इन्डोनेसियामा फर्निचर गोदाममा आगलागी हुँदा एकै परिवारका पाँच जनाको मृत्यु

विश्व

इन्डोनेसियाको राजधानीको बाहिरी सहर बेकासीमा बुधबार बिहान फर्निचर गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रारम्भिक रिपोर्टअनुसार स्थानीय समयानुसार बिहान ६ः४५ बजे जटियासिह क्षेत्रमा घरभित्र आगलागी भएको थियो । आगो निभाउन कम्तिमा १२ वटा दमकल परिचालन गरिएको बेकासीको दमकल तथा उद्धार एजेन्सीका प्रमुख एसेङ सोलेहुदिनले बताउनुभयो ।
उहाँका अनुसार आगलागीबाट एक अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब ६१ हजार अमेरिकी डलर) बराबरको क्षति भएको छ । यसैबीच, जटियासिहका प्रहरी प्रमुख सुरोतोले आगलागी हुँदा सबै पीडित गोदामको स्नानगृहमा फसेको बताउनुभयो । पीडितहरू भवनबाट बाहिर निस्कन चाहन्थे, तर आगो तीव्ररूपमा फैलिन थालेको र बाहिर निस्कने बाटो अवरुद्ध भएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान जारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट