकांश स्नातक तहको पढाइका लागि जाने गरेका छन्।

“क्यानडा पनि काम पाइने ठाउँको रूपमा जाने गन्तव्य थियो। तर २०२४ को सेप्टेम्बरसम्म भर्ना हुने विद्यार्थीहरूलाई पीजीडब्लूपी (श्रम स्वीकृति)को अधिकार दिएको छैन त्यसले गर्दा अब क्यानडा जाने सङ्ख्या घट्ने देखिन्छ,” उनले भने।
भट्टराई नयाँ नीति र त्यहाँ देखिएको आवास र रोजगारीको समस्याका कारण क्यानडा जान धेरै कुरा विचार गर्नुपर्ने बताउँछन्।“अझ बढी ध्यान दिनुपर्ने र परामर्श लिनुपर्ने देखिन्छ। त्यहाँ गइहाल्ने र काम पाइहाल्छ भन्ने अवस्था अहिले क्यानडामा छैन,” उनले भने।

“क्यानडा शैक्षिक गन्तव्य बन्न सक्ला तर त्यहीँ काम गर्छु र कमाउँछु भन्ने अपेक्षा बोकेर जाने विद्यार्थीहरूको लागि गन्तव्य बन्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो।”समाचार बीबीसी नेपालीबाट

‘झापा विद्रोह’ को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचित

काठमाडौँ । तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ । उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तकको ‘झापा विद्रोह’ का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले विमोचन गरे ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर औपन्यासिक शैलीमा लेखिएको छ । विसं. २०२७ चैतमा ‘पूर्वकोशी प्रान्तीय कमिटी’बाट झापाली युवाहरुले विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’ को गठन गरेपछि जमिन्दारी प्रथाविरुद्ध सशस्त्र कारवाही आरम्भ गरेका थिए । कार्यक्रममा ठूलो दुर्गा अधिकारीले त्यसबेलामा सङ्घर्ष र बलिदानकै जगमा हाल मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै आन्दोलनमा लाग्दाका अनुभव र कथा–व्यथा देश र जनताका हितका लागि पस्कन आफूहरु तयार रहेको बताए ।

वरिष्ठ पत्रकार दाहालले नेपालमा राणा शासन र पञ्चायत शासनविरुद्ध कम्युनिष्ट र कांग्रेसले अनेक चरणमा आन्दोलन गरेको उल्लेख गर्दै झापा विद्रोह एक महत्वपूर्ण चरण भएकाले बताए । उनले पुस्तकका माध्यमबाट उक्त विद्रोहलाई हालसम्मका बुझाइलाई थप परिस्कृत बनाउन सहयोग मिल्ने जनाए ।

चिसो बढेपछि मुस्ताङका विद्यार्थी तनहुँ झरेर पढ्दै

मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन् । उक्त गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन गरिरहेका हुन् ।

शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा उक्त विद्यालयका विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको हो । गाउँपालिकाकै संयोजनमा विगत केही वर्षदेखि अत्यधिक चिसो हुने समयमा विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । कक्षा–८ मा अध्ययनरत छिरिङ पाल्तेन चिसोका कारण मुस्ताङमा पठनपाठनमा समस्या हुने गरेको बताए ।

मुस्ताङमा अत्यधिक चिसो हुने र चिसोका समयमा हातका औँला कठ्याङ्ग्रिने भएकाले लेख्न पनि समस्या हुँदै आएको बताउँदै उनले तिब्बतीयन क्याम्पको घुम्ती विद्यालयमा पठनपाठन गर्न सहज भएको बताए ।

उनले भने, ‘अत्यधिक चिसोले औँला कठ्याङ्ग्रिएर लेख्नै सकिँदैन । यहाँ सजिलो भएको छ । तनहुँ आएर योग पनि गरिरहेको छु ।’ चिसोको तीन महिना विद्यार्थीलाई तनहुँ ल्याएर अध्ययन गराउने व्यवस्था मिलाइएको शिक्षक रोशन गुरुङले जानकारी दिए ।

उनले भने, ‘त्यो समयमा विद्यार्थी यता नल्याउने हो भने विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ । विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या पर्छ ।’ चिसो छल्न पहाड झर्दा हिमाली जिल्लाका बालबालिकालाई यहाँको वातावरण बुझ्ने अवसर मिलेको उनको भनाइ छ ।

पुसदेखि फागुनसम्म उक्त ठाउँमा अत्यधिक चिसो हुने भएकाले विद्यार्थीको भविष्य बिग्रन नदिने उद्देश्यले गाउँपालिकाले नै अध्ययनको व्यवस्था मिलाएको छ । उनले भने, ‘चिसोले यहाँको तापक्रम माइनस डिग्रीसम्म पुग्छ, त्यसबेला त्यहाँ बस्नै सकिँदैन । उक्त समयमा यहाँका विद्यार्थीलाई शुक्लागण्डकीमा ल्याएर पढ्ने व्यवस्था मिलाइएको छ ।’

विद्यार्थीलाई पढाईसँगै योगसमेत सिकाइएको छ । प्रत्येक बिहान एक घण्टा योग अभ्यास गराउन थालिएको छ । उक्त गाउँपालिकामा फागुनदेखि चैत मसान्तसम्म बिदा हुने र वैशाखदेखि पुनःविद्यार्थी आ–आफ्नो विद्यालयमा नै अध्ययन गर्छन् । विद्यार्थीलाई पढाउन शिक्षकहरु पनि मुस्ताङबाट नै आएका छन् ।

मधेश प्रदेश: राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

काठमाडौं, १० माघ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेश प्रदेशमा बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ । मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिए । महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम गरिएका छन् ।

प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ ।मतदान बिहान ७ देखि अपराह्न ३ बजेसम्म हुनेछ । मतगणना महेन्द्र नारायण निधि संस्कृति केन्द्रमै गरिने प्रमुख चौधरीले बताए ।मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना (धनुषा), नेकपा (एमाले) का कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा) ले उम्मेदारी दिएका छन् । महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।मधेश प्रदेशसभा सदस्य एक सय सात र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ६७ गरी तीन सय ७४ मतदाता रहेका छन् । प्रदेशमा एक सय ३६ स्थानीय तह छन् । स्थानीय तहका पाँच पदाधिकारी भने निलम्वनमा परेका छन् ।प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कूल मतभार १० हजार सात सय ४४ रहेको छ ।

बहुमत पुर्याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छः सभापति देउवा

वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन् ।

कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई बुधबार सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका छन् ।

“संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन”, उनले भने, “बहुमत पुर्याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ ।”

कांग्रेसले अहिले नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीसँग गठबन्धन गरेको उनले बताए । अहिले अन्य पार्टीसँग गठबन्धन गरिएपनि कुनै समस्या नभएको उनको भनाइ थियो ।

कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्दै उनले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए । “पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्”, उनले भेन,“कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस् ।”

नेपालमा बहुदलीय व्यवस्था आएपछि मात्रै विकासमा परिवर्तन देखिन थालेका उनको भनाइ थियो । जनताले चाहे जस्तो नभएको होला तर देशमा परिवर्तन भएको सभापति देउवाले बताए  । कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

“कांग्रेस सिद्धियो, सिद्धियो भन्छन् म त जस्ताको तस्तै देख्छु”,उनले भने, “हामी एकबद्ध भएर अगाडि बढौँ, थोरै बोलौँ, जुन हाम्रो सभापतिबाट सिकौँ ।” “पार्टी सभापति देउवा थोरै बोलेर पनि काम धेरै गर्नुहुन्छ, उहाँबाट सिक्नुपर्छ”, उनले भने ।

पूर्वमहामन्त्री शशाङ्क कोइराला, सहमहामन्त्री जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले मन्तव्य राखेका थिए ।

पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु

काठमाडौं – कैलालीमा पाँच तले घरको छतबाट हाम फालेका एक जनाको मृत्यु भएको छ। बुधबार धनगढीमा घरको छतबाट हाम फालेका ५३ वर्षीय व्यवसायी सन्तोष अग्रवालको उपचारको क्रममा मृत्यु भएको हो ।

उनले धनगढी उपमहानगरपालिका–४ बसपार्कमा सन्दीप स्टोर सञ्चालन गर्दै आएका थिए । अग्रवालले आज घरको छतबाट हाम फालेका थिए । हाम फाले लगत्तै उनलाई नवजीवन अस्पतालमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मध्य चीनमा भएको आगलागीमा परी ३९ को मृत्यु

एजेन्सी । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधबार कम्तीमा ३९ जनाको मृत्यु र नौ जना घाइतेको उपचार भइरहेको सरकारी मिडियाले बताएको छ ।

मुलुकको सरकारी प्रसारक सिसिटिभीले भनेको छ, “जनवरी २४ मा स्थानीय समयअनुसार दिउँसो ३ः२४ बजे शिन्यु, जियाङ्सीमा एउटा स्टोरमा जमिनको तल्लो तहमा आगो लागेको थियो, अहिलेसम्म दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन् । अन्य मानिस अझै पनि आगलागीमा फसेका छन् ।”

रिपोर्टमा आगो लाग्नुको सटीक कारण वा कति मानिस अझै खतरामा छन् भन्नेबारे बताइएको छैन । आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्तिमा मुलुकमा घातक दुर्घटनाहरूमा ‘दृढ नियन्त्रण’ को आह्वान गर्नुभयो ।

सिसिटिभी रिपोर्टका अनुसार सिले महत्त्वपूर्ण निर्देशन जारी गर्नुभयो र भन्नुभयो, “मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बारको दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक छ ।”

घटनास्थलको सिसिटिभीले जारी गरेको भिडियो फुटेजमा धेरै अग्निशमन वाहन र अन्य आपत्कालीन सवारीहरू सडकमा देखाइएको छ । राज्य समर्थित आउटलेट ग्लोबल टाइम्सले सहरमा एक ‘आपत्कालीन कमान्ड’ को विज्ञप्तिलाई पोस्ट गरेको छ । उक्त कमान्ड आगलागी भएपछि स्थानीय अधिकारीहरूले स्थापना गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “अहिले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ र दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको

चिसोका कारण सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प

बाग्लुङ – पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ ।

पर्यटक आउन छाडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ । चिसो नसकिएसम्म पर्यटक भित्र्याउन नसकिने ढोरपाटन नगरपालिका–९ पाखाथरका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले बताए । चिसोका कारण अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायत तल्लो क्षेत्रमा झरेको उनको भनाइ छ ।

अहिले फाटफुट पर्यटक आए पनि बास नबस्ने भण्डारीले बताए । कतिपय होटल व्यवसायी पनि चिसोका कारण बेँसी झरेको उनी बताउँछन् । विगतको तुलनामा यस वर्ष उल्लेख्य पर्यटक ढोरपाटन आएको भन्दै यो बेमौसम भएको हुँदा पर्यटकको सङ्ख्या न्यून रहेको उनको भनाइ छ । यो याममा हिउँ परेको भए धेरै पर्यटक भित्र्याउन सकिने भण्डारीको भनाइ छ । लामो समयदेखि वर्षा नभएको हुँदा चिसो अत्यधिक रहेको उनी बताउँछन् ।

‘चिसो निकै छ, पाहुना आउँदैनन्, होटल व्यवसायी यत्तिकै बसेका छन्, पुस पहिलो हप्तादेखि आउन छोडेका हुन्, केही उत्तरगङ्गा बराह मन्दिरसम्म आएर दर्शन गर्ने गरेका छन्, तर बास बस्ने गरेर आएका छैनन्, हिउँ परेपछि धेरै आउने थिए, अहिले हिउँ पनि परेन, अब फागुन लागेपछि आउँछन्, त्यस बेलासम्म चिसो घट्छ’, भण्डारीले भने, ‘यहाँ वरपर बस्नेहरू पनि चिसो बढेको हुँदा तल बेँसीतिर गएका छन्, गर्मी मौसम सुरु भयो भने बल्ल आउँछन् ।’

दुई वर्ष अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकले व्यवस्थित बास बस्ने ठाउँ पाउँदैन्थे । अहिले ढोरपाटन उपत्यकामै ३३ होटल र घरबास सञ्चालनमा आएको हुँदा धेरै सहज भएको छ । बुर्तीवाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडकका कारण यात्रा भने त्यत्ति सहज छैन । पुस पहिलो सातासम्म दैनिक करिब तीन सय पर्यटक दैनिक आउने गरेको अर्का होटल व्यवसायी श्यामलाल घिमिरेले बताए ।

चिसोका कारण धारोमै पानी जम्ने गरेको र पाहुना पनि नआउँदा खाली रहेको उनको भनाइ छ । पाहुना नआएपछि आफू पनि बेँसी झर्ने र बेला–बेला ढोरपाटन उक्लिने गरेको घिमिरे बताउँछन् ।

उनले भने, ‘शनिरवार शुक्रवारका दिन अलिअलि आउँछन्, तर धेरैजसो फर्किहाल्ने हुँदा होटलमा पाहुना हुँदैनन्, केही बसे पनि होटल धेरै छन्, सबैतिर जाँदा एउटा पाहुना पनि पुग्दैनन्, चिसो बढी छ, बिहान उठ्दा धारामा पानी जमेको हुन्छ, चिसोले गर्दा धेरै मान्छे आएका छैनन्, अहिले होटल बन्द गरे जस्तै भएको छ, मेरो पनि घर बेँसीमै भएको हुँदा चिसो छल्नलाई बेँसीतिर झर्ने गरेको छु, पाहुना आएर फोन गरे भने माथि (ढोरपाटन) उक्लिने गरेको छु ।’

प्रधानसेनापति शर्मा र उपमहासचिवबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

एनआरएनए विवाद छानबिन गर्न सरकारले गर्यो समिति गठन

काठमाडौँ । सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनलगायत विषयमा छानबिन गर्न सहमहान्यायधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा समिति गठन गरेको छ ।मन्त्रिपरिषदको मङ्गलबारको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । समितिले एनआरएनएको निर्वाचनलगायत विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी र विवादका सम्बन्धमा छानबिन गर्नेछ ।

बैठकले धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्थासम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समितिसमेत गठन गरेको छ । सरकारले यही पुस मसान्तसम्म सङ्कलन भएको राजस्व अनुपातको आधारमा तेस्रो किस्ता र आगामी चैत मसान्तसम्म सङ्कलन हुने राजस्व अनुपातका आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टका लािग प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब रु ३१ अर्ब दुई करोड नेपाली) बराबरको सहुलियत ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ । राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजकमा छत्रकोट गाउँपालिका–१ गुल्मीका डा असीम भण्डारीलाई नियुक्त गरिएको छ ।

सरकारले भोटेकोशी–१ जलविद्युत् आयोजना विकास निर्माणका लागि भोटेकोशी गाउँपालिका वडा नं १,३,४ र ५ को ४ दशमलव २५ हेक्टर, मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाका लागि मनाङको चामे गाउँपालिका १, २, ३ र ५ तथा नासो गाउँपालिकाका वडा नं ८ र ९ मा रहेको राष्ट्रिय वनको ३३ दशमलव ४७ हेक्टर र लिपिङ खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि भोटेकोशी गाउँपालिका वडा नं २,३,४ र ५ मा रहेको १४ दशमलव ८८१ हेक्टर जमिन २५ वर्षसम्म प्रयोग गर्न दिने र उक्त जग्गामा रहेको दुई हजार तीन सय २२ रुख÷पोल हटाउन स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले रातो मछिन्द्रनाथ, सेतो मछिन्द्रनाथ, भैरवनाथ (बिस्केट) यात्राको धार्मिक कार्य (रथ मर्मत सम्भार)का लागि एक हजार सात सय ८० घनफिट काठ गुठी संस्थानलाई उपलब्ध गराई उक्त वन पैदावरको सलामी दस्तुर (रोयल्टी) मिनाहा गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

धनगढी उपमहानगरपालिका–७ स्थित पटेला राष्ट्रिय वन क्षेत्रमा निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र तथा ढल प्रशोधन प्रणालीका लािग २२ हेक्टर वन क्षेत्र प्रयोग गर्न बैठकले स्वीकृति दिएको छ । बैठकले पेरिस सम्झौताको दफा ६ अन्तर्गत हुने कार्बन व्यापारको लागि निर्धारित राष्ट्रिय निकायका रुपमा कार्य गर्न वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ ।

सरकारले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दीपकुमार खड्काले १० अक्टोबर २०२३ देखि लागू हुने गरी पेस गर्नुभएको राजीनामा स्वीकृत, नेपाल र कतारबीच प्रस्तावित कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयललाई अख्तियारी दिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ । रासस

राष्ट्रियसभा सदस्य निर्वाचन निष्पक्षरूपमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

उक्त निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको जनाउँदै आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न गएराति १२ बजेपछि मतदानकार्य समाप्त नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।

आयोगले प्रचारप्रसार निषेधको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को ब्यवस्था बमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रर्दशन गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने विषयलाई मध्यनजर गरी सम्बन्धित मतदान केन्द्रहरुमा आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्न निर्देश गरेको छ ।

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि भोलि बिहीबार निर्वाचन हुँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ ।

हाल कायमा प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन
यसैबीच, प्रचारप्रसार निषेधको अवधिमा मोरङको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी प्राप्त हुन आएकाले २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न उक्त जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ९५० विपरीतको कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी प्रतिवेदन दिन भनेको हो ।

अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा वित्तीय क्षेत्रमा समस्या देखियो – अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सिर्जना गरेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा ठूलो लगानी हुँदा समस्या देखिएको उल्लेख गर्दै अबका दिनमा उत्पादनमूलक र राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

‘हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा गएन । शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो । त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल छैन’, अर्थमन्त्रीले भने, ‘हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।’

बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्ने अर्थमन्त्री महतले बताए । पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भए पनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उनले बताए । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने उनले उल्लेख गरे । सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको उनले बताए ।

‘यो बैङ्कको हैसियत यति मात्रै हुने होइन । यो सार्वजनिक बैङ्क भएकै कारण नेपालको नम्बर एक बैङ्क हुन नसकेको हो । बैङ्कको व्यवस्थापन र कर्मचारीका कारण बैङ्क पहिलो हुन नसकेको हो’, अर्थमन्त्रीले भने ।

ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको अर्थमन्त्रीले बताए । गत आर्थिक वर्षमा बैङ्कको नाफाबाट सरकारले पाँच दशमलव पाँच प्रतिशत लाभांश लिएको उल्लेख गर्दै उनले बढी सेवा सुविधा पाउनुपर्ने कर्मचारीको माग अनुचित भएको बताए ।

‘राज्यले बढी नाफा लिएर काम गर्नेलाई थोरै दिएको भए गुनासो गर्नु स्वभाविक हो तर लगानीको तुलनामा गतवर्ष सरकारले पाएको साढे पाँच प्रतिशतको लाभांश धेरै ठूलो रकम होइन’, अर्थमन्त्री महतले भने, ‘कर्मचारीको हकहितमा मेरो साथ हुन्छ । कुनैपनि अनुचित हस्तक्षेप मबाट हुँदैन । तर राज्यको लगानी भएको संस्थामा अर्थमन्त्रालयले जिम्मेवार भएर निगरानी गर्छ ।’ पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा विस्तारै मनोबल उकासिँदै गएको पनि उनले बताए ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैङ्कको महत्वपूर्ण भूमिका रहेको बताए । विगतमा कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा देखिएको र निकै खराब अवस्था व्यहोरिरहेको वाणिज्य बैङ्क अहिले निकै व्यावसायिक र प्रतिस्पर्धी बनेको गभर्नर अधिकारीले बताए । पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको बताउँदै उनले भने, ‘अर्थतन्त्रमा निकै राम्रो अवस्था हुँदै गएको छ । बाह्य क्षेत्रमा सुधार छ । बैङ्क तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन् ।’

बैङ्क वित्तीय क्षेत्रको वित्तीय स्वास्थ्यमा समस्या आउन नदिन नियामक निकाय नेपाल राष्ट्र बैङ्कले विभिन्न किसिमका ‘प्रोभिजनिङ’ को व्यवस्था ल्याउँदा उनीहरुको नाफा केही घटेको देखिए पनि समग्रमा यसले सकारात्मक प्रभाव नै देखाएको उनले बताए । ‘बैङ्क वित्तीय संस्थाको नाफा केही घटेको जस्तो देखिन्छ । घट्नुको कारण प्रोभिजनिङ हो । असल कर्जा दिँदा पनि अनिवार्य प्रोभिजनिङ गर्नैपर्छ । दिगो र सुरक्षित बैंकिङका लागि राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो’, गभर्नर अधिकारीले भने ।

