`

हमास प्रमुख हनिया र टर्कीका विदेशमन्त्रीबीच भेटवार्ता

प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह हमासका कतारस्थित प्रमुख इस्माइल हनिया र टर्कीका विदेशमन्त्रीबीच शनिबार भेटवार्ता भएको छ । गत अक्टोबर ७ मा इजरायलको मा एक्कासी आक्रमण गर्दा कम्तीमा एक हजार एक हजार १४० जनाको मृत्यु भएको र हमासका लडाकूहरूले करिब २५० बन्धकहरूलाई कब्जामा लिएका थिए ।

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता हमास र बाँकी बन्दीहरूको रिहाईका साथै ‘जतिसक्दो चाँडो युद्धविराम’ गर्नु छलफलको मुख्य विषय भएको टर्की सम्वद्ध स्रोतले जनाएको छ ।स्रोतका अनुसार भेटका क्रममा दुवै पक्षले ‘मानवीय सहायता बढाउने र स्थायी शान्तिको लागि दुई–राज्य समाधान’ का बिषयमा छलफल भएको छ ।

फिदान र हनियाबीच पछिल्लो पटक अक्टोबर १६ मा फोन वार्ता भएको थियो ।हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलद्वारा हमासमाथि शुरू गरेको आक्रमणको जवाफमा हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको छ ।इजरायलले गरेको लगातारको बमबारी र स्थल आक्रमणका कारण गाजामा कम्तीमा २५ हजार १०५ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

इस्तानबुल अक्टोबर ७ को आक्रमण अघि हमासका राजनीतिक नेताहरूको आधारको रूपमा काम गर्दथ्यो । इजरायलको इतिहासकै सबैभन्दा घातक आक्रमणको उत्सव मनाउँदै गरेको भिडियोमा टर्कीको भू–भाग कैद भएपछि टर्कीले हमासका प्रमुखलाई देश छोड्न भनेको थियो ।

तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन गाजामा भइरहेको मृत्यु र विनाशको परिमाणको मुस्लिम विश्वको सबैभन्दा कठोर आलोचक बन्नुभएको छ । एर्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई एडोल्फ हिटलरसँग तुलना गर्दै अमेरिकाले प्यालेस्टाइनीहरूको ‘नरसंहार’लाई प्रायोजन गरेको आरोप लगाउनुभएको छ ।

फेब्रुअरी ८ मा हुने निर्वाचनमा पीपीपी र पीएमएल–एनबीच मुख्य प्रतिस्पर्धा हुने : भुट्टो

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचन पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र उहाँको पार्टीबीचको संघर्ष हुने बताउनुभएको छ । पूर्व विदेशमन्त्री भुट्टोले पीपीपीले ‘भोट पावर’मा पूर्ण विश्वास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पीपीपी बाहेक सबै पार्टीहरू अभिजात वर्गको प्रतिनिधित्व गर्छन् जसले धनी व्यक्तिहरूलाई फाइदा पु¥याउँछ र गरिबहरूलाई हानि पु¥याउँछ ।”

उहाँले आफ्नो पार्टीको जित औसत नागरिकका लागि ‘राहतको सास’ को रूपमा आउने दाबी गर्दै फेब्रुअरी ८ को आम चुनावमा दुई प्रमुख दल पीपीपी र पीएमएल–एनबीच मात्र प्रतिस्पर्धा हुने दाबी गर्नुभयो । पीएमएल–एन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री शहबाज सरिफ जहाँबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएको छ त्यहाँका मानिसहरूलाई स्वच्छ पिउने पानीको पहुँच नभएको भन्दै भुट्टोले पीपीपीको १० बुँदे कार्यक्रमले देशलाई सबै राजनीतिक, आर्थिक र सुरक्षा समस्याबाट पार पाउन मद्दत गर्ने दावी गर्नुभयो ।

भुट्टोलाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, “पाकिस्तानले हाम्रो १० सूत्रीय आर्थिक एजेन्डा लागू गरेर मुद्रास्फीति र गरिबीबाट छुटकारा पाउन सक्छ, यसअघि जनवरीमा पीपीपी अध्यक्षले फेब्रुअरी ८ को चुनावका लागि आफ्नो पार्टीको घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थियो । घोषणापत्रमा आय वृद्धि गर्ने, ३० लाख आवास निर्माण गर्ने, प्रत्येक घरधुरीलाई ३०० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने, प्रत्येक जिल्लामा हरित ऊर्जा पार्क स्थापना गर्ने र सौर्य तथा वायु ऊर्जाका स्रोतको प्रयोग गरी पूरा गर्ने उल्लेख छ ।

म्यान्मासँगको सीमामा तारबार लगाउने भारतको योजना

भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मासँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले आइतबार बताएको छ । विद्रोही आक्रमणबाट भागेर म्यान्माका सयौँ सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहबाट यस्तो घोषणा आएको हो । शाहले शनिबार उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा भन्नुभयो, “सरकारले पूरै खुला भारत–म्यान्मा सीमामा तारबार लगाउने निर्णय गरेको छ ।”

भारत र म्यान्माबिच दुर्गम जङ्गलदेखि लिएर हिउँले ढाकिएको हिमालयका चुचुरासम्म एक हजार दुई सय किलोमिटरभन्दा धेरै सीमा फैलिएको छ । कुनै बेला सीमा वा तारबारको निर्माण कसरी गरिनेछ भन्नेबारेमा कुनै जानकारी नदिनुभएका गृहमन्त्री शाहले सरकारले स्वतन्त्र आवागमन सम्झौतालाई पनि अन्त्य गर्ने बताउनुभयो ।

उक्त सम्झौताले सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूलाई भिसाबिना एक अर्काको क्षेत्रमा थोरै दूरीसम्म जाने अनुमति दिन्छ । सीमावर्ती क्षेत्रमा कयौँ मानिसबिच घनिष्ठ सांस्कृतिक तथा धार्मिक सम्बन्धसमेत छ ।

टाइम्स अफ इन्डियाले पोस्ट गरेको एक भिडियोअनुसार शाहले भन्नुभयो, “हामी यो सुविधालाई अन्त्य गर्दैछौँ ।” सन् २०२१ को सरकारी आँकडाअनुसार भारतले यसअघि नै पाकिस्तानसँगको आफ्नो सीमाको दुई हजार किलोमिटरभन्दा धेरै र बङ्गलादेशसँगको कम्तीमा तीन हजार एक सय किलोमिटरमा तारबार लगाइसकेको छ ।

नोभेम्बरमा अराकान आर्मी (एए) लडाकूहरूले सुरक्षा बलहरूमाथि आक्रमण गरेपछि भारतीय सीमानजिकै म्यान्माका केही भागमा लगातार झडपहरू भएका छन् । यसबाट सन् २०२१ को सैन्य विद्रोहपछि ठूलो मात्रामा युद्धविराम समाप्त भएको छ ।

अक्टोबरमा एए विद्रोही र अन्य जातीय अल्पसङ्ख्यक लडाकूसहितको एउटा गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्त्वपूर्ण व्यापार केन्द्रहरूमाथि कब्जा गरेको थियो । यसै महिनाको प्रारम्भमा उक्त गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ तर यो भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागु भएको छैन । यहाँ लडाइँ जारी छ ।

पुटिनलाई स्वागत गर्न तयार छौँ– उत्तर कोरियाली विदेशमन्त्री

उत्तर कोरियाका शीर्ष राजनीतिज्ञले आफ्नो मुलुक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अभिवादन गर्न तयार’ रहेको बताउनुभएको सरकारी मिडियाले आइतबार बताएको छ । यो दुई अधिनायकवादी मुलुकबिचको सम्बन्धलाई गहिरो बनाउने पछिल्लो सङ्केत हो ।

परम्परागत सहयोगी रुस र उत्तर कोरियाले हालै आपसी सम्बन्धहरूलाई बढाएका छन् । प्योङयाङ नेता किम जोङ उनले गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा पुटिनसँग भेट्न दुर्लभ विदेश यात्रा गर्नुभएको थियो ।

पश्चिमाहरूले मस्को र प्योङयाङमाथि युक्रेनमा रुसको आक्रमणलाई समथर्नन गर्नका लागि मिलेर काम गरेको आरोप लगाएका छन् । उत्तर कोरियाले आफ्नो सहयोगी रुसलाई लाखौँ तोपखाना गोला र हतियार पठाएको विश्वास गरिन्छ ।

उत्तर कोरियाका विदेशमन्त्री चो सोन हुई गत साता पुटिन र आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भेटघाटका लागि मस्कोमा हुनुहुन्थ्यो । कोरियन सेन्ट्रल न्युन एजेन्सीद्वारा दिइएको विदेशमन्त्रीको सहायक कार्यालयको एक विज्ञप्तिअनुसार चोले पुटिनसँग भन्नुभयो, “उत्तर कोरियाली सरकार प्योङयाङ भ्रमणका लागि राष्ट्रपति पुटिनलाई न्यानो स्वागत गर्दछ र कोरियाली जनताको सबैभन्दा निकट मित्रलाई पूरै इमान्दारीका साथ स्वागत गर्न तयार छ ।”

उत्तर कोरियाको आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिकन अफ कोरिया (डिपिआरके) को नाम उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “पुटिनले चाँडै डिपिआरकेको भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।” युक्रेनमा विशेष सैन्य कारबाहीमा रुसी सरकार र जनताको अडानप्रति पूर्ण समर्थन र ऐक्यबद्धता देखाएकामा उत्तर कोरियाप्रति रुसले ‘गहिरो धन्यवाद’ व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुस र उत्तर कोरियाबीच बढ्दो सैन्य तथा आर्थिक सहयोगले वासिङ्टन र सोलमा चिन्ता बढाएको छ । मस्कोका रक्षा तथा विदेशमन्त्रीहरूसहितको शीर्ष रुसी अधिकारीहरूले गत वर्ष उत्तर कोरियाको भ्रमण गरेका थिए । यसबाट सम्भावित हतियार सम्झौतालाई लिएर किएभका सहयोगीहरूबिच चिन्ता बढेको थियो ।

यसै महिना ह्वाइट हाउसले प्योङयाङमाथि रुसमा ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर पठाएको आरोप लगाएको थियो । यसलाई ह्वाइट हाउसले मस्कोको युद्ध प्रयासको समर्थनमा ‘महत्त्वपूर्ण तथा चिन्ताजनक वृद्धि’ भनेको छ ।

दक्षिण कोरियाले प्योङयाङमाथि सैन्य उपग्रह प्रविधिमा सल्लाहको बदलामा मस्कोलाई १० लाखभन्दा धेरै तोपखाना प्रदान गरेको आरोप लगाएको छ । उत्तर कोरियाले गत वर्ष एउटा जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा स्थापना गर्न सफलता हासिल गरेको छ । सोलले जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा स्थापना गर्न रुसी सहयोग प्राप्त भएको बताएको छ ।

सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन नै परिमार्जित गर्नुपर्ने

काठमाडौँ, ७ माघ : सहकारीसम्बन्धी समस्या समाधान गर्नका लागि सहकारी ऐन नै परिमार्जित गर्न सांसदहरुले जोड दिनुभएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उपस्थित अधिकांश सदस्यले सहकारीमा देखिएको कानुनी समस्या समाधान गर्न सहकारी ऐनलाई संशोधन गर्नेमा जोड दिनुभयो ।

समिति सदस्य अशोककुमार चौधरीले सहरकारीको समस्या समाधान गर्न कानुनमा हेरफेर गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी कसका लागि हो भनेर जनतालाई बुझाउँदै सहकारी नियमन गर्न उचित मापदण्ड तयार गरेर अगाडि बढ्नुपर्नेमा सुझाव दिनुभयो ।

समिति सदस्य मानवीर राईले सहकारीको समस्या समाधान गर्नमा सरकार अपरिपक्व देखिएको आरोप लगाउनुभयो । उहाँले सरकार पक्ष र मन्त्रालय पक्षबीच कमजोरी कसको भएको यकिन हुन जरुरी हरको बताउनुभयो । समिति सदस्य सूर्यप्रसाद ढकालले सहकारी सञ्चालक समितिमा एउटै घरपरिवारबाट एकभन्दा धेरै सदस्य हुन नपाउने नियम बनाउनुपर्ने धारणा राख्नुभयो । समिति सदस्य वीरबहादुर बलायरले सरकारी पीडकको संरक्षण कुनै सांसदले गर्न नहुने भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि आवश्यक जनशक्तिसँगै सुरक्षाको व्यवस्था गरिदिनुपर्नेमा जोड दिनुभयो ।

समिति सभापति डा आरजु राणाले सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीलाई चिठ्ठी लेखेर अनुरोध गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीको समस्या पछिल्लो समय डरलाग्दो बन्दै गएको भन्दै डुबेका सहकारीले ठगी गरेको रकम सरकारले कुनै पनि हालत बेहोर्न नहुने धारणा राख्नुभयो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले जनशक्तिको अभावले गर्दा परिणाममुखी काम गर्न नसकेको बताउनुभयो । देशभर ३१ हजार सहकारीमध्ये पाँच सय वटा सहकारी अति समस्यामा रहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो, “समितिका लागि आवश्यकताअनुसार दक्ष जनशक्तिसहित सरकारले सुरक्षाको व्यवस्था गरिदिए छिटो गरी काम हुन सक्थ्यो । हस्ताक्षर गर्नका लागि एक जना कर्मचारीबाहेक कोही छैन । कसरी काम हुन्छ ?”

सहकारीले सुरुवाती चरणमा राम्रो गरे पनि पछिल्लो समय अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा डुबेको अध्यक्ष दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्नेमा अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा समस्या देखियो । कृषि सहकारीभन्दा बचत तथा क्रण सहकारी बढी समस्यामा परेको छ ।”

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीको समस्या कसले हेर्ने भन्नेबारे अन्योलता भएकाले समस्या गर्न बाधा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीलाई कारबाही गर्न खोज्दा कानुनी बाधा आइपर्छ । सङ्घ, प्रदेश तथा स्थानीय तहले वर्गीकरण गरेर अनुगमनलाई तीव्रता दिनुपर्छ । बाझिएको कानुन तथा ऐनलाई छलफल गरेर छिटो टुङ्ग्याउनुपर्छ ।”

कैलालीमा तारले बेरिएको अवस्थामा पाटेबाघ मृत फेला

घोडाघोडी (कैलाली), ७ माघ : जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सव डिभिजन वन कार्यालय लम्कीका फरेष्टर रामबहादुर रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाघको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुनसक्ने देखिएको छ । स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए ।

मृत बाघको मुचुल्का बनाइ डिभिजन वन कार्यालय पहलमानपुर ल्याउने तयारी भइरहेको सव डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

कृषि क्षेत्रमा लगानी अझै बढाउन गभर्नर अधिकारीको सुझाव

काठमाडौँ, ७ माघ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिनुभएको छ ।

कृषि विकास बैंकको आज यहाँ आयोजित ५७औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले बैंकले उपलब्ध वित्तीय स्रोत साधनलाई कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनतर्फ केन्द्रित गरी सेवा प्रवाहमा चुस्ततामा लगाउन सुझाव दिनुभयो ।

“कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । कृषिमा कस्तो आपूर्ति एवम् मूल्य शृङ्खलाको अभाव छ, त्यो कुरा हामी स्पष्ट रुपमा देख्न सक्छौँ । यसका लागि बैंकले काम गर्न सक्छ”, गभर्नर अधिकारीले भन्नुभयो । उहाँले बैंकले आगामी दिनमा समेत वित्तीय सेवाबाट विमुख किसान, मजदुर एवं सिमान्तकृतमा बैंकिङ पहुँच विस्तार गर्न गर्न सक्ने बताउनुभयो । “आफूलाई नेपाली जनताको घर आँगनको बैंकका रुपमा चिनाउँदै आएको यस बैंकले ग्राहकको सन्तुष्टिमा ध्यान दिँदै वित्तीय सेवाको विविधिकरणमार्फत् उद्देश्य हासिल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले कृषि विकास बैंकले दिगो बैंकिङको अभ्यास गरिरहेको भन्दै बैंकले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रलाई अगाडि बढाउन सरकारसँगै बैंकिङ प्रणाली पनि तयार रहेको उहाँको भनाइ छ ।बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले विश्व र देशको अर्थतन्त्र शिथिल रहेको अवस्थामा समेत बैंकले कारोबार बिस्तार गर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले बैकिङ क्षेत्रमा आउन सक्ने प्रणालीगत जोखिमलाई समेत कुशलतापूर्वक व्यवस्थापन गर्न बैंक सक्षम रहेको उल्लेख गर्नुभयो । उहाँले गरिबी निवारण, साना किसान विकास कार्यक्रम, ग्रामीण र कृषि क्षेत्रको विकास, दुर्गम विपन्न वर्गलाई लघुवित्त सेवा प्रदानलगायतमा विशेष भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो ।

विक्रम संवत् २०४१ सालमा स्थापना भएको यस बैंकले वित्तीय सेवा, कृषक, उद्यमीलाई ऋण प्रवाह गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद र २ प्रतिशत बोनस शेयर गरी १३ प्रतिशत लाभांश दिएको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले ओभरड्राफट डेविट कार्ड र कल सेन्टरको सुरुआत गरेको छ ।

बैंकको गत आवको सञ्चालन नाफा रु चार अर्ब ८२ करोड ७१ लाख २० हजार थियो । बैंकले सो आवमा रु एक खर्ब ९९ अर्ब ६६ करोड २० लाख ३० हजार निक्षेप र रु एक खर्ब ८२ अर्ब ८१ करोड ५० लाख ७० हजार कर्जा प्रवाह गरेको छ । बैंकको गत आवमा खराब कर्जा दुई दशमलव ७८ प्रतिशत थियो । बैंकको जारी तथा चुक्ता पुँजी रु १८ अर्ब ६२ करोड छ लाख २७ हजार छ । बैंकमा सरकारको ५१ प्रतिशत शेयर स्वामित्व छ ।

पुलचोक–गोन्द्राङ छ लेन सडकको काम ७५ प्रतिशत सकियो

भरतपुर (चितवन), ७ माघ : चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म र चौबिसकोठीमा सर्भिस लेन बनाउन बाँकी छ भने अन्य क्षेत्रमा लाइटिङको काम बाँकी छ । उहाँका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम अगाडि बढेको छ ।

सो निर्माण कम्पनीले २०७७ माघ २८ भित्र विस्तार गरी सक्नेगरी कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ । अन्तिमपटक मङ्सिरमा भदौसम्म सक्नेगरी म्याद थप गरिएको शाहले जानकारी दिनुभयो ।भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी छ दशमलव ०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडकको लागत रु एक अर्ब ७६ करोड छ । भौतिक प्रगति ७५ प्रतिशत भए पनि वित्तीय प्रगती ६५ प्रतिशतमात्र भएको शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडकलाई यस वर्ष रु पाँच करोडमात्र बजेट विनियोजन भएको थियो । बाँकी रकम नपुगेर मन्त्रालयमा सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । “भुक्तानी लगभग ६५ प्रतिशत भएको छ, अझै रु ४५ करोड निर्माण कम्पनीलाई दिन बाँकी छ”, उहाँले भन्नुभयो, “सडक विभागमा फाइल पठाएका छौँ, भुक्तानी छिट्टै हुनेमा आशावादी छौँ ।”अहिलेसम्म भुक्तानी समयमा नहुँदा सडक विस्तार गर्न समस्या परेको निर्माण कम्पनीले जनाएको छ । फागुनको पहिलो सातासम्म पुलचोकबाट वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्र हुने पुलचोक–गोन्द्राङ छ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङ्गानाले जानकारी दिनुभयो । वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म नाला निर्माणकार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।सडकसँग जोडएका १४ स्थानमा सडकको पानी फाल्ने, गाडी, बाइक धुने कार्यले सडक निर्माण र गुणस्तरमा असर परेकाले महानगरले सचेत गराएको महानगरका इन्जिनियर साकार लामाले बताउनुभयो । उहाँले महानगर प्रमुख दाहालले सडक निर्माणको दैनिक रिपोर्टिङ लिने गरेको जानकारी दिनुभयो । बीस दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको लामाले बताउनुभयो ।महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताउनुभयो । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँले सडक निर्माणमा देखिएका समस्या समाधानका लागि महानगरपालिकाले सहजीकरण गरेर काम गरिरहेको बताउनुभयो ।पचास मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजना छ । सडकको दायाँबायाँ ११ दशलमलव पाँच–११ दशमलव पाँच मिटरको पिच हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बन्ने छ ।

‘घरघरमा सिंहदरबार भन्थे, हाम्रो पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ’

त्रिवेणी (नवलपरासी), ७ माघ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ । “घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ”, त्रिवेणीका स्थानीय विनयकुमार थापाले भन्नुभयो, “हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ ।”

त्रिवेणी क्षेत्रका दुईवटा वडाका बासिन्दाले सहज बाटो नहुँदा धेरै दुःख खेप्नुपरेको उहाँले बताउनुभयो । “हामीलाई आपत् छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने”, उहाँले भन्नुभयो ।

सदरमुकाममा कुनै काम लिएर जानुपरे दुःखसँगै रु आठ–दश हजार खर्च बोकेर हिँड्नुपर्ने अवस्था रहेको त्रिवेणीका विष्णुप्रसाद चौलागाईँले बताउनुभयो । त्रिवेणी–दुम्कीबास बाटो खोल्छौँ भनेको धेरै समय बितेपनि अझै समस्या उस्तै रहेको उहाँले गुनासो गर्नुभयो । “बाटो खोल्छौ भनेको यति समय बिते, प्रदेशका मुख्य व्यक्ति आउनेजाने गरेकै छन्, तर खोल्ने सुरसार छैन, अब त बाटो खुल्ने आशा पनि मरिसकेको छ”, उहाँले भन्नुभयो ।

लुम्बिनीमा राखे धेरै सहज हुने जनाउँदै चौलागाईँले थप्नुभयो, “यहाँ घरको भात खाएर साइकलमा गएर नागरिकता बन्छ, मालपोतको काम हुन्छ, उहाँ कहाँ घुमेर पुग्नुपर्छ, सरकारलाई आग्रह छ । हाम्रा लागि कि बाटो खोलिदेऊ नत्र लुम्बिनीमा मिलाइदेउ ।”

त्रिवेणी–दुम्कीबास सडक नखोलेसम्म त्रिवेणी क्षेत्रका दुई वडाका बासिन्दाको भलाइ नहुने वडा नं ६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । बाटो नखुल्दा आफ्नै पालिका पुग्नसमेत कठिन अवस्था रहेको उहाँले बताउनुभयो । बाटो नखोल्ने र गण्डकीमा रहने हो भने यहाँका जनतालाई कुनै भलो नहुने उहाँको तर्क छ ।

“पालिका जान ४० किलोमिटर पर पुग्नुपर्छ, त्यसमा दाउन्नेको जोखिमपूर्ण यात्रा गर्नुपर्ने उस्तै दुःख छ, गण्डकीमा हुँदासम्म राजनीतिक, आर्थिक र सामाजिक हिसाबले यहाँका जनताको कुनै भविष्य छैन”, वडाध्यक्ष शाहले भन्नुभयो, “यहाँका दुई वडालाई लुम्बिनी प्रदेशमा गाभिँदा बरु जनताको भलो ।”

त्रिवेणी–दुम्कीबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठान गरिरहेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । यो सडक समग्र विनयी त्रिवेणीको र गण्डकी प्रदेशको भविष्यसँग जोडिएकाले सडक खोल्नुको विकल्प नभएको उहाँले बताउनुभयो । त्रिवेणी क्षेत्रका स्थानीयको सहजता, समग्र पालिका र प्रदेशको आर्थिक विकाससँग त्रिवेणी–दुम्कीबास सडक जोडिएकाले यसलाई खुलाउने विषयमा प्रदेश, सङ¬्घ र स्थानीय सरकार एक भएर लाग्नुपर्ने बताउनुभयो ।

गत शुक्रबारमात्रै त्रिवेणी आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले त्रिवेणी–दुम्कीबास सडक खोल्न उच्च प्राथमिकता दिने बताउनुभएको थियो । प्रदेश सरकारले कोरला–त्रिवेणी जोड्ने लक्ष्य राखेकाले दक्षिणतर्फको भारतसँग जोडिएको त्रिवेणीनाकालाई खोल्न लागिपरेको उहाँले बताउनुभयो । “गण्डकी प्रदेश सरकारको प्रमुख दायित्व र प्राथमिकतामा यो बाटो खोल्ने र गजेन्द्रमोक्षधामबाट मुक्तिनाथसम्मको यात्रा सरल र सहज बनाउने रहेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यसका लागि म मेरो पूर्ण शक्ति लगाउँछु ।” निकुञ्ज र वन ऐनका कारण सडक निर्माणमा समस्या उत्पन्न भएकाले देखिएका समस्याको समाधानसँगै प्रारम्भिक चरणका काम क्रमशः गर्नुपर्ने उहाँले बताउनुभएको थियो ।

नवलपुरको दुम्कीबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्दछ । बगुवनसम्म अहिले पनि यातायात सञ्चालन हुने गर्दछन् । बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर पर्दछ । यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले वन्यजन्तुको चरिचरन क्षेत्र बताउने गरेको छ । मध्यवर्ती क्षेत्र पर्ने र पुरानो हुलाकी सडक रहेको स्थानीयको भनाइ छ ।

विसं २०५९ अघि हुलाकी सडकका रूपमा रहेकामा यस खण्डमा विसं २०६३ मा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्रमोक्ष जनतामार्ग नामकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो । विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरनको क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीयको भनाइ छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

दमौली (तनहुँ), ७ माघ : तनहुँको आँबुखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । सङ्घीय सरकारले सुरुआत गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले उक्त कोषमा आबद्ध भएको हो । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका कोषमा आबद्ध भएको छ ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले शनिबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत गाउँपालिकाभित्र रहेका श्रमिक मजदुरलाई कार्यक्रममा समेटिने शर्माले जानकारी दिनुभयो ।सम्झौतापश्चात गाउँपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने वा आवश्यकतानुसार प्रणालीबाट हटाउनुपर्नेछ । गाउँपालिकामार्फत आबद्ध श्रमिकको तर्फबाट कोषमा जम्मा गर्नुपर्ने योगदान रकम सम्बिन्धत श्रमिकबाट कट्टा गर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको हकमा प्रतिश्रमिक नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिक ऐनको दफा ५ (२) र नियमावली ४ (२) अनुसारको सङ्घ र प्रदेश सरकारको सहयोगसहित नौ दशमलव ३७ प्रतिशत बराबरको रकम थप गरी कोषमा जम्मा गरेपछि लागू हुनेछ ।सामाजिक सुरक्षा कोषको तर्फबाट गाउँपालिकाभित्रका अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सूचीकरण, योगदान रकम जम्मा र अनलाइन प्रणालीबाट हटाउनेलगायतका कार्य गर्नका लागि कोषको प्रणालीको युजर आइडी प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ । त्यस्तै कोषमा आबद्ध भई नियमित योगदान गर्ने योगदानकर्तालाई अनौपचारिक र स्वरोजगार क्षेत्रको कार्यविधिबमोमिजको सुविधा भुक्तानी गर्ने र सामाजिक सुरक्षा योजना र सुविधाका सम्बन्धमा आवश्यक सचेतना कार्यक्रम गर्ने उल्लेख छ ।तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मिश्रतनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा वैकुण्ठनाथ मिश्र सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार मनोनयन दर्ताको कार्यतालिका रहेकामा मिश्र सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल निर्वाचित हुनुभएको छ । अध्यक्षमा मिश्र र मल्लको उम्मेदवारी परेको थियो । मल्लले अध्यक्षबाट उम्मेदवारी फिर्ता गरेर वरिष्ठ उपाध्यक्षमा मनोनयन गर्नुभएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएका सुवोध अधिकारीले पनि उम्मेदवारी फिर्ता गर्नुभएको छ । अध्यक्षमा निर्वाचित मिश्र अघिल्लो अधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो । त्यस्तै मल्ल अघिल्लो अधिवेशनमा प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।प्रथम उपाध्यक्षमा भने कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ (राक) को उम्मेदवारी परेको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिनुभयो । द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा भीमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । अन्य पदमा पनि सर्वसम्मतको पहल थालिएको छ । निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीउपर दाबी विरोध, यही माघ ८ गते छानबिन, १० गते उम्मेदवारी फिर्ता, १० गते नै अन्तिम नामावली प्रकाशन, १३ गते मतदानको कार्यक्रम रहेको छ ।

सरकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण, मन्त्री बस्नेतले भने – ‘हेलम्बुवासीको माग सम्बोधन हुन्छ’

सिन्धुपाल्चोक, ७ माघ : मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । शनिबार समितिले स्वास्थ्य तथा जनस¬ङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएको हो ।

मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर–व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति दिइनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको ‘लेबी’ उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु २० लाख अनुदान दिनुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लैजान नपाइने उनीहरूको भनाइ छ । उनीहरूले बाढीपीडितलाई आयआर्जनका कार्यक्रम लागू गर्नसमेत माग गरेका छन् ।

ध्यानाकर्षण हस्तान्तरण गर्दै समितिका अध्यक्ष पासाङ लामाले समितिको मागपत्र हेलम्बुवासीको अधिकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूले चाहनुभयो भने बाढीपीडितको सम्बोधन हुनसक्छ ।” समितिका उपाध्यक्ष नवराज गुरागाईँले मेलम्ची सुरुङबाट निकालिएको डम्पिङबाट हेलम्बुवासीको घरखेत गएको अवगत गराउनुभयो । हेलम्बुका २५ प्रतिशत व्यक्तिलाई समस्या भएको बताउनुभयो । बाढीपीडित सङ्घर्ष समितिका सचिव छिरिङग्याल्बो ह्योल्मोले मन्त्रिपरिषद्मा लगेर माग प्रस्तुत गरीदिन मन्त्री बस्नेतलाई आग्रह गर्नुभयो ।

पीडित सङ्घर्ष समितिको ध्यानाकर्षण बुझ्दै मन्त्री बस्नेतले मागलाई मन्त्रिपरिषद्मा लगेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्वता ब्यक्त गर्नुभयो । हेलम्बुका नागरिकको अधिकार स्थापित गराउनुपर्ने र सोका लागि पहल गर्ने उहाँको भनाइ छ । बाहुनेपाटीबाट हेलम्बुसम्मका लागि बहुबर्षे बजेट ल्याउन काम गर्ने उहाँले जानकारी दिनुभयो ।

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्तित भवनमा आगलागी भएको हो ।

घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम शुरु गरेको जानकारीमा आएको छ ।

चीनद्वारा अफ्रिकासँग पारस्परिक सहयोगमा जोड

चीनले अफ्रिकासँग पारस्परिक सहयोगलाई जोड दिएको चिनिया विदेशमन्त्रीले बताउनु भएको छ ।चीन सधैं अफ्रिकी जनताको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय मर्यादाको रक्षा गर्न प्रतिबद्ध रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार उल्लेख गर्नु भएको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले हालै इजिप्ट, ट्युनिसिया, टोगो र कोटे दि आइभोरलगायत चार अफ्रिकी मुलुकको भ्रमणपश्चात् सञ्चारकर्मीलाई जानकारी दिँदै उक्त टिप्पणी गर्नुभएको हो।

अफ्रिकी महाद्वीप ३४ वर्षदेखि हरेक वर्ष चिनियाँ विदेशमन्त्रीको पहिलो विदेश भ्रमणको गन्तव्य बनेको छ । यसले अफ्रिकालाई चीनले दिएको ठूलो महत्त्व र अफ्रिकाको विकास र पुनरुत्थानमा दृढ समर्थन रहेको देखाउँछ, वाङले भन्नुभयो।
चीन अफ्रिकाको बलियो मित्रता र विश्वासको कदर गर्ने वाङ्ले बताउनु भएको छ । चीनको मुख्य चासोका विषयहरूमा अफ्रिकी देशहरूले सबैभन्दा दृढ समर्थन प्रस्ताव गरेको वाङले उल्लेख गर्नु भएको छ । चीनले अफ्रिकी देशहरूको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न पनि दृढतापूर्वक समर्थन गर्ने उहाँको धारणा छ।

रुवाण्डामा सभा, सम्मेलनका कार्यक्रम बढ्दै

रुवाण्डामा बैठक, प्रोत्साहन, सम्मेलन र कार्यक्रमले सन् २०२३ मा उल्लेखनीय वृद्धि हासिल गरेको छ । ती क्षेत्रबाट अघिल्लो वर्षको ६४ मिलियन अमेरिकी डलरको तुलनामा ९१ मिलियन अमेरिकी डलरभन्दा बढी राजस्व आर्जन गरेको छ ।

रुवाण्डाले गत वर्ष १५० भन्दा बढी सम्मेलनहरू आयोजना गरेको थियो जसले राष्ट्रिय अर्थतन्त्रका लागि ९१ मिलियन अमेरिकी डलर भन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।

यसले देशको राम्रो छवि प्रस्तुत गरेको र रुवान्डाका जनताका लागि रोजगारीहरू सृजना गर्न सहयोग पुग्ने कार्यक्रम प्रवर्द्धक निकाय, रुवान्डा कन्भेन्सन ब्युरोका प्रचारका प्रभारी फ्रान्क मुराङ्वाले रुवान्डा टेलिभिजनलाई बताउनु भएको छ ।

यस्ता कार्यक्रमले सम्मेलन सुविधामा लगानी लगायत देशको पूर्वाधार विकासले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको र देशलाई ठूला अन्तरराष्ट्रिय सम्मेलनहरू आयोजना गर्न सक्षम बनाउन ठूलो भूमिका खेलेको मुराङ्वाको धारणा छ ।

भागबन्डा मिलाउन राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थप

काठमाडौँ । राजस्वले चालु खर्च धान्न नसकिरहेको अवस्थामा आर्थिक व्ययभार बढाउने गरी सरकारले राजनीतिक भागबन्डा मिलाउन राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थपेको छ । आयोग सदस्य ६ जना हुने व्यवस्था रहेकोमा गठन आदेशमार्फत एक थप गरिएको हो ।

