`

अत्यधिक चिसो बढेपछि महोत्तरीका तीन स्थानीय तहमा विद्यालय बन्द

महोत्तरी, २३ पुस : चिसो अत्यधिक बढेपछि यहाँका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले आजदेखि र गौशाला नगरपालिका पुस २४ गतेदेखि लागू हुने गरी विद्यालयमा बिदा दिएका हुन् ।

सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको जाडो बिदाको सूचना प्रकाशित गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै बिदा दिने निर्णय गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताउनुभयो । रामगोपाल नगरपालिकाका प्रमुख रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भन्दै जाडो छल्न केही दिन बिदा दिइएको बताउनुभयो ।

साथै गौशालामा आज सम्पन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकले भोलिदेखि पुस मसान्तसम्म बिदा दिन आग्रह गरेअनुसार एक साताको जाडो बिदा दिइएको गौशाला नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घटेको जनाइएको छ । आइतबारदेखि चिसो ह्वात्तै बढेपछि यहाँका हाटबजारमा चहलपहल घटेको छ ।

अख्तियारद्धारा वन कार्यालयका अधिकृत कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २३ पुस : गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अभियुक्त कोइरालाललाई गैरकानुनी सम्पत्ति आर्जन गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै रु एक करोड २५ करोड ९६ हजार तीन सय ५३ बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै नापी कार्यालय, बटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराम मरासिनीसमेत पाँचजना उपर गैरकानुनी लाभ तथा हानि एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ, २३ पुस : जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् ।

दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो ।

राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस गर्न आह्वान

काठमाडौँ, २३ पुस : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिस गर्न आह्वान गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि सिफारिससहित आवेदन पेस गर्न आह्वान गरेको हो ।

मन्त्रालयले सम्मानका लागि समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका योग्य नेपाली युवा नागरिक, युवा समूह तथा युवा सङ्घसंस्थाको राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ (संशोधनसहित) अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजात पेस गर्न भनेको छ ।

यस्तै, कार्यविधिको अनुसूची २ बमोजिम सिफारिससहित अनुसूची १ (क) वा १ (ख) अनुसारको आवेदन उक्त सूचना प्रकाशित भएको तीस दिनभित्र मन्त्रालयमा दर्ता गराउन आग्रह गरेको छ ।

सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा निःशुल्क

दमौली (तनहुँ), २३ पुस : आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानका अनुसार पहिलो चरणमा वडा नम्बर ४, ५ र ६ मा यो कार्यक्रम लागू हुनेछ । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागू हुनेछ । यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने अपेक्षा गरेका छौँ ।”स्वास्थ्य बीमाका लागि पालिकाले नीति, कानुन निर्माण गरिसकेको छ । यसका लागि सम्बन्धित विद्यालयको सिफारिससहित वडाबाट विद्यार्थीको विवरण सङ्कलन, बीमा फारम, नवीकरणलाई अगाडि बढाइएको चुमानले बताउनुभयो । माघभित्र ती वडाका सबै विद्यार्थी र अभिभावकको स्वास्थ्य बीमा गरिसक्ने चुमानको भनाइ छ ।उहाँले भन्नुभयो, “आवश्यकता बमोजिम आगामी वर्षमा प्राथमिकतामा आधारमा अन्य वडामा पनि यो कार्यक्रम विस्तार गर्ने लक्ष्य छ ।” गाउँपालिकाले यसै शैक्षिक शत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय कार्यान्वयन गरेको थियो । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय कार्यान्वयनमा आइसकेको छ ।गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणको अभियानको रुपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुवात गरेको छ । गाउँपालिकाले रुप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । चुमानले भन्नुभयो, “हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ ।”आँबुखैरेनी गाउँपालिकाका-६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । “सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा भन्दा पनि व्यवहारमा लागू गरेका छौँ”, चुमानले भन्नुभयो । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याएको छ ।

नुवाकोटलाई काठमाडौँसँग जोड्ने पासाङल्हामु राजमार्ग स्तरोन्नति छिट्टै सुरु हुन्छ : अर्थमन्त्री महत

त्रिशूली (नवाकोट), २३ पुसः अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटलाई काठमाडौँसँग जोड्ने पासाङल्हामु राजमार्गको स्तरोन्नति छिट्टै अघि बढ्ने बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सो सडकको स्तरोन्नतिका क्रममा जीर्ण भएको सडक एक वर्षभित्र चरणबद्ध रुपमा ठेक्का लगाइसक्ने प्रतिबद्धता जनाउनुभयो ।

त्रिशूलीदेखि ककनी हुँदै बालाजु जोड्ने ७२ किलोमिटर सडकको काठमाडौँतर्फ निर्माण सम्पन्न भइसकेकाले नुवाकोटतर्फको सडकलाई दुई चरणमा ठेक्का लगाउन लागिएको उहाँको भनाइ छ । “काठमाडाँैको तीनपिप्लेदेखि नुवाकोटको ककनीसम्म रु एक अर्ब ३३ करोड बजेट सुनिश्चित गरेर बहुवर्षीय ठेक्का लगाइसकेको छ”, अर्थमन्त्री महतले भन्नुभयो, “ककनीदेखि पीपलटारसम्मको सडक यसअघिको ठेक्काबाट बच्ने रकममा सम्बोधन हुनसक्छ । त्यसो नभए आगामी आर्थिक वर्षको बजेट छुट्याएर काम सुरु हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।”विसंं २०१८ मा विस्तार भएको नुवाकोट र रसुवा जोड्ने पासाङल्हामु राजमार्ग विसं २०७१ मा एक लेनबाट दुई लेन बनाउनका लागि ठेक्का लगाइएको थियो । उक्त समयमा यसअघि गरिएको कालोपत्र खनेपश्चात् निर्माण व्यवसायीले काम नगरेपछि सरकारले ठेक्का तोडेको थियो । सञ्चालन अवस्थामा रहेको सडक स्तरोन्नतिका लागि जीर्ण बनाएसँगै पछिल्लो एक दशकदेखि यस सडकमा आउजाउ गर्न समस्या भएको थियो । 

बाढीबाट मलेसियामा ८ हजारभन्दा बढी विस्थापित

हालैको बाढीबाट मलेसियामा ८ हजार भन्दा बढी जनता विस्थापित भएका छन् ।मलेसियामा आज साँझ ६ बजेसम्म बाढीका कारण ८ हजार ५६३ व्यक्ति विस्थापित भएको बताइएको छ । बाढीबाट प्रभावित क्षेत्रहरू मध्ये जोहर राज्य सबैभन्दा बढी प्रभावित भएको छ।

समाज कल्याण विभागका अनुसार जोहर प्रदेशमा ७ हजार १ सय ५३ जना विस्थापित भएका छन् भने पहाङ प्रदेशमा १ हजार ४१० विस्थापित भएका छन् । विस्थापितहरू ७७ वटा राहत केन्द्रमा स्थानान्तरण गरिएका छन् । यसै बीच मौसम विभागले उत्तरपूर्वी मनसुनका कारण भारी वर्षाको चेतावनी जारी गरेको छ । यस्तो वर्षा सामान्यतया अक्टोबरदेखि मार्चसम्म रहन्छ । उत्तरी राज्यहरू र दक्षिणपूर्वी पूर्वी तटमा कडा हावा चल्ने गर्दछ ।

यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो

काठमाडौँ, २३ पुस : यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो ।

चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढेको जनाइएको छ । धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ । कूल धानबाली लगाइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको मन्त्रालयले जनाएको छ ।

यसवर्ष धानबाली लगाइएको क्षेत्रफल पछिल्लो चार वर्षको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानको उत्पादसँगै उत्पादकत्व पनि बढेको छ । “धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटनप्रति हेक्टर पुगेको छ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।”

चाल आवमा धान उत्पादन कोशी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा चार दशमलव ४३ मेट्रिनटन प्रति हेक्टरसहित अग्र स्थानमा र मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर पुछारमा रहेको छ । विगतका वर्ष जस्तै मुख्य धानको तुलनामा चैते धानको उत्पादकत्व उच्च कायम भएको मन्त्रालयले जनाएको छ ।

गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा र मधेस प्रदेश ऋणात्मकमा छ । चालु आवमा धान उत्पादन वृद्धि हुनुमा उन्नत बीउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कम बाढीपहिराबाट धान चालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएको कारणले मधेस प्रदेशमा धानको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको देखिएको हो ।

सातवटै प्रदेशका कृषि मन्त्रालय, जिल्लागत रुपमा प्राप्त भएका प्रारम्भिक आँकडा र इसिमोडसँगको सहकार्यमा स्याटेलाइट इमेजको प्रयोग गरी धानबालीको तथ्याङ्क निकालिएको मन्त्रालयले जनाएको छ ।

आजदेखि प्युठान–नयाँदिल्ली बस सेवा सुरु

स्वर्गद्वारी (प्युठान) २३ पुस : प्युठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म आजदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा सेवाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न बस सञ्चालक सचेत हुनुपर्छ । उहाँले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक प्युठान–नयाँ दिल्ली बस सेवा सञ्चालन गरेको अध्यक्ष सुनील बस्नेतले जानकारी दिनुभयो ।

सङ्घीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण हुँदै, ७७ प्रतिशत भौतिक प्रगति

काठमाडौँ, २३ पुस : संघीय संसदका निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन् ।प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्माणाधीन भवनको अवलोकन गरेको छ । सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङले भवन निर्माणमा देखिएको चुनौती, समाधानका लागि गरिएका प्रयास र हालसम्मको प्रगतिबारे संसदीय टोलीलाई जानकारी गराउनुभयो ।

निर्माणाधीन सङ्घीय संसद्को हालसम्मको भौतिक प्रगति ७७ प्रतिशत पुगेको सो अवसरमा जानकारी दिइयो । अवलोकनका क्रममा मन्त्री गुरुङले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पहिलो प्राथमिकता राखेर सङ्घीय संसद्को नयाँ भवन निर्माण अघि बढाएको बताउनुभयो ।

“भवन निर्माणलाई अघि बढाउने सिलसिलामा आएका चुनौतीलाई पन्छाएर ५० प्रतिशतबाट बढाएर अहिले भौतिक प्रगति ७७ प्रतिशत पु¥याइएको छ”, मन्त्री गुरुङले भन्नुभयो, “छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । समस्याको पहिचान र समाधानका लागि अहोरात्र प्रयास गरिराखेका छौँ ।”

भ्याट बाहेक रु छ अर्ब ९२ करोडको लागतमा अघि बढेको उक्त परियोजनाको वित्तीय प्रगति ६८.१ प्रतिशत पुगेको छ । उक्त भवन निर्माणका लागि हाल दैनिक तीन सयभन्दा बढी कामदार खटिएको आयोजना कार्यालयले जनाएको छ । लक्ष्यअनुरुप नै जिम्मेवारी पूरा गर्न दु्रत गतिमा काम गरिरहेको बताउँदै मन्त्री गुरुङले भवनको जिम्मेवारीलाई पूरा गर्न निर्माण तथा अनुगमनलाई नियमित गर्दै चुस्त बनाइएको जानकारी दिनुभयो ।

समिति सभापति रामहरि खतिवडाले पहिले नै तयारी हुनपर्ने भवन कोभिड–१९ सङ्क्रमणलगायत विभिन्न कारण र परिस्थितिले निर्माण प्रभावित हुँदैआएको प्रतिक्रिया दिनुभयो । कठिन मानिएको दुवै सदनको सभाकक्षको छानाको कार्य अघि बढिसकेको पनि त्यस अवसरमा जानकारी दिइएको थियो ।

खतिवडाले भन्नुभयो, “भवन निर्माणको हालको कार्य प्रगति सन्तोषजनक छ । मन्त्रिसहितको टोलीबाट भइरहेको मेहनत र प्रयासलाई धन्यवाद दिन्छौँ । आगामी बजेट अधिवेशन यो भवनबाट सुरु गर्ने वातावरणका लागि अनुरोध गरिएको छ ।” दुई सत्रमा कामदार खटाएर छिटोभन्दा छिटो काम पूरा गर्न निर्देशन दिइएको बताउँदै उहाँले आजसम्मको प्रगतिलाई हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न गर्नाका लागि थप मेहनत गर्नुपर्ने देखिएको उल्लेख गर्नुभयो ।

प्रतिनिधिभाको भूइँ तलाको भित्री निर्माण र प्लास्टरको काम अन्तिम चरणमा पुगेको तथा अरु कार्य भने तदारुकताका साथ अघि बढिरहेको छ । आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार आयोजनाको भौतिक प्रगति ७७ प्रतिशत पुगेको र पछिल्लो सम्झौता बमोजिम आगामी चैत १५ गतेसम्म भवन हस्तान्तरण गरिसक्नु पर्नेछ ।अत्याधुनिक सुविधा सम्पन्न र विश्वमै उत्पादन भएका नयाँ प्रविधि जडान गरिने भनिएको उक्त भवन निर्माण सहरी विकास तथा भवन निर्माण विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट भइरहेको छ ।

जर्मनीको बर्लिनमा आयोजना हुने विश्वकै ठूलो पर्यटन मेलामा नेपालले सहभागिता जनाउने

काठमाडौँ, २३ पुस : अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला नेपालको पर्यटकीय उत्पादन र सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उपयुक्त माध्यम हो । विश्वभरका पर्यटन व्यवसायीको जमघट हुने पर्यटन मेलामा नेपालले आफ्ना पर्यटकीय सेवा अन्य मुलुकमा बजारीकरण मात्रै हैन नेपाल गन्तव्यको प्रवर्द्धनमा टेवा पुग्छ । त्यसैले नेपालले विश्वकै ठूलो पर्यटन व्यापार मेला, ‘आइटिबी’, ‘डब्लुटिएम’ जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउदैँ आएको छ ।

यसै सन्दर्भमा नेपालले आगामी फागुनको तेस्रो साता जर्मनीको बर्लिनमा आयोजना हुने विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ मा सहभागिता जनाउने भएको छ । निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोएिसन (पाटा) नेपाल च्याप्टरले बार्लिनमा आगामी फागुन २२ देखि २४ सम्म हुने मेलामा सहभागिता जनाउने भएको हो । मेलामा नेपालको तर्फबाट ३७ पर्यटन संस्थाको सहभागिता रहने पाटा नेपाल च्याप्टरले जनाएको छ ।पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारीकरणका लागि आइटिबी, डब्लुटिएम जस्ता कार्यक्रम अपरिहार्य रहेको र नेपालको उपस्थिति छुटाउन नहुने भएकाले सदस्य संस्था तथा पर्यटन उद्योगका सरोकारवाला संस्थाको माग बमोजिम मेलामा सहभागिता जनाउन लागिएको हो ।कोरा टुरका प्रबन्ध निर्देशक विजय अमात्यले नेपालको पर्यटन प्रवद्र्धनको प्रभावकारी बजारीकरण गर्ने उपयुक्त थलो अन्तर्राष्ट्रिय पर्यटनमेला भएकाले नेपाल गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।“देशको पर्यटनलाई अगाडि बढाउने महत्वपूर्ण विषय भनेको देशको ‘भिजिबिलिटी’ हो । विश्वका पर्यटकलाई नेपाल चिनाउने मुख्य आधार पनि मेला भएकाले नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका व्यवसायी सरोकारवालाका लागि यस्ता फोरम उपयुक्त माध्यम बन्छन् । त्यसैले नेपालको सक्रिय र प्रभावकारी सहभागिता जनाउनैपर्छ ।”मेलामा विश्वभरका होटल, टुरिज्म बोर्ड, टुर अपरेटर, सेवा प्रदायक, एयरलाइन्सलगायत कम्पनी सहभागी हुनेछन् । बर्लिनमा मार्चमा वार्षिक रुपमा मेला हुँदै आएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन र बजारीकरणमा सक्रिय पाटाले गत जुनमा हिमालयन ट्राभल मार्टको चौथो संस्करण सम्पन्न गरेको थियो । विगत वर्षमा नेपाल पर्यटन बोर्डले आइटिबीलगायत अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउँदै आएको थियो ।पाटा नेपाल च्याप्टरको स्थापनाकालदेखि नै आइटिबी, विश्व पर्यटन मेला ‘डब्लुटिएम’लगायत अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सरकारकोतर्फबाट र निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको समन्वयमा आयोजना गर्नेगर्दथ्यो । नेपाल पर्यटन बोर्डको स्थापना भएपछि बोर्डले सार्वजनिक निजी साझेदारी संस्थाको रुपमा अन्तर्राष्ट्रिय पर्यटन मेलामा हरेक वर्ष सहभागिता जनाउने गरेको थियो ।चालु आर्थिक वर्षमा बोर्डले कुनैपनि अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाएको छैन । नेपाल पर्यटन बोर्ड, विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि, २०७८ पारित नहँुदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको छ । गत असोज ६ गते बोर्डको कार्यकारी समितिबाट पारित बोर्डको आव २०८०÷८१ को बजेट तथा कार्यक्रमको निर्देशनमा सार्वजनिक खरिद कार्यालयबाट सहमति प्राप्त गरि मात्र अन्तर्राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्ने÷गराउने निर्देशन भएको बोर्डले उल्लेख गरेको छ । बोर्डका पदाधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच पटक–पटक छलफल भए पनि अझै टुङ्गो लाग्न सकेको छैन ।

अर्थतन्त्र सुधारका लागि उद्योग परिसङ्घको सुझाव प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ, २३ पुस-नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधारसम्बन्धी विस्तृत सुझाव सरकारलाई बुझाएको छ । परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो सुझाव हस्तान्तरण गरेको परिसङ्घले जनाएको छ । परिसङ्घले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे एवं नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्याललाई पनि उक्त सुझाव बुझाएको छ ।

परिसङ्घले २८ वटा ऐन, नियमावलीमा संशोधन, पाँचवटा ऐन खारेज गर्न र तीनवटा नयाँ ल्याउनुपर्ने ऐन किटान गरी सरकारलाई अध्ययनसहितको सुझाव उपलब्ध गराएको हो । परिसङ्घका अध्यक्ष अग्रवालले कानुन सुधारका लागि पहलकदमी लिन ढिला भइरहेको महसुस परिसङ्घले गरेकाले सरकारलाई सुझाव उपलब्ध गराएको बताउनुभयो । समृद्ध अर्थतन्त्रका लागि कानुनमा सुधार अपरिहार्य रहेको परिसङ्घको स्पष्ट धारणा रहेको उहाँको भनाइ छ ।कानुनका विज्ञ, उद्योगी व्यवसायी तथा सरोकारवाला निकाय एवं व्यक्तिसँगको गहन छलफल, विषय विज्ञको राय सुझाव, छिमेकी मुलुक र नेपालको आर्थिक भौगोलिक अवस्थासँग मेल खाने मुलुकको कानुनको अनुसन्धानात्मक अध्ययन गरी सुझाव उपलब्ध गराइएको उहाँको भनाइ छ ।अध्यक्ष अग्रवालले सरकारलाई बुझाइएको सुझावमा पाँचवटा खारेज गर्नुपर्ने, तीनवटा नयाँ कानुन ल्याउनुपर्ने, १८ ऐन तथा १० वटा नियमावली, एउटा कार्यविधि र एउटा आदेशका दफा उल्लेख गरिएको बताउनुभयो । उहाँका अनुसार औद्योगिक व्यवसाय ऐन, २०७६, औद्योगिक व्यवसाय नियमावली, २०७८, आयकर ऐन, २०५८, कम्पनी ऐन, २०६३, भूमिसम्बन्धी ऐन, २०२१, वन ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५, सार्वजनिक– निजी साझेदारी तथा लगानी नियमावली, २०७७, विशेष आर्थिक क्षेत्र ऐन, २०७५ लगायत ऐनसम्बन्धी सुझाव छन् ।मुलुकको विद्यमान कानुनी व्यवस्थाको सुधारबाट समग्र आर्थिक विकासमा टेवा मिल्ने विश्वास परिसङ्घको छ । अध्यक्ष अग्रवालले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलन अगाडि नै कानुनमा सुधार गर्न सरकारले प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिसङ्घले दिएका सुझाव महत्वपूर्ण भएको बताउँदै त्यसमा मनन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल

काठमाडौँ, २३ पुस : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताउनुभएको छ ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका अवसरमा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा आज संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा प्रधानमन्त्रीले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न चाहेकोे बताउनुभयो ।सरकारको नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा प्रस्तुत गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज दिनभरि सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभङ्ग गर्नेबारे छलफल भएको छ, बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ, आज त्यसको थालनी भएको छ ।”प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुने र त्यसका आधारमा बजेट बनाइने बताउँदै भन्नुभयो, “यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो, सरकारको नीति तथा कार्यक्रम, बजेटमा जनता र जनप्रतिनिधिको निगरानी, नियन्त्रण एवं हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउँदैछौँ ।” उहाँले भन्नुभयो, “हामीले २१औँ शताब्दीको जनवादमा भनेका थियौँ, राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौँ, यो पनि आफैँमा त्यसको एक रूप हो ।”सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष अझ प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले एक वर्षको अवधिमा राम्रा काम गरेको छ । इतिहासमै नभएको भ्रष्टाचारविरूद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि आवश्यक प्रयास जार छ । यसले देशभित्र र बाहिर उत्साह थपेको छ । यसमा नै टेकेर आगामी वर्ष अझ राम्रो गरिनेछ, सिङ्गो पार्टीले सरकारलाई सहयोग गरोस् ।”अध्यक्ष दाहालले चाँडै नै पार्टीको स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने र त्यसपछि पार्टी अझ व्यवस्थित बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी विधानको मस्यौदा तयार भएको छ । चाँडै स्थायी समितिको बैठक हुनेछ । पार्टीको विधान तल्ला कमिटीमा पठाउने निर्णय गर्छौं । विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ । यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढाइनेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ ।”

पाँच दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा

आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्थानीय समय अनुसार बिहान २ः१८ बजे एस्ट्रोबोटिकको पेरेग्रिन लुनार ल्याण्डरलाई लिएर आफ्नो पहिलो यात्राको लागि उडेको होे ।

करिब ४८ मिनेटपछि बिना कुनै समस्या रकेटबाट ल्यान्डर अलग भएपछि मिसन कन्ट्रोलका कर्मचारीले ताली बजाएर खुसीयाली मनाएका थिए ।यूएलएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टोनी ब्रुनोले नासाको प्रत्यक्ष प्रसारणमा प्रक्षेपणको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “म निकै रोमाञ्चित छु । यो वर्षौंको कडा परिश्रमको परिणाम हो ।”“यो चन्द्रमामा फर्कने अहिलेसम्मको ने वास्तवमा नै सुन्दर अभियान भएको छ ।”

यूएलएका रणनीतिक योजना निर्देशक एरिक मोन्डाले प्रक्षेपणलाई ‘एकदम सही’ प्रक्षेपणको रूपमा वर्णन गर्नुभयो । “ये निकै ठीक छ । म हेर्नका लागि बाहिर नै निस्केको छु ।” उहाँले भन्नुभयो । यदि सबै कुरा योजनाअनुसार भयो भने पेरेग्रिनले फेब्रुअरी २३ मा चन्द्रमाको मध्य अक्षांश क्षेत्र ‘साइनस भिस्कोसिटाटिस’ अर्थात् ‘बे अफ स्टिकिनेस’ मा अवतरण हुनेछ ।

अहिलेसम्म, पृथ्वीको सबैभन्दा नजिकको खगोलीय छिमेकमा सफल अवतरण केवल केही राष्ट्रका अन्तरिक्षसम्बन्धी निकायहरूले मात्र पूरा गरेका छन् । यस अभियानलाई पूर्व सोभियत सङ्घले पहिलो पटक सन् १९६६ मा सम्पन्न गरेको थियो भने त्यसपछि लगत्तै संयुक्त राज्य अमेरिका चन्द्रमामा मानिसहरूलाई अवतरण गराउने मुलुक बनेको थियो ।

पछिल्लो एक दशकमा चीनले तीन पटक सफलतापूर्वक अवतरण गरेको छ भने भारतले गत वर्ष आफ्नो दोस्रो प्रयासमा यो उपलब्धि हाँसिल गरेको थियो । अब, ‘व्यावसायिक पेलोड सर्भिस’ (सीएलपीएस) कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिका व्यावसायिक चन्द्र अर्थव्यवस्थालाई प्रोत्साहित गर्न र लागतको एक अंशमा आफ्नै हार्डवेयरले बनेको यानसहित व्यावसायिक क्षेत्रमा फर्किरहेको छ ।

एस्ट्रोबोटिकका प्रमुख कार्यकारी अधिकृत जोन थोर्नटनले अपोलोपछि पहिलो पटक अमेरिकालाई चन्द्रमाको सतहमा फर्काउनु महत्वपूर्ण सम्मानको कुरा भएको बताउनुभएको छ । नासाले यस कार्यका लागि एस्ट्रोबोटिकलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी भुक्तानी गरेको छ भने अर्को सम्झौता गरिएको कम्पनी ह्युस्टनस्थित ‘इन्ट्युटिभ मेशिन्स’ले फेब्रुअरीमा प्रक्षेपण गर्ने र चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने योजना बनाएको छ ।

“आर्टेमिसको तयारीका लागि चन्द्रमाको सतहमा अधिक लागत प्रभावी र छिटो सम्पन्न यात्रा गर्न यसले सहज बनाउनेछ,” अन्वेषणका लागि अमेरिकी अन्तरिक्ष निकायका उप सहयोगी प्रशासक जोएल केन्र्सले भन्नुभयो । आर्टेमिस नासाको नेतृत्वमा यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्षयात्रीहरूलाई फर्काउने कार्यक्रम हो ।

किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण

गुल्मी, २३ पुस : गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो ।

बीउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बीउ प्रतिकिलो खरिद रु एक सय पाँच र बिक्री रु एक सय २५ तोकेको छ । त्यसैगरी अरुण–२ खरिद रु एक सय २० र बिक्री रु एक सय ४० निर्धारण गरिएको सञ्जालका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

प्रमाणित बीउअन्तर्गत भने देउती र मनकामना खरिद प्रतिकेजी रु ९५ र बिक्री रु एक सय कायम गरिएको छ । गतवर्षको तुलनामा यसवर्ष जिल्लामा मकैको बीउको उत्पादन घटेको छ । गतवर्ष पाँच सय २७ क्विन्टल बीउ उत्पादन भएकामा यसवर्ष तीन सय ७७ क्विन्टल मात्र बीउ उत्पादन भएको छ । जिल्लामा यसवर्ष रु ४० लाख बराबरको मकैको बीउ उत्पादन भएको उहाँले बताउनुभयो । 

यसवर्ष एक सय ५६ मेट्रिकटन मकैको बीउ उत्पादन हुने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम ३७ दशमलव सात मेट्रिकटन मात्र बीउ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी गराउनुभयो । जिल्लामा पाँच सय ६१ मेट्रिकटन कमैको बीउ आवश्यक पर्नेमा बीउ उत्पादन निकै चिन्ताजनक अवस्थामा रहेको उहाँको भनाइ थियोे । 

जिल्लामा उन्नत बीउको उत्पादन घट्नुमा किसानले उत्पादन बढाउन हाईब्रिड बीउ प्रयोग धेरै गर्नु र बाँदर र बँदेलजस्ता वन्यजन्तुले मकैबारीमा नोक्सान गर्नु मुख्य कारण रहेको स्थानीय बाँसखर्क कृषि सहकारीका अध्यक्ष टोपलाल पाण्डेले बताउनुभयो । 

त्यसैगरी बीउ उत्पादक सञ्जालले स्थानीय धानको बीउको मूल्य पनि निर्धारण गरेको छ ।  निर्धारित मूल्यअनुसार स्थानीय हँसराज धान खरिद प्रतिकेजी रु एक सय र बिक्री रु एक सय १५ कायम गरिएको छ । चैत–५ र खुमल–१० प्रतिकेजी खरिद रु ८० र बिक्री रु ९० र मकवानपुर–१ खरिद प्रतिकेजी रु ७० र बिक्री प्रतिकेजी रु ८० निर्धारण गरिएको छ । 

पछिल्लो समयमा जिल्लामा स्थानीय उन्नत जातको बीउभन्दा हाईब्रिड बीउको प्रयोग बढ्दो छ । यहाँका किसानले मकै खेतीमा ७० प्रतिशत र धानमा ८० प्रतिशत हाईब्रिड बीउ प्रयोग गर्ने गरेको केन्द्रका कृषिप्रसार अधिकृत शिवलाल बञ्जाडेले जानकारी दिनुभयो । 

अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटना : १० जना घाइते

अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।सोमबार बिहान १० जना सवार विमान केअन्र्सको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब एक हजार छ सय किलोमिटर उत्तरपश्चिममा रहेको लिजार्ड आइल्याण्डको धावनमार्गमा फर्किरहेको अस्ट्रेलियाली पत्रिकाले जनाएको छ ।

आरोहणका क्रममा टाउन्सभिल एयरलाइन्सद्वारा सञ्चालित सेस्ना २०८ को इन्जिनमा प्राविधिक समस्या भएको सङ्केतपछि चालकले ‘लिजार्ड आइल्याण्ड’मा फर्कने प्रयास गरेको अस्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोका प्रमुख आयुक्त एङ्गस मिचेलले बताउनुभयो । विमानमा सवारहरूलाई गम्भीर चोटपटक लागेको रिपोर्टहरू मिचेललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समाचार वेबसाइट न्युज डट कमकाअनुसार क्वीन्सल्याण्डको सामुदायिक स्वास्थ्य केन्द्र (क्वीन्सल्याण्ड हेल्थ) ले घाइते सबैलाई केअन्र्स अस्पतालमा लगिएको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको छ । क्वीन्सल्याण्ड एम्बुलेन्स सेवाका ब्रिना किटिङ्ले दुर्घटनामा भाइते भएकामध्ये एक जनाको हातमा तथा अर्काको टाउकोमा गम्भीर चोट लागेको बताउनुभयो ।

म्यान्माबाट ९ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात

म्यान्माले आर्थिक वर्ष २०२३-२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ मिलियन अमेरिकी डलर आम्दानी भएको हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

सो नौ महिनाको अवधिमा पनि डिसेम्बर महिनामा सबैभन्दा बढी चामल निर्यात भएको र राजस्व ९९ मिलियन डलर सङ्कलन तथ्याङ्कले देखाएको छ ।

स्रोतका अनुसार डिसेम्बरमा १ लाख १ हजार १५६ टन चामल र ९४ हजार ६७२ टन टुक्रा चामल निकासी भएको थियो । म्यान्माले इन्डोनेसिया, फिलिपिन्स, चीन, पोल्याण्ड, मलेसिया, बेल्जियम, नेदरल्यान्ड्स र भियतनामलगायत २० भन्दा बढी देश र क्षेत्रहरूमा चामल निर्यात गर्ने गर्दछ ।

स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको छ : मन्त्री बस्नेत

काठमाडौँ २३ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताउनुभएको छ । आज यहाँ नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले अब दरबन्दी थप गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “देशभरमा अहिले ९२ हजार स्वास्थ्यकर्मी तत्काल आवश्यक छ । तर आवश्यकताभन्दा कम दरबन्दी भएकाले थप गर्न लागिएको हो ।” लामो इतिहास बोकेको नरदेवी आयुर्वेद चिकित्सालयलाई सरकारले विषेश ध्यान दिने उहाँको भनाइ छ । आयुर्वेदिक उपचार महत्वपूर्ण उपचार पद्धति रहेको भए पनि सरकारले जति ध्यान दिनुपर्ने हो त्यसरी दिन नसकेको उहाँको भनाइ थियो ।त्यस अवसरमा नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा श्यामबाबु यादवले अस्पतालको भौतिक पक्ष थप बलियो बनाउन र जनशक्ति वृद्धि गर्नका लागि मन्त्रीसमक्ष आग्रह गर्नुभयो । उहाँले निकट भविष्यमै यस अस्पतालमा सिटीस्क्यान सेवासमेत सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो ।अस्पतालमा निःशुल्क उपलब्ध हुने शय्या बढाएर १५ बाट २५ पुर्‍याइएको जानकारी दिनुहुँदै सम्पूर्ण बिरामीलाई निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । अस्पताललाई आगामी दिनमा अन्तर्राष्ट्रिय अस्पतालका रुपमा विकास गर्नका लागि निरन्तर प्रयास भइरहेको पनि उहाँको भनाइ थियो । अस्पताल १९७४ सालमा स्थापना भएको थियो । हाल अस्पतालमा एक सय १८ शय्या छन् ।

जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन

काठमाडौँ, २३ पुस : नेकपा (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुनले जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । निरङ्कुश राजतन्त्रवादीले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो आफूहरुमाथिको हमला भएको उहाँको भनाइ छ ।

पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै नेता पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरङ्कुशतावादीहरुको चुनौती स्वीकार गर्न तयार रहेको बताउनुभयो ।उहाँले आफूहरुले कोसिस गर्दागर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गर्नुभयो । “गणतन्त्रसहित उपलब्धिमाथि निरङ्कुशतावादीका तर्फबाट प्रश्न उठाउन थालिएको छ”, नेता पुनले भन्नुभयो, “यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, माओवादीमाथिको पनि प्रश्न हो ।”पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले जनताको अवस्था बदल्न निरन्तर प्रयास गर्दै समाजवादी विकल्प तयार पार्नु आफूहरुको राजनीतिक ध्येय भएको बताउनुभयो । उहाँले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरुले दिने स्पष्ट पार्नुभयो ।नेता पुनले नेतृत्वले आफ्नो वर्गीय धरातल छाडेको आरोप लाग्ने गरेको चर्चा गर्दै माओवादी सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक र देशभक्तहरुको पार्टी भएको दाबी गर्नुभयो । उहाँले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता तथा कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिनुभयो ।“माओवादी केन्द्र कार्यकर्तासँगै जनता भएको पार्टी हो । अब हामी जनताको मन जितेर कार्यकर्ता र कार्यकर्ताको मन जितेर नेता हुने प्रणाली संस्थागत गर्न खोज्दैछौँ”, उहाँले भन्नुभयो, “यसले नेतृत्वमा युवाहरु आउनुपर्ने भन्ने भन्ने आवाजको पनि सम्बोधन गर्नेछ ।”

सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २३ पुसः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका लागि ठोस कदम चाल्ने गरी उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सहकारीको समस्या छिटो समस्या नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएका छन् । उनीहरू घर न घाट भएका छन् । उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस् ।”

त्यस अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैङ्कले गर्ने गरी निर्णय गरेर जानुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकमा मुख्यसचिव डा वैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्ने गरी नियमन प्रबन्ध गर्न र निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यावहारिक रूप दिन आवश्यक रहेको बताउनुभयो ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डले सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिबद्धता व्यक्त गरेअनुसार नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन गर्ने गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्नुभएको थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा व्यापक रूपान्तरण गर्न त्यसको नीति र कार्यतालिकामा परिमार्जन गर्नका लागि प्रधानमन्त्रीले आजको बैठक बोलाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले ‘बजेटको मन्त्रालयगत सिलिङ तोक्दा मन्त्रालयहरूबीच व्यापक छलफल जरुरी भएको बताउँदै सिलिङ तोक्ने प्रक्रियाबारे नै छुट्टै छलफल आवश्यक भएको बताउनुभएको थियो ।

प्रधानमन्त्रीले भन्नुभयो, “बजेटको सिलिङ तोक्दा अनुमान र हचुवाका भरमा नतोकौं, मन्त्रालयहरूलाई पनि बोलाएर छलफल गरौँ, उनीहरूको कुरा पनि सुनौँ । यो लोकतान्त्रिक प्रक्रिया पनि हो । कुन स्तरका योजना केन्द्रमा राख्ने, कुन प्रदेश र स्थानीय तहमा पठाउने भन्नेबारे पनि प्रस्ट खाका चाहिन्छ । त्यसका लागि पनि आवश्यक तयारी गर्नुस् ।”

प्रधानमन्त्रीले अनावश्यक नयाँ योजना नथप्ने, अधुरा पुराना योजनालाई उच्च प्राथमिकता दिने र प्रत्येक आर्थिक वर्षमा खास कुनै रणनीतिक योजनामा केन्द्रित हुनेगरी नीति तथा कार्यक्रम र बजेटको तयारी गर्न अर्थ मन्त्रालय र योजना आयोगलाई निर्देशन दिनुभयो ।

त्यस्तै अर्थमन्त्री डा महतले नीति तथा कार्यक्रम र बजेटमा नयाँपन ल्याउने प्रधानमन्त्रीको सोच महत्वपूर्ण भएको बताउँदै प्रधानमन्त्रीको निर्देशन र सरकारको निर्णयबमोजिम मन्त्रालयले आवश्यक काम अगाडि बढाउने बताउनुभयो ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले फागुनमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, वैशाखमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ मा बजेट प्रस्तुत गर्नेगरी राष्ट्रिय योजना आयोगले नीति तथा कार्यक्रम र बजेटको प्रस्तावित कार्यतालिका निर्माण गरेको बताउनुभयो ।

मुख्यसचिव डा अर्यालले प्रस्तावित कार्यतालिका वैज्ञानिक रहेको बताउँदै सोहीअनुरूप कानुनी प्रबन्ध र व्यावहारिक गृहकार्य आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले प्रस्तावित कार्ययोजना कार्यान्वयनका निम्ति प्रचलित कानुनहरूमा संशोधन आवश्यक भएको बताउनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, २३ पुस : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज भेटवार्ता भएको छ ।

नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो ।भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयूको सक्रिय सदस्य भएका कारण नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउनेमा विश्वस्त छु भन्नुभयो । उहाँले आयरल्याण्डमा नेपाली विद्याथर्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने समेत उल्लेख गर्नुभयो ।भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बट्टिमरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने विषयमा संवाद र छलफल अगाडि बढाउनेमा विश्वास दिलाउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

काठमाडौँ, २३ पुस : उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । उच्च अदालतमा नियुक्त भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहिसक्नुभएको छ भने न्याय सेवा र सरकारी वकिलबाट चारजना अधिकृत न्यायाधीशमा नियुक्त हुनुभएको छ । साथै नौजना कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त हुनुभएको छ ।

चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन

काभ्रेपलाञ्चोक, २३ पुुस : दैनिक चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले चिसो (शीतलहर तथा हिमपात)बाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीको पहिचान गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

पहिचान भएका समुदाय एवं बस्तीमा रहेका व्यक्ति एवं परिवारमध्ये अति विपन्न, सङ्कटापन्न र चिसोबाट जोखिममा पर्नसक्ने परिवारको सदस्य सङ्ख्या तथा घरमूली भए नामसमेत यकिन गरी सात दिनभित्र समितिमा पठाउन स्थानीय तहमा अनुरोध गर्ने आइतबार धुलिखेलको बैठकले निर्णय गरेको हो ।

बैठकले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जिल्लास्थित आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग सूचना–समन्वय गर्न स्थानीय तहमा अनुरोध गर्ने, सबै स्थानीय तहमा न्यूनतम राहत सामग्री तयारी अवस्थामा राख्ने, स्थानीय विपद् व्यवस्थापन कोषमा रहेको रकम मापदण्ड कार्यविधि तयार गरी व्यवस्थापन गर्ने र वितरित राहत विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराउने, विपद् व्यवस्थापनमा काम गर्ने सङ्घ–संस्थाले स्थानीय तहसँग समन्वय गरी कार्य गर्ने, गरेको कामको प्रगति विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने तथा २०८० साल माघ २ गते राष्ट्रिय भूकम्प दिवस विविध कार्यक्रम गरी मनाउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने तथा जिल्लास्तरमा विपद् व्यवस्थापन समितिका सदस्य सम्मिलित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिसोबाट प्रभावित हुनसक्ने समुदाय एवं बस्तीलाई आवश्यक पर्ने लत्ताकपडा तथा खाद्यान्नको व्यवस्थापनका लागि स्थानीय तहमा तत्तत्को पहिचान गर्न निर्देशन दिइएको हो । “चिसो बढिरहेको छ, ती समुदायमा कोषबाट चिसोबाट बच्न लत्ताकपडा सहयोग गर्न सकिने भएकाले सातदिन भित्रै बिवरण पठाउन आग्रह गरेका हौँ”, प्रजिअशर्माले भन्नुभयो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

जिल्ला विपद् व्यवस्थापन कोषमा मौज्दात रु एक करोड ९३ लाख ९७ हजार सात सय ५१ रहेको छ । चालु आवको पुस २१ गतेसम्म पहिरो, आगलागी, हावाहुरीलगायत विपद्का घटनाका पीडित २१ घर–परिवारलाई न्यूनतम रु पाँच हजारदेखि २० हजारसम्मको क्षतिपूर्ति र मृतक व्यक्तिका आफन्तलाई रु दुई लाखसमेत गरी रु चार लाख ६६ हजार उपलब्ध गराइएको बैठकमा जानकारी दिइयो । सो अवसरमा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिले आ–आफ्ना तहमा भएका विपद्जन्य घटनाको व्यवस्थापन तथा गतिविधिबारे प्रस्तुत गर्नुभएको थियो ।

बुटवलमा सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालियो

लुम्बिनी, २३ पुस : बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन र नेपालगञ्ज रोडको एक टहरा भत्काइएको छ ।

सार्वजनिकस्थलमा निर्माण भएका टहरा हटाउन पटक–पटक पत्राचार गरे पनि स्वःस्फुर्त टहरा नहटाएपछि इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको बुटवल उपमहानगरपालिका– ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस उद्यान निर्माण गरिनेछ ।यस्तै नेपालगञ्ज रोडमा सार्वजनिकस्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहरा हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उहाँले बताउनुभयो । यस्तै वडा नं ६ र अरु वडामा पनि सार्वजनिकस्थलको संरक्षण गर्दै उद्यान र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ ।बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्नका लागि पर्यटकीयस्थल, उद्यान, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार चालु आवमा केही स्थानमा मोडेलका रुपमा केही चौतारी निर्माण गरिनेछ र आगामी आवमा बुटवलका सबैजसो वडामा उद्यान र चौतारी निर्माण गरिनेछ ।

जनताको अवस्था परिवर्तन गर्न प्रमुख शक्ति एकढिक्का हुनुपर्छः सांसद प्रतिक्षा तिवारी

काठमाडौँ, २३ पुस : जनप्रतिनिधिका हैसियतमा जनअपेक्षाअनुरुप कानुन तथा विकास निर्माणमा केही गर्छु भन्ने उत्साह र विश्वास लिएर आएको थिएँ, गत एक वर्षको संसदीय अभ्यासमा न त्यो उत्साह कायम रह्यो, न जनचाहना पूरा गर्न सकेँ । युवा विद्यार्थीको विदेश पलायनको सङ्ख्या बढेका कारण बरु त्यो अपेक्षा निराशातर्फ उन्मुख भएको अनुभूति गरेकी छु । यो अवधि हरेक हिसाबले फलदायी हुन सकेन ।

