`

राजनीतिक दलसम्बन्धी विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने

काठमाडौँ, ४ माघ : सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने भएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा चार किल्ला तोकी पशु बधशाला स्थापना गर्न इजाजत दिने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ । मन्त्रिपरिषद्ले नागरिक लगाननी कोषको कार्यकारी निर्देशक पदमा उदयपुर निवासी पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले बताउनुभयो ।

नेपाल सरकारका नाममा रहेको विराटनगर महानगरपालिका–५ स्थित ०–१३–२–१ बिघा जग्गा नेपाल खानेपानी संस्थान विराटनगर शाखालाई खानेपानी संरचना निर्माण गर्न भाडामा उपलब्ध गराउन स्वीकृति दिने र आगामी चैत १४ देखि १८ सम्म नैरवि र केन्यामा आयोजना हुने यूनाइटेड नेशनलको कार्यक्रममा नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी वन तथा वातारणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलाई सहभागी हुन स्वीकृति दिने पनि सरकारको निर्णय छ ।

“बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सर्तहरु पालना गर्ने गरी महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–४ मा पर्ने माईस्थान सामुदायिक वन क्षेत्रको ५४,५८४ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका १९६७ गोटा रुख÷पोल हटाउन स्वीकृति दिने निर्णय भएको छ”, मन्त्री शर्माले भन्नुभयो ।

त्यसैगरी मन्त्रिपरिषद्ले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका–६, रुकुमका किरणबाबु पुनलाई नियुक्त गर्ने, खुर्कोट जग्गा एकीकरण आयोजनाको लागि करिब ६७७ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने, घारीगाउँ (चौरजहारी नयाँ सहर) जग्गा एकीकरण आयोजनाको लागि करिब पाँच सय ८५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा काठमाडौँ निवासी रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा म्याग्दी निवासी डा रवि मल्ललाई मनोनयन गर्ने, रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने, ग्रीन हाइड्रोजन नीति, २०८०, स्वीकृत गर्ने र बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा, समूह र उपसमूहका राजपत्राङ्कित द्धितीय क्षेणीका अधिकृतलाई सम्बन्धित सेवा, समूह र उपसमूहका पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

सरकारले मालपोत नियमावली, २०३६ को नियम ४(क) को उपनियम (१) बमोजिम विभिन्न सूचना नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।

कार्यसम्पादनमा ढिलाइ भएका आयोजनाको लिखित जवाफ पेस गर्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, ४ माघ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कार्यसम्पादनमा ढिलाइ भएका आयोजनाको लिखित जवाफ पेस गर्न निर्देशन दिनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयमा आज मन्त्रालय र मातहतका निकायका प्रमुखसँग चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबारे छलफल गर्दै समस्या देखिएका आयोजनाको तुरुन्तै समाधान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “यसपटक काम सुरु हुन नसकेका आयोजनाको लिखित कारणसहितको विवरण पेस गर्नुस् । अर्को पटक कम कार्यप्रगति भएका आयोजनाको पनि यसैगरी विवरण पेस गर्नुपर्नेहुन्छ ।”

उहाँले राष्ट्रिय गौरवका आयोजना, ठूला र प्राथमिकता प्राप्त आयोजनाको कार्यप्रगतिमा देखिएको समस्या समाधानका लागि मातहतका निकाय आफै जिम्मेवार हुनुपर्ने बताउनुभयो । चालु आवको छ महिना पूरा भइसक्दासमेत केही आयोजनाको प्रगति अपेक्षित हुन नसक्नुको कारण लिखित रुपमा पेस गर्न निर्देशन दिँदै उहाँले किन त्यसो भएको हो, जिम्मेवार को हो ? भन्ने जस्ता प्रश्नको उत्तर खुलाउनुपर्ने बताउनुभयो ।

“प्राथमिकताक्रम निर्धारण गरिएका आयोजनामा देखिने गरी प्रगति हनुपर्छ । सामान्य तरिकाले अब हुँदैन । सबै निकायका प्रमुख आफै जिम्मेवार हुनुपर्छ । प्रगति हुन नसक्नाका कारण के के हुन् ? त्यसको स्पष्ट समाधानको खाका पनि आवश्यक पर्दछ”, मन्त्री बस्नेतले भन्नुभयो । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि विभागीय मन्त्रीका हिसाबले नियमित रुपमा सरोकारवाला निकायसँग छलफल गरिरहेको र केही आयोजनामा सहजीकरण भइसकेको उहाँको भनाइ छ ।

“आफैले तय गरेका लक्ष्यमा किन प्रगति भएन ? प्रश्न आफैमा महत्वपूर्ण छ । यसको उत्तर तपाईं हामीले धेरै ठाउँमा दिनुपर्ने हुन्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “समस्या देखाएर बस्ने होइन, समाधानका लागि इमान्दार प्रयास गरौँ । त्यसबाट नतिजा पनि निस्कन्छ ।” उहाँले राष्ट्रिय गौरवमा समावेश सिँचाइ आयोजनालाई गति दिन यसअघि दिइएको निर्देशनको अवस्था के कस्तो अवस्थामा छ भन्ने प्रश्न गर्दै उहाँले प्रक्रियामा अल्झने काम नगरी शीघ्र निर्णय गर्न आग्रह गर्नुभयो ।

आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने लक्ष्यलाई पूरा गर्न नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कुन कुन क्षेत्रमा के के गर्नुपर्ने हो त्यसको स्पष्ट खाका तयार पार्नुपर्ने बताउनुभयो ।

विद्युत् उत्पादन अनुमतिपत्र लिएर कार्यसम्पादन नगरेका आयोजनाको हकमा तत्काल प्रगति विवरण तयार पार्न विद्युत् विकास विभागको ध्यानाकर्षण गराउँदै लामो समयसम्म आयोजना होल्ड हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

यस्तै, नलगाड र जगदुल्ला आयोजनाका लागिसमेत आवश्यक पर्ने ऊर्जा व्यवस्थापनका लागि अत्यावश्यक मानिएको ताप्सुगाड जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने मन्त्री बस्नेतको जोड छ । जगदुल्ला आयोजनाका लागि हाल पहुँचमार्ग निर्माण, वित्तीय व्यवस्थापनको काम भइरहेको छ । यस्तै, ताप्सुगाडको विद्युत् खरिद सम्झौताको तयारी भइरहेको छ ।

मन्त्री बस्नेतले माथिल्लो अरुण जलविद्युत् आयोजनाको पछिल्लो अवस्थाबारे पनि चासो व्यक्त गर्नुभएको थियो । पहुँचमार्ग निर्माणका लागि वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति प्राप्त हुन नसक्दा प्रक्रिया अगाडि बढ्न नसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी गराउनुभएको थियो ।

मन्त्री बस्नेतले मन्त्रिपरिषद्को निर्णयपछि बूढीगण्डकी जलविद्युत् आयोजनाको हकमा भएको प्रगतिबारे समेत प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठसँग जिज्ञासा राख्नुभयो । मन्त्रिपरिषद्ले पूर्वाधार करबापत उठ्दै आएको रकमको ५० प्रतिशत रकम आयोजनामा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय व्यवस्थापनका लागि अन्य ढाँचाबारे छलफल भइरहेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याउने बताउनुभयो । छलफलमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले मन्त्रालय मातहत भइरहेका काम कारबाहीका बारेमा चासो राख्दै समस्या समाधानका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओलीले भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको काममा पछिल्ला दिनमा अपेक्षित गति लिएको बताउनुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु, १७ विधाका ५४ खेल हुने

बुटवल, ४ माघ : बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि यहाँ पाँचौंँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा एक हजार चार सय २२ विद्यार्थीले भाग लिने नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो ।

प्रतियोगितामा १८ वर्षभन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीको बीमा गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु १७ हजार पाँच सय र तृतीयलाई रु १० हजार पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताउनुभयो

प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बुटवलबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताउनुभयो । उहाँले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताउनुभयो ।

प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् ।

रसिया पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, ४ माघ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उपरीक्षक केसीका अनुसार पक्राउ परेका थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि रु सात लाख तीस हजार लाग्ने तथा रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा रु एक लाखमा काम लगाईदिने भन्दै विश्वास दिलाइ पीडितबाट पटक–पटक गरी जम्मा रु सात लाख तीस हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

सञ्चारमन्त्रीको एक वर्ष : नीतिगत सुधार र सुशासन प्रवर्द्धन प्राथमिकता

काठमाडौँ, ४ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूले कार्यभार सम्हालेको एक वर्षमा कानुनी, नीतिगत र संरचनात्मक सुधारको पहल गरेको बताउनुभएको छ ।
कार्यकाल एक वर्ष पूरा भएका अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले कानुनी र नीतिगत सुधारमार्फत नेपालको सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई पुनःसंरचना गर्न सकिन्छ भन्ने आफ्नोे दृढ विश्वास रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघि सार्नुभएको सुशासन, सामाजिक न्याय र समृद्धिको कार्यदिशा कार्यान्वयन गर्न भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअन्तर्गत सञ्चार मन्त्रालय आफैले पनि केही विषयको अध्ययन र छानविन गरेको जानकारी दिनुभयो । मन्त्री शर्माले २०७९ माघ ३ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । सञ्चार मन्त्रालयसँग आमसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, दूरसञ्चार र चलचित्रसम्बन्धी कार्यक्षेत्र रहेका छन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल कार्यदिशासहित सरकार संविधान कार्यान्वयन र सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासन, भ्रष्टाचार नियन्त्रणलगायतका क्षेत्रमा सरकार अघि बढिरहेको पनि स्पष्ट गर्नुभयो ।

मन्त्री शर्माले फ्रिक्वेन्सी लाइसेन्स ओगटेर राख्ने, राज्यलाई राजश्व नतिर्ने र काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फ्रिक्वेन्सी नीति २०६९ (संशोधन २०७३)लाई परिमार्जन गरी फ्रिक्वेन्सी नीति २०८० जारी गरिएको जानकारी दिनुभयो । यो नीति जारी भएसँगै २०८१ साउन १ गतेदेखि प्रविधि तटस्थताको नीति लागू हुनेछ । यसले अनुमतिपत्र लिई फ्रिक्वेन्सी वापत शून्य वा अत्यन्त कम राजश्व तिर्नुपर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने अपेक्षा मन्त्रालयको छ ।

त्यस्तै अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली पनि संशोधन गरिएको छ । यसले सम्पत्तिको व्यवस्थापन गर्नुको साथै प्रयोग नभएको रेडियो फ्रिक्वेन्सी स्वतः फिर्ता हुने व्यवस्था गरिएको छ
यसबीचमा मन्त्रालयले कानुनी सुधारकै कुरा गर्दा सरकारी विज्ञापनको कारोवारमा चुहावट बढेको, विज्ञापनका लागि छुट्याइएको रकमको थोरै प्रतिशत मात्र सञ्चारमाध्यममा जाने गरेको, यसबाट सञ्चारमाध्यममा समस्या परेको र विज्ञापन बजारमा अपारदर्शिता बढ्दै गएको गुनासो सम्बोधन गर्न विज्ञापन (नियमन गर्ने) नियमावली, २०८० संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ । टेलिभिजन प्रसारणमा विदेशी च्यानलहरूले उपभोक्ताहरूबाट मनलाग्दो शुल्क उठाउने स्थितिलाई अन्त्य गर्न टेलिभिजन प्रसारणमा अल कार्ट मूल्य प्रणाली लागू गरिएको छ ।

यस बीच सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० र राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० लगायतका नीति तथा कानून स्वीकृत भई कार्यान्वयनको क्रममा छन् । अन्य आवश्यक नीति तथा कानून तर्जुमाको क्रममा छन् । सुरक्षण मुद्रणसम्बन्धी विधेयक र सार्वजनिक सेवा प्रसारण विधेयक सङ्घीय संसदको समितिमा छलफलको क्रममा छन् भने नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदामा अर्थ मन्त्रालयको सहमति लिई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पठाइएको छ ।

आमसञ्चार विधेयकको मस्यौदा र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) विधेयकको मस्यौदा तयार भई अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएको छ । सूचना प्रविधि र दूरसञ्चारको क्षेत्रमा आएका नवीन प्रविधिलाई समेत सम्बोधन गर्ने गरी दूरसञ्चार विधेयक र सूचना प्रविधिसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति लिई मस्यौदाको क्रममा छ । साथै चलचित्र क्षेत्रमा आएका नवीन प्रविधि र परिवर्तित सामाजिक राजनीतिक मान्यतालाई सम्बोधन गर्ने गरी चलचित्र क्षेत्रलाई व्यवस्थापन गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सरोकारवालाको राय सुझावको लागि मस्यौदा वेवसाइटमा राखिएको छ ।

राष्ट्रिय विज्ञापन नीति, २०८० को मस्यौदा तयार गरी सहमतिका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाइएको छ । एफएम रेडियोहरूको दर्ता तथा नवीकरणलाई सरल एवं थप व्यवस्थित बनाउन राष्ट्रिय प्रसारण नियमावली, २०८० मा संशोधन गर्न अर्थ मन्त्रालयबाट सहमति लिई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पठाइएको छ भने अतिरिक्त हुलाक नियमावली, २०३४ मा समसामयिक परिमार्जनको लागि अर्थ मन्त्रालयको सहमति लिई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिका लागि पठाइएको छ ।

मन्त्री शर्माले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐनको मस्यौदा तर्जुमा गरी प्रक्रियामा अघि बढाएको र सरोकारवालासँगकै व्यापक छलफलपछि सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने ऐनको मस्यौदा अघि बढाइएको बताउनुभयो ।

उहाँले आफूले मन्त्रालय सम्हालेकै दिन नेपाल टेलिकमको दूरसञ्चार सेवा अवरुद्ध भएपछि तत्काल समिति गठन गरी दूरसञ्चार सेवाको अवस्था, सेवा अवरुद्ध हुनुका कारण र त्यस्तो समस्या आउन नदिने उपायसहितको प्रतिवेदन तयार गराइएको र सरकारी तथ्याङ्क केन्द्रमा साइबर आक्रमणका घटना बढेपछि मन्त्रिपरिषद् बैठकबाटै उच्चस्तरीय समिति गठन गरी अध्ययन प्रतिवेदन प्राप्त गरेर प्रतिवेदनको सुझावबमोजिम आवश्यक कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

सो समितिको सुझावलाई समेत ध्यान दिंदै २०८० साउन २३ गते पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति जारी गरिएको छ । यसका आधारमा साइबर सुरक्षासँग सम्बन्धित आवश्यक कानुन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया अघि बढेको छ ।

यस्तै एमडिएमएस प्रणाली कार्यान्वयनमा देखिएका जटिलता र यसको खरिद प्रक्रियामै उठेका प्रश्नको तथ्य पहिचान गर्न समिति नै बनाएर छानविन गरिएको, टेरामक्सको सवालमा औपचारिक छानविन नगरे पनि मन्त्रालयले तथ्यगत धारणा स्पष्ट गरेको उल्लेख गर्दै मन्त्री शर्माले यी प्रणाली नेपालमा आवश्यक भए पनि आवश्यक कानुनी र नीतिगत व्यवस्थाका साथै खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गल्ती गर्नेलाई छुट दिन हुँदैन, बदमासी कसैले पनि गर्न हुँदैन भन्नेमा सचेत छौँ ।’’

सूचना प्रविधिलाई समृद्धिको आधार बनाइँदै
सूचना प्रविधिलाई सरकारले आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गरिसकेको अवस्थामा मन्त्रालयले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा ‘आधुनिक जीवनको आधारः सूचना, प्रविधि र सञ्चार’ नारा तय गरेको थियो ।

मन्त्री शर्माले सूचना प्रविधि आजको जीवनशैलीको एउटा पक्ष र आधुनिक जीवनको आधार त हो नै, यो आधुनिक जीवनशैली मात्र नभएर मुलुकको समृद्धिको महत्वपूर्ण आधार पनि भएकाले सो नारालाई कार्यक्रममा रुपान्तरण गर्न नीति, कार्यक्रम तर्जुमा गर्नाका साथै सोको कार्यान्वयनका लागि कार्ययोजना बनाई काम गरिरहेको जनाउनुभयो ।

उहाँले विश्वमा एकपछि अर्काे प्रविधिको विकास र प्रयोग हुँदै गएकाले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्रविधिको आत्मसातीकरण साथै आगामी दिनमा विकास हुने नवीन प्रविधिका लागि पनि नीतिगत, कानुनी र संरचनागतरुपमा तयार हुनुपर्ने दायित्व अब यस मन्त्रालयको काँधमा आइपुगेको बताउँदै सूचना प्रविधिका चमत्कारिक विकास र प्रयोग भइरहेको भए पनि नेपालमा अझै यसको बुझाईमा एकरुपता कायम चुनौती रहेको अनुभव सुनाउनुभयो ।

उहाँले नेपालको आफ्नै भू–उपग्रह हुनुपर्छ भन्ने सरकारको स्पष्ट मान्यता रहेको जनाउँदै अब सूचना प्रविधिको प्रयोग र डाटा सुरक्षाको विषय राष्ट्रिय सार्वभौमिकतासँगै जोडिन पुगेकाले आफ्नै भू–उपग्रह स्थापना गर्नुपर्छ भन्ने स्पष्ट गुरुयोजना आवश्यक भइसकेको बताउनुभयो ।

एफएम रेडियोको नवीकरण अनलाइनबाटै
सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध स्पष्ट गर्दै उहाँले विगत पाँच वर्षदेखि वृद्धि हुन नसकेको श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो । आम सञ्चारका क्षेत्रमा कतिपय सानाजस्ता देखिने तर सेवाग्राहीलाई असहज हुने गरेका क्षेत्रमा पनि सुधारको थालनी गरिएको तथा सूचना विभागबाट जारी हुने प्रेस प्रतिनिधिको अवधि तीन वर्ष बनाउने, एफएम रेडियोको नवीकरण अनलाइनबाटै गर्नेलगायतका सुधारात्मक कार्य थालिएको बताउनुभयो ।

यस्तै सार्वजनिक सेवा प्रसारण विधेयक पारित भएपछि नेपाल टेलिभिजन र रेडियो नेपालको पुनःसंरचना हुने जनाउँदै सरकारी स्वामित्वका सबै सञ्चारमाध्यमलाई थप समावेशी बनाउँदै लैजान सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभयो ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक आउँदै
यस अवधिमा सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८० जारी भएकोे छ । निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न हुने र नहुने कामका बारेमा जानकारी दिइएको छ । यसका आधारमा मन्त्रालयमा गुनासो व्यवस्थापन इकाई स्थापना गरी अनलाइनबाटै गुनासो सुन्ने र सामाजिक सञ्जाल प्लेटफर्मसम्म पुर्‍याउने कामको थालनी भएको छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेसम्बन्धी विधेयकको मस्यौदा अन्तिम चरणमा रहेको मन्त्री शर्माले जनाउनुभयो ।

चलचित्र कानुन लागि सुझाव माग
मन्त्री शर्माले नेपाली चलचित्रलाई उद्योगका रुपमा स्थापित गरी अन्तर्राष्ट्रियस्तमा प्रतिस्पर्धी बनाउन आवश्यक भएको औल्याउँदै चलचित्र ऐन, २०२६ लाई समयानुकूल बनाउन विधेयकको मस्यौदा तयार गरी सरोकारवालाको सुझाव मागिएको जानकारी दिनुभयो । नेपालका पर्यटकीय क्षेत्रमा चलचित्र छायाङ्कनको व्यवस्था मिलाउन सकिएको अवस्थामा यसले अन्तर्राष्ट्रियरुपमा ठूलो प्रभाव पार्न सक्ने भएकाले दोलखामा चलचित्र नगरी निर्माण गर्न प्रस्ताव गरिएको उहाँको भनाइ थियो ।

हुलाक र सुरक्षण मुद्रणलाई समयानुकूल बनाउइँदै
हुलाक सेवालाई आधुनिकीकरण गर्ने क्रममा मन्त्रालयले अतिरिक्त हुलाकलाई खारेज गरी ‘एक स्थानीय तह, एक हुलाक’को अवधारणालाई अघि बढाएको जनाउँदै सूचना प्रविधिको विकास एवं विस्तार, सडक पहुँचको विस्तारसँगै हुलाकलाई पनि समयानुकूल सुधार गर्ने कार्य भइहेको मन्त्री शर्माले जानकारी दिनभयो ।

मन्त्रालयले देशभरि सञ्चालनमा रहेका ६८ वटा हुलाक बचत बैंकमध्ये १२ वटा घाटामा चलेको र त्यहाँ कार्यरत कर्मचारीबाट वचत रकम हिनामिनासमेत गुनासो आउन थालेपछि वचतकर्ताको रकमको सुरक्षाका लागि राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरेको छ ।

सुरक्षण मुद्रण सरकारको विशिष्ट प्रकृतिको काम भएकाले यो कार्य देशभित्रै गरिनुपर्छ । सूचना संवेदनशीलतालाई ख्याल गर्दै मुलुकभित्रै सुरक्षित मुद्रणको प्रक्रिया अगाडि बढाइएको छ । यससम्बन्धी कानुन संसदीय समितिमा विचाराधीन छ ।

शाही अपमान गरेको आरोपमा थाई नागरिकलाई ५० वर्षको कारागार सजाय

एक थाई व्यक्तिलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको एक कानूनी अधिकार समूहले बताएको छ । मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो ।

थाइल्यान्डले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूविरुद्ध विवादास्पद कानूनको प्रयोगलाई बढावा दिएपछि यो कीर्तिमानी सजाय धेरै वर्षपछि आएको छ । आलोचकहरूले उक्त सजायलाई असहमतिलाई मौन बनाउने रणनीति भनेका छन् ।

उत्तरी सहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई उहाँको निजी फेसबुक अकाउन्टमा पोस्ट गरेको आरोपमा कूल ५० वर्षको कारागार सजाय सुनाएको छ । उहाँलाई सुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको हो ।

“पुनरावेदन अदालतले मोङ्कोल थिराकोटलाई उहाँको २७ फेसबुक पोस्टमा ११२ का लागि २२ वर्षको सजाय सुनाएको छ, यो प्रारम्भिक अदालतले पहिला नै फैसला गरेको २८ वर्षको सजायबाहेकको हो, उहाँको कूल कारागार सजाय ५० वर्षको छ”, थाई लयर्स फर ह्युमन राइट्स (टिएलएचआर) ले विज्ञप्तिमा भनेको छ ।

राजा महा वजिरालोङ्कोर्न र उहाँका निकट परिवारलाई आलोचनाबाट बचाउन सक्ने लेज–म्याजेस्टेलाई प्राय आपराधिक संहिताको प्रासङ्गिक खण्डपछि थाइल्यान्डमा ११२ भनिन्छ । टिएलएचआरका अनुसार उक्त सजाय शाही मानहानिका लागि दिइएको सबैभन्दा लामो सजाय हो । यसले सन् २०२१ मा कुनै एक महिलालाई दिइएको ४३ वर्षको कारागार सजायको पछिल्लो कीर्तिमानलाई तोडेको छ ।

अनलाइन कपडा पसलका मालिक मोङ्कोललाई पहिलो पटक सन् २०२१ मा राजनीतिक बन्दीहरूको रिहाइको मागलाई लिएर भएको एउटा विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएको थियो । सन् २०२० र सन् २०२१ मा युवाहरूको नेतृत्वमा भएको प्रदर्शनमा हजारौँ मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनमा कडा लेज–म्याजेस्टे कानूनमा परिवर्तनको माग गरिएको थियो । टिएलएचआरले मोङ्कोलको सजायविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिने जनाएको छ ।

टिएलएचआरका अनुसार सन् २०२० मा विरोध आन्दोलन सुरु भएयता दुई सय ५० भन्दा धेरै कार्यकर्तामाथि लेज–म्याजेस्टे कानूनअन्तर्गत आरोप लगाइएको छ । बुधबार मुख्य आन्दोलनका नेताहरूमध्येका एक वकिल अर्नोन नम्पाको चार वर्षको लेज–म्याजेस्टे सजायलाई थप चार वर्ष बढाइएको छ ।

आकास एयरद्वारा बोइङका १५० विमान माग

भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ ।

गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेटविमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ ।

आकास एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८–२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भरतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताउनुभयो ।

सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको आकास बोइङको बलियो सहयोगी रहँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत दुबेले भन्नुभयो, “आकास एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ ।

यो मागमा अलास्का एअरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन ।कुनै पनि भारतीय एयरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन् ।देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७ ८ म्याक्स विमानको परीक्षण सन्तोषजनकरूपमा सम्पन्न भएको बताएको थियो ।

हमासमा दर्जनौँको मृत्यु दर्जनौं व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको भनाई

इजरायली आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको र लडाकूहरूले बन्धक बनाएकाहरूको लागि औषधि आपूर्ति भएको समय यो नयाँ आक्रमण भएको मध्यस्थकर्ता कतारले जनाएको छ ।

दक्षिणी शहर राफाको एउटै घरमा भएको आक्रमणमा परी १६ जनासहित बुधबार रातभरको आक्रमणमा ९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।प्यालेस्टिनी मन्त्रालयले भनेको छ, “एउटा घरमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । घटनामा २० जना घाइते भएका छन् ।”

दक्षिणी शहर खान युनिस र मध्य गाजामा प्यालेस्टिनी शरणार्थी शिविरमासमेत दर्जनौं आक्रमण भएको मन्त्रालयले जनाएको छ । हडतालपछि बिहानै खान युनिसमाथि कालो धुवाँको मुस्लो देखिएको थियो ।इजरायलमाथि अक्टोबर ७ मा हमासले एक्कासी गरेको अकल्पनीय आक्रमणका कारण करिब एक हजार १४० जनाको मृत्यु भएपछि इजरायलद्वारा आक्रमण शुरू गरेको थियो ।

इजरायली बमबारी र स्थलगत आक्रमणमा परी कम्तीमा २४ हजार ४४८ जना प्यालेस्टिनीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।हमास र अन्य लडाकूहरूले अक्टोबर ७ मा भएको आक्रमणका क्रममा करिब २५० जनालाई बन्धक बनाएका थिए र तिमध्ये करिब १०० जनालाई युद्धविराम र बन्धकतथा कैँदी फिर्ता गर्ने सम्झौता अन्तर्गत फिर्ता गरिएको थियो भने अझै १३२ जना गाजामा रहेका छन् । बनधकमध्ये कम्तीमा २७ जना मारिएको विश्वास गरिएको छ ।

फ्रान्स र कतारी मध्यस्थतापछि मङ्गलबार घोषणा गरिएको सम्झौताअनुसार बन्धक र सहायताका लागि आक्रमण हुनुभन्दा ‘केही घण्टाअघि’ औषधि गाजा प्रवेश गरेको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बताउनुभएको छ ।

दोहा र फ्रान्सले औषधि र खाद्यान्नसहित उपलब्ध गराएको ६१ टन सहयोग लिएर दुई विमान गाजाको सीमा नजिकै रहेको इजिप्टको एल–अरिश शहरमा आइपुगेको कतारले जनाएको छ ।रेडक्रसको अन्तर्राष्ट्रिय समितिले यस सम्झौतालाई ‘राहतको अति आवश्यक क्षण’ को रूपमा स्वागत गरेको छ, जसअन्तर्गत ४५ बन्धकहरूले औषधि प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्सले ती औषधिहरू राफाको एक अस्पतालमा पठाइने र रेड क्रसलाई दिइने र बन्धकहरूलाई हस्तान्तरण गर्नुअघि समूहमा विभाजन गरिने बताएको छ ।यसैबीच, इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले गाजाको मुख्य दक्षिणी शहर खान युनिसमा हमास नेतृत्वलाई ध्वस्त पार्न सेनाले कडा प्रहार गरिरहेको बताउनुभएको छ ।

इजरायली सेनाले बुधबार एक सैनिकको मृत्यु भएको घोषणा गरेसँगै गाजामा अक्टोबरको अन्त्यमा जमीनी कारबाही सुरु भएयता मारिने इजरायली सैनिकको सङ्ख्या १९३ पुगेको छ ।

सन् २०२३ मा यूरोपका विद्युतीय कार बिक्रीमा सुधार

सन् २०२३ मा यूरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘यूरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले बिहीबार जनाएको छ ।

एसोसिएसनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो बर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ भने नयाँ कारको कूल बिक्रीमा १४.६ प्रतिशतले वृद्धि भएको छ ।

यो आँकडा सन् २०२२ को तुलनामा कूल बिक्रीमा निकै कमी हो । गत बर्ष नयाँ सवारी दर्ता सन् १९९३ यताकै सबैभन्दा न्यून स्तरमा झरेको थियो । सन् २०२२ को तुलनामा फ्रान्स, इटाली र स्पेनमा बिक्रीमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

कार कम्पनीहरूले जीवास्म इन्धन जलेर चल्ने इन्जिन गाडीहरूको बिक्री चरणबद्ध रूपमा समाप्त गर्न युरोपेली युनियनले २०३५ को समयसीमा तोकेको छ ।

गत वर्ष हाइब्रिड कारको बिक्री पनि करिब ३० प्रतिशतले बढेको थियो ।यद्यपि, पेट्रोल कारहरू अझै पनि नयाँ वाहन बजारको एक ठूलो हिस्सा रहेको छ । पेट्रोल कारको बजारले गत बर्ष यूरोपभरको बिक्रीको ३५.३ प्रतिशत अर्थात् ३७ लाख कारहरूको विक्रीको प्रतिनिधित्व गरेको थियो । भोल्क्सवागनले सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी अर्थात् २८ लाख नयाँ कार बिक्री गरेको उक्त कम्पनीले जनाएको छ ।

विवाद समाधानका लागि चीनले मध्यस्थता गर्ने

पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकूलाई लक्षित गरी हाले भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ । पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सात जना इरानी सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ ।” उहाँले भन्नुभयो, “यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौं ।

आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसङ्ख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन् ।बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकूसमूहमाथि आक्रमण गरेको बताएको थियो ।

तेहरानले कम्तीमा सात जनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएको जनाएको छ ।दुवै देश बेइजिङका घनिष्ठ साझेदार र साङ्घाई कोअपरेसन अर्गनाइजेसनका सदस्य हुन् ।

इरान र पाकिस्तान चीनका मित्र राष्ट्र र महत्वपूर्ण प्रभाव भएका देश भएको भन्दै मध्यस्थताका लागि चीनको पहल रहने प्रवक्ता माओले दोहो¥याउनुभयो ।

जापानद्वारा अमेरिकाबाट लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद सम्झौता

जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ । बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सामना गर्दै जापानी सरकारले सन् २०२७ सम्म आफ्नो रक्षा खर्चलाई दोब्बर बनाएर नाटोको मापदण्डअनुसार कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतसम्म बनाउने योजना बनाइरहेको छ ।

एक हजार छ सय किलोमिटरसम्म मार हान्न सक्ने दुई प्रकारका टोमाहकहरू दुई अर्ब ३५ करोड अमेरिकी डलरसम्मको बिक्रीलाई नोभेम्बरमा वासिङ्टनले अनुमोदन गरेको थियो । “यो हस्ताक्षरको निष्कर्षका साथ टोमाहक क्षेप्यास्त्र खरिद कार्य सुरु हुनेछ”, टोक्योमा सम्झौतामा हस्ताक्षर भएपछि रक्षा मन्त्रालयका एक अधिकारीले बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “रक्षा बजेटको सुदृढ कार्यान्वयनमार्फत हामी आफ्नो रक्षा क्षमतालाई व्यापकरूपमा सुदृढ गर्नेछौँ ।”जापानले अप्रिलदेखि लागु हुने अर्को आर्थिक वर्षका लागि ५६ अर्ब डलरको कीर्तिमानी रक्षा बजेट स्वीकृत गरेको छ । जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ । उक्त संविधानले आफ्नो सेनालाई स्पष्टरूपमा रक्षात्मक उपायहरूमा सीमित गर्दछ ।यद्यपि गत वर्ष प्रमुख सुरक्षा तथा रक्षा नीतिहरूलाई अद्यावधिक गर्दा टोक्योले चीनले प्रस्तुत गरेको चुनौतीहरूलाई स्पष्टरूपमा रेखाङ्कित गर्यो । अघिल्लो दिनको एक पत्रकार सम्मेलनमा अमेरिकी राजदूत रहम इमानुएलले जापानको नयाँ रक्षा प्रयासको प्रशंसा गर्नुभयो । “आक्रमणकारीहरू झनझन थप जुझारु हुँदै जाँदा जापान आक्रामकताको लागत बढाएर शान्ति र समृद्धिको रक्षाका लागि जुट्ने मुलुकहरूमा अग्रपङ्क्तिमा रहेको छ”, उहाँले भन्नुभयो ।अमेरिकालाई इजाजतपत्रअन्तर्गत जापानमा बनेको प्याट्रियट क्षेप्यास्त्रहरू बिक्री गर्न सक्षम बनाउन गत महिना टोक्योले हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो । युक्रेनलाई हतियार पठाएपछि अमेरिकाले आफ्नो स्टक भर्न खोजिरहेको छ ।

प्रधानमन्त्री कप क्रिकेट : मधेस प्रदेशसँग एपिएफ स्तब्ध

काठमाडौँ, ४ माघ : प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि दुई सय ४७ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले ४८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले एपिएफलाई पहिलोपटक पराजित गरेको हो । मधेसको जितमा रुपेश सिंहले ७२ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अविजित ७२ रन बनाए । पवन सर्राफले ६४ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रनको योगदान दिए । साथै अनिल शाहले २९ रन बनाए भने अभिशेख तिवारीले १७ रन बनाए ।

एपिएफका लागि अमर रौतेला र रोहित पौडलले समान दुई–दुई विकेट लिए भने मौसम ढकालले एक विकेट झारे ।ञ कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल बनाएको थियो । एपिएफका लागि आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिएका थिए ।

कप्तान रोहित पौडेलले ७४ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५८ रन जोडे भने अमर रौतेलाले ५७ बल खेल्दै दुई चौका र तीन छक्काको मद्दतमा ४९ रन बनाए । त्यस्तै सन्दीप जोराले २०, सुमित महर्जनले नौ, भुवन कार्कीले आठ तथा लोकेश बमले छ रन जोडे । मधेस प्रदेशका रुपेश सिंह र प्रदीप पासवानले समान तीन–तीन विकेट लिए ।

आवश्यक तयारी बिना आयोजना छनोट गरिनुहुन्नः मन्त्री ज्वाला

काठमाडौँ, ४ माघ : भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना आवश्यक तयारी बिना छनोट गर्ने प्रवृत्तिका कारण आयोजनामा समस्या आउनेगरेको बताउनुभएको छ ।राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा मन्त्री ज्वालाले राष्ट्रिय गौरव हुन खालको आयोजना हो वा होइन आवश्यक अध्ययन र बजेटको सुनिश्चितता नगरी आयोजना घोषणा हुने भएकाले कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्नुभयो ।

“गौरवका आयोजना हचुवाका भरमा छनोट भएका छन्”, भौतिक पूर्वाधारमन्त्री ज्वालाले भन्नुभयो, “राष्ट्रिय गौरवको हैसियत नभएका आयोजना पनि राष्ट्रिय गौरवमा राख्ने प्रवृत्ति छ । कतिपय कोषहरु र सामान्यखालका आयोजना पनि राष्ट्रिय गौरवका आयोजनामा राखिने गरेको छ ।”यसपटक प्रधानमन्त्रीको निर्देशनबमोजिम राष्ट्रिय योजनाआयोगका उपाध्यक्ष, मुख्यसचिवसहितको टिम बनाएर राष्ट्रिय गौरवका आयोजनाको पुनःमूल्याङ्कन गर्ने र मापदण्ड तोक्नेगरी आयोजना वर्गीकरणको मापदण्ड पनि पास गरिसकेको उहाँले जानकारी दिनुभयो । मापदण्डअनुसार सङ्घ, प्रदेश र स्थानीय तहले कुन तहका आयोजना कार्यान्वयन गर्नुपर्ने भन्ने मापदण्ड तोकिएको छ । मापदण्डमा रु ५० अर्बमाथिका आयोजनालाई राष्ट्रिय गौरवका आयोजना र रु १० अर्ब बढी लागत पर्ने आयोजनालाई रुपान्तरणकारी आयोजनाको रूपमा परिभाषित गरिएको छ ।“घटाउनुपर्ने आयोजनालाई घटाउने, केही थप्नु पनि पर्छ उदाहरणका रूपमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानजस्ता आयोजनालाई प्राथमिकता दिनुपर्छ”, मन्त्री ज्वालाले भन्नुभयो । भौतिक मन्त्रालय मातहतका चारवटा राष्ट्रिय गौरवका आयोजना छन् । हुलाकी लोकमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र रेल्वे तथा मेट्रो विकास आयोजना छन् । मुलुकमा हाल २७ वटा आयोजना राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत छन् ।दक्ष जनशक्तिको अभाव, जनशक्ति आपूर्तिमा समस्या, प्रशानिक व्यक्तित्व र आयोजना प्रमुख फेरिँदा पनि आयोजनामा असर पर्ने गरेको, बजेटको सुनिश्चितता नभई ठेक्का लगाइदिने प्रवृत्तिले खर्बौँको दायित्व सिर्जना भएको मन्त्री ज्वालाले उल्लेख गर्नुभयो ।उहाँले सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न ऐनको मस्यौदा बनाई चाँडै मन्त्रिपरिषद्मा पेस गरिने बताउनुभयो । साथै उहाँले विकास निर्माणसँग जोडिका ऐन, कानुनलाई सहज, सरल र समयसापेक्ष बनाउन जरुरी रहेको बताउनुभयो ।मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालय राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारीरूपमा अघि बढेको बताउनुभयो । उहाँले पूर्व–पश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिए पनि प्राथमिकता दिएर बजेट विनियोजन नभएको उल्लेख गर्दै आयोजना बनाउने हो भने बजेट व्यवस्था गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारीरूपमा अगाडि बढाउन र निर्माणाधीन आयोजना चाँडो सम्पन्न गर्न, उत्तर–दक्षिण करिडोर चाँडो निर्माण गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँहरुले सडक विस्तारसँगै बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षासम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती)ले राष्ट्रिय गौरवका आयोजनाको अपेक्षित कार्यप्रगति हुन नसकेको, नीतिगत र संरचनागत सुधार गरेर आयोजना छनोटको स्पष्ट मापदण्ड बनाएरमात्रै राष्ट्रिय गौरवका आयोजना घोषणा गरिनुपर्ने बताउनुभयो ।समितिले २४ वटा राष्ट्रिय गौरवका आयोजनाको अध्ययन गरेर चुनौती र प्रगतिको प्रतिवेदन तयार गरेर सबै मन्त्रालयलाई पठाएको उहाँले जानकारी दिनुभयो । समितिले भौतिक मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे मन्त्री, सचिव र मातहत निकायका प्रमुखलाई बोलाएर छलफल गरेको हो । सो अवसरमा कुमार दसौदी, गोपीबहादुर सार्की अक्षामी, रामचन्द्र राई र राजेन्द्रलक्ष्मी गैरेले पनि धारणा राख्नुभयो ।सडक सुरक्षा ऐन बन्दैसरकारले बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न र सडक सुरक्षाका लागि मापदण्ड बनाउने भएको छ । उक्त प्रयोजनका लागि सडक सुरक्षा विधेयकको मस्यौदा तयार भई हिउँदे अधिवेशनमा पेस गर्ने योजना भौतिक पूर्वाधारमन्त्री ज्वालाले जानकारी दिनुभयो ।उहाँले कानुन निर्माणसँगै सवारीसाधन मापदण्डको कडाइकासाथ पालना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री ज्वालाले सडक सुरक्षा कायम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

कञ्चनपुर, ४ माघ : शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्बिर राखिएको छ ।

यसमा सिमतित्रा, कैलोटाउके हाँस, राजलहाचे, खरमुजुर, सानो खरमुजुर, उत्कोशी फ्यालफ्याले, गोमायु महाचील, रणमत्त महाचिल, सारस, लोभीपापी गरुड, भुँडीफोर, बोक्सी चील, लघु महाचील, जीवाहार चील रहेका छन् । यसैगरी सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, नर्कट भ्याकुर, सुनौलो टोपचरा, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर्डिङ बोर्डमा चराको नेपाली र अङ्ग्रेजी नामसहित राखिएको छ ।“विश्वमै दुर्लभ लोपोन्मुख चरा जुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइने गरेका छन्”, प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाका कार्यसमिति सदस्य सुवन चौधरीले भन्नुभयो, “चरा प्रेमी तथा निकुञ्ज भ्रमण गर्ने पर्यटकको सहजताका लागि होर्डिङ बोर्ड राखेका हौँ ।” निकुञ्जको पर्यटन प्रवद्र्धन हुने गरी पर्यटक सहयोगी चरा चिनारी बोर्ड राखिएको उहाँको भनाइ रहेको छ । चराका तस्बिर अङ्कित होर्डिङ बोर्ड नेपाल भारत सीमा गड्डाचौकी र निकुञ्ज प्रवेशद्वार अगाडि राखिएको छ ।अन्य स्थानमा समेत चराका तस्बिर भएका बोर्ड राख्ने कार्यक्रम रहेको पथप्रदर्शक सङ्घका अध्यक्ष खेम भण्डारीले बताउनुभयो । निकुञ्जमा रहेका लोपोन्मुख चराको संरक्षण र प्रचारप्रसारमा टेवा पु¥याउने बोर्ड राखिएको उहाँको भनाइ छ । निकुञ्जमा विश्वका दुर्लभ चरा २४ र अन्य चार सय ६५ चरा पाइने जनाइएको छ । किराफट्याङ्ग्रा नियन्त्रण गर्न, बीउ छर्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा चराले सहयोग पु¥याउने गरेका छन् । यसका अतिरिक्त चराले पर्यापर्यटनमा टेवा पु¥याउने कार्यसँगै वातावरणको शोभा बढाउन, विभिन्न धार्मिक सांस्कृतिक र वैज्ञानिक महत्व बोकेका हुन्छन् । 

वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिन्दार भएको हेर्न मन छ : सांसद चौधरी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उनलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका कमैया र कमलरी आफ्नै जमिन भए कति खुसी हुन्थे होला भन्ने लाग्छ ।

‘अहिलेसम्म अधिकांश थारुको आफ्नो जमिन छैन, तिनको पनि आफ्नो जमिन, घर भए कति राम्रो हुन्थ्यो होला’, नेकपा (एमाले) का तर्फबाट निर्वाचित सांसद चौधरीले सुनाइन्, ‘सम्झिँदा पनि आँसु आउँछ, सरकारले कमलरी प्रथा र मुक्तकमैया घोषणा गरे पनि कार्यान्वयन भएको छैन ।’ कमलरी प्रथा अन्त्यका लागि भएको आन्दोलनमा दूधे बालक बोकेर धेरै पटक धाउँदा पनि आजसम्म तिनका पक्षमा नतिजा नआउँदा उनलाई नमज्जा लाग्छ ।

उनको बाल्यकाल तथा जीवनको पढ्ने–लेख्ने–खेल्ने समय जमिनदारका घरमा काम गरेरै बित्यो । ‘म कमलरी भएर रहँदाको पीडा कसरी व्यक्त गरूँ, सम्झिँदा पनि मुटु फुट्ला जस्तो भएर आउँछ’, नेत्री चौधरीले भनिन्, ‘अहिले पनि दाजुभाइ कमैया भएरै बसेका छन्, दिदीबहिनी कमलरी नै भएर बसेका छन्, दाङमा मात्र नभई देशभरका झन्डै ९५ प्रतिशत चौधरी कमैया-कमलरी भएरै बाँच्नुपर्ने अवस्था छ ।’ सरकारले २०५७ साउन २ गते मुक्तकमैया घोषणा गरे पनि उनीहरूको अवस्थामा देखिने गरी परिवर्तन आउन सकेको छैन ।

लुम्बिनी प्रदेश, दाङ जिल्लामा २०२२ साल वैशाख १७ गते जन्मिएका चौधरीका श्रीमान् पनि मुक्तकमैया छन् तर उनीहरूको आफ्नो जग्गा छैन । ‘हाम्रो नाममा एक धुर पनि जमिन छैन, जमिनदारले बाजेकै पालामा २०१७ सालमा लालपुर्जा खोसेर लगेकामा अहिलेसम्म फिर्ता आएको छैन’, उनले भनिन्, ‘मुद्दा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ, न्याय पाउने आशामा छौँ, खै कहिले हाम्रो जमिनको कागजपत्र हाम्रो हातमा पर्छ, कुरिरहेका छौँ ।’

उनलाई पुर्खाकै पालामा गुमेको जमिन फिर्ता आउने आशा भने छ । ‘जमिनदारले कागजपत्र खोसेर लगे, हामीसँग अहिले कागज नभए पनि त्यही घरमा बस्छौँ’, सांसद चौधरीले थपिन्, ‘आफ्नो जमिन पनि कहिले आफ्नै हुन्छ, थाहा छैन, कुनै दिन त होला नि ।’दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई थारुका मुहारमा खुसी देख्न मन छ । ‘सांसद भएर मैले के गरेँ, आफैँलाई कहिलेकाहीँ प्रश्न सोध्न मन लाग्छ, तर जुन अवस्थाबाट माथि उठेर आएँ, म असाध्यै हर्षित छु’, उनले हँसिलो मुद्रामा भनिन्, ‘जनता खुसी रहुन्, सबैले पढ्न पाउन्, मुलुकको विकास होस्, थारुको पनि जमिन होस्, तिनका मुहारमा हाँसो छाओस् ।’

नेत्री चौधरीलाई आफूले पढ्न नपाएकामा पीडा महसुस हुन्छ । उनी कमलरी हुँदा विद्यालय जान पाउनुभएन । ‘मैले पढ्न पाइन, गाउँमा मेरा ससुराले रात्रि स्कुल खोजेकी थिइन्, पाँच कक्षासम्म त्यहीँ पढ्न पाएँ’, नेत्री चौधरीले थपिन्, ‘म सानैदेखि तत्कालीन कम्युनिस्ट पार्टीमा लागेँ, पछि एमालेले मलाई विश्वास गरेर यो अवसर दियो ।’ रात्रि विद्यालयमा पढ्दादेखि पञ्चायतविरुद्ध गीत गाएको सम्झँदा उनको मुटु अहिले पनि फुलेर आउँछ ।

पार्टीका टोल, गाउँ र नगर कमिटीमा सङ्गठित हुँदै हाल अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य चौधरीलाई जीवनमा कल्पना नगरेको अवसर मिलेको अनुभव भए पनि आफू २०३६ सालदेखि आबद्ध राजनीतिक दल माले हाल एमाले प्रतिपक्षमा हुँदा सोचेअनुरूप काम गर्न नसकेको खिन्नता छ ।’सांसद भएको एक वर्ष पूरा भइसक्यो तर एक वर्षमा जम्मा एउटा कानुन बन्यो, संविधान अनुकूलका कानुन बनाउनुपर्ने त धेरै छ तर सरकारले आवश्यक कानुन ल्याएन’, सांसद चौधरीले भनिन्, ‘प्रतिपक्षले त कानुन बनाउनुपर्छ भनेर भनिरहेको छ, हाम्रो आवाजलाई सरकारले सुनुवाइ गरेजस्तो लाग्दैन, यस विषयमा त सत्ता पक्षले बढी ध्यान दिनुपर्ने हुन्छ ।’

समानुपातिक सांसद चौधरीलाई आफ्ना दङ्गालीका काम केही पनि गर्न नसकेको महसुस हुन्छ । ‘सांसद त भएँ, कतिले तैले के गरिस् त भन्छन्’, उनले भनिन्, ‘जनप्रतिनिधि भएपछि जनताको दुःख हेर्नुपर्ने हुन्छ तर केही गर्न सकेको छैन, विकासका काम गर्नुपर्ने धेरै आवश्यकता छ, एक पैसा बजेट परेको छैन, खानेपानी, पुल, स्कुल, स्वास्थ्यका क्षेत्र कहीँ पनि पैसा परेको छैन, सम्झेर दुःख लाग्छ ।’

नेत्री चौधरीलाई मुक्तकमैया–कमलरीले अहिले पनि पढ्न नपाएकामा पीडा हुन्छ । ‘म असाध्यै कठिन परिस्थितिबाट गुज्रिएर आएको हुँ, हाम्रो कुरा सुन्ने कोही थिएन, अहिले पनि थारुको पीडामा सुनुवाइ हुन सकेको छैन’, उनले भनिन्, ‘तिनको समस्या अहिले पनि ज्यूँका त्यूँ छ, कोही यसबारे बोल्दैनन्, थारुहरू जमिनविहीन अवस्थामा छन्, तिनले कहिले जमिन पाउलान्, कहिले सुखी होलान् ?’ प्रतिनिधिसभा सदस्य चौधरीलाई थारुको जीवनस्तरमा सुधार ल्याउन मन छ, ती आफ्नै खुट्टामा उभिएको हेर्न मन छ ।

विकास निर्माणमा पनि अगुवा हुनाका साथै सामाजिक र राजनीतिक सङ्गठनमा रही लामो समयदेखि महिला अधिकारका बारेमा बहस–पैरवी गर्दै आएका सांसद चौधरीलाई देशमा रोजगारी नहुँदा र युवापुस्ता पलायन भएकामा पनि नरमाइलो लाग्छ । ‘देशका गाउँ ठाउँमा काम गर्ने वातावरण भएको भए आज युवाले यहीँ काम गर्न पाउने थिए’ उनले भनिन्, ‘राज्यले देशमा उद्योगधन्दा खोलेर काम दिए त तिनलाई विदेश जानुपर्ने नै थिएन ।’

प्रसिद्ध शक्तिपीठ पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

ताप्लेजुङ, ४ माघ : ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो ।

सो बैठकमा पाथीभरामा केबलकार निर्माण गर्ने भन्नेबारेमा वर्षाैंदेखि चर्चा भए पनि काम सुरु हुन नसकेकाले त्यसमा आवश्यक सहजीकरण गरी निर्माण प्रक्रिया अघि बढाउनका लागि उक्त निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।बैठकले जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा आवश्यक तयारीका साथै असहमत पक्षसँग वार्ताका लागि नौ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

सो समितिका सदस्यमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान र राजन लिम्बू (मुक्ति), प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेल रहनुभएको छ ।

पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाएकाले ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने भन्दै विरोधमा रहेको पक्षसँग वार्ता गरेर सर्वपक्षीय सहमति जुटाई निर्माण सुरु गर्न वार्ता समिति गठन भएको हो ।

केबलकार निर्माण पक्षले भने संरचना निर्माण अघिका सबै प्रक्रिया पूरा गरी निर्माण थाल्ने योजनामा रहेको र यहाँका कुनै पनि मौलिकतामा निर्माणका कामले असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ ।

सो बैठकमा पाथीभरा मुकुम्लुङ केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेलले पाथीभरामा केबलकार निर्माणका लागि कानुनीलगायतका आवश्यक पक्रिया पूरा भएकाले निर्माण सुरु गर्ने वातावरण बनाउन स्थानीय स्तरबाटै सहयोग हुनुपर्ने बताउनुभयो । यता जिल्लाका सबै राजनीतिक दलहरुसहित सरोकारवालाले केबलकार निर्माण गरी जिल्लालाई समृद्ध बनाउनपर्नेमा जोड दिँदै आएका छन् ।

पाथीभरामा केबलकार निर्माण भए मन्दिरको दर्शनका लागि भक्तजनलाई सहज हुने साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र जिल्लाको आम्दानीमा समेत वृद्धि हुने भन्दै यहाँका अधिकांश स्थानीयले लामो समयदेखि केबलकार निर्माणको चर्चा मात्र भएकाले अब काम नै सुरु गर्न माग गर्दै आएका छन् ।

पाथीभरा क्षेत्रमा प्राकृतिक सम्पदाको कम क्षति र मौलिकतालाई जोगाउँदै स्थनीय आम सर्वसाधारणले लाभ लिनसक्ने गरी केबलकार निर्माण गर्न मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जोड दिँदै आएका छन् । बुधबारको बैठकमा पनि सबैले यही धारणा राखेका थिए । कम्पनीले पनि स्थानीयको शेयरसमेत रहने गरी स्थानीय साझेदारी मोडलमा केबलकार निर्माण गर्ने जनाउँदै आएको छ ।

यसैबीच बैठकमा पाथीभरामा सङ्कलन भएको सुनचाँदी साथै तामा र घण्टी व्यवस्थापन गर्नुका साथै आवश्यक अन्य व्यवस्थापनको पनि निर्णय भएको छ । बैठकले पाथीभरामा सङ्कलन भएको सुनचाँदी प्रचलित मूल्यमा आवश्यक प्रक्रिया पूरा गरी बिक्री गर्ने र पाथीभरा पदमार्गमा स्थान यकिन गरी तामाको प्रवेशद्वार निर्माण गर्ने निर्णय पनि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकामा १५ शय्याको अस्पताल शिलान्यास

काठमाडौँ, ४ माघ : चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ । चन्द्रागिरि–४ गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।

गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । करबाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ । नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल लगायतले संयुक्तरुपमा सो भवनको बुधबार शिलान्यास गर्नुभयो ।

सो अवसरमा उपप्रमुख श्रेष्ठले नयाँ बन्ने भवनले चन्द्रागिरि नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्र्नुभयो भने कार्यकारी अधिकृत अर्यालले भवन निर्माण समयै सम्पन्न गर्न आग्रह गर्नुभयो । यसैबीच नगरपालिकाले बुधबारदेखि विद्युतीय घर नक्सा पास प्रणाली कार्यान्वयनमा ल्याएको छ । अब घर नक्सापास सम्बन्धि सबै काम विद्युतीय माध्यमबाट हुने जनाइएको छ ।

एकै वर्षमा पाँच वटा लोकसेवाका परीक्षा पास गर्न सफल गुल्मीकी मनिषा

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी छन् ।

उनले भनिन्, “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ । ” परिश्रमका कारण आफूलाई सफलता मिलेको उनले बताइन् ।

उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएकोे जानकारी दिइन् । “ स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ”, उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।” उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन् ।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् ।

उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत छिन् ।

मल्लकालीन ङालाकेगु जात्रा भक्तपुरमा सुरु

भक्तपुर, ४ माघ : मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर –९ सूर्यमढीबाट सुरु भएको छ । नवदुर्गा गणको नाच ङालाकेगु जात्रा प्रत्येक दिन नगरपालिका क्षेत्रका फरकफरक २१ टोलमा प्रदर्शन गरिने देवगणका सदस्य नारायणमान बनमालाकाले जानकारी दिनुभयो ।

तान्त्रिक एवं दैवी शक्तिका आधारमा प्रदर्शन गरिने यो जात्रा भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ, टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गरिन्छ ।

उहाँका अनुसार नवदुर्गा नाचमा १३ मकुन्डो रहने र मकुन्डो लगाएर १२ देवगणले नवदुर्गा नाच नाच्ने यो परम्परा धान्न नवदुर्गाका १९ देवगण रहने गर्दछन् । यसमा भैरव, महाकाली, बाराही, गणेश, बह्मयणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् ।

परम्परागत वेशभूषामा बाजाको तालमा देवताका प्रतीकका रुपमा देवगणले नाङ्गो खुट्टाले नै सो नाच प्रदर्शन गर्ने गर्दछन् । जात्रामा नाचका लागि आर्थिकलगायतका विभिन्न समस्या रहेकाले सहयोग हुनुपर्ने माग देवगणले गरेका छन् । स्थानीय नेपाल भाषामा ङालाकेगु भनिने मल्लकालीन प्रख्यात नवर्दुगा नाचको थालनी भक्तपुरका राजा भुवन मल्ल (इ सं १५०५देखि १५१९)ले प्रचलनमा ल्याएको इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले नेपाल संवत् ६३३ (इ सं १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तान्त्रिक विधिअनुसार दैवी शक्तिको आव्हान गरि नवदुर्गा नाचको प्रचलन चलाएको जानकारी दिनुभयो ।

