अब महिलाहरुले थाप्लो र कम्मरमा पानीको भाँडा बोक्ने दिनको अन्त्य हुन्छ : खानेपानीमन्त्री राई
धनकुटा,-खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालका दूरदराज र ग्रामीण क्षेत्रका महिलाले थाप्लो र कम्मरमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभएको छ । साँगुरीगढी र चौबीसे गाउँपालिकामा भएको विभिन्न कार्यक्रममा सहभागी हुनुभएका मन्त्री राईले ती कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको खानेपानी समस्या समधान गर्ने बताउनुभएको हो ।
“अब महिलाहरुले थाप्लो र कम्मरमा पानीको भाँडा बोक्ने दिनको अन्त्य हुन्छ”, उहाँले भन्नुभयो, “ यसका लागि मैले योजना बनाउन निर्देशन दिइसकेको छु ।” हालसम्म मन्त्रालयमा १० हजारभन्दा बढी खानेपानी समस्या समधानका लागि मागपत्र रहेको र ती सबै समस्यालाई क्रमशः समाधान गरिने उहाँको भनाइ थियो । मन्त्री राईले धनकुटाको खानेपानी समस्या समधान आफ्नो प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
मन्त्री राईलाई आज बिहान साँगुरीगढी वडा नं ५ को डाँडाबजारमा रहेको भानु उच्च माविले बधाई तथा सम्मान गरेको थियो । सो कार्यक्रममा राईले सो वडाको डाँडाबजारमा रहेको खानेपानी व्यवस्थापनका लागि रु एक करोड बजेट उपलब्ध गराउने बाचा गर्नुभयो ।
चालु आर्थिक वर्षमा बजेट उपलब्ध गराउन नसके पनि आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराउने मन्त्री राईले जानकारी दिनुभयो । त्यस्तै मन्त्री राई चौबीसे गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चौबीसे गाउँ कमिटीले गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी हुनुभएको थियो ।
मन्त्री राईले आजै सङ्घीय सरकारको नमूना विद्यालय कार्यक्रम र चौबिसे गाउँपालिकाको सहयोगमा रु एक करोड ९७ लाख लागतमा नवनिर्मित पुण्य माविको १२ कोठे भवन उद्घाटन गर्नुभयो ।
