`

यस वर्ष मुस्ताङमा आलु उत्पादन घट्यो

म्याग्दी, २८ पुस : मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताउनुभयो ।

केन्द्रका अनुसार गत वर्ष नौ हजार छ सय तीन मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष छ हजार तीन सय ६३ मेट्रिक टन आलु उत्पादन भएको छ । “यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन”, प्रमुख बस्ताकोटीले भन्नुभयो, “डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो ।”

स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो । चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याउने गरिन्छ । गत वर्ष प्रतिहेक्टर ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएकामा यस वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ । मुस्ताङको तीन सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसपालि आलुखेती हुने क्षेत्रफल तीन हेक्टरले भएको थियो ।

मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा खपत हुने गरेको छ । केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भइ बाँकी ७० प्रतिशत निकासा हुन्छ । आलु प्रतिकिलो सरदर रु ५० का दरले बिक्री हुन्छ ।

यहाँ गत वर्ष रु ४८ करोड नौ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपाली रु ३१ करोड ८१ लाख बराबरको मात्रै भएको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग रहेको किसान रोशन थकालीको भनाइ छ ।

“प्रतिपाथी रु एक सय ५० का दरले आलु बिक्री हुने गरेको छ”, किसान थकालीले भन्नुभयो, “एक पाथीमा करिब तीन केजी आलु हुन्छ ।” बारीमा नखन्दै व्यापारीले अग्रिम पैसा दिएर आलु खरिद गर्छन् । मुस्ताङ घुम्न जानेहरूले पनि कोसेलीका रूपमा आलु किनेर लैजाने गर्छन् । यहाँको आलु अन्यत्रको तुलनामा स्वादिलो हुने भएकाले मुस्ताङको आलुको माग सहरमा बढी हुने गरेको छ । आलु खेतीमा भेडा–च्याङग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग हुन्छ । आलु खेतीका लागि गण्डकी प्रदेश सरकारमार्फत चालु आर्थिक वर्षमा प्रतिरोपनी रु सात हजार पाँच सय अनुदान छुट्याइएको छ ।

भरतपुर क्षेत्रको रेलमार्ग सर्भे स्थगित : मन्त्री ज्वाला

चितवन, २८ पुस : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन भएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्व-पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगरपालिका क्षेत्रभित्र देखिएका समस्याका सम्बन्धमा आयोजित छलफलका क्रममा उहाँले स्थानीयको चाहनाविपरीत रेलमार्ग नबन्ने बताउनुभयो ।

रेलमार्गको विकल्प दिन आग्रह गर्दै उहाँले नयाँ विकल्पका विषयमा छलफल अघि बढ्ने बताउनुभयो । भरतपुर महानगरपालिकाले दिएको विकल्पबारे प्राविधिकरूपमा अध्ययन गरिने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “यो भन्दा उपयुक्त विकल्प दिन म यहाँहरूलाई अनुरोध गर्दछु ।” महानगरपालिकाले दिएको विकल्पबारे मन्त्रालयले मात्रै गरेर नहुने भएकाले प्रधानमन्त्रीसँग पनि छलफल गरिने उहाँले बताउनुभयो ।

त्यस अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अहिले रेखाङ्कन गरिएको रेलमार्गमा घना बस्ती भएको र आठ सयभन्दा बढी घरधुरी पर्ने भन्दै नयाँ विकल्प प्रस्ताव गरिएको बताउनुभयो । महानगरका तर्फबाट वडा नं ११ र १२ को वन क्षेत्रको छेउ हुँदै रेलमार्ग बनाउँदा छोटो र कम लागतमा बन्ने उहाँको भनाइ थियो । यसरी रेलमार्ग बनाउँदा नारायणीको साँघुरो क्षेत्रबाट पार गर्न सकिने उहाँको तर्क थियो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले अहिले रेखाङ्कन भएका क्षेत्रबाट रेलमार्ग सम्भव नहुने भएकाले महानगरले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले स्थानीयको सहमतिबिना रेलमार्ग नबन्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य, प्रदेशसभाका पूर्वमन्त्री, प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्ष एवं संयोजक र पूर्वसभापतिहरू, रेलमार्ग सङ्घर्ष समितिका संयोजक एवं प्रतिनिधिहरू, निजी क्षेत्रका व्यवसायीलगायतको उपस्थिति थियो ।

स्थानीयले रेलमार्गको विकल्प खोज्नुपर्ने अडान राखेपछि महानगरपालिकाले छलफल आयोजना गरेको हो । कार्यक्रममा सहभागी दलका नेता र सरोकारवालाले अहिले भइरहेको रेलमार्गको रेखाङ्कन स्थागन नभएर रद्द नै गरिनुपर्नेमा जोड दिएका थिए ।
 

उपत्यकामा माघ १ गतेदेखि मेलम्चीको पानी वितरण हुने

काठमाडौँ ।  खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । 
सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।”

उनले लक्ष्यभन्दा पहिले नै  सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गरे । काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिए ।

त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्वाधरूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको थियो । 

मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । उनले भने, “सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने छ ।”

सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरले बताए ।

बाढी तथा पहिरोका कारण अवरुद्ध भएको मेलम्चीको पानी बुधबार साँझबाट फेरि आपूर्ति सुरु गरिएको हो । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउनेगरी भएको सहमतिअनुसार बुधबार साँझबाट सुन्दरीजलमा पानी आउन सुरु भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दीपेश ढकालले जानकारी दिए ।

कुल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिएको भए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजल पानी पथान्तरण गरिएको उनको भनाइ छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए । 

कोइला खानी दुर्घटनामा मध्य चीनमा १० जनाको मृत्यु, ६ बेपत्ता

मध्य चीनको हेनान प्रान्तको पिङडिङसान शहरस्थित कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुर्घटना हुँदा जम्मा ४२५ जना कामदारहरू काम गरिरहेको जानकारीमा आएको छ । ती मध्ये फसेका ३८० जनालाई खानीबाट बाहिर निकालिएको थियो । बाँकी कामदार सबै सकुशल रहेको बताइएको छ । कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले हिरासतमा राखेका छन्।

आपतकालीन व्यवस्थापन मन्त्रालयबाट खटिएका कार्यदल शनिबार बिहान घटनास्थल पुगेको थियो ।मन्त्रालयले मृतक र बेपत्ता व्यक्तिको सङ्ख्या एकिन गर्न, खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न तथा थप जोखिम रोक्न र दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन पहल गर्न आग्रह गरेको छ ।उद्धार कार्य अझै जारी छ।

 भालुवाङ बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

खजुरा (बाँके) २८ पुस : लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री कृष्णा केसीले गए राति भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो ।

आर्थिक अभावकै कारण घाइतेको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसी अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । मन्त्री केसीले बस दुर्घटनाबाट आफू मर्माहत भएको भन्दै दुर्घटनामा ज्यान गुमाएकाका परिवारमा शोक व्यक्त गर्नुभयो ।

शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना घाइतेमध्ये एक जना डिस्चार्ज हुनुभएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचारत १२ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री आर्डर्नले गरिन् विवाह

न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले शनिबार विवाह गर्नु भएको छ ।परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उहाँको विवाह भएको हो । न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षा बीच सो समारोह आयोजना गरिएको थियो ।

सो समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित हुनुहुन्थ्यो।आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ। उहाँहरू बीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो तर कोभिड-१९ महामारीका कारण स्थगन गरिएको थियो।

सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण

सुदूरपश्चिम, २८ पुसः पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो ।

तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चारसय ४४ व्यक्ति नेपाल भित्रिएका छन् । कोरोना सङ्क्रमित आठ व्यक्तिको नमुना सङ्कलन गरी थप परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो ।गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउद कोरोना भाइरसका सङ्क्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सुझाव दिनुभयो । “सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमित बढ्दै गएको देखिएको छ”, उहाँले भन्नुभयो, “हेल्थ डेस्कमा नमुना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको कीट ,मास्क ग्लब्सलगायतका सामग्री पर्याप्त छन् ।”उहाँले सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न र सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दियएको र सम्बन्धित पालिकासँग समन्वय गरिरहेको जानकारी दिनुभयो । 

गण्डकी प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउँदैन : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की) २८ पुस : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश नलगाउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘सञ्चारकर्मीका अधिकार, चुनौती र समस्या विषयक’ अन्तरक्रियाका अवसरमा प्रदेश सरकारले आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिनुहुँदै मुख्यमन्त्री पाण्डेले उक्त विधेयक सञ्चारमैत्री हुने दाबी गर्नुभयो ।“सञ्चारकर्मीलाई कहीँ कतैबाट अंकुश लगाउने काम विधेयकले गर्दैन, यो सञ्चारमैत्री हुनेछ । यसलाई सञ्चारकर्मी र सम्वद्ध संस्थाको सल्लाह र सुझावमा संशोधन पनि गर्न सकिनेछ”, उहाँले भन्नुभयो, “स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने काम प्रदेश सरकारले गर्दैन ।”मुख्यमन्त्री पाण्डेले सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण भइरहेको हुँदा यसलाई जोगाउने दायित्व सञ्चारकर्मीको पनि भएको उहाँका भनाइ थियो । प्रदेशलाई अधिकार दिन सङ्घ सरकारले ढिलाई गर्दा सङ्घीय गणतन्त्रमाथि प्रश्न उठ्न थालेको उहाँको बुझाइ थियो ।सङ्घ सरकारले सङ्घीय ऐन नबनाएकै कारण प्रदेश सरकार र सिङ्गो सङ्घीय व्यवस्थामाथि गुनासा मात्र नभई व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले सङ्घीय कानुन बन्न नसक्दा राजावादीलाई राष्ट्रिय राजनीतिमा चलखेल गर्न बाटो पाएको बताउनुभयो ।नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चारकर्मीलाई स्वतन्त्र र निर्वाद रुपमा सूचना प्रवाह गर्ने वातावरण सरकारले बनाइदिनुपर्नेमा जोड दिनुभयो । समाचार सम्प्रेषण गरेकै भरमा सञ्चारकर्मीमाथि आक्रमण हुन नहुने उहाँको भनाइ थियो । 

चिसोले महोत्तरीका दलित बस्तीमा विचल्ली

महोत्तरी, २८ पुस : पुस अन्त्यतिर मधेसमा चिसो बढ्दो छ । मधेसका जिल्लामा घाम देखिँदा हर्षबढाइ हुन्छ । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ चलिरहँदा सर्वसाधारण काममा निस्कन सकेका छैनन् । पछिल्लो साता बढेको चिसोकै कारण महोत्तरीका विद्यालयमा जाडो बिदा दिइएको छ । माघेसङ्क्रान्ति पर्व नजिकिए पनि हाटबजारमा चहलपहल घटेको छ ।

चिसोले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब तथा दलित बस्तीको अवस्था नाजुक छ । पराले झुप्राका गुजुमुज्ज बस्तीमा ससाना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने ‘घुर’ (कसिङ्गर जम्मा पारेर बालिएको आगो) बनेको छ । न ओढ्ने, ओछ्याउने न शरीर ढाक्ने लुगा ! शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने धुँवाको मुस्लोभित्रको ‘घुर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिँदो छ ।“यो मुटु कमाउने जाडोमा न बनिबुतो गर्न निस्कन सकिन्छ न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ”, भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा (मुसहर) भन्नुहुन्छ, “बच्चाबच्ची स्याहार्न मुस्किल छ ।” सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आपूmहरुका लागि जाडो मौसम सधैँ कष्टदायक रहँदै आएको बताउनुहुन्छ ।महोत्तरीको मध्य र दक्षिणी भेगमा लाग्दो पुसदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ । उत्तरीक्षेत्रमा कहिलेकाहीँ झल्याकझुलुक देखिने घाम पनि पारिलो हुँदैन । झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि जाडोको कहर निकै बढेको हो । महोत्तरीको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिरसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि धेरैजसो यसपालि बिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ । बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हात गोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन् । मध्य र दक्षिणी भेगमा त घाम नदेखिएको कैयौ दिन हुन्छन् । अहिले बहने चिसो हावाले लगलगी मुटु कमाउने जाडो बढाएको जलेश्वर नगरपालिका–२ का सामाजिक कार्यकर्ता जिरेखन पासवान बताउनुहुन्छ ।निरन्तरको चिसोले व्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । अहिले नै यस्तो विजोग भएपछि अब माघसम्म कस्तो होला ? भन्ने सोचेर नै यहाँका बुढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन् । “खै उमेरले भर्खर ६० नाँघियो , यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवल भन्नुहुन्छ, “खै परारको (कोभिड–१९) कहरले चाँडै जाडो बढाएको त हैन ?” परार र त्यसअघिको वर्षको कोरोना कहर सम्झदै यादवले लख काट्नुभयो ।बढ्दो जाडोले यसभेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ । “जाडो त सबैलाई हो तानि..! हुनेखाने जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान् , हामी बनी (मजदुरी) गरेर गुजारा गर्नेको चैँ के हविगत हुने हो अब” जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गर्नुभयो ।चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र ससाना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरु बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । जिल्लाका सबैजसो स्वास्थ्य संस्थाहरु रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन् । “बढ्दो चिसोले ग्रामीण बस्तीमा बिरामी हुनेक्रम निकै बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइनभ्याइ परेजस्तै छ”, बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्री भन्नुहुन्छ ।यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरुले धमाधम सूचना प्रशारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै ओरपर पाइने सागपात र गेडागुडीको झोल खान , अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन , न्यानो ठाउँमा बस्न र घर ओरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गर्एिका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर ‘घूर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालय प्रमुख सुनिता गुप्ता बताउनुहुन्छ ।चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठ, खानपिनका सामग्री र न्याना लुगा जुटाउने पहलकदमीका लागि स्थानीयतहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् ।“क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीयतहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयास महोत्तरी (सामाजिक संस्था) का अध्यक्ष प्रवीण कर्णले भन्नुभयो, “अहिलेको तदारुकताले क्षति रोक्न सकिन्छ ।” गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आआफ्ना बस्तीका स्थानीयतहका प्रतिनिधि गुहार्न थालेका छन् । यसैबीच जिल्लाका औरही र मनराशिशवा नगरपालिकाले गरिब बस्तीहरु र बाक्लो ओहोरदोहर हुने चोकमा आगो बाल्ने चाँजो मिलाएका छन् ।जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५वटै स्थानीयतह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । “हामीले जिल्लाका १५ वटै स्थानीयतहलाई तत्काल आवश्यक सहयोग, समन्वयका लागि अनुरोध गरेका छौँ”, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण भन्नुहुन्छ, “समयमै तदारुकता अपनाइयो भने क्षति रोक्न सकिन्छ ।” पछिल्ला तीन÷चार दिनयता ठाउँठाउँमा आगो बाल्ने र गरिब बस्तीमा ओढ्नेको प्रबन्ध भएको कर्णले बताउनुभयो । गौशाला नगरपालिका–९ मा गरीब परिवार पहिचान गरी ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध

काठमाडौँ, २८ पुस : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको ४३औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने बताउनुभयो ।

मुलुकको तीव्र आर्थिक विकास नै आजको प्रमुख कार्य हो भन्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार यसका निम्ति क्रियाशील रहेको बताउनुभयो । उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो । “विकास र आर्थिक क्रियाकलापलाई केन्द्रमा राखिएको छ, सुशासनलाई त्यसको पूर्वसर्त बनाइएको छ”, उहाँले भन्नुभयो, “सुशासनबिना परिणाम दिन सकिँदैन, सरकार त्यसप्रति सचेत छ ।”

