`

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ दललाई निर्वाचन चिह्न प्रदान


काठमाडौँ-आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई दर्ता गरी तिनलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम ती दल दर्ता भएका हुन् । दर्ता भएका दलहरुका लागि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको हो । 

आयोगले निर्धारण गरेको क्रमअनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)लाई सूर्य, नेपाली कांग्रेसलाई रूख, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई  गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, जनता समाजवादी पार्टीलाई नेपाल ढल्केको छाता प्रदान गरेको  छ ।

कुवेतका अमिरको निधनमा राष्ट्रिय झन्डा आधा झुकाएर आज शोक मनाइने

काठमाडौँ- कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ । अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो ।

डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश

काठमाडौँ । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त मुद्दामा सरकारी पक्षका साक्षी बुझ्न आदेश गरेको हो ।

आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते तामाङसमेतविरुद्ध आरोपपत्र दर्ता गरेको थियो । विभागले तामाङ, उनकी पत्नी, छोरीलगायत ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको हो । यो मुद्दामा करिब ५ अर्ब रुपैयाँ बिगो मागदाबी गरिएको छ । मुद्दा दर्ता गरेको करिब डेढ वर्षपछि विशेष अदालतले साक्षी बुझ्न आदेश गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

एउटै व्यक्ति बारम्बार उच्च पदमा रहने व्यवस्था परिवर्तन हुनुपर्ने : महामन्त्री शर्मा

म्याग्दी-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नागरिकका अधिकार सुरक्षित हुने भएकाले यसको विकल्प लोकतन्त्र नै हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस म्याग्दीको आईतबार बेनीमा आयोजित प्रथम सम्मेलनमा महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएकाले विकल्प सोच्न नसकिने बताउनुभयो ।“नागरिकका असन्तुष्टि र गुनासालाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ । व्यवस्था खराब होइन । नागरिकमा किन वितृष्णा र निराशा बढ्यो भनेर अध्ययन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “एकजना व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री एकपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर गणतान्त्रिक व्यवस्थामा सुधार ल्याउन सकिन्छ ।” निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्र नागरिकप्रति जवाफदेही नहुँदा व्यवस्थाको विरोध भएको उहाँको कथन थियो ।

त्रिविले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइयो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ । विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई वितरण गर्न लागेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको छ ।

विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीमध्ये त्रिविले वातावरण केन्द्रीय विभाग अन्तर्गतका क्याम्पसबाट स्नातकोत्तर (एमएससी) तहमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई ‘मदन विद्या वातावरण विज्ञान पुरस्कार र पदक’ वितरण गर्दै छ । तर उक्त विषयमा दुई जना छात्राले समान अङ्क ल्याए पनि त्रिविले भने आफूखुसी एक जनाको नाम सार्वजनिक गरेर अर्कालाई अन्याय गरेको छ ।

उक्त विषयमा उन्नति अर्याल र सुस्मा तिम्सिनाले समान ३.८४ सिजिपिए प्राप्त गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयले कुनै आधारबिना नै तिम्सिनालाई मात्रै उक्त पुरस्कार र पदकका लागि योग्य भएको भनेर सूचना सार्वजनिक गरेको छ । समान प्राप्ताङ्क भए पनि तिम्सिनालाई मात्रै किन पुरस्कारका लागि योग्य बनाइयो भन्ने विषयमा त्रिविका जिम्मेवार अधिकारीले चित्त बुझ्दो जवाफ दिन सकेका छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

२०५०/५१ सालदेखि ७२ लाख १४ हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिए

काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमा करिब चार लाख महिला रहेका छन् ।

हरेक वर्ष औसतमा पाँच लाखको हाराहारीमा विदेशिने नेपाली युवा स्वदेश फर्किएको तथ्यांक भने सरकारले राखेको छैन । पछिल्ला दुई आवमा भने विदेश जानेको सङ्ख्या क्रमशः छ लाख ३० हजार र सात लाख ७१ हजार छ । नेपालबाट रोजगारीको खोजीमा सबैभन्दा ठुलो सङ्ख्यामा मलेसियालगायत खाडी मुलुकमा युवा जाने गरेका छन् । ।

विश्व बैङ्कको अक्टोबर २०२३ को प्रतिवेदन अनुसार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान नेपालमा कुुल गार्हस्थ उत्पादन (जिडिपी) मा विप्रेषणको हिस्सा २२.७ प्रतिशत रहनुले वैदेशिक रोजगारको महत्त्ववलाई उजागर गरेको भए पनि यस क्षेत्रलाई सुरक्षित बनाउन सकिएको छैन । यसरी वैदेशिक रोजगारीबाट पाइरहेको तथ्यलाई मान्दा र प्रतिघरधुरी औसत परिवार सङ्ख्या ४.८८ को आधारमा नेपालमा हाल ३० लाख ३९ हजार घरधुरीका एक करोड ४८ लाखभन्दा बढी मानिस अहिले पनि वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा आश्रित रहेका छन् । आजको गोरखपत्र दैनिकमा समाचार छ ।

पोखरामा पहिलोपटक ‘इन्टरनेशनल योग फेस्टिबल’

गण्डकी- पोखरामा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको योग फेस्टिबल हुने भएको छ । धार्मिक एवं पर्यटकीयस्थल काहूँडाँडामा तीन दिनसम्म योग फेस्टिबल हुन लागेको हो ।महोत्सवमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकाको सहयोग रहेको छ । योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिबलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गर्ने भएको छ । पुस २ गतेदेखि पुस ४ गतेसम्म चल्ने फेस्टिबलमा योग आसन (हठ, विन्यास, क्रिया), प्राणायम र ध्यान, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम हुने इभेन्ट म्यानेजमेन्ट संस्था प्रचारका आशीष पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रख्यात योग मेन्टरर्स जायन (विन्यास योग), योगी प्रितु (क्रिया योग), यानित्जा देरु (योग निद्रा तथा साउण्ड हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योग एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान (एक्स्टेटिक डान्स ध्यान, डीजे दीप (एक्स्टेटिक डान्स) रहनेछन् ।माछापुच्छ«े, धौलागिरिसहित अन्नपूर्ण हिमश्रृङ्खलाको पृष्ठभूमि बनाएर चिसो र स्वच्छ वातावरणसहित फराकिलो मैदानमा करिब तीन दर्जन देशीविदेशी योगप्रेमीहरुको सहभागिता रहने उहाँको भनाइ छ ।‘आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम योग हो । योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो ।’ पुरीले भन्नुभयो, “अहिले मानिसलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । यसर्थ शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जीउने कलालाई नै योग भएकाले हामीले यस कार्यक्रम पोखरामा ल्याएका हौँ ।”योग स्वस्थ व्यक्तिका लागि जीवन पद्धति र योगीहरूका लागि साधनापद्धति भएकाले यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । मानसिक स्वास्थ्यका लागि तनाव कम गर्न, खानपानमा सुधार गर्न र शारीरिक लचकताका लागि पनि योग अपरिहार्य रहेको पुरीको जोड छ ।पोखरामा अन्तर्राष्ट्रियस्तरको योग फेस्टिबल नै पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । अहिले योग फेस्टिबल राज्यस्तरबाटै हुन थालि सकेको छ । गत जेठमा सार्क राष्ट्रसहित इरान र साउदी अरबका खेलाडी सम्मिलित माउन्ट एभरेष्ट योग फेस्टिबल प्रतियोगितात्मक हिसाबमा सम्पन्न भएको थियो । पोखरामा भने योगका कला प्रशिक्षण मात्र हो ।स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले कार्यक्रमको सबै तयारी पूरा भएको जनाउँदै कार्यक्रम स्थल काहुँडाँडा हुने र पाहुनालाई होम स्टेमा आवास सुविधासहित राखिने जानकारी दिनुभयो । भोलिदेखि हुने योग फेष्टिबलमा १० देशका ३० जना भन्दा बढीको सहभागिता रहने उहाँको भनाई छ । 

कुवेतका अमिरको निधनमा नेपालमा भोलि शोक मनाइने, राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौँ, १ पुस : कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, १ पुस : कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल भियतनामको औपचारिक भ्रमण पूरा गरी आज अपराह्नस्वदेश फिर्ता हुनुभएको छ । उहाँ कृषि क्षेत्रका विकासमा सहकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा सहभागी हुन मङ्सिर २३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

मन्त्री भुसालले भ्रमणका क्रममा भियतनामका अधिकारीहरुसँग भएका छलफल र अनुभव नेपालको कृषि विकासमा फलदायी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरुलाई बताउनुभयो । उहाँले त्यहाँको धान, सागपात, दुग्ध उत्पादन र कृषिमा सहकार्य र कृषि प्रविधि हस्तान्तरणबारे छलफल गरेको जानकारी दिनुभयो ।

बारामा एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट

बारा, १ पुस : बारा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ । नेपाल सरकारद्वारा प्रतिबन्धित गाँजाखेती प्रहरीले आज जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उक्त क्षेत्रफलमा गरिएको गाँजाखेती नष्ट गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

गाँजाखेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । जगढ नगरपालिका–११ रतनपुरस्थित २ कट्ठा, सोही वडाको बिचटोलको एक कट्ठा र वडा नं १३ डम्मरपुरको एक बिगाह १० कट्ठामा गरिएको गाँजाखेती पनि नष्ट गरिएको छ ।

विपी राजमार्गबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद

काभ्रेपलाञ्चोक, १ पुस : काभे्रपलाञ्चोकको काभे्रभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बिपी राजमार्गबाट आएका सवारीसाधनहरु जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो ।

अब कांग्रेस कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्नुपर्ने छैनः महामन्त्री थापा

पर्वत ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताएका छन् । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै विसं २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरे  । 


नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई आइतबार कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको संस्कृति नै संविधानवाट हटाउनुपर्ने बताए । उनले चुनाव अघि साना ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । दलहरु एक्लाएक्लै चुनाव लड्दा कांग्रेस, एमाले, माओवादी कोही पनि डराउनु नपर्ने बताए ।


उनले गठबन्धनका कारण कांग्रेसको अस्तित्व नै समाप्त हुने बताउँदै थापाले भने, “बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन ।”  थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सन्तोषजनक काम गर्न नसकेको बताए। कांग्रेसले समर्थन गरेको भए पनि आम नेपालीले आशा र भरोसा गर्नेगरी सरकारले काम गर्न नसकेको उनले बताए ।


कांग्रेसका सांसदले मत दिएर दाहाललाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष दाहाल नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके कांग्रेसले समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । 


प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताए । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्यो भनेर भन्न नसकिने उनको भनाइ छ ।


अब एमालेलाई नेतृत्वमा पुर्याउन नहुने महामन्त्री थापाले बताए । केपी ओली नेतृत्वमा पुगे पुनः संसद विघटन गर्ने उनले बताए । महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका नौ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताए ।


जनतालाई सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्दै निर्मूल पार्ने जिम्मा आएको उनले बताए । “भ्रष्टाचारको न्यूनीकरण गर्दै निर्मूल गर्ने र जनतालाई सुशासन दिने नै हो”, उनले भने, “ वर्तमानमा कांग्रेस नागरिकको उत्तर दिने ठाउँमा पुगेको अवस्था छ ।”


महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकारले सुन तस्करीलाई रोक्ने अवस्थामा ल्याउनुपर्ने बताए । समिति बनाई त्यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्नेमा उनको जोड थियो । महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने बताए ।


कांग्रेसलाई बलियो पार्टी बनाउनका लागि केन्द्रीय नेतृत्वदेखि वडा तहसम्म पुनर्जागरण ल्याउन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेसले अन्य दलहरुले चलाएको जस्तो मिसन २०८४ जस्तो आगामी चुनावका चिन्ता नलिईकन सङ्गठन निर्माणमा जुट्नुपर्ने उनले बताए ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसलाई मजबुत बनाउनका लागि सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे । 

सरकारले पाँच हजार भूमिहीनलाई जग्गाधनी पूर्जा उपलब्ध गरायो

काठमाडौँ, १ पुस : सरकारले करिब पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराएको छ । सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि पूर्जा वितरण गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

सरकारले भूमिहीन सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई आवश्यक कानुनी प्रबन्ध गरी भूमिसम्बन्धी समस्या समाधान गर्न गठन गरेको राष्ट्रिय भूमि आयोगमार्फत सङ्कलन गरेको निवेदन मध्येबाट छानबिन गरी उनीहरुलाई पूर्जा वितरण गरेको हो । आयोगले सबै स्थानीय तहलाई निवेदन पठाउन पत्राचारका साथै सूचना प्रकाशन गरेको थियो । जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि बनाइएको थियो ।

देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत स्थानीय तहले प्रमाणीकरण गरेपछि आयोगले उनीहरूको निवेदन सङ्कलन गरेको थियो । आयोगले करिब तीन वर्षको अवधिमा नौ लाख ८१ हजार भूमिहीन सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीका निवेदन सङ्कलन गरेको छ ।

नेपालको कूल क्षेत्रफलको लगभग २८ प्रतिशतमा आवादी छ । यस आवादी क्षेत्रको करिब ७५ प्रतिशत जमिन नापजाँच भई राज्यको आधिकारिक दर्ता रजिस्ट्ररमा अभिलेख भएको छ । त्यसको दर्ता स्रेस्ता र प्रमाणपूर्जा तयार भएको छ । सहसचिव भट्टका अनुसार आवादी क्षेत्रको बाँकी लगभग २५ प्रतिशत जग्गामा लामो समयदेखि नागरिकको बसोबास, आवाद भए पनि सो क्षेत्रको नापनक्सा वा दर्ता स्रेस्ता कायम हुन नसकेको र बसोबासीले जग्गा धनी प्रमाणपुर्जा प्राप्त गर्न सकेका छैनन् ।

संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३७ (१) मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र (२) कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट नहटाइने उल्लेख छ । लामो समयदेखि आवाद गरेको, बसोबास गरिआएको जग्गामा उनीहरूले आफ्नो स्वामित्वको सुरक्षा अनुभूत गर्न सकेका छैनन् । हजारौँ परिवार भूमिहीन एवं सुकुम्बासी आफू बसोबास गरिरहेको जमिनको स्वामित्वबाट वञ्चित छन् ।

त्यस्तो जग्गा आधिकारिक जग्गा प्रशासन प्रणालीमा दर्ता नभएकाले औपचारिक किनबेच नहुने हुँदा दर्तामार्फत सरकारले राजस्व, रजिस्ट्रेसन दस्तुर, लाभकर, मालपोत तथा सम्पत्ति करजस्ता रकम प्राप्त गर्न सकेको छैन ।सहसचिव भट्टका अनुसार सरकारी वा सामुदायिक जग्गामा बसोबास गर्ने धेरैजसो भूमिविहीन तथा विपन्न परिवारको व्यवस्थापन कसरी गर्ने भन्नेबारे मौजुदा कानुनमा प्रस्ट नरहेकाले आवश्यक व्यवस्थासहितको ऐन नियमको खाँचो छ । सार्वजनिक वन क्षेत्रमा लामो समयदेखि बसोबास गरेका भूमिहीनलाई सोही जग्गामा व्यवस्थापन गर्न वन ऐन संशोधन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा विस्फोट, नौ जनाको मृत्यु

रतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ ।
महाराष्ट्र राज्यको नागपुर शहरमा रहेको सोलार इन्डस्ट्रिज इन्डियामा कामदारहरू प्याकिङ क्षेत्रमा रहेका बेला विस्फोट भएको थियो ।

“नागपुरको सोलार इन्डस्ट्रिजमा भएको विस्फोटमा छ महिलासहित नौ जनाको मृत्यु भएको र यो अत्यन्त दुर्भाग्यपूर्ण छ,” राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेख्नुभएको छ ।कम्पनीले देशको रक्षा बलका लागि ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो ।

दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले छ हजार अमेरिकी डलर उपलब्ध गराउनेभएको छ ।घटनामा कम्तीमा तीन जना कामदार घाइते भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

भारतमा औद्योगिक विपत्तिहरू सामान्य छन् । यसका लागि विशेषज्ञहरूले खराब योजना र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनलाई दोष दिन्छन् ।गत वर्ष बिहारको पूर्वी राज्यमा अवैध रूपमा पटाका उत्पादन भइरहेको एक घरमा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको थियो ।सन् २०२१ मा दक्षिणी तमिलनाडु राज्यको एक पटाका कारखानामा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको थियो ।

नेपालका सुवासले इण्डियन गल्प च्याम्पियनसिपको उपाधि जिते

काठमाडौँ, १ पुस : नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन् । रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनल खेलमा सुवासले भारतीय खेलाडी रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् । ३६ होलको फाइनल खेलमा २९औँ होलमा ९ होलको अग्रता बनाएपछि सुभाषले उपाधि पक्का गरेका हुन् ।

सुभाषले शनिबार भएको खेलमा दक्षिण अफ्रिकाका एल्टिन भान डर मर्वलाई पराजित गर्दै फाइनमा पुगेका हुन् । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुवास दोहोरो स्वर्ण पदक विजेतासमेत हुन् ।

नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् ।

‘सरकार अविचलित भएर आफ्नो नीति र उद्देश्यमा केन्द्रित रहेको छ’- मन्त्री शर्मा

काठमाडौँ, १ पुस – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार अविचलित भएर आफ्नो नीति र उद्देश्यमा केन्द्रित रहेको बताउनुभएको छ ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गरेको जानकारी दिनुभयो । ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तीन सय २९ रोपनी जग्गा प्रदानको स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

गत मङ्सिर २८ गतेको मन्त्रिपरिषद्को बैठकले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डमा पर्ने घर÷टहरा तथा जग्गाको मुआब्जा÷क्षतिपूर्ति÷राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको छ । बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका सुरेश आचार्यसहित सातजना सचिवहरुको सरुवा तथा परराष्ट्र सचिवमा परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।

सरकारले क्यानडेली स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छभने फिनल्याण्डको हेलसिन्कीमा आयोजना हुने इन्टरनेसनल अर्गनाइजेसन अफ सुप्रिम अडिटको बाइसौँ वार्षिक बैठकमा भाग लिन उपमहालेखापरीक्षण पदमराज पौडेललाई अनुमति दिएको छ ।

मन्त्री शर्माका अनुसार सरकार र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति दिने, नदीजन्य जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति, वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि, हातहतियार खरखजना नियमावली (बाह्रौँ संशोधन), विभिन्न जिल्लाका स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने तथा राष्ट्रिय बृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गरेको छभने कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको छ ।

वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रमा राखेर चुस्त सेवा प्रवाह, सुशासन प्रवद्र्धन, आर्थिक समृद्धिका लागि फजुल खर्च नियन्त्रणका निम्ति अनवरत लागेको मन्त्री शर्माले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले मन्त्रिपरिषद्मा हेरफेर गर्नेबारे सत्ता साझेदार पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट गर्नुभयो ।

सञ्चारमन्त्री शर्माले वर्तमान सरकारले कार्यभार सम्हालेको एक वर्षको अवधिमा भएका कामको समीक्षा भइरहेको र भावी रणनीति तयार गरी तदनुरुप अघि बढ्ने बताउनुभयो ।

डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको रतुवा पुल निर्माणले गति लियो

झापा, १ पुस : रतुवा खोलामाथि निर्माण हुन लागेको पुलको भौतिक प्रगति ४० प्रतिशत रहेको छ । एकवर्ष अघि यो पुलको पुनः ठेक्का लागेको थियो । हुलाकी राममार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी प्रभातकिरण राईका अनुसार पुलको निर्माण तीव्र गतिमा भइरहेको र चालु आर्थिक वर्षमै सम्पन्न हुनेछ ।

डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणसँगै झापा–मोरङ गर्न हुलाकी राजमार्गबाट सहज हुने राईले जानकारी दिनुभयो । विसं २०७९ चैतमा तीन वर्ष अर्थात् विसं २०८२ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी रु २१ करोडमा देव एण्ड सायर–समता आशिष सन्दिप जेभीले ठेक्का लिएको थियो ।

