`

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जाऔँः अध्यक्ष डा.राउत

Nepal One HD १२ जेठ २०८१ १९:१८
राजनीति

लेखनाथ (कास्की), जेठ १२ गते । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद डा.सिके राउतले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । मधेस-कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको उदघाटन गर्दै उहाँले समाजवाद उन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताउनुभयो । ‘वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिकस्थिरता पाउने देखिदैन । स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला”, उहाँले भन्नुभयो ।

अध्यक्ष डा.राउतले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानीभित्रिन नसकेको र वैदेशिक लगानीबिना ठूला आयोजना विकास गर्न नेपालको स्रोतले भ्याउने अवस्था छैन भन्नुभयो । उहाँले समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रको रुपमा सामाजिक लोकतन्त्रको कुरा गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तेजकुमारी पौडेलले माओवादी आन्दोलनबाट स्थापित व्यवस्थाले जातीय तथा लैङ्गिक विभेद न्यूनीकरण भएको दाबी गर्दै अब हरेक नेपालीलाई समान अधिकार दिने गरी पार्टी अगाडि बढेको बताउनुभयो । नेपाली कांग्रेस कास्कीका नेता बाबुराम गिरीले देशमा देखिएको आर्थिक सङ्कटलाई समाधान र नेपालको युवा जनशक्तिलाई नेपालमा नै परिचालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया