`

अर्थतन्त्रका अधिकांश आर्थिक सूचक सकारात्मक

काठमाडौँ, २६ पुस : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ । शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलल ९५ प्रतिशत छ । यस अवधिमा आयात तीन दशमलव चार, निर्यात छ दशमलव एक र कूल वस्तु व्यापार घाटा तीन दशमलव एक प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई रु छ खर्ब १३ अर्ब २५ करोड पुगेको छ ।

यस अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति रु १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव १ महिनाको वस्तु आयात र ११ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

पाँच महिनामा नेपाल सरकारको खर्च रु चार खर्ब ५३ अर्ब र राजस्व परिचालन रु तीन अर्ब ६३ अर्ब ४३ करोड छ । यस अवधिमा विस्तृत मुद्राप्रदाय चार दशमलव प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४ दशमलव ४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन चार दशमलव छ प्रतिशत अर्थात् रु दुई खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ । यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव तीन प्रतिशत अर्थात् रु एक खर्ब १० अर्ब ६ करोडले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलब पाँच प्रतिशत छ ।

संसद् सुरु हुनअघि नै संसदीय समितिबाट विधेयक टुङ्ग्याउनुपर्छ : सञ्चारमन्त्री रेखा शर्मा

काठमाडौँ, २६ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद् सुरु हुनुभन्दा पहिले नै संसदीय समितिले विधेयकहरु टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले सदनले विधेयक पारित गर्न नसकेको आरोप लाग्ने गरेको भन्दै अनिर्णयको बन्दी भएर नबस्न सांसदहरुलाई आग्रह गर्नुभयो । विधेयक पास गर्न नसक्दा धेरै काम प्रभावित हुने उहाँको भनाइ थियो ।

बैठकमा ‘संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक पारितका लागि समिति सदस्यबीच सहमति जुट्न नसकेपछि उहाँले उक्त धारणा राख्नुभएको थियो । मन्त्री शर्माले सर्वसम्मतिमा टुङ्ग््याउन लागि मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामीले संसद् चलाउँछौँ तर विधेयक पास गर्न सक्दैनौँ । अहिले संसद् सुरु हुनुभन्दा पहिले समितिले टुङ्गो लगाउने विषयमा सोच्नुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री शर्माले अहिलेको संशोधनले पुरानो ऐनमा भएको समस्या सम्बोधन गर्ने बताउनुभयो ।

समिति सभापति रामहरि खतिवडाले संशोधनमाथिको छलफल गहन र निष्पक्षरुपमा गर्नका लागि सदस्यहरुलाई आह्वान गर्नुभयो । “यो कानुनलाई सत्ता र प्रतिपक्षको इगोका रूपमा लिनुहुँदैन”, उहाँले भन्नुभयो, “को प्रधानमन्त्री र को मन्त्री छ भन्ने हिसाबले होइन । यसको असर भविष्यसम्म पर्नसक्छ । अझै मेहनत गरेर अगाडि बढौँ । लामो समयका लागि कानुन निर्माण गरौँ ।”

समितिका सदस्य रघुजी पन्तले संशोधनप्रति असहमति जनाउँदै सो ऐनको दफा १०ले परिषद्का अध्यक्ष एवं प्रधानमन्त्रीलाई पुनःविचार गर्ने व्यवस्था नराखेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री एक्लै शक्तिशाली हुने र न्यायपालिका, व्यवस्थापिका र प्रमुख प्रतिपक्षका पाँच जनाको कमजोर बनाउने व्यवस्थाले राम्रो सन्देश जाँदैन ।”

समिति सदस्य रवि लामिछानेले छलफल दफा १०मा केन्द्रित गर्न सुझाव दिनुभयो । “संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ को ऐन ठीकै थियो । यसलाई गिजोल्ने काम भयो । प्रधानमन्त्रीलाई स्वेच्छाचारी बनाउने होइन तर निर्णय नै अड्किने गरी पनि प्रधानमन्त्रीलाई कमजोर बनाउनु हुँदैन”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेले संशोधनले परिषद् अध्यक्षलाई मात्र स्वेच्छाचारी नबनाउने धारणा राख्नुभयो । संवैधानिक परिषद्को बैठकमा कुनै विषयमा सर्वसम्मतिबाट निर्णय हुन नसके अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने गरी संशोधन गर्न लागिएको हो ।

भूकम्पमा भत्किएको घर पुनःनिर्माणको प्रतीक्षामा मष्टाकी झुपू

मष्टा (बझाङ) २६ पुस : गत असोज १६ गतेको भूकम्पले मष्टा गाउँपालिका–५ किनाडाकी झुपू आग्रीको घर छियाछिया भयो । केही दिन त्रिपालमा बसे पनि अहिले त्यही घरमा उहाँको बसोबास छ । कुन दिन चर्किएको घरले आफूलाई पुर्छ भन्ने पीरबाट उहाँ मुक्त हुनुहुन्न ।

सत्तरी वर्षीया झुपू अहिले घरको सम्पूर्ण जिम्मेवारीमा हुनुहुन्छ । ससाना नातिनातिनाको हेरचाहमै दिन बित्ने गरेको उहाँले सुनाउनुभयो । करिब ३० वर्ष अगाडि श्रीमान् गुमाउनुभएकी झुपूले दुःखका पहाड झेल्दै छोराछोरीलाई हुर्काउनुभयो । “अब त बुढेसकालमा आनन्दले मर्न पाइने सोचेको प्रकृतिले सिकार बनाउँदै छ”, उहाँले भन्नुभयो । उहाँको गाउँमा कमाइ खाने जमिन छैन भएको जमिन पनि भिरालो छ । “आकाशे पानीकै भर पर्नुपर्छ । पानीको समस्याले बारीमा लगाएको खुर्सानीसमेत हुर्कन पाउँदैन ।” उहाँले भन्नुभयो, “जिन्दगी केही रोगले केही शोकले नै सक्यो । अहिले यो सुक्खा डाँडामा नाति नातिनाको ग्वालो (हेरचाह गर्ने व्यक्ति) हुनुपरेको छ । यही रहेछ जिन्दगी !”भारतमा गएका छोरा बुहारीले कमाएको पनि आफूलाई खानै नपुग्ने उहाँले बताउनुभयो ।लामो समय झुपूका छोरा विनोद गाउँमै पूख्र्यौली पेशालाई निरन्तरता दिँदै आउनुभएको थियो । आरन सम्हालेपछि आएको खलो (काम गरेबापत साहुले दिने अन्न) ले खान पुग्ने र बाँकी समय मजदुरी गरेर आएको पैसाले उहाँले एक दशकअघि घर बनाउनुभएको थियो ।गत असोजको भूकम्पले ऋण काढेर बनाएको घर भत्किएपछि अहिले झुपु तनाब हुनुहुन्छ । घर निर्माण गर्ने उद्देश्यले छोरा विनोद र बुहारी भारतमा मजदुरी गर्न गएको झुपूले बताउनुभयो । बाहिरबाट हेर्दा राम्रै देखिने तर भित्र बस्ने अवस्था नै नभएपछि केही समय त्रिपालमै बसेको उहाँले सुनाउनुभयो । “खानलाई अन्न छैन, लगाउनलाई लुगा छैन, न खानेपानी नै छ । एउटा संस्थाले दिएको रु १५ हजार राहत रकम छोरा बुहारीले बाटो खर्च लिए ।” उहाँले भन्नुभयो ।विनोद गाउँका अन्य दाजुभाइसँगै भारतको उत्तराखण्डमा खणीखानीमा काम गर्न जानुभएको छ । हरेक वर्ष हिउँदमा कमाएर ल्याएको पैसाले वर्षभरि खानुपर्ने हुँदा घरमा बचत नहुँने झुपूले बताउनुभयो । “घर बनाउनका लागि छोरा विनोदले छिमेकीलाई ढुङ्गा फुटाउने जिम्मा दिएको छ ।” उहाँले भन्नुभयो, “दैनिक जीवनयापनका लागि परम्परागत आरन पेशाबाट पनि केही हुँदैन । छोराको कमाईले घर बनाउने हो कि हाम्रो पेट भर्ने ?” उहाँ भन्नुहुन्छ ।मष्टा गाउँपालिकामा भूकम्पपछि सरकारबाट स्थानीयले राहतको महसुस गर्न पाएका छैनन् । नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ (एनएनएसडब्लूए) गाउँपालिकाभर चार सय ८१ पीडित परिवारलाई रु १५ हजारका दरले गरेको आर्थिक सहयोगबाहेक सरकारबाट केही नपाएको स्थानीय रामवीर बोहराले बताउनुभयो ।बोहराका अनुसार सरकारले तथ्याङ्क सङ्कलन गरेको छ । “राहत दिने पनि भनेको छ । हामीले राहत कहिले पाउँछौँ, हाम्रो घर कहिले बन्छ ? केही अत्तोपत्तो छैन ।” उहाँले भन्नुभयो । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गर्नुभएको राहत प्राप्तिको आशामा बसेको बताउनुहुन्छ ।

‘श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध छ’: मन्त्री भण्डारी

काठमाडौँ, २६ पुस : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको हितप्रति मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा ‘श्रमिकको हित विपरीत हुनेगरी श्रम मन्त्रालयले गरेका निर्णयसम्बन्धमा नीतिगत छलफलमा’ मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिम, अङ्ग्रेजी भाषा तथा पोष्टपेड सिम अनिवार्यलगायत मन्त्रालयका निर्णय श्रमिकको हितप्रति रहेकामा स्पष्ट पार्नुभयो ।

“गन्तव्य मुलुकमा जाने कामदार उक्त मुलुकको भाषा, मौसम, सेवा सुविधालगायत विषयमा जानकारी हुनुपर्छ । श्रमिकको सहजताका लागि अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन, आधारभूत भाषा र सीपसम्बन्धमा जानकारी लिनुपर्ने व्यवस्था श्रमिकको हितलक्षित रहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले वैदेशिक रोजगारी प्रक्रियामा रहेका विचौलियाको अन्त्य नभएसम्म श्रमिकका समस्या बल्झिरहने बताउँदै डिजिटलाइजेसनलाई प्रभावकारी बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । 

मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले शिक्षित, सीपयुक्त श्रमिक नभएकाले उनीहरुले विदेशमा झेल्नुपरेका समस्या समाधान गर्न मन्त्रालयले श्रमिकको हितका साथै सहजताका लागि निर्णय गरेको जानकारी दिनुभयो । स्वास्थ्यपरीक्षण नगरी प्रमाणपत्र दिलाउने एघार स्वास्थ्य संस्थालाई मन्त्रालयले प्रतिबन्ध गरेको जानकारी दिँदै उहाँले प्रारम्भिक भाषा तथा अभिमुखीकरण तालिममा हुनेगरेका अनियमितताप्रति मन्त्रालय सजग रहेको र अनुगमन गरी प्रतिबन्द गरेको बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालले समितिमा श्रमिकको हित विपरीत हुनेगरी श्रम मन्त्रालयले गरेका निर्णयसम्बन्धमा सम्बन्धित मन्त्रीसँग नीतिगत छलफल गर्ने गरी समितिको आजको बैठक बसेको बताउनुभयो ।

बैठकमा उपसभापति अर्यालले प्रति कामदार ४५ अमेरिकी डलर उठाउने गरी वैदेशिक रोजगार बोर्डले मलेसियाको निजी कम्पनी फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरसँग गरेको सम्झौता, अभिमुखीकरण तालिम शुल्क वृद्धि, अनिवार्य अङ्ग्रेजी भाषा, पोष्टपेड सिम अनिवार्य, ई–७ भिसामा कोरिया पठाउन पैसा उठाउन थालिएको, वैदेशिक रोजगार कल्याणकारी कोषको रकम दुरुपयोग हुन लागिरहेकोलगायत विषय श्रमिकको हित विपरीत रहेको बताउनुभएको थियो ।

उहाँले प्रारम्भिक भाषा तथा अभिमुखीकरण तालिमको शुल्क दुई हजार एक सय र भाषा अध्ययन तथा प्रमाणपत्र परीक्षाको शुल्क सात सय निर्धारण गरिएकामा प्रशिक्षण नगराईकन प्रमाणपत्र वितरण भइरहेको जिकिर गर्दै मन्त्रालयले नियमन गर्नुपर्नेमा जोड दिनुभयो । 

