परिवर्तनको आह्वानका बीच इरानको निर्वाचनमा मतदाताहरूको समर्थनमा गिरावट


इरानको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा सुधारवादी र रूढिवादीहरू दुवैका लागि समर्थन घट्दै गएको विश्लेषकहरूले बताएका छन् । यद्यपि केही मतदाताहरूले एकमात्र सुधारवादी उम्मेदवारलाई समर्थन गरेर परिवर्तनका लागि जोड दिइरहेका छन् ।
गत महिना हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अतिरूढिवादी राष्ट्रपति इब्राहिम रायसीको स्थान लिनका लागि शुक्रबार भएको निर्वाचनमा सुधारवादी उम्मेदवार मसुद पेजेस्कियान र अतिरूढिवादी सइज जलिलीले नेतृत्व गर्नुभएको थियो ।
इन्टरनेसनल क्राइसिस ग्रुप थिङ्क ट्याङ्कका अली वेजले भन्नुभयो, “शुक्रबार भएको मतदानमा ऐतिहासिकरूपमा कम मतदान भयो, यसबाट सुधारवादी र रूढिवादीहरू दुवैको आधार धेरै सङ्कुचित भएको स्पष्ट भएको छ ।”
निर्वाचनको नेतृत्वमा पूर्वराष्ट्रपति मोहम्मद खतामी र उदारवादी हसन रुहानीको समर्थनमा इरानको मुख्य सुधारवादी गठबन्धनले पेजेस्कियानलाई समर्थन गर्यो ।
“सुधारवादीहरूले सबैभन्दा शक्तिशाली मानिस र सङ्गठन तयार गरे र आफ्नो आधारलाई परिचालन गर्न सक्दो प्रयास गरे तर यो बिल्कुल अपर्याप्त थियो”, सामाजिक सञ्जाल एक्समा वेजले भन्नुभयो, “यसैगरी जबर्जस्त स्रोतहरू परिचालन गरेर पनि रूढिवादीहरू पर्याप्त मत हासिल गर्न असफल भए ।”
जलिली र तेस्रो स्थानमा रहनुभएका रूढिवादी संसदीय सभामुख मोहम्मद बघेर गालिबफको संयुक्त भोट कूल एक करोड २८ लाख भएको बताउनुभयो । उक्त आँकडा सन् २०२१ को निर्वाचनमा रायसीको करिब एक करोड ८० लाख मतभन्दा धेरै कम थियो ।
छ करोड १० लाख योग्य मतदाताहरूमध्ये ४० प्रतशितले मात्र मतदान गरेका छन् । यसले इरानमा रेकर्ड कम मतदानलाई देखाउँछ र केही मानिसले यो प्रक्रियामा विश्वास गुमाएको देखाएको छ । निर्वाचनमा १० लाखभन्दा धेरै मत्र बदर भएका छन् ।
वेजका लागि सन् २०२१ बाट करिब ४९ प्रतिशतले मतदानमा कमीले सर्वोच्च नेता आयातुल्लाह अली खमेनीसँग अन्तिम राजनीतिक शक्ति भएको इरानमा नेतृत्वका लागि वास्तविक लज्जास्पद थियो ।
राजनीतिक टिप्पणीकार मोहम्मद रजा मनाफीले पेजेस्कियानको नेतृत्वले अर्थतन्त्र र बाँकी विश्वसँगको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ का लागि धक्कालाई देखाएको बताउनुभयो ।
“पेजेस्कियानको समर्थन गर्नेहरूले ‘कुनै चमत्कार वा द्रुत समाधानको अपेक्षा गर्दैनन्’ तर उहाँले विस्तारै स्थितिलाई बिग्रनबाट रोक्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो ।
बढ्दो मुद्रास्फीति, उच्च बेरोजगारी र अमेरिकी डलरको तुलनामा इरानी रियालको भाउमा कीर्तिमानी न्यूनतासँगै इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आर्थिक प्रभावसँग सङ्घर्ष गरिरहेको छ ।
इजराइल र तेहरानको सहयोगी हमासबीचको गाजा युद्ध र इरानको आणविक कार्यक्रममा कूटनीतिक तनावलाई लिएर बढ्दो क्षेत्रीय तनावका बीच पनि मतदान भएको छ ।
सन् २००८ देखि संसद्मा उत्तरपश्चिमी सहर ताब्रिजको प्रतिनिधित्व गर्नुहुने हृदयरोगका शल्य चिकित्सक पेजेस्कियान ‘आर्थिक भ्रष्टाचारको कुनै पनि आरोपबिना सफेद रेकर्ड’ का कारण शीर्षमा आउनुभएको मनाफीले बताउनुभयो ।
आधिकारिक आँकडामा पेजेस्कियानलाई ४२ दशमलव चार प्रतिशत र जलिलीलाई ३८ दशमलव छ प्रतिशत मत प्राप्त भएको छ ।
सुधारवादी नेता पेजेस्कियानले ‘इरानलाई उसको एक्लोपनबाट बाहिर निकाल्न’ का लागि वासिङ्टन र युरोपेली राजधानीहरूसँग ‘रचनात्मक सम्बन्ध’ गर्न आग्रह गर्नुभएको छ ।
यसको विपरीत जलिलीलाई उहाँको असहज पश्चिमविरोधी अडानका लागि व्यापकरूपमा चिनिन्छ । उहाँ पूर्व आणविक वार्ताकार हुनुहुन्छ र हाल इरानको सर्वोच्च सुरक्षा संस्था सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मा खमेनीका प्रतिनिधि हुनुहुन्छ ।
आफ्नो निर्वाचन अभियानका क्रममा उहाँले पश्चिमप्रति ‘कुनै सम्झौता होइन, कुनै आत्मसमर्पण होइन’ भन्ने नाराअन्तर्गत कट्टरपन्थी समर्थकहरूको एउटा ठूलो आधार तयार गर्नुभयो ।
उहाँले संयुक्त राज्य अमेरिका र अन्य विश्व शक्तिहरूसँगको सन् २०१५ को आणविक सम्झौताको दृढताका साथ विरोध गर्नुभयो । यसबाट प्रतिबन्धबाट राहतको बदलामा इरानको आणविक गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।
सो समयमा जलिलीले सम्झौताले आणविक स्थलहरूको निरीक्षणलाई स्वीकार गरेर इरानको ‘लाल रेखा’ को उल्लङ्घन गरेको तर्क दिनुभएको थियो । उक्त सम्झौता सन् २०१८ मा पतन भयो ।