`

मन्त्री शर्माले सुरु गर्नुभयो १४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा

धनकुटा, ७ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत दु्रतगतिको इन्टरनेट सेवा सुरु गर्नुभएको छ ।सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को आज उद्घाटन गर्नुभएको हो । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित उक्त कार्यक्रममा उहाँले यस परियोजनाले करिब ५० लाख जनतामा सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो ।

सूचना र प्रविधिको क्षेत्र सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथामिकतामा राखेको छ, यस्ता विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत राखेको छ ।”

यस वर्ष सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा सेवा विस्तार गरेर ७३ जिल्लामा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा पु¥याएको मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले चाँडै बाँकी जिल्लामा पनि सेवा विस्तार गरिने बताउनुभयो ।

मध्यपहाडी राजमार्गअन्तर्गतको यो योजना सञ्चारसम्बन्धी सरकारको योजनाको एक अंश भएको जानकारी दिँदै मन्त्री शर्माले यस आयोजनाले कोशी प्रदेशका बासिन्दालाई दूरसञ्चारको मूलप्रवाहमा जोड्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा विस्तारलाई सरकारले विशेष जोड दिएको बताउँदै मन्त्री शर्माले यसै योजनाअन्तर्गत नेपाल टेलिकमबाट सुरु गरिएको फोरजी सेवा सात सय ३९ स्थानीय तहमा पुर्‍याइएको जानकारी दिनुभयो । देशको कुल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको र यसलाई शतप्रतिशत विस्तार गर्न आवश्यक रहेको उहाँको धारणा छ ।

एनसेल मोबाइल प्रकरणमा सरकारले छानबिन टोली गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “बाहिर हल्ला भएजस्तो एनसेलका विषयमा केही भएको छैन, हाइप्रोफाइल भनेर कारबाहीबाट छुट कसैलाई हुन्न”, उहाँले भन्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ग्रामीण दूरसञ्चार कोषको लगानीमा मध्यपहाडी राजमार्गमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कको सञ्चालनमा ल्याइएको बताउनुभयो ।

ग्रामीण दूरसञ्चार कोषअन्तर्गत रु चार अर्ब ८७ करोड लगानीमा कोशी, मधेस र बागमती प्रदेशमा सञ्चालित आयोजनामध्ये कोशी प्रदेशको आयोजना पूरा भएको हो । तीन प्रदेशमध्ये कोशी प्रदेश सेवा प्रवाहमा पहिलो भएकामा प्रदेशवासीलाई मन्त्री शर्माले बधाई ज्ञापन गर्नुभयो ।

तीन प्रदेशमा विस्तार हुने एक हजार दुई सय २५ किमी लामो फाइबरको महामार्गमध्ये कोशी प्रदेशमा आठ सय ६३ किलोमिटर लामो महामार्गबाट सेवा प्रवाह हुने ग्रामीण दूरसञ्चार कोष परियोजनाका निर्देशक लक्ष्मण महर्जनले जानकारी दिनुभयो ।

‘ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस्’: गभर्नर महाप्रसाद अधिकारी

चितवन, ७ पुस : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गर्नुभएको छ । नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

आफूले आज चितवनको पशु फार्म अवलोकन गरेको बताउँदै गभर्नर अधिकारीले भन्नुभयो, “उक्त फार्म रु ५० लाख ऋणमा एक सय सातवटा गाईभैँसी पालेर मासिक रु छ लाख आम्दानी गर्नुभएको रहेछ । यो राम्रो काम हो ।” ठगी खानेहरूले यत्तिको फार्म देखाएर करोडौँ ऋण लिने गरेको उहाँले बताउनुभयो ।

बैंकहरूलाई अर्काे बैंकको ऋणी तान्नुभन्दा पनि नयाँ व्यवसायी जन्माउन आग्रह गर्दै गर्भनर अधिकारीले भन्नुभयो, “वर्षमा यति व्यवसायी नयाँ जन्माएँ भन्ने गर्व गर्ने वातावरण बनाउनुहोस् ।” बैंकहरूमा लगानीका लागि तरलताको अभाव नभएको भन्दै उहाँले विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सङ्घका उपाध्यक्ष माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरूको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

सङ्घका कार्यकारी निर्देशक अनिल शर्माले पछिल्लो समय सङ्घले गरेको क्रियाकलापका बारेमा जानकारी दिनुभएको थियो । सो अवसरमा बैंकहरूबाट प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेर कार्यकाल सम्पन्न गर्नुभएका बैंक अफ काठमाण्डूका श्रवण मास्के र नेपाल बैंक लिमिटेडका कृष्णबहादुर अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी बैंकिङसँगै विभिन्न क्षेत्रमा रहेर सेवा पुर्याउने कुलचन्द्र गौतमलाई सम्मान घोषणा गरिएको थियो ।

सङ्घमा पाँच नयाँ सदस्य चुनिनुभएको छ । सङ्घको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

पुस ११–१३ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौँ, ७ पुस : नेकपा (एकीकृत समाजवादी)को ७०औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको प्रस्तावित विधानको मस्यौदा केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

मस्यौदाको धारा उपधारामाथि छलफल गरिएको बैठकमा थप छलफल आवश्यक रहेकाले केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन लागिएको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको तयारीमा जुट्न निर्देशन दिएको छ ।

यही पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको बैठकलाई केन्द्रीय कमिटी बैठकमा समायोजन गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरुी बैठकले कलेजो, किड्नी ट्रान्सप्लान्टजस्ता जटिल रोगलाई दृष्टिगत गर्दै पार्टीका नेता कार्यकर्तालाई अङ्गदान गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी

काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।

कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुखमा साथ दिने प्रेमीको चाखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् । उनीहरुको यो प्रेम रोमान्स हेर्दा लाग्छ यो अभिनय नै नभएर यर्थाथ संसारको एउटा हिस्सा नै हो ।

भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ । उत्तम हुमागाईको छायांकन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इन्जिनियर हुन् ।

राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

काठमाडौँ, ७ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो, “राष्ट्र अहिले दोधारमा उभिएको छ, अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको छ ।”

पूर्वप्रधानमन्त्री देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताउनुभयो । उहाँले पार्टीलाई अझै सुदृढ गर्दै तल्लोस्तरबाटै पूर्णरूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।कांग्रेस उपसभापति धनराज गुरुङले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउने बताउनुभयो । उहाँले सङ्घीय प्रहरी ऐन, सङ्घीय कर्मचारी ऐन र शिक्षा विधेयक संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने स्पष्ट पार्नुभयो ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिट्टै सङ्घीय कानुनहरू पारित गर्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो ।पार्टी महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न पार्टी र सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताउनुभयो ।कार्यक्रममा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले केन्द्रले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको बताउनुभयो । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिका सभापतिको सहभागिता थियो ।

देश जोगाउने र स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्छ : महासचिव शङ्कर पोखरेल

काठमाडौँ ७ पुस : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक धुव्रीकरण आवश्यक रहेको बताउनुभएको छ ।ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताउनुभयो ।

“देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले जनताले विकास र परिवर्तन खोजेको भन्दै देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “देश जोगाउने र स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्छ ।” मुलुकलाई नीतिगत पथमा डोर्याउन नसकेसम्म लोकतन्त्र सही बाटोमा जान नसक्ने उहाँको भनाइ छ । महासचिव पोखरेलले मुलुकलाई अगाडि बढाउन आर्थिक, सामाजिक विकास र रुपान्तरणको कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

म्यानमारको मण्डले र सागिङ क्षेत्रबाट ६३.५ किलोग्राम कच्चा अफिम बरामद

म्यानमारको मण्डले र सागिङ क्षेत्रबाट ६३.५ किलोग्राम कच्चा अफिम बरामद गरिएको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समितिले शनिबार जारी गरेको विज्ञप्ति अनुसार गोप्य सूचनाका आधारमा लागुऔषध विरोधी कारबाहीका क्रममा प्रहरीले शुक्रबार मण्डले क्षेत्रको आङम्यायथाजान टाउनसिपमा रहेको बस स्टेशनमा एक जना महिलाको पार्सलको खोजी गरी ४५.५ किलो कच्चा अफिम बरामद गरेको हो ।

प्रहरीले शुक्रबार सागाङ क्षेत्रको सागाङस्थित यादनाबोन पुल नजिक एउटा यात्रुवाहक गाडीमा खोजतलास गर्दा १८ किलो काँचो अफिम बरामद गरेको छ । सो घटनामा दुई जना महिला पक्राउ परेका छन् ।बरामद लागुऔषधको अनुमानित मूल्य करिब ६७.९५ मिलियन क्याट (३२,३५७ अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ। पक्राउ परेका संदिग्ध व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सहायता कक्षमा ‘दोभासे’ राख्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ, ७ पुस : काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर कामपाले यस किसिमको व्यवस्था गर्न लागेको बताएको छ । “नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,” कामपाको सामाजिक समिति संयोजक रामकुमार केसीले भन्नुभयो । उहाँका अनुसार साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले कामपाको सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस किसिमको व्यवस्था गर्न लागिएको हो ।

कार्यालयमा उपलब्ध हुने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि उपलब्ध गराउने संयोजक केसीले जानकारी दिनुभयो । त्यस्तै कामपाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यावहारिक/प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।इच्छा भएका सङ्घसंस्थालाई यही पुस ११ गतेभित्र सूचीकृत हुन आग्रह गरेको कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो । प्रमुख कोइरालाले भन्नुभयो, “विद्यार्थीलाई हरेक शुक्रबार केही नयाँ ज्ञान दिने उद्देश्यसहीत विद्यालयमा तालिम प्रदायक सङ्घसंस्थालाई सूचीकृत हुन आग्रह गरिएको हो ।”कामपाले आफ्नो क्षेत्रमा सञ्चालित मध्येका ८१ वटा सामुदायिक विद्यालयमा गत वैशाख १२ गतेदेखि पुस्तक रहित शुक्रबार कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत हरेक शुक्रबार किताबमा भएकाभन्दा फरक र व्यावहारिक ज्ञान दिएर बालबालिकालाई शिक्षा दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।चालु आर्थिक वर्षमा शिक्षाको लागि जम्मा रु एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको कामपाले शिक्षामा सीप कार्यक्रमको लागि छुट्टै बजेटको व्यवस्था गरेको छ । कामपाको मागअनुसार सूचीकृत हुने सङ्घ संस्थाले चालु आवको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार छ घण्टाको कक्षा हुनेछन् ।

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री

काठमाडौँ, ७ पुस : अर्थमन्त्री डा प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताउनुभएको छ । यस क्षेत्रमा प्रशस्त सम्भावना भएको उल्लेख गर्दै उहाँले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिएको बताउनुभयो ।

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्नुहुँदै अर्थमन्त्री डा महतले भन्नुभयो, “डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्याउन सक्छन् । न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन् ।”

सरकारले आइटी नीतिलाई चालु आवको बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगेको उहाँको भनाइ छ । अर्थमन्त्री डा महतले भन्नुभयो, “यसमा हामीले न्यूनमात्रै कर लगाउने व्यवस्था गरेका छौँ । त्यसबाट यो व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुआत गर्न चाहन्छ, उनीहरूका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।” राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा महतले बताउनुभयो ।

