`

तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको छ । एक उजुरी सैद्धान्तिक विषय केन्द्रित छ । समितिमा पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि समितिमा उजुरी परेको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ११ उजुरी प्राप्त भएको जानकारी दिए । उनले प्राप्त उजुरीको अध्ययनपछि समितिले थप प्रव्रिmया अघि बढाउने बताए । समितिले उजुरी अध्ययनकै व्रmममा रहेकाले विषयवस्तु भने सार्वजनिक गरेको छैन ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशमध्ये शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना र अब्दुल अजिज मुसलमानविरुद्ध उजुरी परेको हो । तीन न्यायाधीशका लागि नौ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी उजुरी न्यायाधीश सुवेदीविरुद्ध परेका छन् ।

सुवेदीविरुद्ध पाँच उजुरी दर्ता भएका छन् । सबै उजुरी उजुरीकर्ताले समितिमै उपस्थित भएर दर्ता गराएका हुन् । यस्तै न्यायाधीश ढुङ्गानाविरुद्ध तीन वटा उजुरी दर्ता भएका छन् । जसमा दुई प्रत्यक्ष र एउटा इमेलबाट प्राप्त भएको समिति सचिवालयले जनाएको छ । न्यायाधीश मुसलमानविरुद्ध भने एउटा उजुरी परेको छ ।

समितिमा प्राप्तमध्ये एक उजुरी भने व्यक्तिकेन्द्रित नभई सैद्धान्तिक विषयको छ । प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने कुनै पनि उजुरी परेका छैनन् । छ न्यायाधीशमध्ये चार जना उच्च अदालतको न्यायाधीशबाट सर्वोच्चमा सिफारिस भएका हुन् ।

पोखरेल र ढकाल भने कानुन व्यवसायीबाट सर्वोच्चको न्यायाधीशमा सिफारिसमा परेका हुन् । समितिले अब प्राप्त उजुरीमा पहिले अनुसन्धान गर्ने छ । समितिले आवश्यकता अनुसार उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गर्ने छ । उजुरीबारे तथ्य प्रमाण पनि समितिले माग गर्न सक्ने छ । उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्ने छ ।

सुनुवाइ प्रव्रिmया प्रारम्भ भएको ४५ दिनभित्र समितिले प्रस्तावित पदाधिकारीबारे निर्णय गर्नुपर्ने छ । ४५ दिनभित्र कुनै पनि निर्णय नभए नियुक्तिका लागि वाधा नपर्ने व्यवस्था छ । समितिको दुई तिहाइ बहुमतले प्रस्तावित पदाधिकारीलाई अस्वीकृत गर्न सक्ने छन् र १५ सदस्यीय समितिमा प्रस्तावित पदाधिकारी अस्वीकृतका लागि १० जनाको आवश्यकता पर्ने छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

एनसेलको सेयर अपारदर्शी ढंगले बिक्री, सरकारी स्वामित्वमा आउनै नदिने चलखेल

मलेसियाली कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी ढंगले बिक्री गरेपछि यसको भित्री रहस्यको विषयमा विभिन्न टीकाटिप्पणी भएका छन्। एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको सेयर किनेको मूल्यभन्दा आजियाटाले ९५.३५ प्रतिशत कम मूल्यमा स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि किनबेच रहस्यमय देखिएको हो।

किनबेच शंकास्पद देखिएपछि संसद्को लेखा समितिले प्रश्न उठाई छानबिन अघि बढाएको छ। आजियाटाले एनसेल नेपालबाट बाहिरिएको घोषणा गरेपछि कारोबारमा धेरै आशंका उब्जिएका छन्। वार्षिक ३५ अर्ब रूपैयाँमाथिको कारोबार गरिरहेको कम्पनी जम्मा ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री भएपछि शंकास्पद देखिएको हो।

स्रोतका अनुसार नेपालको कानुनी व्यवस्थाअनुसार ६ वर्षपछि एनसेल स्वतः नेपाल सरकारको स्वामित्वमा जानेछ। त्यसलाई रोक्न र मुनाफालाई सुरक्षित गर्न किनबेचको कारोबार गरिएको आशंका भइरहँदा आजियाटाले भने व्यापार खुम्चिएकाले बिक्री गर्ने निर्णयमा पुगेको दाबी गरेको छ।

आजियाटाको सेयर स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरे पनि दुईवटा सर्तसहित कम्पनी खरिद बिक्रीको सम्झौता गरिएको छ। सम्झौताको पहिलो सर्तअनुसार स्पेक्ट्रलाइट युकेले आजियाटालाई दुई चरणमा भुक्तानी गर्नेछ भने दोस्रो सर्तअनुसार सन् २०२९ सम्मै आजियाटाले निश्चित प्रतिशत लाभांश लैजानेछ। ‘एकातर्फ एनसेल सरकारको स्वामित्वमा जान नदिने र अर्कोतर्फ करसमेत छलेर आजियाटाले बाँकी ६ वर्षसम्म निरन्तर मुनाफा लैजाने गरी कारोबार भएको छ,’ दूरसञ्चार क्षेत्रका एक विज्ञले भने, ‘घुमाईफिराई राज्यलाई घाटा पार्ने काम हुँदै छ।’

एनसेलको लाइसेन्स २०८६ भदौ १६ गते २५ वर्ष पुगेर सकिँदै छ। आजियाटा खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडमा नेपाली मूलका सिंगापुरे नागरिक सतीशलाल आचार्यको लगानी भएको कम्पनीले खरिद गरेको हो। आचार्यको लगानी रहेको कम्पनी स्पेक्ट्रलाइटले मलेसियन टेक जायन्ट आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर किनेको हो।

एनसेलको २० प्रतिशतको स्थानीय साभेदार सुनिभेरा कम्पनी पनि सतीशलालकै पारिवारिक लगानी रहेको कम्पनी हो। सतीशलालमार्फत एनसेलको ५० प्रतिशत सेयर नेपाली लगानीकर्तालाई बिक्री गरेर अबको ६ वर्षभित्र एनसेल सरकारको स्वामित्वबाट जान रोक्ने गरी किनबेच भएको स्रोतको दाबी छ। ‘अहिले किनेका सतीशलालले पनि सेयर बेचेर नेपालीको ५० प्रतिशतमाथि पुर्‍याउने योजनाअनुसार किनबेच भएको छ,’ ती विज्ञले भने, ‘२०२९ सम्म आजियाटाले पनि निरन्तर नाफा लैजानेछ।’

दूरसञ्चार ऐन, २०५३ को दफा ३३ मा कम्पनीको कुल पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि स्वतः नेपाल सरकारको स्वामित्व हस्तान्तरण हुने व्यवस्था छ। यो समाचार नागरिक दैनिकमा छ ।

सुन तस्करी प्रकरण : तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुस्त गतिमा

काठमाडौं । सुन तस्करीको छानबिन र कारबाहीका लागि सरकारलाई सिफारिस गर्न बनाइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुस्त गतिमा अघि बढेको छ । नेपाललाई मुख्य ट्रान्जिट बनाएर विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करीको छानबिन लक्षित उक्त आयोगलाई प्रतिवेदन बुझाउन दिइएको ३ महिनाको समयमा दुई महिनाभन्दा बढी समय बितिसकेको छ ।

यस बिचमा आयोगले सोचेअनुसार काम गर्न नसक्दा समयमै प्रतिवेदन बुझाउने कुरामा आयोगका पदाधिकारीहरू नै अलमलमा परेका हुन् ।गत साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ब्रेक सुमा लुकाएर ल्याएको ६१ किलो ७ सय ग्राम र गत वर्ष विद्युतीय चुरोट (भेप)मा राखेर ल्याएको ९ किलो सुन तस्करीका सन्दर्भमा सडकदेखि सदनसम्म तात्न थालेपछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा असोज १२ मा जाँचबुझ आयोग गठन गरेको थियो ।

जाँचबुझ आयोग ऐन, २०२६ अनुसार बनेको उक्त आयोगमा आचार्य नेतृत्वमा पूर्व सहसचिवहरू किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्व अतिरिक्त महानिरीक्षक सहकुल थापा सदस्य रहनुभएको छ ।आयोगका अध्यक्ष डिल्लीराम आचार्यले अनुन्धानका कामहरू धमाधम भइरहे पनि तोकिएकै समयमा प्रतिवेदन बुझाउन सकिनेमा भने शंका उत्पन्न भएको बताए ।

दशैं, तिहारलगायतका कारण सरकारले दिएको ३ महिनाको अवधिमा प्रतिवेदन बुझाउन नसक्ने स्वीकार गर्दै उनले भने – ‘हामीले अहिलेसम्म चारवटा सुरक्षा निकाहरूसँग छलफल ग¥यौं, यससम्बन्धी विज्ञसहित राजस्व अनुसधान आयोगलगायतका २२ जना व्यक्तिहरूसँग छलफल गरेका छौं । अहिले विद्युतीय चुरोट ९भेप०मा लुकाएर सुन तस्करी गर्ने १५ जनासँग बयान लिइरहेका छौं ।’

उनले भेप प्रकरणमा प्रतिवादी रहेकाहरूको बयान लिनुका साथै अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयमा समेत आवश्यक अनुसन्धान गरिएको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्दै एमाले

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का लागि मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्न हिँडेको बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको क्रममा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने ग्रामीण क्षेत्रका जनता सुझाव सङ्कलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग नियालिएको बताउनुभयो । अभियानबाट एमाले सरकार हुँदाका बखत थालिएका परियोजना र जनतामा पुगेको विकासबारे जानकारी लिन अवसर मिलेको उहाँको भनाइ छ ।

“देशको अवस्था बदल्न र गरिबीबाट मुक्त गर्न हाम्रो पार्टीले नेतृत्व लिन अपरिहार्य देखियो”, अध्यक्ष ओलीले भन्नुभयो, “वैचारिक दूरदृष्टि भएको पार्टी एमालेबाट मात्र देशको परिवर्तन सम्भव भएकाले अब यसलाई कसरी अगाडि बढाउने भनेर मध्यपहाडका जनतासँग राय माग्दै हिँडेका छौँ ।”

पूर्वप्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई लक्ष्य बिन्दुमा पुर्‍याउन ‘मिसन–८४’ मा ५१ प्रतिशत बहुमत ल्याएर देशको नेतृत्व गर्ने ठोकुवा गर्नुभयो ।

गठबन्धनमा आबद्ध दलका राजनीतिक गतिविधिले देशको अवस्था नाजुक हुँदै गएको आरोप लगाउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले निम्त्याएका बेथितिलाई टुलुटुलु हेरेर बस्न नसकिने चेतावनी दिनुभयो ।

राष्ट्रिय एकता कायम गर्न, देशको स्वाधीनता र सार्वभौमिकतालाई जोगाउन एमाले नेतृत्वको तीन वर्षे सरकारले समृद्धि र विकासको लहर चलाएको तर्क गर्दै अध्यक्ष ओलीले मुलुकमा अहिले देखिएका समस्याको हल एमालेविना असम्भव रहेको जिकिर गर्नुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा सामान्य बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पुर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित ‘MICHAUNG’ नामक शक्तिशाली सामुद्रिक आँधी (Severe Cyclonic Storm) को समेत आंशिक प्रभाव रहेको छ ।हाल कोशी र लुम्बिनी प्रदेशको साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।हाल बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हेर्नुहोस् मंसिर १९ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे / मेष राशि – आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

बृष राशि – आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मिथुन राशि- नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि – सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि- निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि – एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि – पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि – नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि – साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि- मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि – बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

कामपाले गर्‍यो तीन हजार बढी कुकुरको बन्ध्याकरण

काठमाडौँ, १८ मङ्सिर : काठमाडौँ महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।

सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले कामपाले गत असोज दोस्रो सातादेखि बन्ध्याकरण अभियान सुरु गरेको थियो । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान सुरु गरेको हो ।

कामपा कृषि विभाग प्रमुख डा अवधेश झाका अनुसार यसै अवधिमा पाँच हजार तीन सय २० वटा कुकुरलाई रेबिजविरुद्धको खोपसमेत दिइएको छ ।

कामपा–४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट उक्त अभियान सुरु गरेको हो । अभियानअन्तर्गत आगामी पुस पहिलो सातासम्ममा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिजविरुद्ध खोप दिने तयारी छ ।

विभिन्न नौ सङ्घसंस्थाको सहकार्यमा गरिएको उक्त कार्य दैनिक दुई सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिएको छ ।

कुकुरको अनियन्त्रित प्रजनन हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो । शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि रहेकाले कामपाले सोही विधि अपनाएको जनाइएको छ ।

हाल कामपामा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी सामुदायिक कुकुर बढी आक्रामक हुने गर्दछन् ।

रोगी अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरुले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको बताइएको छ ।

नेपालको मुलुकी अपराधसंहिता २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काइ, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी तीन महिनासम्म कैद वा रु पाँच हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कामपाले केही समयभित्र चौपायालाई ओसारपसार गर्ने एम्बुलेन्स खरिद गर्ने पनि जानकारी दिएको छ ।

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो ।

“सेनाले लेइथु गाउँमा १३ वटा शवहरू भेट्टाएको छ । सुरक्षाकर्मीले शवको छेउमा कुनै हतियार फेला पारेनन्,” एक अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

गैर–आदिवासी मेइतीसमुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा भएको जनजातीय प्रदर्शनका क्रममा राज्यमा मे ३ देखि ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर तनावग्रस्त बनेको छ ।

बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण यो बर्ष ६० हजार विस्थापित भएका छन् । राज्यमा प्रदर्शनकारीले घर र पसलहरूलाई लक्षित गरी तोडफोड र आगजनीसमेत गरेका थिए ।

प्रहरीले गत भदौ १५ गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १५ गतेदेखि हालसम्म यस क्षेत्रमा १७५ जनाको मृत्यु भएको छ । तथ्याङ्कअनुसार यो अवधिमा एक हजार ११८ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।

खर्च गर्ने क्षमता बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर, १८ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालु आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा सो निर्देशन दिनुभएको हो ।

“अब बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बहाना छैन । बजेट कार्यान्वयन गर्न के के कुराले रोक्छ ऐन कार्यविधि नियमावली जे बाधक बनेका छन्, ती सबै संशोधन गर्न नयाँ बनाउन परे सरकार तयार छ,” मुख्यमन्त्री कार्कीले भत्रुभयो ।

जनताको काम गर्न अलमल गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्दै मुख्यमन्त्री कार्कीले वातावरणमैत्री र मानवीय विकास प्रदेश सरकारको प्राथमिकता रहेको जानकारी दिनुभयो । उहाँले भत्रुभयो, “सेवाग्राहीलाई सम्मान गर्दै मानवीय विकासमा जोड दिनुपरेको छ । खर्च गर्ने क्षमता बढाएर सुशासन कायम गर्दै अगाडिका चुनौतीहरूलाई समाधान गर्नुपर्दछ । सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउन आवश्यक सुधार गर्ने, जनसेवा, नागरिक अधिकारको रक्षा र सुशासन कायम गर्ने, निकायगत समन्वय कायम गरी कामलाई गति दिने नीति सरकारको छ ।”

राजनीति र प्रशासनबीच विश्वासको वातावरण निर्माण गरी शासन, विकास र सेवा प्रवाह गरिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भत्रुभयो, “कार्यान्वयन गर्ने निकायमा कुनै पनि राजनीतिक दबाब, प्रभाव आए त्यसको जिम्मेवारी म लिन्छु ।” बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन, कार्यविधि, निर्देशिका निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने भए पहिचान गरी मन्त्री तथा मुख्यमन्त्रीसमक्ष पेस गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रमुख सचिव दीपककुमार काफ्ले सबै मन्त्रालय तथा निकायले १० दिनभित्र बजेट कार्यान्वयन कार्ययोजना निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गर्ने र सोही कार्ययोजनाअनुसार कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले संविधान, प्रचलित कानुन तथा प्रदेश आर्थिक ऐनले पहिचान गरेका प्रदेशको अधिकार क्षेत्रभित्रका राजस्वका क्षेत्रहरूबाट अनुमान गरेको राजस्व सङ्कलन गर्न सबै संयन्त्र अनुशासित ढङ्गले क्रियाशील हुनुपर्छ भन्नुभयो ।

छलफलमा स्थानीय तहले सङ्कलन गरी विभाज्य कोषमार्फत प्रदेश सरकारमा आउनुपर्ने राजस्व सबै स्थानीय इमान्दारिपूर्वक नपठाएको गुनासो आएको भन्दै मुख्यमन्त्री कार्कीले आवश्यक समन्वय गरिनुपर्नेमा जोड दिनुभयो ।

हामीलाई विपिन जोशी छुट्छन् भन्ने विश्वास दिइएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताएका छन् ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरुसँग सोमबार अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, “विश्वले नै अपनाएको र नेपालमा पनि नेपाली जनताले छानेको व्यवस्था नै लोकतन्त्रिक गणतन्त्र हो, यसको अर्काे कुनै पनि विकल्प छैन ।”

प्रधानमन्त्री दाहालले पछिल्लो समयमा संविधान, लोकतन्त्र र गणतन्त्रमाथि नै प्रश्न उठाउने गरिएको पाइएको प्रसङ्ग उल्लेख गर्दै यस्ता स्वरहरुको कुनै तुक र आधार नभएको र तिनको व्यवस्थापन गरी गणतन्त्रको जग बलियो बनाउने विषयमा सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकमत रहेको बताए ।

यसै प्रसङ्गमा प्रधानमन्त्रीले भने, “पूर्व राजावादीहरुका नाममा अलि बढी नै चलखेल गर्न खोजेको देखिएको छ । नेपाली जनताको बलिदानीबाट प्राप्त भएको वर्तमान संविधानको विरुद्धमा जाने छुट कसैलाई पनि छैन । यदि यसको विरुद्धमा कोही जान खोज्छ भने तिनीहरुलाई कसरी ‘ट्याकल’ गर्ने भन्ने बारेमा नेपालमा गणतन्त्र ल्याउन लागिपरेका सबै राजनीतिक दलहरुले आवश्यक रणनीति बनाएरै बसेका छौँ ।”

धर्मका बारेमा पछिल्लो समयमा भएका गतिविधिहरु पनि सरकारको सूचनामा रहेको उल्लेख गर्दै यस विषयमा पनि संविधानमा लेखिएभन्दा यता उता नहुने उनले स्पष्ट गरे ।

हरेक नेपाली नागरिकको सनातनदेखि चल्दै आएको धर्म र संस्कृतिको संरक्षण गर्ने तथा राज्य आफैँ धर्म निरपेक्ष रहने विषय स्पष्ट रुपमा संविधानमा व्यवस्था भएकाले सरकार यसबाट कुनै तलमाथि नहुने उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, “यस विषयमा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि संविधानमा लेखिएको विषयमा नै प्रतिबद्ध छन् र सरकार पनि स्पष्ट छ । वास्तवमा कुरा के हो भने अहिले आएर धर्मलाई संविधानबाट चलाइयो भने त्यहाँ गणतन्त्र पनि चल्छ र त्यसपछि फेरि राजतन्त्रका बारेमा अनेक थरी कुरा हुन सक्छन् भन्ने बारेमा गणतन्त्रका पक्षधर सबै राजनीतिक दलहरु पनि स्पष्ट नै छन् । त्यसैले अहिले हिन्दू राज्य घोषणा गर्ने रे भनेर ल्याएका नाराहरुको कुनै तुक छैन ।”

प्रधानमन्त्री दाहालले विश्वले नै अपनाएको लोकतान्त्रिक गणतन्त्र वैज्ञानिक र अग्रगामी शासन व्यवस्था भएकाले अहिले आएर यसको विकल्प खोज्नु सर्वथा गलत हुने बताउँदै कुनै तत्वले यसको विकल्प खोज्दैमा सम्भव नहुने बताए ।

सत्ता गठबन्धन टुट्दैन 

यसैगरी प्रधानमन्त्री दाहालले वर्तमान सरकारमा सम्मिलित राजनीतिक दलहरुको सत्ता गठबन्धन नटुट्ने पनि स्पष्ट गरे । उनले भने, “तत्कालै यो सत्ता गठबनधन टुट्दैन र पछि पनि टुट्नेवाला छैन ।”

अहिले विभिन्न कोणबाट सत्तारुढ दलहरुको अहिलेको गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न आउने गरेको भए पनि सत्तारुढ दलहरुको यो गठबन्धन कायम रहने प्रधानमन्त्रीले स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो दलको ३२ सिटमात्र रहेको र तेस्रो दलको नेता भए पनि सरकार सङ्कटमा नरहेको र यही सत्ता गठबन्धन पूरै समय रहने बताए ।

उनले भने, “मलाई थाहा छ, मेरो ससंद्मा ३२ सिट छ र संसदीय अङ्कगणितमा म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुट्दैन र टुटनेवाला पनि छैन ।”

टिकटक बन्द होइन नियमन गर्न सकिन्छ 

प्रधानमन्त्री दाहाललाई टिकटक बन्द गरिएका विषयमा सम्पादकहरुले सोधेको प्रश्नमा उनले भने, “यो बन्द गर्नुपर्यो आवाज नै धेरैतिरबाट आएको हो । कांग्रेस सभापति, एमाले अध्यक्षले पनि पटकपटक भन्नुभएको हो । बरु मैले त विवाद हुन्छ कि भनेर दुई/तीन महिना नै पर सारेको हो तर हाललाई बन्द गरौँ भन्ने भएर गरिएको हो । तर यो सधैँलाई बन्द नै गर्ने नियत सरकारको होइन बरु सामाजिक सञ्जालसम्बन्धी विधेयक आउँदैछ, त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ ।”

नियमन नै नहुने भन्ने कुनै पनि विषय नहुने भएकाले नियमन गर्न सकिने भन्दै प्रधानमन्त्रीले यसका लागि बरु के कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन सबैलाई आह्वान गरिएको बताए ।

टिकटकका विषयमा आफूले प्रदेश प्रदेशमा गएर नागरिकका आवाज पनि सुनेको र जनताले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने गरेका प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसबाट बहुसङ्ख्यक नागरिक टिकटक बन्द भएकामा नै खुसी रहेका बताए । उनले भने, “कतै कतै सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभियो भन्ने आवाज पनि मैले सुन्ने गरेको छु । त्यो बिल्कुल गलत हो, हामी नागरिकका सबै प्रकारका अधिकार रक्षाको पक्षमा छौँ ।”

आर्थिक सङ्कट समाधान गर्नतर्फ केन्द्रित छौँ 

प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक सङ्कट रहेको र यसको समाधान तत्कालै खोज्नुपर्छ भन्ने कुरा सबैतिरबाट आएकाले यसका लागि सरकार केन्द्रित भएको पनि बताए । उनले भने, “एकपटक आर्थिक ‘एजेन्डा’मा धक्का दिएर अर्थतन्त्रमा सुधार ल्याउन सकियो भने अब मुुलुक राम्रोसँग अघि बढ्छ भन्ने मेरो आत्मविश्वास छ, यसका लागि निजी क्षेत्र तथा सरोकारवालासँग बारम्बार छलफल गरिरहेका छौँ र अब फेरि अर्काे यस्तै राष्ट्रिय स्तरको छलफलको तयारी पनि गरिरहेका छौँ ।”

“आर्थिक सूचकाङ्क हेर्दा राम्रै देखिन्छ, पर्यटक आगमन, रेमिट्यान्सको अवस्था एवं वैदेशक मुद्राको सञ्चिति हेर्दा पनि सबै ठिकै देखिन्छ । तर वातावरण छैन भन्ने छ अनि व्यवसायीहरु सटर बन्द भएको भयै छ भन्छन् । त्यसैले अब यो के हो त भन्ने बारेमा पुनः एकपटक गम्भीर रुपमा छलफल गर्नेछौँ,” उनले भने ।

लघुवित्त तथा सहकारीसम्बन्धी नीति, बैंकको ब्याज तथा व्यवसायीलाई दिने प्याकेज आदि विषयमा सरकारले धेरै निर्णय पनि गरिसकेको तर कता कता यस विषयमा गाँठो नफुकेको पो हो कि भन्ने देखिएकाले सरकार यसको आवश्यक निदानका लागि लाग्ने उनले विश्वास दिलाए ।

नेपालले ‘क्लाइमेट जस्टिस’ पाउँछ 

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको दुबइमा जारी जलवायु सम्मेलन ‘कोप–२८’ नेपालमय भएको सुनाए ।