बैङ्क वित्तीय संस्थालाई अप्ठेरोमा पर्न नदिन राष्ट्र बैङ्कले नीतिहरुमा सहजीकरण गरिरहेको उनले बताए । ‘नीतिगत दर घटाइएको छ । तरलताको अवस्था निकै राम्रो छ । लगानी गर्नसक्ने अवस्था रहेको छ । बाह्यक्षेत्रतर्फ हामीसँग विदेशी मुद्रा सञ्चितीको अवस्था राम्रो छ । कर्जाको माग क्रमशः बढ्दै जानेछ भन्ने अपेक्षा हामीले गरेका छौं’, उनले भने, ‘अहिले नै वाणिज्य बैङ्कले दश दशमलव पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । अब अधिकांश वाणिज्य बैङ्कले एकल अङ्कको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आउँदैछ । यसकारण कर्जाको माग पनि बढ्नेछ भन्ने अपेक्षा हाम्रो छ ।’

पूर्वगभर्नर डा तिलक रावलले पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य खराब देखिँदै गएको बताए । ‘अहिले वित्तीय क्षेत्रलाई हेर्दा त्यति सुखद स्थिति म देख्दिन । बैङ्क तथा वित्तीय संस्थाको मुनाफा घट्दो छ । प्रतिशेयर आम्दानी घटिरहेको छ भने खराब कर्जा बढिरहेको छ । उनीहरुलाई वार्षिक साधारणसभा गरेर आफ्नो वित्तीय स्वास्थ्यको अवस्था बारे जानकारी दिन पनि अप्ठेरो भइरहेको छ’, उनले भने ।

राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कको व्यनवसायिकता र कार्यशैलीमा निकै सुधार भएको बताए । आगामी दिनमा प्राथमिकताका क्षेत्रमा लगानी गरेर थप प्रतिस्पर्धी बैङ्कका रुपमा वाणिज्य बैकलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड आजबाट आफ्नो स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ । २०८० असार मसान्तसम्ममा बैङ्कको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैङ्कको विद्यमान पुँजी संरचनाअनुसार नेपाल सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैङ्कको पुँजी कोष रु ५० अर्ब ७४ करोड रहेको छ । गत असार मसान्तसम्ममा बैङ्कको निश्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ ।

गत पुस मसान्तसम्ममा बैङ्कमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजार भन्दा बढी ग्राहकलाई दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैङ्कले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कले आर्थिक वर्ष २०६०÷६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा बैङ्कले तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्ष बढी खुद मुनाफा आर्जन गर्ने बैङ्कको सूचीमा राष्ट्रिय वाणिज्य बैङ्क दोस्रो स्थानमा छ । गतवर्षमा आर्जित मुनाफाबाट बैङ्कले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२९ हजार नक्कली सवारी लाइसेन्स खारेज

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहज रूपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए ।

सवारीचालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने उनले बताए । ‘केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका छौँ’, मन्त्री ज्वालाले भने, ‘अब सवारीचालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, सङ्घमा राखेर हुँदैन भन्ने निष्कर्ष निकालेका थियौँ ।’

यसलाई अझ प्रभावकारी र भरपर्दो बनाउने गृहकार्यमा मन्त्रालय जुटिरहेको बताउँदै उनले भने, ‘हाम्रा केही सीमा छन् । ती सीमालाई सम्मान गर्दै हामीले केही राम्रा कार्यहरु गरेका छौँ । रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरेका छौँ । सवारी लाइसेन्समा भएको घोटाला बाहिर ल्याएका छौँ ।’

मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका करिब एक लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । नक्कली लाइसेन्सको घोटालामा केहीको संलग्नता देखिएकाका थप अनुसन्धान गरिने बताए ।

चीनद्वारा एक करोड २० लाख बढी सहरी रोजगारी सिर्जना

बेइजिङ । चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा एक करोड बिसलाख भन्दा बढी रोजगारी सिर्जना गरेको छ ।गत वर्षको कूल गार्हस्थ उत्पादनमा ५.२ प्रतिशतको वृद्धि रोजगारी सिर्जनाका लागि महत्वपूर्ण थियो । कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रले आर्थिक सुधारको नेतृत्व गरिरहेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी युन डोङलाईले पत्रकार सम्मेलनमा भने ।

सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको आर्थिक सहयोगका साथ देशले रोजगारीका लागि नीतिगत सहयोग बढाएको उनले बताए ।

पछिल्ला चरणहरूमा देशले सामाजिक बीमाको बोझ कम गर्दै वित्तीय अनुदान र कर प्रोत्साहन बढाएर अधिक वित्तीय सहायता प्रदान गर्दै रोजगारीलाई आफ्नो शीर्ष प्राथमिकताका रूपमा कायम राखेको अधिकारीले बताए ।

यसले डिजिटल, इको–मैत्री, र वृद्ध हेरचाह क्षेत्रहरूसँगै उन्नत उत्पादनलाई रोजगारी सिर्जना गर्न प्रोत्साहित गर्नेछ । यो नीतिले निजी, साना र मध्यम आकारका कम्पनीहरू जस्ता प्रमुख रोजगार चालकहरूलाई सहयोग पुग्नेछ ।

अधिकारीका अनुसार राष्ट्रव्यापी प्रमुख जनसङ्ख्याका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले जनवरीदेखि अप्रिलसम्म रोजगारी प्रवर्द्धन अभियान पनि सुरु गरिनेछ ।

देशको स्थिर आर्थिक पुनरुत्थान, परम्परागतबाट नयाँ वृद्धि चालकहरूमा स्थानान्तरण र रोजगारी सिर्जनाका नयाँ स्रोतहरूको निरन्तर उदयका कारण चीनको रोजगारी सामान्य तया स्थिर रहने अपेक्षा गरिएको उल्लेख गरे ।

जाजरकोट भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन

काठमाडौँ, १० माघ । जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो ।

भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको घोषणा भएको थियो । उक्त सहयोगलाई एकद्वार प्रणालीबाट सङ्कलन तथा वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमार्फत् सहयोग गर्न सरकारले आग्रह गरेको थियो । राहत वितरण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न नौवटा बैंकमा खाता रहेका छन् ।

भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनाका लागि केही समयअघि मात्र सरकारले दुई अर्ब बराबर निकासा गर्ने निर्णय गरेको थियो । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई दुई अर्ब उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।

सहायता कोषमा सबैभन्दा धेरै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट एक करोड ११ लाख ११ हजार एक सय ११ बराबर सहयोग जम्मा भएको छ । त्यस्तै, बुद्धएयर प्रालि, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक लिमिटेड, सूर्य नेपाल प्रालि, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड, युनीलिभर नेपाल लिमिटेड मकवानपुरले समान एक करोड बराबर सहयोग गरेका छन् ।जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । पीडितलाई राहत तथा पुनःस्थापनाको काम अहिले पनि सञ्चालन भइरहेको छ ।

कलेजोको टुक्रा दिएर आमाले बचाइन तीन वर्षीय छोरा

भक्तपुर, १० माघ । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छिन् । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छिन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । उनको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

कलेजो झिकेको छ दिनमा आमा र नौ दिनपछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठको भनाइ छ । “यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको केन्द्रमा यो नै पहिलो पटक हो । चिकित्सा विज्ञानमा कलेजको प्रत्यारोपण सबैभन्दा जटिल प्रत्यारोपणका रुपमा मानिन्छ”, उनले भने ।

बालकमा कलेजो प्रत्यारोपणका लागि केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति, पाटन अस्पतालका बालरोग विशेषज्ञ डा पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल र डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिइएको उनले बताए ।

दाताको काटिएको कलेजो तीन महिनामै ९० प्रतिशतसम्म वृद्धि हुने र दातामा कुनै समस्या नआउने डा श्रेष्ठको भनाइ छ । रिसब बुबा रूपक र आमा सीता भट्टका एक्ला छोरा हुन् । रिसवलाई सुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि कीमोथेरापी दिइएको थियो ।

आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि बालकलाई उपचारका लागि भारतका दिल्लीमा लगिएको थियो । तर भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो ।

सीताले भनिन्, “क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन, तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो ।”

केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले एउटा कलेजो प्रत्यारोपणका लागि १५ देखि २० लाखसम्मसम्म खर्च हुने बताए । तर तीन वर्षे बालकको हकमा भने १५ लाख मात्रै अस्पतालले लिएको उनको भनाइ छ । केन्द्रले पहिलो पटक सन् २०१६ डिसेम्बरमा कलेजो प्रत्यारोपण गरेको थियो ।

केन्द्रले सुरुको केही वर्ष वार्षिक एकरदुई वटामा मात्रै कलेजो प्रत्यारोपण गर्दै आएकोमा यसवर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । केन्द्र स्थापनाको ११ वर्षमा कूल एक हजार एक सय ८८ जनामा मिर्गौला र १८ जनामा कलेजो प्रत्यारोपण भइसकेको उनले बताए ।

केन्द्रले आव २०६९/७० मा १३ जनाको मिर्गौला प्रत्यारोपण, आव २०७०/७१ मा २७ जना, आव २०७१/७२ सालमा ४१ जना, आव २०७/७३ सालमा एक सय एक जनाको मिर्गौला प्रत्यारोपण भएको थियो । साथै आव २०७३/७४ मा एक सय ३२ जना, आव २०७४/७५ मा एक सय ५३ जना, आव २०७५/७६ मा एक सय ७९ जना, आव २०७६/७७ मा ४९ जना, आव २०७७/७८ मा ४५ जना, आव २०७८/७९ मा एक सय ६० जना, आव २०७९/८० मा एक सय ८६ जना र आव २०८०/८१ मा एक सय एक जनामा मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्ष २०७३/७४ बाट कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सोही वर्ष दुई जनामा कलेजो प्रत्यारोपण गरेको थियो भने आव २०७४/७५ देखि आव २०७७/७८ मा चार वर्षमा एकरएक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका थिए । डा श्रेष्ठका अनुसार आव २०७८/७९ मा तीन जनाको, आव २०७९/८० मा दुई जनाको र चालु आवमा सात जनामा कलेजो प्रत्यारोपण भइसकेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। बुधबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कुअस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७१ पैसा रहेको छ।

भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या तत्काल निष्कर्षमा लैजानुपर्छ – सांसद विश्वकर्मा

नेपालगञ्ज । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उनी भन्छन्, “व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन् । सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन् । बरु उनीहरूलाई नयाँ जमिन किन्दा सहज हुने देखिएको छ । भूमिहीन, अव्यवस्थित बसोबासी र दलित समुदायका समस्यालाई सधैँ बोक्ने होइन, यसलाई एउटा निष्कर्षमा पुर्याउनुपर्छ ।”

सांसद विश्वकर्मा भन्छन्, “अहिले हामी नेपालको संविधानले सुनिश्चित गरेको संसदीय अभ्यासमा छौँ तर संविधानको मर्मअनुसार शतप्रतिशत अभ्यासमा अघि बढेका छौँ भन्ने मेरो दाबी छैन । संविधान कार्यान्वयनका मामलामा पर्याप्त ध्यान दिनुपर्ने स्थिति छ । अभ्यासमा जाँदा स्वाभाविकरूपमा दलका दृष्टिकोणहरू, मान्यताहरू प्रतिबिम्बित हुन्छन् । राजनीतिक दलबीच समझदारी बनाएर अघि बढ्नुपर्ने अवस्था छ ।”

संसद्को आगामी अधिवेशनका लागि मिति घोषणा भइसकेको छ । जनताको सार्वभौम अधिकारसम्पन्न प्रतिनिधि संस्था भनेको प्रतिनिधिसभा वा राष्ट्रियसभा नै हो अर्थात् सङ्घीय संसद् हो जनाउँदै उनले यसलाई सही ढङ्गले सञ्चालन गर्ने र उपलब्धिमूलक ढङ्गले परिचालन गर्ने दायित्व सरकारको रहने बताए । उनी भन्छन्, “संसदले प्राप्त गर्ने बिजनेसलाई ठीक ढङ्गले निरुपण गर्ने मामलामा तदारुकता वा अनुकूल परिस्थति निर्माण भएन भने संसद्को काम प्रभावित हुन्छ ।”

गएको संसद्को अधिवेशन नियमितरूपमा चलेजस्तो देखियो तर धेरै उत्साहजनक अनुभूति गर्न पाइएन । अहिले फेरि संसदीय समितिका बैठक नियमित बसाउने पहल र प्रयत्न भएको छ । संसदीय समिति बने पनि प्रमुख तोक्न समय लाग्यो, सांसद विश्वकर्माले भने, “म शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छु, यी समितिलाई कामयाब बनाउनका लागि समितिको सचिवालय, त्यसको जनशक्ति धेरै व्यवस्थित हुन जरुरी छ । तर हुँदै भएको छैन त भन्न मिल्दैन । तर यसलाई अझ प्रभावकारीरूपमा कार्यसम्पादन गर्न व्यवस्थित बनाउन पर्ने देखिन्छ ।”

संसदीय समितिको प्रभावकारिताका बारेमा उनी भन्छन्, “जुन समितिमा हामी छलफल गर्छौँ समितिले निर्देशन देला त्यो कार्यान्वयन भयो वा भएन त्यो पनि हेर्न जरुरी छ । समितिले दिएको निर्देशन सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्यो वा गरेन त्यो कामको मूल्याङ्कन पनि हुन जरुरी छ । अर्को, नियमितरूपमा आउने विधेयक छलफल भएर अघि जाने विषय पनि छन् । यसमा व्यवस्थितरूपमा अघि बढिएको छ भन्न मिल्दैन तर सरकार यसमा जेलिएको पाउँछु मैले ।”

“शिक्षा विधेयकलगायतका धेरै जल्दाबल्दा विधेयक संसद्मा छन् । त्यसकारण विधेयकमा सहमति जुटाउन समय लाग्ने अवस्था देखिन्छ । सत्तापक्षले प्रमुख प्रतिपक्ष र प्रतिपक्षसँग पनि समन्वय र गरेर समझदारी कायम गरेर अघि बढ्दा विषय निष्कर्षमा पुग्छन् । सरकारले आग्रह राखेर सत्ता गठबन्धनलाई कसरी टिकाउने भन्ने विषयमा ध्यान दिने राष्ट्रिय सरोकारका मामला पनि बेवास्ता गर्ने र जनसरोकारका विषयमा पनि बेवास्ता गर्ने र आत्मसर्मपणका लागि जोसँग पनि तयार हुने र आफ्नो सत्ता कसरी टिकाउने भन्ने भयो भने निष्कर्षमा पुगिँदैन । यसमा सबै पक्ष जिम्मेवार हुनुपर्छ र यसका लागि सत्तापक्षले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्छ”, सांसद विश्वकर्माले भने ।

नेकपा (एमाले)को सचिवको समेत जिम्मेवारी निर्वाह गरिरहनुभएका सांसद छविलाल विश्वकर्माको जन्म विसं २०१९ मङ्सिर २३ गते स्याङ्जामा भएको हो । पार्टीभित्र बौद्धिक व्यक्तित्वको छवि बनाएका नेता विश्वकर्मा दलित आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

एक प्रसङ्गमा उनले भने, “विपक्षी पार्टीले संसदीय समितिमा बसेर मोलमोलाइ गरेको भन्ने विषय निरर्थक आरोप हो । सत्तारुढ दलले प्रतिपक्षलाई आक्षेप लगाएर आफू सुरक्षित हुने उपाय हो । एमालेले अहिले किन बार्गेनिङ गर्छ ? गर्न परे त सत्ता गठबन्धनसँग सोझै कुरा गर्छ नि ।”

रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा पहाडबाट दक्षिणको दशगजासम्म निर्वाचन क्षेत्र पर्छ । यसमा सवा लाख जनताको बसोबास छ । यो ऐतिहासिक सांस्कृतिक महत्व बोकेको प्रदेश पनि जिल्ला पनि हो । लुम्बिनी बन्नुका पछाडि देबदहको योगदान छ । बुद्धकालीन समयको साहित्यलाई, त्यतिबेलाको अभिलेखलाई हेर्ने हो भने त्यसबाट प्रष्ट छ महामानव गौतम बुद्धको मावली देबदह हो । यो त स्थापित भएको कुरा हो । तर सांसद विश्वकर्मा लुम्बिनीले बढी चर्चा पाएको बताउँछन् । उनी भन्छन्, “लुम्बिनीलगायतका विषय अघि आउँदा देबदह ओझेलमा परेको छ । अरु सांस्कृतिक पक्षलाई ध्यान दिइएको छ तर प्राकृतिक सम्पदाका पक्षलाई बेवास्ता गरिएको छ । रोहिणी नदीको पूर्वतिर कोलिय राज्य, पश्चिमतर्फ शाक्य राज्य थिए । यो इतिहासमा उल्लेख छ । त्यसको संरक्षण र संवर्द्धन त्यसको बहुउदेश्यीय हिसाबले यसको विकास गर्न सक्दा, लुम्बिनी, रामग्राम, तिलौराकोट, देबदह आदिमा एउटा आयाम थपिने छ ।”

दक्षिणबाट उत्तरतर्फ जोड्ने तीन–चार महत्त्वपूर्ण सडक छन् । त्यो सडकको काम अगाडि बढाइयो तर बीचमा अवरुद्ध भयो । सरकारले त्यसलाई बेवास्ता गर्यो र त्यसलाई जोड्दै जोडेन । सीमावर्ती क्षेत्रका जनताले राज्य जिम्मेवार छ भन्ने कुराको अनुभूत गर्न पाउनुपर्छ । उनी भन्छन्, “आधारभूत अस्पतालका तत्कालीन सरकारले बजेटसहित कार्यक्रम अघि सार्यो तर अहिले पूर्वाधार अलपत्र परेका छन् । सामुदायिक विद्यालयको अवस्था पनि राम्रो छैन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजना कटौतीमा परेको छ । यस निर्वाचन क्षेत्रका दुई सामुदायिक क्याम्पसको विकासका लागि ध्यान दिइएको छैन । समानुपातिक हिसाबले सबै जनताका बीचमा विकास पुग्नुपर्छ । नारायणगढ–बुटवल सडकखण्डको एउटा भाग मेरो निर्वाचन क्षेत्रमा पर्छ त्यसमा ताकेता गरिरहेका छौँ । हुलाकी सडकखण्ड पनि मेरो निर्वाचन क्षेत्रमा पर्छ यसको सुधार गर्ने काम अलिअलि अघि त बढेको छ तर पर्याप्त छैन ।”

युवाको बढ्दो सङ्ख्यामा विदेश पलायनका बारेमा सोधिएको प्रश्नमा सांसद विश्वकर्मा भन्छन्, “यो एउटा आशा, भरोसा, विश्वास जगाउने कुरा पनि हो । बैदेशिक रोजगारीमा जानेलाई विल्कुल निरुत्साहित गरेर हुन्छ भन्ने मामलामा म छैन । दक्ष जनशक्ति सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा पुग्ने व्यवस्था मिलाउनुपर्छ । यहाँबाट दक्ष भएर गएर त्यहाँबाट फर्केर आउँदा सुरक्षित ढङ्गले फर्कोस् यस्तो खालको विषयमा ध्यान दिनुपर्छ । घरमा राम्रै व्यवस्था भएका व्यक्ति पनि विदेश गएका छन् । यसको कारण के हो त ? जो आफू सुतेको बिस्तरा यहाँ उठाउन्न ऊ त्यहाँ गएर भाँडा माझ्दैछ । यसलाई कसरी बुझ्ने ? यसको समाजशास्त्रीय हिसाबले अध्ययन र विश्लेषण हुन जरुरी छ । कसैले वैदेशिक रोजगारीमा जान्छु र अध्ययन गर्छु भन्ने सोच राख्छ भने त्यसलाई अनुकूल वातावरण निर्माण गरिदिनुपर्छ । उसले त्यहाँबाट अध्ययन गरेको विषय र सीपले यहाँको विकासमा मद्दत पुग्न सक्छ । यसलाई नियमन पनि गर्न जरुरी छ । विदेश जाँदा पनि खुसीले जाओस्, फर्कँदा पनि खुसीले फर्कोस् र उसले ल्याएको सीपले एउटा नयाँ उपलब्धि हासिल होस् भन्ने लाग्छ ।”

मुलुकमा सुशासन कायम गर्न राज्य नै जिम्मेवार बन्नुपर्छ, अन्य यसमा सहायक बन्ने हो । मानव मर्यादा स्थापित गर्ने कुरा धेरै ठूलो कुरा रहेछ । संस्कार र संस्कृति भन्ने कुरा धेरै ठूलो कुरा रहेछ । संविधानले प्रदत्त गरेको विशेषता र उपलब्धिबाट प्राप्त विषयलाई केही होइन भन्ने विषयबाट जुन खालको प्रयत्न भइरहेको छ यसको कुनै अर्थ छैन तर यसबाट एउटा शिक्षा लिनुपर्छ भन्छु म । समय पछाडि फर्कँदैन यो अगाडि बढ्छ ।