`

जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ

गोदार (धनुषा) २२ पुस : विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ । पुस महिनायता मन्दिरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दास बताउनुहुन्छ । उहाँले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको भीडभाड हुने गरेको बताउनुभयो । मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट पर्यटक आउने गरेको पुजारी दासले जानकारी दिनुभयो । अहिले पर्यटकको भीड जानकी मन्दिरपछि राममन्दिर, लक्ष्मणमन्दिर, विवाह मण्डपका साथै धनुषाको धनुषाधाम रहेको धनुषा मन्दिरमा देखिन्छ ।

पर्यटक नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, मध्येप्रदेश, उत्तराखण्डलगायत राज्यबाट पर्यटक जनकपुरधाम आउने गरेका छन् । काठमाडौँ इन्द्रचोक बस्ने विजयमान श्रेष्ठले पहिलो आज पटक जनकपुरधामस्थित जानकी मन्दिर धुम्न आएको बताउनुभयो । “विवाह पञ्चमी महोत्सवबारे सञ्चार माध्यममा हेरेपछि जानकी मन्दिर घुम्न आएको छु”, उहाँले भन्नुभयो, “श्रीमती छोरा, छोरी गरी परिवारका १२ सदस्यसहित जनकपुरधाम घुम्न आएको छु ।”

भारतको मध्य प्रदेशको अशोकनगर जिल्लाबाट गाउँको ६० जनाको समूहका जानकी मन्दिर घुम्न आएको दर्शनार्थी मनोज शर्माले बताउनुभयो । उहाँले काठमाडाँैको पशुपतिनाथको दर्शनपछि जानकी मन्दिर दर्शन गर्न आएको जानकारी दिनुभयो ।

जानकी मन्दिरको दर्शन गरेपछि आफू धन्य भएको बताउँदै शर्माले माता सीताको जन्मभूमि तथा भगवान् रामको ससुराली दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । “यहाँबाट गएपछि गाउँका अन्य मानिसलाई पनि जानकी मन्दिर घुम्न आउन सुझाव दिन्छु”, शर्माले भन्नुभयो, “जनकपुरधाममा दुई दिन बसेर यहाँका अन्य धार्मिकस्थलमा घुमघाम गर्दै पूजाअर्चना गर्ने कार्यक्रम छ ।”

भारतको १२ वटै ज्योतिर्लिङ्ग (सोमनाथ, मल्किार्जु स्वामी, महाकालेश्वर, ऊँकारेश्वर, केदारनाथ, भीमाशङ्कर, काशी विश्वनाथ, त्रयम्बकेश्वर, वैधनाथ, नागेश्वर, रामेश्वरम र घृष्णेश्वर मन्दिर) को पैदल यात्रा गरेका विजय दास पनि यतिबेला जनकपुरधाम आइपुग्नुभएको छ । भारत सिवान जिल्ला गोठनी प्रखण्डका दास अयोध्याबाट जनकपुरधाम पनि पैदल यात्रा गरेर यहाँ आउनुभएको हो । यहाँबाट काठमाडौँको पशुपतिनाथको दर्शन गर्न पनि पैदल नै जाने उहाँले बताउनुभयो ।

दास १७ महिनादेखि निरन्तर पैदल यात्रामा हुनुहुन्छ । गोमुखबाट गङ्गा जल भरेर १२ वटै ज्योतिर्लिङ्गमा अर्पण गर्ने अठोट लिएर पैदल यात्रामा रहेको उहाँ बताउनुहुन्छ । सोही क्रममा जानकी मन्दिरको दर्शन गर्दै काठमाडौँ हिँड्ने योजना रहेको दासको भनाइ छ ।

अहिले जनकपुरधाममा भारतीय र नेपाली पर्यटकको आउजाउ बढेको होटेल व्यवसायी अभिषेक भुनझुनवालाले बताउनुभयो । उहाँका अनुसार दैनिक करिब आठ सयको सङ्ख्यामा जनकपुरधाम आउने गरेका छन् । सीताको जन्मभूमि रहेको कारणले धार्मिक पर्यटक जनकपुरधाम अत्यधिक आउने गरेका छन् ।

इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागे,पक्राउ गर्न सोरोङ शहर बाहिरको नाका बन्द

इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागेका छन् ।पूर्वी इन्डोनेसियाको दक्षिणपश्चिम पपुवा प्रान्तको सोरोङमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे कारागारबाट ५३ जना कैदी भागेको अधिकारीहरूले बताएका छन्। फरार कैदीहरूलाई पुन: पक्राउ गर्न प्रहरीले सोरोङ शहर बाहिरको नाका बन्द गरेको छ।

“हामीले भागेका कैदीहरूको तथ्याङ्क सङ्कलन गर्दै सोरोङ शहर, बन्दरगाह र विमानस्थल बाहिरका सडकहरूका नाका पनि बन्द गरेका छौँ,” युदियान्टोले आइतबार भन्नु भएको छ ।युदियान्टोले भागेका कैदीहरू सामान्य अपराध र लागुऔषध मुद्दामा संलग्न रहेको बताउनु भएको छ ।

केकभित्र गाँजा राखेर अनलाइनमार्फत् बेच्ने एकजना पक्राउ

काठमाडौँ, २२ पुस : नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत मानन्धरले ती केक बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ,”उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ मानन्धरसँग गाँजाको धुलो एक सय २१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, गाँजा तीन किलोग्राम बरामद गरेको छ । मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।पक्राउ मानन्धरलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता जोशीले बताउनुभयो ।

पूर्वी इराकमा भएको हवाई आक्रमणमा ४ जना आइएस लडाकु मारिए

इराकको पूर्वी प्रान्त दियालामा भएको हवाई आक्रमणमा चार इस्लामिक स्टेट (आइएस) लडाकु मारिएको इराकी सेनाले आइतबार जनाएको छ ।गुप्तचर प्रतिवेदनका आधारमा इराकी लडाकु विमानहरूले शनिबार राति इराकी राजधानी बगदादबाट करिब ९० किलोमिटर उत्तरपूर्वमा रहेको हवद अल-वक्फ क्षेत्रमा आइएस लडाकुहरू लुकेर बसेको ठाउँमा हवाई हमला गरेको सुरक्षा मिडिया सेलको जनाएको छ।

सो आक्रमणमा मारिनेमा उक्त क्षेत्रका लडाकु समूहका सैन्य नेता माजिद मेयुफ पनि रहेको बताइएको छ । सन् २०१७ मा आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार आएको छ तर यसका बाँकी लडाकुहरू मरुभूमि र दुर्गम क्षेत्रहरूमा विस्तार हँदै गएको पाइएको छ । पछिल्लो समय यिनीहरूले सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएका छन् ।

कर्णालीजस्ता पछाडि पारिएका क्षेत्रलाई मौजुदा कानुनले न्याय गरेन : मुख्यमन्त्री शर्मा

कर्णाली, २२ पुस : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीजस्ता पछाडि पारिएका क्षेत्रलाई मौजुदा कानुनले न्याय नगरेका टिप्पणी गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’सम्बन्धी अन्तरक्रियामा उहाँले इमान्दार र सोझालाई मौजुदा कानुनले बढी दुःख दिने गरेको तर्क गर्नुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “कर्णालीमा आज पनि अधिकृतस्तरका ५० प्रतिशत कर्मचारी छैनन् तर यही प्रदेशमा कामको परिणाम राम्रो आएन भनिन्छ । तोकिएको प्रदेशमा नआएका ती कर्मचारी कहाँबाट तलब खान्छन् ? सम्बन्धित प्रदेशमा खटाइएका कर्मचारीले त्यहाँ काम नगरी अर्कै ठाउँबाट तलब खाने कुरामा अख्तियारले खोजी गर्छ, गर्दैन ?” कानुन जनता र राष्ट्रका लागि भएमात्र जनताका कानुनका लागि भइदिने उहाँको भनाइ थियो ।

प्रदेश सरकारका योजनामन्त्री बेदराज सिंह, कानुनमन्त्री कृष्णबहादुर जिसी, भौतिकमन्त्री मङ्गल शाही, कृषिमन्त्री भीमप्रकाश शर्मा, उद्योगमन्त्री कृष्णबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले प्रदेश सरकार र स्थानीय तह भ्रष्टाचारका अखडा भए भन्ने गलत सन्देश दिने काम गरिएको तर्क गर्नुभयो । दलबल, आग्रह र स्वभाव नमिलेका भरमा उजुरी हाल्ने कामले विकास निर्माणमा अवरोध पुगेको उहाँहरुको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संविधानअनुसार आवश्यक ऐन, निजामती कर्मचारी ऐन अहिलेसम्म नबनेको तर विकास निर्माणका कामका लागि करार कर्मचारी राख्दा अख्तियार दुरुपयोग हुने अवस्थाले झनै ठूलो समस्या निम्तिएको टिप्पणी गर्नुभयो । उहाँले उजुरी हालेर दोषी नठहरिएमा मानसिक र भौतिक क्षति गराएबापत उजुरीकर्ताले क्षतिपूर्ति गर्ने कानुन ल्याउन पनि आयोगलाई सुझाव दिनुभयो । 

आयोगका सचिव रामेश्वर दाहालले प्रक्रिया मिचेर पनि परिणाम नआउने काम खतरा हुने र त्यसमा आयोगले सघन अनुसन्धान अभियोजन गर्ने बताउनुभयो । नीतिगत निर्णयको लुप होल प्रयोग गरेर स्वार्थ केन्द्रित कामले भ्रष्टाचार बढेको बताउँदै उहाँले भन्नुभयो, “त्यस्ता कामका लागि प्रस्ताव लैजाने, निर्णय गर्ने, कार्यान्वयनमा लैजाने पदाधिकारी तथा कर्मचारीहरु जिम्मेवार हुन्छन् र भ्रष्टाचारमा संलग्न भएको पाइएमा सबै तानिन्छन् ।” उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय नचिन्ने र मन्त्रिपरिषद्ले गरेका सबै निर्णय नीतिगत निर्णय हुन नसक्ने जिकिर गर्नुभयो । आफूले बफादार भएर शपथ खाएको कामप्रति डराउनुपर्ने अवस्था नभएको प्रतिक्रिया दिँदै सचिव दाहालले भन्नुभयो, “आफ्नो स्वार्थ अनुकूल गरिने काममा डराउनुस् । उजुरी पर्ने बित्तिकै डराउनु पर्दैन ।”

