`

स्पेन, आयरल्यान्ड र नर्वेले प्यालेस्टिन राज्यलाई दिए मान्यता

Nepal One HD १६ जेठ २०८१ ७:११
विश्व

मेड्रिड- आयरल्यान्ड र नर्वेले मङ्गलबार समन्वित निर्णय गर्दै औपचारिक रूपमा प्यालेस्टिन राज्यलाई मान्यता दिएका छन्। यसलाई इजराइलले विनाशकारी गाजा युद्धको सात महिनाभन्दा धेरै समयपछि हमासका लागि ‘पुरस्कार’ भनेर आलोचना गरेको छ।

तीन युरोपेली मुलुकका अनुसार उनीहरूको पहल बलियो प्रतिकात्मक प्रभाव हो र यसले अन्य मुलुकलाई पनि यसको पालना गर्न प्रोत्साहन गर्नेछ। आयरल्यान्ड सरकारले औपचारिक रूपमा उक्त उपायलाई अनुमोदन गरेपछि प्रधानमन्त्री साइमन ह्यारिसले यसको उद्देश्य मध्यपूर्वमा शान्तिको आशालाई जीवित राख्न भएको बताए। ‘हामीले शान्ति प्रक्रियाको अन्त्यमा प्यालेस्टिनलाई मान्यता दिन चाहेका थियौँ, यद्यपि हामीले शान्तिको चमत्कारलाई जीवित राख्नका लागि स्पेन र नर्वेसँग यो कदम चालेका छौँ,’ उनले भने। उनले इजराइललाई गाजामा ‘मानवीय प्रकोप रोक्न’ आग्रह गरे।

ओस्लोको मान्यता लागू भएपछि विदेश मन्त्री एस्पेन बार्थ इडेले यो कदमलाई ‘नर्वे–प्यालेस्टिन सम्बन्धका लागि विशेष दिन’ भन्दै प्रशंसा गरे।स्पेनको मन्त्रिपरिषद्ले उक्त कदमको समर्थन गरेपछि विदेश मन्त्री जोस म्यानुअल अल्बारेसले भने, ‘यो यस्तो दिन हो जुन स्पेनको इतिहासमा अङ्कित हुनेछ।’
सअघि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शान्तिका लागि मान्यता ‘आवश्यक’ थियो भन्दै यो कदम ‘कसैका विरुद्धमा होइन, कम्तीमा इजराइलको विरुद्धमा होइन’ र ‘शान्ति र सुरक्षाका साथ रहने दुई–राज्यको भविष्यलाई सुरक्षित गर्ने एक मात्र तरिका हो’ भने।


प्रतिक्रिया