`

पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौँ, ३ माघ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ ।

मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । आगामी माघ २८ गते हुने २०औँ संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ परेका छन् ।

अवार्ड कार्यक्रम यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन पछाडि सारिएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताका आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिएको हो ।

फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन’ लिगको पहिलो वर्षमै विजेता बनाउनुका साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए ।

त्यस्तै विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङझावो सम्पन्न १९औँ एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए ।

काभा महिला भलिबल च्यालेन्ज कपमा कास्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् । शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् । टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् ।

यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।

 इसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत हुनेछ । भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ । भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि  सेवाप्रदायक कम्पनी इ–सेवासँग आज नै एक कार्यक्रमबीच सम्झौता भएको छ । इसेवाका तर्पबाट चिफ बिजनेस अफिसर आशीष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताउनुभयो । त्यसमा रु एक लाख बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्चले इसेवासँग लगातार चौथो वर्षको सहकार्य हो । मञ्चका अध्यक्ष सुवेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताउनुभयो ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् ।यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन दुई सय ५० र तीन वटा एन एक सय ६० मोटरसाइकल छन् अन्य विधाका विजेतालाई जनही रु ५० हजार र उपहार प्रदान गरिनेछ ।

रुससँग युक्रेनको युद्धविराममाथि ब्लिङ्केनद्वारा आशङ्का व्यक्त

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार युक्रेनमा युद्धविराममा पुग्ने विषयमा आशङ्का व्यक्त गर्दै रुसले आक्रमणको करिब दुई वर्ष बितिसक्दा पनि राम्रो विश्वास नदेखाएको बताउनुभएको छ ।

स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चमा उहाँको उक्त टिप्पणी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वैश्विक शान्ति शिखर सम्मेलनको प्रस्ताव गरेको एक दिनपछि आएको हो । प्रस्तावमा जेलेन्स्कीले कुनै पनि सम्झौताका लागि रुसले युक्रेनी क्षेत्र छाड्नुपर्ने उल्लेख गर्नुभएको छ ।

“मलाई यस्तो हुन्छ जस्तो लाग्दैन”, युद्धविरामको सम्भावनाका बारेमा ब्लिङ्केनले भन्नुभयो, “हामी सधैँ युद्धविरामका लागि खुला छौँ, युद्धविरामप्रति सचेत छौँ किनकी कसैले भन्दा धेरै युक्रेनी जनता यही चाहन्छन् तर त्यहाँ रुसको आक्रामकताले दिएको क्षेत्रीय अखण्डता, सम्प्रभुता र स्वतन्त्रता जस्ता चुनौतीका लागि रुसका तर्फबाट आधारभूत सिद्धान्तका आधारमा राम्रो विश्वासका साथ छलफल गर्ने इच्छा हुनुपर्छ ।”

“यदि रुस उक्त आधारमा वार्ता गर्नका लागि तयार हुन्छ भने उसले त्यसो गर्न चाहने युक्रेनीहरूलाई भेट्टाउने छ र निश्चितरूपमा अमेरिकाबाट समर्थन प्राप्त गर्नेछ”, विदेशमन्त्री ब्लिङ्केनले भन्नुभयो ।युक्रेनले रुसबाट पूर्वी क्षेत्रहरूलाई फिर्ता लिनका लागि सङ्घर्ष गरिरहेको र अमेरिकी कांग्रेसले राष्ट्रपति जो बाइडेनको अनुरोधअनुसार किएभलाई थप सैन्य सहयोगलाई अनुमति दिन ढिलाइ गरिरहेकाले युद्धविरामको माग बढेको छ ।

अमेरिकाले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु हुनुभन्दा पहिला रुससँग युक्रेनमा सुरक्षा चिन्ताका रूपमा वर्णन गरेको कुराबारे उल्लेख गर्दै ब्लिङ्केनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अभिप्रायमाथि आशङ्का व्यक्त गर्नुभयो । पुटिनले सो समयमा युक्रेनलाई नाटो गठबन्धनमा प्रवेशलाई लिएर चेतावनी दिनुभएको थियो ।

“तपाईंले मलाई विश्वास गर्नुपर्ने आवश्यकता छैन, मात्र राष्ट्रपति पुटिनले के भन्नुभयो त्यो पढ्नुहोस्, यो वास्तवमा त्यसको बारेमा कहिल्यै थिएन, यो सधैँ पुनः एउटा विशाल रुसलाई स्थापा गर्ने भव्य दृष्टिकोणका बारेमा थियो”, उहाँले भन्नुभयो ।

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक ढकाल

काठमाडौँ, ३ माघ : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२९२१११ र [email protected] इमेल ठेगाना मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो

काठमाडौँ, ३ माघ : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ ।

बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले वीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार बहिरङ्ग सेवा रु ५० र इमर्जेन्सी सेवाबापतको शुल्क रु एक सय कायम गर्ने निर्णय गरिएको छ । बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेबाट लागू गरिने उहाँले बताउनुभयो ।

यसअघि बहिरङ्ग सेवा शुल्क रु सय र इमर्जेन्सी सेवा शुल्क रु चार सय रहेको थियो । यस्तै बीमा बोर्डले कुनै पनि स्वास्थ्य सुविधा नलिएका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी कँडेलले नियमितरुपमा स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको बताउनुभयो ।

पाँच जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरेपछि रु एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका तथा ४८ लाख ५९ हजार पाँच सय १५ वीमितले नवीकरण गर्ने गरेका छन् ।

यसैगरी स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय पनि घटाउने निर्णय गरिएको छ । सूचना अधिकारी कँडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ । यसैगरी बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचारबापतको शोधभर्ना रकम दुई÷दुई महिनामा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

मलेखु (धादिङ), ३ माघ : धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् ।

आँखा वरपरको हड्डी भाँचिएको उपचारबारे कार्यशाला गर्दै तिलगङ्गा अस्पताल

काठमाडौँ, ३ माघ : तिलगङ्गा आँखा अस्पतालले आँखा वरपरको हड्डी भाँचिएको उपचारबारे जानकारी दिन प्रत्यक्ष प्र्रसारणसहित कार्यशाला गर्ने भएको छ ।

अस्पतालले यही बिहीबार आँखा र वरपरको हड्डी भाँचिएका तीन जना बिरामीको शल्यक्रियासहितको कार्यशाला आयोजना गर्ने जानकारी दिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा पूर्णिमा राजकर्णीकार स्थापितले दुई दिने कार्यशालाबारे जानकारी दिँदै सिङ्गापुरको नेसलन युनिभर्सिटी अस्पतालका डा गङ्गाधर सुन्दरको नेतृत्वमा कार्यशाला आयोजना हुने बताउनुभयो ।

डा सुन्दरको नेतृत्वमा डा पूर्णिमा, म्याग्जीलोफेसियल सर्जन प्रा डा आलोक सग्तानी र वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा डा रोहित सैजुको समूहले उक्त कार्यशाला सञ्चालन गर्नेछन् ।

उक्त समूहले आँखा र आँखाको वरपरको हड्डी भाँचिएका तीन जना बिरामीको शल्यक्रिया गर्ने छ । बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म गरिने शल्यक्रियालाई अस्पतालले प्रत्यक्ष प्रसारणमार्फत कार्यशालामा छलफल गरिनेछ । शल्यक्रिया प्रदर्शनसहितको कार्यशालाले ‘फ्र्याक्चर पुनःस्थापना’मा नेपालमै नयाँ आयाम थप्न भूमिका खेल्ने डा पूर्णिमाको भनाइ छ ।

“आँखा वरपरको हड्डी भाँचिएको पुनःस्थापना गर्नु एक जटिल र कठिन शल्यक्रिया हो”, डा पूर्णिमाले भन्नुभयो, “यसपटक ओस्टियोपोर सामग्रीको समेत प्रयोग गरेर फ्र्याक्चर पुनःस्थापना शल्यक्रियाको प्रत्यक्ष प्रसारण गरी छलफल गर्ने तयारी छ ।”

उहाँका अनुसार प्रत्येक वर्ष तिलगङ्गा आँखा प्रतिष्ठानमा करिब पाँच सय बिरामी आँखाको चोटको उपचारका लागि आउने गरेका छन् । जसमा औषतमा आधा जतिलाई शल्यक्रियाको आवश्यकता हुन्छ । विगत एक वर्षदेखि हामीले म्याक्जिलोफेसियल सर्जनसँग सहकार्य गरेर मान्यताप्राप्त टाइटेनियम प्लेट प्रयोग गरी जटिल फ्र्याक्चरसमेत पुनःस्थापना गर्दै आएका छौँ ।

प्रतिष्ठानमा सन् २००४ देखि प्रा डा रोहित सैजुद्वारा आँखा र वरपरको हड्डी भाँचिएको पुनःस्थापना शल्यक्रिया हुँदै आएको छ । विगत एक वर्षदेखि अस्पतालले म्याक्जिलोफेसियल सर्जनसँग सहकार्य गरी मान्यताप्राप्त टाइटेनियम प्लेट प्रयोग गरी जटिल फ्याक्चरसमेत पुनःस्थापना गर्दै आएको छ ।

सोही दिन सर्जिकल कार्यशाला समापन भएपछि ‘अर्बिटल ट्रमा’को चुनौतीबारे निरन्तर चिकित्सा शिक्षा सत्र आयोजना हुने अस्पतालले जनाएको छ । यस्तै, शुक्रबार आँखामा थाइराइड रोगले पार्ने अवसरबारे छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

“पछिल्लो समय थाइराइडको समस्या भएका मानिसहरु बढ्दै गएको र यसले आँखामा पनि प्रभाव पारिरहेको विशेषज्ञको अनुभव छ । उक्त सत्रमा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र हर्मोन रोग विशेषज्ञ सहभागी हुनुहुनेछ”, डा पूर्णिमाले भन्नुभयो । कार्यशालाले शल्य चिकित्सकको सीप र ज्ञान बढाउन सहयोग पु¥याउने उहाँको भनाइ छ ।

कार्यशालामा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र म्याक्सिलोफेसियल सर्जनसहित एक सय जनाको सहभागिता जनाउने अस्पतालको भनाइ छ ।

मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

जनकपुरधाम, ३ माघ : मधेस प्रदेश सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरिएका छन् । मधेस प्रदेश नामाङ्कन र प्रदेश राजधानी जनकपुर तोकिएको दिनलाई स्वाभिमान दिवसका रुपमा मनाउन आज जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

प्रदेशसभाको दोस्रो निर्वाचनपश्चात् विसं २०७९ पुस २९ गते जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार गठन भएको थियो । सरकारका उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन हुँदा प्रादेशिक सुशासन, विकास र समृद्धिका लागि गरेको प्रतिबद्धता पूरा गर्ने अठोटका साथ नीति, कार्यक्रम र प्राथमिकता निर्धारण गरी काम कारबाही अघि बढाइएको बताउनुभयो ।

उहाँले विभिन्न १० बुँदामा सरकारका उपलब्धि सार्वजनिक गर्नुभएको छ । यस अवधिमा नौ विधेयक प्रदेशसभामा पेश गरेको, तीन ऐन, दुई नियमावली, सात कार्यविधि र तीन निर्देशिका निर्माण भएको तथा तीन विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गरिएको उल्लेख गर्नुभयो ।

त्यसैगरी वित्तीय व्यवस्थापन र आर्थिक सुशासनका लागि महालेखाको निर्देशनअनुसार काम गरिएको, सवारी चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउन मेसिन खरिद प्रक्रिया प्रारम्भ भएको, लोकसेवा आयोगको मर्मअनुरुप नतिजालाई विश्वसनीय बनाउन अप्टिकल मार्क रिडरलगायतका प्रविधिबाट वस्तुगत बहुउत्तर उत्तरपुस्तिका परीक्षण गर्ने प्रणाली सञ्चालनमा ल्याइएको जनाइएको छ ।

यस्तै एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्राथमिकतामा राखी प्रदेशका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा गरी कूल तीन सय २० किमी पक्की सडक निर्माण भइरहेका, ३५ किमी सडक कालोपत्र, एक सय २४ किमी पक्की सडक ढलान, तीन सय किमी ग्राभेल सडक निर्माण, ४१ किमी नाला निर्माण, दुई सय ३३ कल्भर्ट निर्माण, ३७ किमी कच्ची सडक सुधार गरिएको जनाइएको छ ।

यस्तै समपूरक अनुदानअन्तर्गत सात सडक कार्यक्रम निर्माणाधीन अवस्थामा रहेका छन् । सिँचाइ सुविधा विस्तार, अस्पतालको स्तरोन्नति, सहरी क्षेत्रमा सरसफाइमा जनताको पहुँचवृद्धि गर्न ५४ सार्वजनिक शौचालय निर्माण र प्रदेशस्तरीय मोडयुलर प्रयोगशालाको स्थापना तथा सबै स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको तथा स्वास्थ्य सेवालाई थप विस्तार गर्न ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ पालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना र सञ्चालनमा ल्याइएको पनि सरकारको उपलब्धिमा उल्लेख छ ।

त्यस्तै मधेसको इतिहास लेखन कार्य शुभारम्भ, बेरोजगार युवामध्ये तीन हजारलाई सीप विकास तालिमसहित कम्तीमा तीन महिनाको रोजगारी दिने कार्य आरम्भ, उद्यमशीलता विकासका लागि पहल, हरित प्रदेश अभियानअन्तर्गत आठवटै जिल्लामा उच्च प्रविधि (हाइटेक) वन नर्सरी स्थापना गरी ६३ लाख ४५ हजार बिरुवा उत्पादन, दिगो वन व्यवस्थापनमा जोड, मधेस प्रदेशमा वन विकास तथा विस्तार गर्नका लागि समृद्धिका लागि वन परियोजना मार्फत २५ स्थानीय तहमा रु ५२ लाखका दरले बजेट विनियोजन, चुरे क्षेत्रको संरक्षण तथा नदी नियन्त्रणका लागिसमेत उल्लेख्य काम गरेको प्रदेश सरकारको दाबी छ ।

मधेस प्रदेशका आठवटै जिल्लामा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप तथा मानव सिर्जित विपद् पीडितका लागि सरकारले राहतको व्यवस्था गर्नुका साथै जनयुद्ध र मधेस आन्दोलनका सहिद परिवारलाई रु सात करोड ५२ लाख र मधेस आन्दोलनका घाइतेलाई रु ५८ लाख गरी कूल रु आठ करोड चार लाख आर्थिक सहायता प्रदान गरिएको समेत सरकारको उपलब्धिमा उल्लेख छ ।

आगामी तीन वर्षभित्र प्रदेशका सबै पालिकामा सिँचाइ सुविधा पुग्ने गरी विद्युतीकरण, कृषि व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी १० वर्षीय प्रादेशिक कृषि गुरुयोजना, चुरे संरक्षण कार्यक्रमलाई प्रदेश गौरव योजनाका रुपमा अगाडि बढाइने, सन् २०३० सम्म मधेस प्रदेशलाई बालविवाह मुक्त बनाउन १० वर्षे रणनीतिक योजना, स्वचालित सवारी चालक प्रणालीको विकास गरी अनुमतिपत्र, यसै आर्थिक वर्षभित्र नागरिकलाई स्वच्छ खानेपानी उपभोगका लागि ५० खानेपानी योजनाका कार्यक्रम सम्पन्न गर्ने र ११ औँ राष्ट्रिय खेल यसै प्रदेशमा सम्पन्न हुने गरि आवश्यक पूर्वाधार निर्माणलगायत विषयमा पनि प्रतिबद्धता जाहेर गरिएको छ ।

पर्यटनमन्त्री किरातीको एक वर्षमा एक सय एक काम

काठमाडौँ, ३ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक वर्षमा एक सय एक काम गरेको बताउनुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री किरातीले आफूले एक वर्षे कार्यकालमा नीतिगत र संरचनागत सुधारका लागि सकारात्मक प्रयास गरेको बताउनुभयो ।

“पद सम्हाल्दा धेरै चुनौती देखेको थिए । सुधारको प्रयास गरेको छु । अबको मुख्य काम नीतिगत र संरचनागत सुधार नै हो”, मन्त्री किरातीले भन्नुभयो । पदबहालीकै दिन माला खादा नलाउने र दुई देशबीचको सम्झौता हुने अवसरमा बाहेक विदेश नजाने घोषणा गर्नुभएका मन्त्री किरातीले स–साना कामबाट सकारात्मक सुधारको थालनी भएको उल्लेख गर्नुभयो ।

मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गौरव गर्न लायक ध्वजाबाहक बनाउने आफ्नो अठोट निरन्तर रहेको उल्लेख गर्नुभयो । उहाँले निकै कमजोर अवस्थामा रहेको निगमको अवस्था सुधारेर निगमको धुमिलिएको शाखलाई उँचो बनाउन प्रयास गर्ने उद्घोष गर्नुभएको थियो ।

पर्यटनमन्त्री किरातीले निगमको संरचनागत सुधार र प्रतिस्पर्धी बजारमा व्यावसायिक फड्को मार्ने गरी केही कार्ययोजना अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले निगमको आन्तरिक उडानका लागि तीन जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको बताउनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी जहाज भाडामा ल्याउने र क्षेत्रीय उडानका लागि साना जहाज पनि सोही प्रक्रियाबाट ल्याउने गरी काम सुरु गरिएको उहाँको भनाइ थियो । वर्षौंदेखि ग्राउण्डेड चिनियाँ जहाजको बिक्रीका लागि बोलपत्र आह्वान गरिसकेको मन्त्रीको प्रगति विवरणमा उल्लेख छ । यस्तै काठमाडौँबाट अष्ट्रेलियाको सहर सिड्नी उडानको अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले निगमको ऋणको साँवा र ब्याजबापतको करिब रु चार अर्ब किस्ता भुक्तानी गरिएको छ ।

पर्यटनमन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सक्रिय बनाई युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको बताउनुभयो । इयूको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको मन्त्री किरातीको भनाइ थियो ।

उहाँले श्री पशुपतिनाथ हिन्दू विश्वविद्यालय, पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालयको अध्ययन अघि बढाइएको र पर्यटन विश्वविद्यालयको मस्यौदा तयार भइसकेको जानकारी दिनुभयो । लुम्बिनीको तिलौराकोटलाई विश्वसूचीमा सूचीकृत गर्ने अन्तिम तयारी भएको पनि मन्त्री किरातीले बताउनुभयो ।

पुरानो गाउँको खोजी, नयाँ गन्तव्य प्रवद्र्धन, सम्पदा र संस्कृति संरक्षण तथा प्रवद्र्धनका काम अगाडि बढाइको उहाँको भनाइ छ । सरकारले घोषणा गरेको पर्यटन दशक कार्यान्वयनका लागि कार्यक्रम तय गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै, पर्यटन ऐन, संस्कृति ऐनलगायत नीतिगत सुधारका काम प्राथमिकताका साथ लैजाने मन्त्रालयले जनाएको छ ।

मन्त्रीको एकवर्षे प्रगति विवरणमा हवाई सुरक्षा अभिवृद्धि भएको, सम्पदा सरसफाइ अभियान प्रभावकारी बनाइएको, नेपाल तथा रुवान्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छ । स्वीट्जरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अघि बढाइएको उल्लेख छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ ।

‘केपी ओली कप, २०८०’ आगामी फागुन दोस्रो साता, युवा सङ्घ रचनात्मक क्रियाकलापमा सक्रिय छ – महेश बस्नेत

काठमाडौँ, ३ माघ : राष्ट्रिय युवा सङ्घ नेपालले आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म ‘केपी ओली कप २०८०’ को आयोजना गर्ने भएको छ ।

आज सङ्घले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्राविधिक केन्द्र, च्यासलमा हुने जानकारी दिएको छ । फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

सङ्घका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री महेश बस्नेतले युवा सङ्घ रचनात्मक क्रियाकलापमा सक्रिय रहेको र यस्ता गतिविधिले खेल क्षेत्रको विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्नेमा बताउनुभयो ।

खेलमा नेपालको ए डिभिजन तथा विदेशी टिमलाई समेत सहभागी गराइनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ११ लाख, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीलाई जनही रु ५० हजार र प्लेयर अफ द म्याचलाई रु १५ हजार प्रदान गरिने छ ।

गत वर्षको संस्करणमा एन्फाद्वारा सूचीकृत नेपालका आठवटा ‘ए डिभिजन’ टिममा स्वदेश तथा विदेशमा खेलाडीको सहभागिता थियो । प्रतियोगितामा मछिन्द्र फुटबल क्लब विजेता र सातदोबाटो क्लब उपविजेता भएका थिए ।

शिक्षा विधेयकमा धेरै कमजोरी रहेकाले पुनःलेखन गर्न विज्ञको सुझाव

काठमाडौं । समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बुधबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी शिक्षा क्षेत्रका विज्ञले समाजमा राजनीतिक दलमा आबद्ध नभएको मानिस भेटिन मुस्किल रहेको बताएका हुन् ।

छलफलमा सहभागी प्रा डा विद्यानाथ कोइरालाले विधेयकको उद्देश्य र कारणमा शिक्षा क्षेत्रलाई कुन ढङ्गबाट अघि बढाउन खोजिएको भन्ने दर्शन र सिद्धान्तबारे प्रष्ट उल्लेख गरिनुपर्नेमा जोड दिए । उनले भने, “अहिलेको शिक्षा र वातावरणले हामीलाई पक्षीय मानिस बनायो । विद्यार्थी र शिक्षक बनाउन सकेनौँ । विद्यालयमा पनि विद्यार्थीको राजनीतिक दल छ । शिक्षक र प्राध्यापकमा पनि राजनीतिक दल बनाइयो, अब त्यो गर्दैनौँ भनी वाचा गर्न आवश्यक छ ।”

विद्यालय र विश्वविद्यालयमा अत्यधिक राजनीतिकरण भएका कारण विद्यालयको पढाइ र विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्केको बताउँदै डा कोइरालाले सङ्घीय सरकारले ऐन बनाउने अधिकार नै नराख्ने धारणा राखे । उनले भने, “सङ्घीय सरकारले मापदण्ड मात्रै बनाउने कि ऐन नै बनाउने हो, त्यसबारे सोचौँ । संविधानको अनुसूचीमा मापदण्ड मात्र बनाउने अधिकार दिएको छ । अहिले हामी ऐन बनाउन दौडिरहेका छौँ । ऐन नै बनाउने हो भने प्रस्तावनामा केही दर्शनका कुरा राख्नुपर्छ ।” उनले कुन दर्शनबाट प्रेरित भएर काम गर्ने भन्ने ऐन व्यवस्था हुनुपर्ने बताए ।

“हाम्रा विभिन्न खाले दर्शन छन् । प्रस्तावनाको खण्डमा सिद्धान्तबारे पनि सोच्नुपर्छ । एक सय वर्षपछि उत्पादित विद्यार्थी प्रविधिमा कति खराट, ज्ञानको स्तर कति र कस्तो ? पुर्खाको योगदानले कति निरन्तरता पाँउछन्, सिर्जनशीलता कस्तो हुन्छ भन्ने स्पष्ट मार्गनिर्देश गरेको हुनुपर्छ”, उनले भने ।

ऐनमा विद्यार्थीले भोलि समाजलाई कसरी जोड्ला भन्ने विषयस्तुसँगै विद्यार्थीलाई पढाउन र सिकाउनका निम्ति शिक्षक कस्तो हुनुपर्छ भन्ने पाटो आउन जरुरी रहेको डा कोइरालाको भनाइ थियो । मुलुकमा आर्थिक विपन्नता भएकाले शिक्षकलाई अरु सुविधा दिन नसक्ने अवस्थामा बीमालगायतका समाजिक सुरक्षामा जोड्दै लैजान बुद्धिमानी हुने उनको सुझाव छ ।

उनले विद्यार्थीलाई पनि अनिवार्य बचत गर्ने बानी सिकाउँदै आत्मनिर्भर हुन प्रोत्साहन गर्न आवश्यक रहेको बताए । शिक्षा क्षेत्रमा राज्यले गर्ने लगानी यकिन गरी केन्द्र, प्रदेश र स्थानीय तहले खर्चको प्रतिशत ऐनमै किटान गरिनुपर्नेमा जोड दिए ।

शिक्षकलाई जिम्मेवार बनाउने हो भने विद्यालयको शिक्षक सबैभन्दा पहिला गुणस्तरीय हुनुपर्छ भन्दै डा कोइरालाले सुविधा दिने सजाय नहुने व्यवस्थामा सुधारको खाँचो औँल्याए । उनले निजी विद्यालयले पनि आम्दानीको कति प्रतिशत रकम लिन पाउने, कति अनिवार्य खर्च गरिनुपर्ने भन्ने स्पष्ट हुनुपर्ने बताए ।

उनले शिक्षालाई गुणस्तरीय बनाउन शिक्षकलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए । काठमाडौँका विद्यालयमा धेरै हुने तर बाहिर नहुने अवस्था हुन नहुने भन्दै उनले कतिपय सिकाइमा शिक्षकभन्दा विद्यार्थी अगाडि रहेको धारणा राखे ।

प्रा डा विनय कुसियतले प्रस्तावित शिक्षासम्बन्धी विधेयकममा धेरै कमी कमजोरी रहेकाले पुनःलेखन गर्न सुझाव दिए । उनले भने, “विधेयकलाई गुणस्तरीय तुल्याउँदै देशको शिक्षा क्षेत्रमा आमूल सुधार ल्याउने हो भने यसको शल्यक्रिया नै गर्नुपर्छ ।”

दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित

भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् ।दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १२० वटा उडानहरू प्रभावित भएका छन् । कुहिरो र अन्य परिचालन समस्याहरूका कारण बुधबार ५३ वटा उडानहरू रद्द गरिएको घोषणा गरिएको थियो ।

‘दिल्ली एयरपोर्ट फ्लाइट इन्फर्मेसन डिस्प्ले सिस्टम (एफआइडिएस)’ को तथ्याङ्कअनुसार १२० वटा प्रभावित उडानहरूमा ४४ वटा अन्तर्राष्ट्रिय ७६ वटा आन्तरिक लगायतका उडानहरू रहेका छन् । बुधबार बिहान आठ बजेसम्मको एफआइडिएसको तथ्याङ्कअनुसार १२० उडानहरू प्रभावित भएका साथै कुहिरो र अन्य कारणहरूले गर्दा कूल ५३ उडान रद्द गरिएको छ । रद्ध गरिएका उडानमा ३७ वटा आन्तरिक र १५ वटा अन्तर्राष्ट्रिय उडानहरू रहेका छन् ।

यसैबीच, बुधबार दिल्ली जाने करिब २० वटा यात्रुबहाक रेलहरू निर्धारित समयभन्दा ढिलो मात्र सञ्चालन भएका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार बुधबार बिहान ५ः३० बजे पन्जाब, हरियाणा, दिल्ली, पश्चिम राजस्थान, पश्चिम र पूर्वी उत्तर प्रदेशसहित देशका विभिन्न भागमा दृश्यता दुई सय मिटरभन्दा कम रेकर्ड गरिएको थियो ।आईएमडीका अनुसार बुधबार बिहान दिल्ली, पूर्वी राजस्थान, पूर्वी उत्तर प्रदेश , बिहार, पश्चिम बङ्गाल , अरुणाचल प्रदेश र असमका छुट्टिएका क्षेत्रहरूमा घना कुहिरो देखिएको थियो ।

जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना वेपत्ता

जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप १० जनाको ज्यान गएको जनाएको छ । वाजिमा शहर नोटो प्रायद्वीपमा गएको भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो ।

स्थानीय अधिकारीहरूले भूकम्पपछि तत्काल भएको आगलागीमा व्यापक क्षति बेहोरेको लोकप्रिय पर्यटकीय स्थल वाजिमाको बिहानी बजारको छेउछाउमा मृतकहरू फेला परेको बताएका छन् ।
उक्त क्षेत्रमा गत हप्तादेखि नै व्यापक खोजी र उद्धार कार्य भइरहेको थियो ।

भूकम्पमा परी वाजिमा शहरमा १७ र सुजु सहरमा चार जना गरी कूल २१ जना अझै वेपत्ता रहेका छन् ।स्थानीय सञ्चारमाध्यमले उपलब्ध गराएका विवरण अनुसार क्षति भएका घर तथा आवासहरूको सङ्ख्या २२ हजार ३७४ रहेको पुष्टि भएको छ । थप मूल्याङ्कनहरू गर्दा प्रभावित भवनहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने बताइएको छ ।

वाजिमा र सुजुका सहरहरूमा, क्षतिको परिमाण अझै धेरै पुष्टि भएको छ । वास्तविक अवस्था अझै पनि अस्पष्ट रहेको जापानको राष्ट्रिय समाचार संस्था (क्योदो)ले जनाएको छ ।

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ ।एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए ।

एएनएका अनुसार उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थलमा फर्काएका थिए । जापानी प्रसारक टीबीएसबाट प्रशारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफुलाई ‘पटक्कै केही याद नभएको’ बताइएको छ ।

यस घटनालाई ‘जोम्बी चलचित्रको सुरुवात’ सँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाबारे पोष्टहरू सार्वजनिक गरेका छन् भने केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाई घटनाको बारेमा दुःख व्यक्त गरेका छन् । जापानमा दुई हप्ताभन्दा कम समयमा चार अन्य घटनाहरू पत्रपत्रिकामा हेडलाइनमा बनेर आइसकेका छन् ।

गत जनवरी २ मा हानेदामा जापान एयरलाइन्सको विमान र सामुद्रिक सुरक्षार्थ खटिएको सुरक्षागार्डको सानो विमान ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा जेएएल एयरबसमा सवार सबै ३७९ जना विमानमा आगो लाग्नुअघि नै सकुशल झर्न सफल भएका थिए भने मध्य जापानमा गएको ठूलो भूकम्पपछि राहत कार्यमा सहयोग गरिरहेको सानो विमानमा सवार छ जनामध्ये पाँच जनाको मृत्यु भएको थियो ।

मङ्गलबार कोरियन एयरको विमानको पखेटा उत्तरी टापु होक्काइदोको विमानस्थलमा गुडिरहेको समयमा क्याथे प्यासिफिकको पार्किङ गरिराखेको विमानसँग ठोक्किएको थियो । कोरियन एयरका अनुसार भारी हिमपातका कारण ‘थर्ड पार्टी ग्राउन्ड ह्यान्डलर’ चिप्लिएपछि विमान दुर्घटना भएको हो ।

गत आइतबार सिकागो विमानस्थलमा डेल्टा एयर लाइन्सको विमानसँग एएनएको विमान ‘ठक्कर खाँदा’ पनि यस्तै दुर्घटना भएको जापानी एयरलाइन्सले एएफपीलाई जानकारी दिएको छ बोइङ ७३७–८०० विमानको ककपिटको झ्यालमा समस्या देखिएपछि एएनएको अर्को विमान शनिबार नै आकस्मिक अवतरण गर्नुपरेको थियो ।

सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीका उड्डयन विज्ञ डग ड्रुरीले एएफपीसँग भन्नुभयो, “ धेरै विमानस्थलहरूले निर्माण गरिएका भन्दा ठूला विमानहरू ह्यान्डल गरिरहेका छन् त्यसैले ‘विङ स्ट्राइक’ का घटनाहरू हुन्छन् ।”उहाँले भन्नुभयो, “उचाईमा तापक्रम अत्यधिक हुने भएकाले विमानमा तातो सन्तुलन प्रणालीमा खराबी आएका कारण झ्याल फुटेको हुन सक्छ ।”उड्डयन विज्ञ ड्रुरीले भन्नुभयो, “यो असामान्य कुरा होइन र मेरो क्यारियरको दौडान मैले पनि अनुभव गरेको छु ।

सरकार र एडिबीबीच ऋण र अनुदान सम्झौता

काठमाडौँ, ३ माघ : नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गर्नुभयो ।

सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौतापत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिँदै अर्थसचिव पुष्करले यो परियोजना कार्यान्वयन हुने पालिकाको वित्तीय तथा समग्र प्राकृतिक पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । महिला, सीमान्तकृत तथा अर्थसामाजिक रुपमा पिछडिएका समूहको लागि इन्टर्नसिप, सीप सुधार र स्थानीय कलालाई समर्थन गर्नमा पनि योगदान गर्ने उहाँको भनाइ छ ।

एडिबीका देशीय निर्देशक कोस्वाले आज सम्झौता भएका परियोजनाले सम्बन्धित पालिकाको पूर्वाधारमा सुधार, पर्यटन सम्पदाको पुनःरुत्थान र सुधारमा सहयोगी हुने अपेक्षा गरिएको बताउनुभयो । पूर्वाधार निर्माण र आर्थिक क्रियाकलाप सञ्चालनसँगै राजस्व वृद्धि, डिजिटल रूपान्तरण र स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धिका लागी सहयोग गर्ने उहाँको भनाइ छ ।

सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनःरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ ।

पाकिस्तान र इरानको हवाई सीमा बिवादमा दुई जनाको मृत्यु, तीन घाइते

इरान र पाकिस्तानबीचकोे हवाई क्षेत्र उल्लङ्घनको विवादका कारण पाकिस्तानमा दुई बालबालिकाको मृत्यु हुनुका साथै तीन बालिका घाइते भएको पाकिस्तानी विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

पाकिस्तानले इरानद्वारा आफ्नो हवाई क्षेत्रको उल्लङ्घनको कडा निन्दा गरेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । मन्त्रालयले देशको सार्वभौमिकताको यो उल्लङ्घन पूर्ण रूपमा अस्वीकार्य रहेको ठहर गर्दै यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ ।

पाकिस्तानको कडा विरोध तेहरानमा इरानी विदेश मन्त्रालयका सम्बन्धित वरिष्ठ अधिकारीसमक्ष दर्ता भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।पाकिस्तान र इरानबिच सञ्चारका धेरै माध्यमहरू अस्तित्वमा भएपनि यो अवैध कार्य चिन्ताको विषय भएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तानका लागि इरानी कार्यबाहक राजदूतलाई पाकिस्तानी विदेश मन्त्रालयमा बोलाई पाकिस्तानको सार्वभौमिकतामाथिको उल्लङ्घनका लागि कडा निन्दा गरिएको र यसबाट उत्पन्न परिणामको लागि इरान पूर्ण रूपमा जिम्मेवार हुने विज्ञप्तिमा जनाइएको छ ।

पाकिस्तानले सधैं आतङ्कवाद यस क्षेत्रका सबै देशहरूका लागि साझा खतरा भएको भन्दै यसलाई क्षेत्रीय सहकार्यमार्फत् सम्वोधन गर्न आवश्यक रहेको जनाएको छ । यस्ता एकपक्षीय कार्यहरू असल छिमेकी सम्बन्ध अनुकुल नभएको र यसले द्विपक्षीय विश्वासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने पाकिस्तानले बताएको छ ।

सन् २०२३ मा चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२ प्रतिशत कायम

चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो ।राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) बुधबार जारी प्रतिवेदनमा रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको जनाएको छ ।

सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर सन् २०२३ को डिसेम्बरमा ५.१ प्रतिशत रहेको र चीनका ३१ प्रमुख शहरको यो आँकडा पाँच प्रतिशत रहेको एनबीएसले जनाएको छ ।चीनको ग्रामीण आप्रवासी कामदारहरूको कूल सङ्ख्या अघिल्लो वर्षको तुलनामा १९ लाख १० हजार बढेर सन् २०२३ मा २९ करोड ७५ लाख ३० हजार पुगेको छ । उनीहरूको औसत मासिक आय एक वर्ष पहिलेको तुलनामा ३.६ प्रतिशतले बढेर चार हजार ७८० युआन (झण्डै ६७२ अमेरिकी डलर) पुगेको छ ।

विद्यार्थीबाहेक १६ देखि २४, २५ देखि २९ र ३० देखि ५९ वर्ष उमेर समूहका नागरिकको बेरोजगारी दर क्रमशः १४.९ प्रतिशत, ६.१ प्रतिशत र ३.९ प्रतिशत रहेको छ ।एनबीएसका प्रमुख काङ यीले भन्नुभयो, “विभागले १६–२४ उमेर समूहमा बेरोजगारी सर्वेक्षण गर्दा विद्यार्थीलाई समावेश गरेको छैन भने २५–२९ उमेर समूहको युवाहरूको बेरोजगारी स्थितिलाई ‘अझ सही र पूर्ण रूपमा’ प्रतिबिम्बित गर्न शुद्ध विद्यार्थीहरूको सङ्ख्यालाई कटौती गरेको छ ।

उहाँका अनुसार गत वर्ष १६ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशतभन्दा बढी विद्यार्थी शहरी क्षेत्रका बासिन्दा थिए ।नयाँ थपिएका २५ देखि २९ वर्ष उमेर समूहका लागि बेरोजगारीको तथ्याङ्कले स्नातक पछिका वर्षहरूमा युवाहरूका लागि रोजगारीको वातावरणलाई सङ्केत गर्न सक्छ, काङले भन्नुभयो ।

एनबीएसले मासिक आधारमा विद्यार्थीबाहेकको १६–२४, २५–२९ र ३०–५९ उमेर समूहको बेरोजगारी दर सार्वजनिक गर्ने गर्छ ।

‘समृद्धिका लागि नेपाल र भारतबीचको सहकार्य मजबुत हुनुपर्छ’ :उपराष्ट्रपति यादव

काठमाडौँ, ३ माघ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नजिकको छिमेकीका रुपमा नेपाल र भारतको विगत, वर्तमान र भविष्य जोडिएको बताउनुभएको छ । आफूसँग भेट गर्न आज लैनचौरस्थित उपराष्ट्रपति निवास पुग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उहाँले दुई देशका जनताको प्रगति र समृद्धिका लागि मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्ने बताउनुभयो ।

“भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रही आएको छ, हामीले भारतबाट आर्थिक, प्राविधिकलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएका छौँ”, उपराष्ट्रपतिले भन्नुभयो, “हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पाइपलाइन, जलविद्युत् तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आइसिपी) र मानव संशाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्वपूर्ण छ ।”छिमेकीलाई प्राथमिकता दिने भारतको नीतिले भारतले आफ्ना छिमेकी राष्ट्रलाई दिएको प्राथमिकता र महत्वलाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले नेपाल-भारतबीच दीर्घकालीन ऊर्जा व्यापारलगायत सम्झौता हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।भेटमा भारतीय राजदूत श्रीवास्तवले दुई मुलुकबीच बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै भारत सधैँ नेपालको विकास यात्रामा सहयोगी रहेको र आगामी दिनमा पनि रहिरहने बताउनुभयो । “भारत नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने क्रममा छ, यसअघि कृषिमा भएको सम्झौता परिमार्जन गर्दै र खानेपानीको क्षेत्रमा भारतले हासिल गरेको अनुभवका आधारमा सहयोग गर्न भारत तयार छ”, उहाँले भन्नुभयो ।राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग विशेष लगाव रहेको जनाउँदै सन् २०२४ मा भारतका विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट हुनुले भारतले नेपाललाई दिएको महत्व र प्राथमिकतालाई दर्शाएको बताउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन

खानाको अभाव टार्न र हिउँदे चीसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी आप्रवासी चरा आएका छन् । यसले स्थानीय पारिस्थितिकीय वातावरणमा सुधार आएको सङ्केत गरेको छ ।

‘हेङशुई लेक नेसनल नेचर रिजर्भ’का कर्मचारी झाङ युगुआङले भन्नुभयो, “ मुख्यतया यहाँको पानीको गुणस्तर, विशाल पानीको क्षेत्र र पर्याप्त खाद्य स्रोतहरूको कारण हालैका वर्षहरूमा हेङशुई तालमा हिउँद बिताउन आउने दुर्लभ चराहरूको सङ्ख्या बढ्दै गएको छ ।” “यी चरामध्ये १० हजारभन्दा बढी जल हाँस हेङशुई तालमा भेटिएका छन् । जाडो यामपछि उनीहरू दक्षिणतिर बसाइँ सर्नेछन्,” झाङले भन्नुभयो ।

उत्तरी चीनको समतल भूमिमा रहेको सबैभन्दा ठूलो ताल, वरपरको सिमसार, चउर र जङ्गलले घेरिएको हेबेईको हेङगशुई शहर नजिकै रहेको उक्त ताल चीनको राष्ट्रिय प्रकृति संरक्षण केन्द्र हो । यो पूर्वी एसियाली तथा अष्ट्रेलियाली आकाश मार्गबाट आउने प्रवासी चराहरूको लागि यात्रामा विश्राम लिने, प्रशस्त आहारा पाइने र जाडो बिताउने ठाउँ पनि हो । संरक्षण केन्द्रका अधिकारीले यहाँ यो बर्षको हिउदमा हालसम्म ३३४ प्रजातिका चराको अवलोकन तथा अभिलेखीकरण गरिएको जनाएका छन् ।

बन्दीपुर केबलकार आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने

दमौली (तनहुँ), ३ माघ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो ।

हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिनुभयो । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअगाडि लट्ठाको परीक्षण गरिएकामा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ ।”

आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “केबलकारको सबै परीक्षण सकिएपछि व्यावसायिक प्रमाणपत्र प्राप्त हुनेछ, नयाँ वर्षदेखि केबलकार सञ्चालनमा आउनेछ ।”

यसैगरी निर्माणाधीन पाँच तारे होटल भने आगामी वर्षको मङ्सिरदेखि सञ्चालन गर्ने तयारी छ । होटलको भित्री कामबाहेक अन्य सबै सकिएको उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “होटलको काम पनि अन्तिम चरणमा पुगेको छ, पहिला केबलकार सञ्चालनमा आउने र होटलको काम बाँकी नै रहेकाले होटलपछि सञ्चालन गर्ने गरी काम भइरहेको छ ।”

प्रतिघण्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न ‘सिफ्ट’ गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । केबलकारले साँझ ५ देखि राति ११ बजेसम्म रेष्ट्रो क्याबिन रेष्टुराँ एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको छ । विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । करिब ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआइ बैंक र सहवित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

विसं २०८१ मङ्सिरभित्र पाँच तारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही वर्षको जेठभित्र भ्युजरुम, असारभित्र बाक्स म्युजियम, साउनभित्र जिपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यसअगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ ।

होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, ‘बेनक्युट हल’ र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी ः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको छ ।

बन्दीपुर–४ ठूल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।

केबलकारको साधारण शेयरको सार्वजनिक निष्कासन (आइपिओ) खुल्ला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिशेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण शेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्कासन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ ।

रु तीन अर्ब ४९ करोड कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब १५ करोड रहेको छ । त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशतअर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ । चुक्ता पुँजीको दश प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने लिमिटेडले जनाएको छ । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ ।

विश्वव्यापी चुनौतीको सामूहिक र क्षेत्रीय समाधान खोज्नुपर्छ : मन्त्री साउद

काठमाडौँ, ३ माघ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विश्वले सामना गरिरहेका साझा चुनौती र समस्याको विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक रहेकामा जोड दिनुभएको छ ।युगान्डाको राजधानी कम्पालामा भइरहेको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी कोभिड–१९ महामारीको निरन्तर प्रभाव, जलवायु परिवर्तन, द्वन्द्व, खाद्यान्न र ऊर्जालगायतमा भएको मूल्यवृद्धि, ऋणको बोझलगायतका सङ्कट र चुनौतीको सामना गरिरहेका छौँ । यसका लागि विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक छ ।”

मन्त्री साउदले विश्वव्यापी समृद्धि समानरुपमा बाँडफाँट गर्न र समावेशी विश्वव्यापी व्यवस्थाका लागि नामले सामूहिक आवाजलाई जोड दिनुपर्ने उहाँको भनाइ थियो । नाम आन्दोलन ध्रुवताको पूर्वाग्रहबाट मुक्तिका लागि एक शक्तिशाली राजनीतिक आवाज बनेको उल्लेख गर्दै उहाँले नाम एक सय २० देशको प्रतिनिधित्व भएको सबल संगठनका रुपमा रहेको र यसमा विश्वको करिब ६० प्रतिशत जनसङ्ख्या रहेको उल्लेख गर्नुभयो । नाम द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक सामाजिक असमानता, भोक, रोगलगायत चुनौती र समस्याको विश्वव्यापी समाधान खोज्ने सबल संगठन भएको उहाँको भनाइ थियो ।

मन्त्री साउदले संयुक्त राष्ट्र सङ्घ बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्दै नामले समस्या र चुनौतीको शान्तिपूर्ण समाधानमा निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले नामले दिगो विकास लक्ष्य र अन्य अन्तर्राष्ट्रिय रुपमा निर्धारण गरिएका विकास लक्ष्यका उपलब्धिका साथै जलवायु न्याय र जोखिममा रहेका मुलुकको हितमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

मन्त्री साउदले नामको उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै यसलाई नेपालको संविधानले विदेश नीतिका रुपमा आत्मसात् गरेको अवगत गराउनुभयो । “हामी सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेका छौँ”, मन्त्री साउदले भन्नुभयो । असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि माघ ४ गते त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

शिखर सम्मेलन अघि आजदेखि दुई दिने मन्त्रिस्तरीय बैठक सुरु भएको छ । शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रियरूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।

धनुषास्थित भारतीय सीमाक्षेत्रका पुल निर्माणमा भइरहेका अवरोध हटाउन छलफल

जनकपुरधाम, ३ माघ : धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफ्रपुरमा मङ्गलबार छलफल भएको हो ।

छलफलका क्रममा नेता निधिले धनुषाको नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया पाउँपालिकासँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पुल निर्माणका लागि अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गरिए पनि सुनुवाइ नभएकाले उच्चस्तरमै छलफल हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले दुवै देशका जनतालाई आवातजावतमा सहजताका लागि दुवैतर्फ सडक बने पनि वर्षौँदेखि पुल निर्माण हुननसकेकाले यो विषय जनप्रतिनिधिको चासोको विषय बन्नुपर्छ भन्नुभयो । “दश वर्षअघि म भौतिक पूर्वाधारमन्त्री भएका बेला यहाँ सीमाक्षेत्रमा चारवटा पुल निर्माणका लागि शिलान्यास गरिएका थिए । केही काम भएको छ । तर एसएसबीले ‘नो म्यान्स ल्याड’मा संरचना बन्न नदिने माथिको निर्देशन भन्दै अवरोध गरिरहेको छ”,नेता निधिले भन्नुभयो, “यसरी अवरोध गर्ने हो भने त नेपाल–भारत सीमाक्षेत्रका कुनै पनि पुल बन्ने अवस्था रहँदैन र बाँकी पुल किन र कसरी बने भन्ने प्रश्न आउँछ । ‘नो म्यान्स ल्याड’मा पुल नबने दुई देशका जनतालाई कसरी जोड्ने ? त्यसैले दुवैतर्फ सडक बन्ने तर पुल नबन्ने अवस्थाले सीमाक्षेत्रमा बसोबास गर्ने दुवै देशका जनता समस्यामा छन् । यो अवरोध हटाउन भारतीय जनता पार्टीको नेता र सांसदका हैसियतले तपाईँ (निषाद)ले पनि पहल गर्नुपर्छ ।” नेता निधिले आफूहरू नेपालको मात्र नभई सीमावर्ती भारतीय जनताको भावना पनि सुनाउन आएको बताउनुभएको थियो ।

छलफलमा भारतीय जनता पार्टीका नेता एवं सांसद निषादले पुल निर्माणमा भारतीय पक्षबाट भएको अवरोध समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहमार्फत सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीसँग कुरा गरेर समस्या समाधान गर्ने जानकारी दिनुभयोे ।

“नेपाल भारतको सम्बन्ध र दुवै देशका नागरिकलाई जोड्नका सीमा वा पुल अवरोध बन्नु हुँदैन । तर पनि केही समस्या छन् । निधिजीले भनेको पुलका समस्याबारे भारततर्फका अधिकारी र पत्रकारसँग पनि बुझेको छु”, सांसद निषादले भन्नुभयो, “यो गृह मन्त्रालयसँग सम्बन्धित विषय भएकाले म हाम्रो पार्टीका नेता एवं गृहमन्त्री अमित साहजीसँग व्यक्तिगरूपमै कुरा गर्छु । पुलको विषय धेरै ठूलो समस्या होजस्तो लाग्दैन । समाधानको पहल हुन्छ ।”

नेता निधिसँगै नेपालबाट नगराइन नगरपालिका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सडक डिभिजन कार्यालय जनकपुधामका प्रमुख सिनियर डिभिजनल इन्जिनियर अरुणकुमार लाल कर्णलगायत प्राविधिक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

यहाँ नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई छ लेन सडकअनुसार स्तरोन्नति, नगराइन –६ लगमालाई भारतको लहरनियासँग जोड्ने झोलुङ्गे पुल, मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ स्थित जमुनी नदीको अखरहैर घाट र सोही पालिकाको वडा नं ५ बैरियाटोलस्थित थल्हीघाटस्थित निर्माणाधीन पुलमा भारतीय सुरक्षा बलबाट अवरोध भइरहेको जनगुनासो छ ।

डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख इन्जिनियर कर्णले उल्लेखित चारवटै पुल निर्माणका लागि आधाभन्दा बढी काम भइसके पनि पुलले आफ्नो भूमि छोएको भन्दै भारतीय पक्षले अवरोध गरेका कारण समस्या भएको बताउनुभयो । अब उच्चस्तरबाट पहल भएमा मात्रै पुलको अवरोध हट्नसक्ने उहाँको भनाइ छ ।

सांसदको भूमिका प्रभावकारी हुन सकेन : सांसद राई

काठमाडौँ । मुलतः हामीकहाँ संसदीय अभ्यासको सस्थागत विकास भइसकेको छैन । नयाँ विषय सदनमा प्रवेश गर्यो भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न नदिने परिपाटी पछिल्लो समय विकसित हुन थालेको छ । यसले गर्दा सदनमा आएका जनसरोकारका विषयलाई चाँडो सम्बोधन गर्न कठिन भइरहेको छ । एक वर्षका अभ्यासमा यो धेरै चल्यो सोही कारण विधेयक निर्माण ओझेलमा पर्यो ।

राष्ट्रियसभाको मुख्य दायित्व विधेयक बनाउने र पारित गर्ने नै हो । जनजीविका र राष्ट्रिय सवाललाई पनि उठाउनुपर्ने बाध्यता छ । समग्ररूपमा सोचेअनुरुप गर्न नसकिए पनि केही न केही काम त भएकै छ । तर सदन सञ्चालन प्रक्रिया ठीक ढङ्गले भइरहेको छैन । गर्नसक्ने कुरा धेरै गरिएको छैन तर, पनि काम हुँदै नभएको भने होइन । प्रतिनिधिसभाले भन्दा राष्ट्रियसभाले धेरै कानुन उत्पत्ति भएर पारित गरेको उदाहरण पनि छ । बन्न नसकेका विभिन्न कानुनको अध्ययन र समीक्षा गर्यौँ । सङ्घीयतालाई कसरी बलियो बनाउने भनेर नै काम नभएका होइनन् तर त्यतिमै सुन्तुष्ट हुने अवस्था छैन ।

सदन निरन्तर सञ्चालन नभएका कारण कानुन निर्माण र जनताका सवाललाई प्रभावकारीरूपमा उठाउन सकिएको छैन । राजनीतिक दाउपेचका कारण कानुन निर्माणको पाटो ओझेलमा परेको छ । राजनीतिक दलहरूबीच एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति मौलायो । यसले गर्दा कानुन बनाउने कार्यले गति लिन सकेन । सांसद बढी विकासका काममा खटिनुपर्ने बाध्यता पनि छ ।

सङ्घीय संसद्को मुख्य काम कानुन बनाउने हो । तर त्यो प्रभावकारी हुन सकिरहेको छैन । सङ्घीय सरकारले कानुन बनाएर स्थानीय सरकारलाई विकास निर्माणको जिम्मा दिनुपर्ने हो । अब यो कहाँ–कहाँ मिलिरहेको छैन । एउटा सांसदले पूरै फाइल बोकेर हिँडिरहनुपर्ने अहिलेको अवस्था छ । तथापि राष्ट्रियसभामा आएका कतिपय विधेयक अड्काएर राखेका छैनौँ । हामीले आएका विधेयकलाई कानुनी रूप दिन विलम्ब गरेनौं । राष्ट्रियसभामा आएका विधेयकलाई हामीले थन्क्याएर राख्दैनौँ । हामी आफैँले पनि विधेयक बनाएका छौँ, आएका विधेयकलाई चाँडो पारित गर्ने गरेका छौँ । राष्ट्रियसभाको गतिविधि नराम्रो छैन । त्यहाँ हरेक कुरा सहमतिकै आधारमा अघि बढ्ने भएकाले तल्लो सदनमा जस्तो राजनीतिक दाउपेच बढी हुँदैन ।

सदनमा प्रतिपक्षीको प्रभावकारी भूमिका हुनुपर्छ । जति प्रतिपक्षीको प्रभावकारी भूमिका भयो त्यति नै संसद् र सरकारको भूमिका प्रभावकारी हुन्छ । त्यस्तो भएन, प्रतिपक्षले पनि राम्रोलाई राम्रो र गलतलाई गलत भन्न सक्नुपर्छ । अथवा यहाँ यो विषय गलत भएको छ सच्याउ है भन्नुपर्छ । समग्र जनताको हितमा छ भने त्यो खालको परिपाटी बसाल्नुपर्ने हो । तर परम्परागत ढङ्गले चलिरहेको छ । सदन अवरुद्ध गराएर उठान गर्न नदिने अभ्यास छ । प्रतिपक्षको भूमिका पनि राम्रो देखिएन । यसलाई सच्याएर जानुपर्ने टड्कारो आवश्यकता छ । जस्तो राष्ट्रिय सरोकार र जनसरोकारका विषयमा यो भएको छैन यस्ता कुरालाई समेट है भनेर खबरदारी गर्नुपर्नेमा सदन अवरुद्ध गरेर जनताको विषय प्रवेश गर्न नदिने परिपाटीले गलत अभ्यास भइरहेको छ ।

राम्रै काम गर्यो भने पनि यो सत्ताले गरेको भनेर विरोध गर्नुपर्ने । पटक–पटकको सदन अवरुद्धजस्ता गतिविधिले गर्दा सांसदको भूमिका प्रभावकारी बन्न सकेको छैन । राष्ट्रियसभाले विभिन्न विधेयक पारित गरेको छ । थाँती रहेका विधेयक चाँडो टुङ्गो लगाउन पहलकदमी गरेका छौँ । सभामा आएका विधेयकलाई चाँडो पारित गर्न हामीले समय–समयमा सरकारलाई बोलाएर छलफल गरेका छौँ ।

संसद्को बाँकी अवधिमा बनाउनुपर्ने कानुन कति हो ? प्रदेश सरकारले कति कानुन बनायो ? तत्काल बनाउनुपर्ने कानुन कुन–कुन हुन् । बनेका कानुन कति प्रभावकारी रहे र बनाउनुपर्ने कानुन कुन र कति छन् वर्गीकरण गरेर पनि अध्ययन गर्यो, त्यसले देशभर सकारात्मक सन्देश दिएको छ । सरकारले कानुन निर्माणलाई प्राथमिकता दिएर जनताका आवश्यकतालाई ध्यान दिनुपर्ने खाँचो छ ।

सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि कानुन जरुरी

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि चाँडो कानुन बनाउनुपर्नेछ । तीन तहका सरकारबीच प्रभावकारी समन्वय जरुरी छ । सङ्घीयतालाई बलियो बनाउन तीव्रगतिमा काम गर्नुपर्नेछ । कर्मचारी समायोजनदेखि अधिकार प्रत्यायोजनलगायत थुप्रै काम गर्न बाँकी छ । तीन तहकै सरकारमा अनेक किसिमका समस्या आइरहेको छ । स्थानीय तहले काम गर्न चासो देखाए तर वनसम्बन्धी ऐन बाँझिएको, स्रोत साधनको अधिकार र जिम्मेवारीको स्पष्टता नहुनु तथा कतिपय राष्ट्रिय गौरवका आयोजनाले पनि गति लिनसकेका छैनन् ।

कर्मचारी समायोजनदेखि स्थानीय तहलाई सक्रिय बनाउनुजस्ता मुख्य चुनौतीलाई ध्यान दिएर सरकारले सहजीकरण र व्यवस्थापनको कामलाई प्राथमिकता दिनुपर्छ । तत्काल कानुन बनाएर कर्मचारी समायोजन गर्ने । सेना र प्रहरीलाई कति अधिकार दिनेजस्ता विषयमा बढी केन्द्रित हुनुपर्नेछ । राष्ट्रियसभाले तुलनात्मकरूपमा गर्नुपर्ने काम गरेको छ । विभिन्न कठिनाइका बाबजुद पनि ७० प्रतिशत काम भएको छ ।

राष्ट्रियसभामा हामीले राम्रो अभ्यास गर्न पाएका छौँ । विषयवस्तु स्पष्ट राखेका छौँ । त्यसैले सभामा मेरो व्यक्तिगतरूपमा असाध्यै राम्रो रहेको छ । सभामा बोल्ने र जनताका कुरा उठाउने र सरकारलाई सुझाव दिने कुरामा कुनै कन्जुस्याइँ गरिएको छैन । भूक्म्पबाट प्रभावितको राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन जरुरी छ । नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको छ । सन्तुलित र संयमित ढङ्गले कूटनीतिक भूमिका निर्वाह गर्न जरुरी छ ।

सदन चाँडो सञ्चालन गरेर जनताको कुरा जनप्रतिनिधिले सदनमा उठाउने वातावरण बनाइनुपर्छ । समयसान्दर्भिक विषयमा सहमति जुटाएर अघि बढ्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्नेजस्ता विषयमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्छ । भूकम्प प्रभावित जनताको अस्थायी आवासको काम सुस्तगतिमा भइरहेको छ । चिसोबाट जनतालाई जोगाउन पूर्वतयारीका कामलाई ध्यान दिनुपर्ने आवश्यकता छ ।

सरकारले सदनलाई ‘बिजनेस’ दिनुपर्यो । सांसदले कानुनसहित जनताका तात्कालिक आवश्यकतालाई सरकारसँग पुलका रूपमा भूमिका खेल्नुपर्ने अपरिहार्यता र जिम्मेवारी पनि हो । सदन चलेर जनताका कुरा राख्ने र उनीहरूको आवश्यकता पूरा गर्नेतर्फ हामीहरू सक्रिय हुनैपर्छ । जनताको कुरा उजागर गर्ने सदन नै हो । सदन लामो समयसम्म बन्द हुँदा बाहिर नराम्रो सन्देश गइरहेको छ ।

जनताको समस्याप्रति सचेत छौँ

आगामी दिनमा सदनको भूमिकालाई प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षभन्दा पनि कस्ता विषय र सवाल आएका छन् तिनको सान्दर्भिकतालाई हेरर सहमतिका आधारमै समाधान गरिनुपर्छ । जनताको तत्कालै गर्नुपर्ने काम समयमा गर्न सदन लामो समय रोकिनु हुँदैन । जनताको कुरा गर्ने मुख्य थलो संसद् भएकाले यसलाई नियमित स्वच्छ र स्वस्थ ढङ्गले सञ्चालनको सुनिश्चितता हुन जरुरी छ ।

जनताको समस्याप्रति हामी अत्यन्तै सकारात्मक छौँ । जनताले पनि कुनै लहड र भावनामा नबगी नकारात्मकभन्दा पनि यथार्थमा संयमित भएर आफ्ना विषयलाई व्यवस्थित ढङ्गले उठाउने र सम्बन्धित निकायमा लैजाने गर्नुपर्छ । अहिले सामाजिक सञ्जालमा नकारात्मक धारणा बनाउन उद्यत गराउने, नागरिक समाजलगायत समुदायले पनि नकारात्मक टिप्पणी गर्ने प्रचलन बढेको छ । जनता अहिले सकारात्मकभन्दा पनि नकारात्मक बहकाउमा लाग्ने अवस्था आउनुमा राजनीतिक दलको पनि दोष छ । तर सधैँ नकारात्मक होइन रचनात्मक ढङ्गले विषय सदन र सरकारसमक्ष पुर्याउने वातावरण बनाउन जनता र जनप्रतिनिधि अनि सरकारको उत्तिकै भूमिका अपरिहार्य छ ।

(सांसदसँग रासस संवादका लागि नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद जयन्ती देवी राईसँग समाचारदाता सिबी अधिकारीले गरेको कुराकानी )

चिनी स्वास्थ्यको लागि कति फाइदाजनक ? धेरै गुलियो खानुका बेफाइदा

दिल्लीकी १५ वर्षीया रियाको गर्दन, काखी र ‌औँलाको कापको छालामा पिगमेन्टेशन अर्थात् गहिरो रङ्गको दाग देखिएर समस्या भइरहेको थियो। छालाका डाक्टरले उनलाई एन्डोक्रिनलजिस्टकहाँ पठाइदिए।

जाँच गर्दा रियाको भोको पेटमा उनको ब्लड सुगर ११५ र खाना खाएपछि १८० पाइयो।डाक्टरहरूका अनुसार भोको पेटको ब्लड सुगर १०० र खाना खाएपछिको ब्लड सुगर १४० सम्म सामान्य मानिन्छ।

रियाको उपचार गरिरहेका डा. सुरेन्द्रकुमार भन्छन्, “रिया जङ्क फूड खान्थिन् र उनको परिवारमा मधुमेह भएको इतिहास थियो। उनी कसरत पनि गर्ने गरेकी थिइनन्। यदि बुवाआमालाई मधुमेह छ भने छोराछोरीलाई पनि मधुमेह हुने खतरा ५० प्रतिशत हुन्छ।”

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयस्थित पीडिएट्रिक एन्डोक्रिनलजिस्ट तथा ‘सुगर, द बिटर ट्रूथ’ पुस्तकका लेखक डा. रोबर्ट लस्टिगका अनुसार वयस्कहरूलाई हुने मधुमेह अब बालबालिकामा देखिन थालेको छ।

बालबालिकामा वयस्कलाई हुने रोग
डा. रोबर्ट लस्टिग भन्छन्, “हिजोआज बालबालिकामा वयस्कलाई हुने रोग देखिन थालेका छन्। उदाहरणका लागि टाइप २ मधुमेह र फ्याटी लिभर।”

डा. लस्टिगका अनुसार सन् १९८० को दशकमा ती रोग वयस्कलाई हुन्थे।’फ्याटी लिभर’को समस्या सामान्यतया मदिरा पिउने व्यक्तिहरूलाई हुन्छ।

तर अमेरिकामा २५ प्रतिशत बालबालिकामा अहिले त्यो समस्या छ जबकि बालबालिका मदिरा सेवन गर्दैनन्।बालबालिकाहरूले तुलनात्मक रूपमा पहिलाभन्दा अहिले क्यान्डी र चकलेटहरू धेरै सजिलैसँग पाउन थालेको उनी बताउँछन्।

शरीरलाई किन चाहिन्छ कार्बोहाइड्रेट

खाद्य पदार्थहरूमा कार्बोहाइड्रेट, चिल्लो र प्रोटीन पाइन्छ। मानव शरीरलाई ऊर्जाका निम्ति कार्बोहाइड्रेटको आवश्यकता पर्छ।कैयौँ खाद्य पदार्थमा प्राकृतिक रूपमा कार्बोहाइड्रेट पाइन्छ। चिनीमा कार्बोहाइड्रेट हुन्छ।

चिनीबाहेक अरू सामान्य कार्बोहाइड्रेट पाइने चामल अथवा आटाका परिकार हाम्रो पेटमा पुगेपछि हाम्रो आन्द्राले ग्लूकोज निकाल्छ।ग्लूकोजले शरीरमा इन्धनको काम गर्छ, अर्थात् यसबाट ऊर्जा प्राप्त हुन्छ।

मुम्बईस्थित डाइबीटीज केअर सेन्टरमा कार्यरत डा. राजीव कोविल र डा. सुरेन्द्र कुमार इन्स्युलिन रेसिस्टेन्सबारे बुझाउँदै भन्छन्, “इन्स्युलिन हर्मोनले हाम्रो शरीरमा चालकको काम गर्छ। त्यसले ग्लूकोजलाई मिर्गौला र मुटुसहित अन्य कोशिकामा पुर्‍याउँछ।”

“इन्स्युलिनको मात्रा बढेपछि यसले काम गर्न बन्द गर्छ। त्यस्तो अवस्थामा ग्लूकोज अन्य विकल्पमार्फत्‌ प्रवेश गर्ने प्रयास गर्छ जसबाट कोशिकामा समस्या उत्पन्न हुन्छ। अनि त्यही ग्लूकोज हाम्रो शरीरमा बोसोको रूपमा जम्मा हुन थाल्छ र हामीलाई समस्या हुन थाल्छ।”

चिकित्सकहरूका अनुसार त्यसबाट हाम्रो शरीरमा चिनीको मात्रा बढ्न थाल्छ र विभिन्न रोगले शरीरलाई सताउन थाल्छ।त्यसबाट मधुमेह, रक्तचाप, मुटुसम्बन्धी रोग र क्यान्सरको समेत खतरा रहन्छ।

चिनी के हो?
सर गङ्गाराम अस्पतालस्थित एन्डोक्रिनोलजी तथा मेटाबोलिजम विभागका डा. सुरेन्द्र कुमारका अनुसार चिनी विभिन्न किसिमका हुन्छन्।चिनीका अन्य प्रकारमा ग्लूकोज, ल्याक्टोज, सूक्रोज र फ्रक्टोज पर्छन्।

डा. सुरेन्द्र कुमार भन्छन्, “फलफूलमा ग्लूकोज र फ्रक्टोज बढी पाइन्छ। दूध, पनिरजस्ता डेरी उत्पादनमा ल्याक्टोज पाइन्छ। मह र फलहरूमा ग्लूकोज पाइन्छ र त्यो हानिकारक हुँदैन।”प्रशोधित चिनी अर्थात् सूक्रोज हालिने खानेकुरा बढी खाँदा शरीरलाई हानि पुग्छ।

गुलियो कति खानुपर्छ?
वर्ल्ड ओबीसिटी एटलसको सन् २०२३ को प्रतिवेदन अनुसार सन् २०३५ सम्म संसारभरि ५१ प्रतिशत अर्थात्‌ चार अर्ब मानिस मोटोपनको सिकार हुनेछन्।बालबालिकामा मोटोपन दुई गुनाले बढ्नेछ भने केटाहरूको तुलनामा केटीहरूमा मोटोपनको दर दुई गुनाभन्दा पनि बढीले वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ।

भारतमा सन् २०३५ सम्म ११ प्रतिशत वयस्क मोटोपनको सिकार हुनेछन् जसका कारण अर्थव्यवस्थामा करिब १३,००० करोड भारुको भार थपिने अनुमान छ।अमेरिकन हार्ट असोसिएशनका अनुसार एकजना पुरुषले प्रतिदिन ३६ ग्राम अथवा १५० क्यालोरीभन्दा बढी चिनी खानु हुँदैन।

एकजना महिलाले भने २५ ग्राम अथवा १०० क्यालोरीभन्दा बढी चिनी खानु हुँदैन।डा. राजीव कोविलका अनुसार सामान्यतया विकसित देशहरूमा चिनीको प्रयोग बढी हुन्छ। तर भारतमा अझ बढी प्रयोग हुन्छ।सन् १९८० को मध्य अथवा सन् १९९० को दशकमा समृद्ध परिवारका मानिसहरूमा मधुमेहको समस्या देखिएको थियो। त्यसको एउटा कारण खानालाई उनीहरूले विलासिताका सामानको रूपमा लिन्थे।

धेरै गुलियो खानुका बेफाइदा
जानकारहरूका अनुसार अत्यधिक मात्रामा गुलियो खाँदा त्यसबाट शरीरमा विभिन्न प्रकारका हानि पुग्छन्।यसका कारण मोटोपन हुन्छ भने त्यसपछि रक्तचाप, कोलस्ट्रोल, मधुमेह र मुटुसम्बन्धी रोगहरू निम्तिन्छन्।

तर चिकित्सकहरूका अनुसार अत्यधिक गुलियो खाँदैमा सुरुमै मोटोपनको समस्या हुन्छ भन्ने जरुरी छैन। अरू समस्या पनि हुन सक्छन्।उदाहरणका लागि महिलाहरूमा पीसीओडीको समस्या हुन्छ सक्छ, छालामा कालोपन अथवा पिगमेन्टेशन हुन सक्छन्।

चिनी र क्यान्सरको सम्बन्ध
कृत्रिम चिनीको प्रयोग लामो समयसम्म गर्दा शरीरलाई हानि पुर्‍याउँछ।चिकित्सकहरूका अनुसार क्यान्सरको एउटा कारण शरीरमा इन्सुलिनको मात्रा अत्यधिक हुनु पनि हो।

के क्यान्सरका बिरामीले गुलियो खानु हुँदैन त?
डा. राजीव कोविलका अनुसार क्यान्सरको बिरामले चिनी छोड्नैपर्ने खालको कुरा आएको छैन।तर शरीरमा अत्यधिक सुगर हुँदा क्यान्सरका लागि अनुकूल माहोल बन्छ।उनका अनुसार क्यान्सरको सम्बन्ध मोटोपन र मधुमेहसँग छ। किनकि त्यस्ता बिरामीमा क्यान्सरको समस्या २० प्रतिशत बढी पाइएको छ।

डा. सुरेन्द्र कुमार भन्छन्, “यदि क्यान्सरको बिरामीलाई मधुमेह पनि छ अथवा ग्लूकोज सहन गर्न नसक्दा रगतमा चिनीको मात्रा बढ्न थाल्छ भने गुलियो खानु हुँदैन। तर त्यस्तो समस्या नरहेको खण्डमा बिरामीले सीमित मात्रामा गुलियो खान सक्छन्।”सुशीला सिंह र पायल भुयन बीबीसी संवाददाता हुन् । बीबीसी नेपालीबाट साभार गरिएको हो ।

मलेसियामा नेपाली कामदारमाथि चरम श्रमशोषण

काठमाडौं । मलेसियाको पिटी स्विफ्ट मार्केटिङ एसडीएन बीएचडी कम्पनीले नेपाली श्रमिकमाथि चरम श्रम शोषण गरेको पाइएको छ ।काठमाडौंमा रहेको काबेली ह्युमन रिसोर्स प्रालि र रिदम ओभरसिज प्रालि ९सम्पदा ओभरसिज मर्ज०मार्फत मलेसिया पुगेका सयभन्दा बढी नेपाली श्रमिकलाई काम गरे पनि ‘टार्गेट’ नपुगेको भन्दै पुरै तलब नदिने र दिए पनि तलब काटेर दिने गरेको उनीहरूले बताएका छन् ।

कम्पनीमा मरिमरी काम गर्दा पनि टार्गेट पुगेन भनेर तलबबाट पैसा काटिदिने, थर्काउने, धम्क्याउने, कुट्नेपिट्ने गरेका कारण आफूहरू धेरै समस्यामा परेको प्रेमसिंह महराले जानकारी दिए ।

‘कम्पनीको समस्या एकदम गाह्रो छ, टार्गेट पुगेन भनेर हरेक महिना तलब काट्ने गरेको छ,’ प्रेमले राजधानीसँग भने, ‘कम्पनीले हामीहरूको कुरा पनि सुन्दैन, टार्गेट पूरा भएन भने कुट्नेपिट्ने मात्र गर्छ, धेरैपटक यहाँस्थित नेपाली दूतावास गयौं, कुनै पनि समस्याको सुनवाइ भएको छैन ।’

दूतावासले कम्पनीका प्रतिनिधि बोलाएर छलफल गरेको भए पनि निकास निस्कन सकेको छैन ।

‘कम्पनीले दूतावास किन गएको रु केही समस्या छ भने कम्पनीमै भन्नु भनेर उल्टै थर्काउने काम गरेको छ,’ उनीहरूले भने, ‘बरु कम्पनीले कम्पनीविरुद्ध बोल्ने केही साथीहरूलाई बोलाएर डिपोर्ट गर्ने तयारी गरेपछि हामीहरूले नेपाल पठाउने भए सबैलाई पठाउन भनेका छौं ।’

म्यानपावर कम्पनीलाई ३ लाख रुपैयाँभन्दा बढी पैसा तिरेर यहाँ आएको उनीहरूले बताएका छन् ।

त्यस कम्पनीमा कार्यरत सुशीला भुजेलले भनिन्, ‘समस्या लिएर हामीहरू दूतावास गएका हौं, दूतावासले शुक्रबारसम्म कम्पनीको प्रतिनिधि बोलाएर समस्या समाधान गर्छौं भनेको थियो तर शनिबार कम्पनीले हामीहरूको माग पूरा गर्नु त परै जाओस्, गभर्मेन्टबाट आएको पेपर भन्दै जबर्जस्ती हस्ताक्षर गर्न दबाब दियो, हस्ताक्षर नगरे रिजेक्ट गर्न भन्यो, हामीहरूले त्यो पेपर रिजेक्ट ग¥यौं, त्यसपछि कम्पनीले झन् नराम्रो व्यवहार ग¥यो ।’

उनले सोमबार मात्र सात जनालाई कम्पनीको भ्यान बोलाएर अन्यत्रै लैजान लागेको जानकारी दिइन् । आफूहरूले सो कुरा थाहा पाएपछि सबै एकजुट भएका कारण कतै लैजान नसकेको उनको भनाइ थियो ।

अर्का पीडित रतन तिरुवाले आफूहरू काम गर्ने पीटी कम्पनीमा ७३ जना केटाहरू र ४० जना नेपाली महिला रहेको बताए ।राजधानी दैनिकमा खबर छ ।

उनले भने, ‘हामी धेरै पीडित छौं, एक–दुईपटक दूतावास धाउँदा पनि समस्या हल भएन, अहिले कम्पनीले पनि धेरै पेलेको छ, हामीले १४ घण्टा काम गरे पनि त्यसबापतको तलब दिँदैन, टार्गेट पुगेन भनेर बेसिक तलब पनि काट्छ, केही बोल्ने साथीहरूलाई जबर्जस्ती राजीनामा गर्न लगाएर नेपाल पठाउने धम्की दिएको छ, अब हामीले के गर्ने रु दूतावासले पनि केही हेर्दैन ।’

१३–१४ घण्टा काम गर्दा पनि ‘टार्गेट’ पुगेन भनेर तलब मात्र काट्ने गरेको भन्दै तत्काल आफूहरूको समस्या समाधान गरिदिन त्यहाँ रहेको नेपाली दूतावास, विभिन्न क्रियाशील संघसस्थाहरूसँग पनि अनुरोध गरिएको अर्का पीडित लक्ष्मण तामाङले बताए ।

धुलिखेलमा सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’मार्फत घरबाटै तिर्न सकिने

काभ्रेपलाञ्चोक, ३ माघ : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ । करदाताले आफ्नो व्यक्तिगत तथा भूमि (जग्गा), व्यवसाय, बहाल, सवारीसाधन आदि आफैँ प्रविष्ट गर्न मिल्ने तथा आफूले तिर्ने वा बुझाउनुपर्ने कर कनेक्ट आइपिएस, क्युआर कोड, मोबाइल वालेटलगायतका अनलाइन माध्यमबाट नगरमा बुझाउन मिल्ने व्यवस्था मिलाइएको हो ।

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडल धुलिखेल नगरबाट सुरु गरेको थियो । नेपालका सात सय ५३ वटा पालिकामध्ये पहिलोपटक धुलिखेलमा उक्त सेवा सुरु भएको हो । केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ ।

धुलिखेल नगरबाट स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको नमूना कार्यक्रमअन्तर्गत करदाताले सहजरूपमा राजस्व तिर्न÷बुझाउन एवं विवरण भर्न मिल्नेगरी उक्त मोडलसँग आबद्ध भएको स्थानीय तह राजस्व पोर्टलसमेत महालेखा नियन्त्रकको कार्यालयबाट विकास भई परीक्षण सम्पन्न भएको छ ।

उक्त राजस्व पोर्टलको युजर बनाइसकेपछि करदाताले आफ्नो व्यक्तिगतलगायत अनलाइन माध्यमबाट बुझाउन मिल्ने व्यवस्था गरिएको हो । महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले एक कार्यक्रमबीच हालै धुलिखेल नगरका लागि पहिलोपटक ई–पेमेन्ट अनलाइन पोर्टलको शुभारम्भ गर्नुभएको थियो । यसपछि धुलिखेल नगरका नागरिकले घरमा बसेर आफ्नो राजश्वसम्बन्धी विवरण भर्दै अनलाइनमार्फत भुक्तानी गरिरहेका हुन् ।

“नागरिकलाई घरदैलोमा नै सेवा दिने र प्रविधिमार्फत नगरको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले ई–पेमेन्ट अनलाइन पोर्टल तथा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुरु गरिएको छ, यसबाट नागरिकले थप सेवाको अनुभूत गर्ने अपेक्षा गरेका छौँ”, नगरप्रमुख अशोक ब्याञ्जूले भन्नुभयो । यसका लागि नगरले थप सेवा प्रभावकारी बनाउन आफ्ना वडासचिव र राजस्व शाखाका कर्मचारीलाई तालिममा पठाएको छ । तालिमपछि नगरका सबै वडामा उक्त सेवा प्रारम्भ हुने जनाइएको छ ।

नगरका लेखा अधिकृत धनबहादुर बस्नेतले उक्त सेवा नेपालका सात सय ५३ वटा स्थानीय तहमध्ये धुलिखेल पहिलो भएकाले महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडलबाट नागरिकलाई सेवामा सहजता थपिएको बताउनुभयो । उहाँका अनुसार सरकारले आफ्नै सफ्टवेयर निर्माण गरी सेवा प्रारम्भ गरेको यो पहिलो हो । यसअघि निजी क्षेत्रबाट निर्मित सफ्टवेयरबाट सरकारले राजस्व सङ्कलनसम्बन्धी काम गर्दै आएको थियो ।

यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए

मध्यविन्दु (नवलपरासी), ३ माघ : यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो । “गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा दुई प्रजाति कम भेटिएका छन् ।”

पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिनुभयो । “गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, स्वेत माछा यस वर्ष भेटिएनन्”, उहाँले भन्नुभयो, “गत वर्ष फेला नपरेका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरङ्ग र नारायणी नदीमा नै पहिलोपटक बैकाल गैरी यस वर्ष भेटिएको छ ।”

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौली गोलाघाट हुँदै अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरियालगायतका देशबाट आगन्तुक चरा यो समयमा नारायणी नदी र आसपास क्षेत्रमा आउने हँुदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक तथ्याङ्क आएको संयोजक चौधरीले बताउनुभयो । “यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष नेपालमा क्रमिकरूपमा चराको सङ्ख्या घटिरहेको छ ।”

साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिने गरेकामा यस वर्ष त्यसमा उल्लेख्य कमी आएको चौधरीले जानकारी दिनुभयो । “यस वर्ष खोया हाँसको सङ्ख्या विगतको भन्दा ५० प्रतिशतले कमी आएको पाएका छौँ”, उहाँले भन्नुभयो, “नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको नारायणी नदीको च्यानलमा पानी सुक्नाले खोया हाँसको सङ्ख्यामा कमी आएको हो, यस क्षेत्र खोया हाँसको प्रमुख बासस्थानको रूपमा रहेको थियो ।”

नारायणी नदीमा बढ्दो प्रदूषणले यहाँ आीश्रत चराको सङ्ख्या घट्दै गइरहेको बताइएको छ । नदीमा पाइने आहारा घटेकाले यहाँ आउने चरा कम आउन थालेको र बासस्थान परिवर्तन गर्न थालेको चौधरीले बताउनुभयो । “कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्”, चौधरीले भन्नुभयो, “यस क्षेत्रमा चखेवा, जलेवा र पानी गाँैथली चरा धेरै पाइने गरेका छन् ।” निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा पनि यस वर्ष कमी देखिएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको चौधरीले बताउनुभयो ।

बैकाल गैरी चरा भेटियो

यस वर्षको चरा गणनका क्रममा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ । पक्षी गणना संयोजक चौधरीका अनुसार प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो । “नेपालमा बैकल गैरी चरा ठूला नदी र तालमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलोपटक देखिएको हो”, चौधरीले भन्नुभयो, “उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नारायणी नदीमा आएका हुन् ।”

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका बिषयमा छलफल हुनेछ ।

यस पार्टीले विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्ने तयारी गरिरहेको छ । केही समयअघि पार्टीका सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको सडकमा पैदल यात्रा गरेका थिए ।

गोरखामा पनि एक व्यक्तिमा भेटियो कोरोना,सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा गएका थिए

गोरखा – गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभयो ।

सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए ।

सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा आएका थिए ।

राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार बढी निवेदन दर्ता

गोदावरी (कैलाली), ३ माघ : राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् ।जिल्लाको १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्त गर्नका लागि निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगले जनाएको छ । जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोवासीले एक लाख १० हजार ६५, भूमिहीन दलितले आठ हजार नौ सय ७३ तथा ११ हजार एक सय २३ जना भूमिहीन सुकुम्बासीले निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिनुभयो ।

धनगढी उपमहानगरपालिकाका १९ हजार छ सय ६५, गोदावरी नगरपालिकाका १८ हजार ६४, लम्की–चुहा नगरपालिकाका १६ हजार नौ सय ९६, घोडाघोडी नगरपालिकाका १७ हजार दुई सय १०, गौरीगङ्गा नगरपाकिाका १२ हजार नौ सय १७, भजनी नगरपालिकाका आठ हजार सात सय ६५ र टीकापुर नगरपालिकाका नौ हजार नौ सय ३५ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएका छन् ।

त्यसैगरी कैलारी गाउँपालिकाका छ हजार नौ सय ४०, बर्दगोरिया गाउँपालिकाका छ हजार पाँच सय ७५, जोशीपुर गाउँपालिकाका चार हजार ६९ र जानकी गाउँपालिकाका पाँच हजार १०, चुरे गाउँपालिकाका दुई हजार तीन सय ३६ र मोहन्याल गाउँपालिकाका दुई हजार दुई सय ५८ जनाको निवेदन दर्ता भएको आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगले यसअघि धनगढी उपमहानगरपालिका–९ का २२, लम्कीचुहा नगरपालिका बल्चौरका एक सय ३०, गोदावरी नगरपालिका–१ का सात र बर्दगोरियाका पाँच जना भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिसकेको छ ।

कैलालीमा राष्ट्रिय भूमि आयोगले विगतका सुकुम्बासी आयोगले अधुरो छाडेका पाँच हजारसहित एक लाख ३५ हजार सात सय एकजनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने जनाएको छ ।

राष्ट्रिय भूमि आयोग कैलालीका विज्ञ सदस्य केशवराज जोशीका अनुसार कैलालीमा अहिलेसम्म ४० हजार हेक्टर जमिनको नापनक्सा भइसकेको छ । अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने प्रयोजनका लागि एक वर्षभित्र जिल्लका १३ वटै पालिकामा जग्गा नापजाँचको काम सक्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । संविधानमा भएको व्यवस्थाअनुसार पहिलो प्राथमिकतामा भूमिहीन दलित, दोस्रोमा भूमिहीन सुकुम्बासी र तेस्रोमा अव्यवस्थित बसोबासी रहेका छन् ।

जग्गाधनीपुर्जा वितरणको तयारी

आयोगले कैलालीका पाँच स्थानीय तहमा जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको छ । धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा माघ पहिलो साताबाट जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको हो ।

अध्यक्ष उपाध्यायले भूमिहीन दलित र सुकुम्वासीलाई धनगढी उपमहानगरपालिका–१५, गोदावरी नगरपालिका, भजनी नगरपालिका, लम्कीचुहा र कैलारी गाउँपालिकामा माघ दोस्रो हप्ताबाट जग्गाधनी पुर्जा वितरण गरिने बताउनुभयो । जिल्लाका पाँच स्थानीय तहका झण्डै एक हजार पाँच सय भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरिने आयोगले जनाएको छ । अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन स्थानीय तहहरूले जग्गाको तहगत क्षेत्र निर्धारण नगर्दा पुर्जा वितरणमा ढिलाइ भइरहेको अध्यक्ष उहाँको भनाइ छ ।

नगरपालिका र गाउँपालिकाले ग्रामीण क्षेत्र, सहरोन्मुख क्षेत्र, सहरी क्षेत्र र गाउँपालिकाको केन्द्र भनेर जग्गाको तहगत वर्गीकरण गर्नुपर्ने प्रावधान छ । भूमिहीन दलित र सुकुम्बासीलाई एकपटकका लागि आवास वा कृषिमध्ये कुनै एक क्षेत्रको जग्गा उपलब्ध गराइने छ । आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई सहरी क्षेत्रमा आवासका लागि एक सय ३० वर्गमिटर (साढे सात धुर), अन्य क्षेत्रमा तीन सय ४० वर्गमिटर (एक कट्ठा) जग्गा उपलब्ध गराउनेछ । यसैगरी कृषिका लागि तराई र भित्री मधेसमा दुई हजार वर्गमिटर अर्थात् छ कट्ठा र हिमाल तथा पहाडमा तीन हजार वर्गमिटर अर्थात् नौ कट्ठा जग्गा उपलब्ध गराउने जनाइएको छ ।

आयोगले एक वर्षभित्र २५ हजार बढी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिएको छ । पुर्जा प्राप्तिका लागि आयोगमा दर्ता भएका निवेदनमध्ये एक वर्षभित्र दुई हजार पाँच सयदेखि तीन हजार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीललाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिइएको आयोगका विज्ञ सदस्य जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी जतिसक्दो चाँडो दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्नुपर्छ भनेर लागेका छौँ । स्थानीय तहले जग्गाको तहगत वर्गीकरणमा ढिलाइ गर्दा सोचेअनुसार कामले गति लिन सकेको छैन । कैलालीका स्थानीय तहबाट फाराम भर्न छुटेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका लागि पुनः निवेदन सङ्कलनको माग गरिहेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’

इलाम, ३ माघ : जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।
यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ । यहाँको १० पालिकामध्ये माई र देउमाई नगरपालिका सहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ । माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।

सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन् । रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको उहाँले बताउनुभयो । उहाँले १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने जानकारी दिनुभयो ।

ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औँ राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको समापनको अवसरमा यस वर्षको रनिङ शिल्ड आयोजना गर्न अग्रसर माङसेबुङलाई झण्डा हस्तान्तरण गरिएको थियो । यसपटक पनि आगाामी वर्षको रनिङ शिल्ड आफ्नो पालिकामा गराउन माई नगरपालिका, रोङ र चुलाचुली गाउँपालिकाबीच प्रतिष्पर्धा चलिरहेको अध्यक्ष बाँस्तोलाले बताउनुभयोे । “उहाँहरू आ–आफ्नो पालिकामा गर्न उत्साहित हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

गाम्रीण क्षेत्रमा रनिङ शिल्ड आयोजना गर्दा रु २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ । आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् । अध्यक्ष बाँस्तोलाले भन्नुभयो, “टालटुले रूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ ।”

माई नगरपालिकाले चालु आर्थिक बर्षमा २२ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक बिद्यालयलाई १० हजार रुपियाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनु भयो । उहाँले भन्नुभयो “राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन, यो राम्रो हो।” उहाँले सरकार परिवर्तन संगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुँने क्रमले खेल क्षेत्र ओझेल परेको समेत गुनासो गर्नुभयो । नगर प्रमुख लिम्बुका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनौट चरणमा ६ लाख रुपियाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख बढी खर्च हुने छ ।

जिल्ला खेलकुद बिकास समित इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखीय भुमीका खेलेको बताउनुभयो ।

माईजोगमाई गाउँपालिकाले खेलकुद विकासका लागि अध्यक्ष कप शीर्षकमा चालु आवमा रु १५ लाख विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरेअनुसार थप रकम उपलब्ध गराइने जानकारी दिनुभयो । सूर्योदय नगरपालिकाले चालु आवमा युवा तथा खेलकुद कार्यक्रम शीर्षकमा रु ८५ लाख विनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनुभयो । नगरको आन्तरिक उक्त स्रोतबाहेक प्रत्येक वडाले रकम खेलकुद क्षेत्रमा विनियोजन गरेको जानकारी दिनुभयो ।

यसपटकको आयोजक माङसेबुङ गाउँपालिकाले चालु आवमा खेलकुदका लागि रु २० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङले आयोजना गरे पनि सफल पार्ने दायित्व १० वटै पालिकाको भएको बताउनुभयो । “आर्थिकरूपमा सबै पालिकाले समान लागनी गर्नुपर्छ, अर्को वर्ष फेरि अर्को पालिकालाई हामीले पनि सहयोग गर्ने हो”, अध्यक्ष राईले भन्नुभयो । पालिकास्तरबाहेक वडागतरूपमा पनि खेल क्षेत्रका लागि रकम छुट्याएको छ । पालिकाले प्रतियोगितासँगै खेलमैदान निर्माणको कामसमेत गरिरहेका छन् ।

यसपटकको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साताहुँदै छ । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सलआर्टका सबै विधाका खेल हुनेछन् । पालिकास्तरबाट छनोट भई जिल्लास्तरमा र जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउनेछन् । रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन् ।

जिल्लामा विगत वर्षमा माईभ्याली गोल्डकप आयोजना हुँदै आएकामा यस वर्ष माईभ्याली गोल्डकप स्थगित गरिएको छ । इलाम गोल्डकप हुने भएपछि ठूलो टुँडिखेलमा यतिबेला बासको प्यारापिट निर्माण भइरहेको छ । स्थायी प्यारापिट अभावमा बासको प्यारापिट निर्माण गर्दा रु १२ लाख बढी रकम सकिएको आयोजक रेडहर्स फुटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङ पैयुँपाटाका विद्यार्थी पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

ढोरपाटन (बागलुङ), ३ माघ : बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्र/ छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन् । विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए । विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरिराख्नुभएको छ भने बिदाको समय सिकाउनेसमेत गर्दै आउनुभएको छ ।

कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउनुहुन्छ । कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउनुहुन्छ भने कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गर्नुभएको छ । कक्षा ३ मा अध्ययनरत आयन परियार र कक्षा ४ मा अध्ययनरत विहान परियार ९ख०ले दमाहा बजाउने गर्नुभएको छ । उहाँहरू सबैले घरमा राखेको बेलामा बजाउँदा सिकेको शिक्षक थमबहादुर जानकारी दिनुभयो । पछिल्लो सयम गाउँमा बाजा बजाउनेको सङ्ख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उहाँको भनाइ छ ।

“पहिले गाउँमा बाजा बजाउने टोली धेरै थिए, अहिले युवाले बजाउन लाज मान्छन्, बूढापाकाले नसक्ने भएपछि बाजा बजाउने चलन हराउँछ कि भन्ने डर थियो, अहिले हाम्रा नानीबाबुले धेरै रुचि राखेर बजाउन थालेका छन्”, शिक्षक थमबहादुरले भन्नुभयो, “मैले पनि राम्रोसँग सिक्नुपर्छ भनेर सिकाउने प्रयास गरेको छु, एक टोली १० जनाको हुन्छ, विद्यालयले बाजा बजाउने एक टोली उत्पादन गर्ने देखिएको छ, नयाँ पुस्ताले नसिके बाजा बजाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ ।”

बाजा बजाउने परम्परागत चलन भएको हुँदा आफूहरूले सिकेको रेश्नु परियारले बताउनुभयो । सानैदेखि वरपरका साथीसँग मिलेर बजाएको सुनाउँदै अहिले घरमा राखेका बाजा लिएर विद्यालयको कार्यक्रममा बजाउने गरेको उहाँको भनाइ छ । सीप र ताल मिले जसले पनि बाजा बजाउन हुने उहाँले बताउनुभयो । अहिले साना भाइबहिनीले पनि धेरै रुचि राखेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बाजा बजाउन गाह्रो छैन, सजिलो छ, गाउँघरमा बाजा बजाउने हुँदा हामीले पनि त्यही देखेर सिकेको हो, पहिले धेरै बाजा बजाउने मान्छे हुन्थे, अहिले निक कम भएको छ, अहिले हामी स्कुलमा पढ्ने साथीसँग मिलेर बजाउने गरेका छौँ, सरहरूले पनि हौसला दिनुभएको छ, उहाँहरुको साथले प्रेरणा मिलेको छ, साना भाइहरूले पनि बजाउन सिक्दैछन्, दाइदिदीबाट पनि अझै राम्रो बजाउन सिकिरहेका छौँ ।”

विद्यालयमा बाजा बजाउने अधिकांश छ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी छन् । प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा सङ्कलन अभियान सुरु गरेको जानकारी दिनुभयो । अहिले विद्यालयमा एउटा पनि बाजा नहुँदा सिकाउन नसकेको उहाँको भनाइ छ । विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको जनाउँदै उनीहरूलाई सक्षम बनाउनतर्फ लागेको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।

