`

बाध्य पारिए इजराइल एक्लै भए पनि खडा हुनेछ : प्रधानमन्त्री नेतान्याहु

Nepal One HD २८ वैशाख २०८१ १९:१९
विश्व

गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले ‘बाध्य’ पारिए इजराइल हमासविरुद्धको युद्धमा ‘एक्लै खडा’ हुने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी गाजा सहर रफाहमा इजराइलले लामो समयदेखि गरेको आक्रमणका लागि अमेरिकाले आक्रामक हतियार उपलब्ध नगर्ने बताएपछि नेतान्याहुले यस्तो टिप्पणी गर्नुभएको हो ।

“एक मात्र यहुदी राज्य इजराइलको प्रधानमन्त्रीका रूपमा म आज यहाँ जेरुसेलमबाट यहुदी नरसंहार स्मरण दिवसमा प्रतिज्ञा गर्दछु, यदि इजराइल एक्लै खडा हुन बाध्य भयो भने इजराइल एक्लै खडा हुनेछ”, नेतान्याहूले भन्नुभयो, “तर हामीलाई थाहा छ कि हामी एक्लो छैनौँ,  संसारभरका सभ्य मानिसहरूले न्यायपूर्ण उद्देश्यलाई समर्थन गर्छन्, हामी हाम्रा नरसंहारक दुश्मनहरूलाई हराउने छौँ ।”

उहाँले ८० वर्षअघि यहुदीहरू रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र उनीहरूको सहायताका लागि नआएको बताउनुभयो । “आजभन्दा ८० वर्षअघि यहुदी नरसंहारमा हाम्रो विनाश खोज्नेहरूविरुद्ध यहुदी जनता पूर्णरूपमा रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र हाम्रो सहयोगमा आएनन्”, मुलुकको वार्षिक यहुदी नरसंहार स्मृति दिवसलाई  सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आज हामी पुनः हाम्रो विनाशमा आएका दुश्मनहरूको सामना गरिरहेका छौँ, म विश्वका नेतालाई भन्छु कुनै पनि दबाब र कुनै पनि अन्तर्राष्ट्रिय मञ्चको कुनै पनि निर्णयले इजराइललाई आफ्नो रक्षा गर्न रोक्न सक्तैन ।”

नेतान्याहुले एक्लै खडा हुनुपरे एक्लै खडा हुने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक भएमा आफ्नै बलबुताले लड्ने बतउनुभयो ।

योम हासोह त्यस्तो दिन हो जुन दिन इजराइलले नाजी जर्मनी र यसका सहयोगीहरूद्वारा यहुदी नरसंहारमा मारिएका ६० लाख यहुदीको स्मृतिका रूपमा मनाउँछ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजामा द्वन्द्वको बीजारोपण भएको थियो । हमासको आक्रमणमा करिब दुई हजार पाँच सय लडाकूले गाजा पट्टीबाट इजराइलको सीमा पार गरेर सर्वसाधारणको हत्या गरेका थिए भने केहीलाई बन्धकसमेत बनाएका थिए । 

त्यसयता नै इजराइलले गाजा आक्रमणलाई नागरिक हताहत कम गर्ने प्रयास गर्दै हमास समूहलाई उन्मूलन गर्ने लक्ष्यका साथ हमासको पूर्वाधारलाई लक्षित गरेको बताएको छ ।   मे ५ मा हमासले रफाह सीमा क्रसिङ क्षेत्रबाट र विस्थापित प्यालेस्टिनीहरूले तम्बुमा शरण लिइरहेका क्षेत्र नजिकैबाट रकेट प्रहार गरेको थियो । हमासको आक्रमणले केरेम शालोम सीमा क्रसिङलाई लक्षित गरी चार सैनिकको ज्यान लियो । सबै गाजा सीमा क्रसिङमध्ये केरेम शालोम सबैभन्दा धेरै मानवीय सहायता ट्रकहरू ह्यान्डल गर्न सुसज्जित भए पनि आक्रमण भएदेखि क्रसिङ बन्द गरिएको छ ।

सीमा पार गर्ने हमासको नियन्त्रणले यसलाई इजिप्टबाट मानवीय सहायता वितरण अपहरण गर्न अनुमति दिएको छ । 

पछिल्लो समय रफाह छिमेकका बासिन्दाहरूले खान युनुस र अल–मवासीको तटीय क्षेत्रमा विस्तारित मानवीय क्षेत्रहरूमा खाली गर्न निर्देशन दिइएका फोन, एसएमएस सन्देश, एयर–ड्रप फ्लायरहरू र मिडिया प्रसारणहरू प्राप्त गरेका छन् ।  

गाजा–इजिप्ट सीमामा फिलाडेल्फी कोरिडोर भनेर चिनिने भूमिको शिविरमा रहेका विस्थापित प्यालेस्टिनीहरूलाई पनि खाली गर्न सन्देशहरू आएका थिए । सन् २००६ मा इजराइलले गाजाबाट अलग्गिएपछि हतियार तस्करी रोक्नका लागि यसलाई बफर जोनका रूपमा बनाएको थियो । तर सन् २००७ मा हमासले प्यालेस्टिनी अधीनस्थ क्षेत्रबाट हिंसात्मकरूपमा गाजाको नियन्त्रण खोस्यो । 

प्रतिक्रिया