`

दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार

काठमाडौँ, १४ मङ्सिर : सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षेत्रको विकासका लागि स्विटजरल्याण्ड सरकारले प्रदान गर्ने रु ६५ करोड अनुदान सहायता स्वीकार गर्ने बताउनुभयो ।

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई खटाउने भएको छ । अस्थायी आवास निर्माणका लागि जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिबाट निर्णय गराई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई काममा खटाउने अख्तियारी दिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको निर्णयबाट माग भएबमोजिम नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।

मन्त्रिपरिषद्ले राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेय तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्जाल तथा व्यवस्थापन) गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा साविक भ्रमरपुरा–५ महोत्तरी निवासी सुवोधकुमार शर्मालाई मनोनयन गर्ने र स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा साविक चोक चिसापानी गाविस–५ तनहुँ निवासी डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको छ । सांस्कृतिक संस्थानको सञ्चालक समितिको अध्यक्षमा हतुवागढी गापा–२, भोजपुरका चन्द्रकुमार राईलाई तोक्ने निर्णय भएको छ भने विद्युतीय सुशासन आयोगको सदस्यमा साविक कञ्चनपुर जिल्ला निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ ।

सैनिक श्रीमतीसङ्घद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग

काठमाडौँ, १४ मङ्सिर : सैनिक श्रीमतीसङ्घद्वारा कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिमवासीलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

सङ्घकी अध्यक्ष श्रीमती सुनिता शर्माले दुवै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न तथा लत्ताकपडा र ब्लाङ्केटसहितका राहत सामग्री उपलब्ध गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सङ्घका अध्यक्ष शर्मासहितका पदाधिकारी आज दुवै जिल्ला पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

खागको तस्करी आरोपमा पक्राउ परेका आठ सार्वजनिक

चितवन, १४ मङ्सिर : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।

विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरिएको हो ।

विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती रहेका छन् । उनलाई मङ्सिर ९ गते चितवनको राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार रहेको महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।

चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान रहेका छन् । उनलाई सोही दिन राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडा मार्ने शिकारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गैँडाको खाग बिक्री वितरणमा सहयोग गर्ने मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ पक्राउ परेका छन् । उनीसमेत राप्ती नगरपालिका–६ बाट पक्राउ परेका हुन् ।

गैँडा मारी खागको बिक्री गर्ने मुख्य योजनाकारका रुपमा मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङलाई पनि सोही दिन सोही क्षेत्रबाट पक्राउ परेको ढु¬्ङ्गानाले जानकारी दिनुभयो । खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा रोल्पाको सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अर्जुन रोका पक्राउ परेका छन् । उनलाई पनि राप्ती–६ बाट नै मङ्सिर ९ गते नै पक्राउ गरिएको हो ।

सोही अभियोगमा गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङलाई अन्यसँगै राप्तीबाटै पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै राप्ती नगरपालिका–५ बाट मङ्सिर ११ गते गैँडा मार्ने शिकारीको अभियोगमा चितवनको राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतानलाई पक्राउ गरिएको छ । सोही ठाउँबाट सोही दिन मकवानपुरको मनहरी नगरपालिका–७ ज्यामिरे घर भई हाल चितवनको माडी नगरपालिका–९ बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङलाई पक्राउ गरेर सार्वजनिक गरिएको हो ।

पक्राउ परेकाको साथबाट दुई थान गैँडाको खाग, भरुवा बन्दुक एक थान, बिँड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाइट, डिक्ची, पटका बारुद, दुई थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको छ ।

गएको कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रस्थित कोर ईलाकामा दुई वटा पोथी गैँडालाई खाडल खनी मारेर खाग लगेको अवस्थामा भेटिएका थिए । उक्त घटनाको अध्ययन गरी सुझाव पेश गर्न वन तथा वातावरण मन्त्रालयबाट मङ्सिर १ गते विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रतिनिधि, कानुन अधिकृतसहितको पाँच सदस्यीय छानबिन टोली गठन भई स्थलगत अध्ययन अनुसन्धान पश्चात् तयार भएको छानबिन प्रतिवेदन विभागमा बुझाइएको छ ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो । संरक्षित वन्यजन्तुको चोरी शिकारलाई विभागले गम्भीर रुपमा लिएको भन्दै देखिएका कमिकमजोरीलाई सुधारी सुरक्षा प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक समन्वय गरिसकेको उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनका असर घटाउन नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराइने

काठमाडौँ, १४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।

कोप–२८ मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली राजदूतावास पुग्नुभएका प्रधानमन्त्रीले त्यहाँ एकत्रित भएका नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराउने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले सम्मेलनमा याचकका रुपमा नभई अधिकार प्राप्तिका निम्ति नेपालका मुद्दा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र त्यसको क्षतिपूर्ति माग गरिने तथा वित्तीय र प्राविधिक सहयोगको अधिकारबारे कुरा उठाउने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था भएको जानकारी दिनुभयो ।

विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताउनुभयो ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य अभिवृद्धिका निम्ति आफू क्रियाशील रहेको बताउदै नेपालको आर्थिक विकासमा युएईको सहयोग जुटाउन दूतावासले गरेका कामकारबाहीबारे जानकारी दिनुभएको थियो ।

सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना

काठमाडौँ, १४ मङ्सिर : सरकारले आन्तरिक तथा बाह्य श्रम बजारको माग र आवश्यकताअनुसार सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने गरी मन्त्रालयले विकास समिति स्थापना गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग र आवश्यकताअनुरुप दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेशसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

सूचना प्रकाशित भएसँगै श्रम मन्त्रालयअन्तर्गत भैँसेपाटी, इटहरी र बुटलवमा रहेका व्यावसायिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएका छन् । समितिमा अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा वैदेशिक रोजगार बोर्ड, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र संयुक्त टे«ड युनियन समन्वय केन्द्रका प्रतिनिधिको सहभागिता रहनेछ ।

श्रममन्त्री शरत्सिंह भण्डारी विकास समितिले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी श्रम बजारको आवश्यकता परिपूर्ति गर्ने बताउनुहुन्छ । “राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा सीपयुक्त जनशक्तिको ठूलो माग छ । सीपयुक्त जनशक्ति उत्पादन नहुँदा नेपाली श्रमिकले उचित ज्याला र सुरक्षा पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरको तालिम दिने गरी प्रतिष्ठानले काम गर्नेछ ।”

प्रतिष्ठानले स्वदेश वा विदेशमा रोजगारीका लागि उपयोगी विभिन्न विषयका अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रमअनुसार छ महिने प्रशिक्षण सञ्चालन गर्नेछ । उक्त प्रशिक्षण कम्तीमा सात सय ३० कार्य घण्टाको हुने श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानले दक्ष प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न आवश्यक पर्ने प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नीति तर्जुमा, श्रम बजारको मागअनुरुप दशजनशक्ति उत्पादन गर्न आवश्यक प्रशिक्षणको विषय पहिचान तथा छनोट गर्नेछ ।

चीनको कारखाना गतिविधि लगातार दोस्रो महिना सङ्कुचित

चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ ।

राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार कारखाना उत्पादनको प्रमुख मापक उत्पादन खरिद प्रबन्धकहरूको सूचकाङ्क घटेर ४९ दशमलव चारमा आएको छ । यो आँकडा अक्टोबरदेखि कम हुँदै गएको थियो र ब्लुमबर्गको सर्वेक्षणमा ४९ दशमलव आठको पूर्वानुमानभन्दा पनि कमजोर थियो ।

चीनले करिब तीन वर्षपछि सन् २०२२ डिसेम्बरमा उसको कठोर शून्य–कोभिड प्रतिबन्धलाई हटाउन सुरु गरेपछि अर्थतन्त्रले फेरि सुधारतिर आउने अवसर पाएको छ ।

कमजोर उपभोक्ता तथा व्यावसायिक विश्वास, लगातारको आवास सङ्कट, कीर्तिमानी युवा बेरोजगारी र विश्वव्यापी मन्दीका कारण उक्त सुधारमा अवरोध भएको छ । यसले चिनियाँ वस्तुहरूको मागलाई असर गरिरहेको छ ।

विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनका लागि एउटा कठिन वर्षपछि हालका साताहरूमा केही परिवर्तन आएको छ । तेस्रो त्रैमासिकमा आर्थिक वृद्धि दर अपेक्षित चार दशमलव नौ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।

यद्यपि अहिले पनि करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक लक्ष्य हासिल गर्नका लागि बेइजिङले कठिन सङ्घर्षको सामना गरिरहेको छ ।

हमाससँगको युद्धविराम थप एक दिन लम्बिएको इजरायलद्वारा पुष्टि

हमास र इजरायलले गाजा पट्टीमा मानवीय युद्धविराम लम्ब्याउन सहमत भएको प्यालेस्टाइनी र इजरायली अधिकारीहरूले बिहीबार विभिन्न वक्तव्यमा बताएका छन् ।हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बिहीबार बिहान सकिँदै गरेको युद्धविरामको समयावधि थप एक दिन लम्ब्याइने भएको छ ।

“हाम्रा मध्यस्थकर्तामार्फत हामी युद्धविरामलाई थप एक दिनका लागि लम्ब्याउन सहमत भएका छौं,” हमासद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।इजरायली रक्षा बल (आईडीएफ) ले गाजा पट्टीमा हमाससँगको युद्धविराम लम्बिने बिहीबार बिहान पुष्टि गरेको छ ।

“बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्ने मध्यस्थहरूको प्रयासपछि सम्झौतामा उल्लेखित सर्तहरूको अधीनमा रहने गरी थप एक दिनका लागि युद्धविरामको समय बिस्तार भएको छ,” हालको युद्धविराम सम्झौताको म्याद समाप्त हुनुभन्दा केही मिनेट अघि आईडीएफले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

हमासले बुधबार रिहा गरेका दुई इजरायली–रूसी महिलालाई बिहीबारका लागि बन्धकको सूचीमा समावेश गरिने भएकाले बिहीबार हमासले आठ जना मात्र बन्धकलाई रिहा गर्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन् । त्यसको बदलामा ३० जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिनेछ ।

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभयो, “बन्धकलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थहरूको प्रयास र सम्झौताका सर्तहरू अनुसार थप एक दिनका लागि मानवीय युद्धविराम अवधि जारी रहनेछ । हमासले सम्झौताअनुसार रिहा गरिने बन्धकहरूको नामको नयाँ सूची ‘पछि हस्तान्तरण गर्ने बताएको’ छ ।” दुवै पक्षले युद्धविराम सम्झौताको एक भागको रूपमा छैटौं चरणको रिहाइ पूरा गरेका छन् ।

खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद

दोधारा चाँदनी (कञ्चनपुर), १४ मङ्सिर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन् । यस वर्ष कञ्चनपुरमा पन्ध्र हजार क्वीन्टल धान गरिद गर्ने लक्ष्य भए पनि लक्ष्य भेट्टाउन गाह्रो रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद भएको जानकारी दिनुभयो । “पुस मसान्तसम्म किसानका धान खरिद गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “किसानहरु धान बिक्रीका लागि आउनेक्रम जारी छ ।” गतवर्ष १४ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्वीन्टल धान मात्रै खरिद भएको थियो । यो वर्ष १५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य लिए पनि लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमा समेत धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यसवर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने गरेको छ ।

खाद्यसँग धान बिक्रीका लागि प्रक्रियागत अल्झनले गाउँमै व्यापरीसँग न्यून मूल्यमा धान बिक्री गर्नुपरेको किसानको गुनासो छ । “खाद्यले वडाको सिफारिस ल्याउ भन्छ वडामा रिफारिस गरेको पनि शुल्क तिर्नुपर्छ”, किसान खुसी रानाले भन्नुभयो, “सरकारले किसानको हितमा निर्णय गरिदिए सजिलो हुन्थ्यो ।” खाद्यले कञ्चनपुरमा कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको हो ।

कृषि ज्ञान केन्द्रका अधिकृत हरिदत्त जोशीले कञ्चनपुरमा धानको उत्पादकत्व चार मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिनुभयो । “गतवर्ष तीन दशमलव ९२ मेट्रिक टन थियो । यो वर्ष वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “धान र गहुँमा कञ्चनपुर आत्मनिर्भर छ ।” उहाँले कञ्चनपुरको जनसङ्ख्यालाई पर्याप्त भइ ८४ हजार टन खाद्यान्न बाहिर जाने गरेकोे बताउनुभयो ।

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ, १४ मङ्सिर : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढदा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने बताउनुभयो ।

“साहित्यिक विषय अरु विषय पढेकाले पनि पढ्न सक्ने भएका छन् । अरु विषय प्रयोगात्मक भएकाले आधारभूत आधार आवश्यक हुन्छ । तर नेपाली र अङ्ग्रेजी साहित्य विषय भएकाले सक्नेछन्”, उहाँले भन्नुभयो, “विषयगत समिति र सङ्कायको सिफारिस पछि प्राज्ञिक परिषद्ले निर्णय गरेको हो ।”

त्रिवि नेपाली विभागका प्रमुख प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले त्रिवि वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न पाउनेछन् । त्रिवि अङ्ग्रेजी विभागका प्रमुख प्रा डा जीवलाल सापकोटाका अनुसार कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको विद्यार्थीले अङ्ग्रेजीमा स्नात्तकोत्तर तहमा पढ्न पाउने भएको बताउनुभयो ।

मापदण्ड अनुसार त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम एक सय पूर्णाङ्क वा सोसरह अङ्ग्रेजीसहित हुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने छ । यस्तै अङ्ग्रेजी मातृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।

सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य सर्लाहीका किसान

सर्लाही, १४ मङ्सिर : सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् ।

जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी गरेको छैन । यसबाट समस्यामा परेको जिल्लाका उखु उत्पादक किसानले उत्पादन गरेको उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन् ।

जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु सस्तैमा भए पनि समयमै बेच्दा खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन पाइने भएकाले पनि हतारमा देखिएका छन् ।

उखु मिलमध्ये हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग यही मङ्सिर २२ गतेबाट सञ्चालन गर्ने तयारी भए पनि अन्नपूर्ण र महालक्ष्मी सुगर मिल कहिले सञ्चालन हुन्छन् भन्ने पत्तो छैन । जिल्लाका उखु उत्पादक किसानले समयमै आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले चालु सिजनको उखुको मूल्य निर्धारण गरेको छैन ।

उहाँले चिनी मिल समयमै सञ्चालन नहुने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान उखु समयमै बेच्न नपाउने र बेचेको उखुको पनि समयमै भुक्तानी नपाउने चिन्तामा रहेकोे बताउनुभयो ।

नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले सुगर मिल कहिले सञ्चालनमा आउँछन् र गत वर्ष बेचेको उखुको भुक्तानी कहिले हुन्छ भन्ने दोधारमा रहेका जिल्लाका उखु उत्पादक किसान सस्तैमा भए पनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताउनुभयो ।

बरहथवा नगरपालिका–११ का रत्नबहादुर घिमिरेले सस्तोमै सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताउनुभयो । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उद्योगलाई सस्तैमा भए पनि उखु बेच्न थालेको बसबरिया गाउँपालिका–२ का उखु उत्पादक किसान रामविलाश महतोले बताउनुभयो ।

जिल्लाका सक्खर उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि कम दिने र माग बढेमा सोहीअनुसार मूल्य बढाएर दिने गरिएको बरहथवा–११ का सक्खर उद्योग सञ्चालक शत्रुधन रायले बताउनुभयो । उहाँका अनुसार अहिले उखु उत्पादक किसानलाई किसामको मूल्य निर्धारण गरिएको छैन ।

एघार क्विन्टल उखु पेल्दा एक क्विन्टल सक्खर उत्पादन हुने बरहथवा–११ का सक्खर उत्पादक व्यवसायी रायले बताउनुभयो । उहाँका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको रु पाँच हजार र सेतो सक्खरको रु पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रतिक्विन्टल बजार मूल्य छ । आफ्नो उद्योगमा प्रत्यक्षरूपमा छ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले बताउनुभयो ।

“भारतबाट अवैधरूपले आउने सक्खरका कारण व्यवसाय नै धरासायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवै समस्यामा छन्”, बरहथवा–११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले बताउनुभयो । उहाँले भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नुपरेकाले लगानीअनुसारको मूल्य नपाएको गुनासो गर्नुभयो ।

गैँडाको खागसहित आठ जना पक्राउ

चितवन, १४ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ ।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।

गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ । पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन् ।

गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ । निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ ।

निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो । घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

उहाँका अनुसार आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ ।

सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । नेपालमा सात सय ५२ गैँडा छन् ।

अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

काठमाडौँ, १४ मङ्सिर :सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ ।

हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई केही संशोधन गर्दै सरल बनाएपछि आजसम्ममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत रु दुई करोड ५३ लाख ५० हजार रकम निकासा भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लाभग्राही निश्चित भएका एक हजार १४ लाभग्राहीका लागि उक्त रकम निकासा गरिएको हो ।

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले उक्त रकम लाभग्राहीको हातमै पुगिसकेको जानकारी दिनुभयो । कार्यविधि संशोधन गर्दै सरकारले बैंक खातामा दिनुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी हातमै दिन सकिने गरी कार्यविधि बनाएको थियो ।

सोही आधारमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका पहिचान भएका ६४ घरपरिवार (लाभग्राही)का लागि रु १६ लाख, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका पाँच सय लाभग्राहीका लागि रु एक करोड २५ लाख र रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाका चार सय ५० लाभग्राहीका लाग रु एक करोड १२ लाख ५० हजार रकम निकासा भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

बाजुरा जिल्लाको पाँच स्थानीय तहबाट एक हजार तीन सय ६१ लाभग्राही कायम गरी जिल्लाबाट रकम निकासाको माग भइआएका र उनीहरूका लागि पनि छिट्टै रकम निकासा हुने उहाँले बताउनुभयो ।

सरकारले चिसोको समयमा छिटो लाभग्राहीको अस्थायी घर निर्माण गर्नुपर्ने भएकाले सोहीअनुसार रकम निकासा तीव्र पारिएको जनाएको छ । लाभग्राही निश्चित भएर रकम माग हुनेबित्तिकै अन्य क्षेत्रका लाभग्राहीका लागि पनि अस्थायी आवास निर्माणबापतको पहिलो किस्ताको रकम निकासा हुने पनि उहाँले बताउनुभयो । पहिलो किस्ताबापत प्रतिलाभग्राहीले रु २५ हजार पाउनेछन् ।

सङ्घ सरकारले शासन होइन, समन्वय गर्ने हो : प्रदेशमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)

काठमाडौँ १४ मङ्सिर : बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी राखेर आन्दोलनमा होमिने एक भद्र र जुझारु व्यक्तित्वका रूपमा राष्ट्रिय राजनीतिमा आफ्नो परिचय बनाउनुभएको छ । गत निर्वाचनमा सिन्धुलीबाट प्रदेशसभा सदस्य निर्वाचित उहाँ बागमती प्रदेशको मन्त्रीका हैसियतले समग्र शान्ति सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारीमा रहनुभएको छ ।

प्रस्तुत छ, प्रदेश संरचना, भइरहेका अभ्यास, अधिकार हस्तान्तरण, कानुनी जटिलता, जनताका माग, पार्टी एकीकरण र राज्यका प्राथमिकतालगायत समसामयिक विषयमा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष एवं प्रदेशमन्त्री श्रेष्ठसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश ः

मुलुकमा गएको आठ वर्षमा सङ्घीयता कार्यान्वयनमा भएको अभ्यासलाई यहाँले कसरी हेर्नुभएको छ ?

संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणाले देश दुई सय ४० वर्षपछि सङ्घात्मक प्रणालीमा प्रवेश गर्यो । यो हाम्रा लागि नितान्त नयाँ प्रणाली र संरचना भएको हुँदा बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा स्वभाविकरूपमा अनुभवको कमी थियो र छ भन्ने प्रतिविम्ब देखिन्छ । लामो समयको केन्द्रिकृत अभ्यासको ‘ह्याङ’ राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्र सबैतिर देखिन्छ । सँगसँगै हामीले अवलम्बन गरेको निर्वाचन प्रणालीले एउटा दल विशेषको बहुमत आउँदैन । सरकार बनाउन बहुमत चाहिन्छ । त्यसका लागि लागि गठबन्धन गर्नैपर्यो । गठबन्धन गरिँदा राजतन्त्र पुनःस्थापना र सङ्घीयता खारेजीको मुद्दा बोकेका तथा राजतन्त्र अन्त्य गरी सङ्घीयता र गणतन्त्रको नेतृत्व गरेका दलहरू एकैठाउँमा रही सरकार सञ्चालन गर्नुपर्दा सङ्घीयता कार्यान्वयनको प्रभाव कति होला भनी सहज अनुमान गर्न सक्छाँै । यी विविध खाले जटिलताका बीच सङ्घीयतालाई संस्थागत र सुदृढ गर्न प्रदेशलाई बलियो र सक्षम बनाउनुको विकल्प छैन ।

सङ्घीयता कार्यान्वयनको सन्दर्भमा यसबीचमा कानुन तर्जुमामा भएको उपलब्धि र समस्यालाई कसरी हेर्न सकिन्छ ?

यसबीचमा सङ्घीयतासँग जोडिएका कतिपय कानुन बने, कतिपय बन्न बाँकी छन् । बनेका ऐन कानुनलाई कार्यान्वयनमा लैजान अहिले पनि विविध समस्या छन् । जस्तो प्रहरी समायोजनसम्बन्धी कानुन २०७६ सालमा बनेको हो नि ! त्यो ऐन आजसम्म कार्यान्वनमा नहुँदा प्रदेशको काम कारबाहीप्रति नै प्रदेशवासीले प्रश्न उठाउन थालेका छन् । प्रदेश सरकारको कार्यसम्पादनप्रति नै प्रश्न उठ्यो । यी र यस्तै विषयमा प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर लिखितरूपमै प्रहरी समायोजनका विषयमा ध्यानाकर्षणपत्र बुझाएका छौँ । उहाँहरूले छिटोभन्दा छिटै ऐनअनुरुप समायोजन गर्छाैँ भनी प्रतिबद्धता जनाउनुभएको छ । विश्वास छ, यो काम छिट्टै हुनेछ । संविधानमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको एकल र साझा अधिकारका विषयमा प्रष्ट उल्लेख छ । त्यसअन्तर्गत बनेका प्रहरी समायोजन ऐनसहितका कानुन कार्यान्वयनमा गएनन् । सङ्घीय निजामती र शिक्षा ऐन त बनेकै छैन । यसले प्रदेश सरकारलाई समस्या भयो । जनतालाई ऐन बन्यो वा बनेन भनी चासो लिने कुरा भएन । केवल परिणाम चाहियो । संविधानले जनतालाई दिएका हकअधिकार छिटो कार्यान्वयनमा लैजान जटिलता परेको छ । सङ्घीय सरकारबाट ती कानुन निर्माणमा उदासिनता देखिएको हो कि भनी हामी ध्यानाकर्षण गर्न आएका हौँ ।

कानुन निर्माणमा प्रदेश सरकारको अग्रसरता र उपलब्धि कस्तो छ त ?

प्रदेश सरकारले एकल सूचीमा रहेका विषयमा जोडिएका कानुन फटाफट बनाएको छ, जब साझा अधिकार सूचीको कुरा आउँछ, स्वभाविकरुपमा उसका सहयात्री र सरोकारवालासँग छलफल गर्नुपर्छ । प्रदेशले सङ्घ र स्थानीय तहसँग पनि समन्वय गर्नुपर्यो । यो विषयमा हामीलाई समस्या भइरहेको छ । शान्ति सुरक्षा प्रदेशको जिम्मा भनेर सविधानमा लेखिएको छ । तर त्यो सङ्घीय सरकारले पनि हेर्छ । प्रहरी ऐनअनुसार सरकारले समयोजन नगरिदिँदा हामीलाई अप्ठेरो परेको छ । कि भर्ना गर्न हामीलाई अधिकार दिनुपर्यो । अहिले भइरहेकै नेपाल प्रहरीलाई समायोजन गरेर प्रदेश प्रहरी बनाउने हो । त्यतातिर नेपाल सरकारको ध्यान छिटो जाओस् भन्ने हाम्रो माग हो ।

प्रदेश सरकारको विकास निर्माण र योजना छनोटमा राजनीतिक गन्ध र सौदाबाजी हुने गर्छ भन्ने आरोप छ नि ?

हामीले जुन विकासको ढाँचा प्रयोग गरिरहेका छौँ, त्यसलाई परिमार्जन गर्न राजनीतिक दल, नागरिक समाज र सरोकारवालाबीच गहन र बृहत् छलफल तथा अन्तक्र्रिया आवश्यक छ । अहिले हामीले अवलम्बन गरेकोे विकासको ढाँचा पहुँचमा आधारित छ । त्यो भनेको आवश्यकताका आधारमा नभई जसको जति बढी पहुँच छ, त्यसले त्यति नै बढी बजेट लैजाने हो । मतदाता रिसाउलान् तथा भोलि चुनाव लड्नुछ भन्ने मानसिकताबाट योजना तर्जुमा हुँदै आएको छ । सांसद भनेको विधायक भएकाले अब विकासको भारी बोकाउन हुन्न भन्ने मेरो मान्यता छ । उहाँहरूको राम्रो कानुन बनाउने जिम्मेवारी हो । बागमती सरकारले मातहतका १३ जिल्ला र एक सय १९ पालिकाबाट योजना सङ्कलन हुने योजना बैंक बनाएको छ । प्रदेश नीति योजना आयोगले तीमध्ये कुन आवश्यक हो वा होइन भनी पुष्टि गरेपछि छनोटमा परेका योजनामात्र अघि बढ्छ । जहाँ आवश्यकता छैन, त्यहाँ बजेट र योजना थुप्रने प्रवृत्ति अब दोहोरिन्न । त्यो भएन भने पनि जनता सन्तुष्ट हुँदैनन् ।

विकास निर्माणमा प्रदेश सरकारले के विषयलाई प्राथमिकतामा राखेको छ त ?

सडक, खानेपानी र बिजुली आधारभूत भौतिक पूर्वाधारका क्षेत्र हुन् । सडक पुर्याउने नाममा सरकारले नै विगत ३० वर्ष भत्काउने काम गरेको छ । पचासदेखि ८० को दशकसम्म हामी सबै र डोजर ड्राइभरलाई इन्जिनियर बनाएर भत्काउनेबाहेक गाउँ–गाउँमा बनाउने काम त्यति गरेनौँ । भत्काउने चरण सकिएकाले प्राथमिकीकरण गर्दै बनेकालाई सडकको स्तरोन्नति र ट्रयाक खोलिएकालाई ग्राभेलिङ गर्दै जानुपर्छ । विकाससम्बन्धी समग्र अवधारणामा नै वृहत्तर छलफल गर्नुपर्छ ।

प्रदेश संरचनाको औचित्य, भ्रष्टाचार वृद्धि र खर्चलाई पनि सँगै जोडिएको पाटोलाई यहाँले कसरी हेर्नुहुन्छ ?

भ्रष्टाचार न्यूनीकरण गर्ने सन्दर्भमा रोग एकातिर छ, औषधि अर्काेतर्फ गरिरहेको अवस्था छ । भ्रष्टाचारको सबैभन्दा ठूलो मुहान भनेकै हामीले प्रयोग गरेको निर्वाचन प्रणाली हो । यो प्रणालीलाई परिवर्तन गरेर पूर्ण समानुपातिक बनाउन सके भ्रष्टाचार ९० प्रतिशत कमी हुन्छ । अहिले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण आयोगलगायतका संरचनालाई कति स्वायत्त र प्रभावकारी बनाइएको छ ? हामीलाई राष्ट्रपतिदेखि सामान्य नागरिकसम्मको सम्पत्ति छानबिन र कारबाही गर्न सक्ने अधिकारसम्पन्न आयोग चाहिएकामा सेवानिवृत्त कर्मचारीलाई कुनै न कुनै रुपले अख्तियारको नेतृत्वमा पठाउने गरेका छौँ । अहिलेको संरचना ठिक छैन । यस्ता संरचनालाई समयानुकूल रुपान्तरण र परिवर्तन गर्नुपर्छ । अर्काेतर्फ मान्छेमा स्वभाव लोभी, भ्रष्टाचारी र आपराधिक हुने भएकाले त्यस्ता प्रवृत्तिलाई सामाजिक बहिष्कार गर्नुपर्छ । त्यसका लागि पनि अहिलेको निर्वाचन प्रणाली फेर्नैपर्ने हुन्छ । अन्यथा भ्रष्टाचारका अभियान नारामा मात्र सीमित हुन्छ ।

समानुपातिक निर्वाचन प्रणाली भ्रष्टाचार न्यूनीकरणको अचुक उपायजस्तो विश्लेषण भयो, तर सँगसँगै यसले परिवारवाद र विकृति बढ्यो हटाउनुपर्छ भन्ने आवाज उठिरहेको पक्षलाई यहाँले कसरी लिनुभएको छ ?

मैले भन्न खोजेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली अहिलेको जस्तो नभई अर्कै हो । अहिलेको अभ्यास कुनै न कुनै रूपमा नेतालाई प्रभावमा राख्ने खालको छ । यो ठिक र पूर्ण छैन । हामीले भनेको समाज जस्तो छ, राज्यलाई त्यस्तै बनाउने हो । नेपाली समाज इन्द्रेणी रङको छ । त्यसका लागि समाजलाई समान अधिकार, समान अवसर, समान पहुँच र समान प्रतिनिधित्व गराउने खालको संरचना निर्माण गर्नुपर्छ । जनसङ्ख्याका आधारमा पहिला महिलाको कोटा सुनिश्चित हुनुपर्छ । त्यसभित्र महिला–महिलाबीच प्रतिस्पर्धा गराउनुपर्छ । त्यसमा प्रत्यक्षको विशेषता पनि आयो । सबै जातजातिलाई क्लष्टर र जनसङ्ख्याको आधारमा सिटको बाँडफाँट गरिनुपर्छ । राज्यमा समान प्रतिनिधित्व र प्रतिस्पर्धासँगै अघि बढाउन सकिने निर्वाचन प्रणाली अहिलेको आवश्यकता हो ।

प्रदेश सरचना खर्चिलो छ, मुलुकले धान्न सक्दैन भन्ने कोणबाट उठेको प्रश्न, आत्मनिर्भर र अधिकार हस्तान्तरणका विषयलाई यहाँले कसरी हेर्नुभएको छ ?

प्रदेश सरचना धेरै महँगो र खर्चिलो भयो भन्ने कुरा देशको इतिहास नबुझेकाले भनेका हुन् । हिजो राणाकाल, पञ्चायत र प्रजातन्त्रमा त्यस्ता संरचना थिएन र ? राणाकालमा गौंडा र गोश्वारा थिए भने पञ्चायतमा पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला तथा त्यहीअनुरुपको गाउँ पञ्चायत थियो । मुुलुकमा गणतन्त्र आएपछि गाविसलाई वडा बनाइएको छ । अहिले सात प्रदेशमात्रै छ । हिजोका अञ्चलाधीशको अहिलेका मुख्यमन्त्रीभन्दा धेरै खर्च गरेर बस्थे । त्यसलाई हामीले बिर्सिएका छौँ । अहिले जिल्ला, गाविस र अञ्चल संरचना हटाएर सात प्रदेश र सात सय ५३ पालिकामा सीमित तुल्याइँदा खर्च बढ्यो कि घट्यो ?

हिजो सङ्घीय गणतन्त्र ल्याउनका लागि लडेका नेताले आज गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको विरोध गर्छ भने त्यो राजनीतिक बेइमानी हो । उसले स्वार्थको रोटी कुनै ढङ्गले सेक्न खोजेको अर्थ लाग्छ । सङ्घीय सरकारले प्रदेशलाई अधिकार नदिँदा काम कारबाहीमा समस्या उब्जेको छ । राजस्वको बाँडफाँटमा पनि न्याय भइरहेको छैन । बजेट विनियोजन र आर्थिक उन्नयनमा पनि समस्या खडा गरेको छ । वित्तीय सङ्घीयता उल्टो छ । उठेको राजस्वको ७० प्रतिशत केन्द्रले राख्छ, बाँकी ३० प्रतिशत प्रदेश र स्थानीय तहलाई वितरण गर्छ । संसारभरको अभ्यास भनेको सेना, परराष्ट्र र मुद्रा मात्रै केन्द्रीय सरकारले हेर्ने हो र बाँकी काम समन्वय गर्ने हो, शासन गर्ने होइन । शासन त प्रदेश र स्थानीय तहले गर्छ नि ! यहाँ उल्टो भयो, शासन सङ्घले गर्ने, प्रदेश र स्थानीय तहले समन्वय गर्नेजस्तो भयो । हामी पुल होइन, सरकार हो । यो भएमा मात्र प्रदेश र स्थानीय तहबीच समन्वय र सम्बन्ध विस्तार हुन्छ । सङ्घले खटाउञ्जेल स्थानीय तहले प्रदेशलाई टेर्दैन । प्रदेशमा जाने सचिव पनि आफैँले नियुक्ति र कार्य जिम्मेवारी दिन पाउनुपर्छ ।

देशको प्राथमिकता र जनतामा देखिएको निराशाको पाटोलाई कसरी समीक्षा गर्नुहुन्छ ?

राष्ट्रिय पुँजी निर्माणतर्फ अब सरकारको ध्यान केन्द्रित हुनुपर्छ । त्यसका लागि गणतन्त्रको जगमा टेकेर तीव्र आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरणको ऐतिहासिक अभिभार पूरा गर्न अघि बढ्नुपर्छ । विभिन्न राजनीतिक सोच भएका गठबन्धन सबैलाई मिलाएर जान सजिलो छैन, असजिलोका बीचबाट पनि राष्ट्रिय अर्थतन्त्र सुधार र पुँजीको विकास सकिन्छ । चुनौती भयो भनेर छुट पाइन्न । राजनीतिक स्थिरता र स्थायित्वसँगै अब सम्पूर्ण विकास र समृद्धितर्फ केन्द्रित गर्न सकिएन भने व्यवस्था, प्रणाली र उपलब्धिप्रति जनताले प्रश्न उठाउने र विरोध गर्दै जाने स्थिति बन्ने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गरेर जानुपर्छ । विज्ञान, प्रविधि र सूचनाका क्षेत्रमा अभूतपूर्व क्रान्ति भएको छ । यसले संसारमा कुनै सिमाना राखेको छैन । यो क्रान्तसँगै मानिसलाई असन्तुष्टि र नकारात्मक चेत बढाउन सहयोग गरिरहेको छ । युवा पुस्तालाई श्रमप्रतिको सम्मान प्रदान गर्न सकिएन ।

प्रदेशमा देखिएको राजनीतिक अस्थिरता र दलप्रतिको जनविश्वासबारे यहाँको धारणा के छ ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संसारभर अभ्यास गरिएका राज्य व्यवस्थामध्ये राम्रो भनिएको छ । कुनै पनि राज्यव्यवस्था शतप्रतिशत राम्रो वा नराम्रो भन्ने हुन्न । यहाँ सबैले प्रतिस्पर्धा, मतदान र उम्मेदवार बन्न पाउँछन् । वाक र प्रेस स्वतन्त्रतासँगै मानवअधिकार सुनिश्चित छ । लोकतन्त्रमा गलत मानिस पनि एकपटक छनोट हुनसक्छ, लोकतन्त्रले नै अर्काेपटक उसलाई बिदाइ गर्छ । लोकतन्त्रको सुन्दरता भनेकै यही हो । प्रदेश सरकार निर्माणमा देखिएको अस्थिरता भनेको केन्द्रको हस्तक्षेप हो । हामी सङ्घीय प्रणालीमा छाँै, प्रदेश स्वतन्त्र होइन् तर स्वायत्त हुन् । आफ्नो निर्णय आफैँ गर्न सक्छ । दलको अध्यक्षले केन्द्रमा बसेर पालिका अध्यक्षको टिकट यहीँबाटै निर्धारण गर्छ । त्यो ठिक होइन, केन्द्रले समग्र नीतिमात्रै बनाउने हो नि । कोशी प्रदेशको समस्या ठूलो थिएन, उनीहरुलाई नै अधिकार दिएको भए आफ्नै बलबुता, अनुभव र क्षमताले समाधान गर्थे । केन्द्रले तानातान गर्दा जताततै जुइना खुस्कियो ।

पछिल्लो समय पार्टी एकीकरणको अभ्यास अघि बढेको विषय सार्वजनिक भएको थियो, त्यसको प्रगति कहाँ पुग्यो नि ?

नेकपा (माओवादी केन्द्र) देशमा रहेका राजनीतिक पार्टीमा सिद्धान्त, मुद्दा र विचारका हिसाबले सबैभन्दा नजिक रहेकाले हामी अलग–अलग बसेर भन्दा एकै ठाउँमा मिलेर एकताबद्ध भएर जाऔँ भन्ने हाम्रो सोच हो । माओवादीहरू एक ठाउँमा आएर मात्रै पनि पुग्दैन । पार्टीको विचार मिल्नेसँग एकता गरेर जाने, विचार र राजनीति केही मिलेको छ, तर पूरा मिलेको छैन भने मिलेका जति एउटा ठाउँमा बस्न मोर्चा बनाएर जानुपर्छ । त्यसका लागि बैठकले पार्टी एकता÷धु्रवीकरण गर्न पार्टी अध्यक्षको संयोजकत्वमा संयोजन समिति बनाएका छौँ । यसले एकताको लागि केन्द्रसँग वार्ता र छलफल अघि बढाउँछ । सँगसँगै ध्रुवीकरण गर्न अरु समाजवादी शक्ति छलफल चलाउँदै अघि बढ्छ ।

मुलुकमा राजनीतिक अस्थिरता अन्त्य गर्दै युवालाई देशमै भविष्य देखाउन तपाईँहरूजस्ता नेताको केही योजना छ कि ?

एउटा व्यक्ति विशेषको हिम्मत र पहलमा सिङ्गापुर, मलेसियालगायत दुईदेखि तीन दशकभित्र विकासको शिखरमा पुगेका देश थुप्रै छन् । नेपालमा पनि जुन प्राकृतिक स्रोत र साधन छन्, राजनीति स्थियित्वसँगै यी कुरालाई अघि बढाउन सक्दा निराश हुने र छटपटाउनुपर्ने अवस्था होइन । देश बन्दैन भनेर विदेशिनपर्ने अवस्था छैन र होइन पनि । राज्यको पुनःसंरचना, शासकीयस्वरुप र निर्वाचन प्रणालीसहितको संरचनामा थप काम गर्नुपर्छ । देशले दूरदर्शी नेताको खोजी गरिरहेको छ, त्यो घटनाक्रमसँगै आउने विषय हो । वैचारिक र राजनीतिक तथा कार्यक्रमका हिसाबले पनि स्पष्टतासहितको प्रतिबद्धताका साथ अघि बढ्दा समृद्धि हाम्रै पालामा सम्भव छ । म त्यो देख्छु ।

कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

काठमाडौँ, १४ मङ्सिर : मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिरेट्समा सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घले जलवायुका सन्दर्भमा छलफल गर्न आयोजना गर्ने वार्षिक बैठकको २८औँ संस्करण दुबईमा सुरु भएको हो । यसलाई कोप–२८ को नाम दिइएको छ ।

कोपमा अङ्ग्रेजी वर्णमालाका तीन अक्षर छन्– सिओपी । यसको पूरा अर्थ कम्फरेन्स अफ पार्टिज वा पक्ष राष्ट्रहरूको सम्मेलन भन्ने हो । जलवायु र पारिस्थितिक प्रणालीमा समस्या पैदा भएको निष्कर्षका साथ सन् १९९२ देखि नै संयुक्त राष्ट्रसङ्घले यसको अभियान सुरु गरेको हो । राष्ट्रसङ्घीय जलवायु सहमतिमा हस्ताक्षर गर्ने राष्ट्रलाई पक्ष राष्ट्र भन्दै यस अभियानको सुरु गरिएको थियो । सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एक प्रतिनिधिमण्डल दुबई पुगेको छ ।

हाम्रो पृथ्वीको पारिस्थितिक प्रणालीमा ठूलो खतरा पैदा भएको छ । अतिवृष्टि, अनावृष्टि, लामो खडेरीका अलावा, निरन्तर हिमनदी पग्लन थालेको छ । यसबाट विश्वव्यापीरूपमा पानीको सङ्कट, प्राकृतिक विपत्तिको अलावा मानवीय सङ्कटसमेत पैदा भएको छ । त्यसलाई कम गर्न तथा पृथ्वी सबैको साझा घर हो भन्ने मान्यतालाई थप मुखर गराउनका लागि यस सम्मेलनमा महत्त्वपूर्ण छलफल हुने विश्वास लिइएको छ ।