“बाजाको अभाव छ, बाजा हुने हो भने विद्यालयमा सिकाउन सकिन्थ्यो, अहिले घरमा आफ्ना बाबुबाजेले बजाएको देखेर बजाउँदै आएका छन्, बाजा सङ्कलन कोष स्थपना गर्नका लागि आर्थिक सङ्कलन अभियान चलाएका छौँ”, प्रधानाध्यापक आचार्यले भन्नुभयो, “बाजा बजाउने उनीहरूको प्रतिभा हो, यसलाई प्रोत्साहन गरिरहेका छौँ, सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिनुपर्छ भन्ने मान्यताले बाजा बजाउनतर्फ प्रेरित गरिरहेका छौँ, बाजा बजाउन सिके विद्यार्थीले भविष्यमा यसैबाट जीविकोपार्जन गर्न सक्छन् ।”

अहिले बाजाको माग निकै बढिरहे पनि बजाउने मान्छेको अभाव खट्किँदै गएको छ । बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छन्, तर पछिल्लो समय बाजा बजाउने दक्ष युवाशक्तिले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । मेला, महोत्सव, विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अचेल कमै मात्रामा बज्ने गर्छन् । बाजाका सट्टा ठूला–ठूला साउण्ड सिस्टममा ‘रेकर्डेड’ गीत बजाइने गरिएको छ । कहीँ बाजा बजाउने जनशक्ति छैनन्, कहीँ भएर पनि बजाउन चासो दिँदैनन् । यसकारण मौलिक पञ्चेबाजा संरक्षणमा चुनौती बढेको छ ।

दिनहुँ चितुवा देखिन थालेपछि बन्दीपुरमा सतर्कता

दमौली (तनहुँ), ३ माघ : तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिनहुँजसो चितुवा देखापर्दा सबैजना समस्यामा छन् । साँझका समयमा बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरेका छौँ ।” अध्यक्ष प्रधानले घर आसपास झाडी सरसफाइ गर्न सबैलाई भनिसकेको जानकारी दिनुभयो ।

स्थानीय अमिर गुरुङले टुँडिखेलमा चितुवा देखापरेकाले साँझ र बिहानको झिसमिसे उज्ज्यालोमा सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बालबालिका बढी मात्रामा चितुवाको आक्रमणमा पर्ने गरेकाले साँझ र बिहानको समयमा बढी चनाखो हुनुपर्छ ।”बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताउनुभयो ।जङ्गल फडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । उहाँले भन्नुभयो, “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छाँै । चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।” 

कोरला–त्रिवेणी सडक आयोजना : डेढगाउँ–झ्यालबास खण्ड कात्तिक भित्र सम्पन्न गर्ने लक्ष्य

त्रिवेणी (नवलपरासी), ३ माघ : कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले सो आयोजनालाई प्रदेश गौरवको योजनामा राखेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका सडक इन्जिनियर रामकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

डेढगाउँ–झ्यालबास खण्डमा पहिलो चरणमा हाल १४ दशमलव एक किलोमिटर सडक निर्माण अघि बढिरहेको छ । विसं २०७९ वैशाखमा सम्झौता भएर निर्माण सुरु गरिएको सो खण्ड विसं २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रु ३२ करोड २० लाखको लागतमा सडक निर्माण लामा गौरीशङ्कर जेभीले गरिरहेको छ ।

नालासहित कालोपत्र गर्ने योजनाका साथ काम चलिरहेको सो खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको इन्जिनियर घिमिरेले बताउनुभयो । उहाँका अनुसार नाला निर्माणसँगै ठाउँ–ठाउँमा ग्याविन भर्ने, सडक छेउमा पर्खाल निर्माण गर्ने काम जारी छ । सम्झौताको २१ महिना सकिएको र अब १० महिना बाँकी छ । सम्झौताको अवधिभित्रै काम सक्नेगरी लागिरहेको इन्जिनियर घिमिरेले बताउनुभयो । सडक चौडा पार्ने, ग्याविन भर्ने, छेउछाउमा पर्खाल लगाउनेजस्ता मुख्य काम धेरैजसो सकिएकाले बाँकी रहेको अवधिमा सबै काम सम्पन्न हुने उहाँको भनाइ छ । “प्रारम्भमा गर्नुपर्ने धेरै मुख्य काम सकिने चरणमा छन्, निर्माण नियमित सञ्चालन भए, सम्झौता अवधिमा नै सबै काम सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो ।

नवलपुरको डेढगाउँबाट प्रारम्भ हुने सो सडक रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । यसै खण्डमा दोस्रो चरणमा थप सात किलोमिटर सडक निर्माणको समेत अगाडि बढेको इन्जिनियर घिमिरेले बताउनुभयो । “पहिलो खण्डको १४ किलोमिटरपछि थप सात किलोमिटर सडक निर्माण अगाडि बढेको छ, चाँडै सम्झौता भएर अर्को खण्डको काम सुरु हुन्छ”, उहाँले भन्नुभयो ।

डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमशः सबै खण्डको काम अघि बढ्ने उहाँले बताउनुभयो । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ । चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य छ ।

तर दुम्कीबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न सकेको छैन । सो सडक उत्तरतर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वीराजमार्गमा जोडिन्छ । मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै तराई भू-भागमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् आज माघ ३ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ ।

बृष राशि – कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ ।

मीथुन राशि – सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कर्कट राशि – साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

सिंह राशि – अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

कन्या राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुला राशि- प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा साबधानिरहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।

बृश्चिक राशि – नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

धनु राशि – परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मकर राशि – सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

कुम्भ राशि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि – साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।

२ वर्षदेखि शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा उल्लेख्य वृद्धि,३ अर्ब २० करोड राजस्व संकलन

काठमाडौं । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा कुल ४५ हजार २ सय ७७ वटा लिखत पारित भएका छन् । यो गत मंसिर महिनाको भन्दा ८ प्रतिशतबढीले जग्गा खरिद–बिक्री हुनु हो ।

मंसिरमा घरजग्गा कारोबारबाट २ अर्ब ८६ करोड राजस्व संकलन भएको थियो । मंसिरको तुलनामा पुसमा राजस्व संकलन पनि ३५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांक विभागको रहेको छ ।

विभागका अनुसार पुस महिनामा मुलुकभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएका छन् । गत मंसिरमा साढे ४२ हजार लिखत पारित भएका थिए ।सरकारले स्थानीय तहमार्फत घरजग्गाको वर्गीकरण गरी कित्ताकाट खुकुलो पारेपछि कित्ताकाटको संख्या पनि बढेको छ । यही अवधिमा बैंकहरूमा लगानीयोग्य रकम बढ्न थालेको तथा बैंकहरूको ब्याजदर पनि निरन्तर रूपमा घट्न थालेकाले घरजग्गाको कारोबार बढेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाउँदै साउनबाट कित्ताकाट खुलाए पनि कारोबार भने बढ्न सकेको थिएन । तर, अहिले बजारमा आर्थिक मन्दी बिस्तारै हट्न थालेकाले र बैंकहरूमा पनि तरलता बढेका कारण जग्गाको कारोबार बढेको आँकलन गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

लोप हुँदै दरबार र पाँचतारे होटलसम्म खाइने खोलामा पाइने लेउ

काभ्रेपलाञ्चोक । लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला । काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा खोलामा पाइने लेउ साँच्चिकै स्वादिलो हुने भएकाले दरबार र पाँचतारे होटलसम्म पुग्ने गरेको छ ।

कात्तिकदेखि फागुनसम्मका पाँच महिनासम्म घाम लाग्ने सफा उच्च प्रवाहमा बग्ने पानीको ढुङ्गामा टाँसिएर रहने सिमाली त्यही लेउ हो । असला माछाको जस्तै स्वाद हुने यो लेउ एक हजार पाँच सयदेखि दुई हजार मिटर उचाइका खोलामा पाइन्छ । नेपालमा ९९८ प्रकारका लेउ पाइन्छन् ।खोलाको ढुङ्गामा टाँसिएर रहेको लेउलाई स्थानीयले सङ्कलन गरी बिस्कुन सुकाउने मान्द्रामा राखेर करिब आठ इन्चको वर्गाकार पापड बनाउने गर्छन् । पापडलाई राम्रोसँग घाममा सुकाएर भण्डारण गर्छन् । रुचि र स्वाद अनुसार फरक फरकका परिकार बनाएर खान्छन् ।स्थानीयले घरायसी प्रयोजनसँगै सिमाली लेउलाई आयआर्जनको वस्तुुका रूपमा पनि कारोबार गर्छन् । वनस्पतिविद् डा मोहनलाल वनर्जीले सन् १९५५ मा जर्नल अफ द बम्बे नेचुरल हिस्ट्री सोसाइटीमा प्रकाशित लेखमा सिमाली इन्द्रचोकको बजारमा पाइने उल्लेख गरिएको थियो । त्यसैलाई पछ्याउँदै ६२ वर्षपछि सन् २०१७ मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा त्यसको अनुसन्धान सुरु भएको छ । तर यो अहिले लोप हुने अवस्थामा पुगेको छ ।पनौती पर्यटन केन्द्रका अध्यक्षसमेत रहेका पुरुषोत्तम कर्माचार्य असला माछा लोप हुने अवस्थामा पुगेसँगै सिमाली पनि लोप हुने अवस्थामा पुगेको बताए । उनले असला माछाको मुख्य आहार नै सिमाली रहेकाले त्यसको स्वाद असला माछाको जस्तै रहेको बताए ।आफूले किराना पसल सञ्चालन गर्दा हिउँदमा सिमाली ल्याएर बेच्ने गरेको, स्थानीय धेरै रहने गरे पनि अहिले गरे । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

‘विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक’: मुख्यमन्त्री शर्मा

कर्णाली, २ माघ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आज आयोजित २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा मुख्यमन्त्री शर्माले सबैखाले प्राकृतिक जोखिमबाट बच्न कर्णालीमा विपद् जोखिम विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुरा गरेर मात्र होइन, व्यवहारिक रुपमै देखिने गरी नीति, विधि र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्दछ ।”

विगतका प्राकृतिक विपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उहाँको भनाइ छ । गोरखाको बारपाकमा गएको भूकम्पबाट शिक्षा नलिँदा यस पटकको जाजरकोट भूकम्पको असरबाट क्षति न्यून हुन नसकेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “कर्णाली प्रदेशमा प्राकृतिक विपद्बाट हुनसक्ने क्षति र न्यूनीकरणका लागि आम समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र आवश्यक जनशक्ति तयार गर्नसकेमात्र क्षति कम गर्न सकिन्छ ।” भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनतर्फ जोड दिनुपर्ने बताउँदै उहाँले समुदायको सक्रिय सहभागिताले मात्र भूकम्पलगायतका प्राकृतिक विपद्को सामना गर्न सकिने बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका काम अघि बढाउन सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य अपरिहार्य भएको उहाँले बताउनुभयो ।

वीरेन्द्रनगरपालिका प्रमुख मोहनमाया ढकालले स्थानीय तह जनताको नजिकको अधिकार सम्पन्न सरकार भए पनि ऐन कानुनको कमी तथा सीमित स्रोतसाधन अभावले प्रभावकारी कार्यसम्पादनमा चुनौती देखिएको बताउनुभयो । दक्ष जनशक्ति अभावले स्थानीय तहमा विपद् न्यूनीकरणका कार्य गर्न अप्ठ्यारो भएको उहाँको भनाइ थियो ।

सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्छ : सांसद सुवाल

भक्तपुर, २ माघ : प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भूकम्प गएको आठ वर्षसम्म पनि सिंहध्वाका दरबारको पुनःनिर्माण नहुँदा भक्तपुर दरबार क्षेत्र असुरक्षित र जोखिमपूर्ण बनेको बताउनुभएको छ । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजित सुरक्षित घर निर्माणसम्बन्धी प्रदर्शनी उद्घाटन गर्दै उहाँले विश्वसम्पदा सूचीमा सूचीकृत सिंहध्वाका दरबार मल्लकालीन शैलीमै छिट्टै पुनःनिर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

विसं १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा आज भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले दत्तात्रयमा संयुक्तरुपमा सो प्रदर्शनी आयोजना गरेका थिए । त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बलियो र भूकम्पप्रतिरोधी घर तथा भवन निर्माणमा नगरपालिकाले जोड दिएको बताउनुभयो ।बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले १९९० सालको भूकम्पपश्चात पनि गएका ठूला भूकम्पले पु¥याएको क्षतिबाट पाठ सिक्नुपर्ने बताउनुभयो । उहाँले पुर्खाले पनौती, चित्तपोल, कटुञ्जे, कीर्तिपुरलगायतका ठाउँमा बस्ती विकास गर्दा र मठ मन्दिर, पाटी पौवा केबल देवता राख्नका लागि मात्र नभई यहाँको जनजीवन र भौगर्भिक स्थितिलाई मध्यनजर गर्दै भौगर्भिक ज्ञान सीपबाट निर्माण गरेको चर्चा गर्नुभयो ।भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पूर्वजले सिकाएको प्रविधि, स्थानीय स्रोत र साधनको प्रयोगबाट बनेका सम्पदा अझै पनि अत्यन्त महत्वपूर्ण संरचनाका रुपमा रहेको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिलगायतले २०७२ को भूकम्पले क्षति पु¥याएका घरको अझै पुनःनिर्माण हुन नसक्नुमा चिन्ता व्यक्त गर्नुभयो ।प्रदर्शनीमा ३१ वटा भूकम्प प्रतिरोधी नमूना घर, ४३ वटा चित्रकला, २६ वटा ‘पेपर ब्रिज’, छ वटा तस्बिर र उद्धार सामग्री राखिएका थिए । त्यस अवसरमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकाय, स्थानीय र विभिन्न विद्यालयका विद्यार्थीलगायतको सहभागिता थियो ।

शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ, २ माघ : शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।