`

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामीको चाप बढ्यो

Nepal One HD ७ जेठ २०८१ १९:०३
जीवनशैली/स्वास्थ्य

सिमकोट, (हुम्ला), ७ जेठ : एक मात्र यहाँको जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा औषधिको अभाव छ ।

पन्ध्र शय्याको जिल्ला अस्पतालमा वैशाखयतादेखि औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका हुन् । चिकित्सकले लेखेको औषधि निजी मेडिकलमा किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रुघाखोकी, पखालालगायत सबै खाले बिरामीले उपचारका लागि जिल्ला अस्पताल पुग्दा उपचारपछि औषधि वितरण कक्षमा औषधि नपाउने गरेको गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधिसमेत पाउन नसकेको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाको गुनासो छ । आफू बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना गरेर अस्पतालमा रहे पनि चिकित्सकको लेखिदिएको अनुसारको औषधि मेडिकलबाट किनेर ल्याएको उहाँले बताउनुभयो । रु चार हजारसम्मको औषधि निजी मेडिकलबाट किनेको र अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गर्नुभयो । 

जाँचपछि औषधि लिन जाँदा जिल्ला अस्पतालको औषधि वितरण कक्षमा औषधि नपाएर सेवाग्राही फिर्ता हुन्छन् । चिकित्सकले लेखेको औषधि जिल्ला अस्पतालमा नपाउँदा निजी मेडिकलमा जानुपर्ने बाध्यता छ । निजी मेडिकलमा औषधि किन्नका लागि आर्थिक अवस्था कम भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका झप्रि सुनारको गुनासो छ । जिल्ला अस्पतालले निःशुल्क दिने औषधिसमेत नपाएको उहाँको गुनासो छ । चिकित्सकले बिरामी पुर्जामा औषधि लेखिदिए पनि औषधि वितरण कक्षमा औषधि नभएको भनेर निजी मेडिकलमा खरिद गर्न पठाउने गरेको उहाँको भनाइ छ ।  

वैशाख यतादेखि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको मेडिकल अफिसर तथा चिकित्सक सुर्जनकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार आइतबार र सोमबार ८० जनासम्म बिरामी पुग्छन्भने अन्य दिन ५० जनाभन्दा कम हुँदैनन् । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उहाँको भनाइ छ । गाउँघरबाट एक–दुई दिनको पैदल हिँडेर सवारी साधन पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेको चिकित्सक सिंहले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “जिल्ला अस्पतालमा औषधिको चरम अभाव छ, आकस्मिक कक्षमा आकस्मिक सेवाका लागि भर्ना भएका बिरामीले समेत बान्ता रोक्नेलगायत औषधि नभएको समस्या मैले भोगेको छ ।” बिरामीलाई अति आवश्यक पर्ने औषधि पनि नभएको चिकित्सक सिंह बताउनुहुन्छ । आकस्मिक कक्षमा औषधि अभावको समस्या आफूले प्रत्यक्ष भोगिरहेको चिकित्सक सिंहले बताउनुभयो । बहिरङ्ग सेवामा झन् औषधि अभावको समस्या रहेको छ । 

अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंह स्वीकार्नुहुन्छ । जहाज नचल्दा खरिद गरेर हुम्ला पुग्ने औषधि नेपालगञ्जमा थन्किएको प्रमुख सिंहको भनाइ छ । अबको एक–दुई दिनमा जहाज ससञ्चालन भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर हुम्ला आइपुग्ने प्रमुख सिंहले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँमा भएका स्वास्थ्यचौकीमा औषधि पाउन मुस्किल हुन्छ, अस्पतालमा पुग्दा राम्रो औषधि र चिकित्सकको जाँचको आशामा बिरामी पुग्छन्, चिकित्सकबाट जाँच पाएको भए पनि चिकित्सकले लेखेको औषधि नपाउँदा सेवाग्राही बिरामी रित्तो हात लिएर फिर्ता हुन बाध्य छन्, जिल्ला अस्पतालमै औषधिको चरम अभावको समस्या समाधान चाँडो गर्न आवश्यक छ ।”

प्रतिक्रिया