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्राकारले हस्तकलाका उत्पादन निर्यात गरी मुलुकको आर्थिक अवस्थालाई सबल बनाउन सकिने दृष्टान्त दिँदै निर्यात प्रवद्र्धनमा सहजीकरण गर्न बागमती प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग आग्रह गर्दै सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । मुलुकको आर्थिक परिसूचकाङ्क सकारात्मक दिशाउन्मुख रहेका उल्लेख गर्दै उहाँले सकारात्मक भाष्यका साथ अघि बढ्न व्यवसायीलाई आह्वान गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला क्षेत्रमा पुस्तान्तरणको अभाव देखिन थालेकामा चिन्ता व्यक्त गर्दै युवा पुस्तालाई पनि यस क्षेत्रमा आकर्षित गर्न विभिन्न योजना ल्याइनुपर्ने बताउनुभयो । व्यापार घाटा घटाउन हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको जनाउँदै उहाँले निर्यात प्रवद्र्धनका लागि सरकारी सहयोग अभिवृद्धि हुनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले हस्तकला क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उहाँले निर्यात प्रवद्र्धनमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायमा देशको कला, संस्कृति, पहिचान एवं गरिमा बढाउने हस्तकला क्षेत्र भएको उल्लेख गर्दै यसको प्रवद्र्धनमा सबैको सहयोग आवश्यक छ, भन्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकलाका सामग्रीलाई सौन्दर्यीकरणको भाव दिन प्रतिष्ठान क्रियाशील रहेको बताउनुभयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वबजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गर्न उद्यमीलाई सुझाव दिनुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले हस्तकला क्षेत्रको विकासमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यवसाय प्रवद्र्धन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराइनुपर्ने बताउनुभयो । उहाँले सम्पूर्ण सरकारी कार्यालयमा हस्तकलाका सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तीस वर्षदेखि बन्द रहेको कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा पुन

तनहुँ, २८ पुस : राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कनुभएको छ । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा पुन यस अभियानमा लाग्नुभएको हो । प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा पुनले बताउनुभयो । जुनजुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

डा महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका डा पुनले यतिबेला पुस्तक बिक्रीका लागि देश दौरानमा दुई साता बिताइसक्नुभएको छ । “नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छाँै”, उहाँले भन्नुभयो, “औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।”

नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताउनुभयो । उहाँका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।

पुनले काठमाडौँबाट गजुरी हुँदै धादिङ, धादिङबेंसीबाट मलेखु, मुग्लिन, गोरखा, आँबुखैरेनी, लमजुङको बेंसीसहर र बन्दीपुर हुदै तनहुँका विभिन्न सहरमा पुगेर पुस्तक बिक्री गर्नुभएको छ । कुनै पनि सरकारको पालामा अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको डा पुनको आरोप रहेको छ । “बेरोजगारीलाई रोजगारी र अर्थतन्त्रलाई सबल बनाउनका लागि राज्यले उद्योग, कलकारखानामा लगानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारसँग पैसा नभए पनि कारखाना संचालन गर्ने जिम्मा लिएका हौँ ।”

देशव्यापी अभियान रहेकाले बैतडी, महेन्द्रनगर, धनगढी, नेपालगञ्जबाट बुटवल चितवन, वीरगञ्ज, जनकपुर, काँकडभिट्टा, पाँचथर, मध्यपहाडी लोकमार्ग हँुदै काठमाडौँ पुग्ने योजना रहेको डा पुनले जानकारी दिनुभयो । “राज्यले कलकारखाना खोल्नुपर्छ र लगानी गर्नुपर्छ । विकास निर्माणमा लगानी गरिएको छ, त्यसरी नै कलकारखानामा पनि लगानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “कलकारखाना चलाएर मात्रै हुँदैन, परिणाम आउने गरी उद्योग सञ्चालन गर्न सक्नुपर्छ ।”

यतिदिन घुम्ने भन्ने सीमा अवधि नतोकिएको भन्दै पुनले भन्नुभयो, “जसरी हुन्छ धेरैभन्दा धेरै पुस्तक बिक्री गर्ने लक्ष्यअनुरुप देशव्यापी दौरानमा निस्किएको छु ।” उहाँका अनुसार हालसम्म २४ हजार पुस्तक बिक्री भइसकेका छन् ।करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विश्वास लिएको डा पुनले बताउनुभयो । तनहुँका विभिन्न पालिका र सर्वसाधारण नागरिकले पुस्तक किनेर सहयोग गरिदिएका छन् ।

सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने, माघ १ गतेदेखि छपाइ सुरु

चितवन, २८ पुस : भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताउनुभएको छ । ड्राइभिङ स्कुल सङ्घको पाँचाँै महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, “आज मात्रै ६ लाख कार्ड ल्याइएको छभने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छाँै । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।” उहाँले भन्नुभयो, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।”बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ ।”नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा एमालेका भक्तिप्रसाद गौतम, नेपाल किसान महासङ्घका सचिव भरतप्रसाद फुयाल, सङ्घका अध्यक्ष रामचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खगेन्द्र वुढाथोकीलगायत वक्ताले मन्तव्य व्यक्तभएको थियो ।अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभर एक हजार पाँच सय व्यवसायीका तीन सय ५० जना प्रतिनिधि सहभागी छन् । 

ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

गलकोट (बागलुङ), २८ पुस : बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने नौजना घाइते भएका थिए । घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो । अन्य छजना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपकोे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ, २८ पुस-विधान मस्यौदामाथि छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादीले जनाएको छ । माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।

सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।बैठकमा माओवादीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षासमेत हुनेछ । प्रदेश इञ्चार्जले अभियानका बारेमा ‘बिफ्रिङ’ गर्ने बताइएको छ । माओवादीले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।

निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपियाँ माग

काठमाडौँ । निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपियाँ माग गरिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको निर्यात नगद अनुदान रकम खर्च भइसकेकाले उद्योग विभागले एक अर्ब १० करोड रुपियाँ माग गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आवका लागि निर्यातमा नगद अनुदानका लागि ९० करोड रुपियाँ छुट्याएको थियो । सरकारले निर्यात प्रवर्धनमार्फत मुलुकको व्यापार घाटा न्यूनीकरण गर्दै अर्थतन्त्र सबल बनाउन नेपालबाट निर्यात हुने हस्तकला, सिमेन्ट, कृषिजन्य उत्पादन, चिया, पस्मिना, प्लाइउडलगायतका वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गर्दै निर्यात प्रोत्साहन नीति लिएको छ ।मङ्सिर महिनासम्म सो रकम खर्च भइसकेकाले थप माग गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी रमिला भण्डारीले चालु आवमा छुुट्याएको रकम अनुदान वितरण गरिसकेकाले थप एक अर्ब १० करोड रुपियाँ माग गरिएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी, २८ पुस : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीका अनुसार टोलीका अन्य खेलाडीमा टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दीपक चन्द र भोराज भट्ट रहेका छन् । यस्तै अभिषेक पाल, वसन्त खत्री, युवराज खत्री र सञ्जय बोहरा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् ।

हालै सम्पन्न छनोट प्रतियोगिता र त्यसपछि सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी टोलीमा परेका अध्यक्ष जोशीले बताए । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो खेल आगामी माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेशसँग खेल्ने तय भएको छ ।

राष्ट्रसङ्घद्वारा श्रीलङ्कामा लागुऔषध कारबाहीमा व्यापक गिरफ्तारीको निन्दा

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार एजेन्सीले शुक्रबार श्रीलङ्कामा जारी लागुऔषधविरोधी कारवाहीको आलोचना गरेको छ । कारवाहीका क्रममा ३० हजारभन्दा बढी संदिग्धलाई गिरफ्तार गरिएको छ र अधिकारीहरूमाथि व्यापक दुर्व्यवहारको आरोप लगाइएको छ ।

दक्षिण एसियाली यस मुलुकमा प्रहरीले डिसेम्बरको मध्यमा अपरेसन कोडनेम ‘युक्तिया’ (न्याय) बाट संदिग्धहरूलाई गिरफ्तार गरिएको बताएको छ । यो जुनको अन्त्यसम्ममा सडकबाट अवैध लागुऔषध हटाउने प्रतिज्ञाको हिस्सा थियो ।

राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले श्रीलङ्का सरकारसँग अपरेसनको समीक्षा गर्न र अवैध लागुऔषधको सामना गर्नका लागि अधिकारमा आधारित दृष्टिकोण लागु गर्न आग्रह गरिरहनुभएको छ ।

“सुरक्षा बलहरूले कथितरूपमा बिना सर्च वारेन्ट छापा मारेका छन्, संदिग्ध लागुऔषध बिक्रेता र प्रयोगकर्ताहरूलाई हिरासतमा लिएका छन् र सयौँलाई सैन्य सञ्चालित पुनरवास केन्द्रमा पठाएका छन्”, टर्कका प्रवक्ताले पत्रकारहरूसँग भन्नुभयो ।

मानिसहरू अनधिकृत तलासी, स्वेच्छाचारी गिरफ्तारी र हिरासत, दुर्व्यवहार, सार्वजनिक स्थानमा तलासी र यातनाजस्ता कथित धेरै अधिकार उल्लङ्घनको सिकार हुनुपरेको छ । “लागुऔषधको प्रयोग समाजका लागि गम्भीर चुनौती भए पनि कठोर कानून लागु गर्ने दृष्टिकोण समाधान होइन”, प्रवक्ताले भन्नुभयो, “लागुऔषधको दुरुपयोग र यसका लागि जिम्मेबार कारकहरू पहिलो सार्वजनिक स्वास्थ्य र सामाजिक मुद्दा हो । लागुऔषधको बिक्री वा ओसारपसारका संदिग्ध मानिसहरू उचित प्रक्रिया र पारदर्शी, निष्पक्ष परीक्षणको पूर्ण सम्मानका साथ मानवीय व्यवहारका हकदार छन् ।”

उहाँले हिरासतमा रहेका संदिग्धहरूको पक्षमा वकिलहरूले प्रहरी अधिकारीहरूको धम्कीको सामना गर्नुपरेको पनि बताउनुभयो । श्रीलङ्काली प्रहरीले अपरेसनमा तीन सय ४० किलोग्राम गाँजा र ७० किलोग्राम हेरोइनसहित करिब आठ सय किलोग्राम लागुऔषध जफत गरेको बताएको छ । अधिकारीहरूका अनुसार हिन्द महासागर टापु श्रीलङ्काको प्रयोग लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्टका रूपमा भइरहेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राती गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

जर्मनीबाट ६ लाख थान लाइसेन्स आएपछि यातायात व्यवस्था विभागलाई राहत

काठमाडौँ । कार्ड अभावले चालक अनुमति पत्र (लाइसेन्स) जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ । जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका हुन् ।

विभागसँग करिब ४५ हजार मात्र कार्ड भएको अवस्थामा थप ६ लाख थान आएपछि वितरण खुकुलो पारिनेछ । पर्याप्त कार्ड नभएकाले ६ महिनायता सीमित मात्रामा लाइसेन्स वितरण गरिँदै आएको छ । प्राप्त कार्ड पर्याप्त भने होइनन् । परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको सङ्ख्या १४ लाख ५८ हजार पुगेको छ ।म्युह्लवार कम्पनीले १२ लाख कार्ड छाप्ने ठेक्का यातायात व्यवस्थाबाट पाएको छ । जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा शुक्रबार आइपुगेका हुन् । बाँकी ६ लाख कार्ड ४५ दिनभित्र आइपुग्ने विभागले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

न्यूयोर्क टाइम्सको घुम्नुपर्ने सूचिमा नेपालको मुस्ताङ

अमेरिकाको चर्चित अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा विश्वभरका घुम्नुपर्ने गन्तव्यको सूचिमा नेपालको मुस्ताङ समावेश गरेको छ । विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै न्यूयोर्क टाइम्सले मुस्ताङलाई सूचिकृत गरेको हो ।

न्यूयोर्क टाइम्सले नेपालको हिमाल पारिको जिल्ला भनेर चिनिने पर्यटकीय क्षेत्र मुस्ताङलाई समावेश गरेको छ । उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको टाइम्सले उल्लेख गरेको छ ।

यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो । सिएनएनले मुस्ताङलाई चिनाउँदै पर्वतीय पदयात्राका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो ।

मुस्ताङ धार्मिक, पुरातात्विक एवं पर्यटकीय गन्तव्य हो । प्रसिद्ध धार्मिक स्थल मक्तिनाथ मुस्ताङको धार्मिक पर्यटक आकर्षण गर्ने धरोहर पनि हो । ऐतिहासिक र पौराणिक लोमन्थाङ अर्को आकर्षण छ ।

हेर्नुहोस् आज पुष २८ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि – माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि – खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि – दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थीक क्षेत्र मध्यम रहनेछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि – स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि – अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि – भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि – अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि – अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि – नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि – शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

बझाङमा भूकम्पको धक्का महसुस

चैनपुर (बझाङ) २८ पुस : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।

राप्ति बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो

जानकी (बाँके), २८ पुस : बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उहाँका अनुसार हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचवटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो ।इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ति नदीमा खसेको हो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

भारतमा सन् २०१६ मा भएको सैन्य विमान दुर्घटनाको भग्नावशेष फेला

भारतले करिब आठ वर्षअघि समुद्रमा हराएको २९ जना सवार भारतीय वायुसेनाको यातायात विमानको भग्नावशेष प्राप्त हुने सम्भावना रहेको शुक्रबार बताएको छ । रुसमा निर्मित एन्टोनोभ एएन–३२ विमानले सन् २०१६ जुलाईमा भारतको दुर्गम अण्डमान र निकोबार द्वीप समूहका लागि नियमित कुरियर सेवाका क्रममा सेवाकर्मी र चालक दलका छ सदस्यलाई बोकेको थियो ।

दक्षिणी सहर चेन्नाई नजिकै वायु सेनाको आधारबाट उडान भरेको १५ मिनेटपछि उक्त विमानको हवाई ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो । विमान हराएपछि उक्त समय खोज र उद्धार प्रयासले विमान खोजी गर्न सकेको थिएन ।

बङ्गालको खाडीमा समुद्री तलको सर्वेक्षण गर्ने गहिरो समुद्री ड्रोनले चेन्नाईको दक्षिणमा एक सय ४० समुद्री माइल (तीन सय १० किलोमिटर) दक्षिणमा तीन हजार चार सय मिटर (११ हजार एक सय ५० फिट) गहिराइमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष फेला पारेको रक्षा मन्त्रालयले बताएको छ ।मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “तस्बिरहरू एएन–३२ विमानसँग मिल्दोजुल्दो भेटिएको छ, सम्भावित दुर्घटनास्थलमा गरिएको खोजमा भग्नावशेषले सम्भवतः दुर्घटनाग्रस्त आईएएफ एएन–३२ लाई औँल्याएको छ ।” उक्त क्षेत्रमा कुनै पनि अन्य विमान हराएको सूचना प्राप्त भएको छैन ।

एएन–३२ विमान बिना इन्धन चार घण्टासम्म उडान भर्न सक्षम छ र यो भारतीय वायुसेनाको वर्कहर्स यातायात विमान हो । यद्यपि रुस निर्मित उपकरणहरूमा अधिक निर्भर रहने भारतीय वायुसेना खराब सुरक्षा रेकर्डका कारण चिन्तित छ ।हराएको विमानको राडार डेटाबाट तीव्ररूपमा उचाइ गुमाउनुअघि तीव्ररूपमा बायाँतिर मोडिरहेको थाहा भएको भारतीय वायुसेनाको एक स्रोतले सन् २०१६ मा एएफपीलाई बताएको थियो ।

भारतका रक्षा प्रमुख जनरल बिपिन रावतको सन् २०२१ मा १२ अन्य व्यक्तिसँगै मृत्यु भएको थियो । रुसमा निर्मित उहाँको एमआई–१७ हेलिकप्टर दक्षिणी राज्य तामिलनाडूमा दुर्घटनाग्रस्त भएको थियो । त्यसको अर्को वर्ष सोभियत कालको मिग–२१ लडाकू विमान राजस्थानमा प्रशिक्षण उडानका क्रममा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको थियो ।