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले अख्तियारमा परेका २८ हजार उजुरीमा १८ हजार फछ्र्यौट भएको र एक सय ६२ नयाँ उजुरी परेको भन्दै सत्य काम गर्नेहरुका लागि उजुरीले फरक नपार्ने बताउनुभयो । उहाँले स्थानीय तहका उजुरी बढेकाले पालिकास्तरमा सुशासन प्रवद्र्धनका कार्यक्रम गर्न अख्तियारलाई सुझाउनुभयो । सचिव पौडेलले कर्णालीमा प्राविधिक कर्मचारी मात्र ४० प्रतिशत भएको जनाउनुभयो ।

अन्तरक्रियामा आयोगका सहसचिव गङ्गाप्रसाद पौडलले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैबीच आयोगको सुर्खेत कार्यालयका कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले कार्यक्रमको रुपरेखा र कर्णालीको अवस्थाबारे प्रकाश पार्नुभयो । कार्यक्रममा प्रदेश सरकारका सचिवहरु, प्रमुख जिल्ला अधिकारी, निर्देशकहरु, कार्यालय तथा सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

–––

पिएम कप क्रिकेट : खड्काको शतकमा बैतडी फाइनलमा, उपाधिका लागि कैलालीसँग भिड्ने

बैतडी, २२ पुसः प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।समूह चरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने खेलको टुङ्गो लागेको हो । समान तीन खेल जितेको बैतडी अङ्कतालिकाको शीर्ष र कैलाली दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छन् । आज सम्पन्न खेलमा बैतडीलाई १० रनले हराउँदै कैलाली फाइनलमा प्रवेश गरेको हो । यसअघि समान तीन खेल जितेको कञ्चनपुर भने नेट रन रेटमा पछि रहँदै फाइनल होडबाट बाहिरिएको स्कोरर नरेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

जितका लागि पाएको दुई सय एक रनको लक्ष्य पछ्याएको बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९० रन मात्रै बनाउन सक्यो । जसमा ओपनर खडक बोहराले शतकीय पारी खेले । उनले ७९ बलको सामना गर्दै १२ चौका र दुई छक्काको मद्दतमा एक सय १० रन जोडे । जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलो खेलाडीसमेत बने । कैलालीका लागि शेर मल्लले चार र कप्तान नारायण जोशीले दुई विकेट हात पारे ।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरु हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३० ओभरमा झारिएको थियो ।टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा दुई सय रन बनायो । उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनको योगदान गरे । बैतडीका खडक बोहराले तीन विकेट झारे । खडक खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

अब बैतडी र कैलालीबीचको फाइनल खेल मङ्गलबार हुनेछ ।सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पुस १४ गतेदेखि छनौट प्रतियोगिता सुरु भएको थियोे । छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको टोलीमा समावेश गरिनेछ ।

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौँ, २२ पुस : निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आज अन्तिम नामावली प्रकाशन भइसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेशसभाका मतदाता पाँच सय ४९ रहेका छन् भने स्थानीय तहका एक हजार चार सय ९८ रहेका छन् । जसमा प्रदेशसभामा प्रतिमतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रतिमतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार चार सय ६२ रहेको छ । दुवैतर्फ गरेर दुई हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार पाँच सय ५९ रहेको छ ।

प्रदेशगत हिसाबले कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ९३ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुखतर्फ दुई सय ७४ जना गरी तीन सय ६७ जना मतदाता रहेको छ । कोशी प्रदेशसभा सदस्यको मतभार चार हजार नौ सय २९ रहेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख गरी पाँच हजार दुई सय ६ मतभार छ । कोशी प्रदेशमा कूल १० हजार एक सय ३५ मतभार कायम हुने उल्लेख गरिएको छ ।

त्यस्तै मधेस प्रदेशमा प्रदेशसभा सदस्यको एक सय सात, पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख दुई सय ६७ गरी जम्मा तीन सय ७४ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार पाँच हजार ६ सय ७१ र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको पाँच हजार ७३ गरी जम्मा १० हजार सात सय ४४ मतभार कायम हुनेछ ।

बागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फ एक सय १० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय ३७ गरी जम्मा तीन सय ४७ जना मतदाता कायम भएका छन् । बागमतीमा प्रदेशसभा सदस्यको मतभार पाँच हजार आठ सय ३० र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार पाँच सय तीन गरी जम्मा १० हजार तीन सय ३३ मतभार कायम हुनेछ ।

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फका मतदाता एक सय ७० गरी जम्मा दुई सय ३० जना मतदाता कायम भएका छन् । गण्डकीमा प्रदेशसभा सदस्यको मतभार तीन हजार एक सय ८० र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार तीन हजार दुई सय ३० गरी जम्मा ६ हजार चार सय १० मतभार कायम हुनेछ ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय १८ गरी जम्मा तीन सय पाँचजना मतदाता कायम भएका छन् । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार चार हजार ६ सय ११ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार एक सय ४२ गरी जम्मा आठ हजार सात सय ५३ मतभार कायम हुने आयोगले जनाएको छ ।

कर्णालीमा प्रदेशसभा सदस्यको सङ्ख्या ४० छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ५६ जना छन् । प्रदेशसभाको मतभार दुई हजार एक सय २० र पालिकाको दुई हजार नौ सय ६४ गरी कर्णालीमा जम्मा मतभार पाँच हजार ८४ हुनेछ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या एक सय ७६ गरी जम्मा दुई सय २८ जना मतदाता कायम छन् । जसअनुसार प्रदेशसभा सदस्यको दुई हजार सात सय ५६ र पालिकाका तीन हजार तीन सय ४४ गरी जम्मा ६ हजार एक सय मतभार कायम रहेको आयोगले जनाएको छ ।

बागमती सरकारद्वारा सात कार्यविधि स्वीकृत

मकवानपुर, २२ पुसः बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आजको बैठकले सातवटा कार्यविधि स्वीकृत गरेको छ ।मुख्यमन्त्री शालिकराम जमट्टेलको अध्यक्षतामा भएको बैठकले चेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि, मौलिक चलचित्र निर्माण तथा प्रवद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन कार्यविधि, द्वन्द्वपीडितका लागि सबलीकरण कार्यविधि,कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वय कार्यविधि र एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) कार्यविधि स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि तथा दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

इपानद्वारा नेपाल र भारतबीच सम्पन्न ऊर्जा व्यापारसम्बन्धी सम्झौताको स्वागत

काठमाडौँ, २२ पुस : निजी क्षेत्रका ऊर्जा उद्यमीले नेपाल र भारतबीच सम्पन्न दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौताको स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौताले बजार सुनिश्चित गरेको उल्लेख गरिएको छ ।

आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दुई देशबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले बजार सुनिश्चित गरेको इपानले जनाएको छ ।

सन् १९७१ देखि नेपाल र भारतबीच विद्युत् आदानप्रदान हुँदै आएकोमा सन् २०१४ मा विद्युत् व्यापार सम्झौता (पीटीए) भएको थियो । सोही सम्झौतामा टेकेर पछिल्लो समय नेपालबाट विद्युत् अल्पकालीन रुपमा भारतमा निर्यात हुँदै आएको थियो । चालू आवमा मात्रै नेपालबाट रु १५ अर्बभन्दा बढीको विद्युत् भारत निर्यात भएकोमा निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाको ठूलो हिस्सा रहेको थियो ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा २०८० पुस १९ गते भारतसँगभ एको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबाट नेपालको निजी क्षेत्रले ठूलो लाभ लिन सक्ने इप्पानको विश्वास छ ।

जेठमा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा विद्युत् निर्यातको प्रारम्भिक समझदारी भएकोमा अहिले आएर भएको सम्झौताको ऐतिहासिक महत्व रहेको इप्पानको ठम्याइ छ । यो सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकी राखेको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) पूर्णरुपमा खुला हुनुपर्ने तथा निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउनुपर्नेमा जोड दिइएको छ ।

सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियत घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याको समाधानका लागि सरकार थप सक्रिय भई तुरुन्तै अघि बढ्नुपर्ने माग पनि इप्पानको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिएमा निजी क्षेत्रले पाँच वर्षमै १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने बताउनुभयो । सम्झौताले नेपालको ऊर्जा विकासमा महत्त्वपूर्ण अवसर सृजना भई थप ढोका खुल्दै जाने अध्यक्ष कार्कीको भनाइ छ ।

यसले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्‍याउने पनि अध्यक्ष कार्कीले बताउनुभयो ।

यो सम्झौतापछि दीर्घकालीन रुपमा विद्युत् व्यापारका लागि निजी क्षेत्रका कम्पनीलाई बाटो खुला गर्ने गरी सरकारले थप नीतिगत व्यवस्था गर्ने अपेक्षा रहेको इप्पानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

यसका लागि नेपाल तथा भारत सरकारले दुई देशका निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि निर्वाध रुपमा पहुँच दिने गरी थपकार्य तुरुन्तै अघि बढाउनुपर्ने र यसका लागि आवश्यक सहयोग गर्न ऊर्जा उत्पादकको साझा संस्थाको हैसियतमा इप्पान सदैव तयार रहेको पनि आचार्यले बताउनुभयो । ऊर्जा क्षेत्रका समस्या समाधान गर्ने गरी अधिकार सम्पन्न एकद्वार प्रणालीमा आधारित विशेष डेस्क स्थापना गरी चुस्तदुरुस्त रुपमा काम गर्नु आवश्यक रहेको इप्पानका महासचिव बलराम खतिवडाले बताउनुभयो ।

युक्रेनलाई सहयोग गर्न जापान प्रतिबद्ध छ– जापानी विदेशमन्त्री

जापानका विदेशमन्त्री योको कामिकावाले आइतबार अचानक किएभको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले मस्कोको आक्रमणको दोस्रो वर्ष नजिक आउँदा टोक्यो युक्रेनलाई समर्थन गर्न ‘दृढ’ रहेको बताउनुभयो । जापान रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरूमा सामेल भएको छ र उसले किएभलाई हतियार प्रदान गरेको छ । सन् २०२४ को आफ्नो पहिलो विदेश भ्रमणका क्रममा कामिकावाले आफ्ना युक्रेनी समकक्षी दिमित्रो कुलेबासँग किएभमा बम आश्रयमा एयर साइरन बज्दा पत्रकार सम्मेलनको आयोजना गर्नुभयो ।

“युक्रेनमा शान्ति पुनर्बहाली हुन सकोस् भन्ने हेतुले जापान युक्रेनलाई सहयोग गर्न प्रतिबद्ध छ”, कुलेबासँग जमिनमुनिको कोठाको डेस्कमा बसेर उहाँले भन्नुभयो, “युक्रेनमा अहिले स्थिति कति तनावपूर्ण छ भन्ने मैले महसुस गर्न सक्छु ।”