आफू संयुक्त राष्ट्रसङ्घीय महासभामा गएका बेला राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आमन्त्रण गरेको र उनले नेपालमा आई चार दिनसम्म बसेकाले अहिले कोप–२८ मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरका बारेमा उहाँले नै वकालत गर्नु हाम्रा लागि खुसीको कुरा भएको बताए ।

यस पटकको विश्व सम्मेलनमा नेपालले आफ्ना कुरा स्पष्टसँग राखेको र महासचिव गुटेरेसले पनि नेपालको नाम पटकपटक लिएर नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने असरबाट जोगाउनुपर्ने बताएकाले नेपालले न्याय पाउने धारणा प्रधानमन्त्रीले राखे ।

जलवायुसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा पहिलोपटक नेपालका बारेमा यति धेरै चर्चा भएको भन्दै प्रधानमन्त्रीले नेपालले यसबारेमा पाउनुपर्ने सहयोगका लागि बल मिलेको बताए । उनले भने, “हामीले जलवायु परिवर्तनको असरका कारण प्राप्त गर्न पाउनुपर्ने अधिकारका कुरा राखेका छौँ र राष्ट्रसङ्घले पनि महसुुस गरेको छ । यसबाट अहिले विश्व समुदायलाई पनि जानकारी दिने काम भएको छ । त्यसैले हामीले सहयोग प्राप्त गर्छाैं भन्ने मेरो विश्वास छ र यसका लागि नेपालका सम्बद्ध सबै निकायलाई ‘फलो अप’ गर्न पनि भनिसकेको छु ।”

विपीन जोशी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको छ 

अन्तरक्रियाकै क्रममा हमास विद्रोहीहरुको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको अवस्था के हो भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको जानकारी पनि दिए ।

हमास र इजरायलसँग मध्यस्थता गरिरहेको कतारसँग नेपाल सरकारले पनि विपीनको रिहाइका लागि पहल गरिदिन अपील गरेको, इजरायल सरकारसँग त सुरुदेखि नै माग गरिरहेको भन्दै प्रधानमन्त्री दाहालले नेपाल सरकारले विपीनको रिहाइका लागि सबै प्रयासलाई जारी राखेको र हामीले गरेका अपिलका आधारमा उनी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको बताए ।

त्यसैगरी, पछिल्लो समयमा रुस र युक्रेनमा पनि नेपाली युवा सेनामा भर्ती भइरहेको भन्ने सूचना पाएपछि सरकारले ती देशलाई नेपालको कुनै पनि नागरिक विदेशी सेनामा भर्ती हुने नीति नरहेको विषयमा जानकारी गराइएको र अब रुस र युक्रेन नजानका लागि पनि युवालाई नेपालमा चेतना जगाउने कामका लागि सम्बद्ध निकायले तयारी थालेको जानकारी उनले दिए ।

एनसेल बिक्री प्रकरणमा थप अध्ययन हुन्छ

नेपालमा सञ्चालनमा रहेको एक टेलिकम्युनिकेसन्स सेवा एनसेलको बिक्री भएका विषयमा हालैमात्र आएको समाचारबारे उहाँले सरकारले थप अध्ययन गर्ने बताए ।

यसअघि आफूले नै सरकारको नेतृत्व गरेका बेला सो कम्पनीबाट ठूलो मात्रामा कर असुली गरिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अहिले आएर किन्ने र बेच्नेको मात्र कुरा मिलेर नहुने र त्यसलाई सरकारले थप अध्ययन गर्ने प्रतिक्रिया दिए ।

उनले भने, “सरकार अध्ययन नगरी अघि बढ्दैन । कम्पनीको करिब एक सय ३० अर्बजतिको सम्पत्तिलाई पाँच÷छ अर्बमा बेच्न खोजिएको जस्तो सूचना हामीले पाएका छौँ । यहाँ क्रेता र बिक्रेताको मात्र कुरा मिलेर हुँदैन, त्यो सबै प्रक्रियामा सरकार र यसका सम्बद्ध निकाय पनि संलग्न हुनुपर्छ । अहिलेलाई म यत्ति नै भन्छु आजमात्र मुख्यसचिवसँग मैले यस विषयमा कुरा गरेको छु र अहिलेलाई यो प्रक्रिया रोकिन्छ र थप अध्ययन गरेरमात्र अघि बढिन्छ ।”

विदेश भ्रमणमा नेपालको प्रतिष्ठा बढेको छ

त्यसैगरी, प्रधानमन्त्री दाहालले वर्तमान सरकार एक वर्ष नपुग्दै अमेरिका, भारत, चीनलगायत देशको भ्रमणका साथै संयुक्त राष्ट्रसङ्घीय महासभा र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा भएको उपस्थितिले नेपालको प्रतिष्ठा बढाएको बताए ।

भारत र चीनमा भएका औपचारिक भ्रमणमा पनि मुलुकको हितमा महत्वपूर्ण सम्झौता गरेको चर्चा गर्दै प्रधानमन्त्रीले ती सहमतिमा नेपालले पाउने लाभका विषयमा लाग्न नेपाली निकायलाई लागिपर्न निर्देशन दिइरहेको बताए

भारतसँगको जलविद्युत्सम्बन्धी सम्झौताको कार्यान्वयनका लागि होस् या पञ्चेश्वर परियोजनालाई नेपालको हितका पक्षमा कार्यान्वयन गराउन आफू लागिपरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले एक प्रसङ्गमा नेपालको संसद्ले सर्वसम्मतिबाट पारित गरेको नेपालको चुच्चे नक्साको कार्यान्वयन गरी त्यस बमोजिमको नेपाली भूमि कायम गर्नका लागि भारतसँग कूटनीतिक वार्ता गरिरहेको पनि बताए ।

उनले भने, “यो विषयको कार्यान्वयन द्विपक्षीय वार्ताबाहेक अरूबाट सम्भव छैन । त्यो विषयमा मेरो भारत भ्रमणका समयमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको हो । वार्ताका माध्यमबाट समाधान गर्नेमा उहाँ पनि सकारात्मक हुनुहुन्छ ।”

प्रधानमन्त्री दाहालले अर्काे एक प्रसङ्मा सरकारले सुशासन र जनताका पक्षमा काम गरेको बताए । नागरिकतासम्बन्धी कानुन, मिटरब्याजीलाई कारबाही गर्ने कानुनको निर्माण, भूटानी शरणार्थी प्रकरणको छानबिन र कारबाही, ललिता निवासलगायत अरू भूमाफियाका विरुद्धको कारबाही सबै यही सरकारको पहल र प्रतिबद्धताका कारण भएका पनि स्पष्ट गरे ।

महासचिव विप्लवलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना

काठमाडौँ, १८ मङ्सिर : जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुमाथि राज्यविरुद्धको कसुरमा ३५ दिनभित्र अदालतमा उपस्थित हुनु भनेको छ ।

अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको हो ।

“यो पक्राउ पूर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाई आफैँ उपस्थित हुनुहोला”, उक्त पक्राउ पुर्जीमा भनिएको छ, “तपाईहरुले म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुनेछ, पछि तपाईको उजुरबाजुर लाग्ने छैन ।”

अदालतको विसं २०८० मङ्सिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गर्न दिएको आदेशअनुसार सूचना प्रकाशित गरिएको बताइएको छ । विसं २०७६ असोज ९ गते निजहरुमाथि राज्यविरुद्धको मुद्दा दायर भएको थियो । निजहरुले सङ्घीय एकाइबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । प्रहरीले निजहरु फरार भएको भनेपछि अदालतले ३५ दिनभित्र पक्राउ पुर्जी जारी गर्न आदेश गरेको थियो ।

सोही आदेशअनुसार जिल्ला अदालत काठमाडौँ प्रशासन शाखाले आज उक्त सूचना जारी गरेको हो ।

शिक्षा विधेयकमाथि प्रदेशस्तरमा सुझाव मागिने

काठमाडौँ, १८ मङ्सिर : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरोकारवाला पक्षसँग प्रदेशगतरुपमै सुझाव मागिने बताउनुभएको छ ।

गत भदौ २७ गते संसद्मा दर्ता भएको सो विधेयकमाथि प्राप्त एक सय ५० भन्दा बढी संशोधन प्रस्ताव सभामुखको सचिवालयबाट समितिमा आएको र त्यसमाथि नियमित विधिवत छलफलको तयारी भएको जनाउँदै सभापति जोशीले लामो समयको प्रतीक्षापछि विधेयक प्रस्तुत भएकाले यसमा व्यापक परामर्श आवश्यक रहेको बताउनुभएको हो । आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा सभापति जोशीले नेपाल शिक्षक महासङ्घलगायत सरोकार भएका सबै पक्ष र विज्ञका विचार सुनेर मात्रै संशोधनलाई पारित गरिने बताउनुभयो । समितिका सदस्य सुमना श्रेष्ठले शिक्षकहरुको सुविधाका लागि मात्रै नभई गुणस्तरीय शिक्षाका लागि पनि बहस हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले लामो समयको अन्तरालमा विधेयक आएकाले यसमा गहन छलफल हुनु स्वभाविक भएको उल्लेख गर्दै विद्यालय शिक्षाको परीक्षा र मूल्याङ्कन प्रणालीबारे अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा निचोडमा पुग्न आग्रह गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव केशव दाहालले सार्वभौम संसद्मा पुगिसकेको विधेयकमा सांसद्बाट हुने संशोधन सरकारलाई स्वीकार्य हुने जनाउँदै विधेयक दर्ता भएपछि महासङ्घसँग गरिएका सहमति सदनमा प्रस्तुत भइसकेकाले त्यसलाई मनन् गरिने आशा व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष कमला तुलाधरले आफूहरुसँग भएका सहमतिको पालनासहित छिटो विधेयक पारित हुनुपर्ने माग गर्नुभयो । महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले सहमतिमा पनि कतिपय मागहरु छुटेकाले तिनको पनि सम्बोधन हुनुपर्ने बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गाना, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिशएन (एन प्याब्सन) का अध्यक्ष सुवास न्यौपाने, उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवालले शिक्षामा निजी क्षेत्रको लगानीको सुरक्षा हुनुपर्ने जिकिर गर्दै गुणस्तरीय शिक्षामा निजी शिक्षालयको भूमिकाको अवमूल्यन नगर्न माग गर्नुभयो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मुक्तानले सामुदायिक विद्यालयमा समुदाय र अभिभावकको भूमिकालाई अग्राधिकार दिने गरी संशोधन गर्न आग्रह गर्नुभयो । शिक्षाविद् डा कृष्णप्रसाद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारीमा समान अवसरको वितरण हुन नसक्ने हो भने मानिस सुविधायुक्त स्थानमा बसाइसराइ गर्ने र मुलुकको समग्र विकासमा प्रतिकूल असर पर्ने बताउनुभयो ।

   उक्त विधेयकमा गत असोज २१ गते प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सकिएर सदस्यहरुलाई संशोधन दर्ताका लागि समय दिइएको थियो । संशोधनमा गत असोज ५ गते शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने प्रयास गरिएको छ ।

कोप २८ः जीवाश्म इन्धन छाडेर स्वच्छ ऊर्जातर्फको यात्रामा विश्वजगत्

काठमाडौँ, १८ मङ्सिर : संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढावा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जान तयार देखिएका छन् ।

कोप–२८ को सचिवालयका अनुसार जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट बच्न सन् २०३० सम्म कार्बन उत्सर्जनलाई झण्डै आधाले घटाउने विषय पनि उत्तिकै मुखररुपमा उठेको र सहमतिको नजिक पुगेका छन् । त्यसका लागि साझा प्रयास र दृष्टिकोणको आवश्यकता रहेकामा अधिकांशको समान मत छ । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै गएर सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिकरुपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार देखिएका छन् ।

कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण विश्वव्यापीरुपमा जलवायु परिवर्तनको असर परेको छ । नवीकरणीय ऊर्जा त्यसमा पनि नेपालजस्ता देशले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको छ ।

हरित ऊर्जा उत्पादनमा नेपालले गरेको प्रगति विश्वसमुदायका लागिसमेत प्रेरणाको विषय बन्दै गएको छ । कोप–२८ मा नेपालले सञ्चालन गरेको नेपाल मण्डपमा समेत यस विषयमा बढी चासो राखिएको छ । सम्मेलनमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार नवीकरणीय ऊर्जा र त्यसमा पनि कार्बन सञ्चितिमा योगदान गरेको नेपालको जलविद्युत् क्षेत्रबारे धेरैको चासो देखिएको छ ।

सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ

रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताउनुभएको छ । राष्ट्रपति निर्वाचनअघि उहाँले भारतीय सेना फिर्ता गराउने वाचा गर्नुभएको थियो ।

यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताउनुभयो । भ्रष्टाचारको आरोपमा कारागारमा रहनुभएका चीन समर्थक पूर्वराष्ट्रपतिको अप्रत्यक्ष सहयोगमा मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

“भारत सरकारसँगको शृङ्खलाबद्ध रचनात्मक बैठक र संवादपछि भारतीय सैनिक फिर्ता गर्ने सहमति भएको छ”, आइतबार राति राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ । समुद्री क्षेत्रमा गस्ती गर्ने तीनवटा उपहारप्राप्त विमान सञ्चालन गर्नका लागि भारतीय सैनिकहरू माल्दिभ्समा तैनाथ छन् ।

प्राचीन सेतो समुद्री तट र एकान्त रिसोर्टहरूका साथ मुख्यरूपमा दक्षिण एसियाको सबैभन्दा महँगो बिदा मनाउने स्थलहरूमध्येको एकका रूपमा चिनिने माल्दिभ्स भूराजनीतिक ‘हटस्पट’ बनेको छ । विश्वव्यापी पूर्व–पश्चिम ढुवानी लेनहरूले भूमध्य रेखा पार गरी आठ सय किलोमिटर (पाँच सय माइल) फैलिएको माल्दिभ्सको एक हजार एक सय ९२ साना कोरल टापुहरूको शृङ्खलालाई पार गर्दछ ।

राष्ट्रपति मुइज्जुको कार्यालयले भारतीय सैनिकहरूको फिर्तीको सम्झौता ‘प्राविधिस्तरमा प्रगतिमा रहेको’ जनाएको छ । आफ्नो माटोमा विदेशी सैन्य अनुपस्थिति सुनिश्चित गर्नका लागि प्राथमिकरूपमा कूटनीतिक च्यानलहरू प्रयोग गर्ने आफ्नो प्रतिबद्धतामाथि जोड दिइएको विज्ञप्तिमा उल्लेख छ ।

माल्दिभ्सले सेना फिर्ताका लागि कुनै समयसीमा दिएको छैन र सोमबार नयाँदिल्लीबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन । दुबईमा संयुक्त राष्ट्रसङ्घीय कोप२८ सम्मेलनका अवसरमा राष्ट्रपति मुइज्जु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको एक बैठकपछि यस्तो सहमति भएको हो ।

माल्दिभ्सले भनेको छ, “दुवै नेता माल्दिभ्समा जारी विकास परियोजनाहरूसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्न समन्वय गर्ने प्रयासका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत हुनुभएको छ ।”

२४ औँ चीन-ईयु शिखर सम्मेलन बेइजिङमा हुँदै

चीन र युरोपेली सङ्घबीच भएको सहमतिअनुसार २४ औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबारजनाकरि दिनु भएको छ

सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङ, राष्ट्रपति चाल्र्स मिशेल र राष्ट्रपति उर्सुला भोन डर लेनले संयुक्त रूपमा शिखर सम्मेलनको अध्यक्षता गर्ने हुवाले बताउँनु भएको छ ।

महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्छ : मन्त्री शर्मा

तुलसीपुर (दाङ), १८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिमको आज उद्घाटन गर्नुहुँदै उहाँले महिला पत्रकार लामो समयसम्म यस पेसामा टिक्न नसक्नु विडम्बना भएको बताउनुभयो ।

“महिला पत्रकार लामो समयसम्म पेसामा टिक्न नसक्ने समस्या छ”, मन्त्री शर्माले भन्नुभयो, “तालिममा सहभागीले दिनुभएका सुझावलाई नीतिगत तहबाट सुधार गर्न सरकार तयार छ । महिलालाई पेसामा टिकाइराख्न गर्नुपर्ने क्षमता अभिवृद्धिसँगै अवसरहरु सृजना गर्नुपर्छ ।”

हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने प्रावधान भए पनि पत्रकारितामा हाल २० प्रतिशत मात्रै सहभागिता रहेको उहाँले जानकारी दिँदै यसलाई बढाउनुपर्ने बताउनुभयो । मन्त्री शर्माले महिला पत्रकारका उत्तराधिकारी उत्पादन गर्नतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारसम्बन्धी विभिन्न ऐन निर्माण तथा संशोधनको तयारी रहेकाले सुझाव दिन पनि सहभागीलाई अनुरोध गर्नुभयो ।

प्रविधिलाई सही तरिकाले सदुपयोग गर्नतर्फ सबैले ध्यान दिनुपर्ने मन्त्री शर्माको भनाइ थियो । तीन दिनसम्म सञ्चालन हुने तालिममा साइबर शिक्षालाई पनि समावेश गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री शर्माले यस्ता क्षमता वृद्धिसम्बन्धी तालिमलाई जिल्लाजिल्लामा सञ्चालन गरेर व्यापक सहभागिता बनाउने गरी तयारी गरिने जानकारी दिनुभयो ।

मोरङमा हात्तीको आक्रमणबाट एकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) १८ मङ्सिर : मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेको जङ््गलमा हात्तीको आक्रमणमा परेर एक पुरूषको मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको आज मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । उहाँले लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर यात्रा गरिरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै निधन भएको उल्लेख गर्नुभयो ।

माझी लेटाङस्थित घरबाट बेलबारी लक्ष्मीमार्गको बजारतर्फ साइकलमा आउँदै गरेको बेला जङ्गली हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । बाटो हिँड्नेले जङ्गलमा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शव परीक्षणका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएका थिए । लेटाङ तथा भाउन्ने आसपासमा रातभर दुई दर्जनभन्दा बढी छावा (बच्चा) सहितको जङ्गली हात्ती देखापरेकाले स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जङ्गलतर्फ धपाउने काम गरेको यहाँका स्थानीयले बताएका छन् ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा केही दिनदेखि जङ्गली हात्तीको आङ्तक बढेको छ । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा उपद्रो मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् । सर्वसाधारणको घर भत्काइ दिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा जङ्गली हात्तीले मच्चाइरहेको मोरङ प्रहरीका प्रवक्ता दाहालले उल्लेख गर्नुभयो ।

हालसम्म मोरङ, झापा सुनसरी जिल्लामा जङ्गली हात्तीको आक्रमणमा परी एक साताभित्रमा चार जनाले ज्यान गुमाइ सकेका छन् । हात्तीको आहारा जङ्गलमा सकिएपछि मानव बस्तीतर्फ हात्तीले निशाना बनाउँदै आएको जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । उहाँले हात्तीले धनजनको क्षति पु¥याएपछि सुरक्षाको व्यवस्थापन गर्न सरकार समक्ष स्थानीयले माग गरेको उल्लेख गर्नुभयो ।

धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीको चेतावनी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिनुभएको छ । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पु¥याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्नुहुँदै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताउनुभयो । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री किरातीले धर्मनिरपेक्षताको विकल्प सोच्नै नसकिने बताउनुभयो । धर्मनिरपेक्षतामा सबै जातजाति र धर्मावलम्बीले समान रुपमा फुल्न पाउँछन् । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो”, उहाँले भन्नुभयो, “पुरानो व्यवस्था फर्काउने कसरत नगर्नुहोला, यो सम्भव छैन ।”

मन्त्री किरातीले हजारौँको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको विकल्प नखोज्न आग्रह गर्नुभयो । पहिलो पटक शाकाहारी गाउँ माङसेबुङ आउनुभएका मन्त्री किरातीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिनुभयो । “नेपाल धार्मिक र सांस्कृतिक पर्यटनको दृष्टिले विशिष्ट छ । यी विशिष्टताको आधारमा पर्यटन विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “माङसेबुङ नेपालको एकमात्र शाकाहारी क्षेत्र हो । यसलाई शाकाहारी क्षेत्रको रुपमा पर्यटन प्रवर्द्धन गर्नसके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिन्छ ।”

आत्मानन्द लिङ्देन बसेपछि माङसेबुङ क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले माङसेबुङ क्षेत्रलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी जस्तै सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको बताउनुभयो । माङसेबुङवासीले पेश गरेको मागपत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले माङसेबुङ क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जाजरकोट भूकम्प : चार हजार लाभग्राही थपिए

काठमाडौँ, १८ मङ्सिर : जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा बढी लाभग्राही थपिएका छन् ।

यसअघि २८ हजार पाँच सय २७ लाभग्राहीको सङ्ख्या रहेकामा अहिले बढेर ३२ हजार पाँच सय एकजना पुगेको प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले जानकारी दिनुभयो ।प्राप्त विवरणअनुसार बझाङमा दुई हजार चार, बाजुरामा दुई हजार पाँच सय ५५ जाजरकोटमा १३ हजार सात सय १८ र रुकुमपश्चिममा १४ हजार दुई सय २४ जना लाभ्रगाही कायम भएका छन् ।

उहाँले अहिलेसम्म १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको छ । लाभग्राही प्रमाणित भएकामध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिला किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिनुभयो ।

भूकम्पपीडितको राहत व्यवस्थापनको मुख्य जिम्मेवार पालिकाको रहेकाले छिटोभन्दा छिटो रकम वितरण गरेर अस्थायी घर बनाउनुपर्नेमा प्राधिकरणले जोड दिएको छ । प्रवक्ता खड्काले लाभग्राही कायम गरेर मन्त्रालयमा आइपुगेकाहरुको हकमा भने विलम्ब नगरी रकम निकासा गरिरहेको पनि जानकारी दिनुभयो ।

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व सङ्कलन

म्याग्दी, १८ मङ्सिर : गण्डकी प्रदेशका यातायात कार्यालयले चालुु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् ।

चालुु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार तीन सय ४९ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । बाग्लुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा दुईवटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका हुुन् ।

मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितका अनुुसार सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले रु ३१ करोड ७१ लाख ३५ हजार सात सय ८१ राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र, कास्कीले रु छ करोड ४७ लाख ३९ हजार नौ सय २६, बाग्लुुङले रु चार करोड १० लाख ३२ हजार ६ सय ७०, नवलपुुरबाट रु छ करोड ३४ लाख ७९ हजार ६ सय ७४, डुुम्रेबाट रु चार करोड १० लाख ९१ हजार एक सय ७५ राजस्व सङ्कलन भएको छ ।

गोरखा, लमजुुङ र स्याङ्जाको यातायात सेवा शाखाबाट एकमुुष्ट रु चार करोड १० लाख सात हजार एक सय २३ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेका यातायात कार्यालयहरुले चालुु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यअनुुसार नै राजस्व सङ्कलन गरेका मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख समेत रहनुुभएका प्रवक्ता टीकाराम पौडेलले बताउनुुभयो ।

प्रदेश सरकारले चालुु आर्थिक वर्षको पहिलो चौमासिकमा रु एक अर्ब १५ करोड राजस्व सङ्कलन गरेकामा यातायात कार्यालयहरुको योगदान करिब आधा रहेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले यातायात कार्यालयहरुको सेवालाई सरलीकरण, झन्झटरहित, सहज र प्रविधिमैत्री बनाउन जोड दिएको बताउनुुभयो ।

चालुु आर्थिक वर्ष सुुरु भएयता पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू गर्न विसं २०७७ मा भएको निर्णय कार्यान्वयन गरिएको र बागलुुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गरिएको मन्त्री जुुग्जालीले बताउनुुभयो ।

सवारी साधन दर्ता र नवीकरणसम्बन्धी सेवा दिने हाम्रो कार्यालयमा फाइललाई डिजिटलाइजेसन गरेर लाइन बस्न र बिचौलियाको सहयोग लिन नपर्ने बनाइएको यातायात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लीराम रिजालले बताउनुुभयो ।

सेवाग्राहीको अत्यधिक चाप र भीड हुने भएकाले बिहान ८ बजेदेखि नै सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा सञ्चालन गर्न र सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनमार्फत बुझाउने व्यवस्था मिलाइएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीका प्रमुुख जितेन्द्रजङ्ग केसीले बताउनुुभयो ।