गत वर्ष राजधानी नयाँदिल्लीको दक्षिणमा अभ्यासका क्रममा रुसमा निर्मित सुखोई एसयु–३० र फ्रान्समा निर्मित मिराज २००० आकाशमा ठोक्किँदा एक पाइलटको मृत्यु भएको थियो ।

भारतमा एएन–३२ सँग सम्बन्धित सबैभन्दा भयानक दुर्घटनामध्येको एक सन् १९९९ मा नयाँदिल्ली विमानस्थल नजिकै भएको दुर्घटनालाई मानिन्छ । उक्त दुर्घटनामा विमानमा सवार २० जनाको मृत्यु भएको थियो र तीन नागरिक जमिनमा जलेर मरेका थिए ।

वायुसेनाले विस्तारै आफ्ना केही पुराना विमानबाट छुटकारा पाइरहेको छ । तीमध्ये केही विमान सन् १९६० दशकका छन् । भारतले आफ्ना पुराना सैन्य विमानहरूलाई नयाँ रूप दिन गरेको ढिलाइले राष्ट्रिय सुरक्षामा खतरा भएको विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

‘हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय’ : अध्यक्ष ओली

काठमाडौँ, २७ पुस : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक सङ्गठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घको तेस्रो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आफ्नो अस्थित्वसहित अरुसँग सहकार्य गर्न र सहभागिता जनाउन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिनुभयो ।

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफैँ विज्ञ हुनुपर्ने बताउनुभयो । उहाँले महिलाले सङ्गठित वा असङ्गठितरूपमा देशका हरेक परिवर्तनमा योगदान रहेको उल्लेख गर्दै राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

विसं १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाले निर्वाह गरेको भूमिका असाधारण रहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले एमालेलाई जीवन्त तुल्याउन महिलाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।
एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठभित्र पार्टीका सबै जिल्लामा जिल्ला सम्मेलन सम्पन्न गर्ने समयसीमा भएकाले महिला सङ्घले पनि केही जिल्लामा महिला अध्यक्ष बनाउनका लागि दबाब दिनुपर्ने बताउनुभयो । सङ्घका अध्यक्ष टुकाभद्र हमालले आगामी तीन महिना सङ्गठन शुद्धीकरण अभियान सञ्चालन गरिने बताउनुभयो । बैठक भोलि सम्पन्न हुनेछ ।

राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला उपाधि नजिक

काठमाडाैँ २६ पुस : सशस्त्र प्रहरी बल (एपिएफ)का प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनमा पुगेका छन् ।

प्रिन्सले एपिएफका देवराज रानालाई २१–१०, २१–१२ ले पराजित गर्दै उपाधिका लागि आर्मीका प्रफुल महर्जनसँगको भेट पक्का गरे भने प्रफुलले पुलिस क्लबका विष्णु कटुवाललाई २१–१५, २१–१२ ले पराजित गर्दै फाइनल पुगेका हुन् ।महिलातर्फको खेलमा आर्मीकी रशिला महर्जनले आर्मीकै अमिता गिरीमाथि २१–५, २१–१७ को सहज जित निकाल्दै आर्मीकै अनुमाया राईसँगको भेट पक्का गरेकी छन् । अनुले कस्तुरी कलेजकी सिमा राजवंशीमाथि २१–१८, २१–१४ को जित हात पारिन् ।लाखेपोखरी बौद्धस्थित स्पोर्ट्स हवको आयोजनामा भएको उक्त प्रतियोगिताका भेट्रान ३५ वर्षमाथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले न्यू बिएसका नारायण गौतम र आरिफ मलिकको जोडीलाई २१–१८, २१–१४ ले र चितवनका विद्वान गुरुङ र अमर रायमाझीको जोडीले चन्द्रागिरिका माधव ढकाल र प्रमोद महर्जनको जोडीलाई २१–११, १९–२१, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।यसैगरी पिस फिटनेश सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडीले आयोजक स्पोर्टस् हवका लाक्पा तेङ्गी तामाङ र श्याम तामाङको जोडीलाई २१–१३, २१–१५ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । पुरुष शीर्ष २० बरियता बाहेकको युगल प्रतियोगितामा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडीले सूर्यदर्शन युनिटीका महेश खड्का र दीपक रानाको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।यस्तै सेमिफाइनमा स्थान बनाउने क्रममा एपिएफका भोजबहादुर गुरुङ र सन्तोष पनेरुको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१८, १९–२१, २१–१७, स्पोर्टस् हवका अभिषेक गुरुङ र निश्चल कार्कीको जोडीले धादिङका लक्ष्मण मल्ल ठकुरी र देवीनगरका राम मल्ल ठकुरीको जोडीलाई २१–१५, २०–२२, २१–१७, नखिपोटका विवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले लाफाका मनोज फौदार र विवेक न्यौपानेको जोडीलाई २१–१७, २१–१९ ले पराजित गरे ।पुरुष भेट्रान युगल ४५ वर्षमाथिको प्रतिस्पर्धामा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्ग, तिलक छन्त्याल र हिरा रोका, एपिएफका धीरेन्द्र चन्द र गण्डकीका टीका थापा तथा चन्द्रागिरिका हरि खत्री र राजकुमार पोखरेलको जोडी पनि सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएका छन् । प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुनेछ ।—

जसपाको केन्द्रीय समितिले पारित गर्‍यो महाधिवेशनसम्बन्धी कार्यतालिका

काठमाडौँ, २७ पुस : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको छ ।पार्टीका आज बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

प्रमुख बस्नेतका अनुसार कार्यतालिका अनुसार सङगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गर्न फागुन २५ गतेसम्मको समयसीमा तोकिएको छ । यसैगरी संसदीय निर्वाचन क्षेत्रअनुसार सङगठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति र राष्ट्रिय समितिले प्रदेश समितिमार्फत केन्द्रीय कार्यालयमा चैत १० गतेसम्म पठाइसक्नु पर्ने भएको छ ।

सदस्यता वितरण गर्दा मङसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङगठनमा आवद्ध तथा पार्टी सङगठनमा कार्यरत पार्टी सदस्यलाई मात्र सङगठित पार्टी सदस्यता प्रदान गर्नुपर्ने निर्णय भएको प्रमुख बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी सङगठित सदस्यतासम्बन्धी दाबी बिरोध अथवा उजुरी दिने व्यवस्था गरिएको छ, जसका लागि आगामी चैत १० गतेसम्मको समयावधि तोकिएको छ ।”

संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधि निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्ने छ । महाधिवेशन प्रतिनिधिहरुको चयन तथा निर्वाचन आगामी चैत २० गतेदेखि वैशाख २० गतेसम्म गरिसक्नुपर्ने भएको छ । यसरी निर्वाचित महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा आगामी वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने छ ।

महाधिवेशनसम्बन्धी प्रक्रिया एवं कार्यविधि केन्द्रीय कार्यकारिणी समितिले तोक्ने तथा केन्द्रीय निर्वाचन समिति गठन गर्ने प्रमुख बस्नेतले जानकारी दिनुभयो । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु तयार गर्न मस्यौदा समिति गठन हुने भएको छ । जस अन्तर्गत विश्लेषणात्मक राजनीतिक एवम् सङठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी कार्यदिशासम्बन्धी दस्तावेज, पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी दस्तावेज (सैद्धान्तिक, वैचारिक तथा नीतिगत दस्तावेज) रहेका सो पार्टीले जनाएको छ ।

भारतीय प्रधानमन्त्रीद्वारा मुम्बईमा भारतको सबैभन्दा लामो समुद्री पुल ‘अटल सेतु’ को उद्घाटन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार महाराष्ट्रमा भारतको सबैभन्दा लामो पुल अटल बिहारी वाजपेयी सेवारी–न्हवा शेवा अटल सेतुको उद्घाटन गर्नुभएको छ । सो अवसरमा महाराष्ट्रका राज्यपाल रमेश बैस, मुख्यमन्त्री एकनाथ शिन्दे र उपमुख्यमन्त्री देवेन्द्र फडणविस पनि सहभागी हुनुहुन्थ्यो ।

अटल सेतु भारतको सबैभन्दा लामो सामुद्रिक पुल पनि हो । यसले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल र नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो कनेक्टिभिटी प्रदान गर्नेछ । साथै मुम्बईबाट पुणे, गोवा र दक्षिण भारतसम्मको यात्राको समयलाई पनि कम गर्नेछ । पुलको शिलान्यास पनि सन् २०१६ डिसेम्बरमा प्रधानमन्त्री मोदीले नै गर्नुभएको थियो ।

अटल सेतुको निर्माण कूल १७ हजार आठ सय ४० करोड भारतीय रुपैयाँभन्दा धेरै लागतमा गरिएको हो । यो २१ दशमलव आठ किलोमिटर लामो र छ लेन भएको पुल हो । यसको लम्बाई समुद्रमाथि करिब १६ दशमलव पाँच किलोमिटर र जमिनमा करिब पाँच दशमलव पाँच किलोमिटर छ । यसबाट मुम्बई बन्दरगाह र जवाहरलाल नेहरु बन्दरगाहबीचको कनेक्टिभिटीमा पनि सुधार हुने बताइएको छ । 

तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि आर्मीलाई

तनहुँ । ऋषिङ गाउँपालिकाद्वारा शुक्रबार आयोजित तेस्रो ऋषिङ खुला अल्ट्रा म्याराथनको उपाधि गोविन्द कार्कीले प्राप्त गरेका छन् ।

धारुङभञ्ज्याङबाट दुबुङकोट भ्यूटावरसम्मको ४३ किलोमिटर दूरी तीन घण्टा छ मिनेट ३३ सेकेण्डमा पार गर्दै उनले प्रथम उपाधि हासिल गरेका हुन् । त्रिभुवन आर्मी क्लबमा कार्यरत कार्कीले ३२ जना धावकलाई पछि पार्दै उक्त उपाधि चुमेका हुन् ।

त्रिभुवन आर्मी क्लबकै गोपाल तामाङ द्वितीय र तिलक सुनुवारले तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमश: तीन घण्टा सात मिनेट ३३ सेकेण्डमा र तीन घण्टा दश मिनेटमा उक्त दूरी पार गरे ।

त्यसैगरी सान्तवनामा करम रावलले तीन घण्टा १२ मिनेट १४ सेकेण्ड, महोहनदेव जोशीले तीन घण्टा १६ मिनेट आठ सेकेण्ड, जुनेस खड्काले तीन घण्टा १६ मिनेट २२ सेकेण्ड र निरोज भट्टले तीन घण्टा २१ मिनेट २७ सेकेण्डमा दूरी पार गरी सान्तवना स्थान प्राप्त गरेका छन् । उनीहरूलाई क्रमशः रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अल्ट्रा म्याराथनको आयोजना गरिएको हो । विजयी धावकलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र पाँच हजार (करबाहेक)का साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

खेलकुदका माध्यमबाट ऋषिङ गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्यअनुरुप म्याराथन कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको उनले बताए । म्याराथनले गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रवक्ता विजय दरैले जानकारी दिए ।

धारुङ भञ्ज्याङ (ऋषिङ प्रवेशद्वार)देखि दौड सुरु भई रानीपोखरी, पुरानथोक, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यूटावरमा पुगेर टुङ्गिएको हो । गत वर्षको दोस्रो ऋषिङ म्याराथनमा ५३ जना धावकले सहभागिता जनाएका थिए ।

मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जित्यो

ओखलढुङ्गा, २७ पुस : प्रदेशस्तरीय अन्तरपालिका स्तरीय अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबलमा माङ्सेबुङ गाउँपालिकाले आयोजक मानेभञ्ज्याङलाई २–१ गोलअन्तरले पराजित ग¥यो ।

आज भएको फाइनलमा माङ्सेबुङको जीतमा टीकाराम योङहाङ र निर्मल राईले एक–एक गोल गरे । मानेभञ्ज्याङका लागि विकास राईले एक गोल फर्काए । विजेता माङ्सेबुङले नगद रु पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीद्वारा निर्मित रनिङ शिल्ड साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद रु तीन लाखसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफानलमा पुगेका ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र तेह्रथुम लालीगुराँस नगरपालिकाले रु एक–एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो । कृषि र पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रुम्दालीले बताउनुभयो ।

प्रतियोगितामा कोशी प्रदेशका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानीय तहको सहभागिता थियो । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बू र उत्कृष्ट खेलाडीको उपाधि मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको छ ।

यही पुस १७ गते युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । खेलको समापन समारोहमा राष्ट्रिय गानका रचियता व्याकुल माइलालगायतका अतिथि सहभागी हुनुहुन्थ्यो ।

फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण

फुङ्लिङ, २७ पुस : ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिएको छ । जग्गाधनीपुर्जाविहीन भूमिहीनलाई राष्ट्रिय भूमि आयोग जिल्ला समितिले निस्सा वितरण गरेको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिले नगरपालिकाभित्र रहेका भूमिहीन परिवारलाई जग्गाको निस्सा वितरण गरेको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले राससलाई बताउनुभयो । फुङ्लिङ नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्बासी र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको हो ।

फुङ्लिङ नगरपालिकाका ११ वटै वडाका एक सय ७३ जनाले राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष जग्गाधनी पुर्जा प्राप्त गर्न निवेदन दिएका थिए । समितिसमक्ष निवेदन दिएकामध्ये प्रमाणीकरण भएका एक सय १७ जना भूमिहीनलाई निस्सा वितरण गरिएको आयोगले जनाएको छ ।

जग्गा प्राप्तिका लागि निवेदन दिने ५६ जना भने प्रमाणीकरणमा नपरेका समितिले जनाएको छ । एकजना दलित, चारजना सुकुम्बासी र अन्य अव्यवस्थित परिवार माग दाबीअनुसार प्रमाणीकरणमा पर्न अयोग्य ठहरिएका समितिले जानकारी दिएको छ । निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजारबाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् ।

लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँ, २७ पुस : काठमाडौँ, धनगढी, पोखरा, विराटनगर, झापा र नवलपरासीमा लागुऔषधसहित आठ जना पक्राउ परेका छन् ।

काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका–१ सरणपाडाका २८ वर्षीय सन्देश पाठकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आइरहेको बसलाई जाँच गर्ने क्रममा त्यसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्राम चार सय मिलीग्रामसहित दुई जनालाई बिहीबार राति पक्राउ गरिएको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० धुलाबारीका ४६ वर्षीय मोहन राजवंशी र उनकी श्रीमती ३६ वर्षीया दिलकुमारी छन् ।

पोखरा महानगरपालिका–१३ सङ्गमटोलका २३ वर्षीय सागर परियार, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट २८ वर्षीय अशोक कार्की र नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका–१४ कोलटाँडीबाट रूपन्देही तिलोत्तमा नगरपालिका–२ का २८ वर्षीय रविसोम मगर र धनगढी उपमहानगरपालिका–१ कैलालीपुलबाट लागुऔषध ब्राउनसुगर एक ग्राम चार सय २० मिलीग्रामसहित दुई जनालाई गए राति पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

‘मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक’ – माधव नेपाल

काठमाडौँ, २७ पुस : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशलाई समृद्ध बनाउन र जनताको जीवनलाई सुखी बनाउन मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताउनुभयो । समाजवादको कार्यभार आफ्नो पार्टीले अवलम्बन गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “जनवर्गीय सङ्गठनहरू पार्टीको यस कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुपर्छ ।”

त्यस अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले पर्टीपङ्क्तिलाई इमान्दारिताका साथ पार्टी विस्तारमा लाग्न निर्देशन दिनुभयो । पार्टीको आन्तरिक समस्या पार्टी कमिटीका बैठकमा राख्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीबीचमा केही समस्या छन् भने प्रदेश कमिटीका नेताहरू छन् । त्यहाँ पनि कार्यकर्ताका गुनासा सम्बोधन भएनन् भने केन्द्रीय सङ्गठन, पदाधिकारी छौँ । यहाँसम्म आएर आफ्ना कुरा राख्नुहोला ।”

