`

जोखिममा परेका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा

मनहरी (मकवानपुर), ८ माघ : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सुरु गर्ने भएको छ । प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार गर्न गत भदौमा सो सेवासम्बन्धी मन्त्रिपरिषद्को बैठकले कार्यविधि स्वीकृत गरेको थियो । यस सेवाले प्रदेशका काठमाडौँ र ललितपुरबाहेक ११ जिल्लाका स्थानीय तहलाई समेट्ने छ ।

गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि प्रदेश राजपत्रमा प्रकाशित भएसँगै कार्यक्रम कार्यान्वयनमा आउने भएको हो ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरीलाई हेलिकोप्टरबाट अस्पतालमा पुर्‍याउन हवाई उद्धार सेवा प्रदायक संस्थाको छनोट गर्नुपर्ने व्यवस्थाअनुसार बोलपत्र आह्वान गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले बोलपत्र आह्वानपछि प्रतिस्पर्धाका आधारमा छनोट भएका हवाई उद्धार सेवा प्रदायक संस्थासँग सम्झौता गरी निःशुल्क उद्धार सेवा सुरु गर्ने बताउनुभयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले यसअघि बनेको कार्यविधिमा समिति निर्माण लगायतका केही विषय छुट भएकाले कार्यविधिको नाम परिवर्तन गरी छुटेका विषय समेटेर नयाँ कार्यविधि बनाइएको बताउनुभयो ।प्रदेशभित्र बसोबास गर्ने प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न बागमती प्रदेशको मन्त्रिपरिषद्बाट स्वीकृत कार्यविधि कार्यान्वयनको प्रक्रिया सुरु गरिएको उहाँको भनाइ छ ।

गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरीलाई हेलिकोप्टरबाट तोकिएको अस्पतालमा पुर्‍याउन हवाई सेवा प्रदायक संस्थालाई हवाई उद्धार सेवा प्रदान गर्नका लागि प्रस्ताव आह्वान गरी सूचीकृत गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

यसअघि कार्यविधिमा समन्वय समितिको व्यवस्था भए पनि समिति कसको नेतृत्वमा बन्ने भन्ने स्पष्ट व्यवस्था नभएकोमा संशोधनपछि प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशकको संयोजकत्वमा हवाई उद्धार सेवा समन्वय समिति गठन गर्ने व्यवस्था गरिएको छ । उपचार सम्भव नभई तत्काल आकस्मिक उपचार गरी ज्यान जोगाउनुपर्ने भनी स्वास्थ्यकर्मी वा चिकित्सकबाट सिफारिस भएकाले सो सेवा पाउनेछन् ।मन्त्रालयका सूचना अधिकारी भुसालले चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि रु ४० लाख बजेट विनियोजन भएको बताउनुभयो ।

अफगानिस्तानको पहाडमा रुसी जेट दुर्घटनामा बाँचेकालाई काबुल लगियो

उत्तरी अफगानिस्तानको बदख्शान प्रान्तमा शनिबार दुर्घटनाग्रस्त भएको एक रुसी यात्रुवाहक विमानमा जीवित रहेका चार जनालाई राजधानी काबुल लगिएको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार बताउनुभएको छ ।

सबै घाइतेले प्राथमिक उपचार पाएको र उनीहरूको अवस्था स्थिर रहेको मुजाहिदले सामाजिक सञ्जाल एक्समा भन्नुभयो ।

चार चालक दल र दुई यात्रुसहित छ जना सवार रुसी यात्रुवाहक विमान शनिबार अफगानिस्तानको हवाई क्षेत्रमा बेपत्ता भएको र दुर्घटनाग्रस्त विमान आइतबार बदख्शानको कोफ अब जिल्लामा फेला परेको बताइएको छ ।

अफगान प्रशासनको उद्धार टोलीले आइतबार पाइलटसहित घाइते चारजनालाई फेला पारेको थियो । यसैबिच एक अधिकारीले आइतबार साँझ दुर्घटनाग्रस्त विमान र चार घाइते भेटिएको र बाँकीको हवाई दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् ।

मैलुङ-स्याफ्रुबेसीको ठेक्का तोडिएसँगै अन्तर्राष्ट्रिय राजमार्ग निर्माण अन्योल

त्रिशूली (नवाकोट) ८ माघ : नेपाललाई चीनसँग छोटो दुरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी-रसुवागढी’ सडक योजनाको काम अन्योल भएको छ । उक्त योजनाअन्तर्गत मैलुङबाट स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले समयमा काम नगरेपछि सडक निर्माणको ठेक्का रद्द भएसँगै सडक विस्तार थप अन्योल भएको हो ।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷सिद्धिसाई जेभीले जिम्मा लिएको काम समयमा नगरेपछि उक्त कम्पनीसाग गत शुक्रबार ठेक्का तोडेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार सम्झौता अवधिभित्र निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न पटक–पटक लिखित एवम् मौखिक अनुरोध गर्दा पनि सम्झौताको शर्त बमोजिम आफ्नो दायित्वको जिम्मेवारी पूरा नगरेकाले ठेक्का तोड्न कार्यालय बाध्य भएको हो ।

“निर्माण कम्पनीसँगको ठेक्का सम्झौता बखतमा गरिएका शर्त र सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (७) समेतको आधारमा ‘गल्छी–रसुवागढी’ सडक योजनाअन्तर्गत ‘मैलुङ–स्याफ्रुबेसी’ खण्डको ठेक्का रद्द भएको छ”, योजना प्रमुख श्रेष्ठले भन्नुभयो, “निर्माण कम्पनी धरौटी जफतका लागि बैंकलाई पत्राचार गरेका छाँै । सडक विस्तारको काम अब नयाँ प्रक्रिया (पुनः ठेक्का)बाट काम अघि बढाउने छौँ ।”

मैलुङबाट स्याफ्रुबेसीसम्मको सडक निर्माणका लागि नेपाली सेनाले ट्रयाक खोलेपछि योजनाको कार्यालयले निर्माण व्यवसायीमार्फत काम गराउन विसंं २०७७ साउन १ गते ठेक्का लगाएको थियो । सम्झौताअनुसार विसंं २०७९ माघ १६ मा निर्माण सम्पन्न गर्नुपर्नेमा उक्त सडकको काम २६ प्रतिशत मात्रै पूरा भएको योजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब १९ किमि दुई लेनको सडकमा कालोपत्रे गर्न रु एक अर्ब ४५ करोडमा ठेक्का लगाइएको थियो । तर निर्माण कम्पनीले सडकको दायाँबायाँ टेवा पर्खाल लगाएर रु ३७ करोड भुक्तानी लिएर काम नगरेपछि ठेक्का तोड्ने निर्णयमा पुगिएको हो ।

निर्माण कम्पनीले कार्यक्षेत्रमा काम अन्योल बनाएसँगै योजनाको कार्यालयले यसअघि २०७८ साल माघ २४ र २०७९ जेठ १७ मा नै अन्त्यन्त जरुरीको सूचनामार्फत ‘ठेक्का सम्झौता किन अन्त्य नगर्ने’ भनेर सचेत गराएको थियो । नेपाललाई चीन र भारतसँग जोड्ने सबैभन्दा छोटो दुरीको त्रिदेशीय राजमार्गको रुपमा निर्माण भइरहेको धादिङको गल्छीदेखि रसुवाको रसुवागढीसम्मको सडक दुरी ८३ किमि छ । उक्त सडकलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा विसं २०७३ पुसमा ठेक्का लगाएर २० महिनाभित्रै पूरा गर्ने लक्ष्य लिएको थियो । समग्र कामको प्रतिशत हालसम्म ५५ प्रतिशत मात्रै पूरा भएको छ ।

तीन खण्डमा निर्माण भइरहेको यस सडकको पहिलो खण्ड धादिङको गल्छीबाट नुवाकोट हुँदै रसुवाको मैलुङसम्म ४६ किमि सडकअन्तर्गत नुवाकोटको मुख्य बजार क्षेत्र गङ्गटे, बट्टार, विदुरहुँदै ढुङ्गेसम्मको आठ किमि क्षेत्रमा मुआब्जा विवादको समस्याले काम सुरु हुन अझै बाँकी छ ।

दोस्रो खण्ड मैलुङ-स्याफ्रुबेसीसम्म १९ किमि सडकको ठेक्का हालै तोडिएको छ भने तेस्रो खण्ड स्याफ्रुबेसी–रसुवागढीसम्म १७ किमि सडक चीन सरकारले निर्माणको जिम्मेवारी लिए पनि अझै काम सुरु गर्न बाँकी छ ।चीनसँगको अन्तर्राष्ट्रिय राजमार्गलाई भारतसँग जोड्न सबैभन्दा छोटो दुरीको त्रिदेशीय राजमार्गको रुपमा कार्यान्वयनमा ल्याइएको सडकको तीनखण्डअन्तर्गत दुई खण्डको काम अनिश्चित भएसँगै समग्र योजनाको काम अन्योल बनेको हो ।

गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत सार्वजनिक

काठमाडौँ, ८ माघ : गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।

नेपाल विज्ञापन सङ्घको अध्यक्ष भइसक्नुभएका विज्ञापन व्यवसायी पौडेल गायन क्षेत्रमा पनि हुनुहुन्छ । बीचमा गाउन छोड्नुभएका पौडेल आज सार्वजनिक भएको गीतमार्फत १५ वर्षपछि उहाँ पुनःगायनमै फर्कनुभएको छ ।

विशेष गरेर नेपालका विभिन्न क्षेत्र र वर्गका पर्वमा नाच्ने गरिएको शैलीमा तयार पारिएको यस गीतमा नेपालका चर्चित कलाकारले अभिनय गरेका छन् । आज सार्वजनिक भएको यस गीतमा कलाकारहरु सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धीरेन शाक्य, रवीन्द्र खड्का, गजित विष्ट, गम्भीर विष्ट, सुनील सिलवाल, खुस्बु खड्का, गोपाल ढकाल ‘छन्दे’, रोहित कार्कीलगायत नयाँ र पुराना चर्चित कलाकारले अभिनय गर्नुभएको छ ।

गायक पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत भर्नुभएको छ भने गीतको निर्देशन मनिष पौडेलले गर्नुभएको छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन तथा माधव थापाको छायाङ्कन तथा व्यवस्थापन कला रहेको छ ।

गीतको भिडियो सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा कलाकारहरु सरोज खनाल, किरण केसी, राजाराम पौडेल र गायक निर्मलराज पौडेलले नेपाली गीतसङ्गीत क्षेत्रका साथै आज सार्वजनिक भएको गीतका विषयमा चर्चा गर्नुभएको थियो । करिब ३५ वर्षअघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरेर गीत गाई गायन यात्रा सुरु गर्नुभएका पौडेलका ‘फेसन यो हो फेसन’, ‘ह्याप्पी लाइफ’, ‘सलल बगेको गण्डकी’ लगायतका गीत चर्चित छन् ।

हालैमात्र पौडेलले नेपालमा विज्ञापन विषय र व्यवसायको इतिहास र वर्तमान अवस्था एवं विज्ञापन पेसामा आफ्नो अनुभवसमेत समेटेर ‘वेलकम आरोह अवरोह’ पुस्तक पनि प्रकाशन गर्नुभएको छ ।

नेतृत्वमा अदृश्य दबाब

काठमाडौँ, ८ माघ (रासस) : स्वीजरल्याण्डको डाबोसमा वल्ड इकोनोमी फोरमको ५४औँ वार्षिक सम्मेलन भर्खरै सम्पन्न भएको छ । क्लाउस स्वाबको एलिट क्लब मानिने यो फोरममा पछिल्लो केही वर्षहरुमा थोरै नेपालीहरुको उपस्थिति रहेको थियो । सन् २०२४ को आर्थिक र राजनीतिक एजेण्डा तय गर्न डाबोस यो पटक सफल होला या नहोला त्यो समयले बताउने छ । तर त्यहाँ देखिएका केही अप्रत्यासित परिदृश्यले यो फोरमको परम्परागत र बर्चश्वशाली कोरियोग्राफीलाई भने भत्काइदिएको छ । यही सम्मेलनकै बीचमा फ्रान्सबाट अर्का सुखद समाचार आएको छ, प्रधानमन्त्रीकारुपमा गाब्रियल अटलको नियुक्तिको रुपमा, त्यो पनि फ्रान्सकै कान्छो र पहिलो समलिङ्गीको रुपमा । यो खबर यतिखेर विश्वभरिका यौनिक अल्पसङ्ख्यकहरुको लागि गर्व गर्न लायक विषय बनेको छ । यस्ता धेरै कोणबाट सन् २०२४ रोचक बन्ने देखिन्छ । विश्वभरिमा सबैभन्दा बढी देशमा निर्वाचन हुने यो वर्ष अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनको चर्चा सबैभन्दा बढी हुने अनुमान गर्न सकिन्छ ।

यता भारतको उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको उद्घाटन धार्मिकभन्दा राजनीतिक सेन्टर स्टेजमा बन्दै गर्दा नरेन्द्र मोदीको उदयलाई २०२४ ले नवीकरण गर्ने निश्चित प्रायः देखिन्छ । गाब्रीयल, ट्रम्प अथवा मोदीको चर्चा गर्दै गर्दा विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिरहँदा नेपाली समाजमा नयाँ पुस्ताका लागि भने हामीले के उदाहरण प्रस्तुत गरिरहेका छौ, थोरै चर्चा गरौँ । हामी सबैले बुझेको कुरो के हो भने प्राकृतिक हिसाबले हरेक वस्तु, व्यक्ति वा विषयको उत्पत्ति, विकास र हस्तान्तरणको एउटा प्रक्रिया हुन्छ । अझ भनौं चक्र हुन्छ । सन् २०२४ सम्म आएको यस्ता विषयवस्तुहरु नियाल्दा यो नियमित र स्वभाविक देखिन्छ । यसलाई प्राकृतिक सिद्धान्तको रुपमा लिन सकिन्छ । अझ समाज विकासका सन्दर्भमा कुरा गर्नुपर्दा सामाजिक प्रणालीको निर्माण विकास र हस्तान्तरणमा नेतृत्वको सन्दर्भ पनि प्राकृतिक रुपमै श्रृङ्खलाबद्ध भएको हुन्छ । यहाँ चर्चा नेपालको थोरै सामाजिक परिवेशको गरौँ । अहिले सामुदायिक निकायहरु वा सरकारी, गैरसरकारी सङ्घसंस्था वा राजनीतिक दलहरु सबैतिर निर्वाचनका प्रक्रियाहरुमार्फत नेतृत्व चयन भइरहेको देखिन्छ ।

यस प्रकृयाको आफ्ना विधि विधान, कार्यकाल, कार्यपद्धति वा प्रक्रियाहरुका आफनै सीमा हुन्छन् । यी सबै पक्षहरु समय अनुसार अद्यावधिक, परिमार्जित र समयानुकूल बनाउन खोजिएको हुन्छ । तर हामी आबद्ध सङ्घसंस्थाहरु, पेशागत वा आस्थाका हिसाबले जोेडिएका सङ्गठनहरु अध्ययन गर्ने हो भने पनि एउटा यस्तो स्वरुप हाम्रा अगाडि देखिन्छ कि अघिल्लो नेतृत्वकै छायाँमा नयाँ नेतृत्व अल्मलिइरहेको छ । सङ्घसंस्थाहरुमा नेतृत्वका सन्दर्भमा लिएर जुन किसिमको निराशाहरु अहिले देखिन्छ त्यसको एउटा कारण पुस्तान्तरणको सवाल र नेतृत्व विकास र हस्तान्तरणमा देखिएको गतिरोध नै हो । हरेक ठाउँमा सिकाइ र विज्ञताका क्षमताका आधारमा भन्दा नेतृत्वको पुस्ताका आधारमा मोर्चाबन्दी भइरहेको देखिन्छ । नयाँ पुस्ताले कुनै नवीनतम् ज्ञान वा सिकाइका आधारमा अवधारणा वा योजनाहरु अगाडि सारेको खण्डमा पुरानाले अपमानित महसुस गर्ने वा आफूलाई बाहिर राख्न खोजेको महसुस गर्ने खालको अवस्था छ भने पुरानाहरुले आफ्नै समयका विधिहरु, तौरतरिका र इतिहास सुनाउँदा नयाँले समय अनुसार हिँड्न नसकेको महसुस गर्ने अवस्थाहरु निर्माण भइरहेको छ । यसरी हेर्दा नयाँले अग्रजको इतिहास र सिकाइलाई पनि नस्वीकारेको अनि पुरानाले नयाँको नवीनतम् ज्ञान र प्रविधिसहितको क्षमतालाई पनि नस्वीकारेको स्पष्टै देखिन्छ । यस्ता सङ्घसंस्थाको नेतृत्वमा पितृसत्तात्मक सोचले काम गरेको देखिन्छ ।

यो सोचमा संस्थागत संस्कार, काम गर्ने क्षमता, सोच, बल, सक्रियता आदिका आधारमा बलियोले निर्धोलाई दबाइरहेको छ । अझ भनौं यही सोचका उपज पुरुषहरुबाट महिलाहरु धेरै हिसाबले दबित छन् । उत्पीडित र प्रभावित छन् । अझ नेतृत्व विकासका उल्लेखित समस्याहरु महिलाहरुले सञ्चालन गर्ने अभियानहरुमा देखिएको पाइन्छ । पुरुषले नेतृत्व गरेका संस्थाहरुमा पुस्ताका आधारमा कार्यशैलीमा समस्या सिर्जना भए विद्रोह वा विभाजनकै अवस्था निर्माण पनि भएका छन् तर महिलाहरुले सञ्चालन गरेका संस्थाहरुमा पुस्ताका प्रभावले संस्थाहरु काम गर्न न विघटन हुनुको अवस्थामा छन् । विभाजन वा विघटन हुन पनि नसक्ने र सिर्जनशील हुन पनि नसक्ने अवस्थामा अल्झिरहेको अवस्था छ । महिलाहरुद्वारा स्थापित र सञ्चालित संस्थाहरुमा संस्थापकहरु सक्रिय छउञ्जेल उनीहरुको निरन्तर निर्देशन लिइरहनुपर्ने नयाँ पुस्ताको बाध्यता जस्तै देखिन्छ । १८औँदेखि १९औँ शताब्दीको बीचमा युरोप र उत्तर अमेरिकामा महिलाहरुका लागि शैक्षिक विकासका लागि भएका प्रयत्न आधुनिक मानव समाजमा महिला केन्द्रित सामाजिक विकासका प्रयासहरु हुन् । बेलायतमा सन् १८४८ मा स्थापना भएको क्विन्स कलेजको स्थापना सन्दर्भ र योगदानले महिलाहरुको सामाजिक विकासमा भएको इतिहास झल्काउँछ । तर यो इतिहासको निरन्तरता र हस्तान्तरण समयअनुकूल भयो त ? यो गम्भीर प्रश्न छ ।

यो विकासको अवरोध पुरुष सत्ता मात्रै भयो कि महिलाहरुबीचमा हुनुपर्ने एकता, रुपान्तरण र नयाँ निर्माणको अभिरुची पनि जिम्मेवार छ । महिलाहरुका लागि निर्माण भएका भनिएका विधि वा संरचनाहरुको संरक्षण विकासमा महिलाहरुकै पहल पनि अपेक्षित हुन नसक्नुको कारणहरु पनि खोज्दै गर्दा महिलाहरुकै पुस्तान्तरणका समस्या पनि देखिन्छन् । अग्रज नेतृत्वको समयअनुसारका शैलीमै नयाँ चल्नुपरेको अवस्था पनि यो विकासको गतिरोधको कारण हो भन्न सकिन्छ ।

तथ्याङ्कमै मापन गर्न सकिने अवस्था नभए पनि आफैंभित्रका समस्याहरुलाई पनि हेर्ने अभ्यास गर्नुपर्छ । नेपाली सन्दर्भमा हेनुपर्दा महिलाका सवालमा स्थापना भएका सङ्घसंस्थाहरुको स्वरुप, संरचना उद्देश्य र कार्यशैलीमा देखिन नसकेको नवीनता र पृथकताको कारण खोज्न जरुरी भइसकेको छ । सामाजिक विद्रोहमा योगमायाले सुरु गरेको अभियानदेखि साहना प्रधान, साधना प्रधान र मंगलादेवीहरुले संस्थागत गरेको राजनीतिक एजेण्डा नै आजका दिनसम्म पनि निरन्तर उही शैलीमै गइरहनु पनि हाम्रो महिला आन्दोलन विकासको एउटा अवरोध हो । नयाँ पुस्ताले भोगेका समस्या, प्राप्त गरेका ज्ञान र उपलब्धिहरुलाई किन संस्थागत गर्न सकिएको छैन ? किन सिङ्गै आन्दोलनले यो नयाँ सोचलाई स्वामित्व ग्रहण गर्न सकेको छैन ? के आजका राजनीतिक मुद्दाहरु भिन्न ढङ्गले उठ्दै राजनीतिको मूल प्रभाहमा स्थापित भए त ? यो गम्भीर प्रश्न छ ।

तहमा ल्याउन सकेमा मात्र नव ‘फेमिनिज्म’को बदलिदो स्वरुपमा आफ्नोपन वा आफ्नो अवधारणा कायम गर्न सक्नुपर्छ । पुरानो ‘फेमिनिज्म’को सोचमा मात्र रुमलिए भने बदलिँदै गएको महिलावादी अवधारणामा आफूलाई स्थापित गर्न सक्दैनन् । (लेखक पत्रकार हुनुहुन्छ)

अयोध्यास्थित मन्दिरमा राम लल्लाको मूर्ति अनावरण, मोदीद्वारा पूजाअर्चना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्री राम जन्मभूमि मन्दिरमा राम लल्लाको मूर्ति अनावरण गरिएको छ । मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गर्नुभएको थियो । गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो । राम लल्लाको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आइएएफ) का हेलिकप्टरहरूले अयोध्यामा श्री राम जन्मभूमि मन्दिर परिसरमा फूलको वर्षा गरेका थिए । समारोह आयोजना भएकामा भक्त तथा अतिथिहरूले ‘जय श्री राम’ को नारा लगाएका थिए ।

समारोहमा राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित हुनुहुन्थ्यो । भव्य मन्दिरमा समारोहका लागि आठ हजारभन्दा धेरै अतिथिलाई आमन्त्रण गरिएको थियो । ऐतिहासिक प्राण प्रतिष्ठा समारोहमा मुलुकका सबै प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधिले भाग लिएका छन् । समारोहमा विभिन्न आदिवासी समुदायका प्रतिनिधिसहित सबै क्षेत्रका मानिस पनि सहभागी भएका छन् । श्री राम जन्मभूमिको निर्माण परम्परागत नगारा शैलीमा गरिएको हो । यसको लम्बाइ (पूर्व–पश्चिम) तीन सय ८० फिट, चौडाइ दुई सय ५० फिट र उचाइ एक सय ६१ फिट रहेको छ ।

समग्रमा मन्दिरमा कूल तीन सय ९२ स्तम्भ र ४४ ढोका छन् । मन्दिरको स्तम्भ र पर्खालहरूमा हिन्दू देवी–देवताका साथै देवीहरूका जटिल मूर्तिकला प्रदर्शित छन् । भुइँतलामा रहेको मुख्य गर्भगृहमा भगवान् श्री रामको बाल्यकालको स्वरूप (श्री राम लल्लाको मूर्ति) राखिएको छ । मन्दिरको मुख्य प्रवेशद्वार पूर्वी दिशामा रहेको छ । त्यहाँ सिंहद्वार हुँदै ३२ सिँढी चढेर पुग्न सकिन्छ । मन्दिरमा कूल पाँच मण्डप (हल) नृत्य मण्डप, रङ्ग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप छन् । मन्दिर नजिकै ऐतिहासिक इनार (सीता कूप) छ । यो इनार प्राचीनकालको हो ।

मन्दिर परिसरको दक्षिणपश्चिमी भागमा रहेको कुबेर टिलामा भगवान् शिवको प्राचीन मन्दिरको जीर्णोद्धार गरिएको छ भने जटायुको एउटा मूर्ति पनि स्थापना गरिएको छ । मन्दिरको जगलाई कृत्रिम रूप दिने गरी रोलर–कम्प्याक्ट कङ्क्रिकट (आरसिसी) को १४ मिटर बाक्लो तहले निर्माण गरिएको छ । मन्दिरमा कतै पनि फलामको प्रयोग गरिएको छैन । जमिनको चिसोबाट बचाउनका लागि ग्रेनाइटको प्रयोग गरेर २१ फिट अग्लो स्तम्भमुनि चौकी निर्माण गरिएको छ । मन्दिर परिसरमा एउटा ढल प्रशोधन संयन्त्र, पानी प्रशोधन संयन्त्र, अग्नि सुरक्षाका लागि पानीको आपूर्ति र एउटा स्वतन्त्र पावर स्टेसन राखिएको छ । मुलुकको परम्परागत र स्वदेशी प्रविधि प्रयोग गरी मन्दिर निर्माण गरिएको हो ।

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी)को क्षेत्राधिकार बाझिने गरेको अवस्था पनि छ । त्यसलाई हामीले स्पष्ट पार्नुपर्छ ।”

चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बस्ने प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिट्टै बस्छौँ । स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ । आयोगको बैठक बसेर अध्ययन समिति नै बनाएर व्यवस्थित काम गरौँ । समितिमा राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔँ ।”

ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । “ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो, “ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन । अहिले भएको साधनस्रोतका आधारमा गर्न सकिने काम कार्यतालिका बनाएर गरौँ ।”

बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्ट्रार शुक्ला खनाललगायत उपस्थित हुनुहुन्थ्यो ।

वैकल्पिक राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्छु : नेता आले

डोटी, ८ माघ : नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।

आज डोटीको सिलगढीमा नेकपा (एकीकृत समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा ठूलो परिवर्तन आउने बताउनुभयो । उहाँले भन्नुभयो, “धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशको विकासले ठूलो फड्को मार्नेछ । यो नेपाल, भारत र चीन जोड्ने मार्ग भएकाले पनि यसको निर्माणमा प्राथमिकता दिन अति जरुरी छ ।”डोटीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद आलेले यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबैभन्दा छोटो दूरीको रहेकाले आफूले सो राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।उहाँले उक्त बैकल्पिक राजमार्गका विभिन्न ठाउँमा पुल निर्माणको काम अगाडि बढाएको जानकारी दिँदै भन्नुभयो, “डोटीको विकासका लागि म सधैँ अग्रसर छु । मेरो कार्यकालसम्म म जिल्लाको मुहार फेर्ने गरी विकासका कामलाई अघि बढाउनेछु ।”सो क्षेत्रका नागरिकलाई चीनको ताक्लाकोट जान र चिनियाँ तथा भारतीय पर्यटक भित्र्याउन उक्त मार्गबट सहज हुने भएकाले यहाँको खप्तडलगायत सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको विकासमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।पूर्वमन्त्री आलेले विकासका काममा राजनीति गर्न नहुने भन्दै सबै मिलेर आफ्नो जिल्ला र समग्र सुदूरपश्चिम क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । कुन क्षेत्रमा के कस्ता समस्या र आवश्यकता छन् भन्नेबारेमा आफूलाई जानकारी गराउन पनि उहाँले जिल्लावासीलाई आह्वान गर्नुभयो ।

मेरो खातामा पैसा जम्मा भएको छैन : सभापति लामिछाने

काठमाडौँ, ८ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गर्नुभएको छ ।

सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सञ्चारमाध्यममा आएको जस्तो रु एक करोड ८० लाख आफ्नो खातामा जम्मा नभएको जिकिर गर्नुभयो ।“मैले गोर्खा मिडिया नेटवर्क अन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै गर्दा ‘गुडविल शेयर’को अपेक्षा गरेको र गुडविल शेयरको प्रावधान नभएकाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको वा दिएको छैन”, सो सम्बन्धमा उठेका जिज्ञाशाको जवाफ दिँदै उहाँले भन्नुभयो ।“सन् २०२२ जुन १७ मा रु एक करोड ८० लाखको चेक मेरो खातामा क्रेडिट गरिएको तर उक्त चेक इलेक्ट्रिोनिक चेक क्लियरिङ (इसिसी)मार्फत चेक क्लियरिङमा पठाउँदा सो खातामा रकम पर्याप्त नभएको हुँदा सो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ”, बैंकको पत्र देखाउँदै उहाँले भन्नुभयो ।पत्रकार सम्मेलनमा पूर्व बैंकर एवम् रास्वपाका नेता अनिल केशरी शाहले पनि उक्त चेक क्लियरिङ नभएकाले उक्त चेकमा उल्लेखित रकम सभापति लामिछानेको खातामा जम्मा नभएको दाबी गर्नुभयो । उहाँले यस्ता घटना बैंकिङ क्षेत्रमा भइरहने भन्दै यो कुनै नयाँ घटना नभएको समेत उल्लेख गर्नुभयो ।—

मह खाने प्रतियोगितामा जीवनाथ लामिछाने प्रथम

गण्डकी, ८ माघ : सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थाल्नुभएको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा रु तीन÷तीन हजारमा दुुईवटा मौरीका घारबाट सुरु गरेका उहाँसँग अहिले भने तीन सय ५० मौरीका घार पुुगिसकेका छन् । आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुुभव छन् । अनुुहार भरी मौरीलाई राखेको उहाँको तस्बिर सन् २०१६ मा राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चारमाध्यममा स्थान पाएको थियो ।

आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनुु नपर्ने बताउनुुभयो । बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहनुुभएका लामिछानेले उद्योग स्थापनाको २० औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाउनुुभएको छ ।

प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका–२३ का जीवनाथ लामिछाने प्रथम हुनुभएको छ । त्यस्तै द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बन्नुुभयो । पोखरा–३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बन्नुुभएको थियो । कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुुई मिनेट आठ सेकेन्ड र दुुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी हुनुभएको थियो ।

विजयीलाई महानगरको वडा नंं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरुपमा मह प्रदान गरी पुरस्कृत गर्नुभएको थियो । प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो ।

नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको जनाउँदै उहाँले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रुपमा समेत लिएको बताउनुुभयो । उद्योगमा महको माग अत्यधिक रहेको बताउँदै उहाँले प्रतिकिलोग्राम रु एक हजार पाँच सयको दरले बिक्री वितरण भइरहेको जानकारी दिनुुभयो । वार्षिक करिब एक हजार पाँच सय किलोग्राम मह उद्योगबाट उत्पादन भई बिक्री भइरहेको बताउँदै उहाँले अन्य विभिन्न फार्मबाट समेत थप एक हजार पाँच सय किलोग्राम मह खरिद गरी बिक्री गर्ने गरिएको जानकारी दिनुुभयो । महबाटै परिवारको पालनपोषण, पठनपाठनका साथै पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सकेको उहाँले बताउनुुभयो ।

दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ‘मिनी ट्रक’ दुर्घटना, दुई जनाको मृत्यु

दमौली (तनहुँ), ८ माघ : तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । ट्रक चालकको खोजी भइरहेको उहाँले बताउनुभयो । ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

एमबिबिएसमा छात्रवृत्ति पाए पनि काठमाडौँमा समस्यासँग जुधिरहेका ललित

कञ्चनपुर । मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन् ।

यहाँको भीमदत्त –१० का १७ वर्षीय ललित सार्कीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि जानुपूर्व यतिबेला स्थानीय सरकारसित सहयोगका लागि आग्रह गरिरहेका छन् । “बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ”, ललितले भने, “हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ, मैले लगानी गरेर एमबिबिएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ ।”

 सिद्धनाथ माध्यमिक विद्यालयबाट २०७८ सालमा माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका ललितले महेन्द्रनगरस्थित रेडियन्ट क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरे । “रेडियन्ट पढ्दा पनि आंशिक छात्रवृत्ति र दामोदर सुवेदी सरको आर्थिक सहयोगमा अध्ययन गरेँ ।” उनले भने, “गत साउनदेखि घरमै बसेर तयारी गरेर अहिले एमबिबिएसमा नाम निकाले ।”

यही माघको अन्तिमतिर अध्ययनका लागि काठमाडौँ जाने ललितले काठमाडौँ बसाईका लागि आर्थिक सहयोग माग्दै भीमदत्त नगरपालिका धाइरहेको बताए । “पढ्नका लागि छात्रवृत्ति पाए पनि काठमाडौँ बसाईका लागि मासिक  दश हजार जति जोहो गर्न पाए हुन्थ्यो”, उनले भने, “दाइले भारतमा मजदुरी गरेर कमाएको पैसाले घरमा छाक टार्न पनि मुस्किल पर्छ ।”

उनले रकम अभावकै कारण एमबिबिएसको तयारीका लागि काठमाडौँ जान नपाएको स्मरण गराए । “परीक्षाका बेला मात्रै साथीकोमा तीन दिन बसेर काठमाडौँबाट फर्किए” उनले भने, “त्यो परीक्षामा कञ्चनपुरबाट दुई जनाले मात्रै नाम निकाल्न सफल भयौँ ।”

अध्ययनमा अब्बल सावित बन्दै गएका उनलाई आइतबार भीमदत्त नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मानित गरिएको छ । उनले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जनाउँदै ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको हो ।

“नगरपालिकाबाट अध्ययनका लागि सहयोग पाउनेमा आशावादी छु”, ललितले भने, “आजको सम्मानले थप हौसला प्रदान भएको छ ।” त्यसैगरी भीमदत्त–१० का वडासचिव गगन नाथ छात्रवृत्तिका लागि छनोट भएका वडावासी सार्कीलाई अध्ययनका लागि थप सहयोग गरिदिन भीमदत्त नगरपालिकामा पहल भइरहेको बताए ।

“वडाबाट हामीले नगरपालिकालाई पत्राचारसमेत गरेका छौँ”, वडासचिव नाथले भने “वडाले अध्ययनका लागि जेहेन्दार विद्यार्थीलाई आवश्यक सहयोग र सहयोगका लागि माथिल्लो निकायमा पहल गर्दै आएको छ ।”

दाङमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, दुई जना घाइते

देउखुरी (दाङ), ८ माघ : बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उहाँले बताउनुभयो ।

शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ ।

नेटोका गतिविधि शीतयुद्धमा फर्किने सङ्केतः रुस

रुसका उप विदेशमन्त्री अलेक्ज्याण्डर ग्रुस्कोले आइतबार नेटोका स्टेडफास्ट डिफेन्डर २०२४ अभ्यासले शीतयुद्धतर्फ फर्किने सङ्केत गरेको बताउनुभएको छ।नेटोका सर्वोच्च सहयोगी कमाण्डर जनरल क्रिस्टोफर काभोलीले अर्को हप्ताका लागि निर्धारित नेटोका अभ्यास दशककै सबैभन्दा ठूलो हुने र महिनौसम्म चल्ने धारणा राख्नु भएको थियो ।

यी अभ्यासहरू पश्चिमले रुस विरुद्ध छेडेको हाइब्रिड युद्धको अर्को भाग रहेको उहाँको धारणा छ ।वास्तवमा ३१ देशका ९० हजार सैन्य अभ्यासमा आउनु निश्चित नै शीतयुद्धतिरको झल्को हो र यस्तो शक्तिले रुसलाई झस्काउने ग्रुस्कोले बताउनु भएको छ ।

सुस्तायो पाम र भटमासको तेलको व्यापार

काठमाडौँ । कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयात निर्यात हुने शीर्ष पाँचमध्ये पर्ने यी दुई वस्तुको व्यापार चालु आवमा अत्यन्त न्यून मात्र कारोबार भएको देखिन्छ । खास गरी कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो ।

भारतले कच्चा पाम र भटमासको भन्सार महसुल नलाग्ने व्यवस्था गरेपछि भारतीय व्यापारीले सोझै यी वस्तुको आयात गर्दा नेपालले प्राप्त निर्यातको अवसर गुमाएको देखिन्छ । जसले गर्दा आर्थिक वर्ष २०७८/७९ को छ महिना (साउन–पुस) मा यी दुई वस्तु ६६ अर्ब रुपियाँभन्दा बढीको निर्यात भएकामा चालु आवको सोही अवधिसम्म तीन अर्ब रुपियाँ पनि पुग्न सकेको छैन । दुई वर्षको अन्तरालमै यी दुई वस्तुको समग्र आयात नै ६३ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।

गत आवको सोही अवधिको तुलनामा पनि यी दुई वस्तुको निर्यात चालु आवमा २३ अर्ब रुपियाँले घटेको देखिन्छ । आव २०७९/८० को छ महिनामा करिब २६ अर्ब रुपियाँ बराबरको यी वस्तुको निर्यात भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रदेश र स्थानीय तहसँग अनुदानका लागि प्रस्ताव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई प्रदान गरिने समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १५ गतेभित्र आगामी आवमा सञ्चालन गरिने शैक्षिक विकास, आधारभूत स्वास्थ्य, खानेपानी, वन, वातावरण, जलाधार सिँचाइ, फोहोरमैला व्यवस्थापन, ऊर्जासम्बन्धी पूर्वाधार, वडा कार्यालयका भवन निर्माणलगायतका योजना माग गर्न आग्रह गरिएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले माघ १५ गतेभित्र राष्ट्रिय योजना आयोगमा पठाउन आइतबार सबै स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गरिएको बताए । उनका अनुसार स्थानीय तहले प्राथमिकताका आधारमा कार्यपालिकाले निर्णय गरी महानगरपालिका र उपमहानगरपालिकाका लागि ५० लाखदेखि १५ करोड रुपियाँसम्मको आयोजना, नगरपालिकाका लागि ५० लाखदेखि १० करोड रुपियाँ र गाउँपालिकाका लागि ५० लाखदेखि पाँच करोड रुपियाँसम्म लागतका आयोजना छनोट गरी माग गर्नुपर्ने छ। सबै आयोजना बढीमा तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने गरी प्रस्तावमा उल्लेख गर्नुपर्ने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा, अनुसन्धान सुरु

काठमाडौँ । परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको हो ।

‘बुटवल यातायात कार्यालयका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले उपसचिव केशव अर्यालको खातामा अढाई करोड रुपैयाँ जम्मा गरेको देखिन्छ । त्यस विषयमा अनुसन्धान थालिएको छ’, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो ।

अनियमित तरिकाले लाइसेन्स वितरण गरिएको विषयमा यातायात व्यवस्था विभाग स्वयंले छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि प्रतिवेदनसहितका विवरण बुझाइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि यसमा चासो राखेर अनुसन्धान थालेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

एक वर्षभित्र लोकसेवाका सात परीक्षामा नाम निकाल्न सफल मुगुकी सगुना

मुगु । ‘जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिले त अवसर नै पाउँदैनन्’ भनेर निराश हुने र वैदेशिक रोजगारीको सोच राख्नेका लागि मुगुकी सगुना परियार ऊर्जाको पात्र बनेकी छन् । एक वर्षभित्र लोकसेवाका सात परीक्षामा नाम निकाल्न सफल मुगुकी २५ वर्षीया स्टाफ नर्स सगुना परियार जसले आत्मविश्वासलाई देखाएकी छन् भने दृढ संकल्पलाई सफलतामा परिणत गर्न सफल भएकी हुन् ।

मुगु छायाँनाथ रारा नगरपालिका–१ छत्यालवाडा गाउँकी सगुनाले हालै संघीय लोकसेवा आयोग कार्यालय दीपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजामा नाम निस्केसँगै सगुनाले एकै वर्षमा सातवटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् ।

उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दीपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी थिइन् । आजको राजधानी दैनिकमा समाचार छ ।

विद्युतीय सामग्री उत्पादन गरी विद्युत् खपत बढाउनुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

मोरङ, ७ माघ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विद्युतीय सामग्रीको उत्पादन गरी विद्युत्को खपत वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारकाले विराटनगर, इटहरी र झापाको सुरुङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ स्टेसनको   विराटनगरमा एकसाथ उद्घाटन गर्दै उहाँले विद्युत् प्रयोग हुने सामग्री स्वदेशमा उत्पादन गर्न उद्योगी समक्ष आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले उद्योग स्थापनाबाट प्रदेशमा रोजगारी सिर्जना भई पेट्रोलियम पदार्थको आयातबाट हुने व्यापारघाटा कम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

त्यस अवसरमा उहाँले भ्रष्टाचारका विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताउँदै सरकार फरक ढङ्गले सुशासन कायम गर्ने कार्यमा अघि बढिसकेकाले इमानदारितापूर्वक जनताको पक्षमा काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले यो सरकार जनताको आफ्नो सरकार हो भन्ने अनुभूति गराउन गरिब जनतालाई निःशुल्क खानेपानी उपलब्ध गराउन आवश्यक अध्ययन सुरु भइसकेको बताउनुभयो ।मुख्यमन्त्री कार्कीले प्रदेशका गरिब जनताका छोराछोरीलाई निःशुल्क चिकित्सकशास्त्र अध्ययनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन दिँदै एक पालिका एक पशु तथा कृषि विषयमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनुभयो ।प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले आगामी दिनमा सडकको पहुँच पुगेका पहाडी जिल्लामा चार्जिङ स्टेसन स्थापनाका लागि बजेटको व्यवस्था गर्ने बताउनुभयो ।सो अवसरमा उक्त मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञवाली, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, यातायात व्यवसायी सरोज श्रेष्ठले प्रदेशका अन्य स्थानमा स्टेसन स्थापना गरी मुलुकको व्यापार घाटामा सहयोग पु¥याउनुपर्ने विचार राख्नुभयो ।मन्त्रालयले उक्त तीन स्थानमा रु एक करोड १४ लाखको लागतमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । स्टेसन ६० किलोवाट सिसिएस टू डिसी विद्युतीय सवारी साधन स्टेसन भएको मन्त्रालयका इन्जिनियर निश्चल पोखरेलले जानकारी दिनुभयो । 

म्याग्दीका तीन गाउँमा आयातित मदिरा बिक्री गर्न निषेध,स्थानीय मदिरालाई वैधानिकता दिने तयारी

गलेश्वर (म्याग्दी)- म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

स्थानीय आमा समूहको अगुवाइमा मुसुङमा युवा समूह र गाउँले सहभागी गाउँ भेला गरी शनिवारदेखि गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको स्थानीय पृथ्वी पुनले बताउनुभयो । “गाउँमा आयातित मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ । अहिलेसम्म गाउँमा खुलारुपमा बिक्री हुँदै आएको थियो । अबका दिनहरूमा कसैले बिक्रीवितरण तथा सेवन गरेको पाइएमा जरिवानासहित कारबाही गर्ने निर्णय गरिएको छ”, पुनले भन्नुभयो ।

गाउँमा छरिएका मदिराका बोतल र सुर्तीजन्य पदार्थका खाली प्याकेटलाई जम्मा गरी व्यवस्थापन गरिएको पनि उहाँले जानकारी दिनुभयो । आयातित मदिरा सेवनका कारण गाउँको पुँजी बाहिरिएको र युवा कुलतमा फस्दै जान थालेकाले आयातित मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरिएको स्थानीय देवी पुनले बताउनुभयो ।

बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा स्थानीयले गरेको निर्णय स्वागतयोग्य भएको बताउनुभयो । विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने खतरा बढ्नाका साथै धनराशिसमेत मासिने गरेकामा आमा समूहको अगुवाइमा गरिएको यो निर्णयलाई आफूले पनि सघाउने उहाँले बताउनुभयो ।

त्यसैगरी, रघुगङ्गा गाउँपालिका–५ झीँ गाउँमा पनि आयातित मदिरालाई निषेध गरिएको छ । सामाजिक सुधारअन्तर्गत आयातित मदिरा निषेध गरिएपछि गाउँमा सकारात्मक परिवर्तनहरु देखिएका रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । “गाउँमा कमसल स्तरका आयातित मदिरा सेवनका कारण धेरै जना बिरामी परे, राम्रो गुणस्तरका मदिरा महङ्गो हुने भएकाले धेरै रकम गाउँबाट बाहिरियो । यसलाई रोक्न गाउँमा सामाजिक सुधारअन्तर्गत आयातित मदिरा निषेध गरेपछि यसले धेरै सकारात्मक प्रभाव पारेको छ,” वडाअध्यक्ष शेरपुञ्जाले भन्नुभयो ।

वडाअध्यक्ष शेरपुञ्जाका अनुसार विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा पनि आयातित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । मदिरा सेवन गर्नेहरुलाई गाउँमा नै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको स्थानीय तिलक सिउथानीले बताउनुभयो ।विवाह, व्रतबन्धलगायतका अवसरमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा आयातित मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने उहाँले बताउनुभयो ।

स्थानीय मदिरालाई वैधानिकता दिने तयारी

गण्डकी प्रदेश सरकारले स्थानीय मदिरा, गाँजा र खानी उत्खननलाई वैधानिकता दिने तयारीमा जुटेको छ । यही हिउँदे अधिवेशनमा खानी, गाँजा र स्थानीय रक्सीलाई वैधानिकता दिने विधेयक पारित प्रस्तुत गर्ने गरी तयारी भएको गण्डकी प्रदेशका न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जनाउनुभएको छ ।

यी तीन वटा विधेयक पारित भए म्याग्दीमा रहेका तामा, ढुङ्गा, सिसा खानीका साथै घरेलु मदिरा र प्राकृतिक रुपमा उम्रिएका गाँजाको समेत सदुपयोग हुने उहाँले बताउनुभएको छ । गाँजाको बिक्री केवल औषधि र उद्योगमा कच्चापदार्थका रुपमा उपयोग गर्नेगरी कानुन निर्माण गरेर गाँजालाई वैधानिक बनाउने प्रदेश सरकारको योजना छ ।स्थानीय रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने र वैधानिक बनाउने तयारीमा प्रदेश सरकार रहेको बताइएको छ ।
 

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

‘आहा ! रारा पोखरा गोल्डकप’ विजेतालाई रु १२ लाख पुरस्कार

कास्की- पोखरामा यही माघ ९ गतेदेखि नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन हुँदै आएको र मोफसलको प्रतिष्ठित ‘आहा! रारा पोखरा गोल्डकप’को २३औँ संस्करण सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियमममा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले  पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उद्घाटन खेल आयोजक सहारा र थ्रिस्टार क्लबबीच हुनेछ ।

प्रतियोगितामा एक विदेशीसहित १२ टोली प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । उहाँका अनुसार विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।अध्यक्ष बरालले प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कारसहित कूल रु २८ लाख ३२ हजार पाँच सय ५५ नगद पुरस्कार राशि रहेको जानकारी दिनुभयो ।सहभागी प्रत्येक टोलीलाई एक खेल खेलेबापत अतिरिक्त प्रोत्साहन रकम प्रदान गरिने छ । प्रिक्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु २० हजारका दरले र क्वाटरफाइनलमा विजेता र पराजित दुवै टोलीलाई रु ३० हजार तथा सेमिफाइनलमा पुग्ने टोलीलाई रु ५० हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो ।यसैगरी, ‘म्यान अफ दी म्याच’लाई नगद रु १० हजारसहित मेडल पुरस्कार पाउँछन् । यस वर्षदेखि क्लबले प्रत्येक खेलमा दुईजनालाई भाग्यशाली दर्शक पुरस्कार रु पाँच हजारका दरले प्रदान गर्ने भएको छ । दर्शकको उपस्थिति वृद्धि गर्न र प्रोत्साहनका लागि सो पुरस्कार राखिएको हो ।प्रतियोगितामा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सङ्कटा क्लब, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, थ्रिस्टार क्लब, पारो फुटबल क्लब भूटान, नेपाल एपीएफ क्लब र आयोजक सहारा क्लबको टोली सहभागिता जनाउनेछन् ।अघिल्लो संस्करणको उपाधि सङ्कटा क्लबले जितेको थियो भने भुटनिज युथ स्पोर्टस क्लब मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटनको सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ हरेक वर्ष प्रतियोगिता सञ्चालन हुने गर्दछ । पर्यटकीय सहर पोखरालाई ‘स्पोर्टस् हव सिटी’का रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सहयोग पुग्ने आयोजकको भनाइ छ ।प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ । विसं २०६१ देखि पोखरामा एकेडेमी सञ्चालनमा छ । हाल चौथो ब्याचको एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन् । 

हेर्नुहोस् माघ ८ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- मित्रजनहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा निकै राम्रो समय रहेकोछ ।

बृष राशि – बाणिका कारण आफन्त जनहरु रुष्ट रहनेछन । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । खराब संगतका कारण कार्य क्षेत्रमा साधारण अपजस आईपर्ने सम्भाबना रहेको छ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ ।

मीथुन राशि – पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

कर्कट राशि – शारिरीक आलस्यताले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

सिंह राशि – बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कन्या राशि –कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

तुला राशि – दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ ।

बृश्चिक राशि – खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

धनु राशि – बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

मकर राशि – तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ ।

कुम्भ राशि- बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

मिन राशि – पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

जेललाई सुधारगृह बनाउनुपर्छ – गृहमन्त्री श्रेष्ठ

मलङ्गवा (सर्लाही), ७ माघ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जेललाई सुधारगृह बनाउनुपर्ने धारणा राख्नुभएको छ । आज यहाँ कारागार भवन आज उद्घाटन गर्दै उहाँले जेललाई सुधारगृह बनाउनुपर्ने भन्दै कैदीबन्दीले विगतमा जस्तोसुकै अपराध गरे पनि उनीहरुलाई कुण्ठित बनाउने र उनीहरुको मानवीय जीवनलाई कष्ट हुन दिन नहुनेमा जोड दिनुभयो । उहाँले कैदीबन्दीका लागि जेलभित्र ध्यान शिविर सञ्चालन गरिँदै आएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता सुशासन, समृद्धि र समाजिक न्याय भएको भन्दै भन्नुभयो, “अहिलेको प्राथमिकता मुलुकको आर्थिक विकास र प्रगति समृद्धिलाई अगाडि बढाउनु हो ।”

उहाँले प्रहरी समायोजनका लागि नेपाल प्रहरी ऐनको मस्यौदा तयार भइसकेको बताउँदै समायोजन ऐन, सुपरीवेक्षण र परिचालन ऐन पनि २०७६ सालमा पारित भइसकेको र त्यसमा केही परिमार्जनका लागि प्रदेशमा सल्लाह गर्ने उल्लेख गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले मुलुकमा युगान्तकारी ऐतिहासिक राजनीतिक परिर्वतन भइसकेको भन्दै समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रुपमा संविधानसभाबाट संविधानलाई संस्थागत गरिएको बताउनुभयो ।

सरकारले सुशासन प्रबद्र्धन र भ्रष्टाचार विरोधी अभियानबाट बिश्राम नलिने उहाँको भनाइ थियो । “केही कामहरु भएका छन् तर नेपाली जनताको अपेक्षा, राजनीतिक परिर्वतनले दिएको निर्देश र आजको आवश्यकताको अनुपातमा काम तीव्र हुन सकेको छैन”, उहाँले भन्नुभयो । “त्यसैले सरकार आर्थिक विकास र समृद्धिको अभियानमा छ ।”

त्यसै अवसरमा उहाँले सहकारीहरु आफ्नो उद्देश्यबाट बिमुख हुन थालेको बताउनुभयो । “सहकारीहरु बैङ्क जस्तै सञ्चालन हुन थालेका छन्”, उहाँले भन्नुभयो, “सहकारी संस्था खाली बचत र ऋण लगानी गर्ने संस्था बन्न थालेका छन् ।”

आज गृहमन्त्री श्रेष्ठले उद्घाटन गर्नुभएको सर्लाही कारागार मलङ्गवा करिब ११ वर्षपछि सञ्चालनमा आएको हो । चार करोड ४५ लाख २७ हजार ६ सय ८७ रुपैयाँ ६५ पैसाको लागतमा निर्माण भएको कारागारमा एक सय ६० पुरुष र ५० महिला गरी दुई सय १० कैदी अट्ने क्षमताको छ । कारागार भवन आठ कट्ठा १५ धुरमा फैलिएको छ ।

जिल्लामा कारागार नहुँदा यहाँका कैदीबन्दीलाई सिन्धुली, गौर, जलेश्वर, झुम्कालगायतका कारागारमा लगिँदै आएको थियो । मलङ्गवा कारगारभित्रका कैदीलाई २०६९ साल माघ १६ गते सर्लाही प्रशासनले अन्य स्थानका कारागारमा स्थानान्तरण गरी जीर्ण भवन पुनःनिर्माण सुरु गरिएको थियो ।

सहरी विकास डिभिजन कार्यालय जनकपुरले कारागार निर्माण गर्न रामजानकी निर्माण सेवालाई चार करोडमा ठेक्का दिएको थियो । रौतहट जिल्ला कारागारबाट ३० जना कैदीबन्दी सारेर सर्लाही कारागारमा ल्याएर कारागार सञ्चालन गरिएको कारागार प्रशासनले जनाएको छ ।

होटल स्क्वायरका सञ्चालक पक्राउ

काठमाडौँ, ७ माघ : ललितपुरको होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक व्यक्ति करेन्ट लागेर अचेत भएपछि सो प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई पक्राउ परेको छ ।

पीडितका परिवारको जाहेरीका आधारमा सञ्चालकविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका होटल सञ्चालक भण्डारी आज पक्राउ परेको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डारीलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट अनुसन्धानका लागि तीन दिनको म्याद प्राप्त भएको कार्कीले बताउनुभयो । होटलका अर्का सञ्चालक रोमी अर्यालको भने खोजी जारी रहेको उहाँले बताउनुभयो ।

पीडित परिवारले दुई जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि यही माघ ४ गते दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पौडी खेल्ने क्रममा गत भदौ १५ गते मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनी अहिले अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कप : आर्मीविरुद्ध नेपाल प्रहरीको जित

भैरहवा (रुपन्देही), ७ माघ : भैरहवामा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रनले पराजित गरेको छ ।

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ३१ दशमलव चार ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि ओपनर सुनिल धमलाले ५२ रन बनाउनुभयो । यस्तै आरिफ शेखले १८ रन बनाउनुभयो ।

पहिलो पारीमा आर्मीका लागि सोमपाल कामीले ६ ओभरमा तीन मेडेनसहित मात्र १२ रन खर्चिनुभयो । यस क्रममा उहाँले चार विकेट लिनुभयो । यसैगरी, साहब आलम र विवके यादवले समान दुई÷दुई विकेट लिनुभयो ।

एक सय ४१ रनको लक्ष्य लिएको आर्मीका लागि पनि सुरुआत राम्रो भएन । प्रारम्भिक तीनजना ब्याटर शून्य रनमै आउट भएपछि आर्मी दबाबमा परेको थियो । तर भीम सार्की र कुशल मल्लले उत्कृष्ट ब्याटिङले टोलीलाई बलियो स्थितिमा पुगेको थियो । भीमले ७६ बल खेल्दै ६ चौकाको सहयोगमा ५२ रन हान्दा कुशल मल्लले ४८ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३५ रन बनाउनुभयो ।

कुशल र भीमको जोडी टुटेपछि भने पुलिसलाई जित सहज बन्यो । आर्मीका लागि विनोद भण्डारी १९ रन बनाए भने अन्य ब्याटरले दोहोर अङ्क बनाउन सकेनन् । आर्मी ३३ ओभरमा अलआउट हुँदै एक सय २७ रनमा समेटियो । दुवै टोलीमा राष्ट्रिय खेलाडी धेरै रहेकाले आजको खेल हेर्न सिद्धार्थ क्रिकेट रङ्गशालामा दर्शकको घुइँचो लागेको थियो ।

फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

फिलिपिन्सको दक्षिणी भागमा पर्ने डाभाओ क्षेत्रमा गएको पहिरो र भीषण बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार डाभाओ डे ओरो प्रान्तमा १३ जना र डाभाओ शहरमा दुई जनाको मृत्यु भएको छ । सो प्राकृतिक प्रकोपमा कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ।

एजेन्सीले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका पाँच प्रान्तमा ठूलो वर्षाका कारण बाढी र पहिरोबाट ८३ हजार परिवारका ३ लाख ४९ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको जनाएको छ।सोमबारदेखि बिहीबारसम्म परेको भारी वर्षाले यस क्षेत्रमा निम्त्याएको छ ।

काठमाडौँको गोठाटारमा ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गरिने

काठमाडौँ, ७ माघ : सरकारले काठमाडौँको गोठाटारमा ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले आज आफ््नो अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएसँगै विश्वविद्यालय निर्माणको आधार तयार भएको हो ।

समितिको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री सुदन किरातीले पशुपतिनाथ, हिन्दुत्व र हिन्दूको गहिराइ र महत्वलाई बोध गरेर पशुपति हिन्दू विश्वविद्यालय निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले विश्वविद्यालयको कानुनी प्रक्रिया पूरा गरेर विसं २०८१ सम्म सञ्चालन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको जानकारी दिनुभयो । पर्यटनमन्त्री किरातीले भन्नुभयो, “हिन्दू दर्शनको महत्व विश्वभर फैलाउने, सांस्कृतिक कूटनीतिक माध्यमका रुपमा विकास गर्ने तथा यसको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अगाडि बढाइएको हो ।” कोषको गोठाटारमा रहेको पाँच सय रोपनी जग्गामध्ये दुई सय ५० रोपनी क्षेत्रफलमा विश्वविद्यालय बनाउने मन्त्रालयको योजना छ ।

पर्यटनमन्त्री किरातीले कोषको गोठाटारको जग्गा पशुपति हिन्दू विश्वविद्यालय निर्माणका निम्ति चाँडै नै कोषबाट औपचारिक निर्णय गरिने जानकारी दिनुभयो । उक्त प्रयोजनका विश्वविद्यालय निर्माणको पूर्ण तयारी र सञ्चालनका लागि छुट्टै समिति गठन गरिने बताउनुभयो । “हामी (सरकार) हिन्दू विश्वविद्यालय स्थापना गरेरै छाड्छौँ”, “पर्यटनमन्त्री किरातीले भन्नुभयो, “विश्वभर नेपालको पशुपतिनाथ र हिन्दुत्वलाई स्थापित गर्न र सांस्कृतिक कूटनीतिक मान्यताको विकास गर्नैपर्छ ।”

समितिका संयोजक एवं संस्कृतिविद् डा जगमान गुरुङले पशुपतिनाथको माध्यमबाट विश्वलाई नेपालप्रति आकर्षण गर्ने उद्देश्यले पशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालय निर्माणका लागि ७५ काम सकिएको र कानुनी मस्यौदाको कामलाई चाँडो टुङ्ग्याइनुपर्ने धारणा राख्नुभयो । पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।

पर्यटन मन्त्रालयले गत वैशाख १३ गतेको निर्णयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न डा गुरुङको संयोजकत्वमा विज्ञ सरोकारवालाहरु सम्मिलित एक समिति गठन गरेको थियो । समितिले नौ महिना लगाएर तयार पारेको प्रतिवेदन आज मन्त्रालयलाई बुझाएको हो ।

नेपालभित्रको धर्म, संस्कृति, सभ्यता, कला र दर्शनको मात्र अध्ययन, अध्यापन र अनुसन्धानलाई मुखय विषय र लक्ष्य बनाएर भगवान् श्रीपशुपतिनाथका नामबाट हिन्दू दर्शन, बौद्ध दर्शन एवं नेपालमा प्रचलित धर्म दर्शनहरु निगम, आगम, जीवपद्धति, संस्कृति, संस्कार र परम्परालाई उजागर गर्न अध्ययन एवं अनुसन्धानको आवश्यकता भएबमोजिम गुठी मोडलमा विश्वविद्यालय स्थापना गर्ने सोच समितिले तय गरेको छ । नेपालमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने यस विश्वविद्यालयको स्वत्व भनेको नेपालमुखी भएको समितिको निष्कर्ष छ ।

विश्वविद्यालय नितान्त नेपालको पहिचान विश्वपरिदृश्यमा स्थापित गरी विश्वलाई नेपालतर्फ आकर्षित गर्नसक्ने गुणस्तरीय विश्वविद्यालय बन्ने समितिका सदस्यसचिव डा घनश्याम खतिवडाले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुपति र लुम्बिनीमा विशिष्टीकृत अध्ययन केन्द्रको विकास गर्ने विषय उल्लेख भएबमोजिम समय सान्दर्भिक रुपमा श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी अघि बढेको हो ।

विश्वविद्यालयको स्वरुपबारे विज्ञहरुसँग परामर्श गरी रायसुझाव लिइएको तथा विश्वविद्यालयको विधेयक मस्यौदा गर्ने कार्यका लागि कोष व्यवस्थापनसमक्ष अनुरोध गरिएको सदस्यसचिव खतिवडाले जानकारी दिनुभयो ।

उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनाका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटकको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ । कोषको प्रस्तावित गुरुयोजनाअनुरूप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

झापामा १० मेगावाटको सौर्य ऊर्जा उत्पादन सुरु

झापा, ७ माघ : कोशी प्रदेशमा पहिलो पटक शिवसताक्षी नगरपालिका–४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको छ । सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित बिजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताउनुभयो ।

निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको विद्युत् उत्पादन गर्न सक्नु कोशी प्रदेशका लागि गौरवको विषय भएको उहाँको भनाइ छ । चार वर्षअघि सुरु भएको परियोजना रु ८० करोडको लगानीमा २१ बिघा जमिनमा निर्माण गरिएको छ ।करिब ७५ प्रतिशत माछापुच्छ«े र सिभिल बैंकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत सर्वसाधारणको शेयरबाट रकम जुटाएर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजनास्थल छ । आयोजना र प्राधिकरणबीच २०७८ मङ्सिर १२ मै विद्युत् खरिद प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो ।झापा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास विसं २०७८ मा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभएको थियो ।नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पु¥याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताउनुभयो । विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उहाँले बताउनुभयो ।उहाँले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पु¥याउने बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशसभा : एकवर्षे कार्यकालमा नयाँ कानुन नै बनेनन

सुदूरपश्चिम, ७ माघ : सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको गत पुसमा एक वर्ष पूरा भयो । यस अवधिमा प्रदेशसभाको पहिलो र दोस्रो अधिवेशन सम्पन्न भइसकेको भए पनि नयाँ कानुन भने निर्माण हुन सकेन् । यस अवधिमा प्रदेशसभाले दुई वटा कानुन संशोधन गरेको छ ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले एक वर्षमा प्रदेशसभाले सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन र सुदूरपश्चिम आर्थिक ऐन संशोधन गर्नुबाहेक नयाँ कुनै कानुन नबनाएको जानकारी दिनुभयो ।प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा ६७ कानुन निर्माण गरेको थियो । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा (व्यवस्थापिका) जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था हो । यसले तोकिएको विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानुन निर्माण गर्ने, सरकार गठन गरी सरकारका कामको निगरानी गर्ने, बजेट पास गर्ने जस्ता कार्य गर्ने गर्दछ ।सङ्घ, प्रदेश र स्थानीय तह तीन तहको शासकीय स्वरुपमध्ये प्रदेशसभा पनि एक महत्वपूर्ण निकाय हो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन भने पर्याप्त रुपमा बन्न अझै बाँकी छन् । बनेका कानुनमध्ये कतिपय स्थानीय तह र प्रदेशसभाको संरचनासँग सम्बन्धित र अन्य कतिपय जनताको सेवासँग सम्बन्धित छन् भने तिनको कार्यान्वयनको अवस्था पनि फितलो देखिएको कतिपयको टिप्पणी छ । सङ्घीय कानुनसँग नबाझिने गरी ऐन बनाउनुपर्ने अवस्थामा प्रदेश तहमा बन्नुपर्ने अति आवश्यक कतिपय कानुन बनाउन पनि कठिनाई भइरहेको जानकार बताउँछन् ।प्रदेशसभा सचिवालय धनगढीमा आज आयोजित ‘सुदूरपश्चिम प्रदेशसभा दिवस २०८०’ का अवसरमा वक्ताहरुले प्रदेशसभाले पछिल्लो छ वर्षमा जनअपेक्षाअनुसार धेरै काम हुन नसके पनि यो व्यवस्थाको विकल्प नरहेकोमा जोड दिनुभयो ।प्रदेश प्रमुख देवराज जोशीले जनताको जनादेशअनुसार काम भए नभएकोबारे समीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले सङ्घीय लोकतान्त्रिक व्यवस्थाविरुद्धमा भइरहेको षड्यन्त्रप्रति सचेत रहँदै यसको रक्षाका लागि सबै जिम्मेवार भएरअघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।छ वर्षअघि विसं २०७४ माघ ७ गते पहिलो पटक प्रदेशसभामा निर्वाचित प्रदेशसभाका सदस्यको सपथ ग्रहण गराइएकाले यसै दिनलाई प्रदेशसभा दिवसका रुपमा मनाउने गरिएको छ ।नेपाली कांग्रेसका विक्रमसिंह धामी, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका टीका थापा, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारीलगायतका वक्ताले सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएकोमा जोड दिनुभएको थियो । प्रदेशसभा दिवसका अवसरमा ‘नेपालमा लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको गरिएको थियो ।

अपहृत नाइजेरियाली दिदीबहिनीको उद्धार

अपहृत पाँच नाइजेरियाली दिदीबिहिनीको उद्धार गरिएको प्रहरीले आइतबार बताएको छ । यद्यपि एक बहिनीको मृत्युपछि सार्वजनिक आक्रोश बढेको छ । परिवारका अनुसार वर्षको प्रारम्भमा अबुजा सहरको केन्द्रबाट मात्र १५ माइल (२५ किलोमिटर) टाढा उनीहरूको घरमा पसेर हतियारधारीहरूले ती दिदीबहिनीलाई समातेका थिए । फिरौतीको समय सकिएपछि हमलाकारीहरूले २१ वर्षीया एक बहिनाी नबिहा अल–कादरियारको हत्या गरेका थिए ।

सङ्घीय राजधानी क्षेत्र (एफसिटी) प्रहरी र सेनाले शनिबार राति छिमेकी कदुना राज्यको काजुरु जङ्गलबाट किशोरीहरूको उद्धार गरेका हुन् । प्रहरीले विज्ञप्तिमा भनेको छ, “एफसिटी प्रहरीले पीडितहरूको उद्धार गरी उनीहरूको परिवारसँग पुनरमिलन गराएको छ ।” किशोरीहरूका काकाका एक छोरा (भाइ) ले उनीहरू परिवारसँग फर्किएको एएफपीलाई पुष्टि गरेका छन् ।

नाइजेरियामा फिरौतीका लागि अपहरण एउटा ठूलो समस्या बनेको छ । आपराधिक गिरोहले राजमार्ग, अपार्टमेन्ट र यहाँसम्म कि स्कुलहरूबाट विद्यार्थीहरूलाई समेत लुट्न निशाना बनाउँछन् । स्थानीयरूपमा डाकुहरू भनेर चिनिने गिरोहले उत्तरपश्चिमी तथ मध्य राज्यहरूका जङ्गलस्थित आधारबाट अपहरण गर्दै आएका छन् ।

ती किशोरीहरूको मामिलामा सार्वजनिक आक्रोश बढेपछि राष्ट्रपति बोला अहमद टिनुबुले ‘हालैको अपहरण र डाकू हमलाको घटना’ को निन्दा गर्नुभएको छ । गत वर्ष मेमा राष्ट्रपतिमा निर्वाचित भएपछि टिनुबुले असुरक्षालाई सम्बोधन गर्ने आफ्ना प्रमुख वाचाहरूमध्ये एक बनाउनुभएको छ ।

हताश नाइजेरियालीहरू आम्दानीका लागि अपराधतर्फ लागेकाले मुलुकको आर्थिक अवस्थाले अपहरणका घटनाहरू बढाएको केही विश्लेषकहरूले बताएका छन् । नाइजेरियाली कानूनले अपहरणकर्तालाई फिरौती दिन प्रतिबन्ध लगाएको छ तर धेरै परिवारले अधिकारीहरूमाथि अत्यन्त कम विश्वास गर्छन् र उनीहरूसँग कुनै विकल्प नभएको महसुस गर्छन् ।

बोको हराम जिहादीहरूद्वारा उत्तरपूर्वी नायजेरियाको चिबोकबाट दुई सय ७६ स्कुले छात्राहरूको अपहरणले सन् २०१४ मा वैश्विक चर्चा बटुलेको थियो । यद्यपि दैनिक अपहरणले विरलै अन्तर्राष्ट्रिय ध्यान खिचेको छ ।

सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छ : पूर्वमन्त्री भूसाल

काठमाडौँ, ७ माघ : पूर्वमन्त्री पम्फा भुसालले पछिल्लो समयमा नेपाली समाजमा नकारात्मक बढ्दै गएको हुँदा सकारात्मकतर्फ जनमत निर्माण गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उहाँले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताउनुभएको हो ।

“विश्व सूचना प्रविधिको विकासले सबैले उपयोग गर्न पाएका भए पनि पुँजीवाद र सम्राज्यवादीहरू यसको दुरुपयोग गरी नागरिकमा नकारात्मक धारणा उत्पन्न गरिरहका छन्”, पूर्वमन्त्री भूसालले भन्नुभयो, “प्राप्त उपलब्धि रक्षाका लागि समाजमा सकारात्मकता जगाउन जरुरी छ ।” उहाँले समाजवादतर्फ जनमत निर्माण गर्न नेपालमा पनि माओवादीले दशवर्षे सशस्त्र आन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको स्मरण गर्नुभयो ।नेत्री भुसालले लेलिनले तत्कालीन साम्राज्यवाद र पुँजीवादविरुद्ध क्रान्ति गर्नुभएको स्मरण गर्दै शान्तिपूर्ण तरिकाले राज्यसत्ता एक वर्गबाट अर्को वर्गमा नजाने विचार राख्नुभएको बताउनुभयो ।राजनीतिज्ञ टङ्क कार्कीले माक्र्सवाद तथा लेनिनवादले राज्यसत्तामा रहने र सर्वहाराबीचको खाडल कम गर्नका लागि श्रमिकलाई साथमा लिएर हिँड्नुपर्ने चेत दिएको बताउनुभयो । उहाँले अहिले पनि पुँजीपति वर्ग र श्रमजीवी वर्गमा खाडल बढ्दै गएको विश्लेषणसमेत गर्नुभएको थियो ।विश्लेषक सङ्गीत श्रोताले माक्र्सवादसँगै जोडेर लेलिनलाई हेरिनुपर्ने र नेपाली समाजमा आज पनि वर्गीय हिसाबले ठूलो खाडल बन्दै जाँदा लाखौँ युवा विदेशिन बाध्य भएको बताउनुभयो । उहाँले देशमा रोजगारीको अवसर नभएकै कारण युवा विदेशिएका छन् भन्ने कुरा राज्यसत्तामा बस्नेले हेक्का राख्नुपर्ने धारणा राख्नुभयो ।“नेपाल पछिल्लो पाँच वर्ष हेर्दा नेपाल कम्युनिष्ट पार्टी सत्तामा गयौँ तर ठीकठाक हुँदाहुँदै पनि काम गर्न सकिएन”, उहाँले भन्नुभयो, “आमजनताबाट निराशा प्रकट भएको छ तर समाधान गर्ने राज्यसत्ताको ध्यान छैन, आज गरिखाने गर्वको पार्टी नै छैन ।”लेनिन बितेको एक सयऔँ स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको थियो । 

मधेस प्रदेश राजधानीमै छैन खानेपानी, चापाकलमा पनि पानी सुक्दै गएको गुनासो

जनकपुरधाम, ७ माघ : मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो समय चापाकलमा पानी सुक्दै गएको गुनासो यहाँका बासिन्दा गर्छन् । नागरिकले पिउने पानीकै लागि समस्या भोग्नुपर्ने अवस्था आए पनि चापकलको अर्को भरपर्दो विकल्प पनि तयार भएको देखिँदैन । त्यसको उदाहरण हो, प्रदेश राजधानी जनकपुरधाम । प्राप्त विवरणअनुसार यहाँ करिब १२ प्रतिशत घरमा मात्रै खानेपानीको पाइप प्रणालीको पहुँच छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार जनकपुरधाममा ४० हजार चार सय नौ घरपरिवार छन् ।तर खानेपानी वितरणको मुख्य काम गर्दै आएको खानेपानी संस्थानले हालसम्म चार हजार छ सय ८५ घरमा मात्रै धारा जडान गरेको छ । जडान भएका धारामध्ये पनि करिब ४४ प्रतिशतभन्दा बढी घरमा आंशिकरुपमा मात्रै पानी वितरण हुने गरेको संस्थानकै तथ्याङ्क छ । कार्यालय प्रमुख विष्णुदेव साहले संस्थानले उपमहानगरमा २५ वटा वडामध्ये १४ वडाका चार हजार छ सय ८५ घरमा मात्रै धारा जडान भएका र त्यसको ५६ प्रतिशत जतिमा मात्रै पूर्णरुपमा पानी वितरणको काम भइरहेको बताउनुभयो ।

समग्रमा जनकपुर नगरक्षेत्रमा दुई करोड ५० लाख लिटर (२५ एमएलडी) पानीको माग रहेकामा धारा जडानभएका आधारमा हाल दैनिक ३० लाख लिटरमात्रै आपूर्ति गर्न सकिएको कार्यालय प्रमुख साहले जानकारी गराउनुभयो ।

अहिले वडा नं १० को अरगजा पोखरीको उत्तरमा र रामानन्द चोकस्थित कार्यालय परिसरमा चार लाख ५० हजार क्षमताका दुई वटा ओभरहेड ट्याङ्कीमा छ वटा डिप बोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरेर वितरणको काम भइरहेको छ । “सीमित बजेट र करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण धेरै ठाउँमा चाहेर पनि पानी पु¥याउन सकिएको छैन । तर चालु आर्थिक वर्षमा पानी ट्याङ्की थप्ने, पानी वितरण सञ्जाल विस्तार अर्थात् पाइप विच्छ्याउने, अवरुद्ध भएका ठाउँमा पानी आपूर्तिका लागि मर्मतसम्भार गर्ने काम भइरहेकाले आगामी दिनमा केही सुधार हुने अपेक्षा छ”, कार्यालय प्रमुख साहले भन्नुभयो ।

संस्थानको महसुल शाखा प्रमुख दधिवल यादवले पानीको माग बढ्दै गए पनि पुरानो संरचना र संस्थानसँग समन्वय नै नगरी गरिने विकास निर्माणकाबेला त्यही संरचना पनि बिगार्ने तथा भत्काउने समस्याले जडान भएका नौ सयभन्दा बढी धारामा पानी अवरुद्ध भएको बताउनुभयो ।

विगतमा ढल निकास, सडक विस्तार तथा अन्य विकास निर्माणका कारण धेरै क्षेत्रमा पाइपलाइन चुँडिएर घरधुरीमा पानी वितरणमा समस्या भए पनि त्यसको समाधानका लागि काम जारी रहेको यादवको भनाइ छ । कार्यालय प्रमुख साहले पनि स्थानीय तह र अन्य विकास निर्माण गर्ने दायित्व भएका कार्यालयले संस्थानसँग समन्वय गर्नुपर्नेमा उल्टै वर्षांै पुरानो पानी वितरण सञ्जालमा छेडखानी गर्दा समस्या हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकातिर भूमिगत पानीको तह घटेर अहिले पाँच सय फिटभन्दा बढी जमिनमुनिबाट मात्रै ट्युबवेल (चापाकल) मा पानी आइरहेको छ । जसले पानीको माग बढ्दैछ । अर्कोतिर भएकै पुराना संरचनामा चुहावटको समस्या छ । स्थानीय, प्रदेश र बाँकी सबै सरोकारवाला निकाय मिलेर काम गरेमा धेरै समस्या समाधान गर्न सकिन्छ ।” ३४ वर्ष पुरानो पानी वितरण प्रणालीको पहुँच पनि नगरका सबै वडामा पुगेको छैन । २५ वडामध्ये आधाजति वडामा मात्रै वितरण प्रणालीको पहुँच छ भने त्यसमा पनि करिब ५० प्रतिशतमा मात्रै नियमित पानी जाने गरेको छ ।

बाह्र वर्षभन्दा बढी समयदेखि जनकपुरधाम वडा नं ४ कटैयाचौरीमा एक करोडभन्दा बढी लगानीमा निर्माण गरिएको डिप ट्युबवेल स्थानीयवासीको अवरोधका कारण सञ्चालनमा आउन सकेको छैन । चालु आर्थिक वर्षमा भने कार्यालय परिसरमै रु एक करोड ३० लाखको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की, चार करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरीचौकीदेखि वडा नं ८ स्थित होटल सीताशरणसम्म छ लेन सडक छेउमा सात किमी लामो दुवैतर्फ आठ/आठ इञ्चको पाइप बिछ्याउने काम भइरहेको छ ।

यस कार्यले पाँच लाख लिटर पानी भण्डारण हुने र चालु आर्थिक वर्षमा थप एक हजार धारा जडान गर्न सघाउ पुग्ने संस्थानको विश्वास छ । “थोरै स्रोतसाधनका बाबजुद संस्थानले भ्याएसम्मको काम गरिरहेको छ । प्रदेश राजधानी भएकाले संस्थानको पहलले मात्रै यहाँको अभाव पूर्ति हुने अवस्था छैन । जनकपुरमा सङ्घीय खानेपानी मन्त्रालयले सरोकारवाला कार्यालयसँग मिलेर खानेपानीको आवश्यकता, समस्या र सञ्जाल निर्माणको आवश्यकताबारे विस्तृत अध्ययन गरिरहेको छ । त्यस आधारमा आगामी दिनमा जनकपुरक्षेत्रको खानेपानी समस्या समाधानका लागि एकीकृतरूपमा दिगो व्यवस्थापनको काम हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ”, साहले आशा व्यक्त गर्नुभयो ।

प्रादेशिक राजधानी जनकपुरमै पानीको भरपर्दो वैकल्पिक स्रोत छैन । अन्य सहर र गाउँको अवस्था पनि योभन्दा दयनीय छ । आर्थिक सर्वेक्षण २०७९÷८० अनुसार प्रदेशका १२ दशमलव १५ प्रतिशत घरधुरी त खानेपानी प्रणालीमै समेटिएका छैनन् भने १० दशमलव ४६ घरधुरीमा मात्रै पाइप प्रणालीबाट पानीको पहुँच पुगेको छ । त्यसबाहेक ७६ दशमलव ९१ प्रतिशत घरधुरीमा ट्युबवेल, शून्य दशमलव ४७ प्रतिशतमा अन्य सुरक्षित स्रोत र शून्य दशमलव शून्य एक प्रतिशतमा वर्षात् पानीमा निर्भर हुनुपरेको पनि सोही सर्वेक्षणको तथ्याङ्कले देखाएको छ ।

यहाँ खानेपानी संस्थानले मुख्य सहरमा मात्रै पानी आपूर्तिको काम गरिरहेको छ । त्योसमेत गरी प्रदेशभर एक सय १३ खानेपानी योजना सञ्चालनमा छन् । जबकि सात प्रदेशमध्ये कर्णाली प्रदेशमा समेत नौ सय ९३ योजना सञ्चालनमा रहेको मधेस प्रदेशको सोही आर्थिक सर्वेक्षणमा उल्लेख छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सार्वजनिक गरेको सरकार गठनको एकवर्षे उपलब्धिमा ४१ वटा खानेपानी आयोजना सम्पन्न गरी यसबाट लगभग २० हजार घरधुरी लाभान्वित भएका, ७७ वटा खानेपानी आयोजनाका लागि डिपबोरिङ र एक सय ५९ किमी पाइपलाइन विच्छ्याउने कार्यसम्पन्न भएका उल्लेख गरिएको छ ।

भन्सारको ‘सेटिङ’ भत्काउने काम भएको छ : महानिर्देशक पौडेल

काठमाडौँ, ७ माघ : भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करहरुको ‘सेटिङ’ भत्काइएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज विभागले आयोजना गरेको ‘आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करको जालो भत्काउन विभाग केही हदसम्म सफल भएको दाबी गर्नुभयो । यद्यपि सुनलगायतका वस्तु अवैधरुपमा भित्रिरहेकामा त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्न भने नसकिएको उहाँले बताउनुभयो ।

“भन्सार कार्यालयमा हुने विभिन्न खालका सेटिङ भत्काउने काम भइरहेको छ, तर तस्करहरु एक कदम अगाडि छन्, उनीहरु हाम्रा कमजोरी हेरेर योजना बनाउँछन्”, पौडेलले भन्नुभयो । अवैध वस्तु भन्सार छलेर कसरी सजिलै भित्रिन्छन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महानिर्देशक पौडेलले अपर्याप्त जनशक्ति तथा प्राविधिक क्षमताको अभाव, कर्मचारीको मिलेमतो, अन्तर निकाय समन्वय अभावलगायतका समस्या रहेको बताउनुभयो ।

सबै कर्मचारी राम्रा वा सबै नराम्रा छन् भन्ने पक्षमा आफू नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । खुला सीमा अर्को चुनौती रहेको उहाँको भनाइ छ । भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स–रे मेसिन खरिद आवश्यक रहेको पौडेलले बताउनुभयो ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा निकै कम कर्मचारी रहेको उल्लेख गर्दै उहाँले समग्र निगरानी संयन्त्रमै समस्या रहेको बताउनुभयो ।

समग्र शासन प्रणाली सुधार भए भन्सार प्रणाली पनि क्रमशः सुधार हुनेमा उहाँको जोड थियो । भन्सारका कामकाजलाई विस्तारै कागजरहित बनाउँदै लगिएको पौडेलको भनाइ छ । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार सेवा दिन विभाग तयार रहेको उहाँले बताउनुभयो । पछिल्लो समय समग्रमा आर्थिक क्रियाकलाप खुम्चिँदा र व्यापार साघुरिँदा भन्सार राजस्व घटेको उहाँको भनाइ छ ।

साताव्यापीरुपमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस साताव्यापीरुपमा मनाउने भएको छ । विभागले आज आर्थिक पत्रकारसँग अन्तक्र्रिया गरेको छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा, माघ ९ गते नेपाल समुद्रपार निकासी पैठारी सङ्घको आयोजनामा, माघ १० गते नेपाल चेम्बर अफ कमर्सको आयोजनामा र माघ ११ गते नेपाल उद्योग परिसङ्घको आयोजनामा अन्तक्र्रिया गरिने जनाइएको छ ।

त्यस्तै देशभरका विभिन्न भन्सार कार्यालयले व्यवसायी तथा सरोकारवालासँग अन्तक्र्रिया, खेलकुदलगायत विविध कार्यक्रम, रक्तदानलगायत कार्यक्रम गर्नेछन् । अन्तर्राष्ट्रिय भन्सार दिवस मूल समारोह समितिको आयोजनामा माघ १२ गते विभागमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

पशुपालनबाट मनग्य आम्दानी गर्छन् शिक्षक डम्बरले, १३ लाखसम्म बचत गर्न सफल

दाङ, ७ माघ : दाङको तुलसीपुर उपमहानगरपालिक–६ गोलौराका ३७ वर्षीय डम्बर डाँगीको दिनचर्या बिहानबेलुका गाईभैँसीका बाच्छाबाच्छी/पाडापाडीको स्याहारसुसार तथा दिउँसो अध्ययापन कार्यमा बित्ने गरेको छ ।

बिहान मिर्मिर उज्यालोदेखि ८ बजेसम्म र बेलुका ५ः३० देखि ८ बजेसम्म गाईभैँसीका बाच्छाबाच्छी र पाडापाडीको स्याहारसुसार गर्ने, दूध बिक्रीवितरणको व्यवस्था गर्नेलगायत काममा बित्ने गरेको छ । दिउँसोको समयमा भने शिक्षण पेसामा बित्ने गरेको उहाँले बताउनुभयो ।

डाँगी छोटो समयमा व्यावसायिक रुपमा पशुपालन गरेर एक सफल उद्यमीको रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । उहाँ तुलसीपुर–१० मा रहेको एक निजी विद्यालयका शिक्षक हुनुहुन्छ । उहाँले १५ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराइरहनुभएको छ ।

साथै नौ वर्षदेखि पशुपालनमा लाग्नुभएका डाँगी अहिले घरपरिवारका सदस्यसहित यो पेसालाई निरन्तरता दिँदै हुनुहुन्छ । उहाँले स्थानीय पाँचजनालाई रोजगारीसमेत दिएको बताउनुभयो ।

डाँगीका अनुसार दुईजनाले पूर्ण र तीनले आंशिक रुपमा रोजगारी गरिरहेका छन् । उहाँले भन्नुभयो, “वार्षिक करिब रू १२ देखि १३ लाख बचत गर्न सफल भएको छु । विसं २०७१ मा लक्ष्मी सेवा पशुपालन फर्म दर्ता गरी व्यावसायिक रुपमा भैँसीपालनको सुरुवात गरेको थिएँ ।”

डाँगीले सुरुमा रू चार लाखको लागतमा पाँचवटा उन्नत जातका मुर्रा भैँसी र एउटा होलेस्टन उन्नत जातको गाई खरिद गरी पशुपालन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले फर्ममा गाई तथा बाच्छाबाच्छी २१ र भैँसी तथा पाडापाडी १२ गरी ३३ वटा पशुचौपाया रहेका छन् । तीमध्ये १० गाई तथा सातवटा भैँसी दुहुना छन् ।

भैँसीले दैनिक ९० देखि ९५ लिटरसम्म दूध दिने गरेको भन्दै उक्त दूधलाई तुलसीपुर बजारका डेरी उद्योगमा बिक्रीका लागि लग्ने गरिएको डाँगीले बताउनुभयो । केहीले दूध फर्मबाटै खरिद गरी लैजाने गरेका उहाँको भनाइ थियो ।

कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भन्दै अहिले भने बजारमा कुनै समस्या नरहेको डाँगीले बताउनुभयो । दाङमा अहिले दूधप्रतिलिटर रू ९० र दही रू एक सय रहेको छ ।

शनिबार डाँगीको फर्ममा दूध खरिद गर्न आएकी तुलसीपुर–६ गोलौरीकी ४३ वर्षीया सरस्वती चौधरीले आफ्नै घर आगनमा शुद्ध दूध खान पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेपहिले एक लिटर दूध किन्न तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो । तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।”

डाँगीले फर्ममा अहिलेसम्म रू ६० लाखसम्म लगानी भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रू २५ देखि २८ लाखसम्म आम्दानी हुने गरेको छ । आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गतवर्ष झण्डै रू १२ लाख आम्दानी भएको उहाँले बताउनुभयो ।

शिक्षण पेसामा संलग्न हुनुभएका तपाईँ पशुपालनमा कसरी लाग्नुभयो भन्ने राससको प्रश्नको जवाफमा डाँगीले भन्नुभयो, “धेरै युवा जीविकोपार्जनका लागि विदेशिन थालेका समाचार दिनहुँ आउन थालेपछि स्वदेशमै स्वरोजगार सृजना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि व्यवसाय सुरु गरेको थिएँ । पशुपालन व्यवसायबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने सन्देशसहित पाँच जना युवालाई रोजगारीसमेत दिन सक्षम भएको छु ।”

समयको व्यवस्थापना आफूले पढाउने विद्यालय घरदेखि नजिकै रहेकाले बिहान बेलुका र बिदाको समयमा पशुपालनमा रमाउने गरेको डाँगीले बताउनुभयो । १० देखि ५ बजेसम्म विद्यालयमा हुने भन्दै बाँकी समय फर्मलाई दिने गरेको उहाँको भनाइ थियो । परिवारका सदस्यले समेत उहाँको यस कामलाई सघाइरहनुभएको छ ।

डाँगीले दुई बिघामा फर्म सञ्चालन गर्नुभएको छ । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उहाँले बताउनुभयो । “अहिलेसम्म सरकारी कुनै निकायबाट केही सहयोग पाएको छैन”, उहाँले भन्नुभयो, “अरु समयभन्दा जाडोको समयमा उत्पादित दूधजन्य वस्तुलाई बिक्रीमा केही समस्या हुने गरेको छ ।”

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भन्दै डाँगीले अहिले फर्ममा विभिन्न ठाउँबाट गाईभैँसी अवलोकन गर्न, दूधजन्य वस्तु तथा पशुचौपाया खरिदका लागि मानिस आउने गरेका बताउनुभयो । पढेलेखेका पैसा कमाउन वा जागिर खान विदेश नै जानुपर्छ भन्ने छैन भन्दै स्थानीयस्तरमा स्वरोजगार सृजना गर्न सकिने उहाँको सुझाव छ । युवालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राज्यले सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानलाई बजारीकरणमा सहजता हुनुका साथै हौसला मिल्ने डाँगीको अनुभव छ ।

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?

काठमाडौँ, ७ माघ : कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन ।

हरेक दिन सवारी चालक अनुमति पत्र छपाइका लागि चार हजारभन्दा बढी माग आउने गरेको स्वयं यातायात व्यवस्था विभागले जानकारी दिने गरेको छ । प्रतिक्षासूचीमा मात्रै १४ लाख ४० हजारभन्दा बढी छ । सवारी चालक अनुमतिपत्र छपाइ गर्ने उपकरण, कार्डको उपलब्धता गराउन नसकिएको, कार्डको काम गर्ने जिम्मा पाएको व्यवसायीले समयमा काम नगरेको अवस्था पनि छ ।नागरिकस्तरबाट गुनासो बढ्दो छ । सरकारी निकाय आफैँ जवाफ दिन सक्ने अवस्थामा छैन । पछिल्लो पटक छ लाख कार्डको जोहो भएको छ । यस्तै, छ लाख थान कार्ड आउने प्रक्रियामा छ । त्यसो हुँदासमेत दुई लाखले अझै सवारी चालक अनुमतिपत्र नपाउने अवस्था छ ।सवारी चालक अनुमतिपत्रको काम प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालय र सवारी चालक अनुमतिपत्र कार्यालयले गरिरहेका छन् । यद्यपि, अधिकार बाँडफाँटमा अझै समस्या छ । कतिपयलाई त यो काम प्रदेश सरकार मातहतका निकायले गर्छ भन्ने थाहा छैन ।नक्कली सवारी चालक अनुमतिपत्रको बिगबिगी पनि उस्तै छ । सवारी चालक अनुमतिपत्र प्रदान गर्ने निकायको प्रणालीभित्र नै प्रवेश गरेर नक्कली चालक अनुमतिपत्र बनाएको गुनासो पनि यसबीचमा व्यापक मात्रामा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसबारे छानबिन गरेको छ ।ती समस्या समाधानका लागि आज मन्त्रालयले प्रदेशका यातायात हेर्ने मन्त्री, सचिवसहित सरोकारवाला निकायबीच छलफलको आयोजना गरेको थियो । छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट ठोस पहल भइरहेको दाबी गर्नुभयो ।“लामो समयदेखि गिजोलिएको समस्या समाधान गर्न लामो समय लाग्छ । त्यसका लागि हामीले योजनाबद्ध प्रयास थालेका छौँ । आशा गरौँ, समस्याको समाधान हुन्छ”, मन्त्री ज्वालाले भन्नुभयो । प्रधानमन्त्री दाहालले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न, चालक अनुमति वितरण प्रणालीलाई थप सहज बनाउन स्पष्ट निर्देशन दिनुभएको उल्लेख गर्दै मन्त्री ज्वालाले अब सहज वातावरण बनाइने बताउनुभयो ।सवारी चालक अनुमतिपत्र छपाइका लागि प्रदेश सरकारलाई नै जिम्मा दिनु उपयुक्त रहेको निष्कर्ष निकाल्दै उहाँले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेशका मन्त्री र सचिवलाई आग्रह गर्नुभयो ।वाग्मती प्रदेश सरकारका यातायात मन्त्री लक्ष्मण लम्सालले लामो समयसम्म सवारी चालक अनुमतिपत्र नै नपाउने अवस्थाका लागि अनेकन विकल्प खोज्नुपर्ने बताउनुभयो । उहाँले अब धेरै समय नागरिक तहबाट आएको दबाब सहन नसक्ने अवस्थामा पुगेको भन्दै हाल परीक्षणकालीन रुपमा प्रदान गरिएको सवारी चालक अनुमतिपत्रलाई नै स्थायी गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वाग्मती प्रदेश सरकारले मास प्रिन्टर खरिद गरेर आफैँ सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरण गर्ने कार्ययोजना बनाएको र त्यसका लागि प्राविधिक सहयोग गर्न यातायात व्यवस्था विभागलाई आग्रह गर्नुभयो ।कूल सवारी चालक अनुमतिपत्रको मागमध्ये ५० प्रतिशतभन्दा बढी वाग्मती प्रदेशमा छ । सरकारले यातायात क्षेत्रलाई नगद कारोबाररहित बनाउने उद्देश्य राखेको भए पनि गण्डकी प्रदेश कार्यालयले भन्दा अन्य प्रदेशले कार्यान्वयन गर्न अटेर गरेका छन् । विचौलिया हटाउने र सहज रुपमा सेवाग्राहीले काम लिन सक्ने वातावरण त्यस्तो व्यवस्था गरिएको भए पनि यातायात कार्यालयले विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयन गर्न चासो देखाएका छैनन् ।गण्डकी प्रदेशका यातायातमन्त्री रेशमबहादुर जुम्जालीले आफ्नो प्रदेशमा विद्युतीय भुक्तानी प्रणालीको नतिजा असाध्यै राम्रो भएको जानकारी दिनुभयो । “हामीले नगदरहित कारोबारलाई विशेष प्राथमिकतामा राखेर सुरु गरौँ, त्यसबाट राम्रो प्रतिक्रिया पाएका छौँ”, उहाँले भन्नुभयो ।आजको छलफलमा लामो समयसम्म पनि सवारी चालक अनुमतिपत्र नपाउने अवस्था, इक्बोस्ड नम्बर प्लेट जडान तथा पछिल्ला दिनमा बढेको सवारी दुर्घटनाको निदानका लागि खोजिने उपाय केन्द्रमा थियो । छलफलमा प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्री, नेपाल प्रहरीका उच्च अधिकारी र ट्राफिक प्रहरीका उच्च अधिकारीले आ–आफ्नो धारणा राखेका थिए ।सवारी चालक अनुमतिको प्रतिक्षामा दुई वर्षभन्दा बढी समय प्रतीक्षा गर्दा सर्वसाधारणले पाउन सकेका छैनन् । सरकारको प्रणालीमा नै बिचौलियाले अनाधिकृत प्रवेश गरी झण्डै एक लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र नक्कली बनाएको पाइएको छ । सो विषयमा आवश्यक छानबिन भइरहेको भौतिक पूर्वाधार तथा यातायातामन्त्री ज्वालाको भनाइ छ । उहाँले दोषी देखिएका जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार नक्कली सवारी चालक अनुमतिपत्र बनाउने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले विभाग, अख्तियार दुरुपयोग अनुसनधान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्यससम्बन्धमा छानबिन गरीरहेको जानकारी दिनुभयो । “अहिले नै के कति मात्रामा नक्कली हो भन्न सकिने अवस्था छैन । यद्यपि, हामीले आवश्यक छानबिन गरिरहेका छौँ । त्यसमा दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउनैपर्छ”, महानिर्देशक रिजालले भन्नुभयो ।सवारी दुर्घटनामा पारेका चालकका नाममा रातारात नक्कली अनुमतिपत्र बनेर आएको पाइएको उहाँले जानकारी दिनुभयो । चालक अनुमतिपत्र नभएकाले गाडी चलाएर हिँड्दा मान्छे मारेको प्रणालीमा प्रवेश गरेर नवीकरण गरेको पाइएको छ ।“कुन कार्यालयबाट कसरी नक्कली अनुमतिपत्र बनेको छ भन्ने खुल्दै जानेछ । तथ्याङ्क कुनै एक ठाउँबाट हटाए पनि अर्को ठाउँमा गएर बस्ने गरेको छ । त्यो प्रहरी र आयोगले अनुसन्धान गरेर पत्ता लगाउनेछ । त्यसबाट को–को दोषी हुन भन्नेसमेत पत्ता लाग्नेछ”, उहाँले भन्नुभयो । परीक्षा नै नदिई अनुमतिपत्र बनाएको, अरुकै नाममा लिएको पाइएको उहाँको भनाइ छ ।छलफलमा सरकारी सवारी साधनबाट नै भए पनि अभियानका रुपमा इक्बोस्ड नम्बर प्लेट राख्दै सबैलाई अनिवार्य गरेर लैजाने विषय उठेको थियो । सहभागीमध्येका अधिकांशले एकीकृत प्रणालीको व्यवस्थापन विभागले गरिदिए आफू यस क्षेत्रमा रहेको विकृति तथा विसङ््गतिलाई समाधान गर्न सक्ने बताउनुभएको थियो ।कतिपय प्रदेशका मन्त्रीले त प्राविधिक कर्मचारीको अभाव रहेको, सङ्घीय सरकारले आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा समस्या भएको बताउनुभएको थियो । प्राविधिक तयारी एवं अन्य सहयोग भएको खण्डमा जुनसुकै प्रणाली लागू गरी कार्यान्वयनमा ल्याउन तयार रहेको उनीहरुको भनाइ थियो । उहाँहरुले त्यसका लागि आवश्यक सहयोग गर्न सङ्घीय मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।विद्युतीय सवारी दर्ताका सम्बन्धमा पनि आवश्यक प्रबन्ध गरिदिन उहाँहरुले सरकारको ध्यानाकर्षण गरानुभयो । मन्त्री ज्वालाले सबै खालका समस्या समाधानका लागि आवश्यक छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुगिने स्पष्ट पार्नुभयो ।

बेनी–जोमसोम सडक खण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने

गलेश्वर (म्याग्दी), ७ पुस : राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल) निर्माण गरिने भएको छ ।

गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने उक्त सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा कालीगण्डकी नदीको कटानका कारण सडक साँघुरो भएपछि दुई लेनको सुरूङमार्ग बनाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्र पठाइएको बेनी–जोमसोम सडकका आयोजना प्रमुख धु्रव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरुङमार्ग निर्माणका लागि ‘कन्टेन्जेन्सी’ खर्च कटाएर झण्डै रु ९० करोडको लागत अनुमानसहित स्वीकृतिका लागि मन्त्रालयमा पत्र पठाइएको हो । कालीगण्डकीको कटानले सडक साँघुरो बनेपछि नियमित सडक सञ्चालनमा कठिन देखिएकाले तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिजाइनसहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको आयोजना प्रमुख झाले जानकारी दिनुभयो । “सुरूङबाहेक अर्को विकल्प छैन, सडकको सुरक्षाका लागि सडकको पुरानो बाटो परिवर्तन गरी सुरुङमार्गको डिजाइन गरिएको छ”, उहाँले भन्नुभयो ।

नियमित यातायात सञ्चालनका लागि अहिले उक्त सडकखण्डको भिरकोटमा ढुङ्गा राखेर डाइभर्सन गरिएको छ । कालीगण्डकी नदी कटानका कारण सडकको बेससमेत नरहेपछि उक्त खण्डमा यातायात सञ्चालन गर्न समस्या हुँदै आएको छ ।

अत्यन्तै जोखिमपूर्ण मानिएको उक्तखण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अनुगमन गरी थप प्रक्रियाका बारेमा चासो देखाउनुभयो । “कालीगण्डकी करिडोरमा दिगो र सुरक्षित संरचना बनाउन सरकार सकारात्मक छ, “बर्सेनि प्राकृतिक विपत्तिले क्षति पुग्ने सडकखण्डमा डिजाइन परिवर्तन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

बेनी–जोमसोम–कोरला सडकमध्ये म्याग्दी खण्डको बेनीदेखि घाँसासम्म पहिरोले क्षति पुग्नसक्ने भएकाले सुरुङबाहेका अन्य विकल्पबारे थप अध्ययन भइरहेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।

विसं २०७४ मा सुरु भएको बेनी–जोमसोम सडक रु सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । एक सय ८६ किमी दूरीको उक्त सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुदै कोरला नाकासम्म पर्छ ।

सिताके च्याउमा भविष्य खोज्दै काफ्ले दाजुभाइ, कसरी उत्पादन हन्छ ?

मङ्गलबारे, ७ माघ : नेपालमा रोजगारी नभएर विदेशिनेको सङ्ख्या बढ्दो भए पनि नेपालमै उद्यम गर्न चाहाने र गर्नेहरु प्रसस्तै छन् । वैदेशिक रोजगारीका लागि जाने दैनिक हजारौँ युवाको भीडमा यहाँको माईजोगमाई गाउँपालिकाका काफ्ले दाजुभाइ भने विदेश नजाने सोचका साथ गाउँमा नै सिताके च्याउ खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

उक्त गाउँपालिका–६ स्थित प्याङका काफ्ले दाजुभाइ सिताके च्याउ खेतीबाटै भविष्यका लागि आयआर्जनको उपाय खोजिरहेका छन् । घनेन्द्र काफ्ले र रामप्रसाद काफ्लेले च्याउ उत्पादन गरी आफैँ बजारसम्म पु¥याएर बिक्रीसमेत गर्दै आएका छन् । पूर्वी नेपालका विभिन्न बजार तथा मार्टमा उनीहरूको उत्पादन पुगेको हुन्छ ।

हाल विराटनगर, धरान, विर्तामोड, दमक तथा जिल्लाकै विभिन्न बजारमा आफ्ना उत्पादन पु¥याउने गरेको उनीहरूकोे भनाइ छ । भारतका विभिन्न बजारमासमेत आफ्ना उत्पादनको प्रसस्तै माग रहेको घनेन्द्र बताउनुहुन्छ । कुनै समयमा त भारतबाट माग आएपछि उही नै पु¥याइदिने गरेको उहो उल्लेख गर्नुहुन्छ । “एकपटक खाएपछि आफैँ पनि फोन गरेर मगाउँछन्, घनेन्द्र भन्नुहुन्छ ।

सुरुमा पाँच सय काठको मुडाबाट सुरु गरिएको च्याउखेती विस्तार भएर हाल तीन हजार पाँच सय मुडामा विस्तार भइसकेको छ । सो मुडाबाट दैनिक २० किलो भन्दाबढी च्याउ उत्पादन हुँदै आएको छ भने मासिक तीन सय किलोसम्म उत्पादन हुने गरेको छ । प्रतिकिलो रु आठ सयदेखि एक हजारसम्ममा आफ्नो उत्पादन बिक्री भइरहेको रामप्रसाद बताउनुुहुन्छ ।

उत्पादित च्याउलाई प्रायः गे्रडिङ गरेर बजारसम्म लैजाने गरिएको छ । राम्रो र ठूलो दानाकोे प्रतिकिलो रु एक हजारदेखि रु उक हजार दुई सयसम्ममा बिक्री हुने र सानो दानाको प्रतिकिलो रु छ सयदेखि रु आठ सयसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । घरमै बसेर बसेर च्याउखेती गर्दा मासिक रु दुई लाख कमाइ हुने गरेको, र घरका परिवार सबै नै च्याउमा लागेको रामप्रसाद बताउनुहुन्छ ।

आत्मनिर्भर हुनका लागि विदेश नै जानुनपर्ने उदाहरण बन्नुभएका काफ्ले दाजुभाइ गर्न सिताके च्याउखेती तथा अन्य कृषि पेसाबाट मनग्य आम्दानी हुनेमा जोड दिनुहुन्छ । तीन वर्षअघि यो खेती गर्न सुरु गरिएको र सुरुमा जमिन भाडामा लिएर खेती सुरु गरिएकोमा आफ्नै जग्गामा संरचना निर्माण तयार पारेपछि सो जमिन फिर्ता दिँदा रु ३० लाख घाटा भएको थियो । आफ्नै जमिनमा उत्पादन हुन थालेपछि भने त्यो बेलाको घाटा हाल उठिसकेको घनेन्द्र बताउनुहुन्छ ।

यो च्याउको उत्पादन १२ महिना नै गर्न सकिने भएकाले आधुनिक प्रविधिको प्रयोग र आफैँमा दक्षता भए खेती गर्न खास समस्या हुँदैन । जङ्गलमा उत्पादन हुने काठको मुडामा यसको खेती गर्न सकिन्छ । उत्पादित च्याउ बजारसम्म लैजाने गर्नुभएका काफ्ले दाजुभाइ बिचौलियामार्फत गरिने व्यवसायले घाटा हुने गरेको बताउनुहुन्छ । बिचौलियाले राखेको च्याउ तीन दिनसम्म नकिक्दा उत्पादन गर्ने किसान नै बदनाम हुने गरेको विगतका घटनाले देखाएको र बिचौलियाले आफूखुसी मूल्य तोक्दा यसको खास मूल्यमासमेत अन्योल देखापर्न सक्छ ।

आफैँले उपभोक्तसमक्ष पु¥याउदा ताजा उपभोग गर्न पाइने र स्वादमासमेत फरकपर्ने गरेको छ । ताजा च्याउको स्वाद मिठोे हुने तर ओइलाएको च्याउको स्वादमा फरक पर्ने भएकाले आफैँले बिक्री गर्नुपरेको घनेन्द्रको भनाइ छ ।

विवाह तथा अन्य चाडवाडका बोलामा यसको माग बढी आउने गरेको र कहिलेकाहीँ बजारको मागभन्दा बढी उत्पादन हुँदा समस्या हुने गरेको छ । सरकारबाट सहयोग मिले अझ धेरै गर्न प्रेरणा मिल्ने उहाँ बताउनुहुन्छ ।

कसरी उत्पादन हन्छ सिताके च्याउ ?

यो च्याउको उत्पादन काठको मुडामा गरिन्छ । दरो र बलियो काठ प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ । बीचमा मुडा फेर्नुपर्दा झन्झट बढ्ने हुन्छ । बढी समयसम्म उत्पादन लिन प्रायःकट्टुसको मुडामा बीउ राख्ने गरिन्छ । काठमा प्वाल पारेरभित्र बीउ राखिन्छ । बीउ राखेको चार महिनासम्म सो मुडालाई घाम नलाग्ने ठाउँमा राख्नुपर्दछ । बीउ टुसाएको केही समयपछि उत्पादन लिन सकिन्छ । उत्पादन भइसकेपछि मुडालाई भिजाउनुपर्छ । प्रत्येक ५१ दिनमा मुडालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नुपर्छ । प्रयोग भएको काठको मुडाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने काफ्ले दाजुभाइको भनाइ छ ।

प्रयोग गर्ने तरिका

सिताके च्याउलाई तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ । सामान्य होटलदेखि चारतारे होटलसम्म यसको उत्पादन पुग्न थालेको छ । महँगो भएकै कारण कम मात्र बजारमा बिक्री हन्छ । यसलाई झोल बनाएरसमेत खान र दालमा मिसाएर पनि खान सकिन्छ । सुकाएको यो च्याउको सुकुटी पनि बिक्री हुँदै आएको छ । सुकुटी चाहेको जुनसकै बेला पनि खान सकिने भएकाले प्रायः विदेशमासमेत निर्यात हुँदै आएको छ । स्वादअनुसार तावामा सेकाएर वा सेकुवा बनाएरसमेत प्रयोग गर्न सकिन्छ ।

तयारी यो च्याउको सुकुटी प्रतिकिलो रु १२ हजार सम्ममा बिक्री हुँदै आएको छ । यसबाट भिटामिन डि पाइने भएकाले बालबालिका तथा वृद्धहरुका लागि अत्यन्तै राम्रो मानिन्छ ।

जाजरकोट भूकम्प : रुकुम पश्चिममा १६ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम), ७ माघ : गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ हालसम्म जिल्लाभर १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् ।

भूकम्प गएको दुई महिना भन्दाबढी समय वितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । अझै कतिपय पनि भूकम्पपीडित त्रिपालको भरमा तथा चर्किएको घरमा रात काट्न बाध्य छन् । दुई महिनामा १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । अझै पनि सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न नसकिएको उहाँले बताउनुभयो ।

बढुवाका अनुसार जिल्लाभर सात हजार चार सय ९७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । जिल्लामा २९ हजार चार सय छ लाभग्राही पहिचान भएका जनाउँदै बाँकी लाभग्राहीका लागि अस्थायी आवास निर्माण हुन नसकेको उहाँले बताउनुभयो ।

हालसम्ममा सबैभन्दा बढी अस्थायी आवास आठबीसकोट नगरपालिकामा पाँच हजार चार सय ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ७० अस्थायी आवास निर्माण भएका छन् ।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रू २५ हजारका दरले रकम पठाएको छ । भूकम्पबाट पीडितको लागत सङ्कलन भइरहेकाले लाभग्राहीको सङ्ख्या तीस हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ ।

कार्यकारिणी समितिको बैठक बोलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिनुभएको छ । उहाँले प्रतिष्ठानका उपकुलपति डा प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले उपकुलपति डा कार्कीलाई भन्नुभयो, “तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनूस्, तपाईं धरान जानूस्, कार्यकारिणी समितिको बैठक बोलाउनूस, अन्तर्वार्ताको मिति तोक्नुहोस र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नूस् ।”

यसैबीच, प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बिपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।