`

बाहिर भन्ने र सदनभित्र सांसदले गर्ने कार्यबीच फरक देखियो : एमाले नेत्री सुब्बा

काठमाडौँ, १६ पुस : प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) की नेत्री सरस्वती सुब्बाले कानुन निर्माणको मुख्य थलो संसद्ले कानुनको संशोधन र नयाँ कानुन तीव्र गतिमा बनाउने अपेक्षा राखेकामा एक वर्षको अभ्यासमा एउटाबाहेक महत्वपूर्ण भए पनि अरु थुप्रै कानुन बनाउन नसकिएको प्रतिक्रिया दिनुभएको छ । उहाँले विधायकी जिम्मेवारीमा आउनुअघि आफूले “सांसद विकासको पनि संवाहक हो”, भन्ने बुझेकामा कानुन र विधि निर्माणमा मात्रै खुम्चन परेपछि जेजस्तो अपेक्षा र उत्साह थियो त्यो कायम नरहेको अनुभव सुनाउनुभयो ।

‘सांसदसँग रासस संवाद’मा नेत्री सुब्बाले भन्नुभयो, “कानुन निर्माणको गति, तर्जुमा गरिएको बजेट र योजना कार्यान्वयनको अवस्था हेर्दा मुलुकको राजनीति अझै तरल अवस्थामा देखिन्छ । राजनीतिले जनताका अपेक्षालाई सही ढङ्गबाट सम्बोधन गर्न नसकेको प्रष्टै अनुभूति हुन्छ ।”

गाउँघरमा मतदातासँगको भेटघाटमा बजेट र विकासका योजनासँग जोडिएका विषयवस्तुमै बढी केन्द्रित रही छलफल हुने गरेको उल्लेख गर्दै उहाँले कानुन निर्माणमा प्रभावकारी काम गर्न नसकिएको र विकास निर्माणमा पनि जनताका अपेक्षाबमोजिम काम गर्न नपाएको अवस्थाले प्रत्येक सांसद जनतासामु कठिन प्रश्नको घेरामा परेर आलोचना खेप्न परिरहेको बताउनुभयो ।

अर्को प्रसङ्गमा नेत्री सुब्बाले महिला सांसद भएकै कारण सदनमा बोल्न र जिम्मेवारी लिने सन्दर्भमा एमालेभित्र कुनै त्यस्तो फरकपनको महसुस नगरेको बताउँदै मुद्दाका आधारमा जिम्मेवारी र समय लिएर बोल्ने गरेको जानकारी दिनुभयो । एमालेको भूमिहीन सुकुम्बासी सङ्गठनको सर्लाही जिल्ला सचिव, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको जिल्ला अध्यक्षदेखि केन्द्रीय कोषाध्यक्ष, सचिव, महासचिव, अध्यक्षसम्म भएर काम गरेको उहाँसग अनुभव छ ।

पार्टीको जनसङ्गठन भूमि अधिकार तथा श्रमिक सङ्गठनको उपमहासचिव, भूमिसम्बन्धी उच्चस्तरीय समितिको सदस्य र जिल्ला भूमि आयोगको सदस्य भएरसमेत नेत्री सुब्बाले काम गर्नुभएको छ । उहाँ एमालेका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट सांसद निर्वाचित हुनुभएको हो ।

सांसद सुब्बाले भन्नुभयो, “बाहिर भन्ने र सदनभित्र सांसदले गर्ने कार्यबीच फरक देखिन्छ । संसद् र संसदीय समितिमा सांसद नियमित र समयमै उपस्थित हुनुपर्नेमा गणपूरक सङ्ख्या नपुगेर बैठक धेरै पटक स्थगित भएको छ । यो साँच्चिकै लाजमर्दो अवस्था हो ।”

नागरिकले गरेको अपेक्षाअनुरुप सांसदले पनि आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्न नसकेको स्वीकार गर्दै संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य समेत रहेकी सांसद सुब्बाले सरकारले ‘बिजनेस’ दिन नसक्दा गएको एक वर्षमा सदन प्रभावकारी हुन नसकेको विचार प्रकट गर्नुभयो । व्यक्ति विशेषले पनि आफ्नो जिम्मेवारीप्रति सजग हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले दल विशेषले जनप्रतिनिधिलाई दिने भूमिका र जिम्मेवारीको पक्षसमेत महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

निर्वाचनका बेला मत माग्न घरघर जाँदा आम मतदाताले खानेपानीका धारा, बाटो, बिजुलीका पोल, सिँचाइजस्ता स्थानीय विषयमा विशेष चासो राख्ने र उम्मेदवारले पनि त्यसैमा प्रतिबद्धता व्यक्त गर्ने गरेको सुनाउँदै उहाँले अहिले पनि नागरिकको अपेक्षा कानुनभन्दा ती विषय नै प्राथमिकतामा रहेका छन् भन्नुभयो ।

सांसद सुब्बाका अनुसार, मतदाताको मागबमोजिम कतिपय अवस्थामा आयोजनाका लागि जनप्रतिनिधिले बजेटका सन्दर्भमा मन्त्रालयका कोठा कोठा धाउन परेको अवस्था अझै विद्यमान छ । तर उहाँले निर्वाचनका बेला विकास निर्माणसम्बन्धी कुनै प्रतिबद्धता नगरी केबल सक्दो सहयोग गर्ने मात्र विश्वास दिलाएको घटना सुनाउनुभयो ।

पछिल्लो समय सरकारले ल्याएको बजेटमा कुनै संशोधन नहुने भएपछि मन्त्रालय पुगेर मन्त्री र सचिवलाई भेट्ने प्रवृत्ति अन्त्य गर्दै प्रतिपक्ष दलको विधायक भएका नाताले कानुन निर्माणमै जोडबल गरेको उहाँले स्पष्ट गर्नुभयो । भूमिहीन नागरिकका सरोकारका क्षेत्रमा विशेष अध्ययन र दख्खल राख्नुभएकी सांसद सुब्बाले सर्लाहीको सागरनाथ वन विकास परियोजनाको तीन हजार एक सय हेक्टर जमिनमा हजारौँ मानिस अव्यवस्थितरुपमा बसोबास गरी खेतीपाती गर्दै आएकाले कानुन बनाएर त्यसलाई व्यवस्थित गर्ने विषय नै जिल्लाको सर्वाधिक प्राथमिकताको विषय भएको बताउनुभयो ।

सर्लाहीका हरिवन र बागमतीसहित साविकका १२ गाविस चुरे क्षेत्रमा पर्ने भएकाले चुरे संरक्षण र त्यहाँका नागरिकको जीविकोपार्जनका लागि वन र भूमि ऐनमा संशोधन गरी समस्या समाधान गर्ने विषय पनि प्राथमिकतामा रहेको उहाँको भनाइ छ । नेत्री सुब्बाले केही विषयमा पार्टीले पनि प्रतिबद्धता जनाउँदै आएको र भविष्यमा पनि त्यहीँबाट राजनीति गर्नुपर्ने भएकाले विकास निर्माणसँग पनि आफ्नो सम्बन्ध केही हदसम्म जोडिने बताउनुभयो ।

भूमिसँग जोडिएको भूमिहीनदेखि चुरे संरक्षण, जीविकोपार्जन, अव्यवस्थित बसोबास, कमैया, हरुवाचरुवालगायत विषय रहेको बताउँदै उहाँले त्यो समस्या समाधानका लागि सरकारले आयोग बनाए पनि काम भने कछुवा गतिमा भएको टिप्पणी गर्नुभयो । सांसद सुब्बाले ऐनले अव्यवस्थितलाई ३० कट्ठा, भूमिहीन, दलित र सुकुम्बासीका लागि छ कट्ठा जमिन उपलब्ध गराउने भनी नियमावलीले प्रष्ट गरेको र त्यसअनुसार काम गर्नुपर्नेमा सरकारले पछिल्लो समय वन तथा भूमि ऐन संशोधनका नाममा कामलाई तीव्रता दिन नखोजेको प्रतिक्रिया दिनुभयो ।

ऐन, कानुन, नीति र नियम मात्र भएर नहुँदोरहेछ भन्दै विधायक सुब्बाले सरकारका मन्त्री र सम्बन्धित विषयका आयोगका पदाधिकारीले कार्यकारी भूमिका निर्वाह नगरे वर्षाैंसम्म समस्या समाधान गर्न चुनौती खडा हुने विचार प्रकट गर्नुभयो । प्रत्येक राजनीतिक दलले सरकार र प्रतिपक्षमा हुँदा गर्ने व्यवहारमा फरक हुने गरेको बताउँदै नेत्री सुब्बाले संसदीय व्यवस्थामा कुनै दल विशेष सरकार र प्रतिपक्षमा रहेर भूमिका खेल्ने कुरा स्वभाविक भए पनि एमालेले सरकारलाई धेरै दुःख नदिएको र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको प्रतिक्रिया दिनुभयो ।

सरकारले संसद्मा भएका दलहरुसँग सहकार्य, समन्वय र सहयात्रा गरेर जान नेतृत्वमा रहेकाले समन्वयकारी भूमिका खेल्न पर्नेमा जोड दिँदै उहाँले नेतृत्व फेरिँदैमा राष्ट्रका प्राथमिकताप्राप्त योजना र कार्यक्रम प्रभावित पार्ने कार्य ठीक नभएको धारणा राख्नुभयो । नेत्री सुब्बाका अनुसार, भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने सवालमा राजनीतिक दलले मत माग्न जाँदा मात्रै भ्रष्टाचार र सुशासनको कुरा गरेर हुन्न । साँच्चिकै भ्रष्टाचार न्यूनीकरण र सुशासनमा काम गर्ने हो भने प्रत्येक राजनीतिक दलले वडादेखि केन्द्रसम्म तहगतरुपमा सङ्गठनमा रहने हरेक नेता र कार्यकर्तालाई उत्पादन र कामसँग जोड्नुपर्छ ।

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

काठमाडौँ ।  राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ । 


सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको उनको भनाइ छ । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उनले बताए । 


सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन् । प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आएका छन् ।


यसैबीच, नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवतको मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

बालकुमारी घटनाको छानबिन गर्न आयोग गठन

काठमाडौँ, १६ पुस : सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको हो ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण विसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

आयोगलाई उक्त घटनामा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन तथा विश्लेषण गर्ने, उक्त घटनाको कारण र त्यस स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी कमीकमजोरी पहिचान गर्ने कार्यादेश दिइएको छ । आयोगले बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति तथा पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गर्ने, दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा यस प्रकारका घटना हुन नदिन आवश्यक सुझाव पेस गर्ने मन्त्री शर्माले बताउनुभयो ।

आयोगलाई एक महिनाको समयावधि तोकिएको छ । आयोगले सुझावसहितको यथार्थता प्रस्तुत गर्ने र उक्त सुझावलाई सरकारले कार्यान्वयन गर्ने मन्त्री शर्माले जानकारी दिनुभयो । बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछामको चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का सुजन राउतको ज्यान गएको थियो ।

अङ्ग्रेजी नयाँ वर्षमा भक्तपुरका पर्यटकीयस्थलमा चहलपहल

भक्तपुर, १६ पुस : अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन भक्तपुरका प्रमुख पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । नगरकोटदेखि रानीकोटसम्मका होटल बाह्य तथा आन्तरिक पर्यटकले भरिभराउ छन् । पर्यटक खचाखच भएपछि यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् ।

कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको आगमन बढेपछि लयमा फर्किएको छ । अङ्ग्रेजी नयाँ वर्र्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटक नगरकोट पुगका छन् । आइतबार राति बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो । लामो समय ओरालो लागेको पर्यटन व्यवसायमा दुई वर्षयता चहलपहल बढेको र यस वर्षको अङ्ग्रेजी नयाँ वर्र्षमा भने पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालक अशोक थापा बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “विदेशी पर्यटकको चाप पनि बढ्दै गएको छ, स्वदेशी पर्यटकको चाप ह्वात्तै बढेको छ ।” सामान्यदेखि तारे होटलमा नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप निकै बढेपछि व्यवसायी उत्साहित भएका छन् । 

स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका होटल मेरीगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोरोनापछि पहिलोपटक यतिधेरै पर्यटक आएका छन् ।” 

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका पूर्वसचिव धनबहादुर लामाले नयाँ वर्षमा आन्तरिक पर्यटक नै बढी मात्रामा घुम्न आएका बताउनुभयो । उहाँले भन्नुभयो, “एकसाता अगाडिदेखि होटल बुक भएका थिए, कोठा नै नपाउने अवस्था आयो, नेपालीमा पनि घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छौँ ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताउनुभयो । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा यस वर्ष रु एक करोड बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले नगरकोटदेखि चाँगुनारायण मन्दिरको प्रचारप्रसार गर्न भ्रमण वर्ष मनाउन लागिएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नं ८ सिपाडोलको संगमस्थल रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँ पर्यटकले रातभरि नाचगान गरी नयाँ वर्ष मनाएको होटल व्यवसायी रामसुन्दर बकेक्ले बताउनुभयो । नयाँ वर्र्षका लागि आफ्नो होटल सात दिन अघि नै बुक भएको उहाँको भनाइ छ ।

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै

काठमाडौँ, १६ पुस : पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो ।

जनताको उल्लेख्य सहभागिता रहेपछि माओवादी केन्द्रले अभियान एक महिना थप गरेको थियो । अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित नेता कार्यकर्ता गाउँगाउँमा खटिएका थिए । चार महिनासम्म सञ्चालित उक्त अभियानको आज सात सय ५३ पालिकामा बृहत् जनपरिचालनसहित समापन गरिने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो । अभियान समापनका क्रममा पार्टीको गतिविधिको समीक्षा, वर्तमान स्थिति तथा आगामी कार्ययोजनाका बारेमा स्थानीयस्तरमा छलफल हुने उहाँले बताउनुभयो ।

अभियानबाट पार्टी जनतासँग जोडिएको तथा जनताको असली सहयोगी माओवादी केन्द्र नै हो भन्ने बुझाइ बढेको माओवादी केन्द्रको निष्कर्ष छ । “अभियानले जनतालाई पार्टीसँग जोडेको छ, टोलटोलमा कमिटी बनेका छन्, निष्क्रिय कमिटी सक्रिय भएका छन्”, प्रवक्ता सापकोटाले भन्नुभयो ।

गत साउनमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीलाई रुपान्तरण गर्न विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार र पार्टीभित्रको समस्या तथा अन्तर्विरोधको पहिचान, नेता र कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिएको माओवादी केन्द्रले जनाएको छ ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइने लक्ष्य राखिएको थियो । अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिएको थियो ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तक्र्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तक्र्रिया तथा तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिएका पार्टीले जनाएको छ ।

पर्यटनका नयाँ गन्तव्य र सम्भावना खोज्न लागिपरेको छु : मन्त्री किराती

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा नयाँ पर्यटकीय गन्तव्य र सम्भावनाको खोजी गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड २५औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले नयाँ ठाउँ पहिचानसँगै नेपालको कला, संस्कृति र सभ्यतालाई पर्यटनसँग जोड्न आवश्यक छ भन्नुभयो । अहिले राम्रो काम गरे भविष्यमा त्यसले नतिजा दिने उल्लेख गर्नुहुँदै मन्त्री किरातीले आफू पदमा रहुन्जेल पर्यटन क्षेत्रको विकासका लागि जिम्मेवार भएर काम गर्ने बताउनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पर्यटनका नयाँ गन्तव्य र सम्भावना खोज्न लागिपरेको दाबी पनि उहाँको छ ।

“गाउँ–गाउँमा नयाँ पर्यटकीय गन्तव्य खोज्नु छ । हाम्रा जात्राको ब्रान्डिङ गर्ने, स्थानीय स्वाद र खानेकुरा, वेशभूषा, स्थानीय रहनसहनको विकास गरेर पर्यटन क्षेत्रसँग जोड्न सक्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “हामीले सम्पदा गाउँ, सांस्कृतिक गाउँको अवधारणा सुरु गरेका छौँ । नेपालीपन झल्कन गरी पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्छ ।”नेपाल प्राकृतिक स्रोत र संस्कृतिमा धनी भएका कारण यी दुई क्षेत्रको समायोजनसहितको पर्यटन विकास आवश्यक रहेको मन्त्री किरातीले बताउनुभयो । कोभिड महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र अहिले लयमा फर्किएको र धेरै ठूलो समस्या भोगेर पनि राष्ट्रिय लक्ष्य पूरा भएको उहाँको भनाइ छ ।सोही कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटनका बोर्डका अध्यक्ष डा दीपक काफ्लेले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रको विकासमात्र नभई अन्तरराष्ट्रिय क्षेत्रमा समेत चिनाउने अग्रणी संस्थाको भूमिका खेलेको बताउनुभयो । अहिले विश्वव्यापीरुपमा दिगो पर्यटनको अवधारणा आएको बताउनुहुँदै सचिव काफ्लेले वातावरणमैत्री पर्यटन पूर्वाधार र गतिविधि सञ्चालन गरेर दिगो विकास लक्ष्यलाई समेत सहयोग पुग्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो “सन् २०३२ सम्ममा प्रतिवर्ष ३५ लाख पर्यटक भित्र्याउने र त्यस क्षेत्रबाट १० लाख रोजगारी सिर्जना गर्नेगरी सरकारले नीति बनाएको छ । यो लक्ष्य प्राप्त गर्नका लागि पर्यटन क्षेत्रसँग जोखिएका सबै पक्ष र सरोकारवालालाई एकाकार भएर लाग्नुपर्नेछ ।”पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि थप लगानीको आवश्यकता रहेको बताउनुभयो । नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न पर्यटन प्रवद्र्धनसँगसँगै नयाँ सम्भावनाको खोजीमा लाग्नुपर्ने उहाँको भनाइ छ । “पर्यटकीय क्षेत्र विकास तथा विस्तार गर्ने र नयाँ गन्तव्यको खोजी गर्न यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ । यस क्षेत्रमा नेपालभित्रका सम्भावनालाई पहिचान गरेर हामी मुलुकलाई सबल गति दिन सक्छौँ”, उहाँले भन्नुभयो । सन् २०२३ को हालसम्म १० लाख १२ हजार पर्यटक नेपाल भित्रिएको सो अवसरमा जानकारी दिइएको थियो ।पर्यटन बोर्डका संस्थापक अध्यक्ष तथा पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले भिजिट नेपाल १९९८ मनाउँदै गर्दा बोर्डको स्थापना भएको उल्लेख गर्नुहुँदै असहज अवस्थामा पनि नतिजा देखिनेगरी काम गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । नेपालमा पर्यटन क्षेत्रको सुधारका लागि आँट र हिम्मत गरेर काम गर्न सक्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।सोही कार्यक्रममा होटल सङ्घ नेपालका पूर्वअध्यक्ष सिर्जना राणाले नेपालको पर्यटन उद्योगलाई विश्व बजारसँग जोड्न सक्नुपर्ने बताउनुभयो । पछिल्लो समय पर्यटकको रुचि र चाहना फरक हुँदै गएको उल्लेख गर्नुहुँदै राणाले सोही अनुसार नेपालको पूर्वाधार तयार पार्नुपर्ने र सेवासुविधा दिनसक्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रलाई चलायमान बनाएर रोजगारी तथा अर्थोपार्जन सँगसँगै मुलुकको आर्थिक वृद्धिमा सहयोग पु¥याउन सकिने उहाँको भनाइ छ ।

कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, १६ पुस-नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८औँ मेलमिलाप दिवस मनाउँदैछ । यस वर्ष कांग्रेसले सङ्घीय राजधानी काठमाडौँमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रम गरी मनाउन लागेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।

आज दिउँसो १ बजे काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रुपमा आयोजना हुने उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहने प्रमुख विश्वकर्माले बताउनुभयो । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ साल पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको, पाकिस्तानबाट बङ्गलादेश अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेपछि बिपीलगायत नेताहरु देशको सार्वभौमसत्ता रक्षाका लागि ज्यानको बाजी थापेर स्वदेश फर्किनुभएको थियो । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै स्वदेश फर्किनुभएका बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।

स्वदेश फर्किनुभएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गर्नुभएको थियो ।

शाही ‘कु’पछि कांग्रेस नेताहरुलाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा जानुभएका कांग्रेस नेताहरु राष्ट्रियतामाथि खतरा देखिएपछि प्रवास जीवन त्यागेर स्वदेश फर्किनुभएको थियो ।

त्यसपछि २०३४ साल जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो । एकपटक सुन्दरीजल बन्दीगृह फर्काइपछि प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो ।

नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक र अपरिहार्य छ । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका जननायक बिपीले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाउनुभएको छ । बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्र्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) तथा जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो ।

बन्दीगृहमा बस्नुअघि २००८ सालमा उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिनुहुन्छ । मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ । चौबीस रोपनी क्षेत्रफलको सुन्दरीजल बन्दीगृहलाई २०६१ साल भदौ २४ गते बिपी सङ्ग्र्रहालयमा परिणत गरिएको हो ।

चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव

मुग्लिन (चितवन), १६ पुस : चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो ।

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो । महोत्सव तीन दिनसम्म चल्ने छ । स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेका छौँ ।” गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।महोत्सवमा सुन्तला धेरै खाने प्रतियोगितासमेत आयोजन गरिनेछ । बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको कक्ष महोत्सवमा राखिने अध्यक्ष गुरुले बताउनुभयो । महोत्सवको अवसरमा सुन्तला कृषकलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्याधिसम्बन्धी तालिम दिने काम पनि महोत्सव गरिने छ । स्थानियले बनाएका परिकार पाहुनालाई खुवाउने तथा स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत गरने छ ।“इच्छाकामनामा उत्पादन भएका सुन्तला देशका विभिन्न बजारमा बिक्री गर्न सहज हुने विश्वासका साथ महोत्सव आयोजना गरेका हौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसबाट यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत मद्दत पुग्ने विश्वास छ ।”गाउँपालिका कृषि विकास शाखाका अनुसार यहाँका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै सुन्तला बिक्री गरी रु १० करोड आम्दानी लिने अनुमान गरिएको छ । अहिले किसानको बारीबाट सुन्तला प्रतिकिलो रु ७५ देखि रु ९० सम्ममा सुन्तला बिक्री हुने गरेको शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिनुभयो । यस वर्ष यहाँ ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ ।गत वर्ष कृषि ज्ञान केन्द्रले सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा वितरण गरेको थियो । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताउनुभयो । 

मन्त्रीका साथै सचिवालयमा हेरफेरको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।

आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचन र पार्टीको महासमिति बैठकपश्चात् सहमति गर्ने जनाइसकेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद् हेरफेरका विषयमा सहमत छन् । मन्त्रिपरिषद् हेरफेर हुँदा केही मन्त्रालयसमेत साटासाट हुने स्रोतको दाबी छ । गृह मन्त्रालय लिएको माओवादी केन्द्रले गृह छोडेर अर्थ मन्त्रालय लिँदै छ भने अर्थ मन्त्रालय लिएको कांग्रेसले गृह मन्त्रालय लिने बताइएको छ । यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा दुवैको स्वार्थ मिलेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग

काठमाडौँ । उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ ।

उच्च अदालत पाटनले शुव्रmबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुुला गरेको हो ।

सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागीले पुस १६ देखि १८ सम्म आवेदन दिन सक्ने छन् । शाखाका अनुसार सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ७०८ वटा आवेदन परेका थिए ।यो कामका लागि तीन हजार ९८९ जना उत्तीर्ण भएका छन् । अब आवेदन दिने ३० हजारभन्दा बढी थपिन्छन् । श्रम मन्त्रालयले भने अदालतको यो आदेश र सरकारको नर्णय कोरियाको नियमविपरीत भएको यसअघि नै प्रतिक्रिया दिइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नयाँ वर्षको उत्साहजनक सम्बोधनमा सीद्वारा ‘लचिलो’ अर्थतन्त्रको प्रशंसा

राष्ट्रपति सी जिनपिङले कोभिडपछि आर्थिक सुधार रोकिँदा वित्तीय आँकडा लगातार निराशाजनक रहे पनि चिनियाँ अर्थतन्त्र सन् २०२३ मा ‘थप लचिलो र गतिशील’ भएको आइतबार बताउनुभएको छ ।

राष्ट्रपति सीले विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रको नेतृत्वमा चुनौतीपूर्ण २०२३ को सामना गर्नुभएको छ । उहाँको प्रशासनले एक वर्षअघिको आफ्नो कठिन शून्य–कोभिड नीतिलाई तीव्ररूपमा समाप्त गरेपछि आर्थिक सुधारलाई कायम राख्न् सङ्घर्ष गरिरहेको छ ।

यद्यपि सीले राज्य प्रसारक सिसिटिभीमा भन्नुभयो, “अर्थतन्त्रले ‘तूफानको सामना गरेको’ छ ।” उहाँले ‘उच्च गुणस्तरको विकास’ र विद्युतीय वाहन, लिथियम बेट्री तथा सौर्य प्यानलजस्ता उदीयमान उद्योगलाई प्रवर्द्धनलाई स्वागत गर्दै भन्नुभयो, “अर्थतन्त्र पहिलाभन्दा थप लचिलो र गतिशील भएको छ ।” “आगामी वर्ष हामीले आर्थिक सुधारको सकारात्मक प्रवृत्तिलाई मजबुत बनाएर अगाडि बढाउनुपर्छ र दीर्घकालीन आर्थिक स्थिरता हासिल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

केही कठिनाइलाई स्वीकार गर्दै राष्ट्रपति सीले भन्नुभयो, “केही कम्पनीहरूले सञ्चालन दबाबको सामना गर्नुपरिरहेको छ र केही मानिसले रोजगारी र जीवनयापनमा कठिनाइको सामना गर्नुपरिरहेको छ, यी सबै कुराले मलाई अत्यन्त चिन्तित बनाउँछ ।”“हाम्रो लक्ष्य महत्त्वाकांक्षी हुनाका साथै अत्यन्त सरल पनि छ, अन्त्यमा यसले मानिसहरूलाई राम्रो जीवन यापनमा मद्दत गर्नु हो”, उहाँले भन्नुभयो ।

रेकर्ड युवा बेरोजगारी र महत्त्वपूर्ण सम्पत्ति क्षेत्रमा लगातार ऋण सङ्कटले यस वर्ष चीनको वृद्धिलाई प्रभावित गरेको छ । आइतबार जारी आधिकारिक आँकडाअनुसार डिसेम्बरमा राष्ट्रव्यापी कारखाना गतिविधिमा गिरावट आएको छ । यो गिरावट सङ्कुचनको लगातार तेस्रो महिना हो ।विश्लेषकहरूका अनुसार बेइजिङले करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक विकास लक्ष्य हासिल गर्नका लागि सङ्घर्ष गर्नुपर्ने हुनसक्छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई चुनावी उम्मेदवारीबाट रोकियो– पार्टी

कारागारमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँका अधिकांश समर्थकहरूलाई आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ । पार्टीका अधिकारीहरूले आइतबार मतपत्रका लागि मनोनयन बन्द भएपछि सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्री अगस्टदेखि कारागारमा हुनुहुन्छ र उहाँले धेरै मामिलामा मुद्दाको सामना गरिरहनुभएको छ । उहाँले आफ्नो पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीको प्रमुखका रूपमा निर्वाचन लड्नबाट रोक्नका लागि षड्यन्त्र गरिएको बताउनुभएको छ ।

पूर्वक्रिकेट स्टार खानलाई यस वर्षको सुरुमा भ्रष्टाचारमा दोषी पाइएको थियो तर एक अदालतले उहाँको तीन वर्षको सजायलाई निलम्बित गरिदिएको छ र अभियोगविरुद्ध पुनरावेदन भइरहेको छ ।

पाकिस्तानको निर्वाचन आयोग (इपिसी) ले दोषी ठहर भएपछि उहाँलाई पदबाट अयोग्य घोषणा गरेको छ तर पिटिआईले त्यसको बेवास्ता गर्दै खानका लागि उम्मेदवारी दर्ता गर्यो । पिटिआईका प्रवक्ता रउफ हसनले भन्नुभयो, “इमरान खानसहित पिटिआईका करिब सबै राष्ट्रिय तथा प्रान्तीय नेताहरूको उम्मेदवारी अस्वीकार गरिएको छ, हाम्रा ९० देखि ९५ प्रतिशत उम्मेदवारको कागजपत्र रद्द भएको छ ।”

