`

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बौँ रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज्य कोषमा करोडौंको राजस्व गुम्ने छ ।

ती सामानहरू भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड (रातो) च्यानलबाट बाहिर ननिकाली ग्रीन (हरियो) तथा यल्लो (पहेलो) च्यानलबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ । रेड च्यानलबाट निकाल्दा सामान अनुसारको राजस्व तिर्नुपर्ने र विभिन्न कागजातहरू समेत आवश्यक पर्ने भएकोले राजस्व पनि खासै तिर्न नपर्ने र सहज किसिमले निकाल्न मिल्ने ग्रीन र यल्लो च्यानलबाट निकाल्न व्यापारीहरूले विभिन्न सेटिङ गरी योजना बनाइरहेको स्रोतको दाबी छ । भन्सार विभागले पनि वीरगञ्ज भन्सारस्थित गोदाममा ठुलो परिमाणमा राजस्व छलीका सुपारी, रक्सी, छोकडा र मरिच भएको अनुमान गर्दै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाएको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले वीरगञ्ज नाकामा राजस्व छलीका मालसामान रहेको सूचना प्राप्त भएकाले अनुसन्धान गर्न छानबिन टोली बनाइएको जानकारी दिए । महानिर्देशक पौडेलका अनुसार विभागले सार्वजनिक सूचना नै जारी गर्दै वीरगञ्ज भन्सारमा रहेका मालसामानको स्वघोषणा गरी प्रक्रियामा आउन दिएको सात दिनको समय सोमबार सकिँदैछ । विभागका महानिर्देशक पौडेलले भने, ‘सोमबारसम्म कसैले सामान घोषणा गरी प्रक्रियामा नआए त्यहाँ रहेका सामानहरू जफत प्रक्रिया थाल्नेछौं ।’ उनले वीरगञ्ज भन्सारमा ठुलो परिमाणमा तस्करीको सामानहरू रहेको जानकारी आए पनि ती सामानहरू के कति परिमाणमा छन् भन्ने सम्बन्धमा यकिन नभएको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीन असन्तुष्ट

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।

टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो(छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो। सरकारले पिन टिकटकबाट भइरहेको विकृति रोक्न उक्त एप बन्द गरेको बताउँदै आएको छ।

टिकटक बन्द भएपछि औपचारिक र अनौपचारिकरूपमा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सरकारका उच्च अधिकारीसँग सो निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाललाई भेटेरै टिकटक बन्द गर्ने निर्णयबाट आफू दुःखी भएको बताएका थिए। भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ राजदूत छन् सोङले भूराजनीतिक प्रभावका कारण नेपाल सरकारले टिकटक बन्द गरेको त होइन भनी प्रधानमन्त्री दाहालसँग प्रश्न गरेका थिए। प्रधानमन्त्री दाहालले भूराजनीतिक प्रभावले नभइ खल्बलिँदै गएको सामाजिक सद्भाव कायम गर्न टिकटक बन्द गर्ने निर्णय लिन सरकार बाध्य भएको चिनियाँ राजदूत सोङलाई जवाफ दिएको स्रोतले बताएको छ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल नियमन गर्न सरकार अग्रसर रहेको र त्यसका लागि बलियो कानुन बनेपछि पुनः सञ्चालनमा ल्याउन सकिने राजदूत सोङलाई आश्वासन दिएका थिए। प्रधानमन्त्री दाहालले जति स्पष्टीकरण दिए पनि टिकटक एप बनाउने चीन भने सरकारको निर्णयलाई लिएर सशंकित बनेको छ।

टिकटक बन्द गर्ने निर्णय भएलगत्तै चिनियाँ अधिकारीहरूले विभिन्न माध्यममार्फत् सरकारसँग असन्तुष्टि पोखिरहेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर लगाइयो आगो

धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो ।

राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चावी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाईले भने, ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा बाहिरबाट चावी लगाइदिएको थाहा भयो, छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाउँन लाएर बाहिर भागेर ज्यान जोगाइयो ।’

नेपाली कांग्रेसको तर्फबाट गुरागाई वडाध्यक्षमा निर्वाचित भएका हुन् । घरमा गुरागाईका श्रीमान–श्रीमती सुतेका थिए । उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो । तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिण्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरु पनि एकैठाउँमा थुपारेर आगो सत्काइएको पाइएको वडाध्यक्ष गुरागाईले बताए । उनका अनुसार तल्लो तलाका तीन वटा कोठामा आगो लागेको छ । आगोले तल्लो तलामा रहेका अधिकांस सामान जलेका छन् । घटना थाहा पाएपछि भेला भएका छिमेकीहरुले आगो निभाएका हुन् ।

आगो कसले लगाएको भन्ने खुलेको छैन । तर, घटनाको प्रकृति हेर्दा ज्यान मार्ने नियतले आगो लगाइएको देखिएको वडाध्यक्ष गुरागाई बताउँछन् । उनी भन्छन्, ‘गाउँमा कसैसँग पनि मेरो दुस्मनी छैन । कसले यस्तो गर्यो थाहा भएन । तर, मान्छे मार्ने नियतले ढोका थुनेर घरमा आगो लगाइदिएको प्रस्ट हुन्छ ।’

आगो निभाउँन केही ढिलो भएको भए ग्यास सिलिण्डर विस्फोट भएर घर पुरै ध्वस्त हुने अवस्था रहेको उनी बताउँछन् । घटनापछि आज बिहान प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौँ, १८ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २०गते हुने छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नुहुनेछ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पु¥याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ ।

उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्नुहुने कार्यक्रम छ भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ ।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्नुहुनेछ भने अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ ।

सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पु¥याएको योगदानबारे चर्चा हुने र नेपालको छवी थप उच्च हुने अपेक्षा गरिएको छ । नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र सङ्घले उच्च महत्व दिँदै सदस्य राष्ट्रका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

जनताका समस्या बुझ्न सङ्कल्प यात्रा आयोजना गरिएको हो – ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या बुझ्न सङ्कल्प यात्रा आयोजना गरिएको बताउनुभएको छ । पार्टीले आयोजना गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ को चौथो दिन आइतबार कर्णालीको दैलेखस्थित राकम कर्णालीमा आयोजित आमसभामा उहाँले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले सरकारका तर्फबाट लोकतान्त्रिक व्यवहार भएको छ कि छैन भन्ने कुरा हेर्न एमाले गाउँमा आएको उल्लेख गर्दै बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको तीन दिन सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा जनतामा निराशा छाएको टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने र जनताको हित नचाहने तत्व नै देशद्रोही भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशालाई मौकाको रुपमा लिएर प्रतिगमनको दिवास्वप्ना देख्नु देशद्रोह बाहेक अरु के हुन सक्छ ? यस्ता कुरा गर्नु विकास, परिवर्तन, नेपाल र नेपालीको हित विपरीत कार्यबाहेक अरु केही होइन ।”

पदयात्राको क्रममा जनताका समग्र समस्या बुझेर आगामी दिनमा तीनै तहका सरकारमा नीति निर्माण गर्ने रणनीतिका हिसाबले पनि अभियान थालिएको बताउँदै अध्यक्ष ओलीले आगामी २०८४ मा एमाले नेतृत्वमा एकल सरकार गठन हुने ठोकुवा गर्नुभयो । उहाँले नेपाललाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

आफू नेतृत्वको पार्टीले दूर्गम स्थानको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेशाव्यवसायको समृद्धि, कृषिको आधुनिकीकरण, देशलाई औद्योगिकीकरण र व्यापार सन्तुलन गर्ने नीति लिएको दाबी गर्दै अध्यक्ष ओलीले निरोगी नेपालको परिकल्पना र यसको नेतृत्व एमालेले गर्ने बताउनुभयो ।

एमाले महासचिव शङ्कर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियालनले सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा अध्ययन गर्ने बताउनुभयो । विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन गरी राम्रो परिणाम निकाल्ने उहाँले दाबी गर्नुभयो ।

मध्यपहाडी राजमार्गअन्तर्गत सुदूरपश्चिम प्रदेशको अछामबाट कर्णालीको दैलेख पुग्नुभएका अध्यक्ष ओली नेतृत्वको अभियान टोलीले आज दैलेखको ज्वाला क्षेत्र, श्रीस्थान, पादुका, नाभीस्थानलगायत पर्यटकीयस्थलको अवलोकन गरेको थियो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा सामान्य बदली रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।हाल बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ।

आज दिउँसो बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् मंसिर १८ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि – अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि – सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि – मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि- तिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि – प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि- मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि – पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि – बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि – ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

काठमाडौँको विभिन्न स्थानमा अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

काठमाडौँ, १७ मङ्सिर : नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

नेपाल एयरलाइन्सको विमान बिग्रीयो

मुगु, १७ मङ्सिर : नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ ।

तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो ।

उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो ।जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले थियो ।

नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिनुभयो ।नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटेलहरूमा आज बास बसेका छन् ।

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

धरान, १७ मङ्सिर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउन माग गरिएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेश कार्य समितिले सो माग गर्दै प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको हो ।

एसोसिएसनले आइतबार दिउँसो प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा हाल प्रतिष्ठानको फार्मेसीमा कार्यरत फार्मेसी सहायकहरू टेन्डरमार्फत बाह्य कम्पनीबाट काम गराइएकाले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अस्पतालकै मातहत ल्याउनुपर्ने माग गरिएको छ ।

त्यस्तै निर्देशिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार फार्मेसी सञ्चालन गरिनुपर्ने र अस्पतालमा अतिआवश्यक औषधि र प्रविधिजन्य स्वास्थ्यसामग्री उपलब्धता नहुने भएकाले बिरामीले दुःख भोगिरहेको हुँदा यस्ता औषधि र स्वास्थ्यसामग्री शीघ्र उपलब्ध गराउन माग गरिएको छ ।–

अनुप रेग्मीको निर्देशनमा तयार किनाराको ढुंगाको चर्चा

काठमाडौँ । गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द शृजना रहेको गीतमा न्ह्यू बज्राचार्यका संगीत तथा प्रज्वल लामाको एरेन्ज रहेको छ । भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमाभावलाई बयान गरेको छ ।

भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् । भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् । निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप । गायनको क्षेत्रमा एकपछि अर्को सृजना लिएर बजारमा आइरहेका बेला उनले आफ्नै निर्देशनमा किनाराको ढुंगा बोलको गीतको भिडियो बजारमा ल्याएका हुन् ।

रेग्मीको स्वरमा नै रहेको अर्को नयाँ गीतको भिडियो रिलिजको क्रममा रहेको छ । सार्वजनिक भिडियोमा किनाराको ढुंगामा शुशिल बिक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि, तेलङ्गनामा कङ्ग्रेस अगाडि

भारतीय निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि देखिएको छ । तेलङ्गनामा कङ्ग्रेसले भारत राष्ट्र समिति (बीआरएस)को १० बर्षसम्मको सत्तालाई अन्त्य गर्नसक्ने देखिएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार मध्य प्रदेशमा भाजपाले २३० मध्ये १६६ सिटमा अग्रता लिएको छ भने कङ्ग्रेसले ६३ सिटमा अग्रता लिएको छ ।
राजस्थानमा भाजपाले १९९ सिटमध्ये ११५ सिटमा अग्रता लिएको छ, जुन अशोक गेहलोत सरकारलाई सत्ताच्युत गर्ने दिशामा छ । राज्यमा कंग्रेसले ६९ सिटमा अग्रता लिएको छ ।

छत्तीसगढको चुनावमा अधिकांश सर्वेक्षण ‘एक्जिट पोल’ले कङ्ग्रेसले सरकार कायम राख्ने अनुमान गरे पनि परिणामले भने अर्कै देखाउँछ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार भाजपाले ९० मध्ये ५५ सिटमा अग्रता लिएको छ भने कङ्ग्रेसले ३५ सिटमा अग्रता लिएको छ ।

तेलङ्गनामा ११९ सदस्यीय विधानसभामा कङ्ग्रेसले ६४ सिटमा अग्रता लिएको निर्वाचन आयोगको अद्यावधिक विवरणले देखाएपछि वर्तमान बीआरएसले हार स्वीकारेको छ । बीआरएसले ३९ सिटमा अग्रता लिएको छ भने भाजपा र बीआरएसका संयुक्त उम्मेदवारले क्रमशः ८ र ७ सिटमा अग्रता लिएका छन् ।

–भाजपा र विकासको राजनीतिप्रति जनताको विश्वास देखिएको प्रधानमन्त्री मोदीको भनाइ–

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै परिणामले विकास र सुशासनको राजनीति र भाजपामाथि मात्र जनताको विश्वास रहेको देखाएको बताउनुभएको छ ।

उहाँले मतदाताहरू, विशेष गरी महिला मतदाताहरू र युवाहरूलाई भाजपामाथिको उनीहरूको स्नेह र आशीर्वादको लागि धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री मोदीले भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ जनता अगाडि बढिरहेको र आज हामीले त्यस दिशामा बलियो कदम चालेका छौँ भन्नुभयो । उहाँले भाजपाले जनताको हितका लागि कडा मेहनत गरिरहने बताउनुभयो ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत् एक सन्देश जारी गर्दै उहाँले भन्नुभयो, “हामी जनतासामु नतमस्तक छौं । मध्य प्रदेश, राजस्थान र छत्तीसगढको परिणामले भारतका जनताको विश्वास सुशासन र विकासको राजनीतिमा मात्र छ, उनीहरूलाई भाजपामा विश्वास छ भन्ने बताइरहेको छ ।”

–पार्टीको विचारधाराको लडाइँ जारी रहने गान्धीको अभिव्यक्ति–

यसैबीच, कांग्रेस नेता राहुल गान्धीले आइतबार मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको विधानसभा चुनावमा पार्टीको हार स्वीकार गरे पनि पार्टीको विचारधाराको लडाइँ जारी रहने बताउनुभएको छ ।

राहुल गान्धीले एक्स (ट्वीटर) मा लेख्नुभएको छ, “हामी मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्दछौं । विचारधाराको लडाइँ जारी रहनेछ ।”

भारत राष्ट्र समिति (बीआरएस), जसलाई यसपहिले तेलङ्गना राष्ट्र समितिको नामले चिनिन्थ्यो, को १० वर्षे शासनलाई हटाएर नयाँ सरकार गठन गर्न लागेको तेलङ्गानामा उहाँले आफ्नो पार्टीले ’प्रजालु तेलङ्गना’ बनाउने वाचा पूरा गर्ने बताउनुभएको छ ।

‘कोप–२८ प्रभावकारी र परिणाममुखी भयो’ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताउनुभएको छ ।

कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो ।

जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले त्यसबापतको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाललाई प्राथमिकता प्राप्त देशको सूचीमा समावेश गरिएको आफूलाई जानकारी दिनुभएको प्रधानमन्त्रीले बताउनुभयो ।

जलवायु वित्तमा नेपाल प्राथमिकता प्राप्त देशको सूचीमा परेकाले आर्थिक एवम् प्राविधिक सहयोग प्राप्तिमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका मुद्दालाई यस पटक नेपालका तर्फबाट सघन रुपमा प्रस्तुत गरिएको बताउनुभयो । महासचिव गुटेरेसको नेपाल भ्रमणपछि जलवायु मुद्दामा नेपालको आवाज प्रभावकारी बनेको उहाँले बताउनुभयो ।

सम्मेलनमा क्रममा नेपालको आफ्नै नेपालमण्डपसमेत पहिलोपटक राखिएको र जलवायु परिवर्तनका सन्दर्भमा स्पष्ट दृष्टिकोणका साथ छलफलको आयोजना गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । नेपाली मण्डपमा यस क्षेत्रका जानकार, सञ्चारकर्मी र सरोकारवालाले मेहनतका साथ आफ्ना विषय प्रस्तुत गरेका उहाँले बताउनुभयो ।

कोप–२८ मा नेपालले आफ्नो अधिकारको विषयमा प्रस्ट दृष्टिकोणका साथ आफ्ना धारणा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “नेपालको जताततै प्रशंसा भयो । यो समान्य छैन ।” हिमाल, पहाड र नेपाल भनेर नै सूत्रबद्ध रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्रीले सम्मेलन सफल भएको उल्लेख गर्नुभयो ।

सम्मेलनमा सहभागी क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सङ्क्षिप्त कुराकानीभएको जानकारी दिँदै प्रधानमन्त्रीले जाजरकोट भूकम्पपछिको राहत, उद्धार तथा पुनः स्थापनामा सघाउन पाएकामा भारतीय प्रधानमन्त्रीले हर्ष प्रकट गर्दै भविष्यमा पनि पारस्परिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषद् पुनर्गठन हुँदैन – पृथक प्रसङ्गमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभयो । वर्तमान सरकार गठन भएदेखि नै त्यसको चर्चा चलेका भन्दै उहाँले त्यसमा कुनै सत्यता नभएको बताउनुभयो ।

विश्व सञ्चार शिखर सम्मेलन : तथ्यपरक, वस्तुनिष्ठ, र निष्पक्ष समाचार सम्प्रेषणमा जोड

विश्वका एक सयभन्दा बढी देश र क्षेत्रका सञ्चार माध्यम, विचार समूह र अन्तर्राष्ट्रिय संस्थालगायत करिब २०० संस्थाका ४५० भन्दा बढी प्रतिनिधि उपस्थित चीनको ग्वाङ्झोउमा विश्व सञ्चार शिखर सम्मेलन शुरू भएको छ । सम्मेलनका सहभागीले सञ्चारमाध्यममा तथ्यपरक, वस्तुनिष्ठ, र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने परिवर्तित विश्वको माग रहेको बताएका छन् ।

सम्मेलनको उद्घाटन तथा पूर्ण सत्रमा सहभागी प्रतिनिधिले आइतबार संयुक्त वक्तव्य जारी गर्दै सहभागीहरूले विश्व, समय र इतिहासले उठाएका प्रश्नहरूको जवाफ दिन सञ्चारको पुल निर्माण गर्न विश्वव्यापी सञ्चारमाध्यमसँग आह्वान गरेका छन् ।

“हामीले आफ्ना श्रोतालाई तथ्यपरक, वस्तुनिष्ठ, र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्छ, गलत सूचनाको प्रतिरोध गर्नुपर्छ र सञ्चार जगत्को अधिकार र विश्वसनीयता कायम राख्न अफवाह र पूर्वाग्रहको विरोध गर्नुपर्छ,” वक्तव्यमा भनिएको छ ।

‘विश्वव्यापी विश्वास बढाउने, सञ्चारमाध्यमको विकासलाई बढावा दिने’ मूल नाराका साथ शुरू भएको कार्यक्रममा सहभागीहरूले परिवर्तनहरूलाई अङ्गीकार गर्दै ‘नयाँ प्राविधिक अवसर र चुनौतीहरूको लागि मिडियाको प्रतिक्रिया, सञ्चारमाध्यममा अग्रगामी नवीनता, डिजिटल युगमा सञ्चारमाध्यमको नयाँ बजार र विकासको खोजी, र सुन्दर भविष्यका लागि सञ्चारमाध्यमको विश्वव्यापी सहयोग’ जस्ता प्रमुख चार विषयमा विस्तृत छलफल गरेका छन् ।

पाँचौँ विश्व शिखर सम्मेलनका लागि संयुक्त वक्तव्यमा भनिएको छ, “सञ्चार उद्योगका लागि विश्वव्यापी चुनौतीहरूको सामना गर्ने तरिकाहरूको खोजी गर्न आज विश्व एक शताब्दीमा नदेखिने तीव्र परिवर्तनबाट गुज्रिरहेको, अनिश्चितता र अप्रत्याशित कारकहरू बढ्दै गएको विश्वले, समय र इतिहासले सोधेका प्रश्नहरूको जवाफ दिन सञ्चारको पुल निर्माण गर्न विश्वभरका सञ्चारमाध्यमलाई सहभागीले आह्वान गरेका छन् ।

गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, विकासका लागि वित्तीय सहायता र औद्योगीकरणजस्ता क्षेत्रमा विकासशील मुलुकका मागलाई विश्वव्यापी सञ्चारमाध्यमले अझ बढी ध्यान दिने र यसले विकासमा रहेका असन्तुलन र अपर्याप्ततालाई समाधान गर्न सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।

“सूचनाको युगमा नयाँ प्रविधिको तीव्र विकासको बीचमा, विश्वभरका सञ्चारमाध्यमले पत्रकारिता नैतिकताको पालना गर्नुपर्दछ र सक्रिय रूपमा नवीनता सञ्चालन गर्दा व्यावसायिक मानकहरू पूरा गर्नुपर्दछ, र उदीयमान प्रविधिहरूको तर्कसङ्गत प्रयोग गर्नुपर्दछ,” वक्तव्यमा भनिएको छ ।

सहभागीहरूले विश्वभरका सञ्चारमाध्यम र सहयोगी सङ्गठनहरूको सहयोग सुदृढ गर्न, विश्व सञ्चार उद्योगको साझा विकासलाई बढावा दिन, र विभिन्न ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक परम्परा र विकासको स्थिति भएका देशहरू र जनताबीच पारस्परिक समझदारी र सञ्चारलाई सहज बनाउन आग्रह गरेका छन् । अस्थिर विश्वमा अधिक स्थिरता र सकारात्मक ऊर्जा प्रदान गर्न यसले टेवा प्रदान गर्ने उनीहरूले आह्वान गरेका छन् ।

सम्मेलनले विश्वभरका सञ्चारमाध्यमलाई सहमति निर्माण गर्न, उच्च गुणस्तरको विकासका लागि सँगै काम गर्न र मानवता र राम्रो विश्वका लागि साझा भविष्य भएको समुदाय निर्माण गर्न शक्तिशाली सञ्चार शक्ति एकत्रित गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

विश्व सञ्चार शिखर सम्मेलन उच्चस्तरीय सञ्चार आदानप्रदान र सहयोगका लागि एक महत्वपूर्ण विश्वव्यापी मञ्च हो । सिन्ह्वा समाचार एजेन्सी र गुआङडोङको प्रान्तीय सरकारको सह–आयोजना, शिखर सम्मेलनको मुख्य स्थलमा कार्यक्रमहरू डिसेम्बर २ देखि ६ सम्म चल्नेछन् ।

भारतीय खेलाडी सुभयान कुण्डुले जीते हेटौँडा कप बुद्धिचालको उपाधि

मनहरी, १७ मङ्सिर : नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा छ दिनसम्म सञ्चालन भएको एसियन खुल्ला रेटिङ हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका दुई हजार तीन सय ९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जीतेका छन् ।

उनले नौ चरणको प्रतिस्पर्धामा छ जीत र तीन बराबर परिणाम निकाल्दै अपराजित ७.५ अङ्क बनाएर नगद एक लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भएका हुन् । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भए पनि बङ्गलादेशका एफएम सरिफ होसेन माथि जीत हात पार्दै एकल विजेता बनेका हुन् ।

नेपाल खेलकुद महासङ्घ र जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सात÷सात अङ्क जोड्दै उपविजेता बनेका बङ्गलादेशका आइएम मोहम्मद मीनहाज उद्दिनले नगद रु ७५ हजार र तेस्रो स्थानमा भारतका एफएम अरबिन्दरप्रीत सिंहले नगद रु ४० हजार जित्न सफल बनेका छन् ।

होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बङ्गलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बङ्गलादेशका आइएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अङ्क प्राप्त गर्दै चौथौँदेखि दशौँ स्थानमा समेटिन सफल बनेका थिए ।

हेटौँडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं , नेपालका एआइएम शुश्रुत दाहाल बाह्रौँ, डेबोस्निक तेह्रौ, आशिष राज चौधाँै र भारतका आदित्य बर्टके पन्ध्रौँ स्थान हासिल गर्न सफल भएका थिए ।

यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिंह प्रधान दोस्रो, उत्कृष्ट महिला खेलाडी श्रीलङ्काका सचिनि रानासिङ्घे प्रथम, इसानाभि दोस्रो भएका छन् ।

मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा पुरस्कार वितरण एवं समापन समारोहमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हीराकाजी महर्जन, नेपाल खेलकुद महासङ्घका अध्यक्ष परशुराम बस्नेत, प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठबाट विजयी खेलाडीलाई नगद, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।

गण्डकी प्रदेशमा साठी अर्ब लगानीमा सडक स्तरोन्नति

म्याग्दी – गण्डकी प्रदेश सरकारले रु साठी अर्बभन्दा बढी लगानी गरेर एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति गरेको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि हालसम्म एक हजार तीन सय दुई किलोमिटर सडक स्तरोन्नति भएको छ ।

मन्त्रालयअन्तर्गत पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा महेन्द्र बानियाले पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिनुुभयो । सडक, मोटरेबल पुुल, भवन र झोलुुङ्गे पुुल निर्माणका लागि रु ८३ अर्ब ५२ करोड नौ लाख ७१ हजार लगानी भएकामा सडक स्तरोन्नतिमा रु साठी अर्ब ५९ करोड नौ लाख खर्च भएको निर्देशक बानियाले बताउनुुभयो ।

“प्रतिवर्ष दुई सय १७ किलोमिटरका दरले सडक स्तरोन्नति र १४ वटाका दरले मोटरेबल पुल निर्माण भएका छन्,” बानियाले भन्नुुभयो “सडक दुुर्घटनामा कमी आएको, प्रत्यक्ष रोजगारी सिर्जना भएको, बसाइँ सराईमा कमी आएको, सहरबाट गाउँ फर्काउने अभियान सुरु भएको तथा पर्यटन आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुुगेको छ ।”

चालुु आर्थिक वर्षमा मन्त्रालयका एक हजार चार सय ६४ वटा योजना रहेका छन् । एक सय १६ वटाको ठेक्का सम्झौता, दुई सय ८१ वटाको बोलपत्र आह्वान, चार सय आठ वटाको लागत अनुुमान तयार र बहुुवर्षीय ठेक्का लगाउने ४१ वटा योजनाको स्रोत सुनिश्चितता गरिएको मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले जानकारी दिनुुभयो ।

सचिव पण्डितका अनुुसार थप ६० वटा योजनाको बहुुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी भएको छ । चालुु आर्थिक वर्ष २०८०/८१ का लागि रु १२ अर्ब आठ करोड ९९ लाख २४ हजार बजेट विनियोजन भएकोमा यही मङ्सिर १५ गतेसम्म ८ दशमलव ११ प्रतिशत अथवा रु ९८ करोड नौ लाख तीन हजार खर्च भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयले एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । यस वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

प्रदेश सरकारको कूल रु बीस अर्ब पूँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।

भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले लक्ष्यअनुुसार बजेट र योजना कार्यान्वयन गर्न ११ वटै जिल्लाका पूूर्वाधार विकास कार्यालयलाई निर्देशन गरिएको बताउनुुभयो ।

“यसवर्ष योजनाको सङ्ख्या एक हजार आठ सयबाट घटाएर चौध सयको हाराहारीमा झारेका छौँ । भौतिक, अर्थ र मुुख्यमन्त्री कार्यालयबीच प्रभावकारी समन्वय भएको छ,” मन्त्रीले भन्नुुभयो, “जनशक्ति व्यवस्थापन र समन्वयको जिम्मेवारी मन्त्रालयले लिन्छ । गलत नियतले बजेट र योजना कार्यान्वयन प्रभावित बनाउने गतिविधि सह्य हुँदैन ।

फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

काठमाडौँ, १७ मङ्सिर : सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने भएको छ ।

सैनिक श्रीमती सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सङ्घको वार्षिक मुखपत्र ‘सेवा सुमन’को विमोचन गर्नुभयोे ।

प्रधान सेनापतिले मुखपत्रमा उत्कृष्ट लेखरचनाका सर्जक तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

सङ्घले यस वर्ष बाल दिवसको उपलक्ष्यमा आयोजना गरेको अन्तरसैनिक महाविद्यालय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा एवं प्रतियोगिताहरूका मूल्याङ्कन समितिका सदस्यहरूलाई पनि प्रधान सेनापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

सोही अवसरमा प्रधानसेनापतिले सङ्घले हरेक वर्ष सैनिक महाविद्यालयहरूमा अध्ययनरत जेहेन्दार छात्रछात्राहरूलाई उपलब्ध गराउने विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्नुभयो । त्यसैगरी, उहाँले नेपाली सेनाका फरक क्षमता भएका बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको फरक क्षमता दिवा विद्यालय सञ्चालनार्थ विविध सहयोग पु¥याउनु हुने सङ्घसंस्थाहरूलाई कदरस्वरूप उपहार प्रदान गर्नुभयो ।

कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, सङ्घका पदाधिकारीहरू, सैनिक महाविद्यालयहरूका प्राध्यापक, छात्रछात्राहरूलगायत अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

पदयात्रामा गएका अलपत्र १८० जना विद्यार्थीको उद्धार

श्रीलङ्काको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताले बताए अनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको मेडिसिन संकायमा अध्ययनरत छन्।

ती विद्यार्थीहरू शनिबार बिहान हाईकिङमा निस्किएका थिए तर बाक्लो कुहिरो र वर्षाका कारण फर्कने क्रममा बाटोमै हराएको प्रवक्ताले बताएका छन् ।

हान्थाना, श्रीलङ्काको मध्य हाइल्याण्ड्समा अवस्थित विश्वविद्यालयका विद्यार्थीहरूका लागि लोकप्रिय पदयात्रा गन्तव्य हो। यस क्षेत्रमा अचानक मौसम परिवर्तनका कारण प्रत्येक वर्ष केही विद्यार्थीहरू यसैगरी हराउँने गरेका समाचार सार्वजनिक हुने गर्छन् ।

जापानमा भालु आक्रमण इतिहामै उच्च

आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानी स्तरमा पुगेको छ । मुलकमा भालुको आक्रमणका लागि यो वर्ष सबैभन्दा खराब वर्ष हो ।

पर्यावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष सुरु हुने अप्रिल महिनापछिको आठ महिनामा मुलुकभर एक सय ९३ वटा भालुको आक्रमण भएको छ र यस क्रममा दुई सय १२ जना घाइते र छ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२० मा घाइते भएका एक सय ५८ जनाको कीर्तिमानी सङ्ख्यालाई यो आँकडाले नाघेको छ । उत्तरपूर्वी जापानमा ७० प्रतिशत आक्रमण भएको छ । अकितामा ७० र इवातेमा ४५ आक्रमण भएका छन् ।

गत नोभेम्बरमा भालुले ३० जनामाथि आक्रमण गरेको थियो । उक्त आक्रमण दोस्रो सबैभन्दा ठूलो थियो । भालुहरू सामान्यतया नोभेम्बरको अन्त्यदेखि डिसेम्बरसम्म शीतनिद्रामा जान्छन् तर मन्त्रालयका अधिकारीहरूले अझै पनि आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।

छिटो भूकम्पपीडितलाई छानामुनि ल्याउन सञ्चारमन्त्री शर्माको निर्देशन

त्रिवेणी (रुकुम पश्चिम) १७ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पपीडितका अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिनुभएको छ ।

भूकम्पप्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुग्नुभएकी शर्माले भूकम्पपीडितलाई चिसोले थप जोखिम बढाएकाले छिटो अस्थायी आवास निर्माण गरी पीडितलाई छानामुनि बसाल्न जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको हो ।

जिल्लास्थित विपद् व्यवस्थापनको समूहले सोहीअनुसार जनशक्तिलार्ई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्रिपरिषद्ले यसअघि नै प्रावित क्षेत्रमा अस्थायी आवास निर्माणको लािग सुरक्षाकर्मीको समूह परिचालन गर्ने निर्णय गरिसकेको छ ।

भूकम्पप्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न सरकारका तर्फबाट प्राप्त हुने पत्रलाई पर्खिरहन नपर्ने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले नेपाल सरकाबाट प्राप्त हुने पत्र आउँदै गर्छ, भूकम्पप्रभावित क्षेत्रमा काम गर्न पत्रलाई पर्खिरहन आवश्यक नरहेको बताउनुभयो ।

‘‘प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि सरकारका तर्फबाट प्रक्रिया हुँदै गर्छ, जनशक्ति परिचालन गरेर काम गर्दा केही बिग्रिँदैन, बरु जतिसक्दो छिटो अस्थायी आवास निर्माणमा जोड दिनुहोस्, विपद्को समयममा सबैको हातेमालो आवश्यक पर्छ, सबैसँग सहकार्य गरेर काम अगाडि बढाउनुहोस् ।’’–सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा भन्नुभयो ।

अस्थायी आवास निर्माण ढिलाइ भएको उल्लेख गर्नुहुँदै उद्धार र उपचारमा खटिएको जसरी अस्थायी आवास निर्माणमा पनि नतिजा देखाउन र चिसो बढ्दै गएकाले अस्थायाी आवास निर्माण ढिला नगर्न उहाँले निर्देशन दिनुभयो । विपद्को बेला देखिएको सक्रियताप्रति आमजनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

छिटो अस्थायी टहरा निर्माण गरिसक्न मन्त्री शर्माको आग्रह

जाजरकोट : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिटो सबै भूकम्पप्रभावितका लागि अस्थायी टहरा बनाइसक्नुपर्ने बताउनुभएको छ । जाजरकोटको नलगाड नगरपालिकामा आज जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्दै पुसदेखि चिसो बढ्ने भएकाले छिटै अस्थायी टहरा निर्माणको काम पूरा गर्नुपर्ने बताउनुभयो ।

भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिकामा सबैभन्दा बढी जनधनको क्षति भएको थियो । अस्थायी टहरा निर्माणका लागि प्रतिपरिवार रु ५० हजार रकम निकासा गर्ने निर्णय गरेको लामो समय हुँदा पनि उल्लेख्य प्रगति नभएकाले गत मन्त्रिपरिषद् बैठकबाट जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षाकर्मी परिचालन गर्ने नीति पारित गरिएकाले अब टहरा निर्माणले गति लिने स्पष्ट गर्नुभयो ।

जिल्लाको मौजुदा सुरक्षाकर्मीको जनशक्ति कम भएमा थप जनशक्ति माग गर्ने अधिकार पनि जिल्ला सुरक्षा समितिलाई दिएको उहाँले जानकारी दिनुभयो । २०७२ सालको भूकम्पको पुनर्निर्माणमा देखिएको समस्याबाट सिकेर पुनःनिर्माणलाई सहज बनाउन अहिले सरकारले नयाँ कार्यविधि निर्माण गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

टहरा सकेसम्म सुरक्षित बनाउनुपर्ने तर जनताले स्थानीय सामग्री प्रयोग गरेर आफ्नो आवश्यकताका आधारमा बनाउने घरका लागि पनि अनुदान दिने गरी नीति पारित भएको उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले विभिन्न दलहरूले टहरा निर्माणमा स्वयंसेवक परिचालन गर्नु राम्रो भए पनि निर्माणका काममा दक्ष जनशक्ति आवश्यकता पर्ने भएकाले स्वयंसेवक परिचालन गर्दा यसमा ख्याल गर्न सुझाव दिनुभयो ।

भूकम्पले पीडा दिए पनि यो जनताको सेवा गर्ने तीनै तहका सरकारका लागि अवसर भएको उल्लेख गर्दै सरकारले यो अवसरको भरपुर उपयोग गरेर विपद्लाई अवसरमा बदल्न आग्रह गर्नुभयो । आहिलेको प्रमुख दायित्व नागरिकलाई छानामुनि ल्याउनु रहेको उल्लेख गर्दै उहाँले उद्धार र उपचारमा जस्तै पुनःनिर्माण र पुनःस्थापनामा पनि नेतृत्व लिन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले भूकम्पको विपद सामना गर्न स्थानीय तहले लिएको सफल नेतृत्वले नेपालमा सङ्घीयताको औचित्य थप पुष्टि भएको पनि बताउनुभयो ।

यसैबीच आइतवार नै मन्त्री शर्माले रुकुमको सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाका जनप्रतिनिधिसित पनि छलफल गर्नुभएको छ । सो क्रममा जनप्रतिनिधिहरुले जनताको आवश्यकताको प्रकृति फेरिएकाले अब अस्थायी टहरासङ्गै शौचालय, खानेपानी, सरसफाइ, वैकल्पिक उर्जा, टेलिफोन सेवा सुधारमा जोड दिन मन्त्री शर्मालाई आग्रह गरेका थिए । मन्त्री शर्मा आजै सानीभेरी र आठबीसकोट्का क्षतिग्रस्त वस्तीमा पुगेर क्षतिग्रस्त संरचना, अस्थायी टहरा निर्माण तथा सुत्केरी र बालबालिकाको अवस्था निरीक्षण गर्नुभएको थियो ।

सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना

बारा (सिमरा) १७ मङ्सिर : सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको उक्त रिफ्युलिङ सेन्टरको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमानस्थलका रुपमा रहेको उक्त विमानस्थलमा हालसम्म हवाई इन्धन भर्ने व्यवस्था थिएन । रिफ्युलिङ सेन्टर सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (आन्तरिक तर्फ) नजिकको वैकल्पिक विमास्थलका रुपमा उक्त विमानस्थललाई प्रयोगमा ल्याउन सकिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

“काठमाडौँबाट उडान वा काठमाडौँमा अवतरण गर्ने आन्तरिक उडानका लागि सिमरा विमास्थललाई बैकल्पिक विमानस्थलका रुपमा राख्ने गरिएकामा हवाई इन्धन रिफ्युलिङ सेवाले आपतकालीन उडान तथा अवतरणमा सहजता ल्याउनेछ”, उहाँले भन्नुभयो । काठमाडौँमा मौसम खराब वा हवाई चाप हुँदा भैरहवा र विराटनगर मार्ग परिवर्तन गर्नुपर्ने अवस्थाको अन्त्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौँबाट सिमरासम्मको हवाई यात्राको समय करिब १५ मिनेट रहेको छ । रिफ्युलिङ सेन्टरको स्थापनापछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्दै उड्डयन उद्योग र हवाई यात्रु दुवैलाई फाइदा पुग्ने निगमको विश्वास छ । रिफ्युलिङ सेन्टरका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका २ वटा रिफ्युलर तथा ९ किलोलिटरको ‘डिस्पेन्सर’ को व्यवस्था गरेको छ ।

सिमरा विमानस्थलमा भण्डारण ट्याङ्क स्थापना नभएसम्म जनकपुरमा रहेको डिपोबाट हवाई इन्धन ल्याइनेछ । निगमले हाल भारतको बरौनीबाट जनकपुर डिपोमा हवाइ इन्धन ल्याउने गरको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले हवाई इन्धन रिफ्युलिङ सेवा विस्तार गर्ने नीति तथा कार्यक्रमअनुसार यो वर्ष पहिलोपटक सिमरा विमानस्थालमा सेवा सुरु गरिएको बताउनुभयो । निगमले यही वर्ष भरतपुर र जुम्ला विमानस्थलमा समेत सेवा विस्तार गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।

यो सेवा विस्तारबाट निगमलाई सिमराबाट काठमाडौँसम्मको ढुवानीमा लाग्दै आएको ढुवानी भाडा बचत हुने प्रवक्ता ठाकुरको भनाइ छ । सेवा विस्तारले जहाजको लोड क्षमता व्यवस्थापन गर्न तथा त्रिभुवन विमानस्थलको चाप घटाउन समेत सहयोग पुग्ने उहाँको विश्वास छ । अहिले दैनिक ९ वटा उडान तथा अवतरण हुँदै आएको सिमरा विमानस्थलबाट करिब नौ सय देखि एक हजार यात्रुले सेवा लिँदै आएका छन् ।

सो अवसरमा मन्त्री रिजालले व्यावसायिक संस्थाका रुपमा रहेको निगमले खाना पकाउने ग्यासमा जनतालाई सहुलियत दिन नोक्सानी व्यहोरेरै भए पनि सस्तो मूल्यमा उपलब्ध गराइएको बताउनुभयो । उहाँले औद्योगिक तथा व्यावसयिक प्रयोजनका लागि पाँच सयदेखि एक हजार किलोग्राम क्षमताका सिलिन्डरको व्यवस्था गर्न प्रयास गरिरहेको बताउनुभयो । यसबाट व्यावसायिक प्रयोजनको ग्यासमा अनुदान घटाएर नोक्सानी कम गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

शीतगृह निर्माण भएपछि किसानलाई ठूलो राहत, बिक्री नहुँदा नालीमा फाल्नुपर्ने अवस्थाको अन्त्य

धरान, १७ मङ्सिर : कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा धरानमा निर्माण भएको शीतगृह (चिस्यान केन्द्र) ले किसानलाई राहत मिलेको छ ।विगतमा बिक्री नभएका आफ्ना उत्पादन खेर फाल्न बाध्य किसान अहिले बिक्री नभएको कृषिजन्य उत्पादन भण्डारणका लागि शीतगृह पुर्‍याउने गर्छन् । धनकुटाका कृषक शिवकुमार राईले शीतगृह निर्माण भएपछि किसानलाई ठूलो राहत मिलेको बताउनुभयो ।

“दुःख गरेर धरान ल्याइएका फलफूल र तरकारी बिक्री भएन भने कि त सित्तैमा दिएर जानुपर्ने, नत्र नालीमा फाल्नुपर्ने अवस्था थियो”, उहाँ भन्नुहुन्छ, “अहिले चिस्यान केन्द्र भएपछि बिक्री नभए पनि यहीँ थन्क्याएर जान पाइन्छ । अर्को हप्ता आएर फेरि बिक्री गर्न सकिन्छ ।”

शिवकुमार मात्र होइन धरान–१३ स्थित कृषि उपज बजार स्थलमा तरकारी तथा फलफूल बिक्री गर्न आउने धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, खोटाङलगायत पहाडी क्षेत्रका किसानका लागि शीतगृह बरदान साबित भएको छ ।

कोशी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु ४९ लाख ८३ हजार तीन सय र कृषि बजार व्यवस्थापन समितिको रु २६ लाख ९७ हजार आठ सय ४० गरी कूल रु ७६ लाख ८१ हजार एक सय ४० लागतमा शीतगृह निर्माण भएको थियो ।

शीतगृहमा कृषि उपज राख्न कृषक र व्यापारीको माग झनै बढेपछि आर्थिक वर्ष २०७७/७८ मा पनि कोशी प्रदेश सरकारले रु ५० लाख उपलब्ध गरायो । त्यसमा कृषि बजार समितिले रु १७ लाख थप गरेर कूल रु ६७ लाख लागतमा अर्को शीतगृह थप गरियो ।

हाल कृषि बजारमा शीतगृहका ६ वटा च्याम्बर छन् । एउटा च्याम्बरमा २५ टनदेखि ३० टनसम्म भण्डारण गर्न सकिन्छ । छ वटा च्याम्बरमध्ये २५ टन क्षमताको एउटा च्याबर कृषकका लागि आरक्षणका रुपमा छुट्याइएको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अरू च्याम्बरमा कृषक, व्यापारी सबैले राख्न पाउँछन् तर एउटा च्याम्बर कृषककै लागि छुट्याइएकाले अरूले राख्न पाउँदैनन् । यो कृषकलाई आरणक्षका रुपमा राखिएको हो ।”

शून्य डिग्री तापक्रम रहने शीतगृहमा अहिले किसानले आलुको बीउ, ड्रागन फ्रुट, किबी, जुम्ली स्याउ र नौनी घीउ राखेका छन् । शीतगृहमा ड्रागन फ्रुट एक महिनासम्म, किबी तीन महिनासम्म, आलुको बीउ एक वर्षसम्म र हरियो तरकारी एक हप्तासम्म भण्डारण गर्न सकिने व्यवस्थापक भट्टराई बताउनुहुन्छ ।

भट्टराईका अनुसार यसरी भण्डार गर्दा कृषकले प्रतिकेजी मासिक दुई रुपैयाँ ५० पैसा तिर्नुपर्छ । शीतगृहमा व्यापारीहरुले पनि बाहिरबाट किनेर ल्याएका स्याउ, अङ्गुर, अनारजस्ता फलफूलहरु राख्ने गर्छन् । कतिपय व्यापारीले च्याम्बर नै लिजमा लिने गरेका छन् । उनीहरुले ३० टन क्षमताको प्रतिच्याम्बर मासिक रु ३० हजार तिर्ने गरेका छन् ।

तरकारी र फलफूलका लागि शीतगृह भए पनि खाद्यवस्तुका लागि अझै शीतगृह आवश्यक रहेको व्यवस्थापक भट्टराई बताउनुहुन्छ । मासु, चिज, पनिरजस्ता खाद्य वस्तु राख्न शीतगृहको माग भए पनि त्यसका लागि करिब रु दुई करोड खर्च हुने भएकाले आर्थिक अभावले निर्माण गर्न नसकिएको उहाँको भनाइ छ । तरकारी, फलफूललाई शून्य डिग्रीमा राख्न सकिने भए पनि मासुजन्य खाद्यलाई माइनसमा राख्नुपर्ने भएकाले अर्को शीतगृह आवश्यक परेको हो ।

धरानस्थित कृषि उपज बजारमा दैनिक करिब एक हजार किसान र दुई सय ५० हाराहारी व्यापारीबीच कारोबार हुन्छ । यहाँ दैनिक दुई करोडदेखि तीन करोडसम्मको कारोबार हुने गरेको छ । वार्षिक कारोबार सात अर्बभन्दा बढी हुने गरेको छ ।

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ

नेपालगञ्ज (बाँके), १७ मङ्सिरः कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् । लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर-८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो । उनीहरुबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो सात सय चार ग्राम चरेस, दुई किलो एक सय १६ ग्राम अफिम बरामद गरेको हो ।

रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो । साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागूऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरुलाई १४ देखि १५ वर्ष वा जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्नेछ ।

सञ्चारमन्त्री शर्मालाई भूकम्प प्रभावित क्षेत्रका पत्रकारको ज्ञापनपत्र

रुकुम पश्चिम, १७ मङ्सिर : भूकम्पप्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणका लागि रुकुम पश्चिम आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष यहाँका पत्रकारले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिम शाखाले यहाँका पत्रकारका लागि आवश्यक सहयोग माग गरी सो ज्ञापानपत्र बुझाएको हो । कोरोना महामारीको चपेटामा परेको सञ्चार क्षेत्र भूकम्पको थप विपद्मा परेकाले यसको सामना गर्नका लागि सरकारका तर्फबाट सहयोग आवश्यक रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

शाखाका लक्ष्मण अध्यक्ष केसीका अनुसार मन्त्री शर्मासँग भूकम्पबाट क्षति पुगेका सञ्चारमाध्यामको भवन निर्माण र उपकरण खरिदमा सहयोग गर्न र भूकम्पप्रभावित पत्रकारहरुलाई सहुलियत दरमा उपकरण खरिदको व्यवस्था गरिदिन माग गरिएको छ ।

त्यसैगरी, भूकम्पप्रभावित क्षेत्रका सञ्चारमाध्यामहरुको नवीकरणमा लाग्ने शुल्क छुट गरिदिन र सूचना विभागद्वारा यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्थाका लागि महासङ्घले माग गरेको छ ।

महासङ्घ रुकुमपश्चिम शाखाले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तथा सञ्चारमाध्यमको सबलीकरणका लागि विशेष प्याकेजको माग गरेको छभने प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई इन्टरनेट र विद्युत् सेवा निःशुल्क गरिदिने व्यवस्थाका लागि पनि माग गरेको छ ।

प्रभावित पत्रकारहरुका लागि मनोसामाजिक सेवा लक्षित कार्यक्रम, फेलोसिप लक्षित कार्यक्रम, पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमाको निरन्तरता, जिल्लाका विज्ञापनहरु स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको माग पनि सो ज्ञापनपत्रमार्फत गरिएको छ ।

जिल्ला शाखा अध्यक्ष केसीले पत्रकारहरुको न्यूनतम पारिश्रमिक राज्यले कडाइका साथ लागू गर्नुपर्ने र अनलाइन मिडियाहरुको उचित व्यवस्थापन तथा लोककल्याणकारी विज्ञापनका लागि पहल गरिदिन माग गरेको जानकारी दिनुभयो ।

यस जिल्लामा आठवटा रेडियो, दुईवटा साप्ताहिक र एक मासिक पत्रिका तथा चारवटा अनलाइन मिडिया सञ्चालनमा रहेका छन् ।

यहाँ भूकम्पका कारण ३० जना पत्रकार प्रभावित भएका र एक रेडियो पूर्ण रुपमा क्षति भएको अध्यक्ष केसीले जानकारी गराउनुभएको छ । मन्त्री शर्माले ज्ञापनपत्र बुझ्दै सबै माग सकारात्मक रहेकाले यी माग पूरा गर्न आफूले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्छ – ओली

मान्म (कालिकोट) १७ मङ्सिर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताउनुभएको छ ।

समृद्धिका लागि सङ्कल्प यात्रामा निस्कनुभएका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताउनुभयो । “आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो । त्यो लोकतन्त्र विरोधी हो ।” उहाँले भन्नुभयो, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो ।”

लोकतन्त्रको बिरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको अध्यक्ष ओलीको भनाइ छ । “त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।” उहाँले भन्नुभयो, “नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताबीचमा पु¥याऔँ, नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ ।”

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

असअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पु¥याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ ।

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आगामी माघ ११ गते बिहीबार हुँदैछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने बारे आज विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

पुस २० गते मतदाता नामावली प्रकाशन

आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २० गते सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने जनाइएको छ । प्रकाशित मतदाता नामावलीमाथि दाबी विरोधलगायत कार्य सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारीे विज्ञप्तिमा जनाइएको छ ।

उम्मेदवारको मनोनयन दर्ता पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । मनोनयन दर्तापश्चात् उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ ।

मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन अपराह्न २ बजे सम्पन्न हुनेछ । यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि

काठमाडौँ, १७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ ।पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सो बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उहाँले बताउनुभयो ।

पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ ।बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो ।

रबिनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ

झापा, १७ मङ्सिर : गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उहाँले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिनुभएको थियो । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उहाँको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो ।

सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्नुहुन्छ । घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन् । यसअघि पति र पत्नीको मजदुरीको कमाइले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो ।

ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी वस्तीमा बस्दै आएको छ । तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए । सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।

अहिले तीनजना शिशु हुर्काउन पत्नी एक्लैले नसक्ने भएकाले पतिसहित परिवारका सबै सदस्य लागेर स्याहार गर्दै आएका छन् । ज्यालादारी काममा जान नभ्याउँदा दैनिक कमाइ शून्य भएको छ ।

ताजपुरिया परिवारलाई खाद्यान्न सहयोग र लत्ताकपडाको खाँचो छ । ऐलानी जग्गामा रहेको भुइँघरमा ओछ्याउने र बस्ने न्याना कपडा छैनन् । शिशु बिरामी हुने जोखिम बढेको छ । शिशुलाई लगाइदिने पर्याप्त न्यानो कपडा परिवारसँग छैन । शिशु सुताउने कोक्रो नभएकाले साडीको कामचलाउ झोलुङ्गो बनाइएको छ । सुत्केरी आमा र शिशुलाई लामखुट्टबाट जोगाउने झुल पनि छैन ।

पालिकाले दियो लहिनो गाई

गौरीगञ्ज गाउँपालिकाले सुत्केरी आमा र नवजात शिशुको भरणपोषणका लागि लहिनो गाई प्रदान गरेको छ । पालिकाको तर्फबाट अढाइ लिटर दूध दिने एउटा लहिनो गाई निःशुल्क उपलब्ध गराइएको पालिकाकी उपप्रमुख पुजन न्यौपानेले बताउनुभयो । नवजात तीन शिशुलाई हुर्काउन सहज होस् भनेर पालिकाले दुधालु गाई रु ३३ हजारमा किनेर दिएको उहाँले जानकारी दिनुभयो ।

लहिनो गाई प्रदान गर्न गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी र उपाध्यक्ष न्यौपाने सुत्केरी महिलाको घरैमा पुग्नुभएको थियो । नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा पनि पालिकाको टोलीले जानकारी लिएको थियो । अर्थाभावले सुत्केरी र नवजात शिशुको ताजा स्वास्थ्य अवस्थाको परीक्षण हुनसकेको छैन ।

यसैबीच जर्मनीमा रहेका गौरीगञ्जका गजेन्द्र न्यौपानेले पुष्प बरुवाल फाउण्डेसनमार्फत सुत्केरी ताजपुरियाको सहयोगका लागि रु ३० हजार पठाइदिएको पालिकाका उपाध्यक्ष न्यौपानेले बताउनुभयो । उक्त रकम परिवारको आवश्यकतानुसार खर्च गरिने र नवजात शिशुका नाममा बैंकमा मुद्दति खाता खोलेर जनही रु पाँच हजार जम्मा गरिदिन दाताले आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

गौरीगञ्ज गाउँपालिकाले सुत्केरीका लागि दमकसम्मका अस्पताल पुर्याउन गाउँवासीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिँदै आएको र सीमान्तकृत र दलितका कक्षा १ मा पढ्ने छोराछोरीलाई रु पाँच हजारको मुद्दति खाता खोलिदिने कार्य गरिरहेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो । चालु आर्थिक वर्षदेखि नै कक्षा १ का विद्यार्थीलाई बैंकको मुद्दति खातामा पैसा जम्मा गरिदिने गरी रु १० लाखको बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

कोप-२८ सम्मेलनमा प्रधानमन्त्री दाहालले भने– पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन

युएई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन्।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा अवसरमा आज उनले हिमालका मुद्दा सम्बन्धमा आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने, “पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको छ ।”उनले यस सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रुपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए।प्रधानमन्त्री दाहालले भने, “यो हाम्रो न्यायको विषय हो र अधिकारको विषय पनि हो ।” सबै मिलेरमात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिनेमा उनको जोड थियो।कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताउँदै जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो सम्बोधन गर्न लाग्नुपर्ने बताए।“मैले आफैँले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु। अब यसमा ढिला भइसक्यो। सम्बोधन गर्न सबै लाग्नुपर्छ,” उनले भने।प्रधानमन्त्री दाहालले आयोजना गर्नुभएको कार्यक्रममा महासचिव, एन्डोराका प्रधानमन्त्री, किर्गिस्तानका मन्त्री, भूटानका प्रतिनिधिमण्डलका प्रमुख, विभिन्न निकायका उच्च अधिकारी, वैज्ञानिकलगायतले पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएका थिए।यही मङ्सिर १४ गतेदेखि सुरु भएको कोप–२८ सम्मेलन मङ्सिर २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म चल्नेछ ।पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १ दशमलव ८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ ।उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डारहरू पग्लने अनुमान अध्ययनहरूले गरेका छन्।

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौँ, १७ मङ्सिर : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँमा आज न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री तथा अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् पुडासैनीले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो भएको छ, काठमाडौँमा बिहान चिसो भए पनि दिउँसो भने घाम लाग्ने तथा मौसम सफा हुने अनुमान गरिएको छ ।”

यसैगरी आज राति गण्डकी, लुम्बिनी र कर्णालीलगायत बागमती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

गोरखा, १७ मङ्सिर : गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ । शैक्षिक भ्रमणको याम सुरु भएसँगै सङ्ग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढ्नुले गोरखा सङ्ग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो ।

