`

राष्ट्रिय सभाका दुई उम्मेदवारविरुद्ध उजुरी

काठमाडौँ, २४ पुस : राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुभएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिनुभएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिनुभएको हो ।राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनुभएको थियो । उम्मेदवारीउपर आज दाबीविरोध र उजुरी, पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन तथा पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष कार्यकाल सकिन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

भलिबलमा गण्डकीसहित तीन विभागीय टोली सेमीफाइनलमा

कर्णाली, २४ पुस : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसहित तीन विभागीय टोली सेमीफाइनलमा पुगेका छन् ।प्रतियोगिताको पाँचौँ दिनसम्म आइपुग्दा गण्डकी, एपिएफ, नेपाल आर्मी र पुलिस क्लब सेमीफाइनलमा पुगेका हुन् ।

बुधबार बिहान १०ः३० बजे पहिलो सेमीफाइनलमा समूह ‘ए’को विजेता सशत्र प्रहरी (एपीएफ) र गण्डकी प्रदेश भिड्ने छन् । साविक विजेतासमेत रहेको एपिएफ समूहका सबै चार खेलमा शतप्रतिशत नतिजासहित १२ अङ्क जोड्दै समूह विजेता बनेको हो ।

गण्डकी भने समूह चरणमा तीन खेल जित्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । यसले समूह चरणका तीन खेल जितेर नौ अङ्क प्राप्त गरेको छ । बुधबार दिउँसो १ बजे हुने दोस्रो सेमीफाइनल खेलमा समूह ‘बी’को विजेता आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

पुलिस भने समूह चरणमा अर्को विभागीय टोली एपिएफसँग पराजित भएपछि उपविजेताका रुपमा नौ अङ्कसहित अन्तिम चारमा पुगेको हो । आर्मीले समूह चरणका चारै खेल जितेर १२ अङ्क प्राप्त गरेको छ ।बुधबार पहिलो र दोस्रो चरणमा हुने सेमीफाइनलका दुई विजेता टोली फाइनल खेलका लागि छनोट हुनेछन् । फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताबाट कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् ।

लामोसमयदेखि फरार रहेका ‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ

काठमाडौँ । ‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ परेका छन् । लामोसमयदेखि फरार रहेका उनी काठमाडौँबाट पक्राउ परेका हुन् । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनले बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका थिए । आश्रमबाट उनीसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि उनको खोजी गरिएको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ, २४ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँबाट राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दायर गरिएका केही मुद्दामा भएको फैसला उपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

तत्कालीन कर फछर्यौट आयोगका पदाधिकारीहरु लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध विशेष अदालतले कम जरिवाना हुने गरी फैसला गरेको भन्दै आयोग सर्वोच्च पुगेको हो ।

आयोगले सो मुद्दामा तीन जना प्रतिवादीविरुद्ध रु ११ अर्ब दुई करोड ५२ लाख २२ हजार दुई सय २७ बिगो दाबी गरे पनि विशेष अदालतले रु चार अर्ब ८६ करोड ८१ लाख ७५ हजार तीन सय ८० बराबरको बिगो कायम गरी गरेको फैसला त्रुटीपूर्ण भएको दाबी गरेको छ ।

विशेष अदालतले कर फछर्यौट आयोगका तत्कालीन अध्यक्ष महतलाई नौ वर्ष एक महिना र आयोगका सदस्य उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाललाई नौ वर्ष कैद सजाय हुने ठहर गरेको थियो । आयोगले विभिन्न १० वटा बुँदामा विशेष अदालतबाट भएको फैसला त्रुटीपूर्ण रहेको दाबी गरेको छ ।

साइकल यात्रामार्फत विश्व भ्रमण गर्दै कर्णाली प्रदेशका तीन युवा

मुगु, २४ पुस : कर्णाली प्रदेशका तीन युवा साइकलमार्फत विश्व भ्रमणमा निस्किएका छन् । उहाँहरुले नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याइ नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले काठमाडौँको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झण्डासहित साइकलयात्रा सुरू गर्नुभएको हो ।

विश्वमा शान्तिको सन्देश फैलाउनुका साथै नेपालको पर्यटन विकास र पर्यावरण संरक्षणका लागि विश्वसामु सन्देश फैलाउने उद्देश्यका साथ आफूहरूले विश्व साइकलयात्रीका रूपमा आफ्नो यात्रा तय गरेको छायाँनाथ रारा नगरपालिका–१ निवासी अजय मल्लले बताउनुभयो ।

विश्व साइकलयात्रामा दैलेखका केशवप्रसाद रिजाल र सनतप्रसाद रेग्मीसहित तीन युवाले भारत, पाकिस्तान, लावस, थाइल्याण्ड, भुटान, बङ्गलादेश, चीनलगायतका देशको भ्रमण गर्ने कार्यतालिका रहेको मल्लले बताउनुभयो । यसअघि सो टोलीले मेचीदेखि महाकालीसम्मको साइकलयात्रा गरिसकेको छ ।

नेपालमा पहिलोपटक देखिएको नयाँ भेरियन्ट जेएन–१ एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर बढी

काठमाडौँ, २४ पुस : नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढिरहेको पाइएको छ । इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताउनुभयो । “सहरमा बढी भीडभाड हुने हुनाले जेएन–१ को एकापसमा सर्ने दर बढी रहेको छ”, उहाँले भन्नुभयो, “रोगको जटिलता र मर्ने दर भने कम रहेको छ ।”

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)गर्दा १६ पोजेटिभ नमूना परीक्षण गर्दा सात जनामा ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको थियो । मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।मन्त्रालयले कोभिड–१९ को नयाँ सब भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक ‘स्किनिङ्ग’ र निगरानी गरिरहेको जनाएको छ ।

कोशी प्रदेशको सभामुखमा विष्टद्वारा शपथ

मोरङ, २४ पुुस : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई आज शपथ गराउनुभएको छ ।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रदेशसभाबाट निर्वाचित सभामुख विष्ट प्रदेशसभाको नियमावली–२०७४ को नियम ८ बमोजिम शपथ गराइएको हो ।

शपथ समारोहमा प्रदेशका मुख्यमन्त्री केदार कार्की, निवर्तमान तथा पूर्वमुख्यमन्त्री क्रमशः हिक्मतकुमार कार्की, उद्धव थापा र राजेन्द्र राई, पूर्वसभामुख, प्रदेशका मन्त्री, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रदेश प्रमुख र विभिन्न राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसअघि आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावाली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम भएको निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले)को सहमतिमा सभामुख विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रदेशसभा सदस्य हुनुभएको हो ।

बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु

बाजुरा, २४ पुस : बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।

हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले जानकारी दिनुभयो । उनी यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको डा शाहले बताउनुभयो ।

सुत्केरीपछि बुढामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । समयमै उपचारका लागि सुविधायुक्त अस्पताल लैजान सकेको भए उनलाई बचाउन सकिने चिकित्सकको भनाइ छ । शिशुको अवस्था भने सामान्य रहेको डा शाहले बताउनुभयो ।

बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना

म्याग्दी, २४ पुुस : म्याग्दीको सदरमुुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ । बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको काम रोकिएको थियो । हिउँद लागेसँगै पानीको सतह घटेपछि रोकिएको बस्ती संरक्षणको काम सुुरु भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा रु ५० करोडको लागतमा योजना सञ्चालन गरेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाका इञ्जीनीयर कृष्ण विश्वकर्माले बताउनुुभयो ।

“गलेश्वर, राममन्दिर र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्,” उहाँले भन्नुुभयो “बेनी नगरपालिका–२ भस बसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।” रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो ।

मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन रु पाँच करोड ७७ लाखमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन रु दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले निर्माण सकेको छ ।

बेनी–९ स्थित राहुघाट नदी किनारमा रु ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले रु दुई करोड ६८ लाखमा ठेक्का लिएको योजना अन्तिम चरणमा छ । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन रु तीन करोड २० लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले निर्माण सम्पन्न गर्ने चरणमा छ । कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला गाउँपालिका–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन रु चार करोड ३२ लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले कम्पोजित पर्खाल निर्माणको अन्तिम चरणमा पुुगेको छ ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र आठ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुुरु भएको छ । गत असारमा रु तीन करोड पचास लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले कालीगण्डकीलाई डाईभर्सन गरेर पर्खाल बनाउन जग खन्ने काम सुुरु गरेको छ । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले आगामी असारभित्र पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताउनुुभयो । निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाईभर्सन गरेर अस्थायी रुपमा म्याग्दीको बेनीतर्फबाट बगाइएको जिसीले बताउनुुभयो । नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि करिब तीन सय परिवारको बसोबास रहेको वारीबेनी बजारका बासिन्दा कालीगण्डकीको कटानबाट जोगिने छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत

काठमाडौँ, २४ पुस : सरकारले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल सम्बन्धमा उठेका विषयबारे छानबिन गर्न समिति गठन गर्ने र हाललाई उद्योगीहरुको काटिएको विद्युत् लाइन खोल्न निर्देशन दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव रहेको समिति गठन गर्ने निर्णय गरेको हो ।

आजको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ । साथै सो पदमा नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकेको छ ।

राष्ट्रिय विकास परिषद्मा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी/व्यक्तिमध्येबाट २५ जना सदस्यहरु मनोनयन गर्ने समेत आजको बैठकले निर्णय गरेको छ । साथै विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेकाहरुको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छुटेकाको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने पनि निर्णय गरेको छ ।

विधेयक संशोधन गर्दा गुणस्तरीय शिक्षालाई ध्यानमा राख्न आग्रह

काठमाडौँ, २४ पुस : प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘शिक्षा विधेयक, २०८०’ लाई गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता हुने गरी संशोधन गर्न शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक र संस्थाले सुझाएका छन् ।

विधेयकमाथिको समितिको आजको छलफलमा सुझाव दिने क्रममा शिक्षा नीति तथा अभ्यास केन्द्रले प्रबुद्ध शिक्षाविद् एवं अभियन्ताका तर्फबाट तयार गरिएको सुझावपत्र प्रस्तुत गर्दै सबै बालबालिकालाई देशको क्षमताअनुसार स्वीकार्य तहको शिक्षा उपलब्ध गराउन आग्रह गरिएको छ ।

प्रा केदारभक्त माथेमा, विद्यानाथ कोइराला, मनप्रसाद वाग्ले, मीनबहादुर विष्ट, विनय कुसियत र डा ब्रजेश पन्तसहितको उक्त सुझावपत्र प्रस्तुत गर्दै केन्द्रका संस्थापक टीका भट्टराईले शिक्षा सार्वजनिक सेवा र सम्पत्ति भएकाले यसमा सरकारको लगानी बढाउन र निजीकरणलाई निरुत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले विधेयकलाई शिक्षकका माग र सहमतिको दस्तावेज नबनाइ विद्यार्थीको सिकाइ उपलब्धि कसरी हासिल हुनसक्छ भन्नेमा केन्द्रित गराउन माग गर्नुभयो ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विधेयक प्रस्तुत गर्नुअघि सरकारले आफूहरूसँग छलफल नगरेको गुनासो गर्दै व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिन आग्रह गर्नुभयो । नेपाल आदिवासी जनजाति महासङ्घ, विशेष शिक्षा सञ्चालनकर्ता, सामुदायिक सिकाइ केन्द्र, शिक्षक सिकाइ अनुदान शिक्षक, राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्गठनले पनि विधेयकमा आफूहरूका मुद्दाको सुनुवाइ हुनुपर्ने समितिसमक्ष आग्रह गर्नुभयो ।

समितिले यसअघि स्थानीय तहका जनप्रतिनिधिका महासङ्घ, नेपाल शिक्षक महासङ्घ, निजी विद्यालय सञ्चालकका संस्था, धार्मिक विद्यालय, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, अस्थायी शिक्षक र विद्यालय कर्मचारीलगायत क्षेत्रसँग छलफल गरिसकेको छ । समिति सभापति भानुभक्त जोशीले विधेयकलाई सर्वस्वीकार्य र राम्रो बनाउने सवालमा सबै सरोकार भएका पक्षको सुझाव मागिएको बताउनुभयो ।

न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको एकैपटक सरुवा

काठमाडौँ, २४ पुस : न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो । सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी सरुवा गरिएको हो ।

आयोगमा प्रधानन्यायाधीश श्रेष्ठ अध्यक्ष रहने व्यवस्था छ । सदस्यमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दिनमणि पोखरेल हुनुहुन्छ ।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०० पुग्यो

जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार, नयाँ बर्षको पूर्व सन्ध्यामा आएको ७।५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थि नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए ।

भूकम्प गएको आठ दिन सम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावझुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरूसामु पुग्ने प्रयास गरिरहेका छन् ।इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता रहेको बताइएको छ ।

अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो । जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू रहेको बुझिएको छ ।प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भईरहेको छ । सोमबारसम्म झन्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ ।

झण्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार छ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ । मङ्गलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न र प्रभावकारी उद्धार कार्य जारी राख्न“ निर्देशन दिनु भएको छ ।

जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ । यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यतिठूलो क्षति भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ । सन् २०११ को भूकम्पले सुनामी निम्त्याउदा करिब १८ हजार ५०० मानिसको मृत्यु भएको थियो ।

मध्यपूर्व एकीकरणका लागि ‘चुनौतीपूर्ण क्षण’ : अमेरिकी विदेशमन्त्री ब्लिन्केन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वमा इजरायलको एकीकरणका लागि “वास्तविक अवसरहरू” रहेको बताउनु भएको छ । तर गाजामा युद्ध भइरहेकाले यसलाई “धेरै चुनौतीपूर्ण क्षण” पार गर्न आवश्यक छ, उहाँले थप्नुभयो।

“मलाई लाग्छ त्यहाँ वास्तविक अवसरहरू छन् तर हामीले यो धेरै चुनौतीपूर्ण क्षणबाट गुज्रनु पर्छ,” ब्लिन्केनले इजरायली विदेशमन्त्री इजरायल काट्जसँगको वार्तामा भन्नु भएको छ । पछिल्लो चरणमा कतार र साउदी अरेबियाको भ्रमणका क्रममा मङ्गलबार सो वार्ता भएको हो ।

सन् २०२३ मा स्पेन पुग्ने प्रयासमा छ हजारबढी आप्रवासी हराए

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसत १८ का दरले कम्तीमा छ हजार छ सय १८ आप्रवासी मारिएको वा हराएको स्पेनी आप्रवासी अधिकारी समूहले मङ्गलबार बताएको छ ।

उक्त आँकडा गत वर्ष रेकर्ड गरिएको सङ्ख्या दुई हजार तीन सय ९० भन्दा करिब तीन गुणा अधिक रहेको क्यामिनान्डो फ्रोन्टेरस वकिङ बोर्डर्सका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उक्त सङ्गठनले सन् २००७ मा गणना सुरु गरेयता यो सबैभन्दा धेरै आँकडा हो ।

मृतक वा बेपत्ता भएका आप्रवासीहरूको परिवार र आधिकारिक उद्धार तथ्याङ्कहरू सङ्कलन गर्ने सङ्गठनका अनुसार यसमा कूल तीन सय ८४ बालबालिका समावेश छन् । छ हजार सातको मृत्यु वा बेपत्ता अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म एटलान्टिक बसाइँसराइ मार्गमा भएको हो ।

भूमध्य सागरमा नियन्त्रण कडा भएपछि प्राय भीडभाडयुक्त मुस्किलले समुद्रमा चल्ने जहाजहरूमा पर्याप्त खाना र पानीको अभावका साथ सात वटा टापु अफ्रिकामा गरिबी र सङ्घर्षबाट भागेका मानिसका लागि मनपर्ने गन्तव्य बनेका छन् ।

मालेनोले भन्नुभयो, “एटलान्टिक मार्ग विश्वको सबैभन्दा घातक मार्ग बनेको छ ।” उहाँले उद्धारकर्मीहरूका लागि साधनको अभाव तथा स्पेन जाने प्रयास गर्नेहरूको सङ्ख्यामा वृद्धिका कारण गत वर्ष मृत्यु र बेपत्ताहरूको घटनामा वृद्धि भएको बताउनुभयो ।

आन्तरिक मन्त्रालयको आँकडाअनुसार सन् २०२३ मा अवैधरूपमा आउने आप्रवासीहरूको सङ्ख्या गत वर्ष दुई गुणाले बढेर ५६ हजार आठ सय ५२ सम्म पुगेको छ । यो सन् २०१८ को ६४ हजार दुई सय ९८ आप्रवासीहरूले स्पेन प्रवेश गरेको सङ्ख्यापछिको दोस्रो सबैभन्दा धेरै हो ।

अधिकांश करिब ७० प्रतिशत आप्रवासी क्यानरी द्वीप समूहमा पुगेका छन् । उक्त द्वीप समूह उत्तरपश्चिमी अफ्रिकाको तटबाट मुस्किलले एक सय किलोमिटर टाढा छ ।

सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ठगी ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, २४ पुस : विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्बिया पठाइदिन्छु भन्दै रु १३ लाख ५० हजार ठगी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका–१ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षीय विकाशकुमार घले र काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कर्मचारी ३९ वर्षीय सञ्जय लामालाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले घलेलाई महाबौद्धबाट सोमबार दिउँसो र लामालाई सिनामङ्गलबाट आइतबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । यस्तै पोल्याण्ड पठाइदिन्छु भन्दै रु दुई लाख १५ हजार ठगी गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिका–५ घर भई काठमाडौँको तार्केश्वर नगरपालिका–८ जरंखु बस्ने ३० वर्षीया पूजा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भनी ठगी गरेको प्रहरीले जनाएको छ । यसैगरी मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहटको बुद्धावन नगरपालिका–४ घर भई काठमाडौँ–३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल साह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साहले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सिनामङ्गलबाट पक्राउ गरेको जनाइएको छ ।

विद्युत् महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा छौः ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, २३ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री बस्नेतले नियमानकारी निकायले स्पष्ट जवाफ दिन नसक्दा यो समस्या बल्झदै गएको तथा विगतमा भएको निर्णयहिनतका कारण पनि कठिन अवस्था आइपरेको उल्लेख गर्नुभयो । उहाँले समस्या समाधानका लागि महान्यायाधिवक्ता कार्यालयको समेत परामर्शमा तीन दिनभित्र समाधानको उपयुक्त बिन्दु पहिल्याउने बताउनुभयो ।लामो समयदेखि विवाद निरुपण हुन नसक्दा पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरणले धमाधम लाइन काटन थालेको छ र उद्योग व्यवसाय बन्द भएका छन् ।मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले कार्ययोजना बनाएको र भारतसँग आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेसम्बन्धी सहमति भएको उल्लेख गर्नुभयो । नेपालमा उत्पादित बिजुली आन्तरिक खपत बढाउने र बढी भएको बिजुली भारत निर्यात गरिने उहाँको भनाइ छ । आन्तरिक खपत बढाउनका लागि सरकारले स्पष्ट कार्ययोजना नै तयार पारेको र त्यसलाई कार्यान्वयनमा लगिएको उहाँले बताउनुभयो ।बैठकमा ऊर्जासचिव गोपालप्रसाद सिग्देलले भारतसँग पछिल्लो पटक भएको सहमतिका बारेमा जानकारी गराउँदै ऊर्जा क्षेत्रको समग्र हितलाई केन्द्रमा राखिएको बताउनुभयो । साथै जलस्रोत तथा सिँचाइका सचिव सुशीलचन्द्र तिवारीले लामो समयदेखि थाती रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)लाई अन्तिम रुप दिन लागिएको बताउनुभयो । उहाँले आगामी एक महिनाभित्र त्यसलाई टुङ्गो लगाउने गरी आवश्यक तयारी गरिएको बताउनुभयो ।बैठकमा सांसदहरुले एकाध महिना बिजुलीको महशुल नतिर्दा सामान्य उपभोक्ताको लाइन काट्ने प्राधिकरणले ठूला व्यवसायीले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत प्रयोग गरेको महसुल किन नउठाएको भन्दै तत्काल असुल उपर गर्न माग गर्नुभएको थियो ।बैठकमा सांसदहरु माधव सापकोटा, ठाकुर गैरे, प्रदीप पौडेल, सिके राउत, निशा डाँगीलगायतले सरकारले भारतसँग गरेको पछिल्लो सहमति, पञ्चेश्वर आयोजना र डेडिकेटेड र ट्रङ्क लाइनका सम्बन्धमा आ–आफ्नो धारणा राख्दै समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन समस्या समाधानका लागि गरिरहेको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका

कास्की, २४ पुस : पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी रु २५ लाखका दरले सो रकम प्रदान गर्न लागेको हो ।

महानगर प्रमुख धनराज आचार्यले दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि यो रकम खर्च हुने जानकारी दिनुभयो । यसका लागि महानगरको आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक समेत आयोजना गरिएको थियो । “अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल गरेका हौँ ।

छिमेकी पालिकालाई रु २५ लाखका दरले रकम प्रदान गर्ने र समन्वयमा खर्च गर्ने महानगरको बजेट कार्यक्रममा राखिएको विषयलाई कार्यान्वयन गर्न सुरु गरेका छौँ”, प्रमुख आचार्यले बताउनुभयो । महानगरको चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट तथा कार्यक्रममा छिमेकी पालिकासँग आवश्यकताका आधारमा साझेदारीमा आयोजना सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको थियो ।

बैठकमा कास्कीको रुपा, अन्नपूर्ण, मादी र माछापुच्छ«े गाउँपालिका सहित स्याङ्जाको फेदीखोला र तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता थियो । सो क्रममा छिमेकी पालिकामा भए÷गरेका असल अभ्यास र विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दैगर्दाका अनुभवसमेत आदानप्रदान गरिएको छ । आगामी बैठक कास्कीको रुपाको व्यवस्थापनमा तीन महिनाभित्रमा बस्ने जनाइएको छ ।

जलेश्वर–बर्दिबास सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

जलेश्वर (महोत्तरी), २४ पुस : महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भङ्गहा –५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ ।

गए राति जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताउनुभयो ।

बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो ।

बाजुरा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन

बाजुरा, २४ पुस : जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका प्रमुख डा समिता पुनका अनुसार १५ शय्या (बेड) सञ्चालन भएको अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गर्ने बाजुरा अपस्पताल पहिलो हो । बाजुरा जिल्ला अस्पतालले साझेदार निकायसँग सहकार्य गरेर सञ्चालन गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

यसका लागि आवश्यक स्वास्थ्य सामग्री रु ११ लाख बढीको खर्च र ‘फिजियोथेरापिष्ट’ व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताउनुभयो ।

हाडजोर्नी दुखेका, नशा च्यापिएका बिरामी अब जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताउनुभयो । यसअघि सेवा सञ्चालन नहुँदा जिल्ला बाहिर धनगढी, कञ्चनपुर, नेपालगञ्जलगायतका अस्पतालमा जानुपर्ने स्थानीयलाई बाध्यता थियो ।

जिल्ला अस्पताल हाल १५ शय्या सञ्चालन भए पनि केही समयमै ५० शय्या सञ्चालनको प्रस्ताव गरिए त्यो तत्काल सहज छैन । पन्ध्र शय्या सुविधाकै अस्पताल सञ्चालन गर्न तीन वर्ष जनशक्तिको तलब र केही उपकरण सहायता मानव संसाधन केन्द्रले गर्ने संस्थाका अध्यक्ष नीरबहादुर शाहीले बताउनुभयो ।

थेरापी सेवा सञ्चालन भएपछि बिरामीको सहज उपचारमा सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताउनुभयो । सेवालाई संस्थागत गर्ने र निरन्तरताका लागि अस्पतालले व्यहोर्नुपर्ने जिम्मेवारीमा सहकार्य गर्न नगरपालिका तयार रहेको बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले बताउनुभयो ।

ढाड, कम्मर दुख्ने समस्या, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछिको समस्या भएका बिरामीका लागि फिजियोथेरापी सेवामार्फत उपचार हुने डा चेतराज धामीले बताउनुभएको छ । बाजुरा अस्पतालले हाल विशषेज्ञसहितको सेवा दिइरहेको छ । नयाँ भवन निर्माणसँगै सुविधा दिन सहज हुने र उपचारकै लागि जिल्ला बाहिर गएर लाखौँ रकम खर्चिनुपर्ने बाध्यता हट्ने सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले विश्वास व्यक्त गर्नुभयो ।

गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिने धार्मिकयात्रा

गोरखा, २४ पुस : गोरखास्थित गोरखनाथ कालिका मन्दिरको प्रचार–प्रसार गर्दै धार्मिक पर्यटक भित्र्याउन गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिने भएको छ । भारतको उत्तर प्रदेशका भारतीय पर्यटकलाई गोरखा भित्र्याउन गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म एक सय आठ जनाको सहभागितामा धार्मिकयात्रा गर्न लागिएको हो ।

“प्राचीनकालदेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेको रहेछ”, गौमाता सेवा महासङ्घ गोरखाका संयोजक होमसिंह बस्न्यातले भन्नुभयो, “तर गएको २० वर्षभन्दा बढी समयदेखि उक्त परम्परा रोकिएको पाइयो, हामीले हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन गोरखनाथ मन्दिरबाट खिचडी लगेर चढाउन यात्रा गर्न लागेका हौँ ।”

चामल, मासको दाल, घ्यू, नुन, बेसारलगायतका खाद्यवस्तु मिलाएर खिचडी बनाउने गरिन्छ । गोरखनाथ मन्दिरबाट प्रसादका रूपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघीपर्वका दिन दिउँसो ब्रह्ममूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको बताइन्छ ।

“धार्मिक हिसाबले दुवै ठाउँमा रहेको गोरखनाथको महत्व उस्तै छ”, संयोजक बस्न्यातले भन्नुभयो, ‘‘धार्मिक दृष्टिकोण दुवै ठाउँलाई जोड्न सके र त्यहाँका झण्डै २४ करोड जनतालाई गोरखाको गोरखानाथसँगको सम्बन्धका बारेमा जानकारी गराउन सके त्यहाँका धार्मिक पर्यटकलाई गोरखा ल्याउन सकिन्छ ।” गोरखाको धार्मिक टोली यही पुस २९ गते गोरखपुरको यात्रामा निस्कने उहाँको भनाइ छ ।

“बिहान ७ बजे गोरखनाथ मन्दिरबाट खिचडीसँगै बाजागाजा मङ्गलधुन स्वस्तिकवाचनसहित गोरखाबाट गोरखपुरयात्रा आरम्भ हुन्छ”, उहाँले भन्नुभयो, “गोरखपुर पुगेर त्यहाँस्थित गोरखनाथ मन्दिरमा गोरखाबाट लगेको खिचडी चढाएर हामी गोरखा फर्कन्छौँ ।” बीस वर्षअघिसम्म गोरखाको गोरखानाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पुग्ने गरेको भए पनि पछि उक्त परम्परा बन्द भएको बस्न्यातले बताउनुभयो ।

गोरखाको गोरखनाथ कालिका मन्दिरबाट खिचडी पठाउन छाडेपछि गोरखापुरको गोरखनाथमा नेपाली भूमिबाट थोरै चामल, घ्यू, नुन, मासको दाल, बेसारलगायतका खाद्यवस्तु लगेर गोरखाको गोरखनाथबाट ल्याएको सम्झिएर चढाउने गरेको त्यहाँका पुजारीले जानकारी दिएको उहाँको भनाइ छ । परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराको जगर्ने गर्न सुरु गरिएको यस संस्कृतिले गोरखामा धार्मिक पर्यटन भित्र्याउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

खिचडी पुर्याउने परम्पराको पुनः थालनी गरेसँगै उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखा जिल्लाभित्रका लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने संयोजक बस्न्याले बताउनुभयो ।

म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती,माघमा आलु खनेर बजार पठाउने तयारी

बेनी (म्याग्दी), २४ पुस : बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् ।

ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले एक सय रोपनी बढी खेतबारीमा आलु लगाएको बताउनुभयो । “अहिले आलु गोडमेल गरिरहेका छौँ, आगामी माघमा आलु खनेर बजार पठाउने तयारी छ, बोट राम्रो भएकाले फल पनि राम्रो हुने आशा गरेका छौँ”, उहाँले भन्नुभयो । सिङ्गाको डाँडाखेत, फुर्केसल्ला, राक्सेलगायतका बस्तीमा हिउँदे आलुको व्यावसायिक खेती गरिएको छ ।जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा आठ सय रोपनी बढीमा हिउँदे आलुखेती गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत हिउँदे आलुुमा आत्मनिर्भर बनाउने तयारी गरेको हो ।विगतका वर्षहरूमा गहुँ, जौँलगायतका खाद्य बाली लगाउने भए पनि यस वर्ष खायन आलु प्रवर्द्धन कार्यक्रमले किसानलाई अनुदान दिएपछि आलुखेतीलाई व्यावसायिकरूपमा लगाएको ठूलोखोकी अगुवा किसान मैना खड्काले बताउनुभयो । हिउँदमा आलुको आयात घटाउने र आत्मनिर्भर गराउने लक्ष्यअनुसार खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमख सञ्जीव बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष हिउँदे आलुको खेती विस्तार गर्न २० वटा समूह र एक सहकारी खायन आलुको अनुदानका लागि छनोट भएका थिए ।“म्याग्दी बर्खे आलुमा आत्मनिर्भर बनेर यहाँ उत्पादन भएको आलु बाहिर निकासी हुने गर्छ, अहिलेसम्म हिउँदको समयमा बाहिरका जिल्ला र भारतबाट समेत जिल्लामा आलु आयात हुँदै आएको छ, खायन आलु प्रवर्द्धन कार्यक्रमबाट अब हिउँदे आलुमा म्याग्दी आत्मनिर्भरोन्मुख बन्ने देखिएको छ”, उहाँले भन्नुभयो ।यस कार्यक्रमअन्तर्गत जिल्लामा थप एक हजार रोपनीमा बर्खे आलुुखेती विस्तार हुनेछ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुनआएका किसान समूह र सहकारीलाई आलुको बीउ र उपकरण खरिदमा प्रतिरोपनीमा रु १० हजारका दरले अनुदान दिएको कार्यालयले जनाएको छ ।कार्यालयबाट खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत हिउँदे आलुमा बेनी नगरपालिका, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका किसानले अनुदान पाएका छन् । बर्खे आलुमा रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेत समेटिने कार्यालयले जनाएको छ ।म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भए पनि हिउँदे आलुको बीउ बाहिरबाट बढी ल्याउने गरेका छन् । बीउ आलुमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष २० रोपनीमा बीउ आलु उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन भएको केन्द्र प्रमुख बाँस्तोलाले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा आव २०७९÷८० मा जिल्लामा छ दशमलव ३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा २५ हजार चार सय १० मेट्रिक टन उत्पादन भएको थियो ।अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरिको गुर्जा, मरेनी, बेनीको सिङ्गा, भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन् । जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको बर्खे आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।बर्खे आलुमा उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको हो । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । 

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

फुङ्लिङ ( ताप्लेजुङ ) , २४ पुस : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ( मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो ।

यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी गरेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङद्वारा जारी सूचनामा तोकिएको समयसीमाभित्रसामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यवस्थितरूपमा र त्यहाँ रहेका वनस्पति तथा रुखमा फलामका काँटी ठोकेर राखिएका साइन बोर्डले प्राकृतिक सौन्दर्यतामा प्रतिकूल असर पुर्याइरहेको सूचनामा उल्लेख छ । त्यस्तै फलामजन्य धातुका काँटी प्रयोग गर्नाले लोपोन्मुख तथा संरक्षित वनस्पति र बोटबिरुवा मासिने अवस्था देखिएको जनाइएको छ ।

पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई बचाउन र स्वच्छ वातावरण कायम राख्नेगरी सुरु गरिएको अभियानलाई सहयोग गर्न समितिका कार्यकारी निर्देशक हाङ्बाङले सबै पक्षलाई अपिल समेत गर्नुभएको छ । तोकिएको समयभित्र सामग्री नहटाएमा समितिले आवश्यक कदम चाल्ने पनि सूचनामा उल्लेख छ ।

ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरियो

ललितपुर, २४ पुस : विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरिएको छ । विसं २०७२ को भूकम्पले सामान्य क्षति पुर्याएको लामपाटीमा पानी चुहिने समस्या रहेकाले यसपटक छाना फेरिएको हो ।

ललितपुरका भिभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा विसं १७३४ मा निर्माण भएकोे ऐतिहासिक सम्पदा लामपाटीलाई १९९० सालकोे भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको पाटन दरबार प्रमुख मञ्जुसिंह भण्डारीले जानकारी दिनुभयो ।उहाँका अनुसार सांस्कृतिक महत्व बोकेको सम्पदा लामपाटीलाई १९९० सालको भूकम्पले क्षति पुर्याएपछि पुनःनिर्माण भएर २०४६ सालमा छाना फेरिएको थियो । पानी चुहिने समस्याका कारण पटकपटक मर्मत गरे पनि यसपटक भने पूरै छाना फेरिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामपाटीमात्र नभएर अन्य सम्पदाको छानामा बाँदर हिँड्ने भएकाले छिट्टै पानी चुहिने समस्या रहेको छ । लामपाटीमात्र नभएर अन्य सम्पदाको छाना पनि फेर्नुपर्ने जरुरी छ ।”दरबार क्षेत्रको लामपाटी नेवार समुदायले सामाजिक कार्यहरू गर्ने भए पनि हाल उक्त ऐतिहासिक सम्पदा लामपाटीलाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक परियोजनाको लागि भाडामा दिएको छ । ऐतिहासिक सम्पदा लामपाटीमा रेष्टुरेन्ट र अन्य पसल सञ्चालनमा छन् ।पानी चुहिने लामपाटीमा वर्षात्को समयमा त्रिपाल राखिएको भए पनि हाल त्रिपाल हटाएर छाना फेरिएको छ । छाना फेरिए पनि भूकम्पले क्षति पुर्याउँदा लामपाटी जीर्ण अवस्थामा छ । जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनःनिर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।छानामा प्रयोग गरिएको झिङ्गटी पुरानो भएको र फुटेका कारण लामपाटीमा पानी चुहिने समस्या रहेको डकर्मी रवीन्द्र प्रजापतिले जनाउनुभयो । उहाँले भन्नुभयो, “यदि झिङ्गटी राम्रो भयो भने ८० वर्षसम्म टिक्न सक्छ । तर छानामा बाँदर हिँडेका कारण लामपाटीमा प्रयोग गरेको धेरै झिङ्गेटी तलमाथि सरेको र पानी चुहिने समस्या रहेको हो ।

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौँ, २४ पुस : चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु÷कुहिरो लागेको उल्लेख छ ।

विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा प्रकाशित सो बुलेटिनमा उल्लेख छ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आउँदो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराई भू–भागका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा अपराह्नसम्ममा क्रमिकरूपमा सुधार हुने जानकारी दिइएको छ ।

यही पुस २५ गते बुधबार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । यस्तै त्यस दिन राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

झापा र मोरङमा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि,घाँसदाउरा काट्ने र निगुरो टिप्न जाने मानिस निशानामा

झापा, २४ पुस : पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् ।जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । सोही अवधिमा छवटा हात्ती मारिएका छन् ।

हात्ती आक्रमणका घटना अध्ययन गर्दा बिहानी पैदलयात्रा (मर्निङ वाक) गर्ने, जङ्गल छेउछाउ घाँसदाउरा काट्ने र जङ्गलभित्र निगुरो र च्याउ टिप्न जाने मानिस निशानामा परेको देखिन्छ । कचनकबल–७ का ८२ वर्षीय वृखबहादुर राईको एक वर्षअघि हात्तीको आक्रमणमा दिनदहाडै मृत्यु भएको थियो । दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न जाँदा उहाँलाई हात्तीले आक्रमण गरेको थियो ।

गत असारमा भद्रपुर–७ का ५३ वर्षीय गिरेन कर्मकारलाई बिहानको ४ बजेतिर देउनिया खोलाको बगरमा हात्तीले खेदाएर मार्यो । उहाँ हल्दिबारीको चिया बगानमा जङ्गली च्याउ खोज्न जाँदा हात्तीको आक्रमणमा पर्नुभयो । जिल्लाको उत्तरी चुरे भागबाट दक्षिणको जलथल प्राकृतिक वन क्षेत्र हात्तीको पुरानो विचरण क्षेत्र पर्दछ । यहाँ भारतको आसामबाट हात्तीको बथान बर्सेनि आउने गर्छन् भने डेढ दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका रैथाने हात्तीको बासस्थान नै यहीका जङ्गल भएको छ ।

हात्तीसम्बन्धी अध्येता झापा र मोरङको धेरै भूभाग कैयन पुस्तादेखि हात्तीको विचरण क्षेत्र रहेको मान्छन् । हात्तीको पुरानो बासस्थान भनिएको उहिलेको जङ्गली ठाउँमा अहिले मानव बस्ती बाक्लिइसकेको छ । बितेको ६० वर्षमा जङ्गल मासिएर मान्छेको बस्तीले ढाकिसकेको अवस्था छ । तीक्ष्ण स्मरण शक्तियुक्त प्राणी भएको हुँदा हात्तीले आफ्नो पुर्खादेखिको विचरण स्थानमा स्वतन्त्रतापूर्वक डुलफिर गर्ने चाहना राख्ने गरेको हात्ती अध्येता शङ्कर लुइँटेल बताउनुहुन्छ । “पुरानो विचरण क्षेत्रमा अहिले मानव बस्तीले ढाकेको देखेर हात्तीमा क्रोध उत्पन्न हुन्छ”, लुइँटेल भन्नुहुन्छ, “यसकारण हात्तीले बस्ती पसेर घर भत्काउने गर्दै आएको छ ।”

हात्तीले आफ्नो पुरानो विचरणस्थल अतिक्रमण भएकोमा भन्दा बढी आफ्नो आहारमा मानिसले अवरोध पुर्याएको ठान्दा हिंस्रक व्यवहार प्रदर्शन गर्ने उहाँ बताउनुहुन्छ । हात्ती आहारको खोजीमा गाउँ पसेको बेला मर्निङ वाकमा हिँडेका, निगुरो र च्याउ टिप्न गएकाहरु हिंस्रक आक्रमणको निशानामा पर्ने गरेका छन् ।

हल्दिबारी–२ वडा कार्यालयका कर्मचारी पताल राजवंशीको यही पुसको पहिलो साता मर्निङ वाकमा हिँडेका बेला हात्तीको आक्रमणमा परेर मृत्यु भयो । हात्तीले एकान्तस्थलमा मारेपछि स्याउला र पत्करले छोपेर हिँडेको पाइएको थियो । शिवसताक्षी–११ का ४५ वर्षीय मेघराज राईको यही पुस १३ गते राति हात्तीले घरछेउमै आक्रमण गर्दा मृत्यु भयो । हात्ती घर भत्काउन थालेपछि ज्यान जोगाउन बाहिर निस्कँदा राई हात्तीको निशानामा परेका थिए ।

हात्तीको क्षति न्यूनीकरणका लागि मानव–हात्ती सहअस्तित्वको नीति अख्तियार गर्न आवश्यक रहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की बताउनुहुन्छ । जनप्रतिनिधि हुनुअघि विगत दुई दशकदेखि उहाँ हात्तीबाट मानिसको जनधनमा हुने क्षति न्यूनीकरणका लागि विभिन्न नयाँ अभ्यास भित्र्याउने अभियन्ताका रूपमा चिनिनुहुन्छ ।

“हात्ती आफैँमा आक्रामक प्राणी होइन । उसको बासस्थान र आहारमा व्यवधान भएको महसुस भयो भने उसले आक्रामक व्यवहार देखाउँछ”, वडाध्यक्ष कार्की भन्नुहुन्छ, “मान्छे र हात्तीबीच द्वन्द्वको सबैभन्दा लामो इतिहास भएको बाहुनडाँगीमा हामीले सहअस्तित्वको नीतिलाई व्यवहारमा लागू गर्न थालेका छौँ । यसले क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको छ ।”

जिल्लामा हात्तीले पहिलोपल्ट चार दशकअघि बाहुनडाँगीमा मानिसलाई आक्रमण गरी मारेको थियो । बर्सेनि बाहुनडाँगीमा मानिसको मृत्यु हुने कारण हात्तीको आक्रमण भएको थियो । त्यहीकारण बाहुनडाँगी हात्तीपीडित क्षेत्रका रूपमा चिनिन पुग्यो । तर सहअस्तित्वको नीति व्यवहारमा लागू गर्न थालिएपछिको विगत पाँच वर्षमा बाहुनडाँगीमा एक जनाको पनि मृत्यु भएको छैन । हात्ती छेक्न सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएका कारण एक दशकदेखि भारतीय जङ्गलबाट आउने हात्तीको बथान मेचीको बगरमै रोकिने गरेका छन् ।

बाहुनडाँगीमा हात्तीले बाली खाएमा क्षतिपूर्ति दिनका लागि बाली बीमा गर्न थालिएको कार्कीले बताउनुभयो । हात्तीलाई तालिमप्राप्त युवा दस्ताले रातभर गस्ती गर्ने र बस्तीमा पस्न नदिने सुरक्षात्मक रणनीति पनि बाहुनडाँगीमा अपनाइएको छ । हात्ती गाउँतिर पसेको सङ्केत दिनका लागि साइरन जडान गरिएका छन् । मानिस विगतमा जस्तो हात्तीको पछाडि दगुरेर खेदाउने जोखिमपूर्ण कार्य गर्दैनन् ।

“हात्तीलाई नबिच्क्याउने र गाउँ पस्न पनि नदिने दोहोरो उपाय अपनाएका छौँ”, उहाँले भन्नुभयो, “यसको बाली खाइदिन्छ, हामी बीमामार्फत क्षतिपूर्ति दिलाउँछौँ । यस्तो व्यवस्था भएपछि किसानले आफ्नो खाद्यबालीको सुरक्षाका लागि ज्यान माया मारेर हात्तीसँग भिड्न जानुपरेको छैन । हात्ती धपाउन तामिलप्राप्त युवा खटाएका छौँ । गाउँले हाहाहुहु गरेर निस्कनु पर्दैन । यसकारण क्षति कम हुँदै गएको विज्ञहरूले विश्लेषण गर्नुभएको छ ।”

झापा र मोरङमा हात्तीका कारण जनधनको क्षति हुनुमा मानव–हात्तीबीच अस्तित्वका लागि हुने द्वन्द्व मुख्य कारण रहेको हात्तीका विषयमा विद्यावारिधि गर्नुभएका दिनेश न्यौपानेले बताउनुभयो । उहाँका अनुसार हात्तीलाई बिच्क्याउने प्रवृत्तिका कारण हात्ती अझ बढी हिंस्रक भएर मानिसमाथि जाइलाग्ने गर्दछ ।

हेर्नुहोस् पुष २४ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – खान पानमा बिशेष साबधानी अपनाउनु होला । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको बिश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि रहनु पर्नेछ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन राशि – अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।

कर्कट राशि – मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

सिंह राशि – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि – कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशि- मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि – बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि – नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि- कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि – मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।

सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न शैक्षिक बहस

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो ।

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस तथा अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । “सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, उच्च शिक्षा हासिल गरेका र तालिमप्राप्त शिक्षकको व्यवस्था छ । तर विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेका छन्”, उनले भने, “तहअनुसार विद्यार्थीको क्षमता विकास हुनसकेको छैन । यिनै समस्या हल गर्ने प्रयासस्वरुप शैक्षिक बहस अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको हो ।”

बसाइँसराइ, निजी स्कुल, जन्मदर रोकथाम, वैदेशिक रोजगारलगायतका कारण सामुदायिक विद्यालय रित्तिँदै गएको अवस्थामा नगरपालिका विद्यार्थीलाई गाउँकै सामुदायिक विद्यालयमा बस्ने वातावरण बनाउने उपायको खोजीमा जुटेको देखिन्छ । नगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा कैयौँ समस्या देखापरिरहेका छन् ।

नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय शैक्षिक बहसको माध्यमबाट सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने राय सुझाव सङ्कलन गरेको छ । कार्यक्रममा सहभागीमध्ये ३२ जनाले सामुदायिक विद्यालय सुधार गर्ने विषयमा राय दिएका छन् । कतिपयले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन् । केहीले गाउँलाई बस्नलायक बनाइनुपर्ने सुझाव दिएका छन् ।

यस्तै शिक्षक, जनप्रतिनिधिलगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायतका सुझाव आएको छ । सुझाव टिपोट गर्दै प्रतिवेदन तयार गर्नका लागि शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राई संयोजक तथा पञ्च मावि दिक्तेलका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल र नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक प्रेम केसी सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा व्यक्त सुझावका आधारमा पाँच दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको नगरप्रमुख भट्टराईले बताए । “न काखमा बच्चा छ न कोखमा । पाँच–सात वर्षपछि स्कुल रित्तो हुने अवस्था आउँदैछ । शैक्षिक गुणस्तर सुधारका कारणहरु खोज्न थालेका छौँ”, उनले भने, “प्राप्त राय सुझाव सङ्कलन गरेर कार्यान्वयनमा जान्छौैँ । समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः पाँच सदस्यीय सुझाव कार्यदल बनाउने र सो कार्यदलमार्फत वडा–वडामा पुगेर शिक्षक, अभिभावकबाट सुझाव सङ्कलन गरिन्छ । सो कार्यदलले दिएको सुझाव र निचोडलाई आगामी शैक्षिकसत्रबाट कार्यान्वयनमा ल्याउने योजना बनाएका छौँ ।”

पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढीका अधिकांश वडाको ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालय विद्यार्थी अभावमा सङ्कटमा पर्दै गएको छ । कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी देखिन थालेको छ । नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने यसअघि नै प्रतिबद्धता जनाएका थिए । उसबेला मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रअले १७ बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् ।

वर्तमान जनप्रतिनिधि निर्वाचित भएलगत्तै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहल थालिए पनि हालसम्म प्रभावकारी कार्यान्वयन भएको छैन । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह यो नगरपालिकामा मावि, निमावि र आवि गरी ९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

प्यालेस्टाइनद्वारा कर हस्तान्तरण सम्बन्धी अमेरिकी प्रस्ताव स्वीकार

प्यालेस्टाइनले इजरायलले राखेको कर कोष नर्वेमार्फत हस्तान्तरण गर्न सहमत भएको छ । तर इजरायलले भने यो अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद इश्तायेले सोमबार बताउनु भएको छ।रमल्लाहमा आयोजित साप्ताहिक मन्त्रिपरिषद् बैठकमा बोल्दै उहाँले इजरायलले अझै पनि नर्वेको पैसा हस्तान्तरण गर्ने जस्ता ‘क्लियरिङ’को मुद्दामा अमेरिकी प्रशासनको प्रस्ताव अस्वीकार गरेको छ।

प्यालेस्टिनी प्राधिकरण (पीए) ले गत महिना इजरायलले कुल ७५० मिलियन शेकेलबाट ५१७ मिलियन शेकेल (१३९ अमेरिकी डलर) कटौती गरेपछि क्लियरेन्स कोष स्वीकार गर्न अस्वीकार गरेको थियो।इजरायलले प्यालेस्टिनी क्षेत्रहरूमा आयातमा पीएको तर्फबाट कर सङ्कलन गर्दछ र मासिक रूपमा रकम स्थानान्तरण गर्ने गर्दछ।

गणतन्त्रले सीमान्तकृत चेपाङ समुदायको सम्मान हुने व्यवस्था ल्यायो : मुख्यमन्त्री जमकट्टेल

मनहरी (मकवानपुर)- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताउनुभएको छ । राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई सोमबार सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गर्नुभयो । प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि बढाएको भन्दै उहाँले माघभित्र चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

मुख्यमन्त्री जमकट्टेलले प्रदेशका ८५ वटा पालिकामा पकेट क्षेत्र घोषणा गरेर प्रदेश सरकार अगाडि बढेको बताउँदै चिउरी, चेपाङ र चमेरो कार्यक्रममा पालिकालाई सहकार्य गर्न आग्रह गर्नुभयो । हरेक क्षेत्रमा मिलेर काम गर्न सके सपना साकार पूरा हुने बताउँदै उहाँले पालिकास्तरबाट योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय जनप्रतिनिधिहरु नै निराशा पोखेर हिँडन थालेको बताउँदै उहाँले आशावादी भएर काम गर्न सके गणतन्त्रको रक्षा हुने धारणा राख्नुभयो । अहिले नै व्यवस्था परिवर्तनको गफ गर्नुभन्दा पनि जनताका बीचमा विकास निर्माणका काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

विकट मानिने राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्ने खालको काम गर्न पालिकासँग प्रदेश सरकार पनि हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।त्यस अवसरमा नेकपा (एमाले)का संसदीय दलका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले राक्सिराङ गाउँपालिकामा शिक्षा गुणस्तर वृद्धिमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रलाई पालिकास्तरबाट प्रोत्साहन गर्न सके शिक्षामा रुपान्तरण हुन समय नलाग्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेशका प्रदेश सदस्य इन्द्र बानियाँले सडक नै विकासको मूल आधार भएको बताउँदै सबै जनप्रतिनिधि मिलेर जनताको काम गर्नुपर्नेमा जोड दिनुभयो ।त्यस अवसरमा नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, ओम ग्लानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विकट गाउँको विकासमा मुख्यमन्त्रीलगायत आफ्ना क्षेत्रका जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्रिवि उपकुलपतिमा सक्षम खोज्न अक्षम समूह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्ति प्रक्रियामा विवाद आएपछि त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सुधारेर सूचना प्रकाशन गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले आइतबार पुनः प्रकाशित सूचनाले त्रिविको उपकुलपति बन्न योग्य सबै उम्मेदवारलाई खुला गरे पनि छनोट गर्ने समितिका सदस्यहरूमाथि भने अझै पनि प्रश्न उठेको छ।

यसअघि शुक्रबार उक्त समितिले प्रकाशित गरेको सूचना केही व्यक्तिको स्वार्थपूर्ति गर्नेगरी आएको भन्दै चौतर्फी विरोध भएको थियो। विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभव अनिवार्य गरिएपछि छनोट समितिमाथि शंका उत्पन्न भएको शिक्षाविद् विद्यानाथ कोइरालाको ठहर छ।उनले मुलुककै ठुलो र विश्वमै ख्याति कमाएको विश्वविद्यालयको उपकुलपति छान्न गठन गरिएको छनोट समितिमाथि प्रश्न उठाउँदै उनले प्राज्ञिक व्यक्तिहरूको स्वतन्त्र छनोट समिति बनाएर मात्र मापदण्ड तय गर्नुपर्ने र त्यसपछि मात्र दरखास्त आह्वान गर्नुपर्ने सुझाव दिए।अर्का शिक्षाविद् मनप्रसाद वाग्लेले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति छनोटमा राजनीतिक हस्तक्षेप साँच्चै अन्त्य गर्ने हो भने सुरुमा अहिलेको छनोट समिति नै खारेज गर्नुपर्ने तर्क गर्छन्। वाग्लेले पहिलेको सूचनामा उल्लेख गरिएको मापदण्ड निजी स्वार्थमा बनाइएको साबित भइसकेकाले यस्ता छनोट समिति तत्काल खारेजी हुनुपर्नेमा जोड दिए।‘एउटा विश्वविद्यालयको उपकुलपति छान्ने काममा समेत विवादित छवि बनाउने सरकारले के काम गर्ला ?’ शिक्षाविद् वाग्लेले औंल्याए त्रिवि उपकुलपति छनोट समितिको गठन र त्यसले निर्धारण गरेको कार्यविधिमै प्रश्न उठ्नु र विज्ञापन रद्द गर्नुले सरकारप्रतिको जनताको विश्वास झनै घट्दै गएको साबित भएको छ। साँच्चै प्रधानमन्त्रीले भनेजस्तै उपकुलपति नियुक्तिमा दलीय भागबन्डा नगर्ने हो भने अहिलेको छनोट समिति खारेज गर्नुपर्छ। स्वतन्त्र र निष्पक्ष प्राज्ञहरूको समिति बनाउनुपर्छ। पहिले कार्यविधि सार्वजनिक गरेर मात्रै विज्ञापन निकाल्नुपर्छ ताकि क्षमता नभएकाले राजनीतिको आडमा आवेदन गर्न नपाऊन्।’शिक्षाविद् वाग्लेका अनुसार विश्वविद्यालयको उपकुलपति हुन कार्यविधिमा विश्वविद्यालयको सम्पूर्ण जिम्मेवारी वहन गर्ने प्राज्ञिक व्यक्तिको कमसेकम स्वीकृत अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलमा विगतका पाँच वर्षभित्र कम्तीमा पनि १० वटा अनुसन्धनात्मक लेख प्रकाशित भएको हुनुपर्ने व्यवस्था गर्नुपर्छ। त्यसका लागि मात्रै २५ प्रतिशत अंक दिने व्यवस्था मापदण्डले समेट्नुपर्छ। यो समाचार नागरिक दैनिकमा छ ।

श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो

काठमाडौँ । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको हो ।

व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर युरोप जाने प्रवृत्ति बढिरहेका बेला श्रम मन्त्रालयले कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधिमा मागपत्र जाँचबुझ गरी प्रमाणीकरण गर्नका लागि श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय मागपत्र प्रमाणीकरण समिति रहने उल्लेख छ ।

समितिमा संयोजकसहित परराष्ट्र मन्त्रालयका उपसचिव, वैदेशिक रोजगार विभागका उपसचिव, कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव सदस्य रहने र रोजगार समन्वय तथा सूचना शाखाका उपसचिव सदस्यसचिवको रूपमा रहने व्यवस्था गरिएको छ ।

समितिमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने पारिश्रमिक एवं सेवा सुविधा र विगत तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, श्रमिकको कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाता कालोसूचीमा परे वा नपरेको विवरण, रोजगारदाताको वैधानिकता, रोजगारदाताले श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार र माग गर्न दिएको स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्ने छ ।

मागपत्र प्रमाणीकरण भएमा खाडी क्षेत्र र मलेसियाका रोजगारदाताले एक सय जनाभन्दा कम श्रमिक लैजान चाहेमा ४० हजार रुपियाँ, एक सय जनाभन्दा माथिका लागि ६० हजार रुपियाँ पेस गर्नुपर्ने छ । त्यस्तै पूर्वी एसिया, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशमा एक सयभन्दा कमका लागि ५० हजार र एक सयभन्दा बढीका लागि ७५ हजार रुपियाँ पेस गर्नुपर्ने छ ।

युरोप तथा अरू देशमा एक सयभन्दा कमका लागि ३५० अमेरिकन डलर र एक सय जनाभन्दा बढीका लागि ५०० डलर राजस्व बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा

काठमाडौं । मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको भयो ।

मृतकको श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएका कारण अहिले पनि शव अलपत्र अवस्थामा रहेको छ । मृतक बस्नेत अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव व्यवस्थापनमा ढिलाइ भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

अहिले मृतकका दाजु सम्पर्कमा आई आमाका लागि भए पनि नेपालमा नै शव पठाउन सहयोग मागेको अध्यक्ष श्रेष्ठले बताए । ‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतकको राहदानी पनि छैन, कतैबाट सहयोग पाइँदैन,’ उनले भने, ‘यहाँ इराकमा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्ने अवस्था छ ।

मृतकको शवलाई नेपाल पठाउन एनआरएनएले आर्थिक सहयोग अभियान सुरु गरेको, कुर्दिस्तानमा स्थापित सक्रिय विभिन्न संघसंस्था र सहयोगी भावना भएका सम्पूर्णजनमा आर्थिक संकलन अभियान सञ्चालन गरी मृतकको शव नेपाल पठाउन अनुरोध गरिएको उनले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

मधेसबाट क-कसले दर्ता गराए उम्मेदवारी ?