उहाँले पिटिआईलाई छ सातामा हुने निर्वाचनमा लड्नबाट रोक्नका लागि ‘एजेन्डा’ अन्तर्गत रोक्ने काम भइरहेको बताउनुभयो । “यसका लागि सबै रणनीति अपनाइएको छ तर हामी कुनै पनि हालतमा राजनीतिक मैदान छाड्ने छैनौँ र निर्वाचन बहिष्कार पनि गर्दैनौँ ।”   निर्वाचन आयोगका एक अधिकारीले खानसहित पिटिआईका विभिन्न उम्मेदवारहरूलाई उनीहरूको सजायका आधारमा उम्मेदवारी खारेज गरिएको पुष्टि गरेका छन् । 

राजनीतिक विश्लेषक हसन अस्कारीले कुनै एक पार्टीविरुद्ध यति व्यापक कारवाही पाकिस्तानमा ‘अभूतपूर्व’ रहेको बताउनुभयो । “मुलुकको इतिहासमा कुनै राजनीतिक दल निर्वाचनअघि यति ठूलो मात्रामा निर्वाचन प्रक्रियाबाट बाहिरिएको यो पहिलो पटक हो”, उहाँले भन्नुभयो, “राज्य संस्थाहरू पिटिआईलाई कुनै पनि हालतमा निर्वाचन लड्नबाट रोक्न चाहन्छन् र पिटिआईले राहत पाउने सम्भावना अत्यन्त कम छ ।”

निर्वाचन आयोगले जनवरी २३ मा उम्मेदवारहरूको अन्तिम नामावली घोषणा गर्दैछ । पिटिआईले उसलाई मतदान प्रक्रियाबाट बाहिर पारिएको दाबी गर्दै यसबाट निर्वाचन आयोग र विभिन्न अदालतमा पुनरावेदन गर्ने सम्भावना कम छ । पिटिआईका प्रवक्ता हसनले भन्नुभयो, “हामी निर्वाचनमा रहने छौँ, प्रत्येक निर्वाचन क्षेत्रमा यी सबै फैसलाविरुद्ध पुनरावेदन दर्ता गर्नेछौँ र आफ्ना सबै संवैधानिक, कानूनी र राजनीतिक विकल्पहरू प्रयोग गर्नेछौँ ।”

एकहत्तर वर्षीय खानलाई सन् २०१८ मा सत्तामा समर्थन गर्ने पाकिस्तानको शक्तिशाली सैन्य नेताहरूसँगको मतभेदपछि गत वर्ष अपदस्थ गरिएको थियो । विरोधमा उहाँले मुलुकको अधिकांश इतिहासमा प्रत्यक्ष शासन गर्ने सैन्य प्रतिष्ठानविरुद्ध अवज्ञाको अभूतपूर्व अभियान चलाउनुभयो । 

सम्पर्कविहिन क्यानडाका नागरिक चार दिनपछि भेटिए

दमौली- तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारबाट सम्पर्कविहीन भएका एक विदेशी पर्यटक भेटिएका छन् । क्यानडाका किल्क मिल्हौसेन बेपत्ता भएको चार दिनपछि भेटिएका हुन् ।

निजलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिक भेटाएर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले निज जान सक्ने सम्भावित ठाउँहरुको खोजी गर्दै जाँदा घाँसीकुवाको माथिपट्टि रहेको जङ्गलमा भेटाएको हो । उहाँलाई काठमाडौँ पठाएका छौँ ।”पोखराबाट काठमाडौँ जाने क्रममा ती पर्यटक डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएका थिए । निजको सामान भने सोही दिन काठमाडौँ पुगेको थियो ।

परराष्ट्रमन्त्री साउदद्वारा निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण

कञ्चनपुर- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आईतबार शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गामा निर्माण भइरहेको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण गर्नुभएको छ ।

मन्त्री साउदले फोहरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगतिबारे आज जानकारी लिनुभएको हो । निर्धारित समयभित्रै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न निर्माण व्यवसायीलाई उहाँले निर्देशनसमेत दिनुभयो ।

निरीक्षणका क्रममा मन्त्री साउदले केन्द्रको उत्तरतर्फको क्षेत्रमा तटबन्ध निर्माणका लागि भएको ठेक्का पुनरावलोकन गरिने बताउनुभयो । “केन्द्रमा जैविक र अजैविक फोहर छुट्याई बायोग्यास र जैविक मलका ठूला प्लान्टमा प्रशोधन हुन्छन्, यसका लागि धेरै जनाले रोजगारी पाउँछन्,” उहाँले भन्नुभयो, “फोहरमैला केन्द्र वरिपरिका बासिन्दाको हितलाई पनि ध्यान दिनुपर्छ, त्यस क्षेत्रका जनताका लागि विकास गरिनुपर्छ ।”

अहिले यो फोहरमैला केन्द्र शुक्लाफाँटा नगरपालिकाले मात्रै प्रयोग गर्ने भए पनि यसलाई भीमदत्त, बेदकोट र कृष्णपुरको साझा फोहर व्यवस्थापन गर्ने केन्द्रका रुपमा विकास हुने मन्त्री साउदले बताउनुभयो । फोहरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको वनहरा नदीको दाहसंस्कार गर्ने क्षेत्रमा व्यवस्थित आर्यघाट निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने आश्वासन उहाँले दिनुभयो ।

जग्गाको अभावमा ती नगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न नसकेको उल्लेख गर्नुहँुदै मन्त्री साउदले यसै केन्द्रलाई भविष्यमा प्रयोग गर्न सक्ने बताउनुभयो । एसियाली विकास बैङ्कको रु ३० करोडको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ ।
 

आउँदो वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो

काठमाडौँ । आउँदो वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो हुने भएको छ । यो वर्षको दसैँ कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ । तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ ।

२४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ । समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय सार्वजनिक भएको छैन ।विजया दशमी २६ गते परेको छ । असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ । विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ ।

१२ गते धनतेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रवार औशी परेको छ । विसं २०८१ मा पनि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

हेर्नुहोस् पुष १६ गते सोमबारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि – अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि – सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि – मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि- प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि – मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि- पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि – बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि – ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

गुणस्तरीय पर्यटक भित्र्याउने गरी कार्ययोजना तयार गर्न आवश्यक : गगनकुमार थापा

काठमाडौँ, १५ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गुणस्तरीय पर्यटक भित्र्याउने गरी कार्ययोजना तयार गर्न आवश्यक रहेको बताउनुभएको छ ।ठमेल पर्यटन विकास परिषद्को आयोजना नयाँ वर्ष २०२४ को स्वागतार्थ आज साँझ ठमेलमा आयोजित ‘सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले पर्यटकको बसाइ लम्ब्याउने र बढी खर्च गर्ने पर्यटक भित्र्याउने गरी कार्ययोजना बनाउनुपर्ने बताउनुभएको हो ।

“पर्यटकको बसाइ लम्ब्याउन र खर्च बढाउन जरुरी छ, पर्यटक प्रवद्र्धन गर्ने गरी कार्ययोजना बनाउनुपर्छ,” उहाँले भन्नुभयो । महामन्त्री थापाले थला परेको नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय केही आशा जागेको उल्लेख गर्नुभयो ।

सांसद  शिशिर खनालले कोरोनापछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रले पछिल्लो समय आशा जगाएको बताउँदै यसलाई निरन्तरता दिनेगरी कार्ययोजना बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सांसद   गोकर्ण विष्टले भारत र चीनका पर्यटकलाई भित्र्याउने सकेमात्र पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने बताउनुभयो । सांसद  माधव सापकोटाले पर्यटन क्षेत्रको समग्र विकासका लागि दलहरुबीच एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । 

मुख्यसचिव बैकुण्ठ अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतले पर्यटन क्षेत्रको विकास र हवाई क्षेत्रको विकासका लागि सरकारले आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने उल्लेख गर्नुभयो । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको पर्यटन विकासका लागि परिषद्ले लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्नुभयो ।

‘शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छ’:मुख्यमन्त्री यादव

बारा, १५ पुस : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रामराजा क्याम्पसलाई विश्वविद्यालयमा गाभेर भए पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकार लागिपर्ने बताउनुभएको छ ।रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटनमा मुख्यमन्त्री यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रदेश सरकारले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सङ्घले शिक्षा क्षेत्रको अधिकार नदिए पनि आफूले प्रदेश सरकारमार्फत शिक्षामा लागनी गरिरहेको बताउनुभयो ।   

बाराका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा रामराजाको अग्रणी भूमिका रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले अझै गुणस्तरीय शिक्षा प्रवाह गर्न क्याम्पसको जनशक्तिसहित बजेट प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मधेस प्रदेशसभा सदस्य महम्मद समीरले क्याम्पसको उन्नति र प्रगतिका आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्याम्पसका प्रमुख हरिभूषण कुश्वाहाले गरीबका छोराछोरीको उच्च शिक्षाका लागि स्थापना गरिएको क्याम्पसमा जनप्रतिनिधिको पर्याप्त सहयोग नभएको गुनासो गर्नुभयो । हाल एक हजार चार सय विद्यार्थी रहेको उहाँले जानकारी दिनुभयो । 

निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ सार्वजनिक

काठमाडौँ, १५ पुस – प्रमुख निर्वाचन आयुक्त एवं स्रष्टा दिनेशकुमार थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ बजारमा आएको छ ।साझा प्रकाशनबाट प्रकाशित उक्त कृतिमा उहाँका विसं २०४० देखि २०६३ सालसम्म रचिएका ३३ कविता समाविष्ट छन् । निजामती सेवामा लामो समय सेवा गरी सरकारको सचिवबाट अवकाशप्राप्त थपलियाले आफ्ना अनुभव र भोगाइका आधारमा कविता, गीत र मुक्तक लेख्दै आउनुभएको छ । उहाँका दर्जनौैँ गीत ‘रेकर्र्ड’ भएका छन् ।

अच्छाराई रसिक प्रतिष्ठानले शनिबार सुनसरीमा आयोजना गरेको कार्यक्रममा  वरिष्ठ साहित्यकार प्रा डा टङ्क न्यौपानेबाट सो कृतिको विमोचन गरिएको छ । उहाँले थपलियाका कविताहरु युगबोधी भएको बताउनुभयो । 

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र  मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थपलियाको साहित्यिक व्यक्तित्व पनि उत्तिकै सक्रिय रहनु पाठकका लागि खुसीको विषय भएको बताउनुभयो ।  

 कृतिमाथि समीक्षा गर्दै समालोचकद्वय डा टीका आत्रेय र दीपक न्यौपानेले थपलियाका कवितामा जीवन र जगत्का भोगाइका साथै व्यङ्ग्यात्मक प्रस्तुतिसमेत पाइने र तिनले सामाजिक रुपान्तरणमा टेवा मिल्ने बताउनुभयो । कार्यक्रममा कवि अनिल पौडेलले कविको चिनारी प्रस्तुत गर्नुभएको थियो ।

नयाँ वर्षको पूर्वसन्ध्यामा पुटिनद्वारा सेनाको प्रशंसा

नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार आफ्नो सम्बोधनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाको प्रशंसा गर्नुभएको छ । युक्रेन द्वन्द्वको स्पष्ट उल्लेख नगरी आफ्नो संक्षिप्त सम्बोधनमा उहाँले ‘एकता’ का लागि आह्वान गर्नुभयो ।

गत वर्षको विपरीत पुटिनले क्रेमलिनको परम्परागत पृष्ठभूमि अगाडि सन् २०२४ लाई ‘परिवारको वर्ष’ का रूपमा वर्णन गर्नुभयो । गत वर्षको सम्बोधनमा उहाँ वर्दीधारी सैनिकले घेरिएको हुनुहुन्थ्यो ।

“हामी सबैभन्दा कठिन कार्यहरूको समाधान गर्न सक्षम छौँ र हामी कहिले पनि पछि हट्ने छैनौँ भनेर हामीले बारम्बार प्रमाणित गरेका छौँ किनकी हामीलाई अलग गर्ने त्यस्तो कुनै शक्ति छैन”, पुटिनले सरकारी टेलिभिजनमा प्रसारित सम्बोधनमा भन्नुभयो, “कर्तव्यपथ, सत्य र न्यायको लडाइँमा अग्रपङ्क्तिमा रहेका तपाईँहरू सबै हाम्रा नायक हुनुहुन्छ, हाम्रो हृदय तपाईंसँग छ, हामीलाई तपाईंप्रति गर्व छ, हामी तपाईंको साहसको प्रशंसा गर्छौं ।”

सोभियत नेता लियोनेद ब्रेझनेभले सुरु गर्नुभएको परम्परालाई निरन्तरता दिने टेलिभिजनमा नयाँ वर्षको पूर्वसन्ध्यामा दिइने सम्बोधन रुसमा बिदाको मुख्या हिस्सा हो र यसलाई लाखौँले घरमा हेर्ने गर्छन् ।यो सम्बोधन रुसको ११ टाइमजोनहरूमध्ये प्रत्येकमा आधा रातभन्दा ठीक अघि प्रसारित गरिन्छ र सम्बोधन सामान्यतया गत वर्षको घटनाहरूसँगै आगामी वर्षको शुभकामनाहरूको सारांश हो ।

राष्ट्रियसभामा श्रमिकको प्रतिनिधित्व गराउन माग गर्दै सभापति देउवालाई ज्ञापनपत्र

काठमाडौँ, १५ पुस ः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वमा गएको टोलीले आज पार्टी सभापति देउवालाई भेटेर राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व गराउन माग गरेका हो ।

युनियनको पदाधिकारी बैठकले नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्षहरु लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल र पुस्कर आचार्यको नाम सिफारिस गरेर पार्टी सभापतिलाई बुझाइएको युनियनका महासचिव अजयकुमार राईले जानकारी दिनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीले राष्ट्रियसभा निर्वाचनको टिकट वितरण गर्दा गत निर्वाचनमा टिकट नपाएका, समानुपातिकमा नपरेका, योग्य, स्वच्छ छवि भएका हालसम्म कुनै छवि नभएका ट्रेड युनियनलगायत पेसागत सङ्गठन र बौद्धिक व्यक्तिबाट उम्मेदवार छनौट गर्न सभापतिको ध्यानाकर्षण गरेको छ । भेटमा सभापति देउवाले पार्टीले राष्ट्रियसभा निर्वाचनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने खालको उम्मेदवार छनौट गर्ने जानकारी दिनुभयो ।

धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेन

गोदावरी (कैलाली), १५ पुस : धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्नसकेको छैन् । विसं २०७८ मा नेपाल नागरिक उड्डयायन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो ।

दुईवर्ष अघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित रु एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । धनगढीको गेटालाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्न दुई सय ५० बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावनमार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने योजना बनाइएको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार हालसम्म विमानस्थल विस्तारको कुनै काम अगाडि बढेको छैन ।

विमानस्थल प्रमुख सिंहले सरकारले चालु आर्थिक वर्षमा गेटा विमानस्थल विस्तार गर्न बजेट विनियोजन नगरेको जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगर अध्यक्ष रहेको उड्डयायन प्राधिकरण बोर्डले विसं २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको थियो ।

दुई वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयवासीको जग्गा अधिग्रहण गर्न रु १५ देखि १६ अर्ब लाग्ने अनुमान गरिएको भए पनि बजेटको सुनिश्चितता नहँदा जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ ।

“विमानस्थल विस्तारको काम अगाडि बढाउन जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ । मुआब्जा दिन नसक्दा सबै काम स्थगन गरिएको छ”, विमानस्थल प्रमुख सिंहले भन्नुभयो । उहाँका अनुसार विसं २०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ कन्सलटेन्सीले जग्गा नापजाँचको काम गरेको थियो ।

करिब ४५ मिटर चौडाइको दुई हजार पाँच सय ५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्याङ्गर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन, उद्धार तथा चक्रपथसहितका पूर्वाधार निर्माण गरिने गुरुयोजनामा उल्लेख छ ।

मर्दी हिमाल पदमार्गमा गएका विदेशी पर्यटक बेपत्ता

कास्की, १५ पुस : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिबार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । मिचल एक्लै पदयात्रामा जानुभएको थियो ।

पदमार्गको लो क्याम्पमा माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको पर्यटक सूचना केन्द्रमा गत शुक्रबार उहाँले आफ्नो नाम दर्ता गर्नुभएको थियो । बेपत्ता पर्यटकको खोजीका लागि पोखराबाट प्रहरी टोली त्यसतर्फ शनिबार साँझ नै प्रस्थान गरेपछि अझै पुग्न नसकेको प्रहरीले जनाएको छ । “पर्यटक सम्पर्कविहीन भएको सूचना पाएपछि हामीले शनिबार साँझ नै वडा प्रहरी कार्यालय बगरबाट प्रहरीलाई त्यसतर्फ पठाएका छौँ,” प्रनाउ विकले भन्नुभयो, “प्रहरी टोली अझै सो ठाउँमा पुगिसकेको छैन, टोली पुगेपछि खोजीमा लाग्नेछ ।”

माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले स्थानीय पर्यटन व्यवसायी तथा गाउँपालिकाबाट समेत बेपत्ता भएका पर्यटकको खोजी तथा उद्धारको काम भइरहेको जानकारी दिनुभयो । “स्थानीय पर्यटन व्यवसायी तथा गाउँपालिकाबाट आज बिहानदेखि नै खोजी सुरु गरे पनि साँझसम्म केही जानकारी प्राप्त हुन सकेको छैन,” गुरुङले भन्नुभयो ।

स्थानीय पर्यटन व्यवसायीका अनुसार बेपत्ता पर्यटक मर्दीको भ्युपोइन्ट पार गरेर बेसक्याम्पतर्फ गएको जानकारी प्राप्त भएको छ । मर्दीको हाई क्याम्पबाट आधार शिविर पुग्न चार घण्टा पैदल हिँड्नुपर्दछ । मर्दी हिमाल पदयात्रा पछिल्ला केही वर्षदेखि कहलिएको पदयात्रामा पर्दछ । माछापुच्छ्रे गाउँपालिकाको सिदिङ, धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाले अष्ट्रेलियन क्याम्पबाट मर्दी पदयात्रा सुरु गर्न सकिन्छ ।

‘दुर्गमको विकासका लागि सङ्घीय व्यवस्था वरदान हो’- मन्त्री जुग्जाली

म्याग्दी, १५ पुस : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन सङ्घीय व्यवस्था वरदान साबित भएको बताउनुभएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आजदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री जुग्जालीले प्रदेश सरकार र स्थानीय तह स्थापना भएपछि पछाडि परेको ठाउँमा विकासका पूर्वाधार निर्माणले गति लिएको बताउनुभयो ।

“सङ्घीयता र गणतन्त्रको विषयमा टिप्पणी गर्ने युवा पुस्तालाई राजा र पञ्चायतको समयमा कस्तो थियो भनेर बुबा–आमा, हजुरबुबा–हजुरआमालाई सोध्नुहुन अनुरोध छ,” उहाँले भन्नुभयो, “काठमाडौँ, पोखरामा बसेर होइन म्याग्दीको दुर्गम गुर्जाको आँखाले हेर्दा सङ्घीयता वरदान हो ।”

गण्डकी प्रदेश सरकारले छ वर्षको अवधिमा एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति र ८१ वटा मोटरेबल पुल निर्माण गरेको उहाँले जानकारी दिनुभयो । हाल पाँचजना जनप्रतिनिधि रहेको तत्कालीन एउटा गाविसका नौवटा वडामा ४७ जना जनप्रतिनिधि भएको बिर्सिएर सङ्घीयताको विरोध र महँगो भयो भन्ने टिप्पणी गर्नु गलत भएको मन्त्री जुग्जालीको भनाइ थियो ।

“यो व्यवस्थामा जनताले आफूलाई मन परेको व्यक्तिलाई जनप्रतिनिधिका रुपमा चुन्ने अधिकार छ । मन नपरे विरोध गर्न, बोल्न यही व्यवस्थाले दिएको छ,” उहाँले भन्नुभयो, “हिजो प्रधानपञ्चले जे बोल्यो त्यो कानुन हुन्थ्यो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शिर निहुराउँदै गएको बिर्सनु भएन ।”

मन्त्री जुग्जालीले पञ्चायत र राजाका पालामा हालिमुहाली गरेकाहरुले अहिलेको व्यवस्थाको विरुद्धमा भ्रम फैलाएको टिप्पणी गर्दै जनताको अवस्था सुधार गर्न कार्यशैली सुधार र परिवर्तन गर्नुपर्ने बताउनुभयो । म्याग्दीको पूर्वाधारलगायत समग्र विकासका लागि भित्रिएका योजना र कार्यक्रम समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधि, सरोकारवाला र समुदायलाई आग्रह गर्नुभयो ।

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडा नं ५ का अध्यक्ष भूपेन्द्र खत्रीले प्रतियोगिता सञ्चालन भएको कैलाशफाँट खेलमैदानको स्तरोन्नति र म्याग्दी नदीको कटान नियन्त्रणका लागि मन्त्री जुग्जालीको ध्यानाकर्षण गराउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा माविले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ३० हजार र रु २० हजार पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशसभाः संसदीय समितिको निर्वाचन पुनःस्थगन

लुम्बिनी, १५ पुस स् लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन पुन : स्थगित भएको छ । सभामुख तुलारामको घर्तीको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विशेष कारण देखाउँदै आज जारी गरिएको सूचनामा निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभएको छ ।

सभामुख घर्तीको अध्यक्षतामा अघिल्लो साता बसेको कार्यव्यवस्था परामर्श समितिको आठौँ बैठकले यही पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तय गरेको थियो । तर प्रदेशसभा सचिव पुनले आज जारी गर्नुभएको सूचनामा प्रदेशसभा कार्यव्यवस्था समितिको यही १७ पुसमा तोकिएको समितिका सभापतिको निर्वाचन स्थगित भएको जानकारी गराउनुभएको छ ।

प्रदेशसभा सचिव पुनले समितिको निर्वाचनका लागि आवश्यक तयारी हुन नसकेका कारण एक सातालाई सार्न सभामुख घर्तीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीदलका नेता लिला गिरीले अनुरोध गर्नुभएकाले सभामुखको निर्देशनमा स्थगित गरिएको जानकारी दिनुभयो ।

प्रदेशसभामा प्रमुख विपक्षीदल नेकपा ( एमाले ) प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशसभामा समितिको नेतृत्व नहुँदा संसदीय प्रक्रियाका अधिकांश काम प्रभावित भएकाले आफूहरुले नेतृत्वको टुङ्गो लगाउन पहिलेदेखि नै माग राखे पनि सत्ता गठबन्धनकै कारण रोकिएको बताउनुभयो । उहाँले समितिको नेतृत्वका लागि मितिसमेत तोकेर अन्तिम समयमा स्थगित गरिएकामा असन्तुष्टि जनाउनुभयो ।

प्रदेशसभामा नेपाली कांग्रेस प्रमुख सचेतक जन्मजय तिमल्सिनाले समितिको निर्वाचनका लागि मिति तोकर अन्तिम अवस्थामा स्थगित हुनाका कारण आफूले बुझिनसकेको बताउनुभयो । उहाँले निर्वाचनको तयारीका लागि प्रदेश राजधानी जाँदै गर्दा मुख्यमन्त्रीले हाललाई सभामुखसँग सल्लाह गरेर निर्वाचन स्थगित भएको जानकारी दिनुभएपछि मात्र आफूले जानकारी पाएको बताउनुभयो ।

प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् । प्रदेशसभाको ६ समितिमा लेखासहित दुईवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने विषयमा छलफल भएको छ । यद्यपि सत्तारूढ गठबन्धनभित्र कसले कुन समितिको नेतृत्व लिने भन्ने टुङ्गो लागेको छैन ।

प्रदेशसभाले गत असार ३० गते ६ विषयगत समितिका सदस्य चयन गरेको थियो । तर समितिका सभापति चयन नहुँदा समिति कामविहीन बनेका छन् । प्रदेशसभा सचिवालयका अनुसार अहिलेसम्म प्रदेशसभा सामाजिक विकास समितिको बैठकले स्वास्थ्यसम्बन्धी विधेयक छलफल गरेर संसद्मा पठाएको र प्रदेश मामिला तथा कानुन समिति र अर्थ, उद्योग तथा पर्यटन समितिले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बसेका थिए । प्रदेशसभा नियमावली २०७९ मा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्ने व्यवस्था गरेको छ ।

कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ४०औँ जन्मजयन्ती मनाइयो

लेखनाथ, १५ पुस : कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ४०औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी कविवरको जन्मस्थल पोखरा–२७ स्थित अर्घौं अर्चलेमा मनाइएको छ । कविवरको जन्म दिनको सम्झनामा हरेक वर्ष पुस १५ मा उहाँको जन्मस्थल अर्घौं अर्चलेमा विविध कार्यक्रम हुँदै आएका छन् । विसं १९४१ को पुस १५ मा कास्कीको अर्घौं अर्चलेमा जन्मिनुभएका कविशिरोमणिको जन्मजयन्तीका अवसरमा आज उहाँको जन्मथलोमा मूल कार्यक्रम आयोजना गरी विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

कविशिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, लेखनाथ पत्रकार मञ्चलगायत संस्थाद्वारा आयोजित कविवरको जन्मजयन्ती कार्यक्रममा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नाका साथै पुरस्कृत गरिएको छ ।

कार्यक्रमममा लेखनाथ साहित्य पुरस्कारद्वारा पोखराका साहित्यकार एक सय तीन वर्षीय गोपाल वैद्यलाई सम्मान गरिएको छभने उक्त पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।यसैगरी, कुन्तीदेवी साहित्य पुरस्कारद्वारा साहित्यकार भागिरथी श्रेष्ठ र लेखनाथ सांस्कृतिक पुरस्कारद्वारा लोक सांस्कृतिक समूह पोखरा–२६ लेखनाथलाई सम्मान गरिएको छ । उक्त पुरस्कार रु २५ हजार र सम्मानपत्र छन् ।

त्यसैगरी, पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार दीपक परियारलाई लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारद्वारा सम्मान गरियो । उक्त पुरस्कारको राशि रु ११ हजार एक सय ११ र सम्मानपत्र रहेको छ । सम्मानित व्यक्तित्वहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार अर्पण गर्नुभयो । सो अवसरमा नगर प्रमुख आचार्यले कविशिरोमणि नेपाली भाषा र साहित्यका महान् सर्जक भएको बताउनुभयो । लेखनाथको जन्मस्थल अर्चलेलाई साहित्यिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।

कविशिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपीनाथ पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रमा लेखनाथका कवितावाचन समेत गरिएको थियो । कविशिरोमणिका ऋतुविचार, तरुण तपसी, गङ्गा गौरीसहितका महाकाव्य, लालित्य कविता सङ्ग्रह, नाटक तथा प्रश्नोत्तरसहितका खण्डकाव्य र अन्य फुटकर कविताहरु प्रकाशित छन् ।

बर्षान्त २०२३ : सन् २०२३ लाई फर्केर हेर्दा

अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ ।

भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो । यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल ग¥यो । समग्रमा भन्ने हो भने, सुसमाचारको अभाव भएको छ ।

-अन्तरिक्षसम्बन्धी नयाँ कीर्तिमान राख्ने दौड-यो बर्ष अन्तरिक्ष दौड तातेको देखियो । विश्वका शक्ति राष्ट्रहरूले र कम्पनीहरूले अन्तरिक्षमा नयाँ नयाँ रेकर्ड कायम गर्नेतर्फ आफ्नो आँखा लगाएका छन् । दौडमा बाजी जित्ने होड चलिरहेको छ । विश्वका सत्तरी देशहरूमा अन्तरिक्ष अध्ययनसम्बन्धी निकाय स्थपना भएका छन् भने सोह्र देशले अन्तरिक्षमा यान प्रक्षेपण गर्न सक्छन् । अन्तरिक्ष दौडमा यो बर्ष चन्द्रमा विशेष चासोको विषय बनेको छ । गत अगष्टमा रूसको ल्यान्डर चन्द्रमाको सतहमा ठोक्किएपछि रूसको चन्द्रमाको पछिल्लो अभियान निराशाजनक बनेको थियो ।

त्यसको केही दिनपछि भारत चन्द्रमामा मानवरहित यान अवतरण गर्ने चौथो देश बनेको थियो भने चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा मानवरहित यान अवतरण गर्ने पहिलो देश बनेको थियो । त्यसको दुई हप्तापछि भारतले सूर्यको अध्ययन गर्ने अभियान चलायो । नासाले सन् २०२५ सम्ममा अन्तरिक्ष यात्रीलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ । यी र अन्तरिक्षसँग सम्बन्धित अन्य प्रयासहरूले भूराजनीतिक प्रतिद्वन्द्विताले अन्तरिक्षको सैन्यीकरण निम्त्याउने छ कि भन्ने चिन्तालाई बढावा दिइरहेको छ ।

–एआईको प्रयोग र बिस्तारमा तीब्रता–आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास मानव समुदायका लागि मौका र चुनौतीका रूपमा देखिएको छ । यसको विकाससँगै विस्तार र रोक लगाउनुपर्ने स्वरहरू गुन्जिन थालिसकेका छन् । सन् २०२३ मा च्याटजीपीटीको नवीनतम संस्करण यसको पूर्ववर्तीको तुलनामा दस गुणा बढी उन्नत बनेर फैलियो । सरकारहरू, कम्पनीहरू र व्यक्तिहरू यसको क्षमताको दोहन गर्न द्रुत गतिमा अघि बढे । यसले आर्टिफिसियल इन्टेलिजेन्सले मानव सिर्जनशीलता र समृद्धिको नयाँ युगको सुरुवात गरिरहेको छ वा भयानक भविष्य निर्माण गर्ने पान्डोराको बाकस खोल्दैछ भन्ने विषयमा चर्को बहस सुरु गरेको थियो ।

आशावादीहरूले कसरी एआईले विभिन्न क्षेत्रहरूमा अभूतपूर्व गतिमा वैज्ञानिक सफलताहरू फैलाइरहेको छ, औषधिहरूको द्रुत अनुसन्धान सक्षम पार्दै, चिकित्सा क्षेत्रका रहस्यहरूलाई खोलिदिएको छ र नसुल्झिने गणितीय समस्याहरू समाधान गरिरहेको छ भनेर औंल्याए । आलोचकहरूले यो प्रविधि मानवको क्षमताभन्दा छिटो विकास भइरहेको र यसले निम्त्याउन सक्ने हानिको आँकलन र न्यूनीकरण गर्न सक्ने बताएका छन् । यसले व्यापक बेरोजगारी सिर्जना गरिरहेको, विद्यमान सामाजिक असमानताहरूलाई कडा पारिरहेको, मानवताको लोप हुनुमा मलजल गरिरहेको दावी गरेका छन् । बहस जारी छ र अझै केही बर्ष लम्बिने छ ।

–जलवायु परिवर्तनबारे विश्व बहस– संयुक्त अरब इमिरेट्स (युएई) मा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढावा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जाने सहमति भएको छ । कोप–२८ मा हालसम्म गरिएका प्रतिबद्धताले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनमा कमी गर्न आवश्यक पर्ने कार्यमा ३० प्रतिशतले मात्र कमी ल्याउने छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी निकायका अनुसार नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी प्रतिबद्धतामा १३० देशले हस्ताक्षर गरेका छन् । विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन चीन, विकासशील भारत र प्रमुख ऊर्जा निर्यातकर्ता साउदी अरब र रूसले सम्झौतामा हस्ताक्षर गरेका छैनन् । नवीकरणीय ऊर्जा प्रतिवद्धतापत्रमा २०३० सम्म ११ हजार गिगावाट हरित ऊर्जा क्षमता पु¥याउने लक्ष्य राखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले २०२२–२०२७ बीचमा नवीकरणीय ऊर्जाले विश्वको ऊर्जा क्षमतामा ९० प्रतिशतभन्दा विस्तार हुने जनाएको छ ।

नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै गएर सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रूपमा लागू गर्नसमेत कोप–२८ मासहभागी राष्ट्र तयार देखिएका छन् । नवीकरणीय ऊर्जा करिब २४०० गिगावाट हुनेछ, यो भनेको चीनले आज उत्पादन गरेको सम्पूर्ण ऊर्जा क्षमता हो । हिजो जीवाश्म इन्धनको अत्यधिक उपयोग गर्ने चीन, युरोपेली सङ्घ, अमेरिका, भारतले हालको नीति र बजारमा परिवर्तन गरेका कारण यो सम्भावना बढेको ऊर्जाविद्हरु बताउँछन् ।

–जनसङ्ख्यामा चीनविरूद्ध भारतको बाजी–भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा स्थापित भएको छ । पछिल्लो शताब्दीमा चीन विश्वको सबैभन्दा धेरैे जनसङ्ख्या भएको देश रहेको थियो । अहिले भारतको जनसङ्ख्या एक अर्ब ४३ करोड रहेको अनुमान गरिएको छ । सम्भवतः भारत यो शताव्दीको दशकौंसम्म सबैभन्दा बढी जनसङ्ख्या भएको देश रहिरहनेछ । चीनको जनसङ्ख्या भने घट्दै गएको र पाका उमेरका नागरिकको सङ्ख्या बढ्दो देखिएको छ । जनसांख्यिकीविद्हरूका अनुसार शताब्दीको मध्यसम्ममा चीनको जनसङ्ख्या १० करोडले घट्नेछ वा अहिले संसारका पन्ध्र बाहेक सबै देशको जनसंख्याभन्दा बढी हुनेछ । सोही अवधिमा चीनको औसत आयु ३९ वर्षबाट बढेर ५१ वर्ष पुग्नेछ । यसबीच भारतको जनसंख्या मध्य शताब्दीसम्ममा करिब १.७ अर्ब पुग्ने छ र यसको औसत आयु ३९ वर्ष हुनेछ ।

सुडान गृहयुद्ध– सन् २०२३ मा गृहयुद्धले सुडानलाई तहसनहस बनायो । सुडानमा प्रजातन्त्र आएको वर्षका रूपमा सन् २०२३ लाई घोषणा गरिएको थियो । सुडानी जनताले बरु गृहयुद्धको सामना गरे । सन् २०१९ को अप्रिलमा सुडानको सेनाले लामो समयदेखि तानाशाह ओमार अल बशीरलाई सत्ताच्युत गर्न गरेको प्रदर्शनमा यो द्वन्द्वको जरा गाडेको थियो । नयाँ सैन्य जुन्टाले नागरिक समूहहरूसँग सत्ता साझेदारी गर्न र चुनावको दिशामा काम गर्न एक सम्झौता गरेको छ । यद्यपि, अक्टोबर २०२१ मा सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फतह अल–बुरहान र ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) लडाकू समूहका प्रमुख मोहम्मद हमदान “हेमदती“ डग्लोले अर्को विद्रोहको नेतृत्व गरे ।

–युक्रेन युद्ध– सन् २०२३ को सुरुमा युक्रेनी प्रतिआक्रमणले पूर्वी युक्रेन र सम्भवतः क्रिमियामा रुसको पकड तोड्न सक्ने आशा उच्च थियो । बहुप्रतिक्षित प्रतिआक्रमण जुनको सुरुमा सुरु भएको थियो । रूसी सेनालाई ठूलो क्षति पु¥याए तापनि युद्धरेखाहरू मुस्किलले हल्लिएका थिए । रूसी सेनाले जाडो र वसन्त ऋतुलाई प्रयोग गरेर शक्तिशाली प्रतिरक्षा तयार पारेको थियो । नोभेम्बरको सुरुमा युक्रेनका शीर्ष जनरलले यो लडाइँलाई ‘गतिरोध’ को संज्ञा दिएका थिए र ‘सम्भवतः कुनै गहिरो र सुन्दर सफलता प्राप्त हुने छैन’ भनी स्वीकारेका थिए ।

नेतान्याहुद्वारा गाजा युद्धमा इजराइलको अद्वितीय ‘नैतिकता’ को बचाउ

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइलले गाजा युद्धमा अद्वितीय ‘नैतिकता’ प्रदर्शन गरेको आइतबार बताउनुभएको छ । प्यालेस्टिनी क्षेत्रमा ‘नरसंहार’ कृत्य गरिरहेको भन्ने दक्षिण अफ्रिकाको आरोपलाई अस्वीकार गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

तेलअविवमा क्याबिनेट बैठकमा उहाँले भन्नुभयो, “हामी आफ्नो रक्षात्मक युद्ध जारी राख्नेछाँै, जसको न्याय र नैतिकता अद्वितीय छ ।” उहाँको उक्त टिप्पणी दक्षिण अफ्रिकाले शुक्रबार अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा इजराइलविरुद्ध गाजामा ‘नरसंहार’ कृत्य गरेको भन्दै मुद्दा दायर गरेपछि आएको हो ।

“होइन, दक्षिण अफ्रिका, नरसंहार गर्न हामी आएका होइनौँ, यो हमास हो”, नेतान्याहुले भन्नुभयो, “सम्भव भयो भने हमासले हामी सबैको हत्या गर्नेछ, यसको विपरीत आइडिएफ (इजराइली सेना) ले सकेसम्म नैतिकरूपमा काम गरिरहेको छ ।”

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले दक्षिणी इजराइलमा अभूतपूर्व हमला गरेपछि इजराइलले गाजापट्टीमा हमासविरुद्ध लगातार सैन्य कारबाही सञ्चालन गरेको छ । इजराइली आँकडामा आधारित एएफपीको रिपोर्टअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ४० जनाको ज्यान गएको छ ।

हमास शासित गाजामा स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित २१ हजार आठसयभन्दा बढीको ज्यान गएको छ ।

प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायो

काठमाडौँ, १५ पुस ः प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेछ ।फाइनलमा पुग्न सुदूरपश्चिम प्रदेशले पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशसँग खेल्नेछ । उक्त खेल सोमबार हुनेछ । आज खेलमा जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले १४ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमको जितमा विन्दु रावल सर्वाधिक ५४ रनको योगदान गरिन । उनी ४९ बलमा ७ चौकासहित ५४ रनमा अविजित रहिन् ।

त्यस्तै सम्झना खड्का १६ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन । रुवि पोदार २२ बलमा २ चौकासहित १८ रनमा आउट भइन् । बागमतीको लागि मनिषा उपाध्यायले १ विकेट लिइन् । त्यसअघि कृतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती १९ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिएको थियो ।

बागमतीको लागि कञ्चन श्रेष्ठले ४६ बलमा ५ चौकासहित सर्वाधिक ३६ रनको योगदान दिइन् । त्यसैगरी हेलिसा गुरुङले १०, यशु पाण्डेले ७, सोनी पाख्रिनले १४, खुसी डङ्गोलले १० र मनिषा उपाध्यायले ८ रन बनाइन् ।

सुदूरपश्चिमकि करिष्मा थापाले ३ विकेट लिइन् भने लक्ष्मी साउद र ऋतु कनौजियाले समान दुई दुई विकेट लिए । आजै भएको पहिलो क्वालिफायर खेलमा एपिएफले कोशी प्रदेशलाई ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

‘नीति र विधिमा सञ्चालित सहकारी सङ्कटमा पर्दैनन्’- सांसद श्रेष्ठ

काठमाडौँ, १५ पुस : सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताउनुभएको छ । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पछिल्लो समय एकै घरका सदस्य सञ्चालक रहेका र अपारदर्शी ढङ्गबाट सञ्चालित सहकारीमा धेरै समस्या देखिएका छन् भन्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय पारिवारिक सहकारीका कारण समस्या देखिएको हो, यस्ता सहकारीलाई राज्यले नीति र विधिभित्र ल्याउनुपर्दछ । एउटा सहकारीको समस्यालाई देखाएर सबै सहकारी उस्तै हुन् भन्ने बुझाइलाई अन्त्य गरिनुपर्छ । साधारण सदस्यको पुँजीलाई कसरी सदस्यकै हितमा परिचालन गर्न सकिन्छ भनेर देव दर्शन बचत तथा ऋण सहकारीले नमूना प्रदर्शन गरेको छ । यसबाट अन्य सहकारीले सिक्नुपर्छ ।” पूर्वमन्त्रीसमेत रहनुभएका सांसद श्रेष्ठले अर्थतन्त्रको तीन खम्बामध्येको एक सहकारीलाई प्रवद्र्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लिमिटेडका अध्यक्ष रामनारायण घिमिरेले आव २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्तालाई समय समयमा कार्यालयमा आएर संस्थाको वित्तीय जानकारी लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उत्पादन क्षेत्रमा लगानी भइरहेका कारण संस्थामा जोखिम आएको छैन, आउन दिँदैनाँै । साधारण सदस्यको पुँजी, सदस्यकै हितमा परिचालन भइराखेको छ ।”

चन्दागिरि नगरपालिकाभित्र एक सय ७० वित्तीय संस्था छन् । तीमध्ये देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड अब्बल मानिन्छ । कार्यक्रममा चन्दागिरि–६ का वडाध्यक्ष सञ्जय सिग्देलले भन्नुभयो, “सहकारीले बचत कर्ता, बचतकर्ताले सहकारी नचिनेका कारण सहकारी क्षेत्रमा समस्या देखियो । समस्या हटाउन सामूहिक प्रयासको खाँचो छ । आफूले बचत गरेको सहकारीले कहाँ कसरी लगानी गरिरहेको छ, यसबारेमा बचतकर्ता चनाखो हुनुपर्छ ।”

समाजसेवी देवेन्द्र प्रधानले एकाध सहकारी संस्थाका सञ्चालक समितिको गलत निर्णयको दोष समग्र सहकारीले भोग्न परिरहेको उल्लेख गर्दै सहकारीले बचतकर्ताको चासोलाई समयमै सम्बोधन गर्नुपर्छ भन्नुभयो ।

काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ (कास्कुन)का अध्यक्ष दीपक पनेरुले सहकारीलाई भजाएर राजनीति गर्दा सहकारी क्षेत्र नै बदनाम हुन पुगेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “७५ लाखभन्दा बढी सर्वसाधारण जनता आबद्ध रहेको सहकारी क्षेत्रमा निराशा आउनु दिनुहुँदैन । यस क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गरिनुपर्छ ।”

सोही कार्यक्रममा ‘सर्वाेत्कृष्ट कर्मचारी सम्मान’ शिवकुमार थापा मगर र आस्था अर्याललाई रु पाँच हजारसहित प्रदान गरिएको थियो । निरा श्रेष्ठ, राजेन्द्र गोपाली, मीनादेवी श्रेष्ठ र रोहितबहादुर बलामीलाई पनि उत्कृष्ट बचत सदस्यका रुपमा सम्मान गरिएको थियो भने गत वर्षको माध्यामिक शिक्षा परीक्षामा सर्वाेत्कृष्ट अङ्क प्राप्त गर्ने आकृति श्रेष्ठ र रोसिस श्रेष्ठलाई ‘देव दर्शन अवार्ड’ प्रदान गरिएको थियो । सो अवार्डको राशि रु पाँच हजार छ ।

धेरै शेयर सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० मा पनि मुनाफा आर्जन गरेको छ । विसं २०६६ असार ६ गतेदेखि आफ्नो सेवा थालनी गरेको सो सहकारीमा हाल तीन हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति रु एक अर्ब १३ करोड २७ लाखभन्दा माथि पुगेको जनाइएको छ ।

कोभिड सङ्क्रमणको विश्वव्यापी प्रभाव, विश्व बजारमा आएको आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, सहकारी क्षेत्रमा देखिएका विभिन्न समस्या, तरलता र ब्याजदरलगायत कारण आर्थिक क्षेत्रले सन्तोषजनक उपलब्धि हासिल गर्न समस्या भइरहँदा सहकारीले सो आवमा रु ७८ लाख २० हजार ७० मुनाफा कमाउन सफल भएको हो ।

सहकारीले सो आवमा आफ्नो कारोबार रु एक अर्ब १७ करोड ६५ लाख ७४ हजार आठ सय ६८ पुर्‍याएको थियो । आव २०७९/८० मा सो संस्थाको निक्षेप सङ्कलन रु एक अर्ब ६ करोड ५६ लाख २२ हजार र शेयर पुँजी रु चार करोड ७४ लाख सात हजार पुगेको जनाइएको छ । सहकारीको १५ औँ वार्षिक प्रतिवेदनका अनुसार आव २०८०/८१ शेयर पुँजी रु पाँच करोड पु¥याउने, निक्षेप सङ्कलन रु एक अर्ब २५ करोड गर्ने र कर्जा लगानी रु २० करोड गर्ने लक्ष्य लिइएको छ ।

राष्ट्रिय सहकारी बैङ्क, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ, काठमाडौँ जिल्ला सहकारी सङ्घ तथा काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घमा आबद्ध चन्द्रागिरि नगरपालिका–५ स्थित दाउराडिपोमा रहेको सो सहकारीले आफ्नो शेयर सदस्यतलाई रु पाँच हजार सुत्केरी भत्ता तथा काजकिरियासमेत प्रदान गर्दै आएको छ । सहकारीको अध्यक्ष घिमिरेका अनुसार निक्षेप सङ्कलनतर्फ नियमित, देवदर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देवदर्शन विशेष, कल गोल्डेन, बोनसलगायत बचत सेवा सञ्चालित छन् । यसैगरी, देवदर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, लघु, गरिबी निवारणलगायत कर्जा तथा सापट योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ ।

कुलुङ जातिले विभिन्न कार्यक्रमसहित मनाए नयाँ वर्ष

काठमाडौँ, १५ पुस : किराती वंशका कुलुङ जातिले आज विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष ५०८४ मनाएका छन् । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ उपत्यका समिति, काठमाडौँले आज गोकर्णेश्वर–३ सुन्ताथानस्थित किरात कुलुङ सामुदायिक तथा सांस्कृतिक भवनमा परम्परागत नाचगान, सांस्कृतिक प्रदर्शनी, कविता वाचनलगायतका कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाएका हुन् ।

सङ्घीय संसद्अन्तर्गत अर्थ समितिका सभापति सन्तोष चालिसेले सो कार्यक्रमको शुभारम्भ गर्दै मुलुकका हरेक जातजातिको धर्म, संस्कृति, मूल्य–मान्यताको संरक्षण एवं सम्वद्र्धन गर्ने जिम्मेवारी राज्यको भएकाले सोहीअनुसार सक्दो सहयोग भइरहेके बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सबैको भाषा, धर्म, संस्कृति र मूल्य–मान्यतालाई मुलुकको संविधानले सुनिश्चित गरेको छ, यसको जगर्ने गर्ने जिम्मेवारी हाम्रै हो, सांस्कृतिक विविधता र स्रोतसाधनका दृष्टिले सम्पन्न मुलुक नेपालमै बसी समृद्ध एवं समुन्नत राष्ट्रका पक्षमा सकारात्मक सोचसहित एकताबद्ध भई अघि बढौँ ।”

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले निर्माणाधीन कुलुङ सामुदायिक तथा सांस्कृतिक भवनका लागि सङ्घीय सरकारबाट रु २५ लाख प्राप्त भई ठेक्का प्रक्रियामा गएको जानकारी दिँदै भाषा, धर्म, संस्कृति संरक्षणका पक्षमा सक्दो सहयोग गर्न नगरपालिका सदैव तयार छ भन्नुभयो ।

नेपाल किरात कुलुङ भाषा संस्कृति उपत्यका सङ्घका अध्यक्ष घनश्याम कुलु्ङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रसिं कुलुङ, कुलुङ सम्बद्ध विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधिले प्रकृतिलाई पूजा गर्ने कुलुङ जातिले हरेक वर्ष पुस १५ गतेका दिन विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाउने गरेको जानकारी दिनुभयो ।

सो अवसरमा कुलुङ जातिको उत्थान, वृद्धि विकासमा आर्थिक, भौतिक तथा प्राज्ञिक रूपले सहयोग गर्ने विभिन्न व्यक्ति तथा सङ्घ÷संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो । यसैगरी सांस्कृतिक भवन निर्माणमा रु एक लाख दुई हजार नगद सहयोग गर्ने माया कुलुङलाई विशेष सम्मान गरिएको थियो ।

सरकारको एक वर्ष : अनागरिक नागरिक बन्ने बाटो खुल्यो

जनकपुरधाम, १५ पुस : देश चुनावमय छ । देशलाई नीति र नेतृत्व दिने प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधि चुन्ने र चुनिने चटारो सबैलाई छ । तर जनकपुरधाम उपमहानगरपालिका–४ बतिमपुरका २१ वर्षीय अनुराज झालाई आफ्नो प्रतिनिधि छान्न नपाउने भएपछि चुनावले छोएको छैन । अन्यायका विरुद्ध बोल्ने र सामाजिक रुपान्तरणका आन्दोलनहरुमा अगाडि देखिन रुचाउने अनुराज निर्वाचनको बेला भने कहिल्यै अगाडि आउनुहुन्न ।

सामाजिक रुपान्तरणका आन्दोलनमा सधँै अगाडि देखिने गणेशमान चारनाथ नगरपालिका–३ भरतपुर, धनुषाका इन्द्रजित साफी पनि चुनाव आयो कि सधँै निराश हुनुहुन्छ । धेरैले प्रश्न गर्नुहोला, सधैँ सक्रिय रहने उहाँ किन निर्वाचनजस्तो महाउत्सवमा पनि उत्साहित हुनुहुन्न ? अरु कारणले नभई नागरिकताविहीन भएकैले यस्तो भएको हो ।”

यी भनाइहरु गतवर्ष आमनिर्वाचन हुनुभन्दा केही दिनअघि मात्रै राससको ‘जो आफ्नो प्रतिनिधि चुन्न पाउँदैनन्’ समाचार शीर्षकमा लेखिएका थिए । त्यसताका देशका लाखौं नागरिकताविहीनले भोग्नुपरेका पीडा, गर्नुपरेका सङ्घर्ष र असन्तुष्टिका आवाज मिडियामा यसरी नै पोखिने गर्थे । त्यस्तै समाचारका पात्र हुनुहुन्थ्यो इन्द्रजित र अनुराज पनि । तर अहिले भने उहाँहरु दुबै जनाले नागरिकता पाउनुभएको छ ।

उहाँहरु मात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले गरेको पहलकदमीका कारण आएको नागरिकता ऐन (पहिलो संशोधन) २०७९ पछि वर्षौंदेखिका नागरिकताविहीनले नागरिकता पाउने बाटो खुलेको छ । “नागरिकता नहुँदा हाम्रो मताधिकार मात्रै खोसिएको थिएन । सम्मानपूर्वक बाँच्न पाउने हकदेखि सम्पत्ती, शिक्षा, स्वास्थ्य, रोजगारी र नागरिकले पाउने सम्पूर्ण हकबाट बञ्चित हुनुपरेको थियो, जसको अभावमा हामीले भोग्नुपरेको दुःखको बयान गरेर साध्य छैन”, सफीले भन्नुभयो,“सायद सरकार र राष्ट्रपतिज्यूले त्यो हिम्मत नगरेको भए अहिले पनि हामीहरु अनागरिक नै हुन्थ्यौँ होला । त्यसैले उहाँहरुसहित सम्मानीत सर्वोच्च अदालतका न्यायमूर्ति पनि धन्यवादको पात्र हुनुहुन्छ ।”

वर्तमान सरकार निर्माणको जगका रुपमा रहेको संसदीय निर्वाचनमा मत हाल्न नपाएका अनुराग झासँग पनि अहिले नेपालको नागरिकता छ । नागरिकता पाएसँगै उहाँले वर्षौदेखिको झमेलाबाट मुक्ति पाउनुभएको छ । “हामी चार पुस्तादेखि नेपालमै छौँ । मेरो बुबाले जन्मसिद्ध नागरिकता र आमाले वंशजको नागरिकता लिनुभएको छ । आमाको नामबाट नागरिकता बन्दैन, बुबा जन्मसिद्ध नागरिक भएकाले सरकारले नागरिकता दिन मिल्दैन भन्थ्यो । त्यसैले हामी चारजना भाइबहिनी (अ)नागरिक हुँदा रोजेको ठाउँमा पढ्न पाएनौँ । चाहेको पेशा गर्न पाएनौँ । बैंक खाता, सवारी चालक अनुमति पत्रसमेत नबन्दाको पीडा त झन् खपिनसक्नु थियो”, अनुराजले स्मरण गर्नुभयो ।

राजनीतिक खिचातानीका कारण आफ्नो भविष्य धेरै पछाडि धकेलिएको बताउने उहाँ नागरिकता पाएसँगै भविष्य निर्माणको आशा पलाएको बताउनुभयो । “अहिलेसम्म मत हाल्न पनि पाएनौँ । त्यसको पीडा तपाईँहरुमार्फत नै चुनावको बेला पोखेको थिए । मैले नै मत नहालेको सरकारले मेरा समस्याहरु सुल्झाउन के चाँसो देलाजस्तो लागेको थियो । तर अहिले त्यही सरकारले मजस्ता लाखौँ नागरिकको पीडा बुझेको छ । समस्या समाधान भएकामा खुसी छु”, झाले रासससँग भन्नुभयो ।

राजनीतिक स्वार्थ र जपअपजसको उल्झन्मा परेर झन्पछि झ्न पेचिलो बन्दै गएको वर्षौंदेखिको नागरिकता समस्याले देशभित्रै दोस्रो दर्जाको जीवन बिताउन बाध्य नागरिकको पीडामा वर्तमान सरकारको कदमले मलहमपट्टी लगाउने काम गरेकामा राजनीतिक विश्लेषक राजेश बिद्रोही सरकारलाई धन्यवाद दिनुहुन्छ । उहाँ नागरिकका समस्या सुल्झाउन भनेर राजनीति गर्नेहरुकै बदनियत्का कारण नागरिकता समस्या झनै उल्झनमा पारेकामा पछिल्लो सरकारले भने त्यसमा सुझबुझपूर्ण पहलकदमी लिएको बताउनुहुन्छ । “नागरिकताबिनाको जीवन कति पीडादायी हुन्छ भन्ने कुरा भोग्नेलाई मात्रै थाहा हुन्छ । नागरिकताको अभावमा शिक्षा, स्वास्थ्य, रोजगारलगायत राज्यले दिने सेवा–सुविधाबाट बञ्चित हुने मात्रै होइन मरे–बाँचेको लेखाजोखासमेत नहुने अवस्था कति दर्दनाक हुन्छ”, विद्रोहीले भन्नुभयो,“नागरिकता ऐन ल्याउने कदमले केही हदसम्म राहत दिएको छ । तर नागरिकता नहु्ँदा रोकिएको वृत्ति विकास, अपमान र अवहेलनाको क्षतिपूर्ति जसै गरे नि पूर्ति हुन सक्दैन । यसमा सबैले प्रायश्चित गर्नुपर्छ ।”

चार पुस्तासम्म पनि राज्यको कुनै परिचय र पहिचान नभएका कतिपय स्थानीयलाई यो नागरिकता ऐनले सम्बोधन गर्न नसकेको भन्दै त्यस्ता समस्या समाधानमा पनि उपयुक्त बाटो अबलम्बन गरिनुपर्ने बिद्रोहीको सुझाव छ । उहाँ भन्नुहुन्छ,“मधेसका अधिकांश मूलबासीहरू अझँै पनि नागरिकताबाट बञ्चित छन् । यसका कारण गरिबी, अशिक्षा, भूमिहीनता, सुकुम्बासी बनिरहनुपर्ने अवस्था छ । त्यही पहिचानको अभावमा बसिरहेको जमिन खोसिँदैछ । यी वास्तविक मूलबासीका समस्या सुल्झाउने प्रयास पनि जरुरी छ ।”

गत जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा २०७५ देखि थन्किएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएसँगै जन्मसिद्ध र वैवाहिक अङ्गिकृत नागरिकता समस्या समाधान भएको छ । राष्ट्रपति पौडेलले लगाउनुभएको लालमोहरमा गत असार ७ गते सर्बोच्च अदालतले समेत लालमोहर लगाइदिएपछि अहिले देशभरि जन्मसिद्ध नागरिकता पाउने क्रम धमाधम भइरहेको छ । गृहमन्त्रालयको विवरणअनुसार मङ्सिर मसान्तसम्म करिब ७० हजार जन्मसिद्धका सन्तानले नागरिकता लिएका छन् । त्यसैगरी नागरिकताविहीन सङ्घर्ष समितिले हालसम्म करिब एक लाख जनाले नागरिकताप्राप्त गरेको अनुमान गरेको छ ।

‘संविधानका आठ वर्ष’

राजनीतिक सङ्क्रमणका कारण आफ्नै देशमा पुस्तौंपुस्ता बिताएकाहरु अनागरिक बनिरहने अवस्था थियो । जबकी विसं २०७२ मा आएको गणतन्त्र नेपालको संविधानको धारा १० को उपदफा (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने प्रावधान प्रष्ट थियो । तर आठ वर्षसम्म पनि यो समस्या राजनीतिक नाफाघाटाको विषय बनिरह्यो ।

मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता वीरेन्द्र ठाकुर संविधानले प्रष्ट भनेको कुरालाई समेत आफूखुसी व्याख्या गर्दा गणतान्त्रिक मुलुकमा पनि लाखौँ नागरिक अनागरिक बन्ने अवस्था आएको बताउनुहुन्छ । तर ढिलै भए पनि सरकारले समस्या समाधान गर्नु सराहनीय भएको उहाँको भनाइ छ । उहाँले भन्नुहुन्छ, “जसअपजस दिनेभन्दा पनि यो समस्या समाधान हुनुपथ्र्यो भयो । अब त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा जोड दिनुपर्छ ।”

विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि बनेको नेपाल नागरिकता ऐन, २०६३ को प्रावधानअनुसार त्यसताका एक लाख ९० हजार सात सय २६ जनाले जन्मसिद्ध नागरिकता पाएका थिए । तर संविधानसभा निर्वाचनपछि राजनीतिक सङ्क्रमणले लय पक्रिन नसक्दा त्यसबखत छुटेकाहरु र जन्मसिद्ध नागरिकता पाएकाहरुका पाँच लाख ८० हजारभन्दा बढी सन्तानसमेत नागरिकताविहीन हुन पुगे ।

गास र बासको उचित व्यवस्था नहुँदा चिसोले भूकम्पपीडित समस्यामा

जाजरकोट, १५ पुस : गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् । त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुप¥यो ।

मङ्सिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी हुनुहुन्थ्यो । “भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं”, कल्पनाका श्रीमान गोपे सुनारले भन्नुभयोे, “सुत्केरी भएदेखि नै बिरामी थिइन, चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै ओख्तो (औषधि) गर्न तिर लाग्यौं, मृत्यु नै होला भन्ने सोचेको थिएन ।”

स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उहाँले गुनासो गर्नुभयो । “सुविधासम्पन्न अस्पतालसम्म लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौँ”, सुनारले भन्नुभयो । चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी थिए ।

चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन् । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । भूकम्पपछि त्रिपालको बसाइले चिसोका बिरामी बढ्दै गएको नलगाड कैना स्वास्थ्य चौकीका इञ्चार्ज हेमा पुनले बताउनुभयो । चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको उहाँले बताउनुभयो ।

चिसोले निकै सताएको बारेकोट गाउँपालिका–५ की रमिता सिंहले बताउनुभयो । चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उहाँले बताउनुभयो । त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उहाँले बताउनुभयो । नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाउँलगायत गाउँमा चिसोले बिरामी बढेको नलगाडका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताउनुभयो ।

नगर अस्पताल दल्लीमा कार्यरत डा विशाल उप्रेती बिदामा बसेका र बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालबाट डा अविनव टिङ्करीलाई पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताउनुभयो । अरू ठाउँभन्दा नलगाडमा बिरामीको चाप निकै बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा करिब चार सयको हाराहारीमा चिसोका बिरामी उपचारका लागि आउने गरेको डा भारतीको भनाइ छ । जुनीचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दाले बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । औषधि नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । औषधि अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयंले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामीको सङ्ख्या बढ्दै गएको भए पनि औषधि नभएको बताउनुभयो । उहाँका अनुसार चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ । औषधि नहुँदा उपचार गर्न नसकिएको उहाँको भनाइ छ । स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएको र बिरामीले निःशुल्क पाउने औषधिसमेत दिन नसकेको शाहीले बताउनुभयो ।

जुनीचाँदे–६ दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधि अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताउनुभयो । उहाँले गाउँपालिकामा औषधिको माग गरे पनि आउन नसकेको जनाउनुभयो । चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । जुनीचाँदेका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको छ । जुनीचाँदे गाउँपालिका सदरमुकाम खलङ्गाबाट सबैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो । यहाँ अत्यधिक चिसो हुने गर्छ ।

जुम्ला, कालीकोट र दैलेखसँग सिमाना जोडिएको यो गाउँपालिकाका विभिन्न वडामा पुग्न यातायातको असुविधा छ । जुनीचाँदेका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले यस वर्ष गाउँपालिकाले अहिलेसम्म औषधि खरिद नगरेको र जिल्लाले औषधि नपठाएकाले समस्या भएको बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले माग गरेका पालिकामा औषधि पठाइएको तर जुनीचाँदेले औषधि नै माग नगरेको बताउनुभयो । औषधिको मौज्दात सकिएको भए माग गरेर लैजान सल्लाह दिएको उहाँको भनाइ छ ।

सन् २०२३ मा प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता

काठमाडौँ, १५ पुस : नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ ।

“विगतका वर्ष मा जस्तै यसवर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन् । यसवर्ष पत्रकारको पेशागत असुरक्षा मुख्य चुनौतिको विषय बनेको छ”, विज्ञप्तिमा भनिएको छ

महासङ्घका अनुसार सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन् । सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएका थिए ।

सन् २०२३ मा विभिन्न घटनामा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार प्रभावित भएका छन् । सन् २०२२ मा एक सय ३२ पुरुष र १८ पत्रकार महिला प्रभावित भएका थिए । त्यस्तै सन् २०२४ मा पाँच वटा सञ्चार संस्था प्रभावित बनेका छन् भने २०२२ मा छ वटा सञ्चार संस्था प्रभावित भएका थिए ।

नेपाल पत्रकार महासङ्घले सन् २०२३ मा विभिन्न सञ्चार गृहमा देखिएका श्रम समस्या अर्थात् पेशागत असुरक्षालाई मुख्य चुनौतिको रुपमा लिएको उल्लेख गरेको छ । सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई महासङ्घले दबाबमूलक आन्दोलन, कानुनी लडाइँ तथा वार्ता र संवादसमेतको माध्यमबाट समाधानको पहल गरिरहेको जनएको छ ।

महासङ्घले सन् २०२४ मा श्रम समस्याको दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाएर त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।

“राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटक–पटक प्रेसमाथि विभिन्न प्रकारका आरोप लगाउने, पुष्टि नहुने तर्कसहित समग्र मिडियाप्रति नै लाञ्छित गर्नेलगायतका कार्य सन् २०२३ मा भएका छन्”, महासङ्घले भनेको छ, “महासङ्घ राजनीतिक दल र सरकारका विभिन्न पदमा बसेका व्यक्तिलाई पदीय मर्यादा, विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारप्रति प्रतिवद्ध हुन आग्रह गर्दछ ।”

सरकारले सन् २०२३ मा सञ्चारसम्बन्धी कानुन निर्माणमा सुस्तता देखाएको महासङ्घको टिप्पणी छ । महासङ्घकै संलग्नतामा मस्यौदा भएका सञ्चारसम्बन्धी कानुन यथाशीघ्र प्रक्रियामा लैजान महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चारसम्बन्धी कानुनहरू ल्याउँदा नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक तथा पूर्ण प्रेस स्वतन्त्रतालगायतका व्यवस्था ख्याल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारलाई महासङ्घले सचेत गराउँदै आएको महासङ्घले बताएको छ ।

वार्षिक २० हजार बिरामी पुग्छन् म्याग्दीको तातोपानी कुण्ड

गलेश्वर (म्याग्दी), १५ पुस : म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्डमा डुबेर प्राकृतिक उपचार गराउन र नुहाउन विभिन्न ठाउँबाट वार्षिक २० हजारभन्दा बढी बिरामी आउने गरेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित यो कुण्डमा पुस पहिलो सातादेखि दैनिक पाँच सयभन्दा बढी बिरामीलगायत अन्यले डुबेर उपचार गराइरहेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

अहिले दैनिक पाँचसय बिरामी, सर्वसाधारण तथा पर्यटकले पनि स्नान गर्दै आइरहेका छन् । तातोपानी रहेको मुख्य कुण्डमा नियमित चार सय बिरामीले र बाहिरको पोखरीमा एक सय सर्वसाधारण र पर्यटकले स्नान गर्ने गरेको उहाँको भनाइ थियो । सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देशविदेशमा चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि रोग निको भएको सम्बद्ध बिरामीले बताए ।

विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । विगत १३ वर्षदेखि ढाड र घुँडा दुख्ने समस्याबाट ग्रसित बागलुङ अमलाचौरका ६३ वर्षीय डण्डपाणि चापागाईंले विगत तीन वर्षदेखि हिउँदयाममा तातोपानीमा डुब्न आउने गरेको बताउनुभयो । “काठमाडौँ र पोखराका धेरै अस्पतालमा उपचार गराएँ तर निको भएन, तीन वर्षअघिदेखि तातोपानीमा आएर १०÷१२ दिन डुब्ने गरेको छु । पोहोर सालभन्दा अहिले दुखाइ कम भएको छ”, उहाँले भन्नुभयो ।

विगत तीन वर्षदेखि वर्र्र्षमा एकपटक कुण्डमा आएर डुब्ने गर्नुभएका डण्डपाणि तातोपानीमा डुबेर नै रोग निको हुनेमा विश्वस्त हुनुहुन्छ । यहाँ हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामी डुब्न आउने गरेका कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो । कुण्डमा डुब्न तथा स्नान गर्नका लागि नेपालको अधिकांश जिल्लासहित छिमेकी देश भारत र तेस्रो मुलुक जापान, कोरिया, युरोपलगायत देशका नागरिक पनि भ्रमणका क्रममा आएर नुहाउने गरेको उहाँको भनाइ थियो ।

जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा बिरेनुनको स्वादमा निस्कने तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याष्ट्रिक, बाथरोग, घाउखटिरा, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, नशा च्यापिएको, बज्रिएको सड्किएको, मर्किएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास रहेको छ ।

पछिल्लो समय कुण्डमा बिरामीलाई लक्ष्य गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरिएको छ । व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्था गरेको छ । तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति रु तीन सय ५० र बाहिरको पोखरीमा प्रतिव्यक्ति रु एक सयको टिकटको व्यवस्था गरिएको छ । रु तीन सय ५० को टिकट लिएका बिरामीले पालोअनुसार एक हप्तासम्म नुहाउन पाउँछन् भने बाहिरको पोखरीमा रु एक सयको टिकटले दुई घण्टा नुहाउन पाइन्छ । कुण्डको आम्दानी कुण्ड परिसरमा संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलबभत्तामा लगानी र बेनी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ । कुण्डमा नुहाउन शुक्रबार, शनिबार र बिदाका दिन भीड लाग्छ ।

कुण्डमा एकपटक आएर डुबेका बिरामी निको भएपछि पटकपटक आउने गरेका छन् । विसं २०४२ मा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीय बासिन्दाले संरक्षणसहित र कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो । नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पदयात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीका लागि हिजोआज यहाँका तातोपानी कुण्ड मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षकस्थल बन्दै गएका सचिव केसीले बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा १४ ओटा तातोपानीका कुण्ड रहेकामा सिङ्गा तातोपानी बिरामीको उपचारका लागि प्राकृतिक चिकित्सालयको नामले चिनिन्छ भने अरु ठाउँका तातोपानी पनि पर्यटक र स्थानीयवासीको थकान मेटाउने र चिसो भगाउने स्थलको रुपमा चिनिएका छन् । उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजालगायत तातोपानी कुण्डमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि तीनलाई व्यवस्थित बनाइएको छ ।उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्ड पछिल्लो समय राउन्ड धौलागिरि र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकहरुका लागि मनोरञ्जनस्थल बनेको स्थानीयवासीले बताए ।

धेरै दिनसम्म हिमाली क्षेत्रको पद मार्गमा यात्रा गर्दा युरिक एसिड, बाथ, ढाड दुख्ने, घुँडा दुख्ने, छालाको एलर्जी र यात्रामा हुने घाउ खटिराको उपचार पर्यटकले म्याग्दीमा पुगेपछि तातोपानीले गर्ने गरेका छन् । कतिपय पर्यटक त थकाइ मेटाउन घण्टौँसम्म कुण्डमा डुबुल्की मारिरहन्छ । सिङ्गाको तातोपानीमा उपचारका लागि आउनेहरु यातायातका साधनबाटै यहाँ आउन सक्छन् । देशका सबै ठाउँबाट बेनीसम्म यातायातका सञ्चालन हुँदै आएको छ । बेनीदेखि नौ किलोमिटर पश्चिममा तातोपानी कुण्ड रहेको र त्यहाँ पुग्न बस, ट्याक्सी, जिप, अटोरिक्साजस्ता साधन पाइन्छन् ।

सुन बेचेर सुन्तला लगाए , सुन्तलाले सुनै फलाए

बेनी (म्याग्दी), १५ पुस : बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गर्नुभएको हो । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताउनुभयो ।

सुन बचेर सुन्तलाखेती गर्नुभएकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ । ‘‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ”, हुमेनले भन्नुभयो । अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तलाखेती रहेको उहाँको भनाइ छ । कान्छो छोरासँगै बसोबास गर्दै आउनुभएका हुमेन र उहाँका दुई छोराको सुन्तला बगैँचामा अहिले करिब चार सय बढी बोट रहेका छन् ।हरेक वर्ष रु आठदेखि १० लाखसम्म सुन्तला बिक्री हुने गरेको हुमेन परिवारको भनाइ छ । ‘‘खेतमा धान राम्रो फल्ने थिएन, एक नातेदारले सुन्तला लगाउन सल्लाह दिएका थिए, उनले पनि खेतबारीमा सुन्तलाखेती लगाएको देखेर, मैले पनि लगाएको हुँ, पछि गाउँभर नै सुन्तलाखेती विस्तार भयो, अहिले हाम्रो गाउँ बास्कुनाबाट सुनकुना भएको छ भन्दा हुन्छ’’–उहाँले थप्नुभयो । यहाँ रहेका बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् ।हरेक घरमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ । दुई वर्षअघि बालमखोला सिँचाई आयोजना निर्माण भएपछि सिँचाइ सुविधा पुगेर सुन्तलाखेती थप फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । यहाँ उत्पादन भएको सुन्तला बगैँचाबाटै बिक्री हुने गरेको छ । पोखरा र काठमाडौँको व्यवसायी यहाँका सुन्तला बगँैचामै पुगेर खरिद गर्छन् । सुन्तला फल्न थालेको सुरुवाती चरणमा पोखरा र काठमाडौँसम्म आफँैले ढुवानी गरेर बिक्री गर्नुपरे पनि पछिल्लो समय भने व्यवसायी बगैँचामै आएर सुन्तला खरिद गर्न थालेका छन् । यसबाट सहज भएको स्थानीय अगुवा किसान दलबहादुर कार्कीले बताउनुभयो ।‘सुन्तला नपाक्दै पेश्की रकम लिएर व्यवसायी गाउँमा आउँछन्, यहाँका अधिकांश बगैँचा ठेकेदारले पेश्की लगाएका छन्, जति उत्पादन भए पनि बजारको अभाव छैन’’–उहाँले भन्नुभयो । यो वर्ष सुन्तलाको उत्पादन घटेपनि फलको गुणस्तर राम्रो भएकाले विगतको तुलनामा केही बढी मूल्य किसानले हात पारेका छन् ।गतवर्ष प्रतिकिलो रु ७२ मा सुन्तला बिक्री गरेकामा यो वर्ष प्रतिकिलो रु ८० मूल्य पाएको किसान कार्कीले जानकारी दिनुभयो । बास्कुनामा यस वर्ष सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरेर सुन्तला बिक्री गर्न थालिएको छ ।मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउन वडाका जनप्रतिनिधि र किसान समूहले मूल्य निर्धारण गरेको किसानसमेत रहनुभएका बेनी नगरपालिका–४ का वडा सदस्य सन्दीप खत्रीले जानकारी दिनुभयो । बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले गतवर्ष रु एक करोड मूल्य बराबरको सुन्तला निकासी गरेकोमा यसवर्ष फल कम लागेकाले रु ७५ देखि ८० लाख बराबरको सुन्तला निकासी हुने अनुमान गरिएको वडा सदस्य खत्रीले बताउनुभयो ।सुन्तला बिक्री गरेर एक जना किसानले रु एक लाखदेखि दश लाखसम्म आम्दानी गर्छन् । परम्परागत रुपमा धान, कोदो, मकै र गहुँखेती गर्दै आएका यहाँका स्थानीयवासीले नगदेबालीको रुपमा सुन्तला खेतीलाई विस्तार गरेका छन् । सुन्तला खेतीबाटै यहाँका स्थानीयवासीको आयआर्जनमा वृद्धि र जीवनस्तरमा समेत सुधार भएको छ ।

मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, १५ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।

तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उहाँले विज्ञप्तिमा जोड दिनुभएको छ ।स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ’ – देउवा

काठमाडौँ, १५ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली कांग्रेस र आफ्नोे व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सभापति देउवाले तमु जातिले नयाँ वर्षको रुपमा मनाउने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताउनुभएको छ । यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने उहाँले आज जारी गर्नुभएको सन्देशमा उल्लेख छ । सन्देशमा उहाँले तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको बताउनुभएको छ ।

इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

फिक्कल (इलाम), १५ पुस : इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् ।

पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ । गोल्डकप सञ्चालनका लागि तीन हजार बढी बाँस प्रयोग गरेर अस्थायी प्यारापेट बनाउन थालिएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले राससलाई बताउनुभयो ।

सदरमुकामको खेलमैदानमा पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्यारापेट निर्माण गर्नु आयोजकको बाध्यता भएको सचिव घिमिरेले बताउनुभयो । इलामका अधिकांश क्षेत्रमा आयोजना हुने गोल्डकपमा बाँसको अस्थायी प्यारापेट प्रयोग गर्ने गरिएको छ । अस्याथी प्यारापेट करिब चार हजार दर्शक अटाउने क्षमताको रहेको सचिव घिमिरेले जानकारी दिनुभयो । टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्यारापेट निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

अस्थायी प्यारापेट निर्माणसँगै इलाम गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । “सदरमुकामको मुख्यबजारसँगै रहेको टुँडीखेलमाल स्थायी प्यारापेट नभएकाले बाँसको अस्थायी प्यारापेट निर्माण गरिरहेका छौँ”, सचिव घिमिरे रासससँग भन्नुभयो, “दर्शकको सुविधाका लागि प्यारापेट निर्माणको काम ७५ प्रतिशत सकिएको छ ।” मैदानको एकातर्फ जमिनको भूभाग भएकाले बाँकी तीन भागमा बाँसको अस्यायी प्यारापेट निर्माण गरिएको घिमिरे बताउनुभयो । टुँडीखेल स्तरोन्नति र प्यारापेट निर्माणका लागि रु १० लाख खर्च लागेको उहाँले बताउनुभयो ।

गोल्डकपमा आयोजकसहित नेपालका ‘ए’ डिभिजन क्लब र भारतका क्लब गरी आठ टोलीको सहभागिता रहने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मुले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजक रेडहर्ष फुटक्बल क्लबसहित ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी), एकाडेमी रोयल एक्सिलेन्सा डुबाला क्यामरुन, पाँचथर युवा क्लब, झापा युनाइटेड, जागृती युवाक्लब इटहरी, बागमती युवाक्लब र विदेशी टोली भारत दार्जिलिङको सहभागिता रहनेछ । गोल्डकप विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछन् ।

यसअघि सदरमुकाममा माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन हुँदै आएको थियो तर छैटौँ संस्करणसम्म सञ्चालन भए पनि विविध कारण देखाउँदै स्थगित भएपछि पहिलोपटक इलाम गोल्डकप सुरु हुन लागेको हो ।

सङ्घीयतालाई सुदृढ तुल्याउन प्रमुख शक्तिबीच न्यूनतम साझा सहमति आवश्यक छ – सांसद राना

काठमाडौँ, १५ पुस : नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले पहिला टेलिभिजनमा देख्दै आएको संसद् र संसदीय समितिका बहस एवं छलफलमा आज आफैँ सहभागी हुने अवसर पाउनुभएको छ । यी छलफलमा कतिपय नवआगन्तुक सांसदले देश, जिल्ला र क्षेत्रका जल्लाबल्दा विषयवस्तु प्रखररुपमा उठान गर्न अझै नसकेको उहाँले महसुस गर्नुभएको छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुनुभएकी रानाले संसद्मा पहिलो प्रवेश, कानुन तर्जुमा गर्ने गहन जिम्मेवारी र प्रक्रियामुखी नौलो अनुभवका कारण हुनसक्छ कतिपय केन्द्रीय जनप्रतिनिधिले समेत अझै जिल्लाका प्राथमिकता, विकास निर्माण, भौगोलिक स्थिति र समस्यालाई प्रखररुपमा राख्न नसकेको प्रतिक्रिया दिनुभयो ।

नेपाली कांग्रेसकी नेत्री रानाले संसदीय अभ्यासमा प्रवेश गरेको एक वर्ष पूरा गरिए पनि कतिपय कारणले आफ्नो उपस्थिति सोचेअनुरुप प्रभावकारी हुन सकेन कि भन्ने महसुस भएको बताउनुभयो । ‘सांसदसँग रासस संवाद’ उहाँले भन्नुभयो, “विधेयकलाई समृद्ध तुल्याएर गुणस्तरीय ऐन–कानुन निर्माण गर्नुपर्ने दायित्व धेरै छ । विधेयकमाथि गहन र बृहत् छलफल हुनुपर्छ । बनेका कानुन पनि कार्यान्वयनमा लैजान नसकेको महसुस गरेकी छु ।”

सांसद रानाले महिला सांसद भएकैकारण बोल्ने अवसरमा विभेद नगरिए पनि कतिपय अवस्थामा परिपक्व, पुराना र माथिल्ला तहका नेतालाई सम्मान गर्नुपर्ने परिस्थितिले कम समय प्राप्त हुने गरेको घटना सुनाउनुभयो । उहाँले शून्य समयमा महिला भएकै कारण बोल्ने अवसर पाइरहे पनि विशेष समयमा भने कहिलेकाहीँ अवरोध महसुस गरेको प्रतिक्रिया दिनुभयो ।

नेत्री रानाले जिल्लाका प्रमुख विषयवस्तु राख्ने र कानुनमा स–साना विषयमा पनि गम्भीरतापूर्वक केलाउने सम्बन्धमा कहीँ कतै आफ्नो त्यति राम्रो उपस्थिति भएन कि भन्ने लागेको मात्र हो भन्नुभयो । एक प्रश्नमा उहाँले भन्नुभयो, “सदन जति प्रभावकारी र चलायमान हुनुपथ्र्याे यस अवधिमा त्यो नभएकै हो ।”

संसद्को महिला तथा सामाजिक मामिला समिति सदस्यसमेत रहनुभएकी रानाले राजनीतिक परिवर्तनका प्रमुख शक्ति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच हार्दिकता कायम गर्दै कानुन निर्माण र देश विकासमा एकाकार हुनुपर्नेमा त्यो नदेखिएकामा चिन्ता व्यक्त गर्नुभयो । नेत्री रानाले भन्नुभयो, “नयाँ कानुन कार्यान्वयन र भर्खर अघि बढाइएको सङ्घीयतालाई सुदृढ तुल्याउन प्रमुख शक्तिबीच न्यूनतम साझा सहमति आवश्यक छ । नेपाललाई समृद्ध र सुखी बनाएर मात्र दलका नेताले राजनीति र सिद्धान्तको अवधारणा बनाउनुपर्छ भन्ने लाग्छ ।”

नेपाली समाजलाई विखण्डन र विकृतितर्फ लैजान खोजिए कसैको पनि आदर्श र सिद्धान्त बाँकी नरहने चेतावनी दिँदै उहाँले देशका प्रमुख राजनीतिक शक्तिलाई संविधानका मूलभूत सिद्धान्त तथा देशको परिस्थितिलाई बुझेर एउटा निश्चित मापदण्ड बनाएर अघि बढ्न सुझाव दिनुभयो ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि रहनुभएकी सांसद रानाले भन्नुभयो, “अब कति समयसम्म हामीले यस्तो द्वेषपूर्ण राजनीतिक गर्ने त ! राजनीतिकले टोल छिमेकमा विवाहलगायत कार्य गर्दा एकअर्कालाई राजनीतिले प्रभाव पारिरहेको छ । यो राजनीतिक दलभित्र मौलाएको तिक्तता र असमझदारीकै परिणाम हो ।”

आफू अघि बढ्ने सन्दर्भमा अर्काको विरोध मात्रै गर्ने प्रवृत्ति ठीक नभएको प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “समाजलाई विखण्डनतर्फ होइन, सकारात्मक सोचका आधारमा अघि बढाउनुपर्छ । कसैलाई एकोहोरो गाली गर्ने र होच्च्याउने काम गरिन हुन्न ।” समाजलाई बिगारिरहेको र प्रदूषित बनाइरहेको अति राजनीतिकरणलाई अब तत्काल सच्च्याउन आवश्यक रहेको बताउँदै नेत्री रानाले निर्वाचित जनप्रतिनिधिले दलको प्रतिनिधिका रुपमा नभई सबैको साझा हुँ भन्ने भावनाले जिम्मेवारी पूरा गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नभयो, “कृषि, जलस्रोत क्षेत्रको विकास र रोजगारीजस्ता विषयमा जनप्रतिनिधिले साझा धारणा बनाएर काम गरे मुलुकमा राजनीतिक स्थिरता पनि हुन्छ । अहिले जनप्रतिनिधिबीचको मतभिन्नताले कर्मचारी खटाएको स्थानमा परिचालित हुन नमानेका पक्षलाई पनि हेक्का राखिनुपर्छ ।”

नेपालको अहिलेको परिवेश हेर्ने र स्वतन्त्र मूल्याङ्कन गर्ने हो भने विकास नभएको होइन भन्दै उहाँले विकासलाई केबल भवन, सडक र पुल निर्माणलाई मात्र नभई समाजमा सकारात्मक सोचलाई प्रवद्र्धन गर्ने गरी सँगसँगै लैजानु पर्नेमा जोड दिनुभयो । नेत्री रानाले भन्नुभयो, “जोसुकैले गरेको भए पनि असल कामलाई प्रोत्साहन गर्न सक्नुपर्छ । सहीलाई सही र गलतलाई गलतै भनेर जानुपर्छ । युवापुस्तालाई विकास भनेको भौतिक मात्र नभई सकारात्मक सोचमा परिवर्तन पनि हो भनी बुझाउन जरुरीछ ।”

लोकतन्त्र स्थापनापछि मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक संरक्षणका धेरै क्षेत्रमा प्रगति भए पनि केही व्यक्तिले समाजभित्र नकारात्मक धारणा फैलाएर समाजलाई नै भ्रमित बनाएको र मुलुकलाई अन्धकारतर्फ लैजान खोजेको कुराप्रति सबै सचेत हुन आवश्यक रहेको उहाँको सुझाव छ ।

राजनीतिक दलका नेताहरुले पनि देश विकास होइन, पार्टीको मात्र राजनीति गरिरहने हो भने आशा गरेको विकास र समृद्धिका एजेण्डा कार्यान्वयन हुन कठिन हुने धारणा राख्दै सांसद रानाले यसले देशहित र जनताको कल्याण गर्न नसक्ने विचार व्यक्त गर्नुभयो । विद्यार्थीकालदेखिनै राजनीतिमा सक्रिय नेत्री राना विभिन्न सङ्घसंस्थामा आबद्ध भई दैलेखका दुर्गम स्थानमा महिला जागरण र सुरक्षित मातृत्वसम्बन्धी चेतना र सहयोगका कार्यक्रम सञ्चालन गर्दैआउनुभएको छ ।

समानुपातिकतर्फ आदिवासी समूहबाट निर्वाचित उहाँले भूकम्पपछि जाजरकोटको दुर्गम क्षेत्रमा पुगेर सोसेक नेपाल संस्थामार्फत करिब रु तीन करोड बराबरको खाद्यान्न, लत्ताकपडालगायत राहत सामग्री वितरण गरेको सुनाउनुभयो । मुलुकमा लोकतन्त्र स्थापनाका लागि बलिदानीपूर्ण सङ्घर्ष र दुःख भोगेका नेताहरुले कोरेका मार्गचित्रका आधारमा मुुलुकको राजनीति यहाँसम्म आइपुगेको बताउँदै विधायक रानाले त्यस्ता नेतृत्वलाई अब समयको बदलिँदो पदचापलाई बुझेर अगाडि बढ्न सल्लाह दिनुभयो ।