`

हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन

काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले प्रतिनिधिसभाको आगामी हिउँदे अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् भवनबाट सञ्चालन गर्ने गरी तीव्रगतिमा भवन निर्माण भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोबुधबारको बैठकमा मन्त्री गुरुङले हिउँदे अधिवेशनअघि नै सिंहदरबारस्थित निर्माणाधीन राष्ट्रियसभा र प्रतिनिधिसभाको भवन सम्पन्न गर्ने अठोटका साथ काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले मन्त्री निवासको निर्माण सम्पन्न गरेर माघ महिनासम्म हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँले सार्वजनिक खरिद प्रक्रियाले योजनाको काम समयमा नै सम्पन्न गर्न समस्या भएको बताउनुभयो । आर्थिक स्रोतको सुनिश्चितता नहुँदा धेरै आयोजना सम्पन्न हुन नसकेका बताउनुभयो ।

मन्त्री गुरुङले अर्थ मन्त्रालयसमक्ष बजेटका लागि पहल गरिदिन समितिलाई आग्रहसमेत गर्नुभयो । उहाँले ग्यालरी बैठक पुरानै ढाँचामा पुनःनिर्माण गर्न समय लाग्ने बताउँदै त्यसनिम्ति ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

समितिका सदस्यहरुले ‘विकासको लहर सुविधा सम्पन्न सहर’ को नारासहित आधुनिक सुविधा सम्पन्न सहर निर्माण गर्ने अभियानले सोचजस्तो प्रगति हासिल नभएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकामा तीन हजार बढी सिसी क्यामरा जडान

काठमाडौँ, ४ पुस : काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

टोखा नगरपालिका–९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको आज शिलान्यास गर्दै उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सिसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

“काठमाडौँ र ललितपपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सिसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

एआइजी थापाले हालसम्म काठमाडौँ उपत्यकाभित्र तीन हजार चार सय ८५ सिसी क्यामरा जडान भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सिसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सिसी क्यामरा जडानको कामलाई अगाडि बढाइएको उल्लेख गर्नुभयो । उहाँले नयाँबसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक सेवाकेन्द्र र प्रहरी प्रभाग गोँगबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले प्रहरीको उपस्थिति जहाँ हुन्छ त्यहाँको अपराध न्यूनीकरण हुने भएकाले टोखामा प्रहरीको उपस्थिति गराउनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको बताउनुभयो ।

नौ आना जग्गामा रु चार करोड ५० लाखको लगानीमा बन्न लागेको उक्त भवन साढे चार तल्लाको हुने सामुदायिक सेवाकेन्द्र गोँगबुका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिनुभयो । उक्त भवन सामुदायिक सेवा केन्द्रबाट गठन भएको निर्माण समितिले एक वर्ष लगाएर निर्माण गर्नेछ ।– 

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त

काठमाडौँ, ४ पुस : पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त हुनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज भएकोे पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको हो ।

इङ्गल्यान्डका जुनियर चिकित्सकहरूद्वारा हडताल सुरु

इङ्गल्यान्डमा जुनियर चिकित्सकहरूले तलब र सर्तहरूलाई लिएर सरकारसँग लामो समयदेखि जारी विवादमा बुधबार तीन दिने हडताल सुरु गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का सबै चिकित्सकमध्ये करिब आधा जुनियर चिकित्सकहरूले बुधबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शनिबार बिहानसम्म हडताल सुरु गरेका हुन् ।

अर्को हडताल आगामी वर्ष जनवरी ३ देखि सुरु हुने र यो छ दिनसम्म चल्ने घोषणा गरिएको छ । एनएचएसको इतिहासमा यो सबैभन्दा लामो हडताल हुनेछ । एनएचएसले उसको वेबसाइटमा चेतावनी दिँदै अन्य चिकित्सकले अझै पनि काम गरिरहने भए पनि कर्मचारीमा हुने अवरोधले ऐच्छिक गतिविधिमा उल्लेखनीय कमी ल्याउने र यसबाट केही नियुक्ति र प्रक्रियाको पुनः तालिका बनाइने बताएको छ । 

“हडतालका दिनहरूमा दुर्घटना र आपत्कालीन विभागहरू तथा एनएचएस १११ (डिजिटल ट्राइएज सेवा) अत्यन्त व्यस्त हुने सम्भावना छ, यसमा सामान्यदेखि धेरै समयसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ”, उसले भनेको छ । 

ब्रिटिस मेडिकल एसोसिएसन (बिएमए) का अनुसार सन् २००८ पछि जुनियर चिकित्सकहरूको तलबमा एक चौथाइभन्दा धेरैले कटौती गरिएको छ । उनीहरूले बेलायतमा जारी जीवनयापनको लागत सङ्कटका बीच ३५ प्रतिशतले तलब वृद्धि हुनुपर्ने माग गरिरहेका छन् । 

हालै गरिएको कुराकानीमा चिकित्सकहरूलाई आठ दशमलव आठ प्रतिशत तलब वृद्धिमा थप तीन प्रतिशत वृद्धिको प्रस्ताव गरिएको थियो तर बिएमएले चिकित्सकहरूको ग्रेडमा असमानरूपमा फैलिने भएकाले यस वर्ष पनि धेरै चिकित्सकहरूको तलब कटौती हुने बताएको छ ।  

वित्तमन्त्री जेरेमी हन्टले एक अन्तरवार्तामा हडताललाई ‘अविश्वसनीयरूपमा निराशाजनक’ भन्नुभयो । उहाँले स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव भिक्टोरिया एटकिन्सले ‘उहाँको ढोका रचनात्मक छलफलका लागि खुला’ रहेको बताउनुभएको जानकारी दिनुभयो । 

एनएचएस कन्फेडरेसन तथा पेसेन्ट्स एसोसिएसनसहित पाँच सङ्गठनले खुला पत्र लेख्दै सरकार र बिएमए दुवैसँग ‘वार्ताको टेबलमा फिर्ता हुन’ र ‘समाधान खोजेर आफ्नो विवाद समाप्त’ गर्न आह्वान गरेका छन् । 

संयुक्त अधिराज्य (युके) मा एज युके नामक परोपकारी संस्थाका क्यारोलिन अब्राहमले भन्नुभयो, “एनएचएसमा वर्षको सबैभन्दा व्यस्त समयमा भइरहेको र हुन गइरहेको हडतालले वृद्धहरूको स्वास्थ्यका लागि ठूलो सम्भावित खतरा उत्पन्न गर्न सक्छ ।”

प्रधानमन्त्रीद्वारा नेता यादवको स्वास्थ्य अवस्थाबारे जानकारी

भक्तपुर, ४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मध्यपुरथिमि नगरपालिका–४ ठिमीमा बस्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

केही सातायता बिरामी पर्नुभएका नेता यादवसँग भेट गरी प्रधानमन्त्रीले उहाँको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको हो । भेटमा उहाँले मध्यपुरठिमी चारदोबाटोस्थित सुन्दरबस्तीमा बस्दै आउनुभएका नेता यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री दाहालले सुन्दरबस्तीका बासिन्दा र कार्यकर्तासँग भेट गरी यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । मध्यपुरठिमी नगरपालिकाका उपप्रमुख एवं माओवादी केन्द्रका मध्यपुरठिमी नगर कमिटीका अध्यक्ष विजयकृष्ण श्रेष्ठको समन्वयमा स्थानीयवासी एवं कार्यकर्तासँग वर्तमान राजनीतिक अवस्था र यहाँको विकासबारे छलफल गर्नुभएको हो ।

नगरपालिकाका उपप्रमुख श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीसँग यहाँका बासिन्दाले स्थानीय अवस्थाबारे छलफल भयो, प्रधानमन्त्रीले देशको समग्र राजनीतिक विषयका बारेमा जानकारी गराउँदै मध्यपुरठिमीको विकासमा चासो लिनुभयो ।”

कांग्रेस एकताबद्ध भएर गएमा आगामी निर्वाचनमा अधिक स्थान हासिल गर्ने पूर्वपरराष्ट्रमन्त्री खड्काको ठोकुवा

उदयपुर, ४ पुस : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काले नेपाली कांग्रेस एकताबद्ध भएर गएमा आगामी निर्वाचनमा अहिलेकोभन्दा अधिक स्थान हासिल गर्ने ठोकुवा गर्नुभएको छ ।

पार्टीले आज यहाँ आयोजना गरेको जिल्ला भेलामा नेता खड्काले यसअघिको चुनावमा कांग्रेसले बाध्य भएर अन्य पार्र्टीसँग तालमेल गर्नुपरेको बताउनुभयो । अन्तरघात भएका कारण धेरै स्थानमा चुनाव हार्नुपरेको उहाँले दुखेसो गर्नुभयो ।अब कांग्रेस पार्र्टीभित्रका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर जान सके आगामी निर्वाचनमा कसैसँग चुनावी तालमेल गरेर चुनाव लड्न नपर्ने नेता खड्काले बताउनुभयो ।पार्र्टीका जिल्ला सभापति हिमाल कार्कीले पनि कांग्रेसले कम्युनिष्टसँग चुनावी एकता गरेर जानु बाध्यता थियो । सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर जान सके आगामी निर्वाचनमा नेपाली कांग्रेसको अवस्था सुदृढ बन्ने दाबी उहाँले गर्नुभयो ।

भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन सबैमा आग्रह

काठमाडौँ, ४ पुस : सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताउनुभयो । उहाँले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । “अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ । उहाँले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियुुु), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताउनुभयो ।

“अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ”, उहाँले भन्नुभयो, “हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।” उहाँका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई तयारी अवस्था राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ ।

उहाँले लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले सबैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको सङ्क्रमणको रोकथाम खोपले गर्ने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरेको हो ।

भोजपुरको तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास

भोजपुर, ४ पुस : भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास भएको छ । तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गर्नुभएको हो ।

तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

तिवारीभञ्ज्याङको शून्य विन्दुबाट वडा नं २ को स्वास्थ्यचौकीसम्म पहिलो र स्वास्थ्यचौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो चरणमा काम भइरहेको उहाँले बताउनुभयो ।“तिवारीभञ्ज्याङ–अधेँरीघाट कृषि सडक कालोपत्रको शिलान्यास गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “सडकको काम दुई चरणमा भइरहेको छ । सडकलाई आगामी असार महिनासम्ममा सम्पन्न गर्ने सम्झौता छ ।”
“यो सडक हाम्रो गौरवको योजना हो”, अध्यक्ष राईले भन्नुभयो, “धेरै मेहनत गरेर श्रोतको व्यवस्थापन गरी कालोपत्रको काम थालनी गरेका छौँ । बजेट अभावको कारण पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने योजना छ । ”

प्रशासनिक भवन तीन वर्षमा सम्पन्न गरी सक्ने गरी केन्द्र सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु छ करोड ८८ लाख लागतमा निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । तीनतले प्रशासनिक भवनमा सभाकक्षसहित २२ वटा कोठा र व्यापारिक प्रयोजनको लागि १८ वटा कबल बनाइने छ ।

रुसी फुटबल सङ्घद्वारा एसियाली महासङ्घमा जाने विपक्षमा मतदान

युक्रेन द्वन्द्वका कारण युरोपेली निकायबाट प्रतिबन्ध लगाइए पनि रुसी फुटबल सङ्घले बुधबार युइएफए छाडेर एसियाली फुटबल महासङ्घममा (एएफसी) मा सामेल हुनेविरुद्ध मतदान गरेको छ ।

“हामीले एसियामा नसर्ने निर्णय गरेका छौँ, सबैले सर्वसम्मतिले निर्णयको समर्थन गरेका छन्”, रुसी फुटबल सङ्घका उपाध्यक्ष अखमेद आयदामिरोभलाई उद्धृत गर्दै सरकारी समाचार समिति तासले भनेको छ, “हामी युरोपका लागि लड्ने छौँ, रुस युरोप हो, हामी जित्नेछौँ ।”

सन् २०२२ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यक्रेनमाथि आक्रमण सुरु गरेको चार दिनपछि लगाइएको प्रतिबन्धअन्तर्गत रुसलाई युरो २०२४ क्वालिफायरमा भाग लिन रोक लगाइएको थियो । युइएफए छाड्ने र एफसीमा सामेल हुने निर्णयले विशेषगरी च्याम्पियन्स लिगजस्ता युरोपेली प्रतियोगितामा संलग्न भएका रुसी क्लबहरूलाई वित्तीयरूपमा असर पर्नेछ ।

अन्तर्राष्ट्रिय नियामक संस्था फिफाले एएफसीमा सामेल हुने मस्कोको प्रयासलाई अस्वीकार गर्न सक्ने रुसी अधिकारीहरूले बताएका छन् । रुसी फुटबल सङ्घका सदस्य मिखाइल गेर्शकोभिचले सरकारी समाचार समिति आआइए नोभोस्तीसँग भन्नुभयो, “फिफाका तर्फबाट कुनै ग्यारेन्टी नभएकाले हामीले सर्वसम्मतिले एएफसीमा सामेल हुने विरुद्ध मतदान गर्यौँ ।”

उहाँले मस्कोले युइएफएसँग सम्पर्क जारी राख्ने बताउनुभयो । “हेरौँ, अर्को वर्षको अवस्था कस्तो हुन्छ”, उहाँले भन्नुभयो ।

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुस्तगतिमा

दमौली (तनहुँ) – एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुस्तगतिमा अगाडि बढेको छ । आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणले सोचेअनुरुप गति लिन नसकेको हो । यो प्याकेजको सम्झौता अवधि एक वर्ष बाँकी रहँदा हालसम्म ७० प्रतिशत काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । तेस्रो प्याकेजको सम्झौता अवधि सन् २०२४ डिसेम्बर १९ सम्म रहेको छ । केइसी इन्टरनेसनल भारतले दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ ।

प्रसारण लाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ को महामारी र वन क्षेत्रका रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद थप गरिएको थियो । शिल्पकारले भन्नुभयो, “अहिले वनको नीतिगत समस्याका कारण काममा ढिलाइ भएको हो, समस्या समाधान गर्दै अगाडि बढ्ने प्रयत्न भइरहेको छ, डिभिजन वन कार्यालय तनहुँबाट भने पूर्णरूपमा सहयोग पाएका छौँ ।”

नीतिगत समस्या हटेर पूर्णरूपमा काम गर्न पाएको भए अझै धेरै प्रगति भइसक्ने शिल्पकारको भनाइ थियो । उहाँका अनुसार केही समय रोकिएको उक्त प्याकेजको काम अहिले सुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि ७० वटा टावरको जग हाल्ने कार्य सकिएको छ । त्यस्तै ३३ टावर जडानकार्य सकिएको छ । हालसम्म नौ सय ८८ दशमलव तीन मिटर तार तान्ने काम सकिएको शिल्पकारले बताउनुभयो ।

प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।

आयोजनाले प्याकेज १, २ र ३ मा हालसम्म ४६ प्रतिशत प्रगति हासिल गरेको छ । प्याकेज–१ मा २५, प्याकेज–२ मा ४७ र प्याकेज–३ मा ६९ प्रतिशत प्रगति हासिल भएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्गदा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । त्यसअन्तर्गत अहिले मुख्य बाँध निर्माणको काम सुरु भएको छ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो चीनले गरिरहेको छ ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर ब्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

एक सय पञ्चानब्बे थान लागुऔषधसहित एक जना पक्राउ

तनहुँ, ४ पुस : इलाका प्रहरी कार्यालय आँबुखैरनीले एक सय पञ्चानब्बे थान लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितवन रत्ननगर नगरपालिका–३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले लोप्चनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभया । सिन्धुलीबाट पोखरातर्फ गइरहेको बसमा सवार लोप्चनले लुकाइछिपाइ ल्याएको लागुऔषध बरामद भएको हो । प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ । निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

‘सरकारको विकल्प खोज्ने कुरै छैन’- माधव नेपाल

चितवन, ४ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उहाँले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले भ्रष्टाचारका केश (मुद्दा) मा चासो राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ ।” कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “आलोचना, निन्दा गर्नेहरु पनि हुन्छन्, प्रशंसा गर्नेहरु पनि हुन्छन् ।” आसन्न राष्ट्रियसभाको निर्वाचनबारे उहाँले यही गठबन्धनबीच तालमेल हुने बताउनुभयो ।

गठबन्धनका दलबीच छलफल गरेर सिटको टुङ्गो लाग्ने उल्लेख गर्दै नेता नेपालले गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उम्मेदवारका विषयमा मापदण्ड बनाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कति सिट हाम्रो भागमा पर्ने हो, कुन प्रदेश र कुन क्लस्टरमा हाम्रो भाग पर्ने हो । यी कुरा टुङ्गो लागिसकेपछि हामीले मापदण्ड बनाएर उम्मेदवार चयन गर्छाैं ।” पार्टीभित्र राष्ट्रियसभामा जाने व्यक्तिको कुनै कमी नभएको भन्दै उहाँले उम्मेदवारको लर्काे लागेको बताउनुभयो ।

नेत्रविक्रम चन्द्र (विप्लव) लगायत नेतालाई पक्राउ पुर्जी जारी भएको विषयमा अध्यक्ष नेपालले पक्राउ पुर्जी जारी हुनु अनुचित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी समाजवादी मोर्चामा पनि छौँ र गठबन्धन सरकारमा पनि छौँ, कानुनी प्रबन्धलाई पनि हेर्नुपर्ने हुन्छ । तर, उहाँहरुमाथि जुन गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित छ ।”

नेपालमा आफूहरुले द्वन्द्व समाधान गर्न छलफल, परामर्श र समझदारीको बाटो अवलम्बन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “हतियारबन्द बाटो लिने होइन, यो समस्यालाई बल्झाउने काम कहीँकतैबाट हुनुहुँदैन ।” अध्यक्ष नेपाल पार्टीको राप्ती नगरस्तरीय कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।

कोशी प्रदेशसभा बैठक : राजस्व सङ्कलनसम्बन्धी विधेयक सर्वसम्मतले पारित

विराटनगर, ४ पुस : कोशी प्रदेशसभाको आजको बैठकले कोशी प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’’ सर्वसम्मतले पारित गरेको छ ।

सो विधेयक आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सदनमा पेश गर्नुभएको थियो ।

विधेयकका सम्बन्धमा सदस्य अधिकारीले उठाउनुभएको प्रश्नको जवाफमा सरकारले संविधान र संसद्को अधिकारलाई हनन गरेको जनाउँदै विशेष परिस्थितिमा सरकारले आर्थिक विधेयक ल्याउन नसक्दा वा पारित गर्न नसक्दा राजस्व सङ्कलनमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले उक्त विधेयक प्रस्तुत गरिएको बताउनुभयो ।

विशेष समय

त्यसअघि नेकपा (एमाले) संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य निरन राईले देशको कृषि, सिँचाइ, सडक, शिक्षालय, अस्पताल तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सके बसाइँसराइका समस्या समाधान हुने बताउनुभयो ।े ।

शून्य समय
बैठकको प्रारम्भमा प्रदेशसभासदस्य किशोरचन्द्र दुलाल, खगेश्वरी पौडेल, गीता तिमल्सेना, नीरादेवी खनाल, मैया श्रेष्ठ, रामदेव यादव, रेवतीरमण भण्डारी, विनोद राई र सदानन्द मण्डलले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक पुस ६ गते अपराह्न ३ बजे बस्नेछ ।

सामाजिक सञ्जालको प्रयोगको न्यूनतम आधार नेपाली मूल्यमान्यता भएको मन्त्री शर्माको भनाई

काठमाडौँ, ४ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालको प्रयोगको न्यूनतम आधार नेपाली मूल्यमान्यता भएको स्पष्ट पार्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सामाजिक सञ्जालसम्बन्धी कानुन तर्जुमा सम्बन्धमा सरोकारवालासँग आज गरेको अन्तक्र्रियामा मन्त्री शर्माले सामाजिक मूल्यमान्यतालाई आधार बनाएर नै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानुन बनाउनुपर्ने बताउनुभयो ।

“सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल नै प्रयोग हुनुहुँदैन भन्ने होइन किनकि यो नेपाली समाजको जीवनशैली बन्न थालेको छ”, सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “तर, नेपाली समाजको मूल्यमान्यतासँग यसको सामञ्जस्यता कसरी मिलाउने भन्ने सन्दर्भमा नै कानुन निर्माणको आवश्यकता महसुस भएको हो, त्यसका लागि सञ्चार तथा सूचना मन्त्रालयले एउटा टोली बनाएर लामो समयदेखि कानुन तर्जुमाको मस्यौदा गरिरहेको छ ।”

नेपाली समाज पश्चिमा समाजभन्दा फरक भएकाले पनि अन्य देशले जस्तै नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग हुनुपर्छ भन्ने धारणा सही नभएको स्पष्ट गर्दै मन्त्री शर्माले भन्नुभयो, “हाम्रो समाज तीन पुस्ता एउटै घरमा बसेर पारिवारिक र सामाजिक सद्भावसहित सांस्कृतिक मूल्यमान्यताको हस्तान्तरण गर्दै अघि बढेको समाज हो । त्यसैले १८ वर्ष उमेर पुग्दा नपुग्दै घर छाडेर फरकफरक संस्कृति अवलम्बन गर्ने नागरिक बसोबास गर्ने समाजका मूल्यमान्यता यहाँ लागू हुनुपर्छ भन्ने धारणा सही होइन ।” सामाजिक सञ्जालसम्बन्धी कानुन निर्माण गर्दा नेपाली जनताले लडेर ल्याएको अभिव्यक्ति स्वतन्त्रताको हकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रताको हक र नेपाली समाजको विशिष्ट मूल्यमान्यताको रक्षाको सवाललाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका जारी भइसकाले सो निर्देशिका पनि कानुनमा निर्माणको महत्त्वपूर्ण आधार हुने उल्लेख गर्दै मन्त्री शर्माले यसमा स्वनियमन, सचेतना र नियमनलाई आधार बनाइने बताउनुभयो । “सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने गराउने यसको पहिलो जिम्मेवारी उपभोक्ता र सम्बन्धित प्लेटफर्मकै हो”, उहाँले भन्नुभयो, “त्यसैले हामीले कानुन निर्माण गर्दा स्वनियमनमै जोड दिने छौँ ।”

स्वनियमनमा सहयोग पुगोस् भनेर विद्यालय शिक्षाको पाठ्यक्रममा उल्लेख गर्नेदेखि आमसञ्चारको माध्यमबाट साइबर सचेतनामा जोड दिने र त्यति गर्दा पनि सामाजिक सञ्जालको प्रयोग सुरक्षित हुन नसकेको खण्डमा नियमन गर्नेगरी कानुन निर्माणको तयारी भइरहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

आम सञ्चार र सूचना प्रविधिको क्षेत्रमा धेरै परिवर्तन भए पनि पुराना कानुनबाट अघि बढ्न सम्भव नभएकाले आफू नेतृत्वको मन्त्रालय कानुन निर्माणमा केन्द्रित रहेको जानकारी दिँदै मन्त्री शर्माले कानुन निर्माणको औपचारिक र परम्परागतभन्दा पनि सकेसम्म धेरै क्षेत्रको राय आओस् भनेर कानुन मस्यौदाका क्रममा सरोकारवालासँग छलफल गर्ने र मस्यौदा निर्माण भएपछि वेबसाइटमा राखेर सार्वजनिक बहसका लागि आह्वान गर्ने गरिएको स्पष्ट गर्नुभयो ।

कानुन व्यवसायी, सूचना प्रविधि क्षेत्रका जानकार र डिजिटल मिडिया सञ्चालकलगायत विभिन्न क्षेत्रका सरोकारवालाले सामाजिक सञ्जालसम्बन्धी कानुनमा समावेश गर्नुपर्ने विभिन्न पक्षको बारेमा राय सुझाव दिनुभएको थियो ।

गाउँमा मात्र होइन, सहरमा पनि अझै कायमै छ धामी–झाँक्री प्रथा

मन्थली (रामेछाप), ४ पुस : जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा अझै पनि कायमै छ ।

गाउँमा स्वास्थ्य चौकी, पालिकामा पालिकास्तरीय अस्पताल र जिल्ला अस्पतालमा पनि निको नभएका बिरामी धामी–झाँक्रीले निको पार्ने गरेको भन्दै उनीहरूप्रतिको विश्वास बढेको हो । अस्पतालमाम ठूलो धनराशि खर्च गरेर उपचार गराउँदा पनि बिरामीलाई निको नभएपछि निराश भएका बिरामीका आफन्त अन्तिम विकल्पका रूपमा तान्त्रिककामा उपचारका लागि पुग्ने गर्छन् ।

अस्पताल, औषधि र आधुनिक प्रविधिको उच्चतम प्रयोग भइराखेको अहिलेको परिवेशमा पनि धामीझाँक्रीमा विश्वास गरेर कैयौँ बिरामी उपचारका लागि पुग्ने गर्दछन् । लिखु तामाकोशी गाउँपालिका–७ निवासी प्रतीक बोहरा व्यावसायिक धामी–झाँक्री हुनुहुन्छ । आफ्ना जुजुबाजे, बाजे र बुवा सबैले यही काम गरेका र आफ्नो शरीरमा पनि सानै उमेरदेखि झाँक्री चढेकाले यही पेसा गर्दै आएको उहाँ बताउनुहुन्छ । बोहोरा आफ्नो गृह वडा, पालिका र जिल्लाका साथै बेलाबेलामा सेवा गर्नाका साथै काठमाडौँको स्वयम्भू कारखाना चोकमा धामी–झाँक्री आश्रममा बसेर सेवा पुर्याउँदै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “काम्ने, छोप्ने र एक्कासी बेहोस भएर ढल्ने बिरामी आउनुहुन्छ, उहाँहरूको सेवाभावले उपचार गर्ने हो ।” बोहोराका अनुसार धामी–झाँक्री र माताको नाममा मनपरी शुल्क लिएर सर्वसाधारणलाई ठग्ने प्रचलन गतल हो यस्ता गतिविधि गर्नेलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्छ ।

यसरी ठगी गर्नेको पहिचान गर्न नेपाल झाँक्री सङ्घले अनुगमन टोली बनाएको पनि उहाँको भनाइ छ । परम्परा र संस्कार संरक्षणका लागि यो काम गर्नुपर्नेमा बोहोरा जोड दिनुहुन्छ । उहाँ धामी, झाँक्री र माताले मनपरी शुल्क लिने गरेको र यसखाले ठगी नियन्त्रणका लागि धामी–झाँक्री सङ्घको अनुगमन टोली बेलाबेलामा आउनुपर्नेमा जोड दिनुहुन्छ ।

“यो व्यवसाय होइन, संस्कारका रूपमा विकास हुनुपर्छ”, बोहरा भन्नुहुन्छ । विकृतिका रूपमा फैलिँदै गएको धामी–झाँक्रीको साखमाथि असर पर्ने काम गर्नेहरूलाई नियमनका लागि पनि देशैभरका झाँक्रीलाई एउटै संस्थामा ल्याउनुपर्ने उहाँको भनाइ छ । पहिले कुन जमिनमा घर बनाउँदा राम्रो हुने, कतापट्टि फर्काउने, मूलढोका कता राख्ने र प्रकृति पूजनको सबै काम र त्यसको शुभसाइत झाँक्रीले नै गर्ने गरेको बोहोरा बताउनुहुन्छ ।

मानवीय विकाससँगै अस्पतालबाट गरिने उपचारलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै उहाँ सकेसम्म बिरामीको निःशुल्क सेवा गर्न झाँक्रीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुहुन्छ । अस्पताल धाउँदाधाउँदै निको नभएका बिरामी पनि आफूले तान्त्रिक विधिबाट उपचार गरेर निको पारेको मन्थली नपा वडा नं ७ का तान्त्रिक विशेषज्ञ केदारप्रसाद ढुङ्गेल बताउनुहुन्छ ।

उखु किसानले अनुदानबापतको २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी

सर्लाही – सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ । जिल्लाका १७ हजार ३० किसानले चिनी उद्योगलाई उखु बिक्री गरेबापत प्रतिक्विन्टल रु ७० का दरले पाउनुपर्ने रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ मध्ये हालसम्म रु २० करोड २५ लाख ५२ हजार सात सय ४९ निकासा हुन बाँकी रहेको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिक्विन्टल अनुदानबापत रु ७० का दरले पाउनुपर्ने रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ मध्ये प्रतिक्विन्टल अनुदानबापतको रकम रु ४९ का दरले रु २० करोड २५ लाख ५२ हजार सात सय ४९ भुक्तानी हुन बाँकी रहेको हो ।

जिल्लामा रहेका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योग गरी तीनवटा चिनी मिलमा गत वर्ष उखु बेचेका १७ हजार ३० किसानले प्रतिक्विन्टल अनुदानबापतको रकम रु २१ का दरले रु नौ करोड ११ लाख २६ हजार छ सय ३८ मात्रै हालसम्म प्राप्त गरेका मिलगेट उखु उत्पादक समितिका जिल्ला अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर मन्त्रालयबाट प्राप्त सो रकम जिल्लाका उखु उत्पादक किसानलाई ३० प्रतिशतका दरले वितरण गर्ने निर्णय गरेपछि कोष तथा लेखानियन्त्रकको कार्यालयले अनुदानबापतको रकम रु नौ करोड ११ लाख २६ हजार छ सय ३८ भुक्तानी गरेको कार्यालय प्रमुख एवं कोष नियन्त्रक निर्मल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार किसानका लागि अनुदानबापत करिब रु २० करोड १४ लाख २६ हजार एक सय ११ आउन बाँकी रहेको छ ।

यता राज्यले दिनुपर्ने अनुदानबापतको गत वर्षको रकम यथाशीघ्र भुक्तानी हुनुपर्ने र यस वर्षको उखुको मूल्य रु सात सय ५० कायम हुनुपर्ने माग राख्दै जिल्लाका उखु उत्पादक किसान गत शनिबारदेखि सडक आन्दोलनमा होमिएका किसान अगुवा ताराराज पन्त (अर्जुन)ले बताउनुभयो । उहाँका अनुसार आफूहरूका माग सम्बोधन नहुँदासम्म आफ्ना आन्दोलनका कार्यक्रम जारी रहनेछन् ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बालुवाटारमा अर्थ, कृषि तथा पशुपक्षीमन्त्री तथा विभिन्न मन्त्रालयका सचिबबीच उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुुको अनुदानबापतको राज्यले दिनुपर्ने रकम रु ५२ करोड तत्काल भुक्तानी गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । सो निर्णयपछि पनि उखु उत्पादक किसानको आन्दोलन रोकिएको छैन । आफूहरूकोे खातामा अनुदानबापतको रकम नआउँदासम्म र चालु वर्षका लागि उखुको समर्थन मूल्य रु सात सय ५० नतोकिँदासम्म आन्दोलन जारी रहने महासङ्घका अध्यक्ष मैनालीले बताउनुभयो ।

चेपाङ समुदायको भाषा-संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल

भरतपुर (चितवन), ४ पुस : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ । भरतपुरमा आज आयोजित चेपाङ समुदायको उत्थानका लागि चिउरी तथा चमेरो संरक्षण कार्यक्रमको मस्यौदा कार्यविधिबारे छलफलमा उहाँले चेपाङ समुदायको उत्थानका लागि नीति तथा कार्यक्रममार्फत नै योजना समावेश गरेर कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो ।

चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको समेत संरक्षण गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकारले ल्याएको यो कार्यक्रम नमूना कार्यक्रम भएकाले सबै पालिकासँग समन्वय गरेर काम गरिने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । राज्यले सबै जातजाति, कला र संस्कृतिको संरक्षण गर्ने भनेको छ चेपाङ समुदाय त यसै पनि पछाडि परेकाले हाम्रो विशेष प्राथमिकता हुनुपर्छ भन्नुभयो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारका योजना अध्ययन गरेर मात्र लागू गर्नुपर्ने तर मनगणन्ते योजना ल्याउन नहुने बताउनुभयो । उहाँले स्थानीय तहलाई बलियो बनाउँदै सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । प्रदेशकै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले चेपाङ समुदायको संस्कार र संस्कृति पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण हुने बताउनुभयो । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।

मर्यादित कामका लागि आईएलओको देशीय कार्यक्रम

काठमाडौँ, ४ पुस : मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को साझेदारीमा पाँचवर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ २०२३–२०२७ कार्यान्वयनमा आएको छ ।

आज यहाँ आयोजित समारोहमा उक्त कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र आइएलओ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठ र आइएलओ नेपालका देशीय निर्देशक नुमान ओक्यानले हस्ताक्षर गर्नुभयो ।

उक्त कार्यक्रम कार्यान्वयनसँगै समावेशी रोजगारी, दिगो उद्यमशीलता र जीविकोपार्जन तथा सामाजिक सुरक्षाको सुनिश्चितता, श्रम अधिकार प्राप्तिका लागि त्रिपक्षीय सामाजिक संवादलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा श्रम मन्त्रालयका सचिव भण्डारीले २०२६ मा मुलुक विकाशील मुलुकमा स्तरोन्नति हुन लागेको सन्दर्भमा मर्यादित कामका लागि देशीय कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष ढकालले श्रम बजारलाई व्यवस्थित बनाउन सो कार्यक्रमले सघाउ पु¥याउने बताउनुभयो । पछिल्ला वर्ष नेपाली श्रम बजार सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको उल्लेख गर्दै असल श्रम सम्बन्ध कायम गर्न आइएलओको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो ।

जेटियुसिसीका अध्यक्ष श्रेष्ठले मर्यादित कामका लागि देशीय कार्यक्रम कार्यान्वयनसँगै श्रम बजारमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । आइएलओका नेपाल निर्देशक नुमानले श्रम बजारका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न तथा श्रमिकका अधिकार कार्यान्वयन गर्न कार्यक्रमबाट सहयोग मिल्ने बताउनुभयो ।

रुसमा राष्ट्रपति पदका लागि १६ जनाको उम्मेदवारी

आगामी वर्ष रुसको राष्ट्रपति पदका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएको अधिकारीहरूले बुधबार बताएका छन् । निर्वाचनमा भ्लादिमिर पुटिनलाई सजिलै पाँचौँ कार्यकाल प्राप्त हुने अपेक्षा गरिएको छ ।

मस्कोले वर्षौंदेखि विपक्षी व्यक्तित्वहरूलाई निर्वाचन र राजनीतिक जीवनबाट बेवास्ता गरेको छ । सन् २०२२ मा क्रेमलिनले रुसी सैनिकलाई युक्रेनमा प्रवेश गर्न आदेश दिएपछि यो कठोर नीति अझ तीव्र भएको छ ।

सरकारी आरआइए नोभोस्ती समाचार एजेन्सीले केन्द्रीय निर्वाचन आयोग (सिइसी) का अध्यक्ष एला पामफिलोभालाई उद्धृत गर्दै भनेको छ, “अहिलेसम्म हामीले राष्ट्रपति निर्वाचनका लागि १६ जनाको आवेदन प्राप्त गरेका छौँ ।”

राष्ट्रपति पुटिनले यसै महिना सैन्य दिग्गजहरूसँगको बैठकका क्रममा उहाँ आगामी वर्षको मार्च १५ देखि तीन दिनसम्म हुने निर्वाचनमा सहभागी हुने पुष्टि गर्नुभएको थियो ।

सिइसीका अनुसार उसले आंशिकरूपमा रुसी सेनाले कब्जा गरेको चार युक्रेनी क्षेत्र र सन् २०१४ मा किएभबाट खोसिएको क्रिमिया प्रायद्वीपमा पनि मतदान गराउने छ । रुसको क्रेमलिन–अनुकूल लिबरल डेमोक्रेटिक पार्टीले यसै साता युक्रेन युद्धका लागि पूर्ववार्ताकार लियोनिद स्लुत्स्कीलाई उम्मेदवारका रूपमा मनोनयन गरेको बताएको छ । स्लुत्स्कीले उहाँको उम्मेदवारीले पुटिनबाट ‘मत नखोस्ने’ बताउनुभएको छ ।

निर्वाचन नियमअनुसार मार्चमा हुने मतदानमा भाग लिनका लागि उम्मेदवारहरूले डिसेम्बर २७ सम्म आवेदन फाइल गर्नुपर्नेछ । त्यसपछि उनीहरूले मतपत्रमा स्थान सुरक्षित गर्नका लागि समर्थकहरूबाट हजारौँ हस्ताक्षर जम्मा गर्नुपर्नेछ ।

चरमपन्थीको आरोपमा मुद्दाको प्रतीक्षामा हिरासतमा रहेका तथा क्रेमलिनका आलोचक कट्टर राष्ट्रवादी इगोर गिर्किनले पुटिनलाई चुनौती दिन चाहेको बताउनुभएको छ । कारागारमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीलाई जालसाजीको आरोपमा सन् २०१८ मा निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको थियो । उहाँका सहयोगीहरूले यसलाई राजनीतिकरूपमा प्रेरित भएको बताएका छन् ।

आफ्नो एकवर्षे कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्रीले भने – ‘जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्छ’

काठमाडौँ, ४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताउनुभएको छ ।

कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको आज भएको संयुक्त वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्ने बताउनुभयो । “आज दुई मन्त्रालयको मन्त्रालयगत अवस्था, त्यसको समग्र स्थितिबारे जानकारी लिइयो, यो आफैँमा महत्वपूर्ण छ, मैले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हँुदैछ । कार्य तालिका नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचमा छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “एक वर्षमा हामीले कति काम ग¥र्यौं, कहाँ के कति समस्या रहे, त्यसको गम्भीर अध्ययन गरेर भावी योजना बनाउँछु ।”

प्रधानमन्त्री दाहालले अब नियमितरूपमा छलफल, समीक्षा र मूल्याङ्कन सुरु गरिने बताउँदै भन्नुभयो, “जनतालाई परिणाम दिने मुख्य विषय हो, जति राम्रो परिणाम दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ, हामीले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”

देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य संयन्त्र कृषि र भूमि भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले कृषिलाई विकासको मूल आधार र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न नसकिए समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “जलविद्युत् र उद्योग पनि महत्वपूर्ण छन् । उद्योग पनि कृषिमा आधारित छन् । कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापनलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”

रासायनिक मलका लागि सधैँ विदेशी उत्पादकको मात्रै भर पर्न नसकिने जनाउँदै प्रधानमन्त्री दाहालले अब स्वदेशमा नै मल कारखाना स्थापना गर्नेतर्फ सोच्नुपर्ने बताउनुभयो । रासायनिक मलको मात्रै भर नपरी कम्पोष्ट मलको पनि अधिकतम उपयोग गर्ने नीति बनाइनुपर्नेमा उहाँको जोड थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट विगतकोभन्दा भिन्नरुपमा तर्जुमा गर्नुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्रीले त्यसका लागि चाँडै सरोकारवालासँग छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक विगतमाभन्दा भिन्न बजेट, नयाँ ढङ्गले प्रस्तुत गर्ने सोच्दैछु । त्यसका लागि पुस महिनाभित्रै बृहत् छलफल गर्छौं । नीति कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गर्छौं, तपाईहरूले पनि त्यसरी नै सोचिराख्नु होला ।”

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले कृषिका सात प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नदी प्रणालीलाई जोडेर सतही सिँचाइको प्रबन्ध, उत्पादनशील बीउको प्रबन्ध र किसानलाई साक्षरता, मलमा आत्मनिर्भरता, यान्त्रिकीकरण, बजार व्यवस्थापन, कृषिमा आधारित उद्योगको विकास र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएर कृषि क्षेत्रको उत्पादकत्व बढाइनुपर्ने बताउनुभयो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, स्वबासी, हरूवाचरूवालगायत समस्या सम्बोधनमा सरकारले गम्भीर पहल लिइसकेको जानकारी गराउनुभयो ।

मुख्यसचिव वैकुण्ठ अर्यालले कृषि क्षेत्रको उत्पादकत्व बढाउन तथा भूमिको वैज्ञानिक व्यवस्थापन गर्न ‘प्याकेज’ जरूरी भएकामा जोड दिँदै राज्यका अनुसन्धानमुखी निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालले आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिक प्रगति सन्तोषजनक रहे पनि लक्ष्यमुखी नभएकामा ध्यानाकर्षण गराउनुभयो ।

कृषि मन्त्रालयका सचिव गोविन्द शर्माले रासायनिक मल खरिद र वितरणको काम यस वर्ष निकै प्रभावकारी भएको बताउँदै आगामी वर्षायामका लागि अहिलेदेखि नै व्यवस्थित तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अनुदानको ढाँचा तथा एकीकृत कृषि ऐनको प्रारम्भिक मस्यौदा तयार भएको, उत्पादनमा आधारित अनुदानको प्रक्रिया अगाडि बढेको र कृषि बीमालाई प्रभावकारी बनाउन प्रयास गरिएको जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अर्का सचिव रेवतीरमण पौडेलले अण्डा र मासुमा नेपाल आत्मनिर्भर रहेको र दूधमा आत्मनिर्भर हुने प्रक्रियामा रहेको जानकारी दिँदै दुग्धजन्य उत्पादन वृद्धि तथा पशुचौपायामा देखिएका सङ्क्रामक रोग नियन्त्रणमा योजनाबद्धरूपमा काम गर्नुपर्ने बताउनुभयो ।

अर्थसचिव कृष्णहरि पुष्करले अर्थतन्त्रमा क्रमशः सुधार आएको बताउँदै स्रोतको सीमितता र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले मन्त्रालय जग्गा प्रशासनमा बढी केन्द्रित हुनुपरेकाले भूमि प्रशासनमा आधुनिकीकरण गर्न, सहकारी क्षेत्रका समस्या सम्बोधन गर्दै प्रभावकारी नियमनसँगै नतिजा दिन आफूहरू क्रियाशील रहेको बताउनुभयो ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले नयाँ र पुराना गरी करिब १५ लाख सेवाग्राहीले आयोगमा निवेदन दिएका तथा कामको चाप र साधनस्रोतबीचको अन्तर सम्बोधन गर्न जरूरी भएको विचार व्यक्त गर्नुभयो ।

दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता भोलिदेखि

काठमाडौँ, ४ पुस : पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सञ्चालन हुने भएको छ ।

नेपाल स्केट बोर्ड, स्केट बोर्डिङ सङ्घ तथा स्केट एन्ड नेपालको संयुक्त आयोजना बुटबलमा हुन लागेको उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा नेपालबाट एक सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

तीन दिनसम्म चल्ने उक्त प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल हुनेछन् । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधि होडमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुङ्गो लगाइने छ । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः एक हजार अमेरिकी डलर, पाँच सय अमेरिकी डलर र दुई सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगिताका खेल बुटवलको तिलोत्तमास्थित डुङ्गा स्केट पार्कमा खेलाइने आयोजक सङ्घका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जाग्रित पहाडीले जानकारी दिनुभयो । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने पुरुष/महिला खेलाडीलाई जर्मनीको स्केट एड इन्टरनेसनलमा तालिमको अवसर पनि प्रदान गर्ने आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो ।

म्याग्दीको बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण, प्रतिकिलो ८० कायम

म्याग्दी, ४ पुस : म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् । बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम रु ८० कायम गरिएको छ । यसअघि यहाँ गत मङ्सिरमा सुन्तला नपाक्दै बिक्री गर्न थालिएको थियो ।

“किसानले ब्यापारीले जति भन्यो त्यति मूल्यमै सुन्तला बेच्ने गरेका थिए,” उहाँले भन्नुभयो । म्याग्दीका अन्य ठाउँका किसानले भने ब्यापारीले भनेको मूल्यमै सुन्तला बिक्री गर्ने गरेका छन् । बास्कुनामा जिल्लामै पहिलो पटक सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको हो । गत वर्ष यहाँ सुन्तला प्रतिकिलो रु ६५ देखि रु ७५ मा बिक्री भएको थियो । व्यापारीले सुन्तला नटिप्दै अगाडी नै पैसा दिएर खरिद गरिसकेका किसान भीम थापाले बताउनुभयो ।

यहाँको सुन्तला पोखरा, चितवन, काठमाडौँलगायत ठाउँमा बिक्रीका लागि लग्ने गरिएको उहाँले बताउनुभयो । आगामी सातादेखि सुन्तला टिपेर बजार पठाउने तयारी गरिएको छ । बास्कुना, सुर्केमेला र थामडाँडाका चालीस परिवारले आठ हेक्टर जग्गामा सुन्तलाखेती गरेका छन् । पछिल्लो एक वर्षमा एक हजार नयाँ बिरुवा थपिएका छन् । गत वर्ष तीन वटा गाउँबाट रु एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको खत्रीले बताउनुभयो ।

परम्परागत खाद्यबालीको विकल्पमा व्यावसायिक सुन्तला खेतीबाट जीवनस्तरमा परिवर्तन आएको छ । यहाँका बासिन्दाले धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तला रोप्न थालेका छन् । वार्षिक दश मुरी धान फल्ने खेतमा चार सय सुन्तलाका बिरुवा रोपेको बास्कुनाकी तिलकुमारी हुमेनले बताउनुभयो ।

गत वर्ष रु सात लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको उहाँको भनाइ छ । “छोरा विदेशिए, छोरीको बिहे भएपछि बाँझिएको खेतमा झाडी फाँडेर सुन बेचेर सुन्तलाका बिरुवा रोपेँ”, उहाँले भन्नुभयो । बास्कुना गाउँभरि सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झ¥याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने पलास्टिकको थैलीलगायतका सामग्री सहयोग गरेको केन्द्रले जनाएको छ ।

प्रदेश सरकारमार्फत दुई वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण गरिएको छ । बेनी–थामडाँडा–बरंजा सडक स्तरोन्नति नहुँदा भने सुन्तला बिक्री गर्न बजार लैजान समस्या भएको स्थानीय भीम गुरुङले गुनासो गर्नुभयो ।

युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

इजरायल र प्यालेस्टिनी लडाकू समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ । कतारस्थित हमासका प्रमुख इस्माइल हनियाह गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो आइपुग्नुभएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाईका लागि सम्झौता तयार गर्न’ वार्ता गर्ने कार्यक्रम रहेको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।

यसअघि कतारमा इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहसँग भेट गरेका हनियाले ‘उच्चस्तरीय प्रतिनिधिमण्डल’को नेतृत्व गर्दै इजिप्टको भ्रमण गर्नुभएको हो ।

–बन्धक छुटाउनका लागि आवश्यक पहल जारी रहेको नेतन्याहुको भनाइ–

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक बनाइएका परिवारसँग बन्धकलाई रिहा गर्ने सम्बन्धमा छलफलका लागि आफूले आफ्ना गुप्तचर प्रमुखलाई दुई पटक यूरोप पठाएको बताउनुभएको छ ।

“यो हाम्रो कर्तव्य हो, सबै बन्धकहरूको रिहाईको लागि म जिम्मेवार छु,” प्रधानमन्त्रीले गाजामा अझै पनि रहेका १२९ बन्दीहरूमध्ये केहीका आफन्तहरूसँग भन्नुभयो । “तिनीहरूलाई बचाउनु सबैभन्दा ठूलो काम हो ।”

“मैले मोसाद (इजरायली गुप्तचर संस्था) का प्रमुखसँग हाम्रा बन्धकहरूलाई मुक्त गर्ने प्रक्रियालाई बढावा दिन दुई पटक युरोप पठाएको छु । म यस विषयमा कुनै कसर बाँकी राख्नेछैन, र हाम्रो कर्तव्य ती सबैलाई फिर्ता ल्याउनु हो ।”

मोसादका प्रमुख डेभिड बार्नेयाले सीआईएका निर्देशक बिल बन्र्स र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग युरोपमा भेटवार्ता गर्नुभएको छ । इजिप्ट र संयुक्त राज्य अमेरिकाको समर्थन प्राप्त कतारले नोभेम्बरमा एक हप्ता लामो युद्धविराम गर्न सहयोग गरेको थियो जसमा २४० प्यालेस्टिनी कैदीहरूको बदलामा ८० इजरायली बन्धकहरूलाई मुक्त गरिएको थियो भने अन्य मुलुकका केही नागरिक पनि मुक्त भएका थिए ।

भर्जिनियाबाट प्रकाशन हुने समाचार संस्था ‘एक्जिओस’ले इजरायलले हमासले बन्धक बनाएका तीन दर्जनभन्दा बढीको बदलामा कम्तीमा एक हप्ताका लागि युद्ध स्थगन गर्ने प्रस्ताव गरेको पनि जनाएको छ ।

गत अक्टोबर ७ मा हमासका लडाकूले गाजाबाट एक्कासी जल, स्थल र हवाई मार्गबाट इजरायली क्षेत्रमा शुरू गरेको आक्रमणमा करिब एक हजार १४० व्यक्तिको मृत्यु भएको थियो जसमा अधिकांश सर्वसाधारण थिए र करिब २५० जनालाई अपहरण गरिएको इजरायलले जनाएको छ ।

प्रतिक्रियामा हमासलाई ध्वस्त पार्ने वाचा गर्दै बमबारी र त्यसपछि जमीनी आक्रमणको अभियान सुरु गरेको र यसबाट १९ हजार ६६७ व्यक्तिको मृत्यु भएको गाजाको हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । हताहत हुनेमा अधिकांश महिला र बालबालिका छन् ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पनि मङ्गलबार आफ्नो देश ‘बन्धकहरूको रिहाईका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको’ बताउनुभएको छ ।

यसैबीच, प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादले गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको भिडियो फुटेज सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बुधबार द्वन्द्व अन्त्यका लागि आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने तयारी गरेको कूटनीतिक स्रोतले बताएका छन् ।

स्रोतका अनुसार पाठको पछिल्लो संस्करणमा शत्रुतालाई ‘अन्त्य’ गर्न आह्वान गरिएको छ ।

अमेरिकाले यसअघिको युद्धविराम प्रस्तावमा भिटो लगाएको थियो जसको प्यालेस्टिनी र अन्तर्राष्ट्रिय मानवीय समूहहरू विरोध गरेका थिए । उनीहरूले द्वन्द्वमा फसेका नागरिकहरूलाई मद्दत गर्न थप कदम चाल्न आग्रह गरेका थिए ।

इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले दक्षिणी गाजाको खान युनिस क्षेत्रमा सेनाले आफ्नो अभियान विस्तार गरिरहेको बताएपछि अहिले युद्ध जारी छ ।

“हामीले हमासलाई ध्वस्त पार्नुपर्छ, र यसका लागि लामो समय लाग्नेछ”, उहाँले भन्नुभयो, “अक्टोबरको अन्त्यमा जमीनी कारबाही सुरु भएयता १३३ जना इजरायली सैनिक मारिएका छन् ।”

–उन्नाईस लाख विस्थापित–

गाजा पट्टीमा भएको पछिल्लो इजरायली आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हमासको स्रोतले बुधबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजाका २४ लाख बासिन्दामध्ये १९ लाख विस्थापित भएका छन् र सहायता समूहहरूको सहायता गर्ने सीमित क्षमताबारे चिन्ता बढ्दै गएको छ ।

मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्सल्यान्डले भन्नुभयो, “अकल्पनीय स्तरमा विस्थापन र सक्रिय शत्रुताकाबीच मानवीय सहयोग कार्यक्रम धरापमा परेको छ ।

गाजावासीहरूले खतरनाक जाडोको सामना गरिरहेका छन् र संयुक्त राष्ट्रसङ्घीय बाल निकायले “रोगका कारण हुने बालबालिकाको मृत्यु बमबारीमा मारिएकाहरूको सङ्ख्याभन्दा बढी हुन सक्ने’ चेतावनी दिएको छ ।

संयुक्त राज्य अमेरिकाले इजरायललाई कडा समर्थन गर्दै गाजामा नागरिकहरूको सुरक्षा गर्न पनि आग्रह गरेको छ ।

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले मङ्गलबार इजरायललाई हमासविरुद्धको लडाइँमा ‘धेरै सर्जिकल, क्लिनिकल र टार्गेटेड एप्रोच’ अपनाउन आग्रह गर्नुभएको छ ।

–क्षेत्रीय तनाबको खतरा –
गाजा युद्धले क्षेत्रीय तनाव बढ्ने डर पैदा गरेको छ र इजरायलले दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह लडाकूहरूसँग घातक सीमापार आक्रमण पनि गरिरहेको छ ।

यसैबीच यमनको इरान समर्थित हुथी विद्रोहीले प्यालेस्टाइनीहरुलाई समर्थन गर्ने क्रममा इजरायलसँग जोडिएको भन्दै ‘रेड सी’बाट पार गर्ने पानीजहाजमा पटक–पटक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।परिणामस्वरूप, प्रमुख पारबहन फर्महरूले आफ्ना जहाजहरू अन्यत्र फर्काएका छन्, अफ्रिकाको वरिपरि धेरै महँगो मार्ग अपनाएका छन् ।संयुक्त राज्य अमेरिकाले सोमबार स्वेज नहरमा जाने जलमार्गको सुरक्षाका लागि नयाँ बहुराष्ट्रिय नौसैनिक कार्यबलको घोषणा गरेको छ ।

काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा गर्न नेपाली सेना दृढ’: प्रधानसेनापति शर्मा

काठमाडौँ, ४ पुस : प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकता प्राप्त काठमाडौँ–तराई/मधेस द्रुतमार्ग(फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा गर्न नेपाली सेना दृढ रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले नेपाली जनताले निकै आशा र भरोसा गरेको सामरिक महत्त्व बोकेको द्रुतमार्ग आगामी विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरी काम भइरहेको जानकारी दिनुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “द्रुतमार्गको निर्माण नियम र कानुनको परिधिभित्र रही तयार गरिएको कार्ययोजनाअनुरुप नै पारदर्शी ढङ्गबाट काम भइरहेको छ । आर्थिक अनियमिता भएको छैन । झन्झटिला प्रक्रिया र कतिपय अव्यावहारिक कानुनले कामलाई द्रुत गतिमा अघि बढाउन बाधा पुर्‍याइरहेको छ ।”

द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) स्वीकृत र वातावरण अध्ययन मूल्याङ्कनमा भएको बिलम्वजस्ता कार्यले समयमा कार्यसम्पादन गर्न बाधा पुगेको घटना सुनाउँदै उहाँले सरोकारवाला सबैको सहयोग र समन्वयनमा निर्धारित समयमै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

एक प्रश्नको जवाफमा प्रधानसेनापति शर्माले भन्नुभयो, “प्रजातान्त्रिक मुलुकको सेनाको प्रमुखको जिम्मेवारीमा छु । सेनालाई गलत देखाउने तत्त्वले अहिले पनि सक्रिय छ । सेनाले गलतलाई कहिल्यै ठीक भन्दैन । द्रुतमार्गकै कुरा गर्नुपर्दा अहिले करिब रु १२ अर्ब सस्तोमा काम लगाइएको छ ।”

विसं २०७४ वैशाख २१ गते सेनाले द्रुतमार्ग निर्माणको जिम्मेवारी लिएको थियो । सेनाको व्यवस्थापनमा अघि बढिरहेको द्रुतमार्गको लम्बाइ डिपीआरपछि ७० दशमलव ९७७ किमी कायम भएको छ । उक्त राजमार्गमा विशिष्ट प्रकारकासहित ८९ वटा पुला रहने छन् भने दोहोरो प्रवेश भएका छ वटा सुरुङमार्ग रहने छन् । करिब रु दुई खर्ब १३ अर्बको लागत अनुमान गरिएको आयोजनाको हालसम्म वित्तीय प्रगति २९ दशमलव ४४ र भौतिक प्रगति ३२ दशमलव ६६ पुगेको छ । हालसम्म आयोजनामा करिब रु ५२ अर्ब खर्च भइसकेको सो अवसरमा जानकारी दिइयो ।

आयोजनालाई निर्धारित समयसीमाभित्र पूरा गर्न सेनाले १३ भागमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाएकामा सात स्थानमा अहिले धमाधम काम भइरहेको छ भने पाँच स्थानको ठेक्का प्रक्रिया अघि बढिरहेको छ । आयोजनाको प्रस्थान विन्दुका लागि छनोट भएको खोकना क्षेत्रमा जग्गा विवादसम्बन्धी समस्या कायमै रहेपछि छ विकल्पको अध्ययन भइरहेको सेनाले जानकारी दियो । करिब दुई सय ५५ मिटर अग्लासहित विशेष प्रकारकासहित ६२ वटा पुल निर्माणको ठेक्का भइसकेको जनाउँदै सेनाले बाँकीको प्रक्रिया पनि तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

बैठकमा सदस्यले जनताले निकै विश्वास गरेको भरोसायोग्य संस्थाका रुपमा रहेका सेनाको व्यवस्थापनमा अघि बढेको द्रुतमार्ग निर्माण ढिलो हुने र लागत बढ्ने अवस्थाले सेनाप्रतिको दृष्टिकोणमा परिवर्तन आउन नदिनेतर्फ सचेत र सजग रहन सुझाव दिनुभयो ।

उहाँहरुले निर्धारित लक्ष्य हासिल गर्ने अठोटसँग कार्यप्रगति तालमेल नभएको मात्र नभई काम असाध्यै ढिलो भएको जनाउँदै द्रुतमार्गमा मनपरि र भद्रगोल देखिएको भनी आएका सूचनालाई गलत सावित गर्ने ढङ्गबाट कार्यसम्पादन र जवाफको अपेक्षा गर्नुभयो ।

सेनाको स्वभाव, आचार, गुणस्तरीय कार्य सम्पादन र समयको परिपालनालाई आँकलन गरी दिइएको जिम्मेवारीमा प्रश्न नआउने गरी जिम्मेवारी पूरा गर्न सुझाव दिँदै सदस्यले गौरवमय सेनाको इतिहासलाई ध्यान दिई काम र व्यवहारले पुष्ट्याइ गर्न सुझाव दिनुभयो ।

सेनाको पवित्रता र गरिमालाई कायम गर्दै द्रुतमार्गको जिम्मेवारीलाई समयमै पूरा गर्न सैनिक नेतृत्वलाई ध्यानाकर्षण गराउँदै सदस्यले विकटमा सडक खनेर तथा विपद्को साथीका रुपमा प्रमाणित गरेको सेना विवादमा नपरोस् भन्ने भावनालाई आत्मसात् गर्न सल्लाह दिनुभयो ।

ड्रागन खेतीमा रमाउँदै इलामका वडा सदस्य लिम्बू

फिक्कल (इलाम), ४ पुस : इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनुहुन्छ ।

दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उहाँ बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिनुहुन्छ । उहाँले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गर्नुभएको छ । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आउनुभएको छ ।

चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती सुरु गर्नुभएका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ । उहाँको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सयवटा ड्रागन फलका बोट छन् । सबै बोटले उत्पादनसमेत दिन थालेका छन् ।

‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी रु दुई लाखको लगानीमा ड्रागन फलको खेती सुरु गर्नुभएको हो । उहाँलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैनजस्तो लागेको थियो । बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो । तर अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै बिक्री हुन थालेपछि उहाँ हर्षित हुनुहुन्छ । उहाँले फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आउनुभएको छ । उहाँले या वर्ष मात्र रु दुई लाख १० हजार आम्दानी गर्नुभएको छ । फल बिक्री गरेर रु एक लाख ३० हजार र बिरुवा बिक्री गरेर रु ८० हजार आम्दानी गर्नुभएको उहाँले बताउनुभयो ।

“जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु । आम्दानीसमेत राम्रै हुँदो रहेछ”, सदस्य लिम्बूले भन्नुभयो, “वार्षिक रुपमा रु दुई लाख बढी आम्दानी हुने रहेछ । यसैले नानीहरु पढाउन र घरखर्च चलाउन मज्जाले पुगेको छु ।” उहाँले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्राजतिको खेती गर्न एकैपटक चार सय बिरुवा रोप्नुभएको थियो । उहाँले पैसा कमाउन विदेश जानैपर्ने बाध्यता नरहेको बताउनुभयो । “युवामा पैसा कमाउनकै लागि विदेश जानु पर्दैन । आफैँ लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ । यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो ।

लिम्बूले उत्पादन गर्नुभएको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै बिक्री गरेको छ । सरदरमा प्रतिकेजी रु चार सयदेखि पाँच सयमा बिक्री हुने उहाँले बताउनुभयो । विरुवा भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको छ । बिरुवा पनि प्रतिगोटा रु दुई सय ५०सम्ममा बिक्री हुने गर्दछ । लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।

ड्रागन फुड फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ । टिपेर राख्दा १०÷१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रुपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । ड्रागन फ्रुड रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

जग्गामा ड्राङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फुड पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ ।

ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँ तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने विज्ञहरुको निष्कर्ष छ ।

बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित

चितवन, ४ पुस : बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५÷६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यहाँ आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार आठ सय ८६ जना रहेका छन् ।  मन्त्रालयका विज्ञ चिकित्सक डा शाकार खनालका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी करिब तीन लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ । एकजना महिला बराबर चारजना पुरुषमा यो समस्या हुने देखिएको उहाँले जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो, “भौगोलिक अवस्थाअनुसार हिमालमा तीन सय २८, पहाडमा दुई हजार दुई सय २९, तराईमा दुई हजार तीन सय २९ जनामा यो समस्या रहेको छ ।” अटिजमको समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिइयो । गाउँमा एक हजार सात सय २८ र सहरमा तीन हजार एक सय ५८ जनामा यो समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ ।

अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभई समस्या हो । नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ ।”

नेपालमा रहेका अपाङ्गहरुमध्ये ० दशमलब ८० प्रतिशत अटिजमका रहेको जनाउँदै उहाँले अटिजम जन्मजात आउने अवस्था रहेको बताउनुभयो । यो समस्या वंशाणुगत, वातावरण र सङ्क्रमण्का कारणले हुने गर्दछ । यसको अहिलेसम्म उपचार नभएको जनाउँदै उहाँले विभिन्न किसिमको थेरापी तथा पुनस्र्थापनाले सुधार गर्न सकिने जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताउनुभयो । यस प्रकारका कार्यक्रमले सरकारका भावी कामहरु र वास्तविक तथ्याङ्क सङ्कलनमा सहज हुने उहाँको भनाइ थियो । गोष्ठीमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि एवं अटिजम क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

श्रीलङ्काका विदेशमन्त्री आज नेपाल भ्रमणमा आउदै

काठमाडौँ, ४ पुस : प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौँमा आयोजना हुने नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । संयुक्त आयोगको बैठकमा विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नुहुनेछ । साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नुहुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उहाँ पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नुहुनेछ ।

काठमाडौंका यी क्षेत्रमा आजदेखि विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा ४ दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेकोले बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

आज चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडामा विद्युत् आपूर्ति बन्द हुनेछ भने शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालन

कञ्चनपुर, ४ पुस : बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ । त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चारजना कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको छ ।

गड्डाचौकी भन्सार कार्यालय मातहतमा हुँदा भन्सार कार्यालय सञ्चालन हुँदै आए पनि २०७५ साल साउन २५ गते त्रिनगर भन्सार कार्यालय मातहतमा राखिए केही महिना सञ्चालन भएको भन्सार कार्यालय बन्द भएको थियो । “भन्सार कार्यालय सञ्चालन गर्नेबारे पत्र आयो,” नगर उपप्रमुख जोगराम चौधरी भन्नुभयो, “केही दिनपछि थाहै नदिई भन्सार कार्यालयमा ताला लाग्यो, त्यसपछि कर्मचारी आएनन् ।”

उहाँले भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउनका लागि निकै पहल गर्नु परेको बताउनुभयो । “छोटी भन्सार कार्यालयका कर्मचारी बस्ने आवासमा विद्युत्को लाइन काटिएको थियो, त्यो तत्कालै सुचारु गर्न लगाएका छौँ,” उहाँले भन्नुभयो, “खटिएर आएका कर्मचारी कार्यालय व्यवस्थापनको कार्यमा लाग्नुभएको छ, कुनै पनि कुराको अप्ठेरो परे नगरपालिकामा सम्पर्क गर्न भनेका छौँ, कर्मचारीलाई टिकाउन आवश्यक सहयोग गर्छौं ।”

भारततर्फका व्यापारीहरुले पुनः भन्सार कार्यालय सञ्चालनमा आएपछि खुशी व्यक्त गर्दै भारततर्फ पनि भन्सार कार्यालयको व्यवस्थाका लागि पहल गर्ने अश्वासन दिएका छन् । भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान भन्सार भएर आउने गरेका छन् ।

भारतबाट आउने खाद्यान्न गुणस्तरयुक्त छ, छैन भन्नेबारे परीक्षण गर्नका लागि खाद्य ‘क्वारेन्टिइन’ कार्यालयको व्यवस्थाका लागि पनि पहल हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावटको कार्य रोकिने बताइएको छ । भन्सार कार्यालयमा खटिएर आएका नायब सुब्बा खत्रीले अबदेखि नियमित रुपमा भन्सारको कार्य सञ्चालन हुने बताउनुभयो ।विगत जस्तै राजस्व सङ्कलनको कार्य नियमित रुपमा हुने उहाँको भनाइ रहेको छ । भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय यसअघि नै राखिएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि चिच्याउँदै भागेर ज्यान जोगाए

झापा, ४ पुस : उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो ।

पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी उहाँ हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट ब्युँझिनु हुन्छ । उक्त बिहान पनि सबेरै ब्युँझिनु भएको उहाँ आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेरे हात्तीले घरको पर्खाल भत्काएको थियो । हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए । गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पु¥यायो ।

एक्लै लुसुलुसु आउने जङ्गली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको न्यौपाने बताउनुहुन्छ । गाउँका मानिस घरधन्धा, गोठको काम र विद्यार्थीका लागि सबेरै उठ्ने गर्छन् । ‘मर्निङ वाक’ हिँड्ने चलन पनि गाउँमा छ । तर बिहानीपख लुसुलुसु गाउँ छिर्ने बानी परेका हात्तीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ ।जिल्लाका अधिकांश स्थानमा कक्षा ११ र १२ का मात्र नभएर स्नातक तहको कक्षा बिहान सञ्चालन हुने गरेको छ ।

“हाम्रो छोरो झिसमिसेमै साइकल चलाएर सात किलोमिटर टाढा धुलाबारीमा पढ्न जान्छ,” मेचीनगर–१५ सुकुम्वासी बस्तीका दुर्गाबहादुर बुढाथोकी भन्नुहुन्छ, “बाक्लो हुस्सु लागेको हुन्छ । हात्ती पनि जताततै भेटिन थालेका छन् । कलेज पठाउन पनि डरमर्दो भइसक्यो ।” झापाका १५ वटै पालिका हात्ती प्रभावित छ । डिभिजन वन कार्यालय झापाले जिल्लाको वन क्षेत्रमा हाल तीन दर्जनभन्दा बढी हात्तीले आश्रय लिइरहेको जनाएको छ । जिल्लाको सबैतिर अभिभावकहरु आफ्ना छोराछोरीलाई बिहानीपख स्कुल–कलेज पठाउन डराउन थालेका छन् ।बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बस्तीमा दिनहुँ जङ्गली हात्ती पस्ने गरेको बताउनुभयो । साँझ नपर्दै बस्ती पस्ने हात्तीले मानिसलाई आक्रमण गर्ने, बाली खाएर क्षति पु¥याउने र घर भत्काउने उपद्रो गर्दै आएका छन् । जङ्गली हात्तीबाट जीउधन जोगाउन स्थानीयवासी रातभर जागा बस्ने गरेको बाँस्तोलाले बताउनुभयो । स्थानीय युवाहरु साँझ पर्ने बित्तिकै हात्तीको गस्तीमा खटिने र रातभर जाग्राम बस्ने गरेको उहाँले जानकारी दिनुभयो ।अभिभावकहरुलाई छोराछोरी हात्तीको लखेटाइमा पर्लान् कि भन्ने चिन्ता थपिएको छ । “जसोतसो रातभर जाग्राम बसेर हात्ती लखेट्छौँ,” उहाँले भन्नुभयो, “स्कुल पठाउँदा समेत चिन्ता हुन थालेको छ । अब घर र सडक कतै पनि सुरक्षित रहेन ।” आज बिहान कलेज जाँदा हात्तीसँग जम्काभेट भएकी कृतिका उहाँकी दाजुकी छोरी हुन् । कृतिकासँगै भतिज किरण बाँस्तोला सडकमा कलेज बसको हर्न बज्ने बित्तिकै घरबाट निस्किएको जनाउँदै उहाँले भन्नुभयो, “चिसोका कारण बाक्लो हुस्सु लागेको थियो । उनीहरु यताउता नहेरी गाडी रहेको सडकतिर उक्लँदै थिए । एक्कासि सडकमा हात्ती आइपुग्यो ।”दुवै विद्यार्थी विर्तामोडको निधि कलेजमा पढ्छन् । आज भागेर ज्यान जोगाउन सफल उनीहरु भोलिदेखि कलेज कसरी जाने भन्ने कुराले चिन्तित छन् । दिनभर स्थानीय आदर्श सामुदायिक वन क्षेत्रमा लुकेर बस्ने पाँच हात्ती साँझ पर्ने बित्तिकै एक्लाएक्लै गाउँ छिर्ने गरेको उहाँको भनाइ छ । दैनिकजसो गाउँ डुल्ने जङ्गल हात्तीका कारण बुद्धशान्तिको जङ्गल आसपासका बच्चादेखि वृद्धवृद्धासम्म घरबाट बाहिर निस्कन डराउँछन् ।डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लाभर जङ्गली हात्तीको बिगबिगी रहेको स्वीकार गर्नुभयो । उहाँले जलथल, पृथ्वीनगर, रङ्गेडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको बताउनुभयो । विभिन्न वनमा छरिएर बसेका र हूल बाँधेर हिँड्ने हात्ती नियन्त्रण गर्न स्रोत र साधनको समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकैपटकमा दश ठाउँबाट हात्ती गाउँ पस्यो भनेर खबर आउँछ । कार्यालयसँग जम्मा एउटा गाडी छ । प्रहरीको सहयोग लिएर हात्ती धपाउने काम गरिरहेका छौँ ।” उहाँले झापाको जङ्गलमा हाल ४० वटा जङ्गली हात्ती रहेको अनुमान गरिएको बताउनुभयो ।दैनिक घर भत्किएका र बालीनाली खाइदिएको लगायतका समस्या हुने गरेको गुनासो बढ्न थालेको उहाँले जानकारी दिनुभयो । हात्तीलाई जङ्गलबाट बाहिर निस्कन नदिन मेचीनगर, भद्रपुर र हल्दिबारीको जङ्गल वरिपरि राज्यको करोडौँ लगानीमा दर्जनौँ किलोमिटर लामो विद्युतीय घेराबेरा गरिएको छ । स्थानीयले आफूखुशी घरलाई वरिपरिबाट विद्युत् तारले घेर्ने समेत उपाय गर्दै आएका छन् । तर विद्युत् तार पन्छाउन अभ्यस्त भइसकेको हात्तीले मानव बस्तीलाई निशाना बनाउन छाडेको छैन ।

ऐतिहासिक टक्सारको धातु व्यवसाय जोगाउनै मुस्किल, ओलीले लिए धातु व्यवसायको चासो

टक्सार (भोजपुर), ३ पुस ः ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन् ।

पछिल्लो समय दुई–तीन परिवारले मात्र पुरानो पेसा अगाल्दै आइरहनुभएको छ । स्थानीय बुद्धराज शाक्य लगायतले मात्र अहिले धातुका सामग्रीहरु माग भएमा बनाउँदै आउनुभएको छ । टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनः अभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक स्रोत साधन उपलब्ध हुनुपर्ने गराउन जरुरी रहेको स्थानीय विमलकुमार शाक्यको भनाइ रहेको छ ।

इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । तर स्थानीयवासी तथा कालिगढहरु समेत पलायन हुने क्रम बढेकाले अहिले टक्सारको धातु व्यवसाय नै जोगाउन मुस्किल परेको स्थानीय सानुकाजी शाक्यले बताउनुभयो । “धातु उद्योगले कच्चापदार्थ कोइला (गोल), मैन र दक्ष जनशक्तिको अभाव झेलिरहेको छ । राणाशासन, पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्ध कमाएको टक्सारका उद्योग बन्दसँगै बजार क्षेत्रका मानिस पनि पलायन भएपछि टक्सार बजारसमेत सुनसान भएको छ,” उहाँले भन्नुभयो ।

कालिगढ विस्थापनसँगै टक्सार बजारले मागअनुसारका सामग्री उत्पादन गर्न नसकेपछि अहिले तराईका जिल्लाहरुबाट नै पसलहरुमा बिक्रीका लागि धातुका सामग्रीहरु आउने गरेका छन् । विगतमा जस्तो टक्सार बजारमा धातु व्यवसाय पनि नभएको कारण बिक्रीका लागि बाहिरबाट नै सामग्रीहरु आउने गरेका व्यवसायी नवराज श्रेष्ठले बताउनुभयो । “जनशक्ति अभावमा मागअनुसार टक्सारले सामग्री नै उत्पादन गर्न सक्दैन,” उहाँले भन्नुभयो ।

टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन् । यहाँ निर्मित करुवालगायत हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत र भारतको दार्जिलिङ, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ ।

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले हालै भोजपुरको टक्सारको धातु व्यवसायको समस्याका बारेमा धातु व्यवसायीहरु चासो राख्नुभएको थियो । टक्सार बजारका पुराना धातु व्यवसायी शाक्यले काँसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउनुहुन्छ । करुवा, कलश, कचौरा, गाग्रीलगायत सामानहरु आफूले बनाउँदै आएको शाक्यले बताउनुभयो ।

ऐतिहासिक कलामा पोख्त कालिगढहरु पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ । व्यवसायी शाक्यले भन्नुभयो “कालिगढको अभावसँगै कच्चापदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन, स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चापदार्थहरु र कोइला ढुवानी गर्दा महँगोसमेत हुने भएकाले पनि टक्सारबाट कालिगढहरुको विस्थापन हुने क्रम बढेको छ ।”

अदालतले भेटेन एनसेल किन्ने–बेच्ने, म्याद तामेलीमा समस्या

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेका दुई कम्पनीको स्पष्ट वतन (ठेगाना) नहुँदा म्याद तामेलीमा समस्या भएको छ। तोकिएको समयमा म्याद तामेली हुन नसक्दा सुनुवाइ लम्बिएको छ। गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमा उच्च अदालतबाट कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाए पनि सुनुवाइ अघि बढेको छैन।

रिट निवेदनमा विपक्षीमध्येका स्पेक्ट्रलाइट यूके लिमिटेड र अजियाटा समूह बर्हाडको नामको म्याद तामेली हुन नसकेको हो। अदालत स्रोतका अनुसार, बिक्रीरखरिदकर्ता कम्पनीको वास्तबिक ठेगाना पत्ता नलाग्दा म्याद तामेल गर्न समस्या भएको छ।

मंसिर २० गते रोकायाले सेयर बिक्री रोक्न अन्तरिम आदेशसमेत माग गर्दै रिट निवेदन दायर गरेका थिए।

सोही रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले निवेदनमा उल्लेख गरेको विषयवस्तु र अजियाटा ग्रुपबाट एनसेलको टिमलाई जानकारी गराएको सूचना समेतको सन्दर्भबाट हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी हुने नहुने सन्दर्भमा आदेश जारी गर्नु उपयुक्त र मनासिव देखिएको ठहर गर्दै मंसिर २५ गते छलफलका लागि पेसी तोक्न आदेश गरेका थिए।

त्यसको सूचना रितपूर्वक दिई निमानुसार पेस गर्न आदेश भएको अदालतले जनाएको छ। तर, अदालतबाट म्याद तामेल हुन सकेन। पुस २ गते पेसी चढे पनि म्याद तामेल नहुँदा सुनुवाइ भएन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

ट्रकको क्याबिनमा चार क्विन्टल गाँजा ल्याउँदै गरेका दुई भारतीय आँपटारीबाट पक्राउ

चितवन, ४ पुस : जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ स्थित आँपटारीबाट पक्राउ गरिएको हो । उनीहरुले भारतीय नं प्लेटको जेएच ०२ डब्लु ९६३१ नंको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकको बोरामा २८ पोका बनाई लुकाई–छिपाई मुग्लिनबाट नारायणगढतर्फ ल्याउँदै गर्दा पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रत्नपार्कदेखि सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइनमार्फत लिन सकिने

काठमाडौँ । काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ । त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ । एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेरेर आफू अनुकूलको यात्रा सहज बनाउन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

हाल द्रुत बस सञ्चालनको समयतालिका पनि परिवर्तन भएको छ । रिजालले भने, “बिहान सूर्यविनायकदेखि रत्नपार्क आउने मान्छे धेरै हुन्छन् । त्यसैले ३६ वटा बस उतैबाट आउँछन् । दिउँसो ३ बजेपछि यताबाट उता जाने मान्छे धेरै हुन्छन् । ती बस फेरि साँझ रत्नपार्कबाट उता जान्छन् ।”

यात्रुको चाप हुने समय अनुसार द्रुत बस व्यवस्थापन गरिएको छ । यात्रुले समयमै बस पाउने र बस पनि रित्तै गुड्न नपर्ने अवस्था भएपछि बस राम्रोसँग चलिरहेको रिजालले बताए । उनले भने “यात्रुको चाप बिहान र साँझमा हुन्छ । सोही अनुसार तालिकामा परिवर्तन गरिएको छ ।”

विभागको टाइम कार्ड अनुसार बिहान ८ः३० बजे सूर्यविनायकबाट पहिलो बस छुट्छ । त्यसपछि हरेक तीन मिनेटमा बस छुट्छन् । विभागको मङ्सिर २८ गतेको रेकर्ड अनुसार बिहान ८स्३० बजे छुटेको ४० सिटको बसमा छुटेको समयमै २५ जना यात्रु थिए । त्यसलगत्तै तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट छुटेको अर्को ४० सिटको बसमा ३२ जना यात्रु छुट्ने स्थानबाटै चढेका थिए । सोही दिन रत्नपार्कबाट ३स्३३ बजे छुटेको ३२ सिटको बसमा ३८ जना थिए । महानिर्देशक रिजालले भने, “अहिले सुधार भएको छ । द्रुत बसप्रति यात्रुको आकर्षण बढेको छ । बसहरू सिट फुल भएर चलेका छन् । अझै सुधार गर्दै छौँ ।”


द्रुत बसमा एप जडानपछि जिपिएस प्रणालीमा लैजाने विभागको योजना छ । साथै अनलाइनबाट भाडा भुक्तानी गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग छलफल भइरहेको रिजालले जानकारी दिए । ३६ वटा बसलाई ६० पु¥याउने काम पनि अघि बढेको छ । रत्नपार्क–सूर्यविनायक द्रुत बसको सफल सञ्चालनपछि अन्य रुट र सहरमा पनि विस्तार गरिने विभागले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, “अहिले ठिक तरिकाले चलेका छन् । यात्रु आउने क्रम बढेको छ । यसलाई प्रविधिसँग जोडेर अझ व्यवस्थित गर्नु पर्छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एम्बुलेन्स सहरको ट्राफिक सुविधासहित छुट्टै सडक लेन व्यवस्था गरी असोज ३ गतेबाट द्रुत बस सेवा सञ्चालन गरेको थियो । कार्यालय समयमा हुने अत्यधिक जामलाई ध्यानमा राखेर द्रुत बस सुरु भएको हो ।

विभागका अनुसार १९ स्थानमा बस स्टप तोकिएका छन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गठ्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

रुसी प्रधानमन्त्रीद्वारा चीन सम्बन्धमा ‘सर्वकालीन उचाइ’ को प्रशंसा

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले मङ्गलबार चीनसँगको आफ्नो मुलुकको सम्बन्धको प्रशंसा गर्नुभएको छ । उहाँले चीनको राजधानी बेइजिङको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धमा ‘सर्वकालीन उचाइ’ को घोषणा गर्नुभयो । चीन र रुसले हालैका वर्षहरूमा आर्थिक र कूटनीतिक सहयोगलाई बढाएका छन् ।

मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि दुवै मुलुकबीचको सम्बन्ध घनिष्ठ भएको छ । यद्यपि बेइजिङ उक्त युद्धमा तटस्थ रहेको छ । चिनियाँ सरकारी प्रसारक सिसिटिभी र क्रेमलिनका अनुसार प्रधानमन्त्री मिशुस्टिनले आफ्ना चिनियाँ समकक्षी ली कियाङसँग भन्नुभयो, “रुस–चीन सम्बन्ध अहिलेसम्मकै उच्चतम स्तरमा छ ।”

“राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति भ्लादिमिर पुटिनको रणनीतिक निर्देशनमा चीन–रुस सम्बन्ध उच्चस्तरमा सञ्चालन भइरहेको छ”, सिसिटिभीका अनुसार चिनियाँ प्रधानमन्त्री लीले मिशुस्टिनसँग भन्नुभयो, “अनन्तकालसम्म चल्ने मित्रतालाई अगाडि बढाउन तथा विश्वमा थप स्थिरता र सकारात्मक ऊर्जा ल्याउन प्रयास गर्नेछौँ ।” रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सीलाई भेट्न रुसबाहिर एउटा दुर्लभ भ्रमण गर्नुभएको र मस्कोमा वरिष्ठ चिनियाँ जनरललाई आतिथ्यता प्रदान गरिएपछि मिशुस्टिन मङ्गलबार र बुधबार चीनको भ्रमणमा हुनुहुन्छ ।

जर्मन एयरलाइन्स लुफ्थान्साद्वारा ९ अर्ब डलरमा एयरबस र बोइङ विमानको अर्डर

आफ्ना विमानहरूको आधुनिकीकरण गरिरहेको जर्मन एयरलाइन्स लुफ्थान्साले करिब नौ अर्ब डलरमा बोइङबाट ४० र एयरबसबाट ४० विमानको अर्डर गरेको मङ्गलबार बताएको छ । बोइङ विमान ७३७–८ एमएएक्स र एयरबस विमान ए२२०–३०० मोडेलको हुने एयरलाइन्सले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

 लुफ्थान्सा बोर्डका सदस्य डेटलेफ केसरले भन्नुभयो, “हामी हाम्रो कम्पनीको इतिहासमा सबैभन्दा ठूलो विमान आधुनिकीकरणमा तीव्रता दिइरहेका छौँ ।” एयरबसका विमानको प्रयोग लुफ्थान्साको नयाँ क्षेत्रीय वाहक सिटी एयरलाइन्सले गर्ने उद्देश्य राखेको छ । सिटी एयरलाइन्स सन् २०२४ को गृष्ममा सञ्चालन सुरु हुनेछ । सन् २०२६ मा पहिलो वितरण गरिने ती विमानलाई फ्र्याङ्कफर्ट र म्युनिखबाट छोटो दूरीका मार्गमा परिचालन गरिने छ ।  पहिलो डेलिभरी सन् २०२७ मा हुने बोइङ विमानको प्रयोग छोटो र मध्यम दूरीका मार्गमा गर्न सकिनेछ । लुफ्थान्सा समूहका कुन एयरलाइन्सले विमानहरूको प्रयोग गर्ने हो भन्नेबारेमा कुनै अन्तिम निर्णय लिइएको छैन । समूहका वाहकहरूमा लुफ्थान्सा, युरोविङ्ग्स, अस्ट्रियन, स्विस र ब्रसेल्स एयरलाइन्स रहेका छन् ।  नयाँ विमान शान्त र अधिक आरामदायक हुने र आफ्ना पूर्ववर्तीहरूको तुलनामा ३० प्रतिशत कम कार्बनडाइअक्साइड उत्सर्जन गर्ने केसरले बताउनुभयो । सन् २०१९ को तुलनमा सन् २०३० सम्ममा आफ्नो शुद्ध कार्बन उत्सर्जनलाई आधा गर्ने र सन् २०५० सम्ममा कार्बन तटस्थ बन्ने लुफ्थान्साको लक्ष्य छ ।  यद्यपि उड्डयन क्षेत्रलाई डिकार्बोनाइज गर्न सबैभन्दा कठिन छ र यसको आशा स्थायी उड्डयन इन्धन (एसएसएफ) मा अडिएको छ । एसएसएफ एउटा जैविक इन्धन हो । यसले परम्परागत जेट इन्धनको तुलनामा कम कार्बन उत्सर्जन गर्छ तर हाल यसको उत्पादन लागत अत्यन्त महङ्गो छ । कोरोना भाइरस महामारीले हवाई यात्रा बन्द हुँदा जर्मन सरकारले लुफ्थान्सालाई जमानत दिनुपरेको थियो तर एयरलाइन्स सुदृढरूपमा फर्किएको छ । नोभेम्बरमा लुफ्थान्सा समूहले गृष्मको यात्रापछि तेस्रो त्रैमासिकको मुनाफामा वृद्धि भएको बताएको थियो । उसले आगामी महिनाहरूमा पनि मुनाफा जारी रहने अपेक्षा गरिएको बताएको छ ।  

शिक्षामा होइन, विश्व कीर्तिमान बनाउने चक्करमा त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले प्रमाणपत्र उपलब्ध गराएको भन्ने गलत सूचना राखिएको छ।

दशरथ रंगशालामा त्रिविद्वारा आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै संख्यामा विद्यार्थी र अभिभावक उपस्थित थिए। दीक्षान्त समारोहमा ‘अफिसियल विश्व रेकर्ड (डब्लुआर)’ का आधिकारिक प्रतिनिधि पनि पुग्न नसकेको निमित्त उपकुलपति प्राध्यापक डा। शिवलाल भुसाल स्वीकार्छन्।

आधिकारिक विश्व रेकर्ड एसोसिएसन ९डब्लुआर० का प्रतिनिधि प्रमाणपत्र प्रदान गर्न समारोह स्थलभित्र छिर्न नसकेपछि विश्वविद्यालयका पदाधिकारीले आफैं प्रमाणपत्र ल्याउनुपरेको तमासा पनि समारोहमा देखियो। उपकुलपति र कुलपति स्वयंले डब्लुआरको प्रमाणपत्र हातमा लिएर देखाएका थिए। ‘विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित गर्ने पहिलो विश्वविद्यालयको रूपमा विश्व रेकर्ड कायम गर्न त्रिवि सफल भएको छ,’ त्रिविको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ, ‘४९औं दीक्षान्त समारोहमै गिनिज वल्र्ड रेकर्डका प्रतिनिधि उपस्थित भई उक्त रेकर्ड दर्ता गराएका हुन्।’ जुन सरासर त्रुटिपूर्ण छ।

लाखौं विद्यार्थी पढाउने विश्वविद्यालयको वेबसाइटमा समेत अफिसियल वल्र्ड रेकर्ड संस्थाको साटो गिनिज विश्व रेकर्ड राख्ने संस्थाको नाम लेखेर गलत सूचना प्रवाह गर्नुलाई शिक्षाविद् विद्यानाथ कोइरालाले हावादारी मानेका छन्। उनले विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाले गलत सूचना प्रवाह गर्दा विद्यार्थीमा समेत नकारात्मक असर पर्ने बताए। उनले विश्वविद्यालयले बेरोजगार विद्यार्थी धेरै उत्पादन गरेर विश्वकीर्तिमान बनाउनुभन्दा सक्षम, योग्य र विश्वबजारमा गरिखाने विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने सुझाए।

‘त्रिविको ४९ दीक्षान्त होइन, शिक्षान्त समारोह हो। दीक्षाको होइन, शिक्षाको अन्त्य भएको दिन हो,’ शिक्षाविद् कोइरालाले भने, ‘बेरोजगारको भिड जम्मा गरेर विश्व कीर्तिमान कायम गर्नुभन्दा गुणस्तर वृद्धि गरी विश्वबजारमा आफूले हासिल गरेको ज्ञान, सिप र क्षमता बेचेर गरिखाने बाटो देखाइदिएको भए सही हुन्थ्यो।’ उनले थपे, ‘कुलपति, उपकुलपति, राष्ट्रपतिलगायत व्यक्तित्वले विद्यार्थीलाई शिक्षा, स्वास्थ्य, पर्यटन, मधेस, पहाड, तराईका विभिन्न क्षेत्रमा अवसर देखाइदिएर उनीहरूले हासिल गरेको ज्ञान र सिप ती क्षेत्रमा प्रयोग गरी खाने बाटो देखाउनुपथ्र्यो तर त्यसो गर्न सकेनन्। बेरोजगार विद्यार्थी देखाएर कीर्तिमानको कुनै अर्थ नै छैन।’

यसपटक विश्वविद्यालयबाट ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । जसमध्ये १२ हजार ४ सय १५ विद्यार्थी र तिनका १३ हजार ७ सय अभिभावक गरी २६ हजार एक सय १६ को उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको त्रिविका निमित्त उपकुलपति प्राध्यापक डा। भुसालले बताए। विश्व कीर्तिमान बनाउने चक्करमा दशरथ रंगशालाभित्र पूर्ण अस्तव्यस्त अवस्था देखिएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

नक्कली कागजात प्रकरणमा मुछिएका वायुसेवा निगमका दुई कर्मचारी निलम्बित

काठमाडौँ- नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् 

 नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई हाल लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।  उहाँले भन्नुभयो, “मुद्दा अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरिएको हो ।” प्रहरीले अधिकृत पोखरेललाई यही मङ्सिर २५ गते तथा वरिष्ठ सहायक यादवलाई मङ्सिर २७ गते पक्राउ गरेको थियो । सो घटनाबारे छानबिन भइरहेको छ ।  

वर्षेनी सार्वजनिक ऋण बढ्ने क्रममा,एक जना नेपालीको टाउकोमा ८१ हजार ऋण

काठमाडौं । सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण वर्षेनी सार्वजनिक ऋण हवात्तै बढ्ने क्रम देखिएको छ ।

हाल सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड पुगेको छ । जसअनुसार प्रति नेपालीको टाउकोमा सार्वजनिक ऋण ८१ हजार ३ सय ६ रुपियाँ थपिएको छ । कुल सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड रुपियाँलाई २०७८ सालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको हिस्सा ८१ हजार रुपियाँ नाघेको हो ।

गत कात्तिकसम्म प्रतिव्यक्ति ऋणको हिस्सा ८० हजार ८ सय १९ रुपियाँ रहेको थियो । अर्थविद् चन्द्रमणि अधिकारीले निरन्तर आन्तरिक ऋण लिंदा ब्याज बढी पर्ने र ब्याज तिर्दैमा रकम सकिने हुँदा विकास निर्माणको कार्य गर्न नसकिने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।