उहाँका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आइटी नीति अझ सहज हुने जानकारी दिँदै मन्त्री डा महतले भन्नुभयो, “नेपाली युवालाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।

” नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले भन्नुभयो, “अहिले ठूलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँदैछ । जसले गर्दा विभिन्न क्षेत्रको विजनेस व्यवसाय सहज हुँदैछ, लागत घट्दैछ । यसमा सरकारले सकेसम्म योगदान दिनुपर्छ ।” यसको संस्थागत विकासमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूको पलयान रोक्न पनि थप प्रवर्द्धन गर्न जरुरी रहेको उहाँको कथन छ ।

गणतन्त्रको विकल्पमा राजतन्त्रको वकालत गर्नु गलत : उपमहासचिव पुन

काठमाडौँ, ७ पुस : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताउनुभएको छ ।

नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुन सक्छ तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन उहाँले भन्नुभयो ।माओवादी केन्द्रको चन्द्रागिरि नगरपालिका–२ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन । जनताको जीवनस्तर सुधार गरेर जानुपर्छ । हामी त्यसमा लागिपरेका छौँ ।”गणतन्त्र प्राप्तिपछि देशमा सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्यायजस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उहाँको कथन छ ।आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उहाँले अन्य सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताउनुभयो ।“अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ”, उहाँले भन्नुभयो, “मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो । तर त्यसलाई पनि एमालेले दाबी गरिरहेको छ । नौवटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ । बाटो चौडा पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो ।”पूर्वमन्त्री पुनले आफ्नो पार्टी भ्रष्टाचार, कालोबजारीविरुद्ध निर्ममरूपमा प्रस्तुत भएको समेत उल्लेख गर्नुभयो । “यही पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दैछ । आफ्नो सचिवालय, मन्त्री, सल्लाहकार फेर्छु तर पछि हट्दिनँ, देश र जनताको पक्षमा काम गर्छु भन्नुभएको छ । परिणाम निकाल्छु भन्नुभएको छ । पार्टीले उहाँलाई साथ दिएको छ”, सम्मेलनका सहभागीलाई प्रशिक्षण दिँदै नेता पुनले भन्नुभयो ।चन्द्रागिरि–२ माओवादी जनप्रतिनिधिले स्थानीय चुनावमा जितेको वडा हो । माओवादीको रुपान्तरण अभियानको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्ड सोही वडामा पुगेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।विगतको कमजोरी सुधार गर्दै माओवादीहरू एक हुने बाटोमा अघि बढिरहेको नेता पुनले बताउनुभयो । विगतका गल्ती महसुस गरेर माओवादी धारहरूको एकताका लागि प्रयास भइरहेको उहाँको भनाइ छ । सम्मेलनले सुरेन्द्र तामाङको अध्यक्षतामा माओवादीको २९ सदस्यीय समिति गठन गरेको छ ।

सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ७ पुस : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज सीतापाइलामा आयोजना गरेको बहुउद्देश्यीय भवन शिलान्याश तथा केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले विद्यालय शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘तपाईंहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ । नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन र सङ्घीय शिक्षा विधेयक संसद्बाट पारित गराउन पहल हुन्छ । यो ऐन सरकारको उच्च प्राथमिकतामा छ ।”

सो विधेयकमा शिक्षकका जायज माग सम्बोधन गरिने र विद्यालय शिक्षालाई थप सबल बनाउने प्रधानमन्त्रीको भनाइ छ । ‘‘तपाईं शिक्षकले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट दबाब दिनुभयो । यसले सरकारलाई सहयोग पुगेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूले अहिलेको मस्यौदामा जुन सुझाव दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव माग सम्बोधन गरिनेछ ।”

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, नेताहरु नारायण दाहाललगायतले सामाजिक अभियन्ताका रुपमा रहेका शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज सुधारको अगुवाई गर्नुपर्नेमा जोड दिनुभएको थियो । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले देशभरबाट सहयोग जुटाएर बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिनुभयो ।

नेपाली सेनाद्वारा सुर्खेतमा बृहत् स्वास्थ्य शिविर, चार सय पाँच जनाले सेवा लिए

छिन्चु (सुर्खेत), ७ पुस : सुर्खेतको पश्चिम लगाममा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज चौकुने गाउँपालिका–२ लगाम सुर्खेतमा रहेको कालीबहादुर गणको आयोजना तथा ज्योति फाउन्डेसन र आँखा अस्पतालको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरबाट चार सय पाँच जनाले सेवा लिएका कालीबहादुर गणका गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको उहाँले बताउनुभयो ।सिलवालका अनुसार चौकुने गाउँपालिका–१, २ र ३ का माथिल्लो र तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीवन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैली र गहुँखाडा गाउँका चार सय पाँच जना नागरिकले सेवा लिएका छन् । “नेपाली सेनाले गर्ने सामाजिक सेवाअन्तर्गत हामीले स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ । पालिकाका जनप्रतिनिधिसँगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएका गाउँ रोजेर सेवा दिएका छौँ”, उहाँले भन्नुभयो ।यसले सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध सुधार हुने गणपति प्रमुख सिलवालको भनाइ थियो । उहाँका अनुसार शिविरमा कर्णाली प्रदेश अस्पतालका जनरल सर्जन डा उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा रोजी यादव, डा दर्पण नेपाली, नेपाली सेनाका उपसेनानी डा मोनिमा महर्जन, सुर्खेत आँखा अस्पतालका ओपिडी इञ्चार्ज अरुण गुप्ताले सेवा दिनुभएको थियो ।स्वास्थ्य सेवा लिन गाडी खोजेर टाढा जानुपर्ने बाध्यताबीच गाउँमै शिविर सञ्चालन भएपछि उपचारमा सहज भएको स्थानीय सुमित्रा थापाले बताउनुभयो । “भनेको बेला गाडी नै पाइँदैन । जटिल रोग लागिहालेमा तत्कालै अस्पताल जान सकिने अवस्था पनि छैन”, उहाँले भन्नुभयो, “दुर्गमको समस्या बुझेर शिविर सञ्चालन भएपछि हामीले स्वास्थ्य जाँच गर्न पाएका छौँ ।”गाउँपालिकामा नेपाली सेनाले पहिलो पटक शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो । सडक तथा यातायातको सुविधा कम भएका यहाँका गाउँले गुणस्तरीय स्वास्थ्य सेवा लिन सदरमुकामसम्म जान पनि सास्ती हुने गरेको उहाँको भनाइ थियो । “सेनाले गाउँमा आएर शिविर सञ्चालन गरेपछि यहाँका स्थानीयलाई राहत मिलेको छ”, उहाँले भन्नुभयो ।गणपति सिलवालका अनुसार शिविरमा स्त्री तथा प्रसुति रोग, आँखासम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच तथा उपचार गरिएको छ । शिविरमा जाँच गराउन आएकाहरुलाई आवश्यक औषधि पनि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री भन्छन् – तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियानमा छु

काठमाडौँ, ७ पुस : प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियानमा आफू जुटेको बताउनुभएको छ ।

माओवादी केन्द्रको बुढानीलकण्ठ नगर सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले नेकपा माओवादी सरकारको नेतृत्वमा रहँदा सधै जनपक्षीय काम गर्ने गरेको र त्यसैको निरन्तरतास्वरुप अहिले मुलुकलाई पूर्णरुपमा उज्यालो बनाउने अभियानमा आफू लागेकोे बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘देशमा समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य काम हाम्रै पालामा भएका छन् । मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु तर हामीले गरेका कामको जस लिन सकिरहेका छैनौं ।”प्रधानमन्त्रीले आफ्ना तीनवटै कार्यकालमा महत्वपूर्ण काम भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताउनुभयो । माओवादीले गरेको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनतासँगको सम्बन्धलाई विस्तारमा पार्टी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिलो कार्यकालमा गरिब किसानको रु एक लाखसम्मको ब्याज र तीस हजारसम्मको साँवा नै मिनाहा गरियो । विकासका विशाल आयोजना सञ्चालन भए । प्रत्येक गाविसमा सहकारी निर्माण गरियो ।”पार्टीको तीनमहिने अभियानबाट जनआधार सुदृढ हुँदै गएको भन्दै आगामी फागुनमा विधान अधिवेशन गरेर पार्टीलाई नयाँ ढङ्गले अघि बढाइने पार्टी अध्यक्ष दाहालले बताउनुभयो ।माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबाट सञ्चालित तीनमहिने अभियानले जनतामा नयाँ ऊर्जा सञ्चार गरेको बताउनुभयो । जनस्तरबाट उठेका मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले सुकुम्बासी समस्या समाधानका निम्ति अनुभूत हुनेगरी काम गर्न सुझाव दिनुभयो ।केन्द्रका अर्का नेता विशाल खड्काले बुढानीलकण्ठ नगरको नामकरण गरिएको बुढानीलकण्ठ मन्दिरको ‘ब्राण्डिङ’ गरेर पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो । उहाँले नगरको सुकुम्बासी समस्या समाधानमा जोड दिनुभयो ।त्यस अवसरमा स्थानीयबासीका तर्फबाट धोवीखोला नियन्त्रणलगायत नगरक्षेत्रका समस्या समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो ।

उत्तरी भारतमा चीसोसँगै वायु प्रदुषण बढ्यो

भारतको उत्तरी भुभागमा बाक्लो कुहिरो तथा वायु प्रदुषणको प्रभाव बढ्न थालेपछि शनिबार राजधानी नयाँदिल्लीको आकाश र जमिनको दृश्य कमजोर बनेको छ । यहाँको तापक्रममा एक्कासी कमी देखिएको छ ।

भारतीय मौसम विभागका अनुसार न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस र पालममा १२.२ डिग्री सेल्सियस मापन गरिएको छ ।नयाँदिल्लीमा चिसो बढ्दा, न्यानोको लागि आगो बाल्ने र ताप्ने गरेका दृष्यहरू देखिएका छन् । 

चीसोका कारण बिभिन्न ठाउँमा स्थानीयहरू कम्बललगायतका लुगा ओढेर हिँडिरहेको देखिएको छ ।साइकल चालक तथा पैदल यात्रामा निस्किएका स्थानीयले शनिबार तापक्रममा उल्लेख्य गिरावट आइ चिसो अत्याधिक बढेको बताएका छन् । 

स्थानीयले शनिबार एएनआईसँगको प्रतिक्रियामा भनेका छन्, “चिसो अत्याधिक भएकाले पैदल यात्रा गर्न गाह्रो भइरहेको छ । कुहिरो तथा प्रदूषणले नियमित पैदल यात्रामा समस्या बढेको छ । प्रदुषणका कारण हुने स्वास्थ्य समस्याहरूबाट बच्न मास्क लगाएर बाहिर निस्किरहेका छौ ।”

दिल्लीको समग्र वायु गुणस्तर सूचकाङ्क गुणस्तरीय मौसम पूर्वानुमान तथा अनुसन्धान प्रणाली अनुसार शनिबार बिहान ८.०७ बजे वायुको गुणस्तर ‘निकै खराब’ रेकर्ड गरिएको थियो ।भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार राजधानीको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीले यसअघि उत्तरी भारतको न्यूनतम तापक्रम आगामी तीन दिनमा २–३ डिग्री सेल्सियसले बढ्न सक्ने बताएको थियो । बिहारका एक रिक्सा चालक महेश कुमारले बिहीबार एएनआईसँग कुरा गर्दै चिसो मौसमले आफ्नो दैनिक काममा असर गरिरहेको बताउनुभयो ।

“चिसोका कारण आज  यात्रुहरू कम छन् । चिसोले हाम्रो सवारीसाधन भित्रै बस्न बाध्य तुल्याउँछ,” कुमारले भन्नुभयो ।

चिसो बढेसंगै हरियाणामा १५दिनका लागि विद्यालय बिदा

यसैबीच हरियाणा सरकारले शनिबार आगामी जनवरी १ देखि १५ सम्म  सबै सरकारी तथा निजी विद्यालयहरूमा जाडो बिदा गर्ने घोषणा गरेको छ । 

हरियाणा मुख्यमन्त्री कार्यालयको आधिकारिक ट्वीटर अनुसार शीतलहर आउने सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय आएको हो । 

प्रसासनका अनुसार “बढ्दो चिसोलाई ध्यानमा राख्दै, हरियाणा सरकारले सन् २०२४ जनवरी १–१५ सम्म राज्यका सबै सरकारी र निजी विद्यालयहरूमा जाडो बिदाको घोषणा गरेको छ । यस अवधिमा सबै विद्यालयहरू बन्द रहनेछन् ।”

सरकारले सबै जिल्ला शिक्षा अधिकारीहरू, जिल्ला प्राथमिक शिक्षा अधिकारीहरू तथा प्रधानाध्यापकहरूलाई हरियाणा सरकारले दिएको दिशानिर्देशन पालना गर्न आग्रह गरेको छ । पञ्जाब, हरियाणा–चण्डीगढ–दिल्लीका अधिकांश भागहरूमा न्यूनतम तापक्रम ४–८ डिग्री सेल्सियसको दायरामा रेकर्ड गरिएको भारतीय मौसम विभागले जनाएको छ ।  भारतीय मौसम विज्ञान विभागले आगामी २४ घण्टामा न्यूनतम तापक्रममा करिब २ डिग्री सेल्सियसले वृद्धि हुने जनाएको छ ।  

प्रसिद्ध शक्तिपीठ पाथीभरामा केबुलकार निर्माण सुरु गर्न स्थानीयको माग

फुङ्लिङ, ७ पुस : ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबुलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमनले पाथीभरा सो क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबुलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्वक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव दिएको थियो ।

सो समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालाहरुसँग समेत अन्तरक्रिया गरी राय लिएको र सबैले केबुलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएपछि केबुलकार निर्माणको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

यसै विषयमा केन्द्रित रहेर शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा उक्त केबुलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालहरुसँग अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागी सबैले लामो समयदेखि यहाँ केबुलकार बन्ने चर्चामात्र सुनिएको तर काम सुरु नभएको भन्दै निर्माणको काम तत्कालै अघि बढाउन माग गरेका थिए । उनीहरुले यस प्रदेशकै एक गौरवको आयोजना बन्न सक्ने र ताप्लेजुङका स्थानीयवासीहरुले प्रत्यक्ष लाभ लिनसक्ने यस आयोजना तत्कालै अघि बढाउनका लागि स्थानीय र प्रदेश सरकारसँग आग्रह पनि गरेका थिए ।

सो अन्तरक्रियामा प्रतिनिधिसभाका सदस्य लीलादेवी बोखिमले आफ्ना घरआँगनमै यतिठूलो लगानीको आयोजना आउँदा स्थानीय नागरिक नै अघि सरेर सघाइ आयोजनालाई सफल बनाउनुपर्ने भन्दै केबुलकार निर्माणको काममा अब ढिला गर्न नहुने बताउनुभयो ।

उहाँले राज्य आफैँले अर्थात् तीनै तहको सरकारले लगानी गरेर केबुलकार परियोजना निर्माण गर्न नसक्ने बताउनुहुँदै लगानी गर्न इच्छुक निजी कम्पनीलाई काम गर्ने वातावरणका लागि स्थानीय तयार हुनुपर्ने मात्र नभई आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय नागरिकले राखेका मागहरुका सम्बन्धमा लगानीकर्ता र उहाँहरु बस्नुपर्ने र त्यसका लागि पनि स्थानीय तहले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताउनुभयो ।

त्यसैगरी, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबुलकार परियोजना निर्माण गर्नु जिल्लावासीको हितमा रहेको बताउनुभयो । व्यक्तिगत स्वार्थ र पुराना सोच राखेर अहिले विकास निर्माणका कामलाई कसैले पनि अवरोध गर्न नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मुलुकका धेरै क्षेत्रतिर अहिले धमाधम पर्यटन पूर्वाधारहरु निर्माण भइरहेका बेला हामीले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबुलकार बन्न लागेको काममा बाधा उत्पन्न ग¥यौँ भने हामी आफैँ पछि पर्नेछौँ । त्यसैले सबै पक्ष बसौँ, आफ्ना कुरा राखौँ र समझदारी बनाई निर्माणको काम थालौँ ।”

त्यसैगरी, नेपाली कांग्र्रेसका जिल्ला सभापति गजेन्द्र तम्याङ, नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सदस्य बमबहादुर भट्टराई, फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझालगायतले स्थानीयका माग र उनीहरुका सुझावहरुलाई समेटेर एक साझा सहमति बनाई आयोजना निर्माणको काममा ढिला गर्न नहुने धारणा राख्नुभयो । कोशी प्रदेश अत्यधिक पर्यटकीय सम्भावना भएको क्षेत्र रहेको चर्चा गर्दै पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि नबढाउने हो भने प्रदेशवासी नै पछि पर्ने पनि बतााउनुभयो ।

उता पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने केबुलकार निर्माणको काम सुरु भएपछि १३ महिनाभित्रै परियोजना सम्पन्न गरिसक्ने बताउनुभयो । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबुलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबुलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालको दाबी थियो ।

उहाँले भन्नुभयो, “हामीसँग अनुभव छ, हमीले गर्दै पनि अएका छौँ । जस्तो कि गैँडाकोटको मौलाकालिका र बुटवलको लुम्बिनी केबुलकार पनि हामीले निर्माण सुरु गरेको लगभग १३ महिनाभित्रै सञ्चालनमा ल्याएका हौँ । यहाँ पनि स्थानीयवासी र सरकारले हामीलई निर्माणको वातावरण निर्माण गरिदिएको १३ महिनाभित्रै आयोजना सञ्चालनमा ल्याउँछौँ ।

पाथीभरा केबुलकार कोशी प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ ताप्लेजुङवासीलाई लाभ हुने भए पनि यो आयोजनाले कोशी प्रदेशलाई नै लाभ पुग्ने उहाँको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकालले स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकास लगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने दाबी पनि गर्नुभयो । उहाँले स्थानीयले उठाएका मागका बारेमा बसेर समझदारी गर्न सकिने भन्दै उहाँले सामाजिक उत्तरदायित्व, परियोजनाको शेयर लगायतका विषय कानुनअनुसार पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

यसबाट सर्वसाधारणलाई शेयर प्राप्त हुने बताउँदै उहाँले जनता, सरकार र समुदायलाई प्रत्यक्ष लाभ हुने तवरबाट केबुलकार निर्माणको मोडल बनाएको र यो परियोजनाले प्राकृतिक, सांस्कृतिक र वातावरणीय समस्या निम्त्याउनेजस्ता कुनै पनि आशङ्का नपाल्नसमेत आग्रह गर्नुभयो ।

यता केबुलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने केबुलकार निर्माण गर्न नहुने बताउँदै आएको छ । समितिका संयोजक श्री लिङ्खिमले लिम्बू समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताउनुभएको छ ।

कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज

काठमाडौँ, ७ पुस : सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ । यहाँ फोहर व्यवस्थापन सधँै चुनौती बन्दै आएको छ । फोहर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलन गर्ने व्यक्तिको योगदान छ । हाल उपत्यकाका नगरपालिकाका साथै बनेपा, धुनीबँेसी र ककनी गरी २३ नगरपालिकाको फोहर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाका अनुसार सबै नगरपालिकाबाट दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय टनसम्म फोहर सङ्कलन हुने गरेकोे छ । दैनिक करिब दुई सय सवारी साधनमा राखेर फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । सङ्कलित फोहरबाट पुनः प्रयोगीय वस्तु छुट्याउने मजदुर तथा दैनिक साइकलमा पुनः प्रयोगीय वस्तु न्यूनतम मूल्यका किनेर सङ्कलन गर्ने व्यक्तिका कामका कारण एक चौथाइभन्दा बढी फोहर व्यवस्थापनमा सहयोग पुगेको छ । त्यस्ता वस्तु भक्तपुर, बालाजु, वीरगञ्ज, हेटाँैडा, नवलपरासी, जनकपुरलगायत स्थानमा सम्बन्धित उद्योगले किनेर कच्चापदार्थका रुपमा प्रयोग गर्ने गरेका छन् ।

नेपाल पुनः प्रयोगीय वस्तु व्यवसायी सङ्घका अध्यक्ष रामहिरा पाठकले उपत्यकामा पुनः प्रयोगीय वस्तु (कवाडी) दैनिक ३५ गाडी सङ्कलन हुने गरेको जानकारी दिनुुभयो । सङ्कलनकर्ताले स्वतः गर्ने कामका कारण लगभग तीन सय ५० टन पुनः प्रयोगीय वस्तु दैनिक डम्पिङ साइटमा फाल्नु नपरेको उहाँको भनाइ । “यसबाहेक हामीले नेपालमा रहेका विभिन्न उद्योगलाई कच्चापदार्थका रुपमा पुनः प्रयोगीय वस्तु आपूर्ति गर्दै आएका छौँ । यस्तो कच्चापदार्थ पहिला सिङ्गापुर वा अन्य विदेशबाट ल्याउनुपथ्र्याे तर अहिले यहीँबाट नै आपूर्ति हुने गरेको छ,” अध्यक्ष पाठकले भन्नुभयो ।

सङ्घका अनुसार काठमाडौँ उपत्यकामा मात्र करिब पुनः प्रयोगीय वस्तु सङ्कलनकर्ता सात हजार छन् । उनीहरु दैनिक साइकलमा घर घरबाट धातु, प्लास्टिक, कागज, बोरा, कपडा, मोबिल, टायर ट्युबलगायत पुनः प्रयोग हुने वस्तु न्यूनतम मूल्यमा उठाउँछन् । यसरी पुनः प्रयोगीय वस्तु किनेर कवाडीखानामा बेच्दा मासिक रु २० हजारदेखि रु ३० हजार आफ्नो कमाई हुने गरेको काठमाडौँको बुद्धनगरका कवाडी सङ्कलनकर्ता अजय यादवले बताउनुभयो । उहाँले कामका सिलसिलमा हेपाइ खानुपर्ने, बाटोमा भुस्याहा कुकुरले सताउने र कतिपय अवस्थामा त चोरीको आरोपसमेत खेप्नुपर्ने समस्या रहेको गुनासो गर्नुभयो । त्यसैगरी, उपत्यकामा एक हजार सात सय पुनः प्रयोगीय वस्तु सङ्कलन स्थल (कवाडीखाना) रहेका छन् । ती वस्तु उद्योगमा आपूर्ति गर्ने थोक व्यवसायी भने ८० को हाराहारीमा रहेको बताइन्छ ।

विश्वमा फोहर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको गुनासो गर्दै अध्यक्ष पाठकले भन्नुभयो, “यो पेसा हेपिएको अवस्थामा रहेको छ, कतिपय अवस्थामा त अपमान पनि सहनुपर्छ । सरकारबाट नियमन, संरक्षण र सम्मानका लागि पटकपटक आग्रह गर्याँै तर कुनै सुनुवाइ भएको छैन् ।”

विसं २०३८ देखि यो पेसामा आबद्ध हुनुभएका अध्यक्ष पाठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि कुनै सुनुवाइ नभएको बरु कर लगाउने काम भएको गुनासो गर्नुभयो । काठमाडौँ महानगरपालिकाले हाल कवाडी वस्तुमा कर लगाउन सुरु गरेको छ । यद्यपि सङ्घको पहलबाट सरकारी र विभिन्न शैक्षिक संस्थाका कागजपत्र आगो लगाउनुको सट्टा च्यातच्यूत गरी पुनः प्रयोग गर्न सुरु गरिएको उहाँले बताउनुभयो । फोहरलाई मुख्य गरी पुनः प्रयोग नहुने र पुनः प्रयोग हुने गरी दुई भागमा वर्गीकरण गरिएको छ । त्यसमध्ये पुनः प्रयोग नहुने फोहरमा पनि सड्ने र नसड्ने वस्तु रहेका छन् । भान्साजन्य र अन्य फोहर सड्ने फोहर हुन भने माटाका भाँडा, सेरामिकका प्लेट, सुर्ती, गुट्खा, चाउचाउका प्याकेट आदि पुनः प्रयोग पनि नहुने र नसड्ने फोहर हुन् । त्यसैगरी, धातुजन्य, प्लास्टिकजन्य, कागजन्य र सिसाजन्य वस्तु पुनः प्रयोग हुने वस्तु हुन् । पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलनकर्ताहरुले यी वस्तुमात्र सङ्कलन गर्ने गर्छन् ।

निजी संस्थाद्वारा ९० प्रतिशत फोहर व्यवस्थापन

यसैगरी, फोहर सङ्कलन गर्ने निजी संस्थाको साझा युनियन ‘फोहरमैला व्यवस्थापन सङ्घ नेपाल’का अनुसार उपत्यकामा मात्र फोहर सङ्कलन गर्ने ५८ निजी कम्पनी छन् । ती कम्पनीमा तीन हजारभन्दा बढी कुचिकार, सङ्कलक र व्यवस्थापक कार्यरत रहेको सङ्घका महासचिव मित्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । उपत्यकाको फोहरमध्ये ९० प्रतिशत ती कम्पनीले र बाँकी १० प्रतिशतमात्र महानगरपालिकाले सङ्कलन गर्ने गरेको उहाँले बताउनुभयो । काठमाडौँ महानगरपालिकाले १२, १८, १९, २०, २१, २३, २४ र २५ वडाको सम्पूर्ण फोहर सङ्कलन गर्ने गर्छ भने बाँकी वडाको फोहर निजी संस्थाबाट सङ्कलन तथा व्यवस्थापन हँुदै आएको छ ।

“कम्पनीले दैनिक घरघरबाट रिक्सा तथा ट्र्याक्टरबाट फोहर सङ्कलन गरेर आ–आफ्नो सङ्कलन केन्द्रमा राख्छन् र त्यही मजदुरले पुनः प्रयोग हुने वस्तु छनौट गर्ने गर्छन् । बिग्रेको खाद्यान्न बङ्गुरलगायत जनावरका लागि दानाका रुपमा पनि प्रयोग हुन्छ । यसरी करिब २५ प्रतिशत वस्तु छुट्यान्छ र बाँकी ल्यान्डफिल साइट लगिन्छ,” उहाँले भन्नुभयो । तर जुन कम्पनीको फोहर छुट्याउने केन्द्र हुँदैन ती कम्पनीले फोहर सिधै बञ्चरेडाँडा लैजान्छन् र त्यहीँ कुहिने तथा पुनः प्रयोग हुने वस्तु छुट्याइन्छ ।

फोहर लैजाने कम्पनीले बञ्चरेडाँडा प्रत्येक गाडीको रु चार सय प्रवेश शुल्क तिर्ने गरेका छन् । एक सर्वेक्षणअनुसार उपत्यकाको कूल फोहरबाट छुट्याइने पुनः प्रयोग हुने वस्तुको बिक्रीबाट मात्र दैनिक रु २० लाखदेखि रु ३० लाख आम्दानी हुने गरेको छ । यसरी हुने छनौटले एकातिर आम्दानी हुने र अर्काेतिर फोहर व्यवस्थापनमा ठूलो सहयोग हुने महासचिव घिमिरेले बताउनुभयो । यसले फोहर ढुवानीको खर्च पनि बचत हुने गरेको छ । त्यस्ता कम्पनीले फोहरमैलाको मात्राका आधारमा प्रत्येक घर र व्यवसायबाट लिने शुल्कमा विविधता रहेको उहाँले बताउनुभयो । तर घरायसीका लागि न्यूनतम मासिक रु चार सय रहेको छ । उपत्यकामा करिब चार लाख घर रहेका अनुमान छ ।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठका अनुसार बञ्चरेडाँडामा लैजाने फोहरमध्ये ६० देखि ७० प्रतिशत कुहिने फोहर हुन्छ भने बाँकी धातु, कागज, प्लास्टिक, सिसालगायत वस्तु हुन्छन् । दैनिक लैजाने दुई सय गाडीका फोहरमा अनौपचारिक काम गर्ने व्यक्तिले स्वतः रुपमा पुनः प्रयोग हुने वस्तु छुट्याउने गरेका छन् । त्यसमध्ये दैनिक पाँचदेखि १० गाडी पुनः प्रयोग हुने वस्तु फिर्ता हुने गरेकोे उहाँले जानकारी दिनुभयो । उहाँले कवाडी सामग्री सङ्कलनकर्ताले आफ्नो रोजगारी र आम्दानीका सिलसिलामा स्वतः रुपमा पुनः प्रयोग गर्ने वस्तु सङ्कलन गर्दा फोहर व्यवस्थापनमा ठूलो सहयोग हुने गरेको उल्लेख गर्नुभयो ।


भक्तपुर नगरका सम्पदा चिनाउन पुस १४ गते सम्पदा पदयात्रा आयोजना

भक्तपुर- भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न सम्पदा क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यले ‘बहा बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नारासहित आउँदो पुस १४ गते शनिबार सम्पदा पदयात्राको आयोजना गर्ने भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज यसबारे जानकारी दिँदै योमरी पुन्हीको अवसरमा आयोजना हुने सम्पदा पदयात्राले भक्तपुरका सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान गर्नेलाई पनि अवसर मिल्ने र नगरभरि छरिएर रहेका बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नयाँ पुस्तालाई जानकारी दिन सम्पदा पदयात्रा सफल हुने बताउनुभयो ।

पदयात्रा भनपा–५ टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौँ), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) हुँदै भनपा–७ यातामा पुगी कार्यक्रमको समापन गरिने नगर प्रमुख प्रजापतिले बताउनुभयो ।

गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने रुसी राष्ट्रपति पुटिनको प्रतिबद्धता

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै उहाँले इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गर्नु भएको छ ।

राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताउनु भएको छ । यसै बीच सो वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति पुटिनले “रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान” चाहेको उल्लेख गरेको छ ।

प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा

संयुक्त अरब इमिरेट्स अरब मुद्रा कोषद्वारा जारी गरिएको नवीनतम अरब आर्थिक प्रतिस्पर्धा सूचकाङ्कमा शीर्ष स्थानमा पुगेको छ । अरब संसारमा युएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरेको छ ।एएमएफको अरब आर्थिक प्रतिस्पर्धा प्रतिवेदनको सातौं संस्करणमा विशेष जोड दिएको यो विषयले समग्र अर्थव्यवस्था, बढ्दो आकर्षक लगानी वातावरण, र बढ्दो आकर्षण सहित महत्त्वपूर्ण क्षेत्रहरूमा युएईको निरन्तर प्रगतिलाई देखाएको छ । प्रतिवेदनले युएईले सरकारी वित्तीय क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थान सुरक्षित गरेको छ ।

साथै प्रतिवेदनमा सबै उप-सूचकाङ्कहरूमा उन्नत स्थानका कारण आर्थिक स्वतन्त्रता सूचकाङ्कमा पनि युएई लगानीको वातावरण र आकर्षणका हिसाबले अरब राष्ट्रहरूमध्ये पहिलो स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ ।
युएई पूर्वाधार क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थानमा छ । यसै गरी मोबाइल फोन प्रयोगकर्ता र बिजुलीमा पहुँच भएको जनसंख्याको प्रतिशतमा पनि युएई अग्रस्थानमा छ । हवाई यातायात र कुल विश्वव्यापी यातायात र ढुवानीको हिस्सामा भने दोस्रो स्थानमा परेको छ।
संस्थागत र सुशासन क्षेत्रहरूको सन्दर्भमा युएई प्रशासनिक भ्रष्टाचार र सरकारी दक्षता दुवै सूचकाङ्कहरूमा उन्नत स्तर हासिल गर्दै अरब देशहरूमध्ये शीर्ष स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ ।
अरब मुद्रा कोषको प्रतिवेदनले अरब देशहरूले उत्पादकत्व वृद्धि गर्न, उत्पादित वस्तुहरूको गुणस्तर सुधार गर्न र उत्पादक क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न थुप्रै राष्ट्रिय रणनीति र दृष्टिकोणहरू अपनाएका छन् जसले यस क्षेत्रको अर्थतन्त्रमा निरन्तर सुधार देखिएको छ ।
अरब देशहरूले सेवा क्षेत्रहरू विकास गर्न, व्यवसायिक वातावरणलाई सहज बनाउन र उनीहरूको प्रतिस्पर्धात्मकतामा बाधा पुर्याेउने चुनौतीहरूलाई सम्बोधन गर्न पूर्वाधार विस्तार गर्न थप प्रयासरत छन्।

यी राष्ट्रिय प्रयासहरूको केन्द्रमा साझा महत्वाकांक्षा छ, आर्थिक स्थिरता, दिगो विकास, र अरब नागरिकहरूका लागि सुधारिएको जीवन स्तर समावेश गरिएको प्रतिवेदनामा उल्लेख छ। यस्ता सुधारात्मक रणनीतिहरूले स्थानीय उद्योगहरूमा लगानी बढाउनदेखि विदेशी पुँजीको लागि आकर्षक व्यावसायिक वातावरणलाई बढावा दिने विभिन्न किसिमका कार्यक्रमहरू समावेश छन् ।
दक्ष नागरिकको निर्णायक भूमिकालाई आत्मसात् गर्दै अरब देशहरूले शिक्षा र कार्यबल प्रशिक्षणमा ठूलो लगानी गरिरहेका छन्। उत्पादनशील क्षेत्र र सेवा उद्योगहरूमा फस्टाउनका लागि आवश्यक विशेषज्ञताले उनीहरूको कार्यबललाई सुसज्जित गर्ने लक्ष्य राखेको देखिन्छ । साथै, ठूला पूर्वाधार परियोजनाहरूले यातायात सञ्जाल, बन्दरगाह सुविधाहरू, र रसद सेवाहरूलाई मजबुद पार्दै विश्वव्यापी बजारमा प्रतिस्पर्धी पनि बनेका छन् ।

उक्त प्रतिवेदनले आर्थिक प्रतिस्पर्धा र उत्पादकत्वको बृद्धिले अरब अर्थतन्त्रलाई विविधीकरण गर्न, रोजगारीका अवसरहरू उपलब्ध गराउन, दिगो आर्थिक विकासतर्फ डोर्याअउन र नागरिकहरूको जीवनस्तर उकास्न योगदान पुग्ने अपेक्षा गरेको उल्लेख गरेको छ ।

मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना सञ्चालन

म्याग्दी, ७ पुुस : पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ ।

सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश सरकारले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका हुुन् । बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुुभयो । “बेनीदेखि मुना हुँदै खोरियासम्म ५० किलोमिटर सडकको स्तरोन्नति प्रदेश सरकारमार्फत र खोरियादेखि ढोरपाटनसम्म मार्ग खोल्ने काम सङ्घीय सरकारले सँगै अघि बढाएको छ,” उहाँले भन्नुुभयो, “धवलागिरि गाउँपालिका–२ खोरियामा तीन वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९ किलोमिटर सडकको मार्ग खोल्न यस वर्ष सडक डिभिजन कार्यालय बाग्लुुङले रु तीन करोडको आयोजना अघि बढाएको छ ।”पूूर्वाधार कार्यालयमार्फत २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्र गर्न र ६ किलोमिटर दूरीको दरवाङ–धारापानी सडक ग्राभेल गर्न सञ्चालित आयोजना अन्तिम चरणमा पुुगेको छ । गण्डकी प्रदेश सरकारले धारापानीदेखि ताकम हुुँदै शिवाङ जोड्ने सडक कालोपत्र गर्न चालुु आर्थिक वर्षमा रु २५ करोडको आयोजना ठेक्का लगाउन लागेको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले बताउनुुभयो । “म्याग्दीको रणनीतिक र मध्य पहाडी लोकमार्गको वैकल्पिक भएकाले बेनी–दरवाङ–मुुुना–जलजला ढोरपाटन सडकलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुुभयो, “शिवाङदेखि मच्छिम हुुँदै मुुनासम्मको सडक कालोपत्र गर्न अर्को प्याकेजको आयोजना सुुरु गर्छौं । मुुना मरेनी हुुँदै ढोरपाटन जोड्ने सडकलाई व्यवस्थित बनाउन सङ्घीय सरकारमार्फत काम थालिएको छ ।”दरवाङदेखि मुुना हुँुदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न गाउँपालिकाले रु एक अर्ब बजेट अनुुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । पूर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।भौगोलिक रुपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने सडकले धेरै वर्षको प्रयासपछि महत्व पाएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । “भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो,” उहाँले भन्नुभयो, “पछिल्लो समय वैकल्पिक सडक बनाउन भएको पहलले सार्थकता पाउन थालेको छ ।” सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उपाध्यक्ष पुुनले बताउनुुभयो ।पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।–––

विद्युत महसुल नतिर्ने उद्योगहरूको बिजुली सेवा काटियो, कुनले कति तिर्न बाँकी ?

काठमाडौँ-लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका केही उद्योगको लाइन शुक्रबार
साँझदेखि काटिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । उहाँले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिनुभए लगत्तै आज प्राधिकरणले केही उद्योगको लाइन काटिदिएको हो ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणका अनुसार, जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ ।

प्राधिकरणका अनुसार जगदम्बाले मात्रै रु चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टले रु एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले रु एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ ।

पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुल उपर गर्न निर्देशन दिएका थिए ।

१६८ मुरी धान फलाएका बम्जन दम्पती ५० हजारबाट पुरस्कृत

पाँचथर, ७ पुस : पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो ।

मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उहाँकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।  

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुग्नुभएको थियो । उहाँले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गर्नुभयो । मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उहाँको घर पुग्नु भएको हो । 

मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान एक सय ६८ मुरी प्रमाणित भएपछि उहाँ औधी खुशी हुनुभयो । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उहाँले यसअघि नै बिक्री गरिसकेको बताउनुभयो । त्यसैले उहाँले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो । 

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले  फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताउनुभयो । गत मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाउनुभएको थियो । 

“वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ”, मकरबहादुरले भन्नुभयो । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उहाँको भनाइ छ । “विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ । त्यतिबेला मेरो पाँचजनाको परिवार थियो”, उहाँले भन्नुभयो, “मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।” मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिनुभएको हो । उहाँले मकैका लागि पाखो बारी  अधियाँमा लिनुभएको छ ।

किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले  धानका खलाखलामै कर्मचारीलाई बोलाउनुभएको थियो । तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गर्नुभयो । “धान जम्मा गर्न रु सात हजार खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्”, उहाँले भन्नुभयो । बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहनुभएको छ । 

“दुःख नभई सुख हुँदैन रहेछ । साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्”, मकरबहादुरले भन्नुभयो । विसं २०६० देखि धान खेतीमा लागिपरेको उहाँ बताउनुहुन्छ । पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या नरहेको उहाँले बताउनुभयो । मकरबहादुर गाउँपालिकाले रु ५० हजार पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा हुनुहुन्छ । “गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ”, उहाँले भन्नुभयो । बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीको भनाइ छ । 

‘कर्णाली करिडोर समृद्धिको मेरुदण्ड’:मन्त्री प्रकाश ज्वाला

बाजुरा-भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्ड भएको बताउनुभएको छ ।खुलालु सल्लीसल्ला सडक आयोजना कार्यालयको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णालीका हुम्ला, कालीकोट र मुगुलाई बाजुरासम्म छिटो जोड्ने गरी पुल निर्माणका लागि ठेक्का भइसकेको बताउनुभयो ।

सडक आयोजनाले सडक र पुल निर्माण व्यवस्थित हुँदै गएको बताउँदै मन्त्री ज्वालाले ठेक्का लागेका पुल निर्माण कार्य तीव्रगतिमा अगाडि बढेको बताउनुभयो । उहाँले कर्णाली करिडोरलाई चीनको हिल्सासम्म जोड्ने कार्य प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।मन्त्री ज्वालले भन्नुभयो, “कर्णाली करिडोर सडक निर्माणमा सहकार्य, हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन ।” सडक निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहले हातेमालो र सहकार्य गरेमा सहजरूपमा यातायात सञ्चालन हुने उहाँले बताउनुभयो ।दीर्घकालीनरूपमा नेपाल र भारत जमुनाहा सिमानादेखि चीन र नेपालको सिमाना हिल्सासम्म सडक जोड्ने गरी कर्णाली करिडोरको योजना अघि आएको मन्त्री ज्वालाले दाबी गर्नुभयो ।“प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम्रणका बेला चीनको हिल्साबाट कर्णालीको प्रदेशको सिमीकोटसम्म चीन सरकारको अनुदानमा निर्माण गर्ने र सिमीकोटबाट सुर्खेतसम्म नेपाल सरकारले फास्टट्रयाक निर्माण गर्ने दीर्घकालीन कार्यक्रम रहेको छ”, उहाँले भन्नभयो । उक्त सडक निर्माणका लागि रु ५७ अर्ब बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

मान्म, ७ पुस : कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिनुभयो ।

रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युत्को पहुँच पुगेको छ । आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पु¥याउन बाँकै नै छ । आठवटै स्थानीय तहका वडा वडामा विद्युत्को प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिनुभयो ।

“गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अब चाँडै पलाँतामा पनि बिजुली पु¥याउँछौँ”, उहाँले भन्नुभयो । पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युत्को पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताउनुभयो । “अहिले त्यहाँ बिजुली पु¥याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो । जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको प्रमुख साहले बताउनुभयो । “विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्”, उहाँले भन्नुभयो ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि ग्राहक तानिरहेका साना व्यवसायीको भविष्य अन्योलग्रस्त

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन् ।

डिजिटल मार्केटिङका लागि गुगल, फेसबुक, इन्स्टाग्राम एक्स र भाइबरजस्ता माध्यमलाई उछिन्दै टिकटक अगाडि आएको थियो । टिकटक एकसाथ धेरै प्रयोगकर्तामाझ पुग्ने भएकाले हरेक उमेर समूहका प्रयोगकर्ता सहज रूपमा यसमा आबद्ध थिए ।

चलचित्र निर्माता तथा हास्य कलाकार दीपकराज गिरी नेपाली समाजमा टिकटक रमाइलोसँगसँगै जानकारी लिने प्लेटफर्म बन्दै गएको स्मरण गर्छन् । गीतमा लिपसिंक गर्दै बनाइने टिकटक भिडियो नेपाली फिल्मको व्यापार बढाउने माध्यम बनिसकेका थियो,’ उनले भने, ‘बिना पैसा धेरैभन्दा धेरै मानिससम्म पुग्ने माध्यम टिकटक सही ढङ्गमा प्रयोग गर्न सके फलदायी हुन्छ । यसको माध्यमबाट व्यापार पनि फस्टाउँदै गएको थियो । तर सरकारले यसको आवश्यकता महसुस गर्न सकेन ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

नेपालीको पहिलो श्रम गन्तव्य बन्यो यूएई

काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् ।

अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको यूएई यो वर्ष भने सुुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । विभागका अनुसार चालुु आर्थिक वर्षको मङ्सिर महिनामा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो ।

विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ । जबकी अघिल्लो आव मङ्सिर महिनामा कतार चौथोमा थियो । यो वर्ष मङ्सिरमा मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ । विभागका अनुसार यस वर्षको मङ्सिर महिनामा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

चितवन, ७ पुस : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ ।

काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताउनुभयो ।

यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताउनुभयो ।

साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताउनुभयो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।

हेर्नुहोस् पौष ७ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ ।

बृष राशि – कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ ।

मीथुन राशि- सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कर्कट राशि – साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

सिंह राशि – अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।

कन्या राशि- प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुला राशि- प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा साबधानिरहनु होला । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।

बृश्चिक राशि – नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

धनु राशि – परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मकर राशि – सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला ।

कुम्भ राशि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि – साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।

नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलनको तयारी पूरा, भोलि देउवाले उद्घाटन गर्ने

काठमाडौँ, ६ पुस -नेपाली कांग्रेसको पुस ७ गते शनिबार काठमाडौँमा हुने बागमती प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।कांग्रेस बागमती प्रदेश समितिले आज यहाँ पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिनुभयो ।

सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गर्ने कार्यक्रम छ सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिका÷गाउँपालिकामा निर्वाचित प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताउनुभयो ।
 

निर्वाचनको सम्भावना बढ्दै जाँदा बेलायतको अर्थतन्त्रमा सङ्कुचन

बेलायतको अर्थतन्त्र तेस्रो त्रैमासिकमा अप्रत्याशितरूपमा सङ्कुचन भएको शुक्रबार आधिकारिक आँकडाले देखाएको छ । यसबाट आगामी वर्ष हुनलागेको निर्वाचनभन्दा अगाडि नै सम्भावित मन्दीको आशङ्का बढेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार जुलाई र सेप्टेम्बरको बीचमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा शून्य दशमलव एक प्रतिशतले घटेको छ । यो शून्य वृद्धिको पूर्वानुमानभन्दा कम हो । ब्याजदरमा वृद्धि, उच्च मुद्रास्फीति र सेवा क्षेत्रको गिरावटले गतिविधिमा प्रतिकूल असर परेको थियो ।

ओएनएसले दोस्रो त्रैमासिकमा अर्थतन्त्र स्थिर रहँदा शून्य दशमलव दुई प्रतिशतले वृद्धि हुने उसको अघिल्लो अनुमान कम भयो । यसबाट सम्भावित मन्दीको अनुमान तीव्र भएको छ । यसलाई नकारात्मक आर्थिक विकासको लगातार दुई त्रैमासिकका रूपमा परिभाषित गरिएको छ ।

“तेस्रो त्रैमासिकमा वास्तविक जिडिपीमा सङ्कुचनको अर्थ हल्कारूपमा मन्दी सुरु भएको छ”, क्यापिटल इकोनमिक्सक विश्लेषक एशले वेबले भन्नुभयो, “तर सानो मन्दी भए पनि वा नभए पनि सन् २०२४ को पूरा वर्षमा जिडिपी सुस्त रहने अनुमानका लागि यो ठूलो तस्बिर हो ।”

बेलायतबासीले जीवनयापनको सङ्कटसँग सामना गरिरहेको बेला निर्वाचनमा विपक्षी लेबर नेता किर स्टार्मरभन्दा पछि पर्नुभएका कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकका लागि शुक्रबारको निराशाजनक तथ्याङ्कले झट्का दिएको छ ।

बैंक अफ इङ्गल्यान्डको दरहरूमा भएको वृद्धिपछि बेलायती मुद्रास्फीति दुई वर्षभन्दा लामो समयमा सबैभन्दा तल्लो स्तरमा आएको ओएनएसको आँकडाबाट थाहा पाएपछि प्रधानमन्त्री सुनक बुधबार उत्साहित हुनुभएको थियो ।

अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गर्यो

अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने ६ हजार ३०० भन्दा बढी व्यक्तिहरूलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चार माध्यमले शुक्रबार उल्लेख गरेका छन्।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ । सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरशिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ ।
प्रहरीले “प्रहरी, महामारी, खतरा र प्रकोप जसाता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने जस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको” राज्य प्रसारक सीसीटीभीले शुक्रबार उल्लेख गरेको छ ।

‘अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहका घटनामा अनुसन्धान गरी अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानून बमोजिम कारबाही गरेको छ । साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि सीसीटीभीले जनाएको छ । यसै बीच सीसीटीभीले अप्रिलमा “क्लिन नेट” अभियान शुरु भएदेखि नै प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका विषयमा ५०० भन्दा बढी सामाजिक खाताहरू बन्द गरेको बताएको छ।प्रहरीले सन् २०२४ लाई “अनलाइन अफवाह विरुद्ध लड्न विशेष कार्यको वर्ष” को रूपमा तोकेको छ र त्यही अनुसार कारबाही प्रक्रियलाई तीव्र पारेको छ ।

मन्त्री शर्माद्वारा आइसिटी अवार्ड हस्तान्तरण

तनहुँ, ६ पुसः सूचना प्रविधिको अधिकतम प्रयोग गरी शिक्षण गरेबापत व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय ‘आइसिटी अवार्ड’ बाट सम्मानित भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो । पुरस्कृत विद्यालयले कक्षा चारदेखि कम्प्यूटर शिक्षा अध्यापन गर्दै आएके छ । विद्यालयले चकडस्टरलाई ‘स्मार्ट बोर्ड’ बाट प्रतिस्थापन गरेको छ । उक्त विद्यालयमा हाल दुई हजार छ सय पचासी जना विद्यार्थी अध्ययनरत छन् ।

‘निषेधको राजनीतिले मुलुक अघि बढ्दैन’- महासचिव गुरुङ

लमजुङ, ६ पुस : नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताउनुभएको छ ।

बेँसीसहर नगरपालिका–५ नाल्मास्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पुस ३ गतेदेखि सञ्चालित हीरक जयन्ती तथा प्रथम नाल्मा महोत्सवको समापन गर्दै उहाँले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताउनुभयो । उहाँले सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको बताउनुभयो ।

शिक्षा नै देश विकासको आधार रहेको बताउँदै महासचिव गुरुङले भन्नुभयो, “शिक्षाको विकासका लागि नाल्मावासीले गरेको पहल, प्रयास धेरै प्रशंसनीय रहेको छ ।” गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेस लमजुङका निवर्तमान अध्यक्ष भेषबहादुर पौडेलले नाल्मावासीको विकासका लागि सधैँ आफू साथमा रहने बताउनुभयो ।–

‘फरक क्षमता भएका नागरिकलाई सरकारले प्रोत्साहन गर्छ’ – मन्त्री आचार्य

काठमाडौँ, ६ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले फरक क्षमता भएको व्यक्तिलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा आज आयोजित कवि दर्शन केसी ‘शान्कु’ले लेख्नुभएको अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ‘दर्शन’ सार्वजनिक गर्दै उहाँले फरक क्षमता भएका नागरिकलाई सरकारले सम्मान गर्छ भन्नुभयो ।

“बालबालिकाको हकमा काम गर्न हामीलाई कानुनले रोकिरहेको थियो । विगत छ वर्षदेखि बालबालिका नीति मन्त्रालयमा अड्किएको रहेछ । मैले त्यसलाई अगाडि बढाएर हिजोको मन्त्रिपरिषद्को बैठकबाट पास गरेका छौँ”, मन्त्री आचार्यले भन्नुभयो, “अब मन्त्रालयले लक्षित कार्यक्रमलाई गति दिनेछ । फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा यस्ता कार्यक्रमले फरक ल्याउँछ । हामीले यस्ता प्रतिभालाई प्रोत्साहन गर्न जरुरी छ ।”

कवि केसीले नाकको सहायताले लेख्नुभएको कविता पढेर आफूलाई पनि केही गरौँ भन्ने लागेको अभिनेता राजेश हमालले बताउनुभयो । “कहिलेकाहीँ म अल्छी हुन्छु, तर दर्शनजीको कविता पढेपछि कविता लेख्ने जाँगर बढेको छ किनकि परिस्थतिले हामीलाई छेक्दैन, हामीसँग उक्त कार्य गर्ने प्रेरणा चाहिन्छ । उहाँको कृतिले हामीलाई प्रोत्साहन गरेको छ”, अभिनेता हमालले भन्नुभयो ।

एभरेष्ट ग्यालरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएर हौसला बढाएको भन्दै कवि केसीले उपस्थितलाई धन्यवाद दिनुभयो । “मलाई तपाईँहरूको साथले झनै प्रोत्साहन मिलेको छ । म आगामी दिनमा पनि लेखनलाई अगाडि बढाउने छु”, कवि केसीले लेख्नुभएको सन्देश उद्घोषकले पढ्नुभएको थियो । उक्त अवसर कवितासङ्ग्रह बजारमा उपलब्ध भएको जानकारी गराइएको थियो ।

दक्षिणी भियतनाममा मङ्की पक्सबाट ६ जनाको मृत्यु

भियतनामको दक्षिणी इलाकामा मङ्की पक्स सङ्क्रमणबाट छ जनाको मृत्यु भएको छ । साथै सङ्क्रमणबाट ११७ बिरामी परेको हो ची मिन्ह शहरको इन्स्टिच्युट पाश्चरले शुक्रबार जानकारी दिएको छ ।संस्थानले नोभेम्बरदेखि सङ्क्रमणको सङ्ख्या तीव्र रूपमा बढेको जनाएको छ।

हो ची मिन्ह शहरस्थित एक अस्पतालका चिकित्सक डा ह्युन थि थ्यु होआले विगत तीन महिनामा अस्पतालमा भर्ना भएका ४९ जनामध्ये ६ जनाको मृत्यु भएको र ४० जना निको भइसकेको जनाकरी दिएका छन् । तीन जनाको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् ।गत अक्टोबरमा भियतनामा मङ्की पक्स सङ्क्रमणबाट पहिलो मृत्युको घटना दर्ता गरिएको थियो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानत तर कारागारमै रहने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य कुराहरू चुहावट गरेको आरोपमा शुक्रबार जमानत दिइएको वकिलहरूले बताएका छन् । यद्यपि अन्य आरोपमा उहाँ कारागारमै रहनुहुने भएको छ । अगस्टमा हिरासतमा लिइएका खानले शक्तिशाली सेनामाथि उहाँको लोकप्रिय आन्दोलनलाई दबाउन र आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिनबाट रोक्न लामो समयदेखि पाकिस्तानमा प्रभुत्व स्थापित गरेका वंशवादी पार्टीहरूसँग मिलेर काम गरिरहेको आरोप लगाउनुभएको छ ।

सन् २०२२ अप्रिलमा शीर्ष अधिकारीहरूसँगको मनमुटावपछि सत्ताबाट बाहिरिनुभएका ७१ वर्षीय खान कानूनी मुद्दाहरूको झमेलामा पर्नुभएको छ र दुई पटक कारागार गइसक्नुभएको छ ।

वकिल सलमान सफदरले खानका पूर्वविदेशमन्त्रीको नाम लिँदै अदालतबाहिर पत्रकारहरूसँग भन्नुभयो, “मुद्दा पूर्णरूपमा समाप्त भएको छ, इमरान खान र शाह महमुद कुरेशीलाई अन्ततः जमानत दिइएको छ ।” अभियोजकहरूले खान र कुरेशीमाथि अमेरिकामा पाकिस्तानका राजदूतले पठाएको कूटनीतिक तारलाई गलत प्रयोग गरेको आरोप लगाएका छन् ।

कानूनी चुनौतीले अदालतलाई उपस्थित पर्यवेक्षकहरूसँग कार्यवाही पुनः सुरु गर्न बाध्य नतुल्याउन्जेल कथित आरोपका लागि मुद्दा कारागारभित्र भएको थियो र ट्रायल गोप्यरूपमा भएको थियो ।

पूर्वप्रधानमन्त्री खानको तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले खान भ्रष्टाचारका विभिन्न मुद्दामा कारागारमा रहनुभएको र फेब्रुअरी ८ मा हुने निर्वाचनमा उम्मेदवारी दिन कारागारबाट बाहिर निस्कने सम्भावना अत्यन्त कम रहेको बताएको छ । “निकट भविष्यमा उहाँले राहत पाउने सम्भावना अत्यन्त कमजोर देखिन्छ”, पार्टीका वकिल खालिद युसुफ चौधरीले भन्नुभयो ।

पाकिस्तानमा राजनीतिज्ञहरूको भाग्य ऐतिहासिकरूपमा सैन्य प्रतिष्ठानसँग उनीहरूको सम्बन्धमा निर्भर गर्दछ । पाकिस्तानी सेनाले धेरै अवसरमा मुलुकमा प्रत्यक्ष शासन गरेको छ । अत्यन्त लोकप्रिय खान सेनाको समर्थनमा सन् २०१८ मा सत्तामा आउनुभयो तर संसदीय अविश्वास मतबाट अपदस्थ भएपछि उहाँले सैनिक जनरलहरूले वासिङ्टनसँग मिलेर उहाँको कार्यकाल समाप्त गर्ने षड्यन्त्र रचेको दाबी गर्नुभएको छ ।

उहाँले सार्वजनिकरूपमा कूटनीतिक दस्तावेजहरूलाई आफ्नो दाबीका लागि आवश्यक प्रमाणका रूपमा प्रचार गर्नुभयो । उहाँका वकिलहरूका अनुसार गोप्य सूचना चुहाएको अभियोगमा उहाँलाई १४ वर्षसम्मको कारागार सजाय वा मृत्युदण्ड पनि हुनसक्छ ।

‘प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व रामनारायण मिश्र उच्च कोटीका नेता’:महामन्त्री शर्मा

जनकपुरधाम, ६ पुस : ‘बरु म आफ्नो टाउको कटाउन तयार छु तर स्वाभिमान सुम्पिन तयार छैन । म मर्न तयार छु तर आत्मसमर्पण गर्दिन’ भनेर नेपाली कांग्रेस नेता स्व रामनारायण मिश्रले पञ्चायतविरुद्धको आन्दोलनपछि जेलमा हुँदा लिएको अडानबारे धेरै नेताहरूले उद्धृत गर्दै आएका छन् ।

जनकपुरधाममा आयोजित नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मलेन उद्घाटनसत्रका वक्ता कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि त्यस्तै भन्नुभएको थियो, “तत्कालीन शासकलाई शिर कटाउन तयार छु तर स्वाभिमान सुम्पिन्न भन्नुहुने हाम्रो नेता स्व रामनारायण मिश्रजस्ता तमाम क्रान्तिकारी योद्धाहरूको भूमि हो मधेस ।”तिनै स्वभिमानी व्यक्तित्व प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता रामनारायण मिश्रको ५६औँं पुण्यतिथि हो आज । त्यसै अवसरमा आज जनकपुरधाममा आयोजित श्रद्धाञ्जलि एवं प्रार्थनासभापछि कांग्रेस नेता विमलेन्द्र निधिले पनि स्व नेता मिश्रलाई नेपाली प्रजातान्त्रिक आन्दोलनको एक उच्च कोटीको नेताको सङ्ज्ञा दिनुभयो ।रासससँग निधिले भन्नुभयो, “स्व मिश्र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको समकालीन व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले त कोइरालाकै मन्त्रिमण्डलमा उहाँ पनि उद्योग वाणिज्यमन्त्री बन्नुभयो । पञ्चायतविरोधी आन्दोलनमा जेल पर्नुभयो तर विभिन्न आश्वासनका बाबजुद पनि प्रजातन्त्रप्रतिको निष्ठालाई दाउमा लाउनुभएन । तिनै नेतालाई हामीले स्मरण गरिरहेका छौँ ।”जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुखसमेत रहनुभएका रामनारायण मिश्र स्मारक समिति संयोजक किशोरी साहले पनि स्व मिश्रकै नेतृत्वमा तत्कालीन नेताहरू महेन्द्रनारायण निधि, सरोज कोइरालालगायतले राणाविरोधी आन्दोेलन, प्रजातन्त्र बहाली र पार्टी बहुदलका पक्षमा काम गर्नुभएको स्मरण गर्नुभयो ।“जहानियाँ शासनविरुद्ध सुरुदेखि नै क्रियाशील स्व मिश्र विसं २००४ देखि लोकसेवक सङ्घको माध्यमबाट विभिन्न सामाजिक तथा जनचेतनामूलक क्रियाकलापमा संलग्न हुनुहुन्थ्यो । उहाँ विसं २००७ मा कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा समेत सहभागी हुनुभयो । विसं २०१५ को संसदीय आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा महोत्तरीबाट निर्वाचित उहाँ बिपी कोइरालाको नेतृत्वमा विसं २०१६ जेठ १३ गते गठित मन्त्रिमण्डलको उद्योग वाणिज्यमन्त्रीसमेत हुनुभयो”, साहले भन्नुभयो ।उद्योग वाणिज्यमन्त्री रहेकै बेला स्व मिश्रको योगदानका कारण मधेस प्रदेशमा उद्योग कलकारखानको जग निर्माण भएको र त्यसमध्ये जनकपुरमा चुरोट कारखाना तथा वीरगञ्जमा चिनी मिल स्थापना गर्न सम्भव भएको भन्ने गरिएको छ ।क्यान्सर रोगका कारण विसं २०२४ पुस ६ मा निधन हुनुभएका उहाँको सम्झनामा समाधिस्थल गङ्गासागर तटमा स्मारक समितिले हरेक वर्ष श्रद्धाञ्जलि तथा प्रार्थनासभा आयोजना गर्दै आएको छ । सभामा स्व नेता मिश्रप्रति श्रद्धाअर्पण गर्न कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि, नेता आनन्द ढुङ्गाना, रामहरि खतिवडा, मधेस प्रदेशका प्रदेश प्रमुख एवं स्व मिश्रका छोरा हरिशङ्कर मिश्रलगायत सहभागी हुनुभएको थियो ।

‘दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली बिडम्बनापूर्ण’- एमाले उपहासचिव ज्ञवाली

बेनी (म्याग्दी) ६ पुस : नेकपा एमालेका उपहासचिव प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्बनापूर्ण रहेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा आज आयोजित हिरावहादुर बानियाँ स्मृति अक्षयकोष स्थापना तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले निजी विद्यालयको योगदानको अवमूल्याङ्कन गर्न नमिल्ने भए पनि अहिलेको शिक्षा प्रणालीले दुईथरि नागरिक उत्पादन गरेको बताउनुभयो ।

“एकथरि बालबालिका भविष्यका डाक्टर, इञ्जिनीयर, वकिल बन्ने छन्, अर्काथरि विद्यार्थी खल्तीमा प्रमाणपत्र बोकेर मुलुकमा रोजगार नपाउने र खाडीमुलुक जानुपर्ने बिडम्बना छ, यो खालको अवस्थाबाट शिक्षा सुधार हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

नेपालको नयाँ संविधानमा शिक्षालाई बालबालिकाको मौलिक अधिकारको रुपमा स्थापित गरे पनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । संविधानमा आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य तथा मावि तहको शिक्षालाई निःशुल्क प्रदान गर्ने घोषणा भए पनि विविध कारणले अझै पनि कतिपय बालबालिका शिक्षाको अवसरबाट वञ्चित रहेको उहाँले बताउनुभयो ।

“संवैधानिक रुपमा रहेको व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने हो, तर कतिपय बालबालिका अझै विद्यालयको दायरा बाहिर छन्, गरिबी, पारिवारिक संरक्षणको अभावलगायत कारण बिचैमा विद्यालय छाड्ने चुनौती पनि छन्, यसतर्फ राज्य गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय बालबालिका भर्ना दर ९९ प्रतिशत पुग्नु सकारात्मक रहेको बताउँदै उहाँले घर परिवार, समाज र सरकारले योग्य, दक्ष तथा स्वस्थ नागरिक उत्पादन गर्नका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न आवश्यक रहेकामा जोड दिनुभयो । अध्ययनका लागि विदेशी मुलुकमा जाने लहरले विश्वविद्यालय, कलेज र विद्यालय रित्तिने जोखिम बढेको उल्लेख गर्दै नेता ज्ञवालीले विद्यार्थीले शिक्षा लिँदा देशमै योगदान गर्छु भन्ने अठोट लिनुपर्ने बताउनुभयो ।

गतवर्ष मात्रै रु एक लाख २५ हजार बढी विद्यार्थीले विदेश अध्ययनका लागि विदेशी शैक्षिक संस्थाबाट अनुमतिपत्र लिएको र विदेश जाने विद्यार्थीबाट रु ६७ अर्ब विदेशी मुद्रा बाहिरिएको उल्लेख गर्दै नेता ज्ञवालीले विद्यार्थी र युवालाई स्वदेशमै राख्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

शिक्षाको गुणस्तर भौतिक पूर्वाधार र सुविधाले मात्रै सम्भव नहुने बताउँदै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सरकार सबैको साझा प्रयत्नले मात्रै शिक्षामा सुधार सम्भव रहेको बताउनुभयो । कार्यक्रममा दिवङ्गत हिराबहादुर बानियाँको स्मृतिमा उहाँको घरपरिवारले रु पाँच लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ भने एक सय १४ विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री तथा खेलकुदका सामग्री वितरण गरिएको थियो ।

सम्पत्ति हस्तान्तरणमा समस्या झेल्दै बेपत्ता परिवार

नेपालगञ्ज, ६ पुस : सशस्त्र सङ्घर्षका समयमा बेपत्ता भएका व्यक्तिको अवस्था यकिन नहुँदा परिवारका सदस्यको दैनिकी जटिल बन्दै गएको छ । परिवारका सदस्य अवस्थाबारे कानुनी एवं व्यवहारिक तवरले यकिन गर्न कठिनाइ भएकाले परिवारका अन्य सदस्यले सम्पत्ति हस्तान्तरण एवं बेचबिखन गर्न नपाएका हुन् । बाँके र बर्दियाका बेपत्ता परिवारले आफ्ना, आफन्तको अवस्था यकिन नहुँदा जीविकोपार्जन गर्न कठिनाइ भएको र जग्गाको स्वामित्व, सम्पत्ति हस्तान्तरण, अंशवण्डा र आर्थिक कारोबार गर्न अप्ठ्यारो भएको बताएका छन् ।

खासगरी सशस्त्र सङ्घर्षका समयमा बेपत्ता भएका परिवारमा जग्गाको स्वामित्वलगायत कारोबार गर्न अनेकन समस्या र चुनौती ब्यहोर्नुपरेकाले गैरकानुनी बाटोतर्फ लाग्नुपरेको बताइएको छ । बेपत्ता भएका आफ्ना, आफन्तलाई ‘मृत्यु’ भएको भनी कागजात बनाउन आफूहरू बाध्य हुनुपरेको बेपत्ता परिवारको भनाइ छ ।