देउतालाई नसोधी केही गर्न हुँदैन भनी अपरेसनको तयारीमा जुटेको डाक्टरलाई रोकेपछि गर्भमै गयो शिशुको ज्यान

डोटी २७ पुस : दीपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पु¥याए । गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन ।

पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा निराजन श्रेष्ठको टोली अपरेसनको तयारीमा जुट्यो । यता अस्पतालबाटै आमाले बुहारीको अपरेसन गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन् । छोराले लागदोष (देउता, भूतप्रेत)लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् ।

तत्काल अपरेसन नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै डाक्टरको टोलीले जति सम्झ्याउने प्रयास गरे कोही तयार भएनन् । “आमा र बच्चा दुवैको ज्यान जोखिममा छ । ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ”, डाक्टर निराजन श्रेष्ठले भन्नुभयो, “तर उहाँहरु देउतालाई नसोधी हुन्न भन्नेमा अडिग रहनुभयो ।”

गर्भवती महिलाको परिवार भोलिपल्ट विहान ८ बजे अब के गर्ने भन्ने सल्लाह लिन गाउँकै धामीकहाँ पुग्यो । धामीले दुई÷चार घण्टालाई केही हुन्न म रोक्छु, त्यतिञ्जेल बच्चा जन्मिसक्छ । नआत्तिनु भनेपछि परिवार पनि ढुक्क भयो ।

गर्भवतीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले एकपटक फेरि अपरेसनका लागि तयार हुन वा अन्यत्र लैजानका लागि आग्रह ग¥यो । त्यति गर्दा पनि परिवार सहमत नभएपछि डा श्रेष्ठले दिल्लीमा रहेका छोरासँग भिडियो कलमा कुरा गर्नुभयो । डा श्रेष्ठले गर्भवतीको अवस्था गम्भीर भएको भन्दै अपरेसनका लागि तयार हुन वा विश्वास नलागे अन्यत्रै लैजान भनेपछि बल्ल छोरा अपरेसनका लागि तयार भए । छोराले सहमति दिएपछि आमाले कागजमा हस्ताक्षर गरिन् ।

बिहान ९ बजे चिकित्सकको टोली अपरेसनको तयारीमा जुट्यो । अपरेसनअघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो । त्यसपछि ‘भ्याक्युम डेलिभरी’मार्फत मृत बच्चा बाहिर निकालियो । यद्यपि समयमै अपरेसन भएकाले आमाको ज्यान भने जोगियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि शिशुको मृत्युको खबरले परिवार स्तब्ध बनेको छ ।

डा श्रेष्ठ अस्पतालमा आउने अधिकांशले भूतप्रेत र देउता लागेकाले उपचार हुन नसकेको बताउने गरेको बताउनुहुन्छ । “हरेक साता एक/दुई जना बिरामी यस्तै कुरा लिएर आउनुहुन्छ । कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन”, उहाँले भन्नुभयो । स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि धामीको भर पर्दा ज्यान गुमाउने निकै पीडादायी हुने उहाँको भनाइ छ ।

बागमती प्रदेश सरकारको एक वर्षे अवधिमा दुई सय ७२ किमी पक्की सडक निर्माण

मनहरी (मकवानपुर), २७ पुस : बागमती प्रदेश सरकारको एक वर्षे अवधिमा दुई सय ७२ किलोमिटर पक्की सडक निर्माण गरिएको छ भने एक सय ५९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको जनाइएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले एक वर्षको अवधिमा सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै पूर्वाधार क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउनुभएको छ ।

एक वर्षको अवधिमा २६ वटा सडक पुल तथा छ वटा झोलुङ्गे पुल निर्माण, तीन सय ६४ किलोमिटर सडकको नियमित तथा तीन सय ७० किलोमिटर सडकको आवधिक तथा पटके मर्मतसम्भार गरिएको मुख्यमन्त्री जम्कट्टेलको कार्य प्रगतिमा उल्लेख छ । प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि वातावरणीय अध्ययनको प्रक्रिया अघि बढाइएको तथा दक्षिण एसियाको पहिलो सुरुङमार्ग ‘चुरियामाई सुरुङमार्ग’ मर्मत सम्पन्न गरिएको, दुई वटा सरकारी, एक सय ७६ वटा सामुदायिक तथा अन्य भवन निर्माण, छ वटा पार्क निर्माण, जनता आवास कार्यक्रमअन्तर्गत दुई सय ५५ वटा व्यक्तिगत आवास निर्माण भएको पनि जनाइएको छ ।

यो अवधिमा कर्मचारी प्रशासन तथा सेवा प्रवाह र विकास निर्माणमा एक वर्षे कार्यकाल उत्कृष्ट रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी छ । प्रदेश सरकारको एक वर्षे कार्यकालमा अन्तरतह समन्वय तथा सहकार्यको काम परिणाममुखी भएको उहाँले बताउनुभयो । सो अवधिमा हेटौँडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक गरी नौबुँदे निर्णयको पत्र प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पेस गरिएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय तहलाई कूल रु चार अर्ब ६३ करोड वित्तीय हस्तान्तरण निकासा गरिएकोमा चालु आर्थिक वर्षको मङ्सिरसम्ममा रु दुई अर्ब ९१ करोड निकासा गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

सवारी साधन कर बाँडफाँटतर्फ चालु आवको मङ्सिरसम्म स्थानीय तहलाई रु एक अर्ब ८९ करोड हस्तान्तरण, भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सशर्त अनुदान निकासा, नमूना वडा समाजवादी कार्यक्रमको कार्यविधि स्वीकृत गर्दै छनोट भएका वडामा रु एक करोडसम्म अनुदान पाउने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । प्रदेश सरकारले चालु आवको मङ्सिरसम्म चालुतर्फ रु पाँच अर्ब १५ करोड, पुँजीगततर्फ रु दुई अर्ब ६९ करोड खर्च गरेको पनि मुख्यमन्त्री कार्यालयले जारी गरेको एक वर्षे उपलब्धिमा उल्लेख छ ।

चालु आवको मङ्सिरसम्म बाँडफाँटबाट प्राप्त हुने रु छ अर्ब ६० करोड, सङ्घीय सरकारबाट प्राप्त अनुदानतर्फ रु सात अर्ब ५६ करोड, प्रदेश स्रोतबाट रु एक अर्ब ३७ करोड तथा बेरुजु र नगद मौज्दात गरी रु ६५ करोड ३३ लाख राजस्व सङ्कलन भएको कार्य प्रगति विवरणमा जनाइएको छ । प्रदेश सरकारले ३० प्रतिशतसम्म खर्च कटौती गर्ने निर्णय गरेको तथा विभिन्न सहकारी सङ्घ संस्थाको कार्यालय प्रयोजनका लागि घर जग्गा रजिस्ट्रेसन शुल्क छुट दिने, बागमती सभ्यता शुल्क र नारायणी सभ्यता शुल्क खारेज गरिएको पनि सरकारको उपलब्धिका रुपमा चित्रण गरिएको मुख्यमन्त्री जम्कट्टेलको दावीे छ ।
–––

खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने : मुख्यमन्त्री जम्कट्टेल

काभ्रेपलाञ्चोक, २७ पुस: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षासँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको बनेपामा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा समितिको नवनिर्मित भवन उद्घाटन समारोहमा शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्नेे बताउनुभएको हो ।

“खेलकुद र खेलाडी राष्ट्रका गौरव हुन्, यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले तयार गर्न लागेको शिक्षा नीतिमा त्यससम्बन्धी नीति पनि समावेश गरिनेछ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । उहाँले यसअघि खेलकुद मन्त्रालयलाई कम बजेट विनियोजन गरिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा त्यसमा पुनरावलोकन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब खेलुकदको विकासका लागि उक्त मन्त्रालयलाई विशेष महत्व दिनेछौँ ।”खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले अन्य मन्त्रालयको बजेट घटाएर भए पनि गरी खेलकुद क्षेत्रमा बजेट बढाउन सुझाउनुभयो । श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जिल्लास्तरमा रङ्गशाला र वडास्तरमा खेलमैदान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।त्यस अवसरमा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्य रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीलगायत वक्ताले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

