`

‘दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली बिडम्बनापूर्ण’- एमाले उपहासचिव ज्ञवाली

बेनी (म्याग्दी) ६ पुस : नेकपा एमालेका उपहासचिव प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्बनापूर्ण रहेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा आज आयोजित हिरावहादुर बानियाँ स्मृति अक्षयकोष स्थापना तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले निजी विद्यालयको योगदानको अवमूल्याङ्कन गर्न नमिल्ने भए पनि अहिलेको शिक्षा प्रणालीले दुईथरि नागरिक उत्पादन गरेको बताउनुभयो ।

“एकथरि बालबालिका भविष्यका डाक्टर, इञ्जिनीयर, वकिल बन्ने छन्, अर्काथरि विद्यार्थी खल्तीमा प्रमाणपत्र बोकेर मुलुकमा रोजगार नपाउने र खाडीमुलुक जानुपर्ने बिडम्बना छ, यो खालको अवस्थाबाट शिक्षा सुधार हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

नेपालको नयाँ संविधानमा शिक्षालाई बालबालिकाको मौलिक अधिकारको रुपमा स्थापित गरे पनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । संविधानमा आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य तथा मावि तहको शिक्षालाई निःशुल्क प्रदान गर्ने घोषणा भए पनि विविध कारणले अझै पनि कतिपय बालबालिका शिक्षाको अवसरबाट वञ्चित रहेको उहाँले बताउनुभयो ।

“संवैधानिक रुपमा रहेको व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने हो, तर कतिपय बालबालिका अझै विद्यालयको दायरा बाहिर छन्, गरिबी, पारिवारिक संरक्षणको अभावलगायत कारण बिचैमा विद्यालय छाड्ने चुनौती पनि छन्, यसतर्फ राज्य गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय बालबालिका भर्ना दर ९९ प्रतिशत पुग्नु सकारात्मक रहेको बताउँदै उहाँले घर परिवार, समाज र सरकारले योग्य, दक्ष तथा स्वस्थ नागरिक उत्पादन गर्नका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न आवश्यक रहेकामा जोड दिनुभयो । अध्ययनका लागि विदेशी मुलुकमा जाने लहरले विश्वविद्यालय, कलेज र विद्यालय रित्तिने जोखिम बढेको उल्लेख गर्दै नेता ज्ञवालीले विद्यार्थीले शिक्षा लिँदा देशमै योगदान गर्छु भन्ने अठोट लिनुपर्ने बताउनुभयो ।

गतवर्ष मात्रै रु एक लाख २५ हजार बढी विद्यार्थीले विदेश अध्ययनका लागि विदेशी शैक्षिक संस्थाबाट अनुमतिपत्र लिएको र विदेश जाने विद्यार्थीबाट रु ६७ अर्ब विदेशी मुद्रा बाहिरिएको उल्लेख गर्दै नेता ज्ञवालीले विद्यार्थी र युवालाई स्वदेशमै राख्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

शिक्षाको गुणस्तर भौतिक पूर्वाधार र सुविधाले मात्रै सम्भव नहुने बताउँदै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सरकार सबैको साझा प्रयत्नले मात्रै शिक्षामा सुधार सम्भव रहेको बताउनुभयो । कार्यक्रममा दिवङ्गत हिराबहादुर बानियाँको स्मृतिमा उहाँको घरपरिवारले रु पाँच लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ भने एक सय १४ विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री तथा खेलकुदका सामग्री वितरण गरिएको थियो ।

सम्पत्ति हस्तान्तरणमा समस्या झेल्दै बेपत्ता परिवार

नेपालगञ्ज, ६ पुस : सशस्त्र सङ्घर्षका समयमा बेपत्ता भएका व्यक्तिको अवस्था यकिन नहुँदा परिवारका सदस्यको दैनिकी जटिल बन्दै गएको छ । परिवारका सदस्य अवस्थाबारे कानुनी एवं व्यवहारिक तवरले यकिन गर्न कठिनाइ भएकाले परिवारका अन्य सदस्यले सम्पत्ति हस्तान्तरण एवं बेचबिखन गर्न नपाएका हुन् । बाँके र बर्दियाका बेपत्ता परिवारले आफ्ना, आफन्तको अवस्था यकिन नहुँदा जीविकोपार्जन गर्न कठिनाइ भएको र जग्गाको स्वामित्व, सम्पत्ति हस्तान्तरण, अंशवण्डा र आर्थिक कारोबार गर्न अप्ठ्यारो भएको बताएका छन् ।

खासगरी सशस्त्र सङ्घर्षका समयमा बेपत्ता भएका परिवारमा जग्गाको स्वामित्वलगायत कारोबार गर्न अनेकन समस्या र चुनौती ब्यहोर्नुपरेकाले गैरकानुनी बाटोतर्फ लाग्नुपरेको बताइएको छ । बेपत्ता भएका आफ्ना, आफन्तलाई ‘मृत्यु’ भएको भनी कागजात बनाउन आफूहरू बाध्य हुनुपरेको बेपत्ता परिवारको भनाइ छ ।

नेपालगञ्जकी द्वन्द्वपीडित तथा बेपत्ता परिवार समाजकी सदस्य चन्द्रकला उप्रेतीले सम्पत्ति हस्तान्तरणलगायत झन्झटबाट पन्छिनका लागि नै अदालतबाट मृत्यु घोषणा गराएर बेपत्ता परिवारले सुविधा लिन बाध्य भएको उल्लेख गर्नुभयो । कयौँ वर्ष पीडामा बितेको उल्लेख गर्दै उहाँले अहिले द्वन्द्वपीडितको आर्थिक अवस्था कमजोर भएका कारण पनि गलत बाटो प्रयोग गरेर त्यस्तो सुविधा लिन बाध्य भएको बताउनुभयो ।

“केही बेपत्ता परिवारका साथीले औषधि खानकै लागि पनि त्यस्तो कदम चाल्नुपरेको छ”, उप्रेतीले भन्नुभयो । बाँकेको डुडुवा गाउँपालिकामा एउटा बेपत्ता परिवारले त्यसरी नै सुविधा लिन बाध्य भएका छन् । बेपत्ता परिवार अहिले पनि डिप्रेसनलगायत समस्याबाट पीडित भएको बताउँदै द्वन्द्वपीडित उप्रेतीले हामीले त अझै पनि ‘कि लाश देउ कि सास देउ’ भनिरहेका छौँ भन्नुभयो । उहाँले मुलुकको परिवर्तनका लागि आफ्ना परिवारले योगदान गरेको उल्लेख गर्दै द्वन्द्वपीडितलाई सरकारले प्रदान गर्ने कुनै पनि सेवा र सुविधाबाट बञ्चित गर्न नहुने बताउनुभयो ।

द्वन्द्वपीडितलाई संरक्षण गर्ने दायित्व राज्यको भएको जिकिर गर्दै उप्रेती अन्य महिलाले पाउने सामाजिक सुरक्षा भत्ता द्वन्द्वपीडित महिलाले पनि पाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही बेपत्ता परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक छ ।” बाँकेबाट बेपत्ता भएका ६२ जनाको अझै अत्तोपत्तो छैन ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ५ की सङ्गीता थारूले घरमा सम्पत्ति हस्तान्तरणलगायतको समस्याले आफूले मृत्यु दर्ता गरेको जानकारी दिनुभयो । “घरमा असाध्यै दुःख थियो, काजकिरिया गरेँ र मृत्यु दर्ता गरेको छु”, उहाँले भन्नुभयो ।

बर्दियाको बढैयाताल–८ मयुरबस्तीका द्वन्द्वपीडित मनबहादुर चौधरीले घरमा रहेको सम्पत्ति भोगचलन गर्न र चलअचल सम्पत्तिलाई उपयोग गर्न श्रीमान् बेपत्ता भएका श्रीमतीहरूले मृत्यु दर्ता गर्न थालेको उल्लेख गर्दै नेपालको कानुनले नै मृत्यु दर्तालाई बाध्यकारी बनाएको बताउनुभयो । उहाँले यस्तो बाध्यकारी अवस्थाले बेपत्ता परिवार सत्य थाहा पाउने पीडितको अधिकारबाट बञ्चित हुनसक्नेमा जोड दिँदै बेपत्ता परिवारको सूचीबाट बेपत्ता भएको परिवारको नाम हट्न सक्ने उल्लेख गर्नुभयो । “परिवारमा अझै पनि आशा छ, पीडित दैनिक तनाबमा छन्, यसमा पनि सबैभन्दा पीडित बेपत्ता भएका श्रीमान्का श्रीमती पीडित छन्”, उहाँले भन्नुभयो ।

बेपत्ता भएका परिवार सामाजिकरूपमा पनि अवहेलनाको सिकार भएको भन्दै चौधरीले राम्रो र रातो लुगा लगाउँदा पनि उहाँहरूलाई आक्षेप आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ता परिवारले चालेको उक्त कदमले बेपत्ता परिवारको परिपूरण र क्षतिपूर्ति प्रभावित हुने अवस्था आउन सक्छ ।”

चौधरीले स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्न पनि बेपत्ता परिवारलाई कठिनाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि वास्तविक पीडित पत्ता लाग्न सकेको छैन र यसमा स्थानीय सरकार अझ बढी जिम्मेवार हुन आवश्यक छ ।” अहिलेसम्म बर्दियामा ३० जना बेपत्ता परिवारले मृत्यु दर्ता गरेको बताइएको छ । यहाँ

द्वन्द्वपीडित बर्दियाका संयोजकसमेत रहनुभएका चौधरीले जिल्लामा बेपत्ता पारिएका परिवारले कुशको शव बनाएर अन्तिम संस्कारको अभ्यास सुरु गरेको जानकारी दिँदै अहिलेसम्म १२ परिवारले अन्तिम संस्कार गरेको बताउनुभयो । परिवार, समाज र आफन्तको दबाबका कारण अन्तिम संस्कार गर्न बाध्यकारी अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले पहिलेको तुलनामा सुविधा लिनका लागि संस्कार गर्ने बढ्दै जान थालेको बताउनुभयो ।

“धेरैजसो थारू समुदायका हुनुहुन्छ धार्मिक संस्कार र रीतिरिवाजअनुसार हामी पनि सहभागी भएर अन्तिम संस्कार गर्छौँ”, उहाँ भन्नुहुन्छ । चौधरीले विसं २०५९ कात्तिक १९ गते आफ्ना दाजु गुमाउनुभएको थियो । जिल्लामा द्वन्द्वकालमा दुई सय ५० जना बेपत्ता भएकाको परिवार छ । द्वन्द्वकालमा तीन सय २८ जनाको जिल्लामा मृत्यु भएको बताइएको छ । द्वन्द्वकालमा नेपालमा सबैभन्दा बढी बेपत्ता पारिएका जिल्लामा बर्दिया पर्छ ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष भागिराम चौधरीले द्वन्द्वकालमा बेपत्ता भएका परिवारले सामाजिक सुरक्षाका लागि बाध्यतामा परेर मृत्यु दर्ता गरेको उल्लेख गर्दै परिवारमा आर्थिक सुरक्षाका लागि त्यस्तो कदम चालेको बताउनुभयो । उहाँले एकल महिलाले भत्ता पाउने तर बेपत्ता परिवारका श्रीमतीले नपाउने अवस्थाले गर्दा पनि अदालतमा धाएर मृत्यु घोषणा गराएर सुविधा लिन बाध्य पारिएको जानकारी दिनुभयो ।

गम्भीर मानवअधिकार उल्लङ्घन पीडितहरूको राष्ट्रिय सञ्जालका महासचिवसमेत रहनुभएका चौधरीले भन्नुभयो, “आधारभूत आवश्यकता र सामाजिक अवस्थाका कारण मृत्यु दर्ता गराउन बेपत्ता परिवार बाध्य भएका छन् ।” उहाँले राज्यबाट सुविधा लिनका लागि बेपत्ता परिवारका केही दिदीबहिनी अझै प्रक्रियामा रहेको जानकारी दिँदै अदालत गएर मृत्यु घोषणाको मुद्दा लड्नुपर्ने बाध्यता चिन्ताजनक भएको टीप्पणी गर्नुभयो । “बेपत्ता परिवारको मृत्यु घोषणाका लागि अदालतमा मुद्दा लड्ने विषय सामान्य कुरा होइन”, उहाँले भन्नुभयो ।

अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् ।

मोरङ व्यापार सङ्घद्वारा शुक्रबार विराटनगरमा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३)को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार अगाडि बढिरहेको बताए । उनले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन सरकार निरन्तर क्रियाशील रहेको बताए ।

उनले भने, ‘जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा रहेको तर एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ । त्यस्तै महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश दुई वर्षयताकै प्रगति भएको छ ।’

वार्षिक औसत महँगीदर सात दशमलव ११ प्रतिशत रहेकामा अघिल्लो महिना त्यसमा कमी आई पाँच दशमलव ३८ प्रतिशतमा झरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “निर्माण व्यवसायीहरूले भुक्तानी पाएसँगै अर्थतन्त्र चलायमान हुनेछ भने अर्कातर्फ नयाँ आयोजनाको निर्माण प्रक्रियाले गति लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैँमा महत्त्वपूर्ण पहल हो ।”

निजी क्षेत्रको प्रतिनिधि संस्था मोरङ व्यापार सङ्घले विगतका वर्षहरूमा समेत राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवर्द्धन एवं अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु प्रवद्र्धन एवं स्वदेशी उत्पादनमा बढवा दिनुपर्ने बताए ।

उनले प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यको प्रचार–प्रसारलगायत कैयौँ प्रवर्द्धनात्मक कार्यहरूका निम्ति यस्ता मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्बभन्दा बढी रेमिटेन्स भित्रिएको र पछिल्लो चार महिनामा चार खर्ब ७७ अर्ब रेमिटेन्स भित्रिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले रेमिटेन्समा निर्भर हुनु अर्थतन्त्रको दीर्घकालीन समाधान नभएको तर यसले तत्कालको सङ्कट निवारणका दृष्टिले महत्त्वपूर्ण योगदान दिने बताए ।

चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब पुग्नुले पनि अर्थतन्त्र सुधारउन्मुख रहेको सूचित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय बैंकको ब्याजदर घटाइएको र बैंकको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको बताए ।

कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएकोे तथ्याङ्क उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कात्तिकमा कर्जाको औसत ब्याजदर ११ दशमलव ९६ प्रतिशत रहेको र राष्ट्र बैंकले गत शुक्रबार मात्रै सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर पनि कम गरिएको बताए ।

राष्ट्र बैंकले स्थायी तरलता सुविधाको दर सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको जानकारी दिँदै उनले यो सुधारले अर्थतन्त्रमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले उद्योग र राजनीतिक महत्त्व राख्ने विराटनगरको विकासमा राज्यको ध्यान कम गएको बताउँदै विराटनगरको विकासका लागि चक्रपथ निर्माण हुनुपर्ने धारणा राखे ।

उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने र विराटनगरसम्म आउने कार्गो रेल नियमित सञ्चालन हुनुपर्ने कुरामा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यको केन्द्रबिन्दु बन्दै गएको विराटनगरलाई पर्यटकसँग जोडिएर योजनाबद्ध विकास गर्नुपर्ने बताए ।

मोरङ व्यापार सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्दीय सदस्य नवीन रिजालले स्वदेशी व्यापारलाई बढावा दिन ३४ प्रकारको वस्तुमा कर छुट हुनुपर्ने, चोरीपैठारी बन्द हुनुपर्ने, विराटनगरको चक्रपथ निर्माण हुनुपर्ने र औद्योगिक प्रदर्शनीस्थल बन्नुपर्ने माग गरे ।

कार्यक्रममा युवा व्यपारी महेश जाजुलाई सम्मान गरिएको थियो । विराटनगर महानगरपालिका वडा नं २ स्थित शङ्करपुरमा अवस्थित मेलामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका दुई सय ४० वटा व्यापारिक कक्ष रहेका छन् । मेला पुस १६ गतेसम्म रहने सङ्घका उपाध्यक्ष अनिल साहले जानकारी दिए ।

साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाइएको छ – मन्त्री शर्मा

काठमाडौँ, ६ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी रहेको बताउनुभएको छ । ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकार नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको उहाँले जानकारी दिनुभयो ।

‘लिभिङ विथ आइसिटी’ ले आज आयोजना गरेको ‘आइसिटी अवार्ड’ को आठौँ संस्करणलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता शर्माले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा सरकारले लिएको स्पष्ट गर्नुभयो ।

जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिस्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “हामीले अन्य उद्योगधन्दा खोल्यौँ भने आजको आजै विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ तर सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरेर हामीले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने विगत केही वर्षयताका अनुभवबाट पुष्टि भइसकेको छ । यसलाई अझै बढाउँदै सूचना प्रविधिलाई डिजिटल अर्थतन्त्र निर्माणको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्छ । अब यस क्षेत्रमा सामान्य सुधार होइन ‘डिपार्चर’ नै गर्नुपर्छ भन्ने मान्यता सरकार रहेको छ ।”

यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति, २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको मन्त्री शर्माले जानकारी दिनुभयो । सूचना प्रविधि, दूरसञ्चार, सामाजिक सञ्जालको व्यवस्थापनलगायत अन्य कानुन पनि जतिसक्दो चाँडो निर्माण गरेर आफूहरू सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा आमूल परिवर्तन गर्ने पक्षमा रहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

डिजिटल नेपाल फ्रेमवर्क २०७६ सालमा स्वीकृत भएर पनि यसले आशातित गति लिन नसकेकाले यसमा पुनरावलोकन गरेर अघि बढ्नपर्छ भनेर सोहीअनुसार पहल थालेको पनि उहाँले जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधारको क्षेत्रमा गम्भीरताका साथ काम अघि बढाएको जानकारी दिँदै मन्त्री शर्माले यसरी नै यसका अन्य पहलहरू कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारलाई पनि सम्बन्धित निकायले अघि बढाउन सके डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनले गति लिने छ विश्वास व्यक्त गर्नुभयो ।

सूचना प्रविधि क्षेत्रका ‘स्टार्टअप’ लाई प्रोत्साहन गर्न सरकारले आइसिटी एक्जिविसन र डिजिटल च्याम्पियनजस्ता कार्यक्रम राख्ने तयारी गरेको जानकारी दिँदै मन्त्री शर्माले देशैभरिका स्टार्टअपहरूको प्रतिस्पर्धा गराउने र उत्कृष्ट हुनेहरूलाई कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारजस्ता डिजिटल फ्रेमवर्कका विभिन्न पहलहरूमा नवप्रवर्तनका काम गर्न लगाउने गरी तयारी थालेको बताउनुभयो ।

युवालाई देशिभत्रै बस्न र रोजगारी दिन सहज हुनेगरी सातै प्रदेशमा ‘डिजिटल स्किल’ का कार्यक्रम पनि राख्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

एक वर्षभित्र भनेको जस्तो काम किन गर्न सकिएन भनेर प्रधानमन्त्रीलाई प्रश्न सोध्नुपर्छ – महामन्त्री थापा

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न सोध्ने बेला भएको बताएका छन् । नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई शुक्रबार कटारीमा सम्बोधन गर्दै उनले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताए ।

पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै महामन्त्री थापाले आगामी माघ १० गतेसम्म एकपटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरे ।

“माघ १० गतेसम्म केही उद्घाटन गर्दिन, शिलान्यास गर्दिन, केही बोल्दिन बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ”, महामन्त्री थापाले भने “हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ ।”

विसं २०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका जनता अहिलेसम्म निराश रहेको नेता थापाको भनाइ थियो । “त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ”, थापाले भने, “२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न, तर जनतालाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ ।” भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कांग्रेसको दायित्व रहेको उनले बताए ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेले कांग्रेसले देशलाई अप्ठ्यारो पर्दा भरोसा दिनुपर्ने बताए । गणतन्त्र, सङ्घीयता, समावेशिता, लोकतन्त्रमाथि कुदृष्टि राख्नेप्रति सचेत हुनुपर्ने उनले बताए । 

नेतृ डा. डिला सङ्ग्रौलाले तीन तहमा कांग्रेस सरकारमा रहेकाले कांग्रेसले जनताको अधिकार दिन सक्यो की सकेन भन्ने विषयमा छलफल गर्नुपर्ने बताए । 

विदेशबाट फर्किएपछि स्वदेशकै कमाइले रमाएका युवा, कमाउछन् महिनाको लाख भन्दा बढी

मध्यविन्दु (नवलपरासी), ६ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४ देउरालीका लक्ष्य आलेले विदेशबाट फर्किएपछि अहिले कृषि कर्मबाट राम्रो आम्दानी गर्न थाल्नुभएको छ । करिब आठ वर्ष विदेश बसेको अनुभव भएका आले विदेशबाट फर्किएपछि आफ्नो परिवारसँगै बसेर बाख्रापालन तथा अदुवाखेती गरिरनुभएको छ ।

मलेसिया चार वर्ष, कतार तीन वर्ष नौ महिना बसेर फर्कनुभएका आले आफ्नो बुबाले सुरु गरेको ‘हु¥यान बाख्रा फार्म’मा तीन वर्षदेखि काम गर्दैछु । “विदेश नजाने निधो गरी बुबाले सुरु गरेको फार्ममा पूरै समय दिएर लागेको छु”, उहाँले भन्नुभयो, “विदेशको महिनाको लाखभन्दा यहाँको ५० हजारले सन्तुष्टि दिएको छ ।”

अहिले फार्ममा ७० भन्दा धेरै बाख्रा छन् । बाख्रासँगै अदुवा, अम्रिसोको व्यावसायिक खेती पनि गरेको उहाँले बताउनुभयो । परिवारसँगै बसेर बाख्रा पालन, अदुवाखेती र अम्रिसोबाट भएको आम्दानीले खुसी मिलेको आलेको अनुभव छ । “करिब आठ वर्ष विदेशमा धेरै हन्डर खाएँ, वर्षको दुई लाख कमाउन पनि मुस्किल थियो, अहिले परिवारसँगै बसेर तीनदेखि साढे तीन लाखसम्म वर्षमा आम्दानी भएको छ”, उहाँले भन्नुभयो ।

लक्ष्य आलेजस्तै पाँच वर्ष विदेश बसेर आउनुभएका बुलिङटार–४ कै दलबहादुर आले पनि अहिले गाउँमै कृषि कर्ममै रमाउनुभएको छ । वैदेशिक रोजगारी छोडेर गाउँकै माटोमा काम गरेर परिवार चलाउन कस्सिनुभएका दलबहादुरलाई बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले विदेश बिर्साइदियो ।

बिहान सबेरै उठेर घरबाट लगभग ३५ मिनेटको पैदल दूरीमा हु¥यान डाँडामा रहेको आफ्नै बाख्रा फार्ममा श्रीमतीसहित पुग्ने दलबहादुर आलेको दैनिकी यतिबेला कृषिकर्मले भरिएको छ । युएइमा वार्षिक तीन लाख बढी कमाउने दलबहादुरले गाउँ फर्किएर बाख्रापालन, आफ्नै सात रोपनी जमिनमा अदुवाखेती, पाखामा अम्रिसो र केही बोट सुन्तला हुर्काउनुभएको छ ।

“बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले आम्दानी दिन सुरु गरेपछि विदेश नै बिर्सिएको छु”, उहाँले भन्नुभयो, “परिवारसँगै साँझ बिहान घरको खाना खाएर गरेको कृषि कर्मबाट आएको आम्दानीले मलाई आत्मसन्तुष्टि मिलेको छ ।”

बाख्रा फार्ममा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट प्राविधिक सहयोग पाउने गरेको उहाँले बताउनुभयो । “फार्ममा आफ्नो काम आफैँ गर्छु, विदेश बस्दा तीन लाख कमाउँथे, यहाँ त्योभन्दा बढी कमाउँछु, परिवारसँगै बस्दा आत्मसन्तुष्टि धेरै छ”, उहाँले भन्नुभयो ।

देउराली बाख्रा फार्म दर्ता गरेर उहाँले सुरु गरेको व्यावसायिक बाख्रापालनबाट अहिले खोरमा ७० वटा बाख्रा पुगेका छन् । बाख्राबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हँुदै आएको र फार्मलाई अझै बिस्तार गर्ने दलबहादुरको योजना रहेको छ । “यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले एक लाखको हाराहारीमा आम्दानी हुने अनुमान गरेको छु”, उहाँले भन्नुभयो, “सुन्तला र अम्रिसो चाहिँ अलि कम उत्पादन हुन्छ, यो दुवैबाट वर्षको रु ५० हजार आउँछ ।”

लक्ष्य र दलबहादुर जस्तै बुलिङटार गाउँपालिका–४ देउरालीका प्रायः सबै परिवारले अदुवा र अम्रिसोको खेती गरेका छन् । यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले हरेक परिवारले औसतमा ७० देखि ८० हजारसम्म अदुवाबाट आम्दानी गरेको बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेले बताउनुभयो । “यातायातको सुविधा भएकाले बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाका लागि व्यापारी गाउँमै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “देउरालीका प्रायः प्रत्येक घरबाट एक जना वैदेशिक रोजगारमा गएको भए पनि लक्ष्य र दलबहादुरको कृषिकर्म अरू युवाका लागि उदाहरण बनेको छ ।”

महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटियो

म्याग्दी, ६ पुस : नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ ।

प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको पाँच महिनामा रु १८ लाख १२ हजार चार सय ५० बक्यौता असुल गरिएको जानकारी दिनुभयो ।

एक सय ७७ ग्राहकबाट रु २२ लाख दुई हजार एक सय ९६ महसुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि रु एक लाख ४९ हजार चार सय ४९ जडान शुल्क उठेको छ । केन्द्रअन्तर्गतका ग्राहकबाट रु ८१ लाख ८७ हजार नौ सय २९ बक्यौता असुल गर्न बाँकी छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो ।

यसैगरी बिजुली चोरी गरेका चार ग्राहकबाट रु एक लाख ३५ हजार एक सय ५६ रकम असुल भएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २२ हजार एक सय ३० ग्राहक छन् ।

विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्धरूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ ।

२४ घन्टामा केरलामा कोरोनाबाट एकको मृत्यु, २६५ मा नयाँ संक्रमित थपिए

केरलामा पछिल्लो २४ घन्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको र दुई सय ६५ जनामा नयाँ सङ्क्रमण देखिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ । भारतमा कोभिड–१९ का कूल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय ९७ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भारतमा पाँच सय ९४ ताजा कोभिड–१९ सङ्क्रमित रहेका थिए । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या बिहीबार दुई हजार तीन सय ११ बाट बढेर दुई हजार छ सय ६९ पुगेको थियो ।यसैबीच कोरोना भाइरसको नयाँ भेरिएन्ट देखा पर्न थालेसँगै बढ्दो चिन्ताका बीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का पूर्व प्रमुख वैज्ञानिक डा सौम्या स्वामीनाथनले यो चासोको नभई चिन्ताको विषय भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले सावधानी अपनाएर सचेत भने रहनुपर्ने बताउनुभयो ।“हामीले सावधानी अपनाउन आवश्यक छ, तर यो भेरिएन्ट जेएन.१ गम्भीर छ वा मृत्युको कारक बन्न सक्छ भन्नेबारेमा सुझाव दिनका लागि कुनै तथ्याङ्क नभएकाले चिन्ता गर्न आवश्यक छैन”, उहाँले भन्नुभयो, “हामीले यसअघिको जस्तै सामान्य रोकथामका उपाय अपनाउने प्रयास गर्नुपर्छ भन्ने मलाई लागेको छ, हामी ओमिक्रोनसँग परिचित थियौँ, यो एउटै परिवारको भेरिएन्ट हो, त्यसैले धेरै परिवर्तन भएको छैन तर केही नयाँ परिवर्तन आएको छ । यसमाथि डब्लुएचओले ध्यान दिन आवश्यक छ ।”डब्लुएचओले हालै जेएन.१ लाई चासोको एक प्रकारका रूपमा वर्गीकरण गरेको छ, यो यसको मूल वंश बिए.२.८६ भन्दा भिन्न छ । यद्यपि उसले हालका प्रमाणका आधारमा जेएन.१ ले उत्पन्न गर्ने समग्र जोखिम कम भएको बताएको छ ।

१६ देखि ४५ वर्ष उमेर समूहका ५४ हजारलाई टाइफाइडको खोप दिइने

जुम्ला, ६ पुस : जिल्लाका आठवटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ ।सो खोपलाई अभियानका रूपमा सञ्चालन गर्नेबारे जिल्लास्तरीय बैठक तथा अन्तक्र्रिया कार्यक्रममा जानकारी दिँदै जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले भन्नुभयो, “जिल्लामा पहिलो चरणमा यही पुस ८ देखि १० गतेसम्म कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान गरिने छ ।”

दोस्रो चरणमा पुस ११ देखि १३ गतेसम्म चन्दननाथ, पातारासी, गुठीचौर, तिला र तातोपानी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । यसका लागि एक सय २० खोप कार्यकर्ता परिचालन हुने भएका छन् । दुईसय ४० स्वयम्सेवक र तीन सय वटा खोप सेसन रहेका छन् । खोप लगाउन छनोट भएका तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

 कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, दैलेख, जुम्ला, सल्यान, कालीकोट र सुर्खेत जिल्लामा पनि खोप अभियान सञ्चालन हुने भएको छ । सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइडको खोप दिन लागिएको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेडाइले जानकारी दिनुभयो । जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुबेलाको खोप पनि दिइने कार्यक्रम छ । खोपका कारण बाल–मातृ मृत्युदर नेपालमा घट्दो अवस्थामा रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा सेडाइको भनाइ थियो ।

पछिल्लो समयमा टाइफाइडका बिरामी नेपालमा बढ्दो अवस्थामा रहेको छ । सरकारले राष्ट्रियस्तरमै सञ्चालन गरेको खोप अभियानलाई सफल बनाउनदेखि खोप सञ्चालन हुने स्थानमा शान्ति सुरक्षा कायम गर्न प्रशासन लागिपर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख गौरीनन्द आचार्यले जिल्लाका ग्रामीण भेगसम्म रहेका खोप केन्द्रसम्म सहजरूपमा खोप पु¥याउन स्थानीय तहदेखी जिल्लाका सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । राज्यले जनताका लागि लगानी गरेको खोपलाई सुरक्षितरुपमा व्यवस्थापन गर्न र आमजनताको पहुँचसम्म पुग्नका लागि सचेतनाका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको छ : सभापति लामिछाने

वालिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले शुक्रबार स्याङ्जाको वालिङमा आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै उनले जनता जागेपछि मात्रै परिवर्तन सम्भव हुने बताए ।

देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अँध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नका लागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ थियो । “देशको अवस्था जटिल बन्दै गयो भन्ने चिन्ता नागरिकमा छ, देशमा परिवर्तन हुनुपर्छ भन्ने सोचमा हुनुहुन्छ”, उनले भने ।

“विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञहरूको समन्वय र सहकार्यमा पार्टीले नीति तथा योजना बनाइरहेको छ”, अध्यक्ष्य लामिछानेले भने, “हामी बोलेर भन्दा काम गरेर देखाउँछौँ, योजनाबद्ध तरिकाले अगाडि बढ्छौँ, ढुक्क हुनुहोस् ।”

हरेक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति, कुरीतिको अन्त्यका लागि पार्टी निरन्तररूपमा लाग्ने उनले बताए । भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मुद्दालाई पार्टीको प्राथमिकताका साथ उठाएको र पार्टीभित्र कोही कसैले भ्रष्टाचार गरेको पाइएमा तत्कालै कारबाही गर्ने पनि बताए ।

जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र हस्तान्तरण

काठमाडौँ, ६ पुस : नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) एल्मुनाई एशोसिएसन अफ नेपाल (जान)लाई सम्मानपत्र हस्तान्तरण गरेको छ । यहाँ आज आयोजित विषेश समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानी विदेशमन्त्रीद्वारा उपलब्ध गराइएको प्रशंसापत्र जानका अध्यक्ष डा रामचन्द्र भुसाललाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा राजदूत युताकाले नेपाल–जापानबीच मित्रवत र प्रगाढ सम्बन्ध रहेको बताउनुभयो । उहाँले जापान र नेपालबीच सहयोग र सम्बन्धका विविध आयामबारे प्रकाश पार्दै जानले दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरिरहेको विचार प्रकट गर्नुभयो ।

जान नेपालबाट जापानमा जाइकाका कार्यक्रममार्फत अध्ययन, भ्रमण, तालिम लिई फर्केका विभिन्न विधाका व्यक्ति सम्मिलित संस्था हो । विगत पचास वर्षदेखि नेपाल र जापानबीचको सम्बन्धमा पुलका रूपमा काम गर्दै आएको जानले जापानको प्रविधि नेपालमा भित्र्याउने, मित्रता बढाउने, अप्ठ्यारोमा सहयोग आदान–प्रदान गर्ने कार्यमा योगदान पुर्‍याउँदै आएको छ ।

जापान सरकारले त्यस कार्यको मूल्याङ्कन गर्दै जानबाट उल्लेखनीय योगदान भएको जनाउँदै प्रशंसापत्र उपलब्ध गराएको हो । समारोहमा जानका अध्यक्ष डा भुसालले ५० वर्षअघि जाइका कार्यक्रममार्फत अध्ययन र तालिममा गएका अग्रजले नेपाल–जापानबीचको मित्रतालाई प्रगाढ तुल्याउने, प्रविधि हस्तान्तरण र सहयोग अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ सामाजिक संस्थाका रूपमा जान स्थापना गरिएको बताउनुभयो ।

संस्थामा नेपालका सरकारी निकायका उच्च तहमा रहेका सहित एक हजार दुई सय सदस्य रहेको जानका आजीवन सदस्यको सङ्ख्या छ सयभन्दा बढी रहेको सो अवसरमा जानकारी दिइयो ।

सन् १९७३ मा स्थापना भएको संस्थाको ५०औँ स्वर्ण महोत्सवका अवसरमा प्रशंसापत्र हस्तान्तरण कार्यक्रम भएको हो । विश्वमा जापानसँग जोडिएका यस्ता संस्थाको सङ्ख्या एक सयभन्दा बढी छ । उक्त संस्थाको तीन कार्यकालदेखि डा भुसाल अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।समारोहमा विभिन्न संवैधानिक आयोगका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, सुरक्षा निकायका उच्च अधिकृत र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको सहभागिता थियो ।

राष्ट्रिय कृषि गणना २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक

गोदावरी (कैलाली), ६ पुस : राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ ।धनगढीमा आज आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा चार लाख ५७ हजार सात ५६ किसान परिवारले एक लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गरेको जानकारी दिइएको छ ।

नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव पाँच प्रतिशत देखिएकामा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ । नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत परिवारले सो सुविधा पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताउनुभयो ।

सुदूरपश्चिममा धान एक लाख आठ हजार आठ सय, मकै २३ हजार ७३ र गहुँ एक लाख चार हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा गरिँदै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै सुदूरपश्चिममा आँप तीन सय, केरा सात सय पाँच, सुन्तला तीन सय ९३, कागती एक सय ८१ र स्याउ एक सय ३९ हेक्टरमा गरिएको जनाइएको छ ।

सार्वजनिक तथ्याङ्कानुसार पछिल्लो समयमा सुदूरपश्चिममा कृषि कार्यका लागि ट्रयाक्टर, पावरट्रिलर प्रयोग गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ भने कृषि ऋण लिने, कृषि बीमा गराउने र सरकारी अनुदान लिने किसानको सङ्ख्या न्यून रहेको छ ।

सुदूरपश्चिममा मुख्य कृषकमा पुरुष र महिलाको प्रतिशत क्रमशः ६१ दशमलव आठ र ३८ दशमलव दुई रहेको छ भने वर्षभरि खान पुग्ने बताउने किसानको प्रतिशत ४० दशमलव एक रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उक्त सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायले कृषि क्षेत्रमा सुधार गर्ने योजना तर्जुमा गर्न राष्ट्रिय कृषि गणना, २०७८ को नतिजा फलदायी हुने बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा लगानी गरेर उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । नतिजा सार्वजनिक कार्यक्रममा विगतको गणनाभन्दा यस गणनामा सबैभन्दा बढी क्षेत्रफलमा तरकारी बढेको देखिएको जानकारी दिइएको छ ।

भूकम्प क्षेत्रको पुनःनिर्माणका सन्दर्भमा विकास साझेदारसँग छलफल

काठमाडौँ, ६ पुस : सरकारले ‘जाजरकोट भूकम्प’ बाट क्षतिग्रस्त निजी आवास, सार्वजनिक भवन एवं पूर्वाधारको पुनःनिर्माण, जीविकोपार्जन र पुनःस्थापनाका सम्बन्धमा विकास साझेदार संस्थासँग छलफल गरेको छ । उक्त परामर्श बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्पपछिको पुनःनिर्माण सरकारको प्राथमिकता रहेको र त्यसका लागि ठूलो मात्रामा स्रोतको आवश्यकता पर्ने देखिएकाले सहयोगका लागि विकास साझेदारहरूलाई आह्वान गर्नुभएको छ ।

उहाँले हाल सञ्चालित कार्यक्रमहरूमा पुनःसंरचना गरेर भए पनि पुनःनिर्माणमा जोड दिन सबैमा आग्रह गर्नुभयो । विकास साझेदार संस्थाहरूका नेपाल प्रमुख एवं प्रतिनिधिहरूले पुनःनिर्माणमा सहयोगको प्रतिबद्धता व्यक्त गर्दै पुनःनिर्माणमा संलग्न हुनसक्ने क्षेत्रबारे जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले तीनवटा जिल्लामा क्षति हुनेगरी गएको भूकम्पको क्षति लेखाजोखा र आवश्यकता आँकलनको प्रारम्भिक सारंश प्रस्तुत गर्नुभएको थियो । उहाँले पुनःनिर्माणमा करिब रु ६८ अर्ब लाग्ने जानकारी गराउनुभएको थियो । बैठकमा सहभागी विकास साझेदारहरूले सहयोग गर्ने इच्छा व्यक्त गरेको पनि पोखरेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले अस्थायी आवास निर्माणको काम तीव्ररूपमा जारी रहेको पनि बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि रु एक अर्ब ४१ करोड जिल्लाबाट स्थानीय तहमा पुगिसकेको र केही दिनअघि सरकारले निकासा भएको एक अर्बमध्ये रु ९३ करोड पनि जिल्लामा पठाइसकिएको छ ।

एक दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन खराब

चीनको वायु प्रदूषण सन् २०२३ मा अझ खराब भएको शुक्रबार जारी एक अध्ययनमा बताइएको छ । एक दशकमा पहिलोपटक चीनको वायु प्रदूषण अझ खराब भएको हो । स्वतन्त्र अनुसन्धान सङ्गठन सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सिआरइए) को अध्ययनमा भनिएको छ, “सन् २०१३ मा चीनको ‘प्रदूषणविरुद्धको युद्ध’ को प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औसत पिएम२.५ स्तर वार्षिकरूपमा बढेको सन् २०२३ पहिलो वर्ष हो ।”

अमेरिकी पर्यावरण संरक्षण एजेन्सीका अनुसार यदि पिएम२.५ कणहरू साससँगै शरीरभित्र गयो भने यसबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्छ । यसबाट मुटु तथा फोक्सोका बिरामीमा अकाल मृत्युका साथै सास फेर्न र अन्य स्वास्थ्य समस्या देखिन सक्छ । 

“प्रतिकूल मौसमको अवस्थाका अतिरिक्त मानवसृजित उत्सर्जनमा भएको समग्र वृद्धिले प्रदूषण स्तरलाई अझ बढाएको छ”, सिआरआइएले भनेको छ । राजधानी बेइजिङसहित चिनियाँ सहरहरू कुनै समय बाक्लो धुवाँका लागि बदनाम थिए । यसबाट ती सहरका बासिन्दाहरूलाई विशेषगरी जाडोयाममा त्रसित बनाएको थियो । 

यद्यपि सन् २०१५ मा शीतकालीन ओलम्पिक प्रतियोगिताको दाबीलाई जितेपछि चीनले ‘प्रदूषणविरुद्ध युद्ध’ को घोषणा गरेको थियो । चीनले दर्जनौँ कोइला खानी बन्द गरेको थियो र धेरै उद्योगहरूलाई सारेको थियो । यसबाट महत्त्वपूर्ण सुधार भएको छ तर हावाको गुणस्तर अक्सर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा तल रहेको छ । 

सिआरआइएले बेइजिङसहित ८० प्रतिशत प्रान्तीय राजधानीहरूमा एक वर्षअघिको तुलनामा सन् २०२३ मा पिएम२.५ को स्तर बढेको शुक्रबार बताएको छ । फिनल्यान्डस्थित स्वतन्त्र अनुसन्धान सङ्गठनले भनेको छ, “जुन क्षेत्रमा पिएम२.५ मापदण्ड पूरा गरिएको थिएन त्यहाँ जीवाश्म ऊर्जाको व्यापक प्रयोगको सङ्केत दिने कोइला र थर्मल विद्युत्को उत्पादनमा क्रमशः चार दशमलव चार प्रतिशत र चार दशमलव तीन प्रतिशतले बढेको छ ।”

श्रीलङ्कामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ

श्रीलङ्कामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ परेका छन् । श्रीलङ्काको प्रहरीले हालै शुरु गरेको विशेष कारबाहीका क्रममा लागुऔषध सम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको छ। लागुऔषध ओसारपसार तथा संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेबाट शुरु गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका १० हजार ४ सय ५६ जना मध्ये ५ सय १७ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरीले हेरोइनसहित अन्य लागुऔषध कारोबार अपराधमा प्रयोग गरिएका सवारीसाधन समेत बरामद गरेको छ ।यसै बीच श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले सरकारले जस्तोसुकै कठिन परिस्थितिमा पनि अवैध गतिविधिका विरुद्ध कारबाही जारी राख्ने बताउनु भएको छ।

पुराना मुद्दा फछ्र्योटमा विशेष अदालतको जोड

काठमाडौँ, ६ पुस : पुराना मुद्दालाई जतिसक्दो छिटो फछ्र्योट गर्ने सर्वोच्च अदालतको योजनाअनुसार विशेष अदालत काठमाडौँले मुद्दाको फछ्र्योटलाई तीव्रता दिएको छ ।विशेष अदालतमा दुई वर्ष नाघेका मुद्दा ७० थान रहेका छन् । कुल मुद्दा एक सय २२ भएकामा ५२ मुद्दा फछ्र्योट भई ७० थानमात्र मुद्दा बाँकी रहेको अदालतमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

त्यस्तै १८ महिनादेखि दुई वर्षसम्मका मुद्दा २८ रहेका छन् । कुल ५५ थान मुद्दा रहेकामा २७ मुद्दा फछ्र्योट भएका छन् । एक वर्षदेखि १८ महिनासम्मका ५० थान मुद्दा फछ्र्योट गर्न बाकी रहेका छन् । कुल ७५ मुद्दा रहेकामा ५५ मुद्दा फछ्र्योट भएका छन् ।

साथै छ महिनादेखि एक वर्षभित्रका ६८ मुद्दा फछ्र्योट भएका छन् । कुल ८१ मुद्दा रहेकामा १३ फस््र्योट भएका छन् । त्यस्तै छ महिनाभित्रका कुल एक सय एक मुद्दा रहेकामा छ मुद्दा फछ्र्योट भएका छन् भने छ भने ९५ थान मुद्दा बाँकी छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले अदालतले मुद्दा फस््र्योटलाई तीव्रता दिएको र निर्दोषलाई दोषी ठहर नहोस् तथा दोषीले सजाय पाओस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले अदालतले छिट्टै अनलाइन सुनुवाइ गर्ने तयारी गरिरहेको र संविधान तथा कानुनअनुसार पाएको जिम्मेवारी पूरा गरिरहेको जानकारी दिनुभयो ।

उक्त अदालतबाट २०७९ वैशाख १ गतेदेखि नेपालभर अनलाइन तारिख लिन र कोभिडपश्चात अनलाइन बकपत्र गर्ने प्रक्रिया नियमितरूपमा सञ्चालन भइरहेको छ । विशेष अदालतमा गोलाप्रथा प्रक्रियाद्धारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०८० अन्तिम चरणमा रहेको जनाइएको छ ।

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ६ पुस : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताउनुभएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताउनुभयो ।

    “देशभरीको सुकुमबासी समस्या सामाधान गर्न कानुनमा जहाँजहाँ बाधा छन्, ती अड्चन फुकाउने र लालपुर्जा वितरणलाई सहज बनाउने प्रक्रिया सुरु गरिसकेको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सुकुम्बासी समस्याको दिगो समाधानमा सरकार केन्द्रित भएको छ ।” मिक्लाजुङमा किसानले उत्पादन गरेको दूधको भुक्तानी रोकिएको विषयमा आफूले भर्खरै जानकारी पाएको उल्लेख गर्दै उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र दूग्ध विकास संस्थानसँग छलफल गरेर किसान पाउनुपर्ने रकम चाँडै नै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभयो ।

किसानका समस्या समाधानमा सरकार गम्भीर भएर लागेको दृष्टान्त दिँदै प्रधानमन्त्री दाहालले केही दिनअघि मात्रै उखु किसानले पाउनुपर्ने ठूलो रकम भुक्तानी गरिएको बताउनुभयो । “उखु किसानको झन्डै रु ५२ करोड बक्यौता तिर्न बाँकी रहेछ । मन्त्रिपरिषद्बाट उक्त रकम भुक्तानीको निर्णय भएको छ । उखुको न्यूनतम् मूल्य पनि निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो, “दुग्ध किसानको पनि लामो ऋण बाँकी छ, त्यो ऋण तिर्न र सहुलियतमा ऋण उपलब्ध गराउन पहल गर्छु ।”

एक वर्षको अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले अर्को वर्ष नयाँ ढङ्गबाट काम गर्ने दृढता व्यक्त गर्नुभयो । “मैले जहिले पनि निरन्तरतामा क्रमभङ्ग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु”, उहाँले भन्नुभयो, “अब जनताका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।” सिंहदरबारमा विभिन्न मन्त्री र सचिवलाई बोलाएर मन्त्रालयका कामका बारेमा जानकारी लिँदै आएको उल्लेख गर्दै उहाँले लक्ष्य प्राप्त गर्ने दिशामा अघि नबढ्ने मन्त्री परिवर्तन गर्ने बताउनुभयो ।

    “अब ठीक ढङ्गले काम भएन, आफूले प्रतिबद्धता व्यक्त गरेको काम पनि कतिपय मन्त्रालयले पूरा गरेका छैनन्, त्यस्ता मन्त्रालयहरुलाई पुर्नगठन गरेर, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रदेशको नामकरणको विषयमा जनताले व्यक्त गरेको चिन्ताका सम्बन्धमा आफू जानकार रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दल र आन्दोलनरत पक्षसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभयो ।

  युद्धकालमा मिक्लाजुङ मोरङको आधार इलाकाका रुपमा रहेको स्मरण गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रिया प्रवेशका क्रममा ठूलो र ऐतिहासिक प्रशिक्षण यही क्षेत्रमा राखिएको बताउनुभयो । मिक्लाजुङ क्षेत्रमा सडक, खानेपानीलगायत समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँको भनाइ थियो ।

संसद्मा कामकाजभन्दा गत्यावरोध बढेको छ – अध्यक्ष ठाकुर

काठमाडौँ, ६ पुस : लोकतान्त्रिक समाजवादी पार्र्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पु¥याउनुभएको छ । विसं २०१६ मा राजनीतिक यात्रा आरम्भ गर्नुभएका उहाँ मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरै पटक प्रहरी हिरासत र जेलजीवन बिताउनुभयो ।

गत एक वर्षमा समग्रतामा सङ्घीय संसद् चलिरहेको देखिए पनि कामकाजभन्दा गत्यारोधमा बढी समय खर्चिएको जनाउँदै ‘सांसदसँग रासस संवाद’मा उहाँले पूरापूर दुई महिना सांसदले काम नै गर्न नसकेको प्रतिक्रिया दिनुभयो ।नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र पटक–पटक अवरोध भएको इतिहास रहेको जनाउँदै पूर्वउपसभामुख ठाकुरले भन्नुभयो, “कसैलाई चित्त बुझेन भने विरोध गर्न सकिन्छ तर दिनदिनै लामो समयसम्म रोष्टम घेराउ गर्ने भनेको संसदीय प्रजातन्त्रभित्रको उग्ररुप हो ।” कानुन बनाउने विषयमा दलहरुले आवश्यक समय र ध्यान दिएन भनी लागेको आरोप भने अस्वीकार गर्दै नेता ठाकुर त्यो ‘आरोप’ मात्रै भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “संविधान र सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण विधेयकसमेत यस अवधिमा अघि बढ्न सकेन । मिटरब्याजसम्बन्धी विधेयक पारित भए पनि पीडित अझै खुशी छैन । विधेयक भरसक सबैको सहमतिमा टुङ्ग्याउँदा राम्रो हुन्छ ।

एक प्रसङ्गमा शान्तिपूर्ण जुलुस निकाल्ने र सडकमा प्रदर्शन गर्ने सबैको प्रजातान्त्रिक अधिकार भए पनि तोडफोड गर्ने उग्ररुप भएको बताउँदै उहाँले भन्नुभयो, “सरकारबाट पनि हिंसात्मक हस्तक्षेप हुन्छ, विरोधमा उग्ररुप देखिए सरकारले नियन्त्रणका लागि सशस्त्र बल प्रयोग गर्छ अनि असहज स्थिति आउँछ, त्यो सबैले बुझ्नुपर्छ । ”

केही समय भारतमा निर्वासनसमेत रहनुभएका पूर्वउपसभामुख ठाकुर पछिल्ला दशक मधेस र मधेसी समुदायका हकहितका ‘एजेन्डा’ उठाउँदै कार्यान्वयनका लागि पहल गरिरहनुभएको छ । उहाँसंग शिक्षण र वकालतको अनुभव, निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरको परिचय छ ।

महोत्तरीको पीपरामा विसं १९९९ मा जन्म भई केही समय सर्लाहीलाई कर्मथलो बनाउनुभएका ठाकुर विसं २०४८ र २०५१ को मध्यावधि निर्वाचनमा त्यहाँबाट प्रतिनिधित्व गर्नुभयो ।

तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी स्थापनासँगै मधेस केन्द्रित राजनीतिमा सक्रिय नेता ठाकुर विसं २०७४ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन गर्नुभई सो पार्टीको अध्यक्षमण्डलको सदस्य हुनुभयो ।

विसं २०६४ मा मनोनीत संविधासभा सदस्य तथा विसं २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित हुनुभयो । कानुनमा स्नातक र इतिहासमा स्नात्तकोत्तर ठाकुरले विसं २०७४ पछि गठन भएको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका रुपमा केही समय सभाको अध्यक्षता गर्दै सदनमा प्रवेशी सदस्यलाई शपथ दिलाएर र बैठक सञ्चालन गर्नुभयो ।

छ वर्षमा बल्लबल्ल ‘पास’ भएको नागरिकता विधेयक कार्यान्वयनमा गए पनि जनताले अझै सहजरुपमा नागरिकता प्राप्त गर्न नसकेको गुनासो सुन्न परेको बताउँदै पूर्वमन्त्री ठाकुरले कर्मचारी संयन्त्रको उल्झन र पैसाको खलखेलले त्यो गुनासो आएको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष ठाकुरका अनुसार मुलुकमा लोकतन्त्र पुनःस्थापनापछि गाउँबस्तीमा सेवासुविधा र सडकलगायत भौतिक पूर्वाधार निर्माणमा निकै सुधार भएको छ । विद्यालय र कलेजमा पैसा गएको छ । गाउँगाउँमा सामुदायिक भवन बनेका छन् । ग्रामीण सडक पनि ढलान र कालोपत्र भएका छन् । धार्मिक आस्थासँग जोडिएका मठमन्दिर तथा बरमबाबा स्थान घेराबेरा भएको छ ।

पछिल्ला वर्षमा तराई–मधेसमा समेत सिँचाइ र खानेपानी समस्या देखिएको बताउँदै पुराना राजनीतिज्ञ ठाकुरले खण्डित वर्षाले कहीँ सुक्खा त कहीँ बाढी निम्त्याएको अवस्था आएको सुनाउनुभयो ।

सांसद ठाकुरले भन्नुभयो, “यस वर्ष मिथिला क्षेत्रमा बर्सात कम हुँदा नदी र पोखरी सुक्ने अवस्थामा पुगिसकेको छ । जमिनमा पानीको सतह गहिरिएको छ । कतिपय सहरी क्षेत्रमा खानेपानी अभाव छभने खोला सुकेका कारण सिँचाइ भई धानखेती राम्रो हुन सकेन ।”

उद्योगधन्दा र कलकारखानाको अभावमा बेरोजगारी निकै ठूलो चुनौतीका रुपमा रहेको जनाउँदै पूर्वविज्ञान प्रविधिमन्त्री ठाकुर भन्नुहुन्छ, “सांसद र मन्त्रीसँग मतदाता धेरै खुशी छैनन्, नोकरी लगाउने र मुद्दासमेत जिताइदिने जनप्रतिनिधिले गर्दियोस् भन्ने समाजमा मान्यता छ । त्यो त एउटा विधि प्रक्रियाका आधारमा हुन्छ नि ।”

अध्यक्ष ठाकुरका अनुसार पहिला उद्योग र आयोजना हुन्थे । काम दिन्थे । अहिले जुन सम्भव छैन । फोन गरेर मात्रै काम हुन्छ र ! काम गर्ने परिस्थिति के छ । कुन अवस्थामा छ । त्यो बुझ्न जरुरी छ ।
पछिल्ला समय खासगरी बालबालिका, युवायुवतीमा राम्रो कपडा लगाउने, होटलमा गएर मीठो खाने, विभिन्न गाउँमा घुमफिर गर्ने चलन बढिरहेको बताउँदै उहाँले मुलुकमा परिवर्तनको प्रवाह भए पनि आर्थिक सङ्कट र बेरोजगारीले विविध समस्या निम्त्याएको प्रतिक्रिया दिनुभयो ।

गठबन्धनको सरकार भएकाले विभिन्न विचारलाई मिलाएर काम गर्नु आफैँमा चुनौती रहेको बताउँदै नेता ठाकुरले भन्नुभयो, “प्रधानमन्त्री आफैँ भनिरहनुभएको छ कि जति हुनुपर्ने त्यो काम गर्न सकिएको छैन । महँगी बढेको छ । बेरोजगारी बढेको छ ।” उहाँका अनुसार भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्र र कानुन पर्याप्त छ । अदालतलाई पनि प्रमाणित गर्न प्रमाण चाहियो । हल्लाको भरमा कसैलाई पनि यति खायो भन्न मिल्दैन । कारबाही गर्ने निकाय छन् ।

राजनीति परिवर्तनमा योगदान पु¥याएका नेताहरु नै सानो गुट, परिवार र नातागोतामा अलमलिए भन्ने आरोपलाई खण्डन गर्दै नेता ठाकुरले त्यो आरोपलाई वास्तविकता नभई सतहीका रुपमा हेरिएको प्रतिक्रिया दिनुभयो ।

आन्दोलनमा संलग्न हुँदा सबै परिवार र नातागोता प्रभावित हुने भएकाले अवसर प्रदान गरिदा नाता जोडेर हेर्न नहुने तर्क गर्दै उहाँले एउटा घरको मूली जेल जाँदा परिवारले कति सास्ती खेप्न पर्छ भन्ने पक्षको विश्लेषण नगरी अवसरसँग जोडेर हेर्न मिल्छ र भनी प्रतिप्रश्न गर्नुभयो ।

अध्यक्ष ठाकुरका अनुसार हामी शहीद के दिन्छाँै । मूर्ति बनाए कि बनाएन भनेर हेर्न आउँछ र ! उसको जीवन गयो । परिवार जेल परे । उसमाथि निर्भर धेरै प्रभावित भए । अनि त्यस्ताका परिवारलाई अवसर दिँदा किन विरोध हुन्छ । तिनले पनि खान परो नि !

आर्थिक दृष्टिकोणले अहिले पनि कम्जोर रहे पनि राजनीतिक केन्द्र हरहमेसा पहाड नै रहेको बताउँदै नेता ठाकुरले जस्तोसुकै बदमासी गरेर सत्तामा जाने प्रयास भएकाले नेपालको राजनीतिक इतिहास शान्तिपूर्ण नरहेको विचार धारणा राख्नुभयो ।

जनभावना र आवश्यकताका आधारमा नीति निर्माण गरिएमा मात्र परिणाम प्राप्त गर्न सकिने तर्क गर्दै उहाँले त्यो नहुँदा विगतमा सर्लाहीमा आएको बाढी पीडितलाई बनाइएको छाप्रामा केही नसकेको उदाहरण दिनुभयो ।आफ्नो अधिकार प्राप्तिमा भएका आन्दोलनमा पनि जाति र समुदायबीच विभेद गरिएको आरोप लगाउँदै उहाँले कानुनका नाममा जथाभावी डन्डा चलाउने कार्य कोही कसैलाई पनि स्वीकार्य नहुने धारणा राख्नुभयो ।

टीकापुर नगरपालिकाद्धारा नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन

कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो । पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ ।

स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार, लक्षण, बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ । उनीहरुले समुदायमा गएर टोल भेला, गाउँघर क्लिनिक, आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन् । 

नगरपालिकाको स्वास्थ्य शाखाले पालिकामा दैनिक नसर्ने रोगको जटिल समस्या भएका उपचारका लागि सिफारिस लिन आउन थालेपछि स्वयंसेविका परिचालन गरेको हो । पालिकामा नसर्ने रोगमध्ये मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, हृदयघात, मस्तिष्कघात, मधुमेह (चिनी रोग), दम, सिओपिडी  र क्यान्सरको समस्या भएकाहरु दैनिक उपचारका लागि सिफारिस लिन आउने गरेका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले बताउनुभयो । “दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएकाले हामीले सचेतना फैलाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “हामीले वडावडामा नसर्ने रोग परीक्षणबारे स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य संस्थाले समेत परामर्श दिने लगायतका कार्य गरिरहेका छौँ ।” 

समाजमा नसर्ने रोगका बिरामी धेरै भए पनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेको र अन्तिम अवस्थामा जानकारी पाएर उपचारमा जाने भएकाले पालिकाले सचेतना फैलाउन थालेको जनस्वास्थ्य निरीक्षक धर्मसिँह बटालाले बताउनुभयो । “जनचेतनाको अभाव तथा कतिपय अवस्थामा स्वास्थ्य सेवाको पहुँच नपुग्दा नसर्ने रोग लागेको समेत थाहा नपाई अकालमा ज्यान गुमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “नसर्ने रोगबाट बच्न मानिसले रहनसहन, खानपान र जीवनशैलीमा सुधार गर्नुपर्छ भनी सचेत बनाउन थालेका हौँ ।”

समुदायमा गएर स्वयंसेविकाले नसर्ने रोगबाट बच्न स्वस्थ्य खाना खाने, खानामा नुन र चिनी कम गर्ने, मैदाबाट बनेका परिकार कम खाने वा नखाने, बच्चा जन्मेको ६ महिनासम्म स्तनपान अनिवार्य गराउने, नियमित रुपमा शारीरिक व्यायम, कसरत गर्ने,  क्यान्सर रोकथामका लागि ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ह्युम्यान पापिल्लोमा भाइरसको तीन मात्रा खोप लगाउने, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाले पाठेघरको मुखको जाँच गराउने, ४० वर्ष नाघेका महिलाले स्तनको जाँच मेमोग्राफी गर्ने र कलेजोको क्यान्सर रोकथामका लागि हेपाटाइसिस ‘बी’को खोप लगाउनेलगायत कुरा जानकारी दिन थालेका छन् ।

नसर्ने रोग सरुवा रोगभन्दा भयानक रोग बन्दै गएकाले आफूहरुले सचेतना फैलाउन थालेका महिला स्वास्थ्य सेवक चन्द्रा चौधरीले बताउनुभयो । “समुदायका मानिसको सबैभन्दा नजिक हामी हुन्छौँ । हाम्रा कुरा समुदायले विश्वास गर्ने भएकाले नसर्ने रोगबारे समुदायमा जनचेतना फैलाउन सहज भएको छ”, उहाँले भन्नुभयो, “हामीले पनि तालिम पाएपछि धेरै कुरा सिक्यौँ, हाम्रा लागि पनि यो जानकारी उपलब्धिमूलक छ ।”  महिला स्वास्थ्य स्वयंसेवक माया घर्तीमगर समुदायमा गएर नागरिकलाई स्वस्थ रहन सरसल्लाह र स्वास्थ्य शिक्षा दिने गरिरहेका बताउनुभयो । “तालिमपछि थप जानकारी दिन सहज भएको छ”, उहाँले भन्नुभयो । 

कक्षा १० मा अध्ययनत सबिनले उडाए ‘नमूना हवाईजहाज’

बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उहाँले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाउनुभएको हो । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै हुनुहुन्थ्यो । सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत बताउनुभयो ।

बुद्धशान्ति–१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ । जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उहाँले बताउनुभयो । धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो । जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए । खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिनअघि गाउँपालिका परिसरमा उडाउँदा सयौँ दर्शक रोमाञ्चित बनेका थिए ।

गाउँपालिकाको बैठक बसेर प्रतिभाशाली विद्यार्थी बाँस्कोटालाई आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष प्रसाईंले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । छात्र बाँस्कोटाले तीनवटा जहाजको नमूना र अन्य वैज्ञानिक उपकरण निर्माण गर्नुभएको छ । बनाएका सामानले उहाँको घरको कोठाहरु भरिएका छन् । बनाएका जहाजहरुलाई उहाँले नेपाल एयरलायन्स, तारा एयरलायन्स र ग्रेटर नेपाल नाम दिएका छन् । अन्य उपकरणमा बिजुली साइकल, पाइप एसी, गल्र्स सेफ्टी, इन्फ्रारेड धारा, रोबोट, सोलार चार्जरलगायत छन् । गरिब परिवारमा जन्मेका छात्र बाँस्कोटाले घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरण बनाउने गरेका जनाइएको छ ।

“सानैदेखि विज्ञान सामग्री बनाउनेमा चाख थियो,” उहाँलेले भन्नुभयो, “सुरुसुरुमा आमाबुबाले गाली गरे पनि अहिले सहयोग गर्नुभएको छ । आर्थिक स्रोत हुने हो भने अझ धेरै ठूलाठूला उपकरण बनाउन सक्नेथिएँ ।” एउटा हवाईजहाज बनाउन रु ६५ हजार खर्च भएको उहाँले जानकारी दिनुभयो । भर्खर कक्षा १० मा पढ्दै गरेको विद्यार्थीमा विज्ञान उपकरण निर्माणमा यतिधेरै चाख र क्षमता भएको देखेर आश्चर्य लागेको बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले बताउनुभयो । “एउटा सानो भाइमा यस्तो प्रतिभा हुनु सामान्य हुँदैहोइन,” उहाँले भन्नुभयो, “हौसला र आर्थिक स्रोत हुने हो भने दुनियाँलाई छक्क पारेर देखाउने क्षमता रहेछ । उहाँले हामी सबैका अगाडि हवाईजहाजलगायत उपकरणहरु प्रदर्शनी गरेर देखाउनुभयो ।”

सबिनकी आमा चेलीमायाले गहना र गाईबाख्रा बेचेर उपकरण बनाउन सहयोग गरेको बताउनुभयो । विद्यालय जाँदा खाजा खान दिएको रु २० पनि बचत गरेर रु चार हजार बनाएको देखेपछि छोरोको चाहना पूरा गर्न आफूले गहना बेचेको उहाँले बताउनुभयो । सानैदेखि तीक्ष्ण दिमागको सबिनमा घरका रेडियो र ब्याट्री खोलेर जोड्न रमाउने चकचके स्वभाव थियो । चेलीमायाका अनुसार नयाँ किनेर ल्याएका रेडियो, टर्च लाइट र मोबाइल उपकरण सबै बिगार्ने र बनाउने गरेर सबिनले सुरुमा घरमा हैरानी दिने गरेका थिए । “असाध्यै चुलबुले र तेज दिमागवाला थियो”, छोराको बाल्यकाल सम्झँदै आमा चेलीमाया भन्नुहुन्छ, “दुःख गरेर कमाएको पैसाले ल्याएको सामान भत्काएर हैरान नै पाथ्र्यो ।” तर, अहिले हवाईजहाज समेत बनाएर उडाउन थालेपछि परिवारका सबै खुशी छन् ।

सबिनले बनाएको अर्को सामान बिजुली साइकल हो । चलिरहेको पाइडल साइकलमा उहाँले आफूद्वारा निर्मित ब्याट्री जोडेका छन् । उक्त ब्याट्री चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि साइकललाई दिनभरि कुदाउन सकिने उनको दाबी छ । बिजुली साइकल बनाउन रु २० हजार खर्च भएको छ । बिग्रेको चार्जर र एडप्टर जोडेर ‘गल्र्स सेफ्टी’ नामको नयाँ डिभाइस उनले बनाएका छन् । जसले कुनै पनि युवतीलाई दुव्र्यवहार भएमा बिजुलीको करेन्ट प्रवाह गरिदिने उनको दाबी छ । डिभाइसका कारण दुव्र्यवहारबाट जोगाउने उपकरण भएकाले यसको नाम ‘गल्र्स सेफ्टी’ राखिएको रहेछ ।

‘भ्वाइस कमान्ड’बाट चल्ने रोबोट र बमबार्ड गर्ने ड्रोन बनाउन सक्ने उनको दाबी छ । एउटा रोबोट निर्माण अन्तिम चरणमा छ । कोठाभरि चिसो बाफ फ्याँक्ने इलेक्ट्रोनिक डिभाइस उहाँले बनाएर प्रदर्शन समेत गर्नुभएको छ । ‘पाइप एसी’ नाम दिइएको उक्त डिभाइस बिजुलीबाट चल्छ । मिहनेत र खर्चले यस्ता उपकरण बनाउने सबिनले भविष्यमा धेरै पढेर मेकानिकल इन्जिनियर बन्ने सपना साँचेका छन् । “आठ महिना लाग्यो । कैयौँपटक बनाउँदै भत्काउँदै गर्दा मात्र यो सम्भव भएको हो”, उहाँले भन्नुभयो, “सामान किन्न धेरै पैसा चाहिन्थ्यो । त्यो सबै मेरी आमाले गाई, बाख्रा र गहना बेचेर पुर्याउनुभयो ।”

पाँचथरको हिलिहाङमा जन्मेका सबिनलाई उनका बुबा कृष्णले राम्रो शिक्षा दिने उद्देश्यले सात वर्षअघि पहाडबाट मधेसको झापा ल्याएर पढाउन थाल्नुभएको थियो । मधेसमा बाँस्कोटा परिवारको दुई कट्ठा घडेरीमात्र छ । उक्त जग्गामा टिनको छानो र बाँसको भाटाले बारेको एउटा घर छ । बुबाआमाले अर्कैको खेतबारी अधिया–ठेक्कामा लिएर परिवारको जीविका चलाउँदै आउनुभएको छ ।

आर्थिक स्रोत नभएकाले छोरालाई खासै सहयोग पु¥याउन नसकेको वुबा कृष्ण बताउनुहुन्छ । घरमा वाइफाई नभएका कारण सबिन गाउँको वाइफाइमा गएर मोबाइल चलाउने गर्छन् । “यति धेरै विज्ञानका सामान बनाउने छोरोलाई सहयोग नगरौँ भन्ने त मनमा हुँदैन नि,” मनको बह पोख्दै उहाँले भन्नुभयो, “घरमा वाइफाई जोडिदिन सकेको छैन । एउटा राम्रो मोबाइल पनि किनिदिन सकेको छुइन ।”

रुसी सेनामा कार्यरत नेपाली युवा भन्छन् – आफ्नै देशको परिस्थितिले गर्दा बाध्यताले लाहुरे बनायो

काठमाडौं । रुसी सेनामा कार्यरत एक नेपाली युवाले आफ्नो देशको परिस्थितिले गर्दा भर्ती हुन बाध्य बनाएको भन्दै भावुक सन्देशसहितको एक भिडियो सार्वजनिक गरेका छन् ।

टिकटकमार्फत जारी भएको सो भिडियो सन्देशमा ती युवाले आफूहरूलाई नेपालमा बसेका नेपालीहरूले जानीजानी किन मर्न गएको र पैसा भन्दा ज्यान ठुलो भनेको भने पनि यो आफूहरूको रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् ।

ती युवाले भनेका छन्, ‘नेपालमा रहेका केही नेपाली र नेपालका नेतालाई केही म्यासेज छोड्न गइरहेको छु, यथार्थमा भन्ने हो भने हामी नेपाली जति पनि रसियन लाहुरे भएका छौं, हामी रुस र युक्रेनबीच युद्ध भइरहेको छ भन्ने जानेर नै रुसी सेनामा भर्ती भएका हौं तर हामी कुनै रहले भर्ती भएका होइनौं, हामीलाई हाम्रो देशको परिस्थितिले गर्दा बाध्यताले लाहुरे बनाएको हो ।’

उनले देशमा रोजगारीको व्यवस्था नभएकाले आज बेरोजगार नेपाली युवा अरूकै देशमा लड्न, ज्यान गुमाउन बाध्य भएको पनि भनेका छन् । कतिपय साथीहरूले आत्मसमर्पण गर्नुपरेको र अरूको देशमा बन्दी हुनुपरेको भन्दै उनले यो विषय देशका नेताका लागि लाजमर्दो विषय भएको भन्दै आक्रोश पोखेका छन् । उनले दशेभित्रै आन्दोलनका नाममा सेना र प्रहरीलाई मारेको र कसैलाई माओवादी बनाएर भाइभाइ लडाएकोप्रति पनि गुनासो गरेका छन् ।

उनले भनेका छन्, ‘नेताहरूले भ्रष्टाचार गरी १०औं पुस्तासम्मलाई पुग्ने सम्पत्ति थुपारेर हामी युवालाई बेरोजगार बनाई परदेसिन बाध्य बनाए, आफ्नै देशको घरछेउमा कलकारखाना भइदिएको भए आमाले बनाएको खाना खाएर साइकलमा कामबाट जाने आउने र बेलुका आफ्नै घरमा सुत्न पाउने भएको भए को अर्काको देशमा युद्ध लड्न आउने थियो र रु’

देशमा भएका कलकारखाना बेचेर आफ्ना छोराछोरी विदेशमा पढाइरहेको र आफूहरूजस्ता हजारौं युवालाई बेरोजगार बनाएर अर्काको देशमा श्रम गर्न बाध्य बनाएको पनि उनले बताएका छन् ।

उनले भनेका छन्, ‘धेरै नेपालीले पैसा होइन ज्यान ठुलो हो भनेर विभिन्न सामाजिक सञ्जाल वा फोनमार्फत भनिरहेका छन् तर त्यही पैसा नभएर आमाको च्यातिएको चोली फेर्न सकिएको छैन र एउटै लुगा पनि धेरैपटक लगाउन परेकाले केही सहज हुन्छ कि भनेर ज्यान धरापमा राखेर रुसी सेनामा भर्ती भएका हौं ।’

यसअघि माओवादी सशस्त्र द्वन्द्वताका बन्दुक बोकेका म्याग्दीका डायमन्ड सीले पनि आफू बाध्य भएर रुसी सेनामा भर्ना भएको उल्लेख गरेका थिए ।राजधानी दैनिकमा खबर छ ।

हालसम्म युद्धमा परी रुसी सेनामा कार्यरत सात जना नेपालीले ज्यान गुमाइसकेका छन् । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न ३ देखि ४ हजार जनासम्म नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

राष्ट्र बैङ्कमा जागिर खाने सुवर्ण अवसर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैङ्कले विभिन्न पदमा सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका लागि दरखास्त माग गरेको हो ।

आवेदन दिन चाहने योग्यता पुगेका नेपाली नागरिकले तोकिएको मितिमा आवेदन दिन सक्नेछन् । बैङ्कले तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । यस्तै दोब्बर दस्तुर तिरेर माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने

वीरगञ्ज ९पर्सा०, ६ पुस स् बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को मङ्सिर २७ गतेसम्म डिएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन मल जिल्लाजिल्लालाई पठाइसकिएको छ ।

“गहुँबाली छर्ने बेलामा किसानलाई डिएपी मल चाहिने हो”, उहाँले भन्नुभयो, “हामीले प्राप्त भएको डिएपी मल जिल्लाजिल्लामा कोटाअनुसार पठाइसकेका छौँ ।” गहुँबाली उम्रिसकेपछि सिँचाइ गर्ने बेलामा अर्थात् तीन सातापछि युरिया मल चाहिने हो, त्यो केही दिनभित्रै आइपुग्छ”, उहाँले भन्नुभयो । “ करिब ३६ हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ”, प्रमुख पाण्डेयले भन्नुभयो, “युरिया मल यही डिसेम्बर २६ तारिकसम्ममा भारतको कोलकता आइपुग्ने र त्यसको केही दिनभित्रै वीरगञ्ज आइपुग्छ भन्ने हामीलाई सूचना प्राप्त भएको छ ।” त्यो मल आइसकेपछि गहुँखेतीका लागि मलको कुनै समस्या हुँदैन, उहाँको भनाइ छ । तर आउन लागेको भनिएको युरिया मल समयमा नआए पुनः रासायनिक मलको हाहाकार हुन सक्छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक बर्ष २०८०÷८१ को पाँच महिनामा युरिया १५ हजार आठ सय ९४ मेट्रिक टन, डिएपी १९ हजार दुई सय १३ मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ ।

पुरानो आल्या र चालु आर्थिक वर्ष २०८०÷८१ मा प्राप्त मलमध्ये हालसम्म डिएपी १६ हजार २३ मेट्रिक टन, युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन र पोटास एक हजार पाँच सय ९९ मेट्रिक टन मल जिल्लाजिल्लामा पठाइएको प्रमुख पाण्डेयले बताउनुभयो । हाल युरिया एक सय ५१ मेट्रिक टन, डिएपी तीन हजार आठ सय ६७ मेट्रिक टन र पोटास ५७ मेट्रिक टन गोदाम मौज्दात रहेको उहाँको कथन छ ।

अबको एक महिनाभित्रमा डिएपी २५ हजार मेट्रिक टन मल आउने निश्चित भएको प्रमुख पाण्डेयले जानकारी दिनुभयो । रासायनिक मलको अभाव हुन नदिन मल प्राप्त भएलगत्तै मलखाद्य बाँडफाँड भएअनुसार जिल्लाजिल्लामा मल पठाउँदै आएको उहाँले बताउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा आएको युरिया ५५ हजार दुई सय ९७ मेट्रिक टन, डिएपी ३० हजार सात सय ६१ मेट्रिक टन मलमध्ये युरिया ४४ हजार चार सय ८८ मेट्रिक टन, डिएपी २६ हजार ६ सय ६ र पोटास एक हजार सात सय ३१ मेट्रिक टन रासायनिक मल जिल्लाजिल्लामा वितरण गरेको छ ।

सो अवधिमा पर्सा जिल्लामा मात्र युरिया चार हजार सात सय ७० मेट्रिक टन, डिएपी दुई हजार नौ सय ४३ मेट्रिक टन र पोटास चार सय चार मेट्रिक टन मल बिक्री गरिएको प्रमुख पाण्डेयको भनाइ छ ।

मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको उहाँले बताउनुभयो ।

सो कार्यालयमार्फत मधेस प्रदेशको आठवटै जिल्ला, बागमती प्रदेशको १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लम्जुङ, गोरखा, कास्की, पर्वतलगायत जिल्लामा रासायनिक मल पठाउँदै आएको छ । बर्सेनि डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या हुने गरेको किसानको गुनासो छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौँ महानगरपालिकाद्धारा नेपाल बाल सङ्गठनलाई ३० लाख सहयोग

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई रु ३० लाख प्रदान गरेको छ । बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि रु ३० लाख रकम प्रदान गरिएको हो ।

सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि कामपाले उक्त रकम उपलब्ध गराएको उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो ।चालु आर्थिक वर्षमा सङ्गठनको २० प्रतिशत लागत सहभागिता हुनेगरी महानगरपालिकाले रु ५० लाख उपलब्ध गराउनेछ । उपप्रमुख डङ्गोलले यसमध्येको ३० लाख, सङ्गठनको अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गर्नुभएको हो ।यस क्रममा उपप्रमुख डङ्गोलले भन्नुभयो, “लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नुपर्ने अवस्था हुनुहुँदैन । बाल सङ्गठन व्यवस्थापनको मुख्य दायित्व सङ्घ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।” सङ्गठनकी अध्यक्ष न्यौपानेले, सङ्गठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०÷८५’ सार्वजनिक

कर्णाली, ६ पुस : कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०÷८५’ सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख÷अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो ।

कार्यक्रम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यो आँखा स्वास्थ्य रणनीति तयार हुनु नै उपलब्धिको विषय भएको बताउनुभयो । “आँखा संवेदनशील अङ्ग हो, बचाउन संयम हुनुपर्दछ । यसैका लागि बनेको रणनीति कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्दछ,” उहाँले भन्नुभयो, “रणनीतिमा समावेश गरिएका विषयवस्तुहरुमा केन्द्रित भएर काम गर्नुपर्दछ । जसले यहाँका जनताको आँखा स्वास्थ्य सेवामा उल्लेख्य भूमिका खेलोस् ।” उहाँले रणनीतिले लिएको ध्येय, लक्ष्य र उद्देश्य पूरा हुने गरी काम गर्न स्थानीय तह, प्रदेश सरकार, अर्ध सरकारी, साझेदार निकायसहित सबै सरोकारवालाहरुको उत्तिकै दायित्व रहेको बताउनुभयो । 

मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले आँखा स्वास्थ्यसम्बन्धी बनेका कर्णाली प्रदेश रणनीतिले यहाँका नागरिकको आँखा जोगाउन विशेष मद्दत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दस्तावेज एउटा साधन हो साध्य होइन । यसलाई पूर्णता दिन हामीले प्रयोगमा ल्याउनुपर्दछ र नागरिकलाई अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्दछ ।” उहाँले बृहत् आँखा स्वास्थ्य सेवालाई स्वास्थ्य सेवाको मूलधारमा एकीकृत गर्दै हरेक तहबाट गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य उपलब्ध गराउने उद्देश्यले रणनीति तयार भएको जनाउनुभयो ।

कार्यक्रममा आँखा स्वास्थ्यको ग्लोबल, राष्ट्रिय तथा प्रादेशिक सिनारियोका बारेमा परामर्शदाता डा अनिल सुवेदीले आफ्नो प्रस्तुति राख्नुभयो । त्यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक डा शक्तिप्रसाद सुवेदीले कर्णाली प्रदेशको आँखा स्वास्थ्य रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

हामी नेपाली ग्लोबल दुबईद्वारा गायिका पुर्णिमा लामा सम्मानित

कलिलो उमेरमै नेपाली गीत संगीत क्षेत्रमा सर्बाधिक चर्चा बटुल्न सफल चर्चित गायिका पुर्णिमा लामालाई हामी नेपाली ग्लोबल यु.ए.ई द्वारा सम्मान गर्नु भएको हो । सुरिलो स्वोरकी धनी चर्चित गायिका पुर्णिमा लामाले नेपाली गीत संगीत क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनु भएको भन्दै उहाँको योगदानको उच्च मुल्याङकन गर्दै हामी नेपाली ग्लोबल यु.ए.ई द्वारा विशेष सम्मान प्रदान गर्नु भएको हो ।

हामी नेपाली ग्लोबल यु.ए.ई का अध्यक्ष दिल लामाको अध्यक्षतामा एक विशेष सम्मान कार्यक्रम आयोजना गरि चर्चित गायिका लामालाई सम्मान गर्नु भएको थियो । उक्त विशेष सम्मान समारोहमा हामी नेपाली ग्लोबल यु.ए.ई का उपाध्यक्ष शंकर श्रेष्ठ, हामी नेपाली ग्लोबल अबुधाबी च्याप्टरका अध्यक्ष रोशन श्रेष्ठ,माहासचिव सन्ध्या सुस्केरा मोक्तान, कोषअध्यक्ष राजेस श्रेष्ठ , सदस्य ओमर श्रेष्ठ समेत उपस्थिति रहेको थियो ।गायिका लामा सांगीतिक कार्यक्रम को निम्ति दुबई पुगेकी थिईन्।

ज्येष्ठ नागरिकको घरमै उपचार : गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

ढोरपाटन (बागलुङ), ६ पुस : गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा हुनुभयो । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उहाँमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उहाँलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सक्नुभएको थिएन । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो ।

बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो । चिकित्सकले उहाँको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उहाँ दङ्ग पर्नुभयो । घरमै चिकित्सक आएर उपचार गर्छन् भन्ने तुलसीले कल्पना पनि गर्नुभएको थिएन । जब थालेपोखरा गाउँमा नगरपालिकाबाट जनप्रतिनिधिसहित चिकित्सक र स्वास्थ्यकर्मी टोली पुग्यो तुलसीसहित गाउँका धेरै मानिस अचम्मित भए ।गलकोट नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुशील पौडेल, गलकोट नगर अस्पतालका एमडी जिपी डा राजेश पौडेल लगायतको टोलीले ढेड सय बढी ज्येष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ । गाउँभन्दा टाढा हुँदा धेरै नागरिक बिरामी भएर पनि अस्पताल पुग्न सक्दैनथे । सामान्य बिरामीले गाउँको सहरी स्वास्थ्य केन्द्रमा उपचार पाउँथे । नगरपालिकाले दूरदराजका नागरिकलाई लक्षित गरी घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाए ।पुनले टाढा जान नसक्दा अहिलेसम्म गाउँमै रोग पालेर बस्नु परेको सुनाउनुभयो । घरै नजिक आएको चिकित्सकसहितको टोलीले आफ्नो निःशुल्क स्वास्थ्य जाँच गरी औषधी दिएको उहाँको भनाइ छ । औषधी खाएर निको नभए पुनः चिकित्सकले जाँच गर्ने पुन बताउनुहुन्छ । आफूलाई चक्कर आउने र टाउको दुख्नेबाहेक अरू समस्या नभएको सुनाउँदै घरमै आएर उपचार गरिदिँदा खुशी लागेको उहाँले बताउनुभयो । अहिलेसम्म यो गाउँमा चिकित्सक कहिल्यै नआएको भन्दै पहिलो पटक विशेषज्ञ सेवा लिन पाएको पुनको भनाइ छ ।“गाउँमा मान्छेहरु बिरामी हुँदा गाडी खोजेर टाढा–टाढा उपचार गर्न जाने गर्छन्, गाउँ नजिक सानो अस्पताल छ, त्यहाँ ठूलो रोगको उपचार हुँदोरैनछ, म पनि बिरामी भएको महिनादिन बढी भयो, घुमाउने, टाउको दुख्ने हुन्थ्यो, उपचार पाएको थिएन,” पुनले भन्नुभयो, “डाक्टर घरमै आएर जाँच्नु भयो, औषधी पनि दिएर जानुभएको छ, फेरि केही महिनापछि आउने भन्नुभएको छ, गाउँमा अरू मान्छे पनि बिरामी थिए, उनीहरुले पनि औषधी पाएका छन्, गाउँघरमा आएर उपचार गरिदिने, औषधी दिएपछि टाढा किन जानु प¥यो ?, मलाई त धेरै खुशी लागेको छ, यहाँ अहिलेसम्म यस्तो सुविधा आएको मैले थाहापाएको छैन ।”स्थानीय ६० वर्षीय दुर्गाबहादुर खत्रीले सुविधायुक्त अस्पताल नजिक नहुँदा धेरै नागरिकले दुःख पाएको भन्दै गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताउनुभयो । अहिलेसम्म विशेषज्ञ चिकित्सक आएर गाउँमा यस किसिमको शिविर नभएको भन्दै यसपालि नगरपालिकाले यहाँका नागरिकको समस्या बुझेको उहाँको भनाइ छ । गाउँ–गाउँमा सुविधा सम्पन्न अस्पतालहरु नभए पनि समय–समयमा दूरदराजमा पुगेर स्वास्थ्य सेवा दिँदा धेरै नागरिक लाभान्वित हुने खत्रीले बताउनुभयो । यो गाउँ अहिलेसम्म विकट रहेको र सडकको अवस्था पनि निकै जोखिमयुक्त हुँदा अस्पतालसम्म सहज रुपमा पुग्न नसकिने उहाँको भनाइ छ ।स्थानीयवासी खत्रीले भन्नुभयो, “गाउँमा यसरी डाक्टरहरु आएर हाम्रो परीक्षण गरेर निःशुल्कमा औषधी पाइन्छ भन्ने सोचेका पनि थिएनौँ, नगरपालिकाले हाम्रो समस्या बुझ्यो, बल्ल सरकार भएको महसुस भयो, यस्ता खालका सेवाहरु महिना÷तीन महिनामा दिइराख्यो भने जनतालाई दुःख हुने थिएन, अर्को पटक पनि चिकित्सकहरु आउने भनेका छन्, सामान्य प्रेसर जाँच गर्न पनि टाढा जानुपर्ने ठाउँमा छौँ हामीहरु, अब समस्या पर्दैन होला ।” थालेपोखरा गाउँ बागलुङको गलकोट नगरपालिकाको विकट गाउँ हो । त्यसले गर्दा गलकोट नगरपालिकाले सोही गाउँबाटै र घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी अघिल्लो वर्षदेखि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकामा यस वर्ष निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पनि सुरुआत गरेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुशील पौडेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधी दिँदा उनीहरुलाई टाढा जान नपर्ने र खर्च पनि नहुने पौडेलको भनाइ छ । नगरपालिकाअन्तर्गत ६० वर्षभन्दा माथिका पाँच हजार ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको उहाँले बताउनुभयो ।वर्षको दुई पटक घरमै पुग्ने, पहिलोपटक स्वास्थ्य परीक्षक गरी औषधी दिनाका साथै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्डसमेत दिने र पुनः अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने संयोजक पौडेलको भनाइ छ । ज्येष्ठ नागरिकको घरमै पुगेर सुगर, प्रेसर, आँखा, छालालगायत रोगको जाँच र निःशुल्क औषधी दिने गरेको उहाँले बताउनुभयो । यस वर्ष घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र शिविरका लागि नगरपालिकाले रु सात लाख विनियोजन गरेको पौडेलको भनाइ छ । नगरपालिकाको ११ वटै वडामा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै विशेषज्ञ स्वास्थ्य शिविर गरिने उहाँले बताउनुभयो ।“गलकोट नगरपालिकामा पाँच हजार ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधी उपलब्ध गराउने छौँ, यो कार्यक्रम पोहोर सालदेखि सुरु गरेका हौँ, यस वर्ष थप प्रभावकारी बनाउन लागिरहेका छौँ,” उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक कोही पनि छुट्नुहुने छैन, अन्य नागरिकले पनि शिविरबाट सेवा लिनुहुने छ, ११ वटै वडामा पुगेर सेवा प्रदान गर्ने छौँ ।”गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जनतालाई स्वस्थ राख्नका लागि घरघरमा पुगेर स्वास्थ्य सेवा दिन थालिएको बताउनुभयो । पालिकाले हरेक वर्ष स्वास्थ्यमा नयाँ–नयाँ काम गर्दै आएको भन्दै यस वर्ष सुगमदेखि दुर्गमसम्मका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन लागेको उहाँको भनाइ थियो । कोही पनि नागरिकले उपचार नपाएर दुःख नपाओस् भन्ने हिसाबले गाउँमै स्वास्थ्य सेवा पु¥याउनका लागि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र स्वास्थ्य शिविर सुरु गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

खाना पकाउने ग्यासको खपत घट्दो

काठमाडौँ । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।

चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ ।

पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग्यासको खपतमा कमी आएको जानकारी दिए ।

“विगतका वर्षमा चिसोको समयमा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म बढ्ने गरेको थियो,” अध्यक्ष घिमिरेले भने, “बिजुलीको नियमित आपूर्ति नहुँदा उपभोक्ता बिजुलीमा पूर्ण भर पर्ने अवस्था छैन, आर्थिक गतिविधि सुस्त भएकाले ग्यासको खपतमा कमी आएको हो ।”

५९ उद्योगका पौनै दुई करोड सिलिन्डर उपभोक्ताका घरमा छन् । विगतका वर्षमा एउटा घरमा तीन वटा सिलिन्डर बराबर एक सिलिन्डर मासिक ग्यास खपत हुने गरेकामा अहिले आएर त्यसमा २० देखि ३० प्रतिशतसम्म ग्यास खपत घटेको उनको भनाइ छ ।

निगमका अनुसार चालु आवको साउन महिनामा ४० हजार ४५६ मेट्रिक टन आयात भएको छ । यस्तै भदौ महिनामा ४५ हजार ९५९ मेट्रिक टन, असोज महिनामा घटेर ३८ हजार ८८६ मेट्रिक टनमा झरेको छ ।

यस्तै कात्तिक महिनामा ४२ हजार ६८६ मेट्रिक आयात भएकामा मङ्सिर महिनामा ४३ हजार ५१२ मेट्रिक टन ग्यासको आयात भएको छ । सामान्यतया बजारमा मासिक ४२ हजार ६०६ मेट्रिक टन ग्यास खपत हुने गर्छ ।

पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द थापाले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए ।

आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ । ग्यासको खपत घटेसँगै गत आवमा ग्यासको आयातमा कमी आएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

डेडिकेटेड र ट्रंक लाइन विवाद : बक्यौता नतिर्नेको लाइन काटिने

काठमाडौँ । आठ वर्षदेखि विवादमा रहेको विद्युत्को डेडिकेटेड र ट्रंक लाइनका सवालमा सरकार कठोर बन्ने संकेत देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार डेडिकेटेड र ट्रंक लाइनको २० अर्ब रूपैयाँ बक्यौता असुली गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन काट्न निर्देशन दिए। ‘डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरून्त काटौं,’ दाहालले ऊर्जा मन्त्रालयका अधिकारीलाई निर्देशन दिँदै भने, ‘ठुलाबाट सुरु गरेर सबै बक्यौता उठाउनेतर्फ जाऔं।’

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच आठ वर्षदेखि जुहारी चल्दै आएको छ। प्राधिकरणले लाइन काट्ने सूचना जारी गरेपछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत निजी क्षेत्रका प्रतिनिधि गएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि लाइन काट्ने काम रोकिँदै आएको थियो।

गत भदौको अन्तिम साता प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको २० अर्ब रुपैयाँ बक्यौता असुली गर्न सूचना प्रकाशित गरेपछि उद्योगी–व्यवसायीले प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराएका थिए। प्राधिकरणले सूचना निकालेर महसुल नबुझाए विद्युत् लाइन काट्ने चेतावनी दिएपछि उद्योगीहरूले प्रधानमन्त्रीलाई गुहारेका थिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको महासंघ पदाधिकारीसहित प्रतिनिधिमण्डलले भेटेपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी लाइन नकाट्न निर्देशन दिएका थिए।

अहिले प्रधानमन्त्री दाहाल आफैंले लाइन काट्न निर्देशन दिएर कठोर बन्ने संकेत गरेका हुन्। ‘विगतमा प्रधानमन्त्रीले नै लाइन नकाट्न भनेकाले रोकेका थियौं,’ नेपाल विद्युत् प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अहिले प्रधानमन्त्रीबाटै निर्देशन आएकाले लाइन काट्ने काम अघि बढ्छ।’ प्रधानमन्त्रीले निर्देशन दिए पनि फेरि उद्योगीले ‘डेलिगेसन’ गएर रोकिने सम्भावना रहेको पनि उनले बताए। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

पाँच जहाज लिलामीका लागि निगमले आह्वान गर्यो बोलपत्र

काठमाडौँ,-नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । चीनबाट विसं २०७१ मा आन्तरिक उडान प्रयोजनका लागि ल्याइएका दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलाम बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

पौडेलले भन्नुभयो, “जहाज लिलाम बिक्रीका लागि आज गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । आउँदो फेब्रअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद रहेको छ ।” उहाँका अनुसार लिलाम बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएका जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेडमा रहेका छन् ।
 

पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

चितवन, ६ पुस : पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उहाँले देशका ७४ जिल्लामा बजारीकरणका लागि पुग्नुभयो ।

यद्यपि, अहिले पनि अण्डाको लागत मूल्य पाउन अझै सकेको छैन । कोभिडको महामारीपछि निरन्तर नोक्सानमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता व्यवसायीमा छ । किसान पोखरेलको नेतृत्वमा बनेको नेपाल लेयर्स कुखुरापालक सङ्घले बजारीकरण गर्दै आएको छ । फार्मको अण्डालाई सोझै किसानको भान्सामा पु¥याउने गरी काम गरिरहेको छ ।किसान पोखरेलको भनाइमा प्रतिक्रेट (३० वटा अण्डाको) लागत मूल्य रु चार सय २० हाराहारी पर्दछ । अहिले पनि प्रतिक्रेट रु तीन सय ७० मा बिक्री गर्नुपर्ने बाध्यता छ । सङ्घ गठन भएपछि केही महिना लागत मूल्यसम्म पुगेको भए पनि पुनः घटेको हो । यद्यपि पहिलेको झैँ निकै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता अहिले नरहेको उहाँले बताउनुभयो ।चार वर्षअघि दैनिक ६० हजार कार्टुन (एक कार्टुनमा सात क्रेट) सम्म अण्डा उत्पादन हुने गरेकामा यो घटेर २४ हजार कार्टुन हाराहारीमा झरेको छ । एक हजार चार सय हाराहारी फार्मबाट घटेर तीन सय हाराहारीमा झरेको जनाइएको छ । ठूला फार्म सञ्चालनमा आएकाले धेरै अण्डा देखिए पनि फार्मको सङ्ख्या निकै घटेको छ ।किसान र व्यवसायीको अवस्था निकै खस्किएर व्यवसाय धान्ने सङ्घर्षमा रहेका छन् । आत्मनिर्भर यस व्यवसायलाई सरकारले सम्बोधन गर्न नसकेमा समाप्त हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अझै पनि सरकारले सम्बोधन गर्न सक्यो भने व्यवसाय जोगिन सक्छ ।”सङ्घकै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ सञ्चालन गरेर देशभरका अण्डा सङ्कलन गरी बजारीकरणसमेत गर्दै आएका छन् । यसले अण्डाको बजारीकरणमा सहयोग पुगेको उहाँको भनाइ थियो ।अभियानमा लाग्नुभएका पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पोल्ट्रीजन्य उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्दा नियमित नोक्सान व्यहोर्नु परेको बताउनुभयो । धेरै किसान विस्थापित भइसकेको उहाँको भनाइ छ ।उहाँको भनाइमा विगतको तुलनामा ४० प्रतिशतभन्दा बढी लेयर्स कुखुरा घटेका छन् । ब्वायलर प्यारेन्ट ४५ प्रतिशत, लेयर्स प्यारेन्ट ४३ प्रतिशत र अण्डाको उत्पादन ६५ प्रतिशतभन्दा बढीले घटेको छ । किसानसँग कुखुरा पाल्न आर्थिक अभाव भएको उहाँको भनाइ थियो ।सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैङ्कको ऋणको भरमा छन् । उनीहरुलाई बैङ्कको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ । बैङ्कको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष एवं उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले भन्नुभयो, “धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैङ्कलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।”पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले बैङ्कको ऋणले मात्रै व्यवसाय टिकेको जनाउँदै समयमा सुधार हुन नसके कूल ग्रार्हस्थ्य उत्पादनमा चार प्रतिशतभन्दा बढी योगदान दिएको यो व्यवसाय समाप्त भएर जाने बताउनुभयो । राज्यले व्यवसायीका समस्या बुझ्न नसक्दा पोल्ट्री व्यवसाय समस्यामा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार फेरिएपिच्छे मन्त्री र प्रधानमन्त्रीसम्म कुरा पु¥याएका छौँ, हाम्रा कुरा कसैले सुनेन ।”नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र बिष्टले नेपालको पोल्ट्री क्षेत्रमा रु दुई खर्बभन्दा बढी लगानी रहेको बताउनुभयो । समयमै राज्यले सम्बोधन गर्न नसकेमा यहाँको पोल्ट्री व्यवसाय पूरै समाप्त हुने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “आत्मनिर्भर रहेको यो व्यवसाय जोगाउन वा समाप्त पार्ने भन्ने राज्यको हातमा छ ।”ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष ऋषि पौडेलले कोभिड अघिसम्म तीन सय ४४ वटा ह्याचरी रहेकामा अहिले एक सय १७ मा झरेको बताउनुभयो । तीमध्ये पनि ८० हाराहारीले मात्रै चल्ला उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । लेयर्स चल्लाको उत्पादन लागत मूल्य रु ५५ प्रतिगोटा पर्ने भन्दै उहाँले अहिले रु ४५ हाराहारीमा बिक्री गर्न बाध्य रहेको बताउनुभयो ।निरन्तरको घाटाका कारण धेरै ह्याचरी बन्द भएको उहाँको भनाइ छ । सातामा लेयर्स चल्ला तीन लाख उत्पादन हुने गरेकामा अहिले यसको उत्पादन एक लाख २५ हजार र ब्वायलर चल्ला सातामा ४५ लाख उत्पादन हुने गरेकामा अहिले २० लाख मात्रै उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।भारतीय खुल्ला सिमानाबाट अवैध रुपमा आउने पोल्ट्रीजन्य पदार्थ, बढ्दो बैङ्कको ब्याजदर, नागरिकमा घटेको क्रयशक्ति, कच्चापदार्थको लगाइएको भन्सार लगायतका कारण यो व्यवसाय टिक्न मुस्किल भएको हो । यससँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य नबढ्नु र पोल्ट्रीका लागि आवश्यक दाना, औषधि, कच्चापदार्थको मूल्य बढ्नु र जनशक्तिको पारिश्रमिक थपिँदै जानुले सन्तुलन कायम गर्न नसकेर व्यवसाय धराशयी हुने अवस्थामा पुगेको किसान बताउँछन् ।सरकारको स्पष्ट नीतिको अभावमा आत्मनिर्भर व्यवसाय पलायन हुने अवस्थामा पुगेको जनाउँदै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । यसबाट प्रत्यक्ष रुपमा बैङ्किङ क्षेत्रसमेत प्रभावित हुने देखिन्छ ।

भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने छौँ : अध्यक्ष नेपाल

चितवन – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने बताउनुभएको छ । पार्टीको राप्ती नगर कमिटीको भेलालाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताउनुभयो ।

“हामी स्वच्छ राजनीति गर्न चाहान्छौँ । हामी स्वच्छ राजनीतिसँगै सुशासनको पक्षमा छाैँ । भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति वा दललाई जनताले दण्डित गर्नुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो । बिना पैसा काम नहुने परिपाटी अन्त्य हुनुपर्ने बताउँदै अहिले सबै क्षेत्रमा भ्रष्टाचार फैलिएकाले भ्रष्टाचारीलाई जनताले नै दण्डित गर्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “हाम्रो पार्टी सुशासन, जनताको पक्षमा छ । जनतालाई रोजगारी उपलब्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गर्दै देशलाई अघि बढाउन दृढ छ ।” पार्टीलाई नयाँ उचाइमा पु¥याउनका लागि सबै नेता/कार्यकर्ता गाउँ, टोलसम्म पुगेर जनताका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले जनताको सङ्घर्षबाट नेपाल सङ्घीय लोकतान्त्रिक मुलुकका रुपमा अगाडि बढेको बताउँदै जनताका उपलब्धि खोस्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब जनताका दिन सुरु भएका छन् । मधेशी जनताको छोरो राष्ट्रपति बन्नसक्ने अवस्था हामीले बनाएका छांँै । नेपाली छोरी राष्ट्रपति बन्ने सुनिश्चित बनाएका छौँ । यो हामीले जनताको शक्तिको उपजमा प्राप्त गरेका हौँ ।”

भेला आयोजक कमिटीका अध्यक्ष राम सेढाइँको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका उपमहासचिव गङ्गाराज तुलाधर, बागमती प्रदेश सदस्य सुमिता डल्लाकोटी, राप्ती नगरपालिकाका प्रमुख एवं नेकपा समाजवादी जिल्ला सचिवालय सदस्य शमशेर लामालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । भेलाले रामकृष्ण पण्डितको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट धार्मिक स्वतन्त्रता प्राप्त’ – मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा धार्मिक स्वतन्त्रता प्राप्त भएको बताउनुभएको छ ।

इसाई समाज सुर्खेतद्वारा ‘ख्रीष्टमस बडादिन तथा नव वर्ष २०२४’ को पूर्वसन्ध्यामा बिहिबार वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शर्माले जनयुद्धको जगमा भएको जनआन्दोलन र नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकले संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता प्राप्त गरेको जनाउनुभयो । ख्रीष्टमसलगायत पर्व एवं स्वतन्त्रताका साथ आफ्नो संवैधानिक अधिकार उपभोग गर्ने हक गणतान्त्रिक व्यवस्थाको उपलब्धि भएको उहाँले बताउनुभयो ।

“शासकले गलत गर्दा नि उत्तिबेला हामीले बोल्न पाउदैनथ्यौँ”, उहाँले भन्नुभयो, “आजको व्यवस्थाले हाम्रो स्वतन्त्रताको अधिकारलाई सुनिश्चित गरेको छ । जुन स्वतन्त्राले हाम्रो मौलिकता, धर्म, संस्कृति, संस्कारको प्रवर्द्धन र संरक्षण गरेको छ । खास धर्म मर्म भनेकै कसैलाई दुःख नदिने हुनुपर्दछ । यसका नाममा हुने सबैखाले विभेद अन्त्य गर्नुपर्दछ ।” नेपाली जनताले लडेर ल्याएको संविधान सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिताको संस्थागत गर्न हामी सबै एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

इसाई धर्मको मूल्यमान्यता र आस्थाले विभेद अन्त्य गर्न सघाउ पुर्‍याएको बताउनुभएका मुख्यमन्त्री शर्माले खुशीसँग जोडिएको समृद्धि र सुखसँग जोडिएको आर्थिक सम्पन्नता अनि ‘समृद्ध कर्णाली, सुखारी कर्णाली’ को लक्ष्य पूरा गर्ने अभियानमा सबै धर्मावलम्बीको सहयोग आवश्यक रहेको जनाउनुभयो ।

इसाई धर्मगुरु रेभरेन्ट पास्टर लील श्रीसले पुनरुत्थान र जीवन प्रभुमा रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “पृथ्वीको अध्यात्मिक क्रान्तिकारी यशु हुन् । मानिसको पाप क्षमाका लागि उहाँले जीवन दिनुभयो । शत्रुलाई पनि प्रेम गर्न सिकाउने यशुको अर्तीले मानिस जातिको जीवनमा सत्कर्म गर्न सिकाएको छ । जसबाट आशा र उत्साह दुवै मिलेको अनुभूति हुन्छ ।” प्रमेश्वरको वचन पुगेको ठाउँमा सम्पन्नता प्राप्ति हुने पास्टर श्रीसको भनाइ थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले इसाई धर्मले मानव जातिलाई उच्च र वरिष्ठ दर्जामा राख्न तथा सही मार्ग देखाउन मद्दत गरेको बताउनुभयो । “विश्वासमा सबैभन्दा ठूलो तागत हुन्छ, जुन तागत क्रिश्चियनहरुमा पाइन्छ”, उहाँले भन्नुभयो, “मुलुकलाई पवित्रताको मार्गमा डोर्याउन क्रिश्चियन अगुवाहरुले अँझै अगुवाईको भूमिका खेल्नुपर्दछ । राज्यले धर्म, संस्कृति, भाषालाई सुरक्षित गर्दै जाँदा मुलुक समृद्ध हुने उहाँको जिकिर थियो ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विक र प्रदेशसभा सदस्य बलिमाया बुढाले ख्रीष्टमसले जीवन र जगतमा रहेर काम गर्नेहरुलाई सत्कर्ममा जिउनुपर्दछ भन्ने सन्देश प्रवाह गरेको जनाउँदै सबैखाले धर्म, संस्कृति र संस्कार राज्यका सम्पति भएको बताउनुभयो ।

आगामी १० वर्षभित्र दलित लेख्ने अवस्थाको अन्त्य गरिने

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी १० वर्षभित्र प्रदेशमा दलित लेख्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । रिडेफ नेपालद्वारा यहाँ आयोजित ‘प्रदेशको नीति तथा योजनामा दलित सरोकार’ विषयक अन्तरक्रियामा उहाँले विभेदरहित समाज निर्माणका लागि सरकारले सुरू गरेको मानवीय विकास अभियानले दलित लेख्ने अवस्था नरहने प्रष्ट पार्नुभयो ।

मुख्यमन्त्री कार्कीले परम्परागत सीपलाई प्राविधिक शिक्षाको रूपमा विकास गरी समाजमा रहेको पछौटे र गरिबी अन्त्य गर्ने बताउनुभयो । मुलुकमा समानता र विभेदरहित समाज निर्माणमा हामी सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकामा दुई जना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षालगायत क्षेत्रमा सरकारले मानवीय विकास अभियान सुरु गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले समाजमा आर्थिक अवस्था कमजोर हुँदै जाँदा विभेद सुरू हुने विचार राख्नुभयो ।

हेर्नुहोस् पुष ६ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । बाणीका कारण सामान्य बादबिवादको योग रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृष राशि – नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि – भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कर्कट राशि- शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

सिंह राशि – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि- सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि – भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि- मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि- प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

भ्रष्टाचार र गल्ती आफू पनि गर्दिन र आफ्ना पार्टीका नेतालाई पनि गर्न दिन्न:सभापति रवि लामिछाने

तनहुँ, ५ पुस : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशको विकास परिवर्तन गर्न रास्वपा राजनीतिमा आएको बताउनुभएको छ । रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद–६ मा आज आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछाने भ्रष्टाचार र गल्ती आफू पनि गर्दिन र आफ्ना पार्टीका नेतालाई पनि गर्न दिन्न भन्नुभयो ।

नेतृत्व इमान्दार भए अरुलाई भ्रष्टाचार गर्ने आँट नहुने जिकिर गर्दै उहाँले भन्नुभयो, “देशका ठूलाठूला व्यक्तिले भ्रष्टाचार गर्दिन भनेर लाग्ने हो भने भ्रष्टाचार अन्त्य हुन सक्छ ।” भ्रष्टाचारको स्वीच कहाँ छ भन्ने कुरा सरकारले खोलेका फाइल हेरे थाहा हुने उहाँले उल्लेख गर्नुभयो ।

पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा छौँ : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की) ५ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वदेशी उत्पादन वृद्धि र रोजगारी सृजना गर्न उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित लेखनाथ महोत्सव आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “रोजगारीका लागि विदेश जाने बढ्दोक्रम रोक्दै स्वदेशमै रोजगारीको सृजना गर्नुको विकल्प छैन । स्वरोजगार र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढेको छ ।”

प्रदेशका पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझो भएका कारण त्यस क्षेत्रमा कृषि उत्पादन गर्न प्रदेश सरकारले कृषि अनुदानको कार्यक्रम ल्याउने तयारी गरेको उहाँको भनाइ छ । गण्डकीलाई समृद्ध र समुन्नत प्रदेश बनाउन दलगत स्वार्थ त्यागेर अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

“कृषि र पर्यटनबाट नै गण्डकी प्रदेशको समृद्धि हुने भएकाले सरकार ती क्षेत्रको विकासमा जुटेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा छौँ ।” उहाँले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै त्यसलाई सञ्चालन गर्न आफूले छिमेकी दुई देशसँग समन्वय गर्नुको साथै सङ्घ सरकारलाई पनि पहल गर्न आग्रह गरिरहेको जानकारी दिनुभयो । 

प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशको समृद्धिका लागि यस क्षेत्रका उद्योग तथा सहकारीले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । पोखराका नौ वटा ताललाई सडक सञ्जालबाट जोड्न सकिए पर्यटकको बसाईं लम्ब्याउन सकिने भनाइ उहाँको थियो । 

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले १९औँ संस्करणको लोखनाथ महोत्सव यही पुस ५ देखि १६ गतेसम्म सञ्चालनमा आउने बताउनुभयो । विसं २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिस्कृत गर्दै विसं २०६१ देखि वार्षिक रुपमा महोत्सव गर्दै आएको उहाँले बताउनुभयो । 

विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्य मात्र नभई महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादनको प्रदर्शनी एवं बिक्री गरिने उहाँले बताउनुभयो । 

महोत्सवमा कविशिरोमणि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम, महिला विशेष तथा रीतिरिवाज जर्गेनाअन्तर्गत रत्यौली कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा/महिला समूहको झाँकी, ¥याली तथा वेशभूषा प्रदर्शनी, हास्यव्यङ्ग्य कलाकारको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट हुने बताइएको छ ।

औद्योगिक उत्पादनलाई बढावा दिन, हस्तकलाका सामानको बजार प्रवर्द्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमहशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातीय वेशभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न, आन्तरिक एवं वाह्य पर्यटक आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने महोत्सवको मुख्य उद्देश्य रहेको छ । 

महोत्सवको बचतबाट प्रदर्शनीस्थल र सङ्घको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ वेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि उत्कृष्टस्तरको कोसेली घर निर्माण, सङ्घद्वारा वेगनासतालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बर पार्क निर्माणलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने सो अवसरमा बताइएको छ । 

विभिन्न तीन सय ३४ व्यापारिक कक्ष रहने महोत्सवको दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब नौ करोड बराबरको आर्थिक कारोबार हुने र करिब ९० लाख आम्दानी भई १० लाख बचत हुने लक्ष्य राखिएको छ । 

चीनका बालबालिमा देखिएको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना, तयारी रहन अस्पतालहरुलाई निर्देशन

काठमाडौँ, ५ पुस : चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताउनुभयो ।

बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उहाँले जानकारी दिनुभयो ।

बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्समा चेकजाँच कडाइ गरिएको बताउनुभयो । “चीनमा यसको सङ्क्रमण देखिएको पनि धेरै समय भयो । यदि नेपालमा प्रवेश गर्ने थियो भने पहिल्यै नै आइसक्ने थियो”, उहाँले भन्नुभयो, “अहिले हामीले अस्पताललाई तयारी अवस्था राखेका छौँ भने सबैलाई सचेत रहन आग्रह गरेका छौँ ।”

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले नेपालमा यसअघि देखिएका भन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न सम्बद्ध सबैलाई निर्देशन दिइएको बताउनुभयो । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनियाको रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताउनुभयो । उहाँले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत बनाइएको जानकारी दिनुभयो ।

“चीनमा एक्कासि धेरै बालबालिका निमोनिया देखिएको छ । कोरोना र मङ्किफक्सले गर्दा हामी झस्किएका छौँ । त्यसैले बेलैमा निमोनियाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिएका छाँै,” ओझाले भन्नुभयो । उहाँले उक्त निमोनियाको परीक्षण गर्ने व्यवस्था नेपालमा रहेको भन्दै जोखिमको तह बढ्दै गए सोही अनुसार उपचार र रोकथाम गरिने बताउनुभयो ।

कान्ति बाल अस्पतालका निर्देशक डा पङ्कज रायले निमोनियाको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको बताउनुभयो । “हाम्रीले अस्पतालमा चिकित्सकको समूहलाई निमोनियाको उपचारका लागि तयारी अवस्थामा राखेका छौँ,” उहाँले भन्नुभयो ।

रायका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभी) गर्दा भएको निमोनियाले बच्चामा लामो समयसम्म रुघाखोकी लाग्ने, जीउ दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या आउने, ज्वरो आउने, छाति बज्ने, सिँगान बग्नेलगायत जस्ता लक्षण देखिने गर्दछन् । उहाँले अहिले पनि अस्पतालमा निमोनियाको प्रभावकारी उपचार भइरहेको भन्दै भन्नुभयो, “हामी कहाँ अहिले पनि आरएसभीले गर्दा हुने बिरामी छन् । चीनमा देखिएको आरएसभी भने यहाँ देखिएको भन्दा कडा खालको हो ।”

कर्णाली प्रदेशमा कर्मचारी सञ्चय कोषको सेवा सहज हुँदै

भेरीगङ्गा (सुर्खेत) ५ पुस : कर्णाली प्रदेशमा कर्मचारी सञ्चय कोषको सेवा सहज हुँदै गएको छ । कोषको सेवा यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएकोमा अबदेखि कोषले आफ्नै स्वामित्वको भवनबाट सेवा दिन सुरु गरेको छ । रु छ करोड ७२ लाख ३४ हजार लागतमा निर्माण भएको सुविधा सम्पन्न भवन आज कोषका सञ्चालक समिति अध्यक्ष एवं राजस्व सचिव डा रामप्रसाद घिमिरेले उद्घाटन गरेपछि सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास लिइएको हो ।

अध्यक्ष घिमिरेले सङ्घीय संरचनाअनुसार कार्यालय भवन निर्माण भएको भन्दै सङ्घीयता कार्यान्वयनमा पनि बल पुग्ने बताउनुभयो । कर्मचारीप्रति समाजमा गलत भाष्य निर्माण हुन थालेको भन्दै त्यसलाई चिर्नेगरी काम गर्नुपर्नेमा उहाँको जोड थियो । “समाजमा गलत भाष्य निर्माण भएको छ”, उहाँले भन्नुभयो, “कर्मचारीले सबै विगारे भन्ने छ । त्यसलाई चिर्नेगरी काम गर्नुपर्छ । मानिस कुराले होइन कामले ठूलो हुन्छ ।”

कोषका बचत देशको पूर्वाधार विकासको क्षेत्रमा उपयोग गरेर आर्थिक विकासमा योगदान गर्नुपर्ने डा घिमिरेले बताउनुभयो । उहाँले कोषको सेवा अझै प्रभावकारी तुल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्मचारी युनियनका प्रतिनिधि धर्मराज ढुङ्गानाले सञ्चय कोषलाई सहकारी र सहमतिका रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । प्रशासक जितेन्द्र ढकालले पनि सञ्चय कोषको सेवालाई अझै राम्रो बनाउनुपर्नेमा जोड दिँदै कर्णालीको विकासमा सञ्चय कोष आधार बन्न सक्ने उल्लेख गर्नुभयो ।

सञ्चय कोष शाखा कार्यालय सुर्खेतका प्रमुख रविकान्त तामाङले अब नयाँ भवनबाट दिइने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । सञ्चय कोषले विसं २०६२ देखि सुर्खेतबाट सेवा दिन थालेको हो । अहिलेसम्म भाडाको घरबाट सेवा दिइरहेको कोषले विसं २०६९ असार २९ गते रु एक करोड २२ लाख १० हजारमा ११ कठ्ठा २ धुर जमिन सुर्खेत उपत्यका नगरविकास समितिबाट खरिद गरिएको थियो । शाखा कार्यालय भवन, निर्माणको लागि रु आठ करोड सात लाख ९७ हजार छ सय ९४ लाग्ने गरी लागत स्वीकृत गरी विसं २०७७ असार १६ गतेदेखि निर्माण सुरु भएको थियो ।