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय योजना आयोग गठन आदेश संशोधन गरेर आयोगमा उपाध्यक्ष र एक महिलासहित सात सदस्य रहने व्यवस्था गरेको हो । यो गठन आदेशपछि आयोगमा अब सदस्य संख्या सात पुगेको छ । प्रशासनिक क्षेत्र सुधारसम्बन्धी आयोगले अनावश्यक दरबन्दी घटाएर खर्च कटौती गर्न सुझाव दिइरहेको अवस्थामा सरकारले त्यसको ठिक उल्टो अमूक दलका कार्यकर्तालाई जागिर दिन पद सिर्जना गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार सत्ता साझेदार दल जनता समाजवादी पार्टी ( जसपा) बाट एकजनालाई सदस्य बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन ) दोस्रो संशोधन आदेश, २०८० जारी गरेर अनुकूलता मिलाएका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

सामाजिक सञ्जाल र इन्टरनेटमार्फत १४ करोडभन्दा बढी राजस्व

काठमाडौँ । नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत १ करोड ६१ लाख र करबापत १२ करोड ७७ लाख रुपैयाँ कर बुझाएका छन् ।

गुगल, मेटा, एमाजोन, माइक्रोसफ्ट, नेटफ्लिक्स, लिंकडिन, जोहोलगायतले सो कर बुझाएका हुन् । टिकटक गत भदौदेखि ठुला करदाता कार्यालयमा दर्ता भएको भए पनि नेपालमा ब्यान्ड भएकाले सोको भ्याट नउठेको र सो कम्पनीको कर स्थगन अवस्थामा रहेको छ ।

आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स(डीएसटी)बापत गतअसोजसम्ममा १ करोड ६१ लाख रुपैयाँ बुझाएको ठुलो करदाता कार्यालयले जनाएको छ । ठुलो करदाता कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने १३ वटा कम्पनीले सो कर तिरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध

धरान- धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो ।

उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिकस्थलबाट सुर्तिजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने उल्लेख छ ।बजारमा जथाभावी सुर्तिजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिँदा फोहर बढेकाले प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले बताउनुभयो ।धरानका सडक, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिकस्थल जस्ता क्षेत्रमा सरसफाइ गर्दा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका सुर्ति, खैनी, गुट्खा, पानपरागका खोल अत्यधिक मात्रामा भेटिन थालेपछि यस्ता वस्तु प्रयोगमा रोक लगाउनुपरेको उपमहानगरपालिकाका सूचना अधिकारी टीकाराम निरौलाले जानकारी दिनुभयो ।

अधिकांश सहसचिवमा सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय

काठमाडौँ । शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश सहसचिवबिच सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय हुने गरेको छ । आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय पर्ने गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश सहसचिवको सरुवाको पहिलो रोजाइ गृह, अर्थ मन्त्रालय र त्यसपछि उद्योग मन्त्रालय हुने गरेको छ । मन्त्रालयको प्रशासन शाखाका प्रमुख भोजराज घिमिरेले सहसचिव सरुवाको माग गर्न आउँदा गृह र अर्थ मन्त्रालय नै माग्ने गरेको बताए । उनले गृह, अर्थ र उद्योगबाहेकका मन्त्रालय खासै रोजाइमा नपर्ने बताए ।

उनले भने, “क्षमताको राम्रो अभ्यास गर्न पाइने भएकाले अन्यभन्दा ती तीन मन्त्रालय सहसचिवको रोजाइमा पर्ने गरेको हो ।” उनका अनुसार कर्मचारीको मानसिकता सेवा अवधिमा कम्तीमा एक पटक प्रमुख जिल्ला अधिकारीको अनुभव लिनुपर्छ भन्ने भएकाले गृह मन्त्रालय र आर्थिक रूपमा नीतिगत व्यवस्थापनको काम गर्नका लागि अर्थ मन्त्रालय रोज्ने गरेका हुन् । ती मन्त्रालयमा जाँदा प्रशासनिक सुधार गर्दै काम गरेर आफ्नो भूमिका देखाउन पाइने उनको बुझाइ छ । सहसचिवको सरुवा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले गर्ने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

इटहरी उपमहानगरले पेट्रोलियम मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्‍यो

सुन्दरहरैँचा (मोरङ-इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।

“इटहरी उपमहानगरपालिकाले यो कामको सुरूवात भएको छ”, प्रमुख पौडेलले भन्नुभयो, “पहिलो चरणमा दुई वटा पुरानो मोटरसाइकललाई सम्याति इलेक्ट्रो व्हील्स प्रालिको सम्झौता गरी विद्युतीयमा रूपान्तरण गरिएको छ ।” सो कम्पनीका सञ्चालक ई आदित्य आचार्यले पेट्रोलबाट चल्ने मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्न सम्भव भएको बताउनुभयो ।

सङ्घीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पूरा गरेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले बताउनुभयो । इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याव समेत स्थापना समेत गरेको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याव स्थापना गरिएको नगर प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरीः सभापति लामिछाने

भरतपुर (चितवन)-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरी रहेको बताउनुभएको छ । सनिबार चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको सनिबार स्थलगत निरीक्षणपछि उहाँले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राख्नुभयो । उहाँले कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उहाँको जोड थियो ।

ठिमुरा पुल बन्न १० वर्ष लाग्नु लज्जाको विषय भएको बताउँदै उहाँले यसबारे आफूले खबरदारी गर्दै आएको दाबी गर्नुभयो । “देशमा विकास आयोजना निकै सुस्तगतिमा निर्माण भइरहेका छन् । ठिमुरा पुल एउटा उदाहरण हो । यो पुल बन्न १० वर्ष कुर्नुपर्ने थिएन”, उहाँले भन्नुभयो । लामिछानेले ठिमुरा पुल निर्माणका लागि यसअघिका सांसद र स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।उहाँले चितवनको सडक निर्माण, खानेपानी र विकासका आयोजनामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “पुल, बाटो बनाउन धर्ना र पैदल हिँडेर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आउनु राम्रो होइन । विकसित देश अन्तरिक्षको विकासमा प्रतिस्पर्धा गर्दैछन् । हामी पानी चाहियो, सडक बन्नुपर्‍यो भनेर जुलुस, धर्ना र ध्यानाकर्षण गर्दैछौँ”, उहाँले भन्नुभयो ।त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले आफूहरू देश बनाउने खाका लिएर हिँडेको बताउनुभयो । उहाँले आयोजना अलपत्र हुनु राम्रो प्रणाली बन्न नसक्नुको परिणाम भएको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष यादवलाई आक्रमण गर्नेलाई तत्काल पत्ता लगाउन नेता निधिको आग्रह

जनकपुरधाम- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई तत्काल पत्ता लगाउन प्रहरी समक्ष आग्रह गर्नुभएको छ ।

जनकपुरधाममा बिहीबार राति अज्ञात समूहको आक्रमणमा परी घाइते हुनुभएका अध्यक्ष यादवको अवस्थाबारे आज जानकारी लिएपछि नेता निधिले मधेस प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु रेग्मीलाई सम्पर्क गरी घटनालाई गम्भीररूपमा लिई तत्काल सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभयो ।प्रादेशिक राजधानीमै जनप्रतिनिधिमाथि आक्रमण हुनु र घटनास्थलमा प्रहरीको तत्काल उपस्थिति नहुनु चिन्ताको विषय भएको भन्दै नेता निधिले आफ्नो कामको सिलसिलामा निर्धक्क हिँडडुल गर्न चुस्त शान्ति, सुरक्षाको व्यवस्थाका लागि पनि प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।भेटघाटका क्रममा अध्यक्ष यादवले बिहीबार राति अस्पतालमा रहेका बिरामी आफन्तलाई भेटेर घर फर्किने क्रममा वडा नं ७ स्थित तपसीचोक नजिक आफूलाई घेरा हालेर आक्रमण गरिएको बताउनुभएको थियो । आफ्नो परिचय खुलाउँदा पनि मरणासन्न हुनेगरी आक्रमण गरेकाले घटना नियोजितरूपमा भएको देखिन आएको र त्यसबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले तदारुकताका साथ काम गर्नुपर्ने अध्यक्ष यादवको भनाइ थियो ।“मलाई रेकी गरेर आक्रमण गरिएको छ । तर आक्रमण किन र केका लागि गरियो भन्नेबारेमा अनुमान गर्न सकिरहेको छैन । त्यसकारण प्रहरीले सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गरोस्”, अध्यक्ष यादवले भन्नुभयो ।धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेग्मीले घटनाबारे जानकारी पाएलगत्तैदेखि प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो । रातिको समयमा घटना घटेको र अध्यक्ष यादवले समेत आक्रमणकारी कसैलाई नचिनेका कारण धेरै कुरा ठम्याउन कठिन भए पनि आफूहरूले उच्च प्राथमिकताका साथ घटनाबारे अनुसन्धान गर्ने र दोषीलाई उम्किन नदिने उहाँको भनाइ थियो । आक्रमणबाट अध्यक्ष यादवको हातको एउटा औँला भाचिएको छ भने शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । हाल उहाँको अवस्था सामान्य छ । 

हेर्नुहोस् माघ ७ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मीथुन राशि- सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि – पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीह? सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि – परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि- कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि – कार्य सम्पादनमा अ?को दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अ?लाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि- ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यह?मा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्र्थीक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि- अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वह?को अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि- भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनह?को साथसहयोगमा जटिल कार्यह? सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि- मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।

काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन

काठमाडौँ, ६ माघ : काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । यसरी आवेदन आएका र दक्ष कामदारलाई महानगरले नियमितरूपमा काममा खटाइरहेको प्रमुख राईले जानकारी दिनुभयो ।

अहिले काममा खटाइएका कामदार सम्पदा क्षेत्रको सरसफाइ र सम्पदाकै अन्य कामका लागि खटिएको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक एक सय ५० कामदार महानगरकै विभिन्न काममा खटिएको उहाँको भनाइ छ । आवेदनमध्ये कुनै सीप नभएकालाई सीप सिकाएरै काममा लगाउने तयारी भइरेको उहाँले जानकारी दिनुभयो ।

“यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण र सरसफाइ, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ”, प्रमुख राईले भन्नुभयो, “बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो ।” उहाँका अनुसार महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम, ज्यालादर, कामको प्रकार, फोन नं र श्रमिकको ठेगानालगायतका विवरण उल्लेख गरिएको हुन्छ ।

यसरी सूचीकृत भएका श्रमिकलाई आवश्यकतानुसार जोसुकैले पनि सीप क्षमताका आधारमा काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्न सक्नेछन् । चालु आवका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने हुन्छ ।

आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । श्रमिकले फारम भर्दा उक्त फारम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्छ । श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भने भएको हुनुपर्छ ।

‘वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ’:उपमहासचिव पुन

काठमाडौँ, ६ माघ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच आज यहाँ भएको अन्तरक्रियामा उहाँले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गर्नुभयो ।

उपमहासचिव पुनले भन्नुभयो, “संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको वर्तमान गठबन्धन सरकार मुलुकको अहिलेको आवश्यकता हो, विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प छैन ।” वर्तमान सरकार कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई मुलुकको आवश्यकतानुसार बनेको उहाँको भनाइ थियो ।पुनले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र सङ्घीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनवटै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा सातवटै प्रदेशको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको बताउनुभयो । ठूलो जनसङ्ख्या भएको मधेस र बागमती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभामा बराबर आठ जनाको प्रतिनिधित्व हुने भन्दै त्यसले प्रदेशको स्वार्थको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो । राष्ट्रियसभा सदस्य निर्वाचन यही माघ ११ हुँदैछ ।

‘नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ’ :मन्त्री बस्नेत

सिन्धुपाल्चोक, ६ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई मेडिकल शिक्षाको गन्तव्य मुलुकका रूपमा स्थापित गर्न सकिने बताउनुभएको भएको छ ।आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मेन्ज्ये गाउँमा ओग्र्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठा तथा उद्घाटन कार्यक्रममा बोल्नुहुँदै बस्नेतले एक सयदेखि तीन सय शय्यासम्मको अस्पतालमा नर्स र पारामेडिक्स पढाउने तथा तीन सयभन्दा बढी शय्याका अस्पतालमा डाक्टर पढाउने गरी योजना बनाइरहेको बताउनुभयो ।

कक्षा १२ सम्मको पढाइलाई निःशुल्क गर्ने तथा आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कुनै पनि नागरिकलाई बञ्चित नगरिने उहाँको भनाइ छ । स्वास्थ्य क्षेत्रमा ३२ हजारको सङ्ख्यामा नयाँ दरबन्दी आवश्यक रहेको उल्लेख गर्नुहुँदै बस्नेतले उक्त जनशक्ति व्यवस्थापनका लागि सरकारले आन्तरिक तयारी गरिरहेको बताउनुभयो ।

सिन्धुपाल्चोकवासीलाई आफूले चुनावका क्रममा गरेको प्रतिबद्धता पूरा गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । “चुनावका बेलामा जे–जे गर्छौँ भनेका थियौँ, त्यो पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । पाँच वर्षमा बोलेको भन्दा बढी काम गर्छौँ”, मन्त्री बस्नेतले भन्नुभयो, “मेलम्चीबाट हेलम्बु जाने बाटो निर्माणलाई र हेलम्बुमा वडास्तरका चारवटा अस्पताल बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ । वडामा बन्ने अस्पताललाई अत्याधुनिक ल्याबयुक्त बनाउने र सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन हुनेछ ।” त्यसैगरी मेलम्ची अस्पताललाई १५ शय्याको अस्पताल बनाउने पनि बस्नेतको भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्चीबाट हेलम्बुसम्म जाने बाटोको कहालीलाग्दो अवस्थामा रहेको उल्लेख गर्नुहुँदै उक्त सडकखण्ड निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक समन्वय र सहयोग हुन नसकेको बताउनुभयो । सडकको दूरावस्थाका कारण यहाँको उत्पादन बजारसम्म पुर्याउन कठिन भइरहेको उहाँको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले सिन्धुपाल्चोकका जनतासँग चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न सुरुआत गरिसकेको र त्यसले विस्तारै नतिजा देखाउने बताउनुभयो । प्रदेश सरकारले स्थानीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

ओर्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा २०६७ सालबाट निर्माण थालिएको थियो । स्थानीयको श्रमदान र विभिन्न व्यक्ति तथा संस्थाबाट भएको सहयोगबाट निर्मित उक्त गुम्बाको आज उद्घाटन भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रचार–प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

काठमाडौँ, ६ माघ : नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

“राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो”, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ मा हुने निर्वाचनका लागि पार्टीका उम्मेदवारसँग छलफल भएको थियो ।

राष्ट्रियसभाका रिक्त हुन लागेका कूल १९ सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् ।

बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ, ६ माघ : युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा संस्थापक राष्ट्रका रूपमा नेपालको सहभागिता रहनु हाम्रा निम्ति खुसीको विषय हो । विश्वमा थुप्रै समस्या गम्भीररूपले देखापरेका बेला सम्मेलन आयोजना भयो, यो निकै महत्त्वपूर्ण छ । भूराजनीतिक जटिलता, रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन युद्ध, कोरोना महामारीबाट विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभाव, जलवायु परिवर्तनका कारण मानव जातिले बहोर्नुपरेका समस्या तथा कमविकसित मुलुकले भोग्नुपरेका चुनौतीका सन्दर्भको सङ्घारमा ‘नाम’ सम्मेलन भएको छ ।

यी सबै समस्या समाधानका निम्ति नामले पहलकदमी र नेतृत्व लिनुपर्छ । नामको आवश्यकता र महत्व पहिलेभन्दा बढेको छ । पश्चिमा देशले कयौँ प्रतिबद्धता व्यक्त गरे, तर पूरा गरेका छैनन् । कमविकसित देशको भलाइ वा जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका निम्ति उनीहरूले गरेको प्रतिबद्धता पालना भएका छैनन् । बरु विभिन्न प्रकारका समस्या सिर्जना भएका छन् । यो परिस्थितिमा नामले आफ्नो पहलकदमी र नेतृत्व बढाउनुपर्छ । शक्तिशाली आवाज घन्काउनुपर्छ । संयुक्त राष्ट्रसङ्घलाई पनि सोहीअनुसार अघि बढाउन बल गर्नुपर्छ । विश्वको भूराजनीतिक स्थिति जटिल र चुनौतीपूर्ण छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । सन् १९५५ मा वाङडुङमा सम्पन्न सम्मेलनबाट नामको बिजारोपण भयो । त्यतिबेलादेखि नै नेपालले असंलग्न आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएको छ । असंलग्न आन्दोलनसँगको प्रतिबद्धता निरन्तर कायम छ । यस्तो परिस्थितिमा नेपालले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । नामलाई अझ सशक्त बनाउनुपर्छ । शीतयुद्धको विशेष परिस्थितिमा असंलग्न आन्दोलन जन्मियो । अहिले विश्वमा शीतयुद्धको भन्दा पनि अझ गम्भीर र जटिल परिस्थिति देखापरेको छ । असंलग्न आन्दोलनको आवश्यकता पनि बदलिएको परिस्थितिमा झन् बढेको छ । यसलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्ने आवश्यकता खड्किएको छ । शीतयुद्धसँग मात्रै जोडेर असंलग्न आन्दोलनलाई हेर्न उचित हुँदैन । उपनेविशीकरण, नवउपनिवेशीकरण र शक्ति राष्ट्रको हैकमविरुद्ध आवाज तथा सङ्घर्ष अहिले पनि त्यत्तिकै आवश्यक छ ।

त्यसकारण असंलग्न आन्दोलनको आवश्यकता पहिलेभन्दा बढेर गएको छ । शिखर सम्मेलनमा धेरै सरकार प्रमुख तथा राष्ट्रप्रमुखले नामको आवश्यकता झन् बढेको छ भनेर सामूहिक ढङ्गबाट अभिव्यक्ति प्रकट गर्नुभएको छ । संसारले असंलग्न आन्दोलनमार्फत जनता, समानता र सामाजिक न्यायको पक्षमा आवाज उठाउनुपर्छ भन्ने महसुस गरिएको छ ।

असंलग्न आन्दोलनको संस्थापक मुलुकमध्ये कतिपय दक्षिणी मुलुक अहिले विकसित पनि भएका छन् । प्रविधि र अर्थतन्त्रमा उल्लेख्य सफलता हासिल गरेका छन् । उनीहरूका बीचमा आपसी सहयोग पनि बढ्नुपर्छ । असंलग्न आन्दोलन स्थापना गर्दा जुन ‘भावना’ थियो, त्यो कायम हुनुपर्छ । कसैले पनि दोहोरो नीति देखाउन हुँदैन र आफ्नो धारणा प्रष्ट पार्नुपर्छ । एक सय २० भन्दा बढी राष्ट्र संलग्न भएको संस्था जसमा तेस्रो विश्वका विकसित मुलुक पनि छन् । यी सबैले एकीकृत र सङ्गठित ढङ्गले आवाज उठायो भने शान्ति, स्थिरता र मानव जातिको सुन्दर भविष्यप्रति धेरै गर्न सक्छन् भन्ने शिखर सम्मेलनमा व्यक्त भएका विचार र प्रतिबद्धताले प्रष्ट पारेका छन् ।

युद्ध र शान्ति जहिले पनि मानव जातिको इतिहासमा निकै नै चुनौतीपूर्ण विषय बन्दै आएको छ । शान्तिको आवाज जब विश्वभर घन्किन्छ, युद्ध चाहनेहरु कहीँ न कहीँ पछि हट्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । शान्तिको आवाज विश्वभरबाट असंलग्न आन्दोलनले घन्काउने हो भने युद्धको खतरालाई रोक्न सकिन्छ । शिखर सम्मेलनमा दिएको वक्तव्यमा पनि मैले शान्तिका दूत गौतमबुद्धको देशबाट शान्तिका निम्ति अपिल गर्न आएको छु भनेको थिएँ । जहाँजहाँ युद्ध भएको छ, त्यहाँ वार्ता र संवादका माध्यमबाट शान्तिमा रुपान्तरण गर्नुपर्छ । गौतमबुद्ध जन्मेको देश हुनुका नाताले शान्तिको निम्ति पहल र अपिल गर्ने नेपालको ठूलो जिम्मेवारी छ ।

शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका अध्यक्षले पनि महत्त्वपूर्ण अपिल र प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसबाट राष्ट्रसङ्घमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ । नामका सदस्य राष्ट्र र राष्ट्रसङ्घले सामूहिक ढङ्गले अपिल गर्दा विश्व शान्तिको पक्षमा वातावरण बनाउन धेरै ठूलो योगदान पुग्छ ।

असंलग्न आन्दोलनको सदस्य हुनुको नाताले नेपाललाई विशेष जिम्मेवारी थियो । आन्दोलनलाई फेरि सशक्त, एकीकृत र केन्द्रिकृत गरेर लैजान सहयोग गर्ने जिम्मेवारी पूरा गरेका छौँ । यसमा नेपाल र नेपालीले गर्व गर्न सक्छौँ । हाम्रो अपिल दुनियाँले राम्रोसँग सुनेको छ । नामको १९औँ सम्मेलन, राष्ट्रसङ्घको महासभा, कोप–२९, विश्व खाद्य सङ्गठनको सम्मेलनमा जुन अपिल गरिएको छ, त्यसको अत्यन्तै राम्रो प्रभाव परेको छ । नेपाललाई धेरै चिन्न, बुझ्न र सुन्न थालेको महसुस भएको छ । यो नेपाल र नेपालीका निम्ति खुसीको विषय हो ।(असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुने क्रममा युगान्डाको कम्पालामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरिएको कुराकानीमा आधारित)

गरिब बस्तीमा जाडो छल्न ‘घूर’ र ‘चटाइ’

महोत्तरी, ६ माघ : कठ्याङ्ग्रिँदो यो जाडो छल्न यहाँका पराले झुप्राका गरिब बस्तीमा ‘घूर’ (पातपतिङ्गर बटुलेर सल्काइएको आगो) र परालका लुइँठा बटारेर बनाइएका चटाइ नै सहारा बनेका छन् । ‘घूर’ का वरपर बसेर तातिएको अनुभूति लिन र सुत्दा चटाइको सहाराले उज्यालो पर्खने गरिब बस्तीको नियति नै बनेको छ ।

भङ्गाहा नगरपालिका–३ सकरी मुसहरीटोलकी रामराजी सदा ससाना नानीलाई पराले चटाइ ओढाएर सुताउने प्रयत्न गर्नुहुन्छ । जाडो छल्ने यिनै चटाइ पनि सबै परिवारका सदस्यलाई ढाक्नेगरी जोहो गर्न नसकिएको रामराजीको व्यथा छ । “चटाइ पनि दुईमात्र छन्, नानीहरु कसैगरी निदाए भने आपूmहरु तिनै निदाएको हेरेर सन्तोस गरिन्छ”, रामराजी भन्नुहुन्छ, “अब आधा माघ कटेपछि घाम देखिने भन्ने आश छ ।”