दरबन्दी अनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्ने, सङ्घीय सरकार मातहतको सर्भरमा पटकपटक आइरहने समस्याका कारणले सेवाप्रवाहमा चुनौती रहेको यातायात कार्यालयका प्रमुुखहरुले बताएका छन् ।

भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्माण व्यवसायी विकास परिषद्को निर्णय

काठमाडौँ, १८ मङ्सिर : निर्माण व्यवसायी विकास परिषद्ले भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिनुभयो ।

राहत र पुनः निर्माणका लागि रु २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि पाँच लाख दिने निर्णय भएको हो । सहसचिव बिष्टका अनुसार निर्णय भएको रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिने छ ।
चिसो मौसमका कारण भूकम्पप्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएकाले प्रभावितलाई राहत र पुनःस्थापनामा सहयोग गर्न सबै पक्षलाई बैठकले आग्रह गरेको छ ।

तीन पटकभन्दा बढी भूकम्पप्रभावित क्षेत्रमा पुग्नुभएका मन्त्री ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसक्नुभएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब लिने निर्णय भइसकेको छ ।

मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात

म्याग्दी, १८ मङ्सिर : मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा आज वर्षा र हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको हो । यो याममा पहिलोपटक हिमपात भएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले जानकारी दिनुभयो ।

“यो वर्ष याममै हिउँ परेकाले किसान खुसी भएका छन्,” उहाँले भन्नुभयो, “हिउँ परेर जमिन भिजाएको र वातावरणलाई सन्तुलित बनाएको छ ।” असोज दोस्रो सातापछि आज बिहानदेखि वर्षासँगै हिउँ पर्न थालेको हो ।

लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पाँच इञ्चसम्म हिउँ जमेको छ । निरन्तर हिउँ परिरहेको छ । हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुने भएकाले कृषक खुसी भएका हुन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजीवन प्रभावित भएको बताउनुभयो । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तु र भेडाच्याङ्ग्रालाई गोठमै सुक्खा घाँस खुवाएर राखिएको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाँडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरु हिउँले सेताम्मे भएको र चिसो बढेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

‘केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ’- केदार कार्की

कटारी (उदयपुर) १८ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको निःशुल्क सेवाहरु सेवाग्राहीले पाए÷नपाएको अनुगमन गरेर मात्रै कटारी अस्पतालको स्तरोन्नतिका लागि अघि बढ्ने बताउनुभएको छ । आज साँझ उदयपपुरको कटारीमा रहेको कटारी नगर अस्पताल परिसरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाको मागबारे मुख्यमन्त्री कार्कीले कटारी अस्पताल यस क्षेत्रको केन्द्रमा रहेकाले यसलाई सबै प्रक्रिया पुगे स्तरोन्नति गर्ने बताउनुभयो ।

अस्पतालले बिरामीलाई दिने सेवा सुविधा राम्रो हुनुपर्ने बताउँदै सेवा सबैले पाउनुपर्ने बताउनुभयो । “प्रभावकारी सेवा पाए पाएनन् जनतामा पनि सर्वेक्षण गर्छौं,” उहाँले भन्नुभयो, “स्तरोन्नतिसँगै प्रभावकारी सेवाका लागि काम गर्छौं ।”

मुख्यमन्त्री कार्कीलाई अस्पतालका बारेमा जानकारी गराउँदै अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले १५ शय्याको नगर अस्पताल भए पनि ५० शय्याको सेवा दिइरहेकाले प्रदेशस्तरीय अस्पताल बनाउन आग्रह गरे । “सर्पदंशको पनि उपचार गरिरहेका छौँ, उपचार सेवाको विस्तार भइरहेको छ,” डा साहले भन्नुभयो, “यस अस्पताललाई प्रदेशस्तरीय बनाउन आवश्यक छ ।”

कटारी अस्पतालबाट उदयपुरका साथै प्रदेशको पहाडी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु , खोटाङ र बागमती प्रदेशको सिन्धुलीका बिरामीलाई समेत सहज उपचार गर्न सकिने डा साहको भनाइ थियो । प्रदेशसभा सदस्य प्रदीप सुनुवार, रामकुमार खत्री लगायतको टोलीलाई अस्पताल विकास समितिका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष भूपेन्द्रसिंह तामाङलगायत कटारी नगरपालिकाका जनप्रतिनिधिका साथै सरोकारवालाले स्वागत गरेका थिए ।

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।

सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् ।

साथै सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय ९९, मार्चमा दुई हजार सात सय ३६, अप्रिलमा चार हजार दुई सय २१, मेमा एक हजार पाँच सय ७१, जुनमा दुई सय ५२, जुलाईमा दुई ५६, अगस्टमा तीन सय १६, सेप्टेम्बरमा दुई हजार दुई सय ५७, अक्टुबरमा पाँच हजार एक सय ९८ र नोभेम्बरमा तीन हजार दुई सय ४८ पर्यटक भित्रिएका छन् ।

सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका दुई हजार चार सय ८५, इजरायलका एक हजार ८३, जर्मनका एक हजार आठ सय ३७, बेलायतका एक हजार चार सय ७३, अमेरिकाका एक हजार दुई सय १३, रसियाका एक हजार एक सय ६७, अस्ट्रेलियाका एक हजार एक सय पाँच, नेदरल्याण्डसका नौ सय ७० र भारतका आठ सय ९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ ।

सन् २०२२ मा मनाङमा १५ हजार नौ सय तीन विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा एक हजार नौ सय ७६ र सन् २०२१ मा दुई हजार तीन सय ७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् ।

मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १०औं उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् ।रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौं । तर, शारीरिक रुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ । नेपाल प्राकृतिक रुपमा धनी छ । यसको महसुस गर्न सक्नुपर्छ । सबै देशका मानिस एक नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ ।” उहाँ जस्तै अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउने गरेका छन् ।

पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली

कर्णाली, १८ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानअन्तर्गत कर्णाली प्रदेशको दैलेख जिल्लामा पुग्नुभएका अध्यक्ष ओलीले आज भैरवी गाउँपालिका–१ स्थित श्रीस्थान ज्वाला क्षेत्रको स्थलगत अवलोकनका क्रममा पेट्रोलियम पदार्थको उत्खनन् गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको समृद्धिका लागि पेट्रोलियम पदार्थ अन्वेषणको विकल्प नभएको भन्दै उत्खनन् कार्यमा तीव्रता दिन आग्रह गर्नुभयो ।

“दैलेख पुरातात्विक महत्त्व भएको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो”, अध्यक्ष ओलीले भन्नुभयो, “यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढ्नुपर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।” उहाँले अन्वेषण विभागको टोलीसँगको ब्रिफिङपछि देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खनन्ले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापीतले चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्खनन टोलीको प्रतिवेदन अनुसार पहिलो तीन हजार पाँच सयदेखि चार हजार मिटरसम्म पेट्रोलियम पदार्थको सम्भावना देखिएको छ । चार हजार पाँच सय मिटरसम्म पनि यसको सम्भावना निकै राम्रो देखिन्छ ।”

दैलेखको भूभागमा पेट्रोल र ग्यासको भण्डारणको सम्भावनाको अध्ययनका लागि विसं २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो ।

देशकै आर्थिक अवस्थामा सुधार आउने आशा गरिएको पेट्रोलियम अन्वेषणको अध्ययन प्रतिवेदन परियोजना प्रमुख नापितले अध्यक्ष ओलीलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष ओलीसहित उत्खनन् क्षेत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेलसहितका केन्द्रीय नेताहरुले पनि स्थलतगत अवलोकन गर्नुभएको थियो ।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताउनुभयो । आइतबार साँझदेखि वर्षा भए पनि आज बिहानदेखि नै हिमपात भएको घर्तीमगरले जानकारी दिनुभयो ।

हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्न सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको उहाँले बताउनुभयो । चरनका लागि पातिहाल्ने लगिएका वस्तुभाउ पनि बँेसी झारिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै गठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडीहरु चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, बेँसीबाट लिएका भेडाबाख्रा पनि फर्काइएको छ, आज रातिसम्म हिमपात हुने सम्भावना देखिएको छ ।”

ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिनुभयो । लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन् । खेतबारीमा लगाको गहुँ, जौ र तोरी सुक्न थालेपछि चिन्तित बनेका किसानलाई यो बेलाको वर्षाले राहत दिएको भण्डारीको भनाइ छ ।

औद्योगिक राष्ट्रको कार्बन उत्सर्जनका कारण नेपालले विपद् भोग्नुपरिरहेको छ – उर्जामन्त्री बस्नेत

यूएई (दुबई) १८ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताउनुभएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भइरहेको जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा साथसाथै संस्थाले आज नेपालको पेभिलियनमा आयोजना गरेको कार्यक्रममा उहाँले औद्योगिक राष्ट्रहरुले उत्सर्जन गरेको कार्बनका कारण नेपालजस्ता कार्बन उत्सर्जनमा न्यून योगदान भएका मुलुकहरुले बढी क्षति व्यहोर्नु परेको उल्लेख गर्नुभयो ।

‘जलवायु परिवर्तन र हिमाल, महिला तथा जोखिममा रहेका समुदायमा पारेको असर’ शीर्षकमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु परिवर्तन न्यूनीकरणका लागि गरेको आफ्नो प्रतिबद्धतालाई पूरा गर्नेतर्फ अग्रसर रहेको स्पष्ट पार्नुभयो । विकसित मुलुकहरुले आफूले गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा उहाँको जोड थियो ।

मन्त्री बस्नेतले भन्नुभयो, “जलवायु परिवर्तनको जोखिममा नेपालजस्ता भौगोलिक जटिलता रहेका मुलुक छन् भने त्यसमा पनि महिला, बालबालिका, अशक्त र सीमान्तकृत समुदाय बढी जोखिममा परेका छन् । हामीले आफ्ना प्रतिबद्धताहरु पूरा गरिरहेका छौँ । तर, औद्योगिक राष्ट्रहरुले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता पूरा गर्नुपर्दछ ।”

नेपालले जलवायु परिवर्तन न्यूनीकरणका लागि कार्बन उत्सर्जन कम गर्न स्वच्छ ऊर्जाका क्षेत्रका विभिन्न काम गरिरहेको जानकारी गराउँदै मन्त्री बस्नेतले भन्नुभयो, “बढी जोखिममा रहेका महिला, बालबालिकाका साथै सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर समावेशी समाज निर्माणमा नेपाल सरकारले काम गरिरहेको छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकास व्यवस्थापन तथा जलवायु सल्लाहकार डा पपुलर जेन्टलले जलवायु परिवर्तनका कारण महिला बढी जोखिममा रहेको उल्लेख गर्दै सामाजिक जिम्मेवारीका कारण महिलाले थप जोखिम भोग्नुपरेको बताउनुभयो । साथै उहाँले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्राप्त हुने अनुदान र सहयोग त्यस्ता जोखिममा रहेका समुदायको उत्थान र सीपमा प्राथमिकता दिनेगरी नीति निर्माणमा लाग्न जोड दिनुभयो ।

कार्यक्रममा साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु न्यायका लागि हिमाल र महिलाको विषयलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “महिला तथा जोखिममा रहेका समुदायलाई केन्द्रमा राखेर मात्रै जलवायु न्याय प्राप्त गर्न सकिन्छ । जलवायु परिवर्तनले नेपालका हिमालहरुको हिउँ पग्लिने क्रम तीव्र बढेको छ । यसले जलवायुजन्य विपद् सृजना गरेको छ । जसको प्रत्यक्ष मारमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदाय परेका छन् । उनीहरुको न्यायका लागि सरोकारवाला सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्दछ ।”

महिला तथा जलवायु अनुकूलन विज्ञ डा राधा वाग्लेले ग्रामीण र सीमान्तकृत समुदायका महिला उच्च जोखिममा रहेको बताउनुभयो । जलवायु परिवर्तनका कारण महिला जोखिममा रहेको भनेर मात्र नहुने उल्लेख गर्दै उहाँले महिलालाई अवसर प्रदान गर्नुका साथै जलवायु अनुकूलनका कार्यक्रमलाई अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई जोखिममा रहेको भनेर मात्र हुँदैन । अब उनीहरुलाई रोजगारी र सीप तथा व्यापार, व्यवसायमा अघि बढाउनुपर्दछ । जलवायु अनुकूलनका कार्यक्रमलाई तीव्रता दिनुपर्छ ।”

ग्रिन क्लाइमेट फन्ड/एडेप्टेसन फन्डका समिति अध्यक्ष क्लाउडिया गोडफ्रे रुइजले प्रत्यक्ष पहुँच स्थापित हुने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरित जलवायु वित्त र अन्य वित्तहरुलाई स्थानीय र बढी जोखिममा रहेको समुदायमा पु¥याउनुपर्छ । यसरी प्रत्यक्ष पहुँच स्थापित गर्न सक्यौँ भने मात्रै हामीले जलवायु न्याय स्थापित गर्न सक्छौँ ।”

अमेरिकी डलरसहित पोल्यान्डकी एक महिला पक्राउ

काठमाडौँ, १८ मङ्सिर : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्यान्ड जान लागेकी निज महिला विमानस्थलमा जाँच गर्ने क्रममा एक सय दरको एक सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार पाँच सय अमेरिकी डलरसहित फेला पारी आइतबार पक्राउ गरिएको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री विवाद र शङ्काको घेरामा परेको छ ।मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ । राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद–बिक्री भए भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न उठेका हुन् ।

एनसेलको स्वामित्व खरिद–बिक्री भएको विषयमा सार्वजनिक लेखा समितिले पनि चासो देखाएको छ । समितिले एनसेल खरिद–बिक्रीका विषयमा जानकारी मागसहित आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको समितिका सचिव एकराम गिरीले पुष्टि गर्नुभयो ।

एनसेलको शेयर खरिद–बिक्रीमा देखिएका प्रश्न र शङ्काबारे सरकारले जवाफ दिनुपर्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल बताउनुहुन्छ । “यो खरिद–बिक्रीका सन्दर्भमा नागरिकस्तरबाट प्रश्न उठिरहेका छन् । सरकार उत्तरदायी र नागरिकका प्रश्नमाथि जवाफदेही हुनुपर्छ”, उहाँले भन्नुभयो, “यो खरिद–बिक्री प्रक्रिया विधिसम्मत हो कि होइन ? हाम्रो ऐन कानुनअनुसार भएको छ कि छैन ? यसले सरकारी आय र राजस्वमा के प्रभाव पार्छ ? सेवा प्रवाहमा के असर गर्छ ? लगायत विषयमा सम्बन्धित निकायसँग जानकारी मागिएको छ”, सभापति पोखरेलले भन्नुभयो ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पूँजीको प्रतिशत शेयर खरिद–बिक्री गर्नुअघि नेपाल दुरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यस्तै, नेपाल दुरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) मा शेयरधनीको शेयर खरिद–बिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । आजियटाले यो प्रक्रिया पूरा गरे/नगरेको बारे लेखा समितिले प्राधिकरणसँग जवाफ मागेको छ ।

त्यस्तै, निकै कम रकममा शेयर कारोबार भएको देखिएपछि यो व्यावसायिक सम्झौता थप शङ्का गर्ने ठाउँ देखिएको छ । सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर रू एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् रु एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् रु साढे छ अर्बमा बिक्री भएको छ ।

त्यस्तै यो कारोबारमा आयकर ऐन, २०५८ अनुसार पूँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई कसरी सम्बोधन गरिएको छ भन्ने पनि स्पष्ट छैन । रू पाँच करोडभन्दा बढी चुक्ता पूँजी भएको दुरसञ्चार सेवा प्रदायक कम्पनी दुई वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भई यस्तो कम्पनीले शेयर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेमा सो सम्बन्धमा एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको छैन । यसबारे पनि लेखा समितिले प्रश्न गरेको छ ।

“नेपालको कर प्रणाली छलेर भएको शेयर खरिद–बिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरुलाई जानकारी नै नदिईकन भएको भन्ने सुनिन आएकाले यो खरिद–बिक्रीको प्रक्रिया र पारदर्शितामाथि सम्बन्धित नियमनकारी निकायको के भनाइ रहेको छ ?” लेखा समितिले आन्तरिक राजश्व विभाग, दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ, “छ वर्ष पछि कानून बमोजिम नै नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको अहिलेको कारोवारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के रहेको छ ? यदि नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ ?”

आजियटाले भने व्यवसायमा न्यून प्रतिफलको प्रत्याभूति, झन्झटिलो कर प्रशासन, नियमनकारी निकायको असहयोग, लाइसेन्सको म्याद सकिएपछिको अवस्थामा सरकारले स्वामित्व ग्रहण गर्नेलगायत विषयलाई कारण देखाउँदै स्वामित्व बिक्री गर्ने उल्लेख गरेको छ ।

नेत्री पोखरेल भन्छिन् – ‘कानुन निर्माणमा केन्द्रीकृत मानसिकता नै बाधक छ’

काठमाडौँ, १८ मङ्सिर : राष्ट्रियसभा सदस्य विना पोखरेल कतिपय राजनीतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि तत्कालै आवश्यक पर्ने कानुन निर्माणमा अवरोध सिर्जना गरिरहेको तर्क गर्नुहुन्छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको एकल अधिकारका सूचीमा रहेका प्रदेश प्रहरी र ऐनलाई अघि बढाउन केन्द्रीय सोच नै मुख्य बाधक रहेको जनाउँदै उहाँ त्यसले छिटो र सहजरूपमा कानुन बनाउन अवरोध खडा गरेको आरोप लगाउनुहुन्छ ।

‘सांसदसँग रासस संवाद’ मा नेत्री पोखरेलले भन्नुभयो,“साझा अधिकारका विषयमा पनि तानातान गर्ने प्रवृत्तिले कानुन बनाउन चुनौती रहेको महसुस गरेकी छु ।” आफ्नो संसदीय यात्रा नयाँ भएकाले सुरुआती दिनमा केही असहज भए पनि अभ्यास र अनुभवका आधारमा कार्यकालको पहिलो दुई वर्ष कानुन निर्माणका हिसाबले निकै प्रभावकारी रहेको जिकिर उहाँले गर्नुभयो । नेकपा (माओवादी केन्द्र) की नेत्री पोखरेलका अनुसार छ वर्षका अवधिमा दर्ता भएका ५७ मध्ये राष्ट्रियसभाबाट २८ विधेयक पारित भई प्रमाणीकरण भएको, दुई विधायन समितिमा विचाराधीन रहेको तथा प्रतिनिधिसभामा सन्देशसहित गएका १० मध्ये पाँच निष्क्रिय भए ।

उहाँले राष्ट्रियसभामा दर्ता भएको प्रत्यायोजित व्यवस्थापनसम्बन्धी विधेयकमाथि छलफल गरी समृद्ध तुल्याउँदै आगामी बैठकबाट यथाशीघ्र पारित गरिएमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियसभा र मातहतका समितिले कानुन निर्माणमा दलभन्दा माथि उठेर पक्ष र विपक्ष नभनी एकजुट भई काम गरेको अनुभव सुनाउँदै सदस्य पोखरेलले अझै पनि कतिपयमा विसं २०१३ को ऐनकै आधारमा काम गर्ने सोच देखिएको विचार प्रकट गर्नुभयो ।

अहिले बनेका ऐन कार्यान्वयन गर्न आवश्यकतानुरूप तत्कालै कार्यविधि, निर्देशिका, मापदण्ड र विनियम बनाउन आवश्यक रहेको बताउँदै उहाँले ऐनमै त्यस्ता विषय निश्चित मितिमा बनाई लागू गर्ने भनी किटानी हुनुपर्ने औँल्याउनुभयो ।

देश विकास र आर्थिक समृद्धिका बाटामा लम्किरहेका बेला कोरोना र भूकम्पले थिलथिलो र अस्तव्यस्त बनाएको प्रसङ्ग ल्याउँदै नेत्री पोखरेलले राज्यले प्रतिनिधिसभाका समानुपातिक र राष्ट्रियसभा सदस्यलाई जनताका सम्पर्कबाट टाढा राखेको भनी गुनासो गर्नुभयो ।

प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा प्रभावित हुन नहुने जनाउँदै उहाँले राज्यका महत्त्वपूर्ण सवालमा भने सिङ्गो सभा पक्ष÷विपक्ष नभई एक ढिक्का भएर प्रस्तुत भएको धेरै उदाहरण प्रस्तुत गर्नुभयो । देश र जनहितका विषय तथा मौलिक अधिकार कार्यान्वयनका निम्ति सभाले सधँै एकाकार भएर निर्णय गरेको बताउँदै नेत्री पोखरेलले राजनीतिक परिवर्तनका सहयात्री दल आरोपप्रत्यारोपमा उत्रनु शोभनीय नहुने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “परिवर्तनकारी शक्तिबिच बेलाबखत देखिने बेमेल र कतिपय नेतामा देखिएको केन्द्रीकृत मानसिकताले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई कमजोर तुल्याउन कोसिस भएको देखिन्छ ।”

उहाँका अनुसार समितिले प्रारम्भिक दुई वर्ष निकै तीव्र गतिमा काम गरेको थियो । कामकारबाही चुस्त र दुरुस्त तुल्याउन उपसमितिसमेत गठन गरी काम बाँडफाँट गरियो । सरकारले नीति तथा कार्यक्रम, बजेट वक्तव्य, विधेयकमाथि सैद्धान्तक छलफलका क्रममा दिएका आश्वासन पूरा भए नभएका बारे समितिले गहन अध्ययन गरेको छ ।

राष्ट्रियसभा मुलुककै गहना र कानुन निर्माणको एक खम्बा भएको बताउँदै नेत्री पोखरेलले लामो समयसम्म सभापतिविहीन अवस्था र त्यसपछि कोरोना सङ्क्रमणले हलचल गर्न नदिँदा थप उपलब्धि हुन नसकेको स्पष्ट गर्नुभयो । समितिले दिएका निर्देशन तथा सरकारले औपचारिक रूपमा व्यक्त गरेको प्रतिबद्धता र आश्वासन केही हदसम्म कार्यान्वयन भएको पाइएको बताउँदै उहाँले निरन्तरको अनुगमन र पटकपटक निर्देशन दिँदा पनि ‘लालबाकस’ लगायत केही महत्त्वपूर्ण विषयको भने नतिजा नदेखिएको बताउनुभयो ।

अखिल नेपाल महिला सङ्घ गाउँ कमिटी सदस्यबाट राजनीति यात्रा प्रारम्भ गर्नुभएका उहाँसँग सङ्घको भोजपुर जिल्ला कमिटी सदस्य, नेकपा (माओवादी) पार्टी जिल्ला कार्यसमिति सदस्य, मोरङ र भोजपुर, प्रदेश सल्लाहकार तथा केन्द्रीय सल्लाहकार सदस्य भई काम गरेको अनुभव छ ।

हाल प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति सदस्य नेत्री पोखरेलले दसबर्से सशस्त्र द्वन्द्वमा विभिन्न जिम्मेवारीमा रही २०५२–०६३ सम्म भूमिगत जीवन बिताउनुभयो । उहाँका पति सावित्रीकुमार काफ्ले पनि संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

नेत्री पोखरलेका अनुसार राष्ट्रियसभालाई अलिकति छायामा पारिएकै छ, यसमा विज्ञ समूह रहने भएकाले त्यसो नगरियोस् । यसलाई आफ्नै खालको स्वतन्त्रता हुनुपर्छ । दलगत स्वार्थमाथि उठेर नयाँ शिराबाट उठेर काम गर्नुपर्छ । अध्यादेशमार्फत विधेयक ल्याइनुहुन्न । विशिष्ट परिस्थितिमै पनि तत्काल कानुन बनाउनुपरे जिम्मेवारी दिइनुपर्छ । उहाँले भन्नुभयो, “मलखाद, सिँचाइ, बीउबिजनलगायत किसानका समस्या र महिलाका आवाज उठाइए पनि मन्त्रीहरूबाट जवाफ नै आउन्न, हामीले कोसिस गरिरहेका छौँ मात्र भनिदिए हुन्थ्यो नि ।”

कतिपय तत्काल सम्बोधन गर्नुपर्ने पक्षमा पनि सम्बोधन नहुनु पीडाको विषय भएको बताउँदै नेत्री पोखरेलले बाढी पहिरोलगायत प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने विषयमा सम्बोधन भए सन्तोष हुन्थ्यो भन्नुभयो । समग्र राज्य सञ्चालन ठीक ढङ्गबाट नचलेको जस्तो अनुभव हुनु सदनको आफ्नो कार्यकालको निचोड रहेको बताउँदै उहाँले एक प्रसङ्गमा भन्नुभयो, “कानुन, न्याय तथा संसदीय मामिला र महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालय उत्तिकै महत्त्वपूर्ण भएकाले यिनलाई झन बढी ध्यान दिनुपर्छ ।”

