`

नेपाल चीन रेलवे एक बर्षमा कति भयो प्रगती ?

एक वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको भोलिपल्ट काठमाण्डू केरुङ रेलवेको सर्वेक्षण अघि बढाउन नेपाल आएको चिनियाँ प्राविधिक टोलीले आकाशबाट गरिने सर्वेक्षणको काम सम्पन्न गरेको अधिकारीहरूले बताएका छन्।

उक्त सम्भाव्यता अध्ययन चीनले नेपाललाई उपलब्ध गराएको अनुदानबाट गरिएको बताइएको छ।चिनियाँ सरकारी निकायले अघि बढाएको अध्ययन उक्त पूर्वाधार योजनाको लगानी र नक्साङ्कनसहितका विषय निधो गर्न महत्त्वपूर्ण हुने ठानिएको छ।

प्रारम्भिक अध्ययनले नेपाल चीन अन्तर्देशीय रेलसेवा अन्तर्गत नेपालतर्फ ७२ किलोमिटर रेलमार्ग हुने प्रस्ताव गरेको छ।त्यसमध्ये ६८.६ किलोमिटर दूरी सात वटा सुरुङ र २.६ किलोमिटर दूरी नौ वटा पुलले ओगट्ने जनाइएको छ।काठमाण्डू केरुङ रेलवे निर्माणका लागि २७२ अर्ब रुपैयाँ लाग्न सक्ने प्रारम्भिक सम्भाव्यता अध्ययनले देखाएको थियो।

चिनियाँ प्राविधिकहरूले एक वर्षमा के के गरे?
रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालका अनुसार प्राथमिक सर्वेक्षणहरूको काम चिनियाँ प्राविधिकहरूले आफूले बनाएको समय तालिकामै रहेर लगभग पूरा गरेका छन् भने अझ विस्तृत अध्ययन अघि बढाउन गइरहेका छन्।

सन् २०२३का लागि तोकिएको लक्ष्य पूरा भएको उनले बताए, “यो काम चिनियाँ प्राविधिकहरूले नै गरिरहनुभएको छ र हाम्रो तर्फबाट हामीले सहजीकरण गरिदिएका छौँ। प्राथमिक स्थलगत सर्वेक्षण सकिएको छ तर अरू विस्तृत काम हुन बाँकी छ भनिरहनुभएको छ। ड्रोन उडाएर माथिबाट फोटो खिच्ने काम चाहिँ सम्पन्न भएको छ।”

रेलमार्ग निर्माणका लागि प्रयोग गरिने ‘एलाइनमेन्टको’ ड्रोनले आकाशबाट लिएको तस्बिरले नक्साङ्कन र सम्भावित निर्माणस्थलको अध्ययनमा सघाउने अधिकारीहरू बताउँछन्।उक्त कार्य सम्पन्न गर्न कूल ४२ महिनाको समय दिइएको थियो। प्रधानमन्त्री प्रचण्डले गएको सेप्टेम्बरमा चीनको भ्रमण गर्दा दुवै देशका अधिकारीहरूले रेलवेको सम्भाव्यता अध्ययनमा भइरहेको प्रगतिप्रति सन्तोष व्यक्त गरेका थिए।

नेपालसँग सडक, बन्दरगाह, रेल, हवाई यातायात र विद्युत् प्रसारण ग्रिड जस्ता सम्पर्क सञ्जालसँग जोडिएका पूर्वाधार निर्माणमा सहकार्य गर्ने इच्छा बेइजिङले व्यक्त गर्ने गरेको छ।उसले काठमाण्डू केरुङ रेलवेलाई हिमालय सीमापार बहु आयामिक सम्पर्क सञ्जालको महत्त्वपूर्ण हिस्साको रूपमा प्रस्तुत गर्दै त्यसले भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको आकाङ्क्षामा सघाउने बताउने गरेको छ।

यसपालि प्रधानमन्त्री प्रचण्ड चीन जाँदा दुवै देशले नेपाल चीन रेलवे सहकार्यको आठौँ बैठक सम्भव भएसम्म चाँडो गर्ने भन्दै चिनियाँ पक्षले नेपाली रेलवे अधिकारीहरूलाई तालिम दिएर सघाउने संयुक्त विज्ञप्तिमा उल्लेख छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

मेलम्ची स्वास्थ्य शिविरमा एक हजार तीन सय लाभान्वित

सिन्धुपाल्चोक, १५ पुस : मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभाविन्त भएका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा भएको शिविरमा पेटसम्बन्धी रोग, पिनास, मधुमेह, पञ्चकर्म, भिडियो एक्सरे, छालासम्बन्धी रोग, फिजियोथेरापीसहितका सेवा र निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताउनुभयो । उहाँले आयुर्वेद पद्धतिबाट उपचार गर्दा ‘साइड इफेक्ट’ नहुने र यो उपचार पद्धति भरपर्दो भएको बताउनुभएको हो ।

आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति भएको बताउँदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजनाअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदको विकास गर्नसके धेरै रोगबाट मुक्त हुन सकिन्छ ।”

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्धतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या भएको बताउनुभयो । पेटसम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउँदै डा यादवले आयुर्वेद पद्धतिबाट हुने उपचारले पेटसम्बन्धी रोग निको हुने दाबी गर्नुभयो ।

इजरायलसँग चलिरहेको युद्धका कारण गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त

इजरायलसँग चलिरहेको युद्धका कारण गाजा शहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् । टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएका हुन् ।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार क्षतिग्रस्त भवनहरूमा कारखाना, प्रार्थना घरहरू, विद्यालयहरू, सपिङ मलहरू र होटलहरू लगातय समावेश छन् । यता इजरायलले भने थुप्रै विद्यालय, मस्जिद र अन्य भवनहरू सैन्य उद्देश्यका लागि र गाजा आतङ्ककारी समूहहरूले प्रयोग गरिएपछि आक्रमण गरेको बताएको छ।प्रतिवेदनले गाजाका ३६ वटा अस्पतालहरूमध्ये केवल आठ अस्पतालहरूले मात्र बिरामीहरूलाई सेवा दिन सक्ने अवस्थामा रहेको बताएको छ । यद्पि त्यहाँ पनि पानी, बिजुली र सञ्चार लगायतका आधारभूत पूर्वाधारहरू ध्वस्त भएको बताएको छ।

यसैबीच, इजरायली वायुसेना र नौसेनाले गाजा पट्टीमा थुप्रै आतङ्कवादी कक्षहरू र पूर्वाधारहरूमा आक्रमण गरेको इजरायली सेनालाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
गाजा शहरका सेनाले गत दिन विभिन्न ठाउँमा दर्जनौं आतङ्ककारीहरूलाई मारेको बताइएको छ ।

सेनाले उत्तरी गाजाको बेट लाहियामा हमासले प्रयोग गर्ने दुईवटा भवनहरू पनि ध्वस्त पारेर बम, बन्दुक र सञ्चार उपकरणहरू सहित ठूलो मात्रामा सैन्य उपकरणहरू जफत गरेको बताएको छ ।
टाइम्स अफ इजरायलले चिकित्सक र प्यालेस्टिनी पत्रकारहरूलाई उद्धृत गर्दै मध्य गाजामा रहेको नुसेरात शिविरमा हवाई हमला भएको बताएको छ । यस क्षेत्रमा पछिल्लो समय सैन्य हमला तीव्र भनेको छ र ठूलो जनधनको क्षति भइरहेको छ ।

राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका : प्रदेशप्रमुख गुरुङ

गण्डकी, १५ पुुस : गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउनुुभएको छ । तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना दिँदै उहाँले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताउनुुभएको छ ।

गुरुङ समुदायले हर्षका साथ पुरानो वर्षलाई बिदाइ र नयाँवर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै आएको उल्लेख गर्दै सन्देशमा उहाँले गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायत जिल्लामा यो पर्व उमङ्गका साथ मनाइने गरिन्छ । प्रदेश प्रमुख गुुरुङले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुुभएको छ ।

भूकम्पपीडित बिरामी बढ्दै, स्वास्थ्य संस्थामा पाइँदैन सिटामोल पनि

जाजरकोट । त्रिपालमा बस्दै आएकी कुशे–९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार ज्यान गयो। आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्युवरण रोज्नुपर्‍यो। मंसिर १७ गते सुत्केरी भएकी उनले विपन्नताका कारण पेटभरी खाना खान नपाउने अवस्था थियो। बिहान बेलुकाको छाक टार्नै धौ–धौ भएकाले उचित उपचार पाउन सकिनन्।

‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं’, श्रीमान् गोपे सुनारले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन्। चिसोले मुख र जीउ सुन्निएको थियो। ठीक भइहाल्ला नि १ भनेर गाउँघरकै ओखतीमूलो गर्न तिर लाग्यौं। एक्कासि यसरी प्राण जाला भन्ने ठानेका थिएनौं।’

स्वास्थ्य संस्थाहरू नाम मात्रैका भएको र त्यहाँ लगे पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे। ‘अलि सुविधासम्पन्न अस्पताल लैजाने पैसा थिएन। त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौं’, सुनारले भने, ‘२५ दिनको छोरा र २ वर्षको अर्को छोरालाई कसरी स्याहार्ने होला ?’ ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएका उनले भने, ‘भूकम्पपछि काममा पनि जान पाएको छैन। घरमा खानेकुरा पनि केही छैन। मेरो त बिजोग भयो कसरी बाचूँ ?’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

डीनविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी

पोखरा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो ।

विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरीत अधिकारीलाई डीन नियुक्त गरेको भन्दै छानबिनसहित कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो ।

गण्डकी विश्वविद्यालयको स्नातक तहमा पाँच शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । तर, अधिकारीलाई पाँच शैक्षिक कार्यक्रमको डीनको रूपमा कार्यभार सञ्चालनको जिम्मेवारी दिइएको छ ।

गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको ऐनले पनि स्पष्ट रूपमा संकायअनुसार डीन रहने व्यवस्था गरेको छ । उक्त ऐनको दफा २९ (१) मा भनिएको छ- ‘संकाय प्रमुखका रूपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन रहने छ।’ ऐनअनुसार चार संकायमा डीन नियुक्त भएका छैनन् ।

गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ को परिच्छेद को नियम ४६ मा डीनको व्याख्या गरी डीनको व्यवस्था योग्यता र अनुभवको आधारमा गरिने छ भनी उल्लेख छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कालीगण्डकी करिडोर : नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

म्याग्दी, १५ पुस : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ ।

विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार चार वर्षपछि काममा फर्किएका अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयको प्रतीक्षापछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौँ । निर्माणलाई गति दिन सहजीकरण र समन्वय गरिरहेका छौँ ।”

विसं २०७४ मा निर्माण कम्पनी शर्मा–गजुरमुखी नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो । विसं २०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति भएको थियो । पहिरोपछि बीमा दाबी प्रक्रियामा भएको ढिलाइले रोकिएको सडक निर्माणलाई पुनः थालिएको शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो । “आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “हाल एक सय १० जना मजदुर, चारवटा ब्रेकरसहितको डोजरलगायत आवश्यक उपकरण निर्माणस्थलमा ल्याइएको छ ।”

विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको निर्माण अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’सहित लागत रु ६३ करोड पुगेको छ । हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर विष्णु चापागाईले बताउनुभयो । घाँसा–कैकुखोला खण्डको दुई किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम सकिएको छ ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे र बाँदरजुङभिर क्षेत्रमा करिब एक किलोमिटर दूरीमा विस्फोटक पदार्थको प्रयोग गरी सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । सोही सडकमा छ सय मिटर ढलानको तयारी गरिएको छ । पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २ दशमलव ५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ । नागढुङ्गा–काभ्रे खण्डमा ८ दशमलव ५ किलोमिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने तयारी भएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको बेगखोला–नागढुङ्गा खण्डको करिब १० किलोमिटर सडक पनि कालोपत्र सुरु भएको छ । शर्मा–युनाइटेड कम्पनीले ठेक्का लिएको यो सडकको नागढुङ्गादेखि बेगखोलातर्फ ‘प्राइम कोड’ बिछ्याउन थालिएको हो । यो खण्डमा सडक विस्तार, नाली, पर्खाल निर्माण सकेर ‘बेस’ र ‘सब बेस’सँगै प्राइम कोड बिछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ ।

राहुघाट–बेगखोला खण्डको राहुपारेदेखि कुनौटासम्म छ किलोमिटर सडक चार वर्षअघिनै कालोपत्र भए पनि धेरै ठाउँमा जीर्ण बनिसकेको छ । राहुघाट–बेगखोला खण्डको बाँकी भाग स्तरोन्नति र कालोपत्रको कामलाई नागढुङ्गा–बेगखोलाको काम सकेपछि पूर्णता दिने निर्माण कम्पनीले जनाएको छ ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटरसडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷०७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

उक्त सडकको छ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा १९ किलोमिटर कालोपत्र गरिएको छ । उक्त सडक योजनाअन्तर्गत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएका छन् ।
–––

प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट किन छाडियो अध्यागमनाका उपसचिव ?

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग साँठगाँठ देखिएका एक कर्मचारीलाई प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट छाडिएको पाइएको छ । सुरुमा मंसिर २७ अघि नरवीर खड्कालाई पक्राउ गर्दा अध्यागमन कार्यालयमा कार्यरत उपसचिव राम थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

उनी खड़का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी अधिकारीको दाबी छ। तर उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी कर्मचारी भने त्यसलाई स्विकार्दैनन् । समातेर ल्याउँदाल्याउँदै उपसचिव थापा बाटैबाट छुटेको हुन सक्ने भन्दै आन्तरिक रूपमा सूक्ष्म अनुसन्धान भइरहेको बताइएको छ ।

कि त हाम्रो प्रहरीले चिनेन कि त कसैको दबाब पयो, उनका बारेमा थप अनुसन्धान भइरहेको छ । ढिलोचाँडो सम्पर्कमा ल्याउनेछौं प्रहरीको उच्च स्रोतले भन्यो । यो विषयले प्रहरी संगठनभित्र पनि हलचल पैदा गरेको छ ।

भिजिट भिसा दुरुपयोगमा थापाको संलग्नता रहेन र रहेको भन्ने विषयमा त्रिभुवन विमानस्थल अध्यागमन अन्तर्राष्ट्रिय कार्यालयका प्रमुखसमेत रहेका सहसचिव गोगनबहादुर हमालले आफूलाई जानकारी नभएको बताए । यो समाचार नागरिक दैनिकमा छ ।

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन (बागलुङ), १५ पुस : नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन । अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भइ रहेको छ । तमानखोलामा पनि गत वर्षदेखिनै पोल गाड्न थालिए पनि अहिलेसम्म बिजुली बलेको छैन ।

अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ । निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम तीव्र गतिमा भइरहेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका पालिकाहरुमा केही वर्ष अगाडिनै केन्द्रीय लाइन पुगे पनि पश्चिम बागलुङका धेरै पालिकामा पुग्न सकेको थिएन । विद्युत् प्राधिकरणले गत वर्षदेखिनै केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम जारी राखेको छ । गाउँ–गाउँम विद्युत्का विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले यस वर्ष निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरि काम गरि रहेको छ । पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेशन निर्माण भएको छभने बुर्तिबाङमा पनि १३२ किलोभोल्टको सबस्टेशन निर्माण भइरहको छ । यस वर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पु¥याउने गरी काम भईरहको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख पवन पौडेलले राससलाई बताउनुभयो ।

आगामी एक महिना भित्रमा बत्ती बाल्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । ढोरपाटन उत्यका, निसीखोलाको देवीस्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन सञ्चालन हुने पौडेलले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको रु १४ करोडबाट प्रसारण लाइन विस्तार गरिएको हो ।

स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो अझै लागेन

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी प्रकाशकलाई छाप्ने जिम्मेवारी दिने प्रवृत्ति निकै पुरानो हो । यसरी निजी प्रकाशकलाई प्रकाशनको जिम्मा दिँदा आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले समयमा पाठ्यपुस्तक छाप्न नसकेको भन्दै छपाइमा डेढ दशकअघिदेखि निजी प्रकाशकलाई प्रवेश गराइँदै आएको छ । गत वर्ष कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी प्रकाशकले र कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षालाई छाप्न दिइएको थियो ।

अघिल्लो वर्ष कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजीलाई छाप्न दिने निर्णय भएको थियो । कुन तहदेखि कुन तहसम्म जनक शिक्षा र निजी प्रकाशकलाई छपाइको जिम्मा दिने भन्ने निर्णय नहुन्जेल ती प्रकाशक अन्योलमा रहने गरेकाले छपाइ कार्य स्थगित गर्ने गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाइको निर्णय गरिदिन गत कात्तिकमै फाइल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको थियो । दुई महिना बित्दा पनि फाइल मन्त्रालयमा थन्किएको छ ।

समयमा निर्णय हुन नसक्दा आगामी शैक्षिक सत्रका लागि समयमै पाठ्यपुस्तक विद्यार्थीका हातमा पुग्न नसक्ने जोखिम रहन्छ । सो निर्णयपछि पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकसँग प्रस्ताव आह्वान गर्नुपर्ने हुन्छ ।

प्रस्ताव स्वीकृतिपछि मात्र निजी प्रकाशकले पाठ्यपुस्तक छाप्न पाउने अवस्था रहन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “आवश्यक छलफल भइरहेको छ । छिटै निर्णय गर्ने छौँ ।”

गत वर्ष सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि एक करोड २० लाख थान पाठ्यपुस्तक छाप्ने जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरेको थियो । कक्षा ६ देखि १२ सम्मका एक करोड ७० लाख थान पाठ्यपुस्तक जनक शिक्षाले छापेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियन कम्पनीले तलव दिने

काठमाडौं । कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

मलेसियाको भेन्चर गु्रपअन्तर्गतको दुई फरक कम्पनी एनटीटीएस टेक्नोकम सिस्टम यसडीएन बिएचडी र पिन्टारमास यसडीएन बिएचडीमा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिक काम गर्दै आएकोमा कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए । तर, कम्पनीले उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो ।

तलव भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीले मलेसियास्थित नेपाली दूतावासलाई समन्वयका लागि अनुरोध गरेको थियो । सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो ।

पत्रका आधारमा विभागले उनीहरूले काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको सूचनामा उल्लेख छ । उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न बिभागले अनुरोध गरेको छ । विभागले श्रमिकहरुलाई सम्पर्क गराउन आवश्यक समन्यव गर्न नेपाल वैदेशिक रोजगार ब्यवसायी संघलाई पनि अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

वातावरण सुधारमा कुनै सम्झौता हुँदैन : महानगरप्रमुख महर्जन

पाटन (ललितपुर) – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वातावरण सुधारका लागि गर्नुपर्ने विषयमा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको अवसरमा शनिवार आयोजित वार्षिकोत्सवमा प्रमुख महर्जनले प्रकृतिसँग रमाउने चराचुरुङ्गी तथा प्राणीलाई सुखका साथ राख्नका लागि अनुकूल वातावरण कायम राख्नका साथै वातावरणीय सुधारका काममा कसैसँग सम्झौता नगर्ने उल्लेख गर्नुभयो ।

“सदर चिडियाखाना ललितपुर महानगरपालिकामा हुनु हाम्रो लागि वरदान सावित भएको छ । यो हाम्रो लागि खुसीको कुरा हो, यहाँ संरक्षित प्राणीलाई सुखका साथ राख्न के गर्नुपर्छ सबै गर्छौँं, यसका लागि महानगरपालिका सर्वदा तयार छ । प्रकृतिसँग रम्ने जीव, चराचुरुङ्गी तथा हरेक प्राणीको सहज हुने गरी वातावरणीय सुधारका लागि गर्नुपर्ने कुरामा सम्झौता गर्दैनौँं”, महर्जनले भन्नुभयो ।

प्रमुख महर्जनले चिडियाखानाको अगाडिको जावलाखेल चोकमा ‘टाइगर गेट’ बन्ने क्रममा रहेको बताउँदै त्यसले पर्यटकलाई यहाँ घुम्न आउन प्रेरित गर्ने बताउनुभयो । उहाँले चिडियाखानाभित्र अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई घुमाउनका लागि ‘सटल बस’ सञ्चालन गर्न ‘क्याटलक सपिङ’को तयारी भइरहेको जानकारी दिनुभयो ।

नगरप्रमुख महर्जनले चिडियाखानाभित्र रहेको ठूलो पोखरीका कारण वडा नं ४ का इकुहिटीमा अनवसर पानी झर्ने गरेको बताउँदै यहाँको पोखरी संरक्षणका लागि केही योजना बनाउन सुझाव राख्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ््गाना राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापकीय जिम्मेवारीमा रहेर गरेको काम उच्च रहेको धारणा राख्नुभयो । उहाँले अहिले देशभित्र विगतको तुलनामा वन्यजन्तुको सङ्ख्या बढेको र दश वर्षमा बाघको सङ्ख्या तीन गुणा बढेको जनाउनुभयो ।
ढुङ्गानाले वन्यजन्तुको सङ्ख्या बढेपनि उनीहरुको सुरक्षित बासस्थान बढाउन सकिएको छैन भन्ने धारणा राख्नुभयो । वन्यजन्तु संरक्षण गर्ने सरकारको नीति अनुसार सात वटा प्रदेशमा प्राणी उद्यान बनाउने कार्यक्रम भए पनि कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले सदर चिडियाखानाको व्यवस्थापनमा अझै सुधार गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले आफ्ना परिवारलाई घुमाउन जुद्धशमशेरले स्थापना गरेको सदर चिडियाखानाको व्यवस्थापन सन् १९९५ मा नेपाल सरकारले प्रकृति संरक्षण कोषलाई व्यवस्थापनको जिम्मा दिएको जानकारी गराउनुभयो । अहिले छ हेक्टर जमिनमा सीमित रहेको सदर चिडियाखानालाई सूर्य विनायकमा एक सय ५० हेक्टर जमिनमा व्यवस्थापन गर्न पाए संरक्षित वन्यजन्तुको व्यवस्थापनका लागि सहज हुने उहाँको भनाइ थियो ।

डा ओलीले एउटा बाघ संरक्षणका लागि मात्रै वर्षमा रु १५ लाख खर्च हुने जानकारी गराउँदै बाहिर दुःख दिने वन्यजन्तुलाई पनि यहाँ ल्याएर संरक्षण गरिरहेको बताउनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले वन्यजन्तु संरक्षणका क्षेत्रमा सदर चिडियाखानाको स्थापनादेखि हालसम्म हासिल गरेका उपलब्धि महत्वपूर्ण रहेको बताउँदै यसले वन्यजन्तु संरक्षणमा व्यवस्थित ढङ्गबाट महत्वपूर्ण काम गरिरहेको, वन्यजन्तु तथा प्रकृति संरक्षण क्षेत्रका हरेका कामलाई प्रभावकारी ढङ्गले काम गर्ने गरेको बताउनुभयो ।

उहाँले चिडियाखानालाई महानगरबाट अत्यन्तै कठिन परिस्थितिमा महत्वपूर्ण सहयोग गरेको र हालसम्म पनि निरन्तर सहयोग प्राप्त भइरहेको जनाउनुभयो ।

नेपाललाई दश वर्षभित्र एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ – नेता कार्की

लेखनाथ – नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इमान्दार भएर काम गरे नेपाललाई १० वर्षभित्र एसियाको समृद्ध मुलुक बनाउन सकिने धारणा राख्नुभएको छ । नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशको दोस्रो प्रदेशस्तरीय मुस्लिम भेला तथा सम्मान कार्यक्रमलाई शनिवार पोखरामा सम्बोधन गर्दै उहाँले सरकारले अब कुरा भन्दा पनि जनताको हितमा काम गरेर देखाउनुपर्ने बताउनुभयो । उहाँले जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल सम्पन्न राष्ट्र बन्न समय नलाग्ने बताउनुभयो ।

त्यस अवसरमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्यालले राजनीतिक परिवर्तनका लागि हुने प्रत्येक आन्दोलनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेकोे बताउँदै मुस्लिम समुदायका महिलालाई पनि राजनीतिक क्षेत्रमा अगाडि सार्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति हाजी अब्दुल सतारले नेपाली कांग्रेसले मुस्लिम समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले संविधानले दिएको अधिकारसमेत मुस्लिम समुदायले उपयोग गर्नबाट वञ्चित भएको गुनासो उक्तः अवसरमा राख्नुभयो । राज्यका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हाजशाह महम्मदको अध्यक्षातामा भएको उक्त भेलामा विसं २०७९ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने मुस्लिम समुदायका छात्रछात्रा र समितिमा योगदान पुर्‍याउने सदस्यलाई सम्मान गरिएको थियो ।

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन – मन्त्री लिम्बू

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताउनुभएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५औँ साधारणसभाका अवसरमा शनिवार यहाँ आयोजित कार्यक्रमा मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्रको उत्तिकै योगदान आवश्यक रहेको बताउनुभयो । “नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्र, सरोकारवाला र सरकार एकजुट हुन आवश्यक छ”, उहाँले भन्नुभयो । खेलकुद क्षेत्रमा लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँले धारणा राख्नुभयो ।

मन्त्री लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भूमिका विषयलाई लिएर समीक्षा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्रीले लिम्बुले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भएपनि अनुभव त्यति लामो हुन नसकेको बताउनुभयो । उहाँले ओलम्पिकमा सहभागिता मात्र होइन पदक ल्याउने वातावण बनाउन आफूहरू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । सरकार खेलकुद सङ्घ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममुखी बनाउन सक्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो भएपछि अपेक्षाअनुसारको नतिजा दिन नसकेको बताउनुभयो । उहाँले काम गर्ने तरिकाबारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा ओलम्पियन दीपक विष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले नेपाली खेलकुद विकासका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले यस विशेषतालाई आत्मसात गरी देशमा विद्यमान चुनौतीको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको जनाउनुभएको छ । विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभूषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उहाँको भनाइ छ ।

मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ल्होसारले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन सम्पूर्ण नेपालीमा उत्प्रेरणा पैदा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

आज ‘तमु ल्होसार’, राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

काठमाडौँ, १५ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्नेछ विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै हर्षोल्लासका साथ ल्होसार पर्व मनउने गरेका छन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

हेर्नुहोस् पुष १५ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

बृष राशि- आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मिथुन राशि- नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि – सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि – एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि- पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि – नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि – साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि – मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि – बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

‘सबै सहकारी खराब छैनन्’ – उपसभामुख राना

काठमाडौँ, १४ पुस : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्था खराब नरहेको बताउनुभएको छ । तरकारी फलपूmल बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले पछिल्लो समय केही सहकारी सङ्घ संस्थाका विकृति विसङ्गति समाचार माध्यममा आइरहे पनि सबै सहकारी खराब नरहेको बताउनुभयो ।

कालिमाटी तरकारी बजारका व्यवसायीले सञ्चालन गरेको तरकारी फलपूmल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उपसभामुख रानाले उक्त सहकारी सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताउनुभयो । उहाँले तरकारी बजारका व्यवसायीसँग कोभिड–१९ का बेला दुई वर्षसम्म सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै सहकारीले पनि आफ्ना शेयर सदस्यलाई धेरै किसिमका सेवा दिएको आफूले पाएको चर्चा गर्नुभयो ।

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले तरकारी फलफूल साकोस सुशासनमा चलेको आफूले पाएको बताउनुभयो । सहकारीका सूचकाङ्कहरुको अध्ययन गर्दा यसले आफ्ना शेयर सदस्यलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, शेयर सदस्यको आर्थिक विकासमा टेवा पुर्‍याएको आफूले पाएको उहाँको भनाइ थियो ।

सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले तरकारी फलफूल साकोसको आर्थिक विवरण हेर्दा सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताउनुभयो । सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुङ्गानालाई सम्मान गरिएको थियो ।

यसैगरी, सहकारी संस्थाका शेयर सदस्यका छोराछोरीमध्येबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । नियमित बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारी सम्मानसमेत प्रदान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिनुभयो ।

साकोसले लाभांश दिने

तरकारी फलफूल साकोसले १५.५ प्रतिशत लाभांश दिने निर्णय पारित भएको सहकारी संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिनुभयो । विसं २०५६ माघ २१ गते ३० जना सदस्यले ३१ हजार नौ सय शेयरपुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल दुई हजार चार सयभन्दा बढी शेयर सदस्य रहेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा यस संस्थाको शेयर पुँजी रु चार करोड २६ लाख छ सय रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा शेयर पुँजी रकम वृद्धि भई छ करोड ९५ लाख पाँच हजार तीन सय पुगेको छ ।

आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा शेयर सदस्य बचत रकम रु ४४ करोड ६५ लाख ३२ हजार तीन सय ३४ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा आउँदा रु ४६ करोड एक लाख ९८ हजार आठ सय ४२ ऋण लगानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा तीन करोड ५४ लाख छ हजार दुई सय ५४ सञ्चालन मुनाफा पुगेको संस्थाले जनाएको छ ।

ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

कमलामाई (सिन्धुली), १४ पुस : सिन्धुलीमा ट्र्याक्टरको ठक्करबाट आज पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–५ मधुटारस्थित भित्री सडक खण्डमा सिलामेबाट सिन्धुलीमाढी बस पार्कतर्फ आउँदै गरेको ना ५ त ९५१० नं को ट्र्याक्टरले बाटो काट्दै गरेकी बालिका अरुणा श्रेष्ठ (निर्जला) लाई ठक्कर दिएको थियो ।

कमलामाई नगरपालिका–५ बस्ने २८ वर्षीय गोपी वाइवाले चलाएको उक्त ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएकी श्रेष्ठको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिनुभयो । उहाँकाअनुसार बालिकालाई ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा छ ।

रुसको बेलगोरोडमा गोलाबारी कम्तीमा दुई बालबालिकाको मृत्यु

रुसको सीमावर्ती शहर बेलगोरोडमा भएको गोलाबारीमा कम्तीमा दुई बालबालिकाको मृत्यु भएको । क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताए अनुसार युक्रेनी सशस्त्र बलहरूले बेलगोरोडको केन्द्रमा गोलाबारी गरेका हुन्।

“प्रारम्भिक जानकारी अनुसार दुई बालबालिकाको मृत्यु भएको छ र थुप्रै घाइते छन्। आक्रमणका क्रममा आवासीय बस्तीहरू पनि प्रभावित भएका छन्,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।रुसी रक्षा मन्त्रालयले यसअघि शुक्रबार राति रुसी वायु रक्षा प्रणालीले बेल्गोरोड क्षेत्रको क्षेत्रमा १३ वटा रकेट नष्ट गरेको बताएको थियो।

सुपर लिग फुटबल प्रतियोगिताको उपाधि ललितपुरले जित्यो

काठमाडौँ, १४ पुस : दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेवरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो । यस उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ । पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो । उपविजेता बनेको धनगढीले रु २० लाख पायो ।

ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे । यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी एक गोल गरे । खेलमा ३७औँ मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा ललितपुरका इमोह इजेकेलले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई दोस्रो अग्रता दिलाए । खेलको ५८ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ अग्रता बनाउँदै टिमलाई जिततर्फ अगाडि बढाए ।खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो ।

‘अर्थतन्त्रको दिगोपनाका लागि उत्पादन वृद्धि र रोजगारी सृष्टि अनिवार्य’

काठमाडौँ, १४ पुस : मुलुकको अर्थतन्त्र दिगो बनाउन मूलतः आन्तरिक उत्पादन बढाउने र स्वदेशमा रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ । माक्र्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको ‘अर्थतन्त्रका चुनौती र पुनर्उत्थानका उपायहरू’ विषयक अन्तक्र्रियामा सहभागीले अर्थतन्त्रका आन्तरिक स्रोतको विकास र विस्तार गर्नुको विकल्प नरहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र सबल बनाउने प्रमुख क्षेत्र कृषि र यससँग सम्बन्धित उद्योगको विकास नै भएको बताउनुभयो । कृषिको औद्योगीकरण र उत्पादनमा अपेक्षित विकास हुन नसक्नुमा राज्यले अपनाएको नीति नै जिम्मेवार रहेको उहाँले उल्लेख गर्नुभयो । उपाध्यक्ष पाण्डेले जमिनको वर्गीकरण र त्यससँग सम्बन्धित आवश्यक नीति निर्माण गर्नसके कृषि क्षेत्रको विकास सँगसँगै मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

“जमिन अत्यधिक महँगो छ, त्यसले उत्पादनमा असर गर्छ, कृषि र उद्योगमा अत्यधिक लागत बढ्न जान्छ, यसरी कृषि र उद्योगको विकास हुन सक्दैन”, उपाध्यक्ष पाण्डेले भन्नुभयो, “जमिनको वर्गीकरण गरौँ, कृषि र औद्योगीकरणको लागि छुट्याइएको जमिनमा ‘नो ट्याक्स’को व्यवस्था गरौँ ।”

प्राध्यापक डा सूर्य थापाले कृषि क्षेत्रको विकासबाट मात्रै मुलुकले समृद्धि हासिल गर्ने सक्ने धारणा राख्नुभयो । कृषिलाई राष्ट्रिय आम्दानीको महत्त्वपूर्ण स्रोतका रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि कृषिको उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो ।

“कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर घटिरहेको छ, कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या पनि कम हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “नेपाल कृषि उत्पादन निर्यात गर्ने स्थानबाट आयात गर्ने अवस्थामा पुगिसक्यो, कृषि क्षेत्रबाट सिर्जित रोजगारी पनि घटेको छ, कृषि प्राथमिकतामा परेन, कृषि क्षेत्रको उपेक्षा भएको सबैको महसुस छ ।”

माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले मुलुकको अर्थतन्त्र बलियो बनाउन केही साङ्गठनिक संरचनामा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो राष्ट्रिय सामथ्र्य र प्राथमिकता छनोटको बीचमा निकै ठूलो विरोधाभास छ, संरचनात्मक सुधार महत्त्वपूर्ण छ ।”

अहिले पनि बजेट, नीति तथा कार्यक्रम तर्जुमाको ढाँचा परम्परागत नै रहेको उल्लेख गर्दै उहाँले संसद्मा प्रस्तुत बजेटमाथि सांसद, जनप्रतिनिधि र आम बुद्धिजीवीले राखेको सुझाव नसमेटिने अवस्थालाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताएका थिए । प्रधानमन्त्री दाहालले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

पीडित परिवारजनसँग प्रधानमन्त्री दाहालले शुक्रबार कार्यक्रमको सिलसिलामा दोलखामा रहेको र घटना थाहा पाउने बित्तिकै आफूले सम्बन्धित अधिकारीसँग जानकारी लिएको बताएका थिए । उनले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पीडितले न्याय पाउने विश्वास दिलाए । “छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्”, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु दश लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । सो घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको छ भने रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख निलम्बित भएका छन् ।

यस्तै गृह मन्त्रालयले पनि सो घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको जनाएको छ । मन्त्रालयले समितिबाट प्राप्त हुने प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ ।

बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो ।

भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निश्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका सङ्घीय सांसद्को पनि सहभागी थिए ।

सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला

टक्सार (भोजपुर) १४ पुस : किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मङ्गलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय भेला भएर किराती पुर्खा÷धामीले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने गरिन्छ । केटाकेटीदेखि बुढाबुढीसम्म गाउँदै नाच्दै गर्ने परम्पराले उधौली साकेलाको रौनक बढ्दै गएको छ । किरात राई समुदाय मात्र नभई यतिबेला गैरकिरात पनि साकेलाको तालमा नाच्ने, रमाउने गरेको किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले बताउनुभयो ।

“पछिल्लो समय उधौली साकेला नाच सबै समुदायको पर्वका रुपमा स्थापित हुँदै गएको छ, यसमा किरात राईहरू मात्र नभई गैरकिरात समुदायले पनि मनोरञ्जनात्मक नाचको रूपमा लिने गरेका छन्”, कार्यवाहक अध्यक्ष राईले भन्नुभयो । पछिल्लो पुस्तामा आएर सबै गैरकिरातका लागि भातृत्व झल्काउने उत्सवका रूपमा पनि साकेलालार्ई लिने गरिएको छ । यसरी अरू समुदायका मानिसले पनि साकेला नाच्दा, रमाउँदा एक अर्काबीच धार्मिक सहिष्णुता र सद्भाव बढ्दै गएको उहाँको भनाइ छ ।

वर्षको दुईपटक मनाइने साकेला उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन छ । उधौली र उभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।

छिटको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक भेषभूषामा सजिएर हरेक किरात राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवती सहभागी भएर साकेला सिली नाच्ने प्रचलन रहँदै आएको जानकारको भनाइ छ ।

उधौली पर्व किरातको संस्कृतिलार्ई पुस्तान्तरण गर्ने बलियो आधार भएको संस्कृतिविद् कमलजङ्ग राईको धारणा छ । उहाँका अनुसार हिउँदको धान्यपूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व पुर्खा र जङ्गली पशुपंक्षी लेकदेखि बेंसीतिर झर्ने समय भएको सङ्केत गर्ने तथा अन्नबाली भित्रयाएको खुसीयालीमा मनाउने गरिन्छ ।

ढुङ्गेयुगमा किराती पुर्खाले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाको कथन छ । बालीनाली भित्र्याउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।

लेक साइडमा सडक महोत्सव, परम्परागत सामग्रीप्रति अवलोकनकर्ता आकर्षित

पोखरा, १४ पुस ः यतिबेला अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेक साइडमा रेष्टुरा एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा २५औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । ‘सडक मै खाउँ, सडकमै नाचौँ र सडमै रमाउँ’ भन्ने नाराका साथ चलिरहेको महोत्सवमा रैथाने सामग्रीको प्रदर्शनमा नयाँ पुस्ता र पर्यटक आकर्षित भएका छन् ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखराको पर्यटन प्रवद्र्धनको रुपमा ब्राण्ड बन्दै गएको सडक महोत्सवमा मौलिक परम्परागत संस्कृतिलाई आन्तरिक तथा बाह्य पर्यटकले रुचीपूर्वक अवलोकन गरेको बताउनुभयो । “पाँच दिनमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ महोत्सवलाई सफल बनाउन हामीले सबै उमेर समूह, सबै जातजाति, समुदाय र विदेशी पाहुना लक्षित परम्परागत सांस्कृतिक भेषभूषा, सामग्री प्रदर्शन गरिरहेका छौँ, जुन दर्शकले निकै मनपराइरहनुभएको छ ।” भट्टराइले भन्नुभयो, “पोखरा पर्यटकीय शहर हो, यहाँ विश्वभरिका पर्यटक आउँछन् । अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल निरन्तरता दिँदै आएको महोत्सवमा यहाँको रहन सहन संस्कृतिलाई प्रचार प्रसार गरिरहेका छौँ ।”

महोत्सव संयोजक एवम् रेवानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलले २५ औँ संस्करणमा आइपुग्दा थप आर्कषक गराउन विभिन्न गतिविधिहरु महोत्सवमा समेटेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले महोत्सवमा लोपोन्मुख हुँदै गएका संस्कृति, पुरानो जीवनशैलीलाई झल्किने कुरालाई महोत्सवमा समावेश गराएका छौँ ।”

उहाँले महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य, झाँकी प्रदर्शन, परम्परागत ढिकी जाँतो, विवाह मण्डप, गुन्द्रि बुन्ने, मोही मथ्ने, विभिन्न जातजातिले प्रयोग गर्दै आएका सामग्री लगायतको प्रदर्शनले नेपाली संस्कृति र परम्परा बुझ्न चाहनेका लागि अध्ययन थलोसमेत बनाएको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा चितवनका थारूको स्टिकनाच, सिन्धुलीका महिलाको पञ्चेबाजा, रुकुमको मयुर नाच, लिम्बूको धाननाच, नेवार जातिको लाखे नाच, गुरुङ समुदायको छेडु नाच, मगर जातिको कौरा नाच हेर्न पाइनेछ ।

सन् १९९८ बाट पोखरामा सडक महोत्सव सुरु भएको थियो । पोखरामा यसलाई भित्र्याउने पर्यटनका पायोनियरको रुपमा चिनिनु भएका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले भारतको गाोवाबाट फर्कँदा ल्याएको अवधारणा थियो । उहाँले सो समय अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकको घुइँचो देखेपछि लेक साइडमा पनि सडक महोत्सवको परिकल्पना गरेर सुरु गरिएको उहाँको भनाइ छ । उहाँले अहिले पोखरामा थुप्रै सङ्घसंस्थाले मेला महोत्सव गर्दै आइरहे पनि रेवानले गर्ने सडक महोत्सव पृथक ब्राण्डको रुपमा स्थापित हुँदै गएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनमा सडक महोत्सव कोशेढुङ्गाको रुपमा स्थापित हुँदै गएको बताउनुभयो । उहाँले पोखराको पर्यटनमा पर्यटन व्यवसायी सङ्घसंस्था निकै ठूलो भूमिका खेलेको तर पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डको भूमिका प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।

यही पुस १२ गतेदेखि १६ गतेसम्म लेक साइडको तीन किलोमिटरको क्षेत्रमा चलिरहेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, पर्यटन प्रवद्र्धन संवाद कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम रहेको महासचिव विकास भट्टराईले जानकारी दिनुभयो ।

‘बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक केन्द्र हुँदाहुँदै राज्यको बेवास्ताले पछाडि पर्‍यो’ – पूर्वशिक्षामन्त्री शुक्ल

लुम्बिनी, १४ पुस : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा पूर्वशिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक केन्द्र हुँदाहुँदै राज्यको बेवास्ताले पछाडि परेको बताउनुभएको छ ।

लोसपा नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलनको आज भैरहवामा उद्घाटन गर्दै नेता शुक्लले विगतमा लुम्बिनीको विकासका लागि आएको बजेट काठमाडौँ वा अन्यत्र खर्च गरिएको टिप्पणी गर्नुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एसियाली विकास बैंक(एडिबी)को योगदान रहेको बताउँदै विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न एकीकृत योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

लोसपा लुम्बिनी प्रदेश अध्यक्ष, लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले नेतृत्व गर्ने व्यक्तिहरु सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा विश्वमा चिनाउन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका निम्ति लागिपरेको बताउनुभयो ।
–––

तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन

दमौली (तनहुँ), १४ पुस : बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहिन भएका छन् । क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहिन हुनुभएको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँ जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँ चढेको गाडीमा उहाँको सामान थियो, सामान काठमाडौँ पुगेको छ । उहाँ डुम्रे बजारमा झरेपछि सम्पर्कविहीन भएको खबर आएको छ । खोजतलासका लागि हामीले पनि सहकार्य गरेका छाैँ ।”

राम्रा काम गरेर देखाउन कांग्रेस जनप्रतिनिधिलाई महामन्त्री थापाको निर्देशन

भक्तपुर, १४ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिनुभएको छ ।

कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दैै महामन्त्री थापाले कांग्रेसबाट प्रतिनिधित्व गरेका वडा, पालिका, प्रदेशदेखि सङ्घीय सरकारसम्म सबैले राम्रो काम गरेर देखाउनुपर्ने बताउनुभयो ।

नेता थापाले भन्नुभयो, “हामी जताततै सरकारमा छौँ, वडामा अध्यक्ष, गाउँपालिकामा अध्यक्ष, नगरपालिकामा प्रमुख, प्रदेशमा मुख्यमन्त्री, मन्त्री छौंँ, सङ्घीय सरकारमा मन्त्री छौँ, सांसद पनि छौँ । जताततै सरकारमा कांग्रेस बहुमतमा छौँ, तर जताततै समस्या छ, समस्या हटाएर शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा राम्रा काम गरेर देखाउन सके कुनै मिसन ८४ कुर्नुपर्दैन, जनता आफैले कांग्रेसलाई बहुमत दिन्छन् ।”

महामन्त्री थापाले वडा, नगरपालिका प्रमुखका उम्मेदवारको टिकट सोही ठाउँका क्रियाशील सदस्यले मतदान गरेर चुनेर पठाउनुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेसले कुनै हालतमा गठबन्धन नगर्ने बताउँदै उहाँले आफू देश दौडाहामा जाँदा अर्को पार्टीको चुनाव चिह्नमा मतदान गर्दाको कार्यकर्ताको पीडाले मन दुःखेको बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “कांग्रेस आफै एक्लै चुनाव लड्न सक्षम छ, चुनाव जित्ने नाममा कुनै पार्टीसँग अब गठबन्धन गर्दैन, कांग्रेसले राम्रो काम गरेर देखाउन सके जनताले पत्याउँछन्, नसके हार्छ, कांग्रेस हार्न तयार छ, तर गठबन्धन गर्न तयार छैन, यो निर्णय अब महासमिति बैठकले गर्छ ।” उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वास गरेर सरकारको नेतृत्व गर्न दिएको बताउनुभयो ।

देशमा कांग्रेस नभए जातीय, धर्म वा अन्य कुनै अतिवादको चपेटामा परेर देश गृहयुद्धमा फस्ने दाबी गर्दै महामन्त्री थापाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना जनआक्रोसको एउटा नमुना भएको बताउनुभयो । देश दौडाहामा जाँदा अहिले जहाँततै नेपाली कांग्रेस सकियो, सबै भत्कियो भनेर कांग्रेसकै कार्यकर्तामा निराशा छाएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका पुराना कांग्रेस नेता तिलकप्रकाश कायस्थ, बिमली आचार्य, लेखनाथ न्यौपानेलाई जिउँदा शहीदको उपनाम दिँदै दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी महामन्त्री थापाले सम्मान गर्नुभयो । कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठलगायतका नेताहरुले कांग्रेसलाई अगाडि बढाउन सुदृढिकरण अभियान लिएर जानुपर्ने बताउनुभयो ।

बालकुमारी घटनाको छानबिन सुरु भइसक्यो : गृहमन्त्रालय

काठमाडौँ, १४ पुस : सरकारले ललितपुरको बालकुमारीमा घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको स्पष्ट पारेको छ । सो घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुसार पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ । शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका समयमा हुन गएको अप्रत्याशित घटनामा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

सो घटनाका सम्बन्धमा गृह मन्त्रालयले निधन भएकाहरु श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु दश लाख राहत उपलब्ध गराउने निर्णय आजैको मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ ।

छानबिन समितिले काम गरिरहेकाले सो समितिले दिने प्रतिवेदनअनुसार कार्यान्वयन गरिने भएकाले छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलान खटिएका सुरक्षा अधिकारीलाई फिर्ता बोलाई निलम्बन गरिएको छ ।

ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै, इपिएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय भइसकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।

घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको स्पष्ट पार्दै विज्ञप्तिमा उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्ना विषय शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परेको स्पष्ट पारेको छ ।

भियतनामको वैदेशिक व्यापार सन् २०२३ मा ६८३ अर्ब अमेरिकी डलर

भियतनामले सन् २०२३ मा ६८३ अर्ब अमेरिकी डलरको वैदेशिक व्यापारको रेकर्ड राखेको छ । यो परिमाण गत वर्षको तुलनामा ६.६ प्रतिशतले कम हो । यसै बीच २८ अर्ब अमेरिकी डलरको व्यापार बचत भएको पनि तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ । विशेषगरी, निर्यात राजस्व ४.४ प्रतिशतले घटेर ३५५.५ अर्ब डलर रहेको छ भने आयात राजस्व वर्षको सोही अवधिमा ८.९ प्रतिशतले घटेर ३२७.५ अर्ब डलर पुगेको छ ।

भियतनामको औद्योगिक प्रशोधन समूहको निर्यात राजस्व सन् २०२३ मा ३१३.७३ अर्ब डलर पुगेको छ ।सो अवधिका लागि चीन भियतनामको सबैभन्दा ठूलो आयात बजार बनेको छ जसको कारोबार १११.६ अर्ब डलर पुगेको अनुमान गरिएको छ ।

राजा वीरेन्द्रको जन्मजयन्तीमा उहाँको योगदानको चर्चा

काठमाडौँ, १४ पुस : राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा उहाँबाट देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे चर्चा गरिएको छ ।राप्रपा नेपालद्वारा आज यहाँ आयोजित स्व. वीरेन्द्र : बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिकमाध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवी प्रवर्द्धनमा उहाँको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

विस २००२ मा जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको घटनामा उहाँसहितपरिवारको वंशनास भएको थियो । नेपालको शाह वंशीय इतिहासमा उक्त घटनालाई रहस्यपूर्ण घटनाकारुपमा हेरिदैआएको छ ।

कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले नेपालको राजनीतिक इतिहासमा मुलुकको आधुनिकीकरण र प्रजातन्त्रको जगलाई बलियो बनाउन राजा वीरेन्द्रबाट महत्वपूर्ण योगदान भएको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “राष्ट्रवादी, विकासप्रेमी र लोकप्रिय राजा वीरेन्द्रबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न अतुलनीय योगदान भएको छ । पूर्वपश्चिम राजमार्गको पूर्णता, औद्यागिक विकास, अर्थतन्त्र सुदृढीकरण र जिल्ला सदरमुकामा सडक जोड्ने उहाँको सोच र कार्य महत्वपूर्ण छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले देश विकास र सन्तुलित परराष्ट्र नीतिका लागि राजा वीरेन्द्रले देखाएको बाटो अध्ययन गर्न सरकार र राजनीतिक शक्तिलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राजा वीरेन्द्रले मुलुक सानो छ भन्ने मनोभावना कहिलै नबोक्न र विदेशीसँग हुने भेटवार्ता तथा छलफलमा राष्ट्रियस्वार्थलाई निधक्क अघि राख्न निर्देशन हुन्थ्यो । आज त्यो कुराको कमी देखिन्छ ।”

कार्यक्रमका सहभागी अन्य वक्ताले इतिहासको अध्ययन नगरी वर्तमानबारे बुझन नसकिने हुँदा राजा वीरेन्द्रबाट भएका कतिपय महत्वपूर्ण योगदानबारे आमनेपाली जनताले जान्न र थाहापाउन जरुरी रहेको बताउनुभयो ।

सहभागीहरुले राजा वीरेन्द्रले अमेरिका, रुस, चीन र भारतलाई सन्तुलित कुटनीतिकका माध्यमबाट मिलाएर देश विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा छवी उझिल्याउन ठूलो योगदान भएको चर्चा गर्दै औद्योगिक विकासका माध्यम्बाट देशलाई आर्थिक समृद्धिमा पु¥याउने सोच देशहितको पक्षमा रहेको बताउनुभयो ।

पुरानै लयमा फर्कँदै पर्यटन,सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १४ पुस : सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार आज बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने उल्लेख गरेको थियो ।

कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष पर्यटक आगमन उत्साहवद्र्धक छ । आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ ।”

पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अपेक्षा छ । “सरकारको १० लाख पर्यटक पु¥याउने लक्ष्य पूरा भएको छ, यो नै उपलब्धि हो”, उहाँले भन्नुभयो, “एकपछि अर्को ठूला तारे होटल खुल्नेक्रम जारी छ । २०८१ सालसम्म थप १५ बढी होटल थपिदैछन् । सरकारले निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लगेको खण्डमा आगामी दिनमा पर्यटक बढ्छन् ।” काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै उहाँले थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्नसकेको खण्डमा अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने उहाँको विश्वास छ ।

पर्यटकको सङ्ख्या कीर्तिमानकै रूपमा वृद्धि- सरकारले अर्को वर्ष विदेशी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउने लक्ष्य लिएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको सङ्ख्या लगभग कीर्तिमानकै रूपमा वृद्धि भएको बताउनुभएको थियो ।

“अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउँछौँ भन्ने मेरो विश्वास छ”, प्रधानमन्त्री दाहालले भन्नुभएको थियो ।
सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।

चालु आव २०८०÷८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुका साथै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख गरिएको थियो । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने उल्लेख गरिएको छ ।

भारतीय पर्यटक बढे
पर्यटन बोर्डका निर्देशक लामिछानेका अनुसार यसवर्ष भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । सन् २०१९ मा दुई लाख ५४ हजार एक सय ५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष तीन लाख १७ हजार चार सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।भारतपछि अमेरिकी पर्यटक बढेका छन् । अमेरिकी पर्यटकको सङ्ख्या यसवर्ष ९९ सय हजार नौ सय ८५ एक लाख पुगेको छ । सन् २०१९ मा ९३ हजार दुई सय ४१ अमेरिकी पर्यटक आएका थिए । बङ्गलादेशबाट पनि नेपाल आउने पर्यटक बढेका छन् । सन् २०१९ मा २४ हजार हाराहारी आएका बङ्गलादेशी पर्यटकको सङ्ख्या यस वर्ष ३६ हजार एक सय ९१ पुगेको छ ।

त्यसैगरी चिनियाँ पर्यटकको सङ्ख्या पनि क्रमशः बढिरहेको छ । यस वर्ष ६० हजार एक सय ६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिडपछि सीमा नाका खुलेका र चिनियाँ एयरलाइन्सको उडान पनि बढिरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने बोर्डको विश्वास छ । यस अवधिमा म्यानमारबाट १२ हजार छ सय ८८, श्रीलङ्काबाट २१ हजार आठ सय ४४, संयुक्त अधिराज्य बेलायतबाट ५२ हजार सात सय ९१ विदेशी पर्यटक भित्रिएका छन् ।

कुन महिनामा कति पर्यटक ?- पर्यटन बोर्डका अनुसार यस वर्षको अक्टोबरमा सबैभन्दा बढी एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । जुन आँकडा कुनै एक महिनामा भित्रिने विदेशी पर्यटकको सङ्ख्या हालसम्मकै बढी हो ।

वर्षको सुरु जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २८, अप्रिलमा ९८ हजार सात सय ७४, मेमा ७७ हजार सात सय दुई, जुनमा ७२ हजार दुई सय ४८, जुलाईमा ५७ हजार सात सय २५, अगष्टमा ६७ हजार एक सय ५३, सेप्टेम्बरमा ९१ हजार १२, नोभेम्बरमा एक लाख ८६ हजार २८ र डिसेम्भरमा ९० हजार तीन सय नौ पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज र भोलि वर्षको अन्तिम दिनसम्म यो सङ्ख्या केही बढ्ने अनुमान गरिएको छ ।

पर्यटन पुरानै लयमा-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सञ्चारकर्मीसँग कुराकानी गर्दै कोभिड–महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्किएको बताउनुभयो । उहाँले सरकारको लक्ष्यअनुरुप विदेशी पर्यटक भित्रिएको र अगामी वर्ष विदेशी पर्यटकको सङ्ख्या दोब्बर बनाउन प्रभावकारी कार्यक्रमअघि बढाइने बताउनुभयो ।

पर्यटनमन्त्री किरातीले भन्नुभयो, “देशको पर्यटन करिब पुरानै लयमा फर्किएको छ । यो वर्ष १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल वायुसेवा निगम सुधार्न र जहाज थपेर सेवा प्रभावकारी बनाउन रणनीतिक महत्वका काम अघि बढाइएको छ । हवाई क्षेत्रको सुधारका लागि धेरै काम भएका छन् । यसले पनि पर्यटन बढोत्तरीमा मद्दत पुग्नेछ ।”

 प्रधानमन्त्री दाहालको सम्बोधनमा ठूलो खर्च भएका पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रि विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल भइरहेको उल्लेख छ ।

 भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानलाई इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिने उहाँले बताउनुभयो । साथै, निजगढ विमानस्थलको निर्माण सुनिश्चित गरी काठमाडौँ, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्चालन पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा छलफल भएको जानकारी दिनुभएको थियो ।

ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित – प्रधानमन्त्री दाहाल

काठमाडौँ, १४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ, त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत भूमिका खेलेको छु, नेतृत्व लिएको छु, त्यसैले सङ्घीयता कार्यान्यवन मेरो सबैभन्दा ठूलो चासो र प्राथमिकताको विषय हो ।” उहाँले सङ्घीय संसद्मा सहभागी सबै दललाई पनि सहमत गराएर सङ्घीयतालाई कायान्वयन गर्न खोज्दा केही समय लागेको बताउनुभयो । “वर्तमान सरकारले सङ्घीय निजामती ऐन, सङ्घीय शिक्षा ऐन, प्रहरी समायोजन ऐनलगायत सङ्घीयता कार्यान्वयनसम्बन्धी ऐन निर्माणका लागि द्रुत गतिका साथ काम गरिरहेको यहाँहरुलाई जानकारी नै छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विधेयकहरू प्रस्तुत पनि भइसकेका छन्, अब छलफलको माध्यमबाट त्यसलाई निष्कर्षमा लैजान बाँकी छ । शीर्ष तहमा छलफल गरेर त्यसलाई टुङ्गो लगाउन थप पहल गर्नेछु ।”