विगत १५ वर्षअघि निर्माण कार्य अलपत्र पारिएको पुलको झापातर्फ २५ मिटर र मोरङतर्फ ५० मिटर निर्माण गरेसँगै दुई सय ८० मिटरको पुल बन्ने सूचना अधिकारी राईले बताउनुभयो । यसअघि विसंं २०६४/६५ मा कालिका–ओसिए जेभीले २०५ मिटर निर्माण गरेर अलपत्र अवस्थामा पुललाई छोडेको थियो ।

कार्यालयका सूचना अधिकारी राईका अनुसार हुलाकी राजमार्ग अन्तर्गतका झापा खण्डका पुलमध्ये कनकाई नदीको पुल बन्न बाँकी रहेको छ । उहाँले भन्नुभयो, “झापा सडक खण्डका आठ पुलमध्ये छ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुई वटा पुलको काम धमाधम भइरहेको छ ।”

कनकाई नदीको पुल भने निर्माणमा ढिलासुस्ती भइरहेको सूचना अधिकारी राईले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ । सडक निर्माणको काम भने गतवर्ष सकिएको कार्यालयले जनाएको छ ।

पूर्व–पश्चिम राममार्गको विकल्पको रुपमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल निर्माणसँगै कोशी प्रदेशको राजधानी पुग्न दक्षिण झापाका बासिन्दालाई सहज हुनेछ । हुलाकी राजमार्गको पूर्वमा मेचीदेखि पश्चिममा कञ्चपुरको दोधारा चाँदीसम्मको कूल लम्बाई एक हजार आठ सय ८७ किलोमिटर रहेको छ ।

संसदमा सुरक्षा उल्लङ्घन ‘अत्यन्त गम्भीर’ भएको भारतीय प्रधानमन्त्री मोदीको भनाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसदको तल्लो सदन लोकसभामा भएको सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताउनुभएको छ ।मोदीले यस विषयमा बहस गर्नुपर्ने आवश्यकता छैन तर यसको पछाडि रहेका व्यक्तिहरू पत्ता लगाउन ‘बृहत् अनुसन्धान’ गर्नुपर्छ ।

बुधबार दुई जना युवाले आगन्तुक दीर्घाबाट लोकसभामा हाम फालेर रङ्गको धुलो फ्याँकेका थिए ।सोही समयमा एक पुरुष र एक महिला गरी अन्य दुई जनालाई प्रहरीले संसद बाहिर हिरासतमा लिएको थियो ।

घटनामा संलग्न चारजनाबाहेक संदिग्ध अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरूले अनुसन्धानकर्ताहरूलाई आफ्नो उद्देश्य मणिपुर हिंसा, बेरोजगारी र किसानहरूको समस्याप्रति ध्यान आकर्षित गर्नु रहेको बताएका छन् ।

विपक्षी सांसदहरूले सङ्घीय गृहमन्त्री अमित शाहसँग संसदभित्र भएको सुरक्षा उल्लङ्घनबारे बयान दिन माग गर्दै आएका छन् । यो विषयले संसदको दुवै सदनको बैठक अवरुद्ध भएका छन् । विपक्षीले गृहमन्त्रीको वक्तव्य माग गरेपछि तल्लो सदनका १३ र राज्य सभाका एक सदस्यलाई निलम्बित गरिएको थियो ।

शनिबार लोकसभाको तल्लो सदनका सभामुखले सुरक्षा उल्लङ्घनको गहन अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको बताउनुभएको थियो ।

‘जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि भएका पहललाई थप गति दिन सरकार प्रयत्नशील’ – मन्त्री बस्नेत

काठमाडौँ, १ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि भएका पहललाई थप गति दिन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।जलावयु परिवर्तनका असरले व्यापक जोखिम निम्त्याएकाले त्यसविरुद्ध साझा रुपमा सार्थक पहल गर्नुपर्ने र त्यसमा विश्वव्यापी रुपमा नै संयुक्त सोचका साथ काम अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

सङ्घीय संसद् पूर्वाधार विकास समितिले आज यहाँ आयोजना गरेको ‘दक्षिण एसियाको क्षेत्रीय ऊर्जा सहयोगसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असर ऊर्जा उत्पादनमा पनि परेको बताउनुभयो । ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि सबैभन्दा जोखिम र क्षति भने बढी रहेको उल्लेख गर्दै उहाँले विश्व समुदायमार्फत नेपालले ‘जलवायु न्याय’ माग गरेको बताउनुभयो ।

संयुक्त अरब इमिरेट्सको दुबईमा हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका तर्फबाट स्पष्ट रुपमा आफ्ना एजेण्डा प्रस्तुत गर्नुभएको र विश्व समुदाय माझ हाम्रा समस्या र जटिलताका विषयमा जानकारी गराउनुभएको उहाँले उल्लेख गर्नुभयो ।

जलवायु परिवर्तनका कारण ऊर्जा क्षेत्रमा परेका जटिलता न्यूनीकरणका साथ साथै विश्व समुदायबाट लिने सहयोगका बारेमा नेपालले विशेष पहल गरिरहेको र त्यसको परिणाम निकट भविष्यमा नै देखा पर्ने मन्त्री बस्नेतको भनाइ छ । जलवायु परिवर्तनको असर नेपाललगायत दक्षिण एसियाली देशमा बढी परिरहेकाले त्यसको न्यूनीकरणका लागि पनि साझा प्रयास जरुरी रहेको उहाँको भनाइ छ ।

मन्त्री बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि १२ वर्षे कार्ययोजना बनाएको र लागू हुने चरणमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा समितिमा सभापति दीपकबहादुर सिंहले जलवायु परिवर्तनले निम्त्याएको असर कम गर्दै साझा लाभका लागि साझा प्रयत्न जरुरी रहेको बताउनुभयो । उहाँले ‘क्लाइमेट पार्लियामेन्ट’ जस्ता साझा संयन्त्रमार्फत यस विषयमा विश्वव्यापी पहल जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले जलवायु परिवर्तनका विषयमा संसद् र सरकारलाई सार्थक मार्गमा अगाडि बढाउने उद्देश्यका साथ १५ सदस्यीय ‘क्लाइमेट पार्लियामेन्ट’ गठनको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले ऊर्जा क्षेत्रको सार्थक विकास गर्दै विद्युत् व्यापारमार्फत व्यापार घाटा घटाउने र जलवायु परिवर्तनको पक्षमा लड्न सकिने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दक्षिण एसियाका लागि नेपालको ऊर्जा क्षेत्र ‘ब्याट्री’ जस्तै भएकाले स्वच्छ ऊर्जाको विकासमा राजनीतिक, नीतिगत प्रतिबद्धता जरुरी रहेको बताउनुभयो ।

भारतको लोकसभा सदस्य सञ्जय जैशवालले ‘क्लाइमेट पार्लियामेन्ट’ मार्फत जलवायु परिवर्तनका विषयमा साझा मुद्दा बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा दक्षिण एसियाको ऊर्जा क्षेत्र र नेपालको अवस्थाका विषयमा विषय विज्ञहरुका तर्फबाट आआफ्ना धारणा प्रस्तुत भएको थियो ।

एमालेको सङ्कल्प यात्रा सम्पन्न, ओली भन्छन् -‘एमालेले असाधारण काम गर्न सक्छ’

पाँचथर, १ पुस : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफू नेतृत्वको पार्टीले अन्य पार्टीले गर्न नसक्ने काम गरेर देखाउने दाबी गर्नुभएको छ । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई महान यात्राको संज्ञा दिँदै उहाँले यात्राका बीचमा जनताका आकांक्षा बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो ।

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको आज पाँचथरको याङवरक गाउँपालिका वडा नं १ चिवाभञ्ज्याङमा समापन गर्दै उहाँले जोखिम चिर्दै, प्राविधिक, भौगोलिक तथा राजनीतिक अवरोध पार गर्दै एमाले जनताको घरसम्म पुगेको बताउनुभयो ।

“यो यात्रा जोखिम मोल्ने अभियान हो । यात्राले एमालेले अरुले गर्न नसकेको काम गर्न सक्छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “यस यात्राले अवान्छित विचार, चिन्तन र क्रियाकलापविरुद्ध सन्देश दिएको छ । सिङ्गो देशलाई सर्वोपरी राखेर, जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने सन्देश दिएको छ ।”

अभियानका क्रममा सांस्कृतिक विविधताको ग्रहण गर्ने, त्यसलाई प्रयोग र प्रवर्द्धन गर्ने काम भएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । मध्यपहाडका सबै विषयमा जानकार हुने अवसर मिलेको भन्दै उहाँले यात्रा पूर्ण रुपमा सफल भएको दाबी गर्नुभयो ।

राजनीतिक हिसाबले देशको बिग्रदो अवस्थाबाट उकास्न, जनतामा फैलिएको निराशा हटाउन, आशावादी जगाउने र जनतामा जागरण पैदा गर्न अभियान सफल भएको बताउँदै अध्यक्ष ओलीले अन्य दल, सरकार र मुलुकलाई यो अभियानले प्रत्यक्ष प्रभाव पारेको बताउनुभयो ।

ओलीले स्थानीयस्तरका विशेषता, चालचलन, परिचय, आवश्यकता, समस्या र समाधानबारे जानकारी लिने, ध्यानाकर्षण हुँदा एमालेले समाजलाई झनै नजिकबाट बुझ्न सहज भएको, अभियानले एमालेको नीति र कार्यक्रमलाई जनतामा बुझाउन मद्दत मिलेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले देशको राजनीति अहिले अलपत्र र अलमलमा रहेको जिकीर गर्नुभयो । ओलीले जनता र देशको समय खेर फाल्न, आउँदो पिंढीलाई अन्योलमा राख्ने कामबाट चिर्न अभियानले असाधारण रुपमा सहयोग गरेको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले अभियानमा सामेल भएका सबै नेता, कार्यकर्ता तथा समर्थकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सञ्चार माध्यमले एमालेको अभियानलाई सफल बनाउन विभिन्न कोणबाट ब्याख्या र विश्लेषण गरेर सहयोग गरेकामा समेत धन्यवाद दिनुभयो । अध्यक्ष ओलीले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमविन्दू चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको घोषणा गर्नुभयो ।

एमालेको सङ्कल्प यात्रा सम्पन्न

नेकपा (एमाले) ले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा आज सम्पन्न भएको छ । पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियान सम्पन्न भएको घोषणा गर्नुभएको हो ।

एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्यूरोका सदस्य, केन्द्रीय कमिटीका सदस्य, जनप्रतिनिधिलगायत उक्त अभियान सम्पन्न गर्न आज बिहान चिवाभञ्ज्याङ आइ पुग्नुभएको थियो ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको अन्तिम विन्दू बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरुआत भएको थियो । झण्डोत्तलनका अतिरिक्त अध्यक्ष ओलीले यहाँ निर्माण गरिएको यात्राको प्रतीक स्तम्भको अनावरण गर्नुभयो । उक्त कार्यक्रमका लागि आसपासको क्षेत्रबाट एमाले समर्थक तथा कार्यकर्ता उक्त स्थानमा पुगेका छन् ।

अभियान सम्पन्न भएपछि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्रप्रसाद पाण्डे तथा महासचिव शङ्कर पोखरेल हेलिकप्टरमार्फत फिदिम फर्कनुभएको छ भने उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवसहितका नेताहरु पैदल मार्ग हुँदै फिदिम फर्कनुभएको हो ।

यसअघि पाँचथरको फिदिममा शनिबार एमालेले सन्देशसभा आयोजना गरेको थियो भने आज पाँचथरको याङवरक—१ च्याङथापूमा कोणसभा आयोजना गरेको थियो ।

तीन हजार १२८ मिटरको उचाइमा अवस्थित चिवाभञ्ज्याङ भारतको सिक्किम प्रान्तसँग सीमा जोडिएको स्थान हो । स्थानीयवासीले लामो समयदेखि सीमा नाका स्थापनाको माग गरिरहेको चिवाभञ्ज्याङमा एमालेको यात्रा टुङ्गिने क्रममा ठूलो सङ्ख्या नेता तथा कार्यकर्ता पुगेका छन् । अभियानले चिवाभञ्ज्याङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, नाका स्थापनाका लागि सहयोग गर्न मद्दत मिल्ने च्याङथापूका ताराकुमार खालिङको भनाइ छ ।

नाटोको सदस्यतापछि फिनल्यान्डसँग ‘समस्या’ आउने पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिनुभएको छ । उहाँले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य जिल्ला बनाइने बताउनुभएको छ ।

रुससँग एक हजार तीन सय ४० किलोमिटर (आठ सय ३० माइल) सीमा साझा गर्ने फिनल्यान्ड यस वर्षको अप्रिलमा युक्रेन हमलाका बीच नाटोमा सामेल भएको थियो । “उनीहरू (पश्चिम) ले फिनल्यान्डलाई नाटोमा ताने, के हाम्रो तिनीहरूसँग कुनै विवाद छ ? बिसौँ शताब्दीको मध्यमा क्षेत्रीय विवादसहित सबै विवाद लामो समयदेखि सुल्झिसकेका छन्”, पुटिनले एक सरकारी टेलिभिजन रिपोर्टरसँग भन्नुभयो, “त्यहाँ कुनै समस्या थिएन, अब हुनेछ किनकी हामी लेनिनग्राड सैन्य जिल्ला बनाउने छौँ र त्यहाँ निश्चित सङ्ख्यामा सैन्य एकाइहरू केन्द्रित गर्नेछौँ ।”

फिनल्यान्डले रुसमाथि आप्रवासी सङ्कट उत्पन्न गरेको आरोप लगाउँदै रुससँगको आफ्नो सीमा पुनः बन्द गरेपछि पुटिनको यस्तो टिप्पणी आएको हो । मस्कोले हेलसिन्की नाटोमा सामेल भएकामा जवाफी कदम चाल्ने चेतावनी दिएको छ ।

रुससँग नाटो मुलुकहरूसँग युद्ध गर्नुपर्ने कुनै कारण नभएको पुटिनले बताउनुभयो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना यदि युक्रेनमा सफल भयो भने मस्को त्यहाँ ‘नरोकिने’ चेतावनी दिनुभएको थियो । “रुसबारे गलत नीतिलाई औचित्य साबित गर्न यो बयानबाजी हो”, पुटिनले भन्नुभयो । मस्कोलाई नाटो मुलुकहरूसँग लड्न भूराजनीतिक, आर्थिक वा सैन्य दृष्टिले कुनै चासो नभएको उहाँले बताउनुभयो । क्रेमलिनको युक्रेन अभियानले नाटोको पूर्वी हिस्सामा रुसी आक्रमणको डरलाई पुनः जागृत गरेको छ ।

‘भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको छ’ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा अवस्थित जनता मावि गौरीडाँडाको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा परेको बताउनुभयो । आधारभूत तहदेखि नै पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको प्रधानमन्त्री दाहालले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा पर्दै आएका छन् । तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ । हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोंच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ ।”

समुदायको आफ्नै पहल, लगानी र संरक्षकत्वमा स्थापित यस विद्यालयले आफ्नो जीवनको आधा शताब्दीको शैक्षिक यात्रा पूरा गरेकामा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो ।

अभिभावकको सहभागिता, शिक्षकहरूको सहजीकरण, स्थानीय सरकारको सहयोग र विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा ‘शिक्षा सम्मेलन २०८०’ सम्पन्न गरेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो । “तपाईंहरूले यस विद्यालयलाई एक्काइसौँ शताब्दीको विश्वव्यापी प्रतिस्पर्धा एवं युगसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले ‘बृहत सामुदायिक विद्यालय’ को मोडेलमा नमुना विद्यालयलाई अझ परिस्कृत गर्दै लैजाने दस वर्षे रणनीतिसमेत तयार पारेकोसमेत मलाई जानकारी छ । मलाई विश्वास छ, उक्त रणनीतिमा आधारित रहेर देशभक्तिपूर्ण भावनाले ओतप्रोत, आत्मनिर्भर, स्वरोजगारमुखी प्राविधिक शिक्षामा यहाँहरूले अपेक्षित सफलता हासिल गर्नुहुनेछ”, प्रधानमन्त्रीले भन्नुभयो ।

“शिक्षा आर्जन गर्नुको अर्थ आफ्नो व्यक्तिगत जीवनको सफलताको एउटा महत्त्वपूर्ण आयाम त हो नै, तर त्यो मात्रै सम्पूर्ण चीज होइन । आजको एक विद्यार्र्थी भोलिको देशको कर्णाधार, नीति निर्माता र कार्यान्वयनकर्ता पनि हो ”, प्रधानमन्त्रीले अगाडि भन्नुभयो ।

शिक्षाले देश भक्तिको भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्ने उहाँको जोड छ । सङ्घीय लोकतान्त्रिक प्रणाली, हाम्रो संविधानको व्यवस्था र नवीनतम परिस्थितिलाई मध्यनजर गर्दै शिक्षामा गुणात्मक रूपान्तरण गर्नु देशको महत्त्वपूर्ण कार्यभार भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

जनता, अभिभावक र सरोकारवाला निकाय एवं पक्षले उठाएका जायज र न्यायपूर्ण माग र मुद्दाहरूलाई सम्बोधन गर्दै उक्त विधेयकलाई संसद्बाट पारित गराइ छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको प्रष्टोक्ति छ ।

संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्नेमा मन्त्री बस्नेतको जोड

सिन्धुपाल्चोक, १ पुस :स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको एक सय २१औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षण गर्न सकेमा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले यसको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभको हो । संस्कृत भाषा पढेका व्यक्ति शिक्षण पेसा, ज्योतिष विज्ञान, धर्मकर्ममा मात्र नभएर कर्मचारी प्रशासनमा समेत अब्बल हुने गरेका भन्दै मन्त्री बस्नेतले संस्कृत विषयको पढाइ हुने विद्यालयहरुले पढाइको स्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सिन्धुपाल्चोकका तीनवटा पालिकाबाट कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको जानकारी दिँदै कुनै पनि नागरिकले पैसाको अभावमा उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने वास्तविकतालाई हृदयङ्गम गरी आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि सबै अस्पतालका १० प्रतिशत शय्या विपन्न वर्गका लागि निःशुल्क गरिरहेको र सङ्घीय सरकार मातहतका तीन हजार ५० हजार जनरल शय्या निःशुल्क गरेको जानकारी दिनुभयो । चिकित्सा शिक्षा ऐनमा संशोधन गरेर भए पनि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गर्न सरकार लागिपरेको जानकारी मन्त्री बस्नेतले दिनुभयो ।

सलकपुरमा छ करोडको सुन्तला बिक्री, बजारको समस्या छैन

इलाम, १ पुस : इलामको रोङ गाउँपालिका–६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् ।

स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताउनुभयो । करिब १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उहाँको भनाइ थियो । “राम्रो उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन”, उहाँले भन्नुभयो, “स्थानीय वडाले सुन्तला खेतीलाई प्रोत्सहान गर्न प्राविधिक सहयोग निःशुल्क दिने गरेको छ ।”

वडा नं ६ मा मात्र वार्षिक आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको वडा कार्यालयले जनाएको छ । वडाको सलकपुर, कुवापानी र जौबारीलगायत क्षेत्रमा प्रतिहेक्टर १० दशमलव तीन मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

विगतमा विभिन्न रोगका कारण सुन्तला मर्न थालेपछि किसान निराश बनेका थिए । ज्ञान केन्द्रले किसानलाई सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिकाबारेमा तालिम सञ्चालन गरेसँगै उनीहरूमा उत्साह थपिएको केन्द्रका सूचना अधिकारी रुजन खड्काले बताउनुभयो । सो वडाको करिब ९० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको उहाँले जानकारी दिनुभयो ।

खड्काका अनुसार केन्द्रले सुन्तला सुदृढीकरण कार्यक्रमअन्तर्गत छ जना किसानलाई गत वर्ष रू एक लाखका दरले अनुदानसमेत प्रदान गरेको थियो । चालु आर्थिक वर्षमा किसानले उक्त कार्यक्रम माग गर्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । केन्द्रका सूचना अधिकारी खड्काका अनुसार इलामका विभिन्न स्थानमा गरी तीन सय ६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ ।

वडा नं ६ का वडाध्यक्ष सत्यम राईले विगतमा रोगका कारण धेरै सुन्तला खेती नष्ट भएपछि हाल नयाँ खेती विस्तार गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले सुरुमा वडाको सलकपुरमा हुँदै आएको सुन्तला खेती कुवापानी, जौबारी क्षेत्रमा विस्तार हुन थालेको बताउनुभयो ।

राईले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीबाट आन्तरिक पर्यटक घरबास (होमस्टे)मा बास बस्न तथा यहाँका प्राकृतिक सम्पदाको अवलोकन गर्न आउने गरेका बताउनुभयो । उहाँका अनुसार यहाँ १४ वटा होमस्टे सञ्चालनमा छन् । होमस्टेमा बस्न आउने पाहुनालाई प्रतिकेजी रू ८० देखि ९० का दरले बेच्ने गरिएको उहाँको भनाइ थियो ।

विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गर्नुभएका गौरीलाल लामाले यहाँ सुन्तला खेतीको सुरुआत गर्नुभएको वडाध्यक्ष राईले बताउनुभयो । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरे पनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक रुपमा खेती थालिएको उहाँको भनाइ थियो ।

सुन्तला खेतीबाट वार्षिक रू पाँच करोडदेखि रू छ करोडसम्म वडामा रकम भित्रिने गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । यहाँ उत्पादित सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता नभएको उहाँले बताउनुभयो ।

“भारत तथा झापाबाट व्यापारीले सुन्तला नपाक्दै बोटबाटै खरिद गर्छन्”, राईले भन्नुभयो, “किसानले उत्पादनमा मात्र ध्यान दिए पुग्छ, बजारको समस्या छैन ।” उहाँका अनुसार यहाँका हरेक सुन्तला किसानले वर्षमा रू पाँच लाखदेखि रू १५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । उहाँले चालु आवमा वडाले सुन्तला किसानको समूह बनाएर अध्ययन, अनुसन्धान पनि हुने गरी नर्सरी खेती सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । ।

सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायत कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा विभिन्न ठाउँबाट कृषि तथा बोटबिरुवासम्बन्धी अध्ययनका लागि विद्यार्थीको समूह आउने गरेका वडाध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवमासमेत प्रत्येक वर्ष लैजाने गरिन्छ ।

झापाको काँकडभिट्टा, धुलाबारी, बिर्तामोड, दमक, भद्रपुर मात्र नभई हरेक गाउँगाउँमा व्यापारीले ट्रकमै राखेर ‘आयो है सलकपुरको सन्तुला’ भन्दै घुमाएर बेच्न गरेका स्थानीय बताउँछन् ।

डडेल्धुरामा तीनवटा पसलमा फैलिएको आगलागीबाट दुई करोड ८६ लाखको क्षति

डडेल्धुरा, १ पुस : डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो ।

विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको रु एक करोड २० लाख, कैलपाल मेडिकलको रु ८० लाख र शिशिर फेन्सीका रु ८० लाख बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले राससलाई जानकारी दिनुभयो ।

अमरगढी नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए । सदरमुकामा यस किसिमका आगलागीका घटना भइरहन्छन् । हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीनपटक आगलागी भएको छ ।

यसैबीच, धनकुटा नगरपालिका–५ कर्मिटार बस्ने विश्वबन्धु थापाको गोठ र सोही स्थानका काजीनारायण खड्काको घरमा आज आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छ – मन्त्री ज्वाला

काठमाडौँ, १ पुस : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पु¥याइरहेको बताउनुभएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आजको बैठकमा उहाँले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा बाधा पु¥याइएको जानकारी दिनुभयो ।

मन्त्री ज्वालाका अनुसार त्यस क्षेत्रमा सीमा विवादको पनि केही समस्या छ । त्यसका निमित्त विभिन्न पहल र पत्राचार भइरहेका छन् । निर्माणमा अहिले पनि अवरोध कायमै छ । उहाँले भन्नुभयो, “बेलौरीको पचुईस्थित नेपाल भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्र गर्न समेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको पाइएको छ ।” हुलाकी राजमार्गले नेपालको तराई क्षेत्रस्थित पूर्व–पश्चिमका २१ जिल्लालाई छुने गरी निर्माण भइरहेको छ ।

समितिले केही दिनअघि त्यस क्षेत्रको स्थलगत अवलोकन गरी त्यहाँको समस्या समाधानका लागि नेपाल सरकारबाट भइरहेको प्रयासबारे जानकारी लिन भौतिक पूर्वाधारमन्त्रीलाई बैठकमा आमन्त्रण गरेको हो । मन्त्री ज्वालाले भन्नुभयो, “यस विषयमा सहजीकरणका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिरहेका छौँ । समस्या समाधान भएसँगै बाँकी खण्डको निर्माण सहज हुन्छ । यस सम्बन्धमा समितिका तर्फबाट पनि सरकार र सरोकारवाला निकायमा ध्यानाकर्षण, पहल र प्रयत्नका लागि अनुरोध गर्नेछु ।”

बैठकमा हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अजयकुमार मुलले कञ्चनपुरको ६० किमी क्षेत्रलाई २०/२० किमी क्षेत्रमा विभाजन गरी कालोपत्र काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा तीन ठेक्कामध्ये एउटाको ९६ प्रतिशत काम पूरा भएका छ, दोस्रो खण्डको २० किमीमा ठेक्का व्यवस्थापन भएकोमा बेलौरी पचुई–खपती खोला क्षेत्रको एक हजार चार सय मिटर खण्डमा सीमा विवादले काम हुनसकेको छैन ।

निर्माणका क्रममा पूर्वतयारीस्वरूप पानीको निकास गर्दा र पर्खाल लगाउँदा कुनै अवरोध थिएन । कालोपत्रेका लागि ग्राभेल गर्न सुरुआत गर्ने क्रममा भारतीय सुरक्षा बलका तर्फबाट राजमार्ग दशगजा क्षेत्रमा पर्ने जिकिर गर्दै सो सम्बन्धमा यकिन नगरी काम अघि नबढाउन अनुरोध गरिएको छ । सडक आयोजनाले त्यस विषयमा नापी कार्यालय र विभागलाई समेत जानकारी गराएको थियो ।

सो क्षेत्रमा भारतीय सीमातर्फका बीचमा नेपालीकै जग्गा रहेको र खेतीपाती पनि भइरहेकाले काम अघि बढाइएको समितिलाई आयोजना प्रमुख मूलले जानकारी दिनुभयो । आयोजनाले निर्माणका क्रममा भएको अवरोध चाँडो खुलाउने कार्यलाई चुनौतीका रूपमा लिएको छ ।

आयोजनाका अनुसार सो विवादका सम्बन्धमा सम्बन्धित मन्त्रालयमार्फत कूटनीतिक रूपमा पहल हुनुपर्छ । सीमास्तम्भ नं ३८ को स्थान यकिन गरेर समस्याग्रस्त क्षेत्रको छिनोफानो गरी निर्माणअघि बढाउन निर्देशनालयले सम्बन्धित सबैको सहयोगको अपेक्षा गरेको छ ।

सडक अन्यत्र सार्दा नयाँ रेखाङ्कन मात्र नभइ मुआब्जासमेतको उल्झन बढ्ने भएकाले सरकारको ठोस् निर्देशन आएपछि आयोजना कार्यालयले काम अघि बढाउने विषय पनि प्रमुख मूलले संसदीय समितिलाई सुनाउनुभयो । त्यस खण्डमा राजमार्गको भौतिक प्रगति ८० प्रतिशत भइसकेको जनाइएको छ ।

त्यस्तै राजमार्गको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज क्षेत्र अर्थात् तेस्रो खण्डको २० किमी क्षेत्रमा निर्माणको सुरुआती अवस्थादेखि वातावरणीय अध्ययन पूरा गरेर काम अघि बढाइएको छ । त्यसमध्ये १५ किमी क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ जहाँ निर्माण अघि बढाउन विभिन्न प्रावधान छन् । त्यहाँ निर्माण सामग्री सङ्कलन, दिनमा मात्रै काम गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रमा निर्माण उपकरण लैजान पनि अप्ठेरो छ । हरेक पटक सुरक्षा निकायलाई निर्माणसम्बन्धी तथ्यतथ्याङ्क दिनुपर्ने अवस्था छ । सुरुमा राजमार्गका लागि रु चार दशमलव पाँच अर्बको बजेट सुनिश्चितता भएकामा अहिले करिब रु १० अर्ब आवश्यकता छ ।

भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा, आयात–निर्यात सहज

सुदूरपश्चिम, १ पुस : कैलालीको त्रिनगर भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएसँगै मालवस्तुको आयात तथा निर्यात सहज बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गएको मङ्सिर २३ गतेबाट त्रिनगर नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएको हो ।

चेकपोष्ट कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले कार्यालयले विरुवा तथा विरुवाजन्य वस्तुको पैठारीका लागि प्रवेश अनुमतिपत्र जारी गर्ने, विरुवा तथा विरुवाजन्य वस्तुको निकासीका लागि विरुवाको स्वास्थ्यतासम्बन्धी प्रमाणपत्र जारी गर्ने र नाकामा आयात हुने अन्य कृषिजन्य मालवस्तुको निरीक्षण गरेर छुटपूर्जि दिने लगायतका काम गर्दै आएको बताउनुभयो ।

यो नाकामा विगतमा टुरमुकामका रुपमा क्वारेन्टिन कार्यालय थियो । उक्त कार्यालय झण्डै चार महिनादेखि बन्द भएपछि वस्तुको आयात तथा निर्यातको काम ठप्प हुनपुगेको थियो ।

कार्यालय प्रमुख ठगुन्नाले कार्यालय सञ्चालनसँगै हाल औषतमा दैनिक रु एक करोड बराबरको मालवस्तु आयात भइरहेको जानकारी दिनुभयो । यस अवधिमा रु २६ लाख बराबरको तोरीको पिना निर्यात भएको उहाँको भनाइ छ ।

विवेक फिड इन्डस्ट्रिज प्रालि धनगढीका प्रबन्ध सञ्चालक विवेक भट्ट त्रिनगर नाकामा क्वारेन्टिनको काम रोकिँदा झण्डै चार महिनासम्म करिब रु ३७ करोडको राजश्व प्रदेशले गुमाएको बताउनुभयो । “त्रिनगर नाकामा क्वारेन्टिनको काम नहुँदा नेपालगञ्ज नाकाबाट मालवस्तु भित्र्याउनुपर्ने अवस्थाले सुदूरपश्चिम प्रदेशका व्यसायीको पैंसा(कर) अरु प्रदेशमा गयो”, भट्टले भन्नुभयो ।

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव

काठमाडौँ, १ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा आज बिहानदेखि जारी छ । बैठकको प्रारम्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले सत्ता केन्द्रीत नभइ आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक सङ्घर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने प्रष्ट पार्नु भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार समान विचार भएकासँग एकता तथा सहकार्य आवश्यक रहेको जनाइएको छ ।

बैठकमा महामन्त्री डा धवलसमशेर राणाले वृहत आन्दोलनसम्बन्धी कार्ययोजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रदेश प्रमुखले आ–आफ्नो प्रदेशको प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आजै छलफल प्रारम्भ हुनेछ ।”

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

पर्सा, १ पुस : बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन ।

कोरिडोमा सञ्चालित १२ उद्योग मध्ये चारवटा बन्द भएका छन् । बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिनुभयो । उहाँले बंैकहरुको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुगतानी नगरिएका कारण समस्या उत्पन्न भएको हो । सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग रु बन्द भएका अधयक्ष अग्रवालले बताउनुभयो ।

भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रति टन रु एक हजार कर लिँदै आएको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उहाँको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएकोे भारतीय गुणस्तर चिन्ह बिआइएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाइ छ ।

प्रदेशप्रमुख शर्मा अस्पतालमा स्वास्थ्य लाभ गर्दै

मकवानपुर, १ पुस : बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माको फोक्सोमा निमोनिया सङ्क्रमण देखिएकाले काठमाडौँको चावहिलस्थित हेल्पिङह्यान्डस् अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको प्रदेशप्रुमखको स्वकीय सचिवालयले जनाएको छ ।

प्रदेशप्रमुख शर्मा केही दिनदेखि ज्वरोले थलिनुभएको थियो । केही दिनको उपचारपछि पुस ३ गते अस्पतालबाट स्वास्थ्यलाभ गरी ‘डिस्चार्ज’ हुने उहाँका स्वकीय सचिव पारशमणि फुँयालले बताउनुभयो । यसअघि मङ्सिर २९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा

काठमाडौँ, १ पुस : चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले गरेको करसम्बन्धी व्यवस्थाका कारण करिब रु १३ अर्ब बराबर राजस्व सरकारी खातामा जम्मा भएको छ ।
महालेखापरीक्षकको कार्यालयले पछिल्लो चार वर्षदेखि कर असुली गर्नुपर्ने भन्दै औँल्याइरहेको विषयलाई अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा राखेर कार्यान्वयन प्रक्रिया अघि बढाउनुभएको थियो । सरकार र अर्थमन्त्री डा महतको उक्त निर्णयका कारण लामो समयदेखि विवादित बनिरहेको यो विषयले निकाससमेत पाएको छ ।

आर्थिक ऐन २०८० को दफा २६ मा सरकारले ‘फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायबाट कर असुली गर्ने र यस्तो कर मङ्सिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने’ उल्लेख गरेको थियो । त्यस्तै आर्थिक ऐनको दफा २७ मा संस्थाहरु एकापसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) हुँदा सौदाबाजी गर्दा प्राप्त हुने लाभ (बार्गेन पर्चेच गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल गर्न लगाउने निर्णय व्यवस्था सरकारले राखेको थियो । यसरी निर्धारण भएको कर पनि मङ्सिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा गर्ने निर्णय सरकारले गरेको थियो । आर्थिक ऐनका यी व्यवस्थाबाट मङ्सिर मसान्तसम्ममा करिब रु १३ अर्ब बराबर राजस्व उठेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आर्थिक ऐनको दफा २६ र २७ को व्यवस्थाअनुसार शनिबार सम्ममा रु १२ अर्ब ८१ करोड हाराहारी कर असुली भएको बताउनुभयो । “५०/६० वटा संस्थाबाट यस्तो कर उठाउनुपर्ने देखिन्छ । कुन संस्थाले कति कर तिर्नुपर्ने हो ? र सरकारले दिएको समयसीमाभित्र उनीहरुले तिरेर छुट सुविधा लिए÷लिएनन् ? भन्नेबारे ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयबाट विवरण सङ्कलन भइरहेको छ”, मैनाली रासससँग भन्नुभयो, “अहिलेसम्म रु १२ अर्ब ८१ करोड बराबर कर उठिसकेको भनेर प्रारम्भिक विवरण आएको छ । यसलाई हामी थप विश्लेषण गरिरहेका छौँ ।”

आर्थिक ऐनमा के छ ?

आर्थिक ऐन २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहासम्बन्धी व्यवस्था राखिएको छ । “कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपिओ) बाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस शेयरका रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर २०८० साल मङ्सिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ”, आर्थिक ऐनको दफा २६ मा भनिएको छ ।

त्यस्तै, आर्थिक ऐन २०८० को दफा २७ मा मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहासम्बन्धी विशेष व्यवस्था रहेको छ । “निकायहरु आपसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेच गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८÷७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० मङ्सिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ”, आर्थिक ऐनमा भनिएको छ ।

सरकारको पक्षमा सर्वोच्चको फैसला

अर्थमन्त्री डा महतले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत एफपिओ र बार्गेन पर्चेच गेनसँग सम्बन्धित कर असुली गर्ने व्यवस्था ल्याएपछि विभिन्न बैङ्क तथा वित्तीय संस्था र बीमाहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई विपक्षी बनाई दायर गरिएको रिट गत बिहीबारको संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मी रहनुभएको संवैधानिक इजलासले उक्त रिट खारेज गरेपछि सरकारलाई कर असुल्न थप बाटो खुलेको थियो । यस्तो कर मङ्सिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने सरकारको घोषणाका कारण अधिकांश संस्थाहरुले शुक्रबार र शनिबार नै कर तिरेका छन् ।

कर उठाउनुपर्ने महालेखाको ठहर

महालेखापरीक्षकको कार्यालयले पछिल्लो तीन वर्षदेखि आफ्नो प्रतिवेदनमा सरकारले यस्तो कर उठाउनुपर्ने उल्लेख गर्दै आएको छ । महालेखापरीक्षकको २०७७ सालको ५७औँ प्रतिवेदनमा एफपिओको प्रिमियम र मर्जर तथा एक्विजिसनको ‘बार्गेन पर्चेच गेन’ मार्फतको कर असुली गर्नुपर्ने उल्लेख छ । त्यसपछिका आफ्ना हरेक प्रतिवेदनमा महालेखाले यो विषय उठाइरहेको छ । विभिन्न कम्पनीले मुनाफा बाहेकको लाभांश वितरण गरेकामा त्यसबाट सिर्जित राजस्व छुट हुन गएको महालेखाले औँल्याएको भए पनि आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले उक्त छुट भएको कर रकम असुल गर्ने प्रक्रिया अघि बढाएको थिएन । तर चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो कर उठाउने र करदातालाई सुविधाका रुपमा ब्याज छुट दिने व्यवस्था ल्याउनुभएको थियो । महालेखाको प्रतिवेदनले औँल्याएका विषयलाई सरकारले कानुन बनाएर कार्यान्वयन गरेको थियो ।

महालेखापरीक्षकको कार्यालयले शेयर प्रिमियमबाट भएको वितरणमा मुनाफा बाहेकको लाभको पनि कर तिर्नुपर्ने विषयलाई पनि औँल्याउँदै आएको छ । आयकर ऐन, २०५८ को दफा ५६ (३) मा उल्लेख भएको मुनाफा बाहेकको लाभांश रकममा तोकिएको अवस्थामा बाहेकका निकायको आयमा आयकर लाग्ने व्यवस्था छ । त्यस्तै, आयकर नियमावली, २०५९ को नियम १८ मा मुनाफा बाहेकको रकममा हिताधिकारी सेवा उपलब्ध गराइएको वा निकायको स्वामित्वमा रहेको सम्पत्ति हिताधिकारीलाई प्रयोगका लागि उपलब्ध गराइएको अवस्थामा निकायको आयमा समावेश गर्नु नपर्ने गरी तोकेको छ । यो विषयलाई पनि सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत कार्यान्वयन गर्न खोजेको छ ।

आर्थिक विधेयक २०८० को दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था राखिएको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐनबमोजिम लाग्ने करको ५० प्रतिशत आगामी चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख गरेको छ ।

रूस र युक्रेनबीचको युद्धमा परेका नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, १ पुस : राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनको युद्धमा परी मृत्यु भएकाका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले युद्धमा परी घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उक्त आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जानेस्थिति अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”

रुस–युक्रेनबीच भइरहेको युद्धका क्रममा विभिन्न गैरकानुनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका, अझै पनि सयौँको सङ्ख्यामा रुस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट जानकारी प्राप्त भएको जनाएको छ ।त्यस्तै, नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन भएको समेत आयोगले भनाइ छ ।

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन, १ पुस : नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ ।

गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो ।

सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ ।” यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उहाँले जानकारी दिनुभयो ।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन ।

उहाँका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । उहाँका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ । आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ । ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ ।

गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् । आचार्यका अनुसार खहरेको पुल छ महिनाभित्रमा सञ्चालनमा आउने छ । यसपछि एउटा पुलमात्रै बाँकी रहने छ ।

गतको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो ।

तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । उहाँका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमतिप्राप्त भइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ । विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासको रूपमा भत्काउने तयारी गरिएको हो ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लोपटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी)को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

जनप्रतिनिधि दलभन्दा माथि उठ्न सक्नुपर्छ : सांसद कार्की

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन् । सांसदसँग रासस संवादका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्ने बताइन् ।

“हामी किन दलभन्दा माथि उठ्न सक्दैनौँ ? दलले गलत कुरा गर्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ”, उनले भनिन्, “तर कुनै पनि दलले देश र जनताको हितमा बोल्छ भने एक भएर काम गर्नसक्नुपर्ने हो ।”

दलीय ह्वीपका कारण पनि सांसद स्वतन्त्र निर्णय गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । “सातवटा प्राज्ञिक प्रतिष्ठानमा उच्च पदाधिकारीको चयन भइरहँदा ३२ पदाधिकारीमा एकजना महिला पर्नुभएन । योग्य र क्षमतावान महिला नभएका भने होइनन्”, संसदीय अभ्यासको एक वर्षको अनुभूति साट्दै उनले सुनाइन्, “त्यही कुरा सदनमा उठाउँदा मेरो पार्टीका सांसदमात्र सहमत हुने र अन्य दलका महिला सांसद त्यसमा समर्थन जनाउन सक्नुहुन्न, किनकि उहाँहरूलाई पार्टीको ह्वीप लाग्छ ।”

अर्कातर्फ उनले संसदभित्रै पनि महिला सांसदपछि पार्न खोजिएको महशुस हुने बताइन् । “हामी दुई सय बढी सांसद छौँ । तर काम गर्ने बेला अरु सबै सांसद निरीह भएर बसेको हुन्छ”, उनले भनिन्, “अग्रभागमा पुरुषहरूमात्र छन् । महिलाहरू नगन्य छन् । महिलालाई अगाडि आउन दिइएको छैन । त्यही पार्टीको १०–१५ जनाले निर्णय गर्ने र सदन चलाउने हो भने राज्यले दुई सय ७५ जनामा किन खर्च गर्नु ?”

प्रसूति एवं स्त्रीरोग विशेषज्ञका रूपमा ३५ वर्ष सेवा गर्नुभएको डा कार्कीका लागि यो पहिलो संसदीय अभ्यास हो । स्वास्थ्य सेवामा लामो समय बिताएकी उनी राजनीतिक गतिविधिसँग अभ्यस्त भए पनि यसअघि आफूसँग राजनीतिका लागि समय नभएको जानकारी दिइन् ।

“मैले राजनीति गर्छु भनेर सोचेको थिइनँ । यो एउटा सुन्दर संयोग थियो”, उनले भनिन् । सरकारी चिकित्सकका रूपमा १५ वर्ष देशका विभिन्न स्वास्थ्य सस्थामा काम गरेकी डा कार्कीले पछिल्ला समय काठमाडौँ मेडिकल कलेजको प्रधानाध्यापक, प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ प्रसूति एवं स्त्रीरोग विशेषज्ञकोे भूमिकामा २१ वर्ष काम गरिन् ।

उनले भनिन्, “उक्त कलेज खरिद बिक्रीका क्रममा मैले राजीनामा दिएँ । त्यही बेला नयाँ राजनीतिक पार्टी रास्वपाको उदय हुँदै थियो, उहाँहरूसँग कुराकानीका क्रममा समाज र देशलाई केही दिन सक्छु भन्ने हुटहुटीले जोडेको हो । मेरो राजनीतिक यात्रा त्यहीँबाट सुरु भयो ।”

रास्वपाबाट समानुपातिक सांसद डा कार्कीले विधायिकाको रूपमा पहिलो वर्ष सिकाइ र अध्ययनमा धेरै केन्द्रित भएको जानकारी दिइन् । विधायिकाका लागि अध्ययनशील बानीको विकास अनिवार्य भएको उनको बुझाइ छ ।

“म राजनीति गरेरै यहाँसम्म आएको होइन । तर चिकित्सकीय भूमिकामा मात्र होइन, जनप्रतिनिधिका रूपमा पनि धेरै अध्ययन जरुरत देखेँ । संविधान, प्रतिनिधिसभाका नियमावली, संसदीय अभ्यास र सम्बन्धित प्रचलित ऐन कानुन अध्ययन गर्न समय खर्चिएँ”, उनले भनिन्, “अध्ययनसँगसँगै संसदीय अभ्यास गर्यौँ र नयाँ पार्टी भएकाले पार्टी विस्तारमा पनि केही समय खर्चिएकै हो ।”

संवादका क्रममा ६५ वर्षीया सांसद कार्कीले एक वर्षको संसदीय अनुभवलाई सिकाइका दृष्टिकोणबाट अर्थपूर्ण रहेको बताइन् । राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यसमेत रहेकी सांसद कार्कीले कानुन निर्माणमा आफूले कुनै पनि प्रयासमा नचुकेको दाबी गरिन् । तर सदनबाट एक वर्षमा एक विधेयकमात्र पास भएकोप्रति भने उनी सन्तुष्ट छैनन् ।

उनले विशेषत स्वास्थ्य, शिक्षा र भ्रष्टाचार सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएकी छन् । भ्रष्टाचार नै समस्याको मूल जड भएको उनको भनाइ छ । उनले भनिन्, “स्वास्थ्य, शिक्षा र रोजगारीको प्रवर्द्धन गर्नुपर्ने राज्य नै भ्रष्टाचारमा लिप्त हो कि भन्ने आशङ्का आमजनतामा उब्जिएको छ । विद्यमान समस्या र चुनौती कसरी समाधान गर्ने भन्नेमा कसैको ध्यान छैनजस्तो देखिन्छ ।”

आमजनतामा सरकार र समग्र नेपाली राजनीतिक दलप्रति अविश्वासको खाडल बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन् । जनभावनाअनुरुप काम गर्न अहिलेको नेतृत्व चुकेको उनको बुझाइ छ । उनले भनिन्, “जनप्रतिनिधि सबै बसेर विभिन्न समस्या र चुनौतीको समना एवं समाधानका लागि छलफल गर्ने अभ्यास कम छ । तर सदन दलहरूबीचको वक्तृत्वकलाको प्रतिस्पर्धाजस्तो हुँदै आएको छ ।”

उनले संसद्को विभिन्न समयमा जनसरोकारका विषयप्रति सरकारको ध्यानााकर्षण गराउन पनि सम्बोधन हुन नसकेको बताइन् । “स्वास्थ्यमा यस्ता धेरै विषय उठाए जुन सुन्दा सामान्य लागे पनि त्यसको गहिरो प्रभाव आममानिसमा परिरहेको छ, त्यस्ता विषयमा राज्य गम्भीर बन्न सकिरहेको छैन”, उनले भनिन्, “आफू सरकारमा नहुँदा ‘डेलिभर’ गर्न ग्राहो छ । बोल्दामात्र सरकारले कति विषय सुन्दैन, कतिपय अवस्थामा निरीह महसुस हुन्छ ।”

उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रणालीको विकास गर्नुपर्नेमा जोड दिइन् । सरकारी अस्पतालप्रति जनताको विश्वास आर्जन गर्न स्वयं नेतृत्वले सरकारी अस्पतालबाट सेवा लिनुपर्ने उनको भनाइ छ । “यदि हाम्रो स्वास्थ्य संस्था सुधार्नु छ भने देशका शीर्षनेता एवं उच्च पदाधिकारीलाई देशभित्रकै सरकारी अस्पताल जानुपर्ने कानुन निर्माण गर्नुपर्ने कुरा उठाउँदै आएको छु”, उनले भनिन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिको प्रवेशले धेरै कुरा बिग्रिएको उनको धारणा छ । उनले स्वास्थ्यमा दरबन्दी थप्ने, स्वास्थ्यकर्मीको पारिश्रमिकमा मूल्याङ्कन र समीक्षा गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै चिकित्सक एवं स्वास्थ्यर्कीप्रतिको बुझाइमा सकारात्मक सोच आवश्यक भएको बताइन् ।

“स्वास्थ्य संस्था राम्रो हुन चिकित्सकमात्र आवश्यक छ भन्ने बुझेका छौँ । तर स्वास्थ्य संस्था भनेको पियनदेखि सबै स्वास्थ्यकर्मी जरुरत हुन्छ”, उनले भनिन्, “चिकित्सा शिक्षाको महँगो शुल्क नघटाउने तर स्वास्थ्यकर्मी र चिकित्सकको पारिश्रमिक एवं सेवा–सुविधालाई नहेरिदिँदा उहाँहरूलाई प्रोत्साहन मिल्दैन ।”

संवादका क्रममा उनले संसदीय तालिका बनाउनुपर्ने बताइन् । “हामीले संसद्मा पटक–पटक ‘क्यालेण्डर’को माग गरिरहेका छौँ । यो वर्षमा हामीले के–के काम गर्छौँ, त्यसको तालिका त हुनपर्यो नि”, उनले भनिन्, “जनतालाई भेट्न देशका दूरदराज पुगिरहँदा यहाँ सदन सुरु भएको थाहा हुँदैन । कतिपय अवस्थामा बिहान ११ बजे बोलाएर बैठक साँझ ५ बजेसम्म बस्न सक्दैन ।”

महोत्तरीको औरहीमा जन्मिएकी उनले विद्यालयको प्राथमिक शिक्षादेखि उच्च शिक्षा हासिल गर्न र चिकित्सक बन्न धेरै सङ्घर्ष गर्नुपर्यो । “छोरीलाई पढाउनु हुँदैन भन्ने त्यो समयबाट चिकित्सा क्षेत्रको उच्च पदाधिकारी तहसम्मको मेरो यात्रा अवश्य पनि सहज थिएन”, उनले भनिन् ।

कक्षा ७ मा अध्ययन गर्दैगर्दा आमाको उपचारका लागि काठमाडौँ आएपछिका दिनको स्मरण गर्दै उनले भनिन्, “त्यो समयमा गाउँमा स्वास्थ्यकर्मीको अभावका कारण आमाको उपचारका लागि काठमाडौँ आउन बाध्य भयौं । काठमाडौँमा मधेसको केटी भनेर भर्ना लिन मानेन । मेरो मामाले पद्मकन्या डिल्लीबजारमा जसोतसो भर्ना गर्दिनुभयो ।”

विद्यालय जीवनमा सधैँ प्रथम भएकी उनले देशभित्रै पर्याप्त रोजगारी र सुनिश्चित भविष्यको आधार नबनाएसम्म युवा विदेश पलायन रोक्न नसकिने गुनासो गरिन् ।

“नेताज्यूहरूले जेल गएको आन्दोलनको अनुभव सुनाउनुहुन्छ । उहाँहरूको राजनीतिक कर्मसँगसँगै हामी जनताले भोग्नुपरेका अनुभुति पनि कम छैनन् जस्तो लाग्दछ मलाई”, उनले भनिन्, “रोजगारीको अभावमा नेपालीहरू विदेशिन बाध्य छन् । मेरै बालबच्चा बाहिर जान्छन् मैले रोक्न सक्दिनँ । यहाँ रोजगारी र भविष्य सुनिश्चित गर्नसके कसलाई आफ्नो सन्तान बाहिर पठाउन मन हुन्छ ?”

विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ – राष्ट्रपति पौडेल

काठमाडौँ, १ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गर्नुभएको छ । उहाँले मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गरी सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन विवाह पञ्चमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेल सन्देशमा त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना प्रकट गर्नुभएको छ ।

आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने

जनकपुरधाम, १ पुस : जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिनुभयो ।

आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा सीतारामको विवाह भएको प्रसङ्गअनुसार आज स्वयम्बरको आयोजना हुनलागेको महन्थ दासले बताउनुभयो । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ ।आज राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुर्याइन्छ भने जानकी मन्दिरबाट लिइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिले त्यहाँ स्वागत अभिनन्दन गर्दछन् ।सोही मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्थले जानकी (सीता)लाई माला लगाई आरती पूजनपछि विधिवत स्वयम्बर हुन्छ । तत्पश्चात लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याएर आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ भने आजै राति मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।यसअघि पहिलो दिन मङ्गलबार जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला भयो । तेस्रो दिन बिहीबारका दिन ‘धनुष यज्ञ’ सम्पन्न गरिएको थियो ।धनुष यज्ञ त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार कार्यक्रम सम्पन्न भई सीतारामबीच स्वयम्बर हुने पक्का भएको थियो ।चौथो दिन शुक्रबार तिल्कोत्सव अर्थात् राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्न, वाग्दान) सम्पन्न भएकामा हिजो शनिबार मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिएको थियो ।जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले आज छैटौँ दिन रङ्गभूमी मैदान बाह्रबिघामा सीतारामको विवाह सुसम्पन्न भएर भोलि पुस २ गते रामकलेवा अर्थात् जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन खुवाई बिदाइ गरी यस वर्षको महामहोत्सव कार्यक्रम समापन हुने बताउनुभयो ।अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्रमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या

बराहक्षेत्र (सुनसरी), १ पुस : नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वर्षौँदेखि प्राथमिक तह (प्रावि) दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ ।” कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनुपर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।“हामीले सकीनसकी पढाउन त पढाइरहेकै छौँ”, उहाँले भन्नुभयो, “राज्यले पर्याप्त दरबन्दी नदिँदा अदक्ष शिक्षकबाटै भए पनि काम चलाइरहनुपरेको छ । यो हाम्रो बाध्यता हो ।”

बराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ श्रीलङ्का टापुलाई कोशीटप्पु पनि भन्ने गरिन्छ । यहाँ दुई हजारभन्दा बढी जनसङ्ख्या छ । विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार श्रीलङ्का टापुभरिमा तीनवटा सामुदायिक विद्यालय छन्, यसमा दुईवटा प्राथमिक तहका विद्यालय छन् भने एउटा आधारभूत तहको विद्यालय छ ।

जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिकसत्र २०७८÷७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि (आधारभूत) दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आधारभूत तह चलाउनै गाह्रो छ । त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन ।”

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिकसत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ ।”

सप्तकोशी नदीले धार परिवर्तन गर्दा बनेको श्रीलङ्का टापु जान कोशीमा डुङ्गा चढेर जानुपर्छ । वर्षात्का समयमा डुङ्गा पनि प्रयोग गर्न गाह्रो हुने भएकाले यातायातको निकै समस्या रहेको कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले जानकरी दिनुभयो ।

उहाँले तरकारी खेतीका लागि निकै प्रख्यात सो क्षेत्रका किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो “किसानले मेहनतअनुसारको मूल्य समेत पाएका छैनन् । सप्तकोशी नदीमा झोलुङ्ग पुलको आवश्यकता छ । ”

कुखुरा, बङ्गुर र मदिरा उत्पादन नहुने म्याग्दीको ‘गाजने’ गाउँ

बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन ।

सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्ब बम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए ।

“यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्”, उनले भने ।

बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन ।

तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ ।

गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ ।

तत्कालीन राजा दिलीप बमले १५औँ शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए ।

पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् ।

गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो ।

रामजानकी विवाह : जन्ती महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान

महोत्तरी, १ पुस : मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो ।

महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रिभोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरीले बताउनुभयो ।

केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर)का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै भिठ्ठामोर सीमानाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्ने जनाइएको छ ।
जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह)का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुषोत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्श नारीका रूपमा पूज्य छन् ।

जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वयम्बर तथा विवाह र रामकलेवा विधि छन् । महोत्सवको मुख्य दिन आज मङ्सिर शुक्ल पञ्चमीका दिन मध्याह्नपछि जनकपुरधामको विशाल रङ्गभूमि मैदानमा स्वयम्बर समारोह आयोजन हुँदैछ । रामसीताको स्वयम्बरपछि आजै राति जानकी मन्दिर परिसरभित्रको विवाहमण्डपमा राम–सीता, भरत–माण्डवी, लक्ष्मण–उर्मिला र शत्रुघ्न–श्रुतिकीर्तिको विवाह विधि सम्पन्न गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभएको छ ।

वर (दुलहा)हरु चारैजना अवध (अयोध्या) नरेश दशरथका पुत्र र बेहुलीहरूमध्ये सीता र उर्मिला विदेहराज शिरध्वज जनकका र माण्डवी तथा श्रुतिकीर्ति राजा जनकका भाइ कुशध्वजका छोरी भएका रामायणमा वर्णित छ । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराइ वस्त्रआभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन रहँदै आएको छ ।

विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँसख्याल ठट्टा सहभागीहरूका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झाले बताउनुभयो ।

प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने स्थानीयको भनाइ छ । यसका लागि नयाँ पिँढीका मैथिल युवाले अग्रसरता लिनपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार कामेश्वर झाको सुझाव छ ।

उखु किसानको घाउमा सरकारको नुनचुक

काठमाडौ । मुलुक अधिकांश वस्तुमा परनिर्भर छ। स्वदेशमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु पनि विदेशबाट आयात गर्दा परनिर्भरता बढिरहेको छ। कृषि तथा पशुजन्य वस्तु उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले किसानलाई प्रोत्साहन होइन, निरुत्साहित गरेको छ।

सरकारबाट बिमा प्रिमियमको अनुदान पाउने आशामा कृषि तथा पशुपालन गरिरहेका किसानले सहयोग नपाउँदा निराश छन्। सरकारले पशु तथा कृषि बिमाको प्रिमियमबापतको डेढ अर्ब रूपैयाँ पनि दिएको छैन। मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब २४ प्रतिशत योगदान रहेको कृषि क्षेत्र उपेक्षामा पर्दा कृषि पेसामा आकर्षण बढ्न सकेको छैन। सरकारबाट पाउनुपर्ने अनुदानको रकम नपाउँदा निराशा बढेको छ।

दुध बेचेका किसानले पैसा नपाउनु, उखु किसानले अनुदान नपाउनु, बिमा गरेका किसानले बिमाको भुक्तानी नपाउनु, बडफ्लुपीडित कुखुरा व्यवसायीले क्षतिपूर्ति नपाउनु चिन्ताको विषय हो।

सरकारले किसानलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गरेको कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीको गुनासो छ। ‘सरकारले झारा टार्न किसानलाई अनुदानको नाटक गर्छ,’ अधिकारीले भने, ‘किसानले पाउनुपर्ने भुक्तानी लिन महिनौं कुर्नुपर्छ।’उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदान रकम नपाएपछि आन्दोलन सुरु गरेका छन्।

किसानले गत वर्ष पाउनुपर्ने ५३ करोड रूपैयाँ अझै नपाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणि मैनालीले बताए। ‘यो वर्षको क्रसिङ सुरु हुँदा पनि गत वर्षको अनुदान रकम किसानले पाएका छैनन्,’ मैनालीले भने, ‘उखु उद्योगीले पनि समयमा भुक्तानी दिँदैनन्।’

उखु किसान सरकार र उखु उद्योगी दुवैबाट पीडित छन्। उनीहरूले हरेक वर्ष आन्दोलन गर्दै आएका छन्। अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिफारिस गरेको उखुको न्यूनतम मूल्य नपाएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। कृषि मन्त्रालयले उखुको मूल्य क्विन्टलको ५ सय ६५ रूपैयाँ कायम गर्न सिफारिस गरेको भए पनि किसानले ७ सय ५० कायम गर्न माग गरेका छन्।

उखु किसानले शनिबार सर्लाहीमा ५३ करोड बक्यौता अनुदान भुक्तानी र मूल्य निर्धारण गर्न माग राखेर प्रदर्शन गरेका थिए। ‘सरकारले अनुदानको रकम नदिएपछि आन्दोलन गर्नुपरेको छ,’ मैनालीले भने, ‘उखुको उचित मूल्य कायम गर्न पनि दबाब दिएका छौं।’ चिनी किलोमा ३५ रूपैयाँ बढे पनि उखुको मूल्य नबढेको किसानको गुनासो छ। यो समाचार नागरिक दैनिकमा छ ।