`

मोरङमा हात्तीको आक्रमणबाट एकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) १८ मङ्सिर : मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेको जङ््गलमा हात्तीको आक्रमणमा परेर एक पुरूषको मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको आज मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । उहाँले लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर यात्रा गरिरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै निधन भएको उल्लेख गर्नुभयो ।

माझी लेटाङस्थित घरबाट बेलबारी लक्ष्मीमार्गको बजारतर्फ साइकलमा आउँदै गरेको बेला जङ्गली हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । बाटो हिँड्नेले जङ्गलमा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शव परीक्षणका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएका थिए । लेटाङ तथा भाउन्ने आसपासमा रातभर दुई दर्जनभन्दा बढी छावा (बच्चा) सहितको जङ्गली हात्ती देखापरेकाले स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जङ्गलतर्फ धपाउने काम गरेको यहाँका स्थानीयले बताएका छन् ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा केही दिनदेखि जङ्गली हात्तीको आङ्तक बढेको छ । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा उपद्रो मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् । सर्वसाधारणको घर भत्काइ दिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा जङ्गली हात्तीले मच्चाइरहेको मोरङ प्रहरीका प्रवक्ता दाहालले उल्लेख गर्नुभयो ।

हालसम्म मोरङ, झापा सुनसरी जिल्लामा जङ्गली हात्तीको आक्रमणमा परी एक साताभित्रमा चार जनाले ज्यान गुमाइ सकेका छन् । हात्तीको आहारा जङ्गलमा सकिएपछि मानव बस्तीतर्फ हात्तीले निशाना बनाउँदै आएको जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । उहाँले हात्तीले धनजनको क्षति पु¥याएपछि सुरक्षाको व्यवस्थापन गर्न सरकार समक्ष स्थानीयले माग गरेको उल्लेख गर्नुभयो ।

धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीको चेतावनी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिनुभएको छ । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पु¥याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्नुहुँदै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताउनुभयो । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री किरातीले धर्मनिरपेक्षताको विकल्प सोच्नै नसकिने बताउनुभयो । धर्मनिरपेक्षतामा सबै जातजाति र धर्मावलम्बीले समान रुपमा फुल्न पाउँछन् । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो”, उहाँले भन्नुभयो, “पुरानो व्यवस्था फर्काउने कसरत नगर्नुहोला, यो सम्भव छैन ।”

मन्त्री किरातीले हजारौँको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको विकल्प नखोज्न आग्रह गर्नुभयो । पहिलो पटक शाकाहारी गाउँ माङसेबुङ आउनुभएका मन्त्री किरातीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिनुभयो । “नेपाल धार्मिक र सांस्कृतिक पर्यटनको दृष्टिले विशिष्ट छ । यी विशिष्टताको आधारमा पर्यटन विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “माङसेबुङ नेपालको एकमात्र शाकाहारी क्षेत्र हो । यसलाई शाकाहारी क्षेत्रको रुपमा पर्यटन प्रवर्द्धन गर्नसके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिन्छ ।”

आत्मानन्द लिङ्देन बसेपछि माङसेबुङ क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले माङसेबुङ क्षेत्रलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी जस्तै सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको बताउनुभयो । माङसेबुङवासीले पेश गरेको मागपत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले माङसेबुङ क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जाजरकोट भूकम्प : चार हजार लाभग्राही थपिए

काठमाडौँ, १८ मङ्सिर : जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा बढी लाभग्राही थपिएका छन् ।

यसअघि २८ हजार पाँच सय २७ लाभग्राहीको सङ्ख्या रहेकामा अहिले बढेर ३२ हजार पाँच सय एकजना पुगेको प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले जानकारी दिनुभयो ।प्राप्त विवरणअनुसार बझाङमा दुई हजार चार, बाजुरामा दुई हजार पाँच सय ५५ जाजरकोटमा १३ हजार सात सय १८ र रुकुमपश्चिममा १४ हजार दुई सय २४ जना लाभ्रगाही कायम भएका छन् ।

उहाँले अहिलेसम्म १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको छ । लाभग्राही प्रमाणित भएकामध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिला किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिनुभयो ।

भूकम्पपीडितको राहत व्यवस्थापनको मुख्य जिम्मेवार पालिकाको रहेकाले छिटोभन्दा छिटो रकम वितरण गरेर अस्थायी घर बनाउनुपर्नेमा प्राधिकरणले जोड दिएको छ । प्रवक्ता खड्काले लाभग्राही कायम गरेर मन्त्रालयमा आइपुगेकाहरुको हकमा भने विलम्ब नगरी रकम निकासा गरिरहेको पनि जानकारी दिनुभयो ।

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व सङ्कलन

म्याग्दी, १८ मङ्सिर : गण्डकी प्रदेशका यातायात कार्यालयले चालुु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् ।

चालुु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार तीन सय ४९ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । बाग्लुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा दुईवटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका हुुन् ।

मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितका अनुुसार सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले रु ३१ करोड ७१ लाख ३५ हजार सात सय ८१ राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र, कास्कीले रु छ करोड ४७ लाख ३९ हजार नौ सय २६, बाग्लुुङले रु चार करोड १० लाख ३२ हजार ६ सय ७०, नवलपुुरबाट रु छ करोड ३४ लाख ७९ हजार ६ सय ७४, डुुम्रेबाट रु चार करोड १० लाख ९१ हजार एक सय ७५ राजस्व सङ्कलन भएको छ ।

गोरखा, लमजुुङ र स्याङ्जाको यातायात सेवा शाखाबाट एकमुुष्ट रु चार करोड १० लाख सात हजार एक सय २३ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेका यातायात कार्यालयहरुले चालुु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यअनुुसार नै राजस्व सङ्कलन गरेका मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख समेत रहनुुभएका प्रवक्ता टीकाराम पौडेलले बताउनुुभयो ।

प्रदेश सरकारले चालुु आर्थिक वर्षको पहिलो चौमासिकमा रु एक अर्ब १५ करोड राजस्व सङ्कलन गरेकामा यातायात कार्यालयहरुको योगदान करिब आधा रहेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले यातायात कार्यालयहरुको सेवालाई सरलीकरण, झन्झटरहित, सहज र प्रविधिमैत्री बनाउन जोड दिएको बताउनुुभयो ।

चालुु आर्थिक वर्ष सुुरु भएयता पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू गर्न विसं २०७७ मा भएको निर्णय कार्यान्वयन गरिएको र बागलुुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गरिएको मन्त्री जुुग्जालीले बताउनुुभयो ।

सवारी साधन दर्ता र नवीकरणसम्बन्धी सेवा दिने हाम्रो कार्यालयमा फाइललाई डिजिटलाइजेसन गरेर लाइन बस्न र बिचौलियाको सहयोग लिन नपर्ने बनाइएको यातायात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लीराम रिजालले बताउनुुभयो ।

सेवाग्राहीको अत्यधिक चाप र भीड हुने भएकाले बिहान ८ बजेदेखि नै सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा सञ्चालन गर्न र सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनमार्फत बुझाउने व्यवस्था मिलाइएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीका प्रमुुख जितेन्द्रजङ्ग केसीले बताउनुुभयो ।

दरबन्दी अनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्ने, सङ्घीय सरकार मातहतको सर्भरमा पटकपटक आइरहने समस्याका कारणले सेवाप्रवाहमा चुनौती रहेको यातायात कार्यालयका प्रमुुखहरुले बताएका छन् ।

भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्माण व्यवसायी विकास परिषद्को निर्णय

काठमाडौँ, १८ मङ्सिर : निर्माण व्यवसायी विकास परिषद्ले भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिनुभयो ।

राहत र पुनः निर्माणका लागि रु २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि पाँच लाख दिने निर्णय भएको हो । सहसचिव बिष्टका अनुसार निर्णय भएको रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिने छ ।
चिसो मौसमका कारण भूकम्पप्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएकाले प्रभावितलाई राहत र पुनःस्थापनामा सहयोग गर्न सबै पक्षलाई बैठकले आग्रह गरेको छ ।

तीन पटकभन्दा बढी भूकम्पप्रभावित क्षेत्रमा पुग्नुभएका मन्त्री ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसक्नुभएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब लिने निर्णय भइसकेको छ ।

मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात

म्याग्दी, १८ मङ्सिर : मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा आज वर्षा र हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको हो । यो याममा पहिलोपटक हिमपात भएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले जानकारी दिनुभयो ।

“यो वर्ष याममै हिउँ परेकाले किसान खुसी भएका छन्,” उहाँले भन्नुभयो, “हिउँ परेर जमिन भिजाएको र वातावरणलाई सन्तुलित बनाएको छ ।” असोज दोस्रो सातापछि आज बिहानदेखि वर्षासँगै हिउँ पर्न थालेको हो ।

लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पाँच इञ्चसम्म हिउँ जमेको छ । निरन्तर हिउँ परिरहेको छ । हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुने भएकाले कृषक खुसी भएका हुन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजीवन प्रभावित भएको बताउनुभयो । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तु र भेडाच्याङ्ग्रालाई गोठमै सुक्खा घाँस खुवाएर राखिएको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाँडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरु हिउँले सेताम्मे भएको र चिसो बढेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

‘केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ’- केदार कार्की

कटारी (उदयपुर) १८ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको निःशुल्क सेवाहरु सेवाग्राहीले पाए÷नपाएको अनुगमन गरेर मात्रै कटारी अस्पतालको स्तरोन्नतिका लागि अघि बढ्ने बताउनुभएको छ । आज साँझ उदयपपुरको कटारीमा रहेको कटारी नगर अस्पताल परिसरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाको मागबारे मुख्यमन्त्री कार्कीले कटारी अस्पताल यस क्षेत्रको केन्द्रमा रहेकाले यसलाई सबै प्रक्रिया पुगे स्तरोन्नति गर्ने बताउनुभयो ।

अस्पतालले बिरामीलाई दिने सेवा सुविधा राम्रो हुनुपर्ने बताउँदै सेवा सबैले पाउनुपर्ने बताउनुभयो । “प्रभावकारी सेवा पाए पाएनन् जनतामा पनि सर्वेक्षण गर्छौं,” उहाँले भन्नुभयो, “स्तरोन्नतिसँगै प्रभावकारी सेवाका लागि काम गर्छौं ।”

मुख्यमन्त्री कार्कीलाई अस्पतालका बारेमा जानकारी गराउँदै अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले १५ शय्याको नगर अस्पताल भए पनि ५० शय्याको सेवा दिइरहेकाले प्रदेशस्तरीय अस्पताल बनाउन आग्रह गरे । “सर्पदंशको पनि उपचार गरिरहेका छौँ, उपचार सेवाको विस्तार भइरहेको छ,” डा साहले भन्नुभयो, “यस अस्पताललाई प्रदेशस्तरीय बनाउन आवश्यक छ ।”

कटारी अस्पतालबाट उदयपुरका साथै प्रदेशको पहाडी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु , खोटाङ र बागमती प्रदेशको सिन्धुलीका बिरामीलाई समेत सहज उपचार गर्न सकिने डा साहको भनाइ थियो । प्रदेशसभा सदस्य प्रदीप सुनुवार, रामकुमार खत्री लगायतको टोलीलाई अस्पताल विकास समितिका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष भूपेन्द्रसिंह तामाङलगायत कटारी नगरपालिकाका जनप्रतिनिधिका साथै सरोकारवालाले स्वागत गरेका थिए ।

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।

सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् ।

साथै सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय ९९, मार्चमा दुई हजार सात सय ३६, अप्रिलमा चार हजार दुई सय २१, मेमा एक हजार पाँच सय ७१, जुनमा दुई सय ५२, जुलाईमा दुई ५६, अगस्टमा तीन सय १६, सेप्टेम्बरमा दुई हजार दुई सय ५७, अक्टुबरमा पाँच हजार एक सय ९८ र नोभेम्बरमा तीन हजार दुई सय ४८ पर्यटक भित्रिएका छन् ।

सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका दुई हजार चार सय ८५, इजरायलका एक हजार ८३, जर्मनका एक हजार आठ सय ३७, बेलायतका एक हजार चार सय ७३, अमेरिकाका एक हजार दुई सय १३, रसियाका एक हजार एक सय ६७, अस्ट्रेलियाका एक हजार एक सय पाँच, नेदरल्याण्डसका नौ सय ७० र भारतका आठ सय ९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ ।

सन् २०२२ मा मनाङमा १५ हजार नौ सय तीन विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा एक हजार नौ सय ७६ र सन् २०२१ मा दुई हजार तीन सय ७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् ।

मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १०औं उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् ।रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौं । तर, शारीरिक रुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ । नेपाल प्राकृतिक रुपमा धनी छ । यसको महसुस गर्न सक्नुपर्छ । सबै देशका मानिस एक नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ ।” उहाँ जस्तै अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउने गरेका छन् ।

पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली

कर्णाली, १८ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानअन्तर्गत कर्णाली प्रदेशको दैलेख जिल्लामा पुग्नुभएका अध्यक्ष ओलीले आज भैरवी गाउँपालिका–१ स्थित श्रीस्थान ज्वाला क्षेत्रको स्थलगत अवलोकनका क्रममा पेट्रोलियम पदार्थको उत्खनन् गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको समृद्धिका लागि पेट्रोलियम पदार्थ अन्वेषणको विकल्प नभएको भन्दै उत्खनन् कार्यमा तीव्रता दिन आग्रह गर्नुभयो ।

“दैलेख पुरातात्विक महत्त्व भएको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो”, अध्यक्ष ओलीले भन्नुभयो, “यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढ्नुपर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।” उहाँले अन्वेषण विभागको टोलीसँगको ब्रिफिङपछि देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खनन्ले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापीतले चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्खनन टोलीको प्रतिवेदन अनुसार पहिलो तीन हजार पाँच सयदेखि चार हजार मिटरसम्म पेट्रोलियम पदार्थको सम्भावना देखिएको छ । चार हजार पाँच सय मिटरसम्म पनि यसको सम्भावना निकै राम्रो देखिन्छ ।”

दैलेखको भूभागमा पेट्रोल र ग्यासको भण्डारणको सम्भावनाको अध्ययनका लागि विसं २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो ।

देशकै आर्थिक अवस्थामा सुधार आउने आशा गरिएको पेट्रोलियम अन्वेषणको अध्ययन प्रतिवेदन परियोजना प्रमुख नापितले अध्यक्ष ओलीलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष ओलीसहित उत्खनन् क्षेत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेलसहितका केन्द्रीय नेताहरुले पनि स्थलतगत अवलोकन गर्नुभएको थियो ।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताउनुभयो । आइतबार साँझदेखि वर्षा भए पनि आज बिहानदेखि नै हिमपात भएको घर्तीमगरले जानकारी दिनुभयो ।

हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्न सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको उहाँले बताउनुभयो । चरनका लागि पातिहाल्ने लगिएका वस्तुभाउ पनि बँेसी झारिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै गठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडीहरु चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, बेँसीबाट लिएका भेडाबाख्रा पनि फर्काइएको छ, आज रातिसम्म हिमपात हुने सम्भावना देखिएको छ ।”

ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिनुभयो । लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन् । खेतबारीमा लगाको गहुँ, जौ र तोरी सुक्न थालेपछि चिन्तित बनेका किसानलाई यो बेलाको वर्षाले राहत दिएको भण्डारीको भनाइ छ ।

औद्योगिक राष्ट्रको कार्बन उत्सर्जनका कारण नेपालले विपद् भोग्नुपरिरहेको छ – उर्जामन्त्री बस्नेत

यूएई (दुबई) १८ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताउनुभएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भइरहेको जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा साथसाथै संस्थाले आज नेपालको पेभिलियनमा आयोजना गरेको कार्यक्रममा उहाँले औद्योगिक राष्ट्रहरुले उत्सर्जन गरेको कार्बनका कारण नेपालजस्ता कार्बन उत्सर्जनमा न्यून योगदान भएका मुलुकहरुले बढी क्षति व्यहोर्नु परेको उल्लेख गर्नुभयो ।

‘जलवायु परिवर्तन र हिमाल, महिला तथा जोखिममा रहेका समुदायमा पारेको असर’ शीर्षकमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु परिवर्तन न्यूनीकरणका लागि गरेको आफ्नो प्रतिबद्धतालाई पूरा गर्नेतर्फ अग्रसर रहेको स्पष्ट पार्नुभयो । विकसित मुलुकहरुले आफूले गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा उहाँको जोड थियो ।

मन्त्री बस्नेतले भन्नुभयो, “जलवायु परिवर्तनको जोखिममा नेपालजस्ता भौगोलिक जटिलता रहेका मुलुक छन् भने त्यसमा पनि महिला, बालबालिका, अशक्त र सीमान्तकृत समुदाय बढी जोखिममा परेका छन् । हामीले आफ्ना प्रतिबद्धताहरु पूरा गरिरहेका छौँ । तर, औद्योगिक राष्ट्रहरुले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता पूरा गर्नुपर्दछ ।”

नेपालले जलवायु परिवर्तन न्यूनीकरणका लागि कार्बन उत्सर्जन कम गर्न स्वच्छ ऊर्जाका क्षेत्रका विभिन्न काम गरिरहेको जानकारी गराउँदै मन्त्री बस्नेतले भन्नुभयो, “बढी जोखिममा रहेका महिला, बालबालिकाका साथै सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर समावेशी समाज निर्माणमा नेपाल सरकारले काम गरिरहेको छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकास व्यवस्थापन तथा जलवायु सल्लाहकार डा पपुलर जेन्टलले जलवायु परिवर्तनका कारण महिला बढी जोखिममा रहेको उल्लेख गर्दै सामाजिक जिम्मेवारीका कारण महिलाले थप जोखिम भोग्नुपरेको बताउनुभयो । साथै उहाँले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्राप्त हुने अनुदान र सहयोग त्यस्ता जोखिममा रहेका समुदायको उत्थान र सीपमा प्राथमिकता दिनेगरी नीति निर्माणमा लाग्न जोड दिनुभयो ।

कार्यक्रममा साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु न्यायका लागि हिमाल र महिलाको विषयलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “महिला तथा जोखिममा रहेका समुदायलाई केन्द्रमा राखेर मात्रै जलवायु न्याय प्राप्त गर्न सकिन्छ । जलवायु परिवर्तनले नेपालका हिमालहरुको हिउँ पग्लिने क्रम तीव्र बढेको छ । यसले जलवायुजन्य विपद् सृजना गरेको छ । जसको प्रत्यक्ष मारमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदाय परेका छन् । उनीहरुको न्यायका लागि सरोकारवाला सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्दछ ।”

महिला तथा जलवायु अनुकूलन विज्ञ डा राधा वाग्लेले ग्रामीण र सीमान्तकृत समुदायका महिला उच्च जोखिममा रहेको बताउनुभयो । जलवायु परिवर्तनका कारण महिला जोखिममा रहेको भनेर मात्र नहुने उल्लेख गर्दै उहाँले महिलालाई अवसर प्रदान गर्नुका साथै जलवायु अनुकूलनका कार्यक्रमलाई अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई जोखिममा रहेको भनेर मात्र हुँदैन । अब उनीहरुलाई रोजगारी र सीप तथा व्यापार, व्यवसायमा अघि बढाउनुपर्दछ । जलवायु अनुकूलनका कार्यक्रमलाई तीव्रता दिनुपर्छ ।”

ग्रिन क्लाइमेट फन्ड/एडेप्टेसन फन्डका समिति अध्यक्ष क्लाउडिया गोडफ्रे रुइजले प्रत्यक्ष पहुँच स्थापित हुने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरित जलवायु वित्त र अन्य वित्तहरुलाई स्थानीय र बढी जोखिममा रहेको समुदायमा पु¥याउनुपर्छ । यसरी प्रत्यक्ष पहुँच स्थापित गर्न सक्यौँ भने मात्रै हामीले जलवायु न्याय स्थापित गर्न सक्छौँ ।”

अमेरिकी डलरसहित पोल्यान्डकी एक महिला पक्राउ

काठमाडौँ, १८ मङ्सिर : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्यान्ड जान लागेकी निज महिला विमानस्थलमा जाँच गर्ने क्रममा एक सय दरको एक सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार पाँच सय अमेरिकी डलरसहित फेला पारी आइतबार पक्राउ गरिएको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री विवाद र शङ्काको घेरामा परेको छ ।मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ । राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद–बिक्री भए भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न उठेका हुन् ।

एनसेलको स्वामित्व खरिद–बिक्री भएको विषयमा सार्वजनिक लेखा समितिले पनि चासो देखाएको छ । समितिले एनसेल खरिद–बिक्रीका विषयमा जानकारी मागसहित आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको समितिका सचिव एकराम गिरीले पुष्टि गर्नुभयो ।

एनसेलको शेयर खरिद–बिक्रीमा देखिएका प्रश्न र शङ्काबारे सरकारले जवाफ दिनुपर्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल बताउनुहुन्छ । “यो खरिद–बिक्रीका सन्दर्भमा नागरिकस्तरबाट प्रश्न उठिरहेका छन् । सरकार उत्तरदायी र नागरिकका प्रश्नमाथि जवाफदेही हुनुपर्छ”, उहाँले भन्नुभयो, “यो खरिद–बिक्री प्रक्रिया विधिसम्मत हो कि होइन ? हाम्रो ऐन कानुनअनुसार भएको छ कि छैन ? यसले सरकारी आय र राजस्वमा के प्रभाव पार्छ ? सेवा प्रवाहमा के असर गर्छ ? लगायत विषयमा सम्बन्धित निकायसँग जानकारी मागिएको छ”, सभापति पोखरेलले भन्नुभयो ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पूँजीको प्रतिशत शेयर खरिद–बिक्री गर्नुअघि नेपाल दुरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यस्तै, नेपाल दुरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) मा शेयरधनीको शेयर खरिद–बिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । आजियटाले यो प्रक्रिया पूरा गरे/नगरेको बारे लेखा समितिले प्राधिकरणसँग जवाफ मागेको छ ।

त्यस्तै, निकै कम रकममा शेयर कारोबार भएको देखिएपछि यो व्यावसायिक सम्झौता थप शङ्का गर्ने ठाउँ देखिएको छ । सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर रू एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् रु एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् रु साढे छ अर्बमा बिक्री भएको छ ।

त्यस्तै यो कारोबारमा आयकर ऐन, २०५८ अनुसार पूँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई कसरी सम्बोधन गरिएको छ भन्ने पनि स्पष्ट छैन । रू पाँच करोडभन्दा बढी चुक्ता पूँजी भएको दुरसञ्चार सेवा प्रदायक कम्पनी दुई वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भई यस्तो कम्पनीले शेयर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेमा सो सम्बन्धमा एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको छैन । यसबारे पनि लेखा समितिले प्रश्न गरेको छ ।

“नेपालको कर प्रणाली छलेर भएको शेयर खरिद–बिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरुलाई जानकारी नै नदिईकन भएको भन्ने सुनिन आएकाले यो खरिद–बिक्रीको प्रक्रिया र पारदर्शितामाथि सम्बन्धित नियमनकारी निकायको के भनाइ रहेको छ ?” लेखा समितिले आन्तरिक राजश्व विभाग, दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ, “छ वर्ष पछि कानून बमोजिम नै नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको अहिलेको कारोवारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के रहेको छ ? यदि नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ ?”

आजियटाले भने व्यवसायमा न्यून प्रतिफलको प्रत्याभूति, झन्झटिलो कर प्रशासन, नियमनकारी निकायको असहयोग, लाइसेन्सको म्याद सकिएपछिको अवस्थामा सरकारले स्वामित्व ग्रहण गर्नेलगायत विषयलाई कारण देखाउँदै स्वामित्व बिक्री गर्ने उल्लेख गरेको छ ।

नेत्री पोखरेल भन्छिन् – ‘कानुन निर्माणमा केन्द्रीकृत मानसिकता नै बाधक छ’

काठमाडौँ, १८ मङ्सिर : राष्ट्रियसभा सदस्य विना पोखरेल कतिपय राजनीतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि तत्कालै आवश्यक पर्ने कानुन निर्माणमा अवरोध सिर्जना गरिरहेको तर्क गर्नुहुन्छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको एकल अधिकारका सूचीमा रहेका प्रदेश प्रहरी र ऐनलाई अघि बढाउन केन्द्रीय सोच नै मुख्य बाधक रहेको जनाउँदै उहाँ त्यसले छिटो र सहजरूपमा कानुन बनाउन अवरोध खडा गरेको आरोप लगाउनुहुन्छ ।

‘सांसदसँग रासस संवाद’ मा नेत्री पोखरेलले भन्नुभयो,“साझा अधिकारका विषयमा पनि तानातान गर्ने प्रवृत्तिले कानुन बनाउन चुनौती रहेको महसुस गरेकी छु ।” आफ्नो संसदीय यात्रा नयाँ भएकाले सुरुआती दिनमा केही असहज भए पनि अभ्यास र अनुभवका आधारमा कार्यकालको पहिलो दुई वर्ष कानुन निर्माणका हिसाबले निकै प्रभावकारी रहेको जिकिर उहाँले गर्नुभयो । नेकपा (माओवादी केन्द्र) की नेत्री पोखरेलका अनुसार छ वर्षका अवधिमा दर्ता भएका ५७ मध्ये राष्ट्रियसभाबाट २८ विधेयक पारित भई प्रमाणीकरण भएको, दुई विधायन समितिमा विचाराधीन रहेको तथा प्रतिनिधिसभामा सन्देशसहित गएका १० मध्ये पाँच निष्क्रिय भए ।

उहाँले राष्ट्रियसभामा दर्ता भएको प्रत्यायोजित व्यवस्थापनसम्बन्धी विधेयकमाथि छलफल गरी समृद्ध तुल्याउँदै आगामी बैठकबाट यथाशीघ्र पारित गरिएमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियसभा र मातहतका समितिले कानुन निर्माणमा दलभन्दा माथि उठेर पक्ष र विपक्ष नभनी एकजुट भई काम गरेको अनुभव सुनाउँदै सदस्य पोखरेलले अझै पनि कतिपयमा विसं २०१३ को ऐनकै आधारमा काम गर्ने सोच देखिएको विचार प्रकट गर्नुभयो ।

अहिले बनेका ऐन कार्यान्वयन गर्न आवश्यकतानुरूप तत्कालै कार्यविधि, निर्देशिका, मापदण्ड र विनियम बनाउन आवश्यक रहेको बताउँदै उहाँले ऐनमै त्यस्ता विषय निश्चित मितिमा बनाई लागू गर्ने भनी किटानी हुनुपर्ने औँल्याउनुभयो ।

देश विकास र आर्थिक समृद्धिका बाटामा लम्किरहेका बेला कोरोना र भूकम्पले थिलथिलो र अस्तव्यस्त बनाएको प्रसङ्ग ल्याउँदै नेत्री पोखरेलले राज्यले प्रतिनिधिसभाका समानुपातिक र राष्ट्रियसभा सदस्यलाई जनताका सम्पर्कबाट टाढा राखेको भनी गुनासो गर्नुभयो ।

प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा प्रभावित हुन नहुने जनाउँदै उहाँले राज्यका महत्त्वपूर्ण सवालमा भने सिङ्गो सभा पक्ष÷विपक्ष नभई एक ढिक्का भएर प्रस्तुत भएको धेरै उदाहरण प्रस्तुत गर्नुभयो । देश र जनहितका विषय तथा मौलिक अधिकार कार्यान्वयनका निम्ति सभाले सधँै एकाकार भएर निर्णय गरेको बताउँदै नेत्री पोखरेलले राजनीतिक परिवर्तनका सहयात्री दल आरोपप्रत्यारोपमा उत्रनु शोभनीय नहुने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “परिवर्तनकारी शक्तिबिच बेलाबखत देखिने बेमेल र कतिपय नेतामा देखिएको केन्द्रीकृत मानसिकताले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई कमजोर तुल्याउन कोसिस भएको देखिन्छ ।”

उहाँका अनुसार समितिले प्रारम्भिक दुई वर्ष निकै तीव्र गतिमा काम गरेको थियो । कामकारबाही चुस्त र दुरुस्त तुल्याउन उपसमितिसमेत गठन गरी काम बाँडफाँट गरियो । सरकारले नीति तथा कार्यक्रम, बजेट वक्तव्य, विधेयकमाथि सैद्धान्तक छलफलका क्रममा दिएका आश्वासन पूरा भए नभएका बारे समितिले गहन अध्ययन गरेको छ ।

राष्ट्रियसभा मुलुककै गहना र कानुन निर्माणको एक खम्बा भएको बताउँदै नेत्री पोखरेलले लामो समयसम्म सभापतिविहीन अवस्था र त्यसपछि कोरोना सङ्क्रमणले हलचल गर्न नदिँदा थप उपलब्धि हुन नसकेको स्पष्ट गर्नुभयो । समितिले दिएका निर्देशन तथा सरकारले औपचारिक रूपमा व्यक्त गरेको प्रतिबद्धता र आश्वासन केही हदसम्म कार्यान्वयन भएको पाइएको बताउँदै उहाँले निरन्तरको अनुगमन र पटकपटक निर्देशन दिँदा पनि ‘लालबाकस’ लगायत केही महत्त्वपूर्ण विषयको भने नतिजा नदेखिएको बताउनुभयो ।

अखिल नेपाल महिला सङ्घ गाउँ कमिटी सदस्यबाट राजनीति यात्रा प्रारम्भ गर्नुभएका उहाँसँग सङ्घको भोजपुर जिल्ला कमिटी सदस्य, नेकपा (माओवादी) पार्टी जिल्ला कार्यसमिति सदस्य, मोरङ र भोजपुर, प्रदेश सल्लाहकार तथा केन्द्रीय सल्लाहकार सदस्य भई काम गरेको अनुभव छ ।

हाल प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति सदस्य नेत्री पोखरेलले दसबर्से सशस्त्र द्वन्द्वमा विभिन्न जिम्मेवारीमा रही २०५२–०६३ सम्म भूमिगत जीवन बिताउनुभयो । उहाँका पति सावित्रीकुमार काफ्ले पनि संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

नेत्री पोखरलेका अनुसार राष्ट्रियसभालाई अलिकति छायामा पारिएकै छ, यसमा विज्ञ समूह रहने भएकाले त्यसो नगरियोस् । यसलाई आफ्नै खालको स्वतन्त्रता हुनुपर्छ । दलगत स्वार्थमाथि उठेर नयाँ शिराबाट उठेर काम गर्नुपर्छ । अध्यादेशमार्फत विधेयक ल्याइनुहुन्न । विशिष्ट परिस्थितिमै पनि तत्काल कानुन बनाउनुपरे जिम्मेवारी दिइनुपर्छ । उहाँले भन्नुभयो, “मलखाद, सिँचाइ, बीउबिजनलगायत किसानका समस्या र महिलाका आवाज उठाइए पनि मन्त्रीहरूबाट जवाफ नै आउन्न, हामीले कोसिस गरिरहेका छौँ मात्र भनिदिए हुन्थ्यो नि ।”

कतिपय तत्काल सम्बोधन गर्नुपर्ने पक्षमा पनि सम्बोधन नहुनु पीडाको विषय भएको बताउँदै नेत्री पोखरेलले बाढी पहिरोलगायत प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने विषयमा सम्बोधन भए सन्तोष हुन्थ्यो भन्नुभयो । समग्र राज्य सञ्चालन ठीक ढङ्गबाट नचलेको जस्तो अनुभव हुनु सदनको आफ्नो कार्यकालको निचोड रहेको बताउँदै उहाँले एक प्रसङ्गमा भन्नुभयो, “कानुन, न्याय तथा संसदीय मामिला र महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालय उत्तिकै महत्त्वपूर्ण भएकाले यिनलाई झन बढी ध्यान दिनुपर्छ ।”

राष्ट्रका कर्णाधार विदेश पलायन भइरहेका अवस्थामा छिटो कानुन बनाएर सम्बोधन गरियोस् भनी समितिले बारम्बार सरोकारवालासँग छलफल गरेको सुनाउँदै उहाँले आफूले बालसुधारगृह खोल्ने नभई अन्त्य गर्नेतर्फ लाग्न सुझाव दिएको जानकारी दिनुभयो । वृद्धाश्रम विस्तार नगरी ज्येष्ठ नागरिकलाई घरपरिवारमै सहज हुने वातावरण मिलाउन जरुरी रहेको बताउँदै उहाँले कुलतमा फसेकालाई जोगाउनेतर्फ मन्त्रालयको सोच र कार्ययोजना आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले राजनीतिक दल र तिनका नेता जनतालाई राज्यप्रतिको विश्वास अभिवृद्धि गर्न र यथाशीघ्र कानुन निर्माण गरी सेवासुविधा उपलब्ध गराउन खम्बा भएर उभिने दृढता व्यक्त गर्नुभयो । नेत्री पोखरेलले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई ठीक ढङ्गले अघि लैजान र समृद्धि प्राप्त गर्न समाजवादका दिशामा अघि बढ्दै सदन, सडक र सङ्घर्षलाई सँगसँगै लैजानुपर्छ ।”

कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

युएई (दुबर्ई), १८ मङ्सिर : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि सुरु भएको छ ।

मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटन समारोहमा नेपालको नामै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिने क्रम बढेको उल्लेख गर्नुभएको थियो । साथै उहाँले जलवायु परिवर्तनको असर हिमालमा धेरै परेको र जनजीवन प्रभावित भएको बताउनुभएको थियो । उहाँले सम्मेलनको पूर्व सन्ध्यामा नेपालको भ्रमण गरी सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रको समेत भ्रमण गर्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालका मुद्दालाई उठाउने गरी सम्मेदनमा नेपालका तर्फबाट उच्चस्तरीय कार्यक्रम समेत आयोजना गर्नुभएको थियो । उक्त कार्यक्रममा महासचिव गुटेरेसले उपस्थित भएर विशेष सम्बोधन मात्र गर्नुभएन हिमालमा जलवायु परिवर्तनले गरेको असरका बारेमा जिम्मेवार मुलुकको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैगरी प्रधानमन्त्री दाहालले हिमाललाई सबै मिलेर बचाउनुपर्ने बताउँदैै विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको प्रष्टरुपमा उल्लेख गर्नुभएको थियो ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमती गरेता पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डार पग्लने अनुमान अध्ययनले गरेका छन् ।

सम्मेलनमा नेपालको मुद्दाले पाएको प्राथमिकताबारे वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले आफूहरु निकै उत्साही भएको बताउनुभयो । इतिहासमै नेपालका मुद्दाले प्राथमिकता पाएको सहभागिता पनि उच्चस्तरको भएको नेपालको ‘एजेण्डा’ स्थापित भएको र विश्वको ध्यानाकर्षण भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपालले यस सम्मेलनको तयारीका लागि छ महिनाअघि नै विभिन्न काम गरेको उल्लेख गर्दै उहाँले नेपालमा राष्ट्रिय जलवायु सम्मेलन गर्नुका साथै सरोकारवाला सबैको सुझाव तयार गरी डकुमेन्ट तयारी गरेको उल्लेख गर्नुभयो । यस सम्मेलनमा नेपालले राजनीतक र प्राविधिक सबै तयारी गरेकाले प्रस्तुति प्रभावकारी भएको उहाँको भनाइ थियो ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ । जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी, र तराई मधेशमा बाढी पहिरोहरु देखिन थालेको छ । हिमाल, पहाड, र तराई मधेसमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, महिला, बालबालिका, अशक्त, तथा ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् ।

यसैगरी मन्त्रालयका सचिव डा दीपककुमार खरालले विश्व जलवायु सम्मेलनमा प्रधानमन्त्री दाहालको अध्यक्षतामा नेपालजस्तो अतिकम विकसित र हिमाली मुलुकले संयुक्त राष्ट्र सङ्घका महासविच गुटेरेसको उपस्थितिमा विशेष कार्यक्रम गरेर आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन सफल भएको उल्लेख गर्नुभयो ।सम्मेलनपछि यस विषयमा नेपालले हिमाल भएका अन्य मुलुकलाई एकताबद्ध गराएर उच्चस्तरको डाइलग र छलफल गर्ने योजना रहेको उहाँले राससलाई बताउनुभयो ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले सम्मेलनमा नेपालले पहिलोपटक उच्चस्तरीय साइडलाइन बैठक गरेर हिमालका मुद्दालाई उजागर गरेको बताउनुभयो ।

एक वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ०.३ डिग्री सेल्सियस देखि ०.७ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । परिवर्तित जलवायुका कारण नेपालमा मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ र यस प्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपाली जनताले वहुपक्षीय चुनौतीको सामना गर्नुपर्ने छ ।

जलवायु विज्ञ सरु जोशी श्रेष्ठले विश्व समुदायप्रति हिमालका मुद्दाको ध्यानाकर्षण हुनु सकारात्मक भएको र प्रक्रियाको सुरुआत भएको उल्लेख गर्दै यसमा उपलब्ध हुने जलवायु वित्तको स्रोत सुनिश्चितसँगै पहुँचको पनि सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उच्च तापक्रम वृद्धि, अतिवृष्टि, अनावृष्टि, खण्डवृिष्ट, खडेरी, पहिरो र बाढीका असर नेपालमा वर्षेनि बढिरहेका छन् । भविष्यमा हिमालमा हिउँको भण्डारै घट्ने र हिमतालको सङ्ख्या बढ्ने देखिन्छ । पृथक भौगोलिक अवस्था र विभिन्न उचाइमा अवस्थित पारिस्थितिकीय क्षेत्रका साथै प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिबी, सीमान्तकृत समुदाय, न्यून अनुकूलन तथा उत्थानशील क्षमता आदिका कारण नेपाल सबैभन्दा सङ्कटासन्न र जोखिम मुलुकको सूचीमा रहेको छ ।

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

रसुवा, १८ मङ्सिर : चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो

चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा प्रहरीले बरामद गरेको उहाँले बताउनुभयो ।

रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि रु एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेश गरेको छ । यसरी पेश भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध छन् ।

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो – प्रधानमन्त्री दाहाल

काठमाडौँ, १८ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मोक्तमको निमन्त्रणामा दुबईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो सम्मेलन नेपालको हितमा रहेको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते युएई प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले मङ्सिर १४ गते अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका काम कारबाही, कठिनाइ र चुनौतीलगायतका विषयमा जानकारी लिई संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवं प्रभावकारीरूपमा प्रवाह गर्न निर्देशन दिएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको उहाँको भनाइ छ ।

नेपाली राजदूतावासमा आयोजित नेपाली समुदायका प्रतिनिधिसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानका लागि उहाँलाई धन्यवाद दिँदै मुलुकको विकासमा थप क्रियाशील रहन अनुरोध गरेको पत्रकार सम्मेलनमा वितरीत प्रेस नोटमा उल्लेख छ ।

सरकारले हालका दिनमा श्रम क्षेत्रको सुधारका लागि अबलम्वन गरेका नीति तथा कार्यक्रमले वैदेशिक रोजगारी थप व्यवस्थित, मर्यादित र भरपर्दो हुने अपेक्षा रहेको आफूले नेपाली समुदायका प्रतिनिधिबीच राखेको प्रधानमन्त्रीको भनाइ थियो । विदेशी भूमिमा दुःख गरी आर्जन गरेको आयलाई वैधानिक बाटोबाट स्वदेश पठाउदा प्राप्त हुने लाभको उपयोग गर्न अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

सोही दिन साँझ नेपाली राजदूतावाससँगको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा दुबई च्याम्बर्सले पहिलोपटक संयुक्त रूपमा दुबईमा आयोजना गरेको नेपाल दुबई बिजनेश समिटलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले नेपालका प्राथिमकता प्राप्त क्षेत्रमा लागानी गर्न युएईका लगानीकर्तालाई प्रधानमन्त्रीले आह्वान गर्नुभएको थियो ।

नेपालमा लगानीका प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेको र ती सम्भावनालाई मूर्तरूप दिन र वैदेशिक लगानीको संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास प्रधानमन्त्रीले दिलाउनुभएको थियो ।

सो फोरममा उपस्थित युएई सरकारका उच्च अधिकारीले नेपाल र युएईले व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्नसक्ने सम्भावनाका सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा उद्योगी, व्यापारी एवं लगानीकर्ताको उत्साहजनक सहभागिता थियो ।

यस्तै, भ्रमणको तेस्रो दिन मङ्सिर १५ गते जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलनको औपचारिक उद्घाटन समारोहमा प्रधानमन्त्री सरिक हुनुभयो । सो समारोहका अवसरमा उपस्थित विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नुभएको थियो ।

सोही अवसरमा प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो । सो भेटमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्पले पारेको प्रभावका बारे चासो राख्दै प्रधानमन्त्री मोदीले भूकम्पपीडितलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन तत्पर रहेको कुरा बताउनुभएको थियो ।

सोही दिन अपरान्ह सम्मेलन आयोजनास्थलमा रहेको नोपल पेभेलियनको प्रधानमन्त्रीले अवलोकन भ्रमण गर्नुभएको थियो । सो क्रममा पेभेलियनमा उपस्थित जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न नेपाल सरकारले चालेका कदम र नेपालले उठाउने ‘एजेण्डा’ र प्राथमिकताका क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो । जलवायु सम्मेलनमा पहिलोपटक नेपालको आफ्नो छुट्टै पेभेलियन भएको हुँदा यसको विशेष महत्व रहेको आफूले पाएको उहाँको भनाइ छ ।

सोही दिन उहाँले हाइ लेभल लिडर्स इभेन्ट अन एडप्टेसन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले जलवायु परिवर्तनविरुद्ध लड्न नेपालले अनुकूलन योजनासमेत तयार गरेको जानकारी गराउनुभएको थियो ।

जलवायु परिवर्तनको असरविरुद्धको लडाइमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै उहाँले विश्व तापमान वृद्धिको सीमा एक दशमलब पाँच डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गर्नुभएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको जोखिममा परेका अतिकम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिनुएभएको थियो ।

सम्मेलनको साइड लाइनमा क्युवाका राष्ट्रपतिसँग भेट गरी द्विपक्षीय सम्बन्धमा कुराकानी गर्नुभएको थियो । भ्रमणको चौथो दिन मङ्सिर १६ गतेका दिन बिहान नेपालले आयोजना गरेको ‘हाइ लेभल राउण्ड टेबल अन कल माउण्टेनः हु सेभ्स् अफ फ्रर्म क्लाइमेट चेञ्ज’ को अध्यक्षता गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली मुलुकमा पारेको प्रतिकूल प्रभावको न्यूनीकरण गर्न तत्काल पहल गर्नु आवश्यक रहेकामा जोड दिनुउको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव जताततै देखिन थालेकाले प्रभाव न्यूनीकरणको काममा ढिलाइ गर्न नहुने धारणा राख्नुभएको थियो । आफूले हालै गरेको नेपाल भ्रमणको स्मरण गर्दै महासचिव गुटरेसले जलवायु परिवर्तनले नेपालका हिमालमा पारेको प्रभाव आफ्नै आँखाले देखेको उल्लेख गर्दै नेपालको सहयोग र हिमालको संरक्षणमा राष्ट्रले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुएको थियो ।

सो अवसरमा एन्डोराका प्रधानमन्त्री, किर्गिज गणतन्त्रका विदेशमन्त्री, भुटानका विदेश राज्यमन्त्री र अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधिले राउण्डटेबल आयोजना गरेकोमा धन्यवाद दिँदै हिमाल संरक्षणको लागि हिमाली राष्ट्रहरूले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा जलवायु विज्ञ, सरकारी अधिकारी, व्यवसायी र जलवायु अभियन्ताको बाक्लो उपस्थिति थियो । सोही दिन प्रधानमन्त्री दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नुहुँदै हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगन्य योगदान रहेको भए तापनि जलवायु परिवर्तनको प्रतिकूल असरको प्रभाव भने असमान रूपमा भोगिरहेको हुँदा नेपालप्रति अन्याय भएको बताउनुभएको थियो ।

उहाँले जलवायु वित्त र जलवायु न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथ्यप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । यस्तै, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल सरकारले चालेका कदमबारे पनि प्रधानमन्त्रीले विश्व समुदायलाई जानकारी गराउनुभएको थियो ।

“हिमाल मानव सभ्यता र जैविक विविधताको आधार भएकोले बढ्दो तापक्रमको प्रकोपबाट यसलाई जोगाउन अत्यावश्यक भएको कुरा दृढताका साथ राखेको थिए”, प्रधानमन्त्रीले भन्नुभयो । भ्रमणका क्रममा उहाँले दुबईमा रहेको फ्युचर म्युजियमको अवलोकन भ्रमण गर्नुभएको थियो । यस्तै आइतबार बिहान संयुक्त राष्ट्रसङ्घअन्तर्गतका सविभिन्न सङ्घ संस्थाले आयोजना गरेको विपद्बाट पर्नसक्ने जोखिमको पूर्वजानकारीमा सबैको पहुँच विषयमा नेपालको तर्फबाट धारणा राख्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिवसमेत सहभागी हुनुभएको उक्त कार्यक्रममा प्रधानमन्त्रीले नेपाललगायत अति कम विकसित मुलुकका विपद् र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको थियो ।

नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा समावेश गराउनुभएकोमा आफूले संयुक्त राष्ट्र सङ्घका महासचिवको प्रशंसा गरेकोसमेत प्रधानमन्त्रीले जानकारी दिनुभयो । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग बेलायतका विदेश राज्यमन्त्री एन्ड्रियु मिचेलले शिष्टाचार भेट गर्नुभएको थियो । सो भेटका अवसरमा नेपालबेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयलगायतमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री दाहालले भ्रमणसम्बन्धी अद्यावधिक समाचार निरन्तर प्रसारण गरी सहयोग गर्ने सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई धन्यवाद दिनुभयो ।

याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको निधन

ताप्लेजुङ, १८ मङ्सिर : ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र.१–०१–००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताउनुभयो ।

ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ ।

लोपोन्मुख अवस्थामा पुगेको गिद्धको सङ्ख्या बढ्यो

नवलपुर, १८ मङ्सिर : लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले पछिल्लो गणनाअनुसार यहाँ पाँच सय १७ गिद्ध भेटिएको जानकारी दिनुभयो । “रेष्टुराँ सुरु गर्ने बेलामा यहाँ सात प्रजातिका ७७ वटा गिद्ध गणना गरिएको थियो”, उहाँले भन्नुभयो, “हामीले गरेको पछिल्लो अध्ययनअनुसार यहाँ आठ प्रजातिका पाँच सय १७ गिद्ध तथा यस क्षेत्रबाट गिद्धका एक सय वटा गुँड रेकर्ड गरिएको छ ।” समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उहाँको भनाइ छ ।

नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुराँ विस्तार गरिएको जनाउँदै अध्यक्ष चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पु¥याएका बताउनुभयो । समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उहाँको भनाइ छ । “नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो”, उहाँले भन्नुभयो, “त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो ।”

हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेष्टुराँमा ल्याएर छोडिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ७७ जङ्गली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उहाँको भनाइ छ । जटायु रेष्टुराँमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन दुई सय किलोमिटरसम्म उडेको अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

केन्द्रमा प्रजनन भएर रेष्टुराँमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धले मिलेर प्रजनन गर्न सुरु गरेको अध्यक्ष चौधरीले बताउनुभयो । प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुने तथा एउटा मात्रै फूल पार्ने उल्लेख गर्दै उहाँले भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने बताउनुभयो । गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ ।

“छाडा छोडिएको गाईबस्तुलाई ल्याएर राख्ने उनीहरुको मलमूत्रबाट बायो ग्यास, जैविक विषादी, जैविक मल बनाउने र उनीहरु मरेपछि गिद्धको आहारमा प्रयोग गर्ने गरी हामी अघि बढेका छौँ”, उहाँले भन्नुभयो, “यति गरेपछि गिद्धको संरक्षण हुन्छ र गिद्धको संरक्षणपछि गिद्ध पर्यटन अथवा जैविक विविधता पर्यटन सुरु गर्ने तयारी गरेका छौँ ।” संरक्षणलाई पर्यटनसँग जोड्दा पर्यापर्यटनमा रोजगारी र व्यवसायको वातावरण सिर्जना हुने उल्लेख गर्दै उहाँले यसबाट जनचेतना फैलाउने हुँदा संरक्षणमा दिगोपना ल्याउने बताउनुभयो ।

कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुराँमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति (हाडफोर बाहेक)का गिद्ध पाइने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध रहेका छन् । समुदायले व्यवस्थापन गरेको यस जटायु रेष्टुराँमा गिद्धलाई नियमितरुपमा आहारा (मासु) खुवाउने गरिएको छ ।

गिद्धलाई आहारा खुवाउने दिनमा पर्यटनसँग जोडिएका सङ्घसंस्थाको सहकार्यमा गिद्ध पर्यटनको अवधारणा अघि बढाउने तयारी गरिएको छ । “रेष्टुराँ व्यवस्थापन समितिले यहाँ हरेक दुई दिनमा गिद्धलाई मासु खुवाउने गर्दछ”, उहाँले भन्नुभयो, “उनीहरुले प्राकृतिक रुपमा पनि मासु खाने गरेका छन् तर यहाँ प्रजनन केन्द्रमा प्रजनन भएका साना गिद्ध पनि भएकाले हरेक दुई दिनमा मासु खुवाउने गरिएको हो ।” पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको उहाँको भनाइ छ ।

विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासको कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट विसं २०६३ भदौ (सन् २००६)मा जटायु रेष्टुराँको स्थापना गरिएको जटायु रेष्टुराँ व्यवस्थापन चौधरीले बताउनुभयो । चौधरीका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुराँको सञ्चालन र व्यवस्थापन गरिएको हो । पशुचौपाया बिरामी हुँदा उनीहरुलाई दुखाइ कम गर्न दिइने ‘डाइक्लोफेनेक’ जातको औषधिरहित शुद्ध आहार उपलब्ध गराई गिद्धलाई संरक्षण गर्ने उद्देश्यले पिठौलीमा एसियाकै पहिलो समुदायस्तरको जटायु रेष्टुराँ खोलिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको बताउनुभयो । डाइक्लोफेनेकको अवैधानिक प्रयोग, सिनोमा विषको प्रयोग, बासस्थान तथा आहारको अभाव, पर्याप्त संरक्षण चेतनाको कमीका साथै अन्य पर्यावरणीय चुनौतीका कारण प्रकृतिबाट गिद्ध लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । प्राकृतिक कुचीकारको रुपमा रहेको गिद्ध संरक्षणमा पहल तथा चुनौतीबारे छलफल गर्दै संरक्षणमा योगदान पु¥याउने उद्देश्यले हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी, ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट

सिरहा – सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । लहान गरपालिका–३ स्थित नेपाल साइकल स्टोरमा आइतबार आगलागी हुँदा करिब रु ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबलगायतका पार्टपुर्जाहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो ।

आगलागीमा करिब रु ६० लाख बरावरको धनमाल जलेको प्रारम्भिक अनुमान गरिए पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । आगलागीको कारण अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी पाण्डेले बताउनुभयो । लहान नगरपालिका र गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रण भएको थियो ।

बागमती प्रदेश : निर्वाचनबाट नेतृत्व चयन गर्न सुझाव

हेटौँडा – बागमती प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएदेखि हालसम्म पाँचवटा संसदीय समितिहरुको नेतृत्व चयनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच विवाद रहेको अवस्थामा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा आइतबार भएको बैठकमा प्रदेशसभाअन्तर्गतका पाँचवटा संसदीय समितिको नेतृत्व सर्वसम्मतिबाट गर्न सुझाएको छ ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), राप्रपा, हाम्रो नेपाल पार्टीका प्रमुख सचेतक र संसदीय दलका उपनेताको सहभागिता थियो । नेपाल मजदुर किसान पार्टीले भने बैठक बहिष्कार गरेको थियो ।

बैठकले प्रदेशसभाअन्तर्गतका पाँच संसदीय समितिहरुको नेतृत्व चयन निर्वाचनबाट गर्न राजनैतिक दलहरूबीच सहमति कायम गर्ने र यथाशीघ्र निर्वाचन प्रक्रिया अघि बढाउन सुझाएको छ ।

महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताकै आशंका, पूर्वनिर्धारित मिति दुईचोटि सर्यो

काठमाडौँ । नेपाली कांग्रेसको विधानअनुसार १४औं महाधिवेशनपछिको दुई वर्षमा महासमिति बैठक दुई पटक भइसक्नुपर्थ्यो । तर यस अवधिमा उसले एउटा पनि महासमिति बैठक गर्न सकेको छैन । राजनीतिमा जसको नीति उसकै नेतृत्व भनिन्छ ।

महाधिवेशनपछिको सबैभन्दाशक्तिशाली निकाय महासमितिबाट कांग्रेसले नयाँ नीति तथा कार्यक्रम तय गर्ने परम्परा छ । पछिल्ला दिनमा पार्टीको विचार, सिद्धान्त र कार्यक्रम होइन, मनी तथा मसल’ का आधारमा कांग्रेसमा ‘पोजिसन होल्ड’ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।

कांग्रेसले यसअघि महासमिति बैठकका लागि पूर्वनिर्धारित मिति दुईचोटि सारेको छ। उसले पछिल्लो पटक पुस १६ गतेदेखि ललितपुरमा महासमिति बैठक गर्ने भनेको छ। तर तेस्रो पटक तोकिएको मितिमा पनि कांग्रेस महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताले नै आशंका गर्दै आएका छन् । त्यसका लागि पार्टीका पदाधिकारीले न्यूनतम तयारीसमेत नथालेकाले यस्तो आशंका उत्पन्न भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

कर परीक्षणले २६ अर्ब भन्दा बढी कर नोक्सान हुनबाट जोगियो

काठमाडौँ। करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभाग अन्तर्गत ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमार्फत गरिएको पूर्ण कर परीक्षणबाट लक्ष्यभन्दा ७१ प्रतिशत बढी नोक्सानी घटाइएको विभागले जनाएको छ । गत आवमा विभागले पूर्ण कर परीक्षणमार्फत १५ अर्ब ५० करोड रुपियाँ नोक्सानी घटाउने लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा ११ अर्ब रुपियाँ बढी कर नोक्सान हुनबाट जोगिएको विभागको प्रतिवेदनमा उल्लेख छ । गत आवमा विभागले छ हजार ५३९ वटा कर विवरणको पूर्ण परीक्षण गर्ने लक्ष्य लिएको थियो ।

जसमध्ये चार हजार दुई सय नयाँ र बक्यौता रहेको पुरानो दुई हजार ३३९ वटा विवरणको परीक्षण गर्ने विभागको लक्ष्य थियो । यसमध्ये पाँच हजार २७६ वटा विवरणको मात्र परीक्षण हुन सकेको विभागले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर समयमा सम्पन्न गर्ने चीनको प्रतिबद्धता

काठमाडौँ । चीन सरकारले प्रस्तावित नेपाल-चीन पहिलो अन्तर्देशीय केरुङ-काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। चीनमा सम्पन्न रेलमार्गबारे समीक्षा बैठकमा चिनियाँ पक्षले सो प्रतिबद्धता गरेको बैठकमा सहभागी रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जानकारी दिए ।

बैठकमा रेल विभागका महानिर्देशक बिसुरालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र वन मन्त्रालयका प्रतिनिधि सहभागी थिए। अहिले चीनमा सम्पन्न नेपाल-चीन सचिवस्तरीय रेलवे संयन्त्रको आठौँ बैठक हो। नवौँ बैठक अबको तीन महिनापछि नेपालमा बस्ने छ। विभागका महानिर्देशक बिसुरालले भने, “आगामी २०८३ असारभित्र सो रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने चीनको प्रतिबद्धता छ। चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा २०७९ पुसदेखि सम्भाव्यता अध्ययन सुरु भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बौँ रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज्य कोषमा करोडौंको राजस्व गुम्ने छ ।

ती सामानहरू भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड (रातो) च्यानलबाट बाहिर ननिकाली ग्रीन (हरियो) तथा यल्लो (पहेलो) च्यानलबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ । रेड च्यानलबाट निकाल्दा सामान अनुसारको राजस्व तिर्नुपर्ने र विभिन्न कागजातहरू समेत आवश्यक पर्ने भएकोले राजस्व पनि खासै तिर्न नपर्ने र सहज किसिमले निकाल्न मिल्ने ग्रीन र यल्लो च्यानलबाट निकाल्न व्यापारीहरूले विभिन्न सेटिङ गरी योजना बनाइरहेको स्रोतको दाबी छ । भन्सार विभागले पनि वीरगञ्ज भन्सारस्थित गोदाममा ठुलो परिमाणमा राजस्व छलीका सुपारी, रक्सी, छोकडा र मरिच भएको अनुमान गर्दै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाएको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले वीरगञ्ज नाकामा राजस्व छलीका मालसामान रहेको सूचना प्राप्त भएकाले अनुसन्धान गर्न छानबिन टोली बनाइएको जानकारी दिए । महानिर्देशक पौडेलका अनुसार विभागले सार्वजनिक सूचना नै जारी गर्दै वीरगञ्ज भन्सारमा रहेका मालसामानको स्वघोषणा गरी प्रक्रियामा आउन दिएको सात दिनको समय सोमबार सकिँदैछ । विभागका महानिर्देशक पौडेलले भने, ‘सोमबारसम्म कसैले सामान घोषणा गरी प्रक्रियामा नआए त्यहाँ रहेका सामानहरू जफत प्रक्रिया थाल्नेछौं ।’ उनले वीरगञ्ज भन्सारमा ठुलो परिमाणमा तस्करीको सामानहरू रहेको जानकारी आए पनि ती सामानहरू के कति परिमाणमा छन् भन्ने सम्बन्धमा यकिन नभएको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीन असन्तुष्ट

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।

टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो(छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो। सरकारले पिन टिकटकबाट भइरहेको विकृति रोक्न उक्त एप बन्द गरेको बताउँदै आएको छ।

टिकटक बन्द भएपछि औपचारिक र अनौपचारिकरूपमा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सरकारका उच्च अधिकारीसँग सो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाललाई भेटेरै टिकटक बन्द गर्ने निर्णयबाट आफू दुःखी भएको बताएका थिए। भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ राजदूत छन् सोङले भूराजनीतिक प्रभावका कारण नेपाल सरकारले टिकटक बन्द गरेको त होइन भनी प्रधानमन्त्री दाहालसँग प्रश्न गरेका थिए। प्रधानमन्त्री दाहालले भूराजनीतिक प्रभावले नभइ खल्बलिँदै गएको सामाजिक सद्भाव कायम गर्न टिकटक बन्द गर्ने निर्णय लिन सरकार बाध्य भएको चिनियाँ राजदूत सोङलाई जवाफ दिएको स्रोतले बताएको छ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल नियमन गर्न सरकार अग्रसर रहेको र त्यसका लागि बलियो कानुन बनेपछि पुनः सञ्चालनमा ल्याउन सकिने राजदूत सोङलाई आश्वासन दिएका थिए। प्रधानमन्त्री दाहालले जति स्पष्टीकरण दिए पनि टिकटक एप बनाउने चीन भने सरकारको निर्णयलाई लिएर सशंकित बनेको छ।

टिकटक बन्द गर्ने निर्णय भएलगत्तै चिनियाँ अधिकारीहरूले विभिन्न माध्यममार्फत् सरकारसँग असन्तुष्टि पोखिरहेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर लगाइयो आगो

धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो ।

राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चावी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाईले भने, ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा बाहिरबाट चावी लगाइदिएको थाहा भयो, छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाउँन लाएर बाहिर भागेर ज्यान जोगाइयो ।’

नेपाली कांग्रेसको तर्फबाट गुरागाई वडाध्यक्षमा निर्वाचित भएका हुन् । घरमा गुरागाईका श्रीमान–श्रीमती सुतेका थिए । उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो । तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिण्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरु पनि एकैठाउँमा थुपारेर आगो सत्काइएको पाइएको वडाध्यक्ष गुरागाईले बताए । उनका अनुसार तल्लो तलाका तीन वटा कोठामा आगो लागेको छ । आगोले तल्लो तलामा रहेका अधिकांस सामान जलेका छन् । घटना थाहा पाएपछि भेला भएका छिमेकीहरुले आगो निभाएका हुन् ।

आगो कसले लगाएको भन्ने खुलेको छैन । तर, घटनाको प्रकृति हेर्दा ज्यान मार्ने नियतले आगो लगाइएको देखिएको वडाध्यक्ष गुरागाई बताउँछन् । उनी भन्छन्, ‘गाउँमा कसैसँग पनि मेरो दुस्मनी छैन । कसले यस्तो गर्यो थाहा भएन । तर, मान्छे मार्ने नियतले ढोका थुनेर घरमा आगो लगाइदिएको प्रस्ट हुन्छ ।’

आगो निभाउँन केही ढिलो भएको भए ग्यास सिलिण्डर विस्फोट भएर घर पुरै ध्वस्त हुने अवस्था रहेको उनी बताउँछन् । घटनापछि आज बिहान प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौँ, १८ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २०गते हुने छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नुहुनेछ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पु¥याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ ।

उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्नुहुने कार्यक्रम छ भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ ।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्नुहुनेछ भने अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ ।

सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पु¥याएको योगदानबारे चर्चा हुने र नेपालको छवी थप उच्च हुने अपेक्षा गरिएको छ । नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र सङ्घले उच्च महत्व दिँदै सदस्य राष्ट्रका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

जनताका समस्या बुझ्न सङ्कल्प यात्रा आयोजना गरिएको हो – ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या बुझ्न सङ्कल्प यात्रा आयोजना गरिएको बताउनुभएको छ । पार्टीले आयोजना गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ को चौथो दिन आइतबार कर्णालीको दैलेखस्थित राकम कर्णालीमा आयोजित आमसभामा उहाँले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले सरकारका तर्फबाट लोकतान्त्रिक व्यवहार भएको छ कि छैन भन्ने कुरा हेर्न एमाले गाउँमा आएको उल्लेख गर्दै बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको तीन दिन सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा जनतामा निराशा छाएको टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने र जनताको हित नचाहने तत्व नै देशद्रोही भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशालाई मौकाको रुपमा लिएर प्रतिगमनको दिवास्वप्ना देख्नु देशद्रोह बाहेक अरु के हुन सक्छ ? यस्ता कुरा गर्नु विकास, परिवर्तन, नेपाल र नेपालीको हित विपरीत कार्यबाहेक अरु केही होइन ।”

पदयात्राको क्रममा जनताका समग्र समस्या बुझेर आगामी दिनमा तीनै तहका सरकारमा नीति निर्माण गर्ने रणनीतिका हिसाबले पनि अभियान थालिएको बताउँदै अध्यक्ष ओलीले आगामी २०८४ मा एमाले नेतृत्वमा एकल सरकार गठन हुने ठोकुवा गर्नुभयो । उहाँले नेपाललाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

आफू नेतृत्वको पार्टीले दूर्गम स्थानको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेशाव्यवसायको समृद्धि, कृषिको आधुनिकीकरण, देशलाई औद्योगिकीकरण र व्यापार सन्तुलन गर्ने नीति लिएको दाबी गर्दै अध्यक्ष ओलीले निरोगी नेपालको परिकल्पना र यसको नेतृत्व एमालेले गर्ने बताउनुभयो ।

एमाले महासचिव शङ्कर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियालनले सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा अध्ययन गर्ने बताउनुभयो । विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन गरी राम्रो परिणाम निकाल्ने उहाँले दाबी गर्नुभयो ।

मध्यपहाडी राजमार्गअन्तर्गत सुदूरपश्चिम प्रदेशको अछामबाट कर्णालीको दैलेख पुग्नुभएका अध्यक्ष ओली नेतृत्वको अभियान टोलीले आज दैलेखको ज्वाला क्षेत्र, श्रीस्थान, पादुका, नाभीस्थानलगायत पर्यटकीयस्थलको अवलोकन गरेको थियो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा सामान्य बदली रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।हाल बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ।

आज दिउँसो बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् मंसिर १८ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि – अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि – सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि – मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि- तिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि – प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि- मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि – पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि – बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि – ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

काठमाडौँको विभिन्न स्थानमा अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

काठमाडौँ, १७ मङ्सिर : नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

नेपाल एयरलाइन्सको विमान बिग्रीयो

मुगु, १७ मङ्सिर : नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ ।

तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो ।

उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो ।जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले थियो ।

नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिनुभयो ।नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटेलहरूमा आज बास बसेका छन् ।

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

धरान, १७ मङ्सिर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउन माग गरिएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेश कार्य समितिले सो माग गर्दै प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको हो ।

एसोसिएसनले आइतबार दिउँसो प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा हाल प्रतिष्ठानको फार्मेसीमा कार्यरत फार्मेसी सहायकहरू टेन्डरमार्फत बाह्य कम्पनीबाट काम गराइएकाले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अस्पतालकै मातहत ल्याउनुपर्ने माग गरिएको छ ।

त्यस्तै निर्देशिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार फार्मेसी सञ्चालन गरिनुपर्ने र अस्पतालमा अतिआवश्यक औषधि र प्रविधिजन्य स्वास्थ्यसामग्री उपलब्धता नहुने भएकाले बिरामीले दुःख भोगिरहेको हुँदा यस्ता औषधि र स्वास्थ्यसामग्री शीघ्र उपलब्ध गराउन माग गरिएको छ ।–

अनुप रेग्मीको निर्देशनमा तयार किनाराको ढुंगाको चर्चा

काठमाडौँ । गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द शृजना रहेको गीतमा न्ह्यू बज्राचार्यका संगीत तथा प्रज्वल लामाको एरेन्ज रहेको छ । भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमाभावलाई बयान गरेको छ ।

भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् । भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् । निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप । गायनको क्षेत्रमा एकपछि अर्को सृजना लिएर बजारमा आइरहेका बेला उनले आफ्नै निर्देशनमा किनाराको ढुंगा बोलको गीतको भिडियो बजारमा ल्याएका हुन् ।

रेग्मीको स्वरमा नै रहेको अर्को नयाँ गीतको भिडियो रिलिजको क्रममा रहेको छ । सार्वजनिक भिडियोमा किनाराको ढुंगामा शुशिल बिक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि, तेलङ्गनामा कङ्ग्रेस अगाडि

भारतीय निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि देखिएको छ । तेलङ्गनामा कङ्ग्रेसले भारत राष्ट्र समिति (बीआरएस)को १० बर्षसम्मको सत्तालाई अन्त्य गर्नसक्ने देखिएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार मध्य प्रदेशमा भाजपाले २३० मध्ये १६६ सिटमा अग्रता लिएको छ भने कङ्ग्रेसले ६३ सिटमा अग्रता लिएको छ ।
राजस्थानमा भाजपाले १९९ सिटमध्ये ११५ सिटमा अग्रता लिएको छ, जुन अशोक गेहलोत सरकारलाई सत्ताच्युत गर्ने दिशामा छ । राज्यमा कंग्रेसले ६९ सिटमा अग्रता लिएको छ ।

छत्तीसगढको चुनावमा अधिकांश सर्वेक्षण ‘एक्जिट पोल’ले कङ्ग्रेसले सरकार कायम राख्ने अनुमान गरे पनि परिणामले भने अर्कै देखाउँछ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार भाजपाले ९० मध्ये ५५ सिटमा अग्रता लिएको छ भने कङ्ग्रेसले ३५ सिटमा अग्रता लिएको छ ।

तेलङ्गनामा ११९ सदस्यीय विधानसभामा कङ्ग्रेसले ६४ सिटमा अग्रता लिएको निर्वाचन आयोगको अद्यावधिक विवरणले देखाएपछि वर्तमान बीआरएसले हार स्वीकारेको छ । बीआरएसले ३९ सिटमा अग्रता लिएको छ भने भाजपा र बीआरएसका संयुक्त उम्मेदवारले क्रमशः ८ र ७ सिटमा अग्रता लिएका छन् ।

–भाजपा र विकासको राजनीतिप्रति जनताको विश्वास देखिएको प्रधानमन्त्री मोदीको भनाइ–

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै परिणामले विकास र सुशासनको राजनीति र भाजपामाथि मात्र जनताको विश्वास रहेको देखाएको बताउनुभएको छ ।

उहाँले मतदाताहरू, विशेष गरी महिला मतदाताहरू र युवाहरूलाई भाजपामाथिको उनीहरूको स्नेह र आशीर्वादको लागि धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री मोदीले भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ जनता अगाडि बढिरहेको र आज हामीले त्यस दिशामा बलियो कदम चालेका छौँ भन्नुभयो । उहाँले भाजपाले जनताको हितका लागि कडा मेहनत गरिरहने बताउनुभयो ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत् एक सन्देश जारी गर्दै उहाँले भन्नुभयो, “हामी जनतासामु नतमस्तक छौं । मध्य प्रदेश, राजस्थान र छत्तीसगढको परिणामले भारतका जनताको विश्वास सुशासन र विकासको राजनीतिमा मात्र छ, उनीहरूलाई भाजपामा विश्वास छ भन्ने बताइरहेको छ ।”

–पार्टीको विचारधाराको लडाइँ जारी रहने गान्धीको अभिव्यक्ति–

यसैबीच, कांग्रेस नेता राहुल गान्धीले आइतबार मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको विधानसभा चुनावमा पार्टीको हार स्वीकार गरे पनि पार्टीको विचारधाराको लडाइँ जारी रहने बताउनुभएको छ ।

राहुल गान्धीले एक्स (ट्वीटर) मा लेख्नुभएको छ, “हामी मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्दछौं । विचारधाराको लडाइँ जारी रहनेछ ।”

भारत राष्ट्र समिति (बीआरएस), जसलाई यसपहिले तेलङ्गना राष्ट्र समितिको नामले चिनिन्थ्यो, को १० वर्षे शासनलाई हटाएर नयाँ सरकार गठन गर्न लागेको तेलङ्गानामा उहाँले आफ्नो पार्टीले ’प्रजालु तेलङ्गना’ बनाउने वाचा पूरा गर्ने बताउनुभएको छ ।

‘कोप–२८ प्रभावकारी र परिणाममुखी भयो’ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताउनुभएको छ ।

कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो ।

जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले त्यसबापतको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाललाई प्राथमिकता प्राप्त देशको सूचीमा समावेश गरिएको आफूलाई जानकारी दिनुभएको प्रधानमन्त्रीले बताउनुभयो ।

जलवायु वित्तमा नेपाल प्राथमिकता प्राप्त देशको सूचीमा परेकाले आर्थिक एवम् प्राविधिक सहयोग प्राप्तिमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका मुद्दालाई यस पटक नेपालका तर्फबाट सघन रुपमा प्रस्तुत गरिएको बताउनुभयो । महासचिव गुटेरेसको नेपाल भ्रमणपछि जलवायु मुद्दामा नेपालको आवाज प्रभावकारी बनेको उहाँले बताउनुभयो ।

सम्मेलनमा क्रममा नेपालको आफ्नै नेपालमण्डपसमेत पहिलोपटक राखिएको र जलवायु परिवर्तनका सन्दर्भमा स्पष्ट दृष्टिकोणका साथ छलफलको आयोजना गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । नेपाली मण्डपमा यस क्षेत्रका जानकार, सञ्चारकर्मी र सरोकारवालाले मेहनतका साथ आफ्ना विषय प्रस्तुत गरेका उहाँले बताउनुभयो ।

कोप–२८ मा नेपालले आफ्नो अधिकारको विषयमा प्रस्ट दृष्टिकोणका साथ आफ्ना धारणा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “नेपालको जताततै प्रशंसा भयो । यो समान्य छैन ।” हिमाल, पहाड र नेपाल भनेर नै सूत्रबद्ध रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्रीले सम्मेलन सफल भएको उल्लेख गर्नुभयो ।

सम्मेलनमा सहभागी क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सङ्क्षिप्त कुराकानीभएको जानकारी दिँदै प्रधानमन्त्रीले जाजरकोट भूकम्पपछिको राहत, उद्धार तथा पुनः स्थापनामा सघाउन पाएकामा भारतीय प्रधानमन्त्रीले हर्ष प्रकट गर्दै भविष्यमा पनि पारस्परिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषद् पुनर्गठन हुँदैन – पृथक प्रसङ्गमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभयो । वर्तमान सरकार गठन भएदेखि नै त्यसको चर्चा चलेका भन्दै उहाँले त्यसमा कुनै सत्यता नभएको बताउनुभयो ।

विश्व सञ्चार शिखर सम्मेलन : तथ्यपरक, वस्तुनिष्ठ, र निष्पक्ष समाचार सम्प्रेषणमा जोड

विश्वका एक सयभन्दा बढी देश र क्षेत्रका सञ्चार माध्यम, विचार समूह र अन्तर्राष्ट्रिय संस्थालगायत करिब २०० संस्थाका ४५० भन्दा बढी प्रतिनिधि उपस्थित चीनको ग्वाङ्झोउमा विश्व सञ्चार शिखर सम्मेलन शुरू भएको छ । सम्मेलनका सहभागीले सञ्चारमाध्यममा तथ्यपरक, वस्तुनिष्ठ, र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने परिवर्तित विश्वको माग रहेको बताएका छन् ।

सम्मेलनको उद्घाटन तथा पूर्ण सत्रमा सहभागी प्रतिनिधिले आइतबार संयुक्त वक्तव्य जारी गर्दै सहभागीहरूले विश्व, समय र इतिहासले उठाएका प्रश्नहरूको जवाफ दिन सञ्चारको पुल निर्माण गर्न विश्वव्यापी सञ्चारमाध्यमसँग आह्वान गरेका छन् ।

“हामीले आफ्ना श्रोतालाई तथ्यपरक, वस्तुनिष्ठ, र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्छ, गलत सूचनाको प्रतिरोध गर्नुपर्छ र सञ्चार जगत्को अधिकार र विश्वसनीयता कायम राख्न अफवाह र पूर्वाग्रहको विरोध गर्नुपर्छ,” वक्तव्यमा भनिएको छ ।

‘विश्वव्यापी विश्वास बढाउने, सञ्चारमाध्यमको विकासलाई बढावा दिने’ मूल नाराका साथ शुरू भएको कार्यक्रममा सहभागीहरूले परिवर्तनहरूलाई अङ्गीकार गर्दै ‘नयाँ प्राविधिक अवसर र चुनौतीहरूको लागि मिडियाको प्रतिक्रिया, सञ्चारमाध्यममा अग्रगामी नवीनता, डिजिटल युगमा सञ्चारमाध्यमको नयाँ बजार र विकासको खोजी, र सुन्दर भविष्यका लागि सञ्चारमाध्यमको विश्वव्यापी सहयोग’ जस्ता प्रमुख चार विषयमा विस्तृत छलफल गरेका छन् ।

पाँचौँ विश्व शिखर सम्मेलनका लागि संयुक्त वक्तव्यमा भनिएको छ, “सञ्चार उद्योगका लागि विश्वव्यापी चुनौतीहरूको सामना गर्ने तरिकाहरूको खोजी गर्न आज विश्व एक शताब्दीमा नदेखिने तीव्र परिवर्तनबाट गुज्रिरहेको, अनिश्चितता र अप्रत्याशित कारकहरू बढ्दै गएको विश्वले, समय र इतिहासले सोधेका प्रश्नहरूको जवाफ दिन सञ्चारको पुल निर्माण गर्न विश्वभरका सञ्चारमाध्यमलाई सहभागीले आह्वान गरेका छन् ।

गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, विकासका लागि वित्तीय सहायता र औद्योगीकरणजस्ता क्षेत्रमा विकासशील मुलुकका मागलाई विश्वव्यापी सञ्चारमाध्यमले अझ बढी ध्यान दिने र यसले विकासमा रहेका असन्तुलन र अपर्याप्ततालाई समाधान गर्न सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।

“सूचनाको युगमा नयाँ प्रविधिको तीव्र विकासको बीचमा, विश्वभरका सञ्चारमाध्यमले पत्रकारिता नैतिकताको पालना गर्नुपर्दछ र सक्रिय रूपमा नवीनता सञ्चालन गर्दा व्यावसायिक मानकहरू पूरा गर्नुपर्दछ, र उदीयमान प्रविधिहरूको तर्कसङ्गत प्रयोग गर्नुपर्दछ,” वक्तव्यमा भनिएको छ ।

सहभागीहरूले विश्वभरका सञ्चारमाध्यम र सहयोगी सङ्गठनहरूको सहयोग सुदृढ गर्न, विश्व सञ्चार उद्योगको साझा विकासलाई बढावा दिन, र विभिन्न ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक परम्परा र विकासको स्थिति भएका देशहरू र जनताबीच पारस्परिक समझदारी र सञ्चारलाई सहज बनाउन आग्रह गरेका छन् । अस्थिर विश्वमा अधिक स्थिरता र सकारात्मक ऊर्जा प्रदान गर्न यसले टेवा प्रदान गर्ने उनीहरूले आह्वान गरेका छन् ।

सम्मेलनले विश्वभरका सञ्चारमाध्यमलाई सहमति निर्माण गर्न, उच्च गुणस्तरको विकासका लागि सँगै काम गर्न र मानवता र राम्रो विश्वका लागि साझा भविष्य भएको समुदाय निर्माण गर्न शक्तिशाली सञ्चार शक्ति एकत्रित गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

विश्व सञ्चार शिखर सम्मेलन उच्चस्तरीय सञ्चार आदानप्रदान र सहयोगका लागि एक महत्वपूर्ण विश्वव्यापी मञ्च हो । सिन्ह्वा समाचार एजेन्सी र गुआङडोङको प्रान्तीय सरकारको सह–आयोजना, शिखर सम्मेलनको मुख्य स्थलमा कार्यक्रमहरू डिसेम्बर २ देखि ६ सम्म चल्नेछन् ।

भारतीय खेलाडी सुभयान कुण्डुले जीते हेटौँडा कप बुद्धिचालको उपाधि

मनहरी, १७ मङ्सिर : नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा छ दिनसम्म सञ्चालन भएको एसियन खुल्ला रेटिङ हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका दुई हजार तीन सय ९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जीतेका छन् ।

उनले नौ चरणको प्रतिस्पर्धामा छ जीत र तीन बराबर परिणाम निकाल्दै अपराजित ७.५ अङ्क बनाएर नगद एक लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भएका हुन् । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भए पनि बङ्गलादेशका एफएम सरिफ होसेन माथि जीत हात पार्दै एकल विजेता बनेका हुन् ।

नेपाल खेलकुद महासङ्घ र जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सात÷सात अङ्क जोड्दै उपविजेता बनेका बङ्गलादेशका आइएम मोहम्मद मीनहाज उद्दिनले नगद रु ७५ हजार र तेस्रो स्थानमा भारतका एफएम अरबिन्दरप्रीत सिंहले नगद रु ४० हजार जित्न सफल बनेका छन् ।

होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बङ्गलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बङ्गलादेशका आइएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अङ्क प्राप्त गर्दै चौथौँदेखि दशौँ स्थानमा समेटिन सफल बनेका थिए ।

हेटौँडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं , नेपालका एआइएम शुश्रुत दाहाल बाह्रौँ, डेबोस्निक तेह्रौ, आशिष राज चौधाँै र भारतका आदित्य बर्टके पन्ध्रौँ स्थान हासिल गर्न सफल भएका थिए ।

यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिंह प्रधान दोस्रो, उत्कृष्ट महिला खेलाडी श्रीलङ्काका सचिनि रानासिङ्घे प्रथम, इसानाभि दोस्रो भएका छन् ।

मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा पुरस्कार वितरण एवं समापन समारोहमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हीराकाजी महर्जन, नेपाल खेलकुद महासङ्घका अध्यक्ष परशुराम बस्नेत, प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठबाट विजयी खेलाडीलाई नगद, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।

गण्डकी प्रदेशमा साठी अर्ब लगानीमा सडक स्तरोन्नति

म्याग्दी – गण्डकी प्रदेश सरकारले रु साठी अर्बभन्दा बढी लगानी गरेर एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति गरेको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि हालसम्म एक हजार तीन सय दुई किलोमिटर सडक स्तरोन्नति भएको छ ।

मन्त्रालयअन्तर्गत पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा महेन्द्र बानियाले पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिनुुभयो । सडक, मोटरेबल पुुल, भवन र झोलुुङ्गे पुुल निर्माणका लागि रु ८३ अर्ब ५२ करोड नौ लाख ७१ हजार लगानी भएकामा सडक स्तरोन्नतिमा रु साठी अर्ब ५९ करोड नौ लाख खर्च भएको निर्देशक बानियाले बताउनुुभयो ।

“प्रतिवर्ष दुई सय १७ किलोमिटरका दरले सडक स्तरोन्नति र १४ वटाका दरले मोटरेबल पुल निर्माण भएका छन्,” बानियाले भन्नुुभयो “सडक दुुर्घटनामा कमी आएको, प्रत्यक्ष रोजगारी सिर्जना भएको, बसाइँ सराईमा कमी आएको, सहरबाट गाउँ फर्काउने अभियान सुरु भएको तथा पर्यटन आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुुगेको छ ।”

चालुु आर्थिक वर्षमा मन्त्रालयका एक हजार चार सय ६४ वटा योजना रहेका छन् । एक सय १६ वटाको ठेक्का सम्झौता, दुई सय ८१ वटाको बोलपत्र आह्वान, चार सय आठ वटाको लागत अनुुमान तयार र बहुुवर्षीय ठेक्का लगाउने ४१ वटा योजनाको स्रोत सुनिश्चितता गरिएको मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले जानकारी दिनुुभयो ।

सचिव पण्डितका अनुुसार थप ६० वटा योजनाको बहुुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी भएको छ । चालुु आर्थिक वर्ष २०८०/८१ का लागि रु १२ अर्ब आठ करोड ९९ लाख २४ हजार बजेट विनियोजन भएकोमा यही मङ्सिर १५ गतेसम्म ८ दशमलव ११ प्रतिशत अथवा रु ९८ करोड नौ लाख तीन हजार खर्च भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयले एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । यस वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

प्रदेश सरकारको कूल रु बीस अर्ब पूँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।

भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले लक्ष्यअनुुसार बजेट र योजना कार्यान्वयन गर्न ११ वटै जिल्लाका पूूर्वाधार विकास कार्यालयलाई निर्देशन गरिएको बताउनुुभयो ।

“यसवर्ष योजनाको सङ्ख्या एक हजार आठ सयबाट घटाएर चौध सयको हाराहारीमा झारेका छौँ । भौतिक, अर्थ र मुुख्यमन्त्री कार्यालयबीच प्रभावकारी समन्वय भएको छ,” मन्त्रीले भन्नुुभयो, “जनशक्ति व्यवस्थापन र समन्वयको जिम्मेवारी मन्त्रालयले लिन्छ । गलत नियतले बजेट र योजना कार्यान्वयन प्रभावित बनाउने गतिविधि सह्य हुँदैन ।