`

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले मुआब्जा वितरण गर्दै

Nepal One HD २६ पुष २०८० १९:३६
अर्थ समाचार

मान्म (कालीकोट) २६ पुस : कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गर्ने भएको छ ।

आयोजना क्षेत्रमा पर्ने घरटहरा तथा गोठको क्षतिपूर्ति दिइने भएको हो । जिल्ला प्रशासन कार्यालयले घरटहरा तथा गोठको क्षतिपूर्तिका लागि सूचना निकालेर १५ दिनभित्र मुआब्जाका लागि सम्पर्क गर्न भनेको हो । आयोजनाबाट प्रभावित हुने कालीकोटका रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिका बासिन्दालाई घरटहरा, गोठ तथा अन्य क्षतिपूर्ति बापत मुआब्जा दिन लागिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो ।

“अहिले प्रभावित क्षेत्रका चार सय ८० जनाका घरटहरा, गोठलगायतको भौतिक संरचनाको मुआब्जाका लागि सूचना निकालेका छौँ”, उहाँले भन्नुभयो, “पन्ध्र दिनभित्र आफूले भोगचलन गरेको संरचनाको जग्गाधनी तथा घर धनी नागरिकता र जग्गाको पूर्जाको प्रतिलिपीसहित निवेदन दिन आह्वान गरेको छौँ ।”

तत्काल घरटहरा तथा गोठको क्षतिपूर्ति सान्नी त्रिवेणी वडा नं १, २, ३ र ४, रास्कोट वडा नं ६, ७, ८ र ९ तथा पचाल झरनाका वडा नं. १, २, ८ र ९ मा रहेका संरचनाको मुआब्जा दिइने प्रमुख जिल्ला अधिकारी नेपालीले जानकारी दिनुभयो । “छुटफुट र त्रुटि भएमा आयोजना फिल्ड कार्यालय मान्म र रकुमा निवेदन दिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीले सरकारी मूल्याङ्कनअनुसार मुआब्जा दिने निर्णय गरेका छौँ ।”

सघन शहरी भवन डिभिजन कार्यालय जुम्लाले गरेको मूल्याङ्नअनुसार नै घरटहरा, गोठ तथा अन्य क्षतिपूर्तिवापत मुआब्जा दिन लागिएको आयोजनाका प्रमुख इञ्जिनीयर डम्बर उप्रेतीले बताउनुभयो । “अहिले रु १३ करोड ६३ लाख मुआब्जामा जान्छ”, उहाँले भन्नुभयो, “छुटफुट भएमा त्यसको लागत पनि बढ्न सक्छ ।”

आयोजनाका लागि जम्मा छ सय ४६ मिटर लामो परीक्षण सुरुङ खन्नुपर्नेमा त्यो काम सकिएको उप्रेतीले बताउनुभयो । सरकारले चार सय ८० मेगावाटको फुकोट कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने र ४९ प्रतिशत सेयर नेपालको रहने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया