`

संसद्ले संवैधानिक आयोगसँग सहकार्य गर्दै आएको छ : सभामुख घिमिरे

काठमाडौँ, २४ मङ्सिर : सभामुख देवराज घिमिरेले नेपालको संसद्ले मानवअधिकार आयोगसहितका संवैधानिक आयोग तथा जागरुक नागरिक समाजसँग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य र समन्वय गर्दै आएको बताउनुभएको छ ।

सभामुख घिमिरेले संसद्ले मानवअधिकार तथा मौलिक हकको सुनिश्चितताको लागि नयाँ बन्ने कानुनहरू मानवअधिकारमैत्री ढङ्गबाट निर्माण गर्ने र बनिसकेका कानुनको संशोधन गर्दा मानवअधिकार मुखी अवधारणाका आधारमा गर्न पहल गरिरहेको स्मरण गराउनुभयो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस–२०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै संवैधानिक आयोगले मानवअधिकारका विविध विषयमा नागरिकलाई सुुसूचित पार्ने तथा न्यायको लागि पहल गर्ने कार्य गरिरहेको उल्लेख गर्नुभएको छ ।

“नेपाल पनि संयुक्त राष्ट्रसङ्घको सदस्य हुनका साथै मानवअधिकारसम्बन्धी कैयौँ महासन्धिहरूको पक्ष राष्ट्र पनि हो, नेपालको संविधानले नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम मानवअधिकारका विविध पक्षलाई समेटेको छ”, उहाँले भन्नुभएको छ ।

नेपालको मानवअधिकारको संरक्षण र संवर्द्धन र त्यसको प्रभावकारी कार्यान्वयनको मुख्य अभिभारा बोकेको संवैधानिक निकायको रूपमा राष्ट्रिय मानवअधिकार आयोग रहेको र आजको ऐतिहासिक दिनमा आयोगमा पर्याप्त स्रोतको उपलब्धता, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधारको व्यवस्थापन, सिफारिस कार्यान्वयनमा सहयोग, मानवअधिकारप्रति परम्परागत सोचजस्ता चुनौती सामनाका लागि सहकार्य गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । “यही बीचमा मानवअधिकार आयोगले आफ्नो स्थान ‘क’ श्रेणीमा राख्न सफल भएको छ, यो हामी सबैका लागि खुसीको कुरा हो”, सभामुखको सन्देशमा भनिएको छ ।

प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानवअधिकार घोषणा पत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप यो दिवस मनाउने गरिएको हो । यस वर्ष मनाइने ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस ‘भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मूल विषयसहित नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ ।

पालमुनि १ हजारभन्दा बढी भूकम्पपीडित बिरामी

जाजरकोट । भूकम्पले घर भत्केपछि भेरी–२ का बिर्खबहादुर कार्कीको परिवार त्रिपालमा बास बस्न थालेको महिना दिन भइसक्यो । तर, अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत अझै पाएका छैनन् । त्यसैकारण चिसो भुइँमै रात बिताउनु परिरहेको कार्कीको गुनासो छ । सरकारले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार दिने निर्णय गरेको थियो । जसअनुसार पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार दिने सरकारको निर्णय छ । तर, केन्द्र सरकारले उक्त रकम निकासा गरिसके पनि स्थानीय तहहरूले वितरणमा ढिलासुस्ती गरिरहेको पीडितहरूको भनाइ छ ।

राहत पाउन स्थानीय तहहरूले भूकम्प प्रभावितको लाभग्राही फारम भर्न लगाएका थिए । रकम निकासाका लागि बंैक खाता पनि खोल्न लगाएका थिए । यी प्रक्रिया पूरा गरिसके पनि राहत रकम पाउन नसकेको पीडितहरूको गुनासो छ । ‘सरकारी रकम आउला र टहरा बनाउला भनेर कुर्दा कुर्दै महिना दिन बितिसक्यो,’ कार्की भन्छन्, ‘दिन प्रतिदिन चिसो बढिरहेको छ । रात काट्न मुस्किल छ । परिवारको बिजोग छ । तर, स्थानीय तहले रकम निकासा गर्न अनावश्यक ढिलासुस्ती गरिरहेका छन् ।’

भेरी–३ थाप्लेका किरणकुमार भण्डारीले भूकम्पबाट भत्केको घरको भग्नावशेष पनि हटाउन सकेका छैनन् । उनको घर भाडामा लिएर नापी कार्यालय बसेको थियो । भूकम्पले घर भत्किएसँगै दैलेख निवासी अमिन एलिना भण्डारी र उनका भाइ प्रवल शाहीको ज्यान गएको थियो । अस्थायी टहरा बनाउनका लागि भण्डारी पनि सरकारी अनुदानको पर्खाइमा छन् । तर, उक्त रकम निकासी नहुँदा त्रिपालमा बसिरहेको परिवारको बिजोग भएको उनको भनाइ छ । ‘अनुदान पाएको भए टहरा बनाएर बस्न हुन्थ्यो,’ भण्डारी भन्छन्, ‘कहिले पाइने हो, टुँगो छैन । फारम भर्ने काम गरेकै एक साता भइसक्यो ।’ अनुदान रकम दिन आनकानी गर्ने भए बरु सरकारले नै टहरा बनाइ दिएको भए पनि जीवनयापन सजिलो हुन्थ्यो भन्ने उनको भनाइ छ ।

भूकम्प प्रभावितलाई अनुदान दिन सरकारले प्रक्रिया सरल बनाएको दाबी गर्दै आएको छ । तर, स्थानीय तहले विभिन्न झन्झटिला प्रक्रिया अपनाएर अप्ठ्यारो बनाइरहेको पीडितहरूको गुनासो छ । लाभग्राही पहिचान गर्न र बैंक खाता खोल्न लगाएर राहत वितरणमा ढिलाइ गरिरहेको स्थानीयको गुनासो छ ।

खाता नभएकालाई नगदै रकम दिने सरकारले निर्णय गरे पनि स्थानीय सरकारले सबै लाभग्राहीलाई खाता खोल्न लगाएका छन् । खाता खोल्न बैंक जानुपर्ने, कतिपयको नागरिकता नभएको, घर भत्किएको प्रहरी मुचुल्का चाहिनेलगायतका प्रक्रियागत झन्झटका कारण अस्थायी आवासका लागि रकम वितरणमा ढिलाइ भइरहेको भेरी नगरपालिका–३ का भूकम्पपीडित हरिबहादुर बस्नेतले बताए । उनले जिल्ला बाहिर घर भएकालाई अनुदान नदिने गरी सरकारले बनाएको कार्यविधिले आफूहरू जस्ता पीडितलाई अन्याय भएको पनि बताए ।

भूकम्प गएको एक महिना बित्दा पनि क्षतिको पूर्ण विवरण आउन नसक्दा र लाभग्राही कायम गर्न नसक्दा पुनर्निर्माणका काम अघि बढ्न नसकेको सरकारी अधिकारीहरू बताउँछन् । यो समाचर अन्नपूर्ण पोस्टमा छ ।

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।

७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेद्का कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

सरकारले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेस हुन बाँकी आवधिक प्रतिवेदन साथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेस हुनेमा सरकार दृढ रहेको बताउनुभयो । 

प्रधानमन्त्री दाहालले मानवअधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आइएको छ । 

सहकारीलाई उत्पादनसँग जोडेर काम गर्नुपर्छ’: मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

रामपुर (पाल्पा) २३ मङ्सिर : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोडेर काम गर्नुपर्ने बताउनुभएको छ । पाल्पाको रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले सहकारीमा बचत गर्ने मात्रै नभई सेयर सदस्यलाई उत्पादनमूलक क्षेत्रमा कसरी लगाउन भन्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

सहकारीले धेरैलाई रोजगार दिएको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले अब रोजगारसँगै उत्पादनमा जोडिन सुझाव दिनुभयो । ठूला व्यवसाय सञ्चालन गरेर एकैपटक धेरैलाई रोजगार दिन सकियो भन्ने मात्र आर्थिक समृद्धि हुने उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा सहकारीका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले रामपुरको विकासका लागि यस सहकारीले सामाजिक क्षेत्रमा काम गरिरहेको बताउँदै पूर्वी पाल्पाको विकासका गतिविधिबारे जानकारी दिनुभयो ।

श्रेष्ठले रामपुर आर्यभन्ज्याङ सडक, रामपुर फाट सिँचाइ आयोजना, प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने, प्रदेशको चार वटा भौतिक नमूना सहरमध्ये रामपुर पनि छनोटमा परेकाले रामपुरलाई भौतिक सहरको नमूना सहर स्थापनाका लागि विस्तृत योजना बनाएर छिटो अगाडि बढाउन अनुरोध गर्नुभएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले छरिएर रहेका पुँजीलाई सहकारीले सङ्कलित उपयोग गरेको बताउँदै सहकारीमार्फत आयआर्जनका क्षेत्रमा रामपुर नगरपालिका हातेमालो गरेर काम गरेको उल्लेख गर्नुभयो ।

सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले छरिएर रहेको पुँजीलाई एकीकृत गरी झोलाबाट सुरु भएको सहकारी अहिले सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित नमूना सहकारीको रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।

माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको छ : महासचिव गुरुङ

खजुरा (बाँके), २३ मङ्सिरः नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको बताउनुभएको छ ।

रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका भ्रमणमा जानुभएका महासचिव गुरुङले काठमाडौँ फर्किनुअघि माओवादी केन्द्र बाँकेले यहाँ आयोजना गरेको कार्यक्रममा जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको बताउनुभयो ।

यो अभियानले पूर्वदेखि पश्चिमसम्म माओवादी पार्टीलाई सशक्त र बलियो बनाउन सफल भएको जनाउँदै उहाँले अधिकांश जनता र कार्यकर्ताको माग कम्युनिष्ट पार्टीबीच एकता भई शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने रहेको बताउनुभयो ।

महासचिव गुरुङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको अभियान अगाडि बढिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हजारौँको बलिदानपछि प्राप्त गणतन्त्रविरुद्ध षडयन्त्र सुरु भएको छ, ती सबै षडयन्त्रलाई चिर्न अहिले सबै कम्युनिष्टबीच एकताको विकल्प छैन ।”

पार्टी अध्यक्षको नेतृत्वको सरकारले यसपटक गरेका धेरै राम्रा कामबाट प्रतिगामीहरु आत्तिएको उहाँले बताउनुभयो । वर्तमान गठबन्धन सरकारले जनताको हितमा निरन्तर काम गरिरहेकाले गठबन्धन झन् बलियो हुँदै गएको उहाँको भनाइ थियो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसीले रुपान्तरण अभियानको समीक्षात्मक धारणा राख्नुभयो । बाँकेका पाँचवटा पालिकाका पार्टीका अध्यक्षले रुपान्तरण अभियानका बारेमा जानकारी गराएका थिए ।

‘आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ’: मुख्यमन्त्री शर्मा


कर्णाली, २३ मङ्सिर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

सुर्खेत उद्योग वाणिज्य सङ्घको आज आयोजित ४०आँै वार्षिक साधारणसभामा मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने जनाउनुभयो । उहाँले भन्नुभयो, “उत्पादन वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सृजना नै हो । वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सृजना गर्न सकिन्छ । कर्णालीमा वन पैदावर र कृषि नै उपयुुक्त छ ।”

मुख्यमन्त्री शर्माले निजी क्षेत्र, सहकारी र राज्य मिलेर विकास गर्न सकिने भएकाले तीनखम्बे अर्थनीतिलाई आत्मसात् गरिएको जनाउनुभयो । एकल नभई सबै मिलेर विकास, समृद्धि र रोजगारी सृजना गर्न प्रदेश सरकार साथमै रहेको जनाउँदै कर्णाली प्रदेश पछिपरेको नभई पछाडि पारिएको जिकिर गर्नुभयो ।

पटकपटक क्षतिपूर्तिसहितको बजेट र कार्यक्रम माग सङ्घीय सरकासँग गरेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले भन्नुभयो, “जनसङ्ख्याका आधारमा होइन, भूगोल, यहाँको वस्तुगत अवस्थाअनुसार नीति र बजेटसहित कर्णालीको विकास गरिनु पर्दछ । राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठ्नुपर्छ ।” यहाँको विकासका लागि कर्णाली प्रदेशका सबै दल, नागरिक समाज र उद्योग व्यवसायीहरुको साझा बुझाइ हुनुपर्नेमा उहाँको जोड थियो ।

कर्णालीको विकासलाई पर्यटनसँग जोड्न कर्णाली करिडोर, भेरी र राप्ती लोकमार्गको विकासमा जोड दिनुपर्ने बताउनुभएका उहाँले राजधानीसँग सिधै जोड्नेगरी यहाँ रहेका दश एयरपोर्टको स्तरवृद्धि र व्यवस्थापन ध्यान दिइएको जनाउनुभयो । 

रुकुमपश्चिमका पत्रकार भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा जुटे

रुकुम, २३ मङ्सिर : रुकुमपश्चिमका पत्रकार भूकम्प प्रभावित क्षेत्रमा अस्थायी भावासमा जुटेका छन् । नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमको नेतृत्वमा जिल्लाको आठविसकोट नगरपालिका–११ रिठामा अस्थायी आवास निर्माणको काम थालिएको हो ।

चिसो बढ्दै गएको र भूकम्प प्रभावित पालमा बस्न समस्या भएकाले पत्रकार पनि अस्थायी आवासमा जुटेको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । “चिसो बढ्दै गएको छ । चिसोको कारण भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । तत्काल अस्थायी आवासको आवश्यकता छ । अस्थायी आवास निर्माणमा हामीले पनि केही सहयोगका लागि यहाँ पुगेका हौँ”, उहाँले भन्नुभयो । 

जिल्लाका सबै पत्रकार अस्थायी आवास निर्माणमा जुटेका छन् । एक दिनमा पाँच वटा अस्थायी आवास निर्माणको योजना बनाएको महासङ्घ जिल्ला अध्यक्ष केसीले जानकारी दिनुभयो । “अस्थायी आवासको लागि केही राजनीति दलले स्वयंसेवक पनि परिचालन गरेका छन् । त्यो पनि प्रयाप्त छैन । सबै मिलेर भूकम्प पीडितलाई पालबाट अस्थायी आवासमा सार्न पर्छ । अस्थायी आवास निर्माण अभियानलाई सहयोग गर्न पत्रकारको टोली नि खटिएको हो”, अध्यक्ष केसीले भन्नुभयो । 

जिल्लाका भूकम्प प्रभावित ठाउँमा अस्थायी आवास निर्माण भइरहेका छन् । भूकम्प कारण घरवासविहिन भएका सर्वसाधरण विस्तारै त्रिपालबाट अस्थायी आवासमा सर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले पनि अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताको रकम पनि स्थानीय तहमा पठाइ सकेको छ । –

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करण सुरु,२६ देशका ५४ चलचित्र देखाइने

काठमाडौँ, २३ मङ्सिर : ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करण आजदेखि काठमाडौँमा सुरु भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २६ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्नुहुँदै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रमार्फत मानव अधिकारका विषयलाई सहज रुपमा बुझाउन सकिने हुँदा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

“मानव अधिकारको विषयलाई चलचित्रमार्फत प्रवद्र्धन गर्न अझै सहज हुन्छ । चलचित्रमा देखाइने शैलीलाई आममानिसले पनि बुझ्नुहुन्छ । त्यसैले त्यस्ता विषयलाई प्रोत्साहन गर्न यो महोत्सवको भूमिका र आवश्यकता महत्वपूर्ण छ”, अध्यक्ष मगरले भन्नुभयो । पछिल्लो समय विश्वमा युद्ध अपराध, मानवताविरुद्धको अपराध, मानव अधिकारको उल्लङ्घन, विभिन्न समूह र समुदायप्रति हुुने विभेद बढ्दै गएकाले यस्ता महोत्सवको सान्दर्भिकता झन् बढेको उहाँले बताउनुभयो । महोत्सवका निर्देशक तथा मानव अधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डव खत्रीले सामाजिक न्याय र मानवअधिकार प्रवद्र्धनका उद्देश्यले सुरु गरिएको महोत्सवको एघारौँ संस्करण आयोजना हुनु मुलुककै लागि गर्वको विषय भएको बताउनुभयो ।

“मानवअधिकारको विषयलाई थप सशक्त बनाउन यस्ता महोत्सवले भूमिका खेल्नेछ । यसले स्वदेशी तथा विदेशी चलचित्रकर्मी र मानव अधिकारकर्मीबीच अन्तरक्रियाको अवसर प्रदान गर्छ”, महोत्सव निर्देशक खत्रीले भन्नुभयो ।

यसवर्षको महोत्सव मुख्य रुपमा ‘सामूहिक अधिकार’को विषयमा केन्द्रित रहेकाले सोही सन्दर्भ जोडिएका विषवस्तुका चलचित्रहरु छनौट गरिएको महोत्सवको निर्णायकमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई हुनुहुन्छ । वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शनीसँगै सुरु भएको महोत्सवमा २६ देशका ५४ वटा चलचित्र प्रदर्शन हुनेछन् । महोत्सव नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’ : मुख्यमन्त्री जम्कट्टेल

मनहरी, २३ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मुख्यमन्त्री कार्यलय हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

अख्तियारले झुट्टा निवेदनको पहिचान गरी अनुसन्धानमा निष्पक्षता देखाउनुपर्ने समय भएको बताउँदै उहाँले सर्वप्रथम राजनीतिक नेतृत्व निष्पक्ष र पारदर्शी हुनुपर्ने र त्यसपछि कर्मचारी प्रशासनले पनि त्यस्ता काममा राजनीतिक नेतृत्वलाई उक्साउन नहुने बताउनुभयो ।संसद्ले पास गरेको बजेटका विषयमा अख्तियारले चासो बढाएर झन्झट उत्पन्न गराएको बताउँदै उहाँले एउटै उजुरीमा झुलिरहनुपर्ने समस्याले सरकारी कामकाजमा समस्या पारेको बताउनुभयो । उहाँले अख्तियारको भूमिका निष्पक्ष हुनुपर्ने र एकले अर्कालाई सिध्याउने हतियारबाट समयमै सजग रहनुपर्नेमा जोड दिनुभयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका प्रमुख नरहरि घिमिरेले कार्यालयले गरेका सुशासनका प्रगति विवरणका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नागरिक निगरानी संस्थाका अध्यक्ष केदार चौलागाईंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।बागमती प्रदेशका मुख्य सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनैतिक दबाबमा नपरी निष्पक्ष ढङ्गबाट सुशासन प्रवर्द्धन हुनेगरी काम गर्नुपर्नेमा जोड दिइएको छ ।

एमालेको सङ्कल्प यात्रा बागमती प्रदेशमा प्रवेश

मलेखु (धादिङ) २३ मङ्सिर : नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बागमती प्रदेश प्रवेश गरेको छ । बागमति प्रदेश प्रवेशका क्रममा उक्त टोलीलाई आरुघाटमा भव्य स्वागत गरियो । टोलीलाई पार्टीका नेता तथा कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए ।

गण्डकी प्रदेशको टोलीले बागमतीको टोलीलाई झण्डा हस्तान्तरण गरी धादिङ प्रदेश गराएको हो । बागमती प्रदेश प्रवेश गर्नुअघि गोरखाको आरुघाटतर्फ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको यस यात्रा लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताउनुभयो । राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको धादिङको सिमाना आरुघाट हुँदै सल्यानटार उक्लिएर आज दिउँसो सो टोली नुवाकोटतर्फ लागेको थियो । नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो । एक हजार आठ ७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।

सो यात्रामा पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेतालगायत हुनुहुन्छ । एमालेको समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ । मङ्सिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु भएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुङ्गिनेछ ।

रोटरीको निःशुल्क स्वास्थ्य शिविर, एक सयभन्दा बढी प्रहरी र कैदीको स्वास्थ्य परीक्षण

काठमाडौँ, २३ मङ्सिर : रोटरी क्लब अफ काठमाडौँ वेष्ट, स्पार्क हेल्थ होम र प्रहरी वृत्त कालिमाटीको संयुक्त आयोजनामा आज कालिमाटी वृत्तमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले शुभारम्भ गर्नुभएको सो शिविरमा एक सयभन्दा बढी प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरिएको थियो । समारोहमा रोटरी क्लब अफ काठमाडौँ वेष्टले ५९ ट्राफिक प्रहरीका लागि निःशुल्क चस्मा प्रदान गरेको थियो ।

स्वास्थ्य विशिरमा डा प्रकाश श्रेष्ठ, डा अग्नीकुमार महतो, डा दृष्टि श्रेष्ठ, डा आनन्द शाह, डा रुपा बलामी र डा दिपिका बराल क्षेत्रीलगायतका डाक्टरले प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गर्नुभयो । शिविरमा नाक, कान, घाँटी, दात र नसासम्बन्धी रोगको परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा स्पार्क हेल्थ होमले निःशुल्क औषधि वितरण गरेको निर्देशक रुपेश अधिकारीले जानकारी दिनुभयो ।

बागलुङमा एकै रातमा ताल्चा फुटालेर आधा दर्जन घरमा चोरी,स्थानीय त्रसित


ढोरपाटन (बागलुङ) २३ मङ्सिर : बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो । गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन् ।

बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । रातको २ देखि ३ बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन  तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाडा पसल तथा हार्डवयरबाट नगद रु १५ हजार, जलजला होटलबाट नगद रु १० हजार, मायालु होटलबाट रु पाँच हजार कक्षपति स्टोर्सबाट चार हजार नगद चोरी भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ । चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको उहाँको भनाइ छ । चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सिसि क्यामेरामा एक अर्धबैंशे पुरुष अनुहारमा मुकुण्डो लगाएर झोला बोकेको र पीपिइ लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सिसि क्याम राद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिने बताउनुभयो । चोरी भएको ठाउँमा प्रहरीलाई सिभिलमा खटाइने र सिसि टिभी फुटेज फेला परेको हुँदा त्यसलाई आधार बनाएर अनुसन्धान अगाडि बढाएको केसीको भनाइ छ ।–––

कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित हुने

काठमाडौँ, २३ मङ्सिर : नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ । विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहे पनि अहिले आएर पुनः प्रकाशित हुन लागेको हो ।

पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले विसं २०५४ देखि बन्द रहेको नेपाल पुकारलाई त्रैमासिक रुपमा प्रकाशन गर्नेगरी पुनः प्रकाशनमा ल्याइएको राससलाई जानकारी दिनुभयो ।

विसं २००४ देखि मासिक, पाक्षिक र साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको उक्त पत्रिका विसं २०५४ देखि भने पूर्ण रुपमा बन्द रहेको थियो । कांग्रेसले त्रैमासिक रुपमा प्रकाशन गर्न लागेको पहिलो अङ्कमा ‘बीपी साहित्य महोत्सव’ का गतिविधिलाई समेटेर विशेषाङ्क प्रकाशन गरेको छ ।

१३२ पृष्ठको रहेको उक्त विशेषाङ्कको मङ्सिर २४ गते आइतबार पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकार्पण गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो । आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने उहाँको भनाइ छ ।–

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

काठमाडौँ, २३ मङ्सिर : परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद आज कतार प्रस्थान गर्नुभएको छ । दोहा सम्मेलनमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउनुहुने उहाँका प्रेस संयोजक केशव साउदले राससलाई जानकारी दिनुभयो ।

कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्नुहुने छ । मन्त्री साउदले यसअघि यही मङ्सिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । 

यस्तै उहाँले मङ्सिर ७ गते नेपालका लागि इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाउनु भइ जोशीको रिहाइका बारेमा छलफल गर्नुभएको मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ ।परराष्ट्रमन्त्री साउदले हिजो शुक्रबार मात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुको विषय हेर्ने संयोजक गल हर्चसँग कुराकानी गर्नुभएको उहाँका स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।

नेपाल र इजरायलबीचको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुभएको जोशीले बताउनुभयो । 

जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्य जस्तो मानेको र उहाँको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गर्नुभयो । 

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि जोशी इजरायल जानुभएको थियो । 

एडिबीद्वारा बङ्गलादेशलाई जलवायु प्राथमिकताको सहयोगका लागि ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले उसको राष्ट्रिय अनुकूल योजना (२०२३–२०५०) तथा पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदानको २०२१ अद्यावधिकलाई लागु गर्न बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ ।

शुक्रबार स्वीकृत गरिएको नीतिमा आधारित उक्त ऋण सहयोग जलवायु केन्द्रित समावेशी विकास हासिल गर्न पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदान हो । 

उक्त ऋण साङ्केतिक ७० करोड अमेरिकी डलरको जलवायु उत्थान तथा समावेशी विकास कार्यक्रमको पहिलो हिस्सा हो । यसले बङ्गलादेशलाई उसको जलवायु क्षेत्रलाई संरक्षण गरी कार्बन तथा हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याई मूलधारको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा मद्दत गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

“जलवायुको झट्काले बङ्गलादेशको विकास र गरिबी उन्मूलनलाई गम्भीररूपमा अवरोध पुर्याइरहेको छ, जलवायु कार्यका लागि वित्तीय व्यवस्थाको धेरै आवश्यकता छ, बङ्गलादेश यो चुनौतीको सामना गर्नका लागि दृढ प्रतिबद्ध छ र एडिबी यो क्षेत्रको जलवायु बैंकका रूपमा बङ्गलादेशलाई उसको प्रयासहरूमा सहयोग गर्न तयार छ”, एडिबीको सार्वजनिक व्यवस्थापनका प्रमुख अर्थशास्त्री अमिनुर रहमानले भन्नुभयो । 

एडिबीले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट बङ्गलादेश विश्वको सबैभन्दा जोखिममा परेको मुलुक भएको र वार्षिक औसतमा तीन अर्ब डलरको नोक्सानी हुने गरेको बताएको छ । 

एनसेल प्रकरणमा प्रधानमन्त्रीमाथि लगाइएका आरोप पुष्टि गर्न प्रधानमन्त्री सचिवालयको चुनौती

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । यसै विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झुट्टा प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले यसप्रकारका दुस्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरे ।

कानुन विपरित एनसेलको शेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागि परेको सरकारविरुद्ध नै झुट्टा प्रचारवाजीमा उत्रिएको भन्दै सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे ।

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन


मोरङ, २३ मङ्सिर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीलाई लाभ र प्रभावमा नपरी कार्य गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवससम्बन्धी कार्यक्रम उद्घाटन गर्दै उहाँले ऐन, नियमावली, कार्यविधिअनुसार काम गरे अख्तियारले दण्डिन होइन पुरस्कृत गर्ने बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहबीच सुशासन कायम गर्नेतर्फ प्रतिस्पर्धामा लाग्न आग्रह गर्नुभयो । “राज्यका सबै अङ्क एक अर्काका पूरक हुन्, आयोग अपराधीका लागि कठोर हो भने असल नियतले काम गर्नेका लागि पवित्र नदी गङ्गा हो”, उहाँले भन्नुभयो । 

उहाँले तोकिएभन्दा कम रकममा टेण्डर सम्झौता गरी काम नगर्नु पनि भ्रष्टाचार भएकाले प्रदेश सरकारले यस कार्यलाई कुनै किसिमको छुट नदिने प्रष्ट पार्नुभयो । 

प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले सरकारका सबै अङ्ग भ्रष्टाचारविरुद्धमा लाग्नु पर्ने बताउनु भयो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भ्रष्टाचार नियन्त्रणमा सबैले आफ्नो क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अख्तियारबाट स्थानीय तह पीडित भएकाले उजुरी उपर अनुसन्धान छिटो टुङ्ग्याउन सुझाव दिनुभयो  । 

आयोगका इटहरी प्रमुख सुरेश न्यौपानेले मुलुकमा भ्रष्टाचारको अवस्था र नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गर्दै सबैभन्दा वढी स्थानीय तहसम्बन्धी ३५ दशमलव १० प्रतिशत उजुरी आएको जानकारी दिनु भयो ।   सो अवसरमा प्रदेशका सरकार अन्तर्गतका सबै मन्त्रालयका सचिव, सङ्घीय सरकार कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता थियो ।  

आइटिएफ टेनिस : एलेक्सी र आसकुरा च्याम्पियन

कास्की, २३ मङ्सिर : नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई पराजित गर्दै रुसियाका एलेक्सी सिबाभएले पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० को दोस्रो सर्किटको उपाधि जित्नुभएको छ ।कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा एलेक्सीले हाडालाई ६–३, ६–२ ले पराजित गरी पुरुष एकलतर्फ च्याम्पियन बन्नुभयो ।

यसैगरी महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन बन्नुभएको छ । उहाँले भारतकी अर्जान खोराकीवालामाथि ६–२, ६–३ को जित हासिल गर्नुभयो ।  यि दुवै खेलाडी जे–३० को सर्किट एकमा पनि विजयी हुनुभएको थियो । च्याम्पियन खेलाडीहरूले आइटीएफको महत्त्वपूर्ण ३०/३० अङ्क प्राप्त गर्नुभयो ।विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेलले विभिन्न राष्ट्रबाट आएका खेलाडी, अभिभावक तथा उनीहरुका प्रशिक्षकको सहभागिताले पोखराको पर्यटन चलायमान बनेको बताउनुभयो ।

यसैगरी पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता निर्देशक अजय विष्ट, लगायतले खेलाडीलाई मेडल र पुरस्कार वितरण गर्नुभयो ।


प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गरेका थिए । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको टेनिस वरियता निर्धारण गर्नेछ । विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनलिष्टले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क प्राप्त गरेका छन् ।

पोखरामा दुई साता लामो सञ्चालन भएको आइटिएफ जे ३० टेसिन प्रतियोगितामा ११ देशका एक सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ४७ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

सन् २०२७ को महिला विश्वकप आयोजनाका लागि तीन समूहको निवेदन


फिफाले सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि तीन वटा समूहको बोलपत्र दर्ता भएको शनिबार पुष्टि गरेको छ । युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन पेश गरेका छन् भने मेक्सिको र संयुक्त राज्य अमेरिकाले पनि शुक्रबारको समयसीमाभन्दा ठीक अघि अर्को संयुक्त निवेदन पेश गरेका छन् ।त्यस्तै ब्राजिलले भने एकलपमा आयोजनाका लागि निवेदन दिएको छ ।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फिफाले सन् २०२४ को फेबु्रअरीमा हुने स्थलगत निरीक्षण भ्रमणसहित विस्तृत मूल्याङ्कन प्रक्रिया सञ्चालन गर्नेछ र त्यसपछि मे २०२४ पछि बोलपत्र मूल्याङ्कन प्रतिवेदनमा आफ्नो निष्कर्ष प्रकाशित गर्नेछ ।”सन् २०२४ को मे १७ मा बैंककमा हुने फिफाको सम्मेलनमा खुला मतदानमार्फत अन्तिम निर्णय गरिनेछ ।

दक्षिण अफ्रिकाले सन् २०३१ का लागि तयारी अवस्थामा रहेको बोलपत्र पेश गर्न चाहेको बताएपनि गत महिना पछि हटेको थियो ।संयुक्त राज्य अमेरिकाले सन् १९९९ र सन् २००३ को महिला विश्वकप एकल आयोजना गरेको थियो भने जर्मनीले सन् २०११ को महिला विश्वकप आयोजना गरेको थियो ।
गत वर्ष जुलाई र अगष्टमा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको महिला विश्वकपको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराएको थियो ।

महिला हकअधिकारका लागि कानुनमा विशेष प्रावधान छ : मन्त्री आचार्य

काठमाडौँ, २३ मङ्सि : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यका सरचनामा पछिल्लो समय महिला सहभागिता दिनानुदिन बृद्धि हुँदैगएको बताउनुभएको छ । नेपाल प्रेस युनियन महिला विभागद्वारा आज यहाँ आयोजित ‘समान सहभागिताका लागि सञ्चारकर्मीको भूमिका’ विषय अन्तरक्रियामा उहाँले विश्वका कयौँ मुलुकका तुलनामा नेपालमा महिला हकअधिकारका लागि कानुनी विशेष प्रावधान रहेको उल्लेख स्पष्ट गर्नुभयो ।

मन्त्री आचार्यले भन्नुभयो, “संविधानले सुनिश्चित गरेका समानुपातिक र समावेशी प्रतिनिधित्वका विषयलाई तीन तहका सरकारले कार्यान्वयन गर्दै अघि बढेको छ । सरकारी प्रयासले मात्रै भने महिला हिंसा अन्त्य र प्रतिनिधित्व सुनिश्चित गर्न कठिन हुन्छ ।”

जबसम्म समाजमा महिलालाई हेर्ने दृष्टिकोण र सहभागिता सुनिश्चित हुन सक्दैन तबसम्म मुलुक परिवर्तन हुन नसक्ने बताउँदै उहाँले समाजमा ठूलो रोगका रुपमा रहेको भ्रष्टाचार महिलाले नेतृत्व गरेका निकायमा तुलनात्मक रुपमा कम रहेको जानकारी दिनुभयो ।

मन्त्री आचार्यले भन्नुभयो, “महिलालाई थप अधिकार दिने विषयमा हामी गम्भीर हुनैपर्छ, महिलाले पनि अधिकारसँगै आफ्नो क्षमता अभिवृद्धि गर्दै जानुपर्छ । संविधानले महिला अधिकार र समावेशिताको पक्ष सुनिश्चित गरेको छ ।”

महिलालाई अधिकार दिने नाममा आफ्नो परिवार र नातागोता अघि बढाउने कार्यको चौतर्फी विरोध भइरहेको बताउँदै उहाँले यस्ता विकृतिलाई अन्त्य गर्न सञ्चार जगतले पनि कमल चलाउनुपर्छ भन्नुभयो ।

मन्त्री आचार्यले भन्नुभयो, “समाजमा महिला शिक्षास्तर कमजोर छ, रुढीवादी परम्परा व्याप्त छ, पत्रकार समाजको वौद्धिक वर्ग हो । तपाईहरुको कलम त्यस्ता रुढीवादी र गलत क्रियाकलापविरुद्ध प्रयोग हुनुपर्छ ।” 

राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेलले विश्वका कयौँ विकसित मुलुकको तुलनामा नेपालमा महिला हकहित र अधिकारसम्बन्धी कानुनी व्यवस्था उच्च रहेको बताउनुभयो । उहाँ भन्नुभयो, “महिलाको समान सहभागिताका लागि कानुनी प्रबन्ध व्यवस्थित र प्रयाप्त छ । कार्यान्वयनको पाटो भने अझै कमजोर नै देखिन्छ, अझै पनि धेरै महिलालाई आफ्नो हकअधिकारसम्बन्धी कानुनी व्यवस्था थाहा नै छैन ।”

युनियनका अध्यक्ष शिव लम्सालले युनियनमा आबद्ध महिला पत्रकारलाई सङ्गठनले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै आएको बताउँदै क्षमता अभिवृद्धिमा सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घकी पूर्वउपसभापति अनिता विन्दुले संविधानले प्रदान गरेको समानता र स्वतन्त्रताको उपभोग गर्दै निशङ्कोच रुपमा महिलाले हकअधिकारका लागि आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

युनियनका पूर्वअध्यक्ष रमेश तुफान र उपाध्यक्ष नकुल अर्यालले समावेशी र समानताको विषय लक्षित समुदायमा पुग्न नसकेको बताउनुभयो । 

आयोजक संस्था युनियनको महिला विभागकी प्रमुख सलोजा दाहाल, सञ्चारिका समूहका अध्यक्ष विमला तुङ्खेवा, नेपाली कांग्रेस ओखलढुङ्गाकी नेत्री गोमा केसी र महासङ्घकी उपाध्यक्ष बाला अधिकारीलगायतले समावेशीतामार्फत अघि बढेका महिलालाई नेतृत्वमा पुर्‍याउनु अहिले प्राथमिक चुनौती भएको बताउनुभयो । 

सो अवसरमा युनियन गोरखापत्र शाखा अध्यक्ष राधा चालिसे प्रस्तुत गर्नुभएको कार्यपत्रमा टिप्पणी गर्दै महासङ्घका पूर्वसचिव रामजी दाहालले पूर्वीय सभ्यता अङ्गालेको नेपाली समाजले महिलाको सम्मान र सहभागितामा प्रश्न खडा हुन्न भनेर कल्पना गर्न नमिल्ने धारणा राख्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, २३ मङ्सिर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

बाँसवारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत रहनुभएका गृहमन्त्री श्रेष्ठलाई भेटी उहाँको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिनुभएको श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

मन्त्री श्रेष्ठको यही मङ्सिर १९ गते मुटुमा समस्या आएपछि एन्जियोप्लास्टि सर्जरी गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको र चाँडै नै डिस्चार्ज हुने केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताउनुभयो । 

सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता गुरुङको सम्मान

दमौली, २३ मङ्सिर : काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।

उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद रु २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।”

सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताउनुभयो । गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जित्नुभएको थियो ।

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक छ – मन्त्री बस्नेत

धुलिखेल, २३ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले सहज सेवा प्रवाह गर्न आफू नेतृत्वको मन्त्रालयले प्रयत्न गरिरहेको बताउनुभएको छ ।

स्वास्थ्य सेवा सबैमा पु¥याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको आवश्यक परेको तथा ती आवश्यकता परिपूर्ति गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री बस्नतेले सीमित स्रोतसाधनले अधिक काम गर्नुपर्ने परिस्थिति सृजना भएको बताउनुभयो । मन्त्रालयको बजेट कटौतीका कारण त्यस्तो अवस्था आएको उहाँको भनाइ थियो ।

बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्रा डा सगुन जोशी, अस्पतालका संरक्षक हिरोको मासुनागा, सञ्चालक समितिका अध्यक्ष मधु आचार्यले सन् २००७ मा साप्ताहिक क्लिनिकको रुपमा बनेपा बजारबाट सुरु गरिएको सेवा अहिले काभ्रे जिल्लामा मात्र नभएर सिन्धुपाल्चोक, धनुषालायत क्षेत्रमा विस्तार भएकामा त्यसको सराहना गर्नुभयो ।

‘भारत र चीनको पक्की पुल बन्न चाहन्छौँ’: मन्त्री किराती

लुम्बिनी-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देश भारत र चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेकोसमेत उहाँले बताउनुभयो । भारतीय दूतावास काठमाडौँले बुद्धजन्मस्थल लुम्बिनीमा   आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल गौतबुद्ध र सगरमाथासँगै सीता र भृकुटीको देश भएको बताउनुभयो । “हाम्रो चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्”, उहाँले भन्नुभयो, “त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो ।”उहाँले भारतीय दूतावासले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताउनुभयो । नेपाली शास्त्रीय सङ्गीत, थारु नृत्य र अन्य विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो । नेपाल र भारतबीचको सम्बन्ध युगौँदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर सांस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिनुभयो ।

मुलुक परिवर्तन गर्न कांग्रेस परिवर्तन हुन जरुरी छ – शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक परिवर्तनका लागि कांग्रेस परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ ।बीपी स्टडी युथ सर्कलले शुक्रबार रीता शाहीद्वारा लिखित गजल सङ्ग्रह ‘चिनारी’ को विमोचन गर्दै उहाँले मुलुक परिवर्तन गर्नका लागि कांग्रेसलाई परिवर्तन गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभएको हो ।

नेता डा कोइरालाले कम्युनिष्ट पार्टीसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व समाप्त हुने बताउनुभयो । “कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्नु हुँदैन, लोकतान्त्रिक पार्टीसँगै गठबन्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

गठबन्धन निर्वाचनअघि गर्ने कि निर्वाचनपछि भन्नेबारे पार्टीले सोच्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले गजलमार्फत देशको समस्या उजागर गर्न खोजेकाले उक्त गजल सङ्ग्रह पठनीय भएको बताउनुभयो । उहाँले पछिल्लो समय देशमा युवा निराश हुँदै गएको भन्दै युवाको निराशालाई आशामा बदल्नका लागि राजनीतिक दल लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

भूकम्पपीडितलाई देवघाटबाट सात लाख ४६ हजार सहयोग

दमौली – जाजरकोट भूकम्पपीडितलाई तनहुँको देवघाट गाउँपालिकाबाट रु सात लाख ४६ हजार सहयोग भएको छ । उक्त रकम शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

भूकम्पपीडितलाई देवघाट गाउँपालिकाको तर्फबाट रु पाँच लाख, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रु एक लाख ३७ हजार एक सय एक र देवघाट क्षेत्रका स्थानीय बासिन्दा र विभिन्न सङ्घ संस्थाबाट सङ्कलन गरिएको रु एक लाख नौ हजार सात सय ८० गरी कूल रु सात लाख ४६ हजार आठ सय ८१ कोषमा जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

देवघाट गाउँपालिकाको विपद् व्यवस्थापन समितिले गत कात्तिक २० गते भूकम्पपीडितको सहयोगका लागि रु पाँच लाख सहयोग गर्ने र थप आर्थिक सहयोग सङ्कलनका लागि वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको अध्यक्षतामा राहत सङ्कलन समिति गठन गर्ने निर्णय गरेको थियो ।

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम


मोरङ, २३ मङ्सिर : कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ ।मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो । अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले राससलाई जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ । पूर्वाञ्चाल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्तरुपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयले दूर शिक्षालाई रु १० लाख भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ । आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ वटा विधामा तालिम सञ्चालन गर्नेछ ।

अब सच्चिएर जानुको विकल्प छैनः सांसद पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्ने बताएका छन् ।

जिम्मेवारी र दायित्वका हिसाबले विधायिकी भूमिकामा बढी केन्द्रित हुनुपर्ने सांसद सत्ताको राजनीतिमा लिप्त हुँदा सदनको मुख्य काम नै ओझेलमा परेकाले प्रशिक्षण आवश्यक भएको उनको भनाइ छ ।

विसं २०४८, २०५१, २०५६ मा प्रतिनिधिसभा सदस्य रहेका पाण्डे २०७० मा संविधानसभा सदस्य रहेका थिए । २०७४ मा प्रदेशसभा सदस्य रहेका उनी २०७९ को निर्वाचनमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनिए । २०४८ सालमा आफू पहिलोपटक संसद् छिर्दा संसदीय अभ्यास, अनुशासन, मर्यादा, भूमिका, जिम्मेवारीलगायत विषयमा पर्याप्त प्रशिक्षण हुने गरेको उनी स्मरण गर्छन् ।

“हामी संसद्मा आउने बित्तिकै सांसदलाई प्रशिक्षण दिइन्थ्यो र संसद्मा कसरी प्रस्तुत हुने तरिका सिकाइन्थ्यो । अर्थतन्त्रका विषयमा अर्थशास्त्रीसँग, ज्ञान–विज्ञानका क्षेत्रमा त्यस क्षेत्रका विज्ञ र जानकारसँग छलफल गथ्र्यौ । आजकाल त्यो भएको देखिँदैन”, संवादका क्रममा उनले भने, “कुनै पनि दलले त्यसरी प्रशिक्षण दिएर आफ्ना सांसदलाई संसदीय अभ्यासमा अभ्यस्त बनाउन सकेका छैनन् । सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसद्मा उतार्नुपर्छ ।”

पछिल्लो समय संसद् प्रभावकारी हुन नसकेको भन्दै जनस्तरबाटै आलोचना भइरहेका बेला पाण्डे पनि संसद् र सांसदले आफ्नो विधायिकी भूमिका निर्वाह गर्न नसकेको स्वीकारर्छन् । “हामीले कानुन बनाउनका लागि जति धेरै समय दिनुपथ्र्यो, त्यो दिन सकेका छैनौँ । कहिले सुन प्रकरण, कहिले भुटानी शरणार्थी प्रकरणका नाममा पटक–पटक संसद् अवरोध भएका छन् । संसद्मा बढीभन्दा बढी अभ्यास गर्ने र जनजीविकाका कुरा राख्ने सवालमा हामी निकै कमजोर देखियौँ”, उनी भन्छन् ।

सबै राजनीतिक दलले जनजीविकासँग जोडिएका महत्वपूर्ण विषयलाई संसद्मा ल्याएर गहन छलफलमार्फत निकास दिनुपर्ने उनको बुझाइ छ । त्यस्ता विषयमा सत्तापक्षका सांसदले सरकारबाट चाँडो निर्णय गराउने र प्रतिपक्षले संसद्बाट खबरदारी गर्नुपर्ने पाण्डे बताउछन् ।

संसद् भनेको सरकार निर्माणका लागि मात्रै हो भन्ने बुझाई सांसदमै हावी हुँदै गएको उनी बताउछन्। “अधिकांश सांसदको दिमागमा संसद्मा आउनु भनेको मन्त्री बन्नु हो भन्ने परेको छ । मन्त्री हुन पाइएन भने सांसद भएको अर्थ नै भएन भन्ने बुझाइसमेत राख्ने गरेका छन् । मन्त्री बन्नका लागि हुने दौडधुप त्यस्तै मनोवृत्तिको परिणाम हो ।” उनले भने ।

संसदीय अभ्याससँग जोडिएका कतिपय शैली, प्रक्रिया आजकाल प्रयोगमा आउन नसकेको उनको बुझाइ छ । “संसद्मा सबै सांसदले आफ्ना कुरा राख्नका लागि पर्याप्त समय नै हुँदैन । तर संसद्भित्र हामीले अभ्यास गर्नसक्ने र नगरेका धेरैवटा विषय छन्”, उनी भन्छन्, “हामीले ध्यानाकर्षण प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, सङ्कल्प प्रस्ताव राख्न पाउँछौँ । मन्त्रीहरुलाई प्रश्न गर्न पाउँछौँ । लिखित वा मौखिक प्रश्न पाउँछौँ । तर ती अभ्यासलाई हामीले धेरै महत्व दिइरहेका छैनौँ ।”

सत्तापक्षले आफ्नो दलको सरकारको विरोध गर्न नसक्ने र प्रतिपक्षले विरोधकै लागि विरोध गर्ने शैली मौलाउँदै गएकोप्रति पनि सांसद पाण्डे चिन्ता व्यक्त गर्छन्। सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फका सांसदहरुले जनताको हितमा बोल्ने हो भन्ने बिर्सेर दलीय राजनीति तथा सत्ता खिचातानीको खेल संसद्मा खेल्ने गरेको उनको आरोप छ ।

“संसद्भित्र कानुन निर्माण गर्ने भन्दा पनि सत्ता राजनीति हावी भयो । जहिले पनि विरोध गर्ने प्रवृत्तिको विकास भयो”, उनी भन्छन्, “सत्तापक्ष–प्रतिपक्ष जहाँ बसे पनि आखिर हामी जनताका प्रतिनिधि हौँ । जनताकै हितका लागि बोल्नुपर्छ । जनतासँग कबुल गरेर आएका कुरालाई पूरा गर्नेतर्फ सोच्नुपर्छ ।” यस्तो प्रवृत्तिलाई सच्च्याएर नागरिकका आकांक्षा पूरा गर्नेतर्फ संसद् केन्द्रित हुनुपर्ने सुझाव पाण्डे दिनुहुन्छ । समितिको सभापति बनाउन पनि छ महिना लगाउने, स–साना कुरामा पनि सहमति नजुट्ने, प्रतिपक्षले रचनात्मक दबाब दिनेभन्दा पनि अनावश्यक विरोध मात्रै गर्ने प्रवृत्ति मौलाएको उनको बुझाइ छ ।

सदनलाई प्रभावकारी बनाउनु प्रतिपक्षसँगै सरकारको पनि जिम्मेवारी हो । सत्तापक्षले जति मात्रामा विधेयक संसद्लाई दिन सक्नुपथ्र्यो, त्यो हुन सकेको छैन । सङ्घीयतासँग जोडिएका करिब तीन दर्जन सङ्घीय कानुन बन्न बाँकी छन् । विधेयक सरकारले संसद्मा ल्याउन सकेको छैन र संसद् पनि प्रभावकारी हुनसकेको छैन । त्यसो हुनु सरकारको कमजोरी भएको उनी बताउँछन्।

“सरकारले कानुन मन्त्रालय र विषयगत मन्त्रालयलाई सक्रिय गराएर संसद्मा जति विधेयक दर्ता गर्नुपथ्र्यो त्यो हुन सकेन । अघिल्ला दुईवटा अधिवेशनबाट हामीले निकै कम विधेयक पास गरेका छौँ । यो सरकारको कार्य क्षमतासँग पनि जोडिएको विषय हो”, सांसद पाण्डे भने । त्यस्तै प्रत्येक मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गतका निकायबाट भए–गरेका कामबारे हरेक साता संसद्लाई जानकारी गराउर्नेमा त्यसो हुन सकेको छैन । नागरिक र जनजीविकासँग जोडिएका विषय संसद्मा उठे पनि त्यसको कार्यान्वयन निकायले के काम गर्यो भन्ने जानकारी सरकारले गराउन नसकेको उनी बताउछन्।

जिम्मेवारी बहनमा मात्र नभई संसदीय मर्यादा, अनुशासन पालनामा पनि सांसद चुक्ने गरेका छन् । संसद्मा विवादास्पद अभिव्यक्ति दिने, एकअर्कालाई अनावश्यक आक्षेप र लाञ्छना लगाउने, तथ्यभन्दा बाहिर रहेर भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिनेजस्ता काम सांसदबाटै हुने गरेका छन् । यसबारे पनि सांसद जिम्मेवार हुन नसकेको उनको भनाइ छ ।

“जतिसुकै चित्त नबुझे पनि संसदीय मर्यादाभन्दा बाहिर रहेर अभिव्यक्ति दिनुहुँदैन । पुराना मात्र नभई नयाँ दलका अभिव्यक्ति पनि संसदीय मर्यादाभन्दा बाहिर गएर आउने गरेका छन्”, उनी भन्छन्, “प्रतिपक्ष भएपछि विरोध मात्रै गर्नुपर्छ र विरोध गर्दा जनतामा आफ्नो भूमिका निर्वाह ग¥यो भन्ने छाप पर्छ भन्ने बुझाइ प्रतिपक्षमा छ ।अर्कोतर्फ सरकारले गरिरहेको कतिपय कुरा सत्तापक्षकै सांसदलाई पनि चित्त बुझिरहेको हुँदैन । तर सरकारको विरोधमा बोलिहाल्न गाह्रो हुन्छ । यस्ता कठिनाइ पनि छन् ।” प्रतिपक्षले संसद्मा लैजाने विषय खोज्ने र ती विषयमा प्रतिप्रश्न गर्ने शैलीले काम गर्नेभन्दा विरोधका लागि मात्रै विरोध गरेको सांसद पाण्डेको बुझाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक वर्ष बितिसकेको छ । निर्वाचनताका जनतासँग गरेका प्रतिबद्धता र अहिलेसम्म हासिल भएका उपलब्धिबारे प्रश्न गर्दा सांसद पाण्डेले आफू सन्तुष्ट नरहेको जवाफ दिनुभयो । सांसदका रुपमा आफ्नो पछिल्लो कार्यकाललाई कसरी लिनुहुन्छ ? भन्ने प्रश्नमा उनले सन्तोषजनक काम गर्न नसकेकै कारण व्यवस्थामाथि चुनौती देखिएको स्वीकारे।

“निर्वाचन पछिको एक वर्ष त्यति राम्रो र सकारात्मक छ भन्नसक्ने अवस्था छैन । हाम्रो कार्यशैलीमा कमजोरी भएकै कारणले एकथरि मान्छेहरु अहिले व्यवस्था माथि नै प्रश्न गर्न थालेका छन्”, उनी भन्छन्, “राजनीतिक अभ्यास, संसदीय अभ्यास नबुझेका मानिसहरुले सडकमा बसेर हामी व्यवस्था बदल्छौँ भनिरहेका छन् । सरकार ढाल्छौँ, संविधान फेर्छौं, राजा ल्याउँछौँ भनिरहेका छन् । हुन त कसैले भनेकै भरमा सजिलै राजा ल्याउन सकिन्छ भन्ने मलाई लाग्दैन । तर यो सबै भइरहेको पनि हाम्रै कमजोरीका कारण भइरहेको हो भन्ने लाग्छ ।”

अब सच्चिएर र सच्च्याएर जानुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे । सरकारले राम्रो काम गर्दा सत्तापक्ष–प्रतिपक्ष दुवैले त्यसलाई जनतासम्म पुर्याउनका लागि भूमिका निर्वाह गर्नुपर्ने र मुख्यगरी प्रतिपक्षले सरकारले गरेका कमिकमजोरीलाई जनतासम्म पुर्याउन रचनात्मक ढङ्गले अघि बढ्नुपर्ने उनको बुझाइ छ । तर यी मामिलामा सत्तापक्ष र प्रतिपक्ष दुवै चुकेकाले अबको दिनमा सच्याएर जानुपर्ने पाण्डे बताउछन् ।

त्यस्तै, पछिल्लो समय सङ्घीयताको प्रभावकारिता माथि पनि प्रश्न उठिरहेका छन् । योभन्दा अधिल्लो कार्यकाल प्रदेशसभामा रहनुभएका पाण्डे केन्द्र सरकारले सङ्घीय कानुन निर्माण नगरिदिएका कारण प्रदेश कमजोर भएको बताउछन् ।

“प्रदेशलाई अधिकार नदिने तर काम गरेन भनेर गाली मात्रै गरेर हुँदैन । संविधानमा प्रदेश प्रहरी हुने भनेर व्यवस्था छ । तर प्रहरी समायोजन भएको छैन । सङ्घीय निजामती सेवा ऐन अझै बनिसकेको छैन । शिक्षा ऐनलगायत कानुन आउन सकेको छैनन्”, उनी भन्छन्, “सङ्घीयतालाई बल दिने खालका ३०÷३२ वटा कानुन अझै बन्न सकेका छैनन् । प्रदेशलाई अधिकारसम्पन्न बनाएर जानपर्छ । हामीले चाहेको प्रतिस्पर्धात्मक सङ्घीयता होइन, सहकार्य र समन्वयात्मक भूमिकासहितको सङ्घीयता हो । सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेरै चलाउने हो । केन्द्रले स्थानीय तहलाई, प्रदेशले पनि स्थानीय तहलाई पैसा मात्र दिएर भएन, अधिकार पनि दिनुपर्छ ।”

समृद्धिको सपना साकार पार्न एमालेको सङ्कल्प यात्रा – ओली

गोरखा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राअन्र्तगत गोरखाको पालुङटारमा शुक्रबार आयोजित कोणसभामा उहाँले देशमा रहेका सबै खालका समस्या समाधान गर्न आफ्नो पार्टी लागिपरेको बताउनुभयो । उहाँले समृद्धिको सपना पूरा गर्न एमालेको नेतृत्वको एकल सरकार आवश्यकपर्ने समेत दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई समृद्धि बनाउन चाहेको बताउँदै समृृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणको आवश्यता रहेको औँल्याउनुभयो । अभियानअन्तर्गत शनिबार बिहान अध्यक्ष ओलीले गोरखा जिल्लाका विभिन्न सवालबारे स्थानीय सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको एमाले गोरखाका सचिव काजीराम रोकाले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीको टोलीद्धारा १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट

मलङ्गवा, २३ मङ्सिर : सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो । नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले राससालाई जानकारी दिनुभयो ।

गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, सशस्त्र प्रहरी सुरक्षा बल लालबन्दी र इलाका प्रहरी कार्यालय लालबन्दीबाट एक सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरेक्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाखेती गर्दै आएका छन् । सर्लाहीको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रको डाँडाकाँडामा गाँजाखेती रोकिएको छैन ।

जुम्लाको न्यूनतम तापक्रम माइनसमा, जाडोले जनजीवन प्रभावित

जुम्ला, २३ मङ्सिर : जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले राससलाई जानकारी दिनुभयो । तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताउनुभयो । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ ।

चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताउनुभयो । चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, ‘कोल्ड डायरिया’का बिरामीको सङ्ख्या बढेका छन् । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन् ।

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्यचौकीमा प्रमुख कमल रावतले बताउनुभयो ।

त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु

काठमाडौँ । सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् । चिसो बढ्दै गएकाले यो सङ्ख्या बढ्न सक्ने सम्भावना छ ।

कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा जाजरकोटका १०१ र रुकुम पश्चिमका ५३ जना छन् । भूकम्पले घर भत्काएपछि पीडित बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । सरकारले समयमै अस्थायी टहरा बनाउने रकम निकासा नदिँदा र अस्थायी टहराको डिजाइन नपठाउँदा उनीहरूको त्रिपालमुनिको बास लम्बिने भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार त्रिपालमुनि बसेका जाजरकोटको कुशे गाउँपालिकामा आठ, छेडागाड नगरपालिकामा ६, नलगाड नगरपालिकामा चार, जुनिचाँदे गाउँपालिकामा चार, भेरी नगरपालिकामा दुई र बारेकोट गाउँपालिकामा तीन जनाको ज्यान गएको छ । यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीन जना, बाफिकोट गाउँपालिका र सानीभेरी नगरपालिकामा एक- एक जनाको चिसोले मृत्यु भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

एमसीसी सम्झौता अन्तर्गत खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रिया अघि बढेको छ । नेपाल कम्प्याक्टको व्यवस्थापकीय निकाय एमसिए नेपालका अनुसार त्यसका लागि नेपाल सरकारको अर्थ मन्त्रालय, एसमसिसी र एमसिएले आपसी समन्वयमा खरिद प्रक्रिया अघि बढाएको हो ।

खरिद प्रक्रियाको पहिलो चरणको बोलपत्र आह्वान अन्तर्गत गत भदौ महिनामा परेका प्रस्तावमा अनुमानित बजेटभन्दा धेरै बढी भएपछि सबै बोलपत्रको प्रस्ताव अस्वीकृत गरिएको थियो । सम्झौता अनुसार स्रोतसाधनले देशलाई अधिकतम लाभ पुग्ने गरी परिचालन गर्नका लागि अर्को बोलपत्र आह्वानको तयारी गरिएको एमसिए नेपालले जनाएको छ ।

विद्युत् प्रसारण आयोजनाको कार्यान्वयन छिटो गर्नुपर्ने भएकाले त्यसका लागि आन्तरिक पहल जारी रहेको जनाइएको छ । फेरि बोलपत्र आह्वान गरेर पनि तोकिएको पाँच वर्षको अवधिमै काम सक्याउने गरी तयारी भएको एमसिए नेपालले शुक्रबार वक्तव्यमार्फत प्रस्ट पारेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ऋणको सदुपयोग गरेकालाई सहजीकरण गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने बताए । राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा उनले नीतिगत रूपमा व्यवस्था गरेको र ब्याज कोरिडोर मेन्टेन गर्नका लागि राष्ट्र बैङ्क सजग रहेको बताएका हुन् ।

बैङ्क तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरूउपरको कारबाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणलगायतका माध्यमबाट सहजीकरण गरिने उनको भनाइ छ ।

यसका लागि बैङ्क तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दस प्रतिशत रकम असुल गरी कर्जा पुनर्संरचना गर्न सक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनर्संरचना गर्न सक्ने क्षेत्रको विस्तार गरिने उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना

लुम्बिनी (मर्चवार), २३ मङ्सिर : नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालका लागि भारतका लागि राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा मन्त्री किरातीले महोत्सवका माध्यमबाट दुई देशबीचको बलियो सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताउनुभयो । शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई यस्ता महोत्सवले अझ सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा यस्ता महोत्सव आयोजना गरिने बताउँदै त्यसबाट दुवै देशका साझा सम्पदा, परम्परा र संस्कृतिबारे नेपाली र भारतीयलाई जानकारी हुने र त्यसले एकअर्कालाई नजिक ल्याउन सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।

हेर्नुहोस् मंसिर २३ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री

सुदूरपश्चिम, २२ मङ्सिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताउनुभएको छ ।धनगढी उपमहानगरपालिका–१६ को घसिटा गाउँमा आज आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।

नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीन र मित्रराष्ट्र अमेरिकाको भ्रमण गरेको बताउँदै प्रधानमन्त्रीले पार्टीको अभियान सकाएर विधान सम्मेलन गर्ने र त्यसपछि अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

पार्टी अध्यक्षले सात प्रदेशका सात वडामा पुग्नुपर्ने पार्टीको निर्णय बमोजिम आफू आज यहाँ आएको बताउँदै प्रधानमन्त्रीले जनताको आसा अपेक्षाअनुसार पार्टीले काम नगरेको जनगुनासो आएपछि यो अभियान चलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अभियानले एकपटक फेरी पार्टीसँग जनतालाई जोड्न, जनतामा नयाँ, आशा जगाउन र जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्न सफल भएको छ ।” वडाको विकासका लागि आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

कठमाडौँ, २२ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बडापत्रमा प्रतिष्ठापित समझदारी, विश्वास, एकता र सहयोगका मूल्य–मान्यता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उनाञ्चालीसौँ सार्क स्थापना दिवसका अवसरमा आज दिनुभएको सन्देशमा प्रधानमन्त्रीले हाम्रा मैत्रीपूर्ण कार्य र साझा प्रयासबाट क्षेत्रीय एकता एवं विश्वास प्रवर्द्धन हुने बताउनुभएको हो ।

सार्क प्रक्रियालाई ऊर्जा प्रदान गर्न, सङ्गठनलाई अझ सबल, प्रभावकारी एवं परिणाममुखी तुल्याउन सार्कको संस्थापक मुलुकका नाताले नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभएको छ । दक्षिण एशियाको साझा समृद्धि तथा क्षेत्रीय एकताका निम्ति ३९ वर्षअघि स्थापना भएको सार्कमा त्यसबेलाका गरिबी, कुपोषणजस्ता चुनौतीका साथै जलवायु परिवर्तन र त्यसका प्रतिकूल प्रभावले निम्त्याएका विपत्ति एवं साइबर सुरक्षा नयाँ समस्या थपिएका प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

बडापत्र दिवस पनि भनिने सार्क स्थापना दिवसका अवसरमा अफगानिस्तानबाहेक अन्य सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री र सार्कका महासचिवले बेग्लबेग्लै सन्देश जारी गरी सदस्य देशका जनताको समृद्धिको कामना गर्नुभएको छ ।

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको आरोप

काठमाडौँ, २२ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी आर्थिक लेनदेन भएको हुनसक्ने बताउनुभएको छ ।

पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउनुभयो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाउनुभएको उल्लेख गर्दै नेता पुनले तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न जोकसैलाई पनि कारबाही हुने बताउनुभयो ।

“सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । उहाँ आउने वित्तिकै सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नका लागि सहमत गराउनुभयो”, उहाँले थप्नुभयो, “भोलिपल्टै मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ, राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन ।”

सिङ्गो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा साथमा रहेको बताउँदै उपमहासचिव पुनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियानमा जनताले सरकारलाई साथ दिएको बताउनुभयो ।

नेता पुनले सरकार केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा रहेको जानकारी दिँदै सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

परम्परागत घारमा मौरी पालेर जीविकोपार्जन गर्दै दिनेश

खोटाङ, २२ मङ्सिर : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गर्नुभएको छ ।

विसं २०६९ देखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपिसेरेना जातको मौरीपालन सुरु गर्नुभएका ३२ वर्षीय दिनेशले एक याममा कम्तीमा एक सय ५० बोतल मह बिक्री गर्नुहुन्छ । पाँच सय मिलिलिटरको बोतलमा भरिएको मह प्रतिबोतल रु एक हजार पाँच सयमा बिक्री गर्ने गरिएको दिनेश बताउनुहुन्छ ।

हाल दिनेशको घरमा ३० वटा खोपा घार र १७ वटा काठको डुँड छन् । त्यसमध्ये अहिले ४० घारमा मौरी छन् । दिनेशले वर्षको दुई पटक जेठ र मङ्सिरमा मौरीको मह निकाल्ने गर्नुभएको छ ।

गत कात्तिकदेखि हालसम्म एक सय ३५ बोत्तल मह बिक्री भइसकेको दिनेशले जानकारी दिनुभयो । “फोनबाट सम्पर्क गर्दै ग्राहक घरैमा आइपुग्छन् । कहिलेकाहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ । महबाट आउने आम्दानीले नै छ जनाको परिवार चलिरहेको छ”, दिनेशले भन्नुभयो, “आगामी दिनमा थप घार विस्तार गर्ने योजना छ । काठका लागि स्थानीय सामुदायिक वनसँग कुरा गरिसकेको छु ।” मह काढ्ने समय भएपछि दिनेश तस्वीर र भिडियोसहित आफ्नो सम्पर्क नम्बर फेसबुकमा राख्नुहुन्छ । ग्राहक त्यही सम्पर्क नम्बरमार्फत मह किन्न पुग्छन् ।

मध्यपहाडी राजमार्गको मुढेबाट करिब पाँच मिनेटमाथि रहेको दिनेशको घर पुग्ने कच्ची सडक बनिसकेको छ । व्यावसायिक मौरी पालनका लागि दिनेशले पुरानो घरको पर्खालमा दश खोपा घार र नयाँ घरमा २० वटा खोपा घार बनाउनुभएको छ । “घर बनाउने क्रममै काठको खोपा बनाएर पर्खालमा लहरै मिलाएर राख्नुपर्ने हुन्छ । डुँड घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राख्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ । शौचालयको पर्खाललाई समेत खोपा घारको रुपमा उपयोग गरेको छु । लेकाली भेगमा हुने मौरीले आधुनिक घारभन्दा यसैलाई रुचाउँछ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नूनथलास्थित गैरीगाउँ पुगेका बेला घरको भित्ता र काठको डुँडमा मौरीपालन गरेको देखेपछि आफूले पनि सुरु गरेको दिनेशले बताउनुभयो । नूनथलामा देखेपछि आफ्नो घर बनाउने क्रममा आफूले पनि सोहीअनुसार घरको भित्तामा खोपा घार र काठको डुँड बनाएर मौरीपालन सुरु गरेको उहाँले बताउनुभएको छ । व्यावसायिक मौरीपालनका लागि सीप सिक्न गोदावरीसम्म पुगेको दिनेशले जानकारी दिनुभएको छ ।

“मावली घरमा देखेर त्यस्तै खालको घार बनाएँ । नभन्दै मौरी आफै घार खोज्दै आएर बस्यो । मौरी बढ्दै गयो । अरु काम गर्न उत्साह जगायो”, उहाँले भन्नुभयो, “धोद्रो भएको रुख काटेर घार थप गर्दै गएँ । अहिले यसैबाट गुजारा चलिरहेको छ । दातृ निकायको सहयोग पाए थप विस्तार गर्ने योजनामा छु ।”

लालीखर्कस्थित दिनेशको घरभन्दा केहीमाथि घना जङ्गल छ । जङ्गलमा चुत्रो, चिराइतो, पात्ले, मान्द्रे, ठेकीफललगायत मौसमी फूल फुल्छन् । त्यही कारण पनि दिनेशलाई मौरी पालनका लागि सहज भएको छ । पछिल्लो समय मौरी पालनका लागि जताततै आधुनिक घार प्रयोगमा आइसकेको छ तर, दिनेशले हालसम्म आधुनिक घार प्रयोग गर्नुभएको छैन । लेकमा आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको दिनेशले बताउनुभयो ।

अहिले सरकारी अनुदान लिनेको कमी छैन । दिनेशले भने हालसम्म कहीँकतैबाट अनुदान लिनुभएको छैन । आफ्नै बलबुतामा मौरीसँग रमिरहनुभएको छ । “नक्कली किसानले अनुदान पाउँछ, अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ । समूह बनाएर आउनु भनियो, त्यसपछि गइनँ”, दिनेशले भन्नुभयो, “अनुदानको सही सदुपयोग भइरहेको छैन । मौरी पालनलाई थप विस्तार गर्ने योजना छ । तीस वटा खोपा घार हुने गुवाली बनाउने योजना बनाएको छु ।”

चार वर्षअघि मुढेमा हिमपात हुँदा दिनेशको ३६ घार मौरी सखाप भएको थियो । मौरी नै नरहेपछि कतिपय घार चिरेर दाउरा पोल्नुभएका दिनेशले घार सफा गरेपछि पुनः आफै मौरी आएको बताउनुभयो । बुबा भारतीय सेनाबाट अवकाश भए पनि दिनेशले उहाँको पदचापलाई पछ्याउनु भएन, कृषि पेसातिर लम्किरहनुभयो । दिनेशका बुबा मानबहादुर तामाङको गत वर्ष नै मृत्यु भइसकेको जनाइएको छ ।