राष्ट्रका कर्णाधार विदेश पलायन भइरहेका अवस्थामा छिटो कानुन बनाएर सम्बोधन गरियोस् भनी समितिले बारम्बार सरोकारवालासँग छलफल गरेको सुनाउँदै उहाँले आफूले बालसुधारगृह खोल्ने नभई अन्त्य गर्नेतर्फ लाग्न सुझाव दिएको जानकारी दिनुभयो । वृद्धाश्रम विस्तार नगरी ज्येष्ठ नागरिकलाई घरपरिवारमै सहज हुने वातावरण मिलाउन जरुरी रहेको बताउँदै उहाँले कुलतमा फसेकालाई जोगाउनेतर्फ मन्त्रालयको सोच र कार्ययोजना आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले राजनीतिक दल र तिनका नेता जनतालाई राज्यप्रतिको विश्वास अभिवृद्धि गर्न र यथाशीघ्र कानुन निर्माण गरी सेवासुविधा उपलब्ध गराउन खम्बा भएर उभिने दृढता व्यक्त गर्नुभयो । नेत्री पोखरेलले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई ठीक ढङ्गले अघि लैजान र समृद्धि प्राप्त गर्न समाजवादका दिशामा अघि बढ्दै सदन, सडक र सङ्घर्षलाई सँगसँगै लैजानुपर्छ ।”

कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

युएई (दुबर्ई), १८ मङ्सिर : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि सुरु भएको छ ।

मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटन समारोहमा नेपालको नामै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिने क्रम बढेको उल्लेख गर्नुभएको थियो । साथै उहाँले जलवायु परिवर्तनको असर हिमालमा धेरै परेको र जनजीवन प्रभावित भएको बताउनुभएको थियो । उहाँले सम्मेलनको पूर्व सन्ध्यामा नेपालको भ्रमण गरी सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रको समेत भ्रमण गर्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालका मुद्दालाई उठाउने गरी सम्मेदनमा नेपालका तर्फबाट उच्चस्तरीय कार्यक्रम समेत आयोजना गर्नुभएको थियो । उक्त कार्यक्रममा महासचिव गुटेरेसले उपस्थित भएर विशेष सम्बोधन मात्र गर्नुभएन हिमालमा जलवायु परिवर्तनले गरेको असरका बारेमा जिम्मेवार मुलुकको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैगरी प्रधानमन्त्री दाहालले हिमाललाई सबै मिलेर बचाउनुपर्ने बताउँदैै विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको प्रष्टरुपमा उल्लेख गर्नुभएको थियो ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमती गरेता पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डार पग्लने अनुमान अध्ययनले गरेका छन् ।

सम्मेलनमा नेपालको मुद्दाले पाएको प्राथमिकताबारे वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले आफूहरु निकै उत्साही भएको बताउनुभयो । इतिहासमै नेपालका मुद्दाले प्राथमिकता पाएको सहभागिता पनि उच्चस्तरको भएको नेपालको ‘एजेण्डा’ स्थापित भएको र विश्वको ध्यानाकर्षण भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपालले यस सम्मेलनको तयारीका लागि छ महिनाअघि नै विभिन्न काम गरेको उल्लेख गर्दै उहाँले नेपालमा राष्ट्रिय जलवायु सम्मेलन गर्नुका साथै सरोकारवाला सबैको सुझाव तयार गरी डकुमेन्ट तयारी गरेको उल्लेख गर्नुभयो । यस सम्मेलनमा नेपालले राजनीतक र प्राविधिक सबै तयारी गरेकाले प्रस्तुति प्रभावकारी भएको उहाँको भनाइ थियो ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ । जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी, र तराई मधेशमा बाढी पहिरोहरु देखिन थालेको छ । हिमाल, पहाड, र तराई मधेसमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, महिला, बालबालिका, अशक्त, तथा ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् ।

यसैगरी मन्त्रालयका सचिव डा दीपककुमार खरालले विश्व जलवायु सम्मेलनमा प्रधानमन्त्री दाहालको अध्यक्षतामा नेपालजस्तो अतिकम विकसित र हिमाली मुलुकले संयुक्त राष्ट्र सङ्घका महासविच गुटेरेसको उपस्थितिमा विशेष कार्यक्रम गरेर आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन सफल भएको उल्लेख गर्नुभयो ।सम्मेलनपछि यस विषयमा नेपालले हिमाल भएका अन्य मुलुकलाई एकताबद्ध गराएर उच्चस्तरको डाइलग र छलफल गर्ने योजना रहेको उहाँले राससलाई बताउनुभयो ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले सम्मेलनमा नेपालले पहिलोपटक उच्चस्तरीय साइडलाइन बैठक गरेर हिमालका मुद्दालाई उजागर गरेको बताउनुभयो ।

एक वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ०.३ डिग्री सेल्सियस देखि ०.७ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । परिवर्तित जलवायुका कारण नेपालमा मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ र यस प्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपाली जनताले वहुपक्षीय चुनौतीको सामना गर्नुपर्ने छ ।

जलवायु विज्ञ सरु जोशी श्रेष्ठले विश्व समुदायप्रति हिमालका मुद्दाको ध्यानाकर्षण हुनु सकारात्मक भएको र प्रक्रियाको सुरुआत भएको उल्लेख गर्दै यसमा उपलब्ध हुने जलवायु वित्तको स्रोत सुनिश्चितसँगै पहुँचको पनि सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उच्च तापक्रम वृद्धि, अतिवृष्टि, अनावृष्टि, खण्डवृिष्ट, खडेरी, पहिरो र बाढीका असर नेपालमा वर्षेनि बढिरहेका छन् । भविष्यमा हिमालमा हिउँको भण्डारै घट्ने र हिमतालको सङ्ख्या बढ्ने देखिन्छ । पृथक भौगोलिक अवस्था र विभिन्न उचाइमा अवस्थित पारिस्थितिकीय क्षेत्रका साथै प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिबी, सीमान्तकृत समुदाय, न्यून अनुकूलन तथा उत्थानशील क्षमता आदिका कारण नेपाल सबैभन्दा सङ्कटासन्न र जोखिम मुलुकको सूचीमा रहेको छ ।

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

रसुवा, १८ मङ्सिर : चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो

चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा प्रहरीले बरामद गरेको उहाँले बताउनुभयो ।

रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि रु एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेश गरेको छ । यसरी पेश भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध छन् ।

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो – प्रधानमन्त्री दाहाल

काठमाडौँ, १८ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मोक्तमको निमन्त्रणामा दुबईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो सम्मेलन नेपालको हितमा रहेको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते युएई प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले मङ्सिर १४ गते अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका काम कारबाही, कठिनाइ र चुनौतीलगायतका विषयमा जानकारी लिई संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवं प्रभावकारीरूपमा प्रवाह गर्न निर्देशन दिएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको उहाँको भनाइ छ ।

नेपाली राजदूतावासमा आयोजित नेपाली समुदायका प्रतिनिधिसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानका लागि उहाँलाई धन्यवाद दिँदै मुलुकको विकासमा थप क्रियाशील रहन अनुरोध गरेको पत्रकार सम्मेलनमा वितरीत प्रेस नोटमा उल्लेख छ ।

सरकारले हालका दिनमा श्रम क्षेत्रको सुधारका लागि अबलम्वन गरेका नीति तथा कार्यक्रमले वैदेशिक रोजगारी थप व्यवस्थित, मर्यादित र भरपर्दो हुने अपेक्षा रहेको आफूले नेपाली समुदायका प्रतिनिधिबीच राखेको प्रधानमन्त्रीको भनाइ थियो । विदेशी भूमिमा दुःख गरी आर्जन गरेको आयलाई वैधानिक बाटोबाट स्वदेश पठाउदा प्राप्त हुने लाभको उपयोग गर्न अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

सोही दिन साँझ नेपाली राजदूतावाससँगको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा दुबई च्याम्बर्सले पहिलोपटक संयुक्त रूपमा दुबईमा आयोजना गरेको नेपाल दुबई बिजनेश समिटलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले नेपालका प्राथिमकता प्राप्त क्षेत्रमा लागानी गर्न युएईका लगानीकर्तालाई प्रधानमन्त्रीले आह्वान गर्नुभएको थियो ।

नेपालमा लगानीका प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेको र ती सम्भावनालाई मूर्तरूप दिन र वैदेशिक लगानीको संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास प्रधानमन्त्रीले दिलाउनुभएको थियो ।

सो फोरममा उपस्थित युएई सरकारका उच्च अधिकारीले नेपाल र युएईले व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्नसक्ने सम्भावनाका सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा उद्योगी, व्यापारी एवं लगानीकर्ताको उत्साहजनक सहभागिता थियो ।

यस्तै, भ्रमणको तेस्रो दिन मङ्सिर १५ गते जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलनको औपचारिक उद्घाटन समारोहमा प्रधानमन्त्री सरिक हुनुभयो । सो समारोहका अवसरमा उपस्थित विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नुभएको थियो ।

सोही अवसरमा प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो । सो भेटमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्पले पारेको प्रभावका बारे चासो राख्दै प्रधानमन्त्री मोदीले भूकम्पपीडितलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन तत्पर रहेको कुरा बताउनुभएको थियो ।

सोही दिन अपरान्ह सम्मेलन आयोजनास्थलमा रहेको नोपल पेभेलियनको प्रधानमन्त्रीले अवलोकन भ्रमण गर्नुभएको थियो । सो क्रममा पेभेलियनमा उपस्थित जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न नेपाल सरकारले चालेका कदम र नेपालले उठाउने ‘एजेण्डा’ र प्राथमिकताका क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो । जलवायु सम्मेलनमा पहिलोपटक नेपालको आफ्नो छुट्टै पेभेलियन भएको हुँदा यसको विशेष महत्व रहेको आफूले पाएको उहाँको भनाइ छ ।

सोही दिन उहाँले हाइ लेभल लिडर्स इभेन्ट अन एडप्टेसन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले जलवायु परिवर्तनविरुद्ध लड्न नेपालले अनुकूलन योजनासमेत तयार गरेको जानकारी गराउनुभएको थियो ।

जलवायु परिवर्तनको असरविरुद्धको लडाइमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै उहाँले विश्व तापमान वृद्धिको सीमा एक दशमलब पाँच डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गर्नुभएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको जोखिममा परेका अतिकम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिनुएभएको थियो ।

सम्मेलनको साइड लाइनमा क्युवाका राष्ट्रपतिसँग भेट गरी द्विपक्षीय सम्बन्धमा कुराकानी गर्नुभएको थियो । भ्रमणको चौथो दिन मङ्सिर १६ गतेका दिन बिहान नेपालले आयोजना गरेको ‘हाइ लेभल राउण्ड टेबल अन कल माउण्टेनः हु सेभ्स् अफ फ्रर्म क्लाइमेट चेञ्ज’ को अध्यक्षता गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली मुलुकमा पारेको प्रतिकूल प्रभावको न्यूनीकरण गर्न तत्काल पहल गर्नु आवश्यक रहेकामा जोड दिनुउको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव जताततै देखिन थालेकाले प्रभाव न्यूनीकरणको काममा ढिलाइ गर्न नहुने धारणा राख्नुभएको थियो । आफूले हालै गरेको नेपाल भ्रमणको स्मरण गर्दै महासचिव गुटरेसले जलवायु परिवर्तनले नेपालका हिमालमा पारेको प्रभाव आफ्नै आँखाले देखेको उल्लेख गर्दै नेपालको सहयोग र हिमालको संरक्षणमा राष्ट्रले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुएको थियो ।

सो अवसरमा एन्डोराका प्रधानमन्त्री, किर्गिज गणतन्त्रका विदेशमन्त्री, भुटानका विदेश राज्यमन्त्री र अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधिले राउण्डटेबल आयोजना गरेकोमा धन्यवाद दिँदै हिमाल संरक्षणको लागि हिमाली राष्ट्रहरूले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा जलवायु विज्ञ, सरकारी अधिकारी, व्यवसायी र जलवायु अभियन्ताको बाक्लो उपस्थिति थियो । सोही दिन प्रधानमन्त्री दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नुहुँदै हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगन्य योगदान रहेको भए तापनि जलवायु परिवर्तनको प्रतिकूल असरको प्रभाव भने असमान रूपमा भोगिरहेको हुँदा नेपालप्रति अन्याय भएको बताउनुभएको थियो ।

उहाँले जलवायु वित्त र जलवायु न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथ्यप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । यस्तै, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल सरकारले चालेका कदमबारे पनि प्रधानमन्त्रीले विश्व समुदायलाई जानकारी गराउनुभएको थियो ।

“हिमाल मानव सभ्यता र जैविक विविधताको आधार भएकोले बढ्दो तापक्रमको प्रकोपबाट यसलाई जोगाउन अत्यावश्यक भएको कुरा दृढताका साथ राखेको थिए”, प्रधानमन्त्रीले भन्नुभयो । भ्रमणका क्रममा उहाँले दुबईमा रहेको फ्युचर म्युजियमको अवलोकन भ्रमण गर्नुभएको थियो । यस्तै आइतबार बिहान संयुक्त राष्ट्रसङ्घअन्तर्गतका सविभिन्न सङ्घ संस्थाले आयोजना गरेको विपद्बाट पर्नसक्ने जोखिमको पूर्वजानकारीमा सबैको पहुँच विषयमा नेपालको तर्फबाट धारणा राख्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिवसमेत सहभागी हुनुभएको उक्त कार्यक्रममा प्रधानमन्त्रीले नेपाललगायत अति कम विकसित मुलुकका विपद् र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको थियो ।

नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा समावेश गराउनुभएकोमा आफूले संयुक्त राष्ट्र सङ्घका महासचिवको प्रशंसा गरेकोसमेत प्रधानमन्त्रीले जानकारी दिनुभयो । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग बेलायतका विदेश राज्यमन्त्री एन्ड्रियु मिचेलले शिष्टाचार भेट गर्नुभएको थियो । सो भेटका अवसरमा नेपालबेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयलगायतमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री दाहालले भ्रमणसम्बन्धी अद्यावधिक समाचार निरन्तर प्रसारण गरी सहयोग गर्ने सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई धन्यवाद दिनुभयो ।

याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको निधन

ताप्लेजुङ, १८ मङ्सिर : ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र.१–०१–००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताउनुभयो ।

ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ ।

लोपोन्मुख अवस्थामा पुगेको गिद्धको सङ्ख्या बढ्यो

नवलपुर, १८ मङ्सिर : लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले पछिल्लो गणनाअनुसार यहाँ पाँच सय १७ गिद्ध भेटिएको जानकारी दिनुभयो । “रेष्टुराँ सुरु गर्ने बेलामा यहाँ सात प्रजातिका ७७ वटा गिद्ध गणना गरिएको थियो”, उहाँले भन्नुभयो, “हामीले गरेको पछिल्लो अध्ययनअनुसार यहाँ आठ प्रजातिका पाँच सय १७ गिद्ध तथा यस क्षेत्रबाट गिद्धका एक सय वटा गुँड रेकर्ड गरिएको छ ।” समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उहाँको भनाइ छ ।

नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुराँ विस्तार गरिएको जनाउँदै अध्यक्ष चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पु¥याएका बताउनुभयो । समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उहाँको भनाइ छ । “नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो”, उहाँले भन्नुभयो, “त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो ।”

हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेष्टुराँमा ल्याएर छोडिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ७७ जङ्गली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उहाँको भनाइ छ । जटायु रेष्टुराँमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन दुई सय किलोमिटरसम्म उडेको अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

केन्द्रमा प्रजनन भएर रेष्टुराँमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धले मिलेर प्रजनन गर्न सुरु गरेको अध्यक्ष चौधरीले बताउनुभयो । प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुने तथा एउटा मात्रै फूल पार्ने उल्लेख गर्दै उहाँले भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने बताउनुभयो । गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ ।

“छाडा छोडिएको गाईबस्तुलाई ल्याएर राख्ने उनीहरुको मलमूत्रबाट बायो ग्यास, जैविक विषादी, जैविक मल बनाउने र उनीहरु मरेपछि गिद्धको आहारमा प्रयोग गर्ने गरी हामी अघि बढेका छौँ”, उहाँले भन्नुभयो, “यति गरेपछि गिद्धको संरक्षण हुन्छ र गिद्धको संरक्षणपछि गिद्ध पर्यटन अथवा जैविक विविधता पर्यटन सुरु गर्ने तयारी गरेका छौँ ।” संरक्षणलाई पर्यटनसँग जोड्दा पर्यापर्यटनमा रोजगारी र व्यवसायको वातावरण सिर्जना हुने उल्लेख गर्दै उहाँले यसबाट जनचेतना फैलाउने हुँदा संरक्षणमा दिगोपना ल्याउने बताउनुभयो ।

कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुराँमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति (हाडफोर बाहेक)का गिद्ध पाइने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध रहेका छन् । समुदायले व्यवस्थापन गरेको यस जटायु रेष्टुराँमा गिद्धलाई नियमितरुपमा आहारा (मासु) खुवाउने गरिएको छ ।

गिद्धलाई आहारा खुवाउने दिनमा पर्यटनसँग जोडिएका सङ्घसंस्थाको सहकार्यमा गिद्ध पर्यटनको अवधारणा अघि बढाउने तयारी गरिएको छ । “रेष्टुराँ व्यवस्थापन समितिले यहाँ हरेक दुई दिनमा गिद्धलाई मासु खुवाउने गर्दछ”, उहाँले भन्नुभयो, “उनीहरुले प्राकृतिक रुपमा पनि मासु खाने गरेका छन् तर यहाँ प्रजनन केन्द्रमा प्रजनन भएका साना गिद्ध पनि भएकाले हरेक दुई दिनमा मासु खुवाउने गरिएको हो ।” पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको उहाँको भनाइ छ ।

विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासको कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट विसं २०६३ भदौ (सन् २००६)मा जटायु रेष्टुराँको स्थापना गरिएको जटायु रेष्टुराँ व्यवस्थापन चौधरीले बताउनुभयो । चौधरीका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुराँको सञ्चालन र व्यवस्थापन गरिएको हो । पशुचौपाया बिरामी हुँदा उनीहरुलाई दुखाइ कम गर्न दिइने ‘डाइक्लोफेनेक’ जातको औषधिरहित शुद्ध आहार उपलब्ध गराई गिद्धलाई संरक्षण गर्ने उद्देश्यले पिठौलीमा एसियाकै पहिलो समुदायस्तरको जटायु रेष्टुराँ खोलिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको बताउनुभयो । डाइक्लोफेनेकको अवैधानिक प्रयोग, सिनोमा विषको प्रयोग, बासस्थान तथा आहारको अभाव, पर्याप्त संरक्षण चेतनाको कमीका साथै अन्य पर्यावरणीय चुनौतीका कारण प्रकृतिबाट गिद्ध लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । प्राकृतिक कुचीकारको रुपमा रहेको गिद्ध संरक्षणमा पहल तथा चुनौतीबारे छलफल गर्दै संरक्षणमा योगदान पु¥याउने उद्देश्यले हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी, ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट

सिरहा – सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । लहान गरपालिका–३ स्थित नेपाल साइकल स्टोरमा आइतबार आगलागी हुँदा करिब रु ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबलगायतका पार्टपुर्जाहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो ।

आगलागीमा करिब रु ६० लाख बरावरको धनमाल जलेको प्रारम्भिक अनुमान गरिए पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । आगलागीको कारण अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी पाण्डेले बताउनुभयो । लहान नगरपालिका र गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रण भएको थियो ।

बागमती प्रदेश : निर्वाचनबाट नेतृत्व चयन गर्न सुझाव

हेटौँडा – बागमती प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएदेखि हालसम्म पाँचवटा संसदीय समितिहरुको नेतृत्व चयनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच विवाद रहेको अवस्थामा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा आइतबार भएको बैठकमा प्रदेशसभाअन्तर्गतका पाँचवटा संसदीय समितिको नेतृत्व सर्वसम्मतिबाट गर्न सुझाएको छ ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), राप्रपा, हाम्रो नेपाल पार्टीका प्रमुख सचेतक र संसदीय दलका उपनेताको सहभागिता थियो । नेपाल मजदुर किसान पार्टीले भने बैठक बहिष्कार गरेको थियो ।

बैठकले प्रदेशसभाअन्तर्गतका पाँच संसदीय समितिहरुको नेतृत्व चयन निर्वाचनबाट गर्न राजनैतिक दलहरूबीच सहमति कायम गर्ने र यथाशीघ्र निर्वाचन प्रक्रिया अघि बढाउन सुझाएको छ ।

महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताकै आशंका, पूर्वनिर्धारित मिति दुईचोटि सर्यो

काठमाडौँ । नेपाली कांग्रेसको विधानअनुसार १४औं महाधिवेशनपछिको दुई वर्षमा महासमिति बैठक दुई पटक भइसक्नुपर्थ्यो । तर यस अवधिमा उसले एउटा पनि महासमिति बैठक गर्न सकेको छैन । राजनीतिमा जसको नीति उसकै नेतृत्व भनिन्छ ।

महाधिवेशनपछिको सबैभन्दाशक्तिशाली निकाय महासमितिबाट कांग्रेसले नयाँ नीति तथा कार्यक्रम तय गर्ने परम्परा छ । पछिल्ला दिनमा पार्टीको विचार, सिद्धान्त र कार्यक्रम होइन, मनी तथा मसल’ का आधारमा कांग्रेसमा ‘पोजिसन होल्ड’ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।

कांग्रेसले यसअघि महासमिति बैठकका लागि पूर्वनिर्धारित मिति दुईचोटि सारेको छ। उसले पछिल्लो पटक पुस १६ गतेदेखि ललितपुरमा महासमिति बैठक गर्ने भनेको छ। तर तेस्रो पटक तोकिएको मितिमा पनि कांग्रेस महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताले नै आशंका गर्दै आएका छन् । त्यसका लागि पार्टीका पदाधिकारीले न्यूनतम तयारीसमेत नथालेकाले यस्तो आशंका उत्पन्न भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

कर परीक्षणले २६ अर्ब भन्दा बढी कर नोक्सान हुनबाट जोगियो

काठमाडौँ। करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभाग अन्तर्गत ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमार्फत गरिएको पूर्ण कर परीक्षणबाट लक्ष्यभन्दा ७१ प्रतिशत बढी नोक्सानी घटाइएको विभागले जनाएको छ । गत आवमा विभागले पूर्ण कर परीक्षणमार्फत १५ अर्ब ५० करोड रुपियाँ नोक्सानी घटाउने लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा ११ अर्ब रुपियाँ बढी कर नोक्सान हुनबाट जोगिएको विभागको प्रतिवेदनमा उल्लेख छ । गत आवमा विभागले छ हजार ५३९ वटा कर विवरणको पूर्ण परीक्षण गर्ने लक्ष्य लिएको थियो ।

जसमध्ये चार हजार दुई सय नयाँ र बक्यौता रहेको पुरानो दुई हजार ३३९ वटा विवरणको परीक्षण गर्ने विभागको लक्ष्य थियो । यसमध्ये पाँच हजार २७६ वटा विवरणको मात्र परीक्षण हुन सकेको विभागले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर समयमा सम्पन्न गर्ने चीनको प्रतिबद्धता

काठमाडौँ । चीन सरकारले प्रस्तावित नेपाल-चीन पहिलो अन्तर्देशीय केरुङ-काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। चीनमा सम्पन्न रेलमार्गबारे समीक्षा बैठकमा चिनियाँ पक्षले सो प्रतिबद्धता गरेको बैठकमा सहभागी रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जानकारी दिए ।

बैठकमा रेल विभागका महानिर्देशक बिसुरालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र वन मन्त्रालयका प्रतिनिधि सहभागी थिए। अहिले चीनमा सम्पन्न नेपाल-चीन सचिवस्तरीय रेलवे संयन्त्रको आठौँ बैठक हो। नवौँ बैठक अबको तीन महिनापछि नेपालमा बस्ने छ। विभागका महानिर्देशक बिसुरालले भने, “आगामी २०८३ असारभित्र सो रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने चीनको प्रतिबद्धता छ। चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा २०७९ पुसदेखि सम्भाव्यता अध्ययन सुरु भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।