`

चीनका बालबालिमा देखिएको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना, तयारी रहन अस्पतालहरुलाई निर्देशन

काठमाडौँ, ५ पुस : चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताउनुभयो ।

बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उहाँले जानकारी दिनुभयो ।

बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्समा चेकजाँच कडाइ गरिएको बताउनुभयो । “चीनमा यसको सङ्क्रमण देखिएको पनि धेरै समय भयो । यदि नेपालमा प्रवेश गर्ने थियो भने पहिल्यै नै आइसक्ने थियो”, उहाँले भन्नुभयो, “अहिले हामीले अस्पताललाई तयारी अवस्था राखेका छौँ भने सबैलाई सचेत रहन आग्रह गरेका छौँ ।”

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले नेपालमा यसअघि देखिएका भन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न सम्बद्ध सबैलाई निर्देशन दिइएको बताउनुभयो । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनियाको रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताउनुभयो । उहाँले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत बनाइएको जानकारी दिनुभयो ।

“चीनमा एक्कासि धेरै बालबालिका निमोनिया देखिएको छ । कोरोना र मङ्किफक्सले गर्दा हामी झस्किएका छौँ । त्यसैले बेलैमा निमोनियाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिएका छाँै,” ओझाले भन्नुभयो । उहाँले उक्त निमोनियाको परीक्षण गर्ने व्यवस्था नेपालमा रहेको भन्दै जोखिमको तह बढ्दै गए सोही अनुसार उपचार र रोकथाम गरिने बताउनुभयो ।

कान्ति बाल अस्पतालका निर्देशक डा पङ्कज रायले निमोनियाको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको बताउनुभयो । “हाम्रीले अस्पतालमा चिकित्सकको समूहलाई निमोनियाको उपचारका लागि तयारी अवस्थामा राखेका छौँ,” उहाँले भन्नुभयो ।

रायका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभी) गर्दा भएको निमोनियाले बच्चामा लामो समयसम्म रुघाखोकी लाग्ने, जीउ दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या आउने, ज्वरो आउने, छाति बज्ने, सिँगान बग्नेलगायत जस्ता लक्षण देखिने गर्दछन् । उहाँले अहिले पनि अस्पतालमा निमोनियाको प्रभावकारी उपचार भइरहेको भन्दै भन्नुभयो, “हामी कहाँ अहिले पनि आरएसभीले गर्दा हुने बिरामी छन् । चीनमा देखिएको आरएसभी भने यहाँ देखिएको भन्दा कडा खालको हो ।”

कर्णाली प्रदेशमा कर्मचारी सञ्चय कोषको सेवा सहज हुँदै

भेरीगङ्गा (सुर्खेत) ५ पुस : कर्णाली प्रदेशमा कर्मचारी सञ्चय कोषको सेवा सहज हुँदै गएको छ । कोषको सेवा यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएकोमा अबदेखि कोषले आफ्नै स्वामित्वको भवनबाट सेवा दिन सुरु गरेको छ । रु छ करोड ७२ लाख ३४ हजार लागतमा निर्माण भएको सुविधा सम्पन्न भवन आज कोषका सञ्चालक समिति अध्यक्ष एवं राजस्व सचिव डा रामप्रसाद घिमिरेले उद्घाटन गरेपछि सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास लिइएको हो ।

अध्यक्ष घिमिरेले सङ्घीय संरचनाअनुसार कार्यालय भवन निर्माण भएको भन्दै सङ्घीयता कार्यान्वयनमा पनि बल पुग्ने बताउनुभयो । कर्मचारीप्रति समाजमा गलत भाष्य निर्माण हुन थालेको भन्दै त्यसलाई चिर्नेगरी काम गर्नुपर्नेमा उहाँको जोड थियो । “समाजमा गलत भाष्य निर्माण भएको छ”, उहाँले भन्नुभयो, “कर्मचारीले सबै विगारे भन्ने छ । त्यसलाई चिर्नेगरी काम गर्नुपर्छ । मानिस कुराले होइन कामले ठूलो हुन्छ ।”

कोषका बचत देशको पूर्वाधार विकासको क्षेत्रमा उपयोग गरेर आर्थिक विकासमा योगदान गर्नुपर्ने डा घिमिरेले बताउनुभयो । उहाँले कोषको सेवा अझै प्रभावकारी तुल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्मचारी युनियनका प्रतिनिधि धर्मराज ढुङ्गानाले सञ्चय कोषलाई सहकारी र सहमतिका रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । प्रशासक जितेन्द्र ढकालले पनि सञ्चय कोषको सेवालाई अझै राम्रो बनाउनुपर्नेमा जोड दिँदै कर्णालीको विकासमा सञ्चय कोष आधार बन्न सक्ने उल्लेख गर्नुभयो ।

सञ्चय कोष शाखा कार्यालय सुर्खेतका प्रमुख रविकान्त तामाङले अब नयाँ भवनबाट दिइने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । सञ्चय कोषले विसं २०६२ देखि सुर्खेतबाट सेवा दिन थालेको हो । अहिलेसम्म भाडाको घरबाट सेवा दिइरहेको कोषले विसं २०६९ असार २९ गते रु एक करोड २२ लाख १० हजारमा ११ कठ्ठा २ धुर जमिन सुर्खेत उपत्यका नगरविकास समितिबाट खरिद गरिएको थियो । शाखा कार्यालय भवन, निर्माणको लागि रु आठ करोड सात लाख ९७ हजार छ सय ९४ लाग्ने गरी लागत स्वीकृत गरी विसं २०७७ असार १६ गतेदेखि निर्माण सुरु भएको थियो ।

वर्तमान अप्ठ्यारो र जटिल परिस्थितिमा सरकारले गरेको कार्य ऐतिहासिक : प्रधानमन्त्री

मोरङ, ५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशान स्थापना र सामाजिक न्यायका लागि सरकारले अगाडि बढाएका कामहरू सफल भएको बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सुशासन कायम गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ, सामाजिक न्याय र समृद्धिका लागि सरकारले अगाडि बढाएका कार्य सफल पनि भएका छन् ।” उहाँले वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गर्नुभयो ।

प्रधानमन्त्री दाहालले मिटर ब्याजीहरूबाट पीडितका विषयलाई सम्बोधन गरिएको, नागरिकतासम्बन्धी समस्या समाधान गरिएको एवं सामाजिक न्याय स्थापनाका लागि भएका प्रयासहरू वर्तमान सरकारका महत्त्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारविरुद्ध एवं सुशासनका पक्षमा गरिएको कारबाही ऐतिहासिक भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भू–माफिया एवं तस्करीकाविरुद्धको कारबाहीमा पनि सरकार खरोसँग उत्रिएको स्पष्ट पार्नुभयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सरकार पूर्णरुपमा सफल भएको बताउनुभयोे ।

प्रधानमन्त्री दाहालले एनसेलका सम्बन्धमा प्रर्याप्त तथ्य, प्रमाण र तथ्याङ्क राज्यव्यवस्था समितिको बैठकमा पेस भइसकेको भन्दै नेपालको संविधानअनुसार राष्ट्र र जनताको पक्षभन्दा बाहिर कोही कसैलाई जान नदिने दृढता व्यक्त गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले पार्टीको नामका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा समाजवादको भाव आउने खालको नयाँ नाम राख्नेगरी छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले कोशी प्रदेशको नाममा देखिएको असहमति संवाद गरेर सहमतिद्वारा टुङ्गो लगाउनुपर्छ भन्नुभयो । प्रदेशको नामको विषयलाई चर्काउने भन्दा पनि सहज प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रधानमन्त्री दाहालले विकास निर्माण तथा जनताको काम गर्नका लागि नयाँ ढङ्गबाट सरकार अगाडि बढ्ने बताउँदै यस सम्वन्धमा मन्त्रीहरूलाई लक्ष्य दिइने र सम्पन्न नभए सोहीअनुसार निर्णय गरिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालको शुक्रबार सुनसरीको भोक्राहामा विद्युत् प्रशारण लाइनको उद्घाटन गर्ने, मोरङको मिक्लाजङ गाउँपालिकामा विकास कार्यको अनुगमन गर्ने र विराटनगरस्थित मोरङ व्यापार सङ्घद्वारा आयोजित विराट एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सुपर लिग प्रवर्द्धकहरूद्वारा ‘६४ क्लब’ प्रतियोगिता आयोजना गर्ने घोषणा

युइएफएले प्रतिद्वन्द्वी प्रतियोगिता अवरुद्ध गर्न युरोपेली युनियन (इयु)को कानून उल्लङ्घन गरेको युरोपेली अदालतले फैसला गरेपछि अलग भएका युरोपेली सुपर लिगका प्रवर्द्धकहरूले बिहीबार नयाँ ६४ टिमको पुरुष प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेका छन् ।

ए२२ स्पोर्ट्स म्यानेनजमेन्टले योजनाबद्ध प्रतियोगिता कहिले सुरु हुनसक्छ वा क्लबहरूबीच कति समर्थन छ भन्नेबारे कुनै विवरण दिएको छैन । यद्यपि प्रतियोगितामा पदोन्नति (प्रमोसन) र घटुवा (रेलिगेसन) को सुविधा हुने र युनिफाई नामक ‘नयाँ स्ट्रिमिङ प्लेटफर्मममा’ प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।

सन् २०२१ अप्रिलमा सुरुआती असफलताको प्रारम्भसँगै सुपर लिगलाई प्रवर्द्धन गर्न सन् २०२२ को अन्त्यमा ए२२ स्पोर्ट्स म्यानेजमेन्टको स्थापना गरिएको थियो । अदालतको फैसलाप्रति प्रतिक्रिया दिँदै ए२२ का प्रमुख कार्यकारी अधिकारी बर्नाड रिचर्टले स्ट्रिम गरिएको भिडियोमा भन्नुभयो, “फुटबल स्वतन्त्र हो, युइएफएको एकाधिकारबाट मुक्त, प्रतिबन्धहरूको डरबिना सर्वोत्तम विचारहरूलाई अगाडि बढाउनका लागि स्वतन्त्र छ ।”

युइएफएले प्रारम्भिक परियोजना रोक्नका लागि अवैध रणनीति प्रयोग गरेको थियो । उक्त परियोजनामा १२ वटा मात्र क्लब थिए र केही दिनमै पतन भएको थियो । बिहीबार घोषणा गरिएको नयाँ योजनामा ६४ टिमलाई तीन भिन्नाभिन्नै लिगमा विभाजन गरिनेछ । शीर्ष स्टार लिगमा १६ क्लबलाई आठ क्लबका हिसाबले दुई समूहमा विभाजन गरिनेछ ।

गोल्ड लिग नाम रहेको दोस्रो स्तरमा पनि १६ क्लब सहभागी हुनेछन् । यसमा पनि आठ÷आठ क्लबको दुई समूह हुनेछन् । ब्लु लिग नामको तेस्रो स्तरमा प्रत्येक समूहमा आठ क्लब रहने गरी ३२ क्लब सामेल हुनेछन् । “क्लबहरूको सहभागिता खेलको योग्यताका आधारमा हुनेछ, यसमा कोही पनि स्थायी सदस्य हुनेछैन र क्लबहरू आफ्ना घरेलु लिगहरूका लागि प्रतिबद्ध रहनेछन्”, रिचर्टले भन्नुभयो । प्रस्तावअनुसार प्रत्येक प्रतिस्पर्धी क्लबले नकआउट चरणअघि ग्यारेन्टी १४ म्याच खेल्नुपर्नेछ ।

ए२२ ले अन्य युरोपेली क्लबहरूको एकता भुक्तानीमा ‘कम्तीमा ४० करोड युरो (४३ करोड ९० लाख अमेरिकी डलर)’ प्रस्ताव गर्ने बताएको छ । यो युइएफएले वितरण गरेको ‘हालको राशिको दुई गुणाभन्दा बढी’ हो । पहिलो वर्षका लागि ‘पारदर्शी मापदण्ड र प्रदर्शनका’ का आधारमा क्लबहरूको छनोट गरिने बताइएको छ । खेल वर्तमान च्याम्पियन्स लिग र अन्य युइएफए प्रतियोगिताका खेल हुने समय मध्य सातामा खेलाइने छ ।

ए२२ ले ३२ टिमको महिलाहरूको प्रतियोगिताको पनि योजना बनाएको छ । यसको स्ट्रिमिङ प्लेटफर्मले ‘विज्ञापन, प्रिमियम सदस्यता, वितरण साझेदारी, अन्तरक्रियात्मक सेवा र प्रायोजकहरू’ बाट आम्दानी गर्ने जनाइएको छ ।

मधेश मुस्कुराएमा मात्रै देश मुस्कुराउन सक्छ – विश्वप्रकाश शर्मा

जनकपुरधाम – महामन्त्री विश्वप्रकाश शर्माले मधेश मुस्कुराएमा मात्रै देश मुस्कुराउन सक्ने बताएका छन्। नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

शर्माले मधेसमा सङ्घीयताका लागि उठेका नारा कांग्रेस नेतृत्वले सुनेकै कारण तत्कालीन अवस्थामा देशमा सङ्घीयता आएको भन्दै यसको रक्षाको दायित्व पनि मधेस र कांग्रेसको काँधमा रहेको बताए । उनले मधेसमा कांगे्रस बलियो भएका बेला देशले कांग्रेसको नेतृत्व पाएको र त्यही तागतमा सधैँ परिवर्तन सम्भव भएको बताए । “अहिले पनि मधेसका गुनासो, असन्तुष्टिहरु छन् । तिनको सम्बोधनका लागि कांग्रेसले समन्वय गर्छ । मधेश मुस्कुराएमा मात्रै देश मुस्कुराउन सक्छ, सामाजिक रुपान्तरणसहितको यात्रा सफल हुनसक्छ । त्यसमा हामी सचेत छौँ”, महामन्त्री शर्माले भने ।

बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ – गगन थापा

जनकपुरधाम – महामन्त्री गगनकुमार थापाले देशमा बढ्दै गएको कुशासनका कारण जनतामा निराशा बढेको र त्यसलाई आशामा बदल्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय बढेका आक्रोसका आवाजलाई विभिन्न कोणबाट समीक्षा गरे पनि त्यस्तो तागत जनअसन्तुष्टिका कारण प्राप्त भइरहेको भन्दै महामन्त्री थापाले त्यसलाई सम्बोधन गर्न काम गरेर देखाउनुको विकल्प नभएको बताए । उनले भने, “जनता रिसाएका छन् । बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ । तर त्यसको जिम्मा कसले लिने हो ? चार प्रदेशमा मुख्यमन्त्री, सात प्रदेशमा कांग्रेससहितका सरकार, सबैभन्दा बढी पालिकामा कांग्रेसकै जनप्रतिनिधि छन् । त्यसैले हामीले बोलेर होइन काम गरेर देखाउनुपर्छ ।”

खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य लागू गर्नुपर्छ : मुख्यसचिव डा बैकुण्ठ अर्याल

काठमाडौँ, ५ पुस : मुख्यसचिव डा बैकुण्ठ अर्यालले खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गरिनुपर्ने बताउनुभएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घको २४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विविध कारणबाट स्वचालित मूल्य लागू हुन नसकेको भए पनि अब कार्यान्वन गर्नुपर्ने बताउनुभयो ।

उपभोक्ता सचेतना अभिवृद्धि गर्न व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अर्यालले ग्यास सिलिन्डरको सुरक्षामा ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । जनचेतना जगाउन सरकार र व्यवसायीले संयुक्त अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्य सचिव आर्यालले कोरोनाको बेलामा ग्यास अभाव हुन नदिन व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दवाडीले निजी क्षेत्रलाई सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले उपभोक्ताको हित संरक्षण गर्न र उपभोक्ता सचेतना बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले व्यावसायिक प्रयोजनका लागि ठूलो क्षमताका सिलिन्डर प्रयोगमा ल्याउन सहजीकरण गर्न आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान गर्न ब्याजदरलाई एकल अङ्कमा सीमित गर्नुपर्ने बताउनुभयो । सरकारलाई सहयोग गर्न व्यवसायी तयार रहेको उल्लेख गर्दै उहाँले सरकारी सेवा एकद्वार प्रणालीमार्फत प्रवाह गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएको उल्लेख गर्दै सरकारको समेत प्रयासबाट अर्थतन्त्र सहज हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले गर्ने कूल कारोबारको २० प्रतिशत हिस्सा एलपी ग्यासको रहेको जानकारी दिँदै ग्यासमा स्वचालित मूल्य कायम गर्न नसक्दा मासिक रू एक अर्ब नोक्सानी व्यहोर्दै आएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो । अफ्ठ्यारो अवस्थामा पुगेका व्यवसायीलाई सरकार छ भन्ने महसुस गराउनुपर्ने उहाँको भनाइ थियो ।

ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द्र थापाले ग्यास कारोबारलाई व्यवस्थित गर्न सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । स्थानीय तहमार्फत ग्यासको सुरक्षित प्रयोगसम्बन्धी सचेतना बढाउनुपर्नेमा उहाँको सुझाव थियो ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले ग्यासको प्रयोगबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न उपभोक्ता सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष शिवप्रसाद घिमिलेले ग्यास उद्योगमा निजी क्षत्रको ३० अर्ब लगानी रहेको जानकारी दिनुभयो । ग्यास उद्योग क्षेत्रबाट राजस्व सङ्कलनमा ठूलो योगदान भएको उहाँको भनाइ थियो ।

विसं २०२८ मा पहिलो पटक बालाजुमा नेपाल ग्यास स्थापना भएपछि नेपालमा ग्यासको कारोबार सुरु भएको थियो । हाल देशभर ५८ वटा ग्यास उद्योग छन् । कार्यक्रममा निगमका पूर्वकार्यकारी निर्देशक उमेशप्रसाद थानीलाई सम्मान गरिएको थियो ।

कांग्रेस बलियो भए मात्रै संविधानको रक्षा हुन्छ – सभापति देउवा

जनकपुरधाम, ५ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताउनुभएको छ । नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले सङ्यीयता, समावेशिता र परिछल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुनसके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने धारणा राख्नुभयो । त्यसका लागि सबैले एकजुट भएर पार्टी सङ्गठन निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सम्मेलनमा पार्टी उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेशलगायत प्रदेश सरकारले सङ्घीयताको कार्यान्वनका सन्दर्भमा व्यक्त भएका असन्तुष्टि सम्बोधन गर्न कांग्रेससहितको वर्तमान सरकारले छिट्टै आवश्यक प्रक्रिया टुङ्गोमा पु¥याउने बताउनुभयो । उहाँले विगतमा मधेशवादी दलहरुले संविधान संशोधनका लागि उठाएका माग सम्बोधन गर्न कांग्रेसले दोस्रो पटक संविधान संशोधनको प्रस्ताव पेश गरे पनि अन्य दलका कारणले सफल नभएको स्मरण गर्दै फेरि पनि कांग्रेसले नै मधेसका चिन्ता र चासो सम्बोधन गर्न नेतृत्व गर्ने बताउनुभयो ।

त्यसैगरी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता कार्यान्वयनका लागि बाँकी रहेका काम टुङ्ग्याउन आवश्यक कानुन बनाउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो । उहाँले संसद्को आउँदो अधिवशेनमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका धेरै कानुन निर्माण गरिसक्ने र तत्काल गर्नुपर्ने कामका लागि अध्यादेशको सहारा लिन सकिने पनि बताउनुभयो ।

पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आम्दम्बे, महेन्द्र यादव, पार्टी प्रवक्ता डा प्रकाशशरण महत, अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्यहरु मिनाक्षी झा, अजयकुमार चौरसिया, किरण यादव, पद्मनारायण चौधरी, रमेश रिजाल, पार्टीका प्रदेश सभापतिरू वीरबहादुर बलायर (सुदूरपश्चिम), ईन्द्र बानियाँ (बागमती), अमर सिंह पुन (लुम्बिनी) लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

असफल ‘कू’को आरोपमा टर्किएमा १३ जना संदिग्ध पक्राउ

टर्किए प्रहरीले बिहीबार इस्तानबुलबाट १३ जना संदिग्धहरूलाई गिरफ्तार गरेको छ । सन् २०१६ को असफल ‘कू’ को प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको अवैध सञ्जालसँग सम्बन्ध रहेको पनि देखिएको छ ।

निजी टर्की प्रसारक एनटीभीका अनुसार प्रहरीले केही संदिग्ध व्यक्तिहरू अमेरिकामा आधारित टर्किए प्रचारक फेथुल्लाह गुलेनको नेतृत्वमा सञ्चालित आन्दोलनको सेलको रूपमा चिनिने घरहरूमा बसेको पनि पत्ता लगाएको छ।
संदिग्ध व्यक्तिहरूले गुलेन आन्दोलनको ‘इन्क्रिप्टेड मेसेजिङ एप बाइलक’ प्रयोग गर्ने गरेको देखिएको छ । साथै उनीहरूले सो संगठनभित्र सक्रिय भूमिका खेलेको पनि पाइएको छ ।

टर्किए सरकारले गुलेन आन्दोलनलाई राज्यको कर्मचारीतन्त्रमा घुसपैठ गरेको र त्यसपछि सन् २०१६ जुलाई १५ मा ‘कू’ को प्रयास गरेको उल्लेख गरेको छ ।सरकारले कू’ प्रयासपछि सञ्जालसँग सम्बन्ध रहेको संदिग्ध व्यक्तिहरू माथि व्यापक कारवाही शुरु गरेको छ ।

जनसङ्ख्या र भूगोलको आधारमा विकास हुनुपर्छ – मन्त्री यादव

काठमाडौँ, ५ पुस : खानेपानी तथा सरसफाइमन्त्री महिन्द्रराय यादवले जनसङ्ख्या र भूगोलको आधारमा विकास हुनुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सहरी सरसफाइ सम्मेलन–२०२३’ मा उहाँले जनसङ्ख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो ।

“स्थानीय तहमा विकासको बजेट समुचितरुपमा विनियोजन हुनुपर्छ । जनसङ्ख्याका आधारमा स्थानीय तहमार्फत बजेट विनियाजन भए प्रभावकारी कार्यसम्पादन हुन्छ”, मन्त्री यादवले भन्नुभयो । सरकारले कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ? भन्ने विषयमा छलफल गरिरहेको उल्लेख गर्नुभयो । सबै क्षेत्रको विकास जनसङ्ख्या र भूगोलका आधारमा हुनुपर्ने उहाँको भनाइ थियो ।

मानव सूचकाङ्कको आधारमा विकासको बजेट छुट्याउनुपर्ने भन्दै मन्त्री यादवले सङ्घ र स्थानीय सरकारका बीचमा भएका अफ्ठ्यारा तथा कानुनी अवरोध हटाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष भीम ढुङ्गानाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य भएमा विकास निर्माणमा प्रभावकारीरुपमा काम हुने बताउनुभयो । सङ्घ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने भन्दै स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्न नहुने उहाँको भनाइ थियो ।

संसदीय समितिमा मन्त्री र सांसदको रोचक र घोचक सवाल जवाफ

काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री र सांसदबीच रोचक र घोचक सवाल जवाफ भए । बैठकको कार्यसूची थियो ‘नेपाल वायुसेवा निगम सम्बद्ध समसामयिक विषय र निगमको सुधारसहितको भावी कार्ययोजना’ र विविधि । करिब चार घण्टा चलेको बैठकको सुरुमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले वायुसेवा निगम सुधार र आगामी योजनाबारे धारणा राखे ।

समितिका सभापति राजकिशोर यादवले सम्बन्धित विषयमा कुरा राख्न सांसदलाई समय दिए । सांसद उदयशमशेर राणाले नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली सङ्घको ‘अडिट रिपोर्ट’ विपरित झुटो प्रचार गरेको भनी प्राधिकरणका महानिर्देशकको ध्यानाकर्षण गराए ।

उनले इयूको कालोसूचीबाट उम्किन सेवा प्रदायक र नियामक संस्थाको रुपमा प्राधिकरण विभाजनको विषयलाई अटेर गरेको टिप्पणी गरे ।

त्यति मात्रै हैन प्राधिकरण र वायुसेवा निगमबीच समन्वयको अभाव र आरोप र प्रत्यारोप चलिरहेको उल्लेख गरे । लगत्तै अर्का सांसद शिशिर खनालले १० वर्षदेखि इयूको कालोसूचीमा नेपालको हवाई क्षेत्र पर्दा पनि तालुकदार मन्त्रालय र सम्बन्धित निकायले किन चासो नदिएको भनी प्रश्न गरे । सांसद खनालले प्राधिकरणको क्षमतामाथि इयूले पटक–पटक प्रश्न उठाएको पनि गरे ।

बैठकको माहोल विस्तारै तातिँदै गयो । सांसद डा धवल शम्मशेर जबराले इयूको चासो बमोजिम प्राधिकरण विभाजनसम्बन्धी विधेयक किन अगाडि नबढाएको भनी प्रतिप्रश्न गरे ।

उनले वायुसेवा निगमले समाल्दै आएको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङग) निजी क्षेत्रलाई दिन नहुने पनि धारणा राखे । सांसद राणाले पर्यटनमन्त्रीलाई सिधैँ टिप्पणी गर्दै ‘क्रिस्चियनसम्बन्धी विवादित विषय बोलेर पदीय मर्यादाको खिल्ली उडाएको बताए ।

सांसद प्रेम सुवालले वायुसेवालाई यूरोपका आकाशमा प्रतिबन्धलगाउने हेपाहा प्रबृत्तिबारे पर्यटनमन्त्रीले खुट्टा कमाउन नहुने धारणा राखे । उनले वायुसेवा निगमलाई निजीकरण गर्ने चलखेल भइरहेको जिकिर गरे ।

सांसद डा नारायण खड्काले निगमको विद्यमान अवस्था सुधार, चिनियाँ जहाजको व्यवस्थापनलगायत विषयमा धारणा राखे । सांसद एकनाथ ढकालले १० वर्षदेखि नेपाली जहाजलाई युरोप प्रतिबन्ध लगाइरहँदा सम्बन्धित निकायकाले के हेरेर बसेको भनी प्रश्न गरे ।

सांसद प्रकाशमान सिंहले चिनियाँ जहाज व्यवस्थापन र अर्बौै खर्चेर निर्माण गरिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल किन प्रभावकारी सञ्चालनमा आउन नसकेको भनी जिज्ञासा राखे ।

सांसद प्रभु साहले इयूको चासोका भरमै नेपालको हवाई सेवासम्बन्धी रणनीति बनाउन नहुने धारणा राखे । सांसद सुनिता बरालले निगमको व्यवस्थापकीय कमजोरीबारे बोले । प्रश्नै प्रश्नबीच विषय मोडियो । प्राधिकरण र वायुसेवा निगमका अधिकारीले इयूको चासो र हालसम्म गएका र आगामी रणनीति प्रस्तुत गरेका थिए ।

‘काम गर्न सकिएन’

सांसदले बोलिसकेपछि पुनः पर्यटनमन्त्री किरातीले धारणा राख्दै नीतिगत उल्झन र सरोकारवाला निकायको ताकेताका कारण प्रभावकारी काम गर्न नसकिएको स्वीकार गरे । “काम नगरिकन कुर्सीमा बसु या विवादित भएर पनि काम अगाडि बढाउँ भन्ने प्रश्न तेर्सिएको छ, भनेजति काम गर्न सकिएको छैन”,पर्यटनमन्त्री किरातीले भने, “एउटा काम गर्न थाल्नुपर्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र धाउनैपर्छ, महालेखापरीक्षकको कार्यालयलाई जवाफ दिनैपर्यो अनि अड्डा अदालत पुग्नैपर्छ, समितितिर पनि जवाफ दिनैपर्छ धाउँदाधाउँदै जुत्ता फाटिसक्यो काम चाही कहिले गर्ने आफैँमा प्रश्न गरिरहेको छु ।”

पर्यटनमन्त्री किरातीले वायुसेवा निगमलाई सुधार्न विभिन्न प्रयास भइरहेको बताए । तर, निगमको अहिलेको अवस्थामा ल्याउन सरकार, राजनीतिक नेतृत्व सरोकारवाला निकायको पनि उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे । राजनीतिक अस्थिरता, चाडो चाडो मन्त्री फेरिने परिपार्टीले पनि काम गर्न नसकिएको पर्यटनमन्त्रीको भनाइ थियो ।

करौडौँ घाटा बेहोरिरहेको चिनियाँ जहाज बिक्री गर्नुको विकल्प नरहेको पनि उनले उल्लेख गरे । “चिनियाँ जहाज सेतो हात्ती भयो भनेर हामी सांसद नै सदनमा हङ्गामा गर्ने निकास दिनैपर्यो भनेर टेण्डर गरियो । वर्षमा २० करोड बढी घाटा बेहोरेर चिनियाँ जहाज घाम तापिरहेका छन्”, पर्यटनमन्त्री किरातीले भने ।

पर्यटनमन्त्री किरातीले प्रशिक्षक पाइलट अभाव, तुलनात्मक रुपमा इन्धन महङ्गो हुने, पाटपूर्जा पनि नपाइने, भारबहान क्षमता पनि कमजोर भएकाले जहाज बिक्री गर्नैपर्ने बाध्यता रहेको उल्लेख गरे । उनी त्यतिमा मात्रै रोकिनु भएन सांसदले उठाएको मिडियामा विवादित अभिव्यक्तिको स्पष्टिकरण दिए । अन्तिममा पर्यटनमन्त्रीले बैठकमा विषयान्तर भएको र जे एजेण्डा हो त्यमा बहस नभएको भनी समितिप्रति गुनासो गरे ।

मन्त्रीले आफ्ना भनाइ सके लगत्तै सांसद प्रेम सुवालले पुनः आफ्ना कुरा राख्ने प्रयास गरे । यद्यपी सभापति यादवले उनलाई रोके । उनले भने, “तपाई चुप लाग्नुस्, विषयान्तर भो, समितिको गरिमाको कुरा उठ्यो ।” एक्काएक माहोल तात्यो । एकैछिन सन्नाटा छायो । अन्य सांसदले पनि प्रश्न गर्न खोज्दैमा सभापतिले आजलाई बैठक सकियो भनी निर्णय सुनाए ।

२४ घण्टाभित्र जानकारी गराउन प्राधिकरणलाई निर्देशन

समितिका सभापति यादवले प्राधिकरण विभाजनसम्बन्धी बिधेयक कहाँ कुन अवस्था पुगेर अड्किएको छ, २४ घण्टाभित्र समितिलाई जानकारी गराउन पर्यटन सचिवलाई निर्देशन दिए ।

साथै सभापति यादवले इयूको कालोसूची जस्तो संवेदनशील विषय त्यत्तिकै टालटुल गरेर बन्न नसकिने भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्ने बताए । समितिले जुनसुकै समयमा बोलाउन सक्ने भन्दै उनले प्राधिकरण र निगमका उच्च अधिकारीलाई तयारी अवस्थामा रहन आग्रह गरे ।

८२ वर्षीया लक्ष्मीदेवीले आँखा देखेपछि भनिन् – ‘आँखा देखाउने डाक्टरलाई आर्शिवाद’

टक्सार (भोजपुर), ५ पुस : दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ । स्थानीय ठाउँमा सञ्चालित शिविरमा आँखाको शल्यक्रिया भएर स्पष्ट देख्न थालेपछि ८० वर्ष नाघेका वृद्धवृद्धा सबैभन्दा धेरै खुसी देखिनुभयो ।

भोजपुर नगरपालिका दाँवा घर भएकी ८२ वर्षीया लक्ष्मीदेवी चौहानले शिविरमा आँखाको शल्यक्रिया गराउनुभयो । उहाँले आँखा देख्न थालेपछि भन्नुभयो, “हामीलाई आँखा देखाउने डाक्टरलाई राम्रो होस्, आर्शिवाद छ । सधैँ धमिलो आँखा देख्थे अहिले सबै देख्न थालेकी छु ।”

उहाँ मात्र होइन भोजपुर–७ की सीता भुजेल पनि आँखाको शल्यक्रिया भएपछि खुसी हुनुहुन्छ । शिविरमा पाँचथरकी तुलसी राईले आँखाको शल्यक्रिया गराउनुभयो । उहाँले भन्नुभयो, “शिविरमा शल्यक्रिया गराएपछि छ्याङ्ग देख्न थालेको छु ।”शिविरमा भोजपुरसहित जिल्ला बाहिरका नागरिकले पनि सेवा लिएका जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो । उहाँका अनुसार शिविरमा ९० वर्षसम्मका वृद्धवृद्धाले सेवा लिनुभएको हो ।

उपचारका लागि अन्यत्र जान आर्थिक तथा पारिवारिक समस्या हुने भएकाले जिल्लामा सञ्चालन भएको शिविर प्रभावकारी बनेको आयोजक नेपाल नेत्रज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “रू ५० तिरेर वर्षौँदेखि आँखा नदेख्ने समस्या भएका बिरामीलाई शिविरले सुविधा दिएको छ ।”

तामाङका अनुसार विराटनगर आँखा अस्पताल रानी र केन्द्रको आयोजना तथा सिबिएम संस्थाको सहयोगमा सञ्चालित शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने पाँच सय २१ जनाको परीक्षण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका, जेष्ठ व्यक्ति तथा अन्य विविध कारणले वर्षौँदेखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा सञ्चालित शिविरले लाभ पु¥याएको सङ्घका संस्थापक सदस्य धर्मराज राईले बताउनुभयो । “शिविरमार्फत हाम्रा वृद्ध आमाबुबालाई पुनःस्पष्ट देख्ने हुनुभएको छ । उहाँहरुसँगै हामी पनि खुसी छौँ”, उहाँले भन्नुभयो ।

विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरी भोजपुरमा निःशुल्क आँखाको शल्यक्रिया गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको नेत्ररोग विशेषज्ञ डा सगुन मल्लले जानकारी दिनुभयो । “आर्थिक अवस्था कमजोर भएका र अशक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “वर्षौँदेखि आँखाको समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ ।” शिविरमा मल्लसहित नौ जना चिकित्सकको सहभागिता थियो ।

सर्वोच्च अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

काठमाडौँ, ५ पुस : जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन जारी परमादेशबमोजिम हालसम्म कानुन नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म कानुन नबनाएको उल्लेख गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको हो । उक्त मुद्दामा यही पुस १२ गते सुुनुवाइ हुनेछ ।

अदालतको आदेशमा भनिएको थियो, “जलवायु परिवर्तनलाई अनुकूलन तथा न्यूनीकरण गर्ने सन्दर्भमा एउटा छुट्टै कानुन निर्माण गरी समस्या सम्बोधन गर्न जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथाशीध्र निर्माण गरी लागू गर्नू, गराउनू ।”

सिङ्गापुरस्थित क्रिप्टो कोषको १.१४ अर्ब डलर जफत

सिङ्गापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।थ्री एरो क्यापिटलले गत वर्ष आर्थिकरूपमा सङ्कटग्रस्थ बनेको भन्दै निवेदन दायर गरेको थियो । क्रिप्टो बजारमा मूल्यहरू घट्दै जाँदा यसको सम्पत्तिमा ठूलो कारोबार रोकिएपछि संस्था आर्थिकरूपमा धराशायी बनेको थियो ।

बेलायती भर्जिन आइल्यान्डको एक अदालतले सहसंस्थापक सु झू र काइल डेभिस तथा डेभिसकी पत्नी केली चेनविरुद्ध सोमबार उक्त आदेश जारी गरेको कारोबार रकम व्यवस्थापनका लागि जिम्मेवारी तोकिएको टेनेओ नामक संस्थाले जनाएको छ ।

आदेशमा भनिएको छ, “उनीहरूले आफ्नो सम्पत्ति (स्थानान्तरण वा बिक्री सहित) १.१४४ अर्ब अमेरिकी डलरबराबरको कारोबार गर्न रोक लगाएका छन् ।”

“यसले थ्री एरोका संस्थापकका विपषी र सहयोगीहरूलाई उनीहरूको कानुनी दायित्व र जोखिमको बारेमा स्पष्ट सङ्केत पनि दिएको छ,” विज्ञप्तिमा भनिएको छ ।आदेशमा डेभिसकी श्रीमतीलाई समावेश गर्नुले ‘लिक्विडेटर’हरूले सम्पत्ति पुनः प्राप्त गर्ने प्रयासको थप विस्तारलाई सङ्केत गर्दछ ।

गत सेप्टेम्बरको अन्त्यतिर सिङ्गापुरबाट उडान भर्ने क्रममा झुलाई पक्राउ गरिएको थियो र उनी चार महिनादेखि जेल जीवन बिताइरहेका छन् । डेभिस र उहाँकी पत्नीको ठेगाना अहिले थाहा छैन । तीनै जना सिङ्गापुरका नागरिक हुन् । सिङ्गापुरको मौद्रिक प्राधिकरणले झू र डेभिसलाई नौ–नौ वर्षका लागि देशमा नियमित लगानी गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो ।

लिक्विडेटर, ब्रिटिश भर्जिन आइल्याण्ड्सको एक अदालतले दिवालियापनको अध्यक्षता गर्न आदेश दिएको छ, थ्री एरोको सम्पत्ति पुनर्प्राप्त गर्न र कम्पनी असफल भएपछि यसको कारोबारलाई फिर्ता ल्याउने प्रयास गरिरहेको छ ।यद्यपि, उसले झु र डेभिसलाई रकम फिर्ता गर्ने प्रयासमा सहयोग नगरेको र स्वेच्छाले जानकारी प्रदान गर्न असफल भएको आरोप लगाएको छ ।

‘सुपर लिग रोक्ने युइएफएको कदमले इयुको नियम तोडेको छ’

युरोपको सर्वोच्च अदालतले बिहीबार प्रतिद्वन्द्वी सुपर लिगको निर्माण रोक्ने फुटबल प्रशासक निकाय युइएफए र फिफाको कदमले युरोपेली युनियन (इयु) को कानूनलाई तोडेको फैसला गरेको छ ।

युरोपेली न्यायालयले फैसलामा भनेको छ, “फिफा र युइएफएले सुपर लिगजस्ता कुनै पनि नयाँ इन्टरक्लब फुटबल परियोजनाहरूलाई उनीहरूको पूर्वस्वीकृतिको अधीनमा राख्ने र क्लब तथा खेलाडीहरूलाई ती प्रतियोगिताहरूमा खेल्न निषेध गर्ने नियमहरू गैरकानूनी छन् ।”

लिखित फैसलाको सारांशमा अदालतको फैसलाको अर्थ सुपर लिग परियोजनालाई अब अधिकार दिनुपर्छ भन्ने नभई केवल फिफा र युइएफएले फुटबल बजारमा ‘प्रभावशाली स्थितिको दुरुपयोग’ गरिरहेका छन् भन्ने हो भनिएको छ ।

सुपर लिग आयोजना प्रवर्द्धन गर्ने कम्पनी ए२२ स्पोर्ट्सले फैसलाबाट आफ्नो विजय भएको दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी बर्नाड रिचर्टले ए२२ अकाउन्टबाट सामाजिक मिडिया पोस्टमा घोषणा गर्नुभएको छ, “हामीले प्रतिस्पर्धा गर्ने अधिकार जितेका छौँ, युइएफएको एकाधिकार समाप्त भएको छ, फुटबल निःशुल्क छ ।”

बेलायतसँगको मैत्रीसन्धि सुदृढ द्विपक्षीय संयन्त्र

काठमाडौँ, ५ पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त अधिराज्यसँग नेपालले एक सय वर्षअघि गरेको मैत्रीसन्धि विगतमा गरिएको लियो अन्तर्राष्ट्रिय संयन्त्र भएको बताउनुभएको छ ।नेपाल–बेलायत मैत्रीसन्धिको एक सय वर्ष पूरा भएको अवसरमा आज उक्त सन्धिमा हस्तारक्षर भएको स्थल सिंहदरबारको प्रक्ष्यालयमा आयोजित समारोहमा उहाँले भन्नुभयो, “अफ्रिका–एसियाका धेरै देशहरू राजनीतिक स्वतन्त्रता र उपनिवेशीकरणविरुद्ध सङ्घर्ष गरिरहेका बेला नेपालले त्यतिबेलाको महाशक्तिसँग सन्धिमा हस्ताक्षर गर्नु गौरवको विषय हो ।”

परराष्ट्रमन्त्री साउदले नेपाल र बेलायतबीच दुई शताब्दीअघि सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित हुँदा मैत्रीसन्धिले दुई देशबीचको चिरस्थायी मित्रता र विश्वासलाई सुदृढ बनाएको उल्लेख गर्नुभयो । सन्धिको शताब्दीको स्मरणमा यो वर्ष दुवै देशमा विभिन्न कार्यक्रम र गतिविधिहरू आयोजना भएको उल्लेख गर्दै मन्त्री साउदले यसअघि मन्त्रालयले काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार स्क्वायरमा कार्यक्रम आयोजना गरेको जानकारी गराउनुभयो ।

नेपालले समानताका आधारमा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रको रूपमा उक्त सन्धिमा हस्ताक्षर गरेको उल्लेख गर्दै मन्त्री साउदले विगत सय वर्षहरूमा, नेपालको सम्बन्ध धेरै गुणा बढेको र धेरै क्षेत्रमा विस्तार भएको बताउनुभयो । मन्त्री साउदले भन्नुभयो, “बेलायत नेपालको लामो समयदेखि विकास साझेदार रहेको छ । बेलायले अनुदान सहायतामा वर्षौँदेखि नेपाललाई प्रमुख द्विपक्षीय विकास साझेदारहरूको सूचीमा राखेको छ । हाम्रा दुई देशबीच द्विपक्षीय व्यापार, पर्यटन र लगानी बढ्दै गएकोमा हामी खुसी छौँ ।” सन्धिमा हस्ताक्षर भएको मितिदेखि आजसम्म नेपाल–बेलायत सम्बन्धले निकै फड्को मारेको बताउँदै मन्त्री साउदले यसले राजनीतिक संवाद, आर्थिक साझेदारी, व्यापार र लगानी, पर्यटन, विदेशमा रहेका नेपाली, ब्रिटिश गोर्खा र जनता–जनताको सम्बन्धका अन्य आयामहरूमा विस्तार गरेको उल्लेख गर्नुभयो ।

परराष्ट्र सचिव सेवा लम्सालले उक्त सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको र सन्धिपछि बेलायतले काठमाडौँमा पहिलो राजदूतावास स्थापना गरेको बताउनुभयो । नेपाल–बेलायतबीचको मैत्रीसन्धि द्विपक्षीय सम्बन्धका लागि महत्त्वपूर्ण भएको बताउँदै उहाँले बेलायत नेपालको मुख्य विकास साझेदारका रुपमा रहेको उल्लेख गर्नुभयो । नेपालका लागि बेलायती राजदूत रोब फेनले दुई देशबीचको मैत्रीसन्धिका कारण नेपाल कहिल्यै पराधीन नभएको बताउनुभयो ।

उहाँले विश्वका उदीयमान दुई छिमेकी भारत र चीनबीचमा रहेको नेपालले ती देशले गरेका प्रगतिबाट लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । समारोहमा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्य सचिव डा बैकुण्ठ अर्याल, सरकारका विशिष्ट श्रेणीका अधिकारी, काठमाडौँस्थित विभिन्न मुुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

भक्तपुर, ५ पुस : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उहाँले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

बोर्डका अध्यक्ष डा शर्माले भन्नुभयो, “एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।”

कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनु पर्ने भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने बताउनुभयो ।

मार्गनिर्देशनमा नेशनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षराङ्क प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने विद्यार्थी र अभिभावक अझै भ्रममा रहेको बताउनुभयो । उहाँले यस्ता भ्रममा नपरी सिकाइलाई मजबुद बनाउँदै लैजान विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेशनल प्याप्सनका केन्द्रीय सदस्य जिबि खड्कालगायतले कोभिडका कारण बिग्रिदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले सुधारेर लैजानुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन कर्मचारीलाई मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, ५ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै उहाँले जनताको कामलाई प्रभावकारी रुपमा स्म्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन आग्रह गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “मन्त्रालयको काममा व्यस्त हुनुस् । अनावश्यक भेटघाट बन्द गर्नुस् ।” नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उहाँले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने बताउनुभयो । मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा १० बजे नै कार्यालयमा उपस्थित भएर काम सुरु गर्ने क्रम सुरु गरिसक्नुभएको जानकारी दिनुहुँदै यस मन्त्रालयमा पनि सोहीअनुसार गर्न निर्देशन दिनुभयो ।

मन्त्री बस्नेतले विकास निर्माणको काममा परेको समस्या समाधानका लागि नीतिगत रुपमा गर्नुपर्ने सुधार के के हुन, वन क्षेत्र प्रयोगको विषयमा के कस्ता निर्णय गर्नुपर्ने हो र भूमि वा प्रसारण लाइन निर्माणमा देखिएका जटिलता के कस्ता हुन्, त्यसको स्पष्ट खाका प्रस्तुत गर्नसमेत मातहतका निकायलाई निर्देशन दिनुभयो । ऐन नै संशोधन गर्नुपर्ने भए पनि तत्काल प्रक्रिया अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा सचिव गोपाल सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले कार्यशैली सुधार गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै कर्मचारीलाई सोहीअनुसार गर्न गराउन आग्रह गर्नुभयो ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका लागि आवश्यक कर्मचारी भर्नाका लागि अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको लामो समयसम्म पनि अनुमति नपाएको गुनासो गर्नुभयो । प्राधिकरणलाई झण्डै चार हजार इलेक्ट्रिकल इञ्जिनियर आवश्यक रहेको तर अनुमति नपाउँदा भर्ना गर्न नसकिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको कार्यविधिका कारण निर्माण व्यवसायी छनोटमा समस्या देखिएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।

छलफलमा विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले बूढीगङ्गा जलविद्युत् आयोजनाका सम्बन्धमा स्रोत सुनिश्चित नभएकाले समस्या समाधान गरिदिनुपर्ने बताउनुभयो । उहाँले जग्गाको हदबन्दीका कारण आयोजना अगाडि बढाउन समस्या देखिएकाले यसमा तत्काल निर्णय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा

काठमाडौँ, ५ पुस : काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै  कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ ।” 

काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

श्रीलङ्कामा सन् २०२३ मा कालोबजारी विरुद्ध ८ लाख अमेरिकी डलर जरिवाना सङ्कलन

श्रीलङ्काको उपभोक्ता मामिला प्राधिकरण (सीएए) ले बिहीबार यस वर्षको शुरुदेखि तेस्रो हप्तासम्म गरिएको छापामारीमा करिब २६ करोड रुपैयाँ (८ लाख अमेरिकी डलर) जरिवाना सङ्कलन गरेको जनाएको छ ।

प्राधिकरणका अध्यक्ष शान्था निरिएलाले उपभोक्ता ऐन विपरीत गरिएका कारोबार विरुद्ध २२ हजार स्थानमा छापा मारी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भएको छ ।
कारबाही पर्नेहरूमा प्रायः चर्को मूल्यमा सामान बेच्ने, कृत्रिम तरिकाले अभाव देखाउन मौज्दात राख्ने, म्याद नाघेका सामान बेच्ने र मूल्य अङ्कित नगरी सामान बेच्ने लगायतका छन् ।

चाडपर्वलाई ध्यानमा राख्दै यो महिना हालसम्म एक हजार १८५ छापा मारिएको छ । हेरक वर्ष क्रिसमस र नयाँ वर्षका समयमा उपभोक्तालाई ठग्ने गतिविधि व्यापक बढेको पाइन्छ ।
आर्थिक मन्दीले ग्रस्त श्रीलङ्काले कालोबजारी विरुद्ध निर्मम तरिकाले कारबाही अगाडि बढाएको छ ।

