`

‘आत्मनिर्भर बनाउन व्यवसायिक तालिम केन्द्रको भूमिका महत्वपूर्ण’ – मन्त्री आचार्य

काठमाडौँ, ५ माघ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्रले नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

कतार च्याप्टर तथा हिल नेपालद्वारा आयोजित ‘अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवन समुद्घाटन तथा हस्तान्तरण समारोह’का अवसरमा मन्त्री आर्चायले तालिमबाट सीप आर्जन गरी आत्मनिर्भर बन्न केन्द्रले ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“नेपालमा कतार च्यारिटीले निस्वार्थभावमा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदान प्रंशसनीय छ । व्यावसायिक तालिम केन्द्रले व्यावसायिक सीप प्रदान गरी नेपाली नागरिकलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, मन्त्री आर्चायले भन्नुभयो । व्यावसायिक तालिम केन्द्रले दुई मुलुकबीचको सौहार्द सम्बन्धलाई थप सुदृढ बनाउनेमा मन्त्री आचार्यले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कतार च्यारिटीले शिक्षा, सीप विकासलगायत क्षेत्रमा निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै केन्द्र कुनै धर्म समुदायको मात्र नभई देशको सम्पत्ति रहेको बताउनुभयो ।

कार्यक्रममा हिल नेपाल र कतार च्यारिटी नेपालद्वारा निर्मित उक्त भवन असलाम सोसाइटीलाई हस्तान्तरण गरिएको छ । प्राविधिक तथा व्यावसायिक तालिम प्रदान र संस्कृतिको आदान–प्रदान तथा संरक्षण गर्ने मुख्य दुई उद्देश्यसहित निर्मित भवनको सोहीअनुसार रेखदेख तथा व्यवस्थापन गर्ने जिम्मेवारीसहित दुई पक्षबीच हस्ताक्षर गरिएको छ ।

असलाम सोसाइटीका अध्यक्ष नजरुल हसनले सोसाइटीले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै केन्द्र सबै नेपालीको उत्थानका लागि रहने जनाउनुभयो । समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले व्यावसायिक तालिम प्रदान केन्द्रलाई थप सहजीकरणको भूमिका परिषद्ले गर्ने आश्वासन व्यक्त गर्नुभयो ।कतार च्यारिटी नेपाल कार्यक्रमका निर्देशक मोहम्मद वकासले व्यावसायिक तालिम केन्द्रले स्थानीय समुदायमा सीप विकास तथा संस्कार संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सडक र निर्माणाधीन पुलको अनुगमन,कामको गति बढाउन निर्देशन

दमौली (तनहुँ), ५ माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको आज अनुगमन गर्नुभएको छ । तनहँुको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उहाँले आज जानकारी लिनुभएको हो ।

मन्त्रालयका सचिव, महानिर्देशकसहित मन्त्री ज्वालाले उक्त खण्डको अनुगमन गर्दै काममा तीव्रता दिन निर्देशन दिनुभएको छ । पश्चिम खण्डको काम निकै सुस्त भएकाले यसलाई तीव्रता दिन आवश्यक रहेको मन्त्री ज्वालाको भनाइ थियो । पश्चिम खण्डको काममा ढिलाइ हुँदा गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वालाले निर्देशन दिनुभयो ।पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।मन्त्री ज्वालाले मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा निर्माण हुने पुलको समेत निरीक्षण गर्नुभएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क पुल बन्दैछ ।पुल निर्माणका लागि आवश्यक काम भइरहेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलका लागि दुई सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ । उहाँले दुईवटा फाउण्डेशनको पाइलको काम सकिएको जानकारी दिनुभयो । हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुँदैछ । पुल निर्माणको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

बङ्गलादेशमा कोभिड–१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि

बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ ।जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेको थियो । कोभिड–१९ को जेएन १ प्रजातीबारे बङ्गलादेमा हालसम्म कुनै रेकर्ड नभएको यहाँको महामारी विज्ञान, रोग नियन्त्रण र अनुसन्धान संस्थान (आईईडीसीआर) का निर्देशक तहमिना सिरिनले पत्रकारहरूलाई बताउनुभएको छ ।

यस सन्दर्भमा स्वास्थ्य मन्त्रालय अन्तर्गत बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले बिहीबार सूचना जारी गरी अधिकारीहरूलाई पहिलो, दोस्रो र बूस्टर डोजका लागि कोभिड–१९ खोप कार्यक्रम पुनः सुरु गर्न निर्देशन दिएको छ ।

बङ्गलादेश सरकारले अर्को वर्षसम्ममा कोभिड–१९ खोपको २५ करोड डोज लगाउने योजना बनाएको एक वरिष्ठ अधिकारीले बताउनुभएको छ । बङ्गलादेशको स्वास्थ्य सेवा विभागका सचिव जहाँगीर आलमले खोपहरूमध्ये आधा यस वर्ष चौथो डोजको रूपमा दिइने र बाँकी २०२५ मा दिइने सञ्चारकर्मीहरूलाई बताउनुभएको छ ।

अधिकारीका अनुसार नयाँ खोप अभियानले कोभिड–१९ को जेएन १ भेरियन्टको उदयको चिन्तालाई ध्यानमा राख्दै अग्रपङ्तीका कामदार र स्वास्थ्य कमजोरी भएका व्यक्तिहरूलाई प्राथमिकता दिनेछ ।गत महिना, विश्व स्वास्थ्य सङ्गठनले जेएन १ प्रजातीलाई छुट्टै संस्करणको रूपमा वर्गीकृत गर्दै विश्वव्यापी रूपमा द्रूत गतिमा फैलिरहेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले कोलम्बियाको शान्ति प्रक्रियालाई समर्थन गर्ने

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले कोलम्बियाको शान्ति प्रक्रियाका लागि पूर्ण तथा सर्वसम्मत समर्थन दोहो¥याउने बताएको छ । बिहीबार जारी विज्ञप्तिअनुसार परिषद्का सदस्यहरूले कोलम्बियामा सन् २०१६ को अन्तिम शान्ति सम्झौताको व्यापक कार्यान्वयन सुनिश्चित गर्नेुपर्ने महत्वलाई प्रकाश पार्दै स्थानीय निर्वाचनपछि भएको प्रगतिको प्रशंसा गरेका छन् ।

उनीहरूले शान्ति प्रवद्र्धन गर्न नवनिर्वाचित अधिकारीहरूको महत्वपूर्ण भूमिका तथा शान्ति प्रक्रियामा विविध पृष्ठभूमिका महिलाहरूको पूर्ण समान अर्थपूर्ण र सुरक्षित सहभागितामा जोड दिएका छन् । ग्रामीण सुधारका प्रावधानहरूमा आएको परिवर्तनको प्रशंसा गर्दै परिषद्ले किसान र जातीय समुदायमा भूमि वितरणमा भएको प्रगति र व्यापक पुन.ं एकीकरण कार्यक्रम अपनाएको कुरा स्वीकार गरेको छ ।

सदस्यहरूले पूर्व लडाकूहरू र सामाजिक नेताहरूले सामना गरिरहेका खतरा र हिंसाको बारेमा पनि चिन्ता व्यक्त गरेका छन् । महिला नेताहरू र मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि व्यापक कार्यक्रमको योजना तथा कार्यान्वयनको आवश्यकतामा जोड दिए ।

शान्ति सम्झौताको जातीय अध्यायप्रति कोलम्बिया सरकारको प्रतिबद्धतालाई परिषद्ले स्वागत गरेको छ भने सन् २०२६ सम्ममा ६० प्रतिशत कार्यान्वयन हुने अपेक्षा गरेको छ ।यसबाहेक, उनीहरूले महिला, शान्ति र सुरक्षामा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १३२५ कार्यान्वयन गर्न कोलम्बियाको पहिलो राष्ट्रिय कार्य योजना पूरा हुने अनुमान गरेका छन् ।परिषद्ले शान्ति सम्झौताको व्यापक कार्यान्वयनलाई समर्थन गर्न कोलम्बियासँग नजिकबाट काम गर्ने आफ्नो समर्पणलाई दोहो¥याउँदै दुवै पक्षको प्रतिबद्धतालाई जोड दिएको छ ।

थाइल्यान्डमा करिब एक करोड ५० लाख टन लिथियम फेला पर्यो

थाइल्यान्डले करिब एक करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले शुक्रबार बताउनुभएको छ । उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवर्द्धन गर्नेछ ।

यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिकरूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई एक करोड ४८ लाख टन लिथियम दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग साइटको बीचमा फैलिएको जानकारी दिनुभयो । “हामीले फेला पारेका स्रोतहरूबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौँ, यसमा समय लाग्छ”, उहाँले भन्नुभयो ।

लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने बेट्रीहरूको निर्माणमा प्रमुख घटक हो । अगस्टमा सत्ता सम्हालेपछि प्रधानमन्त्री श्रेथा थाभिसिनको सरकारले मुलुकको परम्परागत कारहरू एसेम्बल गर्ने इतिहासलाई अगाडि बढाउँदै थाइल्यान्डलाई विद्युतीय सवारीका लागि क्षेत्रीय उत्पादन केन्द्रका रूपमा बढाउने प्रयासलाई प्राथमिकता दिएको छ ।

डाभोसमा विश्व आर्थिक मञ्चको बैठकका क्रममा श्रेथाले बोशका उपाध्यक्षसहित उद्योग जगत्का नेताहरूसँग भेट गर्नुभयो र थाइल्यान्डमा विद्युतीय सवारी उत्पादनमा लगानी गर्न आग्रह गर्नुभयो । रुडक्लाओले लिथियम खोजका बारेमा भन्नुभयो, “यो राम्रो समाचार हो, यो थाइल्यान्डका लागि विद्युतीय सवारी बेट्रीको उत्पादनमा आत्मनिर्भर बन्ने एउटा अवसर हो ।”सन् २०२३ डिसेम्बरमा दुई चिनियाँ दिग्गजले थाइल्यान्डलाई उत्पादन केन्द्रका रूपमा विकास गर्न दुई अर्ब ३० करोड भाट (छ करोड ४० लाख अमेरिकी डलर) लगानी गर्ने बताएका थिए ।

लगानी सम्मेलनको तयारी तीव्र पार्न अर्थमन्त्री महतको निर्देशन

काठमाडौँ, ५ माघ : आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा प्रकाशशरण महतले निर्देशन दिनुभएको छ ।आज बसेको लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री महतले आवश्यक नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिनुभएको हो । आगामी लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री डा महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभयो ।

आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो । निर्देशक समितिको आजको बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो ।

लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ । साथै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा)को संयोजकत्वमा कार्यदल गठन भएको छ । यी सबै समिति र कार्यदलहरूले आ-आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन् ।

आज सम्पन्न निर्देशक समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता सङ्गठनहरूको सहभागिता रहेको थियो ।

ऊर्जा मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउने

काठमाडौँ, ५ माघ : नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाबारे तपाईँसँग केही गुनासो छ ? तपाईँको आफ्नो क्षेत्रमा बिनासूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिए वा बिजुलीको मिटर लिन कुनै समस्या छ भने तपाईँले पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर आफ्नो गुनासो टिपाउन सक्नुहुन्छ ।

सेवाग्राहीका यस्तै वा अन्य कुनै पनि प्रकारका समस्या, गुनासो भएमा सो हटलाइनमा फोन गरेर टिपाउन सक्नेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यसअघि नै स्थापित सो हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज हटलाइन सेवामा संलग्न मन्त्रालय र प्राधिकरणका कर्मचारीसँग छलफल गरी सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

नागरिकले प्रत्यक्षरूपमा गुनासो गर्न सक्ने सो सेवालाई प्रभावकारी बनाउन के–कस्ता उपाय अवलम्बन गर्नुपर्छ त्यसका लागि मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

सरकारी निकायले सकेसम्म सेवाग्राहीको गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले समस्या आए गुनासो गर्ने निकायका रूपमा रहेको प्रणालीलाई झनै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । नागरिकले प्रत्यक्ष भोगेका र अनुभव गरेका गुनासो सुन्नेमात्रै नभई त्यसको समाधानका लागि हटलाइन सेवामा कार्यरत कर्मचारीले विशेष ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ छ । “गुनासो आउनेबित्तिकै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुस् । समस्या समाधानका लागि जनशक्ति परिचालनको प्रबन्ध गराउन पहल गर्नुस् । नागरिकले प्रत्यक्षरूपमा सेवा सहज तवरले पाउनुपर्छ । कुनै पनि बहाना गर्न पाइँदैन र मिल्दैन”, ऊर्जामन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले गुनासो टिपाउनका लागि सहजरूपमा प्राधिकरणका सबै कार्यालय, वितरण केन्द्रमा सूचना पार्टी राख्न, यसअघि राखिएको भए त्यसलाई व्यवस्थित गर्नसमेत निर्देशन दिनुभयो । “कतिपयले त गुनासो गर्ने माध्यम थाहा नपाएर पनि बसेका हुन्छन्, त्यस्तालाई सहज तवरले गुनासो गर्ने वातावरण बनाउनुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले जिल्लामा रहेका एफएम रेडियो वा अन्य सञ्चारमाध्यमबाट पनि प्रचार–प्रसार गरी सो सेवाका बारेमा जानकारी गराउन आवश्यक व्यवस्था मिलाइने बताउनुभयो ।

सरकारले पैसा नलाग्ने नम्बर यसअघि नै सञ्चालनमा ल्याएको थियो । सो हटलाइनमा दैनिक औसतमा चार दर्जन हाराहारीमा गुनासो आउने गरेको छ । गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिनुभयो ।

समस्या समाधान भएको सम्बन्धित व्यक्तिलाई समेत फोन गरेर जानकारी दिने गरिएको उहाँले बताउनुभयो । विशेषगरी लाइन काटिएको, भोल्टेज कम आएकोजस्ता गुनासो बढी आउने गरेको उहाँको भनाइ छ । हटलाइन सेवा हाल तीनवटै सत्रमा सञ्चालनमा छ । त्यसलाई थप व्यवस्थित बनाउन मन्त्रालयका तर्फबाट प्राधिकरणलाई आवश्यक निर्देशन दिइने मन्त्री बस्नेतले बताउनुभयो ।

हरेकजसो वितरण केन्द्रमा ठूला–ठूला अक्षरमा ‘फ्लेक्स बोर्ड’ राखिने छ । मन्त्रालय र प्राधिकरणसँग जोडिएका कुुनै पनि समस्या वा गुनासो सुन्ने र समाधानका लागि आवश्यक व्यवस्था मिलाइने मन्त्री बस्नेतको भनाइ छ । हटलाइन सेवामा कार्यरत कर्मचारीले हरेक दिन आएको गुनासो लिपिबद्ध गरी मन्त्रालय र प्राधिकरणलाई समेत उपलब्ध गराउने गरेका छन् ।

सेवालाई थप चुस्तदुरुस्त बनाउने अन्य उपाय के हुनसक्छ ? सामाजिक सञ्जाल वा अन्य माध्यममा समेत सहजरूपमा गुनासो राख्ने उपाय के हुनसक्छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सञ्चालनमा रहेको हेलो सरकारसँग के कसरी मिलेर काम गर्न सकिन्छ भन्नेलगायतका विषयमा समेत मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भएको छ ।

मन्त्री बस्नेतले आएका गुनासोलाई आफ्नै समस्या सम्झेर समाधान गर्न, सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउनुसमेत जरुरी रहेको बताउनुभएको थियो । तत्कालीन ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालमा सो सेवा प्रारम्भ गरिएको थियो ।

प्रतिपक्षले मिसन ८४ भन्नुलाई स्वाभाविकरुपमा लिनुपर्छः सभामुख घिमिरे(अन्तरवार्ता)

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् । उनले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले ऐनकानुनद्वारा मार्गनिर्देशन गर्न सक्ने बताए । सभामुख घिमिरेले भने, ‘कमीकमजोरी औँल्याउँदा उसले सरकारको आलोचना त गरिहाल्छ नि भन्ने कोणबाट नहेरियोस् भन्ने मेरो आग्रह हो ।’

सङ्घीय संसद्को तल्लो अङ्ग प्रतिनिधिसभाका सभामुख घिमिरेले व्यवस्थापिकाको नेतृत्व सम्हालेको एक वर्षमा भए गरेका संसदीय अभ्यास र समसामयिक विषयमा राससका प्रमुख समाचारदाता उत्तम सिलवाल, उपप्रमुख समाचारदाता नारायण न्यौपाने र समाचारदाता कालिका खड्काले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

 संसदीय अभ्यासको गत एक वर्षलाई यहाँले कसरी हेर्नुभएको छ ?
निश्चय पनि नयाँ ढङ्गले केही गर्न र योगदान थप्न सकिन्छ भन्ने आत्मविश्वासका साथ मैले एक वर्षअघि यो पद ग्रहण गरेको थिएँ । उपलब्धि भयो, भएन वा कस्तो रह्यो, अरूले समीक्षा गर्ने विषय हुन् । आवश्यकताका हिसाबले जति गरेर जान सकिन्छ र गर्नुपर्छ भन्ने थियो, त्यो गर्न सकिएन कि भन्ने  असन्तुष्टि रह्यो । संसद्का गतिविधि राष्ट्र, प्रणाली, व्यवस्था र जनहितमा बढी प्रभावकारी ढङ्गबाट लैजान आफ्ना ठाउँबाट काम गर्नुपर्छ र गर्न सकिन्छ भन्ने थियो, तर त्यसमा पनि सबै  कुरा मिल्नुपर्ने र साथ, सहयोग पनि त्यत्तिकै हुनुपर्ने कारण जति गर्नुपथ्र्याे, त्यो गर्न सकिएन कि भन्ने लाग्छ । त्यसो त गर्न सकिएन भनी पश्चात्ताप गर्ने ठाउँ पनि छैन, सरदरमा ठिकै ढङ्गले गरेँ भन्ने लाग्छ ।

 सोचअनुरूप उद्देश्य प्राप्तिका लागि अघि बढ्ने सिलसिलामा केकस्ता चुनौती र कठिनाइ रह्यो भन्ने लाग्छ यहाँलाई ?
पहिलो कुरा, नेपालको संविधान  जारी भइसकेपछि दोस्रो चुनावबाट अहिलेको संसद् बन्यो । संसद् नयाँ भएकाले संसदीय गतिविधि अघि लैजान नियमावली बनाउनुपर्नेभयो । यसमा सुरुमै  संशोधन कि नयाँ बनाउने भन्नेमा लामो वादविवाद र छलफल भयो । छिटो नियमावली बनाएर कामलाई गति दिनुपर्नेमा सांसद विभाजित भएर छलफल हुँदा नियमावलीको काम समयमा पूरा गर्न चुनौती देखियो । अन्त्यमा नियमावली कस्तो बनाउने भन्नेमा पनि बुँदा बुँदामा बहस गरिँदा धेरै समय लाग्न गयो । प्रणाली स्थापित गरेर अगाडि बढ्ने सिलसिलामा विभिन्न प्रयत्न गरियो,  त्यसले पनि निकै समय लियो,  यति धेरै  छलफल आवश्यक थिएन । बनेको नियमावली पनि कार्यान्वयन गर्न भिन्न दृष्टिकोण र सोचाइलाई मिलाएर जान ठूलै रस्साकस्सी पर्यो । विभिन्न कारणले राम्रा गतिविधि सञ्चालन गर्न तथा आवश्यक कानुन बनाएर प्रदेश र पालिकालाई काम गर्ने वातावरण बनाएर जानुपर्नेमा त्यो समयमा नहुँदा सङ्घीयताबारे नै प्रश्न उठ्न थाल्यो । सङ्घीयता कार्यान्वयनसँग जोडिएका विधेयकमाथि गम्भीरताका साथ छलफल गरी टुङ्ग्याउनुपर्नेमा त्यो हुन सकेन । प्राइभेट विधेयक ल्याउने अभ्यास हामीसँग कमै भएकाले अधिकांश विधेयक सरकारले ल्याउनुपर्नेमा त्यो भएन, अनि छलफल गराउन सकिएन । विधेयकमाथि बहस गर्नुपर्ने समयमा अनेक खाले विषयस्तु उब्जिएपछि सदन अवरोध हुन पुग्यो । त्यस्ता विषयमा सरकारबाट समयमा जवाफ नआएपछि प्रतिपक्षबाट विरोध र अवरुद्ध हुने अवस्था सिर्जना भयो ।  त्यसमा मैले  जबर्जस्ती सदन चलाउने र विधेयक पास, फेलमा जाने खाले कुरा गर्नुहुन्न भन्ने मान्यता राखेँ ।  प्रतिपक्षीको विरोधका कारण पत्ता लगाउन र समस्याको समाधान खोज्नका लागि सहमतिको वातावरण त्यसबीचमा खोजियो । सो क्रममा कहिले दलगत, कहिले इस्युका हिसाबले चुनौती आइनै रहे । लामो समयसम्म सदन अवरोध हुने स्थितिले विधेयक टुङ्ग्याउने विषय पछाडि पर्यो ।

यसबीचमा अरू चुनौती पनि सामना गर्नुपर्यो कि ?
विधेयकमा  दफावार छलफल नगरी सोझै संसद्बाट पारित गर्नु प्रजातान्त्रिक नहुने भएकाले प्रक्रिया पुर्याएर निष्कर्ष दिन समितिमा पठाउनुपर्ने बाध्यता भए पनि संसदीय समिति गठन हुनै धेरै समय लाग्यो । संसद्मा १३ राजनीतिक दलको प्रतिनिधित्व रहेकाले समितिमा सदस्यको नाम दिन र गठन गर्न  समय लाग्यो ।  कहिले सर्वदलीय बैठक  त कहिले सचेतकबाट लामो कोसिसपछि समिति गठन भयो तर सभापति छान्न फेरि धेरै समय लाग्यो । त्यसबीचमा समितिको नेतृत्व मतदान प्रक्रियाबाट छान्ने कुरा पनि नउठेको होइन तर दलीय प्रणालीमा दलबीच सहमति भएमा हार्दिकता भई सदन प्रभावकारी हुने र राष्ट्रिय आवश्यकता सम्बोधन हुने पक्षलाई ध्यान दिँदै समाधान खोज्ने प्रयासमा उत्तिकै समय बित्यो ।

समितिले नेतृत्व पाई काम सुरु गरेलगत्तै सदनको दोस्रो अधिवेशन पनि समाप्त हुने स्थिति आयो । यद्यपि त्यसबीचमा हतारहतारमा समितिका प्रतिवेदन सभामा लैजाने काम भयो । चाहना र आवश्यकताअनुसार विधेयक सदनमा लगेर पारित गर्न पथ्र्याे, त्यो लान सकिएन । लोकतान्त्रिक शासन पद्धति अपनाएका मुलुकमा संसद् अवरोध हुने विषय अनुचित होइन, जनता र राष्ट्रका इस्युमा समयभित्रै जवाफ दिने र समाधान खोज्ने निकायबाट काम नहुँदा यस्तो अवस्था आउन सक्छ । उठेका प्रश्नको जवाफ दिने, त्रुटि सच्याउने प्रतिबद्धता गर्ने, गल्ती हो भने सच्याउन सरकार जति गम्भीर हुनुपथ्र्याे, देखिएन । यसबीचमा प्रधानमन्त्रीका अभिव्यक्ति, विदेश भ्रमणलगायत सानै भए पनि सामूहिक रूपमा उठेका कुरालाई सम्बोधन नगरिँदा परिस्थिति भिन्न  बन्न पुग्योे । सदन सञ्चालन गरी अघि बढ्ने सिलसिलामा बल्ल राजनीतिक सहमति  भए पनि सरकार तयार नहुने, ऊ तयार भए दल तयार नहुने, साना र ठूला दल तथा नयाँ र पुराना भन्ने कुरा आएपछि फेरि अल्झिने र  काम हुन पुग्यो । यी र यस्तै ससाना विषयबाट सदन प्रभावित हुँदा यसलाई प्रभावकारी र गतिशील बनाउन सकिएन कि भन्ने अनुभूति भएको छ ।

 मुलुकमा हिजो परिवर्तनका सहयात्री प्रमुख शक्ति प्राप्त उपलब्धिको रक्षाका लागि मिलेर जानुपर्नेमा एकार्काप्रति औँला ठड्याएको घटना धेरै देखियो, यो अवस्था किन भयोजस्तो  लाग्छ ?
प्रजातन्त्रको सबैभन्दा सजीव पक्ष भनेको प्रतिस्पर्धा नै हो ।  प्रतिस्पर्धा जति जिम्मेवार र हार्दिक हुनुपर्छ, त्यसमा अभाव छ ।  दायित्व निर्वाह गर्ने सन्दर्भमा भएका अवरोध र अनुचित तर्कलाई खण्डन गरेर जानुभन्दा एकार्कालाई अस्वथ ढङ्गबाट लिने, हेर्ने र त्यस दिशामा पोजिसन लिने अवस्थाले दायित्वभन्दा अन्यत्र गएको हो कि भन्ने लाग्छ ।

 सभामुखका नेतृत्वमा संसद् अघि बढिरहँदा अहिले भइरहेको राजनीति अभ्यास र सिद्धान्तबारे उठाइएका प्रश्नलाई कसरी लिन सकिन्छ ?
मूलतः  सरकार संसद्प्रति जवाफदेहीपूर्ण हुनु कर्तव्य नै हो, किनभने उसलाई त्यहाँ लैजाने माध्यम नै संसद् हो । प्रणाली, नीति, कार्यक्रम र जनताले पाउनुपर्ने सेवा प्रवाहका विषय सरकारले संसद्का माध्यमबाट लान सक्छ । यो कुराको अनुभूति सरकारले तुलनात्मक ढङ्गबाट नगरेको नै मलाई महसुस हुन्छ । साथ, सहयोग लिनेभन्दा एक्लै जाने, तानातान र विरोध गर्ने प्रवृत्ति देखियो । संसद् र सरकार एकार्काका पूरकमात्र होइन, राज्य सञ्चालन गर्ने महत्त्वपूर्ण अङ्ग हुन् । यो आधार देखिने माध्यम भनेको प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम हो । आफ्ना जनप्रतिनिधिमार्फत राज्यका विभिन्न क्षेत्रमा भइरहेका गतिविधि र राज्य सञ्चालनमा देखिएका समस्या र जनअपेक्षाका प्रश्नमा जवाफ दिन भनेर नियमित गर्न कोसिस गरिएको छ । यसबाट प्रधानमन्त्रीले संसद्लाई जवाफ दिने कुरालाई स्वाभाविक रूपमा सामना गर्नेगरी आउन जति सजिलोसँग तयार हुनुपर्ने थियो, त्यसमा पनि समस्या देखिन्छ । अनि आफूले बनाएको प्रधानमन्त्रीलाई स्वाभाविक रूपले प्रश्न गर्न सझदारीपूर्ण रूपमा जाने विषयमा पनि अनेक ढङ्गका समस्या देखिएको छ । दलीय कि अरू  आधारमा भन्ने विषय अहिले भारीजस्तो भएको छ । एउटा नियमित प्रक्रियामा गइसकेपछि सरकारलाई संसद्का तर्फबाट देखिएका कुरा राख्ने र प्रस्ट हुने विषयले सन्देश प्रवाह गर्ने ठाउँ पाउँछ । त्यसबाट सरकारले गरिरहेका काम प्रधानमन्त्रीमार्फत भन्ने कुरामा मौका मिल्छ । सबै विषय  छलफलका माध्यमद्वारा स्वाभाविकताबाट जानेतर्फ नै उन्मुख हुनुपर्छ ।   स्वाभाविक र सौहाद्र्र ढङ्गबाट विचार, लक्ष्य प्राप्तिका बाटा र नीतिमा प्रतिस्पर्धा गर्दै संसद्को बहुमतले ल्याएको नीति कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको हो भने त्यसमा आवश्यक सुझाव, निर्देशन, नियमन, नियन्त्रण र अवलोकन गर्ने कार्य संसद्को हो भन्ने बुझ्ने कुरामा  अझै अभाव छ ।