विभिन्न जिल्लाबाट दैनिक सयौँका सङ्ख्यामा सङ्ग्रहालय घुम्न र अध्ययनका लागि विद्यार्थी शैक्षिक भ्रमणमा आउन गरेको सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । ‘‘गएको चार महिनाको अवधिमा मात्र करिब ३० हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन्, पछिल्लो समय सङ्ग्रहालय घुम्न आउनेहरूमा अधिकांश शैक्षिक भ्रमणमा आउने विद्यार्थी छन्”, उहाँले भन्नुभयो ।

गएको कात्तिक महिनामा मात्र १४ हजार तीन सय ८० जनाले सङ्ग्रहालय अवलोकन गरेको उहाँले बताउनुभयो । त्यस्तै गएको साउनमा छ हजार दुई ४९, भदौमा चार हजार आठ सय ४९, असोजमा पाँच हजार तीन सय नौजनाले सङ्ग्रहालयको अवलोकन गरेको कार्यालयको तथ्याङ्क छ । मङ्सिरमा २० हजारभन्दा बढीले सङ्ग्रहालय अवलोकन गर्ने अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ छ ।

शैक्षिक भ्रमणको सिजन सुरु भएपछि कात्तिकदेखि सङ्ग्रहालय घुम्न आउनेको सङ्ख्या ह्वात्तै वृद्धि भएको उहाँको भनाइ छ । ‘‘शैक्षिक भ्रमणका लागि विद्यार्थीको रोजाइमा मुख्य गोरखा पर्ने गरेको र गोरखा आएपछि एकपटक ऐतिहासिक सङ्ग्रहालयको अवलोकन नगरी फर्कन प्रायः कोही हुँदैन”, उहाँले भन्नुभयो, ‘‘अहिले सङ्ग्रहालयमा आउने विद्यार्थीको चाप अत्यधिक छ ।”

सङ्ग्रहालयमा तत्कालीन गोरखा राज्यको इतिहाससँगै संस्कृति, परम्परा रीतिरिवाज झल्कने पुरातात्विक महत्वका वस्तुको समेत अवलोकन गर्न पाइन्छ । “सङ्ग्रहालयमा पृथ्वीनारायण शाहसँग सम्बधित ऐतिहासिक वस्तुको अवलोकन गर्नसक्ने व्यवस्था मिलाइएको छ, गोरखा राज्य र पृथ्वीनारायण शाहको इतिहास अध्ययनका लागि धेरैजसो विद्यार्थी गोरखा सङ्ग्रहालयको अवलोकन गर्न आइपुग्छन्”, प्रमुख अधिकारीले भन्नुभयो ।

नेपाल एकीकरणको थालनी भएको तत्कालीन गोरखा राज्यको इतिहास बुझ्ने उद्देश्यले गोरखा सङ्ग्रहालयको भ्रमणमा विद्यार्थी आउने गरेको उहाँको भनाइ छ । “अधिकांश जिल्लाका विद्यालयबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी लिएर गोरखा सङ्ग्राहलय आउने गरिएको पाइन्छ”, प्रमुख अधिकारीले भन्नुभयो, “यसले पनि सङ्ग्रहालय शैक्षिक भ्रमणको मुख्य रोजाइमा पर्ने गरेको बुझ्न सकिन्छ ।”

मुख्य गरी हरेक वर्षको कात्तिकदेखि पुससम्मको अवधि शैक्षिक भ्रमणका लागि उपयुक्त मानिन्छ । तल्लो दरबारको नामले चिनिने गोरखा सङ्ग्रहालय भएको भवन आफैँमा पनि परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेकाले त्यसको अवलोकनसमेत शैक्षिक भ्रमणमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो ।

सङ्ग्रहालयमा पृथ्वीनारायण शाहको ५२ हात लामो चिनासहित तैलचित्र कक्ष, वंशावली कक्ष, जन्मकुण्डली कक्ष, दिव्यउपदेश कक्ष, हातहतियार कक्ष, धार्मिक परम्परागत कक्ष, जनजातिको झाँकी कक्ष, परिचात्मक कक्ष, भाँडावर्तन कक्ष, श्रव्यदृश्य कक्ष, चैत्य कक्ष र हस्तलिखित गरी १२ प्रदर्शनी कक्षसमेत प्रदर्शनीका लागि राखिएको छ ।

धनकुटामा वाडाङ्मी र पापनीको रौनक, मारुनी मादलको रमितासँगै स्थानीय परिकारको आनन्द लिन सक्ने

धनकुटा, १७ मङ्सिर : धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् ।

अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाको सबै ठाउँमा ढोलनाच, मारुनी नाच तथा भोज खाएर चाड मनाउने क्रम जारी छ । पाख्रिबास नगरपालिकाको फाङ्दुवा क्षेत्रमा गत बिहीबार यस वर्षको वाडाङ्मी चाड सकिएको छ भने साँगुरीगढी गाउँपालिकाको आहाले–महाभारत क्षेत्रमा पनि पापनी तथा वाडाङ्मी शनिबार सकिएको छ ।

आफ्ना इष्टदेव बराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा, फुडाहाङ (बुढाहाङ)को दैविक आह्वान गर्ने तथा पितृ पूजा (श्राद्ध) गरेर यो पर्व मनाउने गरिन्छ । समुदायअनुसार कुखुरा, सुँगुर, परेवा, राँगा आदिको बलि पूजा गरेर जाँड, रक्सीसँग खाने र जमरा तथा सयपत्री फूलको माला लगाएर यो पर्व मनाइन्छ ।

ढोल र मादलको आवाजले गुञ्जयमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द लिन सक्नेछन् ।

आठपहरियालाई वाडाङ्मेट(वाडाङ्मी) मनाउने चटारो

धनकुटा नगरपालिकाको १० वडाभित्र करिब पाँच हजार जनसङ्ख्या रहेको यो समुदायलाई अहिले तोकिएको समयसीमाभित्र वाडाङ्मी चाड सक्नैपर्ने चटारो छ । वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेका तीर्थालु दुःख बहाउनका लागि बराह धामको सामूहिक तीर्थयात्रासँगै सुरु भएको चाड औँशी आउनुभन्दा एक दिनअघि सक्न आठपहरिया समुदाय चाडमा व्यस्त छन् ।

विसं २०३० सम्म छ किपट (बिर्ता)सहित नौ पगरीको राजसी अधिकार पाएका यी समुदायको संस्कृति जीवन्त छ । विसं २०५८ बाट आफूहरू राई नभएको जनाउँदै आठपहरिया जातिको नामबाट पहिचान खोजिरहेका यो समुदाय अझै पनि आफ्नो परापूर्वकालीन सांस्कृतिक तथा धार्मिक कानुनमा सञ्चालित छ । तथापि यो समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व वाडाङ्मीमा खुलेर आफूसँग भएको ऋण, धन खर्च गरेर चाड मनाउने गरेका छन् ।

कार्तिक शुक्ल पूर्णिमाको चार दिनअघिबाट बराह क्षेत्रको सामूहिक तीर्थयात्रासँगै यी समुदाय चाड मनाउन व्यस्त रहेको किरात आठपहरिया समाजका केन्द्रीय सदस्य कोमल आठपहरिया (राई)ले जानकारी दिनुभयो । पन्ध्र दिनभन्दा बढी मनाइने यो पर्वमा आफ्ना सबै काम छाडेर यो समुदाय एक वर्षभित्रमा आफ्नो परिवारमा जन्मदेखि मृत्युसम्ममा घटेका सबै खालका सांस्कारिक घटनाबाट चोखिन व्यस्त छन् ।

विशेषगरेर वर्षभरि मृत्यु भएकाका बरखी बारेका आफन्त यही पर्वमा ५२ किमी दक्षिणमा रहेको आफ्ना मुख्य इष्टदेव बराह धाममा तीर्थ गएर उनलाई चाडमा आउने निम्तो दिने र कपाल खौरेर सप्तकोशीसँगै रहेको कोकाहा खोलामा दुःख बहाउने गर्दछन् ।

नियमानुसार चार दिनको पैदल र बास बसेर बराह मन्दिरबाट ल्याएको पानीले घर चोख्याउने तथा नगरमा रहेको ५२ चुले घरबाट दैवी आह्वान (माङ उठाउने) कामपछि यो समुदायमा चाड सुरु हुने गर्दछ । त्यसपछि नगर क्षेत्रमा रहेका यी समुदायको २२ देवालय (मार्गा)मा कुखुराको चल्ला, सुँगुरको पाठा पूजा गर्ने, पितृ पूजा गर्ने, मार (भेजो) हान्ने, भोजभतेर गरेर यो पर्व मनाउने प्रचलन छ । यस अवधिमा मृत्यु भएकाहरूको घर चोख्याएर नयाँ कपडा लाउने, नयाँ घर चोख्याउने, नयाँ सन्तान (छोरा) जन्मिएको भए हर्षबढाइँ गर्ने, घर–घरमा घुमेर तिहारमा देउसी खेलेझैँ ढोल नाच्ने गरिन्छ ।

साथै आफ्नो पायक पर्ने तोकिएको मुख्य पुजारीहरूको घरमा प्रत्येक घरको आगामी वर्षको जोखाना (बत्ती हेर्ने), अनिवार्यरूपमा राँगाको मासु, मदिरा खाएर ढोल र मारुनी नाचेर भव्यरूपमा चाड मनाइन्छ । अन्त्यमा औँशीभन्दा एक दिनअघि यी समुदायका करिब एक दर्जन ढोलनाच टोलीले आ–आफ्नो क्षेत्रमा राँगा काटेर भोज (खोइ) खाएर चाडको अन्तिम भोज खाने गर्दछन् । त्यसको भोलिपल्ट मारुनी टोलीले पनि आफ्नो क्षेत्रका तोकिएको जङ्गली क्षेत्रमा सरस्वतीको पूजा, मारुनी नाच र वनभोज गरेर बराहदेवलाई बिदाइ गरेपछि यो चाडको अन्य हुने केन्द्रीय सदस्य आठपहरियाले जानकारी दिनुभयो ।

खाल्सा क्षेत्र पनि पापनी (वाडाङ्मी) व्यस्त

सहिदभूमि गाउँपालिकाको सम्पूर्ण खाल्सा क्षेत्र साविक आँखिसल्ला, खोकु र छिन्ताङ गाविसका राई समुदाय पनि वाडाङ्मी चाड मनाउन व्यस्त छन् । यस क्षेत्रको वाडाङ्मीमा नाचिने ढोल अर्थात् पापनी नाच जिल्लामा नै प्रख्यात छ । यसका कारण खाल्सा क्षेत्रमा मनाइने वाडाङ्मी चाडलाई नै पापनी भन्ने चलन छ ।

सहिदभूमि –६ आँखिसल्लाका पापनी पर्व सम्बन्धी जानकार नरेन्द्र राई (कश्चित)का अनुसार सो क्षेत्रमा कार्तिक शुक्ल पूर्णिमाको पहिलो मङ्गलबारबाट पापनी सुरु भएको छ । यो समुदायले पर्व घर–घरमा पितृ पूजा गरेर आफ्नो इष्टदेव फुडाहाङ (बुढाहाङ)को पूजाआराधनासँगै पापनी पर्व सुरु हुने उहाँले जानकारी दिनुभयो ।

बुडाहाङको प्रतिनिधि मानिने ङाङ्सुबा र उनकी श्रीमती मानिने छाम्बाक (मुन्धुमविद्)हरूको घरमा माङ्ला हेर्ने (दैविक आह्वान) काम गरिन्छ । त्यपछि सो क्षेत्रमा भएका मुख्य पाँच पुजारीका गढीघरमा आफ्नो अनुकूलतामा पापनी गीत गाएर ढोल नाच्ने, मुन्धुम गाउने प्रचलन छ ।

यस अवधिमा यस क्षेत्रमा बालीनाली थन्क्याउन वा छुन नहुने, पापनी चाड अवधिभरि कुनै पनि महिला वा पुरुष गाउँ छाडेर बाहिर गएमा दण्डित गरिने धार्मिक कानुन पालना गर्नुपर्ने नियम रहिआएको छ । चाडको अन्तिम दिन छरिएर रहेका सबै पाँचवटा गढीघरअन्तर्गतका ढोलनाच टोली मुख्य पुजारीको गढीघरमा भेला भई उल्टो पापनी नाचेर फुडाहाडलाई बिदा गर्ने चलन छ । त्यसपछि एक वर्षको लागि ढोल झ्याम्टा नचलाउने र सोही दिन सरस्वती थानमा मारुनी मादल नाचेर मादल बजाउन फुकुवा गरेर आफ्नो भाकल बुझाएपछि पापनी पर्वको अन्त्य हुने राईले जानकारी दिनुभयो ।

फाङ्दुवामा सकियो वाडाङ्मी

पाख्रिबास नगरपालिकाको वडा नं ३ फाड्दुवा, कसेनी र वडा नं १० चुनवाङका आठपहरियाले पनि एक हप्ता वाडाङ्मी चाड मनाएर बिहीबार समापन गरेका छन् । धनकुटा नगरपालिकामा राईबाट आठपहरिया जातिमा सूचीकृत हुन स्थापित आठपहरिया समाजले विसं २०६० तिर समटेको यो क्षेत्रमा भने परिमार्जन गरेर वाडाङ्मी मनाउने गरिएको छ ।

एकमात्र थातथलो रहेको यो क्षेत्रमा १५ दिन मनाइने वाडाङ्मी परिमार्जन गरेर भाइटीकाको दिनबाट एक हप्तासम्म मनाइँदै आएको वडा नं ३ का वडाध्यक्ष सरोज राईले जानकारी दिनुभयो । राईबाट पछिल्लो समयमा नयाँ नाम आठपहरिया पाएका यहाँका समुदायले यहाँको एकमात्र सुब्बा मार्गा, गढीघर र घर–घरमा पितृ पूजा गरेर चाड मनाउने गरेका छन् ।

यहाँका समुदायले सप्तकोशी किनारमा रहेको बराहक्षेत्र तीर्थ जाने चलनको अन्य गरेर धनकुटा र भोजपुरको सङ्गममा रहेको अरुण नदीको सुनबालुवा भन्ने स्थानमा गएर कपाल खौरेर दुःख बगाउने र त्यहाँबाट पानी ल्याएर घर चोख्याउने गरेका छन् । उनीहरूले पनि वर्षभरि भएका सबै कर्मकाण्ड यही वाडाङ्मीमा सकेर नयाँ अध्यायको सुरु गर्ने गरेका छन् । तर उनीहरूले घर–घरमा डुलेर ढोल नाच्ने चलनलाई छाडेर एक दिन मुख्य पुजारीको गढीगाउँमा भेला भएर सबै घरको बत्ती हेर्ने (जोखाना हेर्ने), ढोल तथा मारुनी नाचेर चाड सक्ने गरेको वडाअध्यक्ष राईले जानकारी दिनुभयो ।

आहाले–महाभारतमा चारदिने वाडाङ्मी

साँगुरीगढी गाउँपालिका क्षेत्रको साविक महाभारत र आहाले गाविस हाल वडा नं ८ र ९ का राई समुदायले सबैभन्दा छोटो चाड मनाएर शनिबारबाट वाडाङ्मी सकिएको छ । वर्षभरि देहान्त भएका आफन्तले कार्तिक एकादशीमा बराह र त्रिवेणी नदीमा कपाल काटेर दुःख बहाएर आएपछि पूर्णिमाको पहिलो बुधबारबाट यस क्षेत्रमा चाड सुरु हुने गर्दछन् ।

बुधबारबाट किलघर (पुजारी घर)मा माड उठाउने काम (दैवी आह्वान)पछि चाडका लागि तोकिएको चारदिने समयसीमासँगै शनिबारदेखि चाड सकिएको साँगुरीगढी गाउँपालिका वडा नं ८ सिङ्कुलाका महेन्द्र राईले जानकारी दिनुभयो ।

यहाँका राई जातिले वाडाङ्मी पर्वका अवसरमा बुढाहाङलाई पोथी कुखुरा, घरघरमा चुलोमा भाले, आँगनमा परेवाको बलि दिएर पितृ पूजा गरेर चाड मनाउँछन् । पितृ पूजापछि बेलुका रातभरि घर–घरमा पापनी (ढोल) नाच्ने, भोज खाने र अन्तिम दिन सरस्वतीको पूजा गरेर मारुनी नाचसँगै यस क्षेत्रको पापनी अर्थात् वाडाङ्मी सकिएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार यस पर्वलाई यहाँका समुदायले वर्षभरि देहान्त भएकाका आफन्त दुःख कर्मबाट चोखिने र पितृलाई सम्झने पर्वका रूपमा मनाउने गर्दछन् ।

राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा बस्ने

काठमाडौँ, १७ मङ्सिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुने बताइएको छ ।

बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले सङ्गठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका छ ।

यो प्रत्येक तीन–तीन महिनामा बस्ने नियमित बैठक भएकोसमेत महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । मङ्सिर २५ गते दिउँसो उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ ।

मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता – सांसद राई

काठमाडौँ, १७ मङ्सिर : राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको बताउनुहुन्छ ।

सांसदसँग रासस संवादमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद राईले छवर्षे अवधिको संसदीय अनुभव सुनाउँदै नेतृत्वमा अठोटको अभावले जनतामा राजनीतिप्रति नै विश्वास गुम्दै गएको टिप्पणी गर्नुभयो ।

“बाहिर हुँदा यो यहाँ कमी–कमजोरी छ, यसो गर्नुपर्छ भन्छन् । तर जब आफैँ गर्नुपर्ने ठाउँमा पुग्छन्, बिर्सिन्छन् र निष्ठा डगमगाउँछ”, उहाँले भन्नुभयो, “निष्ठा डगमगाउँदा हाम्रो समग्र राजनीतिप्रति आममानिसले ‘यी सब चटके हुन्’ भन्न थालेका छन् ।”

उहाँले राजनीतिक नेतृत्वसँगसँगै कर्मचारीको माथिल्लो तहका नेतृत्वलाई इमान्दारपूर्ण अठोटको आवश्यकता भएको बताउनुभयो । “उहाँहरूले देशका समस्या र चुनौती ठीक ढङ्गले अझ भनौ जस्तो छ त्यसैगरी बुझ्नुभएको छ । तर त्यसलाई कार्यान्वयन गर्ने आँट जबसम्म हुँदैन सुधार सम्भव छैन । हो, निष्ठा र अठोटको खाँचो छ”, सांसद राईले भन्नुभयो ।

विसं २०३५ देखि राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले २०७४ साल फागन २० गते राष्ट्रियसभा सदस्यका रूपमा शपथग्रहण गर्नुभएको थियो । यही वर्षको आगामी फागुनदेखि उहाँको कार्यकाल सकिँदैछ । पहिलोपटक सङ्घीय सांसदको भूमिका निर्वाह गर्नुभएका राईलाई संसदीय अभ्यासको छ वर्ष पुग्दै गर्दा भने जनताका आशा र अपेक्षाअनुसार काम नभएकोप्रति गुनासो छ ।

उहाँले भन्नुभयो, “व्यवहारतः हाम्रो अपेक्षाअनुसार कानुन निर्माणको काम भएन । हामीले अपेक्षा गरेको जनताको कुराले निकास पाएन ।” उहाँले दलीय व्यवस्थामा दलका नेताको कुरा नै बढी सुन्ने अभ्यासबाट सांसद सार्वभौम छ भन्दा पनि ‘व्यक्तिको बोली कति बिक्छ’ भन्ने कुरामा मापन हुने गरेको विचार राख्नुभयो ।

“अहिलेको सरकार होस् वा यसअघिका जनताको आवश्यकता, इच्छा र आकङ्क्षालाई पूरा गर्न प्रयत्नरत भएको देखिँदैन”, मुलुकमा सकारात्मक परिवर्तनका लागि अठोटको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “मुलुकलाई सही दिशा र उपयुक्त निकास दिनेबारे को जानकार छैनन् ? प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसँग धेरै सूचना र जानकारीको स्रोत हुन्छ, थियो । तर उहाँहरूले किन गर्नुहुन्न त ? मलाई लाग्छ नेतृत्वमा मुलुक निर्माणका लागि अठोटको अभाव हो ।”

संवादका क्रममा सांसद राईले विधायिकाको रूपमा उठान गरेका जनताका मुद्दाले निकाश नपाउँदा तितो अनुभव गरेको गुनासो गर्नुभयो । “मेरो तितो अनुभव, जनताका कुरा सदनमा राख्ने र उजागर गर्ने काम गर्यौँ, तर निकाश पाएन”, उहाँले दोहोर्याउनुभयो, “आमजनताले सङ्घीय सांसदले आफ्ना समस्या ‘न्यारो डाउन’ गर्छन् भन्ने हामीमाथिको विश्वास र अपेक्षालाई पूरा गर्न सकेनौँ ।”

राष्ट्रियसभाबाट विगत छ वर्षमा कानुन निर्माणको काम भएता पनि कार्यान्वयनको पाटो कमजोर रहेको उहाँको भनाइ छ । “छ वर्षमा धेरै कानुन बनायौँ भन्ने लाग्छ मलाई । तर कार्यान्वयन गर्नेले ठिक ढङ्गले गरेनन्”, उहाँले भन्नुभयो ।

सांसद राईले सरकारलाई जिम्मेवार र उत्तरदायी बनाउने भूमिका प्रभावकारीरूपमा निर्वाह गरेको दाबी गर्नुभयो । उहाँले संसदीय समितिमार्फत सरकारलाई जनतासँग गरिएका बाचा पूरा गराउन बाध्यकारी भूमिका निर्वाह गरेको स्मरण गर्दै भन्नुभयो, “समितिको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री नआइदिने र बेवास्ता गर्ने देखियो । समितिले निर्देशन दिन्छ, निर्देशन मान्नुपर्छ भन्ने छ तर नमाने के गर्ने ?”

समितिका निर्देशन कार्यान्वयन नभएका विषयमा सांसदहरूले सदनमा पटक–पटक ध्यानार्कषण गराउँदा पनि नेतृत्वले आत्मसात् गर्न नसकेको उहाँको भनाइ छ । माथिल्लो सदनका रूपमा चिनिने राष्ट्रियसभा दलीय प्रभाबबाट टाढा हुन्छ । तर पछिल्लो समय दलीय प्रभावबाट अछुतो रहन नसकेको सांसद राईले आशङ्का गर्नुभयो । उहाँले भन्नुभयो, “सैद्धान्तिक हिसाबले हामी सबैले बुझेको यो सभा दलीय प्रभाबबाट टाढा हुन्छ भन्ने नै हो । तर व्यवहारतः त्यो हुन सकेन, कार्यान्वयन तहमा त्यो हुन सकेन ।”

यद्यपि राष्ट्रियसभा सदस्यले प्रभावकारी भूमिका निर्वाहमा कुनै कसुर नछाडेको उहाँले दाबी गर्नुभयो । “प्रतिनिधिसभामा जति कुरा उठ्छ त्यो भन्दा धेरै राष्ट्रियसभामा उठ्छ । छायाँमा पर्या होइन, हामीलाई छायाँमा पारिएको हो”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाको मात्र भूमिका हुन्छ । प्रधानमन्त्रीले आफूलाई निर्माण गर्ने पाटो सभालाई प्रमुख पाटो भन्ने सम्झिनुभयो ।”

एकसठ्ठी वर्षीय सांसद राईले माथिल्लो सदनको भूमिकालाई व्यवहारिकरूपमा ओजपूर्ण बनाउन आवश्यक भएको बताउनुभयो । थोरै सदस्य सङ्ख्या र सरकार निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न नसक्ने कारणले राष्ट्रियसभा नेतृत्वको प्राथमिकतामा नपरेको उहाँको धारणा छ ।

“राष्ट्रियसभालाई ‘लर्ड हाउस’, गम्भीर, मर्मस्पर्शी र जनतासँग भिजेको कुरा ल्याउने सभा भन्ने नेताहरूले नै सुन्नचाहिँ कम सुन्ने गर्नुहुन्छ”, सांसद राईले भन्नुभयो, “यो निरन्तर जनप्रतिनिधिमूलक संस्था हो । तर आफूलाई निर्माण गर्ने संस्था यो होइन भनेर ध्यान नदिनेबित्तिकै यो छायाँमा पारिन्छ भन्ने मेरो बुझाइ हो ।”

कतिपय सांसदहरूले राष्ट्रियसभा छायाँमा परेको गुनासो गरिरहँदा सांसद राईको फरकमत छ । “हाम्रो भूमिकाले हामी छायाँमा परेका होइन । हाम्रो काम जति भए पनि कार्यकारी पक्षबाट कार्यान्वयन गर्ने नगर्दा आमजनतामा गलत सन्देश प्रवाह भएको छ”, उहाँले भन्नुभयो, “समाजका केही समूह रमितामा रमाउने र ठूला कुरा कसले गर्छ उसको कुरामात्र सुन्दा समस्या भएको हो ।”

उहाँले कार्यकारीले सभाको सुझाव र निर्देशनलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । तर महत्त्वकाङ्क्षी बाचा गरेर काम नगर्ने प्रवृत्तिका कारण जनतामा निराशा बढेको उहाँको बुझाइ छ ।

उहाँ विसं २०४० मा मकवानपुर जिल्लाको अनेरास्ववियु जिल्ला कमिटी सदस्य हँुदै सहसचिव, उपाध्यक्ष र २०५० सालतिर प्ररायुसङ्घ नेपाल जिल्ला कमिटी अध्यक्ष बन्नुभयो । नेकपा (एमाले)का एक नम्बर क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी अध्यक्ष र बागमती प्रदेश कमिटी सदस्यसमेत बन्नुभएका उहाँले २०४६ सालमा एक महिना भारत निर्वासितसमेत हुनुभयो ।

उहाँले संसदीय भूमिकाबाट बाहिरिए पनि जनताको हक–अधिकार प्राप्तिका लागि निरन्तर लागिपर्ने योजना सुनाउनुभयो । “सांसद पद सकिएपछि पनि जनताको हक–अधिकार प्राप्तिको आन्दोलनमा सकुञ्जेल लाग्नेछु । एमालेलाई कसरी सशक्त र बलियो बनाउने त्यसका लागि पार्टीले दिएको जिम्मेजारी निर्वाह गर्नेछु ।”

सप्तरीमा नदी नियन्त्रणको नाममा वर्षेनी करोडौं रुपियाँ स्वाहा

राजविराज । सप्तरीमा नदी नियन्त्रणको नाममा वर्षेनी करोडौं रुपियाँ स्वाहा हुने गरेको गुनासो चौतर्फी छ नै । तर, केही सरकारी कार्यालयले बजेट पचाउनैका लागि नदी नियन्त्रणको कार्य गर्ने गरेको पाइएको छ । यसको पछिल्लो उदाहरण हो, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय राजविराज, सप्तरी ।

डिभिजन कार्यालयले अढाइ करोड रुपियाँ खर्चिएर सप्तरीको बलान बिहुल गाउँपालिका–४ वेल्हीस्थित बलान नदीमा निर्माण गरेको बाँध र स्पर अढाइ महिनामै भत्किएपछि निर्माण कम्पनी र कर्मचारीले मच्चाएको ब्रह्मलुटको विषय बाहिरिएको हो ।

डिभिजन कार्यालयले २ करोड ७६ लाख २२ हजार ६ सय ७३ रुपियाँ ७८ पैसा (करसहित) नदीमा बाँध र स्पर निर्माण गर्न सर्वशक्ति महामाया निर्माण सेवा प्रालि गोंगबु, काठमाडौंसँग २०७९ जेठ १८ गते सम्झौता गरेको थियोे । २०७९ पुस २५ गतेसम्म बाँध र स्पर निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, सो मितिमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि पुनः ६ महिनाको म्याद थप गरियो ।

यद्यपि, म्याद थप गर्दा पनि बाँध र स्पर निर्माण कार्य भने गुणस्तरीय गर्न नसकेको स्रोतले बतायो । ‘एकातिर बाढी आउने तनाव र अर्कोतिर थपिएको म्याद पनि सकिन लागेको थियो, हतार–हतारमा अधुरै काम भयो र डिभिजन प्रमुख रमणकुमार साहसँग मिलेमतोमा असारको दोस्रो सातातिर अन्तिम भुक्तानीबापतको ८३ लाख रुपियाँ निकासा भयो’, स्रोतले भन्यो– ‘सम्झौता भने अघिल्लै डिभिजन प्रमुख रामकुमार खंगले गरेकाले वर्तमान डिभिजन प्रमुख साहले पनि अनुगमनबिना नै भुक्तानी दिनुभयो ।’

बाढी आएर बाँध वा स्परमा क्षति पुगे पनि डीएलपी ९डिफेक्ट लायबिलिटी पिरियड० भित्रै रहने हुनाले इन्स्योरेन्स कम्पनीमाथि थुपार्ने निर्माण कम्पनी र डिभिजन प्रमुख साहको योजना रहेको उनको कथन छ । सोहीअनुसार नै गत भदौ ८ गते शुक्रबार बिहान नदीमा आएको बाढीले बाँध भत्किएर सयौं घर डुबान भएर लाखौंको क्षतिसमेत भएको थियो ।

कुल ८ सय ५० मिटर बाँधिएको बाँध करिब ५ सय मिटरजति कटान भइसकेको छ भने स्परमा पनि क्षति पुगेको छ । तर, बाँध भत्किएको तीन महिनाभन्दा बढी भइसक्दा समेत निर्माण कम्पनी वा डिभिजन कार्यालयले क्षतिबारे यकिन गर्न सकेको छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

१० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन

काठमाडौं । आन्तरिक राजस्व विभागले १० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा फर्ममाथि छानबिन भई ३२ करोड कर निर्धारण गरिसकिएको छ । अवैधानिक रूपमा भ्याट बिलको बिक्री गरी त्यसबापतको रकम सरकारसँग फिर्ता लिएर राजस्व छली गर्ने व्यापारीहरूमाथि विभागले कारबाही तीव्र बनाएको हो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले नेपाल समाचारपत्रलाई १० अर्ब रुपियाँ कर छलीमा संलग्न १ हजार ९ सय ६६ फर्म तथा करदातामध्ये सयओटाको छानबिन गरी ३२ करोड कर निर्धारण गरिसकिएको जानकारी दिनुभएको हो । उहाँले बाँकी १ हजार ८ सय ६६ फर्म तथा करदातालाई चैतभित्र छानबिन गरी कर निर्धारण गर्ने गरी काम भइरहेको बताउनुभयो । सरकारले मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लिन थालेको लामो समय भएको छ । वस्तु वा सेवा खरिदमा १३ प्रतिशत भ्याट लिने गरिए पनि उक्त भ्याट अन्तिम उपभोक्ताका लागि मात्रै दिने गरिन्छ । आयातकर्ता, डिलर र बिक्रेताले भ्याटबापतको रकम सरकारसँग फिर्ता लिने वा तिर्नुपर्ने भ्याटबाट घटाउने गरे पनि कानुनमा केही व्यवस्थालाई टेकेर भ्याट बिल बिक्री गरेर राजस्व छली गरिरहेको पाइएको छ ।

राजस्व छली गर्नेले नक्कली बिल बिजक तयार पारी भ्याटवापतको रकम फिर्ता लिने, न्यून मूल्याङ्कन गरेर भन्सारबाट सामान ल्याउने, नक्कली बिलबिजक बनाएर बिक्री गर्ने, भन्सार छलीका सामान ल्याएर बिल बनाएर बिक्री गर्ने गरेको पाइएको छ । मुख्यतः निर्माण व्यवसाय र धेरै मुनाफा हुने वस्तु तथा सेवाहरूमा यस्तो समस्या बढी देखिएको विभागले जनाएको छ ।

यसरी कर छल्नेमा एकै फर्म तथा करदाताले ६÷७ करोड रुपियाँसम्म छलेको पाइएको छ । बिल नै बिक्री गर्नको लागि सिर्जना गरिएका फर्महरूबाट वस्तु सेवा नलिइकन बिजकमात्रै लिएर १३ प्रतिशत भ्याटचाहिँ सरकारसँग दाबी गर्ने गरिएको छ । उठाएको भ्याटमा त्यो रकम घटाएर खल्तीमा राख्ने र नाफा कम देखाएर आयकर छली गर्ने गरिएको विभागले जनाएको छ । जसका कारण करिब ३० प्रतिशत तिर्नुपर्ने आयकर नतिर्ने र राज्यको कोषलाई हानी पु¥याउने कार्य भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

जनजाति महासङ्घको महाधिवेशन जेठमा हुने

काठमाडौँ – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशन आगामी जेठमा हुने भएको छ । महासङ्घको अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा शुक्रबार भएको केन्द्रीय कार्यसमितिको पाँचौँ पूर्ण बैठकले प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ २६ गतेदेखि काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो ।

महाधिवेशन आयोजनाका लागि अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरू, महासङ्घमा आबद्ध जातीय सङ्घका केन्द्रीय अध्यक्ष, उपत्यकाका जिल्ला अध्यक्ष रहेको एक सय एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको महासङ्घले जनाएको छ ।

महाधिवेशन कार्यतालिका अनुसार ७७ वटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा यही मङ्सिर ३० गते हुनेछ ।

‘सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ’ – माधव नेपाल

काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट दलित मुक्ति सङ्गठनको बागमती प्रदेशस्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष नेपालले विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा विभिन्न समयमा भएका जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै उहाँले देशको आर्थिक रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न पुँजीवादले नसक्ने भएकाले त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवादको खाँचो औँल्याउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मनहरी (मकवानपुर), १७ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । उहाँले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको हो ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।