`

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।

आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् पुष १८ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

बृष राशि- आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

मिथुन राशि- पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि- बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि- थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि- स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि – मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि – धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

कुम्भ राशि – बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि- बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन,बिरामी कहाँ जाने ?

काठमाडौँ । दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन । सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते वा चोट पटक लागेकाहरू हुने गरेका छन् ।

त्यस्ता बिरामीको अवस्था अनुसार एक्सरे, कम्प्युटराइज्ड टोमोग्राफी, सिटी स्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ । अत्याधुनिक विशाल अस्पतालमा हालसम्म एमआरआई मेसिन उपलब्ध छैन । एमआरआई गर्नुपर्ने बिरामीलाई निजी स्वास्थ्य संस्थामा सिफारिस गरिँदै आएको छ ।

ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले एमआरआई मेसिन अनिवार्य भए पनि हालसम्म खरिद गर्न नसकिएको बताए । “निकै महँगो पर्ने भएकाले अस्पतालको स्रोतबाट एमआरआई मेसिन खरिद गर्न सम्भव छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई मेसिन अभावले समस्यामा परेकाले तत्काल मेसिन उपलब्ध गराइदिन आग्रह गरेका छौँ तर प्राप्त भइरहेको अवस्था छैन,” उनले भने ।

ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका मध्ये ८० प्रतिशतको शल्यक्रिया गर्नुपर्ने हुन्छ । “त्यस्ता बिरामीका लागि एमआरआई अनिवार्य गर्नुपर्ने हुन्छ,” उनले भने, “ट्रमा सेन्टरमा एमआरआई नहुँदा दैनिक २० देखि २५ जना बिरामी निजी संस्थामा गएर एमआरआई गराउन बाध्य छन् ।” आकस्मिकमा आउने बिरामीलाई भने सँगैको वीर अस्पतालमा एमआरआई गर्ने गरिएको छ । वीर अस्पतालमा सोही अस्पतालका बिरामीले पनि तत्काल पालो पाउँदैनन् र कुर्नुपर्ने अवस्था छ । वीर अस्पतालमा दिउँसो मात्र एमआरआई सेवा उपलब्ध छ । ट्रमा सेन्टरमा ल्याइएका बिरामी कतिपयलाई कुनै पनि समयमा एमआरआई गराउनुपर्ने अवस्था रहन्छ ।

ट्रमा सेन्टरका निर्देशक डा. रिजालले भने, “यहाँ आएका सबैलाई वीर अस्पतालमा पठाउन पनि सकिँदैन । त्यहीँका बिरामी नै पालो कुर्नुपर्ने अवस्था छ, हाम्रा बिरामी सबैको उसले एमआरआई गरिदिने अवस्था छैन । त्यसैले निजी संस्थामा पठाउनुको विकल्प नै छैन ।”

निजी संस्थामा एमआरआई गर्न निकै चर्को शुल्क तिर्नुपर्ने हुन्छ । एमआरआई सेवा सञ्चालन गर्ने गरेका संस्था र सरकारी अस्पतालका स्वास्थ्यकर्मीबिच आर्थिक सम्बन्ध रहने गरेको पनि आरोप लाग्दै आएको छ । दुर्घटनाका घाइतेको उपचारका लागि भारत सरकारको सहयोगमा निर्माण गरिएको ट्रमा सेन्टर २०७२ सालबाट सञ्चालनमा आएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ट्रमा सेन्टरमा एमआरआई मेसिन अत्यावश्यक भएको बताए । “ट्रमा सेन्टरबाट एमआरआई खरिदका लागि बजेट छुट्याउनका लागि माग आएको छ,” उनले भने, “मन्त्रालयले ट्रमा सेन्टर खरिदका लागि प्राथमिकता दिने छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

त्रिविको उपकुलपति छनोट खुला प्रतिस्पर्धाबाट हुने गरी कार्यविधिको ड्राफ्ट तयार

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ ।

राजनीतिक भागबन्डाको आधारमा सबै विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने प्रचलनले विश्वविद्यालयको साख गिर्दै गएको विषयमा सर्वत्र आलोचना भइरहेको बेला सरकारले कार्यविधि तयार गरी मेरिटको आधारमा त्रिविको उपकुलपति छनोट गर्न लागेको हो ।

कार्यविधिमा प्राध्यापन क्षेत्रमा लगातार १० वर्ष योगदान गरेको, विद्यावारिधि भएको, त्रिविको शैक्षिक र प्राज्ञिक उन्नयनका लागि उपकुलपति भएर गर्न सक्ने कामको योजनासहितको प्रस्तुतीकरणलगायत विषय समेटिएको छ ।

कमिटीले योग्यता र शिक्षा क्षेत्रमा गरेको योगदानलाई ५५ २४५ अंकको प्रस्तुतीकरण अंक तोकेको छ । कमिटीले सबै विषय गोप्य राखेको छ । स्रोतका अनुसार ड्राफ्ट तयार भए पनि सार्वजनिक भएको छैन, यी विषय समेटेर उपकुलपति छनोट प्रक्रिया अघि बढाइने छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

नेपालमा मासु तथा अन्डा खपत न्यून

‘कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्रि नभएको भन्दै चिन्ता जनाएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक एक अर्ब ६० करोड वटा अन्डा र दुई लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको छ तर त्यस अनुसार खपत नभएको गुनासो पोल्ट्री उद्योगीको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित देशको तुलनामा नेपालमा अन्डा र मासुको खपत निकै कम रहेको जनाएको छ ।

दक्षिण एसियाका केही देशले सरदर एक जनाले वार्षिक १८० वटा अन्डा उपभोग गर्छन् तर नेपालमा एक व्यक्ति वार्षिक ६१ वटामा मात्र सीमित रहेका छन् । बङ्गलादेशमा एक जनाले वार्षिक ८० वटा, भारतमा ७९ र पाकिस्तानमा ७२ वटा अन्डा खपत गर्ने गरेका छन् । त्यस्तै अन्य विकसित देशमा त वार्षिक एक जना व्यक्तिले चार सयभन्दा बढी अन्डा खपत गरेको तथ्याङ्कमा देखिएको छ ।

चीनमा ४३३, जापानमा ३९७, अमेरिकामा ३२२ वटा अन्डा खपत गर्ने गरेको छ जसको तुलनामा नेपाल निकै पछाडि रहेको छ ।कुखुराको मासु नेपालमा प्रतिव्यक्ति वार्षिक ७.५७ किलो मात्र खपत हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ जबकि विकसित देशमा वार्षिक सरदर प्रतिव्यक्ति ७४.७ किलोसम्म खपत हुने गरेको छ । इजरायल जस्तो देशमा प्रतिव्यक्ति ६८.९ किलो मासु खपत गर्ने गरेको छ भने अमेरिकामा एक जना व्यक्तिले ५८.७ किलो मासु खपत गर्ने गरेको छ ।

पोल्ट्रीले देशको कुल गार्हस्थ उत्पादनको ३.५ प्रतिशत योगदान दिएको छ । कृषि मन्त्रालयका अनुसार पाँच लाख जनाले यो क्षेत्रमा रोजगारी पाएका छन् भने यो क्षेत्रमा एक खर्ब ६० अर्ब लगानी भएको देखिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

काठमाडौँ- रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको हो ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा-१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार-५ स्याङ्जाका पितम कार्की, मेलुङ-६ दोलखाका राजकुमार रोका, इलाम-५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कप क्रिकेट : बैतडीद्वारा अछाम पराजित

बैतडी, १७ पुस : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले अछामलाई पराजित गरेको छ । बैतडीले आज भएको खेलमा अछामलाई ९८ रनले हराएको हो । बैतडीको लगातार यो दोस्रो जित हो । उसले यसअघि पहिलो खेलमा बझाङलाई एक सय ८१ रनले पराजित गरेको थियो ।

निर्धारित ५० ओभरको खेल हुस्सुका कारण ४० ओभरमा झारिएको थियो । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ३८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १३ रन बनायो । जितका लागि पाएको दुई सय १४ रनको लक्ष्य पछ्याउने क्रममा अछामको पारी २८ दशमलव पाँच ओभरमा एक सय १५ रनमै समटियो । बैतडीका लागि नरेन भट्टले अर्धशतकीय पारी खेले । उनले ५२ रनको योगदान दिए ।

भट्ट खेलको म्यान अफ दी म्याच चुनिएको स्कोरर नरेन्द्रराज भट्टले बताए । यस्तै खडक बोहराले ३४, वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२ तथा रिसिकेश बोहराले १६ रन बनाए । बलिङतर्फ अछामका रोहित खड्का र अभिषेक चौधरीले तीन÷तीन विकेट लिए ।

यस्तै अछामका लागि ब्याटिङ गर्ने क्रममा महाजन कुँवरले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ बैतडीका लागि गजेन्द्र बोहराले तीन तथा भूपेन्द्र चन्द, रिसिकेश बोहरा र वसन्त खत्रीले दुई÷दुई विकेट लिए । बुधबार कञ्चनपुर र अछामबीच खेल हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुने छ ।

वरिष्ठ पत्रकार पोखरेलको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, १७ पुस : त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता तथा आमसञ्चार विभागले वरिष्ठ पत्रकार एवं पत्रकारिताका गुरु गोकुलप्रसाद पोखरेलले नेपालको समग्र पत्रकारिता र पत्रकारिता शिक्षामा पुर्‍याउनुभएको योगदान सधैँ स्मरण रहने जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)का कायममुकायम महाप्रबन्धक तथा गोरखापत्र दैनिकका प्रधानसम्पादक भई काम गर्नुभएका पोखरेल पत्रकारिताको व्यावसायिक विकासका लागि तालिम र मर्यादित पत्रकारिताका लागि सधैँ वकालत गर्दै आउनुभएको क्याम्पसका विभागीय प्रमुख डा श्रीराम पौडेलले बताउनुभयो ।

उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विभागले उक्त क्याम्पसबाट स्नातक तहमा पत्रकारिता पठनपाठन सुरु गर्दा पोखरेल संस्थापक अध्यापकमध्ये एक भएको उल्लेख गरेको छ । पत्रकारिता तथा आमसञ्चारका विषयमा स्नातकोत्तरको पढाइ सुरु गर्दा पनि उहाँको योगदान रहेको विभागले सम्झना गरेको छ ।

पत्रकारिता शिक्षालाई अघि बढाउन तथा नेपाल प्रेस इन्ष्टिच्युट स्थापनामा महत्वपूर्ण योगदान दिनुहुने वरिष्ठ पत्रकार पोखरेलको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्यसमेत रहिसक्नुभएका उहाँले पत्रकारिता, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा जीवन समर्पण गर्नुभयो । विभागले स्व पोखरेलप्रति श्रद्धाञ्जलिसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन

खोटाङ, १७ पुस : जन्तेढुङ्गा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । गाउँ कार्यपालिकाको आजको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो ।

निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिल्लर ठड्याउने क्रममा गुणस्तरहीन काम भएको स्थानीयले गुनासो गरेपछि अनुगमन गरिएको र गुणस्तरहीन काम भएको निष्कर्षसहित संरचना भत्काउन निर्देशन दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिनुभयो ।

“करिब दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल भवनको हालै पिल्लर ठड्याउने काम हुँदै थियो । ठेकेदारको लापर्वाहीले गुणस्तरहीन संरचना निर्माण भइरहेको रहेछ । गाउँपालिकाको कार्यपालिकाको बैठक नै बसेर भत्काउन निर्देशन दिएका हौँ”, अध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकाको निर्देशनलगत्तै कम्पनीले निर्माण सम्पन्न भएका संरचना भत्काउन थालेको छ । गुणस्तरमा लापर्वाही गर्ने ठेकेदारलाई निगरानीमा राखेका छौँ ।”

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाएको छ । अस्पताल भवन निर्माणका लागि कूल रु २० करोड ७१ हजार पाँच सय ९० मा सम्झौता भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अपरिहार्य संस्था : मुख्यमन्त्री कार्की

मोरङ, १७ पुस : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकका लागि अपरिहार्य संस्था भएको धारणा राख्नुभएको छ । आयोगको इटहरी प्रदेश कार्यालयद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा उहाँले आयोग हामी सबैका लागि खबरदारी गर्ने सम्मानित संस्था भएकाले समय सान्दर्भिकरुपमा यसलाई परिकृत गर्दै लग्नुपर्नेमा भनाइ व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले अख्तियार सबैको सहयोगी संस्था भएको सन्देश पालिकास्तरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकले प्रयोग गर्ने विकास निर्माणका काममा आयोगद्वारा दायर गरिने मुद्दाको समयमै अनुसन्धान गरी फछ्र्योट हुनुपर्ने बताउनुभयो ।आयोगका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यले जनताको पैसाबाट सञ्चालन हुने विकास निर्माण गुणस्तरीय एवं समयमै प्रतिफल प्राप्त हुने खालका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक खरिद ऐन कानुनको पूर्णपालना गर्नुपर्ने बताउँदै विकास निर्माणसम्बन्धी योजना ठेक्का लगाउँदा पूर्वतयारी गर्न आग्रह गर्नुभयो ।प्रदेश सरकारका निमित्त प्रमुख सचिव ईश्वरकुमार गिरीले सुशासन प्रवद्र्धनमा लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो । आयोग प्रदेश कार्यालय इटहरीका प्रमुख सुरेश न्यौपाने र सहन्यायाधिवक्ता पूजा खत्रीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन विषयसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।अन्तक्र्रियामा सङ्घीय तथा प्रदेश कार्यालयका कर्मचारी, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख र स्थानीय निकायका कर्मचारी, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।प्रदेश सरकार विभिन्न मन्त्रालयसम्बन्धी चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा दुई सय ११ उजुरी दर्ता भएकामा ८० वटा फछ्र्योट भएको आयोगले जनाएको छ । यस्तै जिल्लागत रुपमा आयोगमा सोही अवधिमा सप्तरी जिल्लामा तीन सय नौ मुद्दा दर्ता भएको छ ।

हिउँद लागेसंगै वनभोज स्थल बन्दै बागलुङको रिठेडाँडा, कसरी पुग्ने ?

बलेवा (बागलुङ), १७ पुस : बागलुङ जिल्लाको जैमिनी नगरपालिका– ५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ । वडाको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरिभराउ हुन थालेको हो ।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको रिठेडाँडामा पछिल्लो समय विभिन्न समूह वनभोजका लागि पुग्ने गरेको वडाअध्यक्ष ठगबहादुर थापा क्षत्रीले बताउनुभयो । अहिले यो क्षेत्रमा जैमिनीका विभिन्न ठाउँबाट वनभोज खान आउन थालेका हुन् । वनभोज खानेले यहाँ रहेको चौतारी, पोखरीलगायतका रमणीय स्थलका बारेमा प्रचार गरेसँगै पछिल्लो समय रिठेडाँडा वनभोज खानेको लागि रमणीय स्थल बन्दै गएको वडाअध्यक्ष क्षत्रीले बताउनुभयो ।

कुनै समय नागपञ्चमी, बडादशैं, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला लाग्ने गरेको भएपनि सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छोडेको केही वर्ष भएको छ । नयाँ पुस्ताले त त्यसको महत्व पनि भुल्न थाले । कुनैताकाको हराभरा र रमझममय रिठेडाँडा निर्जन डाँडामा फेरियो । मन्दिर र चौतारी जीर्ण बने । पोखरी सुक्यो । घाँस र झाडीले रिठेडाँडा घेरियो । त्यसको प्राकृतिक सौन्दर्य मात्रै गुमेन, धार्मिक, सांस्कृतिक पक्ष पनि ओझेलमा प¥यो । गाउँको विकास र पर्यटन बुझेका स्थानीय अगुवालाई भने त्यो कुराले पिरोल्दै गयो ।

उनीहरुले गुमनाम रिठेडाँडाको रौनक फर्काउने सपना देखे । जनप्रतिनिधिले पनि स्थानीयवासीसँग होस्टेमा हैँसे मिलाए । सबै कस्सिए, पर्यटनबाट रिठेडाँडालाई चिनाउन । जैमिनी नगरपालिका–५ बिनामारेस्थित रिठेडाँडाको मुहार अहिले विस्तारै बदलिँदैछ । विकास निर्माण र पर्यटनका योजनाले नयाँ वनभोज स्थलका रुपमा रिठेडाँडा चिनिँदैछ ।

यो डाँडाको पौराणिक महत्व धेरै छ, समय अनुसार परिवर्तित संरचना तयार गरेर यो डाँडालाई नयाँ व्यवस्थापन गर्दैछौँ,’ उहाँले भन्नुभयो, ‘बीचमा मेला, पर्वमा झैझगडा हुन थालेपछि सुरक्षा खतराका कारण यहाँ हुने मेलाको परम्परा बन्द हुन पुगेको हो ।’

रिठेडाँडामा उद्यान, पदमार्ग निर्माण, चौतारी संरक्षणलगायतका काम भएको छ । पर्यटनको काम हुन थालेपछि त्यहाँ रहेको शङ्खेपहाराको चर्चा पनि बाहिरिएको छ । त्यहाँ रहेको चौतारीमा १२१ वर्ष पुरानो ढुङ्गाको शिलालेख पनि छ । पोखरीमा रहेको मौलो पनि उति नै पुरानो रहेको स्थानीय टंक केसी बताउनुहुन्छ । हिउँदमा सो पोखरी सुक्ने गरेको छ । बाह्रैमास पानी जम्ने बनाउन पोखरी संरक्षणको योजना पनि ल्याइएको छ । भगवती मन्दिर जीर्ण बनेपछि नगरपालिका र स्थानीय दाताको सहयोगमा पुनःनिर्माण गरिएको छ ।

रिठेडाँडाको विकासमा वडा र नगरपालिकाको पनि साझेदारी छ । नगरका पर्यटकीय विकास योजनामा रिठेडाँडा सूचीकृत छ । यहाँ शौचालयको व्यवस्था, खानेपानीको व्यवस्था रहेको र दिनभर घाम लाग्ने भएकाले वनभोज खानेको रोजाइमा रिठेडाँडा परेको हो । एकैदिन चार पाँच समूह हुँदा बिनामारेकै भातखाने डाँडालाई विकल्पको रुपमा प्रयोग गर्ने गरिएको छ । भातखाने डाँडामा खानेपानी र शौचालयका पूर्वाधार बनाउन सके त्यहाँ पनि वनभोज स्थलको सम्भावना छ ।

तर भातखाने डाँडामा सबै जग्गा व्यक्तिका नाममा रहेकाले संरचना निर्माणमा कठिनाई रहेको क्षत्रीले बताउनुभयो । कतै समथर त कतै भिरालो भू–बनोटमा रहेको रिठेडाँडाबाट मनोरम हिमशृङ्खला, पहाड र गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । एक हजार तीन सय मिटरको उचाइमा अवस्थित रिठेडाँडा सदरमुकाम बागलुङ बजारदेखि २५ किमी दूरीमा पर्छ ।

कृषिमन्त्री भुसालद्वारा दुग्ध वितरण आयोजना बालाजुको छड्के अनुगमन

काठमाडौँ, १७ पुस : कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनाको आज छड्के अनुगमन गर्नुभएको छ । आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि उहाँले सो आयोजनाको छड्के अनुगमन गर्नुभएको हो ।

मन्त्री भुसालको नेतृत्वमा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलसहितको टोलीले गरेको अनुगमनका क्रममा आयोजनाका दुई सय ५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको थियो ।सो अवसरमा मन्त्री भुसालले आयोजा प्रमुख गणेशकुमार यादवलाई आयोजना सञ्चालन देखिएका बेथितिलाई तत्काल सुधार्न निर्देशन दिनुभयो । अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आयोजनाका सुधारका लागि आवश्यक निर्णय गर्ने जानकारी गराउनुभयो ।मन्त्री भुसालले आयोजनामा देखिएका कमीकमजोरी न्यूनीकरण गर्न मन्त्रालयमा आवश्यक अध्ययनपश्चात् पदीय जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई कटौती गर्ने बताउँदै उहाँले भन्नुभयो, “दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ । संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन् । पटक-पटक संस्थान सुधारका लागि मौखिक र लिखित निर्देशन दिइएको छ ।” केही महिना अगाडि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको पाइएको छ ।

आफू सहभागी हुने कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिनुभएको छ ।

यही पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रमका लागि रामेछापको सुनापति गाउँपालिकाले पालिकामा सार्वजनिक बिदा दिएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ ।

नेपाल उद्योग परिसङ्घ र अमेरिकन चेम्बर अफ कमर्शबीच समझदारी

काठमाडौँ, १७ पुस : नेपाल उद्योग परिसङ्घ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम) बीच लगानी अभिवृद्धि तथा नेपाल र अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल उद्योग परिसङ्घको कार्यलयमा आज आयोजित कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्शका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।परिसङ्घका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र अमेरिकालाई व्यावसायिक रुपमा जोड्न पुलको काम गर्ने बताउनुभयो । उहाँले उक्त सहकार्यले ज्ञान सीपको आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटोहरु खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न, विदेशी लगानी आकर्षित गर्न, औद्योगिक विकासका लागि योगदान गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।अमेरिकन चेम्बरका अध्यक्ष श्रेष्ठले उद्योगीको साझा संस्था परिसङ्घसँगको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दै मुलुकको अर्थतन्त्रको विकासका लागि प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो । समझदारीमा दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीबीच सम्पर्क विन्दुका रूपमा काम गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानीसम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्य पूरा गर्न नीतिगत सुधारको वकालत गर्ने गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् ।साथै बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवामा पहुँच वृद्धि गर्दै प्रविधिका क्षेत्रका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने समझदारीपत्रमा उल्लेख छ । सो अवसरमा परिसङ्घका उपाध्यक्ष अमित मोर, पदाधिकारी सदस्य सन्दीप सारडा, अमेरिकन चेम्बर अफ कमर्शका पदाधिकारीको सहभागिता थियो ।

गण्डकी र बागमतीका यातायातमन्त्रीबीच छलफल

कास्की, १७ पुस : यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी साधनको विद्युुतीय अभिलेखीकरण गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सेवा प्रवाह सुधारका लागि यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाउने लक्ष्यसहित यसको सुरुआत गरेको हो ।

यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर सुरुआतमा परीक्षणका रुपमा विद्युुतीय अभिलेखीकरण गरिएको हो । अभिलेखीकरणपछि फाइल र ढड्डा खोज्दा समयको बचत, जनशक्तिलाई कामको भार कम र कार्यालय व्यवस्थित बनेको छ । गण्डकीमा यातायात मन्त्रालयले सुरु गरेको अन्य सुधारका कार्यका बारेमा आज बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको टोलीले पोखरामा जानकारी लिएको छ ।

बागमतीका यातायातमन्त्री लक्ष्मण लम्साल, मन्त्रालयका सचिव बलराम निरौला, यातायात महाशाखा तथा यातायात कार्यालयका प्रमुखसहितको टोलीले गण्डकीमा यातायात क्षेत्रको सुधारका लागि चालिएका कदमका बारेमा जानकारी लिएको हो ।

गण्डकीको यातायात मन्त्रालयले यातायात कार्यालयका सेवालाई सवारी कर अनलाइनबाटनै भुक्तानीको व्यवस्था, यातायात कार्यालय बिहान आठ बजेदेखी सञ्चालन तथा पोखरा उपत्यकामा मिटरमा ट्याक्सीलाई अनिवार्य गर्ने लगायतका सुधारका काम थालेको छ । मन्त्रालयमा भएको छलफलमा गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यातायात कार्यालयको सेवा प्रवाह सुधारका लागि गरिएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले प्रदेशमा परीक्षणका रुपमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका पुराना सबै फाइल र ढड्डालाई विस्थापित गरी विद्युुतीय अभिलेखीकरण गरिएको र यसबाट सेवाग्राहीले झन्झटरहित रुपमा छिटो सेवा पाएको बताउनुभयो । सवारी साधनको विवरणलाई विद्युतीय अभिलेख राख्ने कार्यलाई प्रदेशका अन्य जिल्लामा विस्तारको योजना रहेको मन्त्री जुग्जालीले जानकारी दिनुभएको थियो । “

ठूलो सङ्ख्यामा रहेका ढड्डा र फाइलका कारण चाहिएको बेलामा फेला पार्न नसकिने, च्यातिने तथा हराउने समस्या थियो । अहिले सबै फाइललाई स्क्यानिङ गरी कम्प्युटरमा राख्ने काम कास्कीको यातायात कार्यालयबाट थालनी गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट कार्यालयको सेवा छिटो र चुस्त भएको छ । सेवाग्राहीको समय बचत भएको छ ।” छलफलमा यातायात क्षेत्रको सुधारका लागि दुई प्रदेशले संयुक्त रुपमा गर्न सकिने कामका बारेमा समेत छलफल भएको थियो ।

बागमतीका यातायातमन्त्री लम्सालले यातायातका फाइल ‘डिजिट लाइज’ गर्ने कार्यलाई बागमतीले प्राथमिकतामा राखेको बताउनुभयो । गण्डकीको अनुभव र यसका लागि गरिएका प्रक्रियालाई अनुशरण गरी आफ्नो प्रदेशमा कार्यान्वयन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

बागमतीको टोलीले कास्कीको यातायात व्यवस्था कार्यालय सवारी र सवारी चालक अनुमतिपत्र दुवै कार्यालय, ट्रायल सेन्टरलगायतको अवलोकन गरी जानकारी लिएको थियो । सो अवसरमा यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले यातायातका फाइल विद्युुतीय अभिलेखीकरण प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

सीपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा फारम भर्ने समय थप

काठमाडौँ, १७ पुस : वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सीपबिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । आज बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन् ।

विभागले पुस १३ गते ललितपुर महानगरपालिका–७ बालकुमारीमा दुःखद् घटना घट्न गई दुई जनाको मानवीय क्षति हुन गएको र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुनसक्ने देखिएको तथा फारम भर्न सुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरिएको जनाएको छ ।

महेन्द्रनगरमा माघ १४ गतेदेखि मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता हुने

महेन्द्रनगर (कञ्चनपुर), १७ पुस : कञ्चनपुरको महेन्द्रनगरमा आगामी माघ १४ गतेदेखि तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुन लागेको हो ।
महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले भलिबलको विकास र विस्तार गर्ने उद्देश्यले मुख्यमन्त्री कप हुन लागेको जानकारी दिनुुभयो । प्रतियोगिताको विजेता टोलीले रु चार लाख पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो ।

सदस्य सचिव सिंहका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले रु दुई लाख तथा तेस्रो हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्ने छ ।  उक्त प्रतियोगितामा सात प्रदेशका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली सहभागी हुने छन् । 

“प्रतियोगितामा सहभागी टोलीको यातायात, आवास, खानपिनलगायत व्यवस्था परिषद्ले गर्नेछ”, प्रदेश सदस्य सचिव सिंहले भन्नुभयो, “प्रतियोगिताको समन्वय तथा व्यवस्थापन कञ्चनपुर जिल्ला भलिबल सङ्घले गर्नेछ ।”

प्रतियोगिगतामा कूल एक सय ७२ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष जितेन्द्रबहादुर चन्द, राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरत शाह, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, जिल्ला भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी, जिल्ला भलिबल सङ्घका पूर्व अध्यक्ष मोहन थापालगायत उपस्थित हुनुहुन्थ्यो ।

जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु

जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँच जनाको मृत्यु भएको बताउनुभएको छ । “तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँच जनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भन्नुभयो ।

जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको मिडिया रिपोर्टले जनाएको छ । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।

एनएचकेका अनुसार एयरबस विमानमा सवार सबै तीन सय ६७ यात्री र चालक दलका १२ सदस्यलाई सुरक्षित निकालिएको छ । क्योदो समाचारअनुसार विमानमा आठ बालबालिका पनि थिए ।

यसअघि तट रक्षक विमानमा चालक दलका छ सदस्यमा एक जना सुरक्षित रहेको र अन्य पाँच जनाको अवस्था थाहा नभएको एनएचकेले बताएको थियो । घटनाको कारण तत्काल स्पष्ट नभए पनि टेलिभिजन रिपोर्टअनुसार एयरबस तट रक्षक विमानसँग ठोक्किएको थियो ।

जिजी समाचार समितिका अनुसार सोमबार मध्य जापानमा गएको महाभूकम्पपछि उद्धार प्रयासमा सहयोगका लागि तट रक्षक विमान प्रस्थान गर्न लागेको थियो । तट रक्षक विमान भर्खरैमात्र उत्तरी जापानी टापु होक्काइडोको साप्पोरा विमानस्थलबाट आएको थियो ।

वैदेशिक लगानी सहजीकरणका लागि सरकार तयार छ – मन्त्री साउद

काठमाडौँ, १७ पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताउनुभएको छ । क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उहाँले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “वैदेशिक लगानीलाई सहजीकरण गर्ने विषयमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन ।” सो अवसरमा क्यानडा र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो ।

क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टेक्सटायल र जलविद्युत्का क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताउनुभएको थियो । क्यानडा–नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेल र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शका अध्यक्ष चाव्दाले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

सर्वोच्च अदालतद्वारा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग

काठमाडौँ, १७ पुस : सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिर्वतनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवतmा पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म पनि कानुन नबनाएको उल्लेख गर्दै यही पुस ५ गते अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो ।

जलवायु परिवर्तनलाई अनुकुलन तथा न्यूनिकरण गर्ने सन्दर्भमा छुट्टै कानुन निर्माण गरी समस्याको सम्बोधन हुन जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथासीध्र निर्माण गरी लागू गर्नु गराउनु भन्ने अदालतको आदेशमा उल्लेख छ ।

भाषा परीक्षा विवाद सम्बन्धमा कोरियाली राजदूतसँग छलफल

काठमाडौँ, १७ पुस : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लािग कोरियाका राजदूत पार्कबीच आज मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो । छलफलमा नेपाली टोलीले उक्त घटनाका सम्बन्धमा कोरियाली पक्षलाई जानकारी गराएको थियो ।

सो क्रममा पानी जहाज बनाउने (सीप बिल्डिङ)का लागि नेपाली युवालाई फारम भर्न दिने सरकार र अदालतको निर्णयबारे कोरियाली पक्षलाई जानकारी गराइएको श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताउनुभयो । नेपाली पक्षले उक्त निर्णयलाई स्वीकार गरेर अगाडि बढ्न कोरियाली पक्षसँग प्रस्ताव गरेको उहाँको भनाइ छ ।

नेपालले राखेका प्रस्तावलाई कोरियाली पक्षले सकारात्मकरुपमा लिएको मन्त्रालयका सहसचिव पोखरेलले राससलाई जानकारी दिनुभयो । इपिएस प्रणालीमा देखिएका विविध समस्यालाई दुई देशको प्राविधिक टोलीले टुङ्ग्याउने उहाँको भनाइ छ । यसका लागि चाँडै नै प्राविधिक टोलीको बैठक बस्ने बताइएको छ ।

दक्षिण कोरियाले इपिएस प्रणालीअन्तर्गत विभिन्न १६ वटा मुलुकबाट विदेशी श्रमिक लैजाँदै आएको छ । नेपाली युवाका लागि कोरिया आकर्षक श्रम गन्तव्यका रुपमा छ । कोरियामा रोजगारीका लागि बर्सेनि लाखौँ नेपालीले भाषा परीक्षाका लागि आवेदन दिने गरेका छन् । हाल एक लाख ७५ हजार नेपाली नागरिक कोरियन भाषा परीक्षा उतीर्ण गरी कोरिया जाने प्रतीक्षामा रहेको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा कोरियाली पक्षले गत शुक्रबार बालकुमारीमा भएको घटना दुःखद् भएको जनाउँदै कोरिया सरकारका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदन व्यक्त गरेको थियो ।

सरकार बेरुजु शून्य बनाउने गरी काम गरिरहेको छ – मुख्यमन्त्री यादव

जनकपुरधाम, १७ पुस : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बेरुजु शून्य बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित लेखापरीक्षण, बेरुजु फर्छ्याेट तथा सम्परीक्षणसम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै जनभावनाअनुसार काम गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने गरी क्रियाशील हुन पनि सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

“सङ्घीयता महँगो र अनियमितता मात्रै भइरहेको छ भन्ने ढङ्गले गलत प्रचारबाजी भइरहेको छ । यस्तो गलत भाष्यलाई चिर्न पनि बेरुजु शून्य बनाउनुका साथै सङ्घीयताको जननीका रुपमा रहेको मधेस प्रदेशले जनतालाई अनुभूति गराउने किसिमले काम गर्नुपर्ने आवश्यकता छ । यस कार्यमा सघाउ पुग्ने गरी तपाईं हामी मिलेर काम गरौँ”, मुख्यमन्त्री यादवले भन्नुभयो ।

महालेखापरीक्षकको कार्यालयका कार्यबहाक महालेखापरीक्षक महेश्वर काफ्लेले देशको वित्तीय अवस्थाबारे प्रकाश पार्नुहुँदै वित्तीय अनुशासन कायम गर्न तीनै तहका सरकार र सम्बद्ध पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारबीचको समन्वयले मात्रै देशको शासकीय प्रबन्ध र अर्थतन्त्रका सूचकलाई राम्रो बनाउन सकिने र त्यसका लागि उपलब्ध स्रोतसाधनको सदुपयोग हुन जरुरी रहेको धारणा राख्नुभयो ।

उपमहालेखा परीक्षक विन्दु विष्टले विगतको तुलनामा बेरुजु क्रमशः घट्दै गएको र थप सुधारका लागि लेखा समिति सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेले लेखा उत्तरदायी अधिकृतलाई खर्च निगरानी र वित्तीय अनुशासन पालन गर्न आग्रह गर्नुभयो ।

त्यसअवसरमा मुख्यमन्त्री कार्यालयको तर्फबाट सचिव रामकृष्ण पुडासैनीले मधेस प्रदेशबारे प्रस्तुति दिनुभएको थियो भने प्रदेश लेखानियन्त्रक वीरेन्द्रकुमार मिश्रले प्रदेशको वित्तीय क्रियाकलापबारेको प्रतिवेदन कावा महालेखापरीक्षक काफ्लेलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा सात प्रदेशका एक हजार दुई सय १८ कार्यालयमा लेखापरीक्षण भएकोमा सात रु अर्ब ५० लाख बेरुजु भएको र त्यसमध्ये ३५ प्रतिशत बेरुजु गम्भीर प्रकृतिका रहेकासमेत जानकारी दिइएको थियो ।

पूर्वसदस्य पोखरेलको निधनप्रति आयोगद्वारा शोक व्यक्त

काठमाडौँ, १७ पुस : राष्ट्रिय मानवअधिकार आयोगले आयोगका पूर्वसदस्य गोकुल पोखरेलको सोमबार असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पोखरेलप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

आयोगले स्व पोखरेलको सम्मान र सम्झनामा आयोगमा पोखरेलको तस्बिरसहित १३ दिनसम्म शोक पुस्तिका राख्ने र तेह्रौँ दिनका दिन श्रद्धाञ्जलि सभा आयोजना गर्ने जनाएको छ । स्व पोखरेलले २०६२ जेठ १३ देखि २०६३ असार २५ गतेसम्म आयोगका सदस्यका रुपमा काम गर्नुभएको थियो । उहाँको यही पुस १६ गते काठमाडौँमा निधन भएको थियो ।

कोशी प्रदेशसभा बैठक : विधेयक पारित, अर्को बैठक पुस २४ गते

विराटनगर, १७ पुस : कोशी प्रदेशसभाको आजको बैठकमा ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १०७ बमोजिम मुख्यमन्त्री केदार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो । मन्त्री राईले विधेयकमाथिको छलफलमा उठेका विषयबारे जवाफ दिँदै उक्त विधेयकले सुशासन र जनशक्ति परिपूर्ति गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले विधेयकले स्थानीय तहमा न्याय सम्पादन र सूचना प्रणालीलाई व्यवस्थित गर्न पनि मद्दत गर्ने धारणा राख्नुभयो ।

न्याय, प्रशासन तथा विधायन समितिबाट दफावार छलफल भइ आएको सो विधेयकबारे कोशी प्रदेशसभा सदस्यद्वय रेवतीरमण भण्डारी र प्रदीप सुनुवारले आफनो धारणा राख्नुुभएको थियो ।

शून्य समय – यसैगरी पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशसभाको बैठकमा शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै सरकारले आवश्यकता र बजेटका आधारमा काम गर्दै जाने बताउनुभयो । कोशी प्रदेशको नामकरणको विषयमा उत्पन्न विवाद समाधान गर्न सरकार तत्पर रहेको उल्लेख गर्दै उहाँले पहिचानवादीसँग सरकार वार्ता गर्न तयार रहेको र यसका लागि आवश्यक गृह कार्य भइरहेको बताउनुभयो ।

मन्त्री उप्रेतीले जङ्गली हात्तीले गरेको हानी नोक्सानीको क्षतिपूर्तिका लागि बनेको निर्देशिकाअनुसार नै हुने तथा जङ्गली हात्तीबाट नागरिकलाई बचाउन अल्पकालीन र दीर्घकालीन उपायबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

शून्य समयमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरु गीतारानी महतो, बन्दना झाँगर, यशोदा कायस्थ, राधाकृष्ण खनाल, सविना बजगार्इं र सृजना राईले प्रश्न गर्नुभएको थियो ।कोशी प्रदेशसभाको अर्को बैठक यही पुस २४ गते बिहान १० बजे बस्ने उपसभामुख सृजना दनुवारले जानकारी दिनुभयो ।

सन् २०२३ मा विश्व खेलकुद : क्रिकेटमा नेपालको चमत्कार, चुम्बनले निलम्बन

काठमाडौँ -विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो ।

तेलमा निर्भर अर्थतन्त्र भएको साउदी अरबले फुटबलमार्फत कमाएको चर्चा निकै महत्त्वपूर्ण थियो । साथै वर्षको अन्त्यतिर अष्ट्रेलियाका प्रसिद्ध क्रिकेटर डेभिड वार्नरले एकदिवसीय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिने घोषणा गरे भने इन्डियन प्रिमियर लिग (आइपिएल)सहित विश्वका दुई दर्जनभन्दा लिग खेलेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा अदालतबाट दोषी ठहर भए ।

मेस्सी गए मियामी – विश्वका उत्कृष्ट फुटबल खेलाडीमध्येका एक लियोनल मेस्सी अमेरिकी फुटबल क्लब इन्टर मियामीमा अनुबन्धन हुनु गत वर्षको सर्वाधिक चर्चाको विषयमध्ये एक बन्यो । क्यानाडा र मेक्सिकोसँग मिलेर सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको अमेरिकाका लागि मेस्सीको आगमनले ठूलो चर्चा दिलायो । समाचारमा जनाइएअनुसार साउदी अरबको क्लब अल हिलालको ५० करोड यूरोको अफर अस्वीकार गर्दै मेस्सीले प्रतिवर्ष करिब छ करोड डलरको सम्झौतामा इन्टर मियामी रोजेका थिए ।

इन्टर मियामीमा प्रसिद्ध फुटबल खेलाडी डेबिड बेकहमको पनि स्वामित्व छ । साथै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि जिताउन सफल मेस्सीको जर्सी नम्बर १० लाई उनको सम्मानमा अर्जेन्टिना सरकारले ‘रियाटर’ गर्ने घोषणा गरेको छ । अर्थात् अब उक्त नम्बरको जर्सी अर्को खेलाडीलाई दिइने छैन । यसअघि उक्त नम्बरको जर्सी प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको थियो ।

चुम्बनले निलम्बन – अगस्टमा फुटबलको दुनियाँमा विवादास्पद घटना घट्यो । स्पेन फुटबल फेडेरेसनका अध्यक्ष लुई रुबियालेजले महिला फुटबल खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेपछि उनी निलम्बनमा परे । फुटबल वर्ल्डकप जितेको स्पेनको महिला टोलीलाई बधाई दिने क्रममा अध्यक्ष रुबियालेजले हर्मोसोलाई अङ्गालो मार्दै चुम्बन गरेका थिए । त्यसपछि हर्मोसाले प्रत्यक्ष प्रसारणमा उक्त चुम्बन आफूलाई नराम्रो लागेको प्रतिक्रिया दिएपछि उनलाई अन्तर्राष्ट्रिय फूबटल महासङ्घ (फिफा)ले तीन वर्षका लागि निलम्बन गरेको थियो ।

अब्बल भारतलाई निराशा – विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूहचरणदेखि सेमिफाइनलसम्म सबै १० वटा खेल जितेको घरेलु टोली भारत तेस्रो पटक उपाधि चुम्नबाट चुक्यो । प्रतियोगिताभर ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा अब्बल भारतलाई फाइनलमा अस्ट्रेलियाले रोक्यो । खेल सुरु हुनुभन्दा अघि प्रतियोगिताको ‘फेबरेट टिम’ भारतलाई छ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँ पटक विश्वकपको उपाधि चुम्दै कीर्तिमान कायम ग¥यो ।

प्रतियोगिताभर शानदार प्रदर्शन गरेको भारतले उपाधि जित्न नसक्दा करोडौँ दर्शन निराश बने । यद्यपि प्रतियोगितामा ‘प्लेयर अफ द टुर्नामेन्ट’ भारतीय ब्याटर विराट कोहली बने । जसलाई सन् २०२३ मा भएका महत्त्वपूर्ण खेल प्रतियोगिताका रूपमा लिन सकिन्छ । कोहली एकदिवसीय क्रिकेटमा ५० वटा शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने ।

आधा शताब्दीपछि च्याम्पियन बन्यो डेनभर नगेट्स – उत्तरी अमेरिकाको द नेशनल बास्केटबल एसोसिएसन (एनबीए)मा पहिलो पटक डेनभर नगेट्स क्लबले उपाधि जितेको छ । डेनभर नगेट्सले यो खुसी ५७ वटा प्रतियोगितापछि प्राप्त गर्न सफल भयो ।

क्रिकेटमा नेपालको चमत्कार – सन् २०२३ नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण र उपलब्धिपूर्ण रह्यो । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिगका ३६ खेलमध्ये अन्तिम १२ खेलमा ११ खेल जित्नैपर्ने दबाबमा रहेको नेपाल कसरी जिम्बाब्वेमा सम्पन्न आइसिसी क्रिकेट वर्ल्ड कप क्वालिफायरमा छनोट भयो भन्ने कथा निकै रोचक छ । लगातार खेल हारेर अङ्क तालिकाको पुछारतिर पुगेको नेपालको आशा गुमिसकेको अवस्थाबाट कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देसाईले नेपाली टोलीलाई जिम्बाब्वेसम्म पु¥याउन सफल भए ।

प्रतियोगिताको अन्तिम खेलमा युएईले प्रस्तुत गरेको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आसिफ शेख र गुलसन झाको अर्धशतकीय पारीमा डक वर्थ लुइस पद्धतिका आधारमा नौ रनले विजयी हुँदै जिम्बाब्वेको यात्रा तय गर्यो ।

गत वर्ष अर्को प्रतियोगितामा नेपालले युएईलाई पराजित गर्दै इतिहासमा दोस्रो पटक एसिया कपका लागि छनोट भई भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग खेल्ने मौका प्राप्त ग¥यो । तर वर्षको अन्त्यतिर क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि भने क्रिकेट समर्थकमा केही निराशा छायो (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

जलविद्युत्, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात – परराष्ट्रमन्त्री

काठमाडौँ, १७ पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जलविद्युत्, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताउनुभएको छ ।एभरेष्ट ग्यालरीद्वारा आज काठमाडौँमा आयोजना गरिएको ‘दृश्यमा खप्तड शृङ्खला–२’ म्युजिक भिडियो विमोचन गर्दै मन्त्री साउदले पवित्र तीर्थस्थल र सांस्कृतिक सम्पदाहरुको उपलब्धताले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सात प्रदेशमध्ये प्राकृतिक स्रोत र सम्पदामा सुदूरपश्चिम प्रदेश धनी छ, यहाँ पनि विकासका सम्भावनाको ढोका खुलेको छ ।”

उहाँले खाद्यान्न उत्पादनका लागि मलिलो उर्वर जमिनका रुपमा कैलाली र कञ्चनपुरका फाँटहरु रहेका जानकारी दिनुभयो । “सिँचाइका लागि नदीनाला खोज्ने हो भने महकाली, कर्णाली छ” उहाँले भन्नुभयो, “त्यसमा जलविद्युत्को उत्पादनको प्रतिशत हेर्ने हो भने पनि दुनियाँका सबैभन्दा सम्भावना भएको क्षेत्रमा सुदूरपश्चिम पर्दछ ।”

नेपालका पाँच ठूला नदीमध्ये तीनवटा सुदूरपश्चिममा रहेका उहाँको भनाइ थियो । मन्त्री साउदले अहिले पनि सुदूपश्चिममा आवश्यक विकास गर्न नसकिएकाले त्यहाँको पर्यटनदेखि अन्य क्षेत्रको विकासमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रसिद्ध खप्तड क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको पनि बताउनुभयो ।

यसैगरी सो कार्यक्रममा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलाई चिनाउने तथा सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड भएकाले त्यहाँको क्षेत्रलाई देश–विदेशमा चिनाउन दृश्यमा खप्तड शृङ्खला–२ ले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला सुदूरपश्चिमका विभिन्न धार्मिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा धार्मिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको मात्रै विकास गर्न सके सुदूरपश्चिमको स्तर माथि उठ्ने छ, म जनताको प्रतिनिधि हुँ, सुदूरपश्चिमको विकासका लागि म अहोरात्र खटिँदै आएको छु ।”

कार्यक्रममा नेकपा माओवादीका नेता तथा सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओली, संवीधानसभा सदस्य तथा कांग्रेस नेता भरतबहादुर खड्कालगायतले सुदूरपचिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको विकासका लागि राज्यका तीनवटै तहले सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।

नेपालको राजनीतिक परिवर्तन अनुरूप राज्यका संरचनामा परिवर्तन हुनुपर्छ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राजनीतिक परिवर्तन अनुरूप राज्यका संरचनामा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीसँग मन्त्रालयगत छलफलका क्रममा उहाँले महिलासम्बन्धी विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय हो । तर हामीले यसलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यसो गर्न सकेका छैनौँ । तसर्थ, आगामी दिनमा यसलाई प्राथमिकता दिने गरी यसको पुनःसंरचना आवश्यक छ ।”

महिलालाई आयआर्जन र आत्मनिर्भर बनाएर मात्र महिला अधिकारलाई सुदृढ गर्न सकिने उहाँको भनाइ छ । प्रधानमन्त्रीले भन्नुभयो, “त्यसका लागि महिलालाई प्राथमिकता दिने नीति र महिलाद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्नुस् ।”

नेपालको राजनीतिक परिवर्तनमा नेपाली महिलाले खेलेको भूमिका र योगदानको अभिलेखीकरण गरी गणतन्त्रको स्थापनासँगै महिलाको राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा देखिएको परिवर्तनको यथार्थपरक लेखाजोखा गर्न जरुरी रहेको उहाँको कथन छ । त्यसका लागि आवश्यक अध्ययन तथा अनुसन्धान गरी संविधानप्रदत्त राजनीतिक अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक नीतिगत, संरचनागत र कार्यक्रम तहका सूची तय गरी आगामी नीति कार्यक्रम तथा बजेटमा समेट्नका प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

गरिब तथा विपन्न दलित आदिवासी जनजाति, एकल तथा अपाङ्गता भएका महिला, वादी, कमलरी, कमैया, चेपाङ, मधेसी दलितलगायत सीमान्तकृत महिला तथा किशोरीलाई राज्यले प्रदान गर्ने सेवा तथा अवसरमा समान रूपमा प्रतिनिधित्व सुनिश्चित गर्न आयआर्जन, क्षमता विकास तथा सशक्तिकरणका लागि आर्थिक र सामाजिक विकासको रणनीतिक कार्ययोजना तयार गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

प्रदेश र स्थानीय तहलगायत निजी क्षेत्र र सङ्घसंस्थासँगको समन्वयमा सबै प्रकारका लैङ्गिक हिंसा, दुव्र्यवहार, मानव बेचबिखन रोक्न समुदायमा आधारित अभियान कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । स्थानीय न्यायिक समितिमा महिला कानुनी परामर्शकर्ताको प्रबन्धका साथै कार्यसम्पादन क्षमता अभिवृद्वि गर्न क्षमता विकासका कार्यक्रमसहित रणनीति तयार गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

घरायसी कामलाई श्रम गणनामा समावेश गरी सम्मान गर्ने कामको कार्यान्वयनका लागि आवश्यक प्रबन्ध मिलाउन प्रधानमन्त्रीले आवश्यक निर्देशन दिनुभयो । “महिलाको आर्थिक एवं वित्तीय सहभागिता वृद्धि गरी आर्थिक वृद्धिलाई तीव्र र दिगो बनाउने गरी राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न विशेष कार्ययोजना तयार गर्नुहोला । महिला उद्यमशिलता तथा महिलाले सञ्चालन गर्ने उद्योगलाई संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्न आवश्यक नीतिगत तथा कानुनी क्षेत्र पहिचान गरी कार्ययोजना तयार गर्नुहोला”, प्रधानमन्त्रीले भन्नुभयो ।

दुर्गम क्षेत्र तथा गरिब घर परिवारका गर्भवतीले समयमै उपचार नपाइ मर्नुपर्ने परिस्थितिलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिँदै प्रधानमन्त्रीले त्यसका लागि समुदायमा आधारित हेरचाह तथा परामर्श सेवा सुरु गर्नेतर्फ अध्ययन गरी पेश गर्न एवम् उपचारका लागि हेलिकोप्टरबाट उद्दार गर्ने कार्यक्रमलाई बिशेष योजनासहित थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले यौन तथा प्रजनन स्वास्थ्यसम्वन्धी सरकारी तथा गैरसरकारी तहबाट छरिएर सञ्चालनमा आएका कार्यक्रमलाई एकीकृत राष्ट्रिय कार्यक्रमका रुपमा कार्यान्वयन हुने प्रवन्ध मिलाउनु पर्ने उल्लेख गर्नुभयो ।

तनहुँको ढकालटारको बाल सुधार गृह पूर्वाधार निर्माणलाई प्राथमिकता दिन, बालसुधार गृहको मापदण्डबमोजिम हुने गरी बाँकेको नौबस्तालगायत अन्य नौ स्थानका बालसुधार गृहलाई स्तरोन्नति तथा व्यवस्थापकीय सुधारसम्वन्धी विशेष योजना तयार गर्न एवम् बालबालिकासम्बन्धी कानुनलाई समयानुकूल संशोधन गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

“प्रत्येक विद्यालयमा बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि उमेर समूह र कक्षाअनुसारको खेलकुद, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापहरूको वार्षिक क्यालेन्डर निर्माण गरी सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनुहोला”, उहाँले भन्नुभयो, “पछिल्लोसमय विद्युतीय माध्यमको प्रयोग गरी बालबालिकामाथि हुने शोषण तथा हिंसा बढिरहेको र बालबालिकाको आनीबानी, व्यवहार र व्यक्तित्वमा समेतमा प्रतिकूल प्रभाव परेको देखिएकाले यसको नियन्त्रणका लागि आवश्यक पहल लिनुहोला ।”

प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकका हित, हक र अधिकारको प्रवद्र्धन र संरक्षण गर्न नसक्दा सिर्जना हुने शारीरिक र मानसिक समस्या तथा तिनले परिवार, समाज र समग्र अर्थतन्त्रमा पार्ने प्रभावको समीक्षा गरिनुपर्ने र त्यसका लागि पहिलो कार्य ज्येष्ठ नागरिकको राष्ट्रिय तथ्याङ्क तयार गर्न आवश्यक रहको उल्लेख गर्नुभयो ।

“सत्तरी वर्षदेखि माथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई उचित सम्मानसहित स्याहार, पालनपोषण गर्ने परिवारलाई स्थानीय तहमार्फत आदर्श परिवार घोषणा गरी सम्मान र सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि आवश्यक कानुनी र संरचनागत पूर्वाधार तयार गर्नुहोला” प्रधानमन्त्रीले भन्नुभयो ।

अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा उपयुक्त सहायक उपकरण प्रदान गर्नका लागि काठमाडौँ र सात वटै प्रदेशमा सहकार्यको ढाँचामा उत्पादन र वितरण केन्द्र सञ्चालन गर्न आवश्यक प्रवन्ध मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सडक, भवन जस्ता सबै सार्वजनिक भौतिक पूर्वाधार अनिवार्य अपाङ्गमैत्री हुने व्यवस्था मिलाउन र अपाङ्गगता हेरचाह गृहको राष्ट्रिय मापदण्ड निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नैपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

समाज कल्याण परिषद्लाई सङ्घीय शासन प्रणालीअनुरूप राष्ट्रिय प्राथमिकताका क्षेत्र तोकेर सो क्षेत्रमा मात्र वैदेशिक सहायता परिचालन गर्ने व्यवस्था मिलाउनुपर्ने र मौजुदा समाज कल्याण ऐन, २०४९ लाई खारेज गरी समयानुकूल नयाँ ऐन तर्जुमाको प्रक्रिया शुरु गरिहाल्न मन्त्रालयलाई निर्देशन दिनुभयो ।

सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै

काठमाडौँ, १७ पुस : राष्ट्रिय तथ्याङ्क कार्यालयले आज नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको बसोबासको तथ्याङ्क विश्लेषण गरेको छ । यस विधिअनुसार जनसङ्ख्या, जनघनत्व, बसोबास क्षेत्र र सहरी क्षेत्रको श्रेणीगत विशेषताको निरन्तरता जस्ता चार आधारमा वडाहरुलाई ग्रामीण तथा सहरी क्षेत्र श्रेणीगत वर्गीकरण गरिएको कार्यालयले जनाएको छ ।

ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको नतिजाअनुसार राष्ट्रिय जनगणना विसं २०६८ र विसं २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट बढेर २७ दशमलव ०७ पुगेको छ । सहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको छ । पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रको जनसङ्ख्या भने ३८ दशमलव ५ प्रतिशतबाट ३३ दशमलव १९ प्रतिशतमा झरेको सो अध्ययनबाट देखिएको छ ।

“ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ । जबकी, प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइसराइ कम गर्न दबाब परेको देखिएको छ”, अध्ययन प्रतिवेदनमा भनिएको छ ।

भौगोलिक क्षेत्रका आधारमा ग्रामीण जनसङ्ख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत छ । सहरोन्मुख जनसङ्ख्या तराई क्षेत्रमा ८५ प्रतिशत छ । स्थानीय तहअनुसार ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण गर्दा दुई हजार चार सय १२ वडामा ५८ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्र रहेको देखिन्छ । जबकी, सहरोन्मुख छ सय ६४ वडा क्षेत्रमा ३६ दशमलव एक प्रतिशत र सहरी एक सय ३९ वडामा पाँच दशमलव नौ प्रतिशत जनसङ्ख्या छ ।

नगरपालिकाको २८ दशमलव ४ प्रतिशत अर्थात् पाँच सय ९१ वडाको जनसङ्ख्या सहरी क्षेत्रमा छ भने एक सय २८ वडाहरू अर्थात् करिब ४६ प्रतिशत सहरोन्मुख क्षेत्रमा छ । अझै पनि नगरपालिकाका २५ दशमलव ४ प्रतिशत अर्थात् एक हजार चार सय ४४ वडाहरू ग्रामीण क्षेत्रमा रहेको देखिन्छ ।

उपमहानगरपालिकामा ३९ प्रतिशत जनसङ्ख्या सहरोन्मुख र ५३ प्रतिशत सहरी क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ । महानगरपालिकाहरूमा १७ प्रतिशत सहरोन्मुख र दुई दशमलव तीन प्रतिशत ग्रामीण विशेषताको छ । बाँकी ८० दशमलव ७ प्रतिशत सहरी क्षेत्र छ ।

यो तथ्याङ्कले नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख छन् र उल्लेख्य जनसङ्ख्या ग्रामीण परिदृश्यमा नै छ भन्ने देखाउँछ । प्रदेशगत हिसाबले विश्लेषण गर्दा सङ्घीय संरचनामा सहरी र सहरोन्मुख जनसङ्ख्या ६६ दशमलव ८ प्रतिशत छ । यस्तो जनसङ्ख्या मधेस प्रदेशमा सबैभन्दा उच्च १९ दशमलव ९ प्रतिशत र बागमती प्रदेशमा १४ दशमलव ६ प्रतिशत छ । सहरी र सहरोन्मुख जनसङ्ख्या हेर्दा सबैभन्दा कम १ दशमलव २ प्रतिशत कर्णाली प्रदेशमा छ ।

तथ्याङ्कले सहरी जनसङ्ख्याको वितरणमा सबैभन्दा बढी असन्तुलन तराई क्षेत्रका स्थानीय तहमा रहेको देखाएको छ । मधेस प्रदेशमा बहुसङ्ख्यक अर्थात् नौ सय ७१ वडा सहरोन्मुख छन् । बढी सहरी क्षेत्र भएको दोस्रो ठुलो प्रदेश बागमती हो । जबकि, यहाँ पनि ग्रामीण वडाको सङ्ख्या छ सय ७२ छ भने कूल सहरोन्मुख र सहरी वडा चार सय ४९ वटा छन् । कर्णाली प्रदेशमा छ सय ३७ वटा वडा ग्रामीण विशेषताका छन् भने ७५ वडा सहरी र छ वटा वडा सहरोन्मुख विशेषतायुक्त छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या ३३ दशमलव ८३ प्रतिशत रहेको छ ।

स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक – शिक्षामन्त्री राई

काठमाडौँ, १७ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उपलब्ध हुने स्रोतको सुनिश्चिताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने धारणा राख्नुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उहाँले मुलुकमा आर्थिक अवस्था कमजोर रहेका बेला न्यूनतम खर्चमा आवश्यक संरचना मात्र निर्माण गर्ने कार्ययोजना अहिलेको आवश्यकता भएको बताउनुभयो । जाजरकोट भूकम्प प्रभावित क्षेत्रका विद्यालय सञ्चालनमा देखिएका चुनौती तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा उठेका प्रश्न र वास्तविकता जानकारी लिन समितिले आजको बैठकमा मन्त्री राई र सचिवलाई आमन्त्रण गरेको थियो ।

मन्त्री राईले भन्नुभयो, “शिक्षा क्षेत्रसँग सम्बन्धित सही तथ्य तथ्याङ्क प्राप्त गर्न समन्वय र सम्पर्क गर्ने सूचना प्रणालीको विकास गर्दैछ । शिक्षा क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्, स्रोतसाधन काम छ, लगानी न्यून छ ।” कूल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता भए पनि चालु आर्थिक वर्षमा ११ दशमलव २७ प्रतिशत विनियोजन भएको छ । राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने मन्त्री राईको भनाइ थियो ।

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले विसं २०७२ को भूकम्पपछि कुन ठाउँमा कस्तो संरचना बनाउनुपर्छ भन्ने आधारमा जाजरकोट रुकुम र बाजुरामा ढाँचामा अघि बढाउने भन्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसैका आधारमा भूकम्प प्रभावित जिल्लाका विद्यालय निर्माण र पुनःनिर्माणका लागि अहिलेको मूल्यवृद्धिलाई हेर्दा रु छ अर्ब ८४ करोड लाग्ने अनुमान छ ।”

भूकम्प प्रभावित जिल्लाका भवन भत्कँदा करिब रु दुई अर्ब नौ करोड बराबरको भौतिक क्षति भएको बैठकमा जानकारी दिइयो । जाजरकोट भूकम्पबाट त्यस जिल्लाका पूर्णरुपमा तीन सय नौ विद्यालय भवन पूर्णक्षति भएको छ भने सात सय ५१ मा आंशिक क्षति भएको छ ।

आंशिक क्षति भएका भनिएका विद्यालयको पनि पूर्णरुपमा प्रबलीकरण गर्नुपर्ने अवस्थाले पूर्ण क्षति बराबरकै लागत लाग्न सक्ने मन्त्रालयले अनुमान गरेको छ । त्यस्तै रुकुम पश्चिममा एक सय पाँच विद्यालय पूर्ण क्षति भएको छ भने चार सय ७४ क्षति आंशिक भएको छ ।

बझाङ भूकम्पबाट त्यहाँ छ विद्यालय भवनमा पूर्ण क्षति भएको थियो भने ३७ वटा मा आंशिक क्षति पुगेको सो अवसरमा जानकारी दिइयो । त्यसैगरी बाजुरामा ५६ वटा विद्यालयमा आंशिक क्षति भएको थियो । भूकम्पछि केही समय विद्यालय सञ्चालन हुन नसकेको तथा हाल अस्थायी विद्यालय खडा गरी पढाइ सञ्चालनमा ल्याइएको सचिव अधिकारीले बताउनुभयो ।

जाजरकोटमा दुई ९३ वटा संरचना बनाइएको पनि जानकारी दिइयो । सरकारले भूकम्प प्रभावित जिल्लाका २० हजार बालबालिकालाई पुग्ने पाठ्यपुस्तक छपाइ गरी पुनः उपलब्ध गराएको छ । नेपालको शिक्षा क्षेत्रको विकासमा राम्रै योगदान गरिरहेका विभिन्न आठ दातृ निकाय विद्यालयकेन्द्रित कार्यक्रम सहभागी विद्यालय पुनःनिर्माण गर्न सहयोग वचन प्राप्त भइरहेको बताइएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंकले अनुदानका लागि दिएको रु ७५ करोड बाँकी बजेट विद्यालयको पुनःनिर्माणका लागि खर्च गरौँ भन्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइ सकिएको पनि जानकारी दिइयो ।

दातृ निकायबाट ऋणवापत प्राप्त अर्काे रु डेढ अर्ब पनि यसमा खर्च गर्ने कि नगर्ने भन्नमो निक्र्र्याैल हुन बाँकी छ । विद्यालय पुनःनिर्माण गर्न सकिने करिब रु साढे तीन अर्ब रकमको सुनिश्चिता आफैँसँग रहेको पनि सचिव अधिकारीले बताउनुभयो ।

बैठकमा सदस्यले शिक्षा मन्त्रालयसँग शीर्षक नखुलाइएका रकम र भूकम्पबाट प्रभावित विद्यार्थीको सङ्ख्याको विवरण माग गर्नुभयो । उहाँहरुले कैलालीमा प्रारम्भमा गेटा मेडिकल, त्यसपछि प्रतिष्ठान, र अस्पताल हुँदै अहिले विश्वविद्यालय स्थापनाको विषय उठेकाले सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गर्नुभएको थियो ।

सरकारको कैलालीमा विश्वविद्यालयका भौतिक संरचनातर्फ कलेज पूर्वाधार निर्माण विकास समितिबाट साना र ठूला गरी ५३ संरचना निर्माण गरिसकेको छ । त्यसका लागि करिब रु छ अर्बभन्दा बढी लगानी भइरहेको छ ।

नारायणी र राप्तीमा नदीमा भेटिए दुई सय ६५ गोही र तीन डल्फिन

चितवन, १७ पुस : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा दुई सय ६५ घडियाल गोही र तीन वटा डल्फिन भेटिएका छन् ।

नारायणीमा तीन भालेसहित एक सय १३ र राप्तीमा तीन भालेसहित एक सय ५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पुस १ गतेदेखि १५ गतेसम्म दुई नदीमा घडियाल अनुगमन गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका १० जना कर्मचारी अनुगमनमा खटिएको उहाँले जानकारी दिनुभयो ।

घडियाल अनुगमनमा काठ र रबरको डुङ्गा, जिपिएस, क्यामरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएका थिए । अनुगमनका क्रममा तीन वटा डल्फिनसमेत ‘रेकर्ड’ गरिएको तिवारीले जानकारी दिनुभयो । यहाँका दुई नदीमा भाले गोहीको अभाव भएपछि विसं २०७४ को पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो ।

हरेक वर्ष यसै समय नदीमा गोहीको अनुगमन गर्ने गरिन्छ । निकुञ्जका घडियाल गोही प्रजनन् केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतकको नेतृत्वको टोलीले अनुगमन गर्ने गर्दछ । अनुगमनका क्रममा देखिएका कमी कमजोरीलाई सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ । तिवारीका अनुसार आउँदो चैत–वैशाखमा नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर कसरास्थित प्रजनन् केन्द्रमा बच्चा कोरल्ने गरिन्छ । त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ ।

सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोही संरक्षणका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो । हरेक वर्ष नदीमा गोही छाडिने भए पनि भारत पुगेका गोही बाँधका कारण फर्किन नसक्ने भएकाले उल्लेख्य रुपमा वृद्धि हुन नसकेको उहाँको भनाइ छ । माछा मार्ने जालमा परेर, अनाधिकृत रुपमा ढुङ्गा गिट्टीको उत्खनन् लगायत मानवीय अतिक्रमणका कारण घडियाल गोही संरक्षणमा समस्या पर्ने गरेको छ ।

एक सातापछि बिदा भए नवदुर्गा नृत्यका देवगण

भक्तपुर, १७ पुस : भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका ‘देवगण’ एक सातासम्म मध्यपुरथिमिका टोलटोलमा नृत्य प्रस्तुतसँगै स्थानीयको पूजा ग्रहण गरी बिदा भएको छ ।

मध्यपुरथिमिमा यही पुस ११ गतेदेखि सुरु भएको नवदुर्गा नाच अन्तिम दिन सोमबार दिउँसो र राति मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरतीसँगै प्रदर्शन गरिएको थियो । त्यसपछि स्थानीयको पूजा ग्रहण गरी नवदुर्गा नाच भक्तपुर फर्किएको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच चपाचोमा प्यमा द्यो नाच, भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, नगदेश र बोडेमा, दथुटोलमा, दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरुटोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रदर्शन गरिएको थियो । अन्तिम दिन सोमबार दिउँसो र राति बालकुमारी क्षेत्रमा प्रदर्शन गरेपछि स्थानीयले भव्य पूजासहित देवगणलाई बिदा गरेका थिए ।

नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाका अनुसार नवदुर्गा नाचमा देवगणले गणेश, कुमार, सिंह कुमारी र दुम बाराहीको मुखुण्डोलगायत तान्त्रिक विधिअनुरुप नाच्ने गर्दछन् । नवदुर्गा नाचमा साक्षात् नवदुर्गा देवी प्रकट हुने जनविश्वास छ ।

नवदुर्गा देवगणलाई नृत्य प्रदर्शनका लागि नगरपालिकाले बजेटको व्यवस्था गर्दै आएको छ । एक साता मध्यपुरथिमिको बालकुमारीस्थित नवदुर्गा द्यो छेँमा बसेर देवगणले नगरका विभिन्न स्थानमा नृत्य प्रस्तुत गरेको थियो ।

विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ,१७ पुस : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै छलफल कार्यक्रम गरिने उहाँले बताउनुभयो । कोशी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख २७४ सहित तीन सय ६७ जनाले मतदान गर्ने छन् ।

इलामको एकै बगानबाट दश लाखको सुन्तला बिक्री

इलाम, १७ पुस : इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएको छ । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । “मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु”, चापागाईँले भन्नुभयो ।

सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको सम्झँदै उहाँले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा बिक्री भएको बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिदै गएकाले चापागाईँको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ । “गत वर्ष रु चार लाखमा बिकेको यस बगानमा यस वर्ष उत्पादन राम्रो छ ।” उहाँले भन्नुभयो, “धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।”

कृषि ज्ञान केन्द्र इलामले पनि चापागाईँको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्र प्रमुख टोनी बर्देवाले केन्द्रले किसानलाई सुन्तलाखेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताउनुभयो । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताउनुभयो । कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तलाखेती भएको छ ।

गत आव २०७९÷८० मा दुई सय ८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो । इलाम नगरपालिका–५ माइजोगमाईको नामसालिङ, रोङको वडा नं ६ लगायत क्षेत्रमा व्यावसायिकरुपमा सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो । “पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदैछन्”, उहाँले भन्नुभयो, “अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन् । किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ ।” केन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको बर्देवाले बताउनुभयो ।

सुन्तलाको आम्दानीलाई नियमित बनाउन जिल्लाका किसानको मेहनत घटेको छैन । किसान चापागाईँ बिहान उज्यालो नहुँदै सुन्तला स्याहार्न पुग्नुहुन्छ । साँझसम्म पनि सुन्तलाको स्याहारसुसारमै दिन बित्छ । सुन्तलामा लाग्ने कीरा नियन्त्रणका लागि उहाँले बेग्लै प्रविधि निर्माण गर्नुभएको छ । उहाँको बगान हेर्दा सफाचट देखिन्छ । बेला–बेला सिँचाइसमेत गर्नुपर्छ । “बोटदेखि भुइँसम्म लत्रिएका दाना, देख्दै टिपौँ–टिपौँ लाग्ने सुन्तला स्याहार्दै दिन बिताउन खुब मज्जा लाग्छ”, उहाँले भन्नुभयो ।

बगानमा केही पुराना बोट मरे पनि नयाँ थपेको बताउँदै उहाँले भन्नुभयो, “एउटा उत्कृष्ट बगान बनाउन मन छ, त्यसमै लागिपरेको छु ।”

यो समय सुन्तला उत्पादनको मुख्य सिजन पनि हो । कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो रु एक सय २० देखि एक सय ५० छ । तर धेरैजसो बगान बोट सुकेर रित्तिइसकेका छन् । वर्षैपिच्छे बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित भएका छन् ।

यो वर्ष गत वर्षभन्दा निकै कम फल लागेको सूर्योदय नगरपालिका–३ का गणेश अर्यालले बताउनुभयो । पाँच–छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेँलो हुने, भित्रभित्रै कीरा पर्ने र बोटै पहेँलो भएर सुक्ने भएपछि त्यसको उपचार गर्नै नसकिएको अर्यालको गुनासो छ । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका १० स्थानीय तहमा नै सुन्तलाको आंशिक खेती हुँदै आएको छ ।

जापानको भूकम्प प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा एक जनाको मृत्यु

जापानको भूकम्प प्रभावित इशिकावा प्रान्तको शिका शहरमा भवन भत्किँदा एक जना वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम निप्पोन टेलिभिजन नेटवर्कले सोमबार जनाएको छ। यसअघि, इशिकावाको नानाओ शहरमा भूकम्पको त्रासले दुई जनालाई हृदयाघात भएको राष्ट्रिय समाचार एजेन्सी क्योडोले राष्ट्रिय प्रहरी एजेन्सीलाई उद्धृत गर्दै जनाएको छ।

सोमबार दिउँसो मध्य जापानको सी अफ जापान कोस्टको फराकिलो क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्पको ठूलो धक्का साँझ ४ बजेर १० मिनेटमा गएको थियो ।

कृषि उत्पादन बढाउन किसानलाई मन्त्री भुसालको आग्रह

मुग्लिन (चितवन ) – कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादन बढाउन किसानलाई आग्रह गर्नुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ माझ गाउँमा सुरु भएको प्रथम सुन्तला महोत्सवको सोमबार शुभारम्भ गर्दै उहाँले उत्पादित बस्तुको बजारीकरणका लागि सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

मन्त्री भुसालले सङ्घीय सरकारले स्थानीय तहमा कृषि बजार प्रवद्र्धनको नीति लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले स्थानीय स्तरमै कृषि बजार प्रवद्र्धनको नीति लिएको छ । स्थानीय तहले चाहेको अवस्थामा सङ्घीय सरकारले सहयोग गर्छ, स्थानीय उत्पादनको बजारीकरण गर्ने व्यवस्थापनको पक्षमा छौँ, यदि स्थानीय बजारले मात्र पुग्दैन राष्ट्रिय स्तरमा पु¥याउनुपर्छ त्यस्ता धेरै उत्पादनहरु छन्भने त्यसका निम्ति सरकारले सहजीकरण गर्छ, राष्ट्रिय बजारमा पनि बिक्री हुन सकेन भने त्यसका निम्ति वैदेशिक बजार खोज्ने नीति पनि सरकारले लिएको छ ।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई सुन्तलाखेतीमा हौसला प्रदान गर्न तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले सुन्तला महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका सुन्तला निकै स्वादिष्ट छ, देशका विभिन्न बजारमा पुग्छ तर इच्छाकामनाको सुन्तला भनेर उपभोक्तालाई थाहा हुँदैन, यस महोत्सवले इच्छाकामनाको सुन्तला भनेर चिनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”

महोत्सवका अवसरमा पहिलो दिन किसान, जनप्रतिनिधि र कृषि विशेषज्ञबीच अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको थियो । सुन्तला महोत्सव यही पुस १८ गतेसम्म चल्नेछ ।

‘रुपान्तरण अभियानले पार्टीमा नयाँ जागरण’ – देवेन्द्र पौडेल

कास्की – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीपङ्क्तिमा नयाँ जागरण पैदा गरेको बताउनुभएको छ ।

पार्टीको पोखरा महानगर कमिटीले अभियानको समापनका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले चाडपर्व, भूकम्पलगायत कारणले अभियानलाई केही प्रतिकूल प्रभाव पारे पनि अभियानले पार्टीलाई जनतासँग जोड्ने काममा सफलता प्राप्त गरेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका नेता पौडेलले भन्नुभयो, “यस अभियानले पार्टीका नेता कार्यकर्ताहरुमा नयाँ उत्साह कायम गरेको छ र पार्टीमा नयाँ जागरण पैदा भयो । पार्टी सङ्गठनलाई स्वचालित बनाउन अभियान कोशेढुङ्गा साबित भएको निष्कर्ष निकालेका छौँ ।”

नेता पौडेलले कार्यसम्पादनका आधारमा नेता तथा कार्यकर्ताको मूल्याङ्कन हुने र जिम्मेवारी प्रदान गर्ने प्रणालीको विकास गरिने बताउनुभयो । “फिल्डमा नजाने तर अध्यक्ष कहाँ गएर अनुहार देखाएर वा अरू कुनै प्रकारले प्रभाव पारेर जिम्मेवारी प्राप्त गर्ने कुरा अब पार्टीमा अन्त्य भएको छ,” सचिव पौडेलले भन्नुभयो, “नेताहरुको मूल्याङ्कन अब फिल्डमा कति काम ग¥यो, कति समय दियो भन्ने आधारमा हुनेछ ।”

नेता पौडेलले चार महिनाको अभियानका क्रममा जनताबाट प्राप्त सुझावका आधारमा अब पार्टीलाई सञ्चालन गरिने स्पष्ट पार्नुभयो । पार्टीको छिट्टै हुने विधान अधिवेशनले पार्टी कमिटी र सङ्गठनलाई स्वचालित प्रणालीमा सञ्चालन गर्ने विधि बनाउने उहाँको भनाइ थियो ।

नेता पौडेलले अझै पनि श्रमिक, उत्पीडित वर्ग, समुदायको विश्वास माओवादीप्रति नै रहेको जिकिर गर्दै सुकुम्बासी समस्या, मजदुरका समस्यालाई पार्टीको नेतृत्वमा रहेको सरकारले पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका इन्चार्ज पारशमणि पौडेलले अवसर खोज्ने तर चुनौतीको सामना गर्न नसक्ने प्रवृत्ति नेता कार्यकर्तामा रहेकाले सोको अन्त्य आवश्यक रहेको बताउनुभयो । उहाँले अभियानका क्रममा पोखराका ३३ वटै वडामा पार्टीका बैठक, भेला, प्रशिक्षण सरसफाइ तथा वृक्षरोपणलगायत कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । पार्टीका अनुशासन आयोगका सदस्य कोमलनाथ बरालले पार्टीलाई क्रियाशील बनाउन अझै मेहनत गर्नुपर्ने र लाग्नुपर्ने बताउनुभयो ।

‘राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिन्छ’ -शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिक व्यक्तिमा नैतिकता र संस्कार चाहिने बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेशस्तरीय भेला २०८० मा डा कोइरालाले कांग्रेस सुदृढ बनाउन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटा शब्द दिएर बिपी कोइराला जानुभएको बताउनुभयो ।

डा कोइरालाले भन्नुभयो, “कांग्रेस विगतमा किन बलियो थियो र क्रमशः किन कमजोर हुँदैछ ? तपाईंहरूले पार्टीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिनुपर्छ । पार्टीभित्र विगतमा भएका असल अभ्यास र अहिलेका नराम्रा कुराका सकारात्मक आलोचना गनुपर्छ ।”

कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले पुराना नेताहरुको अभिलेख पार्टीले राख्नुपर्ने बताउनुभयो । उहाँले मुलुकका लागि महत्त्वपूर्ण योगदान पु¥याएका नेताहरूको अभिलेख राख्ने र विगतमा गरेका कामका आधारमा न्याय दिनुनपर्ने तर्क गर्नुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सेनानीहरुको परिचयपत्र नेपाल सरकारले दिनुपर्ने बताउनुभयो । सेनानीले विगतको राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउँदै उहाँले त्यस्ता व्यक्तिहरुको सम्मान पार्टीले गर्नुपर्ने धारणा राख्नुभयो ।

चितवनका तीन पालिकाको माटोमा अम्लियपना वढी देखियो

चितवन – पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो ।

गत मङ्सिर २७ गतेदेखि तीन दिन लगाएर यस क्षेत्रका एक हजार ५० ठाउँको माटोको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । परियोजनाका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार माटोको नमूना परीक्षणका क्रममा माटोमा नाइट्रोजन, फसफोरस र पोटासको कमी भएको पाइएको छ भने अधिकांशमा अम्लियपना भएको पाइएको छ । उहाँले भन्नुभयो, “खाद्य तत्व कमी भएको माटोमा रासायनिक मलको मात्रा घटाउन सिफारिस गरिएको छ ।

अम्लियपनाको आधारमा चुन र प्राङ्गारिक पदार्थको कमी भएको आधारमा प्राङ्गारिक मलको मात्रा बढाउन सिफारिस गरिएको छ ।” उहाँका अनुसार जोनअन्तर्गत आठ हजार पाँच सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यहाँ उत्पादन र उत्पादकत्वमा वृद्धि नभए पछि माटो परीक्षण गरिएको हो ।

गत वर्ष सो क्षेत्रफलमा ३९ हजार आठ सय ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । यो प्रतिहेक्टर ५ दशमलब २ मेट्रिकटन उत्पादकत्व हो । यस वर्ष पनि सोही अनुपातमा धान उत्पादन भएपछि माटो परीक्षण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धान उत्पादनमा १० प्रतिशतले वृद्धि हुनुपर्ने हो, तर हुन सकेन । कारणको खोजीका लागि माटो परीक्षण गरेर सोहीअनुसार सिफारिस गरेका छौँ ।”

जोनमा लगाइएको धानमा नेक व्लाष्ट (घाँटी मरुवा), सित व्लाइट, कालोपोके, गवारो जस्ता समस्या देखापरेको थियो । जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ । अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धान जोन क्षेत्रमा सुरुवाती वर्ष उत्पादकत्व ३ दशमलब ६ मेट्रिकटनप्रति हेक्टर रहेको थियो ।” धान जोनका रुपमा पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका बिशेष रहेका छन् । ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो ।

डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ : अर्थमन्त्री डा महत

मोरङ-अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने जानकारी दिनुभएको छ

मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पो–२०२३ समापन समारोहलाई  सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्र मैत्री रहेकाले सम्झौता भएको छ कि छैैन सबै यथार्थका आधारमा प्राधिकरण र उद्योगीबीच रहेको समस्याको समाधान निकालिने बताउनुभयो ।

अर्थमन्त्री डा महतले सरकारले विदेशी सहयोगलाई पुनः संरचना गर्ने नीति लिएको जनाउँदै अत्यावश्यक एवं प्रतिफल दिने क्षेत्रमा मात्र विदेशी सहयोग र ऋण लिने जानकारी दिनुभयो । उहाँले आगामी वैशाखमा सरकारले अन्तरराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन मुख्य चार क्षेत्र जलविद्युत्, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने नीति लिएको बताउनुभयो ।

अर्थमन्त्री डा महतले निजीकरण समितिको चाँडै बस्ने बैठकले मुलुकमा बन्द भएका उद्योगहरुलाई निजी क्षेत्रलाई संलग्न गराएर जमिन चै राज्यको रहनेगरी सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मुलुकको आर्थिक चलायमन गराउन बैङ्कले उद्योग प्रवद्र्धनमा सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

सङ्घका अध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष प्रकाश मुन्दडा र नेपाल उद्योग परिसङ्घ प्रदेश अध्यक्ष पवन शारदाले उद्यमीहरुका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । एक्स्पो यही पुस ६ गतेदेखि विराटनगर–२ मुनालपथमा सञ्चालन भएको थियो ।

हेर्नुहोस् पुष १७ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँ टाढा भएको महसुस रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछैन ।

बृष राशि – गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहनेछ । यात्रामा बिषेश साबधानि अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ ।

मिथुन राशि – स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सामान्य तनाबमा फसिएला ।

कर्कट राशि- बल तथा पराक्रममा बृद्धिहुनेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि निकै उत्पादन मुलक साबित रहनेछ । अधुराकार्यहरु सन्चालन गर्न समय उत्तम रहेकोछ । पठनपाठनमा लगाईएको समय राम्रो रहनेछ ।

सिंह राशि – अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँ सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ ।

कन्या राशि- पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । सामान्य कार्यमा अधिक समय ब्यतित हुनसक्नेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।

तुला राशि – अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्र ामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ ।

बृश्चिक राशि- मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

धनु राशि- मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ ।

मकर राशि – नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ ।

कुम्भ राशि – सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेसमय रहेकोछ । अरुप्रति गरीएको बिश्वासमा धोकाहुन सक्नेछ ।

मीन राशि – पारीवारिक साथसहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेकोछ । साजेदारीकार्यका मार्फत उत्तम आम्दानी प्राप्तगर्न सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।