उहाँको भ्रमण द्वन्द्वमा दुवै पक्षबाट बढ्दो हमलाका बीच भएको छ । “विशेषगरेर नयाँ वर्षको दिनमा म एकपटक फेरि रुसको क्षेप्यास्त्र र ड्रोन हमलाको निन्दा गर्दछु”, यस वर्ष युक्रेनमा पहिलो विदेशी पाहुना कामिकावाले भन्नुभयो । उहाँले ड्रोन पत्ता लगाउने प्रणाली प्रदान गर्नका लागि टोक्योले तीन करोड ७० लाख अमेरिकी डलर विनियोजन गर्ने घोषणा गर्नुभयो । 

विदेशमन्त्री कामिकावाले रुसी आक्रमणका क्रममा युक्रेनलाई अर्को चिसोबाट बच्न सहयोग गर्नका लागि जापानले पाँच वटा जेनेरेटर पनि उपलब्ध गराउने जानकारी दिनुभयो । 

कामिकावाले किएभको उपनगर बुचाको पनि भ्रमण गर्नुभयो । बुचामा रुसी सेनालाई सन् २०२२ मा नागरिकको नरसंहारका लागि दोषी ठहर गरिएको छ । उहाँले बुचामा आफूले देखेको कुराले ‘स्तब्ध’ भएको बताउनुभयो । उहाँ पहिला ठूलो लडाइँ भएको इरपिन पनि जानुभयो । 

उहाँको पहिलादेखि नै अघोषित शुक्रबारदेखि हुने दुई साताको पोल्यान्ड, फिनल्यान्ड, स्विडेन, नेदरल्यान्ड्स, अमेरिका, क्यानाडा, जर्मनी र टर्कीएको भ्रमण गर्ने योजनामा परिवर्तन गरिएको थियो ।

विदेशमन्त्री कामिकावा र उहाँका युक्रेनी समकक्षी कुलेबाले फेब्रुअरीमा टोक्योमा युक्रेनको आर्थिक पुनर्निर्माणलाई प्रवर्द्धन गर्न सम्मेलन आयोजना गर्ने जापानको योजनाबारेमा पनि छलफल गर्नुभयो । बदलामा कुलेबाले जनवरी १ मा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति जापानसँग ‘ऐक्यबद्धता’ व्यक्त गर्नुभयो । 

कुलेबाले युक्रेनलाई अघिल्लो वर्ष एफ–१६ जेट उपलब्ध गराउने जापानको निर्णयप्रति किएभ आभारी रहेको तर मुलुकको हवाई रक्षा प्रणाली पनि चाहिने बताउनुभयो । “प्रत्येक दिन युक्रेनका सहर रुसी क्षेप्यास्त्र र ड्रोनहरूले नष्ट हुन्छन्, उनीहरू हामीलाई कब्जा गर्न सक्तैनन् त्यसैले तिनीहरू हामीलाई नष्ट गर्न खोजिरहेका छन्”, उहाँले भन्नुभयो । 

ब्राजिलले गर्यो दिवङ्गत महान फुटबल खेलाडी जगालोलाई अलविदा

चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक ९२ वर्षको उमेरमा निधन हुनुभएका मारियो जगालोलाई ब्राजिलियाली जनताले आइतबार अन्तिम श्रद्धाञ्जलि दिएका छन् । उहाँ ब्राजिलको सबैभन्दा महान फुटबल पुस्ताको अन्तिम सदस्य हुनुहुन्थ्यो ।

रियो डे जेनेरियोमा ब्राजिलियाली फुटबल परिसङ्घ (सिबिएफ) को मुख्यालयमा उहाँको कफिनअगाडि शोक सन्तप्त मानिस कालो, ब्राजिलको राष्ट्रिय टिमको पहेँलो तथा जगालोले खेल्ने र प्रशिक्षण गर्नुभएका क्लबहरूको रङका कपडा लगाएका थिए ।

फिताले टाँसिएको कफिननजिकै ब्राजिलको रेकर्ड पाँच विश्वकप ट्रफीहरू पनि प्रदर्शन गरिएको थियो । फुटबल इतिहासमा सबैभन्दा बढी पाँचमध्ये चारवटा जित्नमा आफ्नो रणनीतिक प्रतिभाका लागि परिचित लेफ्ट विङ जगालोको हात थियो ।

‘प्रोफेसर’ का रूपमा पनि चिनिने उहाँले ब्राजिलको सन् १९५८ र सन् १९६२ विश्वकप विजेता टिममा पेलेसँग खेल्नुभएको थियो । त्यसपछि उहाँ पेलेले खेल्नुभएको सन् १९७० विश्व च्याम्पियन टिमको प्रशिक्षक बन्नुभयो । उक्त टिमलाई धेरै मानिसले इतिहासको सबैभन्दा महान टिम मान्छन् । साथै सन् १९९४ मा ‘सेलेकाओ’ (ब्राजिलको राष्ट्रिय टिमको उपनाम) ले उक्त उपलब्धि दोहोर्याउँदा उहाँले सहायक प्रशिक्षकका रूपमा काम गर्नुभयो ।

“उहाँले फुटबलमा इतिहास रच्नुभयो, यो ठूलो नोक्सानी हो”, प्रसिद्ध क्लब फ्लेमेङ्गोका पूर्वअध्यक्ष एडुआर्डो बान्डेरा डे मेलोले भन्नुभयो, “उहाँले सन् १९७० मा राष्ट्रिय टिमसँग जे गर्नुभयो त्यो हरेक प्रशिक्षकका लागि प्रेरणा हुनुपर्छ ।” जगालो फ्लेमेङ्गोमा खेलाडी तथा व्यवस्थापक दुवै हुनुहुन्थ्यो ।

हालैका महिनाहरूमा धेरै स्वास्थ्य समस्याको सामना गरेपछि रियो अस्पतालमा मल्टिपल अर्गन फेल्योरका कारण जगालोको शुक्रबार निधन भएको छ । सार्वजनिक जागरणपछि निजी सामूहिक प्रार्थनासभा हुनेछ र त्यसपछि उहाँको शवलाई साओ जोआओ बतिस्ता कब्रस्तानमा गाडिने छ । उक्त कब्रस्तान ब्राजिलका केही सबैभन्दा प्रसिद्ध नागरिकहरूको अन्तिम विश्राम स्थल हो ।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जगालोलाई ‘सर्वकालीन महान फुटबल खेलाडी तथा प्रशिक्षकहरू मध्ये एक’ भन्दै उहाँको निधनमा शनिबारदेखि तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गर्नुभयो र सम्पूर्ण ब्राजिलमा आधा झन्डा झुकाउन आदेश दिनुभयो ।

फुटबल जगत्बाट पनि श्रद्धाञ्जलि दिइएको छ । फिफा अध्यक्ष गियानी इन्फेन्टिनोले जगालोको प्रभाव ‘सर्वोच्च’ रहेको बताउनुभयो । विश्वकप विजेता रोनाल्डिन्हो, रोमारियो र काफुले श्रद्धाञ्जलि व्यक्त गर्नुभयो र हाल ब्राजिल तथा रियल मेड्रिडका स्टार भिनिसियस जुनियरले उहाँलाई ‘लिजेन्ड’ भन्नुभयो । खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप जित्ने एकमात्र अन्य पुरुषमा जर्मनीका फ्रान्ज बेकनबाउर (सन् १९७४ र सन् १९९०) तथा फ्रान्सका डिडिएर डेसच्याम्प्स (सन् १९९८ र सन् २०१८) हुनुहुन्छ ।

नेपाल र भारतका अधिकारीबीच ऊर्जा क्षेत्र सहकार्यको समीक्षा

काठमाडौँ, २२ पुसस् ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त सञ्चालक समितिको ११ औँ बैठकमा ऊर्जा व्यापार, जलविद्युत् परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यलगायत विषयमा समीक्षा भएको छ ।

भारतको ऊर्जा मन्त्रालयका सचिव पङ्कज अग्रवाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव ९ऊर्जा० गोपालप्रसाद सिग्देलको सहअध्यक्षतामा गत शनिबार चितवनमा सम्पन्न बैठकमासंयुक्त प्राविधिक टोली ९जेटिटी० लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले आज जनाएको छ ।

बैठक भारत र नेपालबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि भएको हो । त्यसअघि भारतको ऊर्जा मन्त्रालयका सहसचिव डी साई बाबा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी ११ औँ संयुक्त कार्यदलको बैठक काठमाडौँमा भएको थियो ।

दुवै बैठकले १३२ केलोभोल्ट र त्यसभन्दा कम प्रसारण लाइनबाट हुने अन्तरदेशीय ऊर्जा व्यापारका प्रारुप स्वीकृत गरेका थिए भने भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले पुस १९ गते विशेष महत्वका तीनवटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गर्नुभएको थियो ।

विदेशमन्त्रीद्वयले रक्सोल ९विहार, भारत०–परवानीपुर ९नेपाल० को दोस्रो सर्किट, कटैया ९विहार, भारत०–कुशाहा ९नेपाल० को दोस्रो सर्किट र नयाँ नौतनवा ९उत्तरप्रदेश, भारत० –मैनहिया ९नेपाल० को उद्घाटन गर्नुभएको हो। करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबीचको समग्र प्रसारण क्षमता एक हजार चार सय मेगावाट पुर्‍याउनेछ । नयाँ नौतनवा –मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तरप्रदेशबीचको पहिलो प्रसारण लाइन हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सन् २०२२ अप्रिलमा भएको भारत भ्रमणका क्रममा जारी भएको भारत–नेपाल संयुक्त दृष्टिकोणपत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक यथाशीघ्र बोलाउन सहमत भएका जनाइएको छ ।

वार्ता र संवादकै माध्यमबाट सर्लाही घटनाको समाधान खोज्न आग्रह

काठमाडौँ, २२ पुस : राष्ट्रिय मानवअधिकार आयोगले वार्ता र संवादकै माध्यमबाट सर्लाही घटनाको समाधान खोज्न प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ । सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशङ्कर शाहको मृत्यु भएकोे घटनालाई लिएर आयोगले प्रदर्शरक्त पक्षलाई वार्ता र सम्वादको माध्यमबाट समाधान खोज्न अनुरोध गरेको हो । उक्त घटनाको आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

  “उक्त घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी कारवाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “भविष्यमा यस प्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाइ शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ ।”

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने

मकवानपुर, २२ पुस : बागमती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गरिएको छ । प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा चार पदको निर्वाचनका लागि कुल तीन सय ४७ मतदाताको सूची सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले चार पदका लागि यही पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्ममा राजनीतिक दलहरुका तर्फबाट र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको जानकारी दिनुभयो ।राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशसभाका एक सय १० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ३७ जना गरी कुल तीन सय ४७ मतदाताको नामावली सार्वजनिक गरिएको बागमती प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तारा आचार्यले जानकारी दिनुभयो ।कुनै पनि मतदाताको नामको विरुद्घमा उजुरी नपरेको र सो नामावलीमाथि थप संशोधन गर्न नपरेकाले जम्मा तीन सय ४७ मतदाता राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा मतदान गर्न पाउने भएको बागमती प्रदेश निर्वाचन अधिकृत सञ्जेलले राससलाई बताउनुभयो ।

कान्ति बाल अस्पताललाई सहयोग गर्ने मन्त्री बस्नेतको प्रतिबद्धता

काठमाडौँ, २२ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि सबै प्रकारको सहयोग उपलब्ध गराउन मन्त्रालय तयार रहेको बताउनुभएको छ ।अस्पतालको ६२ औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले अस्पताललाई राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थाका रुपमा निर्माण गर्न शहरी विकास मन्त्रालयसँग तत्काल छलफल सुरु गर्ने बताउनुभयो ।

सो अवसरमा मन्त्री बस्नेतले एक हजार शय्या क्षमतासहितको उक्त अध्ययन संस्थानका लागि आवश्यक पर्ने भवन निर्माणको तयारी गरिने विश्वास दिलाउनुभयो ।

समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छाले सातै प्रदेशमा प्रदेशस्तरीय बाल अस्पतालको सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालमा शय्या थप्दैमा सेवाग्राहीले सहज रुपमा उपचार सेवा पाउन नसक्ने भन्दै सेवा विकेन्द्रीकरण गर्न सुझाव दिनुभयो ।

अस्पतालका निर्देशक डा पङ्कज रायले पर्याप्त जनशक्ति र शय्याको अभावबारे मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । “उपचार सेवा लिन आउनुभएका धेरै बिरामीले लामो समयसम्म कुर्नुपर्ने बाध्यता छ, अस्पताल आउने सबैलाई शय्या पुर्याउन हम्मेहम्मे छ”, डा रायले भन्नुभयो, “एक चिकित्सकले पाँच चिकित्सक र एक नर्सले पाँच नर्सको काम गर्नुपर्ने अवस्था छ ।”

वार्षिकोेत्सव समारोहमा मन्त्री बस्नेतले अस्पताललाई जापान सरकारबाट प्राप्त एमआरआई र सिटी मेसिन जडानको उद्घाटन गर्नुभयो ।

निर्देशक रायका अनुसार आर्थिक वर्ष २०७९/८० मा अस्पतालबाट एक लाख ९९ हजार दुई सय ५६ जना बालबालिकाले उपचार सेवा लिएका छन् । दुई हजार आठ सय ४२ जनाले शल्यक्रिया उपचार सेवा लिएका छन् । ६२ वर्षअघि ५० शय्याबाट सुरु भएको अस्पतालले पछिल्लो समय तीन सय ५२ शय्याबाट उपचार सेवा उपलब्ध गराउँदै आएको छ । अस्पताल विकास समितिकोतर्फ स्वीकृत दरबन्दी दुई सय ७५ जना रहेको छ ।

अस्पतालका निर्देशक डा रायले सातै प्रदेशका बालबालिकाको ‘रिफरल’ अस्पतालका रुपमा विकास गर्ने, बाल स्वास्थ्यका सबै विशिष्टीकृत सेवा उपलब्ध गराउने र बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।

अफगानिस्तानबाट ८ महिनामा २७ मिलियन अमेरिकी डलरको बहुमूल्य केशर निर्यात

अफगानिस्तानले विगत आठ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो तथ्याङ्क सार्वजनिक गर्नु भएको हो ।

लगभग १८ हजार ६२० किलोग्राम बहुमूल्य केशर निर्यात भएको टोलोन्युजले उल्लेख गरेको छ ।अफगानिस्तानमा स्थानीय रूपमा “रातो सुन” भनेर चिनिने मूल्यवान् मसला प्रायः भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, टर्की, इन्डोनेसिया, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका र बेलायतमा निर्यात हुने गरेको जावादले बताउनु भएको छ ।

पश्चिमी हेरात प्रान्तमा केशरको अत्यधिक खेती गरिएको छ। यसैबीच, कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयले द्वन्द्वग्रस्त मुलुकका अन्य प्रदेशमा पनि केशर खेतीलाई प्रवर्द्धन गर्ने प्रयासस्वरुप २ सय कृषकलाई तालिम प्रदान गरेको जनाएको छ । अफगानिस्तानका निर्यात हुने प्रमुख वस्तुहरूमा कोइला, केशर, ताजा र सुख्खा फलफूल, हातले बुनेको गलैंचा र बहुमूल्य ढुङ्गा (पत्थर) आदि पर्दछन्।

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त,लिए सपथ

मोरङ, २२ पुस : कोशी प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गर्नुभएको छ । प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा(२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आज उक्त पदमा नियुक्त गर्नुभएको हो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेशप्रमुखको कार्यालयमा आज  आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।त्यस अवसरमा प्रदेशप्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो । 

कार्यान्वयन गर्न सकिने आयोजना मात्र तयार गर्न राष्ट्रिय योजना आयोगलाई सांसदको सुझाव

काठमाडौँ, २२ पुस : प्रतिनिधिसभाका सदस्यहरूले आवश्यकता र औतित्यताका आधारमा कार्यान्वयन गर्न सकिने आयोजना मात्र तयार गर्न राष्ट्रिय योजना आयोगलाई सुझाव दिनुभएको छ ।

अर्थसमितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुत १६औँ पञ्चवर्षीय योजनाको मस्यौदामाथिको छलफलमा उहाँहरूले १५औँ पञ्चवर्षीय योजनाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउन आग्रह गर्नुभयो ।

पूर्वअर्थमन्त्री एवं समिति सदस्य विष्णुप्रसाद पौडेलले योजना छनोट गर्ने भूमिका आयोगलाई हुनुपर्ने धारणा राख्नुभयो । योजना आयोगलाई निर्देशित गर्ने छुट्टै कानुन आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।

सांसद पदम गिरीले १६औँ योजनाको अवधारणाअघि अघिल्लो योजनाको राम्रो समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मलुकको अर्थतन्त्रको सवलीकरण, आत्मनिर्भर अर्थतन्त्रको विकास, रोजगारी सिर्जनालगायतका विषयलाई प्राथमिकता दिएर योजना बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

सांसद सूर्यबहादुर थापा (क्षेत्री) ले १६औँ योजनाको सोच र लक्ष्य वस्तुपरक र व्यावहारिक हुनुपर्ने धारणा राख्नुभयो । उहाँले लहडमा आयोजना राख्ने र पछि कार्यान्वयनमा समस्या हुने गरेको भन्दै कार्यान्वयनमुखी योजनमा ध्यान दिन आयोगलाई सुझाव दिनुभयो ।

सांसद पूर्णबहादुर तामाङले समयसापेक्ष विकासको आवश्यकता र औचित्यताका आधारमा विकास आयोजना छनौट हुनुपर्ने बताउनुभयो । उहाँले गरिब जनताको स्वास्थ्य उपचारका लागि हरेक प्रदेशमा रु एक अर्ब बजेट विनियोजन गरिनुपर्ने माग गर्नुभयो ।

सांसद नारायणप्रसाद आचार्यले योजना आयोगलाई स्वायत्त निकायको रुपमा काम गर्ने वातावरण बनाइनुपर्ने धारणा राख्नुभयो । सांसद विराजभक्त श्रेष्ठले आवश्यकताको आधार र समय समय सापेक्षताको सिद्धान्तमा आयोगले योजना ल्याउनुपर्ने बताउनुभयो । सांसद विनोद चौधरीले योजना आयोगलाई स्वायत्त बनाइनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सांसद मुक्ताकुमारी यादवले दिगो लक्ष्य हासिल गर्न धेरै समय नभएकाले सोही अनुकूल आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सांसद गङ्गा कार्कीले साना उद्योगको प्रवर्द्धन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमान गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद मेटमणि चौधरीले रोजगारी सृजना, निर्यात बढाउने र आयात घटाने तथा व्यापार घाटा कम गर्ने र गरिबी निवारणजस्ता कार्यक्रमलाई योजनामा प्राथमिकता दिनु आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विगतका योवजनाको अभ्यासका आधारमा १६औँ योजनाको मस्यौदा बनाईएको भन्दै संक्षिप्त र कार्यान्वयनयोग्य आयोजनालाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।

आयोगले १६औँ योजनामा ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ सोचसहित राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगकारी, आवास तथा अन्य क्षेत्रमा सामाजिक न्याय स्थापित गर्दै मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्ने उद्देश्य लिइएको छ ।

न्यायमा सबै नागरिकको सहज पहुँच पु-याउन जरुरी :प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, २२ पुस : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पु¥याउन जरुरी भएको बताउनुभएको छ ।सर्वाेच्च अदालतमा आज आयोजित श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह विमोचन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायमा सहज पहुँच पु¥याउनका लागि अदालतले प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले श्रमसमबन्धी महत्वपूर्ण फैसला र आदेशको प्रकाशन महत्वपूर्ण भएको बताउनुभयो ।

प्रधानन्यायाधीशले श्रेष्ठले कानुनमा समाहित भएका नवीन अवधारणा र व्यवस्थाको दृष्टिकोणले महत्वपूर्ण देखिएको फैसला छनौट गरेर प्रकाशन गर्नु सान्दर्भिक भएको बताउनुभयो ।

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले महत्वपूर्ण फैसला र आदेशको प्रकाशनले न्याय सम्पादनका विविध आयामबारे नागरिकलाई जानकारी हुने बताउनुभयो ।

‘लेमन टी’ बेचेरै छोराछोरी पढाए, अब घरघडेरी जोड्ने तयारीमा वीरगञ्जका थापा

वीरगञ्ज (पर्सा), २२ पुस : सुर्खेतको विद्यापुर–४ घर भई वीरगञ्ज महानगरपालिकामा बस्दै आउनुभएका ५२ वर्षीय जङ्गबहादुर थापाले ‘लेमन टी’ (कागती राखेर बनाइएको चिया)को व्यापारबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले न ठूलो पुँजी लगाउनु पर्‍यो न त कुनै पसल नै सञ्चालन गर्नु परेको छ । उहाँको कमाइको स्रोत घुमफिर गरी लेमन टी बेच्ने व्यवसाय हो ।

वीरगञ्ज महानगरको घण्टाघर, मीनाबजार र माइस्थान क्षेत्रमा लेमन टी चियावालाको नामले परिचित थापाले बजार क्षेत्रका पसल, चौकचौक र सरकारी कार्यालयमा चिया पुर्‍याएर छ जनाको परिवारको जीविकोपार्जन गरिरहनुभएको छ । विगत डेढ दशकदेखि यसरी नै लेमन टी बेच्दै आउनुभएका थापाले पाँच जना छोराछोरीको पढाइ खर्च पनि यही व्यवसायबाट जुटाइरहनुभएको छ ।

“लेमन टी बेचेरै जेठो छोरालाई स्नातक (बिए) सम्म पठाएर बिहे गरी दिएँ । ऊ इन्टरनेट कम्पनीअन्तर्गतको अफिसमा काम गर्दैछ”, थापाले भन्नुभयो, “पाँच छोराछोरीमध्ये जेठी छोरीलाई स्टाफ नर्स (पिसिएल नर्सिङ) पठाएर बिहे गरिदिएँ ।” थोरै लगानीबाट सुरु गरेको घुमफिर लेमन टी बेच्ने व्यवसायबाट परिवारको सम्पूर्ण खर्च चलेको उहाँको भनाइ थियो । गरिबी र परिवारिक कारणले आफूले पढ्न नपाए पनि छोराछोरीलाई यो अवसरबाट वञ्चित गर्नुहुन्न भनेर सबैलाई उच्च शिक्षा दिएको उहाँले बताउनुभयो ।

घुमफिर चियाको व्यवसाय गर्दै आउनुभएका थापाले वीरगञ्ज आसपास क्षेत्रमा घरघडेरी जोड्ने तयारी गर्दै हुनुहुन्छ । लेमन टी बेचेर दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुँदै आएको उहाँले जानकारी दिनुभयो । “दिनमा दुईदेखि दुई सय ५० कपसम्म चिया बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो, “एक कपको रु १० पर्छ । यसरी दैनिक दुई हजार भन्दाबढी कमाइ भइहाल्छ ।” स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिने लेमन टीको माग बजारमा अत्यधिक रहेको भन्दै एक्लैले चिया पु¥याउन भ्याइनभ्याइ हुने गरेको उहाँको भनाइ थियो ।

“चिया बेचेर थोरै बचत गरेर राखेको छु”, थापाले भन्नुभयो, “विस्तारै यतै घडेरी किनेर घर बनाउने तयारी गर्दैछ ।” परिवारिक अवस्थाका कारण केही समय भारतको पञ्जाव, हरियाना लगायतका सहरमा मजदुरी गरेर फर्किनुभएका थापाले अरुको मजदुरी गर्नुभन्दा आफ्नै ठाउँमा सानो व्यवसायबाट काम सुरु गर्नु उपयुक्त हुने अनुभव सुनाउनुभयो ।

“अरुको देशमा मजदुरी गर्दा थुप्रै समस्या आउँछन् । अरुको अधिनमा बसेर काम गर्नुपर्दा कहिले बिरामी हुँदा पनि आराम पाइदैन”, थापाले भन्नुभयो, “अहिले आफ्नो घुमफिरको व्यापार छ । स्वतन्त्र रुपमा जति मेहनत गर्छु त्यो हिसाबले आम्दानी हुन्छ । अहिले ढुक्क छु ।” थोरै कमाए पनि स्वदेशमै मेहनत गरेर कमाउँदा सन्तुष्टी मिलेको उहाँको भनाइ थियो ।

“विदेशमा गएर कडा मेहनत गर्दा पनि दुःख झेल्नुभन्दा परिवारका सदस्यसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ”, थापाले भन्नुभयो । स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भने विदेश किन जानु? उहाँले प्रश्न गर्नुभयो । दूध हालेर बनाउने चियाले ग्यास्ट्रिक, डाइबिटिजलगायत स्वास्थ्यमा समस्या आउने भएकाले बजारमा धेरै मानिसको राजाइ लेमन टी भएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यको दृष्टिकोणले पनि उयपुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण लेमन टीप्रति बढेकाले थापाको घुमफिर चिया व्यापार फस्टाएको स्थानीय व्यापारी बताउँछन् । वीरगञ्जका स्थानीय व्यापारी कृष्णकुमार कानुले भन्नुभयो, “थापाले आयुर्वेदिक मसला हालेर लेमन टी बेच्ने गरेकाले पनि खान स्वादिष्ट र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो छ ।” पसलपसलमा पुगेर अरुको तुलनामा सस्तोमा चिया दिने भएकाले पनि थापाको व्यापार फस्टाएको उहाँको भनाइ थियो ।

केही वर्षयता विदेश जाने युवाको लर्काे लग्ने गरेकामा थापाले स्वदेशमा नै कम लगानी गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले थापाबाट पाठ सिकेर स्वादेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका अगुवा अशोक मेहतरले बताउनुभयो ।

उखु उत्पादक किसानलाई पहिलो चरणमा १९ करोडभन्दा रकम भुक्तानी

महोत्तरी, २२ पुस : नजिकिँदो तीलासक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज (बोलिचालीमा एभरेष्ट चिनी उद्योग) ले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो ।

गत मङ्सिर २६ गते यसपालिको यामको तौल खोलेर पुस ४ गते चिनी उत्पादन थालेको उद्योगले यस अवधिमा तौल भएको उखुको पूरै भुक्तानी दिएको छ । गत सोमबारसम्म तौल भएको करिब पाँच लाख क्विन्टल उखुको भुक्तानी उद्योगले किसानलाई उपलब्ध गराएको हो । यस्तो भुक्तानी पाउने महोत्तरीबाहेक अन्य जिल्लाका किसान पनि छन् । पहिलो चरणमा रु १९ करोडभन्दा बढी रकम भुक्तानी गरिएको उद्योगले जनाएको छ ।

“रमाइलो गरी मनाइने तिलासक्रायत पर्व के गरी टारौँ भन्ने थियो, त्यस्तै गहुँखेती र अन्य चैतेबाली लगाउँदाको खर्च तिरोतारोको धौधौ परेका बेला उखुको रकम पाइयो”, पहिलो चरणको उखुको भुक्तानी पाएपछि राहत महसुस गर्नुभएका भङ्गाहा–४ का किसान हीरालाल महतोले भन्नुभयो । पछिल्ला दुई तीन वर्षयता भुक्तानी क्रमशः सहज बन्दै आएपछि यस भेगमा उखुखेती फेरि बढ्दै गएको छ ।

जिल्लाकै गौशाला–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहाले पनि ठीक समयमा भुक्तानी पाइँदा घरव्यवहार मिलाउन सजिलो भएको बताउनुभयो । “विगतमा उखुको भुक्तानी पाउन झण्डै वर्ष दिन कुर्नुपथ्र्यो”, कुशवाहा भन्नुहुन्छ, “अहिले दुई साताभित्रै भुक्तानी भएको छ ।” उद्योगले भुक्तानी सहज बनाएपछि किसान फेरि उखुखेतीतिर हौसिएका उहाँको भनाइ छ ।

विसं २०७२ सम्म महोत्तरीमा १८ हजार बिघासम्म पुगेको उखुखेती कहिल्यै समयमा भुक्तानी नपाएर किसानले दिक्क भएर छाड्दै जाँदा २०७५ सालमा यो खेती पाँच हजार बिघामा झरेको थियो । त्यसयता किसान, किसानसम्बद्ध उखु उत्पादक कृषक सङ्घ महोत्तरी र उखु उत्पादक महासङ्घ लगायतको निरन्तरको सङ्घर्षको परिणमले पछिल्ला दुई÷तीन वर्षयता क्रमशः भुक्तानी सहज बन्दै गएपछि फेरि उखुखेती अलिअलि गरे बढ्दै गएको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ ।

जिल्लामा यसपाली उखुखेती सात हजार बिघाभन्दा बढीमा रहेको कुशवाहाको भनाइ छ । दुई साता नबित्दै तौल भएको उखुको पूरै भुक्तानी पाइएपछि किसान र उद्योगबीच विश्वास तथा भरोसा दुवै बढेको किसान बताउँछन् । उद्योगप्रति बढेको विश्वासले अहिले सर्लाही, रौतहट, बारा र धनुषाका किसानले पनि एभरेष्ट चिनी उद्योगलाई उखु दिन थालेका छन् ।

सर्लाहीको कविलासीका किसान राजनारायण महतोले पोहोरदेखि नै एभरेष्ट चिनी उद्योगले भुक्तानी सहज बनाएको प्रतिक्रिया दिनुभयो । “हामी सर्लाहीका किसानले गत वर्ष यहाँबाट चाँडै भुक्तानी पाएका थियौँ र यसपाली पनि यही उखु दिन आयौँ”, उहाँ भन्नुहुन्छ, “यसपाली त झन हाताहाती नै जस्तो भुक्तानी भएको छ ।” अब उखुखेती बढाइँदै लगिने कुशवाहाको भनाइ छ ।

उद्योगले भुक्तानी सहज बनाएसँगै आपूmहरुका गुनासा सुन्ने, कटान पुर्जी वितरण सरल बनाउने, उद्योग परिसरमा उखु तौलाउन पुगेका किसान र सवारीसाधनको व्यवस्थापन तथा परिसरभित्र खानेपानी र शौचालयको व्यवस्थापनमा पनि उद्योगले यथाशक्य प्रबन्ध गर्दै लगेको किसान बताउँछन् ।

आठ वर्ष पहिले २०७२ मा ५८ लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको उद्योगमा उखु घट्दै गएर गत वर्ष २६ लाख क्विन्टलमा झरेको थियो । यसपाली गत वर्षभन्दा चार लाख क्विन्टल क्रसिङ बढ्ने उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाको भनाइ छ । बाह्य मुलुकबाट चिनी आयात नगरिए मुलुकमै उत्पादित चिनी बिक्ने र यसले किसानको भुक्तानीमा अझ सहजता ल्याउने शुक्ला बताउनुहुन्छ ।

यसपाली उद्योगले किसानलाई सरकारले तोकेअनुसार प्रतिक्विन्टल उखुको रु पाँच सय ६५ दिँदैछ । किसानले पाउने प्रतिक्विन्टल रु छ सय ३५ मध्ये रु ७० सरकारी अनुदान र रु पाँच सय ६५ उखुको मूल्य भन्ने सरकारले स्पष्ट पारेको छ । भुक्तानी सहज भए पनि उखु किसानका बिलौना भने अझै छन् । उखुको मूल्य निर्धारणमा सरकारले आपूmहरुको मर्का नबुझेको किसान र किसानसम्बद्ध संस्थाका प्रतिनिधि बताउँछन् ।

“उद्योगले क्रमशः भुक्तानी सहज बनाउँदै लगेको छ, यो सन्तोषकै कुरा छ”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा भन्नुहुन्छ, “तर मूल्य निर्धारणमा हामी ठगिएका छौँ ।” सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनीको मूल्यवृद्धि अनुपात र खेतीको लागतलाई ख्यालै नगरी हचुवामा गरेको उहाँको गुनासो छ । यसपाली रु सात सय ५० प्रतिक्विन्टल उखुको मूल्य पाउनुपर्ने किसानसम्बद्ध सङ्घसंस्थाले माग गर्दै आए पनि सरकारले आपूmहरुको रोदनको केही वास्तै नगरेको कुशवाहाको गुनासो छ ।

दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन

दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ नजिकै २०० भन्दा बढी तोपको गोला प्रहार गरेपछि प्योङयाङले सीमा नजिकका दक्षिण कोरियाली दुई टापुका बासिन्दालाई शुक्रबार वस्ती खाली गर्न आदेश दिइएको थियो ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले सन् २०१८ मा तनाव कम गर्ने सम्झौताअन्तर्गत बनेको मध्यवर्ती क्षेत्रमा गोला खसेको बताएका थिए । गत नोभेम्बरमा उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गरेपछि उक्त सम्झौता टुटेको थियो ।

दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङले उत्तर कोरियाले लगातार तेस्रो दिन समुद्री सीमा नजिक ‘लाइभ फायर ड्रिल’ गरिरहेका बेला त्यहाँका बासिन्दालाई आइतबार घरभित्रै बस्न चेतावनी दिएको स्थानीय अधिकारीले एएफपीलाई बताएका छन् ।“अहिले उत्तर कोरियाली सेनाले गोली चलाएको आवाज सुनिएको छ”, सबै बासिन्दालाई पठाइएको सन्देशमा भनिएको छ, “बासिन्दाहरूलाई बाहिरी गतिविधिहरूबारे सावधान रहन आग्रह गरिन्छ ।”

–उत्तर कोरियाली नेता किमकी बहिनीद्वारा युद्धभ्यास नगरिएको दावी–

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले प्योङयाङले एक दिनअघि आफ्नो सीमानजिकै दर्जनौं राउन्ड गोली चलाएको भन्ने सियोलको दाबीको खण्डन गर्नुभएको छ । “हाम्रो (उत्तर कोरियाली) सेनाले सामुद्रिक क्षेत्रमा एउटा पनि गोला प्रहार गरेको छैन,” किम यो जोङलाई उद्धृत गरी उत्तर कोरियाली समाचार संस्था (केसीएनए) ले बताएको छ ।

किमले आफ्नो देशको सेनाले ६० पटक गोली चलेको आवाजको नक्कल गर्दै सामान्य विस्फोटक पदार्थ विस्फोट गराएको र दक्षिण कोरियाली सेनाको प्रतिक्रिया हेरेको दाबी गर्नुभएको छ । “हामीले अपेक्षा गरेजस्तै नतिजा आयो”, उहाँले भन्नुभयो, “उनीहरूले विष्फोटक पदार्थको आवाजलाई गोलीको रूपमा गलत अनुमान गरे, यो तोपखानाको गोली हो भन्ने ठाने र निर्लज्जतापूर्वक झूट बोले ।”“भविष्यमा, उनीहरूले उत्तरी आकाशमा गर्जनको आवाजलाई पनि हाम्रो सेनाको तोपखाना फायरको रूपमा गलत अनुमान गर्नेछन्,” उहाँले भन्नुभयो ।

गत वर्ष उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको संविधानलाई आणविक शक्तिको दर्जा दिएको र धेरै उन्नत आइसिबीएमको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौंयताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ ।प्योङयाङको यस वर्षको अन्त्यमा भएको नीतिगत बैठकमा किमले दक्षिण कोरियामाथि आणविक आक्रमणको धम्की दिँदै सशस्त्र द्वन्द्वअघि आफ्नो देशको सैन्य शस्त्रागार निर्माण गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रियसभामा पूजा चौधरीलाई उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौँ, २२ पुस : जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

 केन्द्रीय कार्यालय आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।  

स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अध्यागमन सुधारका विषयमा समितिले माग्यो सुझाव

काठमाडौँ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको छ ।

कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव प्रदान गर्न सार्वजनिक अनुरोध गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा समिति बनाएको छ । समितिले अहिले अध्ययन गरिरहेको छ ।

अध्ययनपछि समितिले गृह प्रशासन सुधारका लागि चाहिने योजना र रायसहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाउने छ । सोही प्रतिवेदनका आधारमा सुधारका काम अघि बढाइने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

सुझावमा लागि गृह मन्त्रालयको वेबसाइट www.moha.gov.np मा गएर विषयगतरूपमा विवरण लेखी पठाउन सकिने व्यवस्था मिलाइएको छ । मुख्यगरी स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी र अध्यागमन सुधारका विषयमा सुझावका लागि विषय राखिएको छ ।

बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजामा प्रयोग गर्दै

म्याग्दी, २२ पुस : म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको जानकारी दिनुभयो ।

“स्थानीयस्तरमा पर्याप्त मात्रामा तरकारी नपाइने हुँदा विद्यालयमै उत्पादन गरेर दिवा खाजामा प्रयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालय परिसरको खाली जग्गामा तीन ठाउँमा मौसमी, बेमौसमी तरकारी लगाएका छाँै । दिवा खाजाका लागि ताजा तरकारी किन्नुपरेको छैन ।” बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् ।करेसाबारी निर्माण र व्यवस्थापन गर्न विद्यालयले शिक्षक अर्जुन खत्री, सुनिता गौतम र लक्ष्मी शर्मालाई जिम्मेवारी तोकेको छ । शिक्षक खत्रीले विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञान हासिल गरेका बताउनुभयो । शिक्षक गौतमले तरकारीमा प्रयोग नहुने बन्दा, मुला र काउलीको पातलाई प्रशोधन गरेर विद्यार्थीले गुन्द्रक बनाएका बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई दुना टपरी बनाउने सीप पनि सिकाइएको छ । स्थानीय पाठ्यक्रमको पठनपाठन गराउने क्रममा विद्यार्थीलाई स्थलगतरूपमा खेतबारी, गोठ र फार्ममा लैजाने गरिएको छ ।कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी रु १५ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीले नै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् । अर्का शिक्षक तीर्थबहादुर बानियाँले विद्यालय परिसरको खाली जग्गामा तरकारी खेती विस्तार गर्न लागिएको बताउनुभयो । खाली र बाँझो जग्गाको सदुपयोग भएको छ । विद्यालय परिसरमा सौन्दर्यकरण गर्ने उद्देश्यले फूलको बगैँचा पनि स्थापना भएको छ । विद्यालय हराभरा बनेको छ ।रमणीय वातावरणमा व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा हासिल गर्न पाउँदा विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्न थालेको छ । फुर्सदको समयमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीका लागि उपचारत्मक कक्षा सञ्चालन गरेको छ । आठजना दरबन्दी, एकजना निजी स्रोतका शिक्षक, एकजना बालविकास र एकजना कर्मचारी छन् ।–––

चितवनमा चरा गणना सुरु,माघ ७ गतेभित्र गणना गरिसकिने

चितवन, २२ पुस : चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो ।

सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आजदेखि आगामी माघ ७ गतेभित्र चरा गणना गरिसकिनेछ ।” गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको उहाँले बताउनुभयो । पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ । बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उहाँले बताउनुभयो । जिल्लामा छ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

झापाको दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

बनियानी (झापा), २२ पुस : झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

भद्रपुर–४ स्थित झिलिमिली पुलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०१–०१३प ९६०७ नम्बरको मोसाइकल अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार सोही स्थानका २८ वर्षीय लेखनाथ दाहाल घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाएकामा उपचारको क्रममा दाहालको मृत्यु भएको हो । मोरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–००२ख ०१४९ यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको मे१प ७२४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । तीनजना सवार मोटरसाइकलमा पछाडि बसेका कनकाई–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी गाउँपालिका–७ का सागर माझी घाइते भएका छन् । उनीहरू दुवैको उपचार भइरहेको जनाइएको छ । वनभोज खाएर फर्किँदै गरेको उक्त बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बागलुङको पाँच पालिका अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै

ढोरपाटन (बागलुङ), २२ पुस : बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् । निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन छ । ती मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन सुरु गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको थियो । जैमिन, ढोरपाटन र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन् ।

काठेखोलाको भने अझैसम्म भवन निर्माण सुरुआत भएको छैन । करिब छ वर्षसम्म स्थानीयको विवादका कारण जग्गा व्यवस्थापन हुननसकेको जनाइएको छ । अघिल्लो वर्ष कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोटमा भवन निर्माण गर्ने निर्णय गरे पनि निर्माण गर्ने भनिएको स्थान सामुदायिक वन क्षेत्र पर्ने हुँदा बाँकी प्रक्रिया पुर्याइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । सामबोट सामुदायिक वन उपभोक्ता समितिले भवन बनाउन दिने निर्णय गरी मन्त्रालयमा पठाएपछि भवन निर्माणका काम थाल्ने उहाँको भनाइ छ । भवन निर्माणका लागि माटो परीक्षण गर्ने काम सकिएकाले आगामी आर्थिक वर्षमा भवन निर्माण अगाडि बढ्ने अध्यक्ष थापाले बताउनुभयो ।ढोरपाटनले पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । उसले ढोरपाटन–ं १ को बुर्तिबाङ बजारमै भवन निर्माण गरिरहेको छ । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको नगरपालिकाका सूचना अधिकारी चण्डिराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले दुईवटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको जनाउँदै हरेक महिना मासिक रु एक लाख ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।गलकोटले पनि भाडाकै घरमा कार्यालय सञ्चालन गरेको छ । गलकोट– ६ स्थित मजुवा फाँटमा करिब रु १४ करोडको लागतमा प्रशासनिक भवन निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले आठ घर भाडामा लिएर मासिक रु एक लाख ८० हजार भाडा तिर्दै आएको उहाँले बतउनुभयो । भवन विसं २०८१ पुसमा सक्नेगरी सम्झौता भएको जनाइएको छ ।जैमिनीले पनि कुस्मिशेरामा चार घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । करिब रु नौ करोडको लागतमा कुस्मिशेरा बजार नजिकै भवन बनिरहेको उहाँको भनाइ छ । हालसम्म ३५ प्रतिशत काम सकिएको जनाइएको छ । नगरपालिकाले मासिक रु एक लाख ६० हजार घरभाडा तिर्दै आएको छ । निर्माण कम्पनीले सरासर काम सके आगामी वर्ष आफ्नै भवनबाट सेवा सुरु गर्न सकिने उपप्रमुख शर्माको भनाइ छ ।बागलुङ नगरपालिका विसं २०५३ मा स्थापना भयो । लामो समय बजारमा भाडा तिरेर कार्यालय सञ्चालन गर्यो । लामो समयसम्म बागलुङ–ं ३ स्थित रातमाटामा पक्की भवन बनाएर सेवा प्रवाह गर्दै आएको नगरपालिका आफ्नो कार्यालय छाडेर विसं २०७६ मा बागलुङ बजारमा रहेको कृषि ज्ञान केन्द्रको भवनमा सर्यो । हाल सोही कार्यालयबाट सेवा दिँदै आएको छ । जिल्लाका अन्य नौ पालिका विसं २०७३ मा स्थापना भएका थिए । पहिलोपटक जनप्रतिनिध आएपछि केही पालिकाले पहिलो कार्यकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले अहिलेसम्म भवन नै बनाउन सकेका छैनन् ।

‘जिपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालनलाई व्यवस्थित बनाउन छानबिन समिति गठन

काभ्रेपलाञ्चोक, २२ पुस : बिरामीलाई थप सहज एवं सुरक्षित बनाउन काभ्रेपलाञ्चोकमा ‘जिपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गरिने भएको छ । यसका लागि जिल्लास्तरमा सञ्चालित एम्बुलेन्सको अवस्था, वर्ग र समस्या तथा चुनौतीबारे अध्ययन गरी एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउन छानबिन समिति गठन गरिएको छ ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न प्रारम्भिक चरणमा उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । समितिको संयोजक प्रजिअ रहने व्यवस्था छ । सरोकारवाला सम्मिलित बैठकले पहिलो चरणमा जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिद्वारा सञ्चालित सम्पूर्ण एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने भएको हो ।

जिल्लामा जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख सहसंयोजक रहनेगरी मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख रहनेगरी चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त समितिले तीन हप्ताभित्र प्रतिवेदन समितिलाई हस्तान्तरण गर्ने समयसीमा तोकिएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

यस्तै एम्बुलेन्सलाई मापदण्डअनुसार सञ्चालनका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को उफदफा १, को (छ) बमोजिम दुई महिनाको अवधि दिई सूचना प्रकाशित गर्ने र आवश्यक समन्वयका लागि स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीय तथा प्रादेशिक अस्पताल र स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याइएका एम्बुलेन्समा जिपिएस जडान गरी ‘स्तरोन्नति मापदण्ड’बमोजिम सञ्चालन गर्न अनुरोध गर्ने जनाइएको छ । प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिमार्फत एम्बुलेन्स चालक र त्यसमा रहने स्वास्थ्यकर्मीको प्रशिक्षण एवं तालिम दिइने व्यवस्था मिलाइने योजना बनाइएको प्रजिअ शर्माले बताउनुभयो ।

यसअघि कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै विसं २०७७ जेठदेखि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा केन्द्र रहनेगरी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा सञ्चालन हुने सम्पूर्ण एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस जडान गरी ‘एकीकृत एम्बुलेन्स सेवा’ सञ्चालनमा ल्याइएको थियो । धुलिखेल अस्पतालका डा सानुकृष्ण श्रेष्ठका अनुसार धुलिखेल अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मकरूपमा सञ्चालन गरिएको थियो ।

काभ्रेपलाञ्चोकका ४२ र सिन्धुपालचोकको ३१ एम्बुलेन्समा जिपीएस प्रणाली जडान गरेर एम्बुलेन्सको वर्गीकरण गरी सञ्चालन गरिएको जनाइयो । बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफोन प्रयोकर्ताले १०२ नम्बरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रणाली व्यवस्थित गरिएको थियो ।

‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार, जम्ला त किरण र रक्षाकाे जाेडी ?

काठमाडौँ, २२ पुस : निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताउनुभयो । शनिबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिनुभयो ।

“अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ । उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ”, निर्देशक श्रेष्ठले भन्नुभयो, “मैले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँलाई अवसर दिएको छु । किनकि हामी पुराना चलचित्रकर्मीले आँट गरेनौँ भने अरुले गर्दैनन् ।”यद्यपि निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाउनुभयो । “नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । मेरो तीन दशकको चलचित्र यात्रामा नौलो अनुभव गरिरहेको छु”, निर्देशक श्रेष्ठले भन्नुभयो । उहाँले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गर्नुभयो । नवकलाकार अभिनेता श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुनलागेको बताउनुभयो ।“मैले मण्डला थिएटरमा झण्डै १३ बढी नाटक गरिसकेँ । सात वर्षपछि बल्ल चलचित्रमा अभिनयको सुरुआत गरेको छु”, अभिनेता श्रेष्ठले भन्नुभयो, “म कलात्मक र व्यावसायिक दुवै चलचित्र गर्न चाहन्छु । परिपक्व समूहसँग काम गर्न पाउँदा आभारी छु ।”अभिनेत्री बुढाथोकीले पहिलो चलचित्र भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताउनुभयो । “मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिनँ । सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएँजस्तो लाग्छ । यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु”, अभिनेत्री बुढाथोकीले भन्नुभयो ।चलचित्रका निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा चलचित्रको छायाँकन गरिएको जानकारी दिनुभयो । “मैले एउटा राम्रो चलचित्र बनाउने कोसिस गरेको हुँ । निर्देशकले नयाँलाई अवसर दिनुपर्छ भनेपछि प्रेमकथानक लिएर निर्माण गरेका छौँ”, निर्माता बुढाथोकीले भन्नुभयो ।कार्यक्रममा सङ्गीतकार महेश खड्का, गायक प्रमोद खरेल, अभिनेत्री सुनिता श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो । चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईले पनि अभिनय गर्नुभएको छ । चलचित्रलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार चयन गरिने

काठमाडौँ । आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। राष्ट्रियसभा उम्मेदवार चयन लगायतका बिषयमा छलफल गर्न बैठक आज बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

आज पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन गर्न बैठक बोलाएको एक नेताले जानकामरी दिए । कांग्रेसमा अहिले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतभेद पनि रहेको छ ।

बैठकमा नेताहरूले त्यसबारे विभाजित धारणा राखेका थिए भने बैठकले अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताएको थियो । १९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनमा कांग्रेसका लागि कति सिट दिने निश्चितभएको छैन ।

चीनले सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने

चीनको नागरिक उड्डयन प्रशासनले सन् २०२४ मा चीन र संयुक्त राज्य अमेरिकाबीचको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने दिशामा काम गरिरहेको शनिबार जनाएको छ। विश्वका शीर्ष दुई अर्थतन्त्रहरूबीच नियमित, प्रत्यक्ष यात्रु उडानको सङ्ख्या प्रति हप्ता ६३ पुगेको छ भने।

आगामी दिनमा यसलाई थप विस्तारगर्ने योजना समेत बनाइएको छ । साथै, सन् २०२४ मा चीनले ‘बेल्ट एण्ड रोड’ परियोजना जोडिएका देशहरूसँग हवाई ट्राफिक अधिकारको व्यवस्थालाई सक्रिय रूपमा विस्तार गर्नेछ र मध्य एसिया, मध्य पूर्व र अफ्रिकासँगको सहकार्यलाई अझ गहिरो बनाउने उड्ड्यन प्रशासनले जनाएको छ । प्रशासनले भिसा र सीमा नियन्त्रण नीति सुधार गर्न र भन्सार क्लियरेन्स प्रक्रियालाई थप सहज बनाउन पनि काम गर्ने बताएको छ ।

गाजामा मृत्यु हुने प्यालेस्टिनीकोको सङ्ख्या २२ हजार ७२२ पुग्यो

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन्

। गत अक्टोबर ७ गतेको आक्रमण यता मृत्यु हुनेको कुल सङ्ख्या २२ हजार ७२२ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ५८ हजार १६६ पुगेको छ ।

यसै बीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिबार सेनाले गाजा शहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् । आद्रेईका अनुसार सेनाले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शङ्कास्पद सैन्य सामग्री र विस्फोटक पदार्थ भेटिएको बताउनु भएको छ ।

राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण

महाराष्ट्र शिव सेना (एकनाथ शिन्दे गुट) का नेताहरू, उदय सामन्त र सांसद श्रीकान्त शिन्देले शनिबार राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ ।”महाराष्ट्र र शिव सेनाका जनताको तर्फबाट महाराष्ट्रका मुख्यमन्त्री तथा शिवसेना नेता एकनाथ शिन्देले राम मन्दिरका लागि १८ करोड रुपैयाँ प्रदान गर्नु भएको छ । । आज हामी चेक हस्तान्तरण गर्न आएका छौं,” राज्यमन्त्री उदय सामन्तले भन्नुभयो । सो अवसरमा श्री रामजन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत राईले चेक प्राप्त गर्नु खुसीको कुरा भएको उल्लेख गर्नु भएको छ ।

“यो खुसीको कुरा हो कि महाराष्ट्रका मन्त्री उदय सामन्त र शिवसेना (एकनाथ शिन्दे गुट) का सांसद् श्रीकान्त शिन्दे महाराष्ट्रका जनताको तर्फबाट ११ करोड रुपैयाँको चेक हस्तान्तरण गर्न आउनु भएको छ । सो रकम बैंकमा जम्मा गरिने छ।” उहाँले भन्नुभयो।सैबीच, महाराष्ट्रका पूर्व मुख्यमन्त्री र शिवसेना युबीटी प्रमुख उद्धव ठाकरेले आफ्नो पार्टीले जनवरी २२ मा राम मन्दिरको अभिषेक दिवसमा महाराष्ट्रको नासिक गोदावरी नदीको किनारमा ‘महाआरती’ गर्ने बताउनु भएको छ ।अयोध्यामा रामलल्ला (शिशु भगवान् राम) को प्राण-प्रतिष्ठा (अभिषेक) समारोहका लागि वैदिक अनुष्ठान मूल समारोहको एक हप्ता अघिदेखि सक्रिय रहने छ ।लामो समयदेखि विवादित रहेको भगवान् रामको मन्दिर निर्माणले यहाँ पछिल्लो समय पूर्णता पाएको छ ।

अलैँचीको भाउ तेब्बर बढेपछि इलामका किसान खुसी,प्रतिमन ८५ हजारसम्म बिक्री

इलाम, २२ पुस : अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।”

गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताउनुभयो । “गत वर्ष यस याममा प्रतिमन रु २८ हजार थियो, हाल राम्रो अलैँची प्रतिमन रु ८५ हजारसम्म बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ । किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको उहाँले बताउनुभयो । रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्याउने प्रयास गरिरहेका छन् ।

सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाउनुभएको छ । “वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु आठ–दश लाख बचत हराएको छैन”, उहाँले भन्नुभयो । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताउनुभयो ।

जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्याङ्क छ ।

कार्यालयका कर्मचारी रुन खड्काका अनुसार गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो । “गतवर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो ।” उहाँले भन्नुभयो, “अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ ।” गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उहाँले बताउनुभयो ।

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो । अलैँचीकै आम्दानीले घरखर्च चलाउनमात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन रु एक लाखसम्म पनि पुग्यो ।

रोगले हराउँदै गएको अलैँचीलाई किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्याउने प्रयास थालेका छन् । “पाखामा गाडेरमात्र नहुँदोरहेछ, स्याहार र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ”, किसान शेरेङले भन्नुभयो, “रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाइयो ।” उहाँले सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताउनुभएको छ । अलैँची विकास केन्द्रका तत्कालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्याएको उहाँले बताउनुभयो । “मेरोमा उत्पादन भएको अलैँची बाग्लुङ, पोखरा, स्याङ्जातिर पनि निर्यात भएको छ”, उहाँले भन्नुभयो, “मैलै सधैँ बिरुवा उत्पादन गरेर अलैँची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आगामी वर्ष बृहत् गर्नुछ ।”

प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ । अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो । किसानले अलैँचीका लागि सङ्घसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो ।

अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन् । घरेलु औषधि र मलको प्रयोग अलैँचीलाई महत्त्वपूर्ण हुने उनीहरुको भनाइ छ । दशकअघिको खेती प्रविधि सम्झँदै उहाँले भन्नुभयो, “त्योबेला अलैँची त दुःख नगरी फल्दोरहेछ, जबर्जस्ती आम्दानी लिएछौँ ।” सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उहाँले बताउनुभयो । किसानले अलैँची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल भने घटेको छ । जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह भएको इलाममा माईजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँचीखेती भए पनि सबै स्थानीय तहमा आंशिकरूपमा खेती हुँदै आएकोे छ । अलैँचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ ।

गैँडा, मृग र बँदेलबाट मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल

त्रिवेणी (नवलपरासी), २२ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो । पुस ४ गते कावासोती–१ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते हुनुभयो । पुस १९ गते कावासोती–८ का पतिराम महतो गैँडाको आक्रमणमा पर्नुभयो ।

यसैगरी गत मङ्सिर १९ गते देवचुली–१० मा गैँडाको आक्रमणबाट भुलमाया विक र छमबहादुर सारू घाइते हुनुभयो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुने यी केही पछिल्ला प्रतिनिधि घटना हुन् । जिल्लाको मध्यवर्ती आसपासका बासिन्दालाई आफूले लगाएको बालीसँगै हिजोआज ज्यान जोगाउने चिन्ताले सताउन थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपुरका बासिन्दा वन्यजन्तुका कारण चिन्तित बनेका छन् । गैँडा, मृग, बँदेललगायतका जनावर वस्तीमा प्रवेश गर्न थालेसँगै क्षतिसमेत बढ्दो छ । वन्यजन्तुले लगाएको बाली नोक्सान पार्ने, घरपालुवा चौपाया नोक्सान पुर्याउनुका साथै मानवीय क्षतिसमेत पुर्याउन थालेसँगै समस्या जटिल बनेको कावासोती–१० की सीता पङ्गेनीले बताउनुभयो । “दैनिकजसो खेतमा गैँडा आउने गरेको छ, लगाएको गहुँ भित्र्याउने बेलासम्म सकिन्छ कि भन्ने चिन्ता छ, त्यतिमात्रै होइन साँझ–बिहान घरबाहिर हिँडडुल गर्न पनि डरलाग्दो भएको छ”, उहाँले भन्नुभयो । दिनहुँजसो गैँडा बस्तीमा आएर दुःख दिन थालेको जनाउँदै नियन्त्रणका लागि निकुञ्ज प्रशासनसहित सरोकारवालाले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको क्षति बढ्दो रहेको मध्यविन्दु नगरपालिका–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । पटक–पटक वन्यजन्तुले बालीनाली, चौपायामा क्षति पुर्याउने तथा मानिसलाई आक्रमण गरी घाइते बनाउने गरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । मध्यवर्तीका बासिन्दालाई जनधनको सुरक्षा गर्न मुस्किल भएको उहाँले बताउनुभयो ।

मध्यवर्तीमा वन्यजन्तुको समस्याले गर्दा बसाइँसराइको प्रभाव पार्दै आएको कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनुभयो । “वन्यजन्तुले दुखः दिन्छ भनेपछि बसाइँसराइ गरी आउने कम हुने त भयो नै भएका पनि आजित भएर सक्ने अन्यत्र जान थालेका छन्”, उहाँले भन्नुभयो । वन्यजन्तुकै कारण हिजो मध्यवर्ती क्षेत्रका पुराना बस्ती पातलिने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।

संरक्षणकर्मी प्रेमशङ्कर मर्दनिया थारूले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जभित्र पर्याप्त घाँसेमैदान निर्माण गर्ने र वन्यजन्तुलाई मानव बस्तीमा आउन नदिन पर्खालसहितको मेसजाली लगाउनुपर्ने बताउनुभयो । “वनभित्र वन्यजन्तुको बासस्थान सुधार गर्ने, पर्याप्त आहारा हुनेगरी घाँसेमैदान निर्माण गर्ने साथै पर्खालसहितको मेसजाली लगाउने काम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “यसबाट वन्यजन्तु बस्तीतर्फ आउने क्रम कम हुन्छ र क्षति न्यूनीकरणमा सहयोग पुग्छ ।” वन्यजन्तुको संरक्षणसहित यसको क्षति रोक्न सरकारीस्तरबाट योजना निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

मध्यवर्तीका कारण आर्थिक विकासमा असर परेको कावासोती नगरपालिका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । मध्यवर्तीकै कारण विकासका काम गर्न बाधक भएको तथा यहाँका बासिन्दाले आफ्नो सम्पत्तिको सही उपभोग गर्न समस्या परेको उहाँले जानकारी दिनुभयो । वन्यजन्तुले पुर्याएको क्षतिमात्रै नभएर मध्यवर्तीले विकासका काममा समस्या पारेको नगरप्रमुख भुसालले बताउनुभयो । “हामी संरक्षणविरोधी होइन, तर ऐन, कानुन जनतालाई सहज पार्ने हुनुपर्यो, कुनै बिरुवा लगाए त्यसको प्रयोगका लागि निकुञ्ज धाउनुपर्छ, विकासका काम गर्न उस्तै बाधा अड्चन छन्”, उहाँले भन्नुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

हेर्नुहोस् पुष २२ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

बृष राशि- ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मीथुन राशि – अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ ।

कर्कट राशि- मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ ।

कन्या राशि – खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ ।

तुला राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृश्चिक राशि- मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ ।

धनु राशि – बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

मकर राशि – मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ ।

कुम्भ राशि- कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

मिन राशि- मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

‘यातायातसम्बन्धी विधेयक सरकारले अगाडि बढाउँछ’ :मन्त्री ज्वाला

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसद्को आगामी अधिवेशनमा यातायातसम्बन्धी विधेयक पेस गर्ने तयारी गरिएको बताउनुभएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभाको सनिबार उद्घाटनमा मन्त्री ज्वालाले यातायात व्यवसायीको माग सम्बोधन हुनेगरी सार्वजनिक सडक र सवारी तथा यातायातसम्बन्धी विधेयक अगाडि बढाउने बताउनुभयो ।सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्दै मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न भएकाले सो ऐन समयानुकूल हुनेगरी परिमार्जनका लागि मन्त्रिपरिषद्मा पेस गरेको जानकारी दिनुभयो ।महासङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले ट्रक व्यवसायको सिलसिलामा पार्किङको समस्या हुने गरेको, भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी मर्कामा परेको भन्दै त्यस्ता समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । 

शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मिसन बन्द भएसँगै त्यहाँ खटिएका नेपालसहित विभिन्न मुलुकका शान्ति सैनिकलाई फिर्ता बोलाइएको छ ।

मिनुस्मा मिसन नाम दिइएको मालीको शान्ति मिसनमा संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकका करिब १५ हजारभन्दा बढी शान्ति सैनिक तथा कर्मचारी खटिएका थिए ।

विद्रोही समूह र सरकार पक्षको लामो तनावपछि सन् २०१३ मा नयाँ सैनिक सरकारको गठन भएसँगै त्यहाँ शान्ति मिसनको अनुमति दिइएको थियो । १० वर्षको अवधिमा शान्ति सैनिकमा कार्यरत ३११ जनाले मालीमा ज्यान गुमाएका थिए भने अन्य सात सय जनाभन्दा बढी घाइते भएका थिए ।

पश्चिम अफ्रिकी भूपरिवेष्ठित मुलुक मालीका विभिन्न भेगमा द्वन्द्व रहँदारहँदै पनि शान्ति सैनिकले त्यहाँको नागरिकको जिउधनको रक्षासँगै स्थानीयलाई नेतृत्वदायी सिप विकास क्षमता बढाउन सघाएका थिए ।

मालीमा अहिलेसम्म गरेको काम सराहनीय रहेको र आवश्यक परेको खण्डमा फेरि तैनाथ गर्न सकिने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । शान्ति सैनिक मिसन हटे पनि संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसले सञ्चालन गर्ने परियोजनाका कार्यालय र तिनका काम भने मालीमा कायम रहने जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन मालीमा सकिएपछि नेपाली सैनिक फिर्ता हुने क्रम जारी रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार १८२ जनामध्ये अब १६ जना मात्र फर्कन बाँकी छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।