  व्यवस्थापिकालाई कार्यपालिकाको साथ, सहयोग र समन्वय कस्तो पाउनुभएको छ ?
यहाँ गम्भीर  समस्या के देखियो भने  व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका शक्तिपृथकीकरण, शक्ति सन्तुलन र काम गर्ने हिसाबले आ–आफ्ना ठाउँमा स्वायत्त छन् ।  देशमा सञ्चित कोषको स्थितिका आधारमा बजेटलाई व्यवस्थित गर्ने र स्वीकृत गरी अघि जाने कुरामा कस्तो पाइएको छभने सरकारले अरूलाई खटाइदिने र त्यसका आधारमा अरू चल्नुपर्ने अवस्था छ ।  आर्थिक पक्षबाट नियन्त्रण गर्न अर्थ मन्त्रालयले निकालेर दिएमा काम गर्न पाउने, अन्यथा नपाउने अवस्था छ ।  यस बुझाइमा समस्या भएपछि अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गरी राज्यको अर्थतन्त्रलाई हेर्ने, विकास गर्ने अनि  घाँटी हेरी हाड निल्ने विषय अमुक व्यक्ति र मन्त्रालयमा हुनुहुन्न । त्यसका लागि तीन निकाय जिम्मेवार हुन् भन्नमा मैले लडाइँ लड्नुप¥यो । राज्यको सञ्चित कोष कसरी खर्च गर्ने भन्ने सिद्धान्तमै स्पष्ट हुनु जरुरी छ । त्यसको रक्षक को हो, उपभोग गर्ने कसले केका माध्यमबाट गर्ने भन्ने पाटाहरू छन् । संसद्  सबै पक्षबाट सहयोग पाएर प्रभावशाली हुनुपथ्र्याे । संसदीय गतिविधिमार्फत सबै क्षेत्रलाई प्रभावित पार्नुपथ्र्याे । त्यसमा समस्या देखिएका छन् ।

संसद्को प्रभावकारिता बढाउन अब क्यालेन्डर बनाएरै जाने तयारी गरिएको भन्ने सुनिएको छ ।  अब सदन कसरी अगाडि बढ्छ ?
संसद्लाई प्रभावकारी बनाउन संसद् भनेको के हो, संसदीय गतिविधिलाई अघि बढाउन चाहिने पक्ष केके हुन्, भइरहेका कानुन संशोधन गर्न अपनाइएका विधि र प्रक्रिया कति सही छ, राष्ट्रिय आवश्यकता के हो,  ऐनकानुन बनाउने सन्दर्भमा अनुसन्धान केका आधारमा गर्ने, विधेयक सरकारले मात्रै लिएर आउने वा मन्त्रालयविशेषले बनाएर ल्याएकामा मात्र छलफल गर्ने भन्नेबारेमा निश्चित आधार हुनुपर्छ । यहाँको जनशक्तिलाई कसरी प्रेरित गर्ने र प्रभावकारी बनाउन सकिन्छ भन्ने सोच्नु जरुरी छ ।  खासगरी संसद् सचिवालयका सहयोगमा विभिन्न संरचनामार्फत चाहेको विषयवस्तुमा गहिरोसँग प्रमाणित चीजका आधारमा जान सक्ने कसरी बनाउने भन्ने समस्या छ । अर्काे वार्षिक क्यालेन्डर अत्यन्त आवश्यक छ । अरू मुलुकमा सबै कामकारबाही र गतिविधि यसैका आधारमा चल्छ ।   बहस समय, सदन नियमित चलाउने दिन, विश्राम, अध्ययन–अनुसन्धान र निर्वाचन क्षेत्रमा जान क्यालेन्डर बनाएर काम गर्ने तालिका अधिकांश मुलुकमा छ । हाम्रो कुनै ठेगान छैन, सभामुखले कुन दिन बन्द, कुन दिन चल्छ भन्छन्, पर्खेर बस्नुपर्ने अवस्था छ । यस अवस्थालाई अब तुरुन्त अन्त्य गर्नुपर्छ ।

 प्रिबजेट छलफललाई परिणाममुखी बनाउने सन्दर्भमा गएको संसद् अधिवेशमा उठेका विषय र सम्बोधनका क्रममा सरकारबाट गरिएका प्रतिबद्धता यस पटक लागू होला भन्ने लाग्छ ? 
करिब दुई महिना नीति र सिद्धान्त तथा बजेटमाथि मसिनोसँग छलफल गरियो । दलीय र व्यक्तिगत रूपमा  विभिन्न  माननीयले बजेटको नीति, सिद्धान्त र  प्राथमिकतामा विस्तृत रूपमा छलफल गर्नुभयो तर अन्तिममा पारित गर्दा अल्पमत र बहुमत तथा हुन्छ र हुन्नका माध्यमबाट टुङ्ग्याइयो ।  महिनौँ  दिनसम्म छलफलपछि पनि नीतिमा परिवर्तन नहुँदा  छलफल किन  भन्ने प्रश्न उठ्यो ।  सरकारका तर्फबाट प्रधानमन्त्री र अर्थमन्त्रीले औपचारिक मञ्चबाट अहिले तयारी पुगेन, आगामी दिनमा बजेटमाथि कसरी छलफल गर्ने भन्ने ध्यान राख्छौँ भनी जवाफ दिइयो ।  सांसदका सुझावलाई ध्यान दिइएको,  टिपोट गरेका छौँ भन्दै पारित गरियो । प्रधानमन्त्रीले आउँदा दिनमा बजेटमा पहिले छलफल गरौँ, वस्तुगत आधारमा तयारी गरौँ भन्नुभएको छ । अब हिउँदे अधिवेशन सुरु गर्नुपर्ने भइसक्यो । प्रिबजेट छलफल कसरी गर्ने भन्ने यकिन भएको छैन । कसरी छलफल गर्ने भन्ने मुख्य विषयमा योजना र  सोच सरकारका तर्फबाट आओस् ।  सदनमा कसरी छलफल गराउने भन्ने  विषयमा हामीले  पनि योजना र क्यालेन्डरमा राख्नुपर्ने हुन्छ । यसमा प्रधानमन्त्री, संसदीय मामिलासम्बन्धी मन्त्रीलगायत सरोकार पक्षसँग धेरै पटक कुरा गरेको छु,  ठोस कुरा आइसकेको छैन । बजेटको नीति र सिद्धान्तमाथि यही हिउँदे अधिवेशनमा सिलिङसहित छलफल गर्ने भन्ने अनौपचारिक जानकारी प्राप्त छ । संसद्लाई प्रभावकारी बनाउनका लागि  कुनै संयन्त्र हुनुपुर्यो ।  बजेटका हरेक विषयमा अध्ययन गर्नुपर्यो  तर त्यसतर्फ ध्यान तान्न सकिरहेका  छैनौं।

प्रिबजेट छलफलका सन्दर्भमा पुरानै इतिहास देखाइन्छ, नयाँ हिसाबले जाने कुरामा कस्तो अनुभव गर्नुभएको छ ?
नीति तथा कार्यक्रम र प्रिबजेटबारे यस पटक नयाँ ढङ्गबाट छलफल हुनुपर्छ, यसमा मेरो पूरा प्रयत्न हुनेछ । आरोप प्रमाणित गर्नुपुर्यो । त्यसो गर्दा तलमाथि भएमा सच्याउन र मिलाएर जान सकिन्छ,  हिजोे जे थियो, त्यही गर्छु भन्न भएन ।

जनताका प्रतिनिधि सांसदले आफ्नो भूमिका केहीमा पनि निर्णायक भएन भन्ने गुनासो गरिरहनुभएको छ । यस्तो अवस्था किन हुनपुग्यो  ?
सांसदका बुझाइमा पनि समस्या छ । उदाहरणका लागि उहाँहरू दलबाट निर्वाचित भएर आउनुभएको छ । दल भनेको एउटा नाममात्र होइन,  उसका निश्चित सिद्धान्त, उद्देश्य, मान्यता, कार्यक्रम् छन् । उम्मेदवार हुँदा उहाँहरूले निर्वाचनमा जनतामाझ  कुनै कार्यक्रम ल्याउने  घोषणा गर्नुभएको छ । ती पूरा गर्न संसद्मा भूमिका खेल्नुपर्छ । उहाँहरूले विधिविधानभित्र बसेर काम गरिरहनुभएको छ । त्यसमा अङ्कुश र अप्ठेरो भए, सोचेका काम नभए दलभित्र बहस गर्नुप¥यो । दलले लगाएको ह्विप बेठिक भए दलभित्रै राख्नुप¥यो । त्यतातिर उहाँहरूको ध्यान पुग्न नसक्ने, अनि  ह्विप लगाएर कुनै काम गर्न पाइएन भन्नाको अर्थ उहाँहरूले प्रजातन्त्र र दललाई नै बुझ्नुभएन । त्यस अन्तरविरोधलाई दलीय रूपमा नै समाधान गर्नुप¥यो । उहाँहरूले प्रणाली, दल र संसदीय प्रणालीका विषयमा तहमा पुगेर बहस गरिरहनुभएको छैन कि भन्ने लाग्छ ।

आवधिक निर्वाचन सकिएको भर्खर एक वर्ष भएको छ, नेताहरू भने मिसन २०८४ भन्न थाल्नुभएको छ । यसले के सङ्केत गर्छ, के सन्देश दिन्छ ?

यो सैद्धान्तिक पक्ष हो । पाँचवर्षे अवधिका लागि जनताले मतादेश दिएका छन् । पाँच वर्षपछि आफ्ना सोच, विचार, योजना प्रभावकारी पार्छु भने पनि बाँकी चार वर्ष त पर्खनैपुर्यो । संसद्मा खेल्ने भूमिकाले नै  निर्वाचनमा नै प्रभाव पर्ने हो । सत्तामा हुनेले पनि त्यो समय पर्खनैपुर्यो। सरकारमा रहेर राष्ट्र, जनता, प्रणालीका हितमा यो यो काम गरेँ भने पनि त्यस बेलासम्म पर्खनैपुर्यो । प्रतिपक्षले पनि आफूले त्यो गर्न नपाए पनि यस विषयमा यस्तो टिप्पणी, सुझाव राखेँ, तर  निर्णायक हुन सकिन, त्यसकारण आउने दिनमा आफूलाई मतदान गर्नुपुर्यो भनी जनतालाई  पर्खनैपुर्यो । यो सिद्धान्त र आवधिक निर्वाचनसँग गाँसिएका कुरा हुन् । यसबारे प्रतिपक्षले भन्नु स्वाभाविक नै हो ।

 सामान्यतया नेता अगाडि, जनता पछाडि भएमा प्रणाली चल्ने हो । नेता, नेतृत्व र माथिल्लो तहका कर्मचारी भ्रष्ट खराब भन्दै शासन व्यवस्थासँग जोड्ने भाष्य निर्माण गर्न खोजिएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
जनताको जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने गतिविधि  राज्यबाट कति भयो,  त्यो कोषबाट हेर्नुपर्ने हुन्छ । जनताले समग्र राज्यको स्थिति के हो, क्षमता के हो,  हामी कुन ठाउँमा छौँ, कतिसम्म गर्न सक्छौँ भनेर आफ्ना ठाउँबाट बुझिहाल्ने कुरा हुन्न । त्यसलाई बुझ्ने र बुझाउनमा समस्या छ । वस्तुगतभन्दा मनोगत स्थितिले अराजकता सिर्जना गर्छ । तथापि धेरै आत्तिहाल्नुपर्नेजस्तो लाग्दैन । समस्या नेतृत्वमा पनि छ । त्यसलाई बुझ्ने, बुझाउने कुरामा अलि बढी समस्या छ ।

 सभामुखको स्वतन्त्र र सन्तुलित जिम्मेवारीसँगै बेलाबखत उनको भूमिकाप्रति उठाइएको प्रश्न र आक्षेपलाई कसरी हेर्नुहुन्छ ?
पहिले यहाँ बसेर गर्नुपर्ने कर्तव्य के हो भन्ने बुझ्नुपुर्यो   । कर्तव्यअनुरूप नै काम गरेको छभने त्यस ढङ्गले हेर्नु गलत हो । कर्तव्यभन्दा फरक ढङ्गले काम गरेको छभने विगत, वर्तमान र भविष्यमा भए पनि त्यो बेठिक हो । यो कुर्सीले गर्ने भनेको पक्षपात होइन, सही जे हो त्यो काम नै गर्नुपर्छ । उसले विगत, वर्तमान र भविष्यमा पनि सीमाभित्र बसेर काम गर्नुपर्छ ।

 सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समयदेखि रोकिएर रहेको छ । दलहरूबीच सम्बन्धित विधेयकमा सहमति भएन भने यहाँको भूमिका कस्तो रहन्छ ?
निश्चय सभामुखले खेल्ने भूमिका हुन्छ नै । कति, के, कस्तो हुन्छ, त्यो पछाडिको कुरा हो । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भयो,  सरकार पनि धेरै बने । सभा पनि धेरै भए । यति लामोसमयसम्म पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नसक्नाको कारण के के हुन्,   संस्थागत रूपमा ककसको भूमिका के छ, त्यो हेरिनुपर्छ । त्यसमा सभामुखको भूमिका के हुन्छ, सुझाव आवश्यक छ ।

त्यो त्रासदीपूर्ण अवस्था पार गरेर हामी यहाँ आइपुगेका छौँ । त्यसलाई टुङ्ग्याउने मामिलामा समयमै जिम्मेवार राजनीतिक दल लाग्नुभएको छ । यसलाई निष्कर्षमा पुर्याउन सबैले आ–आफ्ना ठाउँबाट भूमिका खेल्नुपर्छ । सभामुखले प्रक्रियामा लगेर किन नटुङ्ग्याएको भन्ने प्रश्न पनि छ ।  समस्या प्रक्रियाको हो र ? टुङग्याउने प्रक्रिया र विधिका लागि त वातावरण बन्नुपर्यो । यसप्रति गम्भीरताको खाँचो छ । यसलाई टुङ्ग्याउन व्यक्तिगत र संस्थागत रूपमा समेत मेरो प्रयास भइरहेको छ ।

यससँग जोडेर आएका चार  विषयसँगै हिजोको समयलाई नै कसरी हेर्ने भन्ने छलफल चलिरहेको छ । समितिबाट अघि बढ्ने क्रममा छ, सदनमा छलफल र सहमतिबाटै टुङ्ग्याउँदा राम्रो हुन्छ । पुष्ट्याइँ नभए पनि यस सत्रको पहिलो एजेन्डा नै सङ्क्रमणकालीन न्याय हुने कुरा आएको छ ।   मानिसका इच्छा, चाहना, सोचसँगै तरङ्ग पैदा गर्ने पक्षबाट जिम्मेवार निकाय, दलहरू जिम्मेवार हुनु जरुरी छ ।  सदनमा हुने बहस र छलफलबाटै यसलाई छिटो टुङ्ग्याउनुपर्छ । आफ्नातर्फबाट हुने भूमिका जे हो, त्यो हुनेछ ।

दैनिक ठूलो सङ्ख्यामा युवा र विद्यार्थी विदेश पलायन रोक्ने विषयमा यहाँको सन्देश केही छ  ?
संसद्ले राष्ट्र र जनताका हितमा कानुन बनाउने हो । त्यस कानुनलाई सरकारका माध्यमबाट कार्यान्वयन गर्ने कुराको दायित्व जति हुनुपर्ने हो, त्यो हुन बाँकी छ । परिणाम दिने भनेको ऐनकानुनलाई कार्यान्वयन गरेर हो । के कारणले कानुन कार्यान्वयनमा बाधा पर्यो भन्ने हेर्नुपर्छ । हाम्रो स्थितिमा संसद्ले स्वतन्त्र ढङ्गले सोचे जति काम गर्ने अवस्था छैन ।

कानुनको अभाव भयो, पुँजी विदेश पलायन भयो, राष्ट्रिय उत्पादकत्व वृद्धि हुन सकेन, आत्मनिर्भरताको विकास हुन सकेन, सुशासन हुन सकेन । पक्षपात र घूसखोरी नियन्त्रण हुन सकेन भन्ने कुरा कानुनका अभावमा हो भन्ने लाग्दैन । यस्ता विषय र बेलामा कार्यकारीको भूमिका प्रमुख हुन्छ ।

 अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
सभामुख के गर्दै छ भन्ने  होइन, उसलाई कसरी हेर्नुपर्छ भन्ने परिपाटी छ । त्यो परिपाटी वस्तुवादी होइन, त्यसबाट हेरिँदा ठीक ढङ्गले काममा प्रेरणा र उत्साह पाउन गाह्रो हुन्छ । त्यसकारण के गर्दैछ, के गर्यो भनेर प्रत्येक घटना र इस्युमा हेर्ने र विश्लेषण गर्नुपर्ने खाँचो छ ।

चन्द्रागिरि नगरपालिकामा नगर प्रहरी परिचालन

काठमाडौँ, ५ माघ : चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दज्र्यानी चिह्न समेत प्रदान गरेको छ । तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

सो अवसरमा उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको पनि उपस्थिति रहेको थियो । नगरपालिकाले नगर प्रहरीका लागि २५ पदमा आवेदन माग गरे पनि नगर प्रहरी प्रमुखबाहेक सबै पदपूर्ति भएको नगरप्रमुख गिरीले जानकारी दिनुभयो । नगर प्रहरी प्रमुखको परीक्षामा कोही उत्तीर्ण हुन नसकेपछि पुनः आवेदन खोलिने जनाइएको छ । अहिले नगर प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा टोली परिचालन हुने र नगरप्रहरीका लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गरिने नगरप्रमुख गिरीले बताउनुभयो । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा नगर प्रहरीलाई तालिम प्रदान गरिएको थियो ।

तालिममा अग्नि नियन्त्रण, आपत्कालीन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक व्यवस्थापन, मानव अधिकार, ड्रिल, भूकम्प, हूल तथा दङ्गा व्यवस्थापनलगायतमा प्रशिक्षण दिइएको थियो ।

मधेस प्रदेशः आज छैटौँ बलिदान दिवस मनाइँदै

जनकपुरधाम, ५ माघ : मधेस प्रदेशमा आज छैटाँै बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् ।

विसं २०६२÷०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो । माघ २ गतेदेखि सुरु भएको सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो । यसपछि मधेसभर आन्दोलन भएको थियो ।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । सो आन्दोलनलाई मधेसवादीहरुले मधेस जनविद्रोहको सङ्ज्ञा दिने गरेका छन् । त्यही जगमा देशमा सङ्घीयता र संविधान आएको जनाउँदै मधेस प्रदेश सरकार गठन भएदेखि नै यहाँ सहिदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो । त्यसयता विसं २०७४ सम्म पटकपटक भएका मधेस आन्दोलनमा एक सय १७ जनाको ज्यान गएको मधेसवादी दलहरुले दाबी गर्दै आएका छन् तर मधेसी सहिद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२ घाइते भएको तथ्याङ्क छ । बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे निधन

काठमाडौँ । वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय वैद्यको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा गएराति १२ः ३० बजे निधन भएको पारिवारले जनाएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका उनी पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका थिए । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए । विसं २००३ मा नरदेवीमा जन्मिएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् ।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

टरुवा तालको सौन्दर्य खोस्यो जलकुम्भीले,तालको अस्तित्व नै सङ्कटमा

त्रिवेणी (नवलपरासी), ५ माघ : नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ ।

कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रुपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताउनुभयो । “स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,” उहाँले भन्नुभयो ।

करिब तीन दशमलव ५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ । ताललाई जलकुम्भी झारले ढाकेर अस्तित्व नै सङ्कटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तालको संरक्षणका लागि केही समयअघि योजना अघि बढेको भन्ने सुेने पनि खास काम नभएको उहाँले बताउनुभयो । “पहिले एकपटक सफा गर्ने, ताललाई राम्रो बनाउने भनेर डोजरसमेत ल्याएर अलि अलि काम गरेथे, पछि के भयो, त्यतिकै छाडे, पूरा काम भएन, ताल उस्तै रह्यो,” स्थानीय महतोले भन्नुभयो ।

“टरुवा ताल सफा गरेर राम्रो बनाउन सके ताल हेर्न धेरै मानिस आउँथे वरपर व्यापार व्यवसाय बढ्ने थियो, स्थानीयसँगै सरकारलाई समेत आम्दानी हुने थियो,” स्थानीय केशकुमारी महतोले भन्नुभयो । ताललाई झारले ढाक्दै गएकाले यसको संरक्षणको पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको टरुवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ । कावासोती बजार विकासको प्रारम्भकालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यसै तालको पानी प्रयोग गर्ने बताइएको छ । अन्य पानीको कुनै स्रोत नभएको र टरुवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सुरु सुरुमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गथ्र्यो । पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो । यस अर्थमा समेत महत्व बोकेको ताल हिजोआज आफैँ सङ्कटमा परेको छ ।

तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा परिचित हुने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । उहाँले ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ संरक्षणका लागि स्थानीय बासिन्दासँगै स्थानीय सरकार लाग्नुपर्छ भन्नुभयो । ताललाई जलकुम्भी झारले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती–७, का वडाअध्यक्ष गोविन्दप्रसाद महतोले बताउनुभयो ।

वडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकालाई ताल सरसफाइमा खटाउने योजना बनाएको उहाँको भनाइ छ । ताल आफैँमा महत्वपूर्ण रहेकाले यसको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भइरहेको उहाँको भनाइ छ । कावासोती नगरपालिकाले टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यस वर्ष रु ५० लाख विनियोजन गरेको वडाअध्यक्ष महतोले जानकारी दिनुभयो । “टरुवा ताल संरक्षणका विषयमा छलफल र बहसहरू चलेका छन्, मुख्य कुरा बजेट आवश्यक पर्ने रहेछ, अहिले थोरै विनियोजन भएको छ, केही काम यस वर्ष होला,” अध्यक्ष महतोले भन्नुभयो ।

युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

काठमाडौँ, ५ माघ : असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गर्नुभएको छ । भेटमा उहाँले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “युगाण्डामा मेरो पहिलो भ्रमण हो । तपार्इंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ । यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन् । हिजोमात्रै भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतसँग छलफल गरिएको छ ।”

परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले युगाण्डामा रहेका नेपालीले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको भन्दै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्रीलगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताउनुभयो ।सो कार्यक्रममा गैरआवासीय सङ्घका युगाण्डाका संरक्षक रमेश कँडेलले युगाण्डामा तीन सय ५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार–व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको जनाउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

किसानले उत्पादन गरेको गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले लिने भएपछि किसान व्यावसायिक साग खेतिमा

इलाम, ५ माघः रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्् ।

रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना नै थिएन । उहाँलाई लागेको थियो साग त बिक्दैन गुन्द्रुक कसले किन्ला र ! तर कमलाले अहिले व्यावसायिक रुपमा नै साग खेती गर्नुभएको छ । उहाँको बारीभरि हरिया साग छन् । गाउँपालिकाले ‘गुन्द्रुक’ ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएदेखि उहाँलाई साग खेतीमा आकर्षण भएको हो । “चिया, आलुले भाउ र घीउछुर्पीले बजार नपाएका बेला गुन्द्रुक बिक्री होला भन्ने त सोच नै थिएन तर हाम्रै गाउँपालिकाले गुन्द्रुकको बजार खोजिदिने भएपछि साग रोप्न थालेँ, आजकाल त साग फलायो, गुन्द्रुक बनायो बेच्यो,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायत १० देखि १२ प्रकारका कृषि उपजको ब्रान्डिङ गरेर किसानका लागि एउटा प्लेटफर्म तयार गरिदिने काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभएको छ । ‘गुन्द्रुक, र सिस्नोमात्र होइन आगामी वर्षदेखि १०–१२ वटा ‘आइटम’ सुकाएर बजारमा ल्याउने तयारी गर्दैछौँ,” उहाँले भन्नुभयो, “भोलि एकजना किसान, एउटा व्यवसायी वा उद्योगीले यो सबै बजार निश्चित गरेर प्लेटफर्म बनाउन गाह्रो हुन्छ तर राज्यले बनाई दिएको प्लेटफर्ममा काम गर्न सजिलो हुन्छ । त्यसैले हाम्रो प्रयास किसानका लागि सहजता प्रदान गर्ने हो ।”

गुन्द्रुकजन्य उत्पादनलाई सुकाएर ‘प्याकेजिङ’ गर्ने प्लान्टमा पालिकाले एक करोड बराबरको लगानी गरेको छ । “किसानलाई तालिम गरायौँ, लेभलिङ, प्याकेजिङ ब्रान्डिङको प्रक्रियामा केही खर्च ग¥यौँ, करोड बराबरको खर्च भएको छ,” उहाँले भन्नुभयो । गुन्द्रुकमात्र नभएर सिस्नोलाई समेत ब्रान्ड बनाउन सुरु भएको छ । “कुनै पनि उत्पादनलाई मौसम र समय परिवर्तन गरेर बजारमा निकाल्ने भनेको एउटा शीतभण्डारमा राखेर हो अर्को सुकाएर निकालिने हो,” स्याङबो भन्नुहुन्छ, “शीतभण्डार महङ्गो छ । यो तत्काल बिक्री नगरे अखाद्य बन्छ तर सुकाएर निकालिने कुराको चैँ पर्खेर एक–डेढ वर्षमा बिक्री गर्दा पनि सम्भव छ । त्यसकारण हाम्रो भूगोलमा कोेलस्टोरभन्दा ‘ड्रायरप्लान्ड’ उपयुक्त हुन्छ ।”

गुन्द्रुकलाई गुणस्तरीय बनाउन किसानलाई तालिम र ड्रायर मेसिन अनुदान दिइने गरेको गाउँपालिकाले जनाएको छ । गुन्द्रुकमा किसानलाई प्रतिकिलो रु ८० अनुदान दिइने छभने गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रङ्गलगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग गर्ने गरिएको छ, अध्यक्ष स्याङ्बोले बताउनुभयो ।

पालिकामा साग उत्पादन बढेको छ । किसानले उत्पादन गरेका सबै साग किन्न सक्ने गरी प्रत्येक वडामा एउटा प्रशोधन उद्योग खोल्ने तयारी रहेको उहाँले बताउनुभएको छ । सागमा किसानलाई आकर्षित गराउन उत्पादकत्वका विषयमा जानकारी गराउन जरुरी रहेको बताउँदै उहाँले एक रोपनी क्षेत्रफलमा कुन कृषि उपज कति फल्छ भनेर तुलना गर्ने हो भने साग अत्यन्तै फाइदाजनक खेती भएको बताउनुभएको छ । “उत्पादनका हिसाबले श्रम, बजार मूल्य सबै हिसाबले साग फाइदाजनक छ । सबै किसानको साग किनिदिने अवस्था छैन, क्रमशः त्यो स्थितिमा हामी पुग्छौँ,” उहाँले भन्नुभयो ।

पालिकाले १२ प्रकारका उत्पादनलाई सुकाएर बजारमा ल्याउने तयारी गरेको छ । “एक वडा एक सहकारीमार्फत यसको व्यवस्थापन हुुन्छ । प्रोडक्सन ग्रुप सहकारी सदस्य हुनेछ । सदस्यले उत्पादन गरेका कुरा सहकारीले किनिदिने छ र त्यो प्लान्ड सरकारले बनाएर सहकारीलाई ह्यान्डओभर गर्नेछ र त्यहाँ चै उत्पादित वस्तुको प्रशोधन गरेर बजारीकरण गरिन्छ,” उहाँले भन्नुभयो ।

“बजारमा कपडा किन्न जाने मान्छे राम्रो गुणस्तरको कुन छ भनेर ब्रान्ड खोज्न सुरु भइसक्यो । अब हरेक उपभोक्ताले हरेक उपभोगीय सामानको ब्रान्ड खोज्ने बेला आएको छ । हामीले खानेकुरा पनि ब्रान्डको हुन जरुरी छ । खानेकुरालाई ब्रान्ड बनाएर बिक्री गर्न सकेनौँ भने हाम्रा सबै किसान एक दिन पलायन हुन्छन्,” अध्यक्ष स्याङबोले भन्नुभयो ।

बाढी र भूकम्पले उठीवास लागेको बझाङको परिङाल

परिङाल ९बझाङ०, ५ माघः फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन । छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन । सातापछि बल्ल मौसम खुल्यो । नेटवर्क आयो र फोनमा कुरा भयो । सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो ।

उहाँ शनिबार यही पीडा वरिपरि बसेकालाई सुनाउँदै हुनुहुन्थ्यो । गत भदौको उहाँको पीडा सुनेर एकछिन माहोल नै चिसियो । सबै जना आश्चर्यचकित भावमा देखिए । “हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो । लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,” उहाँले भन्नुभयो ।

उहाँ दुई नातिसँगै छविसपाथीभेरा गाउँपालिका–१ परिङालमा रहेको आफ्नै घरमा बस्नुहुन्छ । नातिद्वय जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन् । छोरा तथा बुहारी भारतको बैङलोरमा मजदुरी गरिरहनुभएको छ । उहाँहरुले पठाएको पैसाले घर खर्च चलाउनु परेको पारुले सुनाउनुभयो ।

यस्तो पीडा र अवस्था सबै परिङालबासीको उस्तै छ । “आँगनमा काग कराएको दिन पनि अशुभ खबर सुनिन्छ कि भन्ने पीर पर्छ,” स्थानीय चन्द्रा गिरीले भन्नुभयो, “परदेशिएकाहरुलाई केही नहोस् भनेर दियो बालिरहन्छौँ । भगवान्को आराधना गरिरहन्छौँ । चिन्ता बैङलोरकै हुन्छ ।” परिवारका सदस्यसँगै बस्न र घरमै हुन त भाग्यमै लेखेको हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार परिङालमा ८० परिवार छन् । झन्डै चार सय जनसङ्ख्या भएको गाउँ हिजोआज भने सुनसान जस्तै छ । काम गर्न सक्ने जनशक्ति सबै भारतमा गएपछि बालबालिका र वृद्धवृद्धाले जेनतेन गाउँ धानेका छन् । “प्राकृतिक विपद्बाट अहिले ३० परिवारले गाउँ नै छोडिसकेका छन्,” उहाँले भन्नुभयो, “कतिपयले भारतमा सङ्घर्ष गर्दै तराईतिर जग्गा जमिन जोडिसके । कतिले भारतमै आधार कार्ड पाएर परिवारलाई उतै व्यवस्थापन गर्ने तयारी गरिरहेका छन् ।”

उहाँका अनुसार परिङालबासी भोको पेट भर्नकै लागि विभिन्न ठाउँमा गएर सङ्घर्ष गरिरहेका छन् । “घरमा बालबालिका तथा वृद्धवृद्धा भएर घरहरू खुला देखिए पनि गर्नसक्ने मान्छे कोही छैन,” उहाँले भन्नुभयो । उहाँका अनुसार उहिले कोही पनि भारत जाँदैन थिए । “गाउँमै खेतीपाती गरेर सबैको गुजारा हुन्थ्यो । अहिले जग्गाजमिन बाढीले निल्यो, घर भूकम्पले निल्यो । त्यसपछि गाउँ नै चौपट भयो,” उहाँले भन्नुभयो । चन्द्राको घरमा नौजना सदस्य छन् । गाउँमा भने अहिले चारजना मात्रै छन् । “छोराछोरीको स्याहार गर्ने मान्छे नहुनाले आफैँले गाउँमा बस्नुपरेको हो । नत्र मेरो उमेरका महिला÷पुरुष कोही गाउँमा बस्दैनन् । सबै बैङलोरमा गएर कमाउँछन्,” उहाँले भन्नुभयो ।

परिङालकै लक्ष्मी गिरीको परिवारमा १३ जना छन् । आफूले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) खाने र तीन बालबालिका गाउँमै पढ्ने हुँदा घर बस्नुपरेको उहाँले सुनाउनुभयो । “भारतमा जति मजदुरी काम गरे पनि पैसा देखिँदैन,” उहाँले भन्नुभयो, “सबै कमाउने उतै छन् । उनीहरुले कमाएको पनि खानलाई बराबर हुन्छ ।”

पेट पाल्नकै लागि विदेश जानेको सङ्ख्या बढेपछि गाउँ रित्तिन थालेको छ । सामाजिक काम तथा ठूलो काम गर्न गाउँमा मान्छे नै नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँ पूरै रित्तिन लागि सक्यो । गह्रौँ काम गर्ने मान्छे अहिले गाउँमै छैनन् । यतिसम्म कि मान्छे मर्दासमेत मलामी नपाइने अवस्था आइसक्यो,” उहाँले भन्नुभयो ।

गत असोजको भूकम्पपछि गाउँमा १५ परिवार घरमा तालाबान्दी गरेर भारत गइसकेका छन् । अन्य परिवारमा पनि अधिकांश सदस्य भारतमै गएको लक्ष्मीले बताउनुभयो । “हरेक दसैँमा हरेक परिवारले परदेशिएकाहरुको बाटो कुर्नुपर्छ । कति परिवारले त दुई–तीन वर्षपछि मात्रै भेट्न, सुखी साट्न पाउँछन्,” उहाँले भन्नुभयो ।

विसं २०५७ मा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो । आफूलाई पर्याप्त भएर अन्न बेच्ने परिङालबासीलाई दुई दशकयता भने सङ्कटै सङ्कटले झेलिरहेको छ । दुई वर्षअघि २०७८ असोज ३० देखि कात्तिक ३ गतेसम्म आएको बाढीले बचेको सबै जिउलो बगायो ।

आँगनमा भएको जिउलो मात्रै नभई छिमेकी बगरगाउँमा भएको जिउलोको समेत नामोनिसान मेटाइदियो । गत असोजको भूकम्पले फेरि घरहरू नोक्सान गरेपछि युवाहरु बैङ्लोर जानुको विकल्प नभएको जनाउँदै परदेशिए ।

स्थानीय प्रमानन्द गिरीका अनुसार परिङालको ८५ प्रतिशत जनसङ्ख्या भारतमा छ । गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ । “बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन् । वृद्धवृद्धा पनि बैङलोरमा कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बस्नुपरेको हो । भत्ता नपाए पनि काम गर्न नसक्नेको बैङलोरमा पनि काम छैन,” उहाँले भन्नुभयो ।

भूकम्पले क्षति भएका परिवारका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्थायी संरचना बनाइदिएको छ । “जनता असुरक्षित नहोउन् भन्दै हामीले सबै निकायसँग समन्वय गरिरहेका छौँ,” फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले भन्नुभयो, “बाढी तथा भूकम्प पीडितलाई राहत दिन होस् वा नदी कटानलाई नियन्त्रण गर्न होस् । हामी सबै निकायसँग समन्वय गरिरहेका हुन्छौँ ।”

रेडक्रसले बनाइदिएका अस्थायी टहरा र बगरगाउँमा करोडभन्दा बढी मूल्यको ग्याबिन लगाउने काम भइरहेको उहाँले बताउनुभयो । छविसपाथीभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजङ्गबहादुर सिंह पनि गरिबमाथि नै पटकपटक विपद् आएकामा चिन्ता गर्नुहुन्छ । उहाँ भन्नुहन्छ, “सुगाला र परिङालका पीडितलाई प्रकृतिले पनि कहिल्यै सुख नदिने भयो । कहिले बाढी त कहिले भूकम्पले उठीवास गर्न थालेको छ ।”

प्रभावित बासिन्दालाई विभिन्न सङ्घसंस्थाबाट केही राहत भए पनि सरकारका तर्फबाट राहत पाउन केही समय लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले घोषणा गरेको रु ५० हजारका दरले प्रशासनमा आइसकेको भन्ने छ । यसका लागि सम्पूर्ण कागजात तयारी गर्दै छौँ । रकम आएपछि सबै परिवारलाई वित

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – आजदेखि शुरु हुने असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी हुँदैछन् । उनले आज पहिलो दिनमा नै सम्बोधन गर्ने भएका छन् । भोलिसम्म चल्ने यस सम्मेलनमा सहभागी पछि प्रचण्ड आजै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुने भएका छन् ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँं आइपुग्ने कार्यक्रम रहेको छ ।

नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घ नेपालको सञ्चालन समितिको संयुक्त बैठक सम्पन्न

काठमाडौँ- नेपाल सरकार राष्ट्रिय योजना आयोग र नेपालस्थित संयुक्त राष्ट्र सङ्घले संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोग कार्यढाँचा (यूएनएसडीसीएफ) २०२३–२०२७ को सञ्चालन समितिको पहिलो बैठक संयुक्त रूपमा आयोजना गरिएको छ ।बैठकको सहअध्यक्षता योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले गर्नुभएको थियो । सन् २०२३ मा संयुक्त राष्ट्र सङ्घीय दिगो विकास सहयोग कार्यढाँचा अवलम्बन गरेपछि बसेको नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घीय संयुक्त सञ्चालन समितिको पहिलो बैठकमा २०२४ कार्ययोजनामा यूएनएसडीसीएफ कार्यढाँचाअन्तर्गतका विभिन्न चार प्राथमिकता क्षेत्रबारे छलफल गरिएको थियो ।

चार क्षेत्रमा दिगो, उत्थानशील र समावेशी आर्थिक रूपान्तरण, समावेशी तथा रूपान्तरणकारी मानव विकास, वातावरणीय दिगोपन, जलवायु तथा विपद् उत्थानशीलता, सङ्घीयता, सहभागिता र समावेशीकरण छन् ।बैठकमा योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्न र १६औँ विकास योजना कार्यान्वयन गर्न उत्सुक रहेको बताउनुभयो । साथै उहाँले नेपालले रोजगारीका अवसर सिर्जना गर्न, उत्पादकत्व र उत्पादक क्षमता अभिवृद्धि गर्न, प्राकृतिक स्रोतको दिगो उपयोग प्रवद्र्धन गर्न, र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधामा पहुँच बढाउन संयुक्त राष्ट्रसङ्घ स्केलेबल, रूपान्तरणकारी र प्रभावकारी सहयोग चाहेको उल्लेख गर्नुभयो ।बैठकले यूएनएसीडिसिएफ २०२३–२०२७ का प्राथमिकता नेपालको १६औँ राष्ट्रिय योजनामा उल्लेख प्राथमिकतासँग र दिगो विकास लक्ष्यद्वारा मार्गनिर्देशन गरेअनुसार २०२४ कार्ययोजनामा सह-स्वामित्व सुनिश्चित गर्न रणनीतिक निर्देशन प्रदान गरेको छ ।बैठकमा संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले राष्ट्रियस्तरमा संयुक्त राष्ट्र सङ्घीय दिगो विकास सहयोग कार्यढाँचा २०२३–२०२७ संयुक्त राष्ट्र सङ्घको विकास प्रणाली सुधारको कार्यान्वयनको केन्द्रविन्दुमा रहेको बताउनुभयो ।यसले नेपालका जनता र सरकारलाई आफ्ना विकास लक्ष्य हासिल गर्न संयुक्त राष्ट्रसङ्घले कसरी सहयोग गरिरहेको छ भन्ने कुरा प्रष्ट पार्ने उहाँले बताउनुभयो । बैठकमा नेपाल सरकारका प्रतिनिधि र नेपालस्थित संयुक्त राष्ट्रसङ्घका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।बैठकमा विभिन्न चार क्षेत्रका लागि आगामी वर्षका प्राथमिकतामा सहमति भएको थियो । आगामी १६औँ राष्ट्रिय योजनामा उल्लेखित र दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घ २०३० एजेन्डाद्वारा निर्देशित भई राष्ट्रिय प्राथमिकतासँग पङ्क्तिबद्धता सुनिश्चित गर्न सहयोग ढाँचाको विकास र कार्यान्वयनको रणनीतिक निरीक्षण प्रदान गरिएको छ ।

अन्तरराष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्ने इराकी प्रधानमन्त्रीको दृढ संकल्प

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले सोमबार इराकले अमेरिकाको नेतृत्वमा रहेको अन्तरराष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्न चाहेको कुरा दोहोर्यााउनु भएको छ ।