नेपालगञ्जकी द्वन्द्वपीडित तथा बेपत्ता परिवार समाजकी सदस्य चन्द्रकला उप्रेतीले सम्पत्ति हस्तान्तरणलगायत झन्झटबाट पन्छिनका लागि नै अदालतबाट मृत्यु घोषणा गराएर बेपत्ता परिवारले सुविधा लिन बाध्य भएको उल्लेख गर्नुभयो । कयौँ वर्ष पीडामा बितेको उल्लेख गर्दै उहाँले अहिले द्वन्द्वपीडितको आर्थिक अवस्था कमजोर भएका कारण पनि गलत बाटो प्रयोग गरेर त्यस्तो सुविधा लिन बाध्य भएको बताउनुभयो ।

“केही बेपत्ता परिवारका साथीले औषधि खानकै लागि पनि त्यस्तो कदम चाल्नुपरेको छ”, उप्रेतीले भन्नुभयो । बाँकेको डुडुवा गाउँपालिकामा एउटा बेपत्ता परिवारले त्यसरी नै सुविधा लिन बाध्य भएका छन् । बेपत्ता परिवार अहिले पनि डिप्रेसनलगायत समस्याबाट पीडित भएको बताउँदै द्वन्द्वपीडित उप्रेतीले हामीले त अझै पनि ‘कि लाश देउ कि सास देउ’ भनिरहेका छौँ भन्नुभयो । उहाँले मुलुकको परिवर्तनका लागि आफ्ना परिवारले योगदान गरेको उल्लेख गर्दै द्वन्द्वपीडितलाई सरकारले प्रदान गर्ने कुनै पनि सेवा र सुविधाबाट बञ्चित गर्न नहुने बताउनुभयो ।

द्वन्द्वपीडितलाई संरक्षण गर्ने दायित्व राज्यको भएको जिकिर गर्दै उप्रेती अन्य महिलाले पाउने सामाजिक सुरक्षा भत्ता द्वन्द्वपीडित महिलाले पनि पाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही बेपत्ता परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक छ ।” बाँकेबाट बेपत्ता भएका ६२ जनाको अझै अत्तोपत्तो छैन ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ५ की सङ्गीता थारूले घरमा सम्पत्ति हस्तान्तरणलगायतको समस्याले आफूले मृत्यु दर्ता गरेको जानकारी दिनुभयो । “घरमा असाध्यै दुःख थियो, काजकिरिया गरेँ र मृत्यु दर्ता गरेको छु”, उहाँले भन्नुभयो ।

बर्दियाको बढैयाताल–८ मयुरबस्तीका द्वन्द्वपीडित मनबहादुर चौधरीले घरमा रहेको सम्पत्ति भोगचलन गर्न र चलअचल सम्पत्तिलाई उपयोग गर्न श्रीमान् बेपत्ता भएका श्रीमतीहरूले मृत्यु दर्ता गर्न थालेको उल्लेख गर्दै नेपालको कानुनले नै मृत्यु दर्तालाई बाध्यकारी बनाएको बताउनुभयो । उहाँले यस्तो बाध्यकारी अवस्थाले बेपत्ता परिवार सत्य थाहा पाउने पीडितको अधिकारबाट बञ्चित हुनसक्नेमा जोड दिँदै बेपत्ता परिवारको सूचीबाट बेपत्ता भएको परिवारको नाम हट्न सक्ने उल्लेख गर्नुभयो । “परिवारमा अझै पनि आशा छ, पीडित दैनिक तनाबमा छन्, यसमा पनि सबैभन्दा पीडित बेपत्ता भएका श्रीमान्का श्रीमती पीडित छन्”, उहाँले भन्नुभयो ।

बेपत्ता भएका परिवार सामाजिकरूपमा पनि अवहेलनाको सिकार भएको भन्दै चौधरीले राम्रो र रातो लुगा लगाउँदा पनि उहाँहरूलाई आक्षेप आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ता परिवारले चालेको उक्त कदमले बेपत्ता परिवारको परिपूरण र क्षतिपूर्ति प्रभावित हुने अवस्था आउन सक्छ ।”

चौधरीले स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्न पनि बेपत्ता परिवारलाई कठिनाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि वास्तविक पीडित पत्ता लाग्न सकेको छैन र यसमा स्थानीय सरकार अझ बढी जिम्मेवार हुन आवश्यक छ ।” अहिलेसम्म बर्दियामा ३० जना बेपत्ता परिवारले मृत्यु दर्ता गरेको बताइएको छ । यहाँ

द्वन्द्वपीडित बर्दियाका संयोजकसमेत रहनुभएका चौधरीले जिल्लामा बेपत्ता पारिएका परिवारले कुशको शव बनाएर अन्तिम संस्कारको अभ्यास सुरु गरेको जानकारी दिँदै अहिलेसम्म १२ परिवारले अन्तिम संस्कार गरेको बताउनुभयो । परिवार, समाज र आफन्तको दबाबका कारण अन्तिम संस्कार गर्न बाध्यकारी अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले पहिलेको तुलनामा सुविधा लिनका लागि संस्कार गर्ने बढ्दै जान थालेको बताउनुभयो ।

“धेरैजसो थारू समुदायका हुनुहुन्छ धार्मिक संस्कार र रीतिरिवाजअनुसार हामी पनि सहभागी भएर अन्तिम संस्कार गर्छौँ”, उहाँ भन्नुहुन्छ । चौधरीले विसं २०५९ कात्तिक १९ गते आफ्ना दाजु गुमाउनुभएको थियो । जिल्लामा द्वन्द्वकालमा दुई सय ५० जना बेपत्ता भएकाको परिवार छ । द्वन्द्वकालमा तीन सय २८ जनाको जिल्लामा मृत्यु भएको बताइएको छ । द्वन्द्वकालमा नेपालमा सबैभन्दा बढी बेपत्ता पारिएका जिल्लामा बर्दिया पर्छ ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष भागिराम चौधरीले द्वन्द्वकालमा बेपत्ता भएका परिवारले सामाजिक सुरक्षाका लागि बाध्यतामा परेर मृत्यु दर्ता गरेको उल्लेख गर्दै परिवारमा आर्थिक सुरक्षाका लागि त्यस्तो कदम चालेको बताउनुभयो । उहाँले एकल महिलाले भत्ता पाउने तर बेपत्ता परिवारका श्रीमतीले नपाउने अवस्थाले गर्दा पनि अदालतमा धाएर मृत्यु घोषणा गराएर सुविधा लिन बाध्य पारिएको जानकारी दिनुभयो ।

गम्भीर मानवअधिकार उल्लङ्घन पीडितहरूको राष्ट्रिय सञ्जालका महासचिवसमेत रहनुभएका चौधरीले भन्नुभयो, “आधारभूत आवश्यकता र सामाजिक अवस्थाका कारण मृत्यु दर्ता गराउन बेपत्ता परिवार बाध्य भएका छन् ।” उहाँले राज्यबाट सुविधा लिनका लागि बेपत्ता परिवारका केही दिदीबहिनी अझै प्रक्रियामा रहेको जानकारी दिँदै अदालत गएर मृत्यु घोषणाको मुद्दा लड्नुपर्ने बाध्यता चिन्ताजनक भएको टीप्पणी गर्नुभयो । “बेपत्ता परिवारको मृत्यु घोषणाका लागि अदालतमा मुद्दा लड्ने विषय सामान्य कुरा होइन”, उहाँले भन्नुभयो ।

अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् ।

मोरङ व्यापार सङ्घद्वारा शुक्रबार विराटनगरमा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३)को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार अगाडि बढिरहेको बताए । उनले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन सरकार निरन्तर क्रियाशील रहेको बताए ।

उनले भने, ‘जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा रहेको तर एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ । त्यस्तै महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश दुई वर्षयताकै प्रगति भएको छ ।’

वार्षिक औसत महँगीदर सात दशमलव ११ प्रतिशत रहेकामा अघिल्लो महिना त्यसमा कमी आई पाँच दशमलव ३८ प्रतिशतमा झरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “निर्माण व्यवसायीहरूले भुक्तानी पाएसँगै अर्थतन्त्र चलायमान हुनेछ भने अर्कातर्फ नयाँ आयोजनाको निर्माण प्रक्रियाले गति लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैँमा महत्त्वपूर्ण पहल हो ।”

निजी क्षेत्रको प्रतिनिधि संस्था मोरङ व्यापार सङ्घले विगतका वर्षहरूमा समेत राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवर्द्धन एवं अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु प्रवद्र्धन एवं स्वदेशी उत्पादनमा बढवा दिनुपर्ने बताए ।

उनले प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यको प्रचार–प्रसारलगायत कैयौँ प्रवर्द्धनात्मक कार्यहरूका निम्ति यस्ता मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्बभन्दा बढी रेमिटेन्स भित्रिएको र पछिल्लो चार महिनामा चार खर्ब ७७ अर्ब रेमिटेन्स भित्रिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले रेमिटेन्समा निर्भर हुनु अर्थतन्त्रको दीर्घकालीन समाधान नभएको तर यसले तत्कालको सङ्कट निवारणका दृष्टिले महत्त्वपूर्ण योगदान दिने बताए ।

चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब पुग्नुले पनि अर्थतन्त्र सुधारउन्मुख रहेको सूचित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय बैंकको ब्याजदर घटाइएको र बैंकको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको बताए ।

कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएकोे तथ्याङ्क उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कात्तिकमा कर्जाको औसत ब्याजदर ११ दशमलव ९६ प्रतिशत रहेको र राष्ट्र बैंकले गत शुक्रबार मात्रै सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर पनि कम गरिएको बताए ।

राष्ट्र बैंकले स्थायी तरलता सुविधाको दर सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको जानकारी दिँदै उनले यो सुधारले अर्थतन्त्रमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले उद्योग र राजनीतिक महत्त्व राख्ने विराटनगरको विकासमा राज्यको ध्यान कम गएको बताउँदै विराटनगरको विकासका लागि चक्रपथ निर्माण हुनुपर्ने धारणा राखे ।

उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने र विराटनगरसम्म आउने कार्गो रेल नियमित सञ्चालन हुनुपर्ने कुरामा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यको केन्द्रबिन्दु बन्दै गएको विराटनगरलाई पर्यटकसँग जोडिएर योजनाबद्ध विकास गर्नुपर्ने बताए ।

मोरङ व्यापार सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्दीय सदस्य नवीन रिजालले स्वदेशी व्यापारलाई बढावा दिन ३४ प्रकारको वस्तुमा कर छुट हुनुपर्ने, चोरीपैठारी बन्द हुनुपर्ने, विराटनगरको चक्रपथ निर्माण हुनुपर्ने र औद्योगिक प्रदर्शनीस्थल बन्नुपर्ने माग गरे ।

कार्यक्रममा युवा व्यपारी महेश जाजुलाई सम्मान गरिएको थियो । विराटनगर महानगरपालिका वडा नं २ स्थित शङ्करपुरमा अवस्थित मेलामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका दुई सय ४० वटा व्यापारिक कक्ष रहेका छन् । मेला पुस १६ गतेसम्म रहने सङ्घका उपाध्यक्ष अनिल साहले जानकारी दिए ।