`

‘अन्तर्राष्ट्रियस्तरमा महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासको अनुशरण गर्नुपर्छ’ – मन्त्री चौधरी

Nepal One HD १७ असार २०८१ १९:०३
राजनीति

काठमाडौँ, १७ असार : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयास अनुशरण गरी नेपालमा पनि प्रभावकारी काम गर्न आग्रह गर्नुभएको छ ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा निर्वाचित नेपालकी बन्दना राणालाई बधाई दिन आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका राम्रा प्रयासबाट सिक्दै नेपालमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न आग्रह गर्नुभएको हो ।
मन्त्री चौधरीले महिला अधिकारका क्षेत्रमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “महिला अधिकारका पक्षमा नेपालमा धेरै राम्रा प्रयासहरू भएका छन् तर अझै पनि हामीले थुप्रै काम गर्न बाँकी छन् । त्यसका निम्ति सबैको एकीकृत प्रयत्न हुन जरुरी छ”, उहाँले भन्नुभयो, “तपाईंले अन्तर्राष्ट्रिय रूपमा नेपालका तर्फबाट राम्रो काम गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय रूपमा भएका राम्रा प्रयासबाट सिक्दै नेपालमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न अनुरोध गर्दछु ।”

मन्त्री चौधरीले महिला अधिकार संरक्षणका लागि नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन भूमिका खेल्नसमेत आग्रह गर्नुभयो । “महिलाका क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरेका छौँ, संविधान, ऐन, कानुनले गरेका व्यवस्था कार्यान्वयन गर्न बाँकी छ । थप काम गर्नका लागि आर्थिक व्यवस्थापन पनि महत्वपूर्ण हुन आउँछ, त्यसैले यहाँहरुले महिला अधिकार संरक्षणका लागि लगानी भित्र्याउन पनि भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री चौधरीले अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने दोस्रो तहका महिला नेतृत्व उत्पादन गर्नतिर लाग्न राणालाई आग्रह गर्नुभयो ।

सिड कमिटी सदस्य राणाले लैङ्गिक समानताका लागि विद्यमान गलत मानसिकता सबैभन्दा ठूलो अड्चन रहेको बताउनुभयो । अझै पनि महिलालाई विभिन्न उपमा दिएर कमजोर बनाउने प्रवृत्ति रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालका तर्फबाट आफू सिड कमिटी सदस्यमा तेस्रो कार्यकालका लागि निर्वाचित भएकाले यसपटक आफूले अध्यक्ष पदका लागिसमेत तयारी गरेको जानकारी दिनुुभयो ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले मन्त्रालयअन्तर्गतका विभाग र महिला विकास कार्यालय खारेज हुँदा कार्यक्रम सम्पादन गर्न प्रदेश तथा स्थानीय तहमा निर्भर हुनुपरेकाले थुप्रै कठिनाइ झेल्नुपरेको गुनासो गर्नुभयो ।

अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै तेस्रोपटक विजयी हुनुभएको हो ।


प्रतिक्रिया