यो सकरी मुसहरीटोलकी रामराजीको मात्र व्यथा नभई जिल्लाका सबैजसो भेगमा बसोबास गर्ने आम मुसहरको व्यथा हो । मुसहरमात्र नभएर यहाँका बाँतर, मेस्तर, डोम, दुसाध र हलखोर जाति समुदाय आर्थिक अवस्थाले अत्यन्त पछि देखिन्छन् ।

बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ÷चौडाइका झुप्रा गरिबको घर संसार हुन् । “हजुर, हाम्रो चिसो छल्ने यही सहारा हो”, बलवा नगरपालिकाको भगवतीपुर बस्तीकी करिब ६० वर्षीया पुरनी सदा मुसहर भन्नुहुन्छ, “रात कटाउन पराल र चटाइ छ, उज्यालो भएपछि घूर हुन्छ ।” लगातार बढ्दै गएको चिसोले बिहानै मजदुरी गर्न जान नपाएपछि खाने कुराको पनि समस्या बढेको पुरनीको थप पीडा छ । रामराजी, पुरनीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी हेमकली बाँतरको पनि पीडा उस्तै छ । “न खाने कुरा यो भन्ने छ, न ओढ्ने, बस्ने लुगा”, ५० वर्षीया हेमकलीले भन्नुभयो, “हामी गरिबलाई हेर्ने कोही छैनन्, यसपालिको जाडोबाट बाँच्न कठिन छ ।”

महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । यीमध्ये भङ्गाहा, गौशाला, औरही, बर्दिबास र लोहारपट्टि नगरपालिकामा अन्यभन्दा बढी मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति समान नै देखिने भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ ।

मुसहर जिल्लाका सबै स्थानीय तहमा रहे पनि बाँतर बस्ती भने भङ्गाहा नगरक्षेत्रमा मात्र छन् । आफ्नो नगरक्षेत्रमा मुसहर र बाँतरको एक ठाउँ गणना हुँदा फरक÷फरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह स्वीकार गर्नुहुन्छ । जिल्लामा अहिले मुसहर, बाँतर दुवै मिलाएर ४० हजारको हाराहारी जनसङ्ख्या पुगेको छ । त्यसमा मुसहरको २७ हजार तीन सय ५२ रहेको पछिल्लो राष्ट्रिय जनगणना तथ्याङ्क–२०७८ ले देखाएको छ ।

करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्नेको सङ्ख्या ५० कटेको छैन । विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाउँमा यी समुदायका बालबालिकाको नाउँ विद्यालयमा लेखिए पनि गरिबी र अभावले टिक्न सक्दैनन् । “सबै स्थानीय तहमा दैवीप्रकोप उद्धार कोष छ, प्रत्येक जिल्लामा सरकारका मुख्य प्रतिनिधि मानिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति छ”, नेपाल सरकारको सहसचिवबाट सेवानिवृत्त हुनुभएका भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल भन्नुहुन्छ, “सेवानिवृत्त भएर घर बसेको २० वर्ष हुन लाग्यो, कहिल्यै प्रकोपको पूर्वतयारी कसैले गरेको देखिँदैन ।” सेवाप्रदायक निकाय उत्तरदायी हुन नसक्दा सालसालै चिसोकै कारण ज्यान जाने र दीर्घरोगले ग्रसित हुने बढिरहेका भुजेलको भनाइ छ ।

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा नेपाली सेनाको श्री नयाँ सबुज गण निरीक्षण

चितवन, ६ माघ : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज नेपाली सेनाको श्री नयाँ सबुज गण भरतपुरको निरीक्षण गर्नुहुँदै गणले सुरक्षा, उद्धार र विपद् व्यवस्थापनलगायतका काममा खेलेको भूमिको प्रसंशा गर्नुभएको छ ।

रक्षामन्त्री खड्काले मध्य पृतना हेडक्वार्टर नं ७ वाहिनी अड्डा अन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको बताउनुभयो ।

“यस गणका गतिपतिबाट आज प्रस्तुत भएअनुसार भरतपुर विमानस्थलको धावनमार्ग विस्तार र वैकल्पिक सडक निर्माणका लागि सेनाको स्वामित्वमा रहेको ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये करिब १९ बिगाहा चार कठ्ठा चार धुर जग्गा उपलब्ध गराउनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । उहाँले नेपाली सेनाबाट निर्मित केही भौतिक संरचनाहरु समेत स्थानान्तरण गर्नुपर्ने हुँदा यस सम्बन्धमा विभिन्न सरोकारवाला निकायबीच आवश्यक समन्वय र सहकार्य जरुरी छ भन्नुभयो ।

यस प्रक्रियामा रक्षा मन्त्रालय र नेपाली सेनाको तर्फबाट सम्बन्धित सरोकारवाला निकायसँग छलफल र परामर्श भइरहेको र सबैको सहयोगले यो विषय चाँडै निष्कर्षमा पुग्ने उहाँको भनाइ थियो । यसअघि विमानस्थलको धावनमार्ग विस्तारका लागि नेपाली सेनासँग जग्गा माग गरिएको थियो । त्यहाँ रहेको घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने योजना छ ।
भरतपुर महानगरपालिकाको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कासहित नेपाली सेना यस विषयमा सकारात्मक देखिएसँगै विमानस्थल विस्तारको कार्यले सकारात्मक रूपमा अघि बढ्ने देखिएको हो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई विमानस्थल विस्तारका लागि आफू सकारात्मक रहेको बताउनुभएको थियो । भरतपुर विमानस्थलको धावनमार्ग छोटो हुँदा साना जहाजले मात्रै उडान र अवतरण गर्दैै आएका छन् । धावनमार्ग विस्तार गरेर ठूला जहाज उडान गर्न सकेमा रात्रिकालीन उडान र सस्तो भाडादरमा आवतजावत गर्न सकिने अपेक्षा गरिएको छ । धावनमार्गका आसपासमा संरचना बनेकाले यो विमानस्थललाई तराईको जोखिमयुक्त विमानस्थलका रूपमा लिइन्छ ।

खड्काले सो अवसरमा मध्यपृतना हेडक्वार्टर नं ७ बाहिनी अड्डाअन्तर्गत रही तैनाथ यस गणले भरतपुर विमानस्थल सुरक्षाका साथै जल उद्धार, सडक दुर्घटना, विपद्जन्य परिस्थितिबाट सिर्जित सडक अवरोध हटाउने कार्यमा खेलेको भूमिका सराहनीय भएको बताउनुभयो । राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्र नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा समेत संयुक्त राष्ट्रसङ्घको झण्डामुनि रहेर शान्ति स्थापनामा विशेष योगदान गर्दै आएको रक्षामन्त्री खड्काले बताउनुभयो ।

नेपाली सेनाको यस योगदानले नेपाल र नेपालीको शीर उँचो बनाएको भन्दै उहाँले सेनाको व्यावसायिक क्षमतालाई उच्च राख्न नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचनाको निर्माण तथा आधुनिक सैन्य उपकरणको व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

“नेपाली सेनामा रही काम गर्ने सबै राष्ट्रसेवकको मनोबल र उत्प्रेरणालाई उच्च राख्न सरकारले प्राथमकिता दिएको छ । आगामी दिनमा राज्यको क्षमता र साधन स्रोतले भ्याएसम्म नेपाली सेनाको थप सुदृढीकरणका लागि विभिन्न व्यवस्था गर्दै लगिनेछ”, उहाँले भन्नुभयो ।

नेपाली सेनाले सीमित स्रोत, साधन र सुविधाको बाबजुद हिमाल, पहाड र तराई सबैतिर खटिएर अहोरात्र राष्ट्रको सुरक्षामा खटिएको भन्दै कार्यसम्पादनका क्रममा सेनाले भोगेका समस्या र अप्ठ्यारालाई सरकारले महसुस गरेको उहाँले बताउनुभयो । ती समस्या तथा अप्ठ्यारालाई आगामी दिनमा सरकारको क्षमताले भ्याएसम्म क्रमशः सम्बोधन गर्दै जाने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

सरकार सुशासनको मार्गचित्रसहित राष्ट्रिय कार्ययोजनाको तयारीमा छ – कार्यवाहक प्रधानमन्त्री खड्का

नारायणगढ (चितवन) ६ माघ : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सुशासनको मार्गचित्रसहितको राष्ट्रिय कार्ययोजनाको तयारीमा रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रशिक्षण शाखा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को आयोजना र नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्तापूर्व)को संयोजनमा तीन दिने प्रशिक्षक प्रशिक्षणको आज गैँडाकोटमा उद्घाटन गर्दै उहाँले सरकारले एक महिनाभित्र सुशासनको मार्गचित्रसहित कार्ययोजनाको घोषणा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो अभियान लागू भएको दुई–तीन महिनापछि धेरै विषयमा सेवाग्राहीले धेरै ठूलो पीडाबाट मुक्ति पाउने र सरकारबाट पाउनुपर्ने सेवा सुविधा पाउन थाल्यौँ भन्ने खालको आशा, भरोसा र विश्वासको अवस्था सिर्जना गर्नेगरी काम अगाडि बढाउँदैछौँ ।”

उहाँले दैनिक सेवाग्राहीले सरकारी कार्यालयमा ढिलासुस्तीका कारणले पाउने दुःख र समस्याको सुधार हुँदै गएको र यसको पूर्ण सुधारका लागि सरकारले कार्ययोजनाका साथमा काम गरिरहेको बताउनुभयो । चाँडै नै सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने गरी सरकार अगाडि बढेको बताउनुभयो ।
भन्दै उहाँले यसमा राजस्व बढी भयो भन्ने गुनासोको सुनुवाइ भएको र जनताकोे चित्त बुझाउने गरी राजस्व घटाउने तयारीमा सरकार रहेको बताउनुभयो ।

त्यस अवसरमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपालमा नीति बनाउने क्रममा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउनुभयो । कांग्रेसले विभिन्न समयमा उल्लेख्य योजनाका साथ काम गरेकोे तर यसको तत्थ्याङ्क नराख्दा जश अरुले पाउने गरेको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री तथा नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्रध्वज जिसी, कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनाल, गण्डकी प्रदेश प्रशिक्षण विभागका डा कुस्माखर न्यौपानेलगायतले पनि सो अवसरमा मन्तव्य राख्नुभएको थियो ।

प्रशिक्षण नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गाउँपालिकाबाट एक महिलासहित चार र नगरपालिकाबाट एक महिलासहित पाँच गरी ४५ जना सहभागी हुने कांग्रेस नवलपरासी (बर्दघाट सुस्तापूर्व)का उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

आइएमएफद्वारा घानाको आर्थिक पुनरुत्थानका लागि ६० करोड अमेरिकी डलर स्वीकृत

घानाले आर्थिक पुनरुत्थानका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ६० करोड अमेरिकी डलरको कोष स्वीकृति प्राप्त गरेको छ ।आइएमएफको निर्णय घानाले आफ्नो आधिकारिक ऋणदाताहरूसँग एक हप्ता अघि आफ्नो बाह्य ऋणको पुनः संरचना गर्नका लागि सम्झौता गरेपछि यो निर्णय बाहिर आएको हो ।

“कार्यक्रम अन्तर्गत घानाको प्रदर्शन बलियो छ। पहिलो समीक्षाका लागि सबै मात्रात्मक कार्यसम्पादन मापदण्डहरू र प्रायः सबै सूचक लक्य्ाहरू र संरचनात्मक ट्र्याकमा छन्,” आइएमएफले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