समितिका सदस्यले अभिमुखीकरण तालिम आवश्यक रहेको भन्दै प्रभावकारी र पहुँचयोग्य हुनुपर्ने, सम्बन्धित निकाय श्रमिकप्रति जिम्मेवारी हुनुपर्ने, सम्बन्धित दूतावासलाई श्रमिकका समस्या सम्बोधनतर्फ जिम्मेवार बनाउनुपर्ने, वैदेशिक रोजगारीका समस्या तथा अवस्थाका सम्बन्धमा सचेतना अभिवृद्धि गर्नुपर्ने, नीति निर्णयमा सरोकारवाला पक्षलाई सहभागी गराउनुपर्ने, भाषाको विषय स्वच्छ बनाउनुपर्ने, कल सेन्टरलाई प्रभावकारी बनाउनुपर्ने लगायतका विषय उठान गर्नुभएको थियो । 

उत्तरगयामा पितृको उद्धारका निम्ति श्राद्ध गर्नेको घुइँचो

त्रिशूली (नुवाकोट), २६ पुस : पौष कृष्ण पक्षको औँसीको अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगयामा पितृको उद्धारका निम्ति श्राद्ध गर्नेको दिनभर घुइँचो लागेको थियो । यहाँको प्रख्यात नदी ली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावतीमा श्राद्ध गर्नाले पितृहरुको उद्धार हुने जनविश्वास छ ।

मुलुकका विभिन्न स्थानबाट आज ३० हजारभन्दा बढीले यहाँ श्राद्ध गरेका उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार दक्षिणायनको अन्तिम औँसीका रुपमा रहेको पौषकृष्ण औँसीका दिन उत्तरगयामा पितृलाई पिण्डदान गर्नाले दिवङ्गत व्यक्तिको बैकुण्ठमा बास हुने, जीवनमा जान/अन्जानमा भए/गरेका गल्ती क्षमा हुने धार्मिक विश्वास रहेको छ ।

आज बिहानैदेखि पितृको श्राद्ध गर्न आउनेको सङ्ख्या अहिलेसम्मकै धेरै रहेको डङ्गोलले जानकारी दिनुभयो । “बेत्रावती उत्तरगयाधाम हिन्दू धर्मालम्वीको प्रमुख चारधाममध्ये कै मुख्य हो । यसलाई नेपालमा रहेको एकमात्र धामका रुपमा पुज्ने गरिएको छ”, उहाँले भन्नुभयो ।

उत्तरगयामा पौष कृष्ण औँसीका दिन आमाबाबु नभएकाले सकेसम्म हरेक वर्ष नभए जीवनमा एकपटक भए पनि पिण्डदान गर्नुपर्छ भन्ने विश्वासका साथ हरेक वर्ष यहाँ श्राद्ध गर्नेको घुइँचो लाग्ने गरेको नीलकण्ठ मावि बेत्रावतीका शिक्षक गणेश श्रेष्ठले बताउनुभयो । त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ ।

भारतीय रक्षामन्त्री र बेलायती प्रधानमन्त्रीबीच आर्थिक सहयोगका विषयमा छलफल

भारतीय रक्षामन्त्री राजनाथ सिंह र बेलायतका प्रधानमन्त्री ऋषि सुनकवीच बुधबार भेटवार्ता भएको छ ।दुई नेताहरूले रक्षा, आर्थिक सहयोगलगायत विश्व शान्तिका विषयमा स्थिर विश्वव्यापी नियममा आधारित व्यवस्थालाई सुदृढ पार्न भारत र बेलायतले मिलेर कसरी काम गर्न सक्छन् भन्ने विषयमा छलफल गर्नुभएको बताइएको छ ।

भारतीय रक्षामन्त्री सिंहले बेलायतका प्रधानमन्त्री सुनकसँग लन्डनमा धेरै सान्दर्भिक भेट भएको बताउँदै विभिन्न मुद्दाहरूमा छलफल भएको उल्लेख गर्नुभयो ।

यसअघि, रक्षा मन्त्री सिंहले बेलायतका विदेश सचिव डेभिड क्यामरूनसँग दुई राष्ट्रबीचको सम्बन्धलाई बढावा दिने विषयमा गहन छलफल गर्नुभएको थियो ।सिंहले उहाँका बेलायती समकक्षी ग्रान्ट शाप्सले लन्डनको ट्रिनिटी हाउसमा भारत–लण्डन रक्षा उद्योगका उच्च अधिकारीसँग गोलमेच सम्मेलनमा भाग लिनुभएको थियो ।

बेलायतका रक्षा सचिव शप्सले भन्नुभयो, “विश्वमा विवाद बढ्दै गएको अवस्थामा भारतजस्ता प्रमुख साझेदारसँग रणनीतिक सम्बन्धलाई निरन्तरता दिनु अत्यावश्यक छ । यसैगरि समान सुरक्षा चुनौतिहरूमा सहकार्य गर्दै स्वतन्त्र र समृद्ध इन्डो–प्यासिफिक कायम राख्ने प्रतिबद्धतासमेत गरिएको छ ।”

दिवा खाजाले चेपाङ बालबालिका विद्यालयप्रति आकर्षित

भरतपुर (चितवन) २६ पुस : चितवनको कालिका नगरपालिका–१० टँुडिखेलकी सिर्जना चेपाङको घरमा प्रायःजसो बिहान समयमा खाना पाक्दैन । उहाँलाई घरमा पकाएको खाने कुरा कुर्नुभन्दा विद्यालयमा पुग्न हतार हुन्छ । विद्यालयमा दिइने खाजाले उहाँलाई आकर्षित गर्ने गरेको छ ।

विद्यालयमा खान पाइने भएपछि घरबाट भोकै भए पनि विद्यालय आउने गरेको सृजनाले सुनाउनुभयो । उहाँ कालिका–१० लोतंतीमा रहेको आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत हुनुहुन्छ । “हाम्रो आठजनाको परिवार हो”, उहाँले भन्नुभयो, “बाआमा बिहानैदेखि काम गर्न र खानेकुरा जुटाउन जानुहुन्छ, समयमै खान पाइँदैन ।” बिहान कहिल्यै समयमा खाना नपाकेको भन्दै उहाँले बेलुका भने नियमित खाने गरेको बताउनुभयो ।

उहाँले धेरैजसो भोकै विद्यालय आउने गरेको बताउनुभयो । कक्षा २ मा अध्ययनरत कविता चेपाङले घरमा आमाले खानेकुरा नपाएका कारण भोकै विद्यालय आएको बताउनुभयो । उहाँ खाजा खान पाइने भएका कारण समयमै स्कुल आउने गरेको बताउनुहुन्छ । “घरमा खाना पाक्दै थियो, विद्यालय आउन ढिला हुने भएकाले नखाइकन आएँ”, उहाँले भन्नुभयो । शिशु कक्षामा पढ्ने विकास चेपाङले पनि खाना नखाई विद्यालय आएको बताउनुभयो ।

सिर्जना, कविता र विकासमात्र होइन, विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी यसरी नै भोकभोकै विद्यालय आउने गरेका छन् । यस विद्यालयमा सबै चेपाङ बालबालिका अध्ययनरत छन् । उनीहरूलाई विद्यालयसम्म दिवा खाजाले आकर्षित गरिरहेको छ । शिशुदेखि कक्षा ३ सम्म पढाइने यस स्कुलमा ६० विद्यार्थी भर्ना भएका थिए । “तीन विद्यार्थी अन्य विद्यालयमा गए”, विद्यालयका प्रधानाध्यापक भीमबहादुर तामाङले भन्नुभयो, “५७ बालबालिका अहिले अध्ययनरत छन् ।”

चेपाङ समुदायमा आर्थिक अवस्थाका कारण खानाका लागि नै धौधौ रहेको भन्दै उहाँले कतिपय विद्यार्थी खाजा खानकै लागि आउने गरेको अनुभव सुनाउनुभयो । “घरमा खान पाइएन भन्दै बालबालिका भोकभोकै विद्यालय आउँछन्”, उहाँले भन्नुभयो, “दिउँसो १ बजेपछि दिइने खाजा कहिलेकाहीँ १२ बजे नै दिने गरेका छौँ, खाजा नहुने हो भने चेपाङ बालबालिकालाई एक दिन पनि विद्यालय टिकाउन गाह्रो हुने देखिन्छ ।” उहाँले बालबालिकालाई समयमै खुवाएर स्कुल पठाउन अभिभावकलाई भन्ने गरेको भए पनि उनीहरूको पारिवारिक र आर्थिक अवस्थाले सम्भव नभएको बताउनुभयो । यस क्षेत्रका लोतंती, टुँडिखेल, जौगैरा, छ्यासलिङलगायतका ठाउँबाट पढ्नका लागि चेपाङ बालबालिका यस विद्यालयमा आउने गरेका छन् । “साना–साना बालबालिका एक घण्टासम्म हिँडेर अध्ययनका लागि आउँछन्”, प्रअ तामाङले भन्नुभयो, “कक्षा ३ पास गरेपछि कालिका आधारभूत विद्यालय निमुवाटार जाने गरेका छन् ।”

कक्षा ३ पछि विद्यालय टाढा भएका कारण कतिपयले पढाइ छाड्ने गरेको उहाँले बताउनुभयो । स्कुलकी शिक्षिका सुष्मा रानामगरले प्रत्येक दिन स्कुलमा २० देखि २५ जना नखाई आउने गरेको बताउनुभयो । “एउटै घरका दुई–तीनजना पढ्न आउँछन्, एउटा घरमा खाना नपाक्दा धेरैले खान पाउँदैन, भोकभोकै विद्यालय आउँछन्”, उहाँले भन्नुभयो । कसैले अभिभावक नभएर त कसैले चामल छैन ढिडो रुचेन भन्ने गरेको उहाँले बताउनुभयो । कतिपय परिवारमा ढिलो पकाउने गरेका कारण पनि बालबालिका भोकै विद्यालय आउनुपरेको उहाँले बताउनुभयो । बालबालिकालाई १ बजेसम्म राख्न धौधौ हुने गरेको जानकारी दिँदै उहाँले पढाउने बेलामा पनि उनीहरूको ध्यान खानेकुरातर्फ जाने गरेको बताउनुभयो ।

“बालबालिकाले अघाउने खानेकुरा खोज्छन्, उनीहरूलाई सोधेरै खानेकुरा पकाउने गरेका छौँ”, उहाँले भन्नुभयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख गङ्गाधर रिमाल भौगोलिक विकटताका कारण एक डेढ घण्टासम्म हिँडेर चेपाङ बालबालिका विद्यालय पढ्न आउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारसँगको सहकार्यमा चेपाङ बालबालिकालाई लक्षित गरेर आवासगृह निर्माण गरिरहेको जनाउँदै यो समस्या अन्त्य हुने बताउनुभयो ।

कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण बालबालिकाले समयमै पेटभरि खाएर स्कुल जान नपाएको बताउनुभयो । उहाँले सबै बालबालिकालाई पेटभरि खानेकुरा खुवाउन सबै विद्यालयलाई निर्देशन दिइएको बताउनुभयो । “सबै विद्यालयमा पुगेर आफैँ निर्देशन दिएको छु”, उहाँले भन्नुभयो, “चिउरा, चाउचाउ होइन, गाउँघरको जैविक खानेकुरा दिन भनेका छौँ ।” उहाँले आवासीय सुविधासहित विद्यालय स्थापना गर्नसके मात्र चेपाङ बालबालिकालाई राम्रो शिक्षा दिन सकिने बताउनुभयो ।

नेपाल–भारत सीमा सुरक्षा बैठक : आपराधिक गतिविधि नियन्त्रणमा सहकार्यको प्रतिबद्धता

लुम्बिनी, २६ पुस : नेपाल–भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने र सबै प्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रका जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा भारतीय सीमा क्षेत्रका जिल्ला महाराजगञ्ज र सिद्धार्थनगरका जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको आज रुपन्देहीमा बसेको संयुक्त बैठकले सीमा क्षेत्रमा हुने हतियार तस्करी, लागुऔषध ओसारपसार, मानवबेचबिखन जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सबै प्रकारका कानुन परिपालन गराउने र सूचना आदानप्रदान गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

नेपाल–भारत संयुक्त सीमा समन्वय समितिको बैठकमा लागुऔषध, हतियार, सीमा सडक, मानव तस्करी, सीमावर्ती दशगजा क्षेत्रमा सञ्चालित साप्ताहिक हाटबजारका कारण नेपालको राजस्व तथा व्यापारमा परेको नकारात्मक प्रभाव र हाटबजारमा भीडभाड भएको मौका छोपेर गलत क्रियाकलाप हुने सम्भावना आपाराधिक गतिवधिलाई बढावा पुग्ने सम्भावना देखिएकाले त्यसलाई हटाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा आपाराधिक गतिविधि नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने विषय, भारतीय भूमिमा रहेका औषधि पसलबाट नेपालतर्फ निर्वाधरुपले भित्रिने लागुऔषधको रुपमा प्रयोग हुने औषधि बिक्री हुने कार्यलाई नियन्त्रण गर्न नेपाल पक्षबाट आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भारतको अयोध्यामा आयोजना हुने प्राणप्रतिष्ठाका समयमा नेपालका तर्फबाट शान्ति सुरक्षाको व्यवस्थापन, भारतमा यसवर्ष हुने आम निर्वाचनका समयमा सीमा क्षेत्र बन्द लगायतका विषयमा अनुरोध गरिएको र नेपाल पक्षबाट कानुनसम्मत ढङ्गले सहयोग हुने विश्वास दिलाएको बताउनुभयो ।

प्रजिअ अर्यालले पछिल्लो समय भारतबाट आउने व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट देखापरेको विषयमा सीमा क्षेत्रमा सतर्कतासँगै सावधानी अपनाउने र सीमामा जाँचमा कडाइ गरिएको बताउनुभयो ।

बैठक पश्चात भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुभएका भारत महाराजगञ्ज जिल्लाका प्रमुख जिल्ला अधिकारी अनुनय झाले सीमा क्षेत्रबाट हुने अवैध व्यापार, मानव बेचविखन ओसारपसार, दशगजा क्षेत्रमा भएका अतिक्रमण कसरी हटाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भारतीय प्रतिनिधिमण्डलका तर्फबाट यसवर्ष भारतमा हुने निर्वाचन र अयोध्यामा श्रीराम मन्दिरमा जनवरी २२ मा आयोजना हुने प्राण प्रतिष्ठानको समयमा कानुनअनुसार कडाइ गर्ने मुख्य दुई विषय उठान गरिएको बताउनुभयो ।

उहाँले बैठकमा दुवै पक्षबाट बैठकमा उठेका विषयमा समान धारणा बनेकाले बैठक सफल भएको बताउनुभयो । उहाँले सीमा क्षेत्रबाट हुने लागुऔषध ओसारपसारको समस्यालाई समाधान गर्न दुवै देशका सीमामा रहेका संयुक्त सुरक्षा फौज, दुवै देशका सीमा क्षेत्रका जिल्ला प्रशासन कार्यालयलगायत सरकारी निकायबीच समयमा सूचना आदानप्रदान गर्ने र कानुन कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्मा, नवलपरासी पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा, रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विक, कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेल, सशस्त्र प्रहरी रुपन्देहीका वरिष्ठ प्रहरी उपरीक्षक दीपककुमार थापा, कपिलबस्तुका सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक जीवन केसी, नवलपरासीका धीरेन्द्रराज न्यौपाने लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

यसैगरी भारतीय पक्षबाट महाराजगञ्ज जिल्लाका प्रमुख जिल्ला अधिकारी (डिएम) झाको नेतृत्वमा सिद्धार्थनगर जिल्लाका डिएम पवन अग्रवाल, महाराजगञ्जका प्रहरी प्रमुख सोमेन्द्रा मिरन, सिद्धार्थनगरका प्रहरी प्रमुख प्राची सिंहलगायत अधिकारीको बैठकमा सहभागिता रहेको थियो ।

वित्त आयोगको पाँचौँ प्रतिवेदन पेस

महेन्द्रनगर (धनुषा), २६ पुस ः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९÷८० को पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

नेपाल संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो

नागढुङ्गा सुरुङमार्ग, अवरोध छिचोल्दै दुई महिनाभित्र ‘ब्रेक थ्रु’को तयारी

कीर्तिपुर, २५ पुस : नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्नमात्र ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ । यो काम सकिएपछि सुरुङमार्गभित्र अक्सिजन, बत्ती र सञ्चारलगायत अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) पुर्‍याउन बाँकी छ । सुरुङ मार्गमा भौतिक निर्माण पूरा गरिसकेपछि सवारीसाधन सञ्चालन गर्न एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्श दातृ संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइराला बताउनुहुन्छ ।

यसबाहेक केही अवरोधलाई छिचोल्नसके आगामी वर्षभित्र यो मार्ग पूर्णरुपमा सञ्चालन हुनेछ । सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुङ्गा बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ । सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघन्टा समय बचत हुने कोइराला बताउनुहुन्छ ।

यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङमार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने कोइराला बताउनुहुन्छ । अक्सिजनदेखि एफएम सिग्नलसम्म सुरुङमार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो । यसका लागि १५ वटा ‘जेट फ्यान’आवश्यक हुने कोइराला बताउनुहुन्छ । यसका साथै कूल दुई हजार छ सय ८८ मिटर दूरीमा २४सै घन्टा उज्यालो आवश्यक हुन्छ । बत्ती र अन्य संयन्त्रको सञ्चालनका लागि कूल दुई मेगावाट विद्युत् चाहिने भएकाले विद्युत् प्राधिकरणको मातातीर्थ स्टेशनबाट ११ केभिएको २४ घन्टे डेडिकेटेड लाइन ल्याउने व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।

साथै ‘जेनेरेटर’लाई पनि तयारी हालतमा राख्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । निरन्तर सञ्चार संयन्त्र तथा अग्निनियन्त्रक यन्त्र र सुरुङभित्र जडान भएका अन्य संयन्त्र (टनेल फ्यासिलिटी) हरहमेशा तयारी हालतमा राख्नुपर्छ । आगलागी सुरुङमार्गको सर्वाधिक जोखिमको विषय भएका कारण त्यसका लागि सर्वाधिक संवेदनशील निरन्तर सतर्क हुनुपर्छ । आगलागीको अवस्थामा सुरुङभित्र जडित अग्नि समन यन्त्रको तत्काल प्रयोग गर्ने ‘कन्ट्रोलरुम’लाई तत्काल परिचालन गर्ने र आगलागीको अवस्थाको जानकारी सुरुङमार्गमा रहेका र पस्दै गरेका सवारीसाधनलाई माइक र एफएम रडियोमार्फत तत्काल सूचना दिन सकिनेछ । त्यसपछि ट्राफिक व्यवस्थापन र ‘डाइभर्सन’ तत्काल गराउने, सुरुङमार्गमा राखिने ‘भिजुअल बोर्ड’मा तत्काल आगलागी र सुरक्षासम्बन्धी सूचना ‘डिस्प्ले’ गराउने र सबै सञ्चारमाध्यमसमेत कन्ट्रोल रुममार्फत यसबारेको जानकारी प्रेषित पठाउने व्यवस्था गरिने जानकारी दिनुहुन्छ । सुरुङको सुरक्षाका लागि ‘सिसिटिभी क्यामेरा’ तथा सबै संयन्त्रको सञ्चालन गर्न कन्ट्रोल रुमसमेत सुरुङमार्गको पूर्वी ‘पोर्टल’ नजिक बन्दैछ । सामान्यतया सुरुङमार्गभित्र एफएम रेडियोको तरङ्ग पुग्न नसक्ने भएकाले त्यहाँबाट गुज्रने यातायातका साधनमा निर्वाध रेडियो सम्पर्क स्थापना होस् भन्नका लागि रेडियो ‘सिग्नल’ पु¥याउने सञ्जालसमेत त्यहाँ स्थापना गरिनेछ । जमिनकै बाधा देशले पहिलो पटक आधुनिक सुरुङमार्गको अनुभव लिँदै गर्दा अन्य आयोजनामा जस्तो मुआब्जा तथा जमिनसम्बन्धी विवादको अल्झोमा छ ।

झण्डै ३० वटा कित्तामा मुआब्जासम्बन्धी समस्याका कारण काम अघि बढिरहेका छैनन् । पूर्वी विन्दुमा पर्ने बलम्बुस्थित केही जग्गाका केही भाग राजकुलोमा पर्ने र घोषित मापदण्डका कारण सम्बद्ध जग्गाधनीले आंशिक मात्र मुआब्जा पाउने स्थिति छ । जग्गा धनीहरुले आफूलाई पूरैको मुआब्जा पाउनुपर्ने भन्दै त्यहाँको काम अघि बढ्न दिएका छैनन् । “व्यक्तिले भोगचलन गरिएको घरजग्गा भए पनि राजकुलो र त्यसको मापदण्डभित्र पर्ने जमिनको मुआब्जा दिन सम्बद्ध निकाय मानिरहेको छैन । जग्गाधनी भने पूरैको मुआब्जा मागिरहेका छन्”, उहाँले बताउनुभयो । यसैगरी पश्चिम विन्दुतर्फ धादिङको खत्री पौवास्थित विगत सडक कायम रहेका तर पछि नयाँ सडक बनेपछि सार्वजनिक प्रयोगमा नआएका जग्गामा स्थानीयले उपयोग गरिरहेका छन् ती जग्गाको मुआब्जा दिनसमेत प्रचलित कानुन अनुसार मिलिरहेको छैन । “त्यहाँ पनि मुआब्जा विवादका कारण यात्रुसेवा भवन, शौचालय तथा विश्रामस्थललगायतका काम अड्किएको छ”, उहाँले भन्नुभयो ।

सोही स्थानका केही जग्गासम्बन्धी सरकारी अभिलेखमा ‘जग्गाधनी सडक विभाग र व्यक्ति’ दुवैको नाम भेटिँदा थप जटिलता सिर्जना भएको छ । यस्ता समस्याका कारण निर्धारित समयमा काम सक्न समस्या हुने र खर्चसमेत बढन जाने खतरा छ । काममा ढिलाइ हुँदा ठेकेदार र क्षतिपूर्ति दाबी गर्ने र त्यसबापत रकम दिनुपरे आयोजनाको खर्च बढ्न जाने अवस्था छ । आयोजनाका तर्फबाट सम्बद्ध मन्त्रालयलगायतका माथिल्ला निकायमा यससम्बन्धी जानकारी गराइसकिएको र मन्त्रालयस्तरबाट ती समस्या समाधानको पहल भइरहेको जानकारी कोइरालाले दिनुभयो ।

आयोजनाका निमित्त प्रमुख गोविन्द डुमरुका अनुसार आगामी मार्च ३ मा मुख्य सुरुङ छेड्ने (बे्रक थु्र)को लक्ष्य छ । अहिले जारी काममा गतिरोध नआए करिब एक वर्षपछि सुरुङमार्ग सञ्चालनमा आउने जानकारी उहाँले दिनुभयो । खानेपानीको व्यवस्थापन सुरुङमार्ग निर्माणका क्रममा पानीका परम्परागत मुहान सुक्नेजस्ता केही समस्या देखिएकाले त्यसलाई समाधान गर्न आयोजना र चन्द्रागिरि नगरपालिकाबीच सहकार्य भइरहेको जानकारी नगरप्रमुख घनश्याम गिरीले दिनुभयो । यसअन्तर्गत नगरपालिकाको वडा नं २ मा नयाँ ‘बोरिङ’ गरिने र सुरुङ बनेपछि चन्द्रागिरि नगरपालिकबाट सुरुङको पश्चिम पोर्टलतर्फ बगेको पानीलाई सङ्ग्रह गरी पम्पद्वारा चन्द्रागिरितर्फ वितरण गरिने सहमति भएको जानकारी पनि उहाँले दिनुभयो । —

स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य सुविधा योजनाको दायरा बढाउँदै

काठमाडौँ, २६ पुस : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा योजनाको दायरा बढाउने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले योगदान रकममा पुनरावलोकन गरी स्वास्थ्य सुविधाको दायरा बढाइने बताउनुभयो ।

“समयानुसार स्वास्थ्य बीमाका कार्यक्रमलाई हामीले परिमार्जन गर्दै लगिरहेका छौँ”, उहाँले भन्नुभयो, “त्यहीअनुसार बिमितलाई ध्यान दिँदै स्वास्थ्य कार्यक्रमका दायरा पनि बढाउने तयारीमा छौँ ।” अहिले पाँच जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरी रु एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था छ ।

पहिलो सामाजिक सुरक्षा कार्यक्रम हुँदा रु दुई हजार पाँच योगदान रकम रहेको थियो । त्यसबापत रु ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाउने व्यवस्था रहेको थियो । उहाँले भन्नुभयो, “अहिले स्वास्थ्य बीमा ऐन विनियमावली आएपछि रु दुई हजार पाँच सयबाट रु तीन हजार पाँच सय योगदान रकम बनाइयो र रु ५० हजारबाट रु एक लाख बराबरको स्वास्थ्य सुविधा पाउने व्यवस्था गरियो, अहिले पनि हामीले थोरै रकम तिर्ने निश्चित र धेरै रकम तिर्नेलाई धेरै सुविधा प्रदान गर्ने भन्नेमा छलफल भइरहेको छ ।”

बोर्डले कार्यक्रमको दायरा बढाउनका लागि बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठलाई एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न जिम्मेवारी तोकेको छ । यस्तै बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधाको थैलीको औषधिको शुल्क पनि पुनरावलोकन गर्ने भएको छ ।

बोर्डका सदस्य जुनु श्रेष्ठलाई एक महिनाभित्र कार्यक्रमको सुविधाको थैलीमा भएको औषधि र सेवाको मूल्यको पुनरावलोकन कार्य गर्न जिम्मेवारी दिइएको छ । बिमितको सङ्ख्या बढाउन प्रत्येक स्थानीय तहमा स्थानीय स्वास्थ्य बीमा संयोजन समिति गठन गरेर स्थानीय तहमा बीमाबारे जनचेतना जगाउने र बिमित सङ्ख्या बढाउने उहाँको भनाइ छ । उहाँले प्रत्येक वडामा रहेका दर्ता सहयोगीले बिमितलाई बीमा कार्यक्रमबारे बुझाउने र सहभागिता गराउने बताउनुभयो ।

बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ल्याउन पहल गरिने बताउनुभयो । अहिले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायतका कार्यक्रममार्फत पनि स्वास्थ्य बीमा गरिएको छ ।

सरकारले २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रममार्फत एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बिमितबापत रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक बराबर थप रु सात सय थप्नुपर्ने छ ।

अहिलेसम्म कुल ७४ लाख ६६ हजार सात व्यक्ति बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएको बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सक्रिय बिमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन् ।

खाद्यान्न सम्झौता पुनः लागु हुने कुनै सम्भावना देखेको नरहेको रूसी उपप्रधानमन्त्रीको भनाइ

रूसका उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोले रूसले ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’को नवीकरण गर्ने कुनै सम्भावना नदेखेको बताउनुभएको छ । अब्रामचेन्कोले स्थानीय मिडियासँग एक साक्षात्कारमा भन्नुभयो, “समुद्री रसद, फ्रेट, बीमा, र रूसी कृषि बैंकलाई स्विफ्ट भुक्तानी प्रणालीमा जोड्ने खाद्यान्न सम्झौता कार्यक्रमको दोस्रो भाग कार्यान्वयनमा आउने कुनै सकारात्मक परिवर्तनहरू देखिँदैन ।”

उहाँले रूसी कुटनीतिक विभागले खाद्यान्न सम्झौतामा काम जारी राखेको तर यसलाई पुनः सुरु गर्ने सम्भावना निकै कम रहेको बताउनुभयो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौताको मुख्य लक्ष्य अफ्रिकीलगायत खाँचोमा परेका देशहरूलाई खाद्यान्न आपूर्ति गर्ने रहेको तर रूससँगको सम्झौताका शर्तहरू पूरा नभएको बताउनुभएको छ ।

जुलाई २२, २०२२ मा गरिएको ‘ब्ल्याक सी ग्रेन इनिशिएटिभ’ सम्झौताको समग्र कार्यक्रम रूस, टर्की, युक्रेन र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूद्वारा हस्ताक्षर गरिएको सम्झौता हो । सम्झौताले ‘ब्ल्याक सी’ मार्फत रूस र युक्रेनबाट खाद्यान्न र मल निर्यात गर्न अनुमति दिन्छ । मस्कोले जुलाई १७, २०२३ मा सम्झौतामा आफ्नो सहभागिता स्थगित गर्दै सम्झौतामा उल्लेखित रूसी माग पूरा हुने बित्तिकै सम्झौतामा फर्कने बताउँदै आएको छ ।

दक्षिण अफ्रिकाद्वारा इजराइलमाथि नरसंहार महासन्धिको उल्लङ्घन गरेको आरोप

दक्षिण अफ्रिकाले बिहीबार इजराइलमाथि संयुक्त राष्ट्रसङ्घीय नरसंहार महासन्धिको उल्लङ्घन गरेको आरोप लगाएको छ । अक्टोबर ७ मा हमासले गरेको घातक हमलाले पनि त्यस्ता कथित कार्यहरूलाई औचित्य पुष्टि गर्न नसक्ने उसले बताएको छ ।

प्रिटोरियाले इजराइललाई उसको सैन्य कारबाही ‘तत्काल निलम्बन’ गर्न बाध्य बनाउनका लागि अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) मा तत्काल अपिल गरेको छ । इजराइलले उक्त मुद्दालाई ‘आततायी’ र ‘हास्यास्पद’ भन्दै अस्वीकार गरेको छ र शुक्रबार प्रतिरक्षा गर्ने बताएको छ ।

“राज्यको क्षेत्रमा कुनै पनि सशस्त्र हमला जति नै गम्भीर नै किन नहोस्, महासन्धिको उल्लङ्घनलाई औचित्य प्रदान गर्न सक्तैन वा त्यसको बचाउ गर्न सक्तैन”, प्रिटोरियाका न्यायमन्त्री रोनाल्ड लामोलाले भन्नुभयो, “अक्टोबर ७ को हमलालाई लिएर इजराइलको प्रतिक्रियाले यो सीमालाई पार गरेको छ र महासन्धिको उल्लङ्घनलाई जन्म दिएको छ ।”

हमासले इजराइली क्षेत्रमा अभूतपूर्व हमला गरेपछि युद्ध सुरु भएको हो । आधिकारिक आँकडाका आधारमा एएफपीका अनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ४० जना मारिएका थिए । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले लगातार गरेको सैन्य कारवाहीमा अधिकांश महिला तथा बालबालिकासहित गाजामा कम्तीमा २३ हजार तीन सय ५७ को मृत्यु भएको छ ।

गाजा र इजराइलमा मृत्यु र विनाशभन्दा टाढा हेगस्थित पिस प्यालेसमा वकिलहरूले प्राविधिक कानूनी दलिलका साथ यसको मुकाबिला गरेका छन् । इजराइलले राष्ट्रसङ्घीय नरसंहार महासन्धिअन्तर्गत आफ्ना प्रतिबद्धताहरू तोडेको दक्षिण अफ्रिकाले तर्क दिएको छ । सन् १९४८ मा उक्त महासन्धिमा हस्ताक्षर गरिएको थियो ।

“इजराइलको बमबारी अभियानको उद्देश्य ‘प्यालेस्टिनी जीवनको विनाश’ थियो र यसले प्यालेस्टिनीहरूलाई ‘अकालको अवस्थामा’ पुर्याएको थियो”, दक्षिण अफ्रिकाका वरिष्ठ वकिल अदिला हासिमले भन्नुभयो, “नरसंहार कहिले पनि अग्रिम घोषणा गरिँदैन तर यस अदालतमा विगत १३ साताको प्रमाणहरूको लाभ छ जसले नरसंहार कृत्यको प्रशंसनीय दावीलाई न्यायोचित ठहराउने आचरणको ढाँचा र सम्बन्धित मनसाय देखाउँछ ।”

सन्धिको सही हस्ताक्षरकर्ताका रूपमा दक्षिण अफ्रिकाले इजराइललाई आइसिजे लैजान सक्छ । आइसिजेले मुलुकहरूबिचको विवादमा नियमन गर्दछ र यसलाई प्राय ‘विश्व अदालत’ भनेर वर्णन गरिन्छ ।

सत्ताधारी अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) लामो समयदेखि प्यालेस्टिनी मुद्दाको दृढ समर्थक रहेको छ । इजराइलसँग सहयोगी सम्बन्ध भएको एएनसीले प्यालेस्टिनी मुद्दालाई प्राय श्वेत–अल्पसङ्ख्यक सरकारविरुद्ध आफ्नै सङ्घर्षसँग जोडेको छ ।

दक्षिण अफ्रिकाले इजराइलमाथि नरसंहारको आरोप लगाउने ‘विशेष जिम्मेबारी’ लाई स्वीकार गरेको छ । उसले गाजामा युद्धलाई प्रभावित गर्ने हमासको हमलाहरूको ‘स्पष्टरूपमा’ निन्दा गरेको छ ।

आततायी र हास्यास्पद

इजराइली राष्ट्रपति इसाक हर्जोगले पहिलाा नै आफ्नो मुलुकको सम्भावित बचाउको सङ्केत दिनुभएको छ । उहाँले उक्त मुद्दालाई ‘आततायी र हास्यास्पद दावी’ भन्नुभएको छ । “हामी अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आत्मरक्षा प्रयोग गर्ने हाम्रो मुद्दा गर्वका साथ प्रस्तुत गर्नेछौँ”, उहाँले भन्नुभयो, “कुनै अप्रत्याशित परिणाम नहोस् र कुनै नागरिक हताहत नहोउन् भन्ने सुनिश्चित गर्नका लागि इजराइली सेनाले जटिल परिस्थितिमा आफ्नो सर्वश्रेष्ठ प्रयास गरिरहेको छ ।”

अमेरिकाले आफ्नो सहयोगी इजराइलको समर्थन गरेको छ । विदेश मन्त्रालयले दक्षिण अफ्रिकाले लगाएको आरोपलाई ‘आधारहीन’ भनेको छ । विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भन्नुभयो, “वास्तवमा यी ती मानिस हुन् जसले इजराइलमाथि हिंसात्मक हमला गरिरहेका छन् र खुलारूपमा इजराइलको विनाश तथा यहुदीहरूको सामूहिक हत्याको आह्वान गरिरहेका छन् ।”

यो एक अत्यावश्यक प्रक्रिया भएकाले आइसिजेले केही सातामा फैसला सुनाउन सक्छ । उसको फैसला नै अन्तिम हुनेछ र त्यसमा पुनरावेदन गर्न सकिँदैन । यद्यपि मुलुकहरूले सधैँ अदालतको फैसला पालना गर्दैनन् । उदाहरणका लागि आइसिजेले रुसलाई युक्रेनमाथि आक्रमण रोक्न आदेश दिएको छ ।

यद्यपि इजराइलविरुद्ध अदालतको फैसलाले निश्चितरूपमा ऊमाथि राजनीतिक दबाब बढाउने छ । फैसलाले प्रतिबन्धको बहानाको रूपमा काम गर्न सक्ने धेरैले अनुमान गरेका छन् ।

लिडेन विश्वविद्यालयमा सार्वजनिक अन्तर्राष्ट्रिय कानूनका सहायक प्रोफेसर सेसिली रोजका अनुसार अदालतले यो स्तरको मुद्दाको आधारभूत सिद्धान्तमा फैसला गर्नुपर्दैन र सम्भवतः मुद्दाले वर्षौं समय लिनेछ । “बरु अदालतले विशेषगरी प्यालेस्टिनीहरूको समूहका रूपमा उनीहरूको अस्तित्वलाई खतरामा पार्ने कार्यबाट सुरक्षित हुने अधिकारलाई लिएर नरसंहार महासन्धिअन्तर्गत राखिएको अधिकारहरूमा अपूरणीय पूर्वाग्रहको जोखिम छ कि छैन भनेर मात्र मूल्याङ्कन गर्नेछ”, उहाँले भन्नुभयो ।

माघे सङ्क्रान्तिमा टुँडिखेलमा महोत्सव

काठमाडौँ, २६ पुस : माघे सङ्क्रान्तिको अवसरमा काठमाडौँको टुँडिखेलमा माघी महोत्सव हुने भएको छ । थारु राष्ट्रिय माघी महोत्सवले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी माघ १ गते टुँडिखेलमा माघी महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महोत्सवका संयोजक प्रेमिलाल चौधरीले ‘थारु संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नाराका साथ माघी महोत्सव मनाउन लागिएको जानकारी दिनुभयो । महोत्सवमा थारु समुदायको सांस्कृतिक झाँकीका साथै विविध सांस्कृतिक प्रस्तुती, थारु खाना प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी एवं बिक्री हुने उहाँले बताउनुभयो ।

चौधरीले खाना स्टलमा थारु जातिले माघी पर्वमा खाने विशेष परिकारहरु ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बण्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार रहने बताउनुभयो । बालु सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, तेलपौर रोटी, झभ्झा रोटीलगायत विभिन्न परिकार राखिने आयोजकले जनाएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ ।

पेट्रोलियम कारोबारको एकाधिकार पाएको निगम ५४औँ वर्षमा प्रवेश

काठमाडौँ, २६ पुस : मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४औँ वर्षमा प्रवेश गरेको छ ।