इयुसँग घनिष्ठ सम्बन्ध चाहेको चिनियाँ राष्ट्रपति सीको भनाइ

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक युरोपसँगको सम्बन्ध सुदृढ गर्न इच्छुक रहेको बताउनुभएको छ । बेइजिङमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डि क्रोसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

बिहीबार डि क्रो चीन पुग्नुभयो र बेइजिङमा बेल्जियमको नयाँ दूतावासको उद्घाटनमा सरिक हुनुभयो । सोही दिन उहाँले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गर्नुभयो । “चीन नयाँ वर्षमा चीन–युरोपेली युनियन (इयु) सम्बन्धमा निरन्तर प्रगतिलाई प्रवर्द्धन गर्नका लागि इयुसँग काम गर्न इच्छुक छ”, सरकारी प्रसारक सिसिटिभीका अनुसार शुक्रबार बेइजिङमा ग्रेट अल अफ दि पिपुलमा भेट भएपछि सीले डि क्रोसँग भन्नुभयो, “अराजक अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दा चीन र युरोपबिच थप पुल बनाउन आवश्यक छ, दुवै पक्षले संयुक्तरूपमा विश्व शान्ति, स्थिरता र समृद्धिलाई प्रवर्द्धन गर्नुपर्छ ।”

बेइजिङ र इयु प्रमुख व्यापार साझेदार हुन् तर इयुले हालै प्रविधि र अन्य क्षेत्रमा चीनमाथि निर्भरता कम गर्ने सङ्केत दिएको छ । बेइजिङको सस्तो विद्युतीय सवारीको उत्पादनले युरोपेली प्रतिद्वन्द्वीहरूलाई चिन्तित बनाएको भन्ने आरोपपछि इयुले घरेलु विद्युतीय सवारी निर्माताहरूका लागि चिनियाँ अनुदानको अनुसन्धान सुरु गरेको छ । बेइजिङले ती आरोपको खण्डन गरेको छ ।

साथै हालैका वर्षमा चीन र पश्चिमबीच बिग्रँदो सम्बन्धहरूले एआई, गलत सूचना र डाटा सुरक्षाले उत्पन सम्भावित कमजोरीमाथि ब्रसेल्समा चिन्ता उत्पन्न गरेको छ । डि क्रोले शुक्रबार ट्विट गर्दै भन्नुभएको छ, “जलवायु परिवर्तन, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको बचाउ गर्ने वा भविष्यका महामारीहरू रोक्नेजस्ता हाम्रा साझा चुनौतीहरूका बारेमा छलफल गर्न मैले चिनियाँ प्रधानमन्त्री लि कियाङसँग पनि भेट गरेको थिएँ ।”

उहाँका अनुसार दुवै नेताले युक्रेनमाथि रुसी आक्रमणबारे पनि कुराकानी भएको छ । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर बेइजिङले मस्कोको निन्दा गर्न अस्वीकार गर्दा चीन र युरोपबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।

परराष्ट्र सचिवसँग पाकिस्तानका राजदूत हास्मीको भेटवार्ता, नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल

काठमाडौँ, २७ पुस : परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो ।

राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाउनुभएको पत्र हस्तान्तरण गर्नुभएको थियो ।

युक्रेनका लागि नयाँ ‘सहयोग कार्यक्रम’ तयार गर्न सुनक शुक्रबार कीएभ जाने

बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि ‘सहयोगको एउटा ठूलो नयाँ प्याकेज’ को शुभारम्भ गर्न र यस आर्थिक वर्षका लागि सैन्य सहयोग २.५ अर्ब पाउन्ड (३.२ अर्ब डलर) पु¥याउन शुक्रबार किएभको भ्रमण गर्नुहुने उहाँको कार्यालयले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ‘ऐतिहासिक’ सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “यो सङ्ख्या विगत दुई वर्षमा २० करोड पाउन्डको वृद्धि हो र यसले ‘ड्रोनको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता’ सुनिश्चित गर्नेछ ।

सुनकको डाउनिङ स्ट्रिट कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो ‘टोटेमिक एग्रिमेन्ट’ दुई देशबीचको ‘अविचलित सय वर्षे साझेदारी’ को दिशामा पहिलो कदम हुनुपर्छ ।”

यो अतिरिक्त रकम लामो दूरीका क्षेप्यास्त्र, हवाई प्रतिरक्षा, तोपखाना गोलाबारुद र सामुद्रिक सुरक्षालगायत क्षेत्रमा लक्षित हुनेछ ।यसमध्ये कम्तीमा २० करोड पाउन्ड ‘युक्रेनका लागि निगरानी, लामो दूरीको आक्रमण र समुद्री ड्रोनसहित हजारौं सैन्य ड्रोनहरू द्रुत रूपमा खरीद र उत्पादन गर्न’ खर्च गरिनेछ ।

सुनकले रूसी हवाई आक्रमणपछि प्रतिक्रिया दिइरहेका आपतकालीन कर्मचारीलाई पनि भेट्ने कार्यक्रम छ ।“दुई वर्षदेखि युक्रेनले क्रूर रुसी आक्रमणलाई प्रतिकार गर्न ठूलो साहसका साथ लडेको छ,” सुनकले भन्नुभयो ।

“उनीहरू अझै पनि लडिरहेका छन्, आफ्नो देशको रक्षा गर्ने र स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरूको रक्षा गर्ने आफ्नो अठोटमा अडिग छन् ।”“म आज यहाँ एउटा सन्देश लिएर आएको छु ः बेलायत पनि डगमगाउने छैन । हामी युक्रेनको सबैभन्दा अँध्यारो समयमा र आगामी अझ राम्रो समयमा पनि युक्रेनको साथमा उभिनेछौं ।

पाकिस्तान बौद्धिक अर्थतन्त्र बन्दैछ – प्रधानमन्त्री

आफ्नो दक्ष मानव संसाधनको डिजिटल पूर्वाधार, उद्यमशीलताको भावना र डिजिटल रूपान्तरणको दृष्टिकोण साथ पाकिस्तान ज्ञानमा आधारित अर्थतन्त्र बन्न तयार रहेको पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री अनवर– उलहक काकरले बिहीबार बताउनुभएको छ ।

उहाँका अनुसार पाकिस्तान सरकारले आफ्नो डिजिटल नीति मार्फत आर्थिक समृद्धि र डिजिटल रूपान्तरणको माध्यमबाट नागरिक सशक्तिकरण ल्याउने परिकल्पना गरेको छ । काकरले देशमा विद्युतिय–रोजगार केन्द्रहरू खोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भन्नु भएको हो ।

उहाँका अनुसार हाल पाकिस्तानले एक सय ९० भन्दा बढी देशहरूमा सूचना प्रविधि तथा सुचना प्रविधि संग सम्बन्धित सेवाहरू निर्यात गरिरहेको छ । करिव ९० प्रतिशतभन्दा बढी टेलीसघनताको साथ, पाकिस्तान पछिल्लो समय सुचना प्रविधि तथा सुचना प्रविधि सेवाहरूको वाह्य जनशक्ति उपलब्ध गर्नको लागि विश्वको दोस्रो आर्थिक रूपमा आकर्षक गन्तव्यको रूपमा स्थापति भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।

पाकिस्तान सफ्टवेयर निर्यात बोर्डले पाकिस्तानमा सफ्टवेयर प्रविधि पार्क (एसटीपी) को सङ्ख्या आठबाट ३० मा बढाएको उहाँले बताउनुभएको छ । पाकिस्तानका साना सहरहरूमा थप ४० वटा सफ्टवेयर प्रविधि पार्क स्थापना गर्ने प्रक्रियामा रहेको बताउदै कक्करले, सरकारले बहु–क्षेत्रीय डिजिटल रूपान्तरण पहलमार्फत् डिजिटल पाकिस्तानको दृष्टिकोणमा काम गरिरहेको बताउनुभएको छ ।