गुल्मीका वन्यजन्तु पीडित किसानले क्षति वापतको राहत पाएनन्

गुल्मी, ४ माघ : गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पु¥याए वापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धि निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अङ्गभङ्ग एवं मानवीय क्षति, पशुधन, घर÷गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएका छन् । दुई वर्ष बित्न लाग्दा पनि आफूले अझै वन्यजन्तुबाट भएको क्षतिको राहत रकम कार्यालयबाट पाउन नसकेको छत्रकोट गाउँपालिका–४ का विष्णुप्रसाद पन्थले बताउनुभयो । उहाँजस्तै रेसुङ्गा नगरपालिका–३ की चित्रकला थापाको समस्या पनि उस्तै छ । “बाघले बाख्रा खाइदिएपछि राहत मिल्छ भनेर वन कार्यालयमा निवेदन दिएको पनि धेरै समय भयो, अझैसम्म राहत पाएको छैन”, उहाँले भन्नुभयो । प्रदेश वन निर्देशनालयमार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनी सरकारले निर्णय गरिसकेको छ । तर निर्णय गरे पनि हालसम्म राहत रकमसम्बन्धी बजेट डिभिजन वन कार्यालय गुल्मीमा निकासा भएको छैन । चालु आर्थिक वर्षको असार महिनापछि कार्यविधि परिवर्तन भए पनि असार मसान्तभन्दा अघिसम्म बाँके राष्ट्रिय निकुञ्जबाट राहत रकम उपलब्ध गराउँदै आइरहेको थियो । निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भने पनि हालसम्म उक्त रकम अझै डिभिजन वन कार्यालयमा आएको छैन । असार मसान्तअघि पेश भएका निवेदनको रकम जिल्लामा नआएको हुँदा भुक्तानीका लगि बाँके राष्ट्रिय निकुञ्जमा फाइल पठाएको जिल्ला वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिनुभयो । “हामीले जिल्लामा आएका भुक्तानी हुन बाँकी सबै फाइल राष्ट्रिय निकुञ्जमा पठाइसकेका छौँ”, त्यहीबाट पीडितको खातामा रकम जान्छ”, उहाँले भन्नुभयो । आव २०७९÷०८० मा जिल्लामा वन्यजन्तुको आक्रमणबाट ६८ पशुधन र ११ जनाको अन्नबालीमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकाबमोजिम मानवीय क्षतिको लागि २० हजारदेखि अधिकतम दश लाख, पशुधनको क्षतिका लागि रु दश हजारदेखि ३० हजार र खाद्यान्न बालीको क्षतिको लागि रु दश हजारसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि सरोकारवाला निकाय र व्यक्तिसँग सुझाव सङ्कलनका लागि अन्तरक्रिया गरेको छ ।

मन्त्रालयले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक र बाह्य रोजगार मर्यादित बनाउनका लागि पहलकदमी लिन सरकारले उक्त नीति बनाउन लागेको बताउनुभयो । साथै उहाँले आन्तरिक तथा बाह्य आप्रवासन समस्यालाई व्यवस्थित गर्न तदारुकताका लागि र आगामी पञ्चवर्षीय योजनामा रोजगार प्रवद्र्धनका लागि नीतिको आवश्यकता आँैल्याउनुभयो ।

कार्यक्रममा सचिव केवलप्रसाद भण्डारीले कार्यदलबाट आएका सुझाव समेटी मस्यौदालाई थप परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै नीतिमा स्वास्थ्य र सामाजिक सुरक्षालाई मूल आधार बनाउन मन्त्रालय प्रयन्तरत रहेको उल्लेख गर्नुभयो । सो अवसरमा विभिन्न सरोकारवाला निकाय र व्यक्तिले मस्यौदाका विभिन्न प्रावधानमाथि आफ्ना धारणा र सुझाव दिनुभएको थियो ।

श्रम मन्त्रालयले श्रम विज्ञ डा. गणेश गुरूङको संयोजकत्वमा श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन कार्यदल गठन गरेको थियो । कार्यदलले श्रम आप्रवासन नीतिबारे सरोकारवालासँग छलफल गर्न सुरु गरेको छ ।

पाकिस्तानमा ‘इरानी आतङ्कवादी समूह’ लाई निशाना बनाएको इरानको भनाइ

इरानका शीर्ष कूटनीतिज्ञले बुधबार आफ्नो मुलुकका सशस्त्र बलहरूले एक दिनअघि पाकिस्तानमा एउटा ‘इरानी आतङ्कवादी समूह’ लाई निशाना बनाएको बताउनुभएको छ । उक्त आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको इस्लामाबादले बताएको छ ।

“मित्र र भ्रातृ राष्ट्र पाकिस्तानका कुनै पनि नागरिकलाई इरानी क्षेप्यास्त्र र ड्रोनले निशाना बनाएको छैन”, स्विट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चका अवसरमा इरानी विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले भन्नुभयो, “कथित इरानी आतङ्कवादी समूह जैश अल–अदल समूहलाई निशाना बनाइएको हो ।”

तेहरानले इराक र सिरियामा ‘इरानविरोधी आतङ्कवादी समूहहरू’ विरुद्ध आक्रमण गरेपछि मङ्गलबार पाकिस्तानमा उक्त आक्रमण भएको हो । पाकिस्तानले दुई मुलुकका साझा सीमा नजिकै भएको आक्रमणको निन्दा गर्दै इरानबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ र तेहरानका राजदूतलाई इस्लामाबाद फर्कन रोक लगाएको छ ।

आक्रमणको केही घन्टाअघि पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अनवर–उल हक काकरले डाभोस फोरमका अवसरमा इरानी विदेशमन्त्री अमिर–अब्दुल्लाहियानसँग भेट गर्नुभएको थियो । अमिर–अब्दुल्लाहियानले भन्नुभयो, “‘पाकिस्तानी भूमि’ मा इरानको आक्रमण जैश अल–अदल समूहको इस्लामिक गणतन्त्र इरानमाथि हालै भएको घातक हमला विशेषगरी सिस्तान–बलुचिस्तानको दक्षिणर्पूी प्रान्त रस्क सहरमा भएको हमलाको जवाफ थियो ।”

जनवरी १० मा सहरको प्रहरी चौकीमा भएको आक्रमणमा एक प्रहरीको मृत्यु भएको थियो । त्यसको करिब एक महिनापछि यस क्षेत्रमा त्यस्तै प्रकारको आक्रमणमा ११ प्रहरी मारिएका थिए । दुवै आक्रमणको जिम्मेबारी जैश अल–अदल (न्यायको सेना) ले लिएको थियो । सन् २०१२ मा गठन भएको जैश अल–अदल सुन्नी मुस्लिम चरमपन्थी समूह हो जसलाई इरानले ‘आतङ्कवादी’ समूहका रूपमा कालो सूचीमा राखेको छ ।

“उक्त समूहले पाकिस्तानको बलुचिस्तान प्रान्तका केही भागमा आश्रय लिएको छ”, विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले भन्नुभयो, “हामीले यस मामिलामा धेरै पटक पाकिस्तानी अधिकारीहरूसँग कुराकानी गरेका छौँ ।”उहाँले इरानले पाकिस्तानको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तर ‘मुलुकको राष्ट्रिय सुरक्षासँग सम्झौता वा खेलबाड हुन नदिने’ बताउनुभयो ।

भारी हिमपात र चिसो वर्षाले जर्मन यात्रामा अवरोध उत्पन्न

भारी हिमपात र चिसो वर्षाको सामना गर्नुपरेको जर्मनीमा कडा जाडो मौसमका कारण मुलुकको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट विमानस्थालमा बुधबार सयौँ उडान रद्द गर्नुपरेको छ । फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका अनुसार जर्मनीको व्यापारिक राजधानी नाटकीय मौसमको अवस्थाका लागि तयार रहेकाले बिहान ढिलोसम्म एक हजार ४७ उडानमध्ये पाँच सय ७० उडानलाई तालिकाबाट हटाइएको थियो ।

दिउँसोसम्म चिसो वर्षाको सुरुआतका कारण बाँकी सबै प्रस्थान निर्धारित तालिकाबाट प्रभावित भएको तर अवतरण अझै पनि सम्भव भएको अर्का प्रवक्ताले बताए । अवरोध कहिलेसम्म जारी रहन्छ भन्नेबारे तत्काल स्पष्ट भएको छैन ।

म्युनिख विमानस्थलले पनि खराब मौसमका कारण ‘उडान सेवामा महत्त्वपूर्ण प्रतिबन्ध’ को सूचना दिएको छ । त्यहाँ छ सय ५० निर्धारित उडानमध्ये दुई सय ५० लाई रद्द गरिएको छ । ध्वजावाहक लुफ्थान्साले यात्रीहरूलाई विमानस्थल प्रस्थान गर्नुअघि उनीहरूको उडानहरू अझै निर्धारित छन् वा छैनन् भनेर पुष्टि गर्न सुझाव दिएको छ ।

दक्षिणपश्चिमी तथा मध्य जर्मनीमा कम दबाब दिने प्रणाली गेरट्रुडले विशेषरूपमा बाडेन–वुर्टेमबर्ग राज्यमा ४० सेन्टिमिटर (१६ इन्च) सम्म हिउँ र खतरनाक हिउँको सडकहरूको स्थितिको प्रतिज्ञा गरेको छ । त्यहाँको राज्य प्रहरीले बाडेन–बाडेन नजिकैका सडकहरूमा ‘दुर्घटनाहरू बढ्ने’ सूचना दिएको छ ।

त्यस्तै राष्ट्रिय रेल कम्पनी डायचे बानले खराब स्थितिका कारण उसले आफ्नो उच्च–गतिका रेलहरूलाई सुस्त गरिरहेको बताएको छ । उसले विशेषगरी कोलोन र फ्र्याङ्कफर्टको पश्चिमी सहरबीच आफ्नो क्षेत्रीय र लामो दूरीको नेटवर्कमा ढिलाई र रद्द गर्ने चेतावनी दिएको छ ।

दक्षिणपश्चिममा राइनल्यान्ड–प्यालाटिनेटमा अग्निनियन्त्रकहरू र अन्य प्राथमिक प्रतिक्रियाहरूले अतिरिक्त कर्मचारी र वाहनहरूलाई बोलाएर सडक दुर्घटना र अन्य आपत्कालीन अवस्थाका लागि तयारी गरेका छन् । उनीहरूले सवारी चालकहरूलाई अत्यावश्यक नभएसम्म सडकमा सवारी ननिकाल्न आग्रह गरेका छन् । जर्मनीको सबैभन्दा ठूलो राज्य बाभेरियाको ठूलो भूभागमा खतरनाक चिसोको आशङ्कामा स्कुल बन्द गरिएको छ ।

छामछुमकै भरमा ‘सवारी पास’ हुँदा सवारीसाधन दुर्घटनामा पर्ने खतरा

काठमाडौँ । सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौँको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ । कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसालका अनुसार २०७८ सम्म भेहिकल फिटनेस टेस्ट लेन बिग्रिएर थन्किएको थियो ।

उनले भने “भेहिकल फिटनेस टेस्ट लेन त्यस्तो मेसिन हो, जसले कुनै पनि सवारीसाधनको परीक्षण गर्दा सवारीको अवस्था कस्तो छ भन्ने प्रस्ट खुल्छ । यसबाट राम्ररी काम लिने हो भने सवारीसाधनको अवस्था बिग्रिएर हुने ८० प्रतिशत दुर्घटना चाहिँ रोक्न सकिन्छ ।” यातायात मन्त्रालय अन्तर्गतकै सवारी परीक्षण कार्यालय टेकु, इटहरी, हेटौँडा, बुटवल र कैलालीको अत्तरिया गरी पाँच स्थानमा मात्रै छन् । जनशक्ति र प्राविधिक जनशक्तिको अभावका कारण हरेक कार्यालयमा १५० देखि दुई सय वटा सवारीसाधनको मात्रै परीक्षण हुन्छ ।

सवारी परीक्षण कार्यालयले निजी सवारीसाधनको वर्षमा एक पटक र सार्वजनिक सवारीसाधनको छ महिनामा एक पटक परीक्षण गर्ने गरेको छ । उक्त कार्यालयले यातायात व्यवस्थापनसम्बन्धी नीति, नियम र मापदण्ड बनाउने, अन्तरप्रदेशीय यातायातको रुट इजाजत दिने, लामो रुटको गाडीको स्तर कायम गर्ने, इम्बोस्ड नम्बर जोड्ने र प्रदूषण जाँच गर्दै आएको छ ।