“६ सय मिलियन डलरले हामीलाई कार्यक्रमको आवश्यकताहरू अनुरूप बजेट कार्यान्वयनलाई समर्थन गर्न थप वित्तीय सहजता दिलाउछ । हामी सन् २०२६ सम्ममा हाम्रो क्रेडिट योग्यता सुधार गर्न खर्च नियन्त्रण र राजस्व उत्पादन सुधार गर्न जारी राख्नेछौं,” घानाका अर्थमन्त्री केन ओफोरी-अटाहले भन्नु भएको छ ।

घाना, कुनै समय अफ्रिकाको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्रहरू मध्ये एक थियो । तर पछिल्लो समय बढ्दो मुद्रास्फीति, विनिमय दरको उतारचढाव, र जीवनयापनको बढ्दो लागतले गर्दा गम्भीर आर्थिक सङ्कटग्रस्त बनेको छ।

घानाको सरकारले गत मे महिनामा आइएमएफबाट ३ अर्ब डलर ऋणको स्वीकृति प्राप्त गरेको थियो । अर्थतन्त्रलाई सुधारतर्फ डोर्याउन यो कदम महत्त्वपूर्ण मानिएको थियो ।

एपिएफलाई टाइगर कप राष्ट्रिय भलिबलको उपाधि

कास्की, ६ माघ : विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा आयोजना भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को उपाधि चुमेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरि न्यूडायमण्ड क्लब काठमाडौँलाई सोझो सेटमा पराजित गरी साविक विजेतासमेत रहेको एपिएफ च्याम्पियन बनेको हो । यससँगै एपिएफले उपाधिमा ह्याट्रिक गर्न सफल भयो ।

उपाधिसँगै एपिएफले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको न्यूडायमण्ले रु दुई लाख ५५ हजार पाँच सय ५५ मा चित्त बुझायो । एपिएफले पहिलो सेटको खेल २५-२०, दोस्रो सेट २५-१८ र अन्तिम सेट २५-२१ ले डायमण्डलाई हराएको हो ।

विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा एपिएफले दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पिन बनेको थियो । महिलातर्फ प्रतियोगितामा छ टोलीले सहभागिता जनाएका थिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।

मुग्लिन–पोखरा सडक विस्तारका लागि दमौलीका घर भत्काउन सुरु

तनहुँ, ६ माघ : मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु गरिएको छ । भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैँले भत्काउन सुरु गरेका हुन् ।

घर भत्काइसकेपछि दोस्रो किस्ता भुक्तानी गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली बजार क्षेत्रका घरको क्षतिपूर्तिका लागि करिब रु छ करोड खर्च हुनेछ । “सबै जनाले पहिलो चरणको मुआब्जा लिएमा ६० प्रतिशत वितरण सकिन्छ, अबको डेढ महिनाभित्र दमौली बजार क्षेत्रका घर भत्किइसक्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

जिल्लाको बन्दीपुर गाउँपालिकास्थित डुम्रेबजार क्षेत्रबाट सडक विस्तार तीव्रगतिमा अघि बढेकाले त्यसपछि दमौली बजार क्षेत्रमा काम गरिने उहाँले बताउनुभयो । घरधनी स्वयंले घर भत्काउने भएकाले आयोजनाले उनीहरूलाई घर भत्काउन ताकेता गर्ने, समय– समयमा बैठक बस्ने र नगरपालिकाले पनि भत्काउनका लागि प्रोत्साहन गर्नेलगायतका काम भइरहेको उहाँले बताउनुभयो ।

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमीमा कालोपत्र सम्पन्न भएको हो । पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिनुभयो ।

आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमीमा कालोपत्रको काम भएको । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्नका लागि बेस हाल्ने काम भइरहेको छ ।

पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनसँग रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको हो । एकचालीस दशमलव ४५ किलोमिटर दूरीको यो खण्डको काम आगामी वैशाखसम्म सक्नुपर्ने सम्झौता छ ।

त्यसैगरी पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइ काइयुन हाइवे एन्डब्रिज कम्पनीले गरिरहेको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौड्यालले जानकारी दिनुभयो ।

विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको छ । पूर्वी खण्डको तुलनामा कम उक्त खण्डमा हालसम्म १४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

एकीकृत समाजवादीको आम्दानी करिब आठ करोड

काठमाडौँ, ६ माघ : नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ । सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा रु सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार रु २१ लाख ८७ हजार आठ सय ९८ रकम बचत भएको छ । चालु आवको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल रु एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ । पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिनुभयो ।

बालाजुमा वार्षिक तीन करोड लिटर पानी पुनःभरण हुने

काठमाडौँ, ६ माघ : काठमाडौँ महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब रु तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली निर्माण गरेको छ ।

सो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । कामपाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको नगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘रिचार्ज’ प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ च्याम्बर, दुई पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र सात (९० फिटका) बाँसको छेकबार (चेक ड्याम) बनाइएको छ । यसको निर्माण कार्य गएको वैशाखमा निर्माण कार्य सुरु गरिएको थियो । उक्त प्रणालीको लागत रु ४३ लाख ६० हजार रहेको छ ।

“सहरमा पानीको अभाव छ, बर्खाको पानी बगेर खेर जान्छ, हिउँदमा पानीको अभाव हुन्छ, यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवद्र्धन गरिरहेका छौँ”, उपप्रमुख डङ्गोलले भन्नुभयो, “काठमाडौँमा सबैभन्दा धेरै पानीको अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनःभरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।”

तीव्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यसप्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ । परम्परागतरुपमा काठमाडौँवासीले पानीका प्रमुख स्रोतका रुपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गथ्र्यो । पछिल्लो समयमा अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । पछिल्लो समय वर्षा छोटो अवधिमा अधिक हुने हुनाले प्राकृतिकरुपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ ।

यस अवस्थामा पानीको अभाव कम गराउन व्यक्तिव्यक्तिको तहमा पुनःभरणका विषयमा चिन्तन आवश्यक देखिएको उहाँ बताउनुहुन्छ ।

पुँजीगत खर्च बढाउन सरकार लागेको छ : मुख्यमन्त्री पाण्डे

त्रिवेणी (नवलपरासी), ६ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुँजीगत खर्च बढाउन सरकार लागेको बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पाण्डेले पुँजीगत खर्च गत वर्षको भन्दा बढाउन प्रदेश सरकार लागिपरेकोे बताउनुभएको हो ।

सुरुका पाँच–छ महिना प्रक्रियामै जाने गरेकामा यसलाई थप व्यवस्थापन गर्दै खर्च बढाउन गण्डकी प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । “विगतमा पनि सुरुका पाँच–छ महिनाको खर्चको अवस्था कम नै हुँदोरहेछ तर पहिले जस्तै हुनुपर्छ भन्ने छैन,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “हामी पुँजीगत खर्च बढाउन लागेका छौँ, यस वर्ष खर्च केही बढाउँछाँै ।” बहुवर्षीय बाहेकका ठेक्का अहिले बल्ल लाग्न थालेकाले अब खर्च क्रमशः बढ्दै जाने उहाँले बताउनुभयो ।

“हेर्दा असारे विकास भन्नेजस्तो देखिए पनि अहिले ठेक्का लागेका योजनाको प्रायःजसो भुक्तानी वैशाखपछि हुँदोरहेछ, त्यतिबेला खर्च बढ्छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “तर वैशाखपछि विपद्बाहेक कुनै पनि नयाँ योजनामा हामी पैसा विनियोजन गर्दैनौँ भनेका छौँ ।” पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नै प्रदेशमा अन्य प्रदेश हुँदै जानुपर्ने बाध्यता हटाउने विषयमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभयो । गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको त्रिवेणी नाका पुग्न लुम्बिनी प्रदेश हुँदै जानुपर्ने अवस्था रहेकामा दुम्किबास–त्रिवेणी सडक खण्डको निर्माणका लागि आफूले सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

यसका लागि सङ्घ सरकारले समेत अप्ठ्यारो फुकाई दिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । “गण्डकी प्रदेशको एउटा भूभाग जान दोस्रो प्रदेश भएर जानुपर्ने ठीक भएन, हामीले हाम्रो प्रदेशको कुनै पनि भूभागमा आफ्नो प्रदेशबाट जान पाउनुपर्छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “निकुञ्ज सङ्घ सरकार मातहतमा पर्छ, सङ्घ सरकारले हामीलाई परेको अप्ठ्यारो फुकाई दिनुपर्छ ।” नवलपुरको दुम्किबास–त्रिवेणी सडक चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जले आवश्यक सहजीकरण गरिदिनुपर्ने समेत मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

आर्थिक दृष्टि र व्यापारिक हिसाबले केही फाइदा लिन सकियोस् भनेर गण्डकी प्रदेशको त्रिवेणीनाका भारतसँग जोडिएको भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “तर यो बाटो खुलेन भने संविधानले परिकल्पना गरेको र जुन उद्देश्यका लागि प्रदेशको सिमाना त्रिवेणीसम्म पु¥यायौँ त्यसको कुनै फल प्राप्त गर्न सक्दैनौँ, त्यो उद्देश्य पनि प्राप्त गर्न सक्दैनौँ, त्यसकारण यो बाटो पहिले खोल्नुपर्छ ।”

टर्किएले काबुल विरुद्ध गतिविधि गर्न अनुमति दिँदैन

अफगानिस्तानका लागि टर्किएका राजदूत सेन्क अनालले अफगान राजनीतिक मामिलाका लागि अफगान उपप्रधानमन्त्री मौलावी अब्दुल कबीरसँगको भेटमा अङ्काराले अफगान सरकारविरुद्ध राजनीतिक र सैन्य गतिविधिलाई अनुमति नदिने बताउनु भएको छ ।

अफगानिस्तानको टोलोन्युजले अफगान सरकारको विज्ञप्तिलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।भेटका क्रममा उहाँहरू बीच कृषि, विद्युत, खानीलगायतका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् ।

पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’

गण्डकी, ६ माघ : संयोग र सौभाग्य दुवै मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक लाग्छ । यस्तै लागेको थियो गत कात्तिक १३ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पनि ।

यहाँ आउने पूर्ववत् कार्यक्रम त थिएन, तर नेपाल भ्रमणका क्रममा पोखरा आएका महासचिव गुटेरेस त्यसदिन यहाँको धार्मिक पर्यटकीय गन्तव्य बन्दै गरेको पुम्दीकोट उक्लिनुभयो । शिवजीको विशाल मूर्ति हेर्दै भित्र पस्नुभएका यी विशिष्ट पाहुनाको स्वागतको पर्खाइमा थिए सुन्दर पोखरा र सेता हिमाल । उहाँ बारम्बार हिमाल र फेवाताल चियाउनुहुन्थ्यो र मुहार उज्यालो पार्नुहुन्थ्यो । त्यो दृश्यले महासचिवको मन पनि लोभ्याएको तथ्य उहाँको हर्षित मुहारमा पढ्न सकिन्थ्यो ।

दिउँसो ४ः३० बजे यहाँ आइपुुग्नुुभएका महासचिव गुटेरेसलाई स्वागत गर्न तयारी अवस्थामा हुनुहुन्थ्यो, पोखरा महानगरका प्रमुख धनराज आचार्य र महादेवको मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल । साथमा पोखरा महानगरपालिका वडा नं २२ का वडाध्यक्ष हिमलाल बराल पनि पुग्नुभयो ।

गुटेरेस दृश्यावलोकन गर्दै विशाल मूर्ति परिसरको दक्षिण पश्चिम कुनामा पुुग्नुुभयो । त्यो कुनाबाट अविचलित हेरिरहँदा लाग्थ्यो उहाँलाई त्यस कुनाले मोहनी नै लगाएको थियो । केहीबेरको हेराइपछि उहाँ मूर्ति परिसरको माथिल्लो तल्लामा पुुग्नुुभयो । त्यहाँबाट पनि दृश्यहरू नियालीरहँदा उहाँ निकै हर्षित मुुद्रामा देखिनुुहुन्थ्यो । उक्त तलाबाट दृश्यावलोकनसँगै विभिन्न विषयमा जानकारी लिएका गुटेरेस त्यहाँबाट झर्नुुभयो । पुनःअघि हेरैकै कुनामा फर्किएर दोहोर्‍याएर हिमालसहितको पोखरा आँखामा कैद गर्नुभयो । त्यहाँबाट फर्किएका गुटेरसको मन अझै रमाएको थिएन । फेरि तेस्रो पटक पनि त्यही कुनामा पुुग्नुुभयो ।

उहाँ त्यस कुनाबाट देखिने अलौकिक दृश्य चियाउँदै हुनुहुन्थ्यो भने उहाँको स्वागतार्थ त्यहाँ उपस्थित सबैजना गुुटेरेसलाई चियाउँदै थिए । पछि उहाँ लोभिएको त्यो कुनातर्फ नै सबैको ध्यान पुग्यो । त्यही कुनालाई पुम्दीकोट विकास समितिले ‘गुुटेरस प्वाइन्ट’का रुपमा विकास गर्ने योजना बनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो विश्वकै अतिविशिष्ट व्यक्तिलाई मोहित बनाएको कुनालाई ‘गुटेरेस प्वाइन्ट’का रुपमा विकास गर्ने सोच अघि बढाइएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुुभयो ।

पुम्दीकोटको विशाल महादेव मूर्ति भएको परिसरको दक्षिण पश्चिम कुना जहाँबाट हिमाली शृङ्खलाहरू एकसाथ देख्न सकिन्छ । यहाँबाट विभिन्न ११ वटा हिमशिखर एकसाथ अवलोकन गर्न सकिन्छ । यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूणर् प्रथम, सात हजार नौ सय ३७ मिटरको अन्नपूणर् दोस्रो, सात हजार पाँच सय ५५ मिटरको अन्नपूणर् तेस्रो, सात हजार पाँच सय २५ मिटरको अन्नपूणर् चौथो, सात हजार चार सय ८५ मिटरको खाङसारकाङ र सात हजार दुई सय ९१ मिटरको अन्नपूणर् दक्षिण हिमाल देख्न सकिन्छ ।

त्यस्तै छ हजार नौ सय ९७ मिटरको माछापुच्छ्र्रे, छ हजार नौ सय ८३ मिटरको लमजुङ, छ हजार चार सय ४१ मिटरको घान्द्रुक हिउँचुली र पाँच हजार सात सय ८१ मिटरको मर्दी हिमाल अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो अतिविशिष्ट व्यक्ति पुुम्दीकोटमा पुुगेबाट नै आफूूहरू गौरवान्वित भएको बताउनुुहुने पुम्दीकोट विकास समितिका अध्यक्ष बराल उहाँले निकै अभिरुचिपूर्वक फर्कीफर्की गएर त्यहाँबाट हिमालसहितको पोखरा नियाल्दा आफूहरूलाई हर्षित बनाएको बताउनुुहुन्छ ।

महासचिव गुुटेरेसले करिब ४५ मिनेट पुम्दीकोटमा बिताउनुुभएको पुुम्दीकोट कोट विकास समितिका व्यवस्थापक रुद्र पौडेलले बताउनुुभयो । पुम्दीकोट आउने पूर्ववत् कार्यक्रम नरहेको र एक घण्टाकै अन्तरालमा कार्यक्रम बनी उहाँ आउनुुभएको पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुसार गुुटेरेस आउने भएपछि तत्कालै हेलिप्याडको वैकल्पिक व्यवस्थालगायत विषयमा समेत छलफल गरिएको थियो । उहाँ अन्ततःगाडीमा नै पुम्दीकोट पुुग्नुुभएको थियो । उक्त क्रममा गुुटेरेसले पुम्दीकोटको व्यावसायिक प्रवद्र्धनमा जोड दिनुपर्ने सुुझाउनुुभएको उहाँले जानकारी दिनुुभयो ।

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्मित ५१ फिट अग्लो महादेवको विशाल मूर्ति यतिखेर पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको छ । समितिले सुुरुमा १०५ फिटको उठेको स्वरुपको महादेवको मूर्ति राख्ने लक्ष्य लिएकामा नागरिक उड्डयन प्राधिकरणको सल्लाहमा बसेको स्वरुपको ५१ फिट उचाइको मूर्ति जडान गरिएकोे हो ।

मूर्ति निर्माणसँगै पुम्दीकोटमा बढ्दै गएको स्वदेशी एवं विदेशी पर्यटकको आगमनले आफूहरूलाई निकै उत्साहित बनाएको समितिका अध्यक्ष बरालले बताउनुुभयो । जनस्तरबाट निर्माण गरिएको महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको उल्लेख गर्दै बरालले हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको बताउनुुभयो । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना अनुुरुपका कामलाई अघि बढाइरहेको छ । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १३ किमी दूरीमा रहेको यस स्थानमा आएका पर्यटकले विशाल मूर्तिको अवलोकनसँगै यहाँबाट बृहत् पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूणर्जस्ता हिमशृङ्खला नाङ्गो आँखाले हेर्दछन् ।

देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने समितिको विश्वास छ ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने विसं २०७८ मा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको अध्यक्ष बरालले जानकारी दिनुुभयो ।

समितिले बृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन, गुरुमहाराज आश्रमसँगै नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिने गरी संरचना निर्माण गरिसकिएको छ । विशाल मूर्ति रहेको स्थान कैलाश र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने समितिको कार्ययोजनासमेत छ ।

त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, बगैँचा आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्ग आदि स्थापना भइसकेको छ भने परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माण गर्ने समितिको सोच छ ।

पोखरा आउने स्वदेशी एवं विदेशी पर्यटकले नछुटाउने गन्तव्य पुम्दीकोट बनेको समितिका सदस्य मातृका बरालले बताउनुुभयो । पछिल्ला समयमा पोखरा आएका विशिष्ट एवं अतिविशिष्ट व्यक्ति पुम्दीकोट पुुग्दा आफूहरू हर्षित भएको उहाँले बताउनुुभयो । “संयुक्त राष्ट्रसङ्घका महासचिवजस्ता अतिविशिष्ट व्यक्तिको पुम्दीकोटमा भएको आगमनले यहाँको विश्वव्यापी प्रवद्र्धनमा महत्वपूूणर् योगदान पुुगेको छ”, उहाँले भन्नुुभयो ।

फेवातालसहितको पोखरा, अन्नपूणर्, माछापुच्छ्र्रेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिने पुम्दीकोटमा महादेवको मूर्ति स्थापना गरिएसँगै बजारका विभिन्न स्थानबाट माछापुच्छ्रे्रको काखैमा महादेव ध्यानमग्न भएजस्तो देखिनुुले यहाँको सौन्दर्यतालाई थप उजागर गरेको छ ।

पूर्वाधार निर्माणकै क्रममा हालै विशाल मूर्ति परिसरभन्दा यताको थुम्कोमा सुमेरु पर्वत निर्माण गरिसकिएको बरालले जानकारी दिनुुभयो । यसका लागि करिब रु दुई करोड खर्च भइसकेको र यस परियोजनामा बाँकी तीन करोड रुपैयाँ लगानी थप आवश्यक भएको उहाँले बताउनुभयो ।

पोखरामा आउने पर्यटकलाई साँझमा ‘लेजर लाइट’मार्फत महादेवको मूर्तिलाई पर्दा बनाइ शिव ताण्डव नृत्य, महादेवको शिवलीलासमेत प्रदर्शनी गरिने समितिको सोच छ । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्वत नामकरण गरी भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहँुचका लागि विद्युतीय चियर कार, ग्रिनरी पार्क, व्यवस्थित पार्किङस्थल निर्माण गर्ने विषय समेटिएको छ ।

विशाल मूर्ति स्थापनासँगै पुुम्दीकोटको महिमा र गरिमा चुलिँदा आसपासका सर्वसाधारण लाभान्वित बनेका छन् । पछिल्ला समयमा होटेललगायत पूर्वाधार एकपछि अर्को गर्दै थपिएका छन् । विगतमा गाउँ छोडेर सहर झर्नेहरू विशाल मूर्ति निर्माणसँगै बढेको पर्यटकीय आकर्षणले पुनः गाउँमा नै फर्कन थालेका छन् ।

राममय बन्यो जलेश्वर, घरदेखि चोकसम्म दीप प्रज्वलन गर्न आग्रह

जलेश्वर, ६ माघ : भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा आउँदो सोमबार (जनवरी २२ तारेख) का दिन हुन लागेको भगवान् रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर अहिले महोत्तरी सदरमुकाम जलेश्वर राममय भएको छ । जलेश्वरमा अहिले प्रत्येक घर, व्यापार, व्यवसाय, पसल, उद्योग, कारखाना र नगरभरि रहेका प्रत्येक पोलमा भगवान् रामचन्द्रको प्रतिमा अङ्कित झण्डा लगाउनुका साथै बिजुली बत्ती र फूलमाला लगाएर झकिझकाउ बनाइएको छ ।

त्यसैगरी जलेश्वरको प्रत्येक प्रतिष्ठान र घर परिवारमा अहिले ‘राम आँयेगें’ बोलको गीतले गुञ्जिएको छ । यसैबीच राम मन्दिरमा हुन लागेको भगवान् रामचन्द्रको प्राण प्रतिष्ठालाई लक्षित गर्दै जलेश्वर नगरपालिकाले आउँदो सोमबार नगभरिका सबै घर, मठ, मन्दिर, उद्योग, व्यापार, व्यवसाय, पसल, कलकारखाना र नगरभरिका सम्पूर्ण दोबाटो, चौबाटो तथा चोकचोकमा दीप प्रज्वलन गर्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरप्रमुख सुरेश साह सोनारले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नगरवासीमा राम भगवान्को प्राण प्रतिष्ठाको दिन खुसियाली मनाउन आग्रह गर्नुभएको हो । उहाँले हामी सम्पूर्ण व्यक्तिलाई माता जानकीको नगरवासी (मिथिलावासी) रहेको सङ्ज्ञा दिनुहुँदै हाम्रो लागि भगवान् रामको मन्दिरमा प्राण प्रतिष्ठाको दिन गौरव र सम्मानको दिन भएकाले सो दिनमा दीपावली मनाउनुको साथै खुसी साटासाट गर्न आग्रह गर्नुभएको छ ।

साथै जलेश्वर नगरपालिकाद्वारा आउँदो सोमबार जलेश्वर नगरपालिका क्षेत्रभित्र माछा, मासु र मदिराको सेवन तथा बिक्री वितरणमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ । सोही दिन जलेश्वरका युवाले पनि भगवान् रामचन्द्रको प्राण प्रतिष्ठाको दिनलाई स्मरणीय बनाउन सो दिनमा जलेश्वर नगरभरि रामचन्द्र र माता सीताको झाँकी निकाल्ने, रामनाम जापसहितको बाजागाजा र लावा लस्कर निकालेर नगरपरिक्रमा गर्ने, जलेश्वरनाथ महादेव परिसरमा दीप प्रज्वलन गर्ने, जलेश्वर नगरपालिका–१ स्थित बरुण सरोवरमा साँझपख गङ्गा आरती गर्ने, राति नगरभरि दीपावली गर्न लगाउनेलगायतका कार्यक्रम राखेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो ।