`

गोरखाका ७१ वर्षीय घले र म्याग्दीका ७० वर्षीय चुलाचनले गोठमै लगाए मितेरी साइनो

म्याग्दी (बेनी), माघ १० गते । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो ।

कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आउनुभएका घले करिब आठ महिनाअघिमात्रै म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडीगोठमा उक्लिनुभएको थियो । भेडीगोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहारसुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेट्टाएपछि मितेरी साइनोमा जोडिएको बताउनुभयो ।“यहाँ आउँदा कोही आफन्त थिएनन्, गोठालाको साथी नै गोठाला बन्ने न हो, आफ्नै दामलीलाई गोठमै भेट्टाएँ, आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ”, घलेले भन्नुभयो । घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठ बेँसीमा झरे पनि मल्कबाङ गाउँ नजिकैको फाँटमा भएको थियो ।अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडीगोठ र तुलाचनको भैँसीगोठ एकैठाउँमा छन् । गोठबाट पानी ल्याउन खालीखोला जाँदादेखि गोठमा चाहिने दाउराघाँसमा उहाँहरूले सहकार्य गर्नुहुन्छ । घलेले काम गर्ने भेडीगोठमा नियमितरूपमा चार–पाँच जना भइरहने भएकाले तुलाचनसमेत बिहान–बेलुका भेडीगोठमै गफगाफमा भेटिनुहुन्छ ।वर्षौँदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आउनुभएका तुलाचनले बुढ्यौलीमा गोठतिर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मितका रूपमा नजिकको साथी बनाउन पाउँदा खुसी लागेको बताउनुभयो । “हामीलाई गोठले नै साथी बनायो, उहाँ कताको म कताको, गोठ नभइदिएको भए भेट हुनु कहाँको १”, तुलाचनले भन्नुभयो । तुलाचनको गोठमा नौवटा भैँसी छन् ।दुईजना मितेरी साइनेमा जोडिएपछि एकअर्का गोठको परिकारसमेत सटही गर्नेमात्रै नभएर आलोपालो लगाएर गोठमा खानासमेत खाने गर्नुभएको छ । भैँसीगोठबाट तुलाचनले नियमितरूपमा दूध लगेर भेडीगोठ पुग्नुहुन्छ भने भेडीगोठका भान्सेका रूपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मित तुलाचनलाई चखाउने गर्नुहुन्छ ।बुढ्यौली लागेका दुवै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडीगोठका सञ्चालक हिमबहादुर छन्त्याल बताउनुहुन्छ । नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित /मीतिनी’ साइनो हराउँदै गएको छ ।

नर्वेका राजाको पदमाेह : ८६ वर्षमा पनि राजगद्दी त्याग्न अस्वीकार

ओस्लो, माघ- शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोराउनु भएको छ । डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राजा हेराल्डको यो भनाइ बाहिर आएको हो ।

“मैले सधैँ भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्) को सपथ लिएको छु र यो जीवनभरका लागि हो”, युरोपका सबैभन्दा वृद्ध राजा हेराल्डको भनाइ उद्धृत गर्दै नर्वेली मिडियाले भनेको छ । आफ्ना छोरा युवराज हाकनसँगै ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

राजगद्दीमा ३३ वर्षसम्म रहनुभएका राजा फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै हुनुहुन्छ । आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्डले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्नुहुनेछ भन्ने सम्भावनाका बारेमा अनुमान लगाउन प्रेरित गरेको छ ।

बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आउनुभएकी मार्गरेटले नयाँ वर्षको पूर्वसन्ध्याको सम्बोधनमा आफ्नो सबैभन्दा ठूलो छोरा फ्रेडरिकको पक्षमा पद त्याग्ने घोषणा गरेर डेनिसलाई स्तब्ध बनाउनुभएको थियो । वैशाखीको सहारामा हिँडडुल गर्नुहुने राजा हेराल्डको हालैका वर्षहरूमा मुटुको शल्यक्रिया गरिएको छ र श्वाससम्बन्धी समस्या तथा सङ्क्रमणका कारण उहाँलाई अस्पतालमा भर्ना गरिएको छ ।

करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित

बर्लिन । करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका करिब दुई लाख ४५ हजार यहुदी अहिले पनि ९० भन्दा बढी मुलुकमा बसिरहेको मङ्गलबार एउटा नयाँ प्रतिवेदनबाट थाहा भएको छ ।न्युयोर्कमा रहेको कन्फरेन्स अन ज्युज मेटरियल क्लेम्स अगेन्स्ट जर्मनी (क्लेम्स कन्फरेन्स पनि भनिन्छ) का अनुसार तीमध्ये करिब आधा (४९ प्रतिशत)इजराइलमा बसेका छन् भने पश्चिम युरोपमा १८ प्रतिशत, अमेरिकामा १६ प्रतिशत र १२ प्रतिशत पूर्वसोभियत सङ्घका मुलुकहरूमा छन् ।

जनसाङ्ख्यिकीय प्रतिवेदनको प्रकाशनअघि यहुदी नरसंहारबाट बचेकाहरू अझै कति जीवित छन् भन्ने अस्पष्ट अनुमानहरू मात्र थिए । अधिकांश धेरै बूढा र प्राय कमजोर स्वास्थ्य अवस्था भएका औसत ८६ वर्ष उमेरका उनीहरूको सङ्ख्या तीव्ररूपमा घटिरहेको छ । बाँचेका मानिसहरूमा २० प्रतिशत ९० वर्षभन्दा माथिका छन् र पुरुषहरू ९३९ प्रतिशत० को तुलनामा धेरै महिला ९६१ प्रतिशत० अझै जीवित छन् ।

अधिकांश अर्थात ९६ प्रतिशत जीवित मानिसहरू बच्चाका रूपमा बाँचेका ‘होलोकास्ट सर्भाइभर्स वर्ल्डवाइड स् अ डेमोग्राफिक ओभरभ्यू’ प्रतिवेदनमा उल्लेख छ । उनीहरूको जन्म सन् १९२८ पछि भएको थियो । उक्त प्रतिवेदन अगस्टमा सङ्कलन गरिएको आँकडामा आधारित हो ।

“यस प्रतिवेदनमा भएका सङ्ख्याहरू चाखलाग्दा छन् तर तिनीहरूले प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई हेर्न सङ्ख्या हेर्न पनि महत्त्वपूर्ण छ”, क्लेम्स कन्फरेन्सका कार्यकारी उपाध्यक्ष ग्रेग स्नाइडरले भन्नुभयो, “यी त्यस्ता यहुदीहरू हुन् जो यसै संसारमा जन्मेका थिए जसले उनीहरूको हत्या भएको हेर्न चाहन्थे । तिनीहरूले युवाअवस्थामा यहुदी नरसंहारको अत्याचार सहे र आफ्नो परिवार तथा समुदायलाई समाप्त गर्ने शिविर र बस्तीहरूको खरानीबाट सम्पूर्ण जीवन पुनः सुरु गर्न बाध्य भए ।”

यहुदी नरसंहारका क्रममा नाजी तथा तिनका सहयोगीहरूले ६० लाख युरोपेली यहुदी र अन्य अल्पसङ्ख्यकको हत्या गरेका थिए । नाजीले कब्जा गरेको युरोपमा कति यहुदी मृत्यु शिविर, यहुदी बस्ती वा अन्य लुकेर बसेका थिए भन्ने स्पष्ट छैन तर उनीहरूको सङ्ख्या युरोपमा युद्धपूर्वको यहुदी जनसङ्ख्याभन्दा अत्यन्त कम थियो ।

पोल्यान्डमा सन् १९३९ मा त्यहाँ रहने ३३ लाख यहुदीमध्ये तीन लाख मात्र बाँचेका थिए । एडोल्फ हिटलर सत्तामा आएको वर्ष सन् १९३३ मा जर्मनीमा करिब पाँच लाख ६० हजार यहुदी बस्दै आएका थिए । सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यमा आप्रवासन तथा विनाशका कारण उनीहरूको सङ्ख्या करिब १५ हजारमा घटेको थियो ।

पूर्वसोभियत सङ्घका मुलुकबाट दुई लाख १५ हजारभन्दा धेरै यहुदी आप्रवासी तथा उनीहरूका परिवार जर्मनी आएसँगै सन् १९९० पछि जर्मनीमा यहुदी समुदाय फेरि बढ्यो । ती मुलुकबाट आएकामध्ये नरसंहारमा जीवित केही मात्र थिए ।

जनसाङ्ख्यिकीय प्रतिवेदनअनुसार हाल जर्मनीमा १४ हजार दुई सय मात्र नरसंहारबाट बाँचेका यहुदी बस्छन् । तीमध्ये एक रुथ विन्केलम्यान हुनुहुन्छ । उहाँ बर्लिनको उत्तरी बाहिरी भागमा एउटा बगैँचाको शेडमा आफ्नी आमा र बहिनीसँग लुकेर बाँच्नुभएको थियो । उहाँका बुबा असविट्जको मृत्यु शिविरमा हत्या गरिएको थियो । उहाँकी कान्छी बहिनी एस्तरको सोभियत लाल सेनाद्वारा बर्लिन स्वतन्त्र हुनुभन्दा केही साता पहिला सन् १९४५ मा भोक र थकानका कारण मृत्यु भएको थियो ।

अहिले पनि बर्लिनमा बस्दै आउनुभएकी ९५ वर्षीया विन्केलम्यानले प्यारो बुबालाई नसम्झेको आफ्नो जीवनमा त्यस्तो कुनै दिन नभएको बताउनुभयो । “यसले सधैँ पीडा दिन्छ, पीडा दिनरात हुन्छ”, उहाँले भन्नुभयो ।

क्लेम्स कन्फरेन्सले ‘जर्मन सरकारसँग क्षतिपूर्ति कार्यक्रमहरूका लागि योग्यता मूल्याङ्कन गर्ने सम्झौताका आधारमा’ प्रतिवेदनले यहुदी नरसंहारबाट बचेकाहरूलाई परिभाषित गरेको बताएको छ । जर्मनीका लागि उक्त परिभाषामा सन् १९३३ जनवरी ३० देखि सन् १९४५ मेसम्म मुलुकमा बसोबास गर्ने यहुदी समावेश गर्दछ । सन् १९३३ जनवरी ३० मा हिटलर सत्तामा आएका थिए र सन् १९४५ मेमा दोस्रो विश्वयुद्धमा जर्मनीले बिनासर्त आत्मसमर्पण गरेको थियो ।

समूहले नाजीअन्तर्गत पीडित यहुदीहरूका तर्फबाट दावीहरू सम्हाल्छ र प्रत्येक वर्ष जर्मनीको वित्त मन्त्रालयसँग क्षतिपूर्तिका लागि वार्ता गर्दछ । जर्मनी सन् २०२४ का लागि विश्वभरमा यहुदी नरसंहारबाट बचेकाहरूका लागि समग्रमा थप एक अर्ब ४० करोड अमेरिकी डलर विस्तार गर्न सहमत भएको क्लेम्स कन्फरेन्सले जुनमा बताएको थियो । सन् १९५२ देखि जर्मन सरकारले नाजीद्वारा उत्पीडनको परिणामस्वरूप हुने पीडा र हानिका लागि व्यक्तिहरूलाई ९० अर्ब डलरभन्दा धेरै भुक्तानी गरेको छ ।

क्लेम्स कन्फरेन्सले धेरै क्षतिपूर्ति कार्यक्रम सञ्चालन गर्दछ र विश्वस्तरमा बाँचेका मानिसहरूलाई सिधै भुक्तानी गर्दछ । उसले विश्वभरमा तीन सयभन्दा धेरै सामाजिक सेवा एजेन्सीहरूलाई अनुदान प्रदान गर्दछ र बाँचेका मानिसहरूको घरेलु हेरचाह, भोजन, औषधि, यातायात र सामाजिकीकरण जस्ता सेवा प्राप्त गरेको सुनिश्चित गर्दछ ।

कन्फरेन्सले धेरै शैक्षिक परियोजनाहरू पनि सुरु गरेको छ । बाँचेका यहुदीहरूको सङ्ख्या कम भइरहेको र यहुदीविरोधी भावना पुनः बढ्न थालेकाले यस्ता परियोजनाले बाँचेका मानिसहरूको गवाहीलाई युवा पुस्तासम्म हस्तान्तरण गर्ने महत्त्वलाई दर्शाउँछ ।

“हामीले सङ्कलन गरेको तथ्याङ्कले हामीलाई नरसंहारबाट बाँचेका कति र कहाँ छन् भनेर मात्र बताउँछ, अधिकांश बाँचेकाहरूको हेरचाह र सेवाहरूको आवश्यकता बढिरहेको यसले स्पष्ट सङ्केत गर्दछ”, क्लेम्स कन्फरेन्सका अध्यक्ष गिडियन टेलरले भन्नुभयो, “अब यो घट्दो जनसङख्यामा हाम्रो ध्यान दोब्बर गर्नुपर्ने समय हो, उनीहरूलाई हाम्रो सबैभन्दा बढी आवश्यकता छ ।”

बर्लिनमा बाँच्नुभएकी विन्केलम्यानले दशकौँसम्म कसैसँग यहाँसम्म कि आफ्ना श्रीमान्लाई पनि नरसंहारका क्रममा भोगेको त्रासका बारेमा बताउनुभएन तर सन् १९९० को दशकमा एक दिन एक अपरिचित उहाँसँग आए । उनले डेभिड स्टारको पेन्डेन्टसँगै उहाँको हारलाई देखे । त्यसपछि उनले विन्केलम्यानलाई उहाँ यहुदी नरसंहारबाट बाँच्नुभएको भन्दै उनकी छोरीको स्कुल कक्षामा आफ्ना अनुभवबारे कुरा गर्न सक्नुहुन्छ भनी प्रश्न गरे ।

“जब मैले यहुदी नरसंहारका बारेमा ती छात्राहरूसँग कुरा गर्न थालेँ, मेरो आँसु थामिएन तर त्यसबेलादेखि मैले यसबारेमा धेरै पटक कुरा गरेँ र प्रत्येक पटक मैले कम आँसु बगाएकी छु”, गत साता उहाँले एपीलाई भन्नुभयो ।

जुन आतङ्कबाट आफू र बाँकी बाँचेकाहरू गुज्रिनुभयो त्यसको कहिले पनि अन्त्य हुन नसक्ने भन्दै विन्केलम्यानले अब आफ्नो कथा सुनाउनुलाई आफ्नो जीवनको मिसन बनाएको बताउनुभयो । पन्चानब्बे वर्षको उमेरमा पनि उहाँ अहिले पनि जर्मनीभरका स्कुलहरूमा जानुहुन्छ र उहाँका श्रोताहरूका लागि एउटा सन्देश दिनुहुन्छ ।

“म बालबालिकाहरूलाई भन्छु, हामी सबैको ईश्वर एउटै हुन्, यद्यपि हामीले उहाँलाई अलग अलग नाम दिएका छौँ र उहाँका लागि अलग अलग प्रार्थना गर्दछौँ, हामीलाई केले अलग बनाउँछ भन्दा पनि हामीलाई केले एकताबद्ध गर्छ भनेर हामीले हेर्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी असहमत भए पनि हामीले एकअर्कासँग कुरा गर्न छाड्नु हुँदैन ।”

नारायणगढ–बुटवल सडकखण्ड: म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ ।

विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । त्यसयता दुईपटक म्याद थप गरिएको छ । दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ । उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताउनुभयो । यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत हुनुपर्ने उहाँले बताउनुभयो ।

हालको भौतिक प्रगतिलाई हेर्ने हो भने समयमा सडक विस्तारको काम सम्पन्न गर्न अब मासिक कम्तीमा सात प्रतिशत प्रगति गर्नुपर्ने हुन्छ । तर कामको गति असाध्यै न्यून रहेको योजना प्रमुख मगरले बताउनुभयो । “हामीले बारम्बार कामको गति बढाउन निर्देशन गरिरहेका छौँ, तर गति असाध्यै कम छ”, योजना प्रमुख मगरले भन्नुभयो, “हामी खरायोको गतिमा दौडिनुपर्ने अवस्था छ, तर गतिचाहिँ कछुवाकै छ ।”

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनलाई अहिले प्रयोग गरेको जनशक्ति र मेसिन अपर्याप्त रहेको जनाउँदै पर्याप्त साधन स्रोतको प्रयोग गरी तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन गरिरहेको उहाँले बताउनुभयो । जुन गतिमा प्रगति हासिल गर्नुपर्ने हो त्यसो हुन नसकेको र निर्माणको गति न्यून रहेकाले कामको प्रगति बढाउन निर्देशन गरिरहेको उहाँको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक मध्यपूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ । बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र दुई लेन सडक निर्माण सम्पन्न भएको छ । पुलको भाग छाडेर दुई लेनको हिसाब गर्दा करिब एक सय २५ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । यस हिसाबले अझै एक सय किलोमिटर बढी कालोपत्र गर्नुपर्ने काम बाँकी छ । “एकतर्फीको हिसाब गर्दा करिब २१ किलोमिटर कालोपत्र गर्ने काम सकिएको छ”, योजना प्रमुख मगरले भन्नुभयो, “सय किलोमिटरभन्दा धेरै कालोपत्र गर्न अझै बाँकी छ ।”

साउनभित्रमा सबै काम सक्नेगरी निर्देशन गर्नुका साथै जनताको सुविधालाई ध्यानमा राखेर पहिला एकतर्फी कालोपत्र काम गर्न भनिएको योजना प्रमुख मगरले बताउनुभयो । “साउनभित्र सबै काम सम्पन्न गर्नुपर्ने भनेका छौँ”, त्यसमा पनि पहिला ६५ किलोमिटर एकतर्फी सक्नुपर्छ भन्ने निर्देशन गरेका छौँ, यस्तो गरियो भने अलि चाँडै यात्रा सहज हुन्छ भन्ने हो”, योजना प्रमुख मगरले भन्नुभयो ।

उहाँका अनुसार ठूला पुल १२ निर्माण गर्नुपर्नेमा सबैको काम जारी छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा २१ वटा पुलको काम सकिएको र अब एउटाको मात्रै काम बाँकी छ । गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माणको काम चलिरहेको छ । करिब रु १७ अर्ब लागत लाग्ने यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । साथै निर्माणको काम नसकिँदा धुलोले यात्रु तथा राजमार्ग आसपासका बासिन्दा पीडित बनेका छन् । धुलोका कारण व्यापार व्यवसायसमेत प्रभावित बनेको डण्डाका व्यापारी कृष्ण अधिकारीले गुनासो गर्नुभयो ।

माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित,खेतबारीमा लगाइएका बाली कक्रँदै

माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ ।’हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन,’, महोत्तरीको बलवा–१० धमौराका हासिम राइनले भने, ‘एकपटक पानी परे हुस्सु फाटेर चिसो हावा चल्न छाड्ने थियो, तर खै पानी पर्ने त छाँट नै छैन ।’ पानी नपर्दा लगातारको शीतलहरले तरकारी बालीलाई क्षति पुर्‍याएको उनको गुनासो छ । ‘बाक्लो तुसारोले आलु बोटमै सुक्यो, गोलभेँडा सड्दै बोटबाट झर्दैछन्, कोभीका फूल बढ्न नसकेर कक्रेका छन,’ उनले भने, ‘एकपटक अहिले पानी परे मौसम सफा भएर घाम तात्न थाल्थे, बालीनालीलाई राहत मिल्थ्यो ।’

विगतमा माघ लागेपछि हुस्सु फाट्दै गएर पारिलो घाम लाग्ने किसान बताउँछन् ।’तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व मनाएपछि त घाम तात्थ्यो, तर यसपालि त माघ आधा हुनलाग्दासम्म हुस्सुले छाडेको छैन,’ भङ्गाहा–४ रामनगरका ८५ वर्षीय किसान मोती महतोले भने, ‘यो मौसमको कुलक्षण नै हो, आउने दिन खुसीका हुने छैनन् ।’ हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेका र खानेपानीका स्रोत मुहान सुक्दै जान सक्नेमा उनले चिन्ता व्यक्त गरे ।‍हिउँदे वर्षा कुहासा (हुस्सु) फटाउने, चिसो पश्चिमी हावा (स्याँठ) चल्न छाड्ने र क्रमशः घाम तताउँदै लानेमात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने जनाइएको छ। बर्दिबास–१२ डाँडाटोल बिजलपुराका ७५ वर्षीय किसान रामसुन्दर ठाकुरले भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने बताए ।हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । भङ्गाहा–४ रामनगरकै ९० वर्षीय हाजीबिहारी अन्सारीले यसपालि माघ दोस्रो साता बित्दै गर्दासम्म पानी नपरेको हुँदा नै हुस्सु र चिसो हावा नफाटेको बताए।फलफूलखेती (आँप, लिच्ची, सपाटो र रुखकटहरसहितका फल) सघन हुने बर्दिबास नगरपालिकाका बिजलपुरा, पशुपतिनगर, खयरमारा, चेरु, गणन्ता, ढुङ्ग्रे, टुटेश्वर, पाटु, वरडाँडा र माईस्थानका किसान यसपालि हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको समस्या बढ्ने चिन्तामा छन् ।यसैगरी जिल्लाकै फलफूलखेतीको पकेटक्षेत्र मानिने गौशाला नगर क्षेत्रका भरतपुर, लक्ष्मीनियाँ र बेलगाछीका किसान पनि हिउँदे वर्षा नहुँदा अपेक्षित उत्पादन लिन नसकिने जनाइएको छ ।हिउँदे वर्षाले बालीनालीका लागि माटो भिजाउनेमात्र नभई रोग लाग्न नदिने र बाली हलक्क बढाउने गर्दछ । ‘हिउँदे वर्षा सिँचाइका लागिमात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि सहयोग हुन्छ,’ बर्दिबास–९ पशुपतिनगरको झ्याकुलेटोलका ६५ वर्षीय किसान महेन्द्र महतोले भने, ‘हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छन्, जताततै यसको असर बढ्नेछ ।’ हिउँदे वर्षाको मानव र यावत जीवजन्तुको स्वास्थ्य र अन्य आहारव्यहारमा पनि सकारात्मक प्रभाव हुने ८५ वर्षीय नथुनी महतोको अनुभव छ ।महोत्तरीको कुल ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांशमा आकाशे पानीको भरमा खेती गरिन्छ । यहाँ १० प्रतिशतमात्र खेतीयोग्य जग्गामा स्थायी सिँचाइ (कुलो, नहर लाग्ने) पुगेको छ । हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका समस्या पनि बढ्ने गर्छन् ।

अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द

बागलुङ । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।

ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए । ती छ विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ । उनले भने, “ढोरपाटन उपत्यका क्षेत्रका छवटा विद्यालय बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन्, एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ, पहिलेदेखि नै घुम्ती विद्यालय हो, यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ, यहाँका स्थानीय पनि हिउँद–बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन भएको छ ।”

सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी दिए । यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरूलाई चिसोबाट बचाउनका विद्यालय बन्द गर्नुको विकल्प नभएको उनले बताए । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनको भनाइ छ ।

“यहाँ हिउँदमा पनि पढाइ सञ्चालन गर्न सरकारले कुनै विकल्प दिनुपर्छ, हिटर अथवा अन्य कुनै न्यानो प्रदान गर्ने सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ भने धेरैजसो बालबालिका सामान्य परिवारका छन्, उनीहरूलाई न्यानो कपडा र जुत्ताको व्यवस्था गर्नुपर्छ”, उनले भने, “त्यो नभएसम्म हिउँदको दुई महिना पठनपाठनमा निकै समस्या हुन्छ, बर्खामा भने बिदा नगरी पढाउँछौँ ।”

बजेट अभावमा खानेपानीका योजना अलपत्र : संरचनासमेत जीर्ण हुँदै

कैलाली । बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् । विसं २०६४/ ०६५ देखि कैलालीमा सुरु गरेका दुई दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ । कार्यालयका अनुसार सङ्घीय सरकारले योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् ।

कैलालीमा सञ्चालित कतिपय योजना भौतिक संरचना तयार भए पनि आवश्यक बजेट विनियोजन नहुँदा पाइप बिछ्याउन सकिएको छैन । बजेट अभावमा पाइप लाइन बिछ्याउन नसक्दा भौतिक संरचना तयार भएका योजना पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ ।सरकारले योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा २०६४ सालदेखिका दुई दर्जन बढी योजना अलपत्र परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका निमित्त प्रमुख गणेशप्रसाद उपाध्यायले बताए । उनका अनुसार रु १० करोडका योजनामा वार्षिक रु दुई–चार लाख बजेट विनियोजन हुँदै आएकाले विनियोजन हुने बजेटको अनुपातमा योजना सम्पन्न गर्न अझै वर्षौँ लाग्ने देखिएको छ ।सो कार्यालयको तथ्याङ्कानुसार कैलालीको टीकापुर, गौरीगङ्गा, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिका, जानकी, जोशीपुर, कैलारी र बर्दगोरिया गाउँपालिकामा सञ्चालित खानेपानीका योजना १५ वर्षदेखि सम्पन्न हुनसकेका छैनन् । दशदेखि १५ हजार जनसङ्ख्या लाभान्वित हुने योजना सम्पन्न गर्न रु तीन देखि छ करोड बजेट आवश्यक देखिएकामा न्यून बजेट विनियोजन हुने गरेको निमित्त प्रमुख उपाध्यायले बताए ।डिपबोरिङ, ओभरहेड, कम्पाउन्डवाल र अफिस घरलगायत भौतिक संरचना तयार भइसकेका योजनामा पाइप बिछ्याउन बजेट नपुगेर खानेपानी सञ्चालनमा ल्याउन नसकिएको जनाइएको छ । निमित्त प्रमुख उपाध्यायले भने, “बजेट अभावका कारण योजना सम्पन्न गर्न नसक्दा कतिपय तयार भएका योजनाका संरचना जीर्ण हुँदै जान थालेका छन् ।”बजेट अभावले कार्यान्वयनमा भएको योजनाको बर्सेनि लागतसमेत वृद्धि हुँदै गएको जनाइएको छ । योजना धेरै बाँडेर बजेट कम विनियोजन हुँदा योजना सम्पन्न गर्ने समयावधि लम्बिँदै गएको निमित्त कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । सङ्घीय सरकारले कार्यान्वयन र रेखदेखका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेका खानेपानी योजनामा सङ्घीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन गर्दै आएको छ ।न्यून बजेट विनियोजनले निर्माण भइरहेका योजना सम्पन्न गर्न अझै धेरै वर्ष लाग्ने उल्लेख गर्दै निमित्त डिभिजन प्रमुख उपाध्यायले आधारभूत खानेपानी सबै नागरिकलाई समयमै पुर्याउन बजेट बढाउनुपर्ने बताए । एक तथ्याङ्कानुसार अझै पनि सुदूरपश्चिम प्रदेशका १२ प्रतिशत नागरिकलाई आधारभूत खानेपानीको सुविधा पुगेको छैन । छब्बीस लाख बढी जनसङ्ख्या रहेको सुदूरपश्चिमका ९२ प्रतिशत नागरिकको मात्रै आधारभूत सरसफाइ र चर्पीमा पहुँच पुगेको तथ्याङ्कले देखाएको जनाइएको छ ।

पर्याप्त विद्युत् आयात गर्न नसक्दा औद्योगिक क्षेत्रमा समस्यामा

काठमाडौँ । मुलुकभित्र उच्च माग हुने समयमा पर्याप्त विद्युत् आयात गर्न नसक्दा तराईका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्न पूर्वाधारको समस्या रहेकाले पनि उद्योग क्षेत्रमा पिक समयमा विद्युत् आपूर्ति गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उद्योग सङ्गठन मोरङले पछिल्ला केही दिन बिहान र बेलुकी गरी आठ घण्टासम्म बिनापूर्वसूचना विद्युत् आपूर्ति अवरोध हुँदा उद्योग सञ्चालनमा समस्या भइरहेको जनाएको छ । प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक मनोजकुमार सिलवालका अनुसार पिक समयमा भारतबाट पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा अवस्था हेरी आलोपालो गरी ३३ केभी प्रसारण लाइनमा विद्युत् विच्छेद गर्ने गरिएको छ ।

प्राधिकरणले अहिले दैनिक करिब ४५० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । इन्डियन इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटबाट ढल्केबरसम्म पर्याप्त विद्युत् आपूर्ति गर्न सकिन्छ तर आन्तरिक प्रसारण लाइनको सीमितताले गर्दा आवश्यक ठाउँमा विद्युत् पुर्‍याउन सकिन्न । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग

कञ्चनपुर, १० माघ : शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् ।

अर्को वैकल्पिक सडक नहुँदा स्थानीय बासिन्दा, विद्यालय जाने विद्यार्थी, बिरामीलाई अस्पताल पुर्याउनुपर्दा सोही सडक भएर जानुपर्ने अवस्था रहेको स्थानीय धनसिंह ठगुन्नाले बताए । “चुनावकै बेला प्रचारप्रसार गर्न आएका उम्मेदवारले गाडी सडकमै फस्दा स्थानीयले घचेटेर निकालेका थियौँ”, उनले भने, “सडकको दुरावस्था देख्दा उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा पक्की पुल निर्माण गर्ने बाचा गरेका थिए, पुलका लागि सर्भेसम्मको कार्य अझै हुनसकेको छैन ।”चुनाव जित्ने र हार्ने कोही पनि यस क्षेत्रका बासिन्दाका सुख, दुःखमा साथ दिनका लागि पुग्न नसकेको उनको भनाइ छ । “हिउँदका बेला सडकमा हिँड्नै गाह्रो छ”, उनले भने, “वर्षात्का बेला कम्मरसम्मको पानीमा गन्तव्यमा जानुपर्छ ।” सनवोरा नदी पुरानो बहाव छाड्दै पश्चिमतर्फ भएर बग्दै आएको छ । वर्षात्का बेला नदीको बहाव उच्च हुँदा पुरानो बहाव क्षेत्रमा पनि बाढीको पानी बग्ने गर्दछ । नदीको पुरानो बहाव क्षेत्रलाई स्थानीयले घरकटुवा खोला पनि भन्ने गरेका छन् ।“बस्ती नजिकै विद्यालय भए पनि वर्षात्का बेला तीन किलोमिटर टाढाको अर्को बाटो घुमेर जानुपर्ने बाध्यता छ”, जुद्धबहादुर बमले भने, “पुल निर्माण भइदिए सास्ती खेपेर गन्तव्यमा जानुपर्ने अवस्थाको अन्त्य हुन्थ्यो ।” नदीको पुरानो बहाव क्षेत्र भएकाले हिउँदमा पनि पूरै हिँडने सडक हिलाम्मे भएको उल्लेख गर्दै उनले हालसम्म कुनै पनि निकायले नहेरेको बताए ।शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुरसिंह महरा वडाको बजेटले पुल निर्माण गर्न नसकिने बताए । “पूरै सडकखण्ड दलदल छ”, उनले भने, “ग्राभेल राख्ने अवस्था छैन, अहिले ग्राभेल राखे पनि वर्षात्मा पूरै बगेर जान्छ, त्यस क्षेत्रमा पुल नै आवश्यक छ, त्यसका लागि नगरदेखि प्रदेशसम्म गुहारेका छौँ, कुनै पनि निकायले चासो देखाएका छैनन् ।” यसै क्षेत्र भएर नगर चक्रपथअन्तर्गतको सडक बन्ने भएकाले पुलका लागि पहल गरिनेमा आशावादी रहेको उनको भनाइ छ । पारिफाँटा भमरभोज क्षेत्रमा दुई सय ५० बढी परिवारको बसोबास छ ।

नोटबाट सर्छ सङ्क्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

काठमाडौँ । हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन।

नोट वा सिक्का प्रयोग गर्दा व्यक्तिले पनि सावधानीसँगै विकल्प खोज्नुपर्ने देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार स्वदेश र विदेशमा गरिएका अनुसन्धानका आधारमा मुद्रा (नोट र सिक्का) मा विभिन्न कीटाणु तथा परजीवी हुने पुष्टि भएको हो ।

नोटमा हुने कीटाणु र परजीवीले छालामा हुने सालमोनेला (टाइफाइड), झाडा-पखाला, मूत्रनलीको सङ्क्रमण, फ्लु भाइरस ( रुघाखोकी) सार्ने गरेको पाइएको परिषद्ले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको एक अनुसन्धानले मुद्राका ९८ प्रतिशत नमुनामा कीटाणु भएको देखाएको थियो । अस्पताल तथा मासु पसलमा प्रयोग गरिएका मुद्रामा अझ धेरै प्रकारका कीटाणुका र औषधि प्रतिरोधी जीवाणु फेला परेको परिषद्को अध्ययनले देखाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

भिजिट भिसामा जान ६ वटा कागजात आवश्यक पर्ने

काठमाडौं । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ ।

भ्रमण गर्ने देशको अनआराइभल भिजा हुने भए भिजा आवश्यक नपर्ने उल्लेख गरिएको छ । यसैगरी दुईतर्फी हवाई टिकट हुनुपर्ने कुरालाई दोहोर्‍याइएको छ ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ ।

भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको छ । यसका लागि डेबिट वा क्रेडिट डलर कार्ड भए पनि हुने पनि उल्लेख गरिएको छ ।

संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा फारम भर्नुपर्ने अध्यागमन विभागले उल्लेख गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

कर्मचारीको अभाव झेल्दै खानेपानी संस्थान वीरगञ्ज

वीरगञ्ज । लामो समयदेखि दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको कार्यालय प्रमुख इञ्जिनियर निरण महर्जनले जानकारी दिनुभयो ।

कार्यालयमा प्रमुखसहित ५२ जना कर्मचारीको दरबन्दी भए पनि हाल कार्यालय प्रमुखसहित १३ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालयमा एक जना कार्यालय प्रमुख, लेखा शाखातर्फ एक जना सहायक लेखा अधिकृत, एक जना वरिष्ठ सहायक लेखापाल, सहायक लेखापाल चार जना, कनिष्ठ लेखापाल दुई जना, प्रशासनतर्फ एक जना शाखा अधिकृत, दुई जना सहायक शाखा अधिकृत, एक जना वरिष्ठ सहायक, चार जना सिनियर मिटर रिडर, दुई जना कार्यालय सहायक, पाँच जना मिटर रिडर, दुई जना सवारी चालक र चार जना कार्यालय सहयोगीको दरबन्दी भए पनि हाल कार्यालय प्रमुख ई महर्जन, एक जना वरिष्ठ सहायक लोखापाल, एक जना कनिष्ठ सहायक, एक जना सिनियर मिटर रिडर र दुई जना मिटर रिडरका रुपमा कार्यरत रहनुभएको छ ।

यस्तै सो कार्यालयको इञ्जिनियरिङ शाखातर्फ एक जना इञ्जिनियर र सहायक प्राविधिक अधिकृतको दरबन्दी भए पनि ती दुबै पद रिक्त रहेको प्रमुख ई महर्जनले बताउनुभयो । त्यस्तै उत्पादन तथा गुणस्तर शाखातर्फ एक जना केमिष्ट, एक जना सव इञ्जिनियर, १५ जना पम्प सञ्चालक, दुई जना स्याम्प्लर, तीन जना हेल्पर, दुई जना हेरालुको दरबन्दी भए पनि हाल हेरालु एक जना बाहेक सबै पद रिक्त रहेको सो कार्यालयले जनाएको छ ।

वितरण शाखातर्फ एक जना सव इञ्जिनियर, दुई जना सिनियर प्लम्बर, आठ जना कार्यालय सहयोगी र आठ जना कार्यालय सहयोगीको दरबन्दी भएकोमा हाल एक जना सिनियर प्लम्बर र चार जना कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

दरबन्दी अनुसारको कर्मचारी नआउँदा दैनिक ज्यालादारीमा कर्मचारी राखेर कार्यालयको कामकाज सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ई महर्जनको भनाइ छ । तर बजेट अभावमा गत पुस १ गतेदेखि १३ जना दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाएर अहिले १० जना ज्यालादारी कर्मचारीबाट जेनतेन कार्यालयको कामकाज सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहँुदा सेवाग्राहीलाई सेवा प्रदान गर्न, प्रशासनिक टिप्पणी उठाउने, कम्प्युटरसम्बन्धी काम, कार्यालयको कार्यसम्पादन विश्लेषण र खानेपानीको धारा मर्मतलगायतको काम प्रभावित हुँदै आएको कार्यालय प्रमुख ई महर्जनको कथन छ । सीमित जनशक्तिका बाबजुद कार्यालयको कामसँगै सेवाग्राहीको गुनासो सुन्ने र समस्या समाधानका लागि निरन्तर काम गर्दै आएको उहाँको भनाइ छ ।

कार्यालयमा देखिएको जनशक्ति अभावबारे संस्थानको केन्द्रीय कार्यालयसहितको निकायमा पटक–पटक जानकारी गराएर कर्मचारी माग गरेपनि हालसम्म पदपूर्ति नभएको उहाँले बताउनुभयो ।

सङ्घीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्छ – डा. कोइराला

मोरङ । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई ‘समर्पण सम्मान–२०८०’बाट सम्मान गरिएको छ । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले यहाँ एक कार्यक्रम आयोजना गरी उहाँलाई उक्त सम्मान प्रदान गरेको हो ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मानित गर्नु भएको छ । कार्यक्रममा डा. कोइरालाले सङ्घीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा लोकतन्त्र स्थापित गर्न सुशासन एवं पारदर्शिता कायम गरी भ्रष्टाचार, दण्डहिनता अन्त्यका लागि सबै दल लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेता डा कोइरालाले दुई हजार पाँच सय चिकित्सक विदेश पलायन भएका भन्दै यसप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दक्ष जनशक्ति मुलुकमा बस्ने वातावरण मिलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सम्मानित पूर्वप्रधान न्यायाधीश श्रेष्ठले सङ्घीयतामा जनतालाई लाभ र उपलब्धिता दिनुपर्ने भन्दै लोकतन्त्रमा नागरिकका समस्याप्रति दल गम्भीर भएर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगीकरण, सञ्चार, शैक्षिक, पूर्वाधार विकास तथा राजनीतिक क्षेत्रमा पिताजी कृष्णप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, परिषद्का अध्यक्ष कविराज न्यौपाने, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य महेश रेग्मी, बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जीतबहादुर थापामगर, योगेन्द्र अधिकारी र कांग्रेस नगर सभापति दीपक चापगाईंले प्रजातन्त्र स्थापना र समाज परिवर्तनमा पिताजी कोइरालाले पु¥याउनुभएको योगदानबाट आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभएको थियो ।

डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औँ राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्ने बताएकी छन् । उनले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरिन् ।

मन्त्री शर्माले १६औँ राष्ट्रिय योजना निर्माणको सवालमा मन्त्रालयमागरिएको राष्ट्रिय योजना आयोगसँगको छलफलमा राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताईन् । डिजिटल रुपान्तरणबिना मुलुकको समृद्धि सम्भव नभएकाले अब राज्यको प्राथमिकता र लगानी यसमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कका आठ क्षेत्र डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारमध्ये डिजिटल पूर्वाधारको क्षेत्र सञ्चार मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको र बाँकी सात क्षेत्र सम्बन्धित मन्त्रालयका कार्यक्षेत्रभित्र रहेकाले डिजिटल नेपाल निर्माणका लागि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायको प्राथमिकता निर्धारण गर्ने गरी आगामी योजना बनाउनुपर्नेमा जोड दिईन् ।

“सबै क्षेत्रलाई एकसाथ अगाडि बढाउने हो भने डिजिटल नेपाल निर्माणमा धेरै काम गर्न सकिन्छ”, मन्त्री शर्माले भनिन्, “सङ्घीय वा प्रदेश राजधानीमा रहेका राम्रा विद्यालयबाट देशभरि स्मार्ट कक्षा चलाउन सकिन्छ, काठमाडौँको वीर अस्पतालबाट मात्रै पनि दुर्गमका स्वास्थ्य संस्थामार्फत टेलिमेडिसिन सुरु गर्न सकिन्छ । यी सबै कामका लागि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन सबैको प्राथमिकता बन्नुपर्छ ।”

नेपालमा बजेटभन्दा पनि उपयुक्त सोच र योजनाको अभावले विकास हुन नसकेको औँल्याउँदै मन्त्री शर्माले अब योजना बनाउँदा गर्न सकिने र गर्नैपर्ने कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिईन् । त्यसका लागि परियोजना बैंकको अवधारणा अघि सार्न सकिने उनले स्पष्ट पारिन् । परियोजना बैंक बनाएर त्यसलाई कार्यान्वायन गर्न सरकारले कति लगानी गर्ने, दातृ निकायको कति लगानी खोज्ने र जनश्रमलगायत अन्य स्रोतको पहिचान कसरी गर्ने भनेर योजना बनाउँदा नै ध्यान दिन मन्त्री शर्माले आग्रह गरिन् ।

छलफलमा राष्ट्रिय योजना आयोगका सदस्यद्वय डा.प्रभु बुढाथोकी र डा.अनिता शाह ढुङ्गाना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीसहित मन्त्रालय र आयोगका अधिकारी सहभागी थिए ।

भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ देख्न पाइने

चितवन । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते (मार्च १ तारिख) मा हुँदैछ ।भ्रमण वर्षमा यहाँ आउने पर्यटकका लागि विभिन्न प्याकेजसँगै दुर्लभ पाटेबाघ सहजै देख्न पाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले एकाधले मात्रै बाघ देख्ने अवसर पाउँछन् । निकुञ्जले भ्रमण वर्षसँगै यहाँ आउने पर्यटकका लागि खोरमा बाघ देखाउने व्यवस्था गर्दैछ ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार भरतपुर महानगरपालिकाको देवनगर रेष्जपोष्ट नजिक दक्षिणकाली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा खोर निर्माण सम्पन्न गरिएको छ । बाघ हेर्नका लागि मचान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तिवारीका अनुसार अब केही दिनमा मचानको काम सम्पन्न हुन्छ ।

निकुञ्जले रु ५० लाख खर्च गरेर त्यहाँको वन्यजन्तु उद्धार केन्द्रमा बाघका लागि खोर निर्माण सम्पन्न गरेको छ । सँगै महानगरपालिकाको सहयोगमा मचान र पहुँच सडक निर्माण हुँदैछन् । उहाँको भनाइमा भ्रमण वर्ष उद्घाटन अघि नै त्यहाँ बाघ लगिनेछ । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको तिवारीले जानकारी दिनुभयो ।

निकुञ्जको मुख्य कार्यालय कसरामा एउटा पोथी र तीन भाले बाघ खोरमा छन् । यसैगरी, सौराहामा दुई भाले छन् । ती बाघ हिंस्रक बनेपछि नियन्त्रणमा लिएर खोरमा राखिएको छ । तीमध्येबाट वा थप हिंस्रक बाघ नियन्त्रण गर्नु परेमा त्यसलाई खोरमा ल्याइँदै छ । पर्यटकलाई मचानबाट बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको हो ।

भ्रमण वर्षलाई लक्षित गरी मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल र बीस हजारी तालमा सरसफाइको काम भइसकेको छ । भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जिप सफारीको पुराना रुटमा पनि सरसफाइ गरिसकेको छ ।

पर्यटकीयस्थलमा नक्सा (म्याप) राख्ने काम गरिएको उहाँले जानकारी दिनुभयो । निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसेमैदानलाई पनि व्यवस्थित बनाउने काम भइरहेको छ । मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्वारलाई शृङ्गार गर्ने काम गरिएको छभने निकुञ्जको मुख्यालय कसरामा सरसफाइ र रङ रोगनको कार्य भएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने पर्यटकले सहजै बाघ देख्न पाऊन् भन्ने उद्देश्यले देवनगरको वन्यजन्तु उद्धार केन्द्रमा महानगरले समेत लगानी गरेर बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । त्यहाँ मचान निर्माण र पहुँच मार्गका लागि महानगरपालिकाका तर्फबाट काम धमाधम भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अब निकुञ्ज घुम्न आउनेले बाघ देखिन भन्न पर्दैन ।”

भ्रमण वर्षमा आउने स्वदेशी र विदेशी पर्यटकको प्रमुख गन्तव्य निकुञ्ज भएको जनाउँदै उहाँले निकुञ्ज प्रवेश गर्ने नाका र भ्रमणका गन्तव्यमा पर्यटकका लागि सहजीकरणको काम भइरहेको जानकारी दिनुभयो ।

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई मंगलबार निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।आदेशमा भनिएको छ, “स्वामित्व परिर्वतनसम्बन्धी विषय विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट गत मङ्सिर २१ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ ।”मलेसियाको कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् आज माघ १० गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृष राशि – मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

मीथुन राशि- प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

कर्कट राशि- सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

सिंह राशि- पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

कन्या राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृश्चिक राशि- निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

धनु राशि- अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मकर राशि – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

कुम्भ राशि- खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

मिन राशि- मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

म्याग्दीको चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् ।

क्लबका उपाध्यक्ष टीका पुनले चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको जानकारी दिए । “गोठालाहरूले लेकबेँसी गर्न प्रयोग गरेको बाटो भएर चिमखोलाबाट सोवाङ धुरी पुग्न सकिने पदमार्ग पहिचान गरेका हौँ”, उनले भने, “गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन पहल थालेका छौँ ।” चिमखोलाबाट हिँड्न सक्ने एक दिन र बिस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे ।

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचार–प्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको क्लबका अध्यक्ष प्रविन बुढाले बताए । “पूर्वाधार र प्रचार–प्रसारको कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ”, उनले भने, “पूर्वाधार निर्माणमा पहल, प्रचार–प्रसार र प्रवर्द्धनमा जुटेका छौँ ।” उहाँका अनुसार संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृष्यावलोकन गर्न पाउन सोवाङ धुरीको मुख्य विशेषता हो ।

सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिने चिमखोलाका वकिल पुनले बताए । सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिने उनले बताए ।

सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । व्यवस्थित पदमार्ग, आश्रयस्थल नभएकाले वन्दोबस्तीका सामानसहित जानुपर्छ । सोवाङ धुरी जाने पर्यटक नजिकैको ओढारमा बास बस्ने गरेका छन् ।

आश्रयस्थल निर्माण, खानेपानीको व्यवस्थापन र पदमार्गमा सङ्केत चिह्नहरू बनाउनुपर्ने सोवाङ धुरी पुगेर आएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले बताए । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्नेगरी पहिचान भएको धजलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरबाट सुरु भएर भगवती–रुइसे–भेडीओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्न सक्छन् ।

आधार शिविरबाट बाँझोबुकी–कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगङ्गा नदीको किनार नै किनार हुँदै सङ्गुरथला भएर कुइनेमङ्गलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्नेगरी दुईवटा पदमार्ग सञ्चालनमा रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजा (रिम)ले बताए । “हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ”, उनले भने, “अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन ।

थप बजेटको आवश्यकता छ ।” टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धललागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

‘दुधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दुध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

इलाम–५ का किसान वीरबहादुर अधिकारीले गतसाउन १५ देखि दुधको पैसा नपाएको गुनासो पोखे । “साउनयता दुधको भुक्तानी भएको छैन । पाउनुपर्ने रकम नपाएपछि परिवार चालाउन धौधौ भइसक्यो”, उनले भने, “हामीले कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन । हाम्रो अभिभावक नगरपालिका हो । नगरपालिकाले आवश्यक पहल गरिदिनुपर्छ ।”सोही ठाउँका अर्का किसान गङ्गाप्रसाद नेपालले किसानले पाउनुपर्ने रकम स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर भुक्तानी गर्न माग गरे । उनले किसानले दुधको भुक्तानी नपाउँदा नगरपालिकाले राहतको कार्यक्रम नल्याएको गुनासो गर्दै दुग्ध उत्पादक किसानलाई राहत ‘प्याकेज ’ ल्याउन नगरपालिकासँग माग गरे ।इलाम–५ माइपोखरीका किसान भुप्रसाद बजगाईँले दुध लिन दुग्ध विकास संस्थान (डिडिसी)को गाडी दैनिक आउन छोडेकाले दुध बिक्री हुन छोडेको बताए । “डिडिसीको गाडी दैनिकरूपमा दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो । तर आजकल दुई–तीन दिनमा मात्र आउँछ । नआएको दिन दुध बिक्री हुँदैन, किसान मारमा छन्”, उनले भने, “किसानको दुध लिन कमसेकम डिडिसीको गाडी दैनिकरूपमा आउने वातावारण बनाउन नगरपालिले पहल गर्नुपर्छ ।”जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष होम कट्टेलले गत भदैदेखि किसानले दुधको भुक्तानी नपाएको गुनासो गरे । उनले माघ तेस्रो सातासम्म पनि दुधको भुक्तानी नपाए किसानले आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए ।“किसानले गत भदौदेखि हालसम्म मासिक १५ दिनको मात्र दुधको भुक्तानी पाएका छन् । किसानलाई दैनिक गुजारा चलाउनसमेत धौधौ पर्न थालिसक्यो”, उनले भने, “किसानका समस्या समाधानका लागि चाँडो पहल गरियोस् । यो महिनाको तेस्रो सातासम्म पनि भुक्तानी नपाए किसान आन्दोलित हुनुको विकल्प छैन ।”डिडिसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार पाँच सय ६० लिटर दुधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताए । डिडिसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटेमा दुई लाख ११ हजार ५० लिटर, दुग्ध चिस्यान केन्द्र तीनघरेमा दुई लाख ६१ हजार छ सय १० लिटर, दुग्ध चिस्यान केन्द्र फिक्कलमा एक लाख ८२ हजार चार सय लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार चार सय लिटर दुधको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका व्यवसायी चेतनाथ पौड्यालले रु एक करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा थन्क्याउनुपरेको बताए । उनले अझ स्टोरमा नै रहने हो भने अखाद्य तत्वका रूपमा परिणत हुने चिन्ता व्यक्त गरे । “हामी व्यवसायीसँग रु करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमै राख्न बाध्य छौँ । अझ १५ दिनसम्म पनि बिक्री भएन भने अखाद्य तत्वमा परिणत हुन्छ । नष्ट गर्नुको विकल्प रहँदैन”, उनले भने, “यसबाट हामीले करोडौँको क्षति व्यहोर्नुपर्छ ।” उनले एक लिटर दुध उत्पादनमा रु ५६ उत्पादन लागत लाग्ने भएकाले दुधको मूल्य घट्दासमेत किसान नै मर्कामा परेको बताए ।राष्ट्रिय कृषक महासङ्घका संयोजक राम मगरले गुणस्तरीय दुग्ध सामग्री उत्पादन र बजारीकरणका लागि रणनीतिक अनुगमन गर्नुपर्ने बताए । इलाम नगर प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलालले भारतीय दुग्ध सामग्री आयातमा प्रतिबन्ध लगाएमात्र नेपाली दुग्ध उत्पादनले बजार पाउने बताए ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले किसानको समस्या सधानका लागि आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाए । “किसानले राख्नुभएका विभिन्न समस्या र सुझावलाई प्रधानमन्धी तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय तथा सम्बन्धित निकायमा सम्प्रेषण गर्नेछु”, उनले भने, “दुग्ध विकास संस्थान (डिडिसी)को गाडी दैनिकरूपमा आउने वातावरण बनाउन समन्वय गर्छु ।”नगरप्रमुख केदार थापाले किसानका समस्यालाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । “उत्पादनदेखि बजारीकरणसम्म नै किसानका थुप्रै समस्या छन्, ती समस्याबारे नगरपालिका गम्भीर छ” उनले भने, “स्थानीय सरकारका तर्फबाट किसानका लागि गर्नसक्ने काममा नगरपालिका सधैँ प्रतिबद्ध छ । तर प्रदेश र सङ्घीय सरकारबाट गर्नुपर्ने काममा विषयमा हामीले उहाँहरूसँग सहजीकरण र आवश्यक पहल गरिरहेका छौँ ।”इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दुध उत्पादन हुने गरेको इलाम नगरपालिका पशु शाखाका प्रकाश लुइँटेलले बताए । उहाँका अनुसार दैनिक दुई हजार लिटर दुध डिडिसीमार्फत विराटनगर जाने गरेको छ । बाँकी दुध निजी डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मीठाइ बनाउने उद्योगमा खपत हुने गरेको छ ।जिल्लामा भने निजी क्षेत्रमा दैनिक ५३ हजार लिटर हाराहारीमा दुग्ध खपत हुँदै आएको छ । निजी डेरीमा मात्र एक हजारभन्दा धेरै किसानले दुध बिक्री गर्दै आएका छन् । इलाममा १८ वटा चिज कारखाना, एक सय ५० वटा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मीठाइ बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ । इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध पदार्थ उत्पादन हुने गरेको छ । होलिस्टिन र जर्सी गरी यहाँ ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ ।

इजराइली बमबारीमा दक्षिणी गाजामा ४० जनाको मृत्यु

गाजा । दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको आधिकारी प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।

प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण सङ्घर्ष हुँदा सहरको पश्चिमी क्षेत्रहरूमा इजराइली युद्धक विमान र तोपखानाले हिंसात्मक बमबारी गरेको बताइएको छ । उक्त क्षेत्रमा हजारौँ विस्थापित प्यालेस्टिनीहरू बसेका छन् ।
गाजा पट्टीमा जारी इजराइली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २५ हजार दुई सय ९५ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजराइली सेनाद्वारा एक सय ९० प्यालेस्टिनी मारिएको र तीन सय ४० जना घाइते भएका छन् । जारी इजराइल–हमास युद्धमा सन् २०२३ अक्टोबर ७ यता कम्तीमा ६३ हजार प्यालेस्टिनी घाइेते भएको पनि मन्त्रालयले जनाएको छ ।-(रासस/सिन्ह्वा)

प्रदेशलाई पूर्ण अधिकार दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार दिन माग गरेका छन् । नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई पर्वतमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सङ्घले पूर्ण अधिकार नदिएसम्म प्रदेश सरकारले सोचेअनुसारको विकास गर्न नसक्ने बताए ।

अधिकार प्राप्ति नहुँदा थुप्रै विषय अड्किएको बताउँदै यसले सङ्घीयतालाई समेत कमजोर बनाएको उनको भनाइ थियो । केन्द्र सरकारको मात्रै मुख ताक्दा समुन्नत प्रदेश बनाउन नसकिने भएकाले प्रदेशलाई नै समृद्ध बनाउनुको विकल्प नभएको बताए ।

मुख्यमन्त्री पाण्डेले आयातमा निर्भर र निर्वाहमुखी अर्थतन्त्रलाई रूपान्तरण गर्दै आत्मनिर्भर उत्पादनमूलक र निर्यात उन्मुख प्रदेश अर्थतन्त्रको निर्माण गर्ने योजना रहेको बताए । उनले सङ्घीय सरकारले थोरै बजेट विनियोजन गर्दा पनि विकास प्रभावित हुने गरेको समेत टिप्पणी गरे ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको समेत बताए । कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोजिएको र सम्भव नहुने बताए ।पार्टीको विधानले दिएको काम, कर्तव्य र अधिकारलाई सामूहिकरूपमा निर्वाह गर्न सकेमात्र कांग्रेस बलियो हुने र एकल बहुमत ल्याउन सकिने उनको धारणा थियो ।

सामान चोरी भएपछि पुल निर्माण रोकियो

नवलपरासी । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो ।

कम्पनीले आफ्नो करिब रु ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डण्डी, प्लाइ, पाइप, कलेम्पुलगायतका सामग्री चोरी भएको बताए । “बुलिङटार–३ का विष्णुवीर जर्घाले मेरो सामान लैजानुभएको हो, सामान लैजाँदै गर्दा उहाँको ट्रयाक्टर दुर्घटनामा परेर मानिससमेत मरेका छन्”, उनले भने, “बुलिङटारमा निर्माणाधीन संरचनामा उहाँसँग सहकार्य गरेर करिब रु ११ लाखको काम गर्दा रु एक लाख ७० हजार जति रकम मैले तिर्न बाँकी थियो ।”

बाँकी रहेको पैसा पनि आफूले दिने तयारी गरिरहेको बेलामा पुल निर्माणका लागि ल्याइएको सामान जर्घाले लगेको लोहनीले आरोप लगाए । “मेरो सामान चोरी भएको विषयमा मैले जिल्ला प्रहरी कार्यालय नवलपुरमा ट्रयाक्टर साहुको नाममा किटानी जाहेरी दिएको छु”, उनले भने, “मेरो हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि बढाउँदिन ।” निर्माणाधीन पुलका सामान लैजाने भनिएका जर्घा बुलिङटार गाउँपालिका–३ का वडाध्यक्षसमेत हुन् ।

व्यवसायी लोहनीले करिडोरको तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी रु तीन करोड ७३ लाखमा ठेक्का पाएका थिए । पुल निर्माणको काम ६५ प्रतिशत सकिएको निर्माण उहाँको भनाइ छ । सो पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको जनाइएको छ ।

बुलिङटार–३ का वडाध्यक्षसमेत रहनुभएका आरोपी जर्घाले निर्माण व्यवसायी लोहनीले आफूलाई छ वर्ष अगाडिको पैसा दिन बाँकी रहेको बताए । “निर्माण व्यवसायीले कालीगण्डकी करिडोरको बाटोमा पुल निर्माणको ठेक्का पाउनुभएको थियो । छ वर्ष अगाडि मेरो ट्रयाक्टर लगेर काम गर्नुभयो”, उनले भने, “त्यो पुल दुई वर्ष अगाडि नै निर्माण सकिँदासमेत मेरो पूरै भुक्तानी गर्नुभएन, सम्पर्कमा पनि आउनुहुँदैनथ्यो ।” निर्माण व्यवसायी अशोक लोहनी सम्पर्कमा आएको बेला पनि पैसा दिन्छु भन्ने तर नदिने गरेको जर्घाको भनाइ छ ।

आफू जनप्रतिनिधि भएपछि आफ्नो सबै घर व्यवहार आफ्ना छोराले हेर्ने गरेको जनाउँदै जर्घाले भने, “छोरा गएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटनामा पर्‍यो ।” पैसा नपाइरहेको अवस्थामा तरङ्ग खोलामा निर्माण व्यवसायीले पुल बनाइरहेको छोराले थाहा पाएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटना भएको उहाँको भनाइ छ । उनले भने, “पुल निर्माण भएको ठाउँबाट लोहनीको सामान ल्याएर सुरक्षित राख्ने र पैसा दिएपछि फिर्ता गर्ने उनीहरूको योजना थियो ।”

तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माण कम्पनीले हालेको उजुरीका विषयमा दुवै पक्षले न्याय पाउनेगरी समाधान खोजिने जानकारी दिए । “समान हराएको विषयमा उजुरी परेको छ, सामान लगेको भनिएको व्यक्तिलाई समेत निर्माण पक्षले केही रकम तिर्न बाँकी रहेछ”, उनले भने, “सामान लैजाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेर मान्छेको मृत्यु भएको छ, पहिले यो मुद्दामा चालकमाथि अनुसन्धान अगाडि बढाएका छौँ ।”

दुर्घटनामा मान्छे मरेको मुद्दाको छिनोफानो भएपछि चोरीका विषयमा अनुसन्धान अगाडि बढाइने सूचना अधिकारी पौडेलले बताए । तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान लैजाँदै गरेको लु४त २३१३ नम्बरको ट्रयाक्टर गत माघ ४ गते साँझ जिल्लाको बुलिङटार–१ मोजडाँडामा दुर्घटना भएको थियो । कालीगण्डकी करिडोरबाट करिब एक सय मिटर तल खेतमा खसेको ट्रयाक्टरले नै थिचेर ट्रयाक्टरमा सवार बुलिङटार–३ का ३५ वर्षीय चन्द्रबहादुर दर्लामीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा सोही ट्रयाक्टरमा सवार बुलिङटार–३ का ४० वर्षीय धनबहादुर नेपाली र २८ वर्षीय मीनबहादुर सार्की घाइते भएका छन् । दुर्घटनामा सकुसल रहेका ट्रयाक्टर चालक बुलिङटार–३ का २१ वर्षीय धनबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको सूचना अधिकारी पौडेलले बताए ।

रुसमा घाइते नेपाली युवाको अनुरोध : सेनामा भर्ना हुन नआउनु होला

काठमाडौँ । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् ।

टिकटकमा एक भिडियो सन्देश जारी गर्दै ती युवाले भनेका छन्, ‘म गोली र बम लागेर घाइते भएको छु, यदि कोही नेपाली युवा रुसी सेनामा आउने सोचमा हुनुहुन्छ भने नआउनु होला । बरु यहाँ भएका, फसेका घाइते नेपाली दाजुभाइलाई जसरी भए पनि उद्धार गरेर नेपाल फर्काउन सहयोग गर्नुहोस् ।’

रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लागेर छटपटाइरहेको र आफू जस्तै धेरै साथीहरू फसेकाले सबैलाई उद्धार गर्न पनि ती युवाले नेपाल सरकार र त्यहाँस्थित नेपाली दूतावासलाई अनुरोध गरेका छन् । ‘मजस्तै धेरै दाजुभाइ यहाँ छटपटाउँदै उद्धारको पर्खाइमा छौँ, हामीलाई तत्काल सहयोग गर्नुहोस्,’ ती युवाले भनेका छन्, ‘यहाँ कोही पनि नआउनु । यहाँ एकदम डेन्जर छ । ९९ प्रतिशत मर्ने सम्भावना छ । बच्ने सम्भावना त १ प्रतिशत मात्र छ, त्यो पनि घाइते भएर मात्र बच्न सकिन्छ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।

मधेस कृषि विश्वाविद्यालयको सपना पूरा भएकोमा खुसी लागेको छ : अध्यक्ष यादव

राजविराज (सप्तरी) – जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेस कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी व्यक्त गर्नुभएको छ । सोमबार सो विश्वाविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

“आज राजविराजमा कृषि विश्वविद्यालय भवन शिलान्यास गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ, विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान दिनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो । उहाँले विश्वविद्यालयको भवन निर्माणका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विश्वविद्यालय प्रदेश सरकारको गौरवका योजनामा रहेकाले भवन निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालय परिवारलाई उच्च मनोबलका साथ अगाडि बढन समेत निर्देशन दिनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदै राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गराउनुभयो । प्रतिकुल अवस्थाका बावजुद पनि प्रदेश सरकारले यसलाई प्रदेश गौरवको योजनामा राखेकाले देशकै उदाहरणीय विश्वविद्यालयको रुपमा स्थापित हुने दाबी गर्नुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशको सप्तरीमा विश्वविद्यालथ स्थापना हुनु गौरवको विषय भएको बताउनुभयो । कृषिबाटै प्रदेश र देशको आर्थिक समृद्धि हुने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँको जोड थियो ।

मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मका गतिविधिबारे जानकारी गराउनुभयो ।

प्रदेश सरकारले विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष २०७८÷७९ मा रु एक अर्ब ४९ करोड बहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा रु ३९ करोड र चालु आवमा रु ३० करोड विनियोजन गरिएको छ । विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि रु एक अर्बमा ठेक्का सम्झौता भएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिनुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सिन्धुपाल्चोकको भीषण बाढीले ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा तीन वर्षअघि आएको भीषण बाढीले गरेको वितण्डाका कारण ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या देखिएको छ । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी प्रभावित १२० घरधुरीमा गरिएको सर्वेक्षणले त्यस्तो देखाएको हो ।

समुदायका मुख्य सूचनादातासँगको छलफल, विस्तृत केस अध्ययनलगायत विधिबाट गरिएको उक्त बृहत् अध्ययनअनुसार विपत्ले त्यहाँका स्थानीयमा आर्थिक मात्र नभई गैरआर्थिक हानिनोक्सानीसमेत गरेको देखिएको छ ।

उमेरगत हिसाबले ४६ देखि ६० वर्ष उमेर समूहका झन्डै ३७ प्रतिशत र त्यसपछि ३६ देखि ४५ वर्ष उमेर समूहका २६ प्रतिशत उत्तरदाता मानसिक हिसाबले सबैभन्दा बढी प्रभावित रहेको पाइएको हो । कुल ५३८ घरधुरीबाट छानिएका १२० वटामा सर्वेक्षण गरिएकोमा १०३ घरधुरीमा यस प्रकारको समस्या देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा गिरावट

काठमाडौँ । सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला जलविद्युत् आयोजना, हाउजिङ, घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीको भनाइ छ ।

सिमेन्ट उत्पादक सङ्घका अनुसार वार्षिक ५० करोड बोरा सिमेन्ट उत्पादन हुने क्षमता रहेकामा हाल १८ करोड बोरा मात्र उत्पादन भइरहेको छ । सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले आन्तरिक बजारमा माग कम हुँदा उत्पादनमा उल्लेख्य कमी आएको जानकारी दिए । “ठुला जलविद्युत् निर्माणको काम नुहुँदा आन्तरिक बजारमा सिमेन्टको खपत न्यून छ,” उनले भने, “सरकारले निर्यातमा नगद रकम वृद्धि गरे निर्यात बढाई विदेशी मुद्रा भित्र्याउन सक्छौँ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

हेर्नुहोस् माघ ९ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि- निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मीथुन राशि- अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि- टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि – मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि- प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि – सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि- प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति उद्यान

झापा । बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ । स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका छन् ।आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो । सरकारको एक सय एक गन्तव्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष कृष्ण खरेलले बताए ।

पार्क बन्नुअघि त्यस स्थानमा भुटानी शरणार्थी शिविर रहेको थियो । शरणार्थी तेस्रो मुलुक पुनर्वास भएपछि उक्त स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सरकारले रु दुई करोड लगानी गरेको थियो । बाइस बिघा क्षेत्रफलमा फैलिएको शिविरलाई सहिद नेत्र पार्क घोषणा गरिएपछि पर्यटक लोभ्याउन महँगा मूल्यका पूर्वाधार संरचना निर्माण गरिएका थिए । सरकारी बजेटबाट चिल्ड्रेन पार्कदेखि स्विमिङ पुलसम्म पहिल्यै निर्माण गरिएको थियो । आकर्षक प्रवेशद्वार र उद्यानसमेत बनाइएको थियो ।

विसं २०२९ फागुन २१ गते झापा र इलामको सिमानामा पर्ने सुखानीको जङ्गलमा पञ्चायती सरकारबाट जेल सार्ने निहुँमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच सहिदमध्ये एक थिए नेत्र घिमिरे । सहिद नेत्र घिमिरेकै स्मृतिमा उक्त पार्क बनाइएको हो ।

पूर्वाधार निर्माण गरे पनि पार्क सञ्चालनमा आउन नसक्दा अधिकांश संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् । बिर्तामोड–७ का जनप्रतिनिधि र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा राजनीतिक दल, सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थी पार्कको झाडी फाँड्ने र सरसफाइ कार्यमा जुटेका हुन् । “राज्यको ठुलो लगानी खेर जाने अवस्थामा पुग्यो”, वडाध्यक्ष खरेलले भने, “यसको संरक्षण र संवर्द्धन गर्नु आम नगरवासीको दायित्व हो । अब सरसफाइ गरेर चाँडै पार्क सञ्चालनमा ल्याउँछौँ ।” स्थानीयले आउँदो एक सातासम्म लगातार सरसफाइ गर्ने भएका छन् ।

सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलले शौचालय, खानेपानी र बिजुलीबत्ती उपलब्ध गराएर पार्कलाई पुनःजीवित गरिने बताए । उनले जङ्गली हात्ती डुलिरहने हात्ती कोरिडोरमा पार्क रहेको हुँदा सुरक्षा बन्दोबस्तका लागि पर्यटकीय अवलोकन क्षेत्रमा विद्युतीय घेराबेराको तयारी भइरहेको जानकारी दिए ।

पार्कमा बालबालिकालाई खेल्नका लागि पिङ, चिप्लेटीलगायतका प्लास्टिकका संरचना बनाइएका थिए भने डाइनोसरलगायतका फाइवरका ठुला प्रतिमा स्थापना गरिएका थिए । जगेर्ना नहुँदा लाखौँ खर्चेर किनिएको डाइनोसरको मूर्ति क्षतिग्रस्त छ । पोखरी र पार्क क्षेत्र झाडीले छोपिएको छ ।

पार्टीमा एकताको विकल्प छैन : सभापति देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता कार्यकर्ताबीच मेलमिलाप हुन आवश्यक रहेको बताएका हुन् ।
नेता तथा कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो हुने उनको भनाइ थियो । ठूलो त्याग र बलिदानपछि आज नेपाली कांग्रेस मुलुकको पहिलो शक्ति बनेको भन्दै देउवाले एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताए । 


ठूलो दलमा सबैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने भन्दै सभापति देउवाले भने, “निरन्तर लाग्ने नेताहरु अवसरवाट वञ्चित हुन पर्दैन ।” उनले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।


उनले भने, “अहिलेको अवस्थामा हाम्रा साथीहरुबीच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैँ जितिरहन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको समस्यालाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।”  


देउवाले कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको भन्दै यो व्यवस्थाका कारण आदिवासी जनजाति, अपाङ्गता भएकाको प्रतिनिधित्व हुने अवस्था आएको बताए ।


देउवाले तत्कालका लागि गठबन्धनको विकल्प समेत नरहेको बताए । मुलुकको समस्या समाधानका लागि अहिले गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो । 


कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेस सहभागी भएको वर्तमान सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिए । मुलुकमा देखिएको भ्रष्टाचार र महँगीलाई हटाउँदै जनतालाई राहतको अनुभूति दिन सकेमा मात्र पार्टीसमेत बलियो हुँदै जाने उनको भनाइ छ । 


नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूले अवसर नपाउँदैमा पार्टी कमजोर बनाउन नहुने बताए । उनले दिनदिनै युवा विदेशिएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।  


कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, किरण पौडेल, शारदा पौडेल, उर्मिला थपलियालगायतले सम्बोधन गरेका थिए । 

सबै कम्युनिष्ट दलबीच एकता जरुरी : महासचिव गुरुङ

हेटौँडा, ८ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सबै कम्युनिष्ट पार्टीबीच एकता भएमात्र देशको समृद्धि सुनिश्चित हुने धारणा राख्नुभएको छ । पूर्वपिएलए मकवानपुरको आयोजनामा आज झुरझुरेमा भएको कार्यक्रममा उहाँले छिट्टै माओवादीबाट टुक्रिएका दलहरु एक हुने बताउनुभयो । सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनी उभिनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

उहाँले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको बताउँदै भन्नुभयो, “शान्ति सम्झौतापछिको १८ वर्षमा हामीले व्यवस्था परिवर्तन गर्न सक्यौँ तर अवस्था परिवर्तन गर्न बाँकी छ, शान्ति सम्झौता अझ टुङ्गोमा पुगेको छैन यो पनि बाँकी छ ।” उहाँले शान्ति सम्झौता टुङ्गोमा नपुगेकाले समय–समयमा समस्या आइरहेको बताउनुभयो ।

उहाँले जनयुद्धका क्रममा झुरझुरेमा अन्तिम युद्ध भएको स्मरण गर्दै यस स्थललाई युद्धपार्क बनाएकामा बागमती गाउँपालिकालाई धन्यवाद दिनुभयो । उहाँले पार्कको व्यवस्थापनमा ध्यान दिएर सङ्ग्रहालय बनाउन सुझाव दिनुभयो ।

बागमती प्रदेश सरकार सामाजिक विकासमन्त्री कुमारी मोक्तानले रगतसँग साटेर ल्याएको व्यवस्था जनताका लागि भएको भन्दै जनताको अवस्था बदल्न सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले युवा, महिला, घाइतेलगायतका लागि बागमती प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

‘न्यायालय सुधार गर्न नियमावली संशोधन आवश्यक’

काठमाडौँ, ८ माघः न्याय परिषद्ले न्यायालयमा भएका कमीकमजोरी हटाई सुधारका लागि नियमावली संशोधन गर्नुपरेको जनाएको छ ।परिषद्का निमित्त सचिव भद्रकाली पोखरेलले आज जारी गर्नुभएको दश बुँदे स्पष्टोक्तिमा नियमावली न्यायाधीशको वरिष्ठताक्रम निर्धारण र न्यायिक व्यवस्थापनका विविध पक्ष सुधारका लागि संशोधन गरिएको बताउनुभयो ।

“न्याय परिषद्ले संवैधानिक तथा कानुनी कर्तव्य निर्वाह गर्ने सन्दर्भमा कमीकमजोरी हटाई सुधारको प्रक्रिया अगाडि बढाउन प्रयत्नशील र प्रतिबद्ध छ”, परिषद्ले जारी गरेको स्पष्टोक्तिमा उल्लेख छ, “सुधार प्रक्रियाको एउटा उदाहरणका रुपमा नियमावली संशोधन गरी न्यायाधीशको वरिष्ठताक्रम निर्धारण गरिएको विषयलाई पनि लिन सकिन्छ ।”

न्यायिक व्यवस्थापनका विविध पक्षमा सुधार गरी प्रभावकारी न्याय व्यवस्था कायम गर्नेमा परिषद् क्रियाशील रहेको र परिषद्को काम कारबाहीमा सबैबाट सकारात्मक र सृजनशील सहयोगको अपेक्षा रखिएको स्पष्टोक्तिमा भनिएको छ । परिषद्ले नियमावलीमा गरिएको संशोधनप्रति कुनै संशययुक्त धारणा नराख्न आग्रह समेत गरेको छ ।

न्याय सेवाका कर्मचारीको वृत्तिविकास र राम्रा कर्मचारी टिकाइराख्नका लागि परिषद्को नियमावली २०७४ को नियम ११ संशोधन गरिएको जिकिर गरिएको छ । “न्याय सेवाका मुख्य रजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीशमा जाँदा वा न्याय सेवाको रजिष्ट्रार पदबाट उच्च अदालतको न्यायाधीशमा जाँदा पहिले आफूभन्दा कनिष्ठ रहेकाभन्दा तल रहनुपर्ने अवस्था रहेकाले मर्यादाक्रममा फेरबदल गरिएको परिषद्ले छ”, परिषद्ले भनेको छ ।

न्यायिक जनशक्ति व्यवस्थापनलाई न्यायोचित बनाउन पनि नियमावलीको नियम ११ संशोधन गरी मर्यादाक्रमका विषयमा स्पष्ट पारिएको परिषद्को भनाइ छ । “न्यायिक जनशक्ति व्यवस्थापनको कुरालाई न्यायोचित, तार्किक र व्यावहारिक तुल्याई संस्थागत सुधार प्रक्रिया अगाडि बढाउन वाञ्छनीय भएकाले नेपाल न्याय सेवाको विशिष्ट श्रेणीका मुख्य रजिष्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका व्यक्तिको हकमा मुख्य न्यायाधीश पछिको वरिष्ठ न्यायाधीशका रूपमा वरिष्ठता कायम गर्ने हो”, स्पष्टोक्तिमा भनिएको छ, “नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका व्यक्तिको हकमा निज विशिष्ट श्रेणीको पदमा नियुक्त भएको मितिभन्दा पछि उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका व्यक्तिभन्दा अगाडिको वरिष्ठताक्रम कायम गर्ने गरी न्याय परिषद्बाट हालै न्याय परिषद् नियमावली, २०७४ को नियम ११ मा संशोधन गरिएको कुरा सबैमा विदित नै छ ।”

“नेपालको संविधानको धारा, १४० मा अन्य कुराका अतिरिक्त न्याय सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कम्तीमा पाँच वर्ष काम गरेको नेपाली नागरिक उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिने व्यवस्था छ”, परिषद्ले भनेको छ, “यही प्रावधानबमोजिम न्याय सेवाका वरिष्ठ अधिकृतलाई समेत उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्ने गरिएको छ, यसरी नियुक्ति गर्दा संस्थागत व्यवस्थापनका दृष्टिले आवश्यकताअनुसार राजपत्राङ्कित प्रथम श्रेणी तथा विशिष्ट श्रेणीका अधिकृतलाई समेत उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्ने गरिएको छ ।”

परिषद्ले नियुक्ति गरिँदा पहिले कनिष्ठ व्यक्ति (रा.प.प्रथम श्रेणीको व्यक्ति) नियुक्त भएको अवस्थामा पछि निजभन्दा वरिष्ठ व्यक्ति (रा.प.विशिष्ट श्रेणीको व्यक्ति) न्यायाधीश पदमा नियुक्ति भए पनि निजले आफूभन्दा कनिष्ठ र केही अवस्थामा आफ्नै सहायकका रूपमा काम गरेका व्यक्तिभन्दा कनिष्ठ न्यायाधीशको हैसियतमा रहनुपर्ने अवस्था पैदा भएको जनाएको छ ।

त्यसले गर्दा न्यायाधीशको आत्मसम्मानमा प्रतिकूल प्रभाव पर्ने गरेको देखिएको हुँदा निजहरूको सेवामा रहेको ज्येष्ठता वा वरिष्ठता अनुकूल हुने गरी न्यायोचितरूपमा व्यवस्थापन गर्नु आवश्यक भएकाले न्याय परिषद् नियमावली, २०७४ को नियम ११ मा संशोधन गरिएको परिषद्ले स्पष्ट पारेको छ ।

न्याय सेवाका राम्रा कर्मचारी जिल्ला वा उच्च अदालतको न्यायाधीश बन्न आतुर हुने र राम्रा कर्मचारी न्याय प्रशासनमा टिकाउन नसकिने अवस्था आएकाले पनि वृत्तिविकास सुनिश्चित गर्ने उद्देश्यले नियमावलीमा संशोधन गरिएको परिषद्ले जनाएको छ ।

“सार्वजनिक प्रशासनको सु–सञ्चालनका लागि उत्प्रेरणा र वृत्तिविकास महत्वपूर्ण विषय हो”, परिषद्ले भनेको छ, “न्याय सेवाका अधिकृतका लागि सम्मानजनक वृत्तिविकास र उत्प्रेरणाको अवसर सुनिश्चित नगर्ने हो भने न्याय प्रशासन कार्यमा योग्य र दक्ष जनशक्तिको व्यवस्थापनमा जटिलता पैदा हुन पुग्ने र अदालत तथा मुद्दा व्यवस्थापन कार्य प्रभावित हुने अवस्था देखियो ।”

परिषद्ले कानुनीरूपमा उचित व्यवस्थापन गरी न्यायोचित र मर्यादित तवरबाट वरिष्ठता निर्धारण नगरिँदा न्यायिक व्यवस्थापनका लागि अपेक्षाकृत योग्य र सक्षम व्यक्तिलाई प्रशासनिक पदाधिकारीका रूपमा कायम राख्न कठिनाइ पैदा भएको महसुस गरेको जनाएको छ । “सक्षम र दक्ष जनशक्तिलाई टिकाई राख्ने नीति अपनाउन आवश्यक देखियो”, परिषद्ले भनेको छ, “त्यसैले अदालतका काम कारबाही प्रभावकारीरूपमा सञ्चालन गर्न अपेक्षाकृत सक्षम र दक्ष कर्मचारीको व्यवस्थापन गर्ने अभिप्राय राखेर उक्त नियमावलीमा संशोधन गरिएको हो ।”

परिषद्ले विगतका न्यायिक व्यवस्थापनसम्बन्धी केही परिदृश्य पनि स्मरणीय रहेको र परिषद्बाट गरिएको केवल प्रशासनिक निर्णयबाट २०५३÷५४ सालमा जिल्ला तहका न्यायाधीशको वरिष्ठताक्रममा व्यापक फेरबदल गरिएको पाइएको जनाएको छ ।

“पछिल्लो समयको दृष्टान्त हेर्ने हो भने पनि सर्वोच्च अदालतका पहिलो मुख्य रजिष्ट्रारको नियुक्ति उच्च अदालतको मुख्य न्यायाधीश पदमा भएको थियो भने दोस्रो मुख्य रजिष्ट्रारको नियुक्ति उच्च अदालतको कनिष्ठ न्यायाधीशका रूपमा भएको थियो,” परिषद्ले भन्नुभयो, “तेस्रो मुख्य रजिष्ट्रारको नियुक्ति मुख्य न्यायाधीश पदमा र चौथो मुख्य रजिष्ट्रारको नियुक्ति कनिष्ठ न्यायाधीशका रूपमा गरिएको तथ्य सबैका समक्ष छर्लङ्ग नै छ ।”

परिषद्ले चारजना मुख्य रजिष्ट्रारमध्ये दुईजनाको हकमा एउटा मापदण्ड र दुईजनाको हकमा अर्को मापदण्ड किन अपनाइयो भन्ने कुरा वर्तमान सन्दर्भमा न्याय परिषद् स्वयम्का लागि पनि जिज्ञासाको विषय बनेको र यस प्रकारको विषयलाई नियमद्वारा व्यवस्थित र निर्देशित नगरिएको अवस्थामा न्यायिक नियुक्तिमा स्वेच्छाचारिता र बेथिति पैदा हुँदै जाने अवस्था महसुस भएकाले थिति र पद्धति बसाल्न न्यायिक जनशक्ति व्यवस्थापनको कुरामा सुधार गर्ने अभिप्रायले नियमावलीमा संशोधन गर्नु आवश्यक परेको जनाएको छ ।

सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिनुभयो ।

सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागलई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीले सचेत गराउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अहिलेको समयमा सूचना–प्रविधि महत्वपूर्ण छ । हामीले इन्टिग्रिटेड प्रविधिमा केन्द्रित भएर परिणाम दिनसक्नुपर्छ । त्यसका लागि राज्यका संयन्त्रबीच समन्वय जरुरी छ ।”प्रधानमन्त्री आफूले सेवा प्रदायक कार्यालयमा लाग्ने गरेको लामो लाइन हटाउन प्रतिबद्धता गरेको स्मरण गर्दै एक वर्षमा देखिने गरी सुधार भए पनि पूरै सुधार नभएको बताउनुभयो । उहाँले त्यसलाई गम्भीर रूपमा ध्यान दिन र सेवाप्रदायक कार्यालयको कार्यक्षमता बढाउन निर्देशन दिनुभयो ।“सोर्सकोड हाम्रो आफ्नै कहिलेदेखि हुन्छ भन्ने विषयमा सबैले गम्भीर भएर सोचौँ”, प्रधानमन्त्रीले भन्नुभयो, “स–साना प्राविधिक समस्या सुल्झाउन पनि विदेशीहरू नै बोलाउनुपर्ने स्थिति छ । रातरात सबै कुरा परिवर्तन सकिँदैन, योजनावद्ध काम गर्दा क्रमशः बदल्न सकिन्छ ।” यसका लागि दक्षजनशक्ति आफै उत्पादन गर्न सकिने उहाँको भनाइ थियो ।बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाप्रदायक कार्यालयले उच्च प्रविधिको प्रयोगमार्फत शीघ्र सेवाप्रवाह गर्न प्रधानमन्त्रीले चासो दिनुभएको निर्देशनलाई गम्भीर रूपमा लिई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।मुख्यसचिव डा बैकुण्ठ अर्यालले एकीकृत डाटा प्रणालीका लागि सेवाप्रदायक परामर्शदातासँग अन्तरक्रिया आवश्यक रहेको बताउँदै विद्यमान तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरी सकेसम्म छिटो, प्रभावकारी र एकीकृत सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । राहदानीका लागि जनशक्ति कम हुँदा सेवा प्रभावित भइरहेको बताउँदै मुख्यसचिव अर्यालले संगठन तथा व्यवस्थापन सर्भे प्रक्रिया अगाडि बढाउन विभागलाई निर्देशित गर्नुभयो ।बैठकमा निर्देशकहरूले राष्ट्रिय परिचयपत्र, राहदानी र सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, सेवाप्रदायक कार्यालयका समस्या र आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो ।त्यस अवसरमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने बताउँदै नयाँ छपाइको प्रक्रियाका लागि टेन्डर प्रक्रियाको अध्ययन भइरहेको बताउनुभयो । उहाँले विभागको कामकारवाहीमा पारदर्शिताको विषयलाई लिएर प्रश्न उठेकोमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत प्रत्यक्ष सहभागितामा छानविन भइरहेको जानकारी दिनुभयो ।राहदानी विभागका महानिर्देशक लक्ष्मण खनालले दसैँयता राहदानी विभागमा सेवाग्राहीको भीड नरहेको बताउँदै रातिसम्म काम गरेर सिफ्ट प्रणालीमा द्रूत सेवामा सेवा प्रवाह भइरहेको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयलगायत ९४ वटा सरकारी निकायबाट राहदानीसम्बन्धी काम भइरहेको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालयका राहदानी शाखालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र वितरणमा प्रगति भएको बताउँदै एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउनुभयो ।बैठकमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत सम्बन्धित विभागका महानिर्देशकहरू लगायतका अधिकारीको उपस्थिती थियो ।

ऐन–नियम विपरीत त्रिविलाई आर्थिक भार दिइयो : संसदीय प्रतिवेदन

काठमाडौँ, ८ माघ : राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको छ ।

समितिको आजको बैठकमा अधिवक्ता चक्रमान विश्वकर्माद्वारा प्रस्तुत प्रतिवेदनमा त्रिविलाई आर्थिक भार पर्ने गरी कर्मचारी कल्याण कोष, औषधि उपचार कर्मचारी सापटी कोषजस्ता कोषहरु विनियमावली बनाई स्थापना भएको देखिएकाले त्यस्ता कोषहरु ऐन वा विनियमावलीबाट व्यवस्था गर्न सुझाव दिइएको छ ।

यस्तै त्रिविका पदाधिकारीको पारिश्रमिक, सेवा, सर्त तथा सुविधा आफँै तोकी विनियमावली बनाइनु विधिसम्मत नभएको तथा त्रिवि ऐन, २०४९ कार्यान्वयनमा आएको ३१ वर्ष भइसकेकाले नयाँ ऐन ल्याउनुपर्ने निचोड पनि समितिसमक्ष पेस गरिएको छ ।

समितिका सभापति मायाप्रसाद शर्माले प्रत्यायोजित विधायनको निर्माण र कार्यान्वयन सम्बन्धमा विश्वविद्यालय स्पष्ट हुनुपर्ने र संविधानले प्रत्याभूत गरेको उच्चशिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजान आग्रह गर्नुभयो । सो विषयमा समितिका सदस्यका सुझावबमोजिम अध्ययन प्रतिवेदनलाई पूर्णता दिई समितिले आवश्यक निर्देशन दिनेछ ।

संसदीय समितिमा स्वास्थ्यमन्त्रीको अनुपस्थितिप्रति सांसदको असन्तुष्टि

काठमाडौँ, ८ माघ : सांसदहरुले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र मन्त्रालयका पदाधिकारीको निर्णयप्रति प्रश्न उठाउँदै आफ्नो जिम्मेवारीप्रति संवेदनशील बन्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा समिति सभापति भानुभक्त जोशीले मन्त्रालयको पटक पटकको निर्णय विवादित भएको भन्दै मन्त्री र सचिवसँग प्रश्न गर्नुभयो ।

मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्धवार्षिक प्रगति एवं पुँजीगत खर्चको विषय र मन्त्रालयसँग सम्बन्धित गुनासो एवं समाधानका लागि भएका प्रयासका सम्बन्धमा बसेको बैठकमा मन्त्री बस्नेत अनुपस्थितिपछि सभापति जोशीसँँगै समितिका अन्य सदस्यहरुले समेत असन्तुष्टि जनाउनुभयो ।

“मन्त्री र सचिवको निर्णयविरुद्ध कर्मचारी अदालत जानुपर्ने किन ? किन त्यस्तो निर्णय गर्नुहुन्छ ? बीमा बोर्ड, वीर अस्पताल, आयुर्वेदिकका निर्देशक हटाउने फेरि आउने, यस्तो किन ? यो कुरामा त प्रस्ट हुनुप¥यो”, सभापति जोशीले भन्नुभयो । उहाँले मन्त्री बस्नेतलाई पटक पटक सम्पर्क गर्न खोज्दासमेत प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सभापति जोशीले भन्नुभयो, “यसअघि दुर्गम जिल्लामा विज्ञ पठाउने कुरा भयो । मेरो निर्वाचन क्षेत्र बझाङमा मैले धेरै अनुरोध गरेर ‘गाइनो’सम्बन्धित दुईजना विज्ञ लग्यौँ तर मन्त्रीले विज्ञलाई फिर्ता गर्दिनुभयो ।” उहाँले मन्त्रीको उपस्थितिपछि मात्र पूर्ण बैठक बस्ने भन्दै कार्यप्रगतिको स्पष्ट विवरण ल्याउन मन्त्रालयलाई निर्देशनसमेत दिनुभयोे ।

बैठकमा समिति सदस्य विद्या भट्टराईले समितिले पटक पटक दिएको सुझाव र निर्देशन मन्त्रालयले कार्यान्वयन नभएकोप्रति मन्त्रालयका सचिव डा रोशन पोखरेल र देवकुमारी गुरागाईंको ध्यानाकर्षण गराउनुभयो ।

“हामीले १२ वटा सुझाव एवं निर्देशन दियौँ, त्यसमा मन्त्रालयले कति काम गर्न सक्यो ? हामीले प्रश्नमात्र गरिरहने हो ?”, उहाँले भन्नुभयो ।

समिति सदस्य डा तोसिमा कार्कीले मन्त्री बस्नेतलाई लाग्दै आएको आरोप र गुनासोबारे समितिमा स्पष्टीकरण दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बैठकमा मन्त्री उपस्थित हुनुभएन । मन्त्रीको कार्यसम्पादनप्रति सार्वजनिक रुपमा लाग्दै आएको आरोप गुनासोबारे स्पष्टीकरणको माग गर्दा पनि उहाँ उपस्थित हुनुभएन ।”

बैठकमा सदस्यहरुले मन्त्रालयलाई आफ्नो जिम्मेवारीमा संवेदनशील हुन आग्रह गरेका थिए । मन्त्रालयका सचिव डा पोखरेलले व्यस्तताको कारणले मन्त्री बैठकमा उपस्थित हुन नसकेको भन्दै सबै सरोकारवाला पक्षसहितको छलफलका लागि सभापतिसमक्ष आग्रह गर्नुभयो ।

मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाले बजेट सुनिश्चितता नभइ तय भएका कार्यक्रम कार्यान्वयनमा व्यावहारिक रुपमा कठिनाइ भएको समितिलाई जानकारी दिनुभयो ।

बैठकमा समिति सदस्यहरुले आधारभूत अस्पताल निर्माण, मिर्गौलासम्बधी बिरामीका लागि डाइलासिस सेवा, स्वास्थ्य बीमामा औषधिको शुल्क, स्वास्थ्य जनशक्तिको अभाव, स्वास्थ्य उपचार सेवा विकेन्द्रिकरण, असुरक्षित गर्भपतन, भ्रूण हत्या र आत्महत्या दुरुत्साहनका लागि मन्त्रालयले गरेका प्रयासबारे सचिवहरुसँग प्रश्न गर्नुभएको थियो । उहाँहरुले मन्त्री र कर्मचारीको वैदेशिक भ्रमणको रणनीतिबारे समेत जिज्ञासा राख्नुभयो । सो अवसरमा जनसङ्ख्या व्यवस्थापनका विषयमा मन्त्रालयको भूमिकामा ध्यानाआर्कषण गराइएको थियो ।

महाकाली करिडोर : सुदूर समृद्धिको मेरुदण्ड, कामले गति लियो

दोधारा चाँदनी (कञ्चनपुर), ८ माघ : कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली करिडोरको कामले गति लिएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुरामसम्म ट्र्याक खुलेको छ ।

विसं २०६६ देखि सुरु भएको करिडोरको वन क्षेत्रमा पर्ने रुख कटानको आदेशपछि निर्माणले गति लिएको हो । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण भइरहेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिनुभयो । जसमध्ये तीन सय ३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

जोशीका अनुसार कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुरामसम्मको ११ किलोमिटर सडकको ट्र्याक खुलेर सञ्चालनमा आइसकेको छ । करिडोरको जिरो प्वाइन्टअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्ने काम सकिएसँगै महाकाली करिडोरले कञ्चनपुर र डडेलधुरा जोडेको छ ।

“डडेलधुरातर्फ कञ्चनपुरको सिमानादेखि जोगबुडासम्म २७ किमि ट्र्याक यसअघि नै खुलिसकेको थियो ”, योजना प्रमुख जोशीले भन्नुभयो, “ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किमि करिडोर सडकको ट्र्याक खोल्ने काम महाकाली करिडोर सडक योजनाले गरिरहेको छ  । हालसम्म दुई सय ४२ किमि ट्र्याक खुलेको छ ।” उहाँले डडेलधुरामा ३१, बैतडीमा ३४ र दार्चुलामा २७ गरी अझै ९२ किमि ट्र्याक खोल्न बाँकी रहेको जानकारी दिनुभयो ।

जोशीका अनुसार डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा ट्र्याक खोल्न बाँकी रहेको छ । “योजनाले छवटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमिमा सडक कालोपत्रको काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “डडेल्धुराको परशुराम नगरपालिकाको साँदनी क्षेत्रमा चालु आर्थिक वर्षभित्रै कामसक्ने गरी तीन वटा प्याकेजमा पाँच किमि सडक कालोपत्रको काम भइरहेको छ ।”

करिडोरअन्तर्गत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०÷१० किमि गरी दुई प्याकेजमा सडक कालोपत्रको काम भइरहेको जोशीले जानकारी दिनुभयो । चालु आवमा योजनाका लागि रू २९ करोड ६५ लाख बजेट आएको उहाँले बताउनुभयो ।

योजनाले थप २५ करोड बजेट माग गरेको छ । यसैगरी रू एक अर्ब १८ करोडको योजनासहित स्रोत सुनिश्चितताका लागि पनि विभागमा फाइल पठाइएको योजना प्रमख जोशीको भनाइ थियो । उक्त फाइल स्वीकृत भए करिडोरअन्तर्गत ब्रह्मदेवसम्म १० किमि सडक थप गरेर स्तरोन्नतिसँगै अन्य क्षेत्रमा सडक स्तरोन्नतिको काम गरिने उहाँले बताउनुभयो । यसअन्तर्गत कञ्चनपुरमा ११, डडेल्धुरामा ५८, बैतडीमा एक सय ४४ र दार्चुलामा दुई सय गरी जम्मा चार सय १३ किमि सडक निर्माण गरिनेछ ।

महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिने यहाँका स्थानीयवासीको अपेक्षा छ । करिडोरले महाकाली किनारका बस्तीलाई सडक सञ्जालमा जोड्ने र लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने यहाँका स्थानीय रमेशसिंह नायकले बताउनुभयो । “करिडोर सञ्चालनमा आइदिए हामीलाई धेरै फाइदा हुन्थ्यो”, उहाँले भन्नुभयो, “हामीहरुले आठ/आठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ ।” उहाँले महाकाली करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामासमेत सुधार आउने बताउनुभयो ।

“करिडोर बन्छ भनेको पनि १२ वर्ष भइसकेको छ, अहिलेसम्म बनेको छैन । सरकारले छिटो काम सम्पन्न गरे सुदूरपहाडका जनतालाई व्यापारको ढोका खुल्ने थियो”, नायकले भन्नुभयो । ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको टिङ्कर नाकासम्म यातायातको सहज पहुँच विस्तार गरी सुदूरपश्चिम प्रदेश तथा मुलकको विकासमा कोशेढुङ्गा सावित हुने अपेक्षा यहाँका स्थानीयवासीको छ ।

करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुराको जोगबुढा, बैतडीको पन्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय तथा शैक्षिक विकासमा योगदान पु¥याउने छ ।

“महाकाली करिडोर बने मात्रै सुदूरको विकासको ढोका खुल्छ”, होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जदशीशचन्द्र भट्टले भन्नुभयो, “यसले धार्मिक पर्यटनलाई समेत फाइदा पुग्छ । अर्को तर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ ।”

करिडोरअन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरासुन्दरी, मेलौली भगवती र निङ्लाशैनी जस्ता प्रसिद्ध धार्मीकस्थल छन । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामकारुपमा परिचित मालिकार्जुनधामलगायत प्रसिद्ध धार्मीकस्थल रहेकाले करिडोरले धार्मिक पर्यटनमासमेत टेवा पुग्ने स्थानीयवासी कैलाश पाण्डेयले बताउनुभयो ।

“भारतको पूर्णगिरि दर्शन गरेपछि महेन्द्रनगरमा रहेको सिद्धवैजनाथ दर्शन गर्नुपर्ने अनिवार्य छ”, पाण्डेयले भन्नुभयो, “ती दर्शनार्थीहरु करिडोर सञ्चालनमा आए डडेल्धुराको परशुरामधाम पुग्न सक्छन् ।” उहाँले अझै यहाँका प्रसिद्ध धामहरुमा भारतीय धार्मिक पर्यटन आउने गरेको बताउँदै यहाँ धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो ।

उक्त करिडोरलाई समुन्नतिको मार्गका रुपमा लिनुपर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । “करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ ।”

चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेंलो चेतावनी जारी

चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेंलो रङको चेतावनी सङ्केत जारी गरेको छ । सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान र गुआङ्सीका केही भागमा हिमपात सहित आँधी आउने प्राधिकरणले जनाएको छ ।

यसै बीच राष्ट्रिय मौसम विज्ञान केन्द्रले २ सेन्टिमिटरदेखि ६ सेन्टिमिटरसम्म हिमपात हुने बताएको छ । साथै गुइझोउ, युनान र गुआङ्सीका भागहरूमा चिसो वर्षा हुने पनि अनुमान गरिएको छ । हिउँ पर्ने मौसममा पैदल यात्रु र चालकलाई थप सावधानी अपनाउन र सडक, रेलमार्ग, विद्युत र दूरसञ्चारमा सावधानी अपनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

चीनसँग चार-स्तरीय, रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली छ । रातोले सबैभन्दा गम्भीर मौसमलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला, पहेंलो र निलोले क्रमशः कम खताराको प्रतिनिधित्व गर्छ ।

ब्याज दर घटाउन हतार नगरिने – इसीबी

यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने सङ्केत गरेका छन् । बैङ्कले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ ।फ्रयाङ्कफर्ट इन्स्टिच्युटले लगातार तेस्रो बैठकमा ब्याजदर वृद्धिलाई स्थगन गर्ने सङ्केत गरेको छ । बढ्दो मूल्यलाई नियन्त्रण गर्न वृद्धिको उच्चतम दौडपछि महत्वपूर्ण निक्षेपका लागि तोकिने ब्याज दरलाई चार प्रतिशत कायम गरेको छ ।

ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले गत हप्ता ब्याजदर उच्च विन्दुमा पुगेको तर आर्थिक अनिश्चितता र बढ्दो ज्यालाले मूल्यको दबाबमा पार्न सक्ने सम्भावित प्रभावको हवाला दिँदै मुद्रास्फीतिमा ‘विजयको उद्घोष’ गर्न धेरै चाँडो भएको बताउनुभएको थियो ।

उहाँले ईसीबीका अन्य अधिकारीहरूसँगको छलफलपछि अप्रिलको सुरुमा दर कटौतीको बजार शर्तबिरूद्ध पनि वृद्धिलाई निरन्तरता दिनुभएको थियो । नयाँ तथ्याङ्कले आर्थिक सुधारका थप सङ्केतहरू देखाएमा ऋणका लागि लिइने ब्याजदरमा ‘सम्भवतः’ आगामी गृष्म ऋतुसम्ममा ब्याजदरमा कटौती गर्नै थालिनेछ । ड्यूश बैंकका अर्थशास्त्रीहरुले भनेका छन्, “ईसीबीले अझै पनि आफ्नो बाटो परिवर्तन गर्न हतार गरेको छैन र गभर्नरहरूले यस हप्ताको बैठकमा कटौतीको बारेमा छलफल समेत गर्ने छैनन् ।”

“ईसीबीको बिहीबारको पत्रकार सम्मेलनले ग्रीष्मऋतुअघि ब्याजदर कटौतीको असाधारण न्यून सम्भावनालाई पुनः उजागर गर्ने अपेक्षा गरेका छौं,” युनिक्रेडिटले एक मूल्याङ्कन विवरणमा सहमति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको छ ।
संयुक्त राज्य अमेरिकामा लगानीकर्ताहरूले मार्चमा पहिलो दर कटौती गरिरहेका छन् । फेडरल रिजर्भका अधिकारीहरूले पनि ब्याजदर वृद्धि हुने सम्भावनालाई मन्दरूपमा अस्वीकार गरिरहेका छन् । मुद्रास्फीतिलाई दुई प्रतिशतको दीर्घकालीन लक्ष्यमा सुरक्षित रूपमा फर्काउन थप काम गर्न बाँकी रहेको सङ्केत गर्दछ ।एटलान्टा फेडका अध्यक्ष राफेल बोस्टिकले गत हप्ता यदि मुद्रास्फीति सोचेभन्दा बढी सुस्त भएको ‘विश्वस्त’ प्रमाण देखिएमा तेस्रो त्रैमासिकमा दर कटौती आउने बताउनुभएको छ ।

पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ एजुकेशनको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उल्लेख गरेको छ । पीआईईको पाकिस्तान शिक्षा तथ्याङ्क प्रतिवेदन सन् २०२१–२२ ले विद्यालय बाहिरका बालबालिकाहरूको सङ्ख्याको बारेमा आश्चर्यजनक खुलासा गरेको छ ।

सन् २०२१–२२ सम्म पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर रहेका छन् । द न्युज इन्टरनेसनलका अनुसार विद्यालय जाने उमेर समूहका ३९ प्रतिशत बालबालिका हाल विद्यालय बाहिर छन् । जसले विश्वव्यापी शिक्षा सुनिश्चित गर्नमा निरन्तर चुनौती रहेको सङ्केत गर्दछ । बलुचिस्तानमा सबैभन्दा बढी ६५ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । इस्लामाबाद राजधानी क्षेत्रले भने सबैभन्दा कम प्रतिशत समेटेको छ । प्रमुख प्रान्तहरूको तुलनामा खैबर पख्तुनख्वामा ३० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् ।

सन् २०१६–१७ मा ४४ प्रतिशतबाट घटेर सन् २०२१–२२ मा ३९ प्रतिशतमा झरेको भए तापनि सोही अवधिमा यो २ करोड ६० लाख पुगेको छ । यो वृद्धि मुख्यतया जनसङ्ख्या वृद्धिदरले विद्यालय बाहिरका बालबालिकामा आएको कमीलाई पछाडि पारेको कारण हो । प्रतिवेदनले उच्च माध्यमिक तहमा सन् २०२१–२२ मा ६० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको पुष्टि गरेको छ । द न्युज इन्टरनेसनलले प्रतिवेदनको थप विश्लेषण गर्दाल उच्च, मध्य र प्राथमिक तहमा क्रमशः ४४ प्रतिशत, ३० प्रतिशत र ३६ प्रतिशत विद्यालय बाहिरको दर देखाएको छ । प्रतिवेदन अनुसार विद्यालय बाहिरका बच्चाहरूको ठूलो हिस्सा, १ करोड ७७ लाख प्राथमिक तहमा छ ।