`

उत्तरी गाजामा त्रासदीपूर्ण मानवीय अवस्था रहेको संयुक्त राष्ट्रका प्रवक्ताको भनाइ

संयुक्त राष्ट्रका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वभाविक रुपमा बिग्रँदै गएको मानवीय सङ्कटलाई प्रकाश पार्दै राहत कार्यमा अवरोधहरू खडा भएको बताउनुभएको छ ।

नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले ‘जनवरी १–१० बीचमा खाद्यान्न, औषधि, पानी र अन्य जीवन उपयोगी सहायता मात्रै वितरण भएको जनाउनुभएको छ । गाजा शहरमा चिकित्सा आपूर्ति तथा गाजा शहर र उत्तरमा पानी र सरसफाइ सुविधालगायत इन्धन समावेश गरिएको छ । यसलाई इजरायली अधिकारीहरूले भने अस्वीकार गरेका थिए ।

डुजारिकले हालको अवस्थालाई अघिल्लो महिनाहरूसँग तुलना गर्दै सहायता पहुँचमा उल्लेखनीय गिरावट रहेको उल्लेख गर्नुभयो । गत वर्षको डिसेम्बरको दरको तुलनामा जनवरीमा अहिलेसम्म देखिएको पहुँच दरमा उल्लेखनीय ह्रास देखिएको उहाँको भनाइ छ । डिसेम्बरमा ७० प्रतिशतभन्दा बढि जनवरीको सुरुमा १४ प्रतिशतको दरमा गिरावट आएको उल्लेख उहाँले उल्लेख गर्नुभएको छ । विविद अवरोधको मानवीय लागतलाई उजागर गर्दै, डुजारिकले हरेक दिन उत्तरी गाजामा रहेका लाखौँ मानिसको ज्यान गुमाउने पीडामा मद्दत गर्न असमर्थ भएको उल्लेख गर्नुभएको छ ।

यसैगरी संयुक्त राष्ट्रसङ्घ आपतकालिन राहत संयोजक मार्टिन ग्रिफिथ्सले गाजाको स्वास्थ्य क्षेत्रको सामाजिक अवस्था चित्रण गर्दै गाजामा स्वास्थ्य क्षेत्र बिस्तारै निस्सासिएको बताउनुभएको छ ।त्यसको भयावह नतिजाबारे उल्लेख गर्दे उहाँले गर्भवती आमाले सुरक्षित रूपमा बच्चा जन्माउन नसक्ने,बालबालिकालाई खोप लगाउन नसक्ने , बिरामी तथा घाइतेले उपचार नपाउने अवस्थाको कारण मानिसको मृत्यु भइरहेको बताउनुभएको छ ।
युद्ध नियमको बाबजुत पनि मानवीय पक्षको दृष्टीकोणबाट कार्यकर्तासहित नागरिकको आवश्यक सुरक्षा गर्नु अत्यावश्यक रहेको उहाँले बताउनुभएको छ ।

यमन द्वन्द्व बिस्तार हुनु नहुने चीनको भनाइ

हुथी विद्रोहीको निशानामा अमेरिका र बेलायतले गरेको आक्रमणपछि चीनले यमन द्वन्द्वलाई विस्तार हुन नदिन सबै पक्षसँग आह्वान गरेको छ ।

इरान समर्थित हुथी सेनाले हमासप्रति ऐक्यवद्धता जनाउँदै ‘रेड सी’को पानीजहाजमा हप्तौँदेखि गरेको विध्वंसकारी आक्रमणपछि शुक्रबार बिहान अमेरिका र बेलायतले विद्रोहीको कब्जामा रहेको यमनमा हवाई आक्रमण गरेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो, “चीन ‘रेड सी’मा बढ्दो तनावप्रति चिन्तित छ ।

उहाँले भन्नुभयो, “द्वन्द्व फैलन नदिन हामी सम्बन्धित पक्षलाई शान्त रहन र संयमित हुन आग्रह गर्दछौँ ।”

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणपछि गाजामा युद्ध भड्किएपछि हुथी विद्रोहीले मुख्य अन्तर्राष्ट्रिय व्यापार मार्गमा रहेका इजरायलसँग सम्बन्धित पानीजहाजमा आक्रमणको सङ्ख्या बढाउँदै लगेको छ ।

बेइजिङले भनेको छ, “‘रेड सी’ क्षेत्र अन्तर्राष्ट्रिय रसद र ऊर्जा व्यापारका लागि महत्वपूर्ण मार्ग हो’ भन्ने कुरामा कुनै दुविधा छैन र अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप ‘रेड सी’को क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ ।”

माओले भन्नुभयो, “सम्बन्धित पक्षहरूले अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप ‘रेड सी’ को क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न सक्दछन् ।”

उहाँले भन्नुभयोे, “चीनले सबै पक्षलाई संयुक्त रूपमा अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा कायम राख्न र गैर–सैनिक जहाजलाई सताउने काम रोक्न जोगिन आग्रह गरेको छ, किनकि यो विश्वव्यापी अर्थव्यवस्था र व्यापारको लागि हानिकारक छ ।”

यमनको हुथी समूहले शुक्रबार अमेरिका र बेलायतबीच भएको हवाई आक्रमणमा आफ्ना पाँच लडाकू मारिएको र अन्य छ जना घाइते भएको जनाएको छ । विद्रोही समूहको नियन्त्रणमा रहेका क्षेत्रमा ७३ स्थानमा हवाई आक्रमण गरिएको बताइएको छ ।

पहिलो तीन महिनामा तीन दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिदर

काठमाडौँ, २७ पुस : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो ।

“आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ”, तथ्याङ्क कार्यालयले भनेको छ ।

उक्त कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना गर्दा सबैभन्दा बढी १५ दशमलव आठ प्रतिशतले खानी तथा उत्खननको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ । यसैगरी, निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिट्टी तथा ढुङ्गाको उत्खननको मूल्य अभिवृद्धि ११ दशमलव चार प्रतिशतले बढेको छ ।

वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा १३ दशमलव दुई प्रतिशतले हुने अनुमान गरिएको छ भने आवास तथा भोजन सेवा क्षेत्रमा ११ दशमलव सात प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा पर्यटक आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सकारात्मक देखिएको छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर एक दशमलव चार प्रतिशत हुने अनुमान गरिएको छ । धान उत्पादनमा भएको वृद्धिले पनि यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्याङ्क कार्यालयले जनाएको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिको भन्दा चालु आवको पहिलो त्रैमासिक अवधिमा एक दशमलव दुई प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान छ ।

‘सकारात्मक मनोवृत्तिका साथ अघि बढ्न सके समाज परिवर्तन सहज’:प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ, २७ पुसः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताउनुभएको छ ।

‘म बदिलन्छु अनि मेरो देश बदिलन्छ’ भन्ने नाराका साथ आज काठमाडौँ फोहर सङ्कलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उहाँले भन्नुभयो, “यस अभियानले स्वभाविकरूपमा समाजमा चेतना फैलाउने छ, समाज रुपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने छ ।” अधिकार र कर्तव्यलाई एकै साथ लिएर जान नसकेकाले सबै किसिमको समस्या आउने गरेकाले युवावर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनसहित आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।नक्सालस्थित नारायण चौरबाट फोहर सङकलन गर्दै सुरु भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको प्रमुखद्वार, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटल हुँदै पुनः नारायणचौरमा पुगेर सम्पन्न भएको थियो ।

दौडमा प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु २५ हजार, तृतीय हुनेलाई रु १५ हजार तथा चौथो हुनेलाई रु पाँच हजार पुरस्कारसमेत प्रदान गरिएको थियो । दौड अभियानमा नेपाल प्रहरीका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

हुम्लामा अनुदानको ८० क्विन्टल नुन पाँच वर्षदेखि गाेदाममै अलपत्र अवस्थामा

बाजुरा, २७ पुस : कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् ।

कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी नगर्दा अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन् । ठेकेदारबाट अनुदानबापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको छ ।

नुनको पाकेट बाहिर लेखिएको मिति हेर्दा सन् २०१९ अर्थात् गत २०७५ सालमा ढुवानी भएको देखिन्छ । पाकेटमा लेखिएको मितिका कारण धनगढीको नभई नेपालगञ्जबाट हुम्लाका लागि ढुवानी भएको कर्मचारी बताउँछन् । उक्त मात्राको नुन ढुवानी गर्ने ठेकेदार को हुन्, कसको ठेक्का हो र ढुवानी कसले गरेको हो भन्नेबारे यकीन हुन नसके स्थानीयको भनाइ छ ।

हुम्लाको ठेकेदारले नुन ढुवानी गरेको हुनसक्ने आशङ्का भए पनि ठेकेदारको नाम भने पहिचान हुन नसकेको हिमाली–५ का वडाध्यक्ष प्रदीप बुढथापाले बताउनुभयो । नुन ढुवानी भएदेखि हालसम्म ठेकेदार सम्र्पकमा नआएको र अन्य कुनै निकायबाट पनि खोजी नभएको उहाँको भनाइ थियो । साल्टटे«निङ कम्पनी नेपालगञ्जको नुन भएकाले बाजुराको नभई हुम्लाको हुनसक्ने आशङ्का स्थानीयले गरेका उहाँले बताउनुभयो ।

अनुदानको नुन कवाडीका स्थानीय प्रकाश बुढथापाको गोदाम घरमा विगत पाचँ वर्षदेखि राखिएको छ । त्यतिबेला हुम्ला जाने सडक नहुँदा कवाडीमा गोदाम बनाएर नुन राखिएको हुनसक्ने भन्दै वडाध्यक्ष बुढथापाले हालसम्म कसैले खोजी भने नगरेका जानकारी दिनुभयो ।

“नुन ढुवानी गर्दा ठेकेदारले स्थानीय बुढथापाको घर खाली भएकाले निजको घरलाई गोदामका रुपमा प्रयोग गरेका हुन् । गोदाममा ताला लगाएर गएदेखि ठेकेदार फर्किएका छैनन्”, उहाँले भन्नुभयो, “घरमा कोही नभएको समयमा ठेकेदारले नुन राखेकाले घर मालिकले भाडा दिने हुन्÷होइन भन्ने आशङ्काले अर्काे ताला लगाइएका छन् । लामो समयसम्म ठेकेदार र घर मालिकको सम्पर्क नहुँदा दुईवटै ताला खोलिएका छैनन् ।”

“नुन गोदामका ढोका जीर्ण बन्दै गएका र नुनसमेत चोरी हुन थालेको छ । ढुवानी गरेर बाजुरा पु¥याइएको नुन समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा प्रयोग गर्ने म्याद सकिएको छ”, नुन डिपो केन्द्र कोल्टी प्रमुख जयराम रेग्मीले भन्नुभयो । प्याकिङ भएको दुई वर्षभित्र नुन बिक्री गरिसक्नुपर्ने भए पनि पाँच वर्षसम्म कवाडीमा भेटिएको उक्त नुनको म्याद सकिएको उहाँले जानकारी दिनुभयो ।

रेग्मीले नुन दुई वर्षभित्र नुन प्रयोग गसिक्नुपर्नेमा पाँच वर्षदेखि गोदाममा रहेकाले म्याद सकिएको बताउनुभयो । उहाँले उक्त नुन प्रयोग नगर्न आग्रह गर्दै प्रयोग गर्दामा स्वास्थ्यमा असर पर्ने बताउनुभयो ।

दुर्गमका नागरिक नुन अभावमा चर्काे मूल्य तिरेर किन्नुपर्ने अवस्था भए पनि सहुलियत अनुदानको नुन पाँच वर्षदेखि बाजुरामा थन्किएर म्याद सकिँदासम्म पनि कसैको ध्यान जान सकेको छैन । दुर्गम क्षेत्रका नागरिक नुन अभावमा तड्पिरहेकाबेला यसरी गोदाममा थन्किनुले नागरिकमा शङ्का उत्पन्न भएको छ ।