अल–सुदानीले इराकका लागि नेदरल्यान्डका राजदूत हान्स सान्डीसँगको भेटमा उक्त टिप्पणी गर्नु भएको हो । नेदरल्यान्डले आगामी मे महिनाको मध्यमा उत्तरी अटलान्टिक सन्धि सङ्गठन (नेटो) मिसनको अध्यक्षता ग्रहण गर्दै छ ।

अल–सुदानीले गठबन्धन देशहरूको अर्को मिसनमा इराकमा गठबन्धनको उपस्थिति समाप्त गर्न र इराकसँग द्विपक्षीय सुरक्षा र सैन्य सहयोगमा जानका लागि संयुक्त प्राविधिक कार्य समावेश हुनुपर्ने धारणा राख्नु भएको छ ।

सान्डीले बैठकमा अल–सुदानीलाई नेदरल्याण्डका समकक्षी मार्क रुटेबाट दुई देशबीच सम्भावित साझेदारीका अवसरहरू बारे छलफल गर्न नेदरल्याण्ड भ्रमण गर्न आधिकारिक निमन्त्रणा दिनु भएको बताइएको छ ।

नेदरल्याण्ड अमेरिकाको नेतृत्वमा रहेको अन्तरराष्ट्रिय गठबन्धनको हिस्सा हो जसलाई इस्लामिक स्टेट आतङ्कवादी समूह विरुद्धको लडाइँमा इराकी सुरक्षा बलहरूलाई प्रशिक्षण र सल्लाह दिने काम दिइएको टिप्पणी हुने गर्दछ ।

नेताहरूबीच टकराव बढ्दै गएपछि विभाजनको सँघारमा लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहकार्यसमेत सँगसँगै भइरहेको छ ।

लोसपाबाट विद्रोह गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा) र डा सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरण गर्ने आन्तरिक तयारी भइरहेको छ । महतो नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा छन् भने साह आन्दोलनमै छन् । साहले ११ माघमा मधेस बन्दको आह्वान गरेका छन् । यस्तै, उनले विभिन्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन् । उता, संघीय र प्रदेश दुवै सरकारमा सहभागी डा राउत सरकारकै विरुद्ध आन्दोलनमा छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर २०७८ भदौमा गठन भएको लोसपाको केन्द्रीय समिति दुई वर्षपछि विस्तार भयो । लोसपामा अध्यक्ष महन्थ ठाकुरको परिवारवाद हावी भएको, पूर्वकांग्रेसीलाई महत्व दिएको र पूर्वसद्भावनालाई ठाउँ नदिएको आरोप लगाउँदै वरिष्ठ नेता महतो असन्तुष्ट छन् । केन्द्रीय समिति बैठकसमेत बहिष्कार गरेका महतो पछिल्लो समय पार्टी कार्यालयमा समेत जान छाडेका छन् । हालै उनी नयाँ दिल्ली पुगेर काठमाडौँ फर्किएपछि नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा जुटेका छन् ।

नयाँ दिल्ली पुगेका महतोले भारतीय जनता पार्टी (बीजेपी)का पूर्वअध्यक्षसमेत रहेका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेताहरूसँग भेटघाट गरेको उनीनिकट एक नेताले जनाएका छन् । बीजेपी नेतासँग भेटघाट गरेर नेपाल फर्किपछि उत्साहित भएका महतोले मधेसमा आन्दोलन चर्काउने योजनाअनुसार पार्टीका केन्द्रीय नेतालाई काठमाडौँ बोलाएर छलफल थालेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश बिहीबार जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् माघ ५ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

बृष राशि- सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ ।

मीथुन राशि- पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ ।

कर्कट राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।

सिंह राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ ।

कन्या राशि- मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ ।

तुला राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशि – यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

मकर राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि- बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।

सिनेटको बैठकबाट बिपीको समस्या समाधान गर्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता

धरान-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सिनेटको बैठक राखी समाधान गर्ने बताउनुभएको छ । धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा बिहीबार वार्ता भएको थियो । छलफलका क्रममा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो ।

सिनेटको बैठकले शिक्षक कर्मचारीको पदोन्नतिका माग संशोधन हुनेसमेत उहाँले बताउनुभयो । स्वास्थ्यमन्त्री बस्नेतले बिपी प्रतिष्ठानको विषयमा आफू अत्यन्त गम्भीर भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त बैठक बसेको बताउनुहुँदै मुख्य सचिवलाई माग सम्बोधन गर्न आवश्यक गृहकार्य गर्ने जिम्मेवारी दिइएकोसमेत उहाँले बताउनुभयो ।

राजनीतिक दलको प्रतिनिधि मण्डलले बिपी प्रतिष्ठान, धरानको सन्दर्भमा पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग भेटवार्ता गरी समस्या हल गर्ने विषयमा छलफल गरेको सभापति तामाङले सुनाउनुभयो ।

टोलीमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीन विश्वकर्मा, प्रदेश सांसद विजय राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, धरान नगरपालिकाका पूर्व प्रमुख तिलक राई, कांग्रेस नगर सभापति श्याम पोख्रेल, लगायतको सहभागिता रहेको थियो ।
 

समाजमा अनुशासनको कमी : अध्यक्ष ओली

काठमाडौँ, ४ माघ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अनुशासनको कमी भइरहेको बताउनुभएको छ । नेपाल खेलकुद महासङ्घको दोस्रो बैठकलाई आज ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उहाँले खेलाडी सबैभन्दा अनुशासनमा बस्ने भएकोले खेलजस्तो अनुशासन अरु क्षेत्र नभएको बताउनुभयो ।

“अहिले खेलाडी बाहेक अरुमा अनुशासन कम देखिन्छ । खेलमा जस्तो अरु क्षेत्रमा पनि अनुशासन चाहिन्छ । त्यो अनुशासनलाई हामीले समाजिक मान्यताको रुपमा अगाडि बढाएर लैजानु पर्दछ,” उहाँले भन्नुभयो । उहाँले सबैले अनुशासित भएर जीवन बिताउनुपर्नेसमेत आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले देश अप्ठयारो स्थितिमा रहेको भन्दै सबै क्षेत्रबाट देशलाई अप्ठ्यारो स्थितिबाट जोगाउनुपर्ने बताउनुभयो । देशलाई बर्बाद हुनबाट जोगाउनका लागि पार्टी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने भनाइ उहाँले राख्नुभयो ।

“नेपाल देश छ र हामी छौँ । नेपाल जोगाउन परिआउँदा हरेक मूल्यमा हामी अगाडि बढ्नुपर्दछ,” उहाँले भन्नुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले सङ्गठन सुदृढीकरणका लागि खेलकुद महासङ्घ लाग्नुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष परशुराम बस्नेतले खेलकुदसँगै युवालाई पार्टीमा आकर्षण गराउने बताउनुभयो ।

आसन्न निर्वाचनलाई ध्यानमा राख्दै शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको समग्र सुरक्षास्थितिबारे छलफल गरेका छन् । बिहीबार रक्षा मन्त्रालयमा भएको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग कार्यवाह प्रधानमन्त्री खड्काले मुलुकको सुरक्षास्थितिबारे छलफल गरेका हुन् ।

रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा रक्षामन्त्री खड्काले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिए । साथै उनले सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन आग्रह गरे ।

सो अवसरमा उनले जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिहरूले शान्ति सुरक्षामा पार्न सक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन समेत निर्देशन दिए ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए पनि विभिन्न तरिकाले सञ्चालित गतिविधिहरुलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाबारे समीक्षा गर्नुका साथै आगामी दिनमा चाल्नुपर्ने कदमहरुबारे छलफल गरिएको थियो ।

चीन र स्विट्जरल्याण्ड एफटीए स्तरवृद्धि गर्न सहमत

चीन र स्वीट्जरल्याण्डले चीन–स्वीजरल्याण्ड स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को स्तरोन्नति गर्ने संयुक्त सम्भाव्यता अध्ययन पूरा गरेका छन् ।

औपचारिक रूपमा एफटीए स्तरवृद्धि वार्ताको प्रारम्भिक शुरुवातलाई समर्थन गर्न सहमत सोमबार भएका छन ्। चिनियाँ प्रधानमन्त्री ली छ्याङ र स्वीस कन्फेडेरेसनका अध्यक्ष भियोला एमहेर्डबीचको वार्तामा उक्त सहमतिको घोषणा गरिएको हो । दुई पक्षले यसै वर्षभित्र चीन–स्विजरल्याण्डको विदेश मन्त्री स्तरको रणनीतिक वार्ताको नयाँ चरण, वित्त र ऊर्जा सम्बन्धी कार्यदलको बैठक, शिक्षा नीति वार्ता र संयुक्त राष्ट्र सुरक्षा परिषद्का विषयमा परामर्श गर्ने बताइएको छ ।

‘जनतालाई सहज स्वास्थ्य सेवा पुर्‍याउन सरकार सम्वेदनशील’: मुख्यमन्त्री कार्की

मोरङ, ४ माघ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार सम्वेदनशील रहेको बताउनुभएको छ । सम्वाद समूह कोशी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेश स्वास्थ्य नीति सम्वाद कार्यक्रममा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले नागरिकलाई सहज अनुभूति गर्ने स्वास्थ्य सेवाका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक परिवर्तन गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकार जनतालाई दिएको आश्वासन एवं वाचा पुरा गर्न सरकार जे गर्छ, त्यो बोल्छ, जे बोल्छ, त्यो पु¥याउँछ ।”उहाँले क्लब, पुराण जस्ता कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीलाई उद्घाटन गर्न नबोलाउन आग्रह गर्दै यसले समाजमा नकारात्मक प्रभाव पर्ने गरेको बताउनुभयो । पूर्वमन्त्री उद्धव थापाले स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटा, पूर्वमन्त्री जीवन घिमिरे र नेकपा एमालेका संसदीय दलका उपनेता राम रानाले स्वास्थ्यलाई निःशुल्क र मौलिक हकको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।डा नवराज सुब्बाले सरकारी अस्पतालको सेवा प्रवाह, समस्या र चुनौती समाधानार्थ राजनीतिक सहकार्य र प्रतिबद्धता, सुमन तिमिल्सिनाले सरकारी अस्पतालको सेवा प्रभाव, समस्या र स्वास्थ्य क्षेत्रको नीतिगत उल्झन, प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारी, विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्य सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

इन्डोनेसियाले सन् २०२४ मा २० लाख टन चामल आयात गर्ने

इन्डोनेसियाले सन् २०२४ मा २० लाख टन चामल आयात गर्ने इन्डोनेसियाले यस वर्ष घरेलु आवश्यकता पूरा गर्न र एल निनोका कारण उत्पन्न बालीनालीको असरलाई रोक्न २० लाख टन चामल आयात गर्ने योजना बनाएको छ।

तथ्याङ्क इन्डोनेसिया (बीपीएस) ले सन् २०२४ मा २८ लाख टन चामलको घाटा भोग्ने अनुमान गरेको छ।राष्ट्रिय खाद्य एजेन्सीका प्रमुख आरिफ प्रसेत्योले बिहीबार जकार्ताको राष्ट्रपति भवनमा भएको भेटपछि पत्रकारहरूलाई यस बारे जानकारी गराइएको हो ।

सरकारले भियतनाम, थाइल्याण्ड र चीनबाट उक्त खाद्यान्न आयात गर्ने तयारी गरेको हो । योसँगै सरकारले अघिल्लो वर्षको पाँच लाख टनको बक्यौता आयात कोटा पनि पूरा गर्नेछ । उक्त परिमाणको चामल जनवरीको अन्त्य वा फेब्रुअरीमा देशमा आइपुग्ने बताइएको छ। उपवास महिनाको रूपमा परिचित मार्च र अप्रिल ईद अल-फित्र बिदामा, बढ्दो खाद्य आवश्यकताहरू पूरा गर्नु सो आयातको मुख्य उद्देश्य हुनेछ ।

सवारी ऐनमा एकरुपता कायम हुन्छ : मन्त्री ज्वाला

काठमाडौंँ, ४ माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एकरुपता कायम गर्नका लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला निकायसँग मन्त्रलायमा आज आयोजित छलफलमा मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न एकरुपता हुने गरी पहल भइरहेको बताउनुभयो । मन्त्री ज्वालाले अब बन्ने ऐनमा एकरुपता ल्याउनका लागि प्रदेश सरकारसँग यस विषयमा तीन पटक बैठक बसिसकेको बताउँदै प्रदेश सरकारका यातायातमन्त्री र सचिवसँग थप छलफल गर्न यही माघ ७ गते बैठक राखेको जानकारी दिनुभयो । व्यवसायी र मजदुर सङ्गठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावलाई ऐनमा व्यवस्था गरिएको बताउँदै उहाँले भन्नुभयो, “ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छाँै ।

” छलफलमा मन्त्रालयका सचिव केशव शर्माले फरक–फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधन अहिले सञ्चालनमा रहेको भन्ने अभिलेखसम्म सरकारसँग नभएको बताउनुभयो । छलफलमा स्वरोजगार यातायात मजदुर सङ्गठन, एकीकृत यातायात मजदुर सङ्गठन, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घका पदाधिकारी सहभागी थिए ।

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीको पनि सहभागिता थियो । छलफलमा व्यवसायी र मजदुर सङ्घ, सङ्गठनका पदाधिकारीले ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गर्दै दक्ष चालक पाउन मुस्किल भएको, दक्ष चालकको अभावमा दुर्घटना बढ्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । मन्त्रालयले सवारी ऐन २०४९ संशोधन गर्न सरोकारवाला निकायसँग छलफल गरी सुझाव सङ्कलन गरेको हो ।

टाइगर कप राष्ट्रिय भलिबल : एपिएफ र न्यू डायमण्ड फाइनलमा

कास्की, ४ माघ : सशस्त्र प्रहरीको एपिएफ र चन्द्रागिरि न्यू डायमण्ड पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष खुला भलिबल’ प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न सेमिफाइनलको खेलमा साविक विजेता एपिएफले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरी उपाधि नजिक पुगेको हो । एपिएफले हालसम्म दुई पटक उपाधि हासिल गरिसकेको छ ।

एपिएफले पहिलो दुई सेट १९-२५ र २०-२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट लगातार आफ्नो पक्षमा पार्न सफल भयो । एपिएफले २५-१३, २५-१६ र १५-१३ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गर्न सफल भयो ।यसैगरी दोस्रो सेमिफाइलनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउन सफल भयो । न्यू डायमण्डले २५-१९, २५-१८ र २५-१८ ले नतिजा आफ्नो पक्षमा पार्दै एपिएफसँगको उपाधि भिडन्त पक्का गरेको हो ।यसैगरी पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । लिगको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेश विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ३-२ सेटले पराजित भए पनि सेमिफाइलन पुग्न सफल भयो ।गत माघ १ गते खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेल आज सञ्चालन भएको हो । खेलमा पहिलो सेट २५–२० ले आर्मीले जितेको थियो । दोस्रो र तेस्रो सेट गण्डकीले २०-२५ र १७-२५ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो र पाँचौ सेट २५-२१ र १५-६ ले आर्मीले जितेपनि प्रतियोगिताबाट बाहिरियो ।गण्डकीले सेमिफाइनलमा समूह बीको विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३-२ को सेटमा हराएको थियो । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो । समूह बीबाट एपिएफ विजेता र श्रीलङ्का आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार पुरुषतर्फ सेमिफाइलनका खेल हुनेछन् ।पुरुषतर्फ हेल्प नेपाल र श्रीलङ्का आर्मी तथा दोस्रो खेल एपिएफ र गण्डकीकाबीच हुनेछ प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिनुभयो । महिलातर्फ तृतीय स्थानका लागि त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टोलीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।यसैगरी तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।—

अमेरिकी निर्वाचनपछि युक्रेनले ‘कुनै पनि वास्तविकता’ सँग काम गर्ने

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति निर्वाचन जित्ने जो कोहीसँग युक्रेनले काम गर्ने बताउनुभएको छ । डाभोसमा विश्व आर्थिक मञ्चका अवसरमा एएफपीसँग कुरा गर्दै बिहीबार उहाँले सो कुरा बताउनुभएको हो ।

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन उम्मेदवार जित्ने अग्रपङ्क्तिमा रहेकाले उहाँले निर्वाचन जित्नुभएको अवस्थामा युक्रेनबारे वासिङ्टनको नीति परिवर्तन हुने आशङ्का गरिएको छ । युक्रेनलाई हतियार दिने विषयमा कांग्रेस पहिला नै विभाजित भएकाले किएभलाई समर्थन गर्ने ट्रम्पको इच्छा अझ कम हुने चिन्ता व्यक्त गरिएको छ ।

यद्यपि विदेशमन्त्री कुलेबा ट्रम्पको कुनै पनि जितलाई लिएर आशावादी देखिनुभएको छ । “म अमेरिकी जनताको राय स्वीकार गर्छु र हामी निर्वाचनपछि आउने कुनै पनि वास्तविकतासँग काम गर्नेछौँ”, स्विस अल्पाइन रिसोर्टमा वार्षिक ‘डाभोस युक्रेनी ब्रेकफास्ट’ कार्यक्रमपछि उहाँले भन्नुभयो, “युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्प एकअर्कालाई चिन्नुहुन्छ र एकअर्कालाई सम्मान गर्नुहुन्छ ।”

ट्रम्प सशरीर डाभोसमा उपस्थित नभए पनि उहाँको सम्भावित जित मञ्चमा धेरै निजी र सार्वजनिक चर्चाहरूमा आएको छ ।

कुलेबाले पश्चिमाहरूसँग युक्रेनलाई आफ्नो समर्थन बढाउन पनि आह्वान गर्नुभयो । “मुद्दा व्यापक मात्रामा विकास र स्थिरता सुनिश्चित गर्न हो”, उहाँले भन्नुभयो । मस्कोको सेनाविरुद्धको युद्धमा आफ्नो आकाशमा नियन्त्रण हासिल गर्नु सन् २०२४ को प्राथमिकता रहेको किएभले बताएको छ ।

विदेशमन्त्री कुलेबाले युक्रेनलाई थप हवाई रक्षा प्रणालीहरूको आवश्यकता रहेको बताउनुभयो । “एफ–१६ तथा अन्य पश्चिमी विमानहरूलाई रुसी क्षेप्यास्त्र र विमानहरूमा फायर गर्न सक्ने पर्याप्त मात्रामा रकेट दबाउन इलेक्ट्रोनिक युद्धको आवश्यकता पनि थियो”, उहाँले भन्नुभयो ।

क्रोएसियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले भन्नुभयो, “युक्रेनको सफलता र विजयको मुख्य पक्ष भनेको पश्चिमाहरू यसको समर्थनमा एकजुट रहनु हो ।” अमेरिकी निर्वाचनका बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “अमेरिका युक्रेनलाई समर्थन गर्नका लागि प्रतिबद्ध रहन्छ भन्ने मलाई लागेको छ ।”

युक्रेनको आर्थिक सुधारका लागि अमेरिकी राजदूत पेनी प्रिट्जकरले कार्यक्रमका क्रममा वासिङ्टनमा युक्रेनका लागि द्विदलीय समर्थन रहेकामा जोड दिनुभयो । “अमेरिकाले युक्रेनप्रति आफ्ना प्रतिबद्धताहरू पूरा गर्नुपर्दछ, उसले यस्तै गर्छ भन्ने मेरो विश्वास छ ।”

युक्रेनलाई समर्थन जुटाउन र युद्ध थकानको सामना गर्न सन् २०२२ फेब्रुअरीमा रुसको आक्रमणपछि पहिलो पटक जेलेन्स्की व्यक्तिगतरूपमा डाभोसमा उपस्थित हुनुभयो ।

कुलेबाले डाभोस र युक्रेनमा राजनीतिज्ञहरू तथा लगानीकर्ताहरूसँगको ‘फलदायी’ बैठकमा ‘आशावादी मनस्थिति’ को प्रशंसा गर्नुभयो । उहाँका अनुसार यसबाट थप वित्तीय सहयोग प्राप्त हुनेछ । “मानिसहरू युक्रेनको जितमा थप लगानी गर्न इच्छुक छन्, उनीहरू युक्रेनमा विश्वास गर्छन्”, उहाँले भन्नुभयो ।

ब्रेकफास्ट कार्यक्रममा प्लेन्कोभिक, पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडा र बेलायती विदेशमन्त्री डेभिड क्यामरुनसहित धेरै शीर्ष युरोपेली अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । प्यानलका क्रममा पोल्यान्डका राष्ट्रपति डुडाले रुसी आक्रमणविरुद्ध लड्नका लागि पश्चिमाहरू युक्रेनलाई लामो समयसम्म समर्थन गर्न तयार रहनुपर्ने चेतावनी दिनुभयो ।

“हामी लामो दौडका लागि तयार हुनुपर्छ जसमा हामी आफ्ना नागरिकहरूको सुरक्षा गर्छौं र युक्रेनको सङ्घर्षमा उसलाई समर्थन गर्नेछौँ”, डुडाले रुस र यसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथिको टिप्पणीमा कुनै कसर नराखी भन्नुभयो, “कुनै शङ्काबिना पुटिनले विश्वमा आगो लगाउने निर्णय गर्नुभयो ।”

‘तीन तहका सरकारबीच समन्वय आवश्यक छ’ – मुख्यमन्त्री चौधरी

देउखुरी (दाङ) ४ माघ : लुम्बिनी प्रदेश समन्वय समितिको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अहिले प्रदेश सरकारले अधिकारको विषयमा सङ्घीय सरकार र प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताउनुभयो । उहाँले नगरपालिका र प्रदेशले सहकार्य गरिरहेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले प्रदेश र स्थानीय सरकारले दिने नगद अनुदान अन्त्य गर्नुपर्ने बताउनुभयो । नगद अनुदानको प्रभावकारिता घटेको र सिर्जनात्मकता नभएको भन्दै उहाँले नगद अनुदानलाई हटाएर आर्थिक विकाससँग जोडिएका प्रविधि ल्याउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले देशलाई सफल बनाउन सरकार सक्रिय हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले यस वर्षबाट नगद अनुदान हटाएर आर्थिक विकासका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । बैठकमा सहभागीले प्रदेश सरकारले वन, नदी स्रोत र राजस्व सङ्कलनको विषय निकै जटिल भएकाले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभएको थियो । उहाँँले बैंक निर्माण लगायतका योजनाबारे उल्लेख गर्नुभएको थियो । समन्वय नहुँदा योजना र कार्यान्वयनमा समस्या आएको र योजना दोहोरिएको मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले योजनालाई एकीकृत योजनामा राखेर कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव, विभिन्न निकायका प्रमुख तथा स्थानीय नगरपालिका समितिका मनोनीत जनप्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा सरकारको अख्तियार, कार्य सम्पादन, नीति निर्माण र स्वीकृत वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको थियो । बैठकको विषयवस्तु प्रदेश सचिव नीरजन घिमिरेले जानकारी गराउनुभएको थियो । मुख्यमन्त्रीको संयोजकत्वमा रहेको समन्वय समितिको चार महिनामा नियमित बैठक बस्ने गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा उम्मेदवार मतदाता भेटघाटमा

दमौली (तनहुँ), ४ माघ : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्मेदवारले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । गण्डकी प्रदेशअन्तर्गतका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मतदाता रहने निर्वाचनका लागि उम्मेदवारहरुले मतदातासँग भेटघाट तीव्र बनाएका हुन् । हालसम्म नवलपुर, लमजुङ र गोरखामा मतदाता भेटघाट सकिएको छ भने आज तनहुँमा मतदातासँग भेटघाट एवं अन्तरक्रिया गरिएको छ ।

नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियारले निर्वाचनमा जीत सुनिश्चित रहेको र घोषणामात्र हुन बाँकी रहेको बताउनुभयो ।सो अवसरमा काङ्ग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले संविधानको रक्षाका लागि गठबन्धन गरिएकाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले संविधानको विरुद्धमा लागेको तत्वलाई निस्कृय बनाउन गठबन्धनलाई अझै बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा दलका नेता हरिबहादुर चुमानले यसअघिको निर्वाचनमा मत बदर भएकाले यसपटकको निर्वाचनमा मत बदर हुन नदिन सचेतना जगाउनुपर्ने बताउनुभयो ।कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, पूर्व प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य कलिला खान लगायतले देश विकास र समृद्धिका लागि अहिलेको गठबन्धन अपरिहार्य रहेको चर्चा गर्नुभयो ।राष्ट्रियसभा सदस्यहरुले माघ ९ गतेसम्म प्रचारप्रसार र मतदाता भेटघाटलाई निरन्तरता दिने जनाइएको छ । मतभारका दृष्टिले निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने देखिएको छ । राष्ट्रियभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशसभामा ६० र स्थानीय तहका एक सय ७० मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको जनाइएको छ ।

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

काठमाडौँ, ४ माघः मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका-२ भर घएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवादी तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनि झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडाँैबाट काकरभिट्टा हुँदै पश्चिम बङगालको बागडोग्रामा पु¥याई भारतीय नागरिकलाई बेचेका थिए । निजलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका निज तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पगेनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पीडितको श्रीमान रोजगारीका सिलसिलामा बु्रनाईमा रहेको समयमा तामाङले तिम्रो श्रीमानले तिमीलाई ब्रुनाई ल्याइदिनु भनि मलाई चिठ्ठी पठाएका छन् भनि झुक्याएर भारत लगी १० हजार भारुमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

‘निर्वाचनसम्बन्धी विधेयक थप अध्ययन गर्नुपर्ने’

काठमाडौँ, ४ माघ : निर्वाचन आयोगले तयार गरी सरकारलाई बुझाएको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक’ मा अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, महिला र सिमान्तकृत समुदायका सवालमा थप अध्ययन गरी केही सच्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले ‘निर्वाचन सुधार पहल’ बारे आज नागरिक समाजसँग गरेको परामर्श कार्यक्रममा उक्त समुदायका सवालमा प्रस्तावित विधेयकमा केही सच्याउनुपर्ने र केही थप्नुपर्नेमा जोड दिएका हुन ।

निर्वाचन पर्यवेक्षक समिति नेपालका पूर्वअध्यक्ष प्रदीप पोखरेलले प्रस्तावित विधेयकमा महिलालाई ३३ प्रतिशत व्यवस्था गरिएको तर महिलाको जनसङ्ख्याको आधारमा ५१ प्रतिशत हुनुपर्ने बताउनुभयो । विदेशमा बसेका नेपालीले कसरी मतदान गर्ने भन्ने विषयमा पनि स्पष्ट पार्नुपर्ने पोखरेलको सुझाव थियो ।

इन्हुरेड इन्टरनेलका अध्यक्ष डा गोपाल शिवकोटीले मतदान प्रक्रिया गोप्य राखेर बाँकी निर्वाचनका सबै प्रक्रिया पारदर्शी हुनुपर्ने र मतदाता स्वयंलाई मानसिक रुपमा मन लागेको व्यक्ति वा पार्टीलाई मत हाल्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सबै नागरिकले निर्वाचन प्रक्रियामा भाग लिन पाउने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नेपाल (नियोग) का महासचिव टेक सुनुवारले विधेयकमा उम्मेदवारले सुरुमा र कार्यकाल सकिएपछि गरी दुई पटक सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था राम्रो भएको भएपनि दलित, महिला, अल्पसङ्ख्यकका विषयमा केही सच्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले निर्वाचन आयोगले बनाएको कानुन बाध्यकारी बनाउनुपर्ने र सबैले सहजरुपमा मतदान प्रक्रियामा भाग लिन र सहभागी हुन पाउने अवस्था हुनुपर्ने सुझाव दिनुभयो । मञ्चका अध्यक्ष भक्त विश्वकर्माले सिमान्तकृत, दलित, महिलालगायतको भावनालाई समेटेर विधेयक बनाउनुपर्ने र समग्र निर्वाचन प्रक्रिया सुधार गर्ने सहयोग पुग्ने उद्देश्यले नागरिक समाजसँग छलफल गरेको बताउनुभयो

निर्वाचन आयोगद्वारा तयार गरिएको उक्त विधेयकको मस्यौदा गृह मन्त्रालयमा रहेको छ । उक्त विधेयक सच्याउनुपर्ने वा थप गर्नुपर्ने विषयमा नागरिक समाजका अगुवाहरुले ध्यान पु¥याउनुपर्ने विषयमा सहभागीको जोड थियो ।

स्वदेशी श्रमको सम्मान गर्दै मौलिक उत्पादनको प्रवर्द्धनमा सरकार : श्रममन्त्री भण्डारी

काठमाडौँ, ४ माघ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वदेशी श्रमको सम्मान गरी मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।‘डिग फर नेपाल’ नामक संस्थाद्वारा सञ्चालित काठमाडौँ–कपनस्थित मौलिक बजार तथा भान्साघरको आज अवलोकन गर्र्दै श्रममन्त्री भण्डारीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी स्वदेशमा रोजगारी सिर्जना गर्ने पक्षमा सरकार रहेको स्पष्ट गर्नुभयो ।

उद्यमशीलताको विकास गरी स्वदेशमै गरिखाने परिस्थिति सिर्जना गर्न आवश्यक नीतिगत व्यवस्था गरेको जानकारी दिँदै उहाँले भन्नुभयो,“कृषि उत्पादनको बिक्रीवितरणमा समेत विचौलिया हाबी भएको भन्ने गुनासोलाई नीतिगत व्यवस्थासहित अन्त्य गरिनेछ, वास्तविक किसानले श्रमको मूल्य पाउनेछन्, उत्पादन र बिक्रीवितरणसहित कृषितर्फको परनिर्भरता कम गर्ने पक्षमा क्रियाशील सरकारलाई साथ दिन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।”डिग फर नेपालका महासचिव एवं मौलिक बजार तथा भान्सा घरका अवधारणाकार सुमन दाहालले मुलुकका ७५३ वटै पालिकाका विशेष उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ पढ्दै–कमाउँदै कार्यक्रमसहित स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने र रोजगारीको वातावरण सिर्जना गर्नेगरी अभियान सुरु गरिएको जानकारी दिनुभयो ।सो संस्थाका सल्लाहकार नारायणप्रसाद सिग्देलले गरिखाने पाठ्यक्रमसहित पढ्दै–कमाउँदै कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । मौलिक बजारमा ७५३ वटै पालिकाका स्थानीय कृषि विशेष उत्पादन खरिद गर्न पाइने र मौलक भान्साघरमा स्थानीय कृषि फसलबाट तयार गरिएको ८४ व्यञ्जनको खाद्य परिकार पाइने सो अवसरमा बताइयो ।—

उपराष्ट्रपति यादव र अष्ट्रेलियाली राजदूत भोल्कबीच शिष्टाचार भेटघाट

काठमाडौँ, ४ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम फेलिसीटी जेन भोल्कले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटघाटका क्रममा शुभकामना आदानप्रदानपछि दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहायता, प्रवासी नेपाली, पर्यटन लगायतका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले दुई देशबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएयता आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगका आधारमा कायम रहेको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा थप फराकिलो र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

“अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता (ओडिए) मा वृद्धि गरेकोमा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “सामुदायिक वन कार्यक्रम र नेपालमा वनको दिगो व्यवस्थापनमा अष्ट्रेलियाको महत्वपूर्ण योगदान उच्च प्रशंसनीय छ ।” उहाँले विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा नेपाल र अष्ट्रेलियाबीचको घनिष्ठ सहयोग रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दुवै देशले बहुपक्षीयताको संरक्षण र प्रवद्र्धन गर्न साझा हित राख्ने गर्दछ र न्यायपूर्ण, समानुपातिक, समावेशी र नियममा आधारित विश्व व्यवस्थालाई समर्थन पनि गर्दछन् ।”अष्ट्रेलियाका महामहिम राजदूत फेलिसीटी जेन भोल्कले दुई देशबीच जनस्तरको सम्बन्धसँगै सरकारसँग बलियो र गहिरोसम्बन्ध रहेको बताउनुभयो ।

उहाँले अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थीसहित एक लाख २० हजार नेपाली बसोबास गर्दै आएको जानकारी दिनुभयो । “नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरेपश्चात नेपालमै फर्किएर नेपालको विकासमा टेवा पु¥याउनका लागि उनीहरुलाई उत्प्रेरित गर्ने प्रयासमा छु । नेपाल र अष्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यले ‘ड्युअल डिग्री’ कार्यक्रम सञ्चालन गर्दै नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या बढाउन सकिन्छ । यसका लागि हालै काठमाडौँ विश्वविद्यालय र क्राउन इन्स्टिच्युटबीच समझदारी भएको छ”, उहाँले भन्नुभयो ।

राजनीतिक दलसम्बन्धी विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने

काठमाडौँ, ४ माघ : सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने भएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा चार किल्ला तोकी पशु बधशाला स्थापना गर्न इजाजत दिने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ । मन्त्रिपरिषद्ले नागरिक लगाननी कोषको कार्यकारी निर्देशक पदमा उदयपुर निवासी पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले बताउनुभयो ।

नेपाल सरकारका नाममा रहेको विराटनगर महानगरपालिका–५ स्थित ०–१३–२–१ बिघा जग्गा नेपाल खानेपानी संस्थान विराटनगर शाखालाई खानेपानी संरचना निर्माण गर्न भाडामा उपलब्ध गराउन स्वीकृति दिने र आगामी चैत १४ देखि १८ सम्म नैरवि र केन्यामा आयोजना हुने यूनाइटेड नेशनलको कार्यक्रममा नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी वन तथा वातारणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलाई सहभागी हुन स्वीकृति दिने पनि सरकारको निर्णय छ ।

“बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सर्तहरु पालना गर्ने गरी महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–४ मा पर्ने माईस्थान सामुदायिक वन क्षेत्रको ५४,५८४ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका १९६७ गोटा रुख÷पोल हटाउन स्वीकृति दिने निर्णय भएको छ”, मन्त्री शर्माले भन्नुभयो ।

त्यसैगरी मन्त्रिपरिषद्ले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका–६, रुकुमका किरणबाबु पुनलाई नियुक्त गर्ने, खुर्कोट जग्गा एकीकरण आयोजनाको लागि करिब ६७७ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने, घारीगाउँ (चौरजहारी नयाँ सहर) जग्गा एकीकरण आयोजनाको लागि करिब पाँच सय ८५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा काठमाडौँ निवासी रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा म्याग्दी निवासी डा रवि मल्ललाई मनोनयन गर्ने, रामराजासिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने, ग्रीन हाइड्रोजन नीति, २०८०, स्वीकृत गर्ने र बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा, समूह र उपसमूहका राजपत्राङ्कित द्धितीय क्षेणीका अधिकृतलाई सम्बन्धित सेवा, समूह र उपसमूहका पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

सरकारले मालपोत नियमावली, २०३६ को नियम ४(क) को उपनियम (१) बमोजिम विभिन्न सूचना नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।

कार्यसम्पादनमा ढिलाइ भएका आयोजनाको लिखित जवाफ पेस गर्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, ४ माघ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कार्यसम्पादनमा ढिलाइ भएका आयोजनाको लिखित जवाफ पेस गर्न निर्देशन दिनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयमा आज मन्त्रालय र मातहतका निकायका प्रमुखसँग चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबारे छलफल गर्दै समस्या देखिएका आयोजनाको तुरुन्तै समाधान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “यसपटक काम सुरु हुन नसकेका आयोजनाको लिखित कारणसहितको विवरण पेस गर्नुस् । अर्को पटक कम कार्यप्रगति भएका आयोजनाको पनि यसैगरी विवरण पेस गर्नुपर्नेहुन्छ ।”

उहाँले राष्ट्रिय गौरवका आयोजना, ठूला र प्राथमिकता प्राप्त आयोजनाको कार्यप्रगतिमा देखिएको समस्या समाधानका लागि मातहतका निकाय आफै जिम्मेवार हुनुपर्ने बताउनुभयो । चालु आवको छ महिना पूरा भइसक्दासमेत केही आयोजनाको प्रगति अपेक्षित हुन नसक्नुको कारण लिखित रुपमा पेस गर्न निर्देशन दिँदै उहाँले किन त्यसो भएको हो, जिम्मेवार को हो ? भन्ने जस्ता प्रश्नको उत्तर खुलाउनुपर्ने बताउनुभयो ।

“प्राथमिकताक्रम निर्धारण गरिएका आयोजनामा देखिने गरी प्रगति हनुपर्छ । सामान्य तरिकाले अब हुँदैन । सबै निकायका प्रमुख आफै जिम्मेवार हुनुपर्छ । प्रगति हुन नसक्नाका कारण के के हुन् ? त्यसको स्पष्ट समाधानको खाका पनि आवश्यक पर्दछ”, मन्त्री बस्नेतले भन्नुभयो । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि विभागीय मन्त्रीका हिसाबले नियमित रुपमा सरोकारवाला निकायसँग छलफल गरिरहेको र केही आयोजनामा सहजीकरण भइसकेको उहाँको भनाइ छ ।

“आफैले तय गरेका लक्ष्यमा किन प्रगति भएन ? प्रश्न आफैमा महत्वपूर्ण छ । यसको उत्तर तपाईं हामीले धेरै ठाउँमा दिनुपर्ने हुन्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “समस्या देखाएर बस्ने होइन, समाधानका लागि इमान्दार प्रयास गरौँ । त्यसबाट नतिजा पनि निस्कन्छ ।” उहाँले राष्ट्रिय गौरवमा समावेश सिँचाइ आयोजनालाई गति दिन यसअघि दिइएको निर्देशनको अवस्था के कस्तो अवस्थामा छ भन्ने प्रश्न गर्दै उहाँले प्रक्रियामा अल्झने काम नगरी शीघ्र निर्णय गर्न आग्रह गर्नुभयो ।

आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने लक्ष्यलाई पूरा गर्न नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कुन कुन क्षेत्रमा के के गर्नुपर्ने हो त्यसको स्पष्ट खाका तयार पार्नुपर्ने बताउनुभयो ।

विद्युत् उत्पादन अनुमतिपत्र लिएर कार्यसम्पादन नगरेका आयोजनाको हकमा तत्काल प्रगति विवरण तयार पार्न विद्युत् विकास विभागको ध्यानाकर्षण गराउँदै लामो समयसम्म आयोजना होल्ड हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

यस्तै, नलगाड र जगदुल्ला आयोजनाका लागिसमेत आवश्यक पर्ने ऊर्जा व्यवस्थापनका लागि अत्यावश्यक मानिएको ताप्सुगाड जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने मन्त्री बस्नेतको जोड छ । जगदुल्ला आयोजनाका लागि हाल पहुँचमार्ग निर्माण, वित्तीय व्यवस्थापनको काम भइरहेको छ । यस्तै, ताप्सुगाडको विद्युत् खरिद सम्झौताको तयारी भइरहेको छ ।

मन्त्री बस्नेतले माथिल्लो अरुण जलविद्युत् आयोजनाको पछिल्लो अवस्थाबारे पनि चासो व्यक्त गर्नुभएको थियो । पहुँचमार्ग निर्माणका लागि वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति प्राप्त हुन नसक्दा प्रक्रिया अगाडि बढ्न नसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी गराउनुभएको थियो ।

मन्त्री बस्नेतले मन्त्रिपरिषद्को निर्णयपछि बूढीगण्डकी जलविद्युत् आयोजनाको हकमा भएको प्रगतिबारे समेत प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठसँग जिज्ञासा राख्नुभयो । मन्त्रिपरिषद्ले पूर्वाधार करबापत उठ्दै आएको रकमको ५० प्रतिशत रकम आयोजनामा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय व्यवस्थापनका लागि अन्य ढाँचाबारे छलफल भइरहेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याउने बताउनुभयो । छलफलमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले मन्त्रालय मातहत भइरहेका काम कारबाहीका बारेमा चासो राख्दै समस्या समाधानका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओलीले भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको काममा पछिल्ला दिनमा अपेक्षित गति लिएको बताउनुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु, १७ विधाका ५४ खेल हुने

बुटवल, ४ माघ : बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि यहाँ पाँचौंँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा एक हजार चार सय २२ विद्यार्थीले भाग लिने नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो ।

प्रतियोगितामा १८ वर्षभन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीको बीमा गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु १७ हजार पाँच सय र तृतीयलाई रु १० हजार पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताउनुभयो

प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बुटवलबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताउनुभयो । उहाँले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताउनुभयो ।

प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् ।

रसिया पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, ४ माघ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उपरीक्षक केसीका अनुसार पक्राउ परेका थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि रु सात लाख तीस हजार लाग्ने तथा रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा रु एक लाखमा काम लगाईदिने भन्दै विश्वास दिलाइ पीडितबाट पटक–पटक गरी जम्मा रु सात लाख तीस हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।