भोलिदेखि जथाभावी फोहर फाल्नेलाई १५ हजार जरिवाना

जानकी (बाँके), ५ पुस : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडकमा जथाभावी फोहर फाल्नेलाई स्थानीय फोहरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गरिने बताउनुभएको छ ।

“नगरवासीलाई सचेत बनाउन हिँडेका छौँ, पटक पटक यो कुरा भन्दै आएका छौँ, अब यो अन्तिम पटक हो, भोलिदेखि जथाभावी फोहर फालेमा कारबाही गर्छौं ।” नगरप्रमुख विष्टले भन्नुभयो, “जथाभावी फोहर फालेको पाइएमा हाम्रो ऐनअनुसार रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना हुन्छ ।” नगरप्रमुख विष्टले फोहर व्यवस्थापनमा कसैले सहयोग नगरेको पाइएमा पसल व्यवसायसमेत बन्द गरिदिने चेतावनी दिनुभयो ।

नगरवासी आफैँं सचेत र जागरुक हुनुपर्नेमा पटकपटक भनिरहँदा पनि जथाभावी फोहर फाल्ने क्रम नरोकिएपछि सचेतनासँगै कारबाहीको नीति अख्तियार गर्नुपरेको नगरप्रमुख विष्टको भनाइ छ । पटक पटकको प्रयासपछि केही सुधार भए पनि अपेक्षित परिणाम नदेखिएका कारण उपमहानगरपालिकाले ‘सचेतना प्रवद्र्धन र जरिवाना अभियान’ थालेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नगरलाई सफा राख्ने दायित्व हरेक नागरिकको भएको बताउँदै उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन अभियानमा सबै इमान्दार बन्नुपर्ने बताउनुभयो । यो अभियानमा स्थानीय प्रशासनको दरिलो साथ रहेको पोखरेलको भनाइ छ । “अब हामी अन्तिम पटक सचेत बनाउँछौँ, पम्प्लेट वितरण गरेका छौँ, माइकिङ गरिरहेका छौँ, अब पनि अटेर गरे कारबाहीको दायरामा ल्याउँछौँ ।”

पहिलो चरणमा नमूनाका रुपमा चारबाहिनीबाट कल्पत्रुलाई रोजिए पनि नगरभरि नै अभियान सञ्चालन गरिने वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । “सचेतना धेरै भइसक्यो, अब काममा जानुपर्दछ, फोहर गर्ने अधिकार कसैलाई छैन, नगरवासी गैरजिम्मेवार बन्न मिल्दैन ।” डिसीले भन्नुभयो ।

 घरदैलो अभियानमा जिल्ला प्रशासन, वडाध्यक्ष, होटल व्यवसायी, सरसफाइ अभियानकर्मी, नगर प्रहरीसहित वडा नम्बर ८ का वडाध्यक्ष रजनीश बाजपेयी (विवेक), वडा नम्बर ९ का वडाध्यक्ष गोविन्द रेग्मी, वडा नम्बर १० का वडाध्यक्ष श्रवणकुमार श्रेष्ठ, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीलगायत सहभागी हुनुभएको थियो ।

झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ – प्रधानमन्त्री

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ ।

उहाँले जलविद्युत् आयोजनाको अनुमतिपत्र होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशनसमेत दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिाचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा प्रधानमन्त्री दाहालले सो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ । लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ । यहाँ हामी लचिलो हुन जरुरी नै छैन । निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ । त्यो काम गर्नुस् ।”

“विद्युत्को बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो, “त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस् डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काटौँ । ठूलाबाट सुरू गरेर सबै बक्यौता उठाउनेतर्फ जाउँ ।”

कृषि उत्पादन वृद्धिका निम्ति सिँचाइको व्यवस्था आवश्यक रहेको तथा लिफ्ट सिँचाइका बारेमा पनि सोच्नुपर्ने उल्लेख गर्दै उहाँले नदी प्रणालीलाई जोडेर सिँचाइको दीर्घकालीन व्यवस्थापन गर्नेतिर लाग्नुपर्नेमा प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भन्नुभयो, “सिँचाइको समस्या कृषिसँग पनि गहिरो गरी जोडिएको छ । कृषिको उत्पादकत्व बढाउन यतातर्फ आवश्यक गृहकार्य गरौँ ।”

आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दैछ, अर्को वर्ष हामी नयाँ ढङ्गले जाने स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, “त्यसका लागि हाम्रो सोच बदलौँ, कार्यशैली पनि बदलौँ । म गम्भीर ढङ्गले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु । मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईहरू के गर्नुहुन्छ ? देश र जनताका लागि दृढ भएर अगाडि बढ्नेतिर सोच्नुस् । हामीले राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेका पर्दाफास हुन्छन् । त्यसरी काम गरौँ ।”

बैठकमा प्रधानमन्त्री दाहालले विज्ञापनसम्बन्धी नीतिलाई सरल बनाउन र देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेका बेला सञ्चार उद्योगको रक्षा गर्नेतर्फ सोच्न सञ्चार मन्त्रालयलाई निर्देशन दिनुभयो ।

सो बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले जलविद्युत् उत्पादन र खपतका दृष्टिले हिउँदमा आयात गर्नुपर्ने र वर्षायाममा निर्यात गर्नुपर्ने परिस्थिति रहेको बताउनुभयो । उहाँले प्रसारण लाइनको निर्माण र व्यवस्थापनका कारण उत्पादित विद्युत्को खपत र निर्यातमा समस्या रहेको बताउँदै त्यसका लागि सरकारको तर्फबाट साझा समाधान खोज्नुपर्ने बताउनुभयो ।

त्यस्तै सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमको गुणस्तरीयता र विश्वासनियता वृद्धि गर्न आवश्यक गृहकार्य गरिएको बताउनुभयो । उहाँले राज्यका सम्पूर्ण निकायमा अहिलेको नवीनतम अवस्थाअनुसार जनशक्ति विकासमा जोड दिनुपर्ने बताउँदै प्रविधिमैत्री कर्मचारी प्रशासन जरुरी रहेको बताउनुभयो । मन्त्री शर्माले एनसेलले बुधबार मात्रै शेयर खरिदको निर्णय उपलब्ध गराएको बताउँदै त्यसमाथि अध्ययन भइरहेको बैठकमा जानकारी गराउनुभयो ।

त्यसैगरी मुख्यसचिव डा वैकुण्ठ अर्यालले १० हजार मेगावाट विद्युत् निर्यातको सम्झौता कार्यान्वयनका लागि गम्भीररूपमा काम गर्न ऊर्जा मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले निर्धारित कार्ययोजना हेरेर त्यसमा नै मन्त्रालयको ध्यान केन्द्रित गर्न र जनतालाई प्रत्यक्ष राहत दिन सकिने कामहरू सूचीकृत गर्न सचिवहरूलाई निर्देशन दिनुभयो ।

बैठकमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले जग्गा प्राप्तिको प्रक्रिया झन्झटिलो र सार्वजनिक खरिद प्रणालीले समय लिने भएकाले ऊर्जासम्बन्धी आयोजना निर्माणका कामहरू प्रभावित हुने गरेको बताउँदै त्यसको सहजीकरण जरुरी भएको बताउनुभयो ।

त्यस्तै सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले जलस्रोत ऐन निर्माणको चरणमा रहेको र यो ऐन पारित भएपछि सिँचाइ, ऊर्जा, कृषि, खानेपानीलगायतका क्षेत्रमा देखिएका नीतिगत समस्या सम्बोधन हुने बताउँदै सिँचाइ र कृषिका कार्यक्रम एकीकृत गरेर लैजानुपर्ने बताउनुभयो ।

बैठकमा सञ्चार सचिव कृष्णबहादुर राउतले सञ्चारसम्बन्धी नीतिहरूमा मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउँदै त्यसले मन्त्रालयका नीतिगत समस्या हल हुने बताउनुभयो ।

त्यसैगरी ऊर्जा आयोगका सचिव सङ्गीता दवाडीले आयोगले निर्धारित कार्यक्रम कार्यान्वयनका लागि योजनाबद्ध काम गर्ने बताउनुभयो । छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता असुलीमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छः नेतृ भुसाल

काठमाडौँ । “सदनमा पर्याप्त विधेयक प्रवेश नहुँदा भनेजति काम पाइएको छैन । सदनमा विधेयकका चाङ नै लागे पनि कानुन बनाउने काममा मात्रै लागेर हामी सुख पाउँदैनौँ”, प्रतिनिधिसभा सदस्य सरिता भुसालको अनुभव छ, “विधि निर्माणका साथै जनताका विकास र समस्यामा सांसदले साथमा साथ दिन सक्नुपर्छ ।”

प्रतिनिधिसभाको एकबर्से अवधिमा सीमित मात्रामा मात्र कानुन बन्न सकेकामा पनि नेकपा (एमाले)की नेत्री सन्तुष्ट छैनन् । जति मात्रामा कानुन बनाउनुपर्ने हो त्यति बन्न नसक्नामा सरकारले नै धेरै ‘बिजनेस’ नदिनाको कारण रहेको उनको ठम्याइ छ ।

त्यसो त समय–समयमा प्रमुख प्रतिपक्षले सरकारसँग विभिन्न विषयमा माग राखी सदन अवरोध गरेकाले पनि कानुन निर्माणले गति नलिएको टिप्पणी आउने गर्छ । माग पूरा नहुँदा प्रतिपक्षले सदन अवरोध गर्नु कति उचित भन्ने कोणबाट पनि बहस भइरहेको छ ।

सानै उमेरदेखि सामाजिक रूपान्तरण र परिवर्तनमा लाग्दै विद्यार्थी राजनीति, शिक्षण पेसा र महिला आन्दोलनमा सक्रिय भई हाल एमाले केन्द्रीय सदस्य भुसाल गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा खस आर्य (महिला) समूहबाट समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन् ।

अर्घाखाँचीमा जन्मिएर काठमाडौँबाट विद्यार्थी राजनीति थालनी गरेकी भुसाल विवाहपछि पश्चिम नवलपरासीमा पार्टीको जिल्लास्तरका राजनीतिमा सक्रिय थिइन् ।

हाल एमाले जिल्ला इन्चार्ज भुसाल विसं २०४९ मा काठमाडौँ बागबजारस्थित पद्मकन्या क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सदस्यमा उम्मेदवार बनेकी थिइन् । संयोग भनौँ, भुसाल सदस्य उम्मेदवार रहेको त्यस निर्वाचनमा स्ववियू सभापतिका उम्मेदवार विद्यादेवी भण्डारी भने मुलुकको राष्ट्रपति भइसकेकी छन् ।

नेपाली विषय अध्ययन गरेकी भुसाल त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्याम्पसमा विद्यार्थी सङ्गठन अनेरास्ववियु, प्रारम्भिक कमिटीका स्ववियु कोषाध्यक्ष पनि थिइन् । यसपछि अखिल नेपाल महिला सङ्घका मोर्चामा उनी सामेल थिइन् ।

पढाइ सकिएसँगै शिक्षण पेसा रोज्ने क्रममा लामो समय नवलपरासीको दिव्यज्योति क्याम्पस, बर्दघाटमा शिक्षक भइन् भने प्रगतिशील प्राध्यापक सङ्घका केन्द्रीय सदस्य पनि बनिन् । एमाले नवलपरासी जिल्ला कमिटी र सचिवालय सदस्य हुँदै हाल प्रतिनिधिसभा सदस्यको जिम्मेवारी उनले निर्वाह गर्दै आएकी छन् ।

पार्टी र जनतासँग जोडिएर नै संसदीय भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विश्वासका साथ उनी एमालेले गत मङ्सिर १४ गतेदेखि यही पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा केही प्रदेशका कार्यक्रममा सामेल भइन् ।

यस बीचमा संसद्मा कानुन निर्माणका लागि धेरै काम हुन नसके पनि शून्य र विशेष समयमा जनताका समस्या र आवाजलाई राख्न पाएको जिकिर उनले गरिन् ।

“संविधान कार्यान्वयनका क्रममा धेरै विधेयक सरकारबाट सदनमा ल्याउन बाँकी छ । आएका विधेयकमा पनि राजनीतिक गृहकार्य नपुग्दा पूर्णता दिन सकिएको छैन । अहिले त सदनको अधिवेशन नै नभएको अवस्था छ”, सांसद भुसालले भनिन्, “जिल्लाका र अन्य विभिन्न कार्यक्रममा पुगेर जनता र विविध विषयका समस्या बुझ्ने अनि आफ्ना विचार राख्ने कामचाहिँ गरिएको छ । सदनमा सांसदले चाहेरमात्रै नहुने रहेछ । विधेयक ल्याउने र त्यसमा पर्याप्त समन्वय गर्ने काम सरकारको हुने हुँदा हामीले सक्रियता देखाउन खोज्दैमा जनताका लागि परिणाम दिन नसकिने रहेछ ।”

सांसद भुसालले संवादको क्रममा वर्तमान सरकारको एक वर्षका अवधिमा जनताले राहत पाउने र अनुभूत हुने गरी काम हुनसकेको टिप्पणी गरिन् । उद्योग–कलकारखाना बन्द हुँदै जानु, युवाहरू विदेसिएर गाउँघर रित्तिन थाल्नु, बैंकको ब्याज बढ्नु, सहरबजारकै सटरहरू खाली हुनु, महँगी बढ्नु आदि समस्या ज्युँका त्युँ हुनाले उहाँलाई चिन्तित तुल्याएको छ । “अहिले गाउँघरमा मानिस मर्दा मलामी र विवाह पर्दा जन्ती पाउन मुस्किल छ”, उनले गुनासो गरिन्

के यी सबै समस्या समाधान गर्ने जिम्मेवारी सङ्घीय सरकारको मात्रै हो वा राजनीतिक दल, सांसद र स्थानीय तहको पनि हो भन्ने प्रश्नमा उनी भन्छिन्, “मुख्यतः सरकारको जिम्मेवारी हो । उसले यो यो काम गर्छु भनेर सदन र जनतामा वाचा गरेको हुन्छ । उसले युवालाई स्वदेशमै रोजगारी दिने र उत्पादनमूलक काममा लगाउने उचित योजना ल्याई कार्यान्वयन गर्न सक्छ । यसमा होस्टेमा हैँसे गर्ने काम हाम्रो पनि हो । सांसदलाई कानुन निर्माण र देश विकासका काममा कसरी संलग्न गराउने भन्ने पनि सरकारको भूमिकामा भर पर्छ । जनतालाई कानुनभन्दा पनि विकास चाहिएको छ ।”

विद्यमान सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिका कस्तो पाउनुभएको छ भन्ने प्रश्नमा सांसद भुसाल सरकारले आफूहरूसँग (प्रतिपक्षी दल) उचित समन्वय नगरेको गुनासो गर्छिन् ।

उनको अनुभवमा जनता कानुनभन्दा पनि आफ्नै वरिपरिका बाटो, पुल, खानेपानी, शिक्षा र स्वास्थ्यको प्रबन्ध भएको देख्न चाहन्छन् । सानातिना विकास निर्माणका कामको जिम्मेवारी त स्थानीय सरकारको भएको र यसमा सांसदले चिन्ता लिइरहनुपर्ने हो र भन्ने प्रश्नमा सांसद भुसाल भन्छिन्, “जनतालाई महत्त्वपूर्ण कुरा विकास निर्माण नै हो । स्थानीय तह आफ्नो ठाउँमा छ तर तिनको बढी अपेक्षा केन्द्र सरकार र सांसदसँगै हुने रहेछ । सङ्घीयता र विकेन्द्रीकरणका अभ्यासबारे जनस्तरमा सचेतना पनि पुग्न बाँकी छ ।”

सांसद पूर्वाधार विकास कोषका सम्बन्धमा अरू समानुपातिक सांसदजस्तै भुसाललाई पनि प्रत्यक्ष निर्वाचितलाई अग्राधिकार दिएर कोष परिचालन हुने प्रबन्ध चित्त बुझेको छैन । कोषको आवश्यकता अझै रहेको ठान्ने उनी यसमा समानुपातिक सदस्यलाई विभेद नगर्न आग्रह गर्छिन् । चालु आर्थिक वर्षका लागि जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा कोषको रकम खर्च गर्ने नेपाल सरकारको निर्णयलाई भने उनी जायजै मान्छिन् ।

पूर्व–पश्चिम राजमार्गमा परेका खाल्डाखुल्डी पुर्न सुरु,तीन महिनाभित्र काम सक्नेगरी एक करोडमा ठेक्का आह्वान

कञ्चनपुर, ५ पुस : कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न)का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो ।

राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारीका तारानाथ सिग्देलले बताउनुभयो । उहाँका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ ।

राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उहाँले बताउनुभयो । “सडक मर्मतका लागि तीन महिनाभित्र काम सक्नेगरी रु एक करोडमा ठेक्का आह्वान गरिएको हो”, उहाँले भन्नुभयो, “पुस मसान्तसम्म अन्तिम म्याद रहेको छ ।” पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का आह्वान गरी काम अगाडि बढाउने कार्य हँुदै आएको छ ।

यसैगरी चिसापानीबाट लम्कीसम्मको १० किलोमिटर सडकमा अस्पाल्ट ओभरले (कालोपत्रमाथि कालोपत्रको लेयर थप्ने) कार्यका लागि रु सात करोडमा ठेक्का सम्झौता गरिएको उहाँले बताउनुभयो । “सडक बिग्रिएको थियो, सुधारका लागि कालोपत्रको लेयर थप्ने कार्य थालिएको छ”, उहाँले भन्नुभयो, “ठेक्का सम्झौताअनुसार कार्य मङ्सिर महिनाभित्रै सक्नुपर्ने थियो, सकिएको छैन ।”

निर्माण सामग्री अभावमा व्यवसायीले काम नसकेकाले म्याद थपका लागि निवेदन दिएको उहाँले जानकारी दिनुभयो । अबमात्रै पाँच–दश दिनमा सकिने काम छ, त्यसका लागि निर्माण व्यवसायीलाई काम गर्नका लागि म्याद थप गर्नेबारे प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिग्देलले बताउनुभयो ।

रैथाने बालीसँगै परिकारको प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका

गण्डकी, ५ पुुस : “मलाई काठको दाबिलो प्रयोग गरेर कोदाको ढिडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुुभव गर्न पाएँ”, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टङ्कनाथ बस्ताकोटीले भन्नुभयो ।

पोखरा महानगरपालिकाको आयोजना एवं मलबेरी इन्स्टिच्युट अफ हस्पिटालिटीसँगको सहकार्यमा आयोजित तीनदिने रैथाने बाली उत्पादन तथा परिकार तयारीसम्बन्धी तालिममा सहभागी भइसकेपछि आफूले तालिमबाट धेरै कुरा सिक्न पाएको उहाँले अनुुभव सुनाउनुुभयो ।

रोजगारीका क्रममा २०औँ वर्ष विदेशमा बसेको र गाडीको पेन्टरलगायतका काम गरेको विगत सम्झँदै उहाँले हाम्रै वरपर रहेका रैथाने प्रजातिबाट धेरै परिकार बनाउन सकिने त्यसबाट स्वरोजगार बन्न सकिने बताउनुुभयो । रोजगारीकै क्रममा बिरामी भएर फर्कनुपरेका धेरै अनुुभव सुनाउँदै उहाँले हाम्रो देशमा ठाउँअनुसार हुनसक्ने खेतीको विस्तार गर्दै त्यसलाई उपयोग गर्न सकेमा विदेश भौतारिनुु नपर्ने बताउनुुभयो ।

पहाडी भेगमा पाइने लप्सीबाट धेरै किसिमका परिकार बनाउन सकिने भए पनि त्यो त्यसै खेर गइरहेको जनाउँदै उहाँले गाउँ बस्तीका किसानलाई यसको उपयोग सम्बन्धमा तालिम दिनुु आवश्यक भएको बताउनुुभयो । बस्ताकोटीजस्तै पोखरा महानगरपालिकाभित्रका अधिकांश वडालाई समेट्ने गरी गरिएको तीनदिने तालिमले हाम्रा रैथाने बालीको बहुुउपयोग सम्बन्धमा धेरै जानकारी पाइएको तालिमका सहभागीले बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं ३२ का रामराज वाग्लेलाई फर्सीको जाम, मसला आदि हुन्छ भन्ने कल्पनासम्म पनि थिएन । तालिममा सहभागी भइसकेपछि त्यही फर्सीबाट धेरै परिकार बनाउन सकिने जानकारी पाएको उहाँले बताउनुुभयो ।

तालिमकै अर्का सहभागी पोखरा महानगरपालिका वडा नं २४ पामेका किसान रामबहादुर सुवेदीले सयपत्री फूलको जाम, अचार आदि हुन्छ भन्ने सोच्नुभएको समेत थिएन । तीनदिने तालिमका क्रममा सयपत्री फूलबाट बन्ने जाम, अचार आदि देख्दा उहाँ दङ्ग पर्नुुभएको छ । पर्याप्त सङ्ख्यामा उत्पादन गर्न सकिने सयपत्रीलाई प्रशोधन गरेर खाद्यवस्तु तयार गरेमात्रै पनि आयआर्जन गर्न सकिने आफूले पाएको उहाँले बताउनुुभयो ।

तालिमका सहभागीलाई सयपत्री फूलको जाम, सिस्नोको आइसक्रिम, फर्सीबाट बन्ने केचप, टिम्मुरे सस, पिरो सस, कोदोको दुुनट, कुुकिज, सिस्नोको अचार, आइसक्रिम, सयपत्री फूूलको आइसक्रिम, अदुुवा र लप्सीको क्यान्डी, खट्टामीठा क्यान्डी आदि परिकार बनाउने तालिम दिइएको मलबेरी इन्स्टिच्युुट अफ हस्पिटालिटीका प्रमुख प्रशिक्षक पाक महर्षि सन्दीपकुुमार केसीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार तालिमका सहभागीलाई चक्लेटले कोट गरिएको अदुुवा, फर्सीको ससमा पास्ता, जिङ्गर कोटेड चक्लेट, बे्रड, कुबिन्डो ससलगायतका परिकार बनाउने तालिमसमेत दिइएको थियो । रैथाने बालीबाट धेरै परिकार बनाउन सकिए पनि हामी त्यसको बेवास्ता गर्दै विषादीयुक्त वस्तु किनेर खाइरहेको उहाँले बताउनुुभयो ।

विगतमा जण्डिस हुँदामात्रै खाने गरिएको फर्सीबाट बन्ने परिकारसँगै हाम्रा खेतबारीमा हुने कोदोलगायतका अन्नबाट धेरै परिकार बन्ने कुरा तालिमबाट प्रत्यक्ष जान्न र सिक्न पाइएको पोखरा महानगरपालिका वडा नं १६ स्थित केपसिटी सहकारीका सदस्य चन्द्रकुमारी देवकोटाले बताउनुुभयो । “कोदोबाटै चिजवल, पास्ता, चाउचाउ आदि बन्ने रहेछ, हामी त्यो थाहा पाउन नसक्दा बालबच्चालाई दिनदिनै अस्वस्थकर वस्तु खुवाइरहेका छौँ”, उहाँले भन्नुुभयो ।

उन्नत जातका नाममा रैथाने प्रजातिसमेत लोप हुँदै जान थालेको वास्तविकतामा महानगरपालिकाले रैथाने बालीको संरक्षणसँगै त्यसबाट बन्ने परिकारको प्रवर्द्धनलाई जोड दिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो । रैथाने बालीबाट बन्ने परिकारलाई जोड दिन सकिएमा त्यसले समुदायको स्वास्थ्य रक्षामा समेत योगदान गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताउनुुभयो ।

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !

म्याग्दी, ५ पुस- चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको योजनाका इन्जिनियर अच्युतविलास पन्तले बताउनुभयो । “करिडोर दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “यसअघि छोसेर–कोरला खण्डको १८ किलोमिटर ग्राभेल गर्ने काम पनि लक्ष्यअघि नै सकिएको थियो ।”

गत मङ्सिर ९ गतेदेखि सात दशमलव पाँच मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न थालिएको थियो । प्राविधिक टोलीले सडकको नापजाँच गरिरहेको छ । दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट÷पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताउनुभयो ।

“आयोजना कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि र समुदायले योजना निर्माणमा पर्याप्त सहयोग तथा सहजीकरण हुँदा सहज भयो”, उहाँले भन्नुभयो, “गत असारमै ८० प्रतिशत निर्माण सकिएको थियो ।” सो कम्पनीले तनहुँमा पनि हालै दुई वर्ष आयोजना लक्ष्यअघि नै निर्माण सकेको छ ।

सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र गरिएको हो । यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज भएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । “बेनी–गलेश्वर सडक आयोजना ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।”
 

पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट

वीरगञ्ज (पर्सा), ५ पुस : जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फछ्र्याैट गरेको छ ।

अनलाइनबाट दर्ता भएका एक हजार आठ सय ७५ उजुरीमध्ये छलफल विधिबाट चार सय ५९ वटा उजुरी पीडितको पक्षमा फछ्र्याैट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।

यस्तै सहमति नभएपछि दुई मुद्दा अदालतमा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये नौ सय १८ उजुरीको छानबिन गर्दा चार सय ५९ वटामा दुवै पक्षबीच सहमति भएर फछ्र्याैट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँका अनुसार छानबिनपश्चात ८४ कित्ताको १६ बिघा छ धुर आठ कनवा जग्गा र दुवै पक्षको सहमतिमा रु आठ करोड ८७ लाख ३५ हजार ६१ फिर्ता गराइएको छ ।

मिटरब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटरब्याजपीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर–तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उहाँले बताउनुभयो । परेका उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको सहायक प्रजिअ लम्सालले बताउनुभयो ।

छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको समेत अनुसन्धान गर्ने गरिएको उहाँको भनाइ छ ।

बालुवाटारमा माओवादी पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहिबार बस्दैछ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक नेताले जानकारी दिए ।

मङ्गलवार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सरकारको एक वर्षे कार्यकालको समीक्षा, चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गरेका थिए ।

चिसोमा काम्दै चेपाङ बालबालिका ,दिवा खाजासमेत रोकिदा विद्यालय आउनेको सङ्ख्या घट्दै

भरतपुर (चितवन), ५ पुस : पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका । अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा अझ कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन् । विद्यालयमा खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका विद्यालयमा सरकारले बजेट छुट्याएको दिवा खाजासमेत रोकिँदा विद्यायल आउनै छाडेका छन् ।

कक्षा ३ मा अध्ययनरत मनिषा चेपाङ खाली खुट्टा स्कुल पुग्ने गर्नुभएको छ । उहाँको पोशाक पनि थोत्रिइसकेको छ । बुवाआमासँग पैसा नहुँदा सधैँ खाली खुट्टा विद्यालय आउनुपरेको उहाँले सुनाउनुभयो । “चप्पल, जुत्ता लगाउने मन त छ नि”, उहाँले भन्नुभयो, “बुवाआमासँग पैसा छैन, कहाँबाट चप्पल लगाउन पाउनु ।” उहाँले धेरै पढ्ने मन हुँदाहुँदै पनि घरको अवस्थाले सोचेअनुसार पढ्न नसकेको बताउनुभयो ।

कक्षा ३ मै पढ्ने उर्मिला चेपाङ कक्षाकोठामा दुई वर्षको भाइलाई काखमा राखेर पढिरहनुभएको छ । उहाँको ध्यान पढाइमा भन्दा भाइतिर बढी छ । घरी किताब त घरी काखमा निदाइरहेको भाइको मुखमा हेर्दै पढिरहनुभएको छ उहाँ । बाआमा काममा गएकाले घरमा हेर्ने कोही नभएपछि भाइलाई पनि विद्यालय बोकेर आएको उहाँले बताउनुभयो । उहाँका दाइ र बहिनी पनि यसै स्कुलमा अध्ययनरत छन् । तीनैजना अध्ययन गर्ने एउटै कोठा र बेञ्च पनि एउटै छ । घरमा भात नपाक्दा चारैजना भोको पेटमै विद्यालय आएको उर्मिलाले सुनाउनुभयो ।

कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नाङ्गै, कतिको खुट्टा खाली छ । विद्यालय पोशाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन् । कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन । यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवा खाजासमेत रोकिएको छ । शिक्षक रामलाल चेपाङका अनुसार करिब डेढ महिनादेखि जिङ्लाउका विद्यार्थीले खाजा खान पाएका छैनन् ।

यो विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा विद्यालय हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका–१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी भएका छन् । तर नियमित विद्यालय आउनेको सङ्ख्या भने १५ देखि २५ जनासम्म हुने शिक्षक रामलाल चेपाङले बताउनुभयो । विद्यालयमा उहाँमात्रै एक जना शिक्षक हुनुहुन्छ । उहाँले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गर्नुभएको छ ।

नान्दरमा पढ्नेहरूका लागि भने नियमित खाजा खुवाउने काम भइरहेको छ । जिङ्लाउका विद्यार्थी दिवा खाजाबाट बञ्चित भएको विषयबारे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबै बेखबर छन् ।

विद्यालयका प्रधानाध्यापक खुमराज भट्ट भने दिवा खाजा नरोकिएको दाबी गर्नुभयो । दुईतिरै निगरानी गरिरहेको जनाउँदै उहाँले अहिलेसम्म दिवा खाजा नरोकिएको बताउनुभयो । “अभिभावकलाई खाजाको व्यवस्था गर्नु, सरकारी पैसा विद्यालयको खातामा जम्मा भएको छ । पछि विद्यार्थीको हाजिरी हेरेर पैसा दिन्छु भनेको छु”, उहाँले भन्नुभयो । तर शिक्षक चेपाङ भने विद्यार्थीलाई खाजा खुवाउन सक्ने क्षमता यहाँका कुनै पनि अभिभावकसँग नहुँदा खाजा दिनुको विकल्प नभएको बताउनुभयो । दिवा खाजाको प्रबन्ध नहुँदा त्यसको असर विद्यार्थीमा परेको उहाँको भनाइ छ ।

स्थानीय गोपाल चेपाङले झण्डै दुई महिनादेखि यहाँका बालबालिकाले खाजा खान नपाएको बताउनुभयो । उहाँले विकट क्षेत्रको स्कुल भएका कारण सरकारले दिएको सेवाबाट पनि यहाँका बालबालिका बञ्चित हुनुपरेको गुनासो गर्नुभयो ।


सानदार जित निकाल्दै लिभरपुल इएफएल कपको सेमिफाइनलमा

काठमाडौँ । बुधवार राति इएफएल कप अन्तर्गत भएको खेलमा इङ्लिस क्लब लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको खेलमालिभरपुलले वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको हो ।

खेलमा लिभरपुरका कुर्टिस जोन्सले २ गोल गरेका थिए भने डोमोनिक, म्याथेस गाकपो र मोहमद सलाहले एक एक गोल गरेका थिए ।अब सेमिफाइनल खेलको पहिलो लेग जनवरी ९ मा हुनेछ भने र दोस्रो लेग जनवरी २३ मा हुनेछ ।

चीनमा सात हजार वर्ष पुरानो दुर्लभ बोतल फेला

मध्य चीनको हेनान प्रान्तस्थित सिनझेङ सहरमा पेइलिगाङ साइटमा सात हजार वर्षभन्दा पुरानो एउटा दुर्लभ प्रकारको बोतल फेला परेको छ । यसबाट पुरातत्वविद्हरूलाई चीनमा आफ्नै प्रकारको सबैभन्दा पुरानो कलाकृति उपलब्ध भएको छ ।

सानो मुख र चुच्चो फेद भएका असामान्य आकारका बोतलहरू याङसाओ संस्कृतिको प्रतिनिधि कलाकृतिहरूमध्येको एक हो यी घरका स्थान, खरानीका खाडल र गाड्ने स्थानमा फेला परेका छन् । पानी ल्याउने भाँडा, मदिरा बनाउने कन्टेनर वा गाड्ने वस्तु मानिने गरी तिनीहरूको कार्यसम्बन्धमा विभिन्न राय आएका छन् ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेसको पुरातत्व संस्थाक सहयोगी शोधार्थी ली योङकियाङका अनुसार नयाँ पत्ता लागेको बोतलको उमेर करिब सात हजार सात सय वर्ष पुरानो भएको प्रारम्भिक अनुमान छ । यो १० सेन्टिमिटरभन्दा लामो, अधिक कम्प्याक्ट र याङसाओ संस्कृतिकालको सामान्यरूपमा देखिने सानो मुख, चुच्चो फेद भएको बोतलहरूको तुलनामा अत्यन्त सानो छ ।

पाँच हजारदेखि सात हजार वर्ष पुरानो याङसाओ संस्कृति पहेँलो नदीको मध्यभागमा उत्पन्न भएको नवपाषाण संस्कृति थियो । “यो खोजले पेइलिगाङ संस्कृति र याङसाओ संस्कृतिबीच उत्पत्ति र विकास सम्बन्धको अन्वेषण गर्न ताजा र महत्त्वपूर्ण प्रमाण प्रदान गर्दछ”, लीले भन्नुभयो ।

लीका अनुसार पछिल्लो खोजले पेइलिगाङ साइटका बासिन्दाहरूले मदिरा बनाउनका लागि रातो मर्चाको प्रयोग कसरी गर्ने भन्नेबार पहिला नै सिकेका थिए । नयाँ पत्ता लागेको बोतल सम्भवतः मर्चा बनाउनका लागि पूर्वजहरूले प्रयोग गर्ने कन्टेनर हुनसक्छ ।

यसका साथै पुरातत्वविद्हरूले पेइलिगाङ स्थलमा ठूलो सङ्ख्यामा पूरापाषाणकालीन ढुङ्गाका कलाकृति, सुतुरमुर्गका अन्डाका टुक्राहरू, रातो फलामका टुक्राहरू र अन्य वस्तुहरू फेला पारेका छन् । यो खोजले मध्य मैदानी क्षेत्रमा उत्तर पाषाणकालीन सामाजिक परिदृश्य र पूरापाषाणकालदेखि नवपाषाणकालमा सङ्क्रमणजस्ता प्रमुख विषयको अध्ययनका लागि नयाँ सामग्री प्रदान गर्दछ ।

करिब सात हजार छ सय देखि आठ हजार वर्ष पुरानो पेइलिगाङ स्थल ५० हजारदेखि ६० हजार वर्गमिटर क्षेत्रफल भएको एउटा सामान्य कृषि बस्ती हो । यो चिनियाँ कृषि सभ्यताको जन्मस्थानका रूपमा प्रसिद्ध छ ।

कञ्चनपुरमा एक सातादेखि जङ्गली हात्तीले आतङ्क मच्चाउदै, धपाउन रातभर जाग्राम

बेदकोट (कञ्चनपुर), ५ पुस : खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो छ। टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् ।

हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बागफाँटाको बैजनाथ टोलमा एक सातादेखि जङ्गली हात्तीले आतङ्क मच्चाइरहेको छ ।

निकुञ्जबाट आउने हात्तीको बथानबाट खेत र घरभित्रको खाद्यान्न जोगाउन स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । “राति पर्नेबित्तिकै हात्ती आइहाल्छन् । घर र खेतको बालीनाली जोगाउनै हम्मेहम्मे पर्छ”, स्थानीय लक्ष्मी महराले भन्नुभयो, “गहुँका बोट साना छन् । त्यसैले खान नसक्दा हात्ती सिधैँ घर भएतिर आउन खोज्छन् ।”

होहल्लाका साथै पटाका पड्काएर हात्ती धपाउने गरेको उहाँले बताउनुभयो । एक सातादेखि निरन्तर हात्तीको बथान आउन थालेकाले राम्ररी सुत्न नपाइएको उहाँको भनाइ छ । “आगो बालेर चिसोमा खेतमै रात काट्छौँ । दश–बीसको सङ्ख्यामा हात्ती आउँछन्”, उहाँले भन्नुभयो, “निकुञ्जबाट हात्ती सुरुमा यहाँ पस्छन् । त्यसपछि खानेकुरा केही नपाएपछि अन्यत्र जान्छन् ।”

जङ्गली हात्ती घरनजिकै पुग्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीय ठगुराम डगौँराले एक सातादेखि सुत्न पाउनुभएको छैन । हात्ती घरनजिकै आउन थालेपछि त्रसित भएर बस्नुपरेको उहाँको भनाइ छ । “छिमेकमा हात्तीले सेफ्टीट्याङ्की भत्कायो । कतिबेला घरभित्रै पस्ने खतरा छ । डराइडराइ बस्नुपरेको छ”, उहाँले भन्नुभयो, “खेतको गहुँ पूरै कुल्चिएको छ ।”

डगौँराले यहाँ दुई बिघा जमिनमा गहुँखेती गर्नुभएको छ । राति विद्युत्को व्यवस्था नहुँदा अँध्यारोमा आगो बालेर हात्ती धपाउनुपरेको स्थानीय खड्कसिंह विष्टले बताउनुभयो । “साइरन माग गरेको डेढ वर्ष बितिसक्यो । अहिलेसम्म पाएका छैनौँ । उज्यालोको व्यवस्था पनि छैन”, उहाँले भन्नुभयो, “छवटा चिम मागका थियौँ । बजेट अभाव भएको भन्दै नगरपालिकाले दिएन ।”

‘साइरन’ भए हात्ती धपाउन सहज हुने स्थानीयको विश्वास छ । निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा वन्यजन्तुको पीडाले हायलकायल छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्का उज्यालोका लागि तत्काल बल्ब उपलब्ध गराउने प्रतिबद्धता जनाउनुहुन्छ ।
“निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरको समस्या छ । धेरै ठाउँमा उज्यालोका हामीले बल्ब उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “छुटेका ठाउँमा उज्यालोका लागि तत्कालै बल्ब वितरण गर्छौँ ।”

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् आज पौष ५ गते बिहिबारको राशिफल

मेष – आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला ।

वृष – वृष राशिका जातका लागि व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ ।

मिथुन – धनलाभ र नयाँ सुखद खबरले तपाईलाई हर्ष छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला ।

कर्कट – आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह – सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभएको छ भने तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई माया गर्नेछन्। कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

कन्या – आज विहान सूर्योदयको दर्शन गर्नुहोला । नयाँ र संत्सगी मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।

तुला – मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला ।

वृश्चिक – विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

धनु – सन्तानबाट सुख परिवारको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ। त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।

मकर – ब्यापार ब्यबसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ – कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।

मीन – विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातको लागि आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।

‘जग्गासम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयन नगर्न माग

सुदूरपश्चिम, ५ पुस-धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ । उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यको बैठकले राजपत्रमा प्रकाशित भइसकेको उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेपछि जग्गासम्बन्धी कार्यविधि विवादमा पनि परेको हो ।

कार्यपालिका बैठकमा उपमहानगर प्रमुख गोपाल हमालले पर्याप्त छलफल र पारित नभइकनै एकलौटी ढङ्गले उक्त कार्यविधि राजपत्रमा प्रकाशन गर्न लगाएको जनाउँदै कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् । “मङ्सिरमा बसेको कार्यपालिका बैठकमा उक्त विषयमा छलफल हुन नपाई गरिएको निर्णयले कार्यपालिकाको अर्थ रहेन”, कार्यपालिका सदस्य एवं वडाध्यक्ष मानबहादुर विष्टले भन्नुभयो, “कार्यविधिलाई गहनरूपमा अध्ययन, छलफल गरेर अर्को बैठकबाट पारित गर्नुपर्छ भन्ने आफूहरूको सुझाव थियो, तर प्रमुख हमालबाट पर्याप्त छलफल र कसैको पनि सहमतिबिना भोलिपल्टै कार्यविधिलाई राजपत्रमा प्रकाशित गर्ने काम भएको छ ।”

उपमहानगरपालिकाका वडाध्यक्षसहितका २७ कार्यपालिका सदस्यको बैठकले उक्त कार्यविधि खारेजीको निर्णय गरेको उहाँले बताउनुभयो । कार्यविधिलाई खारेज गर्नुपर्ने निर्णयसम्बन्धी प्रस्ताव उपमहानगरपालिकाको सचिवालयमा आज दर्ता गराएको छ । प्रमुख हमालले भने आफ्नो फेसबुक पेजमार्फत आफूविरुद्ध गुटबन्दी भएको भन्दै निर्णयबाट पछि नहट्ने बताउनुभएको छ ।

उपमहानगरपालिकाले ल्याएको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० मा नयाँ प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ । जग्गा प्लटिङ गर्न इजाजत पाएको जग्गामा १० मिटर चौडा बाटो, सडकको दुवैतर्फ नाला निर्माण, विद्युत् पोलको व्यवस्था, तार जडान, पुलेसा निर्माण, ट्रान्सफर्मर जडान र खुला जग्गा अनिवार्य राख्नुपर्ने तोकिएको छ ।

कार्यविधिमा नयाँ जग्गा प्लटिङ गर्दा सडकको घुम्ती वा मोडको अर्धव्यास बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्नेलगायतका मापदण्ड पनि तोकिएको छ । सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा उपमहानगर क्षेत्रको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० बनाएको बताइएको छ ।

कार्यविधि राजपत्रमा प्रकाशन भएलगत्तैबाट धनगढीका जग्गाधनी र व्यवसायीले यस्तो कार्यविधिबाट जग्गाधनीको उठीबास हुने र यसबाट गम्भीर समस्या निम्तिने जनाउँदै विरोध गरेका छन् । उनीहरूले यो कार्यविधि खारेज गर्न सङ्घर्ष समिति गठन गर्नुका साथै निर्णयविरुद्ध अदालतसम्म पुग्ने निर्णय पनि गरेका छन् ।

मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री, मन्त्रीहरुलाई उपत्यका बाहिर नजान निर्देशन

काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वसाधारणबाट समेत आलोचना हुन थालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै गर्दा आगामी वर्ष सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ । कार्यसम्पादन मूल्यांकनअनुसार बितेको एक वर्षमा केही मन्त्रीको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै प्रचण्डले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न खोजेका हुन् ।

मन्त्रिपरिषद् हेरफेर हुन लागेको संकेतसमेत प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममार्फत गरिसकेका छन् । पुरै सेट कि काममा सन्तुष्ट नभएका मन्त्रालयका मन्त्री मात्रै फेर्ने भन्नेमा सत्तारूढ दलका बीचमा सहमति हुन सकेको छैन

गत १९ मंसिरमा सार्वजनिक भएको सरकारको तीन महिनाको प्रतिवेदनले सरकारको प्रगति निकै कमजोर देखाएको छ । विभिन्न मन्त्रालयबाट हुनुपर्ने काम सन्तोषजनक नभेटिएपछि मन्त्री, सचिवसहितकै बैठकमा प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि व्यक्त गरेका थिए । तर, मन्त्रीहरूको समेत आफ्नो छुट्टै गुनासो रहेको छ । प्रधानमन्त्री कार्यालयबाटै सहयोग नपाएको, प्रचण्डका सचिवालयका मान्छे मन्त्रालयमै आएर असहयोग गर्नुका साथै आफ्ना स्वार्थनुसारका काम गराउन खोज्ने, गठबन्धन सरकार भए पनि एकल बहुमतजस्तो गर्न खोज्ने लगायतका विभिन्न गुनासो मन्त्रीहरूको रहेको छ ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले आगामी १० पुससम्ममा मन्त्रीहरूलाई अनिवार्यबाहेक उपत्यकाबाहिर नजान निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले १० पुसमा विशेष सम्बोधन गर्ने तयारी गरिरहेको र त्यसअघि नै उनले आफ्नो दोस्रो वर्षको कार्यकाल पहिलो वर्षजस्तो नहुने सन्देश दिनेगरी केही नयाँ कदम चाल्न खोजेको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ घाइते 

जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको  वडा नम्बर १० परिकोटको भित्री सडक स्थित च्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट – ८ स्थित घर्तीगाउँका  जाँदै गरेकोे रा१द १४ नम्बरको ट्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो  । ट्रयाक्टरमा भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ ।

दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । यस्तै दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ   ।

विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति करिव  १० : १५ बजे भएको कार्यालयले जनाएको छ ।   विज्ञप्तिका अनुसार सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट – १० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट – ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त ट्याक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक  फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा

मिर्चैया । सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ ।


धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डविपरीत उत्खनन अनुमति दिएको भन्दै वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोविरुद्ध मुद्दा दायर गरेको हो ।

सर्रेखोला सामुदायिक वन क्षेत्रभित्रबाट अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न सात ट्र्याक्टर र तिनका चालकलाई वन कार्यालयले गत मङ्सिर १५ गते नियन्त्रणमा लिएको थियो ।


उक्त कार्यालयले सवारीसाधनसहित पक्राउ परेका मञ्जितकुमार यादव, फूलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादव, अरविन्दकिशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषोत्तम यादवविरुद्ध दायर गरेको आज एक विज्ञप्ति निकालेर सार्वजनिक गरेको हो ।


त्यसैगरी धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र वरुण कन्सट्रक्सनका सञ्चालक निलम कुमारी यादवविरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरुले वन नियमावली, २०७९ को नियम ३० (५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ (ख) बमोजिम तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ४ (ख) र ६ (३) बमोजिमको प्रक्रिया पूरा नगरी अवैध ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन गर्ने गराउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ ।

हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन

काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले प्रतिनिधिसभाको आगामी हिउँदे अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् भवनबाट सञ्चालन गर्ने गरी तीव्रगतिमा भवन निर्माण भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोबुधबारको बैठकमा मन्त्री गुरुङले हिउँदे अधिवेशनअघि नै सिंहदरबारस्थित निर्माणाधीन राष्ट्रियसभा र प्रतिनिधिसभाको भवन सम्पन्न गर्ने अठोटका साथ काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले मन्त्री निवासको निर्माण सम्पन्न गरेर माघ महिनासम्म हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँले सार्वजनिक खरिद प्रक्रियाले योजनाको काम समयमा नै सम्पन्न गर्न समस्या भएको बताउनुभयो । आर्थिक स्रोतको सुनिश्चितता नहुँदा धेरै आयोजना सम्पन्न हुन नसकेका बताउनुभयो ।

मन्त्री गुरुङले अर्थ मन्त्रालयसमक्ष बजेटका लागि पहल गरिदिन समितिलाई आग्रहसमेत गर्नुभयो । उहाँले ग्यालरी बैठक पुरानै ढाँचामा पुनःनिर्माण गर्न समय लाग्ने बताउँदै त्यसनिम्ति ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

समितिका सदस्यहरुले ‘विकासको लहर सुविधा सम्पन्न सहर’ को नारासहित आधुनिक सुविधा सम्पन्न सहर निर्माण गर्ने अभियानले सोचजस्तो प्रगति हासिल नभएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकामा तीन हजार बढी सिसी क्यामरा जडान

काठमाडौँ, ४ पुस : काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

टोखा नगरपालिका–९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको आज शिलान्यास गर्दै उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सिसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

“काठमाडौँ र ललितपपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सिसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

एआइजी थापाले हालसम्म काठमाडौँ उपत्यकाभित्र तीन हजार चार सय ८५ सिसी क्यामरा जडान भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सिसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सिसी क्यामरा जडानको कामलाई अगाडि बढाइएको उल्लेख गर्नुभयो । उहाँले नयाँबसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक सेवाकेन्द्र र प्रहरी प्रभाग गोँगबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले प्रहरीको उपस्थिति जहाँ हुन्छ त्यहाँको अपराध न्यूनीकरण हुने भएकाले टोखामा प्रहरीको उपस्थिति गराउनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको बताउनुभयो ।

नौ आना जग्गामा रु चार करोड ५० लाखको लगानीमा बन्न लागेको उक्त भवन साढे चार तल्लाको हुने सामुदायिक सेवाकेन्द्र गोँगबुका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिनुभयो । उक्त भवन सामुदायिक सेवा केन्द्रबाट गठन भएको निर्माण समितिले एक वर्ष लगाएर निर्माण गर्नेछ ।–