बाजुरामा लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको नुनको पुष्टिका लागि विभिन्न निकायसँग बुझ्दा कुनै निकायबाट गतिलो जवाफ प्राप्त हुन नसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताउनुभयो । अनुदानको नुन कवाडीमा पाँच वर्षदेखि अलपत्र परेको खबर आएकाले प्रहरी परिचालन गरी अनुसन्धान गर्न लगाइएको उहाँले राससलाई जानकारी दिनुभयो ।

“अहिले नै यही भन्न सकिने अवस्था छैन । प्रहरीको प्रतिवेदन आएपछि मात्र कवाडीमा नुन गोदाममा राखेर सम्पर्कविहीन भएका ठेकेदारसहितको खोजी गर्ने छौँ”, प्रजिअ पोखरेलले भन्नुभयो, “यसरी लुकाइछिपाइ राखिएको नुनको वास्तविकता खोजी गर्न प्रहरी परिचालन भइसकेकाले शीघ्र यसबारे थप तथ्य सार्वजनिक गर्ने छौँ ।”

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमलाल चौधरी चयन

टीकापुर (कैलाली), २७ पुस :नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई सर्वसम्मत चयन गरेको छ । यसअघि पार्टीको संरक्षक रहेका चौधरीलाई टीकापुरमा भएको पहिलो महाधिवेशनले सर्वसम्मत चयन गरेको हो ।

पार्टी अध्यक्षमा यसअघि उहाँकी धर्मपत्नी तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ रहनुभएको थियो । महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितलाई चयन गरेको छ । पुस २६ गतेदेखि टीकापुरमा जारी महाधिवेशनमा देशभरबाट आठ हजार प्रतिनिधि टीकापुर आएका छन् ।पार्टीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न लागि छलफल भइरहेको जनाइएको छ । नागरिक उन्मुक्तिको केन्द्रीय समिति पाँच सय एक सदस्यीय हुनेमा महाधिवेशनबाट ३३ पदाधिकारीसहित दुई सय ५४ जना चयन गरिनेछ । पार्टीका सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयनका लागि छलफल जारी रहेको र महाधिवेशन शनिबारसम्म चल्ने केन्द्रीय सदस्य लालवीर चौधरीले जानकारी दिनुभयो ।

सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि पहल गर्छु : उपप्रधानमन्त्री खड्का

टीकापुर (कैलाली), २७ पुस : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कैलालीको टीकापुर–९ खक्रौलामा रहेको सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि आफूले पहल गर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आयोजित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको आज उद्घाटन गर्दै उहाँले क्वारेन्टाइन स्थापनाका लागि आफू लागिपर्ने बताउनुभएको हो । “वाणिज्य सङ्घले राखेका सातबुँदे माग पूरा गर्ने आश्वासन दिन्छु ।

आर्थिक उन्नति र प्रगतिका लागि लम्की टीकापुर सडक समयमै निर्माणका लागि पहल गर्छु”, उहाँले भन्नुभयो, “निर्माणाधीन सडक समयमै सक्न कडाइ गर्नुका साथै सडक विस्तार र पर्यटकीय विकासलाई प्राथमिकतामा राखिनेछ ।” महोत्सवले विकाससँगै सहकार्यमा जोड दिने बताउँदै रक्षामन्त्री खड्काले कैलाली जिल्लाको टीकापुर सुन्दर र आर्थिक सम्भावना बोकेको सहर रहेको स्पष्ट गर्नुभयो ।

यो सहरको विकासका लागि सङ्घीय सरकार यहाँका नागरिकको साथमा रहने पनि उहाँले बताउनुभयो । “यो महोत्सवले कृषक, उद्यमी, व्यवसायी, कलाकार सबैलाई एकै ठाउँमा जुटाइ सहकार्यका लागि नयाँ ठाउँ पहिल्याउने छ”, उहाँले भन्नुभयो, “महोत्सवअन्तर्गत प्रदर्शनीमा राखिने कृषि तथा औद्योगिक उत्पादनले वस्तु चिनाउन र बाह्य बजार विस्तारमा सहयोग पुग्नेछ । महोत्सवले बहुमूल्य वस्तुको पहिचान र बजार विस्तारमा सहयोग पुग्नेछ ।” मन्त्री खड्काले महोत्सवले यस्ता मेला महोत्सवले साना तथा मझौला उद्योग विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भारतबाट आउने धार्मिक पर्यटकलाई कैलाशमार्गसँग जोड्न सकिएमा पर्यटकीय विकासमा मद्दत पुग्ने बताउनुभयो । “टीकापुरको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “आधुनिक सहर निर्माणमा सरकारको साथ रहनेछ ।

”सो महोत्सवमा उद्योग वाणिज्य सङ्घ कैलालीले मन्त्री खड्कालाई टीकापुरवासीका तर्फबाट सीमामा रहेको खक्रौला भन्सारको स्तरोन्नति, सडकमार्ग विस्तार, सनकट्टीमा निर्माण हुने भनिएको पक्की पुल निर्माण, हवाई मैदान सञ्चालन आदि विषयमा माग राखेको थियो । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको सो महोत्सवमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले टीकापुरको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

“रक्षामन्त्रीले टीकापुरका सडक, खानेपानी, शैक्षिक तथा व्यापारिक विकासमा सहयोग गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि सकेको विकासमा लगानी गर्नेछ ।” कार्यक्रममा टीकापुर सहरको नक्साङ्कन गर्ने वरिष्ठ इञ्जिनियर शङ्करनाथ रिमाललाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । वरिष्ठ इञ्जिनियर रिमालले टीकापुरमा आफूले काम गर्दा चार÷पाँच जना मिलेर नक्साङ्कनको काम गरेको स्मरण गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “आज यतिधेरै मानिस देख्दा आनन्द लागेको छ । टीकापुरको स्परुप देख्दा खुसी लागेको छ । टीकापुरलाई राम्रो सहर बनाउन के गर्नुपर्छ भनी विचार गरेर अघि बढेमा अबको ५० वर्षपछि टीकापुर नेपालको ठूलो सहर बन्नेछ । नेतृत्वले ध्यान दिएमा सहर विकासमा सहयोग पुग्नेछ ।”वाणिज्य सङ्घले विसं २०६५ देखि टीकापुरमा महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा दुई सय स्टलका साथै रमाइलो मेला र यहाँका स्थानीय कला र संस्कृति झल्कने विभिन्न प्रदर्शनी पनि छन् ।

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण 

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् ।

सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछन् ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गरेका थिए।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो ।



बाँकेमा सहकारीको रकम अपचलन मुद्दामा दोषी ठहर १९ जनालाई सजाय निर्धारण, एकवर्षदेखि पाँचवर्षसम्म कैद

बाँके । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई कसुर/सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्।

बिहीबार जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए। उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरूबाट बिगो पनि भराउने आदेश जारी गरेको छ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख बिगो भराइ पाँच वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गर्ने आदेश दिएको छ। सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीबाट चार करोड ४८ लाख नौ सय ५९ रूपैयाँ बिगो भराउन, ५० हजार रूपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको सूचना अधिकारी भट्टराईले बताए।

सहकारीको व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी गंगाधर सुवेदीबाट दुई करोड ८३ लाख ७३ हजार दुई सय ९५ रूपैयाँ बिगो भराउन, ५० हजार रूपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय गर्ने अदालतले आदेश गरेको छ। लिला भन्ने लिलाप्रसाद वलीबाट ८९ लाख २९ हजार सात सय २५ रूपैयाँ बिगो भराउन, ५० हजार रूपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको छ।

सहकारीका कर्मचारी किरण श्रेष्ठबाट ८६ लाख ३५ हजार चार सय ५४ बिगो, ५० हजार रूपैयाँ जरिवाना गर्न र पाँच वर्ष कैद सजाय गरेको छ। गौरवकुमार श्रेष्ठबाट एक लाख २९ हजार चार सय ९१ बिगो भराउन, ४० हजार रूपैयाँ जरिवाना गर्न र चार वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भट्टराईले बताए।

Laxmi bank
त्यसैगरी, सहकारीका कर्मचारी सुरतराम खटिकबाट ९८ लाख ४८ हजार दुई सय ७४ बिगो भराउन, ५० हजार रूपैयाँ जरिवाना गर्न र पाँच वर्ष कैद, बलराम यादवबाट ५३ लाख ६९ हजार छ सय ५२ बिगो, ५० हजार रूपैयाँ जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ।

सहकारीका खजुरा शाखाका प्रमुख सूर्यबहादुर बिकबाट ३३ लाख ६० हजार छ सय ८१ रूपैयाँ बिगो, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिएको छ।

सहकारीको लेखा समितिमा कार्यरत स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई एक वर्ष कैद र पाँच हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना गर्ने अदालतले आदेश गरेको छ। 

भट्टराईका अनुसार सहकारी संस्थाका पूर्वअध्यक्षहरू सिद्धिकुमार महर्जनलाई दुई वर्ष छ महिना कैद, पाँचहजार जरिवाना, अम्बरबहादुर खड्का र हरदेवबक्स चौधरीलाई पाँच/पाँच वर्ष कैद र ५०/५० हजार रूपैयाँ जरिवाना गर्ने आदेश दिएको छ।

यसैगरी, सहकारीका उपाध्यक्ष रवीन्द्र थापालाई तीन वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ। सहकारीकी कर्मचारी शारदाकुमारी थापा मगरलाई एक वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवानाको आदेश दिएको छ।

पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले अदालतको आदेशले पीडितलाई केही खुसी तुल्याएको बताए। उनले भने, ‘अब अदालतले तोकेको जरिवाना र बिगो रकम तिर्न आएमा सहमति हुन सक्छ।’

बाँकेको बहुचर्चित यो सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो। ४३ करोड घोटालामा अन्यले सफाइ पाएका छन्। सातजना अहिले पनि कारागारमा रहेका छन्। अरू धरौटीमा छुटेका थिए।

११ हजार आठ सय चारजना निक्षेपकर्ता रहेको सहकारी ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए। त्यसयता पीडित निरन्तर सडकमा रहेका छन् । सहकारीमा ठगिएका एक दर्जन पीडितको यो बीचमा मृत्यु भइसकेको छ।

जिल्ला अदालतले सहकारी संस्थाका सञ्चालक समिति विघटन गर्न आदेश यसअघि नै दिइसकेको छ । बचतकर्ताहरुले जम्मा गरेको करिब रु ३८ करोड हिनामिना भएपछि नेपालगञ्जको सहकारी वृत्ति विकास संस्था २०७६ असोजदेखि बन्द रहेको छ।

दुई छाराकै चिकित्सकले दृष्टि फर्काइदिएपछि मीनाको खुसीको सिमा रहेन

काठमाडौँ, २७ पुस – दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उहाँलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ ।उहाँले खुसी हुँदै भन्नुभयो, “भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् ।

मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि सुखका दिन फर्किए ।” अहिले उहाँको आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय छोरा प्रकाश विद्यालय जाने तयारी गर्दैछन् । मीनालाई चरम आर्थिक अभाव हुँदा छोराहरुलाई अस्पताल पु¥याउन त परै जाओस् बिहान–बेलुका छाक टार्न धौधौ थियो । “बाबुहरुलाई विद्यालय पठाउन त परै जाओस् घरमा हेरचाह गर्न अर्काे सहयोगी राख्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “छाक टार्न आफैँ कृषि कर्ममा जुट्नु पर्दथ्यो । आफ्नो कमाईले छाक टार्न धौधौ पर्छ । उपचार गर्न कहाँबाट पैसा ल्याउनु । उपचार गर्ने पैसा नभएर छोराहरुलाई अस्पताल लान सकेको थिइनँ ।”

नेपाल नेत्रज्योति सङ्घले दातृ निकाय सिविएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए । प्राविधिक सीमाकुमारी शाही लगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिबिन्दु भएको पत्ता लगाएका थिए । ती प्राविधिक कर्मचारीले शल्यक्रियामार्फत आँखाको दृष्टि फर्किन सक्ने जनाउँदै सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालमा उपचारका लागि तत्काल जान ‘रिफर’ गरिदिएका थिए । मीनाले भन्नुभयो, “मैले मेरो दुःखका व्यथा सरहरुलाई सुनाए । पैसा नभएर छोराहरुलाई उपचार गर्न अस्पताल लान नसकेको कुराहरु भने । उहाँले सहयोग गर्ने बताउनुभयो । छोराहरुलाई लिएर आँखा अस्पताल गए । चिकित्सकले जन्मजात मोतिविन्दु भएकाले शल्यक्रिया गर्नुपर्छ भन्नुभयो ।”

अस्पतालले मीनाको आर्थिक अवस्था कमजोर रहेकाले बिरामीलाई खाने, बस्ने र उपचारका लागि लाग्ने खर्च निःशुल्क गरिदिएको थियो । उहाँले भन्नुभयो, “चिकित्सकले छोराहरुको संसार हेर्ने दृष्टि फर्काइदिए । उज्यालो संसार देख्न सफल भए ।” एक महिनाका अवधिमा दुई दाजुभाइको दुईवटै आँखाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । शल्यक्रियामा चिकित्सक पवन श्रेष्ठ लगायतका टोली सम्लग्न हुनुभएको थियो ।

मीनाले भन्नुभयो, “परिवारमा खुसी फर्किएको छ । आफ्नो छोराहरु पनि अरू बच्चाहरु जस्तै विद्यालय जान सक्ने हुँदा मन रमाएको छ । आफ्नो दैनिक गतिविधि अन्यको सहायता बिना गर्न सक्ने भएका छन् । आफ्नो बच्चाहरुलाई उज्यालो संसार देखाएर नयाँ जीवन दिन सहयोग गर्ने सबैलाई धन्यवाद छ । भगवान् मैले सोचेजस्तो निष्ठुरी पनि रैनछन् । मेरा छोराहरुलाई उज्यालो संसार देखाइदिनुहुने डाक्टर सापहरुलाई धेरै धेरै धन्यवाद ।”

विगतमा उहाँ छिमेकीका नानीहरु पढ्न विद्यालय गएका देख्दा, रमाएर खेल्दा भगवान्ले कुनै जन्ममा गरेको कर्मको सजाय दिएको होला भनेर चित्त बुझाउने गर्नुहुन्थ्यो । उहाँ आफ्नो छोराहरु पनि अरू बच्चा जस्तै पढ्ने, लेख्ने र खेल्ने गरेको हेर्ने ठूलो चाहना राख्नुहुन्थ्यो । घर नजिकको विद्यालयसम्म पनि जान सकेका थिएनन् । उहाँले भन्नुभयो, “कलिलै उमेरमा आफूभन्दा २६ वर्ष जेठो व्यक्तिसँग विवाह भयो । गरिबी, त्यसमाथि अमिल्दो उमेरका श्रीमान् ।”

उहाँले भन्नुभयो, “छोराहरु हुर्काउन, घरधन्दा, खेतबारीदेखि वस्तुभाउको स्याहारसुसार गर्नमै मेरा दिनहरु बित्दै गए । बच्चा विस्तारै हुर्किंदै गए । हुर्किंदै जाँदा रोग लागेको पत्तै भएन । श्रीमान्लाई बुढ्यौलीले पनि छुँदैगयो । श्रीमान्ले कमाउन नसकेपछि घरबार धान्नेदेखि छाक टार्नेसम्मको जोहो मेरै काँधमा आयो । उपचार गर्नभन्दा परिवार पाल्न ध्यान दिनै प¥यो ।” सङ्घका पैरवी अधिकृत कृष्ण भट्टराईले सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पतालले विपन्न आँखा रोगीको निः शुल्क उपचार भैराखेको जानकारी दिनुभयो ।

पशुपालक किसान घटेपछि उराठ बन्दै बागलुङको माथिल्लो खर्क ,युवा शक्ति भेट्याउनै मुस्किल

ढोरपाटन (बागलुङ), २७ पुस-एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए । तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् ।

खास गरी बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन थियो । युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका छन् । हरेक वर्ष भेडापालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । भेडाबाख्रा पालेरै परिवार धान्नेहरुलाई बुढेसकालले छोयो । नयाँ पुस्ताले बजार रोजेपछि परम्परागत पेसा नै धरापमा पर्ने चिन्ता पुराना पुस्तालाई छ ।तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पालीले भेडापालन गर्न थालेको ६५ वर्ष बित्यो । ७३ वर्षको उमेरमा पनि उहाँले दुई सय ५० भन्दा बढी भेडाबाख्रा पाल्दै आउनुभएको छ । बाउबाजेबाट सिकेको पेसालाई सिर्पालीले अहिलेसम्म निरन्तरता दिँदै आउनुभएको छ । १५ वर्षअगाडि गाउँमा ४० घरपरिवार भेडापालनमा आबद्ध भए पनि अहिले पाँच÷सात घर मात्रै यो पेसामा रहेको उहाँको भनाइ छ । अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरि हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाउनुहुन्छ । घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जङ्गल जानुको सट्टा बजार झर्ने गरेको उहाँको भनाइ छ ।“हामीहरु गोठमै जन्मेउँ, गोठमै हुर्कियौँ र गोठमै काम गर्दै आएका छौँ, हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो, तर गइएन, आफ्नो गाउँ छोड्न सकिएन, वर्षौंदेखि पाल्दै आएका वस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि हामी पशुकै अघिपछि लेक बँेसी गरिरहेका छौँ,” सिर्पालीले भन्नुभयो, “हामीभन्दा पाका मान्छे बितिसके, हामीपछिका गाउँमा कम बस्छन्, हाम्रै दाँैतरी मात्रै भेडाबाख्रा पाल्ने गरेका छन्, युवा केटाहरु बजारमै बस्न खोज्छन्, विदेश जान्छु भनेर जान्छन्, पाँच÷सात साल आउँदैनन्, आए पनि वन जङ्गलमा गएर भेडाबाख्रा पाल्दैनन्, हाम्रो परानपछि (मृत्युपछि) गाउँमा भेडाबाख्रा पाल्ने मान्छे नै हुने छैनन् ।”ढोरपाटन नगरपालिका–९ का बुधबहादुर बिक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आउनुभएको छ । बेलाबेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यति साथ दिएको छैन । डेढ सय भेडाबाख्रा पाल्दै आउनुभएकामा अहिले घटाएर पचासको हाराहारीमा मात्रै छन् । १० वर्षपहिले करिब ३० घरका छिमेकी पशुपालनमा आबद्ध भए पनि अहिले घटेर निकै कम भएको विकले सुनाउनुभयो । छोरो नातिले आफूले गर्दै आएको पेसालाई साथ नदिएको भन्दै गाउँका धेरैले कम मात्रामा पशु पाल्ने गरेको उहाँको भनाइ छ । दशकौँदेखि सयौँको सङ्ख्यामा पशुपालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको बिकले बताउनुभयो ।उहाँले भन्नुभयो, “भेडाबाख्रा पाल्ने, वनजङ्गल गर्ने त टाढैको कुरा भयो, गाउँमा बस्ने मान्छे नै घट्न थालेका छन्, हाम्रो पालामा छ÷सात दिन लगाएर खर्क जान्थ्यौँ, खर्कमा बर्खाको पाँच महिना उत्तिकै बिताउँथ्यौँ, रोल्पा रुकुमबाट धेरै गोठालाहरु आउँथे, डाँडापाखा सबै सेताम्य भेडाले ढाकिन्थे, गन्नै नसकिने हुन्थे, अहिले त गोठाला पनि कम भए, भेडाबाख्रा पनि थोरै भएका छन्, पहिलेको जस्तो खर्कहरु रमाइलो छैनन्, घाँसपातको पीर पनि हुँदैन ।”तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठाला अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअङ्गालेकामा निराश छन् । खर्क र उराठिलो बनेका बुकीले पशुचौपायाालाई कुरिरहेका छन् । तर अब तिनीहरुको पर्खाइ पर्खाइमै सीमित हुने निश्चित जस्तो बनेको छ । किनकि नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा किसानलाई आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याइरहेको छ । त्यस्ता कार्यक्रमले दूरदराजका किसानलाई भने छुन सकेको छैन ।भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको बताउनुभयो । केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरी घाँस उत्पादन बढाउनाका साथै रोगको समस्याबाट पशुचौपायाालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको उहाँको भनाइ छ ।“पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ, खासगरी विदेश जाने ट्रेनले गर्दा घटेको हो, हामीहरुले किसानलाई प्रोहोत्सान गर्ने कार्यक्रम गरिरहेका छौँ, सानो कार्यक्रम पालिकाबाट गर्ने, ठूलो जिल्लाले गर्ने गरी योजना पनि बनाएका छौँ, नश्ल सुधार गर्ने कार्यक्रमलाई पनि जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “हाम्रो मुख्य प्राथमिकता रोग नियन्त्रण गर्नु हो, किसानले दुःख गरेर पशुचौपायाा पाल्नु हुन्छ, समय–समयमा रोगले गर्दा मर्छन् र ठूलो क्षति हुन्छ, त्यसलाई रोक्नका लागि खोप प्रभावकारी हुने हुँदा त्यसतर्फ जोड दिएका छौँ ।”बागलुङमा हाल एक लाख पचास हजार भेडाबाख्रा, एक लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बङ्गुरलगायत पशुचौपायाा रहेको प्रमुख डा सापकोटाले जानकारी दिनुभयो । अहिले जिल्लाको दशवटा पालिकामा विभिन्न रोगविरुद्ध खोप लगाउने अभियान सुरु भएको भन्दै गाउँगाउँमा पशु प्राधिकि खटाएको उहाँले बताउनुभयो ।–––

जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ : सांसद मण्डल

काठमाडौँ ।  राष्ट्रिय हित तथा महिला, मधेसी, दलित, आदिवासी जनजाति समुदायका मागलाई सम्बोधन गर्न संविधानमा छुटेका विषयवस्तुलाई कानुनका माध्यमबाट समावेश गर्न अहिले बढी घोत्लिनुपरेको छ । संविधानसभा सदस्य हुँदा संविधानलाई  समावेशी बनाउने सन्दर्भमा दिनरात नभनी चापाचापमा काम गरियो भने अहिले हामी त्यही संविधानमा समावेश गर्न छुटेका र बाझिएका प्रावधान र कानुन मिलाउने काम गरिरहेका छौँ । अहिले संसद्को अधिवेशन नभएकाले ‘मिनी पार्लियामेन्ट’ संसदीय समितिमा सरकारले अघि बढाएका शिक्षा र स्वास्थ्यलगायत विषयका विधेयकलाई सरोकारवालासँग छलफल गरी संशोधनका माध्यमबाट समृद्ध तुल्याउने कार्यमा अहोरात्र खटिरहेका छौँ । 


मतदाताले हामीलाई कानुन निर्माणका लागि पठाएकाले निरन्तर त्यसमै क्रियाशील हुनुपर्छ भन्ने मान्यतामा म दृढ छु । सबै विषय पढेरमात्र हुन्न कतिपय अभ्यासका माध्यमबाट मात्र जान्न, बुझ्न र  राख्न पाइने भएकाले बैठकका अतिरिक्त संसद् र संसदीय अभ्याससम्बन्धी सकेसम्म प्रायः सबै कार्यक्रममा भाग लिने कोसिस गर्दैआएकी छु । सांसद भए पनि महिला भएकाले दैनिक घरव्यवहारको जिम्मेवारी सम्हाल्दै भरसक संसद् र विषयगत समितिका बैठक छाडेको छेन, अधिकांशमै सहभागी हुन्छु । 


बैठक वा कार्यक्रममा बोल्ने/नबोल्ने वा कति बोल्ने आफ्नो स्वभावमा भर पर्छ, तर बोल्नुपर्ने र कुरा राख्नै रहेछ भने कहिल्यै पछि हट्दिन,  विषयवस्तु राखेर छाड्छु । शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक झन्डै ५० वर्षपछि ल्याइएको छ । त्यस विधेयकका सम्बन्धमा सरोकारवालाका हिसाबले अपाङ्गता भएका व्यक्तिलाई पनि बोलाएर छलफल गरियो । उहाँहरूका कुरा सुन्दा हामी निकै चिन्तित र मर्माहत भयौँ । हामी कहाँ छौँ, राज्य के गर्दैछ, समस्याको समाधान किन नगरिएको होला भनी निरन्तर मनमा प्रश्न उठिरह्यो । एउटा शिक्षकलाई कतिसम्म सङ्घर्ष गर्नुपर्दाेरहेछ भन्ने लागेको छ । आँखा नदेख्ने र शारीरिक अपाङ्गता भएका व्यक्तिको पीडा र रोदन सुन्दा राज्यले नागरिकबीच किन यस्तो विभेद गरेको होला भन्ने भान भएको छ । 


शिक्षकले दीक्षा दिएका व्यक्ति नै अहिले राज्यका माथिल्लो विभिन्न तह र तप्कामा पुगेका छन् । घरपछिको ठूलो शिक्षा प्राप्त गर्ने ठाउँ भनेको गुरुकुल र आधारभूत प्राथमिक विद्यालय नै हो । त्यहाँका शिक्षकको अवस्था आफैँमा अस्तव्यस्तजस्तो देखिन्छ । मनमा पीडा भएकाले त्यहाँ पढाउने शिक्षक कोही खुसी देखिन्नन् । यस  विषयमा सरकार, राजनीतिक दल, सांसद  वा नागरिक को दोषी भनियो भने म आफैँलाई दोषी सम्झन्छु  किनभने हामीले समयमा कानुन बनाएनाँै र बनेका कानुनको आवश्यक कार्यान्वयनमा ध्यान पु¥याएनौँ नि ! यसबारे सरकारलाई समयमै दबाब दिएनौँ । शिक्षा  र शिक्षकको सम्मान नहुने देशले प्रगति हासिल गर्न सक्दैन । दशौँ दिनदेखि शिक्षा विधेयकमाथि समितिमा निरन्तर बहस र छलफल भइरहेको छ, मन्त्रालयका तर्फबाट  उठेका प्रश्नमा ठोस नभई टालटुले जवाफ दिने प्रयास भइरहेको छ । 

विश्वविद्यालयका कुलपति प्रधानमन्त्री स्वयं हुनुुहुन्छ । शिक्षा क्षेत्र किन यस्तो अस्तव्यस्त हुनपुग्यो ? यो कमजोरी सरकारको हो कि हामी ‘माननीय’ को ?  अभिभावकलाई पनि उत्तिकै पीडा छ, आफ्ना सन्तानलाई यहीँ पढाएर राष्ट्र सेवामा लगाउने रहर छ तर  त्यो अवस्था र वातावरण अहिले यहाँ देखिन्न । अहिले मुलुकमा धेरै कुराको अभाव छ, त्यसो हुनामा असल शिक्षाकै पनि अभाव देख्छु । असल शिक्षाको अभावकै कारण समाजमा विभिन्न प्रथा र जातीय छुवाछूतको विभेद पनि भएको हो भन्ने लाग्छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा विद्यार्थीलाई आत्मनिर्भर, स्वाभिमान, नैतिकवान् र  शिष्ट बनाउने तथा जीवनोपयोगी सामग्री समावेश गरिनुपर्छ  । यसबाट विद्यार्थीले इतिहास, भूगोल, समय, परिस्थिति, समाज, देश, विदेश, कर्तव्य र जिम्मेवारी बुझ्न सकून्,  देशप्रति गौरव गरून्, कानुनको पालना होस्, राजश्व र करछली जस्ता बेइमानी कार्यमा संलग्न भएको देख्न नपरोस् ।

कानुन निर्माणमै केन्द्रित

सांसदले जिम्मेवार भएर समयमै सदन र संसदीय समितिका बैठकमा उपस्थित भई जनता र संविधानले सुम्पिएको कानुन बनाउने मुख्य जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्छ । जनप्रतिनिधि हुनाका नाताले जिल्ला, पालिका र टोलको विकास निर्माणका सन्दर्भमा आउने जनगुनासा कार्यालय, विभाग र  मन्त्रालय धाएर गाँठो फुकाउने जिम्मेवारी स्वकीय सचिवमार्फत गर्न सकिन्छ । मेरो जिल्ला महोत्तरीको मुख्य समस्या र प्राथमिकता भनेको शिक्षासँगै स्वास्थ्य, सिँचाइ र खानेपानी नै हो ।


कानुन निर्माणका विषयमा कोही पनि पूर्ण नहुने भएकाले विधेयकलाई समृद्ध तुल्याउने सिलसिलामा आउने रायसुझावका आधारमा सिक्ने र सिकाउने अभ्यास भइरहेको छ । त्यसमा हामी जति समय दिएर भाग लिन्छौँ, त्यति नै  छिटो गुणस्तरीय कानुन तर्जुमा गरेर निकास दिन सक्छौँ । सदनमा आवेग र उत्तेजनामा नआई शालीन, स्वाभाविक र शिष्ट ढङ्गबाटै आफ्ना भनाइ प्रस्तुत गर्न सकिन्छ भन्ने विषयमा राजनीतिक दलबाट आफ्ना सांसदलाई  शिक्षा र प्रशिक्षण दिन आवश्यक छ । प्रमुख दलबीच एकार्कालाई शत्रुका रूपमा नभई प्रतिस्पर्धीका रूपमा मात्र हेरिने प्रवृत्ति र ठूलाले शासन गर्नुपर्छ भन्ने मानसिकताले सदनमा बेलाबखत देखिँदै आएको संसदीय अनुशासन र मर्यादा विपरीतका कार्यलाई आगामी दिनमा सच्याउँदै लैजानुपर्छ ।


विसं २००७ देखिको संसदीय इतिहास हेर्दा धेरैमा देशप्रतिको माया नभई कुर्सीप्रतिको मोहले काम गरेको देखिन्छ  त्यस किसिमको सोच र व्यवहारमा व्यापक सुधारको खाँचो छ । देशमा भ्रष्टाचार बढ्नु र सुशासन कमजोर हुनुमा राजनीतिक क्षेत्र मात्र मात्र नभई कर्मचारीतन्त्र पनि त्यत्तिकै दोषी छ । विश्वविद्यालयभित्रै भ्रष्टाचारका कुरा उठ्दा त्यहाँकै पदाधिकारी र कर्मचारीलाई दोषी मान्नुप¥यो नि ! कसै न कसैका संरक्षणमा त्यस्ता गलत प्रवृत्ति मौलाइरहेको छ भन्ने मूल विषय हो । कानुनबमोजिम प्राप्त सेवासुविधा मात्रै लिएर सबैलाई बाँच्ने र बचाउने अभियानमा जुुटनुपर्छ । 


बलात्कारबाट शिशु जन्माएकी रामगोपालपुरकी युवतीलाई राज्यबाट खोइ त न्याय र संरक्षण भएको ? आवश्यकतानुरुप बनेका कानुन कार्यान्वयन गर्नाको साटो पदीय दुरुपयोग गर्दै जनतालाई तर्साउने काम पनि कतिपय जनप्रतिनिधिबाटै भइरहेको सुनेकी छु । यस्ता प्रवृत्ति पनि हामीले सच्याउनैपर्छ । जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ । संसद् र संसदीय समितिमा कानुन निर्माण र कोरम पु¥याउने मामिलामा महत्वपूर्ण योगदान दिए पनि महिला भएकै कारण सदन र सरकारमा समान अवसर र पहुँच स्थापित गर्ने मामिलामा भने विभेदको महसुस हामीले गरेका छौँ ।

स्वदेशमै पसिना बगाऔँ
 
निर्वाचनका बेला कस्तो उम्मेदवारलाई मतदान गरियो  भन्ने महत्वपूर्ण सवाल भएकाले केही व्यक्तिविशेषले गरेका बदमासीलाई लिएर सोलोडोलोमा हेरिन हुँदैन । निर्वाचनमा अवसरवादीलाई रोज्ने अनि काँडा रोपेर कमलको फूल पाइन्छ र ? कतिपय  सञ्चारमाध्यमले पनि विदेश गएपछि सबैै चीज  सजिलो र ठीकठाक हुन्छ भनी सन्देश प्रवाह गरिरहेको छ, त्यो  सबै सही होइन, त्यहाँ पनि निकै दुःख र सङ्घर्ष गर्नुपर्छ । आफ्ना देशमा कुटाकोदालो गर्न हिचकिचाउने  र अर्काका देशमा भने तल्लोस्तरको जस्तोसुकै काम गर्न तयार हुने प्रवृत्ति गलत छ । मुलुकको फितलो शिक्षा र शैक्षिक बेरोजगारीले यो समस्या निम्त्याएको हो । सुखदुःख जेजस्तो भए पनि यहीँका कलेज र विश्वविद्यालयमा अध्ययन गरौँ । आफ्नै भूमिमा खनी खोस्री गरौँ, यही भूमिलाई सिञ्चित गरौँ । आज कालो बादल भए पनि भोलि बिहान पक्कै सूर्यको  उज्यालो किरण आउने छ ।

सांसद धानुकको परिचय

नेपाली कांग्रेस नेत्री धानुक महोत्तरी निर्वाचन क्षेत्र नं ४ रामगोपालपुरका स्थायी बासिन्दा हुनुहुन्छ । नेपाल विद्यार्थी सङ्घमा रही राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा सक्रियपूर्वक संलग्न धानुकसँग महोत्तरीबाट लगातार चारपटक  पार्टी महासमिति सदस्य भई काम गरेको अनुभव छ । पहिलो संविधानसभा र विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि दलको बन्दसूचीमा उहाँको नाम समावेश थियो । नेत्री धानुक विसं २०७० को दोस्रो संविधानसभा सदस्य तथा २०७९ मा  प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।


(प्रतिनिधिसभा सदस्य धानुकसँग राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गर्नुभएको कुराकानीको सम्पादित अंशः) 

व्यक्तिगत र पार्टीगत स्वार्थभन्दामाथि उठेर देश विकासमा लाग्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दामाथि उठेर देशको विकासका लागि एकजुट भएर लाग्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा लाग्न दलका नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाल विकासका सम्भावना भएको देशको भए पनि त्यसको सही सदुपयोग हुन नसकेको गुनासो गर्नुभयो । “यसअघि भएका कमीकमजोरी सुधार्दै काम गरेर देखाउनुपर्ने बेला आएको छ । यसका लागि हामी सबै एकजुट भएर देश बनाउनेतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयोे ।

नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल पर्यटनको लागि उपयुक्त गन्तव्य भए पनि त्यसको सही सदुपयोग हुन नसकेको बताउनुभयो । मुलुकको अर्थतन्त्रको विकासका निम्ति पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेस पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पाले पछिल्लो समयमा नेपालको अर्थतन्त्रलाई हेर्दा निराश हुनुपर्ने अवस्था नरहेपनि संवेदनशील भने हुनुपर्ने टिप्पणी गर्नुभयो ।

गृह–मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा खोटाङका दुई इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध

खोटाङ, २७ पुस (रासस) : गृह–मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय एँेसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो ।

अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका छन् । एँेसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कामु शाखा अधिकृत अवधि मङ्सिर १७ गते सकिएपछि दैनिक सेवा प्रभावित भएको हो ।इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध हुँदा गाउँपालिकाका सातैवटा वडाका नागरिक डेढ महिनादेखि समस्यामा परेको गाउँपालिकाका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कबाट नागरिकता सिफारिसलगायत प्रशासनिक सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले एँेसेलुखर्क पुगेर यही पुस ४ र ५ गते सेवा प्रदान गर्नुभएको थियो ।नासु भुर्तेलको कामु अवधि सकिएकै दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई कामु अवधि सकिएको जानकारी दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको जनाइएको छ । “शाखा अधिकृतको व्यवस्था गर्न वा कामु अधिकृत नियुक्त गरिदिन पुस १६ गते पनि मन्त्रालयलाई पत्राचार गरेका थियौँ । तर हालसम्म पत्रको सुनुवाइ भएको छैन”, जिल्ला प्रशासन कार्यालका एक अधिकृतले भन्नुभयो, “गृह–मन्त्रालयले दीर्घकालीन समस्या समाधान गर्नुपर्छ । म्यादी शाखा अधिकृत अधिकृतको जिम्मेवारी दिइरहे पुनः समस्या दोहोरिरहन्छ ।”यसैगरी, गृहले इलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई छ महिनाका लागि दिएको कामु अवधि सकिएपछि नागरिकता वितरणलगायत प्रशासनिक सेवा रोकिएको छ । यसअघि शाखा अधिकृत नहुँदा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयको सेवा रोकिएको थियो ।गृहले बढीमा छ महिनाका लागि नासु राईलाई कामु मुकर्रर गरेर पत्र पठाएपछि गतसाउन २२ गतेदेखि नागरिकता वितरणलगायत सेवा सुरु गराइएको थियो । सो कामु अवधि यही पुस२० गते सकिएको जनाइएको छ ।कार्यक्रमका सिलसिलामा खोटाङ बजार पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सुनारले पुस २१ र २२ गते नागरिकता जारी गर्नुभएको थियो । खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही समस्यामा परेका छन् ।इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु काम नगरी फर्कन बाध्य भएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताउनुभयो । “पुस २४ गते इलाका प्रशासन कार्यालय खोटाङबजार पुगेको थिएँ । त्यो दिन २२ जना सेवाग्राही काम नगरी फर्कन बाध्य भएका थिए”, उहाँले भन्नुभयो, “यो म्यादी कार्यालयबाट कहिलेदेखि जनताले ढुक्कसँग सेवा लिन पाउने ? एकै दिन २२ सेवाग्राही काम नै नगरी फर्किनु परेको दुःखद खबर छ । कतिको, कति अप्ठ्यारो परिस्थिति पनि हुन्छ । ”इलाका प्रशासन कार्यालयमा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा अत्यावश्यक कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्नुपर्ने बाध्यता छ । इलाका प्रशासन कार्यालयको सेवा पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल भइरहेको खोटेहाङ गाउँपालिका प्रमुख उदिम राईले बताउनुभएको छ ।

विजय राज भुर्तेलको निर्देशनमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

काठमाण्डौं ।गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत  ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ ।

प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘  गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

एनआरएनएको ११ औं महाधिवेशन ऐतिहासिक हुन्छ – अध्यक्ष कुँवर

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बिनोद कुँवरले मार्च १६-१७, २०२४ मा हुने एनआरएनएको ११ औं महाधिवेशन भब्य र ऐतिहासिक हुने भएकाले सबै एनआरएनहरुलाइ प्रतिनिधि भएर आउन अनरोध र निमन्त्रणा गर्नुभएको छ।

मार्च २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा सम्पन्न एनआरएनएको १० औं महाधिवेशन पश्चात संघमा बिभाजन आयो। केहि ब्यक्ति र पक्ष आधिकारिक महाधिवेशन हल छोडेर टुक्रिएर अन्यत्र जानुभयो तर पनि संघ निरन्तर रुपमा अगाडी गयो। अब मार्च २०२४ मा हुने संघको ११ औं महाधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न हुँदैछ। ३ दर्जन भन्दा धेरै देशका प्रतिनिधिहरुको प्रतिनिधित्व रहने महाधिवेशनले अल्मलिएका एनआरएनएहरुमा एउटा सुनिश्चितताको मार्ग दिनेछ।

गैरआवासीय नेपाली संघमा म आफूले नेतृत्व लिंदैगर्दा संघ कठिन र असहज परिस्थितिमा थियो। संगै-हिडेका एनआरएनहरु बिचलित भएर अन्यत्र गएको स्थिति थियो। संख्यामा सानै भएपनि लगनशील र निरन्तर अगाडी जाने संघको निर्णय अनुसार नेतृत्व गर्दै अगाडी गइयो। यो अबधिमा धेरै कठिनाइ आए तर पनि हामी बिचलित भएनौं। धेरै देशमा संघ बिस्तार गर्दै गइयो, अभियान अझै निरन्तर छ। हल्ला भन्दा धेरै काम गरेका छौं अहिले हामी स्थापित भएका छौं। यसका लागि सम्पूर्ण एनआरएनहरुमा हार्दिक आभार प्रकट गर्दछु।

२०२३ को बिचमा हल्ला र वार्ताका कुरा पनि आए। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूकोमा उहाँकै अनुरोध र निर्देशन अनुसार संघलाइ एक बनाउएर एकताको ११ औं महाधिवेशन गर्ने संझौता पत्रमा हस्ताक्षर पनि गरेका थियौं। सो संझौतालाइ कार्यान्वयन गर्नका लागि हामी लागि पर्यौं। कुनै कसर बाँकी राखेनौं तर त्यसलाई अर्कोपक्षले लत्याएर गयो। हामीलाई बिथोल्ने र अल्मल्याउने काम गरे। कुनैपनि देशमा एकताको काम नै भएन, स्थान नै दिएनन, एकलौटी रुपमा उनीहरु गए।

त्यसैले, संघ एकीकरण हुन सकेन र हामीलाई अल्मल्याउने प्रयास सजिलै बुझियो। हामीले ती सबै कुराको जानकारी सहितको पत्र सम्माननिय प्रधानमन्त्रीज्यू र माननीय परराष्ट्रमन्त्रीज्यूको कार्यालयमा दर्ता गरायौं। अनि प्रतिनिधि टोलीले भेटेर पनि मौखिक रुपमा पनि अबगत गरायौं।

त्यसपश्चात हामीले केवल एउटा मात्र कुरा फोकस गर्यौं, संघलाइ सहि बाटोमा निरन्तर रुपमा अगाडी लैजान गतिबिधि तिब्र गर्ने र कानुनि बाटो अबलम्बन गर्दै जाने। ती दुवै प्रयासले हामीलाई बिस्तारै तर बलियो बनाउंदै लग्यो। अहिले आउँदा हामी अरु सबै पक्ष भन्दा बलिया र सशक्त हुँदै गएका छौं। अर्कापक्षले अक्टुवर २०२३ मा नेपालमा गरेको भनिएको भेलाले एनआरएनहरुमा विभाजन मात्र ल्याएन आम एनआरएनहरुकै बेइज्जति समेत गरायो।

संघको १० औं महाधिवेशन समयमा हुन नसकेको अनि त्यसलाई सहि मार्गमा ल्याउन संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयको लिखित निर्देशन अनुसार हामीले १० औं महाधिवेशन सम्पन्न गरेको जानकरी र संसोधित बिधान सहित निवेदन परराष्ट्र मन्त्रालयमा २०२२ मार्च मा नै दर्ता गराएका थियौं।

सो निवेदन स्वीकृति नगरिदिएकाले नेपालको सर्वोच्च अदालतमा अपिल दर्ता गराएका छौं। यसका साथै आफूहरुले आधिकारिकता दावी गर्दै अर्को छुट्टै रिट पनि दर्ता गराएका छौं। दुबैको सुनुवाई भइरहेको छ तर फैसला भएको छैन। फैसला नहुँदाको अवस्था सम्म संघका नाममा अरु कुनै पक्षले गरेका गतिबिधि सबै भविष्यमा हुने फैसला अनुसार बदर हुने हुनाले अर्को पक्षले होसियार हुनु जरुरीछ।

अर्को महत्वपूर्ण कुरा, २०१३ को अक्टुवरमा १० बर्षको लागि परराष्ट्र मन्त्रालयमा दर्ता भएको गैरआवासीय नेपाली संघ नवीकरण भएको छैन। अक्टुवर १३, २०२३ देखि यसको आधिकारिकता समाप्त भएको छ। तर हामीले म्याद समाप हुनु पहिला नै नेपालको सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको र मुद्धा विचाराधीन भएकाले हामी मात्र आधिकारिक छौं बाँकी अरु सबै अबैधानि छन्।

अब यो एकता र वार्ताका कुरा पनि यसका साथै समाप्त भएको छ। त्यसैले सबै एनआरएनहरु मार्च १६-१७, २०२४ मा हुने महाधिवेशनमा प्रतिनिधि भएर उपस्थिति हुन सबैलाई जानकारी साथ हार्दिक निमन्त्रणा गर्दछु।चुनवा मुख्य कुरा होइन, आउने नेतृत्व को हुने भन्ने कुरा पनि मुख्य होइन। त्यो त केवल महाधिवेशनको एउटा पाटो हो। महाधिवेशनमा निर्वाचन समितिले मनोनयन दर्ता खुला गरेपछि बिधानले दिएको योग्यता पुगेका जो कोहि पनि प्रतिनिधि भौति रुपमा उपस्थित भएर मनोनयन दर्ता गर्न सक्छन। प्रत्यक्ष रुपमा मतदान हुँदा जुन उम्मेदवारले बढी मत ल्याउँछ उसैलाई आधिकारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने हो। यहि बिधान हो, यहि प्रजातान्त्रिक बिधि अनि संगठनको लागि सहि मार्ग हो।

अन्तमा, गैरआवासीय नेपाली संघ हामी सम्पूर्ण गैरआवासीय नेपालीहरुको हो। यसमा तपाइँहरु सबै गैरआवासीय नेपालीहरुलाइ प्रतिनिधि भएर महाधिवेशनमा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछु। हाम्रा एनसीसीहरुमा सम्पर्क गर्नुहोस्, सदस्यता लिनुहोस्, नवीकरण गर्नुहोस र खुल्दै गरेको महाधिवेशन प्रतिनिधिको लागि नाम दर्ता गर्नुहोस।

७८ हजार उद्योगी–व्यवसायी कालोसूचीमा, ६ महिनामै २२ हजार थपिए

वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्ने भनेर व्यवसाय थालेका प्रवीण गुरुङले ऋण लिँदा धितो राखेको जमिन लिलामीमा चढेको छ। गुरुङले काठमाडौंमा कपडाको पसल सुरु गरे। व्यवसाय सुरु गरेपछि कोभिड महामारी सुरु भयो। व्यापार नभएपछि लगानी डुब्यो। ‘व्यवसाय राम्रो नहुँदा बैंक ऋणको साँवा–ब्याज तिर्न सकिनँ,’ गुरुङले भने, ‘ऋण व्यवस्थापन गर्न नसकेपछि बैंकले धितो लिलामी निकालेको छ।’

कोभिड महामारीपछि मुलुकको अर्थतन्त्रमा परेको असरले उद्योगी–व्यवसायी समस्यामा परेका छन्। व्यावसायिक वातावरण बिग्रिँदा गुरुङजस्ता धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेपछि कत्तिको धितो लिलामीमा परेको छ भने हजारौं कालोसूचीमा परेका छन्।मुलुकको अर्थतन्त्र शिथिल हुँदा त्यसको असर व्यापार–व्यवसायमा परेको हो। बजारमा अपेक्षित माग सिर्जना हुन नसक्दा अर्थतन्त्रमा सुस्तता देखिएको हो। आर्थिक शिथिलता आउँदा उद्योगी व्यवसायी कालोसूचीमा पर्ने क्रम बढेको छ। ऋणीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर तथा चेक बाउन्सका कारण कालोसूचीमा पर्नेको संख्या दिनानुदिन बढिरहेको छ।कोभिडपछि कालोसूचीमा पर्नेको संख्या बर्सेनि दोब्बर हुँदै गएको कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले बताए। कुँवरका अनुसार चालु आर्थिक वर्षको साउनयता कालोसूचीमा पर्नेको संख्या २२ हजार थपिएको छ। केन्द्रका अनुसार बिहीबाहरसम्म ७८ हजार ५९८ जना कालोसूचीमा परेका छन्।दैनिक डेढ सय जना कालोसूचीमा परिरहेको प्रवक्ता कुँवरले बताए। गत आर्थिक वर्ष २०७९र८० मा ३४ हजार कालोसूचीमा परेका थिए। आव २०७८र७९ मा १५ हजार ९९५, आव २०७७र७८ मा ६ हजार ५१४ जना कालोसूचीमा परेका थिए । त्यसैगरी आव २०७६र७७ मा ४ हजार ६२० जना र २०७५र७६ मा २ हजार ५३७ कालोसूचीमा परेका थिए ।ऋणीले बैंक तथा वित्तीय संस्थाबाट लिएको सावाँ–ब्याज तिर्न नसक्दा तथा भुक्तानी गर्नुपर्नेलाई दिएको चेकको खातामा पर्याप्त रकम नहुँदा चेक बाउन्स भएपछि कालोसूचीमा पर्छन्। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको व्यक्तिले नौ महिनासम्म नियमानुसार ऋणको ब्याज तिरेन भने सम्बन्धित संस्थाको सिफारिसमा कालोसूचीमा राख्ने गरेको केन्द्रले जनाएको छ। कसैलाई दिएको चेक तीनपटकसम्म बाउन्स भएको भने उजुरीका आधारमा र बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कालोसूचीमा राखिन्छ।मुलुकको व्यावसायिक वातावरण नसुध्रिँदा कालोसूची र लिलामी बढिरहेको बैंकरहरू बताउँछन्। एकै दिन इटहरीदेखि मार्तडीसम्मका करिब एक सयवटा लिलामीको सूचनामा आफूले हस्ताक्षर गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अशोक शेरचनले बताए। ‘लिलामी र कालोसूचीमा पर्ने उद्योगी, व्यवसायीको संख्या निकै बढिरहेको छ,’ शेरचनले भने, ‘व्यापार, व्यवसाय खस्किँदा समस्या सिर्जना भयो।’व्यापार–व्यवसाय खस्केको र उद्योगहरू क्षमतामा चल्न नसकेको हुँदा लिलामी र कालोसूची बढेको उनले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

वर्षाका कारण श्रीलङ्कामा १५ हजार परिवार विस्थापित

श्रीलङ्कामा हालैका दिनहरूमा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिङ्घेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित भएका छन् ।

अम्पाराका जिल्ला सेक्रेटरी चिन्थका अबेविक्रमले सबैभन्दा बढी प्रभावितलाई घर बनाउन आठवटा राहत शिविर स्थापना गरेको बताउनु भएको छ । रणसिंहेले वर्तमान प्रतिकूल मौसमले उत्तर मध्य, उत्तरी र पूर्वी प्रदेशमा बढी असर गरेको बताउनु भएको छ

सिँचाइ विभागले राखेका ठूला ट्याङ्कीको पानीको स्तर ९५ प्रतिशत रहेको र सिलोन विद्युत बोर्ड र महावेली प्राधिकरणले व्यवस्थापन गरेका ट्याङ्कीमा पानीको सतह करिब ९७ प्रतिशत रहेको उहाँले बताउनु भएको छ।यसैबीच, देशको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि पानी पर्ने क्रम कम हुने जनाएको छ ।

बोत्सवानामा १६६ क्यारेटको हिरा फेला

हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमण्डले बुधबार बोत्स्वानाको कारोव खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ । क्यानाडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज हो।

कम्पनीले सन् २०१२ मा खानी अन्वेषण शुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८ औँ बहुमूल्य रत्न हो।

लुकारा डायमण्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर-मध्य बोत्सवानामा रहेको कारोवे डायमण्ड माइनको एकल प्रभुत्वको कम्पनी हो।

हेर्नुहोस् आज पुष २७ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष राशि – पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि – शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि – जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि – आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि – पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि – आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि – आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि – परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि – शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि – यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

लेखनाथ (कास्की)- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गत महिना प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले आफ्नो अध्ययन प्रतिवेदन आज मुख्यमन्त्री पाण्डेलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

उक्त प्रतिवेदन बुझ्दै मुख्यमन्त्री पाण्डेले प्रतिवेदनले औँल्याएका कुरालाई आधार मान्दै पोखरालाई यथाशीघ्र पर्यटकीय राजधानी घोषणा गरिने बताउनुभयो । “पोखरा महानगरपालिकालगायत यहाँका अन्य पालिकासँगको सहकार्यमा पोखरालाई पर्यटकीय घोषणा गर्ने तयारीमा प्रदेश सरकार रहेको छ”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएकाले प्रदेश सरकारले थप पहल गरेको हो ।”नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधिकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति काम सुरु गरेको हो । समितिले पेस गरेको प्रतिवेदनमा यहाँको पर्यटकीय अवस्थाका बारेमा अध्ययन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रयाप्त मापदण्ड पुगेको उल्लेख छ ।पर्यटन विज्ञसहितको उक्त समितिले पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र सङ्घ सरकारसँगको समन्वयलगायत कार्यादेश तोकिएको थियो । पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वषौँ भइसकेको छ । पर्यटकीय गतिविधि, सहज पहुँच, सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधार मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ वासु त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जीजम्प, केबलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पर्यटकीय गतिविधि पोखरामा हुने गर्दछन् ।“फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् । प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि यहाँ धेरै सम्भावना छन् । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पर्यटक लोभ्याउने गर्दछ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ”, त्रिपाठीले भन्नुभयो ।पर्यटकका लागि पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहजरुपमा पोखरा आवतजावत गर्न सकिने सुविधा छ । पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा यहाँ उपलब्ध छ । 

उपराष्ट्रपति यादवद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना

काठमाडौँ, २७ पुस : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा रुपान्तरण गर्न सके मात्र विविधताले सकारात्मक परिणाम दिनसक्ने उल्लेख गर्नुभएको छ ।

“हाम्रो संविधानले यही विविधतालाई सकारात्मक परिणाममुखी बनाउन धर्म निरपेक्षता, समावेशीता र समानताको सिद्धान्तलाई अङ्गीकार गरेको छ, संविधानको यो मर्मलाई सम्पूर्ण नेपाली नागरिकले सर्वोपरि ठान्दै राष्ट्रिय एकतालाई बलियो, एक ढिक्का र बनाउनमा हामी एकजूट भई लाग्नुपर्छ” उहाँले भन्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा भौगोलिक विविधताप्रति सद्भाव राख्दै सिङ्गो मुलुकको हित र सम्पूर्ण नेपालीको एकताप्रति समर्पित हुने दिनका रुपमा राष्ट्रिय दिवस मनाउन सके हाम्रो मौलिक पहिचान ः ‘विविधता एकता’ को पृष्ठपोषण मात्र हुँदैन, हाम्रो विविधतायुक्त संस्कृति, पहिचान, परम्परालाई एकीकृत र एकाकार गर्दै अन्ततः नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन सघाउ पुग्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
 

स्थानीय तहमा योजना,कतै खातैखात कतै शून्य

काठमाडौँ । सङ्घ र प्रदेश सरकारको पहुँच पुगेका स्थानीय तहमा योजनाको खातैखात छन् भने पहुँच नपुगेका स्थानीय तहले योजनाको अभाव झेल्दै आएका छन् । सङ्घ र प्रदेश सरकारमा पहुँच पुगेका स्थानीय तहमा तीनै तहका विकासका योजना सञ्चालन भएका छन् । पहुँचविहीन स्थानीय तहमा भने योजनाको अभावमा विकासका काम अधुरा र अलपत्र पर्दै आएका छन् । कतिपय स्थानीय तहमा विकास निर्माणका काममा साधनस्रोत छरिँदा सरकारको लगानी बालुवामा पानी जस्तै भएका छन् ।

स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले व्यवस्थित विकास नीतिको अभावमा स्थानीय तहमा कतै योजनाको खातैखात र कतै योजनाको अभाव भइरहेको बताए ।

उनका अनुसार अहिले तीनै तहका योजना मागका आधारमा नभई नेतृत्वको पहुँचका आधारमा कार्यान्वयन हुने हुँदा भौतिक पूर्वाधार विकासको काम उपलब्धिमूलक हुन सकेको छैन । स्थानीय तहले न्यूनतम पाँचदेखि १० वर्षे एकीकृत विकासको आवधिक योजना बनाई स्रोतसाधनलाई एउटै बास्केटमा हाली आवश्यकताका आधारमा योजना कार्यान्वयन गर्नुपर्नेमा अधिकांश स्थानीय तहले आफूखुसी योजना कार्यान्वयन गर्दै आएका छन् ।

उनले भने, “अहिले स्थानीय तहका जनप्रतिनिधिमा क्षमता विकासको अभावमा कामप्रति उत्साह नै छैन । अधिकांश जनप्रतिनिधि विभिन्न प्रलोभनको पछाडि लाग्ने गरेका छन् ।”
अर्का स्थानीय शासनविज्ञ डा। शेषरमण न्यौपानेले स्थानीय तहमा व्यवस्थित र योजनाबद्ध विकासका अभावमा कतै योजना धेरै भएर कामै हुन नसकेको त कतै योजना नै नपर्ने गरिएको बताए ।

उनले हरेक क्षेत्रमा अन्तरपालिकास्तरीय क्लस्टर निर्माण गरी सो क्लस्टरमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहका भौतिक पूर्वाधार निर्माणको बजेटलाई एकीकृत गर्ने, उक्त क्लस्टरमा निर्माण गर्नुपर्ने विद्यालय, खानेपानी, पुल सडक, सामुदायिक भवनलगायतका भौतिक पूर्वाधारको व्रmमिक रूपमा आवश्यकताका आधारमा निर्माण गर्दै जाँदा समानुपातिक रूपमा विकास गर्न सकिने सुझाव दिए ।

स्थानीय शासनविज्ञ डा. न्यौपानेले भने, “स्थानीय तहले आवधिक र वार्षिक योजनालाई एकीकृत गरी बजेट निर्माण नगर्दा विकासका योजना छरिएका हुन् । बजेट एकीकृत गरी योजनाबद्ध विकास गर्ने हो भने छोटो समयमै विकासका धेरै काम गर्न सकिन्छ ।”

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सबै स्थानीय तहमा आवधिक योजनासहितको व्यवस्थित विकास निर्माणको काम हुन नसकेको स्वीकार गरे । पहुँच धेरै भएका स्थानमा स्वाभाविक रूपमा तीनै तहका योजना कार्यान्वयन भएको तर पहुँचविहीन स्थानीय तह योजना कार्यान्वयनको प्रतीक्षामा छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

विद्युत् महसुल विवाद समाधान गर्न सरकारले गठन गरेको छानबिन समितिको नियतमाथि नै शंका

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवाद समाधान गर्न सरकारले गठन गरेको छानबिन समिति सुरुमै विवादमा परेको छ । मन्त्रिपरिषद्को २४ पुसको बैठकले छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवलाई सदस्य तोकिएको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी थिइन् । त्यो समाचार सरकारी मुखपत्र गोरखापत्र दैनिकले बुधबारको आफ्नो अंकमा गोपालचन्द्र सुवेदीको बाइलाइनमा छापेको थियो ।

तर, हाल आएर डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुलको सम्बन्धमा देखापरेको समस्याको छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सदस्य रहनेगरी एक समिति गठन गर्ने भनिएको छ ।