करिब डेढ दशकदेखि डिजेल, पेट्रोल र मट्टितेलको आयात, भण्डारण र बिक्री निजी क्षेत्रलाई खुला गरिएको भए पनि एलपी ग्यासको कारोबारबाहेक अन्य पेट्रोलियम पदार्थको कारोबारमा निजी क्षेत्रको सहभागिता हुनसकेको छैन । निगमले विराटनगर, भद्रपुर, अमलेखगञ्ज, वीरगञ्ज, जनकपुर, थानकोट, मन्थली, भैरहवा, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, दिपायल र धनगढीबाट पेट्रोलियम पदार्थको कारोबार गरिरहेको छ ।

निगम केन्द्रीय कार्यालय टेकुमा आज आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरोकारवालासँगको छलफलका आधारमा निगमलाई थप सुदृढ बनाएर लगिने घोषणा गर्नुभयो । निगमले आफ्नो सेवालाई चुस्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले भण्डारण क्षमता विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो ।

निगम सञ्चालक समितिका अध्यक्ष एवं आपूर्तिसचिव नारायणप्रसाद शर्मा दुवाडीले निगमलाई सबल र सक्षम संस्थाका रूपमा विकास गर्न विभिन्न चुनौती रहेको औँल्याउँदै दायित्वमुक्त हुँदैमा वित्तीय अवस्था सुदृढ छ भनेर ढुक्क हुन नहुनेमा सचेत गराउनुभयो । उहाँले व्यावसायिक छवि उकास्न तथा नागरिकप्रतिको दायित्व पूरा गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान, नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरे र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर अघि बढ्न सुझाव दिनुभयो ।

त्यस अवसरमा मन्त्री रिजालले उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्नुका साथै निगमको ५४औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित मुखपत्र ‘प्रभात’को विमोचन गर्नुभयो । वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार, प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो ।

निगमले मुलुकका विभिन्न स्थानमा ७९ हजार नौ सय ९० किलोलिटर क्षमताका भण्डारण ट्याङ्करमा आयातित इन्धन भण्डारण गरी बिक्री वितरणको व्यवस्था मिलाइरहेको छ । निगमसँग १३ हजार छ सय ६२ किलोलिटर पेट्रोल, ४५ हजार आठ सय ४८ किलोलिटर डिजल, दुई हजार छ सय ९५ मट्टितेल र आठ हजार आठ सय १५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ ।

सरकारी स्वामित्वको निगमसँग १३ दिनको माग धान्न सक्ने भण्डारण क्षमता छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट वार्षिक करिब रु ३० लाख किलोलिटर पेट्रोलियम पदार्थको आयात गर्ने गरेको छ । निगमले आव २०७९÷८० मा करिब रु १६ अर्ब नाफा गरेको निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिले आव २०७८÷७९ मा निगमले रु ४९ अर्ब नोक्सानी व्यहोरेको थियो । आव २०७९÷८० को अन्त्यमा निगमको सञ्चित नोक्सानी रु चार अर्ब ९४ करोड रहेको उहाँको भनाइ छ ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नु तथा मितव्ययी कदमले वित्तीय अवस्थामा सुधार भई निगम दायित्वमुक्त भएको निमित्त कार्यकारी निर्देशक साहले बताउनुभयो । “निगम सम्पूर्णरूपमा दायित्वमुक्त भएको छ, वित्तीय अवस्था सुदृढ बनेको छ, हाल सम्पूर्ण ऋणमुक्त भएको छ”, उहाँले भन्नुभयो । गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ मूल्यमा उपलब्ध गराउन निगम क्रियाशील रहेको उहाँले बताउनुभयो छ ।

कुल अधिकृत पुँजी रु ३० अर्ब र चुक्ता पुँजी रु ११ अर्ब रहेको निगममा नेपाल सरकारको ९८ दशमलव ३८ प्रतिशत सेयर रहेको छ । निगमले गत आव २०७९÷८० मा करिब रु तीन खर्ब ८३ अर्बको कारोबारमार्फत सरकारलाई रु एक खर्ब १५ अर्ब राजस्व भुक्तानी गरी मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ ।

गौशाला-२६ द्वारा साइबर ब्यूरोमा जाहेरी

काठमाडौँ, २६ पुस : जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा आज उजुरी दिनुभएको छ ।

ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । गौशाला २६ बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती हुनुहुन्छ ।

काठमाडौँ जिल्ला अदालतले बुधबार लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष कैद र जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने फैसला गरेको थियो ।

तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवास नेपाली विभाग जापान च्युबू शाखा समितिका सदस्य हुन् । पीडित युवतीको पहिचान सार्वजनिक गरेको भन्दै रास्वपाले सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।

आन्तरिक खपत गरी बढी भएको बिजुली निर्यात गर्छौँ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, २६ पुस : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपत गरेर बढी भएको बिजुली भारतलगायतका देशमा बिक्री गरिने बताउनुभएको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा मन्त्री बस्नेतले राष्ट्रिय रुपमा खपत गरेर बढी भएको बिजुली बिक्री गरिने र त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुने विश्वसनीय आधार समेत तयार भएको उल्लेख गर्नुभयो । उहाँले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे रणनीतिक योजना बनाएको र सोही योजना कार्यान्वयन गर्न सरकार, निजी क्षेत्रको साथ तथा सहयोगमा लक्ष्य हासिल गरिने स्पष्ट पार्नुभयो ।

सरकारले तथ्यका आधारमा लक्ष्य निर्धारण गरेकाले सफल हुने र मुलुकलाई ऊर्जामार्फत समृद्धिको दिशामा अगाडि बढाउने योजना सुनाउनुभयो । भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दुई देशका बीचमा सहमति भएको र त्यसका लागि आवश्यक पूर्वाधारसमेत बन्ने चरणमा रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय हित र आवश्यकतालाई ख्याल गरेर सरकारले द्विपक्षीय सम्झौता गरेको उल्लेख गर्दै उहाँले भारत, बङ्गलादेशलगायतका मुलुकमा नेपालको बिजुली पुग्ने स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले मुलुकभित्रको आन्तरिक विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको र आगामी डेढ वर्षभित्र आधारभूत रुपमा मुलुकलाई पूर्णरुपमा विद्युतीकरण गरिने बताउनुभयो ।

समितिको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतसँग पछिल्लो पटक भएको सम्झौताबारे जानकारी दिँदै यसले मुलुकको आर्थिक विकास र उन्नयनका क्षेत्रका काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसको प्राविधिक तथा अन्य काम भने क्रमशः दुई देशका सचिवस्तरीय संयन्त्रले टुङ्गो लगाउँदै जाने धारणा राख्नुभयो ।

डेडिकेटेड र ट्रङक लाइनको महसुलका सम्बन्धमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफमा उहाँले समस्या समाधानका लागि सरकारले विशेष पहल गरेको बताउनुभयो । मन्त्रिपरिषद्ले सो समस्या समाधानका लागि आयोग गठन गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले प्राधिकरणको आफ्नै स्रोत परिचालन गरेरै भए पनि मुलकभर विद्यतीकरणका लागि अभियान नै चलाइरहेको बताउनुभयो । उहाँले डेडिकेटेड र ट्रङ्क लाइन महसुलका सम्बन्धमा देखिएको समस्या समाधानका लागि प्राधिकरणका तर्फबाट अधिकतम प्रयास गरिएको जानकारी दिँदै मन्त्रिपरिषद्को पत्र प्राप्त हुने वित्तिकै काटिएका लाइन जोडिने विश्वास दिलाउनुभयो ।

समितिको बैठकमा सांसदहरु रामचन्द्र राई, कुमार दसौदी, सोनाम ग्याल्जेन शेर्पा, गोपी अछामीलगायतले भारतसँग भएको पछिल्लो सहमति, मुलुकभर भइरहेको विद्युतीकरण, डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादलगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

समिति सभापति दिलकुमारी रावल थापाले सरकारले सम्पादन गरेका कामलाई सहजीकरण गर्नका बैठक आह्वान गरिएको र आवश्यक निर्देशनसमेत पठाइने बताउनुभयो ।

नेपाल र आयरल्याण्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल

काठमाडौँ, २६ पुस : नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय संसद्, सचिवालयले आयोजना गरेको शैक्षिक सहकार्यसम्बन्धी छलफल कार्यक्रममा गुणस्तरीय शिक्षा, स्तरीकृत परीक्षा, नवप्रवर्तन, अनुसन्धान, युवा परिचालन आदि विषयमा अनुभव आदानप्रदान र सहकार्य बढाउने सकिने बताइएको हो । अध्यक्ष जेरीले सामुदाय र नागरिक क्षेत्रको सहकार्यका आधारमा शिक्षाको स्तरलाई माथि उठाउन र उच्च शिक्षाका क्षेत्रमा पनि नयाँ नयाँ सम्भावना खोज्न सकिने बताउनुभयो ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षालाई कुन ढाँचामा सञ्चालन गर्दा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेबारेमा समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरिरहेको जानकारी दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विदेशी विद्यार्थीका लागि समेत आफूहरुले छात्रवृत्ति दिएको जानकारी दिँदै नेपाललाई शैक्षिक हब बनाउन प्रयास भइरहेको जनाउनुभयो ।

सङ्घीय संसद्, सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सचिवालयले पुस्तकालयलाई व्यवस्थित बनाउन र स्रोत केन्द्र सञ्चालन गर्न तयारी गरिरहेको अवगत गराउनुभयो । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले नेपालमा उत्कृष्ट उच्च शिक्षा दिलाउन यहाँका कलेज सक्षम रहेको स्पष्ट गर्दै विदेशका अशल अभ्यासलाई अनुशरण गरिने बताउनुभयो ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक बचत अभियान सञ्चालन

मङ्गलबारे (इलाम), २६ पुस : इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ । गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो ।

यसका लागि ‘विद्यालयमा आधारित उद्यमशिलता कार्यक्रमको कार्यविधि–२०८०’ तयार गरेर विद्यार्थीले अनिवार्यरुपमा बैंकमा खाता खोल्नुपर्ने प्रावधान ल्याइएको छ । पालिकाभित्रका विद्यार्थीले बैंक खाता खोलिसकेको बताइएको छ । विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्न सो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सो कार्यक्रममा सहभागी भएका छन् ।

गाउँपालिकाले प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेर काम अगाडि बढाएको हो । विद्यार्थीको सम्पूर्ण विवरण सङ्कलन गरेर बैंक खाता विद्यालयबाट नै खोलिएको जनाइएको छ । माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउनु ठूलो कुरा रहेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ । उहाँले भन्नुभयो “सानो उमेरदेखि नै बचत गर्ने बानीको विकास गराउन कार्यक्रम ल्याइएको हो । उसबाट बचतको संस्कार एवं वित्तीय साक्षरताको समेत विकास हुनेछ । ”

विद्यार्थीको हाजिरी हेरेर उपस्थित भएको दिनको मात्र रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ । यसले विद्यार्थीलाई विद्यालयमा उपस्थित हुनसमेत हौसला मिल्ने अपेक्षा लिइएको छ । यसमा विद्यार्थीले समेत बचत गर्नुपर्ने व्यवस्था छ । यसमा विद्यार्थीको तर्फबाट समेत दैनिक रु एक वा सोभन्दा बढी रकम बचत गर्ने व्यवस्था मिलाइएको छ । बचत पासबुकमार्फत रकम जम्मा गरिने प्रावधान मिलाइएको छ । दैनिकरुपमा बचत गर्न चाहे पनि व्यवस्था मिलाइएको र मासिक बचत एकै पटक गर्न चाहे सोकोसमेत व्यवस्था मिलाइएको छ ।

कार्यक्रमबाट विद्यार्थीमा बचत गर्ने बानीको विकाससँगै बचत भएको पैसाले उच्च शिक्षामा समेत सहज हुने अपेक्षा गरिएको छ । कार्यक्रमका लागि प्राइम कमर्सियल बैंकले समेत रु दुई लाख ५० हजार बढी सहयोग गरेकोे छ । प्रत्येक विद्यार्थीको खाता खोल्दा बैंक खातामा रु १०० दरले जम्मा गर्ने गरी गाउँपालिकासँग सम्झौता भएको छ । पालिका भित्र ३० सामुदायिक विद्यालय छन् । कार्यक्रममा दुई हजार पाँच सय विद्यार्थी सहभागी भएको बताइएको छ ।

बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी

ढोरपाटन (बागलुङ), २६ पुस : सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए । अहिले केही पालिकाले स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कही पालिकामा अस्पताल निर्माणाधीन छन् । कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गोसमेत लगाउन सकेका छैनन् । हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा सुरु गरि रहेका छन् ।

गलकोटले हरिचौर स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी नगर अस्पतालबाट हुने सेवा प्रवाह गरेको छ भने तमानखोलाले बोङ्गादोभान स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सेवा सुरु गरेको हो । गलकोटले गत वर्ष पुस १७ गतेदेखि १५ श्ययाको नगर अस्पताल सुरु गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । नगर अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड विनियोजन गरेको उहाँको भनाइ छ । उहाँले भवन निर्माणका लागि हाल सञ्चालन रहेको अस्पताल छेउमा जग्गा व्यवस्थापन भइरहेको जानकारी दिनुभयो ।

हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेको उहाँको भनाइ छ । अस्पताललाई थप व्यवस्थापन गर्नका लागि थप भवन आवश्यक रहेको प्रवक्ता भण्डारीले बताउनुभयो । जग्गा खरिदका लागि अहिले आर्थिक सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता भण्डारीले भन्नुभयो, “पोहोर साल कार्यपालिकाले निर्णय गरेर नगर अस्पताल सञ्चालन गरेका छौँ, एक जना विशेषज्ञ डाक्टर पनि हुनुहुन्छ, मेडिकल अधिकृत पनि हुनुहुन्छ, अहिले यहाँको स्वास्थ्य सेवामा ठूलो परिवर्तन आएको छ, स्वास्थ्यचौकीको भवनबाट सेवा दिइ राखेका छौँ, अब छिट्ट जग्गा व्यवस्थापन हुनेछ, जग्गा व्यवस्थापन भयो भने नयाँ भवन बनाउने प्रक्रिया अगाडि बढाउँछौँ, नगर यहाँ सेवा सुरु भएदेखि पोखरा, काठमाडौँ र बागलुङ जान परेको छैन ।”

तमानखोलाले पनि बोङ्गादोभान स्वास्थ्यचौकीबाट आधारभूत अस्पतालको सेवा सुरु गरेको छ । यस पालिकामा पाँच श्ययाको आधारभूत अस्पताल बन्ने छ । जसका लागि सङ्घीय सरकारले रु ११ करोड विनियोजन गरेको छ । गाउँपालिकाले यही पुस ३ गतेदेखि आधारभूत अस्पालको सेवा सुरु गरेको स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले बताउनुभयो । गाउँपालिकाले एक जना मेडिकल अधिकृत, एक जना स्वास्थ्य सहायक, दुई जना अहेव, तीन जना अनमी, एक जना ल्याब असिस्टेन्टको व्यवस्थापन गरी सेवा प्रवाह गरेको उहाँको भनाइ छ ।

“स्वास्थ्य मन्त्रालयले पठाएको नमूना दरबन्दीअनुसार जनशक्ति नहुँदा गाउँपालिकाले एक जना मेडिकल अधिकृतसहित एक जना अनमी र एक जना कार्यालय सहयोगी थप गरी स्वास्थ्यचौकीमा मौजुदा रहेका कर्मचारीबाट आधारभूत अस्पताल तहको सेवा प्रवाह गर्न थालेका छौँ”, संयोजक छन्त्यालले भन्नुभयो, “अस्पताल बनाउनका लागि जग्गा प्राप्त भएको छ, तर विभिन्न प्रक्रिया नपुग्दा निर्माण हुन सकेको छैन, अब केही समयमै भवन बनाउने छौँ ।”

बागलुङ नगरपालिकाले वडा नम्बर १३ स्थित पैयुँपाटा स्वास्थ्यचौकीबाट नगर अस्पतालको सेवा प्रवाह गर्दै आएको छ । पन्ध्र श्ययाको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको भन्दै दुई वर्ष अगाडिदेखि यहाँ नगरपालिकास्तरीय अस्पतालको स्वास्थ्य सेवा दिइएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड विनियोजन गरेको उहाँको भनाइ छ । अस्पतालमा एक जना एमबिजिपी, तीन जना मेडिकल अधिकृत, चार जना स्वास्थ्य सहायकलगायतका जनशक्ति रहने प्रावधान रहे पनि अहिले कार्यरत एक जना मेडिकल अधिकृत, एक जना जनस्वास्थ्य निरीक्षक, एक जना स्वास्थ्य सहायक, एक जना स्टाफ नर्स, एक जना सिनियर अनमी, अनमी र एक जना ल्याब असिस्टेन्ट कार्यरत रहेको खनालले बताउनुभयो ।

ढोरपाटन –९ पाखाथर उपत्यकामा १५ श्ययाको अस्पताल बन्न थालेको १५ महिना भए पनि यस अवधिमा ४० प्रतिशत काम भएको छ । समयमै भुक्तानी नहुँदा हाल काम रोकिएको छ । विसं २०८२ असार २३ सम्ममा सकी सक्नुपर्ने अस्पतालको भवन करिब आधा सकिँदा पनि कामअनुसारको भुक्तानी नभएको निर्माण कम्पनी एसी कन्ट्रक्सनका प्रमुख दीपक अदैले बताउनुभयो । अस्पातलको भवन निर्माणका लागि रु १२ करोड ९६ लाखमा जिम्मा उहाँको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेश्की रकम रु दुई करोड ४६ लाख मात्रै आएको उहाँले बताउनुभयो । तीन महिना अगाडि रु छ करोड ६१ लाखको बिल नगरपालिकामा पठाए पनि हालसम्म भुक्तानी नभएको अदैको भनाइ छ ।

निसीखोला गाउँपालिका–४ झिम्पामा दुई वर्ष अगाडि सुरु भएको १० श्ययाको पालिकास्तरीय आधारभूत अस्पतालको काम हालसम्म ८५ प्रतिशत काम सकिएको छ । यही पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण भए पनि बजेट अभावका कारण काम हुन सकेको छैन । गाउँपालिकाले रु १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएर काम गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो । सङ्घीय सरकारले बजेट पठाए काम सुरु हुने जनाइएको छ ।

बडिगाड गाउँपालिका–५ को रिखेटारीमा १५ श्ययाको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । केन्द्र सरकारले विनियोजन गरेको रु २४ करोड विनियोजन गरेको बजेटले काम भएको उहाँको भनाइ छ । अस्पतालको काम ९० प्रतिशत सकिएको भण्डारी बताउनुहुन्छ । हाल सात वटा स्वास्थ्यचौकी र चार वटा आधारभूत स्वास्थ्य केन्द्रबाट बडिगाडका नागरिकले स्वास्थ्य सेवा लिएको उहाँ बताउनुहुन्छ ।

जिल्लाको ताराखोला गाउँपालिकामा तीन वर्ष अगाडिनै पालिकास्तरीय पाँच श्ययाको अस्पताल निर्माण गर्ने भनिए पनि अहिलेसम्म जग्गा व्यवस्थापन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो । जग्गा व्यवस्थापनको प्रक्रियामा रहेको जनाउँदै मापदण्डअनुसारको पाइए कामलाई अगाडि बढाउने उहाँको भनाइ छ ।

दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा निःशुल्क प्राप्त गरेको तर मापदण्डअनुसार नभएपछि भवन निर्माणको काम रोकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताउनुभयो । जग्गालाई स्वीकृत गर्नका लागि मन्त्रालयमा पठाइएको उहाँको भनाइ छ ।

ढोरपाटन नगरपालिका–९ का मिनबहादुर विकले अहिलेसम्म ढोरपाटन उपत्यका क्षेत्रमा अस्पताल नबन्दा यहाँका नागरिकले पर्यटकले समस्या खेप्नुपरेको बताउनुभयो । ढोरपाटन निकै चिसो क्षेत्र रहेको भन्दै बाहिरबाट आउने पर्यटक बिरामी पर्दा नजिकमा उपचार गर्न नपाएको उहाँको भनाइ छ । पोहोर सालदेखि अस्पताल निर्माण हुन थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगर अस्पताल भनेर बनाउन लागेको धेरै भयो, अहिले बल्ल एक तला भएको छ, कहिले सम्पन्न हुने हो ?, कहिले यहाँ डाक्टर आएर जनताको उपचार गर्ने हुन् ?, मान्छेहरु बिरामी परे भने घण्टौँ लगाएर बुर्तिबाङ जानुपर्छ, घुम्न आएका पर्यटक पनि बिरामी हुन्छन्, नजिकमा उपचार गर्ने ठाउँ नहुँदा छिट्टै फर्किने गरेका छन्, दुई÷चार दिन बस्ने पर्यटक एकै दिनमा फर्किंदा यहाँको व्यापार व्यवसाय राम्रोसँग हुन पाउँदैन, सरकारले छिटो अस्पताल बनाएर डाक्टर पठाइदिए धेरै सजिलो हुने थियो, बुर्तिबाङ पुग्नुपर्ने थिएन ।”

कञ्चनपुरको भीमदत्त नगरका वडाध्यक्ष खड्का मृत फेला

महेन्द्रनगर (कञ्चनपुर), २६ पुस : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिनुभयो ।

“बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “रातिको समयमा घटना भएको देखियो ।” उहाँले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताउनुभयो ।

“प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।” बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी हुनुहुन्थ्यो ।

दूध बिक्री गरेको पैसा समयमै भुक्तानी गर्न चितवनका किसानको माग

भरतपुर (चितवन) , २६ पुस : चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् । उनीहरुले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने लगायतका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गर्नुभयो । दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै उहाँले दूधको बजारीकरणमा समेत समस्या रहेको पत्रकार सम्मेलनमा बताउनुभयो ।सङ्घका सचिव कल्याण अधिकारीले बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन जटिलहुँदै गएको छ भन्नुभयो । “न उत्पादन बढी हुँदा बिक्री गर्न सकिन्छ, न त बिक्री भएको दूधको भुक्तानी पाइन्छ”, उहाँले भन्नुभयो, “हामी चेपुवामा परेका छौँ ।” आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको उहाँले गुनासो गर्नुभयो ।

भोजपुरको हतुवागढीमा जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान

भोजपुर, २६ पुस : भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो ।

हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ स्थानीयलाई सम्मान गरिएको हो । जनस्तरमा जागरण जुटाएर रु आठ सयदेखि पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयवासीलाई गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणको लागि व्यक्तिगत रुपमा रु २८ लाख ६४ हजार नौ सय ९३ र विभिन्न सङ्घ संस्थाबाट रु ३३ लाख ११ हजार छ सय लगानी भएको बताइएको छ ।सडक विस्तारको स्मरणको लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमासमेत राखिएको छ । स्मारकमा रहेको शिलालेखमा दाताको नामावली राखिएको छ । सोही कार्यक्रममा घोडाको प्रतिमाको समेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताको सम्मानस्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यहाँ निर्माण गरिएको स्मारकले घोडेटारको ऐतिहासिक विशेषतासँगै अन्य पक्षलाई समेत समेटेको उहाँको भनाइ छ ।“विशेष दिन पारेर दातालाई सम्मानसँगै सडक स्मारकमा घोडाको प्रतिमा अनावरण गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले यहाँको ऐतिहासिकतालाई झल्काउने छ भने यहाँको पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने हामीले अपेक्षा लिएका छौँ । सडक विस्तारमा सहयोग गर्ने दाताको योगदानको पनि कदर हुनेछ ।” कार्यक्रमको अवसरमा सडक निर्माणमा योगदान गर्ने तत्कालीन समितिलाई प्रशंसापत्रसमेत हस्तान्तरण गरिएको अध्यक्ष राईको भनाइ छ ।सडकको कारण समस्या भोगिरहेको अवस्थामा तत्कालीन समयमा ज्यानको प्रवाह नगरी ११ घण्टा लगाएर अरुण नदीबाट डोजर तारिएको दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ । “विकासका निमित्त जनस्तरबाट गरिएको यो साहसिक काम हो”, उहाँले भन्नुभयो, “त्यो समयबाट हाम्रो क्षेत्रमा सडक विस्तारको थालनी भएको हो । सुरुको चरणमा नागरिकस्तरबाट खेलिएको भूमिकाको कदर गर्नको लागि उहाँहरुलाई सम्मान गरेका हौँ ।”गाउँपालिकाले सम्मानपत्रसँगै यो काममा योगदान पु¥याउने दाताको नाम शिलापत्रमा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । स्थानीय नागरिकले यहाँको विकासमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने लक्ष्यले गाउँपालिकाले सम्मान गरेको उहाँको भनाइ छ । “स्थानीय नागरिकले आफ्नो ठाउँको विकासमा आफैँले पनि भूमिका खेल्न आवश्यक छ”, उहाँले भन्नुभयो, “तत्कालीन समयमा स्थानीयले जनस्तरबाट खेलेको भूमिका प्रशंसायोग्य छ । नागरिकले खेलेको भूमिकाको सम्मानस्वरुप उहाँहरुलाई सम्मान गरेका हौँ ।”ग्रामीण सडक विस्तारसम्म नभएको अवस्थामा यहाँ सडक विस्तारको लागि अरुण नदीबाट पहिलोपटक ‘स्काभेटर’ तारिएको थियो । त्यो समयमा जनस्तरबाट गरिएको कामले भौगोलिकरुपमा निकै विकट मानिने दक्षिणी क्षेत्रमा सडक खनिएको थियो । स्थानीयले करिब रु ६१ लाख ७६ हजार रकम जम्मा गरेर २०६० सालमा धनकुटा मुगा–सुन बालुवा–होम्ताङ–घोडेटार सडक विस्तार गरेका थिए । जनस्तरबाट सङ्कलन भएको रकमबाट भोजपुर क्षेत्रमा १९ किलोमिटर सडक खनिएको हो । स्थानीयबाट आफ्नो क्षमताअनुसारको सङ्कलन गरेर सडक निर्माण गरिएको तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्यानबहादुर राउतले बताउनुभयो ।

तनहुँ जलविद्युत आयोजनाले सुरु गर्यो मादी नदी माछा संरक्षण योजना

दमौली, २६ पुस : एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण योजना सुरु गरिएको हो ।

आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्यरुपमा त्यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछा जोखिममा पर्ने देखिएको छ । यसको क्षतिपूर्तिस्वरुप मादी नदीतर्फको प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । नेपालका रैथाने असला र सहरलाई लोपोन्मुख तथा सङ्कटापन्न माछाको प्रजातिका रुपमा लिइन्छ ।योजना मुख्यरुपमा सेती र मादी नदीको सङ्गमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा कार्यान्वयन गरिने छ । योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिका प्रमुख, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्षहरु, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन गरिएको छ ।मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाबमोजिम समिति गठन गरिएको हो । जलचर संरक्षण ऐन, २०१७ मा भएको व्यवस्थाबमोजिम माछा संरक्षण योजना व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याइने छ ।माछा संरक्षण समन्वय समितिका संयोजक एवं व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले असारदेखि भदौ महिनासम्म माछाको प्रजनन समय हुने हुँदा उक्त अवधिभर मादी नदीमा माछा मार्न प्रतिबन्ध लगाउन अनुरोध गर्ने निर्णय गरेको छ ।बैठकबाट मादी नदीमा माछा संरक्षणसम्बन्धी सचेतना कार्यक्रम स्थानीय एफएम रेडियो, टेलिभिजनजस्ता आमसञ्चार माध्यमबाट प्रसारण÷प्रकाशन गर्ने र सार्वजनिक ठाउँमा सन्देशमूलक बोर्ड राख्ने निर्णय भएको छ ।व्यास –३, ४, ५, ६, ७ तथा १० नम्बर वडा, मध्य नेपालका वडा नम्बर ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्रमा मान्ने निर्णयसमेत बैठकले गरेको छ ।

बचत तथा कर्जा सुरक्षण कोष छिटो सञ्चालन गर्न आवश्यक पहल लिने निर्णय

काठमाडौँ – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गरी आवश्यक्ता बमोजिम उपसमितिमार्फत तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न शीघ्र पहल लिइने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको सन्दर्भमा देखापरेका समस्या समाधान गर्ने उद्देश्यले आह्वान गर्नुभएको बैठकले बचत तथा कर्जा सुरक्षण कोष छिटो सञ्चालन गर्न आवश्यक पहल लिने निर्णय गरेको हो । गृह मन्त्रालयमा बुधबार आयोजित बैठकमा गृहसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव, सहकारी विभागको रजिष्ट्रार, सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको संयोजक÷सदस्य, गृह मन्त्रालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो ।

बैठकले सहकारी विभागले नियमित नियमन गर्ने र अनुसन्धानबाट प्राप्त प्रारम्भिक प्रतिवेदन आवश्यक कारबाहीका लागि कारबाही गर्ने निकायसमक्ष अविलम्ब पठाउने तथा नियामक निकाय गठन आदेशमार्फत गठन गरी कार्य प्रारम्भ गर्नुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै उक्त सन्दर्भमा दिनुभएको निर्देशनबमोजिम नै उपप्रधानमन्त्री श्रेष्ठले निर्णयको अग्रसरता लिनुभएको हो ।

एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि कार्यकर्ताबाट सुझाव लिने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले पार्टीको विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । त्यसैगरी बैठकले राष्ट्रियसभामा सत्ता साझेदार दलका उम्मेदवारलाई जिताउन पार्टीको सबै शक्तिलाई परिचालन गर्नसमेत आह्वान गरेको छ ।

आगामी माघ १४ र १५ गते पार्टीको केन्द्रीय परिषद्को बैठक बस्ने निर्णयसमेत भएको छ । उक्त बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ । त्यसका लागि गएको केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला र कार्यकर्ता तहमा पुग्नेछ । उक्त सुझाव केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिने प्रवक्ता खतिवडाले बताउनुभयो ।

विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङ, २६ पुस : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध सङ्गठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न नपाइने गाउँपालिकाले जनाएको छ । सो निर्देशिकालाई पूर्णरुपमा लागू गर्न गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरेको जनाउँदै विद्यालय क्षेत्रमा राजनीतिक गतिविधि रोक्न थप कडाइका साथ लाग्ने निर्णय गरेको छ ।

गाउँपालिकाले हालै सूचना जारी गर्दै विद्यालय शान्ति क्षेत्र ढाँचा कार्यान्वयनमा उल्लेख भएअनुसार कुनै पनि समूहद्वारा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्ने गरी हातहतियार देखाउने, त्रास फैलाउने, कुटपिट गर्ने, विद्यालय बन्द गराउने, बल प्रयोग गर्ने, धम्की दिने, चन्दा आतङ्क मच्चाउनेलगायतका गतिविधिमा कडाइका साथ पूर्णरुपमा रोक लगाउने निर्णय भएको र सोहीअनुसार गर्न गराउन सचेत गराएको छ ।

विद्यालय क्षेत्रलाई शान्त र बालमैत्री बनाउन गाउँपालिकोको उक्त निर्णयलाई कडाइका साथ कार्यान्वयन गराउन स्थानीय तह, विद्यालय, राजनीतिक दल, दल सम्वद्ध सङ्घसंस्था र शैक्षिक पेसागत सङ्घङ्गठनलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ ।

इजराइली सेनाद्वारा ‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चलाएको स्वीकार

यसै साताको प्रारम्भमा कब्जा गरिएको पश्चिम किनारमा भएको बन्दुक युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बुधबार बताएको छ ।

सोमबार तुल्कारेम सहरमा मारिएका लडाकूमाथि सैन्य गाडी चलेको सामाजिक सञ्जाल फुटेजले सार्वजनिक गरेपछि प्यालेस्टिनी अधिकारीहरूले इजराइलले ‘क्रुर अपराध’ गरेको आरोप लगाएका छन् ।

सेनाले आतङ्कवाद विरोधी अभियानमा प्रहरीको सहयोग गर्दा गोलाबारी भएको र तीन ‘आतङ्कवादी’ को मृत्यु भएको बताएको छ । इजराइली सेनाले भनेको छ, “भिडियोमा जुन अपरेसनल सवारी देखिएको छ, त्यसलाई गोलाबारीमा फसेका सेनालाई निकाल्नका लागि पठाइएको थियो र अनजानमा सवारी आतङ्कवादीको शरीरमाथि चढ्यो ।”

सेनाले के भएको थियो भन्नेबार समीक्षा गर्ने उल्लेख गर्दै भिडियोले घटनालाई समग्ररूपमा नदेखाएको बताएको छ । सामाजिक सञ्जालमा साझा गरिएको सोमबारको घटनाको फुटेज सुरक्षा क्यामेराबाट लिएको जस्तो देखिन्छ र एउटा बख्तरबन्द गाडी निर्जीव शरीरमाथि विस्तारै गुडेको देखाइएको छ ।

सवारी फेरि रोकिन्छ र फेरि गुड्दै आफ्नो पछाडिको चक्काले शरीरलाई पुनः कुल्चँदै अगाडि बढ्छ । सोही क्यामेरबाट लिइएको अन्य फुटेजमा इजराइली बल र लडाकू समूहबिच गोलाबारी भएको देखाइएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गरेको छ

काठमाडौँ- विभिन्न राजनीतिक दलका नेताहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गरेको बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता डा सुरेन्द्र झाले नेपाल–भारत सातौँ परराष्ट्रमन्त्रीस्तरीय बैठक अत्यन्तै ऐतिहासिक र सफल रहेको टिप्पणी गर्नुभयो । वर्तमान सरकारले गरिरहेको काममध्ये नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सफल रुपमा दर्ज भएको उहाँको भनाइ छ ।

यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भएका सन्धि÷सम्झौता नेपालको आर्थिक विकासलाई मध्येनजर गरेर हेर्ने हो भने यसले धेरै ठूलो योगदान पु¥याउँछ जस्तो हाम्रो बुझाइ छ, आउने दश वर्षमा १० हजार मेगावाट बिजुली भारत सरकारले किन्ने भनेको छ, दुई महिनाअघि नै भारत सरकारको सङ्घीय क्याबिनेटबाट यो कुरा पारित भएको थियो, अहिले आएर त्यो सम्झौता नेपाली भूमिमा भयो, विकासको दृष्टिकोणले हेर्दा अत्यन्तै महत्वपूर्ण छ ।”

नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा भएको सहमति सकारात्मक रहेको उल्लेख गर्दै ‘नेपाल जलस्रोतको धनी हो, यो हाम्रो सम्पत्ति पनि हो, जलस्रोतको विकासले आर्थिक समृद्धितिर देशलाइै अघि बढाउँछ”, भन्नुभयो । नेपालले उत्पादन गर्ने विद्युत् भारतलाई १० हजार मेगावाट निर्यात गर्ने सहमति सकारात्मक भएको बताउँदै उहाँले समयमा हामीले परियोजना सम्पन्न गर्ने दायित्व रहेको बताउनुभयो ।

नेकपा (एमाले) का नेता माधव ढुङ्गेलले १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने सहमतिप्रति आफूहरु सकारात्मक रहेको बताउनुभयो । त्यसबारेमा स्पष्ट व्याख्या गरेर त्यसको उत्पादन, लगानी र नेपाली जनतनाले पाउने रोयल्टीको कुरा स्पष्ट गर्नुपर्ने उहाँले भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाको बजेट तीन अर्ब ४६ करोड

वीरगञ्ज (पर्सा)- पर्साको वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेटलाई रु तीन अर्ब ४६ करोड पु¥याएको छ ।  महानगरपालिको १४औँ अधिवेशनमा चालु आव २०८०÷८१ को वार्षिक बजेटमा रु २५ करोड थप गरी रु तीन अर्ब ४६ करोड पु¥याएको हो । चालु अधिवेशनले विनियोजन ऐन, २०८० मा समावेश भएको चालु आव २०८०÷८१ को वार्षिक बजेट रु तीन अर्ब ४६ करोड पु¥याउने प्रस्ताव गरिएको महानगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

चौधौँ अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आवको बजेट थप गरेको हो । यस्तै नगरसभाले विभिन्न योजना तथा कार्यक्रम परिमार्जन पनि गरेको छ । नगरसभाले खानेपानीका लागि महानगरवासीको चार हजार घरधुरीमा धारा जडान गर्न रु ८० लाख थप बजेट छुट्याएको महानगर प्रमुख सिंहले बताउनुभयो ।भारतीय दूतावाससँगको सहकार्यमा महानगरका चार हजार घरमा धारा जडानका लागि थप बजेट छुट्याइएको उहाँको भनाइ छ । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरी धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम विनियोजन गरेको महानगर प्रमुख सिंहले बताउनुभयो ।यस्तै नगरसभामा विभिन्न विधेयक पनि पेश गरिएको छ । वीरगञ्ज महानगरसभाको कार्यसञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्वद्र्धन विधेयक, सङ्घसंस्था दर्ता तथा नियमनसम्बन्धी विधेयकसभामा पेश गरिएको छ । साथै बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजतसम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयक पनि पेश गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिनुभयो । आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेश गरिएको उहाँले बताउनुभयो ।

