`

‘बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंक’ : मुख्यमन्त्री केदार कार्की

मोरङ, २४ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंकमार्फत विकासको कार्यलाई तीव्रता दिइने बताउनुभएको छ ।

 प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै  आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका उहाँले प्रदेश बनाउनका लागि यस्तो योजनाका साथ सरकार अघि बढेको बताउनुभएको हो ।

 मुख्यमन्त्री कार्कीले कामको गतिलाई तीव्रता दिई जनतालाई विकासको अनुभूति  गराएर प्रदेशमा समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारको उद्देश्य पूरा गर्न कर्मचारीले दबाब र प्रभावमा नपरी कार्य गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिनुभयो ।

 प्रदेश योजना आयोगले वित्तीय अनुशासन कायम गरी बैंकको नीति पालना गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रदेशसभा सदस्यले रु २५ लाखभन्दा कमका योजना बजेटमा समावेश नगर्न अभिमुखीकरण कार्यक्रम  गरिने प्रतिबद्धता मुख्यमन्त्री कार्कीको थियो ।

भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले केन्द्रमुखी र नेतामुखी  योजना नराखी निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले किफायती रुपमा विकासका योजना सम्पन्न गर्न बैंक सहयोगी हुने चर्चा गर्दै बहुवर्षीय वा क्रमागत योजना चार वर्षमा सम्पन्न गर्नेगरी व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले आयोजना बैंकको कार्यविधि कार्यान्वयनमा आएको जानकारी दिँदै स्रोतलाई अधिकतम प्रयोग गरी सुशासन कायम गर्न सहयोग पुग्ने विचार राख्नुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बैंकमार्फत गरिने कार्यले विकासको लक्ष्य आम जनसमुदाय समक्ष पुग्ने विश्वास व्यक्त्त गर्नुभयो । आइटि विज्ञ डा गणेश गौतमले आयोजना वैंकको कार्यपत्र प्रस्तुत गर्दै आयोजनाको तथ्यपरक मूल्याङकन, नवीनतम् प्रविधिको प्रयोग, समयको बचत तथा प्रदेशको विकासको रणनीतिमा महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिनुभयो ।अभिमुखीकरणमा प्रदेशका सबै मन्त्रालयका सचिव, महाशाखाका निर्देशक लगायतका कर्मचारीको सहभागिता रहेको छ ।

एलपिएल : घोडाघोडी सेमिफाइनलमा

कैलाली, २४ मङ्सिर : धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा घोडाघोडी क्रिकेट एकेडेमी समूह ‘सी’बाट सेमिफाइनल पुगेको छ । यसअघि समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल पुगिसकेको छ ।

आज भएको खेलमा गरुडा नगरपालिकालाई छ विकेटले पराजित गर्दै घोडाघोडी सेमिफाइनलमा पुगेको हो । घोडाघोडी अहिलेसम्म अपराजित रहेको छ । गरुडासहित आयोजक लिटल फ्लावर स्कुल र सुदूर पश्चिमाञ्चल एकेडेमी पहिलो चरणबाटै बाहिर भएका छन् । 

खेलमा गरुडा नगरपालिकाले दिएको एक सय २९ रनको लक्ष्य घोडाघोडीले १७ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍ यो । घोडाघोडीका ओपनर विपिनविक्रम शाही र टेक रावतले ९३ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तयार गरे । विपिनले ३९ बलमा छ चौका र तीन छक्का मद्दतले ५५ रन बनाए भने टेकले २९ बलमा तीन चौका र दुई छक्का मद्दतले २५ रन बनाए । कृष कार्कीले अविजित १५ तथा निशान्त बुढायरले अविजित १० रन बनाए । 

गरुडाका बलर डब्लु मलिकले तीन तथा नितेश यादवले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको गरुडा नगरपालिकाले २० ओभरमा सबै विकेट गुमाएर एक सय २८ रन बनायो । गरुडाका लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए । सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए । 

‘प्लेयर अफ दी म्याच’ घोषित घोडाघोडीका बलर भूपेश जोशीले पाँच विकेट लिए । उनले चार ओभरमा मात्र १३ रन खर्चिए । सञ्जय बोहरा, अशोक धामी र नरेश सुनारले एक÷एक विकेट लिए । 

सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुल बीचको आजको दोस्रो खेल भने लिटल एन्जल्स टोली अनुपस्थित हुँदा खेल हुन सकेन । समूह ‘डी’ मा रहेको सत्यवतीले खेल नखेलेता पनि दुई अङ्क पाएको छ । सत्यवतीको दुई खेलमा चार अङ्क भएको छ । 

प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता रहेको छ । 

पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि छ लेनको बन्ने


तनहुँ, २४ मङ्सिर – पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म छ लेन सडक हुनेछ ।

सडकको चौडाइ ४६ मिटरका हुने मुग्लिन–पोखरा सडक आयोजना(पश्चिम खण्ड)का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिनुभयो । राजमार्गको पश्चिम खण्डमा बाह्र वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्र्भड निर्माण हुनेछ ।

मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा काम भइरहेको छ । पूर्वी खण्डमा ३८ प्रतिशत काम भएको छ भने पश्चिम खण्डमा जम्मा १२ प्रतिशत काम भएको छ । पूर्वी खण्डमा ४१दशमलव४५ किलोमिटर र पश्चिम खण्डमा ३८दशमलव८८ किलोमिटर दूरीमा निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । भित्ता कटिङ्ग,सडक चौडा, वाल, कल्र्भड र पुल निर्माण लगायत काम पनि भइरहेको छ ।

पश्चिम खण्डमा यस कारण ढिलाइ-पश्चिम खण्डमा धेरै बजार क्षेत्र परेकाले खानेपानी तथा विद्युत्को पोल र तार हटाउन नसकिएका कारण निर्माण कार्यमा ढिलाइ हुन गएको हो । पूर्वी खण्डभन्दा पश्चिम खण्डमा करिब छ महिना ढिलो गरी काम सुरु गरिएको हो । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा निर्माण कम्पनीले कम जनशक्ति परिचालन गरेका कारणले पनि सोचेअनुरुप प्रगति हुन नसकेको इञ्जिनीयर पौड्यालले बताउनुभयो ।

उक्त सडक खण्डमा निर्माण हुने चार लेन सडकमध्ये जामुनेबाट कुम्लेखोलासम्म कालोपत्र गर्न लागिएको छ । कालोपत्रका लागि ग्राबेल विच्छाउन थालिएको छ । करिब एघार किलोमिटर दूरी दुई लेनको भए पनि यस आर्थिक वर्षमै कालोपत्र गर्ने लक्ष्य रहेको छ ।

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । विसं२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौतामा उल्लेख छ ।

पितृको सद्गतिका लागि महादीपदान गर्न पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड

काठमाडौँ, २४ मङ्सिर : दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ । पशुपतिनाथलगायत देशभरका शिवालयमा अहिले बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालिएको छ । मङ्सिर २५ गते सोमबार बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ ।

यसका लागि आज बिहानैदेखि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएका छन् । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।यस पर्वका लागि कोषले पशुपतिनाथको पूर्वी ढोकाअघिको वाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राखिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

कोषले पशुपति क्षेत्रमा पर्याप्तमात्रामा धारा र शौचालयको व्यवस्था पनि गरेको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । पर्वका अवसरमा कोषले रोपेको बिरुवा नमास्न, ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न कोषले भक्तजनसँग आह्वान गरेको छ ।

इजराइल र हमासबीचको युद्धले गाजापट्टीमा स्वास्थ्यमाथि विनाशकारी प्रभाव: डब्लुएचओ प्रमुख

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले इजराइल र हमासबीचको युद्धले गाजापट्टीमा स्वास्थ्यमाथि विनाशकारी प्रभाव परिरहेको आइतबार बताउनुभएको । संयुक्त राष्ट्रसङ्घीय ऐजेन्सी डब्लुएचओले प्यालेस्टिनी क्षेत्रमा स्वास्थ्य अवस्थाबारे छलफल गर्नका लागि डब्लुएचओ कार्यकारी बोर्डको विशेष सत्र बोलाएको छ । छलफलमा डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ‘असम्भव’ कामको सामना गर्ने चिकित्सकहरूसँग गाजामा बिग्रँदै गएको स्वास्थ्य प्रणालीबारे जानकारी दिनुभयो ।

“स्वास्थ्यमाथि द्वन्द्वको प्रभाव विनाशकारी छ”, जेनेभामा भएको बैठकको प्रारम्भमा उहाँले भन्नुभयो, “धेरैभन्दा धेरै मानिस साना साना क्षेत्रमा गइरहँदा भीडभाड, पर्याप्त भोजन, पानी, आश्रय र सरसफाईको कमीले रोग फैलिने स्थिति उत्पन्न भइरहेको छ ।”

टेड्रोसले महामारीसम्बन्धी रोगका चिन्ताजनक लक्षणहरू रहेको भन्दै बिग्रँदै गएको अवस्था र चिसोको अवस्थाले जोखिम अझ बढ्ने आशङ्का रहेको उल्लेख गर्नुभयो । “गाजाको स्वास्थ्य प्रणालीले घुँडा टेकेको छ र ३६ अस्पतालमा १४ ले मात्र कुनै पनि क्षमताका साथ काम गरिरहेका छन्, तीमध्ये दुई वटा मात्र तटीय क्षेत्रको उत्तरमा छन्”, उहाँले भन्नुभयो ।

उहाँले अस्पतालहरूमा तीन हजार पाँच सय शय्यामध्ये एक हजार चार सय शय्या अहिले पनि उपलब्ध रहेको बताउनुभयो । उहाँका अनुसार दक्षिणी गाजाका दुई प्रमुख अस्पतालले आफ्नो शय्या क्षमताभन्दा तीन गुणा अधिकमा काम गरिरहेका छन् । आपूर्ति सकिँदै गइरहेको छ र हजारौँ विस्थापितलाई ती अस्पतालले आश्रय दिइरहेका छन् ।

हमासका लडाकूहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको इजराइली अधिकारीहरूले बताएका छन् । इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १७ हजार सात सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेड्रोसका अनुसार डब्लुएचओले अक्टोबर ७ पछि गाजा र कब्जा गरिएको पश्चिम किनारमा स्वास्थ्य सेवामा चार सय ४९ भन्दा धेरै हमला र इजराइलमा स्वास्थ्य सेवामा ६० हमला भएको पुष्टि गरेको छ ।

“स्वास्थ्यकर्मीको काम असम्भव छ र उनीहरू सिधै हमलाको निशानामा छन्”, टेड्रोसले भन्नुभयो, “संक्षेपमा भन्दा स्वास्थ्य आवश्यकताहरू नाटकीयरूपमा बढेको छ र स्वास्थ्य प्रणालीको क्षमता पहिलाको तुलनामा एक तिहाइले कम भएको छ, शारीरिक तथा मानसिकरूपमा थकित भएका स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न डब्लुएचओ गाजाको मैदानमा छ र अकल्पनीय अवस्थामा उनीहरूले आफ्नो उत्कृष्ट काम गरिरहेका छन् ।” टेड्रोसले निष्कर्ष निकाल्दै भन्नुभयो, “शान्तिबिना कुनै स्वास्थ्य छैन र स्वास्थ्यबिना कुनै शान्ति छैन ।”

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड


काभ्रेपलाञ्चोक, २४ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८० अन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरस्थित कुन्तामा आज आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्छ र नागरिकको जीवनस्तर सबल बनाउँदै जानुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले लोकतन्त्रको संस्थागत विकास गर्दै यसका प्रणालीलाई सही ढङ्गले अघि बढाउन सुझाव दिँदै सरकारले जनतामा निरासा आउन नदिने गरी काम गर्न सुझाव दिनुभयो । “अर्थतन्त्र बलियो नहुँदा जनतामा निरासा छाएको देखियो, यसमा सरकारलगायत सबै पक्षले अब आ–आफ्नो दायित्वप्रति गम्भीर हुनुपर्छ”, उहाँले थप्नुभयो । 

अध्यक्ष ओलीले उद्यमशीलतामा जोड दिए रोजगारीका अवसर आफैँ सिर्जना हुने भएकाले यसप्रति जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रोजगारी हैन, उद्यमशीलता प्रमुख विषय हो, उद्यमशीलताले रोजगारी सिर्जना गर्ने हो, यसरी अरूलाई पनि रोजगारी दिन सकिन्छ ।” उहाँले इन्द्रावती नदीको पानी टनेलमार्फत ल्याई मण्डनदेउपुर र पाँचखालको फाँट हराभरा बनाउन सकिने तथा यस भेगका युवामा आफूले खेलकुदमा आकर्षण देखेकाले ‘मल्टिपरपोज’ खेल मैदान निर्माण गर्न सकिने बताउनुभयो । 

अध्यक्ष ओलीले कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण हुनुपर्ने उल्लेख गर्दै प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्ने बताउनुभयो । “अन्य व्यवसायलाई निर्वाहमुखी हैन, विकासमुखी र परिवर्तन गर्नेगरी अघि बढाउनुपर्छ”, उहाँको तर्क थियो । उहाँले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताउँदै देश र जनताको स्वाभिमानलाई झुक्न नदिने गरी उत्साहजनक ढङ्गले यात्रा अघि बढिरहेको जनाउँदै खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले युवा पलायन भइरहेको वर्तमान अवस्थामा कृषियोग्य जमिनमा उपजका लागि सिँचाइ र चिस्यान केन्द्र व्यवस्थापन गर्न सके देशको जनशक्ति रोक्दै जान सकिने धारणा राख्नुभयो ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरूरु, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायत नेताहरु, प्राविधिक तथा विज्ञ सम्मिलित टोली सङ्कल्प यात्रामा हुनुहुन्छ । 

बैतडीको झुलाघाटबाट यही मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आउँदो पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा

काठमाडौँ, २४ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।यहाँस्थित इस्लिङ्टन कलेजले साइबर सुरक्षा र डिजिटल फोरेन्सिकसम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सुरक्षा अनुसन्धान हब उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताउनुभयो । रु साढे दुई करोड लगानीमा स्थापना गरिएको यो साइबर सुरक्षा अनुसन्धान हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको कलेजको दाबी छ ।

“सूचना तथा प्रविधिको विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्वपूर्ण बन्दै गएको छ । यससँग सम्बन्धित क्षेत्रको सुरक्षा अहिले विश्वभर ठूलो चुनौतीको विषय बन्दै गएको छ”, मन्त्री शर्माले भन्नुभयो, “व्यक्तिगत तथ्याङक सुरक्षादेखि मुलुकको सार्वभौम अक्षुण्ण राख्नेसम्मको काम महत्वपूर्ण बन्दै गएका छन् ।”

सूचना प्रविधि आफैँमा उदाउँदो क्षेत्र भएको र त्यसमा अझ साइबर सुरक्षा महत्वपूर्ण भएको उहाँको भनाइ छ । मन्त्री शर्माल भन्नुभयो, “तपाईंहरुलाई थाहा नै छ, हामीले नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेका छौँ । सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुनसक्ने आक्रमणबाट सुरक्षित रहन साइबर सुरक्षा नीति जारी गरिएको हो ।”

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० ले नौवटा रणनीति अघि सारेको मन्त्री शर्माले उल्लेख गर्नुभयो । सोही अनुसार आफूहरु साइबर सुरक्षासम्बन्धी कानुनी र संरचनागत व्यवस्थामा जुटेको उहाँको भनाइ छ । मन्त्रालयमा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा निर्माण भइरहेको जानकारी दिँदै उहाँले साइबर सुरक्षाका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढाइएको बताउनुभयो ।

साइबर सुरक्षा नीतिले जनचेतनामा पनि जोड दिएको र साइबर सुरक्षाका लागि अतिसंवेदनशील सूचना प्रविधि पूर्वाधार घोषणा गरेर त्यसको संरक्षण गर्ने नीति कानुनबाटै व्यवस्थित गरिने उहाँको भनाइ थियो । सूचना प्रविधिले सिमानारहित डिजिटल अर्थतन्त्रमा जोड दिने र मुलुक भूपरिवेष्टित हुँदा पनि असर नपर्ने भएकाले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने एकमात्र क्षेत्र नेपालका लागि सूचना प्रविधि नै हुने उहाँले स्पष्ट गर्नुभयो ।

आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै आएको र मन्त्रालय परिसरमै सेक्युरिटी अप्रेसन सेन्टर (सक) स्थापना गरेर जिआइडिसी र जी क्लाउडमा होस्टिङ भएका सरकारी प्रणालीको २४ घण्टे अनुगमन सुरु गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । त्यसपछि सरकारी सूचना प्रणालीमाथि आक्रमणका घटनामा पनि कमी आएको उहाँको भनाइ थियो ।

साइबर सुरक्षा विषय नेपालकै विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने सरकारको लक्ष्य रहेको बताउँदै मन्त्री शर्माले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थाले साइबर सुरक्षा विषयमा स्नातकोत्तर तहका लागि पाठ्यक्रम तयार गरिरहेको समेत बताउनुभयो ।

झापामा बिक्री भएन डेरीको घ्यू, बङ्गलादेशमा निकासीको वातावरण बनाइदिन माग

झापा, २४ मङ्सिर : दुग्धजन्य उत्पादन घ्यूको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा मौज्दात रहन गएको छ । घ्यू बिक्री नभएपछि व्यवसायीहरुले नौनी घ्यू भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।

कोशी प्रदेशका दुई ठूला डेरी उद्योग रितिका र एनएमसी डेरी उद्योगले आफ्नो चिस्यान केन्द्रमा रु ५० हजार केजी नौनी घ्यू जम्मा भएको जनाएका छन् । व्यवसायीहरुका अनुसार बिगत नौ महिनादेखि घ्यूको बिक्री घटेको छ । जसले गर्दा किसानले बेलैमा दुधको भुक्तानी उद्योगबाट पाउन छाडेका छन् भने दूधको मूल्य पनि घटेको छ ।दूधको बिक्रीमा समस्या आएपछि कोशी प्रदेश डेरी एशोसिएशनले प्रदेशभर कच्चा दूधको मूल्यप्रति लिटर रु १० का दरले घटाएको छ । डेरी उद्योगले सातामा कम्तीमा एक दिन ‘मिल्क होलिडे’को माग गरेका छन् । यसको सोझो असर दूध उत्पादन किसानलाई परेको छ ।“उत्पादन बढेको बढ्यै छ तर बिक्री भने घटेको छ । बिक्री घटेपछि यहाँका डेरी उद्योग सङ्कटमा परेका छन्”, नेपाल डेरी एशोसिएशनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले भन्नुभयो, “भारत र बङ्गलादेशमा निकासीको वातावरण बनाइयोस् भनेर हामीले सरकारलाई दबाब दिइरहेका छौँ ।” भारत र बङ्गलादेशमा नेपालमा उत्पादित दूध, नौनी घ्यू र छुर्पीको बजार राम्रो भएको जनाउँदै उपाध्यक्ष चिमरियाले सरकारले अनुदान दिएर भए पनि दुग्धजन्य उत्पादनलाई विदेश निकासीको बाटो खोल्नुपर्नेमा जोड दिनुभयो ।बिगतमा भारतमा दुध र छुर्पी निर्यात हुने गरेको थियो । कोशी प्रदेश सरकारबाट घ्यू, पाउडर दूध र छुर्पीको विदेश निकासीका लागि घाटापूर्ति अनुदान दिने प्रतिबद्धता आएको र सो प्रतिबद्धता कार्यान्वयनमा आए डेरी उद्योगको हालको समस्या समाधान हुने उहाँको भनाइ छ ।चिमरियाले झापाको मेचीनगर–१२ मा सञ्चालन गरेको रितिका डेरी उद्योगमा मात्रै हाल ३० हजार केजी नौनी घ्यू थुप्रिएको छ । उहाँको डेरीमा हाल २२ हजार लिटर कच्चा दुध दैनिक खपत हुने गरेको छ । सङ्कलित कच्चा दुधलाई प्रशोधन गरेर प्याकेटमा बिक्री गरिँदै आइएको छ । दूधबाहेक नौनी र खारेको घ्यू, छुर्पी, पनिर र मिठाइ उत्पादन गरी उद्योगले बजारमा लैजाँदै आएको उहाँले बताउनुभयो ।चिमरिया परिवारले रु २५ करोड लगानी गरेर स्थापना गरेको उक्त उद्योगमा हाल ८६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने गाईपालन गरिरहेका पाँच हजार पाँच सय किसानहरु जोडिएका छन् । उद्योगका साना र ठूला गरी कोशी प्रदेशभर एक हजार पाँच सय बिक्री कक्ष छन् ।बिक्री घट्दा किसानहरुलाई दिइने दूधको नियमित भुक्तानीमा समेत असर परेको छ । रितिका डेरीले बिगतमा आधा महिनामै किसानको भुक्तानी गर्दै आएकोमा हाल एक महिनादेखि भुक्तानी गर्न सकिरहेको छैन । किसानहरुको रु पाँच करोड भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।दैनिक १५ हजार लिटर कच्चा दूध सङ्कलन गर्दै आएको मेचीनगर–८ स्थित एनएमसी डेरी उद्योगमा पनि १५ हजार केजी नौनी घ्यू थुप्रिएको उद्योगले जनाएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित भएकाले किसानको दूधको मूल्य नियमित तोकिएकै समयमा भुक्तानी दिइरहेको उद्योगले जनाएको छ ।आठ वर्षअघि सहकारीको रु १५ करोड लगानीमा यो डेरी स्थापना भएको थियो । उद्योगमा हाल छ हजार पाँच किसान जोडिएका छन् । उद्योगले प्रशोधित दूध, दही, नौनी र खारेको घिउ, पनिर, मिठाइलगायत उत्पादन गर्दै आएको छ । “उत्पादनहरु बिक्री नहुँदा समस्या आउने नै भयो,” एनएमसी डेरी उद्योगका व्यवस्थापक नवराज अधिकारी भन्नुभयो, “घ्यू बिक्री बढाउन प्रयास गरिरहेका छौँ । बिक्री बढ्न थालेको पनि छ ।”हाल यी दुवै उद्योगले घ्यूको बिक्री बढाउन मूल्य घटाएका छन् । बिगतमा प्रति केजी रु नौ सयसम्ममा बिक्री भएको नौनी घ्यू अहिले रु सात सय ५० मा बिक्री भइरहेको छ । एनएमसी डेरीले हालै प्रतिकेजी रु सात सयका दरले सर्वसाधारणलाई घ्यू बिक्री गरेको थियो । रितिका डेरी उद्योगले दूध सङ्कलनकर्ता साना व्यवसायीलाई घ्यू दिएर गाउँमा बिक्री गर्न पठाउने गरेको छ भने एनएमसी डेरीले ठूलो सङ्ख्यामा रहेका कर्मचारीलाई सहुलियत दरमा घ्यू किन्न प्रोत्साहित गरिरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री बस्नेतको निर्देशन


काठमाडौँ, २४ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले नवनियुक्त बोर्डका अध्यक्ष डा गुणराज लोहनी तथा सदस्यहरू डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नवनियुक्त अध्यक्ष र सदस्यलाई निर्देशन दिनुभयो । मन्त्रालयले बीमा कार्यक्रम प्राथमिकता राखेको भन्दै उहाँले बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आसन्न अधिवेशनबाट टुङ्ग्याउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडौँ, २४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई आसन्न संसद् अधिवेशनबाट टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर गम्भीर मानवअधिकार उल्लङ्घन पीडितहरुको राष्ट्रिय सञ्जालले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले आउँदो अधिवेशनमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो ।

राष्ट्रिय सहमतिका आधारमा उक्त विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउन आफूले अथक प्रयास गरिरहेको जानकारी दिँदै उहाँले सकेसम्म सहमति नभए प्रक्रियामा गएर भए पनि टुङ्गोमा पुगिने बताउनुभयो । “संसद्को अधिवेशन चल्ने बित्तिकै यसलाई टुङ्ग्याइनेछ”, उहाँले भन्नुभयो, “विधेयकका विषयमा सहमति नभए प्रक्रियाबाट पनि टुङ्ग्याइन्छ ।

” विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा यही मङ्सिर ५ गते सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का शीर्ष नेतासँग आफूले गम्भीर छलफल गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो छलफलमा सङ्क्रमणकालीन विषयलाई टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको बताउनुभयो ।

“पीडितको चाहना यस प्रक्रिया छिटो अगाडि बढोस् भन्ने छ, सरकारको पनि सोही भावना छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कुनै खालको अन्योल र आशङ्कामा रहनुपर्ने अवस्था छैन, देशभित्र राष्ट्रिय सहमति बनोस् भन्नका लागि सिंहदरबार र बालुवाटारमा राजनीतिक दलप्रति लगातार छलफल भयो । यसबाट एक खालको वातावरण बनेको छ ।” सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई निष्कर्षमा पुर्‍याउन अन्तरराष्ट्रिय माहोल पनि अहिलेसम्मकै राम्रो बनेको उहाँको भनाइ छ । यसपटक आफू प्रधानमन्त्री भए बित्तिकै शान्ति प्रक्रिया टुङ्ग्याउने विषयलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै उहाँले भन्नुभयो, “पीडित पक्ष र राजनीतिक दलहरु पनि सहमतिबाटै यस विषयलाई टुङ्गोमा पुर्‍याउनुपर्छ भनेर एकै ठाउँमा पुगेको अवस्था छ ।

यो आफैँमा नयाँ उपलब्धि हो ।” नेपालको शान्ति प्रक्रिया देशभित्रको मात्रै मुद्दा नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभा र ‘साइडलाइन’ वार्तामा पनि आफूले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी गराएको बताउनुभयो । “यो निकै नै मौलिक प्रकृतिको छ, विश्वकै निम्ति उदाहारणीय हुन सक्छ, यसलाई स्थापित गर्न पनि अन्तरराष्ट्रिय समुदायले ढिला गर्न हुँदैन भनेको छु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले अन्तरराष्ट्रिय मूल्यमान्यता, सर्वोच्च अदालतको आदेशलाई आधार मानेर तथा पीडितको पक्षमा रहने गरी अगाडि बढिने दोहोर्‍याउनुभयो । उहाँले सरकारको प्रमुखमात्र नभई विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्तासमेत भएको नाताले यसलाई टुङ्ग्याउने र पीडितलाई खुसी बनाउने आफ्नो विशेष जिम्मेवारी रहेको बताउनुभयो ।

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ, २४ मङ्सिर : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि सोमबार बस्दैछ । बैठकमा आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।

विशेषगरी राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयले जनाएको छ । बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने छ ।

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला


काठमाडौँ, २४ मङ्सिर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताउनुभएको छ । आज यहाँ आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ) को ३३औँ वार्षिकोत्सव तथा ‘इमर्जिङ च्यालेन्ज अफ कन्सल्टिङ फम्र्स’ विषयक कार्यक्रममा उहाँले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखे मात्रै मुलुकको आर्थिक समृद्धि हासिल हुने बताउनुभयो ।

पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न समस्या देखिँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको मन्त्री ज्वालाको भनाइ थियो । “निर्माण क्षेत्रमा अनेकौँ समस्या र चुनौती छन् । समयमा काम सुरु नहुने, प्रक्रिया पूरा गर्न ढिलो हुने, सुरु भइसकेका आयोजनामा समयमा काम नसकिने, प्रशासनिक तथा कानुनी झन्झटलगायत छन्”, उहाँले भन्नुभयो, “पूर्वाधारको विकासबाटै समृद्धिको ढोका खुल्छ भन्नेमा हामी स्पष्ट छौँ । वार्षिक नीति कार्यक्रम र बजेटमा जे प्रतिबद्धता सरकारले जनाएको छ, त्यसको पालनामा हामी प्रतिबद्ध छौँ ।”

नेपालमा दिगो प्रकृतिको पूर्वाधार निर्माणका लागि गर्नुपर्ने सुधारबारे सरकारलाई सुझाव दिन मन्त्री ज्वालाले सबैलाई आग्रह गर्नुभयो । निर्माण क्षेत्रमा देखिएका नीतिगत, कानूनी, प्रशासनीकलगायत झन्झट हटाउन सरकार जिम्मेवार भएर लाग्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

विकास निर्माणका काममा परामर्शदाता कम्पनी (कन्सल्टेन्सी) को महत्त्वपूर्ण भूमिका रहेपनि यस्ता कम्पनीलाई इजाजतपत्र दिन कानुनी समस्या रहेकाले नयाँ ऐन ल्याएर सम्बोधन गर्ने तयारीमा सरकारका रहेको मन्त्री ज्वालाको भनाइ थियो । परामर्शदाता सेवासँग सम्बन्धित विधेयकको मस्यौदा तयार हुनेक्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले परामर्शदाता कम्पनीलाई विश्वास गरेर सबै पूर्वाधार निर्माणमा जोड्ने गरेको बताउनुभयो । उहाँले कामको गुणस्तर र समयमा आयोजना सक्ने कुरामा भने सधैँ चुनौती रहने गरेको बताउनुभयो । आयोजनाको काम समयमा सम्पन्न गर्न परामर्शदाता कम्पनी पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । परामर्शदाता कम्पनीले भोगिरहेका समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको शर्माले बताउनुभयो ।

पूर्वाधार आयोजनाको गुणस्तर कायम गर्ने सन्दर्भमा परामर्शदाताको मुख्य भूमिका रहने उल्लेख गर्दै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले परामर्शदाता कम्पनीबीच पर्याप्त प्रतिस्पर्धाको वातावरण नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो । परामर्शदाता कम्पनीले अहिले गरिरहेका काममा सुधार गर्नुपर्ने धेरै विषय रहेकाले सरकार र सम्बन्धित निकायले यसमा ध्यान पु¥याउनु पर्ने उहाँको भनाइ थियो ।

स्काफका अध्यक्ष टुकलाल अधिकारीले पूर्वाधार निर्माणका क्षेत्रमा मरामर्शदाता कम्पनीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । नेपालका कन्सल्टेन्ट कम्पनी सङ्गठित भएको तीन दशकभन्दा बढी समय वितिसकेको भन्दै अहिले विभिन्न अन्तर्राष्ट्रिय फोरममा पनि आवद्ध भइसकेका उहाँले जानकारी दिनुभयो ।

दैनिक पाँच मेट्रिकटन उत्पादन गर्ने गरी हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने

मकवानपुर, २४ मङ्सिर : दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ । बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

बागमती प्रदेश सरकारको रु ४७ करोड ५० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० शिशौघारीमा केही वर्ष अगाडि धुलो दूध उत्पादन आयोजना स्थापना गरिएको थियो । आयोजनाका लागि बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ जिल्लाका कृषकबाट गरी दैनिक ६० हजार लिटर दूध कृषकबाट खरिद गर्ने योजना रहेको बोर्डले बनाएको छ । प्रदेश सरकारले बोर्डलाई चाँडो धुलो दूध उत्पालन गर्न जिम्मेवारी दिएको थियो ।

व्यावसायिक धुलो दूध उत्पादन गर्न आवश्यक प्राविधिक कर्मचारी र मजदुर नियुक्त गर्न केही समय पर्खिनु परेकाले काममा ढिलाइ भएको बोर्डका कार्यकारी निर्देशक प्रजिता ज्ञवालीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट उत्पादित धुलो दूध स्वदेशलगायत विदेशमा पनि निर्यात गरिने छ । आयोजना सञ्चालन हुँदा प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब ४० व्यक्तिले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र अस्पताल भर्ना

मनहरी (मकवानपुर), २४ मङ्सिर : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना हुनुभएको छ । उहाँलार्ई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना हुनुभएको हो ।

प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा उहाँलाई निमोनिया पनि देखिएको फुुयाँलले जानकारी दिनुभयो । 

उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन


काठमाडौँ, २४ मङ्सिर : एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिनुभयो ।

समितिले अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने उहाँले बताउनुभयो । संयोजक शर्माले आवश्यक कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग समेत छलफल गरी राय सुझाव पेस गरिने बताउनुभयो । 

समितिले एनसेलको शेयर खरिदबिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समिति समक्ष उपलब्ध गराइ अनुसन्धानमा सहयोग गर्न सम्पूर्णमा आह्वान गरेको छ । 

समितिको सचिवालय सिंहदरबास्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको छ । सरकारले यही मङ्सिर २१ गते एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा, प्रचलित कानुनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प छैन : अध्यक्ष ओली


त्रिशूली (नुवाकोट) २४ मङ्सिर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

‘समृद्धिको लागि सङ्कल्प यात्रा–२०८०’ को क्रममा शनिबार राति नुवाकोट आइपुग्नुभएका अध्यक्ष ओलीको आज आइतबारसम्मको नुवाकोट बसाईमा ‘सन्देश सभा’ लाई सम्बोधन तथा सरोकारवालासँगको अन्तरक्रियामा दुई छिमेकी राष्ट्र चीन र भारतसहित संसारका सबै देशसँग मित्रवत् व्यवहार अपनाउनुपर्ने बताउनुभयो ।

“हामी असंलग्न परराष्ट्र नीति अपनाउछौँ । कतैतिर ढल्कदैनौँ । कसैको स्वार्थमा कुद्ने छैनौँ । हाम्रो परराष्ट्र नीति स्पष्ट छ ।” उहाँले भन्नुभयो, “हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन् । तर, ती सबै मित्र राष्ट्रबाट मित्रवत व्यवहार पाउनुपर्छ ।”

अध्यक्ष ओलीले पोखरा र लुम्बिनी विमानस्थल आफ्नो अग्रसरतामा चिनियाँ सरकारको सहयोगमा तयार गरेको दाबी गर्दै अहिलेको सरकारले सञ्चालनमा ल्याउन नचाहनु चिनियाँ लगानी निरुत्साहित बनाउन खोजेको होकी भन्ने लागेको गुनासो गर्नुभयो । पार्टीको केन्द्रीय पदाधिकारीसहित पुष्पलाल (मध्यपहाडी) राजमार्गको स्थलगत भ्रमणमा रहनुभएका अध्यक्ष ओलीले ‘अपेक्षाअनुसार काम नभएको’ भन्दै वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्ने आरोप लगाउनुभयो । “काम गरेको केही देखिएन । उहाँले भन्नुभयो, “सरकारको सेवा प्रवाहको अवस्था कमजोर छ भन्ने लागेको थियो । राजमार्गको निर्माणमा भएको ढिलाईले थप पुष्टि भयो ।”

पुष्पलाल (मध्यपहाडी) राजमार्गको पश्चिम नेपालको बैतडीस्थित झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्याङसम्मको भ्रमणमार्फत ‘सम्बन्ध स्थानीय ः सन्देश राष्ट्रिय’ दिन नेकपा (एमाले) केन्द्रित रहेको छ ।

बैतडीस्थित झुलाघाटबाट सुरु भएको यात्राको दशौँ दिन शनिबार नुवाकोट आइपुगेको अध्यक्षसहितको केन्द्रीय पदाधिकारीको समूहले जिल्लाको बट्टार र छहरे बजारमा आयोजित सन्देश सभालाई सम्बोधन, सरोकारवालासँग अन्तरक्रिया, भूकम्पले क्षति पु¥याए पश्चात पुनःनिर्माण हुन नसकेको नुवाकोटको सात तले दरबार क्षेत्रको अवलोकनसहित आजै सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ । 

‘कांग्रेसका गतिविध जनतामा पुर्‍याउन ‘नेपाल पुकार’को भूमिका महत्वपूर्ण’:सभापति देउवा


पाटन (ललितपुर) २४ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकार पत्रिकामार्फत कांग्रेसका गतिविधि जनतासम्म पुग्ने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रिका लोकार्पणका अवसरमा सभापति देउवाले जनताले सो पत्रिकामार्फत कांग्रेसबारे जानकारी हासिल गर्न सक्ने बताउनुभयो

“नेपाल पुकार जनतामा लोकप्रिय हुनेछ भन्ने विश्वास छ । यो पत्रिका पढ्नेले नेपाली कांग्रेसबारे जानकारी प्राप्त गरी कांग्रेसबारेमा आफ्नो धारणा बनाउने छन् । यसले पार्टीका गतिविधिहरु जनतासमक्ष पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, सभापति देउवाले भन्नुभयो ।

त्यस अवसरमा पार्टी उपसभापति तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अहिले नेपालमा सुशासनको राजनीतिको खडेरी परेको अवस्थामा नेपाल पुकारको नयाँ अङ्क सुशासन विशेषाङ्कका रुपमा आउनुपर्ने धारणा राख्नुभयो । “अहिले सुशासनको राजनीतिको खडेरी परेको अवस्था छ । यो अवस्था सुशासनका बिषयमा केन्द्रित रहेर अर्को अङ्क आउनुपर्छ । चुनावमा जिताइ देउ भन्ने मात्रै हाम्रो मिसन होइन, सुशासन पनि हाम्रो मिसन हो । यसका लागि हामीले संस्कार र राजनीति प्रवृत्तिमा बदल्न आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले गरिबी, रोग, भोक र अशिक्षा हाम्रो प्रमुख शत्रु हो भन्ने आधारमा अगाडि बढ्नुपर्छ भन्दै नेपाली राजनीतिलाई सुदृढीकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

कांग्रेस महामन्त्री गगन थापाले कुशासनले नागरिक आजित भएको भन्दै नेपाल पुकारले यसका पात्र, प्रवृत्ति र घटनाको चित्रण गर्दै जनतामा सही सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

“नेपाली कांग्रेस समुन्नतिबारे जनतामा जानकारी प्रवाह गर्न चाहन्छ । नेपाली कांग्रेसले गरेका हरेक काम जनतामा पु¥याउन पत्रिकाले महत्वपूर्ण काम गर्ने छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो, “हामीले यो पत्रिका पार्टीको स्रोतबाट विज्ञापन नराखेरै चलाउन चाहेका छौँ । यसले सार्थकता पाउन नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।”

पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेसको वैचारिक सन्देश प्रवाह गर्न यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास राख्नुभयो । पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रचारप्रसार विभागका पूर्वप्रमुख मीनेन्द्र रिजाल, नगरपालिका महासङ्घका तर्फबाट निलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गाना, प्राध्यापक पुरुषोत्तम दाहाललगायतले सो अवसरमा धारणा राख्नुभएको थियो । 

द्वन्द्वकालका घटनाको छानबिन सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्त अनुरूप हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालमा भएका मानव अधिकार उलङ्नका घटनाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको कामलाई सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्त अनुरूप प्रभावकारीरूपमा कार्यान्वयन गरिने बताउनुभएको छ ।

 मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ती आयोगसम्बन्धी कानुनमा विद्यमान कानुनमा परिमार्जन र संशोधन गर्न सङ्घीय संसद्मा विधेयक पेश गरिएको जनाउनुभयो ।

मानवअधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायको साझा उपलब्धि र आधारभूत मापदण्डको रूपमा लिइएकाले सबै प्रकारका अधिकारहरूलाई नेपालको संविधानमा प्रत्याभूत गरिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी महासन्धिद्वारा व्यवस्था गरिएका सबै प्रावधानलाई सम्मान गरिने स्पष्ट पार्नुभयो ।

“लोकतन्त्रको स्थापनाका लागि नेपाली जनताले गरेको पटकपटकको सङ्घर्षको परिणामस्वरूप जननिर्वाचित प्रतिनिधिहरू रहेको संविधानसभाले निर्माण गरेको नेपालको संविधानले समावेशी लोकतन्त्रको अवलम्बन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएका र वञ्चितीकरणमा परेका उत्पीडित, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको अस्तित्वको पहिचान, स्वतन्त्रता, समानता र न्यायको प्रत्याभूतिका लागि समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेदको नीतिलाई आत्मसात गरेको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘राजनीतिक अधिकारको सन्दर्भमा समावेशी प्रतिनिधित्वको नीति सकारात्मक देखिए पनि अर्थपूर्ण सहभागिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको छ ।”

राज्यको साधनस्रोतको सीमितताका बाबजुद संविधानमा प्रत्याभूत गरिएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयनका विषय थप चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो दशकमा भएका ऐतिहासिक परिवर्तनबाट प्राप्त महत्त्वपूर्ण राजनीतिक उपलब्धिको जगमा मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण गरी विद्यमान वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैङ्गिक विभेद तथा असमानता अन्त्य गरी समतामूलक समाज निर्माण गर्न इमान्दार रूपले सत्प्रयास गर्नु सबैको कर्तव्य हो भन्नुभयो ।

सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सृजना गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति श्रृङ्खलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बन्न पुगेको बताउनुभयो ।

“विश्वका विभिन्न ठाउँहरूमा भइरहेका सशस्त्र सङ्घर्ष र युद्धका क्रममा महिला, बालबालिका र ज्येष्ठ नागरिक लगायतका गैरसैनिक सर्वसाधारण एवं घाइते तथा बन्दीहरूको आधारभूत मानवअधिकारको संरक्षणको सन्दर्भमा मानव अधिकारको विश्वव्यापी घोषणाको कार्यान्वयनको सान्दर्भिकता अझै टड्कारो बन्न पुगेको छ’’, प्रधानमन्त्री दाहालले भन्नुभयो ।


नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ड अर्यालले नेपालमा मानवअधिकारको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा परेका विषयमा ती तहका सम्बन्धित निकायको स्पष्ट जिम्मेवारीसहित पाँचौँ मानवअधिकार राष्ट्रिय कार्ययोजनाको तर्जुमा गरी संरचनात्मक माध्यमबाट कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । त्यसैगरी मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रमा नेपालले स्वीकार गरेका सिफारिस कार्यान्वयनको चरणमा रहेका उहाँको भनाइ थियो ।

 सन् १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा पारित  भएको थियो । 

पोखरामा अझै गुडिरहेका छन् बीस वर्ष पुराना सवारीसाधन

गण्डकी, २४ मङ्सिर : सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको एक दशक बित्न लाग्दा पनि त्यस्ता सवारीसाधन सञ्चालनमा पूर्ण रोक लागेका छैनन् । यान्त्रिक अवस्था ठिक नभएका (थोत्रा) सवारीसाधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका अनुसार प्रदेशमा दर्ता भई २० वर्ष नाघेका झण्डै चार सय सवारीसाधन सञ्चालित छन् । प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७६ ले समेत २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाए पनि कतिपय सवारी धनीले अटेर गरी सञ्चालन गरिरहेका यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो । सार्वजनिक सवारीसाधन २० वर्ष पुगेपछि अनिवार्य लगतकट्टा गरी दर्ता खारेज गर्नुपर्ने कानुनी प्रावधान रहेको उहाँले बताउनुभयो । 

“२० वर्षअवधि पुगेका सवारीसाधनको लगतकट्टा गर्न एक महिनाको समय दिएका छौँ, अब पनि त्यस्ता सवारीसाधन सञ्चालन गरेको पाइएमा सवारी धनीलाई कानुनअनुसार कडा कारबाही हुन्छ”, प्रमुख रिजालले भन्नुभयो ।

जिल्ला ट्राफिक कार्यालय, कास्कीका प्रहरी निरीक्षक भानु शर्माले सवारी चेकजाँचका क्रममा केही दिनअघि भेटिएको २० वर्ष पुरानो ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाहीका लागि यातायात कार्यालयमा पठाइएको बताउनुभयो । “कागजात हेर्दा चार÷पाँच वर्षसम्म पनि सवारीसाधन दर्ता प्रमाणपत्र नवीकरण नगरेका सवारीसाधन थुप्रै भेटिन्छन्”, उहाँले भन्नुभयो, “त्यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिई कानूनी कारबाही गर्ने गरिएको छ ।” 

पोखरामा २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउन जाँचमा कडाइ गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । यान्त्रिक हिसाबले सही अवस्थामा नरहेका धेरै पुराना सवारीसाधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढी हुने उहाँले उल्लेख गर्नुभयो । 

“पुराना सवारीसाधनबाट वायुध्वनी प्रदूषण पनि बढी हुन्छ । सवारी व्यवस्थापनमा पनि असहजता ल्याउँछ”, प्रहरी निरीक्षक शर्माले भन्नुभयो । कतिपय सवारी धनीले २० वर्ष अवधि पुगेका सवारीसाधन ग्रामीण भेगमा लगेर सञ्चालन गर्ने गरेकाले ती क्षेत्रमा पनि अनुगमन बढाउनुपर्ने उहाँको भनाइ थियो । 

मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले २० वर्ष पुराना सवारीसाधन सञ्चालन गरेमा विद्यमान ऐनमा भएको व्यवस्था अनुसार कारबाही हुने बताउनुभयो । “२० वर्ष नाघेका सवारीसाधन चलाउने, वर्षौँसम्म सवारीकर नतिर्ने र सवारीसाधन दर्ता प्रमाणपत्र नवीकरण नगर्ने सवारी धनीलाई कारबाहीको दायरामा ल्याउन मातहतका कार्यालयलाई पनि निर्देशित गरिएको छ”, उहाँले भन्नुभयो, “२० वर्ष पुराना सवारीसाधनले रुट इजाजत पनि पाउँदैनन्, नामसरी पनि हुँदैन ।”

कार्यालय प्रमुख रिजालले २० वर्ष नाघेका सवारीसाधनको लगतकट्टा गरी दर्ता खारेजीको प्रक्रियामा आउन सवारी धनीलाई अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा दर्ता भएका झण्डै तीस हजार सवारी धनीले सवारीसाधन कर, आयकर, रुट इजाजत शुल्कलगायत नियमानुसार लाग्ने शुल्कसमेत बुझाएका छैनन् ।

त्यस्ता सवारीसाधनबाट करिब ३५ करोड बक्यौता सवारीसाधन कर उठ्न बाँकी रहेको प्रमुख रिजालले बताउनुभयो । बक्यौता कर बुझाइ सवारीसाधन दर्ता प्रमाणपत्र नवीकरण गर्न सवारीधनीलाई सूचित गरिएको उहाँले बताउनुभयो । 

“अहिलेलाई एक महिनाको समय दिएर सवारीसाधन कर अनिवार्य बुझाउन सूचित गरिएको छ”, प्रमुख रिजालले भन्नुभयो, “सचेत गराउँदा पनि भएन भने सवारीधनीको नाम नै प्रकाशन गर्ने हाम्रो तयारी छ ।” उहाँले सवारीसाधन पुरानो भएर कवाडीमा गइसकेको भए पनि कार्यालयमा आएर बक्यौता कर बुझाइ अनिवार्य सवारीसाधनको लगतकट्टा गर्न सवारीधनीलाई आग्रह गर्नुभयो । 

“कतिपयको सवारीसाधन पुरानो भएर सञ्चालनमा नरहेको हुनसक्छ तर कर बुझाएको छैन भने सवारीधनीको नाममा बक्यौता रहिरन्छ, बर्सेनि जरिवाना पनि थपिन्छ”, कार्यालय प्रमुख रिजालले भन्नुभयो, “समयमै बिझाउनुपर्ने कर बुझाउन सेवाग्राहीलाई अनुरोध गर्दछौँ ।”

नेपालगञ्ज–कोहलपुर रत्न राजमार्गका पाँच ठाउँमा आकाशे पुल निर्माण अनिश्चित


जानकी (बाँके), २४ मङ्सिर : बाँकेको नेपालगञ्ज–कोहलपुर रत्न राजमार्गका पाँच ठाउँमा आकाशे पूल निर्माणको ठेक्का सम्झौता भएको छ । तर सडक विभागले निर्माणादेश नदिएका कारण सम्झौताअनुरूप आकाशे पूल निर्माण तीव्र गतिमा अघि बढ्न सकेको छैन ।

निर्माणका लागि सम्झौता भएको १३ महिना विते पनि निर्माण व्यवसायीले सम्झौताअनुरूप काम गर्न पाएका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन स्वीकृत नगर्दा आकाशे पूल निर्माण कार्यमा ढिलाइ भएको हो ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले पुलको ‘डिजाइन रिभ्यु’का लागि विभागको पुल महाशाखामा पठाएको बताउनुभयो । “फाइल पुल महाशाखामा थन्किएको छ । कहिले स्वीकृत हुन्छ यकिन छैन”, उहाँले भन्नुभयो । आकाशे पुल निर्माणका लागि २०७९ कात्तिकमा चितवनको भरतपुरस्ति डाइनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । प्रमुख शाक्यका अनुसार १५ महिनामामै काम सक्ने सहमति भएको छ । तर १३ महिना वित्दापनि सम्झौता कार्यान्वयन हुनसकेको छैन ।

मानवअधिकार दिवसमा राष्ट्रपति सहभागी

काठमाडौँ, २४ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेल मानवअधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सहभागी हुनुभएको छ ।

 सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संसदीय समितिका सभापति, सांसद, संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र नेपाल सरकारका विशिष्ट कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा ‘नेपालको मानवअधिकार यात्रा’ सम्बन्धी वृत्तचित्रको प्रदर्शनी गरिएको थियो ।

जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि

जाजरकोट, २४ मङ्सिर : गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गल्र्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो । आर्थिकरूपमा विपन्न त्रिपालकै सहारामा खुला आकाश मुनि अनेकन पीडालाई लुकाउदै बस्न बाध्य छन् ।

‘राज्यले भूकम्प पीडितलाई अवास निर्माण गर्न रकम निकासा दिइसक्यो, अब अस्थायी टहरा निर्माण मङ्सिरभित्र हुन्छ’ भन्ने भनाइ सार्वजानिक भए पनि पीडित परिवारको खास पीडामा अझै मल्हम लाग्नसकेको छैन । घाइतेका उद्धार तथा उपचारमा जुन गतिमा तीनै तहका सरकार लागेका थिए, सोही गतिमा अस्थायी आवास निर्माणको कामले गति लिन नसक्दा सर्वसाधारण समस्या छन् । संघीय सरकारले दिने भनेको रु ५० हजारसमेत दुई किस्तामा निकासा दिने भनेपछि झन् पीडितहरू हैरान भएका छन् । सो रकम लिन आउँदा र जाँदामात्र धेरै खर्च हुने अवस्था छ ।

गत कात्तिक २६ गते नै स्वीकृत कार्यविधिअनुसार संघीय सरकारले अस्थायी आवास निर्माण गर्नका लागि रु ५० हजार दिने र त्यसका लागि मापदण्ड तोक्दै तत्काल काम गर्न स्थानीय तहलाई भने पनि त्यो मापदण्डअनुसार काम भएको छैन । वडाबाट लागत सङ्कलन गरेको विवरण स्थानीय विपद् व्यवस्थापन समिति हुँदै जिल्लाको विपद् व्यवस्थापन समितिसम्म पुग्न तीनवटा भागमा जोडिनुपर्ने बाध्यता छ । कार्यविधिसमेत दुईपटक संशोधन हुँदा दुईपटक तथ्याङ्क सङ्कलनको काम स्थानीय तहले गर्नुपरेको छ । यसका कारण सरकारले दिने भनेको रकम अझै ढिला हुन गएको छ ।

नलगाड नगरपालिका–८ स्वाराकी ३१ वर्षीया विष्णु खत्रीको घर भूकम्पले चिराचिरा बनाएपछि खुला आकाशमा राखिएको त्रिपालमा बस्दै आउनुभएको छ । उहाँका श्रीमान्को दुई महिना अगाडि मात्रै शल्यक्रिया गरेका कारण चिसोले समस्या भएको छ । चिसोले गर्दा शल्यक्रिया गरेको उहाँको घाउ दुख्नेलगायतका समस्या देखा पर्न थालेको छ । उहाँले भन्नुभयो, “जब साँझ पर्न थाल्छ, शीतको थोपाले त्रिपाल भिजिहाल्छ । अनि चिसो सिधै भित्र आउँछ ।” यहाँको मुख्य बस्ती हल्चौरमा करिब चार सय ५० घरधुरी छन् । ठूलो बस्ती छ । परम्परागत तरिकाले निर्माण गरिएका घर ढुङ्गा, माटोले बनेका छन् ।

त्यस्तै नलगाड–१ कल्पतकै रविना नेपालीको घर भत्किएर अहिले खुला आकाशमा त्रिपालकै सहारामा बस्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएका कारण आफैँ तत्काल जस्तापाता किन्ने अवस्था छैन भने अर्को उधारो पाइने नजिक बजार पनि छैन । स्वयंसेवक आएर निर्माण गरिएका अधिकांश आवास काठको प्रयोग गरेरै बनाएका छन् । छानाबिनाका घर भएका कारण समस्या हुँदै आएको छ । बस्तीका धेरैजसो नागरिकका घर ढुङ्गामाटोकै थिए । जस्तापाता हाल्न सक्ने अवस्था भएका केही स्थानीयले टहरामा छानो पनि छाइसकेका छन् । तर नहुनेहरू भने टहरा ठडिए पनि हस्तान्तरण हुनसकिरहेका छैनन् । दिनानुदिन बढिरहेको चिसोले पालमुनिको बसाइ निकै कष्टकर बनिरहेको भए पनि राज्यले दिनुपर्ने अनुदान समयमा नदिँदा जस्तापातालगायत निर्माण सामग्री अभाव रहेको प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक बताउँछन् । त्रिपालमा बसेकालाई चिसो छेक्नका लागि न्यानो कपडा छैनन् । भूकम्पले प्रभावित बस्ती जाजरकोटको रावतगाउँ, रिम्ना, रुकुम पश्चिमअन्तर्गतका छेपारे, ज्यामिरेलगायतका बस्तीमा पुग्दा निर्माण गरिएका अस्थायी आवासमध्ये धेरैजसोको छानो नहुँदा काठ ठिङ्ग उभ्याएका छन् ।

रुकुम पश्चिम र जाजरकोटमा मात्रै ६० हजारभन्दा बढी अस्थायी आवास आवाश्यक पर्छ । तर अहिलेसम्म २० प्रतिशत पनि निर्माण हुन नसकेको सरोकारवाला बताउँछन् । यहाँ नेपाली कांग्रेस ,नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र )ले आवास निर्माण सहयोग गरिराखेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द विप्लव निकट नेकपा अन्य साना राजनीतिक दलले पनि आवास निर्माणमा सहयोग गरिरहेको देखिन्छ । यद्यपि दलहरूले बनाएका अस्थायी आवासको वास्तविक तथ्याङ्क न राजनीतिक दलसँग नै छ, न सरकारी निकायसँग ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ को छेपारे बैभन्दा बढी भूकम्पबाट प्रभावित बस्ती हो, यहाँ अहिलेसम्म नागरिक त्रिपालमै छन् । स्थानीय राधिका नेपाली भन्नुहुन्छ, “घरहरू पन्छाउने काम भएको छ, आवास कहिले निर्माण हुने हो कुनै पत्तो छैन । चिसोले मरिने हो कि भन्ने चिन्ता बढ्न थाल्यो ।”

आवास निर्माणभन्दा भग्नावशेष घरलाई पन्छाउने कार्यमा भने दलहरूले सक्रियताका साथ सहयोग गरिरहेको देखिन्छ । जाजरकोट र रुकुम पश्चिम दुवै जिल्लामा राजनीतिक दल र तीनका सङ्गठनले निर्माण गरेका अस्थायी आवासमध्ये अधिकांश छानोबिनाका छन् । जस्तापाता भएका घरमा त्यही जस्तापाताको प्रयोग गरेर छानो हाल्ने काम भए पनि नहुनेको टहराको छानो छैन । दलहरूले आवास निर्माणमा बाहिर प्रचार गरेजस्तै काम भएको भए यतिबेलासम्म आधाभन्दा बढी प्रभावित त्रिपालमुक्त भइसक्ने थिए । तर आवास निर्माण गरिएका स्थानका नागरिक पनि अपूर्ण आवासका कारण त्रिपालमै बस्न बाध्य छन् । प्रारम्भिक विवरणअनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ६० हजार बढी घरमा क्षति भएको छ ।

भूकम्पबाट धेरै प्रभावित नलगाड नगरपालिकामा तथ्याङ्क सङ्कलनको काम जारी छ । केही ठाउँमा सम्झौताका कामसमेत भइरहेको नगरप्रमुख डम्बरबहादुर रावतले बताउनुभयो । आफ्नो पालिकामा कसले कत्ति घर बनाए भन्ने कुनै तथ्याङ्क नभएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले सार्वजनिक गरेको जानकारीअनुसार हालसम्म शिवालय, छेडागाड, बारेकोटमा रकम पठाएको छ भने नलगाड आधा र भेरीमा पूरै रकम पठाउन दुई दिनसम्म लाग्ने जनाइएको छ । राहत वितरण कार्यसमेत सबैले आफूखुसी गरिरहेको देखिन्छ । कहाँ, कति आवश्यक हो भन्ने कुराको कुनै आधिकारिक तथ्याङ्क छैन ।

यहाँका विद्यालयमा टेन्ट निर्माण गरी अस्थायीरूपमा कक्षा सञ्चालनको काम हुँदै आएको छ । सुत्केरीदेखि बालबालिका हुँदै घरका सबै एकै ठाउँमा सुत्दा दैनिक जनजीवन कष्टकर हुँदै गएको छ । विभिन्न सङ्घसंस्थाले विद्यालयका अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएअनुसार काम गरिरहेका छन् । अस्थायीरूपमा निर्माण गरिएका विद्यालयमा अझै पूरै विद्यार्थी आउने सम्भावना कम छ ।

घरदेखि विद्यालयसम्म भत्किएका कारण विद्यार्थी अझै त्रासमा छन् । अधिकांश ठाउँमा भत्किएका र चिराचिरा परेका घर भत्काउने अवस्था छैन । सरकारले दिने रु ५० हजारभन्दा बढी घर पन्छाउन लाग्ने भएकाले समस्या भएको हो । भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले चिरा परेका र भत्किएका संरचना पूरै नहटाएसम्म रकम निकासा दिन नसकिने बताउनुभयो । पूरै संरचना हटाउनका लागि रु दुई लाखभन्दा बढी रकम खर्च गर्नुपर्ने हुन्छ कसरी सोही ठाउँमा बनाउनु पीडितहरू प्रश्न गर्दछन् ?

अर्घाखाँचीमा अनियन्त्रित भई ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँची, २४ मङ्सिर : अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिनुभयो । उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।

सिमकोटमा हिमपातले जनजीवन प्रभावित, लिमी आवतजावत बन्द


सिमकोट (हुम्ला), २४ मङ्सिर : हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ ।

स्थानीय उपेश भण्डारीले भन्नुभयो दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको बताउनुभयो । यस वर्ष हिउँदयाममा पनि हिल्सामा होटल व्यवसायी बस्दै आएका छन् भने साथै सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएका छन् । हिल्सामा बिओपी स्थापना भएसँगै केही वर्षअघिदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिदै आएको छ ।

पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो । जिल्लामा यतिबेला बिहान र रातिको समय तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ । चिसोमा सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

हिमपातले लिमी आवतजावत बन्द

गत सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ स्थित लिमी आवतजावत बन्द भएको छ । हिमालपारिको गाउँले चिनिएको लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेको जनाइएको छ । लिमीका स्थानीय निमा तामाङले बाक्लो हिमपातको कारण लिमी आवत जावत बन्द भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएको छ । लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम फोन भएको छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेकाले जानकारी दिनुभयो ।

लिमीका तिल, हल्जी र जाङ गाउँ छन् । स्थानीय हिमपातका कारण प्राकृतिक बन्दाबन्दीमा परेका छन् ।

सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए आगामी वैशाख–जेठसम्म लिमी आवत जावतमा समस्या हुने जनाइएको छ । हिउँद भर्खर सुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ । यसअघि नै गत कात्तिक अन्तिम साता लिमीको सुनखानीमा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सरिसकेको छ ।

राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु

काठमाडौँ, २४ मङ्सिर : राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।

पार्टी अध्यक्ष थापाद्वारा प्रस्तुत हुने सुशासनको माध्यमबाट आर्थिक समृद्धि सम्बन्धी राजनीतिक कार्यपत्र छ । कार्यसम्पादन समितिको हिजोको बैठकले कार्यपत्र परिमार्जनसहित अनुमोदन गरेको थियो ।

केन्द्रीय समिति बैठकबाट छलफलपश्चात मोर्चा निर्माण र आन्दोलनको तयारीबारेमा निर्णय गर्ने महामन्त्री बर्तौलाले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन हुने केन्द्रीय समिति बैठक भोलि दिउँसो काठमाडौँ उपत्यका भेलामार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’


बेनी, २४ मङ्सिर (रासस) : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो

संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मङ्सिरदेखि टनेल निर्माण सुरु भएर शनिबार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिनुभयो । उहाँका अनुसार हिमाली क्षेत्र र प्राकृतिक प्रकोपलगायत कारण आयोजनामा करिब २० महिनामात्रै नियमितरूपमा काम भएको छ । “आयोजनाको सबैभन्दा कठिन मानिने टनेल जोड्ने काम सकिएको छ, ड्यामसाइड र विद्युत्गृहमा समेत धमाधम काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

सत्तरी प्रतिशत निर्माण सम्पन्न भएको यस आयोजनामा आगामी आठ महिनाभित्र निर्माण सकेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा छ सय मिटर पेनस्टक टनेल रहनेछ । चार सय ९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने एक सय मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी छ ।

यस आयोजनामा अहिले करिब दुई सय २५ जना कामदारले नियमितरूपमा काम गर्दै आएका छन् । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ ।

यस आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्याएपछि आयोजनको निर्माणकार्य केही पछि धकेलिएको हो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर÷त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरिएको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ । आयोजना सम्पन्न गर्न करिब रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ ।

कानुन निर्माणमा सदन होइन, सरकार असफल : सांसद रायमाझी

काठमाडौँ, २४ मङ्सिर : राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गर्नुभएको छ ।सांसदसँग रासस संवादमा सार्वजनिक सुनुवाइ समिति र दिगो विकास समितिको सदस्यसमेत रहनुभएका सांसद रायमाझीले समितिको निर्णय कार्यान्वयन गर्न सरकारले अटेर गरेको अनुभव सुनाउनुभयो । “ संसदीय समितिको निर्णय कार्यान्वयन गर्न सरकारले नसुनेजस्तो गर्ने रहेछ”,उहाँले भन्नुभयो ।

उहाँका अनुसार कतिपय अवस्थामा दुवै सदनका समितिहरूले दिने निर्देशनमा दोहोरोपनाले अन्योल सिर्जना गरेको छ । “ एउटै विषयमा धेरै समितिले दोहोरो सुझाव दिइरहेका हुन्छन् । कुन विषयमा कुन समितिले कसरी सरकारलाई निर्देशन दिने पनि स्पष्ट छैन”, उहाँले भन्नुभयो, “एउटै विषयमा तीन–चारवटा समितिले बेग्ला–बेग्लै खालको निर्देशन जारी भएको छ । त्यसले गर्दा मन्त्रीहरूलाई पनि अन्योल र काम गर्न अप्ठयारो भएको हुनसक्छ ।”

राजनीतिसँगै चलचित्र निर्माण र व्यवसायसम्बन्धी अनुभव राख्नुहुने नेपाली कांग्रेसका नेता रायमाझीले विसं २०३६, २०४२ र २०४६ मा जेल जीवन बिताउनुभयो । विसं २०७४ मा राष्ट्रियसभा सदस्यका रूपमा निर्वाचित हुनुभएका सांसद रायमाझीको आगामी फागुन २० गते पदावधि सकिँदैछ । छ वर्षको लामो संसदीय अभ्यासबाट बिदा लिने समय नजिकिँदै गर्दा उहाँले भन्नुभयो, “म राजनीतिको सबैभन्दा ठूलो दोषबाट मुक्त भएर बिदा हुँदैछु ।”

राससको थप जिज्ञासामा सांसद राजयमाझीले स्पष्ट पार्दै भन्नुभयो, “राजनीतिक दलका नेता, नेतृत्व र सांसदको प्रवृत्तिमा दोष लाग्दै आएको छ । त्यो कङ्लक बोकेर जानुपर्ने अवस्था छैन मेरो जीवनमा । नेतृत्व र जनप्रतिनिधिले गर्ने अनियमतिता, भ्रष्टाचार, कर्मचारीको सरुवा गर्ने दोषबाट जोगिएको छु ।”

उहाँले संसदीय अभ्यासभित्र जनप्रतिनिधिलाई काम गर्दैनन् भन्ने आरोप लागिरहेको बेला आफूले विधायिकाको रूपमा प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । कांग्रेसका नेता एवं सांसद रायमाझीसँग सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिकाको अनुभव छ । आफ्नो पार्टी सरकारमा हुँदा पनि जनप्रतिनिधिका रूपमा सरकारलाई खबरदारी गर्न आफू कहिल्यै नचुकेको उहाँको भनाइ छ ।

“नेपाली कांग्रेस सत्तापक्ष हुँदा मचाहिँ प्रतिपक्षजस्तो भूमिकामा रहे”, उहाँले भन्नुभयो, “आफ्नै गठबन्धनको सरकारमा पनि सरकारले गरेका गल्ती औँल्याउने, सरकारलाई संविधानले दिएको बाटो मिचेर नहिँड्न पटक–पटक सचेत गराउने, अनियमितता र महँगी नियन्त्रण एवं नागरिकप्रतिको जिम्मेवारीबाट चुक्नहुन्न भन्ने विषय उठान गर्यौँ ।”

उहाँका अनुसार कानुन निर्माणमा सदन होइन, सरकार असफल भयो । सरकारसँगै राजनीतिक दल र जनप्रतिनिधिबाट कानुन निर्माणमा ध्यान केन्द्रित गर्न असमर्थ रहेको सांसद रायमाझीको बुझाइ छ । “कानुन निर्माण गर्ने कुरामा सरकारले टेबुल गर्नुपर्ने हो तर त्यसमा सरकार चुकेको छ । तर कुनै पनि राजनीतिक पार्टीले त्यतातर्फ त्यति चासो दिएनन् कि ?”, उहाँले भन्नुभयो, “प्रतिपक्ष हुँदा ती कुरा उठाउने तर आफू सरकारमा गइसकेपछि जिम्मेवारी पूरा गरेको देखिँदैन ।”

माथिल्लोे सदनले गरेको गैरसरकारी विधेयकको अभ्यासलाई स्मरण गर्दै उहाँले यस्ता विधेयक पास गर्न सरकारबाट असहयोग हुने आफ्नो अनुभव सुनाउनुभयो ।

“दुई वटामात्र गैरसरकारी विधेयक ल्यायौँ । तर वास्तवमा सत्तापक्षले गैरसरकारी विधेयक चाहँदैन । गैरसरकारी विधेयक ल्याउँदै आउँदा सरकारले आफ्नो ‘पर्फमेन्स’ कम भएको देख्ने डरले प्रोत्साहन गर्न सकेको अवस्था छैन”, उहाँले भन्नुभयो, “प्रतिपक्षलाई मात्र होइन, सत्तापक्षका सांसदलाई पनि सरकारले यस्ता विधेयक रोक्नका लागि पार्टीगत छलफलबिना किन ल्याएको भनेर प्रश्न गरिन्छ ।”

सांसद रायमाझीले प्रतिनिधिसभाका सांसदले राष्ट्रियसभाका असल संसदीय अभ्यासलाई सिक्दै अवलम्बन गर्नपर्ने सुझावसमेत दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाले तीनवटा विधेयक पास गर्दा प्रतिनिधिसभाले एउटा मात्र विधेयक पास गर्यो । हाम्रा अध्यक्षले तय गर्नुभएको समयमै बैठक सुरु हुन्छ । ११ बजेर एक मिनेटमा तय भएको बैठक सोही समयमा बस्छ, प्रतिनिधिसभाले यो सिक्नुपर्छ ।”

छ वर्षको संसदीय अभ्यासमा सधैँ सबै सांसद स्वतन्त्र नहुने उहाँको अनुभव छ । सांसदहरूलाई दलीय ह्वीप लाग्ने कारण भूमिका प्रभावकारी बनाउन चुनौती भएको उहाँ स्वीकार्नुभयो ।

“हामी पार्टीगत हिसाबले पनि आएका छौँ । संसदीय भूमिकासँगै पार्टीगत जिम्मेवारी छन् र पार्टीको ह्वीप पनि लाग्छ । अनियमितता, भ्रष्टाचार र सरकारले डेलिभरी नदिएको कुरामा बोल्न सक्छौँ तर कति कुरा पार्टीगत कुरालाई मान्नपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “राष्ट्रियसभाको आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सबै आउने सांसदहरू पार्टीको मतबाट आउने हुन् । यो सभा एक्लै गएर बैग्लै कुनामा बस्न सक्दैन । पार्टीका टिकट पाएर आएका जनप्रतिनिधिले मत पनि पार्टीगतरूपमा पाएर आउने हुँदा त्यहाँ सांसद सधैँ स्वतन्त्र हुन सक्दैन ।”

सांसद रायमाझीले सांसदको भूमिकाबाट बिदा भएपछि पनि लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउनमा आफ्नो समय व्यतित गर्ने बताउनुभयो । रासससँग आफ्नो आगामी योजना सुनाउँदै उहाँले भन्नुभयो, “लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउनमा केन्द्रित हुनेछु । सङ्गठन विस्तारको सिलसिलामा जनताको गुनासो सुन्ने र गाउँ जाने पनि गरिरहेको छु । जानेको कुरा आदान–प्रदान गर्ने कामलाई जारी राख्नेछु ।”

गण्डकी प्रदेशमा दर्ता भएका झन्डै ३० हजार सवारीसाधनको कर उठेन


गण्डकी-गण्डकी प्रदेशमा दर्ता भएका झन्डै ३० हजार सवारीसाधनका धनीले सवारीसाधन कर, आयकर, रुट इजाजत शुल्कलगायत नियमानुसार लाग्ने शुल्क नबुझाएको पाइएको छ । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीका अनुसार नयाँ तथा पुराना सवारीसाधनबाट विभिन्न शीर्षक अन्तर्गत करिब रु ३५ करोड बक्यौता उठ्न बाँकी छ ।

कार्यालय प्रमुख डिल्ली रिजालले बक्यौता कर बुझाई सवारीसाधन दर्ता प्रमाणपत्र नवीकरण गर्न सवारीधनीहरुलाई सूचित गरिएको बताउनुभयो । “अहिलेलाई एक महिनाको समय दिएर सवारीसाधन कर अनिवार्य बुझाउन सूचित गरिएको छ”, उहाँले भन्नुभयो, “सचेत गराउँदा पनि भएन भने सवारीधनीको नाम नै प्रकाशन गर्ने हाम्रो तयारी छ ।”

उहाँले सवारीसाधन पुरानो भएर कवाडीमा गइसकेको भए पनि कार्यालयमा आएर बक्यौता कर बुझाई अनिवार्य सवारीसाधनको लगतकट्टा गर्न सवारीधनीलाई आग्रह गर्नुभयो । “कतिपयको सवारीसाधन पुरानो भएर सञ्चालनमा नरहेको हुनसक्छ तर कर बुझाएको छैन भने सवारीधनीको नाममा बक्यौता रहिरहन्छ । बर्सेनि जरिवाना पनि थपिन्छ”, कार्यालय प्रमुख रिजालले भन्नुभयो ।

तिनुपर्ने सवारीकर तथा अन्य शुल्क नतिरी सवारीसाधन सञ्चालन गरेको पाइएमा कानुनअनुसार कडा कारबाही हुने कार्यालयले स्पष्ट पारेको छ । गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनको हकमा आव २०७५/७६ भन्दा अगाडिको बक्यौता करको जरिवाना पूरै छुट हुने व्यवस्था गरिएको कार्यालय प्रमुख रिजालले बताउनुभयो ।

कार्यालयले २० वर्षभन्दा पुराना सवारीसाधनको पनि अनिवार्य लगतकट्टा गर्न र त्यस्ता सवारीसाधन सञ्चालन नगर्न सवारीधनीलाई सूचित गरेको छ । २० वर्ष नाघेका सवारीसाधन सञ्चालन गरेको पाइएमा प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ अनुसार कारबाही हुने जनाइएको छ ।

चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

भरतपुर, २४ मङ्सिर : चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते हुनुभएको छ ।

तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । बेलेरोको ठक्करबाट गम्भीर घाइते हुनुभएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुनुहुन्छ । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिनुभयो । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र

काठमाडौँ-पशुपति क्षेत्र पहिलेको तुलनामा सफा हुँदै गएको छ । वाग्मती सफाइ महाअभियानको ५५२औँ हप्ताको सफाइका क्रममा यस्तो देखिएको अभियानकर्मीले जनाएका छन् ।महाअभियानको ५५२औँ हप्ताको कार्यक्रम पशुपति क्षेत्रको भष्मेश्वर घाट र पारिको राम मन्दिर क्षेत्रमा गर्दा सफाइको अवस्था पहिलेको तुलनामा राम्रो देखिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा आज भएको सफाइबाट शून्य दशमलव ७५ प्रतिशत नकुहिने फोहर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । विगत ११ वर्षदेखि गरिँदै आएको वाग्मती सफाइको क्रममा पशुपति आर्यघाटबाट निष्कासन हुने फोहर व्यवस्थापन गर्न ठूलो समस्या भोग्नुपरेको महाअभियानको अनुभव थियो । 

कोषले घाटमा निस्कने फोहरलाई व्यवस्थापन गर्न फलामको रेलिङ्ग राखी सिधै वाग्मती नदीमा  बगाउन निरुत्साहित गरिएको छ । नदीलाई दुषित हुनबाट जोगाउन कोषले गरेको कामको महाअभियानले प्रशंसा गरेको छ ।  

सफाइमा पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका पूर्वअध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालगायत कर्मचारी,  कोषका कर्मचारी, तिलगङ्गा महिला समूह, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, स्थानीय समाजसेवी एवं वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता थियो । 

चिसो बढेसँगै बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी, २४ मङ्सिर : चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन् । एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताउनुभयो । अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो ।

“यो बितेको सातादेखि नै अस्पतालमा बिरामी बढेका छन्, अहिलेका बिरामीमा श्वासप्रश्वास र हाडजोर्नी दुख्ने समस्याका बढी भेटिएका छन्”, उहाँले भन्नुभयो, “खासमा बढ्दो चिसोमा आवश्यक सावधानी र सम्भार नअपनाइँदा बिरामी बढ्ने गरेका हुन् ।” यस्ता बिरामीमा ग्रामीण बस्तीका वृद्धवृद्धा र महिला बढी रहेका जनाइएको छ

मौसमअनुसार खानपान अन्य आहारव्यहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाडजोर्नी दुख्ने र आँखाका बिरामी बढेका अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्री बताउनुभयो । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ । जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लाष्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुँवाले श्वासप्रश्वास र आँखाको समस्या बढाएको स्वास्थ्य कार्यालय महोत्तरीका निमित्त प्रमुख सुनिता गुप्ताले जानकारी दिनुभयो । जिल्लाको मध्य र दक्षिणी भेगमा यस्तो समस्या दलित र गरिबका झुपरबस्ती (पराले झुप्राका बस्ती)मा बढी देखिएको उहाँकोे भनाइ छ ।

चिसो बढेसँगै धुलो र धुँवाका कारण बढेको स्वास्थ्य समस्या आहारव्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । “हेर्नुहोस्, घरबाट निस्कनासाथ जताततै धुलो उडिरहेको देखिन्छ, तर आम नागरिक मास्क लगाउने गर्दैनन्”,स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भन्नुभयो, “यसले गर्दा श्वासप्रश्वाससँगै जटिल स्वास्थ्य समस्या बढ्ने गर्छन् ।” आहार, निद्रा, आन्तरिक र बाह्य सरसफाइ, श्रम तथा मौसमअनुसार लवाइ सन्तुलित गरे हम्मेसी कुनै स्वास्थ्य समस्या नआउने उहाँको भनाइ छ ।

यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, बिहान–बेलुका अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने स्वास्थ्य कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा बिहान–बेलुका जाडो छल्ने उपायका लागि काम गर्न स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । “क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयास महोत्तरीका अध्यक्ष प्रवीण कर्णले भन्नुभयो, “अहिलेको तदारुकताले पछि अप्ठ्यारो बेला व्यवस्थापन गर्न सजिलो हुन्छ ।”

मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ । यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै बागलुङकी चोलादेवी

गलकोट, २४ मङ्सिर : बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी हुँ । यसमा श्रीमान्को साथ र सहयोग पनि रहेको छ । ”

अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन् । उहाँले ले बाख्रापालनभन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको बताउनुभयो । उहाँले वर्षमा पाँच सय ५० किलोग्राम मह उत्पादन हुँदै आएको बताउनुभयो । “परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मौरी बिक्रीका लागि बजार पुग्न पर्दैन, भैरवस्थान मन्दिर दर्शनका लागि आएकाले खरिद गरेर लैजान्छन्”,किसान पाठकले भन्नुभयो, “४५ बाख्रासमेत पालेको थिएँ, तर बाख्रा पाल्न अलि धेरै खर्च हुनेरहेछ, अहिले १० वटामात्रै बाख्रा छन्, मौरीपालनमा चोखो आम्दानी छ, त्यसका साथसाथै तरकारी खेतीसमेत गर्दै आएको छु ।”उहाँले ससुराबुवा देवीप्रसाद पाठकले परम्परादेखि पाल्दै आउनुभएको मुडेघारको मौरीलाई तीन वर्षअघिदेखि व्यावसायिक बनाउन थाल्नुभएको हो । घरमा अझै पनि केही मुडेघार छन् । बाख्रापालनका लागि दुई सयवटा राइखन्यूका बिरुवा लगाइएको र आगामी दिनमा बाख्राको सङ्ख्यासमेत बढाउँदै लैजाने गरी आधुनिक खोर व्यवस्थापनसमेत गरिएको छ ।पचासवटा बाख्रा अट्ने गरी खोर व्यवस्थापन गरिएको पाठकको भनाइ छ । “बाख्रालाई भन्दा केही सहज छ मौरीपालन, मौरीपालनमा जोखिम भए पनि आम्दानी राम्रो छ, गत वर्ष रु एक लाख ५० हजारबराबरको अनुदानसमेत पाएको थिएँ”, उहाँले भन्नुभयो, “४५ घारबाटै वार्षिक रु छ लाख बढी कमाउन सकिनेरहेछ, त्यसैले बाख्रापालनमा भन्दा मौरीपालनमा बढी ध्यान दिन थालिएको छ, आगमी दिनमा एक सय मौरीका घार पुर्याउने हाम्रो परिवारको योजना छ ।”मौरीपालनलाई रोगबाट जोगाउन सकेमात्र पुग्ने उहाँको भनाइ छ । महिला अगाडि बढेर बाख्रापालन र मौरीपालनमा लाग्दा परिवारको राम्रो सहयोग मिलेको बताउँदै आयआर्जनका लागि महिला अग्रसर हुन आवश्यक रहेको पाठकको भनाइ छ । चार वर्षअघि कुश्मा पुगेर मौरीपालन तालिम लिएपश्चात मौरीपालनमा लाग्नुभएको पाठकले यसबाट राम्रो आम्दानी गर्न थालेपछि दङ्ग हुनुभएको छ ।अहिले प्रतिकेजी रु एक हजार दुई सयमा मह बिक्री भइरहेको बताउँदै पाठकले बजारको समस्या नरहेको जानकारी दिनुभयो । अग्र्यानिक मह उत्पादन गर्नसके बजारको चिन्ता लिन नपर्ने उहाँको भनाइ छ । उहाँको फार्ममा बलेवामै उत्पादन भएको बलेवा मौरीपालन उद्योगको आधुनिक घार र जसन घार भारतबाटसमेत निर्यात गरिएको छ । मौरीलाई चिसोबाट जोगाउन जस्ताको छाना लगाइएको मौरीपालक किसानको भनाइ छ ।कोट भैरव कृषि मौरी र पशुपक्षी फार्ममा गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले मह उत्पादन वृद्धि कार्यक्रमअन्र्तगत रु एक लाख ५० हजार अनुदानसमेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । उहाँले बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको बताउनुभयो ।

सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा

झापा, २४ मङ्सिर : अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०÷८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् ।

बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सिटीसी चिया निर्यातबाट करिब रु आठ अर्बको विदेशी मुद्रा भित्रिने आकलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले समयमै चियालाई चाहिने मलसहितका कार्यक्रम उपलब्ध गराएको छ । यसले उत्पादन पनि बढ्ने अनुमान छ । उत्पादन बढेसँगै निर्यात बढी स्वतः भइहाल्छ ।”

चिया क्षेत्रका विद्यमान समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने र सरोकारवालाले उठाएका सबैखाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई समेत समस्याको जानकारी गराउने उहाँले बताउनुभयो । गत वर्ष चिया निर्यातबाट मात्र नेपालमा रु तीन अर्ब ८० करोड रकम भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

चिया किसान हर्क तामाङले बोर्डले गरेजस्तो आकलनले काम नगर्ने बताउनुभयो । उहाँले बोर्डले कोठामा बसेर तथ्याङ्क तयार गर्ने, किसानका बगानसम्म पुगेर मूल्याङ्कन नगर्ने हुँदा यस्तो लक्ष्य लिनु स्वभाविक भएको बताउनुभयो । “बोर्ड अलैँचीपछि विदेशी मुद्रा ल्याउने चिया भन्छ”, उहाँले भन्नुभयो, “तर यही अवस्था रहने हो पाँच वर्षपछि चियाको बुट्टा भेट्न पनि गाह्रो होलाजस्तो छ ।”

सरकारले चियालाई कृषिको रूपमा सूचीकृत नगरेर उद्योगसरह विद्युतीय महसुल लगाउँदा सिँचाइमा समस्या, अक्सन बजारको अभावले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसक्नु मुख्य कारण रहेको उहाँको भनाइ छ ।

अखिल नेपाल ट्रेड युनियन केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाले चिया विकासको निम्ति बोर्डले अहिलेसम्म केही काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले उद्योगी, व्यवसायी, किसान, मजदुर कसैको समस्या समाधानमा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।

नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया क्षेत्रको समस्या समाधानमा राज्य उदासिन देखिएको आरोप लगाउनुभयो । उहाँले हालसम्म श्रम ऐनअन्तर्गतको कतिपय बगानका श्रमिकले ज्यालासमेत नपाइरहँदा बोर्डले समेत कानुन कार्यान्वयनमा समन्वय नगरेको गुनासो गर्नुभयो ।

नेपालमा २० हजार दुई सय ३७ हेक्टरमा चियाखेती लगाइएको बोर्डले जनाएको छ । त्यसमध्ये ९९ प्रतिशत उत्पादन कोशी प्रदेशमा भइरहेको छ । सत्तरी हजार नागरिकले रोजगारी पाइरहेको चियाका ३० वटा अर्थोडक्स र ३८ वटा सिटीसीका उद्योग सञ्चालित छन् । नेपाली चियाको मुख्य बजार भारत, चीन, श्रीलङ्का, रसिया, नेदरल्याण्डलगायतका राष्ट्रमा रहेको बोर्डको तथ्याङ्कले देखाएको छ ।

वीरगञ्ज भन्सारमा राजस्व छलीका दर्जनौं ट्रक, कारबाही गर्न आलटाल

काठमाडौं । वीरगञ्ज भन्सारस्थित ड्राइपोर्ट (सुख्खा बन्दरगाहा)मा राजस्व छली तथा कोटाविपरीत ल्याइएका ठुलो परिमाणका सुपारी, रक्सी, छोकडा र मरिच रहेको भए पनि कारबाही प्रक्रिया थालिएको छैन।

केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिच गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहँदा समेत उनीहरूमाथि छानबिन र कारबाही प्रक्रिया थालिएको छैन।

स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर कोटाविपरीत ल्याइएका झण्डै ४० ट्रक सुपारी, १० कन्टेनर अवैध रक्सी, ठुलो परिमाणका छोकडा, मरिच लगाएका माल सामानहरू गोप्य रूपमा राखिएका छन्।

भन्सार विभागले वीरगञ्ज भन्सारस्थित गोदाममा ठुलो परिमाणमा राजस्व छलीका तथा कोटाबिनाका सुपारी, रक्सी, छोकडा मरिच भएको बताउँदै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाए पनि छानबिन टोलीले अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको छैन।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले पाँच दिनअघि छानबिन टोली बनाइएको बताए पनि सो टोली हालसम्म फिल्डमा परिचालन हुन सकेको छैन। महानिर्देशक पौडेलले भने ती अवैध मालसामान बरामद प्रक्रिया थालिएको दाबी गरे। उनले भने– ‘अब आइतबारदेखि नै अनुसन्धान टोली फिल्डमा पठाएर कारबाही प्रक्रिया थाल्छौं। ’

महानिर्देशक पौडेलका अनुसार विभागले सार्वजनिक सूचना नै जारी गर्दै वीरगञ्ज भन्सारमा अवैध रूपमा राखिएका मालसामानको स्वघोषणा गरी प्रक्रियामा आउन दिएको सात दिनको समय सकिइसकेको छ । ‘हामीले दिएको समय सकियो, अटेर गर्नेमाथि अब कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ पौडेलले भने ।

महानिर्देशक पौडेलले वीरगञ्ज भन्सारमा ठुलो परिमाणमा तस्करीको सामानहरू रहेको जानकारी आए पनि ती सामानहरू के कति परिमाणमा छन् भन्ने सम्बन्धमा यकिन नभएको बताए ।

वीरगञ्जलगायत देशका अन्य विभिन्न भन्सार नाकाबाट अर्बौं मूल्यका सामग्रीहरू राजस्व छलेर बाहिर निकाल्न खोजिएको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

नदीजन्य निर्माण सामग्री अभावका कारण म्याग्दीमा सञ्चालित विकास आयोजना प्रभावित

म्याग्दी, २४ मङ्सिर : नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दीमा सञ्चालित विकास आयोजना प्रभावित भएका छन् । ढुङ्गा, गिट्टी र बालुवा आपूर्ति नहुँदा जलविद्युत्, सडक, प्रसारण लाइन, सडक पुल, सबस्टेशन, भवन, नदी नियन्त्रण, सिँचाइ, खानेपानीलगायत पूर्वाधार निर्माणका आयोजना प्रभावित भएका हुन् । सर्वोच्च अदालतले विसं २०७८ असार २८ गते कालीगण्डकीको बगरबाट नदीजन्य वस्तु उत्खनन र निकासी रोक्न आदेश दिएको थियो ।

गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, तनहुँ, नवलपुर, लुम्बिनीको पाल्पा र गुल्मी जिल्लाका स्थानीय तहले वार्षिक अर्बौं आन्तरिक आम्दानीको स्रोत गुमाउनुका साथै निर्माण सामग्री अभाव भएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्सका आयोजना व्यवस्थापक हरिश अग्रवालले नदीजन्य निर्माण सामग्रीको अभाव हुँदा काम प्रभावित भएको बताउनुभयो ।

“ठेक्का सम्झौताका क्रममा कालीगण्डकी नदीको सामग्री प्रयोग गर्ने उल्लेख छ । तर अदालतको आदेशका कारण तीन वर्षदेखि कालीगण्डकी नदीबाट सामग्री निकाल्न पाएका छैनौँ”, उहाँले भन्नुभयो, “यस वर्ष हामीलाई ५० हजार घनमिटर नदीजन्य कच्चा पदार्थ आवश्यक छ । गिट्टी, बालुवा र ढुङ्गा नपाउँदा सुरुङ, पावरहाउस र बाँध निर्माणको काम प्रभावित हुन थालेको छ ।”

आयोजना निरीक्षणका लागि शनिबार म्याग्दी आउनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग रघुगङ्गा जलविद्युत् आयोजना, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले नदीजन्य निर्माण सामग्रीका कारण निर्माणलाई गति दिन समस्या भएको जानकारी गराएका थिए ।

राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले ठेकेदारले ५० हजार घनमिटर बगर मागे पनि बेनी नगरपालिका क्षेत्रमा कालीगण्डकीबाहेकको बगरबाट १० हजार घनमिटरमात्र व्यवस्थापन गर्न सकिएको बताउनुभयो । नदीजन्य कच्चा पदार्थको अभावले निर्माणको अवधि लम्बिने र सम्झौताभन्दा बाहिरको बगरबाट नदीजन्य पदार्थ आयात गर्नुपर्दा लागत बढ्ने जोखिम बढेको छ ।

विसं २०६६ देखि निर्माण सुरु भएको राहुघाटको ६५ प्रतिशत भौतिक प्रगति छ । आगामी २५ महिनाभित्र राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाइएको छ । राहुघाटमात्र नभएर नेपाल सरकारको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, गण्डकी प्रदेश सरकारको गौरवको योजना शालिग्राम करिडोर, मुक्तिमार्ग सडक योजना र पुल आयोजना पनि कालीगण्डकीको नदीजन्य बगर उपभोग गर्न नपाउँदा प्रभावित भएका छन् ।

ऊर्जामन्त्री बस्नेत र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना निर्माण प्रभावित हुन नदिन वैकल्पिक स्रोतको पहिचान गरेर नदीजन्य निर्माण सामग्री आपूर्तिका लागि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कालीगण्डकी नदीको संरक्षणसँगै मापदण्डअनुसार व्यवस्थित, सुरक्षित उपभोगको वातावरण र नदीजन्य वस्तुको चोरी–निकासी नियन्त्रणका लागि पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौँ, २४ मङ्सिर : उपराष्ट्रपति रामसहायप्रसाद यादवले पछिल्ला वर्षमा मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित वाचा, प्रतिज्ञा, प्रतिबद्धता, मर्यादा र अधिकारमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।

पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले घोषणापत्रमा निहित मूल्य र अधिकारलाई सामूहिक कार्यका लागि दिशानिर्देश गर्ने सूत्रका रुपमा अङ्गीकार गर्न झनै आवश्यक रहेको बताउनुभएको छ ।

महामारी, द्वन्द्व, बढ्दो असमानता, नैतिक रुपमा सङ्कटग्रस्त वित्तीय प्रणाली, जातिवाद, जलवायु परिवर्तन आदिले सिङ्गो विश्वलाई नराम्ररी गाँजिरहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले मानवअधिकारको प्रत्याभूतिका लागि विश्वव्यापी घोषणापत्रको कार्यान्वयनमा थप क्रियाशील र ऐक्यबद्ध भई अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल मानवअधिकार र सामाजिक न्यायको प्रत्याभूतिमा क्रियाशील रहेको उल्लेख गर्दै उहाँले मुलुकमा विद्यमान सबैखाले अराजकता, असमझदारी, विकृति, विसंगति अन्त्यका लागि सम्पूर्ण देशवासी एकजुट अघि बढ्नुपर्ने बताउनुभयो । नेपालका केही क्षेत्र, भूगोल, वर्ग, समुदायलगायतले अझै पनि आफूको अधिकारको संरक्षण हुन नसकेको गुनासो गरिरहेको सन्दर्भमा त्यसको पहिचान गर्नु अहिलेको मुख्य दायित्व र कर्तव्य भएको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै आइएको छ । उपराष्ट्रपति यादवले नेपाल मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको पक्ष राष्ट्र पनि भएको उल्लेख गर्दै देशमा भइरहेको मानवअधिकारको संरक्षण कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

सबैको अधिकार क्षेत्रलाई थप फराकिलो बनाउनसके मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालको संविधानले मार्गदर्शन गरेका अधिकारको पूर्ण कार्यान्वयनमा अग्रसर हुन यस दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।

संसद्ले संवैधानिक आयोगसँग सहकार्य गर्दै आएको छ : सभामुख घिमिरे

काठमाडौँ, २४ मङ्सिर : सभामुख देवराज घिमिरेले नेपालको संसद्ले मानवअधिकार आयोगसहितका संवैधानिक आयोग तथा जागरुक नागरिक समाजसँग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य र समन्वय गर्दै आएको बताउनुभएको छ ।

सभामुख घिमिरेले संसद्ले मानवअधिकार तथा मौलिक हकको सुनिश्चितताको लागि नयाँ बन्ने कानुनहरू मानवअधिकारमैत्री ढङ्गबाट निर्माण गर्ने र बनिसकेका कानुनको संशोधन गर्दा मानवअधिकार मुखी अवधारणाका आधारमा गर्न पहल गरिरहेको स्मरण गराउनुभयो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस–२०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै संवैधानिक आयोगले मानवअधिकारका विविध विषयमा नागरिकलाई सुुसूचित पार्ने तथा न्यायको लागि पहल गर्ने कार्य गरिरहेको उल्लेख गर्नुभएको छ ।

“नेपाल पनि संयुक्त राष्ट्रसङ्घको सदस्य हुनका साथै मानवअधिकारसम्बन्धी कैयौँ महासन्धिहरूको पक्ष राष्ट्र पनि हो, नेपालको संविधानले नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम मानवअधिकारका विविध पक्षलाई समेटेको छ”, उहाँले भन्नुभएको छ ।

नेपालको मानवअधिकारको संरक्षण र संवर्द्धन र त्यसको प्रभावकारी कार्यान्वयनको मुख्य अभिभारा बोकेको संवैधानिक निकायको रूपमा राष्ट्रिय मानवअधिकार आयोग रहेको र आजको ऐतिहासिक दिनमा आयोगमा पर्याप्त स्रोतको उपलब्धता, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधारको व्यवस्थापन, सिफारिस कार्यान्वयनमा सहयोग, मानवअधिकारप्रति परम्परागत सोचजस्ता चुनौती सामनाका लागि सहकार्य गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । “यही बीचमा मानवअधिकार आयोगले आफ्नो स्थान ‘क’ श्रेणीमा राख्न सफल भएको छ, यो हामी सबैका लागि खुसीको कुरा हो”, सभामुखको सन्देशमा भनिएको छ ।

प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानवअधिकार घोषणा पत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप यो दिवस मनाउने गरिएको हो । यस वर्ष मनाइने ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस ‘भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मूल विषयसहित नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ ।

पालमुनि १ हजारभन्दा बढी भूकम्पपीडित बिरामी

जाजरकोट । भूकम्पले घर भत्केपछि भेरी–२ का बिर्खबहादुर कार्कीको परिवार त्रिपालमा बास बस्न थालेको महिना दिन भइसक्यो । तर, अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत अझै पाएका छैनन् । त्यसैकारण चिसो भुइँमै रात बिताउनु परिरहेको कार्कीको गुनासो छ । सरकारले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार दिने निर्णय गरेको थियो । जसअनुसार पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार दिने सरकारको निर्णय छ । तर, केन्द्र सरकारले उक्त रकम निकासा गरिसके पनि स्थानीय तहहरूले वितरणमा ढिलासुस्ती गरिरहेको पीडितहरूको भनाइ छ ।

राहत पाउन स्थानीय तहहरूले भूकम्प प्रभावितको लाभग्राही फारम भर्न लगाएका थिए । रकम निकासाका लागि बंैक खाता पनि खोल्न लगाएका थिए । यी प्रक्रिया पूरा गरिसके पनि राहत रकम पाउन नसकेको पीडितहरूको गुनासो छ । ‘सरकारी रकम आउला र टहरा बनाउला भनेर कुर्दा कुर्दै महिना दिन बितिसक्यो,’ कार्की भन्छन्, ‘दिन प्रतिदिन चिसो बढिरहेको छ । रात काट्न मुस्किल छ । परिवारको बिजोग छ । तर, स्थानीय तहले रकम निकासा गर्न अनावश्यक ढिलासुस्ती गरिरहेका छन् ।’

भेरी–३ थाप्लेका किरणकुमार भण्डारीले भूकम्पबाट भत्केको घरको भग्नावशेष पनि हटाउन सकेका छैनन् । उनको घर भाडामा लिएर नापी कार्यालय बसेको थियो । भूकम्पले घर भत्किएसँगै दैलेख निवासी अमिन एलिना भण्डारी र उनका भाइ प्रवल शाहीको ज्यान गएको थियो । अस्थायी टहरा बनाउनका लागि भण्डारी पनि सरकारी अनुदानको पर्खाइमा छन् । तर, उक्त रकम निकासी नहुँदा त्रिपालमा बसिरहेको परिवारको बिजोग भएको उनको भनाइ छ । ‘अनुदान पाएको भए टहरा बनाएर बस्न हुन्थ्यो,’ भण्डारी भन्छन्, ‘कहिले पाइने हो, टुँगो छैन । फारम भर्ने काम गरेकै एक साता भइसक्यो ।’ अनुदान रकम दिन आनकानी गर्ने भए बरु सरकारले नै टहरा बनाइ दिएको भए पनि जीवनयापन सजिलो हुन्थ्यो भन्ने उनको भनाइ छ ।

भूकम्प प्रभावितलाई अनुदान दिन सरकारले प्रक्रिया सरल बनाएको दाबी गर्दै आएको छ । तर, स्थानीय तहले विभिन्न झन्झटिला प्रक्रिया अपनाएर अप्ठ्यारो बनाइरहेको पीडितहरूको गुनासो छ । लाभग्राही पहिचान गर्न र बैंक खाता खोल्न लगाएर राहत वितरणमा ढिलाइ गरिरहेको स्थानीयको गुनासो छ ।

खाता नभएकालाई नगदै रकम दिने सरकारले निर्णय गरे पनि स्थानीय सरकारले सबै लाभग्राहीलाई खाता खोल्न लगाएका छन् । खाता खोल्न बैंक जानुपर्ने, कतिपयको नागरिकता नभएको, घर भत्किएको प्रहरी मुचुल्का चाहिनेलगायतका प्रक्रियागत झन्झटका कारण अस्थायी आवासका लागि रकम वितरणमा ढिलाइ भइरहेको भेरी नगरपालिका–३ का भूकम्पपीडित हरिबहादुर बस्नेतले बताए । उनले जिल्ला बाहिर घर भएकालाई अनुदान नदिने गरी सरकारले बनाएको कार्यविधिले आफूहरू जस्ता पीडितलाई अन्याय भएको पनि बताए ।

भूकम्प गएको एक महिना बित्दा पनि क्षतिको पूर्ण विवरण आउन नसक्दा र लाभग्राही कायम गर्न नसक्दा पुनर्निर्माणका काम अघि बढ्न नसकेको सरकारी अधिकारीहरू बताउँछन् । यो समाचर अन्नपूर्ण पोस्टमा छ ।

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।

७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेद्का कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

सरकारले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेस हुन बाँकी आवधिक प्रतिवेदन साथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेस हुनेमा सरकार दृढ रहेको बताउनुभयो । 

प्रधानमन्त्री दाहालले मानवअधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आइएको छ । 

सहकारीलाई उत्पादनसँग जोडेर काम गर्नुपर्छ’: मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

रामपुर (पाल्पा) २३ मङ्सिर : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोडेर काम गर्नुपर्ने बताउनुभएको छ । पाल्पाको रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले सहकारीमा बचत गर्ने मात्रै नभई सेयर सदस्यलाई उत्पादनमूलक क्षेत्रमा कसरी लगाउन भन्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

सहकारीले धेरैलाई रोजगार दिएको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले अब रोजगारसँगै उत्पादनमा जोडिन सुझाव दिनुभयो । ठूला व्यवसाय सञ्चालन गरेर एकैपटक धेरैलाई रोजगार दिन सकियो भन्ने मात्र आर्थिक समृद्धि हुने उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा सहकारीका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले रामपुरको विकासका लागि यस सहकारीले सामाजिक क्षेत्रमा काम गरिरहेको बताउँदै पूर्वी पाल्पाको विकासका गतिविधिबारे जानकारी दिनुभयो ।

श्रेष्ठले रामपुर आर्यभन्ज्याङ सडक, रामपुर फाट सिँचाइ आयोजना, प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने, प्रदेशको चार वटा भौतिक नमूना सहरमध्ये रामपुर पनि छनोटमा परेकाले रामपुरलाई भौतिक सहरको नमूना सहर स्थापनाका लागि विस्तृत योजना बनाएर छिटो अगाडि बढाउन अनुरोध गर्नुभएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले छरिएर रहेका पुँजीलाई सहकारीले सङ्कलित उपयोग गरेको बताउँदै सहकारीमार्फत आयआर्जनका क्षेत्रमा रामपुर नगरपालिका हातेमालो गरेर काम गरेको उल्लेख गर्नुभयो ।

सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले छरिएर रहेको पुँजीलाई एकीकृत गरी झोलाबाट सुरु भएको सहकारी अहिले सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित नमूना सहकारीको रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।