स्रोतका अनुसार सुरुमा गठन गरिएको समितिका सहसचिवहरूले बस्न नमानेपछि सहसचिवका ठाउँमा दुवै मन्त्रालयका सचिव नाम राखेर मन्त्रिपरिषद्को निर्णय संशोधनपछि सार्वजनिक गरिएको हो ।

तर, रमाइलो कुरो के छ भने अघिल्लो दिन सरकारकी प्रवक्ता शर्माले दिएको जानकारी सच्याइएको पनि छैन र सरकारी मुखपत्र गोरखापत्रले छापेको समाचारको भूल सुधार भएको पनि छैन । सरकारले सुटुक्क मन्त्रिपरिषद्को निर्णय संशोधन गरेर सार्वजनिक गरेको देखिएको छ ।

सो समिति नियम, कानुन र संविधान मिचेर सरकारले केही दूरनियतपूर्ण निक्र्यौल निकाल्न गठन गरेको हो भन्ने गाइँगुइँ चलेपछि ऊर्जा र उद्योग मन्त्रालयका सहसचिवहरूले त्यस लफडामा पर्न नचाहेको र आफूहरू पनि चूडामणि शर्माजस्तै गरी फस्न नचाहेको हुँदा समितिमा बस्न अस्वीकार गरेको बुझिएको छ । त्यसैकारण मन्त्रिपरिषद्को निर्णयमा सहसचिवको साटो सचिव राख्नेगरी सच्याइएको चर्चा चलेको छ ।

यसरी मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेपछि त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा चलाउन नपाउने व्यवस्था रहेको छ र त्यही व्यवस्थालाई दुरुपयोग गर्न सरकारले विद्युत् प्राधिकरणले उठाउनुपर्ने तर नउठाएको रकम मिनाहा दिएर आफूअनुकूल परिणाम निकाल्न छानबिन आयोग गठन गरेको अनुमान हुनथाल्यो । यो समाचार राजधानी दैनिकमा छ ।

एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताउनुभएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले शाहले सुरु गर्नुभएको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गर्नुभएको छ ।

“हामी नेपाली कहिल्यै कसैको अधीनमा नपरेको राष्ट्रका नागरिक हुनुमा गौरवान्वित हुन सकेका छौं । एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न हामी सफल भएका छौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले एकीकृत र अखण्ड नेपाल निर्माण तथा स्वाधीनता रक्षाका लागि जीवन उत्सर्ग गर्ने वीर पूर्खाप्रति सम्मान प्रकट गर्नुभएको छ । पृथ्वीनारायण शाहले सुरु गर्नुभएको भौगोलिक एकीकरणको अभियानलाई अझ विस्तृत र व्यापक बनाई नेपाली जनताको भावनात्मक एकीकरणमार्फत मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत त्यसबाट तयार भएको उहाँको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मुलुकलाई स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र भएको राष्ट्र निर्माण गर्ने अभिभारा हाम्रो भएको उल्लेख गर्नुभएको छ । “यस युगीन दायित्वलाई व्यवहारमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई निरन्तर बलियो बनाई जनताको सुख र समृद्धि हासिल गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, जारी शुभकामना सन्देशमा भनिएको छ ।

बागमती प्रदेशका सबै कच्ची सडकमा तीन वर्षभित्र कालोपत्र गरिन्छ : मुख्यमन्त्री जम्कट्टेल

मन्थली (रामेछाप)-बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशका सबै कच्ची सडकमा तीन वर्षभित्र कालोपत्र भइसक्ने बताउनुभएको छ ।

मन्थलीमा बिहीबार रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बृहत रामेछाप महोत्सव–२०८० को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सबै सडकमा कालोपत्र भइसक्ने बताउनुभएको हो । उहाँले आगामी दिनमा रु ५० लाखभन्दा कम बजेटका योजना स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अख्तियारी दिने तयारी पनि भएको पनि बताउनुभयो । बागमती प्रदेशले उद्योग ग्राम बनाउने नीति लिएको र आगामी माघदेखि सोको कार्यान्वयन सुरु हुने बताउनुभयो ।

त्यस अवसरमा प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेशका अधिकांश जिल्लामा उद्योग व्यापारसहित पर्यटन समेतको प्रवर्द्धनका लागि मन्त्रालय लागेको बताउनुभयो । एघार दिनसम्म चल्ने महोत्सवमा एक सय ५० प्रदर्शनी कक्ष छन् ।

पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति पौडेल

काठमाडौँ, २६ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताउनुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिनुहुँदै उहाँले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गर्नुभएको छ ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

“पृथ्वीनारायण शाहले स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ”, राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ, “यही आधारभूमिमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा पाएका छौँ । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले विर्सन हुँदैन ।”

राष्ट्रपति पौडेलले राष्ट्रिय एकता दिवसले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौँ, २७ पुस : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ ।

सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो ।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मनुभएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो । उहाँले आफ्नो शासनकालमा दिनुभएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिनुभएको थियो ।

पछिल्ला वर्षमा उहाँको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुन ः सुरु गरेको छ । उहाँको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट महानुभावले शुभकामना सन्देश दिनुभएको छ ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । राष्ट्रनिर्माताले त्यसबेला दिनुभएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । उहाँको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको हो ।
 

शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा

काठमाडौँ, २६ पुस : मुलुकबाट बाहिरने भन्दा भित्रने मुद्राको मात्रामा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति रू दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू ४५ अर्ब ८६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा छ ।

समीक्षा अवधिमा चालु खाता रू एक खर्ब ४० अर्ब २३ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ४१ अर्ब २१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले कमी आई रू दुई अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू तीन अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू तीन अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ६० करोड ४९ लाखले धनात्मक रहेको थियो ।

वैदेशिक व्यापारतर्फ चालु आवको पाँच महिनामा कुल वस्तु निर्यात छ दशमलव एक प्रतिशतले कमी आई रू ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४ दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११ दशमलव तीन प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय २२ दशमलव तीन प्रतिशत र दुई दशमलव तीन प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाकलगायतका वस्तुको निर्यात बढेको छ । त्यस्तै, पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैँचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आवको पाँच महिनामा कूल वस्तु आयात तीन दशमलव चार प्रतिशतले कमी आई रू छ खर्ब ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २० दशमलव सात प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः एक दशमलव तीन प्रतिशत र २८ दशमलव चार प्रतिशतले घटेको छ ।

चीनबाट भएको आयात ३२ दशमलव आठ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । चालु आवको पाँच महिनामा कूल वस्तु व्यापार घाटा तीन दशमलव एक प्रतिशतले कमी आई रू पाँच खर्ब ७९ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८ दशमलव आठ प्रतिशतले घटेको थियो ।

उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद् : सभामुख घिमिरे

गण्डकी, २६ पुसः सभामुख देवराज घिमिरेले उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन नसक्नु दुःखद् भएको बताउनुुभएको छ ।

युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा आजदेखि सुरु बाह्रौँ संस्करणको पोखरा महोत्सवको उद्घाटनका क्रममा सभामुख घिमिरेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जतिसक्दो चाँडो नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।सभामुख घिमिरेले युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

सेती नदीलाई पर्यटनसँग जोड्न तीनवटै तहका सरकारको सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो । गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले युनाइटेड क्लबले सामाजिक काममार्फत जनतालाई सहयोग गरेकोमा प्रशंसा गर्नुभयो ।

संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाको उम्मेदवारी :महामन्त्री शर्मा

बनियानी (झापा), २६ पुस : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य पदका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयनका लागि भएको बताउनुभएको छ ।

बिर्तामोडमा आज सत्ता गठबन्धन दलको अन्तरक्रियामा महामन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाले उम्मेदवारी दिनुभएको बताउनुभयो ।

आगामी माघ ११ गते हुने तय भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश–१ बाट उम्मेदवार बन्नुभएका सिटौलाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजकका रुपमा संविधान निर्माणमा महत्वपूर्ण काम गर्नुभएको बताउनुभयो । “उम्मेदवार छनोटका लागि कांग्रेस केन्द्रीय समितिमा छलफल र बहस भएको छ ।

यस विषयमा पार्टीमा मतभेद छैन”, उहाँले भन्नुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेद्वार बन्नुभएका चम्पादेवी कार्कीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

वीरगञ्ज नाकामा भेटिए नयाँ कोरोना सङ्क्रमित

पोखरीया (पर्सा), २६ पुस : वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ । उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिनुभयो ।

प्रयोगशाला प्राविधिक साहका अनुसार आज एक जना नेपाली र बुधबार एक जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण भेटिएको हो । नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब एक सयभन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो ।कोरोना सङ्क्रमण पुष्टि दुवै जना कोलकत्ताबाट रेलको यात्रा गरी आएका थिए । नेपाली नागरिकलाई वीरगञ्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने भारतीय नागरिकलाई बुधबार नै भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।उनीहरुमा लिइएको नमुना जिन सिक्वेन्सीङका लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताउनुभयो । हाल सो हेल्थ डेस्कमा दैनिक दुई सयदेखि दुई सय ५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिेजन परीक्षण हभइरहेको छ ।

फिनल्यान्डले रुसबाट आप्रवासीहरूको आवागमन बढ्न थालेपछि बन्द गरेको सीमा बन्दको अवधि बढायो

फिनल्यान्ड सरकारले रुससँगको आफ्नो सीमा बन्दको अवधिलाई बढाएको बिहीबार बताएको छ । फिनल्यान्डले रुसबाट आप्रवासीहरूको आवागमन बढ्न थालेपछि सीमा बन्द गरेको थियो । हेलसिन्कीले आप्रवासीहरूको बढ्दो आवागमनलाई रुसी हाइब्रिड हमला भनेको छ ।

नर्डिक मुलुक फिनल्यान्डले अगस्टपछि आफ्नो पूर्वी सीमा नाकाबाट करिब एक हजार आप्रवासीहरू बिना भिसा आएपछि डिसेम्बर मध्यसम्मका लागि सीमा बन्द गरेको थियो ।सरकारले विज्ञप्तिमा भनेको छ, “फिनल्यान्ड र रुसबिच भूमि सीमामा सीमा पार गर्ने विन्दुहरू सन् २०२४ फेब्रुअरी ११ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।” फिनल्यान्डले रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्दछ ।“अधिकारीहरूले सङ्कलन गरेको जानकारीका आधारमा हामीले पहिला देखेजस्तै रुसको हाइब्रिड प्रभाव गतिविधिहरू पुनः सुरु हुने र विस्तार हुने अत्यन्त धेरै सम्भावना छ”, आन्तरिकमन्त्री मारी रन्तानेनले भन्नुभयो, “त्यसैले हामी पूर्वी सीमा बन्द राख्न आवश्यक ठान्छौँ ।”युक्रेनमाथि आक्रमणपछि फिनल्यान्डसँग उसको पूर्वी छिमेकी मुलुकको सम्बन्ध चिसिएको छ । अप्रिलमा फिनल्यान्ड नाटोमा सामेल भएपछि मस्कोले सैन्य असंलग्नताको आफ्नो दशकौँ पुरानो नीतिलाई उल्ट्याउँदै ‘जवाफी कदम’ उठाउने चेतावनी दिएको छ ।फिनल्यान्डले नोभेम्बरको अन्त्यसम्म बाँकी चार सीमा बन्द गर्नुअघि सोही महिनामा रुससँगको आफ्नो आठ सीमामध्ये चारलाई बन्द गरेको थियो । यद्यपि हेलसिन्कीले त्यतिबेला आंशिकरूपमा बन्दलाई खुकुलो पारेको भए पनि डिसेम्बर १४ मा पूरै सीमालाई एकपटक पुनः बन्द गरेको छ ।बिहीबार सरकारले दोहोर्याउँदै भनेको छ, “रुसी अधिकारी वा अन्य कलाकारले साधनयुक्त बसाइँसराइलाई सहयोग गरिरहेका छन् भन्ने स्पष्ट छ ।” सरकारले यसलाई फिनल्यान्डको राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थाका लागि गम्भीर खतरा भनेको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गर्नुभएको छ । क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उहाँले बताउनुभयो । “युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन”, इस्टोनिया भ्रमणका क्रममा उहाँले भन्नुभयो, “युद्धविराम रुसको हातमा हुनेछ, युद्धविरामले पछि हामीलाई कुल्चन सक्नेछ ।”

सन् २०२२ फेब्रुअरीमा रुसको पूर्णस्तरको आक्रमणपछि कहिलेकाहीँ सीमित युद्धविरामको प्रस्ताव गरिएको छ तर कहिले पनि यसलाई लागु गरिएको छैन । बाइस महिनाको युद्धपछि र लामो सङ्घर्षको सम्भावनाका साथ दुवै पक्षले आफ्ना हतियार पुनः बढाउन सङ्घर्ष गरिरहेका छन् । करिब एक हजार पाँच सय किलोमिटरको फ्रन्ट लाइन अधिकांश चिसो मौसमका साथ स्थिर रहन्छ । यस्तो अवस्थामा लामो दूरीको हमलालाई सक्षम बनाउन दुवै पक्षलाई तोपखाना गोला, मिसाइल र ड्रोनको आवश्यकता पर्छ । मस्कोले कथितरूपमा उत्तर कोरियाबाट तोपखाना गोला र मिसाइल तथा इरानबाट ड्रोन किनिरहेको जेलेन्स्कीले बताउनुभयो ।रुस–युक्रेन युद्धमा युक्रेनको कट्टर समर्थकमध्येको बाल्टिक मुलुकहरूको दुई दिने भ्रमणका रूपमा जेलेन्स्की इस्टोनियाको राजधानी टालिनमा हुनुहन्थ्यो । आफ्ना पश्चिमी सहयोगीहरूबाट पहिला नै अर्बौं डलरको सैन्य सहायता प्राप्त गरेपछि युक्रेनी राष्ट्रपतिले आफ्नो मुलुकलाई थप समर्थन प्रदान गर्नका लागि सहयोगीहरूमाथि दबाब दिइरहनुभएको छ ।“युक्रेनलाई थप आवश्यकता छ, उसलाई राम्रा हतियारको आवश्यकता छ”, इस्टोनियाली राष्ट्रपति अलार कारिसले राष्ट्रपति भवनमा जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, “युक्रेनले आफूलाई चाहिने कुराहरू प्राप्त गर्न सकोस् भनेर हामीले सैन्य उत्पादन क्षमतालाई बढाउन आवश्यक छ र यो भोलि होइन उसले आजै पाउनुपर्छ ।”कारिसले युरोपेली युनियन (इयु) का मुलुकहरूले अहिलेसम्म युक्रेनलाई ८५ अर्ब युरो (९३ अर्ब अमेरिकी डलर) सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । यद्यपि समर्थनको गति सुस्त हुँदा आफ्नो ठूलो छिमेकीविरुद्ध एक्लै उभिन गार्हो हुने भएकाले युक्रेनीहरू चिन्तित छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले किएभलाई ६० अर्ब डलरको नयाँ अनुदान पठाउने योजना कांग्रेसमा अड्किएको छ । मार्चमा १२ महिनाभित्र १० लाख तोपखाना गोला उपलब्ध गराउने युरोपको प्रतिज्ञा पूरा भएको छैन । अहिलेसम्म तीन लाख गोला मात्र वितरण गरिएको छ ।युक्रेनलाई विशेषगरी रुसी हवाई आक्रमणबाट बचाउनका लागि हवाई रक्षा प्रणालीको आवश्यकता रहेको जेलेन्स्कीले बताउनुभएको छ । जेलेन्स्कीका अनुसार रुसले बारम्बार युक्रेनी क्षेत्रमा नागरिकहरूमाथि हवाई आक्रण गरिरहेको छ तर मस्कोका अधिकारीहरूले उनीहरूको लक्ष्य केवल सैन्य लक्ष्यलाई निशाना बनाउनु रहेको बताएका छन् ।किएभमा अधिकारीहरूका अनुसार हालै ठूलो स्तरमा रुसी ब्यारेजबाट डिसेम्बर २९ र जनवरी २ का बिचमा पाँच सयभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरिएको थियो । युक्रेनको हवाई रक्षा स्रोतहरूको प्रयोग भइरहेको भन्दै अधिकारीहरूले भविष्यमा हतियारहरूको आपूर्ति सुरक्षित नगरेसम्म मुलुक असुरक्षित बन्ने बताएका छन् ।जेलेन्स्कीले बुधबार लिथुआनियाबाट थप समर्थनको प्रतिज्ञा हासिल गर्नुभएको थियो । उहाँ इस्टोनियापछि लाट्भिया जाँदै हुनुहुन्छ । साना पूर्वी युरोपेली मुलुकहरू युक्रेनका कट्टर राजनीतिक, वित्तीय र सैन्य समर्थकहरू हुन् । बाल्टिकका केही मानिसलाई उनीहरू मस्कोको अर्को निशाना बन्न सक्ने चिन्ता छ ।दोस्रो विश्वयुद्धका क्रममा जोसेफ स्टालिनले तीनै मुलुकमाथि कब्जा गर्नुभएको थियो र सन् १९९१ मा सोभियत सङ्घ विघटन भएसँगै पुनः उनीहरू स्वतन्त्र भएका हुन् । उनीहरू सन् २००४ मा नाटोमा समावेश भए र स्वयंलाई अमेरिका र उसको पश्चिमी सहयोगीहरूको सैन्य सुरुक्षामा राखेका छन् ।

केही महिनाअघि मात्रै कतारबाट रुस पुगेर सेनामा भर्ती भएका थिए सोनु

खलङ्गा (प्युठान), २६ पुस : रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।

मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताउनुभयो । नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिइने थापाले बताउनुभयो ।

छिमेकी थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको राससलाई बताउनुभयो । उहाँका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए ।

पोखरामा टाइगर कप भलिबलको तयारी

कास्की, १३ पुस : गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आगामी माघ १ देखि ६ गतेसम्म चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ ।

खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको तयारी सुरु भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनसहित पोखरालाई खेलकुद सहरमा विकास गर्न प्रतियोगिता गरिने आयोजकको भनाइ छ ।

प्रतियोगितामा पुरुष तथा महिलाका छ÷छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता खेल्न पहिलो पटक भारतको हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आउने छ । महिलातर्फ चन्द्रागिरी नगरपालिका, न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश तथा तीन विभागीय टोली नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

पुरुषतर्फ श्रीलङ्काको आर्मी टोलीले पहिलो पटक सहभागिता जनाउने भएको छ । पुरुषतर्फ तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब तथा आयोजक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अध्यक्ष शर्माले यसवर्ष पुरस्कार राशीमा वृद्धि गरिएको जानकारी दिनुभयो । विजेता महिला तथा पुरुष टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल साथमा प्रमाणपत्र प्रदान गरिने छ । विजेता टोलीको पुरस्कारमा अघिल्लो वर्षको तुलनामा रु ५० हजार बढाइएको हो । यसैगरी उपविजेता पुरुष तथा महिलाको टोलीले रु दुई लाख ५५ हजार पाँच सय ५५ का दरले र तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुषले जनही रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो ।

१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौँ, २६ पुस : मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति रहेकामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १३ दशमलव छ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १५ दशमलब छ प्रतिशतले वृद्धि भई रु १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मङ्सिर मसान्तमा आठ दशमलब नौ प्रतिशतले वृद्घि भई रु दुई खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव छ प्रतिशत छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलब एक महिनाको वस्तु आयात र ११ दशमलव आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । —

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले मुआब्जा वितरण गर्दै

मान्म (कालीकोट) २६ पुस : कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गर्ने भएको छ ।

आयोजना क्षेत्रमा पर्ने घरटहरा तथा गोठको क्षतिपूर्ति दिइने भएको हो । जिल्ला प्रशासन कार्यालयले घरटहरा तथा गोठको क्षतिपूर्तिका लागि सूचना निकालेर १५ दिनभित्र मुआब्जाका लागि सम्पर्क गर्न भनेको हो । आयोजनाबाट प्रभावित हुने कालीकोटका रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिका बासिन्दालाई घरटहरा, गोठ तथा अन्य क्षतिपूर्ति बापत मुआब्जा दिन लागिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो ।

“अहिले प्रभावित क्षेत्रका चार सय ८० जनाका घरटहरा, गोठलगायतको भौतिक संरचनाको मुआब्जाका लागि सूचना निकालेका छौँ”, उहाँले भन्नुभयो, “पन्ध्र दिनभित्र आफूले भोगचलन गरेको संरचनाको जग्गाधनी तथा घर धनी नागरिकता र जग्गाको पूर्जाको प्रतिलिपीसहित निवेदन दिन आह्वान गरेको छौँ ।”

तत्काल घरटहरा तथा गोठको क्षतिपूर्ति सान्नी त्रिवेणी वडा नं १, २, ३ र ४, रास्कोट वडा नं ६, ७, ८ र ९ तथा पचाल झरनाका वडा नं. १, २, ८ र ९ मा रहेका संरचनाको मुआब्जा दिइने प्रमुख जिल्ला अधिकारी नेपालीले जानकारी दिनुभयो । “छुटफुट र त्रुटि भएमा आयोजना फिल्ड कार्यालय मान्म र रकुमा निवेदन दिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीले सरकारी मूल्याङ्कनअनुसार मुआब्जा दिने निर्णय गरेका छौँ ।”

सघन शहरी भवन डिभिजन कार्यालय जुम्लाले गरेको मूल्याङ्नअनुसार नै घरटहरा, गोठ तथा अन्य क्षतिपूर्तिवापत मुआब्जा दिन लागिएको आयोजनाका प्रमुख इञ्जिनीयर डम्बर उप्रेतीले बताउनुभयो । “अहिले रु १३ करोड ६३ लाख मुआब्जामा जान्छ”, उहाँले भन्नुभयो, “छुटफुट भएमा त्यसको लागत पनि बढ्न सक्छ ।”

आयोजनाका लागि जम्मा छ सय ४६ मिटर लामो परीक्षण सुरुङ खन्नुपर्नेमा त्यो काम सकिएको उप्रेतीले बताउनुभयो । सरकारले चार सय ८० मेगावाटको फुकोट कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने र ४९ प्रतिशत सेयर नेपालको रहने निर्णय गरिसकेको छ ।

पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड विप्रेषण भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ । शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलल ९५ प्रतिशत छ । यस अवधिमा आयात तीन दशमलव चार, निर्यात छ दशमलव एक र कूल वस्तु व्यापार घाटा तीन दशमलव एक प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ ।

यस अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव १ महिनाको वस्तु आयात र ११ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

पाँच महिनामा नेपाल सरकारको खर्च चार खर्ब ५३ अर्ब र राजस्व परिचालन तीन अर्ब ६३ अर्ब ४३ करोड छ । यस अवधिमा विस्तृत मुद्राप्रदाय चार दशमलव प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४ दशमलव ४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन चार दशमलव छ प्रतिशत अर्थात् दुई खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ । यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब १० अर्ब ६ करोडले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलब पाँच प्रतिशत छ ।

१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति रहेकामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १३ दशमलव ६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १५ दशमलब छ प्रतिशतले वृद्धि भई १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मङ्सिर मसान्तमा आठ दशमलब नौ प्रतिशतले वृद्घि भई दुई खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव छ प्रतिशत छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलब एक महिनाको वस्तु आयात र ११ दशमलव आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड विप्रेषण भित्रियो

चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाह २७ दशमलव छ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख चार हजार ३७ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः दुई लाख ३६ हजार सात सय ७९ र एक लाख १५ हजार नौ सय ४८ थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव तीन प्रतिशतले वृद्धि भई रु छ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव छ प्रतिशतले बढेको थियो ।