महेन्द्रनगर (धनुषा) -राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशबाट पाँचजनाले मनोनयन दर्ता गराउनुभएको छ ।सोमबार जनकपुरधामस्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमासत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेस र जसपाबाट एक÷एक जना, नेकपा (एमाले)बाट दुई जना र सत्ता गठबन्धमै रहेको जनमतबाट छुट्टै एक जनाले उम्मेदवारी दर्ता गराउनुभयो ।

कांग्रेसबाट अन्यतर्फ आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फ जसपाकी पूजा चौधरीले मनोनयन दर्ता गराउनुभएको मधेस प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले बताउनुभयो । एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

साथै सत्ता गठबन्धन घटक जनमत पार्टीले मधेस प्रदेशमा अन्य समूहमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जनमतबाट रामशङ्कर महासेठले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।प्रदेशमा प्रदेशसभा सदस्य एक सय सात र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख दुई सय ६७ गरी जम्मा तीन सय ७४ मतदाता छन् ।

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा तीन सिटमा आठको मनोनयन दर्ता

कास्की-राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० का लागि गण्डकी प्रदेशमा तीन सिटमा आठजनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । दलहरुले सोमबार  निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीको मनोनयन दर्ता गराएका हुन् । गण्डकीमा सत्तागठबन्धमा रहेका नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तागठबन्धनबाट अन्य समूहमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा), महिलातर्फ नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा(पर्वत) र अपाङ्गता/अल्पसङ्ख्यक समूहमा नेपाली कांग्रेसका पदमबहादुर परियार (तनहुँ)ले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा (एमाले)का तर्फबाट अन्य समूहमा चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसङ्ख्यकमा हेमन्त शेरचन (मुस्ताङ) र महिलामा सम्झना देवकोटा (गोरखा)ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि दुई पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । अन्य समूहमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकीमा अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट एक/एकजना निर्वाचित हुनुहुनेछ ।

राष्ट्रियसभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले चुनाव हुन लागेको छ । तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।

गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख/उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार छ ।
 

सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराएनन्

सुदूरपश्चिम, २३ पुस : राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराउनुभएन । सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपाङ्गता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो । राप्रपाका प्रदेश महासचिव छत्र शाहीले टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी नदिएको बताउनुभयो ।

“प्रदेश कार्यसमितिले राष्ट्रियसभाको रिक्त हुन लागेको पदनमा हुन लागेको निर्वाचनका लागि टिकट दिन केन्द्रमा सिफारिस गरे बमोजिम केन्द्रले पनि टिकट दिएर पठाएको थियो”, उहाँले भन्नुभयो, “प्रदेशसभामा एक जनाबाहेक पालिका तहमा मतदाता नहुँदा टिकट पाएकाले उम्मेदवारी दिन नगएको जानकारी आएको छ ।”

ठूला दलका प्रत्यासीबाट उम्मेदवारी दर्ता

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का तर्फबाट छ जनाले आज निर्वाचन अधिकृतको कार्यालय कैलालीमा आ–आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ नेकपा (माओवादी केन्द्र)की रेनु चन्द, नेकपा (एमाले)की सावित्रादेवी घिमिरे, अन्य समूहतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा, नेकपा (एमाले)का ईश्वरीप्रसाद खरेल र अपाङ्गता समूहतर्फ नेपाली काँग्रेसका नारायणदत्त भट्ट र नेकपा (एमाले)का रामचन्द्र जोशीले मनोनयनपत्र दर्ता गराउनुभयो ।

प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष रहेको निर्वाचन मण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङको प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिना अघि दुर्घटनामा परी निधन भएको थियो । यस्तै प्रदेशका सबै नौ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्ष गरेर प्रदेशमा जम्मा मतदाता दुई सय २८ छन् ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका हाल १८ सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । यस्तै पालिका तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा नेपाली कांग्रेसका छन् । दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा (माओवादी केन्द्र) छ ।

नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २३ पुस : नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्बीच ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्रकुमार झाबीच आज प्रहरी प्रधान कार्यालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवं ट्राफिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गर्नुभयो । उहाँले उक्त सम्झौताले दुर्घटना न्यूनीकरणका साथै धनजनको क्षतिमा कमी ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गनुभयो ।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवं यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायको साथ सहयोग र समन्वय आवश्यक रहने उहाँको भनाइ छ । समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा पार्थ पराजुलीले सफ्टवेयर सञ्चालन तथा ट्राफिकसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।यातायात पूर्वाधारको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने सम्झौताको उद्देश्य रहेको छ ।

जनताले अब कुनै पनि राजा वा महाराजालाई स्वीकार्दैनन् : अध्यक्ष नेपाल

वीरगञ्ज (पर्सा) २३ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले अब कुनै पनि राजा वा महाराजालाई नस्वीकार्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) पर्साद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र बलियो भइसकेकाले अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने बताउनुभयो ।

“हामीले सङ्घर्ष गरेर ल्याएको गणतन्त्र बलियो भइसक्यो”, उहाँले भन्नुभयो, “अब गणतन्त्रलाई कसैले मास्न सक्दैन ।” संविधानमा केही त्रुटी भएको र त्यसमा सुधार ल्याएर अघि बढ्नु जरुरी रहेको उहाँले बताउनुभयो । शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको भन्सार नीतिमा सुधार ल्याउनुपर्नेमा जोड दिनुहुँदै उहाँले उद्योगी व्यवसायीलाई सहुलियत प्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।अर्थतन्त्रलाई मजबुत बनाउन कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले कृषि उत्पादनलाई उद्योगसँग जोड्न सकिए मुलुकको अर्थतन्त्रले फड्को मार्ने र बेरोजगारी समस्या समाधान हुने दाबी गर्नुभयो । भ्रष्टाचार देशकै महारोग भएकाले यसबाट मुलुकलाई जोगाउनुपर्ने बताउनुहुँदै उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धन नभएसम्म विकास र सम्बृद्धि सम्भव नभएको जिकिर गर्नुभयो ।सो पार्टीका नेता तथा पूर्वमन्त्री नागेन्द्र चौधरी, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले पार्टी सङ्गठनलाई सुदृढ पार्न जनता केन्द्रित अभियानका साथ गाउँगाउँ पुग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई अध्यक्ष नेपालले अबिर, माला लगाएर पार्टी प्रवेश गराउनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीबाट छ जनाको मनोनयन दर्ता

भेरीगङ्गा (सुर्खेत) २३ पुस : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट छ जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले तीन सिटमा एक/एक सिट लिने गरी बाँडफाँट गरे अनुसार कांग्रेसबाट अन्यतर्फ रुकुमका कृष्णबहादुर रोकाया, एकीकृत समाजवादीबाट महिलातर्फ दैलेखका सावित्री मल्ल, माओवादी केन्द्रबाट दलिततर्फ कालिकोटका विष्णु विकले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा (एमाले)ले पनि उम्मेदवारको मनोनयन दर्ता गराएको छ । एमालेबाट महिला समूहतर्फ हुम्लाका विमलाकुमारी शाही, दलित समूहमा दैलेखका हिक्मत विक र अन्य समूहमा मुगुका डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराउनुभएको हो । कुन दलको कति मतभार कांग्रेससँग प्रदेश र स्थानीय तहको निर्वाचनको कूल मतभार एक हजार नौ सय ७६ छ ।

स्थानीय तहका प्रमुख/अध्यक्ष छ सय आठ र उपप्रमुख/उपाध्यक्षबाट पाँच सय ३२ र प्रदेशसभामा सात सय ९५ मतभार छ ।माओवादी केन्द्रसँग स्थानीय तहको प्रमुख/अध्यक्ष गरी चार सय ३७ र उपप्रमुख/उपाध्यक्षको चार सय ७५ र प्रदेशसभा सदस्य छ सय ८९ गरी जम्मा एक हजार छ सय एक मतभार छ ।

एमालेसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी दुई सय ८५, उपप्रमुख/उपाध्यक्षबाट ३ सय ८० र प्रदेशसभामा ५ सय ३० गरी कुल १ हजार १ सय ९५ मतभार छ ।यस्तै, एकीकृत समाजवादीसँग स्थानीय तहका प्रमुख/अध्यक्ष गरी ७६ र उपप्रमुख/उपाध्यक्ष गरी एक सय १४ र प्रदेशसभामा ५३ गरी जम्मा दुई सय ४३ मतभार छ । स्थानीय तहका प्रमुखमा निर्वाचित भएका पाँच जनाको मतभार ९५ रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभामा ५३ मतभार छ ।

भियतनाममा २२ हजार विदेशी विद्यार्थी अध्ययनरत

भियतनामका शैक्षिक संस्थाहरूमा करिब २२ हजार विदेशी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययन गरिरहेका छन् । शिक्षा तथा प्रशिक्षण मन्त्रालयले जनाएअनुसार भियतनाममा सन् २०१८ देखि २०२३ सम्म पाँच वर्षको अवधिमा अध्ययन गर्ने अन्तरराष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या औसतमा प्रति वर्ष ८ देखि १० प्रतिशतले बढेको भियतनाम समाचार एजेन्सीले सोमबार उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार भियतनाममा अध्ययन पूरा गरेपछि थुप्रै विदेशी विद्यार्थीहरूले भियतनामसँग आफ्ना देशहरूबीच सांस्कृतिक, शैक्षिक, कूटनीतिक, आर्थिक र राजनीतिक सम्बन्ध विकासमा सक्रिय भूमिका खेलेको पाइएको छ ।