जानकारहरूले अन्ट्रान्टिका महादेशमा लगातार हिउँ पग्लनु, अष्ट्रेलिया र अमेजनको जङ्गलमा लागेको डढेलोसम्मलाई पनि जलवायु परिवर्तनका सङ्केतहरूका रूपमा अथ्र्याएका छन् । यस खालको विश्वव्यापी सङ्कटको बहुआयामिक आयाममा गहिरो अनुसन्धान गर्ने, त्यसको कारण तथा प्रभावको खोजी गर्ने ध्येयका साथ हरेक वर्ष यस्तै महाभेलाको आयोजना गरिन्छ । आलोचकहरूले भने विगतमा धनी र शक्तिशाली देशले यस क्षेत्रमा जनाएको प्रतिबद्धता पूरा नगरेको र कमजोर एवं हिमाली देशहरूमा परेको सङ्कट न्यूनीकरणमा ध्यान नदिएको भन्दै गुनासो गरेका छन् ।

सन् २००९ मा धनी राष्ट्रले अल्पविकसित तथा विकासोन्मुख देशमा एक सय अर्ब डलरबराबरको सहयोग गर्छौँ भनेर प्रतिबद्धता जनाएका थिए । त्यो प्रतिबद्धता सन् २०२० देखि लागू गर्ने बताएको भएता पनि हालसम्म कार्यान्वयन भएको छैन । उक्त प्रतिबद्धता कार्यान्वयन गर्ने विषयमा सन् २०१५ मा फ्रान्सको पेरिसमा एउटा स्पष्ट दृष्टिकोण पेस भएको भए पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । सन् २०२० मा कोरोनाका कारण सम्मेलन नभएपछि कार्यान्वयनको पाटो कमजोर बन्न पुगेको तर्क गरिन्छ । यद्यपि सन् २०२२ देखि यसलाई प्रयोगमा लैजाने भनिए पनि अझै सार्थकता पाउन सकेको छैन । विकसित देशले कूल एक सय अर्ब डलर जम्मा नगरे पनि ८० अर्ब डलरबराबर जम्मा भएको बताइन्छ । सो रकम अनुकूलन र जलवायु न्यूनीकरणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनुकूलन र न्यूनीकरणले मात्रै गरिब देशको र नेपालजस्तो अल्पविकसित देशको मुद्दा सम्बोधन हुँदैन भनेर जी–७७ र चीनलगायतका देशले धारणा राख्दै आएका छन् । हानी र नोक्सानीको क्षतिपूर्तिका लागि छुट्टै संयन्त्र बनाउनुपर्ने त्यसका लागि कोष पनि छुट्टै हुुनुपर्ने माग उठेको छ ।

नेपाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष देश हो । नेपालले ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६’, ‘वातावरण संरक्षण ऐन, २०७६’ तथा नियमावली, २०७७, ‘स्थानीय अनुकूलन कार्ययोजनाको राष्ट्रिय खाका, २०७६’, ‘जलवायु उत्थानशील योजना तथा बजेट तर्जुमा निर्देशिका, २०७७’ र ‘जलवायु परिवर्तनसम्बन्धी लङ्ैगिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना, २०७७÷२०८७’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

यस्तै, पेरिस सम्झौताबमोजिम दोस्रो राष्ट्रियरूपमा निर्धारित योगदान र राष्ट्रिय अनुकूलन योजना पेस गरेको छ । त्यस्तै, नेपालले २०७८ मा तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदन, राष्ट्रिय जलवायु सङ्कटापन्नता तथा जोखिम मूल्याङ्कन प्रतिवेदन, दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति र २०८० मा राष्ट्रियरूपमा निर्धारित योगदानको कार्यान्वयन योजना स्वीकृत गरी लागू गरिरहेको छ ।

यसअघि नै नेपालले कोप–२६ मा सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने, जलवायु जोखिमबाट देश र जनतालाई सुरक्षित राख्ने र सन् २०४५ मा कार्बन उत्सर्जनलाई शून्यमा झार्नेजस्ता महत्वाकाङ्क्षी योजना प्रस्तुत गरेको छ । तर जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि क्षति र जोखिम भने बढी भोग्नुपरेको छ ।

जलवायु परिवर्तनको अवस्था विकराल छ । यसलाई हामीले सामान्यरूपमा लिने अवस्था नभएको बताइन्छ । विश्वको औसत तापक्रम एक दशमलव एक डिग्रीमा बढ्नुको अर्थ नेपालमा पहिले नै एक दशमलव पाँच डिग्रीबराबरको तापक्रम बढिसकेको भन्ने अर्थमा लिन सकिन्छ ।

विशेषतः युरोपमा दुई डिग्रीभन्दा माथिको अवस्था छ । एक दशमलव पाँच डिग्री विश्व तापक्रम वृद्धि हुँदा नेपालको हिमालयमा त्यसको असर एक दशमलव आठदेखि दुई दशमलव दुई डिग्रीमा बराबर हुन्छ भनिएको छ । जुन विकराल अवस्था भएको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा जलवायु परिवर्तनको विषयलाई मुखररूपमा उठाउँदै आउनुभएको छ । प्रधानमन्त्रीको निमन्त्रणामा नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटेरेसले गत महिना नेपालको चारदिने भ्रमण गर्नुभयो । अन्नपूर्ण र सोलुखुम्बु पुगेर गुटेरेसले जलवायु परिवर्तनको असरलाई नजिकबाट नियाल्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले नेपाल भ्रमणका क्रममा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पुगेर सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गर्नुभएको थियो । महासचिव गुटेरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै यस मुद्दामा नेपालजस्ता देशलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको थियो ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा जलवायु परिवर्तन र त्यसको असरका बारेमा विश्व समुदायसँग अब याचना होइन, आफ्नो दाबी प्रभारकारीरूपमा प्रस्तुत गर्ने बताउँदै आउनुभएको छ । उहाँले उच्च सरकारी निकायलाई प्रभावकारी र वस्तुनिष्ट योजना तयार पार्न निर्देशन दिनुभयो ।

बढ्दो जीवाश्म इन्धनको प्रयोग, वन फडानी, औद्योगिक गतिविधि, र वायुमण्डलमा कार्बनडाइअक्साइड र मिथेनजस्ता हरितगृह ग्यास उत्सर्जनले हरितगृह प्रभावलाई बढाएको छ । यसले समग्र पारिस्थितिक प्रणाली, मौसमको ढाँचा र जीविकोपार्जनमा बाधा पुगिरहेको छ ।

समुद्री तटीय क्षेत्रमा जलसतह बढेको छ । त्यस्तै चरम मौसमी घटना आँधीबेहरी, खडेरी, बाढी र गर्मीको लहर गम्भीर बन्दै गएका छन् । यसले बाली उत्पादनमा कमी ल्याउनुका साथ साथै कीरा र रोगको बढ्दो प्रकोपका कारण कृषि प्रणाली समस्यामा परेको छ । वातावरणीय प्रभावका अलावा जलवायु परिवर्तनले मानव स्वास्थ्यलाई असर गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासको समस्या बढेको छ भने गर्मीको लहरले यससँग सम्बन्धित रोगको जोखिम बढाएको छ । मनसुनको ढाँचामा आएको परिवर्तनले पानीको अभाव र प्रदूषण फैलाउन सहयोगी बनेको छ । त्यसले पानीजन्य रोग बढाएको छ ।

यस विश्वव्यापी सङ्कटको सामना गर्न नीति परिवर्तन, प्राविधिक आविष्कार, र व्यक्तिगत कार्यहरू समावेश गरी बहुआयामिक दृष्टिकोणका साथ काम गर्नु आवश्यक छ । नवीकरणीय ऊर्जा स्रोतमा प्राथमिकता दिँदै दिगो पूर्वाधारमा लगानी तथा उत्सर्जन रोक्न कडा नियम व्यवहारमा नै लागू गर्नु जरुरी भइसकेको छ ।

जलवायु परिवर्तनले सीमा नाघेको हुनाले यसको प्रभावलाई न्यूनीकरण गर्न पेरिस सम्झौताजस्ता एकीकृत प्रयास र सम्झौताको कार्यान्वयनमा जोड दिइनुपर्छ । नवीकरणीय ऊर्जा जस्तैः सौर्य, वायु र जलविद्युत्मा भएको प्रगतिले जीवाश्म इन्धनको लागि नयाँ विकल्पको सहज उपलब्धतामा जोड दिइनुपर्छ ।

विश्वव्यापीरूपमा बढ्दो सचेतना र प्रयासको बाबजुद, थपिँदो चुनौतीले जलवायु परिवर्तनको सामना गर्न बाधा पुर्याइरहेको छ । जीवाश्म इन्धनमा रहेको आर्थिक निर्भरता, शक्तिशाली देश र बहुराष्ट्रिय कम्पनी र उद्योगको नीहित स्वार्थ, र राजनीतिक वैमनस्यताले महत्वाकाङ्क्षी ठानिएको जलवायु नीतिको कार्यान्वयनमा बाधा उत्पन्न गर्दै आएको छ । कमजोर समुदायमा जलवायु परिवर्तनको असमान प्रभावले सामाजिक असमानता बढाएको छ । त्यसले समाधानका उपाय निकाल्न कार्यान्वयन गर्नसमेत जटिलता थपेको छ ।

औँशीको रातमा चाँदीको घेरा भनेजस्तै चुनौतीका बीचमा पनि आशाका किरण भने विश्व समुदायमा देखापरेको छ । विश्व समुदायमा एक प्रकारको जागरण पैदा भएको छ । यसले आगामी दिनमा सकारात्मक हस्तक्षेप गर्ने विषयलाई नजरअन्दाज गरिहाल्न सकिँदैन । डरलाग्दा चुनौती भए पनि सकारात्मक परिवर्तनको सम्भावना हाम्रै हातमा छ । नवीकरणीय ऊर्जाको प्रयोग, विकास र विस्तार, बलियो र व्यावहारिक नीतिको कार्यान्वयन अन्तरराष्ट्रिय सहयोगको वृद्धि गरिए यस सङ्कटबाट पार पाउन सकिन्छ । जलवायु परिवर्तनका प्रभावलाई कम गर्दै हाम्रो समयको परिभाषित मुद्दा र बहुपक्षीय चुनौतीको सम्बोधन गर्न सकिन्छ ।

जलवायु परिवर्तन एक जटिल र अत्यावश्यक चुनौती हो, तर यो कार्य गर्न ढिलो छैन । सँगै काम गरेर, हामी उत्सर्जन घटाउन सक्छौँ, प्रभावहरू अनुकूल गर्न सक्छौँ र हाम्रो ग्रहको लागि थप दिगो भविष्य निर्माण गर्न सक्छौँ । जलवायु परिवर्तनले मनमोहक परिदृश्य, विविध पारिस्थितिकी प्रणाली र अद्वितीय सांस्कृतिक सम्पदाका लागि परिचित देश नेपालका लागि महत्त्वपूर्ण चुनौती खडा गरेको छ । जलवायु परिवर्तनका प्रभावबाट सबैभन्दा जोखिममा परेका राष्ट्रमध्ये एकको रूपमा नेपालले यसको पर्यावरण, अर्थतन्त्र र जनताको कल्याणलाई खतरामा पार्ने बहुआयामिक प्रभावको सामना गरिरहेको छ ।

नेपालको कृषि क्षेत्र, जसमा जनसङ्ख्याको ठूलो हिस्सा निर्भर छ । यो क्षेत्र जलवायु परिवर्तनबाट निकै प्रभावित छ । वर्षाको ढाँचा र तापक्रममा हुने परिवर्तनले बाली उत्पादनलाई असर पार्दा खाद्य सुरक्षामा खतरामा पैदा भएको भने निर्वाहमुखी किसानको जीविकोपार्जनमा असर गरेको छ ।

हिमालय क्षेत्रमा हिमनदी पग्लदा सिँचाइ, जलविद्युत् उत्पादन र पिउने पानीको लागि महत्त्वपूर्ण स्रोतको रूपमा रहेका नेपालका नदीमा पानीको उपलब्धतामा असर परेको छ । हिमनदी पग्लिँदा नदीको बहावको ढाँचामा आएको परिवर्तनले पानी आपूर्तिमा व्यवधान खडा भएको छ ।

विभिन्न अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालले जलवायु परिवर्तनलाई न्यूनीकरण र अनुकूलन गर्न बलियो विश्वव्यापी प्रतिबद्धताको वकालत गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले विगतमा विश्व समुदायले जनाएको प्रतिबद्धता कार्यान्वयनको स्पष्ट मार्गचित्र खोजिने बताउँदै आउनुभएको छ । यसकारण पनि यसपटकको कोपबाट नेपालले महत्त्वपूर्ण लाभ हासिल गर्न सक्ने अवस्था छ ।

त्यसो त नेपालले जलवायु अनुकूलन र लचिलोपन निर्माणमा सक्रिय कदम चालेको छ । वन संरक्षणमा नेपालले गरेको योगदान आफैँमा महत्त्वपूर्ण छ । नवीकरणीय ऊर्जाको प्रयोग र विकासमा ध्यान दिएको छ । प्राकृतिक प्रकोपका लागि प्रारम्भिक चेतावनी प्रणालीलाई सुदृढ पार्दै लगेको छ । कृषि र जल व्यवस्थापनजस्ता क्षेत्रमा जलवायु लचिलोपन बढाउने नीति लागू गरेको छ ।

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

दैलेख, १४ मङ्सिर : पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ ।

प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाएको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रवद्र्धन आयोजना प्रमुख दिनेशकुमार नापितले बताउनुभयो । विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले डिलिङका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका मोड मिलाउने सहमति अनुसार काम अघि बढेको उहाँको भनाइ छ ।

आयोजना प्रमुख नापितका अनुसार पेट्रोलियम पदार्थ उत्खनन्का गर्न कर्णाली राजमार्गबाट सहज भए माघबाट दैलेखमा पेट्रोलियम पदार्थ डिलिङको अर्को चरणको काम सुरु हुनेछ । दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण २०७६ साल असोजदेखि सुरु गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि नै सम्पन्न गरिसकेको छ । सरकारले यसअघि भैरवी गाउँपालिका-१ जलजलेमा जग्गा अधिग्रहणको काम गरिसकेको छ ।

यसअघि नेपाल सरकारसँगको सम्झौताअनुसार चीनको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भे गरिएको छ । दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुङ्गेश्वरलगायतका क्षेत्रलाई आधार बनाएर चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो ।

स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

धुलिखेल (काभ्रेपलाञ्चोक), १४ मङ्सिर : धुलिखेल अस्पतालको आयोजनामा स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो सम्मेलन हुने भएको छ । विपद्का बेला हुने जोखिमको पूर्वतयारीमा अस्पतालले के–कसरी काम गर्ने र व्यवस्थापकीय तयारी कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरअस्पतालबीच सञ्चार समन्वय गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको आज धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आकस्मिक विभागका डा सम्झना बस्नेतले जानकारी दिनुभयो ।

शुक्रबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा चिकितसक र स्वास्थ्यकर्मी गरी भारतका दश जना र नेपालभित्रका ५० शय्याभन्दा माथिका अस्पतालबाट गरी करिब एक सय ३० देखि एक सय ४० जनाको सहभागिता रहनेछ ।

प्राकृतिक र मानवनिर्मित प्रकोपबाट हुने विपद्का बेलामा हुने घटनामा परेकाको उचित उपचार गर्न, गर्नुपर्ने पूर्वतयारीका विषयमा उद्धार र उपचारका लागि कुन अस्तापलमा को र कस्तो खालको विशेषज्ञ तयारी अवस्थामा छन् भन्ने विषयमा सञ्चार र समन्वय गर्नका लागि सम्मेलनले ठूलो भूमिका खेल्ने डा बस्नेतले बताउनुभयो । विपद्का बेलामा प्रभावकारी सञ्चार र समन्वय नहुँदा मानिसको ज्यान जाने भएकाले त्यससम्बन्धी सम्मेलनले अनुभव आदान–प्रदानदेखि नयाँ सीप सिक्न सम्मेलनले भूमिका खेल्ने उहाँले बताउनुभयो ।

धुलिखेल अस्पतालका मिडिया तथा सञ्चार प्रमुख डा सुमनराज ताम्राकारले सम्मेलनमा विपद्को क्षेत्रमा काम गर्ने अमेरिका, भारत, अस्ट्रेलिया र मलेसियाका विज्ञबाट प्रशिक्षण दिने बताउनुभयो ।

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : नेत्री राणा

काठमाडौँ, १४ मङ्सिर : नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताउनुभएको छ ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा महिला नेतृत्वको अर्थपूर्ण सहभागिता’ विषयक गोष्ठीमा नेत्री राणाले कांग्रेस पदाधिकारीमा महिलाको सङ्ख्या न्यून रहेकाले यस विषयमा आगामी महासमिति बैठकमा कुरा उठाइने बताउनुभएको हो ।

“पार्टीको पदाधिकारीदेखि विभिन्न विभागमा कम्तीमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्ने हाम्रो विगतदेखिकै माग हो र यसबारे हामीले समय–समयमा आवाज पनि उठाउँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसकी सांसद डा राणाले महिलाका लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने भन्दै यसका लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने पनि बताउनुभयो ।

राजनीतिक क्षेत्रमा रहेका महिलाबीच पनि एकापसमा सहकार्य र समन्वय हुनु जरुरी रहेको भन्दै उहाँले एक महिलाले अर्को महिलालाई सहयोग नगरेका कारण कतिपय महिला पछाडि परेको आफ्नो अनुभव रहेको सुनाउनुभयो । उहाँले महिलाले आफ्ना अधिकारका विषयमा कुरा उठाउन छाड्नुहँुदैन भन्दै अधिकारका लागि निरन्तर आवाज उठाएमात्रै परिवर्तन आउने उल्लेख गर्नुभयो ।

नेत्री डा राणाले मुलुक सङ्घीय शासन प्रणालीमा गएसँगै देशमा ठूलो परिवर्तन आएको पनि बताउनुभयो । सङ्घीय लोकतान्त्रिक प्रणालीमा नै महिलाका हक र अधिकारको सुनुवाइ हुने भन्दै यसको संरक्षणमा महिला नै लाग्नुपर्नेमा उहाँको जोड थियो ।

उहाँले अर्काे एक प्रसङ्गमा महिलालाई आपत् पर्दा जाने ठाउँ निकै थोरै भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “महिला आयोगमा सबै महिलाको पहुँच पुग्दैन र जान पनि सक्दैनन् तर उनीहरु आपत् पर्दा कहाँ जाने ? यस विषयमा हामी सबै पार्टीका महिला नेत्रीहरूले पनि समन्वय र सहयोग गर्नुपर्छ ।”

रुडुक नेपालकी अध्यक्ष सजनी अमात्यले राजनीतिमा महिलालाई अगाडि बढाउनका लागि रुडुकले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले महिला क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेमात्र राजनीतिमा महिला सहभागिता बढ्ने बताउनुभयो ।

अक्सफामकी अध्यक्ष शर्मिला तामाङले महिलालाई राजनीतिमा सहभागी गराउन अक्सफामले विभिन्न सङ्घसंस्थासँग मिलेर काम गरिरहेको उल्लेख गर्नुभयो । नेता बन्न धेरै चुनौती रहेको भन्दै त्यसलाई पन्छाएर अगाडि बढेमात्र सफल भइने उहाँको भनाइ थियो ।

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडाैँ, १४ मङ्सिर : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ । दलित महिला केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तरक्रिया’मा उहाँले मतदाताको आत्मसम्मानमा चोट पुग्ने गरी निर्वाचन प्रणाली र लोकतन्त्रविरोधी अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

“निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रणालीविरुद्ध अभिव्यक्ति दिनु हुँदैन, जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अभिव्यक्ति दिनु गलत हो”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो । जनप्रतिनिधिले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्रका लगायतका विषयमा गहनतापूर्वक विश्लेषण र छलफल गर्न आवश्यक रहेको पनि उहाँको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले संविधानले निर्दिष्ट गरे बमोजिम निर्वाचन व्यवस्थापन विधेयक तयार पारिएको बताउनुभयो । प्रतिनिधिसभा तथा राष्ट्रियसभाका समिति, महिला सञ्जाल, कानुनविद्लगाय २५ वटा सरोकारवाला पक्षसँगको छलफल, प्रदेश तथा स्थानीय स्तरबाट लिखित सुझाव सङ्कलन गरी आयोगले विधेयक तयार पारेको उहाँको भनाइ छ ।

आयोगका उपसचिव लक्ष्मी शर्माले विधेयकमा संविधानको प्रावधान, अदालतको आदेश तथा कानुनी व्यवस्था समेटी विधेयक संशोधन एवं परिमार्जन गरी समसामयिक बनाइएको बताउनुभयो ।

दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामाले लोकतन्त्र सुदृढ बनाउनेतर्फ आयोगको ठूलो भूमिका रहेको बताउँदै केन्द्रले महिला नेतृत्व विकासलाई प्रवद्र्धन गर्न तालिम तथा सशक्तिकरणका लागि काम गर्दै आएको जनाकारी दिनुभयो ।

निर्वाचन प्रणालीका लागि अन्तर्राष्ट्रिय आधार कार्यक्रम प्रबन्धक सौरभा सुवेदीले राजनीतिक र निर्णय प्रक्रियामा लैङ्गिक समानता कायम गर्न संस्थाले क्षमता अभिवृद्धिलगायतका कार्यक्रम गर्दै आएको बताउनुभयो ।

त्यस अवसरमा सांसद ईश्वरी घर्तीमगरले निर्वाचन क्षेत्र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा सदस्य सुरेश आले मगरले संविधानको मर्मअनुसार समानुपातिक प्रणालीको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

साथै सरस्वती सुब्बाले महिला सहभागिता सुनिश्चित गर्न निर्वाचन क्षेत्र सुरक्षित गरी महिला महिलाबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समानुपातिक प्रणालीबाट दुई पटकभन्दा बढी सदस्य हुन नपाउने व्यवस्थाजस्तै प्रत्यक्षतर्फ निर्वाचित सांसदको पनि समयवधि विधेयकमा व्यवस्था गर्नुपर्ने, लक्षित वर्गलाई पहुँच गराउन पहल गर्नुपर्ने, महिलाभित्रको समावेशी समावेश गर्नुपर्ने, प्रत्यक्षतर्फ आरक्षण सुनिश्चित गर्नुपर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ – सभामुख घिमिरे

काठमाडौँ, १४ मङ्सिर – सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक मन्दी र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अनुरोध गर्नुभएको हो ।

“हामीले विकासका पर्याप्त सम्भावना भएका कृषि, पर्यटन पूर्वाधार, आइटी तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ”, सभामुखले भन्नुभयो, “आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नभएको जस्ता नकारात्मक प्रचार गरी मुलुकको अर्थतन्त्रलाई कमजोर नबनाउन अनुरोध गर्दछु ।” उहाँले अर्थतन्त्रका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नैपर्ने बताउनुभयो । सभामुखका हैसियतले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि मेरो प्रयत्न हुनेछ ”, उहाँले भन्नुभयो ।

कोभिड महामारीले थलिएको अर्थतन्त्र सुधार गर्न, नेपाली व्यवसायीहरुको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि वृद्धि गर्न मेला सफल हुने विश्वास सभामुखले व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैधले विश्वमा नेपाललाई लगानीको मुख्य गन्तव्यको रुपमा विकास गरी लगानी आर्कषण गर्नु मेलाको उद्देश्य भएको बताउनुभयो ।

देशमा आर्थिक मन्दी र बढदो व्यापारघाटाप्रति चिन्ता व्यक्त गर्दै निर्यात बढाउनका उत्पादनको प्रर्वद्धन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सार्क उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डिराज ढकालले नेपाली उत्पादनलाई बजारमा पु¥याउन विशेष प्रयास हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभयो

चीनको वाणिज्य मन्त्रालयअन्र्तगतको व्यापार विकास ब्यूरोका उपमहानिर्देशक देङ् बीले मेलामार्फत दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो । नेपालका लागि चीनका राजदूत छन सङसहित उद्योग वाणिज्य क्षेत्रसँगसम्बन्धित मुलुकका सङ्गठित सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । यही मङ्सिर १८ गतेसम्म सञ्चालन हुने मेलामा नेपालसहित बङ्गलादेश, भारत, चीन र पाकिस्तानका दुई सय १० वटा प्रदर्शनीकक्ष छन् ।

मकवानपुरगढी दुर्घटनामा परेर तीनको मृत्यु

मकवानपुर, १४ मङ्सिर : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्तानको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार, दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई उक्त स्थानस्थित पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

उक्त दुर्घटनामा परेर यसअघि उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङ्तान र उहाँको पाँच महिने छोरीको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक तीनै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ । उक्त घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’- एमाले सांसद थापा

काठमाडौँ – राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर तीन तहको सरकार बनिसकेको अवस्थामा फेरि सङ्घीय सांसदले विकासका लागि योजनाका फाइल बोकेर बजेट माग्दै हिँड्नु ठीक होइन भन्ने उहाँको ठम्याइ छ ।

“तीन तहको सरकार छ, विकासका लागि केन्द्रले योजना बनाउने हो, तर अहिले पनि प्रतिनिधिसभाकै सांसद विकासकै लागि पैसा खोज्न मन्त्रालय धाउने काम रोकिएको छैन”, उहाँले भन्नुभयो, “योजनाको फाइल बोकेर योजना माग्दै सांसद हिँड्ने परिपाटीको अन्त्य गर्नुपर्छ, सांसदको नाममा बजेट दिने काम ठीक होइन, यो रोक्नुपर्छ”, सांसद रावललाई सांसद विकास कोषको पनि जरुरी छैन भन्ने लाग्छ ।

“सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट बनाउँदा सहभागी हुन सकिन्छ”, उहाँले थप्नुभयो । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन हुँदै २०५२ सालदेखि राजनीतिको यात्रा तय गर्नुभएकी नेतृ रावलले जनताको प्रतिनिधि भएर २०७४ फागुन २० गते राष्ट्रियसभा सदस्यका रुपमा सपथ लिनुभएको थियो । आगामी फागुन २० गते छ वर्ष पुग्दैछ ।

नेत्री रावललाई विद्यार्थी आन्दोलन र समाज परिर्वतनको आन्दोलनमा लाग्दा यति महत्वपूर्ण स्थानमा पुगेर काम गर्ने अवसर मिल्ला भन्ने लागेको थिएन । तर उहाँलाई एमालेमा आबद्ध भएर जनप्रतिनिधिको संस्था संसद्मा आएर छ वर्ष काम गर्ने अवसर मिल्यो । उहाँलाई राष्ट्रियसभामा काम गर्ने अवसर पाउनुभन्दा अघि पहिलो संविधानसभा २०६४, दोस्रो संविधानसभा २०७१ र उपनिर्वाचन २०७१ प्रत्यक्ष निर्वाचन लड्ने अवसर समेत पार्टीले दिएको थियो । नेत्री रावलले झण्डै साढे पाँच वर्ष राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति भएर काम सक्रियरुपमा काम गर्नुभएको छ ।

समितिको सभापति भएर काम गर्दा सधँै जनता र राष्ट्रको हितमा कानुन कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरामा उहाँको ध्यान केन्द्रित भयो । “कानुन निर्माणको क्षेत्रमा कसरी मुलुकको हितमा बनाउन सकिन्छ भनेर सम्पूर्ण ध्यान त्यही केन्द्रित भयो, संसद्को निगरानीलाई प्रभावकारी बनाउनका लागि काम गरियो”, उहाँले जोड्नुभयो, “पहिलो पटक संसद् भएर सभापतिको जिम्मेवारी पूरा गर्न कुशलतापूर्वक गर्न सक्छु कि सक्दिन भन्ने थियो तर मैले पूर्णरुपमा प्रयत्न गरे ।”

राष्ट्रियसभामा उहाँलाई छ वर्ष काम गर्ने अवसर मिल्यो । विसं २०३७ मङ्सिर २५ गते भरतपुर महानगपालिका–१६ ब्रह्मपुरमा जन्मनुभएकी नेत्री रावलले २०५५ सालमा एमालेको वडा कमिटी हुँदै गाउँ कमिटी सदस्य भएर काम गर्नुभयो । त्यस्तै, २०५५ सालदेखि २०५८ सम्म अखिल नेपाल महिला सङ्घ जिल्ला चितवन जिल्ला कमिटी सदस्य, तत्कालीन प्ररायु सङ्घको जिल्ला सचिव हँुदै अध्यक्ष, महिला जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर काम गर्नुभयो । पार्टीको जिल्ला सदस्य, उपसचिव हँुदै सचिवको जिम्मेवारी जिल्लामा रहेर निर्वाह गर्नुभयो ।

संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि संविधानअनुकुलका कानुन नै बनाउन सकेको छैनन् । सांसद रावललाई सरकारले सदनलाई विजनेस नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको भन्ने लाग्छ । “संविधानअनुकूलका कानुन बनाउन ढिलाइ हुनुमा दोषी सरकार हो, त्यसको दोषी संसद् र सांसद होइन”, नेत्री रावलले थप्नुभयो, “विधेयक अधिवेशनमा जम्मा एउटा मिटरब्याजीसम्बन्धी कानुन बन्यो, राष्ट्रियसभामा मर्यादासम्बन्धी नीति विधेयक ल्यायाँै, राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको विधेयक प्रतिनिधिसभामा रोकिएर शून्यतामा गयो, राज्यको त्यत्रो लगानी खेर गयो, जुन गम्भीर विषय हो ।”

सदनलाई विजनेस नभएपछि शून्य समय र विशेष समयमै एकले अर्कालाई आरोपप्रत्योरोप गर्दै बित्ने गरेको उहाँले बताउनुभयो । नेत्री रावललाई राष्ट्रको महत्वपूर्ण नीतिहरु एकरुपता बनाउन जरुरी छ भन्ने लाग्छ । “सरकार परिर्वतन हुने बित्तिकै परराष्ट्र नीति, आर्थिक नीति वा स्वास्थ्य नीति पनि परिर्वतन हुने गरेका छन्, जुन असाध्यै दुःखद् कुरा हो”, नेत्री रावलले भन्नुभयो, “स्थायी खालको नीति बनाउन जरुरी छ, जुन सरकार आए पनि नीति र पूर्वाधार विकासमा एकरुपता र ध्यान दिन जरुरी छ, राष्ट्रिय महत्वको विषयमा एकताबद्ध हुँदा प्रणाली पनि बलियो हुन्छ ।”

अरुले झट्ट हेर्दा सांसदले काम गरेनन भन्नेजस्तो देखिए पनि सांसदले मात्र केही गर्न नसक्ने नेत्री रावलको बुझाइ छ । बोली र व्यवहारमा एकरुपता ल्याएर काम गरेमा सांसदले बेकारको गाली खान नपर्ने उहाँको बुझाइ छ । जनताका प्रतिनिधिले संसदीय मूल्य र मान्यताको ख्याल गर्नुपर्ने हुन्छ ।

“जनप्रतिनिधिले बोल्दा प्रत्यक्ष प्रसारण हुन्छ, संसारभर जान्छ, बोली र गोली चाँहि फर्काउन सकिँदैन”, नेत्री रावलले भन्नुभयो, “रेर्कडबाट हटाउनुपर्ने गरी किन बोल्ने ? त्यो राम्रो होइन, त्यसरी बोल्नुहुँदैन, शिष्ट र मर्यादित भएर पनि आफ्ना कुरा राख्न सकिन्छ, जनप्रतिनिधिले मर्यादालाई ध्यान दिनुपर्छ, नत्र जनताले के सिक्ने ?”

एउटा विधायक भएर जति काम सकियो त्यसमा उहाँलाई खुसी लागेको छ । कानुन बनाउने, अझ राम्रो बनाउनका लागि संशोधन हाल्नेदेखि लिएर समितिको सभापति भएर निकै मेहनतपूर्वक काम गरेको उहाँमा अनुभव छ । “संसद्मा सक्तापक्ष र प्रतिपक्ष भए पनि समितिमा सबै सर्वसम्मत तरिकाले सौहार्दपूूर्ण वातावरणमा काम गर्ने अवसर पाउँदा मलाई खुसी छ”, उहाँले हर्षित मुद्रामा भन्नुभयो, “साझा उद्देश्य थियो, कुनै पनि दलको असहयोग भएन, हरेक निर्णय सर्वसम्मत भयो, सधैँ हार्दिकताका साथ काम गरियो ।” उहाँलाई जनता र देशका लागि अझ धेरै गर्न बाँकी छ जस्तो लागेको छ । सांसदको भूमिका तत्काल लागि सकिए पनि जनताको सवालमा अझै केही गर्न मन छ ।

नेकपा एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

बैतडी, १४ मङ्सिर : नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो ।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनुभयो । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उहाँको भनाइ थियो ।

सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

दोधारा चाँदनी (कञ्चनपुर), १४ मङ्सिर : कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् ।सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन् ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले रु ३२ करोड अनुदान रकम पाउन बाँकी रहेको बताउनुभयो । “कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्नेे सो अनुदान रकम सरकारले निकासा गरेको छैन”, उहाँले भन्नुभयो, “गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन्”,

सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो । सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल रु ७० पु¥याइयो थियो । कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर मिल र बेलौरीस्थित महाकाली सुगर मिल अहिले सञ्चालनमा छन । गत आवमा उक्त दुई उद्योगले नेपाली किसानको २६ लाख ६६ हजार ४८ क्विन्टल उखु क्रसिङ गरेका थिए । त्यसको अनुदानबापत उनीहरूलाई रु ३२ करोड भुक्तानी गरिसक्नुपर्नेमा सरकारले भने बजेट अभावको कारण देखाउँदै आइरहेको गुनासो उखु उत्पादक किसानको छ ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द ठकुरीले सरकारले गत आव उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु छ सय १० निर्धारण गरेको बताउनुभयो ।

“सरकारले तोकेको समर्थन मूल्यमध्ये चिनी उद्योगले प्रतिक्विन्टल रु पाँच सय ४० का दरले भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल रु ७० का दरले सरकारले अनुदान उपलब्ध गराउने सहमति गरेको थियो”, उहाँले भन्नुभयो, “जिल्लाबाट पनि ढिलो गरी सिफारिक हुँदा एक वर्ष बित्दासमेत किसानले अनुदान पाउन सकेनन्”, उहाँले अहिले सिजनकै उखु पनि कटानी गर्ने बेला भइसकेकाले सरकारले घोषणा गरेको अनुदान नै नपाउँदा किसान चिन्तित बनेको बताउनुभयो ।

युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना

साइबर आक्रमणहरूमा वृद्दि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पु¥याउने खतरा रहेको चेतावनी दिँदै गुगलले बुधबार युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ ।सिलिकन भ्याली फर्मले नीति निर्माताहरूसँग एक वर्षको कुराकानीपछि दक्षिणी स्पेनी शहर मालागामा नयाँ केन्द्र खोलेको बताएको छ ।

युरोपेली सङ्घ र गुगल दुवैले युक्रेनको युद्धले लोकतन्त्रलाई अस्थिर पार्न साइबर उपकरणहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाएको चेतावनी दिएका छन् ।गुगलका अन्तर्राष्ट्रियमामिला प्रमुख केन्ट वाकरले गत वर्ष साइबर आक्रमण ३८ प्रतिशतले बढेको र ‘आक्रामक बन्दै गएको’ बताउनुभएको छ ।उहाँले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्न आवश्यक छ ।” युरोपेली संसदकी उपाध्यक्ष दिता चरन्जोभाले एक भिडियो सम्बोधनमा हरेक दिन अनुमानित दुई लाख ३० हजार वटा दुर्भावनापूर्णरूपमा स्थापित सफ्टवेयर डाउनलोड भइरहेको बताउनुभउको छ ।“हामीलाई कुनै शङ्का छैन कि युरोपेली चुनाव गलत सूचना र साइबर हस्तक्षेपको निशाना बन्नेछ,” उहाँले भन्नुभयो । म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ ।यसले सरकारी अधिकारी, कम्पनी र गैरसरकारी संस्थालाई तालिम दिन पनि मद्दत गर्नेछ । फर्मले आफ्नो साइबर सुरक्षा शस्त्रागार निर्माण गर्न वर्षौं बिताएको छ । यसले एक दशक अघि मलागामा आधारित ‘स्टार्टअप भाइरसटोटल’लाई अधिग्रहण गरेको थियो र फर्मले अहिले विश्वको सबैभन्दा ठूलो मालवेयर डाटाबेसमध्ये एक भएको दावी गनेगरेको छ । गत वर्ष उसले अमेरिकी साइबर सुरक्षा फर्म ‘म्यान्डियन्ट’लाई पाँच अर्ब डलरभन्दा बढीमा किनेको थियो ।—

कम्बोडियाद्वारा एक अर्ब ५० करोड डलरको कोइला परियोजना रद्द गर्ने

कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बुधबार एएफपीसँग बताउनुभएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार परियोजना रद्द गर्ने घोषणा गर्ने रोटानाकले बताउनुभयो ।नोम पेनले यसको सट्टा तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) आयात गर्न टर्मिनल निर्माण गर्नेछ ।

“कम्बोडिया सन् २०५० सम्ममा पृथ्वीमा मानव हस्तक्षेपका कारण हुने हरितगृह ग्यास उत्सर्जनलाई शुन्यमा झार्ने विश्व समुदायको प्रतिवद्धता हासिल गर्न सक्दो प्रयास गर्नेछ,” रोटानाकले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा भन्नुभएको छ ।

“त्यो भन्दा पहिले हाम्रो पहिलो गन्तव्य एकीकृत रणनीतिको भागको रूपमा ऊर्जा दक्षता र विद्युतीकरण कार्यक्रमहरूलाई सन् २०३० सम्ममा कम्तिमा ७० प्रतिशत नवीकरणीय उर्जा उत्पादन गर्नु हो । यसका लागि ७०० मेगावाटको बोटम साकोर प्लान्ट कोह कोङ प्रान्तको दक्षिणपश्चिम तटमा रहेको संरक्षित आरक्षमा जमिनमा निर्माण गर्ने योजना बनाइएको थियो ।”

रोटानाकले भन्नुभयो, “यसलाई रद्द गर्ने घोषणा प्रधानमन्त्रीले सोही क्षेत्रमा जलविद्युत बाँधको शिलान्यास समारोहमा गर्नुहुनेछ, र कोप २८ छलफलमा देशहरूलाई सन्देश पठाउने उद्देश्य राखिएको छ ।

कम्बोडियाले यसअघि नयाँ कोइला प्लान्ट विकास नगर्ने प्रतिबद्धता जनाएको थियो, यद्यपि यसले बोटम साकोर सुविधा र देशको उत्तरमा अर्कोसहित विद्यमान योजनाहरूप्रति प्रतिबद्ध रहेको बताएको थियो ।

ग्लोबल इनर्जी मोनिटरको कोइला प्लान्ट ट्र्याकरका अनुसार दुई युनिटको बोटम साकोर प्लान्ट सन् २०२५ को आसपासमा अनलाइनमा आउने तयारी थियो ।

डिसेम्बर २०२१ मा, कम्बोडियाले सन् २०५० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जन हासिल गर्ने आफ्नो कार्यदिशा प्रकाशित गरेको थियो ।कम्बोडियाको विद्युत प्राधिकरणका अनुसार सन् २०२२ मा कोइलाले कम्बोडियाको कुल विद्युतको ३५.५ प्रतिशत उत्पादन गरेको थियो ।

नेपाली कामदारलाई दक्षिण कोरियामा थप दुई क्षेत्रमा रोजगारी

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो ।

वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए ।

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएको अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको जानकारी दिए । यसअघि कोरियाले नेपालबाट कृषि तथा पशुपालनमा मात्र नेपालीलाई माग गर्दै आएकामा केहीअघिदेखि सिप बिल्डिङमा समेत माग गर्न थालेको थियो ।

उत्पादनमूलक क्षेत्रको परीक्षाको आवेदन सन् २०२३ भित्रै खुलेमा यसअघि सिप बिल्डिङमा भाषा परीक्षामा सामेल भएकाले आवेदन भने दिन पाउने छैनन् । उत्पादनमूलक क्षेत्रका लागि छनोट कोटा कति हुने भन्नेबारे खुलाइएको छैन ।

इपिएसमार्पmत दक्षिण कोरियाले निर्धारण गरेका रोजगारी क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भए पनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

विपिनका बाआमा भन्नुहुन्छ– समाचार हेर्दै रात बित्छ

दोधारा चाँदनी (कञ्चनपुर- इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उहाँका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ ।

हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उहाँका बाआमा साह्रै चिन्तित हुनुहुन्छ ।   गृहजिल्ला आइपुग्नुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उहाँहरूले आग्रह गर्नुभएको छ । “कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु”, आमा पद्माले भन्नुभयो, “समाचार हेर्र्दै दिन बित्छ ।”विपिन गत असोज २० गतेदेखि सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गर्नुभएको छ । उहाँले रासससँग भन्नुभयो, “सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजोअस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।”

देशमा सुशासन कायम हुन नसकेको अध्यक्ष ओलीको आरोप

बैतडी- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाउनुभएको छ ।बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा दिन सकिएको छैन ।”

सङ्कल्प यात्राको बेला देश विकास किन हुन सकेन भनेर स्थानीयसँग छलफल गरिने र देशको विकास एमालेको नेतृत्वमा मात्रै हुन्छ भन्ने सन्देश दिन सङ्कल्प यात्रा गरिन लागिएको उहाँले बताउनुभयो ।अध्यक्ष ओलीले आजै देहीमाडौँमा कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुनुभयो । एमालेको बिहीबार सुरू हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटनका लागि उहाँ आज बैतडी आउनुभएको हो ।सङ्कल्प यात्राको अध्यक्ष ओलीले बिहीबार बिहान झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको एमाले बैतडीका जिल्ला कमिटी सचिव चक्र कार्कीले जानकारी दिनुभयो ।सङ्कल्प यात्राको समुद्घाटनपछि त्रिपुरासुन्दरी मन्दिरको दर्शन, सहिद दशरथचन्द, बलदेव रिचपलेको शालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाइएको छ ।यो यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट, सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।

१४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका शेखर र गगन आ-आफ्नै सुरमा

काठमाडौं – पार्टीको १४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला, वर्तमान महामन्त्री गगनकुमार थापासहित संस्थापनइतर गुट दुई वर्ष बित्दा नबित्दै विभाजित हुन पुगेको छ।२०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भएको पार्टी संसदीय दलको नेता निर्वाचनमा महामन्त्री थापा संस्थापनइतर समूहबाट आफैं उम्मेदवार बनेका थिए।

शेरबहादुर देउवासँग पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरेका शेखर कोइराला संसदीय दलको नेतामा पनि प्रतिस्पर्धा गर्न चाहेका थिए तर संस्थापनइतर समूहबाट आफू दलको नेतामा प्रतिस्पर्धा गरिछाड्न थापाको अडानपछि कोइराला पछाडि हटेका हुन्।

कोइराला १५औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने वाचासहित थापा दलको नेताका लागि मैदान खडा भएका थिए। बढ्दो आशंका र अविश्वासबीच कोइराला र थापा पक्ष बाहिर भए पनि एक ठाउँमा देखिँदै आएका थिए। तर एमालेको समर्थनमा कोइरालानिकट नेता केदार कार्कीलाई कोसी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा पुर्‍याएसँगै कोइराला र थापाबीच संवादहीनताको अवस्था छ।कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनले दुईपटक मुख्यमन्त्रीमा अघि सारेको थियो।

तेस्रो पटक मुख्यमन्त्री पद कांग्रेसले माओवादीलाई छाडिदिएको थियो तर कोइरालाले एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा पुर्‍याउँदासम्म त्यसको सुइको थापाले पाएनन्। त्यसप्रति थापा कोइरालासँग सन्तुष्ट छैनन्। त्यसले कांग्रेसभित्र संस्थापनइतर समूह थप कमजोर बन्न पुगेको छ। साथै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसमेतलाई जोडेर अघि बढ्ने कोइराला प्रयासलाई कमजोर बनाएको छ।

१४औं महाधिवेशनको सम्पूर्ण परिणाम नआउँदै १५औं महाधिवेशनको चासो र चर्चा सुरु भएको कांग्रेसमा नेतृत्व प्रतिस्पर्धाका लागि कोइराला र थापाले आआफ्नो तयारी थालेका छन्। कोइरालाले सभापतिमा ४० प्रतिशत मत पाउँदा थापा लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थिए। त्यतिबेला पनि गुटगतभन्दा व्यक्तिगत मत मागेको आरोप खेपेका थापाले आगामी महाधिवेशन केन्द्रित राजनीतिक भेटघाट र जिल्ला दौडाहा सुरु गरेका छन्।

नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा ‘यस पटक र एक पटक’ भन्ने नारा दिएको भन्दै निकटहरूले थापा सभापतिको प्रत्याशी बन्ने दाबी गर्दै आएका छन्। पछिल्ला दिनमा थापाले जिल्लाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छन्। कोइराला पनि १४औं महाधिवेशनका बेलाको प्रतिकूल अवस्थामा पनि ४० प्रतिशत मत पाएको भन्दै आगामी महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय छन्। यो समाचार नागकि दैनिकमा छ ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सम्पन्न

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार  सम्पन्न भएको छ । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको संयुक्त बैठकले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार, सचिवालय गठन, पार्टीको मुख्य राजनीतिक मार्गसहित राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै सम्पन्न भएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

बैठकले सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन र महामन्त्री डा मुकुल ढकालको वैचारिक प्रतिवेदनको प्रस्तावना पारित गरेको छ । यसैगरी बैठकले पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लिमा अधिकारी, सह–महामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं तथा सह–कोषाध्यक्षमा दीपक बोहोरालाई मनोनित गर्ने निर्णय गरेको छ ।

त्यसैगरी १४ जना सांसदलाई केन्द्रीय समिति सदस्य बनाउने र प्रदेश सभापतिलाई केन्द्रीय समितिको पदेन सदस्य स्वीकार गर्दै केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, डा नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई मनोनीत गर्ने निर्णयसमेत गरिएको पार्टी प्रवक्ता एवं महामन्त्री डा ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले २१ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । केन्द्रीय सचिवालयमा पदाधिकारी सभापति लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र डा स्वर्णिम वाग्ले, महामन्त्री डा ढकाल, सहमहामन्त्रीत्रय कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्षद्वय वसुमाया तामाङ र दीपक बोहोरा रहेका छन् ।

त्यसबाहेक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारसमेत सचिवालयमा मनोनीत हुनुभएको छ भने बाँकी सदस्य पछि मनोनीत गरिने विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक मार्ग ‘बहुलवादी लोकतन्त्र’

तीन दिनसम्म चलेको बैठकले पार्टीलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने ‘बहुलवादी लोकतान्त्रिक’ हुने समेत प्रष्ट पारेको छ । बैठकले पार्टीको मूल राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय रहेको पनि उल्लेख छ ।

“रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो”, संयुक्त बैठकबाट पारित दस्ताबेजमा भनिएको छ, “यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।”

त्यसैगरी लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम राख्न पार्टी प्रतिबद्ध रहेको पनि सो प्रस्तावनामा उल्लेख छ ।

रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्नेसमेत प्रस्तावनामा उल्लेख गरिएको छ ।

पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप हिमाल खुलाउने तयारी

काठमाडौँ । सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी हो ।

पर्यटन विभागका पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले हाल सरकारले ४१४ हिमाल आरोहणका लागि खुला राखेको र थप हिमाल आरोहणका लागि खुला गर्ने प्रक्रियामा रहेको जानकारी दिए । “गत वर्ष साउनमा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा थप नयाँ हिमाल आरोहणका लागि खुला गर्ने सरकारको योजनाबारे उल्लेख गरिएको थियो,” उनले भने, “संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमै पर्वतारोहण र साहसिक पर्यटनलाई कसरी समेटेर अघि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।”

संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमार्फत नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवर्धन गर्न सरोकारवाला निकायबिच छलफल पनि सरकारले गरेको छ । निर्देशक गुरुङले पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाललगायतका निकायको सहभागितामा भएको छलफलमा नयाँ पर्यटन ऐनमार्फत पर्वतीय पर्यटनलाई व्यवस्थित गर्दै हिमाली भेगका संस्कृतिको संवर्धनमा टेवा पु¥याउने, आरोही तथा पर्वतीय पर्यटनमा लागेका जनशक्तिको अभिलेख राख्ने, कोष बनाउने तथा नीतिगत व्यवस्थामा गरिनुपर्ने परिवर्तनलगायतका विषयमा सरोकारवालाले सुझाव दिएको बताए ।

“छलफल पर्वतीय पर्यटन र साहसिक पर्यटनलाई प्रवर्धन गर्न पर्यटन ऐनमा के के कुरामा नीतिगत र कानुनी सुधार गर्न सकिन्छ भन्नेबारे छलफल भयो,” उनले भने । निर्देशक गुरुङले पर्वतीय पर्यटन प्रवर्धनका लागि राज्यले विशेष महत्व दिनुपर्ने, नयाँ चुचुरा खुला गर्दै जाने, खुला गरिएका चुचुराको प्रचार प्रसारमा जोड दिने र कसरी यसमा संलग्न व्यवसायीलाई प्रोत्साहन गर्न सकिन्छ भन्नेबारे छलफल भएको जानकारी दिए ।

उनले पर्वतीय पर्यटनसँग सम्बन्धित कतिपय ऐन तथा कानुन धेरै वर्षअघि तर्जुमा गरिएकाले समयानुकूल परिमार्जन गर्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय निकायले लिँदै आएको पर्यटन शुल्कलाई एकद्वार प्रणालीबाट सञ्चालनमा ल्याउनेबारे छलफलमा जोड दिइएको उल्लेख गरे । निर्देशक गुरुङले भने, “पर्वतारोहण क्षेत्रलाई सङ्कटमा पर्न नदिन आरोही शेर्पालाई पेसामा टिकाइराख्न राहत तथा उद्धार कोषको निर्माण गरी पेसाबाट पलायन हुनबाट जोगाउने, हिमालमा बढ्दो जलवायु परिवर्तनको असर कम गर्न पहल कदम चाल्ने, हिमाललाई कसरी सफा राख्न सकिन्छ भन्नेबारे समेत छलफल गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी

काठमाडौँ-कानुनी सहायता सम्बन्धमा विश्वका करिब ५० देशका प्रतिनिधि र १७ देशका प्रधानन्यायाधीश, कानुनमन्त्री, न्यायाधीश तथा कानुनी सहायता उपलब्ध गराउने संस्थाका प्रतिनिधिको अन्तर्राष्ट्रिय सम्मेलन भारतको दिल्लीमा यही मङ्सिर ११ र १२ गते (नोभेम्बर २७ र २८ गते सम्पन्न भएको छ ।

उक्त सम्मेलनमा नेपालका तर्फबाट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त सम्मेलनबाट कानुनी सहायतासम्बन्धमा दिल्ली घोषणापत्र जारी गरिएको थियो । सम्मेलनमा प्रधानन्यायाधीश श्रेष्ठ, सर्वोच्च अदालतका न्यायाधीश फुयाल, बारका महासचिव अञ्जिता खनाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, सहरजिष्ट्रार विमल पौडेल पनि सहभागी हुनुभएको थियो ।उक्त सम्मेलनमा प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश फुयालले भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा डिवाइ चन्द्रचुडसँग उहाँको निवासमा मङ्गलबार शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । शिष्टचार भेटमा नेपाल र भारतबीच कानुन तथा न्यायका क्षेत्रमा ज्ञान र सीप आदानप्रदान गर्ने विषयमा छलफल भएको सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडलले जानकारी दिनुभयो ।प्रधानन्यायाधीश श्रेष्ठले भारतका प्रधानन्यायाधीशलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो । भारतका प्रधानन्यायाधीशले उक्त निमन्त्रणालाई स्वीकार गर्नुभएको छ ।यसैबीच, आज भारतका प्रधानन्यायाधीश चन्द्रचँुडको अनुरोधमा भारतको प्रधानन्यायाधीशसहित संवैधानिक इजलासमा नेपालका प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश फुयाललाई राखी मुद्दाको सुनुवाइ गरिएको थियो । उक्त मुद्दाको सुनुवाइका क्रममा भारतका वरिष्ठ अधिवक्ता केके भेनु गोपाल र महान्यायाधिवक्ता वेङ्कट रमणीले बहस गर्नुभएको थियो । यसअघि नेपालका पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई संवैधानिक बेञ्चमा सहभागी हुने अवसर मिलेको थियो । नेपालका न्यायाधीशहरुमध्ये सर्वोच्च अदालतका न्यायाधीश फुयाललाई पहिलोपटक संवैधानिक इजलासमा सहभागी हुने अवसर मिलेको हो । भेटका क्रममा भारतका प्रधानन्यायाधीश चन्द्रचुँडले नेपालका प्रधानन्यायाधीश श्रेष्ठ र सर्वोच्च अदालतका न्यायाधीश फुयाललाई भारतको सबै न्यायाधीशको पूर्ण बैठकमा परिचय गराउनुभएको थियो ।संवैधानिक इजलासमा सहभागी भएलगत्तै न्यायाधीश फुयालले भारतको सर्वोच्च अदालतका कानुन व्यवसायीसँग अन्तक्र्रिया गर्नुभएको थियो । अन्तक्र्रियामा नेपाल भारतबीचमा कानुन र न्यायको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो । छलफलमा ठूलो सङ्ख्यामा कानुन व्यवसायीको सहभागिता रहेको थियो ।त्यस्तै, न्यायाधीश फुयालले भारतका महान्यायाधिवक्तासँग शिष्टाचार भेट गरी नेपाल भारतका बीचमा न्याय र कानुनको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा थप छलफलसमेत गर्नुभएको थियो । प्रधानन्यायाधीश श्रेष्ठ आजै स्वदेश फिर्ता हुनुभएको छ ।–––

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीवार केही प्रदेशका पहाडी भू -भागमा सामान्य बदली रहने छ। जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन (भरतपुर), १४ मङ्सिर : नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन । सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताउनुभयो ।

शुक्रबारसम्म टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । निर्माणाधीन पुलमध्ये आठ वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो । “अधिकांश पुलको निर्माण अन्तिम चरणमा छ”, इन्जिनियर दराईले भन्नुभयो, “कालोपत्र र मर्मतको काम सकिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउँछौँ ।”

दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन् । खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ । खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन । तुईन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो । आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ ।

“सम्भवत एक महिनाभित्र विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको छ, आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भन्नुभयो, “बारुद राख्नका लागि नेपाली सेनाद्वारा बंकरको निर्माण गर्ने काम भइरहेको छ ।”यस सडकखण्डमा २०७६ चैतदेखि १५ पुल निर्माण थालिएका थिए । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन् ।
 

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

काठमाडौं – १९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए। दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे। ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन व्यवसाय सुरु गरे। ०७२ सालको भूकम्प र कोरोना महामारीका कारण व्यवसाय ‘डुब्यो’। व्यापारबाट कमाई हुनुको सट्टा उल्टै १ करोड बढी ऋण लाग्यो।

‘उठ्नै नसक्ने’ गरी घाटा बेहोरेपछि, के गर्ने रु कसो गर्ने भन्ने तनावमा थिए। त्यसपछि राम्रो कमाई हुने आशमा उनी रुसी सेनामा भर्ना हुने निधोमा पुगे। भिजिट भिसामा असोज १४ गते रुस हिँडे र दुई दिनपछि नै रुसी सेनामा भर्ना भए। तर, दुई महिना नबित्दै उनको मृत्यु भयो। ऋण तिरेर सुखद भविष्यको कल्पना गरेका राजकुमारले कमाएको पैसासमेत स्वदेश पठाउन नपाई मृत्युवरण गर्नुपर्‍यो।

‘आर्थिक संकटमा परेपछि भाइ बिछिप्त थियो,’ राजकुमारका दाइ सनमले अन्नपूर्णसँग भने, ‘व्यवसायले ऋण तिर्न नसक्ने अवस्था भयो। त्यसैकारण एक वर्ष रुसको सेना भएर काम गर्छु भनेको थियो। तर, यस्तो विपत्त आइलाग्यो।’ रुसी सेनामा नजान पटक–पटक सम्झाउँदा पनि राजकुमारले नमानेको दाइ सनमले बताए। ‘म फौजमा काम गरेको मान्छे एक वर्ष त हो नि’ भन्दै उल्टै हामीलाई कन्भिस गर्‍यो,’ दाइ सनमले भने, ‘भिजिट भिसामा गएको भाइ कहिल्यै नफकर्ने भयो।’ राजकुमारको मृत्युको स्पष्ट कारण नखुुले पनि तालिमको क्रममा बंकरमा मृत्यु भएको बताइएको छ।

राजकुमारले रुस पुगेको केही दिनमै दाजु सुमनकुमार रोक्कालाई फोन पनि गरेका थिए। असोज १४ गते रुस पुगेका भाइ राजकुमारले १६ गते नै आफू रुसी सेनामा जागिरे भएको सुनाएका थिए। ‘मैले यस्तो बेलामा सेनामा काम नगर, बरु घर फर्कने भए म टिकट पठाइदिन्छु भनेको थिए, तर उसले मानेन,’ दाइ सनमले भने।

राजकुमारको मृत्युले गाउँ नै शोकमा डुुबेको छ। उनका श्रीमती, १६ वर्षीय छोरा र डेढ वर्षकी छोरी छन्। राजकुमारका छोरा राजधानीकै एक विद्यालयमा पढिरहेका छन्। राजकुमार रुस उडेपछि डेढ वर्षीय छोरी र पत्नी मेलुङघरमै बस्न थालेका हुन। ‘ऋणको भारसँगै भाइ त कहिल्यै नफर्कने गरी गुमायौं,  शव ल्याउनका लागि परराष्ट्र मन्त्रालयमा वडाको सिफारिसअनुसार निवेदन दिएर आएका छौ,’ सुमनकुमारले भने।

यस्तै, इलाम नगरपालिका–९ का गंगाराज मोक्तानको रुस–युक्रेन युद्धमा मृत्युको खबरले परिवारमा बज्र थपिएको छ। ०९२००७५१ राहदानी नम्बर भएका गंगाराज वैदेशिक रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए। त्यहींबाट उनी रुसी सेनामा भर्ना भएका थिए। उनले १२ नोभेम्बरमा इलाममा रहेकी पत्नीसँग कुरा गर्दै युक्रेन युद्धमा आफू सात दिन गएर सकुशल रहेको जानकारी दिएका थिए।

त्यसपछि गंगाराज करिब सात दिन आराम गरेपछि पुनः आफूलाई युद्धमा पठाउनसक्ने बताएको पत्नी याङ्गिला शेर्पाले बताइन्। ‘त्यसपछि उहाँ फेरि युद्धमा जानुभयो वा भएन भन्ने यकिन थिएन, पत्नी याङ्गिला शेर्पाले भनिन्, ‘कुरा हुन पाएको थिएन।’ मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको दूतावासले २४ नोभेम्बर २०२३ मा पुष्टि गरेको हो। वैदेशिक रोजगारीमा जानुअघि गंगाराज नेपाली सेनामा कार्यरत थिए।

गंगाराजकी पत्नी याङ्गिलाले शव घर ल्याउनका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेकी छिन्। गंगाराजकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु, भाउजू छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

हेर्नुहोस् मंसिर १४ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशि – प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि – स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि – आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

प्रदेशका प्रशासनिक संरचना स्थायीरुपमा सञ्चालन गरिने : मन्त्री जम्कट्टेल

मनहरी, १३ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचना स्थायी बनाउने तयारी भएको बताउनुभएको छ । बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको स्तान्तरण गरिएको भवनलाई शुभारम्भ गर्नुहुँँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका प्रशासनिक संरचना एकीकृत गर्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले प्रदेश सुशासन केन्द्रको लागि तयार पारिएको भवनमा उद्योग मन्त्रालय राखेर सेवा विस्तार गरिनुका साथै अन्य मन्त्रालय र विभिन्न कार्यालय विस्तारै सरकारी भवनमा सार्ने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो ।

यही भवनमा छिट्टै नै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पनि आउने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले सार्वजनिक खर्च कटौती गरेर उत्पादनमा जोड दिने गरी काम गरिने बताउनुभयो । उद्योग मन्त्रालयले घरेलु र हस्तकलालाई चाहिने कच्चा सामग्री ल्याउन आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले कृषि क्षेत्रमा सामुदायिक आधारित उत्पादन मोडालिटीमा गरी कार्य गरिनुका साथै उत्पादित वस्तुको बजारिकरणतर्फ समेत ध्यान दिइने बताउनुभयो । प्रदेश सरकारले देखिने गरी सडक र पुल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उद्योगमन्त्री रामकृष्ण चित्रकारले निजी घरमा भाडामा बसेका थियौँ, अब सरकारी भवनमा सरेपछि थप उर्जाका साथ सेवा प्रभाव गरिने बताउनुभयो । जनताले महसुस गर्ने खालका काम नसकिरहेको अवस्थामा अब नतिजामूलक काम गरेर देखाउनुपर्ने भन्नुहुँदै मन्त्री चित्रकारले भूमि व्यवस्था र प्रशासनको नीति नियम बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशसभाका सदस्य, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव गोविन्द रिजाल, उद्योगसँग सम्बन्धित विभिन्न निकायका प्रमुखको सहभागिता रहेको थियो ।b

रुसले इरानलाई सैन्य विमान दिने

काठमाडौँ, १३ मङ्सिर : सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भन्नुभयो । विपन्न नागरिकको उपचार स्वास्थ्य बिमा कार्यक्रमले गर्दै आए पनि अहिले बिमा कार्यक्रम केही समय राम्रोसँग सञ्चालन हुन नसकेपछि पुनःनिर्देशिका जारी गरेर सेवालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

“हामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत विपन्न नागरिकको उपचार गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “तर बिमा कार्यक्रम अहिले राम्रोसँग सञ्चालन नभएकाले पुनः निर्देशिका जारी गरेर विपन्न नागरिकको कडा खालको रोगको उपचार गर्न सुरु गरेका हौँ ।” उहाँले बिरामीलाई पायक पर्ने गरी अस्पताल तोकिएको जानकारी दिनुभयो ।तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् । निर्देशिकाअनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार कोशीका १५ वटा, मधेुस ना, बागमतीका ६०, गण्डकीका १५, लुम्बिनीका १६, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन अस्पताल तोकिएका छन् । निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि सहुलितय प्रदान गर्ने उल्लेख छ । मुटु प्रत्यारोपणका लागि रु चार लाख र औषधिका लागि रु एक लाख, मुटुसम्बन्धी अन्य रोगका लागि रु एक लाख दिने उल्लेख छ ।यस्तै कुनै पनि क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियालगायतका रोगका लागि उपचार खर्च रु एक लाख उपलब्ध गराउने भएको कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले तोकिएको सहुलियत सीमाभित्र रही ती कडा खालका बिरामीलाई औषधि, औषधीजन्य सामग्री, प्रयोगशाला सेवा, शल्यक्रिया, श्यया उपलब्ध गराइने उहाँले बताउनुभयो । सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको कुल बजेटको शून्य दशमलव पाँच प्रतिशत रकम छुट्टाएको छ ।विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्थापनका लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र स्थापना गर्नुपर्ने निर्देशिका उल्लेख गरिएको छ ।निर्देशिकामा कुनै एक रोगको औषधोपचार सहुलियत प्राप्त गरिसकेको व्यक्तिले पुनः सोही रोगका लागि औषधोपचार सहुलियत सुविधा लिन नपाउने भएका छन् । यस्तै कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहुलियत प्राप्त गर्न भने पाउने छन् । 

प्रदेशका प्रशासनिक संरचना स्थायीरुपमा सञ्चालन गरिने

मनहरी, १३ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारका संरचना स्थायी बनाउने तयारी भएको बताउनुभएको छ । बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको स्तान्तरण गरिएको भवनलाई शुभारम्भ गर्नुहुँँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारका प्रशासनिक संरचना एकीकृत गर्न हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले प्रदेश सुशासन केन्द्रको लागि तयार पारिएको भवनमा उद्योग मन्त्रालय राखेर सेवा विस्तार गरिनुका साथै अन्य मन्त्रालय र विभिन्न कार्यालय विस्तारै सरकारी भवनमा सार्ने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो । यही भवनमा छिट्टै नै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पनि आउने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले सार्वजनिक खर्च कटौती गरेर उत्पादनमा जोड दिने गरी काम गरिने बताउनुभयो । उद्योग मन्त्रालयले घरेलु र हस्तकलालाई चाहिने कच्चा सामग्री ल्याउन आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले कृषि क्षेत्रमा सामुदायिक आधारित उत्पादन मोडालिटीमा गरी कार्य गरिनुका साथै उत्पादित वस्तुको बजारिकरणतर्फ समेत ध्यान दिइने बताउनुभयो ।

प्रदेश सरकारले देखिने गरी सडक र पुल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उद्योगमन्त्री रामकृष्ण चित्रकारले निजी घरमा भाडामा बसेका थियौँ, अब सरकारी भवनमा सरेपछि थप उर्जाका साथ सेवा प्रभाव गरिने बताउनुभयो । जनताले महसुस गर्ने खालका काम नसकिरहेको अवस्थामा अब नतिजामूलक काम गरेर देखाउनुपर्ने भन्नुहुँदै मन्त्री चित्रकारले भूमि व्यवस्था र प्रशासनको नीति नियम बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशसभाका सदस्य, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव गोविन्द रिजाल, उद्योगसँग सम्बन्धित विभिन्न निकायका प्रमुखको सहभागिता रहेको थियो ।

विपन्न नागरिक उपचार निर्देशिका जारी

काठमाडौँ, १३ मङ्सिर : सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भन्नुभयो । विपन्न नागरिकको उपचार स्वास्थ्य बिमा कार्यक्रमले गर्दै आए पनि अहिले बिमा कार्यक्रम केही समय राम्रोसँग सञ्चालन हुन नसकेपछि पुनःनिर्देशिका जारी गरेर सेवालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

“हामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत विपन्न नागरिकको उपचार गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “तर बिमा कार्यक्रम अहिले राम्रोसँग सञ्चालन नभएकाले पुनः निर्देशिका जारी गरेर विपन्न नागरिकको कडा खालको रोगको उपचार गर्न सुरु गरेका हौँ ।” उहाँले बिरामीलाई पायक पर्ने गरी अस्पताल तोकिएको जानकारी दिनुभयो ।

तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् । निर्देशिकाअनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार कोशीका १५ वटा, मधेुस ना, बागमतीका ६०, गण्डकीका १५, लुम्बिनीका १६, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन अस्पताल तोकिएका छन् । निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि सहुलितय प्रदान गर्ने उल्लेख छ । मुटु प्रत्यारोपणका लागि रु चार लाख र औषधिका लागि रु एक लाख, मुटुसम्बन्धी अन्य रोगका लागि रु एक लाख दिने उल्लेख छ ।

यस्तै कुनै पनि क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियालगायतका रोगका लागि उपचार खर्च रु एक लाख उपलब्ध गराउने भएको कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले तोकिएको सहुलियत सीमाभित्र रही ती कडा खालका बिरामीलाई औषधि, औषधीजन्य सामग्री, प्रयोगशाला सेवा, शल्यक्रिया, श्यया उपलब्ध गराइने उहाँले बताउनुभयो । सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको कुल बजेटको शून्य दशमलव पाँच प्रतिशत रकम छुट्टाएको छ ।

विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्थापनका लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र स्थापना गर्नुपर्ने निर्देशिका उल्लेख गरिएको छ ।

निर्देशिकामा कुनै एक रोगको औषधोपचार सहुलियत प्राप्त गरिसकेको व्यक्तिले पुनः सोही रोगका लागि औषधोपचार सहुलियत सुविधा लिन नपाउने भएका छन् । यस्तै कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहुलियत प्राप्त गर्न भने पाउने छन् ।