सो अवसरमा सातै प्रदेशका मुख्यमन्त्रीले संविधानले व्यवस्था गरेका सङ्घीय अधिकार कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । मुख्यमन्त्रीहरूले नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूची प्रयोगको व्यवस्था मिलाउन तथा गत असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारको प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभएको थियो । सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नेपाल सरकार, सङ्घीय संसद् र राजनीतिक दलको साझा दायित्व भएकामा जोड दिँदै मुख्यमन्त्रीहरूले राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीले समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बालकुमारी घटनाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौँ, १४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिनुभएको हो ।

प्रधानमन्त्री दाहाललाई उहाँहरुले घटनाका सम्बन्धमा जानकारी गराउँदै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको बताउनुभएको थियो । प्रधानमन्त्री दाहालले घटना दुःखद् भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

देश र जनताका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैन – सांसद उप्रेती

काठमाडौँ, १४ पुस : काठमाडौँ केन्द्रित राजनीतिभन्दा जिल्ला र गाउँका जनताका समस्याको समाधानमा सहयोगी बन्नु सांसद हरिप्रसाद उप्रेतीलाई खुसीको विषय लाग्छ । त्यसैले उहाँले जिल्ला र गाउँमै बढी रहेर त्यहाँका विकास, निर्माण र जनताका साथमा बस्न र घुलमिल हुने कामलाई प्राथमिकता दिइरहनुभएको छ ।

हाल सङ्घीय संसद्को अधिवेशन सञ्चालन नभएकाले पनि होला नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उप्रेती चिसोले कठ्याङ्ग्रिएका सर्लाहीको दक्षिणी भेगका जनतालाई न्यानो कपडा वितरणमा व्यस्त रहनुभएको छ । विभिन्न स्रोत र साथीभाइसँग चन्दा उठाएर भए पनि स्थानीयवासीलाई न्यायो कम्बल वितरण गर्नु, उखु तथा दुग्ध किसानलाई समयमा उचित भुक्तानी दिलाउनु र अनुचित लेनदेन (मिटरब्याज) पीडितको आवाज सम्बोधन गराउनु उहाँको दैनिकी बनेको छ । आफूहरुले सर्लाहीबाट मिटरब्याज पीडितको आन्दोलनको अगुवाइ र थालनी गरेर उक्त मुद्दालाई केन्द्रस्तरसम्म स्थापित गर्न भूमिका खेलेको सांसद उप्रेतीको भनाइ छ ।

मिटरब्याज पीडितको आन्दोलनपछि सरकारले पीडितसँगको सहमतिका आधारमा प्रस्तुत गरेको कानुनलाई संसद्बाट छिटो पारित गराउन सकिएको विषयलाई सांसद उप्रेती एउटा उपलब्धि मान्नुहुन्छ । यद्यपी, उक्त कानुनको कार्यान्वयनका सवालमा जिल्ला जिल्लामा सहजता नदेखिएको र यसमा सरकारले पीडितका लागि प्रभावकारी काम नगरेको उहाँको आरोप छ ।

सर्लाही क्षेत्र नं ३ बाट निर्वाचित सांसद उप्रेती संसद् नचलेका बेलामा आफू जिल्लामै रहन र जनताका समस्या फुकाउनमा बढी समय दिने गरेको बताउनुहुन्छ । संसद् चल्दा पनि त्यहाँ बोलिएका कुरा लागू नहुँदा र सरकारको प्रभावकारी सेवा गाउँमा नपुग्दा सम्बन्धित निकायमा आफूहरु घच्घच्याउन बाध्य हुनुपरेको उहाँको अनुभव छ । त्यसैले होला, संसदको वर्तमान कार्यकालको एक वर्षे समय कस्तो रह्यो भन्ने प्रश्नमा उहाँको जवाफ सकारात्मक छैन ।

एक वर्षमा राम्रो र परिणाममुखी काम गर्न नसकिएको मूल्याङ्कनका क्रममा सांसद उप्रेती मुलुकको अवस्था दिनप्रतिदिन बिग्रँदो देख्नुहुन्छ । अर्थतन्त्र ओरालो लाग्न थालेको ठानेर चिन्तित उहाँ केन्द्रस्तरका कुरा गर्दागर्दै गाउँका जनताले रोजगारी, उद्यमशीलता र सेवामा सन्तुष्टि नपाएको तथा त्यसका लागि आफूले पर्याप्त भूमिका निर्वाह गर्न नपाएकामा थकथक मान्नुहुन्छ ।

“म अधिकांश समय गाउँमै हुन्छु । जनताका मुद्दामा साथ दिन्छु”, ‘सांसदसँग रासस संवाद’का क्रममा नेता उप्रेतीले आफ्नो शैली र दिनचर्याबारे सुनाउनुभयो । आफूलाई किसानको छोरो भन्न रुचाउने नेता उप्रेती घरको वातावरण राजनीतिक भएकाले पनि विद्यार्थीकालदेखि वामपन्थी राजनीतिमा लाग्नुभयो । विसं २०३७ मा काठमाडौँको सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति हुनुभयो । विसं २०७० को संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित उप्रेतीसँग २०७९ सालमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा डेढ महिना रक्षामन्त्री सम्हालेको अनुभव पनि छ । एमालेको स्थानीय तह विभागका सदस्य उप्रेती सो पार्टीको मधेस प्रदेश कमिटीको पूर्वसदस्य भइसक्नुभएको छ ।

संसद्को एक वर्षका अवधिमा पर्याप्त कानुन बन्न नसक्नु र सांसदहरु पनि असन्तुष्ट हुनुमा प्रतिपक्षले सरकारलाई र सरकारले प्रतिक्षलाई दोषारोपण गरेर उम्कन मिल्छ र ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “सोचे जति काम गर्न नसक्नुमा राजनीतिक अस्थिरता मुख्य कारण हो । क्षणिक लाभका लागि छिटोछिटो गठबन्धन परिवर्तन गर्ने प्रवृत्तिले वैमनस्यता खडा गर्छ । एकअर्कालाई चिढ्याउने काम गर्छ । श्रद्धा घट्छ । विश्वसनीय र भरपर्दाे वातावरण बन्दैन । यसको निकासका लागि राजनीतिक दलहरुका बीचमा तिक्तता हटाएर देशको विकास र राष्ट्रियताको रक्षाका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैन ।”

सांसद उप्रेती प्रतिपक्षलाई दोष दिएर सरकार उम्कन नमिल्ने तर्क गर्दै आफूहरुले पनि जनता, जनजीविका र राष्ट्रका कुरा उठाइरहेको जिकिर गर्नुभयो । किसानले आफूले श्रम गरेको मूूल्य पाउन आन्दोलन गर्नुपर्ने, बेरोजगारीले विदेश जान पाउँ भनेर आन्दोलन गर्नुपर्ने र आन्दोलनमा गोलीसमेत प्रहार हुने पछिल्लो अवस्थाले जनतामा निराशा छाउने भएकाले सरकार संवेदनशील हुनुपर्ने धारणा सांसद उप्रेतीको छ ।

धेरै युवा कामको खोजीमा जोखिम मोलेर रुस गइरहेको अवस्था औँल्याउँदै उहाँ ‘छाक टार्न मृत्युसँग सामना गर्न तयार’ हुने जनतालाई स्वदेशमै रोजगारीसहित टिकाउनु नेतृत्वको कर्तव्य भएको ठान्नुहुन्छ । ठूलो सङ्ख्यामा युवा कामका लागि विदेशिएको र गाउँका बुढाबुढी मुलुकको बिग्रँदो स्थिति देखेर दिक्क मानेको पाउँदा आफूलाई दुःख लाग्ने गरेको बताउँदै “अब हामीले जनतामा आशा जगाउनुपर्छ । हामी सबै मिलेर लागेमा प्राकृतिकरुपमा सुन्दर र उर्बरा भूमि नेपाल बनाउन धेरै समय लाग्दैन र हामीले समस्याबाट देशलाई सहज अवतरण गराउन सक्छौँ ।”

उहाँले भन्नुभयो, “राजनीतिक स्थिरता र प्रबल इच्छाशक्ति भएमा केही गर्न सकिन्छ । जनतालाई विकासको अनुभूति दिन लाग्नुपर्छ ।” सांसदले कानुन निर्माणमा भन्दा जनताका दैनिक समस्यामा लाग्नु कति जायज हो भन्ने प्रश्न पनि उठ्ने गरेको छ । सांसद उप्रेती भने निर्वाचनामा जाँदा नै दल र उम्मेदवारले जनताका हरेक समस्याको समाधान गर्छु भनेर प्रतिबद्धता गरेको सन्दर्भलाई सम्झाउनुहुन्छ ।

“राज्यले जनतालाई सेवा सुविधाबाट सन्तुष्ट बनाउन सकेमा जनप्रतिनिधिले नीतिगत सवालमा मात्रै ध्यान दिए पुग्ने हो । तर सरकारबाट सेवा प्रभावकारी भएको छैन”, उहाँले भन्नुभयो, “जनतालाई हामीले ढाँट्नुहुँदैन । उनीहरुले अप्ठ्यारो पर्दा मेरो प्रतिनिधि छ र ऊ सक्षम छ भन्ने सोचेको हुन्छ, त्यो भावना र चाहनालाई हामीले सक्दो पूरा गर्नुपर्ने हुन्छ ।”

राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको सम्बन्ध र सन्तुलनका सवालमा पनि सांसद उप्रेती प्रसन्न हुनुहुन्न । “यी तीन अङ्गबीचको सम्बन्ध सन्तुलित छैन । असन्तुलित छ । न्यायालयको विश्वसनीयता घटेको छ । कार्यपालिका र व्यवस्थापिकाले पनि जनताका लागि प्रभावकारी परिणाम दिन सक्ने गरी सन्तुलित काम गर्न सकेका छैनन”, उहाँ भन्नुहुन्छ– “मुलुकको नेतृत्व गर्ने दल र नेतामा सङ्कीर्णता हुनुहुँदैन । त्यस्तो सङ्कीर्णता त्याग्न नसके मुलुकको अस्तित्व सङ्कटमा पर्छ ।”

रोजगारमूलक, उत्पादनमूलक र उद्यमशीलता बढाएर बेरोजगारलाई रोजगारी दिई युवालाई स्वदेशमै केही हुन्छ र देशका लागि सबैले केही गर्नुपर्छ भन्ने भावनाको विकास गराउनुपर्ने उहाँको जोड छ । “यसका लागि सरकार र राजनीतिक नेतृत्व र जनप्रतिनिधिले काँधमा काँध मिलाएर काम गर्नुपर्छ”, सांसद उप्रेतीको आग्रह छ ।
–––

गैँडाकोटका रिजालले गरे बेमौसमी मकैखेतीबाट पाँच लाख आम्दानी

मध्यविन्दु (नवलपरासी)- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गर्नुभएको छ । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आउनुभएका उहाँले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गर्नुभएको छ ।

रिजालले भन्नुभयो, “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौँ ।” रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आउनुभएका उहाँले हिउँदे मकै बिक्री गरी एउटा याममा चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्न थाल्नुभएको छ ।

“बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हरियो मकैको प्रतिघोगा रु पाँचदेखि रु दशका दरले तथा सुक्खा प्रतिक्विन्टल रु तीन हजारका दरले बिक्री हुने गरेको छ ।”

बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकैमात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने हुँदा आफूले पनि व्यावसायिक मकैखेती गर्दैआएको गैँडाकोटकै सरस्वती सापकोटाले बताउनुभयो । व्यावसायिक मकैबाट राम्रो आम्दानी भएको र परिवारको खर्च धान्न पुग्ने सापकोटाले बताउनुभयो ।

हरियो मकै पोलेर खान स्वादिष्ट हुने भएकाले मकै धेरै बिक्री हुनेगरेको सडक किनारमा मकै पोलेर बेच्दै आउनुभएकी स्थानीय सावित्री शर्माले बताउनुभयो । “प्रतिघोगा पाँचदेखि दशमा खरिद गरेर २० देखि २५ रुपैयाँमा पोलेको मकै बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो । जिल्लाको गैँडाकोट नगरपालिकाका किसान बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुनेगरेको छ ।

जिल्ला बाहिर नारायणघाट, बुटवल, काठमाडौँ, पोखरालगायत मुख्य सहरमा पोलेर खाने हरियो मकै गैँडाकोटबाट निर्यात हुँदैआएको स्थानीय कृषकले बताएका छन् । गैँडाकोट नगरपालिका ६, ७ र ८ नम्बर वडालाई मकैको पकेट क्षेत्रको रूपमा घोषणा गरिएको गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले बताउनु भयो । “गैँडाकोटको नगरपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडामा बेमौसमी मकै उत्पादन हुनेगरेको छ, बाह्रैमास मकै उत्पादन हुनेभएकाले पनि यहाँका स्थानीय कृषक मकै व्यापारमा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो ।

गैँडाकोट नगरपालिकाभित्र ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ । प्रतिहेक्टर चार सय ६२ मेट्रिक टन मकै उत्पादन भएको शर्माले बताउनुभयो । “आर्थिक वर्ष २०७८–७९ मा प्रतिहेक्टर तीनसय ५० मेट्रिक टन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “२०७९–८० मा एक सय १२ मेट्रिक टनले उत्पादनमा वृद्धि भई चार सय ६२ मेट्रिक टन मकै उत्पान भएको छ ।”

गैँडाकोटमा बर्खे मकै सात हजार तीनसय ३३ हेक्टर क्षेत्रफलमा लगाइने गरेको छ । हिउँदको समयमा लगाइएका हरियो मकै मात्र तीन करोड बढीको गैँडाकोट क्षेत्रबाट बिक्री हुने गरेको कृषि शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।

चितवनको पर्यटकीय नगरी सौराहामा ६५ वटा हात्तीलाई वनभोज

भरतपुर (चितवन), १४ पुस : चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो ।

हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष तथा महोत्सव संयोजक ओम पाण्डले जानकारी दिनुभयो । उहाँले हात्तीलाई झण्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको बताउनुभयो । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताउनुभयो ।

“जसरी हामी वनभोज खान जाँदा रमाउँछाँै, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्”, उहाँले भन्नुभयो, “राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।” उहाँले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताउनुभयो । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उहाँले बताउनुभयो । मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको तिमिल्सिनाको भनाइ छ ।

पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ । वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो । महोत्सव हेर्न आएका पर्यटकले वनभोज निकै आकर्षक मानेर हेरेका थिए । सौराहामा यस वर्ष हात्ती दौड र हात्तीका छावाबीच फुटबल आयोजना गरिएको छैन । हात्ती सुन्दरी र डुङ्गा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी शनिबारसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

इलाममा रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान

इलाम, १४ पुस : इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् ।

अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका–३ का किसान मिलन खड्काले बताउनुभयो । “इलामका किसानको आम्दानीको स्रोत अदुवा हो, यसबाट हुने आम्दानीले घर खर्च चलाउँदै आएका छौँ, तर पछिल्लो समय रोगका कारण समस्यामा छौँ”, उहाँले भन्नुभयो, “अधिकांश किसानको रोजीरोटी धरापमा परेको छ ।”

अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको सङ्क्रमण देखिएको किसान रघुनाथ अर्यालले बताउनुभयो । “सुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोट मर्ने गरेको छ”, उहाँले भन्नुभयो । अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा हानिकारक मानिन्छ । गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्छ ।

अदुवा खेती गर्दै आउनुभएका किसान जगनाथ अधिकारी भन्नुहुन्छ, “रोप्नुअघि नै बीउ गानोमा ढुसीको सङ्क्रमण भइरहेको छ, उम्रिने बित्तिकै टुसा मर्छ ।” अन्यत्रबाट बीउ ल्याएर खेती गरे रोगबाट मुक्ती पाउन सकिने अधिकारीको भनाइ छ ।

मसला र ओषधिजन्य प्रयोगका लागि भारतमा निर्यात भइरहेको अदुवा किसानले ठाउँ र बीउ फेरेर रोप्दा पनि उम्रने वित्तिक्कै मर्न थालेपछि किसानले वैकल्पिकरुपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन् ।

उत्पादन घटेपछि अदुवा व्यापारी वैकल्पिक उपाय खोज्न थालेका व्यापारी जीवन पोखरेल बताउनुहुन्छ । उहाँ अदुवाको कारोबार छोडेर तीन वर्षयता कुचो र अलैँचीको व्यापारमा लाग्नुभएको छ ।

चार नगरपालिका र छ गाउँपालिका भएको इलामका प्रायःजसो सबै ठाउँमा अदुवा खेती गरिँदै आएको छ । रोगका कारण पछिल्लो समय यसप्रति किसानको आकर्षण घटेको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले अदुवा किसानका समस्या पहिचान गरी समाधानको उपाय खोज्न आवश्यक छ । प्रोत्साहनस्वरुप आवश्यक अनुदान उपलब्ध गराउन पनि किसानले माग गरेका छन् । खाद्यान्न बाली मासेर अदुवा खेती गरेका किसान रोगले सखाप पारेपछि चिन्तित भएका छन् ।

इलाममा अदुवाको उत्पादन, उत्पादकत्व र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताउनुभयो । गत वर्ष ५० हजार नौ सय ५५ मेट्रिक टन अदुवा उत्पादन भएको इलाममा यस वर्ष ५० हजार छ सय २० मेट्रिक टन मात्र उत्पादन भएको उहाँले जानकारी दिनुभयो । “उत्पादकत्व र रोपण क्षेत्रफल पनि घटेको छ”, प्रमुख बर्देवाले भन्नुभयो । किसानले गत वर्ष तीन हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा अदुवा लगाएकामा यस वर्ष तीन हजार दुई सय दश हेक्टरमा मात्र खेती गरेका उहाँले बताउनुभयो ।

प्रो क्लब क्रिकेट : पुलिस र पर्सा–११ ले उपाधिका लागि खेल्ने

वीरगञ्ज (पर्सा), १४ पुस : पर्साको वीरगञ्जमा जारी दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र पर्सा–११ भिड्ने भएका छन् ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा उक्त फाइनल खेल आज दिउँसो १ बजे हुने छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा पर्सा–११ ले नेपाल आर्मी क्लबलाई तथा नेपाल पुलिस क्लबले भारतको वान्डर्स क्लब नोयडालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

यस्तै तेस्रो स्थानका लागि आज बिहान ९ बजे नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोयडाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेसनलको संयुक्त आयोजनामा गत पुस ५ गतेदेखि सञ्चालित प्रतियोगितामा पर्सा–११, आर्मी क्लब, पुलिस क्लब, एपिएफ क्लब, वान्डर्स क्लब र यूपी–११ को सहभागिता छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। तराई भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागको एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।