सङ्घीय संसद्को अधिवेशन अन्त्य हुने दिन सभामुखले प्रस्तुत गर्नुभएको तथ्याङ्कले कानुन निर्माणको प्रगति सबैले जानकारी पाइसकेका छन् । तथापी, सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै कानुन तदारुकताका साथ निर्माण गर्नुपर्ने हाम्रो दायित्व छ । सरकारले समयमा ‘बिजनेस’ दिन नसकेका कारण सिङ्गो अधिवेशन एउटा मात्र ऐन निर्माणमा सीमित बन्न पुग्यो । यसबीचमा कानुन र मानवअधिकार समितिबाट सम्पत्ति शुद्धीकरण र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयक भने निष्कर्षमा पु¥याउने कोसिस भइरहेको छ । त्यसले पनि केही आशा र भरोसा दिलाएको छ । यद्यपी, अब आउने दिन उत्साह र आशापूर्ण हुनुपर्छ भन्ने मान्यता राख्छु ।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधित्व गर्ने भएकाले आफूसँगको भेटमा शिक्षित र बुद्धिजीवी समुदायले ऐन कानुनका कुरा गरे पनि अधिकांश मतदाताले भने आमरुपमा देखिएका विसङ्गति, बेथिति, भ्रष्टाचार, महङ्गी, कालोबजारीकै कुरा उठाउने गरेका छन् । अहिले जनतामा निराशा छ । सङ्घीय सांसद भए पनि कानुन निर्माणमा मात्र सीमित नभई समाजको बुझाइ र स्तरका कारण जनताका सबै समस्या जनप्रतिनिधिले नै सुन्नुपर्छ भन्ने मान्यता छ । मेरो निर्वाचन क्षेत्रको प्राथमिकता भनेको कृषि, खानेपानी, सिँचाई साथै शिक्षा, स्वास्थ्य र रोजगारी नै हुन् । जनताले कुन सत्तापक्ष वा विपक्ष भन्ने सरोकार राख्दैन । उसलाई पुल, नहर, विद्यालय, सडकलगायतका विकास तथा रोजगारी, खानेपानी, बिउबीजन र मलखाद सहज र सर्वसुलभ होस् भन्ने चाहना हुन्छ । त्यस्ता समस्या समाधान गर्न हामी अहोरात्र खटिँदै आएका छौँ । निर्वाचनका बेला प्रतिवद्धता जनाए गरेअनुरुप कसले के कति गरे भन्ने जनताले पनि हिसाबकिताब गरिरहेकै हुन्छन् ।

राज्यका प्राथमिकता र प्रदेशगत सन्तुलनका आधारमा बजेट विनियोजन हुनुपर्नेमा अझै पनि पहुँच र प्रभावका आधारमा रकम विनियोजन र आयोजना छनोट हुने गरेको छ । प्रतिपक्षका सांसदले अघि बढाएका योजना र विकास निर्माणमा सरकारले बजेट विनियोजनमा विभेद गर्दै आएको देखिन्छ । सरकार अभिभावक भएकाले अरुलाई विश्वासमा लिएर काम गर्नुपर्छ तर यहाँ त्यो देखिन्न । मुलुकमा परिवर्तनका संवाहक नेपाली कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) जस्ता राजनीतिक दलले सहकार्य गरी अघि बढ्दा मात्र देश र जनताको हित हुन्छ ।

गत एक वर्षे कार्यकालमा सदनमा देखिँदै आएको एकअर्कालाई औँला ठड्याउने प्रवृत्ति अन्त्य गर्न सरकारबाटै पहलकदमी हुनुपर्छ । देश विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन परिवर्तनका संवाहक शक्तिबीच न्यूनतम साझा सहमति हुनुपर्छ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका ऐन कानुन निर्माणलाई तीव्रता दिइनुपर्छ । सङ्क्रमणकालीन कानुनलाइ पूर्णता दिएर बिगतको सशस्त्र द्वन्द्वमा पीडामा परेका परिवारजनलाई न्याय दिलाउन सक्नुपर्छ । त्यसमा पनि प्रमुख शक्तिबीच एउटै धारणा बन्नुपर्छ । व्यवस्था परिवर्तन गर्न प्रमुख राजनीतिक शक्ति एक भएझैँ जनताको अवस्थामा परिवर्तन ल्याउन त्यो पक्षबीच मतैक्यता हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

सरकारलाई ठीक बाटोबाट अघि बढाउन प्रमुख प्रतिपक्ष दलको हैसियतले एमालेबाट भगिरथ प्रयास भइरहेको छ । प्रतिपक्षको स्थानमा रहेर निरन्तर खबरदारी गर्दै आवाज उठाइरहेको छ । देशमा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम हुन नसक्नुमा सरकार र प्रतिपक्षबीचको द्वन्द्वले पनि केही मलजल गरेको छ । सरकारबाट भए गरेका कमीकमजोरी औँल्याइरहँदा प्रतिपक्ष भनेको विरोध गरिरहने मात्र हो भन्ने ढङ्गले लिइनुहुन्न । यस्ता विषय ठीक समयमा सम्बोधन गर्न सकिएन भने सुशासन कायम गर्ने मामिलामा चुनौती हुन्न भन्ने पाटोलाई समयमै हेक्का राख्नुपर्छ । पुरानो शासनले भएन, नयाँ राजनीतिक व्यवस्था आएपछि विकास, समृद्धि, शान्ति सुव्यवस्था कायम गर्छाैं भनी हामी आएका हौँ ।

निर्वाचनका समयमा मतदाताले पनि सही नेतृत्व र देशमा केही गर्छु भन्ने भावना बोकेका व्यक्ति छनोट गर्न सक्नुपर्छ । राजनीति नेतृत्व र कर्मचारीतन्त्रको माथिल्लो तहका व्यक्तिमा आफूलाई सर्वेसर्वा सम्झने प्रवृत्तिले पनि भ्रष्टाचार मौलाउन मलजल गरेको छ । समाजमा अन्याय र अत्याचार बढ्दै गएपछि एक दिन विष्फोटको अवस्था आउन सक्छ । भ्रष्टाचार बढाउनमा कुनै प्रणाली वा व्यवस्थालाई दोष थोपरेर उम्कन मिल्दैन ।

हालको निर्वाचन प्रणालीमा केही कमीकमजोरी रहेकाले सुधारको भने खाँचो छ । निर्वाचन प्रणालीलाई देखाएर चुनावमा धेरै खर्च भइरहेको अस्वस्थ प्रतिस्पर्धाले पनि समाजमा विकृति जन्माएको छ । आममतदातामा सुशासनसम्बन्धी सचेतना कार्यक्रम पु¥याउनुपर्छ । निर्वाचनका बेला केही मतदाता अनेक किसिमका झुठा प्रलोभनमा पर्ने गरेको आरोपलाई असत्य सावित गर्नुपर्छ ।

स्वदेशमा रोजगारी नभएपछि रोजीरोटीको जोहो गर्न र घरपरिवार चलाउन विदेश पलायन हुन बाध्य युवासँग पनि अनेक बहानामा मोटो रकम असुल्ने कार्य भइरहेको छ । त्यसलाई रोक्न बनेका नीति नियम र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक छ । ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ’ भन्ने अवस्थामा रहेका अप्ठेरोमा परेका व्यक्तिलाई झन दुःख दिने कार्य कदापी स्वीकार्य हुन सक्दैन । रोजगारीका लागि विदेश जाने युवालाई सरकारले फ्रि–भिसा, फ्रि टिकट भनेपनि व्यवहारमा त्यो लागू हुनै सकेन । सरकारले जे बोल्छ र जेजस्तो नियम कानुन बनाएको छ, त्यो लागू गर्नुपर्छ । सरकार जवाफदेही बन्नपर्छ ।

मुलुकमा देखिएका बेथिति र विसङ्गतिका विरुद्ध सशक्त आवाज मुखरित गर्दै देश र जनहितमा कार्य गर्न म कुनै कसर बाँकी राख्दिन । यो दृढता र कार्ययोजना बनाएर काम गर्ने हो भने जनताको जीवनस्तर उकास्न धेरै समय लाग्दैन । सरकारमा रहनेको दूरदृष्टि र इच्छाशक्ति भए देश बन्छ, बनाउन सकिन्छ ।

सांसद तिवारीको परिचय

एमाले धनुषा क्षेत्र नं ३ को इञ्चार्जको जिम्मेवारीमा रहनुभएकी सांसद तिवारीले यसअघि विसं २०७० मा संविधानसभा सदस्यका रुपमा सक्रियपूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ अखिल नेपाल महिला सङ्घको केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश सहसंयोजक समेत हुनुहुन्छ । सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने मनोनीत हुने सदस्यका रुपमा उहाँसँग यसअघि धेरै पटक सदन सञ्चालन गरेकोसमेत अनुभव छ ।
(‘सांसदसँग रासस संवाद’मा एमाले नेत्री तिवारीसँग राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गर्नुभएको कुराकानीको सम्पादित अंश)

पार्टीले मलाई न्याय गरेको अनुभूति भएको छ : सहिद पत्नी शर्मा

गण्डकी, २३ पुस : विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतकी मनरुपा शर्मा त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि ‘सांसद’ बन्ने अवसर मिलेन ।

नेकपा (माओवादी केन्द्र)ले विसं २०७० को दोस्रो संविधानसभा चुनाव, विसं २०७४ र विसं २०७९ को प्रदेशसभा चुनावमा उहाँलाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । कुश्मा नगरपालिका–१० की शर्माको जनप्रतिनिधिका रुपमा संसद् छिर्ने सपना १६ वर्ष बित्दासमेत पूरा हुन सकेन ।

गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्काे जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । पटक–पटकको प्रयासका बाबजुत संसदीय यात्रा तय गर्न नसके पनि उहाँ निराश भने हुनुभएन । पार्टीले दिएको जिम्मेवारीमा सधँै सक्रिय रहँदै आउनुभयो ।

विसं २०६० देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक रहनुभएकी शर्मा यसपटक भने पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । सहिद परिवारकी उहाँ आसन्न राष्ट्रियसभा सदस्य चुनावमा गण्डकी प्रदेशबाट माओवादी केन्द्रको उम्मेदवार बन्नुभएको हो ।

“ पार्टीले मलाई वास्तवमै न्याय गरेको अनुभूति भएको छ, आज म धेरै नै खुसी छ, म उम्मेदवार छनोट भएपछि जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित हुनुहुन्छ”, उहाँले भन्नुभयो, “निर्वाचित भएर राष्ट्रियसभामा गए भने देश र जनताको हितमा काम गर्छु ।”

कुनै राजकीय पदमा निर्वाचित नहुँदा पनि सधँै जनताको बीचमा बसेर सामाजिक सेवा र राजनीतिमा खटिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले एक त महिला अर्कातिर सहिद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा उम्मेदवार बन्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो । “अहिलेको सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले चुनावको परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो, “हिजो जनयुद्धका कठिन र सङ्घर्षपूर्ण दिनमा जसरी समाज रुपान्तरणको अभियानमा लागियो, अब त्यस्तै ऊर्जाका साथ नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रण गरेकी छु ।”

शर्माका पती विजय सुवेदी ‘विकास’को तत्कालीन जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते हत्या भएको थियो । सुवेदी तत्कालीन माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील हुनुहुन्थ्यो । ४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आउनुभएको हो । उहाँ २०७४ अघि माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको सदस्यसमेत हुनुभएको थियो ।

गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्रले महिला ‘कलस्टर’बाट शर्मालाई उम्मेदवार बनाएको सो पार्टीका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले जानकारी दिनुभयो । राजनीतिक सङ्घर्ष र सङ्गठन निर्माणमा पु¥याएको योगदानलाई हेरेर शर्मालाई उम्मेदवार बनाइएको उहाँले बताउनुभयो ।

सत्ता गठबन्धनमा आबद्ध दलको मतभारलाई हेर्दा शर्माको जित सुनिश्चितजस्तै रहेको इञ्चार्ज पौडेलले उल्लेख गर्नुभयो ।
राष्ट्रियसभामा गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिने भएपछि सो पदमा चुनाव हुन लागेको हो । तीसमध्ये महिलातर्फ सत्ता गठबन्धनबाट माओवादी केन्द्रले शर्मालाई उम्मेदवार बनाएको हो ।

राष्ट्रियसभा सदस्य : गण्डकीमा तीन ‘सिट’मा निर्वाचन

कास्की, २३ पुस – राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट एकरएक जना निर्वाचित हुनुहुनेछ । यसका लागि प्रमुख राजनीतिक दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाइसकेका छन् । गण्डकीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता रअल्पसङ्ख्यक समूहमा उम्मेदवारी दिँदैछ भने नेकपा ९माओवादी केन्द०ले महिलातर्फ उम्मेदवारी दिने गरी सिट बाँडफाँट गरेको जनाइएको छ ।

कांग्रेसले गोरखाका किरणबाबु श्रेष्ठलाई अन्य समूह र तनहुँका पदमबहादुर परियारलाई अपाङ्गता रअल्पसङ्ख्यकमा उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले पर्वतका मनरुपा शर्मालाई महिलातर्फ उम्मेदवार तय गरेको छ ।

यसैगरी नेकपा ९एमाले०ले गण्डकीमा अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाका सम्झना देवकोटा र अल्पसङ्ख्यकबाट मुस्ताङका हेमन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गण्डकीमा राष्ट्रियसभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले चुनाव हुन लागेको छ । तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा९एमाले० र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।

आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख÷उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता रहेका छन् । कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । नेकपा एमालेका २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् । एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ ।

यसैगरी माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख रउपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार छ । गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुखरउपप्रमुख गरी तीन रहेकाले ५७ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो । उहाँको मतभार १९ छ ।

तयारी पूरा- राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा हुने चुनावको आज उम्मेदवारी मनोनयन दर्ताको तयारीका सबै काम पूरा भएको छ । मतदाताको अन्तिम नामावली प्रकाशनलगायत मनोनयन दर्ताका लागि आवश्यक सबै तयारीका काम सम्पन्न गरेर तयारी अवस्थामा रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । “उम्मेदवारको मनोनयन दर्ताका लागि आवश्यक काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौँ”, उहाँले भन्नुभयो ।

तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने लेबाङमा स्वास्थ्य एकाइ सञ्चालन

ढोरपाटन (बागलुङ), २३ पुस : निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्दथे ।

गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताउनुभयो । गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्यचौकीमा ल्याएर उपचार गराउने गरेको जनाउँदै अब त्यो समस्या समाधान भएको उहाँको भनाइ छ ।

“नजिकमा अस्पताल थिएन, गाउँमा कोही बिरामी प¥यो भने बोकेर देवीस्थान पुग्नुपथ्र्यो, कहिले बूढाबूढी बिरामी हुन्छन्, कहिले केटाकेटी बिरामी हुन्छन्, उनीहरुलाई देवीस्थान र बुर्तिबाङ पु¥याउनुको विकल्प थिएन”, उहाँले भन्नुभयो, “यहाँ ठूलो रोगको उपचार त हुँदैन भन्छन्, तर साना तिना रोग लागे, घाउ चोट लागे नजिकै उपचार गर्न पाइने भयो, ज्वरो आयो, टाउको दुख्यो भने औषधि पनि गाउँ घरमै पाइने सुविधा आयो ।”

लेबाङमा करिब छ सय घरधुरीका छन् । गाउँमा बिरामी परे दिनभरि लगाएर बजार झर्नुपर्ने अवस्था थियो । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले हाल एक जना अहेव र एक जना कार्यालय सहयोगीको व्यवस्था गरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले थप स्वास्थ्यकर्मीसहित जनशक्ति विस्तारै बढाउँदै जाने बताउनुभयो । एकाइ सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरेको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निसीखोलामा अहिलेसम्म दूरदराजका नागरिकले सहजरुपमा सामान्य प्रकारका स्वास्थ्य सेवा पाउन गरेका छैनन्, भौगोलिक विकटता र छरिएको बस्ती हुँदा सबै ठाउँमा एकै पटक सेवा प्रवाह गर्न समस्या हुँदो रैछ, यद्यपि हामीहरु निर्वाचित भएर आएपछि धेरै ठाउँमा स्वास्थ्य सेवा पु¥याएका छौँ, निसेलढोर पनि केही समय अगाडि पु¥यायौँ, अब धेरै ठाउँ छैन, हरेक नागरिकले कम्तीमा आधा घण्टाको दूरीमा सामान्य स्वास्थ्य सेवा पाउने गरि व्यवस्था मिलाएका छौँ ।”

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार, कुन प्रदेशमा कुन उम्मेदवार ?

काठमाडौँ, २३ पुस : नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आफ्ना उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निर्णय गरेको हो ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला (अन्य), मधेस प्रदेशमा आनन्दप्रसाद ढुङ्गाना (अन्य), बागमती प्रदेशमा जीतजङ्ग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकी प्रदेशमा किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपाङ्गता÷अल्पसङ्ख्यक)लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा (महिला), कर्णाली प्रदेशमा कृष्णबहादुर रोकाया (अन्य), सुदूरपश्चिम प्रदेशमा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता÷अल्पसङ्ख्यक)लाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।कांग्रेसले सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार माघ ११ गते हुने कूल १९ पदमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १० पदमा उम्मेदवार दिएको हो ।

कांग्रेसले सत्तारुढ गठबन्धनको ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमतिबमोजिमका उम्मेदवारलाई विजयी गराउन सबैमा आह्वान गरेको छ । निर्वाचन आयोग नेपालले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

नेतान्याहुद्वारा आफ्ना लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने घोषणा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेको छ । विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उहाँको उद्घोष छ ।

तीन महिनाअघि हमासले हाम्रो विरुद्ध भयानक नरसंहार गरेको थियो,” उहाँले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ। सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उहाँले बताउनु भएको छ ।

हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन, “नेतन्याहुले भन्नुभयो।उहाँले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।

रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो,खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर सात लाख आम्दानी गरे

रुकुम, २३ पुस : रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा रु सात लाख ५० हजार आम्दानी गर्नुभएको छ । अब एक सय ४० धार्नी मह बिक्री हुन बाँकी रहेको उहाँले बताउनुभयो । “यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने रु १२ लाख कमाउँछु”, किसान खड्काले भन्नुभयो ।

सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६० घारबाट एक सय ८० धार्नी मह निकाल्नुभएको छ । मह निकाल्न अझै दश मौरीका गोला बाँकी छन् भने एक सय आठ धार्नी मह बिक्री भइसकेको छ । उहाँले बिक्री भएको महबाट रु तीन लाख २४ हजार आम्दानी गर्नुभएको छ । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ । उहाँले भन्नुभयो “यो याममा रु सात लाख बराबरको आम्दानी हुने भएको छ । ”

एक धार्नीमा साढे दुई किलो मह हुने गर्छ । एक किलो मह लाई १२ सयसम्ममा बिक्री हुने गरेको जनाइएको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ ।सिस्ने –३ मा यो याममा रु ९० लाख बराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिनुभयो । अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिनुभयो ।

गत वर्ष जिल्ला मा १२ सय मौरीका गोलाबाट छ सय मेट्रिक टन मात्र मह उत्पादन भएको थियो भने यस वर्ष १७ सय मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । अझै पनि किसानको मह निकाल्ने काम जारी भएको हुँदा अहिल नै यति मह उत्पादन भएको छ भनेर भन्न नसकिने उहाँले बताउनुभयो । उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भयो भने पनि रु एक करोड १५ लाख २० हजार जिल्लामा आम्दानी हुने सो कार्यालयले जनाएको छ ।

हेर्नुहोस् पुष २३ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि- जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुन राशि – प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशि- अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि – मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि – कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि- पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि – मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि – अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि- मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि – सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

सुन्तला बिक्री गरेर माग्दीको राखुगाउँमा डेढ करोडभन्दा बढी रकम भित्र्याए

गलेश्वर (म्याग्दी), २३ पुस : म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।

राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष रु नौ लाखको सुन्तला बिक्री भएको बताउनुभयो । उहाँले विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।

अगुवा कृषक पुनले यस वर्ष अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेको बताउनुभयो । सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यस वर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले जानकारी दिनुभयो । सो गाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाखसम्मको सुन्तला उत्पादन गरेका छन् ।

यस वर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजकसमेत रहेका खिम पुनले जानकारी दिनुभयो । “उत्पादन घटे पनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआँगनमै लाखौँ कमाएका छन्”, उहाँले भन्नुभयो । राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाडौँ पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा व्यापारीले प्रतिस्पर्धा गर्दा किसानले उचित मूल्यसमेत पाएको बताउनुभयो । यहाँका सुन्तला यस वर्ष काठमाडौँका व्यापारीले बोटबाट नै खरिद गरेका उहाँले जानकारी दिनुभयो ।

राखुमा कुलबहादुर गर्बुजा, जशीकला रोका, भीमकुमारी घर्ती, खिरमती राना, थबहादुर पुन, जसबहादुर घर्ती मगरलगायते सात लाखभन्दा बढीको सुन्तला फलाउनुभएको छ भने सुन्तला बिक्री गरेर रु चार लाखभन्दा धेरै कमाउने कृषकको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका राखुका राजेन्द्र रोका र मनबहादुर बुढाथोकीले यस वर्ष नयाँ बिरुवा थप्नुभएको छ । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उहाँको भनाइ रहेको छ । सुन्तला खरिदका लागि ठूला ट्रक लिएर व्यापारी गाउँमा नै आएका छन् । टाढाटाढाबाट आउन थालेपछि सडकसमेत व्यवस्थित बनाइएको छ । अन्नबालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि राखुका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि अहिले बाँझो जमिनसँगै घरआँगनसमेत सुन्तलाको लटरम्मै बोटले पहेलपुर भएको छ ।
 

रोजगारीका लागि मलेसिया गएका झापाका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

झापा, २३ पुस : वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो ।

“२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भन्नुभयो, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।” उहाँ मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा हुनुहुन्थ्यो । विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बस्नुभएको छ भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा हुनुहुन्छ । दुईजना बहिनी रुमा र लीलाको बिवाह भइसकेको छ ।विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै हुनुहुन्छ । “१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन”, उहाँले भन्नुभयो । सुकमायाले रु ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाडौँको मेनपावरबाट मलेसिया पठाएको बताउनुभयो । उहाँले मलेसिया गएपछि विनोदले रु ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप रु २० हजार पठाएको बताउनुभयो । आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताउनुभएको छ । त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताउनुभयो ।मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उहाँहरुको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताउनुभयो । अवधि पुगेर हरिचन्द्र स्वदेश फर्कनुभयो । विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया जानुभएको थियो भन्ने बारेमा उहाँका बुबा र आमाले बताउन सक्नुभएन । तर, मेनपावर कम्पनीसम्म पु¥याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ ।

बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स

काठमाडौँ । करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ । लाखौँ नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमति पत्र ) नपाउने तर बिचौलियामार्फत ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स नै पुर्‍याइदिने काममा विभागकै कर्मचारीहरूको संलग्न रहेको अध्ययन प्रतिवेदनले खुलासा गरेको हो ।

यो प्रकरणमा चार सहसचिव कुमारप्रसाद दाहाल, गोगनबहादुर हमाल, नमराज घिमिरे र डा. टोकराज पाण्डे मुछिएका छन् । अवैध ढंगले लाइसेन्स वितरणको सुरुवाती कालमा सहसचिव दाहाल विभागमा महानिर्देशक थिए ।त्यसपछि महानिर्देशक भएका सहसचिवहरू हमाल, घिमिरे र पाण्डेले पनि सोही कार्यलाई निरन्तरता दिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितको टोलीले तयार गरेको अध्ययन प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागका एक दर्जन कर्मचारी सो प्रकरणमा मुछिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

मलेसियामा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदारलाई छापा मार्दै पक्राउ गर्दै

काठमाडौँ । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल कारखानामा छापा मारेर चार महिलासहित सय विदेशीलाई पक्राउ गरेको हो ।

बुकित अमान सीआईडी एन्टी ट्राफिकिङ इन पर्सन एन्ड स्मगलिङ अफ माइग्रेट्स (एटिप्सम) डी ३ का प्रमुख सहायक निर्देशक सोफियान सान्टोङले सेलान्गोर श्रम विभाग र वातावरण विभागसँगको सहकार्यमा उनको युनिटले गरेको छापामारीमा ६० वर्षीय वृद्ध पनि भेटिएको बताए ।

‘इलेक्ट्रोनिक पार्टपुर्जाजस्ता वस्तु प्रशोधन गर्ने कारखाना सञ्चालनका लागि चिनियाँ नागरिकलाई भाडामा दिइने जग्गाको मालिक स्थानीय व्यक्ति भएको जनाएको छ, अन्य १८ देखि ३९ वर्षका थुनुवामा १९ चिनियाँ, म्यानमारका १०, बंगलादेशी ६१, नेपाली दुई र कम्बोडियाली आठ जना रहेका छन्,’ सहायक निर्देशक सान्टोङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो ।

उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो । त्यसपछि गत पुस १६ गते पुनः आवेदन खुला गरेको थियो ।

उत्पादनतर्फ थप आवेदनसहित अहिलेसम्मकै धेरै एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको ईपीएस शाखाले जनाएको छ ।सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागी हुन पुस १६ देखि १८ सम्म आवेदन माग गरिएको थियो । त्यसमा आवेदन नपरेपछि पुनः २० गतेसम्म समय थप गरेर आवेदन सङ्कलन गरिएको सो शाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज,यस्तो छ निर्वाचन कार्यक्रम

काठमाडौँ, २३ पुस : राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।यस्तो छ निर्वाचन कार्यक्रमउम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ ।यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै

सुदूरपश्चिम, २३ पुस : राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।

महिला कोटाबाट निर्वाचित नेकपा (एमाले) का इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी ( कैलालीका) को पदावधि आगामी फागुनमा सकिँदैछ ।

प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्ष रहेको निर्वाचनमण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङ जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि दुर्घटनामा परेर निधन भएको थियो ।

प्रदेशका सबै नौ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्ष गरेर यो प्रदेशमा जम्मा मतदाता दुई सय २८ छन् । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्षको मतभार भने फरक रहेको छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका (निधन भएका एक जनाबाहेक) १८ सदस्य छन् । माओवादी केन्द्र का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

पालिका तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा कांग्रेसका छन् । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र छ । निर्वाचन आयोगद्वारा प्रकाशित राष्ट्रियसभा सदस्य २०८० अन्तर्गतको निर्वाचन कार्यक्रमअनुसार आइतबार निर्वाचन अधिकृतको कार्यालय कैलालीमा मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । आज उम्मेदवारीको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । पुस २४ मा उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ मा उम्मेदवारको नाम फिर्ता लिने, २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने कार्यक्रम छ ।

निर्वाचनका लागि उम्मेदवारीको मनोनयन गर्ने दिन नजिकिएसँगै दल उम्मेदवार छनोटमा लागेका छन् । राष्ट्रियसभा सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन गरी सदस्य चुन्नुपर्ने कानुनी व्यवस्था छ ।