हेर्नुहोस् पुष २६ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

बृष राशि – वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

मिथुन राशि – पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

कर्कट राशि – शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

सिंह राशि – नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

कन्या राशि – भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

तुला राशि – बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि – तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

कुम्भ राशि – आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

मीन राशि – कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

शीतलहरबाट जनजीवन कष्टकर : तरकारीबालीमा डढुवा रोगको जोखिम

सुदूरपश्चिम, २६ पुस : शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ ।

तरकारी बालीमा डढुवाको जोखिम

शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडा लगायत तरकारी बालीमा समस्या देखिएको छ । “तीन दशक अघिसम्म यस्तो समस्या थिएन, जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ”, कैलालीका किसान नारायण चौधरीले भन्नुभयो, “आलु गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ ।” जिल्लामा तरकारी खेती व्यावसायिक खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि बर्सेनि पुस महिनामा देखिने डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उहाँको अनुभव छ ।

किसान वीरबहादुर चौधरीले भन्नुभयो, “पैसा हुनेले विषादी किनेर आलु, गोलभेँडा बालीमा छर्किन थालेका छन्, पैसाको अभावमा औषधि छर्किन नपाउनेले बालीले दिने उत्पादनको आसा मारेका छन् ।” यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर गोलभेँडालगायतको तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्नेले विषादी छर्किनुपर्ने हुन्छ ।

प्रत्येक सात÷आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकको छ । डढुवाको जोखिम बढेपछि धेरै किसान यति बेला विषादी छर्किन थालेका छन् । हप्ता दिनको फरकमा विषादी छर्किनुपर्दा आलु गोलभेँडालगायतको बालीको उत्पादन लागत खर्च बढ्ने गर्छ । एउटै बालीमा पटक पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएकालाई बाली जोगाउनै मुस्किल हुने गरेको साना र विपन्न किसानको भनाइ छ । पटक पटक विषादी छर्किदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरुको छ ।

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन् । यो रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ ।

लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको समस्या बढी देखिने गरेको कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादीको पाउडर प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने बताइएको छ ।

रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा ‘मेन्कोजे’ पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने बताइएको छ । डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल घट्दै गएको किसानको अनुभव छ । ढुसीको सङ्क्रमण तोरीबालीमा पनि असर पु¥याउने गरेको छ ।

डढुवा रोगको समस्या बढ्दै जाँदा तोरी खेती गरिने क्षेत्रफल पहिलेको तुलनामा ह्वात्तै घटेको किसानको भनाइ छ । “विसं २०५४ सम्ममा आफ्नो दुई बिघाको पूरै खेतबारीमा तोरी लगाउँथ्यौँ”, किसान वीरबहादुरले भन्नुभयो, “त्यसपछिका वर्षमा भने डढुवा रोगको समस्या बढ्दै जाँदा यो बाली लगाउन छाड्नुप¥यो ।” पहिले गाउँमा हिउँदे याममा तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एकखालको रमाइलो हुने गरेको अनुभव उहाँको छ ।

ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकांश किसान धान र गहुँ खेती गरेर चित्त बुझाइरहेका छन् । छाडा छाडिएका पशु चौपायाले खेतबारीको बाली नष्ट गर्दा बाली जोगाउन किसानले अर्को समस्या बेहोर्नुपरेको छ । बर्र्सेेनि मौसममा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्रजीव भन्दा शत्रुजीवको समस्या बढ्न थालेको बताइन्छ ।

पूर्वडिआइजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय

काठमाडौँ, २५ पुस : विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय आज उक्त सजाय निर्धारण गरेको हो ।

क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित दुई जनालाई अदालतले दोषी ठहर गरेको थियोे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलाई रु १६ लाख ६९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

अदालतले सोही रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला सुनाएको छ । यस्तै अदालतले उक्त प्रकरणमा पूर्वप्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद तथा रु १६ लाख ६९ हजार जरिवाना गरेको छ ।

रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा रमेश लेखक चयन

काठमाडौँ, २५ पुस : सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ ।

सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको आज बसेको बैठकले समितिका सदस्यसमेत रहनुभएका प्रमुख सचेतक लेखकलाई चयन गरेको कांग्रेसले जनाएको छ । समितिका सदस्यमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डे तथा जनता समाजवादी पार्टी नेपालका मनिष सुमन रहनुभएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन सत्तापक्षीय गठबन्धनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि आफ्ना उम्मेदवारलाई विजय गराउन विभिन्न निर्णय गरेको छ । बैठकले सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति तथा ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात पुनः सुरु

जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबलमा सिधै हतियार निर्यात पुनः सुरु गरेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले बुधबार बताउनुभएको छ । हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनलाई पुष्टि गर्नुभएको हो ।

प्रतिवेदनमा बर्लिनले साउदी अरबलाई एक सय ५० आइरिस–टी एयर–टु एयर मिसाइल निर्यातका लागि हरियो सङ्केत दिएको उल्लेख छ । “यो प्रतिवेदनको विवरण सही छन्”, नियमित सरकारी समाचार सम्मेलनमा हेबेस्ट्रेइटले भन्नुभयो, “नयाँ स्वीकृत आइरिस–टी मिसाइलहरू हवाई लक्ष्य अर्थात मिसाइल, ड्रोन आदिमाथि विमानबाट हान्न सकिन्छ ।”

स्पिगलका अनुसार जर्मन समूह डाइहल डिफेन्सले निर्माण गरेको मिसाइलहरूको निर्यातको मञ्जुरी गत वर्षको अन्त्यमा दिइएको थियो । इस्तानबुलमा साउदी वाणिज्य दूतावासमा असन्तुष्ट पत्रकार जमाल खशोगीको सन् २०१८ मा हत्या भएपछि जर्मनीले रियादलाई हतियार बिक्री रोकेको थियो । यद्यपि बर्लिनले हालै साउदी अरबलाई हतिायर निर्यातमा आफ्नो अडानलाई कम गरेको छ । जर्मन सरकाले इजराइल–हमास युद्धमा साउदी अरबको ‘रचनात्मक दृष्टिकोण’ को प्रशंसा गरेको छ ।

साउदी अरबले हमाससँग युद्धको प्रारम्भपछि इजराइलसँगको सम्बन्धलाई सामान्य बनाउने योजना नछाडेको विदेशमन्त्री एनालेना बेयरबकले आइतबार बताउनुभएको थियो । रियादले यमनमा इरान समर्थित हुथी विद्रोहीद्वारा इजराइलमाथि प्रहार गरेको मिसाइलहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो । बर्लिनले सोमबार साउदी अरबलाई युरोफाइटर जेटको निर्यातको अनुमति दिन पनि तयार रहेको बताएको थियो ।

प्रकाश दाहाल स्मृति ब्याडमिन्टन : प्रिन्स र सुजन विजयी

काठमाडौँ, २५ पुस : एपिएफ क्लबका प्रिन्स दाहाल र सुजन थापा ‘प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को प्रि–क्वाटरफाइनमा प्रवेश गरेका छन् । स्पोर्टस् हबको आयोजनामा आजदेखि सुरु भएको उक्त प्रतियोगितामा प्रिन्सले जोहर उद्दिनलाई २१–७ र २१–६ अङ्कले तथा सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २१–१७ र २१–१३ अङ्कले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

काठमाडौँ महामनगरपालिका–६ बौद्ध लाखेपोखरीको कभर्डहलमा आज भएका अन्य खेलमा नेपाल पुलिस क्लबका सुनिल जोशीले एपिएफका अमन महर्जनलाई २१–१९ र २१–१६ अङ्कले, नेपाल आर्मी क्लबका डेभिड थापामगरले स्पोर्टस् हबका विशाल तामाङलाई १७–२१, २१–११ र २१–१५ अङ्कले तथा पुलिस क्लबका जीवन आचार्यले एपिएफका क्षितिज खनाललाई २१–१९ र २२–२० अङ्कले पराजित गरे । 

त्यस्तै आर्मी क्लबका कवीर केसीले सरफराज उद्दिनलाई २१–२ र २१–४ अङ्कले, एपिएफका देवराज रानाले सागर लामालाई २१–५ र २१–४ अङ्कले र पुलिस क्लबका अभि श्रेष्ठले पिस फिटनेश सेन्टरका दशरथ बुढालाई २१–७ र २१–१६ अङ्कले हराए । एपिएफका अनिल मल्लले भने एपिएफकै अरुण अधिकारीबाट ‘वाक ओभर’ पाए ।

यसैगरी पुलिस क्लबका दीपक बोहराले आर्मी क्लबका रोशन साउदलाई १७–२१, २१–१२ र २१–१९ अङ्कले, एपिएफका भोजबहादुर गुरुङले मोइन उद्दिनलाई २१–१० र २१–९ अङ्कले, आर्मी क्लबका प्रफुल महर्जनले बालकुमारी रिमिक्सका सुशन श्रेष्ठलाई २१–९ र २१–६ अङ्कले तथा नखिपोटका विवेक चौधरीले लाफ्फाका मनोज फौदारलाई २१–११, १५–२१ र २१–१७ अङ्कले पराजित गरे ।

यस्तै आजै भएका खेलमा एपिएफका विजित थापामगरले पुलिस क्लबका पुर्ण थापालाई २१–१९, १९–२१ र २१–११ अङ्कले, स्पोर्टस् हबका सुनील कार्कीले एपिएफका प्रारम्भ सिंखडालाई २१–१२ र २१–७ अङ्कले र पुलिसका विष्णु कटुवालले देवीनगर ब्याडमिन्टन क्लबका बविश थापालाई २१–१४ र २१–४ अङ्कले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरे ।

ब्याडमिन्टन सङ्घको मान्यता प्राप्त बरियतासहितको उक्त राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरियताबाहेक), स्थानीय स्तर, मास्टर्स युगल (३५ वर्ष माथि) र ४५ वर्ष माथिको विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक एवं संयोजक आङ्गकुसाङ्ग शेर्पाले जानकारी दिनुभयो । उक्त प्रतियोगिताका विजेता, उपविजेता तथा तृतीय स्थान प्राप्त गर्ने खेलाडीले क्रमश ः रु ४५ हजार, रु २५ हजार र रु १० हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् ।

नेकपा (माओवादी केन्द्र) का नेता प्रकाश दाहालको स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रकी नेत्री बीना मगरले प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

भोजपुरको दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन , एक हजार आठ सय बढीको उपचार

टक्सार (भोजपुर), २५ पुस : दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले भोजपुरको दक्षिणमा रहेका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको सहयोगमा जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र आमचोक गाउँपालिकाको केन्द्र बालङ्खामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा एक हजार आठ सयभन्दा बढी लाभान्वित भएका शिविर संयोजक जनक घलेले राससलाई बताउनुभयो । शिविरमा छ सय ७० जना महिला र तीन सय ९२ जना पुरुषले विशेषज्ञ सेवा लिएका थिए ।

त्यसैगरी, आमचोक गाउँपालिकामा भएको शिविरमा एक हजार ६२ जना नागरिकले सेवा लिएका संयोजक सन्तोष कोइरालाले जानकारी दिनुभयो ।शिविरमा २३ जना चिकित्सकसहितको टोलीले जनरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोगलगायत विभिन्न १३ वटा रोगको उपचार सेवा प्रदान गरिएको थियो ।

कम्युनिष्टहरु तत्काल एक हुने अवस्था छैन : अध्यक्ष नेपाल

काठमाडौँ, २५ पुस : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु तत्काल एक हुने अवस्था नरहेको बताउनुभएको छ ।

पार्टी निकट विद्यार्थी विशेष कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले केही कम्युनिष्ट नेता जालझेलको राजनीतिमा सक्रिय रहेकाले उनीहरूसँग एकताको सम्भावना नरहेको बताउनुभयो ।

राजनीतिमा गलत विचार र प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै कम्युनिष्ट मिलुन् भनेर चाहना राखेर मात्र हुँदैन ।” कुनै पनि राजनीतिक शक्तिलाई निषेध गर्न नहुने अध्यक्ष नेपालले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति चयन

सुदूरपश्चिम, २५ पुस : सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिमा सभापति चयन भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका चार विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) की माया पन्त, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का वीरबहादुर थापा तथा अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी निर्वाचित हुनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामुख भीमबहादुर भण्डारीले निर्वाचित विषयगत समितिका सभापतिलाई आजै पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । विषेशाधिकार समितिको सभापति नेकपा (माओवादी केन्द्र)लाई दिने दलहरुबीच समझदारी भएको छ ।