इन्जिनियर भुसालका अनुसार भेहिकल फिटनेस टेस्ट लेनबाट सवारीसाधनको ब्रेक, सस्पेन्सन, साइड स्लिप परीक्षण गरिन्छ । उनले भने, “भेहिकल फिटनेस टेस्ट लेनले सवारीको सम्पूर्ण अवस्थाको वैज्ञानिक विधिबाट परीक्षण गर्छ । स्टेयरिङ बाङ्गो छ कि सिधा छ भन्नेदेखि सम्पूर्ण कुरा परीक्षण हुन्छ तर नेपालमा मेसिनबाट परीक्षण गरिँदैन ।”

उनले नेपालमा अहिलेसम्म हातैले छामछुम पारेर परीक्षण भइरहेको र यसो गर्दा ८० प्रतिशत सवारीसाधनको मेसिनको अवस्था थाहा नहुने भएकाले दुर्घटनामा पर्ने खतरा हुने बताए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी परीक्षण केन्द्र सीमित हुँदा सवारीसाधनको अवस्थाबारे परीक्षण गर्न समस्या भइरहेको बताए । उनले अहिले भएका सवारी परीक्षण केन्द्रलाई व्यवस्थित गर्ने र सडक सुरक्षाका सन्दर्भमा बन्ने कानुनबाट व्यवस्थित गरिने बताए । सिनियर डिभिजनल इन्जिनियर भुसालले भेहिकल फिटनेस टेस्ट लेनको प्रयोग अनिवार्य हुनुपर्ने भए पनि नेपालमा कार्यविधि र ऐन नहुँदा प्रयोगविहीन भएको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

वेल्सकी राजकुमारीको पेटको शल्यक्रिया, दुई सातासम्म अस्पतालमा रहनुपर्ने

वेल्सकी राजकुमारीलाई योजनाअनुरूप पेटको शल्यक्रियापछि अस्पतालमा भर्ना गरिएको छ र उहाँ दुई सातासम्म एउटा निजी अस्पतालमा रहनुहुने केन्सिङ्टन दरबारले बुधबार बताएको छ । दरबारका अनुसार पूर्व केट मिडलटन ईस्टरपछि सार्वजनिक कर्तव्यमा फर्कने अपेक्षा गरिएको छ । बयालीस वर्षीया भावी रानीलाई मङ्गलबार लन्डन क्लिनिकमा भर्ना गरिएको थियो ।

“वेल्सकी राजकुमारीले यस कथनले उत्पन्न हुने चासोको कदर गर्नुभएको छ, उहाँले जनताले आफ्ना बच्चाहरूका लागि सकेसम्म धेरै सामान्यता कायम राख्ने उहाँको चाहनालाई बुझ्ने अपेक्षा गर्नुभएको छ र आफ्नो व्यक्तिगत चिकित्सा जानकारी गोप्य रहोस् भन्ने उहाँको इच्छा छ”, दरबारले भनेको छ ।

दरबारले धेरै विवरण दिएको छैन तर उहाँको अवस्था गैर–क्यान्सर रहेको पुष्टि गरेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्यतया राम्रो रहेको भए पनि केटलाई पहिला गम्भीर बिहानी रोगबाट पीडित भएपछि गर्भवती हुँदा अस्पताल भर्ना गरिएको थियो ।

प्रिन्स विलियमकी पत्नी केटले आफ्ना आगामी कार्यक्रमहरू स्थगित गर्नुपरेकामा माफी माग्न चाहनुभएको प्यालेसले बताएको छ । “उहाँ सकेसम्म चाँडो धेरैभन्दा धेरै व्यक्तिसँग उपस्थित हुन उत्सुक हुनुहुन्छ”, दरबारले भनेको छ ।

जन्मले नभई रुचिले शाही केट फ्लाइट अटेन्डेन्ट तथा फ्लाइट डिस्प्याचरकी छोरी हुनुहुन्छ । सन् १९८२ जनवरी ९ मा इङ्गल्यान्डको रिडिङमा जन्मनुभएकी क्याथरिन एलिजाबेथ मिडलटन कान्छी बहिनी पिप्पा र कान्छो भाइ जेम्ससँगै हुर्किनुभयो ।

यो परिवार लन्डनको पश्चिममा बर्कशायरस्थित एउटा सम्पन्न क्षेत्रको हो । केट दुई वर्षकी हुँदा उहाँ आफ्ना बुबाको कामका कारण जोर्डन जानुभयो । सन् १९८६ मा उहाँहरू इङ्गल्यान्ड फर्कनुभयो र केट विशेष मार्लबोरो कलेजमा भर्ना हुनुभयो । त्यहाँ उहाँ टेनिसजस्ता खेलमा सक्रिया हुनुहुन्थ्यो ।

उहाँको पहिलो भेट स्कटल्यान्डको सेन्ट एन्ड्र्युज विश्वविद्यालयमा दिवङ्गत राजकुमारी डायना र राजा चार्ल्स तृतीयका जेठा छोरा प्रिन्स विलियमसँग भएको थियो । सन् २०२० मा प्रिन्स ह्यारी र मेघनको क्यालिफोर्नियनमा तीव्र प्रस्थानपछि वेल्सका राजकुमार र राजकुमारीले शाही परिवारको सबैभन्दा लोकप्रिय सदस्यहरूमध्ये एकका रूपमा आफ्नो स्थितिलाई सुदृढ बनाउनुभएको छ । केट विशेषरूपमा सार्वजनिक नजरमा भरपर्दो शाही बन्नुभएको छ ।

उपप्रधानमन्त्री खड्काले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ ।उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेसँगै उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ । प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सबाट युगान्डातर्फ प्रस्थान गरेका हुन् ।सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्नेकार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनेछन् ।

ओमन पुगेकी महिलाको रोदन–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

काठमाडौं । झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु(याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले । आफूलाई ओमानको बर्खर भन्ने ठाउँमा बन्दी बनाएर राखेको भन्दै उनले तत्काल उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेकी छन् ।

‘म यहाँ आएको एक वर्ष भयो, मलाई बन्दी बनाएर राखिएको छ, मेरो राहदानी त राख्यो राख्यो, मेरो नेपालको नागरिकता र नेपालको बैंक एकाउन्ट नम्बर पनि खोसेर राखेको छ, मैले एजेन्टलाई पनि मेरो समस्या’भनेँ, एजेन्टले जहाजको टिकटको पैसा दिए निकाल्छु भन्यो, मैले पैसा पनि हालिदिएँ, तर एजेन्टले पैसा पाएपछि मेरो नम्बर नै ब्लक गर्यो, अब म कसरी नेपाल फर्किने हो ? मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्,’ उनले एक भिडियो सन्देश जारी गर्दै भनेकी छन् ।

‘घर मलिकले मोबाइल फोन चलाइन नदिने, खान नदिने, घाँटी थिच्न आउने, कुटपिट गर्ने गरेकाले आफू धेरै बिजोक अवस्थामा रहेको उनले रुँदै बताइन् । काम गरेबापतको १ सय ओमानी रियल दिने गरेको भएपनि बन्दी जीवन जिएर बस्नु भन्दा नेपाल फर्कन चाहेको उनले बताइन् । केही काम बिग्रिए कुट्ने पिट्ने गरेको र मारेर टाउको फालीदिन्छु भनेर धम्की दिने गरेको पीडा पनि उनले सुनाइन् ।

उनले रुँदै भनिन्, ‘मैले बिस्कुट र पानी खाएर काम गर्नुपर्छ, घर मालिकले दैनिक एक घण्टा मात्र फोन चलाउन दिन्छ, एक घण्टा बढी भयो भने १५ दिनसम्म फोन नै दिँदैन, यहाँ बाँचे पनि मरे सरह अवस्था छ, मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्, म नेपाल फर्कन चाहन्छु, नेपाल जान्छु भन्दा ओमानी नागरिकले पाँच लाख रुपैयाँ दिए मात्र नेपाल पठाउने नत्र यहीँ मारेर फालिदिने धम्की दिने गरेको छ ।’

आफूलाई पठाउने एजेन्ट झापाको माया लिम्बु रहेको बताउँदै उनले भनिन्, ‘एजेन्टले हस्पिटलको काम हो, मासिक एक लाख रुपैयाँ हुन्छ भनेर मलाई पठाएको हो । तर यहाँ आएपछि ओमानी नागरिकको घरमा बिक्री हुन पुगेँ । अहिले एजेन्ट लिम्बु सम्पर्कविहीन भएकी छन्, घरमा बुबा ममी बिरामी हुनुहुन्छ, गरिव भएपछि कसको के नै लाग्दो रहेछ र ? पैसा तिरेर नेपाल फर्कन सक्ने अवस्था छैन । ओमानस्थित नेपाली दूतावासलाई पनि समस्या सुनाएँ, तर कुनै सुनवाई भएको छैन ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

म्याग्दी, ४ माघ : म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताउनुभयो ।“बेनी –३ को मरेक, राखु, वडा नम्बर–४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट चार सय क्रेट सुन्तला सङ्कलन गरेर राखेका छौँ”, उहाँले भन्नुभयो, “सुुन्तलापछि जिल्ला भरका कृषकले उत्पादन गरेको आलुलगायत कृषिउपज भण्डारण गर्ने तयारी गरेका छौँ ।”

नगरपालिकाले क्रेट र कृषकले सुन्तला उपलब्ध गराएका छन् । चिस्यान गृहमा राखेको सुन्तला अगामी फागुन चैत महिनाको बेमौसममा बजारमा पठाएर बढी मूल्य पार्न सकिने वडाध्यक्ष खड्काले बताउनुभयो । कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले गत असोजमा चिस्यान गृह निर्माण सम्पन्न गरेको थियो ।

रु एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ लागत अनुमान गरिएको चिस्यान गृह बनाउन राजेशबाबु निर्माण सेवा जाजरकोटसँग रु एक करोड ५१ लख २० हजार सात सय ३८ मा २०७९ फागुन तेस्रो साता सम्झौता भएको थियो । तापक्रमलाई सन्तुलित बनाइराख्ने उपकरण र संरचना भएको सो चिस्यान गृहको क्षमता तीन सय मेट्रिक टन रहेको छ । नगर र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा चिस्यान गृह सहयोगी बन्ने अपेक्षा गरिएको छ । चिस्यान गृह नगरपालिकाको गत आर्थिक वर्षको सबैभन्दा ठूलो र प्राथमिकता प्राप्त योजना हो ।

तीन वर्षअघि बेनी नगरपालिकालाई चिस्यान गृह बनाउन सङ्घीय सरकारबाट बजेट विनियोजन भए पनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन । चिस्यान गृह बनेपछि सुन्तला, आलुलगायत कृषिउपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिने कृषकसमेत रहेका वडासदस्य सन्दीप खत्रीले बताउनुभयो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा २० मेट्रिक टन र वडा नम्बर २ भगवतीमा २५ मेट्रिक टन क्षमताको चिस्यान गृह निर्माण भएको छ । झिँमा रु २१ लाख ७८ हजारको लागतमा चिस्यान गृह निर्माण भएको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिनुभयो ।

भगवतीको चिस्यान गृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले करबाहेक रु ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो । दुुई वटै चिस्यान गृह प्रयोगमा भने आएका छैनन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा बेनी –९ बियाडामा पाँच हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको छ । यसअघि गत वर्ष अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो ।
 

हेर्नुहोस् माघ ४ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृष राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ ।

मीथुन राशि – बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला

कर्कट राशि- गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।

सिंह राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन ।

कन्या राशि – भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।

तुला राशि- सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

मकर राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।

कुम्भ राशि – अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

मिन राशि – नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ ।

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौँ, ४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनुहुनेछ ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँं आइपुग्नुहुने कार्यक्रम रहेको छ । 

चितवनमा भेटिए ५३ प्रजातिका चरा,गत वर्ष नभेटिएका चरा यसपटक भेटिए

चितवन, ३ माघ : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् ।

सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर गत वर्ष नभेटिएका यी चरा पुनः भेटिएका हुन् ।

गणनाका क्रममा पानीहाँस चखेवा तीन हजार छ सय ८७, जलकौवा सानु एक सय आठ, जलकौवा ठूलो पाँच सय ५६ भेटिएका छन् । कूल ५३ प्रजातिका पानी चरा छ हजार पाँच सय ४० वटा भेटिएका हुन् । पानी बाहिरका तीन हजार चार सय ६४ गरी १० हजार चार चरा भेटिएका गिरीले जानकारी दिनुभयो ।

सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एशियाका ३५ देशमा प्रत्येक वर्ष अंग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडो यामका पानी चरा गणना गरेको हो । जनवरी ७ देखि हिमालयन नेचरसँगको सहकार्यमा चितवनका लोथर गैडहवा, गैडहवादेखि सौराहा, सौराहादेखि कसरा, तमोर ताल, लामी ताल, बीसहजारी ताल र यससँग सम्बन्धित तालमा चरा गणना गरिएको हो ।
यसैगरी भण्डारा माछा पोखरी, बूढीराप्ती, ढुङ्गरे खोला, पटना ताललगायतका स्थानमा जाडो यामका चरा गणना गरिएको सोसाइटीले जनाएको छ ।

मैत्रीपूर्ण फुटबल खेल : सेनासँग सशस्त्र पराजित

काठमाडौँ, ३ माघ : मैत्रीपूर्ण खेलमा नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पराजित गरेको छ । २३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाले सशस्त्रलाई २–० को गोलअन्तरले पराजित गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक मैदानमा भएको खेलमा ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतको सहभागिता थियो । सशस्त्र प्रहरी बल टोलीका कप्तान प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेना टोलीका कप्तान उपरथी सन्तोषकुमार ढकालले एकापसमा मायाको चिनो आदान–प्रदान गर्नु भएको थियो । साथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडी, प्रशिक्षक र टिम प्रबन्धकलाई प्रशंसापत्रसमेत प्रदान गर्नुभएको थियो ।

शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनलगायतमा समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरीबीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगितालगायत अन्य गतिविधिसमेत गरिँदै आएको छ ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानको उपस्थिथि थियो ।

कोशी प्रदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई मुख्यमन्त्री कार्कीको आग्रह

धरान (सुनसरी), ३ माघ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विदेशमा रहेका गैरआवासीय नेपालीलाई कोशी प्रदेशमा धेरै क्षेत्रमा सम्भावना रहेकाले लगानी गर्न आग्रह गर्नुभएको छ ।आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई रक्त सङ्कलन घुम्ती बस हस्तान्तरणका अवसरमा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा लगानी गर्न आउनेलाई प्रदेश सरकारले संरक्षण र प्रवद्र्धन गर्ने बताउनुभयो । “कोशी प्रदेशमा लगानी धेरै सम्भावना छन्, तपाईंहरु लगानी गर्नका लागि आउनुहोस् । सरकारले पुँजी, श्रम र प्रविधिको संरक्षण र प्रवद्र्धन गर्नेछ”, उहाँले भन्नुभयो ।

प्रदेशको विकासका लागि गैरआवासीय नेपालीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले प्रदेश सरकारले लगानीको वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुलुकको विकासका लागि देशभित्र र बाहिर रहने सबै नेपालीको एकता आवश्यक रहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपाली सङ्घले रक्त सङ्कलन बस उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीले आफूहरु विदेशमा रहे पनि मनमा सधँै नेपाल रहिरहने र नेपालका लागि सक्दो सहयोग तथा लगानी गर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले बस उपलब्ध भएपछि रगत सङ्कलन गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

अत्यधिक चिसो बढेपछि कञ्चनपुरका शैक्षिक संस्था बन्द

कञ्चनपुर, ३ माघ : अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन शैक्षिक बिदा दिइएको छ । बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माघ ४ र ५ गते दुई दिन सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएका छन् ।

“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत मानबहादुर केसीले भयो, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।”शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठेरो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिका निमित्त कार्यकारी अधिकृत मोहन फुलाराले बताउनुभयो । जाडोका कारण विद्यार्थी बिरामी पर्ने र कक्षाकोठामै थरथर काँप्न थालेपछि नगरपालिका क्षेत्रका विद्यालयमा बिदा दिएको उहाँको भनाइ छ । कञ्चनपुमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।

शिक्षा र स्वास्थ्य नागरिकको सहज पहुँच हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ३ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न समाजवाद कार्यान्वयनमा जोड दिनुभयो ।

उहाँले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गर्नुभयो । समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उहाँले समाजवादका माध्यमबाट मुलुकमा समृद्धि कायम गर्ने र जनतालाई सुखी बनाउने कार्ययोजना पार्टीले तर्जुमा गरेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले पार्टीका नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पु¥याउने दृष्टिकोण रहेको प्रष्ट पार्नुभयो । जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगीकरण गर्न लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताले आर्थिक–सामाजिक अधिकार प्राप्त गर्न नसकेको बताउँदै उहाँले मुलुकमा आर्थिक रुपान्तरण उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका विकास गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले समाजमा रहेको सम्पूर्ण विभेद तथा गलत कार्यको अन्त्य गरी मुलुकमा बढिरहेको भ्रष्टाचार, विदेशमा पलायन भइरहेका युवालाई रोक्ने विषयलाई प्राथमिकतामा राखेर कृषि नीति तर्जुमा गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन प्रगतिशील विचारधारा तथा चिन्तनको खाँचो औँल्याउनुभयो । अध्यक्ष नेपालले विभिन्न रुपमा छरिएका कम्युनिष्ट वर्गीय चिन्तन एकै भएकाले मतभेद कम गरी एकताका लागि साझा आधार खोज्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनीको विकासमा सहकार्यका लागि छलफल

लुम्बिनी, ३ माघ : लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङविच लुम्बिनीको विकासमा सहकार्य गर्ने विषयमा छलफल गर्नुभएको छ । उपाध्यक्ष डा लामा र सुङविच आज भएको भेटवार्तामा शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढीभन्दा बढी ल्याउनेलगायतका विषयमा छलफल भएको हो ।

भेटमा उपाध्यक्ष डा लामाले चीन र नेपालबीचको सम्बन्ध भगवान बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो । चीनमा बुद्धका अनुयायी धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उपाध्यक्ष डा लामाले आग्रह गर्नुभयो । भेटमा डा लामा र उपाध्यक्ष सुङविच दुई देशबीचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र सम्वद्र्धन लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले बुद्ध जन्मस्थल चिनियाँका लागि पवित्रस्थल रहेकाले यसको प्रचारप्रसार गर्ने बताउनुभयो । लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष सुङको टोलीमा करिब ४० जना भिक्षु, भिक्षुणी सहभागी छन् ।

पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौँ, ३ माघ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ ।

मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । आगामी माघ २८ गते हुने २०औँ संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ परेका छन् ।

अवार्ड कार्यक्रम यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन पछाडि सारिएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताका आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिएको हो ।

फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन’ लिगको पहिलो वर्षमै विजेता बनाउनुका साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए ।

त्यस्तै विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङझावो सम्पन्न १९औँ एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए ।

काभा महिला भलिबल च्यालेन्ज कपमा कास्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् । शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् । टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् ।

यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।

 इसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत हुनेछ । भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ । भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि  सेवाप्रदायक कम्पनी इ–सेवासँग आज नै एक कार्यक्रमबीच सम्झौता भएको छ । इसेवाका तर्पबाट चिफ बिजनेस अफिसर आशीष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताउनुभयो । त्यसमा रु एक लाख बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्चले इसेवासँग लगातार चौथो वर्षको सहकार्य हो । मञ्चका अध्यक्ष सुवेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताउनुभयो ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् ।यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन दुई सय ५० र तीन वटा एन एक सय ६० मोटरसाइकल छन् अन्य विधाका विजेतालाई जनही रु ५० हजार र उपहार प्रदान गरिनेछ ।

रुससँग युक्रेनको युद्धविराममाथि ब्लिङ्केनद्वारा आशङ्का व्यक्त

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार युक्रेनमा युद्धविराममा पुग्ने विषयमा आशङ्का व्यक्त गर्दै रुसले आक्रमणको करिब दुई वर्ष बितिसक्दा पनि राम्रो विश्वास नदेखाएको बताउनुभएको छ ।

स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चमा उहाँको उक्त टिप्पणी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वैश्विक शान्ति शिखर सम्मेलनको प्रस्ताव गरेको एक दिनपछि आएको हो । प्रस्तावमा जेलेन्स्कीले कुनै पनि सम्झौताका लागि रुसले युक्रेनी क्षेत्र छाड्नुपर्ने उल्लेख गर्नुभएको छ ।

“मलाई यस्तो हुन्छ जस्तो लाग्दैन”, युद्धविरामको सम्भावनाका बारेमा ब्लिङ्केनले भन्नुभयो, “हामी सधैँ युद्धविरामका लागि खुला छौँ, युद्धविरामप्रति सचेत छौँ किनकी कसैले भन्दा धेरै युक्रेनी जनता यही चाहन्छन् तर त्यहाँ रुसको आक्रामकताले दिएको क्षेत्रीय अखण्डता, सम्प्रभुता र स्वतन्त्रता जस्ता चुनौतीका लागि रुसका तर्फबाट आधारभूत सिद्धान्तका आधारमा राम्रो विश्वासका साथ छलफल गर्ने इच्छा हुनुपर्छ ।”

“यदि रुस उक्त आधारमा वार्ता गर्नका लागि तयार हुन्छ भने उसले त्यसो गर्न चाहने युक्रेनीहरूलाई भेट्टाउने छ र निश्चितरूपमा अमेरिकाबाट समर्थन प्राप्त गर्नेछ”, विदेशमन्त्री ब्लिङ्केनले भन्नुभयो ।युक्रेनले रुसबाट पूर्वी क्षेत्रहरूलाई फिर्ता लिनका लागि सङ्घर्ष गरिरहेको र अमेरिकी कांग्रेसले राष्ट्रपति जो बाइडेनको अनुरोधअनुसार किएभलाई थप सैन्य सहयोगलाई अनुमति दिन ढिलाइ गरिरहेकाले युद्धविरामको माग बढेको छ ।

अमेरिकाले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु हुनुभन्दा पहिला रुससँग युक्रेनमा सुरक्षा चिन्ताका रूपमा वर्णन गरेको कुराबारे उल्लेख गर्दै ब्लिङ्केनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अभिप्रायमाथि आशङ्का व्यक्त गर्नुभयो । पुटिनले सो समयमा युक्रेनलाई नाटो गठबन्धनमा प्रवेशलाई लिएर चेतावनी दिनुभएको थियो ।

“तपाईंले मलाई विश्वास गर्नुपर्ने आवश्यकता छैन, मात्र राष्ट्रपति पुटिनले के भन्नुभयो त्यो पढ्नुहोस्, यो वास्तवमा त्यसको बारेमा कहिल्यै थिएन, यो सधैँ पुनः एउटा विशाल रुसलाई स्थापा गर्ने भव्य दृष्टिकोणका बारेमा थियो”, उहाँले भन्नुभयो ।

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक ढकाल

काठमाडौँ, ३ माघ : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२९२१११ र [email protected] इमेल ठेगाना मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।