`

लुम्बिनी प्रदेश : नवनियुक्त मन्त्रीद्वयले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी, ८ पुस : लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा (माओवादी केन्द्र)की कृष्णा केसीलाई सहरी विकासमन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त दुवै मन्त्रीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभयो ।

बाँकेकी केसी र प्यूठानका थापा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ््ख्या नौ पुगेको छ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई जिम्मेवार बनाउनुपर्छ : मन्त्री शर्मा

विराटनगर, ८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको महत्त्वपूर्ण र ऐतिहासिक सञ्चार माध्यम गोरखापत्रलाई डिजिटल प्रविधिमा लैजाने बताउनुभएको छ । गोरखापत्र संस्थानको विराटनगर प्रकाशन गृहको आज निरीक्षण एवं अवलोकन गर्ने क्रममा उहाँले पत्रकारिता क्षेत्रको इतिहास र विरासत बोकेको गोरखापत्रलाई प्रविधिअनुसार विकास गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सरकारी सञ्चारमाध्यमले सरकारका उपलब्धि जनतामाझ र जनताका आवश्यकता र समस्या सरकारमाझ लैजान पुलको काम गर्नुपर्नेमा उहाँको जोड थियो । सरकारका प्रवक्ता शर्माले सार्वजनिक प्रशासन ऐनको तर्जुमा भइरहेको जानकारी दिँदै सरकारले गरेका काम व्यवस्थित ढङ्गले जनतासमक्ष लैजान संस्थानका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

मन्त्री शर्माले सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै गोरखापत्रले विशेष लेख र सम्पादकीयमार्फत आफ्ना पाठकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । व्यक्तिले गरेका गल्ती व्यवस्थासँग गाँस्न नहुने बताउँदै उहाँले परिवर्तित व्यवस्थालाई बलियो बनाउन गोरखापत्रले लेख र रचनाका माध्यमबाट महत्त्वपूर्ण निर्वाह गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिनुभयो । उहाँले गोरखापत्र संस्थानले दक्ष जनशक्ति प्रकाशन गृहमा राख्नुपर्ने भन्दै नेपालीको वेशभूषा र संस्कृतिलाई समेटी सिर्जनात्मक ढङ्गले जनताका माझ विषयवस्तु लैजानुपर्ने उल्लेख गर्नुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रका लागि राज्य, नागरिक र बजार धर्म रहेको चर्चा गर्नुभयो । उहाँले सरकारका सकारात्मक उपब्धिहरुलाई समर्थन, प्रवद्र्धन र प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यप्रतिको जिम्मेवारीमा गोरखापत्र सचेत रहेको बताउनुभयो ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानले व्यावसायिक स्तरमा सुधार ल्याई क्षमता अभिवृद्धि गर्न प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । गोरखापत्रले व्यावसायिकतालाई मात्र नहेरेर आम नागरिकसमक्ष आफ्ना उत्पादन पुर्‍याउन काठमाडौँ बाहिर दुई ठाउँबाट पत्रकार प्रकाशन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा संस्थानका सञ्चालक समितिका सदस्य चेतन धमला र विराटनगर प्रकाशन गृहका प्रमुख राजकुमार गुरुङले पनि संस्थानका गतिविधिबारे जानकारी दिनुभयो ।

एनआरएनए मकाउको अधिवेशन सम्पन्न, सन्तोष गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) -(ग्लोबल) मकाउको राष्ट्रिय महाधिवेशन डिसेम्बर २१, २०२३ का दिन सम्पन्न भएको छ।

महाधिवेशनले सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व र पूर्ण गुरुङ (देउराली) लाइ आईसीसी सदस्यमा निर्बिरोध निर्वाचित गेरको छ। समितिको आगामी बैठकले पदीय जिम्मेवारी र अन्य जिम्मेवारी तथा कार्यसमिति बिस्तार समेत गर्ने गरि निर्णय गरिएको छ।

निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य

आइसीसी सदस्य पूर्ण बहादुर गुरुङ (देउराली)

१. अध्यक्ष सन्तोष गुरुङ

२. सदस्य मन कुमारी गुरुङ

३. सदस्य कल बहादुर तामाङ

४. सदस्य सिर्जन तिमल्सिना

५. सदस्य कृष्ण मगराती

६. सदस्य हिम माया गुरुङ

७. सदस्य श्याम कुमार श्रेष्ठ

८. सदस्य टोल बहादुर राना

९. सदस्य अनिता गुरुङ

१०. सदस्य सञ्जय अधिकारी

११. सदस्य मनिता श्रेष्ठ

१२. सदस्य बिनोद रेग्मी

१३. सदस्य महेश गिरी

एनआरएनए क्यानडाको अधिवेशन सम्पन्न, गिरी बुढाथोकी अध्यक्षतामा नयाँ नेतृत्व

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)-(ग्लोबल) क्यानाडाको राष्ट्रिय महाधिवेशन तथा साधारण सभा क्यानाडाको ब्राम्पटनको एभरेष्ट तेकान्दो हलमा एक बृहत कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न भएको छ। राष्ट्रिय महाधिवेशनले गिरि प्रसाद बुढाथोकीको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ।

कार्यक्रमको उदघाटन सत्रमा साधारण सभा तथा अधिवेशनको सफलताको लागि बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा गैरआवासीय नेपाली अभियानका सामाजिक अगुवाहरुले शुभकामना प्रदान गर्नुभएको तथा अगामी दिनहरुमा सँस्थाले सम्रग गैर आवासीय नेपालीहरुको हकहितमा शसक्त ढंगबाट कामगर्ने बिश्वास व्यक्त गर्नु भएको थियो।

कार्यक्रमको बन्द शत्रमा कार्यक्रमको सांगठनिक प्रतिबेदन सस्थाका महासचिब सन्तोष बिश्वकर्मा तथा बित्तिय प्रतिबेदन कोषाध्यक्षको अनुपस्थितमा उपाध्यक्ष सुमन पौडेलेले प्रस्तुत गर्नु भएको थियो। सस्थाका अध्यक्ष कुन्दन घिमिरेले उदघाटन सत्रको समापन गर्दै निवर्तमान कार्यसमिति भंग भएको जानकारी गराउदै बिधिपूर्वक निवार्चन सम्पन्न गर्नका लागि प्रमुख निवार्चन अधिकृत तथा Barrister र Solicitor भोजराज भट्ट र सदस्यहरु चन्द्र राई र प्रभा कार्की रहनु भएको तीन सदस्यीय निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो।

निवार्चन समितिले विधिपूर्वक निर्बिरोध रुपमा १८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। निवर्तमान तथा नव निर्वाचित सभापति अञ्जनी भट्टराई तथा नवनिर्वाचित अध्यक्ष गिरी प्रसाद बुढाथोकीले आईसीसी सदस्यहरु रश्मी थापा र नर बहादुर टण्डन, निर्वाचन समिति र निवर्तमान कार्यसमितिले महाधिवेशन सफलता पूर्वक सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेल्नु भएकोमा धन्यवाद तथा हार्दिक आभार प्रकट गर्नु भएको थियो।

निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य

लक्षमण सुवेदी, आइसीसी सदस्य

१. अञ्जनी भट्टराई सभापति, ओन्टारियो

२.गिरी प्रसाद बुढाथोकी अध्यक्ष, ओन्टारियो

३.लक्ष्मण अधिकारी उपाध्यक्ष, अल्बर्टा

४.रीता बुर्लाकोटी उपाध्यक्ष, ओन्टारियो

५.मानबहादुर बिश्वकर्मा उपाध्यक्ष, ओन्टारियो

६.बृष्टि बोहरा उपाध्यक्ष, नोभास्कोसिया

७.सुमन पौडेल महासचिव, ओन्टारियो

८.नरबहादुर बिक सचिव, ओन्टारियो

९.माधबी खनाल कोषाध्यक्ष, ओन्टारियो

१०.लीला थापा प्रवक्ता, ओन्टारियो

११.ऐरिक बस्नेत सदस्य (युवा संयोजक) ओन्टारियो

१२. स्वीकृती खडका, सदस्य (सास्कृतिक संयोजक), ओन्टारियो

१३.गणेश खड्का सदस्य (मिडीया संयोजक), ओन्टारियो.

१४. प्रकाश चापागाई सदस्य, ओन्टारियो

१५.देवराम टमटा सदस्य, ओन्टारियो

१६.कृष्ण राना सदस्य, बृटिश कोलम्बिया

१७.आनन्द अग्रेजा सदस्य, प्रिन्स एडवर्ड आइल्याण्ड

१८.ऐश्वर्या श्रेष्ठ सदस्य, नोभास्कोसिया

सरकारको एक वर्ष : सूचना प्रविधिको सुरक्षित प्रयोग र विस्तार, डिजिटल नेपालको सपना भयो त पूरा ?

-नेत्र सुवेदी ‘प्रयास’

– वर्तमान सरकारले एक वर्ष पूरा गर्नैलाग्दा यस साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई) सम्बन्धी अवधारणापत्रमा काम गरिरहेको छ । भविष्यका लागि एआइले उघार्ने सम्भावनालाई पहिचान गर्ने र प्रयोगमा ल्याउने विषय पक्कै पनि महत्वपूर्ण छ ।

विज्ञहरुको समेत सहयोगमा मन्त्रालयको आधिकारिक अवधारणा तयार हुन केही समय लाग्ला नै । खासगरी तथ्याङ्क प्रणाली र सूचना व्यवस्थापनमा एआइले दिनसक्ने शीघ्र गणना र विश्लेषणलाई सबैखाले कामहरुमा महत्वका साथ हेरिएको छ । च्याटजिपिटी, गुगल एआइलगायतका सर्च इञ्जिनहरु लोकप्रिय बनेका छन् भने एआइका अन्य औजारहरु पनि प्रतिस्पर्धाका साथ इन्टरनेट मार्केटमा देखापरेका छन् ।

नामबाट पनि थाहा हुन्छ कि सूचना प्रविधिसम्बन्धी कार्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका समग्र कार्यहरुमध्ये एउटा प्रमुख पाटो हो । यसका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यहरुलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयनमा लैजाने काम मन्त्रालयले गर्दै आएको छ ।

मन्त्रालयभित्र सूचना प्रविधि महाशाखा र फ्रिक्वेन्सी व्यवस्थापन गरी दुई वटा महाशाखा क्रमशः सूचना प्रविधि र दूरसञ्चार प्रविधिसँग सम्बन्धित कार्यका लागि निरन्तर क्रियाशील रहेका छन् भने सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्र समेतले सूचना प्रविधिको विकास, नियमन र सार्वजनिक डाटाको सुरक्षित भण्डारणमा केन्द्रित भएर काम गर्दै आएका छन् ।

केही आधार तयार भएका छन् र परिणाम पनि देखापरेका छन् । बितेको एक वर्षको अवधिमा केही काम सम्पन्न भएका छन् भने केही काम सम्पन्न हुने क्रममा छन् र केही हालसालै प्रारम्भ गरिएका छन् । केही काम भने सोचेजस्तो गरी अघि बढ्न सकेका छैनन् । कार्यसम्पादनमा केही संरचनागत र व्यवहारगत व्यवधानहरु छन् । यिनै बाधा अवरोधहरु छिचोलेर अघि बढ्नुपर्ने र आपसी समन्वय र विश्वासलाई सघन बनाउनुपर्ने पनि छ । सबैभन्दा पहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विगत एक वर्षमा सम्पन्न गर्न सकेका कामहरुका सम्बन्धमा चर्चा गरौँ ।

राष्ट्रिय साइबर सुरक्षा नीति तयार भई २०८० साउन २३ गतेको मन्त्रिपरिषदको निर्णयबाट पारित भई कार्यान्वयनमा आएको छ । यो नीतिले साइबर कानुन बन्नुपर्ने र एउटा स्वतन्त्र एवम् विज्ञ सम्मिलित संरचनाको रुपमा साइबर सुरक्षा केन्द्र स्थापनाको समेत परिकल्पना गरेको छ । कानुन निर्माण र केन्द्र स्थापनाका लागि तयारीका कामहरु भैरहेका छन् । त्यसो त साइबर सुरक्षाका लागि सेक्युरिटी अपरेसन सेन्टर पनि मन्त्रालयभित्र नै ७÷२४ नै सञ्चालित छ ।

गाजा युद्धमा इजराइली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ– नेतान्याहु

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताउनुभएको छ ।

“गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान हो”, शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरेपछि उहाँले भन्नुभयो, “युद्धले धेरै ठूलो मूल्य तिरिरहेको छ तर हामीसँग लडिरहनुको कुनै विकल्प छैन ।”
मासलाई विनाश गर्ने, हाम्रा बन्धकहरूलाई फिर्ता गर्ने र इजराइल राज्यका लागि फेरि कहिले पनि गाजा खतरा बन्ने छैन भन्ने सुनिश्चित गर्ने हाम्रा सबै लक्ष्य प्राप्त नगरेसम्म, अन्तिमसम्म, विजय नभएसम्म सम्पूर्ण शक्तिका साथ काम गरिरहने छौँ”, उहाँले भन्नुभयो, “स्पष्ट हुन दिनुहोस् ः हमास समाप्त नभएसम्म हामी उत्तर र दक्षिण दुवै स्थामा सुरक्षा पुनःस्थापित गर्नेछौँ ।”

क्टोबर २७ मा इजराइलको स्थल हमला सुरु भएपछि इजराइली सेनाले प्यालिस्टिनी क्षेत्रमा एक सय ५३ सैनिकलाई गुमाएको छ । यसमा शनिबार १० सैनिक पनि सामेल छन् । लेबनानसँग आफ्नो उत्तरी सीमामा हिजबुल्लाह लडाकूहरूको पनि सामना गरिरहेको इजराइली सेनाका लागि यो सबैभन्दा घातक दिनहरूमध्येको एक भएको छ ।

यसैबीच हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजराइलसँग युद्ध सुरुभएयता प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २० हजार चार सय २४ जनाको ज्यान गएको आतबार बताएको छ । दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासले आक्रमण सुरु गरेपछि भएको युद्धको पछिल्लो २४ घन्टामा एक सय ६६ जनाको मृत्यु भएको हमासले जनाएको छ ।

कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो कानुन समितिको बैठक

काठमाडौँ, ८ पुस : कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम थियो ।

सबै संशोधनकर्ता सदस्यलाई आगामी एउटै बैठकमा बोलाएर सम्पूर्णको भावना सुन्नुपर्छ भन्नेमा मतैक्यता भएपछि बैठक स्थगित भएको नेपाली कांग्रेसका प्रमुखसचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संशोधनकर्ता सदस्यको भावना बुझ्दा सबै संशोधनकर्तालाई एकैपटक बोलाएर विचार सुन्नुपर्छ भनेपछि सोहीअनुरुप गर्ने भन्ने भएको छ ।” विगतमा थोरै संशोधन परेकामा व्यक्ति विशेषलाई र धेरै संशोधन रहेकामा समूहगतरुपमा संशोधनबारे छलफल गर्ने अभ्यास रहिआएको छ । 

समूहगतरुपमै छलफल गराउने विषयमा सबै दलका नेताबीच पनि बैठकमा सहमति भएको थियो । सोअनुरुप समितिको यही पुस १६ गते बस्ने बैठकमा सबै संशोधनकर्ता सदस्यलाई आमन्त्रण गर्ने निर्णय भएको छ । 

आगामी बैठकमा हुने छलफलका आधारमा आगामी बैठकमा कसरी प्रस्तुत हुँदा उपयुक्त हुन्छ भन्ने निक्र्यौल गर्ने प्रमुख सचेतक लेखकले बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्मा विधि निर्माणको प्रक्रियालाई हाम्रा अभ्यासले सरलीकृत गर्छ कि जटिलतातर्फ लैजान्छ भन्ने बैठकमा हुने छलफल र प्रगतिले निर्धाण गर्नेछ ।”

उक्त विधेयकमाथि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका ६२ जना सदस्यको संशोधन परेको छ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य रघुजी पन्तले समितिले बैठक बोलाएको प्रक्रिया नै नमिलेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “सशोधनकर्तामध्ये केहीलाई मात्र बोलाइयो, नियमावली र विगतको प्रचलन संशोधनकर्ता सबैलाई बोलाइनुपर्छ । सांसदले एकअर्काको कुरा सुन्नुपर्छ । फरकफरक विषयमा जानकार हुन सक्छ, आफूले राखेको संशोधनमा अर्काको कुरा सुनेपछि चित्तबुझ्न सक्छ र फिर्ता लिने वातावरण बन्छ ।” नेता पन्तका अनुसार, सबैलाई एकै ठाउँमा राखेर छलफल गराएपछि मात्रै साझा निष्कर्षमा पुगेर बनाएको कानुन पूर्ण हुन्छ । 

सोही दलकी रणकुमारी बलम्पाकीले यही १६ गते बस्ने बैठकमा सबै संशोधनकर्तालाई आमन्त्रण गरी समूहगतरुपमा छलफल गर्ने निधो भएको बताउनुभयो । समितिले बैठकमा २०/२० जना बोलाएर छलफल गर्ने कार्यतालिका बनाएको थियो ।

काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

बेलबारी (मोरङ), ८ पुस : पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ ।

काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । सडक क्षेत्रबाट ३५ मिटर क्षेत्र भित्र पर्ने रुखमात्र काटिने र काटिएका रुखको दश गुणाबढी बिरुवा रोपिने उहाँले बताउनुभयो । 

डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा पाँच हजार पाँच सय ५६ वटा रुख पर्छन् । मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सवडिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखको धमाधम छपान गरिरहेको यादवले बताउनुभयो । पाँचवटै सव डिभीजन वन कार्यालयबाट चार÷पाँच जना जनशक्ति परिचालन गरी रुख छपान गर्ने काम भइरहेको छ ।

सडक दुई खण्डमा ठेक्का लागेको छ । काकरभिट्टाबाट दमकसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । सडक आयोजना इटहरी कार्यालयका प्रमुख प्रजापतिका अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाएको छ । ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ भने ० देखि ४५ किमीसम्म,४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७ दशमलव सात सय ७० किमीसम्म पाँच वटा ठेक्का लागेको छ । 

निन्दा, विरिङ, कन्काई पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ । यी छ वटा पुल तीन सय मिटरभन्दा लामा छन् । काम छिटो सम्पन्न गर्न अलगअलग टेण्डर आह्वान भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

तीन वर्गमा निर्माण हुने सडक बजार, जङ्गल र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ ।  सडक क्षेत्रमा रहेका चार सय चार वटा अस्थायी संरचना हटाउनु पर्नेछ ।  

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकैपटक काम सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेका छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन्  । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले संयुक्तरुपमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको आयोजना दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताउनुभयो ।

मापदण्डविपरीत कच्ची सडकमै गुड्छन् अटोरिक्सा

ढोरपाटन (बागलुङ), ८ पुस : यहाँका ग्रामीण तथा बजारमा पछिल्लो समय अटो रिक्सा चल्न थालेका छन् । बजार अटो रिक्सा नगरपालिकासँग अनुमति लिएर सञ्चालन गरिए पनि ग्रामीण क्षेत्रमा भने आफूखुसी सञ्चालन हुँदै आएको छ । अनुगमनको अभावमा समथर भू–भागका पक्की सडकमा गुड्ने रिक्सा पहाडी कच्ची सडकमा गुडिरहँदा दुर्घटनाको जोखिम बढाउनाका साथै बजार क्षेत्रमा भीडभाड पनि बढाएको छ ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिकाको बोङ्गादोभान, निसीखोलाको झिवाखोला, जुग्जाखोला, निसी र बडिगाड क्षेत्रमा अटो चल्ने गरेका छन्, भने सदरमुकाम बागलुङ बजारदेखि कालिका मन्दिर, मालढुङ्गा, उपल्लोचौर, पञ्चकोट, सिगाना, भकुण्डे, खहर र काठेखोलामा पनि अटो सञ्चालन हुँदै आएको छ ।
बुर्तिबाङ बजारदेखि तमानखोलासम्मको कच्ची सडकमा अटो चलिरहेका छ । निसीखोला क्षेत्रमा कालोपत्र भए पनि रिक्सा सञ्चालनका लागि उपयुक्त छैन । बागलुङ बजारदेखि उपल्लोचौर, कालिका मन्दिर र खहरेसम्म बागलुङ नगरपालिकाले अनुमति दिए पनि पञ्चकोट, सिगाना र भकुण्डेमा कच्ची सडकका कारण अनुमति नहुँदा पनि चालकले मनपरी अटो चलाइरहँदा हालसम्म एक दर्जन दुर्घटना भएका छन् ।

बुर्तिबाङ बजारदेखि ग्रामीण क्षेत्रमा चल्ने अटोले अनुमति नलिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो । पछिल्लो समय दिन प्रतिदिन अटो बढ्दै गएपछि व्यवस्थापन गरेर सञ्चालनका लागि नगरपालिकाले योजना बनाएको उहाँको भनाइ थियो । “धेरै समय भयो, यहाँ अटो सञ्चालन भएको, बजारबाट गाउँ–गाउँसम्म चल्छन्, अहिलेसम्म चलेका कुनै पनि अटोलाई नगरपालिकाबाट अनुमति दिएका छैनौँ, आ–आफ्नै हिसाबले चलेका छन्, अब सहीरुपमा व्यवस्थापन गरी सञ्चालनका लागि विभिन्न निकायसँग समन्वय गर्छौँ” प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो – “ग्रामीण सडक अहिले कच्ची छन्, अप्ठ्यारा छन्, त्यस्तो सडकमा अटो चलाउन उचित हुँदैन, व्यवसायीले पनि बुझन् जरुरी छ, दुर्घटनापछि पछुताउनुभन्दा अहिले नै सचेत हुन जरुरी छ, हामीहरु व्यवस्थापन गर्नका लागि सचेत छौँ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर खड्काले बागलुङ नगरपालिकाले ‘रुट प्रमिट’ दिएका स्थानबाहेक अन्य ठाउँमा पनि अटो सञ्चालन हुने गरेको बताउनुभयो । कच्ची सडकमा चल्दा धेरै ठाउँ दुर्घटनामा पनि परेकाले ट्राफिक प्रहरीले अटेर गरी तोकिएभन्दा बाहिर सञ्चालन गर्ने चालकलाई कारबाहीसमेत गरेको उहाँले जानकारी दिनुभयो । प्रमुख खड्काले बजार क्षेत्र, लोकमार्ग र कुँडुलेसम्मका लागि मात्रै अटो सञ्चालनका लागि अनुमति दिइएकामा चालकले क्षमताभन्दा बढी यात्रुसमेत राख्ने गरेको बताउनुभयो । बागलुङ नगर उपप्रमुख राजु खड्काले पछिल्लो समय अटो बढ्दै जाँदा बजारमा यात्रुलाई समस्या हुने गरेको बताउनुभयो ।

सुरुमा युवाहरुले बेरोजगार भयौँ अटो रिक्सा सञ्चालन गर्छौँ भनेर आग्रह गरेकाले नगरपालिकाले अनुमति दिएकामा अब थप व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । उपप्रमुख खड्काले भन्नुभयो, “छोटो दूरीमा यात्रा गर्नलाई अटो केही सहज भएको छ तर अनुमति दिएको ठाउँबाहेक अन्यत्र पनि चलाउनेलाई कारबाही गर्छौँ, अहिलकै अवस्थामा अटो सञ्चालन हुने हो भने जुनसुकै बेला पनि दुर्घटना हुनसक्छ ।”

विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्न अध्यक्ष नेपालको आग्रह

काठमाडौँ, ८ पुस : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका अतिरिक्त विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

शङ्खरापुर नगरपालिका–१ स्थित चाँपाबोट मावि भवनको आज अनुगमनका क्रममा उहाँले केही सामुदायिक विद्यालयले राम्रो पढाइ सञ्चालन गरेकाले भर्ना पाउन प्रतिस्पर्धा हुने गरेको जनाउँदै व्यावसायिक शिक्षाले विद्यार्थीको सिर्जनशील कार्यमा आत्मविश्वास बढ्ने बताउनुभयो ।

अध्यक्ष नेपालले अब्बल जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाको स्तरोन्नतिमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय संरचना विकास तथा भवन मर्मतका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपाललाई विद्यालय प्रधानाध्याक हरिबहादुर गौतम, सहायक प्रधानाध्यापक तेजनाथ दङ्गाललगायत शिक्षक तथा वडाध्यक्ष बाबुराम दङ्गाल, वडा सदस्य भूमिप्रसाद दङ्गाल र रामकृष्ण ढुङ्गानाले विद्यालयको गतिविधि बारेमा जानकारी गराउनुभएको थियो । विसं २०७२ को विनासकारी भूकम्पले क्षति भएको विद्यालयको केही भाग मर्मत तथा पुनः निर्माणसमेत गरिएको छ ।

आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ – मन्त्री शर्मा

विराटनगर, ८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन, आर्थिक समृद्धि र सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकता राखेको बताउनुभएको छ ।प्रेस सेन्टर मोरङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने दायित्व बोकेको सरकारले सुनकाण्ड, ललिता निवास प्रकरणजस्ता सुशासनका कामलाई व्यवस्थित ढङ्गले छानबिन गरेको बताउनुभयो ।

मन्त्री शर्माले अहिलेको व्यवस्थामा कोही पनि कानुनभन्दा ठूलो नहुने र गल्ति गर्नेलाई कानुनअनुसार कारवाही हुने धारणा राख्नुभयो ।सरकारका प्रवक्ता शर्माले संविधान, लोकतन्त्र र गणतन्त्र व्यवस्थाको रक्षामा सरकार सफल भएको बताउँदै जे गर्दा पनि हुने, जे बोल्दा पनि हुने अवस्थालाई कानुनले छुट नदिने स्पष्ट पार्नुभयो ।

मिटर ब्याजीलाई कानुन बनाएर अपराध संहितामा राखिएको उल्लेख गर्दै उहाँले देश र जनतामा केन्द्रित नहुने विषयमा सरकारले छानबिन गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले एनसेलका विषयमा उठेका प्रश्नको जवाफ खोज्नका लागि स्वतन्त्र छानबिन भइरहेको बताउँदै एलसेलको छानबिन भइरहेको, यससम्बन्धमा ऐन कानुन विपरीत सरकार जान नसक्ने बताउनुभयो । उहाँले छानबिन समितिकै सिफारिशअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो ।

सरकारले यस वर्ष शैक्षिक शत्रको शुरुवातमै पाठ्यपुस्तक पुर्‍याउन र किसानलाई समयमै मल, बीउ उपलब्ध गराउन सफल भएको भन्दै मन्त्री शर्माले देश र जनताका पक्षमा काम गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । उहाँले सञ्चार र सूचना क्षेत्रका आवश्यकतालाई मौजुदा कानुनले पूरा गर्न नसक्ने उल्लेख गर्दै सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल अवधारण तयार गरेको जानकारी दिनुभयो ।

पिएसबीको अवधारणअनुसार सरकार प्रशारण ऐन बनाउन लागेको बताउँदै मन्त्री शर्माले राज्यबाट प्रवाह हुने सेवा जनता समक्ष र जनताका आवश्यकता सरकारसमक्ष पुर्‍याउन सञ्चार माध्यमले पुलको काम गर्नुपर्नेमा जोड दिनुभयो ।मन्त्री शर्माले सरकार सूचना प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण कार्य गरी आइटी प्रदर्शनी गर्ने तयारी गरेको र यसबाट शिक्षित युवालाई स्वदेशमै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

मध्यपहाडका समस्या र माग सम्बोधनका लागि पहल गर्नेछौँ – ओली

काठमाडौँ, ८ पुस : नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहरूको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने जानकारी दिनुभएको छ ।

सो पार्टीले मध्यपहाडी लोकमार्गकेन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का उपलब्धिलाई आज पार्टी कार्यालय ललितपुरमा सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो.“ समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ । ”

उहाँले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “यस क्रममा हामी विज्ञहरु, जनप्रतिनिधिहरु र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौँ, गहन अध्ययन गर्नेछौँ । हाम्रो सङ्कल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने छौँ ।”

बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका अभियानमा ३० जिल्ला हुँदै दुई हजार किलोमिटरभन्दा यात्रा गर्दै जनसभा, कोणसभा, साना भेला र जमघट, सर्वदलीय र सर्वपक्षीय बैठकहरु, सांस्कृतिक कार्यक्रम र अन्तरक्रियाहरुका माध्यमबाट लाखौँ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिएको एमालेले जनाएको छ ।

मानव तस्करीको आशङ्कामा फ्रान्समा पक्राउ परेका भारतीयसँग सोधपुछ

मानव तस्करीको आशङ्कामा पेरिस नजिकै हिरासतमा राखिएका विमानमा यात्रा गरिरहेका तीन सयभन्दा धेरै भारतीयसँग चार फ्रान्सेली न्यायाधीशले आइतबार सोधपुछ सुरु गरेका छन् ।

मानव बेचबिखनका सम्भावित पीडितहरूलाई लैजाँदै गरेको भन्ने अज्ञात सूचनापछि बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको निकारागुवा जाँदै गरेको एयरबस ए३४० लाई पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखिएको छ । सीमा प्रहरीले प्रयोग गरिरहेको हिरासतमा राख्ने आदेशलाई सुरुमा आठ दिनसम्म र आवश्यक परेको अवस्थामा थप आठ दिन बढाउने अधिकार न्यायाधीशरूलाई छ ।

यात्रीहरूसँग कुराकानी गर्नका लागि उनीहरूसँग दुई दिनको समय छ । “लक्ष्य भनेको सबैलाई हेर्न सक्षम हुनु हो”, चालोन्स–एन–स्याम्पेन क्षेत्रका अभियोजक एनिक ब्राउनले भन्नुभयो । अनुवादकहरूले न्यायाधीशहरूलाई सहयोग गरिरहेका छन् ।

रोमानियाली कम्पनी लिजेन्ड एयरलाइन्सको उडानमा रहेका तीन सय तीन यात्री विमानस्थलमै अलपत्र परेका छन् । पेरिस अभियोजकहरूका अनुसार यात्रीमध्ये ११ जना बिनासहाराका नाबालिग रहेका छन् । मामिलासँग सम्बन्धित एक स्रोतले दस यात्रीले शरणका लागि अनुरोध गरेका छन् ।

त्रिपालले प्रवेश कक्षको सिसा र बाहिरी भाग तथा नजिकका प्रशासनिक भवनहरूलाई ढाकेको छ । प्रहरी र अर्धसैनिकले प्रवेशमाथि रोक लगाएका छन् । पेरिस अभियोजकको कार्यालयका अनुसार शुक्रबार हिरासतमा लिइएका दुई यात्रीको हिरासत अवधि शनिबार साँझ ४८ घन्टासम्म बढाइएको छ ।

उनीहरूको भूमिका यो यात्रामा अरुभन्दा फरक हुन सक्छ र कुन अवस्था तथा उद्देश्यका साथ हुनसक्छ भनेर प्रमाणित गर्नका लागि हिरासतमा राखिएको हो । अभियोजकहरूका अनुसार अनुसन्धानकर्मीहरूले यात्री तथा उडान चालक दलको पहिचान जाँच गरेका छन् र उनीहरूको यात्राको ‘स्थिति र उद्देश्य’ प्रमाणित गरिरहेका छन्

पेरिसमा भारतीय दूतावासले शनिबार उसले ‘स्थितिको द्रुत समाधान’ का लागि काम गरिरहेको बताएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले भनेको छ, “वाणिज्य दूत घटनास्थलमा हुनुहुन्छ ।”

मार्नेका नागरिक सुरक्षा प्रमुख प्याट्रिक जालोक्सले विमानस्थमा तीन रात बिताएपछि यात्रीहरू स्वाभाविकरूपमा ‘निराश’ रहेको बताउनुभयो । उहाँका अनुसार तीमध्ये केही भारतको राष्ट्रिय भाषा हिन्दी बोल्छन् भने अन्य दक्षिणी भारत र श्रीलङ्काका केही भागमा बोलिने भाषा तमिल बोल्छन् । “उनीहरू आफ्ना परिवारसँग सम्पर्कमा छन्”, उहाँले भन्नुभयो ।

निकारागुवा हुँदै अमेरिका वा क्यानाडा जान खोजेका ती भारतीय यात्रीहरू सम्भवतः संयुक्त अरब इमिरेट्स (युएई) का कामदार रहेको सोधपुछसँग सम्बन्धित निकट स्रोतले एएफपीलाई बताएको छ ।

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा आँधीबेहरीका कारण हजारौं बासिन्दा बिजुलीविहीन

अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौं बासिन्दा विद्युत्विहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ ।

क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कूल १२० पावरलाइनहरू अवरूद्ध भएका छन् र ५७ हजार ग्राहकहरू बिजुलीविहीन भएका छन् ।

लोगान र ब्रिसबेनका केही भागहरूमा क्रिसमसको दिन कम्तिमा मध्याह्नसम्म बिजुली विहीन हुनसक्ने र अधिकारीहरूले बासिन्दाहरूलाई ब्याक–अप योजनाको बारेमा सोच्न निर्देशन दिएका छन् ।एनर्जेक्सका प्रवक्ताले यस क्षेत्रका बासिन्दाहरूलाई क्रिसमस उत्सवहरू सोमबार सुचारु रूपमा चलाउन सुनिश्चित गर्न रेफ्रिजेरेटरहरू चलाउन रोकन र जेनेरेटर प्रयोगलाई बढाउन सुझाब दिनुभएको छ ।

अस्ट्रेलियाली एबिसी न्युजले शनिबार असामान्य मौसमका कारण क्रिसमसको समयमा पूर्वी अस्ट्रेलियामा आँधीबेहरी आउन सक्ने जनाएको छ ।अन्टार्कटिकाबाट निस्केको ध्रुवीय हावा क्रिसमसको पूर्वसन्ध्या (आइतबार) देखि मङ्गलबारसम्म देशको दक्षिणपूर्वी राज्यहरूमा प्रवेश गर्ने अनुमान गरिएकोले आँधीबेहरीको असर व्यापक हुने अनुमान गरिएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समितिमा छलफल सुरु

काठमाडौँ, ८ पुस : आम चासोका साथ हेरिएको विद्यालय शिक्षा विधेयक २०८० माथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । समितिको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयको अन्तरालपछि आएको विद्यालय शिक्षासम्बन्धी विधेयकले मुलुकको शिक्षा प्रणालीमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री राईले जतिसक्दो चाँडो विधेयक पारितका लागि सांसदहरूलाई आग्रह पनि गर्नुभयो ।

बैठकमा सांसदहरुले विधेयकमा शिक्षक दरबन्दी किटान गरिनुपर्ने, शिक्षकका लागि निजामती कर्मचारी सरहको सेवा सुविधा तोकिनुपर्ने, शिक्षकको तलब बढ्दा विद्यालय कर्मचारीको पनि तलब वृद्धि हुनुपर्ने र शिक्षाको गुणस्तर सुधार हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले सबै राष्ट्रसेवक कर्मचारी, नेता, सांसद र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था नगरेसम्म नेपालको शैक्षिक क्षेत्रमा सुधार नहुने र घोकन्ते विद्याभन्दा प्रश्न गर्नसक्ने र आलोचनात्मक चेत भएका क्षमतावान् विद्यार्थी उत्पादन गर्ने गरी कानुन बन्नुपर्ने बताउनुभयो ।

छलफलमा सांसदहरु  डा चन्द्र भण्डारी, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, विद्या भट्टराई, दीपा शर्मा, सरिता भुसाल, डा तोषिमा कार्की, डा कालुराम राई लगायतले भाग लिनुभएको थियो । सो विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

तनहुँमा निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्दै

दमौली (तनहुँ), ७ पुस : तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।

आयोजनाका विभिन्न संरचनाका लागि आवश्यकपर्ने निजी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यकपर्ने जग्गा अधिग्रहण सुरु गरिने उहाँको भनाइ छ । 

आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । 

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ ।

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुडँेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको अनुमानित लागत रु २५ अर्ब रहेको छ ।

आयोजनाका लागि लगानी सुनिश्चित गराउनसमेत पहल थालिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । 

आयोजना प्रमुख भण्डारीका अनुसार विसं २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अघि बढाएको थियो । 

परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । विज्ञ समूहले पेस गरेको आयोजनाको डिजाइन बमोजिम थप केही काम गर्ने तयारी गरिएको छ । 

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जीनीयरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोइ जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । 

एक वर्षमा वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज (पर्सा), ८ पुस : वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।

उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् ।वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ ।

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै

वीरगञ्ज (पर्सा), ८ पुस : यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल आर्मी क्लब र पर्सा–११ बीच अर्को प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी चार अङ्कसहित शीर्षस्थानमा छ भने समान चार अङ्कका साथ पर्सा–११ दोस्रो स्थानमा छ । अङ्कतालिकामा समान दुई–दुई अङ्कसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन् । भारतको युपी–११ र भारतकै वान्डर्स क्लब अङ्कविहीन छन् ।

नारायणी रङ्गशालाप्रति तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलले संयुक्तरूपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ टिमको सहभागिता रहेको प्रतियोगिताका प्रबन्धक दाउद अन्सारीले राससलाई जानकारी दिनुभयो । प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

भोजपुर, ८ पुस : भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नुभएको छ । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गर्नुभएको हो ।

राज्यमन्त्री चपाईँले मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न सडकखण्डसँगै दिक्तेल–चखेवा, भोजपुरको चखेवा–लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला किमाथाङ्का सडकखण्डको अवलोकन गर्ने कार्यक्रम छ ।आज बिहान पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री चपाईँले यो क्षेत्रका सडकसँगै मन्त्रालयअन्तर्गत निर्माण भइरहेका अन्य संरचनाको अनुगमन गरिएको बताउनुभयो । अनुगमनपश्चात् यहाँको अवस्था र गर्नुपर्ने कामका विषयमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउने उहाँले बताउनुभयो ।“मन्त्रालयको निर्णयानुसार म यो क्षेत्रको स्थलगत अनुगमनमा निस्केकी हुँ”, राज्यमन्त्री चपाईँले भन्नुभयो, “अनुगमनका क्रममा यहाँका धेरै समस्याको पहिचान गरेका छौँ । विकास–निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी ढङ्गले अघि बढाउन हाम्रो मन्त्रालय प्रतिबद्ध छ । यहाँ देखिएका समस्या समाधानका लागि मेरो तर्फबाट पहलकदमी हुनेछ ।”

रास्वपा सांसद गौतम भन्छिन् – जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ

काठमाडौँ, ८ पुस : प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताउनुभएको छ ।‘सांसदसँग रासस संवाद’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्वीकार वा अस्वीकार गर्ने परिपाटी र संस्कारको अन्त्य हुनुपर्छ ।”

“सरकारले कुनै पनि विषयवस्तु संसद्मा लिएर आउँदा सरकार पक्ष वा सरकार बनाउन मत हालेका सांसदले राम्रो–नराम्रो नहेरी बाध्यात्मक परिस्थितिबाट पक्षमा बोल्नुहुन्छ र मतदान गर्नुहुन्छ । प्रतिपक्षले जतिसुकै राम्रा विषय उठान गरे पनि उहाँहरु हुँदैन नै भन्नुहुन्छ”, उहाँले भन्नुभयो, “मुद्दामा भन्दा पनि सरकारमा छ कि प्रतिपक्षमा छ भन्ने कुरा ध्यानमा राखेर विधेयक पारित हुन्छ । सत्तापक्ष र प्रतिपक्षका आधारमा मात्रै ‘फेल र पास’ गर्ने हो भने सांसदको भूमिकाको अर्थ छैन, संसद् सरकारको कठपुतलीजस्तो मात्र हुन्छ ।”

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद गौतमले पहिलो संसदीय अभ्यासको अनुभव सुनाउँदै संसद्को आगामी अधिवेशनको तयारीबारे जानकारी दिनुभयो । कानुनमा स्नातक उहाँले नेपाल टेलिभिजनमा पाँच वर्ष कार्यक्रम निर्माता एवं प्रस्तोता भई काम गर्नुभएको थियो । पहिलोपटक संसदीय अभ्यास गरिरहनुभएकी उहाँले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउन सांसदको रचनात्मक भूमिकाको आवश्यकता औँल्याउनुभयो । उहाँले समयमा नै परिणाम प्राप्तिका लागि सबै पक्षको साझा प्रयासमा जोड दिनुभयो ।

“हामीले मन्त्रीहरूलाई ध्यानाकर्षणपत्र कति बुझाउने, कति प्रश्न गर्ने, संसद्मा कति बोल्ने ? त्यसको कार्यान्वयन शून्य छ”, सांसद गौतमले भन्नुभयो, “ध्यानाकर्षण गराइएको विषयमा कार्यान्वयनका लागि सबैको साझा पहल आवश्यक हुन्छ । कतिपय अवस्थामा जनता सडकमा उत्रिने र सांसद बोल्ने सँगसँगै भएपछि मात्र सरकारको ध्यानाकर्षण हुँदोरहेछ । त्यही विषय सञ्चारमाध्यममा आइरह्यो भने ध्यानाकर्षण भइरहन्छ ।”

सांसद गौतमले अघिल्लो दुई अधिवेशनको अनुभवबाट सिक्दै आगामी अधिवेशनमा जनचासोका विषय समेटेर गैरसरकारी विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको जानकारी पनि दिनुभयो ।

“हामीलाई थाहा छ, गैरसरकारी विधेयक पारित हुने सम्भावना एकदमै न्यून हुन्छ, त्यसमाथि हामी प्रतिपक्षमा छौँ”, उहाँले भन्नुभयो, “सरकारको ढिलासुस्ती नै कानुन बन्न नसक्नुको मुख्य कारण हो । अब सरकारलाई सबै प्रकारको दबाब सृजना गरेर कानुन बनाउन प्रयत्न गर्छौँ ।”

उहाँले कानुन निर्माणमा सीमित स्वार्थ समूह हाबी हुने गरेको आशङ्कासमेत व्यक्त गर्नुभयो । “नत्र कानुन निर्माणमा किन यति धेरै ढिलाइ भइरहेको छ ? नेपाल अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा विगत १० वर्षदेखि युरोपेली युनियनको कालोसूचीमा छ । यो सूचीबाट हटाउन कानुनी अड्चन रहेको हामीले अनुभव गरेका छौँ । तर कानुन बनाउन र त्यसको कार्यान्वयन गर्न सरकारी उदासिनता प्रष्टै देखिएको छ । यसमा कहीँ न कहीँ स्वार्थ समूहले रोकेको आशङ्का छ ।”

कानुन निर्माणमा भइरहेको ढिलाइमा सरकार नै मुख्य जिम्मेवार रहेको उहाँको धारणा छ । सांसद गौतमले भन्नुभयो, “कतिपय अवस्थामा मन्त्रालयको विभागमै मस्यौदा अड्किन्छ, त्यहाँबाट निस्केर मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा गएर रोकिने हुन्छ । सम्पत्ति शुद्धीकरण विषयमा नेपाल खतराको सूची ‘ग्रे लिष्ट’मा पर्ला भन्ने खतरा भइसक्यो तर यससम्बन्धी कानुन बनाउने कुरामा हामी जुट्न सकिरहेका छैनौँ ।”

उहाँलाई संसद्को नियमावलीअनुसार प्रधानमन्त्री र मन्त्रीहरूलाई जवाफदेही बनाउने अभ्यास फितलो भयो कि भन्ने लाग्छ । सदनमा उठेका विषयप्रति सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “शून्य समयमा राखिएका विषयमा खासै सुनुवाइ भएन । सांसदले सदनमा बोलेर खास अर्थ रहेनछ भन्ने पनि देखाइयो । हामीले उठाएका विषयमा उहाँहरूले सुनेजस्तो गर्नुहुन्छ तर कार्यान्वयन हुँदैन ।”

सदन र संसदीय समितिको बैठकबाहेकको समय आफूले जनताले भोग्दै आएका समस्या र सुझाव सङ्कलनमा बिताउने गरेको उहाँ बताउनुहुन्छ । जनगुनासो सुन्नका लागि उहाँले ‘सोबितासँग संवाद’ कार्यक्रम नै सञ्चालन गरिरहनुभएको छ ।

विधायिकाको रूपमा आफ्नो मुख्य भूमिका कानुन निर्माण भए पनि जनताको अपेक्षाअनुसारको कानुन बनाउनकै लागि जनताका दैनिकीसँग सम्बन्धित विषयवस्तुसँग जानकार हुनुपर्ने उहाँको बुझाइ छ ।

“कानुन निर्माण मेरो पहिलो भूमिका हो । संसदीय क्षेत्रका विकास निर्माणका काममा मेरो खासै भूमिका नहुनुपर्ने हो, तर मलाई थाहा छैन भन्दा नमीठो लाग्नेरहेछ”, उहाँले भन्नुभयो, “जनताको अपेक्षा जनप्रतिनिधि विकासको काममा आउनुपर्छ र जोडिनुपर्छ भन्ने हुँदोरहेछ । त्यसो हुँदा उहाँहरूसँग कुनै न कुनै रूपले संवादलाई निरन्तरता दिनका लागि यो कार्यक्रम सुरु गरेको हुँ ।”

संवादका क्रममा उहाँले घरदैलो अभियानदेखि प्रवाससम्मको अनुभव साट्नुभयो । उहाँले देश बनाउने सवालमा नेता मात्र इमान्दार र दूरदर्शी भएर नपुग्ने बताउनुभयो ।

“हरेकपटक कोही न कोहीसँग भेट हुँदा उहाँहरू तपाईँसँग धेरै अपेक्षा छ भन्नुहुन्छ । मैले सबैसँग एउटै उत्तर फर्काउने गरेकी छु, ‘मलाई पनि तपाईँहरूसँग आशा छ है”, उहाँले भन्नुभयो, “म एक जनप्रतिनिधि हुँ, त्यसैले उहाँहरु मसँग अपेक्षा स्वाभाविकरूपमा राख्नुहुन्छ । त्यस्तै उहाँहरू कुनै पनि पेसामा आबद्ध हुनुहुन्छ, त्यसमा इमान्दार हुनुहोस् भन्ने मेरो पनि अपेक्षा छ ।”

उहाँले राजनीतिक नेतृत्वको दृष्टिकोणलाई कार्यान्वयनमा लैजान पनि जनताको साथ सहयोग चाहिने बताउनुभयो । “कुनै व्यक्तिले केही निर्णय गर्दा ऊ स्वयंलाई कति फाइदा हुन्छ र त्यसले समाज र देशलाई कति बेफाइदा गर्छ भन्ने सोच्नु आवश्यक छ”, उहाँले भन्नुभयो । अठ्ठाइस वर्षीया सांसद गौतमले तीनै तहका सरकार र जनप्रतिनिधिले समय–समयमा सार्वजनिक सुनुवाइ गरिरहने र सबै जनप्रतिनिधि एक ठाउँमा भेला भएर जवाफदेहिताको कसीमा आफूलाई उभ्याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “तर तीनै तहका जनप्रतिनिधि एक ठाउँमा आएर जवाफ दिने किसिमको कानुनमा त्यस्तो कुनै विधि र प्रक्रिया छैन । म आफैँले जनताप्रति जवाफदेही हुनुपर्छ भनेर यो संवाद कार्यक्रम राखेको छु । जसले गर्दा हाम्रा कानुनमा भएका छिद्रहरूबारे समेत उहाँहरूबाट जानकारी बटुल्ने अवसर मिलेको छ ।”

प्रवाससम्म पुगेर नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनुभएको उहाँले विदेशी भूमिमा गर्ने परिश्रम देशभित्रै उपयोग गर्न सके सबैले चाहेको समृद्धि प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विभिन्न देशमा रहेका नेपालीको अनुभव देशअनुसार फरक छ । तर खाडी मुलुकमा वैदेशिक रोजगारमा जानेलाई निःशुल्क भिसाको व्यवस्थाबारे जानकारी नभएको, भाषा र सीप, ज्ञान नभएका कारण समस्या भोग्नुपरेको देखियो ।”

पछिल्लो समय युवा जनशक्ति विदेशिने क्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै उहाँले भन्नुभयो, “यो देश कुनै विदेशीले आएर बनाइदिँदैन । सबैले देश छाड्ने हो भने देश शून्य हुन्छ । त्यसैले यो देश बनाउन हामी आफैँले पहल गर्नुपर्छ ।”

मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य समितिको बैठक बस्दै

काठमाडौं । आइतबार दुई संसदीय समितिको बैठक बस्दैछ । आज संघीय संसद्अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बिहान ११ बजे बस्नेछ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको बिषयमा छलफल हुने जनाइएको छ । यस्तै शिक्षा, स्वास्थ्य समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका बिषयमा छलफल हुनेछ । बैठक समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।

विदेशिनुपर्ने बाध्यता रहेको भन्दै स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग

भेरीगङ्गा (सुर्खेत), ८ पुस : सुर्खेत वीरेन्द्रनगर–३ का मानकुमारी विकका ३० वसन्त बितेका छन् । उहाँ बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जानुहुन्छ । उहाँ पाककलामा पारङ्गत हुनुहुन्छ तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्नुहुन्छ । उहाँको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ ।

छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग नरहेको मानकुमारी बताउनुहुन्छ । उहाँभन्नुहुन्छ, “मैले होटेल सञ्चालन गर्न ‘कुक’को काम जानेको छु तर लगानी गर्ने ल्याकत नहुँदा विदेशिनुपर्ने बाध्यता छ सीप भएर मात्र नहुने रहेछ ।”

स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन मानकुमारी सरकारसँग माग गर्नुहुन्छ । “म स्देशमै बसेर आफूले जानेको सीप प्रयोग गर्न चाहन्छु । त्यसका लागि मलाई सहयोग चाहिएको छ, यसमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्यो”, उहाँले भन्नुभयो । मानकुमारीजस्तै वडा नं ३ की धना नेपालीले पनि सिलाइबुनाइसम्बन्धी सीप जान्नुभएको छ । उहाँले पनि आफ्नो सीप प्रयोग गर्ने वातावरण पाउनुभएको छैन । धनाको परिवारको आर्थिक अवस्था कमजोर छ । रोगका कारण श्रीमान् काम गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । घरपरिवारको जिम्मेवारी धनाको काँधमा छ । स्वदेशमै रोजगारीका लागि अनेक प्रयास गरे पनि नपाएपछि उहाँ पनि भारतमै गएर रोजगारी गर्नुहुन्छ । चार छोराछोरी, रोगी श्रीमान्का लागि धनाले भारतमा मजदुरी गर्नुको विकल्प छैन ।

“मैले सिलाइबुनाइको काम जानेको छु तर यहाँ काम नपाउँदा भारतमा मजदुरी गर्न बाध्य छु । एक वर्ष दुःख गरेर भर्खरै आएकी हुँ, उता कमाइ राम्रो हुँदैन, आफूले जानेको सीपको स्वदेशमै उपयोग गर्ने वातावरण बनाइदिनुपर्यो”, धनाले राज्यको ध्यानाकर्षण गराउँदै भन्नुभयो ।

धनामात्रै होइन अन्य युवाले स्वदेशमै गरिखाने वातावरण सिर्जना गरिदिन सरकारसँग माग गरेका छन् । उनीहरूले नजानेकालाई सीप सिकाउने र सीप जानेकालाई काम गर्ने वातावरण सृजना गर्न माग गरेका हुन् ।

विश्व आप्रवासन दिवसका अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको एक कार्यक्रममा सहभागी युवाले सीप र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने बताए । पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगारीमा पुरुषभन्दा महिला बढी सुरक्षा जोखिममा रहेका सहभागीको भनाइ थियो ।

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

तुलसीपुर (दाङ), ८ पुस : लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाउनुभएको छ । आज उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षमा पाँच करोड ४२ लाख आम्दानी

गण्डकी, ८ पुस : पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा रु पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ ।

गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट रु चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट रु २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट रु ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट रु १८ लाख ३५ हजार छ सय २७, सटरकबल रु आठ लाख ६८ हजार, कामधेनु गाईले रु चार लाख ६२ हजार आठ सय ६०, सदस्यता रसिद रु ४६ हजार र अन्य रु तीन लाख २३ हजार सात सय ६१ आम्दानी गरेको हो ।

उच्च अदातल पोखराका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले शनिबार साधारणसभाको उद्घाटन गर्दै प्रमाणका आधारमा छिटोछरितो न्याय सम्पादनमा अतालत क्रियाशील रहेको बताउनुभयो । धार्मिक क्षेत्रको आम्दानी शिक्षा, स्वास्थ्य र समाजको विकाससँगै आयमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले प्राकृतिक स्रोतको आम्दानीबाट विपन्न वर्गलाई सघाउन सुझाव दिनुभयो । साधारणसभामा गुफाको संरक्षणमा सहयोग गरेबापत गण्डकी प्रदेशसभा सचिव हरिराम पोख्रेल, धनुषा जिल्ला न्यायाधीश योगनाथ ढकाललाई सम्मान गरिएको थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। आइतबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तै युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर १०० रूपैयाँ तथा बिक्री दर १०० रूपैयाँ ४५ पैसा रहेको छ।

अष्ट्रे्लियन डलर एकको खरिद दर ९० रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९० रूपैयाँ ७६ पैसा, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३४ पैसा तथा बिक्री दर ९ रूपैयाँ ४९ पैसा, चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७१ पैसा , साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ३९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३१ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको छ।

देशभरका १ सय ३० वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन

काठमाडौं । केन्द्रीय सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा देशभरका १ सय ३० वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन हुन बाध्य रहेको पाइएको छ। ८० वटा गाउँपालिका र ५० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। ती स्थानीय तहमा तल्ला तहका कर्मचारीलाई निमित्त दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा सञ्चालन भएका स्थानीय तहले प्रभावकारी कामसमेत गर्न सकेका छैनन्।यसरी अधिकृत नजानुमा पालिकाका प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृतसँग नमिली भ्रष्टाचार गर्न नसक्ने हुनाले आफूलाई मनपरेका र आफ्नो दल निकट प्रमुख प्रशासकीय अधिकृत मात्र लैजाने गर्दा प्रमुख प्रशासकीय अधिकृतको ठाउँ खाली रहेको जनाइएको छ।

स्थानीय तहका प्रमुखहरूले उनीहरूअनुकूलको प्रमुख प्रशासकीय अधिकृत नपठाए हाजिर गर्नसमेत नदिने प्रवृत्ति देखिएको छ।कर्मचारी व्यवस्थापनको जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहमा छिटोभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृत पठाउने गृहकार्य थालिएको जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले भनेको समयमा कर्मचारी नपाउँदा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पूर्ति गर्न केही कठिन भएको बताए ।

उनले भने– ‘कर्मचारी अभाव भएको र लोक सेवा आयोगले भनेको बेलामा कर्मचारी व्यवस्थापन नगरिदिँदा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएकोे हो ।’

१ सय ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित हुने गरेको प्रशासनविद्हरूको भनाइ छ। यो समचार नेपाल समाचारपत्र दैनिकमा छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

६१ लाखको लागतमा ताकममा वडा कार्यालय निर्माण

म्याग्दी, ८ पुस : म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । दुुई चरणमा रु ६१ लाखको लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो ।

चारकोठे भवन बनाउन टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा उपलब्ध गराउनुुभएको थियो । यसअघि साविक ताकम गाविस कार्यालयको भवन रहेको ठाउँमा थप जग्गा व्यवस्थापन गरेर वडा कार्यालयको नयाँ भवन बनाइएको हो ।

यसैगरी, ताकम, मल्कवाङ र लुुलाङमा वडा कार्यालय, गुुर्जा र मुुनामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । घट्टेखोलामा गाउँपाकिलाको प्रशासकीय, मराङमा वडा कार्यालय र मुुदीमा स्वास्थ्य चौकीको भवन निर्माणाधीन रहेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

हेर्नुहोस् पौष ८ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

बृष राशि- नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि – परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

कर्कट राशि – अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि – भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि – मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि- पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि – प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि – तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि – सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि – तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

पर्यटन प्रवर्द्धनका चितवनको इच्छाकामनामा सामुदायिक घरबास सञ्चालनमा 

मुग्लिन (चितवन), ८ पुस : चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो ।

घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शनिबार उद्घाटन गर्दै उहाँले घरबासले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले घरबासमा बस्ने पाहुनालाई यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । इच्छाकामना पर्यटकीय गन्तव्यको निकै सम्भावना रहेको गाउँपालिका हो भन्दै उहाँले पर्यटन प्रवर्द्धनका लागि जिल्ला समन्वयबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हँुदै सौराहा जाने पर्यटकका लागि लक्ष्य गरी पर्यटन प्रवर्द्धनका लागि घरबास सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले राससलाई बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “फिस्लिङबाट इच्छाकामना उपर्दाङगढी हुँदै सौराहा जान सकिन्छ भन्ने प्रचार–प्रसार गर्न र गाउँमा बास बस्न चाहने पर्यटकका लागि सहज होस् भनेर सामुदायिक घरबास सञ्चालनमा ल्याएका हौँ, दश जना बस्न सक्ने दुईकोठे भवनमा घरबास सञ्चालन गरिएको हो ।”

गाउँपालिकाको रु १३ लाख, इच्छाकामना आमा समूह तोक्दाङको रु १ लाख ९२ हजार र नेपाल रेडक्रस सोसाइटी इच्छाकामना–३ तोक्दाङ ढापको रु एक लाखको लागतमा भवन निर्माण गरिएको हो । साथै गाउँपालिकाले घरबासका लागि आवश्यक बिछ्यौना पनि उपलब्ध गराएको छ । भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर गुरुङले जग्गादान गर्नुभएको हो ।

जिल्लाको उपर्दाङगढी, सिराइचुली हात्तीवाङ, इच्छाकामना मन्दिर, मायाटार जलविरे झरनालागयत पर्यटकीयस्थलमा आउने पर्यटकलाई लक्ष्य गरप्ी घरबास सञ्चालन गर्न स्थानीयलाई आर्थिक अनुदानसहित तालिमको व्यवस्था गरिने गाउँपालिकाको योजना छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा पाँच अर्ब रकमान्तर

चालु आर्थिक वर्षको पाँच महिनामा अर्थ मन्त्रालयले करिब पाँच अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले साउनदेखि मङ्सिरसम्म चार अर्ब ७६ करोड ३२ लाख रुपियाँ रकमान्तर भएको जनाएको हो । पुँजीगत शीर्षकमा विनियोजन गरिएको एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा गरिएको रकमान्तर यसमा समेटिएको छ ।

मन्त्रालयले यसबिचमा सबैभन्दा धेरै असोजमा रकमान्तर गरेको छ । उक्त महिनामा मात्रै तीन अर्ब दुई करोड रुपियाँ रकमान्तर भएको छ । जसमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम उपशीर्षकबाट एक अर्ब ९८ करोड रुपियाँ रकमान्तर गरेर एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम उपशीर्षकमा सारिएको छ । त्यस्तै सोही महिना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सडक बोर्डका लागि एक अर्ब रुपियाँ रकमान्तर भएको छ ।

मन्त्रालयका अनुसार चालु आवको सुरुवाती महिनामै ५१ करोड १३ लाख रुपियाँ रकमान्तर भएको छ । उक्त महिना सबैभन्दा धेरै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पुनर्संरचना हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षणका लागि ४६ करोड ४५ लाख रुपियाँ रकमान्तर गरिएको छ । त्यस्तै भदौमा ७५ करोड ५९ लाख रुपियाँ रकमान्तर भएको छ । भदौमा सबैभन्दा धेरै कृषि तथा पशुपन्छी मन्त्रालयबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २१ करोड १४ लाख रुपियाँ रकमान्तर भएको छ ।

कात्तिकमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम उपशीर्षकबाट एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमका लागि ४३ करोड ९९ लाख रुपियाँको अर्को रकमान्तर भएको छ । मङ्सिरमा सडक तथा ट्राफिक सुरक्षा उपशीर्षकबाट राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना कार्यक्रमका लागि तीन करोड रुपियाँ रकमान्तर गरिएको छ ।

अर्थ मन्त्रालयले यसबिचमा एक करोड नौ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराएको छ । जसमध्ये एक करोड रुपियाँ इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपियाँका दरले दिइएको निकासा रहेको छ । बाँकी नौ लाख ८५ हजार रुयिपाँ भने राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चबापत गरिएको निकासा रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तीन सय किलो हात्तीका दाँत बरामद

काठमाडौँ । विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।

वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि ९साइटिस० को कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा इन्टरपोल र विश्व भन्सार सङ्गठनले अवैध कारोबारमा संलग्न भएका पाँच सयभन्दा बढी व्यक्ति पक्राउ गरेको छ । साइटिस महासविच इभोन हिगुएरोले यो तथ्याङ्कलाई निकै डरलाग्दो अवस्था भएको टिप्पणी गरे । वन्यजन्तु अपराध अनुन्धानमा संलग्न उनले अन्तर्राष्ट्रिय आपराधिक जालोलाई कमजोर पार्न सकिएन भने हाल यस पृथ्वीमा बाँच्न सफल दुर्लभ वन्यजन्तु र वनस्पति लोप भएर जाने सम्भावना रहेको बताए ।

उनले विश्वव्यापी यो अपराधलाई जित्न पक्ष राष्ट्रहरूबिच थप समन्वय र सहयोगका लागि विश्व समुदायलाई आग्रह पनि गरे । महासचिव हिगुएरोले नक्कली कागज र प्रमाण बनाएर, अनुमति पत्रहरू किर्ते गरेर, ओसारपसारको अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक वस्तु ओसारपसार गर्ने गरेकाले सीमा नाका तथा भन्सार कर्मचारीलाई प्रशिक्षण हुनुपर्नेमा जोड दिए । नेपाल साइटिसको पक्ष राष्ट्र हो ।

साइटिस कार्यालयले दिएको जानकारी अनुसार बरामद भएका मध्ये तीन सय किलोग्रामभन्दा बढी हात्तीका दाँत मात्र छन् । ३० टन वनस्पतिको जरा, डाँठ, पात, फूल तथा फल छन् भने एक सय टनभन्दा बढी कछुवाका अन्डा पनि छन् । सयभन्दा बढी गैँडाको सिङ, बाघका छाला पक्राउ परेका छन् । जफत गरिएका मध्ये दुर्लभ चराका अङ्ग, अजिङ्गरका दाँत, बिरालो प्रजातिका वन्यजन्तुका छाला र पित्त, समुद्री प्रजातिका माछाका अन्डा पनि छन् । विभिन्न स्थानमा पक्राउ परेका ४४० पानी जहाजले बोक्न सक्ने साइटिसको अनुसूचीमा परेका रक्तचन्दन जस्ता काठ पनि छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

पर्यटकको सहजताका लागि ३३ लाख लागतमा झापामा ‘ट्रस ब्रिज’ निर्माण

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो ।

सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत रु २८ लाख ६९ हजार चार सय ९०, शिवसताक्षी नगरपालिकाको रु चार लाख ३८ हजार आठ सय ६३ र जनसहभागिता रु ६७ हजार पाँच सय १७ रहेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए। चौबिस मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए । ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्ष्यित सडकलगायत पूर्वाधार निर्माण भइरहेका छन् । यहाँ नगरपालिकासँगै प्रदेश र सङ्घीय सरकारले पुल,सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन् ।

ऊर्जामन्त्री बस्नेतबाट रातु नदीमा भएको उत्खनन कार्यको स्थलगत अनुगमन

महोत्तरी- ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सनिबार महोत्तरीको बर्दिबास नगर क्षेत्रको रातु नदीमा भएको उत्खनन कार्यको स्थलगत अनुगमन गर्नुभएको छ । जनकपुर क्षेत्रको भ्रमणमा रहनुभएका मन्त्री बस्नेतले स्थानीय राजनीतिक दलहरूको आग्रहमा बर्दिबास–९ पशुपतिनगरमा रातु नदीमा भइरहेको उत्खनन कार्यको स्थलगत अनुगमन गर्नुभएको हो ।

रातु नदीमा बर्दिबास नगर कार्यपालिकाको कार्यादेशमा विभिन्न ठेकेदार कम्पनीले स्थापित मापदण्डविपरीत अनियन्त्रित उत्खनन गरिरहेका यहाँका आठ राजनीतिक दलले बताएका छन् । शुक्रबारमात्रै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, लोसपा नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) ंर राप्रपा नेपालसहितका आठ दलले रातु नदीमा बढेको अनियन्त्रित दोहनले पर्यावरणीय, वातावरणीय र जनजीविकामै प्रतिकूल असर पुर्‍याएको भन्दै यसलाई नियमन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका थिए ।उत्खनन कार्यको अवलोकन, अनुगमन गर्दै मन्त्री बस्नेतले नदी उत्खननका निश्चित कार्यविधि र मापदण्ड भएको हुँदा त्यसलाई कसैले नाघ्न नहुने बताउनुभयो । “उत्खनन गर्न निश्चित मापदण्ड र कार्यविधिले निर्देशित गरेको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “सम्बद्ध सबै पक्षले यसको परिपालना गर्नैपर्छ ।” यस कार्यको मुख्य अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र स्थानीय प्रशासनले आपसी समन्वयमा गर्नुपर्ने उहाँको भनाइ छ । प्राकृतिक सम्पदासँग अनावश्यक छेडछाड, अनियन्त्रित दोहन र निश्चित मापदण्ड नाघ्नेविरुद्ध कारबाही हुने स्पष्ट पार्नुभयो ।अनुगमनस्थलमै आठ राजनीतिक दलका प्रतिनिधिले मापदण्डविपरीत भइरहेको उत्खनन तत्काल रोक्न माग गर्दै मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । आठै दलका तर्फबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चिरञ्जीवी हमालले ज्ञापनपत्र मन्त्री बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो ।सोही अवसरमा बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले जिल्लामा सबैभन्दा बढी विद्युत् महसुल बुझाउने बर्दिबास नगर क्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणले महसुल काउन्टरबाहेक अन्य सेवा सञ्चालन नगरेको गुनासो गर्नुभयो । प्राधिकरणसम्बद्ध अन्य सेवासमेत बर्दिबासबाट प्रवाह हुने व्यवस्था गर्न खड्काले मन्त्री बस्नेतसँग लिखित माग गर्नुभयो । प्राप्त पत्रबारे आवश्यक कार्यवाही हुने मन्त्री बस्नेतले आश्वासन दिनुभएको छ ।

सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार छ : प्रधानन्यायाधीश श्रेष्ठ

धुलिखेल, ७ पुस : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताउनुभएको छ । नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘६८ औँ बार डे’ २०८० का अवसरमा उहाँले प्रविधिमैत्री सेवा दिन आफूले प्रयत्न गरिरहेको बताउनुभयो ।

सुधारका पाटो खोज्ने क्रममा प्रविधिमैत्री वातावरण बनाउन आफू लागिपरेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिको प्रयोग गरेर अनियमिमता रोक्न सकिने विश्वास व्यक्त गर्नुभयो । जुनसुकै जिल्लाबाट बकपत्र गर्न काठमाडौँ नै आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले आफू प्रधानन्यायाधीश नियुक्त भएदेखि विशेष अदालत, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणमा भिडियो कन्फ्रेन्समार्फत बहस गर्न सक्ने प्रविधि स्थापना गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा काठमाडौँ जिल्ला अदालत बारका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले एकअर्कालाई गालीगलौज गरेर न्यायपालिका सुध्रिने अवस्था नरहने भन्दै त्यसलाई कमजोर पार्ने काम कसैबाट पनि नगर्न आग्रह गर्नुभयो । विशेष अदालत बारका अध्यक्ष अधिवक्ता चुडामणि पौडेलले नेपाल बार एशोसिएसन के गर्दैछ र के गर्न जरुरी छ भनेर समीक्षा गर्न आवश्यक जरुरी रहेको बताउनुभयो ।

‘स्वतन्त्र न्यायपालिका प्रविधिमैत्री सेवा, सक्षम कानुन व्यवसायी पेसागत मर्यादा’ भन्ने नाराका साथ उच्च अदालत बार एशोसिएसन पाटन, विशेष अदालत बार एशोसिएसन, काठमाडौँ जिल्ला अदालत बार, भक्तपुर जिल्ला अदालत बार, ललितपुर जिल्ला अदालत बार र काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, उच्च अदालत बार पाटनका अध्यक्ष शान्तिराम खतिवडा, नेपाल बारका महिला समिति उपाध्यक्ष आशा राईलगायतले ‘६८ औँ बार डे’ सफलताको कामना गर्नुभएको थियो ।

‘चिहानमाथि महल बनाइरहेको मान्छे’ कविता सङ्ग्रह सार्वजनिक

काठमाडौँ, ७ पुस : कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक भएको छ । उक्त कृतिको आज एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज प्रधानले संयुक्त रुपमा विमोचन गर्नुभयो । तत्कालीन ग्रामीण परिवेशको भोगाइ र वर्तमान राजनीतिक अवस्थालाई चित्रण गरेर लेखिएको उक्त सङ्ग्रहमा ६६ कविता समावेश छन् ।

कृतिमा राजनीतिक क्षेत्रमा देखिएका विसङ्गती, शिक्षा प्रणालीको कमजोरी, बेरोजगारी, गरिबीजस्ता विषयलाई समेटेको छ । कृतिको समीक्षा गर्दै कवि अधिकारीले फरक शैलीमा स्थानीय भाषा र परिवेशअनुरुप शैलीको स्वाद दिनेगरी कवि अस्तित्वले शब्दचित्रमा उतारेको उल्लेख गर्नुभयो । मानिसले आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविताले समेटेको बताउनुभयो ।

“कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतिकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ”, उहाँले भन्नुभयो । कवि राधिका कल्पितले चिहानमाथि महल बनाइरहेको मान्छेभित्रका कविताले प्रत्येक पाठकलाई आफ्नै भोगाइ र सङ्घर्षको गहिराइको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो कविता सङ्ग्रह रहेको बताउनुभयो । कविताले तत्कालीय द्वन्द्वकालमा रोल्पा जिल्लाको अवस्था, अध्ययनका लागि सहर छिरेको सङ्घर्ष आदिलाई पुस्तकले उजागर गरेको कवि कल्पितले बताउनुभयो । यस्तै कवि सुरज रानाले ग्रामीण परिवेष्टका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको उल्लेख गर्नुभयो ।

कवितामा त्रित्रित कतिपय पात्र र परिवेशबारे कविताले स्पष्ट पार्न नसकेको टिप्पणी गर्नुभयो । पुस्तकका लेखक धनश्याम अस्तित्वले विगतमा भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गर्नुभयो । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु तीन सय ५० रहेको छ ।

मन्त्री शर्माले सुरु गर्नुभयो १४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा

धनकुटा, ७ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत दु्रतगतिको इन्टरनेट सेवा सुरु गर्नुभएको छ ।सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को आज उद्घाटन गर्नुभएको हो । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित उक्त कार्यक्रममा उहाँले यस परियोजनाले करिब ५० लाख जनतामा सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो ।

सूचना र प्रविधिको क्षेत्र सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथामिकतामा राखेको छ, यस्ता विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत राखेको छ ।”

यस वर्ष सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा सेवा विस्तार गरेर ७३ जिल्लामा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा पु¥याएको मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले चाँडै बाँकी जिल्लामा पनि सेवा विस्तार गरिने बताउनुभयो ।

मध्यपहाडी राजमार्गअन्तर्गतको यो योजना सञ्चारसम्बन्धी सरकारको योजनाको एक अंश भएको जानकारी दिँदै मन्त्री शर्माले यस आयोजनाले कोशी प्रदेशका बासिन्दालाई दूरसञ्चारको मूलप्रवाहमा जोड्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा विस्तारलाई सरकारले विशेष जोड दिएको बताउँदै मन्त्री शर्माले यसै योजनाअन्तर्गत नेपाल टेलिकमबाट सुरु गरिएको फोरजी सेवा सात सय ३९ स्थानीय तहमा पुर्‍याइएको जानकारी दिनुभयो । देशको कुल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको र यसलाई शतप्रतिशत विस्तार गर्न आवश्यक रहेको उहाँको धारणा छ ।

एनसेल मोबाइल प्रकरणमा सरकारले छानबिन टोली गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “बाहिर हल्ला भएजस्तो एनसेलका विषयमा केही भएको छैन, हाइप्रोफाइल भनेर कारबाहीबाट छुट कसैलाई हुन्न”, उहाँले भन्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ग्रामीण दूरसञ्चार कोषको लगानीमा मध्यपहाडी राजमार्गमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कको सञ्चालनमा ल्याइएको बताउनुभयो ।

ग्रामीण दूरसञ्चार कोषअन्तर्गत रु चार अर्ब ८७ करोड लगानीमा कोशी, मधेस र बागमती प्रदेशमा सञ्चालित आयोजनामध्ये कोशी प्रदेशको आयोजना पूरा भएको हो । तीन प्रदेशमध्ये कोशी प्रदेश सेवा प्रवाहमा पहिलो भएकामा प्रदेशवासीलाई मन्त्री शर्माले बधाई ज्ञापन गर्नुभयो ।

तीन प्रदेशमा विस्तार हुने एक हजार दुई सय २५ किमी लामो फाइबरको महामार्गमध्ये कोशी प्रदेशमा आठ सय ६३ किलोमिटर लामो महामार्गबाट सेवा प्रवाह हुने ग्रामीण दूरसञ्चार कोष परियोजनाका निर्देशक लक्ष्मण महर्जनले जानकारी दिनुभयो ।

‘ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस्’: गभर्नर महाप्रसाद अधिकारी

चितवन, ७ पुस : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गर्नुभएको छ । नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

आफूले आज चितवनको पशु फार्म अवलोकन गरेको बताउँदै गभर्नर अधिकारीले भन्नुभयो, “उक्त फार्म रु ५० लाख ऋणमा एक सय सातवटा गाईभैँसी पालेर मासिक रु छ लाख आम्दानी गर्नुभएको रहेछ । यो राम्रो काम हो ।” ठगी खानेहरूले यत्तिको फार्म देखाएर करोडौँ ऋण लिने गरेको उहाँले बताउनुभयो ।

बैंकहरूलाई अर्काे बैंकको ऋणी तान्नुभन्दा पनि नयाँ व्यवसायी जन्माउन आग्रह गर्दै गर्भनर अधिकारीले भन्नुभयो, “वर्षमा यति व्यवसायी नयाँ जन्माएँ भन्ने गर्व गर्ने वातावरण बनाउनुहोस् ।” बैंकहरूमा लगानीका लागि तरलताको अभाव नभएको भन्दै उहाँले विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सङ्घका उपाध्यक्ष माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरूको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

सङ्घका कार्यकारी निर्देशक अनिल शर्माले पछिल्लो समय सङ्घले गरेको क्रियाकलापका बारेमा जानकारी दिनुभएको थियो । सो अवसरमा बैंकहरूबाट प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेर कार्यकाल सम्पन्न गर्नुभएका बैंक अफ काठमाण्डूका श्रवण मास्के र नेपाल बैंक लिमिटेडका कृष्णबहादुर अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी बैंकिङसँगै विभिन्न क्षेत्रमा रहेर सेवा पुर्याउने कुलचन्द्र गौतमलाई सम्मान घोषणा गरिएको थियो ।

सङ्घमा पाँच नयाँ सदस्य चुनिनुभएको छ । सङ्घको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

पुस ११–१३ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौँ, ७ पुस : नेकपा (एकीकृत समाजवादी)को ७०औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको प्रस्तावित विधानको मस्यौदा केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

मस्यौदाको धारा उपधारामाथि छलफल गरिएको बैठकमा थप छलफल आवश्यक रहेकाले केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन लागिएको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको तयारीमा जुट्न निर्देशन दिएको छ ।

यही पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको बैठकलाई केन्द्रीय कमिटी बैठकमा समायोजन गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरुी बैठकले कलेजो, किड्नी ट्रान्सप्लान्टजस्ता जटिल रोगलाई दृष्टिगत गर्दै पार्टीका नेता कार्यकर्तालाई अङ्गदान गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी

काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।

कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुखमा साथ दिने प्रेमीको चाखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् । उनीहरुको यो प्रेम रोमान्स हेर्दा लाग्छ यो अभिनय नै नभएर यर्थाथ संसारको एउटा हिस्सा नै हो ।

भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ । उत्तम हुमागाईको छायांकन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इन्जिनियर हुन् ।